Category: डायस्पोरा

  • गैरआवासीय नेपालीसँग प्रधानमन्त्री भन्छन् : बाँच्‍नका लागि देश छाड्नु नपरोस

    गैरआवासीय नेपालीसँग प्रधानमन्त्री भन्छन् : बाँच्‍नका लागि देश छाड्नु नपरोस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि नेपालीले बाँच्नकै लागि देश छाड्ने अवस्था नआउने बताएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रबारबाट शुरु भएको एनआरएन विश्व ज्ञान सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो दावि गरेका हुन् । उनले जीविकाकै लागि विदेश जानु पर्ने बाध्यता अब नेपालीलाई नपर्ने बताए।

    उनले मुलुक समृद्धिको दिशातर्फ अघि बढेकाले जीविकाका लागि बाध्यतावश विदेश जाने स्थिति अन्त्य गरी स्वदेशमै श्रम र सीपको प्रयोग गर्न सक्ने आधार निर्माणमा गैरआवासीय नेपालीको पनि भूमिका हुनुपर्नेमा बताए । उनले भने ‘अब जीविकाकै लागि विदेश जाने अवस्थाको अन्त्य हुनुपर्छ। ज्ञान आर्जन आदि कामका लागि मात्रै बाहिर जानुपरोस् ।’

    अब जीविकाकै लागि विदेश जाने अवस्थाको अन्त्य हुनुपर्छ। ज्ञान आर्जन आदि कामका लागि मात्रै बाहिर जानुपरोस् ।

    प्रधानमन्त्री केपी शर्मा ओली

    बाँच्‍नका लागि देश छाड्नुपर्ने, परिवार छाड्नु पर्ने, बस्ती छाड्नुपर्ने, ठाउँ छाड्नुपर्ने अवस्था नहोस् भन्ने कामना उनले गरे । भर्चुअल रुपमा शुरु भएको कार्यक्रममा संघका अध्यक्ष कुमार पन्तले आफूहरु विदेशमा प्राप्त ज्ञान, सीप र लगानी स्वदेशको समृद्धिका लागि प्रयोग गर्न तयार रहेको बताए । तर, त्यसका लागि राज्यले वातावरण बनाउनु पर्ने उनको भनाई छ ।

    आजबाट दोस्रो विश्व ज्ञान सम्मेलन शुरु भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले र‍ोग र भोकले जनताले ज्यान गुमाउनु नपरोस् भनेर सरकारले काम गरिरहेको समेत दावि गरे ।

    ‘रोग र भोकले नेपालीले ज्यान गुमाउनु नपरोस् भनेर, जनताको जीवन सुरक्षित गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर मैले सुरु देखि नै अभिव्यक्ति दिँदै आएको छु’, प्रधानमन्त्रीले भने, ‘त्यसका निम्ति मेरो नेतृत्वको सरकारले पूर्ण रुपमा प्रयास पनि गरेको छ।’

  • शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन हुने

    शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन हुने

    काठमाडौं । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउने उद्देश्यले आयोजना भएको विश्व ज्ञान सम्मेदन शुक्रबारबाट शुरु हुने भएको छ । दुई वर्षअघि देखि विश्व ज्ञान सम्मेलन आयोजना थालिएको हो । यसको निरन्तरता दिँदै दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन २०२० अक्टोबर ९ देखि ११ सम्म आयोजना हुने भएको छ ।

    सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ । नेपाललाई समृद्धिको मार्गमा अग्रसर गराउन विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई मातृभूमि नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने उद्देश्य अनुसार सम्मेलन आयोजना भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ । यही उद्देश्य प्राप्तिका लागि विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि एवं पूँजीलाई नेपालको विकासमा प्रयोग गर्ने सम्बन्धमा संघले पहल थालेको बताएको छ ।

    भर्चुअल माध्यमबाट हुने यस सम्मेलनको उद्घाटन शुक्रबार, असोज २३ गते अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधीसहित स्वदेश तथा विदेशका विज्ञहरूको सहभागिता रहने सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहने संघले उल्लेख गरेको छ ।

    नेपाललाई समृद्धिको मार्गमा अग्रसर गराउन विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई मातृभूमि नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने उद्देश्य अनुसार सम्मेलन आयोजना भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।

    २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ । सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन् । विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुनेछ । साथै संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।


    गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा हुने सम्मेलनमा काठमाडौँ विश्व विद्यालयको सहकार्य रहनेछ । परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरु सहभागी हुनेछन् ।

    सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्रहरु प्रस्तुत हुने संघले उल्लेख गरेको छ । नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित भएर कार्यपत्रहरु माथि छलफल हुने संघको भनाई छ ।

    सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान लगायतका सत्रहरु समावेश गरिएका छन् । यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि , वातावरण र समाज विज्ञान लगायतका समानान्तर सत्रहरुमा विभिन्न विज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नु हुनेछ ।

    सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने तथा सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्श हुने तय भएको छ । सम्मेलनको निष्कर्षलाई एक श्वेतपत्रमार्फत नेपाल सरकार समक्ष सुझावको रुपमा प्रस्तुत गरिने संघले बुधबार जानकारी गराएको छ ।

  • ४ वर्षअघि काबुलमा मारिएका नेपालीका परिवारले पाउने भए सम्मानजनक क्षतिपूर्ति

    ४ वर्षअघि काबुलमा मारिएका नेपालीका परिवारले पाउने भए सम्मानजनक क्षतिपूर्ति

    काठमाडौं । ४ वर्षअघि अफगानिस्तानको राजधानी काबुलमा भएका आतंकवादी हमलामा १५ नेपालीसहित केही भारतीय सुरक्षाकर्मीको समेत ज्यान गयो । तर, उनीहरुको परिवारले उचित क्षतिपूर्ति पाएका थिएनन् । अब आक्रमणमा परी ज्यान गुमाएका तथा घाइते भएका नेपालीको परिवार र क्यानडा सरकारबीच मिलापत्र भएको छ ।

    २० जुन २०१६ मा क्यानडा राजदूतावासअगाडी आत्मघाती आक्रमण भएको थियो । यो आक्रमणको जिम्मा तालिवानले लिएको थियो । घटनामा एक दर्जन नेपाली घाइते भएका थिए । घटनामा ज्यान गुमाएका परिवार र घाइतेले प्रतिव्यक्ति दुई करोड डलर क्षतिपूर्तिको माग गर्दै क्यानडा सरकारविरुद्ध दुई वर्षअघि अदालतमा मुद्दा दायर गरेका थिए ।

    क्यानडा सरकारले घटनाका घाइते र मृत्यु भएका परिवारसँग गोप्यरुपमा यो मुद्दा सुल्झाएको क्यानेडेली संचारमाध्यमले जनाएका छन् । क्यानडाको दूतावासको सुरक्षाको जिम्मा लिएको कम्पनीले आफ्ना सुरक्षाकर्मीहरुलाई घटनापछि केहीलाई आशिंक क्षतिपूर्ति दिएको र केहीलाई भने कुनै पनि क्षतिपूर्ति दिएको थिएन ।

    घाइतेको सुरुवाति उपचार गरिदिएको कम्पनी नै गायब भएपछि पीडितले क्यानडा सरकारविरुद्ध मुद्दा दायर गरेका हुन् । अब भने सहमतिमै मुद्दा सुल्झाइएको छ । तर, पीडितका परिवारको पहिचान गोप्य राखिएको छ । अब भने पिडित परिवारले समेत मुद्दा फिर्ता लिएका छन् ।

  • पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

    पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

    काठमाडौं । सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

    बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।

    यस्तै, मुख्यसचिव रहेर राजिनामा दिएका लोकदर्शन रेग्मीलाई सयुक्त अधिराज्य बेलायतको राजदूतका लागि नियुक्त गर्ने सिफारिस गरेको छ ।

    रेग्मीले केहीअघि मुख्यसचिवबाट राजीनाम दिएका थिए । उनको राजीनामा स्विकृत गरेर राजदूत बनाउने निर्णय भएको हो । रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदैछ ।

    राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ। त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्नेछ।

    सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

  • खाडी क्षेत्रका चार मुलुकबाट अब काठमाडौंमा नियमित हवाई उडान

    खाडी क्षेत्रका चार मुलुकबाट अब काठमाडौंमा नियमित हवाई उडान

    काठमाडौं । सरकारले पिसिआर परीक्षण सहज नभएका खाडी क्षेत्रका मुलुकमा नियमित उडान रोकेको थियो । यी मुलुकमा माग अनुसार चार्टर्ड उडान हुँदै आएका थिए । यसले भाडा महगाें हुने गरेको थियो । बिहीबारबाट भने उक्त प्रतिवन्ध हटेको छ । अब खाडीका चार मुलुकबाट अक्टोबर १ देखि नियमित हवाई उडान सुरु हुने भएको छ ।

    साउदी अरब, कतार, कुवेत र ओमानबाट नियमित हवाई उडान खुल्न लागेको हो । अब श्रमिकले आफ्नो अनुुकुलमा टिकट काटेर घर फर्कन सक्ने भएका छन् । सरकारले भदौ १६ बाट मलेसिया, यूएई, जापान, कोरियालगायत मुलुकमा नियमित उडान खोलेको थियो ।

    तर साउदी, कतार कुवेतलगायत मुलुकमा भने पीसीआर परीक्षण सहज नभएको भन्दै यी देशबाट फर्कन खोज्ने नेपालीको लागि चार्टर्ड उडान गरिएको थियो । अब पीसीआर परीक्षण गरेर आउने श्रमिक सिधै होम क्वरेण्टीनमा जान सक्ने भएका छन् ।

    पीसीआर परीक्षण नगरी आए काठमाडौंमा होटल क्वरेण्टीनमा बस्नु पर्छ । तर, स्वदेश फर्कन सिधै सम्बन्धित एअरलाइन्स कम्पनीमा सम्पर्क गरेर टिकट काटेर आफ्नो अनुकुलमा घर फर्कने सकिने भएको छ । चार्टर्ड उडानमा जस्तो दूतावासको सूची अनुसार घर फर्कन पालो समेत कुर्न पर्ने छैन ।

  • लकडाउनयता विदेशबाट फर्किए ७७ हजार नेपाली

    लकडाउनयता विदेशबाट फर्किए ७७ हजार नेपाली

    काठमाडौं । लकडाउनयता संसारका ३२ मुलुकबाट समस्यामा रहेका करीव ७७ हजार नेपाली घर फर्किएका छन् । विदेशमा काम गुमाएका, घुमघामका सिलसिलामा विदेश पुगेर अड्किएका, गैरकानूनी रुपमा बसिररहेका नेपाली घर फर्किएका छन् । नियमित उडान शुरु भएपछि भने स्वच्छाले घर फर्कने नेपालीसमेत यो सूचिमा थपिएका छन् ।

    कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी)ले जनाएको छ ।

    बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट नेपाली घर आएका हुन् । यसरी घर फर्कनेमध्ये सवैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट छन् । यो मुलुकबाट २२ हजार २१४ जना नेपाली घर आए । सबभन्दा कम श्रीलंकाबाट ५ जना आएका छन् ।

    तथ्यांक अनुसार अहिलेसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ जना घर आएका छन् ।

    स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५४६, प्रदेश नं २ का ११ हजार ९०९, वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश नं ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदूरपश्चिम प्रदेशका १ हजार ७३७ रहेको केन्द्रले उल्लेख गरेको छ । ८हजार ४९७ जनाको भने प्रदेश विवरण खुलेको छैन ।

  • ओमानमा अक्टोवरबाट विदेशीको प्रवेश खुला, नेपाली पनि जान पाउने

    ओमानमा अक्टोवरबाट विदेशीको प्रवेश खुला, नेपाली पनि जान पाउने

    काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमसँगै लागेको विदेशी नागरिक प्रवेशमाथिको प्रतिवन्ध ओमानले हटाएको छ । नयाँ प्रावधान भने १ अक्टोबरबाट लागु हुने भएको छ । अब ओमानले विदेशी आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने घोषणा गरेको हो । यसले त्यहाँ कामको सिलसिलामा जाने नेपाली समेत लाभान्विन हुने भएका छन् ।

    किनकी नेपाल सरकारले समेत अब वैदेशिक रोजगारीमा जानेका लागि सबै गन्तब्य खुला गरिसकेको छ । ओमानको कोभिड १९ सम्बन्धी सर्वोच्च समितिको २२ सेप्टेम्बरको निर्णय अनुसार आगामी १ अक्टोबर बाट लागु हुने गरी नेपाल लगायत विदेशबाट ओमान फर्किन सक्ने नीति ल्याएको हो ।

    ओमानस्थित नेपाली दूतावासले यसको पुष्टी गरेको छ । दूतावासका अनुसार ओमान फर्किन चाहने कामदारले साबिकमा लिनुपर्ने परराष्ट्र मन्त्रालयबाट जारी हुने एप्रुभल लेटर समेत अब भने लिनु पर्ने छैन । ६ महिनाभन्दा बढी अवधि ओमान बाहिर रहनेको हकमा कम्पनीले फर्किन अनुमति दिएको कागजात ‘नो अब्जेक्शन लेटर’ चाहिन्छ ।

  • विदेशमा उडान संख्या बढाउन राजदूतहरुको आग्रह

    विदेशमा उडान संख्या बढाउन राजदूतहरुको आग्रह

    काठमाडौं । विदेशमा काम गर्न गएका नेपालीहरुको नेपाल फर्कने संख्यालाई मध्यनजर गर्दै विदेशमा उडान संख्या बढाउन विभिन्‍न मुलुकका राजदूतले सरकारलाई सुझाव दिएका छन् । कोरोना संक्रमणको जोखिमका कारण विभिन्‍न देशमा नेपालीहरु अलपत्र छन् ।

    उनीहरुलाई घर फर्काउन उद्धार तथा नियमित उडानको संख्या बढाउनु पर्ने सुझाव राजदूतहरुले दिएका छन् । लकडाउनपछि नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका हजारौँ नेपाली घर फर्कने पालो कुरेर बसेका छन् ।

    सोमबार व्यवस्थापिका संसद, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले राजदूतहरुसँग भर्चुअल बैठक गरेको छ । छलफलमा राजदूतहरुले विदेशमा नेपाली कामदारको अवस्थाका विषयमा समेत जानकारी गराएका थिए ।

    उक्त अवसरमा मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किए पनि अझै करिब ८ हजार फर्कन पालो कुरेको जानकारी गराए ।

    स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरुको भिसा अवधि सकिने गरेको तथ्यांक उनले दिएका छन् । उनले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताए । उनले निर्देशिका व्यवहारिक बनाउन सुझाव दिए ।

    ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले अहिलेसम्म करिब १४ सय मानिसलाई घर फर्काएको भन्दै घर फर्कन चाहनेको संख्या ठूलो रहेको उल्लेख गरिन् । उनले पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई स्वदेश फर्काउने गरिएको जानकारी दिइन् ।

    कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले कुवेतमा ७० हजार कामदार रहेको जानकारी गराउँदै कोभिडका कारण ९ हजार २ सय बढीले स्वदेश फर्कन नाम दर्ता गराएको उल्लेख गरे । उनका अनुसार कुवेतबाट ५४ सय जना नेपाली स्वदेश फर्किइसकेका छन् ।

    कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले कतारमा सीप नभएका अदक्ष कामदार बढी समस्यामा रहेको उल्लेख गरे । उनले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई तत्काल उद्धार गर्न नसके समस्या अझ जटिल हुने चेतावनी समेत दिए ।

    दैनिक ४ वटा उडान गर्न नसके अहिले कतारमा थन्किएका १६ हजार बढी र चाडबाडको समयमा फर्किन चाहनेहरु समेत समस्यामा पर्ने जानकारी उनले दिए । साउदी अरेबियाको लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएपनि १० हजारलाई मात्रै पठाउन सकिएकोजानकारी दिए ।

    बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णयअनुसार चार्टर्ड उडान मार्फत नेपालीहरुलाई स्वदेश फर्काउने गरिएको जानकारी दिए ।

  • कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४

    कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४ पुगेको छ । पछिल्लो एक सातामा थप एक जनाको ज्यान गएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १७ मुलुकमा नेपालीको मृत्यु भएको छ ।

    यससँगै नेपालसहित कोरोनाका कारण विश्वभर कुल ६४५ नेपालीको ज्यान गएको तथ्यांकले देखाएको छ । संघका अनुसार अघिल्लो साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना संक्रमणदर केही बढेको छ । समितिका संयोजक सञ्जीव सापकोटाले दिएको जानकारी अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित देखिएका छन् ।

    कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।

    विदेशमा अलपत्र ६९ हजार नेपालीको उद्धार गरिएको छ । संघ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको तथ्यांक रहेको छ ।

  • क्यानडामा डेढ महिनामा तीन नेपालीको मृत्यु

    क्यानडामा डेढ महिनामा तीन नेपालीको मृत्यु

    काठमाडौं । पछिल्लो डेढ महिनामा क्यानडाले तीन जना नेपाली समुदायका सदस्यलाई गुमाउन पुगेको छ । गत आइतबार राजधानी अटोवा निवासी मान्भी श्रीवास्तव विष्टको ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ । उनको घरमै लडेर ज्यान गएको हो । उनी ५० वर्षीया रहेको संघले जनाएको छ । यसअघि २७ अगस्तमा ओटवामा बस्ने जगन्नाथ र उर्मिला ओझाका छोरा सौगातको २९ वर्षको उमेरमा ज्यान गएको थियो ।

    उनको समेत बाथरुममै ज्यान गएको हो । उता, क्यानडाको टोरन्टो इटोविकोकमा अगस्त ११ मा सवारी दुर्घटनामा ३ वर्षीय बालक रायन भट्टराईको ज्यान गएको छ । उनको सडक पार गर्ने क्रममा भएको दुर्घटनामा ज्यान गएको हो । पछिल्ला दिनमा विदेशमा कोरोनाबाहेक अन्य कारणबाट पनि नेपालीको ज्यान जाने क्रम जारी छ ।

  • विदेशमा समस्याग्रस्त नेपालीको एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन

    विदेशमा समस्याग्रस्त नेपालीको एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन

    काठमाडौं । संसकदीय समितिले विदेशमा समस्यामा रहेका सबै नेपालीको उद्धार एक महिना भित्र गरिसक्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई उद्दार गरी एक महिना भित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन दिएको हो ।

    समितिको बैठक आइतबार सिंहदरबारमा बसेको हो । बैठकले वैदेशिक रोजगारीका लागि गई अलपत्र नेपालीलाई उद्धार गरी नेपाल ल्याउन सरकारलाई निर्देशन दिएको हो । यसको कार्यान्वयन गर्ने निकाय भने श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय हुन् ।

    समिति सभापति बिमलप्रसाद श्रीवास्तवले विदेशमा अलपत्र नेपालीहरुलाई ल्याउने सम्बन्धमा प्रभावकारी कार्यसम्पादन हुन नसकेको समेत उल्लेख गरे ।

    वैदेशिक रोजगारीको रुपमा साउदी अरब, कतार, कुवेत, मलेसिया आदि देशमा गएका र कोभिड १९ को कारणबाट लामो समयसम्म रोजगार बिहिन भई अलपत्र अवस्थामा रहेका श्रमिकहरुलाई नेपाल ल्याउने सम्बन्धमा सम्बन्धित सरकारी निकायहरुबाट प्रभावकारी कार्यसम्पादन गर्न नसकेकोमा समितिको गम्भिर ध्यानाकर्षण भएको उनको भनाई छ ।

    समितिले कोभिड १९का कारण रोजगारी गुमाएका नागरिकहरु भोकभोकै रहने अवस्था आइसकेकाले त्यसको तत्काल समस्या समाधान गर्न स्थानीय तहसँग समन्वय गरी प्रभावकारी कार्य सम्पादन गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।

    विदेशबाट आफैँ आउन नसक्ने गरी अलपत्र परेका श्रमिकहरुको यथार्थ सूचना संकलन गरी त्यस्ता व्यक्तिहरुलाई राज्यले खर्च व्यहोरेर ल्याउने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको हो ।

  • विदेशमा फेरी बढ्यो नेपालीको मृत्युदर

    विदेशमा फेरी बढ्यो नेपालीको मृत्युदर

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या कुनै समय शुन्यमा पुगेको थियो । तर, पछिल्ला दिनमा पुनः वृद्धि भएको छ । विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जनाको मृत्यु भएको यो साता मात्र पुष्टी भएको छ ।

    गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।

    अब साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिहं राजपुतले जानकारी दिएको समितिले जनाएको छ ।

    यसका साथै यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । यो सँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले बताए ।

    स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरब लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।

    यस्तै नेपालमा मात्र ५३ हजार १ सय २० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ३७ हजार ५ सय जना कोरोना मुक्त भएका छन् ।

    यो कुल संक्रमितको ७० दशमलव ६ प्रतिशत हो । हालसम्म नेपालमा ३ सय ३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
    कोरोना संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ५ सय ७९ जनाको निधन भएको छ ।

    यस्तै विश्वभर ९० हजार ७ सय ६७ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७१ हजार ७ सय १७ जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७८।७ प्रतिशत रहेको छ ।

    यसैबीच कोरोनाभाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ ।

    हालसम्म ३० देशमा रहेका ६१ हजार ७ सय १० जना नेपालीको उद्धार गरिएको छ ।

  • पर्यटक र गैरआवासीय नेपालीलाई नेपाल प्रवेश अनुमति खुलाउने तयारी

    पर्यटक र गैरआवासीय नेपालीलाई नेपाल प्रवेश अनुमति खुलाउने तयारी

    काठमाडौं । सरकारले विदेशी पर्यटक तथा विदेशको नागरिकता दिएका गैरआवासीय नेपालीलाई समेत नेपाल प्रवेशको अनुमति खुला गर्ने तयारी थालेको छ । संसारका धेरै मुलुकमा विदेशी नागरिकमाथिको प्रतिवन्ध क्रमशः खुकुलो बनाउँदै लगिएको छ । यसै सन्दर्भमा नेपालमा समेत पर्यटकलाई स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आगमन अनुमति खुला गर्ने तयारी गरिएको हो ।

    यसअघि नेपालमा अतिआवश्यक काम परेको बेला सम्बन्धित मुलुकमा रहेको दूतावासबाट सिफारिस लिएर गैरआवासीय नेपाली घर आउन पाउने नियम बनाइएको छ । तर, त्यो अवस्था भनेको एकाघरको मृत्यु भएका वा परिवारको कुनै सदस्यमा जटिल प्रकारको बिरामी देखिएको अवस्थामा मात्र थियो ।

    तर, क्वारेन्टिन र परीक्षणका मापदण्ड पुरा गरी अब क्रमशः विदेशी नागरिकलाई समेत नेपाल खुला गर्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएका छन् ।

    यसका साथै नेपालमा संचालित आयोजनामा काम गर्ने कामदारलाई समेत नेपाल आउन दिने अनुमतिको प्रस्ताव सीसीएसी पुगेको छ । नेपालमा चीनबाट ठूलो संख्यामा कामदार कार्यरत रहेका छन् ।

  • अमेरिकाबासी थापा परिवारका लाेभैलाग्दा करेसाबारी

    अमेरिकाबासी थापा परिवारका लाेभैलाग्दा करेसाबारी

    सुपेन्द्र बस्नेत, बोष्टन

    काेराेना कहरका कारण थाङथिलो भएकाे परिवेशमा उर्जालाई चलायमान राख्ने विभिन्न उपाय हुन सकदछ । चाहे याे बिपत्ति प्राकृतिक हाेस् या कृतिम, यसले प्राणीजगतमा पुर्याएकाे प्रत्यक्ष अप्रत्यक्ष प्रभाव साँच्चै कहाली लाग्दाे छ । यद्यपि, काेराेना कहरका बीच आफ्नाे उपलब्ध फुर्सदकाे समय खेर नफाली करेसाबारीकाे स्याहारसुसारमा सदुपयाेग गरेर करेसाबारी लाेभैलाग्दाे बनाउने नेपालीहरुकाे पनि कमी रहेन । जस मध्यकाे एक कर्मयाेगी परिवार हाे – थापा परिवार । जाे बाेस्टनस्थित नेपाली समुदायका बीच चिरपरिचित छ । नेपालकाे संखुवासभाबाट हाल अमेरिकाकाे म्यासाच्युसेट्स राज्यकाे बाेस्टनमा  परिवारसहित बसाेबास गर्दै आउनु भएका राज थापाकाे करेसाबारी साँच्चै उत्प्रेरक र मनमाेहक छ । झण्डै १० बर्ष अघि परिवार सहित अमेरिका छिर्नु भएका थापाकाे करेसाबारी अघिल्ला बर्षहरुमा पनि आकर्षक नै थिए । तर यस बर्ष काेरानाका कारण घरदेखि जागिर र जागिरदेखि घरसम्म मात्र सिमित रहनु पर्दा बच्न गएकाे समय करेसाबारीका लागि सदुपयाेग गर्न पाँउदा अझ आकर्षक र फलदायी बनाउन सकिएकाे थापाकाे ठम्याई छ । नेपालमा रहँदा आर्जन गरेकाे धेरथाेर कृषि सम्बन्धी ज्ञान र सीपलाई आफ्नाे करेसाबारीमा सक्दाे सदुपयोग गरेकाे थापा बताउछन् । जुन कुरा माैलाइरहेका करेसाबारीका तरकारीहरुका दृष्यले पनि सहजै पुष्टि गर्दछन् ।

    कामबाट थाकेर आएकाे तन र काेराेनाका कारण बिरक्तिएकाे मनले केरेसाबारीमा छिर्ने बित्तिकै अत्यन्तै स्फुर्ति र आनन्दानुभूति गर्दछ

    झट्ट सुन्दा सामान्य बिषय जस्ताे लागे पनि डलर फल्ने ठाँऊ भनि चिनिने अमेरिकाकाे सन्दर्भमा भने यस प्रकारकाे तरकारी फलाई निकै महत्वपूर्ण, कदरयाेग्य र प्रेरणादायी कार्य हाे । लटरम्मै फलेका बाेडी, खुर्सानी, घिराैला, फर्सी, आलु, चिप्लीभेण्डी, भन्टा, गाेलभेडा, हरिया साग लगायत अर्ग्यानिक तरकारी रहेकाे करेसाबारी अवलाेकन गर्दा , याे अमेरिका नभएर नेपालकै एउटा मेहनति सफल किसानकाे करेसाबारी हाे भन्ने भान हुन्छ। अमेरिकामा महिनाै अघिदेखि टिपेर चिसाेमा भण्डारण गरिएका तरकारी खाएर छाक टार्न विवश जीवनशैलीमा आफ्नै करेसाबारीबाट ताजा र स्वस्थ्य  तरकारी तत्काल टिपेर भान्सा मिठाे र रमाईलाे  बनाउन पाँउनु त अमेरिकाबासी नेपालीका लागि अहाेभाग्य नै हाे । त्यति मात्र कहाँ हाे र, आर्थिक हिसाबले पनि करेसाबारीले तरकारीमा हुने ठुलाे खर्चमा निकै कटाैति गराइरहेकाे जिकिर गर्नु हुन्छ  – थापा । उहा भन्नु हुन्छ “करेसाबारीका कारण तरकारी किन्नमा हुने ठुलाे खर्च जाेगिएकाे छ।” त्यसकाे अलावा महत्वपूर्ण र अमु्ल्य कुरा, कामबाट थाकेर आएकाे तन र काेराेनाका कारण बिरक्तिएकाे मनले केरेसाबारीमा छिर्ने बित्तिकै अत्यन्तै स्फुर्ति र आनन्दानुभूति गर्दछ ‘ । उसाे त मनकारी मनका धनि थापा परिवार , करेसाबारीमा तरकारी हुँदा र माैका पाउँदा छिमेकी र पाहुनाहरुकाे भान्सा पनि स्वादिष्ट र रमाइलाे बनाइदिन चुक्दैन । लामाे समयदेखि ग्रेटर बाेष्टन नेपाली समुदायमा आबद्ध भई हाल महासचिवकाे जिम्मेवारी सम्हालिरहनु भएका थापा बताउनु हुन्छ; ” ब्यापारिक हिसाबले नभई रहरले ठाँऊ पाउदा जानेकाे सीपकाे सदुपयाेग गर्न सुरु गरेका हाैं तर गर्दै जादा लगभग तरकारीमा आत्मनिर्भरतिर उन्मुख हुदै गएका छाैं । याे हाम्रालागि निकै खुशीकाे कुरा हाे । र, यस्तै चाहनेहरुका लागि पनि प्रेरणाकाे कुराे हाे” ।

    थापा परिवारको तरकारी उत्पादन

    हिजाेआज हरसम्भव हरेक दिन कामबाट फर्किएपछि करेसाबारी डुल्ने उहाँकाे दैनिकी नै बनेकाे छ । तुलनात्मक रुपमा मुख्यगरी करेसाबारी डुल्नु आफ्नाे रहर भएकाे तर रेखदेख र स्याहारसुसारकाे मुख्य जिम्मेवारी आफ्नी जीवनसंगिनी रिना थापाले निर्वाह गर्दै आउनु भएकाले यसकाे मुख्य श्रेय पनि उहाँलाई नै दिन रुचाउनु हुन्छ – थापा । श्रीमतीकाे महत्वपूर्ण याेगदानकाे प्रतिफलप्रति गर्व गर्दै उहाँ भन्नु हुन्छ ‘यत्तिकाे लाेभैलाग्दाे र कदरयाेग्य परिणाम आउनुमा मुख्य श्रेय श्रीमतीलाई नै जान्छ” । त्यसाे त हाेस्टेमा हैसे गर्नेमा उहाँका दुई छाेराहरु पनि चुकेका छैनन् । आइपर्दा आवश्यक सहयाेग गर्दै छाेराहरुले आमा बुबाकाे पछिपछि लागेर पुर्खौली कृषि कर्मकाे अमुल्य ब्यवहारिक शिक्षा लिइरका छन् भन्नु हुन्छ – थापा ।बास्तवमा अमेरिकामा कृषिकाे अमुल्य सैद्धान्तिक ज्ञान र ब्यवहारिक सीप पाउन करेसाबारीले महत्वपूर्ण भुमिका खेल्दछ भन्नेमा दुई मत छैन । अर्काे कुरा नेपाली तन, नेपाली मन र नेपालीपनकाे याेग प्रतिबिम्बित हुने करेसाबारीले प्रत्यक्ष रुपमा आर्थिक क्षेत्रमा पुर्याउने याेगदान उल्लेखनीय नदेखिए पनि अप्रत्यक्ष रुपमा नेपालीपन, पहिचान र  बिशेषताहरुकाे संरक्षण र संबर्धनमा महत्वपूर्ण याेगदान पुर्याउनेमा कुनै शंका छैन । 

    अझ महत्वपूर्ण अर्काे पाटाे याे छ कि , अर्ग्यानिक तरकारी खानाले स्वास्थ्यमा पुर्याउने याेगदान र करेसाबारीमा तन डुलाएर मन भुलाउँदा पाउने आनन्द साच्चै अमुल्य र अद्भुत हुन्छ नै । यी र यस्तै कारणहरुले गर्दा पछिल्ला दिनहरुमा अमेरिकामा रहेका आम नेपालीहरु जसाेतसाे गरी घर जाेड्ने र घर जाेडिसकेपछि धेरथाेर करेसाबारी बनाउने रहर नेपालीकाे बिशेषता र पहिचान नै बन्दै गइरहेकाे छ ।

  • न्युयोर्कमा जमैका नेपाली सोसाईटी गठन

    न्युयोर्कमा जमैका नेपाली सोसाईटी गठन

    न्युयोर्क

    नेपालीहरुको बस्ति न्युयोर्क सहरको सबै क्षेत्रमा बढेसँगै जमैका आसपासका क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुले जमैका नेपाली सोसाईटीको हाललाई तदर्थ समिति गठन गरेका छन् ।

    क्विन्सको जमैंका क्षेत्रका नेपालीलाई संगठित गर्दै आपसमा सदभाव र सहयोगी भाव विस्तार गर्ने उदेश्यले सॅंस्थाको आवश्यकता महसुस गरी करिव ५० जनाको उपस्थितिमा तदर्थ समिति गठन गरेको हो । कार्यसमिति बिस्तार नहुन्जेल तदर्थ समितिको अध्यक्षता कृष्ण आचार्यले गरेका छन् ।

    गठित समितिमा निम्न व्यक्तिहरु छन् ।

    अध्यक्ष :- कृष्ण आचार्य 

    उपाध्यक्ष :- नेवांग गुरूंग 

    सचिव :- भिम न्यापाने 

    कोषाध्यक्ष :- मुना ओझा 

    सदस्य:- 

    डा. प्रेम तिम्सिना 

    राजेश ढुंगेल 

    राम कार्की 

    पुस्कर खनाल 

    कृष्ण लामिछाने 

  • नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका संक्रमणबाट काठमाडौंमा तीन सहित थप ९ जनाको मृत्यु हो ।

    उनका अनुसार मोरङकी ४३, मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिला तथा पर्साका ७५, महोत्तरीको ७८, काठमाडौंका ४१, ५९, ४५ र रुपन्देहीको ४० वर्षीया पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

    योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २८० पुगेको छ।

  • गैरआवासीय नेपाली दूतावासको सिफारिसमा नेपाल आउन पाउने

    गैरआवासीय नेपाली दूतावासको सिफारिसमा नेपाल आउन पाउने

    काठमाडौं । सरकारले लकडाउन र कोरानो महामारीका बीच गैरआवासीय नेपालीका लागि समेत नेपाल आउने ढोका खोलेको छ । तर, सबै गैरआवासीय नेपाली भने नेपाल आउन पाउने छैनन् । सम्बन्धित मुलुकस्थित नेपाली कुटनीतिक नियोगको सिफारिसमा मात्र उनीहरुलाई नेपाल आउने अनुमति मिल्नेछ ।

    तर, सिफारिस लिने कन्डिसन भने विशेष मात्र तोकिएको छ । कुनै पनि गैरआवासीय नेपालीको एकाघरको आफन्त गम्भीर बिरामी रहेको वा घरको कुनै सदस्यको मृत्यु भएको अवस्थामा मात्र विदेशबाट गैर आवासीय नेपालीलाई नेपाल आउने अनुमति मिल्नेछ ।

    पहिलो चरणमा सरकारले मंगलबारबाट नियमित हवाई उडान खोल्दैछ । यसक्रममा नेपाली नागरिक र कुटनीतिक नियोगमा कार्यरत कर्मचारी तथा पदाधिकारीलाई मात्र नेपाल आउने अनुमति दिइनेछ । यसबाहेक विदेशी साझेदार कम्पनीका कर्मचारी र प्रतिनिधिले समेत नेपाल आउने अनुमति पाउने छन् ।

    तर, गैरआवासीय नेपालीबाट पनि नेपाल आउन पाउनु पर्ने दवाव सरकारमाथि दिइएको थियो । सोहीअनुसार गैरआवासीय नेपालीका लागि आंशिक रुपमा खुला गर्ने अनुमति दिइएको हो । उता, नेपाल आउन दिइने अनुमतिमा समेत दैनिक संख्या बढाइएको छ । यसअघि दैनिक ५ सय यात्रुलाई काठमाडौं आउन अनुमति दिने भनिएकोमा अब भने ८ सय मानिसलाई अनुमति दिइएको छ ।

  • विश्वभर कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ४१०

    विश्वभर कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ४१०

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउने नेपालीको संख्या ४१० पुगेको छ । नेपालमा शनिबार साँझसम्म २१५ जनाको निधन भएको छ । नेपाल बाहिर भने कुल १ सय ९५ जनाको निधन भएको छ । यसरी संसारभर रहेका नेपालीको कुल मृत्यु ४१० पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

    संघका अनुसार संक्रमणबाट विदेशमा मात्र यो साता थप ३ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १ सय ९५ जना नेपालीहरुको ज्यान गएको हो । यो साता बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको छ ।

    स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले उपलब्ध गराएको तथ्यांक अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण केही बढेको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा समेत संक्रमण सामान्य बढ्न थालेको देखिएको छ ।

    हालसम्म विश्वका ३८ देशमा नेपालीमा कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीको मृत्यु भएको छ ।

    हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा ३७ हजार ३ सय ४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन । २० हजार ५ सय ५५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ५५ प्रतिशत हो ।

    डा सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गर्दै आफूलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउन आग्रह समेत गरेका छन् । मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगित सुन्न र योग तथा ध्यान गर्न उनले संक्रमितलाई सुझाव दिएका छन् ।

  • मलेसियाबाट एउटै जहाजमा ल्याइयो १६ शव

    मलेसियाबाट एउटै जहाजमा ल्याइयो १६ शव

    काठमाडौं । शुक्रबार मलेसियाबाट एउटै जहाजले नेपालीका १६ वटा शव नेपाल ल्याएको छ । कोरोना भाइरस र लकडाउनका कारण विदेशमा अड्किएका नेपाली नागरिकको उद्धारका क्रममा शव ल्याउने क्रम समेत जारी छ । सोही सिलसिलामा आज १६ वटा शव नेपाल ल्याइएको हो ।

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सको जहाजले मलेसियाबाट २६२ यात्रुलाई काठमाडौं ल्याएको छ । सोही जहाजमा उक्त शवहरु समेत ल्याइएको हो । यसअघि बिहीबार साउदी अरबबाट ६ शव नेपाल ल्याइएको थियो ।

    आज मलेसियाबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान गरे । हिमालय एयरलाइन्सले १५६ जना यात्रु काठमाडौं ल्याएको छ ।

  • विदेशबाट भेदभाव बीना उद्धार गर्न एनआरएनएको माग

    विदेशबाट भेदभाव बीना उद्धार गर्न एनआरएनएको माग

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशबाट बीना भेदभाव अप्ठेरोमा परेका सबै नेपालीको उद्धार गर्न सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको भर्चुअल बैठकमा भाग लिँदै एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकार गर्ने उद्धारमा कुनै पनि नेपालीमाथि भेदभाव हुन नहुने बताए । अब राज्यले श्रम गरेर आएका र नआएका नभनी सबै नेपालीलाई घर फर्कने वातावरण बनाउनु पर्ने उनको माग थियो ।

    इलिगल (अवैधानिक रुपमा बसोबास गरेका)लाई सरकारले उद्धार र राहतको सूचिमा नपारेकोमा समेत उनको गुनासो थियो । जस्तो अवस्थामा रहेपनि सबै नेपाली भएको उनको भनाई छ । खासगरी यूरोपमा इलिगल बसेका नेपाली यतिबेला समस्यामा छन् । तर, उनीहरु सरकारको उद्धारको सूचिमा भने पर्दैनन् । किनकी सरकारले अहिले वैदेशिक रोजगारीका सिलसिलामा समस्यामा परेका नेपालीलाई घर ल्याइरहेको छ ।

    क्षेत्रीले विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धारका दौरान आर्थिक हिसाब किताब गौण विषय हुनुपर्ने समेत बताए । उनले विदेशमा घरेलु कामदारका रुपमा रहेका महिला बढी समस्यामा रहेको जानकारी गराए । उद्धारका क्रममा पहिलो प्राथमिता उनीहरुले पाउनु पर्ने क्षेत्रीको भनाई छ ।

  • विदेशबाट आउँदा पिसिआर नेगेटिभ भएका नेपाली काठमाडौंबाट सिधै घर जान पाउने

    विदेशबाट आउँदा पिसिआर नेगेटिभ भएका नेपाली काठमाडौंबाट सिधै घर जान पाउने

    काठमाडौं । सरकारले सेप्टेबर महिनाका लागि नियमित तथा चार्टर्ड उडानको तालीका तय गरेको छ । त्यसअनुसार नेपाल आउन पाउने र नपाउने शर्तसमेत तोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अब विदेशबाट फर्कदा कम्तिमा ७२ घण्टायताको पिसिआर नेगेटिभ आएको प्रमाण यात्रुले एयरलाइन्सलाई दिनु पर्नेछ । त्यसो नभएसम हवाईजहाज चढ्न पाइने छैन । तर जुन मुलुकमा पिसिआर गर्न सहज छैन । ती मुलुकमा भने सरकारले चार्टर्ड जहाज पठाउनेछ । उनीहरुलाई काठमाडौं ल्याएर होटेल क्वारेन्टिनमा राखिनेछ ।

    तर, पिसिआर नेगेटिभ प्रमाण देखाएपछि भने एउटा यात्रा विवरण देखिने फारम भरेपछि विमानस्थलबाट सिधै घर जान सकिने भएको छ । सरकारले तोकेको शर्त अनुसार होटेल क्वारेन्टिनको खर्च भने यात्रु स्वयमले बेहोर्नुपर्नेछ । तर, सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट उद्धार गरेर ल्याएका नेपालीको खर्च भने सरकारले स्वयमले बेहोर्नेछ । यसको सूचि भने सम्बन्धित मुलुकका दूतावासले गर्नेछन् ।

    अब १ सेप्टेम्बर भरी गर्ने उडानका आधारमा त्यसपछिको उडान तय हुने पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । अहिले दैनिक अधिकतम ५ सय जना मात्र यात्रुलाई काठमाडौं ल्याउने गरी अनुमति दिइएको छ । त्यसअनुसार टर्कीस एयर र कतार एयरवेजले अधिकतम १ सय जना मात्र बोक्ने गरी अनुमति पाएका छन् ।पहिलो चरणमा नेपाली नागरिक, कुटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारी र विकास साझेदारी संघसंस्थाका कर्मचारीलाई मात्र नेपाल आउने अनुमति मिल्नेछ । गैरआवासीय नेपाली र पर्यटक भने अहिले आउन पाउने छैनन् ।

  • सानिमा एक्सप्रेसको सेवा अब न्युयोर्कमा

    सानिमा एक्सप्रेसको सेवा अब न्युयोर्कमा

    न्युयोर्क

    अमेरिकाबाट नेपालमा पैसा पठाउनका लागि सानिमा एक्सप्रेसले न्युयोर्क सहरको ज्याक्सन हाइट्समा शाखा बिस्तार गरेको छ । नेपालको सानिमा बैंक लिमिटेडद्वारा सञ्चालित रेमिटेन्स सेवा अन्तर्गतको ‘सानिमा एक्सप्रेस’ ले न्युयोर्कमा नेपालीको बाक्लो बस्ति भएको स्थानबाट सेवा शुरु गरेको हो ।

    नयाँ शाखा सञ्चालनको जिम्मेवारी व्यवस्थापक प्रदिप श्रेष्ठले लिएका छन् । न्युयोर्कको क्वीन्सस्थित ज्याक्सन हाइट्सको 3766 74th St. F2 Suite B2 मा रहेको कार्यालयबाट सेवा लिन सकिने छ । नेपालमा रहेको सानिमा बैंकमा खाता खोलेर खाता मार्फत वा सिधै व्यक्तिलाई अमेरिकाबाट नेपालमा तुरुन्तै भुक्तानि हुनेगरी रकम पठाउन सकिनेछ । प्रेषित रकम नेपालभर रहेका सानिमा एक्सप्रेसको १६,००० शाखाहरु मध्ये जुनसुकै शाखाबाट लिन सकिनेछ । 

    अगष्ट २३ तारिख नयाँ शाखाको उदघाटन गर्दै व्यवस्थापक श्रेष्ठले भनेका छन्; “हामी अन्यको तुलनामा सबैभन्दा आकर्षक दरमा नेपालमा तुरुन्तै भुक्तानि हुने गरी सेवा दिने छौं । यहाँ कुनै झमेला बिना सामान्य परिचय पत्रले नै रकम पठाउने कार्य हुनेछ” ।

  • यूएइमा मृत भेटिएका दुई नेपालीको परिचय खुल्यो

    यूएइमा मृत भेटिएका दुई नेपालीको परिचय खुल्यो

    सारजाह । गत ८ अगष्टमा संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा मृत भेटिएका दुई नेपालीको परिचय खुलेको छ । यूएईस्थित नेपाली दूतावासले गराएको जानकारी अनुसार एक जना मोरङ र अर्का एक जना तनहुँका युवा हुन् । उनीहरुको मृत्युको कारणबारे प्रहरीले छानविन गरिरहेको दूतावासले जनाएको छ । केही मानिसहरुलाई पक्राउ समेत गरिएको प्रहरीलाई उदृत गर्दै दूतावासले जानकारी दिएको छ ।

    मृतकमध्ये मोरङको बेलबारीका २७ वर्षका किरण गुरुङ र तनहुँका ३६ वर्षीय मंगलराज श्रेष्ठ रहेका छन् । यसअघि श्रेष्ठको मात्र परिचय खुलेको थियो । गुरुङको भने पहिचान भइसकेको थिएन । दुई जनाबीच विवाद भएको र एक अर्कामा धारिलो हतियार प्रहार हुँदा ज्यान गएको अनुमान गरिएको छ । यद्दपी प्रहरीको अनुसन्धानबाट मात्र घटनाको पुष्टी हुने भएको छ । विदेशमा आपसी विवादमा धेरै नेपालीले ज्यान गुमाउने गरेका छन् ।

  • न्युयोर्कमा डिजे एलएसले च्यारिटीको लागि भलिबल प्रतियोगिता गराउने

    न्युयोर्कमा डिजे एलएसले च्यारिटीको लागि भलिबल प्रतियोगिता गराउने

    न्युयोर्क

    जाङ्बु शेर्पा (डिजे एलएस) ले न्युयोर्क सहरमा नेपाली खेलाडीहरु बीच दुई दिने भलिबल प्रतियोगिता गराउने भएको छ । उत्कृष्ट भलिबल खेलाडी बिरबहादुर लिम्बु क्यान्सर रोगबाट पिडित भएकोले लिम्बुको सहयोगार्थ खुल्ला भलिबल प्रतियोगिता गराउन लागिएको हो ।

    अमेरिकामा रहेका नेपालीहरुको १६ बिभिन्न भलिबल टिमहरु बीच ३१ ओटा खेललाई २ दिनमा गराइने आयोजक जाङ्बुले बताएका छन् । नक आउट चरणका खेलहरु, पुरस्कार बितरण र समापन समारोह यही अगष्ट ३० तारिख आइतबारका दिन न्युयोर्कको क्वीन्सस्थित ‘क्वीन्स ब्रिज पार्क’मा हुनेछन् ।

    आयोजक जाङ्बुले आसन्न खेलबारे भनें; “मैले कुनै समयको उत्कृष्ट भलिबल खेलाडी बिरबहादुर लिम्बुलाई यस्तो अवस्थामा देख्न सकिन । उहाँलाई आर्थिक सहयोगको जरुरी छ । मैले यो खेलबाट उठेको रकममा पुरस्कार र खर्च कटाएर सबै उपचारको लागि दिनेछु” । प्रतियोगितामा प्रथम हुने टिमलाई १५०० डलर र द्वितीयलाई ८०० डलर पुरस्कार राशी राखिएको छ । ४ समुह, एभरेष्ट, माछापुछ्रे, धौलागिरी र कञ्चनजंगामा ४/४ गरी १६ टिमलाई लिक कम नकआउटको आधारमा टाइसिट तयार पारिएको छ ।

  • के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस

    के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस

    काठमाडौं । खाडी मुलुकमा संकटमा रहेका नेपाली नागरिकको उद्धारमा सरकारले गरिरहेको ढिलाई र खेलबाडप्रति नेपाली काग्रेसले कडा आलोचना गरेको छ । एक त सरकारले आफ्नो खर्चमा सकंटमा परेका नेपालीको उद्धार गर्न सर्वोच्च अदालतले दिएको आदेशको उल्लंघन गरेको र अर्कोतर्फ महंगो टिकट खर्च भिडाएर कामदारमाथि सरकारले अन्याय गरिरहेको कांग्रेसको आरोप छ ।

    कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले शनिबार विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका छन्, खाडीका श्रमिक वर्ग शत्रु हुन् प्रधानमन्त्रीज्यू ? सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै महँगो टिकटसँगै सबै खर्च बोकाउनु मानवीयता नभएर सर्वहारामाथि अधिनायकवाद लादिएको उनको भनाई छ ।

     

    उनले गत असार १ गते सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न सरकारका नाममा दिएको आदेशका समेत स्मरण गराएका छन् । सरकारले आजसम्म गरेको उद्धारमा कामदार आफैले टिकट काटेर आएका छन् ।

    उक्त आदेश आएको दुई महिनापछि पुनः महँगो चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा सरकारले थप्‍न लागेको समाचारले नेपाली कांग्रेसलाई गम्भीर तुल्याएको उनले उल्लेख गरेका छन् ।

    यस्तो छ सरकारलाई कांग्रेसको प्रश्न र माग 

    • ६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्‍नु कति न्यायोचित छ ?
    • सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्वार गर भन्‍ने आदेशको उल्लंघन र अदालतको मानहानि हो कि होइन प्रधानमन्त्रीज्यू ?
    • मन्त्रिपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्वार फ्लाइटको अनुमति दिएको छ। भदौ १६ बाट शुरु गर्ने भनिएको नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्ध गरिएका कतिपय देशका नेपाली श्रमिक यो न्यून संख्याको फ्लाइटबाट नेपाल आइपुग्न महिनौंसम्म लाग्ने देखिन्छ। उद्धारको यो कछुवा गति भित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन ।
    • सरकारको पछिल्लो निर्णय अनुसार सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्वार त गर्न लाग्दैछ तर मानवीय भावना कम उद्वारमा व्यापारको मस्तिष्क धेरै खपत भएको देखिन्छ, एक त चार्टर फ्लाइटको महँगो टिकट काट्नु पर्ने, दोस्रो होटेल क्वारेन्टाइनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, तेस्रो पिसिआर परिक्षण आफैँ गराउनुपर्ने अनि चौथो गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने। अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भर थेग गरिरहेका अन्न दातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को ब्यबहार ?
    • ‘रोजगारी गुमाएका, बेतलबी विदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकम मार्फत हवाई टिकट ब्यवस्था गरेर निःशुल्क उद्वार गर्न नेपाली कांग्रेस सरकार समक्ष पुरानो माग दोहोर्‍याउन चाहन्छ ।
    • उच्च मानवीय भावना साथ ‘संकटमा उद्वार मातृभूमिको कर्तव्य’ आत्मसात गर्न नेपाली कांग्रेस सार्वजनिक रुपले नेपाल सरकारलाई अपील गर्दछ ।
  • विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने

    विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने

    काठमाडौं । अब विदेशबाट नेपाल आउने नेपालीले कम्तिमा ७ दिन होटेल क्वारेन्टिनमा बस्नै पर्ने भएको छ । त्यो पनि आफ्नै खर्चमा । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने निर्णय गर्दै त्यसका लागि टिकटसँगै होटेल बुकिंग समेत अनिवार्य गर्ने निर्णय गरेको हो । स्थानीय तहमा क्वारेन्टिनको व्यवस्थापन गर्न नसकेपछि अब सरकारले आफ्नै खर्चमा होटेलमा बस्ने गरी नेपालीलाई घर फर्काउन लागेको हो ।

    १८ सय रुपैयाँदेखि १० हजारप्रति दिन मूल्य भएका होटेलका कोठा क्वारेन्टिनका रुपमा उपलब्ध छन् । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण गर्दै यस्तो शर्त राखेको हो । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्ने भएको छ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।

    विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा उडान मात्र हुनेछन् । क्वारेन्टिनबाट घर जाने क्रममा भने सबैको पिसिआर परीक्षण हुनेछ । त्यसक्रममा नेगेटिभ देखिएका व्यक्ति मात्र घर जान पाउनेछन् । यसअघि सोमबार कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान रोकेको थियो ।

    जसले गर्दा नेपाल आउन पालो कुरिरहेका हजारौं नागरिक विदेशमै अलपत्र परेका छन् । सरकारले स्थलमार्गबाट छिरेका नागरिकले समेत अनिवार्य होटेल क्वारेन्टिनमा आफ्नै खर्चमा बस्नुपर्ने निर्णय गरेको छ । सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको हो ।

  • गैरआवासीय नेपालीले अब काठमाडौं बाहिरबाट पनि भिसा लिन\नविकरण गर्न सक्ने

    गैरआवासीय नेपालीले अब काठमाडौं बाहिरबाट पनि भिसा लिन\नविकरण गर्न सक्ने

    काठमाडौं । गैरआवासीय नेपाली भिसा अब काठमाडौंबाहेक मोसफलका अध्यागमन कार्यालयबाट समेत जारी तथा नविकरण हुने भएको छ । अध्यागमन विभागका अनुसार अब काकडभिट्टा र पोखरास्थित अध्यागमन कार्यालयले समेत गैरआवासीय भिषा प्रदान र नविकरण गर्नेछन् । यससँगै अब भिसा नवीकरण तथा नयाँ जारी गर्न काठमाडौं आइरहनुपर्ने बाध्यता हटेको हो । विभागका अनुसार साविकमा विभागबाट मात्र यस्तो भिसा जारी र नवीकरण हुँदै आएको थियो ।

    अब गैर आवासीय नेपाली भिसा तथा गैरपर्यटक नाता भिसा मोफसलबाट पनि उपलब्ध हुने भएको हो । विभागले लकडाउनपछि नेपालमै अड्किएका पर्यटकको भिसामा समेत सहजीकरण गरिदिएको जानकारी गराएको छ ।

    विभागका अनुसार २०२० मार्च २१ सम्म भिसा नियमित भएका विदेशी अन्तर्राष्ट्रिय उडान सूचारु भएको मितिले १५ दिन भित्र नेपालबाट प्रस्थान गर्ने भएमा अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र सीमानास्थित अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गरी आफ्नो मुलुक जान सक्ने भएका छन् ।

    तर, यसरी १५ दिन भित्र समेत आफ्नो मुलुक र्फकन नसक्ने पर्यटक तथा गैरआवासीय नेपालीको हकमा साउन ३० सम्मको अवधिको निःशुल्क र त्यसपछिको अवधिको बढीमा मंसिर मसान्त (डिसेम्बर १५ २०२०) सम्म नियमअनुसार भिसा शुल्क लिएर पर्यटक भिसा नियमित गर्न सक्ने निर्णय सरकारले गरेको छ ।

    यसअघि विभागले चैत ८ २०७६ सम्म जुनसुकै भिसा नियमित भएकाको भिसा ३० साउन २०७७ सम्म नियमित गरेमा विलम्ब शूल्क र जरिवाना नलाग्ने निर्णय विभागले गरेको थियो । साथै सरकारले अब पर्यटन भिसामा आएका विदेशी नागरिकले भिसा परिवर्तन गर्न चाहेमा समेत अध्यागमनको सेवा खुलेको १५ दिन भित्र निःशुल्क गर्न सक्ने जनाएको छ ।

    ८ चैतसम्म पर्यटक भिसा नियमित भएका १५० दिनसम्म निशुल्क पर्यटक भिसा प्राप्त गर्ने विदेशी पर्यटकको हकमा उनीहरुको नेपाल बसाई अवधि १ सय ५० दिन नाघेको भए पनि ३० साउनसम्मको अवधिको निःशुल्क नविकरण गरिने विभागले उल्लेख गरेको छ ।

  • विदेशमा अलपत्र नेपालीप्रति सरकारको लापरवाही, न उद्धार न समन्वय

    विदेशमा अलपत्र नेपालीप्रति सरकारको लापरवाही, न उद्धार न समन्वय

    काठमाडौं । सरकारले १ भदौबाट व्यवसायिक उडान खोल्ने निर्णय गर्यो । तर, संमक्रण फैलिएको भन्दै उक्त निर्णय फिर्ता भयो । यसबाट प्लेच उडेपछि सहुलियतपूर्ण टिकटमा घर फर्कन पाउने आशमा बसेका लाखौं नेपाली पुनः निरास बने । त्यसपछि विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने भन्दै पुनः १५ दिनका लागि उडान तालीका तोकियो ।

    १ भदौबाट उडानका लागि जहाजहरु पनि तयार भए । तर, सोमबार साँझ एकाएक कोभिड १९ संकट व्यवस्थापन केन्द्रले नेपालमा व्यवस्थापन गर्न नसकिएको भन्दै देशबाहिर रहेका नेपालीलाई तत्काल नल्याउने निर्णय गर्यो । फलस्वरुप आज दुबई पुगेको नेपाल एरलाइन्सको जहाज रित्तै फर्कदैछ । तर, दुबईमा यात्रु विमानस्थलमा आएर बसिसकेका छन् ।

    ती यात्रुले आक्रोस पोख्दै सरकारको कडा आलोचना समेत गरेका छन् । यता, सरकारले भने स्थानीय तहले निषेधाज्ञा जारी गरेको र काठमाडौंमा होटेल व्यवस्थापन हुन नसक्दा उद्धार निरन्तर गर्न नसकेको तर्क गरेको छ । बेलैमा क्वारेन्टिन नबनाई आनन्दसँग बसेको काठमाडौं महानगरपालिकाले समेत यसको व्यवस्थापन गर्न सकेको छैन ।

    यसले लामो समयदेखि विदेशमा रोकिएका नेपाली नागरिकको विदेशको कष्टकर बसाई अझ लम्बिने भएको छ । किनकी आजसम्म भएका उद्धार उडानबाट हुने खाने र महंगो टिकट काट्न सक्ने मानिस मात्र थिए । अब सरकारले आफ्नो खर्चमा हरेक दिन २ सय मानिसलाई काठमाडौं ल्याउने बताएको थियो । थप ३ सय जना भने आफ्नै टिकटमा घर आउने थिए । सरकारले हरेक दिन ५ सय जनालाई मात्र नेपाल आउने अनुमति दिन बताएको थियो ।

  • मानवाधिकार वेवास्ता गर्दै काममा लगाउने कतारका ६७ कम्पनीलाई कारवाही

    मानवाधिकार वेवास्ता गर्दै काममा लगाउने कतारका ६७ कम्पनीलाई कारवाही

    दोहा, कतार । सरकारले दिएको मानवाधिकारसम्बन्धी हकको हनन् हुने गरी कामदारलाई चर्को गर्मीमा खटाउने ६७ कम्पनीलाई सरकारले कारवाही गरेको छ । चर्को घाममा समेत श्रमिकलाई काम निरन्तर खटाएका कतारका ६७ कम्पनी कारबाहीमा परेका हुन् । कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले स्थलगत अनुगमनपछि उनीहरुमाथि कारवाही गरेको हो ।

    श्रमिकको न्यूनतम स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा नराखी चर्को घाममा काम लगाएको पाइएको त्यहाका संचारमाध्यमले जनाएका छन् । मन्त्रालयले जुलाई १६ देखि अगष्ट १३ तारिखसम्म निरीक्षण गरेको थियो । मन्त्रालयले कारदारको हकहितमा निरन्तर प्रयास गरिरहेको समेत बताएको छ ।

    कतारमा जुन १५ देखी अगस्ट ३१ सम्म बिहान साढे ११ बजेदेखि बेलुका ३ बजे सम्म अत्याधिक गर्मी हुने भएकाले श्रमिकहरूलाई घर बाहिरको काममा नलगाउन त्यहाँको मन्त्रिपरिषद्ले कम्पनीहरुलाई निर्देशन दिएको थियो । त्यसविपरित काममा लगाएका कम्पनी कारवाहीमा परेका हुन् ।

  • कोरोनाबाट यो साता विदेशमा नेपालीको मृत्यु शून्य

    कोरोनाबाट यो साता विदेशमा नेपालीको मृत्यु शून्य

    काठमाडौं । विदेशमा रहेका नेपालीहरु क्रमशः कोरोना भाइरसको संक्तमणबाट उम्कदै गएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता कोरोना संक्रमणका कारण विदेशमा कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन् । अहिले विदेशमा नेपालीलाई कोरोना संक्रमणको दरसमेत न्युन बन्दै गएको छ ।

    एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून बन्दै गएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार विश्वका ३८ देशमा नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    हालसम्म नेपालसहित विश्वभर २ सय ९३ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिणअफ्रिका लगायतका देशमा रहेका नेपालीको ज्यान गएको एनआरएनएले जनाएको छ । हालसम्म नेपाल सहित ५९ हजार ४ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । तिमध्ये ४८ हजार ५ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

    उता, सरकारले अब विदेशबाट दैनिक ५ सय जना नेपालीलाई मात्र उद्धार गर्ने गरी लिएको नीतिमा भने गैरआवासीय नेपाली संघले असन्तुष्टी जनाएको छ । उद्धारलाई तिबता दिनु पर्ने समयमा संख्या घटाउनु व्यवहारिक नभएको संघको भनाई छ । यो निर्णय पुनर्विचार गर्न एनआरएनएले नेपाल सरकारलाई आग्रह गरेको छ ।

    विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा सरकारको निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन एनआरएनएले नेपाल सरकारलाई आग्रह गरेको हो । एनआरएनए अन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौंको संख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा कोरोना महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु यो निर्णयले थप निराश बनेका छन् ।

    सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २ सय जना गरेर जम्मा ५ सय जनालाई दैनिक उद्धार गर्ने नीति लिएको छ । अहिलेसम्म विदेशमा अलपत्रमध्ये ५१ हजार ४ सय ४१ जनालाई घर ल्याइएको छ ।