Category: फिचर

  • बेनीमा ‘वडा पर्यटन परियोजना’ कार्यान्वयनमा

    बेनीमा ‘वडा पर्यटन परियोजना’ कार्यान्वयनमा

    म्याग्दी, २७ चैत । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वटै समेटेर परियोजना सञ्चालन गरेको हो । नगरप्रमुख सुरत केसीले सबै वडामा परियोजना सञ्चालन गर्नका लागि योजना छनोट गरी नगरपालिका, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने नीति लिएको बताए ।

    “म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार मुस्ताङस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धारका रूपमा परिचित छ”, उनले भने, “मुस्ताङ जाने र आउने पर्यटक तथा तीर्थयात्रीलाई बेनीबजार र आसपासका क्षेत्रमा भुलाउने, बसाइ लम्ब्याउने उद्देश्यले पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएका हौँ ।”

    बेनी–जोमसोम सडक भएर गत आर्थिक वर्षमा आठ लाख जना पर्यटक मुस्ताङ भ्रमणमा गएका थिए । सङ्घीय पर्यटन मन्त्रालयसँग वडा नं ५ को पछैमा उद्यान निर्माण गरेर हिन्दू धर्मग्रन्थ रामायणका पात्र रावणको २१ फिट अग्लो, १० वटा टाउको भएको, ढलोट धातुले बनेको र पित्तलको जलप लगाएको मूर्ति स्थापना गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा गलेश्वर बजार सौन्दर्यकरण परियोजनालाई निरन्तरता, लभ्लीहिल पर्यटन पूर्वाधार र बेनीमा शान्ति पार्क निर्माण योजना अघि बढाएको छ ।

    नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनामार्फत गलेश्वर शिवालय क्षेत्र विकास कोषसँग साझेदारी गरेर रु ४८ लाख ७४ हजारको लागतमा दुई ९५ मिटर दूरी सडकमा एक हजार ७१८ दशमलव पाँच घनमिटर स्लेट ढुङ्गा बिछ्याउने र ३० मिटर लामो नाली निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

    रु २५–२५ लाख बजेट विनियोजन भएको लभ्लीहिल पर्यटन प्रवर्द्धन र शान्ति पार्क निर्माण योजना कार्यान्वयनको चरणमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा रु एक करोड चार लाख बजेट विनियोजन भएको उपप्रमुख ज्योति लामिछानेले बताइन् । बेनीबजारको दायाँतर्फ रहेको कालीगण्डकी नदी किनारमा निर्माण भएको चक्रपथको वडा नं ८ को भूगोलभित्र सडकको डिलमा रेलिङ राखेर फुटपाथ बनाउने र सडक बत्ती जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । वडा नं ८ मा रहेको एक सय वर्ष पुरानो गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ ।

    कुन वडामा कस्तो परियोजना ?

    बेनी नगरपालिकाले पर्यटनसँग सम्बन्धित १० वटै वडाका योजनालाई छनोट गरी प्राथमिकीकरण गरेको छ । वडा नं १ रत्नेचौरको लामो झोलुङ्गे पुल, श्रीलक्ष्मीहरि मन्दिर र तोरीबारी हुँदै ज्यामरुककोट, बेलढुङ्गा जोड्ने पदमार्गलाई प्राथमिकतामा राखिएको छ । वडा नं २ मा रहेको लक्ष्मीहिलमा सार्वजनिक निजी साझेदारीअन्तर्गत ‘लिफ्ट ब्रिज’ बनाउन सम्भाव्यता अध्ययनका लागि निजी क्षेत्रसँग छलफल थालिएको नगरप्रमुख केसीले बताउनुभयो । यस वडामा रहेको ज्यामरुककोटको पुनर्निर्माण, पदमार्ग र गौश्वारामा समुदायको अगुवाइमा ३८ फिट अग्लो गोवर्द्धनको मूर्ति स्थापना भएको छ । गौश्वारा पर्यटन पूर्वाधारका लागि नगरपालिकाले यस वर्ष रु १५ लाख बजेट विनियोजन गरेको छ ।

    वडा नं ३ मा रहेको भकिम्लीको बेलढुङ्गालाई दृश्यावलोकनस्थलका रूपमा विकास, धार्मिकस्थल स्वर्गाश्रममा पर्यटन पूर्वाधार तयार तथा बाघखोरमा उद्यान निर्माण भएको छ । प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा–तातोपानी कुण्ड अवस्थित वडा नं ४ मा कुण्डको संरक्षणका साथै जलाशय बनाउने योजना निर्माणका लागि सङ्घीय ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयमा प्रस्ताव गरिएको छ ।

    वडा नं ५ मा रहेको पछै, जगन्नाथ, ढोलथान र केभहिल, वडा नं ६ मा रामशीला स्मारकस्थल र गुफा राममन्दिरलाई छनोट गरिएको छ । महारानीथान, लक्ष्मीनारायण, शिवालय, भगवती, मन्दिर रहेको बेनी नगरपालिका–७ र ८ को भूगोलमा पर्ने बराहपाखोमा ‘राउण्ड बेनी, भ्यू बेनी’ योजनाअनुसार पदमार्ग निर्माण योजनालाई निरन्तता दिएको छ ।

    वडा नं ८ मा रहेको जलेश्वर गुफा पुनर्निर्माण गरी शालग्राम सङ्ग्राहलय स्थापना र कोट भण्डार क्षेत्रमा टक्सार पुरातात्विक सांस्कृतिक सङ्ग्रहालय स्थापनाका गर्ने योजना रहेको छ । कालीगण्डकी शुद्धताका लागि बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शवदाहस्थल निर्माण भएको थियो ।

    वडा नं ९ को गलेश्वरधामदेखि पुलाश्रम, घतानकोत, ढोल्ठान दरबार र जगन्नाथलाई समेटेर एकीकृत पर्यटन योजना कार्यान्वयनमा छ । वडा नं १० पात्लेखेतको सिद्धाश्रम, घारसुन्ना, राधाकृति मन्दिर, वाखेत घरबास सञ्चालन र टोड्केको पर्यटन विकासका योजनालाई प्राथमिकता दिइएको छ ।

    ‘समृद्ध पर्यटकीय बेनी नगर’ भन्ने अवधारणाअनुसार बेनीलाई पर्यटकीय, धार्मिक र आध्यात्मिक पर्यटनको केन्द्र बनाउने प्रयास गरिएको नगरप्रमुख केसीले बताए । उनका अनुसार बेनीस्थित कालीगण्डकी र म्याग्दी नदीमा ‘सिल्टेसन ड्याम’ निर्माण गरी ‘स्टिमर’ सञ्चालनको सम्भाव्यता अध्ययनको चरणमा रहेको छ ।

  • वनमा आगो लगाएको कसुरमा नुवाकोट अदालतमा मुद्दा दायर

    वनमा आगो लगाएको कसुरमा नुवाकोट अदालतमा मुद्दा दायर

    त्रिशूली (नुवाकोट), २७ चैतः सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एक जनालाई अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४ अर्चलेका नारायण तामाङलाई मुद्दा दायर गरिएको डिभिजन वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिए ।

    उनका अनुसार सोही स्थानको चण्डेश्वरी सामुदायिक वनमा तामाङले आगो लगाइरहेको भिडियोसहित प्राप्त प्रमाणका आधारमा पक्राउपश्चात गरिएको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो । तामाङलाई वन ऐन, २०७६ को दफा ४९ ९घ० अनुसारको कसुर गरेको दाबी गर्दै सोही ऐनको दफा ५० को उपदफा (४) बमोजिम तीन वर्षसम्म कैद र रु ६० हजार जरिवाना हुनुपर्ने नुवाकोट जिल्ला अदालतमा दायर गरेको मुद्दामा मागदाबी गरिएको छ ।

    अहिलेको सुक्खायामको समयमा वन क्षेत्रमा डढेलोको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन अपिल गर्दै कोही कसैले पनि वन क्षेत्रमा आगो लगाउने कार्य नगर्न तथा नगराउन वन कार्यालयले अनुरोध गरेको छ ।

  • हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

    हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

    राँझा (बाँके), २७ चैतः नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने भएको छ । चार लेनको सडकमा यसअघिको पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पुल पनि विस्तार गर्न थालिएको होे । चार लेन सडकअनुसारका पुल निर्माण भएपछि सवारी आवागमनमा थप सहजता हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा र जानकी गाउँपालिकाको सीमास्थित किरण नाला र बर्दियाको बढैयाताल गाउँपालिकास्थित चपला नालामा चार लेनको पुल निर्माण सुरु भएको छ ।

    किरण नालामा करिब रु चार करोड ५० लाखको लागतमा पुल निर्माण कार्य सुरु भएको हो । हाल धमाधम जग निर्माणको काम भइरहेको छ । केही वर्षअघि मात्र निर्माण भएको दुई लेन सवारी सञ्चालन हुने पुल साँघुरो भएपछि सोही स्थानमा दुई लेनको अर्को पुल निर्माण सुरु गरिएको छ । पुरानो दुई लेनको पुल यथावत् राखेर नयाँ थप दुई लेनको पुल बनाउन लागिएको छ ।

    आगामी असारभित्रै पुल निर्माण सक्नेगरी काम भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका योजना प्रमुख भण्डारीले जानकारी दिए । यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिकामा पर्ने चपला नालामा रहेको पुल पनि चार लेनको बनाइने भएको छ । नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा चारलेन पुल निर्माण समयावधि अगावै सम्पन्न भएको छ ।

  • ‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

    ‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

    रासस
    भोजपुर, २६ चैतः वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ । यस पदमार्गका जङ्गल यतिबेला गुराँसका विभिन्न प्रजातिले ढाकिएका छन् । रातो, गुलाबी र सेतो गुराँसले बनाएका रङ्गीन दृश्यले पदयात्रामा निस्किएका पर्यटकलाई आनन्द दिइरहेको छ ।

    हरिया बनजङ्गलमाथि गुराँसको राताम्य रङ मिसिँदा देखिने दृश्यले जो कोहीलाई मोहित बनाउने गरेको छ । मुन्दुम पदमार्ग प्राकृतिक सौन्दर्य मात्र नभई सांस्कृतिक र धार्मिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । किराँत समुदायको मौलिक संस्कार, परम्परा र ‘मुन्दुम’ ९धार्मिक ग्रन्थ०सँग जोडिएको यो क्षेत्रले किराँत सभ्यताको जीवनशैली झल्काउँछ ।

    पदमार्ग हुँदै यात्रा गर्दा स्थानीय समुदायको संस्कार, भाषा, वेशभूषा र परम्परागत जीवनशैली नजिकबाट अनुभव गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए । यिनै विशेषताका कारण पछिल्लो समय मुन्दुम पदमार्ग भ्रमण गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको उनले बताए । वसन्त ऋतु पदयात्राका लागि सबैभन्दा उपयुक्त समय भएकाले यतिबेला आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । पर्यटकलाई लक्षित गरेर चखेवामा चैत ३० देखि २०८३ वैशाख २ गतेसम्म रैथाने खाना महोत्सवसमेत आयोजना गरिएको उनको भनाइ छ ।

    “गुराँस, चापलगायत फूलसँगै मुन्दुम पदमार्गको सुन्दरता झन् बढेको छ,” अध्यक्ष बस्नेतले भने, “पर्यटकलाई लक्षित गरेर हामीले रैथाने खाना महोत्सव पनि आयोजना गरेका छौँ ।” गुराँस फुल्ने मौसममा प्रकृतिप्रेमी, फोटोग्राफर तथा साहसिक यात्राका पारखीहरू मुन्दुम पदमार्गतर्फ आकर्षित हुने गरेका छन् । यस पदमार्गअन्तर्गत पर्ने टेम्केडाँडा, साल्पा पोखरी, सिलिचुङ, मैयुङडाँडाजस्ता पर्यटकीय स्थलहरू यतिबेला झन् आकर्षक बनेका छन् । टेम्केडाँडा तथा मैयुङडाँडाबाट देखिने हिमाली दृश्य, साल्पा पोखरीको धार्मिक महत्व र सिलिचुङको शान्त वातावरणले पर्यटकलाई विशेष अनुभव प्रदान गर्ने गरेको छ ।

    स्थानीय होटल तथा ‘होमस्टे’ व्यवसायी विवेक कुलुङका अनुसार गुराँस फुल्ने याम सुरु भएसँगै पर्यटक आगमन बढ्न थालेको छ । पर्यटकको मागअनुसार बसोबास, खाना र मार्गदर्शन सेवा विस्तार गरिँदै आएको छ । मुन्दुम पदमार्गमा पछिल्लो समय पूर्वाधार विकासमा पनि सुधार हुँदै गएको छ । पदमार्ग चिन्हाङ्कन, विश्रामस्थल निर्माण, सूचना बोर्ड स्थापनालगायत कामले पर्यटकलाई सहजता प्रदान गरेको छ । स्थानीय तह, सङ्घीय सरकार, प्रदेश सरकार तथा पदमार्गमा आधारित पर्यटन परियोजना मिलेर संयुक्त रूपमा यस क्षेत्रको प्रवद्र्धनमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।


    प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको अद्वितीय सङ्गमका रूपमा मुन्दुम पदमार्ग क्षेत्र यतिबेला गुराँसले ढकमक्क ढाकिँदै झन् रमणीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । वसन्त ऋतुमा यहाँ पुग्ने जो कोही पर्यटकका लागि यो यात्रा अविस्मरणीय अनुभव बन्ने स्थानीयको भनाइ छ ।

  • राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

    राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

    काठमाडौँ, २७ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३ः०० बजे सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका छन् । त्यसका लागि दुबै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।

  • पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

    पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

    गण्डकी, २७ चैत । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले छिटफुटबाहेकका काम निर्धारित समयमै सकिने बताए ।

    कुल ३८.७१ किलोटोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ । कुल ३६.३२ किमीको सर्विस लेनमा हालसम्म १७.६६ किमी कालोपत्र भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए । एक सय पाँचवटा कल्भर्ट निर्माण भइसकेको र नाली निर्माणको काम पनि अन्तिम चरणमा रहेको उहाँको भनाइ छ । यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन् ।

    सेती पुल भने निर्माणको चरणमा छ । ‘रोड मार्किङ’ गर्ने, ‘रोड सेफ्टी ब्यारीअर’ राख्नेलगायतका काम पनि इन्जिनियर कुँवरले बताए । चार लेन सडकतर्फ विजयपुर पुलको आडमा चार सय मिटर र पोखरा विश्वविद्यालय अगाडि एक सय मिटरमात्र कालोपत्र गर्न बाँकी रहेको उनको भनाइ छ । “अहिले सर्विस लेन निर्माणको काम धमाधम भइरहेको छ । ३८.७१ किमीको पश्चिम खण्डमा २०.५५ किमी चार लेन र १८.६ किमी छ लेनको सडक बन्छ”, इन्जिनियर कुँवरले भने ।


    अहिले तालचोकदेखि डाँडाकोनाक र खैरेनीटारदेखि दुलेगौँडासम्म ‘रोड सेफ्टी ब्यारीअर’ निर्माणको काम भइरहेको जनाइएको छ । जामुनेदेखि दुलेगौँडासम्म ‘रोड मार्किङ’को काम भइरहेको आयोजना कार्यालयले जनाएको छ । यस वर्षमात्र ३३.७८ किमीको चार लेन सडकमा अस्फाल्ट प्रविधिबाट दोस्रो तहको कालोपत्र भएको हो । १५.६ किमी सर्विस लेनसहित विजयपुर खोला पुल र दुईवटा कल्भर्ट निर्माण गरिएको छ । १२.१ किमीको चार लेन सडकमा यही वर्ष पहिलो तहको कालोपत्र गरिएको हो ।

    अघिल्ला वर्षको तुलनामा यस वर्ष सडक निर्माणको कामले गति लिएको इन्जिनियर कुँवरले बताए । यसअघि सडक निर्माणकार्य सुस्त हुँदा ठेक्काको म्याद पनि थपिँदै आएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले यस खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो ।

    सडक ठेक्काअन्तर्गतका १२ वटा पुल बने पनि पुल ठेक्काअन्तर्गत पोखराको सेती पुल निर्माणाधीन अवस्थामा छ । उक्त पुलको भौतिक प्रगति ५८.३७ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुल रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको हो । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जग र टावर निर्माणको काम पूरा भइसकेको इन्जिनियर कुँवरले बताए । अहिले सुपर–स्ट्रक्चरको काम भइरहेको उनको भनाइ छ ।

    गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएपछि पुल निर्माणका लागि आगामी वैशाखसम्म म्याद थप भएको छ । निर्माण कम्पनीले पुलका लागि चाहिने केबललगायत सामग्री समयमा ल्याउन नसक्दा पनि काममा ढिलाइ भएको इन्जिनियर कुँवरले बताए । अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्ने उनको भनाइ छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत रु ९४ करोडको ठेक्कामा उक्त पुल निर्माण भइरहेको हो ।

  • पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि

    पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि

    काठमाडौँ, २७ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर रु २५–२५ का दरले मूल्यवृद्धि गरेको हो ।

    यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक सयका दरले वृद्धि गरिएको छ । निगमका अनुसार हवाई इन्धन ९आन्तरिक०तर्फ प्रतिलिटर रु छ का दरले वृद्धि गरिएको छ । नयाँ मूल्यसूचीअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु दुई सय १९ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर रु दुई सय सात पुगेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० पुगेको छ । त्यस्तै हवाई इन्धन ९आन्तरिक०तर्फ प्रतिलिटर रु दुई सय ५७ कायम गरिएको छ ।

    सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि मूल्य बढाउनुपरेको दाबी गरेको छ । आजको मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड घाटा हुने निगमको दाबी छ ।

  • पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ, २६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र अवैध सुन राखी सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगले महरासँगै विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतहरु रमेशकुमार खतिवडा र सुवेन्द्र श्रेष्ठ, नायब सुब्बाहरु सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोईराला, रेवन्त खड्का र मधुसुदन पोख्रेलविरुद्ध मुद्दा दायर गरेको हो ।

    सोही प्रकणमा ‘राहुल’ भन्ने रेशम महरा, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक ली हाङ सोङ र दाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ र भारतीय नागरिक साहेव रावविरुद्ध मुद्दा दायर भएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । आयोगले उनीहरुविरुद्ध जनही सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १० पैसा बिगो मागदाबी गरेको छ ।

  • प्रधानमन्त्रीलाई नै श्रममन्त्रीको कार्यभार

    प्रधानमन्त्रीलाई नै श्रममन्त्रीको कार्यभार

    काठमाडौँ, २६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहलाई नै तोकी मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा उक्त हेरफेर गरिएको हो । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए । योसँगै मन्त्रिपरिषद्मा अब १४ सदस्य कायम रहेका छन् ।

  • सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

    सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

    काठमाडौँ, २६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो ।

  • सभामुखले लिए बुढीगण्डकी आयोजनाबारे चासो

    सभामुखले लिए बुढीगण्डकी आयोजनाबारे चासो

    काठमाडौँ, २६ चैतः सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो देखाएका छन् । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सो आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग आफ्नै कार्यकक्षमा छलफल गर्दै उनले आयोजनाको निर्माणकार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताए ।


    सभामुख अर्यालले भने, “यो राष्ट्रिय गौरवको परियोजना हो । यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवद्र्धनसँग पनि प्रत्यक्ष जोडिएको समग्र राष्ट्रिय महत्वको विषय हो । त्यसैले जति ढिलाइ हुनु थियो, भयो, अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन ।” सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आयोजना प्रमुखको ध्यानाकर्षण गराए ।

    “स्पष्ट कार्यतालिका बनाउने, कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गरेर अघि बढ्नुस्,” उनले भने । छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजना निर्माणलाई तीव्रता दिन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । “सरकारी समस्या कहाँ छ भन्ने स्पष्ट पार्नुहोस्, हामी आवश्यक समन्वय गर्नेछौँ,” आयोजना प्रमुखसँग उनले भने । त्यस्तै मन्त्रालयका सहसचिव रुद्रसिङ तमाङले आयोजना अघि बढाउन मन्त्रालयबाट सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

    सांसद बोधनारायण श्रेष्ठले ठूला आयोजना निर्माणलाई विशेष प्राथमिकता दिनुले देशको समृद्धिका विषयमा सरकार कति गम्भीर छ भन्ने स्पष्ट भएको धारणा राखे । बुढीगण्डकी जलविद्युत् आयोजना एक हजार २०० मेगावाट क्षमताको जलायशयुक्त आयोजना हो । राष्ट्रिय गौरवको यो आयोजना गोरखा र धादिङको सिमानामा पर्छ ।

  • दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

    दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

    काठमाडौं, २६ चैतः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले सरकारको दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने जनाएको छ । नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापाले आज विज्ञप्ति जारी गर्दै थप बिदाका कारण निर्धारित पाठ्यक्रम तोकिएको समयमा सम्पन्न गर्न चुनौती उत्पन्न गरेको उल्लेख गरेका छन् ।

    नेपाल सरकार, मन्त्रिपरिषद्ले यही चैत २२ गते गरेको निर्णयअनुसार पेट्रोलियम पदार्थको खपत घटाउन र वैदेशिक मुद्रा सञ्चिति जोगाउन हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा शैक्षिकसत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरिएको थियो ।

    दैनिक ज्यालादारीमा आश्रित अभिभावकका लागि दुई दिने बिदा व्यवस्थापन गर्न कठिन हुने र यसले सामाजिक तथा आर्थिक असर पार्ने सो संस्थाको दाबी छ । यी चुनौतीबीच सरकारको निर्णय कार्यान्वयन गर्दै आफ्ना विद्यालयलाई आग्रह गर्दै नेशनल प्याब्सनले नयाँ भर्ना वैशाख २ गतेदेखि र पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ । एक शैक्षिकसत्रमा कम्तीमा २२० दिन पठनपाठन कायम हुनुपर्ने शिक्षा नियमावलीमा व्यवस्था छ ।

  • पूर्वकेन्द्रित बदलीः चार जिल्लामा भारी वर्षा

    पूर्वकेन्द्रित बदलीः चार जिल्लामा भारी वर्षा

    काठमाडौँ, २६ चैतः पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली बुधबार साँझ पूर्व पुगेको अहिले उक्त प्रणाली बाहिरिनेक्रममा रहेको छ । तर पूर्वका विभिन्न ठाउँमा अहिले पनि वर्षा भइरहेको छ ।

    उक्त प्रणाली आज रातिदेखि बाहिरिने र प्रिमनसुनका गतिविधि भने कायम रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा उक्त प्रणालीका कारण विभिन्न चार जिल्लामा भारी वर्षा गराएको तर वर्षा भने सातै प्रदेशमा भएको छ । सबैभन्दा बढी वर्षा सिन्धुलीमा भएको छ । अहिले साँझ ५ बजेको अभिलेख अनुसार २४ घण्टामा इलाममा ५३।२, झापामा ५४।८, सुनसरीमा झण्डै ४९ र सिन्धुलीमा ५९।४ मिलिमिटर वर्षा भएको छ ।

    अहिले पनि पश्चिम क्षेत्रको रुकुममा र कास्कीमा हल्का वर्षा भइरहेको छ भने बागमतीका केही क्षेत्र तथा कोशी प्रदेशमा बढी वर्षा भइरहेको छ । पश्चिमबाट मध्यसम्म मौसम खुलिसकेको र रातिबाटै विस्तारै मौसम थप खुल्दै जाने तथा केही उच्च पहाडी र हिमाली भेगमा बदली रहने छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराईका भू–भागमा मौसम मूख्यतया सफा रहने बताए ।

    उनका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भाग तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

  • एमआरपी र लेबल अनिवार्य गर्न निर्देशन

    एमआरपी र लेबल अनिवार्य गर्न निर्देशन

    काठमाडौँ, २६ चैत । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) र स्पष्ट लेबल अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ ।
    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गर्दै सबै सरोकारवालालाई उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो । सूचनाअनुसार विदेशबाट आयात हुने वस्तुमा आयातकर्ताको विवरणसहित एमआरपी उल्लेख भएको लेबल अनिवार्य रूपमा राख्नुपर्नेछ । स्वदेशी उद्योगले उत्पादन गर्ने वस्तुमा मूल्य, ब्याच नम्बर, तौल तथा अन्य आवश्यक विवरण स्पष्ट देखिने गरी लेबलिङ गर्नुपर्नेछ ।

    विभागले स्पष्ट लेबल नभएका वा एमआरपी उल्लेख नभएका वस्तु बिक्री नगर्न बिक्रेताहरूलाई निर्देशन दिएको छ । लेबलमा उल्लेखित मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको छ । कुनै पनि वस्तु खरिद गर्दा अनिवार्य रूपमा एमआरपी, उत्पादन विवरण र प्रयोगसम्बन्धी जानकारी हेरेर मात्र खरिद गर्न विभागले आम उपभोक्तामा आग्रह गरेको छ ।

  • नागढुङ्गा सुरुङमार्गः सवारी साधनको शुल्क सार्वजनिक

    नागढुङ्गा सुरुङमार्गः सवारी साधनको शुल्क सार्वजनिक

    काठमाडौँ, २६ चैतः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।

    मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा आज राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो । जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० तोकिएको छ ।

    यस्तै मिनी बस, मिनी टिपर÷ट्रकको प्रवेशका लागि रु ११५ र बाहिरिँदा रु ८० तथा बस, ट्रक ९सिङ्गल रियर एक्सल० प्रति सवारीसाधन प्रवेश गर्दा रु २६० र बाहिरिँदा रु २०० शुल्क तोकिएको छ । मल्टी एक्सल ट्रक÷सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० तोकिएको छ ।

  • यस आधारमा रिहा भए अध्यक्ष ओली र नेता लेखक

    यस आधारमा रिहा भए अध्यक्ष ओली र नेता लेखक

    काठमाडौं, २६ चैतः प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।
    काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको राससलाई बताए । गत भदौमा भएको जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा नेपाल प्रहरीले अध्यक्ष ओलीलाई उनको निवास भक्तपुरको गुण्डु र लेखकलाई कटुञ्जेबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो ।

    अध्यक्ष ओलीलाई उपचार लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा राखिएको थियो । यसबीचमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप भई उहाँहरुलाई हिरासतमा राखिएकामा सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा पछिल्लो थपिएको म्याद अनुसन्धान पूरा गरी मुद्धा दर्ता गर्न वा रिहा गर्न आदेश भएको थियो । अध्यक्ष ओली र नेता लेखकका श्रीमतीहरु क्रमशः राधिका शाक्य र यशोदा लेखकले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

  • हिरासतमुक्त एमाले अध्यक्ष ओली केही दिन अस्पताल मै रहने

    हिरासतमुक्त एमाले अध्यक्ष ओली केही दिन अस्पताल मै रहने

    काठमाडौं, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन् । जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका उनी आज रिहा भएका थिए । उनी पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत थिए ।

    अध्यक्ष ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्णरूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उल्लेख गरेका छन् ।

    सर्वोच्च अदालतको परमादेश बमोजिम रिहा भएपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैमा धन्यवाद दिएका छन् । आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा प्रहरीले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो ।

  • उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई, २५ वर्षिय रुबीले उच्दैछिन इतिहास

    उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई, २५ वर्षिय रुबीले उच्दैछिन इतिहास

    काठमाडौँ, २६ चैत । प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ । उनको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहेका छन् । प्रतिनिधिसभाको उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको छ।

    लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही तथा समर्थकमा ताहिर अलि भाट, खुस्बु ओली र भरत गिरी रहेका छन् । ठाकुरको प्रस्तावकमा आरेन राई तथा समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी सङ्ग्रौला रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि २ः०० बजेसम्म सभा कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२) बमोजिमको प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको थियो ।

    दर्ता भएका उम्मेदवारीको सूचनालाई दर्ता क्रमअनुसार सूची प्रकाशन गर्न २ः३० बजेको समय तोकिएको छ । उम्मेदवारका प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरी उम्मेदवारीको सूचनामाथि यही चैत २७ गते दिउँसो ४ बजे हुने सभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गरिनेछ । संविधानतः सभाको सभामुख र उपसभामुखमा फरक राजनीति दल र फरक लिङ्गबाट प्रतिनिधित्व हुने व्यवस्था रहेको छ । गत फागुन २१ गतेको निर्वाचनपछि भएको प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत यही चैत २२ गतेको बैठकबाट सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका थिए ।

  • १३ दिनमै पदमुक्त भए श्रममन्त्री साह, के थियो कारण ?

    १३ दिनमै पदमुक्त भए श्रममन्त्री साह, के थियो कारण ?

    काठमाडौँ, २६ चैत । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार आज साहलाई पदबाट हटाउने निर्णय गर्नुभएको हो । लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएकी स्वास्थ्य बिमा बोर्डको सदस्य रहेकी मन्त्री साहकी श्रीमतिलाई साह मन्त्री भएपछि पदीय मर्यादाको दुरुपयोग गरी पुनः नियमित काममा सक्रिय गराएको भन्दै रास्वपाले बिहीबार नै कारबाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो ।

    बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने पार्टीसमक्ष पेस गरेको थियो । रास्वपाले साहको यो गतिविधिबाट पार्टीको छवि, आर्दश, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको निष्कर्षसमेत निकालेको थियो । यसैका आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिए ।

    रास्वपाले पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन (राईट टु रिकल) सक्ने व्यवस्था भएकाले मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो ।

    साथै पार्टीले यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएकाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेको थियो । त्यसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराइ सकेको जनाइएको छ ।

  • बसको ठक्करबाट युवतीको मृत्यु

    बसको ठक्करबाट युवतीको मृत्यु

    चितवन, २६ चैतः माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छिन् । भरतपुरबाट माडी–ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०२०४ नम्बरको बसले पैदलयात्री परियारलाई घर नजिकै ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार ठक्करबाट परियारको घटनास्थलमै ज्यान गएको हो । परियारलाई ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

    सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

    गोलबजार (सिरहा), २६ चैत । यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । नगरप्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ । कुटपिटबाट उनको शरीरका विभिन्न भागमा चोट लागेको र हड्डीसमेत भाँचिएको जनाइएको छ ।

    हाल उनलाई विराटनगरमा उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ । सोही घटनामा प्रमुख यादवमाथि अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । पक्राउ पुर्जी जारी भएसँगै यादवको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्न रहेका अर्का आरोपित नगरपालिकाका कर्मचारी रोहित मेस्तर भने पक्राउ परिसकेका छन् ।

  • कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते

    कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते

    कञ्चनपुर, २६ चैत । यहाँको कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । आज साँझ करिब ०६ः०५ बजे कृष्णपुर नगरपालिका–१ कुमगडाको भित्री कच्ची सडकमा से१ज २९० नम्बरको जिप अनियन्त्रित भइ अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र सोही स्थानकी ६२ वर्षीया कलावती देवी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिपमा चालकसहित आठ जना सवार थिए । दुर्घटनामा चालक २४ वर्षीय अर्जुन साउद गम्भीर घाइते भएका छन् । साउदको टाउको तथा शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । त्यसैगरी ३५ वर्षीया धनसरी बोहरा, १३ वर्षीया सरिता बोहरा, १५ वर्षीया भावना पार्की, १४ वर्षीया रेश्मा घटाल र भिमदत्त नगरपालिका तिल्केनीकी ५० वर्षीया गंगा बिष्ट घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ । घाइतेहरूलाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि धनगढी, कैलाली पठाइएको प्रहरीले जनाएको छ ।

  • वाङ यीको उत्तर कोरिया भ्रमणः चीन–प्योङयाङ सम्बन्ध सुदृढ गर्ने कदम

    वाङ यीको उत्तर कोरिया भ्रमणः चीन–प्योङयाङ सम्बन्ध सुदृढ गर्ने कदम

    बेइजिङ, २६ चैत (रासस–एएफपी) । चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ यीले यस बिहीबार उत्तर कोरियाको भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले जनाएको छ । उनको भ्रमण छिमेकी देशहरूबीच रणनीतिक सम्बन्ध सुदृढ गर्ने र द्विपक्षीय सहयोगलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आयोजना गरिएको हो ।


    चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र राजनीतिक, कूटनीतिक तथा आर्थिक सहयोगको प्रमुख स्रोत हो । कोभिड–१९ महामारीपछि छ वर्षको अन्तरालपछि पहिलो पटक गत हप्ता बेइजिङ र प्योङयाङबीच प्रत्यक्ष उडान पुनः सुरु भएको छ । मार्चमा राजधानीबीच रेल सेवा पनि पुनः सञ्चालनमा आएको थियो, जसले उत्तर कोरियाले बिस्तारै खुलापन देखाएको सङ्केत दिएको छ ।

    “शुक्रबारसम्म चल्ने वाङको भ्रमण चीन–उत्तर कोरिया सम्बन्धलाई कायम राख्ने र नयाँ सहयोगका अवसरहरू पहिल्याउने ‘महत्त्वपूर्ण’ कदम हो”, बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार पत्रकार सम्मेलनमा भने । उनले भने, “चीन उत्तर कोरियासँग रणनीतिक संवाद बलियो बनाउन, अनुभव आदानप्रदान र सहयोग वृद्धि गर्न तथा परम्परागत मित्रवत सम्बन्धलाई निरन्तर अघि बढाउन प्रतिबद्ध छ ।” उनले उत्तर कोरियालाई ‘पहाड र नदीले जोडिएको परम्परागत मित्रवत छिमेकी’ का रूपमा वर्णन गरे ।


    चिनियाँ राष्ट्रपति सी जिनपिङले फेब्रुअरीमा किम जोङ–उनलाई वर्कर्स पार्टीको नेतृत्वमा पुनः निर्वाचित भएकोमा बधाई दिँदै चीन–उत्तर कोरियाको सम्बन्धमा ‘नयाँ अध्याय’ लेख्ने उत्साह व्यक्त गरेका थिए । उनले भने, “विश्वले शताब्दीमा एक पटक आउने परिवर्तनको सामना गरिरहेको छ र हामी यस मित्रता सुदृढ गर्न इच्छुक छौँ ।”
    महामारीपछि चीनले आफ्ना सीमाहरू पूर्ण रूपमा खोलेको भए पनि उत्तर कोरियाले सुस्त गतिमा खुलापन देखाएको छ । महामारीअगाडि, चिनियाँ पर्यटकहरू उत्तर कोरियामा विदेशी आगन्तुकहरूको ठूलो हिस्सा बनेका थिए । सन् २०१९ मा करिब तीन लाख ५० हजार पर्यटकले प्योङयाङ भ्रमण गरेका थिए ।

    उक्त भ्रमणले देशको राजस्वमा महत्त्वपूर्ण योगदान दिएको थियो एनके न्युजले विश्लेषणमा उल्लेख गरेको छ । वाङ यीको भ्रमणले चीन–उत्तर कोरिया सम्बन्धलाई राजनीतिक, आर्थिक र कूटनीतिक दृष्टिले सुदृढ बनाउने अपेक्षा गरिएको छ, जसले क्षेत्रीय स्थिरता र दुवै देशबीचको भरोसापूर्ण सहकार्यमा नयाँ गति थप्नेछ ।

  • संयुक्त राष्ट्रले शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

    संयुक्त राष्ट्रले शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

    संयुक्त राष्ट्र, २६ चैत (रासस–सिन्ह्वा) । लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण इजरायली आक्रमण र हिजबुल्लाहको विस्फोट भएको संयुक्त राष्ट्रले जनाएको छ । संयुक्त राष्ट्र अस्थायी बल लेबनानले (युनिफिल) आफ्नो अनुसन्धानको निष्कर्ष इन्डोनेसिया, इजरायल र लेबनान सरकारसँग साझा गरेको छ ।

    संयुक्त राष्ट महासचिवका मुख्य प्रवक्ता स्टेफान डुजारिकका अनुसार, घटनाको प्रारम्भिक भौतिक प्रमाणले यस निष्कर्षमा सङ्केत गरेको छ । उनले पूर्ण अनुसन्धान प्रक्रिया अझै जारी रहेको बताए । प्रवक्ताले भन्नुभयो, “यी घटनाहरू पूर्ण रूपमा अस्वीकार्य छन् । सम्बन्धित पक्षहरूले घटनाहरू राष्ट्रिय निकायमार्फत अनुसन्धान गरी अपराधीहरूलाई न्यायको दायरामा ल्याउनुपर्छ । शान्ति सैनिकमाथि हुने कुनै पनि आक्रमणलाई अन्तर्राष्ट्रिय कानून अनुसार युद्ध अपराधको रूपमा हेरिन सक्छ ।”

    उनले सबै पक्षले शान्ति सैनिकहरूको सुरक्षा र युनाइटेड नेसनका भवन तथा कार्यस्थलको अपहरणरहितता कायम राख्नुपर्ने जोड दिए । युनिफिलले अप्रिल २ मा विमानस्थलमा तीन शान्ति सैनिकको जीवन र सेवाको सम्मान गर्दै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो । त्यसपछि उनीहरूको शरीरहरू इन्डोनेसियामा फर्काइएको थियो । ती सैनिकहरूलाई उनीहरूको समर्पित सेवा र योगदानको कदर गर्दै मृत्युपश्चात पदक प्रदान गरिएको छ ।

    संयुक्त राष्ट्र महासचिवले घटनाको कडा निन्दा गर्दै मृतक सैनिकहरूको परिवार र इन्डोनेसिया सरकारप्रति गहिरो समवेदना व्यक्त गरे । उनले युनिफिलमा कार्यरत सबै पुरुष र महिलाको साहस र समर्पित सेवाको पनि प्रशंसा गरे । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पनि घटनाको निन्दा गर्दै पीडितहरूको परिवार र इन्डोनेसिया सरकारप्रति समवेदना व्यक्त गरेको छ । परिषदका सदस्यहरूले युनिफिलको पूर्ण समर्थनको पुनः पुष्टि गरेका छन् ।

  • अन्तरिक्ष यात्राका लागि रुसको नयाँ प्रविधि परीक्षणमा

    अन्तरिक्ष यात्राका लागि रुसको नयाँ प्रविधि परीक्षणमा

    मस्को, २६ चैत (रासस–सिन्ह्वा) । रुसले अन्तरिक्ष यात्राका लागि विकसित गरिएको नयाँ विद्युतीय इन्जिनको नमुना परीक्षण सुरु गरेको छ । राष्ट्रिय अनुसन्धान केन्द्रले जनाएको अनुसार, यो इन्जिन विशेष रूपमा अन्तरिक्षको वातावरण जस्तै अवस्था सिर्जना गरिएको प्रयोगशालामा परीक्षण भइरहेको छ । उक्त केन्द्रका अध्यक्ष मिखाइल कोभाल्चुकले मंगलबार विज्ञान प्रतिष्ठानको बैठकमा यसबारे जानकारी दिएका छन् ।

    उनका अनुसार, “हामीले अन्तरिक्ष यात्राका लागि पूर्ण रूपमा नयाँ इन्जिन विकास गर्ने उद्देश्यले विभिन्न प्रविधिहरूमा काम गरिरहेका छौं । परीक्षणका लागि बनाइएको संरचना निकै ठूलो छ, जसको आयतन करिब एक हजार घन मिटर रहेको छ र त्यहाँ अत्यन्त शक्तिशाली हावा निकाल्ने प्रणाली प्रयोग गरिएको छ । यही संरचनामा उक्त इन्जिनका सबै पक्षहरूको परीक्षण भइरहेको छ ।”

    उनले यसअघि नै उक्त परीक्षण संरचनाको प्रारम्भिक सञ्चालन सफलतापूर्वक गरिएको पनि जानकारी दिए । रुसको प्रमुख वैज्ञानिक संस्थामध्ये एक मानिने उक्त अनुसन्धान केन्द्र परमाणु ऊर्जा र भौतिक विज्ञानका क्षेत्रमा उल्लेखनीय योगदानका लागि परिचित छ ।

  • जापानमा टायर र पाट्र्स मूल्य वृद्धि, उत्पादन प्रभावित

    जापानमा टायर र पाट्र्स मूल्य वृद्धि, उत्पादन प्रभावित

    टोकियो, २६ चैत (रासस–सिन्ह्वा) । मध्यपूर्वमा सुरु भएको द्वन्द्वले एक महिना नबित्दै जापानको गाडी उद्योगमा प्रभाव बढाएको छ । साथै, ढुवानीमा अवरोधले यस क्षेत्रमा उत्पादन गर्ने गाडी कारखानाहरूलाई बन्द गर्न बाध्य बनाएको छ । व्यापार अनुसन्धान कम्पनीका तथ्याङ्क अनुसार, मार्च महिनामा पेट्रोलियम उत्पादनको आयात करिब ३० प्रतिशतले घटेको थियो । रासायनिक उद्योगको लागि महत्त्वपूर्ण कच्चा पदार्थ नेफ्थाको आपूर्ति घट्दा प्लास्टिक कम्पोनेन्ट उत्पादनमा कमी आएको छ । साथै, टायर उत्पादनका लागि आवश्यक बुटाडिन र कृत्रिम रबरको मूल्यमा तीव्र वृद्धि भएको छ ।

    जापानको मिजुहो बैङ्कका वरिष्ठ अनुसन्धानकर्ता र गाडी उद्योग विशेषज्ञ टाङ जिनका अनुसार, मध्यपूर्वको दीर्घकालीन तनावले जापानको गाडी उद्योगमा प्रत्यक्ष र गहिरो प्रभाव पारेको छ । मध्यपूर्व जापानी गाडी उत्पादकहरूको महत्त्वपूर्ण बजार हो । तर ढुवानी अवरोध, डेलिभरी ढिलाइ र अर्डर रद्द हुनुले उत्पादन योजना प्रभावित गरेको छ । यसले केही कम्पनीहरूलाई मध्यपूर्वका ग्राहकका लागि उत्पादन घटाउन तथा बन्द गर्न बाध्य बनाएको छ ।

    जापानी मिडियाका अनुसार, टोयोटाले अप्रिलमा मध्यपूर्वका लागि उत्पादन २४ हजार एकाइले घटाउने योजना बनाएको छ । निस्सानले मार्चमा गरेको उत्पादन कटौती अप्रिलमा पनि जारी रहने जनाएको छ । माज्दा कम्पनीले मध्यपूर्व निर्यातका लागि उत्पादन मे महिनासम्म रोक्ने पुष्टि गरेको छ भने सबारुले हर्मुज सन्धि मार्फत ढुवानी अवरोधका कारण निर्यात बन्द भइसकेको जनाएको छ ।

    ईरान र अमेरिकाबीच दुई हप्ताको झडप विराम र हर्मुज सन्धिबाट सुरक्षित ढुवानीको अपेक्षा भए तापनि, उद्योगका विज्ञहरूले हालैको अवस्था अनिश्चित भएको र यसको प्रभावलाई नियाल्दै प्रतीक्षारत रहेको बताएका छन् ।

  • मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न

    मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न

    लस एन्जेलस, २६ चैत (रासस–सिन्ह्वा) । अमेरिकी राष्ट्रिय अन्तरिक्ष संस्थाको हालको चन्द्रमाको उडानमा सहभागी चालक दलले मङ्गलबार १० दिने यात्रा समाप्त गर्दै फिर्तीको चरण सुरु गरेको छ । यसैबीच, अन्तरिक्ष संस्थाले सोमबार चन्द्रमाको नजिकको उडानमा खिचिएका पहिलो तस्वीरहरू सार्वजनिक गरेको छ र क्यालिफोर्नियाको सान डिएगो नजिक प्रशान्त महासागरमा अप्रिल १० मा अन्तरिक्ष यानको अवतरण हुने घोषणा गरेको छ ।

    अन्तरिक्ष यानको झ्यालबाट खिचिएको पहिलो तस्वीरमा, बादलहरू सहितको मद्धिम नीलो पृथ्वी चन्द्रमाको गड्ठा सतहको पृष्ठभूमिमा देखिन्छ । संस्थाले तस्वीरमा देखिएको अँध्यारो पृथ्वीको भागमा रात भइरहेको जनाएको छ भने उज्यालो भागमा अस्ट्रेलिया र ओशिनिया क्षेत्रका बादलहरूको घुमावट देखिन्छ । तस्वीरको अगाडिको भागमा गड्ठा देखिन्छ ।


    दोस्रो तस्वीरमा, अन्तरिक्ष यानबाट हेर्दा चन्द्रमाले सूर्यलाई पूरै ढाकेको देखिन्छ । सोमबार, मिशनले मानवहरूले पृथ्वीबाट सबैभन्दा टाढा यात्रा गरेको रेकर्ड तोड्यो। चालक दलले आफ्नो अन्तरिक्ष यानमा चार लाख १७१ किलोमिटरको पूर्व रेकर्ड तोडी, १९७० मा कायम गरिएको दूरी पार गरेको छ ।

  • अष्ट्रेलियामा मानसिक स्वास्थ्य सेवामा सुधार ल्याउने नयाँ नीति सार्वजनिक

    अष्ट्रेलियामा मानसिक स्वास्थ्य सेवामा सुधार ल्याउने नयाँ नीति सार्वजनिक

    मेलबर्न, २६ चैत (रासस–एएफपी) । अष्ट्रेलियाले युवाहरूमा बढ्दो मानसिक स्वास्थ्य सङ्कटलाई सम्बोधन गर्न पहिलो पटक चिकित्सकीय अभ्याससम्बन्धी मार्गदर्शन जारी गरेको छ । देशभर आत्महानिको उद्देश्यले अस्पताल भर्ना हुने घटनाहरू बढ्दै गएपछि यस्तो कदम चालिएको हो ।

    अष्ट्रेलियाको एक प्रमुख अनुसन्धान संस्थाले सार्वजनिक गरेको जानकारी अनुसार, नयाँ मार्गदर्शनले स्वास्थ्यकर्मीहरूलाई १९ वर्षसम्मका युवाहरूमा देखिने मानसिक स्वास्थ्य समस्याहरू पहिचान, मूल्यांकन र व्यवस्थापन गर्न सहयोग पुर्‍याउनेछ । यो मार्गदर्शन तयार पार्दा आत्महत्यासम्बन्धी सोच वा अस्पताल भर्नाको अनुभव भएका युवाहरूको प्रत्यक्ष सुझावलाई पनि समावेश गरिएको छ । यसले व्यवहारिक अनुभव र वैज्ञानिक प्रमाणबीचको दूरी घटाउने उद्देश्य राखेको छ ।

    अनुसन्धानकर्ताहरूका अनुसार, यस मार्गदर्शनले व्यवहारिक र तुरुन्त प्रयोग गर्न सकिने सिफारिसहरू प्रदान गर्छ, जसले मानसिक स्वास्थ्य सेवा सुधार गर्न मद्दत गर्नेछ । नयाँ सिफारिसहरूमा व्यक्तिगत अवस्थाअनुसार जोखिम मूल्याङ्कन गर्ने उपाय, आत्महत्या वा आत्महानिको अवस्थासँग जुधिरहेका युवाहरूलाई समुदायमै सहयोग गर्ने तरिका तथा आपतकालीन अवस्थामा एकरूप सेवा र औषधि प्रयोगसम्बन्धी निर्देशनहरू समावेश छन् ।

    विशेषज्ञहरूका अनुसार, धेरै युवाहरूले आवश्यक र उपयुक्त सेवा नपाउँदा आफूहरूलाई उपेक्षित र पीडित महसुस गरेका छन् । अनुसन्धानकर्ताहरूले युवाहरूको मानसिक स्वास्थ्य सुधार गर्न नीति निर्माता, स्वास्थ्यकर्मी र परिवारबीच सहकार्य आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार, सम्पूर्ण सेवा प्रणालीलाई सुदृढ बनाउन संयुक्त प्रयास अनिवार्य छ ।

  • सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

    सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

    काठमाडौँ, २६ चैतः सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर दुई साताका लागि युद्धविराम गर्ने सहमति हुनु पश्चिम एसियाको तनाव घटाउने सकारात्मक कदम भएको बताएको छ । यसले संवाद, कूटनीति र मतभेदको शान्तिपूर्ण समाधानका लागि अवसर सृजना गरेको जनाइएको छ ।

    सरकारले युद्धविरामलाई क्षेत्रीय शान्ति र स्थायित्व प्रवद्र्धनतर्फ सकारात्मक पहलका रूपमा लिएको बताउँदै विवादको शान्तिपूर्ण समाधानका हुनुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा द्वन्द्वका कारण उत्पन्न मानवीय प्रभावप्रति चिन्ता व्यक्त गर्दै सर्वसाधारण नागरिकको सुरक्षा र हित सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

    सरकारले क्षेत्रीय तथा विश्वव्यापी रूपमा दिगो शान्ति र स्थायित्व प्रवद्र्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय समुदायबाट भइरहेका सबै प्रयासप्रति समर्थन जनाएको छ ।

  • देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण :अध्यक्ष ढकाल

    देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण :अध्यक्ष ढकाल

    चैत्र २६ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पत्रकारहरुको सम्मानमा बुधबार काठमाडौंमा आयोजित सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले महासंघले अघि सारेका नीतिगत एजेन्डा र निजी क्षेत्रका सरोकारलाई राष्ट्रिय बहसमा स्थापित गर्न मिडियाले खेलेको भूमिकाको प्रशंसनीय रहेको धारणा राखे ।

    अध्यक्ष ढकालले पत्रकारहरूले सरकार, निजी क्षेत्र र नागरिकबीच सेतुको भूमिका निर्वाह गरेको उल्लेख गर्दै पत्रकारितालाई नीति निर्माणमा मार्गदर्शक शक्ति रहेको धारणा राखे । अध्यक्ष ढकालले आफ्नो कार्यकालको अन्त्यतिर आयोजित कार्यक्रमलाई निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै महासंघले सधैं सञ्चारमाध्यमबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गरेको धारणा राखे ।


    उनले कोभिड–१९ पछिको आर्थिक संकुचन र पछिल्ला गतिविधिका कारण अर्थतन्त्र प्रभावित भए पनि महासंघले नीतिगत पैरवी, लगानी प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा काम गर्दै आएको बताए । “ विभिन्न कारणले अर्थतन्त्र प्रभावित भयो, यद्यपी महासंघले आर्थिक संकट समाधान, लगानीमैत्री वातावरण निर्माण, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, रोजगारी सिर्जना र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरि यो अवधीमा काम गर्‍यो । उनले भने, यस अवधिमा कानूनी सुधार, उच्चस्तरीय आर्थिक सुधार आयोग गठन तथा त्यसका सुझाव कार्यान्वयन तथा राष्ट्रिय आर्थिक बहसमार्फत आर्थिक विकासका मुद्दामा साझा धारणा निर्माण गर्ने प्रयास महासंघले गरेको छ । ”


    तीन वर्षको अवधिमा महासंघले नीतिगत सुधारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्ल्ेख गर्दै उनले परम्परागत माग राख्ने भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाइएको बताए । महासंघले राष्ट्रिय आर्थिक बहसमार्फत सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसकै परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भएको र सो आयोगको शिफारिश अनुसार ३० भन्दा बढी कानुन संशोधन गरिएको धारणा राखे ।

    उनले महासंघकै शिफारिश अनुसार नयाँ सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति (पीएसपीपी) स्वीकृत गरेको र यसले लगानी र व्यवसायको सुरक्षा तथा सम्मान सुनिश्चित गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष ढकालले महासंघकै पहलमा द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार भई विभिन्न देशहरूसँग सम्झौताको प्रक्रिया अघि बढाइएको जानकारी दिए । सोही अनुसार भारत, चीन, संयुक्त अरब इमिरेट्स, कतार, बेलायतलगायत देशमा लगानी सम्मेलन तथा संवाद कार्यक्रम आयोजना गरी नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्ने प्रयास गरिएको बताए ।

    उनले महासंघकै पहलमा आन्तरिक लगानी प्रवद्र्धनका लागि १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको र यसले पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नयाँ ढाँचा प्रस्तुत गरेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ,नेपाल आर्थिक पत्रकार समाज (सेजन),आर्थिक पत्रकार संघ (नाफिज),नेपाल महिला आर्थिक पत्रकार संघ (फेजा),इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) तथा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)लाई संस्थागत रुपमा सम्मान गरिएको थियो ।