Category: फिचर

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

    दोधारा चाँदनी (कञ्चनपुर), १३ फागुन : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ । निर्वाचनलगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

    “प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकुञ्ज कर्मचारीसमेत खटिने भएकाले बाघ गणना चुनावपछि गर्ने निर्णय गरिएको छ”, उनले भने, “२३ गतेदेखि बाघ गणनाका लागि शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरिने छन् ।”

    राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्स नामकरण गरिएको क्षेत्रलाई दुई गुणा दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । बाघ विचरण गर्ने सम्भावित क्षेत्रको पहिचान गरेर हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिनेछ ।

    सन् २०२२ को गणनामा यस कम्प्लेक्समा ३६ वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । क्यामेरामा कैद भएका १६ पोथी र १२ भालेसहित २८ र विश्लेषणका आधारमा आठ गरी ३६ वयस्क बाघ रहेको सार्वजनिक गरिएको थियो ।


    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सानो क्षेत्रफल रहेको भए पनि बाघको आहारा प्रजातिको घनत्व पर्याप्त रहेकाले यहाँ बाघको सङ्ख्या बढेको संरक्षण अधिकृतहरू बताउँछन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आहारा प्रजातिको घनत्व १४६ प्रति वर्गकिलोमिटर रहेको छ । वन्यजन्तु र दुर्लभ वनस्पतिको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

  • हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

    हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

    अदानचुली (हुम्ला), १३ फागुन स् आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार ३४ हजार ३७२ मतदाता रहेका जिल्लामा ६४ मतदान केन्द्रमध्ये सबैभन्दा कम जिल्लाको तल्लो क्षेत्र ताँजाकोट गाउँपालिका–३ मा रहेको बानादेव आधारभूत विद्यालयमा जम्मा ५४ मतदाता छन् । जो गाउँपालिकाको केन्द्रबाट पैदल एक दिन लाग्छ, जहाँ सडक सञ्जालले छोएको छैन ।

    सर्केगाड गाउँपालिकामा ३०० भन्दा कम मतदाता रहेका तीनवटा मतदान केन्द्र छन् । वडा नं १ को देबल आधारभूत विद्यालय तुम्चमा २४०, धुमचुली आधारभूत विद्यालय कल्लासमा २१६ र नीलकण्ठ प्रावि फुचामा २८८ जना मतदाता रहेका निर्वाचन अधिकारी रोकायाले बताए । त्यस्तै, चङ्खेली गाउँपालिकामा पनि तीनवटै मतदान केन्द्र छन् । जसमध्ये डाँफे आधारभूत विद्यालय नेप्कामा २४२ मतदाता छन् । उक्त गाउँमा जान पनि गाउँपालिकाको केन्द्रबाट पैदलयात्रा गर्दा पूरा एक दिन लाग्छ जहाँ सडक पुगेको छैन । अन्य रारा आधारभूत विद्यालय मेखालामा १४३ र रामशाह आधारभूत विद्यालय पिपलाङमा २१२ जना मतदाता छन् ।

    अन्य आठवटा मतदान केन्द्र भने जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा छन् । सबैभन्दा टाढा रहेको हिमशिखर प्रावि तिलगाउँमा १३२, भृकुटी प्रावि जाँङगाउँमा २४७ र सुनखानी प्रावि हल्जीमा २९३ मतदाता छन् । तर यी तिनै गाउँमा यतिबेला १५÷२० जनाबाहेक अन्य सबै जिल्ला सदरमुकाम वा अन्य सहरी क्षेत्रमै रहेका छन् ।

    यता अरनिको प्रावि यारीमा १९५, खासरपानी प्रावि मुचुमा २३४, हिमालय प्रावि चालामा १५९, महाबौद्ध मावि याल्वाङमा २८० र नमोडोछोमु प्रावि ताङ्घीनमा १५९ मतदाता छन् । यी सबै मतदान केन्द्रमा यतिबेला हिउँ जमेको छ भने केही मतदान केन्द्रमा जान यारी र न्यालुको लेकमा भएको हिउँका कारण जान नसकिने अवस्था रहेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए । उनका अनुसार स्काभेटरमार्फत हिउँ पन्छाउने काम सुरु भए पनि असम्भवजस्तै देखिएको छ ।

    जिल्लाको सबैभन्दा धेरै मतदाता भएको मतदान केन्द्र भने खार्पुनाथ गाउँपालिकामा रहेको मालिका माध्यामिक विद्यालय लालिमा एक हजार ६३ मतदाता रहेका छन् । त्यसपछि मष्टादेव आधारभूत विद्यालय अदानचुलीमा ९७७ र कोट मावि रोडीकोटमा ९३६ जना रहेको निर्वाचन अधिकारी रोकायाले बताए ।

  • गैँडाकोटमा मृतावस्थामा युवती फेला

    गैँडाकोटमा मृतावस्थामा युवती फेला

    मध्यविन्दु (नवलपरासी), १३ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती मृतावस्थामा फेलापरेकी छन् ।
    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार गुल्मी मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा सोमबार साँझ आफ्नै कोठाभित्र चोटपटकसहित मृतावस्थामा फेला परेकी हुन् ।

    युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो । स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेलापरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

    “प्रारम्भिक अनुसन्धानका क्रममा शरीरका टाउको, घाँटी, दाहिने हातको नाडीमा धारिलो हतियारले काटेको चोट र अनुहारमा निलडाम रहेका छ”, प्रहरी उपरीक्षक खड्काले भने, “घटनाको थप अनुसन्धानका लागि प्रदेशस्तरीय अनुसन्धान टोली तथा कुकुरसहितको विशेष टोलीसमेत परिचालन गरिएको छ ।”

    मृतक सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको बुझिएको छ । उनी हाल एक्लै बस्दै आएकी थिइन् । उनी गत १० फागुनमा गुल्मीबाट गैँडाकोटस्थित डेरामा फर्किएपछि माइती पक्षसँग सम्पर्कमा नआएको खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । घटनाबारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

  • आज पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

    आज पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

    काठमाडौँ, १३ फागुनः हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भागमा मौसम सफा रहको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज बिहान तराईका केही स्थानमा हुस्सु लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भाग तथा अन्य प्रदेशको हिमाली भागमा साधरणतया बादल लाग्नेछ । तराई भूभागमा दिउँसो मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    त्यसैगरी, आज राति तराई भूभागका केही स्थानमा तुँवालो लाग्नेछ । गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

  • मौद्रिक नीति अर्धवार्षिक समीक्षामा के के ल्याइयो नयाँ नीति ?

    मौद्रिक नीति अर्धवार्षिक समीक्षामा के के ल्याइयो नयाँ नीति ?

    काठमाडौँ, १३ फागुनः नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने नीति अघि सारेको छ । यसअन्तर्गत कृषि, ऊर्जा तथा लघु, घरेलु र साना उद्यममा लागू गरिएको क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार गरी पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगलाई समेत समेटिने भएको छ ।

    साथै, बैंक तथा वित्तीय संस्थाले प्रत्येक प्राथमिकता क्षेत्रमा कायम गर्नुपर्ने न्यूनतम कर्जा अनुपातसम्बन्धी व्यवस्था परिमार्जन गरिने जनाइएको छ । ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई यथावत् राखेको छ ।


    चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन पनि संशोधन गरिने भएको छ । नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह र वित्तीय विवरणको विश्लेषणका आधारमा कर्जाको अवधि निर्धारण गर्न सक्नेछन् । यसैगरी, ऋणीले वर्षमा कम्तीमा लगातार सात दिन चालु पुँजी कर्जाको बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने प्रावधान संशोधन गरी ३० प्रतिशतभन्दा कम कायम गर्नुपर्ने व्यवस्था गरिनेछ ।

    महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित भएका उद्यम–व्यवसायलाई राहत दिने उद्देश्यले त्यस्ता क्षेत्रमा प्रवाहित कर्जालाई न्यूनतम १० प्रतिशत ब्याज असुल गर्दै २०८३ असार मसान्तसम्म पुनःसंरचना वा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था मिलाइने भएको छ । विदेशी विनिमय जोखिम व्यवस्थापनअन्तर्गत बैंक तथा वित्तीय संस्थाले गर्ने नन–डेलिभरेबल फरवार्ड कारोबारमा प्राथमिक पुँजीको सीमा २५ प्रतिशतबाट बढाएर ३० प्रतिशत कायम गरिएको छ ।

    त्यस्तै, डाटा सेन्टर, क्लाउड कम्प्युटिङ, रोबोटिक्स ल्याब र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता पूर्वाधार निर्माणमा विदेशी लगानी सहजीकरण गरिने तथा यस्ता परियोजनामा सहवित्तीयकरणमार्फत कर्जा प्रवाह प्रोत्साहित गरिने राष्ट्र बैंकले जनाएको छ ।

    विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न चेकमार्फत हुने कारोबार क्रमशः घटाउने रणनीति अवलम्बन गरिएको छ । साथै, परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालोसूचीमा नराख्ने तथा उचित कारणसहित बक्यौता तिर्ने प्रक्रिया अघि बढाएमा अधिकतम छ महिनासम्म कालोसूचीबाट हटाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिने उल्लेख छ । समीक्षामा हालै स्वीकृत दोस्रो वित्तीय क्षेत्र विकास रणनीति (२०८२–८३–२०८६–८७) मा उल्लेखित केन्द्रीय बैंकसँग सम्बन्धित कार्यक्रमहरू चरणबद्ध रूपमा कार्यान्वयन गरिने पनि जनाइएको छ ।

  • मौद्रिक नीतिको कार्यान्वयन सन्तोषजनक, मुद्रास्फीति न्यून र विदेशी विनिमय सञ्चिति बलियो

    मौद्रिक नीतिको कार्यान्वयन सन्तोषजनक, मुद्रास्फीति न्यून र विदेशी विनिमय सञ्चिति बलियो

    काठमाडौँ, १३ फागुनः चालु आर्थिक वर्ष २०८२\८३ का लागि तय गरिएको मौद्रिक नीतिको कार्यान्वयन सन्तोषजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रणमा रहनुका साथै विदेशी विनिमय सञ्चिति लक्ष्यभन्दा धेरै उच्चस्तरमा रहेको जनाएको छ । चालु आवका लागि वार्षिक औसत उपभोक्ता मुद्रास्फीति करिब पाँच प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएकामा पहिलो छ महिनामा औसत मुद्रास्फीति एक दशमलव ७० प्रतिशतमा सीमित रहेको जनाइएको छ ।

    यस्तै, कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य राखिएकामा २०८२ पुससम्म सञ्चिति १८ दशमलव एक महिनाको आयात धान्न पर्याप्त रहेको छ । राष्ट्र बैंकका अनुसार ब्याजदर करिडोरलाई व्यवस्थित बनाउने नीतिअनुसार बैंकदर घटाएर पाँच दशमलव ७५ प्रतिशत र नीतिगत दर चार दशमलव २५ प्रतिशत कायम गरिएको छ भने स्थायी निक्षेप सुविधा दर यथावत राखिएको छ ।

    बैंकिङ प्रणालीमा रहेको संरचनागत तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २०८२ पुस महिनामा पटक–पटक गरी रू दुई खर्ब बराबर तरलता प्रशोधन गरेको छ । यस अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएकामा पहिलो छ महिनामा पाँच दशमलव चार प्रतिशतले मात्र वृद्धि भएको छ । निजी क्षेत्रतर्फ जाने कर्जा १२ प्रतिशतले बढ्ने अनुमान गरिएकामा समीक्षा अवधिमा तीन दशमलव आठ प्रतिशत मात्र वृद्धि भएको छ ।

    वित्तीय स्थायित्व कायम गर्दै आर्थिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा बढाएर रू एक करोड कायम गरिएको छ भने लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्ने कर्जाको सीमा रू १५ लाख पु¥याइएको छ । साथै ऋणिको आवश्यकताअनुसार कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सकिने व्यवस्था गरिएको छ ।

    समीक्षा अवधिमा ट्रष्ट रिसिट (आयात) कर्जाको जोखिम भार घटाइएको, कर्जा वर्गीकरण व्यवस्थामा सहजीकरण गरिएको तथा विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी विनियमावली संशोधन गरी सूचना प्रविधि उद्योगलाई २० हजार अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, विदेशी ऋण भित्र्याउने र लगानीबाट आर्जित रकम फिर्ता लैजाने प्रक्रियासमेत सहजीकरण गरिएको छ ।

    यसैगरी नगद कारोबारको सीमा पुनरावलोकन गर्दै रू पाँच लाख वा सोभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा ‘एकाउन्टपेयी चेक’ वा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरिएको राष्ट्र बैंकले जनाएको छ ।

  • साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

    साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

    मुस्ताङ, १३ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त सडकमा सवारी सञ्चालनका लागि हिउँ पन्छ्याउन सुरु गरिएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले उल्लेख गरे ।

    मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर÷पश्चिमतर्फ समुन्द्री सतहको चार हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबै भन्दापछि पत्ता लागेको गाउँ हो । यहाँको साङ्ता गाउँमा ३९ जना मतदाता छन् । यही गाउँमा अवस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दुरी जोमसोमबाट करिब ४० किलोमिटर टाढा छ । भौगोलिक रुपले विकट स्थानमा रहेको मुस्ताङको साङ्ता गाउँका नागरिक अहिले गाउँभन्दा बाहिर छन् ।

    मुस्ताङ र डोल्पाको सिमाना नजिक रहेको साङ्ता गाउँका नागरिकहरु मङ्सिर अगावै जाडो छल्न गाउँ छोडेर मुस्ताङको जोमसोम आसपासका गाउँहरुमा आफन्तहरुको घरमा बसेका छन् । केही भने हिउँदयामको छेकोमा जाडो छल्न पोखरा–काठमाडौँ झरेका छन् । गाउँमा केही पशुचौपाया हेर्ने गोठालाहरु बाहेक पूरै गाउँका घरहरुमा ताल्चा मारिएको छ । लाग्छ स्थानीय सबै गाउँ छोडेर गएपछि साङ्ता गाउँ पूरै गुमनाम जस्तै छ ।

    यहाँस्थित साङ्ता गाउँमा जम्मा १३ घरधुरी मात्रै छन् । हिउँदयामको जाडो छल्न पारिलो स्थानमा लागेका यहाँका नागरिकहरु चैत÷वैशाख महिनामा मात्रै गाउँ फर्कन्छन् । तर, यसपालिका फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न २१ फागुन अगावै गाउँ पुग्नुपर्ने बाध्यता छ ।

    केही दिन अघि यहाँस्थित साङ्ता गाउँको हिमाली मतदान केन्द्रको अवलोकन गर्न पुगेको जिल्ला सुरक्षा समितिको टोली साङ्ता गाउँ जाने सडकको आधा बाटोमा पुगेर फर्किएको थियो । मुस्ताङका अधिकांश मतदान केन्द्रहरुको जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेपछि यहाँका साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र हिमपातले सडक अवरुद्ध हुँदा अनुमगन हुन सकेको छैन ।

  • भक्तपुरमा पनि होली पर्व सुरु

    भक्तपुरमा पनि होली पर्व सुरु

    भक्तपुर, १३ फागुनः भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरमा मङ्गलबार साँझ भीमसेनको लिङ्गलाई झुण्ड्याएर प्रदर्शनीमा राखी चिर स्वायगू अर्थात चिरोथान होली पर्व सुरु भएको छ । फागुण शुक्ल अष्टमीको दिन साँझ नेपाल भाषाबाट लज्ज अर्थात भीमसेनको लिङ्ग प्रतीकका रुपमा काठको मुढाबट बनेको तीन हात लामो, ३० इञ्च गोलाइको काठको लिङ्गलाई आज कमलपोखरीमा पखालेर सफा गरी ल्याउने र पूर्णिमाको साँझ सो भीमसेनको लज्जलाई ब्रम्हायणीको खोलामा लगि पखालेर ल्याउने प्रचलन छ ।

    यसरी लज्जा बोकेर पखालेर ल्याउने व्यक्तिको पुत्रलाभ हुने जनविश्वास छ । लिङ्गलाई कमलपोखरीमा पखालेर सफा गरी ल्याएपछि दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा परिक्रमा गराइएको थियो ।

    घर र पसलमा घुमाउन ल्याएको लिङ्गको पूजाआजा गरी दर्शन गर्नाले व्यापार–व्यवसायमा उन्नति प्रगति हुने जनविश्वास छ । काठको लिङ्ग प्रदर्शनसँगै भीमसेन गुठीका गायजुहरुले ‘भीमसेन देया लज्ज खङ लो वानला, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले देखेर लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ बोलको यौनरस युक्त गीत गाउँदै नगर परिक्रमा गराएको थियो ।

    फागुपूर्णिमाको दिन साँझपख यसै लिङ्गलाई एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनःमन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । लिङ्ग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखि सुरु भएको हो भन्ने यकिन तथ्य फेला नपरे पनि राजा जगतप्रकाश मल्लले १७औँ शताब्दीमा निर्माण गरेको यस मन्दिरमा सोही बेलादेखि यो प्रचलन रहेको बताउँदै आएको छ ।

    फागु पर्वको सुरुवात भएको जनाउन काठमाडौँको वसन्तपुरमा चीर स्वायगु (चीर गाडे) सँगै भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा फागुन शुक्ल अष्टमीदेखि लिङ्ग प्रदर्शनमा राखिएको हो । लिङ्गसँगै यौन समागमनको दृश्य झल्कने गरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिङ्ग प्रवेश गराइएको छ ।

    झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यस दृश्यलाई भीमसेन र द्रौपदीको यौन समागमका रुपमा लिने गरिएको संस्कृतिकर्मी यशोधरा मानन्धरले जानकारी दिए । वसन्त ऋतुको आगमनसँगै फागु पर्वलाई सृष्टिलाई अभिप्रेरित गर्ने पर्वका रुपमा मनाइने बताउँदै उहाँले यो समय कामदेव आफैँ सक्रिय हुने भएकाले सृष्टिका लागि मानव जीवनमा यो अति उपयुक्त समय हो भन्ने मुख्य सन्देशसमेत यसले दिएको उनले जानकारी दिए ।

    चीर स्वायगु अर्थात् चीर गाड्ने कार्यलाई शिवशक्ति मिलनका रुपमा लिने गरेको उनी बताउँछन् । संस्कृतिविद् मानन्धरका अनुसार महादेवको ११औँ अवतारमध्ये भीमसेन एउटा भएकाले यस पर्वलाई महादेव र पार्वतीको प्रतीकका रुपमा लिने गरेको बताउँछन् । फागुपूर्णिमाको दिन साँझ सो लिङ्गलाई एक व्यक्तिले काँधमा बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनःमन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा रहँदै आएको छ ।

  • निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

    निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

    काठमाडौँ, १३ फागुनः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु¥याउने वा पु¥याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ । कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले विभिन्न तरिकाले अवरोध सिर्जना गरेको गुनासो र उजुरी प्राप्त भएको आयोगले जनाएको छ । यस्तै, साथै विभिन्न सञ्चारमाध्यमबाट समेत यस्ता विषयमा जानकारी भएकोमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आचारसंहिता जारी भइसकेको छ । सो आचारसंहितामा कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने व्यवस्था छ ।

    निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार, निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गर्न नपाइने व्यवस्था छ ।

    आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवाला सबैको भएको आयोगको ठहर छ । निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गरे वा गर्न लगाएको अवस्थामा त्यस्तो गर्ने वा गराउने जस्ता कार्य नगर्नका लागि सम्बन्धित सरोकारवाला सबैलाई आयोगले अनुरोध गरेको छ ।

  • विभिन्न जिल्लामा पर्यो असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा

    विभिन्न जिल्लामा पर्यो असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा

    काठमाडौँ, १३ फागुनः पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको छ ।

    काठमाडौँको जरसिंहपौवासहित, नुवाकोटको ककनीलगायत विभिन्न क्षेत्रमा असिना परेको छ । विभागमा साँझ अभिलेख भएको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सङ्खुवासभामा ३६.८ मिलिमिटर वर्षा भएको छ । त्यसपछि सिन्धुपाल्चोकमा २५.६ मिलिमिटर वर्षा भएको छ ।

    यस्तै ताप्लेजुङमा २४, नुवाकोटमा ११, गोरखामा १३, पर्वतमा २०.६ म्याग्दीमा १०.६,प्यूठानमा १३.८, रोल्पामा २०.८, ललितपुरमा १३.२, काठमाडौँमा २.६, भक्तपुरमा ३.४, दोलखामा ८.४ मिलिमिटर वर्षा भएको छ । अन्य धेरै जिल्लामा १० मिलिमिटरभन्दा तल वर्षा भएको छ । केही ठाउँमा असिनासहितको वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि पनि विभिन्न ठाउँमा वर्षा हुने देखिएको छ ।

    विभागका सूचना अधिकारी दिनकर कायस्थले बुधबार तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्ने छ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ ।

    तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

  • प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

    प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

    काठमाडौँ, १३ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएकी छिन् । उनले आज साँझ सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर जानकारी लिएकी हुन् । सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।

    हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा पनि गरिएको छ । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको र सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • बन्दीको मुद्दामा कट्टेल थुनामुक्त, प्रसाईं थुनामै

    बन्दीको मुद्दामा कट्टेल थुनामुक्त, प्रसाईं थुनामै

    काठमाडौँ, १३ फागुनः सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषिराम कट्टेललाई थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आज बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै कट्टेललाई थुनामुक्त गर्न आदेश गरेको हो ।

    नेपाल प्रहरीले निर्वाचन बिथोल्न प्रयास गर्ने आशङ्का कट्टेललाई यही फागुन ६ गते पक्राउ गरेको थियो । यसैगरी सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भने थप अनुसन्धान गर्नुपर्ने भन्दै हिरासतमै राख्ने आदेश भएको छ । मेडिकल व्यवसायी प्रसाईंले निर्वाचन बिथोल्ने प्रयासमा संलग्न भएको आशङ्कामा प्रहरीले यही फागुन ४ गते पक्राउ गरेको थियो ।

  • कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा

    कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा

    धनकौल, १३ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई सम्हाल्ने सोच र योजनासहित चुनावमा आएको बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं ४ को बलरा नगरपालिकास्थित मिर्जापुरमा आज आयोजित चुनावी कार्यक्रममा उनले पुराना अनुभवलाई प्रयोग गरेर देशलाई जनअपेक्षाअनुसार सुधार गरेर अगाडि बढाउने बताए । सभापति थापाले सर्लाही ४ लाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिज्ञा पत्रमा रहेको ‘जनता दलान’ कार्यक्रमअन्तर्गत क्षेत्रका मतदातासँग आफू सिधै सम्पर्कमा रहने बताए ।

    “मेरो कार्यालय यहाँ रहन्छ, यस क्षेत्रका मतदाताले मलाई उक्त कार्यालयमार्फत सिधै सम्पर्क गर्नसक्नु हुनेछ । म आफैँ पनि प्रत्येक महिनाको दुई दिन यहाँ आएर जनतासँग छलफल गर्नेछु”, उनले भने, “म यहाँको बेटा हुन आएको हुँ, बेटा बनेपछि निभाउने कर्तव्य मैले राम्रोसँग बुझेको छु । यस क्षेत्रका जनताले गर्व गर्ने किसिमले आगामी पाँच वर्ष काम गर्नेछु ।”

    सभापति थापाले मधेसको नेतृत्व गरेपछि मात्र आफू सिङ्गो राष्ट्रको नेतृत्वका लागि योग्य हुने बुझाइका साथ सर्लाहीबाट नै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिन आएको बताए । उनले यस क्षेत्रमा देखिएका धेरै समस्या आगामी एक वर्षभित्रमै न्यूनीकरण हुने बताए ।

    “मैले असल नियतले चुनौती दिएको हुँ । मधेसबाट निर्वाचन लड्ने आफ्नै पार्टीका अग्रज नेतालाई पनि मैले भनेको छु, आगामी एक वर्षमा मधेसका ३२ क्षेत्रमा हुने कामको मूल्याङकन गर्दा मेरो अङ्क बढी आउँछ । सबै प्रतिनिधिले आफ्ना क्षेत्रमा जनताको सेवासँगै शिक्षा, स्वास्थ्य र आवश्यकताअनुसारका काम गर्न सके गुनासो विस्तारै कम हुन्छ”, सभापति थापाले भने ।

  • मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    तेहरान, १३ फागुन (रासस–एएफपी) । इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको फलफुल बजारमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ । दुर्घटनामा पाइलट, सह–पाइलट र दुई जना फलफुल व्यापारीको मृत्यु भएको इरना समाचार एजेन्सीले जनाएको छ । एजेन्सिका अनुसार दुर्घटनाको कारण “प्राविधिक खराबी“ भएको बताएको छ । दुर्घटना इस्फहान प्रान्तको खोमेनिसहर सहरमा भएको पुष्टि गरिएको छ ।

    लगातारको प्रतिबन्ध खेत्दै आएको इरानले पछिल्लो समयमा धेरैवटा हवाई प्रकोपहरूको सामना गरेको छ भने अधिकारीहरूले आफ्ना पुराना जहाजहरूका लागि स्पेयर पाट्र्सहरू प्राप्त गर्न गाह्रो भएको गुनासो गरेका छन् । यस अघि पश्चिमी हामेदान प्रान्तमा प्रशिक्षण अभ्यासको क्रममा बिहीबार, एक इरानी लडाकू जेट दुर्घटना ग्रस्त हुदाँ दुई जना पायलटहरू मध्ये एकको मृत्यु भएको इरानी मिडियाले जनाएका छन् ।

  • अमेरिकामा नयाँ कर लागू

    अमेरिकामा नयाँ कर लागू

    वासिङ्टन, १२ फागुन (रासस–एएफपी) । सर्वोच्च अदालतले विश्वव्यापी करसम्बन्धी पुरानो निर्णय खारेज गरिदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीति पुनर्संरचना गर्दै आयातित वस्तुहरूमा नयाँ अमेरिकी कर मङ्गलबारदेखि लागू गराएका छन् । सुरुमा १० प्रतिशत कायम गरिएको यो करलाई ह्वाइट हाउसले ‘संयुक्त राज्य अमेरिकाको गम्भीर भुक्तानी सन्तुलन घाटा सम्बोधन गर्ने उपाय’ का रूपमा व्याख्या गरेको छ ।

    राष्ट्रपति ट्रम्पले उक्त दरलाई १५ प्रतिशतसम्म पुर्‍याउने योजना सार्वजनिक गरेका छन् । यद्यपि क्षेत्र–विशेष अनुसन्धानअन्तर्गत रहेका उत्पादन तथा अमेरिका–मेक्सिको–क्यानाडा व्यापार सम्झौताअन्तर्गत पर्ने सामानहरूमा छुट दिइने अपेक्षा गरिएको छ । नयाँ कर काङ्ग्रेसले समयावधि नबढाएसम्म १५० दिनसम्म मात्र कायम रहनेछ र यसलाई दीर्घकालीन व्यापार नीतितर्फको सङ्क्रमणकालीन कदमका रूपमा हेरिएको छ ।

    गत शुक्रबार सर्वोच्च अदालतले सन् १९७७ को कानून प्रयोग गरी विभिन्न देशमा एकतर्फी कर लगाउने कार्य राष्ट्रपतिको अधिकारभन्दा बाहिर रहेको ठहर गर्दै पुराना विश्वव्यापी करहरू खारेज गरेको थियो । यद्यपि स्टिल र अटोमोबाइलजस्ता क्षेत्रमा लागू गरिएका क्षेत्र–विशिष्ट कर भने यथावत् रहेका छन् । अमेरिकी भन्सार तथा सीमा सुरक्षाले अदालतले रद्द गरेका करको सङ्कलन रोकेको जनाएको छ भने मङ्गलबारदेखि नयाँ १० प्रतिशत कर उठाउन सुरु गरेको पुष्टि गरेको छ ।

    कर फाउन्डेसनकी उपाध्यक्ष एरिका योर्कका अनुसार नयाँ कर वार्षिक करिब १२ खर्ब डलर बराबरको आयातमा लागू हुनेछ । यो कुल आयातित वस्तुको झण्डै ३४ प्रतिशत हो । उहाँका अनुसार सन् २०२५ मा यसले औसत अमेरिकी परिवारमाथि करिब एक हजार डलर बराबरको थप भार पार्नेछ र विद्यमान तथा प्रस्तावित करहरूका कारण सन् २०२६ मा करिब ७०० डलर घरेलु खर्च बढ्न सक्ने अनुमान छ ।

    सर्वोच्च अदालतको निर्णयपछि राष्ट्रपति ट्रम्पले आफ्नो अधिकार ‘अत्यधिक रूपमा सीमित गरिएको’ टिप्पणी गर्नुभएको छ र आवश्यक परे वैकल्पिक कानूनी उपाय प्रयोग गर्ने सङ्केत दिएका छन् । पूर्व अमेरिकी व्यापार अधिकारी वेन्डी कटलरका अनुसार अदालतको फैसलापछि राष्ट्रपतिलाई व्यापारिक असन्तुष्टि व्यक्त गर्न नयाँ उपकरण खोज्नुपर्ने अवस्था आएको छ । उनले कडा इजाजतपत्र शुल्कजस्ता उपाय सम्भावित विकल्प हुन सक्ने बताएका छन् । तर त्यसले परम्परागत करको मात्रात्मक प्रभाव दिन नसक्ने उल्लेख गरेका छन् ।


    राष्ट्रपति ट्रम्पले अदालतको निर्णयपछि पनि व्यापारिक साझेदारहरूलाई ‘खेल नखेल्न’ चेतावनी दिँदै आवश्यक परे थप कर वृद्धि गर्न सकिने बताएका छन् । अमेरिकी व्यापार प्रतिनिधि जेमीसन ग्रियरले टेलिभिजन अन्तर्वार्तामा वर्तमान कर सम्झौताहरू यथावत् रहेको र साझेदार राष्ट्रहरूले आफ्ना प्रतिबद्धता पूरा गर्ने अपेक्षा गरिएको बताएका छन् ।


    तर बेलायत र अस्ट्रेलियाजस्ता केही देशले अब १५ प्रतिशतसम्मको करको सम्भावना सामना गर्नुपर्ने हुन सक्छ, जुन अघिल्लो १० प्रतिशत दरभन्दा उच्च हो । विश्लेषकहरूले यस कदमले केही साझेदार राष्ट्रमा असन्तुष्टि बढाउन सक्ने र दीर्घकालमा अमेरिका बाहिर आपूर्ति शृङ्खला विविधीकरण गर्ने प्रयास तीव्र हुन सक्ने सङ्केत गरेका छन् ।

  • अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुङ्गा आक्रमणमा तीन जनाको मृत्यु

    अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुङ्गा आक्रमणमा तीन जनाको मृत्यु

    वासिङ्टन, १२ फागुन (रासस–क्युएनए) । अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा लागु–औषध तस्करी गर्ने डुङ्गालाई लक्षित गरी गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको घोषणा गरेको छ । युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा आतङ्कवादी सङ्गठनसँग सम्बन्धित जहाजमा आक्रमण गरिएको उल्लेख गरिएको छ । जहाज क्यारिबियन क्षेत्रका नार्को–तस्करी मार्गहरूमा ओसार– पसार गरिरहेको उल्लेख गर्दै नार्को–तस्करी अपरेसनमा संलग्न रहेको विज्ञप्तिमा भनिएको छ ।

    सन् २०१५ सेप्टेम्बर को सुरुदेखि संयुक्त राज्य अमेरिकाले तस्करी गतिविधिमा संलग्न रहेको शशङ्कित पानी–जहाज तथा डुङ्गाहरूलाई लक्षित गर्दै आएको छ, जसको परिणामस्वरूप अहिलेसम्म दर्जनौँ मानिसहरूको मृत्यु भएको जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालै जारी गरेको राष्ट्रिय रक्षा रणनीतिमा सन्दिग्ध लागु–औषध तस्करहरू विरुद्धको सैन्य कारबाही समावेश गरिएको जनाइएको छ ।

  • भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

    भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

    मुम्बई, १२ फागुन (रासस–एएफपी) । पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले “मेडिकल निकासी (एयर एम्बुलेन्स) उडान“ सञ्चालन गर्ने बिचक्राफ्ट सी–९० सोमबार पूर्वी राज्य झारखण्डको कसारिया क्षेत्रमा दुर्घटना भएको पुष्टि गरेको छ ।

    उद्धार र चिकित्सा टोलीहरू दुर्घटना स्थलमा पुगेका छन् भने, स्थानीय मिडियाले दुर्घटना स्थल दुर्गम जङ्गल भित्र रहेको जनाएका छन् । “डाक्टरको टोलीले उनीहरूलाई फेला पारी परीक्षण गरेर मृत घोषणा गरेको स्थानीय प्रशासनिक अधिकारी कीर्तिश्री जीले पत्रकारहरूसँगको साक्षातकारमा बताए ।

    उनका अनुसार मृत्यु हुने सात जना मध्ये दुई जना चालक दलका सदस्य थिए । डिजिसिएले सोमबार राति रेडबर्ड एयरवेजद्वारा सञ्चालित विमानले मौसमका कारण सन्तुलन गुमाएको जनाकारी गराएको २३ मिनेट पछि हवाई ट्राफिक राडारसँग सम्पर्क गुमाएको बताइएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोलाई अनुसन्धानका लागि घटनास्थलमा पठाइएको जनाइएको छ ।

  • धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त

    धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त

    काठमाडौँ, १२ फागुनः संयुक्त अरब इमिरेट्स (युएई)ले धादिङमा सोमबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको यहाँस्थित युएईको राजदूतावासले जनाएको छ । युएईको परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गरेको हो ।

    संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा, पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै, नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ । साथै, घाइते सबैको शीघ्र भएका स्वास्थ्यलाभको कामना गरिएको छ । उक्त दुर्घटनामा १९ जनाले ज्यान गुमाएका छन्भने अन्य २५ जना घाइते भएका छन् ।

  • चुनावका लागि सरकारले घोषणा गर्यो तीन दिन सार्वजनिक बिदा

    चुनावका लागि सरकारले घोषणा गर्यो तीन दिन सार्वजनिक बिदा

    काठमाडौँ, १२ फागुनः सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो ।

  • साम्बाको उपचारका लागि २४ घण्टामै उठ्यो डेढ करोड, रकम सङ्कलन रोक्न आग्रह

    साम्बाको उपचारका लागि २४ घण्टामै उठ्यो डेढ करोड, रकम सङ्कलन रोक्न आग्रह

    काठमाडौँ १२ फागुनः नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले आफ्नो उपचारको लागि आवश्यक खर्च जुटेको बताएकी छिन् । कप्तान भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उपचारका लागि देश–विदेशबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको भन्दै सबै समर्थकप्रति आभार व्यक्त गरेकी छिन् । उनले पछिल्लो २४ घण्टामा पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएकोसमेत उल्लेख गरेकी छिन् ।


    भण्डारीले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो घुँडाको एसिएल शल्यक्रिया गर्नुपर्ने भएकाले सहयोगको अपिल गरेकी थिइन् । अपिल गरेको २४ घण्टाभित्र आवश्यक रकम उपलब्ध भएको छ । उनले आफ्नो उपचारका लागि नेपाली बैंक खातामा रु एक करोडभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत करिब रु ४५ लाख (५२ हजार न्युजिल्यान्ड डलर) सङ्कलन भइसकेको जानकारी दिएकी छिन् ।


    यस सहयोगले उपचार खर्चका साथै कतारमा उपचार अवधिमा लाग्ने आवास र यातायात खर्चसमेत पुग्ने देखिएकाले आजैदेखि दुवै खातामा रकम सङ्कलन रोक्न अनुरोधसमेत गरेका छन् । भण्डारीले आफू आबद्ध क्लबले पनि शल्यक्रिया तथा पुनःस्थापनाका लागि बिमा रकम निकासा गरी थप सहयोग गरिरहेको जानकारीसमेत दिएकी छिन् । छिट्टै शल्यक्रियाको मिति तय भएर उपचार प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

    चोटका कारण शारीरिकसँगै मानसिक रूपमा पनि थकित भएको उल्लेख गर्दै उनले समर्थकहरूको साथले पुनः उठ्ने साहस दिएको बताएकी छिन् । “अझ मजबुत भएर मैदानमा फर्किने र पुनः राष्ट्रिय जर्सी लगाएर देशका लागि खेल्ने छु”, भण्डारीले प्रतिबद्धता व्यक्त गरेकी छिन् । करिब दुई महिनादेखि घुँडामा चोटको कारण नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान भण्डारी मैदान बाहिर छिन् ।

  • वसन्तपुरमा चीर ठड्याएपछि सुरु भयो फागुको रौनक

    वसन्तपुरमा चीर ठड्याएपछि सुरु भयो फागुको रौनक

    काठमाडौँ, १२ फागुनः काठमाडौँको वसन्तपुरमा रहेको कुमारी घर र गद्दी बैठक छेउमा कपडाको रङ्गीचङ्गी ध्वजायुक्त चीर ठड्याइएसँगै यस वर्षको फागुको रौनक सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँकै तँलाछीका धालासिक्व मानन्धर सनाः गू खलका सदस्यहरूले चीर ठड्याउने चलन छ । यो वसन्त ऋतुको आगमन भएको सङ्केत पनि हो ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जुराएको साइतअनुसार बिहान ७ बजेर १३ बजे पूर्व फर्काएर चिरोत्थान गरिएको हो । यसपछि उपत्यकावासीमा रङ र खुसीको पर्व फागु (होली) सुरु पर्व भएको छ । यस वर्ष फागुको उल्लास आगामी आठ दिनसम्म रहनेछ । अष्टमीदेखि पूर्णिमासम्म मनाइने यो पर्वले मानिसहरूलाई जातीय र सामाजिक विभेद बिर्सेर एउटै रङमा समाहित गराउने विश्वास गरिन्छ ।

    धार्मिक र ज्योतिषीय गणनाअनुसार यस वर्ष फागुको मुख्य दिनअर्थात् पूर्णिमा फागुन १८ गते सोमबार परेको छ । सोही दिन पहाडी जिल्लाहरूमा रङ खेलेर हर्षोल्लासका साथ फागु मनाइनेछ । तराईका जिल्लाहरूमा भने त्यसको भोलिपल्टअर्थात् फागुन १९ गते मङ्गलबार यो पर्व मनाइने तयारी छ ।

    समितिले दिएको साइतअनुसार फागुन १८ गते सोमबार साँझ ५ बजेर ३१ बजे मिनेटको साइतमा चीर ढालेपछि पर्व समापन हुनेछ । ढालिएको चीर घिसार्दै टुँडिखेल पुर्‍याइनेछ । त्यही साँझ ५ बजेर ५१ मिनेटमा चीर दाह (जलाउने) गरिनेछ । चीर जलेसँगै यस वर्षको फागु पवको औपचारिक रूपमा समापन हुनेछ ।

  • रोजगारी, सुशासन र पारदर्शिता प्राथमिकतामाः सभापति लामिछाने

    रोजगारी, सुशासन र पारदर्शिता प्राथमिकतामाः सभापति लामिछाने

    धरान (सुनसरी), १२ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने बताएका छन् । आज इटहरीमा आयोजित पार्टीको परिवर्तन उद्घोष सभामा उहाँले देश नयाँ इतिहास लेख्ने चरणमा पुगेको उल्लेख गर्दै आगामी २१ मा हुने मतदानले परिवर्तनको दिशालाई स्पष्ट पार्ने विश्वास व्यक्त गरे ।

    निर्वाचनपछि प्राप्त परिणामलाई सबैले स्वीकार गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन आवश्यक रहेको उनले बताए । सभापति लामिछानेले देशमा विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचारविरुद्ध आफ्नो पार्टी कठोर रूपमा प्रस्तुत हुने बताए । उनले विसं २०४६ सालदेखि भएका सबै काण्डको छानबिन हुने बताए ।

  • मुग्लिन–मलेखु सडक दुर्घटनाका घाइते भरतपुर ल्याउन सहज

    मुग्लिन–मलेखु सडक दुर्घटनाका घाइते भरतपुर ल्याउन सहज

    चितवन, १२ फागुन । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्डमा हुने दुर्घटनाका घाइतेको उपचार भरतपुर ल्याउन सहज र छिटो हुने देखिन्छ । नारायणगढ–मुग्लिन सडक सहज भएकाले दूरीका हिसाबले काठमाडौँभन्दा भरतपुर छिटो ल्याउन सकिन्छ । भरतपुरमा रहेको सङ्घीय अस्पताल भरतपुर अस्पतालले ट्रमा सेन्टर सञ्चालन गरेको छ ।

    यससँगै यहाँका दुई मेडिकल कलेज र साना अस्पतालहरू समेत दुर्घटनाका घाइतेको उपचार गर्न सक्षम छन् । भरतपुर अस्पतालमा मात्र २० जना अर्थोपेडिक सर्जन र २१ जना जनरल सर्जन रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार सिटी स्क्यान, एमआरआईलगायतका उपकरणमा कमी छैन ।

    यससँगै मुटु, नसालगायतका जटिल उपचार यहाँ हुन्छ । यस्तै ट्रमाको धेरै उपचार गर्ने चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि दुर्घटनाका घाइतेको उपचारका लागि आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखेका छन् । समयमा उपचार हुँदा घाइते बचाउन सक्ने चिकित्सकहरू बताउँछन् ।

    चितवन मेडिकल कलेजका निर्देशकसमेत रहनुभएका आकस्मिक विभाग प्रमुख प्रा डा दयाराम लम्साल दुर्घटनाको एक घण्टाभित्रको समयलाई ‘गोल्डेन आवर’ भन्ने गरिएको भन्दै उनले जतिसक्दो छिटो घाइते अस्पताल पुर्याउन सकेमा बचाउन सकिने सम्भावना बढी हुने बताउँछन् । उनले भने, “दूरी र सुविधाका हिसाबले जहाँ नजिक हुन्छ, त्यहाँ घाइते पठाउनुपर्छ ।” पछिल्ला दिनहरूमा एम्बुलेन्समा स्वास्थ्यकर्मी राखेर उपचार गर्दै अस्पताल पुर्याउनुपर्ने मान्यता रहेको उनको भनाइ छ ।

    भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा पौडेल मोफसल मनोविज्ञानका कारणले पनि घाइतेहरू काठमाडौँ पठाइने भन्दै उनले त्यहाँको जति सुविधा भरतपुर अस्पतालमा रहेको बताउँछन् । मुग्लिन–मलेखु सडकका घाइते काठमाडौँ पठाउँदा उकालो र अप्ठ्यारो सडक पार गर्दै लामो दूरी तय गर्नुपर्छ भने भरतपुर आउँदा छोटो दूरी र सहज सडक पर्दछ । घाइतेहरूको उद्धारपछि स्थानीय अस्पताल पुग्ने र त्यहाँबाट काठमाडौँ पठाइने गरिन्छ । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपाने एक पक्षले उद्धारको काम गर्छ भने अर्को पक्षले व्यवस्थापन गर्दैगर्दा यो विषयमा ध्यान नपुगेको बताउँछन् ।


    विगत लामो समयदेखि धादिङमा रहेर पत्रकारिता गर्दै आउनुभएका पोषनाथ अधिकारी पहिले नारायणगढ–मुग्लिन सडकखण्ड अप्ठ्यारो भएकाले घाइते काठमाडौँ पठाउने गरिएकामा अहिले पनि त्यसै गरिँदै आएको बताउँछन् । उनको भनाइमा घाइते भइसकेपछि नजिकको अस्पतालमा लैजाने गरिन्छ । यसरी लैजाँदा मुलेखु र गजुरीका अस्पतालहरूमा घाइते पुग्छन् । त्यहाँबाट काठमाडौँ दूरी छोटिँदै गएपछि सहज मानेर पनि त्यतै जाने गरेको उनको भनाइ छ ।

  • आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हिमपातको सम्भावना

    आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हिमपातको सम्भावना

    काठमाडौँ, १२ फागुनः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ननेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सबैलाई अनुरोध गरेको छ ।

  • प्रमुख राजनीतिक दलका वाचाः सबल र आत्मनिर्भर अर्थतन्त्र

    प्रमुख राजनीतिक दलका वाचाः सबल र आत्मनिर्भर अर्थतन्त्र

    रमेश लम्साल\रासस
    काठमाडौँ, १२ फागुनः प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका साथ आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । यही फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको उन्नयन गर्दै सबल बनाउने योजना अगाडि सारेका हुन् ।

    अर्थतन्त्रको आकार वृद्धि, गुणात्मक आर्थिक वृद्धि तथा अर्थतन्त्रको तेस्रो चरणको सुधारको योजनासमेत घोषणापत्रमा समावेश गरिएको छ । अर्थतन्त्रको बहुआयामिक विस्तार, आत्मनिर्भरता एवं आन्तरिक सवलीकरणका विषयलाई महत्वका साथ प्रमुख राजनीतिक दलले समावेश गरेका छन् । राजनीतिक स्थिरतासँगै आर्थिक विकास र समृद्धिका विषयलाई घोषणापत्रमा समावेश गरेर मुलुकको सवलीकरणमा जोड दिइएको छ ।

    नेपाली कांग्रेसले आगामी पाँच वर्षलाई आर्थिक पुनरूत्थानको अर्धदशक घोषणा गर्दै दोस्रो पुस्ताको आर्थिक सुधारमार्फत नेपालको अर्थतन्त्रलाई रु ११५ खर्ब बनाउने लक्ष्य राखेको छ । प्रतिव्यक्ति आयलाई दुई हजार ५०० अमेरिकी डलर पु¥याउने सङ्कल्पसमेत कांग्रेसको छ । त्यसका लागि ठूलो मात्रामा लगानी परिचालन गर्ने र त्यसमा ८० प्रतिशत हिस्सा निजी क्षेत्रको कायम गर्दै राज्यको भूमिकालाई केबल सहजकर्ता र निष्पक्ष नियामकमा सीमित गर्ने लक्ष्य राखिएको छ । यस्तै, मुद्रास्फीतिलाई पाँच प्रतिशतभित्र नियन्त्रण गर्ने योजना कांग्रेसको छ ।

    उदार अर्थतन्त्र निजी क्षेत्रलाई समृद्धिको मुख्य इञ्जिनका रूपमा स्थापित गर्दै नीतिगत स्थिरता, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने जहाँ सरकारले बजारको प्रतिस्पर्धी निष्पक्षता र स्वच्छताका लागि एक कुशल नियामकको भूमिका मात्र निर्वाह गर्ने योजना छ । उत्पादनमुखी अर्थतन्त्र स्रोजगारीमूलक र उत्पादनमा आधारित उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने योजना अगाडि सारेको कांग्रेसले युवा केबल श्रमिक मात्र नभई सम्पत्ति सिर्जना र उद्यमशीलताका वास्तविक साझेदार रहेको तथ्यलाई आत्मसात गरेको छ ।

    न्यून आय भएका र सिमान्तकृत समुदायलाई सम्पत्ति सिर्जना गर्ने, उत्पादक र सम्पत्तिको मालिक बनाउने गरी विशेष आर्थिक अवसर र संरक्षणको सुनिश्चितता गर्ने लक्ष्य कांग्रेसले राखेको दलको छ । हाल सञ्चालनमा रहेका विभिन्न प्रकारका उद्योगले भोग्नु परिरहेका नीतिगत अस्पष्टता, कानुनी झन्झट र संस्थागत जटिलतालाई तत्काल सम्बोधन गर्न एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै झन्झटमुक्त उद्योग सञ्चालनको वातावरण बनाउन कांग्रेसको योजना छ ।

    करका दर र सर्तहरू कम्तीमा पनि १० वर्षसम्म स्थिर रहने व्यवस्था, उद्योग दर्तादेखि नवीकरणसम्मका सबै प्रक्रियालाई कागजविहीन र हैरानीमुक्त बनाउन सरलीकृत डिजिटल प्रणाली लागू गर्ने योजना अगाडि सारिएको छ । यस्तै, लगानी बोर्ड र उद्योग विभागलाई गाभेर पारदर्शी शक्तिशाली, लगानी प्रवद्र्धन एवं संरक्षण बोर्ड स्थापना गर्ने, हाल स्थापना र सञ्चालनमा रहेका विशेष आर्थिक क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत र कानुनी प्रबन्ध गर्ने सो दलले घोषणापत्रमा समावेश गरेको छ ।

    कांग्रेसको प्रतिज्ञा नाम दिइएको घोषणापत्रमा अनौपचारिक अर्थतन्त्रलाई क्रमशः औपचारिक बनाउन आवश्यक ज्ञान सूचना तथा सेवासुविधा दिइ सहजीकरण गर्ने योजना अगाडि सारिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आधा दशकमा रु एक सय खर्बको अर्थतन्त्र बनाउने लक्ष्य निर्धारण गरेको छ । एक दशकमा रु दुई सय खर्बको अर्थतन्त्र बनाउने योजना राखेको छ । कृषिको उत्पादकत्व, विद्युत् उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै सात प्रतिशतदेखिसम्मको आर्थिक वृद्धि गर्ने लक्ष्य छ ।

    प्रतिव्यक्ति आय पाँच वर्षमा करिब अमेरिकी डलर तीन हजार पु¥याउने लक्ष्यका साथ सम्पूर्ण राष्ट्रिय स्रोतसाधन र सामथ्र्य परिचालन गरिनेछ । समतामूलक द्रुत आर्थिक विकासबाट चरम गरिबीको अन्त्य गर्ने लक्ष्य एमालेको योजना छ । कृषिको आधुनिकीकरण गर्दै यस क्षेत्रको अतिरिक्त श्रमशक्तिलाई शिक्षा, सीप र प्रविधि विकासद्वारा औद्योगिक र सेवा क्षेत्रमा स्थानान्तरण गर्ने लक्ष्य एमालेले निर्धारण गरेको छ । समष्टिगत आर्थिक तथा क्षेत्रगत नीतिहरूलाई लगानीमैत्री र उत्पादन सहयोगी तुल्याउने योजना अगाडि सारेको छ । वित्तीय क्षेत्रको पुँजी उत्पादक क्षेत्रमा विनियोजन गर्ने, पुँजी बजारको विकास तथा सुदृढीकरण गर्दै थप आन्तरिक तथा बाह्य पुँजी परिचालन गरी उच्च आर्थिक वृद्धिका लागि लगानी परिचालन गर्ने एमालेले योजना बनाएको हो ।

    आर्थिक वृद्धिमा गुणक प्रभाव पार्ने क्षेत्रमा राज्यको लगानी बढाउने लक्ष्य राखेको एमालेले अर्थतन्त्रका सबै क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धि हुने र आमजनताको जीवनस्तरमा गुणात्मक सुधार आउने प्रमुख आयोजना सम्पन्न गर्न पर्याप्त हुनेगरी बजेट तर्जुमा गर्ने लक्ष्य राखिएको छ । सार्वजनिक संस्थानको कार्यकूशलता अभिवृद्धि गर्ने, आगामी पाँच वर्षसम्म पुँजी निर्माण र अनिवार्य दायित्वका खर्चबाहेकका अन्य खर्च कटौती गरी रोजगारी सिर्जना हुने उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने एमालेको योजना छ । बजेटको अङ्क, निर्धारित समय, नतिजा र गुणस्तरको सीमा उल्लङ्घन गर्ने वा मापदण्ड पूरा नगर्नेलाई दण्डित गर्ने कानुनी व्यवस्था गरी बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ ।

    राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयन गर्नमात्रै सार्वजनिक ऋण लिने तथा सार्वजनिक ऋणलाई राष्ट्रिय सामथ्र्यको सुरक्षित अनुपातभन्दा बढ्न नदिने एमालेको भनाइ छ । मुद्रास्फीतिलाई नियन्त्रण गर्ने, खाद्यसुरक्षा कायम गर्ने, उत्पादन वृद्धि, मूल्य तथा आपूर्ति नियमन र उपभोक्ता सचेतना वृद्धि गरी उपभोक्तहित संरक्षण गर्ने योजना सो पार्टीले अगाडि सारेको छ ।

    त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक सुधारको नयाँ चरण सुरुआत गर्ने विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ स्थान दिएको छ । नेपालको संविधानले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेअनुसार नेकपाले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ । बदलिँदो राष्ट्रिय तथा अन्तरराष्ट्रिय आर्थिक परिवेशलाई ध्यान दिँदै उत्पादन वृद्धि, रोजगारी सिर्जना, वित्तीय समावेशीता र आत्मनिर्भरतामार्फत सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई केन्द्रमा राख्ने नयाँ चरणको बृहत् र संरचनागत आर्थिक सुधारको प्रक्रिया अगाडि बढाउने नेकपाको सङ्कल्पपत्रमा उल्लेख गरिएको छ । सम्पत्ति शुद्धीकरणलगायत विषयमा अध्ययन गर्ने एक अन्तरराष्ट्रिय संस्थाले नेपाललाई खैरो सूचीमा राखेका सन्दर्भमा त्यसलाई बाहिर निकाल्न समयबद्ध कार्ययोजना ल्याउने नेकपाको सङ्कल्प छ ।

    नेकपाले कृषि तथा ग्रामीण अर्थतन्त्रको रुपान्तरण, ऊर्जा तथा पूर्वाधार विकास, औद्योगिक तथा उद्यमशीलता प्रवद्र्धन, सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्र, पर्यटन तथा सेवा क्षेत्रको गुणस्तरीय विकास र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नेकपाले उत्पादनमूलक रोजगारीमार्फत जनसाङ्ख्यिक लाभको उच्च उपयोग गर्ने गरी प्रतिवर्ष एक लाख ५० हजार अतिरिक्त रोजगारी थप गरी वार्षिक रुपमा पाँच लाख रोजगारी सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । नेकपाले आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गर्दै पाँच वर्षमा हालको बहुआयामिक गरिबीको दर २० दशमलव १५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

    उत्पादनमुखी, निर्यात प्रवद्र्धन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी आयात निर्भरता क्रमशः न्यूनीकरण गर्ने, स्वदेशी निजी क्षेत्रको लगानी क्षमता अभिवृद्धि गर्दै वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्य निर्धारण गरिएको छ । प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोग, हरित तथा डिजिटल अर्थतन्त्रको जग बसाल्ने नेकपाको उद्देश्य छ । सम्भाव्यताका आधारमा प्रत्येक प्रदेशलाई एक विशिष्ट आर्थिक क्रियाकलापको क्षेत्रका रुपमा विकास गर्ने उद्देश्य निर्धारण गरेको नेकपाले सङ्कल्पपत्रमा निजी, सहकारी तथा सार्वजनिक क्षेत्रबीच सन्तुलन कायम गरेर आर्थिक विकास गरिनेछ ।

    नेकपाले अर्थतन्त्रका तीन खम्बालाई सुदृढ गर्दै सामुदायिक क्षेत्रलाई चौथो खम्बा बनाउने योजना अगाडि सारेको छ । उत्पादन लागत कम गर्ने नीति तथा संरचनागत सुधार गर्ने, स्वदेशी उतपादन मूल्य प्रतिस्पर्धी बनाउने योजना अगाडि सारेको नेकपाले खाद्यान्नलगायत रणनीतिक वस्तु तथा सेवामा आत्मनिर्भरता सुनिश्चित गर्ने योजना अगाडि सारेको छ ।

    व्यापार घाटा नियन्त्रणमा ल्याउन प्रतिस्पर्धात्मक लाभका उच्च मूल्यका वस्तुको उतपादन बढाउने वैदेशिक व्यापारको देशभगत विविधीकरण गर्ने, निश्चित उतपादनमा केन्द्रित रही सरकारी निजी तथा सहकारी क्षेत्रको एकल र साझेदारीमा निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्ने नेकपाको सङ्कल्पपत्रमा समावेश गरिएको छ । कृषि र उद्योग क्षेत्रको विकासबाट उत्पादन र रोजगारी बढाउने कार्यक्रम नेकपाले अगाडि सारेको छ ।

    नेपालमा वित्तीय क्षेत्रको साधानको ठूलो हिस्सा समिति घरानाले मात्र गर्ने अवस्था हटाउन मझौला र साना कर्जाको लक्ष्य निर्धारण गर्ने व्यवस्था गरी बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नेकपाको योजना छ । फिनटेकको अवधारणाअनुरुप वित्तीय सेवा तथा प्रणालीलाई सजिलो, सरल छरितो र पहुँचयोग्य पारदर्शी बनाउने लक्ष्य निर्धारण गरेको नेकपाले कृषि तथा ग्रामीण अर्थतन्त्र रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    गरिबीको दर पाँच प्रतिशतमा झार्ने, एक वर्षभित्र सबै किसानलाई परिचयपत्र वितरण र वर्गीकरण गर्ने, पाँच वर्षमा थप ११० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । नेकपाले २० वटा सहरलाई ‘स्मार्ट सिटी’ र १०० वटा ग्रामीण बस्तीलाई ‘स्मार्ट भिलेज बनाउने, २०८८ सम्म सबै नागरिकलाई स्वास्थ्य बिमा र केन्द्रमा २५ जना मन्त्रीबाट घटाएर विज्ञसहितको सानो आकारको मन्त्रिपरिषद् बनाउने योजना नेकपाको प्रतिबद्धतापत्रमा समावेश छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आर्थिक उन्नयनको हाम्रो मूल आधार उत्पादकत्वमा निरन्तर वृद्धि हुनेछ भन्ने विश्वास राखेको छ । समग्र विकासको मापन केबल आय वृद्धिबाट होइन, रोजगारी विस्तार, सामाजिक सामञ्जस्य, अवसरको समानता र पर्यावरणीय सन्तुलनमा देखिने गुणात्मक सुधारबाट हुनुपर्छ भन्ने रास्वपाको धारणा छ । निजी क्षेत्रको गतिशीलता, नवप्रवर्तन र सृजनशीलतालाई प्रवद्र्धन गर्ने उदार अर्थनीति र सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, आवास तथा सामाजिक सुरक्षामार्फत राष्ट्रिय आयको समतामूलक पुनर्वितरण गर्ने रास्वपाको योजना छ ।

    असान्दर्भिक बनेका करिब दुई दर्जन ऐन खारेज गर्ने, झन्झटिला ऐन र तजबिजी प्रक्रिया शृङ्खलाबद्ध रूपमा खारेज वा सुधार गरेर उत्पादनको लागत घटाउने, व्यावसायिक वातावरण सुधार्ने र आर्थिक वृद्धिका प्राथमिकता क्षेत्रमा स्वदेशी एवं प्रवासी लगानी आकर्षित गर्ने सो दलले वाचापत्रमा समावेश छ । नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बन्न अर्को पाँच वर्ष औसत आर्थिक वृद्धि दर वार्षिक सात प्रतिशत कायम गर्ने रास्वपाले लक्ष्य राखेको छ ।

    आगामी पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार डलर नाघ्ने र अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुग्ने लक्ष्य सो दलले राखेको छ । सामाजिक न्यायसहितको उदार अर्थनीति निजी क्षेत्रसँगको उन्नत समझदारीका आधारमा राजस्व नघट्ने प्रत्याभूतिसहित सबै करहरूको बोझ घटाउने योजना अगाडि सारेको छ । स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन र सहजीकरणका लागि एकै स्थानमा फाइल पेस गरेपछि अन्य निकाय धाउन नपर्ने व्यवस्थासहित ‘वान स्टप’ सेवा प्रदान गर्ने सो दलले वाचापत्रमा समावेश गरेको छ । सार्वजनिक आयोजनालाई स्पष्ट उद्देश्य, प्राथमिकता, सुनिश्चित बजेट, निश्चित समय सीमा, योग्य तथा पर्याप्त मानवीय स्रोत र परिणाममूलक लक्ष्यसहित लक्ष्य केन्द्रित कार्यशैली कार्यान्वयन गर्ने सो दलको वाचापत्रमा समावेश गरिएको छ ।

  • निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह

    निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह

    रासस
    काठमाडौँ, १२ फागुनः प्रेस काउन्सिल नेपालले निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न आग्रह गरेको छ । मुलुकभित्र रहेका आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको काउन्सिलले विगतमा झैँ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भएरनभएका विषयमा विशेष अनुगमन गरिरहेको स्मरण गराएको हो ।

    काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ भनी मत सर्वेक्षणको शैलीमा राजनीतिक दल र उम्मेदवारको नाम किटान गरी मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    यो उम्मेदवारले जित्नेछन्, ‘यो उम्मेदवार त्योभन्दा धेरै अगाडि’ ‘नयाँतिर आकर्षित’ ‘यसको लहर छ, यसको छैन’ ‘डेन्जर जोनमा’ भनी नागरिकको मनोभावनालाई असर पार्ने, आममतदाता दिग्भ्रमित हुने समाचार सामग्री प्रकाशित भएकामा काउन्सिलले ध्यानाकर्षण भएको उल्लेख गरेको छ । त्यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने र आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई काउन्सिलले नोटिसमा राखेको स्पष्ट पारेको छ ।

    प्रेस स्वतन्त्रताको नाममा प्रेषित सामग्रीले कसैलाई लाभ–हानि पुग्नसक्नेतर्फ सचेत गराउँदै काउन्सिलले तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने पत्रकारिताजस्तो महत्वपूर्ण पेसामा आबद्ध सञ्चारमाध्यम तथा पत्रकार यस महत्वपूर्ण ऐतिहासिक सन्दर्भमा थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनैपर्ने काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जानकारी दिए । निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगतको पनि विशेष भूमिका हुनेहुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न काउन्सिलले आग्रह गरेको छ ।

    आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न र स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्नरनगराउन ध्यानाकर्षण गराइएको छ ।

  • कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढी

    कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढी

    कञ्चनपुर, १२ फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । लिखित उजुरी भने न्यून सङ्ख्यामा मात्रै दर्ता भएका छन् । निर्वाचन आचारसंहिता अनुगमन समितिले मौखिक रूपमा आएका आचारसंहिता उल्लङ्घनका उजुरी तत्काल समाधान गर्दै आएको छ । आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार हालसम्म तीन वटा मात्रै लिखित उजुरी दर्ता भएका छन् ।

    “मौखिक रूपमा आएका गुनासोलाई प्राथमिकताका साथ हेरेर तत्काल समाधान गर्ने गरिएको छ”, उनले भने, “आचारसंहिताविपरीत टाँसिएका प्रचारप्रसारका सामग्री हटाउन तथा सार्वजनिक सम्पत्तिमा गरिएका प्रचार नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिने गरिएको छ ।” उनका अनुसार लिखित रूपमा दर्ता भएका उजुरीमाथि आवश्यक छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।

    सम्बन्धित उम्मेदवार वा दलसँग स्पष्टीकरण माग्ने, प्रमाण सङ्कलन गर्ने तथा आवश्यक परे कारबाहीका लागि सिफारिस गर्ने कार्य भइरहेको जनाइएको छ । हालसम्म गम्भीर प्रकृतिको आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी भने नपरेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो, कोणसभा, मोटरसाइकल र्‍याली र टोल भेलामार्फत चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

    प्रचारप्रसारका क्रममा सार्वजनिक स्थानमा अनधिकृत रूपमा टाँसिएका पोस्टर, ब्यानर तथा ध्वनि प्रदूषणसम्बन्धी गुनासा बढी आएका छन् । तर यस्ता विषयमा लिखित उजुरी भने सीमित मात्रै परेको अनुगमन समितिले जनाएको छ ।

    चुनावी अभियान विस्तारसँगै बजार क्षेत्रबाट ग्रामीण बस्तीमा प्रचार सामग्रीको प्रयोग बढेको छ । कतिपय स्थानमा तोकिएको समयभन्दा बाहिर लाउडस्पिकर प्रयोग गरिएको, सार्वजनिकस्थलमा ब्यानर टाँसिएको तथा जुलुस व्यवस्थापनमा कमजोरी देखिएका विषयमा गुनासा आएका छन् । अनुगमन टोलीले दैनिक रूपमा विभिन्न स्थानमा पुगेर आचारसंहिता पालनाको अवस्था मूल्याङ्कन गरिरहेको जनाएको छ ।

    निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार र समर्थकलाई आचारसंहिता कडाइका साथ पालना गर्न समितिले आग्रह गरेको छ । जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन प्रशासन र सुरक्षा निकाय सतर्क अवस्थामा रहेका छन् ।

  • निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    रासस
    काठमाडौँ, १२ फागुनः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ ।

    नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई पूर्णरूरुपमा आचारसंहिता लाग्छ । यस्तै, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई पूर्ण रूपमा आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

    सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीसमेत आचारसंहिताको दायरामा छन् । राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई आचारसंहिता लाग्छ ।

    निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी तथा कर्मचारी पूर्ण रूपमा आचारसंहिताको दायरामा छन् । यस्तै, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारीलाई पूर्ण रुपमा आचारसंहिता लाग्ने आयोगको भनाइ छ ।

    संवैधानिक निकाय, सो निकायका पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, एवं कर्मचारी, सार्वजनिक पद धारण गरेका व्यक्ति अनुमगन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई निर्वाचन आचारसंहिता लाग्छ । यसैगरी मतदाता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, आयोगले तोकेका अन्य निकाय वा व्यक्ति, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पनि आचारसंहिता लाग्छ ।

    स्थानीय कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा सहभागी भएको पाइएपछि आयोगले आइतबार आचारसंहिता स्मरण गराएको थियो । सोमबार पुनःसरकारी वा निजी क्षेत्रमा पूर्ण रूपमा आचारसंहिता लाग्ने स्मरण गराएको हो ।

  • किम पुनः महासचिव, आणविक शक्ति अझ विस्तारको सङ्केत

    किम पुनः महासचिव, आणविक शक्ति अझ विस्तारको सङ्केत

    सियोल, १२ फागुन (रासस–एपी) । उत्तर कोरियाली नेता किम जोङ–उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित भएका छन् । राजधानी प्योङयाङमा जारी पार्टी कङ्ग्रेसले उनको नेतृत्वमा आणविक क्षमता विस्तार र सैन्य शक्ति सुदृढीकरणलाई आगामी पाँच वर्षको केन्द्रीय कार्यदिशा बनाउने सङ्केत दिएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)का अनुसार चौथो दिनको बैठकमा हजारौँ प्रतिनिधिहरूको ‘अटल र सर्वसम्मत इच्छा’ का आधारमा किम पुनः महासचिव चयन भएका हुन् ।

    पार्टी नियमअनुसार सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुने कङ्ग्रेसले महासचिव चयन गर्दै आएको छ । बयालिस वर्षीय किमले शासनकालमा शीर्ष पद सम्हालिरहेका छन् । पहिले पहिलो सचिव, त्यसपछि अध्यक्ष र सन् २०२१ देखि महासचिवको उपाधिमा रहँदै आएका छन् ।


    कङ्ग्रेसको प्रतिवेदनले एसियामा रहेका अमेरिकी सहयोगीहरू र अमेरिकी मुख्य भूमिलाई नै निशाना बनाउन सक्ने क्षेप्यास्त्रसहितको आणविक शस्त्रागारलाई थप सुदृढ गर्ने लक्ष्य औँल्याएको छ । पार्टीले विज्ञप्तिमार्फत किमको नेतृत्वमा ‘आक्रमणको कुनै पनि खतरा’ र ‘कुनै पनि प्रकारको युद्ध’ सामना गर्न सक्ने सैन्य शक्ति निर्माण भएको दाबी गर्दै राष्ट्रिय गौरव र आत्मसम्मान बढेको उल्लेख गरेको छ ।

    बैठकले शक्तिशाली केन्द्रीय समितिको नयाँ सूची सार्वजनिक गर्दै नेतृत्व तहमा पुस्तागत परिवर्तनको सङ्केत दिएको छ । एक सय ३८ सदस्यीय निकायमा केही वृद्ध सैन्य अधिकारीहरू र सर्वोच्च जनसभाका ७६ वर्षीय अध्यक्ष चोइ रियोङ हे बाहिरिएका थिए । मार्सल पाक जोङ चोन र रि प्योङ चोललगायत विगत दशकमा आणविक विकाससँग जोडिएका केही उच्च अधिकारीहरू पनि सूचीमा समावेश छैनन् । अन्तर–कोरियाली मामिलामा संलग्न किम योङ चोल र रि सोन ग्वोनलाई समेत हटाइएको दक्षिण कोरियाली एकीकरण मन्त्रालयका प्रवक्ता युन मिन होले बताए ।


    विश्लेषकहरूले किमले परम्परागत सेनालाई आणविक क्षमतासँग एकीकृत गर्ने नयाँ सैन्य लक्ष्य सार्वजनिक गर्न सक्ने आकलन गरेका छन् । उनले विशेषतः महामारीपछि चीनसँगको व्यापार र रसियासँगको सहकार्यबाट लाभ लिने रणनीतिका बीच जन–परिचालनमार्फत आर्थिक ‘आत्मनिर्भरता’ अभियानलाई पुनः जोड दिने सम्भावना पनि देखिएको छ ।

    किमले गत सेप्टेम्बरमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग छ वर्षपछि पहिलो शिखर वार्ता गरेका थिए । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले पुनः निर्वाचनमा बधाई सन्देश पठाएका थिए । युक्रेन युद्धमा रूससँगको सहकार्य र आणविक कार्यक्रमको आक्रामक विस्तारपछि वासिङ्टन र सियोलसँगको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

    उत्तर कोरियाले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता विफल भएपछि संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको अर्थपूर्ण कूटनीति स्थगित गरेको थियो । हालै किमको सरकारले वासिङ्टनसँग वार्ताका लागि उत्तर कोरियाको आणविक निशस्त्रीकरण पूर्वशर्त हटाउन आग्रह गर्दै आएको छ । सन् २०२४ मा किमले दक्षिण कोरियासँगको शान्तिपूर्ण पुनर्मिलन नीति त्याग्दै उसलाई स्थायी शत्रु घोषणा गरेका थिए । यसले अन्तर–कोरियाली सम्बन्ध झन् जटिल बनेको छ ।

  • जेलेन्स्की भन्छन् : पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके

    जेलेन्स्की भन्छन् : पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके

    किएभ, १२ फागुन (रासस–एएनआई) । रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको प्रक्रिया सुरु गरिसकेको विश्वास व्यक्त गरेका छन् । उनका हाँअनुसार अहिलेको सङ्घर्ष केवल दुई देशबीच सीमित छैन, बरु विश्व व्यवस्थामाथिको चुनौतीका रूपमा विकसित भइरहेको छ ।

    बिबिसीसँगको हालैको अन्तर्वार्ताको सारांश सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गर्दै जेलेन्स्कीले तेस्रो विश्वयुद्धबारे फरक–फरक धारणा रहेको उल्लेख गरे । “तेस्रो विश्वयुद्धका बारेमा विभिन्न दृष्टिकोण छन् । मलाई लाग्छ पुटिनले यसलाई सुरु गरिसकेका छन्, प्रश्न के हो भने, रुसले कति भूभाग कब्जा गर्न सक्छ र उसलाई कसरी रोक्ने ?” उनले लेखेका छन् । उनका अनुसार उद्देश्य केवल रुसलाई जित्न नदिनु मात्र होइन, तर रुसले आफ्नो सोच र शासन पद्धति अरूमाथि थोपर्ने प्रयासलाई रोक्नु हो ।


    जेलेन्स्कीले आफूले लामो समयदेखि पुटिनले व्यापक युद्धको ढोका खोलिसकेको ठानेको उल्लेख गर्दै युक्रेन अहिले त्यसलाई पूर्णस्तरको तेस्रो विश्वयुद्धमा परिणत हुनबाट रोक्ने ‘अग्रमोर्चा’ भएको दाबी गरेका छन् । “आज हामी पुटिनलाई रोक्ने चौकी हौँ”, उनले भनेका छन् । उनका टिप्पणी २४ फेब्रुअरी २०२२ मा सुरु भएको रुसी पूर्ण आक्रमणको चौथो वार्षिकोत्सवको एक दिनअघि आएको हो ।

    यस अवधिमा युद्धले हजारौँको ज्यान लिएको छ र पूर्वी युरोपको सुरक्षा सन्तुलनमा गहिरो असर पारेको छ । जेलेन्स्कीले वर्तमान अवस्थामा सबैभन्दा ठूलो चुनौती युक्रेनको हवाई रक्षा प्रणाली सुदृढ पार्नु रहेको बताए । उनले अन्तर्राष्ट्रिय साझेदारहरूले युक्रेनलाई उन्नत हवाई रक्षा प्रणाली स्वदेशमै उत्पादन गर्न आवश्यक इजाजतपत्र नदिएकोप्रति असन्तोष व्यक्त गरे ।

    “वायु रक्षा आजको सबैभन्दा चुनौतीपूर्ण मुद्दा हो”, उनले लेखेका छन्, “दुर्भाग्यवश, साझेदारहरूले अझैसम्म हामीलाई उदाहरणका लागि प्याट्रियट प्रणाली आफैँ उत्पादन गर्न वा कम्तीमा हामीसँग रहेका प्रणालीका लागि मिसाइल बनाउन लाइसेन्स दिएका छैनन् ।”

    अमेरिकामा निर्मित एमआईएम–१०४ प्याट्रियट प्रणालीको उल्लेख गर्दै उनले युक्रेनलाई कम्तीमा मिसाइल उत्पादनको अनुमति आवश्यक रहेको बताए । उनका अनुसार आकाश सुरक्षित नभएसम्म नागरिक जीवन, शिक्षा, उद्योग र अर्थतन्त्र स्थिर हुन सक्दैन । “यदि नागरिकहरू सुरक्षित छन् भने अर्थतन्त्र चल्छ, कर उठ्छ र त्यसले सेनालाई बलियो बनाउँछ”, उनले स्पष्ट गरेका छन् ।

    अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आह्वान गर्दै जेलेन्स्कीले युक्रेनको हवाई क्षेत्र सुरक्षित गर्नु नै युद्धको परिणामलाई प्रभाव पार्ने निर्णायक तत्व भएको दोहोर्‍याएका छन् । उनका यी अभिव्यक्तिले युक्रेनले रुसी आक्रमणको सामना गर्न झेलिरहेको निरन्तर सुरक्षा र सामरिक दबाबलाई पुनः उजागर गरेको छ ।