‘ह्विलचेयरले दियो खुसी’

महोत्तरी, ३ वैशाखः पछिल्ला तीन वर्षयता कैयन चाडपर्व आएगए तर पक्षघातले थलिएका महोत्तरीको बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै प्रवाह भएन । यसपालिको नयाँवर्ष २०८३ को प्रारम्भ भने उहाँका लागि सम्झनलायक बनेको छ । मधेसमा नयाँवर्षमा मनाइने जुडशीतल पर्वको पहिलो दिन मङ्गलबार भुजेलले घुमफिर गर्न सहयोगी हुने ‘ह्विलचेयर’ पाएका छन् ।

त्यसैले यसपालिको नयाँ वर्ष र जुडशीतल पर्व उनका लागि सम्झनलायक बनेको हो । लायन्स क्लब अफ बर्दिबास समाजले बस्तीमै पुगेर उनलाई ह्विलचेयर दिएको हो । “हातगोडा केही नचल्ने भएर तीन वर्षदेखि थला परेको थिए, अब भने यही ह्विलचेयरमा घर ओरपर डुल्न पाइने भएको छ । यो अवसरका लागि सहयोगी संस्था र व्यक्तित्वलाई आभार छ”, भुजेलले भने ।


उक्त बस्तीमा भुजेलका अतिरिक्त १३ वर्षीय जनम दियाली र ३५ वर्षीय खुपबहादुर थापाले पनि सहयोग पाएका छन् । “दुर्घटनामा परेर दुवै गोडा काटिएपछि १५ वर्षदेखि कुँजिएर बसेको थिएँ, आफ्नै जीवन बोझजस्तै बनेको थियो”, ह्विलचेयर पाएपछि थापा भन्छन् । यसपटक भने नयाँ वर्षले आफ्नो जीवनमा नयाँ आशा ल्याएर आएको अनुभूति भएको छ । अब त ह्विलचेयरमा वरपर जान सहज भएको छ ।”

दियाली त जन्मँदै अशक्त हुन् । उनी बोल्न पनि सक्दैनन् । ह्विलचेयर पाएपछि उनी पनि खुसी छिन् । हेर्दा सानो सहयोग भए पनि लायन्स क्लब अफ बर्दिबासले अशक्त जीवनमा निकै खुसी दिएको बर्दिबास–११ का वडाध्यक्ष गोपाल बल बताउँछन् । समाजका अध्यक्ष वैकुण्ठप्रसाद देवकोटाले लायन्स क्लब इन्टरनेसनल ३२५ ‘एफ’ को सहयोगमा ह्विलचेयर प्रदान गरिएको बताए । यसपटक छ वटा ह्विलचेयर सहयोग गरिएको उनले जानकारी दिए ।