Category: फिचर

  • प्रतिनिधिसभा पहिलो बैठकमा एमालेद्वारा ध्यानाकर्षण

    प्रतिनिधिसभा पहिलो बैठकमा एमालेद्वारा ध्यानाकर्षण

    काठमाडौँ, १९ चैतः प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपा (एमाले)का सांसदले सदन मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा सुरु भएको बैठकमा सो पार्टीका सांसदले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएको विरोधमा ध्यानाकर्षण गराए ।

    बैठकको प्रारम्भमा नै एमालेका सांसद गुरुप्रसाद बरालले उक्त पक्राउका विषयमा सदनको ध्यानाकर्षण गराए । यही चैत १४ गते नेपाल सरकारको निर्णयबमोजिम अध्यक्ष ओली र नेता लेखकलाई पक्राउ गरिएको थियो । बैठकमा सुरुआतमै एमालेका सांसदहरु आ आफ्ना आसनबाट उठेपछि बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पहिलो बैठकमा विवाद नगरी बसिदिन सो पार्टीका सांसदलाई आग्रह गरेका थिए ।

  • इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

    इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

    दोहा, १९ चैत (रासस–एएफपी) । कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा कतारको सामुद्रिक इलाकामा इरानी मिसाइलद्वारा प्रहार भएको छ । इरानबाट तीनवटा क्रुज क्षेप्यास्त्रा प्रक्षेपण गरिएको यसबाट कतारको एक इन्धन ट्याङ्करलाई निशाना बनाइएको कतारको रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, “सेनाले दुई वटा क्रुज क्षेप्यास्त्रलाई रोकेको छ भने तेस्रो क्षेप्यास्त्र कतारको जलक्षेत्रमा कतार इनर्जिनीलाई दिइएको तेल ट्याङ्करमा खसेको छ ।” चालक दलका २१ सदस्य रहेको उक्त ट्याङ्करलाई कुनै मानवीय क्षति नपु¥याउन सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिएको रक्षा मन्त्रालयले जनाएको छ । इरानको रिभोलुसनरी गाड्र्सले कतारको स्वामित्वमा रहेको ट्याङ्कर एक्वा–१ लाई आक्रमण गरेको पुष्टि गरेको छ। गाड्र्सले सरकारी टेलिभिजनमार्फत् जारी एक विज्ञप्तिमा जहाज इजरायली भएको र निशाना बनाइएको जनाएको छ।

    फेब्रुअरीको अन्त्यदेखि सुरु भएको अमेरिका र इजरायली आक्रमणको जवाफमा खाडी मुलुकहरूले गत महिनादेखि इरानबाट बारम्बार ड्रोन र क्षेप्यास्त्र आक्रमणको सामना गर्नुपरेको छ। इरानले तेलको धनी खाडी राष्ट्रहरूमा हाइड्रोकार्बन पूर्वाधारहरू र ढुवानीमा प्रयोग हुने जहाजलाई लक्षित गरेको छ । यी निशानाले प्रभावकारी रूपमा रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ । यो क्षेत्रबाट विश्वको करिब २० प्रतिशत इन्धन (तेल) आपूर्ति हुन्छ ।

    इन्धन ट्याङ्कर एक्वा–१ ले बुधबार बिहानै कतारको उत्तरी जलक्षेत्रमा क्षेप्यास्त्र आक्रमणमा जहाजमा सामान्य क्षति भएको तर यसबाट चालक दलका कुनै सदस्य घाइते नभएको पुष्टि गरेको छ । बेलायती सामुद्रिक सुरक्षा निकाय ‘यूके मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ)’का अनुसार दोहाबाट १७ नटिकल माइल उत्तरमा सो दुर्घटना भएको हो । जहाजलाई विश्वको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) क्षेत्र रास लाफानको उत्तरमा दुई प्रोजेक्टाइलले लागेको थियो।

    “एउटा प्रोजेक्टाइलले लागेपछि आगो लागेको थियो तर यसलाई पछि निभाइएको थियो र अर्को ‘जहाजको इन्जिन कोठामा विस्फोट भएको छैन,” बेलायती सामुद्रिक सुरक्षा निकायले भनेको छ। निजी सुरक्षा फर्म एम्ब्रे र भ्यानगार्डले पनि ट्याङ्करको इन्जिन कोठामा विस्फोट नभएको बताएका छन् । यसबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। यसअघि युकेएमटीओले ट्याङ्करलाई बन्दरगाहको छेउमा अज्ञात प्रोजेक्टाइलले ठक्कर दिएको र पानीको रेखामाथिको हलमा क्षति पुर्याएको बताएको थियो।

  • इरानले युद्धविरामको माग गरेको भन्ने राष्ट्रपति ट्रम्पको दाबीमा सत्यता छैन : इरान

    इरानले युद्धविरामको माग गरेको भन्ने राष्ट्रपति ट्रम्पको दाबीमा सत्यता छैन : इरान

    तेहरान, १९ चैत (रासस–एएफपी) । इरानले युद्धविरामका लागि आग्रह गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले बुधबार खण्डन गरेको छ।
    इरानले युद्धविरामका लागि गरेको अनुरोधबारे ट्रम्पको अभिव्यक्ति ‘असत्य’ र ‘आधारहीन’ रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले बताएका छन् । यसअघि, राष्ट्रपति ट्रम्पले इरानी राष्ट्रपतिले इरानले युद्ध रोक्न चाहेको दाबी गरेको सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए ।

    “इरानका राष्ट्रपतिले अमेरिकासँग युद्धविरामका लागि आग्रह गरेका छन्, राष्ट्रपति ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेखेका थिए ।
    उनले अगाडी लेखेका छन्, “स्वतन्त्र आवागमनका लागि हर्मुज घाँटी खुला गर्न इरान तयार हुनुपर्नेमा हामी जोड दिन्छौँ । त्यसो भएमा युद्ध रोक्ने बिषयमा हामी विचार गर्नेछौँ । त्यतिबेलासम्म, हामी इरानलाई अस्तव्यस्त अवस्थामा धकेल्नेछौँ वा उनीहरूले चाहेजस्तो ढुङ्गे युगमा फर्कनेछन् ।” राष्ट्रपति ट्रम्पको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन ।

  • मध्यपूर्व तनावबिच रसद समाधान दिन रूस तयार : पुटिन

    मध्यपूर्व तनावबिच रसद समाधान दिन रूस तयार : पुटिन

    सेन्ट पिटर्सबर्ग, १९ चैत (रासस–सिन्ह्वा) । रुसले मध्य पूर्वमा पछिल्ला घटनाक्रमहरूको बीचमा विश्वव्यापी रसद र व्यापार व्यवस्थापनलाई पुनः आकार दिन मद्दत गर्न समाधान प्रस्ताव गर्न सक्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार बताएका छन् । यसै साता सेन्ट पिटर्सबर्गमा आयोजित पहिलो अन्तर्राष्ट्रिय यातायात तथा रसद व्यवस्थापनमामिला मञ्चमा भाग लिने क्रममा राष्ट्रपति पुटिनले यस्तो बताएका हुन् । उनले भने, “विश्व अर्थतन्त्रको प्रमुख स्तम्भको रूपमा रहेको यातायात र रसद व्यवस्थापनमा महत्त्वपूर्ण सङ्कटबिच गुज्रिरहेको छ। यसको समाधानका लागि रूससँग नयाँ प्रस्ताव रहेको छ।”

    “इरान युद्धले विश्वव्यापी ऊर्जा बजार र ‘स्ट्रेट अफ हर्मुज’ हुँदै तेल र ग्याँसको ढुवानीलाई असर गरिसकेको छ”, उनले भने, “देश र कम्पनीहरूले गति र लागतमा मात्र होइन, यातायात मार्गहरू र आपूर्ति श्रृङ्खलाहरूको सुरक्षा र लचिलोपनमा पनि जोड दिइरहेका छन्।” उनले भने, “रूसले नयाँ विश्वव्यापी रसद ढाँचा निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, जसले आर्थिक रूपमा कुशल र अन्तर्राष्ट्रिय यातायात प्रवाहलाई विविधीकरण गर्न सक्षम मार्गहरू प्रदान गर्दछ ।” नेता पुटिनले यातायात र रसदको विकासलाई समर्थन गर्न, संयुक्त वैज्ञानिक र प्राविधिक कार्यक्रमहरू पछ्याउन र विशेषज्ञहरूलाई तालिम दिन रूसको तत्परताको पुष्टि गरे ।

  • रुसी ड्रोन आक्रमणमा परी पाँच युक्रेनीको मृत्यु

    रुसी ड्रोन आक्रमणमा परी पाँच युक्रेनीको मृत्यु

    किएभ, १९ चैत (रासस–एएफपी) । रूसले युक्रेनमा रातभर र बुधबार दिनभर सयौँ ड्रोन आक्रमण गरेको र आक्रमणका क्रममा कम्तिमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणबाट एउटा हुलाक कम्पनीको कार्यालय ध्वस्त भएको बताइएको छ। आक्रमणपछि युक्रेनको नोभा पोश्ता हुलाक कम्पनीले पश्चिमी शहर लुत्स्कको एक गोदाममा आगो लागेको र छतबाट बाक्लो धुवाँ निस्किरहेको तस्बिर प्रकाशित गरेको छ।

    क्रेमलिनले इस्टरको बिदामा अस्थायी युद्धविरामका लागि युक्रेनी प्रस्तावलाई अस्वीकार गरेको भोलिपल्ट यो आक्रमण भएको हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेसबुकमा भने, “हामीले इस्टरका लागि युद्धविराम प्रस्ताव गरेका छौँ । जवाफमा, हामीले ‘शाहेद’को आक्रमण पाइरहेका छौँ। रूसले युक्रेनमा मङ्गलबार राति ३३९ र दिउसो ३६० भन्दा बढी ड्रोन प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ ।

    मध्य चेर्कासी क्षेत्रमा रुसी ड्रोनले चार जनाको ज्यान लिएको छ भने युक्रेनको फ्रन्टलाइन खेरसोन क्षेत्रमा कारमा भएको ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । यसैबीच, रुसले सिमामा दबाब बढाएको छ र बुधबार पूर्वी युक्रेनका दुई गाउँहरू कब्जा गरेको र लुगान्स्क क्षेत्र पूर्ण रूपमा कब्जा गरेको दाबी गरेको छ । रूसी सेनाले पहिले नै यो क्षेत्रमा ठूलो मात्रामा गाउँहरू कब्जा गरिसकेको छ।

    जेलेन्स्कीले एक छुट्टै सामाजिक सञ्जालमा गरेको पोस्टमा अग्रपङ्तीको लडाकू मोर्चाको स्थितिलाई ‘एकदम तनावपूर्ण’ अवस्थाको रूपमा वर्णन गरे । रूससँग इरानमा युद्धका कारण रोकिएका वार्ता पुनः सुरु गर्ने उद्देश्यले युक्रेनी नेता जेलेन्स्कीले बुधबार अबेर अमेरिकी दूतहरू स्टिभ विटकोफ र जारेड कुश्नरसँग भिडियो कल गर्ने बताइएको छ ।

  • आजदेखि संसद् अधिवेशन

    आजदेखि संसद् अधिवेशन

    काठमाडौँ १९ चैतः गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।


    संसद्का बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । सङ्घीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ ।

    राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।

    प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

    आजको बैठकमा तीन अध्यादेश पेस हुँदैछन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ । त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य÷सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउनेछन् ।


    बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्नुहुने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनय गर्ने सम्भावित कार्यसूची रहेको छ।

    बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको महासचिव पाण्डेयले जानकारी दिए । सोही बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नेछन् । बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधासभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्नेछ ।

  • सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

    सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

    काठमाडौँ, १९ चैतः प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका जिम्मेवारीलाई पूरा गर्न जवाफदेहीपूर्ण र परिपक्व ढङ्गबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको आजदेखि प्रारम्भ हुने पहिलो अधिवेशनका सन्दर्भमा रासससँग कुराकानीमा उनीहरुले समग्र देश र जनताका हितमा तर्जुमा हुने कानुनदेखि जनसरोकारका मुद्दा सम्बोधन गर्ने कार्यमा हातेमालो गर्दै अघि बढ्ने धारणा व्यक्त गरे ।


    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सुहाङ नेम्वाङले यस पटक सदनमा सत्ता र प्रतिपक्षको भावनाले नभई देश र जनताको समृद्धि तथा कल्याणका लागि मिलेर काम गर्ने बताए । उनले भने, “प्रतिपक्षमा रहेर सरकारका कामको गुण र दोषका आधारमा समर्थन र आलोचना गर्छौं । असल कामका लागि रचनात्मक सल्लाह र सुझाव दिन्छौँ । असल काममा पनि विरोध गर्ने शैली अब कसैले पनि अपनाउनु हुन्न ।”

    प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरत खड्काले कांग्रेस लोकतान्त्रिक मूल्य मान्यतालाई शिरोधार्य गर्ने पार्टी भएकाले संसद्मा परिपक्व र जवाफदेही भएर प्रस्तुत हुने धारणा व्यक्त गरे । उनले भने, “विगतमा सरकार र पार्टी चलाउँदा कहीँकतै कमजोरी भएको छ, त्यस आधारमा यस पटक मतदाताले केही हदसम्म दण्ड पनि दिएका छन्, त्यसलाई स्वीकार्नुपर्छ । कांग्रेसले आफूलाई सुधार गर्दै समयसापेक्ष तुल्याउनुपर्छ । जनताले दिएको जनादेशअनुसार जवाफदेहिता र जिम्मेवारीपूर्वक परिपक्व र परिस्कृत ढङ्गले सदनमा प्रस्तुत हुन्छाँै ।”

    नेपाली कम्युष्टि पार्टीका सांसद युवराज दुलालले प्रतिपक्षको भूमिकामा रहेर विधिको शासन र सुशासनका मुद्दालाई प्राथमिकताका साथ उठाइने बताए । उनले भने, “किसानलाई राहत, युवालाई स्वदेशमै रोजगारी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई परिस्कृत र सुदृढ तुल्याउने तथा प्रदेश मन्त्रिपरिषद्को सङ्ख्या घटाउन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न संविधान संशोधनलगायत विषयलाई आगामी अधिवेशनमा महत्त्वका साथ उठाइनेछ ।”

    आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव
    सङ्घीय संसद्का पूर्वमहासचिव डा भरतराज गौतमले वर्तमान सरकार र संसद्ले गरिबीको रेखामुनि रहेका ठूलो जनसङ्ख्यालाई माथि उकास्न आर्थिक समृद्धि र विकासका योजना बनाउन सुझाव दिए । उनले भने, “हाम्रा उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्न सकिने पक्षलाई ध्यानमा दिँदै आगामी बजेटमार्फत विकास र आर्थिक ‘एजेन्डा’लाई बढी प्राथमिकता दिएर अघि बढ्नुपर्छ । आर्थिक विकास नभई अन्य क्षेत्रमा त्यति धेरै सफलता प्राप्त गर्न सकिन्न ।” प्रतिनिधिसभा सदस्यका लागि गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

  • नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

    नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

    एकराज पाठक–रासस

    काठमाडौँ, १९ चैतः लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जनआकाङ्क्षाको प्रतिनिधित्व गर्ने संस्था पनि हो । संसद्ले नै मुलुकको कार्यकारिणी सरकार निर्माण गर्दछ र त्यही सरकारले देश र जनताका लागि काम गर्छ । यसकारण मुलुकको संसद् र सरकार दुवैले जनताको आशा, अपेक्षा र आकाङ्क्षाको प्रतिनिधित्व गर्नुपर्दछ ।

    हालै सम्पन्न निर्वाचनमार्फत प्रतिनिधिसभामा उल्लेख्य सङ्ख्यामा युवा तथा नयाँ अनुहार जनताका प्रतिनिधिका रूपमा छानिएका छन् । विगतको संसद्मा प्रतिनिधित्व गर्ने अनुहारसँग तुलना गर्ने हो भने हालको प्रतिनिधित्व खासमा नाति पुस्तामा सरेको छ । केही दिनअघि संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराइरहेको दृश्यबाट त्यस्तै देखिन्थ्यो । यो नयाँ ऊर्जा, नयाँ सोच र नवीन ‘एजेन्डा’ बोकेको उमेर पनि हो र यसले जनताको भावना र चाहनाको पनि प्रतिनिधित्व गर्दछ ।

    नयाँ जनादेशसहित अब बस्न लागेको संसद्को अधिवेशन केवल औपचारिक बैठकमा मात्र सीमित नभएर देशको दिशा निर्धारण गर्ने एउटा महत्त्वपूर्ण अवसर पनि हो । युवा सांसदहरूको उपस्थितिले यो अधिवेशन अझ परिणाममुखी, उत्तरदायी र जनमुखी हुनुपर्छ । सुशासनको स्थापना र भ्रष्टाचार नियन्त्रण वर्तमान सरकार र संसद्को पहिलो प्राथमिकता हो । हुन त यो यसअघिका सरकार र संसद्को पनि प्राथमिकताकै विषय हो, तर हिजो ती प्राथमिकता केवल भाषणमा सीमित रहे । त्यसैकारण परिणाम पनि निस्किएन । वर्तमान संसद् र सरकार जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको हो । सो आन्दोलनको पहिलो र प्राथमिक ‘एजेन्डा’ भनेकै सुशासन र भ्रष्टाचारको अन्त्य हो । यसकारण पनि भ्रष्टाचारविरुद्ध कडा नीति, कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयनका उपायहरू यो संसद्ले तय गर्नुपर्छ ।

    सार्वजनिक निकायहरूको पारदर्शिता बढाउने र जिम्मेवार बनाउने विषयमा संसद्ले ठोस भूमिका खेल्नुपर्छ । संसद् सबै राजनीतिक दलहरूका आवाज र योजना मुखरित हुने थलो हो । विपक्षी दलहरूले अघि सार्ने योजना र उनीहरूले राख्ने गुनासा पनि पहिले संसद्मै आउँछन् र संसद्को बाटो भएरै सरकारसमक्ष पुग्ने गर्दछन् । यसकारण पनि यस विषयमा संसद् अझ बढी जागरुक र चनाखो हुनुपर्ने अवस्था छ ।

    यो उद्देश्य प्राप्तिका लागि सबैभन्दा पहिले नयाँ संसद्ले जनताको विश्वास जित्न पारदर्शिता र उत्तरदायित्वमा ध्यान दिनुपर्दछ । हिजोका दिनमा संसद्प्रतिको जनताको बुझाइ र भोगाइमा व्यापक परिवर्तन ल्याउनु जरुरी छ । विगतको त्यो निराशा र अविश्वासलाई चिर्न संसद्ले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्दै प्रत्येक निर्णय र गतिविधि जनउत्तरदायी र जनमुखी बनाउन आवश्यक छ । संसद्का छलफलहरू पनि केवल संसदीय व्यवस्थाको निरन्तरता र शब्दजालले भरिएका लम्बेतान बहस मात्र नभएर सार्थक, तथ्यपरक र जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा केन्द्रित हुनु जरुरी छ ।

    जनतालाई दिनुपर्ने ‘डेलिभरी’का विषमा केन्द्रित नीति तथा कानुन निर्माण अबको संसद्को मुख्य आकर्षण हुनेछ । यस विषयमा यो संसद्ले नवीनता र व्यावहारिकता थप्ने अपेक्षा जनताको छ । युवा सांसदहरूको आगमनले सूचना प्रविधिको विकास, नवप्रवर्तनसहितको उद्यमशीलता, रोजगारी सिर्जना, शिक्षामा सुधार, स्वास्थ्य सेवाको विस्तार जस्ता क्षेत्रमा नयाँ सोचले प्रवेश पाउने अपेक्षा छ । देशका विद्यमान समस्या जस्तै बेरोजगारी, गरिबी, भ्रष्टाचार र असमानताको समाधानतर्फ केन्द्रित एजेन्डा पनि संसद्ले सुरुमै तय गर्नुपर्दछ ।

    संसद्मा एउटै पार्टीको बहुमत नरहेको धेरै समय भयो, जसकारण मुलुकमा राजनीतिक स्थिरता छैन । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट मात्र होइन दुई तिहाइ नजिकको जनमत हासिल गरेकाले यो जनमतको सम्मान गर्दै हिजोका दिनमा संसद्भित्र देखिने गरेका दलहरूबीचका शक्ति सङ्घर्ष एवं संसद्कै गरिमा घटाउने खालका क्रियाकलापहरू हुन दिने छैन । यसकारण राष्ट्रिय हितका मुद्दाहरूमा संसद्ले साझा समझदारी कायम गर्दै सहकार्यको संस्कृति विकास गर्ने अपेक्षा छ । बहस र आलोचना त संसद्मा हुन्छ नै, त्यो पनि आवश्यकताको सिद्धान्तका आधारमा होस् र विकास र समृद्धिको मार्गमा संसदीय कारबाही अघि बढोस् भन्ने आशा सबै नेपाली जनताले राखेका छन् ।

    हिजोका दिनमा सांसदहरूले जनतासँगको सम्बन्धलाई सुमधुर बनाउन सकेनन् । उनीहरू चुनाव जितेर राजधानी फर्किएपछि प्रायः गाउँ फर्किएनन् । यो कसैप्रतिको आरोप नभएर प्रतिनिधिसभाको गत निर्वाचनमा जनताले नै मत माग्न जाने उम्मेदवारहरूसँग गरेको गुनासो हो । वर्तमान संसद्का प्रतिनिधिहरूले कम्तीमा पनि आफ्ना मतदाताको आवाज बन्नुपर्ने दायित्वलाई नभुलून् र नियमित रूपमा जनतासँग संवाद गरी समाधानका प्रयास गरून् । यो जनताको अपेक्षा हो र यसले लोकतन्त्रलाई अझ सशक्त पनि बनाउनेछ ।

    विकास निर्माण होस् या अन्य कुनै अग्रगामी योजना तर्जुमा, सबैभन्दा जटिलता र समस्या देखाउने गरिएको विषय कानुनको अभाव हो । धेरै काम कानुनको अभावले रोकिएका र कतिपय योजनाको ढिलाइमा कानुन नै बाधक देखिने गरेको विगतमा धेरै सुनिएको हो । यसकारण पनि यी सबै बाधा–व्यवधानहरूको अध्ययन गरी प्रभावकारी कानुन निर्माण संसद्को यो अधिवेशनको प्राथमिकतामा पर्नुपर्दछ । यो अधिवेशनले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित कानुनहरूलाई प्राथमिकता दिनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र सुशासनका क्षेत्रमा सुधार ल्याउने विधेयकहरू ल्याएर छिटो पारित गर्नुपर्ने आवश्यकता छ ।

    सरकारको कामको निगरानी त संसद्को मुख्य काम हो नै । संसद्ले नै सरकारलाई कामयाबी र जवाफदेही बनाउनु पर्दछ । मन्त्रीहरूलाई कामका विषयहरूमा प्रश्न गर्ने, कामको प्रगति माग्ने र समीक्षा गर्ने अनि आवश्यक निर्देशन दिने कार्य पनि संसद्को हो । त्यसैले यस काममा पनि संसद् सक्रिय हुनु जरुरी छ ।

    यसैगरी, आर्थिक विकास र बजेट तयारीको दिशामा पनि यो संसद् थप सक्रिय हुनुपर्दछ । खासमा सरकारले सुशासन र विकासका कामहरू दिने र सेवाको ‘डेलिभरी’ दिने काम बजेटमार्फत गर्नुपर्ने हुन्छ । यसकारण देशको आर्थिक अवस्था सुधार गर्न दीर्घकालीन योजना, लगानीमैत्री वातावरण, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा केन्द्रित छलफललाई संसद्ले थप सिर्जनात्मक र प्रभावकारी बनाउनुपर्ने हुन्छ । यो पनि वर्तमान संसद्को आगामी बजेटका लागि एक प्रकारको स्पष्ट मार्गदर्शन हो ।

    कतिपय पुराना राम्रा योजना तथा कार्यक्रमलाई निरन्तरता दिए पनि यो सरकारले कामको ‘मोडालिटी’ भने नयाँ नै प्रस्तुत गर्नुपर्ने छ । युवामैत्री र नवीन एजेन्डा नै वर्तमान सरकारले अघि बढाउनुपर्दछ । यसका लागि आवश्यक पर्ने नियम, कानुनमा यो संसद्ले ध्यान दिनुपर्ने हुन्छ । नयाँ सांसदहरूले ‘स्टार्टअप’, ‘डिजिटल’ अर्थतन्त्र, प्रविधि, नवप्रवर्तन जस्ता विषयमा विशेष प्राथमिकता दिनुपर्छ र यसका लागि आवश्यक कानुन निर्माणमा जुट्नुपर्दछ । खासमा यसले नै मुलुकलाई आधुनिक विकासतर्फ अघि बढाउन मद्दत गर्नेछ ।

    राष्ट्रिय एकताका साथै मुलुकको निकासका लागि आवश्यक पर्ने सहकार्यको वातावरण निर्माण गर्ने थलो संसद् हो । संसदीय प्रजातन्त्रमा संसद् विपक्षीहरूको सत्ता हो भनिन्छ । विपक्षी दलहरूले आफ्ना कुरा सदनमै राख्छन् र सरकारको ध्यानाकर्षण गराउँछन् । सरकारले पनि विपक्षीहरूको मागको तथा जनताका आवाजको जवाफ सदनमै दिनुपर्दछ । त्यसैले दलहरूबीच सहकार्यको भावना विकास गर्दै राष्ट्रिय हितका मुद्दामा एकजुट भएर काम गर्न यो संसद्को अभिभारा गहन हुन आउँछ । विगतमा संसद् अवरोधको शृङ्खला हामीले निकै लामो देख्दै आएका छौँ । संसद् अवरोध हुने बहाना विपक्षीहरूले खोजी नै रहेका हुन्छन् । यसलाई पनि सरकारले समयमै सम्बोधन गर्नुपर्दछ ।

    संसद्लाई सिधै जनतासँग जोड्नका लागि संवाद र सहकार्य जरुरी छ । सरकारले पनि संसद्लाई बिजनेस दिनुपर्ने हुन्छ अनि संसद्ले सरकारसँगको समन्वयलाई प्रभावकारी बनाउनुपर्दछ । संसद्मा मन्त्रीको उपस्थिति जरुरी छ र आफ्नो मन्त्रालयका बारेमा संसद्मा उठेका प्रश्नहरूको जवाफ पनि मन्त्रीहरूले त्यहीँ नै दिँदा प्रभावरकारी हुन्छ । यसका लागि अधिवेशनका छलफलहरू पनि जनताले चासो राख्ने र जनजीविकासँग जोडिने विषयमा केन्द्रित हुनुपर्छ । सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका मुद्दाहरू उठाउने र समाधान खोज्ने प्रयास यही थलोबाट गर्नुपर्छ । अन्यथा यो संसद् पनि हिजोका जस्तो निस्प्रभावी र जनताको आकर्षण हुन नसकेको संसद्का रूपमा हुन आउनेछ ।

    संसद् केवल नीति र कानुन बनाउने मात्र होइन, तिनको प्रभावकारी कार्यान्वयन भए– नभएको अनुगमन गर्ने पनि निकाय हो । यस कार्यका लागि प्रभावकारी संसदीय संयन्त्र आवश्यक छ र त्यसैम आधारमा संसद्को काम–कारबाहीका साथै संसद्ले निर्माण गरेका कानुन, नीति नियमहरूको कार्यान्वयनको अवस्थालाई बलियो बनाउनु पर्दछ ।
    यसरी यो संसद् अधिवेशनले खासमा काम गर्ने संसद् एवं कामयाबी संसद्को सन्देश दिन सक्नुपर्दछ । यसले थोरै बहस र धेरै परिणामलाई प्राथमिकतामा राख्नुपर्छ । जस्तो कि बजेट छलफलका क्रममा आउने एक रुपैयाँ घटाइयोस् भन्ने जस्ता प्रस्तावहरूमा दिनहुँ छलफल हुुने, तर पछि त्यो प्रस्ताव फेल हुनेजस्ता नाटकीय कार्यसूचीमा अल्मलिएर समय बर्बाद गर्ने जस्ता काम यो संसद्मा हुनुहुँदैन ।

    यस्तै कामहरूका साथै नाराबाजी तथा सानातिना दलीय मागहरूमा पनि संसद् अवरुद्ध गर्ने जस्ता कारण हिजोका दिनमा संसद्प्रति जनताको धारणा सकारात्मक छैन । यसलाई चिर्नका लागि पनि आगामी संसद् अधिवेशनले जनअपेक्षाअनुसार काम गरेर संसद्प्रति जनविश्वास आर्जन गर्ने र मजबुत बनाउने काममा ठूलो योगदान दिन सक्दछ । हालको संसद्मा जसरी युवा र सिर्जनशील उमेर समूहकाहरूको बाहुल्यता छ, ठीक त्यसैगरी सिर्जनात्मक काम गर्न सक्यो भने नेपालको संसदीय मूल्यमान्यतामा यो संसद्को कामकारबाही नयाँ मानक पनि बन्नसक्छ ।

    यदि यसो हुन सक्यो भने अबको संसद्ले दीर्घकालीन दृष्टिकोणका साथ देशको समृद्धि र सुशासनतर्फ मुलुकलाई मार्गनिर्देश गर्न सक्दछ । नयाँ पुस्ताको नेतृत्वले पुराना कमजोरीहरूलाई सुधार्दै सकारात्मक परिवर्तनको उदाहरण प्रस्तुत गर्न सकेमा मु्लुकको यो संसद् साँच्चिकै नयाँ सोच, नयाँ ‘एजेन्डा’ र नयाँ दिशा बोकेको संस्थाका रूपमा सुपरिचित र स्थापित हुनेछ ।

    यसका लागि नयाँ सांसदहरूको ऊर्जा, प्रतिबद्धता र जनमुखी कार्यशैली आवश्यक छ । संसद्लाई प्रभावकारी, विश्वासिलो र परिणाममुखी बनाउन अबको संसद् हिजोको जस्तो निरर्थक बहस मात्र गर्ने नभई देश र जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने दिशामा अघि बढ्न सक्दछ । आजदेखि सुरु हुन लागेको संसद् अधिवेशनबाट नेपाली जनताले यही अपेक्षा गरिरहेका छन् ।

  • प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    काठमाडौँ, १९ चैतः वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन गरेका हुन् । सन्देशमा उनले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावनाअनुसार अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।


    साथै प्रधानमन्त्री मिशुस्टिनले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय सहयोग विस्तारमा टेवा पुग्ने उल्लेख गर्नुभएको यहाँस्थित रूसी राजदूतावासले जनाएको छ । रूसी प्रधानमन्त्रीले आपसी सहकार्य दुवै देशका दीर्घकालीन हितअनुकूल हुने विश्वास व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि तथा कार्यकालको सफलताको कामना गरेका छन् ।

  • पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

    पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, १९ चैतः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

    त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी र तराई भेगमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

    हिमाली क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमसम्बन्धी जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह पनि गरेको छ ।

  • शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    भक्तपुर, १९ चैतः यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् । परीक्षा यही चैत २९ गतेसम्म हुने छ । परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी छन् । जापानको एक परीक्षा केन्द्रमा २३ जना सहभागी भएका छन् ।

    परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी छन् । तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकाहरुलाई थप एक घण्टा ३० मिनेटको व्यवस्था गरिएको छ । त्यसैगरी, उनीहरुलाई लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययन गरेकालाई अनुमति दिइएको छ ।

  • आज विश्व अटिजम सचेतना दिवस

    आज विश्व अटिजम सचेतना दिवस

    काठमाडौं, १९ चैतः आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र सोच्ने शैली फरक हुन्छ । अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।


    राष्ट्रसङ्घले अटिजम भएका हरेक व्यक्तिको योगदान र अधिकारलाई सम्मान गर्ने सन्देश प्रवाहका निम्ति यस वर्ष यो दिवस मनाउन सदस्य राष्ट्रहरूसँग अनुरोध गरेको छ । यसै अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयनलाई प्रवर्द्धन गर्दै अटिजम भएकाहरूको समाजमा समान सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ ।
    –––तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    काठमाडौँ, १९ चैतः बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले बालाजुका २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको बालाजु बाइसधारा उद्यानका प्रमुख रवीन मानन्धरले राससलाई जानकारी दिए । बौद्ध र हिन्दू धर्मावलम्बी मेला भर्न आएका उहाँले जानकारी द्रिए । नेवार समुदायले आज ‘मन्नादी’ देवीको जन्म मनाउने प्रचलन पनि छ ।

    विशेष गरी महिलाले बाइसधारामा स्नान गरी मन्नादीको पूजाअर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । बालाजुमा स्नान गर्नाले छालासम्बन्धी रोग नलाग्ने स्थानीय बूढापाकाको विश्वास छ । बालाजुमा नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गर्नुभएको र १८५५ सालमा राजा रणबहादुर शाहले अर्को एउटा ठूलो धारा बनाएको बाइसधाराको इतिहासमा उल्लेख भएको प्रमुख मानन्धरले बताए ।

  • राष्ट्रिय सुरक्षाको विषय पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

    राष्ट्रिय सुरक्षाको विषय पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

    काठमाडौँ, १८ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिएका छन् । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरिएको सिसं ११ उच्चस्तरीय राष्ट्रिय सुरक्षातालिमको समापनका अवसरमा प्रधानसेनापति सिग्देलले सो धारणा राख्नुभएको हो ।

    राष्ट्रिय सुरक्षा कुनै एक निकायको मात्र जिम्मेवारीको विषय नभएर सबैको साझा चासोको विषय भएको बताउँदै उनले भूराजनीतिलाई प्रविधिसँगै पनि जोडेर हेर्नुपर्ने खाँचो औँल्याए । सो अवसरमा प्रधानसेनापति सिग्देलले दुई सातासम्म सञ्चालन भएको तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । रक्षा सचिव केदारनाथ शर्माले मायाको चिनो प्रदान गरेका थिए ।


    कलेजका निमित्त शिक्षाध्यक्ष सहायक रथी दिलविक्रम सुब्बाले तालिमको महत्त्व र उपादयिताका बारेमा प्रकाश पारेका थिए । तालिममा नेपाल सरकारका प्रथम तथा दितीय श्रेणीका अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च अधिकृत, सञ्चारकर्मीलगायत गरी ३० जनाको सहभागिता रहेको थियो । तालिमकै दौरानमा ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय सेमिनारको आयोजना गरिनुको साथै सम्पन्न सहभागीलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गराइएको थियो ।

  • रुसको सैन्य विमान दुर्घटना, २९ को मृत्यु

    रुसको सैन्य विमान दुर्घटना, २९ को मृत्यु

    मस्को, १८ चैत (रासस–एपी) । रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ । घटनाले सैन्य उडान सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने प्रारम्भिक रूपमा प्राविधिक खराबीलाई दुर्घटनाको कारण मानिएको छ ।

    रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीहरूले जनाएअनुसार एएन–२६ सैन्य यातायात विमानमा छ जना चालक दल र २३ जना यात्रु सवार थिए । उनीहरूको दुर्घटनामा परेर ज्यान गएको हो । विमानले नियमित उडान गरिरहेका बेला मङ्गलबार साँझ करिब ६ बजेतिर सेनाले त्यससँग सम्पर्क गुमाएको थियो ।

    उक्त विमान क्रिमियन प्रायद्वीपमाथि निर्धारित मार्गमा उडिरहेको थियो । सन् २०१४ मा रुसले युक्रेनबाट यो क्षेत्र कब्जा गरेको थियो, जसलाई अन्तर्राष्ट्रिय समुदायले अवैध मानेको छ । दुर्घटनापछि उद्धार टोली परिचालन गरिए पनि घटनास्थलमै सबैको मृत्यु भएको पुष्टि भएको छ । समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार रक्षा मन्त्रालयले प्रारम्भिक अनुसन्धानका आधारमा दुर्घटना प्राविधिक खराबीका कारण भएको जनाएको छ । विमानमा कुनै बाह्य आक्रमण वा हस्तक्षेप नभएको विश्वास गरिएको पनि मन्त्रालयको भनाइ छ ।

    दुर्घटनास्थलका स्रोतहरूलाई उद्धृत गर्दै राज्य सञ्चालित तास र आरआइए नोभोस्तीले विमान चट्टानी क्षेत्रमा खसेको जानकारी दिएका छन्, जसका कारण क्षति झनै भयावह भएको बताइएको छ । एएन–२६ सोभियतकालीन डिजाइनमा आधारित सैन्य यातायात टर्बोप्रप विमान हो, जुन विभिन्न सैन्य र लजिस्टिक प्रयोजनका लागि प्रयोग हुँदै आएको छ ।

  • एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै, सबै तयारी पूरा

    एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै, सबै तयारी पूरा

    रमेश गिरी/रासस

    भक्तपुर, १८ चैत । यसवर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोलि १९ गते बिहीबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ सुरु गर्नेगरी एसइई परीक्षाको तयारी पूरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।


    उनले भने, “परीक्षाको सबै तयारी पूरा गरेका छौँ, हिजो मात्रै सबै जिल्ला परीक्षा समन्वय समितिका प्रमुखहरूसँग जुम बैठक सम्पन्न गर्‍यौँ, सबै जिल्लामा सहज र शान्तिपूर्ण रूपमा परीक्षा हुनेमा ढुक्क छौँ, विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागी हुन आह्वान गर्दर्छौँ ।” चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिने छन् ।

    परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् भने परीक्षा दिने छन् । परीक्षा दिनेमा दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य सात जना परीक्षार्थी रहेका छन् ।

    उहाँका अनुसार परीक्षामा सात प्रदेशमध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेस प्रदेशबाट ९० हजार २४३ जना, बागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदूरपश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

    परीक्षा नियन्त्रक अधिकारीका अनुसार भोलि परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछन् ।

    बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो । पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न वा तस्बिर लिन मिल्ने जानकारी दिँदै परीक्षा नियन्त्रक अधिकारीले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए ।

    परीक्षाका लागि सातै प्रदेशमा फरक प्रश्न पत्र छपाइ गरी प्रश्नपत्र सबै जिल्लामा पुगेको जानकारी दिँदै उहाँले परीक्षामा सोधिने प्रश्न छ वटै अनिवार्य विषयका प्रदेशअनुसार फरकफरक प्रश्नपत्र छापिएको र यदि कतै प्रश्नपत्र बाहिरियो भने सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्द गरी पुनःप्रश्नपत्र छपाइ गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए ।


    प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरेअनुसार आवश्यकताका आधारमा सुरक्षाकर्मी परिचालन हुनेछन् । यद्यपि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।

    परीक्षा नियन्त्रक अधिकारीका अनुसार बालसुधार गृहका परीक्षार्थीलाई नजिकैको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरिएको छ । विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीका हकमा अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ । तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकालाई थप एक घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

    एक महिनामा नतिजा प्रकाशन गरिने

    प्रधानमन्त्री बालेन्द्र शाहको १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न बोर्डलाई निर्देशन दिनुभएपछि बोर्डले एक महिनामै नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले व्यस्त कार्यतालिका र प्राविधिक कारणले १५ दिनमा नतिजा सार्वजनिक गर्न नसकिने जानकारी गराउँदै एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको उनले जानकारी दिए । यसअघि बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो ।

    परीक्षा नियन्त्रक अधिकारीले विगतका वर्षहरूमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने र यसवर्ष एक महिनाभित्रै परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी गरिएको जानकारी दिए । यसवर्ष परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच परीक्षा भएको विषयको सोही दिन परीक्षा केन्द्रमा परीक्षक र संपरीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धाङ्कपत्र शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइले तोकिएको समयमा लब्धाङ्कपत्रहरू परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यवस्था गरिएको छ ।

  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै

    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै

    वासिङ्टन, १८ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरान युद्धबारे जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण सुरु भएयता घट्दो अनुमोदन दर र बढ्दो आर्थिक चिन्ताले देशमा राजनीतिक दबाबलाई गहिरो बनाएका समय राष्ट्रका नाममा पहिलो सम्बोधन गर्नेछन् । ह्वाइट हाउसले सम्बोधनको बारेमा कुनै विवरण दिएको छैन, तर यो सम्बोधनको मिति राष्ट्रपति ट्रम्पले इरानले युद्ध रोक्न चाहेको दाबी गरेको केही घण्टापछि आएको हो ।

    “इरानका राष्ट्रपतिले अमेरिकासँग युद्धविरामका लागि आग्रह गरेका छन्, ‘राष्ट्रपति ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेखेका छन् । “स्वतन्त्र आवागमनका लागि हर्मुज घाँटी खुला गर्न इरान तयार हुनुपर्नेमा हामी जोड दिन्छौँ । त्यसो भएमा युद्ध रोक्ने बिषयमा हामी विचार गर्नेछौँ । त्यतिबेलासम्म, हामी इरानलाई अस्तव्यस्त अवस्थामा धकेल्नेछौँ वा उनीहरूले चाहेजस्तो ढुङ्गे युगमा फर्कनेछन् ।”

    राष्ट्रपति ट्रम्पको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको एक महिनाभन्दा बढी समयपछि राष्ट्रपति ट्रम्पले वासिङ्टन समय अनुसार बुधबार राति ९ः०० बजे सम्बोधन गर्नेछन् । उनको टिप्पणी एक अनिश्चित राजनीतिक क्षणमा आएको हो।

    पछिल्लो सर्वेक्षणले ट्रम्पको ख्याति अनुमोदन दर ४० प्रतिशतभन्दा तल झरेको देखाएको छ । युद्ध र यसको प्रभावले पारेको आर्थिक गिरावटले अमेरिकी मतदाताहरू रूष्ट छन् । त्यसैले उहाँलाई अनुमोदन गर्नेको प्रतिशत ५० को दशकको मध्यतिरभन्दा माथि चढेको छ । इरान अभियानको समर्थन आफैँमा अस्पष्ट छ, बहुसंख्यकले आक्रमणको विरोध गरिरहेका छन् र स्वतन्त्रहरू यसको विपक्षमा छन् ।

    आर्थिक चित्रले समस्यालाई झनै जटिल बनाएको छ । पेट्रोलको मूल्य वर्षौंमा पहिलो पटक प्रति लिटर एक डलरभन्दा माथि बढेको छ, भने उपभोक्ताको विश्वास कमजोर भएको छ । यसले अर्थव्यवस्थामा ट्रम्पको पहिले नै देखिको कमजोर अडानलाई थप तल तान्छ।

    यसैबिच, राष्ट्रपतिको सन्देश वृद्धि र फिर्ताको बीचमा मोडिएको छ। हालैका दिनहरूमा ट्रम्पले दुई वा तीन हप्ताभित्र युद्ध अन्त्य हुन सक्ने बताउँदै अमेरिकाले आफ्नो उद्देश्य हासिल गरेको कुरामा जोड दिएका छन् । यद्यपि उनले इरानको ऊर्जा पूर्वाधारमा विस्तारित आक्रमणको चेतावनी पनि दिएका छन् । स्थल कारबाहीको सम्भावनालाई पनि अघि सारेका छन् । सहयोगीहरूले निजी रूपमा प्रशासनको दीर्घकालीन रणनीतिको बारेमा अनिश्चितता स्वीकार गरेका छन् ।

  • काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

    काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

    काठमाडौँ, १८ चैत । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज नयाँ बसपार्क, कलङ्की र बल्खुबाट उनीहरुलाई पक्राउ गरेको हो । ती स्थानमा सञ्चलित टिकट काउन्टरमा आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले गोङ्गबुस्थित नयाँ बसपार्कबाट पाँच, कलङ्कीबाट २४ र बल्खुबाट १९ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

  • एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

    एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

    काठमाडौँ, १८ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई प्रदान गरिएको छ ।
    पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिए । आज ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय बसेको संसदीय दलको संयुक्त बैठकमा पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष थापालाई जिम्मेवारी तोकेको जानकारी गराइएको उनले बताए ।

    अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बैठकमा जानकारी गराइएको थियो । अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार पक्राउ गरेको छ ।

  • एमाले संसदीय दलको नेतामा थापा चयन

    एमाले संसदीय दलको नेतामा थापा चयन

    काठमाडौँ, १८ चैत स् नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन् । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन भएका हुन् । बैठकमा दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि पछि निर्विरोधरूपमा थापा चयन भएको एमालेका सांसद ऐनबहादुर महरले जानकारी दिए । उपाध्यक्ष थापालाई सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत पदाधिकारीले बधाई दिए । प्रतिनिधिसभामा एमालेका २५ सदस्य छन् ।

  • नयाँ सरकार गठनपछि निरन्तर ओरालो यात्रामा नेप्से, आज ७४ अङ्कको गिरावट

    नयाँ सरकार गठनपछि निरन्तर ओरालो यात्रामा नेप्से, आज ७४ अङ्कको गिरावट

    काठमाडौँ, १८ चैतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरावट हो । आज ३४७ कम्पनीको तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता शेयर एक लाख २३ हजार ७३० पटक खरिदबिक्री हुँदा रू १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ ।

    बैंकिङ दुई दशमलव ३१, विकास बैंक तीन दशमलव १८, वित्त तीन दशमलव शून्य तीन, होटल तथा पर्यटन दुई दशमलव १२, जलविद्युत् दुई दशमलव ८१, लगानी दुई दशमलव ६७ र जीवन बिमा दुई दशमलव शून्य दुई प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ३९, लघुवित्त एक दशमलव ९९, म्युचुअल फण्ड शून्य दशमलव ९७, निर्जीवन बिमा दुई दशमलव २२, व्यापार तीन दशमलव ९६ र अन्य समूह पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।

    आजको कारोबारमा रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइस्योरेन्स लिमिटेडको रू ७१ करोड ३१ लाख २६ हजार ६४४ बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा कुमारी बैंक लिमिटेडको १८ लाख ८२ हजार २०९ बराबरको कारोबार भएको छ ।

  • गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    भैरहवा (रुपन्देही), १८ चैतः गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तरराष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तरराष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको छ । “हामी गर्मीयामको तालिकादेखि उडान सङ्ख्या बढाउने लक्ष्यसहित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेका छौँ”, उनले रासससँग भने।

    हालसम्म थाई एयर एसियाको उडानमार्फत बौद्ध धर्मावलम्बीलाई लक्षित सेवा दिँदै आइएको थियो । पछिल्लो हिउँदे तालिकामा सातामा दुई दिन सञ्चालन गरिएको उक्त उडानलाई आगामी याममा थप विस्तार गर्ने तयारी भइरहेको विमानस्थल प्रशासनले जनाएको छ । लुम्बिनी–गयाजस्ता बौद्ध सर्किटलाई जोड्ने उडान विस्तारले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    विमानस्थलको प्रभावकारी उपयोगका लागि ‘फिफ्थ फ्रिडम’ उडान अवधारणा अघि सारिएको विमानस्थलका महाप्रबन्धक साहले उल्लेख गरे । यस व्यवस्थाअनुसार विदेशी वायुसेवा कम्पनीले भैरहवालाई ट्रान्जिट विन्दु बनाउँदै तेस्रो मुलुकसम्म उडान सञ्चालन गर्न सक्नेछन् । उदाहरणका रूपमा कतार एयरवेजजस्ता वायुसेवाले दोहा–भैरहवा–तेस्रो देश र पुनः सोही मार्गमार्फत उडान सञ्चालन गर्न सक्ने सम्भावना रहेको उनले बताए ।


    यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक नीतिगत तथा प्राविधिक तयारी अघि बढाइएको जनाएको छ । सरकारी तहबाट शीघ्र आवश्यक निर्णय हुने अपेक्षा रहेको महाप्रबन्धक साहले बताए । “अहिले पनि कतार एयरवेजले कतारबाट नभई अन्य मुलुकबाट उडान गरिरहेको छ, हामीले कतार एयरवेजलाई भैरहवाबाट नै ‘फिफ्थ फ्रिडम’ अनुरुप उडान गर्नेगरी तयारी गरिरहेका छौँ”, उनले भने, “यस विषयमा शीघ्र मन्त्रिपरिषद्ले निर्णय गर्नेमा हामी विश्वस्त छौँ ।”

    उडान सङ्ख्या वृद्धि गर्ने अर्को महत्त्वपूर्ण योजनाअन्तर्गत नेपाल वायुसेवा निगमको एउटा जहाज भैरहवामा ‘बेस’ राख्ने तयारी गरिएको विमानस्थलका महाप्रबन्धक साहले जानकारी दिए । यसले यहाँबाट अन्तरराष्ट्रिय उडान सञ्चालनलाई नियमित र भरपर्दो बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । रुपन्देही निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाँले अबको केही दिनमा नेपाल एयरलाइन्सले भैरहवालाई बेस बनाएर उडान गर्ने बताए ।

    हाल वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको आवागमन सहज बनाउन विभिन्न चार्टर उडान सञ्चालन भइरहेका छन् । कुवेत एयरवेजले कुवेत सिटी–भैरहवा उडानमार्फत नेपालीलाई स्वदेश ल्याइरहेको छ भने साउदी अरबको दमामबाट पनि उडान अनुमति प्रक्रियामा रहेको जानकारी विमानस्थलका महाप्रबन्धक साहले दिए । उनका अनुसार चार्टरसँगै नियमित उडानलाई पनि समान रूपमा प्राथमिकता दिइनेछ ।

    “चार्टर र नियमित दुवै उडानलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँ, शीघ्र नियमित उडान थप सुदृढ हुनेछ”, उनले भने। उक्त पहलले लुम्बिनी केन्द्रित धार्मिक पर्यटन प्रवर्द्धनका साथै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकका लागि सहजता ल्याउने विश्वास गरिएको छ । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सके क्षेत्रीय आर्थिक गतिविधि वृद्धि हुनुका साथै समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने सरोकार भएकाहरूको अपेक्षा छ ।

  • नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नारायण न्यौपाने र अशोक घिमिरे–रासस
    काठमाडौँ १८ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन भोलि (बिहीबार)देखि सुरु हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा महत्वका साथ हेरिएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ः०० बजेका लागि आह्वान गरेका छन् । प्रतिनिधिसभाको उक्त अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रियसभाको बैठक सङ्घीय सचिवालयस्थित पूरानो भवनमा बस्नेछ । यो राष्ट्रियसभाको २०औँ अधिवेशन हो ।

    विसं २०६४ मा ६०१ सदस्यीय संविधानसभा गठन भएपछि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको प्रतिनिधिसभाको अधिवेशन १८ वर्षपछि सिंहदरबारस्थित संसद् भवनमा बस्न लागेको हो । विसं २०१५ मा सम्पन्न पहिलो आमनिर्वाचनपछिका संसद् अधिवेशन सिंहदरबारस्थित पूरानो संसद् भवन (ग्यालरी बैठक)मा बस्दै आएको थियो । राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

    निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपति समक्ष बुझाएको थियो । निर्वाचनमार्फत जनताले रास्वपालाई मुलुकमा स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन करिब दुई तिहाइको बहुमतसहितको जनादेश दिएका छन् ।

    सङ्घीय संसद् सचिवालयले दुवै सदनको बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिका हिसाबले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बैठकमा सदस्य बस्ने क्रमको निर्धारण विगतका परम्पराअनुरुप तय गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभामा सभामुखको आसनको अगाडि दाहिनेतर्फ सत्तापक्ष, बीचमा सरकार र बायाँरिर्फ प्रतिपक्ष रहने व्यवस्था मिलाइएको छ ।

    उक्त व्यवस्थाअनुसार प्रतिनिधिसभामा प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलको नेताको आसन नजिकै रहनेछ । लोकतान्त्रिक संसदीय अभ्यास अपनाएका मुलुकमा संसद्लाई प्रतिपक्षको सत्ताका रूपमा लिइन्छ । यसपटक संसद्मा विगतका अधिवेशनजस्तो नभई सत्तापक्षको लहरमा मन्त्रिपरिषद्का सदस्य र रास्वपाका सांसद तथा प्रतिपक्षतर्फ एक स्वतन्त्रसहित ९३ सांसद छन् । जनताको प्रतिनिधिमूलक सर्वोच्च संस्थाका रूपमा संसद्लाई लिने गरिएको छ ।

    सभामुख र उपसभामुख चयन आगामी अधिवेशनको ‘विजनेस’

    प्रतिनिधिसभाको पहिलो अधिवेशन भएकाले आगामी अधिवेशन सभामुख र उपसभामुख चयन मुख्य कार्यसूचीमा रहनेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभा सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुख निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठकमा सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले सांसदलाई स्वागत गर्ने तथा अधिवेशन आह्वानसम्बन्धी विषयमा जानकारी दिने पहिलो कार्यसूची रहनेछ ।

    सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका तथा अन्य कार्यसूची सर्वदलीय बैठकमा भएको सहमतिका आधारमा निर्धारण हुनेछ । संसद् सचिवालयले आज सर्वदलीय बैठक आयोजना गरेको छ । यस अधिवेशनमा सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने सङ्घीय निजामती ऐन, प्रहरी ऐन, विद्यालय शिक्षालगायत महत्वपूर्ण विधेयक प्रस्तुत गरी पारित गर्नुपर्ने दायित्व छ ।

    यही चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा ४५ दिनभित्र सङ्घीय निजामती विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने उल्लेख छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीबाट १६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्यको प्रतिनिधित्व हुन्छ ।

    प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ । लैङ्गिक प्रतिनिधित्वका हिसाबले प्रतिनिधिसभामा १७९ पुरुष र ९६ जना महिला हुनुहुन्छ । राजनीतिमा पुस्तान्तरणको माग गर्दै गत भदौमा भएको जेनजी आन्दोलनको मर्म र भावनाअनुसार अहिलेको संसद्मा युवा सांसदको बाहुल्यता देखिन्छ । राष्ट्रपति पौडेलले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ ।

    संसद् र यसका मुख्यकार्य

    नेपालको संविधानले सङ्घीय संसद्का रूपमा दुई सदनात्मक व्यवस्थापिकाको व्यवस्था गरेको छ । सङ्घीय सदनको तल्लो सदनलाई प्रतिनिधिसभा र माथिल्लो सदनलाई राष्ट्रियसभा भनिन्छ । सङ्घको अधिकार क्षेत्रका विषयमा कानुन निर्माण, सरकार गठन, सरकारका नीति तथा कार्यक्रम र बजेटमाथि छलफल र पारित, संविधान संशोधन र जनमत सङ्ग्रहको निर्णय, सरकारका कामकारबाहीको निगरानी, निर्देशन र सुुझाव प्रस्तुत तथा अन्तरराष्ट्रिय सन्धिसम्झौताको अनुमोदन सङ्घीय संसद्को मुख्यकार्य जिम्मेवारी हो ।

    प्रतिनिधिसभा मातहत हाल विभिन्न १० वटा विषयगत समिति छन् । अर्थ, अन्तरराष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्यव्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति प्रतिनिधिसभा मातहतका समिति हुन् ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिका रूपमा संसदीय सुनुवाइ र राज्यका निर्देशनात्मक सिद्धान्त, नीति तथा दायित्व कार्यन्वयन र अनुगमन तथा मूल्याङकन समिति रहेका छन् । नयाँ निर्वाचनपछि गठन हुने सभाले संसद्को नियमावली संशोधन वा परिमार्जन र संसदीय समितिको सङ्ख्या हेरफेर गर्न सकिनेछ ।

  • हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम

    हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम

    टीकापुर ९कैलाली०, १८ चैत । टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ । कर्णाली नदीले पानीको धार परिवर्तन गर्दा टीकापुर बृहत् उद्यान क्षेत्रमा नदी कटान तीव्र भइरहेको स्थानीयले बताएका छन् । “बर्खा लागेमा नदी उद्यान हुँदै बस्तीमा पस्ने जोखिम बढेकाले समयमै नियन्त्रणका लागि काम गर्नुपर्ने देखिएको छ”, स्थानीय सिंहराज बुढामगरले भने, “चैतमा यसरी कटान गरिरहेको नदीले बर्खा लागेमा बस्ती जोखिममा पार्छ । नदीले सिधैँ पार्क क्षेत्र कटान गरिरहेको छ । यही हिसाबले कटान भए बर्खामा पार्क हुँदै बस्ती सखाप हुन्छ ।”

    पार्कको वनभोजस्थलदेखि पाँच सय मिटर उत्तरतर्फ कर्णाली नदीले बर्दियाको सिमानातर्फ ढुङ्गा, गिट्टी, बालुवा थुप्रिई टापुजस्तै बनाएको छ । नदीको बहाव टीकापुरतर्फ बगिरहेकोे र टीकापुरतर्फ नदीमा पक्की तटबन्धसमेत नभएकाले थुप्रेर रहेका ढुङ्गा, गिट्टी, बालुवा सफाइ नगरेमा यस वर्षको मनसुनमा टीकापुरतर्फ नदीले कटान गरी बस्तीमा नदी पस्ने उच्च जोखिम देखिएको प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल सुमन धितालले बताए । “पालिकाको आफ्नै स्रोत नभएकाले नदी सफाइ तथा पक्की तटबन्ध गर्न सक्ने अवस्था छैन । समस्या समाधान तथा बृहत उद्यान र बस्ती जोगाउनका लागि अहिले नै काम गर्नुपर्ने देखिन्छ”, धितालले भने, “आवश्यक व्यवस्था गरिदिन माग गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरी पठाएका छौँ ।”

    नगरपालिका बर्सेनि कर्णाली नदी कटानको जोखिम झेल्दै आएको छ । कर्णालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नदी नियन्त्रणका लागि विभिन्न ठाउँमा तटबन्ध निर्माण गरेको छ । सिँचाइले निर्माण गरेका तटबन्ध तारजालीका भएकाले यसको दिगोपनामा पनि समस्या देखिएको छ । टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाका अनुसार टीकापुरको वडा नं ५ पार्क क्षेत्र, वडा नं ७ मा सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायत ठाउँ बर्सेनि कटान भइरहेका छन् । सिँचाइ आयोजनाले विगतमा गर्ने तारजालीको तटबन्ध दिगो नभएपछि अहिले ठूला ढुङ्गा (बिग बोल्डर) हाल्ने गरेको छ । तर पछिल्ला दुई वर्षयता यहाँ लगानी छैन । नदी कटान बढ्दै गएको तर आयोजनाले लगानी गर्न छोड्दा नदी नियन्त्रण समस्या भइरहेको छ ।

    सिँचाइ आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले विगतमा तारजालीबाट गरिने तटबन्ध दिगो नभएपछि अहिले तटबन्धको स्वरुप परिवर्तन गरिएको बताए । “विगतमा कर्णाली नदीमा दर्जनौँ ठाउँमा तटबन्धको काम भएको छ । विश्व बैंकको सहयोग नभएपछि तेस्रो ‘फेज’मा कर्णाली नदीमा खासै काम छैन, इन्टेकसहित तीन ठाउँमा तटबन्धको काम चलिरहेको छ”, उनी भन्छन्, “आयोजनासँग पनि बजेट कम छ । पुराना ठेक्का लागेका समयमै निर्माण व्यवसायीले काम नसकेका ठाउँमा निर्माण भइरहेको छ ।”

    सिँचाइ आयोजनाले सिँचाइ विस्तारका लागि कर्णाली नदीको चिसापानीमा इन्टेक र मुख्य नहर निर्माण, फिडर नहर निर्माण, जलविद्युत् निर्माण, डिभिजन बक्स र आउटलेट सुधार कार्य, सिञ्चित क्षेत्र बचाउ तथा सुरक्षा, सामाजिक सुरक्षा र पर्यावरण संरक्षण, पानी व्यवस्थापन, नयाँ शाखा नहर निर्माणका क्षेत्रमा काम गरिसकेकोे छ । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नदी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरी आवश्यकताअनुसार जनधनको क्षतिबाट बस्ती जोगाउन पहल हुने बताए ।

    “हामी सबै क्षेत्रसँग छलफल गरी उचित निकासका निर्णय गरेर पहल गर्छौँ, विपद्बाट रोकथामका लागि सम्बन्धित निकायमा कार्यान्वयन गर्नेतिर पहल गर्छौँ”, उनले भने, “कैलालीका नदीहरूमा अहिले भइरहेका तटबन्धको दिगोपनाका लागि पनि संवेदनशील हुन अनुरोध गरेका छौँ ।” कर्णाली नदी कैलाली र बर्दियाको सीमामा भएकाले अन्तरजिल्ला समन्वय समितिबाट छलफल गरी आपसी समझदारीबाट विपद् व्यवस्थापनमा काम हुने प्रजिअ रेग्मीले बताए ।

  • महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

    महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

    महेन्द्रनगर, १८ चैतः कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण तीव्र गतिमा भइरहे पनि नहरमा पानी नियमित प्रवाह गराउने विषय भने अन्योलमा छ । महाकाली सन्धिअनुसार भारतीय पक्षले टनकपुरबाट नेपाल-भारत सिमानासम्म बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ भने नेपालले आफ्नो क्षेत्र ब्रह्मदेवबाट शुक्लाफाँटाको टोटी फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण गरिसकेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी इन्जिनियर यादव बरालले जानकारी दिए ।


    “मूल नहर २८ किलोमिटर निर्माण भएर सो क्षेत्रमा शाखा नहर पनि निर्माणाधीन अवस्थामा छ”, उनले भने, “महाकाली नदीबाट भारतले परीक्षणका लागि मूल नहरमा पानी छोडे पनि नियमित छोडेको छैन ।” उनले हालको अवस्थामा भारतीय पक्षसँग सहमति गरी पानी नियमित प्रवाह गराउन सके यहाँ पाँच हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्ने जानकारी दिए ।


    सिँचाइ आयोजनाले तीनपटक जलस्रोत तथा सिँचाइ विभागमा पानी ल्याउने विषयमा भारतसँग समन्वय गर्न पत्राचार गरिसकेको सूचना अधिकारी बरालले बताए । “हामीले मूल नहरमा पानी महाकालीबाट ल्याउन सकारात्मक पहल गरिदिन माथिल्लो निकायमा भन्दै आएका छौँ”, बरालले भने, “तर नेपाल–भारत सिँचाइमन्त्रीस्तरसम्म यो विषय अझै पुगेको छैन ।”

    यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतीय पक्षसँग उक्त विषयमा अनौपचारिक छलफल गरेको सूचना अधिकारी बरालले जानकारी दिए । “भारतमा सिँचाइ मन्त्रीस्तरमा यो विषय पुर्याएर नहरमा नियमित पानी बगाइसक्नुपर्ने हो”, उनले भने, “ठोस पहल नहुँदा अर्बौं लगानीमा बनेको मूल नहर काठ, घाँसलगायत वनजङ्गलले पुरिँदैछ ।”

    कैलालीको मालाखेतीसम्म ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति भइरहे पनि पानी ल्याउन प्रभावकारी पहल हुन नसकेको उनको भनाइ छ । “अहिले मूल नहरअन्तर्गत २८ देखि ४८ किलोमिटरसम्म चार चरणमा निर्माण भइरहेको छ”, उनले भने, “चारवटा चरणमा हालसम्म करिब गरेर ६० प्रतिशत भौतिक प्रगति भइसकेको छ ।”

    मूल नहर निर्माणअन्तर्गत जग्गा अधिग्रहण, ऐलानी र सुकुम्बासी जग्गाको विवादका साथै केही स्थानमा रुख कटानको समस्या रहेको बरालले बताए । “यो वर्ष मुआब्जासहित आयोजनाको बजेट रु दुई अर्ब रहेको छ”, उनले भने, “मुआब्जा वितरण हुन नसक्दा केही रकम खर्च हुनसक्ने अवस्था छैन भने काम पनि प्रभावित बन्दै गएको छ ।” विसं २०८७ सम्ममा कैलालीको मालाखेतीसम्म नहर निर्माण सक्ने सरकारको लक्ष्य छ । साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ । टनकपुरमा हेड रेगुलेटरसँगै भारतीय पक्षमा ढिला गरी एक हजार २०० मिटर मूल नहर बनेपछि नेपालतर्फ केही समय परीक्षण र असार १५ गते धान दिवसमा पानी छाडिएको थियो ।

    कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले सिँचाइ तेस्रो चरणअन्तर्गत मूल नहरमा पानी ल्याएर किसानलाई सिँचाइ सुविधा पुर्‍याउन सरकारी संयन्त्रबाट सकारात्मक पहल हुनुपर्नेमा जोड दिए । “अर्बौंको लगानीमा नहर खन्ने तर महाकालीबाट पानी ल्याउन छिमेकी राष्ट्रसँग कूटनीतिक पहल गर्न ढिलाइ गर्नुहुँदैन”, उनले भने, “हालै बनेको नयाँ सरकारले यो विषय टुङ्गोमा पुर्‍याउने र समस्या समाधान हुनेमा हामी आशावादी छौँ ।”

    अध्यक्ष मल्लले कञ्चनपुरमा खासगरी राजमार्गभन्दा उत्तरतर्फ सिँचाइको समस्या बढी रहेकाले नहर पूर्ण भएसँगै उक्त समस्या समाधान हुने विश्वास व्यक्त गरे । “सिँचाइ सुविधा पुगेर उत्पादनमा वृद्धि भए अर्थतन्त्रमा पनि बल पुग्छ”, उनले भने, “महाकाली सिँचाइ आयोजनामार्फत किसानलाई सिँचाइ सुविधा प्रदान गर्नेगरी सहज र प्रभावकारी वातावरण बन्नुपर्छ ।”

  • बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

    बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

    इनरुवा (सुनसरी), १८ चैतः जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोका अनुसार सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको हो ।

    इनरुवा नगरपालिका(२ कुसुमगाछीमा सुमनकुमार राईले पालन गरेका ब्रोइलर कुखुरामा सङ्क्रमण देखिएको उनले बताए । इटहरी–१६ स्थित सुमन गोविन्द श्रेष्ठले पालेका स्थानीय जातका कुखुरा र हाँसमा पनि बर्डफ्लू सङ्क्रमण पुष्टि भएको डा महतोले बताए । जिल्लाका विभिन्न ठाउँमा कुखुरा फार्म परीक्षण गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट रोग पुष्टि गरेसँगै नियन्त्रणका उपाय तीव्र पारिएको उनले बताए ।


    सङ्क्रमण फैलिन नदिन फार्म वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने अन्य कुखुरा फार्ममा पनि निगरानी कडा गरिएको डा महतोले जानकारी दिए । कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन तथा बाह्य सम्पर्कबाट कुखुरालाई जोगाउन किसानलाई आग्रह गरिएको उनले बताए । उनका अनुसार जिल्लामा हालसम्म सङ्कास्पद लागेका १४ वटा फार्मबाट १९ हजार ३६५ कुखुरा नष्ट गरिएको छ ।

  • भारतमा विशाल जनगणना सुरु

    भारतमा विशाल जनगणना सुरु

    नयाँदिल्ली, १८ चैत (रासस–एएफपी) । तीव्र रूपमा बढ्दो जनसङ्ख्या र स्रोत व्यवस्थापनको दबाबबीच भारतले बुधबारदेखि विश्वकै सबैभन्दा ठूलो जनगणना अभियान सुरु गर्ने तयारी गरेको छ । करिब ३० लाखभन्दा बढी कर्मचारी परिचालन गरिने यस अभ्यासलाई सरकारले ‘राष्ट्रिय महत्त्वको विशाल अभियान’ का रूपमा चित्रण गरेको छ, जसले समावेशी शासन र प्रमाणमा आधारित नीति निर्माणलाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।

    करिब एक अर्ब ४० करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक भारत अहिले आधारभूत आवश्यकताहरू—बिजुली, खाद्यान्न र आवास—व्यवस्थापनमा बढ्दो चुनौतीसँग जुधिरहेको छ । देशका ठूला महानगरहरू पानी अभाव, वायु तथा पानी प्रदूषण र अत्यधिक भीडभाडयुक्त बस्तीका समस्याले ग्रस्त छन्, जसले जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको महत्त्व झन् बढाएको छ ।

    यसपटकको जनगणनामा सबैभन्दा संवेदनशील मानिएको ‘जात’ सम्बन्धी विवरण पनि समेटिनेछ । हिन्दू समाजमा हजारौँ वर्षदेखि कायम सामाजिक पदानुक्रमका आधारमा मानिसहरूको पेशा र सामाजिक स्थिति निर्धारण हुने भएकाले यस विषयलाई राजनीतिक रूपमा पनि जटिल मानिन्छ । सन् २०११ मा गरिएको जाति सर्वेक्षण सार्वजनिक नगरिएको इतिहास छ भने औपचारिक रूपमा विस्तृत जातीय तथ्याङ्क अन्तिम पटक सन् १९३१ मा ब्रिटिस शासनकालमा सङ्कलन गरिएको थियो ।

    लजिस्टिक हिसाबले पनि यो अभियान अत्यन्त चुनौतीपूर्ण रहनेछ । भारतले सन् २०२४ मा सम्पन्न गरेको आम चुनाव नै विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिएको थियो, जुन सात चरणमा छ हप्तासम्म चलेको थियो । त्यसभन्दा पनि व्यापक दायरामा फैलिएको जनगणना दुई चरणमा सञ्चालन गरिनेछ ।

    पहिलो चरण बुधबारदेखि सेप्टेम्बरसम्म चल्नेछ, जसमा घरधुरी, आवासको अवस्था र आधारभूत सुविधाहरूको विवरण सङ्कलन गरिनेछ । यस क्रममा घर–घरमै पुगेर तथ्याङ्क सङ्कलन गरिनेछ भने नागरिकलाई अनलाइनमार्फत स्व–गणना गर्ने विकल्प पनि दिइनेछ । स्याटेलाइट इमेजरीसँग जोडिएको डिजिटल नक्सा प्रणाली र १६ भाषामा उपलब्ध प्रविधिको प्रयोग गरिनेछ ।

    दोस्रो चरणमा भने जनसाङ्ख्यिकीय, सामाजिक र आर्थिक अवस्थासँगै जातिसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ । जाति अझै पनि भारतमा स्रोत, शिक्षा र अवसरको पहुँच निर्धारण गर्ने महत्त्वपूर्ण आधार भएकाले यसबाट प्राप्त तथ्याङ्कले नीति निर्माणमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

    देशका अधिकांश क्षेत्रमा वास्तविक जनगणना सन् २०२७ मार्च १ लाई सन्दर्भ मिति मानेर गरिनेछ । तर उच्च हिमाली क्षेत्रहरू—जम्मू–काश्मीरजस्ता स्थानहरू—मा कठोर मौसमका कारण यो प्रक्रिया अक्टोबर १, २०२६ अगावै सम्पन्न गरिनेछ ।

    कोभिड–१९ महामारीका कारण सन् २०२१ को जनगणना स्थगित भएपछि भारतले पछिल्लो पटक सन् २०११ मा मात्र यस्तो अभ्यास गरेको थियो, जसअनुसार त्यतिबेला जनसङ्ख्या एक अर्ब २१ करोड थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२३ सम्म आइपुग्दा भारत एक अर्ब ४२ करोडभन्दा बढी जनसङ्ख्यासहित विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । यस्तो परिवेशमा सुरु हुन लागेको नयाँ जनगणनाले भारतको सामाजिक संरचना, आर्थिक अवस्था र भविष्यका नीतिगत प्राथमिकताहरू निर्धारण गर्न महत्त्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ ।

  • भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि

    भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि

    नयाँ दिल्ली, १८ चैत (रासस–सिन्ह्वा) । भारतको औद्योगिक उत्पादन फेब्रुअरी महिनामा ५।२ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो वृद्धि औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) का आधारमा मापन गरिएको हो, जसले देशको समग्र औद्योगिक गतिविधिको अवस्थालाई सङ्केत गर्छ ।
    सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी विवरणअनुसार यस वृद्धिमा सबैभन्दा ठूलो योगदान उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको रहेको छ । उक्त क्षेत्रमा ६।० प्रतिशत वृद्धि भएको छ, जसले उद्योग तथा कारखानाहरूमा उत्पादन विस्तार भइरहेको देखाउँछ ।


    त्यसैगरी, खानी तथा उत्खनन क्षेत्रमा ३.१ प्रतिशत वृद्धि भएको छ । यो वृद्धि कच्चा पदार्थको उपलब्धता र ऊर्जा स्रोतको उत्पादनसँग सम्बन्धित रहेको मानिन्छ । विद्युत उत्पादन क्षेत्रमा पनि २.३ प्रतिशत वृद्धि देखिएको छ, जसले औद्योगिक तथा घरेलु ऊर्जाको माग बढ्दै गएको सङ्केत गर्दछ । विश्लेषकहरूका अनुसार औद्योगिक उत्पादनमा आएको यो समग्र वृद्धि भारतको आर्थिक गतिविधि विस्तारको सकारात्मक सङ्केत हो । उत्पादन क्षेत्रमा सुधार आउनुले रोजगारी सिर्जना, लगानी वृद्धि तथा निर्यात विस्तारमा पनि सहयोग पु¥याउन सक्छ ।
    यद्यपि, केही चुनौतीहरू अझै कायम छन् ।

    कच्चा पदार्थको मूल्य, आपूर्ति शृङ्खला व्यवस्थापन र विश्वव्यापी आर्थिक अवस्थाले भविष्यको औद्योगिक वृद्धिमा प्रभाव पार्न सक्ने बताइएको छ । सरकारले औद्योगिक क्षेत्रलाई थप सुदृढ बनाउन पूर्वाधार विकास, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणमा ध्यान केन्द्रित गरिरहेको जनाएको छ । विशेषज्ञहरूले दीर्घकालीन स्थिर वृद्धि सुनिश्चित गर्न नवप्रवर्तन, प्रविधि प्रयोग र दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।

  • अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    न्युयोर्क,१८ चैत (रासस–एपी) । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ पछि पहिलो पटक हो । ‘मोटर क्लब’का अनुसार अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढी वृद्धि हो । यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि यस्तो उच्च मूल्य देखिएको थियो। विभिन्न राज्यहरूमा मूल्य फरक–फरक रहेको छ, जसको कारण आपूर्ति, कर दर र स्थानीय अवस्था रहेका छन् ।

    फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त युद्ध सुरु गरेपछि कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि मूल्यमा असर परेको हो ।

    अर्थतन्त्रमा असर पर्ने सम्भावना

    पेट्रोलको मूल्य बढ्दा उपभोक्ता र व्यवसाय दुवै प्रभावित भएका छन्। दैनिक खर्च बढ्दै जाँदा मानिसहरूले अन्य क्षेत्रमा खर्च घटाउनुपर्ने अवस्था आउन सक्छ । ढुवानी खर्च बढ्दा खाद्यान्न, बिजुली तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने सम्भावना रहेको छ । हालै गरिएको एक सर्वेक्षण अनुसार करिब ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोल किन्न सक्ने क्षमताबारे गम्भीर चिन्तित रहेका छन् ।

    ढुवानी र सेवा क्षेत्रमा असर

    इन्धन महँगो हुँदा ढुवानी क्षेत्र पनि प्रभावित भएको छ । हुलाक सेवाले केही सेवामा अस्थायी रूपमा ८ प्रतिशत अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ ।
    डिजेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ, जसले सामान ढुवानी गर्ने सवारी साधनहरूलाई थप भार परेको छ ।

    विश्व आपूर्ति सङ्कट

    विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने महत्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा आपूर्ति सङ्कट गहिरिएको छ । इरान, अमेरिका र इजरायलबीचका आक्रमणले तेल र ग्यास संरचनामा क्षति पुगेको छ ।

    भण्डार प्रयोग गर्ने प्रयास

    मूल्य घटाउने प्रयासस्वरूप अन्तर्राष्ट्रिय ऊर्जा निकायले सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ ।

    अमेरिकाले भेनेजुएला र रुसबाट केही तेल आपूर्ति सहज बनाउन प्रतिबन्धमा आंशिक छुट दिएको छ ।

    भविष्यको अवस्था

    युद्ध लम्बिएमा पेट्रोलको मूल्य अझै बढ्न सक्ने विश्लेषकहरूको भनाइ छ । साथै गर्मी मौसम सुरु भएसँगै माग बढ्ने भएकाले मूल्यमा थप दबाब पर्ने देखिन्छ ।

  • मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

    मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

    बागमती, १८ चैतः चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको होे । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।