Category: फिचर

  • आज सिँचाइ दिवस : कृषि योग्य जमिनमा सिँचाइ सुबिधा पुर्‍याउन अझै चुनौती

    आज सिँचाइ दिवस : कृषि योग्य जमिनमा सिँचाइ सुबिधा पुर्‍याउन अझै चुनौती

    रासस
    काठमाडौँ, २५ चैत । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ दिवस मनाउँदै आएको छ । सिँचाइको संस्थागत विकासका क्रममा नहर विभाग, सिँचाइ तथा खानेपानी विभाग, सिँचाइ तथा जलवायु विज्ञान विभाग हुँदै २०४४ सालमा सिँचाइ विभागमा रुपान्तरण भएको थियो ।

    विसं २०७२ मा नेपालको संविधान जारी भएपश्चात् सिँचाइ विभाग र जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग खारेज गरेर २०७५ सालमा जलस्रोत तथा सिँचाइ विभागको स्थापना भएको थियो । नेपालको इतिहासमा पहिलोपटक सरकारीस्तरबाट १९७९ सालमा ‘चन्द्र नहर’को निर्माण सुरुआत भएर १९८५ सालमा सम्पन्न भएको थियो । यसलाई नै पहिलो आधुनिक तथा सबैभन्दा पुरानो सिँचाइ प्रणाली मानिन्छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेर जवराको विशेष पहलमा बनेको सो नहरको प्राविधिक नेतृत्व (चिफ इन्जिनियर) शाही सेनाका महासेनानी डिल्लीजङ्ग थापाले गर्नुभएको थियो ।

    जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक एवं प्राविधिक सहयोगमार्फत हालै ‘शताब्दी’ पार गरेको सो नहरका ३२ प्रमुख संरचनाहरूको पुनर्निर्माण तथा सुदृढीकरणमा सम्पन्न भएको थियो । उदयपुरको त्रियुगा नदीलाई मुख्य पानीको स्रोत मानेर निर्माण गरिएको सो नहरबाट २८ किमी मूल नहर, ११ शाखा नहर तथा थप शाखा नहरमार्फत सप्तरी जिल्लाका १० हजार ५०० हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुँदै आएको छ । यसबाट ३५ हजार घरपरिवारका किसान लाभान्वित हुँदै आएका जनाइएको छ ।

    पछिल्लो समय कृषियोग्य जमिनमा सिँचाइ सुविधाको पहुँचले गति लिँदै गएता पनि अझै १० लाख हेक्टर जमिनमा सिँचाइको पहुँच पुर्याउनुपर्ने देखिएको छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई। मित्र बरालले भन्नुभयो, “कुल सिँचाइयोग्य क्षेत्र करिब २५ लाख ३६ हजार हेक्टरमध्ये हाल करिब १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भइसकेको छ । सतह, भूमिगत, जलासय र लिफ्ट सिँचाइमार्फत सिँचाइ पुगेका क्षेत्रमा हेक्टर उत्पादन औसत रूपमा वृद्धि भएको छ ।”

    नेपालमा कृषियोग्य जमिनको क्षेत्रफल ३५ लाख ५७ हजार ७०० हेक्टर रहेको जनाइएको छ । उहाँले भन्नुभयो, “नेपालको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ । करिब ६२ प्रतिशत जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेसामा संलग्न रहेका छन् । दिगो, भरपर्दो र प्रभावकारी सिँचाइ प्रणालीबिना कृषि आधुनिकीकरण, उत्पादन वृद्धि तथा खाद्य सुरक्षा सम्भव हुँदैन । यसैलाई ख्याल गर्दै कृषियोग्य जमिनमा सिँचाइको सुविधा पुर्याउन विभागले उच्च प्राथमिकताका साथ काम गरिहेको छ ।”

    राष्ट्रिय गौरवका अयोजनाः प्रगति तीव्र

    पछिल्लो समय विभागअन्तर्गतका छवटा राष्ट्रिय गौरवका अयोजनाले गति लिएका छन् । ती आयोजनालाई समयसीमाभित्र सम्पन्न गर्न विभागले उच्च प्राथमिताका साथ लागिरहेको महानिर्देशक बरालले जानकारी दिनुभयो ।

    हाल विभागअन्तर्गत महाकाली सिँचाइ आयोजना (कञ्चनपुर), रानी जमरा कुलरिया सिँचाइ आयोजना (कैलाली), बबई सिँचाइ आयोजना (बर्दिया), भेरी बबई डाइभर्सन बहुउद्देशीय आयोजना (सुर्खेत), सिक्टा सिँचाइ आयोजना (बाँके) र सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना (सिन्धुली) छवटा राष्ट्रिय गौरवका अयोजना सञ्चालित छन् ।

    चालु आवमा विभागको अथक प्रयासपछि ती आयोजनामध्ये तीनवटाको कार्यप्रगति राम्रो रहेको जनाइएको छ । सिक्टा सिँचाइ आयोजना ९बाँके०को हालसम्म सिँचाइ संरचना विस्तार भएको क्षेत्र २२ हजार ५०० हेक्टर पुगिसकेको छ । यो आयोजनाको सिँचाइ हुने क्षेत्रफल ४२ हजार ७६६ हेक्टर रहेको भने बबई सिँचाइ आयोजना ९बर्दिया०को सिँचाइ संरचना विस्तार भएको क्षेत्र २७ हजार ३३० हेक्टर पुगिसकेको छ । यो आयोजनाको सिँचाइ हुने क्षेत्रफल ३६ हजार हेक्टर रहेको छ ।

    त्यसैगरी, रानी जमरा कुलरिया सिँचाइ आयोजना (कैलाली) सिँचाइ संरचना विस्तार भएको क्षेत्र १४ हजार ३०० हेक्टर पुगिसकेको छ । यो आयोजनाको सिँचाइ हुने क्षेत्रफल ३८ हजार ३०० हेक्टर रहेको भने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामले पनि गति लिएको जनाइको छ । विभाग महानिर्देशक बरालले भन्नुभयो, “सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना र भेरी बबई डाइभर्सन बहुउद्देशीय आयोजना पनि अब गति लिन्छ ।”

    तराई मधेस भूमिगत जल सिँचाइ कार्यक्रम

    विभागले तराई तथा भित्री मधेसका करिब तीन लाख १८ हजार हेक्टर जमिनमा भूमिगत सिँचाइमार्फत सिँचाइ सुविधा पुर्याउन तराई मधेस भूमिगत जल सिँचाइ कार्यक्रम पनि कार्यान्वयन गरिराखेको छ । ती कृषियोग्य जमिनमा भूमिगत सिँंचाइ प्रणालीको विकास गरी कृषि उत्पादन र उत्पदकत्वको अभिवृद्धि, खाद्य सुरक्षाको सुनिश्चितता, भोकमरीको अन्त्य, रोजगारी सृजना गरी कुल गार्हस्थ्य उत्पादन वृद्धिमा योगदान पुर्याइ परिस्कृत र मर्यादित जीवनयापनको आधार तयार गर्ने कार्यक्रमको ध्येय रहेको विभागले जनाएको छ ।

    सो कार्यक्रम तराई मधेसका १९ जिल्लासहित भित्री मधेसका उदयपुर, मकवानपुर, सुर्खेत, चितवन र दाङसहित पहाडी जिल्ला इलाम र सिन्धुलीमा कार्यान्वयमा रहेको विभागले जनाएको छ । महानिर्देशक बरालले भन्नुभयो, “भूमिगत सिँचाइ प्रणाली सञ्चालनको आधारभूत प्राविधिक ज्ञानको अभावले गर्दा उपभोक्तालाई नियमित रूपमा सिँचाइ प्रणाली सञ्चालनमा समस्या सम्बोधन गर्ने प्रयासमा छौँ ।”

    विभागले गत वर्षको वर्षात्का मुख्य समयमा पनि मधेस प्रदेश सुक्खा हुँदा आइलागेको समस्यालाई तत्काल सम्बोधन गर्न द्रुतगतिबाट काम गरेको थियो । धानबाली जोगाउन भूमिगत जल सिँचाइलाई निरन्तरता दिने प्रयास गरेको थियो ।

    सरकारले गत साउन ६ गते मधेस प्रदेशलाई तीन महिनाका लागि सुक्खा विपद् क्षेत्र घोषणा गरेको थियो । खानेपानी, सिँचाइ तथा कृषिसम्बन्धी समस्याको पहिचान गरी समाधानका लागि कार्ययोजना पेस गर्ने सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनका आधारमा विभागले भूमिगत जल सिँचाइसम्बन्धी तत्काल गर्नुपर्ने कार्य अगाडि बढाएको थियो ।

    जलस्रोत संरक्षण

    विभागले एकीकृत नदी बेसिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमले पच्चीस हजार हेक्टर जमिनमा सिँचाइ गरिने लक्ष्य राखेको छ ।

    विभागले जलस्रोत संरक्षण, नदी नियन्त्रण तथा जल उत्पन्न प्रकोप व्यवस्थापनको कार्य योजनाबद्ध रूपमा गर्दै आएको छ । महानिर्देशक बरालले भन्नुभयो, “निर्माण सम्पन्न भएका सिँचाइ प्रणालीहरूमा नहर सञ्चालन एवं व्यवस्थापनको पनि कार्य गर्दै आएको छ ।”

    विभागले तटबन्ध निर्माण एक हजर ४७७ किमी, जग्गा उकास १३ हजार ६७१ हेक्टर र चेकड्याम ६३५ निर्माण सम्पन्न गरेको छ । महानिर्देशक बरालले भन्नुभयो, “जलस्रोत संरक्षण, नदी नियन्त्रण तथा जल उत्पन्न प्रकोप व्यवस्थापनमा काम गरिरहेको छ ।”

  • पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

    काठमाडौँ, २५ चैत । हाल देशमा पश्चिमी न्यून चापी जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ ।

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । ती प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानका साथै मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी तथा हिमाली भागका धेरै तथा तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • तीन फर्मलाई जरिवाना

    तीन फर्मलाई जरिवाना

    काठमाडौँ, २५ चैतः नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई रु २० हजार जरिवाना गरेको छ ।यस्तै, कुलेस्वरकै एमडिआर स्टोरलाई पनि रु २० हजार जरिवाना गरेको छ ।

    गोंगबुमा रहेको गुप्ता गुदपाक भण्डारलाई रु पाँच हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही गरिएको विभागले प्रष्ट पारेको छ । विभागले एकैदिन कूल ३९ वटा फर्ममा अनुमगन गरेकामा ३६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।

  • अमेरिका–इरान युद्धविराम, पाकिस्तानले गर्यो मध्यष्तता

    अमेरिका–इरान युद्धविराम, पाकिस्तानले गर्यो मध्यष्तता

    २५ चैत, काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमाथिको बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति जनाएको उल्लेख गरेका छन् । उनले यसलाई व्यापक युद्धविरामतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गरेका छन् ।

    उनका अनुसार यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको छलफलपछि लिइएको हो । उनीहरूले सम्भावित आक्रमण टार्न आग्रह गरेका थिए । ट्रम्पले युद्धविराम सशर्त रहेको स्पष्ट गर्दै इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुनस् खोल्नुपर्ने बताएका छन् । तनाव कम गर्न उक्त जलमार्ग खुला हुनु आवश्यक रहेको उनको भनाइ छ ।

    ‘यो दुई पक्षीय युद्धविराम हुनेछ,’ ट्रम्पले भनेका छन्, ‘यस अवधिमा दुवै पक्षले आक्रामक गतिविधि रोक्ने अपेक्षा गरिएको छ ।’ उनले अमेरिकी सैन्य लक्ष्यहरू पूरा भइसकेको दाबी गर्दै दीर्घकालीन शान्ति सम्झौतामा प्रगति भएको पनि उल्लेख गरेका छन् । ट्रम्पका अनुसार इरानबाट १० बुँदे शान्ति प्रस्ताव प्राप्त भएको छ, जसलाई उनले वार्ताको व्यावहारिक आधार मानेका छन् । अधिकांश महत्वपूर्ण विषयमा प्रारम्भिक सहमति भइसकेको उनको दाबी छ ।

    ट्रम्पले दुई साताको युद्धविरामले दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न समय दिने बताएका छन् । उनले लामो समयदेखि जारी द्वन्द्व समाधानतर्फ उन्मुख भएको संकेत गरेका छन् । ट्रम्पको यो घोषणा उनले तय गरेको अन्तिम समयसीमा सकिनुअघि आएको हो । यसअघि उनले इरानविरुद्ध कडा चेतावनी दिँदै ‘सभ्यता समाप्त’ पार्ने धम्की दिएका थिए, जसलाई परमाणु आक्रमणको धम्कीका रूपमा समेत व्याख्या गरिएको थियो । उक्त अभिव्यक्तिको अमेरिकाभित्रै आलोचना भएको थियो ।

    युद्धविराम घोषणापछि ह्वाइ हाउसले पनि प्रतिक्रिया दिएको छ । प्रेस सचिव क्यारोलिन लेभिटले वार्ता प्रक्रिया जारी रहने बताएकी छन् । उनका अनुसार आगामी दिशा राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले निर्धारण गर्नेछ । लेविटले अमेरिकी प्रशासनले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न सहमत गराएको दाबी गर्दै अब थप कूटनीतिक संवाद अघि बढ्ने बताएकी छन् । आगामी वार्ता पाकिस्तानमा हुने बताइएको छ । यद्यपि, पाकिस्तानमा हुने भनिएको वार्ताले ठोस परिणाम दिन्छ कि दिँदैन भन्नेमा अन्तर्राष्ट्रिय समुदायको चासो छ ।

  • गृहमन्त्री गुरुङले गरे बिपी राजमार्ग अवलोकन, विपत्तिमा हेली उद्धारको निर्देशन

    गृहमन्त्री गुरुङले गरे बिपी राजमार्ग अवलोकन, विपत्तिमा हेली उद्धारको निर्देशन

    काभ्रेपलाञ्चोक, २४ चैतः गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन् । उनले राजमार्गको क्षति र आउने सम्भावित विपत्तिबारे सरोकारवालासँग स्थलगत छलफल गरे । क्षतिग्रस्त उक्त राजमार्गको अनुगमनका क्रममा गृहमन्त्री गुरुङले अब हुने सम्भावित विपत्तिबारे चासो दिँदै यसअघि कस्ता खालका विपत् भए, कस्तो व्यवस्थापन गरियो, त्यस अनुसारको पूर्वतयारी गर्नुपर्नेबारे सुरक्षा प्रमुखलाई रणनीतिक तयारी अवस्थामा रहन निर्देशन दिए ।

    “यसअघि कस्तो खालको विपत्ति भयो, त्यसलाई मध्यनजर गर्दै रेस्क्यू गर्ने तयारीबारे हामी सचेत रहनुपर्दछ, खोलामा डुबे गोताखोर तथा अन्य अवस्थाका लागि एम्बुलेन्स हैन, जाम हुनसक्छ, समय महत्त्वपूर्ण हो, अब हामीले हेलीबाट रेस्क्यू गर्नुपर्दछ, जियो–लोकेसन गरी त्यसबारे व्यवस्थापन गर्दै रेस्क्यू गर्ने हो, त्यसका लागि त्रिभुवन विमानस्थलमा केन्द्रीय विपद् व्यवस्थापनबाट एयरपोर्टमा जुन टोली चाहिने हो, त्यही परिचालन गर्नेछौँ, जे आवश्यक हो सोहीअनुसार तयारी गर्नेछौँ”, उनले भने ।


    गृहमन्त्री गुरुङले सोहीअनुसार तयारी गर्न केन्द्रीय सुरक्षाकर्मी तथा जिल्लास्थित सुरक्षाकर्मीलाई निर्देशन दिए । अनुगमनका क्रममा गुरुङले डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेश, नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा र रोशी गाउँपालिका अध्यक्ष दिनेश लामालगायत सरोकारवाला स्थानीय तहका प्रमुखसँग क्षतिग्रस्त राजमार्गबारे जानकारी लिए ।

    त्यस अवसरमा योगेशले स्थायी निर्माणमा तीव्रता दिइएको तर हालको अवस्थामा पटकपटक भइरहेको वर्षाका कारण केही रोकिएको जानकारी गराए । यस्तै, योगेशले यसअघि अस्थायी रूपमा निर्माण गरिएको डाइभर्सन बगाउँदा पुनःनिर्माण गरी यातायातका साधनलाई पुनः सञ्चालन ग्रिएको जानकारी गराउँदै आगामी वर्षअघि पुरानै सडक लेनमा अस्थायी रूपमा भए पनि यातायात सञ्चालन गर्नेगरी ‘इक्युपमेन्ट’ थपेर निर्माण कार्यलाई तीव्रता दिइएको गृहमन्त्री गुरुङलाई जानकारी गराए ।


    नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ । राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्नेगरी निर्माणलाई तीव्रता दिइएको योगेशले बताए । उनका अनुसार राजमार्गमा भइरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनःनिर्माणको काम सकिनेछ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडक खण्डमा कुल २५ प्रतिशत काम भएको योगेशको भनाइ छ ।

    विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि प्रक्रिया पुर्‍याएर स्थायी पुनःनिर्माण थालिएको हो । क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गर्ने बर्खे खोलादेखि पिप्लेसम्मको ३ दशमलब २ किलोमिटर सडक निर्माणको काम यसै महिनाभित्र ठेक्का सम्झौता हुने योगेशले जानकारी दिए ।
    क्षति पुर्‍याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको छ । यस्तै डालाबेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने काम भइरहेको योगेशले बताए । उनका अनुसार गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ ।

    राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ । यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाई कालोपत्र गरी कामलाई तीव्रता दिइएको योगेशले बताए । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो ।

    अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनर्निर्माण हुने सडक खण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई दुई लेनको निर्माण गरिनेछ”, योगेशले भने । उनका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ । डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित)मा निर्माण गर्ने गरी ठेक्का पाएको कार्यालयले जनायो ।

    यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड ९भ्याटसहित०मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।

    क्षतिग्रस्त कुल २९ दशमलव ५ किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किमी सडकलाई जाइकाले रु दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडक खण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो ।

    क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो ।

    जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।

    यसअघि गुरुङले अरनिको रामार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको १८ किलोमिटर सडक खण्डमा पर्ने भैँसेपाटीमा पुल तथा बनेपास्थित पुलबजारको पुन्यमाता खोलामा निर्माण सुरु गरिएको पुलको निरीक्षण गरी कामलाई तीव्रता दिन आग्रह गरेका छन् ।

  • भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

    भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

    मुस्ताङ, २४ चैतः हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको गत भदौ २२ देखि यही चैत २० गतेसम्म यहाँ भ्रमणमा आएका पर्यटकमध्ये छ पुरुषसहित एक महिला पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतका अनुसार मृत्यु हुनेमा भारतका तीन पुरुष र मेक्सिकोका एक गरी चार पर्यटक रहेका छन् । यसरी मृत्यु हुनेमा ४१ वष उमेर समूहदेखि ७५ वर्ष उमेर समूहका रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आवको २२ भदौमा मुक्तिनाथमा लेक लागेर वेलगार्व, उदारखुर्द, कर्नाटक भारतका ७१ वर्षीय आन्नद माधवाराओ देशपाण्डेको मृत्यु भएको थियो । गत असोज २४ गते महालक्ष्मी नगरपालिका–४ इमाडोल ललितपुरका ७५ वर्षीय माधवप्रसाद शर्मा उप्रेतीको घरपझोङ–४ जोमसोममा लेक लागेर मृत्यु भएको थियो । यसैगरी कात्तिक ९ गते सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भएका ५० वर्षीय जगतबहादुर तिमिल्सिनाको घरपझोङ–२ मार्फामा लेक लागेर मृत्यु भएको प्रहरी निरीक्षक महतले जानकारी दिए ।


    यस्तै, कात्तिक २२ गते ६१ वर्षीय भारतीय पर्यटकको घरपझोङ–३ स्थित एक होटलमा, पुस १२ गते ७४ वर्षीय भारतीय पर्यटक चन्द्रकान्त श्रपत तम्बोकरको मुक्तिनाथ रानीपौवामा लेक लागेर मृत्यु भएको थियो । यसैगरी, यही चैत १७ गते मेक्सिकोका ६७ वर्षीय फेडेरिको लोपेज क्याम्बाको थासाङ गाउँपालिका–१ टुकुचेस्थित पक्की पुल नजिक लेक लागेर मृत्यु भएको थियो भने चैत २० गते ठोरी गाउँपालिका–४ पर्साकी ४१ वर्षीय सरिता बुढाथोकीको मुक्तिनाथ मन्दिरमा लेक लागेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

  • आर्टेमिस–२’ टोलीले तोड्यो ‘अपोलो–१३’ को दूरी रेकर्ड, अन्तरिक्ष यात्रामा नयाँ इतिहास

    आर्टेमिस–२’ टोलीले तोड्यो ‘अपोलो–१३’ को दूरी रेकर्ड, अन्तरिक्ष यात्रामा नयाँ इतिहास

    लस एन्जलस, २५ चैत (रासस–एपी) । अमेरिकी अन्तरिक्ष निकाय नासाको ‘आर्टेमिस–२’ मिशनले मानव अन्तरिक्ष यात्राको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । यस मिशनका अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट सबैभन्दा टाढा पुग्ने रेकर्ड बनाउँदै सन् १९७० मा अपोलो–१३ द्वारा स्थापित दूरीलाई उछिनेका छन् ।
    नासाका अनुसार, यो ऐतिहासिक उपलब्धि सोमबार दिउँसो करिब १ः५६ बजे (पूर्वी समय) हासिल गरिएको हो ।

    आर्टेमिस–२ मिशनमा चार सदस्यीय टोली सहभागी छ, जसमा कमाण्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, मिशन विशेषज्ञ क्रिस्टिना कोच र क्यानाडियन स्पेस एजेन्सीका जेरमी ह्यान्सन रहेका छन् । यो मिशन अप्रिल १ मा अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो ।

    यसअघि अपोलो–१३ का अन्तरिक्ष यात्रीहरूले सन् १९७० अप्रिल १५ मा दुई लाख ४८ हजार ६५५ माइल (करिब ४ लाख किलोमिटर) टाढा पुगेर कीर्तिमान कायम गरेका थिए । उक्त मिशनमा अक्सिजन ट्याङ्क विस्फोट भएपछि चन्द्रमा अवतरण योजना रद्द गरी आपतकालीन रूपमा ‘फ्री–रिटर्न ट्राजेक्टोरी’ प्रयोग गरिएको थियो । आर्टेमिस–२ टोलीले आफ्नो ओरायन अन्तरिक्ष यानलाई ‘इन्टेग्रिटी’ नाम दिएको छ । टोलीका अनुसार यो नाम विश्वास, सम्मान, पारदर्शिता र विनम्रता जस्ता मूल्यमाथि आधारित छ, जुन गहिरो अन्तरिक्ष अन्वेषणका लागि आवश्यक मानिन्छ ।

    चन्द्रमाको नजिक पुगेपछि टोलीले दुईवटा अज्ञात क्रेटरलाई नामकरण गर्ने प्रस्ताव पनि राखेको छ । पहिलो क्रेटरलाई ‘इन्टेग्रिटी’ नाम दिन प्रस्ताव गरिएको छ, जुन चन्द्रमाको दूरभागमा रहेको ओरिएन्टाले बेसिन र ओहम प्रभाव क्रेटरबीच अवस्थित छ । दोस्रो क्रेटरलाई ‘क्यारोल’ नाम दिन प्रस्ताव गरिएको छ, जुन चन्द्रमाको नजिक र टाढाको सीमाक्षेत्रमा पर्छ । यसैबीच, अपोलो–१३ का अनुभवी अन्तरिक्ष यात्री जिम लोवेलले आफ्नो निधनअघि आर्टेमिस–२ टोलीका लागि शुभकामना सन्देश रेकर्ड गर्नुभएको थियो । सोमबार बिहान टोलीले उक्त सन्देश सुनेको थियो, जसमा उहाँले भन्नुभयो, “पृथ्वीबाट हामी सबैको तर्फबाट शुभकामना ।”

    आर्टेमिस–२ मिशन पनि अपोलो–१३ जस्तै ‘फ्री–रिटर्न ट्राजेक्टोरी’ मा आधारित छ, जसले अन्तरिक्ष यानलाई चन्द्रमाको परिक्रमा गरेर स्वतः पृथ्वीमा फर्कने मार्ग प्रदान गर्छ । यो अन्तरिक्ष यानले अधिकतम करिब दुई लाख ५२ हजार ७६० माइल दूरी पार गर्ने अपेक्षा गरिएको छ ।

    मिशनमा चन्द्रमामा अवतरण समावेश छैन । यस मिशनको अन्त्य अप्रिल १० मा क्यालिफोर्नियाको सान डिएगो नजिक प्रशान्त महासागरमा अवतरण ९स्प्ल्यासडाउन० गरेर हुने तालिका छ । आर्टेमिस कार्यक्रमलाई मानवलाई पुनः चन्द्रमामा पठाउने दीर्घकालीन योजनाको रूपमा हेरिएको छ, जसले भविष्यमा मङ्गल ग्रहसम्मको यात्राका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।

  • अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

    अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

    तेहरान, २४ चैत (रासस–एएफपी) । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका र इजरायलले आक्रमण गरेको समाचार सार्वजनिक भएको छ । इरानको मेहर समाचार एजेन्सीका अनुसार ‘अमेरिकी–जायोनिस्ट शत्रुले खार्ग टापुमा धेरै आक्रमण गरेको छ र त्यहाँ विस्फोटका आवाज सुनिएका छन् ।’


    एक समाचार स्रोतका पत्रकारले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सामाजिक सञ्जालमा लेखे, “अमेरिकाले उक्त टापुमा सैन्य लक्ष्यहरूमा आक्रमण गरेको हो ।” यद्यपि एक अमेरिकी समाचारपत्रले ह्वाइट हाउस अधिकारीलाई उद्धृत गर्दै आक्रमण सैन्य लक्ष्यमै केन्द्रित रहेको जनाएको छ । अर्को अन्तर्राष्ट्रिय समाचार माध्यमले पनि अमेरिकी अधिकारीको भनाइ उल्लेख गर्दै तेल पूर्वाधारमा क्षति नपुगेको बताएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार नष्ट गर्ने धम्की बारम्बार दिँदै आएका छन् । मङ्गलबार उहाँले ‘पूरै सभ्यता नै नष्ट हुन सक्छ’ भन्ने चेतावनी दिएका थिए । खार्ग टापु इरानको तेल निर्यात प्रणालीको केन्द्रबिन्दु हो र देशको अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

    यो टापु रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्य नजिक अवस्थित छ, जहाँ इरानको सबैभन्दा ठूलो तेल टर्मिनल, पाइपलाइन, भण्डारण ट्याङ्क तथा अन्य पूर्वाधार रहेका छन् । यसअघि मार्च १३ मा पनि अमेरिकाले खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा बमबारी गरेको जनाएको थियो, जसमा तेलसम्बन्धी संरचना भने प्रभावित नभएको बताइएको थियो ।

  • ट्रकको ठक्करबाट ललितपुरमा दुई जनाको मृत्यु

    ट्रकको ठक्करबाट ललितपुरमा दुई जनाको मृत्यु

    काठमाडौँ, २४ चैतः ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–००१ ख ८०६८ नम्बरको ट्रकले एएए ३५४२ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–२ सानेपा बस्ने सुनसरी घर भएका ६५ वर्षीय विदुर गुरुङ र मोटरसाइकलमा सवार उनकै आमा ८५ वर्षीया धनमाया गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ । ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

  • ट्रम्प–इरान तनाव बढ्दै, ट्रम्पले दिए समाप्त पार्ने अहिलेसम्मकै कडा धम्की

    ट्रम्प–इरान तनाव बढ्दै, ट्रम्पले दिए समाप्त पार्ने अहिलेसम्मकै कडा धम्की

    वासिङटन, २४ चैत (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खुला गर्न दिएको म्याद सोमबारबाट मङ्गलवारमा सारिएको छ । ट्रम्पको अघिल्लो डेडलाइन मार्च २३ का लागि तय गरिएको थियो, तर त्यसपछि उनले पटक–पटक चेतावनी जारी गर्दै र कहिलेकाहीँ वार्ता सफल भएको दाबी गर्दै म्याद सार्दै आएका छन् ।

    इरानले पछिल्लो सङ्घर्षविराम प्रस्ताव अस्वीकार गरेको इरानको सरकारी समाचार एजेन्सीले सोमबार रिपोर्ट गरेको छ । त्यसपछि ट्रम्पले चेतावनी दिँदै मङ्गलबार साँझ ८ बजेको म्याद अन्तिम हुन सक्ने सङ्केत दिएका छन् । उनले भने, “उनीहरूलाई कुनै पुल, विद्युत गृह वा अन्य पूर्वाधार बाँकी रहँदैन ।”


    संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले अमेरिकीलाई नागरिक पूर्वाधारमा आक्रमण अन्तर्राष्ट्रिय कानूनअनुसार निषेधित रहेको बताए । मार्च २१ मा, ट्रम्पले ट्रुथ सोशलमा पोस्ट गर्दै यदि इरानले ४८ घण्टाभित्र स्ट्रेट पूर्ण रूपमा खुला नगरे, अमेरिकाले उनका विद्युत गृहहरू नष्ट गर्ने चेतावनी दिएका थिए । म्याद मार्च २३ साँझसम्म थियो । तर १२ घण्टा अघि, ट्रम्पले सकारात्मक वार्ताको जानकारी दिँदै म्याद पाँच दिनका लागि स्थगित गरे । यसरी डेडलाइन त्यो हप्ताको अन्त्यसम्म धकेलिएको थियो ।


    मार्च २६ मा, ट्रम्पले फेरि चेतावनी दिँदै भने, “उहाँहरूले छिट्टै गम्भीर हुनुपर्छ, नभएपछि पछाडि फर्कन सकिँदैन र परिस्थिती रमाइलो हुने छैन ।” तर पछि उनले डेडलाइन १० दिन थप्दै अप्रिल ६ बेलुका ८ बजे सम्मको नयाँ म्याद तोके र वार्ता ‘देरै राम्रो भइरहेको’ बताए । मार्च ३० मा, उनले मिश्रित बयान जारी गर्दै वार्तामा प्रगति भएको कुरा मनाए र सम्झौता छिट्टै नभए बमवर्षण धम्की बढाउने चेतावनी पनि दिए । इरान र अमेरिकाबीचको यो तनावले मध्यपूर्वमा तेल आपूर्ति, अन्तर्राष्ट्रिय सुरक्षा र विश्वव्यापी बजारमा व्यापक असर पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।

  • प्रतिनिधिसभा :  बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

    प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

    काठमाडौँ, २४ चैतः प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट गर्ने गरेको भन्दै सामाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले मनाङ–मुस्ताङलगायत मुलुकका विभिन्न स्थानमा प्रतिबन्धित क्षेत्र घोषण गर्दा जनताको मौलिक हक हनन भएको भन्दै त्यसलाई खुला गरी स्थानीय तहमार्फत व्यवस्थापन र सञ्चालन गर्न माग गरे ।


    बैठकमा सांसद अशोक चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बाढीबाट बर्सेनि हुने डुबानको दिगो समस्या समाधानका लागि सरकारसँग आग्रह गरे । सांसद आकृति अवस्थीले सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध भएको जेनजी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने माग गरिन् ।

    सांसद आर्यन राईले खोटाङलगायत पूर्वी पहाडका कृषि क्षेत्रमा बाँदर आतङ्क समाधानको उपायका बारेमा आफूहरूले सरकारलाई जानकारी गराएको उल्लेख गर्दै शीघ्र समाधानका लागि ध्यानाकर्षण गराए । सांसद आशिष गजुरेलले सडक दुर्घटनामा दैनिक सात जनाको मृत्यु हुने गरेको तथ्य अवगत गराउँदै सडक सुरक्षा विधेयक तत्काल पेस गरी पारित गर्नका लागि ध्यानाकर्षण गराए ।


    सांसद आशिका तामाङले त्रिशूलीगायत नदीमा भइरहेको नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित गर्न माग गरिन् । सांसद इन्दिरा रानामगरले मुलुकका भविष्यका कर्णधार युवा दुव्र्यसनको सिकार भइरहेको अवस्थामा समाधानका लागि नयाँ कार्यक्रम ल्याउन माग गरिन् । सांसद एलिजा गुरुङले मनाङ–मुस्ताङ मुलुकका विभिन्न स्थानमा घोषणा गरिएका प्रतिबन्धित क्षेत्रलाई खुला गरी स्थानीय तहमार्फत व्यवस्थापन र सञ्चालन गर्न माग गरिन् ।

  • महोत्तरीमा दुई मोटरसाइकल ठोक्किए, तीन युवाको मृत्यु

    महोत्तरीमा दुई मोटरसाइकल ठोक्किए, तीन युवाको मृत्यु

    जलेश्वर (महोत्तरी), २४ चैतः जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने शत्रुध्न मण्डलका छोरा अन्दाजी २० वर्षीय अभिषेक मण्डल रहेको प्रहरीले जनाएको छ ।

    निजका आफन्तहरूले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले बताए । सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ कै सुरेश दासका छोरा अन्दाजी १९ वर्षीय रोहित दास, सोही ठेगानाका लखिन्द्र कापरका छोरा अन्दाजी १९ वर्षीय अभय कापर र एकडारा गाउँपालिका–५ बथनाहाका रामवरण कापरका छोरा अन्दाजी २० वर्षीय अजय कापर रहेका छन् ।

  • सरकारले घटायो पेट्रोलियम पदार्थमा लाग्ने कर

    सरकारले घटायो पेट्रोलियम पदार्थमा लाग्ने कर

    २४ चैत, काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको सामान्य प्रशासनमन्त्री रावलले जानकारी दिइन् । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले भनिन्, “पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यावहारिक देखिएको छ । मूल्य समायोजनको बाध्यता छ । सरकारले यो तथ्य लुकाउँदैन ।”

    सामान्य प्रशासनमन्त्री रावलका अनुसार पेट्रोलियम पदार्थमा सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब रु ११ अर्ब ७२ करोड घाटा भइरहेको छ । इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने र इभी (विद्युतीय सवारी) तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको उनले बताइन् ।

    मन्त्रिपरिषद्को बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैङ्कले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ । बैठकले ललितपुरको पुल्चोकमा रहेको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई ललितपुरकै गोदावरीमा स्थानान्तरण गरी जल तथा ऊर्जा आयोगको सचिवालयो कार्यालयलाई पुल्चोकमा हाल जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र रहेको भवनमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम र सदस्यहरू ललिताकुमारी महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी, पूर्वाधार विकासतर्फ नागढुङ्गा सुरुङमार्गको पश्चिम खण्डमा पर्ने धुनिबेँसी नगरपालिका र पासाङल्हामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेसी सडक खण्डमा पर्ने उत्तरगया गाउँपालिकामा निजी जग्गा प्राप्ति गर्न सरकारले स्वीकृति प्रदान गरेको छ ।

    काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणका लागि काठमाडौँ, ललितपुर र मकवानपुरका विभिन्न वन क्षेत्रको कुल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र १८ हजार ८९८ वटा रूख काट्न अनुमति दिने निर्णय पनि बैठकले गरेको छ ।

  • नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

    नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

    २४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । पण्डितले राष्ट्र बैङ्कको सुपरीवेक्षण विभाग, बैङ्क तथा वित्तीय संस्था नियमन विभागलगायत विभिन्न विभागमा रहेर काम गरेका छन् । राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद रिक्त छ । त्यसमध्ये आज एक जनाको मात्र पदपूर्ती भएको हो । अर्को पदपूर्तिको भने टुंगो लागेको छैन ।

  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त

    राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त

    काठमाडौँ, २४ चैतः सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सञ्चारकर्मीलाई जानकारी दिइन् । भट्ट तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर बन्न पाएका थिएनन् । अब उनी बालेन नेतृत्वको बलियो सरकारको मूख्य सल्लाहकारका रुपमा रहने योजना आयोगको नेतृत्व गर्नेछन् ।

  • ऊर्जा महँगीको चपेटामा श्रीलङ्का, ग्यास मूल्यमा ठूलो वृद्धि

    ऊर्जा महँगीको चपेटामा श्रीलङ्का, ग्यास मूल्यमा ठूलो वृद्धि

    कोलम्बो, २४ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी द्वन्द्वको प्रत्यक्ष असर झेल्दै श्रीलङ्काले घरेलु तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी)को मूल्य सोमबार झन्डै एक चौथाइले बढाएको छ । यसले आर्थिक रूपमा पुनःउत्थानको प्रयासमा रहेको देशमा थप दबाब सिर्जना गरेको छ ।

    सरकारले विश्व बजारमा बढ्दो मूल्यलाई कारण देखाउँदै ग्यासको मूल्य वृद्धि गरेको हो । श्रीलङ्का पूर्ण रूपमा ग्यास र तेल आयातमा निर्भर रहँदै आएको छ भने विद्युत् उत्पादनका लागि कोइला पनि बाह्य स्रोतबाट खरिद गर्नुपर्ने अवस्था छ । यस पृष्ठभूमिमा मध्यपूर्वमा लामो समयदेखि जारी युद्धले देशको अर्थतन्त्रलाई पुनः कमजोर बनाउने चिन्ता बढेको छ ।

    सोमबार गरिएको मूल्य समायोजन गत महिना गरिएको आठ प्रतिशत वृद्धिपछि आएको हो, जसले निरन्तर बढ्दो ऊर्जा लागतको सङ्केत गरेको छ । घरेलु एलपिजी बजारको करिब एक चौथाइ हिस्सा ओगट्ने एक निजी कम्पनीले आफ्नो खुद्रा मूल्य चार हजार ६३० रुपैयाँ (श्रीलङ्काली मुद्रा) बाट २३ प्रतिशतले बढाएर पाँच हजार ७०० रुपैयाँ पुर्‍याएको छ ।

    त्यस्तै, राज्य स्वामित्वको प्रमुख आपूर्तिकर्ता लिट्रो ग्यासले १२.५ किलोग्राम सिलिन्डरको मूल्य तीन हजार ९९० रुपैयाँबाट बढाएर चार हजार ७६५ रुपैयाँ निर्धारण गरेको छ । यो १९.४२ प्रतिशतको वृद्धि हो । कम्पनीका प्रवक्ताले अप्रिल महिनाका लागि पर्याप्त आपूर्ति रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय बजारमा एलपिजीको मूल्य वृद्धि र ढुवानी खर्च बढ्नु नै मूल्य समायोजनको मुख्य कारण भएको बताएका छन् ।

    यसअघि पनि इरानविरुद्ध अमेरिका–इजरायल आक्रमण र त्यसपछि भएको जवाबी कारबाहीका कारण विश्वव्यापी ऊर्जा बजार प्रभावित बनेपछि श्रीलङ्काले इन्धन र बिजुलीको मूल्य एक तिहाइभन्दा बढीले बढाएको थियो । विशेषगरी, विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्य द्वन्द्वका कारण प्रभावकारी रूपमा बन्द हुँदा कच्चा तेल र ग्यास आपूर्ति प्रभावित भएको छ । सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत ऊर्जा निर्यात यही मार्ग हुँदै हुने गर्छ ।

  • ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति

    ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति

    सियोल, २४ चैत (रासस–एएफपी) । दक्षिण कोरियाले यस वर्षको सुरुमा उत्तर कोरियातर्फ पठाइएका ड्रोनसम्बन्धी विवादमा पहिलोपटक स्पष्ट स्वीकारोक्ति गर्दै प्योङयाङप्रति खेद व्यक्त गरेको छ । राष्ट्रपति ली जे म्युङले सोमबार उक्त घटनालाई ‘गैरजिम्मेवारपूर्ण’ र ‘लापरवाह’ कदमका रूपमा वर्णन गर्दै यसले अनावश्यक सैन्य तनाव बढाएको बताए ।

    सुरुमा सियोलले जनवरीमा भएको ड्रोन घटनामा आफ्नो कुनै आधिकारिक संलग्नता नरहेको दाबी गरेको थियो र यसलाई निजी व्यक्तिको कार्य हुन सक्ने सङ्केत दिएको थियो । तर पछिल्लो अनुसन्धानले सरकारी निकायसँग सम्बन्धित व्यक्तिहरूको संलग्नता पुष्टि गरेको राष्ट्रपति लीले मन्त्रिपरिषद् बैठकमा जानकारी दिए । उनका अनुसार राष्ट्रिय गुप्तचर सेवाका एक अधिकारी र एक सक्रिय सैनिक यस घटनामा संलग्न रहेको प्रमाणित भएको छ ।

    उक्त घटनापछि उत्तर कोरियाले कडा प्रतिक्रिया जनाउँदै फेब्रुअरीमा यस्ता ड्रोन फेरि आफ्नो क्षेत्रमा प्रवेश गरे ‘भयानक परिणाम’ आउने चेतावनी दिएको थियो । प्योङयाङले जनवरीको सुरुमै ‘निगरानी उपकरण’ बोकेको ड्रोन खसालेको दाबी गर्दै त्यसका भग्नावशेषका तस्बिरहरू सार्वजनिक गरेको थियो, जसमा क्यामेरा जडान भएको देखिएको थियो ।

    राष्ट्रपति लीले केही व्यक्तिको लापरवाह निर्णयका कारण उत्पन्न तनावप्रति उत्तर कोरियासँग खेद प्रकट गर्दै यस्ता गतिविधि अत्यन्त सावधानीपूर्वक मात्रै सञ्चालन हुनुपर्ने बताउनुभयो। उहाँले दक्षिण कोरियाको संविधानले निजी व्यक्तिलाई उत्तर कोरियालाई उक्साउन सक्ने कार्य गर्न निषेध गरेको स्मरण गराउँदै राष्ट्रिय सुरक्षासम्बन्धी कुनै पनि कदम जिम्मेवार ढङ्गले चालिनुपर्ने धारणा राखे ।
    गत वर्षदेखि पद सम्हालेका लीले उत्तर कोरियासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् ।

    उनले आफ्नो पूर्ववर्ती प्रशासनको आलोचना गर्दै प्योङयाङतर्फ प्रचार सामग्री पठाउने जस्ता गतिविधिले तनाव बढाएको बताउँदै आएका छन् । यद्यपि, उनका कूटनीतिक प्रस्तावहरूमा उत्तर कोरियाबाट सकारात्मक प्रतिक्रिया आएको छैन । पूर्वराष्ट्रपति युन सुक येओलविरुद्ध भने गम्भीर आरोपहरू लागेका छन् । उनीमाथि उत्तर कोरियातर्फ ड्रोन पठाएर जानाजानी तनाव सिर्जना गरेको र त्यसलाई सैन्य शासन घोषणा गर्ने बहानाका रूपमा प्रयोग गर्न खोजेको अभियोगमा मुद्दा चलिरहेको छ । गत वर्ष अप्रिलमा महाभियोगपछि पदबाट हटाइएका युनलाई मार्सल ल घोषणा गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

    यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनले मार्चमा दिएको नीतिगत सम्बोधनमा दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण राज्य’ भन्दै पूर्ण रूपमा अस्वीकार गर्ने घोषणा गरेका थिए । उनले देशको आणविक कार्यक्रमलाई ‘अपरिवर्तनीय मार्ग’ भन्दै त्यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि दोहोर्‍याए ।
    दुवै कोरियाबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । सन् १९५०–५३ को युद्ध शान्ति सन्धिबिना केवल युद्धविराममा समाप्त भएकाले दुवै देश प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन् । त्यसैले दुवै देशमा अनिवार्य सैन्य सेवा लागू रहनुका साथै सानो घटनाले पनि ठूलो द्वन्द्व निम्त्याउने जोखिम कायमै रहेको देखिन्छ ।

  • फिजीमा क्रुज दुर्घटना, सबै यात्रु सुरक्षित

    फिजीमा क्रुज दुर्घटना, सबै यात्रु सुरक्षित

    मेलबर्न, २४ चैत (रासस–एपी) । फिजी नजिकै चट्टानमा अड्किएको एक क्रुज जहाजबाट सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएपछि सम्भावित ठूलो मानवीय दुर्घटना टरेको छ । जहाज सञ्चालक कम्पनीले सोमबार दिएको जानकारीअनुसार उक्त घटनामा कुनै पनि यात्रु घाइते भएका छैनन् । ब्लू लगुन क्रुजद्वारा सञ्चालित एमभी फिजी प्रिन्सेस शनिबार मोनुरिकी टापु नजिकै चट्टानमा अड्किएको थियो ।

    सो क्षेत्र हलिउड अभिनेता टम ह्याङ्क्स अभिनीत सन् २००० को चलचित्र ‘कास्ट अवे’ का कारण पनि परिचित मानिन्छ । प्रारम्भिक अनुसन्धानका आधारमा, जहाज लङ्गर हालेको अवस्थामा समुद्री अवस्था सामान्य रहे पनि अचानक आएको शक्तिशाली आँधीका कारण लङ्गर तानिँदै जहाज चट्टानतर्फ धकेलिएको र अन्ततः जमिनमा अड्किएको बताइएको छ ।

    आइतबार बिहान उज्यालो हुनासाथ उद्धार कार्य सुरु गरिएको थियो । करिब ५५.५२ मिटर लामो जहाज नजिकै डुङ्गा पु¥याएर ३० यात्रुलाई उनीहरूका सामानसहित सुरक्षित रूपमा बाहिर निकालिएको कम्पनीले जनाएको छ । उद्धारपछि सबै यात्रुलाई डेनारो टापुमा सारिएको छ, जहाँ उनीहरूको आवश्यक व्यवस्थापन गरिएको छ । घटनापछि सम्भावित वातावरणीय क्षति रोक्न पनि तत्काल कदम चालिएको छ । जहाजमा रहेको पम्प गर्न सकिने इन्धन र अन्य तेल पदार्थ सोमबारसम्म हटाइएको कम्पनीले जनाएको छ, जसले समुद्री प्रदूषणको जोखिम घटाएको छ ।

    उद्धार तथा प्राविधिक मूल्याङ्कनका लागि अस्ट्रेलियाका एक विशेषज्ञ आइतबारदेखि घटनास्थलमा खटिएका छन् र समग्र अवस्थाको निरीक्षण गरिरहेका छन् । यद्यपि, फिजीको समुद्री सुरक्षा प्राधिकरणले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । समग्रमा, आकस्मिक प्राकृतिक प्रभावका कारण भएको यो दुर्घटनामा मानवीय क्षति नभएकाले राहत महसुस गरिएको छ भने आगामी दिनमा यस्ता घटनाबाट बच्न थप सावधानी अपनाउने आवश्यकता औँल्याइएको छ ।

  • नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु

    नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु

    लागोस, २४ चैत (रासस–एएफपी) । नाइजेरियाको सैनिक बलले कादुना राज्यको उत्तरपश्चिमी क्षेत्रमा ईस्टर पर्वको अवसरमा अपहरण गरिएका ३१ जनालाई उद्धार गरेको घोषणा गरेको छ । तर, यस घटनामा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । क्यालेब बावा माआजी अनुसार, स्थानीय क्याथोलिक र इभान्जेलिकल चर्चहरूमा आक्रमण भएको थियो । अपहरणको घटना अबुजाबाट करिब १०० किलोमिटर उत्तरमा रहेको अरिको गाउँमा घट्यो ।

    यसअघि पुलिस प्रमुखले ईस्टर पर्वको अवसरमा पूजा स्थलहरूमा ‘व्यापक सुरक्षा व्यवस्था’ गर्न आदेश दिनुभएको थियो । सैनिक बलका अनुसार, “द्रुत प्रतिक्रिया मार्फत आतङ्ककारी आक्रमण असफल पार्दै ३१ जनालाई उद्धार गरिएको” हो । सैनिकहरूले आक्रमणकारीसँग गोलीबारी गरेको र त्यसपछि अपहरणकर्ताहरूले होस्टेज छोड्न बाध्य भएको जनाएको छ । घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ, तर माआजी अनुसार सात जनाको मृत्यु भएको थियो ।


    जनवरीमा कादुनामा तीन चर्चमा सामूहिक अपहरण हुँदा १७० भन्दा बढी व्यक्तिहरू अपहरणमा परेका थिए । तीमध्ये ८० जना भाग्न सफल भए र बाँकीको तीन हप्तापछि वार्ता पश्चात रिहाइ भएको थियो । कादुना उत्तरपश्चिमी र मध्य नाइजेरियाका केही राज्यहरूमा वर्षौंदेखि अपराधी गिरोह ९ब्यान्डिट्स० ले समुदायहरूमा आक्रमण गरी अपहरण गर्ने गतिविधि जारी छ । यद्यपि यी ब्यान्डिटहरू प्रायः आर्थिक लाभका लागि हिंसा गर्छन्, उनीहरू पूर्वोत्तरका जिहादी समूहहरूसँग पनि सहकार्य गर्दै आएका छन् । सैनिकले प्रयोग गरेको ‘आतङ्ककारी’ शब्द जिहादी वा ब्यान्डिटलाई जनाउँछ कि भन्ने स्पष्ट छैन ।


    यसैबीच, नाइजेरियाली सेना जाम्फारा राज्यमा ६५ ब्यान्डिट मारिएको रिपोर्ट पनि सार्वजनिक भएको छ । यो आक्रमण अपहरण भएको क्षेत्रमा होइन, तर सैनिक बलले त्यहाँ ‘महत्वपूर्ण सफलता’ हासिल गरेको जनाएको छ । नाइजेरियामा हिंसा बढ्दै गएपछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँका क्रिश्चियनहरूमाथि भएको ‘हत्याकाण्ड’ बारे ध्यानाकर्षण गराए ।

  • युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा

    युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा

    पेरिस, २४ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका र क्षेत्रीय शक्तिहरूबीचको तनाव खतरनाक मोडमा पुगेको छ । पछिल्ला घटनाक्रमहरूले युद्ध अझ फैलिने सङ्केत देखाएका छन् भने मानव क्षति, ऊर्जा सङ्कट र कूटनीतिक टकराव एकैसाथ बढिरहेका छन् । इजरायलको उत्तरी सहर हाइफामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

    सात तले आवासीय भवनमा सीधा प्रहार हुँदा भवन आंशिक रूपमा ढलेको र भग्नावशेषमा हराइरहेका अन्य दुई जनाको खोजी भइरहेको इजरायली अग्नि तथा उद्धार सेवाले जनाएको छ । यस आक्रमणसँगै इजरायलले पनि इरानको राजधानी तेहरानमा ‘शासन लक्षित’ आक्रमणको शृङ्खला सञ्चालन गरेको पुष्टि गरेको छ । इरानी सञ्चारमाध्यमहरूले तेहरानका विभिन्न आवासीय क्षेत्रमा विस्फोट भएको र केही स्थानमा ग्यास आपूर्ति अवरुद्ध भएको बताएका छन् ।

    यसैबीच, इरानले नागरिक संरचनामाथि आक्रमण दोहोरिए अझ ‘विनाशकारी’ जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले आगामी चरण अझ व्यापक हुने सङ्केत दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन नगरे नागरिक पूर्वाधारमाथि कडा आक्रमण गर्ने चेतावनी दोहोर्‍याउँदै समयसीमा २४ घण्टा थप गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पुल र विद्युत् संरचनामाथि आक्रमण गर्ने धम्की दिए । इरानका संसदीय नेतृत्वले यस्तो कदमले सम्पूर्ण क्षेत्र जल्न सक्ने प्रतिक्रिया दिएको छ ।

    द्वन्द्व क्षेत्र विस्तार हुँदै खाडी मुलुकहरूसम्म पुगेको छ । कुवेत र संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई सुरक्षाले मिसाइल र ड्रोन आक्रमणहरू विफल पारिरहेको बताएका छन् । यसैबीच, इरान समर्थित लेबनानी समूह हिजबुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार पुनः सुरु गरेपछि लेबनान पनि युद्धमा गहिरिँदै गएको छ । लेबनानमा इजरायली आक्रमणले ठूलो मानवीय क्षति पुर्‍याएको छ । आइतबार मात्र कम्तीमा १५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् । बेरुतमा पाँच जनाको ज्यान गएको, पूर्वी क्षेत्रमा रहेको ऐन सादेहमा तीन जनाको मृत्यु भएको तथा दक्षिणी सहर कफर हट्टामा चार वर्षीया बालिकासहित सात जनाको ज्यान गएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    युद्धको प्रभाव ऊर्जा बजारमा पनि स्पष्ट देखिएको छ । विश्वव्यापी आपूर्ति जोखिमका कारण कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । नर्थ सी ब्रेन्ट र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियेट दुवैको मूल्य १० प्रतिशतभन्दा माथि उक्लिएको छ, जसले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने सङ्केत गरेको छ । यस्तै, ओपेक प्लसले मे महिनादेखि दैनिक दुई लाख छ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने निर्णय गरे पनि हालैका आक्रमणले क्षतिग्रस्त ऊर्जा संरचना मर्मत गर्न समय लाग्ने चेतावनी दिएको छ ।

    सैन्य मोर्चामा अमेरिका पनि प्रत्यक्ष रूपमा सक्रिय देखिएको छ । खसालिएको एफ–१५ लडाकू विमानका एक एयरम्यानलाई ‘साहसी’ उद्धार अभियानमार्फत जिवितै फेला पारिएको अमेरिकी पक्षले जनाएको छ । उक्त अभियानमा दर्जनौँ अमेरिकी विमान संलग्न भएको र एयरम्यान गम्भीर घाइते रहेको बताइएको छ । तर इरानले भने अमेरिकी कारबाही पूर्ण रूपमा असफल भएको दाबी गरेको छ । अमेरिकी विशेष बलहरू इरानी भूमिमा गहिरो प्रवेश गरेको र उद्धारका क्रममा प्रयोग गरिएका दुई विमान नष्ट गर्नुपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    यसै क्रममा दक्षिणपश्चिमी इरानस्थित कासिम सुलेमानी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिका–इजरायलले संयुक्त हवाई आक्रमण गरेको इरानी सरकारी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । धार्मिक र मानवीय पक्षमा पनि तनाव बढेको छ । पोप लियो चौधौँले आफ्नो पहिलो इस्टर सन्देशमार्फत युद्ध विस्तार गर्न सक्ने शक्तिहरूलाई शान्तिको बाटो रोज्न आग्रह गरेका छन् । उनले हिंसाप्रति बढ्दो उदासीनताप्रति चिन्ता व्यक्त गर्दै हजारौँ मानिसको मृत्युमा विश्व समुदाय संवेदनशील हुनुपर्ने बताए । यता, इस्टरका अवसरमा इजरायली सुरक्षा बलले पूर्वी जेरुसेलमस्थित पवित्र सेपुल्चर चर्चमा प्रवेशमा प्रतिबन्ध लगाएपछि धार्मिक गतिविधि समेत प्रभावित भएका छन् ।

  • चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

    चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

    हस्टन, २४ चैत (रासस–एएफपी) । नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि ‘स्लिङ्गशट’ मार्गमा प्रवेश गर्दै एक महत्त्वपूर्ण चरणमा पुगेको छ, जसले भविष्यका चन्द्र अवतरण मिसनका लागि नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । आधा शताब्दीभन्दा बढीपछि मानवयुक्त चन्द्र परिक्रमा उडान पुनः सुरु भएको यो क्षणले वैज्ञानिक तथा ऐतिहासिक दुवै दृष्टिले विशेष अर्थ राखेको छ ।

    ओरियन क्याप्सुलमा सवार तीन अमेरिकी र एक क्यानाडाली अन्तरिक्ष यात्री चन्द्रमाको गुरुत्वाकर्षणको प्रभावमा आफ्नो मार्ग परिवर्तन गर्दै पृथ्वीबाट अहिलेसम्मको सबैभन्दा टाढाको दूरीतर्फ अघि बढिरहेका छन् । यो उडानले केवल दूरीको रेकर्ड मात्र होइन, विविधताको नयाँ इतिहास पनि रचेको छ । भिक्टर ग्लोभर चन्द्र परिक्रमा गर्ने पहिलो रङको व्यक्ति बन्ने क्रममा हुनुहुन्छ भने क्रिस्टिना कोच पहिलो महिला बन्ने निश्चित भएको छ । त्यसैगरी, जेरेमी ह्यानसेन चन्द्र परिक्रमा गर्ने पहिलो गैर–अमेरिकीको रूपमा इतिहासमा अङ्कित हुनेछन् । मिशन कमान्डर रिड वाइसम्यानको नेतृत्वमा टोलीले चन्द्रमाको अध्ययनलाई प्राथमिकतामा राखेको छ ।

    चन्द्रमाको टाढाको भागमा पुग्दै गर्दा अन्तरिक्ष यात्रीहरूले मानव आँखाले कहिल्यै प्रत्यक्ष नदेखेका दृश्यहरू अवलोकन गर्न थालेका छन् । आइतबार नासाले सार्वजनिक गरेको तस्बिरमा ओरियन्टल बेसिन स्पष्ट देखिएको छ, जुन विशाल क्रेटरलाई कहिलेकाहीँ ‘चन्द्रमाको ग्रान्ड क्यानियन’ पनि भनिन्छ । यसअघि यस्ता दृश्य केवल स्वचालित क्यामेराबाट मात्र कैद भएका थिए । अन्तरिक्षबाट क्यानाडाली बालबालिकासँगको संवादमा कोचले उक्त बेसिन प्रत्यक्ष देख्न पाउँदा टोली अत्यन्त उत्साहित भएको बताए ।


    उडानको अन्तिम चरणतिर अन्तरिक्ष यात्रीहरूले दुर्लभ खगोलीय दृश्य—सूर्यग्रहण—अवलोकन गर्ने अवसर पनि पाउनेछन्, जहाँ सूर्य चन्द्रमाको पछाडि लुकेको अवस्थामा यसको बाहिरी तह ‘कोरोना’ स्पष्ट देख्न सकिनेछ । यससँगै उनीहरूले ‘ओरियन क्रु सर्भाइवल सिस्टम’ (ओसिएसएस) स्पेससुटको परीक्षण पनि गरिरहेका छन्, जसले आपतकालीन अवस्थामा छ दिनसम्म जीवन धान्न सक्ने हावा उपलब्ध गराउन सक्छ ।


    यो मिशनले चन्द्रमामा अवतरण नगरे पनि चन्द्र परिक्रमा क्रममा पृथ्वीबाट सबैभन्दा टाढा पुग्ने नयाँ कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ । नासाका प्रशासक जारेड आइज्याकम्यानका अनुसार यस अभियानबाट सङ्कलित तथ्याङ्क आगामी आर्टेमिस–३ (२०२७) र आर्टेमिस–४ (२०२८) जस्ता चन्द्र अवतरण मिसनका लागि अत्यन्त महत्त्वपूर्ण हुनेछन् ।

    हालसम्म अन्तरिक्ष यात्रीहरूले म्यानुअल पाइलटिङ अभ्यास सम्पन्न गर्नुका साथै चन्द्र सतहका विभिन्न भू–आकृतिको अध्ययन, तस्बिर सङ्कलन र उडान योजनाको समीक्षा गरिसकेका छन् । नासाले विशेषगरी अन्तरिक्ष यानको जीवन समर्थन प्रणाली र समग्र इकोसिस्टमको कार्यक्षमतामा ध्यान केन्द्रित गरिएको जनाएको छ । यो पहिलो पटक भएकोले अन्तरिक्ष यात्रीहरूले यस यानबाट प्राप्त हुने प्रत्येक तथ्याङ्कलाई उच्च प्राथमिकताका साथ सङ्कलन गरिरहेका छन् ।

  • तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

    तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

    तेहरान, २४ चैत (रासस–सिन्ह्वा) । इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ र धेरै अन्य घाइते भएका छन् । फर्स समाचार एजेन्सी र नूर न्यूजका अनुसार, आक्रमण स्थानीय समय अनुसार बिहानै एक आवासीय भवनमा परेको थियो । यस घटनाले क्षेत्रीय बासिन्दा र परिवारहरूमा भय र त्रास मच्चाएको छ ।

    आक्रमणको उद्देश्य अहिलेसम्म स्पष्ट छैन । यसमा संलग्न पक्षको जिम्मेवारी सार्वजनिक गरिएको छैन, र इजरायल तथा संयुक्त राज्य अमेरिका ले यसबारे कुनै टिप्पणी गरेका छैनन् । सुरक्षा अधिकारीहरूले घटनास्थलको नियन्त्रण लिएका छन् र घाइतेहरूको उपचारका लागि उद्धार कार्य तीव्र बनाइएको छ । घटनास्थलमा स्थानीय प्रशासन, सुरक्षा बल र स्वास्थ्य टोलीले राहत तथा खोजकार्यलाई प्राथमिकता दिएका छन् ।

    विशेषज्ञहरूले जनाएका अनुसार आवासीय क्षेत्रलाई लक्षित गरेको हवाई आक्रमण अन्तर्राष्ट्रिय मानवअधिकार र युद्ध कानूनको दृष्टिले संवेदनशील विषय हो । नागरिक जनसङ्ख्यामा प्रत्यक्ष असर पर्ने यस प्रकारको हमला दीर्घकालीन सामाजिक र मनोवैज्ञानिक प्रभावहरू पनि पार्न सक् । यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा हर्मुज जलडमरू पुनः खोल्न नसके ‘नरक खोलन’ धम्की दिएका केही घण्टापछि भएको हो । यसले क्षेत्रीय तनाव बढाएको र अन्तर्राष्ट्रिय स्तरमा पनि चेतावनी सङ्केत दिएको छ ।

  • मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि

    मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि

    भिएना, २४ चैत (रासस–सिन्ह्वा) । तेल निर्यात गर्ने मुलुकहरूको सङ्गठन (ओपेक) र उसका सहयोगी देशहरूले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका छन् । यो निर्णय ओपेक द्वारा जारी गरिएको आधिकारिक वक्तव्यमा उल्लेख छ । निर्णय भर्चुअल बैठकपछि सार्वजनिक गरिएको थियो, जसमा साउदी अरेबिया, रुस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकस्तान, अल्जेरिया र ओमान ले सहभागी थिए ।

    बैठकले विश्व बजारको अवस्था र भावी दृष्टिकोणको समीक्षा गरेको थियो । मध्यपूर्वमा जारी सैनिक सङ्घर्षका बीच, यी आठ ओपेक प्लस देशहरूले ऊर्जा आपूर्ति सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षा अत्यन्त महत्वपूर्ण भएको औँल्याएका छन् । साथै, ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणहरूले आपूर्ति प्रणालीमा नकारात्मक असर पुर्याएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले क्षतिग्रस्त ऊर्जा संरचनालाई पूर्ण क्षमतामा पुनःस्थापना गर्न महँगो र समय लाग्ने भएकाले सावधानी अपनाउन आवश्यक भएको बताए ।


    ओपेक प्लसका यी आठ देशहरू अर्को बैठक मे ३ मा आयोजना गर्दै थप निर्णय गर्ने योजना बनाएका छन् । फेब्रुअरी २८ देखि संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानमा गरिएको हवाई आक्रमणपछि मध्यपूर्वमा द्वन्द्वले क्षेत्रीय ऊर्जा आपूर्तिमा गम्भीर अवरोध सिर्जना गरेको छ । यसका कारण कच्चा तेल र परिष्कृत तेल उत्पादन तथा ढुवानीमा उल्लेखनीय गिरावट आएको छ । तेल आपूर्ति वृद्धि गर्ने यो कदमले विश्व ऊर्जा सङ्कटसँग जुध्ने रणनीतिक प्रयासको रुपमा हेरिएको छ ।

  • आज पनि बस्दैछ प्रतिनिधिसभाको बैठक

    आज पनि बस्दैछ प्रतिनिधिसभाको बैठक

    काठमाडौँ, २४ चैतः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

  • पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

    पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

    झापा, २४ चैतः पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेका बताए ।

    लामो तथा छोटो दूरीका यातायातका साधनमा चढाउन, होटलमा बास बसाउन र अस्पतालहरूमा उपचारका लागि लगिदिन भन्दै जबर्जस्ती यात्रु तानातान गर्नेहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको खड्काले जानकारी दिए । बिचौलियाले दुःख दिएको भनेर यात्रुबाट गुनासो आएपछि सोमबार बिहानैदेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नाकाको बसपार्क, बजार र भन्सार आसपासमा निगरानीका लागि प्रहरी परिचालन गरेको थियो ।

  • एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

    एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

    गण्डकी, २४ चैतः दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन् ।

    सन् २०२५ को मार्च महिनाको तुलनामा यस वर्ष ११ हजार ६७९ पर्यटक बढको आयोजना प्रमुख डा रविन कडरियाले बताए । पछिल्लो समय यस क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भइरहेको उनको भनाइ छ । “नेपाल भित्रने विदेशी पर्यटकमध्ये ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको भ्रमणमा आउने गरेका तथ्याङ्कले देखाएको छ”, उनले भने । “यहाँ आउने दक्षिण एसियाली पर्यटकमा भारतीयको सङ्ख्या बढी छ ।”

    नेपालमा मार्चदेखि मेसम्मको महिनालाई दोस्रो मुख्य पर्यटकीययामका रूपमा लिइन्छ । नयाँ वर्ष आउन लागेको र वार्षिक परीक्षापछि शैक्षिक संस्थामा पनि बिदा हुने भएकाले यस याममा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्ने आयोजना प्रमुख डा कडरियाले बताए । पदयात्रा गर्न रुचाउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो याम उत्तम रहेको उनको भनाइ छ ।

    आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका छन् । यहाँको अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थल पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

    सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमै प्रसिद्ध मानिन्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देशविदेशका यस क्षेत्र परिचित छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ ।

  • काभ्रेमा होटल र रेष्टुरेन्टको अनुगमन गरी स्तरीकरण गरिँदै

    काभ्रेमा होटल र रेष्टुरेन्टको अनुगमन गरी स्तरीकरण गरिँदै

    काभ्रेपलाञ्चोक, २४ चैतः काभ्रेपलाञ्चोकका तीन नगरपालिकामा अनुगमन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरेको छ । कार्यालयले बनेपा, धुलिखेल र पनौती नगरपालिकाभित्र रहेका होटल तथा रेष्टुरेन्टको अनुगमन तथा मूल्याङ्कन गरी स्तरीकरण गर्नुका साथै लोगोसमेत वितरण गरेको हो ।

    कार्यालयका डिभिजन प्रमुख मनिष चापागाईंको नेतृत्वमा गठित संयुक्त अनुगमन टोलीले सोमबार स्थलगत निरीक्षण गर्दै ‘खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४’ अनुसार अनुसूची–१ मा उल्लेखित मापदण्डका आधारमा मूल्याङ्कन गरेको हो । खाद्य स्वच्छता समूहले ५० वटा सूचकका आधारमा होटल तथा रेष्टुरेन्टको स्तरीकरण गर्ने व्यवस्था रहेको छ ।

    टोलीमा धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गम, होटल एसोसिएसन अफ काभ्रेपलाञ्चोकका अध्यक्ष प्रह्लाद प्याकुरेल, जिल्लास्थित उद्योग वाणिज्य सङ्घका महासचिव रजित पलाञ्चोके, उपभोक्ता मञ्चका जिल्लाध्यक्ष माधव श्रेष्ठलगायतको सहभागिता थियो । अनुगमन टोलीका अनुसार प्रत्येक सूचकलाई दुई अङ्कका दरले मूल्याङ्कन गरी प्राप्त अङ्कका आधारमा होटललाई विभिन्न श्रेणीमा वर्गीकरण गरिन्छ ।

    नब्बेभन्दा माथि अङ्क प्राप्त गर्ने होटललाई अतिउत्तम (तीन तारे हरियो लोगो), ८०–८९ अङ्क प्राप्त गर्ने होटललाई उत्तम (दुई तारे हरियो लोगो), ६५–७९ अङ्क प्राप्त गर्ने होटललाई सन्तोषजनक (एक तारे हरियो लोगो०), ५०–६४ अङ्क प्राप्त गर्ने होटललाई सामान्य (पहेँलो लोगो) प्रदान गर्ने व्यवस्था रहेको कार्यालय प्रमुख चापागाईंले जानकारी दिए ।

    मूल्याङ्कनका क्रममा धुलिखेलका दुसित थानी, होटल सारथी, हिमालय होराइजन होटल, बनेपाको आगन्तुक रिसोर्ट, हिमालय दृश्य, तथा पनौती नगरपालिका–बल्थलीस्थित थुम्की रिसोर्टले अति उत्तम (तीन तारे) हरियो लोगो प्राप्त गरेका छन् । त्यस्तै, पनौतीस्थित बल्थलीका बल्थली माउन्टेन रिसोर्ट र बल्थली भिलेजले उत्तम (दुई तारे) हरियो लोगो प्राप्त गरेका छन् ।

    यसअघि डिभिजन कार्यालयले गत फागुन १७ गते होटल तथा रेष्टुरेन्टका सञ्चालक तथा व्यवस्थापकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा प्रमाणपत्र नवीकरण, सरसफाइ तथा ५० वटा सूचकसम्बन्धी मापदण्डबारे जानकारी गराइएको थियो ।

    चापागाईंका अनुसार जिल्लाभर रहेका होटल तथा रेष्टुरेन्टहरुको क्रमशः अनुगमन गरिनेछ । स्तरीकरण गरिएका होटल व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी प्रतिबद्धता गराई प्रमाणपत्र प्रदान गरिएको छ । साथै, छ महिनाभित्र पुनःनिरीक्षण गर्दा सुधार नभएको पाइए सम्बन्धित होटलको स्तरीकरण एक तह घटाइने पनि जनाइएको छ ।

  • गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

    देवदह (रुपन्देही), २४ चैतः रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालन गराउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् । सोमबार भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा उनीहरुले विमानस्थल सञ्चालन गर्न सङ्घीय सरकारसँग आग्रह गरे ।


    समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँले अर्बौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले विमानस्थल सञ्चालन गर्न सरकारलाई आग्रह गर्दै भगवान् गौतमबुद्धको नामबाट निर्माण भएको विमानस्थल सञ्चालन भए देशमा आर्थिक गतिविधि चलायमान बन्दै जाने विश्वास व्यक्त गरे ।


    लुम्बिनीको विकास हुनु भनेको समग्र मुलुकको आर्थिक गतिविधि चलायमान हुनुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनु रहेको उनको भनाइ छ । “विमानस्थल नियमित सञ्चालन भए भैरहवाको मात्र विकास हुँदैन, यसले समग्र मुलुकको विकासमा टेवा पुर्‍याउँछ, विमानस्थल सञ्चालन भएपछि पर्यटकको आवागमन बढ्छ”, उनले भने । नगरप्रमुख खाँले विमानस्थल सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताए ।


    नगर प्रवक्ता मुक्तिनाथ यादवले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नचल्दा यस क्षेत्रका उद्योगी–व्यवसायी धरासायी अवस्थामा पुगेको बताए । उनले विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न वर्तमान सरकारसँग आग्रह गरे । सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्षसमेत रहेका प्रवक्ता यादवले विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारकोतर्फबाट पहल गर्ने बताए ।

  • वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

    वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

    काठमाडौँ, २३ चैत ।वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने सम्पूर्ण श्रमिकहरुले विमानस्थल जाँदा देहाय बमोजिमका थप कागजात अनिवार्य रुपमा आफूसँग लिएर मात्र गन्तव्य मुलुकसम्मको यात्रा गर्न अनुरोध गरेको छ ।

    विभागले आज विज्ञप्ति जारी गरी यही चैत २९ गतेदेखि गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिलररसिद ९संस्थागत र व्यक्तिगत दुवैले अनिवार्य साथमा राखे० र म्यानपावर कम्पनी (इजाजतपत्र प्राप्त संस्था)मार्फत जाँदै हुनुहुन्छ भने सो संस्थालाई वैदेशिक रोजगारीका लागि बुझाएको सेवा शुल्कबापतको आधिकारिक रसिद राख्न अनुरोध गरेको हो ।

    साथै, सबै इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगारीको सम्बन्धमा श्रमिकबाट प्राप्त गरेको सेवा शुल्कवापतको भौचरररसिदरभरपाइ अनिवार्य रुपमा श्रमिकलाई उपलब्ध गराउन विभागले अनुरोध गरेको छ ।

  • सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

    सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

    काठमाडौँ, २३ चैत । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् । मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको बुँदा नम्बर २ अन्तर्गत विभिन्न मन्त्रालय र मातहतका निकायले आफूले सम्पादन गर्ने १० वटा मुख्य सुधारका करिब तीन सय बढी क्रियाकलापको कार्ययोजना समय सीमासहित बुझाएका हुन् ।

    प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको प्रधानमन्त्री कार्यसम्पादन एकाइ ‘पीएम डेलिभरी युनिट’ ले यी कार्ययोजनाको कार्यसम्पादन ‘ट्र्याकिङ’ गर्नेछ । यस एकाइले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाहरूको लागि मुख्य कार्यसम्पादन सूचक, मन्त्रालयगत कार्यसम्पादन ट्र्याकिङसँगै समस्या तथा अवरोध समाधान संयन्त्रसतिहको केन्द्रीय ‘ड्यासबोर्ड’ सञ्चालन गर्नेछ ।

    विभिन्न मन्त्रालय र निकायहरूले १५ दिनदेखि एक वर्षसम्मको समय सीमा तोकी कार्ययोजना तय गरेका छन । उक्त कार्ययोजनाको मासिक प्रगति प्रतिवेदन हरेक महिनाको ७ गतेभित्र प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन, मूल्याङ्कन तथा सार्वजनिक रिर्पोटिङ गर्ने जनाएको छ । सबै मन्त्रालयसहित राष्ट्रिय योजना आयोग, लगानी बोर्ड र स्वयं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतले आफ्नो कार्ययोजना पेस गरिसकेका छन् ।

    के हो यो कार्ययोजना ?
    सरकारले नतिजामा आधारित शासकीय सुधार प्रबन्ध लागू गर्ने लक्ष्यअनुसार प्रत्येक मन्त्रालयले आफ्ना प्रमुख १० कार्ययोजना, समय सीमा, जिम्मेवार अधिकारी र प्रमुख कार्यसम्पादन सूचकसहित तयार गर्नुपर्ने व्यवस्था गरेको हो । सरकारको मूल उद्देश्य कार्यसम्पादनलाई नतिजामुखी, मापनयोग्य र जवाफदेही बनाउँदै नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउनु रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ दाहालले बताए ।

    झण्डै तीन सय बढी प्रमुख कार्यमध्ये प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयअन्र्तगत प्रणाली स्तरोन्नति, आन्तरिक नियन्त्रण, भ्रष्टाचार विरुद्धको रणनीति, सदाचार नीति, गुनासो फछ्र्यौट, सम्पत्ति शुद्धीकरण ट्«याकिङ, सार्वजनिक खरिद ऐन संशोधन, करदाता सेवा विस्तार, राष्ट्रिय तथ्याङ्क अनलाइन उपलब्धता र राहदानी ऐन संशोधनलगायतका कार्यहरू समावेश छन् । प्रधानमन्त्री कार्यालयले तोकिएको समयभित्र लक्ष्य पूरा नगर्ने अधिकारीहरू जवाफदेही हुने जनाएको छ ।