Category: डायस्पोरा

  • भारतमा एक दिनमा अहिलेसम्मकै बढी संक्रमित भेटिए, उच्च जोखिममा नेपाल

    भारतमा एक दिनमा अहिलेसम्मकै बढी संक्रमित भेटिए, उच्च जोखिममा नेपाल

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा एकदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । भारतीय संचारमाध्यमका अनुसार पछिल्लो २४ घण्टाको परीक्षणबाट १ लाख ७० हजार मानिसमा कोरोना देखिएको छ । यो अहिलेसम्मकै उच्च संख्या हो ।

    पछिल्ला दिनमा भारतमा कोरोना संक्रमणको गति तीव्र देखिएको छ । यो संक्रमण पहिलो वेवको तुलनाका बढी फैलावट भएको समेत पाइएको छ । आइतबार माहराष्ट्र राज्यमा मात्र ६३ हजार २ सय ९४ जना भेटिएका हुन् । नेपालको सीमा जोडिएको उत्तर प्रदेशमा १५ हजार २ सय ७६ जनामा संक्रमण देखिएको छ।

    यसले नेपालमा समेत जोखिमको उच्च अवस्था रहेको पुष्टी गरेको छ । संक्रमणले गति लिएपछि मृत्युदरमा समेत उच्च वृद्धि भएको छ । आइतबार भारतमा ९ सय चार जना मानिसको कोरोनाका कारण ज्यान गएको तथ्यांक आएको छ ।

    यो सँगै अहिलेसम्म भारतमा १ करोड ३५ लाख मानिसमा कोरोना संक्रमण भएको छ । १ लाख ७० हजार संक्रमितले ज्यान गुमाउन बाध्य भएका छन् । भारतले अहिलेसम्म १० करोड मानिसलाई खोप लगाइसकेको छ ।

  • विदेशमा शिक्षण संस्थाले नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गर्ने बाटो खुल्यो

    विदेशमा शिक्षण संस्थाले नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गर्ने बाटो खुल्यो

    काठमाडौं । नेपाल सरकारले विदेशमा खुलेका शिक्षण संस्थालाई नेपाली पाठ्यक्रमअनुसार पठनपाठन गर्न स्वीकृति दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिएका छन् ।

    खासगरी गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपाली नागरिकले आफु रहेको मुलुकमा खोलेका शिक्षण संस्थामा नेपाली पाठ्यक्रम अनुसार पठनपाठनको स्वीकृति मागेका थिए । सोही अनुसार सरकारले यस्तो निर्णय गरेको हो ।

    अब नेपालमा माध्यामिक स्तरको मान्यता पाएको पाठ्यक्रमलाई विदेशमा समेत शिक्षण संस्थाले पढाउन सक्ने भएका छन् ।

    देशको कानुनअनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको पठनपाठन सञ्चालन गर्न माग भई आएकोमा त्यस्ता विद्यालयमा नेपाली पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्न शर्त तोकी अनुमति दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको उनले जानकारी दिए ।

  • कतारमा खोपको मात्र पुरा गरेका विदेशीले क्वारेन्टिन बस्नु नपर्ने

    कतारमा खोपको मात्र पुरा गरेका विदेशीले क्वारेन्टिन बस्नु नपर्ने

    कतार । कतारले क्वारेन्टिन सम्बन्धि मापदण्डमा परिमार्जन गर्दै सहज बनाएको छ । अब विदेशमा कोरोनाविरुद्धको खोप लगाएका कुनै पनि व्यक्तिले कतार भित्र प्रवेश गरेपछि थप क्वारेन्टिन बस्नु पर्ने छैन ।

    कतार बाहिर रहँदा फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसन खोप लगाएकाले होटेल क्वारेन्टाइन बस्न नपर्ने गरी नयाँ नियम ल्याएको कतारको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

    जोनसन खोपको पहिलो डोज मात्र पर्याप्त हुने छ भने अन्य खोपको भने दुई डोज नै पुरा गरेको हुनुपर्ने नियम बनाइएको छ । खोप लगाएको १४ दिन पुगिसकेको हुनु पर्ने र खोप लगाएको आधिकारिक प्रमाणसहित समेत साथमा राख्नु पर्ने भएको छ ।

    यसअघि कतार भित्र खोप लगाएकाले मात्र क्वारेन्टिन छूट पाएका थिए ।
    कतारमा कोरोनाको दोस्रो लहर खतरनाक रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा यहाँ ८ जनाको मृत्यु भइसकेको छ ।

  • दुबईबाट राइस कुकरमा ल्याएको एक किलो सुनसहित एक जना विमानस्थलबाट पक्राउ

    दुबईबाट राइस कुकरमा ल्याएको एक किलो सुनसहित एक जना विमानस्थलबाट पक्राउ

    काठमाडौं । नेपालमा सुन तस्कर गर्न अनेक उपाय लगाइरहेको फेला पर्छ । आज त्रिभुवन विमानस्थलमा दुबईबाट राइस कुकरमा लुकाएर ल्याएको एक किलो सुनसहित एक जना पक्राउ परेका छन् । मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महराको साथबाट सुन बरामद भएको हो ।

    उनको साथबाट ९ सय ३४ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए । ५० ग्रामको बाला रहेको बताइएको छ । सुन तस्कर र ल्याउने व्यक्तिमाथ अनुसन्धान अगाडी बढेको प्रहरीले जनाएको छ

  • ओमानले फेरी रोक्यो विदेशी नागरिकको प्रवेश, नेपाली समेत जान नपाउने

    ओमानले फेरी रोक्यो विदेशी नागरिकको प्रवेश, नेपाली समेत जान नपाउने

    काठमाडौं । ओमन सरकारले विदेशी नागरिकको प्रवेशमा पुनः रोक लगाउने निर्णय गरेको छ । बढ्दो कोरोना भाइरसको संक्रमणका बीच ओमान सरकारले यस्तो निर्णय लिएको हो । यसबाट ओमानमा वैदेशिक रोजगारीमा जाने नेपाली समेत प्रभावित हुने भएका छन् ।

    ओमानको कोरोना (कोभिड–१९) भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी समितिबाट विदेशी नागरिकलाई प्रवेशमा प्रतिवन्ध लगाउने निर्णय आएको त्यहाँस्थित नेपाली दूतावासले जानकारी दिएको छ । बिहीबार मध्याह्न १२ बजेदेखि यो नियम लागू हुनेछ ।

    ओमानी नागरिक तथा ओमानको आवासीय कार्ड वाहकले भने निर्वाध प्रवेश पाउने छन् । बिहीबारदेखि लागूहुने गरी व्यापारिक गतिविधि साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द राख्ने निर्णय समेत भएको छ । यस समयमा मानिस तथा सवारी साधनहरूको आवतजावतमा समेत प्रतिवन्ध लगाइएको छ ।

    इस्लाम धर्मावलम्बीहरूको मनाउने रमादानको अवधिभर लागू हुने गरी साँझ ९ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण व्यापारिक गतिविधि तथा सवारी साधन र मानिसहरूको आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय भएको हो । मस्जिदलगायत अन्य सार्वजनिक स्थलमा जम्मा हुन तथा भेला हुन प्रतिबन्ध लागेको छ ।

  • राष्ट्रियसभाका अध्यक्ष स्पेन प्रस्थान

    राष्ट्रियसभाका अध्यक्ष स्पेन प्रस्थान

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना एकसाता लामो भ्रमणका लागि स्पेनतर्फ लागेका छन् । चैत २४ देखि ३० गतेसम्म चल्ने पिस कम्फरेन्स अफ लुम्बिनी गार्डन प्रोजेक्टको कार्यक्रममा भाग लिन अध्यक्ष तिमिल्सिना स्पेनतर्फ लागेका हुन् । उनी सोमबार साँझ त्यसतर्फ लागेका छन् ।

    अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी, प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रेग्मी समेत छन् ।

    टोलीमा रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंह, देवतह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, संघीय संसद सचिवालयका शाखा अधिकृत सपना सापकोटा र लुम्बिनी कार्डन प्रोजेक्ट स्पेनका प्रमुख आर्किटेक्ट उज्ज्वलमान शाक्य हेको संसद सचिवालयले जानकारी दिएको छ ।

    स्पेनमा उनले सिनेटका अध्यक्ष, उपप्रधानमन्त्री एक्सत्रेमादुराका मुख्यमन्त्री, प्रदेशका सभामुख, सांसदसँग भेट्ने कार्यक्रम छ । भ्रमणका क्रममा लुम्बिनी तथा कोथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

  • कोरोना संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु

    कोरोना संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा यो साता थप चार जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घले गर्ने साप्ताहिक अपडेट अनुसार एक साता भित्र कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको ज्यान गएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको ज्यान गइसकेको छ ।

    यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण थप भएको छ । अहिलेसम्म ५४ देशमा ६५ हजार २८७ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    तीमध्ये ६२ हजार ६६३ कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएको भन्दै संघले स्वास्थ्य सावधानी अपनाउन आह्वान समेत गरेको छ ।

  • एनआरएनएले कोभिड महामारीमा विश्वभर १ लाख ७० हजार नेपालीलाई दियो राहत

    एनआरएनएले कोभिड महामारीमा विश्वभर १ लाख ७० हजार नेपालीलाई दियो राहत

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड १९ महामारीबाट समस्यामा परेका विश्वभरका १ लाख ७० हजार नेपालाीलाई राहत दिएको छ । समस्यामा परेका विभिन्न मुलुकका ती नेपालीलाई सहयोग गरेको संघले जनाएको छ । कोभिड १९ महामारीपछि संघको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै सघंले यस्तो जानकारी गराएको हो ।

    ५० देशका ३ सयभन्दा बढी शहरमा रहेका नेपालीलाई राहत वितरण गरिएको बताइएको छ । संघले समस्यामा परेका नेपाली श्रमिकमध्ये घरफिर्तीका लागि ३२४ जनाको पीसीआर परीक्षण तथा २१७ जनालाई आंशिक हवाई टिकटको समेत व्यवस्थापन गरेको समेत जानकारी गराएको छ ।

    रोजगारी गुमाएका, सामान्य गल्तीका कारणले स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका, बिरामी, विशेष आवश्यकता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग खर्चिएको संघले उल्लेख गरेको छ । संघले धेरै नेपाली श्रमिक भएका मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत तथा ओमानलगायत मुलुकमा राहत र उद्धारको विशेष अभियान चलाएको थियो ।

    आज सम्पन्न भर्चुअल पत्रकार सम्मेलनमा संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारसँगको सहकार्यमा खाना तथा बासको व्यवस्था, घरफिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स्वास्थ्य समस्यामा परेका नेपालीलाई सहयोग गरिएको उल्लेख गरेका छन् ।

    संघका महासचिव डा. हेमराज शर्माले कोभिड १९ पछाडि देखिन सक्ने मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर विश्वभर २०० बढी नेपाली चिकित्सक परिचालित गरिएको जानकारी दिए ।

  • दक्षिण कोरियामा राहदानीको अवधि सकिएपछि भिसा थप नहुने

    दक्षिण कोरियामा राहदानीको अवधि सकिएपछि भिसा थप नहुने

    काठमाडौं । दक्षिण कोरियामा बसोबास गरिरहेका विदेशी नागरिकको राहदानीको अवधि सकिएपछि भिसा स्वतः अमान्य हुने भएको छ । कोरियाली न्याय मन्त्रालयबाट आएको नयो नयाँ नियमबारे त्यहास्थित नेपाली दूतावासलाई समेत जानकारी गराइएको छ ।

    दूतावासका अनुसार अब भिसा थप गर्न विदेशी नागरिकको राहदानकी अवधि पनि मिति गुज्रीएको हुनु हुँदैन । नेपाली राजदूतावासले सूचना जारी गर्दै यसबारे नेपाली समुदायलाई जानकारी गराएको छ ।

    इपिएस माध्यमद्वारा इ नाइन भिसामा आउने नेपाली श्रमिकको शुरुमा तीन वर्षको सम्झौता हुन्छ । बाँकी एक वर्ष १० महिना प्रवेशाज्ञा थपिने गरेको छ । नयाँ नियमानुसार त्यसबेला राहदानीको अवधि कायम भएको हुनुपर्नेछ ।

    अन्यथा भिसा थप नहुने र विदेशी कामदार घर फर्कनु पर्नेछ । यो नियम १ जुलाई २०२१ बाट कार्यान्वयनमा आउने भएको हो । कोरियामा एफ फाइभ, एफ टु फोर, जी वान सिक्स भिसाबाहेक अन्य भिसा लिएका विदेशी नागरिकको भिसा थप हुन अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने नियम ल्याइएको हो ।

    पहिलो चरणमा विविध कारण तत्काल राहदानी नवीकरण गर्न नसक्ने कामदारका लागि भने कारणअनुसार आगामी डिसेम्बरसम्म मात्र भिसा थप हुन सक्ने दूतावासको सूचनामा उल्लेख छ ।

  • आज बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै

    आज बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै

    काठमाडौं । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज बस्दैछ । यो बैठक श्रीलङ्काले आयोजना गरेको हो । बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्दैछन् । बैठक अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको मन्त्रालयले जनाएको छ ।

    बुधबार भर्चुअल रूपमै आजको बैठकबारे तयारी बैठक बसेको थियो । सो बैठकमा भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए । बैठकले बिहीबार भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तु तय गरेको छ ।


    बुधबारको उच्चस्तरीय बैठकले सङ्गठनको विभिन्न सम्बन्धित विषयका बारेमा छलफल गर्दै मूल्य मान्यताको स्थापना, संस्थागत समृद्धि, बिमस्टेक अन्तर्गत सहयोगी क्षेत्र र त्यसलाई सुलभ बनाउने उपाय, बिमस्टेकको बडापत्र, बिमस्टेकको बृहत् योजनालगायतका कानुनी कागजातलाई अन्तिम रूप दिने कामलाई अगाडि बढाउन आवश्यक तयारी गरेको मन्त्रालयले जनाएको छ ।

    सम्पर्क सञ्जालको गठन, बिमस्टेक सचिवालयका लागि सन् २०२० को आर्थिक बजेट तथा सन् २०२१ का लागि अनुमानित बजेटका विषयलगायतका बारेमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा १७औँ मन्त्रीस्तरीय बैठकको तयारीका बारेमा पनि बृहत् छलफल गरेको थियो ।


    बुधबारको बैठकमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्चाधिकारीको सहभागिता रहेको थियो । बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमार र थाइल्यान्ड रहेका छन् ।

  • रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

    रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

    काठमाडौं । वैदेशिक रोजगारी जाने श्रमिकको अब अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी मिल्नु पर्ने भएको छ । त्यसरी नमिलेको पाइएमा भने विमानस्थल बाटै फर्काइने भएको छ ।

    वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिन गरेको वा नक्कली बायोमेट्रिक लिएको अवस्था भए उनीहरु विमानस्थलबाटै फर्कनुपर्ने स्पष्ट पारेको छ ।

    यो व्यवस्था १ वैशाखबाटै लागु हुने भएको छ । पछिल्लो समयमा विभागले गरेको अनुगमनका क्रममा वैदेशिक रोजगारीका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने, दिने गरिएको पाइएको छ ।

    तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराइएको भेटिएको भन्दै विभागले अब कडाई गर्न लागेको छ । विमानस्थलको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितिमा मिलान गराउँदा आधिकारिक नभएको पाइएपछि यस्तो नियम ल्याइएको हो ।


    नक्कली बायोमेट्रिकको प्रयोग गरी विदेश जाँदा श्रमिक स्वयमले असुविधा भोग्नुपर्ने
    भन्दै यस्तो जोखिम नलिन समेत आह्वान गरेको छ । नक्कली बायोमेट्रिक प्रयोग गर्दा बीमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुन्छ ।

    बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानून तथा अन्य आवश्यक कानुनसम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट वञ्चित हुने विभागले स्पष्ट पारेको छ ।

    अभिमुखीकरण तालिम प्रदायक संस्थाले सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई हाजिरी विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनुपर्ने भएको छ ।

  • गैरआवासीय नेपालीको लगानी रहने कम्पनी दर्ता सम्पन्न, अब आइपीओ जारी गर्ने तयारी

    गैरआवासीय नेपालीको लगानी रहने कम्पनी दर्ता सम्पन्न, अब आइपीओ जारी गर्ने तयारी

    काठमाडौं । विदेशमा परिश्रम गरी कमाएको रकमले मातृभुमी नेपालमा लगानी गर्ने उद्देश्यले खोलिएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड नामक कम्पनी औपचारिक रुपमा दर्ता भएको छ ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नेतृत्वमा लगानी कम्पनी दर्ता भएको हो । यो कम्पनीमा नेपाल सरकारको ५ प्रतिशत शेयर रहने भएका छ । बाँकि लगानी भने विदेशमा बस्ने गैरआवासीय नेपालीको रहने भएको छ ।

    सङ्घले मङ्गलबार कम्पनी रजिष्ट्रारको कार्यालयबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार अहिलेसम्म उक्त कम्पनीमा दुई अर्ब रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भइसकेको छ । यसै हप्ताबाट उक्त रकम प्राप्त हुन थाल्नेछ ।
    सङ्घले उक्त कम्पनीमार्फत नेपालका उद्यम, पूर्वाधार र व्यवसायका क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । प्रारम्भिक चरणमा दस अर्ब रुपियाँ लगानी गर्ने योजना बनाएको कम्पनीका लागि ८५ प्रतिशत रकम प्राथमिक सेयर (आईपीओ)मार्फत जुटाउने तयारी छ ।

    उक्त प्रक्रिया पनि छिटै सुरु गरिने अध्यक्ष पन्तले जानकारी दिए । उनका अनुसार कम्पनीको आईपीओमा गैरआवासीय नेपालीले आवेदन दिन सक्ने छन् । आईपीओमा तोकिएकोभन्दा अधिक रकम प्राप्त भएको अवस्थामा उक्त रकमलाई पनि लगानी गर्ने सुविधासमेत सङ्घलाई उपलब्ध हुने छ ।

    सङ्घका अनुसार अहिलेसम्म लगानीका लागि १७० वटा परियोजनाको प्रस्ताव आएको छ । त्यसमध्ये दुई दर्जन परियोजना छनोट गरेर सम्भाव्य क्षेत्रमा लगानी गर्ने सङ्घले जनाएको छ । सम्भाव्यता अध्ययनका लागि सङ्घले बैङ्कर अनलराज भट्टराईको संयोजकत्वमा विज्ञ टोली पनि गठन गरेको छ ।

  • भारतीय राष्ट्रपतिको मुटुको शल्यक्रिया, राष्ट्रपति भण्डारीबाट स्वास्थ्य लाभको कामना

    भारतीय राष्ट्रपतिको मुटुको शल्यक्रिया, राष्ट्रपति भण्डारीबाट स्वास्थ्य लाभको कामना

    काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको सफल शल्यक्रिया गरिएको छ । आज भएको सफल शल्यक्रियापछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनको स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

    राष्ट्रपति भण्डारीले साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतीय समकक्षीको स्वास्थ्य लाभको कामना गरेकी हुन् । शल्यक्रिया सम्पन्न भएकोमा राष्ट्रपतिले खुुशी व्यक्त गरेकी छिन् ।

  • रुसमा नेपाली पत्रकार श्रेष्ठको निधन

    रुसमा नेपाली पत्रकार श्रेष्ठको निधन

    मस्को । रुसमा बसेर नेपाली भाषा–साहित्य तथा पत्रकारितामा योगदान गरिरहेका कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले यसको पुष्टी गरेका छन् । उनले भाषा, साहित्य र नेपाल–रुस मित्रतामा श्रेष्ठको योगदान स्मरणीय रहेको बताएका छन् ।

    श्रेष्ठ जगदम्बा पुरस्कार विजेता समेत हुन् । उनको रुसको राजधानी मस्कोमा ८३ वर्षको उमेरमा निधन भएको हो । उनले रुसमा नेपाल विद्या केन्द्र सञ्चालन गर्दै आएका थिए ।केन्द्रमार्फत उनले रुसी–नेपाली भाषामा अनुवाद आदानप्रदान गराएर भाषा–साहित्यको प्रचार गर्दै आएका थिए ।

    ‘इ.भा.मिनाएभको नेपाल’, ‘रुसमा नेपालको अध्ययन’, ‘रुसी महावीरहरुको कथा’, ‘नेपाली किंवदन्तीमाला’, ‘स्थाननामकोष’, ‘दर्शनशाश्त्रको प्रारम्भिक ज्ञान’, ‘रुसमा नेपालको छवि’लगायत थुप्रै रचना उनले गरेका छन् । उनले २०५९ सालमा जगदम्बा पुरस्कार प्राप्त गरेका हुन् ।

  • बेलायतले म्यानमारबाट आफ्ना नागरिकलाई फिर्ता बोलायो

    बेलायतले म्यानमारबाट आफ्ना नागरिकलाई फिर्ता बोलायो

    काठमाडौं । बेलायत सरकारले म्यानमारबाट आफ्ना नागरिकलाई स्वदेश बोलाएको छ । सेनाले नरसंहार थालेसँगै म्यानमार असुरक्षित बनेको छ । सेनाले सडकमा हिड्ने मानिसहरुलाई ताकी ताकी गोली हान्न थालेसँगै बेलायतले आफ्ना नागरिकलाई घर फर्कन भनेको हो । म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको ज्यादतीको यूरोप, अमेरिका, जापान, अस्ट्रेलियासहितका मुलुकको कडा निन्दा गरेका छन् ।

    शनिबार सेनाले देखाएको बर्बरताको भिडियोहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । जहाँ अमानवीय तरिकाबाट सेनाले सडकमै निहत्था मानिसको हत्या गरेको देखिएको छ । शनिबार सेनाले बालबालिकासहित एक सय १४ जनाको हत्या गरेको थियो । १ फेब्रुअरीमा सेनाले यहाँको सत्ता हातमा लिएको थियो । सेनाको कदमको विरोधमा म्यानमारमा हिंसा भड्किएको छ । यहाँ ४ सयभन्दा धेरै प्रदर्शनकारीको ज्यान गइसकेको छ ।

  • भारतीय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप प्रदान

    भारतीय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप प्रदान

    काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोरोनाभाइरस विरूद्धको एक लाख डोज खोप दिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार खोप आइतबार काठमाडौं आएको हो । सेनाले कोभिड १९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यसहित भारतीय सेनाबाट नेपाली सेनालाई भ्याक्सिन प्राप्त भएको जनाएको छ ।

    भ्याक्सिनको ‍औपचारिक हस्तान्तरण भने केही दिनपछि हुने छ । भारत सरकारले नेपाल सरकारलाई यसअघि नै १० लाख डोजखोप अनुदानमा दिइसकेको छ । नेपाल र भारतका सेनाबीच सुमधुर सम्बन्ध रहेको छ । दुबै मुलुकले एक अर्का मुलुकका सेनापतिलाई मानार्थ सेनापतिको उपाधी दिने प्रचलन रहेको छ ।

  • कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

    कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

    काठमाडौं । कोरोना भाइरस -कोभिड १९_ संक्रमणबाट विदेशमा थप ३ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार युकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

    गैरआवासीय नेपाली संघ -एनआरएनए_ का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २२ देशमा रहेका ३ सय ४५ जना नेपालीको निधन भएको छ । संयोजक डा. सापकोटाका अनुसार यो साता बेल्जियम, मलेसिया र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

    हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार ९ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ। यसैबीच, कोरोना भाइरसका कारण नेपालमा ३ हजार ३७ जनाको निधन भएको छ ।

    नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५० जना भने २ लाख ७२ हजार ४ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत छ ।

    स्वास्थ्य समितिका संयोजक डा.सापकोटाले पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे ।

    उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोर दोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाईका साथ पालना गर्न उनले सुझाए ।

  • इजिप्टमा रेल दुर्घटना, कम्तिमा ३२ जनाको मृत्यु

    इजिप्टमा रेल दुर्घटना, कम्तिमा ३२ जनाको मृत्यु

    कायरो । इजिप्टमा रेल दुर्घटनामा गरी कम्तिमा ३२ जनाको मृत्यु भएको छ । दुर्घटना शुक्रबार भएको हो । घटनामा ६६ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका अनुसार घटनास्थलमा ३६ एम्बुलेन्स परिचालन भएका थिए ।

    घाइतेको स्थानीय अस्पतालहरुमा उपचार जारी रहेको छ । प्रहरीका अनुसार दुई रेल एक आपसमा ठोक्किएर दुर्घटनामा परेको हो । इजिप्टको लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वानतर्फ जादै गरेको रेल एक आपसमा ठोक्किएको बताइएको छ ।

    देशको दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेशमा दुर्घटना भएको हो । घटनास्थल राजधानी कायरोदेखि ४७६ किलोमिटर टाढा पर्ने बताइएको छ ।

  • यतिले गर्यो काठमाडौं-वनारस परीक्षण उडान

    यतिले गर्यो काठमाडौं-वनारस परीक्षण उडान

    काठमाडौं । काठमाडौं-वनारस रुटमा यति एयरलाइन्सले परीक्षण उडान गरेको छ । बुधबार भएको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ । दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरूमा चार्टर्ड र नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको यतिले परीक्षण उडान पुरा गरेको हो ।

    यसअघि बनारसमा बुद्धको उडान थियो । तर, कोरोना भाइरसपछि रोकिएको छ । कम्पनीले परीक्षण उडान पुरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझापछि यही प्रतिवेदनका आधारमा प्राधिकरणले अनुमति दिने प्रावधान रहेको छ । बुधबार यतिको परीक्षणका लागि वरिष्ठ पाइलट रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेल सहितको उडान टोलीले उडान भरेको थियो ।

    ‘नाइन एन एएमएन’कल साइन भएको एटिआर ७२ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बिहान १०ः ०७ बजे लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय हवाइ अड्डा वाराणसी, भारतका लागि उडान भरेर बेलुका ५ः४८ मा पुनः काठमाडौंमा अवतरण गरेको थियो ।

    एयरलाइन्सले आगामी दिनमा मध्यम दुरीमा उडान गर्नका लागि मध्यम सिट जहाज भित्र्याउने लक्ष्य समेत राखेको छ । आगामी दिनमा चार्टर उडान मार्फत् थप पर्यटक भित्र्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । सन् २०२१ भित्रै दुईवटा एटिआर ७२ वायुयान थप्ने योजना बनाएको यस कम्पनीले अहिले एटिआर ७२ र जेटस्ट्रिम वायुयान मार्फत् विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

  • नेपालले पनि अब इ-पासपोर्ट बाड्ने

    नेपालले पनि अब इ-पासपोर्ट बाड्ने

    काठमाडौं । नेपालले अब इ-पासपोर्ट वितरण गर्ने भएको छ । अहिले नेपालमा मेसिन रिडएबल पासपोर्ट (एमआरपी) प्रचलनमा रहेको छ । एमआरपीलाई समेत विस्थापित गरी अब इ-पासपोर्टमा जान लागेको राहदानी विभागले जनाएको छ , विभागले अतिआवश्यक नपरेसम्म एमआरपी नबनाउन समेत आग्रह गरेको छ । आगामी सेप्टेम्बरबाट नेपालमा इपासपोर्ट प्रचलनमा आउने भएको हो ।

    विभागले इ-पासपोर्ट छाप्ने तयारी पूरा गरिकसेको समेत जनाएको छ । इ-पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको छ। यो कम्पनीले त्रिपुरेश्वरमै पासपोर्ट छाप्ने भएको हो ।

    संचारमाध्यमहरुका अनुसार कम्पनीसँग २० लाख प्रति पासपोर्ट छाप्ने सम्झौता भएको छ । नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुनेछ । यो पासपोर्ट बोकेपछि प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने विभागको भनाई छ ।

    संसारका १२० मुलुकमा इपासपोर्ट प्रचलनमा रहेको छ । इ-पासपोर्ट र एमआरपीको मूल्यमा समेत फरक नहुने भएको छ । नेपालले सन् २०१० मा हस्तलिखित पासपोर्ट विस्थापित गर्दै मेसिन रिडएबल पासपोर्ट प्रचलनमा ल्याएको हो । इपासपोर्ट आए पनि अहिले जारी भएका एमआरपी म्याद नसकिउन्जेल प्रयोगमै रहने भएका छन् ।

  • बंगलादेश भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

    बंगलादेश भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमण पुरा गरी स्वदेश फर्किएकी छिन् । उनी मंगलबार नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत काठमाडौं अवतरण गरेकी हुन् ।


    राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा.शीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।

    राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । त्यसक्रममा नेपाल र बंगलादेशबीच पर्यटन र व्यापार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न चार महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

  • नेपाली खेलाडी उज्ज्वल ठकुरीले पाकिस्तानी ओलम्पियनको रेकर्ड तोड्दै विश्व कीर्तिमान राखे

    नेपाली खेलाडी उज्ज्वल ठकुरीले पाकिस्तानी ओलम्पियनको रेकर्ड तोड्दै विश्व कीर्तिमान राखे

    न्युयोर्क

    नेपाली कँराते खेलाडी तथा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ८ रेकर्ड राखिसकेका उज्ज्वल ठकुरीले आफ्नो नाममा ९ औं रेकर्ड पनि कायम राखेका छन् । यसपटक उनले पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रसिदले राखेको कीर्तिमानलाई तोडेका हुन् ।

    रसिद ३० पटक बिभिन्न विधाका विश्व किर्तिमानधारी उत्कृष्ट खेलाडी हुन् । ठकुरीले हालै भारतको ओलम्पिक तेक्वान्दो खेलाडीको विश्व कीर्तिमानलाई भंग गरेको केही समयमै पुन: पाकिस्तानका शीर्ष खेलाडीको किर्तिमानलाई भंग गरेपछि थप महत्व बढेको छ । रसिद पाकिस्तान एकडेमी अफ मार्शल आर्टका प्रमुख हुन् ।

    ठकुरीले ९ औं उपाधि ५ केजी वजन खुट्टाले बोकेर ४ फिट माथि १ मिनेटमा ८३ चोटी घुँडा प्रहार पुरा गरी हाँसिल गरेका हुन् ।

    यसपटक ठकुरीले यो कीर्तिमान १ मिनेटमा ८३ चोटी घुडा प्रहार गरेर आफ्नो नाममा दर्ता गरे । अर्थात् प्रति सेकेन्ड भन्दा छिटो ५ केजी वजन खुट्टाले बोकेर घुडा प्रहार गरेका थिए ।

    सो उपाधि ३ वर्षअघि भारतको तेक्वान्दो खेलाडी बडे साईले १ मिनेटमा ५५ चोटी प्रहार गरि हासिल गरेका थिए भने ठकुरीले त्यो कीर्तिमान फेब्रुअरी २९ ,२०२० मा ७१ चोटी प्रहार गरि उनको किर्तिमान प्राप्त गरेका थिए । तर पुनः पाकिस्तानको खेलाडीले मार्च १,२०२० मा ७८ चोटी प्रहार गरि ठकुरीको उपाधि खोसेका थिए । यसपटक ठकुरीले यो कीर्तिमान १ मिनेटमा ८३ चोटी घुडा प्रहार गरेर आफ्नो नाममा दर्ता गरे । अर्थात् प्रति सेकेन्ड भन्दा छिटो ५ केजी वजन खुट्टाले बोकेर घुडा प्रहार गरेका थिए ।

    त्यस्तै दोस्रो ५ केजी वजन खुट्टाले बोकेर ४ फिट माथि किकप्याडमा समाउन लगाएर ३ मिनेट भित्र १५७ घुडा प्रहार समाप्त गरी नयाँ बिश्व कीर्तिमान हात पारेका छन् । सोही कीर्तिमान भारतको बडे साइले ३ मिनेटमा ५ केजी बोकेर ८७ चोटी प्रहार गरेका थिए भने मोहम्मद रसिदले ३ मिनेटमा १५२ चोटी प्रहार गरेका थिए । भारत र पाकिस्तानको एकै चोटी दुवै रेकर्ड तोड्न सफल भएका हुन।

    रेकर्डका विषयमा गम्भिर हुँदै ठकुरीले भने; “खेलाडले देशको लागि पसिना बगाउँछ, मेरो मन, वचन र कर्ममा ९ ओटा रेकर्ड राख्दै गर्दासम्म नेपाल र नेपालित्व बाहेक केही छैन” ।

  • कोरोनाको दोस्रो लहर भित्रन नदिन नेपाल-भारत सीमामा कडाई शुरु

    कोरोनाको दोस्रो लहर भित्रन नदिन नेपाल-भारत सीमामा कडाई शुरु

    काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ । भारतका अधिकांश राज्यबाट नयाँ नयाँ संक्रमित पुष्टी भइरहेका छन् । यस अवस्थामा त्यो जोखिम नेपाल नआओस भन्ने उद्देश्यले नेपाल-भारत सीमानामा कडाई शुरु भएको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई सीमा नाकामा चेकजाँच हुने भएको छ ।

    कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएमा यात्रु क्वारेन्टिन बस्नु पर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. कृष्ण पौडेलका अनुसार भारतबाट नेपाल आएका र कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई क्वारेन्टिनमा राखिने भएको हो ।

    सोमबारमात्रै विभिन्न नाकाबाट ३३०० जना व्यक्ति नेपाल प्रवेश गरेका छन् । यसरी भित्रने सबै यात्रुको हेल्थ डेस्कमा ज्वरो जाँचिन्छ । ज्वरो आएका यात्रुहरुको मलेरियाको आडीटी र सम्भव भएसम्म कोभिड १९ को एन्टिजिन टेष्ट गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।

    संक्रमित भेटिए स्वास्थ्य संस्थामा पठाइनेछ । महाशाखाले पालिकाहरुमा हट स्पटको पहिचान गर्न र समुदायस्तरमा एन्टिजिन परीक्षणसम्बन्धी मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ ।

  • राष्ट्रपति भण्डारी आज ढाका जाँदै

    राष्ट्रपति भण्डारी आज ढाका जाँदै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेशको राजधानी प्रस्थान गर्ने भएकी छिन् । उनी दुई दिने राजकीय भ्रमणको सिलसिलामा बंगलादेश जान लागेकी हुन् । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो ।

    उनी नेपाल एयरलाइन्सको विशेष चार्टर जहाजबाट बिहान पौने ९ बजे बंगलादेश उड्ने कार्यक्रम छ । दुई दिने भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हुने छ । यस भ्रमणका दौरान कुल ४ वटा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

    राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुनेछिन् । भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा वार्ता गर्नेछिन् । भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । ढाकास्थित नेपाली दूतावास भ्रमण गर्ने र नेपाली समुदायसँग भेट गर्ने कार्यसूची समेत रहेको छ । टोलीमा परराष्ट्रमन्त्रीसहित उच्च सरकारी अधिकारीसमेत रहने छन् ।

  • बेलायतमा आजबाट जनगणना, नेपालीलाई समेत भाग लिन आह्वान

    बेलायतमा आजबाट जनगणना, नेपालीलाई समेत भाग लिन आह्वान

    लण्डन । संयुक्त अधिराज्य (बेलायत)मा आजबाट राष्ट्रिय जनगणना शूरु हुँदैछ । यस अवसरमा त्यहाँ रहेका नेपालीलाई समेत सक्रिय सहभागिता जनाउन विभिन्न संघसंस्थाले आह्वान गरेका छन् । यसले पहिचान स्थापित गर्न सहयोग गर्ने बताइएको छ । संयुक्त अधिराज्यका चार राज्यमध्ये इङ्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा राष्ट्रिय जनगणनामा हुन लागेको हो ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूके, इङ्ल्यान्ड राज्य समन्वय परिषद्ले समेत यस जनगणनामा भाग लिन नेपाली समुदायलाई आह्वान गरेका छन् । जनगणनामा कोही पनि नछुटुन् भनेर हेल्पलाइन समेत एनआरएनएले सञ्चालनमा ल्याएको छ ।

    घरमै बसेर अनलाइनमार्फत फाराम भर्न सकिने भएको छ । यसले नेपालीको सहभागिता बढ्नेछ । पछिल्लो जनगणनामा इङ्ल्यान्ड र वेल्समा ६० हजार २०२ र स्कटल्यान्डमा एक हजार २६८ जना नेपालीले नाम लेखाएका थिए ।

  • कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतमा एक नेपालीको मृत्यु

    कुवेत । वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको ज्यान गएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार कपिलवस्तुका ३० वर्षीय यम ठकुरीको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा ज्यान गएको हो । उनी उच्च रक्तचापका कारण पिडित थिए । उनको शुक्रबार मृत्यु भएको हो । ७ वर्षदेखि कुवेतमा कार्यरत उनी कुन कम्पनीमा थिए भन्ने चाँही खुलेको छैन । ठकुरीको शव उनको परिवारसँग समन्वय गरेर नेपाल पठाइने दूतावासको भनाई छ ।

  • कुवेतमा कोरोनापछि लागेको प्रतिवन्ध हट्यो, नेपाली पनि जान सक्ने

    कुवेतमा कोरोनापछि लागेको प्रतिवन्ध हट्यो, नेपाली पनि जान सक्ने

    कुवेत । कोरोना महामारी फैलिएपछि कुवेतले मुलुक प्रवेशमा लगाएको प्रतिबन्ध हटाएको छ । यसले नेपाली कामदार समेत लाभान्विन हुने भएका छन् । नेपालसहित ८ मुलुकका नागरिकले कुवेतले अझै प्रवेश अनुमति दिएको थिएन । प्रतिबन्ध फुकुवा भएपछि आगामी मार्च २५ तारिखबाट नेपालसहित बहराइन, युएई, भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलंका र टर्की लगायतबाट विदेशी श्रमिक कुवेत जान सक्ने भएका हुन् ।

    कुवेत जानु अगाडी कोरोना पीसीआर परिक्षण गरी नेगेटिभ रिर्पोट भने आएको हुनुपर्छ । यस्तो अवधि ७२ घण्टाको तोकिएको छ । पीसीआर रिपोर्टमा कोरोना रिपोर्ट नेगेटिभ आएपनि ज्वरो र रूघाखोकीको लक्षण देखिए पनि कुवेतले प्रवेश दिने छैन । कुवेतले आगामी सेप्टेम्बरपछि भने कोरोना विरुद्धको खोप नलगाएका आप्रवासी कामदारको आवासीय अनुमति पत्र समेत नविकरण नगर्ने भएको छ । कुवेतमा कोरोना खोप नि:शुल्क दिइएको छ ।

  • ७ महिनामा विदेशबाट नेपालीले पठाए ५ खर्ब ६७ अर्ब रेमिट्यान्स

    ७ महिनामा विदेशबाट नेपालीले पठाए ५ खर्ब ६७ अर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष २०७७\७८ को ७ महिनामा सम्ममा विदेशमा रहेका नेपालीले ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७\०७८ को ७ महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भएको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु.६२९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।

  • यो साता विदेशमा कोरोनाबाट नेपालीको शुन्य मृत्यु

    यो साता विदेशमा कोरोनाबाट नेपालीको शुन्य मृत्यु

    काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो ६ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भइसकेको छ ।

    गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता कोरोना सङ्क्रमण दरमा समेत उल्लेख्यरुपमा कमी आएको छ । यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका थप नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

    उनका अनुसार अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३०७ नेपालीमा कोरोना पुष्टि भएको छ । तीमध्ये ६१ हजार २३७ सङ्क्रमण मुक्त भएका छन् । कोरोनाका कारण नेपालमा तीन हजार १४ जनाको निधन भएको छ । नेपालमा कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७५ हजार १७८ जना भने दुई लाख ७१ हजार २४९ कोरोनाबाट मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।

    समितिका संयोजक डा सापकोटाका अनुसार हाल विश्वभर प्रयोगमा रहेका खोप सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउन संघले आग्रह समेत गरेको छ । केही अपवादबाहेक खोप प्रयोगबाट गम्भीर समस्या नदेखिएकाले खोप लगाउन संघले आह्वान गरेो छ ।

  • साउदीमा आप्रवासी कामदारलाई सहज कानून, मालिकको अनुमतिबीना काम छाड्न सक्ने

    साउदीमा आप्रवासी कामदारलाई सहज कानून, मालिकको अनुमतिबीना काम छाड्न सक्ने


    दमाम । साउदी अरबमा वैदेशिक रोजगारीमा गएका कामदारले अब काम छाड्न चाहेमा मालिकको अनुमति चाहिने छैन । विदेशी कामदारलाई सहज हुने गरी साउदीले प्रणालीमा सुधार गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् । साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा यस्तो कानूनको घोषणा गरेको थियो । यसको कार्यान्वयन भने आजबाट सुरु भएको छ ।

    अब साउदीमा विदेशी कामदारले मालिकको अनुमतिबिनै साउदी आउन वा बाहिरिन सक्ने छन् । विदेशी कामदारले काम परिवर्तन गर्न चाहेमा समेत मालिकको पूर्वस्वीकृति अनिवार्य हुने छैन । साउदीमा अहिले एक करोड हाराहारी विदेशी कामदार रहेको अनुमान छ । उनीहरु सबैका लागि यो कानून मान्य हुन भएको हो । यसअघिको प्रावधानले विदेशी कामदारको हक खोसिएको भन्दै विरोध भएको थियो ।