Category: फिचर

  • कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

    कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

    मकवानपुर, ३ वैशाख : हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ । करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए । कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए ।

  • कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    काठमाडौँ, ३ वैशाखः बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो ।

    उक्त दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए । साथै दूतावासले श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नजान अनुरोध गरेको छ ।

  • दक्षिणी लेबनानमा इजरायली आक्रमण, मानवीय क्षति जारी

    दक्षिणी लेबनानमा इजरायली आक्रमण, मानवीय क्षति जारी

    बेरुत, ३ वैशाख (रासस–क्युएनए) । दक्षिणी लेबनानको अन्सारीयेह शहरमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ ।
    लेबनानी राष्ट्रिय समाचार एजेन्सीले बुधबार शहरलाई लक्षित गरी गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

    यसले इजरायले अल–कुलाइलाह शहरको प्रवेशद्वार, साथै बिन्त जबेल शहरको वरपरका क्षेत्रहरूलाई लक्षित गरी हात्रलमण गरेको र हानिन शहरका घरहरूमा विस्फोट गराएको पनि बताएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयले मार्च– २ देखि देशमा जारी इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार १२४ जना पुगेको र छ हजार ९२१ जना घाइते भएको जनाएको छ।

  • बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

    बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

    पटना (बिहार), ३ वैशाख (रासस–एएनआई) । भारतको बिहार राज्यमा राजनीतिक इतिहासमै महत्त्वपूर्ण मोड आएको छ । भारतीय जनता पार्टी (भाजपा)का नेता सम्राट चौधरीले बुधबार बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । यससँगै लामो समयदेखि राज्य राजनीतिमा प्रभाव जमाउँदै आएका नितिश कुमारको युग समाप्त भएको सङ्केत गरिएको छ ।

    राज्यसभामा जाने निर्णय गर्नुअघि एक दशकभन्दा बढी समय बिहारको नेतृत्व सम्हालेका नितिश कुमारको उत्तराधिकारीका रूपमा सम्राट चौधरी बिहान राज्यपालको निवास बिहार लोक भवनमा पुगेका थिए । त्यहीँ बिहारका राज्यपाल सैयद अता हसनैनले उनलाई मुख्यमन्त्री पदको शपथ दिलाए ।


    नितिश कुमारको राजीनामापछि चौधरी बिहारका पहिलो भाजपा मुख्यमन्त्री बनेका छन् । सन् २०२५ को विधानसभा चुनावमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले ऐतिहासिक जित दर्ता गरेपछि उनले रेकर्ड १०औँ पटक मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए । यसले राज्य राजनीतिमा लामो समयसम्म उनको प्रभाव देखाएको थियो ।

    तर अब ५७ वर्षीय सम्राट चौधरीले उहाँको स्थान लिँदै बिहारको नेतृत्व सम्हालेका छन् । उनको उदयलाई केवल सत्ता परिवर्तनका रूपमा मात्र नभई बिहारको राजनीतिक युग परिवर्तनका रूपमा पनि हेरिएको छ, जहाँ नितिश कुमारको ‘सुशासन’ केन्द्रित शासन शैलीले लामो समय प्रभाव जमाएको थियो । सम्राट चौधरीको राजनीतिक यात्रा रोचक मानिन्छ ।

    राजनीतिमा प्रारम्भिक प्रवेश उनले १९९० को दशकमा राष्ट्रिय जनता दल (आरजेडी) बाट गरेका थिए । भने पछि सन् २०१८ मा उहाँ भाजपा प्रवेश गरेका हुन् । सन् २०२३ मा उहाँलाई भाजपा प्रदेश अध्यक्ष बनाइएको थियो र सन् २०२४ मा उनले बिहारको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।


    सन् १९६८ मा जन्मनुभएका चौधरी राजनीतिक रूपमा प्रभावशाली परिवारबाट आएका हुन् । उनका पिता शकुनी चौधरी तारापुर निर्वाचन क्षेत्रबाट छ पटक विधायक निर्वाचित भएका थिए । आमा पार्वती देवीले सन् १९९८ मा तत्कालीन समता पार्टीबाट सोही क्षेत्र जितेका थिए । पहिले नितिश कुमारका कट्टर आलोचक रहनुभएका चौधरी सन् २०२४ मा भाजपा–जेडीयु गठबन्धन पुनः बनेपछि राजनीतिक रूपमा नयाँ भूमिकामा देखिएका थिए । सन् २०२२ मा उनले सार्वजनिक रूपमा नितिश कुमारलाई सत्ताबाट हटाएपछि मात्र आफ्नो प्रतीकात्मक ‘मुरेथा’ (पगडी) उतार्ने बताएका थिए । जसले उनको आक्रामक जनीतिक शैली झल्काउँथ्यो ।

    आजको शपथ ग्रहणअघि केन्द्रीय मन्त्री चिराग पासवानले चौधरीलाई भेटेर शुभकामना व्यक्त गरेका थिए । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै चौधरीको नेतृत्वमा बिहार विकास, सुशासन र समृद्धिको नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका थिए । सम्राट चौधरीको नेतृत्वलाई ओबीसी समुदाय, विशेषगरी कोइरी÷कुशवाहा समूहबीच पार्टीको समर्थन विस्तार गर्ने रणनीतिक कदमका रूपमा पनि विश्लेषण गरिएको छ ।

  • बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने’

    बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने’

    लण्डन, ३ वैशाख (रासस–एएफपी) । बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने विभिन्न बेलायती सञ्चारमाध्यमले जनाएका छन् । बेलायती सञ्चारमाध्यमहरूले बुधबार विभिन्न स्रोतलाई उद्धृत गर्दै बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने भएको जनाएका छन् ।

    ‘आईटिभी न्यूज’ र ‘प्रेस एसोसिएसन न्यूज एजेन्सी’का अनुसार यो कटौती प्रसारण क्षेत्रमा एउटै संस्थाले लगभग १५ वर्षमा गर्न लागेको सबैभन्दा ठूलो कटौती हुनेछ। बीबीसीले भने कथित रूपमा बुधबार कर्मचारीहरूलाई घोषणा गरिएको भनिएको नियोजित जागिर कटौतीको पुष्टि भने गरेको छैन । कटौतीको पुष्टि गर्ने एएफपीको अनुरोधमा तुरुन्त प्रतिक्रिया दिइएको छैन ।

  • ‘ह्विलचेयरले दियो खुसी’

    ‘ह्विलचेयरले दियो खुसी’

    महोत्तरी, ३ वैशाखः पछिल्ला तीन वर्षयता कैयन चाडपर्व आएगए तर पक्षघातले थलिएका महोत्तरीको बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै प्रवाह भएन । यसपालिको नयाँवर्ष २०८३ को प्रारम्भ भने उहाँका लागि सम्झनलायक बनेको छ । मधेसमा नयाँवर्षमा मनाइने जुडशीतल पर्वको पहिलो दिन मङ्गलबार भुजेलले घुमफिर गर्न सहयोगी हुने ‘ह्विलचेयर’ पाएका छन् ।

    त्यसैले यसपालिको नयाँ वर्ष र जुडशीतल पर्व उनका लागि सम्झनलायक बनेको हो । लायन्स क्लब अफ बर्दिबास समाजले बस्तीमै पुगेर उनलाई ह्विलचेयर दिएको हो । “हातगोडा केही नचल्ने भएर तीन वर्षदेखि थला परेको थिए, अब भने यही ह्विलचेयरमा घर ओरपर डुल्न पाइने भएको छ । यो अवसरका लागि सहयोगी संस्था र व्यक्तित्वलाई आभार छ”, भुजेलले भने ।


    उक्त बस्तीमा भुजेलका अतिरिक्त १३ वर्षीय जनम दियाली र ३५ वर्षीय खुपबहादुर थापाले पनि सहयोग पाएका छन् । “दुर्घटनामा परेर दुवै गोडा काटिएपछि १५ वर्षदेखि कुँजिएर बसेको थिएँ, आफ्नै जीवन बोझजस्तै बनेको थियो”, ह्विलचेयर पाएपछि थापा भन्छन् । यसपटक भने नयाँ वर्षले आफ्नो जीवनमा नयाँ आशा ल्याएर आएको अनुभूति भएको छ । अब त ह्विलचेयरमा वरपर जान सहज भएको छ ।”

    दियाली त जन्मँदै अशक्त हुन् । उनी बोल्न पनि सक्दैनन् । ह्विलचेयर पाएपछि उनी पनि खुसी छिन् । हेर्दा सानो सहयोग भए पनि लायन्स क्लब अफ बर्दिबासले अशक्त जीवनमा निकै खुसी दिएको बर्दिबास–११ का वडाध्यक्ष गोपाल बल बताउँछन् । समाजका अध्यक्ष वैकुण्ठप्रसाद देवकोटाले लायन्स क्लब इन्टरनेसनल ३२५ ‘एफ’ को सहयोगमा ह्विलचेयर प्रदान गरिएको बताए । यसपटक छ वटा ह्विलचेयर सहयोग गरिएको उनले जानकारी दिए ।

  • दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु

    दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु

    म्याग्दी, ३ वैशाखः म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो । ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एकलेनमा ‘प्राइमकोड’ (बिटुुमीन) बिछ्याउन थालिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर महेन्द्र बानियाँले बताए ।


    “ग्राभेलमाथि राखेको ‘प्राइमकोड’ सुुकेपछि अर्को चरणमा पनि बिटुमिन बिछ्याएपछि तेस्रो चरणमा बिटुनीमसँग चिप्स भुटेर सडकमा बिछ्याउँछौँ”, उनले भने, “छ किलोमिटर दूरीमा स्तरोन्नतिका लागि सञ्चालित आयोजना सम्पन्न हुुने चरणमा छ ।” यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो । यस योजनामार्फत दुई लेनमा ९०० मिटर दूरीमा कालोपत्र गर्न लागिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

    मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न सञ्चालित आयोजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख बानियाँले बताए ।

    दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०८१ जेठ २० गते रामसागर बिके एस केबीएस धौलागिरी जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले संरचना निर्माण, बेस र सबबेस बिछ्याएको छ । गौथली भिरलगायत अप्ठ्यारो ठाउँमा ढलान भएको छ । सडकलाई आठ मिटर फरालिको बनाउने, नाली र पर्खाल निर्माण गरिएको छ । धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरी गाउँपालिकाको पाँच वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो ।

    कालोपत्र हुुन थालेपछि ताकमवासी उत्साहित भएका धवलागिरी गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताए । सडक चालु आर्थिक वर्षभित्रनै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक आयोजना अन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको म्याग्दी १ (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए ।

    गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको छ । म्याग्दीको मङ्गला मालिका, धौलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको जुग्जालीले बताए । द्यौलागिरिको केन्द्र मुनादेखि खोरीया, मरेनी, ढोरपाटनको जलजला हुँदै पूर्वी रुकुमको तकसेरा गत फागुन महिनामा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघिनै सडक निर्माण भइसकेको छ ।

  • जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

    जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

    जुम्ला, ३ वैशाखः जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने गरेको छ । यहाँका आठवटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल दिने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा रोपिएकामा दुई हजार १६५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भएको छ । यहाँ रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत विभिन्न जातका स्याउ फल्ने गरेका छन् ।

    यहाँ उच्च घनत्वका गाला र फुजी स्याउको पनि उत्पादन हुने गरेको छ । यस वर्ष मात्र जिल्लाबाट करिब १८ हजार २४५ मेट्रिक टन उत्पादन भएको विकास कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउ खेतीमा आकर्षित भइरहेका छन् । जिल्लाका १९ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न रहेका कृषि विकास कार्यालयले जनाएको छ ।

    स्याउ बगैँचामा फूल फुलेर सेताम्मे

    हाल बगैँचामा स्याउ फुलेर सेताम्मे भएका छन् । ती फूलले यहाँको वातावरण निकै रमणीय देखिन थालेको चन्दननाथ नगरपालिका–५ मा रहेको आँखे कृषि पर्यटन अनुसन्धान उद्योगका सञ्चालक सरोज शाहीले बताए । “बगैँचाका स्याउ बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण निकै रमाइलो देखिएको छ । चैत–वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिकमा पाक्ने गरेको छ”, उनले भने ।
    शाहीले चन्दननाथ मन्दिरको जग्गा भाडामा लिएर तीन हजार ३०० इटालियन जातको फुजी स्याउ लगाएका छन् । बोटले फल दिन थालिसकेका छन् । राम्रो आम्दानी दिने भएकाले हाल जिल्लाभरि उक्त जातको स्याउ खेती फैलिएको उनको भनाइ छ ।

    हिमा गाउँपालिकाका कृषि उद्यमी गोपाल रोकायाले बगैँचामा बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको र कुनै समस्या नभए यसपटक राम्रो उत्पादन हुने विश्वास जागेको बताए । जिल्लाको एक नगरपालिकासहित सात पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । हाल फूल फुलेर स्याउ बगैँचा सेताम्मे भए पनि कालो तुसारोले फूल झारेर समस्या हुने गरेको तिला गाउँपालिका–१ का किसान सरिता रावतले बताइन् ।

  • अमेरिका–इरान वार्ताका लागि पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

    अमेरिका–इरान वार्ताका लागि पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

    जेद्दाह, साउदी अरब, (रासस–एएफपी) । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित दोस्रो चरणको सम्भावनाअघि चार दिने भ्रमणको शुरुवातमा बुधबार साउदी अरब पुगेका छन् । गत साता इस्लामावादमा वासिङ्टन र तेहरानबीच दशकौँपछि भएको उच्चस्तरीय वार्तापछि सरिफले साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ। उनी साउदी अरबपछि कतार र टर्कीको भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ । पाकिस्तानी नेताले ‘क्षेत्रीय अवस्था’ बारे साउदी राजकुमार मोहम्मद बिन सलमानसँग छलफल गर्ने उनको कार्यालयले जनाएको छ ।

    पाकिस्तानको विदेश मन्त्रालयले यसअघि साउदी अरब र कतारको भ्रमण ‘द्विपक्षीय परिवेश’लाई ध्यानमा राख्दै हुन लागेको बताएको थियो । साउदी अरब र कतारपछि सरिफले अन्टाल्या कूटनीति मञ्चमा भाग लिर्ने पनि बताइएको छ। शरीफले अन्टाल्या फोरमको छेउछाउमा राष्ट्रपति रेसेप तैयप एर्दोगान र अन्य नेताहरूसँग द्विपक्षीय बैठकहरू गर्ने कार्यक्रम रहेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्ने प्रयासमा इस्लामाबाद वार्ता एक कदम अगाडिको प्रगति हो । वार्ताबाट कुनै उपलब्धी नभएपनि दुई पक्षलाई संवादमा ल्याउन वार्ता पहल सफल भएको छ ।

    इरानले अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणको बदलामा साउदी अरब र कतारलगायत खाडीमा रहेका अमेरिकी सहयोगीलाई निशाना बनायो र उक्त क्षेत्रबाट ऊर्जा निर्यातमा अवरोध गर्यो, जसका कारण तेलको मूल्य अत्यधिक बढेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि कुनै सहमति नभए पनि वार्ता यसै हप्ता पाकिस्तानी राजधानीमा पुनः सुरु हुन सक्ने बताएका छन् । संयुक्त राज्य अमेरिकाले इरानको नौसैनिक नाकाबन्दीको आदेश दिए पनि अर्को हप्ता समाप्त हुने युद्धविराम जारी छ ।

    सरिफसँगै अमेरिका–इरान वार्ताका क्रममा मध्यस्थकर्ता रहेका विदेशमन्त्री इशाक दार र अन्य वरिष्ठ अधिकारीहरु पनि छलफलमा सहभागी हुने उहाँको कार्यालयले जनाएको छ । पाकिस्तान र साउदी अरबबीच घनिष्ठ सम्बन्ध छ र इस्लामाबादको अर्थ मन्त्रालयले बुधबार रियादले पाकिस्तानलाई आफ्नो विदेशी मुद्रा भण्डार बढाउन तीन अर्ब डलर उपलब्ध गराउने घोषणा गरेको छ । पाकिस्तानले रियादको सहयोगी बनेको संयुक्त अरब इमिरेट्सलाई अर्बौं ऋण फिर्ता गर्ने बताएको केही दिनपछि यो सहयोग आएको हो।

    साउदी अरबको विद्यमान पाँच अर्ब अमेरिकी डलर बराबरको निक्षेप पनि अनिर्दिष्ट अवधिका लागि विस्तार गरिने अर्थ मन्त्रालयले जनाएको छ । यसैबीच, सेना प्रमुख असिम मुनिरको नेतृत्वमा पाकिस्तानी प्रतिनिधिमण्डल इरान पुगेको छ भने उहाँलाई इरानी विदेशमन्त्री अब्बास अराघचीले स्वागत गरेका छन् ।
    इरानको सरकारी टेलिभिजनले यसअघि नै प्रतिनिधिमण्डलले वासिङ्टनको नयाँ सन्देश ल्याउने र दोस्रो चरणको वार्ताबारे छलफल गर्ने बताएको थियो।

  • आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

    आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

    काठमाडौँ, ३ चैतः जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् । यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका दुईवटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई रु २२ करोड ७५ लाख ९६ हजार ४८८ बराबरको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।


    यसैगरी, परिसरले हुण्डी कारोबार नियन्त्रणलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउँदै चैत महिनामा तीन वटा मुद्दामा सात जनालाई प्रतिवादी बनाएको छ । उक्त मुद्दामा रु एक करोड ५६ लाख बराबरको बिगो दाबी गरिएको छ । प्रहरीले नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने दुई जनालाई रु एक करोड १६ लाख बराबरको नगद र अन्य सामानसहित पक्राउ गरेको उल्लेख गरेको छ ।

    उनीहरूलाई नियन्त्रणमा लिई अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । यसैगरी, काठमाडौँ महानगरपालिका २६ ठमेलबाट रु १७ करोड ७९ लाख ७० हजार ३७१ बराबरको अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

    यस्तै, एक महिनाको अवधिमा हराएका २७३ मानिसमध्ये १५९ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ । विविरणअनुसार साइबर अपराध तथा ठगीतर्फ कुल २६१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये अनलाइन सपिङको नाममा भएका ठगीसँग सम्बन्धित एक सय मुद्दा छन् ।

  • म्याग्दीमा घरमै पुुगेर राहदानी वितरण गर्न थालियो

    म्याग्दीमा घरमै पुुगेर राहदानी वितरण गर्न थालियो

    म्याग्दी, ३ वैशाखः म्याग्दीमा सेवाग्राहीको घरमै पुुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुुगेर राहदानी उपलब्ध गराउन थालेको हो । नेपाल सरकारले अघि सारेको शासकीय सुधारका एक सय सूचीमध्ये २७ नम्बर बुँदामा उल्लेख भएको घरमै राहदानी उपलब्ध गराउने घोषणालाई कार्यान्वयन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । “सरकारी सेवा घरमै उपलब्ध गराउने सरकारको नीतिअनुसार बुधबारदेखि काम सुरुआत गरेका छौँ,” उनले भने, “हुलाक कार्यालयमार्फत राहदानीलाई घरमै पुुगेर उपलब्ध गराउन कामलाई निरन्तर जारी राख्ने छौँ ।”

    पहिलो दिन बेनी नगरपालिका–२ का चार र वडा नम्बर ६ का दुई जनालाई घरै पुुगेर राहदानी उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । बेनी नगरपालिका–२, ज्यामरुककोटको बिमिराबोटका सरस्वती घिमिरे थापाको घरमा पुगेर प्रजिअ आचार्य, जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापा र वडाध्यक्ष यामबहादुर कार्कीले राहदानी हस्तान्तरण गरी सेवाको शुभारम्भ गरे । यस्तै, कृषा थापा क्षेत्री, सरस्वती घिमिरे थापा, कियान थापा क्षेत्री र करिस्मा थापा क्षेत्रीले आफ्नै आँगनमा राहदानी प्राप्त गरे । यसअघि राहदानी लिन सदरमुकाम बेनीसम्म धाउनुपर्ने बाध्यता रहेकामा अब घरमै कागजात प्राप्त हुने भएपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ ।

    घरमै राहदानी प्राप्त गरेपछि सेवाग्राहीहरू निकै खुसी भएका थिए । सेवाग्राही सरस्वतीले भनिन् । “पहिले राहदानी लिन बेनी जाँदा दिनभरको समय र गाडीभाडा खर्च हुन्थ्यो । अब घरमै सेवा पुगेपछि दुवै समस्याबाट मुक्ति मिलेको छ । सरकारप्रति भरोसा जागेको छ । यो सेवाले सरकारी सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने अपेक्षा गरेका छौँ ।”

  • एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन

    एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ, ३ वैशाखः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ । खाद्य पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको बिक्री–वितरण गर्ने फर्म, पसल तथा व्यावसायिक प्रतिष्ठानमा विभागले स्थलगत अनुगमन गरी कारबाहीको दायरामा ल्याइएको जनाएको हो ।

    विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“बुधबार एकैदिन ५६ वटा व्यावसायिक फर्ममा अनुमगन गरी सुधारात्मक निर्देशन दिइएको छ । दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री बिक्री–वितरण गर्ने व्यावसायिक फर्म, पसलले बिल बीजक दिए–नदिएको, उपभोक्ताले देख्ने गरी मूल्यसूची राखेनरराखेको, कानुनअनुसार तिर्नुपर्ने कर तथा अन्य क्रियाकलाप गरे–नगरेको विषयमा जानकारी लिएको छ ।” उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको उपस्थितिमा अनुगमन गरिएको विभागले जनाएको छ ।

  • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    गोरखा, ३ वैशाखः तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छिन् । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उनले बताइन् । श्रेष्ठ यसअघि विसं २०८१ को वैशाख ३०, जेठ ६ र १२ गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । दुई हप्ताको छोटो अवधिमा तीनपटक सगरमाथा आरोहण गरेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा उनको नामअङ्कित भएको थियो ।

    तेह्र दिनभित्रै तीनपटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको भन्दै सन् २०२४ मा सिएनएन एथ्लेट्सको उत्कृष्ट सूचीमा आफ्नो नाम अङ्कित गरिएको उनले जानकारी दिइन् । “पहिलो पटक २०७५ जेठमा सगरमाथा आरोहण गरेकी थिए, त्यसपछि २०८२ जेठ ४ गते पाँचौँ पटक आरोहण गरेँ”, श्रेष्ठले भनिन् । उनले आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, अन्नपूर्ण १, धौलागिरि र मनास्लु हिमाल पटक पटक गरी १४ पटक आरोहण गरेर विभिन्न शीर्षकमा कीर्तिमान कायम गरिसकेकी छिन् । आरोही श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका–९ आरुटार निवासी हुन् ।

  • सरकारले मध्यराती बढायो डिजेलको मूल्य, प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    सरकारले मध्यराती बढायो डिजेलको मूल्य, प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    काठमाडौँ, ३ चैतः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति अर्थात् अहिले १२ः०० बजेदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल÷मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजल÷मट्टीतेलको प्रतिलिटर रु २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर रु २५६ पुगेको छ ।

    अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ । पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

  • कर्णाली विश्वको आरोग्य हब बन्न सक्ने ठूलो आधार

    कर्णाली विश्वको आरोग्य हब बन्न सक्ने ठूलो आधार

    कर्णाली, ३ वैशाखः प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत गरे ।

    योग विज्ञानदेव संस्कृति विश्वविद्यालय हरिद्वारका पिएचडी शोधार्थी हरि उपाध्यायले आफ्नो प्रस्तुति राख्दै कर्णाली प्राकृतिक तथा आध्यात्मिक हिसाबले आरोग्य हबका रूपमा विकास गर्न सकिने आधार बलियो रहेको बता्ए । उनले भने, “जडीबुटी अर्थात् प्राकृतिक स्रोत, लोक चिकित्सा, योग ध्यान, सामुदायिक जीवन, पर्यावरणीय पक्ष, वैदिक पद्धति, आयुर्वेदक\प्राकृतिक चिकित्सा (सोवा रिग्पा) र खानपान तथा जीवनशैली आरोग्य हब बनाउन सकिने बलिया आठ आधार हुन् । यसका लागि कर्णालीलाई योग ध्यान आरोग्य केन्द्रित गन्तव्य बनाउने, परम्परागत र आधुनिक प्रणालीको समन्वय, स्थानीय स्रोत, संस्कृति र प्रकृतिमा आधारित विकास, दिगो पर्यटन र समग्र आरोग्यतामा योगदान पुर्याउनुपर्दछ ।”

    युवा वैज्ञानिक राजेन्द्र विष्टले जडीबुटी र लोक उपचार पद्धतिमार्फत समृद्धिको आधार तयार गरी कर्णालीलाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने कार्यपत्र प्रस्तुत गरे । जडीबुटी केवल उपचार मात्र नभई मानिसलाई प्रकृतिसँग जोड्ने जीवन दर्शन भएको बताउँदै उनले योग ध्यान, जडीबुटी उपचार, अध्यात्मिक अभ्यास, स्वच्छ हावा, शान्त वातावरण, जैविक खानपानले पर्यटकलाई अद्वितीय अनुभव प्रदान गर्न सक्ने भएकाले यसलाई आरोग्य पर्यटनका रूपमा विकास गर्नुपर्ने सुझाव दिए ।


    वैज्ञानिक विष्टले भने, “कर्णालीका जडीबुटी, लोक उपचार र सोवा–रिक्पा भविष्यका सम्भावनाका स्रोत हुन् । परम्परागत ज्ञान र आधुनिक प्रविधिको समन्वयबाट दिगो विकास गर्न सकिन्छ । तसर्थ, कर्णाली केवल जडीबुटीको भण्डार मात्र होइन, नेपालको हरित अर्थतन्त्र (ग्रिन इकोनोमी) निर्माण गर्ने आधार भूमि हो । यसमा तीनै तहका सरकार र सम्बन्धित सरोकार भएकाहरूको समन्वय र सहकार्य दुवै आवश्यक छ ।”

    कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कार्यक्रममा प्रस्तुत सुझावका आधारमा नीति, योजना र कार्यक्रम निर्माण गरेर अगाडि बढ्ने बताए । उनले लुम्बिनी, सुदूरपश्चिम र कर्णालीको धार्मिक पर्यटकीय सडक निर्माणमा पहल गरिने जनाए ।

    मन्त्रालयका सचिव धोलकराज ढकालले आरोग्यताका सन्दर्भमा धेरै कुराको जानकारी भएको र प्रदेश सरकारले आगामी आर्थिक वर्षमा नीतिसहित कार्यक्रम तथा बजेट तर्जुमा गर्न ध्यान दिने बताए । कर्णालीलाई ‘अग्र्यानिक’ प्रदेश बनाउने गरी यसअघि पनि नीति तथा कार्यक्रम ल्याइएको बताउँदै उनले अब आरोग्यको केन्द्र बनाउने गरी थप नीति अगाडि सारिने धारणा राखे ।


    अन्तरक्रिया कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय राजयोग प्रतिष्ठान केन्द्र सुर्खेतका ब्रह्माकुमारी विष्णु, विश्व हिन्दू महासङ्घका परमानन्द रेग्मी, इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सस्नेस (स्कुन)का शक्ति विक, सत्य साई केन्द्रका कृष्णमाया पोखरेल र महायोगी शिद्धबाबा अध्यात्मिक प्रतिष्ठानका केन्द्रीय सदस्य ललित भट्टराईले प्रकृति, अध्यात्म, पुरातत्व, संस्कृति, सभ्यता र धर्मको जननी कर्णालीमा सबैलाई आकर्षण गर्ने नीति र कार्यदिशा निर्माण गरिनुपर्नेमा जोड दिए ।

  • दश इन्च लामो सियोले जिब्रो छेडेर जात्रामा सहभागी भए सुजन

    दश इन्च लामो सियोले जिब्रो छेडेर जात्रामा सहभागी भए सुजन

    रमेश गिरी–रासस
    भक्तपुर, २ वैशाखः आज बिहानैदेखि सर्वसाधारण मध्यपुरथिमिमा सिन्दूर खेल्दै देवीदेवताका खट जात्रा गर्दै बिस्का जात्रा मनाइरहेका थिए । तर मध्याह्नदेखि भने बोडे क्षेत्रमा भीड बढ्न थाल्यो । केहीक्षणमै बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासमा सर्वसाधारण खचाखच हुन थाल्यो । बिस्केट जात्राका अवसरमा हरेक वर्षको वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न १२ बजेसम्म भीड लागिसकेको थियो ।

    दिउँसो २ः३० बजे बाँसको चिम्टी बजाउँदै एकहुल मानिसहरू हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतै केन्द्रित भयो । बीचमा जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पूजा गर्दै आइपुगे, २९ वर्षीय सुजन वाग श्रेष्ठ ।


    त्यसपछि बोडेका स्थानीय वासिन्दाले जयजयकार गरे । पाटीमा बनाइएको मञ्चमा उक्लिएपछि यसअघि १२ पटक जिब्रो छेडाइसकेका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाहरू, मञ्चमा उक्लिए । जिब्रो छेड्न तयार सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झँदै धूप बत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इन्च लामो फलामको सुइरोले हजारौँ मानिसहरूकै अगाडि दिउँसो ठीक ३ बजे सुजनको जिब्रो छेडिदिए ।

    उनले जिब्रो छेड्दा आँखा चिम्म गरे पनि हजारौँको होहल्लामा उत्साहित हुँदै सबैतिर फर्केर हात हल्लाए । हात हल्लाएर नमस्कार गर्दा जयजयकारको आवाज सुनियो । जुन कुनै चर्चित सेलिब्रेटी देख्दा दर्शकले गरेको हुटिङ भन्दा कम थिएन ।

    त्यसपछि सबैलाई नमस्कार र अभिवादन गर्दै चन्द्राँकारको भ्वाय्अर्थात् महाद्वीप बोकेर निस्किनुभयो सुजन, सँगैसँगै बुद्धकृष्णले छोरा सुजनलाई अगाडि बढाइरहे । त्यसक्रममा जिब्रो छेडाएका अनुभवी जुजुभाइदेखि स्थानीय दिलकृष्ण प्रजापतिसमेतले चौथो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिँडेर हौसला प्रदान गरिरहे । महाद्वीप बोकेर सुजनले करिब एकघण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न देवीदेवताका मन्दिरको परिक्रमा गरे ।

    त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पु¥याइयो । त्यसको केही क्षणपछि भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्वीपलाई मन्दिर बाहिर राखेर सुजनभित्र प्रवेश गरेपछि जिब्रोको सुइरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो । त्यसपछि जात्रा पनि सम्पन्न भयो । हजारौँको भीड विस्तारै तितरवितर भयो ।

    जिब्रो छेडाएपछि सुजनले भने, “बुबाले जिब्रो छेडाउँदा प्रायः म सधैँ सँगै हुन्थे, उनले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो त्यही भएर आँट आयो, सबैले जयजयकार गरेको देख्दा निकै रहर लाग्थ्यो, रहर पूरा गरेँ । यस वर्ष पनि जात्रालाई निरन्तरता दिन चौथो पटक जिब्रो छेडाएर महाद्वीप बोकेर बोडे देश घुम्न पाउँदा खुसी छु ।”

    चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाउने चलन छ । माटो लगाएपछि जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गर्नुपर्छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएपछि घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने विश्वास रहेको यसअघि नौ पटक जिब्रो छेडाउनुभएका बुद्धकृष्ण बताउँछन् ।


    किम्वदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिएर बलेको महाद्वीप काठको गह्रुँगो भारी बोकाएर बोडे घुमाए ।

    कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा पुरा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किम्वदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।

    तर यो कथनलाई मान्न तयार छैनन्, बुद्धकृष्ण । उनी भन्छन्, “यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिशाच कोही नभई नील बाराहीका देव गण हुन् । जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर भ्रम फैलाउन नहुने उनी बताउँछन् । जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षस होइनन्, देवगण हुन् भन्ने सबैलाई बुझाउनु जरुरी रहेको उनले बताए ।

  • अब जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

    अब जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

    काठमाडौँ, २ वैशाखः राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए ।
    अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ छ । तथ्याङ्क एकीकरणपछि जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुनेछन् ।

    पछिल्लो समय सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिक सेवाहरूलाई अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिइरहेको छ । जसअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फतै प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । त्यस्तै, नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता गरी परिषद्बाट जारी हुने व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि नागरिक एपबाटै उपलब्ध हुने प्रक्रियासमेत अघि बढाइएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार नागरिक एपमा थप सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने र ४५ दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । तर सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले तोकिएको अवधिभन्दाअगावै यी कामहरू सकिसक्न विभागलाई निर्देशन दिनुभएको छ । यस पहललाई अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाले विशेष चासो देखाउँदै नागरिक एपमा थप सेवा एकीकृत गर्नसमेत निर्देशन दिनुभएको छ । सोही निर्देशनअनुसार विभागले विभिन्न निकायसँग समन्वय गर्दै प्रणाली विकास तथा परिमार्जनको काम भइरहेको जनाएको छ ।

    सार्वजनिक सेवामा पारदर्शिता, सहजता र डिजिटल पहुँच विस्तार गर्ने लक्ष्यसहित मन्त्रिपरिषद्को बैठकबाट यहि चैत १३ गते स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ३५ मा पनि यो विषय उल्लेख भएको थियो । नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र ९पुलिस क्लियरेन्स रिपोर्ट० डाउनलोड गर्न सकिने सुविधा भने हाल सञ्चालनमा आइसकेको छ । नयाँ सेवाहरू थपिएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको उद्देश्य अझ सशक्त हुने अपेक्षा गरिएको छ ।

    डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने यस कदमले सेवाग्राहीलाई समय, लागत र प्रक्रियागत झन्झटबाट राहत दिने विश्वास गरिएको छ भने सरकारी सेवा प्रवाहलाई पनि थप पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

  • इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

    इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

    काठमाडौँ, २ वैशाखः पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएका छन् । गत चैतको पहिलो साता इरानको होर्मुज क्षेत्रबाट इरानी सेनाको कब्जामा परेका उनी आज रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार झा इरानमा रहेको नेपाली अवैतनिक महावाणिज्य दूतावास तथा कतारस्थित नेपाली दूतावासको सम्पर्कमा छन् । नेपाली अधिकारीको टोली उहाँलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको मन्त्री खनालले उल्लेख गरेका छन् ।

  • १० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

    १० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

    रासस
    काठमाडौँ, २ वैशाख । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गरिएको हो । “सबैजसो इन्टरनेट सेवा प्रदायकले हालसम्म १० हजारभन्दा बढी यस्ता एप र वेबसाइट बन्द गरिसकेको जानकारी गराएका छन् । नेपाल टेलिकमले सबैभन्दा धेरै २१ हजारभन्दा बढीको सङ्ख्यामा बन्द गरेको छ, यस्ता एप र वेभसाइट निरन्तर पहिचान गर्ने र बन्द गर्ने क्रम चलिरहेको छ”, लामिछानेले रासससँग भने ।


    सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा यस्तो कदम चालेको हो । मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको छ ।

    सोही निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत १५ गते मन्त्रीस्तरबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक निर्देशन दिएको थियो । उक्त निर्देशनपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको जनाएको छ ।

    मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा ९४० अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन नपाइने व्यवस्था छ । उक्त प्रावधान उल्लङ्घन गरेमा सोही दफाको उपदफा ९६० अनुसार प्रयोग भएको रकम जफत गरी एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

    त्यसैगरी, विज्ञापन ९नियमन गर्ने० ऐन, २०६६ ले समेत जुवा खेल्न वा खेलाउन तथा अनुमति नलिएको चिठ्ठा किन्न–किनाउन प्रोत्साहन गर्ने किसिमका विज्ञापन गर्न निषेध गरेको छ । सो विपरीत कसुर गरेमा प्रचलित कानुनअनुसार सजाय हुने र अन्यथा एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुने प्रावधान रहेको छ ।

    सरकारले नेपालभर सञ्चालनमा रहेका सट्टेबाजी एप तथा वेबसाइट प्रयोग नगर्न तथा सञ्चालन नगर्न आग्रह गरेको छ । साथै, कसैले अनधिकृत रूपमा यस्ता गतिविधि सञ्चालन वा प्रयोग गरेको पाइएमा सम्बन्धित निकायबाट कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ । प्राधिकरणले नागरिकलाई सचेत रहन, यस्ता अवैध डिजिटल गतिविधिबाट टाढा रहन तथा कुनै पनि शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न आग्रह गरेको छ ।

  • सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    काठमाडौँ, २ वैशाख । सरकारले २०६२–६३ सालदेखि २०८२–८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ–छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो ।

    आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशहरू चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल छन् । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सरकारले गत चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३ औँ बुदाँमा यसबारे उल्लेख गरिएको छ ।

    उक्त बुँदामा देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्र्तगत रहनेगरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख छ । छानबिन प्रक्रियालाई कानूनी मापदण्ड, प्रमाणमा आधारित तथा निष्पक्ष रूपमा सञ्चालन गर्ने तथा आयोगले पेस गरेको प्रतिवेदन तथा सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

  • परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

    काठमाडौँ, २ वैशाखः परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्र मन्त्रीमा नियुक्त भएकोमा मन्त्री खनाललाई शुभकामना व्यक्त गरेको अवगत गराएका थिए ।

  • कांग्रेसले पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण

    कांग्रेसले पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण

    काठमाडौँ, २ वैशाख : नेपाली कांग्रेसले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेस अनुशासन समितिको आज बसेको बैठकले पार्टीको लेटरप्याडमार्फत आफूसँग नभएको जिम्मेवारी प्रयोग गरी नेता खड्काले गत चैत ३० गते विधान विपरित काम गरेको भन्दै सो कारबाही गरेको जनाएको छ ।

    समितिले नेता खड्काले यसअघि चैत १४ गते पनि पार्टीको लेटरप्याडमार्फत वक्तव्य जारी गरेको भन्दै सचेत गराउने निर्णय गरेको थियो । यसैगरी समितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको विधानविपरित अनुशासन उल्लङ्घन गरेका व्यक्ति उपर उजुरी दिने अवधि थप गरी यही वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

  • राष्ट्रिय आर्थिक गणना सुरु

    राष्ट्रिय आर्थिक गणना सुरु

    काठमाडौँ, २ वैशाखः देशको समग्र आर्थिक अवस्थाबारे बुझ्न तथा विकास योजना तर्जुमा गर्न आवश्यक पर्ने विस्तृत विवरण सङ्कलनका निम्ति दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु भएको छ । देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरेर तथ्याङ्क सङ्कलन थालेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । उक्त कार्यालयले आज यहाँ पत्रकार सम्मेलन गरेर चार हजार ४३३ जना तालिमप्राप्त गणक तथा सुपरीवेक्षक आगामी असार ७ गतेसम्म तथ्याङ्क सङ्कलनमा परिचालन हुने जानकारी दिएको हो ।

    उक्त कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार उद्योग, व्यापार, सेवा, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको सङ्ख्या, वितरण, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने छ । अन्तररराष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार अर्थतन्त्रका २१ मध्ये १८ क्षेत्रमा आधारित आर्थिक क्रियाकलापलाई गणनामा समेटिएको छ । गणनामा दर्ता भएका तथा नभएका साना–ठूला व्यवसाय, गैरसरकारी संस्था, विद्यालय, अस्पताललगायत आर्थिक गतिविधिमा संलग्न एकाइहरूमा समावेश छन् भने कूटनीतिक नियोग, सुरक्षा निकाय तथा घरायसी क्रियाकलापलाई गणनामा समावेश गरिएको छैन ।

    “गणनालाई सफल बनाउन केन्द्रदेखि स्थानीय तहसम्म समन्वय समितिहरू गठन गरिएका छन् । साथै, स्थानीय तह र वडा कार्यालयसँग सहकार्य, उद्योग व्यवसायसँग सम्झौता तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गरिएको कार्यालयले जनाएको छ ।

    रेडियो, टेलिभिजन तथा डिजिटल माध्यमबाट जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालनमा छन्”, प्रवक्ता लामिछानेले भने, “प्राविधिक रूपमा गणनालाई सुदृढ बनाउन अनलाइन ‘इ–सेन्सस’ प्लेटफर्म सञ्चालनमा ल्याइएको छ भने भौगोलिक सूचना प्रणाली (जिआइएस)मार्फत गणना क्षेत्र पहिचान गरिएको छ ।” साथै उनले उद्यमी, व्यवसायी, सेवा प्रदायक तथा सङ्घसंस्थालाई सत्य, पूर्ण र विश्वसनीय विवरण उपलब्ध गराउन आग्रह गरे । सङ्कलित सबै विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने छ ।

  • सञ्चार मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू

    सञ्चार मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू

    काठमाडौँ, २ वैशाखः सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन, त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ । मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीका अनुसार कर्मचारीलाई सुम्पिएको जिम्मेवारी छिटो र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न यो व्यवस्थाले जवाफदेही बनाउनेछ ।

    नयाँ नीतिअनुसार तोकिएको समयभित्र काम सम्पन्न हुन नसकेको कारण भएमा सम्बन्धित कर्मचारीले तत्काल आफ्नो सुपरिवेक्षकलाई जानकारी गराउनुपर्नेछ । यो व्यवस्थालाई प्रभावकारी बनाउन सबै कर्मचारीसँग प्रतिवद्धतापत्रमा हस्ताक्षर गराई सोको सुनिश्चितता गराउने जिम्मेवारी कार्यालय प्रमुखलाई दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्रोतसाधनको प्रयोगमा मितव्ययीता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ, २ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

    नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री पोखरेलले सातवटै प्रदेशमा सञ्चालन हुन लागेको ‘अटिजम’ स्कुललाई सघाउन आग्रह गरे । मन्त्री पोखरेलको निजी सचिवालयका अनुसार उक्त विद्यालयलाई स्रोत र जनशक्ति विकासमा सहयोग गर्न उनले राजदूतसमक्ष अनुरोध गरेका छन् ।

  • ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

    ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

    चितवन, २ वैशाखः जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको हो ।

    कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार विसं २०८० देखि ट्राफिक प्रहरीले ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ राख्न सुरु गरेसँगै कागजात सङ्कलन भएको हो । विभिन्न मिति र स्थानमा गरिएको जाँचका क्रममा चौबीसघण्टे पूर्जी प्राप्त गरेका तर तोकिएको समयभित्र जरिवाना दाखिल नगरेका सवारी चालक तथा धनीहरूलाई १० दिनभित्र कागजपत्र लिन आग्रह गरिएको हो । उनका अनुसार सवारीचालक अनुमतिपत्र, ब्लुबुक, मार्ग अनुमतिजस्ता सक्कली कागजात कार्यालयमा छ ।

    कतिपय आगलागीका क्रममा नष्ट भएको भए पनि त्यस्ता कागजातका लागि समेत नयाँ बनाउन सिफारिस गर्न सकिने भएकाले राजस्व बुझाएर लिन आग्रह गरिएको हो । कार्यालयले यस आर्थिक वर्षमा मात्रै यस्ता कागजपत्र दुई हजार २४८ नियन्त्रणमा लिएको र पछि सवारी धनी लिन नआएको जनाएको छ । दश दिनभित्र कागज फिर्ता नलगे सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा ५ बमोजिम एक महिनासम्म निलम्बन गरिने बताए ।

  • १०० युरोमा पिकासो जित्ने अवसर

    १०० युरोमा पिकासो जित्ने अवसर

    पेरिस, २ वैशाख (रासस–एपी) । अल्जाइमर अनुसन्धानका लागि कोष जुटाउने उद्देश्यले फ्रान्समा आयोजना गरिएको एक विशेष राफलमार्फत केवल १०० युरोमा करोडौँ मूल्यको पाब्लो पिकासोको चित्रकला जित्ने अवसर प्रदान गरिएको छ । यसले कला र परोपकारलाई अनौठो ढङ्गले जोडेको छ । मङ्गलबार पेरिसस्थित क्रिस्टीको लिलामी घरमा हुने ड्रबाट एक भाग्यशाली व्यक्तिले करिब १० लाख डलर मूल्यको पिकासोको चित्रकला आफ्नो बनाउन सक्नेछन् । आयोजकहरूले ‘१०० युरोमा एक पिकासो’ नाम दिइएको यो अभियानको तेस्रो संस्करण सञ्चालन गरेका हुन् ।

    यसपटक राफलमा राखिएको चित्र ‘हेड अफ अ वुमन’ शीर्षकको हो, जसलाई पिकासोले सन् १९४१ मा कागजमा गौचे माध्यम प्रयोग गरी सिर्जना गरेका थिए । यस अभियानबाट उठ्ने रकम पूर्ण रूपमा अल्जाइमरसम्बन्धी अनुसन्धानमा खर्च गरिनेछ । यसअघि सन् २०१३ मा आयोजित पहिलो राफलमा अमेरिकाको पेन्सिलभेनियाका एक व्यक्तिले ‘म्यान इन द ओपेरा ह्याट’ शीर्षकको चित्र जितेका थिए । उक्त चित्र पिकासोको क्युबिस्ट कालखण्ड (सन् १९१४) को प्रतिनिधि कृति हो । त्यसैगरी, सन् २०२० मा आयोजित दोस्रो राफलमा ‘स्टिल लाइफ’ नामक चित्र इटालीकी एक लेखापालकी आमाले जितेकी थिइन्, जुन उनका छोराले क्रिसमस उपहारस्वरूप टिकट किनिदिएका थिए ।

    सन् १९२१ मा बनाइएको उक्त ‘स्टिल लाइफ’ चित्र अर्बपति कला सङ्कलक डेभिड नहमादबाट खरिद गरिएको थियो । नहमादले पिकासो जीवित भएको भए यस्ता परोपकारी प्रयोजनका लागि आफ्नो कृति प्रयोग गर्न सहमति जनाउने विश्वास व्यक्त गरेका थिए । पिकासोको सन् १९७३ मा निधन भएको थियो ।

    यो राफल अल्जाइमर रिसर्च फाउन्डेसनद्वारा आयोजना गरिएको हो, जुन पेरिसका प्रमुख सार्वजनिक अस्पतालमध्ये एकसँग आबद्ध संस्था हो । सन् २००४ मा स्थापना भएको यो संस्था हाल फ्रान्समा अल्जाइमरसम्बन्धी अनुसन्धानका लागि निजी क्षेत्रबाट सबैभन्दा ठूलो लगानीकर्ता बनेको छ ।

    आयोजकहरूले अनलाइन प्लेटफर्ममार्फत टिकट सङ्ख्या एक लाख २० हजारमा सीमित गरेका छन् । सबै टिकट बिक्री भएमा कुल एक करोड २० लाख युरो (करिब एक करोड ४० लाख डलर) सङ्कलन हुने अनुमान गरिएको छ । यसमध्ये १० लाख युरो चित्रको स्वामित्व राख्ने अन्तर्राष्ट्रिय आर्ट डिलरसिप ओपेरा ग्यालरीलाई प्रदान गरिनेछ ।

    यसअघि सम्पन्न दुई संस्करणबाट सङ्कलित रकम लेबनानमा सांस्कृतिक कार्यक्रम र अफ्रिकामा पानी तथा सरसफाइ परियोजनामा खर्च गरिएको थियो, जसबाट एक करोड युरोभन्दा बढी रकम उठाइएको आयोजकहरूले जनाएका छन् । कला, भाग्य र सामाजिक उत्तरदायित्वलाई जोड्ने यस अभियानले विश्वभरका सहभागीलाई आकर्षित गरिरहेको छ र सानो लगानीमा ठूलो कृति जित्ने सम्भावनासँगै मानवीय सेवामा योगदान गर्ने अवसर पनि दिएको छ ।

  • सुडानमा जनवरी देखि भएका ड्रोन आक्रमणमा सात सय जनाको मृत्यु : राष्ट्रसङ्घ

    सुडानमा जनवरी देखि भएका ड्रोन आक्रमणमा सात सय जनाको मृत्यु : राष्ट्रसङ्घ

    जेनेभा, २ वैशाख (रासस–एएफपी) । यस वर्षको जनवरी देखि हाल सम्म सुडानमा भएका ड्रोन आक्रमणमा करिब ७०० जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख टम फ्लेचरले बताएका छन् । उनले तीन वर्ष लामो गृहयुद्धले सुडानमा विश्वको सबै भन्दा ठूलो मानवीय सङ्कट सिर्जना गरेको बताए ।
    लामो समय चलेको सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको युद्धले दशौं हजार मानिसहरूको ज्यान लिएको छ भने एक करोड १० लाख भन्दा बढी विस्थापित भएको जनाइएको छ ।

    सुडानमा पछिल्लो समयमा, दैनिक जसो हुँदै आएका ड्रोन आक्रमणले सुडानको डार्फुरसहित विभिन्न क्षेत्रमा, जन–जीवन अस्तव्यस्त पारेको जनाइएको छ । युद्धले लाखौँ सुडानीहरुलाई आफ्नो घर छोड्न बाध्य पार्नुका साथै क्षेत्रीय अस्थिरताको जोखिम उच्च भएको फ्लेचरले बताए ।


    उहाँले तीन वर्षको युद्धले लगभग तीन करोड ४० लाख मानिसलाई मानवीय सहयोगको आवश्यकता रहेको बताए । उनले परिस्थिती असहज हुँदै जाँदा भोकमरी बढ्दै गएको उल्लेख गर्दैै लाखौँ बालबालिका कुपोषित हुनुका साथै शिक्षाबाट वञ्चित रहेको बताए । यसै बीच महिला तथा बालिकाहरूले क्रूर यौनजन्य हिंसाको सामना गरिरहेको बताउदै उनले मानवतावादीहरू यस वर्ष दुई करोडलाई सहयोग गर्ने प्रयास गरेको बताए ।


    सुडानमा संयुक्त राष्ट्रसङ्घको आवासीय संयोजक डेनिस ब्राउनले यस वर्ष सुडानका लागि सहयोग जुटाउन संयुक्त राष्ट्रसङ्घले गरेको अपिल सदस्य राष्ट्रहरूबाट अन्तर्राष्ट्रिय सहायता योगदानमा कमी आएको कारण असहज भएको बताए । सङ्कटग्रस्त शान्ति वार्तालाई पुन: र्जवित गरी मानवीय सहायता परिचालन गर्ने उद्देश्यले बुधबार बर्लिनमा आयोजित सम्मेलनमा सहभागी हुन दाताहरू भेला हुने जनाइएको छ ।

  • भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

    भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

    काबुल, २ वैशाख (रासस–सिन्ह्वा) । अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र २५३ जना घाइते भएको अफगानिस्तानका सञ्चर माध्यामहरुले प्रवक्ता हम्मादलाई उद्धृत गर्दै जनाएका छन् ।

    अधिकारीका अनुसार आँधीबेहरी र बाढीका कारण कुल अफगानीस्तानमा एक हजार ३०३ घरहरू पूर्ण क्षतिग्रस्त भएका छन् भने पाँच हजार ८०० भन्दा बढी घरहरू आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । अफगानिस्तानका विभिन्न भागहरूमा मार्च–२५ देखि भारी वर्षा, शक्तिशाली हावा र आकस्मिक बाढी आएको छ भने मौसम विभागले देशको १४ प्रान्तमा मङ्गलबार थप वर्षाको पूर्वानुमान गरेको छ ।

  • पाकिस्तानमा पोलियो अभियानमा खटियका प्रहरीमाथि आक्रमण, एक जनाको मृत्यु, पाँच घाइते

    पाकिस्तानमा पोलियो अभियानमा खटियका प्रहरीमाथि आक्रमण, एक जनाको मृत्यु, पाँच घाइते

    इस्लामावाद, २ वैशाख (रासस–सिन्ह्वा) । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समुहले पोलियो अभियानमा खटियका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभान गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले जनाएको छ ।

    आक्रमणकारीहरूले प्रहरीलाई आक्रमण गरी अन्धा–धुन्ध गोली हान्दा छ जना कर्मचारीहरू घाइते भएको पुष्टि गर्दै प्रहरीले उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको जनाएको छ । सुरक्षा बलहरू घटनास्थलमा पुगेर घटनास्थलाई घेराबन्दी गरी आक्रमणकारीहरूलाई पत्ता लगाउन खोजी अभियान सुरु गरेको बताइएको छ भने अहिले सम्म कुनै समूहले आक्रमणको दाबी गरेको छैन ।