Category: फिचर

  • एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

    एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

    काठमाडौँ, १५ चैतः हृदयको धडकन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अध्यक्ष ओलीको स्वास्थ्यस्थितिबारे एक विज्ञप्ति जारी गर्दै उहाँ चिकित्सकको अवलोकन एवं निगरानीमा रहेको जनाएको छ । “हाम्रो चिकित्सक टोलीद्वारा उपचार व्यवस्थापन भइरहेको छ”, अस्पतालले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

  • समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौँ, १५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । मन्त्रालयको उच्च नेतृत्वलाई आज निर्देशन दिँदै उनले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउनुपर्छ भने । उनले भने, “ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको समुचित उपयोग तथा सिँचाइ प्रणालीको विस्तारमार्फत कृषि उत्पादनमा वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि स्पष्ट कार्ययोजना, समयबद्ध कार्यान्वयन र उत्तरदायित्वपूर्ण कार्यशैली आवश्यक छ । ”

    त्यसैगरी, मन्त्रालयभित्र समन्वय, अनुशासन र परिणाममुखी कार्यसंस्कृतिको विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री श्रेष्ठले कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता, इमानदारी र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

    उनले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशामा सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै आगामी दिनमा देखिएका चुनौतीलाई अवसरका रूपमा रूपान्तरण गर्दै नीति, योजना र कार्यान्वयनबीच प्रभावकारी समन्वय कायम गरी मन्त्रालयको समग्र कार्यक्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    काठमाडौँ, १५ चैतः देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक दुर्घनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार महोत्तरीको, सोनमा गाउँपालिका–५ खैरबनी गाउँमा मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही गाउँपालिका–४ खेस्राहाका १९ वर्षीय रामजीवन साहको मृत्यु भएको हो ।

    यसैगरी, गुल्मीको चन्द्रकोट गाउँपालिका–४ रिपास्थित सडकमा चन्द्रकोटबाट शान्तिपुरतर्फ आउँदै गरेकोे जिपको ठक्करबाट सोही स्थानकी ५५ वर्षीया तुलसी थापाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीमा काठमाडौँबाट हेटौँडातर्फ गइरहेको जिप उदयपुरको त्रियुगा नगरपालिका–११ सङ्गमचोक निवासी ८६ वर्षीय गोरे राईको ठक्करबाट मृत्यु भएको छ ।

    समाचारकक्षले आज प्रकाशन गरेको समाचार बुलेटिनअनुसार सिरहाको धनगढीमाई नगरपालिका–६ मा मुसर्नियाबाट दहीपुरीतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया पैदलयात्री सोही स्थानकी उर्मिलादेवी महतो साँझ मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१२ आस्थाचोकमा मोटरसाइकल दुर्घटना हुँदा तनहुँको रिसिङ गाउँपालिका–३ का २१ वर्षीय टोनबहादुर आलेमगरको मृत्यु भएको छ ।

  • इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

    इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

    काठमाडौं, १५ चैतः इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त भएकोमा बधाई ज्ञापन गरेका छन् । मन्त्री खनाललाई आज एक सन्देश पठाउँदै उनले इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन उनीसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको बताए । यहाँस्थित इजरायली दूतावासका अनुसार मन्त्री सारले प्रविधि, कृषि र श्रमजस्ता प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड दिँदै पारस्परिक हितका लागि नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन इजरायल प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

  • पोखरामा पर्यटक तान्न कालीगण्डकीमा ‘र्‍याफ्टिङ’

    पोखरामा पर्यटक तान्न कालीगण्डकीमा ‘र्‍याफ्टिङ’

    म्याग्दी, १५ चैतः पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्‍याफ्टिङ’ सुरु गरेका छन् । पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सुरु गरेका हुन् । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिको आयोजनामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि, उद्योगी, व्यवसायी र सञ्चारकर्मीको टोलीले फर्से–नयाँपुल खण्डमा र्‍याफ्टिङको शुभारम्भ गरे ।

    र्‍याफ्टिङ रनर कम्पनीको व्यवस्थापनमा भएको र्‍याफ्टिङमा ३८ जनाको सहभागिता रहको पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताए । “पोखरादेखि सवारीमा दुई घण्टामा पुग्न सकिने फर्से–नयाँपुल खण्डमा र्‍याफ्टिङ गर्न आउने पर्यटकहरू कुश्मा, बागलुङ, बेनी, गलेश्वर पनि घुम्न पाउँछन्, प्रकृति, संस्कृति र साहसिक पर्यटन मन पराउनेका लागि यो उपयुक्त गन्तव्य हुनसक्छ”, उनले भने ।


    फर्सेदेखि नयाँपुलसम्म करिब १० किलोमिटर दूरीमा र्‍याफ्टिङ गर्न एक घण्टा ३० मिनेट लाग्छ । पोखरा भ्रमण वर्षलाई लक्षित गरेर यसअघि समितिले मर्स्याङ्दी र सेती नदीमा पनि र्‍याफ्टिङको प्रवर्द्धन गरेको थियो । एकपटकमा एउटा बोटमा आठ जनाले र्‍याफ्टिङ गर्न सक्ने र्‍याफ्टिङ रनरका सञ्चालक वीरेन्द्र लामाले बताए ।

    विदेशी पर्यटकका लागि नयाँपुलदेखि गुल्मीको रिडीसम्म तीन दिनको र्‍याफ्टिङ प्याकेज उपलब्ध गराइएको छ । कात्तिक र चैत महिना र्‍याफ्टिङका लागि अनुकूल याम मानिन्छ । कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकन गर्न पाउँदा रोमाञ्चक महसुस भएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले बताए ।

  • तेह्रथुममा सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    तेह्रथुममा सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    तेह्रथुम १५ चैतः जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा सांस्कृतिक सङ्ग्रहालय निर्माण भइरहेको छ । झिङ्गटीको छानो लगाइएको छधुरे परम्परागत शैलीको सङ्ग्रहालय भवनको निर्माण गरिएको हो ।

    पोक्लाबाङलाई माङ्गेन्ना यक मान्नेहरूको साझा संस्था पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ नामक संस्थाको अगुवाइमा सङ्ग्रहालय निर्माण भइरहेको हो । पोक्लाबाङलाई माङ्गेन्ना यक मान्ने याक्थुङ (लिम्बू)हरूसँग सम्बन्धित पुराना सांस्कृतिक सामग्री, ऐतिहासिक कागजात, तत्कालीन गोर्खा–लिम्बूवान युद्धकालीन हातहतियारलगायत सामग्री सङ्कलन गरी सङ्ग्रहित गर्नेगरी सङ्ग्रहालय निर्माण भइरहेको संस्थाका सल्लाहकार समिति सदस्य विजय निङलेकुले बताए ।


    पोक्लाबाङ फेदाप क्षेत्रका १९ थरि याक्थु (लिम्बू)हरूले माङ्गेन्ना यकका रूपमा मान्दै आएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष लोकबहादुर सिङ्गकले बताए । याक्थुङ (लिम्बू) जातिअन्तर्गत प्रत्येक थरि र थर समूहको आआफ्नो माङ्गेन्ना यक हुन्छ । आफ्नो पुर्खा पहिलोपल्ट देखापरी घरघडेरी बनाएको, भष्मे फाँडेर आवाद गरेको स्थानलाई उनीहरू माङ्गेन्ना यकका रूपमा पुज्ने र पुकार्ने गर्दछन् ।

    सहरी विकास मन्त्रालयको भ्याटसहित रु दुई करोड ७३ लाख बजेटमा मारुती विल्डर्स निर्माण कम्पनीले २०८१ साल असारदेखि सङ्ग्रहालय निर्माणको काम सुरु गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको सङ्ग्रहालय भवन चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका सबइन्जिनियर सुवास मगरले बताए ।

    स्थानीय दुई व्यक्तिले निःशुल्क दान गरेको दुई रोपनी क्षेत्रफलमा निर्माणाधीन सङ्ग्रहालय निर्माण सम्पन्नपश्चात पोक्लाबाङ यक सांस्कृतिक पर्यटकीयस्थलसँगै संस्कृति र इतिहास अध्ययनको केन्द्रका रूपमा विकास हुने विश्वास लिइएको पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताए ।

  • इजरायल–हेजबुल्लाह युद्धमा ४६ उद्धारकर्ता र पाँच स्वास्थ्यकर्मीको मृत्यु : लेबनान

    इजरायल–हेजबुल्लाह युद्धमा ४६ उद्धारकर्ता र पाँच स्वास्थ्यकर्मीको मृत्यु : लेबनान

    बेरुत, १५ चैत (रासस–एएफपी) । हेजबुल्लाहसँग युद्ध सुरु भएको दिन मार्च २ देखि इजरायलले गरेको आक्रमणबाट ४६ सहायताकर्मी र पाँच स्वास्थ्यकर्मीको मृत्यु भएको लेबनानका स्वास्थ्यमन्त्री राकान नासेरेद्दीनले शनिबार बताएका छन् । नासेरेद्दीनले एक पत्रकार सम्मेलनमा भने, “युद्ध भएदेखि करिब एक महिनाको समयमा ४६ जना स्वास्थ्य सहायताकर्मी र पाँच स्वास्थ्यकर्मी गरी ५१ जनाको मृत्यु भएको छ। मृत्युहुनेमध्ये नौ जनाले शनिबार शाहादत प्राप्त गरेका हुन् ।”

    दक्षिण लेबनानमा शनिबार मारिएका नौ चिकित्सकमा हेजबुल्लाहको इस्लामिक स्वास्थ्य समितिका चार जना रहेका छन् जसलाई उद्धार अभियानका क्रममा इजरायली आक्रमणको निशाना बनाइएको थियो र पाँच जना हेजबुल्लाह–सहयोगी अमाल आन्दोलनका ‘रिसाला स्काउट्स’को सेवामा रहेका समय मारिएका थिए ।

  • ओली क्याविनेटका मन्त्री दीपक खड्का पक्राउ

    ओली क्याविनेटका मन्त्री दीपक खड्का पक्राउ

    काठमाडौँ, १५ चैतः नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पूर्वमन्त्री खड्कालाई आज बिहान पक्राउ गरेको हो । सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

  • आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, १५ चैतः हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मशाखाले जनाएको छ ।

    देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा महाशाखाले अनुरोध गरेको छ ।

  • अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

    अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

    काभ्रेपलाञ्चोक, १५ चैतः शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ । शुक्रबारदेखि परेको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको हो । उक्त खोलामा पानीको सतह घट्दै गएपछि डाइभर्सन गरिएको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ । यसअघि कार्यालयले राजमार्ग नखुलेसम्म सवारी आवागनममा रोक लगाउँदै आएको थियो ।

    बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । आज बिहानैदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याउने प्रयास गरिएको हो । गत वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको छ ।

    शुक्रबारको बाढीपहिरोले बिरुवाडाँडा, कालढङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढीले राजमार्गको विभिन्न स्थानमा सडक बगाएको थियो । राजमार्ग अवरुद्धपछि राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभन्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारी रोकिएको थियो ।

  • ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गरिने

    ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गरिने

    काठमाडौँ, १५ चैतः सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ । नयाँ सरकार गठन भएलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा ऊर्जा क्षेत्रको बृहत्तर विकासका अलावा निर्यातका लागि एक महिनाभित्र रणनीति तयार पार्ने उल्लेख छ । नेपालले भारत र टोकनका रूपमा नै भए पनि बङ्गलादेशमा जलविद्युत् निर्यात गर्दै आएको छ । त्यसलाई नीतिगत रूपमा थप प्रष्ट पार्ने र कार्यान्वयनयोग्य बनाउने भएको छ । एक महिनाभित्र उक्त रणनीति तय गरिने उल्लेख गरिएको छ ।

    त्यसैगरी, निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौतालाई एक सय ८० दिनभित्र गरिने भएको छ । जलविद्युत् उत्पादनलाई थप विस्तार गर्ने र निजी क्षेत्रको मागअनुसार उक्त सम्झौता गर्ने समयवाधिसमेत निर्धारण गरिएको हो । समग्रमा ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न कार्ययोजनाहरू अघि सार्दै सरकारले विद्युत् खरिद सम्झौता तथा अनुमतिपत्रसम्बन्धी निर्णय अधिकतम १८० दिनभित्रमा गर्ने स्पष्ट पारेको छ ।

    देशको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने, विद्युत् उत्पादन, प्रसारण, वितरण तथा निर्यातसम्बन्धी अवरोध तत्काल हटाई तीव्रगतिमा विकास सुनिश्चित गर्ने उद्देश्य राखिएको छ । यस्तै विद्युत निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार त्यसमा पनि विशेषगरी साँझको ‘पिक’ समयमा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक सुधारसम्बन्धी रोडम्याप तयार गरी कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउने कार्ययोजनामा समावेश छ ।

    त्यस्तै ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना (सरकारी, निजी, विदेशी तथा डायस्पोरा लगानी) विकास गरिनेछ । त्यस्तो सुधार कार्ययोजना कार्यान्वयनका लागि सम्बन्धित निकायले स्पष्ट समयसीमा तोकी कार्यान्वयनमा लैजाने आज सार्वजनिक विवरणमा समावेश छ ।

  • सरकारले राजनीतिक नेतृत्व र उच्च कर्मचारीको सम्पत्ति छानबिन समिति गठन गर्ने

    सरकारले राजनीतिक नेतृत्व र उच्च कर्मचारीको सम्पत्ति छानबिन समिति गठन गर्ने

    काठमाडौँ, १५ चैतः सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको छ । समितिमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधि समावेश गर्ने सरकारद्वारा आज सार्वजनिक शासकीय सुधारसम्बन्धी कार्यसूचीमा उल्लेख छ ।

    उक्त समितिले पहिलो चरणमा २०६२–६३ देखि हालसम्म अर्थात् २०८२–८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक दलका पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरणको सङ्कलन, प्रमाणीकरण र छानबिन उल्लेख छ । दोस्रो चरणमा विसं २०४८ सालदेखि २०६१–६२ सम्मको अवधिमा सार्वजनिक पद धारण गरेका सोही प्रकृतिका पदाधिकारी तथा कर्मचारीको सम्पत्ति छानबिन गरिनेछ ।

    छानबिन प्रक्रियालाई कानुनी मापदण्ड, प्रमाणमा आधारित तथा निष्पक्ष रूपमा सञ्चालन गर्ने तथा समितिले पेस गरेका प्रतिवेदन तथा सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइने कार्यसूचीमा उल्लेख छ । यस्तै, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न राष्ट्रिय सतर्कता केन्द्रको पुनःसंरचना योजना ३० दिनभित्र तयार गरी कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

  • भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

    भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

    काठमाडौँ, १५ चैतः सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिने सरकारको निर्णय छ ।

    उक्त सिफरिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा उल्लेख छ । उक्त आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा दोषी व्यक्ति तथा पक्षमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान, कारबाही र अभियोजन प्रक्रिया तत्काल अघि बढाइनेछ ।

    जेनजी आन्दोलनका क्रममा भएका घटनाबाट प्रभावित परिवार र नागरिकको न्याय, पुनःस्थापना र राज्यप्रतिको विश्वास पुनस्थापना गर्न एकीकृत पहल गर्ने उल्लेख छ । उक्त पहलअन्तर्गत सहिद परिवार तथा घाइतेको तथ्याङ्क सङ्कलन तथा प्रमाणीकरण गरी सम्मानजनक पुनःस्थापना, जीवनयापनको सुरक्षा र सामाजिक संरक्षण सुनिश्चित गर्न एक सय दिनभित्र योग्यताअनुसारको सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीको ‘प्याकेज’ घोषणा गरिने कार्यसूचीमा उल्लेख छ ।

  • जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

    जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

    नयाँदिल्ली, १४ चैत (रासस–सिन्ह्वा) । जम्मु कश्मीर नजिकैको अग्लो पाहाडी पास जोजिला पासमा हिम–पहिरो जाँदा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै र पाँच जना घाइते भएको स्थानीय अधिकारीले शनिबार पुष्टि गरेका छन् । प्राकृतिक प्रकोप पछि धेरै सवारी साधनहरू भग्नावशेष मुनि फसेको जनाउँदै दुर्घटना पछि हालसम्म राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको मिडियाले रिपोर्ट गरेका छन् । पछिल्लो मिडिया रिपोर्टका अनुसार शवहरुको बरामद र घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिए सँगै उद्धार कार्य सम्पन्न भइसकेको जनाइएको छ।

  • उच्च पदस्थको सम्पत्ति छानबिन गर्न अधिकारसम्पन्न समिति बनाइने

    उच्च पदस्थको सम्पत्ति छानबिन गर्न अधिकारसम्पन्न समिति बनाइने

    १४ चैत, काठमाडौँ । देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति र दण्डहीनताको अन्त्य गर्ने उद्देश्यले सरकारले एक शक्तिशाली सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी आगामी १५ दिनभित्र यो समिति गठन गरिने भएको हो। समितिलाई पूर्ण रूपमा व्यावसायिक र निष्पक्ष बनाउन यसमा विभिन्न क्षेत्रका विज्ञहरूको प्रतिनिधित्व रहने भएको छ ।

    जसमा कानून, अर्थ, राजस्व र अनुसन्धान क्षेत्रका स्थापित विज्ञ रहने भएका छन् । सम्बन्धित सरकारी निकायका आधिकारिक प्रतिनिधि समेत रहनेछन् । सरकारले यस समितिलाई आवश्यक कागजात सङ्कलन, विवरण विश्लेषण र कारबाहीका लागि सिफारिस गर्ने पूर्ण अधिकार प्रदान गर्ने सरकारको निर्णय छ । सम्पूर्ण प्रक्रियालाई पारदर्शी र नतिजामुखी बनाउन आवश्यक कानुनी तथा प्राविधिक संयन्त्रसमेत विकास गरिने जनाइएको छ। समितिले दुई ऐतिहासिक चरणमा रहेर सार्वजनिक पदधारण गरेका व्यक्तिहरूको सम्पत्ति शुद्धीकरण र स्रोतको खोजी गर्ने भएको छ ।

    पहिलो चरण ‘२०६२–६३ देखि हालसम्म’को अवधिका सार्वजनिक पदमा रहेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति सङ्कलन, प्रमाणीकरण र सूक्ष्म छानबिन गरिने भएको छ । दोस्रो चरण (२०४८ देखि २०६१–६२ सम्म)का प्रजातन्त्र पुनस्थापनादेखि दोस्रो जनआन्दोलन अघिसम्मका पदाधिकारी र कर्मचारीहरूको सम्पत्तिमाथि छानबिन केन्द्रित हुने भएको छ ।

    छानबिन प्रक्रियालाई पूर्णतः कानुनी मापदण्ड र प्रमाणमा आधारित बनाइने सरकारको प्रतिबद्धता छ। समितिले तयार पारेको प्रतिवेदन र सिफारिसका आधारमा सम्बन्धित निकायमार्फत दोषीमाथि कडा कानुनी कारबाही अगाडि बढाइनेछ। यो कदमले राज्यका विभिन्न तहमा रहेर अवैध रूपमा धन आर्जन गर्नेहरूमाथि ठुलो धक्का लाग्ने र सुशासन स्थापनामा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

  • सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक(पूर्ण पाठ)

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक(पूर्ण पाठ)

    काठमाडौँ, १४ चैतः सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बधी एक सय कार्यसूची सार्वजनिक गर्दै निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रमा समावेश कार्यान्वयनयोग्य विषय संश्लेषण गरी ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गरिने पनि जनाइएको छ ।

    नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वनका लागि प्रत्येक मन्त्रालयले सात दिनभित्र प्रमुख १० कार्य, तिनको समयसीमा, जिम्मेवार अधिकारी र प्रमुख कार्यसम्पादन सूचकसहितको कार्ययोजना तयार गरिने छ । ती कार्यहरूको मासिक प्रगति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने तथा सोको नियमित अनुगमन, मूल्याङ्कन र सार्वजनिक रिपोर्टिङ सुनिश्चित गरिने उल्लेख गरिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त सूची आज प्रधानमन्त्री शाहको सचिवालयले सार्वजनिक गरेको हो । राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणालीलगायत विषयमा संविधान संशोधनसम्बन्धी विषयमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री कार्यालयले सात दिनभित्र ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गरिने उक्त सूचीमा उल्लेख छ ।

  • एमाले अध्यक्ष ओली अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

    एमाले अध्यक्ष ओली अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

    काठमाडौँ, १४ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरी उपचाररत रहनुभएका उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए । “उनको आज स्वास्थ्य परीक्षण गरियो । परीक्षण गरिएका कुरा सामान्य नै रहेको पाइयो । बिहान भर्ना हुँदा मुटुको धड्कन बढे पनि हाल ठीक भएको छ । मिर्गौला पनि ठीक रहेको छ”, उनले भने ।


    अस्पतालका प्रवक्ता डा सेढार्इंले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी देखिएकाले आज अस्पतालमा नै राखेर उपचार गरिने बताए । अध्यक्ष ओलीलाई आज प्रहरीले पक्राउ गरेर उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । उहाँलाई गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात एमाले कार्यकर्ता पक्राउ

    एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात एमाले कार्यकर्ता पक्राउ

    काठमाडौँ, १४ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बबरमहलमा केही प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो । प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।
    त्यस क्रममा प्रदर्शनकारी उत्तेजित बन्न थालेपछि एक सेल अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिइएको भट्टराईले बताए । आज बिहान अध्यक्ष ओली पक्राउपछि एमालेले गरेको निर्णयअनुसार कार्यकर्ता प्रदर्शनमा निस्किएका थिए । काठमाडौँको माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणगेट अगाडि एमालेका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

  • आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

    आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

    काठमाडौँ, १४ चैतः आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारको तुलनामा आज केही कम वर्षा भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छिटपुट वर्षाका साथै अन्य प्रदेशका अधिकांश जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।

    विभागका सूचना अधिकारी दिनकर कायस्थले आज मुलुकका अधिकांश स्थानमा ३० देखि ४५ मिलिमिटरसम्म वर्षा भएको जनाउँदै पूर्वमा सबैभन्दा बढी वर्षा भएको बताए । काठमाडौँमा पनि आज साँझ हल्का वर्षा भएको उल्लेख गर्दै उनले २५ भन्दा बढी वर्षा मापन केन्द्रमा आज २० मिलिमिटरभन्दा माथि वर्षा मापन गरिएको जानकारी दिए ।


    विभागका सूचना अधिकारी कायस्थले विस्तारै वर्षा कम हुँदै गएको भन्दै आइतबार भने मौसममा बदली कायम रहने जानकारी दिए । वर्षा भने तुलनात्मक रूपमा कम हुँदै जाने उनको भनाइ छ। विभागका अनुसार अहिले पनि पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । विभागा आज साँझ जारी गरेको मौसम बुलेटिनमा आइतबार देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।

    सोही कारणले देशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । त्यसपछि विस्तारै वर्षा कम हुँदै जाने छ । तर, कतैकतै बदली, चट्याङ, हावाहुरीसहित असिना पानी पर्नसक्ने सम्भावना कायमै रहने उनले बताए । हिउँदमा कम वर्षा भएको नेपालमा प्रिमनसुनमा भने विभिन्न प्रणाली विकास भई नियमितजसो वर्षा भइरहेको छ ।

  • एउटै घटना र एकै किसिमको सिफारिसमा सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलतः कांग्रेस

    एउटै घटना र एकै किसिमको सिफारिसमा सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलतः कांग्रेस

    काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउसम्बन्धी पछिल्लो घट्नाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गर्दै गत भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा गत भदौ २५ गते नै कांग्रेसले उच्चस्तरीय आयोगमार्फत २३ गतेको दमन र २४ गतेको विध्वंशको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको स्मरण गराए ।


    यसैगरी भदौ २७ गते तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘भदौ २३ र २४ गतेका घटनाको छानबिन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन’ आग्रह गरेको कांग्रेसले जनाएको छ । कांग्रेस प्रारम्भबाट नै भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहरहित ढङ्गले छानबिन गरी आवश्यक कानुनी कारबाही गर्नुपर्छ भन्ने पक्षमा अविचलित र दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।

    यही चैत ६ देखि ८ गतेसम्म बसेको कांग्रेसको बैठकले गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगद्वारा बुझाएको जाँचबुझ प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेको थियो । साथै कांग्रेसले भदौ २३ मा भएको राज्य शक्तिको दुरुपयोग तथा भदौ २४ गतेको विध्वंशका घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न पुनः आग्रह गरेको जनाएको छ ।

    कांग्रेसले सरकारले ‘आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी सो बमोजिम गर्ने, तर अन्यमा हकमा तत्काल कार्यान्वयन गर्ने’ भन्ने निर्णय गर्नु र पक्राउ गर्नुले भदौ २३ को एउटै घटना, एउटै छानबिन प्रतिवेदन र एकै किसिमको सिफारिसमा पनि सरकारको व्यवहार ‘सेलेक्टिभ’ भएको भनी टिप्पणी गरेको छ ।

    यसैगरी कांग्रेसले भदौ २३ र २४ का घटनालाई निष्पक्ष छानबिन गरी न्याय निरुपण गर्नुपर्ने माग गर्दै त्यसमा आफ्नो साथ रहने समेत जनाएको छ । “दुवै दिनको घटनामा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्छ, त्यसमा हाम्रो साथ रहन्छ । तर, त्यो कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानुनी प्रक्रियाबमोजिम हुनुपर्छ । यसमा सरकार स्वयं संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानुनको शासन कमजोर हुनसक्छ, देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ”, विज्ञप्तिमा भनिएको छ ।

    यसैबीच कांग्रेस नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिका नाममा छुट्टै विज्ञप्ति जारी गरी पक्राउ प्रकरणप्रति आपत्ति प्रकट गरेका छन् । उनले संवैधानिक, कानुनी र राजनीतिक प्रतिवाद गरिने उल्लेख गरेका छन् । यसैगरी कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रह’ भएको बताएको छ ।

    तरुण दलका अध्यक्ष विद्वान गुरुङले आज एक विज्ञप्ति जारी गरी यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्नाका साथै देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराएको उल्लेख गरेका छन् ।

  • काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौँ, १४ चैत । काठमाडौँको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख ०३७२ नं को बसले बा ८२ प ८०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरी नगरपालिका–१२ बलम्बु घर भएका ४५ वर्षीय राम नगरकोटीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका नगरकोटीको उपचारका क्रममा आज राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग

    पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग

    काठमाडौँ, १४ चैतः नेकपा (एमाले)ले पार्टी एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाई गर्न माग गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पार्टी दुवै नेतालाई तत्काल रिहाई गर्न माग गर्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । बैठकले उनीहरुलाई पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र कानूनी शासनको विपरीत भएको दाबी गरेको छ ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा आज बिहान एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो । साथै बैठकले जेनजी आन्दोलनको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीशको संयोजत्वकमा उच्चस्तरीय छानविन आयोग गठन गर्न पनि माग गरेको छ ।

  • पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

    पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

    काठमाडौँ, १४ चैतः पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उनलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उहाँकै निवासबाट पक्राउ गरिएको थियो । उनलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

    जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उहाँ सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका थिए ।

  • ओली पक्राउको विरोधमा देशैभरी एमालेको सडक प्रदर्शन, काठमाडौंमा उग्र

    ओली पक्राउको विरोधमा देशैभरी एमालेको सडक प्रदर्शन, काठमाडौंमा उग्र

    १४ चैत, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले देशैभरी सडक प्रदर्शन थालेको छ । सो क्रममा काठमाडौंमा उग्र प्रदर्शन भएको छ । प्रदर्शनकारीले अहिले माइतीघर–बानेश्वर सडक खण्डमा टायर बाल्दै प्रूदर्शन गरिरहेका छन् । सो क्रममा पटक पटक झडप समेत भएको छ । कार्की आयोगको सिफारिसका आधारमा सरकारले ओलीलाई आज बिहान पक्राउ गरेको हो ।

  • बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

    बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

    काभ्रेपलाञ्चोक, १४ चैतः शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । बाढीले बगाएर रोशी गाउँपालिका–७ का अन्दाजी ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलटारले जनाएको छ ।

    उक्त कार्यालयका सुपरभाइजर तामाङ रातको समयमा स्थायी रूपमा निर्माणाधीन विपी राजमार्गमा काम गर्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको इप्रका मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार राति मोटरसाइकलमा सवार दुई जना खोला तर्न लाग्दा बग्न लागेपछि मोटरसाइकल छाडेर नजिकको स्काभेटरमा चढेको र उनीहरूलाई जोगाउन जाँदा तामाङलाई बाढीले बगाएको थियो । बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी बगाएको प्रहरीले जनाएको छ ।

    यसैबीच शुक्रबार साँझको बर्सातका कारण विपी राजमार्गमा यातायात अवरुद्ध भएको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा लेदोसहितको बाढीपहिरोका कारण यातायात अवरुद्ध भएको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढी (खहरेखोलामा पानीको बहाव उच्च रहको)ले राजमार्गको विभिन्न स्थानमा यातायात अवरुद्ध भएको हो । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले बाढीको सतह घट्न थालेकाले आज बिहानदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छ्याउने प्रयास भइरहेको बताए ।


    धाँजूका अनुसार शुक्रबार हावाहुरी र निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छ्याउन निकै कठिनाइ भएको थियो । गत वर्षको बाढीपहिरोका कारण उक्त क्षेत्रको सडक क्षतिग्रस्त भएपछि खोलाबाटै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो । यसैबीच वर्षाका कारण विपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले शुक्रबार साँझदेखि सवारीसाधन ‘होल्ड’ गरेको छ ।

    उक्त राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारीसाधन होल्ड गराइएको धाँजुले जानकारी दिए ।

  • दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

    दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

    त्रिवेणी (नवलपरासी), १४ चैतः नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस र ट्रक सडकबाट तल खसेका थिए भने पिकअप सडक किनारमा पुगेको थियो ।

    दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५–२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिए । उनका अनुसार मृतक दुई जनाको नाम थर खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएका १५ जनामध्ये १३ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ भने दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ ।

  • ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री

    काठमाडौँ, १४ चैतः गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पारे । “कानुनभन्दा माथि कोही छैन ।

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो”, मन्त्री गुरुङले फेसबुकमा लेखेका छन् । उनले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

    आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा प्रहरीले आज बिहानै ओली र लेखकलाई पक्राउ गरेको हो ।

  • पुर्व प्रधानमन्त्री ओली पक्राउ

    पुर्व प्रधानमन्त्री ओली पक्राउ

    १४ चैत, काठमाडौं । प्रहरीले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको छ । उनलाई गुन्डुबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ लगत्तै गृहमन्त्री सुधन गुरुङले स्टाटस लेख्दै यो प्रतिसोध नभइ कानुनी शासन भएको बताएका छन् ।

  • ओली पक्राउ गर्न निवासमा प्रहरी

    ओली पक्राउ गर्न निवासमा प्रहरी

    १४ चैत, काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी भक्तपुर स्थित निवासमा पुगेको छ । त्यहा एमाले कार्यक्रता समेत भेला भएका छन् । अहिले ओलीले कानुनी परामर्श गरिरहेको बताइएको छ ।

  • काङ्ग्रेस नेता तथा पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ

    काङ्ग्रेस नेता तथा पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ

    १४ चैत, काठमाडौं । पुर्व गृहमन्त्री तथा काङ्ग्रेस नेता रमेश लेखक पक्राउ परेका छन् । २३/२४ भदौको जेन जि आन्दोलन दमन गरेको कसुरमा उनी पक्राउ परेका हुन् । अहिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।