Category: फिचर

  • मन्त्रिपरिषद्को पहिलो बैठकः जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

    मन्त्रिपरिषद्को पहिलो बैठकः जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

    काठमाडौँ, १३ चैत । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । साथै बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले कारबाहीका लागि सिफारिस गरेकामध्ये सुरक्षा निकायका हकमा अर्को अध्ययन समिति गठन गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए ।


    आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई कारबाही सिफारिस गरेको थियो । तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको सो प्रतिवेदन सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरिएको थियो । बैठकले जेनजी आन्दोलनलगायत विभिन्न आन्दोलनमा साहदत प्राप्त भएकाहरूलाई श्रद्धाञ्जली दिने निर्णय पनि गरेको छ ।

    बैठकले शासकीय सुधारका योजना स्वीकृत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभारपछि मन्त्री र सचिवहरूलाई जनताको पक्षमा काम गर्न निर्देशन दिएका थिए ।

  • नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

    नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

    काठमाडौँ, १४ चैत्र ।नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।

  • प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्रीको बधाई

    प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्रीको बधाई

    काठमाडौँ, १३ चैतः प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । शाहले नेपालको प्रधानमन्त्री पदको शपथ लिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिएका हुन् । सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, “नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकामा बालेन्द्र शाहलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईंको नियुक्ति नेपाली जनताले तपाईंको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो ।”

    सो बधाई सन्देशमा समकक्षी मोदीले प्रधानमन्त्री शाहसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पु¥याउने काममा उत्सुक रहेको धारणा राखेका छन् । भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशको पारस्परिक हितका लागि थप उचाइमा पु¥याउन आफू इच्छुक रहेको प्रधानमन्त्री मोदीले बताए ।

  • प्रधानमन्त्री शाहद्वारा पदभारलगत्तै मन्त्री र सचिवहरुलाई निर्देशन

    प्रधानमन्त्री शाहद्वारा पदभारलगत्तै मन्त्री र सचिवहरुलाई निर्देशन

    काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री र सचिवहरुलाई जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ः१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गरेका प्रधानमन्त्री शाहले ब्रिफिङ लिँदै मन्त्री र सचिवहरुलाई निर्देशन दिए । प्रधानमन्त्री शाहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरुले स्वागतसहित ब्रिफिङ गरेका थिए ।

  • नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

    नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

    काठमाडौँ, १३ चैतः गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ । सङ्घका अध्यक्ष डा हेमराज शर्माले आज विज्ञप्तिमार्फत शाहलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी तथा ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गरे । अध्यक्ष शर्माले प्रधानमन्त्री शाहको कार्यकालमा सङ्घ र विदेशमा रहेका नेपालीले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो तथा विश्वसनीय साझेदारका रूपमा योगदान पु¥याउने अपेक्षा राखेको उल्लेख गरेका छन् ।

  • सेवा प्रवाह सरल र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

    सेवा प्रवाह सरल र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

    काठमाडौँ, १३ चैतः नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज पदबहाली गरेपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गरे । उनले भने, “भ्रष्टाचारप्रति सुन्ने सहनशीलता हुन्छ कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन ।” आफू जनतालाई परिणाम दिनेगरी काम गर्न मन्त्रालयको नेतृत्वमा आएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । कम बोल्ने र नतिजा देखाउनेमा आफू केन्द्रित हुने उनको उद्घोष छ ।

    “सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ । १,२,३ वा क, ख, ग कोठा चाहार्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, सेवाग्राहीसँग कर्मचारी ठोकिनु नपरोस् यसैबाट सुशासन ल्याउन सकिन्छ”, उनले भने । जेनजीको जनादेशलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट निर्णय भएपछि त्यसलाई सबैले आत्मसात् गर्नुपर्ने जनाउँदै उनले सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई नभएको स्पष्ट पारे ।

    निर्देशन सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले अहिलेको परिवर्तन जेनजी युवाको बलिदानमा सम्भव भएको उल्लेख गर्दै सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्न लगाएका थिए । त्यसअघि मन्त्रालयमा उहाँलाई गृहसचिव राजकुमार श्रेष्ठ नेपाल प्रहरीका महानिरीक्षक सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवं मन्त्रालयको उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।

  • अर्थमन्त्री वाग्लेद्वारा १५ ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

    अर्थमन्त्री वाग्लेद्वारा १५ ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

    रासस
    काठमाडौँ, १३ चैतः नवनियुक्त अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनी आज अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले आयोगको सिफारिसअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा विभिन्न १५ वटा ऐन खारेज वा संशोधन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको जानकारी दिए । अर्थमन्त्री वाग्लेले चैत ११, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ पाँच दिनभित्र तयार पार्ने र सरकारको निर्वाचन वाचापत्रलाई कार्यान्वयनमा लैजान १०० दिने, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना बनाइने बताए । उनले वाचापत्रलाई आन्तरिकीकरण गर्दै प्रभावकारी कार्यान्वयनतर्फ सरकार अघि बढ्ने उल्लेख गरे ।


    उनका अनुसार निजी उद्यम–व्यवसायको सुरक्षा तथा प्रवद्र्धन, ठूला विकास आयोजनाको सहजीकरण र प्रक्रियागत झन्झट हटाउन नयाँ विधेयक तर्जुमा तथा विद्यमान कानुन संशोधनलाई प्राथमिकता दिइनेछ । “अब ठूला आयोजना फटाफट अघि बढ्ने वातावरण बनाइनेछ”, उनले भने । अर्थमन्त्री वाग्लेले अर्थतन्त्रमा देखिएका समस्यालाई टुक्राटुक्रा रूपमा नभई समग्र रूपमा समाधान गर्ने नीति लिइने बताउँदै तजबिजी अधिकार हटाएर प्रणालीगत सुधार गरिने उल्लेख गरे ।

    उनले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिस कार्यान्वयन, आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र रुपान्तरणकारी बजेट निर्माणलाई प्राथमिकतामा राखिने जानकारी दिए । उनले विद्युतीय शासन प्रणालीलाई प्रवद्र्धन गर्दै ‘पेपरलेस’ र ‘क्यासलेस’ प्रणालीतर्फ अघि बढ्ने प्रयासको सुरुआत अर्थ मन्त्रालयबाटै गरिएको पनि बताए । साथै, वर्तमान अन्तरराष्ट्रिय परिस्थिति, विशेषगरी मध्यपूर्व क्षेत्रमा देखिएको समस्यालाई सूक्ष्म ढङ्गले विश्लेषण गर्दै अन्तर–निकाय समन्वयमार्फत त्यसको प्रभाव व्यवस्थापन गरिने उनको भनाइ छ ।

    उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनअनुसार खारेज प्रक्रिया अघि बढाइने ऐनहरूमा आय टिकट दस्तुर ऐन, २०१९, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२, निजी वन जङ्गल राष्ट्रियकरण ऐन, २०१३, प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३, क्षतिपूर्ति ऐन, २०१९, विर्ता उन्मुलन ऐन, २०१६, विर्तावालले विर्तामा रकम लगाइ–लिन खान नपाउने ऐन, २०१५, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२, विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१, नेपाल एजेन्सी ऐन, २०१४, प्रादेशिक विकास योजना (कार्यान्वयन गर्ने) ऐन, २०१३, निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३, सामाजिक व्यवहार सुधार ऐन, २०३३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४ तथा वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५ रहेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका वाग्लेले ऐतिहासिक जनादेश प्राप्त वर्तमान सरकारले निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्दै आर्थिक तथा कानुनी सुधारको व्यापक मार्गचित्र अघि बढाउनेसमेत बताए । नवनियुक्त अर्थमन्त्री डा वाग्ले मुलुकको आर्थिक नीतिगत नेतृत्वमा अनुभवी र अन्तरराष्ट्रिय पहिचान बनाएका व्यक्तिका रुपमा परिचित छन् । नवगठित मन्त्रिपरिषद् वाग्ले दोस्रो वरियतामा राखिनुले सरकारको आर्थिक एजेन्डा उच्च प्राथमिकतामा रहेको बुझ्न सकिन्छ ।

  • कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’

    कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’

    महेन्द्रनगर, १३ चैतः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाकी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री बनेपछि बुवा जयराम डगौंराले जनताको हितमा काम गर्न सुझाएका छन् । “छोरी मन्त्री बनेको खबरले हाम्रो परिवारमा खुसी छाएको छ ।” गीताका बुवा जयरामले भने, “सिङ्गो देशका जनता खुसी हुने गरी छोरीले पाएको जिम्मेवारी बहन गर्न सकोस ।”

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा समानुपातिक सांसद बनेकी गीता यहाँबाट चौधरी समुदायबाट सङ्घीय सरकारको मन्त्री बन्ने पहिलो थारु महिला हुन् । शुक्लाफाँटा नगरपालिका–३ स्थित जनज्योति आधारभूत विद्यालय जोनापुरमा प्रावि तहको अध्ययन गरेकी चौधरीले माध्यमिक तहको अध्ययन राष्ट्रिय मावि पिपलाडीबाट गरेकी थिइन् । झलारी बजारमा रहेको श्रीकृष्ण उच्च माविबाट प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेकी उनले काठमाडौँ स्कुल एफ लबाट स्नातक र स्नाकोत्तर तह नेपाल ल क्याम्पसबाट पूरा गरेकी हुन् । चौधरी कानुन व्यवसायीसमेत हुन् ।


    “सात बहिनी र एक भाइमध्येकी माहिली गीता बाल्यकालदेखि नै अध्ययन र समाजका हुने विभेद् र कुरुतिकाविरुद्ध बोल्थिन् ।” बुवा जयरामले भने, “हामी निम्म आयस्रोत भएको परिवारबाट मन्त्री बनेको खबरले हर्षित छौँ ।” साधारण लेखपढ गरेका गीताका बुवा जयरामले छोराछोरी पढाउन निकै सङ्घर्ष गरेको बताए । “खेती किसानी र पछिल्लो समय सटरिङको काम गरेर घरखर्च र छोराछोरीको खर्च जुटाउँदै आएको छु”, उनले भने, “छोरीको मेहनत र अध्ययन सफलताले यहाँसम्मको सफलता मिलेको हो ।”

    त्यसैगरी मन्त्री गीताका फूपाजु डम्बर चौधरीले अध्ययनका लागि निकै दुखः गरेको बताइन् । “पढाइका लागि ऋण गरेर भए पनि पछि नहट्ने बानी थियो”, उनले भनिन् । “विवाहपछि अध्ययनसँगै र राजनीतिमा होमिएर यो स्थान बनाइन् ।” बुटवलको सैनामैनाका सुनिल चौधरीसित विवाह गरेकी चोधरीका एक छोरी छन् । गीताका श्रीमान् सुनिल कृषि क्याम्पसमा अध्यापन गर्छन् । विर्भिन्न क्लब, बाल क्लब र संस्थामा आवद्ध हुन मन पराउने चौधरी करातेको समेत खेलाडी हुन् । चौधरीले भने, “घरको दयनीय अवस्थाकाबीच पनि गीताले गरेको सङ्घर्ष प्रेरणादायी छ ।”

    नागरिक उन्मुक्ति पार्टीबाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गीता सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी थिइन् । पहिलो पटक उम्मेदवार हुँदा पनि उनले सम्मानजनक मत पाइन् । केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेकी चौधरीलाई रास्वपाले यहाँबाट समानुपातिक उम्मेदवार बनाएको थियो ।

  • नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको जीवनी

    नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको जीवनी

    लुम्बिनी, १३ चैतः रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सुनील लम्साल पेसाले इन्जिनियर हुन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलबारीमा २०५२ सालदेखि स–परिवार स्थायी बसोबास गर्दै आउनुभएका लम्साल २०४७ असोज १८ गते स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका बिर्घामा जन्मिएका हुन् ।

    पहाडको सामान्य परिवारमा हुर्किएका सुनील बुवा बोधराज लम्साल र आमा जमुना लम्सालका तीन छोरामध्ये माइलो सन्तान हुन् । विद्यालय तहको अध्ययन रुपन्देहीको भलबारीमै पूरा गरेका लम्सालले उच्च शिक्षा पनि स्थानीय लुम्बिनी इन्जिनियरिङ कलेजबाट गरेका छन् । विद्यार्थीकालमा एमाले निकट विद्यार्थी सङ्गठनबाट राजनीतिमा संलग्न रहेका लम्साल अनेरास्ववियुकोतर्फबाट सोही क्याम्पसको स्ववियु सभापतिसमेत निर्वाचित भएका थिए ।


    प्राविधिक दक्षता, राष्ट्रिय गौरवका पूर्वाधार आयोजनामा काम गरेको अनुभव, सहरी विकास र वातावरण व्यवस्थापनसम्बन्धी अध्ययन–अनुसन्धानमा उनको विशेष दख्खल छ । प्राविधिक अध्ययन, राष्ट्रिय परियोजनामा काम गरेको अनुभव, सहरी विकास र वातावरण व्यवस्थापनमा पनि उनको विशेष अनुभव छ ।

    शैक्षिक यात्रा र प्राविधिक क्षमता

    मन्त्री लम्सालले सिभिल इन्जिनियरिङ विषयमा स्नातक र संरचनात्मक इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनी काठमाडौँ विश्वविद्यालयमा ‘ठोस फोहर व्यवस्थापन’ विषयमा विद्यावारिधि गर्दै छन् । विकासको स्पष्ट परिणामका लागि मुख्यतया योजना बनाउँदा लागत, समयरेखा, गुणस्तर मापदण्ड र अनुगमन प्रणाली स्पष्ट हुनुपर्ने उनी ठान्छन् ।


    विसं २०७९ को स्थानीय निर्वाचनपछि मन्त्री लम्सालले काठमाडौँ महानगरपालिकामा प्रमुख बालेन्द्र शाहको पूर्वाधार सल्लाहकारका रूपमा काम गरेका थिए । फोहर व्यवस्थापनलाई केबल सरसफाइको विषय होइन, वातावरणीय सन्तुलन, जनस्वास्थ्य र मानवअधिकारसँग जोडिएको संरचनागत विषयका रूपमा उनले व्याख्या गर्दै आएका छन् । वैज्ञानिक, दीर्घकालीन र समुदायमैत्री समाधानबिना समस्या दोहोरिरहने उनको धारणा छ ।

    नयाँ राजनीतिक दृष्टिकोण र अभियान

    राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्वमा महामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री लम्साल सङ्गठन व्यवस्थापन, अभियान सञ्चालन र नीतिगत एजेन्डा अघि बढाउने भूमिकामा सक्रिय छन् । सुशासन, गुणस्तरीय पूर्वाधार र युवा सशक्तीकरणलाई विशेष जोड दिँदै पारदर्शी सार्वजनिक सेवा प्रणाली विकास गर्नुपर्ने उनी धारणा राख्छन् । प्रशासनिक प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई सहज, छिटो र विश्वसनीय सेवा उपलब्ध गराउने मन्त्री लम्सालको प्रतिबद्धता छ । पूर्वाधार विकासका सन्दर्भमा उनी ‘मौसमी सडक’ को अवधारणाबाट बाहिर निस्कनुपर्ने र गुणस्तर मापदण्ड कडाइका साथ लागू नगर्दासम्म विकास दिगो नहुने उनको तर्क छ ।

  • स्वास्थ्यमन्त्रीमा मेहता नियुक्त

    स्वास्थ्यमन्त्रीमा मेहता नियुक्त

    काठमाडौँ, १३ चैतः स्वास्थ्य तथा जनसङ्ख्या एवम् खानेपानीमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा मेहता नियुक्त भएकी छिन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा मेहताले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिइन् ।

    पेसाले नर्स उनी रास्वपामा स्थापनाकालदेखि नै आबद्ध छिन् । उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिएकी हुन् । सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट ‘नर्सिङ’मा स्नात्तकोत्तर गरेकी छिन् । उनी विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपप्राध्यापक रुपमा कार्यरत थिइन् ।

  • कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा (जीवनीसहित)

    कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा (जीवनीसहित)

    नवीन पौडेल\रासस
    काठमाडौँ, १३ चैतः नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्ने गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पु¥याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय छिन् । विसं २०५२ असार ३ गते दोलखामा जन्मिएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकी छिन् । सामान्य पारिवारिक परिवेशमा हुर्किएकी उनका बुबा कृष्णप्रसाद गौतम आमा र एक भाई छन् ।


    शिक्षातर्फ रुचि राख्ने गौतमले माध्यमिक तहको अध्ययन भक्तपुरको एक विद्यालयबाट सम्पन्न गरेकी थिइन् । त्यसपछि उहाँले कानुन विषयमा स्नातक पूरा गरेकी छिन् । हाल काठमाडौँ स्कुल अफ ल मा एलएलएम अध्ययनरत छिन् । राजनीतिमा प्रवेशअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहेकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएकी थिइन् ।

    कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनीसँग छ । त्यस्तै, राष्ट्रिय तहमा नीतिगत बहस, जनसरोकार र सुधार एजेन्डालाई संसद्मै उठाउने अनुभव उहाँमा छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा पूर्वसदस्यका रुपमा उनले विधेयक, मानव अधिकार र न्यायका क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गरेकी छिन् ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कानुनी परामर्श अनुभवका साथै नेपालका युवा संस्थाको सञ्जालमार्फत अभियान सञ्चालन, सरकारसँग पैरवी र नीति दबाबमा सक्षम नेतृत्व उनले देखाएकी छन् । उनले अन्तरराष्ट्रिय तहमा आफ्नो पहिचान बनाउँदै संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रम तथा अन्तरसंसदीय सङ्घको स्वास्थ्य समितिमा सदस्यका रूपमा योगदान दिएकी छिन् । सार्वजनिक स्वास्थ्यका सम्बन्धमा संवादमार्फत जनचेतना फैलाउने कार्यमा उनको सक्रियता उल्लेखनीय छ ।

    युवाको सहभागिता, सुशासन, पारदर्शिता र नीतिगत सुधारका पक्षमा स्पष्ट धारणा राख्नुहुने गौतमले राजनीतिलाई सेवा र परिणाममुखी कार्यसँग जोड्नुपर्नेमा जोड दिन्छिन् । निर्वाचनका क्रममा उनले विकास, सुशासन र युवालाई अवसर सिर्जनाका एजेन्डा अघि सारेकी थिइन् । राजनीतिमा प्रवेश गर्नुअघि उहाँ सञ्चार क्षेत्रमा पनि परिचित थिइन् । विशेषगरी स्वास्थ्य कार्यक्रमको प्रस्तोताका रूपमा उनले तथ्यमा आधारित बहस, गलत सूचनाविरुद्ध अभियान तथा जनचेतनामूलक कार्यक्रममार्फत उनले समाजमा सकारात्मक प्रभाव पारेकी थिइन् ।


    सन् २०२३ मा ‘वन यङ वल्र्ड–पोलिटिसियन अफ द इयर अवार्डबाट सम्मानित गौतम युवापुस्ताको प्रतिनिधि स्वरका रूपमा स्थापित भएकी छिन् । रास्वपाकी संस्थापक केन्द्रीय सदस्यसमेत रहेकी गौतमले नीतिगत सुधार, पारदर्शिता र नागरिक–केन्द्रित शासन प्रणालीलाई प्राथमिकता दिने नयाँ पुस्ताको राजनीतिक नेतृत्वको प्रतिनिधित्व गर्छिन् । नीतिगत स्पष्टता, अध्ययनशीलता र सक्रियताका कारण उनलाई नेपाली राजनीतिमा सम्भावनायुक्त युवा नेताका रूपमा हेरिएको छ । समृद्ध नेपाल निर्माणमा युवाको भूमिका विस्तार गर्ने लक्ष्यसहित उनी संसद्मा सक्रिय छिन् ।

  • देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई (जीवनीसहित)

    देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई (जीवनीसहित)

    काठमाडौँ, १३ चैतः लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका डा स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुन् । गोरखाको बुङ्कोटमा जन्मिएका डा वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति छन् । उनले विसं २०४२ को प्रवेशिका परीक्षामा बूढानीलकण्ठ स्कुलबाट देशभरबाट दोस्रो स्थान हासिल गरेका थिए ।


    डा वाग्लेले लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक, हार्वर्ड विश्वविद्यालयबाट अन्तरराष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी (विद्यावारिधि) गरेका छन् । राजनीतिमा पूर्णकालीन रूपमा सहभागी हुनुअघि डा वाग्लेले दुई दशकभन्दा बढी समय अन्तरराष्ट्रिय एवं बहुपक्षीय आर्थिक मञ्चमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । उनले अमेरिकाको वासिङ्टन डिसीस्थित विश्व बैंकमा वरिष्ठ अर्थशास्त्री र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको मुख्यालयमा एसिया र प्रशान्त क्षेत्रका लागि प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।

    नीति तथा योजना निर्माणमा पनि उहाँले महत्त्वपूर्ण योगदान दिएका छन् । राष्ट्रिय योजना आयोगको सदस्य र सन् २०१७ देखि २०१८ सम्म उपाध्यक्षका रूपमा उनले सफल नेतत्व गरिसकेका छन् । नेपाली कांग्रेसमा वैचारिक र नीतिगत तहमा रहेर भूमिका निर्वाह गरेका डा वाग्ले विसं २०७९ चैतमा उक्त पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

    हाल उनी रास्वपाको उपसभापति र तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छन् । डा वाग्ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३८ हजार ४० मत प्राप्त गरी विजयी भएका थिए । विशेषगरी तथ्याङ्क र तर्कमा आधारित नीतिगत बहस गर्ने बौद्धिक नेताका रूपमा स्थापित डा वाग्लेले संसद्मा आर्थिक सुधार, सुशासन र युवा स्वरोजगारका विषयलाई प्रमुखताका साथ उठाउँदै आएका छन् ।

    गोरखा जन्मिएका वाग्ले सामान्य पारिवारिक परिवेशमा हुर्किंएका थिए । बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्ने उहाँ अध्ययनशील र तर्कशील नेताका रूपमा चिनिन्छन् । विकास अर्थशास्त्र, सार्वजनिक नीति तथा आर्थिक सुधारका विषयमा विशेष अनुसन्धान गरेका छन् । सोही अनुभवका कारण उनी अन्तरराष्ट्रियस्तरका नीतिगत बहसमा सहभागी हुँदै आउएका छन् ।


    उच्च शिक्षालगत्तै उनले विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गरेका थिए । विशेषगरी संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममार्फत डा वाग्लले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका क्षेत्रमा विशेष योगदान गरेका छन् । योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा उनले अगाडि सारेको अवधारणामा नै बहुउद्देश्यीय बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु गर्ने तयारी भएको छ । आन्तरिक स्रोतको उपयोग गरेर उक्त आयोजनालाई अगाडि बढाउने गरी सरकारले निर्णय गरिसकेको छ । त्यसका अलावा सो जिम्मेवारीमा रहँदा उहाँले मुलुकको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार तथा सुशासनका विषयमा काम गरेका थिए ।


    खासगरी राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिसँग जोड्नुपर्छ, मध्यमवर्गको विस्तार गर्नुपर्छ भन्ने मत राख्ने डा वाग्ले समकालीन नेपालको स्थापित अर्थशास्त्री एवं विकास रणनीतिकर्ताका रूपमा स्थापित छन् । “राजनीति कोरो कल्पना र सपना मात्रै होइन, जनताले परिवर्तनको महसुस गर्नुपर्छ र त्यसका लागि गुणात्मक परिवर्तन गर्नुपर्छ”, भन्ने उनले मत राख्दै आएका छन् ।


    निर्वाचनका क्रममा डा वाग्लले विकास, सुशासन, रोजगारी सिर्जना तथा आर्थिक सुधारलाई प्रमुख एजेन्डा बनाएका थिए । आफ्नो विषय प्रष्टसँग राख्ने, राजनीतिमा आलोचनाभन्दा पनि विचारले श्रेष्ठ सावित हुनुपर्छ भन्ने मान्यता राख्ने डा वाग्लेले मतदातासँग प्रत्यक्ष संवादका क्रममा नयाँ सोच र परिणाममुखी राजनीतिका विषय उठाएका थिए ।


    डा वाग्ले नेपाली राजनीतिमा नीतिगत क्षमता र आर्थिक विषयको ज्ञान भएका नेताका रूपमा चिनिन्छन् । अघिल्लो पटक सङ्घीय संसद्का रुपमा उनले सदनमा खेल्नुभएको भूमिका पनि स्मरणीय रहेको छ । उनका विभिन्न अन्तरराष्ट्रिय जर्नलमा अर्थतन्त्रसम्बन्धी लेख तथा विचार प्रकाशित छन् । खासगरी समस्या पहिचान, तथ्य र आँकडा प्रस्तुतिका कारण डा वाग्लेकोे विश्लेषण समसामयिक र समस्या समाधानमा केन्द्रित रहने गरेको छ । खासगरी, अर्थतन्त्र र विकास नीतिमा उनको विशिष्ठ अनुभवले समृद्ध नेपाल निर्माणको सपना पूरा हुने अपेक्षा गरिएको छ ।

  • यस्तो रह्यो बालेनको सपथ ग्रहण, यस्तो बन्यो मन्त्रिमण्डल

    यस्तो रह्यो बालेनको सपथ ग्रहण, यस्तो बन्यो मन्त्रिमण्डल

    काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराए ।

    सो अवसरमा डा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री, डा विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, गीता चौधरी कृषि तथा पशुपक्षी एवं वन तथा वातावारणमन्त्री, डा दीपक साह श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको शपथ लिए ।


    यसैगरी, रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने हाल प्रधानमन्त्री शाहले आफैँ सम्हालेका छन् । राष्ट्रपति पौडेलले आजै बिहान शाहलाई नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो ।

    समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ठ श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए ।

  • इरानद्वारा मध्यस्थकर्तामार्फत अमेरिकी प्रस्तावको जवाफ दियो, थप प्रतिक्रिया पर्खाइमा तेहरान

    इरानद्वारा मध्यस्थकर्तामार्फत अमेरिकी प्रस्तावको जवाफ दियो, थप प्रतिक्रिया पर्खाइमा तेहरान

    तेहरान, १३ चैत (रासस–एएफपी) । इरानले अज्ञात मध्यस्थकर्ताहरूमार्फत युद्ध अन्त्य गर्ने १५ बुँदे अमेरिकी योजनाको जवाफ दिएको इरानी अधिकारीलाई उद्धृत गरी तस्निम न्यूज एजेन्सीले बिहीबार जानकारी गराएको छ । अब इरानले वाशिङ्गटनको थप जवाफको पर्खाइमा रहनेछ । पाकिस्तानी अधिकारीहरूका अनुसार अमेरिकी योजनाको वास्तविक विषयवस्तु, पाकिस्तानमार्फत इरानलाई जानकारी गराइएको छ तर प्रस्तावमा के छ आधिकारिक रूपमा जानकारी गराइएको छैन ।

    अमेरिकाले प्रस्ताव गरेका १५ बुँदामा इरानले दिएको जवाफ मध्यस्थकर्तामार्फत गएराति पठाइएको थियो र इरानले अर्को पक्षको प्रतिक्रियाको पर्खाइमा रहेको जानकारी प्राप्त गरेको स्रोतलाई उद्धृत गर्दै तस्निमले जनाएको छ । इरानले पाँच बुँदे प्रतिप्रस्ताव पठाएर जवाफ दिएको स्रोतले जनाएको छ।

    पाँच बुँदामा ‘आक्रामकता’ को अन्त्य गर्दै इजरायल र संयुक्त राज्य अमेरिका युद्धबाट फर्कने, इरानलाई आर्थिक क्षतिपूर्ति दिने र इजरायलले लेबनानमा हेजबुल्लाह र गाजामा हमाससँगको युद्ध रोक्नेजस्ता सबै मोर्चामा शत्रुताको अन्त्य गर्ने सुनिश्चितताको लागि संयन्त्रको स्थापना गर्ने कुरा उल्लेख गरेको बताइएको छ। स्रोतले इरान महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’माथि आफ्नो सार्वभौमिकतालाई मान्यता दिन पनि चाहन्छ ।

  • भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि न्यूयोर्क अदालतमा पेश

    भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि न्यूयोर्क अदालतमा पेश

    न्यूयोर्क, १३ चैत (रासस–एएफपी) । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक न्यूयोर्कको एक अदालतमा बिहीबार सुनुवाईका लागि उपस्थित गराइएको छ । अमेरिकी सेनाले भेनेजुयालाको राष्ट्रपति भवनमा छापा मारी पक्राउ परेपछि उहाँलाई जनवरीमा अमेरिका पु¥याइएको थियो र उहाँमाथि अमेरिकाले लगाएको ‘नार्को–आतङ्कवाद’, कोकिन कारोबार, मेसिनगन र विध्वंसक उपकरणहरू राखेको र मेसिनगन र विनाशकारी उपकरणहरू राख्ने षड्यन्त्र गरेको चार अभियोगमा न्यायिक कारबाहीका लागि उक्त अदालतमा पेश गरिएको थियो ।

    मदुरोसँगै र उनकी पत्नी सिलिया फ्लोरेसलाई पनि लगिएको थियो र तीन महिनादेखि ब्रुकलिनको जेलमा राखिएको छ । मदुरोले आफूलाई ‘युद्धबन्दी’ घोषित गरेका छन् । तर ‘नार्को–आतङ्कवाद’ षड्यन्त्र, कोकिन आयात षड्यन्त्र, मेसिनगन र विध्वंसक उपकरणहरू राखेको र मेसिनगन र विनाशकारी उपकरणहरू राख्ने षड्यन्त्र गरेको चार अभियोगमा दोषी नभएको दावी गरेका छन् ।


    बिहीबारको सुनुवाइमा बिहान ११ः०० बजे मदुरोले आफ्नो मुद्दा खारेज गर्न आफ्नो अडान दोहोर्याउने सम्भावना छ । उनको मुद्दा हेरिरहेका वकिलहरूले पूर्व नेताको कानुनी शुल्क कसले तिर्ने भन्ने विषयमा निर्णयको पर्खाइमा रहेका छन्। भेनेजुयलाको सरकारले खर्च बेहोर्न खोजिरहेको छ, तर वाशिङ्गटनको प्रतिबन्धका कारण, उनका वकिल ब्यारी पोलाकले अमेरिकी लाइसेन्स लिनु पर्छ जुन जारी गरिएको छैन।

    पोलाकले अदालतमा पेश गरेको निवेदनमा तर्क गरेका छन् । “लाइसेन्सको आवश्यकताले मदुरोको कानुनी प्रतिनिधित्वको संवैधानिक अधिकारको उल्लङ्घन गरेको छ र प्रक्रियागत आधारमा मुद्दा खारेज गर्न माग गर्दछ।” मदुरो र फ्लोरेसलाई बोकेको मानिएको एक प्रहरी लस्कर बिहान ४ः०० बजे जेलबाट म्यानह्याटन अदालत पुग्न जेलबाट बाहिरिएको एएफपीका पत्रकारहरूले देखेको बताएका छन्।

    ब्रुकलिनको ‘महानगरीय कैदी केन्द्रमा हिरासत’मा रहेका मदुरोलाई इन्टरनेट वा अखबारको पहुँच नभएको कोठामा एक्लै राखिएको छ । भेनेजुएला सरकार निकट स्रोतका अनुसार जेलमा रहेका मदुरोले बाइबल पढ्छन् र उनका केही सहकर्मीले उनलाई ‘राष्ट्रपति’ भनेर सम्बोधन गर्छन् । स्रोतका अनुसार उनले आफ्नो परिवार र वकिलसँग फोनमा अधिकतम १५ मिनेट मात्र कुराकानी गर्न पाउँछन् ।


    वकिलहरूले हामी (पत्रकार)लाई दिएको जानकारीमा मदुरो ‘सशक्त’ रहेको बताइएको छ । उनका छोरा निकोलस मदुरो गुएराले आफ्ना पिताका सम्बन्धमा सोधिएको प्रश्नमा भने, “हामी ठीक छौँ किनकि हामी लडाकु हौँ ।” मदुरो र उनकी पत्नीलाई अमेरिकी कमान्डोहरूले जनवरी ३ को बिहान भेनेजुएलाको राजधानीमा लडाकु विमानको सहयोगमा हवाई आक्रमण गरेर जबरजस्ती नियन्त्रणमा लिई गोप्यरूपमा अमेरिका पुर्याएका थिए ।

  • इजरायली आक्रमणमा इरानी नौसेनाका कमान्डरको मृत्यु

    इजरायली आक्रमणमा इरानी नौसेनाका कमान्डरको मृत्यु

    वासिङ्टन, १३ चैत (रासस–एएफपी) । अमेरिकी सेनाले बिहीबार इजरायली हवाई आक्रमणमा इरानी रिभोलुसनरी गाड्र्सको नौसेनाका कमान्डर मारिएको बताएको छ । “इरानी नौसेना कमाण्डरको मृत्युले मध्यपूर्वलगायत समग्र खाडी क्षेत्रलाई थप सुरक्षित बनाएको छ,” अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का कमान्डर एडमिरल ब्राड कूपरले भने । उनले भने, “आइआरजिसीको नौसेनामा सेवा गर्ने प्रत्येक इरानीले ‘अनावश्यक चोट वा मृत्युको थप जोखिमबाट बच्न आफ्नो पद छोड्नु पर्छ र घर फर्कनु पर्छ।”

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्ध अमेरिकी सैन्य कारबाही निर्धारित समयभन्दा अगावै आफ्नो उद्देश्य प्राप्ति गर्न सफल भएको बताएका छन् । “हाम्रो अभियान सफल पार्न हामीले लगभग चारदेखि छ हप्ता लाग्ने अनुमान गरेका थियौँ । आक्रमणको छब्बीस दिनपछि नै हामी निर्धारित लक्ष्यभन्दा धेरै अगाडि पुगेका छौँ,” ट्रम्पले द्वन्द्व सुरु भएपछिको आफ्नो पहिलो क्याबिनेट बैठकमा भने ।

  • कोको बने बालेन सरकारमा मन्त्री ?

    कोको बने बालेन सरकारमा मन्त्री ?


    १३ चैत, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।

    को को बने मन्त्री ?

    प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।

    मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

    तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।

    विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् ।

    खड्कराज पौडेल (गनेश) ले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

    सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् ।

    विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन् ।

    सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रालय, जिम्मेवारी पाएका छन् । सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन् ।

  • बालेन शाहले लिए सपथ

    बालेन शाहले लिए सपथ

    १३ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सपथ ग्रहण गरेका छ । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित विषेश समारोहमा प्रधानमन्त्री बालेनलाइ सपथ खुवाएका हुन । उनी सङ्गै एक दर्जन मन्त्रीले सपथ लिएका छन् ।

  • अमेरिकासँगको व्यापार कर सम्झौता इयूको संसदबाट ससर्त अनुमोदन गर्ने सङ्केत

    अमेरिकासँगको व्यापार कर सम्झौता इयूको संसदबाट ससर्त अनुमोदन गर्ने सङ्केत

    ब्रसेल्स, बेल्जियम, १३ चैत (रासस–एएफपी) । युरोपेली युनियनका सांसदहरूले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युरोपेली संघको व्यापार कर सम्झौतालाई सर्तसहित अनुमोदन गर्ने सङ्केत दिएका छन्, जसलाई युरोपले बचाउन चाहन्छ र इयूले विश्वभरको व्यापार सम्बन्धलाई विविधीकरण गर्न पनि दौडिरहेको छ। ब्रसेल्स र वाशिङ्गटनबिच गत ग्रीष्म ऋतुमा इयुका अधिकांश सामानहरूको लागि १५ प्रतिशत कर निर्धारण गर्ने सम्झौता भएको थियो ।

    राष्ट्रपति ट्रम्पले स्टिल, एल्युमिनियम र कारका पार्टपुर्जाहरूमा भारी कर सहित सन् २०२५ को अतिरिक्त कर लगाउने नीतिले २७ देशहरूको समूह ययुलाई विश्वभरि व्यापार सम्बन्ध विकास गर्न बाध्य बनाएको थियो । इयूले त्यसपछि दक्षिण अमेरिकादेखि अष्ट्रेलियासम्म सम्झौताहरूमा हस्ताक्षर गरेको छ र अन्यलाई पछ्याइरहेको छ। यसको अर्थ यो होइन कि उसले आफ्नो सबैभन्दा ठूलो व्यापार साझेदार अमेरिकासँगको १.६ ट्रिलियन युरो (१.९ ट्रिलियन डलर) सम्बन्धबाट टाढा जान चाहन्छ।

    युरोपेली सङ्घका अधिकांश सांसदहरूले सन् २०२५ को सम्झौता कार्यान्वयन गर्ने पहिलो कदमको रूपमा केही अमेरिकी आयातमा इयुको करवृद्धि कटौती गर्न सहमति जनाएका छन् । “आजको मतदान एक महत्त्वपूर्ण प्रक्रियागत कदम हो र इयु आफ्नो वचनमा अडिग छ भन्ने राजनीतिक सङ्केत हो,” युरोपेली सङ्घका अर्थव्यवस्था प्रमुख वाल्डिस डोम्ब्रोभ्स्किसले मतदानअघि बिहीबार संसदीय बहसमा भने ।


    युरोपेली सङ्घका व्यापार आयुक्त मारोस सेफकोभिकले यो कदमलाई ‘महत्वपूर्ण कदम’ भन्दै शुक्रबार क्यामरुनमा विश्व व्यापार सङ्गठनको बैठकका क्रममा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग भेट गर्ने बताएका छन् । युरोपेली सङ्घका लागि अमेरिकी राजदूत एन्ड्रयु पुज्दरले पनि मतदानको तयारीपछि यसको स्वागत गरेका छन् ।


    उनले सामाजिक सञ्जाल एक्समा भने, “तपाईहरुको प्रयासका लागि धन्यवाद, हामी अमेरिका–इयु व्यापार सम्बन्धमा एक महत्वपूर्ण कोशेढुङ्गाको नजिक छौँ, जसले हाम्रा व्यवसाय, कामदार र उपभोक्ताका लागि ट्रान्सएटलान्टिक स्थिरता र आर्थिक अवसर प्रदान गर्नेछ ।” पुज्दरले यसअघि इयुलाई संशोधन बिना नै सम्झौता पारित गर्न सुझाब दिएका थिए । अमेरिकी कर सम्झौता इयुले लागू गर्नुअघि यसका लागि अझै इयु राष्ट्रहरूसँग वार्ता गर्न आवश्यक छ जुन वार्ता कठिन हुने अपेक्षा गरिएको छ तर इयु कूटनीतिज्ञहरूले यो चाँडै समाप्त हुने आशा गरेका छन् ।

  • बालेन प्रधानमन्त्रीमा नियुक्त

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    १३ चैत, काठमाडौं । नेपालको प्रधानमन्त्रीमा बालेन शाह नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाइ संविधानको धारा ७६ को १ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । बालेन प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताका रुपमा प्रधानमन्त्री बनेका हुन । बालेनले आजै सपथ ग्रहण गर्नेछन् ।

  • दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    घोराही (दाङ), १३ चैतः घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो । गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

  • लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

    लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

    काठमाडौं, १३ चैतः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकस्थित सिटी हेभन होटलबाट लागुऔषध खैरो हेरोइनसहित सिरहा नगरपालिका–८ का २९ वर्षीय रक्कीकुमार यादवलाई पक्राउ गरिएको छ ।

    यसैगरी, काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार फलफूल चोकबाट लागुऔषध पोलेनसहित एक जना, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट खैरो हेरोइनसहित एक जना, गुलरिया नगरपालिका–११ गणेशपुरबाट एक जना, लहान नगरपालिका–३ बाट एक जना र तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीबाट दुई जनालाई पक्राउ गरिएको छ ।

    कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमाराबाट एक,कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, धरान उपमहानगरपालिका–१६ पानीट्याङ्कीबाट ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई तथा सोही उपमहानगरपालिका–२० विष्णुपादुका पुलबाट १७ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ ।

  • चैत्र शुक्ल अष्टमी : राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको पूजा आराधना एवं दर्शन

    चैत्र शुक्ल अष्टमी : राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको पूजा आराधना एवं दर्शन

    काठमाडौँ, १३ चैत । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएपछि बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका छन् । असनमा राति करिब १०ः०० बजे उहाँले सेतो मच्छेन्द्रनाथको दर्शन एवं पूजा आराधना एवं दर्शन गरेका छन् । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।

    तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैतेदसैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्राको प्रक्रिया सुरु हुने परम्परा रहेको छ ।

    प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु भएको छ । रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । रथयात्राका लागि बिहीबार बेलुकी ५ः०० बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । पहिलो दिन बिहीबार रथ असन पुर्याइएको जनाइएको छ ।

    सोही क्षेत्रमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रवहालमा ल्याएर अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ । चैत्र शुक्ल अष्टमीका दिन बिहीबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथका पुजारी एवं काठमाडौँ महानगरपालिका–२५ का पूर्वअध्यक्षसमेत रहिसक्नुभएका नीलकाजी शाक्यले राससलाई जानकारी दिए ।

  • चैत्र शुक्ल नवमी : आज विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : आज विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    काठमाडौँ, १३ चैत । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ ।
    त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।

    भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको थियो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरेको बताउँछन् ।


    “जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसकेमात्र यो पर्व मनाउनुको अर्थ हुन्छ”, उनले भने । रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।

    परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुसुप्त दसैँ भनिन्छ । त्यसैगरी, व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई बैकुण्ठ बास प्राप्त हुने उल्लेख छ ।

    असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

    आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

  • अधिकांश विदेशी मुद्राको भाउ घट्यो

    अधिकांश विदेशी मुद्राको भाउ घट्यो

    काठमाडौँ, १३ चैत । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो लागेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३० पैसा र बिक्रीदर २०१ रुपैयाँ १० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९० रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४० पैसा र बिक्रीदर १०८ रुपैयाँ ८३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७२ पैसा र बिक्रीदर २१ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४१ रुपैयाँ २२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १९ पैसा र बिक्रीदर २३ रुपैयाँ २८ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • नयाँ प्रधानमन्त्रीको शपथ आज

    नयाँ प्रधानमन्त्रीको शपथ आज

    काठमाडौँ, १३ चैत । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

    राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।

    गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी हुनुभएको थियो । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराइसकेका छन् ।

  • आज र भोली वर्षाको सम्भावना, यस्तो छ प्रक्षेपण

    आज र भोली वर्षाको सम्भावना, यस्तो छ प्रक्षेपण

    काठमाडौं, १३ चैतः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ ।

    सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेशका पहाडी र हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा अधिकांश बदली, पहाडमा साधारणतया बदली र तराई भेगमा आंशिक बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।

    आज राति हिमाली भागमा अधिकांश बदली रहनेछ भने कोशी र मधेश प्रदेश लगायत पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    मौसमको उपर्युक्त अवस्थालाई दृष्टिगत गर्दै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा हुने सम्भावित वर्षा, हिमपात र हुरीबाट सतर्क रहन तथा पछिल्लो मौसमसम्बन्धी जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह पनि गरेको छ ।

  • पहिचानको महत्व बुझाउन परम्परागत वेषभूषामा सांसद्

    पहिचानको महत्व बुझाउन परम्परागत वेषभूषामा सांसद्

    काडमाडाँैं, १२ चैतः आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खौली थारु वेषभूषामा सजिएकी सांसद गीता चौधरीले संसद्मा आफ्नै थारु मातृभाषामा सपथ लिइन् । उनले सपथ लिन आउँदा सानी छोरीलाई परम्परागत वेषभूषामा सजाएर ल्याए । “मेरो समुदायका लागि आज गौरवको दिन हो”, सांसद चौधरीले प्रतिनिधिसभामा सपथ लिएपछि प्रतिक्रिया दिँदै भने, “सङ्घीयताको मर्मअनुसार मौलिक पहिचान लिएर थारु वेषभूषामा आएकी हुँ, आमा र देश मेरा लागि उस्ता उस्तै हो ।”

    उनले आफूले लगाएको पहिरन आमाले सिलाइ दिएको बताइन् ।
    संसद् देशका जनताको प्रतिविम्ब झल्किने साझा फूलबारी जस्तै भएकाले पहिचान खुलाएर आउनु सान्दर्भिक लागेको सांसद चौधरीले बताइन् । उनले भनिन्, “मैले छोरीलाई परम्परागत लुगा लगाएर ल्याएकी छु । जुन आउने पुस्तालाई संस्कृति हस्तान्तरण गराउनु जरुरी छ ।”

    शिरमा लगाएको पुर्खौली गहना ‘मङ्गौरी’, घाटीमा लगाउनेमाला ‘टौक’लगायत चाँदीले बनेका गहना देखाउँदै सांसद चौधरीले यी सबै गरगहना पुस्तौनी रहेको बताइन् । सङ्घीयताको मर्म र भावना अनुरुप प्रतिनिधिसभामा समावेशिताको अर्थ बुझाउन सांसद चौधरीले जस्तै परम्परागत वेषभूषामा उपस्थिति भएकी थिइन् ।
    परम्परागत पहिरनमा सबैको ध्यान तान्नुभएका सांसदमध्ये सांसद सुधन गुरुङ एक थिए ।

    गोर्खाका गुरुङले टोपीको शिरमा खुकुरीको आकृति झल्काउँदै गुरुङ समुदायको पोसाकमा संसद्मा पुगे । सधैँ जस्तै, कोटपाइन्टमा देखिने गुरुङ परम्परागत भेषमा सपथ खाएका थिए । पहिरनसँगै मुहारमा उत्साह र जोश झल्किएको थियो । आमसञ्चारलाई प्रतिक्रिया दिने क्रममा उनले भने, “जनताको भावना मर्न दिने छैनौँ ।”

    नेपाली कम्युनिष्ट पार्टीबाट सांसद भएकी दाङका सांसद भीमकुमारी बुढामगरले समावेशीको सन्देश दिन पुर्खौली वेषभूषामा सपथ ग्रहण गर्न आएको बताइन् । मगर समुदाय सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध समुदाय रहेको सुनाउँदै समाजमा समुदायको पहिचान स्थापित गर्न पहिरनले महत्वपूर्ण सन्देश झल्किने धारणा राखे । “सांस्कृतिक महत्व कहिल्यै भुल्नुहुँदैन”, सांसद बुढामगरले भने, “यही लगाएर हुर्किए यही लगाएर संसद्मा आएँ ।”

    रास्वपाका सांसद महोत्तरीका प्रमोदकुमार महतोले श्रीराम लेखिएको गम्झा, शिरमा रातो रुमाल र कुर्था सुरुवाल लगाएका थिए । उनका अनुसार तराई क्षेत्रको आभाव गराउने आधार पहिरन भएको बताउँदै उनले संसद्मा तराईको अस्थित्व महसुस गराउन लगाएको बताए । “पहिरनले अपनत्व महसुस गराउछ भने राष्ट्रिय भाव बलियो बनाउछ”, सांसद महतोले भने, “म सांसद नहुँदा मौलिक पहिरन नै लगाउछु । आज संसद्मा उपस्थिति हुँदा नलगाउने कुरै भएन ।”

    संसद्मा उपस्थिति अरु सांसदहरुले समुदायको भाव झल्किने पहिरनमा उत्साहका साथ देखा परेका थिए । ट्रान्सजेण्डरको प्रतिनिधित्व गर्दै रास्वपाबाट सांसद भएकी भूमिका श्रेष्ठ आफ्नो नेवार समुदायको संस्कृति झल्किने हाकुपटासी सारीमा देखिइन् । उनले त्यसै अनुसारको नेवार गरगहना लगाएकी थिइन् । संसद्मा एउटा सांसदले समुदायदेखि राष्ट्रको अस्थित्व सम्बोधन गर्नुपर्ने हुँदा परम्परागत पहिरनमा सजिएको बताइन् । “समुदायको सम्मानसँगै, जनताको सेवा गर्नुपर्छ”, सांसद श्रेष्ठले भनिन् ।

  • युवा सांसद् भन्छन्– नयाँ पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेण्डा

    युवा सांसद् भन्छन्– नयाँ पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेण्डा

    काठमाडौँ, १२ चैतः सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिएपछि सांसद् मनिष खनालले आफ्नो भूमिका जेन–जी बिद्रोहको भावनालाई सदनको रोष्टमबाट जीवन्त राख्नु आफ्नो प्राथमिकता हुने बताए । सपथसँगै आफ्नो संसदीय यात्रा सुरु भएको उल्लेख गर्दै २६ वर्षे खनालले भने, “यो मेरो एक्लो पाइला होइन, प्रत्येक मतदाताको भरोसा र हजारौँ युवाहरुको आशाको सामूहिक यात्रा हो ।”

    गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछि भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि प्रतिनिधिसभामा उनी र उनको उमेर समूहको प्रतिनिधित्व बढेको छ । त्यसैले आज भएको प्रतिनिधिसभा सदस्यहरूको सपथ ग्रहण समारोह केबल संवैधानिक प्रक्रिया मात्र नभइ संसद्मा युवा समूहको बाहुल्य प्रतिनिधित्वले संसद्लाई सुन्दर बनाएको छ ।

    राजनीतिक यात्रा सुरु गरेको छोटो समयमा सांसदीय यात्रा सुरु गर्नुभएका २६ वर्षीया सांसद केपी खनालले इमान्दारिताका साथ काम गर्ने प्रण गरे । उनले “संसद्मा जेनजी उमेर समूहको उल्लेख्य प्रतिनिधित्व छ, त्यसैले हामी उत्साही छौँ, जिम्मेवारी पनि त्यत्तिकै महसुस भइरहेको छ । जनतालाई ‘डेलिभरी’ दिनु हाम्रो कर्तव्य हो । पारदर्शिता, इमान्दारिता र जवाफदेहिताका आधारमा काम गर्छौं ।” उनले संसद् समारोहमा बुवाआमालाई साथमै लिएर आएका थिए ।

    विगत १३ वर्षदेखि सामाजिक अभियानमा सक्रिय खनालले अब जनताकोे आवाज अब संसद्मा उठान गर्नका लागि तयार रहेको बताए । आफू कैलाली–२ बाट निर्वाचित भए पनि सुदूरपश्चिमको प्रतिनिधि नभई देशभरका जनताको सेवकका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे । जेनजी उमेर समूहकी २५ वर्षीया सांसद रुवीकुमारी ठाकुरले मधेसका युवा र महिलाको मुद्दा प्राथमिकताका साथ सदनमा उठाउने प्रण गरे ।

    मैथिली र नेपाली भाषामा सपथ ग्रहण गरेपछि आफ्ना पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेण्डा भएको बताए । सिभिल इन्जिनियरिङ विषय अध्ययनरत उहाँले मधेसको बेरोजगारी र वैदेशिक रोजगारका मुद्दालाई पनि कानुनमार्फत सम्बोधन गर्ने आफ्नो योजना रहेको बताए ।


    युवा सांसद सस्मित पोखरेलले आफूले राजनीतिक र कानुनी छिद्रहरूको अध्ययन सुरु गरिसकेको बताए । त्यसका लागि नयाँ कानून निर्माण, आवश्यक संशोधनका लागि विशेषज्ञ टिम निर्माणमा गृहकार्य थालेको उल्लेख गरे । “सपथपछि जिम्मेवारी अझ बढेको महसुस भएको छ । अब पाँच वर्षमा के गर्ने भन्ने कुरा स्पष्ट छ”, उनले भने ।

  • निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धिः गृहमन्त्री अर्याल

    निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धिः गृहमन्त्री अर्याल

    काठमाडौँ, १२ चैतः गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ भएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आजै पद तथा गोपनीयताको सपथ लिएसँगै शुक्रबार नयाँ सरकार गठन हुने तयारीका बीच मन्त्री अर्यालले पदबाट बिदा लिएका हुन् । मन्त्रालयमा आज आयोजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेनजी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हालेको स्मरण गरे ।

    उनले आफ्नो कार्यकालमा शान्तिसुरक्षाको सामान्यीकरण, सुशासनको सुदृढीकरण र स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा ऐतिहासिक निर्वाचन सम्पन्न गर्नु नै मुख्य उपलब्धि रहेको बताए । “निर्वाचन हुने वा नहुने भन्ने आशङ्काबीच हामीले प्रशासनिक समन्वय र सुरक्षा तयारीमार्फत निर्धारित समयमै निर्वाचन सम्पन्न गर्यौं”, मन्त्री अर्यालले भने, “यसबाट संविधान सही बाटोमा आएको छ र यसको सम्पूर्ण श्रेय आमनागरिक, सुरक्षाकर्मी र कर्मचारीको सामूहिक प्रयासलाई जान्छ ।”

    उनले आफ्नो कार्यकालमा भएका मुख्य कार्यलाई मन्त्रालयको संस्थागत अभिलेखका रूपमा हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा उहाँले जेनजी आन्दोलनका ४२ जना सुशासन योद्धा र तीन जना प्रहरीलाई सहिद घोषणा गरिएको, घाइतेको वर्गीकरण गरी जीविकोपार्जन भत्ताको व्यवस्था गरिएको र आन्दोलनमा क्षतिग्रस्त भएका ४६५ सरकारी कार्यालयको पुनर्निर्माण गरी सेवा सञ्चालन गरिएको जानकारी दिए ।


    समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले मन्त्री अर्यालको नेतृत्वमा मन्त्रालयले छोटो अवधिमा दुई दर्जनभन्दा बढी कानुन तर्जुमा तथा परिमार्जन गर्न सफल भएको र सुरक्षा निकायको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँको कार्यशैलीको प्रशंसा गरे । मन्त्री अर्याल २०८२ भदौ ३० गते गृहमन्त्री नियुक्त भएका थिए । उनले १९१ दिने कार्यकालमा विपद् व्यवस्थापन, मिटरब्याज पीडितको समस्या सम्बोधन र नागरिकता प्राप्तिमा सहजताजस्ता जनपक्षीय कार्यसम्पादन गरेको मन्त्रालयले जनाएको छ।