Category: डायस्पोरा

  • कतारमा १७ नेपालीलाई मिल्यो आममाफी

    कतारमा १७ नेपालीलाई मिल्यो आममाफी

    काठमाडौं । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीलाई आममाफी मिलेको छ ।

    कोरोना भाइरसको सन्त्रासकाबीच कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी कतारका राजाबाट कैदीहरुलाई आममाफी दिने निर्णय भएको नेपाली दूतावासले जनाएको छ ।

    राजाको यस निर्णयबाट १७ जना नेपाली लाभान्वित भएका हुन् । दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिक रिहा हुने पक्का भएको छ ।

    कतारको जेलमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका व्यक्ति छुट्न लागेका हुन् ।

    कतारमा कोरोनाबाट संक्रमितहरुको संख्या ७ हजार ७ सय ६४ पुगेको छ । बिहीबार एकै दिन ६ सय २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

    यहा १० जनाले ज्यान गुमाइसकेका छन् । कतारमा लाखौं नेपाली कामदार रहेका छन ।

  • नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

    नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

    अप्रिल १९ 

    नेपालमा म्याग्दी जिल्लाकी स्थायी बसिन्दा ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरसबाट संक्रमित भई नेदरल्यान्डमा निधन भएको छ । मृत्यु बारे नेदरल्याण्डका लागि पर्यटनदूतसमेत रहेका शशि पौडेलले संचार माध्यमलाई जानकारी दिएको हो । उनले भट्टचनको अकस्मात निधनले समस्त नेपाली समाज नेदरफ्याण्डलाई स्तब्ध बनाएको बताएका छन् ।  हालसम्म २९ प्रबासी नेपालीले कोरोनाको कारण ज्यान गुमाइसकेको अवस्थामा नेदरल्याण्डमा कोरोनाबाट ज्यान गुमाउनेमा लक्ष्मी पहिलो नेपाली हुन् ।

    थकाली समाज बेल्जियमका सचिव रोशन शेरचनले संसारभर बसोवास गर्ने थकाली समुदायका सदस्यहरू मध्येमा यो नै पहिलो दुःखद घटना भएको उल्लेख गरेका छन् । उनले भट्टचनको निधनको खबरले स्तब्ध बनाएको भन्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्राप्त होस, भन्ने कामना गरेका छन् ।

    आजैमात्र गैरआवासीय नेपाली संघले विश्वमा कोरोनबाट ज्यान गुमाउने नेपालीको संख्या २९ भएको जनाएको थियो । लक्ष्मीको निधनसँगै विश्वमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ३० पुगेको छ।

    तस्बिर : संसार न्युज

  • विश्वभर कोरोनाका कारण २८ गैरआवासीय नेपालीको मृत्यु

    विश्वभर कोरोनाका कारण २८ गैरआवासीय नेपालीको मृत्यु

    काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसले २८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघले उपलब्ध गराएको तथ्यांक अनुसार शनिबार साँझसम्म उक्त संख्यामा एनआरएनको मृत्यु भएको हो ।

    एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको ज्यान गएको छ ।

    स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, नेपालबाहेक विश्वभर एक हजार १६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् ।

    विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आकडानुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित छन् ।

    नेपालमा १९ हजार ५५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । तीन जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।

    संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करिब सात सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चारचार, क्यानडा र मलेसियामा तीनतीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मा र हङकङमा एकएक जना छन् ।

    विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो आँकडा तयार पारिएको स्वास्थ्य उपसमितिले जनाएको छ ।

    विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ एनआरएनले आफ्ना शाखाहरुलाई परिचालन गरेको जनाइएको छ ।

    एनआरएनका अध्यक्ष पन्तका अनुसार बिहीबार साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितका लागि राहत वितरण गरिएको छ ।

    यसैबीच एनआरएन कोभिड १९ उच्चस्तरीय समितिको बैठक आज बस्ने भएको छ । संघका महासचिब डा हेमराज शर्माका अनुसार बैठकले कोरोना पीडितका लागि राहत वितरणको नयाँ नीति तय गर्ने छ ।

  • बेलायतमा कोरोनाका कारण १६ नेपालीको गयो ज्यान

    बेलायतमा कोरोनाका कारण १६ नेपालीको गयो ज्यान

    लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मात्र १६ जना नेपालीको मृत्यु भएको छ ।

    लन्डनस्थित नेपाली दूतावासका अनुसार शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भएको पुष्टी भएको छ । कोरोनाका कारण ज्यान गुमाउनेमा धेरैजसो पूर्वगोर्खा सैनिक र दीर्घरोगी रहेका छन् ।

    बेलायतमा १५ जना नेपाली भने कोरोनाको संक्रमणलाई जित्दै निको भइसकेका छन् । अहिले विभिन्न अस्पतालमा ७ जनाको उपचार भइरहेको छ ।

    कोरोनाको संक्रमणको आशंकामा करीव ४० जना नेपाली भने आइसोलेनमा घरमै रहेको दूतावासले जनाएको छ ।

    दूतावासले संकटको बेला सबैलाई सतर्क रहन र अत्यावश्यक काम बाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आह्वान गरेको छ ।

  • कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

    कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

    न्युयोर्क

    सानो होस् या ठुलो अनि निर्बलदेखि शक्तिसालीसम्म र धनीदेखि गरिबसम्म  सबैलाई त्रासमा बाँच्न वाध्य पार्ने एउटै नाम छ, कोरोना भाइरस । बाहिरी आँखाले देख्न नसकिने यो भाइरस संक्रमणको त्रासले संसारभरका दुई सय राष्ट्रहरु यसको नियन्त्रयको लागि क्षमताले भ्याएसम्म पौंठेजोरी खेल्दै छन् । बिसौं लाख संक्रमित भइसकेका छन् । डेढ लाख भन्दा बढी मानिसले कोरोना कै कारण जीवन गुमाई सकेका छन् । प्रवासमा बसोबास गर्ने नेपाली जनसंख्याको ठुलो हिस्सा पनि यही महामारीका कारण त्रास र पिडादायी अवस्थामा बाँच्न वाध्य छन् । पछिल्लो समय कोरोना केन्द्र बिन्दुको रुपमा उदाएको न्युयोर्क सहरमा बसोबास गर्दै आएको नेपालीको ठुलो हिस्सा पनि त्यतिकै प्रभावित हुन पुगेको छ । 

    महामारीको समयमा भाईरस संक्रमित हुनु एवम् रोग लाग्नुलाई अस्वाभाविक मानिदैन तर रोग लागेर पनि अन्धविश्वासी भई रहनु चाँहि अहिले प्रबासमा ठुलो चुनौती बनेको छ । अधिकांश संक्रमित सुरुमा देखिने कोरोनाको लक्षण ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नुलाई कोरोना भनेर सहस्र स्विकार गर्दैनन् । धेरै चिसो खाएको कारणले खोकी लागेको, राती निन्द्रा नपुगेर टाऊको दुखेको, चिल्लो पिरो खाएर घाँटी दुखेको, टाईफाईडको ज्वरो आएको आदी भन्दै संक्रमणको लक्षण देखिएको १० औं दिनसम्म पनि अधिकांश नेपालीहरु त्यतिकै घरमा बस्ने समस्या देखिएको दृष्टान्त न्युयोर्कमा लामो समयदेखि नर्सिङ पेसामा आबद्ध निमा शेर्पा आफ्नो अनुभव सुनाउँछिन् । नेपालमा सोलुखुम्बु घर भएकी निमा स्वयम् कोरोना संक्रमणलाई जितेर स्वस्थ भएकी हुन् । कोरोना संक्रमणबाट सिंगो परिवार संक्रमित भएर स्वस्थ भए यता निमा न्युयोर्कस्थित नेपाली समुदायमा संक्रमित ब्यक्तिहरुलाई कोरोनासँग जितेर फर्काउनको लागि लगातार खटिरहेकी छिन् ।  

    निमा आफु मात्र होईन आफ्नो पति र दुई बच्चा समेत संक्रमित भई दुई हप्ता कोरोनासँगको युद्ध जितेर आएपछि आफू झनै शक्तिशाली भएको महसुस गर्छिन् । तर अहिले एपिसेन्टर न्युयोर्कमा हरेक दिन आउने नेपालीको मृत्‍युको खबरले भने उनलाई निकै बिचलित बनाएको छ । निमाले आफू सञ्चो भएर न्युयोर्कको नेपाली समुदायका बिरामीहरुलाई उपचार, सल्लाह र सहयोग गर्न थालेको झन्डै २ हप्ता हुन लाग्यो । तर दुई दिन अगाडि मात्र न्युयोर्कमा मृत्‍यु भएका पवन मल्लको खबरले त झनै बिचलित बनाएको बताउँदै निमा भन्छिन् “त्यो मल्ल भाई यही उड साईडमा बस्ने मान्छे रहेछन् म पनि यँही उड साईडमा बस्छु । उनी बिरामी भएको समयमा यदि राम्रो चिकित्सकको उपचार नपाए पनि मसँग मात्र संपर्कमा आएको भए मैले धेरै नै मद्दत गर्न सक्ने थिए तर अब समय बितिसक्यो पश्चाताप गर्नुको बिकल्प छैन । तर पनि यो घटनाले निकै दिक्क लागेको छ” । १४ बर्षदेखि अमेरिकास्थित नर्सिङ पेसामा सेवारत निमा बिगत ४ बर्षदेखि प्रख्यात माउन्ट साइनाई हेल्थ सिस्टम न्युयोर्कमा कार्यरत छिन् । निमा आफु भित्र कोरोना संक्रमित नेपालीलाई रोगबाट उन्मुक्तीको लागि सहयोग गर्ने हुटहुटी बढेको बताउँदै भन्छिन् “महामारीको समय छ चिकित्सकहरु धेरै ब्यस्त छन् ।  अस्पातलहरु भरिभराउ छन् । बिरामीहरु आत्तिने गर्दछन् । कोसँग सल्लाह लिने ?कस्लाई सोध्ने ? भन्ने कुराको आन्योल छ त्यसैले यस्तो समयमा मलाई २४ घण्टा नै संपर्क गरेपनि मैले जानेको बुझेको सहयोग गर्ने थिए” ।

    हाल न्युयोर्कमा ५ सय भन्दा धेरै नेपाली कोरोना संक्रमित भएर आफ्नो निवासमा स्वास्थ लाभ गरिरहेको र झन्डै ५० जना अस्पातलमा उपचार गरिरहेको अनुमानित आँकडा छ । जुन आँकडाको अधिकारिक पुष्टि भने छैन ।  

    कोरोना संक्रमणले मान्छेको शरिर मात्र कमजोर नबनाई यस्ले आत्मबल समेत कमजोर बनाउने हुँदा यस्तो अवस्थामा बिरामीसँग स्वास्थ क्षेत्रको अलिकति  अनुभवी ब्यक्तीको सुझाबले निकै आत्मबल बढ्ने र बिरामीको ज्यान नै जोगिने निमाको अनुभव छ । सही काउन्सेलिङ नहुँदा थुप्रै नेपाली बिरामीले अहिले नेपालबाट ल्याएको औषधी र अमेरिकाकै फार्मेसीको काउन्टरमा किनेको औषधी दुईवटा नै खाने गरेको आफूले भेटेको निमा सुनाउँदै भन्छिन् – “थुप्रै नेपाली दाजूभाईले नेपालबाट ल्याएको औषधी र अमेरिकामा किनेको औषधी दुई थरी नै खाने गरेका छन् । उनीहरुले नेपालको औषधी र अमेरिकाको औषधीको नाम फरक देखेको कारण दुई वटा नै खान्छन् तर औषधीमा भएको केमिकल एउटै भएर डलब डोज औषधी खाएर थप बिरामी हुँदै गएको अवस्था छ” ।  

    अन्त्यमा निमा भन्छिन्; “अरु समय कम्युनिटीको साथ आवस्यक नहुन सक्छ तर यस्तो अवस्थामा नेपाली समुदाय एक भएर कानूनी कागजात भएका/नभएका, जात धर्म र समुदाय मतलब नगरि कोरोनासँग बिजय प्राप्त गर्नु महत्वपूर्ण कुरा हो । त्यसैले खानु पर्ने औषधी नखाएर नखानु पर्ने औषधी खाएर थुप्रै मान्छे थप रोगी हुनबाट र मृत्‍यु हुनबाट  जोगाउने लगायत बिरामीलाई आत्मबल दिने काम महत्वपूर्ण भएको छ । यसर्थ मलाई जुनसुकै बेला इमेल मार्फत सम्पर्क गरि आफ्नो समस्या र फोन नम्बर छोडेमा फेसटाईम र भिडियो कलबाट समेत म सहयोग गर्दछु । संकोच नमान्नु होला । मेरो इमेल : [email protected] हो” ।

    (विश्वन्युज र विश्व सन्देश साप्ताहिकको लागि बिजय राम पौडेलसँगको कुराकानीमा आधारित )

  • बहराइनमा नेपालीमा कोरोना संक्रमण बढ्दो, थप २७ मा पुष्टी

    बहराइनमा नेपालीमा कोरोना संक्रमण बढ्दो, थप २७ मा पुष्टी

    काठमाडौं । बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।

    अब यस मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ४९ पुगेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार शुक्रबार २७ जना नेपालीमा संक्रमण पुष्टि भएको हो ।

    बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु भइसकेको छ । तीन जनाको अवस्था गम्भीर छ । ७ सय ३ जना भने निको भइसकेका छन् ।

    दूतावासका अनुसार बहराइनमा ५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाएको भन्दै नियमको पालना गर्न दूतावासले नेपाली नागरिकलाई सचेत गराएको छ ।

    यसका साथै बहराइनमा गैरकानूनी रुपमा बसेका सबै नागरिकले सन् २०२० भित्रै बैधानिक कागजपत्र देखाएर बैधानिक हुन समेत सक्ने जानकारी दूतावासले जनाएको छ ।

    बहराइनमा क्वारेन्टाइनसम्बन्धी नियमको उल्लंघन गरेमा तीन महिनासम्म जेल सजायसमेत हुने भन्दै सचेत रहन दूतावासले आह्वान गरेको हो ।

  • कुवेतमा भिषा अवधि सकिए स्वतः तीन महिना थपिने

    कुवेतमा भिषा अवधि सकिए स्वतः तीन महिना थपिने

    काठमाडौं । कुवेतमा रहेका सबै विदेशी नागरिकको भिषा अवधि तीन महिना थपिने भएको छ ।

    मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वतः थप गर्ने निर्णय कुवेत सरकारले गरेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

    यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा लागु हुने भएको छ । प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि यो नियम लागू हुने भएको छ ।

    कुवेतमा ठूलो संख्यामा नेपाली कामदार रहेका छन् । लकडाउनका कारण भिषा सकिएको भए अब त्यसको अवधी तीन महिना थपिदा यो नियमबाट नेपाली पनि लाभान्वित हुने भएका छन् ।

  • कोरोनाको संक्रमणबाट न्यूयोर्कमा थप एक नेपालीको निधन

    कोरोनाको संक्रमणबाट न्यूयोर्कमा थप एक नेपालीको निधन

    एप्रिल १६, न्यूयोर्क

    विश्वव्यापी महामारी बनेको कोरोनाले न्यूयोर्क सहरलाई सबैभन्दा आक्रान्त पारेको अवस्थामा न्यूयोर्कको क्वीन्सस्थित रक्कवेमा बस्दै आएका महेश अमात्यको निधन भएको छ ।

    श्रीमती शारदा लक्ष्मी श्रेष्ठका साथ बस्दै आएका ७० वर्षीय अमात्यको बिहीबार बिहान आज क्वीन्सको जमैका हस्पिटलमा निधन भएको हो । बुधबार साँझ उहाँलाई गाह्रो भएपछि एम्बुलेन्समा अस्पताल लगिएको थियो । निरन्तर ज्वरो आउने क्रम नरोकिएपछि पिसाब समेत रोकिएको थियो । मे महिनामा नेपाल जाने तयारीमा रहेका अमात्य बिगत २ हप्तादेखि कोरोना भाइरस संक्रमित भएपछि घरमै बसेर उपचार गराउँदै आएका थिए ।

    यो घटनासँगै हालसम्म न्यूयोर्क सहरबाट ७ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

    (योगेश आदी)

  • विदेशमा संकटमा रहेका नेपालीको उद्दार गर : सर्वोच्च

    विदेशमा संकटमा रहेका नेपालीको उद्दार गर : सर्वोच्च

    काठमाडौं । सर्वोच्च अदालतले विदेशमा संकटमा रहेका नेपालीलाई उद्दार गरी घर फिर्तिको वातावरण बनाउन सरकारलाई आदेश दिएको छ ।

    खासगरी सीमावर्ती क्षेत्रमा हजारौं नेपाली नागरिक घर आउने सरकारको आदेश कुरेर बसेका छन् ।

    प्रवासी नेपालीलाई क्वारेन्टाइनमा राख्ने शर्तसहित घर फर्किन दिने व्यवस्था मिलाउन सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

    अधिवक्ता सोमप्रसाद लुइँटेलले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विदेशमा रहेका नेपालीलाई विना भेदभाव उद्दार गर्न अन्तरिम आदेश गरेको हो ।

    सर्वोच्चले केही देशले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता लैजान दबाब दिइरहेको र कतिपय नेपालीले सरकारसँग गुहार समेत मागिरहेको विषयलाई राज्यले टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै सचेत गराएको छ ।

    अदालतले कोरोनाको महामारी फैलिएका मुलुकमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको त्यहाँको नेपाली राजदूताबास वा श्रम सहचारीमार्फत संक्रमित नेपालीको स्वास्थ्य स्थिति प्रतिवेदन तत्काल तयार गर्न समेत निर्देशन दिएको छ ।

  • लड्दा लड्दै कोरोनाले लडायो पवनलाई

    लड्दा लड्दै कोरोनाले लडायो पवनलाई

    न्यूयोर्क, अप्रिल १५

    “योगेश दाई महिना दिनसम्म पकाउने, ख्वाउने, भाँडा माझ्ने मात्र होइन कि खकार सिंगान सोहोरेर स्याहार्दा पनि पवन दाई आज मेरै आँखा अगाडिबाट लास बनेर बिदा भयो” सँगै बस्ने साथीको चीर बिदाईपछि सरगम पनि आफ्नै खर्चमा अनिश्चित समयको लागि होटलमा बस्न पुगेका छन् । सरगम भट्टराई भाई आफैपनि पत्रकार/लेखक भएकोले यो घटनाको नालिबेली कुनै दिन बृस्तितमा पक्कै आउला तर मलाई उहाँसँगको १५ मिनेटको बातचितले भावुक बनायो । २ महिनाअघि रुम पार्टनरको रुपमा सरगमसँग बस्न आएका थिए – उनी ।

    आज न्यूयोर्क सहरको नेपाली समुदायले कोरोना भाइरसको कारण प्रकाश उपनामले चिनिने पवनकुमार मल्ललाई गुमाएको छ । उनको मृत्यु आज अपरान्ह उनकै निवास उडसाइडस्थित कोठामा भएको थियो । ५४ वर्षका पवनकुमार ८ वर्षअघि एक्लै अमेरिका आएका थिए भने न्यूयोर्कमा ग्रिन क्याब चलाउने गर्दथे । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा उनी नियमित काममै हुन्थे । संक्रमित भएपछि भने रुम पार्टनरको सहयोगमा घरमै उपचार गर्दै आएका थिए । नेपालमा छँदा नेपाल प्रहरी सेवामा रहेका उनका श्रीमती र दुई छोरी नेपालमै छन् ।

    अमेरिकाको न्यूयोर्क शहरमा रहेर पनि कोठामै मर्नु परेको कारण र तथ्य नबुझी समाचारलाई उद्देलित बनाएर लेख्नमा हतार गरेकोमा सँगै बसेर सबै व्यहोरेका सरगम भट्टराई दुखेसो व्यक्त गर्छन् । सरगम भन्छन्; “हामी दुईजना मात्र घरमा हुँदा मेरो मान्छे भनेर तातो पानी तताई दिन समेत कहिल्यै कोही आएनन् । मैले पटक पटक एम्बुलेन्स बोलाएँ । तर उनी गएनन् । हिजो उनले सास फेरेको असामान्य लागेपछि मैले पुन: ९११ मा फोन गरेर एम्बुलेन्स बोलाएँ । आयो तर जब नर्सहरु हेर्न आए पवनदाई सामान्य जस्तै बोल्न थाल्नुभयो । म चकित परें । नर्सले घरमै खानेगरेको औषधिलाई निरन्तरता दिदै बस्नु । अस्पताल लैजानु पर्ने जस्तो छैन भनेर गयो । आज यस्तो भयो” ।
    पवनको मृत्युले परिवारबाट टाढिएर प्रवासमा एक्लै संघर्ष गर्नेको कथाको अर्को पाटो उजागर गरेको छ ।

  • अफगानिस्तानबाट नेपालीको उद्दार गरिने

    अफगानिस्तानबाट नेपालीको उद्दार गरिने

    काठमाडौं । सरकारले अफगानिस्तानबाट नेपाली नागरिकको उद्दार गरी स्वदेश फर्काउने भएको छ । अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघीय निकायहरुमा कार्यरत नेपालीको उद्दार गर्न लागिएको हो ।

    कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    प्रक्रिया पुरा गरी उनीहरुलाई स्वदेश फर्काइने प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

    उनका अनुसार राष्ट्रसंघले नै त्यहा रहेका आफ्ना नागरिकलाई उद्दार गर्न अनुरोध गरेको छ । सोहीकारण उपयुक्त प्रक्रिया पुर्‍याएर नेपाल ल्याउने निर्णय बैठकमा भएको छ ।

    यहाँ औपचारिक ढंगले करीव ६० देखि ७० जना सम्म नेपाली कार्यरत रहेको अनुमान सरकारको छ ।

    बैठकले लकडाउनलाई कडा बनाउने निर्णय गर्दै उल्लंघन गरेमा जेल सजायसम्मको कारवाहीमा जाने निर्णय गरेको छ ।

    लकडाउनसँगै परीक्षणको दायरा समेत अझ बढाउने निर्णय सरकारले गरेको हो ।

  • कुवेतमा कोरोना संक्रमित नेपाली १४ पुगे

    कुवेतमा कोरोना संक्रमित नेपाली १४ पुगे

    कुवेत । धेरै नेपाली कामदार रहेको कुवेतमा कोरोनाबाट नेपाली नागरिक संक्रमित हुने क्रम बढेको छ । बुधबारको तथ्यांक अनुसार कुवेतमा बसिरहेका १४ जना नेपालीमा कोरानाको संक्रमण भएको छ ।

    कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

    कुवेतले सबै संक्रमितलाई समान व्यवहार गरी उपचार भने गरिरहेको छ । कुवेतले आफ्ना नागरिकसरह नै आप्रबासी कामदारलाई समेत उपचार गरिरहेको नेपाली दूतावासले जनाएको छ ।

    सङ्क्रमित नेपालीको स्वास्थ्य बारे कुवेती स्वास्थ्य मन्त्रालयसँग दूतावासले नियमित समन्वय गरिरहेको समेत बताइएको छ ।

    कुवेतमा अहिलेसम्म १४ सय ५ जनामा कोरोना सङ्क्रमण भएको छ । २ सय ६ जना भने उपचारपछि निको भइसकेका छन् ।

    ११ सय ९६ जनाको अस्पतालमा उपचार जारी छ । यस मुलुकमा तीन जनाको कोरोनाका कारण ज्यान गएको तथ्यांक रहेको छ ।

  • अमेरिकामा नेपाली समुदायबाट कोरोनाको कारण पहिलो मृतक अनिल (सुब्बा) लिम्बुको परिवारलाई २५ लाख रुपैंया सहयोग

    अमेरिकामा नेपाली समुदायबाट कोरोनाको कारण पहिलो मृतक अनिल (सुब्बा) लिम्बुको परिवारलाई २५ लाख रुपैंया सहयोग

    न्यूयोर्क

    अमेरिकाको न्यूयोर्कमा गत मार्च २४ तारिख कोरोनाको संक्रमणबाट निधन भएका अनिल लिम्बुको परिवारलाई  आर्थिक सहयोग  गरिएको छ । मृतक अनिलको नाममा खोलिएको “गोफण्डमी” नामक अनलाईन   सहयोग साईट मार्फत संकलन गरिएको रकम २१ हजार ७ सय ६ मध्येमा गोफण्डमी शुल्क कटाएर बाॅकी हुन आउने रकम बिस हजार नौसय चालिस अमेरिकन डलर सहयोग रकम मृतकका श्रीमती शान्ता लावती सुब्वाको क्यापिटलवनको बैंक खातमा जम्मा हुनेगरी स्थानान्तरण गरिएको कुरा राहत संकलनका अभियन्ता नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिद्र नेम्बाङले जानकारी गराए । मृतक लिम्बुको परिवारलाई हस्तान्तरण गरिएको उक्त रकमको नेपाली मुल्य झन्डै २५ लाख हुन आउँछ । सहयोग रकमले पीडितको परिवारलाई केही राहत पुग्ने बताउँदै, नेम्बाङले राहत जुटाउनका लागि सबै संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, सामाजिक अभियन्ता र आम नागरिकले सहयोग गरेको बताए । भर्जिनियावासी डा. देशराज सम्योगले गोफण्डलाई संचालनमा ल्याएर प्राविधिक रूपमा सहयोग गरेका थिए भने परिवारको तर्फबाट पुष्पलता सुब्वा रसुभद्रा सुब्वाले सबैलाई सहयोग गर्न अनुरोध गरेका थिए । यसको समन्वय किराँत याक्थुङ चुम्लुङ अमेरिकाले गरेका थिए ।पाँचथरको कुम्मायक गाउँपालिका रानीगाउँमा जन्मिएको अनिल सुब्वा लिम्बु बिगत लामो समयदेखि अमेरिकाको न्यूयोर्कमा रहदै आएका थिए । ४९ बर्षीय अनिल लिम्बुको श्रीमती शान्ता लावती लिम्बु, दुई छोराहरू प्रकाश सुब्वा लिम्बु, ताङछो हाङ सुब्वा लिम्बु र एक छोरी रेनुसब्वा लिम्बु छन् ।

  • लकडाउनको पिडा-विदेशमा आफन्तको शव, नेपाल ल्याउन पाइएन

    लकडाउनको पिडा-विदेशमा आफन्तको शव, नेपाल ल्याउन पाइएन

    काठमाडौं । कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि चालिएको कदम लकडाउन । यसले अन्ततः समाज र व्यक्तिका धेरै पाटोमा असर पार्न थालेको छ ।

    मानिसहरुले जोहो गरेर राखेको खाद्यान्न सकिन लागेको छ । धेरै मानिसका योजना र सपना चकनाचुर पारिदिएको छ । यो त सामान्य समस्या भयो ।

    अहिले कतिपयलाई आफन्त गुमाउनुको पिडामा मृत शरीर समेत देख्न नपाउने अवस्था लकडाउनका कारण सिर्जना भएको छ ।

    सरकारी तथ्यांक अनुसार गैरआवासीय नेपालीबाहेक विदेशमा कामको सिलसिलामा गएर मृत्यु भएका ६५ जना नेपालीको शव नेपाल आउन नपाएर अलपत्र परेका छन् ।

    त्यो शवलाई न परिवारले उतै अन्तिम संस्कारको अनुमति दिन सक्छन् । किनकी आफन्तको एक झलक हेर्ने मन सबैलाई हुन्छ ।

    न त लकडाउनले बन्द भएको जिन्दगीले यात्रा नै सहज बनाएको छ । विश्वव्यापी कोरोना महामारीका कारण नेपाल पनि यसबाट अछुतो छैन ।

    अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध । यस्तो बेला नेपाल फर्कन रोइकराइ गरिरहेका श्रमिक त जसो तसो बाच्लान, प्राय त्याग गरिसकेका नेपालीको समेत मृत शरीर नेपाल आउन नपाएर रोकिएको हो ।

    नेपाल सरकार पनि लकडाउनमा मृत शरीर नेपाल ल्याउनु भन्दा जहा छन् त्यही अन्तेष्टी गर्न परिवारहरुलाई आग्रह गरिरहेको छ ।

    नेपालमा दैनिक औसतः दुई जना नेपालीका मृत शरीर भित्रने गरेको छ । अर्थातः हरेक साल ६ सय देखि ८ सयसम्म नेपाली नागरिकले विदेशमा ज्यान गुमाउने गरेका छन् ।

    वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार अहिले साउदी अरबमा २५ जना नेपालीका शव नेपाल ल्याउन सकिएको छैन ।

    मलेसियामा १२ देखि १५ जना, यूएईमा ११ जना कतारमा ८ जना र कुवेतमा ६ जना नेपालीको शव रहेको छ । सेसेल्स र दक्षिण कोरियामा पनि एक–एक जना नेपालीको शव रहेको छ ।

  • क्वारेन्टाइनका लागि निशुल्क होटलको ब्यवस्था

    क्वारेन्टाइनका लागि निशुल्क होटलको ब्यवस्था

    न्यूयोर्क/अमेरिका

    कोभिड १९ को बिरामी भएर अस्पताल भर्ना भएका बिरामीलाई क्वारेन्टाइनको ब्यवस्था गरिएको छ । न्युयोर्कमा कोरोना भाईरसका कारण क्वारान्टाईनमा बस्नु पर्ने भएमा निशुल्क होटल ब्यवस्था गरिएको छ । अधिकारले आज एक सुचना जारी गरी क्वारेन्टाइनमा बस्नु पर्ने बिरामीका लागि होटलको नाम र ठेगाना सार्वजनिक गरेको छ ।

    कोभिड १९ पोजेटिभ देखिएपछि परिवारका सदस्यबाट अलग्गै बस्नु पर्ने बिरामीहरुका लागि विषेश बसोबासको व्यवस्था मिलाउन अधिकारले काउन्सिल मेम्बर ड्यानिल ड्रोम र न्यूयोर्क सिटि हस्पिटलसंग मिलेर काम गर्दै आएको थियो ।
    यो निर्देशिका न्यूयोर्क शहरको स्वास्थ्य तथा अस्पताल सेवा न्यूयोर्क सिटि स्वास्थ्य तथा अस्पताल(एच एच) अन्तर्गतका अस्पतालहरुमा मात्र लागु हुन्छ । एचएचका अनुसार यदि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु परेमा सबै खर्च तिरिएको होटेलको कोठाको माग गर्न सकिनेछ । एच एच अन्तर्गतको अस्पतालमा आकस्मिक सेवा (ईमरजेन्सी) मा भर्ना भइ अस्पतालले क्वारेन्टाइनमा बस्न पठाएको र उपचार पछि अस्पतालले घर पठाउन लागेको अवस्थामा यो सेवा लिन सकिनेछ । अस्पतालमा दोभाषेको आवश्यक परेमा ३११ मा फोन गरेर यो सेवा लिनका लागि अनुरोध गर्न सकिनेछ ।
    क्वारान्टाईनका लागि निस्शुल्क होटेलको कोठा सहित खानपिनको पनि व्यवस्था गरिनेछ । त्यसको साथै अन्य रोगको लागि विषेश हेरचाह, होम केयर र स्वभाव बारे स्वास्थ (बिहेबियरल हेल्थ) सेवा पनि उपलब्ध गराईनेछ । तर होटेलमा आईसियू सेवा भने पाईंदैन ।
    अधिकारले यी जानकारीका सुचनाहरु विभिन्न भाषाहरुमा छापेर अस्पतालको ढोकाहरुमा टाँस्न र प्रवेशद्वारमा बस्ने कर्मचारी र सुरक्षाकर्मीहरुलाई पर्चाहरु बाड्न लगाउन पनि अनुरोध गरेको जनाएको छ । ज्याक्सन हाइट स्थित एल्मष्र्ट हस्पिटलमा भने यस बारे तयारी शुरु गरिएको छ । अधिकारलेथप जानकारीका लागि आगामी साता जानकारी मुलक भिडियो बनाउने तयारी गरेको जनाएको छ ।

  • बेलायतमा कोरोनाबाट थप एक नेपालीको ज्यान गयो

    बेलायतमा कोरोनाबाट थप एक नेपालीको ज्यान गयो

    लण्डन । कोरोना भाइरसले विश्वभर करीव एक दर्जन नेपालीको ज्यान गइसकेको छ । यसमा एक नेपाली बेलायतमा थप भएका छन् ।

    बेलायतमा शनिबार पूर्वगोरखा सैनिकको मृत्यु भएको हो । स्जाङजा वालिङ घर भई अहिले बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा निधन भएको पुष्टी भएको छ ।

    उनी ग्रेट वेष्टर्न अस्पताल उपचार्थ भर्ना भएका थिए । मृतक मल्ल सन् २००४ देखि बेलायतमा थिए । उनी छोराबुहारीसगँ बस्दै आएको बताइएको छ ।

    चार दिनअघि रुघाखोकी र पखालाबाट ग्रस्त भई अस्पतालमा भर्ना भएका उनलाई शनिबार अस्पतालले मृत घोषणा गरेको हो ।

    बेलायतमा पछिल्ला दिनमा कोरोनाको संक्रमण तिब्र रुपमा बढिरहेको छ । यूरोपमा स्पेन र इटलीमा केही थामिएको संक्रमण फ्रान्स र बेलायतमा त्रिब रुपमा बढिरहेको छ ।

  • अष्ट्रेलियामा संक्रमित नेपाली निको भए

    अष्ट्रेलियामा संक्रमित नेपाली निको भए

    मेलवर्न । अष्ट्रेलियामा कोरोना भाइरस ९कोभिड—१९० बाट संक्रमित नेपाली निको भएका छन् । अष्ट्रेलियामा कूल ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको थियो ।

    दुई साता अगाडि सिड्नीका ४ र मेलबर्नका ३ नेपालीमा कोरोना देखिएको थियो । त्यसअगाडी तासमेनियामा एक जना नेपालीमा संक्रमण देखिएको थियो । कोरोना संक्रमणमा पर्ने ८ मध्ये ६ जना विद्यार्थी हुन् ।

    संक्रमणपछि उनीहरुलाई आइसोलेसन राखेर उपचार गरिएको थियो । अष्ट्रेलियास्थित नेपाली दूतावासका अनुसार उनीहरु सबै ८ जना निको भएर सामान्य जीवनमा फर्किसकेका छन् ।

    सबै निको भएका कारण अहिले अष्ट्रेलियामा कोरोना संक्रमित नेपाली नरहेको दूतावसले जनाएको छ ।

    अष्ट्रेलियामा करीव १ लाख २० हजार नेपाली रहेको अनुमान छ । त्यसमध्ये ७० हजार विद्यार्थी हुन्।

    आंशिक काम गरेर कलेज शुल्क तिर्नुपर्ने नेपाली विद्यार्थी कोरोनाका कारण भने समस्यामा परेका छन् । अहिले अष्ट्रेलियामा स्टोर र मेडिकल बाहेकका सबै क्षेत्र बन्द भएका कारण नेपालीको रोजिरोटी गुमेको छ ।

  • पैसा कुरेर बसेका झन्डै ६ करोड ५० लाख अमेरिकाबासीले प्राप्त नगर्ने भए अमेरिकी सरकारको राहत रकम

    पैसा कुरेर बसेका झन्डै ६ करोड ५० लाख अमेरिकाबासीले प्राप्त नगर्ने भए अमेरिकी सरकारको राहत रकम

    न्युयोर्क

    अमेरिकी संघिय सरकार मार्फत प्राप्त हुने कोरोना महामारी राहत रकम कुरेर बसेका थुप्रै अमेरिकाबासीले त्यो रकम प्राप्त गर्ने छैनन् ।  शुक्रबारसम्म अमेरिकामा  ४ लाख ७५ हजार अमेरिकन कोरोना संक्रमित र १७ हजारको मृत्‍यु भै सकेको छ भने झन्डै १ करोड ७० लाख मानिसले बेरोजगार  भत्ताको लागि सरकारी निकायमा निबेदन गरेका छँन् ।  कोरोना महामारीमा वार्षिक ७५ हजार डलर कमाईको सिलिङ भित्र पर्नेलाई प्रती ब्यक्ती १२ सय डलर राहत रकम दिने सरकारी घोषणा भए पनि सरकारले तोकेको आम्दानीको मापदण्ड अनुसार योग्य हुँदा हुँदै लाखौं मानिसले त्यो राहत रकम प्राप्त नगर्ने भएका छँन् । ठुलो संख्यामा कलेज पढ्दै गरेका विद्यार्थी,  सोसल सेक्युरिटी नभएका आप्रबासी,केही अपांग ब्यक्तिहरु र भर्खरै डिभोर्स भएका जोडीहरु यो राहतबाट बन्चित हुने भएका हुँन् । महामारीको चपेटामा परेका अमेरिकाबासीहरुलाई दैनिक जिबिकोपार्जनका लागि सहज होस् भनी अघिल्लो महिना नै अमेरिकी कङ्रेसबाट पास भएको राहत  रकम शुक्रबार  सम्म आई आर एसले बितरण  सुरु गरेको छैन ।  आई आर एसले पहिलो चरणमा संन् २०१९ को ट्याक्स  फाईलको विवरण    अनुसार  अप्रिल मध्यबाट राहत रकम बितरण गर्ने जनाएको छ । आई आर एस सेक्रेटरी  स्टिभन मुनचेनका अनुसार पहिलो चरणमा ५ करोड अमेरिकनलाई राहत   रकम पठाईने छ । जसले  संन् २०१९ को ट्याक्स फाईल गर्न भ्याएको छैन उसको हकमा भने संन्  २०१८ को ट्याक्स  विवरणको आधारमा रकम पठाउने बताएको छ ।  महामारीको समयमा राज्यले घर घरमा र ब्यांकको खातामा  पठाउने यो आर्थिक राहतबाट थुप्रै अमेरिकाबासीलाई सहज हुने भए पनि वास्तविक महामारी पिडीत लाखौं अमेरिकाबासी भने यो राहतबाट बिमुख हुने छँन् ।  यो राहत रकम नपाउनेको संख्या अमेरिकामा ६ करोड ५० लाख जती हुने अनुमान गरिएको छ ।  

    १७ बर्ष माथिका कलेज पढ्ने विद्यार्थी :

    यदी १७ बर्ष मुनिका विद्यार्थी आफ्ना अभिभाबकको ट्याक्स फाईलमा आश्रितका रुपमा जनाईएका छँन् उनिहरुको नाममा आउने ५ सय डलर सम्बन्धित विद्यार्थीका नाममा आउने छैन ।  उनिहरुको नाममा आउने उक्त रकम उनको अभिभाबकले पाउने छँन् ।  

    जो १७ बर्ष माथिका छँन् ।  जस्ले आफ्नो ट्याक्स फाईल आँफै गरेको छैन र अभिभाबकले आश्रित जनाएर ट्याक्स फाईल गरेका छँन् ।यस्तो अवस्था भएका लगभग २ करोडका न अभिभाबक न विद्यार्थी  स्वयम् कसैले पनि केही प्राप्त गर्दैनन्   ।  

    अभिभाबक आश्रित अपांग ब्यक्ती : 

    ट्याक्स फाईल गर्दा अभिभाबकहरुले  आश्रितका रुपमा दाबी गरिएका अपांगहरुले छुट्टै त्यो राहत रकम प्राप्त गर्ने छैनन् ।  तर सोसल सेक्युरिटी एडमिनिस्ट्रेसन तथा भेट्रान एफेयर्स मार्फत अपांग सुबिधा लिएर बसेकाहरुले भने यो आर्थिक राहत प्राप्त गर्ने छँन् ।  

    आफ्नो सन्तानको आश्रितमा रहेका ब्रिद्ध ब्रिद्धाहरु :

    सोसल सेक्युरिटी अन्तर्गत रहेका र वार्षिक रुपमा सरकारले राहत प्राप्त गर्न तोकेको आम्दानीको मापदण्ड भित्र पर्ने ब्रिद्ध ब्रिद्धाहरुले संघिय सरकारको यो आर्थिक राहत प्राप्त गर्छन् । तर  आफ्ना सन्तानको आश्रितका रुपमा ट्याक्समा रिपोर्ट भएका ब्रिद्ध ब्रिद्धा    छँन् उनिहरुले त्यो राहत रकम प्राप्त गर्दैनन् ।

    सोसल सेक्युरिटी  नभएका आप्रबासी :

    संघिय सरकारको यो राहत प्राप्त गर्न अमेरिकन नागरिक भने हुनु पर्दैन ।  तर मान्यताप्राप्त सोसल सेक्युरिटी नम्बर भने हुनै पर्छ ।  यसको मतलब ग्रिन कार्ड भएका र एच् – १ बि र एच् – २ ए भिसा भएकाले यो राहत रकम प्राप्त गर्छन् ।  तर गैर आवासिय बिदेशी

    ( नन रेसिडेण्ट एलियन ) आस्थाई कामदारी र गैर कानुनी रुपमा अमेरिका बसोबास गरिरहेकाहरुले यो राहत प्राप्त गर्दैनन् ।  

    संन् २०२० मा जन्मिएका नाबालक : 

    सरकारले संन् २०१८ र २०१९ को ट्याक्स फाईललाई आधार मानेर राहत रकम बितरण गर्ने हुँदा संन् २०२० मा स्वागत गरिएका नवजात सिशुहरुको नाममा रकम प्राप्त हुने छैन ।  

    भर्खरै डिभोर्स  :

    भर्खरै डिभोर्स भएकाहरुको  हकमा पनि संन् २०१८ र २०१९ को ट्याक्स फाईललाई आधार मानेर राहत रकम बितरण गरिने हुँदा हालसाल मात्र डिभोर्स भएका जोडीहरुले प्राप्त गर्ने रकम आई आर एसको रेकर्डमा भएको ब्यांक खातामा रकम जान्छ । त्यसैले डिभोर्स भएका पती पत्नी दुबैलाई छुट्टा छुट्टै रकम आउँदैन । आफुहरु डिभोर्स  भएको जानकारी आई आर एसलाई जानकारी गराउने संयन्त्र आई आर एसमा छैन ।

    ( एन बि सि न्युजमा प्रकाशित रिपोर्ट्लाई उल्था गरिएको हो ) 

  • ओमानका सबै नेपाली सुरक्षित

    ओमानका सबै नेपाली सुरक्षित

    मस्कट । कोभिड १९ संसारका सबैजसो मुलुकमा फैलिएको छ । यसले सबै देशका नागरिकलाई समस्यामा पारेको छ । त्यसमा पनि संकटका बेला आप्रबासी नागरिक तथा कामदार बढी समस्यामा पर्छन् ।

    किनकी स्वाभाविक रुपमा मुलुकहरुको प्राथमिकता आफ्ना देशका नागरिकको सुरक्षा प्रमुख हुन्छ । कोभिड–१९ बाट ओमानमा रहेका नेपाली भने सुरक्षित रहेको पाइएको छ ।

    मस्कटस्थित नेपाली दूतावासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभेटएको भन्दै खुसीको खबर सार्वजनिक गरेको छ ।

    ओमान ठूलो संख्यामा नेपाली कामदार रहेको मुलुक मध्ये एक हो । कोरोना भाइरसबाट ओमानमा ४५७ जना सङ्क्रमित छन् ।

    दुई जनाको मृत्यु भइसकेको छ । ७१ जना निको भएका छन । कोरोनाबाट संसारका अन्य मुलुकमा भने ९ जना नेपालीको ज्यान गइसकेको ।

    विभिन्न मुलुकमा १ सय भन्दा बढी नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

    ओमानले चैत २८ देखि आगामी वैशाख १२ गतेसम्म लकडाउनको घोषणा गरेको छ । यस समयमा अत्यावश्यकबाहेक कुनै पनि काममा घर बाहिर ननिस्कन दुतावासले सबै नेपालीमा आग्रह गरेको छ।

    ओमानमा रहेका तथा बिदामा नेपाल आएका नेपालीको भिसाको म्याद समाप्त भए अनलाइनबाट भिसा थप गर्ने व्यवस्था मिलाएको दूतावासले उल्लेख गरेको छ ।

  • बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

    बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

    मनामा । बहराइनमा रहेक नेपालीमाथि कोरोनाको संक्रमण बढेको छ । यस मुलुकमा मात्र कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको हो ।

    बुधबार थप १० जनामा संक्रमण पुष्टि भएको मनामास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

    यसअघि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

    सोही क्याम्पबाट १० जना नेपालीमा समेत कोरोना संक्रमण पुष्टि भएको दूतावासले उल्लेख गरेको छ ।

    दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनामा कोरोना संक्रमणको परिक्षण गरिएको थियो ।

    जसमध्ये २२ जना नेपालीमा पुष्टी भएको छ । बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ रहेको छ । यहाँ अहिलेसम्म ५ जनाको ज्यान गएको छ ।

    संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर रहेको दुतावासले उल्लेख गरेको छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

    बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागि वैधानिक हुन वा बहराइन छाड्न ३१ डिसेम्बर २०२० सम्मको समय समेत दिएको छ । यहा ठूलो संख्यामा नेपाली कामदार रहेका छन् ।

  • कोरोनाका कारण विदेशमा ८ नेपालीको गयो ज्यान

    कोरोनाका कारण विदेशमा ८ नेपालीको गयो ज्यान

    काठमाडौं । तुलनात्मक रुपमा नेपाल भित्र कोरोनाको संक्रमण नियन्त्रण मै छ । संसारभर करीव ८० हजार मानिसको ज्यान जाँदा नेपाल भित्र मात्र ९ जनामा संक्रमण देखिएको छ ।

    संक्रमितको अवस्था पनि सामान्य छ । तर, नेपाल बाहिर संक्रमण भएका नेपालीलाई भने यस भाइरसले पनि नराम्रोसँग सताएको छ ।

    नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका अनुसार विदेशमा अहिलेसम्म ८ जना नेपालीको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ ।

    अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको संस्थाले जनाएको छ ।

    विदेशमा १ सय भन्दा बढी नेपाली यस भाइरसको संक्रमणमा परेका छन् ।

    नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । बहराइन, पोर्चुगल, स्पेन, यूएईमा बढी नेपाली प्रभावित भएका छन् ।

  • विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चबाट सरकारलाई निर्देशन

    विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चबाट सरकारलाई निर्देशन

    काठमाडौं । सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका नेपालीलाई घर फर्काउन सरकारका नाममा आदेश दिएको छ ।

    विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सर्वोच्चले आदेश दिएको हो ।

    न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेका र नेपाल फर्कन इच्छुक नागरिकलाई स्वदेश फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश दिएको हो ।

    उनीहरुलाई स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राख्न सर्वोच्चले आदेश गरेको हो ।

    अधिवक्ताद्वय मीना खड्का बस्नेत, मनीषकुमार श्रेष्ठलगायतले समस्यामा परेका नेपालीलाई स्वदेश फकार्उनु पर्ने माग गर्दै रिट दायर गरेका थिए ।

    रिटमाथि अन्तरिम आदेश जारी गर्दै अदालतले तत्काल ल्याउन सम्भव नभएमा भने सम्बन्धित देशमै खाना, बस्न र उपचारको व्यवस्था मिलाउन सरकारका नाममा आदेश गरेको छ ।

    खासगरी नेपालको सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र छन । उनीहरुलाई खान, बस्न र उपचारको समेत समस्या छ ।

    अदालतको आदेशपछि सीमानामा रहेका नेपालीले नेपाल आउन चाहे नेपाल ल्याउनु पर्नेछ ।

    नेपाल आउन नचाहनेका लागि भने जहाँ छन्, त्यही व्यवस्थापन गर्नुपर्ने भएको छ ।

    ‘विदेशमा खाना बस्न, र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरूको पहिचान गरी नेपाल फर्कन चाहने इच्छुक नेपाली नागरिकहरूलाई सम्बन्धित मुलुकसँग कुटनीतिक माध्यमबाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्नू’ आदेशमा उल्लेख छ ।

    उक्त कार्य तत्काल सम्भव नभएको अवस्थामा निजहरूलाई तत् तत् स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रवन्ध गरी नागरिकहरूको हकहित रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्नू भन्ने आदेशसमेत अदालतले दिएको छ ।

    विदेशमा रहेका नेपालीको भिसा वा राहदानीको म्याद सकिएको कारणले कुनै समस्या भए सम्बन्धित देशसँग समन्वय गरेर बसाइँ नियमित गर्न पनि अदालतले आदेश दिएको छ । नेपाल र भारत सीमानामा दुई हजार एक सय ४७ नागरिक अलपत्र छन् ।

  • यूएईका युवराजले गरे नेपालीको प्रसंशा, आफ्नै नागरिक सरह व्यवहार गर्ने प्रतिवद्धता

    यूएईका युवराजले गरे नेपालीको प्रसंशा, आफ्नै नागरिक सरह व्यवहार गर्ने प्रतिवद्धता

    काठमाडौं । यूएइका युवराज मोहम्मद बीन जायदले नेपालीको प्रसंशा गरेका छन् ।

    सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्ताका क्रममा उनले नेपाली इमानदार र परिश्रमी रहेको भन्दै प्रसंशा गरेका हुन ।

    युवराज जायदले नेपालीलाई यूएइले आफ्नै नागरिक सरह व्यवहार गर्ने भन्दै उनीहरुको सुरक्षामा ढुक्क हुन समेत प्रधानमन्त्रीलाई आश्वस्त पारेका छन् ।

    प्रधानमन्त्रीले यूएईमा रहेका नेपाली कामदारको सुरक्षा र कोरोनाका कारण उनीहरुको रोजगारी समस्याका सन्दर्भमा त्यहाका राजकुमारसँग आग्रह गरेका हुन् ।

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकको बाहुल्य रहेका मुलुकका सरकार प्रमुखहरुसँग सम्वाद गरी उनीहरुको सुरक्षामा चासो दिइरहेका छन् ।

    यसअघि उनले बहराइनका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका थिए । यूएइमा करीव २ हजार मानिसमा कोरोना भइसकेको छ । त्यसमध्ये अधिकांश आप्रबासी रहेका छन् ।

  • कोभिड–१९ प्रभावितका लागि खोलियो राहत कोष

    कोभिड–१९ प्रभावितका लागि खोलियो राहत कोष

    अमेरिका ।
    कोभिड–१९ का कारण प्रभावित अमेरिकाज क्षेत्र भित्र बस्ने गैर आवासीय नेपालीलाई सहयोग गन भनी एनआरएनए अमेरिकाज क्षेत्रले राहत कोष निर्माण गरेको छ । संघका केन्द्रीय सचिव गौरी राज जोशीको संयोजकत्वमा आर्थिक संकलन परिचालन समिति बनाई क्षेत्रले राहत कोष बनाएको एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले जानकारी दिए ।
    उनका अनुसार धेरैं भन्दा धेरैं सहयोग रकम जुटाउने उद्देश्यले सचिव जोशीको नेतृत्वमा राहत कोष बनाइएको हो । आइतवार अमेरिकाज क्षेत्रको वैठक बसी कोष बनाउने निर्णय गरेको जानकारी दिदैं त्रिपाठीले अमेरिकाज क्षेत्रभित्र पर्ने अमेरिका, क्यानडा, ब्राजिल, चिलि, कोष्टारिकाका कोभिड–१९ प्रभावितलाई सहयोग गरिने बताए । बैठकले कोषमा जम्मा हुन आउने रकम परिचालन गर्दा डुब्लिकेशन हुन नदिनका लागि एनआरएनए एनसीसी मार्फत र एनसिसी नभएको ठाउँमा आवश्यक प्रबन्ध गरेर वितरण गरिने उप क्षेत्रीय संयोजक राम सी पोखरेलले जानकारी दिए ।
    कोभिड १९ प्रभावितहरुको सहयोगका लागि यस अघि नैं एनआरएनए आइसिसी र एनआरएनए एनसिसीहरुले राहत कोष बनाइसकेका छन् । तर अमेरिकाज क्षेत्रीय संयोजक त्रिपाठीले आइसिसीले विश्व भर र एनसिसीहरुले राष्ट्रिय रुपमा सहयोग गर्ने भएकाले क्षेत्रीय रुपमा कोष निर्माणले कुनैं अप्ठ्यारो नपर्ने बरु वृहत ढंगले कोषमा रकम जम्मा हुँदा आगामी दिनमा आवश्यक पर्ने व्यक्तिहरुलाई सहयोग गर्न सजिलो हुने बताए ।

  • अष्ट्रेलियामा रहेका नेपालीबारे शिक्षामन्त्रीको चासो

    अष्ट्रेलियामा रहेका नेपालीबारे शिक्षामन्त्रीको चासो

    काठमाडौं । अस्ट्रेलिया सरकारले ६ महिनालाई समेत खान पुग्ने अवस्था नभए घर फर्कन आप्रवासी विद्यार्थीहरुलाई आग्रह गरिसकेको छ । यस आग्रहपछि अष्ट्रेलियामा रहेको नेपाली विद्यार्थी समेत प्रभावित हुने पक्का छ ।

    किनकी यहाँ पुग्ने अधिकांश विद्यार्थी आफै कमाएर आफै पढ्ने हुन् । अष्ट्रेलियाले संकटमा पहिलो प्राथमिकतामा आफ्नो मुलुकका नागरिक रहने भन्दै यस्तो आग्रह गरेको हो ।

    यससँगै नेपाल सरकारले नि त्यहाँ रहेका नेपालीका अवस्था बुझ्न शुरु गरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका छन्।

    उनले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षा निर्देशन दिएका हुन् ।

    अस्ट्रेलियामा करीव ५८ हजारको संख्यामा नेपाली विद्यार्थीको रहेको अनुमान छ । कोरोना भाइरसको संकट विश्वव्यापी बनेसँगै अहिले हरेक मुलुक समस्यामा परेका छन् । त्यसमा पनि विकसित मुलुकको अवस्था अझै जर्जर बन्दै गएको छ ।

  • नेवा: नख न्यूयोर्कका सल्लाहकार अजयमान छोंच्छुको निधन

    नेवा: नख न्यूयोर्कका सल्लाहकार अजयमान छोंच्छुको निधन

    अप्रिल ४, न्यूयोर्क

    नेवा:नख न्यूयोर्कका सल्लाहकार तथा समाजसेवी अजय मान छोंच्छुको आज साँझ न्यूयोर्कस्थित एल्महर्ष्ट अस्पतालमा ६४ वर्षको उमेरमा असामयीक निधन भएको छ । ज्वरोको कारण निमोनिया भएपछि निजलाई २ हप्ता अघि अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्थामा सुधार आएकोले भोली अस्पतालबाट डिस्चार्ज गरी घर पठाउने तयारी गरिरहेकै अवस्थामा एक्कासी हृदयघात भई दुखद निधन भएको नेवा :नखका अध्यक्ष बिष्णुमान प्रधानले बताए । उहाँको स्वास्थ्यमा सुधार आईसकेको र कोरोनाभाइरस समेत नेगेटिभ रहेकोले परिवार सहित शुभचिन्तक समेत निश्चिन्त थिए ।

    बिगत २५ वर्षदेखि अमेरिकामा बस्दै आएका छोंच्छु टेक्सासबाट ८ वर्ष अघि न्यूयोर्क सरेका थिए । श्रीमती संगीताका साथ न्यूयोर्कको क्वीन्समा वसोवास गर्दै आएका उनी सबै सामाजिक गतिबिधिमा संलग्न हुनुहुन्थ्यो । समुदाय र समाजसेवाको लागि उहाँको योगदान अग्रणी थियो । उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं ।

  • एनआरएनएले सुरु गर्‍यो आर्थिक सहयोग संकलन अभियान

    एनआरएनएले सुरु गर्‍यो आर्थिक सहयोग संकलन अभियान

    अमेरिका

    गैर आवासीय नेपाली संघले नेपाल र नेपाल बाहिर रहेका कोभिड–१९ का कारण प्रभावित नेपालीको सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ । 

    नेपाल सरकारलाई  यस अघिनैं १ करोड सहयोग गर्ने प्रतिवद्वता गरेको संघले त्यस बाहेक पनि एनआरएनए कोभिड–१९ राहत कोषको स्थापना गरी आर्थिक सहयोग संकलन अभियान अगाडि बढाएको हो । 

    संघका अध्यक्ष कुमार पन्तले कोषमा संकलन हुने रकम आवश्यकता अनुरुप नेपाल र नेपाल बाहिर रहेका नेपालीको सहयोगका लागि खर्च गरिने  बताए । 

    संघले एनआरएनए डट ओआरजी वेभसाइटमा गई डोनेट मार्फत तथा एनआरएनए रेस्पेक्टआइएनसी डट नेट वेभसाइटमा गई अनलाईन मार्फत आर्थिक सहयोग गर्न सकिने व्यवस्था मिलाएको छ । साथैं संघले सानिमा बैंकमा खोलेको संघको बैंक खातामा समेत सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ । 

    संघका अध्यक्ष पन्तका अनुसार कोषमा सहयोग संकलनको कार्य तिव्र भइरहेको छ । संघ अन्तर्गत विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुले समेत आर्थिक सहयोग कोष बनाएर समेत ती देशहरुमा आर्थिक सहयोग संकलन गरिरहेको जानकारी अध्यक्ष पन्तले दिए । 

    आर्थिक सहयोग संकलन अभियानवाट यति नैं रकम उठाउने भनी लक्ष्य नराखिएको भएपनि करिव ३ करोड जम्मा हुने अपेक्षा राखिएको संघले जनाएको छ ।

    संघले गैर आवासीय नेपाली संघ दक्षिण कोरिया शाखाले खरिद गरेको करिव १ करोड बढी बराबरको स्वास्थ्य सामाग्री समेत नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ भने पूर्ववत १ करोड सहयोगको प्रतिवद्वता अनुरुप नेपाल सरकारले भने बमोजिम थप आवश्यक सामाग्री पठाइने अध्यक्ष पन्तले जानकारी दिए । 

    संघले निर्माण गरेको कोभिड–१९, एनआरएनए उच्च स्तरीय समन्वय समिकिा संयोजक समेत रहनुभएका एनआरएनए अध्यक्ष पन्तले अहिलेको यो विषम परिस्थितिमा सबैं एक भएर अघि बढ्नुपर्ने बताए । उनले अन्तराष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद् मार्फत विभिन्न देशमा समस्यामा परेका विद्यार्थी देखि सबैं नेपालीलाई आवश्यक सहयोगको कार्य भैरहेको जानकारी दिए । संघको हाल सम्म ८१ देशमा राष्ट्रिय समन्वय परिषद् रहेको छ । 

    विश्वभर करिव ८० लाख गैर आवासीय नेपाली रहेको बताइन्छ । पछिल्लो समय कोभिड–१९ महामारीको प्रकोप बढिरहेको अमेरिका तथा  युरोपका देशहरुमा गैर आवासीय नेपालीको बसोबास बढी रहेको छ । कोभिड–१९ को संक्रमणका कारण ५ जना गैर आवासीय नेपालीको ज्यान गएको छ ।

  • बहराइनमा रहेका नेपालीबारे प्रधानमन्त्रीले राखे चासो

    बहराइनमा रहेका नेपालीबारे प्रधानमन्त्रीले राखे चासो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सिलसिलामा बहराइन पुगेका नेपालीबारे चासो व्यक्त गरेका छन् । कोरोना भाइरस कोभिड १९ को महामारीका कारण प्रभावित भएका नेपालीका सन्दर्भमा प्रधानमन्त्रीले चासो राखेका हुन् ।

    प्रधानमन्त्रीले बहराइनका समकक्षीसँग शनिबार टेलिफोन गरी त्यहाँ रहेका नेपालीहरुको बारेमा चासो व्यक्त गरेको जानकारी गराएका छन् ।

    प्रधानमन्त्री ओलीले आधिकारिक ट्वीटर ह्याण्डल मार्फत् यस विषयको जानकारी दिएका छन् ।

    बहराइनका समकक्षीबाट त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको प्रधानमन्त्रीको भनाई छ ।

    कोभिड १९ का सन्दर्भमा नेपाली श्रमिक बढी रहेका मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्न थालेको समेत प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

    यसले निरन्तरता पाउने उनको भनाई छ । बहराइनमा एक पटक ९ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ ।

    उनीहरु एकै क्याम्पमा बसेको बताइएको छ । सोहीकारण प्रधानमन्त्रीले आफ्ना नागरिकबारे चासो राखेका हुन् ।

  • बहराइनमा एकै क्याम्पका ९ नेपालीमा कोरोना पुष्टी

    बहराइनमा एकै क्याम्पका ९ नेपालीमा कोरोना पुष्टी

    काठमाडौं । बहराइनमा एकै क्याम्पमा बसेका ९ जना नेपालीमा कोरोनाको पुष्टी भएको छ । यसअघि पोर्चुगलमा एकै पटक ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको थियो ।

    बहराइनमा मात्र कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ। बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारको नमुना परीक्षण गर्दा सबैमा कोरोना पोजिटिभ देखिएको छ ।

    क्याम्पमा अरु पनि मानिस भए नभएको भने खुलेको छैन । शुक्रबारसम्म १२ नेपालीसहित २ सय ८६ संक्रमित बहराइनमा फेला परेका छन् । उनीहरुको उपचार रहेको रहेको छ । बहराइनमा नेपाली कामदार ठूलो संख्यामा रहेका छन् ।

  • बस्न गाह्रो भए घर फर्कन अस्ट्रेलियाली प्रधानमन्त्रीको सुझाव

    बस्न गाह्रो भए घर फर्कन अस्ट्रेलियाली प्रधानमन्त्रीको सुझाव

    सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलियामा बस्न मुस्किल भए स्वदेश फर्कन आप्रबासीहरुलाई आग्रह गरेका छन् ।

    खासगरी अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थीलाई उक्त मुलुकमा बस्ने अप्ठेरो भएको भए आफ्नो देश फर्किने प्रबन्ध मिलाउन प्रधानमन्त्रीले सुझाव दिएका हुन् ।

    एक वर्ष समय नपुगेका आप्रबासीले आफ्नो प्रवन्ध आफैले गर्न पर्ने उनले जानकारी दिए । शुक्रबार आफ्नो नियमित प्रभातकालीन सन्देशका क्रममा उनले यस्तो बताएका हुन् ।

    अस्ट्रेलिया आएको एक वर्ष नपुगेका विधार्थीले आफूलाई सहयोग गर्न सक्दैनन् भने आफ्नो देश फर्किन सक्ने उनको भनाई छ ।

    अर्थातः एक वर्ष सम्म विद्यार्थील आफ्नो प्रवन्ध आफै गर्नुपर्ने उनको भनाई छ । उनले आफ्नो सरकारले घोषणा गरेका सुविधा महामारीका बेला आफ्ना नागरिक तथा स्थायी बासिन्दाका लागि भएको समेत स्पष्ट पारेका छन् ।

    अस्ट्रेलियामा रहेका विद्यार्थी नर्सहरुलाई भने कामको अवसर भएको उनले उल्लेख गरे ।

    प्रधानमन्त्री मरिसनले अस्ट्रेलियामा भएका विदेशी पर्यटकहरुलाई पनि समस्या भएमा स्वदेश फर्किने उपयुक्त समय यही भएको उल्लेख गरे । अष्ट्रेलियामा उनको यो घोषणाको भने विरोध भइरहेको छ ।