Category: फिचर

  • अमेरिकी सैनिकलाई कारबाहि गर्न राष्ट्रसङ्घलाई इरानको आग्रह

    अमेरिकी सैनिकलाई कारबाहि गर्न राष्ट्रसङ्घलाई इरानको आग्रह

    तेहरान (इरान), २ वैशाख (रासस–एएनआई) । संयुक्त राष्ट्रका लागि इरानी राजदूत अमिर सइद इरवानीले अमेरिकी सैनिकले इरानी सार्वभौमसत्ताको उल्लङ्घन गरेको विषयको निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घलाई अमेरिकी सैनिकलाई कारबाही गर्न आग्रह गरेका छन् ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का अध्यक्षलाई पठाएको पत्रमा इरवानीले अमेरिकाको कदमलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्ने आक्रमक कार्य भन्दै निन्दा गरेका छन् । सैनिक नाकाबंदी लागू गर्नु इस्लामिक गणतन्त्र इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको घोर उल्लङ्घन भएको उनले बताए । गत अप्रिल –१२ मा युएस सेन्ट्रल कमान्ड (सेन्टकम) द्वारा सार्वजनिक रूपमा सैनिक आतंकवादको घोषणा गरिएको थियो ।

    उनले अमेरिकाले संयुक्त राष्ट्रको बडापत्रको धारा– २, अनुच्छेद ४ को उल्लङ्घन गर्दै आतंकवाद घोषणा गरेको बताए । उनले अवैध नाकाबंदीले समुद्र सम्बन्धि अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको बताए । इरानी बन्दरगाहहरूमा आउने र जाने समुद्री यातायात रोक्ने प्रयास गरेर, अमेरिकाले इरानको सार्वभौम अधिकारको प्रयोगमा हस्तक्षेप गरिरहेको र अन्तर्राष्ट्रिय कानून अनुसार तेस्रो राज्यहरूको अधिकार र वैध समुद्री व्यापारको उल्लङ्घन गरिरहेको पत्रमा उल्लेख गरिएको छ ।

    इरानले अमेरिकाको अवैध कार्यलाई अस्वीकार र निन्दा गर्दै आफ्नो सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राष्ट्रिय हितहरूको रक्षा गर्न आवश्यक उपायहरू गर्ने आफ्नो “अन्तर्निहित अधिकार“ राख्ने बताएको छ । उनले अमेरिकाले अन्तर्राष्ट्रिय रुपमा गैर जिम्मेवारपुर्ण कार्य र क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गलत प्रभावहरू लगायत यसका सबै परिणामहरूको लागि पूर्ण जिम्मेवारी वहन गर्नु पर्ने बताए । तत्काल अन्तर्राष्ट्रिय हस्तक्षेपको आह्वान गर्दै, इरानी दूतले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई नाकाबंदीको निन्दा गर्न र तनाव रोक्न कदम चाल्न आग्रह गर्नु भएको छ ।

    इरवानीले संयुक्त राष्ट्र सङ्घलाई सम्वोधन गर्दै लेखेको पत्रमा इरान विरुद्ध अमेरिकाको निरन्तर अन्तर्राष्ट्रिय कानूनको उलङ्घन गरेको विषय उजागर गर्नु भएको छ । उता, अमेरिकी सेनाले हाल मध्य पूर्वमा कम्तिमा १५ वठा लडाँकु जहाजहरूको उपस्थिति कायम राखेको छ, राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश पछि सेनाले इरानको बन्दरगाहहरूको समुद्री नाकाबंदीमा भाग लिन सक्ने अमेरिकी अधिकारीलाई उदृत गर्दै सिएनएनले रिपोर्ट गरेको छ । यस अघि पाकिस्तानमा भएको वार्तामा कुनै सहमति हुन नसकेपछि अमेरिकी राष्ट्रपतिले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबंदी लगाएको जनाइएको छ ।

  • स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै

    स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै

    काठमाडौँ, २ वैशाखः आज अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै छ । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो ।

    हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको हो । सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अवलम्बन गर्न सबैलाई प्रेरित गर्नु यो दिवसको लक्ष्य हो । रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने निवारणमुखी उपाय, स्वस्थ जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण तथा रोकथामयोग्य रोग नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजाति र स्थानीय समुदायका संस्कृतिहरू तथा परम्परागत ज्ञानको महत्त्वलाई स्वीकार गर्दै प्रमाणमा आधारित परम्परागत चिकित्सापद्धतिले स्वास्थ्य प्रणाली सुदृढ बनाउन र समग्र स्वास्थ्य प्रवद्र्धनमा योगदान पु¥याउने उल्लेख गरेको छ । राष्ट्रसङ्घका अनुसार यो दिवसले विश्वभर जनचेतना अभिवृद्धि, सांस्कृतिक आदानप्रदान र ज्ञान साझेदारीका लागि मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।

    राष्ट्रसङ्घले हरेक व्यक्तिको स्वास्थ्य, खुशी र समग्र कल्याणलाई विशेष महत्व दिँदै यसअघि घोषणा गरिएका अन्तरराष्ट्रिय खुशी दिवस (मार्च २०), अन्तरराष्ट्रिय योग दिवस (जुन २१) र विश्व ध्यान दिवस (डिसेम्बर २१) जस्ता दिवसले पनि समग्र आरोग्य प्रवद्र्धनमा पूरक भूमिका निर्वाह गर्ने जनाएको छ । दिगो विकास लक्ष्यको तेस्रो बुँदामा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।

    सबै उमेर समूहका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने यसको लक्ष्य छ । मातृ तथा शिशु स्वास्थ्य, सरुवा तथा नसर्ने रोग नियन्त्रण, आवश्यक औषधि तथा खोपमा पहुँच, मानसिक स्वास्थ्य प्रवद्र्धन र स्वास्थ्य असमानता न्यूनीकरण यस लक्ष्यका प्रमुख प्राथमिकता हुन् ।
    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा

    मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा

    बेइजिङ, २ वैशाख (रासस–एएफपी) । रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले मध्य–पूर्व युद्धको विषयमा सहयोग गर्ने उदेश्यले चिनियाँ राजधानी पुगेको रूसी विदेश मन्त्रालयले जनाएको छ । चीनले मङ्गलबार भियतनामको टो लाम र अबु धाबीका राजकुमार मोहम्मद बिन जायद अल नाह्यानसहित युद्धको कारण प्रभावित भएका देशका नेताहरूलाई छलफलका लागि आमन्त्रण गरेको जनाएको छ । लाभ्रोभले चिनियाँ शीर्ष कूटनीतिज्ञ वाङ्ग यीसँग वार्ता गर्ने जनाइएको छ जसमा द्विपक्षीय सम्बन्धको विकास, विभिन्न क्षेत्रमा सहयोग, र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरुमा छलफल र स्थिति समन्वय गर्ने चिनियाँ विदेश मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    रूसी विदेश मन्त्रालयले युक्रेनको युद्ध र मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने पनि बताएको छ । बेइजिङ र मस्को घनिष्ठ आर्थिक र राजनीतिक साझेदार हुन्, भने सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरे पछि सम्बन्ध अझ मझभुत भएको जनाइएको छ । मध्यपूर्वमा तनाव कम गर्न बेइजिङ र मस्कोले मिलेर काम गर्ने विषयमा सहमति भएपछि वाङले गत अप्रिल – ५ मा लाभ्रोभसँग फोन वार्ता समेत गरेका जनाइएको छ । यसैबीच चिनियाँ प्रधानमन्त्री ली किआङले संयुक्त अरब इमिरेट्सका नेतालाई बेइजिङ “थप रचनात्मक भूमिका खेल्न र खाडी क्षेत्रमा शान्ति पुनः स्नाथापमा योगदान गर्न तयार रहेका बताएका छन् ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, २ वैशाखः हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी र हिमाली भूभाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ

    महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भूभागलगायत बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने, तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

    व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

    काठमाडौँ, २ वैशाख । आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन लागिएको हो । व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ ।

    यसैकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेका हुन् । त्यसक्रममा विद्यालय तथा स्थानीय सङ्घ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ । विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै विविध कार्यक्रमसहित सप्ताह मनाउन आग्रह गरिसकेको छ ।

  • आजदेखि देशभर आर्थिक गणना हुँदै

    आजदेखि देशभर आर्थिक गणना हुँदै

    काठमाडौँ, २ वैशाख । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् ।

    अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ ।

    त्यसक्रममा देशभर दर्ता भए÷नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ ।

    आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, २ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०३ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८८ पैसा र बिक्रीदर २१ रुपैयाँ ९६ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ६० पैसा र बिक्रीदर ४० रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २८ पैसा र बिक्रीदर १६ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २३ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता

    पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता

    काठमाडौँ, २ वैशाखः सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा विसं २०८८ सम्म आठ प्रतिशत पु¥याइने प्रतिबद्धता जनाएको छ । सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा आठ प्रतिशत बजेट पुर्याउने उल्लेख गरेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ ।

    प्रतिबद्धतामा स्वास्थ्य बिमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय तथा प्रत्येक नागरिकको पहुँच पुग्ने गरी विस्तार गरिने उल्लेख छ । ‘एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गरिनाका साथै छरिएर रहेका स्वास्थ्यसम्बन्धी सुविधा र सहुलितयलाई सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उल्लेख गरिएको छ ।

    यसैगरी प्रत्येक प्रदेशमा एक अत्याधुनिक अपाङ्गता पुनःस्थापना विशिष्टीकृत स्रोत केन्द्र स्थापना गरी एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने उल्लेख छ ।

    जलन पीडितलाई निःशुल्क उपचार

    सरकारले जलन पीडितलाई निःशुल्क र गुणस्तरीय उपचार तथा मानसिक स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याइने जनाइएको छ । प्रतिबद्धतामा ज्येष्ठ नागरिक तथा अशक्त नागरिकको घरदैलोमा आधारभूत स्वास्थ्य सेवा पुर्याइने, समग्र स्वास्थ्य प्रणाली सुधारका लागि आधारभूत स्वास्थ्यमा न्यूनतम मापदण्ड तयार गरी एकीकृत मोडल लागू गरिने, सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संरचनाको पुनःसंरचना गरी स्वास्थ्यकर्मी, उपकरण, भवन तथा सेवाको वर्गीकरण गुणस्तर निर्धारण गरिने उल्लेख छ । ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ सञ्चालन गरिने छ ।

    प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक

    प्रतिबद्धतामा प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कम्तीमा एक जना चिकित्सा शिक्षामा स्नातकोत्तर तह उत्तीर्ण गरेका एमडिपिजी चिकित्सक, नर्स, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध गराइने बताइएको छ । यस्तै, गरिब, मजदुर, किसान, अपाङ्गता भएका व्यक्तिको बिमा वा निःशुल्क उपचार तथा अनिवार्य श्रम गर्नेलाई निःशुल्क स्वास्थ्य सेवाको नीति लागू गरिने प्रतिबद्धतामा उल्लेख छ । रोग लागेपछि उपचार होइन रोग नै लाग्न नदिने अवस्था सृजना, स्वस्थ हावापानी, वातावरण र सक्रिय जीवनशैली प्रोत्साहन गरी ‘म स्वस्थ मेरो परिवार स्वस्थ्य’ भन्ने महाअभियान सञ्चालन गरिने प्रतिबद्धतामा उल्लेख छ ।

    स्वास्थ्य सेवामा आयुर्वेद, प्राकृतिक उपचार र योगध्यानलाई जोडी प्रमुख पर्यटकीय क्षेत्रहरूमा ‘वेलनेस जोन’ र योग प्रयोगशाला निर्माण गरिनाका साथै पाठ्यक्रममा योग, ध्यान र आयोग्य पर्यटन समावेश गरिने प्रतिबद्धतामा उल्लेख छ । उक्त प्रतिबद्धतालाई आगामी आर्थिक वर्ष २०८३\८४ को र त्यसपछिका वार्षिक नीति तथा कार्यक्रम, बजेट र सुधार ‘एजेन्डा’मा आबद्ध गरिने जनाइएको छ ।

  • अरनिको राजमार्ग : दुईतर्फी आवागमन सूचारु

    अरनिको राजमार्ग : दुईतर्फी आवागमन सूचारु

    काभ्रेपलाञ्चोक, १ वैशाख । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कलोपत्रे गर्न २३ दिनदेखि पटकपटक विभिन्न मितिमा आवागमन बन्द तथा एकतर्फी सञ्चालन गर्दै आइएको थियो । उक्त सडकखण्डमा गत चैत २२ गतेदेखि मात्रै कालोपत्रे (पीच)को काम सुरु गरिएको थियो । त्यस दिनदेखि रातको समयमा पूर्णरूपमा बन्द गराई दिउँसो एकतर्फी सञ्चालन गरी हाल धुलिखेल चोकबाट २.५ किलोमिटर सडक एकतर्फी पक्की बनाइएको हो ।

    आजदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार स्तरोन्नती भइरहेको चार किमीमध्ये बाँकी दुरी (दुवैतर्फीसम्मको)पक्की गर्नेकार्य यो साताको अन्तिमबाट सुरु गरिनेछ ।

    “त्यसबेला आगावमन कुन प्रकारले रोक्नेबारे छलफल भइरहेको छ, त्यसबारे केही दिनपछि सूचीत गर्नेछौँ”, योगेशले भने । उनका अनुसार पहिलोपटक गत चैत ७ गतेदेखि २० गतेसम्म र दोस्रोपटक २१ गतेदेखि ३० गतेसम्म रातको समयमा आवागमन रोकेर काम गरिएको थियो । सो अवधिमा टिपरलगायत मालवहाक सवारीलाई भने पूर्णतः निधेष गरिएको थियो । उक्त खडकखण्डको बाँकी १.५ कमी दोस्रो चरणमा पक्की बनाइन लागिएको हो ।

    ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्रे गर्ने काम भएको जनाइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौताकार्य गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएको हो ।

    कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । उक्त सडकखण्डमा कालोपत्रेको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने योगेशको भनाइ छ । सात मिटर चौडाईको बन्ने उक्त सडकखण्को सडकमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने जनाइएको छ ।

    उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको उक्त निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो ।

    उक्त निर्माण कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्ने गरी ठेक्का लिएको थियो । उक्त सडकखण्ड अरनिको राजमार्गहुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमा रहेको छ ।

  • मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

    मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

    रासस
    झापा, २ वैशाख । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित सशस्त्र प्रहरी बलको बीओपीमा कार्यरत सहायक प्रहरी हवल्दार ३५ वर्षीय सचिन तामाङको मोटरसाइकल दुर्घटनामा आज साँझ मृत्यु भएको छ । पाँचथरको फिदिम–१२ घर भएका तामाङ सवार मे७प ९६५ नंं को मोटरसाइकल आज अपराह्न ५ः३० बजेतिर मेचीनगर–२ दुर्गा मन्दिरस्थित मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।


    उनका अनुसार मोटरसाइकलको पछाडि सवार सप्रह तामाङ दुर्घटनामा गम्भीर घाइते भएका थिए । उपचारको क्रममा विर्तामोडको बीएन्डसी हस्पिटलमा उनको आज साँझ ६ः४५ बजे मृत्यु भएको हो । मोटरसाइकलको चालक अर्जुनधारा नगरपालिका वडा नं १ घर भई बाहुनडाँगी बीओपीमा कार्यरत ४० वर्षीय डिल्लीराम सुबेदीको हाल बीएन्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको मोटरसाइकल हाल नेपाल प्रहरीको भृकुटी अस्थायी पोस्टको नियन्त्रणमा रहेको र तामाङको शव हस्पिटलमै रहेको जनाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

  • नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

    नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

    राजविराज (सप्तरी), १ वैशाखः हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहा बस्ने दिपेन्द्र यादवका १७ वर्षीय छोरा रिपेशकुमार यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

    प्रहरी निरीक्षक कार्कीका अनुसार रिपेश साथीहरूसँग कोशी ब्यारेजको गोलघर नजिक कोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएको खबर इलाका प्रहरी कार्यालय भारदहबाट जानकारी पाएपछि तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कोशी नदीको ब्यारेजमा खोजी गरेको उनले बताए । खेजीका क्रममा गम्भीर घाइते अवस्थामा फेला परेका रिपेशलाई भारदह अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

  • नयाँ वर्षमा मस्त झुम्यो पोखरा

    नयाँ वर्षमा मस्त झुम्यो पोखरा

    गण्डकी, १ वैशाखः नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला मस्त झुमिरहेको छ । नयाँ वर्षको छेको पारेर लेकसाइडमा आयोजना गरिएको फेवा नयाँवर्ष महोत्सवले बेग्लै रौनक ल्याएको छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँवर्ष मनाउन पोखरा आएका पर्यटकले यहाँका होटल भरिभराउ छन् ।

    लेकसाइड क्षेत्री पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर धुनसँगै आगन्तुकहरू ओहोरदोहोर गरिरहेका देखिन्छन् । सडक छेउछाउ राखिएका व्यावसायिक कक्षमा किनमेल गर्नेको भीड छ । मौलिक झाँकी, नृत्यदेखि साङ्गीतिक ‘कन्सर्ट’मा पर्यटक झुमिरहेका छन् । आइतबारदेखि सुरु भएको महोत्सव आज मधयरातसम्म चल्नेछ । आयोजक होटल सङ्घ पोखरामा अध्यक्ष लक्ष्मण सुवेदीले २१औँ संस्करणको महोत्सव आयोजना भइरहेको बताए ।


    तीन दिनसम्म दसौँ हजार पर्यटकले महोत्सव अवलोकन गर्ने उनको भनाइ छ । नयाँ वर्ष मनाउने गन्तव्यका रूपमा फेवा महोत्सव स्थापित भइरहेको अध्यक्ष सुवेदीले बताए । महोत्सवमा संस्कृति संरक्षण, मनोरञ्जनसँगै व्यवसाय प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएको उनको भनाइ छ । लेकसाइडको हलनचोकदेखि ड्यामसाइडसम्म करिब तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना भइरहेको हो । ‘पर्यटन, संस्कृति र खाना’ नारा दिइएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनीलगायत सडकमै राखिएको छ ।

    सबै उमेर समूहका पर्यटकलाई लक्षित गरी विविध मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको छ । पर्यटकीय याम पनि चलिरहेकाले यतिबेला पोखरामा विदेशी पर्यटकहरूको पनि चहलपहल बढेको छ । महोत्सवस्थलमा नेपाली पञ्चेबाजा र गीतसङ्गीतमा विदेशीहरू पनि नाच्दै, रमाउँदै गरेका देखिन्छन् । विश्व पर्यटन बजारमा चिनिएको पोखरा पछिल्लो समय नयाँ वर्षको गन्तव्यका रूपमा स्थापित भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले यस्ता मेलामहोत्सवले पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउने बताए ।

    उनले स्थानीय अर्थतन्त्र उकास्न र व्यवसायीहरूको मनोबल बढाउन पनि मेला–महोत्सव आयोजना भइरहनुपर्ने धारणा राखे । पोखरामा हुने यस्ता गतिविधिले यहाँको पर्यटनलाई प्रवद्र्धन गर्ने, आर्थिक अवसर सिर्जना हुने विश्वास लिइएको छ ।

    नयाँ वर्षका दिन फेवातालमा रहेको ताल बाराही मन्दिरमा पनि भक्तजन र पर्यटकको भीड लागेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम शर्मा पहारीले बताए । ‘नयाँ वर्षमा देवी भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुन् र वर्षभरि कुनै दुःखकष्ट नपर्ने जनविश्वास रहेको छ”, उनले भने, “आज बिहान ६ः०० बजेदेखि नै ताल बाराहीमा भक्तजनको घुइँचो लागेको छ ।”

  • पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न

    पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न

    भादगाउँ, १ वैशाखः भक्तपुरको प्रसिद्घ बिस्का जात्राको पाँचौँ दिन आज साँझ भेलुखेलस्थित यसीँख्योमा ५५ हात लामो यसीँ (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको लिङ्गो आज तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ५ः४९ मिनेटमा ढालिएको हो । भैरवनाथको प्रतीक मानिने लिङ्गोमा बाँडिएको अष्टमातृकाको प्रतीक आठ वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गर्छ ।

    लिङ्गो ढाल्नु पनि बिस्का जात्राको प्रमुख जात्राका रूपमा लिइन्छ । यो जात्रा पछि तलेजुभित्र दुमाजुको विशेष पूजाआजा गरी यसीँख्योमा रहेको भैरव र भद्रकालीको रथलाई गःहिटि पुर्‍याई रथ जुधाउने जात्रा गरिन्छ । यो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनाका साथै शत्रुहरू नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।

  • कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु

    कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु

    काठमाडौँ, १ वैशाखः नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ आजदेखि सुरु गरेको छ । पार्टीका सभापति गगनकुमार थापाले काठमाडौँ महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरे । अभियानको सुरुआत गर्दै उनले सक्नेले यस अभियानमा सहयोग गर्न र नसक्नेले असहयोग नगर्न आग्रह गरे ।

    “मैले पार्टी सभापतिका रूपमा भनेँ, एउटा सोचका साथ म आएको छु, यो काम सम्पन्न गर्ने हो, सक्नेले मलाई सहयोग गर्नुहोला, नसक्नेले कृपया मलाई असहज अवस्था सृजना नगरिदिनुहोला । कोही साथीहरू विशेष कारणले गर्दा आफ्नो ठाउँमा जान नसक्ने हुनुहोला, कोही नेपालबाहिर हुनुहुन्छ होला, कोही अशक्त हुनुहुन्छ, पार्टीले यो परिस्थिति बुझेको छ, त्यस्ता साथीहरूका लागि हामी विशेष व्यवस्था गर्छौं”, सभापति थापाले भने ।

    क्रियाशील सदस्यताका सम्पूर्ण विषयका लागि ‘डिजिटलाइज’ गरिएको जानकारी दिँदै उनले सदस्यता अद्यावधिकरणका काममा सम्पूर्ण साथीहरूको सहयोग आवश्यक पर्ने बताए । सभापति थापाले पार्टीका जिम्मेवार व्यक्तिहरूले नबुझेका विषयका बारेमा पार्टी कार्यालय आएर महामन्त्रीसँग बुझ्न आग्रह गर्दै बाहिर अनावश्यक चर्चा नगर्न आग्रह गरे । “जिम्मेवार साथीहरू कुरा बुझ्नुभएको छैन भने पार्टीको केन्द्रीय कार्यालय आई दिनुहोला, बाहिर कुरा काट्ने, हाम्रो क्रियाशील सदस्यता खाइदियो भनेर अनावश्यक ढङ्गले कोलाहल मच्चाइदिने काम नगर्नुहोला”, उनले भने ।


    क्रियाशील सदस्यता अद्यावधिक गर्ने र पार्टीलाई पुनःर्सगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानका रूपमा घोषणा गरेको छ । सङ्गठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले जानकारी दिए । यस अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न पार्टी सभापति थापाले आग्रह गरे । पार्टीको सदस्यता अद्यावधिक गर्न आफ्नो वडामा आफैँ जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

    विगतमा अरूले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेस पार्टी सभापति थापाले जानकारी दिए । पार्टीले यसलाई सङ्गठन सुदृढीकरण र अनुशासन मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।

    ‘एकमहिने जरामा जाऊँ अभियान’ मार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आइडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य राखेको छ । कांग्रेसले पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नु पर्ने प्रावधान लागू गर्ने तयारी गरेको छ । सबै क्रियाशील सदस्यहरूको वयक्तिक विवरण सङ्कलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान गर्न लागेको हो ।

    कांग्रेसले नयाँ सदस्यता वितरणमा विधानको व्यवस्था प्रभावकारी ढङ्गले लागू गर्ने, नयाँ सदस्यता ‘अनलाइन’ माध्यमबाट खोल्ने, नयाँ व्यक्ति सदस्य बन्नका लागि सजिलो प्रावधानहरू राख्ने आन्तरिक तयारी गरेको छ । कांग्रेसले उक्त अभियानका क्रममा क्रियाशील सदस्यता अद्यावधिक गर्न जाँदा ‘ओटिपी’ नम्बर अनिवार्य लिन र अनिवार्य फोटो खिचाउन सबैमा आग्रह गरेको छ ।

  • नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन

    नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन

    मुस्ताङ, १ वैशाखः नयाँ वर्ष २०८३ सालको पहिलोदिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिरसमृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी पर्यटकले मुुक्तिनाथ मन्दिरमा श्रद्धापूर्वक दर्शन गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ ।
    हिउँदयामपछि चलायनमा भएको मुक्तिनाथ मन्दिरमा औसत दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा मुक्तिनाथ मन्दिरको दर्शन गर्ने गरिएकामा आज मुक्तिनाथ मन्दिरमा साविकभन्दा दोब्बर धार्मिक तीर्थालुले दर्शन गरेको समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । नयाँ वर्ष भएकाले दिउँसो २ बजेपछि पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीडले परिसर खचाखच भरिएको उनको भनाइ छ ।

    यसैगरी नयाँ वर्षको उपलक्ष्यमा उल्लेख्य सङ्ख्यामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी र स्थानीय नागरिक पनि मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए । मध्यपूर्वको द्वन्द्वले पेट्रोलियम पदार्थको समस्या देखिए पनि टाढाटाढाबाट दर्शनार्थी झत्तजन मुक्तिनाथको दर्शन गर्न आइपुगेको व्यवस्थापक भुसालको भनाइ छ । योसमय मुक्तिनाथ दर्शन गर्ने अनुकुल मौसम भएकाले मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको हो । आज बिहान ६ बजेदेखि मुक्तिनाथमा दर्शनार्थी ब्यापक चहलपहल देखिएको हो । दर्शनार्थीको ब्यापक उपस्थितीले मन्दिर परिसर र १०८ धारालगायतका स्थान पुरै दर्शनार्थीले भरिएको थियो । नयाँ वर्षको पहिलो दिन मुक्तिनाथको दर्शन गर्नाले वर्षभरीनै राम्रो हुने भएकाले भक्तजन मुक्तिनाथ मन्दिरको दर्शन गर्न ओइरिएका हुन् ।

    मन्दिरमा ब्यापक मात्रामा दर्शनार्थीले भरिएपछि समितिले भक्तजनलाई लाईनबद्ध हुने गरी मन्दिरको दर्शनकार्यमा सहजीकरण गरेको थियो । नयांँ वर्षमा मुक्तिनाथ दर्शन गर्न आएका सवारी साधनले मुक्तिनाथस्थित रानीपौवाका दुई वटा बसपार्क पुरै सवारी साधनले भरिएर सवारी पार्किङमा समस्या भएको थियो । योसँगै मुक्तिनाथ दर्शन गर्ना आएका पर्यटकका कारण मुस्ताङको जोमसोम, मार्फालगायत पर्यटकीय गाउँमा दर्शनार्थीको चहलपहल बाक्लिएको हो ।

  • वर्ष समीक्षा २०८२ : जलवायुजन्य जोखिम यथावत्

    वर्ष समीक्षा २०८२ : जलवायुजन्य जोखिम यथावत्

    प्रगति ढकाल–रासस
    काठमाडौँ, १ वैशाख । विक्रम संवत् २०८१ मा जलवायुजन्य विपद्ले निम्ताएका घटनाले चिन्ता बढाएको थियो, यस वर्ष पनि यस्ता घटना रोकिएनन् । २०८१ साउन ३२ गतेको दिउँसो साढे १ः०० बजे सोलुखुम्बु जिल्लास्थित खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहित आएको बाढीले गाउँ नै बगरमा परिणत गराएको थियो । खुम्बु पासाङल्हामु गाउँपालिकाकी उपाध्यक्ष टासील्हामु शेर्पाका लागि फेरि पनि कुन दिन हिमपहिरोको जोखिममा पर्नुपर्ने हो भन्ने चिन्ताले सताउन छाडेको छैन । २०८१ को जलवायुजन्य घटनाको आलो घाउ बाँकी छँदा नै गत असार २४ गते रसुवाको ल्हेन्दे खोलामा अर्को हिउँ पहिरोले एक्कासि ल्याएको बाढीले सबैलाई झस्कायो ।

    बिहान–बेलुकाको सामान्य जीवन बिताइरहेका स्थानीयका लागि त्यो दिन अचानक भय र पीडामा बदलियो । केही घण्टामै पानीको बहाव यति तीव्र भयो कि कसैले भाग्ने, कसैले बच्ने मौका नै पाएनन् । उक्त घटनाका कारण १९ जना बेपत्ता छन् भने सात जनाले ज्यान गुमाइसकेका छन् । जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीका अनुसार ‘सुप्राग्लेशियर’ ताल फुटेर अचानक बाढी आएपछि धनजनको क्षति भएको हो ।

    “यो क्षति टार्न सकिन्थ्यो । यदि समयमै पूर्वसूचना पुगेको भए मानिसहरूले ज्यान गुमाउनुपर्ने अवस्था आउँदैनथ्यो होला । अहिले नदीहरूमा पानीको सतह नाप्ने सेन्सरहरू जडान गरिएका हुन्छन्, जसले पानी बढेको जानकारी तुरुन्तै प्रणालीमा पठाउँछ,” उनी भन्छन्, “त्यसको आधारमा जोखिमको अनुमान गरेर सम्बन्धित निकाय र स्थानीय तहसम्म सूचना पुर्‍याइन्छ ।”

    उनका अनुसार हिमाली क्षेत्रमा रहेका यस्ता तालहरू पछिल्ला वर्षहरूमा झन् जोखिमपूर्ण बन्दै गएका छन् । “जलवायु परिवर्तनका कारण हिउँ पग्लिने दर बढ्दै जाँदा, यस्ता तालहरू कमजोर बन्छन् र सानो कारणले पनि फुट्न सक्छन्,” पराजुली भन्छन् । त्यसैले रसुवामा भएको घटना आकस्मिक विपद् मात्र होइन, बदलिँदो वातावरणको सङ्केत रहेको भन्दै विज्ञहरूले चिन्ता जनाउँदै आइरहेका छन् ।

    यदि त्यस दिन कुनै भारी वर्षा भएको भए मानिसहरू सतर्क हुन सक्थे । सरकारले पनि उच्च सतर्कता अपनाउन भन्दै सूचना दिन सक्थ्यो । सरकारी निकायले आवश्यक मात्रामा पूर्वतयारीहरू गर्न सक्थे । तर त्यस दिनको पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको बताउँछन्, विभागका मौसमविद् सञ्जीव अधिकारी । “त्यो दिन त्यति ठूलो बाढी नै जाने गरी दुवैतर्फ ठूलो वर्षा भएकै थिएन । न्यूनचापीय रेखा पनि सरदर आसपासमा थियो, पहिला त कारण पनि थाहा थिएन । पछि मात्रै थाहा भयो हिमताल फुटेको रहेछ,” उनी भन्छन् ।

    खडेरी बढ्यो धान उत्पादन घट्यो
    बर्खे धान रोप्ने समयमा खडेरी परेपछि यसपटक धान उत्पादनमा पनि कमी आएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । विशेषगरी कोशी र मधेस प्रदेशमा परेको खडेरीका कारण उत्पादनमा कमी आएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा जानुका पण्डितका अनुसार आर्थिक वर्ष २०८१–८२ मा धान बाली भित्र्याइएको कुल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफल रहेको थियो । चालु आव मा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफल कायम रहेको मन्त्रालयको अनुमान छ ।

    यसैगरी, आव २०८१–८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएकामा चालु आवमा ४.२० प्रतिशतले कमी भई ५७ लाख पाँच हजार १२६ मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी, उत्पादकत्व गत आवमा ४.१९ मेट्रिक टनप्रति हेक्टर रहेकोमा आव २०८२–८३ मा उत्पादकत्व १.१६ प्रतिशतले घट्ने देखिएको छ ।

    “यसैगरी, मधेस प्रदेशमा विशेषगरी धान लगाउने समयमा परेको खडेरीका कारण धान लगाएको क्षेत्रफलमा कमी आई धानको क्षेत्रफल घटेको हुँदा समग्रमा धान बालीको क्षेत्रफलमा कमी आएको हो,” उनले भने, “यस आर्थिक वर्षमा उन्नत बीउबिजन र मलखादको पर्याप्त उपलब्धता हुँदाहुँदै पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको छ । धान बालीको क्षेत्रफल र उत्पादकत्वमा कमी भएका कारण चालु आवमा समग्र धान उत्पादनमा कमी आएको छ ।”

    प्रवक्ता पण्डितका अनुसार धान बालीको क्षेत्रफलमा कमी आउनुमा मुख्यगरी पहाडी क्षेत्रमा देखिएको बसाइँसराइ, युवाहरूको विदेशप्रतिको आकर्षण एवं फलफूल तथा नगदेबालीको क्षेत्रफलमा भएको वृद्धि छन् भने तराई एवं सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानबालीको क्षेत्रफलमा केही कमी आएको छ ।

    सरकारको पूर्वसूचना र पूर्वतयारी भने प्रशंसनीय

    विसं २०८२ को वर्ष समीक्षा गर्दै गर्दा ०८१ लाई पनि तुलना गरेर हेरौँ । वर्ष ०८१ को असोजमा झ्याप्ले खोलामा आएको पहिरोका कारण यात्रुवाहक बस नै पुरिँदा ३५ भन्दा बढीको ज्यान गएको थियो । रातिको समयमा पहिरो खस्दा बुटवलबाट काठमाडौँका लागि छुटेको लु१ज ४५७८ नम्बरको माइक्रोबस, गोरखाबाट काठमाडौँका लागि हिँडेको ना४ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौँका लागि हिँडेको बा३ज १३४५ नम्बरको माइक्रोबस पहिरोले पुरिएको अवस्थामा भेटिएको थियो ।

    गत वर्ष पनि जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षा हुने र सकेसम्म यात्रा गर्न नहुने भन्दै पूर्वसूचना जारी गरेर सचेत गराएको थियो । विभागको सूचनालाई अन्य सरकारी संयन्त्रले नै विश्वास गरेन । सूचनाको बेवास्ता ग¥यो । न यात्रुहरूले पत्याए, न सवारीधनीहरूले सूचनाको विश्वास गरेर केही दिन सवारीसाधन बन्द गर्न सके । यस वर्षजस्तो न त कडाइका साथ सवारीसाधन आवागमनमा रोक लगाइयो । गत वर्ष सरकार विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीमा चुकेकै थियो ।

    सो वर्ष काठमाडौँ उपत्यकालाई नै बाढीले डुबायो । काठमाडौँवासीले नसोचेको विपद् बेहोर्नुपर्‍यो । काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा भारी वर्षाले ल्याएको विपद्ले अझै पनि कैयौँलाई तर्साइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनको अवधिमा २५० जनाले ज्यान गुमाए । १८ जना अझै बेपत्ता छन् भने १७८ जना घाइते भएका छन् । राम्रो पूर्वतयारी भएको भए यो अप्रिय घटना हामीले सामना गर्नुपर्ने थिएन कि भन्ने प्रश्न उठेको थियो ।

    वर्ष ०८१ मा सरकारको आलोचना बढिरहेको समयमा वर्ष ०८२ मा भने सरकारले प्रशंसा पायो । वर्ष ०८२ मा नेपालीहरूको महान् चाड दसैँको रमझम सकिनै बाँकी हुँदा सर्वसाधारणहरूको ओहोरदोहोर गर्ने क्रम जारी नै थियो । चाडपर्वको उल्लासमय समयमा आएको एउटा सूचनाले आम सर्वसाधारणहरूलाई झस्कायो । जल तथा मौसम विज्ञान विभागले गत असोज १७ देखि २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने, बाढी–पहिरोको जोखिम रहेको भन्दै जो जहाँ छ, उही सुरक्षित रहन सन्देश जारी ग¥यो ।

    त्यसपछि अन्य अन्तरसरकारी निकायहरूले विभागको सूचनालाई अनुसरण गर्दै विपद् व्यवस्थापनको पूर्वतयारीका लागि जुट्न थाले । भारी वर्षा हुने सम्भावना रहेकाले लामो दूरीका तथा काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधन आवागमन आगामी तीन दिनसम्म रोक्ने निर्णय भयो । उक्त निर्णयले यस पटक बाढी–पहिरोका कारण सडक यात्रीहरूको ज्यान जान पाएन । भौतिक पूर्वाधारमा क्षति भए पनि विगतमा जस्तो सडकमा यात्रा गरिरहेका यात्रुहरूको धनजनको क्षति हुन पाएन ।

    पहिरोको पूर्वसूचनाको अभावले मानवीय क्षति

    वर्ष ०८२ मा पनि जल तथा मौसम विज्ञान विभागले बाढीको प्रभाव पर्ने सम्भावित क्षेत्रहरूमा पूर्वसूचना दिएर सर्वसाधारणहरूलाई सुरक्षित स्थानमा बस्न सहयोग गर्‍यो । तर बाढीको जस्तै पहिरोको पनि पूर्वसूचना प्रणालीको विकास नभएकै कारण पछिल्ला वर्षहरूमा पहिरोबाट हुने धनजनको क्षति बढ्दै गएको बताउँछन्, पहिरोविद् डा सुवोध ढकाल ।

    इलाम जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार पहिरोका कारण ०८२ को असोज १७ देखि २० गतेसम्मको अवधिमा इलाममा ३७ जनाले ज्यान गुमाए । सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच जना, इलाम नगरपालिका–६ घोसमा छ जना, माङ्सेवुङ गाउँपालिका–१ मा तीन जना, देउमाई नगरपालिका–५ मा आठ जना, जोगमाई गाउँपालिकामा आठ जना, सन्दकपुर गाउँपालिकामा ६ जना र फाकफोकथुम गाउँपालिकामा एक जनाको ज्यान गएको कार्यालयको तथ्याङ्क छ ।

    “नेपालजस्तो भौगोलिक मुलुकमा पहिरोको बर्सेनि जोखिम छ । कतिपय स्थानमा पुराना पहिरोमा बस्ती बसेका छन् । पुराना पहिरो दोहोरिएर जाने सम्भावना हुन्छ । त्यसर्थ, पहिरोको जोखिम भएको बस्ती तत्काल सुरक्षित स्थानमा सार्नुपर्छ,” ढकाल भन्छन्, “नभए आगामी वर्षहरूमा पनि जोखिम बढ्ने छ ।”

    झन्डै पाँच सयले गुमाए ज्यान

    चालु आर्थिक वर्ष २०८२ वैशाख १ गतेदेखि चैत ३० गतेसम्मको समग्र तथ्याङ्कले विपद् जोखिमको भयावह चित्र प्रस्तुत गरेको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा देशभर सात हजार ७१६ वटा विपद् घटना दर्ता भएका छन् । ती घटनामा ४९६ जनाको मृत्यु, ३८ जना बेपत्ता तथा एक हजार ९९१ जना घाइते भएका छन् भने एक लाख ३६ हजार ९३ परिवार प्रभावित भएका छन् ।

    विपद्का प्रकारअनुसार आगलागी सबैभन्दा धेरै तीन हजार ७३८ घटनासहित अग्रस्थानमा रहेको छ, जसबाट १०६ जनाको मृत्यु भएको छ । पहिरोका ६२४ घटनामा ७६ जनाको ज्यान गएको छ भने पाँच जना बेपत्ता र ९२ जना घाइते भएका छन् । बाढीका २२९ घटनामा ३९ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

    यसैगरी, हावाहुरी, भारी वर्षा, लेक लाग्ने, हिमपहिरो, डुबान, शीतलहर, महामारीलगायत अन्य विपद्ले पनि जनधनमा क्षति पु¥याएका छन् । हिमपहिरोका कारण ६ जनाको मृत्यु भयो भने पाँच जना बेपत्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । प्राधिरकणका अनुसार हावाहुरीका कारण १३ जनाले ज्यान गुमाएका छन् । लेक लागेर ४१ जनाको मृत्यु भएको छ ।

    त्यस्तै, चट्याङका ४२६ घटनामा ४८ जनाको मृत्यु भएको छ भने ३१२ जना घाइते भएका छन् । सर्पदंशका ६२७ घटनामा १०१ जनाले ज्यान गुमाएका छन् । जनावर आक्रमणका ५१६ घटनामा ५७ जनाको मृत्यु भएको देखिन्छ । विशेषगरी आगलागी, सर्पदंश र चट्याङजस्ता घटनाले मानवीय क्षतिमा उल्लेख्य योगदान पुर्‍याएको प्राधिकरणको विश्लेषण छ । यस्ता घटनामा जनचेतना, पूर्वतयारी र स्थानीय तहको सक्रियता अझै कमजोर देखिएको सङ्केत गरिएको छ ।

    प्रदूषण र वन डढेलो नियन्त्रणमा सुधार

    जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले वर्ष २०८२ लाई जलवायु दृष्टिकोणले सकारात्मक र नकारात्मक दुवै पक्ष समेटिएको वर्षका रूपमा व्याख्या गर्नुहुन्छ । “खडेरी, बाढी, पहिरो, हिमपहिरोजस्ता केही विपद्का घटनाहरू भए । तर यस वर्ष प्रि–मनसुन अवधिमा राम्रो वर्षा भएकाले वर्ष ०८१ को तुलनामा यस वर्ष वन डढेलो जस्ता घटनामा कमी भएको छ । प्रदूषण पनि कम भएको छ ।”

    संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसिसिसी० का पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलनले अन्तरराष्ट्रिय मञ्चमार्फत नेपालको जलवायुसम्बन्धी धारणा सशक्त रूपमा प्रस्तुत हुनुलाई पनि वर्ष ०८२ को सकरात्मक पाटोका रूपमा टिप्पणी गरे ।

    सगरमाथा संवादले दिएको सन्देश

    वर्ष ०८२ मा नै नेपालले नेतृत्व गर्दै आयोजना गरेको सगरमाथा संवादले विश्वव्यापी रूपमा सकारात्मक सन्देश दिन सफल भयो । जहाँ ५० भन्दा बढी देश तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाहरूको सहभागिता रहेको थियो । नेपालले उठाइरहेको पर्वतीय क्षेत्रका जलवायुजन्य सङ्कटहरूको सन्दर्भमा विश्व समुदायको ध्यान खिच्न सफल भएको वर्षका रूपमा लिन सकिन्छ । संवादमा ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र सार्वजनिक भएको थियो ।

    उक्त घोषणापत्रमा १.५ डिग्री सेल्सियसको तापक्रम सीमा कायम राख्न आवश्यक उपायहरू प्रस्तुत भए । हिमाललाई विश्वमा चिनाउन सफल भएको भन्दै संवादको प्रशंसा भएको थियो । संवादले धनी राष्ट्रहरूले वित्तीय, प्रविधि र क्षमता विकासमा सहयोग गर्नुपर्छ भन्ने सन्देश दियो । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका (युएनएफसिसिसी) का पक्ष मुलुकहरूको २१औँ जलवायु शिखर सम्मेलन (कोप–२१) अन्तर्गत पेरिस सम्झौतामा आधारित भई तेस्रो राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) स्वीकृत पनि यसै वर्ष भयो ।

    हिमतालका जोखिम पाँच अर्ब अनुदान

    वर्ष ०८२ मा नै नेपालले जलवायु वित्त अनुदान पाउने सुनिश्चित भएको छ । केही जलवायुजन्य चुनौती भोगे पनि केही अवसरहरू पनि मिल्नु सकारात्मक पक्षबाट हेर्न सकिन्छ । नेपालले जोखिममा रहेका चार वटा हिमतालको सतह घटाउनका लागि करिब पाँच अर्बको अनुदान पाउने निश्चित भएको हो । गत असार १७ मा हरित जलवायु कोष (जिसिएफ) को पपुआ न्यू गिनीको राजधानी पोर्ट मोरेस्बीमा बसेको ४२औँ बोर्ड बैठकले नेपालबाट पेस भएको ‘हिमाली जलाधारमा हुने जलवायुजन्य पहिरो र हिमताल विस्फोटको जोखिमबाट धनजनको रक्षा’ शीर्षकको परियोजना स्वीकृत गरेको थियो ।

    नेपाल सरकार, युएनडिपी, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घले एक करोड ३८ लाख अमेरिकी डलर अर्थात् करिब रु दुई अर्ब सहलगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

    जलवायु परिवर्तन दृष्टिले चिन्ताजनक वर्ष

    विश्व मौसम सङ्गठनले सन् २०२५ जलवायु परिवर्तनका दृष्टिले अत्यन्तै चिन्ताजनक वर्षका रूपमा लिएको छ । सङ्गठनका अनुसार विश्वव्यापी रूपमा तापक्रम वृद्धि, चरम मौसमीय घटना र वातावरणीय असन्तुलनले मानव जीवन, कृषि र पारिस्थितिक प्रणालीमा गम्भीर प्रभाव पारेका छन् । सन् २०२५ इतिहासकै सबैभन्दा तातो वर्षमध्ये शीर्ष तीनमा परेको सङ्गठनको तथ्याङ्क जनाउँछ ।

    पछिल्लो दशकभरि लगातार नयाँ तापक्रम रेकर्ड कायम भइरहेको भन्दै विश्वका वैज्ञानिकहरूले चिन्ता जनाएका छन् । यस वर्ष नै अफ्रिका, एसिया र युरोपका विभिन्न क्षेत्रमा व्यापक गर्मीको लहर (हिटवेभ) देखियो, जसले कृषि उत्पादनमा गिरावट ल्यायो । बढ्दो तापक्रमसँगै मानव स्वास्थ्यमा गम्भीर असर पारेको र खाद्य सुरक्षामा चुनौती बढ्दै गएको तथा जोखिममा रहेका समुदायहरू थप प्रभावित भएको भन्दै वैज्ञानिकहरूले चिन्ता जनाएका छन् । यस वर्ष पनि जलवायुजन्य सङ्कट बेहोर्नुपर्‍यो । अवसर र चुनौती दुवै समान गर्नुपर्‍यो । नयाँवर्षसँगै नयाँ सरकारले विपद् व्यवस्थापन तथा जलवायु अनुकूलको क्षेत्रमा प्रभावकारी काम गर्ने अपेक्षा छ ।

  • पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

    पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

    गण्डकी, १ वैशाखः नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताको ९० प्रतिशत बढी भरिभराउ भएका छन् ।नेपाली नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली नयाँ वर्षकै अवसरमा सङ्घले सञ्चालन गर्दै आएको फेवा नव वर्ष महोत्सवको २१औँ संस्करणका कारण पनि पोखरामा पर्यटकको आगमन बढाएको उनले बताए ।


    प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण चासो र चर्चा कमाएको पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुका साथै यसको प्रवर्द्धनमा निरन्तर गरिएका प्रयाससँगै पर्यटकको आगमन पनि बढ्दो क्रममा रहेको पर्यटन व्यवसायी बताउँछन् । पोखरा क्षेत्रमा कुल एक हजार २०० होटेल रहेकामा प्रत्येक दिन ४० हजारसम्म पर्यटक राख्न सकिने अध्यक्ष सुवेदीले बताए ।

  • यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    भेषराज कार्की–रासस
    काठमाडौँ, १ वैशाखः नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद रह्यो । गत वर्ष प्रदर्शन भएका चलचित्रले घरेलुबजारमा दर्शकको राम्रो साथ पाए । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष स्वदेशी चलचित्र ५७ वटा प्रदर्शन भए । चलचित्र विकास बोर्डअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (सिनेपा २ बक्स अफिस)को तथ्याङ्कअनुसार गत कात्तिक १४ मा प्रदर्शन भएको चलचित्र ‘परान’ ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ कमाइ गर्दै घरेलुबजारमा सर्वाधिक कमाइ गर्ने स्वदेशी चलचित्र बन्यो । प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा न्यून कमाइ गर्ने चलचित्र ‘इन्दिरा धिमे मैचा’ बन्यो । उक्त चलचित्रले कूल ११ हजार ७०० रुपैयाँ मात्र कमाइ गरेको तथ्याङ्क उल्लेख छ ।

    गत वर्ष सर्वाधिक कमाइ गर्ने चलचित्र ‘परान’ का लागि कूल छ लाख ३० हजार ६९१ प्रति टिकट बिक्री भएको थियो । दीपकप्रसाद आचार्यले निर्देशन गरेका उक्त चलचित्रले विशेषतः परिवारलाई दर्शक बनाएर चलचित्र भवनसम्म ल्याउन सफल भएको थियो । त्यसैगरी गत वर्ष सर्वाधिक कमाइ गर्ने सूचीको दोस्रो स्थानमा चलचित्र ‘आ बाट आमा’ रहेको छ । उक्त चलचित्रका लागि पाँच लाख चार हजार ३२९ प्रति टिकट बिक्री हुँदा १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ कमाइ गरेको छ ।

    निर्देशक चन्द्र पन्तले निर्देशन गर्नुभएको उक्त चलचित्रमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् । आमा र छोराबीचको कथा देखाइएको चलचित्र हालसम्म पनि नेपालका केही चलचित्र भवनमा प्रदर्शनरत छ । गत वर्ष सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा तेस्रो स्थानमा ‘जेरी अन टप’ रहेको छ । सगरमाथा आरोहण र प्रेम कथा देखाइएको उक्त चलचित्रले नेपालको सुन्दरतालाई चित्रण गरेको थियो ।

    सामाजिक विषयवस्तुसँग आधारित रहेर तयार भएका चलचित्रको भिडमा भिन्न देखिएकै कारण ‘जेरी अन टप’ ले १२ करोड २८ लाख ८४ हजार रुपैयाँ कमाइ गर्न सफल भएको छ । सुयोग गुरुङले निर्देशन गरेका उक्त चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसीलगायतका कलाकारले अभिनय गरेका छन् । प्रेम कथानक चलचित्र ‘उनको स्वीटर’ गत वर्ष २०८२ मा सर्वाधिक कमाइ गर्ने सूचीको चौथो स्थानमा छ । विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राईलगायतले अभिनय गरेको उक्त चलचित्रले घरेलुबजारमा ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ कमाइ गरेको छ । नवीन चौहान निर्देशित उक्त चलचित्रका लागि तीन लाख ९२ हजार २४३ प्रति टिकट बिक्री भएको थियो ।

    पाँचौँ स्थानमा रहेको चलचित्र ‘जारी २’ ले छ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ कमाइ गरेको छ । उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि दुई लाख नौ हजार ३३३ प्रति टिकट बिक्री भएका थिए । उक्त चलचित्रमा अभिनेता दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।

    त्यसैगरी सर्वाधिक कमाइ गर्ने चलचित्रको छैटौँ स्थानमा चलचित्र ‘बलिदान’ रहेको छ । जसले पाँच करोड १० लाख ५१ हजार १७२ रुपैयाँ, सातौँ स्थानमा रहेको चलचित्र ‘मोहर’ ले पाँच करोड आठ लाख ९५ हजार ५१२ रुपैयाँ र आठौँ स्थानमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले चार करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ कमाएको उल्लेख छ । नवौँ स्थानमा रहेको चलचित्र ‘माग्ने राजा’ ले चार करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ र दशौँ स्थानमा रहेको चलचित्र ‘माइतीघर’ ले चार करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ कमाइ गरेको छ ।

    गत वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ । प्रदर्शन भएपछि दर्शकले नै सिफारिस गरेका कारण सफलताको नयाँ कीर्तिमान बनाउन सफल भए । गत वर्ष दर्शकहरू कलाकारको अनुहारभन्दा पनि चलचित्रमा उठान गरिएको विषयलाई हेर्न आउनुभएको चलचित्र वितरक करण श्रेष्ठले बताए । उनले भने, “गत वर्ष ‘स्टार’ कलाकारसँगै सामान्य रुपमा हेरिएको तर पात्रलाई पर्दामा जीवन्त बनाउन सक्ने कलाकारको चलचित्रको व्यापार धेरै भएको छ । दसैँ र तिहारमा भएको चलचित्रको व्यापारले समग्र क्षेत्रलाई चलायमान बनाउन सफल भयो । गत वर्ष नेपालमा जेनजी पुस्ताको आन्दोलन, प्रतिनिधिसभाको निर्वाचनलगायतका गतिविधि भए तापनि समग्रमा चलचित्रको व्यापार राम्रो देखिएको छ ।”

    गत वर्ष प्रदर्शन भएर घरेलुबजारमा राम्रो कमाइ गर्ने चलचित्रको सूची हेर्दा रङ्गमञ्चका कलाकारसँगै ‘स्टार’ भनिएका कलाकार पनि छन् । समग्रमा गत वर्ष अभिनय भन्दा ‘स्टारडम’का कारण चर्चामा आउने अभिनेता अनमोल केसी, पल शाहसँगै आफूले पाएको पात्रलाई जीवन्त बनाउने अभिनेता विपिन कार्की, महेश त्रिपाठी, नीर शाहलगायतले अभिनय गर्नुभएको चलचित्र दर्शकको रोजाईमा परेको छ ।

    चलचित्रमा विषयवस्तु वा कथा आकर्षणसँगै ‘स्टारडम’ भएका कलाकारको चलचित्रलाई दर्शकको साथ प्राप्त हुनु सुखद रहेको निर्देशक मिलन चाम्सले बताए । “वर्ष विसं २०८१ मा चलचित्रको कथामा दर्शक आकर्षित हुनुभएको पाएका थियौँ । यसले नयाँ चलचित्रकर्मीलाई पनि प्रेरणा दिन्छ”, निर्देशक चाम्सले भने ।
    गत वर्ष गत फागुनदेखि प्रदर्शनभएका चलचित्रले भने दर्शकको खासै साथ पाउन सकेका छैनन् । ती चलचित्रको व्यावसायिक तथ्याङ्क सुखद छैन । देश चुनावी माहोलमा प्रवेश गरेकै कारण फागुन र चैतमा प्रदर्शन भएका चलचित्रको व्यापार कमजोर भएको निर्देशक पुर्नेन्दु झाले बताए । समग्रमा चलचित्रका लागि गत वर्ष सुखद नै रहेको निर्देशक तुलसी घिमिरेको बुझाइ छ ।

    झन्डै नौ वर्षको विश्रामपश्चात् चलचित्र ‘पहाड’ मार्फत पुनः निर्देशनमा फर्किएका निर्देशक घिमिरेले घरेलु र विदेशी बजारका कारण धेरै चलचित्रले लगानी सुरक्षित गर्न सकेको बताए । “अहिले धेरै चलचित्र नेपालसँगै विदेशी बजारमा पनि प्रदर्शन हुने गरेको पाइन्छ । ती चलचित्रले दर्शकको मन जित्न सके व्यावसायिक रुपमा राम्रो गरिरहेको उदाहरण प्रसस्तै छन्, सोही कारण अहिले नेपालसँगै अन्य बजार पनि सम्भावनाका रुपमा अगाडि आएको छ”, निर्देशक घिमिरेले भने । यो गत प्रदर्शन भएका चलचित्रको सङ्ख्या र घरेलुबजारमा सफल भएको चलचित्रको सङ्ख्या हेर्दा वर्ष २०८३ आशावादी हुन सकिने चलचित्रकर्मी बताउँछन् ।

  • नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो

    नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो

    काठमाडौँ, १ वैशाख । नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोले सोमबार विविध कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाएको छ । नेपालको पहलमा संयुक्त राष्ट्रसंघको महासभाले १० मार्च २०२६ मा एक प्रस्ताव पारित गर्दै हरेक वर्ष अप्रिल १५ तारिखलाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । सोही सन्दर्भमा नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोले उक्त दिवस मनाएको हो ।

    सान फ्रान्सिस्को वे एरियाको रिचमण्डस्थित नेपाली कम्यूनिटी सेन्टरमा एक औपचारिक कार्यक्रम आयोजना गरी प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको महावाणिज्यदूतावास कार्यालयले जनाएको छ । नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया र जीवन विज्ञान–युसएसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा औपचारिक मन्तव्य, योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञहरूको प्रस्तुतिकरणलगायत सहभागीका लागि योग अभ्यास, ध्यान, प्राणायम र ध्वनी चिकित्सा सत्र सञ्चालन गरिएको जनाइएको छ ।

  • पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता

    पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता

    काठमाडौँ, १ वैशाख । क्यानडाको ओटावामा आयोजित ‘२७औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’मा त्यहाँस्थित नेपाली दूतावासले सहभागिता जनाएको छ । आइतबार र सोमबार सम्पन्न उक्त प्रदर्शनीमा दूतावासले छुट्टै स्टल स्थापना गरी नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा कलात्मकतालाई उजागर गर्ने विभिन्न पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री, परम्परागत कलाकृति र मौलिक नेपाली उत्पादनहरु प्रदर्शन गरेको थियो ।

    साथै, नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू समेटिएका प्रचारात्मक वृत्तचित्र तथा भिडियोहरू पनि प्रदर्शन गरिएको दूतावासले जनाएको छ । यस कार्यक्रमले क्यानडेली पर्यटकहरूमाझ नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    काठमाडौँ, १ वैशाख । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका छन् । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए । उनले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारिन् । त्यसैगरी काममा ढिलाइ भएको विषयमा उनले चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षणसमेत गराए ।

    अनुगमनका क्रममा उनले काम समयमा सम्पन्न नगर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेकाले यस अवस्थाको चाँडो अन्त्य गर्न निर्देशन दिए । निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले निर्माणलाई तीव्रता दिइ निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने जनाएका छन् ।

  • ऊर्जा सङ्कट सामनाका लागि विद्युतीय ऊर्जा प्रयोगलाई प्रोत्साहन गरिने इयु प्रमुखको भनाइ

    ऊर्जा सङ्कट सामनाका लागि विद्युतीय ऊर्जा प्रयोगलाई प्रोत्साहन गरिने इयु प्रमुखको भनाइ

    ब्रसेल्स, १ वैशाख, (रासस–एएफपी) । ब्रसेल्सले इरान युद्धको कारण उच्च ऊर्जा लागतको सामना गर्ने योजना अर्को हप्ता प्रस्तुत गर्ने भएको छ। यसका लागि गर्मी मौसम अघि नै युरोपको विद्युतीकरणलाई बढावा दिन एक व्यापक प्याकेज अनावरण गर्ने इयु प्रमुख उर्सुला भोन डेर लेयनले सोमबार बताए । ऊर्जा सङ्कटले २७ राष्ट्रहरूको समूहलाई उच्च जीवाश्म इन्धनको को लागि २२ अर्ब युरो (२६ अर्ब डलर) भन्दा बढी खर्चको सामना गर्नुपरेको भोन डेर लेयनले यस मुद्दामा केन्द्रित इयुको शीर्ष कार्यकारी निकायको बैठकपछि भने ।


    “यो खर्चले स्पष्ट पार्छ कि हामीले जीवाश्म इन्धनमा हाम्रो अधिक निर्भरताको लागि धेरै उच्च मूल्य चुकाइरहेका छौँ,“ युरोपेली आयोग प्रमुखले नवीकरणीय र आणविक ऊर्जामा छिटो प्रवेश गर्नुपर्नेमा जोड दिँदै ब्रसेल्समा एक पत्रकार सम्मेलनमा भने । “हामीले स्वदेशीय, सस्तो, भरपर्दो ऊर्जालाई मापन गर्न आवश्यक छ,“ उनले भने । आयोगले समूहका सदस्य राष्ट्रहरूमा विद्युतीय ग्रिड जडानलाई गति दिने उद्देश्यका साथ नयाँ नियमहरू ल्याउने र गर्मी अघि ‘विद्युतीकरण रणनीति’ प्रस्तुत गर्ने आशा गरिरहेको छ।

    फेब्रुअरी २८ मा इरानमा अमेरिका–इजरायल आक्रमण सुरु भएदेखि तेल र ग्यासको मूल्य बढेको छ, तेहरानले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’लाई प्रभावकारी रूपमा अवरुद्ध गरेको छ भने खाडी ऊर्जा पूर्वाधारमा आक्रमण गरेर प्रतिकार गरेको छ। “लागतको अभावलाई सम्बोधन गर्न आयोगले सदस्य राष्ट्रहरूलाई ‘सबैभन्दा बढी प्रभावित क्षेत्रहरू’ लाई सहयोग गर्न थप ठाउँ दिन इयुले सहायता नियमहरू खुकुलो पार्ने विचार गरिरहेको छ,” भोन डेर लेयनले भने ।


    साइप्रसमा युरोपेली सङ्घका नेताहरूको अनौपचारिक बैठकअघि अर्को हप्ता प्रस्तुत गरिने प्याकेजको एक भागको रूपमा विवरणहरू सार्वजनिक गरिने उनले बताए । आयोगले सदस्य राष्ट्रहरूले बजारमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा नगर्न सकून भनी तेल भण्डारलाई बजारमा ल्याउन र समूहमा ग्यास भण्डारण भर्ने समन्वय गर्न खोजिरहेको छ । सदस्य राष्ट्रहरूबिच नै बजारमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा हुँदा यस्तो प्रतिस्पर्धाले मूल्य वृद्धिलाई बढाएको छ ।

    “भवन निर्माण र औद्योगिक सञ्चालनका लागि उपकरणहरूको थप विस्तार नगरी ऊर्जा दक्षतालाई समर्थन गर्ने कदमहरू पनि विचार भइरहेको छ”, आयोगका अध्यक्षले थपे । “सबैभन्दा कम खर्चिलो ऊर्जा भनेको प्रयोग नगरिएको विद्युतीय ऊर्जाको प्रयोग हो,” उनले भने । भोन डेर लेयनले बिजुली कर र ग्रिड शुल्कमा सुधार गर्ने प्रस्ताव मेमा आउने बताए ।

  • इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    वासिङ्टन, १ वैशाख, रासस\एएफपी
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक नाकाबन्दी’ लगाइएको घोषणा गर्दै बन्दरगाह नजिक पुग्ने कुनै पनि इरानी युद्धक जहाजलाई अमेरिकी सेनाले नष्ट गर्ने बताएका छन् । “सावधान, यदि यी (इरानी) जहाजहरू हाम्रो नाकाबन्दी घोषित क्षेत्रको नजिक पुगे भने तुरून्तै आक्रमण हुनेछ,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोशल नेटवर्क’मा लेखेका छन् ।

    भेनेजुयलाको समुद्री तटमा कथित लागुऔषध डुङ्गामा भएको हवाई आक्रमणलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले भने, “अमेरिकी सेनाले समुद्रमा आउने इरानी युद्धक जहाजलाई ‘लागुऔषध व्यापारी’विरुद्ध क्यारेवियाली सागरमा तैनाथ उनीहरूका ‘युद्धक जहाज’ लाई ध्वस्त पार्न हामीले प्रयोग गरेको समान र प्रणाली प्रयोग गर्नेछ।”

    इरानले यसअघि नै शत्रुको जहाजको आवागमनका लागि हर्मुज जलमार्ग बन्द गरिसकेको छ र केवल चीनजस्ता मित्रवत देशहरूको सेवा गर्ने जहाजहरूलाई मात्र पार गर्न अनुमति दिइरहेको छ। नयाँ गतिरोधले थप ट्याङ्करहरूको आवागमन रोकिने डरका बीच सोमबार कच्चा तेलको मूल्य लगभग थप आठ प्रतिशतले बढेको छ। अमेरिकी नाकावन्दीको चेतावनीलाई स्पेनले ‘वेकारको लफडा’ को संज्ञा दिएको छ । त्यसैगरी, चीनले पनि नाकावन्दीको चेतावनीको विरोध गरेको छ ।

    चीनले आफ्नो इन्धन आपूर्तिको ठूलो हिस्सा इरानबाट ल्याउने गर्छ । त्यसैगरी, बेलायत र फ्रान्सले अमेरिकी नाकावन्दीमा आफ्नो कुनै संलग्नता नरहने तर यसको विकल्पमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले स्ट्रेट सुरक्षित गर्न ‘शान्तिपूर्ण बहुराष्ट्रिय अभियान’मा सामेल हुन तयार भएका देशहरूसँग फ्रान्स र बेलायतले एक सम्मेलन आयोजना गर्ने बता्रएका छन् ।

  • हर्मुज मार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन : आइएमओ प्रमुख

    हर्मुज मार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन : आइएमओ प्रमुख

    लण्डन, १ वैशाख, (रासस–एएफपी) । अमेरिका–इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको संयुक्त राष्ट्रसङ्घको सामुद्रिक निकायका प्रमुखले बताएका छन् । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव आर्सेनियो डोमिन्गुएजले एक पत्रकारमा भने, “इरान विरुद्ध अमेरिका र इजरायलले आक्रमण गरेपछि युद्ध सुरु भएको छ हप्तापछि हर्मुजमा पहुँच अवरुद्ध गरिनु गलत हुनेछ।” संयुक्त राज्य अमेरिकाले सोमबारदेखि हर्मुज र वरपरका इरानी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने चेतावनी दिएको थियो, यद्यपि, फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि यो क्षेत्रमा तेहरानको सेनाले नियन्त्रण जारी राखेको छ ।

    “अन्तर्राष्ट्रिय कानूनले कुनै पनि देशलाई अन्तर्राष्ट्रिय पारबहनका लागि प्रयोग हुने अन्तर्राष्ट्रिय जलमार्गको प्रयोगको स्वतन्त्रतालाई निषेध वा अवरूद्ध गर्ने अधिकार छैन,“ डोमिन्गुएजले भने । इरानी अधिकारीहरूले परीक्षण गरी आफ्ना सहयोगी मुलुक सम्वद्ध जहाजहरूलाई उनीहरूको तटको नजिकको मार्गबाट जलमार्ग पार गर्न अनुमति दिइरहेका छन् र केही मुलुक सम्बद्ध जहाजहरूलाई प्रवेश गर्न पैसा तिर्नुपर्ने बताएका छन्।

    “अन्तर्राष्ट्रिय जलमार्गका लागि अन्तर्राष्ट्रिय जलसन्धिमा निषेध गर्ने यो सिद्धान्त समुद्रको अन्तर्राष्ट्रिय परम्परागत कानूनको विरुद्ध छ,” उनले भने, “यसले धेरै खतरनाक उदाहरण सिर्जना गर्नेछ।” अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, तर यो काम सहज नभएको उनले बताए ।
    “मध्यपूर्व र विशेष गरी हमुर्ज क्षेत्रमा देखिएको संकटलाई सम्बोधन गर्न र जहाजलाई सञ्चालन गर्न मद्दत गर्न हामीले सुरु गरिरहेका छौँ ।

    अमेरिकी नाकाबन्दीको अतिरिक्त प्रभाव जहाजमा नगण्य हुने उनले बताए । उनले थपे, “केही (निकै कम) मात्र जहाजहरू आवागमन गर्न सफल भएका छन्, एक अतिरिक्त नाकाबन्दीले स्थितिलाई त्यस स्तरमा बिगार्ने छैन भन्ने बुझ्न सकिन्छ।”

  • अमेरिका–इरानबीच युद्धविरामको प्रक्रिया जारी रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ

    अमेरिका–इरानबीच युद्धविरामको प्रक्रिया जारी रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ

    इस्लामावाद, १ वैशाख, (रासस–एएफपी) । अमेरिका र इरानबीच गत सप्ताहन्तमा भएको शान्तिवार्तामा तत्काल उद्देश्य प्राप्त गर्न नसकिएको भएपनि युद्धविराम जारी रहेको र सहमतिमा पुग्ने प्रयास अझै भइरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार बताएका छन् । “युद्धविराम अझै जारी छ र विवाद समाधान हुन बाँकी रहेका मुद्दाहरू समाधान गर्न पूर्ण प्रयास भइरहेको छ,” शरीफले टेलिभिजनमार्फत संक्षिप्त टिप्पणी गर्दै भने ।

    –समयसीमा सकिएको अमेरिकी भनाइ–

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहमा नौसैनिक नाकाबन्दीका लागि तोकेको सोमबारको समयसीमा सकिएको छ । तेहरानसँग सप्ताहन्तमा भएको शान्ति वार्ता बिना कुनै सहमति सकिएपछि ट्रम्पले इन्धन ढुवानीका लागि रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ नाकाबन्दीको घोषणा गरेका थिए । अमेरिकी सेनाले सोमबार ग्रीनविच समयअनुसार सबै खाडी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने बताएको छ । इरानबाट नआएका र इरानतर्फ नजाने जहाजहरूलाई स्ट्रेट हुँदै आवतजावत गर्न अनुमति दिइने सेनाले बताएको छ ।

    –वार्ताका लागि खुला रहन इरानसँग कतारको आग्रह–

    कतारका प्रधानमन्त्रीद्वारा सोमबार इरानी विदेशमन्त्रीलाई इरान र संयुक्त राज्य अमेरिकाले मध्यस्थताको प्रयासमा सकारात्मक रूपमा संलग्न हुन आग्रह गर्दै समुद्री मार्गहरूलाई ‘मोलमोलाइ गर्ने औजार’ को रूपमा प्रयोग गर्न नहुने चेतावनी दिएका छन् । कतारको विदेश मन्त्रीको समेत जिम्मेवारी हेर्दै आउनुभएका शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अब्बास अरागचीसँगको फोनमा जारी मध्यस्थताको प्रयासमा सबै पक्षले सकारात्मक प्रतिक्रिया दिनुपर्नेमा जोड दिए ।


    विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनले समुद्री मार्गहरू खोल्नुपर्ने, नौवहनको स्वतन्त्रताको सुनिश्चितता गरिनुपर्ने र तिनीहरूलाई दबाब वा सौदाबाजीको उपकरणको रूपमा प्रयोग गर्न नहुने कुरामा जोड दिए ।

  • इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

    इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

    बेइजिङ, १ वैशाख, (रासस–एएफपी) । इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै त्यसलाई ‘आधारहीन र दुर्भावनापूर्ण’ भनेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय मिडियामा आएका रिपोर्टबीच बेइजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको पुनः दोहोर्‍याएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहायता उपलब्ध गराएमा ५० प्रतिशतसम्मको नयाँ कर लगाउने चेतावनी दिएका थिए । उनको यो अभिव्यक्ति अमेरिकी सञ्चारमाध्यमहरूले चीनले निकट भविष्यमा इरानलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने तयारी गरेको दाबी गरेका बेला आएको हो ।

    सिएनएनले अमेरिकी गुप्तचर स्रोतहरू उद्धृत गर्दै चीनले आगामी केही साताभित्र इरानतर्फ उन्नत रक्षा प्रणाली पठाउन सक्ने सङ्केत गरेको जनाएको थियो । यसैबीच, द न्युयोर्क टाइम्सले पनि बेइजिङले काँधमा बोकेर प्रहार गर्न सकिने मिसाइलहरू पठाइसकेको हुन सक्ने आशङ्का सार्वजनिक गरेको थियो ।


    यी सबै आरोपहरूको जवाफ दिँदै चीनले सोमबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा चीनले सैन्य सामग्रीको निर्यातमा सधैँ कडा नियन्त्रण र जिम्मेवारीपूर्ण नीति अपनाउने बताए । “हामी आधारहीन धब्बा र दुर्भावनापूर्ण आरोपहरूको कडा विरोध गर्छौं”, उनले भने ।


    चीनले आफ्नो निर्यात नियन्त्रण कानून र अन्तर्राष्ट्रिय दायित्वअनुसार हतियार आपूर्तिमा कडाइ गर्ने नीति कायम रहेको स्पष्ट पारेको छ । यसले आफू कुनै पनि प्रकारको गैरजिम्मेवार सैन्य हस्तक्षेपमा संलग्न नभएको सङ्केत दिन खोजेको देखिन्छ । यद्यपि चीन र इरानबीच घनिष्ठ आर्थिक सम्बन्ध रहेको छ । चीन इरानको प्रमुख तेल खरिदकर्ता हो, जसले तेहरानको ऊर्जा निर्यातमा महत्त्वपूर्ण भूमिका खेलेको छ । तर विश्लेषकहरूका अनुसार यी दुई देशबीच औपचारिक सैन्य गठबन्धन भने छैन, र उनीहरूको सम्बन्ध मुख्यतः आर्थिक तथा रणनीतिक स्वार्थमा आधारित रहेको मानिन्छ ।

    साथै, चीनले खाडी क्षेत्रका अन्य देशहरूसँग पनि सुदृढ आर्थिक सम्बन्ध कायम राख्दै आएको छ । इरानले युद्धका क्रममा ती देशहरूमाथि गरेको आक्रमणप्रति चीनले आलोचना समेत गर्दै आएको छ, जसले बेइजिङ सन्तुलित कूटनीति अपनाउन खोजिरहेको सङ्केत गर्छ ।

  • सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो

    सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो

    सिरहा, १ वैशाखः सिरहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा आज नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने विश्वास गरिने दुर्लभ सुनाखरी फूलको दर्शन गर्न र पूजाअर्चना गर्न आज बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ । लहान नगरपालिका–१२ र २२ मा फैलिएको करिब नौ बिघाको यस फूलबारीमा रहेको हारमको रूखमा आज बिहानैदेखि सुनाखरी फूल ढकमक्क फक्रिएको छ ।

    १४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीक मानिने यो फूल हेर्न नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय सहरहरूबाट हजारौँको सङ्ख्यामा भक्तजनहरू आइपुगेका छन् ।

    मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार बिहान ४ः०० बजेदेखि नै मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ । तराईको पासवान समुदायका इष्टदेव मानिने राजा सलहेशको पूजा गर्दा मनले चिताएको पुग्ने, निःसन्तानहरुलाई सन्तान प्राप्ति हुने तथा विभिन्न रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ । भक्तजनको अत्यधिक चापलाई व्यवस्थापन गर्न मेला क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भीडभाड नियन्त्रणका लागि गस्ती बढाएका छन् भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सादा पोसाकका प्रहरी र ‘सिसीटिभी क्यामेरा’बाट समेत निगरानी भइरहेको छ ।

    अत्यधिक भीडका कारण यातायात र हिँडडुलमा असहजता नहोस् भन्नका लागि स्वयंसेवकहरूले सहयोग गरिरहेको मेला समितिका अध्यक्ष चौधरीले जानकारी दिए । सरकारले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरे पनि स्थानीयस्तरमा ठोस विकासका कामहरू हुन नसकेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।

    जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष प्रदीपकुमार गुप्ताका अनुसार, तीनै तहका सरकार र सम्बन्धित निकायले समन्वय गरी एकीकृत गुरुयोजना बनाएर अघि बढ्नु आवश्यक छ । यसो गर्नसकेमा यो ऐतिहासिकस्थललाई अझ आकर्षक र सुविधायुक्त धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न सकिने उनको भनाइ छ । रासस

  • भक्तपुर थिमिः बिस्केट जात्राको रौनक

    भक्तपुर थिमिः बिस्केट जात्राको रौनक

    रासस
    भक्तपुर, १ वैशाखः भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । भेलुखेलस्थि ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडाँै, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।

    पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरे शत्रु नास हुने सहकाल आउने जनविश्वास रहेको छ । चैत मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ । यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ ।

    आजै भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नास भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवं संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताए । किम्वदन्तीअनुसार सिकारीले मारेको भङ्गेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको उनले जानकारी दिए । यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ः०० बजेदेखि नै भीड लागेको छ ।

    प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाहरुले शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यस मन्दिरमा बिहान ५ः०० बजेदेखि नै तीनवटा खटसहितको खट जात्रा समेत गरिएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुन मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।

    यता सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन् । धिमे बाजाका साथ खटलाई गुप्तेश्वर महादेव मनिदर परिसरमा विधिपूर्वक पूजा गरी सुरु भएको खट जात्रा सिरुटारदेखि बालकोटसम्मको टोल टोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको स्थानीय भाइकृष्ण श्रेष्ठले जानकारी दिए । त्यसैगरी दधिकोटको चित्रपुरस्थित छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रा गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । लामबद्ध भक्तजनले पूजा गरेर खट यात्रा गरि जात्रा मनाएका छन् ।

    चैत मसान्तको दिन साँझबाट सुरु गरी रातभर सञ्चालन हुने चान्हेसियाअर्थात् रात्रिको जात्रा आज बिहान थिमिमा सम्पन्न भएको छ । मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रामा हिजो साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरि बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो । चान्हेसिया जात्रामा सर्वप्रथम दिगुटोलस्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा विराजमान गराइएन्छ ।

    जात्रामा थिमिको अधिकांश घरघरबाट चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शङ्खधर चोक हँुदै क्वाछेंस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो । त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पु¥याएर पाँच पटक परिक्रमा गराए पछि सोही स्थानमा आ–आफ्नो आसनमा खटहरुलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । यो जात्रा हिजो साँझ सुरु भई आज बिहान ४ः०० बजे सम्पन्न भएको थियो ।

    त्यस्तै मध्यपुरथिमिका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवं सिद्धिकाली जात्रा आज थिमिमा सम्पन्न गरेका छन् । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमासमेत परिक्रमा गराइएको थियो ।

    बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितका देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको छ । त्यस्तै सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमिको हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पु¥याइ स्वङ्गापुखुको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको छ । त्यसैगरी विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायत अन्य देवगणलाई सिन्दूर चढाइ आआफ्नो स्थानमा विराजमान गराएपछि आजको जात्रा विसर्जन गरिने परम्परा रहेको छ ।

  • अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

    अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, १ वैशाखः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७५ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३७ पैसा र बिक्रीदर २०१ रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ छ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०८ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ९० पैसा र बिक्रीदर ११७ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २१ रुपैयाँ ९१ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ छ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ तीन पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ तीन पैसा र बिक्रीदर १६ रुपैयाँ नौ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३४ पैसा र बिक्रीदर २३ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ चार पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ३७ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • नयाँवर्षमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढ्यो

    नयाँवर्षमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढ्यो

    रासस
    भक्तपुर, १ वैशाखः नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा यतिखेर आन्तरिक तथा बाह्य पयटकको घुइँचो बढेको छ । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटबाट रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित भएका छन् ।

    पर्यटन व्यवसायमा विदेशी पर्यटकमात्रै नभई आन्तरिक पर्यटकको आगमनको बढ्दो चापले व्यवसायी उत्साहित भएका हुन् । नयाँवर्ष २०८३ को आगमनले भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म आन्तरिक तथा विदेशी पर्यटकले भरिएका छन् ।

    नगरकोटमा नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिभराउ भएका व्यावसायी बताउँछन् । विसं २०८२ को बिदाइ गर्दै २०८३ को पहिलो सूर्योदय र यहाँका हिमाली दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकले नगरकोटको आकर्षण थप बढाएका होटल व्यवसायी एवं होटल चौतारीको सञ्चालक बद्री माकले बताए ।


    अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकीय चाप बढ्दा व्यवसायीमा उमङ्ग थपेको बताउँदै माकले भजे, “विदेशी पर्यटकको चाप पनि बढेको छ, स्वदेशी पर्यटकको चाँप निकै बढेको छ, अङ्ग्रेजी नयाँ वर्षमा करिब ५० प्रतिशत विदेशी पर्यटक र ५० प्रतिशत स्वदेशी पर्यटकले यहाँको होटल भरिएका छन् ।” सामान्यदेखि फाइभ स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप बढेपछि व्यवसायी थप होटल र कोठा थप्न उत्साहित भएका बताउँदै नगरकोट बेसक्याम्पका सञ्चालक अनुप केसीले नगरकोटमा थप होटल खुल्नेक्रम जारी रहेको उल्लेख गरे ।

    चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मज्जा लिन यहाँ पर्यटकको आगमन बढेको बताउँदै सञ्चालक केसीले व्यवसायी उत्साहित भएका बताए ।
    अर्का पर्यटन व्यवसायी एवं होटल ‘पिसफुल’ नगरकोटका सञ्चालक रामशङ्कर ध्वजुले नयाँ वर्षले पर्यटन व्यवसायीलाई उत्साह थपेको बताउदै यस वर्ष विगत वर्षको तुलनामा पर्यटकको आगमन बढेको जानकारी दिए ।

    विदेशीभन्दा स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएका व्यवसायी एवं होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछानेले बताए । उनले भने, “मैले होटल क्षेत्रमा काम गरेको २७ वर्ष भयो । पछिल्ला केही वर्षयता कोरोनाले थला पारेको व्यवसायलाई उठाएको छ, नयाँ होटल थपिँदै छन् ।” नगरकोटमा सामान्यदेखि सात स्टारसम्मका होटल सञ्चालनमा आएका नगरकोट नाल्दुम पर्यटन व्यवसायी समितिका अध्यक्ष नवीन लामाले जानकारी दिए । नगरकोट भ्रमण वर्ष २०८२ ले पनि पर्यटकको आगमन बढाएको उनको भनाइ छ ।

    केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नंं ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटल नयाँ वर्षमा आन्तरिक पर्यटकले भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्य हेर्ने र रातभरी नाचगान गरी नयाँवर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचो लागेको रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले बताए ।


    समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । पर्यटन व्यवसायी बकेले भने, “रानीकोटबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङ्टाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल हेर्न सकिन्छ । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । नयाँ वर्षमा आन्तरिक पर्यटकले यहाँका होटल भरिएका छन्, रानीकोट पर्यटकको रोजाइमा पर्न थालेपछि व्यवसायी उत्साहित भएका छन् ।”

    सहज पक्की सडकदेखि सूर्यविनायक(रानीकोट(आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटल, सूर्यविनायकबाट रानीकोट हुँदै पनौती जाने छोटोदूरीको सडक, रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको भन्दै उनले कोरोना महामारी पछि यति धेरै आन्तरिक पर्यटकको आगमनले यहाँका सबै होटल खचाखच भएको बताए ।


    नयाँ वर्षको भीडले पर्यटन व्यवसायीलाई ऊर्जा र उत्साह थपेको बताउँदै व्यवसायी बकेले भने, “पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नु अगाडि बनाएको गढी र पछि त्यही मल्ल राजाहरुले रानीका लागि दरबार बनापछि रानीकोट नाम रहेको यो क्षेत्र ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको छ ।”

    नयाँ वर्ष आफ्नो होटल सात दिनअघिदेखि नै बुक भएको बताउँदै उनले यहाँको रानीकाट गढी, बाघ भैरवलगायत ऐतिहासिक पर्यटकीय क्षेत्र पनि घुम्न पाइने बताउँछन् । सूर्यविनाकबाट घ्याम्पेडाँडा हुँदै रानीकोट पुग्न सकिने यस क्षेत्रमा पर्यटकको आगमन बढेसँगै दर्जनभन्दा बढी नयाँ होटल थप भएका छन् ।
    ‘घ्याम्पेडाँडा रिसोर्ट’ का सञ्चालक राजेन्द्र प्याथले आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसायमा उत्साह थपेको बताए । घ्याम्पेडाँडामा अहिलेसम्मको बढी लागतमा निर्माण भएको होटलले विदेशी र स्वदेशी पर्यटकलाई राख्दै आएको बताउँदै उनले नयाँ वर्षमा यहाँको होटल खचाखच भएको उल्लेख गरे ।