Category: डायस्पोरा

  • विदेशमा समस्यामा रहेका २० हजार नेपाली जहाजबाट नेपाल फर्किए

    विदेशमा समस्यामा रहेका २० हजार नेपाली जहाजबाट नेपाल फर्किए

    काठमाडौं । अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा अलपत्र नेपालीलाई घर ल्याउने अभियान जारी रहेको छ । शुक्रबारसम्म चाटर्ड उडानबाट २० हजार भन्दा बढी नेपाली स्वदेश फर्किएको सरकारी तथ्यांकले देखाएको छ । कोरोना भाइरसका कारण विभिन्न मुलुकमा समस्यामा परेका नेपालीलाई फर्काउन सरकारले चार्टर्ड उडानको व्यवस्थापन गरिरहेको छ ।

    कतिपय मुलुकबाट सोही देशको सरकारले जहाज चार्टर्ड गरी नेपालीलाई पठाइरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अहिलेसम्म २० हजारभन्दा बढी नेपाली घर फर्किएका छन् । उनीहरुमध्ये पिसिआर परिक्षण गरेर घर फर्किएकाहरुलाई होम क्वारेन्टिन बस्न पठाइएको छ ।

    कतिपय होटल क्वारेन्टिनमा बसे भने कतिपय स्थानीय सरकारले बनाएको क्वारेन्टिनमा बसेका छन् । अहिलेसम्म फर्किएका नागरिक भने कम्पनीले टिकट काटिदिएका, सम्बन्धित सरकारले नेपाल पठाइदिएका र आफै टिकट काट्न समक्ष व्यक्तिहरु हुन् ।

    आफै टिकट काट्न नसक्ने तर सरकारको उद्दारको प्रतिक्षामा रहेका व्यक्ति भने अझै पनि विदेशमा छन् । उनीहरुको उद्दारका लागि कार्यविधि पास भइसकेको छैन ।

  • समुदायमा अन्तरकृया बढाउँदै सिटिजनसिप एन्ड इमिग्रेसन टाष्कफोर्स

    समुदायमा अन्तरकृया बढाउँदै सिटिजनसिप एन्ड इमिग्रेसन टाष्कफोर्स

    न्यूयोर्क

    गैर आवासीय नेपाली संघ, अमेरिका च्याप्टर (एनआरएनए एनसिसी) अन्तरगतको सिटिजनसिप एन्ड इमिग्रेसन टाष्कफोर्सले समुदाय केन्द्रित गतिविधीलाई तीब्रता दिएको छ ।

    नेपाली नागरिकता निरन्तरता एवं अमेरिकामा आप्रवासन सहजीकरणका लागि गठन भएको टाष्कफोर्सले जनचेतना अभिबृद्धि देखि समस्यामा परेका व्यक्तिहरुलाई प्रत्यक्ष सहयोग समेत उपलब्ध गराइ रहेको छ । नेपालमा नागरिकता विधेयक संसदकाे राज्य व्यवस्था समितिबाट पारित हुने वित्तिकै टाष्कफोर्सले कानूनविद् एवं एनआरएनए अभियन्ताहरु समेतको उपस्थितीमा भिडियो कन्फ्रेन्स आयोजना गरेको थियो । फेसबुक मार्फत लाइभ गरिएको कन्फ्रेन्समा नेपालको नागरिकता विधेयकले व्यवस्था गरेको गैर आवासीय नेपाली नागरिकताको प्रावधानबारे चर्चा भएको थियो ।

    नेपालको संविधानले प्रदत्त गरे बमोजिम सार्क मुलुक बाहेकका देशको नागरिकता लिएका नेपालीलाई सामाजीक, आर्थिक र सांस्कृतिक अधिकार सहितको गैर आवासीय नागरिकता प्रदान गर्ने व्यवस्था विधेयकमा गरिएको छ । कोरोना भाइरस संक्रमण सुरु हुने वित्तिकै टाष्कफोर्सले त्यसले आप्रवासनमा पार्न सक्ने प्रभावबारे कानूनविदहरुको उपस्थितीमा अन्तर्कृया आयोजना गरेको थियो । टाष्कफोर्सले कोरोना भाइरस संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिँदा अमेरिकामा अड्किएका नेपालीलाई घर फर्काउन एनआरएनए आइसिसी मार्फत पहल गर्ने औपचारिक निर्णय गरेको थियो । त्यस अनुरुप नेपाल सरकार परराष्ट्र मन्त्रालय, अमेरिका स्थित नेपाली राजदूताबास र एनआरएनए अमेरिका च्याप्टरको अगुवाइमा नेपालीहरुलाई घर फर्काउने कार्य सुरु भइ सकेको छ ।

    त्यस बाहेक एनआरएनएको हेल्प डेस्कमा आउने आप्रवासन सम्बन्धि जिज्ञाषाहरुलाई निरन्तर सम्बोधन गरिएको टाष्कफोर्स संयोजक छत्रकुमारी गुरुङले जानकारी दिइन् । सन् २०२० को सुरुवातमा स्थापना गरिएको टाष्कफोर्सले अहिलेसम्म गरेका काम कारबाही र भविश्यको योजनाबारे हालैसम्पन्न एनआरएन अमेरिकाको बार्षिक साधारणसभामा पनि प्रस्तुति दिइएको थियो ।

     

  • नेफिन आईसीसी गठन हुने

    नेफिन आईसीसी गठन हुने

    न्युयोर्क, जुलाई ९ 

    नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति बनाउँन तदर्थ समिति गठन भएको छ । विदेशस्थित महासंघको जुम बैठकले तदर्थ समिति बनाएको हो ।

    बैठकपछि जारी विज्ञप्ति अनुसार महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष मानबहादुर रानामगरको संयोजकत्व गठन गरिएको समिति ११ सदस्यीय रहेको छ । उक्त समितिको सहसंयोजकद्वय किसन राई–हङकङ र खुसी लिम्बू–बेलायत रहेका छन् । समितिको सदस्य सचिव कतारका शिव भुजेल रहेका छन् । युगेल तेन्डुप शेर्पा–दक्षिण कोरिया, रश्मी थापामगर–क्यानडा, मणी थेवे–अस्ट्रिया, हेम गुरुङ–पोर्चुगल, विनोद पोमो–अमेरिका, कुमार बलामी–यूएई र सुदर्शन थापामगर–अस्ट्रेलिया समितिमा सदस्य रहेका छन् ।

    गत वर्ष अक्टुबरमा काठमाडौंमा सम्पन्न प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्रमा महासंघको विधान संशोधन गरी अन्तर्राष्ट्रिय सञ्जाल बनाइने समेटिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार उक्त सञ्जाल बनाउँन विदेश विभाग प्रमुखलाई छ महिनाभित्र कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको थियो ।

    सम्मेलनकै अवसरमा विभिन्न देशका महासंघका प्रतिनिधिहरुको बैठकले समेत ६ महिनाभित्र विधान संशोधन नभए अन्तर्राष्ट्रिय समन्वय परिषद् गठन गर्न सक्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

    अन्तर्राष्ट्रिय सम्मेलनको दौरानमा भएका निर्णय समिक्षा गर्न आयोजित जुम बैठकमा १३ देशका महासंघका अध्यक्ष सहित २५ जनाको सहभागिता रहेको थियो । बैठकको संयोजन महासंघ बेलायतका महासचिव खुसी लिम्बूले गरेका थिए ।

  • विदेशबाट १२५ शव ल्याइयो, अझै १ सय ५ ल्याउन बाँकी

    विदेशबाट १२५ शव ल्याइयो, अझै १ सय ५ ल्याउन बाँकी

    काठमाडौं । लकडाउनका कारण विदेशमा रोकिएका शव ल्याउने क्रम शुरु भएयता १ सय २५ वटा शव नेपाल ल्याइएको छ । सरकारले नेपालीको उद्दार थालेसँगै क्रमशः शवहरुसमेत नेपाल ल्याउन लागिएको छ ।

    खाडी र मलेसियाबाट एक हप्ताको अवधिमा मात्र ३८ जना नेपालीको शव स्वदेश ल्याइएको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । यी देशबाट अहिले धमाधम उद्दार उडान जारी छ । बोर्डका अनुसार कोरोनाको महामारी सुरु भएपछि विदेशमा विभिन्न कारणले ज्यान गुमाएका तर अन्तर्राष्ट्रिय उडान बन्द हुँदा उतै रोकिएका ३३७ शव नेपाल ल्याउनु पर्ने थियो । त्यसमध्ये शनिबारसम्ममा १२५ जनाको शव नेपाल आइसकेको छ ।

    आइतबारसम्म साउदीबाट ३९, मलेसियाबाट ३८, कतारबाट ३०, यूएईबाट ७, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट १ नेपालीको शव आएको छ । यी शव बुझ्न मृतकका परिवार काठमाडौं आउन नसकेमा बोर्ड आफैंले शव बुझेर घरसम्म पुर्‍याइदिने व्यवस्था समेत गरेको छ । यसअवधिमा १३२ जना नेपालीको भने सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिएको छ । त्यसवापत सरकारले मृतकका परिवारलाई नेपालमा किरियाखर्च उपलब्ध गराएको थियो ।

    बोर्डका अनुसार अझै खाडी तथा मलेसियासँगै विभिन्न देशमा गरी १०५ जना नेपालीको शव स्वदेश ल्याउन बाँकी रहेको छ । अहिले सबैभन्दा धेरै शव साउदीमा छन् । साउदीमा ५२, मलेसियामा १९, यूएईमा १३, कतारमा ७, कुवेतमा ५, बहराइनमा २ र अन्य विभिन्न देशमा ७ जना गरी १०५ नेपालीको शव गन्तव्य देशमै रोकिएका छन् ।

  • एनआरएनएलाई आइएलओले दिने भयो ५ करोड; नेपालीको उद्दारमा खर्च हुने

    एनआरएनएलाई आइएलओले दिने भयो ५ करोड; नेपालीको उद्दारमा खर्च हुने

    काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई चार लाख २४ हजार डलर (करीव पाँच करोड १० लाख रुपैयाँ) अनुदान उपलब्ध गराउने भएको छ । विदेशमा अफ्ठ्यारोमा रहेको नेपालीलाई घर फिर्ति अभियानमा खर्च गर्न तथा कोरोना भाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय श्रम सङ्गठनले एनआरएनएलाई रकम दिने सम्झौता भएको हो ।

    एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार यो रकम खासगरी मलेसिया, यूएई, कतार र साउदी अरब गरी चार देशका नेपालीलाई सहयोग गर्न उपयोग गरिने भएको छ । कोरोनाले श्रम बजारमा पारेको प्रभाव र श्रमिकको हितका विषयमा अध्ययन गर्न समेत यो रकम उपयोग गरिने भएको छ ।

    अध्यक्ष पन्तका अनुसार सम्बन्धित देशमा रहेका नेपाली कुटनीतिक नियोगमार्फत रकम परिचालन हुनेछ । अहिले विभिन्न मुलुकबाट नेपालीलाई घर फर्काउने अभियान जारी छ । अहिलेसम्म करीव १७ हजार नेपाली घर आइसकेका छन् ।

  • अमेरिकी एनआरएनएको नवौं साधारण सभा आजबाट

    अमेरिकी एनआरएनएको नवौं साधारण सभा आजबाट

    जुलाई ३, न्युयोर्क

    एनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा तथा नेशनल नलेज कन्भेन्सन आजदेखि शुरु हुँदैछ । जुलाई ३ तारिख साँझ ६ (EST) बजे नेपाल सरकारको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालबाट नै यो कार्यक्रमको उदघाटन गर्नु हुने जानकारी कन्भेन्सनका कन्भेनर तथा बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडेले दिनु भएको छ।

    साधारण सभा र नलेज कन्भेन्सनको मुख्य दिन जुलाई ४ तारिख हो । सो दिन बिभिन्न क्षेत्रका विज्ञहरुले आ-आफ्ना कार्यपत्र र विचार सम्प्रेषण गर्ने गरी कार्यक्रम तय भएको नलेज कन्भेन्सनका संयोजक डाक्टर तारा सिग्देलले जानकारी दिनु भएको छ।

    कोरोनाभाइरस महामारीको कारण साधारण सभा भर्चुअल हुने भएको छ । साधारण सभाका सम्पूर्ण कार्यक्रमहरु जुम (भिडियो भेला एप) बाट गरिने भएकोले घरमा बसेर नै हेर्न सकिने छ ।

  • स्व. गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्मजयन्ती अमेरिकामा मनाए

    स्व. गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्मजयन्ती अमेरिकामा मनाए

    न्युयोर्क

    नेपाली कांग्रेसका पुर्व सभापति, नेपाली राजनीतिका शिखर पुरुष तथा पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्मजयन्ती अमेरिकाको न्युयोर्कमा मनाए । जिपी कोइराला फाउण्डेशन अमेरिकाले न्युयोर्क ज्याक्सन हाइट्सस्थित डाइभर्सिटी प्लाजामा मनाएको हो । 

    जन्मदिवस जुलाई २ तारिखको अवसर पारेर KBF Peanut Butter Dark Chocolate Bars ५०० बक्स र ५०० शुद्ध दुध ज्याक्सन हाईट्सको डाईभर्सीटी प्लाजावाट जिपी कोइराला फाउण्डेशन अमेरिकाले वितरण गरेको फाउण्सडेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।

    ब्रुक्लिनबोरो प्रेसिडेन्ट एरिक अडाम्सले जन्म जयन्तीकै अवसर पारेर दिएको ५०० बक्स चकलेट वितरण कार्यक्रमको उद्घाटन नेकाका नेता एवम् एनआरएन अमेरिकाका सल्लाहकार श्यामकाजी गुरुङ्गले गरेको थियो। बितरण कार्यमा सुवर्ण लामा, सूर्य सिम्खडा, अन्जन चौंलागाई, ज्ञानल थापा, रेखा श्रेष्ठ र प्रदिप लामिछानेले सहयोग गरेका थिए । बितरण गरिएका चकलेट र दुधका ग्यालनहरु; मधुर गिरी, दिनेश भण्डारी, बिमला हमाल श्रेष्ठ, आङ गेलु शेर्पा र टेम्बा शेर्पा आदीले सहयोग गरेका थिए ।

  • रोटरी क्लव न्युयोर्क डिष्ट्रिक्ट ७२५५ को नयाँ अध्यक्षमा जनक भण्डारी

    रोटरी क्लव न्युयोर्क डिष्ट्रिक्ट ७२५५ को नयाँ अध्यक्षमा जनक भण्डारी

    न्युयोर्क

    आगामी कार्यकाल २०२०/२१ को लागि रोटरी क्लव न्युयोर्क, डिष्ट्रिक्ट ७२५५ ले भर्चुअल भेला (भिडियो सम्मेलन) गरी नयाँ अध्यक्षमा जनक भण्डारीलाई चुनेको छ । नव निर्वाचित अध्यक्ष लगायतका नयाँ कार्य समितिलाई क्लवको तेश्रो कार्यकालको लागि चुनेको हो। 

    भेलाका प्रमुख अतिथि, रोटरी डिस्ट्रिक्ट ७२५५ का District Governor Jacquelyn (Jax) Yonick ले नयाँ कार्यसमितिका पदाधिकारीहरु सपथ गराएको थियो । सपथ लिनेहरुमा; प्रेसिडेन्ट जनक भण्डारी, प्रेसिडेन्ट इलेक्ट खाम भट्ट, सेक्रेटरी गुरुदत्त पराजुली, एक्जुकेटिभ सेक्रेटरी हन्सराज जोशी, कोषाध्यक्ष भुना भण्डारी, सर्जेन्ट एट आर्म्स विदुर पौड्याल, फाउन्डेसन चेयर गोपीप्रसाद ढुंगाना, मेम्बरशिप चेयर कञ्चन बस्नेत थिए ।

    सोही अवसरमा उर्गेन शेर्पा, बिकाश पान्डे र श्याम कर्कीलाई नयाँ सदस्य घोषणा गरिएको थियो भने संस्थापक अध्यक्ष तथा (पूर्व असिस्टेण्ट गभर्नर ७२५५) डा. तारा निरौला, पूर्व प्रेसिडेन्ट मोहनबहादुर ज्ञवाली, पूर्व डिस्ट्रिक्ट गवर्नर डा. तुल्सी महर्जन, चार्टर्ड प्रेसिडेन्ट रोटरी क्लब अफ महाराजगन्ज काठमाडौंका डा. जयबहादुर टन्डन लगायतले शुभकामना मन्तव्य दिएका थिए । भेलाले आगामी कार्ययोजना प्रस्तुत गर्र्दै नव निर्वाचित पदाधिकारीहरुलाई पदीय जिम्वेवारी निर्वाह गर्न भनिएको थियो । एक बर्षको कार्यविवरण पेश गर्दै कार्यक्रम संचालन तथा समापन निबर्तमान अध्यक्ष नवराज केसीले गरेको थियो ।

  • लायन्स क्लव क्वीन्स बुद्धको अध्यक्षमा रिमाया नेपाली निर्वाचित

    लायन्स क्लव क्वीन्स बुद्धको अध्यक्षमा रिमाया नेपाली निर्वाचित

    कृष्ण आचार्य, न्युयोर्क

    न्युयोर्कका नेपाली समुदायको पहिलो लायन्स क्लब क्वीन्स बुद्धको अध्यक्षमा रिमाया नेपाली निर्वाचित भएको छ । आगामी कार्यकाल वर्ष २०२०/२१ को लागि नयाँ कार्यसमिति चयन गर्न बसेको भेलाले नेपालीलाई अध्यक्षमा चुनेको हो । 

    ‘हामी सेवा गर्छौं’ भन्ने उद्देश्यले सन् १९१७ मा अमेरिकाको शिकागोमा स्थापना भएको अन्तर्राष्ट्रिय लायन्स क्लवले स्थापनाको १०० वर्ष मनाइ सकेको छ ।  यसका संसारभर १.४ मिलियन सदस्यहरु छन् भने चालिस हजार भन्दा वढी क्लवहरू मानवीय र सामाजिक सेवाको कार्यमा सक्रिय छन् । 

    लायन्स क्लव क्वीन्स बुद्धको स्थापना सन् २०१६ मा न्युयोर्कको क्वीन्समा भएको हो । स्थापना कालदेखिनै यसले समुदायको हितमा कार्य गर्दै आइरहेको छ । क्लवले नयाँ कार्य समिति चयन गर्दै अध्यक्षमा रिमाया नेपाली, प्रथम उपाध्यक्ष बुध्द पौडेल, द्धितीय उपाध्यक्ष खड्गबहादुर पुलामी, तृतीय उपाध्यक्ष चन्द्र नेपाली, सचिव शिवजी खड्का, कोषाध्यक्ष सोनु मल्ल र मेम्बरसिप प्रमुखमा सोफिया अधिकारीलाई निर्वाचित गरेको छ । नयाँ कार्यसमितिको कार्यकाल १ वर्षको हुनेछ ।

  • २० हजार डलरको लोकसेवा परिक्षा उत्प्रेरणा कोष स्थापना गर्दै तामाङ समाज अमेरिकाको वार्षिकोत्सव सम्पन्न

    २० हजार डलरको लोकसेवा परिक्षा उत्प्रेरणा कोष स्थापना गर्दै तामाङ समाज अमेरिकाको वार्षिकोत्सव सम्पन्न

    न्युयोर्क

    गत आईतबार जून २८ का दिन तामाङ समाज अमेरिकाले आफ्नो दोश्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । न्युयोर्कको लङ्ग आइल्याण्डस्थित भ्याली स्ट्रिम पार्कमा संस्थाका कार्य समितिका पदाधिकारी एवं सदस्य र उनका परिवारहरु समेत सहभागी भएर समाजले दोश्रो वार्षिकोत्सव कार्यक्रम मनाएको हो । कोरोना महामारीको कारण समाजले आफ्नो समुदायका ब्यक्तिहरुको स्वास्थमा प्रतिकुल असर नपरोस भनेर वार्षिकोत्सव कार्यक्रम सिमित घेराभित्रको उपस्थितिमा मात्र सम्पन्न गरिएको समाजकी महासचिव बिनिता तमाङले बताईन । न्युयोर्कमा गर्मी छिप्पिदै जाँदा बार्बेक्यू सहित सम्पन्न दोश्रो वार्षिकोत्सवको अवसर पारेर संस्थाका अध्यक्ष सानुमाया तामाङले तत्काल कार्यान्वयन हुने गरी २० हजार अमेरिकी डलर बराबरको नेपालमा ‘लोकसेवा परिक्षा उत्प्रेरणा कोष’ संचालन गर्ने घोषणा गरेकी थिईन । अध्यक्ष सानुमाया तामाङको अनुसार नेपालको निजामती क्षेत्रमा तामाङ जातिको नगन्य उपस्थिति रहेको सन्दर्भमा लोकसेवा परिक्षा मार्फत निजामती सेवामा प्रवेश गर्न चाहने तामाङ विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको बताएका छन् । छात्रवृत्ति नेपालको स्थानीय संस्थासँग सहकार्य गरेर संचालन गरिने बताइएको छ ।  

    कोषको लागि दोश्रो वार्षिकोत्सवकै दिन उपस्थित सहभागीहरुबाट १२,५०० अमेरिकी डलर संकलन भएको र बाँकी अपुग रकम संस्थाका शुभचिन्तकहरुबाट संकलन गरिने कोषाध्यक्ष तुलबहादुर तामाङले जनाएका छन् । कार्य समितिको आगामी बैठकबाट कोष संचालनको लागि एउटा विशेष समिति गठन हुने र कोष संचालनको विधि र प्रक्रिया सो समितिले तयारी गरेर कार्य समितिले अनुमोदन गरेपछि लोकसेवा परिक्षा उत्प्रेरणा कोषको बिस्तृत जानकारी समुदायलाई सम्प्रेषण गर्ने योजना रहेको संस्थाका सचिव रोज बहादुर घिसिङले बताएका छन् ।

  • मंगलबार विदेशबाट फर्किए १५३० नेपाली

    मंगलबार विदेशबाट फर्किए १५३० नेपाली

    काठमाडौं । मंगलबार दिनभरमा १५ सय ३० जना नेपाली घर फर्किएका छन् । नेपाल एयरलाइन्सले चार वटा मुलुकबाट नेपालीलाई घर ल्याएको छ । सबैभन्दा धेरै कतारबाट ४९८ जना नेपाली स्वदेश फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आजमात्र विभिन्न देशबाट आठवटा उडान भएको हो ।

    नेपाल एयरलाइन्सले कतारको दोहाबाट २६२ जना नेपाली घर ल्याएको हो । कतारबाट १० वटा शव समेत नेपाल ल्याइएको छ । कतार एयरले दोहाबाट ९ बच्चासहित २३६ जना नेपाली घर ल्याएको छ । कुवेतमा समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन मंगलबार तीन उडान भएका छन् ।

    तीन उडानमार्फत ४७१ जना स्वदेश आइपुगे । नेपाल एयरलाइन्सको जहाजले १४९ जना ल्याएको छ । कुवेत सरकारले त्यहाँ आममाफी पाएका ३२२ जनालाई जजिरा एयरका दुई उडानमा नेपाल पठायो ।

    आज नेपाल एयरलाइन्सले यूएईको दुबईबाट एक बच्चासहित २६२ जना नेपालीलाई घर ल्यायो । यस मुलुकबाट एउटा शव पनि ल्याइएको छ । नेपाल एयरलाइन्सले मलेसियाको क्लालाम्पुरबाट १४६ जनालाई घर फर्काएको छ ।

    आज साउदीको दमामबाट हिमालय एयरले १५३ जनालाई नेपाल ल्याएको छ । आज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स खाडीका विभिन्न देशमा नेपाली लिन ती मुलुकतर्फ प्रस्थान गरेका छन् ।

  • कोरोना महामारी बीच नै गर्‍यो अमेरिकामा प्रबासी नेपाली एकता मञ्चले बृहत रक्तदान कार्यक्रम

    कोरोना महामारी बीच नै गर्‍यो अमेरिकामा प्रबासी नेपाली एकता मञ्चले बृहत रक्तदान कार्यक्रम

    न्युयोर्क

    कोरोना महामारीको प्रकोप लगातार  बढीरहेको अमेरिकामा प्रबासी नेपालीको लागि काम गर्दै आएको प्रवासी नेपाली एकता मञ्चले न्युयोर्क र टेक्सासको डालासमा एकै दिन बृहत रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ  ।  दुइ राज्यमा भएको रक्तदान कार्यक्रममा न्युयोर्कमा ९१ जनाले रक्तदान गरेका थिए । न्युयोर्क कुईन्सस्थित  सत्यनारायण मन्दिरमा रक्तदानको लागि १ सय ३७ जनाले ईच्छा देखाए पनि ९१ जना मात्र रक्तदानको लागि योग्य भएका थिए ।  टेक्सासमा भने जारी लकडाउनको प्रभाबका कारण १७ जना मात्र रक्तदान गर्न सफल भएका थिए ।

    संस्थाका केन्द्रीय सदश्यद्वय  कृष्ण आचार्य र  सुशील क्षेत्रीले क्रमश न्युयोर्क र टेक्सासको रक्तदान कार्यक्रमको संयोजन गरेका थिए ।दुबै राज्यमा सम्पन्न रक्तदान कार्यक्रममा स्थानीय नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभाहिता रहेको कार्यक्रममा न्युयोर्कमा संस्थाका अध्यक्ष टेक गुरुङ, महासचिव शंकर पन्तको उपस्थिति थियो भने  टेक्सासमा सँस्थाको तर्फबाट  भिम कार्की, युबराज खनालको उपस्थिती थियो ।

    न्युयोर्कको रक्तदान कार्यक्रममा  न्युयोर्क राज्यसभा सदस्य क्याटलिना क्रुज सहभाहि भएकी थिईन । अमेरिकामा कोरोना महामारी सुरु भए यता नेपाली समुदायले गरेको सम्भवत पहिलो रक्तदान कार्यक्रमको हो । अहिले अमेरिकाका अस्पतालहरुमा रगतको अभाब भै रहेको छ ।

  • विदेशबाट सोमबार बिहानै काठमाडौं आइपुगे २९० नेपाली, उद्दार जारी

    विदेशबाट सोमबार बिहानै काठमाडौं आइपुगे २९० नेपाली, उद्दार जारी

    काठमाडौं । सोमबार बिहानै २ सय ९० जना नेपाली काठमाडौं आइपुगेका छन् । आज कतारको दोहा र मलेसियाको क्लालाम्पुरबाट २९० जना नेपाली घर फर्किएका हुन् । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १५१ जना र मलेसियाको क्लालाम्पुरबाट १३९ जनालाई नेपाल ल्याएको हो । दोहाबाट एउटा शव पनि नेपाल ल्याइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

    आज कुवेतमा आममाफीमा सहभागी थप नेपाली घर फर्कदैछन् । मलेसियाबाट हिमालय एयरलाइन्सको जहाजले नेपालीलाई घर ल्याउँदैछ । कुवेतबाट सोही मुलुकको सरकारले जजिरा एयरबाट नेपालीलाई निःशुल्क घर पठाइदिएको छ ।

    आज हिमालय र नेपाल एयरलाइन्सका जहाज विभिन्न ६ गन्तब्यमा पुग्दैछन् । नेपाल एयरलाइन्सका चार वटै जहाज कतारको दोहा, मलेसियाको क्लालाम्पुर, यूएईको दुबई र कुवेतमा नेपालीको उद्दारको लागि पुग्दैछन् ।

    हिमालय एयरलाइन्सका जहाज साउदीको दमाम र छाङ्सा जाने कार्यक्रम तय भएको छ । अहिलेसम्म ११ हजार भन्दा बढीको उद्दार भइसकेको छ । पहिलो चरणमा करीव २७ हजार नेपाली घर फर्कने अनुमान सरकारको थियो ।

  • लकडाउनपछि विदेशमा अलपत्र ८७ शव नेपाल ल्याइयो

    लकडाउनपछि विदेशमा अलपत्र ८७ शव नेपाल ल्याइयो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि नेपालमा लकडान तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लाग्यो । त्यसकारण विदेशमा साढे तीन सय नेपालीको शव अलपत्र परेको थियो । यसरी अलपत्र परेका मध्ये शनिबारसम्म ८७ वटा शव नेपाल ल्याइएको छ ।

    शनिबार साउदी अरबबाट नेपाल एयरलाइन्सको जहाजले १५ वटा शव नेपाल ल्याएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै त्यहाँ रोकिएका शव समेत क्रमशः नेपाल ल्याइको वैदेशिक रोजगार बोर्डले जनाएको छ । शनिबारसम्म मलेसियाबाट सबैभन्दा बढी शव नेपाल ल्याइएको छ ।

    यस मुलुकबाट ३१ वटा शव नेपाल ल्याइएको छ । मलेसियापछि साउदी र कतारबाट २०, २० वटा शव ल्याइएको बोर्डले ल्लेख गरेको छ । कुवेतबाट ७ जना नेपालीको शव आएको छ । यूएईबाट पाँच नेपालीको शव नेपाल ल्याइएको छ । बहराइनबाट ३, ओमानबाट १ जना नेपालीको शव ल्याइएको छ ।

    यो अवधिमा विदेशमा ज्यान गुमाएका ३ सय ३३ जनामध्ये १२६ जनाका परिवारले भने गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका थिए । नीहरुको अन्त्येष्टी भइसकेको छ । विदेशमा अझै १२० नेपालीको शव रहेको छ ।

    बोर्डका अनुसार साउदीमा सबैभन्दा धेरै ५९ शव रहेका छन् । मलेसियाबाट २३ जनाको शव नेपाल ल्याउन बाँकि छ । कतारमा ११, यूएईमा १४, कुवेतमा ५ र बहराइनमा १ जना नेपालको शव बाँकी छ भने अन्य देशबाट ७ वटा शव ल्याउन बाँकी रहेको बोर्डको तथ्यांकमा उल्लेख छ ।

  • शनिबार घर फर्किए करीव १ हजार नेपाली

    शनिबार घर फर्किए करीव १ हजार नेपाली

    काठमाडौं । शनिबार विभिन्न मुलुकबाट करीव १ हजार जना नेपाली घर फर्किएका छन् । बिहान भएका ६ उडानले उनीहरुलाई काठमाडौं ल्याएको हो । बिहान ९ सय ५७ जना नेपाली काठमाडौं विमानस्थलमा अवतरण गरेका छन् । कतारको दोहाबाट कतार एयरवेजले एक बच्चासहित २४१ जनालाई नेपाल ल्यायो ।

    हङ्कङबाट नेपाल एअरलाइन्सको जहाजले १ बच्चासहित ८१ जनालाई काठमाडौं ल्याएको छ । यूएईको दुबईबाट १४६ जना, साउदीको दमामबाट हिमालय एअरमा १५४ जना नेपाली फर्किएका छन् । साउदीको रियादबाट नेपाल एयरलाइन्सले २५४ जना नेपालीलाई घर ल्याएको छ ।

    कुवेतको जजिरा एयरवेजले ८१ जना नेपालीलाई स्वदेश ल्याइदिएको छ । साउदीको रियादबाट १५ नेपालीको शव पनि आजै ल्याइएको छ । आज अस्ट्रेलियाबाट साढे २ सय नेपाली घर फर्कदै छन् । अहिले नेपालीको उद्दारको काम धमाधम भइरहेको छ ।

  • आज विदेशबाट १ हजार नेपाली घर आए, १६ शव नेपाल ल्याइयो

    आज विदेशबाट १ हजार नेपाली घर आए, १६ शव नेपाल ल्याइयो

    काठमाडौं । शुक्रबार पनि विदेशबाट नेपालीको उद्दारको काम जारी रह्यो । विभिन्न मुलुकबाट एक हजार ३ जना नेपाली आज घर फर्किएका छन् । उनीहरुलाई ल्याएर आएको जहाजले विदेशमा ज्यान गुमाउन बाध्य १६ नेपालीको शव समेत काठको बाकसमा राखी स्वदेश ल्याएका छन् । मलेसियाको क्वालालाम्पुरबाट आज धेरै यात्रु तथा शव ल्याइएको छ ।

    आज मलेसियाबाट मात्र १४ वटा शव काठमाडौं ल्याइयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार क्लालाम्पुरबाट नेपाल एयरलाइन्सले जहाजले १४ शवसहित २४५ जना ल्याएर आएको थियो । हिमालय एअरलाइन्सको जहाजले सोही गन्तब्यबाट १४८ नेपाली र एक शव नेपाल ल्याएको हो ।

    यूएईको सारजहाबाट एयर अरेबियाको जहाजले १६८ जना नेपालीलाई काठमाडौं अवतरण गरायो । बहराइनबाट नेपाल एयरलाइन्सका दुई वटा जहाजले २७३ जना नेपालीलाई घर फर्काएको छ । बहराइनबाट समेत एक नेपालीको शव काठमाडौं आएको छ ।

    कुवेतमा आममाफीमा सहभागी १६० जना नेपाली पनि आज स्वदेश फर्किएका छन् । भिसाको नियम उल्लंघन गरेका १६० जना पुरुषलाई कुवेत सरकारले जजिरा एयरको जहाजमा राखेर नेपाल फर्काएको हो ।

    कुवेतबाट यो ११ औं उडान हो । कुवेतमा आममाफी पाएका १७ सय २५ जना नेपाली उद्दार उडानका दौरान घर फर्किएका छन् ।

  • आज विदेशबाट १२ सय नेपालीको उद्दार हुँदै

    आज विदेशबाट १२ सय नेपालीको उद्दार हुँदै

    काठमाडौं । आज विदेशमा अलपत्र रहेको करीव १२ सय नेपालीलाई घर ल्याइने भएको छ । नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपालीलाई घर फर्काउन लागिएको हो । शुक्रबार बहराइन, युएई, कुवेत र मलेसियाबाट नेपाली घर आउँदैछन् ।

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई दुई उडानको तालिका छ । बहराइनमा दुई र मलेसियामा एक उडान नेपाल एयरलाइन्सले गर्दैछ ।

    युएईमा हिमालयन र एयर अरेविया, कुवेतको जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुने गरी तालिका तय भएको भएको छ । यसरी आएका नेपालीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा बनाइएको होल्डिङ सेन्टरमा राखिन्छ ।

    त्यसपछि सेनाको व्यवस्थापनमा उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा पठाइन्छ । विदेशबाट आउने नागरिकले पीसीआर रिपोर्ट ल्याएमा होम क्वारेन्टिनमा बस्न पाउने गरी प्रावधान राखिएको छ । पैसा तिर्न सक्ने मानिसहरु भने होटल क्वारेन्टिनमा बस्ने गरी तोकिएको छ ।

  • बुधबार १ हजार नेपाली घर फर्किए

    बुधबार १ हजार नेपाली घर फर्किए

    काठमाडौं । बुधबार विभिन्न मुलुकबाट १ हजार जना नेपाली घर फर्किएका छन् । ६ देशबाट ९ सय ९९ जना नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणका बीच विदेशमा रोकिएका र अलपत्र परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ ।

    बुधबार साउदीको दमामबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना नेपाली घर फर्किए । साउदीकै जेद्दाबाट नेपाल एयरलाइन्सले २५५ जनालाई नेपाल ल्याएको छ । जेद्दाबाट एउटा शव पनि नेपाल आएको छ । हिमालय एयरलाइन्समार्फत यूएईको आबुधाबीबाट ३ बालबालिकासहित १४९ जना घर फर्किए ।

    कुवेतबाट १५५ जना र मलेसियन एयरको कार्गो लिएर आएको जहाजमार्फत चार जना नेपाली घर आए । टर्कीको राजधानी इस्तानाबुलबाट टर्किस एयरलाइन्सको चार्टर्ड जहाजमार्फत २८२ जना नेपाली घर आएका छन् । बुधबार मात्र कुल १४ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

    ६ वटा चार्टर्ड जहाज नेपाली लिएर काठमाडौं आए । बुधबार नै कतारको दोहा, यूएईको आबुधाबी, कुवेत र जापानको नारितामा नेपाली लिन जहाज उडेका छन् । बुधबार कुल १३ वटा अन्तर्राष्ट्रिय उडानको तालिका तय भएको छ ।

  • मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता

    मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता

    काठमाडौं । मंगलबार विदेशमा अलपत्र परेका नेपालीमध्ये ७ सय ८३ जनाले नेपालको भूमि टेक्न पाए । जसमा दुई यात्रु पूर्वराजकुमारी हिमानी शाह र उनका पुत्र हृदयेन्द्र शाह थिए । विभिन्न पाँच देशबाट चार्टर्ड उडानमार्फत ७८३ जना नेपाली स्वदेश फर्किएका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्ध देवेन्द्र केसीका अनुसार थाइल्यान्डबाट आएको नेपाल एयरलाइन्सको जहाजबाट हिमानी शाह र उनका पुत्र आएका थिए ।

    मंगलबार कतारको दोहाबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४४ जना नेपाली घर फर्किए । कतारबाट नेपालीका लागि दोस्रो उडान भएको छ । कुवेतको जजिरा एअरलाइन्सले आममाफी पाएका १६० जना नेपालीलाई निःशुल्क काठमाडौं ल्यायो । यसको खर्च कुवेत सरकारले बेहोरेको हो ।

    गैरकानुनी श्रमिकलाई आममाफी दिँदै कुवेत सरकारले हरेक दिन निःशुल्क कामदार काठमाडौं पठाइरहेको छ । थाइल्याण्डबाट भने आज ७८ जना स्वदेश फर्किए । सोही समुहमा हिमानी समेत थिइन् ।

    अस्ट्रेलियाको सिड्नीबाट पनि त्यहाँ रोकिएका नेपालीहरु स्वदेश फर्किएका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड वाइडबडी जहाजमार्फत २५८ जना आज स्वदेश फर्किए । माल्दिभ्ससबाट १४३ जना नेपाली घर फर्किएका छन् । बुधबार विभिन्न आधा दर्जन गन्तब्यबाट उडान हुने भएको छ ।

  • भारत-पाकिस्तान सीमा क्षेत्रमा एक गौर्खा सैनिकको मृत्यु

    भारत-पाकिस्तान सीमा क्षेत्रमा एक गौर्खा सैनिकको मृत्यु

    काठमाडौं । सोमबार भारत–पाकिस्तान सीमा क्षेत्रमा भएको तनावमा भारतीय सेनामा कार्यरत एक गोर्खा सैनिकको ज्यान गएको छ । भारतीय सेनामा कार्यरत नेपालीको ज्यान गएको भारतीय संचारमाध्यमले सैनिक स्रोतलाई उदृत गर्दै पुष्टी गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार जम्मु कश्मीरको रजौरी जिल्लामा रहेको लाइन अफ कन्ट्रोलमा भएको घटनामा उनको ज्यान गएको हो ।

    पाकिस्तानले लाइन अफ कन्ट्रोलमा युद्धविरामको उल्लंघन गर्दै गोलीबारी गरेको भारतीउ दावि छ । भारतीय सेनामा कार्यरत नेपाली दीपक कार्कीको मृत्यु भएको छ । उनी गुल्मीका स्थायी बासिन्दा हुन् । घटनामा परी गम्भीर घाइते भएको उनको उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।

    घटना सोमबार बिहान भएको थियो । भारत र पाकिस्तानको बीचमा तनाव जारी रहेको छ । यस भेगमा ठूलो संख्यामा गोर्खा सैनिक तैनाथ गरिएको छ । जुन महिनामा मात्र भारत–पाकिस्तान सीमा क्षेत्रमा ४ जना सैनिकको ज्यान गइसकेको छ । बढी संवेदनसिल क्षेत्रमा भारतले गोर्खा सैनिक खटाउने गरेको छ ।

  • आज अष्ट्रेलियाबाट २५९ नेपालीको उद्दार गरिदै

    आज अष्ट्रेलियाबाट २५९ नेपालीको उद्दार गरिदै

    काठमाडौं । विदेशमा रहेका नेपालीको उद्दार गर्ने सिलसिलामा आज अष्ट्रेलियाबाट पहिलो चरणमा नेपालीहरु घर फर्कने भएका छन् । त्यसका लागि नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी पुगिसकेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज अन्नपूर्णले २५९ जना नेपालीलाई बोकर काठमाडौं आउनेछ ।

    उनीहरु अधिकांश छोराछोरी भेट्न पुगी उतै अलपत्र परेका नागरिक रहेको बताइएको छ । यस उडानमा न्यूजिल्याण्डबाट समेत ११ जना नेपाली मिसिएका छन् । उनीहरु बिहान न्यूजिल्याण्डबाट अष्ट्रेलिया आइपुगेका छन् । अष्ट्रलियाबाट नेपाल फर्किन इच्छुक नेपालीको संख्या १३ सय रहेको छ ।

    पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाउन लागिएको छ । यस गन्तब्यबाट प्रतियात्रु २ हजार ३ सय ५० अष्ट्रेलियन डलरमा उडान भएको हो । सबै यात्रुको पीसीआर परीक्षण गरिएको र नतिजा नेगेटिभ आएको बताइएको छ ।

    यो जहाज सिड्नी आउने क्रममा भने २९ जना अष्ट्रेलियन नागरिक तथा अष्ट्रेलियन स्थायी बासिन्दालाई लगेर गएको थियो । अष्ट्रेलियाबाट दोस्रो उद्दार उडान भने २७ जुनमा मेलबर्नबाट तोकिएको नेपाली दूतावासले जनाएको छ ।

  • आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली

    आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली

    काठमाडौं । आइतबार विभिन्न मुलुकबाट नेपालमा एकै दिन ११५० जना नेपाली घर फर्किएका छन् । कारोना भाइरसको महामारीका कारण संकटमा परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ । यसै क्रममा आइतबार मात्र एक शिशुसहित ११५० जना नेपाली घर फर्किएका हुन् ।

    कोभिड १९ संकट व्यवस्थापन सेन्टरको तथ्यांक अनसार आइतबार यूएईबाट ३३८ जना नेपाल आएका छन् । उनीहरु दुई वटा उडानबाट नेपाल आएका हन् । एक उडानमा १५३ र अर्को उडानमा १८५ जना थिए ।

    बंगलादेशबाट २५० जना आएका छन् । साउदी अरबबाट एक शिशुसहित २४७ जना, कुवेतबाट १६६ जना र कतारबाट १४९ जना स्वदेश फर्किएको तथ्यांक छ ।

    यूएई र मलेसियाबाट १५०, १५० जना घर फर्किएका छन् । उनीहरुलाई एक दिन होल्डिंग सेन्टरमा राखेर अर्को दिन सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा पठाइनेछ ।

  • साउदीबाट बिहानै फर्किए २४६ नेपाली, अन्य मुलुकबाट पनि आधा दर्जन उडानको तयारी

    साउदीबाट बिहानै फर्किए २४६ नेपाली, अन्य मुलुकबाट पनि आधा दर्जन उडानको तयारी

    काठमाडौं । साउदीको रियादबाट आइतबार बिहानै २४७ जना नेपाली काठमाडौं अवतरण गरेका छन् । नेपाल एअरलाइन्सको वाइडबडी जहाजबाट उनीहरु काठमाडौं आएका हुन् । यस उडानमा एक नाबालकसहित २४७ जना नेपाली थिए । साउदीस्थित नेपाली दूतावासका अनुसार यस उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित १२ जना महिला र बाँकी पुरुष घर फर्किएका हुन् ।

    आज यूएईबाट तीन उडानमार्फत नेपाली स्वदेश फर्कनेछन् । कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कंने भएका छन् । कतारको दोहाबाट पनि नेपाली आउनेछन् । मलेसियाबाट पनि नेपाली फर्कने कार्यक्रम रहेको छ ।

    यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको जहाज काठमाडौंका लागि उडिसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । यो जहाजमा २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष छन् ।

    नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेका नेपाली छन् ।

  • अमेरिकास्थित युनाइटेड किराँत राई अर्गनाइजेसनले कोभिड महामारीकै बीच सम्पन्न गर्‍यो वार्षिक साधारण सभा

    अमेरिकास्थित युनाइटेड किराँत राई अर्गनाइजेसनले कोभिड महामारीकै बीच सम्पन्न गर्‍यो वार्षिक साधारण सभा

    सुरेश चाम्लिङ्, न्यु-ह्यम्सायर  

    युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले आफ्नो वार्षिक साधारण सभा भर्चुअल्ली सम्पन्न गरेको छ ।  अर्गनाईजेसनले सभापति मुना राईको सभापतित्वमा जुमको प्रयोग गर्दै आफ्नो साधारण सभा सम्पन्न गरेको हो । गत जुन १४ तारिख आईतबारका दिन सम्पन्न साधारण सभामा सहभागी समुदायका सदस्यहरुले संस्थाको गतिविधि र संस्थाले आगामी दिनमा खेल्नु पर्ने भूमिकाका सम्बन्धमा बिचार व्यक्त गरेका थिए । प्रमुख अतिथिका रुपमा जनजाती महासंघ अमेरिका (फिप्ना) सभापति लोक चेम्जोङ्गले अमेरिकामा बस्ने आदिवासी जनजातीहरुले आफ्नो चासो र सरोकारको बिषय भन्दै उनले संस्कृत भाषालाई मृत भाषाको संज्ञा दिदै नेपालको बिद्यालयमा संस्कृत पढाउने सरकारी निर्णयले अन्य मातृ भाषाका बिद्यार्थीहरुलाई अन्याय हुने बताएका थिए ।  सरकारको त्यो निर्णयले सरकारी कोष एक भाषाको उत्थानमा मात्र खर्च गर्ने हुँदा अन्य भाषा अन्यायमा पर्ने उनको भनाई थियो । 

    बोर्ड सल्लाहकारहरु शिब कुमार राई, धौल बिर राई, बिष्णु राई, चुना राई, मिलन राई, प्रभाकर राई, तेज राई, श्यामा राई, सुरेश चाम्लिङ्ग लगायतले बिदेशमा समुदायको हितमा संस्थाको गरिमा र भूमिकाको बिषयमा आ-आफ्नो धारणा रखेका थिए । 

    कार्यक्रम अन्तर्गत विभिन्न स्कुल तथा कलेजबाट यो वर्ष ग्राजुएट हुने बिद्यार्थीहरुलाई सम्मान ब्यक्त गर्दै परिचय गराईएको थियो भने कराँतेका अन्तर्रास्ट्रिय रेफ्री पर्खि खालिङ्ग राईलाई सम्मान ब्यक्त गरिएको थियो ।

    सभामा लोकल च्याप्टर सभापतिहरु डिएमभीपी सभापति प्रकाश राई, क्यालिफोर्निया सभापति जोर बीर राई, न्यु इंग्ल्याण्ड सभापति मुक्ति नारायण राई र न्युयोर्क सभापति केशब राम राईले संस्थाको गतिविधि सम्बन्धमा प्रकाश पारेका थिए ।केन्द्रीय समिति तथा स्थानीय च्याप्टरहरुले  वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  बार्षिक प्रतिवेदनमा संस्थाले किरात प्रदेशको लागि नेपाल सरकारलाई बुझाएको ज्ञापन पत्र, सिक्किमका पुर्व मुख्य मंत्री पवन चाम्लिङ्गसंगको न्युयोर्कमा भेटघाट छलफल, कोभिड-१९ मा बिभिन्न व्यक्तिहरुलाई सहयोग गर्नुको साथै नेपालबाट अमेरिकामा आएर एफ-१ भिसामा रहेका बिद्यार्थीहरुलाई नगद सहयोग, रक्तदान, यलम्बर नाइट लगायतको कार्यहरुको समिक्षा गरिएको थियो ।  

    सभाको अन्त्यमा सभा बिसर्जन गर्दै सभापति मुना राइले मानव जीवनको महत्व पूर्ण पाटो शिक्षा नै भएको हुनाले आजको युवाहरुले शिक्षामा नै जोड दिनुको साथै मानव बिकासको लागी आफ्नो संस्कार संस्कृति समेत जगेर्ना गर्न उत्तिकै आवस्यकता रहेको बताएकी थिईन ।

  • नेकपा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने पक्षमा

    नेकपा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने पक्षमा

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदेशी बुहारीको सन्दर्भमा ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उभिने भएको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा आफ्नो अडानका सम्बन्धमा औपचारिक निर्णय गरेको हो ।

    नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने गरी पार्टीमा सहमति जुटेको छ । नागरिकता विधेयक राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको छ ।

    विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग थियो । त्यो माग भने अस्वीकृत भएको छ । विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दल भने सहमत र्भका छैनन् । संसदमा नेकपाको बहुमत छ ।

    सोहीकारण बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति पार्टीले गरेको हो । नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि विचाराधिन अवस्थामा रहेको छ ।

  • शुक्रबार काठमाडौं उतारियो विदेशमा मृत्यु भएका २३ नेपालीको शव

    शुक्रबार काठमाडौं उतारियो विदेशमा मृत्यु भएका २३ नेपालीको शव

    काठमाडौं । शुक्रबार त्रिभुवन विमानस्थल केहीबेर शोकमग्न भयो । किनकी शुक्रबार एकै उडानबाट २० वटा शव त्रिभुवन विमानस्थलमा झारियो । कतारको दोहाबाट कतार एयरवेजले २५ जना नेपाली यात्रुको साथमा कार्गोमा २० नेपालीको शव काठमाडौं ल्याएको हो ।

    नियमित उडान बन्द भएपछि विदेशमै रोकिएका शव नेपाल झारिएको हो । शुक्रबार नै साउदीबाट एक र कुवेतबाट २ जना नेपालीको शव काठमाडौं आएको छ । विदेशमा अलपत्र परेका नेपालीको उद्दारको काम अहिले धमाधम भइरहेको छ ।

    यसै क्रममा आउने चार्टर्ड उडानमा शवहरु समेत ल्याउन लागिएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार चार्टर्ड उडानबाट विदेशमा अड्किएका सबै शव नेपाल ल्याउने योजना छ । त्यसपछि उनीहरुको पहिचानसागै आआफ्नो गृह जिल्ला पठाइने छ । यसको खर्च भने बोर्ड आफैले बेहोर्छ ।

    शवलाई विदेशबाट नेपाल ल्याउने र काठमाडौंबाट जिल्ला पुर्‍याउनेसम्मको खर्च व्यवस्थापन बोर्डले गर्छ । शुक्रबार आफन्तको शव आउने दिन विमानस्थलमा भिड देखिएको थियो ।

  • बिहीबार चार देशबाट आए ५ सय बढी नेपाली, दिनभर १४ उडान-अवतरण

    बिहीबार चार देशबाट आए ५ सय बढी नेपाली, दिनभर १४ उडान-अवतरण

    काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य दिनको तुलनामा केही व्यस्त रह्यो । नेपाली नागरिकलाई विदेशबाट नेपाल ल्याउने अभियान अन्तर्गत विदेशबाट जहाज आउन गालेपछि विमानस्थलमा समेत चहलपहल बढेको हो । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले सार्वजनिक गरेको विवरण अनुसार बिहीबारमात्र आन्तरिक र बाह्य गरी कुल १४ वटा उडान-अवतरण भएका छन् ।

    बिहीबार हिमालय एयरलाइन्सले मलेसियाबाट ११७ जना नेपालीलाई नेपाल ल्याएको छ । यो जहाज मलेसिया जादा भने एकजना नेपाली र १५ विदेशी गरी १६ जना यात्रु मलेसिया लगेको छ । बिहीबार नै जजिरा एयरले कुवेतबाट नेपालीलाई घर फर्काएकोछ । सलाम एयरले ओमानबाट नेपालीलाई काठमाडौं ल्याएको हो ।

    यी दुई जहाजमा क्रमशः १५० र १४६ जना यात्रु आए । कतार एयरवेज समेत बिहीबार काठमाडौं आयो । यो जहाजले दोहाबाट एक जना नेपालीलाई बोकेर आएको थियो । उसले नेपालमा रहेका २६३ जना विदेशीलाई दोहा लगेको छ । बिहीबार साँझ हिमालय एयरलाइन्सको जहाज दमाम उठेको छ ।

    यो जहाज शुक्रबार फर्कने छ । बिहीबार साँझ नै नेपाल एयरलाइन्स दुबई उडेको छ । हिमालय एयरलाइन्सले साउदी उड्दा चार जना नेपालीलाई दमाम लगेको छ । आन्तरिकमा समेत केही उडानहरु भएको विमानस्थलले जनाएको छ ।

  • बुधबार चार मुलुकबाट करीव १ हजार नेपाली घर फर्किए

    बुधबार चार मुलुकबाट करीव १ हजार नेपाली घर फर्किए

    काठमाडौं । बुधबार विभिन्न चार वटा मुलुकबाट १ हजार भन्दा बढी नेपाली घर फर्किएका छन् । बुधबार थाइल्याण्डको बैंककबाट २४६ जना नेपाली घर आएका छन् । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडबडी जहाजले काठमाडौं ल्याएको हो । चार्टर्ड उडानमा दुई जना दुई वर्ष मुनीका बालबालिकासहित २४६ जना यात्रु थिए ।

    नेपाल एयरलाइन्सले काठमाडौंबाट भने थाइल्याण्डका लागि १६ जना यात्रु बोकेर गएको थियो । बुधबार नै कुवेतबाट १५० जना नेपाली महिला स्वदेश फर्किए । कुवेतमा आममाफी पाएका उनीहरुलाई कुवेत सरकारले नै नेपाल पठाएको हो । उनीहरुलाई जजिरा एयरलाइन्सले काठमाडौं ल्याएको हो ।

    बुधबार नै बंगलादेशको राजधानी ढाकाबाट दुई जना दुई वर्ष मुनीका बालबालिकासहित १५५ जना नेपाल आए । उनीहरुलाई हिमालय एयरलाइन्सले काठमाडौं ल्याएको हो ।

    उता, सिङ्गापुरबाट १४६ जना यात्रु नेपाल आएका छन् । उनीहरुलाई समेत हिमालय एयरलाइन्सले काठमाडौं ल्याएको हो । काठमाडौं आइसकेका नेपालीले १४ दिन तोकिएको क्वारेन्टाइनमा बस्नुपर्छ ।

  • लायन्स क्लब क्वीन्सको कोरोना राहत बितरण सम्पन्न

    लायन्स क्लब क्वीन्सको कोरोना राहत बितरण सम्पन्न

    कृष्ण आचार्य / न्युयोर्क

    न्युयोर्कमा कोरोना भाईरसको महामारीले जनजीवन प्रभावित भए लगत्तै Nepali lions Network, NY to help COVID -19 lions (clubs of Queens, Buddha, Nepalese & KTM) अन्तर्गत सबै नेपाली लायन्स क्लवहरू संगठित भएर आफ्नो श्रोत साधन क्षमताले भ्याएसम्म कोरोना प्रभावित समुदायको हितको लागि सुचना र विभिन्न आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ । 

    यसै बीच Lions clubs International District 20 K1 zone 1G अन्तर्गत रहेका Lions Clubs of Queens का नेपाली र अन्य दुई Flushing र Kew Gardens का लायन्सहरूको सकृय सहभागितामा Lions Club International District 20-K1 zone chairmen Yalin Weng को प्रायोजनमा गत जुन १४ तारिखमा नेपाली र अन्य समुदायलाई समेत खाध्यान्न वितरण कार्यक्रम ज्याक्सन हाईट न्युयोर्क कुईन्समा सम्पन्न भएको छ । बिशेष गरेर COVID-19  बाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित भएका र सहयोगको अति जरूरी भएका परिवारहरूको पहिचान गरि संकलित नामावली अनुरूप ७५ परिवारलाई खाध्यान्न  (चामल, दाल, राजमा, बोडी र चना) वितरण गरिएको छ ।

    Nepali Lions Network का कार्यक्रम संयोजक कुईन्स बुद् का अध्यक्ष लायन अर्जुन गौडेलले खाध्यान्न वितरण कार्यक्रमको संयोजन गर्नु भएको थियो । स्पेशलिस्ट क्लव कोओर्डिनेटर लायन मंगलदास श्रेष्ठ, वरिष्ठ लायन कृष्ण आचार्य, लायन वेगम पण्डित, Queens KTM अध्यक्ष लायन रूद्र पून लगायतले लायन्सक्लवहरू जति बढि वनाउन सक्यो समुदायमा सेवा पनि त्यति नै धेरै पुर्याउन सकिने विचार राख्दै Zone chairmen  Lion Yalin Weng लाई आर्थिक सहयोगको लागि बिशेष धन्यवाद दिएका थिए । ऊनीहरूले समुदायलाई अप्ठेरो पर्दा जहिले पनि कुईन्समा रहेका तीन वटै नेपाली लायन्स क्लवहरू संगठित भएर समुदायको सेवामा संधै मिलेर कार्य गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । 

    Zone chairmen Lion Yalin Weng ले आफूले गरेको यो दान र सहयोगले COVID-19 महामारीवाट पिडित परिवारलाई थोरै भएपनि राहत दिन पाउदा गर्व लागेको बताऊँदै यो कार्यक्रममा स्थानीय क्लवहरूको संयोजकारी भुमिका अति राम्रो भएको र आगामी दिनमा सबै नेपाली लायन्स क्लवहरूलाई प्रेरित गर्दै आवश्यकता अनुसार समुदायको हितमा अरु धेरै कार्यक्रमहरू संचालन गर्दैजाने प्रतिवध्दता पनि व्यक्त गरिन् । कार्यक्रमको अन्तमा खाध्यान्न वितरण कार्यक्रमका संयोजक लायन अर्जुन गौडेलले प्रायोजक Lion Ms. Weng लगायत सबै स्वयंसेवक लायनहरूलाई धन्यवाद दिदै यो कार्यक्रम सम्पन्न गर्न पुर्याउनु भएको योगदान र सामूहिक सहकार्यले आफुलाई सामाजिक सेवा कार्यमा अझ उत्साह थपेको बताए। 

    राहतको लागि अत्यावश्यक परिवारहरूको पहिचान गरिएका वास्तविक नाम अनुसार खाध्यान्न वितरणमा सहजीकरण गर्न स्वयंसेवी लायनहरू  खिम भट्टराई, रूपा शाह, बुद्ध पौडेल, रिमाया नेपाली, खडग ब. पुलामीमगर (विक्की), चन्द्र नेपाली, शिवजी खड्का, शिव के.सी, राजा राहत खान, रविना बानिया, अशोक कार्की लगायत अन्य स्वयंसेवकहरू खटिनुभएको थियो ।

  • नेपालीको उद्दारका लागि निर्धारित यूएईमा दुई उडान रद्द

    नेपालीको उद्दारका लागि निर्धारित यूएईमा दुई उडान रद्द

    काठमाडौं । नेपालीको उद्दारका लागि तय भएका युएईका दुई उडान रद्द भएका छन् । समस्यामा परेका नेपालीको उद्धार गर्न भन्दै मंगलबार र बिहीबारका लागि निर्धारित चार्टर्ड उडान रद्द गरिएको छ । नेपाल एयरलाइन्सले जहाज नउड्ने जनाएको छ । युएई सरकारको तर्फबाट उडान उडान अनुमति नभएका कारण रद्द गर्न परेको नेपाल एयरलाइन्सको भनाई रहेको छ ।

    उता, नेपाली दूतावास आबुधाबीले समेत सोमबार यसको जानकारी गराएका हो । दूतावासका अनुसार असार २ र ४ गतेको उडान स्थगित भएको उल्लेख गरेको हो । असार २ र ४ मा नेपाल एयरलाइन्स युएई आउने कार्यक्रम तय भएको थियो । सबैभन्दा बढी समस्यामा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने अभियान चलिरहेको छ ।

    सोही अनुसार यूएईमा उडान हुने भनिएको थियो । नयाँ उडान तालीका समेत सार्वजनिक नगरिएका कारण घर फर्कन तयार भएका नेपालीमा भने अन्यौल र आक्रोस बढेको छ । तोकिएको मितिमा उडान नहुने निश्चित भएपछि केही नेपाली स्वदेश फर्कने वातावरण मिलाउन आग्रह गर्दै दूतावास नै पुगेका थिए ।

    युएइमा खान र बस्नकै समस्या भएको भन्दै नेपालीले घर फर्काइदिन माग गरेका हुन् । यसअघि सोमबार ओमन र हंकगंबाट नेपाली घर फर्किएका छन् ।