Category: फिचर

  • सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी

    सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी

    किमाथाङ्का (सङ्खुवासभा), १५ फागुन । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारका गतिविधि तीव्र बन्दै गएको अवस्थामा आचारसंहिताको पालना गराउन प्रशासनले निगरानी बढाएको जनाएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका ३३ उजुरी परेका छन् । कार्यालयमा परेका उजुरीमध्ये अधिकांश मौखिक उजुरीसम्बन्धी मौखिक उजुरी बढ्दै गएका छन् ।

    निर्वाचन आचारसंहिता अनुगमन समितिले मौखिक रूपमा आएका आचारसंहिता उल्लङ्घनका उजुरी तत्काल समाधान गर्दै आएको छ । जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका हालसम्म ३३ उजुरी परेको आचारसंहिता अनुगमन संयोजक चिरञ्जीवी अधिकारीले बताए । आचारसंहिता उल्लङ्घनका २१ वटा मौखिक उजुरी, छवटा लिखित उजुरी परेका छन् । त्यस्तैगरी छवटा पार्टी तथा उम्मेदवारविरुद्ध आचारसंहिता उल्लङ्घनका उजुरी परेको आचारसंहिता अनुगमन संयोजक अधिकारीले बताए । जिल्लाका छ वटा पार्टी तथा उम्मेदवारले आचारसंहिताविपरीत टोपी, टिसर्ट, ब्यानर र मोटरसाइकल र्याली गरेको उजुरी परेको हो ।

    आचारसंहिता उल्लङ्घन गर्ने पार्टी तथा उम्मेदवारको नाम भने खुलाइएको छैन । लिखित उजुरीका आधारमा सम्बन्धित पार्टी तथा उम्मेदवार तथा दललाई लिखित तथा मौखिक स्पष्टीकरण मागिएको छ । कार्यालयले सबै दल तथा उम्मेदवारलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रहसमेत गरेको छ । लिखित उजुरी परेका विषयमा औपचारिक रूपमा स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाइएको छ ।

    यस्ता उजुरीका सम्बन्धमा प्रारम्भिक छानबिन गरी आवश्यक निर्देशन तथा सचेत गराउने काम भइरहेको आचारसंहिता अनुगमन संयोजक अधिकारीले बताए । लिखित उजुरी परेका विषयमा औपचारिक प्रक्रिया अपनाइने र मौखिक उजुरीका हकमा प्रारम्भिक तहमा छलफल तथा सचेत गराउने अभ्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता रहेका छन् । जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा देखिएका छन् ।

  • निर्वाचन ६ दिन : देशभरी मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन : देशभरी मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध

    काठमाडौँ, १५ फागुन । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो ।

    सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिससमेतका आधारमा आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

    जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कहीँकतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन निर्देश गरिएको छ । मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मतका सवारीसाधन निर्वाध चल्न सक्नेछन् ।

    यस्तै, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधन पनि सहज सञ्चालन हुनेछ । सार्वजनिक तथा निजी सवारीसाधन भने यही फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय भएको आयोगले जनाएको छ ।

    यस्तै, मतदानको दिनमा अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत सञ्चालनको व्यवस्था मिलाइनेछ । अन्तरराष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर र बसोबास गर्ने होटलसम्म ल्याउन सहज व्यवस्था गरिएको छ । यस्तै, घर बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिनेगरी आवश्यक व्यवस्था मिलाइने आयोगले उल्लेख गरेको छ ।

    यी कागजात देखाएर मतदान गर्न पाइन्छ

    प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशका, २०८२ अनुसार मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन् । यस्तै, राष्ट्रिय–परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्र लिएर मतदान केन्द्रमा जान सक्नेछन् । सोबमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जान सक्नेछन् । यस्तै, मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी कर्मचारी र सरोकारवालालाई सूचना सम्प्रेषण गर्ने निर्णय भएको आयोगले उल्लेख गरेको छ ।

    मतदानको दिनमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण एकाइ खडा गर्ने र सो एकाइमा निर्वाचन आयोगको तर्फबाट दुई जना र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट दुई जना कर्मचारीलाई तोकिनेछ ।

  • गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौँ, १४ फागुनः काठमाडौँको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्गेल बसपार्क नजिक सडकमा बा ११ च ४७३८ नम्बरको मिनी टाटाले बा ८१ प ४५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी हाइट बस्ने ३० वर्षीय पवन तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा आज मृत्यु भएको हो । मिनीटाटा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    इनरुवा (सुनसरी), १४ फागुनः सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–५ का ३२ बर्षीय बिजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

    आज बिहान बराहक्षेत्र नगरपालिका–११ गुप्ताटोलस्थित भित्रि सडकमा को २५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हँुदा ऋषिदेव गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनमा दुहबी–५ का दिपेन ऋषिदेव घाइते भएका थिए । उनको उपचार भइरहेको प्रनाउ खड्काले बताए ।


    त्यसैगरी इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा गएराति कारले ठक्कर दिँदा पैदलयात्री सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय पैदलयात्री गिरिजानन्द साहको मृत्यु भएको छ । विराटनगरबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च ७५०५ नम्बरको कारले बाटो काट्दै गरेका पैदलयात्री साहलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कार अनियन्त्रित भई सोही दिशातर्फ गइरहेको प्र १–०२–००३ ह ४८९८ नम्बरको टेम्पोलाई समेत ठक्कर दिएको थियो । सो ठक्करबाट इटहरी–२० का ४४ वर्षीय टेम्पो चालक वसन्त घिसिङ, टेम्पोमा सवार ५९ वर्षीय प्रेमकुमार गुरुङ र इटहरी–१२ का २२ वर्षीय कार चालक विकी विश्वकर्मा सामान्य घाइते भएका छन् । सो घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : सभापति लामिछाने

    सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : सभापति लामिछाने

    गोरखा, १४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताएका छन् । आज रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गरे ।

    “यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस ग¥यो भनेर । तर २३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन”, उनले भने, “जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन । रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन । सिंहदरबार हामी पुनः निर्माण गर्छौँ । सरकारी संरचना जलेकामा हामीले गौरव गरेका छैनौँ ।” आफू वा कोही पनि प्रश्न भन्दामाथि नरहेको उनले बताए । लामिछानेले आजै पालुङटार नगरपालिकामा आयोजित चुनावी सभामा समेत सम्बोधन गरेका थिए ।

  • निर्वाचनमा कुनै समीकरण हुँदैनः संयोजक दाहाल

    निर्वाचनमा कुनै समीकरण हुँदैनः संयोजक दाहाल

    काठमाडौँ, १४ फागुनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजीतिक दलसँग समीकरण नहुने स्पष्ट पारेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा आफ्नो चुनावी एजेण्डसहित एक सातापछि हुने निर्वाचनमा सहभागी हुने बताए ।

    “यो निर्वाचनमा नेकपाले कुनै पनि राजनीतिक दलसँग समीकरण गर्दैन, आफ्नै ‘एजेण्डा’, पार्टी सङ्गठन र जनताको साथ र सहयोगमा निर्वाचनमा जाँदैछौँ”, संयोजक दाहालले भने । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये बागलुङको क्षेत्र नं १ मा बाहेक अन्यत्र तालमेल नभएको जानकारी दिँदै उनले अयन्त्र चुनावी तालमेल गर्ने पार्टीको नीति नरहेको स्पष्ट पारे ।


    नेकपाले विगतको कमीकमजोरी सच्याएर जनताको चाहना र भावनाअनुसार सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने उल्लेख गर्दै संयोजक दाहालले राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा तथा भ्रष्टाचारको विरुद्धमा नेकपा लाग्ने भएकाले जनताले मत दिने विश्वास व्यक्त गरे । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी संयन्त्र र आमजनताको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले आसन्न निर्वाचनले मुलुकलाई निकास दिने विश्वास व्यक्त गरे ।

    संयोजक दाहालले जेनजी युवाको भावनाअनुसार संविधान संशोधन गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिन सबै राजनीतिक दल, युवापुस्तालगायत सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए ।

  • संविधान कार्यान्वयनको समीक्षा गर्दै परिमार्जन गर्ने नेकपाको उद्घोष

    संविधान कार्यान्वयनको समीक्षा गर्दै परिमार्जन गर्ने नेकपाको उद्घोष

    काठमाडौँ, १४ फागुनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले संविधान कार्यान्वयनको समीक्षा एवं पुनरावलोकन गरी शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायत विभिन्न विषय परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । निर्वाचनको सम्मुखमा आज अपिल जारी गर्दै नेकपाले उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरेर आजसम्म सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानबिन गरिने दृढता व्यक्त गरेको छ ।

    भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति राष्ट्रियकरण गर्ने नेकपाले प्रतिबद्धता व्यक्त गरेको छ । भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्णपारदर्शीता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अङ्गको सञ्चालन र सङ्घीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने नेकपाको प्रतिबद्धता छ । नेकपाले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका निम्ति त्यही दृढताका साथ उभिने प्रतिबद्धता जाहेर गरेको छ ।

    “नेपाली जनताले लामो बलिदानी सङ्घर्ष गरेर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्धका सबै षड्यन्त्रलाई परास्त गर्दै यसलाई सुदृढ र सुस्थिर बनाउँदै समाजवादी लोकतन्त्रको रूपमा विकास गर्न चाहन्छौँ”, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा संयुक्त रुपमा जारी अपिलमा भनिएको छ ।

    नेकपाले जातीय छूवाछूत तथा छाउपडीजस्ता कुरीति र अन्धविश्वास, विभेदकारी व्यवहार, असमानता, उत्पीडन, कुरीति र अन्धविश्वासको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गरिबी र बेरोजगारी समस्या समाधान गर्न कृषि उत्पादनमा वृद्धि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास, औद्योगिक उत्पादनमा वृद्धि, ऊर्जा उत्पादनमा वृद्धि, व्यापार प्रवद्र्धन तथा पर्यटन उद्योगको विकास र पर्यटन आगमनमा वृद्धि गर्न विशेष योजना बनाएर कार्यान्वयन गरिने अपिलमा उल्लेख छ ।

    “राज्यकोष बलियो बनाउन प्रगतिशील कर लगाइनेछ, वित्तीय क्षेत्रमा नीतिगत र संरचनागत सुधार गरिनेछ । गरिबीको अन्त्य गर्न लक्षित वर्ग र समुदायकेन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ”, अपिलमा भनिएको छ, “प्राकृतिक सम्पदा र वातावरणको संरक्षण गर्दै दिगो विकासका लागि प्राकृतिक स्रोतको सदुपयोग गरिनेछ । विकासका योजना निर्माण गर्दा विपद्जन्य जोखिम र त्यसको व्यवस्थापनमा ध्यान दिने नीति अवलम्बन गरिनेछ ।”

    नेपाली समाजमा व्यापक रूपमा आर्थिक–सामाजिक रूपान्तरणका अभियान सञ्चालन गरेर समाजवादको आधार निर्माण गरिने नेकपाको उद्घोष छ । नेकपाले नेपालसँग भएका असमान सन्धि–सम्झौता खारेज गर्न र नेपालको अतिक्रमित भूमि फिर्ता गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

    मुलुकको राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै नेकपाले विगतका कमजोरी सच्याउँदै मुलुक र जनताको अवस्था बदल्ने सङ्कल्प गरेको छ । “जसरी व्यवस्था बदल्यौँ, त्यसैगरी अवस्था पनि बदल्नेछौँ । यो हाम्रो दृढ प्रतिज्ञा हो”, अपिलमा भनिएको छ, “विगतमा हाम्रा पनि कतिपय कमी–कमजोरी भएका होलान् । त्यसमा हामी आत्मालोचित छौँ र कमी–कमजोरीलाई सच्याएर अघि बढ्न प्रतिबद्ध छौँ ।”

  • देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

    देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

    काठमाडौँ, १४ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तिम चरणमा छ ।

    आयोगबाट स्वीकृत कार्य तालिकाअनुसार व्यवस्थापकीय कार्य तालिकाबद्ध र तोकिएको समयमा सञ्चालित छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई ७७ वटै जिल्लामा पुगेको छ । केही सामग्री भने जिल्लामै व्यवस्थापन हुनेछ । निर्वाचन अधिकृतको कार्यालयबाट भने मतदान अधिकृतको जिम्मामा सबै सामग्री पठाइने आयोगले जनाएको छ ।

    स्वीकृत कार्यक्रमअनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम यही फागुन ३ गतेदेखि जारी छ । मतदाता शिक्षा फागुन १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुने जनाइएको छ । निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरुले सक्रिय रुपमा कार्यसम्पादन गर्दै आएका छन् । यही फागुन ४ गतेदेखि राजनीतिक दलहरुले चुनावको मुख्य प्रचारप्रसारका गतिविधि सुरुवात गरेका छन् । प्रचारप्रसारलाई प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगबाट राजनीतिक दल र उम्मेदवारहरुलाई निर्देशन भइसकेको छ ।

  • पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुस्ः सभापति थापा

    पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुस्ः सभापति थापा

    जानकी (बाँके), १४ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन् । उनले आगामी चुनावपछि काम गरेर देश अघि बढाउनुपर्ने बताएका थिए । बाँकेको जानकी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति थापाले मतदातालाई घरघरमा गएर रुखमा मतदानका लागि अनुरोध गर्दै उक्त कुरा बताएका हुन् । बाँकेका मतदातालाई सम्बोधन गर्दै थापाले स्व सुशील कोइरालाले बनाएको संविधानको राजमार्गमा कांग्रेसको गाडी रफ्तारमा दौडाउने उल्लेख गरे ।

    सुशासनका लागि आगामी ५ वर्षका लागि कांग्रेसले ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्नुपर्ने उनको भनाइ थियो । विसं २०४६ पछिका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने भन्दै सभापति थापाले हिजो गरेका गल्ति सच्याउनुपर्ने र हिजोको फोहर सफा गरिने बताए । पेटमा भोक छ, आँखामा सपना छ अनि सङ्कल्पसहित अघि बढ्ने योजना रहेको उल्लेख गर्दै सभापति थापाले पार्टी एक ढिक्का रहेको र कुनै समस्या नभएको बताए । चुनाव केन्द्रित कांग्रेसका सभालाई सम्बोधन गर्ने कार्यक्रमअन्तर्गत उनी आज बाँके पुगेका हुन् ।

  • हङ्गेरी र स्लोभाकियाका लागि तेल अभावको खतरा नहुने इयूको भनाइ

    हङ्गेरी र स्लोभाकियाका लागि तेल अभावको खतरा नहुने इयूको भनाइ

    ब्रसेल्स, बेल्जियम, १४ फागुन (रासस–एएफपी) । हङ्गेरी र स्लोभाकियाले हाल ‘द्रुज्बा पाइपलाइन’बाट हुने रुसी आपूर्तिमा अवरोध भए पनि पेट्रोलियम पदार्थको अभावको जोखिम नहुने युरोपेली सङ्घ (इयू) इयूले बुधबार बताएको छ । “वैकल्पिक स्रोतहरूले उनीहरूलाई आपूर्तिको व्यवस्था गरेका छन्,” इयूका प्रवक्ताले स्थितिबारे छलफल गर्न विशेषज्ञहरूको बैठकपछि भने ।

    रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट रहेका केही इयू नेतामध्ये एक हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई ९० अर्ब युरो (१०६ अर्ब डलर) को इयूको ऋण र किएभले प्रमुख तेल पाइपलाइन पुनः नखोल्दासम्म रूसमाथि नयाँ चरणको प्रतिबन्ध नगाउन नदिन ‘भिटो शक्ति’ को प्रयोग गरेका छन् ।


    युक्रेनले पाइपलाइनको काममा जानाजानी आफ्नो खुट्टा तान्न खोजेको आरोप उनले लगाएका छन् । किएभले जनवरीमा रूसी आक्रमणले पाइपलाइन क्षतिग्रस्त भएको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मर्मत अझै पूरा नभएको बताएका छन् । उनले बुडापेस्टले मस्कोसँग यो मुद्दा उठाउन सुझाव दिए र भने, “युक्रेनको पूर्वाधारबिरूद्ध हवाई अभियानको एक भागको रूपमा पाइपलाइनमा धेरै पटक बमबारी गरेको छ।

    यसबाट पाइपलाइन क्षतिग्रस्त भएको छ र तत्काल सञ्चालन गर्न कठिनाई भएको छ ।” हङ्गेरी र स्लोभाकियाले तेलको आपतकालीन भण्डार लिन बाध्य भएका छन्, जुन तीन महिनाको आयातमा सीमित छ । “उनीहरूसँग क्रोएशिया हुँदै जाने एड्रिया पाइपलाइन र आपूर्तिका अन्य स्रोतहरू छन्,” युरोपेली आयोगका प्रवक्ता अन्ना–काइसा इटकोनेनले विशेषज्ञहरूको बैठकपछि भने ।


    “क्रोएसियाले बैठकमा गैर–रूसी कच्चा तेल एड्रिया पाइपलाइनमार्फत हङ्गेरी र स्लोभाकियामा ढुवानी भइरहेको पुष्टि गरेको छ,” उनले भने । “यो हङ्गेरी र स्लोभाकियाको लागि उनीहरूको आवश्यकताहरू पूरा गर्न मुख्य वैकल्पिक पाइपलाइन बनेको छ, र पाइपलाइनसँग हङ्गेरियाली स्लोभाकियाली आवश्यकताहरू पूर्ण रूपमा पूरा गर्न आयतन बढाउन पर्याप्त क्षमता छ ।”

    उनले भने, “युक्रेनलाई इयू ऋणमा आफ्नो भिटो हटाउन हङ्गेरीलाई मनाउन के गर्न सकिन्छ भनी उच्च–स्तरीय वार्ता जारी छ।” बुडापेस्टको विरोधका बाबजुद इयूका प्रमुख उर्सुला भोन डेर लेयनले मङ्गलबार युरोपेली सङ्घले ऋणमा कुनै न कुनै रूपमा राम्रो रकम लिने बताएका छन् । “हामीसँग विभिन्न विकल्पहरू छन्, र हामी तिनीहरूलाई प्रयोग गर्नेछौँ,” उनले भने ।

  • ग्रीसमा भएको डुङ्गा दुर्घटनामा परेका इजिप्टका १८ जना अझै बेपत्ता

    ग्रीसमा भएको डुङ्गा दुर्घटनामा परेका इजिप्टका १८ जना अझै बेपत्ता

    काएरो, १४ फागुन (रासस–एएफपी) । गत हप्ता ग्रीसको क्रेट टापुमा आप्रवासीहरूलाई बोकेको एक डुङ्गा दुर्घटनामा वेपत्ता भएका आफ्ना १८ नागरिक अझै हराइरहेका इजिप्टले बुधबार जानकारी गराएको छ। काठको उक्त डुङ्गामा चार नाबालकसहित ५० जना सवार थिए । ग्रीक अधिकारीहरूले उद्धार कार्यका लागि त्यस क्षेत्रमा एक व्यापारिक जहाजलाई निर्देशन दिएका थिए । ग्रीसको सार्वजनिक प्रसारक इआरटीका अनुसार आप्रवासीहरूको डुङ्गा नजिक पुग्दा एउटा दुर्घटना भएको थियो । यात्रुहरूले उद्धार जहाजमा भर्याङ चढ्न खोज्दा अचानक डुङ्गा पल्टिएको थियो ।

    इजिप्टको विदेश मन्त्रालयका अनुसार डुङ्गामा २१ इजिप्टका नागरिक सवार थिए, जसमध्ये तीन जना मृत अवस्थामा फेला परेका छन् भने अन्य अझै हराइरहेका छन् । ग्रीक अधिकारीहरूका अनुसार व्यावसायिक जहाजले बीस आप्रवासीहरूलाई उद्धार गरेको थियो तर धेरै व्यक्तिहरू अझै पनि बेपत्ता छन्। स्थानीय सञ्चारमाध्यम क्रेटा २४ का अनुसार ग्रिसका अधिकारीहरूले मानव तस्कर भएको आशङ्कामा दुई सुडानी पुरुषलाई पक्राउ गरेका छन् ।

    आप्रवासी डुङ्गा लिबियाबाट हिँडेको अनुमान गरिएको छ । आप्रवासीहरूले नियमित रूपमा लिबियाबाट युरोपेली सङ्घको प्रवेशद्वार क्रेटमा खतरनाक छाल पार गर्ने प्रयास गर्छन्। गत वर्ष १७ हजारभन्दा बढी इजिप्टका नागरिक भूमध्यसागर हुँदै युरोप पुगेका थिए, जसले उनीहरूलाई युरोपमा अनियमित आप्रवासीहरूको शीर्ष अफ्रिकी र दोस्रो ठूलो विश्वव्यापी समूह बनाएको थियो। धेरै आप्रबासीहरू इजिप्टको नाइल डेल्टाका गरिब शहरहरूबाट आउँछन् र लिबिया हुँदै यात्रा गर्छन्, जहाँ उनीहरूले स्वेच्छाचारी हिरासत, यातना, यौन हिंसा र जबरजस्ती श्रमको सामना गर्छन्।

    उनीहरूलाई प्रायः जबरजस्ती असुली गरिन्छ र बन्धक बनाइन्छ र जबसम्म उनीहरूका परिवारले घरबाट तस्करहरूलाई थप पैसा पठाउँदैनन् उनीहरूले गन्तव्यतर्फ जान पनि पाउँदैनन् । इजिप्टको विदेश मन्त्रालयले नागरिकहरूलाई ‘अवैध आप्रवासन गिरोहहरूबाट बहकिनबाट बच्न अत्यधिक सावधानी अपनाउन’ चेतावनी दिएको छ र मृतकहरूको स्वदेश फिर्तीमा समन्वय गरिरहेको बताएको छ।

  • तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

    तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

    दोधारा चाँदनी (कञ्चनपुर), १४ फागुनः जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ । वर्षौंदेखि बाढीको समस्या झेल्दै आएको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरस्थित जोगबुढा नदीमा ८०० मिटर लामो तटबन्ध निर्मण भएपछि बस्तीमा बाढीको त्रास हटेको छ ।

    पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो । वर्षायाममा डुबानबाट विस्थापित हुने यहाँका स्थानीयले जोगबुढा नदीमा तटबन्ध निर्माणपछि सुरक्षित महसुस गरेका छन । गत आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण गरेपछि बस्ती सुरक्षित बनेको यहाँका स्थानीय बताउँछन् ।

    यहाँका स्थानीय खडक बुढाले यहाँ तटबन्ध निर्माणपछि बस्ती नै सुरक्षित बनेको बताए । “विगतमा नदीको कटानले यहाँको बिघौँ जग्गा महाकाली नदीमा समाहित भइसकेको छ”, बुढाले भने, “वर्षायाममा बाढीको डरले यहाँबाट दोधारा बसाइसथ्र्यौं अब तटबन्ध बनेपछि हामीलाई ठूलो राहत भएको छ ।” उनले यस पटक नदीमा तटबन्ध बनेपछि वर्षौंदेखि झेल्दै आएको बाढीको पीडाबाट मुक्ति पाइने बताए । “महाकाली नदीमा करिब ४०० मिटर तटबन्ध बन्न बाँकी छ”, उनले भने, “उक्त स्थानमा पनि तटबन्ध बने यहाँको डुबान र कटानको समस्याबाट मुक्ति पाइन्छ ।”

    दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि कुतियाकवर बस्ती सुरक्षित बनेको जानकारी दिए । “तटबन्ध निर्माणले बस्ती सुरक्षित भएको छ,यहाँका स्थानीयलाई बाढी र डुवानको त्रास हटेको छ ।” वडा अध्यक्ष सिंहले भने, “जोगबुढामा अन्य स्थानमा पनि तटबन्ध निर्माण हुँदैछ यसले यहाँको बाढीको समस्या हट्नेछ ।”

    उनका अनुसार विगतमा यो बस्ती बाढीबाट सबैभन्दा बढी प्रभावित हुँदै आएको थियो । उक्त बस्तीमा नेपाली सेनाले पनि सेफ हाउस निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । विसं २०२२ सालदेखि बसोबास रहेको यो बस्तीमा डेढ सय परिवारको बसोबार रहेको थियो । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि यहाँबाट १०० घरपरिवार विस्थापित भएका छन् । तटबन्ध निर्माणपछि पलायन रोकिए अपेक्षा स्थानीयको छ ।

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले कुतियाकवरस्थित जोगबुढा नदीमा तटबन्ध निर्माणका लागि गत चैत २५ मा रु पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध २०८२ चैत २५ भित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।


    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना महेन्द्रनगरका प्रमुख रञ्जनराज भट्टराईले उक्त स्थानमा तटबन्ध निर्माणपछि बस्ती सुरक्षित बनेको जानकारी दिए । उनले आयोजना कार्यालयबाट कञ्चनपुरमा महाकाली नदी, जोगबुढा, दोदा नदी र कैलालीको मोहना कुटिया लगायत विभिन्न नदी नियन्त्रणका काम भइरहेको बताए । “गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको योजनाहरुको काम अन्तिम चरणमा छ”, उनले भने“यहाँका स्थानीयबाट नदी नियन्त्रणको माग धेरै आउँछ आयोजनासँग बजेट अभाव छ ।”

    गत आवमा स्रोत सहमति लिएर ठेक्का सम्झौता भएका काम सम्पन्न गर्न करिब रु १० करोड बजेट अपुग देखिएको छ । उक्त बजेट थपका लागि आयोजना कार्यालयले प्रक्रिया अघि बढाइसकेको जनाएको छ । दोधारा चाँदनी सुक्खा बन्दरगाहस्थल महाकाली नदी छेउ छ लेनको पक्की सडक निर्माण भएको छ । महाकाली नदीमा बनेका तटबन्ध कमजोर भएकाले मर्मतसम्भार गर्नुपर्ने भए पनि आयोजनासँग बजेट अभाव हुँदा मर्मत हुन सकेको छैन ।

  • धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

    धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

    भोजपुर, १४ फागुनः धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले जिल्लाको अरुण गाउँपालिकास्थित म¥याङडाँडामा त्रि–धार्मिकस्थल निर्माण गरिएको छ । यहाँ एउटै परिसरमा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरिएका हुन् ।

    धर्मका नाममा विभाजन होइन, एकता र सहिष्णुताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित अरुण आध्यात्मिक प्रतिष्ठानले करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको यस स्थानमा योजनाबद्ध रूपमा संरचना निर्माण गरेको हो । प्रतिष्ठानका सचिव सोमनाथ शर्माले तीन वटै धर्मावलम्बीले एकैस्थानमा आफ्ना धार्मिक परम्परा, संस्कार र अभ्यासलाई निरन्तरता दिन संरचना निर्माण गरिएको बताए ।


    हिन्दू धर्मावलम्बीका लागि आकर्षक शैलीमा मन्दिर, किरात समुदायका लागि सांस्कृतिक पहिचान झल्कने मानखिम घर तथा बौद्ध धर्मावलम्बीका लागि शान्तिको प्रतीक स्तूपा निर्माण गर्नुका साथै धार्मिक ज्ञान आदान–प्रदानलाई संस्थागत बनाउन पाठशाला सञ्चालनमा ल्याइएको जानकारी दिए । हाल उक्त पाठशालामा ७२ जना प्रशिक्षार्थी अध्ययनरत छन् । उनीहरूले तीनै धर्मसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान हासिल गरिरहेका छन् ।

    “यसका अतिरिक्त गौशाला, बहुउद्देश्यीय सभाहल, भोजनालय, अतिथि गृह, योगशालालगायतका संरचनाहरू निर्माण गरिएका छन् । यहाँ नियमित रूपमा ध्यान, योग, सत्सङ्ग, प्रवचन, भजन–कीर्तन तथा धार्मिक–सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्”, सचिव शर्माले बताए । “विशेष पर्व–उत्सवका अवसरमा तीनै धर्मका अनुयायीहरू एकैस्थानमा भेला भएर कार्यक्रम आयोजना गर्ने परम्परा बसाल्ने प्रयास भइरहेको छ । यसले स्थानीयस्तरमा आध्यात्मिक चेतना अभिवृद्धि हुनाका साथै सामाजिक एकता अझ सुदृढ बन्ने हाम्रो विश्वास छ ।”

    विसं २०७७ देखि सुरु गरिएको निर्माण कार्यमा हालसम्म सङ्घीय र प्रदेश सरकार तथा जिल्लाका नौवटै स्थानीय तह तथा विभिन्न सङ्घ–संस्थाको सहयोगमा करिब रु आठ करोड बराबरको लगानी प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । चरणबद्ध रूपमा संरचना विस्तार गर्ने योजनाअनुसार हाल भारतीय दूतावासको करिब रु चार करोड र गाउँपालिकाको रु एक करोड लागत साझेदारीमा विद्यालय भवन निर्माण भइरहेको छ ।

    समाजसेवी डा लोचन कार्कीले यस क्षेत्रलाई धार्मिक तथा ‘दिव्यभूमि’का रूपमा विकास गर्ने लक्ष्यसहित आफ्नो परिवारले करिब ३० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको बताए । “त्रि–धार्मिक स्थलको स्थापनाले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । धार्मिक सहअस्तित्वको सन्देश दिने यस्तो संरचनाले देश–विदेशबाट पर्यटक भित्र्याउन मद्दत पुग्नेछ”, उनले भने ।


    बौद्ध धर्मका जानकार (लोचावा) पुण्यप्रसाद सुवेदीले आफ्नै पहल तथा विभिन्न दाताको सहयोगमा बौद्ध स्तूपा निर्माण गरिदिएको बताए । हाल काठमाडौँमा बसोबास गर्दै आए पनि जन्मभूमिप्रति गहिरो माया राख्दै स्तूपा निर्माण गरिएको उनले उल्लेख गरे । सुवेदीले धार्मिक संरचनाले स्थानीय युवापुस्तालाई आफ्नो मौलिक पहिचान र आध्यात्मिक मूल्यमान्यतासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


    धर्मगुरु प्राडा गुरुप्रसाद सुवेदीले यस क्षेत्रलाई भविष्यमा धार्मिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने बताए । यहाँ धार्मिक ग्रन्थ अध्ययन, अन्तरधार्मिक संवाद, खोज, अनुसन्धान कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ छ । प्रतिष्ठानले आगामी दिनमा प्राकृतिक चिकित्सा केन्द्र, सांस्कृतिक सङ्ग्रहालय तथा ध्यान–आश्रमसमेत स्थापना गर्ने लक्ष्य राखेको छ । यसले धार्मिक आस्था मात्र नभएर स्वास्थ्य, संस्कृति र पर्यटन क्षेत्रको विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

    स्थानीयवासीका अनुसार त्रि–धार्मिकस्थलको निर्माणले अरुण क्षेत्रलाई नयाँ पहिचान दिएको छ । यो स्थान विविधतामा एकता र धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरणका रूपमा स्थापित हुँदै गएको छ । यसलाई आगामी दिनमा राष्ट्रियस्तरमै नमूना परियोजनाका रूपमा चिनिने विश्वास गरिएको छ ।

  • मुख्य दलका पूर्वाधार ‘एजेन्डा’: द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

    मुख्य दलका पूर्वाधार ‘एजेन्डा’: द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

    काठमाडौँ, १४ फागुनः यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले भौतिक पूर्वाधार, ऊर्जा, यातायात र कृषि आधुनिकीकरणका ‘एजेन्डा’लाई मुख्य प्राथामिकतामा राख्दै महत्त्वाकाङ्क्षी घोषणापत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलले आफ्ना चुनावी एजेन्डामा पूर्वाधार विकासलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन् ।

    चार दलका घोषणापत्रको विश्लेषण गर्दा पूर्वाधार क्षेत्रका महत्त्वकाङ्क्षी योजना लिएर उम्मेदवारहरू यतिबेला जनताको घरदैलोमा केन्द्रित छन् । मुख्य दलले सडक विस्तार, रेलमार्ग विकास, द्रुतमार्ग निर्माण, सुरुङ मार्ग, विद्युतीय सार्वजनिक यातायात र ऊर्जा उत्पादन विस्तार जस्ता पूर्वाधार क्षेत्रका एजेन्डा अगाडि सारेका छन् । यद्यपि, कार्यान्वयनसम्बन्धी रणनीति र प्राथमिकतामा भने दलअनुसार फरक दृष्टिकोण छन् ।

    कांग्रेसले कार्यान्वयन सुधार, गुणस्तर नियन्त्रण र संस्थागत समन्वयमा जोड दिएको छभने एमालेले ठूला भौतिक आयोजना द्रुत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता दोहो¥याएको छ । नेकपाले अधुरा राष्ट्रिय गौरवका आयोजना द्रुत गतिमा सम्पन्न गर्ने र नयाँ रणनीतिक पूर्वाधार सुरु गर्ने प्रतिबद्धतासहित यतिबेला चुनावी मैदानमा होमिएको छ । रास्वपाले दीर्घकालीन ऊर्जा निर्यात, स्मार्ट ग्रिड र डिजिटल पूर्वाधारमा जोड दिएको छ ।

    कांग्रेसको प्रतिज्ञाः गुणस्तरीय र उत्तरदायी विकासमा जोड
    दशकौँदेखि प्रमुख राजमार्ग, उत्तर–दक्षिण करिडोर, महत्त्वपूर्ण पुल तथा ग्रामीण सडक अवधारणाअनुसार काम गर्दै आएको कांग्रेसले पूर्वाधार विकासलाई अब नयाँ चरणमा लैजाने प्रतिज्ञा गरेको छ । गाउँ–सहरबीचको असमानता अन्त्य गर्दै सेवा र अवसरमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित सन्तुलित, दिगो र गुणस्तरीय पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको छ ।

    राष्ट्रिय प्राथमिकता र आवश्यकताका आधारमा आयोजना छनोट तथा स्रोतको सुनिश्चितता गर्दै आयोजना कार्यान्वयनमा अन्तरनिकाय तथा सरोकार भएका पक्षबीच एकीकृत पूर्वाधार निर्माणका लागि समन्वय गर्दै समयमै आयोजना सम्पन्न नहुने कारण हटाई प्रभावकारी स्रोत परिचालनमार्फत समयमै आयोजना सम्पन्न गर्ने कांग्रेसको प्रतिबद्धता छ ।

    नेपाली कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरधामको तिरूहिया गाछीमा आयोजना गरेको चुनावी सभा तथा प्रतिज्ञापत्र सार्वजनिकीकरण कार्यक्रममा प्रतिज्ञा पत्र सार्वजनिक गर्नुहुँदै नेका सभापति गगनकुमार थापा। तस्बिरः अजयकुमार साह/रासस

    वैकल्पिक विकास वित्तसम्बन्धी कानुन अघि बढाउँदै बैङ्क, संस्थागत तथा गैर–बैङ्किङ वित्तीय क्षेत्रबाट परियोजना विशेष स्रोत परिचालन गर्ने कानुनी व्यवस्था गर्ने कांग्रेसले जनाएको छ । “ठूला र जटिल आयोजनामा इपिसी, इपिसिएफ विधिबाट अन्तरराष्ट्रिय लगानी आकर्षित गर्दै छ महिनाभित्र हाइब्रिड एन्युटी र स्विस च्यालेन्ज विधिको ढाँचा तय गरी सार्वजनिक खरिद ऐन संशोधन गरी कार्यान्वयनमा लैजान्छौँ”, कांग्रेसको प्रतिज्ञामा भनिएको छ ।

    यसैगरी, सडकहरू दुर्घटनारहित, बाह्रै महिना सञ्चालन हुने र स्थानीय तहको केन्द्रसम्म पुग्ने बनाउन तथा सडक निर्माणमा वातावरणीय दिगोपन, बत्ती, पहुँच र उच्च प्रविधिका पूर्वाधार समावेश गर्दै सबै गाउँबस्तीका लागि सुरक्षित पहुँच र सडक सूचना प्रणाली विकास गर्ने पनि कांग्रेसको प्रतिज्ञा छ । सडक दुर्घटना कम गर्न सडकको डिजाइन तथा निर्माणबाटै सुरक्षाका उपायहरूलाई उच्च प्राथमिकतामा राखी सडकस्तरीकरण, यातायात साधन परीक्षण तथा सवारी चालक निगरानी गर्ने कांग्रेसको प्रतिज्ञा छ ।

    “पूर्व–पश्चिम राजमार्गका सबै खण्ड चार लेनमा विस्तार तथा स्तरोन्नति गरी निर्माण सम्पन्न गर्छौं । काठमाडौँ–तराई द्रुतमार्ग सम्पन्न गर्न सबै प्रकारको सहजीकरण गर्छौं”, प्रतिज्ञापत्रमा भनिएको छ, “बिपी राजमार्गको पुनर्निर्माण कार्य द्रुत गतिमा अघि बढाई कान्ति लोकपथको कालोपत्र गर्न बाँकी खण्ड एक वर्षभित्र सम्पन्न गरी राजधानी प्रवेशको स्थायी वैकल्पिक मार्ग सुनिश्चित गर्छौं ।”

    प्रतिज्ञाअनुसार मदन भण्डारी राजमार्ग र सबै उत्तर–दक्षिण करिडोरहरूको निर्माण सम्पन्न गरी सार्वजनिक यातायात सञ्चालन गर्ने, उत्तर–दक्षिण जोड्ने सडकमा सुरुङलाई प्राथमिकता दिँदै सिद्धबाबा सुरुङ आयोजना सम्पन्न गर्ने, नदी–खोँचहरूमा बढी लम्बाइ भएका विशिष्ट प्रकारका पुल निर्माण प्रविधि भित्र्याउने, नदी किनाराका तटबन्धलाई वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सक्नेगरी विकास गरिने छ ।

    नागरिकमैत्री, द्रुत र सुरक्षित सार्वजनिक यातायात प्रणाली विकास गर्दै यसलाई क्रमशः विद्युतीय बनाउने, सहरी क्षेत्रमा ‘नन–मोटराइज्ड’ यातायात साधन, पैदल र साइकललाई प्राथमिकता दिँदै यस क्षेत्रको समग्र व्यवस्थापनका लागि यातायात प्राधिकरण स्थापना गर्ने अर्को महत्त्वकाङ्क्षी योजना नेपाली कांग्रेसले अगाडि सारेको छ ।

    काठमाडौँ जोड्ने अन्तरदेशीय तथा पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने तथा काठमाडौँ–पोखरा–लुम्बिनी विद्युतीय रेलको सम्भाव्यता अध्ययन गर्ने कांग्रेसको योजना छ । जल यातायात सम्भावना भएका क्षेत्रमा आवश्यक पूर्वाधारमा लगानी र सञ्चालन सहजीकरण गर्ने पनि अर्को चुनावी एजेन्डा अघि सारिएको छ ।

    नेकपा एमालेले राजधानीमा आयोजित कार्यक्रममा डिजिटल प्रविधिबाट प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओलीलगायत । तस्बिर : चन्द्रकला क्षेत्री / रासस

    एमालेको प्रतिबद्धता : ऊर्जा निर्यात, द्रुत यातायात र डिजिटल करिडोर
    एमालेले विसं २०८७ सम्मको लक्ष्य निर्धाण गर्दै ऊर्जा, यातायात र डिजिटल पूर्वाधारमा संरचनात्मक परिवर्तन गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । उक्त पार्टीले असुरक्षित यातायात र कमजोर ऊर्जा सञ्जाललाई विस्थापित गर्दै नेपाललाई क्षेत्रीय ऊर्जा निर्यात केन्द्र बनाउने दीर्घकालीन योजना अघि सारेको छ ।

    “वि.सं २०८७ सम्ममा असुरक्षित यातायात र ऊर्जा सञ्जाललाई विस्थापित गर्दै १५ हजार मेगावाट विद्युत् जडित क्षमता र ‘स्मार्ट राष्ट्रिय ग्रिड’ मार्फत नेपाललाई ऊर्जा निर्यातको केन्द्र बनाइनेछ”, एमालको घोषणापत्रमा भनिएको छ, “३० हजार किमी गुणस्तरीय राजमार्ग र १० वटा रणनीतिक सिग्नेचर आयोजना समयमै सम्पन्न गरी सुरक्षित र द्रुत आवतजावत सुनिश्चित हुनेछ ।”

    यससँगै उच्च गतिको सुलभ इन्टरनेटलाई हरेक बस्तीमा विस्तार गरी राष्ट्रिय राजमार्गहरूलाई उद्योग र कृषि पकेट क्षेत्र जोड्ने इकोनोमिक कोरिडोरका रूपमा विकास गरिने यस पार्टीको प्रतिबद्धता रहेको छ ।

    नेकपाको घोषणा : द्रुत पूर्वाधार, ऊर्जा विस्तार र क्षेत्रीय कृषि कार्यक्रम
    नेकपाले अधुरा राष्ट्रिय गौरवका आयोजना द्रुत गतिमा सम्पन्न गर्ने र नयाँ रणनीतिक पूर्वाधार सुरु गर्ने योजना सार्वजनिक गरेको छ । पार्टीले सडक, रेल, हवाई, जल यातायातदेखि ऊर्जा र कृषि आधुनिकीकरणसम्मका बहुआयामिक विकास एजेन्डा अघि सारेको छ ।

    RSS

    “पूर्व–पश्चिम राजमार्ग, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौँ–निजगढ द्रुत मार्ग, काठमाडौँ–हेटाँैडा सुरुङमार्ग, उत्तर–दक्षिण लोकमार्ग (कोशी, त्रिशूली, कालीगण्डकी, कर्णाली र महाकाली करिडोर) तथा गड्डाचौकी–चिसापानी सडकखण्ड चार लेनको निर्माण गरिनेछ । खुटिया–दिपायल–चैनपुर–उरै भञ्ज्याङ योजनाको निर्माण शीघ्र सम्पन्न गरिनेछ,” घोषणापत्रमा उल्लेख गरिएको छ ।

    यसैगरी काठमाडौँको बाहिरी चक्रपथ र अन्य प्रमुख सहरमा चक्रपथ निर्माणलाई तीव्रता दिइने, सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पु¥याइने, हुलाकी सडकका बाँकी खण्डको निर्माण कार्य पूरा गरिने र पूर्व–पश्चिम हिमाली लोकमार्गको अध्ययन गरी प्रारम्भिक कार्य सम्पन्न गरिने नेकपाको प्रबिद्धता छ ।

    यस्तै, केरुङ–काठमाडौँ, काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्गको निर्माण प्रक्रिया अगाडि बढाइनेछ । पूर्व–पश्चिम रेलमार्ग निर्माण तथा काठमाडौँमा मेट्रोरेल र मोनोरेल निर्माण प्रक्रिया अगाडि बढाइने र निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण कार्य पाँच वर्षमा सम्पन्न गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

    हाल प्रयोगमा नरहेका मुलुकका विभिन्न विमानस्थलको स्तरोन्नति गरी प्रयोगमा ल्याइने वा अन्य प्रयोजनमा उपयोग गरिने, मुलुकका विभिन्न भागमा द्रुत मार्ग, लोकमार्ग र टनेल मार्गको निर्माण कार्य अगाडि बढाइने नेकपाको योजना छ । प्रतिव्यक्ति विद्युत् खपत आगामी पाँच वर्षमा ७५० किलोवाट घण्टा पु¥याइने, तराईमा सुगन्धित÷मसिनो धान, प्याज, तेलहन, दूध, मासु उत्पादन तथा निर्यात प्रवद्र्धन गरिने घोषणापत्रमा उल्लेख छ ।

    रास्वपाको वाचापत्र स् स्मार्ट ग्रिड, ऊर्जा निर्यात र इकोनोमिक करिडोरमा जोड
    रास्वपाले विसं २०८७ सम्मको समयसीमा तोक्दै ऊर्जा, यातायात र डिजिटल पूर्वाधारमा संरचनात्मक रूपान्तरण गर्ने महत्त्वाकाङ्क्षी वाचापत्र सार्वजनिक गरेको छ । पार्टीले असुरक्षित यातायात र कमजोर ऊर्जा सञ्जाललाई प्रतिस्थापन गर्दै नेपाललाई ऊर्जा निर्यात केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य अघि सारेको छ ।

    विसं २०८७ सम्ममा असुरक्षित यातायात र ऊर्जा सञ्जाललाई विस्थापित गर्दै १५ हजार मेगावाट विद्युत् जडित क्षमता र ‘स्मार्ट राष्ट्रिय ग्रिड’ मार्फत नेपाललाई ऊर्जा निर्यातको केन्द्र बनाइने र ३० हजार किमी गुणस्तरीय राजमार्ग र १० वटा रणनीतिक ‘सिग्नेचर आयोजना’ समयमै सम्पन्न गरी सुरक्षित र द्रुत आवतजावत सुनिश्चित गर्ने रास्वपाको चुनावी वाचा रहेको छ । “उच्च गतिको सुलभ इन्टरनेटलाई हरेक बस्तीमा विस्तार गरी राष्ट्रिय राजमार्गहरूलाई उद्योग र कृषि पकेट क्षेत्र जोड्ने इकोनोमिक कोरिडोरका रूपमा विकास गरिएको हुनेछ,” वाचापत्रमा भनिएको छ ।

    राप्रपाको घोषणाः उपत्यकालाई मेट्रो रेललाई यातायात सञ्जालमा जोडिने
    राप्रपाले विद्यमान सार्वजनिक खरिद ऐनमा संशोधन गरी विकास निर्माण आयोजनामा हुने ढिला सुस्ती, लापरबाही र नीतिगत भ्रष्टाचारको अन्त्य गरिने घोषणा गरेको छ । आगामी प्रतिनिधि चुनावलाई लक्षित गर्दै राप्रपाले तयार पारेको सङ्कल्प–पत्रमा चालु तथा प्रस्तावित आयोजनाको रणनीतिक, लागत प्रभावी र पहुँचका आधारमा पुनरावलोकन गरी तीन वर्षभित्र सम्पन्न गरिने गरी निर्माणलाई तीव्रता दिइने घोषणा गरेको छ ।

    “मेट्रो, पडवे, आकाशे पुल, अन्डरपास, ओभरपास, रिङरोड विस्तार तथा वैकल्पिक साधन तथा मार्गमार्फत ट्राफिक जाम अन्त्य गरी आवागमनलाई सहज र छरितो बनाइनेछ । स्मार्ट ट्राफिक प्रणाली, पार्किङ सुविधा, विद्युतीय बस र रेलको प्रयोगलाई प्रोत्साहन दिइनेछ । ग्रामीण तथा सहरी क्षेत्रमा समान पहुँच सुनिश्चित गरी सुरक्षित, सहज र समय बचत हुने यातायात सेवा उपलब्ध गराइनेछ,” राप्रपाको सङ्कल्प पत्रमा भनिएको छ । यसैगरी सम्पूर्ण उपत्यकालाई मेट्रो रेल\पडवे लगायतका यातायातमार्फत यातायात सञ्जालमा जोडिने र राष्ट्रिय रणनीतिक सडक सञ्जाललाई १२ महिना सञ्चालन गर्न विशेष व्यवस्था गरिने राप्रपाले जनाएको छ ।

    मेचीदेखि महाकालीसम्मको महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तरराष्ट्रिय हाइवेको मापदण्डमा स्तरोन्नति गरिने, आधारमा विकास र विस्तार गरिनेछ राप्रपाले घोषणा गरेको छ ।

    उज्यालो नेपाल पार्टीको प्रथामिकतामा रेलमार्ग, जलमार्ग र स्मार्ट सिटी
    उज्यालो नेपाल पार्टीले पनि आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । पूर्वाधारतर्फ आगामी पाँच वर्षमा आठ हजार किलोमिटर कालोपत्र सडक, चार हजार किलोमिटर ग्राभेल र तीन हजार किलोमिटर नयाँ ट्र्याक खोल्ने योजना प्रस्तुत गरिएको छ । रेलमार्ग, जलमार्ग र स्मार्ट सिटी अवधारणालाई समेत प्राथमिकतामा राखिएको छ ।

    ‘घोषणापत्र आकर्षकभन्दा यथार्थपरक हुनुपर्छ’
    पूर्वाधारविद् नेपाल बौद्धिक परिषद्का अध्यक्ष तथा पूर्वाधारविद् गजेन्द्र थपलियाले चुनावी घोषणापत्रहरू यथार्थपरकभन्दा पनि आकर्षक बनाउने प्रवृत्ति हाबी हुने बताउनुभएको छ । उनले महत्वाकाङ्क्षी योजनाबिना चुनाव जित्न कठिन हुने मानसिकता दलहरूमा देखिएको समेत बताए । थपलियाका अनुसार देश विकासका लागि महत्वाकाङ्क्षी योजना आवश्यक भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन जरूरी छ ।

    “घोषणा गर्नु सजिलो छ, तर त्यसलाई व्यवहारमा उतार्न कानुनी, प्रशासनिक र वित्तीय पक्ष सबल हुनुपर्छ”, उनले भने । थपलियाले विकास प्रक्रियालाई सहज बनाउन कानुनी व्यवस्था सुधार गर्नुपर्नेमा जोड दिए । जटिल कानुनी प्रावधान र ढिलासुस्तीका कारण धेरै आयोजना प्रभावित हुने गरेको उनको भनाइ छ ।

    राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले विगत सरकारद्वारा निर्धारण गरिएका राष्ट्रका प्राथमिकतामा निरन्तरता दिनुपर्नेमा जोड दिए । “तर, ठेकेदारले समयमै भुक्तानी नपाउँदा आयोजना समयमै सम्पन्न गर्न चुनौती थपिएको छ । भुक्तानीमा ढिलाइ हुँदा लागत बढ्ने, काम सुस्त हुने र गुणस्तरमा समेत असर पर्ने जोखिम हुन्छ”, थपलियाले भने, “त्यसैले वित्तीय अनुशासन र प्रभावकारी अनुगमन प्रणाली अनिवार्य छ ।”

  • घोषणापत्रमा मलको समस्या समाधान गर्ने अटोट, तर हुँदैन कार्यान्वयन

    घोषणापत्रमा मलको समस्या समाधान गर्ने अटोट, तर हुँदैन कार्यान्वयन

    सुशील दर्नाल–रासस
    काठमाडौँ, १४ फागुनः देश निर्वाचनमय छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अब सात दिन मात्र बाँकी छ । मतदाता रिजाउन उम्मेदवारले विभिन्न प्रचार शैली अपनाइरहेका छन् । कोही किसानको खेतमा गइरहेका छन् । किसानलाई सघाउँदै गरेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै मत मागिरहेका छन् । यहीबीचमा सबैजसो राजनीतिक दल र उम्मेदवारले घोषणापत्र ल्याइसकेका छन् । त्यहाँ समेटिएका योजना देखाएर दल तथा उम्मेदवारले मत मागिरहेका छन् ।

    किसानहरूले हरेक वर्ष भोग्दै आएको समस्यामध्ये हो—मल । हाल सबैजसो दलले यसलाई प्राथमिकताका साथ उठान गरेका छन् । घोषणापत्रमा हेर्दा मल नै मल छ । नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा ‘किसानलाई मागअनुसार चाहेकै समयमा, चाहिएकै परिमाण, राज्यले तोकेकै मूल्यमा, पायक ठाउँमै मल उपलब्ध गराउन नीति, संरचना, प्रक्रिया र प्रविधिको प्रबन्ध गर्छौं’ भनेको छ । जुन कुरा कांग्रेसले हरेक पटक दोहो¥याउँदै आएको छ, तर पनि कार्यान्वयन हुन सकेको छैन ।

    प्रत्येक वर्ष खेती लाउनेबेला किसान मल माग्न सङ्घीय राजधानी काठमाडौँ आउनैपर्ने बाध्यता अझै छ । किसानहरू मल माग्दै माइतीघरमा धर्ना दिन आउनुपर्ने अवस्था छँदैछ । मल खरिदको प्रक्रिया क्यालेन्डर बनाएर मलको आवश्यकता हुने समयमा आपूर्ति सुनिश्चित गर्ने विषयलाई कांग्रेसले २०६४ र २०७० सालको संविधानसभाको निर्वाचन, २०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणापमा पनि समेटेको थियो ।

    कांग्रेसले विसं २०७९ को घोषणापत्रमा भनेको थियो, “मधेस प्रदेशका आठ जिल्लामा पूर्ण सिँचाइ सुविधा पु¥याइनेछ । पहाडका सबै जिल्लामा सिँचाइलाई प्राथमिकता दिएर काम गरिने छ, जहाँ सिँचाइ पुगेको छ त्यहाँ कृषि केन्द्र लैजाने र खेतीलाई पानी सुविधाबाट अत्यधिक फाइदा हुने व्यवस्था मिलाइने छ ।”

    यसैगरी मलको आवश्यकता तथ्याङ्कका आधारमा पहिचान गरी पर्याप्त स्रोतको व्यवस्था गर्ने, मल खरिद, बिक्री र वितरणमा हुने समस्य समाधान गर्ने, विद्युत्को आन्तरिक मागभन्दा अधिक उत्पादन हुने समयमा सोको सदुपयोग गर्दै मलको उत्पादन नेपालको हुन सक्ने गरी तराईमा मल करखाना स्थापना गर्नेलगायत कांग्रेसले चुनावी घोषणापत्रमा रोखेको थियो । जुन कार्यान्वयन हुन सकेको छैन ।

    विसं २०४६ को परिवर्तनपछि कांग्रेसले ल्याएको उदारीकरणको नीतिले कृषि क्षेत्रमा निजी लगानी र व्यावसायिक खेती प्रोत्साहित भएको र खुला र मझौला सिँचाइ आयोजनाहरूको विस्तारमा नेतृत्वदायी भूमिकाले कृषि उत्पादकत्वमा सुधार भएको र कृषिमा अनुदान, सुलभ कर्जा आदिको व्यवस्थाले चिया, कफी, अलैँची र दुग्ध व्यवसायमा निजी लगानीको प्रवेश भएको कांग्रेसको दाबी छ । व्यवहारमा भने किसानले जैविक मल त कता हो कता भनेको समयमा पैसा तिरेर रासायनिक मलसमेत पाउन सकेका छैनन् ।

    किसान अभियन्ता राजकुमार शाहले सबै राजनीतिक दलले पटक–पटकको चुनावमा किसानका लागि मल अभाव हुन नदिने भने पनि कार्यान्वयन भने हुन नसकेको बताए । यही चुनावको सम्मुखमा उदायकाउ उज्यालो नेपाल पार्टीले कृषिमा ‘डिजिटल आइडी’मार्फत अनुदान सिधै किसानको खातामा पठाउने, पाँच वर्षभित्र ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक बनाउने र उत्पादनको लागतमा २० प्रतिशत थप गरी खरिद सुनिश्चित गर्ने प्रतिबद्धता छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्नो घोषणापत्रमा ‘घुम्ती कृषि ल्याबको व्यवस्था गरी माटो, बीउबिजन र कृषि उत्पादनको परीक्षण किसानको घरदैलोमै गर्ने व्यवस्था मिलाइने छ’ भन्दै महत्वकाङ्क्षी प्रतिबद्धता जनाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पनि घोषणापत्रमार्फत कृषिको उत्पादकत्व वृद्धि, विद्युत् उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै सात प्रतिशतदेखि नौ प्रतिशतसम्मको आर्थिक वृद्धिद्वारा अर्थतन्त्रको आकार पाँच वर्षमा एक सय खर्ब रूपैयाँ र १० वर्षमा २०० खर्ब रूपैयाँको पु¥याउने प्रतिबद्धता जनाएको छ । उक्त पार्टीले भनेको छ, “कृषिको आधुनिकीकरण गर्दै यस क्षेत्रको अतिरिक्त श्रमशक्तिलाई शिक्षा, सीप र प्रविधि विकासद्वारा औद्योगिक र सेवा क्षेत्रमा स्थानान्तरण गर्नेछौँ ।”

    नेपाली कम्युनिष्ट पार्टीले पनि धान, गहुँ, मकै, तरकारी, फलफूल, उखु, दूध, मासु, मत्स्यमा दुई वर्षभित्र आत्मनिर्भर हुने, दुई वर्षभित्र देशलाई भोकमुक्त नेपाल घोषणा गर्ने, पाँच वर्षभित्र ८० प्रतिशत सिँचाइयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने तथा १० हजार सोलार सिँचाइ पम्प जडान गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी, स्टार्टअप उद्यमलाई निःशुल्क दर्ता तथा पाँच वर्षसम्म कर छुट दिनेलगायत एजेन्डा ल्याइएको छ ।

    जनता समाजवादी पार्टी (जसपा), नेपालले कृषि क्षेत्रलाई जोड दिँदै ‘भर्टिकल फार्मिङ’ प्रवर्द्धन गर्दै पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अनिश्चितताकोे कृषि क्षेत्रलाई सम्मानजनक पेसाका रूपमा पुनःस्थापना गर्दै समग्र अर्थतन्त्रको बलियो आधार तयार गर्ने वाचापत्रमा उल्लेख गरेको छ ।

    रास्वपाले भनेको छ, “कृषि उत्पादन र व्यापार सन्तुलनको विषयमा मात्र सीमित नराखी, खाद्य सुरक्षा र पौष्टिक सुरक्षाजस्ता राष्ट्रिय लक्ष्य जोडेर मुख्य प्राथमिक क्षेत्रका रूपमा अघि बढाउँदै कृषिमा उत्पादकत्व वृद्धि र कृषकको बृहत्तर हित सुनिश्चित गर्न आवश्यक नीति तथा कार्यक्रम निजी क्षेत्रमैत्री लगानीको नीति आवश्यक पूर्वाधार निर्माण गर्नाका साथै पर्याप्त बजेट विनियोजन गर्नेछ ।”

    यी पार्टीले विगतदेखि नै यस्तै घोषणा गर्दै आएका छन्, यीमध्ये केही दलले पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि यी मुद्दाले प्राथमिकता पाउन सकेनन् । त्यसैले मल नपाउने विषय किसानको सदाबहार समस्याका रूपमा रहेको छ । कृषि उत्पादनका लागि आधारभूत आवश्यकताका रूपमा रहेका मल, बीउबिजन, कीटनाशक औषधिको अभावले किसान मारमा छन् । त्यसैले सप्तरीका किसान राजेश यादवलाई नेताहरुले मल दिन्छौँ भन्नु मत माग्ने बाहना मात्रै हो जस्तो लाग्छ । गहुँ, दलहन र तेलहन खेतीका लागि मल नपाएका मधेसका किसानले अब धान खेतीका लागि मल नपाएर भाँैतारिने बेला आएको भन्दै उनी खिन्न छन् ।

  • निर्वाचनमा निषेध काम गरेमा कारबाही गर्न गृहलाई आयोगको  अनुरोध

    निर्वाचनमा निषेध काम गरेमा कारबाही गर्न गृहलाई आयोगको अनुरोध

    काठमाडौँ, १४ फागुनः निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिन र जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम विशेष गरेका कार्य गर्नेलाई कारबाही गरिएकाबारे जानकारी दिन अनुरोध गरिएको जनाएको छ ।

    आयोगले मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन पनि आग्रह गरेको छ । “मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन) हरू, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू संवत् २०८२ साल फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउनू”, आयोगले भनेको छ ।

    यसैगरी मतदानको दिनमा अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत् सञ्चालनको व्यवस्था मिलाउने, अन्तरराष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि घर÷बसोबास गर्ने होटलसम्म र घर÷बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले स्पष्ट पारेको छ ।

    निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा छ मा उल्लेख भएबमोजिम निर्वाचनमा शान्तिसुरक्षा कायम गर्ने सम्बन्धमा तोकिएका सबै कार्यसहित सोही दफाको खण्ड (झ)मा उल्लेख भएको प्रतिनिधिसभा सदस्य निर्वाचन ९मतदान० निर्देशका, २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्र लिएर मतदान केन्द्रमा जानुपर्ने गरी व्यवस्था गरेका छ । सो बमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जाने मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकार भएकाहरूलाई सूचना सम्प्रेषण गर्न पनि आयोगले सूचित गराएको छ ।

    विज्ञप्तिमा भनिएको छ, “आयोगले जारी गरेको सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिनमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण इकाइ खडा गर्ने र सो एकाइमा निर्वाचन आयोगको तर्फबाट दुई र जिल्ला प्रशासन कार्यालय, कांठमाडौँका तर्फबाट दुई जना कर्मचारीलाई तोक्ने ।’

  • निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

    निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

    काँक्रेविहार (सुर्खेत), १४ फागुनः यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संमवेदनशील, ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेको जानकारी दिए ।

    प्रदेशमा रहेका ९४१ वटा स्थायी र १८ वटा अस्थायी गरेर ९५९ वटा मतदानस्थल रहेका छन् । यहाँ एक हजार ४५५ वटा मतदान केन्द्रमध्ये सुरक्षाका हिसाबले ४४६ वटा मतदान केन्द्र अति संवेदशील रहेका छन् । संवेदशीलमा ६९७ र सामान्य अवस्थाका २८४ वटा मतदान केन्द्र रहेका छन् ।

    एउटा मात्र केन्द्र भएको स्थलको सङ्ख्या कर्णालीमा ५२५, दुई केन्द्र भए ३५३, तीन केन्द्र भएको स्थल ४९, चार केन्द्र भएको स्थलको सङ्ख्या १२, पाँच केन्द्र भएको स्थलको सङ्ख्या एक, छ केन्द्र भएको स्थल एक रहेको छ । एक केन्द्र भएको अस्थायी स्थलको सङ्ख्या १८, थप मतदान केन्द्रको सङ्ख्या ४९६ रहेका छन् ।

    कर्णालीमा १२ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा दुई\दुई वटा र अन्य आठ जिल्लामा एक\एक वटा निर्वाचन क्षेत्र छन् । प्रदेशमा कुल मतदाना सङ्ख्या १० लाख ३७१८ वडा रहेको कर्णालीमा ५४ वटा गाउँपालिका र २५ वटा नगरपालिका रहेका छन् ।

  • अमेरिकाको मिसौरीमा भएको गोली हानाहानमा दुई प्रहरीको मृत्यु, तीन घाइते

    अमेरिकाको मिसौरीमा भएको गोली हानाहानमा दुई प्रहरीको मृत्यु, तीन घाइते

    वासिङ्टन, १३ फागुन (रासस–क्युएनए) । संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । क्रिश्चियन काउन्टी शेरिफ ब्राड कोलले विज्ञप्ति मार्फत घटना दक्षिण–पश्चिम मिसौरीको हाइल्याण्ड भिलको दक्षिणमा भएको जनाएको छ । संदिग्धलाई रिड्स स्प्रिङ सहर नजिकै फेला परेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    कोलले संदिग्धले गोली हाने पछि घटना स्थलमै काउन्टी शेरिफका सहायकको मृत्यु भएको उल्लेख गर्दै अन्य सहायक संदिग्धसँग गोली हानाहानको क्रममा बन्दुकको गोलीको कारण अस्पतालमा मृत्य भएको र अन्य तीन जना घाइते भएको बताएका छन् । पछिल्लो समयमा संयुक्त राज्य अमेरिकामा गोली हानाहानका घटनाहरू बढ्दै गएकाले असुरक्षा र सामाजिक सङ्कट चर्किएको जनाइएको छ ।

  • एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना

    एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना

    काठमाडौँ, १३ फागुन । नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षाका लागि परिचालन भएको नेपाली सेनाले विगतमा जस्तै यसपटक पनि सुरक्षा व्यवस्थाको योजना बनाएको छ ।

    सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन केन्द्रित तालिम तथा संयुक्त अभ्यास सञ्चालन गरी आवश्यक तयारी पूरा भइसकेको छ । यसबीचमा सेनाले मतपत्र छपाइ सुरक्षाको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ । आजसम्म ७५ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी भइसकेको र भोलिसम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । भौगोलिक अवस्थाअनुसार पाँच जिल्लामा हवाई माध्यमबाट र अन्य जिल्लामा स्थल मार्गबाट मतपत्र ढुवानी गरिएको हो । सेनाले २०४८ साल यताका सबै निर्वाचनमा मतपत्र छपाइस्थलको सुरक्षा, काठमाडौँबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी गर्दै आएको छ ।

    निर्वाचनको दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन सम्पन्न भएपश्चात् अन्य सुरक्षा निकाय, निर्वाचन अधिकृतलगायत दलका प्रतिनिधिसहितको एकीकृत टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणना स्थलसम्म पुर्‍याउने काम हुँदै आएको छ । मत गणनाको समयमा सेनाले गणनास्थलको बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्दै आइरहेको छ । आसन्न निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन विगत जस्तै सेनालगायत अन्य सुरक्षा निकाय परिचालित भएका सैनिक प्रवक्ता बस्नेतले स्पष्ट पारे ।


    एकीकृत सुरक्षा योजनाअनुसार सेनाले निर्वाचनका दौरान मतदान केन्द्र तथा मतगणना स्थलको सुरक्षा, हवाई गस्ती, शङ्कास्पद वस्तु निष्क्रिय पार्नेलगायत कार्य गर्नेछ । सुरक्षा व्यवस्थाको तेस्रो घेरामा रही आवश्यकताअनुसार विभिन्न साधनमार्फत थप फौज समेत परिचालन गरी जुनसुकै सुरक्षा घेरामा खटिइ निर्वाचनलाई सुरक्षित वातावारण तयार गरिने सेनाले जनाएको छ । निर्वाचन सुरक्षालाई थप सुदृढ बनाउन स्थानीय प्रशासन र सम्बद्ध सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरी देशभर विभिन्न स्थानमा बेस स्थापना गरी नियमित गस्ती भइरहेको छ ।

    भौगोलिक विकट स्थानमा सडक तथा बाटोमा जमेका हिउँ पन्छाएर बाटो खुलाई निर्वाचन सामग्री ढुवानी, व्यवस्थापन एवं आम जनमानसको सहजताको लागि सहयोग प्रदान गरिरहेको सेनाले जनाएको छ । कारागार, विमानस्थल तथा सरकारी कार्यालयसहित अन्य सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेका ११६ महत्वपूर्ण संरचनाको सुरक्षाका लागि समेत सेना खटिएको छ । निर्वाचन सुरक्षासम्बन्धी गतिविधिको केन्द्रीय र स्थानीय तहबाट निरन्तर अनुगमन भइरहेको सेनाले जनाएको छ । सो क्रममा प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न कमान्ड सेन्टर तथा फिल्डमा खटिएका फौजको निरीक्षण गर्दै आवश्यक निर्देशन दिँदै आएका छन् ।


    सैनिक प्रवक्ता बस्नेतले रासससँगको कुराकानीमा निर्वाचन आचारसंहिता तथा मानवअधिकारको पूर्णपालना गर्दै सरकार, निर्वाचन आयोग, स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा गर्न सेना पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

    संयुक्त राष्ट्र सङ्घको आह्वान विश्व शान्ति स्थापना कार्यमा विश्वसनीय र भरपर्दो शान्ति सैनिकको पहिचान बनाएको सेनासँग विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सहयोगी भूमिका निर्वाह गरेको अनुभव रहेको छ । सरकारको दृढ प्रतिबद्धता र सेनालगायत अन्य सुरक्षा निकायको सक्रिय परिचालनले यस पटकको प्रतिनिधिसभा निर्वाचन सुरक्षित र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने अपेक्षा गरिएको सेनाले जनाएको छ ।

  • विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

    विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

    काठमाडौँ, १३ फागुनः प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर एए ३८४६४९१ की ५१ वर्षीया स्वीडिस नागरिक कुन्चोक खान्ड्रो रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुन्डीराज नेउपानेले जानकारी दिए ।

    उनले भने, “सिचुआन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट चाइना जान लागेकी निज यात्रु स्वीडिस नागरिकले खैरो रङको साइड ब्यागभित्र विदेशी मुद्राहरू लुकाइ–छिपाइ लैजान लागेका अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय प्रस्थान कक्षबाट पक्राउ गरिएको हो ।”

    प्रहरीले निजको साथबाट युएस दश हजार ५००, युरो २६ हजार ७००, चिनियाँ युआन सात हजार ४०० तथा फेम हुन्ड्रा क्रोनर–स्वीडेन ४३ हजार बरामद गरेको जनाएको छ । पक्राउ परेकी निज स्वीडिस नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको सूचना अधिकारी नेउपानेले बताए ।

  • एसियन हाइवेः आठ किलोमिटर कालोपत्र पूरा

    एसियन हाइवेः आठ किलोमिटर कालोपत्र पूरा

    झापा, १३ फागुनः निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर क्षेत्रमा सडकको दुवैतर्फ कालोपत्र भइरहेको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड दमक कार्यालयका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म चार हजार ५९५ मिटर सडक कालोपत्र भइसकेको छ ।

    मेचीनगर, विर्तामोड, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिका क्षेत्रका विभिन्न खण्डमा दाँयातर्फ एक हजार २८० र बायाँतर्फ दुई हजार ७५५ मिटर लेनमा पहिलो सतहको कालोपत्र गरिएको पन्तले जानकारी दिए । आयोजनाले आगामी असार मसान्तसम्ममा ३० किलोमिटर सडकको दुवैतर्फ पहिलो चरणको कालोपत्र गरिसक्ने लक्ष्य लिएको छ ।

    सडक निर्माणसँगै सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि आधुनिक ‘ओभरपास’ निर्माण पनि भइरहेको छ । मेचीनगरको चारआली चोक र विर्तामोडको चारपानेमा ओभरपास निर्माण भइरहेको छ । चारआलीमा पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर तथा चारपानेमा पूर्वतर्फ २०७ मिटर र पश्चिमतर्फ ३०८ मिटर लामो ओभरपास निर्माण भइरहेको आयोजनाले जनाएको छ ।

    वन्यजन्तु संरक्षणलाई ध्यानमा राख्दै चारआली जङ्गल क्षेत्रमा हात्ती लगायतका जङ्गली जनावर ओहोरदोहोर गर्न ‘एनिमल अन्डरपास’ पुलसमेत निर्माण भइरहेको छ । यो नेपालकै सडक पूर्वाधारमा प्रयोग गरिएको आधुनिक र वातावरणमैत्री पूर्वाधार मानिएको छ । एसियाली विकास बैंकको रु १० अर्ब सहयोगमा सुरु भएको यस आयोजनाको ठेक्का एभ्रास्कन कालिका जेभीले लिएको छ । निर्माण कम्पनीले सडकमा पर्ने कल्भर्ट र साना पुलको कामलाई पनि सँगसँगै अगाडि बढाएको छ ।

    मुख्य सहरी क्षेत्रमा अझै पनि करिब ४०० वटा विद्युत्का पोल सार्न बाँकी रहँदा काममा केही चुनौती देखिएको छ । आयोजना प्रमुख पन्तले विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको र पोल सारेलगत्तै ती क्षेत्रमा पनि कामले थप गति लिने बताए । काँकडभिट्टादेखि लौकहीसम्मको ९५.७६ किलोमिटर क्षेत्रमा निर्माणाधीन यो राजमार्ग सहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको हुनेछ । सरकारले यसको प्रभावकारी कार्यान्वयनका लागि दमक र इटहरीमा छुट्टाछुट्टै कार्यालय स्थापना गरी काम गरिरहेको छ ।

  • मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

    मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

    काठमाडौँ, १३ फागुनः नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुवारक जरवान अल शाम्सीले प्राकृतिक विपत्तिलगायत सङ्कटका बेला आफ्नो देशले विश्वसमुदायलाई सहयोग गर्दै आएको र त्यसनिम्ति सधैँ तत्पर रहेको बताएका छन् ।

    मुसलमानहरुको पवित्र महिना रमादानका अवसरमा ‘युएई र मानवीय प्रयास : मानवताका निम्ति दिगो रणनीति’ शीर्षकमा आज यहाँ आयोजित कार्यक्रमा उनले ५० लाख बालबालिकालाई कुपोषणबाट जोगाउने अभियान यसै महिना प्रारम्भ गरिने जानकारी दिए । साथै राजदूत शाम्सीले गत वर्ष एक अर्ब ६० करोड अमेरिकी डलर मानवीय सहयोगका खातिर आवश्यकमा रहेका समुदायलाई प्रदान गरिएको बताए ।

  • नेकपा पहिलो दल बन्छ : प्रचण्ड

    नेकपा पहिलो दल बन्छ : प्रचण्ड

    काठमाडौँ, १३ फागुनः नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज वाम बुद्धिजीवीसँगको छलफलमा उनले ६५ देखि ७० सिटसम्म प्रत्यक्षमै निर्वाचित हुने एक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको बताएका हुन् ।

    निर्वाचनको मितिसम्म पुग्दा नेकपाले अझै बढी मेहनत गरेमा नतिजा झनै राम्रो आउनसक्ने सम्भावना रहेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले पार्टीका चुनावी कार्यक्रम जनतालाई बुझाउन जरुरी रहेको उल्लेख गरे । पार्टीका पक्षमा जनमत सिर्जना गर्न बुद्धिजीवीहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले प्रतिबद्धतापत्र हरेक वडामा पु¥याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले भने, “अब निष्पक्ष निर्वाचन हुने हो भने परिणाम राम्रै हुने देखिन्छ ।”

  • गृह मन्त्रालयमा दैनिक निर्वाचनसम्बन्धी सुरक्षा समीक्षा

    गृह मन्त्रालयमा दैनिक निर्वाचनसम्बन्धी सुरक्षा समीक्षा

    काठमाडौँ, १३ फागुनः गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभाको निर्वाचन (फागुन २१ गते)लाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउन दैनिक निर्वाचन सुरक्षासम्बन्धी समीक्षा गरिरहेको छ । केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा भइरहेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा र रणनीति तथा जनशक्ति परिचानलका साथै जिल्ला समन्वयको कामलाई प्रभावकारी बनाइएको छ ।

    प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय सुरक्षा परिषद्, गृहमन्त्रीको अध्यक्षमा रहेको केन्द्रीय सुरक्षा समिति, प्रदेश प्रमुख सचिवको अध्यक्षतामा रहने प्रदेश सुरक्षा कमाण्ड पोष्ट, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिमा चारवटै सुरक्षा निकायका प्रमुख रहनेगरी बनेको संयन्त्रले प्रत्येक दिन स्थानीयदेखि केन्द्रसम्मको वस्तुस्थिति, सूचना, निर्वाचनसम्बन्धी गतिविधिलाई सुक्ष्म विश्लेषणसहित नियमन गरिरहेको छ ।

    सुरक्षालाई चुस्त राख्न हरेक दिन गृहमन्त्री र सुरक्षाको टिम निरन्तर सक्रिय रहेको छ । निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत निर्वाचन अघि निर्वाचनको अवधिमा र निर्वाचनपश्चात् मतपत्रको ढुवानी, परिणाम घोषणासम्मका कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अन्तर्गत रही कार्य गरिरहेको मन्त्रालयले जनाएको छ ।

    यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकमा मन्त्री अर्यालले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायले आपसी समन्वय गरी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्नेगरी कार्य गर्न निर्देशन दिनुभयो । बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति थियो ।

  • अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

    अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

    भीष्मराज ओझा–रासस
    काठमाडौैँ, १३ फागुन । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्माको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ) केन्द्र चलाउने सङ्गठित आपराधिक समूहको फन्दामा परी बन्धक बनाउने क्रम बढेको छ । कम्प्युटरसम्बन्धी ज्ञान भएका, युएई, मलेसियालगायत मुलुकमा पहिले नै वैदेशिक रोजगारीको अनुभव भएका नेपालीलाई आकर्षक तलब पाइने कामको प्रलोभन देखाई यस्ता ठगी केन्द्रमा लैजाने गरेको देखिएको हो ।

    परराष्ट्र मन्त्रालयका अनुसार सन् २०२२ देखि हालसम्म विभिन्न मितिमा थाइल्याण्ड तथा म्यान्मामा रहेका नेपाली राजदूतावासले ती राजदूतावास रहेका मुलुकका सरकारको सहयोग र समन्वयमा त्यस्ता स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएको पीडित नेपालीको कूल सङ्ख्या ३९२ रहेको छ । त्यस्तै हाल ३०९ नेपाली नागरिक उद्धारका लागि प्रक्रियामा रहेका छन् । यस्तै, हाल म्यान्माको आदालतले १८ जना नेपालीहरूलाई गैरकानुनी रूपमा प्रवेश गरेको भनेर एक वर्ष कैद सयाज सुनाएको छ । सो सम्बन्धमा याङ्गुनस्थित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्माको सरकारी पदाधिकारीहरूसँग भेटघाट गरी छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।

    यसैगरी, उक्त मुलुकहरूका स्क्याम केन्द्रमा रहेका उद्धार गर्नुपर्ने नेपालीहरूको अनुमानित सङ्ख्या हजारौँ हुनसक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार त्यस्ता व्यक्तिहरूलाई ती केन्द्रहरूमा सुरक्षा गार्ड, अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगीलगायत क्रियाकलापमा जबर्जस्ती लगाउने गरिएको छ । उनीहरूलाई कामको लक्ष्य दिइने र सो पूरा गर्न नसकेको अवस्थामा विभिन्न तरिकाहरू अपनाइ शोषण गर्ने गरिएको पाइएको छ । लक्ष्य पूरा गर्न नसकेको अवस्थामा उनीहरूलाई कुनै अपराध गरेको झुटो आरोप लगाई चरम आर्थिक तथा शारीरिक शोषण गर्ने, निजहरूको सट्टामा अर्को व्यक्तिलाई नल्याएसम्म निजहरूले सो स्थानबाट छुटकारा नदिने गरेको पाइएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

    त्यस्तै राहदानी खोसेर हिँडडुलमा प्रतिबन्ध लगाउने, बन्धक बनाई छुटकाराका लागि ठूलो रकम माग गर्ने, त्यस्तो रकम नतिरेमा गम्भीर शारीरिक तथा मानसिक यातना दिने गरिएकोसमेत पाइएको उनले बताए । “अनलाइन ठगी केन्द्रहरूमा फसेका नेपाली नागरिकहरूको उद्धार गरी नेपाल फर्काउनका लागि थाइल्याण्ड तथा म्यान्मामा रहेका नेपाली राजदूतावासमार्फत यस मन्त्रालयले सक्रिय रूपमा निरन्तर पहल गरिरहेको छ”, प्रवक्ता पौडेलले भने, “त्यस्ता कार्यलाई निरूत्साहन गर्न सम्बन्धित देशका सरकारी निकायसँग समन्वय पनि गरिरहेका छौँ । साथै जनचेतनाका लागि समय समयमा ट्राभल एडभाइजरी तथा सूचनाहरू जारी गर्ने गरेका छौँ ।”

    उद्धार गरिएकालाई छानबिनको दायरामा ल्याउनुपर्ने माग

    भारत, चीन, फिलिपिन्स, भियतनालगायत देशले यसरी ती ठगीबाट उद्धार गरी ल्याएका आफ्ना नागरिकलाई पक्राउ अनुसन्धान गरी कानुनी कारबाही पनि गर्ने गरेका छन् । विशेषगरी पीडित भनी उद्धार गरिएका त्यस्ता व्यक्तिहरू पीडक हुनसक्ने, त्यस्ता उद्योगमा साझेदार हुनसक्ने, कतिपयले त्यहाँ सिकेर स्वदेशबाटै त्यस्तो गैरकानुनी धन्दा सञ्चालन गर्नसक्ने आदि कारणले त्यस्ता व्यक्तिहरू कानुनको नजर र अनुसन्धानको दायरामा पर्ने गरेका छन् । तर नेपालको सन्दर्भमा त्यसतर्फ ध्यान पुगेको देखिदैन् । त्यस्ता व्यक्तिहरूबाटै गलत कार्य हुनसक्ने पनि सम्भावना रहेकाले आगामी दिनमा छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग उठेको मन्त्रालयको भनाइ छ ।

    उद्धारको प्रक्रियाका बारेमा मन्त्रालयको दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखाका प्रमुख प्रकाश अधिकारीले पीडितहरू नेपाली राजदूतावासको सम्पर्कमा आएपछि सम्बन्धित देशको परराष्ट्र मन्त्रालयलाई उद्धारका लागि अनुरोध गर्ने गरिएको जानकारी दिए ।

    “उक्त देशको स्थानीय प्रक्रिया पूरा गरी स्वदेश फीर्तिका लागि तयार भएपश्चात् बैंकक हुँदै नेपालसम्म ल्याउन दूतावासहरूले सहजीकरण गर्ने गरेको छ”, उनले भने, “नेपाल फर्कने हवाई टिकटका कारणले कतिपय अवस्थामा उद्धारमा ढिलाइ हुने गरेको छ ।” उद्धारका लागि कर्मचारी खटाउन पनि आर्थिक स्रोतको अभाव रहेको हुँदा सम्बन्धित देशको प्रक्रियामा लामो समय लाग्ने गरेको मन्त्रालयको गुनासो छ । भारत, बङ्गलादेश, श्रीलङ्कालगायत मुलुकहरूले भने त्यस्तो अवस्थामा पीडितहरूलाई उद्धार गर्न सकिने सीमा क्षेत्रसम्मै आफ्ना राजदूतावासका कर्मचारीलाई खटाई शीघ्र उद्धार र स्वदेश फिर्ताको कार्य गर्ने गरेका छन् ।

    यसरी कर्मचारी आफैँ पुगी ती देशका सरकारी निकायहरूसँग छलफल तथा वार्ता गर्दा उद्धार प्रक्रिया छिटो र सहज हुने गरेको छ । नेपालका सन्दर्भमा पीडितहरू रहेको मुलुकमा रहेका गैरआवासीय नेपाली सङ्घ वा अन्य नेपाली समुदायका व्यक्तिहरूसँग सम्पर्क गरी उनीहरूमार्फत कार्य गर्दा लामो समय लाग्ने गरेको छ ।

    उद्धारमा सशस्त्र समूहरूबाट नियन्त्रित क्षेत्रमा थप समस्या

    यस्ता ठगी केन्द्रहरू प्रभावकारी कानुनी कारबाहीको पहुँच बाहिर रहेर काम गर्ने भएकाले पीडितलाई उद्धार तथा स्वदेश फिर्ता गर्ने कार्य अत्यन्त कठिन हुने गरेको छ । यस्ता स्क्याम केन्द्रहरू सरकारी नियन्त्रणरकाबुभन्दा बाहिर रहेका क्षेत्रमा सञ्चालित रहेका छन् । खासगरी म्यान्मामा थाइल्याण्डको सीमाक्षेत्र नजिक सशस्त्र समूहरूबाट नियन्त्रित क्षेत्रमा र कम्बोडिया तथा लाओसका केही क्षेत्रहरूमा सञ्चालित हुने गरेका छन् ।

    घरफीर्तिका लागि उक्त देशमा समय धेरै लाग्ने झञ्झटिलो प्रक्रिया रहेको मन्त्रालयको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका प्रमुख पुष्पराज भट्टराईले जानकारी दिनुभयो । कतिपय पीडितहरू त्यस्ता अनलाइन ठगी केन्द्रहरूबारे जानकारी हुँदाहुँदै पनि प्रलोभनका कारण त्यसतर्फ गएको देखिएको छ ।

    उल्लेखित मुलुकहरूमा यात्रा गर्दा वा वैदेशिक रोजगारीमा जाँदा आकर्षक जागिर, उच्च तलब वा ‘सुनौलो अवसर’ देखाउने दलाल, एजेन्ट वा ब्रोकरहरूमाथि विश्वास नगर्न उनले आग्रह गरे । “यस किसिमका धेरै व्यक्ति ठगी केन्द्र सञ्चालन गर्ने आपराधिक समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका हुनसक्छन्”, उनले भने ।
    वैदेशिक रोजगारीका बारेमा राम्ररी पूर्वजानकारी लिएरमात्र सम्बन्धित देशमा रोजगारीका लागि प्रस्थान गर्न, नेपाल सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जान, गन्तव्य देशसँग नेपालको औपचारिक श्रम सम्झौता छरछैन भन्ने पूर्वजानकारी लिन, भिजिट भिसामा रोजगारीका लागि उच्च जोखिम भएका देशमा नजान मन्त्रालयले आग्रह गरेको छ ।

  • आलेखः साझा ‘एजेन्डा’, फरक दृष्टिकोणः काठमाडौँ–९ मा विकास र सुशासनको प्रतिस्पर्धा

    आलेखः साझा ‘एजेन्डा’, फरक दृष्टिकोणः काठमाडौँ–९ मा विकास र सुशासनको प्रतिस्पर्धा

    हेमन्त जोशी–रासस
    काठमाडौँ, १३ फागुनः प्रतिनिधिसभा निर्वाचन, २०८२ नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ९ राजनीतिक रूपमा चासोको केन्द्र बनेको छ । राजधानीको पुरानो बस्ती, ऐतिहासिक नेवार समुदायको बाक्लो उपस्थिति, मध्यम वर्गीय मतदाता, नयाँ सहरी मतदाताको बढ्दो प्रभाव र वैकल्पिक राजनीतिक धारको खोजीले यो क्षेत्रलाई सधैँजसो प्रतिस्पर्धात्मक बनाउँदै आएको छ । यही पृष्ठभूमिमा आगामी निर्वाचनका लागि यहाँ विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

    काठमाडौँ क्षेत्र नं ९ मा ३४ वटा मतदानस्थल र ९० वटा मतदान केन्द्र रहेका छन् । राजनीतिक दलका १८ र स्वतन्त्र छ जना गरी कूल उम्मेदवार सङ्ख्या २४ जना छ । यसमध्ये २० पुरुष र चार महिला उम्मेदवार छन् । उम्मेदवारहरुको समावेशी प्रतिनिधित्व हेर्दा ४१ दशमलव ६७ प्रतिशत खस आर्य, ५४ दशमलव १७ प्रतिशत आदिवासी जनजाति र चार दशमलव १७ प्रतिशत दलित उम्मेवार रहेका छन् ।

    यो निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या ७८ हजार ४९५ रहेकामा पुरुष मतदाता ४८ दशमलव ६९ प्रतिशतअर्थात् ३८ हजार २१७ र महिला मतदाता सङ्ख्या ५१ दशमलव ३१ प्रतिशतअर्थात्् ४० हजार २७८ रहेको छ । यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका वडा नम्बर १२, १४, २१, २२, चन्द्रागिरि नगरपालिका १, १२, १३, १४, १५ र नागार्जुन नगरपालिका ६, ७, ८, ९, १० पर्दछन् ।

    सबैजसो उम्मेदवारले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी सेवा प्रवाह र व्यवस्थित विकासलाई साझा एजेन्डा बनाएका छन् । ट्राफिक व्यवस्थापन, ढल–फोहर सुधार, हरित क्षेत्र संरक्षण, पर्यटन प्रवद्र्धन, युवालाई रोजगारी सिर्जना, प्राविधिक शिक्षा र सहज स्वास्थ्य सेवामा समान प्रतिबद्धता देखिन्छ । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै क्षेत्रलाई नमूना बनाउने लक्ष्य पनि सबैको साझा छ ।

    नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ९ की उम्मेदवार नानुमैया बास्तोलाले विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको उत्साहले आफूलाई थप ऊर्जा दिएको र आफूलाई परीक्षण गर्ने ऐतिहासिक समय आएको बताइन् । “नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्वको उत्साह छ । युवा पुस्ता र महिलाको प्रतिनिधित्व बढेको छ । म यही क्षेत्रकी स्थायी बासिन्दा हुँ, यहाँका जनभावना बुझेको छु, जनताका आवाज सुनेको छु, अब तिनलाई कानुनमार्फत सम्बोधन गर्ने समय आएको छ”, उनले भनिन् ।


    काठमाडौँ–९ मा कलङ्की–थानकोट नाका पर्ने क्षेत्र भएकाले ‘कनेक्टिङ हब’का रुपमा यस क्षेत्रको ट्राफिक व्यवस्थापन पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । सुविधासम्पन्न पार्किङ, वैकल्पिक बाटो निर्माण, तरकारी बजार व्यवस्थापन, नदी वरिपरिका बस्ती र टेकु तथा विष्णुदेवी घाटको संरक्षण–व्यवस्थापनमा काम गर्न आवश्यक रहेको बास्तोलाको भनाइ छ ।

    “कलङ्की–थानकोट नाका देशकै प्रमुख प्रवेशद्वार हो । ट्राफिक व्यवस्थापन, भूमिगत तार विस्तार, व्यवस्थित सडक, ढल र फोहर व्यवस्थापन नगरी यहाँको विकास सम्भव छैन । कानुन बनाउन नै संसद् जाने हो, विकास र समृद्धिका लागि स्पष्ट ब्लु–प्रिन्ट लिएर म चुनावमा उत्रिएकी छु”, उनले भनिन् ।


    उनले चन्द्रागिरि–१ लाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, नेवा समुदायको धार्मिक परम्परा, संरचना र रीतिरिवाज संरक्षण गर्ने तथा पुराना बस्ती र मन्दिर जोड्ने ‘हेरिटेज वाक’ सुरु गर्ने योजना सुनाइन् । सहर र गाउँको सङ्गमका रूपमा ‘कन्ट्री–साइड रेजिडेन्सी’, होम–स्टे, हरियाली क्षेत्र, सुरक्षित र व्यवस्थित बस्ती विकासलगायतका नागरिक आकांक्षा आफूले बुझेको पनि उनको भनाइ छ । बास्तोलालाई कांग्रेसले प्रदेश सभा निर्वाचनको उम्मेदवार बनाएको थियो । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा बास्तोला राष्ट्रिय प्रजातन्त्र पार्टीका नुरज बज्राचार्यसँग पराजित भएकी थिइन् ।


    त्यस्तै, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई पनि बास्तोलाले मुख्य एजेण्डा बनाएकी छिन् । “जेनजी आन्दोलनपछिको निर्वाचनले जनतामा सुशासनको अपेक्षा बढाएको छ । म पार्टीभित्रै पनि सुशासन आयोग स्थापना हुनुपर्छ भनेर बोल्ने व्यक्ति हुँ । भ्रष्टाचार नियन्त्रण बिना विकास सम्भव छैन”, उनले भनिन् । शिक्षा, स्वास्थ्य, खानेपानी र जीविकोपार्जनका मुद्दा, युवाका लागि रोजगारी सिर्जना र विदेशिएका युवालाई स्वदेश फर्काउने वातावरण निर्माण, महिला सशक्तिकरणलाई आर्थिक–सामाजिक–लैङ्गिक रूपमा बलियो बनाउने तथा ज्येष्ठ नागरिकका हकहित सुनिश्चित गर्ने प्रतिबद्धता पनि उहाँले मतदातासँग जनाउँदै आएकी छिन् ।


    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपी) काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ९ लाई समावेशी, सुशासित र नमूना क्षेत्र बनाउने प्रतिबद्धतासहितका चुनावी एजेन्डा लिएर घरदैलोमा छन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, दलित, पिछडिएका र अल्पसङ्ख्यक समुदायको आत्मसम्मान र सामाजिक न्याय सुनिश्चित गर्ने गरी सेवा प्रवाह सुधारलाई पनि उहाँले प्राथमिकतामा राखेका छन् । अर्यालका अनुसार युवा तथा खेलकुद विकासतर्फ पुरानो नैकाप खेलमैदान स्तरोन्नति, नयाँ खेल संरचना निर्माण, स्टार्टअप र प्रविधिमा युवालाई प्रोत्साहन गर्ने योजनासहित उनले मत मागिरहेका छन् ।


    रोजगारी सिर्जनाका लागि व्यावसायिक तालिम केन्द्र स्थापना गरी विदेशबाट फर्किएका युवालाई प्रशिक्षकका रूपमा परिचालन गर्ने, सफल उद्यमीका कथा साझेदारी गर्ने तथा तीन सिफ्टमा काम हुने नीति ल्याउने पनि उहाँका एजेन्डा छन् । त्यस्तै, पर्यटन विकासअन्तर्गत सेतो गुम्बा, इचंगुनारायण मन्दिर, कालुपाण्डे समाधि, स्विजरल्यान्ड पार्क, इन्द्रदह, बद्रीनारायण धाम र ऐन डाँडा क्षेत्रको संरक्षण–प्रवद्र्धन गर्दै कृषि तथा पर्यापर्यटन विस्तार गर्ने योजना अर्यालले सार्वजनिक गरेका छन् । डाँडा र जङ्गल आसपास होमस्टे तथा आधुनिक होटल प्रवद्र्धन गरी पुरातात्विक सम्पदासँग जोडिएको टुरिस्ट सटल बस र नाइट लाइनर सञ्चालन गर्ने लक्ष्य पनि उनले राखेका छन् ।


    भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने, प्रत्येक वडामा नागरिक अगुवासहित खबरदारी टोली गठन गर्ने र मासिक सार्वजनिक सुनुवाइमार्फत एक हप्तादेखि ३० दिनभित्र गुनासो समाधान गर्ने प्रतिबद्धता अर्यालले मतदातासँग जनाइरहेका छन् ।

    त्यस्तै, भौतिक विकासमा न्यायोचित बजेट वितरण, कलङ्की–सतुङ्गल–नागढुङ्गा र सीतापाइला–भीमढुङ्गा हरित करिडोर, मेलम्ची खानेपानी विस्तार, वर्षा पानी सङ्कलन, ट्राफिक व्यवस्थापन, ढल तथा फोहोरमैला व्यवस्थापनमा सुधार गर्ने पनि प्राथमिकतामा राखिएका छन् । टेकु फोहर व्यवस्थापन, बल्खु खोला संरक्षण, धुलो नियन्त्रण र विद्यालयलाई भूकम्पीय जोखिममुक्त बनाउने विषय पनि प्राथमिकतामा छन् ।

    वैकल्पिक राजनीति, सुशासन र पुराना दलप्रतिको निराशालाई मतमा बदल्न सक्ने आशा रास्वपाले बोकेको छ । काठमाडौँका सहरी मतदातामाझ रास्वपाको प्रभाव तुलनात्मक रूपमा बलियो मानिँदै आएकाले अर्याललाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट डा अजयक्रान्ति शाक्य उम्मेदवार बनेका छन् । शाक्य लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी २०७४ सालको निर्वाचनमा प्रदेशसभातर्फ विजयी भएका थिए ।

    एमालेका उम्मेदवार डा शाक्यले आफ्नो उम्मेदवारीलाई माटोप्रतिको अगाध स्नेह, तीन दशक लामो अटुट राजनीतिक निष्ठा र क्षेत्रको समग्र रूपान्तरणप्रतिको दृढ सङ्कल्पका रूपमा हेरिनुपर्ने बताए । उनले राजनीति पद र प्रतिष्ठा प्राप्तिको सिँढी नभई ‘बहुजन हिताय, बहुजन सुखाय, सर्वप्रकारेण जगत हिताय’को दर्शनबाट निर्देशित विशुद्ध जनसेवा र राष्ट्रियताको संवद्र्धन गर्ने लक्ष्य भएको बताए ।


    उनका अनुसार यसपटकको उम्मेदवारी सांसद सङ्ख्या थप्ने उद्देश्यमा सीमित नरही आफ्नो लामो राजनीतिक अनुभव र प्राज्ञिक विज्ञताको संयोजनमार्फत राज्यको नीति निर्माण तहमा बौद्धिक र अर्थपूर्ण योगदान गर्ने ध्येयले प्रेरित छ । डा शाक्यले काठमाडौँको ऐतिहासिक गरिमा, जीवन्त संस्कृति र विश्वसम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्दै क्षेत्रलाई आकर्षक सांस्कृतिक पर्यटन हबका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    अव्यवस्थित सहरीकरणलाई योजनाबद्ध समाधान दिने, प्रविधिमैत्री सुशासनमार्फत सेवा प्रवाहलाई चुस्त बनाउने र नागरिकको जीवनस्तर उकास्ने आफ्नो मूल एजेण्डा रहेको उनको भनाइ छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय लक्ष्यलाई टेवा पु¥याउँदै शिक्षा, स्वास्थ्य र युवा स्वरोजगारका क्षेत्रमा देखिएका चुनौती समाधानमा केन्द्रित रहने उनले बताए ।


    मतदाताले देखाएको माया र सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै उनले सस्तो लोकप्रियताका लागि असम्भव सपना बाँड्ने वा ठूला भाषण गर्ने शैलीमा विश्वास नगर्ने बताए । “म जे गर्न सक्छु, त्यही मात्र बोल्छु । जनप्रतिनिधि रहँदा वा नरहँदा पनि समाजसेवा र अध्ययन–अनुसन्धानमै समर्पित रहँदै आएको छु”, उनले भने । । मतदाताको समर्थनले आफ्नो जित सुनिश्चित मात्र नभई क्षेत्रको दिगो विकासका लागि बलियो आधार तयार गर्ने विश्वास उनले बताए ।

    नेपाली कम्युनिष्ट पार्टीले ५४ वर्षीय राधाकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । हिन्दू राज्य र राजसंस्थाको मुद्दालाई मुख्य एजेन्डा बनाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिलकुमार कार्की उम्मेदवार छन् । वामपन्थी धारको अर्को घटक राष्ट्रिय जनमोर्चाबाट ३४ वर्षीय रोशन दानी उम्मेदवार छन् । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट ३० वर्षीय एन्जिसराज प्रसाई उम्मेदवार छन् ।

    युवा उम्मेदवार र सानो दलको प्रतिनिधित्वले वैकल्पिक आवाज उठाए पनि निर्णायक बन्न सक्छन् वा सक्दैनन् भन्ने प्रश्न बाँकी नै छ । नेपाल मजदुर किसान पार्टीले शान्त महर्जनलाई उम्मेदवार बनाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनबाट धर्मराज गुरुङ उम्मेदवार छन् । मितेरी पार्टी नेपालका मदन पोखरेल (३५ वर्ष) मैदानमा छन् भने जनता समाजवादी पार्टी, नेपालबाट ५० वर्षीय रणवीर क्षेत्री सिंह लिएर प्रतिस्पर्धामा छन् ।

    यसैबीच, आमजनता पार्टीबाट ईरस श्रेष्ठ ‘मोबाइल’ चिन्हसहित चुनावी दौडमा छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका राजु रोक्का, जय मातृभूमि पार्टीका अनुपमुनि बज्राचार्य र श्रम संस्कृति पार्टीका बलराम श्रेष्ठ प्रतिस्पर्धामा छन् । नेकपा (माओवादी)बाट माइला लामा उम्मेदवार छन् । उज्यालो नेपाल पार्टीका रामेश्वर श्रेष्ठ चुनावी मैदानमा छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपालबाट २७ वर्षीय मदन डङ्गोल उम्मेदवार बनेका छन् ।

    डंगोल सबैभन्दा कम उमेरका उम्मेदवार हुन्, जसले युवा प्रतिनिधित्वको सवाल उठाएका छन् । यस निर्वाचनको अर्को महत्वपूर्ण पाटो स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थिति हो । ८२ वर्षीया पञ्चकुमारी मानन्धर ‘आँखीझ्याल’ चिह्नसहित सबैभन्दा ज्येष्ठ उम्मेदवारका रूपमा मैदानमा छन् । स्वतन्त्र उम्मेदवार जुद्धबहादुर कार्की, सुमित्रा श्रेष्ठ, हरिप्रसाद घिमिरे, पुन माया महर्जन र मधुसुदन शर्मा चुनावी प्रतिस्पर्धामा छन् ।

    महिला सहभागिता र वैकल्पिक राजनीतिक धारको परीक्षणस्थलका रूपमा देखिएको छ । पुराना दलप्रतिको असन्तोष, नयाँ दलप्रतिको अपेक्षा र स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षणले अन्तिम नतिजा कता मोडिन्छ भन्ने अझै खुल्न सकेको छैन । मतदाताले यसपटक पनि अनुहार, दल वा चुनाव चिन्हभन्दा माथि उठेर नीति, प्रतिबद्धता र विश्वसनीयतालाई कति प्राथमिकता दिन्छन् भन्ने कुराले काठमाडौँ–९ मात्र होइन, समग्र राष्ट्रिय राजनीतिलाई समेत सन्देश दिनेछ ।

    यसअघि, काठमाडौँ क्षेत्र नम्बर ९ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याएर विजयी हुनुभएको थियो । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलको १० हजार ९५६ मत रहेको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कल्पना धमलाको छ हजार ४०२, राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानको चार हजार ७८५ मत प्राप्त गरेका थिए ।

    साझा पार्टी नेपालका मिलन पाण्डेको दुई हजार ३२७, हाम्रो पार्टी नेपालका ईरस श्रेष्ठको एक हजार ५८६, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनको एक हजार ५५२, जनता समाजवादी पार्टी, नेपालका शर्मिला सुवाल (डङ्गोल) को ७९२, नेपाली कांग्रेस (बीपी)का २४७, राष्ट्रिय जनमुक्ति पार्टीका उजला स्थापितको १२३, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रजुल जोशीको ८१ र मौलिक जरोकिलो पार्टीका अम्बिका थापाको २३ मत आएको थियो ।

    त्यस्तै, स्वतन्त्र उम्मेदवार सुनिल रिजालको ८३३, डा ज्ञानबहादुर बस्नेतले ३१४, भाइराजा भण्डारीले १५१, राजेन्द्रप्रसाद पाठकले ९४, उद्धव रोक्काले ८२, लक्ष्मण सिंह खड्काले ६४, रचना श्रेष्ठले ६०, गणेश थापाले ३१, रामकुमार रिजालले ३१ र मधु कार्कीले २२ मत प्राप्त गरेका थिए ।

  • नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

    नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

    रासस
    काठमाडौँ, १३ फागुनः नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना सार्वजनिक गरेको छ । मुलुकमा वार्षिक ३० लाख पर्यटक भित्र्याउन सरोकार भएका निकायसँगको समन्वयमा पहल गर्ने प्रतिज्ञा गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रसले चुनावी वाचा गर्दै आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको हो ।

    कांग्रेसले पर्यटन क्षेत्रको हिस्सा कूल गार्हस्थ्य उत्पादनमा १५ देखि २० प्रतिशत पु¥याउने लक्ष्यका लागि नेपालका विमानस्थल यात्रीमैत्री, सुविधायुक्त बनाउन आवश्यक स्रोतको व्यवस्था गर्ने प्रतिज्ञा गरेको छ । पर्यटनको लक्ष्य प्राप्तिमा कांग्रेसले नेपाल वायुसेवा निगमको छ महिनाभित्र व्यवस्थापन सुदृढीकरणमार्फत ‘जनताको ध्वजाबाहक’ मा रूपान्तरण गर्ने लक्ष्य राखेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।


    सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराई नेपाललाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न विभिन्न कार्य गर्ने कांंग्रेसले जनाएको छ । “नेपाल आउने विदेशी पर्यटक र आन्तरिक यात्रुहरूका लागि हवाई भाडा सस्तो बनाउन विमानस्थल सञ्चालन, ‘ल्याण्डिङ पार्किङ’, हवाई इन्धनको अतिरिक्त शुल्क घटाई खर्चको हिसाबले सन्तुलित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्नेछौँ”, पार्टीको प्रतिज्ञापत्रमा उल्लेख छ ।

    ‘एयर ट्राफिक’ व्यवस्थापन चुस्त बनाएर आकाशमा हुने विमानको ‘होल्डिङ’ समय न्यूनीकरण व्यवस्था गर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी दुई स्वायत्त निकायमा विभाजन गरी हवाई सुरक्षा सुदृढ गर्ने तथा नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षासम्बन्धी ‘सेफ्टी लिस्ट’बाट हटाउन पहल गर्ने कांग्रेसले जनाएको छ ।

    पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा चलाउन र विश्वका प्रमुख सहरबाट सीधा उडान सम्पर्क गर्न उच्चस्तरीय कूटनीतिक पहल गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ । कांग्रेसले अमूल्य सभ्यता, सम्पदा र निधिलाई केवल इतिहासको पानामा मात्र सीमित नराखी र भौगोलिक विशिष्टतालाई उपयोग गर्दै पर्यटनलाई रोजगारी, उद्यमशीलता र स्थानीय समुन्नतिको मुख्य आधारस्तम्भ बनाउँदै नेपाललाई विश्वकै उत्कृष्ट प्राकृतिक, आध्यात्मिक र सांस्कृतिक गन्तव्य बनाउने सङ्कल्प गरेको छ ।

    त्यस्तै पार्टीले शान्ति, ध्यान र आरोग्यको विश्व गन्तव्य बनाउन ‘आरोग्य नेपाल’ को नारासहित विभिन्न कार्यक्रम अघि बढाउने जनाएको छ । जनकपुर–लुम्बिनी–काठमाडौँ आध्यात्मिक र बुद्ध–टु–शिव’ अध्यात्मिकजस्ता डिजिटल कोरिडोरलगायत मुक्तिनाथ, जनकपुर र लुम्बिनीलाई हवाई र सडक सञ्जालले जोडी एकीकृत पर्यटकीय सर्किट बनाउन काम गर्ने कांग्रेसको प्रतिज्ञा पत्रमा उल्लेख छ ।

    “नेपाली उत्सव र जात्राहरूको अन्तरराष्ट्रिय पात्रो (क्यालेण्डर्) बनाई विश्वव्यापी बजारीकरण गर्ने, कलाकार र शिल्पकारलाई प्रोत्साहन गर्न राष्ट्रिय कला कोष र बजारको व्यवस्था गर्ने, युनेस्को सम्पदा क्षेत्रमा परम्परागत कला झल्किने ‘इन्टरप्रिटेटिभ भिलेज’ निर्माण गर्ने, विदेशस्थित नेपाली कूटनीतिक नियोगमार्फत रैथाने खाना, वेशभूषा र सङ्गीतको प्रवर्द्धन गर्नेछौँ”, प्रवक्ता चालिसेले भने ।


    कांग्रेसले पर्यटन क्षेत्रमा आबद्ध महिला तथा युवा उद्यमीलाई विशेष कर छुट र सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने, पर्यटन विकासमा सार्वजनिक–निजी–सामुदायिक साझेदारी मोडेल अवलम्बन गर्ने, पर्यटन क्षेत्रमा मर्यादित रोजगारी र समान ज्यालाको नीति सुनिश्चित गर्ने वाचा गरेको छ ।

    यसैगरी कांग्रेसले सफा हिमाल, सुरक्षित आरोहणमार्फत सफा हिमाल, पदमार्ग स्तरोन्नति, सुरक्षा मापदण्ड र खोज तथा उद्धार प्रभावकारी बनाउने व्यवस्था गर्ने, पर्वतारोहण ‘रोयल्टी’को ३० प्रतिशत रकम सिधैँ हिमताल संरक्षण र स्थानीय जलवायु अनुकूलनमा खर्च गर्ने, आरोहीका लागि व्यक्तिगत पूर्वानुमान सेवा उपलब्ध गर्ने, पर्यामैत्री रिसोर्टहरू स्थापनाका लागि सहुलियतपूर्ण ऋण र विद्युतीय महसुललगायत छुटको व्यवस्था गर्ने प्रतिज्ञा गरेको छ ।

  • ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

    ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

    काठमाडौँ, १३ फागुनः पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो ।

    काठमाडौँ महानगरपालिका वडा नं ३१ का सिंह आज पक्राउ परेका हुन् भने धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ का तिवारी मङ्गलबार पक्राउ परेका हुन् । हालसम्म उक्त कसूरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित नौ जनालाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले राससलाई जानकारी दिए ।


    अभियुक्तहरुले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरी गैरकानुनी रुपमा आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ ।

  • प्रदर्शनरत नेपाली चलचित्रको कमाइ कति ?

    प्रदर्शनरत नेपाली चलचित्रको कमाइ कति ?

    काठमाडौँ, १३ फागुनः चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा एटदरेट बक्सअफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन ९ गतेसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो । गत माघ १६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘आ बाट आमा’ ले रु ११ करोड २४ लाख छ हजार ९६९ कमाइ गरेको छ ।

    मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको उक्त चलचित्रका लागि कूल चार लाख २३ हजार १११ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय गरेका छन् ।


    चन्द्र पन्तले निर्देशन गर्नुभएको उक्त चलचित्रमा अभिमन्यू निरवीले संवाद लेखन, गम्भीर विष्टले नृत्य निर्देशन र कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले सङ्गीत सिर्जना गरेका छन् । गत माघ २३ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘कुमारी’ ले रु ६३ लाख २४ हजार ७१ कमाइ गरेको छ ।

    दिनेश राउतको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल १९ हजार ३७९ टिकट बिक्री भएका छन् । अविशेक खड्का र आकृतीराज भण्डारीलगायतको अभिनय रहेको चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन । जेनजीको प्रेम कथा भनिएको चलचित्रले दर्शक समीक्षा राम्रो पाउन नसक्दा त्यसको असर व्यापारमा परेको देखिएको छ ।

    गत माघ २३ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘रमिताको पिरती’ ले रु २५ लाख ५५ हजार ८३ कमाइ गरेको छ । नवनिर्देशक सुदीप्ता अधिकारीको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल सात हजार ८०३ टिकट बिक्री भएका छन् । आना शर्मा, धीरज मगर, विनय श्रेष्ठ, समिर श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको उक्त चलचित्रले दर्शक समीक्षा राम्रो प्राप्त गरेता व्यापार भने राम्रो गर्न सकेको छैन । माघ २३ मा प्रदर्शन भएका दुवै चलचित्रको व्यापार निकै न्यून भएको छ ।

    गत फागुन १ गतेदेखि प्रदर्शन भएका तीन चलचित्र ‘श्री बुकुरो’, ‘शिवांश ः च्याप्टर १’ र ‘बिगुल’ ले अपेक्षाकृत व्यापार गर्न नसकेपछि प्रदर्शन स्थगित गरिसकेका छन् । सुदीप भूपाल सिंहले निर्देशन गर्नुभएको चलचित्र ‘श्री बुकुरो’ ले रु दुई लाख ७२ हजार ९३० कमाइ गरेको छ । यसले पहिलो सातामा गरेको यो निकै न्यून व्यापार हो । अभिनेत्री लक्ष्मी गिरी, आशिर्वाद क्षेत्री, निकिता आचार्य, राजन इशान, उत्तम केसी, रोशनी कार्कीलगायतका कलाकारले अभिनय गरेको चलचित्रका लागि कूल ८०५ टिकट बिक्री भएका छन् ।

    फागुन १ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘शिवांश’ ले रु दुई लाख ६१ हजार ७५० कमाइ गरेको छ । सन्तोषकुमार आत्रेयले निर्देशन गरेको चलचित्रका लागि कूल ७८७ टिकट बिक्री भएका छन् । चलचित्र अभिनेता प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, सविर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ । अञ्जान केसीले कथा लेख्नुभएको चलचित्रको पटकथा बारत लिम्बूको रहेको छ ।

    फागुन १ गतेदेखि नै प्रदर्शन भएको चलचित्र ‘विगुलले’ ले रु आठ लाख ९७ हजार ४१० कमाइ गरेको छ । रमेश कोइरालाको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल दुई हजार ६०९ टिकट बिक्री भएका छन् । चलचित्र बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्दै आएको छ ।

  • ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र

    ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र

    ढोरपाटन (बागलुङ), १३ फागुन । ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । जिल्ला सदरमुकामसँग जोडिएको मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र भएको हो । सडक कालोपत्र भएपछि यात्रा र सामान ढुवानी गर्न सहज भएको छ । सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत मूलपानी–तितौरे सडकको ८.५ किलोमिटर, ओडारचौर–ढोडेनीसम्मको २.५ किमी र गणेशघुम्ती–निरयघाटअन्तर्गत १.५ किमी गरी १२.२ किमी सडक कालोपत्र गरिएको छ ।

    विश्व बैंकको रु ४८ करोड अनुदानमा सडक निर्माण गरेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । सडकले ग्रामीण जनतालाई यात्रा गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्न सहज भएको उनको भनाइ छ । बागलुङ नगरपालिकाका तीनवटा वडामा पर्ने उक्त सडकले नागरिकको जीवनस्तर परिवर्तन ल्याउनने प्रमुख श्रेष्ठ बताउँछन् ।


    उनले भने, “ट्रयाक खुलेको धेरै समय भएको थियो, तर अहिलेसम्म कालोपत्र नहुँदा गाउँमा धुलोले स्थानीय आजित थिए, यात्रा र सामान ढुवानीमा पनि उस्तै समस्या थियो, अब कालोपत्र सडकले उनीहरूको यात्रामात्र होइन दैनिकी नै सहज बनाउने अपेक्षा लिएका छौँ ।” तीन सडकले बागलुङ नगरपालिका–१, ४ र ७ वडा जोडेको छ । सडक कालोपत्र भएपछि धुलो र हिलोबाट मुक्त भएको स्थानीय तुलसी सापकोटाले बताए ।

    केही महिना अगाडिसम्म घर अगाडि गाडी गुड्दा धुलो र हिलो भान्छा कोठामै पुग्ने गरेको भन्दै अहिले कालोपत्र गरेको चिटिक्क बनेको उनको भनाइ छ । अर्का स्थानीय प्रेम विकले अब बागलुङ बजार आवातजावात गर्न निकै सहज हुने बताए । पहिले अप्ठ्यारो र साँघुरो हुँदा साढे एक घण्टा लाग्ने गरेको भन्दै अब २५–३० मिनेटमै बजार झर्न सकिने उनको भनाइ छ ।