Category: डायस्पोरा

  • एनआरएनएको निर्वाचन नरोक्न उच्च अदालतको आदेश

    एनआरएनएको निर्वाचन नरोक्न उच्च अदालतको आदेश

    काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) को दसौं महाधिवेशन नरोक्न उच्च अदालत पाटनले आदेश गरेको छ । सरकारले मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनु भनिएको पत्र कार्यान्वयन नगर्न भन्दै उच्च अदालतबाट अन्तरिम आदेश जारी भएको हो । एनआरएनका अध्यक्ष कुमार पन्तले दिएको रिटमा न्यायाधीश श्रीमण कुमार गौतम र नरिश्वर भण्डारीको इजलासले आइतबार सो आदेश दिएको हो ।

    अदालतकी प्रवक्ता अम्रिता भण्डारीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार परराष्ट्र मन्त्रालयको २०७८ असोज २२ र मंसिर ३ को निर्णय पत्रको कार्यान्वयन नगर्नू र महाधिवेशन नरोक्नु भनी अन्तरिम आदेश जारी गरिएको छ । आइतबार अदालतमा दुबै पक्षलाई बहसका लागि बोलाइएको थियो। परराष्ट्र मन्त्रालयले एनआरएनको निर्वाचन वर्तमान कार्यसमितिलाई नभएर संरक्षक समितिलाई गर्न दिनू भन्दै मंसिर ३ मा संघलाई पत्र पठाएको हो ।

    मन्त्रालयले पठाएको पत्रमा अक्टोबर १८ मा केन्द्रीय समितिको कार्यकाल समाप्त भएकाले निर्वाचन गराउने जिम्मा संरक्षक समितिलाई दिन निर्देशन दिएको परराष्ट्रले आदेश दिएको थियो । अध्यक्ष कुमार पन्त नेतृत्वको कमिटी विघटन गरी संरक्षक समितिलाई नयाँ निर्वाचन गराउन दिनू भन्ने परराष्ट्रको पत्राचार कानुन विपरीत भएको भन्दै उच्च अदालतमा बिहीबार रिट परेको हो ।

  • दुबईमा नेवानिको थप दुई उडान, अब सातामा ९ उडान

    दुबईमा नेवानिको थप दुई उडान, अब सातामा ९ उडान

    काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौंबाट दुबईमा हुने उडान थप गरेको छ । अब यो सेक्टरमा सातामा कुल ९ उडान भएको छ । उडान संख्या थप गरेको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आज केक काटेका छन् । दुबईमा यसअघि हरेक दिन एक\एक वटा उडान भइरहेको थियो ।

    आइतबारबाट थप दुई (आइतबार र बुधबार) उडान हुने भएको छ। नेपाल एयरलाइन्सका अनुसार आइतबार थपिएको उडानका दौरान यात्रुलाई शुभकामना र कर्मचारीलाई हौसला दिन पर्यटनमन्त्री आले विमानस्थल पुगेका थिए ।

  • हङकङसहित ९ मुलुकबाट नेपाल आउन रोक

    हङकङसहित ९ मुलुकबाट नेपाल आउन रोक

    काठमाडौं । हङकङसहित ९ मुलुकबाट आउने यात्रुलाई नेपाल सरकारले प्रतिवन्ध लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

    यो निर्णय शुक्रबारबाटै कार्यान्वयनमा आएको छ । तर, अहिले ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

    ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो । संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा समेत नदिने निर्णय भएको छ । यसअघि सरकारले अफ्रिकी मुलुकका नागरिकलाई मात्र नेपाल आउन रोक लगाएको थियो ।

  • धेरै नेपाली रहेका जापान र दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

    धेरै नेपाली रहेका जापान र दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

    काठमाडौं । नेपाली नागरिक बढी संख्यामा रहेका दुई मुलुक जापान र दक्षिण कोरियामा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टी भएको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टी भएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेश गरेपछि परीक्षणमा ओमिक्रोन पुष्टी भएको हो ।

    खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत यो भेरियन्ट उत्तिकै खतरनाक हुने बताइएको छ । कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । उता, जापानमा मंगलबार मात्र नयाँ भेरियन्ट पुष्टी भएको छ । जापानले हवाई उडानमा प्रतिवन्ध लगाएको छ । यसले नेपालबाट समेत आवागमन प्रभावित बनेको छ ।

  • अफ्रिकी मुलुकबाट नेपाल आउन रोक

    अफ्रिकी मुलुकबाट नेपाल आउन रोक

    काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्ट देखिएको मुलुक दक्षिण अफ्रिकासहित सो महादेशबाट नेपाल आउन रोक लगाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक ओमिक्रोन नामक नयाँ भेरियन्ट देखिएको छ । यस्तो प्रतिवन्ध अर्को व्यवस्था नभएसम्मका लागि लगाइएको हो ।

    गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको स्थानीय संचारमाध्यमले लेखेका छन् । ‘कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा रोक लगाउने निर्णय भएको हो ।

  • सरकारले अवैधानिक भनेपछि एनआरएनएको आधिकारिक धारणा : संरक्षक परिषदको सक्रियता चाहिन्न

    सरकारले अवैधानिक भनेपछि एनआरएनएको आधिकारिक धारणा : संरक्षक परिषदको सक्रियता चाहिन्न

    काठमाडौं । सरकारले १५ डिसेम्बरका लागि तोकेको निर्वाचन स्थगित गरि संरक्षक परिषदलाई निर्वाचन गराउन जिम्मा दिएको सम्बन्धमा गैर आवासीय नेपाली संघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेकोछ । सरकारले भनेजस्तै वर्तमान कार्यसमिति अवैधानिक नभएको समेत संघका अध्यक्ष कुमार पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । सरकारले भने संरक्षक परिषदले निर्वाचन गराउने भन्दै डिसेम्बरसम्मको समय दिएको छ । तर, संघले संरक्षक परिषदको सक्रियता नचाहिने बताएको छ । यस्तो छ पन्तद्धारा जारी विज्ञप्ती:

    गत अक्टोबरमा सम्पन्न हुनु पर्ने गैरआवासीय नेपाली संघको १०औ अन्तर्राष्ट्रिय महाधिवेशन परराष्ट्र मन्त्रालयले रोकेको विदितै छ । महाधिवेशनका सम्बन्धमा परराष्ट्र मन्त्रलायबाट मिति २०२१ नोभेम्बर २२ तारिखमा प्राप्त पत्रका सम्बन्धमा गैरआवासीय नेपाली संघको आधिकारिक धाराणा यस प्रकार रहेको छ ।


    १. संघको विधानको धारा १३.२ अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अन्तर्राष्ट्रिय महाधिवेशन बढिमा ६ महिना सार्न वा स्थगित गर्न सक्ने व्यवस्था गरेकोछ । उक्त स्थगित अवधिमा वर्तमान कार्यसमितिले संघको गतिविधि सञ्चालन गर्ने प्रचलित व्यवस्था अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद्को मिति २०२१ अक्टोबर १६ मा बसेको ८० बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषद्को अवधि बढिमा ६ महिना थप गर्ने निर्णय गरेको छ । उक्त निर्णयको जानकारी परराष्ट्रलाई तत्काल जानकारी गराएको थियो ।
    २. १०औ अन्तर्राष्ट्रिय महाधिवेशन र २०२१\२०२३ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् पदाधिकारीको निर्वाचनको अन्तिम तयार भइसकेको छ । ६५ वटा राष्ट्रिय समन्वय परिषदहरुले आ–आफ्नो अधिवेशन सम्पन्न गरी अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको छनोट गरी काठमाडौँस्थित सचिवालयमा नामावली पेश गरि सकेका छन् । साथै, २०२१\२०२३ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य समेत निर्वाचित गरि सकेका छन् । निर्वाचन समिति गठन भइ डिसेम्बर १५ तारिखमा अनलाइन मार्फत निर्वाचन र महाधिवेशन डिसेम्बर १९\२० मा भौतिकरुपमा काठमाडौमा हुने तयारी रहेकोछ ।

    संघको आर्थिक र वार्षिक प्रतिवेदन राष्ट्रिय समन्वय परिषद् मार्फत प्रतिनिधिहरु समक्ष पेश गरि सकिएको छ । निर्वाचन समिति गठन भइ सकेको र निर्वाचनका सम्पूर्ण तयारी भइ सकेकोले निर्वाचनका लागि संरक्षक परिषदको सकृयताको आवश्यक रहेको छैन ।


    ३. विधानको धारा १३.७ ग वमोजिम चयन हुने ६५५ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट बारे मन्त्रालयको अनुरोधलाई संघले अस्विकार गर्दछ । किनभने विधानको अनुसूची ६,क मा ‘प्राथमिकता सूचीमा रहेका व्यक्तिहरुले अर्थात ६५५ प्रतिनिधिमा छनोट हुन चाहाने व्यक्तिहरुले राष्ट्रिय समन्वय परिषद्को निर्वाचन पूर्व तोकिएको प्रणालीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ’ भन्ने उल्लेख गरिएको छ । यस छनोट प्रक्रियाको समय नयाँ कार्यसमिति बनि सकेको हुदैन । त्यसैले ६५५ प्रतिनिधिको छनोट पुरानो कार्यसमितिले नै गर्नुपर्छ ।

    यसको पुष्टि संघको विधान व्यख्या समितिले समेत गरेकोछ । विधानको धारा ३१ अनुसार विधानको व्याख्या गर्ने अधिकार संघको विधान समितिलाई रहेको छ र उक्त समितिको व्यख्या अन्तिम मानिनेछ ‍। तसर्थ, मन्त्रालयले अनुरोध गरे अनुसार नयाँ राष्ट्रिय समन्वय परिषद्ले छानेका प्रतिनिधिहरु विधान संवत हुने छैन । साथै, यस भन्दा पहिलेको विधानमा ६५५ प्रतिनिधिको व्यवस्था नभएकोले मन्त्रालयले उल्लेख गरेको ‘प्रचलित अभ्यास’ को कुनै अर्थ नरहने हाम्रो ठम्याई छ ।


    ४. अहिले देखिएको विवादको मुख्य कारण केही राष्ट्रिय समन्वय परिषद्हरुले पठाएका २५५ महाधिवेशन प्रतिनिधि हुन । विधानको धारा १३।७।४ ९क० अनुसार २५५ प्रतिनिधिहरु महाधिवेशनबाट निर्वाचित गरेर पठाउनुको सट्टा आँफु खुशी पठाएका कारणले संघले त्यस्ता प्रतिनिधिबारे पुनर्विचार गर्न राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गरेको थियो । २५५ प्रतिनिधिका सम्बन्धमा परराष्ट्र मन्त्रालय र सर्वोच्च अदालतमा मुद्दा परेको छ र सर्वोच्च अदालतले संघ र परराष्ट्रलाई विपक्षी बनाइ कारण देखाउ आदेश जारी गरेको छ । २५५ प्रतिनिधिका सम्बन्धमा छुट्टै उजुरी मन्त्रालयमा परेको छ । तर सर्वोच्चले समेत प्रश्न उठाएको र उजुरी परेका २५५ प्रतिनिधिका सम्बन्धमा मन्त्रालयले मौन रहनु तर विधान सम्मत आएका प्रतिनिधिका बारे पटक पटक प्रश्न उठाउनुले मन्त्रालयको उद्देश्य माथि प्रश्न उठाउने ठाउँ रहेको छ ।


    ५. मन्त्रालयको यस अगाडिको पत्रमा विधार्थीहरु सदस्य बनेको र जुलाई १-३१ सम्म निर्वाचन नभएका राष्ट्रिय समन्वय परिषदको वैधता माथि प्रश्न गरिएको थियो । तर मन्त्रालयको अन्तिम पत्रमा भने यस बारे केही उल्लेख छैन । यी दुई विषयहरुलाई कार्वान्यन नगर्दा कुनै एक पक्षलाई निर्वाचनमा सहज हुने आकलन गरिएको छ । तसर्थ, यी दुइ विषयमा मन्त्रालय मौन रहनुले पनि धेरै प्रश्नहरु उब्जाएको छ ।
    ६० विधानको धारा १६.१.४ मा संरक्षक परिषदको अधिकार उल्लेख गरिएको छ । जस अनुसार संघ निस्कृय रहन गएमा वा संस्था विभाजित हुने अवस्था सृजना भएमा संरक्षक परिषदले अन्तर्राष्ट्रिय समन्वय परिषदलाई बैठक बस्न निर्देशन गर्छ । अहिले संघ न त निस्कृय भएको अवस्थामा छ, न विभाजित हुने अबस्थामा । अतः अहिले संरक्षक परिषदको सकृय हुने अबस्था छैन् । मन्त्रालयले भने झै संरक्षक परिषद मार्फत निर्वाचन गराउने विधानमा कही कतै उल्लेख छैन । विधानको धारा २१ अनुसार निर्वाचन सम्पन्न गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्ले २०२१ जुलाइमा एक निर्वाचन समिति गठन गरि सकेको छ ।


    ७. विधानको धारा १६ अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद्ले २ वर्षको लागि संरक्षक परिषदको नियुक्ति गर्दछ । मन्त्रालयको पत्रको आसयलाई आधार मान्ने हो भने संरक्षक परिषद्को कार्यअवधि मिति २०२१ अक्टोबर १९ तारिखमा समाप्त भइसकेको भने बुझ्नु पर्ने हुन्छ । साथै, संरक्षक परिषदका बहुमत सदस्यहरुले निर्वाचन प्रकृयामा प्रत्यक्ष सहभागी नहुने जानकारी गराइ सक्नु भएको छ ।


    ८. प्रमुख संरक्षकले मिति २०२१ सेप्टेम्बर २३ मा संरक्षक परिषदलाई सकृय बनाइ कार्यकारी अधिकार संरक्षक परिषद्लाई दिन प्रस्ताव गर्नु भएको थियो । उक्त प्रस्ताव माथी २०२१ सेप्टेम्बर २५ तारिखमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ७९औ बैठकमा छलफल हुदा संरक्षक परिषदलाई सकृय बनाउन आवश्यक नरहेको निर्णय गरेको थियो ।


    ९. केही संरक्षक परिषद् सदस्यहरुले गैरआवासीय नेपालीहरु बिच समन्वयकारी भूमिका खेल्नुको सट्टा एकपक्षिय उम्मेदवारहरुको चुनावी सभामा सहभागी हुने, राष्ट्रिय समन्वय परिषद्हरुलाई विभाजन ल्याउने गतिविधीमा संलग्न हुने, अनधिकृत रुपमा निर्वाचित कार्यसमितिलाई पदच्यूत गरी कार्यकारी अधिकार आफ्नो हातमा लिन खोज्ने, सचिवालयका कर्मचारीहरुलाई अनावश्यक दबाब दिने आदि कार्यमा संलग्न हुनु भएको देखिएको ।

    अतः गैरआवासीय नेपाली बिचको एकता खलबलाउने यस्ता किसिममा गतिविधीमा संलग्न नहुन सचेत गराउँछौ । सिमित व्यक्तिहरुले संघमा धावा बोलेर आफ्नो स्वार्थपुर्ती गर्ने मनसायका कारणले अहिलेको परिस्थिति निम्ताएको हो । हामी बिच एकता कायम रहुन्जेल यस्ता तत्वहरु परास्त हुनेछन् । त्यसैले सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई यस कठिन घडीमा धैर्य रहन आव्हान गर्दछौ ।
    कुमार पन्त
    अध्यक्ष, गैरआवासीय नेपाली संघ

  • नयाँ भाइरस छिर्न नदिन अष्ट्रेलियाले प्रवेशमा कडाई गर्दै

    नयाँ भाइरस छिर्न नदिन अष्ट्रेलियाले प्रवेशमा कडाई गर्दै

    सिड्नी । दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण आफ्नो मुलुकमा छिर्न नदिनका अष्ट्रेलियाले सीमा नाकामा कडाई गर्ने भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सो मुलुकले नाकाबन्दी गर्न सक्ने उल्लेख गरेको छ । राससका अनुसार अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने बताएका छन् ।

    सरकारले सीमा क्षेत्रमा प्रतिबन्धात्मक केही नयाँ व्यवस्था गर्न सक्ने समेत उनले जनाएका छन् । उनले नौ दक्षिण अफ्रिकी मुलुकबाट अष्ट्रेलियामा हुने सबै उडान पनि बन्द गर्ने सम्भावना रहेको बताएका छन् । दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिकलगायत मुलुकमा नयाँ भाइरस पुष्टी भएको छ ।

  • भारतले खोल्यो नेपालसहितका मुलुकमा अन्तर्राष्ट्रिय उडान, १४ मुलुकमा प्रतिवन्ध कायम

    भारतले खोल्यो नेपालसहितका मुलुकमा अन्तर्राष्ट्रिय उडान, १४ मुलुकमा प्रतिवन्ध कायम

    नयाँ दिल्ली । भारतले १५ डिसेम्बरबाट लागु हुने गरि अन्तर्राष्ट्रिय उडान सूचारु गरेको छ । नयाँ वर्ष र क्रिसमसलाई लक्षित गरि भारतले उडान खोल्ने निर्णय गरेको हो । अहिले एयर बबल स्किम अनुसार मात्र उडान भइरहेको छ । यस अनुसार एक अर्का मुलुक र अनुमति प्राप्त तेस्रो मुलुकका नागरिकले मात्र उडानको अनुमति पाएका थिए । उडान खुलेपछि भारत सबै मुलुकका नागरिकको आवागमनका लागि सहज हुने छ ।

    यस सूचिमा नेपाल समेत छ । तर, विभिन्न १४ मुलुकका लागि भने उडान अझै खुलेको छैन । बेलायत, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, फिनल्याण्ड, साउथ अफ्रीका, ब्राजील, चीन, मौरिसस, सिंगापुर, बंगलादेश, बोतस्वाना, जिम्बांवे र न्यूजिल्याण्डमा भने उडान हुने छैन । खासगरी कोरोना भाइरसको पछिल्लो फैलावट नभएका मुलुकमा भारतीय सरकारले उडान खोल्ने निर्णय लिएको हो । यूरोप र अफ्रिकामा भने कोरोना भाइरसको संक्रमण बढिरहेको छ ।

  • एमाले महाधिवेशनमा आठ विदेशी पार्टीका पाहुना, २५ पार्टीले पठाए शुभकामना

    एमाले महाधिवेशनमा आठ विदेशी पार्टीका पाहुना, २५ पार्टीले पठाए शुभकामना

    काठमाडौं ।  नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा आठ  विदेशी पार्टीका १५ जना पाहुना उपस्थित हुने निश्चित भएको छ । बिहीवार नेकपा (एमाले) विदेश मामिला विभागले  पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनका लागि आएका छन् ।  २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश आएको समेत बताइएको छ । एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईका अनुसार विदेशी पाहुना काठमाडौंमा होटल सोल्टीमा रहेका छन् । विदेशी पाहुना महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता हुनेछन् ।
    पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनासङ्ग  मङ्सिर १२ गते बिहान चितवनमा संयुक्त ‘ब्रेकफास्ट मिटिङ’ गर्ने कार्यसूची छ । समितिका अनुसार चितवनमा रहँदा पाहुनाहरूलाई ग्रिन मेनसन जङ्गल रिसोर्टमा राखिनेछ । उनिहरुलाइ  स्थानीय पर्यटकीय क्षेत्रको भ्रमण गराउनुका साथै जीप सफारी र थारु सांस्कृतिक प्रदर्शनीको अवलोकनसमेत गराइने भएको छ ।

  • सभामुख स्पेन प्रस्थान, केके छन् कार्यक्रम ?

    सभामुख स्पेन प्रस्थान, केके छन् कार्यक्रम ?

    काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा स्पेन प्रस्थान गरेका छन् । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को  १४३औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका छन् ।

    सभामुख सापकोटा नेतृत्वको नेपाली टोली बुधबार राति ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेन लागेको हो ।

    सभामुखका साथमा प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी, राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी र अगमप्रसाद वान्तवा राई छन् ।

    प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखज्युको प्रमुख स्वकीय सचिव अर्जुन खत्री के.सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी छन् ।

    अन्तर व्यवस्थापिका संघ (आईपीयू) र स्पेनको संसदको आयोजनामा यही मंसिर १० देखि १४ सम्म स्पेनको म्याड्रिडमा १४३औं आईपीयू सम्मेलन हुँदै छ । सम्मेलनमा सभामुख सापकोटाले २८ नोभेम्बरका दिन बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामुखको टोली सम्मेलन सकेर यही मंसिर १६ गते स्वदेश फर्कने छन् ।

  • अब खोप कार्डका आधारमा नेपाल र भारतमा आवत-जावत गर्न सकिने

    अब खोप कार्डका आधारमा नेपाल र भारतमा आवत-जावत गर्न सकिने

    काठमाडौं । अब कोरोना विरुद्धको खोप कार्ड देखाएर नेपाल र भारतमा आवतजावत गर्न सकिने भएको छ । नेपाल सरकारले भारतसँग कोभिड खोप प्रमाणपत्रको आधारमा आवतजावतलाई मान्यता दिने समझदारी गरेसँगै यस्तो बाटो खुलेको हो । मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा खोप प्रमाणपत्रको आधारमा आवतजावतको मान्यता दिनेगरी समझदारी भएको छ ।

    स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौता भएसँगै अब नेपालमा लगाइएको खोपलाई भारतले मान्यता दिने र भारतमा खोप लगाएकालाई नेपालमा सहज हुने स्वास्थ्य सचिव डा। पोखरेलले बताए । उनका अनुसार सम्झौताले भारत जाने र भारतबाट नेपाल प्रवेश गर्नेलाई सहज हुने भएको छ । ‘खोपलाई दुवै देशले मान्यता दिने निर्णय गरेका हुन् ।

  • दुई नेपाली समेत घाइते हुने गरि ग्रीसमा भएको घटना के हो ?

    दुई नेपाली समेत घाइते हुने गरि ग्रीसमा भएको घटना के हो ?

    काठमाडौं । अघिल्लो साता टर्कीबाट ग्रीस छिर्ने क्रममा एउटा सवारी साधन दुर्घटनामा परेको छ । जसमा सवार ७ जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् । घाइतेमध्ये दुई जना नेपाली नागरिक छन् । स्थानीय संचारमाध्यमका अनुसार यो साधन अवैध रूपमा टर्कीबाट ग्रीस छिर्न खोजेको थियो । गाडी तीव्र गतिमा भएका कारण अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

    बेलायती सञ्चारमाध्यम डेली मेलले लेखे अनुसार घाइते भएका मध्ये चार पाकिस्तानी र ३५ वर्षीय चालक छन् । दुर्घटना ग्रीसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वमा भएको हो । ग्रीस प्रहरीका अनुसार उनीहरू सबै संगठित मानव तस्करले अवैध रूपमा टर्कीबाट ग्रीस छिराउन खोजेका नागरिक थिए ।

    दुर्घटनामा पर्ने नेपाली को हुन र कहाँ जान लागेका थिए भन्ने खुलेको छैन । नेपालीले टर्कीको बाटो हुँदै अवैध रूपमा यूरोप छिर्ने गरेको समाचार बेला बेला आउने गरेका थिए । मानव तस्करले १५ लाख रुपैयाँसम्म लिएर नेपालीलाई यूरोप छिराउने गरेको गुनासो सुनिन्छ ।

  • गैरआवासीय नेपाली संघको निर्वाचनमा परराष्ट्र मन्त्रालयको पुनः रोक

    गैरआवासीय नेपाली संघको निर्वाचनमा परराष्ट्र मन्त्रालयको पुनः रोक

    काठमाडौं । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनमा पुनः रोक लगाएको छ । संघले डिसेम्बर १५ मा नयाँ निर्वाचन गर्ने गरि मिति सार्वजनिक गरेको थियो । तर, वर्तमान कार्यसमितिले विधान अनुसार निर्वाचन गराउन नमिल्ने तर्क गर्दै मन्त्रालयले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन वर्तमान कार्यसमितिले नभई संरक्षक परिषदमार्फत मात्र गर्न गराउन निर्देशन दिएको छ ।

    परराष्ट्र मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई ३ मंसिरमा पत्र लेख्दै यस्तो भनेको हो । सोही दिन संघले नयाँ मिति सार्वजनिक गरेको थियो । संघमा देखिएका विवाद समाधान गरी सन् २०२१ भित्र संघको दशौं अन्तर्राष्ट्रिय महाधिबेशन सम्पन्न गर्ने कार्य विधानको धार १६ बमोजिम गठित संरक्षक परिषद मार्फत मात्र गर्नू, गराउनू भनी मन्त्रालयले पत्र लेखेको हो ।

    एनआरएनए अध्यक्ष कुमार पन्तले परराष्ट्रको निर्देशन ठाडो राजनीतिक हस्तक्षेप भएको भन्दै कानूनी लडाईंमा जाने प्रतिक्रिया दिएका छन् । उनले विधान बमोजिम नै आफ्नो एनआरएनको कार्यकाल थपिएको समेत बताएका छन् । संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै उनले विधान विपरीतको निर्देशन कुनै पनि हालतमा नमान्ने समेत बताएका छन् । उनले तोकिएकै समयमा निर्वाचन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

    यस्ता छन् परराष्ट्र मन्त्रालयले दिएका निर्देशन

    संघको विधानको धारा १६.१.४ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् निष्क्रिय रहन गएमा वा अत्यन्तै विवादित भई संस्था विभाजित हुने अवस्था सृजना भएमा संरक्षक परिषदले संस्थाको संरक्षण गर्ने ब्यबस्था रहेको देखिन्छ । तसर्थ संघमा देखिएको विवाद समाधान गरी संघलाई गतिशीलता प्रदान गर्नका लागि देहायबमोजिम गर्नु गराउनु हुन् गैर आवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ को नियम १६ को उपनियम २ बमोजिम यस मन्त्रालयको मिति २०७८-८-०३ निर्णयानुसार अनुरोध गरिन्छ ।

    १. वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल पूरा भईसकेको हुँदा त्यस परिषदले संस्थालाई दूरगामी असर गर्ने कुनै कार्य नगर्नू, नगराउनू ।

    २. संघको विधानको धारा १३.७ को खण्ड ग बमोजिम चयन हुने ६५ प्रतिशत प्रतिनिधिका सम्बन्धमा विगतको प्रचलित अभ्यासअनुसार वर्तमान राष्ट्रिय समन्वय परिषदले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिहरुलाई मान्यता दिने ।

    ३. हाल संघमा देखिएका विवादहरुको समाधान गरी सन् २०२१ भित्र संघको दशौं अन्तर्राष्ट्रिय महाधिबेशन सम्पन्न गर्ने कार्य विधानको धार १६ बमोजिम गठित संरक्षक परिषद मार्फत मात्र गर्नू, गराउनू ।

  • रोजगारीको खोजीमा चार महिनामा १ लाख ३६ हजार विदेशिए, पहिलो गन्तब्य कतार

    रोजगारीको खोजीमा चार महिनामा १ लाख ३६ हजार विदेशिए, पहिलो गन्तब्य कतार

    काठमाडौं । चालू आर्थिक वर्ष २०७८\७९ मा पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि १ लाख ३६ हजार मानिस विदेशिएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुुगेको वैदेशिक रोजगार विभागले जनाएको छ । कात्तिकमा ५५ हजार, असोजमा ४० गरी ९५ हजार र साउन तथा भदौमा ४१ हजार ८४१ ले श्रम स्वीकृति लिएको देखिएको छ । गत दुई आर्थिक वर्षमा कोरोना भाइरसको महामारीका कारण वैदेशिक रोजगारीमा जाने मानिसहरु घटेका थिए ।

    तर, गन्तब्य मुलुकको आर्थिक क्रियाकलाप पुनः चलायमान भएसँगै वैदेशिक रोजगारीमा जाने समेत बढेका छन् । चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीमा जानेमध्ये पहिलो रोजाईमा कतार देखिएको छ । चार महिनामा ५० हजारभन्दा बढी श्रम स्वीकृति कतारका लागि जारी भएका छन् । कतारपछि साउदी अरबमा ४२ हजारको श्रम स्वीकृति छ । संयुक्त अरब इमिरेट्स, मलेसिया, कुुवेत, ओमान र बहराइन समेत धेरै नेपाली जाने मुलुकमा पर्छन् ।

  • एम्बुलेन्स किन्न प्रवासी नेपालीले पठाएको २८ लाख उतै फिर्ता, के हो कारण ?

    एम्बुलेन्स किन्न प्रवासी नेपालीले पठाएको २८ लाख उतै फिर्ता, के हो कारण ?

    बागलुङ । बागलुङमा एम्बलेन्स खरीद गर्न प्रवासमा रहेका नेपालीले पठाएको २८ लाख २ हजार रुपैयाँ उतै फिर्ता गरिएको छ । धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले यो रकम पठाएका थिए । राससका अनुसार बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पताल थियो । तर, यो रकमले एम्बुलेन्स किन्न नपुगेपछि रकम फितौ गरिएको हो ।

    बजेट अपुग भएपछि बाध्य भएर पैसा फिर्ता गर्नुपरेको हालै सेवानिवृत्त भएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई उदृत गर्दै राससले लेखेको छ । ग्रामीण भेगमा फोर ह्विलबाहेकका एम्बुलेन्स किन्न नपाइने सरकारी नीतिका कारण प्रवासी नेपालीले पठाएको रकम सदुपयोग गर्न नसकिएको उनको भनाइ छ । भन्सार छुटसहित ५५ लाख पर्ने सो एम्बुलेन्सका लागि थप २७ लाख रुपैयाँ अपुग भएको हो ।

    अस्पतालसँग स्रोत नभएको र मन्त्रालयसम्म धाउँदा पनि बजेट नपाएपछि जनस्तरबाट जुटेको सहयोग फिर्ता भएको बताइएको छ । अस्पतालले सुरुमा भारतीय फोर्स कम्पनीको टु ह्विल एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाइएको थियो । ८० लाख पर्ने सो एम्बुलेन्स भन्सार छुटमा २८ लाख रुपैयाँमा आउँथ्यो ।

    तर, मन्त्रालयले अनुमति नदिए पनि यो प्रक्रिया समेत अगाडी बढ्न सकेको थिएन गत वैशाखदेखि एम्बुलेन्सका लागि सहयोग जुटाउनदेखि खरिद प्रक्रिया थालेको समितिका पदाधिकारीको पदावधि गत असोज २२ देखि सकिएको छ । नयाँ पदाधिकारीको नियुक्ति अझै हुन सकेको छैन ।

  • गैरआवासीय नेपाली संघको नयाँ निर्वाचन मिति तय

    गैरआवासीय नेपाली संघको नयाँ निर्वाचन मिति तय

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनको नयाँ मिति तय गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा आयोजना गरिनेछ । संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि निर्वाचन डिसेम्बर भने १५ तारिखका दिन तोकिएको छ ।

    गत महिनाको लागि तय गरिएको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको थियो । विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र गएको उनले बताएका छन् ।

    मन्त्रालय र संघबीच पटक पटक औपचारिक तथा अनौपचारिक छलफल भएको समेत उनको भनाई छ । केहि समय अगाडि अध्यक्ष समेत संलग्न वार्तामा परराष्ट्र मन्त्री डा. नारायण खड्कासंग परराष्ट्र मन्त्रालयमा संघको महाविधेशनको बारेमा घनिभूत छलफल भएको समेत उनले बताएका छन् ।

    संघले मन्त्रालय समक्ष महाधिवेशन तथा विश्व सम्मेलनको बारेमा प्राप्त असहमतिका बारेमा आफ्नो मार्गचित्र समेत प्रस्तुत गरेको अध्यक्ष पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । मन्त्रीबाट प्राप्त सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा नयाँ निर्वाचन मिति तोकिएको उनको भनाई छ ।

  • एक महिना अगाडी दुबई पुगेका दुई जना दुई किलो सुनसहित विमानस्थलमा समातिए

    एक महिना अगाडी दुबई पुगेका दुई जना दुई किलो सुनसहित विमानस्थलमा समातिए

    काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार २ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । दुबइबाट अरु कसैले उनीहरुलाई भरिया बनाएर नेपाल पठाएको प्रहरीको आंशका छ । प्रारम्भीक बयानका आधारमा उनीहरुलाई भारतीय गिरोहले सुन बोकाएर नेपाल पठाएको हो । उनीहरु नेपाल एयरलाइन्सको जहाजमार्फत दुबइबाट काठमाडौं आएका हुन् ।

    सिरहाका सरोज सहनी र दाङका सीताराम चौधरीको साथबाटछ २ किलो १ सय १६ ग्राम सुन भेटिएको हो । दुवैजना एक महिनाअघि मात्रै दुबइ गएको खुलेको छ । प्रहरीले उनीहरु कामका लागि नभई सुन ल्याउनकै लागि दुबइ गएको अनुमान गरेको छ ।

    प्रहरीका अनुसार दुबइमा रहेको गिरोहले काठमाडौंस्थित विमानस्थलमा ओर्लिएर उनीहरुलाई पार्किङ क्षेत्रमा जान भनिएको थियो । तर, त्यस अगाडी नै उनीहरु प्रहरी नियन्त्रणमा आएका हुन् । प्रहरीलाई सुन भित्रदै गरेको गोप्य सूचना आएको बताइएको छ ।

  • बेलायतमा १० हजार नर्सलाई रोजगारी दिलाउनेबारे तयारी भइरहेको सरकारको खुलासा

    बेलायतमा १० हजार नर्सलाई रोजगारी दिलाउनेबारे तयारी भइरहेको सरकारको खुलासा

    काठमाडौं । नेपालबाट बेलायतमा १० हजार नर्सलाई रोजगारीको अवसर प्रदान गर्ने बारे तयारी भइरहेको सरकारी अधिकारीले खुलासा गरेका छन् । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले यसबारे प्रक्रिया अगाडी बढाएको हो । शुक्रबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले यस्तो खुलासा गरेका हुन् ।

    उनका अनुसार श्रमिकमैत्री समझदारीपत्रको मस्यौदा तयार गर्न शुरु बेलायत सरकारसँग छलफल थालिएको हो । बेलायतमा अनुभवी र दक्ष नर्सको आवश्यकता रहेको भन्दै त्यसका लागि तयारी शुरु गरिएको मन्त्रालयले जनाएको छ । तोकिएको तालिम पुरा गरि अनुभव समेत लिएका नर्सले बेलायतमा मासिक साढे २ लाखसम्म आम्दानी गर्न सक्ने देखिएको छ ।

  • एमालेको महाधिवेशनमा प्रवासबाट ३० प्रतिनिधि सहभागी हुने, कुन क्षेत्रबाट को ?

    एमालेको महाधिवेशनमा प्रवासबाट ३० प्रतिनिधि सहभागी हुने, कुन क्षेत्रबाट को ?

    काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा प्रवासमा रहेका नेपालीमध्येबाट ३० जना सहभागी हुनेभएका छन् । महाधिवेशन मंसिर १० गतेबाट चितवनमा हुँदैछ । प्रवासमा रहेका नेपालीहरुलाई विभिन्न मुलुक र क्षेत्रको प्रतिनिधित्व हुने गरि छानिएको छ । चयन भएका महाधिवेशन प्रतिनिधि चितवन आउने भएका छन् ।


    कुन भेगबाट को छानिए ?
    अन्तराष्ट्रिय कमिटी
    भक्त गुरुङ
    रमेश पाण्डे
    प्रभुराम थापा

    महिला
    कुन्ती थापा
    डा. विमला भण्डारी

    अमेरिका
    कूष्णप्रसाद लामिछाने अमेरिका
    रामहरि खड्का , क्यानडा
    बेनीमाधव कँडेल .गोपाल), अमेरिका
    महिला
    यमुना भट्टराई, अमेरिका
    यमुना घिमिरे, अमेरिका

    पूर्वी एसिया
    भक्त गुरुङ (हङकङ)
    हरिचन्द्र पौडेल, (जापान)
    मोहनसिं रायमाझी, (जापान)

    महिला
    सिर्जना नेपाली, दक्षिण कोरिया
    सुमित्रा रायमाझी बस्न्यात,जापान

    ओशिनिया
    डा विनोद श्रेष्ठ,अष्ट्रेलिया
    राम घिमिरे, अष्ट्रेलिया
    केशव जोशी, अष्ट्रेलिया

    महिला
    सीता केसी थापा,अष्ट्रेलिया
    भावना नेपाल, न्यूजिल्यान्ड

    खाडी
    कमलमणी गुरागाई, कतार
    शालिकराम पन्त, बहराइन
    महेश गिरी, यूएई

    महिला
    ज्योति शर्मा, इजराइल
    रेनु कार्की, कतार

    युरोप
    भक्त वाग्ले, फ्रान्स
    मुक्त गुरुङ, स्पेन
    । गोविन्द पौडेल, पोर्चुगल

    महिला
    सरस्वती चापागाई, वेल्जियम
    कल्पना त्रिपाठी, बेलायत

  • विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स निरन्तर घट्दै

    विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स निरन्तर घट्दै

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को शुरुवातबाटै घट्न थालेको रेमिट्यान्स तेस्रो महिना सम्म पनि सोही प्रवृत्ति दोहोरिएको छ । चालु आर्थिक वर्षका तीन महिना (साउन, भदौ र असोज) मा रेमिट्यान्समार्फत २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ नेपाल आएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यो रकम ७.६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा करिब २ खर्ब ५९ अर्ब रेमिट्यान्स भित्रिएको तथ्यांक छ ।

    अघिल्लो वर्षको तुलनामा गत वर्ष रेमिट्यान्स १२.७ प्रतिशत बढेको थियो । गत साउन देखि नै रेमिट्यान्स ओरालो लागेको हो । साउनमा १८.१ प्रतिशत र भदौमा ६.३ प्रतिशत कम भित्रिएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको तथ्यांक छ । चाडबाडको मौसममा विदेशबाट बढी रेमिट्यान्स आउँछ ।

    तर, यो वर्ष चाडबाडमै घटेपछि भने चिन्ता थपिएको हो । गत आवमा कोभिडको जोखिमका वावजुत पनि धेरै रकम आएको थियो । धेरै नेपाली काम गर्ने जाने प्रमुख राष्ट्रको अर्थतन्त्रमा लयमा फर्किएको भए पनि त्यसको प्रभाव नेपालीले पाउने रकममा नदेखिएको तथ्यांक छ । त्यसो त नेपालमा हुन्डीजस्ता कारोबारका अनौपचारिक च्यानल समेत रहेकाले औपचारिक च्यानलमा रकम देखिने गरेको छ ।

    रेमिट्यान्स घटेपनि वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढेको छ । असोजसम्म ६६ हजार ३ सय १६ नेपालीले यस्तो सवीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशत घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या असोजसम्म ३४ हजार ८ सय २३ पुगेको छ ।

  • अमेरिकामा देबकोटा र  विकल जयन्ती संयुक्त रुपमा मनाईयो

    अमेरिकामा देबकोटा र विकल जयन्ती संयुक्त रुपमा मनाईयो

    कोलोराडो 

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाद्वारा नोभम्बर १३ तारिख (२०७८ कार्तिक २७ गते) शनिवार दिन कोरोनाका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्न संभब नभएका कारण अनलाइन जूम मार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं र आख्यानकार रमेश विकलको ९४औं जन्मजयन्ती मनाएर नेपाली साहित्यका दुई नक्षत्रको स्मरण गरियो। 

    सो जन्मजयन्ती कार्यक्रममा अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले महाकबि देबकोटा र रमेश बिकलका बारेमा स्लाईड प्रदर्शन गरि उहाहरुको जीवनी बारे प्रकाश पार्नु भएको थियो। 

    सोही कार्यक्रममा महाकबि देबकोटाका कृतिहरु बारे साहित्यकार गोबर्धन पुजाले टिप्पणि गर्नुहुदै रमेश विकलका बारेमा पनि स्मरण गर्नुभएको थियो भने साहित्यकार पदम बिस्वकर्माले पनि देबकोटा र रमेश विकलका बारेमा स्मरण गर्नुभयो। 

    त्यसैगरी सो कार्यक्रममा नेपालबाट आउनुभएका साहित्यकार एवं पत्रकार महेन्द्र चालिसेले आख्यानकार रमेश विकलका बहु आयाम प्रतिभा, घरेलु जीवन, तथा उहांका राजनैतिक सामाजिक र जागिरका बारेमा अहिलेसम्म उल्लेख नभएका बिभन्न पाटाबारेमा पनि प्रकाश पार्नु भएको थियो। 

    उक्त कार्यक्रमका अधिकांश सहभागीहरुले बिदेशमा बसेर नेपाली भाषा र साहित्यको बिकासमा अनेसासले गरेको योगदानको सराहना गर्नुहुदै देबकोटा र रमेश विकलका बारेमा स्मरण गर्नुभयो।

    कार्यक्रमको अन्त्यमा अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले यस अघि कोलोराडोमा भानु जयन्ती र देबकोटा जयन्ती मात्र मनाउने परम्परा रहेकोमा यस बर्ष देखि नेपाली साहित्यका यसश्वी साधक रमेश विकलको जन्मजयन्ती मनाउन पाउदा अनेसास कोलोराडो च्याप्टरले आफुलाई गौरवान्वित ठानेको छ भन्नुभयो। 

    दुई चरणमा संचालन भएको सो कार्यक्रम पहिलो चरणमा श्रष्टा द्वयको जीवनी र वहाँहरुको कृतिहरुको चर्चाको साथै साहित्यिक रचनाहरुको वाचन गरियो भने दोस्रो चरणमा अनेसास, कोलोराडो शाखाको बार्षिक साधारण सभा सम्पन्न गरियो।

  • अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत संयुक्त रुपमा रारा भ्रमणमा

    अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत संयुक्त रुपमा रारा भ्रमणमा

    काठमाडौं । नेपालका लागि अमेरिकी, बेलायती र अष्ट्रेलियाका राजदुत मुगुमा रहेको रारा तालको भ्रमणमा निस्किएका छन् । काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार ट्वीट गर्दै यसबारे जानकारी गराएको हो । अमेरिकी राजदूत रेण्डी बेरी, बेलायती राजदुत निकोला पोलीट र अस्ट्रेलियनका राजदूत फिलिसिटी भोल्क रारा भ्रमणमा पुगेका छन् । कोरोना महामारीपछि रारामा विदेशी पाहुना पहिलो पटक रारा पुगेका छन् ।

    यो टोली आइतबार काठमाडौंबाट नेपालगञ्ज हुँदै तारा एयरको जहाज चढेर रारा पुगेका छन् । जिल्लामा जलवायु परिर्वतनले पारेको प्रभावसम्बन्धी अध्ययन गर्न र मुगुमा संचालित गैरसरकारी संस्थामार्फत आफ्नो देशको परियोजना अवलोकन गर्न समेत राजदूतहरु त्यहाँ पुगेको बताइएको छ ।

    दुतावासले जलवायु परिवर्तनले हिमाली क्षेत्रका बासिन्दा र जनजीवनमा पारेको प्रभावको अध्ययन गर्ने यो भ्रमण गरिएको बताएको छ । सोमबार रारा तालको किनारमा रारा निकुञ्जका कर्मचारी, होटल व्यवसायी, पत्रकार, नागरिक समाजसित जलवायु् परिर्वतनले पारेको असरबारे छलफल गर्ने कार्यक्रम छ । उनीहरु मंगलबार समेत मुगुमै रहने छन् ।

  • न्युयोर्कमा भव्यरुपमा मनाइयो नेपाल संवत ११४२ र म्ह:पूजा

    न्युयोर्कमा भव्यरुपमा मनाइयो नेपाल संवत ११४२ र म्ह:पूजा

    बिके नेवा, न्युयोर्क

    नेवा गुठीले अमेरिकाको न्युयोर्क सहरमा नेपाल संवत ११४२ र म्ह पूजा भव्यरुपमा मनाएको छ ।
    न्युयोर्कको ज्याक्सन हाइटमा एक समारोह गरी रातो टीकाले साइत गर्दै उसिनेको अण्डा र माछाको सगुन दिई पाहुनाहरुको स्वागत गरिएको थियो । त्यस अवसरमा भिन्तुनाको शुभकामना आदानप्रदान गरिएको थियो ।

    कार्यक्रममा गुठीका उपाध्यक्ष राजेन्द्र महर्जनले स्वागत गरेका थिए । न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका काउन्सिलर गणेशप्रसाद अधिकारीले नयाँ वर्ष ११४२ को अवसरमा सवैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपाल संवत नेपालको मौलिक संवत भएकोले यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा नेवा गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जन, भूपू अध्यक्ष धर्मेन्द गोपाली, लोककवि राजभाइ जकमी, नेवा नखका उपाध्यक्ष महेन्द्र बज्राचार्य, माइकल मियन्कोले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा सहभागीहरु नेवारी वाजागाजाका साथ नाच्दै नगर परिक्रमा गरेका थिए । कार्यक्रमको अन्त्यमा गुठीका अध्यक्ष विजयमान सिंहले धन्यवादसहित सभा विसर्जन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन गुठीका महासचिव सन्तोष महर्जनले गर्नुभएको थियो ।
    सोही साँझ गुठीले नेवारी परम्परा अनुसार सामूहिक म्ह पूजा भव्यरुपमा सम्पन्न गर्यो । म्ह पूजासँगै सामूहिक नेवारी भोज पनि आयोजना गरिएको थियो । म्ह पूजामा फिफ्नाका अध्यक्ष लोक च्यामजुंगले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    गुठीका निवर्तमान र वर्तमान पदाधिकारीहरु, सहयोगीहरु तथा स्पोन्सरहरुलाई नेवा गुठीका संस्थापक बीके नेवा, गुठीका भूपू अध्यक्ष आदित्य महर्जन, धर्मेन्द्र गोपाली र निर्मल प्रधानले सम्मानपत्र प्रदान गर्नुभएको थियो । त्यसैगरी लोककवि राजभाइ जकमीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा गुठी कार्य समितिका सदस्य सजना महर्जनले स्वागत भाषण गर्नुभएको थियो । गुठीका अध्यक्ष विजयमान सिंहले समापन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सचिव सन्तोष महर्जनले गर्नुभएको थियो ।

  • नेपाललाई बहराइनले रेड-लिस्टबाट हटायो, श्रमिक जान पाउने

    नेपाललाई बहराइनले रेड-लिस्टबाट हटायो, श्रमिक जान पाउने

    काठमाडौं । बहराइनले नेपाललाई कोरोना भाइरसको जोखिम रहेका मुलुकको रेड लिस्टबाट हटाएको छ । नेपालमाथिको यात्रा प्रतिवन्ध हटेसँगै अब नेपाली श्रमिककले बहराइनमा यात्राको अनुमति पाउने छन् । नेपाललाई रातो सूचीबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको बहराइनस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

    कोरोना सङ्क्रमण रोकथामका लागि बहराइनले विभिन्न मुलुकलाई रेड लिस्टमा राखेको थियो । नोभेम्बर १४ अर्थात् भोलि शनिबार राती १२ बजेदेखि बहराइनले नेपाललाई रेड लिस्ट कन्ट्रीबाट हटाउने निर्णय गरेको बहराइनमा रहेको नेपाली दूतावासले उल्लेख गरेको छ ।

    बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिकहरू रोजगारीका लागि बहराइन जान पाउने छन् । विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू बहराइन पुगेपछि क्वरेण्टीन बस्न पर्दैन । बहराइन यात्रा गर्ने यात्रुले साथमा क्युआर कोडसहितको अङ्ग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्नेछ ।


    खोप नलगाएका वा एक मात्रा मात्र लगाएका यात्रुले भने त्यहाँ पुगेपछि आफ्नो बसोबास भएकै ठाउँमा वा बहराइनको स्वास्थ्य मन्त्रालयले तोकेको स्थानमा १० दिन क्वरेण्टीनमा बस्नुपर्छ । खोप लगाएका र खोप नलगाएका दुवै यात्रुले बहराइन पुगेपछि विमानस्थलमा र पाँचौँ तथा दसौँ दिनमा पीसीआर परीक्षण गर्नुपर्छ ।

  • पुनः श्रम स्वीकृतिका लागि बायोमेट्रिक दर्ता अनिवार्य, नभए नेपाल आउनु पर्ने

    पुनः श्रम स्वीकृतिका लागि बायोमेट्रिक दर्ता अनिवार्य, नभए नेपाल आउनु पर्ने

    काठमाडौं । अहिले वैदेशिक रोजगारीमा गएका नेपालीको पुनः श्रम स्वीकृति विदेशबाटै लिन सक्ने गरि सहजिकरण गरिएको छ । तर, पुनः श्रम स्वीकृतिका लागि पनि बायोमेट्रिक दर्ता भने अनिवार्य छ । श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन समेत बायोमेट्रिक दर्ता अनिवार्य रहेको भन्दै वैदेशिक रोजगार विभागले त्यस्तो दर्ता नभएका कामदार भने नेपाल मै आउनु पर्ने जनाएको छ । वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक नगरेकाले श्रम नवीकरणका लागि नेपाल आउनुुपर्ने भएको हो ।

    बायोमेट्रिक दर्तामा विदेश जाने बेलामा श्रम स्वीकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठा छापको फोटो मेसिनले स्क्यान गरेर अनलाइनमा राखिन्छ । विभागमा बायोमेट्रिक दर्ता गरेर गएका श्रमिकले भने अनलाइनबाट आफू रहेको मुलुकबाटै दुुई पटकसम्म पुनः श्रम स्वीकृति लिन सक्छन् ।

    विभागले अनलाइनमार्फत श्रम स्वीकृति लिन होस् वा भौतिक रूपमा उपस्थित भएर लिँदा होस् अनलाइनमार्फत अनिवार्य टोकन लिन समेत सरोकारवालालाई आह्वान गरेको छ । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर विभागले श्रम स्वीकृति लिँदा अनलाइनबाट टोकन लिने व्यवस्था अनिवार्य गरेको जनाएको हो । विभागका अनुसार भौतिक रूपमा श्रम कार्यालयमा उपस्थित भएर पुनः श्रम स्वीकृति लिने हो भने पहिला अनलाइनमार्फत टोकन लिनुपर्छ ।

  • शिक्षामन्त्री फ्रान्स प्रस्थान, युनेस्को महासभामा भाग लिने

    शिक्षामन्त्री फ्रान्स प्रस्थान, युनेस्को महासभामा भाग लिने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल युनेस्कोको महासभामा भाग लिन फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन उनी बुधबार राति ८ : २५ मा पेरिस प्रस्थान गरेको मन्त्रालयल जनाएको छ । १९३ राष्ट्र को प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षामन्त्री एवम् युनेस्कोका लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार अर्थात ११ नोभेम्बरमा सम्बोधन गर्ने भएका छन् ।

    युनेस्कोको मुख्यालयमा ९ नोभेम्बरदेखि जारी महासभामा उनले राष्ट्रसंघीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । १२ नोभेम्बरमा सहभागी मुलुकका शिक्षामन्त्रीहरूको बैठकमा मन्त्री पौडेलले विश्वव्यापी आधुनिक शिक्षाजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    त्यहाँ रहँदा मन्त्री पौडेलले विज्ञान तथा प्रविधि, समाज विज्ञान, आमसञ्चार, संस्कृति, जलवायु परिर्वतनलगायतका विषयमा छलफल गर्ने भएका छन् । महासभामा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, यूनेस्कोका लागि नेपालका सहायक महासचिव डा. बाबुराम अधिकारीसमेत सहभागी छन् ।

  • भारतमा उच्चस्तरीय भेटघाटमा व्यस्त प्रधानसेनापति शर्मा

    भारतमा उच्चस्तरीय भेटघाटमा व्यस्त प्रधानसेनापति शर्मा

    नयाँ दिल्ली । नेपाली सेनाका सेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेबीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ । औपचारिक भ्रमणका सिलसिलामा शर्मा मंगलबार नेपाली सेनाको जहाजबाट नयाँ दिल्ली पुगेका हुन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुई सेनापतिबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको छ ।

    छलफलपछि भारतको सुरक्षा दृष्टिकोणको बारेमा प्रस्तुतीकरण समेत दिइएको थियो। त्यसअघि प्रधानसेनापति शर्माले राष्ट्रिय समर स्मारकमा वीर शहिदहरूको सम्मानमा पुष्पगुच्छा अर्पण गरेका थिए। उनलाई भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको समेत सेनाले जनाएको छ ।

  • कोरिया जान १२ हजार युवा प्रतिक्षामा, ९६ जना जाने निश्चित

    कोरिया जान १२ हजार युवा प्रतिक्षामा, ९६ जना जाने निश्चित

    काठमाडौं । कोरोना भाइरसको महामारीपछि रोकिएको कोरिया रोजगारीका लागि करीव १२ हजार युवा प्रतिक्षामा रहेका छन् । कोरोना महामारीका कारण करिब २० महिनादेखि रोकिएको नेपाली श्रमिक दक्षिण कोरिया जाने प्रक्रिया यही कात्तिकबाट शुरु भएको थियो । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली श्रमिक कोरिया जान पाएका थिएनन् । सबै प्रक्रिया पूरा गरेका १२ हजार श्रमिक मध्ये थप ९६ जना भने कोरिया जाने प्रक्रियामा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    वैदेशिक रोजगार विभागका अनुसार अब क्रमशः प्रक्रिया पुरा गरेका नेपाली कोरिया जानेछन् । जसअन्तर्गत पहिलो चारणमा ४८ जना नेपाली श्रमिक कात्तिक १० गते दक्षिण कोरिया पठाइएको छ । ईपीयस कोरिया शाखाका अनुसार नियमित भाषा परीक्षा पास गरेर ‘लेटर कन्ट्रायाक्ट’ आइसकेका करिब पाँच हजार र कोरियाबाट प्रतिबद्ध श्रमिकका रुपमा फर्किएका तीन हजार श्रमिक प्रक्रिया पुगे पनि कोरोना महामारीका कारण रोकिएका हुन् ।

    २०२१ का लागि २०७७ जेठमा हुनुपर्ने हुने परीक्षा अहिलेसम्म सञ्चालन भएको छैन । विभागका अनुसार कोरियाले सो वर्ष पाँच हजारभन्दा बढी श्रमिक लैजाने गरी सिलिङ (कोटा) भने पठाएको थियो ।

  • प्रधानसेनापति शर्मा भारतको चार दिने भ्रमणमा

    प्रधानसेनापति शर्मा भारतको चार दिने भ्रमणमा

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चार दिने औपचारिक भ्रमणका सिलसिलामा आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दैछन् । दिल्लीमा उनले उच्चस्तरीय भेटवार्ता गर्ने छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई सहजीकरण गर्न समेत उनको भ्रमण महत्वपूर्ण हुने विश्वास लिइएको छ । यही भ्रमणका क्रममा उनले भारतीय सेनाको मानार्थ महारथी दर्जाको सम्मानसमेत ग्रहण गर्दैछन् ।

    शर्माले मंगलबारै भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेसँग भेटवार्ता गर्ने भएका छन् । भारतमा जल र हवाई सेनाका प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको सेनाले जानकारी गराएको छ । नेपाली सेनाका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्न आग्रह गरिएको छ। तर, यो भेट हुने नहुने भने निश्चित भइसकेको छैन । उनी भारतका सेनाध्यक्ष नरवणेको निमन्त्रणामा भारत जान लागेका हुन् । प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट बुधबार सम्मान गर्ने छन् ।

  • लक्ष्मीपूजाको रात काठमाडौंदेखि न्यूयोर्कसम्म कस्तो देखिए ? (तस्वीरमा)

    लक्ष्मीपूजाको रात काठमाडौंदेखि न्यूयोर्कसम्म कस्तो देखिए ? (तस्वीरमा)

    काठमाडौं । बिहीबार संसारभर लक्ष्मीपूजाका साथ दिपावली मनाइयो । उज्यालोको अनेक रुपले नेपालको राजधानी शहर काठमाडौं धपक्कै बल्यो । भारतमा समेत दिपावली धुमधामसाथ मनाइयो । यी दुई मुलुकबाहेक संसारभर दिपावलीका अनेक स्वरुप देखिएका छन् ।

    यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन विहीबार हिन्दु धर्मावलम्बीले ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाएका हुन् । आज चौथो दिन भने गोवद्र्धन पूजा मनाइदैंछ । गाई, गोरु तथा गोठमा पूजा गरि यो पर्व मनाइन्छ । यो वर्ष भाइटिका शनिबार परेको छ । भाइटिकाको उत्तम साइत भने ११ बजेर २ मिनेट जाँदा रहेको छ ।

    दिपावलीमा चम्किएको काठमाडौ Photo : Gorakhapatra
    अमेरिकाको न्यूयोर्कस्थित वर्ड ट्रेड सेन्टरमा दिपावलीको झलक ANI\BBC
    बेलायतको लेस्टर शहरमा दिपावली : BBC
    दुबईमा लक्ष्मीपूजाको रात