Category: फिचर

  • प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    काठमाडौँ, २६ चैतः तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो समस्यामा पर्नुभएको छ भने अब त्यस्ता समस्या बेहोरिरहनु पर्ने छैन । अब त्यो जानकारी तपाईंको मोबाइलमै आइपुग्ने छ । नेपाल प्रहरीले अब मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे ‘फोन वा एसएमएस’बाटै जानकारी दिने भएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले अब नागरिकका सेवा प्रभावकारी बनाउन फोन वा एसएमएसबाटै जानकारी दिने व्यवस्था सुरु गरिएको बताए । प्रहरी प्रधान कार्यालयले एक सूचनामार्फत भनेको छ, “मुद्दा दर्ता हुने प्रहरी एकाइहरूसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भएपश्चात् त्यसको प्रगति के भयो र के–कसरी कार्यान्वयन भइरहेको छ भनेर सम्बन्धित सेवाग्राहीहरूले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएसमार्फत सूचना दिने व्यवस्था लागू गरिएको व्यहोरा जानकारी गराउँदछौँ ।” यसरी जानकारी दिँदा सेवाग्राहीहरू प्रहरी कार्यालयमा आउनु नपर्ने भएकाले समयको बचत हुने प्रहरीको निष्कर्ष छ ।

  • विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

    विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

    काठमाडौँ, २६ चैतः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी केही संस्थागत विद्यालयहरूले प्रचलित कानुन तथा सम्मानित सर्वोच्च अदालतको आदेशविपरीत हुनेगरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्ने गरेको गुनासो आएकाले उक्त रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

    मन्त्रालयले भनेको छ, “कारबाही प्रक्रियाका सम्बन्धमा यस मन्त्रालयको मिति २०८२–१२–२२ गतेको प्रेस विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई र मूलतः सबै स्थानीय तहहरूलाई अनुरोध गरिसकिएको छ, तथापि केही संस्थागत विद्यालयबाट अझै पनि कानुनविपरीत शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको सन्दर्भमा शिक्षा ऐन (संशोधनसहित), २०२८ को दफा १६ घ ९६० बमोजिम गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देश गरिन्छ ।”

    मन्त्रालयले कुनै पनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको दफा १६ घ (७) को प्रावधान तथा अन्य प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाउन पर्ने अवस्थामा गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय तहहरूबाट आवश्यक समन्वयका लागि पनि अनुरोध गरेको छ ।

    साथै, मन्त्रालयले विद्यार्थीको शुल्कसम्बन्धी सिकायत एवम् गुनासोको ‘रिपोर्टिङ’ तथा सहजीकरण प्रयोजनका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा ‘सहायता कक्ष’ स्थापना गरिएकाले सोही कक्षमा फोन गरी थप सहायता प्राप्त गर्न सकिने र सम्पर्क व्यक्ति निर्देशक निमप्रकाश सिंह राठौर (फोन ९८५१२१४६३८ लाई सम्पर्क गर्न सूचित गरेको छ ।

  • आज पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

    आज पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, २६ चैतः हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

    त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने, बाँकी पहाडी भागमा आंशिक बदली रहने तथा तराई भेगमा मुख्यतया मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा अन्य हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ । वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

    हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

    मध्यविन्दु (नवलपरासी), २६ चैतः वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्डमा हिलो र चिप्लो हुँदा दाउन्ने खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो ।


    दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई सवारी साधान सडक ‘फसे’काले आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । बुधबार दिउँसोदेखि परेको वर्षाले सडक हिलो र चिप्लो हुँदा सवारीको जाम लागेको छ ।

    “हिजो दिउँसोदेखि लगातार सिम–सिम पानी परिरहेकाले दाउन्ने उकालोमा गाडी चिप्लिएर गुड्न समस्या भइरहेको छ, हिलो बाटोमा सवारीसाधन फसेर समस्या भएको छ”, उनले भने, “मालवाहक सवारीसाधनलाई अहिले अरुणखोला क्षेत्रमा नै रोकिएको छ ।”

    दाउन्ने खण्डमा वर्षाले सवारी आवागमनमा समस्या भए पछि अहिले ‘ग्राभेल’ हालेर मर्मतको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।

  • जुम्लामा एम्बुलेन्स दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते

    जुम्लामा एम्बुलेन्स दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते

    जुम्ला, २५ चैतः जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज राति ८ बजेतिर दुर्घटना हुँदा एम्बुलेन्स चालक हिमा गाउँपालिका–७ मर्चीगाउँका २६ वर्षीय शक्ति शाही र सोही गाउँपालिका–६ पाथरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञवालीले जानकारी दिए । दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका र दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी ज्ञवालीले बताए ।

  • अमेरिका र इरान कसरी सहमत भए युद्धविराममा ?

    अमेरिका र इरान कसरी सहमत भए युद्धविराममा ?

    तेहरान, २६ चैत (रासस–एपी) । अन्तिम क्षणसम्म तीव्र बनेको युद्धको जोखिमबीच अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विनाशकारी आक्रमणको चेतावनी फिर्ता लिएपछि भएको यस सहमतिले तत्कालका लागि तनाव घटाएको भए पनि क्षेत्रीय अवस्था अझै अस्थिर देखिएको छ ।

    निर्धारित समयसीमा सकिन केही घण्टाअघि ट्रम्प प्रशासन युद्धबाट पछि हट्दै वार्ताको बाटो रोजेको हो । इरानले पनि युद्धविराम स्वीकार गरेको घोषणा गर्दै पाकिस्तानमा अमेरिकासँग वार्ता अघि बढाउने जनाएको छ । यद्यपि युद्धविराम कहिलेबाट लागू हुन्छ भन्ने स्पष्ट नभएकै अवस्थामा बुधबार बिहानसम्म इजरायल, इरान र खाडी क्षेत्रमा आक्रमणहरू जारी रहे ।

    इजरायलले अमेरिका–इरानबीचको सहमतिलाई समर्थन जनाए पनि लेबनानमा हिजबुल्लाहसँगको लडाइँ यसमा नसमेटिएको स्पष्ट पारेको छ । इजरायली पक्षले इरानले आणविक वा क्षेप्यास्त्र खतरा पुनः नउठाउने सुनिश्चिततामा जोड दिएको छ । युद्धविरामको एक प्रमुख अंशका रूपमा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने सहमति भएको बताइएको छ । यस मार्गमा इरानले आफ्नो नियन्त्रण केही खुकुलो पार्ने सङ्केत दिएको छ, तर पूर्ण रूपमा खुला हुनेबारे अस्पष्टता कायम छ । इरान र ओमानले जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने योजना पनि अघि आएको छ, जसबाट प्राप्त रकम पुनर्निर्माणमा खर्च गरिने बताइएको छ ।

    युद्ध अन्त्यका लागि इरानले अमेरिकी सेना क्षेत्रबाट फिर्ता, आर्थिक प्रतिबन्ध हटाउने र फ्रिज भएका सम्पत्ति फुकुवा गर्ने माग अघि सारेको छ । यसबीच, इरानले प्रस्ताव गरेको १०–बुँदे योजनामा आणविक कार्यक्रमसम्बन्धी भाषा फरक–फरक संस्करणमा प्रस्तुत गरिएकाले थप अन्योल सिर्जना भएको छ ।युद्धविराम घोषणा भएलगत्तै तेहरानमा सरकार समर्थक प्रदर्शनहरू चर्किएका छन् । प्रदर्शनकारीहरूले अमेरिका र इजरायलविरुद्ध नाराबाजी गर्दै झण्डा जलाएका छन्, जसले देशभित्रको कट्टर असन्तुष्टि झल्काउँछ ।

    यसअघि ट्रम्पले सम्झौता नभए इरानी ‘सभ्यता’ नै नष्ट गर्ने चेतावनी दिएका थिए । जसले अन्तर्राष्ट्रिय स्तरमा आलोचना निम्त्याएको थियो । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरू र कानूनी विज्ञहरूले त्यस्ता सम्भावित आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनविपरीत ठहर गरेका छन् । फेब्रुअरीदेखि सुरु भएको द्वन्द्वमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । इरान, इजरायल, लेबनान र खाडी क्षेत्रमा फैलिएको हिंसाले ठूलो मानवीय र आर्थिक क्षति पुर्‍याएको छ । जलडमरूमध्यमा इरानको नियन्त्रणले विश्व अर्थतन्त्रमा समेत दबाब सिर्जना गरेको छ ।

    युद्धविरामको सहमति भए पनि दुवै पक्षबाट आक्रमण पूर्ण रूपमा रोकिएको छैन । अमेरिकाले आक्रामक कारबाही रोकेको दाबी गरे पनि रक्षात्मक गतिविधि जारी रहेको जनाएको छ भने इजरायल र इरानबीच प्रत्यक्ष आक्रमण आदानप्रदान भइरहेको छ । कूटनीतिक प्रयास तीव्र भइरहेका बेला दुई हप्ताको यो समयावधि स्थायी समाधानतर्फ जाने अवसर बन्ने वा फेरि द्वन्द्व चर्किने हो भन्ने अझै अनिश्चित छ ।

  • खाडी द्वन्द्व शान्तिका लागि अमेरिका–इरान वार्ता पाकिस्तानमा

    खाडी द्वन्द्व शान्तिका लागि अमेरिका–इरान वार्ता पाकिस्तानमा

    इस्लामाबाद, २६ चैत (रासस–एएफपी) । पाकिस्तानले अमेरिका र इरानबीच भएको युद्धविरामपछि थप वार्ताका लागि दुवै देशका प्रतिनिधिमण्डललाई शुक्रबार इस्लामाबादमा स्वागत गर्ने भएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुवै देशका नेतृत्वप्रति आभार व्यक्त गर्नुभयो र सबै विवाद समाधानका लागि अन्तिम सहमति गर्न वार्ता आवश्यक रहेको बताए । हालका हप्ताहरूमा पाकिस्तान इरान र अमेरिकाबीच सन्देश आदानप्रदान गर्ने महत्वपूर्ण माध्यमको रूपमा उदाएको छ । अमेरिका र इरानसँग सम्बन्ध सन्तुलित राख्दै आएको पाकिस्तानले शान्ति पहलमा सक्रिय भूमिका खेलेको देखिएको छ ।

    प्रधानमन्त्री शरीफले इस्लामाबाद वार्ता सफल भई दीर्घकालीन शान्ति स्थापना हुने आशा व्यक्त गरेका छन् । तेहरान र वासिङ्टनले युद्धविराममा सहमति जनाउनु अघि तीव्र तनावको अवस्था रहेको थियो । अमेरिकी समयसीमा समाप्त हुनुअघि अन्तिम क्षणमा दुवै पक्ष युद्धविराममा सहमत भएका थिए ।

    यो द्वन्द्व फेब्रुअरी २८ मा सुरु भएको थियो, जब इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेका थिए । त्यसपछि इरानले खाडी क्षेत्रका देशहरू र इजरायलमाथि प्रतिआक्रमण सुरु गरेको थियो । यस द्वन्द्वमा लेबनान पनि तानिएको छ । इरान समर्थित समूहले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले लेबनानमा हवाई तथा स्थलगत कारबाही बढाएको छ ।

    पाकिस्तानका अनुसार, युद्धविराम लेबनानसहित सबै क्षेत्रमा लागू हुने अपेक्षा गरिएको छ । तर इजरायलले भने उक्त क्षेत्रमा आफ्नो कारबाही जारी राख्ने सङ्केत दिएको छ । यो अस्थायी युद्धविराम पाकिस्तानसहित अन्य मध्यस्थकर्ताहरूको प्रयासपछि सम्भव भएको हो। यसअघि अमेरिकाले इरानका पूर्वाधारहरूमा व्यापक आक्रमण गर्ने चेतावनी दिएको थियो, जसलाई केही कानुनविद्हरूले सम्भावित युद्ध अपराधको रूपमा व्याख्या गरेका थिए ।

    हालैका दिनहरूमा टर्कीए, इजिप्ट, चीन, साउदी अरब र कतारले पनि मध्यस्थतामा सहयोग पुर्‍याएका छन् । पाकिस्तानले क्षेत्रीय शान्ति र स्थिरताका लागि खाडी राष्ट्रहरूको प्रतिबद्धताको प्रशंसा गरेको छ । इरानसँग करिब ९०० किलोमिटर सीमा जोडिएको पाकिस्तानमा ठूलो शिया मुस्लिम जनसङ्ख्या रहेको छ । साथै, अमेरिकासँगको सम्बन्ध पनि सन्तुलित रूपमा कायम राख्दै आएको पाकिस्तान अहिले दुवै पक्षबीच वार्ताका लागि उपयुक्त मध्यस्थकर्ताको रूपमा देखिएको छ ।

  • सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    काठमाडौँ, २६ चैत । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ । वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ ।

    विभागमा आज साँझ प्राप्त अभिलेखअनुसार केही जिल्लामा भारीउन्मुख वर्षा भएको छ । साँझ पौने ७ बजेको मापनअनुसार आज पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा डडेलधुरामा ४६.६ मिलिमिटर र डोटीमा ४२.२ मिलिमिटर वर्षा भएको छ । यो भारीउन्मुख वर्षा हो । यस्तै काठमाडौँमा १३, ललितपुरमा १२ र भक्तपुरमा ८ मिलिमिटर वर्षा भएको छ ।

    पछिल्लो ३ घण्टामै डडेलधुरामा ३० मिलिमिटर वर्षा भइसकेको छ । यस्तै धनकुटामा १५ मिलिमिटर, सुर्खेतमा १९, डोटीमा १३, गोरखामा ११ं, मिलिमिटर वर्षा भएको छ । अहिले पनि धेरै जिल्लामा वर्षा जारी छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बदली भोलि पनि कायम रहने र ठाउँठाउँमा वर्षा हुने जनाइएको छ । बिहीबार रातिदेखि भने बदली कमजोर हुँदै जाने विभागले जनाएको छ ।

    बिहीबार कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने र कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित मध्यमवर्षा–हिमपातको सम्भावना रहेको जनाइएको छ ।

  • संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक, के भयो छलफल ?

    संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक, के भयो छलफल ?

    काठमाडौँ, २५ चैतः संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक सल्लाहकार एवं कार्यदलको संयोजक प्रमुख असिम साहको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरेकामा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ । बैठकमा उठेका विषयहरू र राजनीतिक दलहरूको लिखित धारणा सङ्कलन गरी संविधान संशोधनका मुद्दा पहिचान गर्ने र कार्यदलको आगामी कार्ययोजना तयार गरी प्रस्तुत गर्ने जिम्मा प्रधानमन्त्री कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीलाई दिइएको छ ।

    कार्यदलले संविधान संशोधनसम्बन्धी विषयलाई बृहत् रूपमा अघि बढाउने लक्ष्य राखेको संयोजक साहले जानकारी दिए । उनले संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित हुने बताए । संयोजक साहले नेपालको संविधानको धारा २७४ ले संशोधनसम्बन्धी स्पष्ट प्रावधान गरेको उल्लेख गर्दै सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा जनतामा नीहित सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न नसकिने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारे ।


    साहले मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न बहसपत्र तयार गर्ने निर्णय भएको स्मरणसमेत गराए । सोही निर्णयअनुसार चैत १६ गते उहाँको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । संयोजक साहका अनुसार संविधान संशोधनलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अघि बढाउन सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गरिएको छ । निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक प्रतिनिधित्व, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार तथा प्रदेश संरचनाको सुधारजस्ता विषयमा व्यापक छलफल गरी अघि बढ्ने उनको भनाइ छ ।

    प्रधानमन्त्रीका तर्फबाट सबै राजनीतिक दल तथा नागरिकलाई विश्वास दिलाउँदै सरकार सबै पक्षसँग संवाद गरेर सहमतिका आधारमा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । बैठकमा सहभागी सबैपक्षले खुला रूपमा बहस गर्दै जिम्मेवारीलाई तार्किक निष्कर्षमा पु¥याउने विश्वास आफूले लिएको साहले बताए । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य मोहन आचार्य, नेकपा (एमाले) बाट डा भीष्मनाथ अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टी नेपालबाट डा सुरेन्द्रकुमार झा, लोकतान्त्रिक समाजवादी पार्टीबाट डा आभास लाभ र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल बैठकमा सहभागी थिए ।


    त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगका सचिव इन्दिरा दाहालको पनि उपस्थिति थियो । रास्वपाका आचार्यले संविधानका दोहोरिएका बाझिएका विषय हटाउनुपर्ने राय व्यक्त गरे । उनले संविधानलाई लचक बनाएर सुधार गर्नुपर्ने, प्रत्यक्ष कार्यकारी, पूर्ण समानुपातिक प्रणालीजस्ता एजेन्डामा छलफल गर्न तयार गर्ने विचार व्यक्त गरे । एमालेका डा अधिकारीले पार्टीभित्र पर्याप्त छलफल नभएकाले हतार नगर्न आग्रह गरे ।

    अन्तरराष्ट्रिय अभ्यास अध्ययन आवश्यकता र विज्ञ एवं सरोकारवालासँग व्यापक छलफल गर्नुपर्ने बताए । नेकपा नेता गुरुङले सहमति भएका वा नभएका दुवै विषय बहसमा ल्याउनुपर्ने र संवैधानिक प्रक्रिया पूरा गरेर मात्र संशोधन अघि बढाउन सुझाव प्रस्तुत गरे । उनले विज्ञ, न्यायाधीश, कानुनविद् समावेश गर्नुपर्नेमा जोड दिए । श्रम संस्कृति पार्टीका राईले संशोधनलाई अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने र जनतासँग प्रत्यक्ष सम्बन्धित विषय प्राथमिकता दिए ।

    राप्रपाका शाहीले हिन्दू राज्य, राजतन्त्र, प्रदेश संरचनाजस्ता विषय छलफलमा ल्याउनुपर्ने र राष्ट्रियताका विषयमा गम्भीर बहस आवश्यकता औँल्याए । जसपा नेपालका डा झाले हतार नगरी गम्भीर रूपमा अघि बढ्नुपर्ने राय राख्दै विज्ञ, नागरिक समाज, विभिन्न समूहसँग छलफल आवश्यकता औँल्याए । लोसपाका डा लाभले संशोधनले मौलिक हक कार्यान्वयनयोग्य बनाउनुपर्ने र मधेस आन्दोलनका मुद्दा समेट्नुपर्ने धारणा राखे । त्यसका लागि निष्पक्ष विज्ञ टोली बनाएर समस्या पहिचान गर्नुपर्ने उनको भनाइ थियो । राष्ट्रिय जनमोर्चाका पौडेलले दीर्घकालीन प्रभाव हेरेर संशोधन गर्नुपर्ने बताए । उनले प्रदेश खारेज गरी दुई तहको सङ्घीयता प्रस्तावका विषयमा राय व्यक्त गरे ।

  • ठूला सिँचाइ आयोजना अलपत्र अवस्थामा छाड्दैनौँ : ऊर्जामन्त्री श्रेष्ठ

    ठूला सिँचाइ आयोजना अलपत्र अवस्थामा छाड्दैनौँ : ऊर्जामन्त्री श्रेष्ठ

    काठमाडौँ, २५ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजना अलपत्र अवस्थामा नछाड्ने बताएका छन् । ७३औँ सिँचाइ दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उनले सिक्टा, भेरी–बबई, रानी जमरा कुलरिया र सुनकोशी–मरिनजस्ता सिँचाइ आयोजनालाई अब अलपत्र नछाड्ने बताए ।

    मन्त्री श्रेष्ठले सुनकोशी–मरिन आयोजनाको पुनःखरिद प्रक्रिया ९० दिनभित्र सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिँदै भेरी–बबई आयोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको स्पष्ट पारे । उनले गण्डक, नारायणी, वाग्मती, सुनसरी–मोरङजस्ता ठूला सिँचाइ प्रणालीको मर्मत, पुनःस्थापना र व्यवस्थापकीय सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । “ठूला आयोजना सम्पन्न गर्ने क्रममा वास्तविक अवरोध कहाँ छन्, त्यसको जानकारी दिनुहोस् हामी समाधानको प्रयास गर्नेछौँ”, उनले भने ।


    मन्त्री श्रेष्ठले कर्मचारीसँग रहेको प्राविधिक ज्ञान कुनै नीतिगत दस्तावेजले प्रतिस्थापन गर्न नसक्ने भएकाले कर्मचारीलाई निर्देशनको पालना गराउने मात्रै होइन आफूले साझेदारी गर्न चाहेको उल्लेख गरे । आगामी दिनमा सिँचाइ खेतमा पानी पु(याउने माध्यमका रूपमा मात्र नहेरेर पानीलाई ऊर्जा, खाद्य सुरक्षा, वातावरण र जीविकोपार्जनलाई जोड्ने गरी एकीकृत प्रणालीको व्यवस्था गरिने मन्त्री श्रेष्ठको भनाइ थियो । उनले तल्लो तटीय फाइदा, बाढी नियन्त्रण, नदी किनारमा बस्ने समुदायलाई के–कस्ता लाभ पुु(याउन सकिन्छ भन्ने विषयलाई पनि मन्त्रालयको नीतिमा समावेश गरिएको बताए ।

  • ललितपुरको पाटनमा खुला स्थानमा चक्कु प्रहार, दुई युवाको हत्या

    ललितपुरको पाटनमा खुला स्थानमा चक्कु प्रहार, दुई युवाको हत्या

    २५ चैत, काठमाडौं । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजु भाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई बी एण्ड बी अस्पताल लगिएको थियो । उनीहरूको उपचारककै क्रममा निधन भएको ललितपुर प्रहरीले जनाएको छ ।

    चक्कु प्रहार गर्ने २ जना प्रहरीको फन्दामा परिसकेका छन् । प्रहरीका अनुसार बुधबार साँझ नेम्बाङ दाजु भाइले फोन गर्दा सञ्जीवको मोबाइलमा परेको पाइएको छ । उनीहरू एक आपसमा अपरिचित थिए । नचिनेको नम्बरबाट फोन आएपछि फोनमै भनाभन भयो ।

    फोनमा विवाद बढ्दै गएपछि सञ्जीवले नेम्बाङ दाजु भाइलाई पाटन भेट्न बोलाए । उनीहरु इमाडोल बस्ने गरेको पाइएको छ । सञ्जीव मासु पसलमा काम गर्ने गरेको समेत प्रहरी अनुसन्धानमा खुलेको छ । हतियारले प्रहार गरी दाजुभाईलाई घाइेत बनाएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

  • दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

    दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

    काठमाडौँ, २५ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम यही चैत २७ गते शुक्रबारका दिन १५ः०० बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । राष्ट्रपतिले दुवै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान पनि गरेका छन् ।

  • सार्वजनिक र मालवाहक सवारी साधनको भाडा बड्यो

    सार्वजनिक र मालवाहक सवारी साधनको भाडा बड्यो

    काठमाडौँ, २५ चैतः सरकारले सार्वजनिक सवारी र मालवाहक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई सार्वजनिक यातायातको भाडा बढाउन सहमति दिएको थियो ।

    इन्धनको मूल्य बढेसँगै पटकपटक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक र मालवाहक सवारीसाधनको भाडा समायोजन गर्न माग गर्दै आएको थियो । यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिंह राईले भाडा समायोजनका विषयमा मन्त्रालयबाट स्वीकृत प्राप्त भएकाले सहमतिका आधारमा भाडा समायोजन गरिएको बताए । विभागले विभिन्न १३ सूचकलाई आधार मानेर भाडा बढाएको हो ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले महासङ्घको अनुरोधमा आज सरकारले सार्वजनिक र मालवाहक सवारी साधनको भाडा समायोजन गरेको जानकारी दिए । सरकारले यात्रुवाहक सवारीको १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनका लागि २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनको १५.७५ प्रतिशत भाडा समायोजन गरेको वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाइ छ । नयाँ भाडादर कार्यान्वयनमा आएसँगै सर्वसाधारणको दैनिक यात्रा र उपभोग्य वस्तुको मूल्यमा प्रभाव पर्न सक्ने देखिएको छ ।

  • मन्त्रीहरूलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का विषयमा जानकारी

    मन्त्रीहरूलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का विषयमा जानकारी

    काठमाडौँ, २५ चैत । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रस्तुती दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुती दिनुभएको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

    सचिव राईले अन्तरराष्ट्रिय परिवेश, नेपालको अन्तरराष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुती दिएका थिए । उनले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी गराए ।

    नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूलाई उहाँले विशेष जोड दिए । साथै, विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुती गरिएको थियो ।

  • विदेशमा रहँदै देउवा दम्पत्तिविरुद्ध पक्राउ पूर्जी जारी, अब के हुन्छ प्रक्रिया ?

    विदेशमा रहँदै देउवा दम्पत्तिविरुद्ध पक्राउ पूर्जी जारी, अब के हुन्छ प्रक्रिया ?

    २५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। देउवा दम्पती र उनीहरूको परिवारको अस्वाभाविक कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।

    पक्राउ पूर्जी जारी हुँदा देउवा दम्पती नेपालमा भने छैनन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पत्ति उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरु ७ चैतमा हङकङ गएका छन् । यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरु फर्केका थिए ।

    अहिले भने १४ फागुनमा देश छाडेका उनीहरु एक महिना ११ दिन बित्दा समेत नेपाल फर्केका छैनन् । पक्राउ पूर्जी जारी भए पनि देउवा दम्पती देश बाहिर रहेकाले अब इन्टरपोलमार्फत नेपाल ल्याउन प्रहरीले पत्राचार गर्ने तयारी रहेको समेत बताइएको छ । प्रहरी स्रोतका अनुसार यसका लागि अदालती कागजात चाहिन्छ ।
    ‘अदालती कागजात इन्टरपोलले माग्छ । अब नोटिसका लागि बाटो खुलेको बताइएको छ । इन्टरपोलमार्फत नोटिस जारीका लागि प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले प्रक्रिया अघि बढाउने गर्छ । नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । यसरी पक्राउ परेको अवस्थामा कानूनी प्रक्रिया पूरा गरेर उनीहरुलाई नेपाल ल्याउन सकिनेछ ।

    उनीहरु बाहिर रहेकै बेला बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काम भएको थियो । तर प्रशासनले आदेश दिएपछि देउवाको घर भत्काउने काम समेत रोकिएको छ । प्रमाण नष्ट हुनसक्ने भन्दै देउवाको घर भत्काउन रोक लगाइएको हो । पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरण संकलन र अनुसन्धान भइरहेको बताइएको छ । शेरबहादुर देउवाका नातेदार प्रदीपशम्सेर जबरा, भूषण राणा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भइरहेको छ ।

  • पक्राउ पूर्जी जारी भएपछि देउवा बोले : मेरो जीवन खुला किताव हो

    पक्राउ पूर्जी जारी भएपछि देउवा बोले : मेरो जीवन खुला किताव हो

    २५ चैत, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वक्तव्य जारी गर्दै सम्पत्तिसम्बन्धी विषय भ्रामक भएको दाबी गरेका छन् । उनले आफ्नो सम्पत्तिको यथार्थ विवरण सार्वजनिक पदमा रहेको बेलामा सरकारी निकायमा पेश गरेको उल्लेख गरेका छन् । उनले आफ्नो जीवन खुला पुस्तकको रूपमा रहेको उल्लेख गर्दै वास्तविकता समयक्रमसँगै खुल्दै जाने उल्लेख गरेका छन् । ‘अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु’ उनले भनेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेको वक्तव्य यस्तो छ

    आदरणीय दाजुभाइ, दिदी बहिनी तथा साथीहरू,

    म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ ।

    म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।

    नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।

    देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।

    मेरो जीवन एउटा खुल्ला पुस्तकका रूपमा रहेको छ ।

    भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागु भएको सर्वविदित नै छ ।

    स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।

    वास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरुञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।

    जय नेपाल।

    शेरबहादुर देउवा

  • मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

    मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

    काठमाडौँ, २५ चैत । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उनीहरुले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेट गर्न पुग्नुभएका नियोग प्रमुखहरूलाई प्रधानमन्त्री शाहले सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिनुका साथै विश्वासका आधारमा पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

    “नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ । हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,” प्रधानमन्त्री शाहले भने, “नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकामा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।”

    विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्री शाहले भने, “चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ । यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु । यहाँ उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”

    प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न,उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको पनि बताए । उनले राष्ट्रिय हितअनुकूल हुनेगरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य राखिएको पनि उल्लेख गरे ।


    “नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन । हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ,” प्रधानमन्त्री शाहले भने । उनले विकास, व्यापार, लगानी, जलवायु अनुकुलनका कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको जानकारी दिए । यसैगरी विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको विषयमा उनले जोड दिए ।

  • प्रधानमन्त्रीले गरे राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग सामूहिक छलफल

    प्रधानमन्त्रीले गरे राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग सामूहिक छलफल

    काठमाडौँ, २५ चैतः प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूले आज सामूहिक शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँहरूले प्रधानमन्त्री शाहसँग भेट र संवाद गरेका छन् । सो अवसरमा भारत, पाकिस्तान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत एवं नियोग प्रमुखहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    त्यस अवसरमा राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई ज्ञापन गर्दैै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । उनीहरुलाई नेपाली जनताको हितमा परिणाम दिनेगरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता वक्त गरेका थिए । सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल स्पष्ट रहेको बताउँदै प्रधानमन्त्री शाहले छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाइने विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री शाहले शान्ति सबैको साझा प्राथमिकता हुनुपर्नेमा जोड दिँदै विश्वभर रहेका नेपाली समुदाय एवं श्रम गर्न गएका सबै नेपाली नागरिकको सुरक्षा र हित नेपाल सरकारको उच्च प्राथमिकतामा रहने स्पष्ट पारे । सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकार दृढ प्रतिबद्ध रहेको उनले भनाइ छ । सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

  • दादुराविरुद्ध बङ्गलादेशको आपतकालीन अभियान

    दादुराविरुद्ध बङ्गलादेशको आपतकालीन अभियान

    ढाका, २५ चैत (रासस–एपी) । एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी फैलिएको दादुरा प्रकोप नियन्त्रण गर्न बङ्गलादेशले देशव्यापी आपतकालीन खोप अभियान सुरु गरेको छ । तीव्र रूपमा बढ्दो सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर उच्च जोखिम क्षेत्रबाट अभियान अघि बढाइरहेको छ ।

    सरकारले विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र गाभी खोप गठबन्धनसँगको सहकार्यमा आइतबारदेखि १८ उच्च जोखिममा रहेका जिल्लाहरूमा छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरु गरेको जनाएको छ । यो अभियान अर्को महिनादेखि चरणबद्ध रूपमा देशभर विस्तार गरिने योजना रहेको छ ।

    युनिसेफका प्रतिनिधि राणा फ्लावर्सले सङ्क्रमण तीव्र गतिमा बढिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरे । उनका अनुसार यो प्रकोपले विशेष गरी खोप नलगाइएका वा न्यून खोप लगाइएका बालबालिकामा रहेको प्रतिरक्षात्मक खाडल उजागर गरेको छ । साथै, नौ महिनाभन्दा कम उमेरका शिशुहरूमा सङ्क्रमण देखिनु झन् चिन्ताजनक भएको उनले बताए । किनकि उनीहरू नियमित खोपका लागि अझै योग्य हुँदैनन् ।

    सरकारी तथ्याङ्कअनुसार करिब १७ करोड जनसङ्ख्या रहेको देशमा मार्च १५ यता सात हजार ५०० भन्दा बढी शङ्कास्पद सङ्क्रमित फेला परेका छन् । तीमध्ये ९०० भन्दा बढीमा दादुरा पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दादुरा अत्यन्तै सङ्क्रामक वायुजन्य रोग हो, जसले ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या र शरीरमा विशेष प्रकारको बिमिरा ल्याउँछ । साना बालबालिकामा यसले गम्भीर जटिलता र मृत्यु समेत निम्त्याउन सक्छ ।

    रोगको फैलावट रोक्न कम्तीमा ९५ प्रतिशत जनसङ्ख्यामा खोप कभरेज आवश्यक हुने बताइएको छ । तर बङ्गलादेशमा खोप पहुँचमा असमानता कायम रहँदा जोखिम अझै उच्च रहेको देखिएको छ । स्वास्थ्यमन्त्री सरदार मोहम्मद सखावत हुसेनले संसद्मा जवाफ दिँदै वर्तमान प्रकोप विगतका सरकारहरूको कमजोर व्यवस्थापनको परिणाम भएको बताए । उनका अनुसार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको नेतृत्वको अघिल्लो सरकार र त्यसपछिको अन्तरिम प्रशासनले खोप भण्डारण र आपूर्ति व्यवस्थापनमा आवश्यक निर्णय लिन नसक्दा दादुरासहित अन्य छ रोगका खोप अभाव सिर्जना भएको हो ।

    हालैको राजनीतिक अस्थिरताले पनि खोप अभियानमा अवरोध पुर्‍याएको थियो । सन् २०२४ मा भएको जनविद्रोहपछि शेख हसिना सत्ताच्युत हुनुभएको थियो भने त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । उक्त सरकारले फेब्रुअरीमा सम्पन्न निर्वाचनपछि सत्ता निर्वाचित सरकारलाई हस्तान्तरण गरेको थियो ।

    स्वास्थ्य अधिकारीहरूले अभिभावकलाई बालबालिकामा दादुराको लक्षण देखिए तत्काल अस्पताल लैजान आग्रह गरेका छन् । ढाकास्थित सङ्क्रामक रोग अस्पतालकी उपनिर्देशक एफ. ए. आसमा खानले उच्च ज्वरो देखिएमा औषधि पसलबाट आफूखुसी औषधि नलिन सुझाव दिँदै समयमै अस्पताल पुर्‍याउन आग्रह गरिन् ।

    उनका अनुसार अस्पतालमा उपलब्ध चिकित्सकीय सेवाले उचित उपचार सुनिश्चित गर्न सक्छ । बङ्गलादेशले सन् १९७९ देखि खोप अभियान सञ्चालन गर्दै आएको छ, जसले खोप कभरेज दुई प्रतिशतबाट बढेर ८१.६ प्रतिशत पुर्‍याउन सफल भएको छ । तर युनिसेफले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा देशले प्रगति गरे पनि खोप पहुँचमा गहिरो असमानता अझै कायम रहेको चेतावनी दिएको थियो।

  • मध्यपूर्व द्वन्द्वको असरः भारतले मल आयात बढाउँदै

    मध्यपूर्व द्वन्द्वको असरः भारतले मल आयात बढाउँदै

    नयाँ दिल्ली, २५ चैत (रासस–सिन्ह्वा) । मध्यपूर्व क्षेत्रमा उत्पन्न परिस्थितिका कारण आपूर्ति अवरोध भएपछि भारतले २५ लाख मेट्रिक टन युरिया आयात गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ । सरकारी स्वामित्वको इन्डियन पोटाश लिमिटेडले यससम्बन्धी टेन्डर जारी गरिसकेको छ, जसका लागि आवेदन दिने अन्तिम मिति अप्रिल १५ तोकिएको छ । भारतले युरियाको माग पूरा गर्न ठूलो मात्रामा अन्तर्राष्ट्रिय बजारमा निर्भर रहँदै आएको छ । मनसुन सुरु भएसँगै र गर्मी सिजनको बाली रोपाइँ सुरु हुने भएकाले यसको माग अझ बढ्ने अपेक्षा गरिएको छ ।

    मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति शृङ्खला प्रभावित भएको छ । यसले प्रमुख निर्यातक देशहरूबाट मल आपूर्ति अवरुद्ध हुनुका साथै हर्मुज जलडमरूमध्य हुँदै हुने समुद्री यातायातमा पनि कमी आएको छ । उक्त समुद्री मार्ग अवरुद्ध हुँदा भारतमा एलपीजी अभाव देखिएको छ भने विश्व बजारमा कच्चा तेलको मूल्य पनि तीव्र रूपमा बढेको छ ।

  • ऊर्जा रूपान्तरणमा चीन अगाडिः नयाँ प्रविधिको प्रयोग बढ्दो

    ऊर्जा रूपान्तरणमा चीन अगाडिः नयाँ प्रविधिको प्रयोग बढ्दो

    जिनान, २५ चैत (रासस–सिन्ह्वा) । पूर्वी चीनको शानडोङ प्रान्तको ताइआन शहरमा एक विशाल ऊर्जा परियोजना स्थापना गरिएको छ, जसले खानी क्षेत्रलाई नयाँ रूप दिएको छ । यो ऊर्जा केन्द्र आठ घण्टासम्म ऊर्जा भण्डारण गर्न र चार घण्टासम्म विद्युत उत्पादन गर्न सक्षम छ ।

    यसको वार्षिक उत्पादन क्षमता ४६ करोड किलोवाट–घण्टा रहेको छ, जसले दुई लाखभन्दा बढी घरपरिवारको वार्षिक विद्युत आवश्यकतालाई पूरा गर्न सक्छ । यो परियोजना चीन एनर्जी इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडद्वारा सञ्चालन गरिएको पहिलो व्यावसायिक ‘कम्प्रेस्ड एयर एनर्जी स्टोरेज’ परियोजना हो । यसले पुराना नुन खानीका भूमिगत गुफाहरूलाई ‘ऊर्जा भण्डार’ का रूपमा प्रयोग गर्दछ ।


    हालका वर्षहरूमा चीनले नवीकरणीय ऊर्जामा उल्लेखनीय प्रगति गरेको छ । सन् २०२५ सम्म आइपुग्दा, नवीकरणीय ऊर्जा स्रोतहरूले देशको कुल जडित विद्युत क्षमताको आधाभन्दा बढी हिस्सा ओगटेका छन् । सन् २०३० सम्ममा यस शहरको नयाँ ऊर्जा भण्डारण क्षमता ५० लाख किलोवाट नजिक पुग्ने अपेक्षा गरिएको छ । शाङ्घाईमा, अपतटीय पवन ऊर्जाबाट सञ्चालित पानीमुनी डाटा सेन्टर पनि सञ्चालनमा आएको छ । यसले ऊर्जा उत्पादन र खपतलाई एउटै स्थानमा समन्वय गर्दै ऊर्जा क्षति कम गर्दछ ।


    पूर्ण क्षमतामा सञ्चालन हुँदा, यस परियोजनाले वार्षिक रूपमा १६ लाख रुखले सोस्ने बराबरको कार्बन उत्सर्जन घटाउँछ । चीनले डिजिटल अर्थतन्त्रलाई समर्थन गर्न नवीकरणीय ऊर्जा पूर्वाधारलाई तीव्र गतिमा विस्तार गरिरहेको छ । साथै, यसले सन् २०३५ सम्म हरितगृह ग्यास उत्सर्जनलाई शिखर स्तरबाट ७–१० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।

    चीनले आफ्नो प्रविधिगत उपलब्धिहरू विश्वसँग पनि साझा गर्दै आएको छ । अफ्रिकामा आयोजित ऊर्जा प्रदर्शनीमा चिनियाँ कम्पनीहरूको स्वच्छ ऊर्जा समाधानले व्यापक ध्यान आकर्षित गरेको थियो । विशेषज्ञहरूका अनुसार, चीनले उत्पादन गर्ने स्वच्छ ऊर्जा प्रविधिको स्तर र गति यति तीव्र छ कि यसले ऊर्जा अभाव र जीवाश्म इन्धनमा निर्भरता जस्ता समस्याहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

  • इन्धन मूल्य वृद्धिबीच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

    इन्धन मूल्य वृद्धिबीच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

    कोलम्बो, २५ चैत (रासस–सिन्ह्वा) । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान स्वीकृत गरेको छ । माछापालन मन्त्रालयका अनुसार, उक्त अनुदान योजना अप्रिल २० देखि कार्यान्वयनमा आउनेछ । यस योजनाअन्तर्गत साना माछा मार्ने डुङ्गाहरूले प्रति लिटर इन्धनमा ५० श्रीलङ्काली रुपैयाँ (करिब ०.१७ अमेरिकी डलर) अनुदान प्राप्त गर्नेछन् । त्यसैगरी, लामो समयसम्म समुद्रमा रहने बहुदिने माछा मार्ने जहाजहरूले प्रत्येक यात्रामा एक लाख ५० हजार रुपैयाँ अनुदान पाउनेछन् ।

    मन्त्रालयले जनाएको अनुसार, विश्व बजारमा इन्धन मूल्य वृद्धि तथा मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण इन्धन आपूर्ति प्रभावित भएपछि श्रीलङ्काको माछापालन क्षेत्र गम्भीर समस्यामा परेको छ । यसै सन्दर्भमा आइतबार आयोजित विशेष छलफलपछि माछापालन क्षेत्रलाई राहत दिने उद्देश्यले उक्त निर्णय गरिएको हो । सरकारले यो अनुदानमार्फत माछा मार्ने व्यवसायीहरूको लागत घटाउने, उत्पादन कायम राख्ने तथा समग्र माछापालन क्षेत्रलाई स्थिर बनाउने लक्ष्य राखेको छ।

  • पर्यटकको रोजाइमा तीनकुने पोखरी

    पर्यटकको रोजाइमा तीनकुने पोखरी

    फिक्कल (इलाम), २५ चैतः इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको स्थानीय चेतन आङथुपोले बताए ।

    “शनिबार र सार्वजनिक बिदाको दिन पोखरी घुम्न आउने पर्यटकको भीडभाड हुने गर्दछ”, उनले भने, “पोखरी घुम्न आउने पर्यटकले यस क्षेत्रको चहलपहल बढेको छ ।” यसैबीच, तीनपोखरीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि ‘तीनकुने पर्यटन महोत्सव’ आयोजना हुँदैछ । स्थानीय ‘तीनकुने पोखरी सिमसार क्षेत्र’ को आयोजनामा तीनकुने पोखरीको खुला मैदानमा महोत्सव सञ्चालन हुन लागेको हो ।

    यही वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने आयोजक समिति संयोजक नगीन्द्र श्रेष्ठले बताए । ‘चुलाचुलीको पहिचान, पर्यटनको अभियान’ मूल नारासाथ सञ्चालन हुने महोत्सवमा आदिवासी लिम्बू समुदायको च्याब्रुङ नाच (केःलाङ), राई समुदायको साकेला नाच, नेवार समुदायको लाखे नाच, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्य जातिको सङ्गिनीलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेषभूषा प्रदर्शन गरिनेछ । स्थानीय कला, संस्कृति, हस्तकला सीप, स्थानीयद्वारा उत्पादित रैथाने खानपान प्रदर्शनीमा राखिने संयोजक श्रेष्ठले जानकारी दिए ।

    “यहाँका आदिवासी भूमिपुत्रहरुको मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने हाम्रो प्रयास हो । यसका लागि प्रत्येक दिन अलगअलग कार्यक्रम तय गरिएको छ”, संयोजक श्रेष्ठले भने, “मुख्य रुपमा स्थानीय क्षेत्रकै रैथाने उत्पादनलाई व्यवसाय तथा अर्थतन्त्रसँग जोड्न र युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न सहयोग गर्ने उद्देश्य हो ।” महोत्सवमा राजेशपायल राई, साहिल लिम्बू, पूजा लामा, पदम राई र एलिना चौहानको साथमा अन्य स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुती रहने आयोजक समितिका सचिव सेमन्ता खनालले जानकारी दिए ।


    चुलाचुली गाउँपालिका–२ मोरङ्गे झोडाको सामुदायिक वनमा करिब ६ बिगा क्षेत्रफलमा फैलिएको तीनकुने पोखरी सिमसार क्षेत्र पर्यावरण र पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण मानिन्छ । विसं २०५२ मा स्थानीय अगुवाले गहिरो खोल्सीलाई बाँध कसेर पानी सञ्चित गर्न थाले पनि २०७२ सालदेखि औपचारिक रुपमा पोखरी निर्माण गरेका थिए ।

    समुन्द्री सतहबाट करिब १८५ मिटर उचाईमा रहेकको तीनकुने पोखरी पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ करिब साढे ५ किलोमिटर दुरीमा पर्दछ । झापाको केर्खा बजार–पाडाजुङ्गीबाट उत्तर नर्सरी हुँदै मोटरसाइकल, सफारी, अट्टो र साना, ठूलो सवारीसाधनमार्फत सजिलै तीनकुने पोखरी पुग्न सकिन्छ ।

    महोत्सवले तीनकुने पोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । स्थानीयवासीको सक्रियतामा यहाँ महोत्सव आयोजना गरिएको हो । यसबाट तीनकुने पोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुग्नेछ ।

  • गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

    गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

    वीरगञ्ज (पर्सा), २५ चैतःनारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि बढाएको छ। चालु आर्थिक वर्षमा कार्यालयले मुख्य नहरतर्फ पर्सामा छ किलोमिटर र बारामा पाँच किलोमिटर सरसफाइ तथा मर्मतसम्भार थालेको छ ।

    कार्यालयका प्रमुख मनोजप्रसाद पटेलका अनुसार नहरमा माटोसहितको गेग्र्यान थुप्रिँदै जाँदा नहरको आकार खुम्चिँदै गएको थियो । “मुख्य नहरमा कार्यालयकै उपकरण र जनशक्ति परिचालन गरेर सरसफाइ गरेका छौं,” उनले भने, “ नहर वरपर स्थानीयले गरेको अतिक्रमणका कारण निकालिएको फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ ।”

    नहर आसपासको जग्गा अतिक्रमण हुँदा नहरबाट निकालिने माटो, बालुवा र झारपात व्यवस्थापन गर्न कठिनाइ भएको छ । “स्थानीयले नहर किनारमा घरटहरा, माछापोखरीलगायत संरचना निर्माण गर्दा सरसफाइपछि निस्कने वस्तु व्यवस्थापनमा समस्या भइरहेको छ,” उनले भने । गण्डक नहरको करिब २५ देखि ३० स्थानमा अतिक्रमणका समस्या देखिएको र त्यसको समाधानका लागि स्थानीय प्रशासन समन्वय भइरहेको उनले जानकारी दिए ।

    शाखा नहरतर्फ पाँच खण्डमा विभाजन गरी ७५ किलोमिटर सरसफाइका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । प्रत्येक खण्डमा १५ किलोमिटरका दरले काम गर्ने गरी करिब ४५ लाख रुपैयाँमा ठेक्का स्वीकृत भएको छ । गण्डक नहर संरचना ५० वर्ष पुरानो भएकाले नियमित मर्मतसम्भार आवश्यक रहेको उनले बताए ।

    नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ मा गण्डक सिँचाइ तथा जलविद्युत् आयोजना सम्बन्धी सम्झौता भएको थियो । सोही सम्झौताअनुसार भारत सरकारले नारायणी नदीमा ‘ब्यारेज’ निर्माण गरेको हो । यहाँबाट मुलुकको २८ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

  • एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

    एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

    काठमाडौँ, २५ चैतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार पाँच सय चार परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् । बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ ।

    सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीको घटना सबैभन्दा धेरै रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । झण्डै एक वर्षको अवधिमा तीन हजार छ सय ५२ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर मात्रै एक सय चार जनाको अकालमा ज्यान गएको छ । पाँच सय ६३ जना घाइते हुँदा चार हजार एक सय ८२ परिवार प्रत्यक्ष रुपमा पीडित भएका छन् ।

    बाढीका कारण मात्रै तीन सय २८ घटनामा ३९ जनाको निधन भएको छ । बाढीमा परेर २७ जना बेपत्ता हुँदा १४ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार, ६ सय २१ पहिरोका घटनामा परेर ७६ जनाको ज्यान गएको छ । यस्तै, भारी वर्षाको चार सय ४६ घटनामा परेर सात जनाको ज्यान गयो भने २० जना घाइते भए । त्यस्तै, चार सय १९ चट्याङका कारण ४८ जनाको ज्यान गयो । कूल तीन सय १२ जना घाइते हुँदा पाँच सय २२ परिवार प्रत्यक्ष रुपमा प्रभावित भए । हावाहुरीका चार सय ७७, वन डढेलाका तीन सय २४, जनावर आक्रमणका पाँच सय नौ तथा लेक लाग्नुका एक सय ३१ घटना भएका छन् ।

    प्राधिकरणका अनुसार यो विवरण गत वैशाख १ गतेदेखि यही चैत २४ गते सम्मको हो । एक वर्षको अवधिमा विपदमा मात्रै चार सय ९० जनाको ज्यान जाँदा ३८ जना बेपत्ता भएका छन् । विपदका कारण एक हजार नौ सय ६५ जना घाइते भएका छन् ।

  • भियतनाममा कम्युनिस्ट पार्टी प्रमुख टो लाम राष्ट्रपति चयन

    भियतनाममा कम्युनिस्ट पार्टी प्रमुख टो लाम राष्ट्रपति चयन

    हनोई, २५ चैत (रासस–एपी) । भियतनामले कम्युनिस्ट पार्टीका महासचिव टो लामलाई सर्वसम्मतिले राष्ट्रपतिको रूपमा निर्वाचित गरेको छ । यसले उनलाई पार्टी र राज्य दुवैमा आफ्नो अधिकार सुदृढ गर्न पाँच वर्षको कार्यकालका लागि सशक्त बनाएको छ । यो निर्णय भियतनामको परम्परागत साझा नेतृत्वको मोडलबाट फरक छ, जसमा सामान्यतया शक्ति विभाजन हुने गरेको थियो र यसले चीनका राष्ट्रपति सी जिनपिङ र लाओसको नेतृत्वमा देखिएको शक्ति एकाग्रताको प्रतिध्वनि गर्दछ ।

    जनवरीमा लाम कम्युनिस्ट पार्टी प्रमुखको रूपमा पुनः निर्वाचित भएपछि उनी राष्ट्रपतिको पदमा पनि जाने अपेक्षा गरिएको थियो । ६९ वर्षका लामले शपथ ग्रहणपछि राष्ट्रियसभालाई शान्ति र स्थिरता कायम राख्न आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताए । उनले भने, “हामी जनताको जीवनस्तर सुधार गर्ने लक्ष्य राख्छौँ ताकि सबैले विकासका फाइदाहरू साझा गर्न सकून् ।”

    सन् २०२४ मा पार्टी प्रमुख न्गुयेन फु ट्रोङको निधनपछि छोटो समयका लागि राष्ट्रपतिको पद सम्हालेका लामले यो दोस्रो पटक दुवै पद सम्हालेका हुन् । विश्लेषकहरूका अनुसार लाम शक्ति केन्द्रित हुनु नीतिगत सुधार अगाडि बढाउने अवसर हो, तर यसले संस्थागत सुधारभन्दा छिटो निर्णय लागू हुने जोखिम पनि ल्याउन सक्छ । लामको करियर सुरक्षा सेवाबाट सुरु भएको हो र उनले सार्वजनिक सुरक्षा मन्त्रालयको प्रमुखका रूपमा व्यापक भ्रष्टाचार विरोधी अभियान अगाडि बढाएका छन् । कम्युनिस्ट पार्टी प्रमुखका रूपमा उनले भियतनाममा ब्युरोक्रेटिक सुधार, रोजगार कटौती, मन्त्रालय विलय, प्रान्तीय सीमाहरू पुनःरेखाङ्कन र प्रमुख पूर्वाधार परियोजनाहरू अघि बढाएका छन् ।


    आर्थिक क्षेत्रमा उहाँले निजी क्षेत्रको वृद्धि र उत्पादन आधारित मध्यम वर्ग निर्माणमा जोड दिएका छन् । आगामी पाँच वर्षमा वार्षिक १० प्रतिशत वा सोभन्दा बढी आर्थिक वृद्धिको लक्ष्य राखिएको छ । तथापि, विश्वव्यापी ऊर्जा सङ्कट र आर्थिक दबाबले चुनौती थप्नेछ । विदेश नीतिमा लामले सावधानीपूर्वक सन्तुलन कायम राख्ने प्रयास गरिरहेका छन् । अमेरिकी दबाब र दक्षिण चीन सागरमा चीनसँगको सम्बन्ध सन्तुलित राख्नु आगामी रणनीतिक चुनौती रहेको विश्लेषकहरू बताउँछन् ।

  • ऐतिहासिक चन्द्र उडानबाट फिर्ता हुँदै आर्टेमिस टोली

    ऐतिहासिक चन्द्र उडानबाट फिर्ता हुँदै आर्टेमिस टोली

    ह्युस्टन, २५ चैत (रासस–एएफपी) । इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यहरूको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकांक्षी उडान सम्पन्न गर्दै पृथ्वीतर्फ फर्किने यात्रा सुरु गरेको छ । करिब सात घण्टासम्म अन्तरिक्षयानको झ्यालमा आँखा गाडेर बसेका चार सदस्यीय टोलीले मानव इतिहासमै फरक र अभूतपूर्व खगोलीय अनुभव सङ्कलन गरेका छन् ।

    चन्द्रमाको कम चिनिएका क्रेटरहरूदेखि सूर्य ग्रहणसम्मका दृश्य अवलोकन गरेका अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षबाट देखिएका दृश्यलाई शब्दमा व्यक्त गर्नै कठिन भएको बताएका छन् । अन्तरिक्ष यात्री भिक्टर ग्लोभरले आफूहरूले देखेका दृश्य मानव कल्पनाभन्दा पर रहेको उल्लेख गर्दै त्यसलाई ‘अविश्वसनीय’ अनुभवका रूपमा वर्णन गरे ।


    उडानका क्रममा टोलीले चन्द्र सतहका सूक्ष्म संरचनाहरूलाई नजिकबाट नियालेका थिए भने चन्द्रमाले सूर्यलाई ढाक्दा देखिने सूर्य ग्रहणको दृश्य पनि प्रत्यक्ष देखेका थिए । त्यस्तै, चन्द्र सतहमा देखिएका उज्याला चमकहरू उल्का प्रहारका सङ्केत भएको उनीहरूले बताएका छन् । आर्टेमिस द्वितीयका प्रमुख वैज्ञानिक केल्सी यङले यस अभियानबाट प्राप्त वैज्ञानिक जानकारी अत्यन्तै मूल्यवान रहेको बताउँदै अन्तरिक्ष यात्रीहरूको योगदानको प्रशंसा गरे ।

    ऐतिहासिक दूरी पार गर्दै टोलीले सन् १९७० को अपोलो १३ अभियानले कायम गरेको कीर्तिमानसमेत तोडेको छ । उनीहरू पृथ्वीबाट करिब दुई लाख ५२ हजार ७६० माइल (चार लाख छ हजार ७७८ किलोमिटर) टाढा पुगेका थिए, जुन अघिल्लो रेकर्डभन्दा चार हजार १०५ माइल बढी हो । अन्तरिक्ष यात्री जेरेमी ह्यानसेनले यो उपलब्धिले भावी पुस्तालाई अझ अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

    In this image provided by NASA, the Artemis II crew captured this view of the Earth next to the Moon before Earthset during a lunar flyby, Monday, April 6, 2026. NASA via AP)


    यात्राका क्रममा उनीहरूले करिब ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्क गुमाउनुपरेको थियो, जुन अन्तरिक्षयान चन्द्रमाको पछाडि पुग्दा स्वाभाविक रूपमा हुने ‘ब्ल्याकआउट’ हो । यो क्षण ५० वर्षभन्दा बढीपछि पहिलोपटक मानवले पृथ्वीसँग सम्पर्कविहीन भएको घटना बनेको छ । पुनः सम्पर्क स्थापित भएपछि अन्तरिक्ष यात्री क्रिस्टिना कोचले पृथ्वीको आवाज फेरि सुन्न पाउँदा निकै सन्तोष मिलेको बताए ।


    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूसँग फोनमार्फत संवाद गर्दै उनीहरूलाई ‘आधुनिक समयका अग्रगामी’ भन्दै प्रशंसा गरे । उनले यस्तो साहसिक अभियानले विश्वलाई प्रेरित गरेको उल्लेख गर्दै अन्तरिक्ष अन्वेषणमा अमेरिका अग्रपङ्क्तिमा रहने धारणा व्यक्त गरे । संवादका क्रममा केही समय सङ्केत अवरोधसमेत देखिएको थियो, जसलाई उनले दूरीको कारण भएको टिप्पणी गरे ।


    ओरियन क्याप्सुलमार्फत फर्किंदै गरेको टोली अब स्वतः पृथ्वी फर्किने बाटो (फ्री–रिटर्न प्रक्षेपवक्र) मार्गमा पृथ्वी आइपुग्न करिब चार दिन लाग्नेछ । रिड वाइसम्यानको नेतृत्वमा रहेको यस मिसनमा विविध ऐतिहासिक उपलब्धि पनि समावेश छन् । ग्लोभर चन्द्रमाको वरिपरि पुग्ने पहिलो अश्वेत अन्तरिक्ष यात्री बन्नुभएको छ भने कोच पहिलो महिला र ह्यानसेन पहिलो गैर–अमेरिकीका रूपमा इतिहासमा दर्ज हुने तयारीमा छन् ।


    मिसनका क्रममा टोलीले दुई नयाँ चन्द्र क्रेटरको नाम प्रस्ताव गर्ने निर्णय गर्दा एउटा भावनात्मक क्षण पनि देखा पर्‍यो । पहिलोलाई अन्तरिक्षयानको उपनाम ‘इन्टिग्रिटी’ बाट नामकरण गर्न प्रस्ताव गरिएको छ भने दोस्रो ‘क्यारोल’ नाम रिड वाइसम्यानकी स्वर्गीय पत्नीको सम्झनामा राख्न सुझाव दिइएको छ, जसको क्यान्सरका कारण निधन भएको थियो ।

    उक्त क्षणमा टोली भावुक बनेको थियो र ह्युस्टनस्थित मिसन कन्ट्रोलले पनि मौन धारण गरेको थियो । नासाका अनुसार यी नामहरू औपचारिक स्वीकृतिका लागि अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनसमक्ष पेश गरिनेछन्, जुन खगोलीय संरचनाहरूको नामकरण गर्ने आधिकारिक निकाय हो ।

  • युद्धविराम अघि अमेरिका–इजरायल आक्रमणमा इरानका पुल, राजमार्ग र रेल संरचनामा व्यापक क्षति

    युद्धविराम अघि अमेरिका–इजरायल आक्रमणमा इरानका पुल, राजमार्ग र रेल संरचनामा व्यापक क्षति

    तेहरान, २५ चैत (रासस–एएफपी) । इरानका अधिकारीहरूले मङ्गलबार अमेरिका–इजरायलद्वारा गरिएका हवाई आक्रमणका क्रममा देशका महत्वपूर्ण पूर्वाधारहरूमा क्षति पुगेको बताएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार, पवित्र शहर कुम नजिकको एक पुल तथा केन्द्रीय शहर काशानमा रहेको रेलमार्गसहितको अर्को पुलमा आक्रमण गरिएको छ । काशानमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यो जानकारी क्षेत्रीय सुरक्षा अधिकारी अकबर सालेहीलाई उद्धृत गर्दै इरानको आईआरएनए समाचार एजेन्सीले दिएको हो ।

    उत्तरी इरानमा रहेको प्रमुख राजमार्ग पनि प्रभावित भएको छ । तब्रिज शहरलाई तेहरानसँग जोड्ने उक्त राजमार्गमा आक्रमण भएपछि करिब ९० किलोमिटर दूरीमा यातायात अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् । इरानको रिभोलुसनरी गाड्र्ससँग सम्बन्धित एक टेलिग्राम च्यानलका अनुसार, आक्रमण ओभरपास पुलमा लक्षित गरिएको थियो । तेहरान नजिकको कराज क्षेत्रमा रेलमार्गमा पनि आक्रमण भएको मिजान समाचार एजेन्सीले जनाएको छ । सार्वजनिक गरिएका तस्बिरहरूमा उद्धारकर्मीहरूले घाइतेलाई स्ट्रेचरमा लैजाँदै गरेको देखिन्छ ।

    इजरायलले रेलमार्ग प्रयोग नगर्न चेतावनी दिएपछि मङ्गलबार इरानको दोस्रो ठूलो शहर मशहदतर्फ जाने र आउने सबै रेल सेवा रद्द गरिएको छ । आईआरएनए समाचार एजेन्सीका अनुसार, कराज र फर्दिस क्षेत्रमा विद्युत् प्रसारण लाइन तथा सबस्टेसनमा क्षति पुगेपछि आंशिक विद्युत् अवरोध भएको छ । यसैबीच, इजरायली सेनाले ‘पूर्वाधार लक्षित व्यापक आक्रमण’ सम्पन्न गरेको पुष्टि गरेको छ, तर कुन–कुन स्थानमा आक्रमण गरिएको भन्ने विवरण दिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका थिए । उनले ‘सबै कुरा ध्वस्त पार्ने र तेल नियन्त्रणमा लिने’ सम्भावनाबारे पनि विचार गरिरहेको बताए ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, २५ चैतः सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नुहुनेछ ।

    त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव दिनमा गर्ने सम्भावित कार्यसूची छ । सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यक्रम छ ।

  • प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

    प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

    काठमाडौँ, २५ चैत । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै हुन् । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “प्रधानमन्त्री वालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै छन् । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ । मर्यादित कूटनीति, बलियो नेपाल ।”