Category: डायस्पोरा

  • बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी, नयाँ भाइरस नेपाल भित्रिएको हो ?

    बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी, नयाँ भाइरस नेपाल भित्रिएको हो ?

    काठमाडौं । बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । तर, उनीहरुमा देखिएको भाइरसको प्रकृति पुरानै हो वा बेलायतमा देखिएको नयाँ भाइरस हो भन्ने चाँही खुलेको छैन । सरकारले ७ पुसदेखि बेलायतबाट यात्रु नेपाल ल्याउन रोक लगाएको छ ।

    त्यसअगाडी १ पुसबाट ७ पुसको बीचमा आएका यात्रुलाई अनिवार्य होटेल क्वारेन्टिनमा बस्न निर्देशन दिएको छ । अध्यागमन विभागका अनुसार एक सातामा कुल २६३ जना यात्रु बेलायतबाट नेपाल आएको खुलेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार अहिले संक्रमण देखिएका यात्रुहरु राजधानीका विभिन्न होटेलमा क्वारेण्टिन बसेका छन् । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न सरकारले भनेको थियो ।

    यसरी बसेलाई अलग्गै निःशुल्क परीक्षण गरिएको थियो । त्यसक्रममा ५ जनालाई पोजेटिभ आएको हो । उनीहरुमा कुन प्रकारको भाइरस छ भन्नेबारे भने अलग्गै परीक्षण गरिने भएको छ ।

  • साउदीद्वारा यात्रुबाहक हवाई उडान स्थगित

    साउदीद्वारा यात्रुबाहक हवाई उडान स्थगित

    रियाद । साउदी अरेबियाले व्यावसायिक यात्रीवाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ ।

    कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो ।
    साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् ।

    साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाइ छ ।

    साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रीवाहक हवाई उडान रोकेको घोषणा गरेका थिए । बेलायतमा नयाँ कोरोनाभाइरसको संस्करण देखिएको भन्दै यी मुलुकले जमिन र समुद्रीमार्ग पनि बन्द गरेका छन् ।

    ओमान र कुवेतले आगामी डिसेम्बर २९ र जनवरी १ अर्थात् दुई दिन प्रतिबन्धहरु फुकुवा गर्ने बताएका छन् । यसै महिना साउदी अरेबियाले फाइजर–बायोएनटेकले विकास गरेको खोप लगाउने अभियान थालनी गरेको थियो ।

    साउदी अरेबियामा हालसम्म तीन लाख ६२ हजार व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ । यहाँ छ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । अरब राष्ट्रहरुमध्ये साउदी अरेबियामा सबैभन्दा बढीको मृत्यु भएको हो । रासस/एएफपी

  • ओमानमा आइतबारबाट खोप वितरण, आप्रवासी कामदारले समेत पाउने

    ओमानमा आइतबारबाट खोप वितरण, आप्रवासी कामदारले समेत पाउने

    ओमान । ओमानले आइतबारबाट कोरोना विरुद्धको खोप वितरण थाल्ने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप ओमान पुगेको छ । यस्तो खोप ओमानी नागरिकसहित आप्रवासी कामदारले समेत पाउने भएका छन् । यसबाट नेपाली नागरिक समेत लाभान्वित हुनेछन् ।

    पहिलो ब्याच भ्याक्सिन डीएचल कार्गो विमानमार्फत ओमान लगिएको ओमानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो व्याचमा १५ हजार ६ सय डोज खोप ओमान पुगेको छ । ओमानी स्वास्थ्य मन्त्रालयका अनुसार ओमानले भाइरसविरूद्ध फाइजर र बायोएनटेकले निर्माण गरेको खोप खरिद गरेको हो ।

    खोप वितरण अभियानको नेतृत्व स्वास्थ्य मन्त्री डा. अहमद बिन मोहम्मद अल सईदीले गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, दीर्घ रोगी, वृद्ध वृद्धाले खोप पाउने भएका छन् । ओमानले यहाँ रहेको कुल जनसंख्याको ६० प्रतिशतलाई खोप दिने तयारी गरेको छ ।

  • नेपाली शान्ती सेनाद्धारा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा विद्रोहीको आक्रमण विफल

    नेपाली शान्ती सेनाद्धारा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा विद्रोहीको आक्रमण विफल

    काठमाडौं । नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकमा विद्रोहीको आक्रमण असफल बनाएको छ । सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख सहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट नेपाली शान्ती सेनाले जोगाएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

    यो सहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि त्यसको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म उक्त शहरमा परिचालन भएको थियो । त्यसपछि विद्रोही समुह पछि हट्न बाध्य भएको निर्देशनालयले उल्लेख गरेको छ ।

    नेपाली शान्ति सैनिकको मद्दत पाएपछि त्यहाँको सरकारी सेनाले पुनः उक्त सहर नियन्त्रणमा लिएको बताइएको छ ।

    नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीको आक्रमणको प्रयासलाई विफल पारिदिएको हो ।

    यो घटनामा विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हातहतियार र विष्फोटक पदार्थ नियन्त्रणमा लिएको सेनाको भनाई छ । नेपाली शान्ति सैनिकतर्फ सबै जना सकुशल रहेको सेनाले उल्लेख गरेको छ । उक्त मुलुकमा आगामी आइतबार आम निर्वाचन समेत हुँदैछ ।

  • १ पुसयता बेलायतबाट नेपाल आएका सबै यात्रु होटेल क्वारेन्टिनमा बस्नुपर्ने

    १ पुसयता बेलायतबाट नेपाल आएका सबै यात्रु होटेल क्वारेन्टिनमा बस्नुपर्ने

    काठमाडौं । १ पुसयता बेलायतबाट सिधा उडान वा ट्रान्जिट गरी नेपाल आएका सबै यात्रु अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । बेलायतमा नयाँ प्रकृतिको कोरोना भाइरस देखिएपछि नेपालमा समेत उच्च सतर्कता अपनाइएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट एक सातायता नेपाल आएका यात्रुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । उनीहरुले होटेल क्वारेन्टिनमा बसेको ७ देखि १० दिन भित्र पिसिआर परीक्षण गर्नुपर्ने भएको छ ।

    त्यसको नतिजा नेगेटिभ आए मात्र यात्रु घर जान पाउनेछन् । सरकारी प्रयोगशालामा भएको परीक्षण निशुल्क गरिएको समेत मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले आजबाट भने बेलायतबाट नेपालमा यात्रु ल्याउन पूर्णतया रोक लगाएको छ ।

    बेलायतबाट सिधा उडान वा ट्रान्जिट कुनै पनि माध्यमबाट नेपालमा यात्रु ल्याउन पाइने छैन । यस्तो व्यवस्था आज रातीबाट लागु भएको छ । बेलायतमा पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ प्रकृतिको भाइरस देखिएसँगै संसारभर बेलायतबाट यात्रा प्रतिवन्ध लगाउने क्रम जारी छ ।

  • ओमान, साउदी र कुवेतले रोके अन्तर्राष्ट्रिय उडान, नेपाली कामदार प्रभावित

    ओमान, साउदी र कुवेतले रोके अन्तर्राष्ट्रिय उडान, नेपाली कामदार प्रभावित

    काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले यूरोपलाई प्रभावित बनाएपछि खाडी मुलुकहरुले धमाधम अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइरहेका छन् । यसले नेपाल आउने तयारीमा रहेका र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको नेपालीको यात्रा पुनः प्रभावित हुन थालेको छ ।

    साउदी अरेवियाले पहिलो चरणमा एक साता र दोस्रा चरणमा अर्को एक साता सबै उडानमा रोक लगाएको छ । यता, ओमानले समेत एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना महामारीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मंगलबारदेखि पुस १४ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको ओमानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

    ओमानका सम्पूर्ण हवाईस्थलमार्गबाट हुने आवागमन बन्द गरिएको जनाउदै त्यहाँको सर्वोच्च कमिटीले त्यसपछिको भाइरसको विस्तार फैलावटको अवस्थाको आधारमा अर्को निर्णय लिने उल्लेख छ ।

    साउदी र कुवेतले समेत यस्तै नीति अपनाएका छन् । यी मुलुक बढी नेपाली पुग्ने मध्येमा पर्छन् । पछिल्ला दिनमा बेलायतसहित यूरोपका अन्य मुलुकमा नयाँ खालको कोरोना भाइरसले संक्रमण फैलावट लिइरहेको छ ।

  • बेलायतबाट नेपालमा यात्रु ल्याउन रोक

    बेलायतबाट नेपालमा यात्रु ल्याउन रोक

    काठमाडौं । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमन रोकेको छ । बुधबार राती १२ बजेबाट लागु हुने गरी नेपाल सरकारले बेलायतबाट कुनै पनि यात्रु आउन नपाउने गरी रोक लगाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यस्तो निर्देशन दिएको छ ।

    बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिट गरी नेपालमा यात्रु ल्याउन पाउने छैनन् । यसबाट नेपालबाट बेलायत जाने यात्रु समेत प्रभावित बनेका छन् ।

    बेलायतसहित यूरोपका कतिपय मुलुकमा अहिले कोरोना भाइरसको नयाँ रुप देखिएको छ । यसको नेपाल प्रवेश रोक्न सरकारले उडानमा प्रतिवन्ध लगाएको हो । प्रतिवन्ध अर्को सूचना जारी नभएसम्म जारी रहने भएको छ ।

    यसले बेलायतबाट नेपाल आउने तयारीमा रहेका पर्यटक तथा नेपाली नागरिकको आगमन प्रभावित बनेको हो । बेलायत सरकारले कोरोना भाइरसको खोप वितरण गरिरहेको छ । तर, यहाँ प्रकृतिको भाइरस देखिएपछि चिकित्सकहरु चिन्तित बनेका छन् ।

  • नेकोन (युयसए) को १२ औं वार्षिक साधारणसभा तथा कार्यभार हस्तान्तरण

    नेकोन (युयसए) को १२ औं वार्षिक साधारणसभा तथा कार्यभार हस्तान्तरण

    धन लामा, कनेक्टिकट

    कनेक्टिकट नेपाली समाज नेकोन (युयसए) को १२ औं वार्षिक साधारणसभा डिसेम्वर २०, २०२० का दिन हाल कोभिड-१९ महामारीका कारण भौतिक रुपमा संचालन गर्न असहज रहेको परिस्थितिमा भर्चुअल जुम प्रविधि मार्फत सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष जितेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न भएको वार्षिक साधारण सभामा सँस्थाका प्रमुख सल्लहाकार अशोक श्रीवास्तावले भौतिक रुपमा नै उपस्थित भएर आसन ग्रहण गर्नु भएको थियो भने, कार्यक्रम स्थलमा भौतिक दुरी कायम गर्दै सँस्थाका उपाध्यक्ष जयकुमार राईले भर्चुअल रुपमा उपस्थित सम्पूर्ण सदस्यहरुलाई हार्दिक स्वागत गर्नु भएको थियो ।

    सँस्थाका अध्यक्ष जितेन्द्र बस्नेतले प्रस्तुत गर्नु भएको संस्थाको वार्षिक प्रगति विवरण, कार्यवाहक कोषाध्यक्ष कुलदीप अधिकारीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र संस्थाका सचिव भद्र राईले प्रस्तुत गर्नु भएको संस्थाको स्वामित्वमा रहेको जिन्सी समानहरुको विवरण भेलाले सामान्य संशोधन सहित पारित गरेको थियो । त्यस्तै गरी सँस्थाको बहुउदेश्यीय साँस्कृतिक भवन बनाउने अभियानको लागि गठित नेकोन बोर्ड अफ ट्रस्टिजका अध्यक्ष राजकुमार श्रेष्ठले बोर्डको नियमावली र कार्यविधि सँस्थाको विधानसँग नबाझिने गरि समयानुकुल संसोधन गर्ने विषयमा साधारण सभामा उपस्थित सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिनु भएको थियो । कार्यक्रमको दोस्रो चरणमा निर्वाचन समितिका अध्यक्ष नरेन्द्र देव पन्तले नव निर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए पश्चात नवनिर्वाचित अध्यक्षले सम्पूर्ण निर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईसकेपछि निर्वाचन समितिका अध्यक्ष नरेन्द्र देव पन्तले नवनिर्वाचित अध्यक्ष सहित सम्पूर्ण सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नु भएको थियो । सँस्थाका वर्तमान अध्यक्ष जितेन्द्र बस्नेतले नवनिर्वाचित अध्यक्षलाई औपचारिक रुपमा पद तथा सम्पूर्ण कार्यभार हस्तान्तरण गर्दै समापन गर्नु भएको भर्चुअल साधारण सभामा सँस्थाका सहसचिव रविन तुम्वाहाम्फेले नवनिर्वाचित पधाधिकारीहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सँस्थाका नवनिर्वाचित अध्यक्ष नारायण पौडेलले वर्तमान अध्यक्ष र कार्यसमितिलाई संस्थाले सुम्पेको कार्यभार सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । त्यस्तै गरि कार्यक्रममा सँस्थाका प्रमुख सल्लाहकार अशोक श्रीवास्तव र मिडिया कोअर्डिनेटर धन लामाले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रमको संचालन संस्थाका सचिव भद्र राईले गर्नु भएको थियो भने, प्रविधी संयोजनको जिम्मेवारी संस्थाका मिडिया कोअर्डिनेटर धन लामाले गर्नु भएको थियो । निर्विरोध निर्वाचित नेकोन (युयसए) का नयाँ पदाधिकारीहरु निम्नानुसार छन्: अध्यक्ष – नारायण पौडेल, उपाध्यक्ष – रघुनाथ गिरी, सचिव – राजन तिम्सिना, कोषाध्यक्ष – कुलदिप अधिकारी, सह सचिव – बालकृष्ण कार्की, सह कोषाध्यक्ष – संजय पन्त, युवा संयोजक- बिधान अधिकारी, भाषा-शिक्षा संयोजक– दिपेश भट्ट, महिला सयोजक – सानु्माया महर्जन, सदस्य- रिंकु श्रेष्ठ ।

  • अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न; मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना

    अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न; मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना

    न्युयोर्क

    अमेरिकामा पहिलो पटक ऐतिहासिक विवाहपञ्चमी महोत्सव भव्य समारोह सहित सम्पन्न भएको छ । मिथिला सेन्टर अमेरिकाको आयोजनामा राम र सीताको विवाह स्मरण हेतु मनाईएको हो । खासगरी विवाहपञ्चमी पर्व जनकपुरधाममा विशेष रुपले मनाइएपनि अमेरिकामा पनि पहिलो चोटी मनाइएको सेन्टरका अध्यक्ष अमित प्रताप शाहले बताएका छन् ।

    हजारौं वर्षअघि आयोजित भगवान राम र देवी सीताको विवाह समारोहको स्मरणमा मनाइने विवाहपञ्चमी उत्सव अटल मानव बन्धनको प्रतीक रहेको भन्दै उत्सव मनाइएको हो । यो पवित्र अवसर सांस्कृतिक मूल्य शताब्दीयौं पुस्तासम्म परिवारको रूपमा रहन्छ, दुई व्यक्तिको मात्र नभई , समाज र देशहरूको पनि रहेको औल्याइएको हो । यस शुभ अवसरले जाति, धर्म, रंग, लिङ्गको पर्वाह नगरी मानवता, समानता र एक अर्कालाई सम्मानका आधारमा समाजमा परिवार र सम्बन्धको यस्तो मूल्य बढाएको आयोजकले जनाएको छ । त्यसकारण हामीले भगवान राम (अयोध्या, भारत) र देवी सीता (जनकपुरधाम, प्राचीन मिथिला राज्यको राजधानी, नेपाल) को अनन्त विवाहको स्मरणार्थले त्यस्ता संस्कार मुल्यलाई प्रवर्धन गर्ने प्रयास गरेका उनीहरुले जनाएको छ । विश्वभरका सयौं हजारौं व्यक्तिहरू, प्रायः भारतका, जनकपुरधामको राम जानकी मन्दिरको यो शुभ अवसरमा तीर्थयात्रा गर्छन्, जुन यूनेस्को विश्व सांस्कृतिक विरासत स्थलको अस्थायी सूचीमा छ ।

    यस विवाह पञ्चमी महोत्सव अमेरिका कार्यक्रममा जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा आयोजित विवाहपञ्चमी समारोहको प्रत्यक्ष प्रसारण, सार्वजनिक स्वास्थ्य सुरक्षा र सामाजिक दूरीका लागि एनवाइसीले दिईएको दिशा निर्देशन अनुरुप हिन्दू केन्द्र मन्दिरमा प्रार्थना समारोह समावेश गरिएको थियो । नेपाल, भारत र संयुक्त राज्य अमेरिकाका प्रतिनिधि एवम् समाजका प्रतिष्ठित महानुभावहरुको अनलाइन मार्फत उपस्थिति र सम्वोधन एवम् शुभकामना अदान प्रदान गरेपछि नेपाल, भारत र अमेरिका कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    नवल यादवले सञ्चालन गरेको कार्यक्रममा संस्थापक एवम् आयोजक अमित साहले जनाए अनुसार युएसएमा पहिलो मिथिला सामुदायिक र सांस्कृतिक केन्द्रको स्थापनाकोलागि समेत काम अगाडि बढि सकेको र नेपाल, भारत मुलुकका सामुदायिक व्यक्तित्वहरु एवम् अमेरिका सरकारका प्रतिनिधिहरुले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको जनाएका छन् ।
    विवाहपञ्चमी महोत्सव अमेरिकाका आयोजक एवम् मिथिला सेन्टर अमेरिकाका संस्थापक अध्यक्ष अमित शाहले भने–‘ हामी दृढ विश्वास गर्दछौं कि तपाईंको निरन्तर सहयोग र सहभागिताले हामीलाई मानवताको त्यस्तो सांस्कृतिक मूल्यमान्यतालाई प्रवर्धन गर्ने यस्ता कार्यक्रमको आयोजनाले संस्कृति सम्पदा र परम्पराको प्रवर्धन र संरक्षण गर्न प्रोत्साहित गर्नेछ’ ।

  • ४ महिनामा विदेशबाट नेपालीले पठाए ३ खर्ब ३७ अर्ब

    ४ महिनामा विदेशबाट नेपालीले पठाए ३ खर्ब ३७ अर्ब

    काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीले पछिल्लो चार महिनाको अवधिमा करीव साढे ३ खर्ब रुपैयाँ नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कोरोना महामारीका वावजुत पनि नेपालमा रेमिट्यान्स ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

    चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म कुल ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । यो रकम अघिल्लो वर्षको पहिलो चार महिनाको तुलनामा ११ दशमलव २ प्रतिशतले बढी हो ।

    अमेरिकी डलरमा रेमिट्यान्स ६ दशमलव ४ प्रतिशतले बढेर दुई अर्ब ८५ करोड पुगेको तथ्यांक छ । राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा भने उल्लेख्य कमी आएको छ ।

    यस अवधिमा ७५ दशमलव ८ प्रतिशतले श्रमस्वीकृति घटेको हो । चार महिनामा १९ हजार दुई सय ५१ जनाले मात्र अन्तिम श्रम स्वीकृति लिएको तथ्यांक छ ।

    वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६७ दशमलव ९ प्रतिशतले घटेर २५ हजार नौ सय ३१ जनामा सिमित भएको समेत राष्ट्र बैंकले जनाएको छ । कोरोना महामारीले रोकिएको श्रम स्वीकृति र पुनःश्रम स्वीकृतिको काम बिस्तारै सुचारु हुने क्रममा रहेको छ ।

  • प्रेम परियारको सभापतित्वमा नर्दन क्यालिफोर्निया च्याप्टर गठन

    प्रेम परियारको सभापतित्वमा नर्दन क्यालिफोर्निया च्याप्टर गठन

    न्युयोर्क

    नेपाली जनसम्पर्क समिति अमेरिकाले प्रेम परियारको सभापतित्वमा नर्दन क्यालिफोर्निया च्याप्टर गठन गरेका छन् । साथै २ जना केन्द्रीय सदस्य समेत थप गरेका छन् ।
    प्रेम परियार, नेपाली कांग्रेस १२ औं महाधिवेसन प्रतिनिधि, उपाध्यक्ष नेपाली एसोसियसन अफ नोर्दन क्यालिफोर्निया (NANC), केन्द्रीय सचिव जिपी कोईराला मेमोरियल फाउन्डेसन, अमेरिका च्याप्टर, पूर्व केन्द्रीय उपाध्यक्ष नेपाल दलित विधार्थी संघ, पूर्व सचिवालय सदस्य चौथो महाधिवेसन आयोजक समिति नेपाल दलित संघ, पूर्व जिल्ला सचिव नेपाल दलित संघ चितवन, पूर्व कोषाध्यक्ष, NANC, हाल अमेरिकामा पनि समाज सेवा लगायत विभिन्न क्षेत्रमा उतिकै सक्रिय रहॅदै आएका छन् । उनकै सभापतित्वमा ३७ सदस्यीय नर्दन क्यालिफोर्निया च्याप्टर गठन भएको हो ।

    १)सभापति प्रेम परियार
    २)ब. उपसभापति मनोहरा थापा बोगटी
    ३)उपसभापति विश्व पन्त
    ४)उपसभापति अन्जली सुवेदी
    ५)उपसभापति अरुन गौतम
    ६)उपसभापति भोजेन्द्र जि सी
    ७)उपसभापति नर बहादुर कुसरी
    ८)महासचिव पदम प्रसाद नेपाल
    ९)सचिव दिपक पाठक
    १०)सचिव डा. विपिन कुमार यादव
    ११)सचिव गोपाल खनाल
    १२)सचिव गोविन्द चलाउने
    १३)सचिव मदन पाण्डे
    १४)कोषाध्यक्ष हिमाल गिरी
    १५)सदस्य बिष्णु पाण्डे
    १६)सदस्य तेजेन्द्र बराल
    १७)सदस्य नेहा सिंड्ग
    १८)सदस्य दिपेश लामा
    १९)सदस्य उमेश श्रेष्ठ
    २०)सदस्य कल्पना आचार्य
    २१)सदस्य प्रकास कुमार के सी
    २२)सदस्य प्रताप पछाई
    २३)सदस्य वीर बहादुर बुढाथोकी
    २४)सदस्य स्याड्ग ठोकर
    २५)सदस्य शुसिला खनाल
    २६)सदस्य बुद्दीमान तामांड्ग
    २७)सदस्य जयलाल खड्का
    २८)सदस्य सुरेन्द्र बुढा मगर
    २९)सदस्य दिपेस कुमार जैसी
    ३०)सदस्य धना चौलागाई
    ३१)सदस्य रिता अर्याल
    ३२)सदस्य राज कुमार पाण्डे
    ३३)सदस्य कल्पना गजमेर
    ३४)सदस्य शैलेस आचर्य
    ३५)सदस्य कमल बस्नेत
    ३६)सदस्य कोमल डोटेल
    ३७)सदस्य बिकास अधिकारी

    सल्लाहकारहरू :
    डम्बर थपलिया
    यान राई
    राजेश थापा
    राज यादव
    बिजय चौधरी
    श्रीराम थापा
    सुरेस हमाल
    सुर्य शर्मा
    रवी सिड्ग बस्नेत
    क्रान्ति अर्याल
    बिनि पाण्डे
    अक्थर अन्सारी
    बिनोद पुन मगर
    केशर कुसारी

    जनसम्पर्क समिति अमेरिकाका सभापति धनञ्जय नरसिंह केसीले नर्दन क्यालिफोर्निया च्याप्टरमा बसेर बिभिन्न पदीय जिम्मेवारी सम्हालेका तथा हाल मनोनीत केन्द्रीय सदस्यहरु ध्रुबकुमार झा र रामबाबु पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा समितिले अझ सशक्त ढंगले कार्य गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

  • कोरोना संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु, ५२ हजारभन्दा बढीमा संक्रमण

    कोरोना संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु, ५२ हजारभन्दा बढीमा संक्रमण

    काठमाडौं । कोरोना रोना भाइरसको संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको छ। यो साता मलेसियामा र केन्यामा थप एक–एक जना नेपालीको निधन भएको छ।

    एनआरएनएका अनुसार हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जना नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ। तीमध्ये ४९ देशका ४९ हजार १ सय १० जना नेपाली कोरोना संक्रमणबाट मुक्त भइसकेका छन्। यो कूल संक्रमितको ९४ प्रतिशत रहेको हो।

    शनिवार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका ३ सय १२ जना जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ।

    एनआरएनए अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

  • विदेशबाट आएर क्वारेन्टिनमा बस्नु पर्ने अवधि घट्यो

    विदेशबाट आएर क्वारेन्टिनमा बस्नु पर्ने अवधि घट्यो

    काठमाडौं । नेपालमा विदेशबाट आउने व्यक्तिहरुले क्वारेन्टिनमा बस्नु पर्ने अवधि घटेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार अब विदेशबाट आउने व्यक्तिले अनिवार्य १० दिन मात्र क्वारेन्टिन बसे पुग्ने भएको छ । यसअघि यस्तो अवधि दुई साताको थियो ।

    स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले यस्तो निर्णय गरेको हो । संक्रमण क्रमशः कम हुँदै गएको र विदेशमा खोप समेत लगाउन शुरु गरिएको सन्दर्भमा सरकारले यस्तो नियम ल्याएको हो ।

    उता, संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिले समेत अब १० दिन मात्र क्वारेन्टिन बसे पुग्ने भएको छ । यस्तो नियम यसअघि दुई साता थियो । यो व्यवस्थापनको अनुगमन भने स्थानीय तहबाट हुने गरी तोकिएको छ । संक्रमण पुष्टि भएका व्यक्ति समेत अनिवार्य १० दिन आइसोलेसनमा बस्नुपर्छ ।

  • अब पुनः श्रम स्वीकृत अनलाइनबाटै लिन सकिने, नेपाल आउनै पर्ने बाध्यता हट्यो

    अब पुनः श्रम स्वीकृत अनलाइनबाटै लिन सकिने, नेपाल आउनै पर्ने बाध्यता हट्यो

    काठमाडौं । अब श्रमिकका लागि जारी हुने पुनः श्रमस्वीकृति अनलाइनबाटै लिन सकिने भएको छ । यसले संसारभर कामको सिलसिलामा पुगेका नेपाली कामदार लाभान्वित हुने भएका छन् । यस्तो व्यवस्था आगामी साताबाट कार्यान्वयनमा ल्याउने तयारी छ ।

    श्रमिकले पुनः श्रम स्वीकृति (रि इन्ट्री) सुविधा अनलाइनबाटै लिन सकिने गरी व्यवस्था मिलाउन लागिएको हो । अहिले श्रम स्वीकृतिका संसारको जुन मुलुकमा भएपनि नेपाल नै आउनु पर्ने बाध्यता रहेको छ । अब भने त्यो बाध्यता हट्ने छ ।

    वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट वेमार्फत बीमा र वैदेशिक रोजागर कल्याणकारी कोषको रकम तिर्न सकिने गरी व्यवस्था गर्न लागिएको हो । विभागका अनुसार यस प्रयोजनका लागि विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट वेसँग सम्झौता समेत भइसकेको छ ।

    आईएमई पे, ई सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिए बराबरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । शुल्क भुक्तानी भएपछि प्रणालीबाटै श्रमिकको इमेलमा श्रम स्वीकृति नवीकरणको प्रमाणसहितको इमेल प्राप्त हुने भएको छ ।

    विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि पुनः श्रम स्वीकृति लिनुपर्छ । श्रमिकले दुई पटकसम्म विदेशबाबाटै श्रम रि इन्ट्रीको सुविधा पाउने गरी व्यवस्था गरिएको छ ।

  • न्यू ह्यामसमा नेपाली समाजसेवीहरु सम्मान्नित, भट्टले पाए पिपुल्स च्वाइस अवार्ड

    न्यू ह्यामसमा नेपाली समाजसेवीहरु सम्मान्नित, भट्टले पाए पिपुल्स च्वाइस अवार्ड

    न्यूह्यामसर

    राज्यमा स्वयंसेवा प्रवर्धनका लागि अग्रणी संस्था ‘भोल्युन्टर एनएच’ले सकृय समाजसेवीहरुलाई सम्मान प्रदान गरेको छ । बिभिन्न शिर्षकमा प्रदान गरिएको सम्मान चार जना नेपाली व्यक्ती र एक नेपाली संस्थाले समेत पाएका छन् ।

    ‘भोल्युन्टर एनएच’ले बर्षेनी प्रदान गर्दै आएको ‘स्पिरिट अफ न्यूह्यामसर’ अवार्ड कार्यक्रममा यसैपाली थप गरिएको विधा पिपुल्स च्वाइस अवार्डबाट समाजसेवी इश्वरी भट्ट पुरस्कृत भए । कोरोना भाइरस संक्रमणका कारण बुधबार बुधबार साँझ ‘भर्चुअल’ समारोह आयोजना गरि अवार्ड वितरण गरिएको हो ।

    बिभिन्न विधामा पुरष्कृत ६४ समाजसेवीमध्ये खुला मतदान मार्फत पिपुल्स च्वाइस अवार्ड बिजेता चयन गरिएको हो । सन् २००३ देखि न्यू ह्यामसरमा बसोबास गर्दै आएका भट्ट नेपाली समुदायमा समाजसेवाका लागि सुरु देखि नै सकृय छन् । समुदायमा अफ्ठेरोमा परेका ब्यक्तिलाई काम एवं कोठा खोज्ने देखी आवश्यक परेको जे सुकै सहयोग गर्न पनि आफु तत्पर रहेको भट्ट बताउँछन् । सन् २०१५ मा नेपालमा गएको महाभूकम्प पिडितलाई सहयोगका लागि भट्टले आर्थिक संकलनमा सकृय तत्परता देखाएका थिए ।

    उनी राज्यमा बसोबास गर्ने नेपालीहरुको छाता संस्था न्यूह्यासर नेपाली समाजमा स्थापना देखिनै आवद्ध छन् । बिभिन्न कारणले आर्थिक अफ्ठेरोमा परेका नेपालीलाई सघाउन उनले सन् २०१५ मा आपतकालिन राहत कोष स्थापना गरेका थिए । सन् २०१७ यता समाज अन्तर्गत रहेको कोषको संयोजक भट्ट नै रहेका छन् । कोषबाट हालै कोरोना भाइरस महामारीका कारण काम गुमाएका नेपाली विद्यार्थीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको थियो । भट्ट अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मार्फत भाषा साहित्यको प्रवर्धनमा पनि सकृय छन् । अनेसास न्यूह्यामसर च्याप्टरको उनी प्रधान सम्पादक रहेका छन् ।

    छत्रकुमारी गुरुङ

    त्यस्तै उत्कृष्ठ समाजसेवीको रुपमा सम्मान्नित हुनेमा गुरुङ समाज न्यूह्यामसरकी अध्यक्ष एवं गैर आवासीय नेपाली संघ अमेरिकाकी बोर्ड अफ डाइरेक्टर छत्रकुमारी गुरुङ पनि छिन् । एनएच भोल्युन्टरले गुरुङलाई कोरोना भाइरस संक्रमणका बेला समुदायको हितका लागि सदैव तत्पर व्यक्तिको रुपमा सम्मान गरेको जनाएको छ । सन् २००७ देखि राज्यमा बसोबास गर्दै आएकी गुरुङले अफ्ठेरोमा परेका ब्यक्तिलाई आवास खोजिदिने देखि काम र व्यवसाय सुरुवातसम्ममा सहयोग पुर्याउँदै आएकी छिन् । उनी सामाजीक न्यायका दृष्टिले समेत समाजसेवामा सकृय रहेको संस्थाले उल्लेख गरेको छ ।

    उत्कृष्ठ समाजसेवीको रुपमा सम्मान पाउने अन्य नेपालीमा एरभेष्ट सेन्थेनियल लाइन्स क्लवका सचिव अजय रानाभाट र कोब्ली साएर कलेजकी नर्सिङ विदर्यार्थी स्मृती शर्मा सापकोटा रहेका छन् । रानाभाटले कोरोना भाइरस संक्रमणका बेला लाइन्स क्लव मार्फत निरन्तर समाजसेवी भूमिका निभाएको संस्थाले जनाएको छ । कलेजको क्रस कल्चलर क्लवकी उपाध्यक्ष रहेकी शर्माले सामूदायीक नेतृत्व देखाएका कारण उनलाई यस बर्षको ‘न्यूम्यान सिभिल फेलो’ अवार्ड प्रदान गरिएको जनाएको छ । शर्माले २२ मुनिका युवा उमेर समूह एवं अरु तीन जनाले वयस्क समूह अन्तर्गत सम्मान पाएका हुन् ।

    यस्तै सामाजीक गतिविधीमा सम्लग्न गैर नाफामुलक संस्थातर्फ न्यू ह्यामसर नेपाली समाज पनि सम्मान्नित भएको छ । राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा भरोसाको रुपमा रहेको संस्थाले कोरोना भाइरस संक्रमणका बेला सुरक्षा उपकरण जुटाएर समुदायमा वितरण गरेको थियो । राज्य बाहिर बस्ने नेपालीहरुलाई समेत संस्थाले सहायता प्रदान गरेको थियो । नेपाली भाषा एवं कला संस्कृती प्रवर्धनमा संस्था निरन्तर सकृय छ ।

    स्पिरिट अवार्ड पाउने नेपाली मूल बाहेक अन्य व्यक्ति एवं संस्थामा राज्यमा सकृय खाद्य बैंक एवं विभिन्न सामाजीक अभियन्ताहरु छन् । अधिकांशले कोरोना भाइरस संक्रमणसँग जुध्न समाजको गरेको योगदानकै कारण सम्मान गरिएको ‘भोल्युन्टर एनएच’ले जनाएको छ ।

  • नेपाल र भारतबीच दैनिक एक उडान हुने निश्चित

    नेपाल र भारतबीच दैनिक एक उडान हुने निश्चित

    काठमाडौं । नेपाल र भारतबीच दैनिक एक उडान हुने भएको छ । यसका लागि दुबै मुलुकले अनुमति प्रदान गरेका छन् । नेपालले भारतको एयर बबल स्कीममा सहभागी हुने गरी सहमति दिएको थियो ।

    यससँगै अब भारत र नेपालबीच ९ महिनापछि हवाई उडान हुन लागेको हो । नेपालस्थित भारतीय दूतावासका अनुसार आज भारत सरकारले एयर इण्डिया र नेपाल एयरलाइन्सलाई दैनिक एक उडान गर्न सक्ने गरी अनुमति दिएको छ ।

    यसअघि नेपाल सरकारले दुबै मुलुकका एक एक एयरलाइन्सलाई दैनिक एक उडान गर्न सक्ने गरी निर्णय गरेको थियो ।

    अब एयरलाइन्स कम्पनीले भारत र नेपाल उडानको मिति तोक्ने भएका छन् । यी कम्पनीले अब आफैले उडानको मिति तोक्ने छन् । लामो समयदेखि उडान बन्द भएका कारण यो रुटमा यात्रा गर्ने यात्रुहरु प्रभावित बनेका छन् ।

  • फेसबुकलाई टुक्राउन माग गर्दै अमेरिकामा मुद्दा दर्ता

    फेसबुकलाई टुक्राउन माग गर्दै अमेरिकामा मुद्दा दर्ता

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमाथि गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पार्ने काम गरेको आरोप लागेको छ । अमेरिकाका संघीय नियाम निकाय र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले गैरकानुनी कदम चालेको भन्दै फेसबुक बिरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

    मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले सो कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकारको दुरुपयोग गरेको बताएकी छन् ।

    फेसबुकमाथि साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई ’किन्ने वा सिध्याउने’ शैली लिएको आरोप लगाइएको छ । यो मुद्दालाई फेसबुकविरूद्ध अमेरिकी सरकारले लिएको अहिलेसम्मकै सबैभन्दा उल्लेख्य कानुनी कदम मानिएको छ । अभियोजनकर्ताहरूले अदालतलाई फेसबुकलाई टुक्राउने विषयमा सोच्न समेत भनेका छन् ।

    अर्बौँमा प्रयोगकर्ता रहेका इन्स्टाग्राम र ह्वाट्सएपमा समेत फेसबुककै लगानी छ । फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किनेको थियो । इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाएर फेसबुकको आकार सीमित गरिनुपर्ने माग मुद्दामा गरिएको छ ।

    फेसबुकले अहिले अनुसन्धान गर्न खोजिएका सम्झौता नियामकहरूले वर्षौँअघि स्वीकृत गरिसकेको जनाएको छ । फेसबुकले इन्स्टाग्राम र ह्वाट्सएपलाई सफल बनाउन करोडौँ खर्च गरेको बताउँदै आफूलाई उसकै शब्दमा जोडदार ढङ्गले प्रतिरक्षा गर्ने जनाएको छ ।

  • न्युयोर्कबाट परिवर्तनका संवाहक (चेन्ज मेकर) २०२० को घोषणा; को को चुनिए ?

    न्युयोर्कबाट परिवर्तनका संवाहक (चेन्ज मेकर) २०२० को घोषणा; को को चुनिए ?

    न्युयोर्क

    न्युयोर्कस्थित नेपालीजम डट कमले आरम्भको पहिलो वर्ष पुरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा ‘परिवर्तनका संवाहक-२०२०’ घोषणा गरेको छ ।

    समाजमा योगदान पुर्याएका अथवा नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएका नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरुलाई सन् २०२० को ‘परिवर्तनका संवाहक’ (ChangeMakers) चुनेका छन् ।

    वर्ष २०२० को सूचीमा कूल ८५ व्यक्तित्व र संघसंस्थालाई चुनेका छन् । जसमध्ये व्यक्तित्वहरू ६८ जना रहेका छन् । जसमा अमेरिकी १६ जना, महिला १५ जना, पुरुषहरू ५३ जना, अमेरिकी नेपाली ३८ जना, नेपाल फर्किएका ९ जना, नेपाली नागरिक १४ जना र मरणोपरान्त ४ जना छन्। त्यसैगरी, नेपाली अमेरिकी संघसंस्थाहरू १२ वटा र अमुक पौरखी पात्रहरु ५ समूहलाई पनि परिवर्तनका संवाहक सूचीमा समेटिएका छन् ।

    अमेरिकामा अध्ययन र कर्म गरी मातृभूमी नेपाल फर्किएका कर्मवीर नेपालीहरु र नेपाल र नेपालीको निम्ति आफ्नो जीवन र कर्म समर्पण गरेका अमेरिकी नागरिक र संस्थाहरुलाई पनि ‘परिवर्तनका संवाहक’ बाट सम्मान गरिएको छ ।

    ‘परिवर्तनका संवाहक-२०२०’ सूचीमा पूर्व अमेरिकी राजदूत स्कट डेलिसी, सिएनएन हिरो २०१५ म्यागी डोयन, अमेरिकी प्रोफेसर टेड रिकार्डी (मरणोपरान्त), सिएनएन पूर्व समाचार वाचिका किरण क्षेत्री, डा. आन्ना स्टिर, जर्सी सिटी मेयर स्टेभन फुलप, अवैतनिक महावाणिज्यदूत मार्भिन ब्रस्टिन, अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, संरासं महिला आयोग उपाध्यक्ष वन्दना राणा, वरिष्ठ संगीतकार किशोर गुरूंग, पूर्व संरासं सहायक महासचिव कुलचन्द्र गौतम, संरासंका लागि नेपाली स्थाई प्रतिनिधि अमृतबहादुर राई, सामाजिक अभियन्ताहरू डा. महावीर पुन मगर र डा. विष्णुमाया परियार रहेका छन्।

    त्यसैगरी, परिवर्तनका संवाहक सूचीमा म्यारिल्याण्ड राज्य सभासद ह्यारी भण्डारी, अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, पत्रकार रवि लामिछाने, डा. पुकार मल्ल, बनस्पतिविद डा. उत्तमबाबु श्रेष्ठ, अर्थविद डा. विष्णु पौडेल (मरणोपरान्त), अमेरिकी आईडल उपबिजेता दिवेश पोखरेल (आर्थर गन), ईण्डियन हेड सहरका उपमेयर किरण सिटौला, मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका, अनेसास संस्थापक अध्यक्ष हेमनाथ सुवेदी, हर्नडन सहरका काउन्सिल सदस्य प्रदिप ढकाल र डा. अम्बिका अधिकारी छन्।

    त्यसैगरी, अमित शाह, न्यूयोर्क सिटी काउन्सिल सदस्य कोष्टा कोस्टान्टिडिनेस, जर्सी सिटी पूर्व काउन्सिल प्रेसिडेंट रोलाण्डो लाभारो, जर्सी सिटी काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यान, अवैतनिक महावाणिज्यदूत न्यारी कारोल, पामेला रोस, कृसु क्षेत्री, प्रविन भट्टराई, अवैतनिक महावाणिज्यदूत रिचार्ड ब्लुम, जर्सी सिटी पूर्व काउन्सिल सदस्य माईल युन (मरणोपरान्त) न्यू योर्क सिटीका काउन्सिल सदस्य डानियल ड्रोम, टेकराज पौडेल, अवैतनिक महावाणिज्यदूत एसी शेर्पा, अजित शाह, अन्जन श्रेष्ठ, अर्जुनप्रशाद मैनाली, बिमल नेपाल, अशोक गुरूङ्, अवैतनिक महावाणिज्यदूत रिचार्ड ब्लुम, हरि शर्मा मुडभरी, दिवाकर महर्जन, कन्चन अमात्य, मोहन ज्ञवाली, प्रज्वल रत्न बज्राचार्य, सन्जिता प्रधान, शैलेस श्रेष्ठ, ऐश्वर्या शर्मा, अवैतनिक महावाणिज्यदूत विलियम क्यासेल, वंशलाल तामाङ् र सेरी वना ह्यान्डलिंगलाई पनि परिवर्तनका संवाहकमा चुनिएका छन् ।

    त्यसैगरी, परिवर्तनका संवाहक सूचीमा समेटिका अन्य व्यक्तित्वहरूमा ग्रामी अवार्ड मनोनित बाँसुरीवादक मानोस सिं, कुर्टिस वाटर्स, सामाजिक अभियन्ता होमराज आचार्य, अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, डा. प्रह्लाद पन्त, जोली अमात्य, फेसन डिजाईनर प्रबल गुरूंग, उमा कार्की थापा, डा. सुकदेव शाह (मरणोपरान्त), समाजसेवी लिला राई, एनआरएन आईसिसी उपाध्यक्ष सोनाम लामा र उर्गेन शेर्पा आदि रहेका छन्।

  • न्युयोर्कस्थित नेपाली लेडिज साँझले नेपालका सुत्केरी महिलालाई गराए ३ महिनासम्म निःशुल्क भोजन

    न्युयोर्कस्थित नेपाली लेडिज साँझले नेपालका सुत्केरी महिलालाई गराए ३ महिनासम्म निःशुल्क भोजन

    काठमाडौं

    महिलाका लागि महिलाद्वारा अभियान अन्तर्गत अमेरिकाको न्युयोर्कमा संचालन हुँदै आएको ”नेपाली लेडिज साँझ न्युयोर्क” ले यो बर्ष नेपालस्थित थापाथलीको प्रसुति गृहमा सुत्केरी हुन आउने महिला र उनका कुरुवालाई झन्डै तीन महिना लगातार निशुल्क भोजन गराएको छ ।
    प्रारम्भमा अमेरिकाको न्युयोर्क, न्युजर्सी, कनेक्टिकट वरपर बसोबास गर्दै आएका महिलाहरुमा भातृत्व बिकास गर्दै एक आपसका सुख दु:ख बाढ्ने उदेश्यले हरेक बर्षको जुन महिनामा आयोजना गरिदै आएको ”नेपाली लेडिज साँझ” पछिल्लो समय सामाजिक संस्थाको रुपमा रुपान्तरित हुँदै गएको छ । संस्थाले यसै अभियान अन्तर्गत यो बर्ष कोभिड -१९ को महामारीका कारण अप्ठेरोमा परेका सुत्केरी महिला र तीनका कुरुवाहरुलाई पोषण युक्त खाना गत दशैं अघिदेखि दिपावली पछिसम्म बितरण गरेको लेडिज साँझद्वारा जारी बिज्ञप्तिमा जनाएको छ । संस्थाले ति महिला र कुरुवाहरुलाई निशुल्क खाना बितरणको लागि नेपालस्थित बहादुर शाह स्‍मृति प्रतिस्ठान र कृति फाउन्डेसनको सहकार्यमा बितरण गरेको समेत जनाएको छ । दुई सय भन्दा धेरै सुत्केरी र कुरुवालाई करिब एक लाख १० हजार रूपैयाको खाना बितरण गरिएको समेत नेपाली लेडिज साँझ न्युयोर्कले जनाएको छ ।
    नेपाली लेडिज साँझ न्युयोर्क एक गैह्र राजनीतिक, गैह्र धार्मिक सामाजिक संस्था हो । सन् २०१२ देखि संचालनमा आएको यो संस्थाले यो बर्ष थापाथलीस्थित प्रसुति गृहमा आएका महिलालाई सहयोग गरेपछि सहकार्य गरेको नेपालस्थित संस्था बहादुर शाह स्‍मृति प्रतिस्ठानका महासचिब स्वर्ण बिक्रम शाहले नेपाली लेडिज साँझलाई धन्यबाद ब्यक्त गरेका छन् ।

  • कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस, को–को परे ?

    कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस, को–को परे ?

    काठमाडौं । मन्त्रिपरिषद बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस गरेको हो ।

    श्रोतका अनुसार कोरियाका लागि डा कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल र इजिप्टका लागि निर्मलराज काफ्लेको नाम सिफारिस भएको छ ।

  • विदेशमा रोजगारी गुमाएर फर्किएकालाई ठूला आयोजनामा काम दिन एनआरएनएको माग

    विदेशमा रोजगारी गुमाएर फर्किएकालाई ठूला आयोजनामा काम दिन एनआरएनएको माग

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका नेपालीलाई ठूला र राष्ट्रिय गौरवका आयोजनामा रोजगारी प्रदान गर्न माग गरेको छ । विदेशमा यस्तै प्रकृतिका आयोजनामा श्रम बेचिरहेका नेपाली श्रमिकलाई स्वदेशमै उचित पारिश्रमिकसहित रोजगारीको ग्यारेन्टी गर्न सकिने एनआरएनएको भनाई छ ।

    यसका लागि श्रमिकहरुलाई राष्ट्रिय गौरवका आयोजनामा आबद्ध गरेर रोजगारी दिन सकिने सम्भावना रहेको सघंको भनाई छ । हाम्रो सम्मान परियोजनाको संयोजकत्वमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘कोभिड १९ को सन्दर्भमा गैर आवासीय नेपाली संघको भूमिका’ शीर्षकमा आज आयोजना भएको भर्चुअल कार्यक्रममा एनआरएनएका उपाध्यक्ष डा बद्रि केसीले यस्तो प्रस्ताव गरेका हुन् ।

    उनका अनुसार नेपालमा विभिन्न राष्ट्रिय गौरवका आयोजनामा दक्ष कामदारको अभाव छ । भएका कामदार पनि विदेशी छन् । उता, नेपाली कामदार भने यस्तै प्रकृतिका कामका लागि विदेश जान बाध्य छन् । यो बाध्यता हटाउन नेपालीले स्वदेशमै सम्मानजनक रोजगारी पाउनु पर्ने उनले बताए । करिब २८ लाख नेपाली श्रमिक विदेशिएर वार्षिक ८ खर्ब नेपालमा रेमिट्यान्स भित्र्याउँदा करिब ४ खर्ब रकम नेपालबाट विदेशिएको तथ्यांक उनले प्रस्तुत गरे ।

    यो रकममा नेपाली श्रमिकलाई व्यवस्थापन गर्न सकिने उनको भनाई छ । विदेशबाट आएका श्रमिकको जुन सीप विदेशमा सिकेर आएको छ, त्यही क्षेत्रमा रोजगारी पाउन निकै कठिन भएको भन्दै सीप पहिचान गरेर लगानी गरी विकास गर्नुपर्ने उनको सुझाव छ । उनका अनुसार एनआरएनले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एनआरएनए, सरकार र अन्य संघसंस्थाहरूसँग समन्वय गरेर अगाडी बढ्ने योजना रहेको छ ।

  • स्वयम्भु क्षेत्रका बुद्धमुर्तिहरु भत्काउन पाईंदैन; शेर्पा किदुग

    स्वयम्भु क्षेत्रका बुद्धमुर्तिहरु भत्काउन पाईंदैन; शेर्पा किदुग

    कल्पना घिमिरे, न्युयोर्क

    विश्व सम्पदा सुचिमा सुचिकृत भएको स्वयम्भु क्षेत्र भित्रका बुद्ध मुर्ति सहित केही महत्वपूर्ण स्तुप र मुर्तिहरु भत्काउने सरकारको निर्णयप्रति युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग )को ध्यानाकर्षण भएको छ ।
    नेपाल सरकारले काठमाडौ उपत्यकाको कलंकीदेखि चाबहिलसम्मको सडक विस्तार गर्ने क्रममा विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्वयम्भू क्षेत्र भित्र स्थापित हजार बुद्ध मूर्ति सहितको स्तूप र थुप्रै धार्मिक संरचनाहरु भत्काउन लागेको समाचार प्रति शनिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै शेर्पा किदुगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।
    भगवान बुद्धको पवित्र जन्मभुमी नेपालमा बौद्ध सम्पदाहरुको उचित संरक्षण र प्रवर्द्धन गरिनुको साटो बिनास तर्फ उन्मुख भएकोप्रति किदुगले दुःख ब्यक्त गरेको छ ।
    किदुगका अनुसार नेपाल सरकारको यो गैर जिम्मेवारीपूर्ण निर्णयले विश्व शान्तिका अग्रनायक भगवान बुद्धका समस्त अनुयायीहरुको आस्था र विश्वाश माथि आघात पुग्न गएको छ । यस असंवेदनशील निर्णयको कारण विश्व समुदायको सामु नेपालको छबिमा कालो धब्बा लाग्ने देखिन्छ ।


    ‘बौद्ध मान्यता अनुसार कुनै पनि स्थान बिशेषमा भुमी पूजन गरी स्थापना गरिएको मूर्ति, स्तूप अथवा मन्त्रहरु कुँदिएका हातले घुमाउने मणिचक्र जे भए पनि एक पटक प्राण प्रतिस्ठा सम्पन्न गरी सकेपछि कदापि हटाउन मिल्दैन । यस्ता सांस्कृतिक सम्पदाहरुलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न समेत मिल्दैन । त्यस्ता धार्मिक आस्थाका प्रतीकहरु भत्काउने कुराको कल्पना मात्रै पनि गर्न सकिंदैन । कुनै पनि धार्मिक समुदाय बिशेषको भावनामा ठेस् पुर्याउन सक्ने सबै खाले अवांछित् कार्यहरुमा हाम्रो सदैव असहमति रहनेछ’ बिज्ञप्तिमा उल्लेख छ, ‘बिकास निर्माणको नाममा वर्तमान सरकारले गर्न लागेको यस निन्दनिय कार्यको युनाइटेड शेर्पा एसोसिएशन घोर भत्र्सना गर्दछ ।
    बिकास निर्माणका अन्य थुप्रै उपाय हुन सक्छन् । बिभिन्न बिकल्पहरु रोज्न सकिन्छन् । सडक विस्तारका लागि कुनै समुदायको आस्था माथि नै प्रहार गर्नु पर्छ भन्ने छैन । कसैको धार्मिक आस्थाका संरचनाहरु तोड्नु भनेको उनीहरुको मुटुमा प्रहार गर्नु हो ।’

    ‘विगतमा बुद्ध जन्मेको देशबाट बौद्ध भिक्षुहरुलाई देश निकाला गरेको कालो इतिहास मेटेर मेटिंदैन । बौद्ध धर्मावलम्बीहरुले हरेक शुभकार्यमा प्रयोग गरिने खताग माला प्रतिवन्धित गर्नु पर्छ भन्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको खेदपूर्ण अभिब्यक्ति पनि बिर्सन सक्दैनौं । काक्रे विहार घटनाको चोट आलै छ । धर्मिक आस्था माथिको निरन्तर प्रहार असहनीय बन्दै गईरहेको छ । प्रज्ञा र करुणाको अभ्यास गर्ने बौद्ध धर्मावलम्बीहरु सहनशील हुन्छन् । क्षमाशील पनि हुन्छन् । त्यसो भन्दैमा बारम्बार अन्याय गरी रहँदा अकल्पनीय परिणाम निस्कन सक्छ’ सरकारको ध्यानाकर्षण गर्दै भनिएको छ, ‘तसर्थ बिकास र सडक विस्तारको नाममा हुन लागेको यो विध्वंशकारी कार्य रोक्न नेपाल सरकारले आफ्नो निर्णय अविलम्ब सच्याई परिस्थितिलाई थप जटिल बन्न नदिन किदुगले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ । किदुगका अध्यक्ष उर्गेन शेर्पाले बिज्ञप्ती जारी गर्दै भनेका छन् ‘नेपाल सरकारबाट हाम्रो बिनम्र आग्रह प्रति तत्काल संबोधन नभएको खण्डमा धार्मिक सम्पदा संरक्षणको अभियानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा तीब्र बनाउँदै संयुक्त राष्ट्र संघ सम्म पुग्ने हामी वाध्य हुनेछौं।’
    ‘हामी धार्मिक सहिष्णुता कायम गर्न चाहन्छौं । बुद्ध जन्मेको देशमा बुद्धका स्मारकहरुको संरक्षण गर्ने अभियानमा हातेमालो गर्दै सबैले आआफ्नो स्थानबाट कृयाशील भई साथ र सहयोग गर्न पनि किदुगले अपिल गरेको छ ।

  • नुवाकोट-अमेरिका जनसम्पर्क समितिको घोषणा सभा सम्पन्न; बिज्ञान खनाल सभापति

    नुवाकोट-अमेरिका जनसम्पर्क समितिको घोषणा सभा सम्पन्न; बिज्ञान खनाल सभापति

    न्युयोर्क

    नेपाली काँग्रेससँग आबद्द नुवाकोट जिल्लाका प्रबासीहरुको संगठन “नुवाकोट अमेरिका जनसम्पर्क समिति” को घोषणा-सभा यही डिसेम्बर ६ तारिख आइतबार सम्पन्न भएको छ । सभाले बिज्ञान खनालको सभापतित्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेका छन ।
    गृह जिल्लाका प्रभावशाली काँग्रेसी नेताहरूको प्रमुख आतिथ्यमा सम्पन्न सभाको कार्यविधि कोरोना महामारीको कारण जुम मार्फत भर्चुअल्ली गरिएको हो ।

    सभामा नेपाली कांग्रेसका नेताहरू क्रमश; अर्जुन नरसिंह केसी, डा. रामशरण महत, केंद्रीय सदस्य तथा सभासद बहादुर सिंह लामा तथा नेपाली कांग्रेस नुवाकोट जिल्ला पार्टी सभापति जगदीश्वर नरसिंह केसी, केदार नरसिंह केसी सभापति प्रजातांत्रिक समाज, महासमिति सदस्य, रमेश महत महासमिति सदस्य, सन्तमान तामाङ् प्रमुख जिल्ला समन्यय समिति, अप्सरा थापा उपप्रमुख जिल्ला समन्यय समिति, डा राजन पन्त US Nepal policy reserch center, बिष्णु सूबेदी संयोजक जनसम्पर्क समिति अन्तरकृया संजाल, धनंजय नरसिंह केसी सभापति जनसम्पर्क समिति लगायतका नेताहरुको उपस्थिति थियो । नवनियुक्त सभापति बिज्ञान खनालले सञ्चालन गरेको कार्यक्रमको स्वागत भाषण इन्द्रा सिटौलाले गरेको थियो ।

    कार्यक्रमलाई सम्वोधन गर्दै नवगठित कार्य समिति सभापति खनालले अमेरिकामा छरिएर रहेका साथीहरूलाई अझ संगठित गर्दै एकताको भावना बिकास गर्ने बताएका छन् ।
    नवगठित कार्यसमिति;
    सभापति : बिज्ञान खनाल (तादी)
    बरिष्ठ उपसभापति : दिनेश पाण्डे (शिबपूरी)
    उपसभापति : रामबाबू पाण्डे (बेलकोटगढ़ी)
    उपसभापति : ज्योति पाण्डे (तादी)
    उपसभापति : डा. सिर्जना भण्डारी (तादी)
    उपसभापति: रामकृष्ण भट्ट (किस्पांग)
    उपसभापति : नमराज न्यौपाने (बिनपा)
    महासचिब : इन्द्र सिटौल (तादी)
    सचिव : डा दीपेन्द्र दाहाल ( बेलकोटगड़ी)
    सचिव : भुवनमान डंगोल (बिनपा)
    सचिव : शैलेश आचार्य (दुप्चेस्वर)
    कोषाध्यक्ष : रबिश वाईबा (बेलकोटगढ़ी)
    सदस्यहरू;
    भोजेन्द्र जीसी ( लिखु) हरी लमिछाने (लिखु) सुदर्शन धिताल (दुप्चेस्वर) कोमल डोटेल (बेलकोटगढ़ी) कल्पना थपालिया (लिखु) रश्मी तामांग (मेघांग) गोपाल कृष्ण कडेल (पंचकन्या) रामेश्वर पाण्डे (बेलकोटगढ़ी) प्रकाश शर्मा (तारकेस्वर) महेश खड़का (बिनपा) तूफ़ान खातिवडा (पंचकन्या) सागर अधिकारी (बेलकोट) नमराज गुरुंग (दुप्चेस्वर) देवेन्द्रकुमार लो (ककनी) उत्सब रिमाल (बेलकोटगढ़ी) राघब लामिछाने (ककनी) रामेश्वर खनाल (तादी)

    नवगठित कार्यसमितिलाई उपस्थित अतिथि तथा सहभागीहरुले वधाई तथा शुभकामना प्रदान गरेका थिए ।

  • कोरोनाबाट विदेशमा यो साता थप दुई गैरआवासीय नेपालीको निधन, मृत्यु हुनेको संख्या ३०१ पुग्यो

    कोरोनाबाट विदेशमा यो साता थप दुई गैरआवासीय नेपालीको निधन, मृत्यु हुनेको संख्या ३०१ पुग्यो

    काठमाडौं । विश्वका विभिन्न २० मुलुकमा मृत्यु हुने कोरोना संक्रमित नेपालीको ३०१ पुगेको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो। यो साता जर्मनीमा एक र भारतमा एक नेपाली संक्रमितको मृत्यु भएको हो।

    जर्मनीमा कोरोना भाइरस संक्रमित नेपालीको निधन भएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए। स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ।

    शनिबार साँझसम्म विदेशका ४९ मुलुकमा ४८ हजार ६३९ गैरआवासीय सङ्क्रमित भएका छन्। सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।

    हालसम्म नेपालमा मात्र दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट सङ्क्रमित पुगेका छन् भने तीमध्ये दुई लाख ३४ हजार ७५६ जना कोरोनामुक्त भएका छन्। नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ। नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक हजार ५२९ जनाको ज्यान गएको छ ।

  • प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय कोभिड विशेष महासभालाई सम्बोधन गर्ने

    प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय कोभिड विशेष महासभालाई सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ सम्बन्धी संयुक्त राष्ट्रसंघी विशेष महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनको सम्बोधनको भिडियो रेकर्ड संयुक्त राष्ट्रसंघ पुगेको हो । प्रधानमन्त्रीको सम्बोधनको कार्यक्रम बिहीबार रहेको छ ।

    महासभा बिहीबार शुरु हुनेछ । उद्घाटनकै दिन नेपालको सम्बोधनको कार्यक्रम राखिएको छ । विशेष सभालाई विश्वका नेता, राष्ट्रसंघका उच्च अधिकारी र कोरोना विरुद्धको खोप बनाइरहेका कम्पनीका प्रमूखहरुबाट सम्बोधन हुने कार्यक्रम राखिएको छ ।

    कोभिड–१९ को महामारी र यसले पारेका प्रभावलाई न्यूनिकरणका उपाय खोज्न महासंभा आयोजना भएको हो । महासभामा कुल १४१ वक्ता छन् । जसमा एक वक्ता प्रधानमन्त्री ओली हुन् । ५३ राज्यप्रमुख, ३९ सरकार प्रमुख र ४ उप्रधानमन्त्री र ३८ जना मन्त्रीले बोल्ने कार्यक्रम तय भएको छ ।

    नेपालका तर्फबाट बैठकमा कोभिड–१९ को खोपको विकास भएपछि सबै मुलुकको समान पहुँचको माग उठाउने तयारी छ । अहिले संसारका विकसित मुलुकले कोरोना विरुद्धको खोप निर्माणलाई अन्तिम रुप दिइरहेका छन् ।

  • नुवाकोट काँग्रेसका शिर्षस्त नेताहरु सहित “नुवाकोट-अमेरिका जनसम्पर्क समिति” को घोषणा सभा हुने

    नुवाकोट काँग्रेसका शिर्षस्त नेताहरु सहित “नुवाकोट-अमेरिका जनसम्पर्क समिति” को घोषणा सभा हुने

    न्युयोर्क

    नेपाली काँग्रेसको सहगोत्रीय सँस्था ‘नुवाकोट अमेरिका जनसम्पर्क समिति’ अमेरिकाको घोषणा-सभा यही डिसेम्बर ६ तारिख आइतबार हुने भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको प्रमुख आतिथ्यमा हुने सभा कोरोना महामारीको कारण जुम मार्फत भर्चुअल्ली हुने सदस्य सचिव विज्ञान खनालले बताएका छन् ।


    सभामा नेपाली कांग्रेसका नेताहरू क्रमश; अर्जुन नरसिंह केसी, डा. रामशरण महत, केंद्रीय सदस्य तथा सभासद बहादुर सिंह लामा तथा नेपाली कांग्रेस नुवाकोट जिल्ला पार्टी सभापति जगदीश्वर नरसिंह केसी लगायत जिल्लाका बिभिन्न तहका नेतागणहरूको उपस्थिति हुने जनाएका छन् ।

    कार्यक्रमको सञ्चालन छनौट समितिले गर्ने छन् भने सभामा नै नुवाकोट अमेरिका जनसम्पर्क समितिको आधिकारिक घोषणा समेत हुनेछ । कार्यक्रमको प्रत्यक्ष प्रसारण विभिन्न विद्युतीय संचार माध्यायम मार्फत हुने जनाइएको छ ।

    कार्यक्रमको मिति र समय;
    Date : December 6, Sunday
    Time : Nepal – 8 pm
    New York – 9:15 am
    Texas – 8:15 am
    California – 6:15 am

  • कोरोनाले एक हप्तामा ६ जना गैरआवासीय नेपालीको निधन, कुन देशमा कति ?

    कोरोनाले एक हप्तामा ६ जना गैरआवासीय नेपालीको निधन, कुन देशमा कति ?

    काठमाडौं, १४ मंसिर । कोभिड–१९ का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २ सय ९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा १ जना र युकेमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

    स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

    शनिबार सााझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४३ हजार ५ सय ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । यो कुल संक्रमितमध्येको ९१ प्रतिशत रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।

    तीमध्ये २ लाख ३० हजार ७ सय २३ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९२ दशमलव ५ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ४ सय ५४ जनाको ज्यान गएको छ ।

  • कतारमा रोजगारी परिवर्तन गर्न राजिनामा पत्र अनिवार्य

    कतारमा रोजगारी परिवर्तन गर्न राजिनामा पत्र अनिवार्य

    काठमाडौं । अब कतारमा रोजगारी परिवर्तन गर्न चाहने कामदारले नयाँ कामका लागि आवेदन दिने क्रममा साविकको रोजगारदातासँग बुझाएको राजिनामा पत्र समेत संलग्न गर्नुपर्ने भएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले यस्तो प्रावधान कार्यान्वयनमा ल्याएको हो ।

    अब कामदारले रोजगारी परिवर्तन गर्न खोजेमा नयाँ कम्पनीको अफर लेटरमा हस्ताक्षर र स्टाम्पसमेत आवश्यक हुने मन्त्रालयको सूचनामा उल्लेख छ । यसरी आवेदन प्राप्त भएपछि मन्त्रालयले रोजगारदाता कम्पनी र कामदारलाई म्यासेज पठाउने तथा कामदारले कम्पनी परिवर्तन गर्न लागेको बारेमा समेत जानकारी दिने भएको छ ।

    गैरकानूनी रुपमा बढ्दो कामदारको संख्या घटाउन यो उपाय फलदायी हुने कतारी सरकारको विश्वास छ । यसले कामदारको सेवा र सुरक्षामा समेत अभिवृद्धि गर्नेछ । मन्त्रालयबाट अन्तिम स्वीकृति नपाएसम्म कामदारलाई साविकको रोजगारदाताले कम्पनीमै राख्नु पर्नेछ ।

    कम्पनी परिवर्तन गर्न दुई वर्ष वा सो भन्दा बढी काम गरिसकेको कामदारले दुई महिना सूचना अवधि र दुई महिना भन्दा कम अवधिमा एक महिना सेवा गर्नुपर्ने शर्त समेत राखिएको छ । रोजगारदाता र कामदारका लागि रोजगार सम्झौताको पालना अनिवार्य रहेको मन्त्रालयको भनाई छ ।

    कुनै कामदारले रोजगार सम्झौता वा श्रम कानूनको प्रावधानको उल्लंघन गरेर देश छोडे भने एक वर्ष कतार फर्कन नपाउने गरी नियम बनाइएको छ । नेपालसहित मुलुकबाट कामदार आपूर्ति गर्ने कम्पनीले विभिन्न प्रलोभनमा विदेशमा कामदार लैजाने तर , त्यहाँ पुगेपछि तोकिएबमोजिमको सेवा सुविधा नपाउँदा कामदारले रोजगारी परिवर्तनको प्रयास गरिरहेका हुन्छन् ।

  • ओमानबाट सलाम एयरको काठमाडौं उडान पुनः शुरु हुने

    ओमानबाट सलाम एयरको काठमाडौं उडान पुनः शुरु हुने

    काठमाडौं । ओमानबाट अब सलाम एयरलाइन्सले काठमाडौंका लागि नियमित उडान गर्ने भएको छ । कोरोना भाइरसको महामारी पछि बन्द भएको यो रुटमा सलामले ३ डिसेम्बरबाट नियमित उडान गर्ने भएको हो ।

    एयरलाइन्सका अनसार मस्कटबाट काठमाडौंका लागि सलाम एयरले नियमित उडान गर्न लागेको हो । ओमान वैदेशिक रोजगारीमा जाने नेपालीको एक आकर्षक गन्तब्य हो । सिधा उडानबाट यहाँ यात्रुले सुविधा प्राप्त गर्ने भएका छन् । टिकट बुकिङ सलाम एयरको वेबसाइटबाट पनि गर्न सकिने बताइएको छ ।

  • कास्मिरमा नेपाली गोर्खा सैनिकको मृत्यु

    कास्मिरमा नेपाली गोर्खा सैनिकको मृत्यु

    जम्मु कास्मिर । कास्मिरमा शुक्रबार बिहान भएको आतंककारी हमलामा एक गोर्खा सैनिकको ज्यान गएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार नेपालको दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत गोर्खा सैनिकको ज्यान गएको हो ।

    लुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा स्थायी घर भएका ३० वर्षीय प्रेम केसीको आतंककारी हमला परी ज्यान गएको छ । उनीसहित एक भारतीय सैनिकको समेत ज्यान गएको छ । जम्मु कास्मिरमा केसीसहित सैनिकमाथि शुक्रबार बिहान ५ बजेतिर हमला भएको थियो । त्यसक्रममा घाइते भएका उनीहरुको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रेम ७ वर्षीया छोरी र ५ वर्ष छोराका पिता हुन् ।