Category: डायस्पोरा

  • कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु, बेलायतमा सबैभन्दा धेरै

    कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु, बेलायतमा सबैभन्दा धेरै

    लण्डन । कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या ९६ पुगेको छ । यो विश्वभरबाट सङ्कलित तथ्यांकमा आधारित सङ्ख्या हो । विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उल्लेख गरेको छ । एनआरएनएको स्वास्थ्य समितिले शनिवार (१६ मे २०२०) साँझसम्म सङ्कलन गरेको आङ्कडामा यस्तो देखिएको हो ।

    कोरोनाले सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीहरुको संख्या १५ पुगेको छ ।

    यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।

    कोरोना भाइरसका कारणले यो सातामात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेहरुको संख्यामा युकेमा १२, युएईमा ३, साउदी अरबमा २ र नेपालमा १ रहेको स्वास्थ्य समितिले जनाएको छ ।

    डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । तीमध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एशियामा ५ प्रतिशतमा कोरोना संक्रमणमा देखिएको छ । अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन ।

    संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ ।

    विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडाअनुसार ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

    स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ५ सय, अमेरिकामा १ हजार ६ सय, युकेमा १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएईमा २ सय, कुवेतमा ८४, नेपालमा २८१ जना कोरोना संक्रमित छन् ।

    यसैगरी साउदी अरबमा ६ सय ७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अष्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साइप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

  • बेलायतमा कोरोनाबाट मर्ने नेपालीको संख्या ६१

    बेलायतमा कोरोनाबाट मर्ने नेपालीको संख्या ६१

    लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६१ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले यस्तो आंकडा सार्वजनिक गरेको हो । यसमधये ६० जना नेपालीको मृतयु भएको पुष्टी भने त्यहाँस्थित नेपाली दुतावासले समेत गरिसकेको छ । एनआरएनए यूकेका अनुसार अहिलेसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोना भाइरस देखिएको छ ।

    १ सय १५ जना अहिले पनि अस्पतालमा रहेका छन् । ६ सय ३२ जना नेपाली भने लक्षण देखिए पनि घरकै आइसोलेसनमा छन् । उनीहरुको अवस्था सामान्य छ ।

  • जिपि फाउन्डेसनद्वारा न्युयोर्कमा पोषिलो खाद्य सामाग्री नि:शुल्क बितरण

    जिपि फाउन्डेसनद्वारा न्युयोर्कमा पोषिलो खाद्य सामाग्री नि:शुल्क बितरण

    न्युयोर्क

    अमेरिकाको न्युयोर्कस्थित गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोरोना महामारीको कारण पोषणयुक्त खानाको अभाब भएकालाई नि:शुल्क खाद्य सामग्री वितरण गरेको छ । न्युयोर्क सहरको क्विन्सबोरो प्रेसिडेन्ट शारोन लिसँगको सहकार्यमा फाउण्डेशनले निशुल्क खाद्य सामाग्री वितरण गरेको हो । मे १३ बुधबार फाउन्डेसनले न्युयोर्क कुईन्सस्थित आफ्नै कार्यालय अगाडि खाद्य सामाग्री बितरण गरेको हो । फर्स्ट कम फर्स्टको  आधारमा १५० जनालाई ६ फीटको दुरीमा लामबद्ध गराएर खाध्य सामाग्री बितरण गरिएको संस्थाद्वारा जारी प्रेस बिज्ञप्तीमा जानाईएको छ । फाउन्डेसनले बितरण गरेको खाद्य सामाग्री बिभिन्न्न ७ फरक फरक समुदायका मानिसले लिएको समेत बिज्ञप्तीमा जनाईएको छ । निसुल्क खाद्य सामाग्री बितरण  कार्यक्रमको उद्घाटन संस्थाको अध्यक्ष सोमनाथ घिमिरेले निसुल्क खाद्य सामाग्रीको पहिलो बक्स हस्तान्तरण गरेर गरिएको थियो । खाध्य सामाग्री बितरणको साथमा एसेमब्ली मेम्बर माईकल डेनडेक्करद्वारा सहयोग प्राप्त २५ डलरको उबर ईटसका ५० वटा कुपन समेत                                                     बितरण गरिएको संस्थाले जनाएको छ । 

    फाउण्डेशनको निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष सुवर्ण लामा,  सदस्य  छिरिङ्ग राप्के लामा,  सदस्यद्वय प्रेम पौडेल, सुर्य सीमखडा, कमला पन्त, नेजससअ-न्युयार्क का सचिव अनील पाण्डे र  प्रियंका थापा लगायतले स्वयम्सेवीको सकृया भूमिका निर्भाह गरेका थिए ।  

    यसै कार्यक्रममा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमाे, युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका-न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी काेषाध्यक्ष छाेन्जाेम लामा, नेवि सघं अमेरिकाका निवर्तमान संयोजक प्रभात सापकोटा लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । 

    गीरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले क्विन्सबोरो प्रेसिडेन्ट शारोन लि र एसेमब्ली मेम्बर माईकल डेनडेक्करलाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गरेको छ ।

  • विदेशबाट नेपाली फर्काउनेबारे सरकारको स्पष्टोक्ति : भावनासँगै जोखिम पनि छ

    विदेशबाट नेपाली फर्काउनेबारे सरकारको स्पष्टोक्ति : भावनासँगै जोखिम पनि छ

    काठमाडौं । विदेशबाट लाखौं नेपाली घर फर्कने आशमा सरकारको मुख हेरिरहेका छन् ।

    नेपालबाट धमाधम मुलुकहरुले जहाज चार्टर्ड गरी आफ्ना नागरिक फर्काइरहँदा नेपालीले पनि त्यो आश गर्नु नौलो विषय रहेन ।

    तर, सरकारले भने यसलाई जोखिमसँग हेरेर विश्लेषण गरेको छ ।

    सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशमा रहेका नेपालीलाई घर फर्काउनु पर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै त्यसअगाडी जोखिमको विश्लेषण गर्नुपर्ने बताएका छन् ।

    अहिले जुन व्यक्ति जहाँ छ, त्यही बस्दा बढी सुरक्षित हुने भन्दै उनले व्यवस्थापनको तयारी नगरी नागरिक फिर्ता ल्याउँदा त्यसले नित्याउने जोखिमबारे छलफल गर्नुपर्ने बताए ।

    विदेशमा रहेका नेपाली नागरिकलाई सोही मुलुकले सुरक्षित रुपमा राख्ने र नेपालमा रहेका विदेशी नागरिकलाई नेपालले सुरक्षित राख्ने  सहमति समेत भइरहेको उनले जनाए ।

    विनियोजन विधेयकमाथि उठेका प्रश्नको संसदमा बुधबार जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सीमापारि रहेका नेपालीलाई फर्काउनेबारे थप छलफल आवश्यक रहेको बताएका हुन् ।

    सांसदहरूले उठाएका प्रश्नको जवाफमा उनले भने ‘बाहिर बसेकाहरू स्वदेश फर्कन चाहन्छन् भने उनीहरूलाई ल्याऔं भन्नुभएको छ । योसम्बन्धी विषयमा मलाई लाग्छ अलिकति बढी छलफलको आवश्यकता पर्छ । हाम्रा भावनाहरू एक ठाउँमा छन् र हाम्रा कठिनाइहरू पनि हामीले सँगसँगै हेर्नुपर्छ ।’

    मान्छे ल्याउने, लाने भन्ने कुरालाई समग्र स्वास्थ्य जोखिमको आधारबाट विश्लेषण गर्नुपर्ने उनको तर्क रहेको छ । सीमापारिका नेपालीहरूको व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनको भनाई छ ।

  • यूएईमा मंगलबार कोरोनाबाट दुई नेपालीको मृत्यु

    यूएईमा मंगलबार कोरोनाबाट दुई नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरको संक्रमणबाट मंगलबार यूएईमा दुई जना नेपालीको ज्यान गएको छ ।

    त्यहास्थित नेपाली दूतावास स्रोतका अनुसार यूएईको आबुधाबीमा अर्घाखाँचीका ३९ वर्षिय एक पुरुषको ज्यान गएको छ ।

    यूएईकै अलऐनमा अर्का नेपालीको ज्यान गएपनि नेपालको ठेगाना भने स्पष्ट भइनसकेको बताइएको छ ।

    कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अर्घाखाँचीका युवा लामो समय अस्पतालमा उपचारार्थ भर्ना भएका थिए ।

    तर, उनले कोरोनालाई जित्न सकेनन् ।

    उनको निधन भएको बारे कम्पनीले मंगलबार नै परिवारलाई जानकारी समेत गराएको छ ।

    अलऐन अस्पतालमा ज्यान गुमाउने युवाको भनो ठेगाना खुलाइएको छैन ।

    यस मुलुकमा कारोना भाइरसबाट संक्रमितलाई राष्ट्रियता नखुलाई अस्पतालमा भर्ना लिने गरिएको छ । कोरोनाबाट धेरै नेपालीको ज्यान जानेमा यूएईसमेत पर्छ ।

  • कोरोना शुरु भएयता साउदी अरबमा ३१ नेपालीको मृत्यु, एक जनाको कोरोना कारण

    कोरोना शुरु भएयता साउदी अरबमा ३१ नेपालीको मृत्यु, एक जनाको कोरोना कारण

    काठमाडौं । संसारभर कोरोना भाइरसको संक्रमण शुरु भएयता साउदी अरबमा ३१ जना नेपाली नागरिकको ज्यान गएको छ ।

    त्यसमध्ये एक जनाको मृत्युका कारण कोरोना रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जानकारी दिएको छ । ।

    यो मुलुक नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मध्ये एक हो ।

    साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या भने ६७४ पुगेको दूतावासले उल्लेख गरेको छ ।

    साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयलाई उदृत गर्दै दूतावासले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३३६ जना नेपाली संक्रमित छन् ।

    यस भेगको मक्का, मदिना, जेद्दा र जजान लगायतमा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित छन् ।

    संक्रमितमध्ये ११ जना महिला हुन् । संक्रमित मध्ये अधिकांश भने निको भइसकेको दूतावासको भनाई छ ।

    साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२,९२५ पुगेको छ ।

    कूल संक्रमितहरु मध्ये हालसम्म १५,२५७ जना निको भएका छन् । साउदीमा २६४ जना संक्रमितको मृत्यु भएको छ ।

  • आफन्तको शव विदेशमै अन्त्येष्टी गर्ने अनुमति दिए ५० हजार पाइने

    आफन्तको शव विदेशमै अन्त्येष्टी गर्ने अनुमति दिए ५० हजार पाइने

    काठमाडौं । नेपालले अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिवन्ध र कोरोना भाइरसको संक्रमणको डरले मुलुक भित्र जारी लकडाउनका कारण विदेशमा कैयौं नेपालीका शव अलपत्र अवस्थामा छन् ।

    सरकारले यी शवको अन्त्येष्टी विदेशमा होस भन्ने चाहन्छ । किनकी त्यसले शव नेपालसम्म ल्याउन लाग्ने खर्च बच्नेछ ।

    सोहीकारण अहिले सरकारले विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारसँग विदेशमै शव अन्त्येष्टि गर्न अनुमति माग गरेको छ ।

    यसरी अनुमति दिएमा सरकारले परिवारलाई सान्त्वना र राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

    वैदेशिक रोजगार विभागका अनुसार हाल विदेशमा १ सय भन्दा बढी शव छन् ।

    कोभिड १९ लागेर मृत्यु भएका नेपालीको अन्त्येष्टि भने सम्बन्धित मुलुकमै हुन्छ । किनकी त्यस्तो शव नागरिकको स्थायी मुलुकमा लैजाने अनुमति दिइदैन ।

    तर, अन्य कारणले ज्यान गुमाएका नेपालीको शव भने नेपालीले आफ्ना जन्म भुमीमै ल्याएर आफन्तले मुख हेरेर अन्थेष्टी गर्ने चाहना राख्नु स्वाभाविक हो ।

    वैदेशिक रोजगार बोर्डले भने यसरी आफन्तसम्म शव ल्याउन सहजिकरण गर्नुको साटो विदेशमै व्यवस्थापन मिलाउन आग्रह गर्दै आएको छ ।

    विदेशमा कोरोनाबाट मृत्यु भएकाबाहेकको शव परिवारको सहमतिबिना अन्त्येष्टि गर्न मिल्दैन ।

  • नेपाली कामदार फर्काउन यूएइले नेपालसँग माग्यो अनुमति

    नेपाली कामदार फर्काउन यूएइले नेपालसँग माग्यो अनुमति

    काठमाडौं । यूएइले अवैध रुपमा रहेका नेपाली कामदार फर्काउन नेपालसँग अनुमति मागेको छ ।

    उक्त मुलुकमा अवैध रुपमा रहेका र अप्ठ्यारोमा परेका नागरिकलाई स्वदेशमै लैजान आग्रह गरिरहेको छ ।

    तर, नेपालले तत्काल अन्तराष्ट्रिय क्षेत्रबाट नागरिक लैजाने नीति नलिएका कारण यूएइ आफैले नेपालीलाई काठमाडौं ल्याइदिने प्रस्ताव गरेको छ ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई काठमाडौं ल्याउने अनुमति मागेको छ ।

    सोमबार संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी गराएका हुन् ।

    उनका अनुसार दुई वटा विमान आउने जानकारीसहितको पत्र मन्त्रालयमा आएको छ ।

    नेपालमा आन्तरिक तयार नभएका कारण यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था भने छैन ।

    उनकाअनुसार श्रम गन्तव्य मुलुकहरुबाट तत्काल २ लाख १० हजार ८७१ जना नेपाललाई घर फर्काउनु पर्ने अवस्था छ ।

    यो तथ्यांक विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलन भएको हो । यो संख्या भारतबाहेकका मुलुकको मात्र हो ।

    भारतबाट मात्र करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेको तथ्यांक आएको छ ।

    यसअनुसार साँच्चै संकटमा परेकालाई पहिलो चरणमा नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा तयारी समेत थालिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

    भारतले मंगलबारदेखि रेल सेवा शुरु गर्दैछ । त्यसपछि नेपालको सीमा क्षेत्रमा तत्काल ठूलो संख्यामा नेपाली आइ पुग्नेछन् ।

    त्यसबेला नेपाली मात्र नआएर, उनीहरुको साथमा कोरोना पनि आउने निश्चित छ । किनकी अहिलेसम्म नेपालमा समुदायमा कोरोना सरेको छैन ।

    भारतबाट नेपाल आएका र भारतीय नागरिकमै बढी कोरोना देखिएको छ । यसबाहेक तेस्रो मुलुकबाट आउने नेपालीमा कोरोना देखिएको छ ।

  • कुवेतमा लगातार २० दिन कर्फ्यु

    कुवेतमा लगातार २० दिन कर्फ्यु

    काठमाडौं । कुवतेमा आइतबारबाट लगातार २० दिन कर्फ्यु आदेश जारी भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि कुवेत सरकारले यस्तो आदेश जारी गरेको हो ।

    कर्फ्युका कारण यहाँ कार्यरत हजारौं नेपाली नागरिक समेत प्रभावित हुने भएका छन् । कुवेत सरकारको गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १० मेदेखि ३० मे २०२० सम्म पूर्ण कर्फ्यु लागू गर्ने निर्णय गरेको थियो ।

    यसको कार्यान्वयन आइतबारदेखि शुरु भएको छ । पूर्ण कर्फ्यु लगाइएको समयमा कोपरेटिभ सोसाइटी, खाद्यान्‍न आपूर्ति गर्ने तथा ग्यास सिलिन्डर वितरण गर्ने पसल भने खुला नै हुनेछन् ।

    सामान्यतया मानिसहरु हिड्न पाउने छैनन् । तर, अत्यावश्यक कामका लागि साढे ४ बजेपछि दुई घण्टाको समय छुट्याइएको छ ।

    उक्त समयावधिमा आफू बसोबास गर्ने क्षेत्रभित्र कार वा अन्य सवारीसाधनको प्रयोग नगरी स्वास्थ्य सम्बन्धी पूर्वसावधानीका सर्तहरू तथा मापदण्ड पुरा गरी हिड्न सकिने भएको छ ।

    कुवेतमा सोमबार विहानसम्म ५८ जनाको ज्यान गइसकेको छ । यस मुलुकमा ८ हजार ६८८ जना संक्रमित रहेको कुवेत सरकारले जनाएको छ ।

    यसमुलुकमा करीव ३० हजार नेपाली रहेका छन् ।

  • नेपालबाहिर ७८ जना नेपालीको कोरोनाका कारण मृत्यु

    नेपालबाहिर ७८ जना नेपालीको कोरोनाका कारण मृत्यु

    काठमाडौं । कोरोना भाइरसका विश्वव्यापी महामारीका बीच नेपाल तुलनात्मक रुपमा सुरक्षित छ ।

    किनकी अहिलेसम्म १ सय १० जनामा संक्रमण पुष्टी भएपनि ३२ जना डिस्चार्ज भइसकेका छन् । अन्यको पनि स्वास्थ्य अवस्था सामान्य छ ।

    अधिकांशलाई कोरोनाको लक्षणसम्म देखिएको छैन । तर, नेपाल बाहिर भने नेपालीले ज्यान गुमाउने संख्या निरन्तर बढ्दो रहेको छ ।

    कोरोना भाइरसका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उल्लेख गरेको छ ।

    विश्वभर पाँच हजार ५ सय ८१ जना नेपालीमा कोरोना संक्रमण भएको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी नेपाली बेलायतमा ज्यान गुमाउन बाध्य भएका छन् ।

    यहाँ अधिकांश पूर्वगोर्खा सैनिकको ज्यान गएको छ । यस मुलुकमा ५१ जना नेपालीको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १५ पुगेको छ ।

    समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जना नेपालीको ज्यान गएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा ६ जना र आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक, एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

    कोरोना भाइरसका पछिल्लो एक सातामा ५ जना नेपालीले ज्यान गुमाएका हुन् । बेलायतमा २ तथा स्वीडेन, बहराइन र युएईमा एक,एकजना नेपालको ज्यान गएको हा ।

    नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् ।

    त्यसमध्ये २ हजारभन्दा बढी नेपालीले कोरोनालाई जित्न सफल भएका छन् । तर, पछिल्लो केही सातायता विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति भने क्रमः कम हुँदै गएको छ ।

    यो साता फिनल्याण्ड, र स्वीडेनमा नेपालीहरुमा नयाँ संक्रमण देखिएको संघले जनाएको छ ।

    विश्वका ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ । २० मुलुकमा रहेका नेपालीहरु कोरोना भाइरस बाट संक्रमित छन् ।

    स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपालमा १०९, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसैगरी स्पेन र अष्ट्रेलियामा १२\१२ जना तथा जापान र क्यानडामा १०\१० जना नेपाली संक्रमित छन् ।

    बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५ तथा जर्मनी र फिनल्याण्डमा ४\४ जना नेपालीलाई कोरोना पुष्टि भएको छ ।

    यसैगरी साइप्रस र न्युजिल्याण्डमा ३\३ जना, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा २\२ जना तथा म्यानमार र फ्रान्समा १\१ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएनएले जनाएको छ ।

  • नेपाल आदिवासी जनजाती महासंघ अमेरीका, फिप्नाद्वारा नेपाल सरकारको भर्सना गर्दै प्रेस विज्ञप्ती जारी

    नेपाल आदिवासी जनजाती महासंघ अमेरीका, फिप्नाद्वारा नेपाल सरकारको भर्सना गर्दै प्रेस विज्ञप्ती जारी

    मे ८, २०२०, न्युयोर्क

    संसारभर व्याप्त कोभिड- १९ संकटको समयमा राज्यले नागरिकको आवश्यक संरक्षण नगरेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना) ले सशक्त प्रेस विज्ञप्ती जारी गरेको छ । महासंघका अध्यक्ष लोक चेम्जोङ्को नामबाट जारी विज्ञप्तीको पूर्णपाठ;

    आदरणीय जनसमुदायमा हार्दिक अभिवादन 

    नेपाल बहुभाषीक, बहुजातीय, बहुसास्कृतिक, विविधतायुक्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था भएको मुलुक हो । नेपालको वर्तमान अवस्थामा १२३ मातृभाषाहरू बोलिने गर्दछन् । ती सबै नेपालको राष्ट्रिय भाषाहरू हुन । आ-आफ्नै समुदाय, क्षेत्रहरूमा हजारौं हजार वर्षदेखिको खोज अनुसन्धान हुँदै विकास भएको भाषाहरू राष्ट्रको सम्पत्ति हो । त्यसलाई राज्यले समान रूपमा संरक्षण र सम्बर्धन गर्नु राज्यको दायित्व हो । त्यसमा एकलाई काखा र अर्कोलाई पाखाको व्यवहार राज्यबाट हुनु हुदैन । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन  परिषद्को वि.स २०७६/१०/२ मा  बसेको बैठकको निर्णय बमोजिम संस्कृत विषयलाई २०७७ को शैक्षिक सत्रदेखि कक्षा १ मा पठनपाठन थाल्ने र आवश्यक परे सबै तहका कक्षामा पठनपाठन सञ्चालन गर्ने, राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को यस निर्णयप्रति नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाको गम्भिर ध्यानाकर्षण भएको छ । सरकारको यसप्रकारको एकल जातीय भाषालाई मात्र संरक्षण गरेको प्रति घोर निन्दा एवं भर्त्सना गर्दछौं ।

    नेपालको संविधान २०७२, मौजुदा कानून र परिवर्तनको मर्म र भावन विपरीत शिक्षा मन्त्रालय र त्यस अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले संस्कृत विषयलाई मात्रै काखी च्यापेर नेपालका अरु भाषाहरूलाई विभेद गर्दै कक्षा १ देखि देशभरका विध्यालयहरूमा एकै साथ ऐच्छिक विषयको रुपमा पठनपाठन गर्ने गराउने, मृत प्राय: संस्कृत भाषालाई सबैभाषी विद्यार्थीहरूमाथि जबर्जस्ती लाद्ने र एकल जातीय–नश्लीय–भाषिक पक्षपोषण गर्ने गराउने यसखाले कदमप्रति हामी घोर निन्दा एवं भर्त्सना गर्दछौं । संविधानमा व्यवस्था भए बमेजिम माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहको सरकारको अधिकार क्षेत्रमा रहेको प्रष्ट हुँदाहुँदै संघ(केन्द्र)को पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले चालेको कदम र गरेको कार्य असंवैधानिक र संघीयताको सिद्धान्त र अभ्यास विपरित रहेको छ।

    नेपालका बोलिने सबै मातृभाषा तथा रैथाने भाषाहरूमा पठनपाठन गर्न गराउन पाउनु संविधान, कानून, नेपाल सरकारले अनुमोदन गरेको र पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय कानूनी दस्तावेजहरूले प्रत्याभूत गरेको भाषिक मानवअधिकारको सवाल हो । कुनै एउटा भाषा त्यो पनि सरकारले सदिऔदेखि  राज्यको ढुकुटी खर्चेर पनि जो मृतप्रायः छ र वक्ता संख्या नगन्य छ त्यस संस्कृत भाषालाई मात्रै फेरि पनि शाहीकालीन, राणाकालीन र अझ पञ्चायती शासन व्यवस्थामा झैँ पक्षपोषण गरिनु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको धज्जी उडाउनु हो । देशमा भएको परिवर्तनको खातिर समानताको लडाईमा शहिदभएका महान शहिदहरूको वलिदानीको खिल्ली उडाउनु हो । जनआन्दोलन, जनयुद्द, मधेश विद्रोह, आदिवासी आन्दोलनको माग र सम्झौता विपरीत हो । यो वास्तवमा असम्वैधानिक कदम हो । त्यसकारण यो असम्वैधानिक र असमानतामा आधारित समानुपातिक समावेसीकरणको सिद्धान्त विपरीत निर्णय तत्काल फिर्ता लिन सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौ । नेपालको संविधान २०७२, आदिवासीको अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ र आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र-२००७, शिक्षा ऐन २०२८ (संशोधन २०७५)को स्पिरिट बमोजिम नेपालमा बोलिने सबै रैथाने मातृभाषाहरूको पाठ्यक्रम, पाठ्यपुस्तक तयार गर्न गराउन र पठनपाठनको व्यवस्था गर्न गराउन संघ, प्रदेश र स्थानीय तहको सरकारलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) जोडदार माग गर्दछौ ।

    संसारलाई हायलकायल  पार्नेगरी महामारीको रूपमा फैलिएको कोरोना भाईरस covid-19 को संक्रमणवाट मानवजातिमा अपुरणीय क्षति भईरहेको छ । यो वेला सरकारको ध्यान नेपाली जनतालाई सुरक्षित गरी कम क्षति हुने उपायहरूमा सक्रियहुन जरूरी छ । हामी सधै सरकारको सकारात्मक निर्णयको पक्षमा छौं । तर यस्तो राज्य आफैले एकल जातीय, एकल भाषालाई मात्र संरक्षण हुने निर्णय गरेर राज्य नै एकल जातीय नश्लीय निर्णय गर्दै अगाडि बढ्नु दु:खद र खेदजनक छ ।

    कोरोना विरूद्धको अभियानमा हामी सधैं सँगसँगै छौ ।

    जय मातृभूमि, आदिवासी अभिवादन !

    लोक चेम्जोङ 

    अध्यक्ष

  • मलेसियाबाट २६ सय जना नेपाली घर फर्कन आतुर

    मलेसियाबाट २६ सय जना नेपाली घर फर्कन आतुर

    क्वालालाम्पुर । मलेसियाबाट घर फर्कन करीव २६ सय नेपाली आतुर रहेको पाइएको छ । मलेसियास्थित नेतापली दूतावासले गरेको अनलाइन तथ्यांक संकलनका क्रममा २६ जनाले घर फर्कन चाहेको जानकारी गराएका छन् ।

    शुक्रबारसम्म २६ सय जना घर फर्कन आतुर रहेको पाइएको छ । दूतावासले आफुलाई परेको समस्यासहित फारम भर्न आग्रह गरेको थियो ।

    मलेसियामा २० जना नेपाली नागरिकलाई कोरोना भाइरस समेत पुष्टी भइसकेको छ । मलेसियाले सबै गैरकानूनी कामदारलाई घर फर्कन आदेश समेत दिइसकेको छ ।

    मलेसियामा सङ्क्रमित नेपालीमध्ये तीन जना निको भइसकेका छन् । अन्य व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ ।

    उनीहरुको उपचार खर्च मलेसियन सरकारले बेहोरिरहेको छ । मलेसियामा रहेका सबैले अनलाइनमार्फत समस्या टिपाउन सकिने गरी सर्वेक्षण थालिएको हो ।

    यसबाट मलेसियामा रहेका नेपालीको यकिन तथ्यांक समेत प्राप्त हुने अपेक्षा गरिएको छ ।

    जनवरी १ देखि भिसा सकिएर मलेसियामा ओभरस्टे भएका व्यक्ति मलेसियाले लकडाउन खोलेको १४ दिनभित्र उक्त मुलुक छाड्नुपर्छ ।

    मलेसियाले आफ्नो कानून अनुसार मुलुक छाड्न भनेको छ । तर, नेपालमा भने तत्काल हवाई उडान खुल्ने सम्भावना छैन ।

    जसले गर्दा धेरै नेपाली समस्यामा पर्ने देखिएको छ । मलेसियामा मे १२ सम्म मात्र लकडाउन तोकिएको छ ।

  • म्यानह्याटनमा मनाउँदै आएको ‘नेपाल डे परेड’ यो बर्षका लागि स्थगित गरियो

    म्यानह्याटनमा मनाउँदै आएको ‘नेपाल डे परेड’ यो बर्षका लागि स्थगित गरियो

    न्युयोर्क      

    प्रत्येक बर्ष ‘मे’ महिनामा न्युयोर्कमा आयोजना गरिंदै आएको ‘नेपाल डे परेड’ कार्यक्रम यो बर्ष स्थगित हुने भएको छ ।  सन् २०१६ देखि नियमित रुपमा न्युयोर्क  राज्यको म्यानह्याटन सहरमा बिभिन्न झाँकीहरु प्रदर्शन सहित आयोजना गरिंदै आएको परेड कोरोना महामारीका कारण यो बर्षको लागि स्थगित गरिएको हो ।  आयोजकका तर्फबाट निमा शेर्पा र अनन्त सुबेदीद्वारा ६ तारिख शुक्रबार जारी बिज्ञप्ती मार्फत सन् २०२० को लागि ‘नेपाल डे परेड’ रद्ध गरिएको बताईएको हो । आयोजकद्वारा परेड रद्ध गरिएको जानकारी गराउँदै जारी बिज्ञप्तीमा भनिएको छ; “डायस्पोराका नेपालीहरुको पहिचान र गौरवका रुपमा सन् २०१६ देखि न्युयोर्क सहरमा नेपालको गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पन्न हुँदै आएको नेपाली डायस्पोराको शान र पहिचानको रुपमा स्थापित भएको ‘नेपाल डे परेड’ हामी नेपालीहरुलाई प्रतिनिधित्व गर्ने एउटा ऐतिहासिक कार्यक्रम हो । नेपाली संस्कृतिको विविधता र सम्पन्नता झल्काउने यो कार्यक्रम यस वर्षको लागि मे १७ का दिन तय गरिएको थियो । तर यस वर्ष विश्व नै कोभिड-१९ को महामारीबाट संक्रमित भएको हुँदा न्युयोर्क राज्यका गभर्नर तथा न्युयोर्कका मेयरले जारी गरेको कार्यकारिणी निर्देशन अनुसार यस वर्ष ‘नेपाल डे परेड-२०२०’ आयोजना नहुने व्योहोरा डायस्पोराका सम्पूर्ण नेपालीहरुमा अवगत गराउँदछौं अर्थात् नेपाल डे परेड-२०२० स्थगित गरिएको दु:खका साथ जानकारी गराउछौ।” 

    बिज्ञप्तीमा कोरोनाका कारण ज्यान गुमाउने डायस्पोराका नेपालीहरु प्रति समबेदना समेत ब्यक्त गरिएको छ । नेपाल डे परेड न्युयोर्क  म्यानहाटनको सडकमा नेपाली पोशाक नाँचगान र बिभिन्न्न झाँकी प्रदर्शन सहित मनाउने गरिएको छ भने परेडमा भाग लिन बिभिन्न्न राज्यमा बसोबास गर्ने नेपालीहरु भेला हुने गरेका छन्  ।

  • बिदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर : देउवा

    बिदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर : देउवा

    काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले बिदेशमा अफ्ठ्यारो अवस्थाका रहेका नेपालीलाई उद्दार गर्न सरकारसँग माग गरेका छन् ।

    शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले विदेशमा नेपाली कोरोनाबाट प्रताडित रहेको र अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तव्य रहेको बताए ।

    उनले यस सम्बन्धि आवश्यक ब्यवस्थापनको योजना निर्माण गरी संसदमा यथासिघ्र पेश गर्न र उद्दार थाल्न माग गरेका छन् ।

    देउवाले कोरोनाको परिस्थिति विश्लेषण गर्दै गम्भीर रुपले अघि बढ्न समेत सरकारलाई सुझाव दिए । उनले कोरोनाको विश्वव्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरूको गहिरो समीक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन माग गरेका हुन् ।

     

    कोरोना संक्रमित भई उपचाररत नेपाल भित्रका सबै नेपाली र विभिन्न देशमा रहेका तीन हजारभन्दा बढी नेपालीको स्वास्थ्य लाभको कामना समेत देउवाले गरे ।

    उनले स्वास्थ सामग्री अभावका बावजुद उच्च मनोबल र उच्च मानवीय भावना साथ ‘फ्रन्ट लाइन’ मा कार्य गरिरहेका स्वास्थकर्मीको उच्च कदर गर्दै उच्च सम्मान प्रकट गर्ने बताए ।

    अहोरात्र जिम्मेवारी निभाइरहेका सुरक्षाकर्मी, सञ्चारकर्मी एवं सफाइको क्षेत्रमा निरन्तर कार्य गरिरहेका सफाइकर्मीको समेत उनले प्रशंसा गरेका थिए ।

    कोरोनाका कारण उत्पन्न अनेक जटिलता असीम धैर्य साथ सामना गरिरहेका स्वदेश र विदेशका समस्त नेपालीको धैर्यको प्रशंसा गर्दै आजको परिस्थितिलाई संयम र एकता साथ सामना गर्न समेत उनले आह्वान गरेका छन् ।

     

    उनले लकडाउनले श्रमिक, बेरोजगार र विद्यार्थीलाई सबैभन्दा संकटमा पारेको उल्लेख गरे । सरकारले पर्याप्त राहत नदिँदा हजारौं श्रमिक पैदल हिँडेर गाउँ फर्किएको उनको भनाई छ ।

    सुकुम्बासीलाई जाउलो पुर्‍याउने तत्कालीन दायित्व बिर्सेर सरकारले यो बेला सुकुम्बासी आयोग गठन गर्नुको तर्क नभएको समेत बताए ।

    श्रमिक, बेरोजगार, कृषक, डेरा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन व्यवसायीदेखि साना व्यापारी हुँदै उद्योगी व्यवसायीसम्मलाई विविध ढंगले राहत दिने बृहत्तर प्याकेज ल्याउन उनले आग्रह गरे ।

     

    सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरीत दुईवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गरेको आरोप उनले लगाए ।

  • साउदी अरबमा ४६ जना नेपालीमा देखियो कोरोना

    साउदी अरबमा ४६ जना नेपालीमा देखियो कोरोना

    काठमाडौं । साउदी अरवमा ४६ जना नेपालीमा कोरोना भाइरसको पुष्टी भएको छ । साउदीको जेद्दा क्षेत्रमा मात्र ४१ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण भएको त्यहास्थित नेपाली दूतावासले जनाएको छ ।

    उनीहरुमध्ये ६ जना भने निको भएर स्वस्थ बनिसकेका छन् । अन्यको अवस्था समेत सामान्य रहेको बताइएको छ ।

    दूतावासले सबैको स्वास्स्थ्य अवस्थाबारे जानकारी लिइरहेको बताएको छ । साउदीमा नेपालीसहित कुनै पनि विदेशी नागरिकलाई त्यहाको सरकारले उपचार र अन्य सुविधामा भने भेदभाव गरेका छैन ।

    सङ्क्रमित ४६ मध्ये ११ जना निको भएका छन् ।

    साउदीमा कोरोना अस्पतालमा भर्ना गर्दा राष्ट्रियता नखुलाइएका कारण कुनै मुलुकका कति नागरिक संक्रमित छन् भन्ने यकिन तथ्यांक भने सार्वजनिक भइसकेको छैन ।

  • बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २४५ पुग्यो

    बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २४५ पुग्यो

    काठमाडौं । बहराइनमा कोरोनाबाट संक्रमित नेपाली नागरिकको संख्या २ सय ४५ पुगेको छ । त्यहास्थित नेपाली दूतावासले यसको पुष्टी गरेको हो ।

    रोजगारीका सिलसिलामा बहराइन पुगेका करीव ३० हजार नेपालीमध्ये अहिलेसम्म २४५ मा कोरोना भाइरस संक्रमण पुष्टी भइसकेको छ ।

    दूतावासका अनुसार मंगलबार रातिसम्म कोरोना संक्रमणसँग जुधिरहेका नेपालीको संख्या अहिेलसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    बहराइनमा हालसम्म ३७ सय २० जना कोरोना संक्रमित पुगिसकेका छन् । आठजनाको ज्यान गइसकेको छ ।

    एक जनाको अवस्था भने गम्भीर रहेको बताइएको छ । नेपालीको भने स्वास्थ्य अवस्था सामान्य रहेको दूतावासको भनाई छ ।

    यस मुलुकले अवैधानिकरुपमा बसिरहेका नेपालीसहित आप्रवासीलाई देश छाड्न ७ अप्रिलदेखि लागू हुनेगरी ३१ डिसेम्बर २०२० सम्मको अवसर समेत दिएको छ।

    बहराइनमा अहिले सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन पाइदैन । घर बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्छ ।

    बहराइन सरकारले सबै नेपालीलाई आफ्ना नागरिकसरह नै उपचार गरिरहेको दूतावासले जनाएको छ ।

    दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन समेत आग्रह गरेको छ ।

    समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिएर समस्या समाधान गर्न सहजीकरण भइरहेको दूतावासको भनाई छ ।

  • कोरोना भाइरससँग जुध्न न्यूह्यामसरमा सामुदायीक सकृयता, पिपिई देखि नगद राहतसम्म वितरण

    कोरोना भाइरससँग जुध्न न्यूह्यामसरमा सामुदायीक सकृयता, पिपिई देखि नगद राहतसम्म वितरण

    प्रभात भट्टराई/न्यू ह्यामसर

    कोरोना भाइरस संक्रमणसँग जुध्न न्यू ह्यामसरका नेपालीहरुले समुदाय केन्द्रित गतिविधीमा जोड दिएका छन् । राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था न्यू ह्यामसर नेपाली समाज एवं गैर आवासीय नेपाली संघ अमेरिका, न्यू ह्यामसर च्याप्टरको अगुवाइमा जनचेतना अभिबृद्धि देखि अत्यावश्यक स्वास्थ्य सामग्री वितरणसम्मका कार्यक्रम सञ्चालन गरिएको हो ।

    भाइरस संक्रमण एवं त्यसको आर्थिक प्रभाव विरुद्ध जुध्न समाजको अगुवाइमा राज्यमा स्थापित सबै नेपाली संघ संस्थाका प्रतिनिधी एवं सामाजीक अगुवाहरु सम्मिलित टाष्कफोर्स गठन गरिएको छ । टास्कफोर्सले आफ्नो स्रोतबाट एवं राज्य र स्थानीय सरकारसँग समन्वय गरि अपरिहार्य स्वास्थ्य उपकरण समुदायमा वितरण गरेको हो ।

    संक्रमणको सुरुवाती चरणमा समाजले राज्यमा रहेका नेपाली स्वास्थ्यकर्मीसँग छलफल आयोजना गरि कोभिड १९ बाट बच्ने उपायबारे सचेतना अभिबृद्धि कार्यक्रम सञ्चालन गरेको थियो । राज्यमा अहिलेसम्म तीन जना नेपालीलाई संक्रमण देखिएको छ । उनीहरुमध्ये दुईजना स्वस्थ भइसकेका छन् भने एक जना आइसोलेसनमा रहेका छन् । कसैले घरमा आइसोलेसनको व्यवस्था गर्न नसके सिमित संख्यामा आइसोलेसन कक्ष उपलब्ध गराउन समुदायका मनकारीहरु तयार रहेको समाजका अध्यक्ष सोम गुरुङले जानकारी दिए ।

    साथै रोजगारी गुमाएका एवं सामाजीक सुरक्षा नम्बर नभएका विद्यार्थीहरुलाई समाज अन्तर्गतको आपतकालिन राहत कोषबाट आर्थिक सहायता वितरण सुरु गरिएको छ । कोष संयोजक इश्वरी भट्टका अनुसार अहिलेसम्म १० जना एफवान भिषामा रहेका विद्यार्थी टाष्कफोर्सको सम्पर्कमा आएका छन् । उनीहरुमध्ये तीन जनालाई ३०० डलरको दरले नगद सहयोग प्रदान गरि सकिएको छ भने चार जनाले आफुहरुको आर्थिक अवस्था सन्तोषजनक रहेको कारण राहत आवश्यक नपरेको बताएका छन् । बाँकी तीन विद्यार्थीलाई चाँडै राहत रकम उपलब्ध गराइने भट्टले जानकारी दिए । स्थानीय विद्यार्थीहरुलाई सहयोग पुर्याउनु अगावै समाजले लुइजियानाबाट आएका एक नेपाली विद्यार्थीलाई खाद्यान्न एवं नगद सहयोग गरेको गरेको थियो ।

    टाष्कफोर्सले सिनेटरहरु जीन सिहिन, म्यागी हसन , राज्यका गभर्नर क्रिस सुनुनु एवं म्यानचेष्टर सिटी मेयरको कार्यालयसँग समन्वय गरी व्यक्तिगत सुरक्षा सामग्री जुटाउँदै आएको छ । गभर्नर कार्यालय अन्तर्गतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले श्रृङ्खलाबद्ध रुपमा नेपाली सामुदायीक संस्थाहरुलाई माष्क, पञ्जा, ह्याण्ड सेनिटाइजर लगायतका सुरक्षा सामग्री उपलब्ध गराएको छ । यसरी जुटाएको सामग्री एक हजार बढि नेपालीहरुलाई उपलब्ध गराइएको टाष्कफोर्स एवं समाजका महासचिव माधव गुरुङले विश्वन्यूजलाई बताए । राज्यमा बसोबास गर्ने नेपाली महिलाहरुले घरैमा मास्क बनाएर समेत समुदायमा वितरण गरेका थिए ।

    नेपालीहरुको बाक्लो वस्ती रहेको म्यानचेष्टर, हुक्सेट, कंकर्ड, सिकोष्ट/डोभर लगायत क्षेत्रबाट स्वयं सेवकहरुले स्वास्थ्य सामग्री वितरण गरेका छन् । अश्वस्थता या असक्तताको कारण तोकिएको स्थानमा स्वास्थ्य सामग्री लिन आउन नसक्नेलाई घरैमा पुगेर सेवा दिने प्रवन्ध मिलाइएको समाजका अध्यक्ष गुरुङको भनाइ छ ।

    टाष्कफोर्सले न्यू ह्यामसर मात्र नभइ अन्य अमेरिकी राज्यका नेपालीसँग पनि सहयोग आदान प्रदान गरि रहेको उनले बताए । ‘हामीले अमेरिका भर नेपाली बसोबास गरेको सबै ठाउँबाट सूचना आदान प्रदान गरि रहेका छौँ , उनले भने – त्यस अनुरुप छिमेकी राज्यमा बसोबास गर्ने नेपालीहरुलाई सकेको अन्य सहयोग पनि गर्दैछौँ ।’ न्यू ह्यामसरभन्दा धेरै संक्रमण फैलिएको मासाचुसेट्सका केही संक्रमित नेपालीलाई चिकित्सकको सम्पर्कमा पुग्न प्राविधिक सहयोग एवं केहीलाई थर्मो मिटर , अक्सी मिटर लगायतका स्वास्थ्य उपकरण उपलब्ध गराइएको उनले जानकारी दिए ।

    टाष्कफोर्सले स्वास्थ्य सहायताका अलावा अमेरिकी सरकारले प्रदान गरेको स्टिमुलेसन चेक, बेरोजगार बीमा आदी आवेदनमा समेत राज्यका नेपालीहरुलाई प्राविधिक सहयोग उपलब्ध गराइ रहेको छ । हरेक शुक्रबार टाष्कफोर्सको बैठक राखेर नयाँ रणनीति एवं कार्यनीति तर्जुमा गर्ने गरिएको समाजका अध्यक्ष गुरुङको भनाइ छ ।

  • विदेशमा नेपाली समस्यामा छन्, स्वदेशमा व्यवस्थापन चूनौतिपूर्ण

    विदेशमा नेपाली समस्यामा छन्, स्वदेशमा व्यवस्थापन चूनौतिपूर्ण

    काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकमाथि समस्या बढ्दै गएको छ ।

    खासगरी रोजगारीको सिलसिलामा गएका धेरै नेपाली नागरिकमाथि रोजगारी, स्वास्थ्य तथा अन्य कानूनी समस्याहरु शुरु भइसकेका छन् ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारी बढ्दै गएका कारण विदेशमा नेपालीहरु माथिको समस्या बढ्दै गएको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उपस्थित भई मन्त्री ज्ञवालीले अहिलेकै अवस्थामा विदेशमा काम गर्ने १० देखि ३० प्रतिशत नेपालीको रोजगार गुम्न सक्ने जानकारी गराएका हुन् ।

    महामारी सिमित अवधि र सिमित क्षेत्रमा रहने अनुमान विपरित यसको फैलावट फराकिलो भएको छ ।

    जसले गर्दा विदेशमा कामदार र विद्यार्थीहरुमाथि समस्या बढेको छ । अर्कोतर्फ हरेक मुलुकले पहिलो प्राथमिकता आफ्ना नागरिकलाई दिने भएकाले समेत आप्रबासी नेपालीमाथि चूनौति बढ्दै गएका हुन् ।

    महामारीका कारण नेपालीको भिसा अवधि सकिने, श्रमिकको कम्पनीसँग करार अवधि सकिने र अवैध हुन पुग्दा कानूनी समस्या देखिने खतरा झन बढेको उनको भनाई छ ।

    कतिपय देशबाट कामदार कटौती गर्ने र रजिस्ट्रेसन सुरु गरेको जानकारी आएको समेत उनले बताए ।

    विदेशमा रहेका संक्रमित नेपालीको भने अहिलेसम्म निःशुल्क उपचार भइरहेको उनको भनाई छ । तर ती देशमा संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालले घरमै बसेर आराम गर्न सल्लाह दिइरहेको छ । यसले अझ बढी जोखिम निम्त्याएको हो ।

    कोरोना महामारीका कारण विदेशमा नेपाली समस्यामा पर्ने र उनीहरु घर फर्कन चाहेको अवस्थामा मुलुक भित्र व्यवस्थापन अर्को चूनौति रहेको उनको भनाई छ ।

    वैदेशिक रोजगारी गुमाएर फर्किनेहरुका कारण नेपाली श्रम बजारमा गहिरो समस्या पर्न सक्ने चेतावती उनले दिएका छन् ।

    मुलुक भित्र पनि रोजगारी गुमेको र विदेशबाट पनि बेरोजगार यूवा नेपाल आउँदा एकसाथ ठूलो समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाई रहेको छ ।

    सरकारले युवा व्यवस्थापनको तयारी समेत थालेको भन्दै उनले विदेशमा कुनै पनि नेपालीमाथि समस्या नपरोस भनी कूटनीतिक पहल समेत गरिरहेको उनको भनाई छ ।

  • कुवेतमा एकै दिन ९ नेपालीमा संक्रमण पुष्टी

    कुवेतमा एकै दिन ९ नेपालीमा संक्रमण पुष्टी

    कुवेत । कुवेतमा एकै दिन थप ९ जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । अब कुवेतमा कूल ८४ जना नेपालीमा कोरोनाको संक्रमण भएको त्यहास्थित नेपाली दूतावासले जनाएको छ ।

    दूतावासका अनुसार पछिल्लो समय कुवेतमा कोरोना संक्रमण बढ्दो क्रममा छ । यसले नेपालीहरुमा पनि निरन्तर जोखिम बढाएको छ ।

    आइतबारसम्मको तथ्यांक अनुसार कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भइसकेको छ ।

    कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन दूतावासले नेपालीहरुलाई आह्वान गरेको छ ।

    कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले उल्लेख गरेको छ ।

    यस मुलुकमा कीव ३५ हजार नेपाली रहेको अनुमान छ । कामको सिलसिलामा धेरै नेपाली यहाँ पुगेका छन् ।

  • कोरोनाले विश्वभर ७३ गैरआवासीय नेपालीको ज्यान गयो

    कोरोनाले विश्वभर ७३ गैरआवासीय नेपालीको ज्यान गयो

    काठमाडौं । कोभिड–१९ संक्रमणका कारण विश्वभर ७३ जना गैरआवासीय नेपालीको निधन भएको छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिको शनिबार सम्मको तथ्यांक अनुसार उक्त संख्यामा गैरआवासीय नेपालीको ज्यान गएको हो ।

    यसरी ज्यान गुमाउनेमा सबैभन्दा बढी बेलायतमा छन् । यस मलुकको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा तीन जनाको ज्यान गएको छ ।

    संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ रहेको एनआरएनएले जनाएको छ ।

    अमेरिकाको न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको ज्यान गएको छ । संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एकएक जनाको ज्यान गएको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिएका छन्।

    उनका अनुसार नेपाल भित्रबाहेक विश्वभर पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक हजार ५७० जना संक्रमणमुक्त समेत भइसकेका छन् ।

    मध्यपूर्वमा नेपालीहरु कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या बढेदो क्रममा देखिएको छ ।

    ती देशले दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन्।

    विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडा अनुसार २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन्।

    कुन देशमा कति संक्रमण ?

    स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १२६, युएईमा एक सय, कुवेतमा ७८ र नेपालमा ५९ गैरआवासीय जनामा कोरोना देखिएको छ ।

    नेपाल भित्र पनि धेरैजसो संक्रमण विदेशबाट फर्कनेहरुमा रहेको छ । साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलियामा १०, बेल्जियम र जापानमा ६–६, स्वीडरल्याण्ड र क्यानडामा पाँचपाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमार र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएनएले जनाएको छ ।

    एनआरएनले कोरोना भाइरसको महामारीबाट प्रभावितको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको एनआरएका महासचिव डा. हेमराज शर्माले जानकारी दिएका छन् ।

    उनका अनुसार विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ।

    यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड– १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले अध्यक्ष पन्तले सबै गैरआवासीय नेपालीलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै विभिन्न देशका सरकारी निकायले जारी गरेका स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गरेका छन्।

  • साउदीमा एकै स्थानमा ३४ नेपालीलाई कोरोना संक्रमण

    साउदीमा एकै स्थानमा ३४ नेपालीलाई कोरोना संक्रमण

    काठमाडौं । साउदी अरबमा एर्कै स्थानमा ३४ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टी भएको छ । साउदीको प्रमुख व्यापारिक केन्द्र जेद्दा आसपासको क्षेत्रमा ३४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका हुन ।

    संक्रमितमा दुई जना महिला रहेको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा नेपालीको उपचार जारी रहेको छ ।

    दूतावास सबै नेपालीसँग समन्वय र सम्पर्कमा रहेको बताइएको छ ।

    साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीको राष्ट्रियता पहिचान भने गर्दैन ।

    तर, महावाणिज्य दूतावासको सम्पर्कमा ३४ जना नेपाली आएका हुन् । बिरामीमध्ये एक जना ५० वर्षीय नेपाली रहेको र उनलाई विशेष निगरानीमा राखिएको दूतावासको भनाई छ ।

    अन्यलाई अस्पतालको सामान्य कक्षमा उपचार भइरहेको छ। साउदी र गैरसाउदीबीच भेदभाव नभएको समेत दूतावासको भनाई छ ।

    यस मुलुकमा बिरामी भएर सुरुमा अस्पतालमा भर्ना गर्ने बेला फर्म भर्दा नै राष्ट्रियता पहिचान गरिदैन । ३४ मध्ये २ जना निको भइसकेको बताइएको छ ।

    साउदीमा संक्रमितको संख्या २५ हजार ४ सय ५९ जना पुगेको छ । जसमध्ये ३७ सय ६५ जनालाई निको भएको छ। एक सय ७६ जनाको मृत्यु भएको छ ।

  • न्युयोर्कस्थित नेपाली समुदायको १७ बर्ष पुरानो रिजऊड सोसाइटीको मन्दिर सर्यो; ओजन पार्क

    न्युयोर्कस्थित नेपाली समुदायको १७ बर्ष पुरानो रिजऊड सोसाइटीको मन्दिर सर्यो; ओजन पार्क

    न्युयोर्क

    न्युयोर्क क्वीन्सस्थित लामो समयदेखि रिजउड नेपाली समाजद्वारा रिजऊडमा संचालित दुर्गा मन्दिर रिजऊडबाट ओजन पार्क सरेको छ । संस्थाका महासचिव दिपक काफ्ले मार्फत प्राप्त ईमेलमा जनाइए अनुसार रिजऊडको दुर्गा मन्दिरलाई अस्थाई रुपमा ओजन पार्कमा स्थानान्तरण गरिएको हो ।  

    कोरोना महामारीका कारण न्युयोर्कमा जारी सरकारी प्रतिबन्धका कारण मन्दिरमा भिड भाड गर्दै दैनिक कृयाकलाप गर्न नमिले पछि कोठा भाडा लगायतका अनुत्पादक खर्च रोक्नका लागि मन्दिर ओजन पार्कमा सारिएको मन्दिरद्वारा प्राप्त ईमेलमा जनाईएको छ । साथै भक्तजनहरुमा पर्न गएको असुबिधालाई मध्यनजर राखेर क्षमा मागिएको प्राप्त ईमेलमा भनिएको छ; “रिजउड क्षेत्रमा आफ्नै भवन निर्माण गरि सकेसम्म चाडो मन्दिर र कार्यालय साविक क्षेत्रमा ल्याउने हाम्रो प्रयत्न रहने कुरा जानकारी गराउन चाहन्छौं I भक्तजनहरुमा पर्न गएको असुविधा प्रति हामी क्षमा चाहन्छौं “I रिजऊड नेपाली सोसाईटी सन् २००३ मा क्वीन्सस्थित रिजऊडमा स्थापित संस्था हो ।  

    रिजऊडको दुर्गा मन्दिरको नयाँ ठेगाना 104-24 Rosita Rd, Ozone पार्क हो ।

  • बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो

    बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो

    काठमाडौं । बहराइनमा नेपालीमाथि कोरोनाको संक्रमण निरन्तर बढ्दो छ । बिहीबार मात्र बहराइनमा रहेका थप ३१ जना नेपालीमा कोरोना पुष्टी भएको त्यहास्थित नेपाली दूतावासले जनाएको छ ।

    यस मुलुकमा अब कोरोना संक्रमित नेपालीको संख्या १५७ पुगेको हो । बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबार पनि एकैपटक ७७ जना नेपालीमा संक्रमण पुटी भएको थियो ।

    नेपाली कामदारलाई होम क्वारेन्टाइनमा बस्न भनिएपर्छि कै स्थानमा धेरै जना बस्नु पर्दा त्यसले जोखिम बढाएको छ ।

    बहराइनमा एक हजार पाँच सय ३४ जना संक्रमित भेटिएका छन् । १ हजार ४ सय ९४ जना डिस्चार्ज भएका छन् ।

    बिरामीमध्ये भारत, बंगलादेश, पाकिस्तान र नेपाली आप्रवासीसहित स्थानीय समेत रहेको दूतावासले उल्लेख गरेको छ ।

    कोरोना संक्रमणका कारण बहराइनमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ ।

    दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढेको हो । बहराइनमा ३५ हजार हाराहारी नेपाली रहेको तथ्यांक छ ।

  • बहराइनमा १२६ नेपालीमा कोरोना

    बहराइनमा १२६ नेपालीमा कोरोना

    काठमाडौं । बहराइनमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या १२६ पुगेको छ ।

    बहराइनमा पछिल्लो अपडेट अनुसार थप ७७ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबारसम्म १ सय २६ जनामा कोरोना देखिएको हो ।

    दूतावासका अनुसार नेपालीलाई सामाजिक दूरी कायम गरी राख्ने व्यवस्थापनका लागि स्थानीय प्रशासनसँग समन्वय भइरहेको छ ।

    बहराइन धेरै नेपाली कामदार रहेको मुलुक हो । दूतावासका अनुसार बहराइनमा १ लाख २१ हजार २ सय ६० जना मानिसमा कोरोना परीक्षण भएको छ ।

    यस मुलुकमा १ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । ८ जनाले ज्यान गुमाएका छन् ।

    उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ हजार २ सय ४६ रहेको छ ।

  • भारतमा एकै परिवारका ८ नेपालीले जिते कोरोना

    भारतमा एकै परिवारका ८ नेपालीले जिते कोरोना

    नयाँ दिल्ली । भारतमा एकै परिवारका ८ जना नेपाली नागरिकले कोरोनालाई जित्न सफल भएका छन् । कोरोना भाइरसबाट संक्रमित नेपाली परिवारका आठ सदस्य उपचारपछि निको भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा अघिल्लो महिना कोरोना पुष्टि भएको थियो ।

    घर मुली, श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमण देखिएको अहिले उनीहरु सबैले कोरोनालाई जित्न सफल भएका हुन् ।

    उनीहरु झण्डै साढे तीन साता अस्पताल बसेको बताइएको छ । अस्पतालले डिस्चार्ज गरेपछि उनीहरु घरमै बस्न थालिसकेका छन् ।

    भारतमा ३० हजारभन्दा बढी मानिसमा संक्रमण फैलिइसकेको छ । यद्दपी अधिकारीहरुले यसलाई ठूलो प्रकोप मानेका छैनन् ।

    किनकी भारतमा मृत्यु हुनेको संख्या भने संक्रमितको तुलनामा कम रहेको छ ।

  • बेलायत सरकारलाइ नेपाली दूतावासले भन्यो : पूर्वगोर्खाको रक्षा गर

    बेलायत सरकारलाइ नेपाली दूतावासले भन्यो : पूर्वगोर्खाको रक्षा गर

    लण्डन । लन्डनस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पूर्वगोर्खा सैनिकको जीवन रक्षामा गम्भीर हुन ध्यानाकर्षण गराएको छ ।

    दूतावासले बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराउँदै त्यसमा पनि पूर्वगोर्खा सैनिक बढी प्रभावित भएको तर्फ ध्यानाकर्षण गराएको हो ।

    बेलायतमा कोरोनाका अन्य मुलुकको तुलनामा नेपालीको बढी ज्यान गएको छ ।  बेलायतमा रहेका नेपालीमध्ये कोरोना सङ्क्रमणका कारण वृद्धवृद्धा एवं भूतपूर्व गोरखा सैनिक र उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको दूतावासको पत्रमा उल्लेख गरिएको छ ।

    संक्रमितमा मृत्युदर पनि उच्च रहेको देखिएको उल्लेख गर्दै पत्रमा उनीहरुको भाषागत समस्या तथा अस्पताल र अत्यावश्यक सामग्रीको पहुँचलगायत अन्य विविध समस्या रहेकाले यथाशक्य चाँडो आवश्यक सहयोगका लागि आग्रह गरिएको हो ।

    यस सम्बन्धमा राजदूत्ले बेलायत सरकारको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोरखा वेलफेयर ट्रष्टमा टेलिफोन गरी ध्यानाकर्षणसमेत गराइएको दूतावासले उल्लेख गरेको छ ।

  • नेपालको कोरोना कोषमा शेष घले र जमुनाबाट ३ करोड सहयोग

    नेपालको कोरोना कोषमा शेष घले र जमुनाबाट ३ करोड सहयोग

    काठमाडौं । एमआईटी ग्रुप फाउण्डेसनले नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैया सहयोग गरेको छ ।

    गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष घले र उनकी जीवनसँगीनी जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनले यो रकम सरकारलाई प्रदान गरेको हो ।

    फाउन्डेसनका प्रतिनिधिले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरे । उडान प्रतिवन्धका कारण घले दम्पत्ति भने नेपाल आउन नपाएको बताइएको छ ।

    सहयोग रकम सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परिक्षण, निगरानी र उपचार लागि खर्च गर्न सदुपयोग गर्ने घलेको अपेक्षा रहेको छ ।

    यस फाउडेसनले नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढीका बेलासमेत सहयोग गर्दै आएको छ ।

    अध्यक्ष घलेले कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै यो महामारीबाट नेपाली जनता एवं विश्व चाँडै मुक्त हुने विश्वास व्यक्त गरेका छन् ।

    सरकारले खडा गरेका यो कोषमा २ अर्ब भन्दा बढी रकम उठिसकेको छ । तर, सरकारले अझै कोषको रकम उपयोग भने भइसकेको छैन ।

  • विश्वभर कोरोनाबाट ४९ गैरआवासीय नेपालीको ज्यान गयो, १ हजार ८ जनामा संक्रमण

    विश्वभर कोरोनाबाट ४९ गैरआवासीय नेपालीको ज्यान गयो, १ हजार ८ जनामा संक्रमण

    काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु भएको छ । करिब १ हजार ८ सय जनामा संक्रमण देखिएको छ ।

    विश्वभर फैलिएको कोरोना भाइरस महामारी ९कोबिड–१९० बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो ।

    स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार ९ सय ८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

    विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित छन् ।

    नेपालमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना कोरोना मुक्तको भएको समितिले जनाएको छ ।

    यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपाली मध्य ४ सय ३४ जना कोरोना मुक्त भएको सो समितिले जनाएको छ ।

    संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ ।

    समितिले विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।

    यसै बीच कोरोना भाइरसको महमारीबाट प्रभावित भएका नेपालीहरुको सहयोगार्थ लागि गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ ।

    गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माका अनुसार कोरोना महामारी पछि ४१ देशमा रहेका संघका शाखाहरु मार्फत ९ सय जना स्वयसेवक परिचालन गरेको छ ।

    कोरोना संक्रमण पछि विश्वभर छरिएका करिब ३० हजार गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको संघले जनाएको छ ।

    डा शर्माका अनुसार ७० जना भन्दा गैर आवासीय नेपाली चिकित्सक समेतले समेत कोरोना संक्रमित भएका देशमा गैरआवासीय नेपालीहरुलाई सघाई रहेका छन् ।

    यसअघि चीनबाट कोरोना भाइरस संक्रमण शुरु भए लगत्तै संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोविडा १९ उच्चस्तरीय समिति गठन गरि काम अघि बढाएको थियो ।

  • मलेसियामा दुई जना नेपालीले जिते कोरोना

    मलेसियामा दुई जना नेपालीले जिते कोरोना

    क्वालालाम्पुर । मलेसियामा दुई जना नेपालीले कोरोना सङ्क्रमणबाट मुक्त हुन सफल भएका छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार दुई जना नेपालीले कोरोनालाई जित्दै निको निको हुन सफल भएका हुन् ।

    मलेसियामा अहिलेसम्म तीन जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । उनीहरु मध्ये दुई जना निको भएर काममा फर्किएको दूतावासले जनाएको छ । एक जनाको भने उपचार जारी रहेको छ ।

    उनको समेत स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । मलेसियामा अहिलेसम्म ५ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ३५ सय ४२ जना निको भइसकेका छन् । यहाँ ९५ जनाको मृत्यु भएको छ । १९ सय ६६ जनाको उपचार जारी रहेको छ ।

  • लोकतन्त्र दिवसको अवसरमा आवश्यक सामग्री बितरणका लागि हस्तान्तरण

    लोकतन्त्र दिवसको अवसरमा आवश्यक सामग्री बितरणका लागि हस्तान्तरण

    एप्रिल २२, न्यूयोर्क

    १४ औं लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा न्यूयोर्कस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकालाई कोभिड १९ सँग लड्न आवश्यक सामग्री नेपाली समुदाय समक्ष पुर्याउनका लागि प्राप्त भएका छन् । न्यूयोर्क सहरको पूर्व-काउन्सिल मेम्बर एलिजाबेथ क्राउलीले कोरोनाको मारमा परेका र अन्यलाई सुरक्षित रहन आवश्यक सामग्री हस्तान्तरण गरेको सँस्थाका अध्यक्ष सोमनाथ घिमिरेले बताएको छ ।

    लोकतान्त्रिक आन्दोलनका सम्पूर्ण शहीदहरु एवम् दोश्रो जन-आन्दोलन ०६२/०६३ का कमाण्डर शिखर पुरुष गिरिजा प्र. कोइराला प्रति श्रद्धासुमन अर्पण गर्दै लोकतन्त्र दिवसको उपलक्ष्यमा फाउण्डेशनले समाज प्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले यस कोभिड-१९ को महामारीको चपेटामा परेका न्यूयोर्कका नेपालीहरुलाई यस फाउण्डेशनले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सेवा नै धर्म हो, भन्ने मुल नाराका साथ अग्रसर गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले एलिजाबेथ क्राउलीलाई विशेष धन्यवाद एवम् आभार प्रकट गरेका छन् । क्राउलीले फाउण्डेशनलाई सहयोग १५० वटा रेगुलर मास्क, ८५ वटा सेनीटाईजर-reusable र १० बक्स ग्लोभ्स उपलब्ध गराएका छन् । सहयोग सामग्रीहरुको हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरे, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य प्रेम पौडेल र कृयासिल सदस्य सुर्य सिम्खडाले आआफ्नो बिचार व्यक्त गरेका थिए । प्राप्त सामग्रीहरु छिरिङ्ग राप्के लामाले नेपाली समुदायमा वितरण गर्ने जनाइएको छ ।

    आवश्यक ब्यक्तिहरुलाई सम्पर्कको लागि ३४७ ६५२ ३६८३ नम्बर सार्वजनिक गरेका छन् ।