Category: डायस्पोरा

  • एनआरएनए अमेरिकामा सिटीजनसिप एण्ड इमिग्रेसन कमिटी, आप्रवासीका मुद्दामा केन्द्रित हुने

    एनआरएनए अमेरिकामा सिटीजनसिप एण्ड इमिग्रेसन कमिटी, आप्रवासीका मुद्दामा केन्द्रित हुने

    गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले गठन गरेको सिटीजनसिप एण्ड इमिग्रेसन कमिटीको पहिलो बैठकले अमेरिकाको आप्रवासी मुद्दा देखि नेपाली नागरिकता निरन्तरतासम्मका एजेन्डामा सकृयता साथ काम गर्ने निर्णय गरेको छ । गत महिना संघकी बोर्ड अफ डिरेक्टर छत्रकुमारी गुरुङको संयोजकत्वमा गठित समितिकाे शुक्रबार पहिलो बैठक सम्पन्न भएको हो ।

    बैठकमा एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाहले अमेरिकामा आप्रवास र जन्मभूमी नेपालको नागरिकता निरन्तरताका बिबिध मुद्दामा मिहिन गृहकार्यको खाँचो महसुस गरि कमिटी गठन गरेको जानकारी दिए । ‘हामी आफैं नीति निर्माता होइनौँ, उनले भने– तर कुनै पनि समस्या पहिचान नीति निर्माता समक्ष लविङ गर्न सक्र्छौँ, यो कमिटी गठनको उद्देश्य पनि त्यही हो ।’

    आप्रवासी मुद्दामा विद्यार्थीका समस्या देखि विविध तवरले अमेरिका आएर इमिग्रेसन सम्बन्धि समस्या झेलेका नेपालीलाई समाधानका लागि कमिटीले उपयुक्त बाटो देखाउने उनको भनाइ थियो । त्यस्तै नेपाली नागरिकता निरन्तरताको मुद्दामा पनि तुलनात्मक रुपमा बढि चासो अमेरिकाका नेपालीलाई नै भएको कारण एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिसँग निरन्तर सम्बाद र आवश्यक मुद्दामा घच्घच्याउने काम पनि कमिटीले गर्नु पर्ने उनले बताए ।

    संस्थाका महासचिव पशुपति पाण्डेले यो कमिटीले मानविय क्षेत्रमा काम गर्ने बताए । बिभिन्न क्षेत्रका जानकारलाई सम्बन्धित मुद्दामा काम गर्ने अवसर पुर्याउने हेतुले अहिले एनआरएन अमेरिकाले २० च्याप्टर र ४२ कमिटीहरुलाई थप सकृय बनाउँदै लगेको उनले जानकारी दिए ।

    कमिटी संयोजक गुरुङले कमिटीले स्थापनाको अवधारणा पुरा गर्ने तुरुन्त काम सुरु गर्ने बताइन् । कमिटीले आगामी दुई बर्ष भित्र गर्ने कामको योजना (टिओआर) तय गर्न रबि सिंह बस्नेत, रबिन्द्र अर्याल, भूवन अधिकारी र किर्त शाहीलाई जिम्मा दिएको छ । उनीहरुले आउँदो महिनाको बैठकमा कार्ययोजना पेश गर्नेछन् ।

  • परराष्ट्र मन्त्री जेनेभातर्फ

    परराष्ट्र मन्त्री जेनेभातर्फ

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान गरेका छन् । १२ फागुनबाट शुरु हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन उनी जेनेभा प्रस्थान गरेका हुन् ।

    उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछन् । जेनेभामा द्वन्द्वकालीन मुद्दा निरुपणमा नेपालले पूर्णप्रतिबद्धता जनाउने मन्त्री ज्ञवालीले उल्लेख गरेका छन् ।

    यसका साथै नेपालले बालअधिकारको रक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, मनोरञ्जन, खेलकूदलगायत सबै किसिमका अधिकारको रक्षामा नेपालले निर्वाह गरेका प्रवद्र्धनात्मक भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारीसमेत गराउने भएको छ ।

    जेनभामा मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गर्ने स्वागत समारोहमा भाग लिनेछन् ।

    राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तसँग भेटवार्ताको कार्यक्रम समेत तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    विभिन्न मुलुकका प्रतिनिधिसँग द्धिपक्षीय भेटवार्तासमेत हुने भएको छ ।

    उनी १६ फागुनमा स्वदेश फर्कने भएको छन् । यसअघि मन्त्री ज्ञवाली बंगलादेश भ्रमणबाट दुई दिन अघि मात्र फर्किएका थिए ।

  • जनगणना सचेतनाका लागि न्यू ह्यामसरमा शनिबार छलफल

    जनगणना सचेतनाका लागि न्यू ह्यामसरमा शनिबार छलफल

    न्यू ह्यामसर

    आउँदो अप्रिलबाट सुरु हुन लागेको अमेरिकी जनगणनाबारे सचेतना अभिबृद्धिका लागि न्यू ह्यामसरमा छलफल कार्यक्रम आयोजना हुन लागेको छ । सबै नेपालीलाई जनगणनामा भाग लिन अपिल गर्ने उद्देश्यले शनिबार (फेब्रुअरी २२ मा) कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    न्यू ह्यामसर नेपाली समाज र गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यू ह्यामसर च्याप्टरको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने एनआरएनए न्यू ह्यामसर च्याप्टर उपाध्यक्ष सुन्दरी गुरुङले जानकारी दिइन् । कार्यक्रममा भाग लिन एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडे लगायत विज्ञहरु पनि आउँदैछन् ।

    एनआरएनए अमेरिकाले यसपालीको जनगणनामा कोही पनि नेपाली नछुटुन् भन्ने ध्येयले चेतना बढाउने निर्णय गरेको छ । सोही अनुरुप च्याप्टरहरुले सचेतना कार्यक्रम सुरु गरेका हुन् ।

    अमेरिकामा नेपालीको संख्या तीन लाख माथि पुगि सकेको बताइए पनि आधिकारिक तथ्यांक न्यून छ । त्यसैले प्राय सबै सरकारी कागजातमा नेपालीले एसियाली या भारतीय एसियाली मूलबाट आफ्नो पहिचान खुलाउन बाध्य हुँदै आएका छन् । जनगणना मार्फत नेपालीको सहि तथ्यांक आएमा सरकारी पहिचान नै फरक पर्न सक्नेछ । त्यसैले सबै नेपालीलाई आफ्नो मातृभाषा खुलाएर जनगणनामा भाग लिन एनआरएनएले अपिल गरेको हो ।

    न्यू ह्यामसरमा एनआरएनए, न्यू ह्यामसर नेपाली समाज लगायत बिभिन्न सामाजीक संघ संस्थाका प्रतिनिधी समेटेर जनगणनामा नेपाली सचेतनाका लागि ४५ सदस्यीय टोली समेत गठन गरिएको छ । सोही टोलीको सहजीकरणमा शनिबार दिउँसो १ बजेदेखि राज्यको हुक्सेट पुस्तकालयमा उक्त कार्यक्रम हुन लागेको हो । सन् २०१० को जनगणनामा पनि अमेरिकामा राम्रै संख्यामा नेपालीको उपस्थिती भइ सकेको थियो । तर, न्यून मात्र गणनामा सामेल भए । यसपालि भने नेपालीको वास्तविक संख्या देखाउने पहल भइ रहेको हो । त्यसले अमेरिकामा नेपाल चिनाउन पनि थप मद्दत पुग्नेछ ।

  • आइतबार न्यूयोर्कमा नेजाको सामुदायिक भेला

    आइतबार न्यूयोर्कमा नेजाको सामुदायिक भेला

    न्यूयोर्क/अमेरिका
    नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आउँदो आइतवार फेबु्रअरी २३ गतेका दिन न्यूयोर्कमा सामुदायिक भेला गर्ने भएको छ । न्यूयोर्कमा आउँदो मे २ र ३ मा हुने नेजाको सातौं अधिवेशनलाई केन्द्रीत गरी सामुदायिक भेला गर्न लागिएको हो ।
    पत्रकार र नेपाली समुदायका क्रियाशिल संघ संगठनका प्रतिनिधिहरुका बीचमा गरिने अन्तरक्रियामा न्यूयोर्क र आसपासमा रहेको नेपाली समुदायलाई कार्यक्रममा उपस्थित हुन नेजाले आग्रह गरेको छ ।

    नेजाका सचिब सुरज भण्डारीले एक प्रेस बिज्ञप्ती जारी गर्दै सातौं अधिवेशन तथा १४ औं वार्षिक साधारण सभालाई मध्यनजर गरी नेजाले विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी गराएका छन् । अधिवेशनको तयारी भइरहेको र सदस्यता वितरण तथा नविकरणको कामलाई तिव्रता दिइएको पनि बिज्ञप्ती मार्फत जनाकारी गराइएको छ । कार्यक्रम आइतबार साँझ ४ बजेदेखि क्विन्सको ज्याक्सन हाइटस्थित रुजभेल्ट एभिन्यूमा रहेको भान्छा घर–२ मा हुनेछ ।

  • ड्रोन उडाएको आरोपमा भारतमा १० नेपाली पक्राउ

    ड्रोन उडाएको आरोपमा भारतमा १० नेपाली पक्राउ

    दार्जलिङ। भारतको दार्जलिङमा ड्रोन उडाएको आरोपमा १० नेपाली पक्राउ परेका छन् । दार्जलिङस्थित कालपोखरी सीमा क्षेत्रमा ड्रोन क्यामेरा उडाएको आरोप उनीहरुमाथि लगाइएको छ ।

    सो क्षेत्रमा ड्रोन उडाउन भारतीय प्रहरीको अनुमति चाहिन्छ । अनुमतिविना सीमा क्षेत्रमा ड्रोन उडाएको आरोपमा प्रहरीले अघिल्लो आइतबार उनीहरूलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय इलामले यसको पुष्टी गरेको हो । यी व्यक्तिले नेपाल र भारत कतैबाट पनि ड्रोन उडाउने सम्बन्धमा अनुमति लिएका थिएनन् ।

    सीमा क्षेत्रमा कार्यरत सशस्त्र सीमा बलले आकाशमा ड्रोन देखेपछि खबर गरेका थिए। उनीहरुलाई दार्जलिङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनीहरूले दार्जलिङको सीङगालीलास्थित राष्ट्रिय निकुञ्जमाथि पनि ड्रोन उडाएको पाइएको छ । त्यो स्थान पनि निषेधित क्षेत्र हो ।

    पक्राउ पर्नेमा झापाका २९ वर्षीय विज्ञान गौतम, २५ वर्षीय विश्वास घिमिरे, २३ वर्षीय निश्चल कार्की, २८ वर्षीय देविन्द्र सिटौला र २३ वर्षीय कमल सुवेदी रहेका छन् ।

    यसैगरी दिपन गौतम, २४ वर्षीय अनिमेस भट्टराई, काठमाडौंका २६ वर्षीय समय रिजाल, चितवनका २४ वर्षिय कृष्ण सापकोटा र धाडिङका २३ वर्षीय सुवोध त्रिपती समेत रहेको बताइएको छ ।

  • प्रथम शहीद लखन थापाको सम्झना

    प्रथम शहीद लखन थापाको सम्झना

    न्यूयोर्क/अमेरिका
    अमेरिकाको न्यूयोर्कमा नेपालको पहिलो शहीद ‘लखन थापामगर’ को १४३ औं स्मृती दिवस मनाइएको छ । नेपाल आदिवासी जनाजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा आइतबार प्रजातन्त्रका सेनानी लखन थापाको योगदान र त्यागलाई सम्झँदै उनको तस्बीरमा पुष्प गुच्छा अर्पण गरिएको थियो ।
    कार्यक्रममा नेपाली महाबाणिज्य दूतावासका बाणिज्यदूत गणेश अधिकारीले राष्ट्रका बिभुतिलाई सम्झदा बिदेशमा भएका नेपालीले एकजुट भएर कार्यक्रम गर्नुपर्ने बताए ।


    बिदेशमा बस्ने नेपालीले राष्ट्रनिर्माणमा योगदान गरेका, त्याग गरेका ब्यक्तिहरुलाई सम्झँदा नेपालीको छोरो भनेर नै सम्झनु पर्छ । ‘कुनै जातजाती, वर्ग, क्षेत्र भन्दा पनि माथी उठेर नेपालीको छोरो भन्दा गर्व महसुस गर्नुपर्छ जस्तो मलाई लाग्छ’ बाणिज्यदूत अधिकारीले भने, ‘यस्ता बिभिन्न दिवसहरु मनाउँदा कन्सुलेटमा छलफल गरौं र कार्यक्रमलाई एकजुट भएर मनाउँ भन्न चाहान्छु ।’
    नेपाल लगायत बिश्वभर छरिएर रहेका नेपालीले हरेक वर्ष फागुन २ गते लगन थापा स्मृति दिवस मनाउँदै आएका छन् । प्रथम शहीद थापाको जन्म सन् १८३५ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो । प्रथम शहीद थापालाई जहाँनिया राणा शासनको बिरोध गर्दा श्री ३ जंगबहादुर राणाको ठाडो आदेशमा १४४ बर्ष अघि बि सं १९३३ (सन् १८७६) फागुनको पहिलो हप्ता उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोटमा झुन्ड्याई मारिएको थियो ।
    नेपाल सरकारले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा बि.सं २०७२ असोज ३ गते बसेको मन्त्रिपरिषदको बैठकले लखन थापा मगरलाई नेपालको प्रथम शहीदको मान्यता प्रदान गरेको थियो ।


    उनले सहादत प्राप्त गरेको १२५ वर्ष पछि मात्रै बि.सं २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा शहीद घोषणा गरिएको थियो । त्यतिबेला पहिलो शहीद भनेर घोषणा गरिएन । त्यसपछि मगर संघ, आदिवासी जनजातीहरुले आन्दोलन गरेर दबाब सिर्जना गरेर गणतन्त्र आएपछि मात्रै उनलाई प्रथम शहीद घोषणा गरिएको थियो ।

     

  • वुहानबाट शनिबार ल्याइदैछ नेपालीलाई, शुक्रबार गरियो पुर्वाभ्यास

    वुहानबाट शनिबार ल्याइदैछ नेपालीलाई, शुक्रबार गरियो पुर्वाभ्यास

    काठमाडौं । सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट आज नेपालीलाई फिर्ता ल्याउदैछ ।

    शुक्रबार त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा पुर्‍याउने सम्बन्धमा पूर्वाभ्यास गरिएको छ ।

    चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटीस्थित विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनमा राखिदैछ ।

    त्यहासम्म कसरी उनीहरुलाई पुर्‍याउने भन्ने सम्बन्धमा प्राविधिकसहितको टोलीले विमानस्थलदेखि खरिपाटीस्थित क्वारेन्टाइनसम्म पूर्वाभ्यास गरिएको हो ।

    चीनबाट शनिबार नेपाल एयरलाइन्सको जहाजले नेपाली विद्यार्थीलाई फिर्ता ल्याउदैछ ।

    करिब १९० जना नेपाली नेपाल एयरलाइन्सबाट नेपाल फर्किदैछन ।

    नेपाल फर्किएका नेपालीलाई २ सातासम्म क्वारेन्टाइनमा राख्नु पर्छ । उनीहरुलाई राख्ने बारे स्थानीयले भने विरोध गरिरहेका छन ।

  • कुबेत दूर्घटनामा निधन भएका ६ जनामध्ये चारको पहिचान

    कुबेत दूर्घटनामा निधन भएका ६ जनामध्ये चारको पहिचान

    कुबेत । कुबेतमा निर्माण सम्बन्धी काम गर्दागर्दै वालुवाले पुरिएर मृत्यु भएका ६ जना मध्ये ४ जनाको पहिचान खुलेको छ ।

    कुवेतस्थित नेपाली दूतावासका अनुसार दुई जना नेपालीको भने पहिचान भइसकेको छैन । ढल निर्माण सम्बन्धी काम गरिरहेको समयमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपाली कामदारको मृत्यु भएको थियो । अन्य दुई जना नेपाली कामदार घाइते छन् ।

    दूतावासका अनुसार ज्यान जाने नेपालीमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी छन् । धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल घाइते छन् ।

    उनीहरुको उपचार भइरहेको छ । मण्डलको अवस्था सामान्य रहेको बताइएको छ ।

    नेपाली कामदार कुवेतस्थित युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी (डब्लुएलएल) मार्फत् अल मुत्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । यो चिनियाँ कम्पनी हो ।

  • कुवेतमा दूर्घटना, ४ नेपालीको ज्यान गयो

    कुवेतमा दूर्घटना, ४ नेपालीको ज्यान गयो

    कुवेत । कुवेतमा काम गर्ने स्थानमा भएको दूर्घटनामा पुरिएर ४ नेपालीको ज्यान गएको छ । अन्य ३ जना घाइते रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार बालुवा र ग्राभेलसहितको ढिस्को खसेको थियो ।

    जसले कामदारहरुलाई पुरेको बताइएको छ । घटनामा ४ नेपाली कामदार परेको बताइएको छ ।

    परिचय भने सार्वजनिक गरिएको छैन । घाइतेको उपचार भइरहेको बताइएको छ ।

    त्यहाँ चिनियाँ कम्पनीले निर्माणको काम गरिरहेको थियो । समाचार अनुसार निर्माणस्थलको ब्लक ५ मा ढल निर्माणको काम भइरहेको थियो ।

    कुवेतमा ठूलो संख्यामा नेपाली कामदारको ज्यान गएको यो पहिलो पटक हो । कुवेत तुलनात्मक रुपमा सुरक्षित गन्तब्य मानिन्छ ।

  • नेम्बाङको स्मृतिमा श्रष्टालाई सम्मान

    नेम्बाङको स्मृतिमा श्रष्टालाई सम्मान

    न्यूर्योक/अमेरिका –
    अमर नेम्बाङ लिम्बू स्मृति ट्रष्टद्वारा दुई श्रष्टालाई साहित्य पुरस्कारबाट आइतबार सम्मान गरिएको छ । पाँचथरको फागुनन्द गाउँपालिकाका पूर्व अध्यक्ष नेम्वाङको वार्षिक स्मृतिका अवसरमा पाँचथरका साहित्यकार डा.देवी क्षेत्री दुलाल र झापाका कवि तथा समालोचक मुनाराज शर्मालाई नगद एक लाख राशि सहित सम्मान पत्रले सम्मान गरिएको हो । सोही अवसरमा ‘अमर नेम्बाङ लिम्बु ट्रष्ट’ द्वारा मेन्छ्यायेम एफएम १०३.४ मेघाहर्ज तेह्रथुमलाई पाँच हजार रुपैंयाँ, स्थानीय फाल्गुनन्द–३, पौवासारतापका विद्यालयको शैक्षिक उन्नति सहयोग र छात्रवृत्तिका लागि दुई विद्यालयलाई सहयोग गरिएको छ । फक्ताङलुङ वाल बिकास आधारभूत विद्यालयललाई ५० हजार रुपैंयाँ र स्थानीय पद्मकन्या आधारभूत विद्यालयमा अध्यनरत बिध्यार्थीको छात्रवृतिको निमित्त १२ हजार रूपैंया सहयोग प्रदान गरिएको छ ।
    साथै केही समय अघि आगलागीबाट घर जलेका फाल्गुनन्द–३, गुम्बाडाँडाका धनकुमार तामाङलाई हाल अमेरिकामा बसोबास गर्दै आएका ट्रष्टका अध्यक्ष मुनिन्द्र नेम्बाङको पहलमा संकलन गरिएको ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।


    नेम्वाङको जन्म स्थान फाल्गुनन्द–३, पौवासारतापको शिलौटीफेदीमा रहेको अमर नेम्वाङ स्मृति रंगशालामा एक कार्यक्रम आयोजना गरी श्रष्टाहरुलाई सम्मान गरिएको हो ।
    कार्यक्रममा रङ्गवादी कवि धर्मेन्द्र नेम्वाङ, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव डा.तुलसीप्रसाद भट्टराई, आख्यानकार कृष्ण बराल, कवि प्रेम ओझा, सन्देश सुब्बा, प्रकाश थाम्सुहाङ्ग, मिना राई, गजलकार बालिका थपलिया, नुनाम केरुङ्ग, दुर्गाराज भट्टराई, गायक खड्ग बोहोरा, सुरेन शिशिर केरुङ्ग, गजलकार तथा वक्ता मधु केरुङ्ग लगायतले श्रद्धासुमन सहित नेम्वाङको जीवनीको चर्चा गरेका थिए । इलाम, झापा र पाँचथरका साहित्य प्रेमीको समेत उपस्थित रहेको स्मृति दिवसमा श्रष्टाहरुले रचना बाचन गरेका थिए ।
    फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदकै समयमा गत वर्ष नेम्वाङको स्वर्गारोहण भएको थियो । साहित्यिक मात्र नभएर सामाजिक र राजीतिक क्षेत्रमा समेत बिशिष्ट योगदान गर्दै आएका नेम्वाङको सम्झनामा समाजमा गरिएका
    सकारात्मक काम र योगदानलाई प्रोत्साहन गर्ने उदेश्यले ट्रष्टको स्थापना गरिएको ट्रष्टका अध्यक्ष नेम्वाङका जेष्ठ सुपुत्र मुनिन्द्र नेम्बाङले जानकारी दिए । ट्रष्टले विभिन्न विधामा कलम चलाउने श्रष्टा, शैक्षिक तथा मिडिया क्षेत्र लगायतलाई बर्षेनी सम्मान गर्ने उनले जानकारी दिए ।
    उनी लिम्बु समुदायमा स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुन् । आफ्नो मात्र प्रगतिले गाउँ, समाज र गाउँलेको जीवनमा कुनै परिवर्तन ल्याउँन सक्दैन भन्ने सोच राख्ने नेम्वाङले अध्ययन पछि नोकरी नगरी ग्रामीण क्षेत्रको सेवामा सक्रिय जीबन बिताएका थिए । वि।स।२०३३ सालमा छिमेकी गाउँपञ्चायत चिलिङदिनको जनपक्षिय नेपाली कांग्रेसको तर्फबाट निर्विरोध प्रधानपञ्च भएपछि उनी पटक÷पटक साविक पौवासारताप गाविस अध्यक्ष बन्दै गणतन्त्रको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा फाल्गुनन्द गाउँपालिका प्रथम निर्वाचित अध्यक्ष भए। तीनवटै व्यवस्था गाउँञ्चायत, गाउँविकास समिति, र गाउँपालिकाको जिम्मेवारी वहन गर्ने व्यक्तिको रूपमा परिचित थिए । नयाँ संरचना अनुसार ७५३ वटै स्थानीय तहको सरकार मध्ये नेम्बाङले फाल्गुनन्द गाउँपालिकामा मात्र आधारभूत तथा माध्यमिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठनलाई प्राथमिकताका साथ संचालन गरेकाले देशभर चर्चा कमाएका थिए ।

    २०७५ माघ २६ गते गाउँपालिका अध्यक्ष कार्यकाल सम्हालिरहेको अवस्थामा वडाको एक कार्यक्रममा सम्बोधन गर्दै गर्दा बेहोस भएका थिए । त्यस पछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको थियो ।
    विश्व साहित्यको अध्यन गर्दै बिभिन्न ठाँउको भ्रमण गर्ने क्रममा आफ्ना अनुभवहरु समेटेका केही कृतिहरु पनि प्रकाशित गरेका थिए ।
    अमेरिका भ्रमणका केही सम्झना, सम्झनाका तरेलिहरु र एक साँझको अवसान नामक कविता संग्रह प्रकाशित छ । २०७५ सालमा नेपाल सरकारको तर्फबाट उनलाई सुप्रवल जनसेवा श्री पदकले विभुषित गरिएको थियो ।

  • युनाइटेड मुगुम अर्गनाइजेशनको पहिलो ल्होछार

    युनाइटेड मुगुम अर्गनाइजेशनको पहिलो ल्होछार

    न्यूयोर्क/अमेरिका
    युनाइटेड मुगुम अर्गानाइजेशनको आयोजनामा पहिलो पटक औपचारिकरुपमा सोनाम ल्होछार मनाईएको छ । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समुदायका व्यक्तिहरुसंग गत शनिवार मुगुम( मुगाल) जातिको महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार २१४७, (२०२०) जीवा लो (मुसा वर्ग) को अवसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गर्दै मनाएको हो ।
    पेमा नामग्यालको अध्यक्षतामा र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेमजोङको प्रमुख आतिथ्यमा अन्य विशिष्ट व्यक्तिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
    त्यस्तै कार्यक्रमका प्रमुख अतिथि फिप्नाका अध्यक्ष चेम्जोङले मुगुम अर्गनाइजेशनले पहिलोपटक सबै समुदायलाई समेटेर ल्होछार मनाएकोमा संस्थाको प्रसंसा गरे । उनले नेपालमा १२५ भन्दा बढी जातजाति रहेको र त्यसभित्र मुगाली समुदाय विशेष पहिचान बनाउदै अगाडि बढेको बताए । ‘हाम्रो देश यस्तो देश हो, जहाँ हाम्रो पुर्खा वा आमाहरुले बनाएको जडिबुटीनै कडा औषधिको रुपमा काम गर्छ,’ अध्यक्ष चेम्जोङले भने ‘नेपालीको पहिचान दौरा सुरुवाल मात्र नभएर विभिन्न जातजातिको संस्कार र संस्कृति पनि हो ।’ नेपालमा पहिचानको सहितको संघीयता स्थापित हुनुपर्ने उनले बताए । यसका लागि समग्र आदिवासी जनजातिहरु एक भएर आवाज उठाउनुपर्ने समेत बताए । चेम्जोङले उक्त कार्यक्रम मार्फत सम्पूर्णलाई अमेरिकाको जनगणना २०२० मा रजिस्टर हुन समेत अनुरोध गरे ।

    संस्थाका सचिव गेलेक नामग्यालले मुगालीहरुको भेष भुषा एउटा विशेष भए पनि सहज रुपमा नपाइने बताए । उनले मुगालीहरुले आफ्नो भेषभुषाका बारेमा सोच्नुपर्ने समय आएको र आफ्नो परम्परालाई बचाइ राख्नका लागि सबै एकभएर अगाडि बढ्नुपर्ने बताए ।

    कार्यक्रममा मुगुम(मुगाल) का लामागुरु र फिप्नाका अध्यक्ष चेमजोङद्धारा भगवान गौतम बुद्धको मूर्तिमा खादा चढाइएको थियो । नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढा मगरले मुगाली समाज आफ्नो पारिवारिक समाज रहेको बताउँदै मुगाली समाजको संस्कृति र भेषभुषाका बारेमा प्रसंसा गरेका थिए । उनले यो संसारमा खोजेर नपाइने भन्दै आफ्नो भेषभुषामा सजिएर आएकोमा खुसी व्यक्त गरेका थिए । ढोकप्या किदुगका अध्यक्ष गोवा लामाले मुगाली समाज र आफ्नो समाजको संस्कार धेरै कुरामा मिल्दोजुल्दो रहेको बताउँदै सुरुका दिनमा आफ्नो समाजले पनि यसरी नै सुरुवात गरेको बताए । उनले भविष्यमा सबै संघसंस्थासँग भाइचाराको सम्बन्ध कायम गर्दै आफ्नो चाडपर्वलाई यसरी नै मिलेर मनाउने प्रतिबद्धता जनाए ।

    सञ्चारकर्मी निमा पाख्रिनले नेपालमा मुगाली समाज धेरै चर्चित समाज रहेको बताउँदै आफू नेपालको धेरै ठाउँमा भ्रमण गरेता पनि मुगुममा नपुगेको तर न्युर्योकमा आएर भेट्ने अवसर जुरेको भन्दै खुसी व्यक्त गरेका थिए । उनले आफ्नो मौलिक परम्परालाई जोगाउँदै आफ्नो हकअधिकार र पहिचानको लागि हामी सधै एक भएर अघि बढ्नुपर्ने बताए ।

    दोश्रो चरणको कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालका गीता राईले नृत्य प्रस्तुत गरेकी थिइन् भने कलाकारहरु छिरिङ तेन्पा, ज्याम्पा तेन्जिन, गेलेक नामग्याल, भिटिक, छिरिङ भिटिक, गालदेन, कुञ्जोम र तेन्जिन साङमोले (मुगाल) परम्परागत लोक संस्कृतिनृत्य प्रस्तुत् गरेका थिए । मुगुम युवा कलाकार कुङगा डीमे र टाशी दुन्डुपले नेपाली र तिब्बत्तीयन गीत प्रस्तुत गरेका थिए । चर्चित लोक गायक सुमन बुढामगर र सुवर्ण शाक्यले आ–आफ्नो कला प्रस्तुत गरेका थिए । मुगुम समाजका अन्य कलाकारले मौलिक संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।


    फिप्नाका सचिब टोमा लामाले निर्देशन र अभिनय गरेको मुगाल जातिको प्रथम चलचित्र ‘सोल्जी’ र दोस्रो चलचित्र ‘फेक’ का केही झलक प्रस्तुत गरेकी थिइन् । उनले यी दुईवटै चलचित्र नेपाल सरकार, चलचित्र विकास बोर्डको अवार्डबाट सम्मानित भएको र अन्य विभिन्न अवार्डहरुबाट सम्मानित भएको जानकारी गराएकी थिइन् ।

  • नेपाली महिलाले अमेरिकाको डेनाली हिमाल चढ्ने

    नेपाली महिलाले अमेरिकाको डेनाली हिमाल चढ्ने

    कल्पना घिमिरे
    न्यूयोर्क/अमेरिका
    नेपाली महिला शर्मिला थापामगरले अमेरिकाको डेनाली हिमाल चढ्ने भएकी छिन् । सन् २०१४ देखि अमेरिका आवतजावत गरिरहेकी थापा यसपाली अमेरिकाको अलस्का राज्यमा रहेको ६,१९० मिटर अग्लो डेनाली हिमाल चढ्ने उदेश्य लिएर आएकी हुन् । गत शनिबार न्यूयोर्कको ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गर्दै आगामी मे महिनामा डेनाली हिमाल चढ्ने तयारी भइरहेको बताइन् । उनीसंगै ३५ पटक बिभिन्न हिमाल आरोहण गरिसकेका हिमाल आरोही तुलसी गुरुङ पनि चढ्ने छन् ।
    डेनाली हिमाल अमेरिकाको सबै भन्दा अग्लो हिमाल हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र सम्पूर्ण एकल महिलालाई केही गर्ने प्रोत्साहन मिलोस् भन्दै हिमाल चढ्न लागेको उनको भनाइ छ । ‘बिभिन्न कारणले एकल भएका महिलालाई अझैपनि समाजले हेर्ने दृष्ट्रिकोण परिवर्तन हुन सकेको छैन । महिलाहरु नरम होलान् तर कमजोर छैनन भन्ने सन्देश फैलाउनका लागि पनि मैले यस्तो तयारी गरेको हँ ’ उनी भन्छिन्, ‘सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको अवस्थामा मैले अमेरिकाको हिमालमा नेपालको झण्डा फहराउन सके भने त्यसले ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि सकारात्मक सन्देश दिनेछ ।’


    गत वर्ष ६००० मिटर अग्लो सिन्धुपाल्चोकको जुगल हिमाल सफल आरोहण गरिसकेकी शर्मिलाले अमेरिकामा पनि केही गरेर देखाउने लक्ष्य लिएकी हुन् । हिमाल चढ्नका लागि आर्थिक संकलन जुटाउन अमेरिकास्थित नेपाली समुदायसंग सहयोगको अपिल गरेकी छिन् । ‘हिमाल चढ्नका लागि झण्डै २७ हजार अमेरिकी डलर अनुमानित खर्च लाग्ने भएकाले सबैले सहयोग गरिदिनु हुन अनुरोध छ’ उनी भन्छिन्, ‘१३ दिन सम्म माथि जाने र फर्कने गरी २१ दिनको समय लाग्छ । त्यसबिचमा खानपान, बसोबासको सामग्री देखि हामी लगाउने बिशेष कपडा, गियरहरु समेतको खर्च सबै जुटाउनु पर्नेछ । यस्ता सामाग्री अत्यन्तै महंगो हुन्छ ।’ हाल उनी क्विन्सको कोर्ट अफ स्क्वायर एक स्कुलमा क्लाइम्वर्सको तालिम लिइरहेकी छिन् । नेपाली समुदाय र संघ संस्थामा आफ्नो उदेश्य बारे बताउँदा सबैले मगर संघमा जानु भनिरहेको पनि उनले बताइन् । ‘तर, म मगरको छोरी भएर मात्रै हिमाल चढ्न लागेको होइन । आम नेपालीको छोरी भएर हिमाल चढ्दैछु । भोली मैले हिमालको चुचुरोमा नेपालको झण्डा फहराउँदा त्यहा सिङ्गो नेपाल र सम्पूर्ण नेपालीले गौरब गर्नेछन् । त्यसैले मलाई सबैले सहयोग गरिदिनु हुन पनि अनुरोध गर्दछु’ उनको अपिल छ ।


    शर्मिलाले एकल महिलाको जीबनमा मात्र हैन समाज परिवर्तन गर्नका लागि गहन भूमिका निर्वाह गदै आएकी छिन् । ‘मृत्यपछि दागबत्ती दिन छोरा नै चाहिन्छ’ भन्ने पुरानो मान्यतालाई चिर्दै छोरीले पनि छोरा सरह काम कर्तब्य पालन गर्न सक्छ भन्ने सन्देश दिएकी छिन् । उनले आफ्नो आमाको मृत्युमा आफैले दाग बत्ती दिएर, कपाल मुन्डन गरी १३ दिनसम्म आमाको काजकिरियामा बसेकी थिइन् । उनको यो शाहसलाई सामाजिक रुपान्तरणको उदाहरणको रुपमा लिइएको छ

    सन् २०१५ मा नेपालामा गएको महाभुकम्पमा ज्यान गुमाउनेका परिवारलाई दिनरात सहयोग गरिन् । उनले समाज परिवर्तनका लागि गरेको योगदानको कदर गर्दै सन् २०१५ मा संयूक्त राष्ट्र संघले एन पी सी अर्वाडले सम्मान गरेको थियो । कार्यक्रममा शर्मिलाले जीवनका गरेका संघर्षबारे बनेको छोटो बृतचित्र प्रस्तुत गरिएको थियो ।
    मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप रानामगरले शर्मिलालाई सबैले सहयोग गरिदिनु हुन आग्रह गरेका छन् । शर्मिलाको यो लक्ष्य पुरा गराउनका लागि संस्थाको तर्फबाट अभिभावकको भुमिका निर्वाह गरिरहेको पनि उनले जानकारी दिए । न्यूयोर्क, टेक्सास, बाल्टिमोर लगायतबाट पनि सहयोग गराउन पहल गरिरहेका छौं । सहयोगको अपिल गर्दै उनी नेपाली महाबाणीज्य दूताबास, डिसिस्थित नेपाली राजदुताबास सबैतिर धाइरहेकी छिन् । सरकारका तर्फबाट केही जानकारी नआएसम्म कन्सुलेटले प्रत्यक्ष बजेट दिन नमिल्ने जानकारी गराएको उनले बताइन् ।

  • चीनमा रहेका नेपालीको उद्दार गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह

    चीनमा रहेका नेपालीको उद्दार गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह

    काठमाडौं । राष्ट्रिय मानवाधिकार आयोगले चीनमा रहेका नेपालीलाई सुरक्षित रुपमा घर फर्काउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    चीनबाट स्वदेश फर्किन चाहेका नेपालीलाई अतिलम्ब उद्धार गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

    आफ्ना नागरिकलाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउन आयोगले निर्देशन दिने निर्णय गरेको छ ।

    आयोगको बैठक आइतबार बसेको थियो ।

    चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील भई उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको आयोगका सचिव वेद भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    आयोगले चीनबाट नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकारले गरिरहेको कामको जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगमा बोलाउने निर्णय समेत गरेको छ ।

    चीनको हुवेई प्रान्तबाट १८० नेपालीले स्वदेश फर्कन चाहेका छन् । उनीहरुले चीनस्थित नेपाली दूतावासमा फारम समेत भरिसकेका छन् ।

    उता, चीन सरकारले भने चीनमा रहेका सबै नेपाली सुरक्षित रहेको बताएको छ ।

    यता, नेपाल सरकारले भने चीनबाट फर्काइएका नेपालीलाई राख्ने क्वारेन्टाइनको व्यवस्था नगर्दा नेपाल फर्काउन ढिलाइ भइरहेको छ ।

  • तामाङ समाज अमेरिकाले मनायो ल्होछार

    तामाङ समाज अमेरिकाले मनायो ल्होछार

    न्यूयोर्क/अमेरिका
    तामाङ समाज अमेरिकाले तामाङ समुदायको महान पर्व सोनाम ल्होछार (नयाँँ वर्ष) विशेष कार्यक्रम गर्दै मनाएको छ । बौद्धधर्म परम्परा अनुसार साङ सेरकिम पुजासंगै शुरु भएको ल्होछार कार्यक्रममा तामाङ समुदायको साथै न्युयोर्क र आसपासमा रहेका विभिन्न समुदायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । तामाङ समुदायको मौलिक संस्कृति झल्कने प्रस्तुती सहित गत साता ल्होछार आयोजना गरिएको हो । प्रवासमा आफनो धर्म र सस्कृतिको संरक्षणको गर्दै यस पटक बौद्धधर्म गुरु लोपेन गिर्मि छोढकको उपस्थितिमा विशेष धार्मिक पुजा पाठ गरिएको थिए ।


    उक्त अवसरमा आदीवासी जनजाती महासंघ फिप्नाका पुर्व अध्यक्ष लुइसाङ वाइवा, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, आदीवासी जनजाति महासंघ फिफ्नाका सल्लाहकार मणी वाङदेल, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, बागलुङ समाजका अध्यक्ष चन्द्र जिशि, एनआरएन व्यापार तथा पर्यटन संयोजक आङ जाङबु शेर्पा, लङ आइल्याण्ड समाजका प्रतिनिधि राजन गौली, तमु परिवारका अध्यक्ष मनिता गुरूङलगायतले ल्होछारको शुभकामना ब्यक्त गरेका थिए ।
    तामाङ समाजकी महासचिब महासचिव विनिता तामाङले सञ्चालन गरेको औपचारिक कार्यक्रमपछि दोश्रो चरणमा तामाङ लोक संस्कृति झल्कने विभिन्न तामाङ नृत्यहरुसंगै झन्कार डान्स सेन्टर र बसन्त डान्स सेन्टरको कोरियोग्राफीमा विभिन्न लोक नृत्यहरु प्रस्तुत गरिएको थियो ।


    कार्यक्रममा उपस्थित अतिथिहरुलाई आयोजकले तामाङको टोपि र खादा लगाइदिएर ल्होछारको शुभकामना आदानप्रदान गरेका थिए । तामाङ समाज अमेरिकाले गत वर्ष देखि छुट्टै ल्होछार मनाउँदै आएको हो ।

  • न्यूयोर्कमा श्रष्टा सम्मानित

    न्यूयोर्कमा श्रष्टा सम्मानित

    न्यूयोर्क/अमेरिका
    अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरले ४ जना साहित्य श्रष्टाहरुलाई सम्मान गरेको छ । आइतबार न्यूयोर्कको ज्याक्सन हाईटमा आयोजना गरिएको ‘न्यूयोर्कमा श्रष्टा’ नामक कार्यक्रममा साहित्य श्रष्टाहरुको श्रृजना सुनाइएको थियो ।
    अनेसास न्यूयोर्क च्याप्टरका महासचिव राजन महर्जनका अनुसार, हरेक तीन महिनाको अन्तरालमा ४/४ जना श्रष्टाहरुलाई सम्मान गर्ने र उनीहरुको साहित्य श्रृजना सुन्ने नयाँ कार्यक्रमको थालनी गरिएको छ । त्यसै अनुरुप ‘न्यूयोर्कमा श्रष्टा’ पहिलो कार्यक्रम हो ।


    उक्त कार्यक्रममा अमेरिकी प्रवासमा रहेर नेपाली साहित्यमा योगदान पु¥याउने साहित्यकारहरु किशनसिंह धामी, बिनोद रोका, मधु माधुर्य, तथा पद्मा लिंखा मगरलाई सम्मान गरिएको थियो । उक्त अवसरमा सम्मानित साहित्यकारहरुले आ–आफ्नो श्रृजना सुनाएका थिए ।
    कार्यक्रममा अनेसास न्यूयोर्क च्याप्टरका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । च्याप्टरमा दुई कार्यकालसम्म रहँदा श्रेष्ठले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । यसैगरी, अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टीका अध्यक्ष साहित्यकार गीता खत्रीको कथा संग्रह ‘अन्त्यहिन इच्छा’ को अंग्रेजीमा अनुवाद ‘सेमलेस डिजायर’  को लोकार्पण गरिएको थियो ।
    नेपाली साहित्यकारहरुको श्रृजनाहरुलाई अन्तराष्ट्रिय स्तरमा परिचय गराउन यो पुस्तक एउटा ठोस माध्यम भएको बताइएको थियो । साथै १७ वटा मनछुने कथा समेटिएको यो पुस्तकले मान्छेको मन छुन सफल रहेको अंग्रेजी पुस्तक लेखक साहित्यकार राजन थपलियाले बताएका थिए ।

    अनेसास न्यूयोर्क च्याप्टरकी अध्यक्ष साहित्यकार शकुन ज्ञवालीले साहित्यकारहरुका श्रृजना सुन्न पाउँदा मनै आनन्द हुने बताएकी थिइन् । बेला/बेलामा यस्ता कार्यक्रम आयोजना गर्नाले लेख्ने र श्रृजना गर्नेहरुलाई समेत प्रोत्साहन मिल्ने उनी बताउँछिन् ।

  • चीनमा नेपाली सुरक्षित छन् : चीन

    चीनमा नेपाली सुरक्षित छन् : चीन

    काठमाडौं । चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपालीहरु सुरक्षित रहेको बताएको छ ।

    चीनमा रहेका नेपालीका सम्बन्धमा विभिन्न गुनासो बढ्दै गएपछि चिनियाँ दूतावासले एक विज्ञप्ती जारी गरेको छ ।

    दूतावासका अनुसार नेपालीको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी चीनले गरेको छ ।

    त्यसकारण नेपालीहरु सुरक्षित रहेको सम्न्बधमा आश्वस्त रहन दूतावासले आग्रह गरेको छ ।

    ‘विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् । उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ,’ चिनियाँ दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    चीनको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो । त्यहाँ नेपाली विद्यार्थी रहेको र उनीहरु उद्दारको पर्खाइमा रहेका छन् ।

    महामारी नियन्त्रण र विदेशीहरुसँग समन्वय गर्नका लागि आपतकालीन संयन्त्र स्थापना गरिएको समेत दूतावासले उल्लेख गरेको छ ।

    ‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं । चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ,’ विज्ञप्तीमा भनिएको छ ।

    नेपाली पक्षले कोरोना भाइरसको महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग समन्वय गरेर चालेका कदमहरुको चीनले प्रशंसासमेत गरेको छ ।

  • चीनमा रहेका नेपालीबारे के गरिरहेको छ सरकार ?

    चीनमा रहेका नेपालीबारे के गरिरहेको छ सरकार ?

    काठमाडौं । चीनमा ठूलो संख्यामा नेपाली बसोबास गर्छन् । खासगरी विद्यार्थीको चीनमा बाहुल्य रहको छ ।

    चीनमा कोरोना भाइरसको प्रकोप बढेसँगै धेरै मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् ।

    तर, नेपालले भने यसतर्फ अझै पनि पहल थालिसकेको छैन ।

    कोरोनाबाट अति प्रभावित १ सय ९० जना विद्यार्थीले चीनस्थित नेपाली दूतावासलाई उद्दारका लागि आग्रह गरेका थिए ।

    तर, दूतावासले भने नेपाल सरकारको निर्णय कुरिरहेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार चीनको वुहानमा रहेका विद्यार्थीलाई नेपाल ल्याउने सम्बन्धमा तयारी भइरहेको बताएको छ ।

    उनीहरुलाई कसरी नेपाल फर्काउन सकिन्छ भन्नेबारे आवश्यक तयारीको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

    चीनबाट नेपाल ल्याइसकेपछि पनि उनीहरुलाई अन्य मानिसको सम्पर्कमा राख्नु नहुने भएकाले त्यसको तयारीमा समय लागेको हो ।

    नेपालमा धेरै जनालाई एकै स्थानमा र विशेष सतकर्ताका साथ राख्न सकिने स्थान नभएका कारण नेपाल ल्याउन समय लागेको बताइएको छ ।

    कोरोनाको सर्ने अवधि २ देखि १४ दिनसम्म रहन्छ । त्यसकारण उनीहरुलाई छुट्टै वार्डमा राख्नुपर्छ ।

    कोरोनाले चीनमा मात्र १ सय ७० जनाको ज्यान गइसकेको छ । विश्वका १५ देशमा यसको संक्रमण फैलिसकेको छ । ७ हजार भन्दा बढीमा यसको संक्रमण देखिएको छ ।

  • एनआरएनएसँगको सहकार्यमा १० विमानस्थलको सरसफाई अडिट गरिने

    एनआरएनएसँगको सहकार्यमा १० विमानस्थलको सरसफाई अडिट गरिने

    काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँगको सहकार्यमा नेपालका १० विमानस्थलको सरसफाईबारे अडिट गर्ने भएको छ ।

    नेपालका १० ठूला र अति व्यस्त रहने तराई भेगका विमानस्थलमा अहिले भइरहेको सरसफाईको अवस्थाबारे अडिट गरिन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

    विमानस्थलहरुमा सरसफाईको मौजुदा अवस्थाबारे एक महिनासम्म स्थलगत अध्ययन गरी जानकारी लिने र प्राप्त सुझावका आधारमा आगामी दिनमा प्रभावकारी काम गर्ने उद्देश्य राखिएको मन्त्रालयले उल्लेख गरेको छ ।

    यसका लागि गैरआवासीय नेपाली संघसँग समझदारीसमेत भएको छ ।

    समझदारी अनुसार २० फागुनदेखि १९ चैत २०७६सम्म एक महिना विमानस्थलको स्थलगत अध्ययन भ्रमण गरी सरसफाईको अवस्थाबारे रिपोर्ट तयार हुने भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक र अन्तर्राष्ट्रिय)सहित विराटनगर विमानस्थल, चन्द्रगढी विमानस्थल, जनकपुर विमानस्थल, सिमरा विमानस्थल, र भरतपुर विमानस्थलमा यस्तो अडिट हुनेछ ।

    साथै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल (भैरहवा), पोखरा अन्तराष्ट्रिय विमानस्थल, नेपालगन्ज विमानस्थल र धनगढी विमानस्थलको समेत सरसफाई अडिट हुने भएको छ । यसले भ्रमण वर्षलाई समेत सकारात्मक प्रभाव पर्ने सरकारको विश्वास छ ।

  • यूएईमा १ वर्षमै गयो १०३ नेपालीको ज्यान

    यूएईमा १ वर्षमै गयो १०३ नेपालीको ज्यान

    यूएई । पछिल्लो एक वर्षमा यूइएमा मात्र १ सय ३ जना नेपालीको ज्यान गएको छ ।

    यूएईस्थित नेपाली दूतावासको तथ्यांक अनुसार यसरी ज्यान जानेमा ९९ जना पुरुष छन् भने ४ जना महिला छन् ।

    यस मुलुकमा दूर्घटनाका कारण धेरैले ज्यान गुमाउँछन् । खासगरी तिबै गतिमा सवारी साधन चल्ने भएकाले सानो गल्तीको सजाय नि यहाँ मृत्यु हुने भएको छ । नेपाली युवाका लागि यूएईमूख्य श्रम बजार हो ।

    दूतावासका अनुसार सन् २०१९ मा यति मानिसको ज्यान गएको हो । सन् २०१९ मा सडक दुर्घटनाले २३ जना नेपालीको ज्यान लिएको छ । १ महिला र ५६ जना पुरुषको भने प्राकृतिक मृत्यु भएको बताइएको छ ।

    १ महिला र १७ पुरुषले भने आत्महत्या गरेका हुन् । कामको अधिक चाप र घरबाट आउने अपेक्षाकृत दवावका अनुसार धेरै नेपाली आत्महत्या गर्न बाध्य हुन्छन् ।

    पछिल्ला वर्षहरुमा निरन्तर यस मुलुकमा नेपालीले ज्यान गुमाइरहेका छन् ।

    सन् २०१८ मा ९८ को ज्यान गएको तथ्यांक थियो । यस मुलुकले करीव साढे २ लाख नेपालीलाई रोजगार दिइरहेको छ ।

    अहिले वर्षेनी करीव १ हजारको संख्यामा नेपालीहरुले विदेशमा ज्यान गुमाउँछन् । रोजगारीको सिलसिलामा करीव ४५ लाख नेपाली विदेशमा रहेको अनुमान रहेको छ ।

  • ओहायो सिनेटर सेरुद ब्राउनद्वारा ५ पटक बिश्व किर्तिमानी उज्वल ठकुरी सम्मानित

    ओहायो सिनेटर सेरुद ब्राउनद्वारा ५ पटक बिश्व किर्तिमानी उज्वल ठकुरी सम्मानित

    ओहायो

    अमेरिकाको ओहायो राज्यका सिनेटर सेरुद ब्राउनले ५ भिन्नाभिन्नै गिनिज बुक अफ वर्ल्ड रेकर्डका किर्तिमानी नेपाली मुलका उज्ज्वल ठकुरीलाई लिखित मान्यता प्राप्त पुरस्कारद्वारा सम्मान गरेको छ । ब्राउनले जेनेवरी १८ तारिखका दिन ठकुरीको साहस र  मेहेनतको लागि उक्त पुरस्कार प्रदान गरेको हो ।

    सिनेटर सेरुद ब्राउन ओहायो राज्यमा सन् २००६ देखि जितेर आएका डेमोक्रेटिक पार्टीमा आबद्ध मुख्य सिनेटर हुन् । उज्ज्वल ठकुरीद्वारा दोस्रो र तेस्रो बिश्व किर्तिमान ओहायो राज्यबाट गरेको पत्रचार हुने बित्तिकै उक्त पुरस्कारद्वारा सम्मानित गरेको हो ।

    उज्ज्वल ठकुरी पहिलो बिश्व किर्तिमानी कराँते खेलाडी हुन् जस्ले अमेरिकाको ३ छुट्टाछुट्टै संसद भवनका बहालवाला सिनेटरहरुद्वारा पुरस्कार प्राप्त गरेका छन् । ठकुरी यसअघि दुई बहालवाला सिनेटरहरु टिम केन र मार्क वार्नरद्वारा सम्मानित भएका थिए ।  

  • एनआरएन कनेक्टिकट च्याप्टरले उत्तरपुर्व क्षेत्रको सपथ तथा अमेरिकी सेन्सस २०२० विषयक कार्यक्रम सम्पन्न गर्यो

    एनआरएन कनेक्टिकट च्याप्टरले उत्तरपुर्व क्षेत्रको सपथ तथा अमेरिकी सेन्सस २०२० विषयक कार्यक्रम सम्पन्न गर्यो

    केपी भट्ट, कनेक्टिकट
    जनवरी १८,२०२०  

    एनआरएन कनेक्टिकट च्याप्टरको आयोजनामा अमेरिका उत्तरपूर्व क्षेत्रको सपथ ग्रहण र अमेरिकी जनगणना २०२० विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई दुई चरणमा पुरा गरिएको थियो । NRNA NCC USA का बरिष्ट उपाध्यक्ष अर्जुन बन्जाडेको प्रमुख आतिथ्यमा पहिलो चरण अन्तर्गत उत्तरपुर्व क्षेत्रको सपथ ग्रहण गरेर शुरु गरेको हो । सो कार्यक्रमलाई उत्तरपुर्व क्षेत्रका सचिव एवम न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले सञ्चालन गरेको थियो । 

    कार्यक्रम यस क्षेत्रका उपाध्यक्ष एवम् विषेश अतिथि वि आर लामाको सभाप्तित्वमा भएको थियो । उक्त उत्तर पुर्व क्षेत्रका संयोजक संजिव श्रेष्ठ कार्यसमिति सदस्य धनश्याम खड्का लगायतले सथप ग्रहण गर्नुको साथै प्रमाण पत्र वितरण गरिएको थियो । 

    दोस्रो चरणको कार्यक्रम अनआरएन कनेक्टिकट च्यापटरका अध्यक्ष हरिप्रसाद जोशीको सभापतित्वमा सम्पन्न भएको थियो । दोस्रो चरण अन्तर्गत अमेरिकी जनगणना Census 2020 को बारेमा विभिन्न व्यतिहरुले आफ्नो धारणा राख्नुको साथै  आगामी Census 2020 मा सहभागी हुन अनुरोध गरेका थिए । वेष्ट हार्टफोर्ड टाउन Representation of Census 2020 को तर्फबाट Cathrine Marx ले अमेरिकी जनगणनाको बारेमा चर्चा गरेको थियो । 

    कार्यक्रममा NRNA NCC USA का बोर्ड मेम्बर खेम विक्रम भट्टराई, NRNA NCC USA का युथ कोडिनेटर विनोद रुवाली , एनआरएन NCC USA का सल्लाहकार सन्जय थापा, सतेन्द्र शाह, न्युहेम्पसायर च्याप्टरका अध्क्षय डम्बर कडरिया, बोस्टन च्याप्टरका अध्यक्ष प्रेम लामा, न्युजर्सी च्याप्टरका अध्यक्ष समर बुढाथोकी लगायतको उपस्थिति थियो । 

    कार्यक्रममा विभिन्न स्थानीय संध संस्थाका प्रमुखले आ-आफ्नो धारणा राखेका थिए । नेपाली समाज कनेक्टिकटका अध्यक्ष जितेन्द्र बस्नेत, हाडफोर्ड लायन्स क्लबका अध्यक्ष माधव आत्रेय लगायतले Census 2020 मा सबै लाई सहभागी हुन अनुरोध गरेको थियो । च्याप्टर सचिव केपी भट्टले सन्चालन गरेको कार्यक्रममा यस क्षेत्रका स्थानीय समाजसेवीहरुको बाक्लो उपस्थित रहेको थियो । 

    कार्यक्रमको अन्त्यमा च्यापटरको तर्फबाट अध्यक्ष हरिप्रसाद जोशीले कार्यक्रम सफल बनाऊन सहयोग गर्ने सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्दै समापन गरेको थियो ।

  • यूएईमा भयानक बस दूर्घटना, तीन नेपालीसहित ६ जनाको ज्यान गयो

    यूएईमा भयानक बस दूर्घटना, तीन नेपालीसहित ६ जनाको ज्यान गयो

    यूएई । यूएईको आबुधाबीमा बिहीबार भयानक बस दूर्घटना भएको छ । दुर्घटनामा परि अहिलेसम्म तीन नेपालीसहित ६ जनाले ज्यान गुमाएका छन् ।

    यूएइस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारी र प्युठानकी भावना कुँवरको ज्यान गएको छ ।

    घरको ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङले समेत दूर्घटनामा ज्यान गुमाएकी छिन् ।

    आवुधावीको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किदा दूर्घटनामा परेको हो ।

    प्रहरीकाअनुसार बस चालक, एक जना श्रीलङ्कन एक जना अफ्रिकन महिला कामदारको समेत ज्यान गएको छ ।

    दूतावासका अनुसार बसमा कूल २४ जना कामदार चढेका थिए । उनीहरु बस्ने क्वार्टरबाट काम गर्ने स्थानतर्फ गइरहेका थिए ।

    दूर्घटनामा १४ जना नेपाली घाइते छन् । घाइते मध्ये पाँच जनाको आबुधाबीस्थित खालिफा सिटीको एनएमसी अस्पतालमा उपचार जारी छ ।

    दूतावासका अनुसार सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार जारी रहेको छ ।

    माफ्राक अस्पतालमा मकवानपुर टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्माको उपचार सोही भइरहेको छ ।

    चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीवार क्याम्प फर्किएकी छिन्

    । अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्माको उपचार भइरहेको छ ।

    यसअघि गत असोजमा समेत दुबईमा भएको बस दूर्घटनामा ६ जना नेपालीले ज्यान गुमाएका थिए ।

    दुबईमा तिब्र गतिका कारण धेरै दूर्घटना हुने गरेका छन् ।

  • पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगायो

    पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगायो

    काठमाडौं । पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगाएको छ । दूर्घटनामा दुबै जनाको ज्यान गएको हो ।

    समुन्दी किनारमा माछा मार्न पुगेका धादिङका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङको मृत्यु भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।

    पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा यो दूर्घटना भएको हो । माछा मार्न किनारमा पुगेका बेला उनीहरुलाई छालले बगाएर वेपत्ता बनाएको थियो । पछि शव फेला परेको हो ।

    उनीहरु नौ महिनाअघि पोर्चुगल पुगेका थिए । त्यहा उनीहरुको रेस्टुरेन्ट व्यवसाय थियो ।

    पछिल्लो समय ठूलो संख्यामा नेपाली पोर्चुगल पुगेका छन् ।

  • अमेरिकी अस्पतालको बोर्डमा गुरुङ

    अमेरिकी अस्पतालको बोर्डमा गुरुङ

    न्यूह्यामसर
    नेपाली मूलका युवा माधव गुरुङ अमेरिकाको न्यूह्यामसर राज्यको सबैभन्दा ठूलो शहर म्यान्चेष्टरस्थित एमोस्केग हेल्थ सेन्टरको सञ्चालक समिति सदस्यमा मनोनित भएका छन् । गुरुङको मनोनयनलाई गत मंगलबार बाेर्ड समिति बैठकले पास गरेको हो ।

    करिव २० मिलियन डलर बार्षिक बजेट रहेको एमोस्केग अमेरिकी संघीय सरकारबाट मान्यताप्राप्त राज्यकै ठूलो सामुदायीक स्वास्थ्य केन्द्र हो ।

    राज्यको मुख्य सहरी केन्द्र म्यान्चेष्टरको चार स्थानबाट १८ हजार बढिलाई सेन्टरले स्वास्थ्य सेवा दिइरहेको छ । सन् १९८१ मा अमेरिकी डाक्टर सेल्मा डेइचले चाइल्ड हेल्थ सर्भिसको नामबाट उक्त केन्द्रको सुरुवात गरेकी थिइन् । उनको उदेश्य स्वास्थ्य बीमा सुविधा विहिन एवं विपन्नताका कारण स्वास्थ्य सुविधाबाट बञ्चितहरुलाई सेवा प्रवाह गराउनु थियो ।

    सन् १९९३ मा राज्यका प्रमुख अस्पतालहरु एलिएट हस्पिटल र क्याथोलिक मेडिकल सेन्टरको सहयोग एवं स्थानीय अन्य दाता र डा. डेइचकै संलग्नतामा म्यानेचेष्टर कम्युनिटी हेल्थसेन्टरको नाममा विस्तार गरिएको थियो । सोही नामलाई गतबर्ष परिवर्तन गरि एमोस्केग हेल्थ सेन्टर बनाइएको हो । सेन्टरले स्वास्थ्य बीमा नभएका एवं न्यून आय भएका व्यक्ति एवं परिवारलाई निशुल्क स्वास्थ्य सेवा दिने गरेको छ ।

    केन्द्रबाट स्वास्थ्य सेवा लिनेमा २५ प्रतिशत स्वास्थ्य बीमा बिहिन, सात प्रतिशत मेडिकेयर सुविधा भएका, ४५ प्रतिशत मेडिकेड एवं २५ प्रतिशत निजी क्षेत्रको स्वास्थ्यबीमा भएका सेवाग्राही छन् । केन्द्रमा कुल सेवाग्राही १८ हजार हाराहारी रहेका छन् भने त्यसमध्ये ४० प्रतिशत हाराहारी बालबालीका रहेको केन्द्रको तथ्यांक छ । केन्द्रमा ८६ प्रतिशत सेवाग्राही मेनेचेष्टर एवं आसपास निवासी छन् भने १४ देशबाट आएका आप्रबासी सेवाग्राहीहरु राज्यको अन्य भागमा बसोबास गर्ने गरेका छन् ।

    केन्द्रले प्राथमिक स्वास्थ्य सेवा, बिशेषज्ञ सेवा, प्यारेण्टल केयर, क्रोनिक डिजिज केयर, बिहेवियरल हेल्थ सर्भिस, प्रेभेन्टिभ केयरलगायतका स्वास्थ्य सेवाका अलवा न्यूनआय भएका व्यक्ति एवं परिवारलाई कानूनी सेवा, खाना, यातायात लगायतका सुविधा पनि प्रदान गर्दै आएको छ । केन्द्रको सिफारिसमा राज्यका ठूला अस्पतालहरु एलिएट, क्याथोलिक मेडिकल सेन्टर, डार्टमाउथ हिचककले निःशुल्क स्वास्थ्य उपचार गर्ने गरेका छन् ।

    अमेरिकाको स्थानीय सरोकार र जनजीवनमा जोडिने नेपालीहरुको संख्या विस्तार हुनुपर्छ भन्ने मान्यता अनुरुप केन्द्रको बोर्ड सदस्यको रुपमा काम गर्न तयार भएको गुरुङले विश्व न्यूजसँग बताए । ‘केन्द्रको सञ्चालक समितिमा एक स्वयं सेवकको रुपमा काम गर्ने हो, गुरुङले भने, ‘यो क्षेत्रकै जनस्वास्थ्यमा प्रमुख स्थान ओगट्ने संस्थाको नीति निर्माण तहमा आफूले विगतमा सिकेको ज्ञानको उपयोग गर्दै नयाँ सिप र क्षमता अभिबृद्धिको अपेक्षा राखेको छु ।’

    गुरुङ न्यूह्यामसरको स्थानीय गतिविधीमा विगत एक दशकदेखी सकृय सामाजिक अभियन्ता हुन् । उनी म्यान्चेष्टर शहरको युथ सर्भिसेज बोर्डमा सल्लाहकारसमेत छन् । उनलाई नगरका मेयर जोइस क्रेगले गतबर्ष मनोनयन गरेकी थिइन् । यसैगरी न्यूह्यामसर नेपाली समाज र गुरुङ समाज न्यूह्यामसरमा उनी महासचिवको रुपमा कार्यरत छन् ।

  • आज विश्वभर भ्रमण वर्षको शूभारम्भ, अष्ट्रेलियाको कार्यक्रम किन विवादित ?

    आज विश्वभर भ्रमण वर्षको शूभारम्भ, अष्ट्रेलियाको कार्यक्रम किन विवादित ?

    काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार विश्वभर विविध कार्यक्रम गरी उद्घाटन गरिएको छ ।

    गैरआवासीय नेपाली संघ, सम्बन्धित मुलुकका नेपाली कूटनीतिक नियोग र सरोकारवालाको सहभागितामा संसारभर भ्रमण वर्षको उद्घाटन गरिएको भ्रमण वर्षको सचिवालयले जनाएको छ ।

    १ जनवरीमा नेपालमा उद्घाटन गरिएको यस कार्यक्रमलाई विदेशमा भने ७ जनवरीमा उद्घाटन गरिएको हो ।

    सोही सिलसिलामा अष्ट्रेलियामा भएको उद्घाटन कार्यक्रमको भने विवादित प्रचार भएको छ ।

    किनकी यहाँ स्वयमः पर्यटनमन्त्री योगेश भट्टराई पुगेका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका छन् ।

    त्यसअघि सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु सास्कृतिक पहिरनसहित सर्कुलर क्युवेमा आइपुगेका थिए ।

    त्यसक्रममा नेपालीले डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिन बोकेको पर्यटन मन्त्रीको सचिवालयले जनाएको छ । नेपाली स्वयमसेवकले जीवजन्तुका लागि सहयोग संकलन गरेका थिए ।

    औपचारिक कार्यक्रम सकिएपछि पर्यटनमन्त्री भट्टराईसहित सहभागी ओपेरा हाउस भ्रमणमा पुगेका थिए ।

    त्यसक्रममा नेपाल र अस्ट्रेलियाको झण्डासमेत बोकेका करिब दुई सय मानिस ओपेरा हाउस नजिकै पुग्दा सुरक्षागार्डहरुले रोकेको घटनालाई भने नेपालमा बढाई चढाई गरेर छापिएपछि त्यसले अष्ट्रेलियाको कार्यक्रमलाई भने विवादित बनाएको छ । प्र

    दर्शन जस्तो देखिने यस्ता कार्यक्रमले पर्यटकहरुलाई असुविधा पुग्ने भएकाले सुरक्षागार्डले चासो राखेका  भन्दै नियोजित रुपमा आफ्नो वेइज्यत गर्न खोज्ने समूहले हल्ला चलाउँदा मुलुककै बेइज्यत भएको पर्यटन मन्त्री भट्टराईले स्पष्टिकरण दिएका छन् ।

    वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको हो ।

  • अष्ट्रेलियामा तीन नेपालीको डुबेर ज्यान गयो

    अष्ट्रेलियामा तीन नेपालीको डुबेर ज्यान गयो

    काठमाडौं । पछिल्लो दुई दिनमा अष्ट्रेलियामा तीन जना नेपालीको ज्यान गएको छ । सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई नेपालीको नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

    शुक्रबार साँझ पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको बताइएको छ । चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्लीको डुबेर ज्यान गएको हो ।

    एक जनालाई भने उद्धार गरी अस्पताल लगिएको छ। उनको उपचार भइरहेको छ ।

    बिहीबार पनि अरेन्ज नामक सहरमा एक नेपालीको डुबेर मृत्यु भएको थियो। रूपेन तामाङको तलाउमै डुबेर मृत्यु भएको एनआरएन अष्ट्रेलियाले पुष्टी गरेको छ ।

    अष्ट्रेलियामा तातो मौसमका कारण धेरै जना पौडीका लागि जाने गरेका छन ।

    पछिल्लो दिनमा अष्ट्रलियामा तापक्रमले रकेर्ड ब्रेक गरिरहेको छ । अष्ट्रेलियामा अध्ययनका सिलसिलामा हजारौं नेपाली पुगेका छन् ।

  • न्यूह्यामसरमा तमु ल्होछार, पहिचान झल्किने नृत्यदेखि लोक दोहोरीसम्मको आनन्द

    न्यूह्यामसरमा तमु ल्होछार, पहिचान झल्किने नृत्यदेखि लोक दोहोरीसम्मको आनन्द

    प्रभात भट्टराई / न्यूह्यामसर
    अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरमा विविध कार्यक्रम साथ तमु ल्होछार सम्पन्न भएको छ । नेपालमा बर्षेनी पुष १५ मा तमु ल्होछार मनाइने गरे अनुरुप न्यूह्यामसरमा बसोबास गर्ने गुरुङ समुदायले गत शनिबार भव्यताका साथ आफ्नो मुख्य पर्व मनाएका हुन् । यस बर्षको ल्होछार च्यू ल्हो (मुसा बर्ष) को रुपमा मनाइएकौ हाे ।

    राज्यको मुख्य सहरी केन्द्र मेनेचेष्टरमा आयोजित कार्यक्रममा स्थापित एवं स्थानीय कलाकारहरुले गायन एवं नृत्य प्रस्तुत गरेका थिए । गुरुङ संस्कृतीको प्रवद्र्धन र सम्बर्धनका लागि स्थानीय महिलाहरुले गुरुङ भाषाकै गीतमा नृत्य देखाएका थिए । नेपाली आधुनिक गायिका पविता परियारको गीतमा सहभागीहरु उत्साहका साथ झुमेका थिए ।

    न्यूयोर्कमा बसाबास गर्दै आएका लोक गायक राजेश थापाको प्रस्तुतीले सहभागिलाई फरक मनोरञ्जन दिएको थियो । लाइभ संगीतका साथ स्थानीय कलाकारहरुको गायनले कार्यक्रममा थप रौनक भरेको थियो । कार्यक्रममा दर्जन बढि स्थानीय कलाकारले नृत्य देखाएका थिए । कार्यक्रमको समापनमा प्रस्तुत लोकदोहोरीले सहभागीहरुलाई आफ्नै गाउँ ठाउँको सांगीतीक माहोलको न्यास्रो मेटाइ दिएको थियो । नेपाली गीत संगीतको विविधतालाई समेट्ने ढंगले कार्यक्रमको ढाँचा बनाइएको गुरुङ समाज न्यूह्यामसरका महासचिव माधव गुरुङले जानकारी दिए ।

    सांस्कृतिक कार्यक्रम सुरु हुनु अघि औपचारिक समारोहकाबीच दीप प्रज्वलन गरि ल्होछार उद्घाटन गरिएको थियो । कार्यक्रममा न्यूह्यामसर सहित छिमेकी राज्यहरु मासाचुसेट्स, भर्मोन्ट लगायत न्यूयोर्कबाट समेत सहभागिता रहेको थियो । औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजकी अध्यक्ष छत्रकुमारी गुरुङले सामुहिक रुपमा ल्होछार मनाएर परदेशी भूमीमा आफ्नो संस्कृती जिवत राख्न सफल भएको बताएकी थिइन् । यस्ता कार्यक्रमको निरन्तरताले विदेशी माझ आफ्नो संस्कृति जोगाउन र सन्ततीहरुलाई आफ्नो संस्कार सिकाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरिन् ।

  • कनेक्टिक्ट नेपाली समाजको ११ औं वार्षिक साधारण सभा सम्पन्न

    कनेक्टिक्ट नेपाली समाजको ११ औं वार्षिक साधारण सभा सम्पन्न

    धन लामा
    डिसेम्बर ३१, कनेक्टिकट

    कनेक्टिक्ट नेपाली समाज, अमेरिकाले संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत डिसेम्वर २९ तारिख आइतावार यूइङटनस्थित स्थानीय बल्लभधाम मन्दिरमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष जितेन्द्र बस्नेतले संस्थाको बार्षिक कार्यप्रगति विवरणको पूर्ण पाठ र आगामी वर्ष सन् २०२० मा गरिने विविध कार्यक्रमहरु साधारण सभामा उपस्थित सदस्यहरु समक्ष प्रस्तुत गरको थियो । गत वर्षको आयव्यय विवरण र अध्यक्षज्यूद्वारा प्रस्तुत आगामी वर्षको कार्यक्रमको लागि अनुमानित बजेट संस्थाका सहकोषाध्यक्ष कुलदीप अधिकारीले सभामा निर्णयार्थ प्रस्तुत गरेको थियो । 

    सदस्यहरुको माझमा बुँदागत छलफल पश्चात सदस्यहरुको सल्लाह र सुझावलाई समेट्दै सन् २०२० को वार्षिक कार्यक्रम अन्तर्गत नयाँ वर्ष २०७७, बुद्ध जयन्ति, समर पिकनिक, नेपाली भाषा कक्षा, युवा खेलकूद, तीज कार्यक्रम, दशैँ कार्यक्रम, रक्तदान कार्यक्रम, साहित्यिक कार्यक्रम, देउसी भैलो कार्यक्रम, पार्करोड परेड,  हेलो वेस्टहार्डफोर्ड लगायतका कार्यक्रमहरुको लागि कुल $४२,२००/- को बजेट उपस्थित सदस्यहरुको बहुमतले अनुमोदन गर्ने काम गर्यो । 

    आजीवन र साधारण सदस्य गरि जम्मा ५६८ सदस्यहरु आवद्ध कनेक्टिक्ट नेपाली समाजले आफ्नो स्थापनाको गौरवपूर्ण ११ वर्षहरु पार गर्दा गर्दा संस्थाले आगामी कार्ययोजनाहरु बढी व्यवस्थित र सुचारु ढंगले संचालन गर्नको निम्ति संस्थाको विधानमा विद्यमान केही दफाहरुलाई पुनर्व्याख्या गर्दै मार्ग प्रसस्त गर्ने गर्ने काम यो साधारण सभाले गरेकोछ । 

    यसका साथै समुदायसंग प्रत्यक्ष सरोकार राख्ने विविध औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुलाई निरन्तरता दिंदै कनेक्टिक्ट नेपाली समाज अमेरिका, संस्थाको बहुप्रतिक्षित बहुउदेश्यीय साँस्कृतिक भवन निर्माणको दिशामा अग्रसर भएको गहिरो अनुभूती प्राप्त भएको छ । कार्यक्रमको सन्चालन संस्थाका सचिव भद्र राईले गरेको थियो भने उपस्थित सदस्यहरूलाई संस्थाका उपाध्यक्ष जय राईले स्वागत मन्तव्यद्वारा स्वागत गरेको थियो । साधारण सभामा संस्थाका भूतपूर्व अध्यक्षहरू घनश्याम खडका, तेजस विक्रम मल्ल र संस्थाका प्रमुख सल्लाहकार अशोक श्रीवास्तवको पनि उपस्थिति थियो ।

  • मासु काट्ने मेसिनमा परी मलेसियामा एक नेपालीको ज्यान गयो

    मासु काट्ने मेसिनमा परी मलेसियामा एक नेपालीको ज्यान गयो

    काठमाडौं । मलेसियाको मलक्का राज्यमा मासु काट्ने मेसिनमा परी एक नेपाली कामदारको ज्यान गएको छ ।

    मेसिनको मर्मत गरिरहेका बेला अचानक मेसिन चलेपछि उनी दूर्घटनामा परेका हुन । ४७ वर्षिय नेपाली कामदारको नाम भने सार्वजनिक गरिएको छैन ।

    अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफसीले जनाएअनुसार उनको कम्मरमा गहिरो चोट लागेको थियो । मेसिनले काटिएपछि उनको घटनास्थलमै निधन भएको हो ।

    उनको शव निकाल्न मात्रै करीव आधा घण्टा लागेको थियो । मलक्काको अग्नि नियन्त्रण विभागका जुल्खैरनी रम्लीका अनुसार मस्जिद तनाह नजिकै रहेको एक मासु प्रशोधन फेक्ट्रीमा काम गर्दागर्दै दूर्घटनामा परेका हुन् ।

    घटना सोमबार भएको हो । उनी अन्य तीन जना कामदारसँगै काम गरिरहेको बेला दूर्घटना भएको छ ।

    दूर्घटना कसरी भयो भन्ने सम्बन्धमा छानविन भइरहेको बताइएको छ । मलेसियामा करीव ३ लाख ६० हजार नेपाली कामदारले काम गरिरहेका छन् ।

  • बढ्यो भ्रमण वर्षको चहलपहल, बढ्लान पर्यटक ?

    बढ्यो भ्रमण वर्षको चहलपहल, बढ्लान पर्यटक ?

    काठमाडौं । वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदैछ । यसको तयारी पुरा भएको आयोजक नेपाल सरकारले जनाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डले सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी भ्रमण वर्षको तयारी पुरा भएको जानकारी गराएका छन् ।

    पर्यटन मन्त्री योगेश भट्टराईले ३१ डिसेम्बर र १ जनवरीका दिन दिपावली गर्न सबै नेपालीसँग आग्रह गरे ।

    अहिले वार्षिक झण्डै १२ लाख पर्यटक भित्रिरहेका छन् । यो संख्यालनई बढाएर २० लाख पुर्याउने चूनौतिका बीच सरकारले भ्रमण वर्ष घोषणा गरेको छ ।

    संख्यासँगै पर्यटन आयसमेत बढाउनु सरकारका लागि चूनौतिको विषय हो । यस अवस्थामा सरकारले कसरी अभियानलाई सफल बनाउला, यो भने हेर्नै पर्ने विषय हो ।

    भ्रमण वर्षका दौरान ८५ मुलुकमा नेपालको अभियान पुग्नेछ । गैरआवासीय नेपालीको संजाल रहेको क्षेत्रमा कार्यक्रम केन्द्रित गर्ने योजना सरकारको छ ।

    ती मुलुकमा गैरआवासीय नेपाली संघकै नेतृत्वमा कार्यक्रम आयोजना हुने भएका छन् ।