Category: डायस्पोरा

  • लायन खगेन्द्र सिटौलाले दिए अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी

    लायन खगेन्द्र सिटौलाले दिए अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी

    काठमाडौ / लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ काठमाडौं ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौलाले अन्तर्राष्ट्रिय निर्देशक पदमा सोमबार दिउँसो १२:१५ मा आसय पत्रका साथ उम्मेद्बारी दिनुभएको छ।

    लायन्स क्लब अफ दिङ्ला भोजपुरले काठमाडौंको बौद्ध स्थित कुशल वैंकेटमा आयोजना गरेको उक्त अनौपचारिक कार्यक्रममा सिटौलाले अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी दर्ता गरेको घोषणा गरेका हुन्।

    नेपालस्थित डिस्ट्रिक ३२५ ए १ का गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर एंव हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पुर्व मन्त्री लायन शंखर कोइराला, नेपालको पहिलो महिला गभर्नर लायन सुश्मा शर्मा,पि.डि.जि. बि १ लायन गौतममान श्रेष्ठ,लायन बिमल चापागाईं,लायन शंकर कोइराला,लायन उत्तर चापागाईं,लायन शम्भु घिमिरे,चार वटा डिस्ट्रिकबाट गभर्नर ,पुर्व गभर्नर, सहित बिभिन्न क्लबका पदाधिकारीहरु सहित लायन्स लिडर तथा लियो लिडरहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।


    कार्यक्रममा आफ्नो भनाइ राख्दै जि ए टि लिडर लायन खगेन्द्र सिटौलाले लायन्स क्लबलाई एउटा मन्दिरको रुपमा स्थापना गरेको बताउनु भयो। नेपालको छवि स्वच्छ राख्न अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवारी दिएको बताउदै सम्पूर्ण लायन्स लिडर तथा सदस्यहरुलाई साथ र सहयोगका साथै शुभकामनाको लागि धन्यवाद दिनु भयो।
    सो कार्यक्रममा शुभकामना मन्तव्य दिदै पि डि जि लायन गौतममान श्रेष्ठले दुई दशक अगाडि अवसर दिदा कोहि कसैले उम्मेद्बारीको लागि चासो नदिएको बताउदै हाल नेपालमा लायन्सका सदस्य र क्लब बढेको देख्दा चकित भएको बताएका छन् ।लायन्स क्लब अन्तर्राष्ट्रियमा निर्देशक पदमा हामिले अबका दिन वर्षैपिच्छे प्रतिनिधित्व गर्नुपर्छ भन्ने भनाइ लायन शभ्भु घिमिरेको थियो ।

    कार्यक्रममा डिस्ट्रिक ३२५ ए १ पुर्व डिस्ट्रिक गभर्नर एबम हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवालले लाइनिजमको दुई दशकको लामो समयमा चारवटै डिस्ट्रिकमा आएको समस्या फुकाउन सिटौला जहिले पनि अघि सरेको भन्दै योगदानको चर्चा गर्दै हमेसा साथ र समर्थन गर्ने प्रतिबद्धता गरे।माइ एल सि आइमा बीस लाख घण्टा सेवा पुर्‍याउन सफल डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले सिटौलालाई नेपाली लाइनिजमको धरोहरको संज्ञा दिदै गौरवको दिन हो भनी सिटौलाले डोहोर्‍याएर ल्याउनु भएको लिडर आफू बताउनु भयो।


    कार्यक्रममा अधिकांस वक्ताहरूले अन्तर्राष्ट्रियमा लायन्सका कुरा प्रष्ट राख्न,देशको हकहित स्थापित गराउन सिटौलालाई साथ समर्थन गर्ने बाचाका साथै अन्तर्राष्ट्रिय निर्देशक बनेर आउ है भनी शुभकामना व्यक्त गरेका छन् ।

  • कुवेतमा सात नेपाली महिला पक्राउ

    कुवेतमा सात नेपाली महिला पक्राउ

    काठमाडौं । कुवेतमा सात जना नेपाली महिला पक्राउ परेको कुवेती संचारमाध्यमले जनाएका छन् । कुवेत प्रहरीले घरेलु कामदारलाई भगाई अर्को साहूलाई बेचेको अभियोग उनीहरुमाथि लगाएको छ पक्राउ पर्नेमा सबै नेपाली नागरिक रहेको बताइएको छ ।

    घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध तरिकाले बेचबिखन गरेको आरोप उनीहरुमाथि लागेको छ ।

    कुवेतमा घरेलु कामको लागि महिला कामदार लैजान सरकारले कडाई गरेको छ । यसअघि भारतको बाटो हुँदै धेरै नेपाली महिलालाई त्यहाँ लगिन्थ्यो । अहिले भारतले समेत कडाई गरेको छ ।

    दलालहरूले भने घरमै काम गरिरहेका नेपालीलाई भगाउने र अर्को साहुलाई बिक्री गर्ने गरेको अरब टाइम्सले लेखेको छ । कुवेतले हालै भने नेपालसहित ५ देशबाट घरेलु कामदार आउन सक्ने गरी निर्णय गरेको छ । पक्राउ परेकाको परिचय भने सार्वजनिक गरिएको छैन ।

  • उत्तराखण्ड बाढी : एक नेपालीसहित २६ को शव फेला, अझै १७० वेपत्ता

    उत्तराखण्ड बाढी : एक नेपालीसहित २६ को शव फेला, अझै १७० वेपत्ता

    उत्तराखण्ड । भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लामा हिमताल फुटेर आएको भिषण बाढीमा परी कम्तिमा २६ को मृत्यु भएको पुष्टी भएको छ । त्यसमा एक जना नेपाली रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्दपी उनको पहिचान खुलेको छैन ।

    चार जना नेपालीको भने सकुशल उद्धार गरिएको छ । आइतबार साँझ इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीपीबी) को टोलीले गरेको उद्धारमा ४ जना नेपाली नागरिक समेत थिए । भारतीय संचारमाध्यमहरुका अनुसार भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा आएको बाढीमा परी हराइरहेकाको खोजी अझै जारी छ ।

    बीबीसीका अनुसार अझै १७० भन्दा बढी मानिस वेपत्ता छन् । २६ जनाको मृत्यु भएको छ भने २५ जनाको सकुशल उद्धार भएको छ । उनीहरुलाई चमोली जिल्लाको तपोवनस्थित ऋषिगंगा जलविद्युत्को सुरुङबाट जीवितै उद्धार गरिएको हो ।

    धौलीगंगा नदीमा आएको भिषण बाढीले ठूलो मानवीय क्षति गरेको छ ।
    उत्तराखण्डको जोशी मठनजिक हिमनदी फुटेको थियो । यसले धौलीगंगा, अलकनन्दालगायत नदीमा ठूलो बाढी आएको छ ।

    बाढीले चमोली जिल्लाको रैनी र तपवोवन क्षेत्रमा ठूलो क्षति गरेको छ । दुई गाउँ बगेका छन् । जोशी मठ नजिकै एक पुल बगेको छ । चारवटा जलविद्युत् आयोजना ध्वस्त भएका छन् । घटना आइतबार भएको हो । आज पनि खोज तथा उद्धार जारी रहने आईटीपीबीले जनाएको छ ।

  • नेपाली स्ट्राइकर अभिषेक भारतमा व्यवसायिक फुटबल खेल्ने तेस्रो खेलाडी बने

    नेपाली स्ट्राइकर अभिषेक भारतमा व्यवसायिक फुटबल खेल्ने तेस्रो खेलाडी बने

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेक रिजाल भारतको आइलिग क्लब आइजोल एफसीमा आबद्ध भएसँगै भारतबाट व्यवसायिक फुटबल खेल्ने तेस्रो खेलाडी बन्न सफल भएका छन् । अभिषेक २०२०\२१ सिजनको बाँकी खेल खेल्न आबद्ध भएका छन् ।

    अभिषेक यसअघि भारतकै मोहमेडन स्पोर्टिङ् क्लबमा थिए । तर, क्लवले उनको स्थानमा बंगलादेशका खेलाडी भित्राएपछि उनले खेल्ने मौका पाएनन् । अब भने उनलाई आइजोलले लिएको छ । यो क्लव मिजोरम राज्यको राजधानीको क्लब हो ।

    यो सिजन राष्ट्रिय टिमका गोलकिपर किरण चेमजोङ पञ्जावमा आवद्ध भएका छन् । मिडफिल्डर प्रकास बुढाथोकी नेरोकाबाट खेलिरहेका छन् । लिगमा आइजोल २ जित र २ बराबरी खेल्दै ८ अंकका साथ चौथो स्थानमा छ ।

  • विदेशबाट ६ महिनामा नेपालीले घर पठाए ५ खर्ब रेमिट्यान्स

    विदेशबाट ६ महिनामा नेपालीले घर पठाए ५ खर्ब रेमिट्यान्स

    काठमाडौं । विदेशमा बस्ने नेपालीले पछिल्लो ६ महिनामा करीव ५ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो ६ महिनामा विदेशबाट ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यसअवधिमा रेमिट्यान्स ११.१ प्रतिशतले वृद्धि भएको छ ।

    कोरोनाको त्रास हुनु अगाडिको अवस्था भन्दा रेमिट्यान्समा सुधार आएको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले मात्रै बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले मात्र वृद्धि भएको थियो ।


    रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढे पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने ह्वात्तै घटेको छ । ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा ६८.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो ।

  • कोरोनाका कारण विदेशमा थप तीन नेपालीको ज्यान गयो

    कोरोनाका कारण विदेशमा थप तीन नेपालीको ज्यान गयो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघले यस्तो जानकारी दिएको हो । संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको संक्रमणका कारण मृत्यु भएको छ । योसहित २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको सङ्ख्या ३३३ जना पुगेको छ ।

    गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८३२ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५६ हजार २४७ जना कोरोनामुक्त भएका छन् ।

    यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण नेपालमा दुई हजार ३५ जनाको मृत्यु भएको छ ।

    नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको सङ्ख्या दुई लाख ७१ हजार ८०६ जना छन् भने दुई लाख ६६ हजार ८१२ अर्थात् ९८ दशमलव पाँच प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले उल्लेख गरेका छन् ।

  • बेलायतबाट नेपाल आउने बाटो खुल्यो, १० दिन होटेल क्वारेन्टिन बस्नुपर्ने

    बेलायतबाट नेपाल आउने बाटो खुल्यो, १० दिन होटेल क्वारेन्टिन बस्नुपर्ने

    काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल आउन लगाएको रोक खुला गरेको छ । अब पर्यटक तथा नेपाली यात्रु बेलायतबाट सिधा उडान वा ट्रान्जिटका माध्यमबाट नेपाल आउन सक्नेछन् । तर, नेपाल आइसकेपछि भने १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

    नयाँ निर्णय अनुसार अब भाइरस नदेखिएको मुलुकबाट सिधै वा संक्रमण नभएको मुलुकमा ट्रान्जिट भई हवाई मार्गबाट नेपाल आउने यात्रु मात्र रहेको उडानबाट आएका यात्रुलाई अनिवार्य १० दिन होम क्वारेन्टिनमा बस्ने शर्तमा घर जान दिइनेछ । तर, कोरोनाको नयाँ भाइरसको संक्रमण भएका मुलुकबाट वा सो मुलुकमा ट्रान्जिट भई हवाईमार्गबाट आएका सबै यात्रुले भने अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

    यस्ता यात्रुको होटेलको खर्च यात्रु स्वयमले स्वयमःले बेहोर्नुपर्छ । यससँगै बेलायतमा लागेको यात्रा प्रतिवन्ध समेत फुकुवा भएको छ । होटेल क्वारेन्टिनमा बस्ने यात्रुले पाँच दिनपछि आफ्नै खर्चमा कोरोना परीक्षण गर्नुपर्ने नियम छ । त्यसपछि नेगेटिभ रिर्पोट आएमा थप ५ दिन होम क्वारेन्टिनमा बस्ने गरी गन्तब्यमा जान दिइने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

    कोरोनाको नयाँ रुप देखिएको मुलुकबाट सिधै उडान वा ट्रान्जिट उडानबाट आउने यात्रुले नेपालमा होटेल बुक नगरेसम्म हवाई टिकट समेत काट्न नपाउने गरी नियम बनेको छ ।

    हवाईमार्गबाट नेपाल आउने सबै यात्रुको साथमा यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टा भित्रको सम्बन्धित स्वीकृति प्राप्त प्रयोगशालामा कोभिड १९ परीक्षण गरेको नेगेटिभ रिर्पोट भने अनिवार्य साथमा बोक्नु पर्ने छ । सरकारले कोरोना खोपको मात्र पुरा गरेका यात्रुलाई भने निर्वाध गन्तब्यमा जान दिने निर्णय गरेको छ ।

  • सुकीलाई तत्काल रिहा गर : परराष्ट्र मन्त्रालय

    सुकीलाई तत्काल रिहा गर : परराष्ट्र मन्त्रालय

    काठमाडौं । म्यानमारमा सेनाको कुविरुद्ध नेपाल सरकारले समेत प्रतिक्रिया दिएको छ । सरकारले प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै नै पुनर्स्थापित हुने विश्वास व्यक्त गर्दै प्रजातन्त्रवादी नेताहरुलाई तत्काल रिहाईको समेत माग गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार साँझ प्रेस विज्ञप्ति निकाल्दै म्यानमार घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ ।

    म्यानमारी सेनाको नियन्त्रणमा रहेका राष्ट्रपति र स्टेट काउन्सिलर आङ साङ सुकीको सुरक्षाबारे चासो राख्दै सरकारले उनीहरुलाई रिहा गर्न भनेको छ । नेपाली कांगे्रसका सभापति शेर बहादुर देउवाले समेत म्यानमार घटना निन्दनिय भएको भन्दै प्रजातन्त्र पुनर्बहालीमा जोड दिएका छन् । म्यानमारमा सेनाले सत्ता हत्याएको विरुद्धमा सोमबार माइतिघरमा नागरिक समाजले विरोध प्रदर्शन समेत गरेको छ ।

  • जुन देशबाट आएपनि अब एनआरएनले अनअराइभल भिसा पाउने

    जुन देशबाट आएपनि अब एनआरएनले अनअराइभल भिसा पाउने

    काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई त्रिभुवन विमानस्थलमा अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागका अनुसार अब जुनसुकै मुलुकबाट नेपाल आउँदा पनि गैरआवासीय नेपाली (एनआरएन)ले अनअराइभल भिसा पाउने छन् । तर, यस्तो सुविधा तत्कालका लागि त्रिभुवन विमानस्थलमा मात्र उपलब्ध हुनेछ ।

    नेपाल आउँदा पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य तथा नेपाल आएपछि १० दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधान भने यथावत नै रहेको छ । यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएमा मात्र अनअराइभल भिसा दिने गरेको थियो ।

    अध्यागमन विभागले १० मंसिर, १० पुस र ११ माघको अनुसार मन्त्रिपरिषद्को निर्णयबाट भएका व्यवस्थाहरु सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । अब नेपाली मुलका विदेशी (राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको) वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली नागरिकलाई बिना शर्त अनअराइभल भिसा पाउने छन् ।

    यसबाहेक कुटनीतिकरऔपचारिक राहदान बाहक वा यूएनका कर्मचारीले समेत बिना शर्त अनअराइभल भिसा पाउने छन् । नेपालमा रहेका अन्तर्राष्टिय संस्थामा कार्यरत विदेशीलाई समेत अब बीना शर्त अनअराइभल भिसा दिइने विभागले जनाएको छ ।
    विदेशी नागरिकको हकमा विदेशबाटै नेपालको भिसा लिएर आएमा भने सबै विदेशीले प्रवेश अनुमति पाएका छन् । भिसा नभएका विदेशी पर्यटकले भने नेपाली नियोगबाटै भिसा लिएर नेपाल आउनु पर्नेछ ।

    भिसा लिएर आउन सम्भव नभएका भने सम्बन्धित सरकारी निकायको सिफारिस वा पूर्वस्वीकृति अनिवार्य गरिएको छ । त्यसो भएमा भने प्रवेश बिन्दुमा भिसा दिइनेछ ।

    नेपालबाट कुनै औपचारिक कार्यक्रममा भाग लिन विदेशमा गई पाँच दिन वा सो भन्दा कम अवधिमा नेपाल र्फकने पदाधिकारीले भने विदेशमा थप कोरोना परीक्षण गर्नु नपर्ने भएको छ ।

    उनीहरुलाई नेपालमै गरिएको परिक्षण मान्य हुने छ । नेपाल फर्किएपछि पनि उनीहरुले क्वारेन्टिनमा बस्नु नपर्ने गरी छूट दिने निर्णय सरकारले गरेको छ ।

  • विश्वविख्यात व्यक्तिलाई यूएइले नागरिकता दिने

    विश्वविख्यात व्यक्तिलाई यूएइले नागरिकता दिने

    यूएई । संयुक्त अरब इमिरेट्स (युएई)ले विश्वमा विभिन्न माध्यमबाट ख्याती कमाएका विदेशी नागरिकलाई आफ्नो मुलुकको समेत नागरिकता दिने घोषणा गरेको छ । यूएईमा बसिरहेका नागरिकलाई टिकाइराख्न उक्त मुलुकले सो नीति ल्याएको हो ।

    कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटसँगै हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारबाट यस्तो घोषणा आएको बीबीसीले लेखेको छ । युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारलगायत काबिल व्यक्तिहरुलाई युएईको नागरिकता दिइने भएको छ ।

    विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने नीति सरकारले ल्याएको हो । यसबाट युएईको विकासको यात्रामा योगदान दिन सक्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएको छ । यो घोषणाबाट विभिन्न क्षेत्रमा विशेषज्ञता हाँसिल गरी यस मुलुकमा बसिरहेका विदेशी नागरिक लाभान्वित हुने भएका छन् ।

    युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनु नपर्ने भएको छ । युएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिन नामावली तयार पार्नेछन् । ती नामावलीबाट स्वीकृत गर्ने काम भने मन्त्रीपरिषद्बाट हुने भएको छ ।

  • खोप लगाएर विदेशबाट नेपाल आए क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गरिँदै

    खोप लगाएर विदेशबाट नेपाल आए क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गरिँदै

    काठमाडौं । सरकारले नेपाल आउने नागरिक र विदेशीलाई खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गर्ने भएको छ । यसबारे छिट्टै मन्त्रिपरिषद्को निर्णय आउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार विदेशबाट खोप लगाएर आएमा नेपालमा निर्वाध हिँडडुल गर्न सकिने गरी निर्णय आउने छ ।

    यसका साथै पर्यटकको क्वारेन्टिन अवधि घटाएर पिसिआर परीक्षणमा नेगेटिभ आएलगत्तै बाहिर जान सकिने गरी नियम ल्याउन लागिएको छ । अहिले नेपालमा आउने नेपाली तथा विदेशी जो आएपनि १० दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधान रहेको छ ।

    यसले आगामी बसन्त ऋतुमा पर्यटक आगमन प्रभावित हुने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरिरहेका थिए । यही सन्दर्भमा सरकारले सहजिकरण गर्न लागेको उनले जानकारी दिए । उनका अनुसार अब क्रमशः भारततर्फका नाकासमेत खोल्दै जाने योजना रहेको छ । यसले स्थलमार्गबाट समेत पर्यटक भित्रन सहज हुने छ । अहिले भारत र नेपाल दुबै मुलुकमा खोप अभियान जारी छ ।

  • कांग्रेसले एक दर्जन जनवर्गिय संगठनको म्याद ६ महिना लम्ब्यायो

    कांग्रेसले एक दर्जन जनवर्गिय संगठनको म्याद ६ महिना लम्ब्यायो

    काठमाडौं । नेपाली कांग्रेसले आफ्ना एक दर्जन भन्दा बढी भ्रातृ संगठनको म्याद ६ महिना लम्ब्याएको छ । मंगलबार राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय लिएको हो । नेपाली कांग्रेसले नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघको म्याद बढाउने निर्णय लिएको छ ।

    यसैगरी नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिना म्याद थप हुने निर्णय समेत भएको छ ।

    मगलबारको बैठकले नेपाली जनसम्पर्क समिति कतार, वहराइन, मलेसिया र साउदी अरबबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने निर्णय समेत लिएको छ । उता, नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई आवद्धता प्रदान गरेको छ ।

    जनसम्पर्क समिति युएईको विधान स्वीकृत गरेको समेत नेपाली कांग्रेसले जनाएको छ । ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी नेपाली जनसम्पर्क समिति इजरायलको कार्यकाल थप गर्ने निर्णय भएको बताइएको छ ।

  • कोरोनाबाट विदेशमा थप ९ जना नेपालीको निधन, एक सातामा २ हजार संक्रमित

    कोरोनाबाट विदेशमा थप ९ जना नेपालीको निधन, एक सातामा २ हजार संक्रमित

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ ।

    गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय २७ पुगेको छ।

    संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, प्रोतुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

    यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६९ हजार १ सय ८० जना छ भने २ लाख ६३ हजार ७ सय ३४ जना अर्थात ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

    एक सातामा औसतमा २ हजार नेपालीहरु संक्रमित
    स्वास्थ्य समितिले एक सातामा औसतमा २ हजार नेपालीहरु संक्रमित हुने गरेको जनाएको छ।

    सो आधारमा एक महिनामा औसतमा ८ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सापकोटाले बताए। उनका अनुसार औसतमा एक महिना अवधिमा ४ हजार जना संक्रमणमुक्त हुने गरेका छन्।

    स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान सुरु भइसके पनि नेपाललगायत कयौँ मुलुकमा खोप अभियान सुरु नभएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

  • मलेसियाबाट एकै पटक ल्याइयो १७ नेपालीको शव, ५ जनाको अस्तु

    मलेसियाबाट एकै पटक ल्याइयो १७ नेपालीको शव, ५ जनाको अस्तु

    काठमाडौं । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेर शोकमग्न रह्यो । दैनिक हजारौं यात्रु आवतजावत गर्ने विमानस्थलमा संनाटा छायो । कारण थियो, एक साथ १७ जना नेपाली दाजुभाईका शव बाकसमा नेपाल आइपुग्नु र वियोगमा आफन्तको चित्कार ।

    मुलुकभित्र सत्ता र शक्तिका लागि नेताहरुबीच लडाई जारी रहेकै समयमा आज मलेसियाकोका क्वालालाम्पुरबाट नेपाल वायुसेवा निगमले एक साथ १७ वटा शव नेपाल ल्याएको छ । यसका लागि निगमले वाइडबडी जहाज क्वालालाम्पुर पठाएको हो । यस रुटमा न्यारोबडी जहाजबाटै उडान गरिरहेको निगमले शव ल्याउने प्रयोजनकै लागि आज वाइडबडी पठाएको थियो ।

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज मलेसियाबाट १७ वटा शव आएका छन् । ५ जनाको भने उतै अन्येष्टी गरी अस्तुमात्र नेपाल ल्याइएको छ । यसरी ल्याएका शवलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा आफन्तले सद्गत गर्ने स्थानसम्म पुर्‍याइदिनेछ । परिवारले शव ढुवानी गर्न बोर्डमा निवेदन दिनुपर्छ ।

  • आजदेखि गैरआवासीय नेपाली संघको विशेष अधिवेशन शुरु

    आजदेखि गैरआवासीय नेपाली संघको विशेष अधिवेशन शुरु

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजबाट शुरु हुने भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमति बनेसँगै महाधिवेशन हुन लागेको हो ।

    दुईदिनसम्म भर्चुअलरुपमा संचालन हुने विशेष महाधिवेशनमा ५० भन्दा बढी मुलुकबाट २६ सय जना प्रतिनिधि सहभागी हुने भएका छन् । नवौं महाधिवेशनबाट पारित हुन थाँती रहेका आर्थिक प्रतिवेदन र सहमतिका आधारमा तयार गरिएको विधान संशोधन प्रस्तावमाथि विशेष महाधिवेशनमा छलफल हुने संघले जनाएको छ ।

    नयाँ विधान अनुसार अब एक थप युवासहित जम्मा ६ जना उपाध्यक्ष रहने, दुई सहकोषाध्यक्षमध्ये एकजना महिला अनिवार्य, एक महिलासहित दुईजना सचिव थप्ने, केन्द्रीय सल्लाहकार ११ जनाबाट बढाएर २१ जना बनाउने प्रस्ताव गरिएको छ ।

    यसैगरी, संघका अध्यक्षले विश्वभरबाट १५ प्रतिनिधि थप्न सक्ने प्रावधान, राष्ट्रिय महाधिवेशनबाट २५ प्रतिशत प्रतिनिधि निर्वाचित गर्ने,निर्वाचन प्रक्रियासहितका प्रावधान समेत आउने भएको छ ।

  • शनिबार मलेसियाबाट वाइडबडी जहाजमा एकै पटक १७ शव काठमाडौं ल्याईंदै

    शनिबार मलेसियाबाट वाइडबडी जहाजमा एकै पटक १७ शव काठमाडौं ल्याईंदै

    काठमाडौं । मलेसियामा विभिन्न कारणले मृत्यु भएका र नेपालमा ल्याउन नसकिएका नेपाली नागरिकको शव लिन आज नेपाल वायुसेवा निगमको वाइडबडी जहाज क्वालालाम्पुर उड्दैछ । शुक्रबार राती ११ बजे उड्ने जहाजले शनिबार बिहान एकै पटक १७ वटा शव नेपाल ल्याउने छ ।

    सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निगमले शव नेपाल ल्याउन लागेको बताइएको छ । क्वालालाम्पुरमा न्यारोबडी जहाजबाट नियमित उडान भइरहेको छ । तर, कार्गोमा एकै पटक धेरै शव ल्याउनु पर्ने भएकाले वाइडबडी जहाज पठाउन लागिएको हो ।


    मलेसियाबाट नेपाल आउने क्रममा जहाजमा २५० हाराहारी यात्रु समेत हुने भएका छन् । जहाज शनिबार बिहान ८ः४० मा त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ । मलेसियामा कोरोना भाइरसको संक्रमणयता नै शवहरु रोकिएका छन् ।

  • इजरायलमा ५ सय नेपाली श्रमिकले रोजगारी पाउने, प्रोटोकलमा हस्ताक्षर

    इजरायलमा ५ सय नेपाली श्रमिकले रोजगारी पाउने, प्रोटोकलमा हस्ताक्षर

    काठमाडौं । इजरायलमा ५ सय नेपाली श्रमिकले रोजगारीको अवसर पाउने भएका छन् । आज नेपालले इजरायलसँग गर्ने प्रोटोकलमा हस्ताक्षर गरिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरबीच प्रोटोकलमा हस्ताक्षर भएको हो ।

    यसअघि १४ असोजमा नेपालबाट श्रमिक आपूर्ति गर्ने सम्बन्धमा नेपाल र इजरायलीच श्रम सम्झौता भएको थियो । यस मुलुकमा ५ सय नेपाली केयर गिभरले रोजगारी पाउने भएका छन् ।

    पछिल्लो सम्झौतासँगै इजरालयमा केयर गिभरका रुपमा श्रमिक लैजाने सम्बन्धमा आन्तरिक कार्यविधि बन्ने छ । त्यसपछि विज्ञापन प्रकाशित गरी आवेदन माग हुनेछ । इजरायलमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष केयर गिभर लैजाने सहमति भएको छ ।

    उनीहरुको न्युनतम तलब १५ सय डलर हुने बताइएको छ । त्यसबाट ३१० डलर भने खाना र आवास सुविधाबापत रोजगारदाताले काट्नेछ ।

    एसएलसी उत्तीर्ण गरेर १५ महिने स्वास्थ्य सेवासम्बन्धी विषय पढेका वा १२ कक्षा पास गरी तीनमहिने केयर गिभर तालिम लिएका, अंग्रेजी र हिब्रु भाषा बोल्न सक्नेले इजरायलमा रोजगारीको अवसर पाउने भएका छन् ।

    इजरायल जाने श्रमिकले भिसा शुल्क, मेडिकल शुल्क, टिकट, बिमा लगायत खर्च भने आफैंले ब्यहोर्नुपर्नेछ ।

  • बेलायतबाट नेपाली र एनआरएन शर्तसहित नेपाल आउन सक्ने

    बेलायतबाट नेपाली र एनआरएन शर्तसहित नेपाल आउन सक्ने

    काठमाडौं । सरकारले बेलायतबाट शुरु उडान हुने वा ट्रान्जिट हुने गरी कुनै पनि यात्रु नेपाल आउन नपाउने गरी नियम ल्याएको छ । तर, शर्तसहित नेपाली नागरिक र गैरआवासीय नेपाली र उनीहरुका आफन्त भने अब नेपाल आउन सक्ने भएका छन् ।

    अध्यागमन विभागका अनुसार नेपालमा नेपालीको एकाघरका आफन्तको मृत्यु भएमा वा गम्भीर प्रकृतिको बिरामी भई उपचार गराउनु परेमा बेलायतस्थित नेपाली दूतावासको सिफारिसमा नेपाल आउन अनुमति दिइने भएको छ । यही प्रावधान गैरआवासीय नेपालीको हकमा समेत लागु हुने छ ।

    यसरी नेपाल आउने क्रममा ७२ घण्टा भित्रको पिसिआर परीक्षण भने अनिवार्य गरी नेगेटिभ रिर्पोट ल्याउनु पर्छ । यसले आफन्तको मृत्यु भएका वा गम्भिर बिरामी भएकाहरुलाई घर फिर्ति हुन सहज भएको छ ।

    बेलायतमा कोरोनाको नयाँ प्रकृतिको भाइरस देखिएपछि सरकारले यात्रामा रोक लगाउने निर्णय गरेको हो । त्यसो त सरकारले रोक लगाउनु अगाडी नै बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ भाइरसको संक्रमण पुष्टी भएको छ । उनीहरुको स्वास्थ्य भने सामान्य रहेको छ ।

  • दक्षिण कोरियामा कोरोना खोप निःशुल्क, हजारौं नेपाली लाभान्वित

    दक्षिण कोरियामा कोरोना खोप निःशुल्क, हजारौं नेपाली लाभान्वित

    सोल । दक्षिण कोरियाले सो मुलुक भित्र रहने सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप निशुल्क उपलब्ध गराउने भएको छ । दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले यस्तो घोषणा गरेका हुन् ।

    उनको घोषणासँगै यस मुलुकमा रहेका हजारौं नेपाली नागरिक समेत लाभान्वित हुने भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा करीव ५० हजार नेपाली पुगेका छन् ।


    यसअघि भने कोरियाले स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताएको थियो । तर, नयाँ निर्णय सार्वजनिक गर्दै कोरियाले विदेशीको हकमा समेत यो नियम लागु हुने बताएको छ ।

    कोरियामा आगामी महिनादेखि खोप अभियान शुरु हुँदैछ । खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी हुनेछन् । वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्तिलाई समेत पहिलो प्राथमिकतामा राखिने भएको छ । त्यसपछि भने सबै नागरिकले यो सुविधा लिन पाउने छन् ।

    अवैधानिक तवरले बस्ने तथा स्वास्थ बीमा नभएका विदेशी नागरिकको हकमा सरकार बोलेको छैन । कोरियामा भिसा अवधि पुरा भएपछि पनि अवैधानिक रुपमा ठूलो संख्यामा विदेशी बसेको अनुमान छ ।

  • ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

    ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

    काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको स्वशासित राज्य तिब्बतको राजधानी ल्हासामा परीक्षण उडान गरेको छ ।

    निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले केही महिनाअघि भित्र्याएको कलसाइन एचनाइन ९६१ विमानबाट ल्हासामा परीक्षण उडान गरेको हो ।

    एच नाइन ९६१ कलसाइनको विमान मंगलबार बिहान ७ः१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो। विमान ल्हासाको गोंगर विमानस्थलमा स्थानीय समयअनुसार बिहान १०।४६ बजे अवतरण गरेको थियो। विमान आजै काठमाडौं फर्कदैछ।

    नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।

    एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ ।

    परीक्षण उडानसँगै सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडान सुरू गर्ने व्यावसायिक योजनासमेत कम्पनीले अगाडि सारेको छ।

  • पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदूत नियुक्त

    पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदूत नियुक्त

    काठमाडौं । पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    पूर्वमूख्य सचिवसमेत रहेका रेग्मीलाई मन्त्रिपरिषद्को बैठकले बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

    रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए भने त्यही दिन उनलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो ।

  • इसेवा मनिट्रान्सफर र लिगल रेमिटबीच सम्झौता,अस्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

    इसेवा मनिट्रान्सफर र लिगल रेमिटबीच सम्झौता,अस्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

    काठमाडौं । रेमिट्यान्स क्षेत्रमा आफ्नो बजार हिस्सा फराकिलो बनाउँदै लगेका इसेवा मनि ट्रान्सफर र अस्ट्रेलियाको प्रतिष्ठत रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

    योसँगै अस्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ। रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका छन् ।

    यससँगै अष्ट्रेलियाबाट नेपालीले नगद तथा कुनै पनि बैंक खातामा वा सोझै ईसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

    नगदमा पठाइएको रकम ईसेवा मनी ट्रान्स्फरका नेपाल भर रहेका आठ हजारभन्दा धेरै एजेन्ट तथा ईसेवा वालेट एप मार्फत प्राप्त गर्न सकिनेछ । त्यसैगरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

    नगदमा पठाइएको रकम ईसेवा वालेटमा प्राप्त गर्दा ५५ रुपैयाँ अतिरिक्त रुपमा क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएको छ ।

    त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ। नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा रु। ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ।

    लिगल रेमिट अनलाइनमार्फत कारोबार गर्ने र उच्चस्तरको प्रविधि प्रयोग गरेको कम्पनी भएको हुँदा ५ मिनेट भित्रै रेमिटेयान्स् प्राप्त गर्न सकिनेछ।

    इसेवा मनि ट्रान्सफरले डिजिटल र एजेन्ट दुवै माध्यममार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। इसेवा मनि ट्रान्सफरले अमेरिका, जापान, युरोपीयन देशलगायत खाडीका थुपै्र मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

    डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गरिरहेको इसेवा मनि ट्रान्सफर पछिल्लो समय विदेशमा रहेका नेपालीहरुमा रोजाइमा पर्दै गएको छ।

  • हिउँदे सिजनमा पहिलो पटक नेपाली आरोही केटुको शिखर पुगे

    हिउँदे सिजनमा पहिलो पटक नेपाली आरोही केटुको शिखर पुगे

    काठमाडौं । हिँउदे सिजनमा संसारको दोस्रो सर्वोच्च शिखर माउण्ट केटु आरोहण हुन सकेको थिएन । नेपालका १० जना पर्वतारोहीले शनिबार यो कीर्तिमान राखेका छन् । केटु पाकिस्तानमा पर्छ । यसअघि संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न नसकेको पर्यटन विभागले जनाएको छ ।

    विभागकी निर्देशक मिरा आचार्यले नेपालीले टोलीले यो कीर्तिमान राखेको भन्दै बधाई दिएकी छिन् । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमालमा मात्र हिउँदे सिजनमा आरोहण सम्भव भएको थिएन ।

    नेपालका .निम्सदाइ पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले यो कीर्तिमान बनाएका हुन् ।

    टोली शनिबार साँझ ५ः४५ मा ८ हजार ६११ मिटर अग्लो शिखरको चुचुरो पुगेको छ । दश आरोहीमध्ये मिङ्मा जी शेर्पा भने बीना अक्सिजन नै चुचुरो पुगेका छन् ।

  • विदेशबाट नेपालीले ५ महिनामा पठाए ४ खर्ब १६ अर्ब रेमिट्यान्स

    विदेशबाट नेपालीले ५ महिनामा पठाए ४ खर्ब १६ अर्ब रेमिट्यान्स

    काठमाडौं । विदेशमा रहेका नेपालीबाट चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्म चार खर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पाँच महिनामा चार खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो रकम गत साल यसै अवधिको तुलनामा १० दशमलव ९ प्रतिशत बढी हो । अमेरिकी डलरमा रेमिट्यान्स ६ दशमलव ४ प्रतिशतले बढेर तीन अर्ब ५२ करोड पुगेको छ ।

    यस्तै पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७७ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनदेखि मङ्सिरसम्म अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ११ दशमलव ८ प्रतिशतले बढेको थियो ।

    वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पाँच महिनामा ६९ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनदेखि भदौसम्म पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७ दशमलव ६ प्रतिशतले बढेको थियो

  • ५ महिनामा १३९५ जना विदेशी कामदार नेपाल आए

    ५ महिनामा १३९५ जना विदेशी कामदार नेपाल आए

    काठमाडौं । कोरोना महामारीका कारण रोकिएका विदेशी सहायताका आयोजना क्रमशः अगाडी बढ्ने क्रममा छन् । यसमा ठूलो भूमिका विदेशमै रोकिएका कामदार समेत हुन् । चालु आर्थिक वर्षको पहिलो ५ महिना (मंसिरसम्म) १३९५ जना विदेशी कामदार नेपाल आएको तथ्यांकले देखाएको छ ।

    विभागका अनुसार कामदार भिषा लिएका उक्त संख्यामा विदेशी नेपाल भित्रिएका छन् । पछिल्लो दिनमा विदेशी कामदारको आगमन बढेको छ । ५ महिनामा कुल ५४७० जना पर्यटकले अनअराइभल भिसा लिएका छन् ।

    ८५६६ जना पर्यटकले नेपालमा भिसा थप गरेको विभागले जनाएको छ । यो अवधिमा ४८८ गैरआवासीय नेपालीले भिसा प्राप्त गरेका छन् । वैवाहिक भिसा लिनेको संख्या ५४६ रहेको छ । अध्ययन भिसामा ४८० जना विदेशी नेपाल आएको तथ्यांकले देखाएको छ ।


    ५ महिनाको अवधिमा विभागले ३० करोड ५ लाख ८२ हजार रपैयाँ राजस्व संकलन गरेको छ । पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई भने नेपालले देश निकाला गरिदिएको छ ।

    गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने गरिन्छ । साउनदेखि मंसिरसम्म १ सय १ जना विदेशीलाई नेपालबाट निकासा गरिएको हो । मंसिर महिनामा मात्र २० जना विदेशीलाई निकाला गरिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

  • न्यूह्यामसर नेपाली यूवा नेटवर्कको भर्चुअल प्रतिभा प्रदर्शन, नाचगान देखि खाना पकाउने कलासम्म

    न्यूह्यामसर नेपाली यूवा नेटवर्कको भर्चुअल प्रतिभा प्रदर्शन, नाचगान देखि खाना पकाउने कलासम्म

    न्यूह्यामसर
    न्यूह्यामसर नेपाली समाज युवा नेटवर्कको अगुवाइमा भर्चुअल प्रतिभा प्रदर्शन सम्पन्न भएको छ । कार्यक्रममा न्यूह्यामसर लगायत अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवायुवतीले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

    ‘जुम’ र फेसबुक लाइभ मार्फत प्रशारण गरिएको कार्यक्रममा प्रस्तोताहरुले नाचगान, हास्यब्यंग्य, खेल, बाद्यवादन देखि खाना पकाउने कलासम्म प्रस्तुत गरेका थिए । नेटवर्कका अभियन्ताहरु मोहित विष्ट, स्पर्दा गुरुङ, रिञ्जु शेर्पा, रोजर शेर्पा, आहान थापा र नेहा शर्माले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न १७ सामूहिक एवं एकल प्रस्तुती प्रशारण गरिएको थियो । 

    स्तुती खतिवडाले ‘तिम्रो मायाले बाँधेर राख…’ गीत गितार बजाउँदै प्रस्तुत गरेकी थिइन् भने नेहा शर्मा, देव शर्मा, सुभन विष्ट, आहाना थापा, श्रेया खनाल नेपाली टेलिचलचित्र गिरे खुर्सानीको ‘प्यारोडी’ देखाएका थिए ।

    रिञ्जु र रोजर शेर्पाले बास्केटबल खेलका केही कलात्मक ‘सट’हरु देखाएको कार्यक्रममा जुनिपर गुरुङ र दिशिता गुरुङले ‘भैलिनी आइन्…’ बोलको तिहार गीतमा नृत्य देखाएका थिए । नुर सिंह र श्रेया खनालले पनि ‘आज हाम्रो भेट भको दिन…’मा नृत्य नै देखाएका थिए भने सारा क्षेत्रीले जिम्न्याष्टिक खेलका कला प्रस्तुत गरेकी थिइन् ।

    शीला अधिकारीले ‘डिस्कोवाले किसको…’ गितमा गायन र नृत्य प्रस्तुत गरेकी थिइन् भने समृद्धी अधिकारीले ‘ब्लाइन्डिङ लाइट्स…’ मा पियानो बजाएकी थिइन् । सुभन बिष्ट, देव शर्मा, नेहा शर्मा, आहाना थापा, स्पर्दा गुरुङ, स्तुती अधिकारी, आइशा केसी, रिचा थापा, गरिमा अधिकारी र कृती श्रेष्ठले ‘के माया लाग्छ र…’ र ‘दुबो फुल्यो…’ बोलको गीतमा नृत्य प्रस्तुत गरेको कार्यक्रममा ‘घिन्ताङ घिन्ताङ…’ बोलको गीतमा कुशुम अर्यालले नृत्य देखाएका थिए ।

    मोहित बिष्ट, देव शर्मा, विभव शर्मा र गौरव महर्जनले कार्यक्रममा फरक स्वाद पस्कने क्रममा खाना पकाउने कला देखाएका थिए भने निना सुवेदीद्ये ‘दि साइन्टिष्ट…’ मा गितार बजाएकी थिइन् ।

    आहाना थापाले ‘सारङ्गीको धुनले …’ गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने सुहानी कार्की र सन्सार कार्कीले गितार र पियानो मार्फत ‘असारै मैनामा …’ गीतको धुन सुनाएका थिए । शविन सुब्बाले ‘दिक्तेल बजार…’ गीत गाएको कार्यक्रममा स्तुती अधिकारीको नृत्य र देव शर्माको गितार बादनसँगै कार्यक्रम सकिएको थियो । एक घण्टा छ मिनेटको कार्यक्रम अहिले पनि न्यूह्यामसर नेपाली समाजको फेसबुक पेजमा हेर्न सकिन्छ ।

    कार्यक्रमबाट करिव तीन हजार अमेरिकी डलर नगद समेत संकलन भएको छ । संकलित रकमबाट दूई हजार डलर नेपालमा कार्यरत मुनाफारहित संस्था लक्ष्मी प्रतिष्ठानलाई हस्तान्तरण गरिनेछ । प्रतिष्ठानले उक्त रकम चितवनको कान्दामा लोपन्मुख राउटे विद्यार्थीहरु लक्षित छात्राबासमा निर्माणाधिन भोजन गृहका लागि खर्च गर्नेछ ।

    ‘नेपाली भाषा, कला र संस्कृतिलाई आउदो पुस्ताले संरक्षण र सम्बर्धन गरोस भन्ने हाम्रो लक्ष्य हो’ भर्जुअल कार्यक्रमका लागि युवायुवतीलाई सल्लाह, सुझाव र अभिभावकत्व दिएकी न्यूह्यामसर नेपाली समाजका पूर्व उपाध्यक्ष शान्ता विष्टले भनिन् । न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले दोस्रो पुस्ताका भाइबहिनीहरुले नेपाली पहिचानलाई जोगाउँदै परोपकारी कामकोसमेत सुरुवात गरेकोमा सह्राना गरे ।

  • विदेशमा थप ३ कोरोना संक्रमित नेपालीको मृत्यु

    विदेशमा थप ३ कोरोना संक्रमित नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा २ जना र मलेसिया १ जनाको मृत्यु भएको हो।

    गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विभिन्न २० देशमा ३ सय १७ पुगेको छ।

    संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ तीमध्ये ५१ हजार १ सय १६ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ९३ प्रतिशत हो।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथ अफ्रीका, युके, भारत, युएईमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको हो।

  • विदेश जान नक्कली पिसिआर रिर्पोट, कागज बनाउने गिरोह खोज्दै प्रहरी

    विदेश जान नक्कली पिसिआर रिर्पोट, कागज बनाउने गिरोह खोज्दै प्रहरी

    काठमाडौं । नेपालबाट विदेश जाने क्रममा नक्कली पिसिआर परीक्षण रिर्पोट बन्ने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली पीसीआर रिपोर्टसहित ७ जना पक्राय परेसँगै यस्तो रहस्य खुलेको हो । यसअघि नेपालबाट विभिन्न मुलुक पुगेका नेपालीमा पुनः परीक्षण गर्दा कोरोना पुष्टी भएपछि एयरलाइन्सले प्रतिवन्ध भोगेका थिए । त्यसबेला नेपाल एयरलाइन्सले गरेको गुनासोलाई गम्भीर रुपमा लिइएको थिएन । तर, नक्कली रिर्पोटसहित नै व्यक्ति पक्राउ परेपछि भने यसको रहस्य खुलेको हो ।

    प्रहरीका अनुसार किर्ते कागजपत्र तयार पार्ने गिरोहको खोजी भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार शंकास्पद रिपोर्टसहित नियन्त्रणमा लिइएका ७ जना महानगरीय प्रहरी वृत्त, गौशालामा छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

    पक्राउ परेका व्यक्तिको साथमा ह्याम्स अस्पताल र सेन्टर डायगोनस्टिक प्रयोगशालाको नक्कली पीसीआर रिपोर्ट थियो । प्रहरीका अनुसार नक्कली रिपोर्ट बनाउने काममा अस्पताल र प्रयोगशालाको संलग्नता भने देखिएको छैन । तर, अस्पतालको नाममा अन्य गिरोहले किर्ते गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।


    रिपोर्ट नक्कली भएको पुष्टि भएपछि प्रहरीले सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महतो, छेदी महतो, सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ पक्राउ परेका छन् ।

  • कुवेतमा गैरकानूनी रुपमा बस्दै हुनुहुन्छ ? वैधता लिने समय एक महिना थपियो

    कुवेतमा गैरकानूनी रुपमा बस्दै हुनुहुन्छ ? वैधता लिने समय एक महिना थपियो

    काठमाडौं । तपाई विदेशमा गैरकानूनी रुपमा बसिरहनु भएको छ भने जरिवाना तिरेर घर फर्कन वा आफुलाई वैधता कायम गर्न समय थप भएको छ । कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकका लागि वैधानिकता कायम गर्ने समय थप भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

    यो अवसर कुवेतमा गैरकानूनी रुपमा बसिरहेका नेपालीले उपयोग गर्न सक्नेछन् । किनकी तोकिएको अवधिमा समेत विदेशी नागरिकले आफुलाई वैध नबनाए कडा सजायको भागिदार हुनुपर्छ । कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अनुसन्धानबिना नै तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि थप गरेको हो ।

    यसअघि डिसेम्बर १ देखि डिसेम्बर ३१ सम्म यस्तो समय तोकिएको थियो । कुवेत सरकारले थप एक महिना यो अवसर दिएको हो । कुवेतको आन्तरिक मामिला मन्त्रालयको २८ डिसेम्बरको नयाँ निर्णयअनुसार जनवरी १ देखि शुरू हुने गरी एक महिना थप गरिएको जानकारी गराएको छ ।

    तोकिएको अवधिभित्र पनि वैधता कायम नगरेमा कुवेत सरकारको कानुन बमोजिम जरिवाना, आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनः फर्कन नसक्ने गरी डिपोर्ट गर्न सकिने गरी चेतावनी समेत दिइएको छ ।

  • भोलीदेखि पुनः श्रमस्वीकृति अनलाइनबाटै लिन सकिने, नेपाल आउन नपर्ने

    भोलीदेखि पुनः श्रमस्वीकृति अनलाइनबाटै लिन सकिने, नेपाल आउन नपर्ने

    काठमाडौं । पुनः श्रम स्वीकृति लिनका लागि विदेशबाट नेपाल आउनै पर्ने बाध्यता हटेको छ । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गर्ने भएको छ ।

    वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनमार्फत आवेदन दिएर श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

    शुक्रबारदेखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिएका छन् । यो सेवा लागू भएपछि पुनःश्रम स्वीकृति लिन विभागको कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।

    यसले विदेशमा काम गरिरहेका कामदार प्रत्यक्ष लाभान्वित हुने भएका छन् । एकपटक विभागबाट आईडी लिएका, फिङ्गर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशुल्क सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

    नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेशन संस्थाहरुबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको बताएको छ । अवको दुई महिना भित्रमा नयाँ श्रम स्वीकृति समेत अनलाइन मार्फत दिन सक्ने गरी योजना बनेको छ ।

    वैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले पुनः श्रम स्वीकृति लिनुपरेमा विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (एफईआईएमएस) मार्फत फारम भर्न सक्ने भएका छन् ।