Category: फिचर

  • ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

    ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

    भक्तपुर, २० चैतः आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले प्रहरी हुँ भनी डर, धम्की र त्रास देखाएर अपहरण तथा शरीर बन्धन बनाएको अभियोगमा मकवानपुरगढी गाउँपालिका-३ घरभएका ५३ वर्षीय दिपक खड्कालाई काठमाडौँ महानगरपालिका–८ गौशलाबाट पक्राउ गरिएको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।


    उनका अनुसार सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका(२ घरभई हाल सूर्यविनायक नगरपालिका–५ बस्दै आएका ४७ वर्षीय पुर्णबहादुर थापाको घरमा गएर राष्ट्रिय अनुसन्धान विभागको प्रहरी हुँ भन्दै निजलाई डर, धाकधम्की दिई अपहरण गरी होटलमा लगेर शरीर बन्धक बनाएको कसुरमा खड्कालाई पक्राउ गरिएको हो । पक्राउ परेका खड्कालाई आजै अपहरण तथा शरीर बन्धक कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रनाउ जवेगुले जानकारी दिए ।

  • नापी कार्यालयमा सेवाग्राहीसँग बढी रकम असुल्ने प्रहरी नियन्त्रणमा

    नापी कार्यालयमा सेवाग्राहीसँग बढी रकम असुल्ने प्रहरी नियन्त्रणमा

    लुम्बिनी, २० चैतः रुपन्देही प्रहरीले भैरहवास्थित नापी कार्यालयमा काम गराइदिने भन्दै सेवाग्राहीसँग बढी रकम असुल्ने दुई जनालाई आज नियन्त्रणमा लिएको छ । जिल्लाको सदरमुकाम सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डीस्थित नापी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको काम छिटो गराइदिन्छु भनी बढी शुल्क लिई बिचौलियाको काम गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएका बिचौलिया व्यक्ति रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का ३२ वर्षीय शिवनारायण कुर्मी र रोहिणी गाउँपालिका–३ का ३० वर्षीय सुरेन्द्र मल्लह रहेका उनले जानकारी दिए ।

  • ऊर्जामन्त्री श्रेष्ठद्वारा विद्युत् नीतिमाथि आन्तरिक छलफल

    ऊर्जामन्त्री श्रेष्ठद्वारा विद्युत् नीतिमाथि आन्तरिक छलफल

    काठमाडौँ, २० चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि आन्तरिक छलफल सुरू गरेका छन् । छलफलमा उनले समग्र ऊर्जा क्षेत्रको विकास, संरचनागत एवं संस्थागत सुधार, ऊर्जा उपयोग, वातावरण संरक्षणलगायतका विषयलाई समेट्नुपर्नेमा जोड दिए ।

    आज भएको उक्त छलफलमा मन्त्री श्रेष्ठले विद्युत् नीति ल्याउँदा ऊर्जा क्षेत्रको समग्र तथ्य, तथ्याङ्कसमेत स्पष्ट हुनेगरी अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिए । उनले नीतिको मस्यौदामाथि सरोकारवालासँग बृहत् छलफल गरी दीर्घकालीन सोचका साथ अगाडि बढाउनुपर्ने बताए ।

    गुणस्तरीय ऊर्जा आपूर्ति, आन्तरिक खपतमा वृद्धि, ऊर्जा समिश्रण, जलवायु परिवर्तनको प्रभाव, ‘लस एन्ड ड्यामेज’, ‘कार्बन ट्रेड’जस्ता गम्भीर विषयलाई विद्युत् नीतिले सम्बोधन गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए । उनले आगामी दिनमा ऐन, कानुन निर्माण गर्दा विद्युत् नीतिले नै दिशानिर्देश गर्ने हुँदा नीति ल्याउँदा भविष्यका सम्भावित चुनौतीको सामना गर्न तयार हुनेगरी ल्याउनुपर्ने बताए ।

  • सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री डा वाग्ले

    सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री डा वाग्ले

    वीरगञ्ज (पर्सा), २० चैत । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अगाडि बढाएको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३–८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाहले निर्देश गरेको गतिअनुसार सुधारको काम अघि बढिरहेको बताए ।

    “प्रधानमन्त्रीले एउटा गति सेट गरिदिनुभएको छ । त्यस रफ्तारमा काम हुन थालेको छ । सिङ्गो सङ्घीय सरकार त्यो रफ्तारलाई पछ्याइरहेको छ”, मन्त्री डा वाग्लेले भने, ‘‘हाल मन्त्रालयबीच नै कसले तीव्र रफ्तारमा काम गर्ने भनेर होडबाजी नै चलेको छ । राम्रो काम गर्नका लागि एउटा मन्त्रालयको गतिलाई अर्को मन्त्रालयको गतिले उछिन्ने काम पनि भइरहेको छ ।’’

    उनले आफूले अर्थमन्त्रीमा बहाल भएको दिनदेखि नै उद्योगी–व्यवसायीलाई सकारात्मक सन्देश दिने प्रयत्न गरेको बताए । “यहाँका उद्योगी–व्यवसायीहरूले वर्षाँैदेखि हैरानी भएको गुनासो छ । सोही गुनासोलाई पहिलो दिनदेखि सम्बोधन गर्ने प्रयास गर्दै आइरहेका छौँ”, डा वाग्लले भने ।


    उनले आफ्नो अग्रज पूर्वमन्त्री रामेश्वरप्रसाद खनालको नेतृत्वमा लेखिएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनले सिफारिस गरेका केही कुराहरूलाई सम्बोधन गर्ने प्रयास गरेको दाबी गरे । अर्थमन्त्री डा वाग्लेले अर्थमन्त्रीको पदवहाल गर्ने वित्तिकै राजस्व अनुसन्धान विभागको खारेजी र साङ्केतिक रूपमा १५ वटा पुराना असान्दर्भिक ऐनहरू खारेजी गर्ने निर्णय गरिएको बताए ।

    उनले भने, “यो सुरुआत मात्रै हो, थप काम अगाडि बढ्दै छन् । विगतमा गठबन्धन सरकारले काम गर्न यो वा त्यो बाहना गर्थे, जनताले अभूतपूर्व मत दिएकाले अब त्यो छुट हामीलाई छैन । त्यसैले राम्रो काम गर्न सुरु गरिसकेका छौँ ।” अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए ।

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले उद्योगमैत्री नीति नहुँदा उद्योगी व्यवसायीहरू मर्कामा परेको गुनासो गरे । उनले उद्योगको प्राथमिक कच्चापदार्थको रूपमा रहेको बिजुली नियमित र भरपर्दो व्यवस्था गर्न आग्रह गरे ।

  • खाडी मुलुकमा युद्धको अफवाह फैल्याएको आरोपमा ११ नेपाली पक्राउ

    खाडी मुलुकमा युद्धको अफवाह फैल्याएको आरोपमा ११ नेपाली पक्राउ

    काठमाडौँ, २० चैतः इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिरलगायत सामाजिक सञ्जालमा पोष्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो ।
    पक्राउ पर्नेमा साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारमा तीन÷तीन तथा ओमानमा एक जना रहेका छन् ।

    क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेको आक्रमणको तस्बिर तथा श्रव्यदृश्य सामग्री खिचेर कुनै पनि सामाजिक सञ्जालमा डर त्रास देखाउन पोष्ट गरे कानुनी सजाय भोग्नुपर्ने व्यवस्था छ । त्यही अनुरुप हालसम्म ११ नेपालीलाई सामाजिक सञ्जालमा त्यस्ता किसिमका सामग्री राखेर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।


    “पक्राउ परेका नेपाली नागरिकको अवस्था र छुटाउन सकिने विषयमा सम्बन्धित देशका दूतावास र नियोगहरुसँग जानकारी दिने काम भइरहेको छ । पक्राउ परेका नेपाली नागरिक कुन कानुन उल्लङ्घनअन्तर्गत पक्राउ गरेका हुन् र कति जरिवाना लाग्छ भन्नेबारे जानकारी लिने काम भइरहेको छ”, प्रवक्ता क्षेत्रीले भने । मध्य पश्चिम मुलुकमा युद्धको प्रभावका कारण रोजगार गुमाउनुपर्ने जोखीम नरहेको प्रवक्ता क्षेत्रीले बताए ।

    उनका अनुसार खास गरी होटल, रेष्टुरेण्ट र पर्यटन जस्ता क्षेत्रमा नेपाली कामदारले जागीर गुमाउने चिन्ता बढेको भए पनि ठूलो क्षेत्रमा त्यसको खतरा नरहेको सम्बन्धित नियोगहरुले जानकारी दिएका छन् । खाडी मुलुकमा युद्धबाट प्रभावीत÷असुरक्षित भई घर फर्किन चाहने नेपालीलाई उद्धार गर्ने काम निरन्तर भइरहेको उनले बताए ।


    मन्त्रालयले जारी गरेको ‘कल सेन्टर’मा नेपाली नागरिकले उडानको अवस्था के छ रु घर फर्किन चाहने र श्रम स्वीकृतिबारे जिज्ञासा राख्ने गरेका प्रवक्ता क्षेत्रीले बताए । “अहिलेसम्म ८६ हजार ४२० जनाले नाम दर्ता गराएका छन् । असुरक्षित छु भन्नेको सङ्ख्या विस्तारै कम हुँदै गएको छ । असुरक्षित छु भन्नेहरुले पनि विस्तारै सुरक्षित भएर यहीँ काम गर्ने भनिरहेका छन् । ट्रान्जिटमा परेकाहरुको उद्धार लगभग पूरा भइसकेको छ”, उनले भने ।

  • भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

    भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

    भक्तपुर, २० चैतः प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केट (बिस्का) जात्रा यसवर्ष चैत २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरबको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइने गरिन्छ । गुठी संस्थान भक्तपुर कार्यालयले जात्राका लागि अत्यावश्यक भैरव र भद्रकालीको रथ निर्माण कार्य तिब्र गतिमा भइरहेको जानकारी दिएको छ ।

    टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गनमा प्यागोडा शैलीको तीन तले रथ निर्माण कार्य तीव्र गतिमा भइरहेकोे गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिनुभयो । उहाँले भैरवको रथ निर्माण सम्पन्न भए लगत्तै भद्र्रकालीको रथ निर्माण सुरु गरिने जानकारी दिँदै अहिलेसम्म भैरव रथ निर्माणको क्रममा विभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्राहरु जोड्ने, बिग्रिएका सामानको मर्मत गर्ने, भाँचिएका धुराहरु मर्मत गर्ने, चुकुलहरु फेर्ने, नयाँ आसी जडान गर्ने, छानो मर्मत गर्ने र रथ निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको बताउनुभयो ।

    चैत २६ गतेसम्म रथमा रङ्ग रोगन एवं सिङ्गारपटार गर्ने कार्य गरिने र २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा तीन बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न सुरु गरिने गरी तयारी गरिएको प्रमुख कर्माचार्यलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रथ तान्न ठेकेदारलाई ९० हात लामो कसिलो एकदमै बलियो डोरी ल्याउन निर्देशन दिएका छौँ, जात्रा व्यवस्थापन समिति समेतको टोलीले डोरीको परीक्षण गर्नेछ, ५५ हात लामो, नाङ्लो जस्तो फराकिलो फेद भएको दुई लिङ्गो तयार गरिएको छ, यस वर्ष २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर जात्रा सुरु गर्ने तयारी गरेका छौँ ।”

    हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतिक बनाएर बाँजागाजासहित च्वङ्गा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्रयाएपछि जात्रा सुरु हुने परम्परा छ । लिच्छवीकालदेखि सुरु भएको सो जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथ यात्रा गरी सुरु गरिने परम्परा छ । जात्राको मुख्य आकर्षण रथजात्रा र लिङ्गोजात्रा भएको प्रमुख कर्माचार्यले बताउनुभयो । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ ।

    सुरुको दिनमा तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, इनाचो, दत्तात्रय पु¥याई रथ फर्काउने चलन छ । नयाँवर्षको चार दिनअघि अर्थात् चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ । विक्रम संवत्अनुसार सौरमासका आधारमा तान्त्रिक बिधिअनुसार चल्ने बिस्केट जात्रा नेपाल भाषामा बीःसित (नाग म¥यो), बीय जात्रा ९नागको जात्रा०, बीःस्यात (नाग मारियो) हुँदै पछि अपभ्रंश भई बिस्केट अर्थात स्थानीय भाषामा बिस्काः जात्रा हुन गएको बताइन्छ । रथ तल्लो क्षेत्रमा बुलुचा, नासमना, वंशगोपाल, तेखापुखुतिर लैजाने प्रचलन छ भने भैरव तथा भद्रकालीको रथजात्रा गरी गःहिटी पु¥याएर पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ ।

    दोस्रो दिन भद्रकालीको रथ गःहिटी खलाटोल अजिमा देवताघर पु¥याइन्छ भने तेस्रो दिन गःहिटीमा भैरवलाई बलि चढाएर गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । ल्यासिंखेलमा चैत मसान्तको साँझ ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ । सुरुमा बिस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो । पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल–टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने चलन छ ।

    रथ तान्दा अप्रिय घटना नहोस् भनेर रथ तान्ने दिन रथमा ६ भैरव नाइके, पाँच चौगुठी र दुई तलेजुका पुजारी रहने चलन रहेको तलेजुका निवर्तमान् मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले सो दिन पनि सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने गर्छन् । त्यसपछि रथ पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरेर देउतालाई भैरव मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिने परम्परा छ ।

  • थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    राजकुमार पराजुली÷रासस

    काभ्रेपलाञ्चोक, २० चैत । बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको मध्यम र हल्का वर्षाले पनि पटकपटक अबरुद्ध हुने गरेको उक्त राजमार्ग यो चैत महिनाको मध्यसम्म दुईपटक अबरुद्ध भैसक्यो । डेढ वर्षअघिसम्म मध्यपहाडी क्षेत्रको यात्रालाई सहजता दिलाएको उक्त राजमार्ग दुई वर्षमा ‘ठीकठाक’ पार्ने गरी स्थायी पुनर्निर्माण भने सुरु भैसकेको छ । सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एक मात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्ग बिपी राजमार्ग ।

    विशेषगरी यस राजमार्गको काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको विभिन्न क्षेत्रस्थित सडकखण्डमा यस र अघिल्लो वर्षको असोजका बाढीपहिरोले ‘थिलथिलो’ नै बनाएको छ । यस राजमार्गको मध्यक्षेत्र अर्थात काभ्रेपलाञ्चोकतर्फको सडकखण्ड भत्किएर क्षत्विक्षत् तथा बगाएपछि यात्रा जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । उक्त राजमार्गको सडक–सम्पर्क बिच्छेदसमेत भएको हो ।

    वर्षायाममा केही भागमा क्षति पु¥याएपनि दुई वटाका असोजका अबिरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाइदिएको थियो । यसवर्ष पनि गत असोजमै राजमार्गको विभिन्न सडकखण्डमा सडकको नामोनिसा नै मेटिनेगरी, पैदलसमेत हिड्ने नसक्ने गरी बाढीपहिरोले तहसनहस बनाइदिएको थियो । गत साल असोजमा क्षत्विक्षत् राजमार्गमा अस्थायी सडक एवं डाइभर्सन बनाई सञ्चालन गरिएपनि स्थायी बनाउने प्रक्रियामै रहेका बेला राजमार्ग पुनः थिलथिलो बन्नुप¥यो ।

    डिभिजन सडक कार्यालय भक्तपुरको प्रारम्भिक अनुगमन निरीक्षणअनुसार करिब चार किलोमिटर सडक नै बगाएको छ । यसका कारण खोलाबाटै डाइभर्सन बनाएर सवारी स्ञ्चालनमा ल्याउनुप¥यो । करिब २६ अर्ब जापानी येन बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग छोटो र सिधा जोड्को छ । यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौँ घुम्नुपर्ने झन्झट हटाइदिएको थियो ।

    गत वर्षको असोज १०, ११ र १२ मा परेको अविरल वर्षाका कारण रोशी खोला बढीले बर्दिबासदेखि धुलिखेलसम्म १० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो । त्यसलाई अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको वर्ष दिनपछि गत असोज १७ र १८ मा वर्षाले पुनः क्षति गराएको हो । सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ । तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई २०८१ र २०८२ सालको बाढीपहिरोले थप क्षतिग्रस्त बनाएको हो ।

    राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् । वर्षा भएका बेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो बाटो बन्द हुने अवस्था निम्तिएको छ । यस्तै गत सालको बर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पु¥याएको थियो । विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो ।

    गतसाल राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्णरुपमा बगाएका थियो । गत सालको वर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत बैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको थियो । त्यसलाई पनि अस्थायी मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । यसैबीच पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रुपमा पुनःनिर्माणकार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनःनिर्माणकार्यलाई तीव्रता दिइएको हो ।

    राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्नेगरी निर्माण कार्यलाई तीब्रता दिइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार राजमार्गमा भैरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनर्निर्माणको काम सकिनेछ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडकखण्डमा कुल २५ प्रतिशत काम भएको योगेशको भनाइ छ ।

    विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस बर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि पक्रिया पु¥याएर स्थायी पुनःनिर्माण थालिएको हो । क्षग्रिस्त चार खण्डमध्ये बाँकी एक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले पुनर्निर्माण गर्ने बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलब २ किलोमिटर सडक निर्माणको काम यसै महिनाभित्र ठेक्का सम्झौता हुने योगेशले जानकारी दिनुभयो । क्षति पु¥याएको विभिन्न स्थानमा ‘आरसीसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट पर्खाल लगाउन तथा चारसयबेँशी र भकुण्डेबेँशीमा पनि ‘आरसीसी’ पर्खाल लगाउन सुरु गरिएको छ । यस्तै डालाबेँशी, मङ्गलटार खण्ड, चारसयबेँशीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको योगेशले बताउनुभयो । उहाँका अनुसार गतवर्ष र यसवर्षको बाढीले सडक पूर्ण क्षति भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ ।

    राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ । कार्यालयका अनुसार क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणको लागि तीन खण्डमा एकैसाथ काम सुरु गरिएको हो । यसवर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाई कालोपत्रे गरी कामलाई तीव्रता दिइएको योगेशले बताउनुभयो । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो ।

    अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाईसमेत दुई लेनको निर्माण गरिनेछ”, योगेशले भन्नुभयो । उहाँका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ ।

    डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख ९भ्याटसहित०मा निर्माण गर्ने गरी ठेक्का पाएको कार्यालयले जनायो । यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ८ किमी सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड ९भ्याटसहित०मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।

    क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किमी सडकलाई जाइकाले रु २ अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघिनै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले रु ८ अर्ब ५० करोड स्रोत सहमति दिएको हो । यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो । बिस्तृत अनुगमन निरीक्षण गरी पुनः अस्थायी बनाउने काम थालिएको कार्यालयको इन्जिनियर विन्दु अधिकारीले जानकारी दिनुभयो ।

    गत असोज १७ गते रातिदेखि निरन्तर परेको वर्षाले उक्त राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डमा धेरै क्षति पु¥याएको कार्यालयले जनाएको छ । इन्जिनियर अधिकारीका अनुसार बीपी राजमार्गअन्तर्गत उक्त सडकखण्डको १७ स्थानमा रोशी खोलाले क्षति पु¥याएको छ भने राजमागको चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेंसी, घुमाउनेलगायतका स्थानमा निकै नै जोखिम रहेको छ । यी स्थानमा अब शून्यबाटै फेरि मर्मत सुरु गरिने अधिकारीको भनाई छ ।

    कार्यालयका अनुसार हाल एक सय १० किलोमिटर सडकमा यातायात पुनः सञ्चालनमा रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको छ । कार्यालयले गतसाल असोजको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी यस वर्ष प्रक्रिया अघि बढाइएको थियो । त्यतिबेलाको बाढीपहिरोले आठ किलोमिटर सडक पुरै बगाएको थियो ।

    यस्तै क्षतिग्रस्त राजमार्ग स्थायी पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहजरुपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्रे भएको र अर्को रोशीखोलामा बाढी आउँदा बाढीले खोल्नसक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ । कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ । राजमार्गमा जोखिमका कारण पटकपटक विशेषगरी राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएको छ । दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने उक्त राजमार्गमा चाडवाडका बखत भने तेब्बर सवारी साधन ओहोरदोहोरनै गर्छन् ।

    त्यसो त जाइकाको प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारीसाधन सञ्चालन गर्दै आइरहेका छन् । बिपी राजमार्गमा ट्रिपरले २५ टनसम्म गिट्टी वालुवा लिएर निर्वाध रुपमा सञ्चालन हुने गरेपनि नियम कार्यान्वयन गर्ने निकाय भने प्रायः मुकदर्शक नै बन्ने गरेको पाइन्छ । बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकको रुपमा यस सडकमा सञ्चालन हुने टिपर पनि रहेका छन् । दैनिक यस सडकमा छ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी लोड लिएर सञ्चालन भइरहेका छन् । बेलाबखत प्रहरीले चेकिङ गरे पनि नियमित रुपमा अनुगमन हुन सकिरहेको छैन । यसको फाइदा टिपर व्यवसायीले उठाउँदै आएका छन् । सङ्गठित रुपमा टिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बिपी राजमार्गको संरचनालाई जोखिममा पार्दै आएका पनि छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना ठूला गरी दैनिक ३ हजारभदा बढी सवारी साधन आवतजावगत गर्ने गरेका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकाशं साना सवारी साधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् । यस सडकमा ट्रिपर, मिनी बस, टाटासुमो र माइक्रोबस बढी सञ्चालन हुने गरेका छन् । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ ।

  • सभामुखमा रास्वपा उपसभापति अर्यालको मात्र उम्मेदवारी

    सभामुखमा रास्वपा उपसभापति अर्यालको मात्र उम्मेदवारी

    काठमाडौँ, २० चैत । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा आज बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको एकल उम्मेदवारी परेको छ । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।

    सभामुखका लागि आज बिहान ११ देखि अपराह्न २ बजेसम्म सङ्घीय संसद् सचिवालयको काठघर नं १ मा उम्मेदवारी दर्ता गर्न सकिने गरी तोकिएको थियो । आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

  • श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

    श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

    बागमती, २० चैतः श्रम तथा रोजगार कार्यालयले श्रम कानुनको उल्लङ्घन गरेका दुई उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको छ । उक्त कार्यालयले १७५ प्रतिष्ठानको अनुगमनका क्रममा ती उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको हो । कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार विभिन्न होटल तथा उद्योग प्रतिष्ठानमा कार्यरत २० जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।

    चालु आर्थिक वर्षको प्रथम आठ महिनामा नाबालिकलाई श्रमिकको रुपमा काममा लगाउने प्रतिष्ठान तथा रोजगारदातालाई रु दुई लाख २५ हजार जरिवाना र रु २२ हजार क्षतिपूर्ति तिराइएको हो ।

    अधिकांश साना उद्योग प्रतिष्ठानले नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको व्यवस्था नगरेका पाइएको प्रमुख साहले राससलाई बताउनुभयो । कार्यालयले आठ महिनामा व्यक्तिगत र सामूहिक ४५ श्रमसम्बन्धी उजुरीमध्ये २९ वटा उजुरी फछ्र्योट गरेको जनाएको छ । यसमा होटल, साना उद्योगलगायत २६८ प्रतिष्ठान सूचीकृत छन् ।

  • अमेरिकी व्यापार घाटा अनुमान गरिएभन्दा कम , करवृद्धिको असर बढ्दो

    अमेरिकी व्यापार घाटा अनुमान गरिएभन्दा कम , करवृद्धिको असर बढ्दो

    वासिङ्टन, २० चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगभग सबै व्यापारिक साझेदारहरूमा व्यापक ट्यारिफ लगाएको एक वर्षपछि बिहीबार अमेरिकी व्यापार घाटा बढेको तर विश्लेषकहरूले अपेक्षा गरेभन्दा कम भएको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ ।

    आयात निर्यातमा वृद्धि हुँदा कुल घाटा ४.९ प्रतिशतले बढेर ५७.३ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी वाणिज्य मन्त्रालयले जनाएको छ । ट्रम्पको कर नीतिका कारण विश्व आर्थिक सङ्कट झेलेको र यसमा इरानमाथि गरेको आक्रमणको बदलामा इरानले ‘हर्मुज घाँटी’ मा जहाजको आवागमनलाई गरेको प्रतिवन्धबिच विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा व्यापार प्रवाहमा देखिएको तनावलाई निरन्तरता दिने देखिन्छ ।

    गत वर्षको अप्रिल २ मा राष्ट्रपति ट्रम्पले घोषणा गरेको ‘मुक्ति दिवस’ सहित अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको कर खारेज गरेपछि बिहीबार सार्वजनिक गरिएको यो तथ्याङ्क सार्वजनिक भएको हो । यसैबीच, प्यू रिसर्च सेन्टरले बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा १० मध्ये छ जना अमेरिकी वयस्कहरू ट्रम्पले अमेरिकी व्यापार नीतिबारे राम्रो निर्णय लिन सक्छन् भन्नेमा विश्वस्त नभएको देखाएको छ र ६३ प्रतिशतले कर नीतिको व्यवस्थापनमा थोरै विश्वास व्यक्त गरे वा यो विश्वास खासै उल्लेखनीय रहेन ।

    यद्यपि, अदालतको निर्णयले फेब्रुअरीको तथ्याङ्कमा धेरै प्रभाव पार्ने सम्भावना छैन, ट्रम्पले त्यसपछि आयातमा नयाँ, अस्थायी १० प्रतिशत शुल्क लगाउन अधिकारीहरूलाई निर्देशन दिएका छन् । अमेरिकी अधिकारीहरूले दर्जनौं देशहरूमा थप स्थायी करहरू पुनः स्थापना गर्ने उद्देश्यका साथ अनुसन्धान सुरु गरेका छन्, जसले आगामी महिनाहरूमा थप व्यापार अनिश्चितताको पूर्वाभास गरेको छ।

    केपिएमजीका वरिष्ठ अर्थशास्त्री मेगन स्कोनबर्गरले भने, “उच्च अदालतको निर्णयले निश्चित रूपमा डाटालाई असर गर्न सक्छ र आयातमा फ्रन्ट–रनिङ लहरको लागि अर्को ढोका खोलेको छ।” उनले भने, “अहिलेका लागि कम्प्युटर र सेमीकन्डक्टरमा अधिकांश वृद्धिको साथ प्रविधि क्षेत्र र एआई तथ्याङ्क केन्द्र निर्माणमा उच्च आयात भएको छ।” “ती अधिकांश वस्तुहरूमा कर छुट दिइएको छ,” उनले भने ।


    स्टिल, एल्युमिनियम र सवारी साधन (कार) जस्ता उत्पादनहरूमा ट्रम्पको क्षेत्र–विशिष्ट करहरू अझै पनि जारी छन्, जसले व्यापारमा सन्तुलन गरिरहेको छ।
    ट्रम्प प्रशासनले अन्य क्षेत्रहरूमा अनुसन्धान जारी राखेको छ । अनुसन्धानले थप कर घोषणाहरू निम्त्याउने सुझाब नेतृत्वलाई दिन सक्ने सम्भावना अझै जारी छ । फेब्रुअरीको व्यापार घाटा ‘डाउ जोन्स न्यूजवायर’ र ‘द वाल स्ट्रिट जर्नल’ले सर्वेक्षणपछि अर्थशास्त्रीहरूले अपेक्षा गरेको ६२ अर्ब डलरभन्दा केही कम देखिएको छ।

    औदोगिक प्रयोजनका लागि हुने गैर–मौद्रिक सुन र प्राकृतिक ग्यासजस्ता वस्तुका कारण निर्यात ४.२ प्रतिशतले बढेर तीन खर्ब १४ अर्ब ८० करोड डलर पुगेको छ । कम्प्युटर र सेमिकन्डक्टरजस्ता उत्पादनका कारण अमेरिकी आयात ४।३ प्रतिशतले बढेर तीन खर्ब ७२ हर्ब १० करोड डल् पुगेको छ ।

  • पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

    पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

    नयाँदिल्ली, २० चैत (रासस–एएफपी) । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा सुरक्षास्थितिलाई मध्यनजर गर्दै पश्चिम एसिया क्षेत्रबाट छ लाख बढी यात्रु भारत फर्किएको भारत सरकारका एक उच्च अधिकारीले बिहीबार जानकारी र्दिएका छन् । उनले बुधबार युएईमा घाइते भएका भारतीय नागरिकहरूको बारेमा पनि जानकारी दिए । यस क्षेत्रमा भारतीय समुदायको सुरक्षा र कल्याण सरकारको सर्वोच्च प्राथमिकता रहेको बताए ।


    भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम आर महाजनले राजधानीमा भएको अन्तर–मन्त्रालय रिपोर्टिङ्का क्रममा उक्त जानकारी दिए । महाजनले भने, “फेब्रुअरी २८ यता करिब छ लाख २४ हजार यात्रुले यस क्षेत्रबाट भारत यात्रा गरेका छन् । एयरलाइन्सहरूले युएई र भारतबीच सीमित विशेष उडानहरू सञ्चालन गरिरहेका छन् ।

    बिहीबार युएईबाट भारतका विभिन्न गन्तव्यहरूमा लगभग ९० उडानहरू हुने अपेक्षा गरिएको छ। उनका अनुसार साउदी अरब र ओमानका विभिन्न विमानस्थलबाट भारतका विभिन्न गन्तव्यमा उडान भइरहेका छन् । महाजनले भने, “कतार एयरवेजले आज भारतमा ८ देखि १० वटा उडान गर्ने अपेक्षा गरिएको जनाएको छ । कुवेत र बहराइनका हवाई क्षेत्र बन्द रहेका छन् । कुवेतको जजिरा एयरवेज र बहराइनको गल्फ एयरले साउदीको दमाम विमानस्थलबाट भारतका विभिन्न गन्तव्यमा उडान भर्दै आएका छन् । यसले कुवेत र बहराइनबाट भारतीय नागरिकहरूको यात्रालाई सहज बनाएको छ।”

    हवाई क्षेत्र बन्द भएका कारण इरानबाट अर्मेनिया र अजरबैजान हुँदै भारतमा उडान भएका छन् । त्यस्तै, इजरायलबाट इजिप्ट र जोर्डन, इराकबाट जोर्डन र साउदी अरब, कुवेत र बहराइन हुँदै साउदी अरब र त्यहाँबाट भारत आवागमन गर्न सरकारले सहजीकरण गरिरहेको पनि उनले बताए । युएईमा बुधबार भएको घटनाबारे जानकारी दिँदै महाजनले भने, “युएईको उम्म अल क्वाइनमा हिजो भएको आक्रमणमा एक भारतीय नागरिक घाइते भएको र अहिले उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हाम्रो वाणिज्य दूतावासले घाइते भारतीय नागरिकलाई सबै सहयोग गरिरहेको छ ।”

    गल्फ न्यूजका अनुसार उम्म अल थाउब क्षेत्रको एक औद्योगिक प्रतिष्ठान नजिकै ड्रोनको भग्नावशेष खस्दा एक भारतीय नागरिक घाइते भएका थिए । महाजनले आफ्नो टिप्पणीमा विदेश मन्त्रालयले खाडी र पश्चिम एसिया क्षेत्रमा विकसित भइरहेको स्थितिलाई नजिकबाट निगरानी गरिरहेको र यस क्षेत्रमा ठूलो भारतीय समुदायको सुरक्षा र उद्धार सुनिश्चित गर्नु सरकारको सर्वोच्च प्राथमिकता रहेको बताए ।

  • भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

    भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

    काठमाडौँ, २० चैतः भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने भएको छ । त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र यहाँस्थित भारतीय राजदूतावासबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    परियोजनाअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–२ मा तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा ‘कोल्ड स्टोर’ निर्माण, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा जनबल माध्यमिक विद्यालयको भवन, छात्रावास र चमेनागृहको निर्माण, कैलालीको गौरीगङ्गा नगरपालिका–११ मा कालिका प्राथमिक विद्यालय भवन निर्माण गरिनेछ ।

    यसैगरी, रौतहटको परोहा नगरपालिका–४ मा प्रसूति केन्द्रको भवन निर्माण, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा कस्तुरी माध्यमिक विद्यालय र बाँकेको खजुरा गाउँपालिका–४ मा जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरिनेछ ।

  • डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

    डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

    दमौली (तनहुँ), २० चैतः डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि राति ९ः०० बजेसम्म सडक बन्द हुनेछ । उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

  • पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

    काठमाडौँ, २० चैतःहाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थान तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । साथै, तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ ।

    त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।

    साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रका केही स्थानमा हुरीको सम्भावना रहेको जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचनाबारे जानकारी लिन महाशाखाले आग्रह गरेको छ ।

  • सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यात सेवा

    सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यात सेवा

    काठमाडौँ, २० चैत । सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने भएको छ । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो ।

    अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउन प्रक्रिया थालेको हो ।

    “मालसामान हुलाक गर्न वा अन्तररास्ट्रिय कुरियर सेवाका लागि गोश्वारा हुलाक कार्यालयले सार्वजनिक बिदाको दिनमा सेवा दिने गरेको छ । तर त्यहाँ रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको शाखा सार्वजनिक बिदामा नखुल्दा जाँचपासमा समस्या थियो”, हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले रासससँग भनिन्, “यो समस्या समाधानका लागि हामीले भन्सार विभागसँग मौखिक र पत्राचारबाट समेत जानकारी गराइसकेका छौँ ।”

    भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि गोश्वारा हुलाक कार्यालयस्थित भन्सार शाखालाई सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने प्रबन्ध मिलाउन लागिएको बताए । त्यस्तै, राजस्व भुक्तानीका लागि त्यहाँस्थित बैंक शाखाले पनि आफ्नो सेवाहरू सुचारु राख्ने तयारी थालिएको छ । राष्ट्रिय वाणिज्य बैंकको शाखा सार्वजनिक बिदामा पनि खुला राख्न पहल भइरहेको हो ।

    गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुक पोस्टलगायत वस्तु विदेशबाट आएका थिए । त्यस्तै, निर्यात भएका यस्ता वस्तुको सङ¬्ख्या ११ हजार ७०० हाराहारी छ । जसबाट रु २९ लाख चार हजार हाराहारी भन्सार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । सार्वजनिक बिदाको दिन कार्यालय सञ्चालन गर्दा नागरिकले सहज सेवा पाउनेमात्र नभई कार्यालयको व्यवसाय र नतिजा प्राप्ति दुवैमा सकारात्मक प्रभाव देखिने अपेक्षा गरिएको छ ।

  • सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    म्याग्दी, २० चैत । धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जाको कानबराह नजिकैसम्म सडकको मार्ग खोल्न प्रयोग भएको डोजरसँगै ‘बिएए’ ७८४६ नम्बरको जिप बिहीबार पहिलोपटक पुगेको गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए ।

    “यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो”, उनले भने, “चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्रयाक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्ने योजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।”

    थप एक किलोमिटर मार्ग खोलेर आगामी एक हप्ताभित्र गुर्जा गाउँसम्मै गाडी पुर्याउने तयारी भएको छ । चालु आर्थिक वर्षमा रु एक करोड ७० लाख बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुसमा रु ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता गरेको थियो । आव २०७९÷८० देखि सुरु भएको लुलाङ–गुर्जा धवलागिरि गाउँपालिकाको गौरवको प्राथमिकताप्राप्त योजना भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । दुई वर्षअघिसम्म गुर्जादेखि लुलाङ पुग्न पूरै दिन भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो ।

    हाल गाडी पुग्ने गाउँदेखि पाँच मिनेट पैदलयात्रा गरेर गुर्जा पुग्न सकिन्छ । गत फागुनमा पाल्टनमा पुगेको सडक निर्माणकार्य डोजर बिग्रिएका कारण एक महिनापछि केही दिनअघि सञ्चालन भएको थियो । म्याग्दी १ ९१० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले गुर्जासहित म्याग्दीका सबै वडाहरूमा सडक पुगेको बताए । “भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा सडक पुर्याउन सफल भएका छौँ”, उनले भने, “तीनै तहका सरकार र समुदायको सहकार्यमा गुर्जालाई सडक सञ्जालमा जोड्न सफल भएका हौँ ।”

    गाडी चल्न थालेपछि गुर्जाबाट दुई घण्टा ३० मिनेटमा गाउँपालिकाको केन्द्र मुना, पाँच घण्टामा बेनी र सात घण्टामा पोखरा पुग्न सकिने भएको छ । यसअघि गुर्जादेखि मुना पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय गोर्खा छन्त्यालले बताए । गाडी चल्न थालेपछि बिरामीलाई अस्पताल पुर्याउन, कृषि, पशुजन्य र जडीबुटी बजारीकरणमा सहज भएको छ । गुर्जामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

    मार्ग खुलेको सडकको ग्रेड, घुम्ती मिलाउन, साँघुरो ठाउँमा फाराकिलो पार्न, पक्की नाला बनाउन चालु आवमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ । प्रदेश सरकारले पालिकामा पठाएको रु ५० लाख बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भइसकेको पालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

    गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ । दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज भएको छ । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास छ । एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या एक हजार ५०५ जना छ ।

  • विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

    विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

    काठमाडौँ, २० चैत । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बैंकको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।

    गत फागुनमा विप्रेषण आप्रवाह रु एक खर्ब ८८ अर्ब ६४ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ५१ अर्ब १९ करोड बराबर थियो । सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई रु १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।

    केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १७ हजार ०६८ र दुई लाख १७ हजार ४०३ रहेको थियो ।

    त्यस्तै, समीक्षा अवधिमा चालु खाता रु पाँच खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९७ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु एक अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा रु तीन अर्ब ८८ करोडले बचतमा रहेको छ ।

    यस्तै, फागुन मसान्तस्म्म रु १० अर्ब ८४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० रु आठ अर्ब ४७ करोड रहेको थियो । सो अवधिमा शोधनान्तर स्थिति रु छ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको थियो ।

  • कर्णाली राजमार्गका दश अलपत्र ठेक्का तोडिए

    कर्णाली राजमार्गका दश अलपत्र ठेक्का तोडिए

    जुम्ला, २० चैत । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दशवटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सडक कार्यालयले ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीको ठेक्का अन्त्य गरिएको सम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालिएको जिम्ला सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए ।
    कार्यालयले कर्णाली राजमार्गअन्तर्गतका कालीकोट जिल्लाको दहीखोला मान्म–नाग्म जुम्ला खण्डमा शाखा सडकमा सडक सुरक्षा कार्यहरू व्यवस्थापन र जुम्लाको कुडारीदेखि कालीकोटसम्म सडकको कल्भर्ट निर्माण र संरक्षण कार्यहरूसहित विशिष्ट मर्मतकार्य गर्नका लागि आव २०७८–७९ धुर्वा निर्माण सेवा सुर्खेतसँग सम्झौता भई उल्लेखित मितिमा निर्माण सम्पन्न गर्नुपर्नेमा सो हुन नसकी पटकपटक म्याद थप गरिएको र थपिएको म्याद पनि समाप्त भइसकेकाले ठेक्का तोडिएको सूचना अधिकारी सिंहको भनाइ छ ।

    त्यसैगरी, कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतको कालीकोटको बालीघाट नजिकै विशेष मर्मतकार्य र खुल्लालेदेखि घोडेङ्गासम्म आवधिक मर्मतसम्भार कार्य आव २०७९–८० मा कृष्ण निर्माण सेवासँग सम्झौता भए पनि तोकिएको समयमै निर्माण कम्पनीले काम गर्ने नसकेकाले ठेक्का तोकिएको छ । आव २०७९–८० मा अविनास निर्माण सेवासँग नाग्म–गमगडी सडकखण्डको मुगुको ताल्चादेखि रारासम्म सडकको विशिष्ट मर्मतकार्यको सम्झौता भएको थियो ।

    सडक सुधारको काम तुमदेखि लामाचौर सडक राराको प्रतक्की मार्ग च्यनाथ रारा संरचना फराकिलो र फुटपाथको काम विनाम्रा निर्माण सेवा सुर्खेतसँग आव २०८०–८१ मा भएको सम्झौताअनुसार काम नभएपछि पटकपटक ताकेता गरेको र धेरैपटक भन्दा पनि काम नभएपछि ठेक्का तोड्ने प्रक्रियाअघि बढेको सडक भिडिजन कार्यालय सूचना अधिकारी सिंहले जानकारी दिए ।

    यसअघि कर्णाली राजमार्गका चारवटा रुग्ण अवस्थामा रहेका ठेक्का सडक डिभिजन कार्यालयको आफ्नो कार्यक्षेत्रभित्र पर्ने कालीकोटका दुई, मुगुको नाग्म–गमगडी सडकखण्डको एक र जुम्ला डोल्पा हुँदै मनाङ–मुस्ताङ जोड्ने सडक गरी चारवटा ठेक्का तोडिएको सडक डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले बताए ।

    निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न पटकपटक अनुरोध गर्दा पनि निर्माण कम्पनीले ठेक्का सम्भौताका शर्तहरूबमोजिम आफ्नो करारीय दायित्व पूरा नगरेको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९९२० अनुसार ठेक्का अन्त्य गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । यसअघि पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

  • भ्रष्टाचार नियन्त्रणका लागि उपयुक्त सुझाव दिन आग्रह

    भ्रष्टाचार नियन्त्रणका लागि उपयुक्त सुझाव दिन आग्रह

    काठमाडौँ, २० चैत । सरकारले आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रणका लागि कार्यालय प्रमुखलाई नै जिम्मेवार र जवाफदेही बनाउने भएको छ । त्यसका लागि सरकारको तर्फबाट तत्काल अवलम्बन गर्नुपर्ने नीतिगत, कानुनी, संस्थागत, प्रक्रियागत र व्यवहारगत पक्षमा सुधार ल्याउन गर्नुपर्ने सुझाव उपलब्ध गराउन सबैलाई आग्रह गरेको छ ।

    सेवाग्राहीसँग सभ्य व्यवहार गर्ने, कर्मचारीले तटस्थता, पारदर्शिता तथा कानुनमा उल्लिखित नैतिक एवं अनुशासनका विषयलगायत आचारसंहिताको कडाइकासाथ परिपालना गर्ने र गराउने प्रमुख दायित्व कार्यालय प्रमुखको भएको मुख्यसचिव अर्यालले उल्लेख गरेका छन् ।


    मुख्यसचिव सुमनराज अर्यालले बिहीबार एक विज्ञप्ति जारी गरी हालै गठन भएको सरकारले सार्वजनिक निकायमा हुने नीतिगत, संस्थागत, प्रक्रियागतलगायत सबै किसिमका भ्रष्टाचारलाई अन्त्य गरी सुशासन प्रवर्द्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे । उनले सरकारी कार्यालय र कर्मचारीलाई दक्ष, व्यावसायिक र सदाचारयुक्त बनाई जनविश्वास आर्जन गर्ने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा असहायलाई सार्वजनिक सेवा प्रवाहमा प्राथमिकता दिने नीति सरकारले आत्मसात् गरेको बताए ।

    सरकारी निकायमा हुनसक्ने मोलमोलाहिजा, भ्रष्टाचार र अनियमिताका घटनाको सुक्ष्म निगरानी राख्ने, छड्के जाँच गर्ने गराउने र भ्रष्टाचारसम्बन्धी कुनै जानकारी प्राप्त हुनेबित्तिकै सम्बन्धित निकायमा लेखी पठाउनुहुन विज्ञप्तिमा अनुरोध गरिएको छ । सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय तथा कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने भएकाले सोहीबमोजिम गर्ने÷गराउने व्यवस्थाका लागि विज्ञप्तिमा अनुरोध गरिएको छ ।

    सरकारी निकायबाट हुने सेवा प्रवाह, विकास व्यवस्थापन र नियमित कार्य सञ्चालनमा चुस्तता, मितव्ययिता, पारदर्शिता, प्रभावकारिता एवं आचरणगत पक्षमा सुधार गरी मुलुकमा सुशासनको प्रत्याभूति गराउनुपर्ने मुख्यसचिव अर्यालको विज्ञप्तिमा भनिएको छ ।

    सरकारी निकायबाट हुने सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा सार्वजनिक पद तथा अधिकारको दुरुपयोग गरी हुने गरेका भ्रष्टाचारको अन्त्य गरी नागरिकले अनुभूति गर्नेगरी सुशासन र सदाचार कायम गर्न सबैले आवश्यक पहलकदमी लिनुपर्ने प्रष्ट पारिएको छ ।

  • दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

    दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

    काठमाडौँ, २० चैत । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी थालेको छ । बिरामी भएका ठाउँमा चारपाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि नै स्वास्थ्यकर्मी पुग्न दुईपाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्न लागिको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उनले त्यस्तो एम्बुलेन्स सञ्चालनमा ल्याउनेबारे सम्बन्ध भएका निकायसँग छलफल गरिसकेको जानकारी दिइन् ।


    डङ्गोलले एम्बुलेन्स सञ्चालनको वैज्ञानिकताका लागि अध्ययन गर्नुपर्ने बताउँदै जटिल स्वास्थ्य अवस्था आएर आपत् सृजना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटो पुग्नका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशनसमेत दिइन् ।

    “बिरामी भएका ठाउँमा सकेसम्म छिटो एम्बुलेन्स पुर्याउन, आफूले बोलाएको एम्बुलेन्स कहाँ आउँदैछ ? एम्बुलेन्समा कोको छन्, बिरामीका आफन्तले थाहा पाउने प्रणाली कार्यान्वयनमा ल्याऔँ”, उनले भनिन्, “सवारी चापका कारण एम्बुलेन्स पुग्न समय लाग्ने अवस्थामा मोटरसाइकल एम्बुलेन्सबाट बिरामी भएका ठाउँमा तत्काल चिकित्सक पुग्ने संयन्त्र तत्काल निर्माण गरौँ ।” कामपाले एम्बुलेन्स सेवा भने २०७६ वैशाखबाट नै अत्यावश्यक पर्दा निःशुल्क सेवा सञ्चालन गर्दै आएको छ ।

    छलफलमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले कामपाको सेवामा उपत्यकाका अन्य पालिकाको आर्थिक साझेदारिताको सम्भावनामा छलफल गर्नुपर्ने खाँचो देखाए । वित्त विभागका प्रमुख डा शिवराज अधिकारीले लागत घटाएर गुणस्तर सेवा बढाउने विषयमा अध्ययन गरिनुपर्ने बताए ।

    सहकार्यबाट प्राप्त उपलब्धिका विषयमा एम्बुलेन्स सेवाका सदस्य डा आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीले कामपासँग सहकार्य भएपछि ८४ हजार ४८९ जना बिरामीलाई सेवा प्रदान गरिएको बताए । यस क्रममा ६९ जना गर्भवतीले एम्बुलेन्समै बच्चालाई जन्म दिएको पनि जानकारी दिए । कोभिड–१९ का समयमा २३ हजार ५०० जनालाई सेवा प्रदान गरिएको थियो । अहिले कामपाको सातवटा, कीर्तिपुर अस्पतालमा एउटा, ललितपुरको सातदोबाटोमा एउटा र भक्तपुरको सल्लाघारीमा एउटा एम्बुलेन्स राखेर सेवा दिइँदै आएको छ ।

    सम्पर्क गरेपछिको आठ मिनेटमा बिरामी भएको ठाउँमा एम्बुलेन्स पुग्न सक्ने मापदण्डबमोजिम उक्त सेवा सञ्चालन गर्न उपत्यकाका लागि ४९ वटा एम्बुलेन्स आवश्यक पर्छ । अध्ययनमा छलफल गर्दै सवारी चापले सृजना गर्ने चुनौतीको सामना गर्ने रणनीति बनाउन आवश्यक रहेको बताइएको छ ।

  • सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

    सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

    काठमाडौँ, २० चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्न तथा नगराउन पुनः सचेत गराएको छ । सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म बन्द गरिसकेको छ । ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गैरकानुनी क्रियाकलाप नगर्न तथा नगराउन सबैमा अनुरोध गरिएको छ । त्यस्तो गरिएको पाइए उपकरणसमेत जफथ हुने ब्यूरोले स्पष्ट पारेको छ ।

    प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ बमोजिम फौजदारी कसुरमा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने तथा सो कसुरमा संलग्न व्यक्तिलाई कैद वा जरिवाना वा दुवै सजाय हुनका साथ सट्टेबाजीबाट आर्जन गरिएको रकम वा प्रयोग गरिएका उपकरणसमेत जफत हुने ब्यूरोले प्रष्ट पारेको छ । बन्द गरिएका कुनै पनि सट्टेबाजी अनलाइन एप वा प्लेटफर्ममा कुनै पनि कारोबार नगर्न तथा नगराउन, कहीँकतै त्यस्तो गरेको पाइए जानकारी गराउन ब्यूरोले अनुरोध गरेको छ ।

  • संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा विवाद

    संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा विवाद

    प्रकाश सिलवाल–रासस
    काठमाडौँ, १९ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको नेता चयन र प्रतिनिधिसभाको पहिलो बैठकमा दलका नेता रामबहादुर थापाको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएको छ । प्रतिनिधिसभाको निर्वाचनपूर्व पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एमाललेभित्र निर्वाचनमा पार्टीले अपेक्षाकृत मत प्राप्त गर्न नसक्नुमा नेतृत्वको कार्यशैली र समग्र स्थितिबारे समीक्षा हुनुपर्ने आवाज उठिरहेकै थियो ।

    यसबीचमा पार्टीका अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल सरकारको निर्णयका आधारमा जेनजी आन्दोलनमा प्रहरीको बल प्रयोग रोक्न तत्कालीन प्रधानमन्त्रीका हैसियतमा भूमिका निर्वाह नगरेको आरोपमा प्रहरीले हिरासतमा लियो । त्यस विषयलाई हेर्ने दृष्टिकोणमा एमालेको नेतृत्व र असन्तुष्ट पक्षबीच करिब समान मत देखिएको थियो ।

    अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधिको गलत व्याख्या गरेर पूर्वाग्रहपूर्वक नियन्त्रणमा लिइएको एमाले सचिवालय बैठकको निर्णय छ । त्यस्तै, किसिमको प्रतिक्रिया पार्टीका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलेलगायत नेताले दिएका छन् ।

    संसदीय दलको नेतामा प्रतिनिधिसभामा निर्वाचित सांसद एवं युवा पुस्ताका नेता सुहाङ नेम्वाङले दाबी गरे पनि पदाधिकारीहरुको दबाबमा नेम्वाङले उम्मेदवारी दर्ता गर्न नपाएको र उपाध्यक्ष थापा दलको नेता चयन भएको भन्दै पार्टीभित्र असन्तुष्टि व्यक्त भएको छ । खासगरी, मुलुकमा युवा युस्ताले राजनीतिक अगुवाइ गर्र्नुपर्छ भन्ने भावनाले स्थान पाइरहेका बेला संसदीय दलमा युवा सांसद नेम्वाङलाई नेता चयन गर्ने अवसर एमाले नेतृत्वले गुमाएको एमालेभित्र कुरा उठेको छ ।

    संसदीय दलको नेताको चयन पार्टी नेतृत्वको परामर्शमा सम्बन्धित सांसदहरुले गर्ने हरेक दलको अभ्यास हो । स्वयं सुहाङले थापालाई नेतामा चयन गरिएपछि बधाई दिएको र पार्टीको नीति, विचार र नेतृत्वको छलफलबाट अघि बढ्ने प्रतिक्रिया दिए पनि पार्टीका युवा पुस्ताका नेता–कार्यकर्ताले सार्वजनिक रुपमा असन्तुष्टि जनाउँदै एमालेमा सुधारको अभियान चलाउन जोड दिन थालेका छन् ।

    संसदीय दलको नेता चयनको सन्दर्भ सेलाउन नपाउँदै कार्यवाहक अध्यक्षसमेत रहेका नेता थापाले संसद्मा दिएको अभिव्यक्तिलाई पार्टीको नीति र विचारसँग नमिल्दो भनी पार्टी भित्रैबाट आलोचना भएको छ । नेता थापाले गत फागुन २१ गतेको निर्वाचनमा एमाले पराजय हुनुमा नेपाली सेना, कर्मचारी वर्ग, बारबरा फाउन्डेसन र विदेशी पक्षले भूमिका खेलेको आरोप लगाएका थिए । यो विषयलाई लिएर एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेश भट्टराईलगायतले ती विचारहरु पार्टीको स्थापित नीति र मान्यता विपरीत भएको तथा त्यसबारे पार्टीभित्र छलफल हुने प्रतिक्रिया दिएका छन् ।


    उपाध्यक्ष पौडेलले यस विषयमा शुक्रबार हुने केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने बताए । सचिवालय बैठकमा यो विषयमा ‘एजेन्डा’कै रुपमा छलफल हुने बताइएको छ । उपमहासचिव भट्टराईले एमालेको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)ले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने मान्यता बोक्ने भएकाले जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानुपर्नेमा जोड दिए ।


    “यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो । नेपाली सेना लगायतका सुरक्षा अङ्गहरू, न्यायालयलगायतका संवैधानिक अङ्गहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि बैरभाव छैन । त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ । संसद् वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत् रहने छ,” नेता भट्टराईले भने ।


    दलको नेता चयनको बहस


    संसदीय दलको नेता चयनमा पार्टी नेतृत्वको हस्तक्षेप भएको भन्ने विषयमा भने बैठकभित्रको छलफलको वातावरणबाहिर टिप्पणी गरिए भन्दा भिन्न रहेको सहभागी नेताहरुको भनाइ छ । बुधबार भएको संसदीय दल र पार्टीका पदाधिकारीको संयुक्त बैठकले कार्यवाहक अध्यक्ष थापालाई सर्वसम्मतरुपमा नेता चयन गरेको थियो । बैठकमा प्रतिनिधिसभामा सदस्य नेम्वाङले दलको नेतामा दाबी गरे पनि निर्वाचन हुने परिस्थितिसम्म आफूहरु नपुगेको बैठकमा सहभागी एमालेका सांसदहरुले बताएका छन् ।

    एमाले सांसद एवं केन्द्रीय सदस्य ऐनबहादुर महरले परिस्थिति उम्मेदवारी मनोनयनको प्रक्रियासम्म नपुगेकाले थापा संसदीय दलको नेता चयन भएको बताएका छन् । “अहिले एमालेको नेतृत्वलाई आलोचना गर्न अनेक प्रचार गरिए पनि पार्टीभित्रको वातावरण त्यस्तो होइन । दलको बैठकमा नेता चयनका लागि छलफलसँगै निर्वाचनको प्रक्रियाबाट पनि जाने कुरा चलेको थियो । त्यही बीचमा उम्मेदवारीको फारम वितरण भयो ।

    समर्थक र प्रस्तावक राख्ने समयमा निर्वाचन नहुने परिस्थति बन्यो,” सांसद महरले भने, “निर्वाचन भएको भए पनि केही फरक पर्ने थिएन । जे परिणाम आए पनि पार्टीका पक्षमा हुन्थ्यो । सुहाङले म जसरी पनि निर्वाचन लड्छु भनेर लागेको भए प्रस्तावक र समर्थक पाउनुहुन्थ्यो । मलाई नै मत जहाँ दिए पनि दिनुस् तर मेरो प्रस्तावक वा समर्थक बस्नुस् भनिएको भए म उहाँका लागी बस्थेँ । चुनाव लड्न पाउने सबैको अधिकारको विषय हो, तर परिस्थिति उम्मेदवारी मनोनयनको प्रक्रियासम्म पुगेन ।”

  • गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

    गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

    काठमाडौँ, १९ चैतः गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन् । पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी आज साँझ आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन् । सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्किएका हुन् ।

    अनुगमनका क्रममा उहाँले सेवाग्राहीलाई कुनै प्रकारको सास्ती नपर्ने गरी काम गर्न सुरक्षा निकाय र विमानस्थलका कर्मचारीलाई निर्देशन दिए । विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए । गृहमन्त्री गुरुङले यात्रुको गुनासो दोहोरिन नदिन सचेत गराए । उनले सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन निर्देशन दिए ।

  • एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ

    एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ

    काठमाडौँ, १९ चैतः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल–मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।

    निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०१ रुपैयाँ र तेस्रो वर्गमा २०२ रुपैयाँ तथा डिजेल–मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८१ रुपैयाँ र तेस्रो वर्गमा १८२ रुपैयाँ तोकेको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पर्ने भएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तोकेको छ ।

    अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ । यही मार्च १६ र ३१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४७।१२ रुपैयाँ र डिजेलमा प्रतिलिटर १३३.४५ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

    अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहने तथा सोही अनुसार मूल्य समायोजन हुन नसक्दा पाक्षिकरुपमा १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको निगमले स्पष्ट पारेको छ । घाटा रकम बढ्दै जाँदा इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

  • गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    काठमाडौँ, १९ चैतः प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका छन् । सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत उहाँले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन् ।

    नेपालको संविधानको धारा ८४ को उपधारा (२) बमोजिम समानुपातिकको बन्द सूचीमा समावेश गराउनुपर्ने जनसङ्ख्याको आरक्षणका लागि अध्यादेशबाट कानुन संशोधन गरिएको थियो । गत फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएपछि सोका लागि मतदाता नामावली अध्यावधिकको प्रयोजनका लागि अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो ।

    गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयअन्तर्गतबाट गृह मन्त्रालयअन्तगर्त राख्न ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी भएको जानकारी गराए । बैठकमा संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराको विभिन्न समयमा भएको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २२ गते आइतबार बिहान ११ः०० बजे बस्नेछ ।

  • आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

    आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

    काठमाडौँ, १९ चैतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भको अवसरमा आज दलीय आधारमा मन्तव्य राख्दै उहाँले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    “राष्ट्र निर्माण, सामाजिक न्याय, रुपान्तरणलगायत जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार छौँ”, सांसद पुनले भने, “गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशीतालगायत राजनीतिक उपलब्धिलाई अझ उन्नत बनाउँदै लैजानेमा सहकार्य र समन्वय गर्नेछौँ ।”

    सांसद पुनले आफ्नो पार्टी लोकतान्त्रिक आचरण, व्यवहार र पद्धतिमा विश्वास राख्ने उल्लेख गर्दै नवयुवा पुस्ताले उठाएका विषयलाई सम्बोधन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । तत्कालीन नेकपा (माओवादी)ले २०६४ र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले २०७४ सालमा प्राप्त गरेको जनमत अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको उल्लेख गर्दै माओवादी र नेकपाको कमीकमजोरीबाट पाठ सिकेर आगामी यात्रा तय गर्न सुझाव दिए ।

  • जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग

    जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग

    काठमाडौँ, १९ चैतः नेकपा (एमाले)को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।

    प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उनले छानविनको माग गर्दै आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजितरूपमा भएको आरोप समेत लगाए । एमालेका उपाध्यक्ष थापाले निर्वाचनबाट ठुलो दलसहित विजय हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई दिए । प्रतिनिधिसभाको निर्वाचनले आफूहरुलाई सानो दलका रुपमा स्थान दिए पनि चुनौतीको सामना गरेर अघि बढ्ने बताए ।

  • सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउन आवश्यक छ : कांग्रेस नेता आङ्देम्बे

    सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउन आवश्यक छ : कांग्रेस नेता आङ्देम्बे

    काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमति, सहकार्य र सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाएको बताएका छन् ।
    प्रतिनिधिसभाको आजको पहिलो बैठकमा उहाँले राजनीतिक अस्थिरता र कमजोर शासनशैलीका कारण निराशा बढेको उल्लेख गर्दै भविष्यमा यस्तो अवस्था आउन नदिन दूरदर्शी नीति र स्थिर सरकार आवश्यक रहेको बताए ।

    विगत ३५ वर्षमा द्वन्द्व, भूकम्प तथा कोभिड–१९ महामारीजस्ता चुनौतीका बाबजुद देशमा पूर्वाधार, विद्युत्, सञ्चार, स्वास्थ्य र वित्तीय क्षेत्रमा प्रगति भएको उल्लेख गर्दै नेता आङ्देम्बेले ‘केही पनि भएन’ भन्ने निराशावादी धारणा यथार्थमा आधारित नभएको तर्क गरे ।


    उनले विभिन्न लोकतान्त्रिक आन्दोलनदेखि पछिल्लो जेनजी विद्रोहसम्म ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अब देशमा पुनः हिंसा दोहोरिन नदिन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बता्रए । नेता आङ्देम्बेले २०४६ सालको जनआन्दोलन, सशस्त्र द्वन्द्व, २०६२\६३ को जनआन्दोलन, मधेस आन्दोलनलगायतका सङ्घर्ष स्मरण गर्दै फरक विचार भए पनि सबै एउटै राष्ट्रिय लक्ष्यमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।

    उनले संसदीय लोकतान्त्रिक प्रणालीलाई नेपालको साझा मार्गका रूपमा व्याख्या गर्दै बिपी कोइरालाले प्रस्ताव गरेको यो प्रणालीप्रति सबै राजनीतिक शक्ति पुनः प्रतिबद्ध भएको उल्लेख गरे । नेता आङ्देम्बेले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पार्दै पहिलो दलका रूपमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी तथा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    उनले गत भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्दै संसद् भवन र सिंहदरबारमा भएको क्षतिको यथार्थ सार्वजनिक गर्नुपर्ने बताए । दोषीलाई कारबाही र निर्दोषलाई संरक्षण गर्नुपर्ने नेता आङ्देम्बेको भनाइ थियो । उनले नयाँ सरकारलाई संविधान र जनअपेक्षाविपरीत काम भए प्रतिपक्षले सशक्त रूपमा खबरदारी गर्ने उल्लेख गरे । यसैबीच, उनले राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री सुशीला कार्की, निर्वाचन आयोग, सुरक्षा निकाय तथा सञ्चारकर्मीप्रति निर्वाचन सम्पन्न गर्न योगदान पु¥याएकामा आभार व्यक्त गरे ।

  • लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी

    लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी

    काठमाडौँ, १९ चैतः प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापनामा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै सभाध्यक्ष केसीले २०१५ सालको पहिलो संसदीय निर्वाचनको परिणामपछि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार शासन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेकामा जोड दिए ।

    सभाध्यक्ष केसीले नवगठित प्रतिनिधिसभालाई जनताले ठूलो भरोसाका साथ हेरिरहेका उल्लेख गर्दै सरकार मात्र होइन, शासन सञ्चालनको संस्कार र संस्कृति परिवर्तनको आवश्यकता जनताको चाहना रहेको उल्लेख गरे । उनले प्रधानमन्त्री वालेन्द्र शाह तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई दिँदै सरकारले सार्वजनिक गरेको १०० बुँदे सुधारका कार्यक्रमलाई स्वागतयोग्य कदम हो भने ।


    सम्बोधनका क्रममा सभाध्यक्ष केसीले लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य भएको उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षबीच रचनात्मक सहकार्यको आवश्यकता औँल्याए । “वाद, प्रतिवाद र संवाद नै लोकतन्त्रको आत्मा हो”, उनले भने । उनले संवैधानिक संस्थाको निष्पक्षता, पारदर्शीता र विश्वसनीयता सुदृढ गर्नुपर्नेमा जोड दिँदै संसद्लाई प्रभावकारी बनाउन शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार हुने अपेक्षा व्यक्त गरे ।


    गरिबी, बेरोजगारी, महँगी र सामाजिक असमानता जस्ता समस्यालाई साझा चुनौतीका रूपमा उल्लेख गर्दै सभाध्यक्ष केसीले यस् र यस्ता समस्याबाट मुक्ति दिलाउन संसद्ले प्रभावकारी भूमिका निर्वाह हुनुपर्ने धारणा राखे । संविधानको मर्मअनुसार समावेशीता, समानता र जनसत्ता सुदृढ गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
    नवगठित सरकार र प्रतिनिधिसभा मार्फत जनताका अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्दै सभाध्यक्ष केसीले सहकार्य, संवाद र समझदारीमार्फत बाँकी संसदीय प्रक्रियाहरू सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “जनताको चाहना पनि यही हो । गठन हुन बाँकी विषयमा पनि सहमतिका आधारमा गठन भई जनहित र राष्ट्रहितमा प्रभावकारी काम गर्ने विश्वास लिएको छु ।” यसैबीच, सभामुखको निर्वाचन भइनसकेको अवस्थामा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा उनले बैठकको अध्यक्षता गरेका थिए ।

  • जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

    जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

    काठमाडौँ, १९ चैतः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा आज दलीय आधारमा बोल्दै सभापति लामिछानेले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट गरे ।

    “हामी प्रश्न गरेर यो ठाउँमा आएका हौँ । हामीले बोलेर होइन कामबाट आफूलाई प्रमाणित गर्नुपर्छ । हामी विगतका कमजोरीबाट पाठ सिक्नेछौँ”, सभापति लामिछानेले भने, “यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको थलो होइन । प्रतिपक्षलाई अन्यायपूर्वक प्रतिशोध र अत्याचार हुनेछैन, तर सुशासनको बेग पनि रोकिनेछैन । रास्वपाका हरेकले बोलेर होइन, कामबाट आफूलाई प्रमाणि गर्नुपर्नेछ ।”

    आफ्नालाई बचाउन र अरुलाई फसाउन कानुन नै संशोधन हुने क्रम अब नहुने जिकिर गर्दै उहाँले सहिदको आमाको न्याय पाउने पहिलो हक भएकाले त्यसलाई प्रतिशोध भन्न नपाइने बताए । सभापति लामिछानेले बिचौलिया र माफियाले थिचिएको निजी क्षेत्रलाई अब त्यस्तो दबाब नपर्ने भन्दै समान अवसर र व्यावसायिक वातावरण सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गरे । उनले जातीय र लैङ्कि आधारमा कुनै विभेद नहुने सङ्कल्प गर्दै ज्येष्ठ नागरिकको सम्मान र बालबालिकाको शिक्षा, स्वास्थ्यका लागि विशेष ध्यान दिने बताए ।


    विगतमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छिक रूपमा मार्गप्रशस्त गर्ने अपेक्षा गर्दै उहाँले नयाँ नियुक्तिमा विधि र योग्यताको मापदण्ड पालना हुने स्पष्ट गर्नुभयो । सभापति लामिछानेले राजदूतको नियुक्ति बिचौलियाको प्रभावमा नभई श्रमिकको हितकेन्द्रित हुने पनि बताए । गैह्रआवासीय नेपालीको पुँजी, सीप र अनुशासनलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने बताउँदै उनले मुलुकले प्रतिपक्षलाई पनि साथमा लिएर मित्रवत् र पारदर्शी परराष्ट्र नीति कायम गर्ने बताए ।