Category: डायस्पोरा

  • आज ओमानबाट काठमाडौं आए १ सय ६६ नेपाली

    आज ओमानबाट काठमाडौं आए १ सय ६६ नेपाली

    काठमाडौं । सोमबार ओमानबाट १६६ नेपाली घर फर्किएका छन् । कोराना भाइरसको महामारीसँगै उत्पन्न संकटका बीच अहिले नेपालीको उद्दारको काम जारी छ । सोहीक्रममा ओमानबाट नेपालीलाई घर ल्याइएको हो । सलाम एअरको उडान नम्बर ओभी ४२७ मार्फत नेपाली घर आएका छन् । ओमानबाट एउटा शव पनि ल्याइएको छ ।

    समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा त्यहाँ रहेको नेपाली दूतावासले सलाम एअरमार्फत स्वदेश पठाएको हो । सरकारले हिमालय र नेपाल एअरलाइन्समार्फत नेपालीको स्वदेश फिर्ता गराउने भनेको भएपनि विदेशी एयरलाइन्सले सस्तोमा उडाउन तयार भएपछि नेपाल ल्याइएको बताइएको छ ।

    ओमानबाट फर्कने सबै नेपालीको पीसीआर जाँच गराएरै पठाइएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । पीसीआर जाँच गरेर फर्किएकाले उनीहरु सिधै होम क्वरेण्टीनमा जान पाउनेछन् ।

    कतिपय नेपालीले आफैंले स्वदेश फर्कने टिकट काटेका छन् भने कतिपयलाई कम्पनीले टिकट काटिदिएको छ । समस्यामा परेका १३ जना महिलालाई भने दूतावासले नै खर्चको व्यवस्थापन गरेर पठाएको हो । सलाम एयरको दोस्रो उडान असार ४ मा हुँदैछ । यो उडानमार्फत १८० जना नेपाली स्वदेश फर्कने भएका छन् ।

  • अफगानिस्तानबाट आए संयुक्त राष्ट्रसंघका १८ नेपाली कर्मचारी, बंगलादेशबाट फर्किए १५८ विद्यार्थी

    अफगानिस्तानबाट आए संयुक्त राष्ट्रसंघका १८ नेपाली कर्मचारी, बंगलादेशबाट फर्किए १५८ विद्यार्थी

    काठमाडौं । अफगानिस्तानबाट संयुक्त राष्ट्रसंघका कर्मचारी नेपाल फिर्ता भएका छन् । अफगानिस्तानबाट १८ जना नेपाली कर्मचारी आइतबार काठमाडौं आएका हुन् । उनीहरुलाई संयक्त राष्ट्रसंघ आफैले चार्टर्ड जहाज काठमाडौं पठाएको काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ । उक्त जहाज काठमाडौंबाट अफगानिस्तान फर्कदा भने एक जना यात्रु बोकेर गएको छ ।

    उता, आइतबार नेपाल एयरलाइन्सले बंगलादेशबाट १ सय ५८ जना नेपालीलाई स्वदेश फर्काएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १ सय ५८ जना नेपाली स्वदेश फर्किएका हुन् । उनीहरु सबैको पीसीआर परीक्षण गरिएको छ । सोहीकारण उनीहरु काठमाडौंमा एक दिन होल्डिङ सेन्टरमा बसेर त्यसपछि सम्बन्धित स्थानीय तहमा पठाइनेछ । सरकारले विभिन्न मुलुकबाट अलपत्र नेपालीको उद्धार थालेको छ । उद्धार गरी करीव ३० हजार नेपाली घर फर्कने छन् ।

  • अघिल्लो साता विदेशमा कोरोनाबाट नेपालीको मृत्यु शुन्य

    अघिल्लो साता विदेशमा कोरोनाबाट नेपालीको मृत्यु शुन्य

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा नेपालीको ज्यान जाने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले साप्ताहिक अपडेट जारी गर्दै यस्तो बताएको हो । एनआरएनएका अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीको ज्यान गएको थियो । तर, अघिल्लो साता भने कोरोना भाइरस संक्रमणबाट विदेशमा कुनै पनि नेपालीले ज्यान गुमाएका छैनन् ।

    एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दर समेत उल्लेख्य घटेको छ । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

    एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो ।

    कोरोना संक्रमणले हालसम्म विदेशमा १ सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् । नेपालमा भने १९ पुगेको छ । यद्दपी संघको अपडेटमा १८ रहेको छ । आज बिहान ज्यान गुमाएका गुल्मीका युवकको समेत कोरोना थियो ।

    नेपालमा ५ हजार ३ सय ३५ सहित विश्वभरका ३५ देशमा २३ हजार १ सय २७ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको सं३ले उल्लेख गरेको छ । कोरोना भाइरसका कारण बेलायत, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो ।

  • फिप्नाले पाँचौं चरणमा गर्‍यो पि पि ई सहयोग

    फिप्नाले पाँचौं चरणमा गर्‍यो पि पि ई सहयोग

    न्युयोर्क 

    नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना) ले कोरोना महामारीमा  पाँचौं चरणको सहयोग बितरण सम्पन्न गरेको छ । महामारिको सुरुवातदेखि न्युयोर्कस्थित नेपाली समुदायको सेवामा राहत तथा उद्दारको कार्यमा निरन्तर सकृय रहदै आएको फिप्नाले चरणबद्द रुपमा राहत तथा सहयोग बितरण गर्दै आएको छ । गत मार्च महिनादेखि संस्थागत रूपमा न्यूयोर्क, न्युजर्सीमा क्रियाशील सामुदायका संघ संस्थाहरूको क्रियाशिलतालाई सम्मान गर्दै पाँचौं चरणको सहयोग अन्तर्गत फिप्नाले केही संस्थागरूलाई पि पि ई सामग्री उपलब्ध गराएको हो ।

    पाँचौं चरणको सहयोगमा फिप्नाले; युनाइटेड किराँत राई अर्गनाईजेसनलाई २५० थान सर्जिकल माक्स १,००० थान ग्लोब्स, घ्यालसुम्धो सेवा संस्था अमेरीकालाई ५० थान सर्जिकल माक्स, १००० थान ग्लोब्स, नुब्री एसोसिएशन अमेरीकालाई १,००० थान ग्लोब्स, गुरूङ तमु सोसाइटी ईङक अमेरीकालाई सर्जिकल माक्स ५० थान, १,००० थान ग्लोब्स, मुगुम एसोसिएशन अमेरिकालाई सर्जिकल माक्स – ५० थान ग्लब्स- ६०० थान तामाङ सोसाइटी अफ अमेरीका अन्तर्गतको कोभिड -१९ टाक्स फोर्सलाई सर्जिकल माक्स – ५० थान ग्लब्स- ६०० थान, शेर्पा संघ अमेरिकालाई सर्जिकल माक्स-४६ थान ग्लब्स-२०० थान बितरण गरेको संस्थाका अध्यक्ष लोक चेम्जोङले जनाएका छन् ।  

    साथै संस्थाले बिगत तीन महिनादेखि दैनिक ४/५ परिवारलाई आवश्यक सामग्री निरन्तर वितरण गर्दै आईरहेको समेत बताएको छ । फिप्ना अमेरिकास्थित आदिवासी जनजातीहरुको प्रतिनिधिमुलक संस्था हो ।

  • कुवेतबाट विहीबार ५३१ नेपाली महिला श्रमिक फर्किए, १५० जना आज आउने

    कुवेतबाट विहीबार ५३१ नेपाली महिला श्रमिक फर्किए, १५० जना आज आउने

    काठमाडौं । कुवेतबाट बिहीबार ५ सय ३१ जना नेपाली महिला श्रमिक काठमाडौं ओर्लिए । सरकारले उद्दारको सूचिमा प्राथमिकतामा रहेका उनीहरुलाई घर फर्कने वातावरण बनाइदिएको हो । उनीहरुलाई कुवेत सरकारले नै घर फर्काएको हो । जहाज भाडा समेत कुवेत सरकारले बेहोरेका कारण नेपाल सरकारको खर्च लागेन ।

    विहीबार जजिरा एयरवेजको दुई वटा उडानबाट नेपाली महिला श्रमिकलाई घर फर्काइएको हो । यस टोलीमा रहेकामध्ये थप १५० जना भने शुक्रबार काठमाडौं आउने विमानस्थल स्रोतले जानकारी दिएको छ । विमानस्थलमा विदेशबाट आउने नागरिकको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । बिहीबार ल्याइएका ५३१ जनामध्ये दुई जना गर्भवती महिला समेत बताइएको छ ।

    उनीहरुलाई एकरात होल्डिंग सेन्टरमा राखिएको छ । अब सम्बन्धित प्रदेशमा पठाइने छ । प्रदेशमा जान नसक्ने ४९ जना भने छहारी होममा छन् ।

    १० जना होटेलमा बस्ने भएका छन् । विदेशबाट फर्कने सबै १४ दिनको क्वारेन्टिनमा बस्नुपर्छ । कुवेतमा आम माफी पाएका, जागिर छाडेर अलपत्र परेका, भिसा सकिएर गैरकानूनी बनेका नेपाली श्रमिक महिलाई प्राथमिकताका आधारमा घर फर्काइएको हो ।

  • १७ जुनमा अमेरिकाबाट नेपालीलाई घर फर्काइँदै, कहिले कहाँबाट हुँदैछ रेस्क्यू उडान (विस्तृतमा) ?

    १७ जुनमा अमेरिकाबाट नेपालीलाई घर फर्काइँदै, कहिले कहाँबाट हुँदैछ रेस्क्यू उडान (विस्तृतमा) ?

    काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि विदेशका विभिन्न गन्तब्यमा अलपत्र नेपालीको उद्दारको काम आजबाट पुनः शुरु हुँदैछ । आज कुवेतबाट दुई वटा जहाजमा महिला श्रमिक काठमाडौं आउँदैछन् । उनीहरुलाई जजिरा एयरवेजका दुई उडानले काठमाडौं छाड्नेछ । लकडाउन तथा व्यवसायिक उडान बन्द भएपछि विदेशमा समस्यामा परी अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा उद्दार थालिएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा हुने रेस्क्यू उडानको तालीका तय गरेको छ । तालिका अनुसार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई नेपालबाट परिचालित गरिनेछ । यसबाहेक विदेशी जहाजले समेत नेपालीलाई उद्दार गरी काठमाडौं ल्याउँदैछन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै प्रकारका जहाज लामो र छोटो दूरीमा प्रयोग हुँदैछन् ।

    हिमालय एयरलाइन्ससँग न्यारो बडी जहाज रहेका छन् । बिहीबार कुवेतबाट करिब ३ सय महिला श्रमिक नेपाल आइरहेका छन् । मन्त्रालयका अनुसार रेस्क्यू उडानका दौरान नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ वटा उडान गर्ने भएका छन् ।

     

     

    यसबीचमा थप २४ वटा विदेशी एयरलाइन्सले नेपालमा नेपालीलाई छाड्नेछन् । मन्त्रालयको तालीका अनुसार बंगलादेशको ढाकाबाट जुन १४ तारिखमा दुई वटा उडान हुने भएको छ । यी दुवै उडानमा उतैबाट जहाज आउनेछ ।

    जुन १५ मा नेपाल एयरलाइन्स माले र क्वालालम्पुर जानेछ । उक्त दिन हिमालय एयरलाइन्स साउदी अरब र सिंगापुर जानृ तय भएको छ ।

    जुन १६ मा युएई र कतारमा नेपाल एयरलाइन्स जानेछ । सो दिन कुवेत, श्रीलंका र मालेबाट नेपाली ल्याउन हिमालय एयरलाइन्स जाने भएको छ ।

    जुन १७ मा अष्ट्रेलिया, बैंकक र बहराइनमा नेपाल एयरलाइन्स जाने तय भएको छ । उक्त दिन हिमालय एयरलाइन्स बंगलादेश र कतार जानेछ ।

    जुन १७ मा अमेरिकाबाट एक विदेशी एयरलाइन्स आउनेछ । जुन १८ मा नेपाल एयरलाइन्स साउदी र युएई जानेछ । उक्त दिन हिमालय एयरलाइन्स क्वालालम्पुर र मस्कट जानेछ ।

    जुन १९ मा जापान र कुवेतबाट नेपाल एयरलाइन्सले नेपालीलाई ल्याउनेछ । साउदी र नाइजेरीयाबाट हिमालय एयरलाइन्सले नेपालीलाई फिर्ता ल्याउने तरी उडान तय भएको छ ।

    २० जुनमा साइप्रस, क्वालालम्पुर र कतारबाट नेपाल एयरलाइन्सले उडान गर्नेछ । सो दिन हिमालय एयरलाइन्सले युएई र बंगलादेशबाट नेपालीलाई फिर्ता ल्याउने भएको छ । २० जुनमा यूरोपबाट विदेशी कम्पनी नेपाल आउने छ ।

    २१ जुनमा दक्षिण कोरिया र मस्कटमा नेपाल एयरलाइन्स जानेछ । सो दिन हिमालय एयरलाइन्स भने कुवेत र क्वालालम्पुर जानेछ ।

    २२ जुनमा अष्ट्रेलिया र बैंककबाट नेपाल एयरलाइन्सले नेपालीलाई ल्याउनेछ । पाकिस्तान र कतारमा हिमालय एयरलाइन्स पठाइने भएको छ ।

    २३ जुनमा जापानको नारिता र मालेबाट नेपाल एयरलाइन्स जानेछ । युएई र युगान्डाबाट हिमालय एयरलाइन्सले उडान गर्ने तालिका तय भएको छ ।

    २४ जुनमा नेपाल एयरलाइन्सको मात्र फ्लाइट छ । सो दिन नेपाल एयरलाइन्सले साउदी र कुवेतका नेपालीहरुलाई उद्धार गर्ने छ ।

    २५ जुनमा नेपाल एयरलाइन्स फेरी जापान पुगेर थप नेपालीलाई घर ल्याउनेछ । यो दिन हिमालय एयरलाइन्स साइप्रस\इजरायल जाने भएको छ ।

  • न्यूयोर्कमा भर्चुअल रुपमा अन्तर्ध्वनि लोकार्पण

    न्यूयोर्कमा भर्चुअल रुपमा अन्तर्ध्वनि लोकार्पण

    सकुन ज्ञवाली, न्युयोर्क

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा जुन ६ तारिखका दिन अ ने सा स न्यूयोर्ककी पूर्ब अध्यक्ष साहित्यकार पूनम काफ्लेको नवौं कृति कथा संग्रह ‘अन्तर्ध्वनि’ को भर्चुअल लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।

    भर्चुअल लोकार्पण गरिएको ‘अन्तर्ध्वनि’ नेपाली साहित्य जगतमा नै पहिलो भर्चुअल्ली लोकार्पित कृति भएको छ। दुई दशकदेखि अनवरत रूपमा साहित्य सृजनामा समर्पित नारी रत्न पूनम काफ्लेका प्रकाशित कृतिहरू; भावना, छायाँ छवि, परदेशिएका पाईलाहरू, जून तारा, अन्तर्धारा, गीतहरु हुदैँ अन्तर्ध्वनिसम्म प्रकाशित हुन आएको छ । उक्त अवसरमा नेपाल निगमका महाबाणिज्य दूत पुष्पराज भट्टराई, अ ने सा स केन्द्रका अध्यक्ष राधेश्याम लेकाली, अ ने सा स ट्रष्टी अध्यक्ष गीता खत्री, कथाकार मधुवन पौडेल, साहित्यकार डा. मधु माधुर्य, जगदिश उपाध्याय, पूर्ब च्याप्टर अध्यक्षहरु साहित्यकार ज्योती पौडेल, बिकाश बिष्ट, राजेन्द्र श्रेष्ठ लगायत च्याप्टरका सदस्यहरु, सल्लाहकार रश्मी भट्ट, उपाध्यक्ष शान्ता घिमिरे, राजन महर्जन, जानुका वस्ति ढकाल, मेनका पराजुली, सिर्जना लामा, सोभा गौतम, पूर्व पदाधिकारी बेदा आचार्य ,साहित्यकार सिता खरेल, समालोचक रश्मि भट्ट, साहित्यकार बिनोद रोका, साहित्यकार किशन सिंह धामी, किरण काफ्लेका साथै अन्य साहित्य अनुरागीहरुको पनि गरिमामय उपस्थित थियो । 

    उपस्थित सम्पूर्ण सहभागीहरुले कथाकार पूनम काफ्लेलाई बधाई ज्ञापन गरेका थिए । नेपालबाट अतिथि राधेश्याम लेकाली र मधुवन पौडेलका साथै अतिथि पुष्पराज भट्टराई, गीता खत्री, जगदिश उपाध्याय लगायत सबैले आ आफ्नो छोटो मिठो भावनाहरु व्यक्त गरेका थिए । अंतर्ध्वनि कथा संग्रहको समीक्षा गर्दै डा.मधु माधुर्यले पूनम काफ्लेको कृतिमा समाबेस भएका बीसवटा कथाका बारेमा प्रष्ट पार्दै कथामा निहित मधुर भाव ,मानवीय समबेदना, पुराना र नयाँ सोचको द्वन्द, रुढीवादी समाज भित्रका बाध्यताहरू, सेरोगेट पिताको महानता, तेस्रो लिंगी समाजले भोग्नु परेको पीडा, बिदेशिएर झेल्नु परेको दुख, पुरुष हृदयको कोमल पन, आदिको बारेमा प्रकाश पारेको थियो |

    उपस्थित पूर्व अध्यक्षहरु लगायत च्याप्टरका सदस्यहरुले पनि सर्जकलाई बधाई एवम् शुभकामना दिई बिदेशी परिवेशमा लेखिएको अन्तर्ध्वनि कृति लोकापर्ण भएकोमा खुसियाली व्यक्त गरेका थिए । सहभागीहरुले सर्जक काफ्लेको लेखन आख्यानमा अति उत्कृष्ट भएकोले नेपाली साहित्यमा उहाँको उपन्यास पनि छिट्टै पाउने आशा गरेका थिए। श्रस्टा पूनम काफ्लेका श्रीमान किरण काफ्लेले पनि उक्त कथा संग्रहबाट एक हरफ़ कथा पढेर सुनाएका थिए । सदाझैँ अ ने सा स न्यू योर्क च्याप्टरका महासचिब राजन महर्जनले रमाईलो बाताबरणमा कार्यक्रम संचालन गरेका थिए।

    अध्यक्ष शकुन ज्ञवालीले पूनम काफ्लेको सौम्य शालीन, सकारात्मक व्यक्तित्वको चर्चा गर्दै उपस्थित सवैलाई धन्यबाद दिदै दुइ घण्टे पुस्तक बिमोचन कार्यक्रम समापन गरेकी थिईन् ।

  • इच्छाशक्ति नै सबैथोक हो; तारा धामी

    इच्छाशक्ति नै सबैथोक हो; तारा धामी

    अन्तर्वार्ता: 

    नेपालमा रहँदा र अमेरिका आएपछि पनि विगत केही वर्षदेखि समाजसेवा गर्दै आएकी  तारादेवी धामी अहिले न्युयोर्कमा सुदूरपश्चिम समाजको पहलमा भइरहेको राहत संकलनमा अग्रणी भूमीका निभाई रहेकी छिन् । केही समय अगाडि चौलानी पुस्तक भण्डार तथा ह्युमिनेटि फ़ाउण्डेशनले गो फण्डद्वारा आयोजना गरेको कोरोना पिडितका लागि राहत संकलनमा पनि मुख्य भूमिका निभाएकी थिइन् । मानव सेवा र सहयोगी भावाना भएकी तारा धामी परिवारद्वारा स्थापना गरिएको “तारा-किशन फाउण्डेसन”की अध्यक्ष पनि हुन् । श्री तारा धामीले सोही संस्था मार्फ़त काठमाडौं र धनगढीमा गरि ५ बिध्यार्थीलाई सहयोग गरिरहेकी छिन् । नेपालको सुदूरपश्चिमबाट न्युयोर्कलाई कर्मथलो बनाई रहेकी धामीले नेपाली कम्युनिटीद्वारा न्युयोर्कमा निर्माण भइरहेको दुर्गा मन्दिरलाई पनि रिजउड सोसाइटीका बर्तमान अध्यक्ष मार्फत आर्थिक सहयोग गरेको रसिद देखाउदै भन्छिन्; ‘दुर्गा माताले गर्दा पनि होला हामी नजिक कोरोना आउन नसकेको’ । उसो त पहिलो पटक न्युयोर्कमा मनाइएको गो:रा पर्वका अगुवा तथा चाडपर्ब र नेपाली नारीहरूको महान तीजपर्वमा आफ्नो गच्छेनुसार सहयोग गरेको सम्झना दिलाउंछिन् । उनै समाजसेवी तारा धामीसंग विश्व सन्देशका योगेश आदीले गरेको छोटो वार्तालाप ।

    तँपाइले न्युयोर्कलाई  कहिलेदेखि कर्मथलो बनाउनु भयो ? नेपालदेखि यो बिसाल सहरसम्मको भोगाई अनि अहिले नेपालको कोरोना महामारी लक्षित आर्थिक सहयोगमा जुटि रहनु भएको छ रहेछ । कसरी काम हुँदैछ ?

    – जन्म घर र बिहे गरेको घर दार्चुला हो, पछि काठमाडौंमा ५१ सालदेखि बस्दै आएकी थिएँ । अहिले छ बर्षदेखि न्युयोर्कको कुइन्स सहरमा छोरीहरु र श्रीमानसंग बस्छु । यहाँ पनि कोरोनाले भयाभित बनाएको छ, काम ठप्प छ तर पनि यो धनी मुलुक भएकोले घर घरमा चाहिएको सामान मगाउन सकिन्छ,  प्रत्येक नागरिकलाई पैसा र बेरोज़गारी रक़म सहित दिइरहेको हुनाले कसैले पनि यो बिशालदेशमा कुनै अपठ्यारो महसुस गरेको छैन । 

    हो ! हप्ता दिनसम्म काम गरेर साताको अन्तिम दिन पाउने तलबले बिदाको दिन पारेर क्लब, डिस्को डान्सहरूमा गएर  पुरै तलब सिध्याउने अमेरिकनको बानीले त्यस्ता मानिसलाई केही अपठ्यारो त हुन्छ होला तर हामी ज्यादातर नेपालीको बानी केही बचत गरौं भन्नेमा नै हुन्छ र नेपालीहरूले केही न केही रक़म सन्चित गरेको नै हुन्छ, यसकारण पनि नेपालीहरूसंग पैसाको कमी हुदैन । धेरै जसो नेपालीहरूमा दयाको भावना हुन्छ, ती मनकारीहरू ग़रीब र असहायलाई सहयोग गर्न पाए हुने थियो भन्ने जमात पनि ठुलो छ |त्यो जमातलाई बिश्वास दिलाउन सक्नु पर्छ । मन रहेछ, चाहेपछि सकिंदो रहेछ । अरुले पनि मेरो काममा धेरै सहयोग पुर्याएका छन् ।

    तँपाइ लाई कसरी बिश्वास गर्ने त ? ती मनकारीहरूले दिएको राहत सम्बन्धित ठाउँमा पुग्छ भन्ने कुरा ? तपाई त अमेरिकामै हुनुहुन्छ ?

    –  हामीले संकलन गरिरहेको रक़म ब्यक्ति बिशेषको लागि होइन, कोरोनाको निहुंले भारतमा रोजीरोटी गरिरहेका हजारौं नेपाली दाजुभाइ र तिनका लाला-बालाहरू नेपालको नाकामा कस्टकर जीवन बिताइ रहेका छन् । कोरोनाको परिक्षण गर्ने साधनको अभावले परिक्षण गर्न ढिलाई भइरहेको प्रत्यक्ष जनसरोकार वालाहरूसंगको सम्बन्ध भएकोले र नेपालमा आफ्नै निजी खर्चले चलाई रहेको सामाजिक अभियन्ता, समाजसेवी चौलानी पुस्तक भण्डार, पत्रकार महासंघ, रोटरी क्लब, तथा ह्युमिनिटि फाउण्डेसनले अमेरिकामा बसेका सुदुरपश्चिमेलीहरूलाई सहयोगको अनुरोध गरेका छौं । सुदुर पश्चिम समाजले समन्वयन गरी अमेरिकामा लामोसमयदेखि बसोबास गरिरहेका नेपालीहरूबाट सहयोग गर्ने परोपकारी मनहरूलाई समिटेर आफ्नो एकपटकको एक कप चिया कम गरेर सहयोग दिन रूचाउने दिदीबहिनीहरूको स्वेच्छाले सहयोग गरेको रक़म नेपालमा मानव सेवामा अहोरात्र खटिरहेको संस्था ह्युमिनिटि फाउण्डेसले गरिरहेको कार्यसंग सम्मन्वयन गरेर तथा प्रदेश सरकारको आखॉ नपुगेको ठाउँमा तुरन्त आवाश्यक्ता भएको क्षेत्रलाई रक़म र सामान सहयोग गरिने छ ।

    कहिलेदेखि कुन कुन क्षेत्रमा सहयोग गर्नु भएको छ ? 

    – मेरो कुनै योजना हुदैन, भइपरि आउने जुन सुकै क्षेत्रमा पनि सहयोग गर्न मन पर्छ ।न्युयोर्कमा नेप्लिज सोसाइटीले बनाउन लागेको दुर्गा मन्दिरलाई सहयोग गरियो । धनगडी हस्पिटलमा गरिव परिवारको एकजनाले आफ्नो भएजतिको खेतबारी बेचेर एउटा खुट्टा काट्यो त्यसपछि दोस्रो खुट्टा पनि काट्यो । त्यसको लागि यहाँ साथीभाइबाट सहयोग संकलन गरेर थप रक़म मैले आफैले थपेर सहयोग गरें । बिभिन्न समयमा सुदूर पश्चिम होस् या काठमाडौं होस् वा नेपालको जुनसुकै ठाउंमा आएको समस्यामा आर्थिक वा जिन्सि सहयोग गर्दै आइरहेकी छु ।हुन त मलाई मेरो पसिनाले कमाईबाट राहत दिन रमाइलो लाग्छ तर यहाँ मनकारी साथीभाईहरूले त्यो देखेर हौसला दिदैं हातमा हात मिलाउनु हुन्छ । त्यसैले पनि झनै सहय‍ोग पुगेको छ ।

    घरपरिवारबाट कस्तो प्रतिकृया छ ? कसरी व्यवस्थापन भइराखेको छ ?

    – ठुलो कुरा भनेर इच्छाशक्ति रहेछ । श्रीमानले मेरो इच्छालाई कहिल्यै पनि नकार्नु भएन । उल्टै होसला दिएर जानेको ठाउँमा सिकाउने गर्नुहुन्छ । मेहेनत गरेर छोरीहरुलाई हुर्कायौं पढायौँ । अहिले त झन छोरीहरु पनि सिकाउँछन् । परिवारको सहयोग नहुँदो हो त म यसरी खटेर अगाडि बढ्ने कल्पना पनि गर्न सक्दैनथ्ये । 

  • विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण र मृत्युदर दुबै घट्यो

    विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण र मृत्युदर दुबै घट्यो

    काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण र मृत्युदर दबै घटेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले साप्ताहिक कोरोना अपडेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । संघका अनुसार कोरोना भाइरस सङ्क्रमणले विदेशमा नेपालीको मृत्यु र सङ्क्रमण दर दुबैमा उल्लेख्य कमी आएको छ ।

    शनिबार साँझसम्म नेपालबाहिर १२५ नेपालीको ज्यान गएको छ । पाँच हजार ५९० जनाले भने कोरोनालाई जित्न सफल भएका छन् । सङ्क्रमण दर अघिल्लो साताको तुलनामा ७५ प्रतिशतले घटेको छ । अघिल्लो साता कतारमा चारजना, कुबेत र युकेमा एक÷एक गरी ६ जनाले ज्यान गुमाए ।

    विश्वभर ३४ देशमा नेपाली कोरोना भाइरसको संक्रमणमा छन् । बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा नेपालीको ज्यान गएको छ । संसारभर १४ हजार ४५४ जना नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

    संघले भारतसहित विदेशबाट नेपालीहरुलाई फिर्ता ल्याउने सरकारको निर्णयको समेत स्वागत गरेको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताएका छन् । नेपालमा लकडाउन भएको ७४ दिनपछि गत शुक्रबार म्यानमारबाट २६ र युएईबाट १६८ जना नेपाली घर फर्किएका छन् ।

  • कांग्रेसले भन्यो : विदेशबाट आउन चाहने सबैलाई घर ल्याउ

    कांग्रेसले भन्यो : विदेशबाट आउन चाहने सबैलाई घर ल्याउ

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणका कारण विदेशबाट घर फर्कन चाहने सबै नागरिकलाई घर फर्कने वातावरण बनाउन सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले शनिबार विज्ञप्तिमार्फत सरकारसँग घर आउन चाहने सबैलाई घर ल्याउन आग्रह गरेका हुन् ।

    विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर र्फकन पाउने अधिकार रहेको भन्दै उनले संख्या तोक्ने नभई आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना आवश्यक रहेको बताएका छन् । विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर भएपनि ल्याउनुपर्ने कांग्रेसको भनाई छ । अन्यका लागि भने व्यवस्थापनको आवश्यकता कांग्रेसले औल्याएको छ ।

    विदेशबाट ल्याइएका सबैको पीसीआर विधिबाट परिक्षण गर्न र मापदण्ड अनुसार क्वारेन्टाइनमा राख्न समेत कांग्रेसले माग गरेको छ । सरकारले विदेशबाट नेपालीलाई फिर्ता ल्याउन शुरु गरिसकेको छ । यसक्रममा शुक्रबार करीव २ सय नेपाली म्यानमार र यूएईबाट घर आए । यूएइबाट आउनेमा धेरैजसो आममाफी पाएका व्यक्ति थिए । सोहीकारण उनीहरुलाई यूएई सरकारले ल्याएको हो ।

  • शुक्रबार यूएईबाट आयो नेपालीको एउटा शव, १५३ शव अझै अलपत्र

    शुक्रबार यूएईबाट आयो नेपालीको एउटा शव, १५३ शव अझै अलपत्र

    काठमाडौं । शुक्रबार १ सय ५७ जना नेपाली बोकेर आएको एयर अरेवीयाको जहाजले नेपालीको एक शव पनि ल्याएको थियो । लकडाउनको अवधिमा कोरोनाबाहेक समेत अन्य कारणले २ सय भन्दा बढी नेपालीको विदेशमा ज्यान गएको थियो । कोरोनाका कारण पनि १ सय २५ हाराहारीको ज्यान गएको छ । यसरी मृत्यु भएका मध्ये कोरोनाका कारण निधन भएका नेपालीको शव नेपाली ल्याउन पाइदैन ।

    अन्य कारणले ज्यान गएका नेपालीको शव भने अझै पनि नेपाल ल्याउने आशमा विदेशमा अलपत्र अवस्थामा रहेको छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १५३ जना नेपाली कामदारको शव विदेशमा रोकिएको तथ्यांक छ । मलेसिया, खाडी मुलुक, युरोप तथा अमेरिकामा ज्यान गुमाएका नेपालीको शव उतै अड्किएको हो ।

    वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार मलेसियामा ४७, साउदी अरबमा ४५, कतारमा २७, युएइमा १३, कुवेतमा ११, बहराइनमा ५, ओमनमा १ र अन्य मुलुकमा चार जना नेपालीको शव रहेको छ । परिवारको सहमतिमा लकडाउनकै अवधिमा ८५ जनाको अन्त्येष्टि मृत्यु भएकै मुलुकमा गरिएको छ ।

    मलेसियामा ५, साउदी अरब १३, कतारमा १०, युएइ ४२, बहराइन २, दक्षिण कोरिया ५ र अन्य मुलुकमा ज्यान गुमाएका ८ जना नेपालीको सोही मुलुकमा अन्त्येष्टि गरिएको छ । कोरोना संक्रमणबाट विदेशमा २३ नेपाली कामदारको ज्यान गएको छ ।

    कोरोना लागेर ज्यान गुमाएका अन्य नेपाली भने पूर्वगोर्खा सैनिक, विदेशमा स्थायी बसोबासको अनुमति पाइसकेका गैरआवासीय नेपालीलगायत हुन् । कोरोनाका कारण साउदीमा ९, कतारमा ४, युएईमा ९ सहित २३ नेपालीको ज्यान गएको हो । कोरोना बाहेक अन्य कारणले मृत्यु भएकाको शव विमान चार्टड गरेर यात्रुसँगै क्रमशः ल्याउने योजना सरकारको छ ।

  • अमेरिकामा जारी रंगभेद बिरुद्धको आन्दोलनमा जिपि फाउन्डेसन सकृय

    अमेरिकामा जारी रंगभेद बिरुद्धको आन्दोलनमा जिपि फाउन्डेसन सकृय

    न्युयोर्क

    अमेरिकाको मिनियापोलिसमा गत मई २५,२०२० का दिन प्रहरी कस्टडीमा जर्ज फ्लोएडको मृत्‍यु भएपछि अमेरिकाभर फैलिएको रंगभेद बिरुद्धको आन्दोलनमा न्युयोर्कस्थित जिपी फाउन्डेसनले पनि एैक्यबद्दता जाहेर गर्दै प्रदर्शनमा सहभागी भएको छ । सुरुमा हिंसात्मकरुप लिएको आन्दोलन बुधबारदेखि भने देशभर शान्तिपूर्ण प्रदर्शन भै रहेका छन् । नेपाली प्रजातन्त्रको हरेक आन्दोलनका अगुवा गिरिजा प्रसाद कोईरालाको नाममा अमेरिकामा सकृय फाउन्डेसनले अमेरिकामा बढ्दै गएको रंगभेदले तेश्रो विश्वका नेपालीलाई पनि पोलिरहेको छ, भन्दै प्रदर्शनमा सहभागी भएको फाउन्डेसनले जनाएको छ ।  

    न्युयोर्क राज्यका आप्रबासी नेता तथा सेनेटर जोन सि. लियुको अगुवाईमा “हामी सास फेरौं” भन्ने नाराका साथ प्रहरी प्रशासनमा सुधारको माग गर्दै आयोजित शान्ति र्यालीमा एक्यबद्वता जनाउँदै फाउण्डेशन पनि प्रदर्शनमा सहभागी भएको हो । प्रदर्शनमा संस्थाका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य सुर्य सिम्खडा लगायत फाउन्डेसनसँग आबद्धहरुको सहभागिता रहेको थियो ।  

    रंगभेद बिरुद्धको प्रदर्शनमा सहभागिता जनाएको प्रसँगमा अध्यक्ष सोम नाथ घिमिरे भन्छन् ‘मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट अत्यन्तै दु:ख लागेको छ । एक्काईसौं शताब्दीमा पनि अमेरिका जस्तो बैभबशालि देशमा रंगभेद अन्त्य गर्न नसक्नु दुःखद कुरा हो ।जबसम्म हाम्रो सोचमा परिवर्तन आउँदैन, समस्याको समाधान निकै गाह्रो छ’।  

    फाउन्डेसनले अमेरिकास्थित मुलधारमा सकृय सहभगिता देखाउँदै आएको छ भने कोरोना महामारीमा ठुलो परिमाणमा न्युयोर्क क्षेत्रमा खाध्य सामग्री बितरण गर्दै आएको छ ।

  • शुक्रबार नै यूएईबाट काठमाडौं आए १५७ नेपाली

    शुक्रबार नै यूएईबाट काठमाडौं आए १५७ नेपाली

    काठमाडौं । शुक्रबार काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साविकको तुलनामा केही व्यस्त देखियो । बिहान म्यानमारबाट आएको एयरफोर्सको जहाज उडेलगत्तै नेपाल एयरलाइन्सको जहाज जापानको नारिताबाट फर्किएर काठमाडौं अवतरण गर्यो । त्यसको केही समयमै चीनमा कार्गो उडानका लागि गएको हिमालय एयरलाइन्सको जहाज अवतरण गर्यो ।

    शुक्रबार साँझ भने एयर अरेवियाको जहाज काठमाडौं आयो । यो जहाजमा कोभिड–१९ भाइरसको महामारीका कारण यूएईमा समस्यामा परेका १५७ जना नेपाली थिए । सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको जहाजले ती नेपालीलाई घर ल्याएको हो । उनीहरुको भाडा तथा जहाजको व्यवस्थापनसमेत यूएई सरकारले गरिदिएको हो ।

    यूएईले यसअघि नै नेपालीलाई आफ्नै जहाजमा राखेर नेपाल फर्काउन चाहेको थियो । तर, नेपालले तयारी नसकेका कारण फर्काइएको थिएन । शुक्रबार यूएइको इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली नेपाल आएका छन् । उनीहरुलाई समेत होल्डिङ सेन्टर राखिएको छ । त्यहाबाट आइसोलेसन, क्वारेन्टाइन वा होम क्वारेन्टाइन कहाँ राख्ने भन्ने तय हुने भएको छ ।

    शुक्रबार भएका दुई उडान सम्बन्धित मुलुकले नै पठाएका कारण सम्भव भएको हो । अन्य स्थानका लागि भने सरकारले अझै तयारी पुरा गरिसकेको छैन । नेपालले खाडी मुलुक, बंगलादेश, अष्ट्रेलियालगातबाट नेपाली जहाज पठाएर नेपालीको उद्दारको योजना बनाइरहेको छ ।

    यूरोप र अमेरिकाबाट आउने हो भने ट्रान्जिटसम्म आउनुपर्नेछ । किनकी यूरोपेली यूनियनले नेपाली जहाजलाई उसको आकासमा उड्ने अनुमति दिँदैछ ।

  • विदेशबाट नेपालीको उद्दार  शुरु, म्यानमारबाट आए २६ नागरिक

    विदेशबाट नेपालीको उद्दार शुरु, म्यानमारबाट आए २६ नागरिक

    काठमाडौं । नेपालले विदेशमा रहेका आफना नागरिकको उद्दार थालेको छ । यस क्रममा शुक्रबार म्यानमारबाट २६ जना नेपाली घर फर्किए । घुमघाम तथा आफन्तलाई भेट्न पुगेका २६ जना नेपाली उडानमाथिको प्रतिवन्धसँगै म्यानमारमा अड्किएका थिए । शुक्रबार म्यानमारी एयरफोर्सको जहाजले उनीहरुलाई काठमाडौं छाडेको छ । त्यहाबाट नेपाली सेनाले होल्डिंग सेन्टरमा लगेर राखेको छ ।

    एक दिन उक्त सेन्टरमा राखेपछि सम्बन्धित स्थानीय तहले खडा गरेको क्वारेन्टाइनमा पठाइनेछ । इच्छुक भने होटेल वा साविकमा घरमा रहेका व्यक्तिलाई भने होम क्वारेन्टाइनमा समेत पठाइने छ । म्यानमार एयरफोर्सको जहाज फर्कदा भने ४३ जना म्यानमारका नागरिक काठमाडौंबाट फिर्ता भएका थिए । सरकारले शुक्रबारबाट नेपालीलाई स्वदेश भित्राउने अनुमति दिएको हो ।

  • नेपालीको उद्दार अवधिभर विमानस्थलको जिम्मा सेनालाई, सर्वसाधारण छिर्न नपाउने

    नेपालीको उद्दार अवधिभर विमानस्थलको जिम्मा सेनालाई, सर्वसाधारण छिर्न नपाउने

    काठमाडौं । विदेशबाट नेपाली नागरिकको उद्दार हुने अवधिभर त्रिभुवन विमानस्थल सुरक्षाको सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको छ । विमानस्थलबाट यात्रुलाई होल्डिंग सेन्टरसम्म लैजाने, त्यहाँबाट सम्बन्धित स्थानीय तह र होटेलसम्म लैजाने जिम्मा पनि सेनाले पाएको हो । त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार उद्दार उडानको समयमा विमानस्थल भित्रका सबै गतिविधिलाई सेनाले नियन्त्रण गर्नेछ ।

    सरुवा रोगको संक्रमणसँग सम्बन्धित विषय भएकाले गोल्डेन गेटबाट सर्वसाधाणलाई समेत प्रवेश रोक लगाइने भएको छ । आज बर्माबाट सैन्य जहाजले नेपालीलाई काठमाडौं ल्याउने तयारी छ । सो जहाजले नेपालमा रहेका बर्मेली नागरिकलाई स्वदेश फर्काउँदैछ । आज अन्य मुलुकबाट पनि उडानको तयारी भएपनि आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

    सरकारले विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई घर फर्काँदैछ । खाडी मुलुकहरुबाट मात्र २५ हजार भन्दा बढी तत्काल घर फर्कने अवस्था रहेको बताइएको छ । विदेशबाट आउने मानिसको तथ्यांक संकलनको काम भने परराष्ट्र मन्त्रालयबाट भइरहेको छ ।

  • शुक्रबारबाटै शुरु हुने भयो विदेशबाट नेपाली नागरिकको उद्दार, म्यानमारबाट २६ नेपाली फर्कने

    शुक्रबारबाटै शुरु हुने भयो विदेशबाट नेपाली नागरिकको उद्दार, म्यानमारबाट २६ नेपाली फर्कने

    काठमाडौं । कोरोना भाइरसको महामारीका बीच भारतबाहेक विदेशबाट नेपालीको उद्दार अभियान शुक्रबारबाटै शूरु हुने भएको छ । भारतबाट भने यस अगाडी नै स्थलमार्ग हुँदै नेपाली आइरहेका छन् । हवाईमार्गबाट पहिलो पटक म्यानमारबाट २६ जना नेपाली घर फर्कने भएका छन् । म्यानमारको सैन्य जहाजले उनीहरुलाई काठमाडौं ल्याउँदैछ । बर्मा सरकारले त्यहाँ अलपत्र नेपालीलाई सैन्य जहाजबाट नेपाल ल्याइदिनेछ ।

    उक्त जहाजले काठमाडौंमा रोकिएका आफ्ना नागरिकलाई फिर्ता समेत लैजाने भएको छ । बर्माबाट सैन्य जहाजले निशुल्क नेपाल ल्याउन लागेको हो । शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट एयर अरेबियाको चार्टर्ड विमान आउने बताइए पनि यसको निधो भने नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सरकारले विभिन्न देशमा समस्यामा परेका श्रमिक, विद्यार्थी र अन्य नागरिक फर्काउने अभियान थाल्दैछ ।

    यस क्रममा कतिपय स्थानमा नेपाल एयरलाइन्स पुग्नेछ । कतिपय स्थानबाट भने सम्बन्धित मुलुकले नेपालीलाई घर पठाइदिनेछन् । घर आइसकेपछि उनीहरुलाई विमानस्थलबाट होल्डिंग सेन्टरमा लगिदैछ । त्यहाबाट स्थानीय तहमा जानेलाई सेनाले त्यहासम्म लैजानेछ । होटेलमा बस्नेलाई भने सम्बन्धित होटेलसम्म लगिने छ । स्थनीय तहको क्वारेन्टाइनमा पुगेकालाई सरकारले खान बस्नको व्यवस्था गर्नेछ । होेटलमा भने आफ्नै खर्चमा बस्नु पर्नेछ ।

  • विदेशबाट फर्केकालाई राख्न तयार भए होल्डिङ सेन्टर, आगामी साताबाट उद्दार शुरु

    विदेशबाट फर्केकालाई राख्न तयार भए होल्डिङ सेन्टर, आगामी साताबाट उद्दार शुरु

    काठमाडौं । सरकारले निकट भविश्यमा विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउँदै छ । यसका लागि परराष्ट्र मन्त्रालय मातहतका निकायले तथ्यांक संकलन तिब्र बनाएका छन् । यता, स्वदेशमा समेत भौतिक संरचना निर्माणले गति लिएको छ । यसका लागि नेपाली सेना र अन्य सरोकारवाला निकाय खटिएका छन् । सरकारले बनाएको कार्यविधि अनुसार त्रिभुवन विमानस्थलमा झरिसकेपछि यात्रुलाई होल्डिङ सेन्टरमा लगिने छ ।

    त्यहाबाट होटेलमा बस्ने व्यक्ति होटेलमा निर्माण भएको क्वारेन्टाइनमा जानेछन् भने सरकारी खर्चमा क्वारेन्टाइनमा बस्ने व्यक्ति भने आफ्नो स्थानीय तहमा त्यहाँ निर्माण भएको क्वारेन्टाइनमा जानुपर्नेछ । सरकारले विदेशबाट ल्याइने नेपालीलाई व्यवस्थापन गर्न उपत्यकाभित्र ९ स्थानमा होल्डिङ सेन्टर स्थापना गरेको छ । ४ स्थानमा भने कोरोना डेडिकेटेड क्वारेन्टाइन तयार पारिएको छ ।

    काठमाडौं, भक्तपुर र ललितपुरका ९ वटा पार्टी प्यालेसमा होल्डिङ सेन्टर बनाइएको छ । होल्डिङ सेन्टर बनाउन काठमाडौंमा ४, ललितपुरमा ३ र भक्तपुरमा २ वटा पार्टी प्यालेस प्रयोग गरिएको हो । होल्डिङ सेन्टर र क्वारेन्टाइनमा सुरक्षा व्यवस्थापन नेपाली सेनाबाट हुने भएको छ । होल्डिङ सेन्टरबाट सवारी साधनमा नेपाली सेनाले मानिसलाई स्थायी ठेगाना भएका स्थानीय तहसम्म पुर्‍याउने छ ।

    होटेलमा आफ्नै खर्चमा बस्न चाहनेलाई भने होटेलमा लगिनेछ । सरकारले आगामी साताबाट उद्दार थाल्ने तयारी गरेको हो । दैनिक २५ सय हाराहारी मानिस ल्याउने गरी तयारी थालिएको छ । नेपाल एयरलाइन्सको जहाजले अष्ट्रेलिया, बंगलादेश, खाडी मुलुक तथा मलेसियाबाट नागरिक ल्याउने छ ।

    यूरोप र अमेरिकाबाट आउन चाहने व्यक्ति भने ट्रान्जिट प्वाइन्टसम्म आउनु पर्छ । किनकी यूरोप र अमेरिकासम्म नेपाली जहाजलाई उडानको अनुमति दिइदैन । यूरोपले नेपाली एयरलाइन्सलाई कालोसूचिमा राखेको छ ।

  • डालसमा तनाव कम गर्ने ध्यान बिधी ‘माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते शिविर जुमबाटै सम्पन्न

    डालसमा तनाव कम गर्ने ध्यान बिधी ‘माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते शिविर जुमबाटै सम्पन्न

    डालस, टेक्सस

    नेप्लिज बुद्धिष्ट एसोसियसन टेक्सास र कमला शाक्य फ़ाउण्डेशनको संयुक्त आयोजनामा ‘वेल बिईंग तथा माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते कक्षा समाप्त भएको छ । चार हप्ते मेडिटेसन कार्यक्रमको संचालन नेपालस्थित माइन्डफुलनेश कोच श्री मौशम रत्न शाक्यले गर्नु भएको थियो । कोभिड १९ को प्रभावले जूम मार्फत भर्चुअल्ली सम्पन्न गरिएको कार्यक्रममा हरेक हप्ता ३५ जनाले भाग लिएको एसोसियसनका अध्यक्ष स्वयम्भू शाक्यले जानकारी दिएका छन् । शाक्य भन्छन्; “पहिलो हप्तामा वेल बिईंगको परिचय र ध्यान बिधिको प्रायोगको बारेमा मौशमले सिकाउनु भएको थियो । दोस्रो हप्ता  विचारलाई कसरी अवलोकन गर्ने ? कसरी ब्यबस्थापन गर्ने ? बारे प्रयोगात्मक पाठ सिकाईएको थियो । तेश्रो हप्ता मनका भावनाहरु कसरी उत्पति र बिलय हुन्छ ? र यसलाई कसरी सही ढंगले हेर्ने सकिन्छ भनेर सिकाईएको थियो । चौंथो हप्तामा भने सिकेको ज्ञान र प्रयोग बिधिले सहभागीहरुले त्यसबाट फाइदा महसुस भए – नभएको बिषयमा छलफल भएको थियो । साथै बिधि कहिले र कसरी दैनिक जीबनमा प्रयोग गरेर व्यवहारिक बनाउन सकिन्छ भनेर छलफल गरिएको थियो । 

    कार्यक्रमको बिषयमा नेपालस्थित औरा क्रियशनका प्रमुख दीपक बज्राचार्य भन्छन;  “मौशमलाइ पहिलेदेखि चिनेको र नजिकको मित्र भएर पनि उहाँको कार्यक्रममा कहिले सहभागी हुन पाएको थिएन । यसपाली समय जुर्यो । उहाँको वेल बिईंगको अनुभव मलाई गज़ब लाग्यो । उहाँले सिकाउनु भएको ध्यान बिधिले हाम्रो तनाब धेरै कम गर्न सकिन्छ”  डालसस्थित एक हस्पिटलमा कार्यरत डा. जया भट्टराई बरुण भन्छिन्; “माइन्डफुलनेश हाम्रो स्वास्थ्यको लागि धेरै महत्वपूर्ण छ किनकि हाम्रो मनमा तनाब जबसम्म कम हुदैंन तबसम्म हामी स्वस्थ अनुभब गर्न सक्दैनौं । त्यसैले यो माइन्डफुलनेश र वेल बिईंगको तरिकाले हाम्रो तनावपूर्ण जीबन कसरी शान्त र आनन्ददायी हुन सकिन्छ भन्ने सिक्ने मौका पाए । बिशेष गरि यो कोभिड १९ को अवस्थामा धेरै जीबनहरु त्यतिकै खेर गएको देख्न पर्यो । यस्तो बेलामा हामी कसरी आफुले आफैलाई सम्हालेर अगाडि बढ्ने भन्ने र दिमागमा दिनभरीको तनाबको अवस्थामा यो कार्यक्रमले धेरै साथ् दिएको मैले पाएँ । यो कार्यक्रमले मलाई अध्यात्मको बाटो खुलाएको पनि अनुभब गरेको छु ।मौशमजीलाई धेरै धेरै धन्यवाद”। डालसस्थित पेशाले इन्जिनियर बिनय मानन्धर पनि यो कार्यक्रम धेरै लाभदायक भएको बताउदै भन्छन्; “धेरै किताबहरुको अध्ययन र अरु ध्यानको एप्सहरु पनि प्रयोग गरेको थिए तर मौशमजीको जस्तो प्रभाबकारी भएन । ३-४ हप्ता भयो म लगायत मेरो परिवारका सबै सदस्यहरु यो ध्यानबिधि प्रयोग गर्दै छु। यो बिधि शुरु गरेदेखि राम्रो निद्रा लागेको र बिहान उठ्दा धेरै फ्रेश भएको छु । मौशमजीको यो बिधिहरु एकदम नै साधारण र सजिलो भएकोले मेरो २१ बर्षको छोरा र १७ बर्षको छोरीले समेत प्राक्टिस गरिरहेका छन् ।

    संस्थाका महासचिव डा. निरज बज्राचार्य भन्नु हुन्छ “यो हाम्रो सानो प्रयास हो, हामीले हाम्रो कम्युनिटीमा अरु पनि ध्यान साधनको प्रयोग गर्दै आई रहेका छौं र पछि पनि हाम्रो प्रयास जारी रहने छ। भबिष्यमा मौशमजीसंग मिलेर फेरी अरु अरु पनि कार्यक्रम ल्याउने छौं । कसैलाइ हाम्रो कुनै प्रकारको सहयोग चाहिएमा नेप्लिज बुद्धिष्ट एसोसियसन टेक्सास वा कमला शाक्य फ़ाउण्डेशनको फेसबुक पेजमा मेसेज गर्न हुन हार्दिक अनुरोध गर्दछौ” ।

  • यूरोप र अमेरिकासम्म जादैनन् नेपाली विमान, घर फर्कने भए ट्रान्जिट प्वाइटसम्म आउनु पर्ने

    यूरोप र अमेरिकासम्म जादैनन् नेपाली विमान, घर फर्कने भए ट्रान्जिट प्वाइटसम्म आउनु पर्ने

    काठमाडौं । यूरोपले नेपाली वायुसेवा कम्पनीहरुलाई कालोसूचिमा राखेको छ । त्यसकारण यूरोपको आकासमा नेपाल एयरलाइन्स उड्न सक्दैन । यसैबीचमा सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई घर फर्काउने अभियान शुरु गर्दैछ । तर, यसरी घर फर्काउने अभियानका दौरान अमेरिका र यूरोपबाट नेपाली घर फर्कन चाहे भने ती मुलुकसम्म नेपाल एयरलाइन्स पुग्न नसक्ने भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार एक नेपाली संचारमाध्यम सँगको अन्तरर्वार्ताका दौरान यूरोप र अमेरिकासम्म नेपाली जहाज पुग्न नसक्ने स्पष्ट पारेका छन् । उनका अनुसार लकडाउनकै अवधिमा नेपाल एयरलाइन्सलाई क्यानडा सरकारले चार्टर्ड गर्न खोजेको थियो । तर, यूरोपबाट अनुमति नपाएका कारण नेपाल एयरलाइन्स क्यानडा जान पाएको थिएन ।

    मन्त्री भट्टराईका अनुसार यूरोप र अमेरिकाबाट नेपाल आउन चाहनेले या खाडी मुलुकसम्म आएर त्यहाँबाट सरकारले व्यवस्था गरेको जहाज चढ्नु पर्नेछ । वा यूरोप र अमेरिकाबाट नेपाली समुदाय आफैले जहाजको व्यवस्था गरी स्वदेश फर्कनु पर्ने भएको छ । उनका अनुसार यस सम्बन्धमा परराष्ट्र र पर्यटन मन्त्रालयले व्यवस्थापन गरिरहेका छन् ।

    परराष्ट्र मन्त्रालयका निकायबाट कुन देशबाट कति जना नेपाली घर फर्कन इच्छुक छन् भनी तथ्यांक संकलनको काम शुरु गरिएको छ । सरकारले पहिलो चरणमा आम माफी पाएका, काम गुमाएर बेखर्र्ची बनेका, रोगी, सुत्केरी, घरमा आफन्तको मृत्यु भएका नागरिकलाई पहिलो चरणमा प्राथमिकताका साथ घर फर्काउने भएको छ ।

  • झण्डै ६ सय नेपाली बोकेर हङकङ उडे नेपाल एयरलाइन्सका तीन जहाज

    झण्डै ६ सय नेपाली बोकेर हङकङ उडे नेपाल एयरलाइन्सका तीन जहाज

    काठमाडौं । नेपाल एयरलाइन्सको इतिहासमा आज एकै गन्तब्यमा एकै पटक सर्वाधिक यात्रुसहित उडान भएको छ । नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार नेपाल एयरलाइन्सले आज हङकङका लागि तीन वटा जहाज उडाएको छ । सोमबार साँझ एक एक घण्टाको फरकमा यी उडान भएका हुन् । यी जहाजले नेपालमा रहेका हङकङ आइडी होल्डर यात्रु बोकेका छन् ।

    करीव ६ सय यात्रु नेपालबाट हङकङतर्फ लागेका हुन् । लामो लकडाउनका कारण नेपालमा रोकिएका हङकङको आइडी होल्डर नेपालीहरु यी उडानबाट फिर्ता भएका हुन् । नेपाल एयरलाइन्सले हङकङमा नियमित उडान गर्छ । तर, अहिले भने नेपालमा अन्तर्राष्ट्रिय व्यवसायिक उडानमाथि प्रतिवन्ध लागेका कारण १४ सय भन्दा बढी हङकङ आडी होल्डर नेपाली नेपालमै अड्किएका छन् ।

    उनीहरुलाई ट्राभक कम्पनीमार्फत आफ्नै खर्चमा टिकट काटी हङकङ फर्काउने व्यवस्था मिलाइएको हो । यसक्रममा टिकट दर भने झण्डै दोब्बर परेको छ । नेपाल एयरलाइन्सले दुई वटा न्यारोबडी र एउटा वाइडबडी जहाज एकै पटक उडाएको हो ।

  • कोरोनाका कारण विश्वभर १२१ नेपालीको मृत्यु

    कोरोनाका कारण विश्वभर १२१ नेपालीको मृत्यु

    काठमाडौं । कोभिड–१९ को संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा १ जना, युकेमा १ जना , अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।

    संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ। समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको मृत्यु भएको छ ।

    त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ। त्यस्तै, साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्कीमा १ जना, नेदरल्याण्डमा १ जना र स्वीडेनमा १ जनाको मृत्यु भएको छ।

    संयोजक डा सापकोटाका अनुसार विदेशमा १४ हजार ४ सय २५ नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्।

    स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, प्रोतुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स्, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङकङ, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

    संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपालीहरु संक्रमणमुक्त भएको बताएको सापकोटाले जानकारी दिए। यो साता डेनमार्क र टर्कीमा रहेका नेपालीमा नयाँ संक्रमण देखिएको हो।

    स्वदेश फर्काउन सहजीकरण गर्दै एनआरएनए

    कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने काममा एनआरएनएले सरकारलाई सहयोग गर्ने भएको छ ।

    सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णयको गरेको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरेका छन् । अप्ठ्यारोमा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको उनले बताए ।

    विश्वभर छरिएका ८० भन्दा बढी शाखामा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारको बारेमा राष्ट्रिय समन्वय परिषदसँग छलफल गरिएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिएका छन् ।

  • न्यू ह्यामसरमा सुरु भयो बालबालीकाका लागि नेपाली भाषाको कक्षा

    न्यू ह्यामसरमा सुरु भयो बालबालीकाका लागि नेपाली भाषाको कक्षा

    न्यू ह्यामसर

    उत्तर पूर्वी अमेरिकी राज्य न्यू ह्यामसरमा बालबालीका लागि नेपाली भाषाको कक्षा सुरु भएको छ । फेडेरेसन अफ इन्डिजिनस पिपुल्स अफ नेपाल (फिप्ना) न्यू ह्यामसर च्याप्टरको आयोजनामा गत साताबाट कक्षा सुरु गरिएको हो ।

    कोभिड- १९ को कारण भेला हुन नसक्ने अवस्थामा अनलाइनबाट कक्षा सुरु गरिएको फिप्ना न्यू ह्यामसर च्याप्टर अध्यक्ष सुन्दरी गुरुङले जानकारी दिइन् । गत साता ‘अनलाइन प्लेटफर्म जुम’बाट सामुदायीक भेला सम्पन्न गरि औपचारिक रुपले नेपाली कक्षाको सुभारम्भ गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी न्यू ह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले बालबालीकालाई मातृ भाषा सिकाउने अभियान उदाहरणीय रहेको भन्दै सफलताको शुभकामना दिए । रोग निर्मुल भएपछि कक्षा कोठामै नेपाली सिकाईलाई निरन्तरता दिनु पर्ने र त्यसका लागि समाजले खुलेर सहयोग गर्ने उनले बताए ।

    नेपालमा लामो समय शिक्षण गरि सकेका रना गुरुङ, अङ्शु श्रेष्ठ, निर्मला गुरुङ, मुना शर्मा, दीपा गुरुङ, इन्द्र गुरुङ, बबिता गुरुङ, सङ्गीता गुरुङ, बाबा गुरुङ, सागर गुरुङ र पुष्प घलेले स्वयंसेवक शिक्षकको रुपमा बालबालीकालाई मातृभाषा सिकाउँदैछन् ।  कक्षा हरेक साता शनिबार र आइतबार सञ्चालन हुने जनाइएको छ । चार देखि २३ बर्षसम्मका बालबालीकाको उमेर अनुसार पाँच वटा समुह बनाइ अध्यापन सुरु गरिएको छ । फरक उमेर अनुसारको पठन पाठन सिकाउन त्यसो गरिएको हो । तीन तहको किताब विद्यार्थीलाई सिफारिस गरिएको छ ।

    अमेरिकामा जन्मे हुर्केका बालबालीका सानै देखि अंग्रेजी माध्यमको पढाइले नेपाली भाषाबाट टाढा हुन्छन् । उनीहरुलाई सहज गरि नेपाली बोल्न र पढ्न सक्ने बनाउने उध्येश्यले कक्षा सञ्चालन सुरु गरेको फिप्ना न्यू ह्यामसर अध्यक्ष गुरुङको भनाइ छ ।

    (तस्वीर साभारः जिएसडीम्यागजिन डट ओर्ग)

  • यसरी ल्याइदैछ विदेशबाट नेपाली, प्राथमिकता अनुसार खर्च यात्रु स्वयमले बेहोर्नुपर्ने

    यसरी ल्याइदैछ विदेशबाट नेपाली, प्राथमिकता अनुसार खर्च यात्रु स्वयमले बेहोर्नुपर्ने

    काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणका कारण विदेशमा अड्कििएका नेपालीलाई घर फिर्ता ल्याउन तयारी थालेको छ । शुक्रबार कोरोना भाइरससँग सम्बन्धित उच्चस्तरीय समितिले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना पारित समेत गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गर्दै कार्ययोजना पारित गरेको हो । सरकारले विदेशबाट फर्काउने नेपालीको प्राथमिकता अनुसारको सूची तयार पार्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिएको छ।

    आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई समेटेर सम्बन्धित देशका दूतावासमार्फत् परराष्ट्रले ती देशबाट फर्काउनै पर्ने नेपालीको तथ्यांक संकलन गर्नेछ।

    यस्तै पर्यटन मन्त्रालयले उनीहरुलाई फर्काउनका लागि आवश्यक विमानको व्यवस्था गर्नेछ। नेपाली फर्काउँदा आफ्नै देशका विमान कम्पनीलाई प्राथमिकतामा राखिएको छ। यस अवस्थामा नेपाल एयरलाइन्सको जहाजको अधिकतम उपयोग गरिने भएको छ । करार अवधि सकिएका र रोजगारी गुमाएका व्यक्तिहरु, कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य अवस्था भएका व्यक्तिहरु, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु पनि घर फर्काउने प्राथमिकतामा छन्।

    भारतसहित विभिन्न देशबाट करीव १३ लाख नागरिक स्वदेश फर्किने आँकलन सरकारले गरेको छ । कतिपय श्रम गन्तव्य मुलुकले नेपाली नागरिकलाई आफैंले विमान चार्टर्ड गरेर फिर्ता पठाउने प्रस्तावसमेत पठाएका छन् ।

    उच्चस्तरीय समन्वय समितिका एक सदस्यका अनुसार स्वदेशबाट फर्किएका नागरिकलाई दुई सातासम्म काठमाडौंमा होल्ड गरेर आ आफ्नो जिल्ला पठाइने भएको छ । जिल्ला पठाउने सन्दर्भमा सातै प्रदेशका लागि फोकल पर्सन तोकिएका मन्त्रीहरुले सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरेर उनीहरुलाई पठाइने छ ।

    दुई सातासम्म काठमाडौंमा क्वारेन्टिनमा राख्नका लागि दुईथरी व्यवस्था गरिनेछ । होटल क्वारेन्टिनमा बस्न चाहनेले १४ दिनसम्म होटलमा बस्नुपर्नेछ । कुन होटलमा बस्ने भन्ने उनीहरुले पहिलेनै बुक गर्ने व्यवस्था हुनेछ । होटल क्वारेन्टिनमा बस्दा व्यक्ति आफैंले खर्च व्यहोर्नुपर्नेछ ।

    होटल क्वारेन्टिनको व्यवस्थापन पर्यटन मन्त्रालयले गर्नेछ । उनीहरुले १४ दिन क्वारेन्टिनमा बिताएर कोरोना परीक्षणपछि मात्र घर जान पाउनेछन् । त्यस्तै सार्वजनिक क्वारेन्टिनमा बस्नेको पनि परीक्षणपछि आ आफ्नो घर पठाइनेछ । प्रत्येक प्रदेशका अलग अलग क्वारेन्टिन बनाइने भएको छ ।

    स्वदेशबाट फर्किनेहरुको बर्गीकरण गरेर रोजगारी गुमाएर खर्चविहीन भएकाहरुलाई राज्यलेनै व्यवस्था गर्नेछ । अन्यले भने क्वारेन्टिनमा बस्दा आफ्नै खर्च गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ ।

  • जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै

    जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै

    काठमाडौं । मंगलबार राती नेपाल एयरलाइन्स जापानको फुकुओकातर्फ उड्दैछ । नेपालबाट नेपाली विद्यार्थीलाई लिएर पहिलो पटक नेपाल एयरलाइन्स यो शहरमा जान लागेको हो । यसअघि नेपाल एयरलाइन्स नारिता र ओशाकामा पुगेको थियो । लकडाउनका कारण नेपालमै अड्किएका दुई जापानीसहित प्रवासी नेपालीलाई लिएर नेपाल एयरलाइन्सको चार्टर्ड विमान जापानको क्युसुको फुकुओकातर्फ उड्न लागेको नेपालको सरकारी समाचार समिति राससले जनाएको छ । नेपाल एयरलाइन्सको जहाजमा २६४ जना नेपाली छन् ।

    उनीहरु जापानमा विद्यार्थी र कामदार भिसामा कार्यरत रहेका बेला बिदामा नेपाल आएका थिए । नेपालमा लकडाउन भएपछि यतै रोकिएकाहरुलाई सरकारको अनुमतिपछि मार्गिक ट्राभल्स एण्ड टुर्स र रेसेन्ट एण्ड रिदम ट्राभल्स एण्ड टुर्सले चार्टर्ड फ्लाईटको व्यवस्थापन गरेको हो । मार्गिक ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक पर्शु बस्नेतका अनुसार २ जना जापानिजसहित २६६ यात्रु लिएर नेपाल एयरलाइन्स मंगलबार राति ११ बजे पहिलोपटक जापानको क्युसुको फुकुओका उडन लागेको हो । जहाज बुधबार बिहान ८ बजे जापान पुग्नेछ । सबै यात्रुसँग ११ सय डलरमात्रै भाडा लिइएको छ ।

    सो समितिले जापानको नियम(कानूनअनुसार यात्रुहरुको व्यवस्थापन गर्ने बस्नेतले जानकारी दिए । यसअघि गत मे २४ मा टोकियोका लागि उडान भएको थियो । फुकुओकामा हुने उडान क्युसु क्षेत्रकै पहिलो चार्टड फ्लाईट हो । नारितामा भने नेपाल एयरलाइन्सले नियमित उडान समेत गर्छ ।

  • डालासमा एभरेष्ट लायन्स क्लबको जुमबाटै साँस्कृतिक कार्यक्रम

    डालासमा एभरेष्ट लायन्स क्लबको जुमबाटै साँस्कृतिक कार्यक्रम

    डालास

    डालास एभरेष्ट लायन्स क्लवले मे २४ तारिख साँझ प्रत्येक वर्ष गर्दै आएको ‘An Evening in Nepal’  नामक कार्यक्रम निकै आकर्षक र फरक ढंगले Zoom मार्फत सम्पन्न गरेको छ ।  

    नेपाली कला र सँस्कृतिको झल्को दिने र स्थानीय बहुभाषी समुदाय बीच  अमेरिकास्थित नेपाली मूलका बासिन्दालाई एकै थलोमा भेट्ने अवसर जुटाई, सम्बन्ध विस्तार र सेवाका अन्य अवसरहरू जुटाउने उद्देश्यका साथ कार्यक्रम थालनी गरिएको आयोजकले बताएका छन् । जुम मार्फत मनोरन्जनात्मक कार्यक्रमका अतिरिक्त क्लवलाई आफ्ना प्रोजेक्टहरू सञ्चालन गर्न रकम जुटाउने उद्देश्य पनि कार्यक्रमको लक्ष्य रहेको क्वलले जनाएको छ । कोभिड-19 का कारण उत्पन्न परिस्थितिका कारण एकै थलोमा कार्यक्रम गर्न संभव नभएकोले Zoom को प्रविधि प्रयोग गर्नु परेको क्लवका पूर्व अध्यक्ष एवम् कार्यक्रम सँचालक राधाकृष्ण काफ्लेले जनाएका थिए ।

    यस वर्ष कोभिड-19 का कारण एवम् नेपाल प्रति राष्ट्रिय भावना जागृत गराउदै स्वस्थ मनोरञ्जन दिने उद्देश्य अनुरूप कार्य बनाएको कलाकारहरू वताउँछन्।

    कार्यक्रममा नेपाली राष्ट्रगान र अमेरिकाको राष्टगानबाट शुरू गरिएको थियो । टेक्सास नेपाली कला समूहका कलाकारहरू क्रमशः चर्चित हाँस्यब्यँग्यकलाकार नारायण त्रिपाठी, वरिष्ठ संगीतकार एवम् गायक केशव पौडेल, गायक भीम चापागाईं र लोक गायक भीम थापाको अलावा नेपालबाट चर्चित लोक दोहोरी गायक पुरूषोत्तम न्यौपानेको दुई चरणको गायनले कार्यक्रमलाई संगीतमय बनाएका थिए ।

    बीच बीचमा लियो क्लवका भाइ बहिनीहरूको नृत्य, ट्म्पसेट  वादनले कार्यक्रमलाई रोचक बनाएको थियो । 

    कार्यक्रममा क्लवका अध्यक्ष सुरेश बस्यालले स्वागत मन्तव्य, स्टेट रिप्रिजेन्टेटिभ टेरी मेजा, लायन्स  2-X1 डिस्ट्रिकका गभर्नर विनोद माथुर, डिस्ट्रिक्ट 4c-2 का पूर्व गभर्नर राजेन थापा लगायत लायन्स एस्मेराल्ड, वि एन पन्त, थलराज पन्त, राज श्रेष्ठ, फ्रेड कंगनरले लायनिजमका बारेमा आफ्नो धारणा राख्नु भएको थियो । क्लवकी सचिव डा .माया उपाध्यायले यो वर्ष क्लवले गरेका कार्यक्रमहरू प्रस्तुत गर्नु भएको थियो भने क्लवकी प्रेसिडेन्ट इलेक्ट मीना क्षेत्रीले धन्यवाद ज्ञापन गरेको थियो । 

    क्वलका सदस्य यशोदा अधिकारी, सरोज खतिवडा, लियो एकता उपाध्याय, मन्जिता क्षेत्री, बुनु पन्त, विनय उपाध्याय र कृतिका तिमल्सिना ले विविध प्रस्तुति दिएका थिए । 

    कार्यक्रम को इभेन्ट कोअर्डिनेटर केदार तिमल्सिनाले गर्नु भएको थियो । कार्यक्रमको प्रारम्भमा नेपाली धूनहरू र अन्त्यमा डीजे  सुशान्त पौड्याल को डीजे को प्रसारण माइ एलाइट इभेन्टको स्टेज डेकोरेशनबाट लाइभ गरिँदा सबैमा कोरोनाबाट उन्मुक्ति भैसकेको भाव प्रकट हुन्थ्यो र यसरी घर घर मै बसेर पनि डीजेको आनन्द लिएको दृश्य जुममा बेला बेला प्रष्ट देखिन्थ्यो ।

    अमेरिका मा मात्र होइन नेपाल मै पनि जुमको माध्यमबाट गरिएको यो पूरा प्याकेजको कार्यक्रम सायदै देखिएको थियो।

    । स्मरण रहोस्- डालास एभरेष्ट लायन्स क्लव, नेपाली समुदायबाट सन् २००३ मा खोलिएको पहिला लायन्स क्लव हो, जुन लायन्स क्लव इन्टरनेशनल, डिस्ट्रिक्ट 2-X1 को मातहतमा रही सामाजिक कृयाकलापहरू गर्दै आइरहेको छ ।

  • राष्ट्रपति ट्रम्प नेतृत्वमा कोरोना कैरन

    राष्ट्रपति ट्रम्प नेतृत्वमा कोरोना कैरन

    छिरिङ्ग तोप्के लामा, न्युयोर्क

    हिन्दि चलचित्र ‘भाइ’ मा सुनील सेठ्ठीको एउटा संवाद, “अरे मन्त्री जी जिन्दगीमे कभी कभी तो सच् बात किया करो” बेलाबेला म सम्झि रहन्छु । 

    मैले यस्तो देशलाई कर्मथलो बनाएको छु जहाँ शासन पद्दति लोकतांत्रिक त छ तर शासक घरि घरि अलोकप्रिय र अलोकतान्त्रिक बन्ने चेस्टा गरी रहन्छन् । म तेश्रो विश्वबाट थुप्रै सपना बोकेर आएको आप्रबासीले कसरी महाशक्ती राष्ट्र अमेरिकाको राष्ट्रपति झुठो बोल्छन् भनेर दाबी गर्न सक्छु ? असन इन्द्रचोक तिर छाडा छोडेको साँढेलाई देखेर बटुवा आँफै तर्किएर हिंड्नु परे जस्तो भएको छ, अमेरिकामा यतिखेर । किनकि साँढे  हलचल गर्दैन । डोनाल्ड जे ट्रम्प एउटा यस्तो ब्यक्ती हो जसलाई विश्वले नै भनिरहेको छ, “जुवानको लगाम दो” तर उनलाई त्यस्ता कुनै याचनाले छुँदैन । न राष्ट्रको प्रतिष्ठाको चिन्ता छ । 

    उनलाई चिन्ता छ त धनाढ्य ब्यापारीको नाफा घाटाको मात्र । उनले अघिल्लो दिन के बोल्छन् भोलिपल्ट आफ्नै अर्को अभिव्यक्तिले गलत साबित गरिरहेका  हुन्छन् । तर पनि उनलाई परवाह छैन अनि संकोच पनि मान्दैनन् । मानौं अघिल्लो दिन बोलेको बोली उनको नभएर अरु नै कसैको हो । यस्तो लाग्छ उनी ‘मल्टी पर्सनालिटी डिस-अर्डर’ बाट ग्रसित छन् ।  

                 कुरोको चुरो के हो भने, कोरोना महामारीको शुरुवाती दिनमा ट्रम्प भन्दै थिए “यो सामान्य हो, केही दिनमा सबै ठिक हुन्छ।” तर बिडम्बना उनले बोले जस्तो भएन ।  तर, पनि कोरोनालाई अझै सामान्यिकरण गरेर बोल्न थाले “अमेरिकामा सामान्य रुघा खोकीले पनि बर्षेनी २५ देखि ६९ हजारसम्म मान्छे मरि रहेकै हुन्छन्।” फेब्रुअरी महिना तिर जब संघीय सरकारले १५ जना कोरोना संक्रमितको पुष्टि गरेको थियो त्यति बेला महामहिमको दूरदर्शिता र अन्तरचेतले भन्दै थियो, “हामी यसलाई छिट्टै शून्यमा झार्छौ। ” उनले  बोले जस्तो कोरोना शून्य तिर झर्ने छाँटकाट देखिएन बरु ज्यामितीय दरमा कोरोनाको संक्रमण मुलुक भरि छरपष्ट बढ्न थाल्यो । जतिबेला उनकोआफ्नै एक साथी कोरोना संक्रमित भए महामहिमको बोली पिपलको पात झै पल्टिन थाल्यो ।त्यसपछी उनले भने “यो सामान्य रुघाहोइन, यो डरलाग्दो रोग हो।” राष्ट्रपति ट्रम्पको बोली सामान्यबाट अब डरलाग्दोमा पुग्यो।  

                   जनवरी २० मा वाशिंगटनमा पहिलो कोरोना संक्रमित पुष्टी भएको थियो। ट्रम्प विश्व आर्थिक मंचको एउटा कार्यक्रममा भाग लिने सिलसिलामा स्विट्जर्ल्याण्डको  डेवस शहरमा थिए । जनवरी २२ मा सीबीएस न्यूजलाई अन्तर्वार्ता दिने क्रममा उसले डेवसबाटै भनेका थिए, “हामीसँग योजना छन्, कोरोनाको उचित ब्यवस्थापन गर्छौ, हामीले स्थिति सम्हालिसकेका छौँ ।”  उनले थपेर बोले ”मात्रएक जना चीनबाट प्रवेश गरेको हो, रोग हाम्रो नियन्त्रणमा छ।” अमेरिकाको राष्ट्रपती पदको लागि योग्य व्यक्तिले भाइरस फैलिन सयौंबीउको आवाश्यकता पर्दैन भन्ने कुराको सामान्य हेक्का पनि त्यतीबेला राखेनन् वा अवमुल्यन गरे ।

                  जनवरी २४ मा दोश्रो कोरोना संक्रमित पुष्टी भैसक्दा ट्रम्पको कोरोनासँग सम्बन्धित अर्को ट्वीट सार्वजनिक भयो- “कोरोनाफ़ैलावाट रोक्न चीन सरकार लागी परेको छ, यसले कोरोनालाई  नियन्त्रणमा ल्याउने छ। “चीनले गरेको त्यो प्रयासलाई सराहनीय भन्दै सी जिन पिङ्गलाई धन्यवाद दिन समेत भ्याए। उसले ट्वीटमा लेखे,

     

    “कोरोना बृद्दिदर रोक्न चीनले देखाएको तदारुकता प्रशंसनीय छ।सयुक्त राज्य अमेरिका, बिशेष गरि राष्ट्रपति सी जिन पिङ्गलाई धन्यवाद दिन चाहन्छ। 

    रोचक कुरो त यो ट्वीट आएको २ महिना नबित्दै उनले अर्को ट्वीट मार्फत चीनको खेदो खनेका छन् । आफुले समयमा नै उचितसतर्कता अपनाउन नसकेको कारण देशले ब्यहोर्न गैरहेको पिडाको आक्रोश चीन माथी थोपरेर आफु पानी माथीको ओभानो बन्ने चेष्टा उनले त्यो बेला सुरु गरेका थिए । त्यसपछि उनले कोरोना भाइरसलाई चाइनिज भाइरस भन्दै चीनको पारो तताउने जस्ता अपरिपक्व हरकत प्रदर्शन थाले । रास्ट्रपति ट्रम्पको चीन प्रतिको प्रहारको प्रत्युत्तरमा त्यहॉंका बिदेश मन्त्रीले “अमेरिकालाई राजनीतिक भाईरस लागेको“ भन्नसम्म पछि परेनन् ।  

    जनवरी २९ सम्ममा अमेरीकामा कोरोना संक्रमित संख्या ५ जना पुष्टी भै सकेको थियो। डोनाल्ड ट्रम्पको अर्को ट्वीट आयो, “हाम्रा उत्कृष्टएजेन्सीहरु मार्फत चीनमा भै रहेको कोरोना भाइरस सम्बन्धी उपलब्धीको सुचना आइरहेको छ, हामी चीनको सामिप्यतामा रहेर कोरोना नियन्त्रण सम्बन्धि उपलब्धीहरुको सुक्ष्म निरीक्षण गरी रहेका छौँ । हामीसँग विश्व कै उत्कृष्ट विज्ञहरु छन् जो सातै दिन चौबीस घण्टाखटिरहेका छन् । ” ट्रम्पले भने जस्तो अमेरीकामा विश्वको उत्कृष्ट विज्ञ र संयन्त्र छ की छैन वा भएर पनि राष्ट्रपति ट्रम्पको अकुशल ब्यबस्थापनको कारण मुलुकले यस्तो मानबीय क्षती बेहोर्नु पर्‍यो विश्वसामु छर्लंग भै सकेको छ।

                 जनवरी ३० का दिन विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई जन स्वाथ्य संकटकाल घोषणा गर्यो। यता ट्रम्प, मिशिगनको एउटा कार्यक्रममा मन्तब्य दिने क्रममा भन्दै थिए “मलाई लाग्छ भाइरस पूर्ण रुपमा हाम्रो नियन्त्रणमा छ। हामी कहाँ समस्या एकदम थोरैछ, मात्र ५ जना संक्रमित छन्, जो पूर्ण स्वास्थ्य लाभ तर्फ उन्मुख छन् । तर हामी चीनसँग सामिप्यमा रहेर काम गरि रहेका छौँ र हामीलाईलाग्छ यसको अन्त सुखद रहने छ, म बिश्वास दिलाउन चाहन्छु।” ट्रम्पले संक्रमित संख्या ५ भने पनि त्यो दिन संक्रमित संख्या ७ पुगीसकेको थियो।  

                    जनवारी ३१ सम्ममा अमेरिकामा कोरोना संक्रमित को संख्या ८ पुगे पछि बल्ल डोनाल्ड जे ट्रम्पको दिमागको बत्ति अलि अलि पिल्पिलाउन थाल्यो। चाइनाबाट आउने यात्रुहरुलाई अमेरीका प्रवेशमा रोक लगाए र देशमा जनस्वास्थ्य संकटकाल घोषणा गरे ।  

                    फेब्रुअरी ७ मा संक्रमित सख्या ११ पुगेको थियो, ट्रम्पको अर्को ट्वीट जारी भयो, “मेरो भर्खर मात्र चीनको राष्ट्रपति सी जिनपिङ्गसँग लामो र स्वस्थ कुराकानी भयो, उनी कोरोना बिरुद्दको लडाइमा दत्तचित्त र बलियो भएर नेतृत्व दिईरहेको छन्, उनलाई लागेकोछ कि उनीहरु राम्रै गरिरहेका छन्।  खास गरि अस्पताल निर्माण कार्यहरु केहि दिनमा नै सम्पन्न गरिरहेका छन्।  कुनै पनि कुरो सजिलोछैन तर पनि उनले सफलता हासिल गर्नेछन्, बिशेषत न्यानो मौसम आए पछि कोरोना निर्बल हुनेछन र त्यत्तिकै हराएर जानेछ ।  राष्ट्रपतिसीको निडर र गतिशील नेतृत्वसँगै चीनमा सबैजना अनुशासित भएर लागेका छन् जसले कोरोना बिरुद्दको लडाईमा सफलता हासिल गर्नटेवा पुग्नेछ। हामी चीनको सामिप्यतामा रहेर काम गरिरहेका छौँ ।”  ट्रम्पले चीनका राष्ट्रपतिसँग थुप्रै पटक कोरोना बारे कुरा पनि गरेनजिक रहेर गृहकार्य पनि गरे तर भाइरस नियन्त्रण गर्न चीनबाट केहि  पनि सिक्न सकेनन्  । फेब्रुअरी १० मा ह्वाइट हाउसमा सम्पन्नगभर्नरहरुसँगको बैठकमा बोल्दै फेरी चिनिया राष्ट्रपति सीसँग बोलेको कुरा कोट्याउदै न्यानो मौशम आएपछि भाइरस आँफै निर्मुल हुने कुरादोहोर्याए।

                 फेब्रुअरी २३ सम्ममा संक्रमितको संख्या ५१ पुगेको थियो। पत्रकारहरुको कोरोना अध्यावधिक  प्रश्नको जबाफ दिने क्रममाट्रम्प भनिरहेका थिए ”हामी बुद्दिमता र संयमताका साथ यथाशक्य लागी परेका छौ। अब यो हाम्रो नियन्त्रण भन्दा निकै बाहिर गइ सकेकोछ।”  फेरी फेब्रुअरी २४ मा उनले  ट्विट गर्दै हिजोकै कुरा दोहोर्याए, “कोरोना हाम्रो नियन्त्रण भन्दा धेरै बाहिर गैसकेको छ।  सबै सम्बन्धितव्यक्ति तथा मुलुकहरु संग निरन्तर सम्पर्कमा छौ।  यद्द्यपी शेयर बजार भने राम्रै छ जस्तो लागि रहेको छ।” ब्यापारीलाई जनताकोजीवन भन्दा ब्यापारको बढी चिन्ता हुनु अश्वाभाविक हुन सक्दैन।  शक्ति सम्पन्न राष्ट्रको प्रमुखले बोलेका प्रत्येक अभिव्यक्तिहरु लाईसमयले गलत साबित गर्दै गईरहेको थियो।  हिजो आफैले बोलेका बोलीसँग आजका नयॉं अभिव्यक्तिहरुको एकरुपता नभएको बारेपत्रकारहरुले जिज्ञासा राख्न खोज्दा ट्रम्प कि त हान्ने गोरु झैँ मुन्टो बटार्दै कटु वचन लगाउँथे  कि त बोल्न नचाहेको आशय दिन्थे  ।  

                   फेब्रुअरी २५ सम्ममा संक्रमित सख्या बढेर ५७ पुगिसकेको थियो, जुन बेला डोनाल्ड जे ट्रम्प भारत भ्रमणमा थिए। त्यहाँ उनलेएउटा पत्रकार सम्मेलनमा भने ”तपाइँहरुसँग कोरोना सम्बन्धी जिज्ञासा हुन सक्छ, हाम्रो देशमा कोरोना पुर्ण नियन्त्रणमा छ।  संक्रमितसंख्या न्यून छ, जति संक्रमित छ त्यो भन्दा अरु मैले सुनेको छैन।” ट्रम्पको अभिव्यक्ति सुन्दा यस्तो लाग्थ्यो की अमेरीका बाहेक अरुविश्व सुचना प्रबिधीको पहुँचबाट धेरै टाढा छ।  अमेरीकामा उज्यालो हुँदा भारत लगायत पूर्वीय गोलार्ध तिर अँध्यारो हुन्छ यो सत्य हो तरउता उज्यालो हुँदा अमेरिकालाई अँध्यारोले छोपेको हुन्छ भन्ने कुरा राष्ट्रपति ट्रम्पले भुसुक्कै बिर्सिए ।  

                   फेब्रुअरी २७ सम्ममा कोरोना संक्रमित संख्या ६० पुगीसकेको थियो।  ह्वाइट हाउसमा आयोजित आफ़्रिकन अमेरिकननेताहरुसंगको एक भेलालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले फेरी हाँस्यास्पद अभिव्यक्ति दिए , “एक दिन यो कोरोना भाइरस अकल्पनीयतरिकाले अदृश्य भएर जाने छ। ” एक दिन कोरोना विलीन हुने छ त भने तर त्यो एक दिन कहिले आउँछ त्यो भने भनेनन् ।  आधुनिकबिकासको चरोमोत्कर्षमा पुगी सकेको एक शक्तिसाली राष्ट्रको राष्ट्र प्रमुखको अभिव्यक्ति हो की दोबाटो को ज्योतिषीको  बोली होविश्व चकित परिरहेको थियो।  

                  फेब्रुअरी २९ सम्ममा कोरोना संक्रमित संख्या ७४ पुगिसकेको थियो।  राष्ट्रपति ट्रम्पले दिएको आश्वासनको त्यो  एक दिन झनैटाढा सुदूर क्षितिज तिर गए जस्तो अनुभूती हुन  थालेको थियो ।  मेरील्याण्डमा आयोजित कनजर्भेटिब पोलिटिकल एक्शन कोसम्मेलनमा बोल्ने क्रममा ट्रंपले फेरी भने ” हाम्रो काम अब्बल भै  रहेको  छ, हाम्रा विज्ञहरु उत्कृष्ट छन्, कोरोना भाइरस हाम्रो नियन्त्रणमाछ।”   सारा  अमेरीकी जनता तथा पत्रकारहरु ट्रंपको अभिब्यक्ती सुनेर हैरान भैरहेका थिए।  कहिले भाइरस नियन्त्रणमा छ भन्दै थिए तकहिले नियन्त्रण भन्दा बाहिर गैसक्यो भन्दै , कहिले सामान्य रुघा हो भन्दै थिए त  कहिले डरलाग्दो सरुवा रोग हो भन्दै थिए ।  मेरिल्याण्डको सम्मेलनमा उपस्थित एक जना ब्यक्ती कोरोना पोजिटिब पुष्टि भएको थियो भने त्यहि दिन अमेरिकामा कोरोनासंक्रमितको पहिलो मृत्यू पनि भएको थियो।

    सोहि दिन साँझ ह्वाइट हाउसको टास्क फोर्स ब्रिफिंगमा बोल्दै ट्रम्पले भने ”हामी कोरोना बिरुद्दको लडाईमा निकै आक्रामक ढंगलेलागिपरेका छौ। यस्तो आक्रामक ढंगले कोरोना बिरुद्दको लडाईमा अरु कुनै पनि मुलुक अगाडी छैन। यात्रा गन्तव्यको हिसाबले हाम्रोदेश एक नम्बरमा  आउँछ तर संक्रमितको संख्या, यात्रा गन्तव्यको न्यून हिस्सा ओगट्ने सानो तिनो मुलुक भन्दा पनि थोरै छ।” ठुलादेशका ठुला ब्यक्तीहरुको नजरमा  ज्यामितीय गतिमा रेप्लिकेट गर्ने सरुवा रोगको संक्रमित संख्या ७४ पुग्दा पनि थोरै नै थियो।स्मरणिय कुरा के छ भने, दक्षिण कोरिया र अमेरिकामा कोरोनाको संक्रमण एकै दिन शुरु भएको थियो।  तर ५ करोड मात्र जनसंख्यारहेको दक्षिण कोरियाको कोरोना बिरुद्दको लडाई अमेरिकाको भन्दा धेरै अगाडी थियो।  फेब्रुअरी १८ मा, दक्षिण कोरियाको ३१औसंक्रमित पुष्टि भएको थियो र त्यो दिन सम्ममा प्रति दिन ५२०० कोविड परिक्षण पुर्याई सकेको थियो जबकी जनसंख्याको आधारमा हेर्नेहो भने दक्षिण कोरिया भन्दा संयुक्त राज्य अमेरीका ६ गुणा भन्दा माथी रहेको छ र उसले अप्रिल १५ सम्ममा बल्ल प्रति दिन  १२३५१परिक्षण  गर्न सकेको थियो।

                     मार्च ९ को तथ्यांकले जम्मा कोरोना संक्रमित संख्या ९५९ देखाउदै थियो तर त्यही दिन ट्रम्पले ट्वीट गरे ”गत साल अमेरीकामारुघा खोकी  बाट  ३७००० व्यक्ति मरेका थिए, प्रत्येक बर्ष २७००० देखी ७०००० सम्म मर्ने गरेका छन्। अहिले हामीकहाँ जम्मा ५४६कोरोना संक्रमित पुष्टी भएको छ र २२ को मृत्यू भएको छ। बिचार गरौँ त ” उनको आशय थियो ३७००० को तुलनामा २२ को मृत्यू केहिपनि होइन।

    मार्च १० को तथ्यांकले संक्रमितको संख्या १३०० देखायो।  क्यापिटल हीलमा आयोजित, सत्तारुढ दल रिपब्लिकनका सिनेटरहरुसँगकोबैठकमा बोल्दै ट्रम्पले भने ”यो अकल्पनीय स्थिति भयो । यो चीनबाट आयो अनि हामी लगायत धेरै देशलाई प्रभाव पारेको  छ ।  अंकहेरौ , १०० भन्दा धेरै मुलुकलाई कोरोनाले प्रभाव पारेको छ, विश्व नै आक्रान्त बनेको छ । तर हामी पुर्ण रुपले तयारी अवस्थामा छौँ रउत्कृष्ट काम गरिरहेका छौँ । यो एक दिन कोरोना बिलिन हुनेछ, शान्त बनौँ यो आफै हराएर जाने छ।”  ६० जना संक्रमित हुँदा देखी दिँदैआएको बासी अभिव्यक्ति संक्रमित संख्या १३०० पुग्दा सम्मपनि दोहोर्याई रहेका थिए राष्ट्रपति ट्रम्प – ‘कोरोना आँफै हराएर जाने छ। ‘

              मार्च ११ मा अमेरीकामा संक्रमणको संख्या १७०० पुग्यो। ओभल अफिसबाट राष्ट्रको  नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रंपले भने ” नयाँ  संक्रमणबाट देशलाई बचाउन युरोपबाट आउने यात्रालाई ३० दिन सम्मको लागी स्थगन गरिएको छ ।  नयाँ  नियम शुक्रबारमध्यरातबाट लागु हुनेछ।  वास्तविकता र परिस्थितिलाई मध्यनजर राख्दै आवश्यक परिमार्जन हुन सक्नेछ। ” जनवारी २० बाट संक्रमणशुरु भएको शक्तिशाली राष्ट्रमा मार्च ११ हुदा बल्ल युरोपबाट आउने यात्रा माथी सावधानी अपनाउन खोजिएको देखियो। यो ढिलाईकोचुरो भनेको, जनताको जिउ ज्यान भन्दा ठुला वायूसेवाहरुको ब्यापार पहिलो प्राथमिकतामा पर्नु हो।

                मार्च १२ मा अमेरीकामा संक्रमणको संख्या २२०० पुग्यो।  व्हाइट हाउसमा आइरिश प्रधानमन्त्रीसंगको भेटवार्ताको क्रममा ट्रंपलेभने ” बिचार गरौ न, मैले जे प्रयाश गरे र मेरो प्रशासनले चाइनासंग जे सहकार्य गर्यो, त्यसकै कारण अमेरीकामा मात्र ३२ को मृत्यू भएकोछ।  ३२ पनि काफी हो धेरै हो तर अरु मुलुकहरुको मृत्यू संख्या हेरौ त, मैले जे गरे त्यो चमत्कार छैन त ? ” यस्तो लाग्थ्यो की यो कुनैगाई जात्रे हाँस्यब्यंग्य कार्यक्रम हो र प्रत्यक्ष्य प्रसारण मार्फत विश्व हँसाउने दायित्व आइपरेको छ।

                 मार्च १३ अमेरीकामा संक्रमणको संख्या २७०० मा चुलियो। देशमा राष्ट्रिय संकटकाल घोषणा गर्दै रोज गार्डेनमा पत्रकारसम्मेलनमा  ट्रंपले भने ” हामि कहाँ मृत्यूको संख्या ४० पुगेको छ, अरु अरु देशहरुमा यो संख्या धेरै गुणा बढी छ र बढिनै राखेको छ।हाम्रो संक्रमणको संख्या पनि एक दम न्यून छ। यो सबै हामीले समयमा नै कदम चालेको र छिट्टै  सावधानी अपनाएको ले हो । हामीले जेगर्यौ त्यो अति उत्तम कार्य गर्यौ।  अति संक्रमित क्षेत्रको नाका थुन्नु भन्दा अरु कुनै उत्तम उपाय हुन सक्दैन थियो। ” जुन बेला चीनकोबुहान शहरमा संक्रमण देखियो त्यतिनै बेला डोनाल्ड जे ट्रंपले अमेरीकामा सिमा कडाइ तथा अरु आवाश्यक तयारिहरु गर्न सकेको भएत्यो कदम वास्तवमा नै पुर्व तयारि वा सहि कदम हुन सक्दथ्यो।  तर त्यो गर्न सकिएन, सम्हाल्न  नै नसकिने गरि छरपष्ट पोखी सके पछिदुइ महिना पछि को बाध्यात्मक तयारिलाई काट छाँट गरेर सहि समयको सहि कदम भन्न बाध्य भएको देखियो ।  

                      मार्च १६ मा संक्रमित संख्या ६४०० पुग्यो।  ट्रंपले भने , “मैले मेरो छोरासंग कुरा गरेको थिए  उसले यो कति नराम्रो हो भनेरसोध्यो।  यो नराम्रो हो, नराम्रो भैरहेको छ तर हामि संसारमा नै कम संक्रमित संख्या सावित गर्न खटि रहेका छौ  ” ट्रंपले व्हाइट हाउसकोकोरोना भाइरस टास्क फोर्स लाई उदृद गर्दै भने “ उनीहरुले संक्रमण अगस्ट महिना सम्म जान सक्छ भनेर बताएको छ तर मेरो बिचारमायो जुलाई सम्म जान सक्छ।” राष्ट्रपति डोनाल्ड जे ट्रंपले कुनै बेला बताए जस्तो कोरोना न सामन्य रह्यो न उनले  आश्वासन दिए जस्तोसंक्रमण को संख्या शुन्यमा झार्न सके तर उनी विश्वमा नै कम संक्रमित  भएको देश दावी गर्न जबर्जस्ती लागी पारेको छ।  

    मार्च १६ कै दिन हिजो आफैले प्रशंसा र धन्यवाद ज्ञापन गरेको राष्ट्र चीन माथी अपमान जनक तुच्छ शब्द प्रयोग गर्दै ट्वीट गरे “बायुसेवाजस्ता कम्पनीहरु जो चाइनिज भाइरसबाट ग्रसित छन् उनीहरुलाई अमेरिका सशक्त सहयोग गर्ने छ, हामी पहिले भन्दा अझ बलियो बन्नेछौ । ” स्मरण रहोस जनवरी २४ को ट्रंपको ट्वीटमा चिनिया राष्ट्रपति सी जिन पिङ्गको गृहकार्य प्रति प्रशंसा गर्दै धन्यवाद दिएका थिए।  

                  मार्च २४ मा अमेरिकामा कुल संक्रमण संख्या ६५८०० पुष्टी भयो।  फोक्स न्यूजसंग कुरा गर्दै ट्रंप ले भने ” आगामी ईस्टरसम्ममा यो देश खुलेको चाहन्छु।  मेरो बिचारमा यो ईस्टरमा देश भरका गिर्जाघरहरु भरिभराउ हुनेछ “  दक्षिण कोरियाको  उत्तर क्योसंगप्रान्तको देगु शहरमा अवस्थित शिन्चुंजी गिर्जाघरको नियमित प्रार्थना कक्षमा उपस्थित  एक जना ६१ बर्षिय बृद्दबाट कुल संक्रमणको ६३दशमलव ५  प्रतिशत नयाँ संक्रमण फैलिएको ज्वालंत उदाहरण आँखा अगाडी हुदा पनि जन स्वास्थ्य माथी खेलवाड गर्दै गिर्जाघरहरुखोल्ने कुचेष्टा गरिरहेका थिए राष्ट्रपति ट्रम्प। त्यहि दिन ह्वाइट हाउस कोरोना टास्क फोर्स ब्रिफिंगको क्रममा साहित्य ओकल्ने प्रायश गर्दैउनले भने ” लामो टनेलभित्र हल्का उज्यालो देखे पछि हामी अब छिट्टै टनेल पार गर्दैछ भन्ने बुझ्न सकिन्छ र उज्यालोको आशा गर्नसकिन्छ। “

     

                 मार्च २९ मा अमेरिकामा कोरोना संक्रमित संख्या १६१८०० पार गर्दै थियो।  व्हाइट हाउसको रोज गार्डेन पत्रकार सम्मेलनमाबिफिंगको क्रममा राष्ट्रपति डोनाल्ड ट्रंपले पहिले आफैले बोलेको इस्टर सम्ममा सबै खोल्ने भन्ने गाइड लाइनलाई अप्रिल ३० सम्मलम्ब्याएको बताउदै  भने ” जुन १ सम्ममा पुन सामान्य जिवनमा फर्कन सक्ने आश गरौ।  मलाइ लाग्छ, जुन १ सम्ममा थुप्रै चमत्कारिकउपलब्धीहरु हासिल गर्नेछौ। ” महामहिमको चमत्कारिक उपलब्धी हरुको प्रतीक्षा गर्दा गर्दै अमेरिकी जनताका प्राण पखेरु भटाभटउडिरहेको थियो।  तर अझै पनि तथ्यमा आधार बिना त्यो एक दिन आउछ भनेर उनले भन्न छाडेको थिएनन ।  

              मार्च ३१ को तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या २१३४०० पुष्टि भएको थियो।  कुनै बेला कोरोना सामान्यरुघा खोकी हो भन्ने राष्ट्रपति ट्रंपले व्हाइट हाउसको कोरोना टास्क फोर्स को आजको ब्रिफिंगमा यो सामान्य होइन भन्ने अभिव्यक्ति दिदैभने, “यो दुइ हफ्ता वा तीन हामीले यो भन्दा अघी कहिले पनि नदेखेको नराम्रो दृश्य हुन सक्छ। ” उनले  थप्दै भने , “तिमीले कुनै एकजना साथीलाई अस्पताल पठाएर भोली उसको हालखबर बुझ्न खोज्यौ भने उ सिधै कोमामा गैसकेको हुन्छ, यो सामान्य रुघा खोकी हुनसक्दैन । “  कहिले त्यहि कुरा हो भन्ने र  कहिले त्यहि कुरा होइन भन्ने रोगबाट ग्रसित छँन् राष्ट्रपती ट्रम्प ।  

    अप्रिल ३ को तथ्यांकले अमेरीकामा कोरोनाको संक्रमित संख्या २७३८८० देखाउदै थियो।  मार्च १० मा जुनबेला अमेरीकामा संक्रमितकोसंख्या मात्र १३०० थियो, त्यति बेला राष्ट्रपति ट्रंपले यो केहि पनि होइन हराएर जान्छ भन्ने खालका अभिव्यक्ति दिएपछि पनि कुलकोरोना बृद्दी संख्या २७२५८० देखिन्छ। राष्ट्रपति ट्रंप ले फेरी एक पटक जग हसाउदै थिए , “मैले कोरोना त्यत्तिकै हराएर जान्छ भनेकोथिए अब यो बिलिन भएर जादैछ ” ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्स ब्रिफिंगको क्रममा बताए।   

    मेरो जन्म भूमी नेपालमा विधीको शासन र लोकतन्त्रको अभ्यास कागजमा सिमित छ तर पनि निर्वाध टायर बाल्न पाइन्छ। मेरोकर्मभुमीमा राष्ट्रपतिको मृत्यू गन्ने घडी विश्वको राजधानी टाइम स्क्वायरको आकाशमा राख्न पाइन्छ तर राष्ट्रपतिको छुद्रो बोलीकोकारण देशको प्रतिष्ठा भाड्खलोमा गए पनि मुक दर्शक बनेर टुलुटुलु हेर्ने बाहेक अर्को कुनै उपाय छैन। मेरो कर्म भूमी अमेरिकामामापत्रकार हरुलाई प्रश्न सोध्ने अधिकार त छ तर उत्तर पाउने अधिकार छैन। मेरो जन्म भुमी नेपालमा पत्रकारको प्रश्नको उत्तर नपाए कमसेकम माइतिघर मण्डलामा पुत्ला जलाउन पाइन्छ वा सिंह दरबार घेराउ गर्न पाइन्छ। राजनितीमा फटाह  बोल्न पनि कला चाहिन्छ।  बिभिन्न  देशमा राष्ट्र प्रमुखले झुठ बोलेको इतिहास पढ्न  पाइन्छ तर ती झुठहरु घुमारो तरिकाले सम्पन्न गरेका हुन्छन। कला बिनाको त झुठ पनि निस्तो लाग्ने रहेछ।

    श्रोत : ट्वीटर तथा सीबिएस न्यूज

  • कोरोनाबाट विश्वभर ११४ नेपालीको मृत्यु

    कोरोनाबाट विश्वभर ११४ नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर ११४ जना गैरआवासीय नेपालीको ज्यान गएको छ । विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएको गैरआवासीय नेपाली संघ(एनआरएनए) ले जनाएको छ ।

    शनिबार साँझ सम्मको तथ्यांक अनुसार विभिन्न १२ मुलुकमा ११४ जना नेपालीको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा ९५ जना पुरूष र १९ जना महिला छन् । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

    संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ ।

    समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा १८ जना नेपालीको निधन भएको छ ।

    त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ भने साउदी अरबमा ७, नेपाल ३, कतार १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १, कतार १ र कुवेत १ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य समितिको तथ्यांक अनुसार २३ प्रतिशत ४० देखी ५० वर्ष उमेर समूहका छन् । ४० वर्ष भन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत रहेको छ । बाँकी ८ प्रतिशतको उमेर समूह खुलेको छैन् ।

    संयोजक डा. सापकोटाका अनुसार नेपाल सहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजार भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिए ।

    अत्याधिक कोरोना प्रभावित देशहरु मध्य बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

    स्वास्थ्य समितिका अनुसार कतार ६ हजार ९ सय ११, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय ३०, साउदी अरब १ हजार ३ सय ६४, नेपाल ५ सय ८५, युएई ५ सय, बहराइन ३ सय ११, कुवेत ८४, मलेसिया ५५, पोर्चुगल ४२, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १८, अष्टेलिया १२, माल्दिभ्स १६, जापान १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, रुस २, म्यानमार १, रोमानिय १, र फ्रान्स १ जना नेपालीलाई कोरोना संक्रमण भएको छ ।

    यो साता रुस, रोमानिया र भारतमा रहेका नेपालीमा नयाँ संक्रमण देखिएको जनाइएको छ ।

  • टेक्सस फ्लुगरभिलमा एक नेपालीको मृत्‍यु

    टेक्सस फ्लुगरभिलमा एक नेपालीको मृत्‍यु

    देवराज न्यौपाने, टेक्सस

    टेक्सस, फ्लुगरभिल निवासी चन्द्र कडेलको ६३ बर्षको उमेरमा मृत्‍यु भएको छ । गत मेई २० तारिख बुधबारका दिन सुतिरहेकै अबस्थामा हृदयघातका कारण उनको दु:खद् निधन भएको पारिवारिक श्रोतले बताएको छ । २०१३ सालमा धरानमा जन्मिएका कडेल बिगत २० बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए । नेपालमा गार्मेण्ट्स ब्यवसायी कडेल अमेरिकामा ग्रोसरी ब्यवसाय गर्दै आएका थिए । उनको अटोस्पी लगायतको प्रकृयाले गर्दा उनको अन्तिम संकार भने हुन बाँकी नै रहेको छ ।

    स्वर्गीय कडेलको श्रीमती, एक छोरा र दुई छोरी छन् । ग्रेटर अस्टिन नेपाली सोसाईटीले एक बिज्ञप्ती मार्फत “कडेल एक कर्मठ, सामाजिक र मृदुभाषी ब्यक्तित्वको रुपमा वहाँलाई सधैं सम्झिरहने छौं” भन्दै हार्दिक श्रद्धाञ्जली तथा परिवारमा समबेदना प्रकट गरेको छ ।

  • सङ्कटमा रहेका नेपालीको उद्दार गर्न कम्तीमा तीन महिना लाग्ने

    सङ्कटमा रहेका नेपालीको उद्दार गर्न कम्तीमा तीन महिना लाग्ने

    काठमाडौं । विदेशमा सङ्कटमा रहेका नेपालीलाई अब सरकारले क्रमश घर ल्याउने भएको छ । सरकारको तयारीअनुसार अहिलेकै अवस्थाबाट उद्धार प्रारम्भ गर्दा समेत सङ्कटमा रहेका नेपालीलाइ घर फर्काउन कम्तीमा तीन महिना लाग्ने देखिएको छ ।

    क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बाट कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा प्रस्तुत विवरणअनुसार सङ्कटमा रहेका वा स्वच्छाले समेत हवाई मार्गबाट मात्र १० लाख नेपाली घर फर्कने अनुमान गरिएको छ । नेपालले दैनिक १० हजार मानिसलाइ हवाइ मार्गबाट उद्दार गर्न सक्ने अनुमान समेत गरिएको छ ।

    समितिको बैठक मंगलबार बसेको थियो । बैठकमा विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउने सम्बन्धमा वृहत छलफल भएको थियो । नेपाल ल्याइसकेपछी पनि अनुशासनसहित क्वारेन्टाइनमा राख्ने तयारीमा समेत छलफल भएको थियो ।

    सरकारले प्राथमिकताका आधारमा विदेशबाट नेपालीलाई घर फर्काउने निर्णय गरिसकेको छ । परराष्ट्र मन्त्रालयले गरेको तयारी अनुसार सबैभन्दा जोखिमपूर्ण अवस्थामा रहेका नेपालीलाई घर ल्याइदैछ । प्रधानमन्त्री केपि शर्मा ओलिले समेत मङ्गलबार क्रमश नेपालीलाई घर फर्काउने जानकारी गराएका थिए ।
    भारत र तेस्रो मुलुक, सबै स्थानबाट घर फर्कने नेपालीलाई घर ल्याउने योजना छ ।

  • विदेशमा अलपत्र नेपालीलाई चार चरणमा भित्राइने

    विदेशमा अलपत्र नेपालीलाई चार चरणमा भित्राइने

    काठमाडौं । कोरोना भाइरसको महामारीका बीच सरकारले विदेशमा अलपत्र नेपालीलाई फर्काउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीलाई घर फर्काउने, तर यसका लागि चरणवद्द रुपमा काम गर्ने निर्णय गरेको हो ।

    परराष्ट्र मन्त्रालयका अनुसार सात वटै प्रदेशमा वडा तहसम्म सुरक्षित क्वारेन्टाइन बनाएर बिदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय भएको छ ।

    मन्त्रालयका अनुसारको सिलसिलामा विदेश पुगेका, गर्भवती, नेपालमा आफन्तको निधन भएका नेपालीलाई पहिलो प्राथमिकताका साथ स्वदेश फर्काइने भएको छ । दोस्रो प्राथमिकतामा भने टिकट लिएर काम छोडेर बसेका तर हवाई टिकट लिएर पनि उडान रद्द भएर आउन नपाएका नेपालीलाई स्वदेश ल्याउने निर्णय सरकारले गरेको हो ।

    काम गुमाए पनि कम्पनीमा बस्ने सुबिधा पाइरहेकालाइ तेस्रो चरण र कुनै समस्या नभए पनि नेपाल आउन चाहने नेपालीलाई घर फर्काउने गरि प्राथमिकता तोकिने भएको छ।

    पहिलो चरणमा खाडी राष्ट्र र मलेसियाबाहेक बंगलादेशका विद्यार्थी, साइप्रसमा समस्या परेका विद्यार्थी तथा बिनाभिसा रहेकालाई प्राथमिकता दिने तयारी गरेको बताइएको छ । कुवेत र यूएईले तत्काल फर्काउने भनेर राखेका नेपालीलाई पनि घर ल्याइने भएको छ ।

    महामारीसङ्गै करिब २० लाख नेपाली भारत र तेस्रो मुलुकबाट घर फर्कने अनुमान छ । यसको व्यवस्थापन सरकारका लागि सबैभन्दा चुनौतीपूर्ण अवस्था हो ।