Category: फिचर

  • बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    गलकोट (बागलुङ), १८ चैतः चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी रु पाँच लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा रु ४२ लाख भेटी सङ्कलन भएको थियो ।

    गण्डकी प्रदेशको प्रमुख सक्तिपिठ मध्येको एक ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैतेदसैँको अवसरमा यसवर्ष आएका सात लाखभन्दा बढी दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते रु एक लाख १७ हजार, चैत ६ गते रु एक लाख ५३ हजार, चैत ७ गते रु चार लाख ३८ हजार, चैत ८ गते रु एक लाख ७० हजार, चैत ९ गते रु एक लाख ७१ हजार तथा चैत १० गते रु चार लाख ९२ हजार सङ्कलन भएको थियो ।

    यस्तै चैत ११ गते रु तीन लाख, चैतेदसैँको मुख्य दिन चैत १२ गते रु १० लाख ४४ हजार सङ्कलन भएको अध्यक्ष खड्काले बताए । नवमीको दिन रु चार लाख ८० हजार र दशमीको दिन रु तीन लाख ५५ हजार ७३५ सङ्कलन भएको छ । “चैतेदसैँको मुख्य दिनमा सबैभन्दा धेरै भक्तजन र धेरैै भेटी सङ्कलन भएको छ विगतका वर्षाहरूको तुलनामा यो वर्ष पाँच लाख मात्रै भेटीमा कमी आएको छ, वर्षाको कारणले केही भक्तजनमा कमी आएको थियो”, अध्यक्ष खड्काले भने, “अष्टमीमा एकै दिन चार लाखभन्दा बढी भक्तजन आए, ट्राफिक व्यवस्थापनमा हम्मेहम्मे प¥यो ।”

    बागलुङ कालिका मन्दिरमा वडा दसैँ र चैतेदसैँ अनि शनिबार तथा मङ्गलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट कमाइ हुने गरेको छ । मन्दिरमा परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरबाट आम्दानी जोडिने गरिएको अध्यक्ष खड्काले बताए । विसं १५९१ मा पर्वते राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेका थिए । विवाहमा राजकुमारीले आफूसँगै दाइजोको रुपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोकेर यही कालिका मन्दिर रहेको स्थानसम्म ल्याइएको थियो । राजकुमारी कालिका देवी भएको अनन्य भक्त थिए । त्यही कालिका देवीको मूर्ति अहिले कालिका मन्दिर रहेको स्थानमा ल्याएर बिसाइएको थियो ।

  • रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    म्याग्दी, १८ चैतः रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक दशकअघि निर्माण सुरु भएको यो सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताए । हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताए ।

  • बिपी राजमार्ग अनिश्चितकालीन बन्द

    बिपी राजमार्ग अनिश्चितकालीन बन्द

    काभ्रेपलाञ्चोक, १७ चैतः बिपी राजमार्गमा आज साँझदेखि अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ । आज साँझ ७ः०० बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा भारी वर्षात् भएकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गका हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अहिले जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तगा काभ्रेभञ्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पु¥याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो । सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ ।

    छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरेर यातायात होल्ड र व्यवस्थापन गरिएको विष्टले बताए । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिल गरिएको छ । यसअघि गत शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले दुई दिन बिपी राजमार्ग अवरुद्ध बनाएपछि करिब ३६ घण्टापछि आइतबार बिहानदेखि सञ्चालनमा ल्याइएको थियो । त्यसबेला पनि दुईतर्फी रूपमा नै सञ्चालन भएको जनाउँदै कार्यालयले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्नसमेत अनुरोध गरेको थियो ।

    शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबारको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको थियो । गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो ।

  • अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार

    अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार

    काठमाडौँ, १८ चैतः कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा लगाइएका १२ नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अनलाइन ठगि तथा कम्बोडियामा बिना भिसा बसिरहेका १२ नेपालीको थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरी आज स्वदेश फर्काइएको हो ।

    यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ । कम्बोडियामा नेपाली नागरिक अनलाईन ठगीलगायत गैर कानुनी काममा लगाइएको र बिना भिसा वा भिसा–अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।

    कम्बोडियामा माथि उल्लेखित अवस्थामा बसिरहनुभएका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैर–आवासीय नेपाली सङ्घ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । स्क्यामिङ केन्द्रमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनि धेरै जनाको गुनासो आएको छ । त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदुतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ ।

    कम्बोडियाको प्रयटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई हजार ९४० जना, सन् २०२४ मा छ हजार ४०४ जना तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपालीहरू कम्बोडिया गएको देखिन्छ ।

    नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।

  • घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

    घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

    काठमाडौँ, १८ चैत । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग रु २० हजार घुस लिँदालिँदै पक्राउ परेका छन् ।
    बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए बापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । घुसबापतको रकम र मोबाइल एक थानसहित उनलाई काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

  • भक्तपुर यातायात कार्यालयबाट दुई विचौलिया पक्राउ

    भक्तपुर यातायात कार्यालयबाट दुई विचौलिया पक्राउ

    भक्तपुर, १७ चैत स् मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय भक्तपुरमा आएका सेवाग्राहीहरूलाई लिखित तथा प्रयोगात्मक परीक्षा पास गराइदिन्छु भन्दै रकम माग्दै हिँड्ने दुई जना विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरी वृत्त थिमिबाट खटिएका प्रहरी टोलीले सेवाग्राहीलाई अनावश्यक दुःख एवं हैरानी दिने गरेको भन्दै दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।

    सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ घर भई हाल राधेराधे बस्ने २९ वर्षीया यमकुमारी श्रेष्ठ र चितवनकालिका नगरपालिका–६ घर भई हाल राधेराधे बस्ने ३० वर्षीय सुनील थापालाई पक्राउ गरिएको उनले जानकारी दिए । कार्यालयमा कर्मचारीले बाहिर रहेका फोटोकपीदेखि फाराम भर्न खोलिएका पसलहरूदेखि आँखा र रगत जाँच गर्नेहरूबाट समेत रकम लिने गरेको र पूर्वप्रहरीदेखि फाराम गर्न खोलिएका पसलहरूबाटै विचौलिया परिचालित हुने गरेको गुनासो आएको प्रहरीले जानकारी दिएको छ ।

  • महिलाको चरित्र हत्या गरेको अभियोगमा महिला रेस्लर पक्राउ

    महिलाको चरित्र हत्या गरेको अभियोगमा महिला रेस्लर पक्राउ

    काठमाडौँ, १७ चैतः सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लिल कमेन्ट गरी सार्वजनिक रुपमा बेइज्जत गराई घृणा, द्धेष फैलार्ई चरित्रहत्या गर्ने रामेछाप मन्थली नगरपालिका–१२ घर भई काठमाडौँको शान्तिनगर बस्ने ३५ वर्षीय भगवती खड्कालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले सामाजिक सञ्जालमा अरुको चरित्रहत्या गर्ने खड्कालाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरिएको जानकारी दिए । पक्राउ खड्कालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए ।

  • हवाई इन्धनको मूल्य भारी वृद्धि

    हवाई इन्धनको मूल्य भारी वृद्धि

    काठमाडौँ, १८ चैतः नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरिएको छ । साविकमा प्रतिलिटर रु एक सय २७ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब बृद्धिपछि प्रतिलिटर रु दुई सय ५१ पुगेको छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर आठ सय १९ अमेरिकी डलर प्रतिकिलोलिटरले बृद्धि भएको छ ।

    परिमार्जित मूल्य अनुसार काठमाडौँमा प्रतिलिकिलोटर नौ सय ६६ अमेरिकी डलर रहेकोमा बृद्धिपछि अब एक हजार सात सय ८५ अमेरिकी डलर पुगेको छ । अर्को मूल्य समायोजन नगर्दासम्म पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको भने साविकको मुद्रा मूल्य नै कायम राखिएको निगमले जनाएको छ ।

  • पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    गुल्मी, १७ चैत । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ । सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको एक सय ४६ मिटर लामो सस्पेन्सन (एनटाइप) पुलको निर्माण आस्था सम्झना जेभी अर्घाखाँचीले निर्माण समयअघि नै सम्पन्न गरेको हो । पुल निर्माणका लागि रु एक करोड ७१ लाख ८४ हजार ४६० बजेट विनियोजन गरिएको थियो ।

    निर्माण व्यवसायीसँग २०८२ भदौ ३ गते सम्झौता भई २०८३ भदौ ३ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा खुसी बनेका छन् । वर्षायाममा खोलामा बाढी आउँदा स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई आवतजावतमा निकै सास्ती खेप्नुपर्ने बाध्यता थियो ।

    यसअघि पुल अभावमा वर्षात्को समयमा कतिपय विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने अवस्था रहेको स्थानीय यमबहादुर थापाले बताए । उनका अनुसार पुल नहुँदा खोला तर्न जोखिम मोल्नुपर्ने तथा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । अब पुल सञ्चालनमा आएपछि करिब आधा घण्टाको दूरी पाँच मिनेटमै छोटिने भएको छ ।

    स्थानीय रामलाल घिमिरेका अनुसार पुल सञ्चालनमा आएपछि विद्यालय तथा स्वास्थ्य सेवा लिन जानका लागि सहज हुनुका साथै व्यापारिक क्षेत्रमा पनि चहलपहल बढ्ने छ । लामो समयदेखि त्यस क्षेत्रका बासिन्दाले राजनीतिक दलहरूसँग गरेको झोलुङ्गे पुलको माग ढिलै भए पनि पूरा गरिदिएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । उक्त पुलले वारिपारिका दुई बस्तीलाई जोड्ने मात्र नभई त्यस क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ ।

  • प्रअले नै छात्रवृत्ति रकम हिनामिना गरेपछि…

    प्रअले नै छात्रवृत्ति रकम हिनामिना गरेपछि…

    जुम्ला, १७ चैत । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले सोमबार दायर गरिएका प्रअमहतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध आर्थिक वर्ष २०७९÷८० मा विद्यालयलाई प्राप्त रु एक लाख ४५ हजार ३५० छात्रावृत्ति रकम हिनामिना गरेको आरोप लागेको छ ।

    प्रअमहतले मिति २०८० चैत २१ मा कक्षा १ देखि ५ सम्मका छात्राहरूलाई छात्रवृत्ति रकम रु एक हजारको दरले ८३ जनालाई र कक्षा ६ देखि ८ सम्मका छात्राहरूलाई एक हजार ४८५ रुपैयाँ २३ पैसाका दरले ४४ जनालाई रु ६५ हजार ३५० गरी रु एक लाख ४८ हजार ३५० वितरण गरेको भर्पाइ तातोपानी गाउँपालिकालाई पठाएको देखिएको जनाइएको छ । विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण गरेको नदेखिएको तथा प्रतिवादीहरूले एकापसमा मिलेमतो गरी २०८० असोज २१ गते झुट्टा भर्पाइ पुनः कीर्ते गरी २०८० चैत २१ मा छात्रवृत्ति वितरण गरेको अर्को झुट्टा भर्पाइ तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ङ० बमोजिमको कसुरमा उनीहरूविरुद्ध रु एक लाख ४५ हजार ३५० बिगो रकम कायम गरी कैद र जरिवानाको सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएकोे छ ।

  • युद्धको असर सामना गर्न जी ७ सक्रिय

    युद्धको असर सामना गर्न जी ७ सक्रिय

    पेरिस, १७ चैत (रासस–एएफपी) । मध्यपूर्वमा चर्किंदै गएको युद्धले विश्व अर्थतन्त्रमा गहिरो दबाब सिर्जना गरिरहेका बेला धनी राष्ट्रहरूको समूह जी ७ का मन्त्रीहरू त्यसको आर्थिक असर व्यवस्थापन गर्न आपतकालीन समन्वयमा जुटेका छन् । तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ्दै जाँदा ऊर्जा, वित्त र मौद्रिक नीतिमा संयुक्त प्रतिक्रिया खोज्न सोमबार विशेष बैठक आयोजना गरिएको हो । फ्रान्सका अर्थमन्त्री रोलान्ड लेस्क्योरका अनुसार भिडियो कन्फरेन्समार्फत हुने यस बैठकमा ऊर्जा र अर्थमन्त्रीहरूका साथै केन्द्रीय बैंकका प्रमुख र अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरू सहभागी हुँदैछन् । उनले वित्तीय बजार र विश्व अर्थतन्त्रमा देखिएको अस्थिरताबारे साझा धारणा बनाउन यो बैठक महत्त्वपूर्ण हुने बताए ।


    फेब्रुअरी अन्त्यतिर संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि स्थिति झन् जटिल बनेको हो । त्यसको प्रतिकारस्वरूप तेहरानले खाडी क्षेत्रका तेल निर्यातकर्ता मुलुकहरूलाई लक्षित गर्दै ढुवानी मार्ग अवरुद्ध गरेको छ, जसले विश्व आपूर्तिमा ठूलो अवरोध सिर्जना गरेको छ । यसको प्रत्यक्ष असर ऊर्जा बजारमा परेको छ । तेल र प्राकृतिक ग्यासको मूल्य आकासिँदा उत्पादनदेखि ढुवानीसम्मका आपूर्ति शृङ्खलामा व्यापक प्रभाव परेको छ । विशेषगरी एसियाली मुलुकहरूमा यसको प्रभाव गहिरो देखिएको भन्दै लेस्क्योरले विभिन्न देशका प्रतिक्रियामा फरक–फरक दृष्टिकोण देखा परेको उल्लेख गरे । र्नुभयो ।

    उनका अनुसार यही कारणले ऊर्जा, वित्त र केन्द्रीय बैंकहरूलाई एकै ठाउँमा ल्याएर समन्वय गर्न आवश्यक भएको हो । स्थानीय मिडियासँग कुरा गर्दै उनले झण्डै आधा शताब्दीपछि पहिलोपटक यस्तो स्वरूपमा जी७ बैठक आयोजना गरिएको जानकारी दिए । जी७ समूहमा अमेरिका, क्यानाडा, बेलायत, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् । यी मुलुकले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच नीतिगत दिशा निर्धारणमा प्रभाव पार्दै आएका छन् । हालको सङ्कटमा विशेषगरी अमेरिकाले इरानद्वारा अवरुद्ध गरिएको स्ट्रेट अफ होर्मुज मार्ग पुनः सञ्चालन गराउन समूहको समर्थन खोजिरहेको छ ।

    हालै सम्पन्न विदेशमन्त्रीहरूको बैठकपछि जी७ ले इरानलाई उक्त जलमार्ग खुला गर्न ‘पूर्ण आवश्यक’ भएको बताउँदै नागरिक पूर्वाधारमा हुने आक्रमण रोक्न आह्वान गरेको थियो । युद्धको प्रभाव बढ्दै जाँदा विभिन्न देशहरूले आन्तरिक रूपमा पनि दबाब झेलिरहेका छन् । ऊर्जा अभाव र मूल्यवृद्धिको असर कम गर्न सरकारले विभिन्न राहत तथा नियन्त्रणका उपायहरू अघि सारेका छन् । तर युद्धको अवधि कति लम्बिने र त्यसको दायरा कति फैलिने भन्ने अन्योलले प्रभावकारी र एकीकृत प्रतिक्रिया दिन कठिन बनाएको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका उद्देश्य लगभग पूरा भएको दाबी गरेका थिए । तर सोही समयमा हजारौँ अमेरिकी सैनिकहरू मध्यपूर्वमा तैनाथ गरिँदै गएका छन्, जसले स्थिति अझ जटिल बन्ने सङ्केत दिएको छ । मानवीय क्षतिको पक्ष पनि गम्भीर बन्दै गएको छ । इरानबाहिरका अधिकारकर्मीहरूका अनुसार अमेरिका–इजरायल आक्रमणमा तीन हजारभन्दा बढी मानिस मारिएका छन्, जसमा आधाभन्दा बढी सर्वसाधारण रहेका छन् ।

    लेबनानमा पनि हिजबुल्लाहविरुद्ध इजरायली कारबाहीपछि एक हजारभन्दा बढीको ज्यान गएको अधिकारीहरूले बताएका छन् । यद्यपि इजरायल र खाडी राष्ट्रहरूले भने आफ्नातर्फ कम क्षति भएको दाबी गरेका छन् । समग्रमा युद्धले सैन्य मात्र नभइ, आर्थिक र मानवीय दुवै मोर्चामा गहिरो सङ्कट निम्त्याइरहेको देखिएको छ, जसको सामना गर्न जी७ देशहरू समन्वित रणनीति खोज्न बाध्य भएका छन् ।

  • फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना, गलत निशाना लागेको भन्दै क्षमा याचना

    फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना, गलत निशाना लागेको भन्दै क्षमा याचना

    किएभ, १७ चैत (रासस–एएफपी) । गत साताको अन्त्यमा दक्षिणी फिनल्याण्डमा दुई युक्रेनी ड्रोन दुर्घटनाग्रस्त भएको पु्ष्टि गर्दै युक्रेनले सोमबार हेलसिन्कीसँग यसका लागि माफी मागेको छ । युक्रेनी विदेश मन्त्रालयले घटना गल्तीबस भएको भन्दै माफी मागेको हो । मस्कोले रातिको समयमा युक्रेनी ब्यारेज र अन्य सैन्य स्थलहरूलाई लक्षित गरीसयौँ ड्रोनले आक्रमण गरेपछि जवाफमा किएभले गरेको आक्रमणका क्रममा दुई ड्रोन फिनल्याण्डमा खसेका थिए ।

    “कुनै पनि युक्रेनी ड्रोनहरू फिनल्याण्डतर्फ निर्देशित थिएनन्। सबैभन्दा सम्भावित कारण रूसी इलेक्ट्रोनिक युद्ध प्रणालीको हस्तक्षेप हो। हामीले यस घटनाका लागि फिनल्याण्डसँग माफी मागेका छौँ,” युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता जर्जी टाइकीले पत्रकारहरूसँग भने । युक्रेनले गत हप्ता फिनल्याण्डको खाडी नजिककोरूसी तटमा बन्दरगाह सुविधाहरूमा धेरै पटक आक्रमण गरेको थियो ।

    फिनल्याण्डको रक्षा मन्त्रालयका अनुसार फिनल्याण्डले आइतवार एफ\ए–१८ हर्नेट लडाकू विमान पहिचानका लागि पठाएको थियो। एउटा ड्रोन दक्षिणी फिनल्याण्डको कोउभोला शहरको उत्तरमा खसेको थियो भने अर्को कोउभोलाको पूर्वमा खसेको मन्त्रालयले जनाएको छ ।

  • बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    काठमाडौँ, १७ चैत । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह आग्रह गरेको छ ।

    स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएकोप्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुनविपरीतका गतिविधि नगर्न तथा नगराउन बोर्डले चेतावनी दिएको छ । अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ बमोजिम कारबाही हुने बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

  • इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति

    इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति

    जेरुसलेम, १७ (रासस–एएफपी) । इजरायली सेनाले इरानको रिभोलुसनरी गाड्र्सद्वारा सञ्चालित तेहरानमा रहेको एक विश्वविद्यालयमा आक्रमण गरेको बताएको छ । इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालैका दिनहरूमा, आइआरजिसीको केन्द्रीय सैन्य पूर्वाधारस्थलहरू मध्ये एकमा हालै आक्रमण भएको छ ।

    इमाम हुसेन विश्वविद्यालयलेको परिसरमा रहेको आइआरजिसीको प्राथमिक सैन्य शैक्षिक संस्थाले इरानको सैन्य निकायहरूको लागि आपतकालीन उपकरणको आपूर्तिका लागि काम गर्दछ ।” अमेरिकी–इजरायली आक्रमणमा दिवङ्गत भएका इरानका पूर्व सर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ इरानी अधिकारीहरूले युद्धअघि उक्त विश्वविद्यालयको भ्रमण गरेका थिए।

    इजरायली सेनाले भनेको छ, “युद्धका क्रममा इजरायली सेनाले विश्वविद्यालयभित्रको सैन्य पूर्वाधारमा धेरै पटक आक्रमण गरेको थियो भने यसबाट इरानी हतियार उत्पादन र विकास क्षमतामा ठूलो क्षति पुगेको थियो । उसले विश्वविद्यालय, यसको रसायन विज्ञान केन्द्र, र यसको मेकानिक्स र विकास समूहको टेक्नोलोजी र इन्जिनियरिङ केन्द्रको मुनिका सुरुङहरू नष्ट गरेको बताएको छ । सुरूङलाई सबै हतियार विकासको लागि प्रयोग गरिएको इजरायली सेनाले बताएको छ ।

  • चिलीद्वारा करिब दुई लाख आप्रबासीलाई कागजात दिने योजना रद्द गर्ने घोषणा

    चिलीद्वारा करिब दुई लाख आप्रबासीलाई कागजात दिने योजना रद्द गर्ने घोषणा

    सान्टियागो, चिली, १७ चैत (रासस–एएफपी) । चिलीको नयाँ दक्षिणपन्थी सरकारले सोमबार अनियमित रूपमा देश प्रवेश गर्ने दशौँ हजार आप्रवासीलाई कानुनी मान्यता दिने योजना रद्द गर्ने घोषणा गरेको छ । राष्ट्रपति ग्याब्रियल बोरिकको अघिल्लो वामपन्थी सरकारले कानुनी हैसियतका लागि आवेदन दिने एक लाख ८२ हजार मानिसलाई कानुनी मान्यता दिने प्रतिवद्धता व्यक्त गरेको थियो । आप्रवासनविरुद्ध कडाइ गर्ने प्रतिबद्धताका साथ अभियान चलाएको जोसे एन्टोनियो कास्टको नयाँ सरकारले यो आदेशलाई कार्यान्वयन नगर्ने आप्रवासन सेवाले बताएको छ।

    “हामी बोरिक सरकारले प्रस्ताव गरेजस्तो आवासीय कागजातहरूको ठूलो अनुमतिको लागि अगाडि बढ्ने छैनौँ,“ आप्रबासन सेवाका निर्देशक फ्रान्क साउरबाउमले भने । कास्टले पेरुको सीमामा नयाँ अवरोधहरू निर्माण गर्न यसै महिनाको सुरुमा आदेश दिएका थिए । कास्टले पेरू र बोलिभियाबाट आउने आप्रवासीहरूलाई रोक्न ‘सीमा निगरानी’ बढाउने र प्रवेशमा कडाइ गर्ने वाचा गरेका थिए । कास्टले हत्या, अपहरण र फिरौती असुलीमा वृद्धि रोक्न कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । उनले हत्या, अपहरण र फिरौती असुलीजस्ता घटनामा वृद्धि हुनुलाई कागजात नभएका आप्रवासीहरू प्रवेश दिइनु केही कारकमध्ये एक भएको बताए ।


    दक्षिणपन्थी राष्ट्रपति कास्टको निर्वाचन चिलीको इतिहासमा सन् १९७३ देखि १९९० सम्म अगस्टो पिनोचेको सेनाको नियन्त्रण रहेको सत्तापछि चिलीमा वर्तमान् राष्ट्रपति कास्टको निर्वाचनले देशमा एक अतिराष्ट्रवादी नेताको नेतृत्व दिएको छ। सरकारी अनुमान अनुसार चिलीमा रहेका करिब तीन लाख ३७ हजार विदेशी नागरिकहरूसँग आवासीय अनुमतिका लागि कागजातहरू छैनन् ।

  • श्रीलङ्कामा बिजुलीको मूल्य करिब ४० प्रतिशत वृद्धि

    श्रीलङ्कामा बिजुलीको मूल्य करिब ४० प्रतिशत वृद्धि

    कोलम्बो, १७ चैत (रासस–एएफपी) । श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका समय बुधबारदेखि बिजुलीको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । श्रीलङ्काको सार्वजनिक उपयोगिता आयोगले विश्वव्यापी ऊर्जा मूल्यको आधारमा अप्रिलमा विद्युत शुल्कमा थपवृद्धि हुने बताएको हो । आयोगका अध्यक्ष केपीएल चन्द्रलालले कोलम्बोमा पत्रकारसँग भने, “आज हामीले घोषणा गरेको वृद्धिको गणना मध्यपूर्व द्वन्द्व अघि व्याप्त मूल्यको आधारमा गरिएको थियो।” अधिकांश मध्यम वर्गीय उपभोक्ताहरूको लागि, एक किलोवाट बिजुलीको प्रतिघण्टा लागत ८४ रूपैयाँ अर्थात् ०।२८ अमेरिकी डलर हुनेछ ।

    यो मूल्य समायोजनका कारण सबैभन्दा कम विद्युत उपभोग गर्ने उपभोक्ताले एक किलोवाट बिजुलीको प्रतिघण्टाको लागत ६१ रूपैयाबाट ३९.३४ प्रतिशत वृद्धि भई ८४ रूपैँया हुनेछ । यसैगरी, महिनामा ३० किलोवाट प्रतिघण्टा भन्दा कम प्रयोग गर्ने उपभौक्ताका लागि ११.११ प्रतिशतले मूल्यवुद्धि हुनेछ ।
    श्रीलङ्काले यस महिनामा तीन पटक इन्धनको मूल्य बढाइएको र यो एक तिहाईभन्दा बढीले बढेको छ । देशले ऊर्जा सङ्कट हुन नदिन इन्धनको बचत गर्नका लागि हप्तामा तीन दिन सार्वजनिक विदा तोकेको छ।

    सरकारले निजी क्षेत्रलाई पनि सम्भव भएसम्म घरबाटै काम गर्ने व्यवस्था पुनः लागू गर्न भनेको छ । गत महिनाको अन्त्यमा अमेरिका–इजरायलले गरेको आक्रमणपछि शान्तिकालमा विश्वव्यापी कच्चा तेल र ग्यास निर्यातको २० प्रतिशत हिस्सा ओहोरदोहोर गर्ने प्रमुख जलमार्ग हर्मुज घाँटी भएर ओहोर दोहोर गर्ने जहाजहरूलाई इरानले प्रभावकारी रूपमा बन्द गरेको छ। श्रीलङ्काले आफ्नो सबै तेल आयात गर्छ र बिजुली उत्पादनका लागि कोइला पनि खरिद गर्छ ।

    उसले भारत, सिङ्गापुर, मलेसिया र दक्षिण कोरियाबाट प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्छ भने इरानमा निर्मित श्रीलङ्काली प्रशोधन केन्द्रका लागि कच्चा तेल मध्यपूर्वबाट आयात हुने गरेको छ । मध्यपूर्वमा लडाइँ र कुनै पनि लामो युद्धले सन् २०२२ को आर्थिक मन्दीबाट बाहिर निस्कने उसको प्रयासलाई गम्भीर रूपमा कमजोर पार्न सक्ने सरकारले बताएको छ। यसबाट बच्न सरकारले मितव्ययी कार्यक्रमहरूको घोषणा गरेको हो । श्रीलङ्कामा विदेशी मुद्रा सकिएपछि सन् २०२२ मा ४६ अर्ब डलर बराबरको विदेशी ऋण तिर्न नसकेपछि त्यसयता कोलम्बोले आइएमएफको २.९ अर्ब डलरको ससर्त कर्जा सहयोग प्राप्त गरेको छ ।

  • धवलागिरि माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरि माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    म्याग्दी, १७ चैत । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटीखेती गरेका हुन् । माकुसका बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवाखेती गरेको बताए । “इलामबाट प्रतिगोटा रु ३० का दरले बिरुवा किनेर ल्याई सतुवा रोपेको हो”, उनले भने, “एक सय किलोग्राम सतुवा उत्पादन भएको छ ।” केही वर्षअघिसम्म प्रतिकिलोग्राम रु १६ हजारमा बिक्री हुने सतुवाको मूल्य घटेर रु पाँच हजार प्रतिकिलोमा झरेकाले बिक्री गर्न नपाएको उनले बताए ।

    रोकाले सतुवाको गानाका साथै १० हजार नयाँ बिरुवा तयार पार्नुभएको छ । यसअघि मकै, गहुँ, कोदो, उवा, जौँखेती हुने पाखोबारी र खोल्साको पाखामा सतुवा लगाएको रोकाले बताए । तत्कालीन सशस्त्र द्वन्द्व पछि ४५ वर्षीय रोका खेतीकिसानी र पशुपालन गर्दै आएका थिए । समुद्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा भिरालो पाखामा अवस्थित माकुसको भूगोल र हावापानी अनुकूल तथा उच्च मूल्य पाइने भएकाले सतुवाखेती गरेको रोकाले बताए ।
    उहाँले सतुवाखेतीका साथै व्यावसायिक बाख्रापालन पनि गर्नुभएको छ । पचासभन्दा बढी बाख्रा पालेका छन् । माकुस नजिकैको जङ्गलमा प्राकृतिक रूपमा पनि सतुवा उत्पादन हुँदै आएको थियो ।

    परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटीखेती गरेको रोकाले भने । वैदेशिक रोजगार र परम्परागत खेतीकिसानीको विकल्पमा व्यावसायिक जडीबुटीखेती गरेका रोकालाई धवलागिरि गाउँपालिकाले सतुवाखेती गरेको बारीमा पर्खाल बनाएर घेराबार गर्न गत वर्ष रु एक लाख अनुदान सहयोग गरेको वडाध्यक्ष अमर छन्त्यालले बताए ।


    त्यसैगरी, सतुवाको बिरुवा भएको पल्टमा पलास्टिकको टनेल बनाउन सकेमा तापक्रम सन्तुलित बनाउन, हिउँ, असिना र रोगकीराबाट बचाउन सकिने रोकाको अपेक्षा छ । औषधि बनाउन प्रयोग हुने सतुवा पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्ने चलन छ ।

  • आन्दोलन दवाएको अभियोगमा काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    आन्दोलन दवाएको अभियोगमा काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    काठमाडौँ, १७ चैत । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो । गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै तत्कालीन पूर्वप्रजिअ रिजाललाई कारबाही सिफारिस गरेको जनाइएको छ ।

    पक्राउ पर्नुभएका पूर्वप्रजिअ रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले राससलाई जानकारी दिए । अब जिल्ला अदालतबाट म्याद थप गरी उहाँमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।

  • गैरकानुनी रूपमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गैरकानुनी रूपमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    काठमाडौँ, १७ चैत । विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा कानुनले निषेध गरेका स्थानमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन आग्रह गरेको छ । सरकारले सबै प्रकारका बेटिङ एप तथा बेबसाइट यही चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले बन्द गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै बोर्डले गैरकानुनी रूपमा विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन भएको भए तत्काल बन्द गर्न र गराउन सरोकारवालालाई अनुरोध गरेको छ ।

    गैरकानुनी रूपमा र बन्द गरिएका एप तथा वेबसाइटमा विज्ञापन प्रकाशन, प्रसारण वा प्रदर्शन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने भएकाले त्यस्ता गतिविधि भइरहेको पाइएमा बोर्डमा यथाशीघ्र उजुरी गर्न अनुरोध गरिएको बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले जानकारी दिए । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ बमोजिम जुवा खेल्न र खेलाउन वा प्रचलित कानुनबमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्थाको समेत बोर्डले स्मरण गराएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, १७ चैत । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चटयाङ, हुरीबतास र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

    आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौँ, १७ चैतः जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँड्नुभएका महावीर जैनको २६२५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन तपस्यामा निस्किएका विभिन्न जैन ग्रन्थमा उल्लेख गरिएको छ । करिब १२ वर्ष तपस्या गरेपछि उनले मानव समुदायलाई जैन दर्शन बाँडेका थिए ।


    नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैन शास्त्रीय मान्यताअनुसार २४ वटा तीर्थङ्कर जैन छन् । धर्मको बाटो देखाउने भएकाले तीर्थङ्कर नाम दिइएको हो । हिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने सन्देश महावीरले दिएका थिए । अरुलाई दुःख दिनु पनि हिंसा भएकाले अरुको उपकार गर्नु नै अहिंसा हुने महावीरको विचार छ । उनको उत्तर अध्याय सूत्र कृति चर्चित छ । जसको नेपाली अनुवाद मानव लिन केन्द्रका संस्थापक डा मणिभद्र मुनिजीले गरेका छन् । महावीरको जन्मजयन्तीका अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न सङ्घ संस्थाले कार्यक्रम आयोजना गरी यो दिवस मनाउने जनाइएका छन् ।

  • दाङमा १० जनाले बुझाएनन् चुनावी खर्च विवरण

    दाङमा १० जनाले बुझाएनन् चुनावी खर्च विवरण

    दाङ, १७ चैतः गत फागुन २१ गते मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका ६० उम्मेदवारमध्ये १० जनाले अझै चुनावी खर्चको विवरण बुझाएका छैनन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार खर्च विवरण नबुझाउनेमा निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेका आमजनता पार्टीका सीताराम यादव, निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका ढुण्डीराज थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतीक अधिकारी, नागरिक उन्मुक्ति पार्टी नेपालका झरेन्द्रबहादुर खत्री, आमजनता पार्टीका कृष्णबहादुर सुनार र स्वतन्त्र उम्मेदवार पदमप्रसाद पाण्डे रहेका छन् ।

    त्यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३ बाट जनता समाजवादी पार्टी नेपालका शोभा डाँगी, मितेरी पार्टी नेपालका सन्तोष सिंह, नागरिक उन्मुक्ति पार्टीका महेश चौधरी र स्वतन्त्र उम्मेदवार भागीराम चौधरी रहेका कुँवरले जानकारी दिए । सूचना अधिकारी कुँवरका अनुसार निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । रासस

  • लापसे गरेर सवारी चलाउनेमाथि कञ्चनपुरमा ट्राफिक प्रहरीको कडाइ

    लापसे गरेर सवारी चलाउनेमाथि कञ्चनपुरमा ट्राफिक प्रहरीको कडाइ

    रासस
    कञ्चनपुर, १७ चैतः जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कडाइ गरेको छ । लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनेमाथि प्रहरीले विशेष जाँच अभियान सञ्चालन गर्दै आएकोे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बालेन्द्र नाथका अनुसार गत कात्तिकदेखि हालसम्म लागुपदार्थ सेवन गरेका २२ जना चालकमाथि कारबाही गरिएको छ ।

    सोही क्रममा हिजो मात्रै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गरिएको छड्के जाँचका क्रममा चार जना चालक लागुपदार्थ सेवन गरेर सवारी चलाउँदै गरेको अवस्थामा फेला परेका छन् । स्वास्थ्य कार्यालय र महाकाली अस्पतालको प्राविधिक सहयोगमा गरिएको जाँचमा १६ जना चालकको परीक्षण गर्दा चार जनाले लागुपदार्थ सेवन गरेको पुष्टि भएको प्रहरी निरीक्षक नाथले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

    उनका अनुसार लागुपदार्थ सेवन गरेर सवारी चलाउनु केबल ट्राफिक नियम उल्लङ्घन मात्र नभई गम्भीर अपराध र सार्वजनिक सुरक्षामाथिको खेलबाड हो । लापसे जाँचका लागि प्रहरीले ‘ड्रग डिटेक्सन किट’ प्रयोग गर्ने गरेको छ । “यस प्रविधिमा चालकको ¥यालको नमुना सङ्कलन गरी परीक्षण गरिन्छ । जसबाट चालकले लागुपदार्थ सेवन गरेको वा नगरेको तत्कालै थाहा हुन्छ”, प्रहरी निरीक्षक नाथले भने । सेवन गरेको पुष्टि भएमा लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइँदै आएको छ ।

    यसअघि मादक पदार्थ सेवन (मापसे) को मात्र जाँच हुँदै आएकामा अब चिकित्सकको निगरानीमा लागुपदार्थ सेवन जाँच सुरु गरिएकाले लागुऔषध प्रयोग गरेर सवारी चलाउने चालक कानुनी दायरामा आउन थालेका छन् । उनका अनुसार लागुपदार्थ सेवन गरेका चालकको स्नायु प्रणालीमा असर पर्ने, निर्णय क्षमता कमजोर हुने, प्रतिक्रिया समय ढिलो हुने र दृष्टिमा भ्रम हुने भएकाले दुर्घटनाको जोखिम अत्यधिक रहने गर्दछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले राजमार्ग क्षेत्रमा महिनामा लागुपदार्थ सेवनबारे दुई(तीन पटक छड्के जाँच गर्ने र साँझको समयमा दैनिक मापसे जाँचलाई निरन्तरता दिने कार्य गर्दै आएको छ ।

    “यसले चालकमा सचेतना बढाउनुका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ”, प्रहरी निरीक्षक नाथले भने, “यस कार्यले कारबाहीसँगै सडक सुरक्षाबारे सचेतना फैलाउने काम पनि हुँदै आएको छ ।” सडकमा लापसे जाँच गर्नुको मुख्य उद्देश्य दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए । राजमार्गमा हुने दुर्घटना कम गर्न र लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न आगामी दिनमा पनि लापसे तथा मापसे जाँच अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ।

  • लोकप्रिय बन्दै पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम

    लोकप्रिय बन्दै पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम

    रासस
    गोरखा, १७ चैतः जिल्लाको पालुङटार नगरपालिकाले सञ्चालन गरेको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ । आर्थिक वर्ष २०८१–८२ देखि सुरु भएको उक्त कार्यक्रममा हाल पालिकाका अधिकांश किसान आबद्ध रहेका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत पालिकाले कृषक, कृषि समूह तथा कृषि सहकारीलाई शतप्रतिशत अनुदानमा बीउ उपलब्ध गराउँदै आइएको छ । पालिकाले किसानको इच्छाअनुसार विभिन्न प्रकारको खाद्यान्न, रैथाने र मसला बालीको बीउ उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।


    “खाद्यान्नअन्तर्गत धान र मकै, रैथाने बालीअन्तर्गत कोदो, फापर, मास र कागुनो तथा मसला बालीअन्तर्गत अधुवा र हलेदोको बीउ उपलब्ध हुन्छ”, प्रमुख प्रशासकीय अधिकृत बिसीले भने बीउ पैँचो कार्यक्रममा कृषकको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

    पालिकाले उपलब्ध गराएको बीउबाट किसानले बीउ उत्पादन गर्नुपर्ने प्रावधान रहेको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए । “निश्चित समयपछि किसानले पालिकाले अनुदानमा उपलब्ध गराएको बीउ पालिकामै फिर्ता गर्नुपर्ने हुन्छ”, उनले भने, “किसानले पालिकाले जतिमात्रामा बीउ उपलब्ध गराएको थियो, त्यति पालिकालाई फिर्ता गरेर बाँकी आफूखुसी बेच्न सक्नुहुन्छ ।” यसरी किसानले फिर्ता गरेको बीउ पुनःअन्य किसानलाई उपलब्ध गराएर बीउ पैँचो कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।


    “सुरुको वर्षमा किसानलाई आवश्यकपर्ने बीउ बाहिरबाट ल्याउनुपर्ने हुन्छ । विस्तारै यही उत्पादन बढ्न थालेपछि किसानबीच बीउ पैँचोको अभ्यास सुरु हुन्छ”, उनले भने । पालुङटारले किसानसँग बीउ पैँचो कार्यक्रमका लागि चालु आव २०८२–८३ मा रु दुई लाख विनियोजन गरेको छ । पालिकाले हाल कार्यक्रम जारी गरेर इच्छुक किसानलाई कार्यक्रममा आबद्ध हुन सूचना प्रकाशन गरिसकेको छ ।

    गत वर्ष कार्यक्रममा आबद्ध भएका किसानले बीउसमेत फिर्ता गरिसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसीले उल्लेख गरे । कार्यक्रम किसानको मागमा आधारित हुन्छ । विशेषगरी पालिकाको रैथाने बाली प्रवर्द्धन गर्न, कृषकको जीविकोपार्जनमा सहयोग पुर्‍याउन र पालिकालाई बीउमा आत्मनिर्भर बनाउन ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

  • भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटक आकर्षित गर्दै

    भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटक आकर्षित गर्दै

    रासस
    भोजपुर, १७ चैतः भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ । भोजपुर नगरपालिका(१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ । उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठूलो परिवर्तन ल्याएको स्थानीय बताउँछन् ।

    पहिले घण्टौँ पैदल हिँड्नुपर्ने ठाउँमा अहिले सवारीसाधन पुग्न थालेपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ । यो सडक भोजपुरलाई दक्षिणी क्षेत्रसँग जोडेको छ । यस सडकको सबैभन्दा विशेषता भनेकै यसको नागबेली आकृति हो । माथिबाट हेर्दा लामो सर्पजस्तै घुमाउरो देखिने यो सडक दृश्यले फोटोग्राफी तथा भिडियो खिच्न रुचाउनेका लागि आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता तस्बिर तथा भिडियो व्यापक रूपमा साझा हुन थालेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको स्थानीयको भनाइ छ ।

    प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र वरिपरि फैलिएको हरियाली वन, डाँडाकाँडा र तल बगिरहेको पिखुवा खोलाको मनोरम दृश्यले यात्रालाई अझ रमणीय बनाउने गर्दछ । बिहानको कुहिरो र साँझपखको सुनौलो घामले सडकलाई झन आकर्षक बनाउने भएकाले यहाँ पुग्ने पर्यटकले समय मिलाएर दृश्यावलोकन गर्ने गरेका छन् ।

    स्थानीयका अनुसार यो सडकले कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहजता ल्याएको छ । आलु, मकै, अदुवा, फलफूललगायत कृषिउपज ढुवानीमा सहज भएपछि किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । साथै, सडक सञ्चालनमा आएपछि यहाँको व्यापार(व्यवसाय पनि विस्तार हुन थालेको छ । सडक छेउमा विश्रामस्थल, दृश्यावलोकन स्थल (भ्यू प्वाइन्ट) निर्माण, सूचना बोर्ड जडान गरिएमा यात्रु तथा पर्यटकलाई सहजता हुने स्थानीयको भनाइ छ । आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचार गर्न सकिएमा भोजपुर–बेहेरे सडक केबल यातायात मार्गमा सीमित नरही प्राकृतिक सौन्दर्य अवलोकनका लागि देशकै एक आकर्षक गन्तव्यका रूपमा स्थापित हुनसक्ने स्थानीय जानकारहरुले बताउने गरेका छन् ।

  • भानुआटुमा शक्तिशाली भूकम्प

    भानुआटुमा शक्तिशाली भूकम्प

    सिड्नी, १७ चैत (रासस–एएफपी) । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो, जसले क्षेत्रीय स्तरमा मध्यम कम्पन महसुस गराएको छ । भूकम्प भानुआटुको दोस्रो ठूलो सहर लुगानभिलबाट करिब ३५ किलोमिटर उत्तरपूर्वमा केन्द्रित थियो । प्रारम्भिक रूपमा ७.२ म्याग्निच्युड आँकलन गरिएको यस भूकम्पको परिमाण पछि बढाएर ७.३ निर्धारण गरिएको हो ।

    प्रशान्त सुनामी चेतावनी सेन्टरका अनुसार यस भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिएको स्पष्ट पारिएको छ, जसले तटीय क्षेत्रमा सम्भावित जोखिमलाई कम गरेको छ । युएसजिएसले भूकम्पको गहिराइ करिब ११५.८ किलोमिटर रहेको जनाएको छ, जसका कारण सतहमा व्यापक विनाशको सम्भावना घटेको बताइएको छ । प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो मानवीय क्षति वा आर्थिक नोक्सानी भएको सङ्केत छैन ।

    भानुआटु भूकम्पीय दृष्टिले सक्रिय क्षेत्र प्यासिफिक रिङ अफ फायरभित्र पर्ने भएकाले यस्ता घटनाहरू यहाँ सामान्य मानिन्छन । करिब तीन लाख २० हजार जनसङ्ख्या रहेको यस द्वीपसमूहमा समय–समयमा शक्तिशाली कम्पनहरू हुने गरेका छन् । गत महिना पनि एस्पिरिटु सान्टो टापु नजिक ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले स्थानीय बासिन्दालाई त्रसित बनाए पनि उल्लेखनीय क्षति भने पुर्‍याएको थिएन । यसपटकको भूकम्प पनि तुलनात्मक रूपमा कम जोखिमपूर्ण देखिएको छ, यद्यपि निगरानी भने जारी राखिएको छ ।

  • माओवादी विद्रोहमाथि भारतले विजय गरेको गृहमन्त्रीको घोषणा

    माओवादी विद्रोहमाथि भारतले विजय गरेको गृहमन्त्रीको घोषणा

    बस्तर, भारत, १७ चैत (रासस–एएफपी) । भारतले दशकौँ लामो विद्रोहलाई परास्त गर्न लामो समयसीमा पूरा गर्दै सोमबार मुलुकलाई माओवादी द्वन्द्वमुक्त मुलुक घोषणा गरेको छ । गृहमन्त्री अमित शाहले नक्सल चिनिने विद्रोहीहरूबाट भारत ’स्वतन्त्र’ बनेको संसदमा घोषणा गरे । “म खुल्लमखुल्ला भन्न सक्छु कि हामी नक्सलवादीमुक्त भएका छौँ, यो भन्न कुनै हिचकिचाहट छैन,” उनले भने, “सम्पूर्ण अभियान सकिएपछि म देशलाई सार्वजनिकरूपमा पनि जानकारी दिनेछु ।”

    भारतले विगत दुई वर्षमा नक्सलवादी विद्रोहको अन्तिम अवशेषविरुद्ध आफ्नो अभियान तीव्र बनाएको बताउँदै आएको थियो । यो आन्दोलनको नाम पश्चिम बङ्गालको हिमालयको फेदीमा रहेको नक्सलबारी गाउँको नामबाट राखिएको छ । यो छ दशकअघि माओवादी प्रेरित विद्रोह सुरु भएको स्थानबाट नै उक्त आन्दोलनको नाम राखिएको थियो ।

    विद्रोहले देशको लगभग एक तिहाइ भाग नियन्त्रण गरेको थियो र सन् २००० को दशकको मध्यमा अनुमानित १५ हजार देखि २० हजार लडाकुहरू भएको आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । तर हालैका वर्षहरूमा यो नाटकीय रूपमा कमजोर भएको थियो। अधिकांश सशस्त्र विद्रोहीहरू मध्य छत्तीसगढ राज्यको बस्तर क्षेत्रसम्म सीमित थिए, जुन घना जङ्गल र पहाडहरूको विशाल खनिज–समृद्ध क्षेत्र हो । “बस्तर अब नक्सलमुक्त छ,” ९० मिनेटको भाषणका क्रममा शाहले विद्रोह अन्त्यका लागि सुरक्षा बलले अपनाएको इतिहास र रणनीतिबारे जानकारी दिँदै भने । उनले भने, “माओवादी हिंसा गर्ने, नक्सलवाद हिंसा गर्नेहरुको दिन अब सकिएको छ ।”

    सन् २०२५ मा सुरक्षा फौजले ३६४ विद्रोहीहरूलाई मारेको र एक हजार २२ लाई पक्राउ गरेको थियो भने वरिष्ठ नेताहरूसहित अन्य दुई हजार ३३७ जनाले आत्मसमर्पण गरेका थिए । सन् २०१० यता नागरिक र सुरक्षा बलको मृत्युमा ९० प्रतिशतले कमी आएको छ भने माओवादी आक्रमणको संख्या एक हजार ९०० बाट घटेर गत वर्ष करिब २०० मा झरेको छ । शाहले सरकारले विद्रोहबाट प्रभावित राज्यहरूमा स्थानीय प्रहरी बलको क्षमतालाई बलियो बनाएको र सुरक्षा बलहरूबीच समन्वय गहन बनाएको बताए ।

    “हामीले हतियार मात्र होइन, सबै निकायको दृष्टिकोण अपनाएका छौँ,” शाहले भने, “माओवादीका दुई कमान्डरबाहेक सबै या त मारिएका छन् वा आत्मसमर्पण गरेका छन्। उनीहरूले पनि चाँडै आत्मसमर्पण गर्नेछन्।” छत्तिसगढका उपमुख्यमन्त्री विजय शर्माले यसअघि एएफपीलाई राज्य नक्सलवादी विद्रोहीहरूबाट पूर्ण रूपमा मुक्त रहेको बताएका थिए । उनले भने, उनीहरुको सम्पूर्ण सशस्त्र लढाकू मारिएका छन् ।”

    माओवादीले वन क्षेत्रमा सीमान्तकृत आदिवासी जनजातिको अधिकारका लागि आफूहरू लडिरहेको बताएका थिए । सन् १९६७ मा मुट्ठीभर गाउँलेहरूले आफ्ना सामन्ती शासकहरूविरुद्ध विद्रोह गरेपछि १२ हजारभन्दा बढी विद्रोही, सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ। माओवादी केन्द्रका पूर्व विद्रोही २६ वर्षीय विष्णु माडवीले छापामारसँग सात वर्षपछि गत जनवरीमा आत्मसमर्पण गरेका थिए । “मेरो कमान्डर सन् २०२५ मा प्रहरीको कारबाहीमा मारिएकोमा मुस्किलले बाँचेको छ,” माड्वीले सोमबार एक शिविरबाट एएफपीलाई बताए । उनले भने, “हाम्रा शीर्ष नेताहरू सबै यात शाहदत प्राप्त गरिसकेका छन् या आत्म समर्पण । प्रहरीले हामी घेराबन्दी गरेको अवस्थामा आन्दोलन छोड्नुको विकल्प थिएन।”

  • कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

    कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

    काठमाडौँ, १५ चैतः सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय÷कार्यालयले ४५ दिनभित्र तयार गर्नुपर्ने निर्देशन जारी गरेको छ । सरकारले कार्यसम्पादन मूल्याङ्कन कमजोर हुँदा राम्रो र खराब कार्यसम्पादनलाई समान व्यवहार गर्ने प्रवृत्ति हटाउन ९० दिनभित्र कार्यसम्पादनमा आबद्ध उत्तरदायित्व र पुनरावलोकन प्रणाली लागू गरिने जनाएको छ । सरकारले शासकीय सुधारका लागि शुक्रबार एक सय कार्यसूची सार्वजनिक गरेको थियो ।

    कार्यसूचीका अनुसार सार्वजनिक निकायको सेवाको गुणस्तर प्रमाणीकरण गर्ने व्यवस्था गरी उत्कृष्ट निकायलाई प्रोत्साहित गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर प्रमाणीकरण मापदण्ड ४५ दिनभित्र तयार गर्नुपर्नेछ । त्यस्तै सरकारले मन्त्रालयहरूको सङ्ख्या आवश्यकताभन्दा ठूलो भई चालु खर्च बढेको समस्यालाई समाधान गर्न ३० दिनभित्र मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ । त्यसका लागि मौजुदा नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरी सङ्घीय मन्त्रालयको सङ्ख्या १७ कायम गरिनेछ ।

    मन्त्रालयहरूको सङ्ख्या पुनरावलोकन गर्ने सन्दर्भमा हाल कायम रहेका दरबन्दीसमेत व्यवस्थापन गर्नुपर्ने भएमा सेवा प्रवाहलाई असर नपर्ने गरी बढुवा व्यवस्थापन गर्नुपर्ने कार्यसूचीमा उल्लेख छ । सबै सार्वजनिक निकायले सेवा प्रवाहमा विद्यमान दोहोरोपन, जटिलता तथा अनावश्यक प्रक्रियाका कारण सेवा प्रवाह ढिलो, खर्चिलो र अप्रभावकारी भएको अवस्थालाई अन्त्य गर्न आवश्यक कानुन संशोधनका लागि मस्यौदा बनाउने प्रक्रिया अघि बढाउनुपर्नेछ ।

    नेपाल सरकारअन्तर्गत रहेका अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका तथा अनावश्यक वित्तीय भार सिर्जना गर्ने बोर्ड, समिति, आयोजना तथा संस्थागत संरचनाको समग्र मूल्याङ्कन गरी खारेज, एकीकरण वा पुनःसंरचना गरिनेछ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि रहेको एक उच्चस्तरीय कार्यदल गठन गर्ने तथा सो कार्यदललाई एक महिनाभित्र स्पष्ट सिफारिससहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

    कार्यसूची अनुसार सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाटमुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाइनेछ । विद्यमान भ्रष्टाचार, ढिलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहारजस्ता प्रवृत्तिको सुधार गर्दै कर्मचारीतन्त्रलाई उत्तरदायी, सेवामुखी, जनमुखी र उदाहरणीय बनाउन कर्मचारी आचारसंहिता अक्षरशः कार्यान्वयन गरिनेछ । यसैगरी सङ्घ, प्रदेश तथा स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड १५ दिनभित्र तर्जुमा गरी स्वीकृत गरिनेछ । शिक्षकको सिटरोल दर्ता तथा अवकाश पश्चातका सेवा सुविधा व्यवस्थापन आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयबाटै गर्ने व्यवस्था मिलाइने कार्यसूचीमा उल्लेख छ ।

    सरकारी कार्यालयको भौतिक पूर्वाधार र स्तरीकृत विन्यासका लागि सहरी विकास मन्त्रालयले दुई महिनाभित्र न्यूनतम मापदण्ड तर्जुमा गरी १०० दिनभित्र कार्यान्वयनमा लैजाने बताइएको छ । नागरिकलाई सरकारी सेवा लिन धेरै कार्यालय धाउनुपर्ने, प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने तथा समय र लागत दुवै बढ्ने अवस्थाको अन्त्य गर्न प्रमुख सहरमा ‘एजेन्सिफिकेसन मोडालिटी’मा नागरिक सेवा केन्द्र सञ्चालन गरिने र त्यस्ता केन्द्रहरूलाई दैनिक कम्तीमा १२ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ ।

    नागरिकलाई छिटो, सहज र बिचौलियामुक्त सेवा उपलब्ध गराउन नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन गरिनेछ । नागरिकका गुनासो, सुझाव तथा सेवा अनुरोधलाई छिटो, प्रभावकारी तथा परिणाममुखी रूपमा सम्बोधन गर्न २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरिने कार्यसूचीमा उल्लेख गरिएको छ । सोका लागि फोन, मोबाइल एप, पोर्टल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सकिने बहु–च्यानलको व्यवस्था मिलाइनेछ ।

    सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्मेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गरिने सरकरको योजना छ । त्यसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्सलगायतका सरकारी कागजात÷सामग्री घरमै पुर्याउने व्यवस्था १०० दिनभित्र लागू गरिनेछ ।

  • अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला

    अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला

    ताप्लेजुङ, १६ चैत : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ मा रहेको अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला परेका छन् । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१, गैरी गाउँका ४० वर्षीय यमराज लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गत फागुन ८ गते घर जान्छु भनेर हिँडेका लिम्बू हालसम्म सम्पर्कमा नआएको भन्दै चैत १ गते खोजतलासका लागि हुलियासहित निवेदन परेको थियो ।

    सोही आधारमा खोजी कार्य गर्दै जाँदा आइतबार फक्ताङलुङ गाउँपालिका–२ मा मेथेन खोलमा सडेगलेको अवस्थामा लिम्बूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिए । घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा मृतकको बाँया हातमा रहेको ट्याटुका आधारमा शवको पहिचान गरिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • थाइल्याण्डमा एएनओको समिति गठन

    थाइल्याण्डमा एएनओको समिति गठन

    काठमाडौँ, १६ चैतः विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली जाति र नेपालीभाषीबीच आफू बसेकै देशमा नेपाली भाषा र संस्कृतिको पहिचानका लागि अभियान सञ्चालन गरिरहेको एसोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ० को थाइल्याण्ड समिति गठन गरिएको छ । थाइल्याण्डको बैंकक सहरमा आइतबार आयोजित एएनओको भेलाले सो समितिको अध्यक्षमा थाइल्याण्डमै जन्मेकी पाचौँ पुस्ताकी नेपाली मूलकी नागरिक अमरा राई चयन गरेको हो ।

    थाइल्याण्डमै जन्मेका र पुस्तौँदेखि थाइल्याण्ड र बर्मामा बसोबास गरिरहेका नेपाली जातिका नागरिकहरुको सहभागितामा सम्पन्न सो भेलाले उक्त समितिमा मिलन घिमिरे, नरेश पाण्डे, सोनिया राई, एमी राई, बसन्ती प्रधान, दीपा पौडेल, अस्मिता न्यौपाने, सुमन कार्की र विक्की सिन्च्यूरीलाई चयन गरेको छ । त्यस अवसरमा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपली कला, संस्कृति, भाषा र परम्परालाई नेपाली मूलका मानिसहरुमा पुस्तान्तरण गर्ने एएनओको अभियानले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे ।


    एएनओका अन्तरराष्ट्रिय महासचिव चूडामणि भट्टराईले एएनओको निवेदनलाई स्वीकार गर्दै नेपाल सरकारले कुनै पनि नेपाली मूलको मानिस नेपाल जाँदा अब विमानस्थलमा विदेशीको लाइनमा बस्नु नपर्ने व्यवस्था हालै मिलाएको जानकारी दिँदै यसबाट संसारभरका नेपालीले सम्मानित महसुस गरेका बताए ।


    कार्यक्रममा क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्राध्यापक डा मोहन डाँगीले नेपालीपनको विस्तारको एजेण्डाले मन छोएको बताए । बैंककलाई कर्मभूमि बनाएर प्राध्यापनरत नेपाल पोलिसी इन्स्टिच्युडका अध्यक्ष डा खगेन्द्र ढकालले गैरआवासीय नेपाली सङ्घले तीन पुस्ताभित्रका नेपालीमात्र समेट्ने भएकाले त्यस बाहिरका नेपालीलाई समेट्ने संस्थाको रुपमा एएनओ आएकोमा खुसी व्यक्त गरे ।


    थाइ नेपाली सङ्घका उपाध्यक्ष विनोद लामिछाने, गैरआवासीय नेपाली सङ्घ एशिया प्रशान्त क्षेत्रीय उपप्रमुख भविन्द्र बस्नेत, एएनओको बोर्ड अफ ट्रष्टी सदस्य वात्सना राई र केन्द्रीय कार्यसम्पादन समितिका सदस्य राज कर्माचार्य र प्राध्यापक भारती लिम्बूनीले थाइल्याण्डमा पनि नेपाली भाषा र संस्कृति विस्तारका लागि अर्को एक मञ्च बनेकामा खुसी व्यक्त गरे । सो भेलामा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन एक र दुईमा थाइल्याण्ड र बर्माबाट सहभागी कलाकारहरुले पितृभूमि नेपालको सम्झनामा संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।