Category: फिचर

  • २१ औँ फेवा नववर्ष महोत्सव सुरु

    २१ औँ फेवा नववर्ष महोत्सव सुरु

    गण्डकी, २९ चैतः होटेल सङ्घ पोखराको आयोजनामा आजदेखि पोखराको लेकसाइडमा २१औँ संस्करणको फेवा नववर्ष महोत्सव सुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई प्रवर्द्धन गर्दै आन्तरिक पर्यटनको विकासको लक्ष्यका साथ सङ्घले बर्सेनि फेवा नववर्ष महोत्सव गर्दै आएको छ । महोत्सव आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरू प्रस्तुत गरिएको थियो । तरेली सांस्कृतिक परिवारले स्वागत नृत्य प्रस्तुत गरेको थियो । महोत्सवमा आज साँझ सांस्कृति प्रस्तुति र पञ्चैबाजाको रमाइलो रहने तथा पप कन्सर्टका कार्यक्रम पनि समेटिएका छन् ।


    सोमबार खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पञ्चैबाजाको रमाइलो प्रतियोगिता राखिएको छ । यसमा १५ पञ्चैबाजा समूहले भाग लिएको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका हरेक चौतारामा सांस्कृतिक कार्यक्रम र पञ्चै बाजा प्रतियोगिताका क्रममा खहरेमा रत्यौलीको कार्यक्रम पनि समावेश हुने उहाँले जानकारी दिनुभयो । पर्यटक दौड प्रतियोगिता पनि महोत्सवमा समावेश हुने सङ्घले जनाएको छ ।

    महोत्सव उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले फेवा महोत्सव निरन्तर र स्थायी रुपमा सञ्चालन हुँदै आउनु यसको सफलता भएको बताइन् । पोखरा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महोत्वपूर्ण सहर रहेको भन्दै उनले पर्यटनको राजधानीको उपमा समेत पाउनु पोखराका लागि सकारात्मक पक्ष भएको बताइन् ।


    महोत्सवमा प्रस्तुत कलात्मक झाँकी र प्रस्तुतिले नेपाली एकता झल्किएको उल्लेख गर्दै उनले पोखरालाई सुरक्षित र सुन्दर सहरको रूपमा निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिइन् । होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले पोखराले आन्तरिक र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा बढी जोड दिनुपर्ने बताए । पोखराका लागि आन्तरिक पर्यटक तथा भारतीय र चिनियाँ पर्यटकले ठूलो योगदान दिन सक्ने उनको भनाइ छ ।

    पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा भएको महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था छ । महोत्सवका अवसरमा सङ्घअन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेकाछन् । ई–सेवाबाट होटल बुक गर्दा १० प्रतिशतसम्म क्यासब्याक हुने अफर पनि ई(सेवाले अगाडि सारेको छ ।


    महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि, सहप्रायोजकमा म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक तथा प्रायोजकहरुमा अन्नपूर्ण केबलकार लि, ई–सेवा, युनाइटेड वाइनरी प्रालि रहेका छन् भने इन्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ । महोत्सव प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश छन् ।

  • ‘धो’बाट चार जना कर्मचारीको हेलिकोप्टरमार्फत उद्धार

    ‘धो’बाट चार जना कर्मचारीको हेलिकोप्टरमार्फत उद्धार

    काँक्रेविहार (सुर्खेत), २९ चैतः नेपाल श्रमशक्ति सर्वेक्षण गर्न उपल्लो डोल्पाको शेफोक्सुण्डो गाउँपालिका–२ जाँदै गर्दा लेक लागेर ‘धो’मा बिरामी भएका कमल डाँगीसहित चार जनाको आज उद्धार गरिएको छ । डोलेबुद्ध गाउँपालिकाको ‘धो’बाट बिरामी गणक कमल डाँगी, टोली प्रमुख किरण मल्ल, गणक लक्ष्मीकुमारी ज्ञवाली, गणक विराट डिसीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत ल्याइएको तथ्याङ्क समन्वय कार्यालय, सुर्खेतका प्रमुख विनोद आचार्यले जानकारी दिए ।

    उनले भने, “डाँगी लेक लागेर बिरामी हुनुभयो । हिमपातका कारण शेफोक्सुण्डो जान सक्ने अवस्था नहुँदा अन्यको पनि हेलिकोप्टरबाट उद्धार भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँबाट उपल्लो डोल्पाको धो हुँदै शेफोक्सुण्डो गाउँपालिका–२ मा खटिएका गणनास्थल जानु अगाडि बिरामी हुनुका साथै भारी हिमपातका कारण समस्या उत्पन्न भएपछि उद्धार छ ।” बिरामीलाई प्रदेश अस्पतालमा उपचार सुरु भएको छ । बिरामी डाँगी जाजरकोट भेरी नगरपालिका–२ का हुन् ।

  • ‘आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्नु’

    ‘आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्नु’

    काठमाडौँ, २९ चैतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार पनि नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले केही अस्पतालले सार्वजनिक बिदाको दिन (आइतबार) बहिरङ्ग (ओपिडी) सेवा बन्द गरेकाले सेवाग्राही मर्कामा परेका भन्दै नियमित सञ्चालन गर्न आग्रह गरिएको बताए । “स्वास्थ्य अत्यावश्यक तथा निरन्तर प्रदान गर्नुपर्ने सेवा भएकाले बिरामीलाई थप सहजता बनाउनुपर्ने आवश्यक छ”, उनले भने, “त्यही भएर बिरामीहरूलाई असहजता नहोस् भन्ने उद्देश्यले आइतबारको दिन पनि स्वास्थ्य सेवा सञ्चालन गर्ने आग्रह गरिएको हो ।”

    सहप्रवक्ता डा अधिकारीले आइतबार पनि स्वास्थ्य संस्था सञ्चालन गर्ने मन्त्रालयको निर्णयप्रति चिकित्सक, स्वास्थ्यकर्मी तथा केही सेवा प्रदायक अस्पतालले राखेका चासोलाई सम्बोधन गर्न मन्त्रालय सकारात्मक एवं प्रतिबद्ध रहेको बताए । उनले चाँडै नै सार्वजनिक बिदाको दिन आइतबार स्वास्थ्य सेवा सञ्चालन गर्ने कार्यविधि जारी गर्ने जानकारी दिए ।


    “नागरिकको सर्वोत्तम हितलाई ध्यानमा राखी स्वास्थ्य सेवाजस्तो संवेदनशील तथा अत्यावश्यक सेवा यथासम्भव निरन्तर रूपमा प्रदान गर्नु हामी सबैको प्रमुख दायित्व हो भन्ने तथ्य पनि उत्तिकै महत्वपूर्ण छ”, सहप्रवक्ता डा अधिकारीले भने, “सबै सरोकार भएकाहरूको सहकार्य र समन्वयमा स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउने तयारी मन्त्रालयले गरिरहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ ।”

    सहप्रवक्ता डा अधिकारीले कार्यविधि तयार नभएसम्म बिरामीको हितलाई सर्वोपरि राखी आ–आफ्नो अस्पतालबाट उपलब्ध जनशक्ति र कार्यभारको आधारमा यथासम्भव स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउनसमेत अनुरोध गरे । उनले स्वास्थ्यकर्मीको विश्रामको अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तर राख्ने सन्तुलित व्यवस्थापन सरकारको प्राथमिकता रहेको बताए ।

  • प्रधानमन्त्री शाह र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

    प्रधानमन्त्री शाह र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

    काठमाडौँ, २९ चैत । प्रधानमन्त्री वालेन्द्र शाह र वर्तमान मन्त्रीपरिषद्का सदस्यहरुले आ–आफ्नो सम्पत्ति विवरण कानुन बमोजिम प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस गरी सार्वजनिक गरेका छन् । मन्त्रीपरिषद्को निर्णय बमोजिम उहाँहरुको सम्पत्तिको विवरण सार्वजनिक भएको हो । सो विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को वेबसाइटमा हेर्न सकिने सो कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समेत यसको चर्चा सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहकी पत्नीका नाममा १९० तोला सुन रहेको देखिएको छ । प्रधानमन्त्रीले आफ्नो बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन् । उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् । उनको परिवारका नाममा महोत्तरीमा ९ विगा जग्गा रहेको देखिएको छ । काठमाडौंमा ५ आना जग्गा र धनुषामा समेत जग्गा रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।


    गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ । उनले ६ किलो चाँदी रहेको उल्लेख गरेका छन् । उनको धनकुटामा १९ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा देखिन्छ । उनीसँग साढे ४ करोडको सेयर समेत रहेको देखिन्छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका करोडौ मूल्यका चार वटा अपार्टमेन्ट रहेको देखिन्छ । उनले ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् । उनले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी उल्लेख गरेका छन् । उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

    सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको पनि जिम्मेवारीमा रहेका सस्मित पोखरेलले व्यक्तिगत र परिवारको नाममा रहेको संयुक्त अचल सम्पत्तिबारे उल्लेख गरेका छन् ।

    जस अनुसार, उनले बुवा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा ७ ठाउँमा करिब साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख छ । काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा रहेको विवरणमा उल्लेख छ । २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख गरेका छन् । उनले आफ्नो बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् भने डलर खातामा अमेरिकी डलर ५ रहेको उल्लेख छ । उनले पारिवारिक सदस्यसहितले संयुक्त रुपमा शेयर कारोबारमा पनि लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

    बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूले पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका शेयरहरू करिब ३० लाख बराबरको लगानी गरेको उल्लेख गरेका छन् । बुवा रमेशकुमारकै राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ बराबरको रकम राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई शेयर खरिदको रुपमा राखेका छन् । आमा मिनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गरेका छन् ।

    उनले आफू र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण देखाएका छन् । हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ«े बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ । बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रहेको उल्लेख गरेका छन् । उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रहेको देखिएको छ ।

  • भारतीय गायिका आशा भोसलेको निधन, भारतीय संगितलाई विराट क्षति

    भारतीय गायिका आशा भोसलेको निधन, भारतीय संगितलाई विराट क्षति

    मुम्बई, २९ चैत (रासस–एएनआई) । भारतीय सङ्गीतको स्वरयुग नै परिवर्तन गर्नुभएकी प्रख्यात गायिका आशा भोसलेको आइतबार निधन भएको छ । आठ दशकभन्दा बढी समय भारतीय सिनेमा र सङ्गीतलाई आफ्नो स्वरले समृद्ध बनाएकी उनको निधनले सम्पूर्ण कलाजगतलाई शोकमा डुबाएको छ । उनको उमेर ९२ वर्ष थियो । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचाररत रहँदा उनको निधन भएको चिकित्सक डा. प्रतीत समदानीले पुष्टि गरे । चिकित्सकका अनुसार बहु–अङ्ग विफलताका कारण उनले अन्तिम सास लिइन् ।


    अस्पताल स्रोतअनुसार अत्यधिक थकान र छातीमा सङ्क्रमण भएपछि आशा भोसलेलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचार जारी रहे पनि अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका थिए । यसअघि उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत परिवारका लागि गोपनीयताको अनुरोध गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी थिइन् । उनले अस्पताल भर्ना गरिएको पुष्टि गर्दै उपचार भइरहेको र सुधारको आशा गरिएको उल्लेख गरेकी थिइन् ।


    सन् १९३३ मा जन्मनुभएकी आशा भोसलेले अत्यन्तै सानो उमेरमै आफ्नो सङ्गीत यात्रा सुरु गरेकी थिइन् । सन् १९५० को दशकदेखि उनको स्वर भारतीय चलचित्र सङ्गीतमा अत्यन्त लोकप्रिय बन्दै गएको थियो र क्रमशः उनी विश्वकै सबैभन्दा चर्चित पार्श्व गायिकामध्ये एकका रूपमा स्थापित भइन् । उनको स्वरको विशेषता भावनात्मक गहिराइ, अनुकूलनीयता र बहुमुखी प्रतिभा मानिन्छ । शास्त्रीय सङ्गीतदेखि गजल, क्याब्रे, पप र लोकगीतसम्म उहाँले विभिन्न विधामा आफ्नो स्वरको प्रभाव छोडेकी छिन् । भारतका विभिन्न भाषामा हजारौँ गीत रेकर्ड गरेर उनले भारतीय सङ्गीतलाई विश्वस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेकी छिन् ।


    प्रमुख सङ्गीतकार तथा चलचित्र निर्मातासँगको सहकार्यले हिन्दी चलचित्र सङ्गीतलाई नयाँ उचाइमा पुर्‍याएको मानिन्छ । उनका गीतहरू आज पनि कालजयी मानिन्छन् र नयाँ पुस्तामाझ उत्तिकै लोकप्रिय छन् । उनलाई भारतीय सरकारले प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कार तथा पद्मविभूषण सहितका उच्च सम्मानले सम्मानित गरेको थियो । सन् २०११ मा गिनिज वर्ल्ड रेकर्डले उनलाई सङ्गीत इतिहासमा सबैभन्दा धेरै रेकर्ड गरिएको कलाकारका रूपमा मान्यता दिएको थियो ।

    जीवनको उत्तरार्धसम्म पनि आशा भोसले सङ्गीतसँग निरन्तर जोडिइन् । कहिलेकाहीँ सार्वजनिक प्रस्तुति दिँदै उनले युवा कलाकारहरूलाई प्रेरणा दिइरहिन् । भारतीय सङ्गीतमा महिला स्वरको पहिचान विस्तार गर्न र पार्श्व गायनलाई नयाँ परिभाषा दिन उनको योगदान अतुलनीय मानिन्छ ।

    उनका लोकप्रिय गीतहरूमा ‘दिल चीज क्या है’, ‘पिया तु अब तो आजा’, ‘मेरा कुछ सामान’ र ‘चुरा लिया है तुमने’ जस्ता कालजयी रचना समावेश छन्, जसले उनको बहुआयामिक प्रतिभालाई उजागर गर्छ । उनको निधनको खबर फैलिँदा भारतभर तथा अन्तर्राष्ट्रिय स्तरमा पनि शोक व्यक्त गरिएको छ । प्रशंसक, कलाकार र विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनको योगदानलाई स्मरण गर्दै भारतीय सङ्गीतमा उहाँको स्थान अपूरणीय रहेको बताएका छन् ।

  • वार्ता विफल, युद्धविराम कायम राख्न अपिल

    वार्ता विफल, युद्धविराम कायम राख्न अपिल

    इस्लामावाद, २९ चैत (रासस–एएनआई) । अमेरिका र इरानबीच शान्ति वार्ता निष्कर्षविहीन बनेपछि क्षेत्रीय तनाव थप चर्किने सङ्केत देखिएको छ । यस्तो अवस्थामा पाकिस्तानले दुवै पक्षलाई युद्धविराम कायम राख्दै संवादलाई निरन्तरता दिन आग्रह गरेको छ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले आइतबार दिएको वक्तव्यमा शान्तिपूर्ण समाधानको विकल्प अझै खुला रहेको उल्लेख गर्दै दुवै देशलाई सकारात्मक भावनाका साथ वार्तामा संलग्न रहन आग्रह गरे । उनले क्षेत्रीय मात्र नभई विश्वव्यापी स्थायित्वका लागि पनि युद्धविरामको प्रतिबद्धता कायम राख्नु अत्यन्त आवश्यक रहेको बताए ।


    दारका अनुसार पाकिस्तानले इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच संवादको वातावरण निर्माण गर्न सक्रिय भूमिका खेलेको छ र आगामी दिनहरूमा पनि सहजीकरण जारी राख्नेछ । उहाँले शान्ति वार्तामा सहभागी हुन पाकिस्तानको निमन्त्रणालाई स्वीकार गरेकोमा दुवै देशप्रति आभार व्यक्त गरे ।
    उनले यसअघि पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज सरिफले तत्काल युद्धविरामको आह्वान गर्दै इस्लामाबादमा वार्ताका लागि दिएको निमन्त्रणालाई दुवै पक्षले सकारात्मक रूपमा लिएको उल्लेख गरे ।

    यसलाई क्षेत्रीय कूटनीतिमा महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ । ‘इस्लामावाद वार्ता’ का रूपमा चिनिएको उक्त उच्चस्तरीय बैठकमा दुवै देशका शीर्ष अधिकारीहरूको अभूतपूर्व सहभागिता रहेको थियो । अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नुभएको थियो भने इरानी पक्षको नेतृत्व संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले गरेका थिए ।


    दारले आफूले चिफ अफ डिफेन्स फोर्स र सेना प्रमुख फिल्ड मार्शल सैयद असीम मुनीरसँग मिलेर करिब २४ घण्टा लामो गहन र बहुपक्षीय छलफलमा मध्यस्थता गरेको जानकारी दिए । उनका अनुसार वार्ता आइतबार बिहान टुङ्गिएको हो, तर अपेक्षित सहमति भने जुट्न सकेन । वार्ता असफल भएसँगै अमेरिकी उपराष्ट्रपति भान्स इस्लामाबादबाट प्रस्थान गरेका छन् । वार्तामा मुख्य विवादका विषयहरू इरानको आणविक कार्यक्रम र होर्मुज जलडमरूमध्यको नियन्त्रणसँग सम्बन्धित थिए ।

    भान्सले पत्रकारहरूसँग कुरा गर्दै केही विषयमा प्रगति भए पनि अन्ततः कुनै औपचारिक सम्झौता हुन नसकेको बताए । उनले यो अवस्था विशेषगरी इरानका लागि प्रतिकूल भएको टिप्पणी गरे । यद्यपि यसले अमेरिकालाई पनि असर पार्ने स्वीकार गरे । यस घटनाक्रमले कूटनीतिक प्रयासहरू जारी रहे पनि आपसी अविश्वास र रणनीतिक मतभेदका कारण तत्काल समाधानको सम्भावना कमजोर देखिएको सङ्केत गरेको छ ।

  • कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

    कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

    टोकियो, २९ चैत (रासस–एएनआई) । अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी दूतावासले सैन्य आक्रमणबाट हासिल गर्न नसकिएका उद्देश्यहरू कूटनीतिका माध्यमबाट थोपर्न नसकिने स्पष्ट पारेको छ । इस्लामाबादमा भएको हालैको वार्तापछि सार्वजनिक धारणा तीव्र भइरहेका बेला इरानले आफ्नो अडान पुनः दोहोर्‍याएको हो ।

    दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अघि सारेको ‘अन्तिम र उत्कृष्ट प्रस्ताव’ लाई एकपक्षीय रूपमा प्रस्तुत गरिएको भन्दै अस्वीकार्य ठहर गरेको छ । उक्त प्रस्ताव स्वभावतः पारस्परिक हुनुपर्ने भन्दै इरानले यसलाई कुनै एक पक्षले दबाब सिर्जना गर्ने औजारका रूपमा प्रयोग गर्न नसकिने जनाएको छ ।

    वक्तव्यमा इरानले भान्सको ‘इरानले हाम्रो सर्त स्वीकार नगर्ने छनोट गरेको छ’ भन्ने अभिव्यक्तिलाई पनि जबरजस्ती तर्कको संज्ञा दिएको छ । दूतावासका अनुसार यस्तो धारणा अर्को पक्षलाई युद्धमैदानमा असफल भएका मागहरू स्वीकार गर्न बाध्य पार्ने प्रयास हो, जुन कूटनीतिक सिद्धान्तविपरीत छ । साथै, पछिल्लो द्वन्द्वको सुरुआत इरानबाट नभई अन्य पक्षबाट भएको दाबीसमेत गरिएको छ ।

    इरानले भान्सका अभिव्यक्तिहरूले अन्तर्राष्ट्रिय समुदायमा थप गम्भीर र आलोचनात्मक बहस आवश्यक बनाएको उल्लेख गरेको छ । ‘इरानका लागि नराम्रो खबर’ भन्ने टिप्पणीलाई लक्षित गर्दै दूतावासले त्यसको यथार्थ मूल्याङ्कन हुनुपर्ने बताएको छ । साथै, वार्ता आयोजना र सहजीकरणमा भूमिका खेलेको पाकिस्तानप्रति इरानले कृतज्ञता व्यक्त गरेको छ ।

    यसैबीच, क्षेत्रीय तनाव अझ चर्काउने सङ्केत देखिएका छन् । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले आफ्ना दुई युद्धपोत युएसएस फ्रान्क ई. पिटरसन (डिडिजी १२१) र युएसएस माइकल मर्फी (डिडिजी ११२) ले होर्मुज जलडमरूमध्य पार गर्दै खानी सफा गर्ने तयारी थालेको जनाएको छ । उक्त कदमलाई उसले जलमार्ग सुरक्षित बनाउने व्यापक अभियानको हिस्सा बताएको छ ।

    तर इरानले अमेरिकी दाबीलाई तत्काल अस्वीकार गरेको छ । इरानी सेनाको खताम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले कुनै पनि अमेरिकी जहाज उक्त क्षेत्रमा प्रवेश गरेको दाबी असत्य रहेको बताएका छन् । उनका अनुसार होर्मुज जलडमरूमध्यमा जहाजहरूको आवागमन पूर्ण रूपमा इरानका सशस्त्र बलको नियन्त्रणमा रहेको छ । दुवै पक्षबीच बढ्दो आरोप–प्रत्यारोपले कूटनीतिक समाधानको सम्भावनालाई थप जटिल बनाइरहेको विश्लेषण गरिएको छ, जहाँ वार्ताभन्दा बढी शक्ति प्रदर्शनले प्राथमिकता पाएको सङ्केत देखिन्छ ।

  • इरान–अमेरिका वार्ता निष्कर्षविहीन

    इरान–अमेरिका वार्ता निष्कर्षविहीन

    इस्लामावाद, २९ चैत (रासस–एएफपी) । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा भएको इरान र संयुक्त राज्य अमेरिकाबीचको लामो वार्ता कुनै ठोस सहमतिविना टुङ्गिएको छ । २१ घण्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार वार्ता निष्कर्षविहीन बनेको जानकारी दिए ।

    वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वासिङ्टनले तेहरानसँग आणविक हतियार विकास नगर्ने ‘मौलिक प्रतिबद्धता’ खोजेको भए पनि त्यसतर्फ स्पष्ट सङ्केत नदेखिएको बताए । सन् १९७९ को इस्लामिक क्रान्तिपछि उच्चस्तरीय रूपमा भएको यस्तो संवादलाई महत्त्वपूर्ण मानिए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेन । उनका अनुसार अमेरिकाले इरानलाई ‘अन्तिम र उत्तम प्रस्ताव’ दिएको छ र त्यसबारे निर्णय लिन केही समय प्रदान गरिएको छ ।

    यसैबीच, संयुक्त राज्य अमेरिका र इजरायलले मङ्गलबारदेखि दुई साताका लागि वार्ता स्थगित गर्ने सङ्केत दिएका छन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वले मध्यपूर्व क्षेत्रलाई अस्थिर बनाउनुका साथै विश्व अर्थतन्त्रमा समेत असर पारेको छ । आक्रमणपछि इरानले प्रतिशोधात्मक कदम चालेपछि तनाव झनै चुलिएको हो ।

    वार्ताका क्रममा दुवै पक्ष आ–आफ्ना कडा अडानसहित प्रस्तुत भएका थिए । अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रमा माइन हटाउन युद्धपोत पठाएको दाबी गर्दै दबाब सिर्जना गरिरहेको आरोप इरानी पक्षले लगाएको छ । उक्त जलडमरूमध्य विश्वको करिब पाँचौँ भाग तेल आपूर्तिको प्रमुख मार्ग मानिन्छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्ताको परिणामप्रति आफूलाई खास चासो नभएको प्रतिक्रिया दिएका छन् । उनले युद्धमैदानमा अमेरिका पहिले नै विजयी भइसकेको दाबी गर्दै इरानी नेतृत्वलाई कमजोर पारिएको र सैन्य संरचनामा क्षति पुर्‍याइएको उल्लेख गरे । “सम्झौता भए पनि नभए पनि फरक पर्दैन, हामीले जितिसकेका छौँ”, उनले भने ।


    उता, इरानले भने कुनै पनि सम्भावित सम्झौतामा आफ्ना जफत गरिएका सम्पत्ति फुकुवा हुनुपर्ने र लेबनानमा हिजबुल्लाहविरुद्धको इजरायली आक्रमण रोकिनुपर्ने माग राखेको छ । तर भान्सले ती विषयहरू इस्लामावाद वार्ताको दायराभन्दा बाहिर रहेको स्पष्ट पारे । वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले गरेका थिए ।

    विदेशमन्त्री अब्बास अराघची पनि सहभागी थिए । अमेरिकी टोलीमा ट्रम्पका निकट सहयोगी स्टिभ विटकफ र जारेड कुशनरसमेत सहभागी थिए । इरानले विशेषतः भान्सको उपस्थिति र विगतमा युद्धविरोधी धारणा राखेकाले वार्ताप्रति केही अपेक्षा गरेको थियो ।

    युद्ध सुरु भएसँगै इरानले होर्मुज जलडमरूमध्यमाथि नियन्त्रण कायम गर्दै विश्व तेल बजारमा प्रभाव पारेको छ । तेलको मूल्य वृद्धिले अमेरिकामा समेत राजनीतिक दबाब सिर्जना गरेको छ । अमेरिकी सेनाले जलडमरूमध्य सुरक्षित बनाउने प्रयास गरिरहेको दाबी गरे पनि इरानले त्यस्तो कुनै गतिविधि स्वीकार गरेको छैन र हस्तक्षेप भए कडा जवाफ दिने चेतावनी दिएको छ ।

    यता लेबनानमा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व पनि जारी छ । इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघिसकेको लेबनानी अधिकारीहरूले जनाएका छन् । आगामी साता इजरायल र लेबनानबीच वासिङ्टनमा छुट्टै वार्ता हुने तयारी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दीर्घकालीन शान्ति सम्झौताको चाहना व्यक्त गरेको भए पनि हिजबुल्लाहसँग तत्काल युद्धविराममा सहमति जनाएका छैनन् ।

    यसैबीच, इरानभित्रै पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै देखिएको छ। “अमेरिकासँगको वार्ताको अनुभव सधैँ असफलता र भङ्ग गरिएका प्रतिबद्धतासँग जोडिएको छ”, गालिबफले भने। यद्यपि दुवै पक्षले कूटनीतिक ढोका पूर्ण रूपमा बन्द नगरेको सङ्केत दिएका छन् । विशेषज्ञहरूका अनुसार ठूलो र उच्चस्तरीय इरानी टोलीको सहभागिताले उनीहरू सम्झौताको सम्भावनाप्रति गम्भीर रहेको देखाए पनि आपसी अविश्वास र क्षेत्रीय जटिलताले सहमति टाढा धकेलेको छ ।

  • सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

    सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

    काठमाडौँ, २९ चैतः सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु हुँदैछ । तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताहअभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    त्यसका लागि सरकारले ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरिसकेको छ । कुनै पनि चालु अवस्थामा रहेका फाइल अनिश्चित समयसम्म अड्केर नबसोस्, जिम्मेवारी स्पष्ट होस् र काम हुने वा नहुने विषयको समयमा टुङ्गो लागोस् भन्ने अभियानको उद्देश्य छ । अभियान आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । मार्गदर्शनअनुसार अब तीन दिन, सात दिन वा १५ दिनभन्दा बढी समयदेखि रोकिएका फाइलमा स्वतः समीक्षा प्रक्रिया लागू गर्नुपर्नेछ । निर्णय गर्न सकिने विषयलाई अनावश्यक रूपमा माथिल्लो तहमा नपठाइ सम्बन्धित तहबाट टुङ्ग्याउने पद्धतिको विकास गर्नुपर्ने भएकाले यो अभियान सञ्चालन गरिएको हो ।

  • झापामा तीन मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

    झापामा तीन मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

    सुरुङ्गा (झापा), २९ चैतः झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र १–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशातर्फ जाँदै गरेको को३१प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

    दुर्घटनामा प्र१–०१–०१२प७६३५ नम्बरको मोटरसाइकल चालक इलाम नगरपालिका–६ का २५ वर्षीय भूपेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । अन्य घाइतेमध्ये प्र १–०२–०४१ प ८९८७ का चालक धरान उपमहानगरपालिका–१५ का २७ वर्षीय मनिकुमार देवकोटा, सोही मोटरसाइकलमा सवार २७ वर्षीय अनिल बस्नेत र अर्को मोटरसाइकल चालक झापा शिवसताक्षी–५ का २९ वर्षीय नन्दबहादुर मगर तथा पछाडि सवार २९ वर्षीय कमल मगर रहेका छन् । घाइते सबैको स्पाइनस अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

  • दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

    दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

    काठमाडौँ, २९ चैतः काठमाडौँको दक्षिणकाली नगरपालिका–८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बिएबी ५२८१ नम्बरको कार अनियन्त्रित भई आज दुर्घटना भएको हो । उक्त दुर्घटनामा चालक काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।


    यसैबीच काठमाडौँ महानगरपालिका–९ स्थित एयरपोर्ट गेष्ट हाउसबाट अवैध लागुऔषध गाँजा करिब सात किलोग्रामसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको प्रहरीको लागुऔषध ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय मोहसिन सलाउद्दिन खान र मोहम्मद राइल रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले उक्त गाँजासहित पक्राउ गरिएको र उक्त घटनामा अनुसन्धान जारी रहेको जनाइएको छ ।

  • युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा

    युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा

    ब्रसेल्स (बेल्जियम), २९ चैत (रासस–एएनआई) । इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्क क्षेत्रमा ३० भन्दा बढी नयाँ बस्तीहरू स्थापना गर्ने पछिल्लो इजरायली निर्णयको युरोपियन युनियनले कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इयुले इजरायलको विस्तारले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन र दुई–राज्य बीचको लामो समयदेखिको सौभार्दपूर्ण सम्बन्धमा खतरा उत्पन्न भएको बताएको छ ।

    युरोपेली युनियनले पूर्वी जेरुसेलमसहित वेस्ट ब्याङ्कमा आफ्नो कब्जा विस्तार गर्ने इजरायली कदमको निन्दा गरेको छ भने अन्तर्राष्ट्रिय अदालतको गैरकानूनी घोषणा गरेको छ । इयुले इजरायललाई यी निर्णयहरू उल्टाइ अन्तर्राष्ट्रिय कानून अनुसार आफ्नो दायित्वहरूको पालना गर्न र कब्जा गरिएका क्षेत्रहरूका प्यालेस्टिनीहरुको रक्षा गर्न आग्रह गरेका छन् ।


    यसै बीच युरोपियन युनियनले प्यालेस्टिनी नागरिकहरू विरुद्धको गरिएको हिंसाको निन्दा गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्ताव अनुसार दुई–राज्य इजरायल र प्यालेस्टाइन, न्यायपूर्ण र स्थायी शान्ति हित आफ्नो सीमाभित्र शान्तिको साथ बस्न् पाउनु पर्ने बताएको छ । इस्लामिक सहयोग सङ्गठन (ओआईसी) ले पनि शुक्रबार इजरायली कब्जामा रहेको वेस्ट ब्याङ्कमा ३४ वटा नयाँ बस्तीहरूको स्वीकृतिको निन्दा गर्दै यो निर्णयले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको बताएको छ ।

    इजरायली सरकारले अप्रिलको सुरुमा “गोप्य रूपमा“ गरेको यो निर्णयले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको प्यालेस्टिन सरकारले जनाएको छ ।
    अल जजिराका अनुसार इजरायली सरकारबाट हाल सम्म यस विषयमा कुनै टिप्पणी आएको छैन । गत बिहीबार स्वीकृत भएका बस्तीहरू सहित सन् २०२२ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार सत्तामा आएपछि स्वीकृत भएका ६८ वटा भन्दा माथि भएको अल जजिराले जनाएको छ ।

  • संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    जेनेभा, २९ चैत (रासस–एएफपी) । संयुक्त राष्ट्र सङ्घका प्रमुखहरूले शनिबार मध्यपूर्वमा व्यापक अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको लागि दण्डहीनताको अन्त्य गर्न माग गरेका छन् । इरानमा अमेरिका–इजरायल आक्रमणले सुरु गरेको युद्धमा हताहतीको सङ्ख्या बढ्दै गएको छ । संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा ‘युद्धका नियम र अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घनबाट आत्तिएको’ बताएका हुन् । संयुक्त राष्ट्रसंघको अन्तर–निकाय स्थायी समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युद्धका पनि नियम हुन्छन् र यी नियमको सम्मान गर्नुपर्छ ।”

    संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचर र संयुक्त राष्ट्रसंघीय मानवअधिकार, स्वास्थ्य, खाद्य, शरणार्थी र बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरूले लेखेको संयुक्त वक्तव्यमा फेब्रुअरी २८ मा मध्यपूर्व युद्ध सुरु भएयता बढ्दो हताहती सङ्ख्याको निन्दा गरिएको छ । “मध्य पूर्वमा गत महिना मात्र हजारौं नागरिक मारिएका छन् र घाइते भएका छन्। लाखौँ धेरै पटक विस्थापित भएका छन्”, वक्तव्यमा भनिएको छ,
    “संख्या बढ्दै गएको छ र आवश्यक सेवाहरूमा पहुँचका लागि झन् गाह्रो भइरहेको छ।”

    वक्तव्यमा भनिएको छ, “युद्धका क्रममा स्वास्थ्यकर्मी, अस्पताल र एम्बुलेन्सलाई निशाना बनाइएको छ । विद्यालयहरू प्रभावित भएका छन्। पुल, आवासीय भवन, घर, खानेपानी सुविधा र पावर प्लान्टलगायत नागरिक पूर्वाधारहरू ध्वस्त भएका छन् ।” उनीहरूले खाद्यान्न र इन्धनको मूल्य बढेसँगै महिला र बालबालिका तथा अन्य विशिष्ट आवश्यकता भएका व्यक्तिहरूका साथै विश्वव्यापी आपूर्ति शृङ्खलामा पर्ने प्रभावबारे विशेष चिन्ता व्यक्त गरेका छन् ।

    यसैबिच, उनीहरूले आफ्ना मानवीय सहकर्मीहरू युद्धमा फसेका बताएका छन् । क्तव्यमा भनिएको छ, “यस वर्षको सुरुदेखि नै प्यालेस्टाइन क्षेत्रमा १४, इरानमा आठ र लेबनानमा पाँच सहायताकर्मीहरू मारिएका छन् वा घाइते भएका छन्। यो सहायताकर्मीको हताहतीको एक खतरनाक सङ्ख्या हो।” एजेन्सीका प्रमुखहरूले भनेका छन्, “हामी मानवीय र स्वास्थ्यकर्मीहरू र नागरिक वस्तुहरू सहित नागरिकहरूमाथि हुने सबै आक्रमणको कडा निन्दा गर्दछौँ।”

    “संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू हुन् वा सशस्त्र समूहहरू सबै पक्षले मानवीय कर्मचारीहरू र नागरिक पूर्वाधारहरू सहित नागरिकहरूको सुरक्षा गर्ने उनीहरूको कानुनी दायित्वको सम्मान गर्नुपर्छ,“ उनीहरूले भने, “सबै उल्लङ्घनहरू जवाफदेहीताका साथ पूरा गरिनु पर्छ।”

  • कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

    कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

    बोगोटा, २९ चैत (रासस–एएफपी) । दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी व्यापार तनाव थप चर्किएको छ । इक्वेडरले कोलम्बियाली सामानमा कर बढाएको भोलिपल्ट नै कोलम्बियाले पनि प्रतिउत्तरस्वरूप इक्वेडरबाट आयात हुने वस्तुमा १०० प्रतिशतसम्मको भन्सार शुल्क लगाउने निर्णय गरेको जनाएको छ । कोलम्बियाको वाणिज्य मन्त्रालयका अनुसार यो कदम प्रत्यक्ष रूपमा इक्वेडरको निर्णयको प्रतिक्रिया हो । बिहीबार इक्वेडरले कोलम्बियाली वस्तुमा लगाइँदै आएको ५० प्रतिशत करलाई बढाएर १०० प्रतिशत पुर्‍याएको थियो । त्यसको जवाफमा कोलम्बियाले पनि समान स्तरको शुल्क लागू गरेको हो ।

    दुवै देशबीच केही महिनादेखि व्यापारिक विवाद चल्दै आएको छ । इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले साझा सीमामा लागुऔषध तस्करी र अवैध खनन नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आउनुभएको छ । यही विषयले दुई देशबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ ।

    कर वृद्धि मात्र नभई कूटनीतिक सम्बन्धमा पनि असर परेको छ । इक्वेडरको निर्णयपछि कोलम्बियाले आफ्नो राजदूतलाई बोगोटा फिर्ता बोलाएको छ । वर्षको सुरुदेखि नै इक्वेडरले चरणबद्ध रूपमा भन्सार शुल्क बढाउँदै आएको र त्यसको जवाफमा कोलम्बियाले पनि पारस्परिक भन्सार शुल्क लागू गर्दै आएको देखिन्छ । यो सुरुमा ३० प्रतिशतबाट बढ्दै १०० प्रतिशतसम्म पुगेको छ ।

    यद्यपि, कोलम्बियाले केही क्षेत्रलाई भने आंशिक रूपमा सहज बनाउने सङ्केत दिएको छ । राष्ट्रपति पेट्रोले औद्योगिक उत्पादनका लागि आवश्यक केही कच्चा पदार्थमा ‘शून्य प्रतिशत कर’ लागू गरिने उल्लेख गरेका छन् । जसले घरेलु उद्योगलाई राहत दिन सक्छ । कोलम्बियाकी वाणिज्यमन्त्री डायना मोरालेसले दुवै देशबीच कूटनीतिक प्रयासहरू लगभग समाप्त भइसकेको बताउँदै स्थिति गम्भीर बन्दै गएको सङ्केत गरिन् । यसै साता पेट्रोले इक्वेडरका पूर्वउपराष्ट्रपति जोर्ज ग्लासलाई ‘राजनीतिक बन्दी’ भनेपछि विवाद झन् बढेको हो ।

    ग्लासले २०१३ देखि २०१८ सम्म विभिन्न सरकारहरूमा सेवा गरेका थिए । गत वर्ष भ्रष्टाचारको आरोपमा १३ वर्षको जेल सजाय पा्रएका थिए । उनले जेलमा अमानवीय व्यवहार भोग्नुपरेको दाबी गर्दै आएका छन्् । तनाव यति बढेको छ कि कोलम्बियाले पेरु, बोलिभिया र इक्वेडर सम्मिलित क्षेत्रीय सङ्गठन एन्डियन कम्युनिटी अफ नेसन्स (क्यान) बाट बाहिरिने सम्भावना पनि उठाएको छ । यद्यपि, क्यानले शुक्रबार दुवै देशबीच संवाद गराउने प्रयासस्वरूप कूटनीतिक बैठक आयोजना गरेको जनाएको छ ।

    आर्थिक दृष्टिले दुवै देश एकअर्कामा निर्भर छन् । कोलम्बियाले इक्वेडरमा मुख्य रूपमा बिजुली, औषधि, सवारी साधन, सौन्दर्य सामग्री र प्लास्टिकजन्य वस्तु निर्यात गर्छ भने इक्वेडरबाट तरकारीजन्य तेल, डिब्बाबन्द टुना, खनिज तथा धातु आयात गर्छ । यस क्षेत्रको अर्को जटिल पक्ष लागुऔषध तस्करी पनि हो । कोलम्बिया र पेरुमा उत्पादित करिब ७० प्रतिशत कोकेन इक्वेडर हुँदै प्रशान्त महासागरका बन्दरगाहबाट बाहिरिने गरेको छ । यसले इक्वेडरलाई आपराधिक गतिविधिको केन्द्र बनाएको छ ।

    एक समय शान्त मानिएको इक्वेडर अहिले आपराधिक समूहहरूबीचको सङ्घर्षले प्रभावित भएको छ, जसका कारण हिंसा र हत्याका घटनामा उल्लेखनीय वृद्धि भएको छ । यस्तो अवस्थामा व्यापार युद्धसँगै सुरक्षाको चुनौतीले पनि क्षेत्रीय स्थायित्वमा थप दबाब सिर्जना गरेको छ ।

  • बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’

    बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’

    काठमाडौँ, २९ चैतः सरकारले बहुपक्षीयताप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको बताएको छ । न्युयोर्कमा अन्तरराष्ट्रिय समुदायसमक्ष नेपालले बहुपक्षीयता र अन्तरराष्ट्रिय ऐक्यबद्धताप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको हो । संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले आज उक्त विश्व संस्थाको मुख्यालयमा २६३औँ नेपाली सेना दिवस तथा राष्ट्रसङ्घीय शान्तिसेनामार्फत द्वन्द्वग्रस्त विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनामा ६८ वर्षदेखि निरन्तर योगदान गरेको सन्दर्भमा आयोजना गरेको विशेष स्वागत समारोहमा नेपालले राष्ट्रसङ्घलाई केन्द्रमा राखेर वर्तमान विश्वले झेलेका चुनौती बहुपक्षीयताको प्रवर्दनबाट सामाना गर्न सकिने बताएको हो ।

    संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपाली सेनाको गौरवशाली इतिहासबारे जानकारी दिनुभएको उक्त नियोगले जनाएको छ । नेपाली सैनिकको सेवा, बलिदान र व्यावसायिकताबाट परिचित उक्त राष्ट्रिय संस्थाले राष्ट्रिय अखण्डताको रक्षा गर्नुका साथै विश्व शान्ति र सुरक्षाका खातिर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राजदूत थापाले बताए ।

    हालसम्म एक लाख ६० हजारभन्दा बढी नेपाली शान्ति सैनिकले विभिन्न राष्ट्रसङ्घीय ‘मिसन’मा सेवा गरिसकेको उल्लेख गर्दै नेपालले बहुपक्षीयता र अन्तरराष्ट्रिय ऐक्यबद्धताप्रति आफ्नो दृढ प्रतिबद्धता निरन्तर प्रदर्शन गर्दै आएको उनले बताए ।
    राष्ट्रसङ्घका उपमहासचिव जिन पियर लाक्रोँले नेपाली शान्ति सैनिकको समर्पण र व्यावसायिकताको प्रशंसा गर्दै उनीहरूको योगदानप्रति आभार व्यक्त गरे । त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, सैन्य तथा प्रहरी सल्लाहकार, राष्ट्रसङ्घका उच्चअधिकारी, नेपालका मित्र तथा पूर्वसैनिक अधिकारीहरूको उपस्थिति थियो ।

  • दोस्रो आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

    दोस्रो आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

    काठमाडौँ, २९ चैतः दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ । आगामी वैशाख २ गतेदेखि देशभर आर्थिक गणनाको काम सुरु हुनेछ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालित भएका छन् ।

    अर्थमन्त्री डा स्वर्णिम वाग्ले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योग प्रतिष्ठान, उद्योगी व्यवसाय तथा सरोकार भएकाहरूलाई आग्रह गरे । उनले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलनको महत्त्वपूर्ण कार्यमा योगदान गर्न अनुरोध गरे । सो गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन हुनेछ । गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलनको उद्देश्य राखिएको छ ।

    देशभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने छ । त्यस्तै, उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ ।

    आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भएको थियो । यस्तै, यही चैतको सुरुमा नै ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएको छ । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । तथ्याङ्क कार्यालयले सबै सरोकार भएकालाई सही र पूर्ण विवरण उपलब्ध गराएर अभियानलाई सफल बनाउन आग्रह गरेको छ । आर्थिक गणना राष्ट्रिय अभियान भएकाले यसमा सबैको सक्रिय सहभागिता जरुरी रहेको कार्यालयले स्पष्ट पारेको छ ।

    यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । सो गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेका विवरण सार्वजनिक भएको थियो ।

  • आज केही स्थानमा वर्षा र हिमपात हुने

    आज केही स्थानमा वर्षा र हिमपात हुने

    काठमाडौँ, २९ चैतः हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका इलाकामा मुख्यतया मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी र हिमाली तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

    त्यसैगरी, आज राति हिमाली भेगमा आंशिक बदली रहने र पहाडी तथा तराई क्षेत्रमा मुख्यतया मौसमस फा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि सुरु

    कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि सुरु

    कर्णाली, २९ चैतः ‘कर्णाली उत्सवः कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको छ । प्रतिरोधका पाइलाको पदचापदेखि कर्नालीका सुइनाको बहसका रूपमा विकास हुँदै गएको उत्सव ऋति फाउन्डेसन सुर्खेतले आयोजना गरेको हो । कर्णाली उत्सव आयोजक समितिको सचिवालयका संयोजक कमल लम्सालले कर्णालीको समग्र सवालको उठान गरी यहाँको विकास र समृद्धिमा सघाउने विशेष मञ्चका रूपमा उत्सव सञ्चालन गर्न लागिएको राससलाई जानकारी दिए ।


    उनले भने, “हामी मोक्षभूमि कर्णालीको भूगोलबाट महिला नेतृत्वदेखि सीमान्त मान्ठ, सङ्घर्ष र सफलताको कथा निर्माणका गरेका पैकला (नायक)हरूको कथा, जेनजेड पुस्ताको सडकदेखि सदनसम्मको प्रभाव र पहुँच, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति रोवा रिग्पाको बौद्धिक चर्चा तथा ऊर्जा, प्रविधिको विकासबारे उत्सवमा विमर्श हुनेछ ।” पूर्वमन्त्री तथा उत्सवका कल्पनाकार माधवप्रसाद चौलागाईँले कर्णालीको भूगोल, संस्कृति र सम्भावनालाई मन्थन गर्ने विचारको साझा चौतारीका रूपमा ‘कर्णाली उत्सव’ संस्थागत हुँदै गएको बताए । उनका अनुसार उत्सवको सातौँ संस्करणबाट समाजमा व्याप्त निराशा चिर्ने र समतामूलक समृद्धिको गोरेटो कोर्ने सत्प्रयास हुनेछ ।

    आयोजक समिति सचिवालय सदस्य प्रकाश लामिछानेले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा १५ वटा विविधतापूर्ण मूल सत्र समावेश गरिएको र त्यसमा १० वटा सत्र हुने जानकारी दिए । त्यस्तै, कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरेका तीन पैकेला जुनु हमाल ढकाल (प्रमुख जिल्ला अधिकारी), रतन देवकोटा (रेथाने सङ्गीतकर्मी) र चिकित्सक डा अखण्ड उपाध्यायको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिने उनको भनाइ छ ।

    उत्सवमा नेपाली चलचित्र इतिहासका महानायक राजेश हमालसँग ‘नखिचिएका सिनेमा’का बारेमा कुराकानी गरिने भएको छ । ‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौँ संस्करण चैत २८३० गतेसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

  • अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका

    अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका

    इनरुवा (सुनसरी), २९ चैतः जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरेको छ । नगरपालिकाले पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका संरचना हटाउने, निर्माण सामग्री हटाउनुका साथै पसल व्यवसाय हटाउने कार्य सुरु गरिएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए ।

    नगरपालिकाको कार्यालयले पटकपटक सूचना जारी गर्दा नहटाएपछि नगरपालिकाको डोजरले हटाइएको उनले बताए । पछिल्लोपटक नगरपालिकाले यही चैत ५ गते अतिक्रमित क्षेत्र खाली गरिदिन अनुरोधसहितको सातदिने सूचना जारी गरेको थियो । कार्यालयको सूचनालाई अटेर गरेपछि आफैँले अतिक्रमित सडक क्षेत्र खाली गराउने अभियान सञ्चालन गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताए ।

    पूर्वपश्चिम राजमार्ग खण्डअन्तर्गत इनरुवा बसचोकबाट सुखुवागाछीसम्म अतिक्रमण गरेर जथाभावी कवाडी व्यवसाय सञ्चालन, निर्माण सामग्री राखिएका, पसल व्यवसायका लागि सामान राख्ने गरिएकाले आवतजावतमा समस्या हुनुका साथै कुरुप पनि भएको गुनासो आएपछि राजमार्गका मापदण्डभित्र बनाइएका संरचना, कवाडी सामग्री, निर्माण सामग्री हटाउन सुरु गरिएको नगरप्रमुख भण्डारीले बताए ।

    इनरुवा नगरपालिकाले सुरु गरेको कार्यलाई निरन्तरता दिन स्थानीयले माग गरेका छन् । इनरुवा बजर क्षेत्रमा पनि सडक अतिक्रमण गरेर पसल सञ्चालन गर्नुका साथै भौतिक संरचना निर्माणका लागि सामग्री राखेकाले बजार क्षेत्रमा समेत खाली गराउन स्थानीयको माग छ ।

  • एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

    एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

    काठमाडौँ, २९ चैतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउनुपर्ने आवश्यकता बढेको छ । आगलागी र त्यससँग जोडिएका घटना न्यूनीकरणका लागि विशेष सावधानी अनपाउनुपर्ने प्राधिकरणको तथ्याङ्कले देखाएको छ । ठूलो मात्रामा जनधनको क्षति हुनुका पछाडि सावधानी, जनचेतनाको अभाव तथा वन तथा सुक्खा एवं सुकेको सामग्रीमा आगो लगाउने प्रवृत्ति बढी जिम्मेवार हुने प्राधिकरणको भनाइ छ ।

    प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि यही चैत २७ गतेसम्मको अवधिमा देशभर आगलागीका तीन हजार ७२० वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर एक सय पाँच जनाको ज्यान गएको छ । त्यस्तै पाँच सय ७१ जना घाइते भएका छन् भने चार हजार २६० परिवार प्रभावित भएका छन् ।
    सो अवधिमा डढेलोको घटना तीन सय २८ वटा भएका छन् । डढेलोमा परेर दुई जनाको निधन भएको छ भने तीन जना घाइते भएका छन् भने ५८ परिवार प्रभावित भएका छन् ।

    प्राधिकरणले आगलागीबाट जोगिन विशेष सावधानी अपनाउने, ज्वलनशील पदार्थ आगोले छुने ठाउँभन्दा पर राख्न, विशेष सचेतना अभियान सञ्चालन गर्न, आगलागी हुन नदिन अन्य उपाय सञ्चालन गर्नसमेत सबैमा अनुरोध गर्दै आएको छ । प्राधिकरणका अनुसार यही चैत २७ गते बिहानदेखि २८ गते बिहानसम्म देशभर कुल १९ विपद्का घटना हुँदा आगलागीका मात्रै १६ वटा रहेका छन् । सुक्खा मौसममा आगलागीका घटना बढी हुने भएकाले पनि सक्रियताका साथ सावधानी अपनाउन प्राधिकरणले पुनः अनुरोध गरेको छ । वन तथा वातावरण मन्त्रालयले पनि डढेलो तथा आगलागीका घटना नियन्त्रणका लागि आफ्ना निकायलाई परिचालन गरेको छ ।

  • अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

    अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

    काठमाडौँ,२९ चैतः मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०११ अप्रिल ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यससम्बन्धी प्रस्ताव पारित गरेर प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवसका रूपमा मनाउने निर्णय भएको हो ।


    यो दिवसले अन्तरिक्ष विज्ञान तथा प्रविधिको योगदानलाई स्मरण गर्दै दिगो प्रविधिका माध्यमबाट विकास लक्ष्य हासिल गर्न तथा जनताको जीवनस्तर उकास्न जोड दिएको छ । सन् १९६१ अप्रिल १२ मा सोभियत नागरिक युरी गागरिनले पहिलो पटक अन्तरिक्ष उडान सम्पन्न गरेका थिए । उनी पृथ्वीको परिक्रमा गर्ने पहिलो मानव बन्दा अन्तरिक्ष अन्वेषणको नयाँ युगको सुरुआत भएको मानिन्छ ।

    त्यसअघि सन् १९५७ अक्टोबर ४ मा पहिलो मानव निर्मित पृथ्वी उपग्रह ‘स्पुतनिक–१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । यसबाट अन्तरिक्ष अन्वेषणको मार्ग प्रशस्त भएको थियो । त्यसपछिका दशकहरूमा मानव अन्तरिक्ष यात्रामा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । सन् १९६३ जुन १६ मा भ्यालेन्टिना तेरेश्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला बन्नुभयो भने सन् १९६९ जुलाई २० मा नील आर्मस्ट्रङले चन्द्रमाको सतहमा पाइला टेक्ने पहिलो मानवको इतिहास रचे ।

    सन् १९७५ जुलाई १७ मा अपोलो र सोयुज अन्तरिक्ष यान जोडेर पहिलो पटक योजनाबद्ध अन्तरराष्ट्रिय मानव अन्तरिक्ष अभियान सफल भएको थियो । संयुक्त राष्ट्रसङ्घले अन्तरिक्ष अन्वेषण र यसको उपयोग मानवजातिको साझा सम्पत्ति भएको उल्लेख गर्दै त्यसको लाभ सबै राष्ट्रसम्म पु¥याउनुपर्नेमा जोड दिएको छ ।
    तस्बिर : संयुक्त राष्ट्रसङ्घ

  • स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    काठमाडौँ,२९ चैतः नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो । भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।

  • शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार

    शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार

    वासिङ्टन, २९ चैत (रासस–एएफपी) । अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र इरानसँगको युद्ध सुरु भएयता पहिलो पटक हर्मुज घाँटी हुँदै दुई अमेरिकी युद्धपोतहरू पार भएका उनले बताए । अमेरिकी नौसेनाले ‘गाइडेड मिसाइल डिस्ट्रोयर’ मा कुनै समस्या नभोगीकन उक्त जलडमरूमार्गबाट पार गरेको ‘द वाल स्ट्रिट जर्नल’ले तीन अमेरिकी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ। ढुवानीका क्रममा तेहरानका अधिकारीसँग समन्वय नगरिएको उक्त अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।

    “हामी अब ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध हटाउने प्रक्रिया सुरु गर्दैछौँ,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भने, “यो चीन, जापान र फ्रान्स जस्ता देशहरूका लागि ‘उपकार’ हो । उनीहरूसँग यो काम आफैं गर्ने साहस वा इच्छाशक्ति छैन।” उनले द्वन्द्वमा इरानले ‘ठूलो घाटा व्यहोरेको’ बताए । राष्ट्रपति ट्रम्पले रणनीतिक जलडमरु भनिने हमुज घाँटीमा इरानी विस्फोटक पदार्थहरू बिच्छ्याइएका कारण विश्वको कच्चा तेलको करिब २० प्रतिशत ढुवानी हुने यस मार्गमा अझै पनि खतरा रहेको स्वीकार गरे ।


    ट्रम्पले लेखेका छन्, “अझै पनि साँघुरो समुद्री मार्गमा जहाजहरूमाथि आक्रमण हुन सक्ने खतरा छ।” एएफपीले उक्त रिपोर्टबारे प्रतिक्रियाका लागि गरेको अनुरोधमा अन्य अमेरिकी अधिकारीहरूले तत्काल प्रतिक्रिया दिएका छैनन्। संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि बमबारी गर्न थालेपछि तेहरानले इरानको तटमा उसका शत्रुहका लागि मुख्य मार्ग लगभग अवरुद्ध गरेको छ, यद्यपि स्ट्रेट पुनः खोल्नु शनिबारदेखि सुरु भएको युद्धविराम वार्तामा राखिएको प्रमुख सर्त रहेको छ।

    इरानी सञ्चारमाध्यमका अनुसार मध्यपूर्वलाई हिंसामा परिणत गरेको र विश्व अर्थतन्त्रलाई स्तब्ध पारेको द्वन्द्व अन्त्य गर्ने प्रयासमा इरानी र अमेरिकी अधिकारीहरूले शनिबार पाकिस्तानमा वार्ता सुरु गरेका छन्। यसअघिको एक पोस्टमा राष्ट्रपति ट्रम्पले विश्वभरबाट ‘खाली ट्याङ्करहरू तेल किन्नका लागि’ अमेरिका गइरहेको बताएका थिए ।

  • युद्धविरामअघि ओडिसामा घातक हमला

    युद्धविरामअघि ओडिसामा घातक हमला

    किएभ, २९ चैत (रासस–एपी) । अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन केही घण्टाअघि नै युक्रेनको ओडिसा सहरमा भएको रुसी ड्रोन आक्रमणले शान्तिको प्रयासमाथि गम्भीर प्रश्न उठाएको छ । शनिबार राति भएको उक्त हमलामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । कृष्ण सागर किनारमा अवस्थित रणनीतिक बन्दरगाह सहर ओडिसामा ड्रोन प्रहार हुँदा आवासीय क्षेत्र नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूका अनुसार आक्रमणले अपार्टमेन्ट भवन, निजी घरहरू र एक किन्डरगार्टेनमा क्षति पुर्‍याएको छ, जसले सर्वसाधारणको सुरक्षाप्रति चिन्ता बढाएको छ ।

    युक्रेनी वायु सेनाका अनुसार रुसले रातभर देशभर १६० वटा ड्रोन प्रक्षेपण गरेको थियो । तीमध्ये १३३ वटा खसालिएका वा निष्क्रिय पारिएका थिए । यो आक्रमण प्रस्तावित ३२ घण्टे इस्टर युद्धविराम लागू हुनुअघि भएको हो । उता, रुसको रक्षा मन्त्रालयले पनि आफ्ना क्षेत्रमा युक्रेनी आक्रमण भएको दाबी गर्दै रातभर ९९ वटा ड्रोन खसालेको जनाएको छ । यसले दुवै पक्षबीचको तनाव अझै उच्च स्तरमै रहेको सङ्केत गरेको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार इस्टर सप्ताहन्तका लागि ३२ घण्टे युद्धविराम घोषणा गर्दै शनिबार साँझ ४ बजेदेखि सबै सैन्य गतिविधि रोक्न निर्देशन दिएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यस कदमलाई प्रतिबिम्बित गर्न आफ्नो देश तयार रहेको बताए । तर विगतका अनुभवले यस्तो युद्धविराम प्रभावकारी हुनेमा शङ्का उत्पन्न भएको छ । अघिल्ला प्रयासहरूमा दुवै पक्षले एकअर्कामाथि उल्लङ्घनको आरोप लगाउँदै आएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनको घोषणालाई ‘मानवीय पहल’ भन्दै प्रस्तुत गरेका छन् । तर दीर्घकालीन समाधानका लागि रुसका प्रमुख मागहरू अझै कायम रहेको स्पष्ट पारेका छन् ।


    यसबीच, इस्टरको अवसर पारेर कैदी आदानप्रदानको सम्भावनाबारे पनि छलफल भइरहेको छ । रुसकी मानवअधिकार लोकपाल तात्याना मोस्काल्कोभाले दुवै पक्ष यस विषयमा काम गरिरहेको बताए । नियमित कैदी आदानप्रदानलाई मस्को र किएभबीचको लामो समयदेखिको तनावपूर्ण सम्बन्धमा दुर्लभ सकारात्मक पक्षका रूपमा हेरिएको छ । अमेरिकी मध्यस्थतामा भएका वार्ताहरूले अहिलेसम्म ठोस प्रगति गर्न सकेका छैनन् । युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसकेको अवस्थामा मूल विवादका मुद्दाहरू अझै समाधान नहुँदा स्थायी शान्तिको सम्भावना अनिश्चित देखिएको छ ।

  • गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु

    गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु

    गाजा , प्यालेस्टिनी क्षेत्रहरू, २९ चैत (रासस–एएफपी) । गाजाको नागरिक रक्षा तथा उद्धार सेवाले शनिबार प्यालेस्टिनी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा परी सात जनाको मृत्यु भएको बताएको छ । अल–बुरेज शरणार्थी शिविरमा रहेको प्रहरी चौकी नजिकै इजरायलले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । मध्य गाजाको अल–अक्सा अस्पतालमा छ जनाको शव आएको र सात जना घाइतेहरु उपचारको लागि आएको उल्लेख गरिएको छ भने घाइते मध्य चार जनाको अवस्था गम्भीर रहेको बताएको छ ।

    नजिकैको अल–अवदा अस्पतालमा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ । सन् २०२३ देखि सुरु भएको सीमापार आक्रमणको दुई वर्ष पछि अक्टोबर– १० देखि लागु भएको युद्धविराम उल्लङ्घन गरेको आरोप इजरायल र हमासले एक–अर्कालाई लगाउदै आएका छन् । युद्धविराम सुरु भए देखि कम्तिमा ७३८ प्यालेस्टिनीहरू मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच इजरायली सेनाले युद्धविराम सुरु भए देखि पाँच जना सैनिक मारिएको जनाएको छ । गाजामा मिडिया प्रतिबन्ध कारण अन्तर्राष्ट्रिय प्रेसलाई अझै पनि इजरायली अधिकारीहरूले प्रवेश गर्न प्रतिबन्ध लगाएको एएफपीले जनाइएको छ ।

  • इरानी प्रतिनिधिमण्डल र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

    इरानी प्रतिनिधिमण्डल र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

    इस्लामावाद, २९ चैत (रासस–एएफपी) । इरान सरकारको एक प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी पक्षसँग मध्यपूर्व युद्ध अन्त्य गर्न योजनाबद्ध वार्ताका सर्तहरूमा छलफल गरेको छ । इस्लामावादको सेरेना होटलमा पहिलो वार्ता चलिरहँदा इरानी सञ्चारमाध्यमले प्रधानमन्त्री शहबाज सरीफसँगको बैठकको अन्त्यमा इरानी पक्षले अमेरिकीहरूसँग प्रत्यक्ष वार्ता अघि बढाउने वा नबढाउने भन्ने निर्णय गर्ने बताएका छन् ।

    इरानले यसअघि नै लडाईको स्थायी अन्त्यको कुनै पनि सम्झौतामा रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनु्पर्ने र लेबनानमा हेजबुल्लाहमाथि इजरायलको युद्धको अन्त्य समावेश हुनुपर्ने बताएको थियो । अमेरिकी उपराष्ट्रपति भान्सले रोक्का इरानी सम्पत्तिको फुकुवा इस्लामाबादमा छलफलको बिषय नहुने बताएका छन् । संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका शक्तिशाली सेना प्रमुख असिम मुनिरले स्वागत गरेपछि दुवै पार्टी वार्ता स्थलमा पुगेका थिए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुमधुर व्यक्तिगत सम्बन्ध रहेका मुनीरले भान्सलाई पनि स्वागत गरेका थिए । उनलाई नुर खान हवाई अड्डामा विशेष सम्मानसहित स्वागत गरिएको थियो । उक्त अवसरमा अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि आफ्ना उपराष्ट्रपतिको स्वागतका लागि उपस्थित थिए । युद्धरत पक्षहरू अझै पनि प्रतिबन्ध, लेबनानमा युद्धविराम सम्झौताको पालना र रणनीतिक स्ट्रेट अफ हर्मुज खोल्ने जस्ता प्रमुख मुद्दाहरूमा टाढा रहेको देखिन्छ र उनीहरूले आपसी शङ्का लुकाउने कुनै प्रयास गरेनन् ।

  • पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबीच भेटवार्ता

    पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबीच भेटवार्ता

    इीलामावाद, २८ चैत (रासस–एएफपी) । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरेका छन् । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले पूधानमन्त्री सरिफको संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्ससँग आज वार्ता सुरु भएको उल्लेख गर्दै भनेको छ, “पाकिस्तान यस क्षेत्रमा दिगो शान्तिको दिशामा प्रगतिको लागि दुवै पक्षलाई सहयोग गर्न तत्पर छ।” अमेरिकाको तर्फबाट भान्ससँगै शीर्ष अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुश्नर पनि सहभागी हुनुभएको थियो भने पाकिस्तानका तर्फबाट पूधानमन्त्री सरिफसहित विदेशमन्त्री इशाक डार र गृहमन्त्री मोहसिन नकवी पनि सहभागी थिए ।


    पाकिस्तानले सार्वजनिक गरेको फुटेजमा सरिफले भान्सलाई स्वागत गर्नुभएको र दुई देशका शीर्ष नेतृत्व पृष्ठभूमिमा पाकिस्तानी र अमेरिकी झण्डासहितका तस्वीर सार्वजनिक गरिएको छ। यसअघि सरिफले इरानी प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेको तेहरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका र इरानी प्रतिनिधिमण्डलहरूबीच वार्ताको ढाँचा स्पष्ट हुन सकेको छैन। विगतमा, तेहरान र वाशिङ्गटनले वार्ताको क्रममा सन्देशहरू आदानप्रदान गर्न मध्यस्थकर्ताहरूको प्रयोग गरेर अप्रत्यक्ष वार्ता विधि अपनाएका थिए ।

  • पाकिस्तानमा इरान–अमेरिका वार्ता सुरु

    पाकिस्तानमा इरान–अमेरिका वार्ता सुरु

    तेहरान, २८ चैत (रासस–एएफपी) । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु भएको इरानी सञ्चारमाध्यमले शनिबार बताएका छन् ।
    फार्स र तस्निम समाचार संस्थाले इरानी स्रोतलाई उल्लेख गरी भनेका छन्, “वार्ताको प्रक्रिया र एजेण्डाका लागि गरिएको प्रारम्भिक वार्ताको क्रममा भएको प्रगति र लेबनानको दक्षिणी बेरुतमा यहुदी शासन (इजरायली सेना)को आक्रमणलाई कम गरिएपछि वार्ता सुरु गर्ने निर्णय गरिएको छ ।” पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको कार्यालयले शान्ति वार्ता सुरु भएको बताएको छ भने मेहर र इस्नाले पनि वार्ता सुरु भएको पुष्टि गरेका छन् ।

  • इजरायलको हितलाई प्राथमिकता दिन नसकिने : इरान

    इजरायलको हितलाई प्राथमिकता दिन नसकिने : इरान

    तेहरान, २८ चैत (रासस–एएफपी) । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन लागेको वार्तामा इजरायलको हितलाई अमेरिकाले प्राथमिकता दिए कुनै सम्झौता नहुने चेतावनी दिएका छन् । “यदि हामीले ‘इजरायल प्रथम’ को पक्षमा प्रतिनिधिहरूले आवाज उठाएमा इस्लामावादमा कुनै सम्झौता हुनेछैन। हामी अनिवार्य रूपमा हाम्रो प्रतिरक्षालाई पहिलेको भन्दा अझ जोडतोडका साथ जारी राख्नेछौँ र विश्वले ठूलो मूल्य चुकाउनु पर्नेछ,“ उनले भने । उनले थपे, “अमेरिका र इरान दुवै पक्ष र विश्वलाई न्याय र फाइदा हुने सम्झौता सम्भव छ।”

    संसदका सभामुख मोहम्मद बाकर कलिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डल र अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल मध्यपूर्वमा जारी शत्रुता अन्त्यका लागि वार्ताका लागि पाकिस्तानको इस्लामाबाद आइपुगेपछि उक्त टिप्पणी आएको हो। फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमण गरे, जसमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमान्डर र नागरिकहरू मारिए। इरानले मध्यपूर्वमा इजरायल र अमेरिकी चासोलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमणको श्रृङ्खला सुरु गरेको छ र स्ट्रेट अफ हर्मुजमाथि नियन्त्रण बलियो बनाएको छ ।

    इरान र संयुक्तराज्य अमेरिकाबीच दुई साताको युद्धविराम बुधबारदेखि लागू भएको छ । इजरायलले युद्धविरामले लेबनानमा जारी द्वन्द्वलाई नसमेट्ने बताउँदै आएको छ । इजरायलले बुधबार लेबनानमा एकै दिनमा अहिलेसम्म भएको सबैभन्दा ठूलामध्ये एक आक्रमण गरेको छ, जसमा ३०० भन्दा बढीको मृत्यु भएको छ भने एक हजार १०० भन्दा बढी घाइते भएका छन् । शुक्रबार कलिबाफले लेबनानमा युद्धविराम गर्न र अमेरिकासँग वार्ता सुरु हुनुअघि इरानले रोकेको सम्पत्ति मुक्त गर्न माग गरेका थिए ।
    यसअघि शनिबार इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निमले वासिङ्टन इरानको रोकिएको सम्पत्ति फिर्ता गर्न सहमत भएको र पाकिस्तानमा रहेको इरानी प्रतिनिधिमण्डलले यस विषयमा सुनिश्चित गर्न खोजेको जनाएको थियो । यद्यपि कैयौँ सञ्चारमाध्यमले नाम नखुलाइएका अमेरिकी वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचारको खण्डन गरेका छन् ।

  • नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

    नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

    त्रिशूली (नुवाकोट), २८ चैत । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुए । सो घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल रहेका छन् । उनीहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।