Category: डायस्पोरा

  • यूएईमा ५ महिनायता ११० नेपालीको ज्यान गयो

    यूएईमा ५ महिनायता ११० नेपालीको ज्यान गयो

    आवुधावी । युनाइटेड अरब इमिरेट्स (युएई)मा मात्र कोरोना भाइरसको संक्रमण शुरु भएयता विभिन्न कारणले १ सय १० जना नेपालीको मृत्यु भएको छ । त्यहाँस्थित नेपाली दूतावासले यसको जानकारी गराएको हो । ११ मार्चयता ठूलो संख्यामा नेपाली नागरिकले यूएइमा ज्यान गुमाएको तथ्यांक दूतावासको रहेको छ । पाँच महिनायता प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको ज्यान गएको हो ।

    यसबीचमा कोरोना भाइरसका कारण एक महिलासहित ३६ जना नेपालीको मृत्यु भएको छ । यो अवधिमा कोरोनाबाट ज्यान गएका ३६ र अन्य कारणले ज्यान गुमाएका ६९ जनाको शव युएईमै अन्त्येष्टि गरिएको छ। दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शव युएईमै अन्त्येष्टि गरिएको दूतावासले जनाएको छ । यो अवधिमा २६ वटा शव नेपाल पठाइएको छ। अझै चारवटा यूएईमै रहेको दूतावासको विज्ञप्तीमा उल्लेख छ ।

  • हेभेन्ली पाथद्वारा ११ औं दिनसम्म खाना-पानी वितरण

    हेभेन्ली पाथद्वारा ११ औं दिनसम्म खाना-पानी वितरण

    न्युयोर्क

    बिदेशमा बस्ने नेपालीहरुको संयोजनमा काठमाडौंका विभिन्न स्थानहरुमा दिनदु:खी र असहायहरुलाई हेभेन्ली पाथले खाना र पानी वितरण गरेको छ । हेभेन्ली पाथ अमेरिकाका अध्यक्ष सुकु रुम्दाली र महासचिव हर्क चाम्लिङको संयोजनमा विभिन्न राज्यहरुबाट सहयोग संकलन गरि १० औं दिनसम्म खाना र पानी बितरण गरिएको हो । हेभेन्ली पथ हङकङका उपाध्यक्ष एम डि गाया राईबाट १ दिन गरि ११ औं दिनको खाना पानी वितरण गरिएको हो । काठमाडौका पशुपति क्षेत्र, बालाजु, जे. पि. रोड, ठमेल, रत्नपार्क, सोह्रखुट्टे लगायतका स्थानहरुमा प्रिजनर्स एस्सिस्टेन्स नेपालका संस्थापक तथा चियर पर्सन पि.ए. इन्दिरा राना मगरको सहकार्यमा नेपालबाट हेभेन्ली पाथ नेपालका सम्पर्क सचिव मनु (स्काई) ले संयोजन गर्नु भएको थियो । यस कार्यका लागि ११ औं दिनसम्म गायक सुबि राई, हेभेन्ली पाथ नेपाल जिल्ला शाखा काठमाडौंका उपाध्यक्ष शोभा राई , युवा संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष प्रेरणा वाम्बुले, चन्द्र देवान, हरिकला साम्पाङ, कादम्बिनी चाम्लिङ, जिना राई, सहदेव श्रेष्ठ, त्रिसला राई प्रनेश राई, सम्राट राई, सन्तोष(होलि) लगायतले स्वयंसेवकको रुपमा कार्य गरेका थिए भने खाना होटल चपलेटीबाट होटलका ब्यवस्थापक आनन्द राईले ब्यवस्था गरेको थियो ।

    अमेरिकाबाट सेमिङ्ग गुरुले अमेरिकामा रहेका विभिन्न  राज्यमा भएका यात्रीहरुसँग सहकार्य, सहमति गरी यस कार्यक्रम सफल पार्नुमा विशेष भुमिका निर्वाह गर्नु भएको थियो भने, अमेरिकाबाट मिडिया कोअर्डिनेटर सुम्नु देवी राईले देशविदेशमा छरिएर बस्नु भएका सबै यात्रीहरुमा यस कार्यक्रम सफल बनाउनको लागि बिशेष भुमिका निभाउनु भएको थियो । विपत्तिमा परेकाहरुलाई निरन्तर खाना खुवाउने योजना हुदाहुदै पनि नेपालमा कोरोना संक्रमण बढ्दै गएकोले हालको लागि बन्द गरिएको छ भने निकट भविष्यमा संसारभरी छरिएर बसेका यात्रीहरुको तर्फबाट आवश्यक भए फेरि पनि विपत्तिमा परेकाहरुलाई खानपिनको व्यवस्था गर्ने हेभेन्ली निर्वाणा पाथ- हंगकंगको  उप-सभापति गाया राई एम्.डिले जानकारी गराउनु भएको छ ।

    (अमेरिकाबाट सुम्नु देवी राई)

  • नेपालीका ७६ शव अझै विदेशमै, २४६ वटा नेपाल ल्याइयो

    नेपालीका ७६ शव अझै विदेशमै, २४६ वटा नेपाल ल्याइयो

    काठमाडौं । लकडाउनयता वैदेशिक रोजगारी तथा अन्य विभिन्न प्रयोजनमा विदेशमा रहेकै अवस्थामा ज्यान गुमाएका २४६ जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ । यस अवधिमा कुल ४९४ जनाको मृत्यु विदेशमा भएको थियो । त्यसमध्ये १ सय ७२ वटा शवको गन्तब्य मुलुकमै अन्त्येष्टी गर्न सहमति प्राप्त भएको थियो । अन्य शव भने नेपाल ल्याउनु पर्नेछ । परिवारको सहमति बीना शवको विदेशमै व्यवस्थापन गर्न मिल्दैन ।

    पछिल्लो समय विदेशमा अलपत्र परेका नेपालीको उद्दारको काम जारी छ । सोही सिलसिलामा गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट नागरिकलाई उद्दार भइरहेको छ । शनिबारसम्म ४६ हजार ३१२ जना उद्धार पछि घर फर्किएका छन् ।

    उनीहरुलाई ल्याउन प्रयोग भएका जहाजबाट क्रमशः शवहरुसमेत ल्याइएको छ ।  २४६ जनाको शव स्वदेश ल्याई परिवारलाई बुझाइएको छ। १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको हो । विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अब ७६ जनाको शव नेपाल ल्याउन बाँकी रहेको गैर आवासीय नेपाली संघले उल्लेख गरेको छ ।

  • कोरोनाबाट नेपाल बाहिर १९१ जना नेपालीको मृत्यु

    कोरोनाबाट नेपाल बाहिर १९१ जना नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट नेपाल बाहिर मात्र हालसम्म १९१ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घले संकलन गरेको तथ्यांक अनुसार यो साता भारतमा थप दुई जना नेपालीको मृत्यु भएको छ । सङ्घ मातहतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण भएको छ । गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना सङ्क्रमणको दर घटेको छ ।

    अष्ट्रेलिया रहेका १४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको छ । उता, लग्जेम्वर्गमा रहेका नेपाली भने सङ्क्रमणमुक्त बनेका छन् । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ।

    कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथ अफ्रिकालगायतका देशमा रहेका नेपालीको ज्यान गएको हो । नेपालसहित विदेशमा रहेका ५५ हजार ९२५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। ती मध्ये ४७ हजार ४३७ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

  • लकडाउनपछि विदेशबाट घर फर्किए ४६ हजार नेपाली, अमेरिकाबाट ४२३

    लकडाउनपछि विदेशबाट घर फर्किए ४६ हजार नेपाली, अमेरिकाबाट ४२३

    काठमाडौं । कोरोना महामारी सुरू भएयता हवाईमार्गबाट ४५ हजारभन्दा बढी नेपाली घर फर्किएका छन् । भारतसहित विश्वका ३० देशबाट अहिलेसम्म ४५ हजार ८ सय १२ जना नेपाल फर्किएका हुन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबारसम्म उक्त संख्यामा नेपाली घर फर्किएका हुन् ।

    शुक्रबार एकै दिन १ हजार १२ जना नेपाली घर आए । विदेशमा अप्ठ्यारो परेकाहरूलाई सरकारले प्राथमिकताका आधारमा जेठ तेस्रो सातादेखि नेपाल फर्काउन थालेको थियो । नेपाल फर्किनेमध्ये सबभन्दा धेरै दुबईबाट १२ हजार १ सय ७५ जना छन् भने सबभन्दा थोरै श्रीलंकाबाट ५ जना रहेको  छ ।

    यसअवधिमा साउदी अरेबियाबाट ६ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ६ सय २०, अस्ट्रेलियाबाट १ हजार ८७, अफगानिस्तानबाट ३३, ओमानबाट ४ सय ९२, म्यानमारबाट २६, कुवेतबाट ६ हजार ३ सय २९, जापानबाट १ हजार २३, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरीयाबाट ७ सय २०, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९ नेपाली स्वदेश फर्किए ।

    सिंगापुरबाट २ सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ७०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७, चीनबाट २ सय ८, टर्कीबाट १ सय १०, फिलिपिन्सबाट २ सय १, स्विट्जरल्याण्डबाट १०, दक्षिण सुडानबाट २ सय ५०, भारतबाट ८५ र इराकबाट ३९ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    विदेशमा रोजगारी गुमाएका, रोगबाट ग्रस्त, गैरकानूनी रुपमा बसिरहेका, घुमघाम वा अन्य प्रयोजनमा गएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने काम जारी रहेको छ ।

  • लेबनानमा रहेका नेपाली सुरक्षित

    लेबनानमा रहेका नेपाली सुरक्षित

    काठमाडौं । लेबनानको राजधानी बेरुतमा भएको भयानक विष्फोटमा कुनै पनि नेपाली नागरिक नपरेको सरकारले स्पष्ट पारेको छ । बेरुतस्थित एक विष्फोटक पदार्थ भण्डारण गृहमा भएको विस्फोटमा १३५ जनाको ज्यान गइसकेको छ । ४ हजारभन्दा बढी घाइते छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाली नागरिक प्रभावित भएको सम्बन्धमा कुनै पनि जानकारी आएको छैन ।

    बेरुतस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघबाट समेत नेपाली नागरिक प्रभावित भएको सबन्धमा कुनै जानकारी नआएको मन्त्रालयको भनाई छ । लेबनानलाई कायरोस्थित नेपाली राजदूतावासले हेर्ने गर्छ । घटनाबारे नेपालले भने दुख व्यक्त गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले एक समवेदन सन्देश पठाउँदै घटनाबाट नेपालको तर्फबाट दुख व्यक्त गरेकी छिन् ।

    उनले मृतकको चीर शान्ती र परिवारमा समवेदन प्रकट गरेकी छिन् । घाइतको सिघ्र स्वास्थ्य लाभको कामना समेत राष्ट्रपतिले गरेकी छिन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समेत विस्फोटबाट भएको धनजनको क्षतिले मर्माहत बनाएको बताएका छन् । उनले मृतकका परिवारजनका साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गरेका छन् । यो मुलुकमा करीव १२ हजारको संख्यामा नेपाली नागरिक रहेको अनुमान छ ।

  • गैरआवासीय नेपालीले पनि तत्काल अनअराइभल भिसा नपाउने

    गैरआवासीय नेपालीले पनि तत्काल अनअराइभल भिसा नपाउने

    काठमाडौं । सरकारले तत्काल विदेशी नागरिक र गैरआवासीय नेपालीलाई समेत अनअराइभल भिसा नदिने भएको छ । बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त छलफलमा यस्तो सहमति भएको हो । बढ्दो कोरोना संक्रमणका बीच सरकारले १ भदौबाट व्यवसायिक हवाई उडान सुरु गर्ने निर्णय गरेको छ ।

    त्यसपछि नेपाल आउन चाहने नेपालीले स्वास्थ्य प्रोटोकल पुरा गरेपछि नेपाल आउन सक्छन् । तर, विदेशी नागरिक र गैरआवासीय नेपालीले भने नेपाली दूतावासमै पुगेर भिसा लिनुपर्छ । यद्दपी भिसा कसरी दिने, के के मापदण्ड पुरा गर्ने भन्ने सम्बन्धमा भने नेपाल सरकार अझै निष्कर्षमा पुग्न सकेको छैन ।

    बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त छलफलमा अनअराइभल भिसा भने नदिने सहमति जुटेको बताइएको छ । अब स्वास्थ्य मन्त्रालयले विदेशी तथा स्वदेशी नागरिकलाई कसरी आउने दिने र कति दिन क्वारेन्टिनमा राख्ने भन्ने सम्बन्धमा सुझाव दिनेछ । सोही सुझावका आधारमा पर्यटन र परराष्ट्र मन्त्रालयले थप निर्णय लिनेछन् ।

    सरकारले १ भदौबाट राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई उडान संचालनको निर्णय गरेको थियो । तर, पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमणका कारण उडान अन्यौलमा परेको हो ।

  • न्युयोर्कका नेपाली लायन्स संजालले गठन गर्यो; नयाँ नेटवर्क

    न्युयोर्कका नेपाली लायन्स संजालले गठन गर्यो; नयाँ नेटवर्क

    न्युयोर्क

    न्युयोर्कका नेपालीहरु सम्बद्ध “नेपाली लायन्स नेटवर्क” ले संयूक्त भर्चुअल ज़ूम बैठक सम्पन्न गरेको छ । नेटवर्कलाई अझ बढ़ी परिस्कृत, सकृय र सेवामुखी बनाउनका निम्ति लायन्स क्लब क्वीन्स बुद्ध, लायन्स क्लब केटिएम र लायन्स क्लब नेप्लिज़का प्रतिनिधिहरुको बैठक बसेको हो। 

    बैठकमा लायन्सहरु क्रमश; कृष्ण आचार्य, बेगम पंडित, अर्जुन गौडेल, रिमाया नेपाली, संजय थापा, पुरूषोत्तम पंथी, अच्यूत सिंदेल, राजेन्द्र खड्का, रूद्र पुन, अशोक कार्की , रूपा शाह, र शिव केसीको सहभागिता रहयो । उक्त बैठकले नेटवर्कको नयाँ संयोजक लायन्स क्लब क्वीन्स बुद्धबाट कृष्ण आचार्य रहनेगरी लायन्स क्लब केटिएमबाट अशोक कार्कीलाई कार्यक्रम संयोजक र लायन्स क्लब नेप्लिज़बाट अच्यूत सिंग्देललाई सचिवको जिम्मेवारीमा सर्वसम्मत मनोनयन गरेको छ ।

    ‘बिद्यमान कोभिड-१९ संकटको अवस्था र अन्य मानवीय सेवा कार्यमा समेत नेपाली लायन्स क्लबहरूको एकिकृत र समन्वयात्मक सहकार्यलाई दीर्घकालसम्म निरन्तरता दिनुपर्ने खाँचो महसूस गरी उक्त संयूक्त संजालको पुनर्गठन गर्ने सर्वसम्मत निर्णय गरिएको’ संयोजक कृष्ण आचार्यले बताए । 

    बिस्तारित नेपाली लायन्स संजालले रक्तदान र अमेरिकी जनगणना २०२० जागरण कार्यक्रम तत्काल आयोजना गर्ने निर्णय समेत गरेको जनाएको छ ।

  • विदेशमा अड्किएका १८ वटा शव आज नेपाल ल्याइयो

    विदेशमा अड्किएका १८ वटा शव आज नेपाल ल्याइयो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणयता करीव २ सय ५० हाराहारी शव विदेशमा अड्किएका थिए । नेपालीहरुको उद्धार उडानका दौरान शव ल्याउने क्रम पनि शुरु भएको हो । यसैक्रममा आइतबार बिहान एकै पटक १८ वटा शव काठमाडौं ल्याइएको छ । नेपाल एयरलाइन्सको जहाजबाट दुई गन्तब्यमा रहेका १८ वटा शव आज काठमाडौं ल्याइएको हो ।

    मलेशियाबाट नेपाल एयरलायन्सको जहाजले २५२ जना नेपालीलाई स्वदेश ल्यायो । यो जहाजमा १४ जनाको शव समेत ल्याइएको हो । उता, कतारबाट नेपाल एयरलायन्स कै जहाजले १५३ जना नेपालीलाई घर ल्यायो । यो जहाजमा ४ वटा शव नेपाल ल्याइएको छ ।अहिले चौथो चरणको उद्धार उडान जारी छ । सम्भवतः यो उद्धार उडान अन्तिम हुनेछ । त्यसपछि अन्त्यन्तै संकटमा रहेका नेपालीलाई सरकारले आफ्नै खर्चमा नेपाल ल्याउने छ । अरुका लागि भने व्यवसायिक उडान खुला गरिनेछ ।

    सरकारले १ भदौबाट उडान खोल्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय भन्दा धेरै नेपाली आज घर फर्कनेछन् । आज मलेसिया, कतार, युएई, अमेरिका र युरोपबाट नेपालीहरु घर आउन लागेका हुन् । आज युएईको अबुधाबीबाट हिमालय एयरलायन्सले १५४ जना नेपालीलाई ल्याएर अवतरण गरिसकेको छ । आज मलेशियाबाट मालिन्दो एयर आउँदैछ । युएईबाट दुइ वटा कतार एयरवेजका जहाजसमेत आजै काठमाडौं आउनेछन् । यी उडानमा अमेरिका, युरोप र कतारमा रहेका झण्डै ४ सय हाराहारी नेपाली घर फर्कनेछन् ।

  • विदेशबाट नेपालीको उद्धार आजदेखि पुनः शुरु

    विदेशबाट नेपालीको उद्धार आजदेखि पुनः शुरु

    काठमाडौं । विभिन्न मुलुकमा समस्यामा रहेका नेपालीको उद्धारको काम आजबाट पुनः प्रारम्भ हुँदैछ । यसअघि नेपालमा मनसुनले बाटोघाटो बन्द भएपछि उद्धार उडानको काम रोकिएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आजबाट चौथो चरणको उद्धार उडान शुरु गर्न लागिएको छ । चौथो चरण उद्धार उडान आजदेखि साउन २४ गतेसम्म चल्नेछ ।

    यसअघि तीन चरणमा भएका उडानबाट ३५ हजार ८०४ जना नेपाली जहाज चढेर घर फर्किसकेका छन् । स्थलमार्गबाट आएको नेपालीको भने तथ्यांक छैन । शुक्रबार विभिन्न देशबाट ९ उडानले नेपालीलाई घर ल्याउँदैछन् । मलेसियाबाट मलिण्डो एयर काठमाडौं आउनेछ । कुवेतबाट चार उडान हुनेछन् । जसमा हिमालय एयर र जजिरा एयरवेजले दुई दुई उडान गर्दैछन् । यूएईको दुबईबाट फ्लाई दुबईको एक जहाज आउनेछ ।

    श्री एयरलान्सको जहाज बैंकक पुगेर फर्कने कार्यक्रम रहेको छ । हिमालय एयरलान्सको एक जहाज कुनमिङ् जाने कार्यक्रम रहेको छ । ग्वांझाउबाट चाइना साउर्दन नेपाल आउने गरी आजको तालीका तय भएको छ । आज हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सका जहाज कुवेत, यूएई र कतार जानेछन् । यी जहाज शनिबार फर्कनेछन् ।

  • कुवेतमा नेपालसहित ७ मुलुकका नागरिक छिर्न नपाउने

    कुवेतमा नेपालसहित ७ मुलुकका नागरिक छिर्न नपाउने

    काठमाडौं । कुवेतमा नेपासहित ७ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात मुलुकका नागरिक छिर्न नपाउने निर्णय गरेको हो । यस्तो प्रवेश रोक अनिश्चितकालिन भएको बताइएको छ । नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सका नागरिक अब कुवेत छिर्न पाउने छैनन् ।

    कुवेतले कोरोना रोगको संक्रमणका कारण यस्तो निर्णय गर्नुपरेको बताएको छ । उद्दपी कुवेतमा गैरकानूनी रुपमा धेरै नेपाली बसेका कारण समस्या उत्पन्न भएको थियो । सोहीकारण लकडाउनकै बीच कुवेतले ३५ सय भन्दा बढी गैरकानूनी कामदारलाई आफ्रनै खर्चमा नेपाल पठाएको थियो । कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा १ अगष्टबाट संचलनमा आउँदैछन् ।

  • एनआरएनए अमेरिकाको न्यूयोर्क च्याप्टरले गर्यो; बृहत रक्तदान कार्यक्रम

    एनआरएनए अमेरिकाको न्यूयोर्क च्याप्टरले गर्यो; बृहत रक्तदान कार्यक्रम

    न्युयोर्क

    एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा यही जुलाई २६ तारिख आइतवार न्यूयोर्क ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । कोभिड—१९ महामारीको समयमा असंख्य मानवीय क्षति र न्यूयोर्कमा रगतको अत्याधिक अभावलाई मध्यनजर गर्दै कार्यक्रम गरेको हो ।

    कार्यक्रममा रक्तदाताहरुलाई पीपीई, के.एन.९५ मास्क, सर्जिकल मास्क, ग्लोभ्स र सेनिटाईजर वितरण गरिएको थियो । नेपाल भिजन इंक,  युएस जनगणना २०२० को फाराम भर्ना सहयोग गर्नुहुने यूएस सेन्सन ब्युरोका प्रतिनिधि र अधिकारका प्रतिनिधि र निःशुल्क स्वास्थ्य जाँच (स्क्रिनिंग) तथा अस्पतालले दिने सेवाहरूको बारेमा समेत जानकारी गराइएको थियो ।

    एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरका युवा संयोजक बिजय गुरुंगको संयोजकत्वमा प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका वाणिज्यदूत गणेशप्रसाद अधिकारीले उदघाटन गरेको थियो । विशेष अतिथि एनआरएनए एनसिसि अमेरिकाका  उपाध्यक्ष बाबुराम लामा, एनआरएनए एनसिसि अमेरिकाका बोर्ड सदस्यहरू, वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली लगायत संघ संस्थाहरूका अध्यक्षहरू तथा प्रतिनिधिहरू सहित ३०० जना भन्दा बढीको उपस्थिति थियो ।

    इच्छुक रक्तदाताहरुलाई न्युयोर्क ब्लड सेन्टरको लिङ्क उपलब्ध गराई अग्रिम अपोइन्टमेण्ट लिन आग्रह गरिएकोमा १ सय ५९ जनाले अपोइन्टमेण्ट बनाएका थिए । त्यस्तै ५० भन्दा बढीको वक-इन उपस्थिति थियो । तर ब्लड सेन्टरको जनशक्तिको कमीले गर्दा १ सय १२ जना अपोइन्टमेण्ट बनाउनेहरु र १८ जना वाक—इन रक्तदाताले मात्र रक्तदान गरे । करिव १९ जना स्वाथ्य चेक जाँचपछि रक्तदान योग्य भएनन् । कुल १ सय ३० रक्त दाता बाट १ सय ३० पिन्ट रगत संकलन भयो ।

    कार्यक्रममको सभापतित्व गर्दै च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले; “भविष्यमा पनि सबैको सहभागिता र सहकार्यमा समुदायको हितमा कार्य गर्ने” प्रतिबद्धता जाहेर गर्दै कार्यक्रम सम्पन्न गरेको थियो ।

  • कोरोनापछि भारतबाट पहिलो पटक नेपाली विद्यार्थीको उद्दार

    कोरोनापछि भारतबाट पहिलो पटक नेपाली विद्यार्थीको उद्दार

    काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्दारको काम अहिले विभिन्न उपायबाट भइरहेको छ । यसै क्रममा बुधबार भारतको बैंलौरबाट नेपाली विद्यार्थीको उद्धार भएको छ । भारतबाट जहाजमा पहिलो पटक नेपालीको उद्दार भएको हो । यसअघि भारतबाट स्थलमार्ग हुँदै आएका नेपालीलाई मात्र घर पठाइएको थियो ।

    बुधबार नेपाल एयरलाइन्सले बैलौंर आसपासमा रहेका ८० जना नेपाली विद्यार्थीलाई काठमाडौं ल्याएको हो । नेपाल एयरलाइन्सको यो जहाज काठमाडौंबाट एक जना यात्रु बोकेर बैंलोर उडेको थियो । यसबाहेक बुधबार मलेसिया एयलाइन्सको जहाज क्वालालाम्पुरबाट ५१ जना यात्रु बोकेर काठमाडौं आएको छ । यो जहाजले ४४ जनालाई मलेसिया लगेको छ ।

    हिमालय एयरलाइन्सको जहाजले सिंगापुर र क्वालालाम्पुरबाट १५४ जनालाई नेपाल ल्याएको छ । शान्ति सेना लगेर सुडान गएको नेपाल एयरलाइन्सको जहाजले २ सय ५० जना सैनिक जवान र अधिकृतलाई लिएर आजै काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।

    उता, बिहीबार कोरियाबाट कोरियन एयर काठमाडौं आउँदैछ । हङकङबाट क्याथे ड्रागन र इनचानबाट एसियाना एयरको जहाज काठमाडौं आउने कार्यक्रम रहेको छ । बिहीबार हिमालय एयरलाइन्सको एक जहाज कुनमिङ र दुई जहाज कुवेत जाने कार्यक्रम रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

  • न्युयोर्कका उबर र लिफ्ट ड्राइभरको पक्षमा अदालतको निर्णय; धेरै ड्राइभरले पाउने भए ६ हजार डलर एकमुष्ट

    न्युयोर्कका उबर र लिफ्ट ड्राइभरको पक्षमा अदालतको निर्णय; धेरै ड्राइभरले पाउने भए ६ हजार डलर एकमुष्ट

    न्युयोर्क

    मंगलबार न्युयोर्कस्थित एक संघीय अदालतले उबर तथा लिफ्ट ड्राइभरहरुको लागि वकालत गर्दै आएको एक गठबन्धनको पक्षमा मुद्दाको फैसला गरेको छ ।न्युयोर्कमा उबर र लिफ्टको याप मार्फत काम गर्दै आएका ड्राईबरहरुको बिषयमा वकालत गर्दै आएको ‘न्युयोर्क ट्याक्सी वर्कर्स अलाईन्स’ले जारी कोरोना महामारीमा ती ड्राइभरहरुलाई बेरोजगारी बीमाको पैसा दिन ढिलाई गर्नुको साथै पाउनु पर्ने भन्दा थोरै पैसा दिएको दाबी गर्दै राज्यका गभर्नर, लेबर डिपार्ट्मेन्ट, लेबर कमिस्नर बिरुद्ध मुद्दा दायर गरेको थियो ।अमेरिकामा उबर र लिफ्ट लगायत थुप्रै टेक कम्पनीका लागि काम गर्दै आएका कामदारहरुलाई ती कम्पनीहरुले स्वतन्त्र कामदार (ईन्डिपेन्डेन्ट कन्ट्र्याक्टर) को रुपमा पारिभाषित गर्दै आएका छन् ।मंगलबार बिहान संघीय अदालतका न्यायाधिश लसन डिअर्सी हलले ड्राइभरहरुको पक्षमा प्रारम्भिक निषेधाज्ञा जारी गर्दै उनीहरु योग्य भए अनुसार पुरा भुक्तानि गर्न आदेश गरेकी छिन् ।
    बेरोजगारी बीमा बापत ड्राइभरहरुले पाउनु पर्ने रकम समेत पुरा नदिएपछि न्युयोर्क ट्याक्सी वर्कर्स एलाईन्सले गत मेइ महिनामा मुद्दा दायर गरेको थियो ।मुद्दा जितेपछि एलाईन्सले खुसी मनाउँदै भनेको छ; “ज-जस्ले अहिलेसम्म प्रति हप्ता १ सय ८२ डलर मात्र पाउदै आएका छन, उनिहरुले अब ५ सय ४ प्रति हप्ता पाउने छन् । यसअघि थोरै रकम पाएकाहरुले एक मुष्ट ६ हजार डलर पाउने छन्”।

  • अमेरिकाको टेक्सासमा नेपाली युवतीको डुंगाबाट खसेर मृत्यु

    अमेरिकाको टेक्सासमा नेपाली युवतीको डुंगाबाट खसेर मृत्यु

    टेक्सास
    अमेरिकाको टेक्सासस्थित अर्भिङ्की २३ वर्षीया नेपाली मुलकी अस्मिता खनालको गत २६ तारिक आइतबार बोटिङ् गर्ने क्रममा डुंगाबाट खसेर तालमा डुबी मृत्यु भएको छ ।टेक्सास राज्यस्थित लुइभिल लेकमा उनी सहित ७ जना साथीहरु छुट्टी मनाउन जाँदा उक्त घटना घटी उनको मृत्‍यु भएको हो ।लुइभिल लेकमा बोटिङ् गर्दा अधिकाँशले लाइफ ज्याकेट लगाउने गरेतापनि अस्मिताले भने लाइफ ज्याकेट नलगाएको बताईएको छ ।प्रत्यक्षदर्शी साथी आशा बुढाथोकीका अनुसार; ‘अस्मिता डुङ्गाको छेउमा बसेर रमाउँदै थिइन्, एक्कासी चिप्लिएर खसिन् ।मैले उनलाई हामफालेर बचाउन खोजें तर भेट्न सकिन’।
    घटनापछि साथीहरुले प्रहरीलाई तत्कालै खबर गरेका थिए । प्रहरी र गोताखोरको लगातार ४/५ घण्टाको प्रयासपछि शब निकालेको प्रत्यक्षदर्शीले बताएका छँन् ।टेक्सस उमन्स युनिभर्सिटीमा अध्ययनरत अस्मिता ५ वर्षअघि अध्ययनको सिलसिलामा काठमाडौंबाट अमेरिका आएकी थिइन् ।हाल उनको शव टेक्सस मेडिकल सेन्टरमा आवश्यक प्रकृयाको लागि राखिएको छ ।मृतक अश्मिताको अन्तिम संस्कार लगायतका कार्यको लागि सहयोग स्वरुप सहयोग संकलनार्थ गोफन्ड मिमा ३० हजार डलरको लक्ष्य राखि खाता खोलिएको छ।
    https://charity.gofundme.com/o/en/campaign/asfa/nepalahead?utm_campaign=oc&utm_medium=facebook&utm_source=crowdrise

  • एम्बलम् हेल्थका प्रतिनिधि हरिशचन्द्र हमालले गरे स्वास्थ्य सामग्री बितरण

    एम्बलम् हेल्थका प्रतिनिधि हरिशचन्द्र हमालले गरे स्वास्थ्य सामग्री बितरण

    न्युयोर्क

    स्वास्थ्य बीमा क्षेत्रमा लोकप्रिय ‘एम्बलम् हेल्थ प्लान’ न्युयोर्कका प्रतिनिधि हरिश चन्द्र हमालको अगुवाईमा क्वीन्सस्थित ७४ स्ट्रीट ज्याक्सन हाइट्समा स्वास्थ्य सामग्री बितरण कार्य सम्पन्न भएको छ । गत शनिवार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म सुरक्षा मास्क, ग्वोभ्स, शपिङ् ब्याग लगायत स्वास्थ्य सचेतना सम्वन्धि जानकारी बितरण गरेको हो । 

    समुदायको सेवामा व्यस्त प्रतिनिधि हमालले बताए; “म सधैं समुदायको नजिक रहेर काम गर्न चाहन्छु र यस्तै कार्यक्रम अर्को हप्ता शनिबार यसै स्थान र समयमा पुन: गर्नेछु” । न्युयोर्कको म्यानह्याटनमा केन्द्रिय कार्यालय रहेकोले एम्बलम हेल्थको स्वास्थ्य सुबिधा अमेरिकाभर भए तापनि न्युयोर्कमा काम गर्न अझ सजिलो भएको पनि हमालले बताए ।

    नि:शुल्क वा न्युनतम् बीमा शुल्क रकम तिरेर स्वाथ्य बीमा सेवा लिन प्रतिनिधि हमाललाई जुनसुकै समयमा ९१७ ७१६ ९६९४ मा फोन गर्न सकिने एम्बलम् हेल्थका ब्यवस्थापकले जानकारी दिए ।

  • कोरोनाले पछील्लो एक सातामा विदेशमा एक नेपालीको मृत्यु

    कोरोनाले पछील्लो एक सातामा विदेशमा एक नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरसका कारण पछिल्लो एक सातामा विदेशमा एक जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संगठन (एनआरएनए)ले संकलन गरेको विवरण अनुसार एक सातामा नेपाल बाहिर एक जना नेपालीको ज्यान गएको हो एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा एक जना नेपालीले ज्यान गुमाउनु परेको छ ।

    एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्रै कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या १ सय ६१ पुगेको छ । नेपालमा अहिलेसम्म ४५ जनाको ज्यान गएको छ । यसरी हेर्दा कोरोनाका कारण विश्वभर नेपालीको मृत्यु संख्या २०६ पुगेको हो । एनआरएनएको स्वास्थ्य समितिका अनुसार ३६ मुलुकमा २९ हजार २ सय ४३ जना नेपाली कोरोना संक्रमणमुक्त बनेका छन् ।

    अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएका थिए । तर, यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ । नेपालमा समेत पछिल्लो ४ दिन संक्रमण दर उकालो लाग्ने क्रममा रहेको छ । अहिले नेपालमा लक्षणसहितका बिरामी भेटिन थालेका छन् । यसले जोखिम समेत बढाएको छ ।

  • लाईन्स क्लब अफ क्वीन्स बुद्धको भर्चुअल बैठक सम्पन्न

    लाईन्स क्लब अफ क्वीन्स बुद्धको भर्चुअल बैठक सम्पन्न

    न्युयोर्क

    अमेरिकाभरि छरिएर रहेका नेपाली लाईन्सहरूको प्रतिनिधित्व हुने गरी लाईन्स क्लब अफ कुईन्स बुद्धको आयोजनामा ‘सफलताका कथाहरू २०२०’ मा विभिन्न प्रतिवेदन पेश गर्दै यही जुलाई १८ गते भर्चुयल पध्दतिबाट ३:३० घण्टा लामो बैठक सम्पन्न भएको छ । बैठक ‘हामी सेवा गर्छौं’ मूल नाराका साथ स्थापना भएको लाईन्स क्लबहरुको सहभागितामा भएको हो ।

    सामाजिक सँस्थाहरुको स्थापना र संचालन केवल समाज सेवाकै निम्ति केन्द्रित हुनुपर्छ भन्ने मान्यता लिएर स्थापित र लाईन्स क्लब अफ कुईन्स बुध्दलेआज आफ्नो स्थापना र सक्रियताको औचित्यलाइ विगतमा जस्तै फेरी एकपटक पुष्टि गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथ्यता गर्दै अमेरिकाको लागि नेपाली राजदुत डा.अर्जुन कार्कीले भन्नु भयो; “हामीनेपाली अरू समुदायको लागि असल भएजस्तै हामी आफ्नो समुदायको लागि असल बन्ने जीवनशैलीको विकास गर्नु पर्छ । विश्व एक घर जस्तै वनेको सन्दर्भमा नेपाली दाजुभाइ दिदीवहिनी विश्वभरी पुगे तापनि आफ्नो भाषा संस्कृतिलाई कहिले पनि छोडेका छैनन् । बरू आफ्नो समुदायमा जोड्ने र जोडिने धेरै उपायहरू निकालेर मानवीय सेवामा लाग्नुले नै वास्तविक शान्ति र आनन्द दिलाउँदछ” ।

    लाईन्स क्लब ईन्टरनेशनलका संजय खेतानलेले नेपाली भाषामा लाईन्स क्लब अन्तराष्ट्रिय पनि चाँडै तयार हुने जानकारी पनि गराऊॅंनु भयो । अहिले कोरोना बिपत्तिमा नेपाल सरकारसॅंग मिलेर सबैभन्दा अग्रपंतिमा रहेर मानवीय सेवामा सक्रिय लाईन्सहरू नै रहेको जानकारी पनि दिनु भयो । 

    लाईन्स क्लबबाट पहिलो नेपाली राजेन थापाले अमेरिकामा लाईन्स क्लबको अवसर र चुनौतिका बारेमा प्रकाश पारेको थियो  अमेरिकामा धेरै लाईन्स क्लबहरू र नेतृत्वहरू पनि जन्मिने क्रममा रहेको जानकारी गराएको थियो ।

    अर्का अथिति राज श्रेष्ठले नेतृत्वको विकास, अवसर र चुनौतिको बिषयमा प्रष्ट पारेको थियो । लाईन्स क्लबले कसरी काम गर्ने तौर तरिकाहरूको जानकारी समेत गराएको थियो । त्यसैगरि बियान पन्थले लियो क्लबको आवश्कता र औचित्यमाथि प्रकाश पारेको थियो । अतिथिहरू थलराज पंथ, बिन्दु सापकोटा, मीना क्षेत्री, संजय थापा, कपिलदेव सुवेडी, अस्मिता फुयल लेआ- आफ्नो मन्तव्य राखेका थिए ।

    लाईन्स क्लब अफ कुईन्स बुध्दका अध्यक्ष रिमाया नेपालीले स्वागत मन्तव्य र संस्थापक अध्यक्ष कृष्ण आचार्यले कार्यक्रम संचालन गरेका थिए । सफलता कथाहरू अन्तर्गत सचिवालयमा दिपकराज घिमिरे, अर्जुन गैडेल, रिमाया नेपाली, बुध्द पौडेल, बेगम पंडित, विकि पुलामीको टिमले कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए ।

  • फेरी रोकियो उद्दार उडान, प्राकृतिक विपत्ति मूख्य कारण

    फेरी रोकियो उद्दार उडान, प्राकृतिक विपत्ति मूख्य कारण

    काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन गरिरहेको उद्दार उडान फेरी रोकिएको छ । मुलुक भित्र बाढी र पहिरोका कारण प्रतिकूल अवस्था सिर्जना भएपछि तत्कालका लागि उद्दार उडान स्थगित भएको पर्यटन मन्त्रालयले जनाएको छ । मौसम अनुकुल बनेपछि र सडक यातायात पुनः सूचारु भएपछि भने बाँकि रहेका उडान संचालन गर्ने योजना सरकारको छ ।

    विदेशबाट ल्याएपछि सम्बन्धित गाउँपालिकासम्म पुर्याउन समेत कठिन हुने देखिएपछि सरकारले उद्दार उडानको काम रोक्ने निर्णय गरेको बताइएको छ । अहिले बाढी र पहिरोका कारण देशभरका राजमार्गमा कुनै न कुनै प्रकारको अवरोध उत्पन्न भएको छ । तराईदेखि पहाडसम्म यो समस्या देखिएको छ । अहिले भर्खरै काठमाडौं झरेका मध्ये पनि कतिपय बाटोमै अलपत्र रहेको भन्दै सरकारले बाँकि उद्दारको काम मौसम प्रतिकुल हुँदै गएपछि संचालन गर्ने योजना बनाएको हो ।

    अहिले केही विदेशी वायुसेवाले मात्र उडानको अनुमति लिएका छन् । बिहीबार सिंगापुरबाट सिल्क एयर आउँदैछ । बुधबार भने कुल ५७० जना नेपाली काठमाडौं अएका छन् । उनीहरुमध्ये ५ सय भन्दा बढी मलेसियाबाट आएका हुन् । सरकारले १ भदौबाट भने नियमति उडान संचालनको योजना बनाएको छ ।

    यता, बुधबारसम्म विभिन्न मुलुकबाट ३४ हजार ५ सय भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् । यो लकडाउनपछि सरकारले संचालन गरेको उद्दार उडानका दौरान फर्किएकाको संख्या हो । विभिन्न २५ देशबाट साढे ३४ हजार नेपाली घर फर्किएका हुन् ।

  • कोरोनाका कारण विदेशमा एक सातामा १६ नेपालीको निधन

    कोरोनाका कारण विदेशमा एक सातामा १६ नेपालीको निधन

    काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा एक सातामा थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतबार बिहान सार्वजनिक गरेको अपडेट अनुसार विश्वका विभिन्न मुलुकमा १६ जना नेपालीको ज्यान गएको हो । अब विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय नाघेको छ ।

    संघ मातहतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको मृत्यु भएको छ । समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्णरुपमा कोरोना मुक्त भएका छन् । कोराना संक्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

    विदेशमा ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

    गैरआवासीय नेपाली संघ, नेपाल सरकार र कूटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकबाट २९ हजार ७ सय ८० जना नेपालीको उद्धार भएको छ ।

    यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १ सय ७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ३४ जनामध्ये १ सय ५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ७ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनएले जनाएको छ ।

  • बिदेशमा बस्ने ताप्लेजुङ्का लिम्बुले गरे आफ्नो गाउँको लागि यस्तो सराहनीय कार्य

    बिदेशमा बस्ने ताप्लेजुङ्का लिम्बुले गरे आफ्नो गाउँको लागि यस्तो सराहनीय कार्य

    न्युयोर्क

    विश्व-महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण संसार आक्रान्त छ ।जसका कारण विश्वका विकासोन्मुख राष्ट्र मात्र होईन, शक्तिशाली मुलुकहरु समेत महामारीका कारण आर्थिक संकटको दल दलमा फस्दै छन् ।नेपाल पनि सिमित श्रोत र साधन बीच कोरोना महामारीसँग जुधिरहेकै छ ।एकातर्फ कोरोना महामारी अर्कोतर्फ भौगोलिक बिकटताका कारण नेपालमा बर्षायाम सुरु भएसंगै बाढी पहिरोको चपेटामा फसेको छ ।सयौंले ज्यान गुमाएका छन् भने हजारौं घरबार बिहिन हुन पुगेका छन् ।यस विषम अवस्थामा ताप्लेजुङ् जिल्लाका केही प्रबासी नेपाली मिलेर मातृभुमीमा ८लाख रुपैया बराबरको खाद्य सामग्री सहयोग गरेका छन् ।

    ताप्लेजुङ जिल्लाबाट बेलायत र अमेरिकामा बसोबास गर्नेहरुको सहयोगमा प्राप्त ८ लाख रुपैयाको खाध्य सामग्री श्रावण २ गते जिल्लाका फक्ताङलुङ गाउँपालिका वार्ड नं. ४ साबिक ईखाबु गा. बि. स. वार्ड नं. १ खानी, २ सेतोबा, ३ साप्चुङ्वा, ४ खुपातल, ५ सेगुङवा, ६ युखाबो र फक्ताङलुङ गाउँपालिका वार्ड नं. ३ साबिक लिङखिम गाबिस वार्ड नं. १ थिवामा बितरण गरिएको किरात यक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष बिरेन्द्र हाङ लाबुङले बताए ।सहयोग कुल २७९ घर परिवारलाई ३० केजीको जुनेली चामल १ बोरा, दाल केजि १ र खाने तेल लिटर १ राहत स्वरुप एक कार्यक्रमको आयोजना गर्दै बितरण गरिएको समेत बिरेन्द्रले बताए ।

    राहत फक्ताङलुङ गाउँपालिका वार्ड न. ४ साबिक ईखाबु – ५ बाट हाल लण्डन युकेमा बसोबास गर्ने चीरेन्द्र लाबुङ लिम्बु , न्युयोर्क अमेरीका बसोबास गर्ने क्रमश शिव कुमार लाबुङ, वीरेन्द्र हाङ लाबुङ, सम्झना लाबुङ लगायतका परिवारहरुले आफ्नो दिवङ्गत पिता तथा बाजेहरुको संझनामा बितरण गरिएको पुर्ब गाबिस अध्यक्ष मणि प्रसाद लाबुङले राहत बितरणस्थल छिरुवानीबाट जानकारी दिएका छन् ।


    प्रवासमा रहेर पनि यसरी आफ्नो गाउँठाउँमा अप्ठेरो परेको समयमा ठुलो दिलले थोरै भए पनि राहत सहयोगको महान मानवीय कार्य गरेको भन्दै स्थानीय जनप्रतिनीधिहरुले खुलेर प्रसँसा गरेका थिए । महामारी र लकडाउनले प्रभावित सयौं गाउँले दाजुभाइ दिदीबहिनीलाई थोरै भएपनि सहयोग गर्न पाएकोमा आफुलाई खुसी अनुभूति भएको युके निवासी चीरेन्द्र लाबुङले फेसबुक मार्फत जानकारी गराएका छन् भने अमेरिका निवासी शिव लाबुङले उक्त कार्य सफल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने फक्ताङलुङ गाउँपालिका, फक्ताङलुङ ४ का वडासमिति, सहयोगी समाजसेवी, जनप्रतिनिधि, भोल्युन्टियर्स सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । राहतस्थलमा सामाजिक दुरी कायम गर्न गराउन मार्किङ गरेर ब्यबस्थित गरएको, आफ्ना दिवङ्गत बाबु र बाजे बज्यैको नाममा यसरी राहत बाँड्न पाँउदा आफुलाई आत्मा सन्तुष्टि मिलेको वीरेन्द्र लाबुङले बताए ।

  • विदेशमा बेखर्ची नेपालीलाई सरकारी पैसामा उद्दार गरिदै

    विदेशमा बेखर्ची नेपालीलाई सरकारी पैसामा उद्दार गरिदै

    काठमाडौं । लकडाउन र अन्तराष्ट्रिय उडानमाथिको प्रतिवन्धपछि उद्दार उडानका दौरान करीव ३० हजार हाराहारी नेपाली घर फर्किसकेका छन् । अहिलेसम्म फर्किएका नेपालीको घर फिर्तिमा सरकारको रकम खर्च भएको छैन । केवल व्यवस्थापन मात्र सरकारले गरेको हो । अब भने विदेशमा बेखर्ची बनेर अलपत्र नेपालीको सरकारले आफ्नै खर्चमा उद्दार गर्ने भएको छ ।

    कोभिड १९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषदबाट पारित भएको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसारयस्तो सुविधा वैदेशिक रोजगारीमा गई अलपत्र परेका नेपालीले पाउने भएका हुन् । कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्द्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय भएको उनले जानकारी दिए ।

    श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर हाल अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन कोषको रकम प्रयोग गरिने भएको हो । अध्ययन, भ्रमण तथा अन्य कामको सिलसिलामा अलपत्र परेका नेपाली भने आफ्नै खर्चमा स्वदेश फर्कनु पर्छ । अहिले भइरहेको उद्दार सोही प्रकारको हो ।

    यसअघि सरकारले विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किन चाहने नेपाली नागरिकले आफैंले हवाइजहाजको टिकट खरिद गर्नुपर्ने निर्णय यसअघि गरेको थियो । त्यसका विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विदेशमा अप्ठेरोमा परेकालाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कोषमा रहेको रकमबाट स्वदेश फर्काउने व्यवस्था मिलाउन आदेश दिएको थियो ।

    सोहीअनुसर सरकारले निर्देशिका बनाएको हो । सरकारबाट श्रम स्वीकृति लिएर गएकाहरूलाई मात्रै निर्देशिकाले तोकेका सुविधाहरू प्राप्त हुने बताइएको छ । बिरामी, सुत्केरी, अशक्त, रोजगारी गुमाएका, कम्पनीबाट टिकट नपाएका, आममाफी पाएका, काजकिरियाका लागि आउनुपर्नेलगायतका संवेदनशील अवस्थाका कामदारको सरकारले निःशुल्क उद्धार गरिने भएको छ ।

  • टेक्सासमा एक नेपाली झुण्डिएको अवस्थामा फेला

    टेक्सासमा एक नेपाली झुण्डिएको अवस्थामा फेला

    टेक्सास

    अमेरिकामा दिन-दिनै नेपालीको मृत्‍युको खबर बढ्दै छ । दुई दिन अगाडि मात्र दुई नेपाली युवाको माछा मार्न जाने क्रममा मृत्‍यु भएको खबरको पिडा सेलाउन नपाउँदै मंगलवार साँझ सेन्ट्रल टेक्सासको कलिनस्थित एक नेपाली युवा झुन्डिएको अवस्थामा फेला परेका छन् । मुलघर रुकुम खलङगा निवासी ३० बर्षीय पारस खड्का मंगलवार साँझ ५:३० बजे तिर बरण्डामा झुन्डिएको अवस्थामा फेला परेको एनआरएन अमेरिकाका केन्द्रिय सदस्य तथा सामाजिक अभियन्ता सिपि पौडेलले जानकारी दिए ।  

    सन् २०१३ मा डाईभर्सिटी भिसा अन्तर्गत अमेरिका आएका खड्का नेपालमा नेपाल विद्यार्थी संघमा सकृय थिए भने जनसंपर्क समितिमा समेत आबद्ध थिए । उनले दुई दिन अगाडि मात्र ब्ल्याक एण्ड ह्वाईट फोटो टाईम लाईनमा अपलोड गरेको देखिएको छ ।अमेरिकास्थित आफन्त तथा साथीभाइले स्व. खडकाको फेसबुक पेजमा ट्याग गरेर थुप्रै समबेदना ब्यक्त समेत गरेका छन् ।

  • आजबाट फेरी शुरु हुँदैछ नेपालीको उद्दार उडान

    आजबाट फेरी शुरु हुँदैछ नेपालीको उद्दार उडान

    काठमाडौं । दुई दिन बन्द भएपछि आजबाट विदेशमा अलपत्र नेपालीको उद्दारको काम फेरी प्रारम्भ हुँदैछ । पछिल्लो एक महिनायता विदेशबाट धमाधम नेपालीलाई स्वदेश फर्काउने अभियान जारी रहेको छ । यसक्रममा करीव २६ हजार नेपाली स्वदेशी फर्किसकेका छन् । यसअघि दुई चरणमा भएको उद्दार उडानको काम अब तेस्रो चरणमा प्रवश गरेको छ ।

    यस क्रममा कुल ४२ उडानको तयारी छ । यो एक सातामा सकिने भएको छ । त्यसपछि नयाँ रणनीति बनाउने सरकारको तयारी छ । आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि उद्धार उडान तालिका सार्वजनिक गरिएको छ । बुधबार कुल ६ उडान तथा अवतरणको तालीका तय भएके छ । बुधबार नेपाल एयरलाइन्स कुनमिङ्ग, सिल्क एयर सिङ्गापुर र र मलेसियन एयरलाइन्सको जहाज क्लालाम्पुरबाट काठमाडौं अवतरण गर्दैछन् ।

    आज यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एयरलाइन्सका दुई जहाज जाने भएको छ । हिमालयको अर्को जहाज आजै कुनमिङ्ग जाने गरी तय भएको छ । एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय र नेपाल एयरलाइन्सले १६, १६ उडान गर्दैछन् । एयर अरेबियाले २, फ्लाई दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएको विमानस्थल कार्यालयले जनाएको छ ।

    जजिरा एयरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ । नयाँ तालिकाअनुसार यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मलेसिया लगायतका ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् ।

  • एनआरएनए अमेरिकाकाे भानु जयन्ती समाराेह सम्पन्न

    एनआरएनए अमेरिकाकाे भानु जयन्ती समाराेह सम्पन्न

    न्युयोर्क

    एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिले २०७ औं भानु जयन्तीकाे पावन अवसरमा ‘साहित्यिक चाैतारी’ कार्यक्रम जुम मार्फ़त् जुलाई १३ तारिख साेमबार भब्यतापुर्वक सम्पन्न गरेकाे छ । 

    कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्यकाे याेगदानकाे चर्चाका साथै एनआरएनएसँग मिलेर साहित्यिक उत्थानमा सहकार्य गर्ने बताउनु भयाे र एउटा कविता समेत पाठ गर्नु भयो। समाराेहका अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव  प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले भानुकाे नेपाली साहित्य र समाजमा परेकाे प्रभावका विषयमा चर्चा गरी नेपाली शब्दकोश एप,  भानु पुरस्कार तथा प्रवासी साहित्यकारकाे कृति प्रकाशित गर्नेजस्ता प्रज्ञा प्रतिष्ठनका याेजना सुनाउँदै आफ्नाे सशक्त कविता पनि प्रस्तुत गर्नुभएकाे थियाे । 

    एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिका संयाेजक सर्वज्ञ वाग्लेद्वारा सभाको सभापतित्व गर्दै दीपप्रज्ज्वलन एवं आदिकवि भानुभक्त आचार्यकाे तस्बीरमा माल्यार्पण गरी प्रारम्भ गर्नुभएकाे कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनील शाह, कालिफाेर्निया च्याप्टरका अध्यक्ष सुरेन्द्र मल्ल, अनेसास बाेर्ड अफ ट्रस्टीका उपाध्यक्ष पदम विश्वकर्मा, निजानन्द मलल्ल लगायतका अतिथिहरूले भानुभक्तकाे याेगदान र रचनाका साथ शुभकामना व्यक्त गरेका थिए । 

    समितिकाे तर्फबाट राजेन्द्रप्रसाद अर्यालकाे स्वागत मन्तव्यका साथ सुरु भएकाे कार्यक्रममा मुरारी गुरागाईकाे संगीतसहित सरु गुरागाईले भानुभक्तकाे रामायणबाट सुमधुर वाचन गर्नुभएकाे थियाे । 

    कार्यक्रममा मदन पुरस्कार प्राप्त गर्ने स्रष्टा निलम कार्की निहारिका, राम कुमार सुवेदी, छत्रपति दाहाल, डा. ऋषि बास्ताकाेटी, कृष्ण कुमारी पाैडेल,  प्रकाश भट्ट, खेमराज पाेखरेल, लेखनाथ काफ्ले, सीता अर्याल, डा. दुर्गाप्रसाद अर्याल, नम्रता गुरागाईं, रीता देवी प्रधान, भावना खतिवडा, प्रकाश पाण्डे, गीता बजगाईं, मित्र पाैडेल, प्रकाश नेपाल, तेज विनाेद, पशुपति पराजुलीलगायतका साहित्यकारहरुले कविता, गजल, गीत, मुक्तक तथा आदिकवि भानुभक्त आचार्यका रचनासमेत वाचन गरेका थिए । 

    पीपलमणि सिग्देल, प्रकाश पाण्डे तथा गीता बजगाईंले संचालन गर्नुभएकाे कार्यक्रममा कृष्ण कुमार गिरीले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे भने संयाेजक एवं समारोहका सभापति सर्वज्ञ वाग्लेले शुभकामनाका साथ कार्यक्रम समापन गर्नुभएकाे थियाे । 

    NRNA NCC USA काे फ़ेसबुक पेज, www.osvevo लगायतबाट लाइभ गरिएकाले हजाराै दर्शककाे सहभागिता रहेकाे थियाे । 

  • टेक्सासमा माछा मार्न जाँदा दुई नेपाली भाषी युवाको मृत्‍यु

    टेक्सासमा माछा मार्न जाँदा दुई नेपाली भाषी युवाको मृत्‍यु

    टेक्सास

    अमेरिकाको टेक्सास राज्यमा बस्ने दुई नेपाली भाषी युवाहरुको माछा मार्न जाँदा मृत्‍यु भएको छ । १९ बर्षीय हिकारु चौलागाई र त्रिशरण खत्री नामका दुई युवाहरुको गत ९ तारिख बिहिबार पोसुम किङ्डम लेकमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए । हिकारु चौलागाई मुल घर नेपालका हुन भने त्रिशरण मुलघर भुटानी हुन । त्रिशरण खत्रीको शव शनिबार गोताखोरको सहयोगमा निकालिएको थियो भने हिकारु गौतमको शव आईतबार मात्र पाईएको थियो । ती दुई युवाहरुको पोसुम किङ्डम लेक मुनीको छालले तानेर मृत्‍यु भएको मृतकद्वयको दाह संस्कारका लागि खोलिएको सहयोग गो फण्ड मि एकाउन्टमा लेखिएको छ । 

    अबिन श्रेष्ठको संयोजनमा खोलिएको गोफन्ड् मि एकाउन्टमा मृतकद्वय अत्यन्त रमाईला ब्यक्ति भएको भनिएको छ । हिकारु चौलागाई टेक्सासस्थित सामाजिक अभियन्ता सरिता चौलागाईका छोरा हुन् । मृतकहरुको अन्तिम संस्कारका लागि १५ हजार अमेरिकी डलर लक्ष्य राखी सहयोगको लागि आह्वान गरिएको छ भने हिकारु गौतम एक्लैको नाममा प्रियँका पुडासैनिको संयोजनमा अर्को छुट्टै गो फण्ड् मि एकाउन्ट खोलिएको छ ।

  • न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

    न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

    न्युयोर्क

    न्युयोर्कमा कोरोनाभाइरस संक्रमण सम्बद्ध एउटा नयाँ आँकडा सार्वजनिक भएको छ ।आकस्मिक स्वास्थ जाँचको लागि चर्चित सिटिएमडिद्वारा सार्वजनिक आँकडाका अनुसार मार्चमा सुरु भएको महामारीले  सबै  भन्दा  धेरै  प्रभाबित  क्वीन्स  बोरोमा  बसोबास गर्नेहरुको ठुलो संख्यामा  एण्टिबडी  पोजेटिभ  देखिएको छ ।  तर त्यो आँकडाले जोसँग एन्टीबडी छ तिनीहरुको प्रतिरक्षा प्रणाली मजबुत नै भन्ने ग्यारेन्टि भने गरेको होईन ।

    गत बिहिबार न्युयोर्क टाईम्सले पहिलो पटक सार्वजनिक गरेको आँकडा अनुसार कुईन्समा  जाँच  गरिएका  मध्ये  ६८  प्रतिशत कुईन्सस्थित कोरोनाबासीमा एण्टीबडी पोजेटिभ भेटिएको छ भने केही पर ज्याक्सन हाईट्सको क्लिनिकमा जाँच गरिएका मध्ये ५६ प्रतिशतमा एन्टिबडी पोजेटिभ भेटिएको छ । सिटिएमडि न्युयोर्क भरी संचालित बिना अप्वाईन्टमेन्ट बिरामी जाँच्ने क्लिनिक हो ।  

    काम गरी खानु पर्ने बर्गको बाहुल्यता रहेको कोरोना र ज्याक्सन हाईट्सको क्लिनिकमा  यति ठुलो अनुपातमा एन्टीबडी पोजेटिभ भेटिदा ब्रुकलिनस्थित गोरा जाती र धनीहरुको बाहुल्यता रहेको कबल हिलको क्लिनिकमा भने जम्मा १३ प्रतिशतमा मात्र एन्टिबडी भेटिएको छ  । ब्रुकलिनस्थित  फ्ल्याटबुस  क्षेत्रमा  ४५  प्रतिशतमा एण्टीबडी  भेटिएको  छ ।  त्यसैगरी  ठुलो  संख्यामा  हिस्प्यानिक समुदायको  बसोबास  रहेको  र  मध्यम  प्रकृतिको आम्दानी भएको ब्रुकलिनस्थित  बुस्विकमा  ३५  प्रतिशतमा  एण्टीबडी भेटिएको छ । त्यसैगरी  महामारीको  अर्को  केन्द्र  बिन्दु  ब्रोंक्समा ३७ प्रतिशतमा एण्टीबडी  भेटिएको  सिटीएमडिले  जनाएको  छ ।  यो  आँकडाले जनाउँदछ कि अल्पसंख्यक र  काम गरी खानु पर्ने बर्गको बसोबास रहेको समुदाय जो नराम्रोसँग कोरोना महामारीको प्रभाबमा परे त्यति बेला उनीहरुमा प्रतिरक्षा प्रणालीको बिकास भै सकेको हुन सक्दछ ।  जुन २६ सम्म सिटीएमडिले न्युयोर्क शहर भित्र  ३ लाख १४ हजार मानिसमा एन्टीबडी जाँच गरी सकेको छ, जसमध्ये २६ प्रतिशतमा एन्टीबडी पोजेटिभ भेटिएको छ ।
    सिटीएमडिका मेडिकल अपरेसनका सिनियर भाईस प्रेसिडेन्ट डा डेनियल  फ्रोजेलले  न्युयोर्क  टाईम्सलाई  भनेका  छन्;  “जब जनसंख्याको ठुलो हिस्सालाई जाँच गरिन्छ र त्यो जनसंख्या मध्येको ठुलो हिस्सामा  प्राबिधिक  रुपमा  भाईरस  बिरुद्ध  प्रतिरक्षा प्रणाली भेटिन्छ  तब  हामीले  सोच्न  थाल्नु  पर्छ  कि,  के  ती  मानिसमा अब भाईरस  प्रबेश  गर्छ ?  र  ती मानिस कोरोनाको कारण अब  बिरामी हुन्छन् ? भन्ने कुरा लगभग असम्भब नै हो” ।

    एन्टिबडी पोजेटिभ देखिनुको मतलब के वास्तवमा नै यो समुदायको प्रतिरक्षा  क्षमता  बिकास  भएको हो त ? भन्दै डा फ्रोजेलले भनेका छन्; “के उनिहरु सुरक्षित छन् ? यो कति लामो समयको लागि हुने हो ? हामीले कस्तो किसिमको सुझाव यस्ता मानिसलाई दिईरहेका छौ ? त्यो कुरामा हामी धेरै सचेत हुनु पर्दछ” । डा फ्रोजेलले थप प्रस्ट पार्दै भनें; ‘हामीले यस्ता मानिसलाई हात धुनु पर्दैन? मास्क लगाउनु पर्दैन? तिमीहरुले आफुलाई सुरक्षित राख्नु पर्दैन? भनेर भन्न मिल्दैन र भन्न सक्दैनौ’ ।

    न्युयोर्कमा सम्भबित दोश्रो लहरको कोरोना संक्रमणको त्रास रहेको बेला सरुवा रोग बिशेषज्ञ किटो डिमिसीले टाईम्सलाई भनेका छन्; ‘भबिष्यमा कोरोना संक्रमणको खतरा अल्पसंख्यक समुदायमा भने निकै कम हुने छ’।

    न्युयोर्क सहरमा कन्ट्याक ट्रेसिङ प्रोग्रामका कार्यकारी निर्देशक डा टेड लङले पनि प्रतिरक्षा प्रणाली कति शक्तिशाली र कति लामो समयसम्म रहन्छ भन्ने कुरा प्रष्ट नभए पनि उनले आशा ब्यक्त गर्दै भनेका छन्; “महामारीको चपेटामा परिसकेका क्वीन्सको कोरोना जस्तो समुदाय जहाँ बसोबास गर्नेहरुको ठुलो संख्यामा देखिएको एण्टीबडीले समुदायलाई केही न केही कोणको रक्षा भने गर्दछ”।

    यता क्युनी स्कुल अफ पब्लिक हेल्थका सरुवारोग बिषयमा प्रोफेशर डेनिस न्यासले भनेका छन्; “गत महामारीमा कम प्रभाबित समुदाय भित्र अर्को पटक आउने महामारी ब्यापक हुने देखिन्छ” ।  

    क्लिनिक अवस्थित क्षेत्र आसपासका समुदायका मानिसले मात्र आएर त्यो क्लिनिकमा एण्टीबडी जाँच नगर्ने र अन्य ठाउँबाट पनि आएर जाँच गराउने हुँदा ठ्याकै कति जना त्यो समुदायका मानिसमा एन्टीबडी छ, यकिन आँकडा नआए पनि अधिकतम संख्या भने देखिने क्लिनिकले बताएको छ । अमेरिकामा सार्वजनिक भएका राष्ट्रियस्तरको आँकडाले देशभर अश्वेत र गँहु गोरो समुदाय कोरोनाबाट ज्यादा प्रभाबित भएको प्रष्ट भै सकेको छ । यही समुदायका मानिस अधिक मात्रामा अस्पताल भर्ना हुने र मृत्‍यु हुनेमा पर्दछन् । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जुलाई १२ सम्म अमेरिकामा गोरा जाती भन्दा ५ दोब्बर धेरैको अनुपातमा अश्वेत ,अमेरिकन ईन्डियन र अलास्का नेटिभ अस्पताल भर्ना भएका छन्  । गोरा जाती भन्दा हिस्प्यानिक र ल्याटिनो ४ दोब्बर धेरैको अनुपातमा अस्पताल भर्ना भएका छन् ।

    न्युयोर्कमा मार्चदेखि सुरु भएको महामारीमा धनी समुदायका मानिस महामारी लगत्तै कोही सुरक्षित क्षेत्रमा छुट्टी मनाउन गएका थिए भने अधिकांश घरमा नै बसेर काम गर्दै सामाजिक दुरीलाई कायम गर्न सफल भएका कारण संक्रमणबाट सुरक्षित भएका थिए । काम गरी खानु पर्ने बर्ग भने अधिकांश सार्वजनिक यातायात प्रयोग गर्दै काममा जाने र गुजारा चलाऊने गरेको थियो ।  

    (यो सामाग्री हामीले न्युयोर्क टाईम्सबाट लिएका हौं)

  • नेपालीको उद्दारका लागि तेस्रो चरणमा ४२ उडानलाई अनुमति, ६ देशमा जानेछन् जहाज

    नेपालीको उद्दारका लागि तेस्रो चरणमा ४२ उडानलाई अनुमति, ६ देशमा जानेछन् जहाज

    काठमाडौं । नेपालीको विदेशका विभिन्न मुलुकबाट भइरहेको उद्दारको तेस्रो चरण बुधबारबाट शुरु हुने भएको छ । सोमबार र मंगलबार कुनै पनि उडान हुने छैनन् । विमानस्थल, हवाईजहाज तथा अन्य स्थानको सरसफाईका लागि दुई दिन उद्दार उडान बन्द गर्न लागिएको हो । बुधबारबाट भने उडान प्रारम्भ हुनेछ ।

    तेस्रो चरणमा नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न ६ देशबाट ४२ वटा उडानको तालिका तय भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाए अनुसार बुधबारदेखि एक सातासम्म तेस्रो चरणका उडानहरु हुनेछन् ।

    नेपालीको स्वदेश फिर्ती प्रयोजनमा हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, फ्लाई दुबई, एयर अरेबिया, जजिरा एयर र मालिण्डो एयरले उडान अनुमति पाएका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले १६, १६ उडान गर्ने भएका छन् ।

    एयर अरेबियाले २, फ्लाई दुबईले २ र मालिन्दो एयरले ४ वटा उडान गर्ने भएका छन् । जजिरा एयरको समेत दुई उडान निश्चित भएको छ ।

    आगामी साता यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मलेसियाबाट नेपालीहरुलाई घर ल्याउने कार्यक्रम तय भएको छ । शनिबारसम्म २६ हजार ३ सय ९६ जना नेपाली स्वदेश फर्किसकेको विमानस्थलको तथ्यांक छ । यसबीचमा कुल १ सय ४९ उडान भएका छन् ।

  • विदेशमा ९२ प्रतिशत नेपालीले जिते कोरोना

    विदेशमा ९२ प्रतिशत नेपालीले जिते कोरोना

    काठमाडौं । विदेशमा कोरोनाबाट संक्रमित भएको ९२ प्रतिशत नेपालीले कोरोना जित्न सफल भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता कोरोनाका कारण विदेशमा कुनै पनि नेपालीको ज्यान गएको छैन । विदेशमा कोरोना भाइरसका कारण निधन हुने र संक्रमित हुनेको दर समेत उल्लेख्य घटेको छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले यसको जानकारी दिएका हुन् ।

    उनका अनुसार शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जनामा कोरोना देखिएको छ । त्यसमध्ये २७ हजार ३ सय ६२ जना नेपालीले कोरोनालाई जित्त सफल भएका छन् । अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ ।

    नेपालमा समेत गरेर विश्वभर ज्यान गुमाउने नेपालीको संख्या १ सय ८१ छ । ४६ हजार ३ सय ४६ जना संक्रमित भएका छन् । नेपालमा करीव १७ हजारमा कोरोना देखिएको छ ।

    उता, नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरिएको समेत संघले जनाएको छ ।

    यसैगस अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनको विज्ञप्तीमा उल्लेख छ ।

  • रुकुम घटनामा ज्यान गुमाउनेका परिवारलाई अमेरिकाबाट ४ लाख २० हजार रुपैंया सहयोग

    रुकुम घटनामा ज्यान गुमाउनेका परिवारलाई अमेरिकाबाट ४ लाख २० हजार रुपैंया सहयोग

    न्युयोर्क

    गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोती घटनामा ज्यान गुमाएका ६ जना मृतकका परिवारलाई अमेरिकामा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अमेरीकाबासी संचारकर्मीद्वय भोला आचार्य र दिनेशजंग शाहको संयोजनमा ६७ जना नेपालीहरुले गरेको सहयोग रकम ४ लाख २० हजार रुपैंया शुक्रवार नवराज विकको घरमा एक कार्यक्रमका बीच पिडित परिवारलाई हस्तान्तरण गरिएको भोला आर्चायले जानकारी दिए । 

    कथित माथिल्लो जातकी प्रेमिकालाई वेहुलीको रुपमा भगाउन गएका भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका नवराज विक र उनको साथमा गएको १८ जना साथीहरुको समुहमाथि स्थानीयको आक्रमणवाट हत्या गरिएका अन्य ५ जना भेरी नगरपालिका ४ कै सन्दीप विक सन्जु, गणेश वुढा मगर, सोही नगरपालिकाको ११ नम्वर वडाका लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिका २ नाखिराका टीकाराम सुनार पिडित परिवारलाइ जम्मा भएको ४ लाख २० हजार रुपैया प्रति परिवार ७० हजारका दरले वितरण गरिएको छ । गो फण्डमा जम्मा भएको ३ हजार ६ सय २७ डलरबाट नेपालमा पैसा पठाउन लागेको खर्च कटाई ३ हजार ४ सय ९७ डलर ३ सेण्ट अर्थात ४ लाख २० हजार रुपैया वितरण गरिएको हो ।

    संकलित रकमलाइ भेरी नगरपालिका ४ नं. वडाका वडाध्यक्ष खम्वजंग शाह, सोती हत्याकान्ड संघर्ष समितिका सहसंयोजक छवि पन्त, समाजसेवी तथा पश्चिम रुकुमका समाजसेवी तिलक भण्डारी, काँग्रेस जाजरकोटका नेता मुक्ति आचार्य र काँग्रेस नेता शिवप्रसाद आचार्यले हस्तान्तरण गरेका थिए । सहयोग रकम मृतक युवाहरुका आमाहरुलाई प्रदान गरिएको थियो । पिडितका परिवार तथा हस्तान्तरण गर्ने स्थानीयहरुले अमेरिकाबासी सहयोगीहरुलाई धन्यवाद दिएका थिए । सहयोग हस्तान्तरणका लागि पिडितहरुसंग समन्वय र कार्यक्रम सञ्चालन गर्ने कार्य कुशेमालिका अनलाइनका सम्पादक पत्रकार जनक केसीले गरेका थिए ।

    अदालतको आदेशमा घटनाका दोषी वडाअध्यक्ष सहित २३ जना हाल पुर्पक्षका लागि थुनामा छन् ।