Category: फिचर

  • हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

    हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

    अदानचुली (हुम्ला), १० फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिनमात्र बाँकी रहँदा हिमाली जिल्ला हुम्लामा मतपत्रसहित निर्वाचन सामग्री आइपुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाईमार्गमार्फत ढुवानी गरेर मतपत्रसहित अन्य निर्वाचन सामग्री पठाएको निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए ।


    नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट मतपत्रसहित अन्य निर्वाचन सामग्री शनिबार हुम्ला आइपुगेको हो । निर्वाचन अधिकारी रोकायाका अनुसार शनिबार सेनाको हेलिकोप्टरबाट १० प्रकारका सामग्री हुम्ला आइपुगेका छन् । निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने कर्मचारीको भत्ता, ढुवानी र हेलिकोप्टरको खर्च पठाइसकिएको तथा आवश्यकताका आधार आयोगले थप काम गर्दै जानेछ ।

    तीन हजार मिटरभन्दा माथि जिल्लामा लेक लाग्ने अवस्थालाई मध्यनजर गरेर औषधि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बजेट पठाइएको आयोगले जनाएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा निर्वाचनपूर्व र निर्वाचनपश्चात् मतदान केन्द्रमा खटाइने कर्मचारीको आउनेजाने व्यवस्थाको सुनिश्चित गर्न बैठकमा सुरक्षा प्रमुखहरूले अनुरोध गरेका थिए, सोहीअनुसार व्यवस्था गर्नेगरी आयोगमा कुरा भएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए ।


    निर्वाचनमा जिल्लामा ३४ हजार ३७२ मतदाता, ६० मतदानस्थल र ६४ मतदान केन्द्र रहेका छन् । मतपत्रसहित अन्य सामग्री बुझ्नका लागि मुख्य निर्वाचन अधिकृत बराल, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, गुल्मपति हरिबाबु श्रेष्ठ, प्रहरी नायब उपरीक्षक शङ्कर खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक पुष्करसिंह ऐर, अनुसन्धान प्रमुख मेघराज कँडेल, आचारसंहिता अनुगमन समिति अतिकृत राजेन्द्र चन्द र अङ्गबहादुर कार्की, जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायालगायतको उपस्थितिमा निर्वाचन सामग्री हस्तान्तरण गरिएको हो

    निर्वाचनका लागि ३६९ कर्मचारी परिचालन

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा ३६९ कर्मचारी परिचालन गरेको छ । जिल्लाका १५ मतदान केन्द्रका लागि पाँच÷पाँच कर्मचारी ७५ जना र अरु बाँकी ४९ मतदान केन्द्रमा छ–छ कर्मचारी गरी २९४ कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए ।

    जिल्लाका ६४ मतदान केन्द्रमध्ये ३०० भन्दा कम मतदाता भएका केन्द्रमा पाँच–पाँच जना र सोभन्दा धेरै मतदाता भएका केन्द्रमा छ–छ जना खटाइएको छ । यसमा दुई मतदान अधिकृत र दुई सहायक मतदान अधिकृतलाई जगेडामा राखिएको छ । यदि कुनै कारणवश आउन नसकेको खण्डमा उनीहरूलाई पठाउन जगेडामा राखिएको उनले बताए ।


    यस्तै अदालतका श्रेस्तेदार तथा सहायक मतदान अधिकृत श्रीदीप वाग्लेको संयोजकत्वमा तीन जनालाई प्रशासनिक कामको जिम्मेवारी दिएको छ । जिल्ला अदालतका नासु छत्तबहादुर बोगटीलाई प्रशासनिक काम र लेखापाल श्यामप्रसाद सापकोटालाई लेखा तथा भुक्तानीका लागि जिम्मेवारी दिइएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश बरालका अनुसार जिल्लाको ६४ मतदान केन्द्रमा ६४ मतदान अधिकृत, ६४ सहायक मतदान अधिकृत, १७५ सहायक कर्मचारी र ६४ सहयोगी कर्मचारी परिचालन गरिएको छ ।

  • निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

    निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

    काठमाडौँ, १० फागुनः निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएको जनाएको छ ।

    आममतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगले उल्लेख गरेको छ । मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ ।

    यस्तै, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न तथा गैरकानुनी कार्य गर्ने व्यक्ति र संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगले अधिकतम् प्रयास गरिरहेको छ । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा क्रियाशील रहेको जनाएको छ ।

    हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० कन्टेन्ट उत्पादक र सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ । यस्तै, ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । त्यस्तै, ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र एक वटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ ।

  • निर्वाचन बिथोल्ने गतिविधि नगर्न आग्रह

    निर्वाचन बिथोल्ने गतिविधि नगर्न आग्रह

    काठमाडौँ, ९ फागुनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ सङ्गठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) ले यही फागनु २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन बिथोल्ने गरी कुनैपनि गतिनिधि नगर्न राजनीतिक दललाई आग्रह गरेको छ ।

    बिहीबार राति दाङको तुलसीपुर बजारमा एक समूहले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न अङ्कित झण्डा जलाएको विषयप्रति लक्षित गर्दै सङ्गठनले आज विज्ञप्ति जारी गरी राजनीतिक दलका झण्डा जलाउने, च्यात्नेलगायत गतिविधिले निर्वाचन बिथोलिने भएकाले यस्ता गतिविधि नगर्न–नगराउन आग्रह गरेको हो ।

    विज्ञप्तिमा भनिएको छ, “राजनीतिलाई गलत दिशातिर लैजान खोज्ने तत्वले झण्डा जलाउने, च्यात्ने, कार्यक्रम बिथोल्नेलगायत अराजनीतिक र उच्छशृङ्खल गतिविधि गर्नु लोकतान्त्रिक संस्कारविपरीत कार्य हो, लोकतन्त्रमा असहमति राख्न सकिन्छ, तर त्यसलाई हिंसात्मक बनाउनु हुँदैन ।”

    लामो सङ्घर्ष र बलिदानबाट स्थापित गणतन्त्रको मूल सुन्दरता अभिव्यक्ति स्वतन्त्रता, आफ्ना राजनीतिक गतिविधि निर्वाध रूपमा सञ्चालन गर्ने अधिकार र फरक विचारप्रति पारस्परिक सम्मान भएको उल्लेख गर्दै वाइसिएलले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैको जिम्मेवारी हुनेमा जोड दिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, “निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनु सम्पूर्ण राजनीतिक दल, राज्यसंयन्त्र तथा नागरिक समाजको साझा जिम्मेवारी हो । मतदाताको अधिकारको सम्मान गर्दै सबै पक्षले संयम, सहिष्णुता र कानुनी मर्यादाको पालना गर्नु अत्यावश्यक छ ।” निर्वाचन बिथोल्ने कार्य गर्नेलाई कारबाही गर्न वाइसिएलले सरकारसँग माग गरेको छ ।

  • उपसभापति शर्माद्वारा कांग्रेसलाई पहिलो दल बनाउन आग्रह

    उपसभापति शर्माद्वारा कांग्रेसलाई पहिलो दल बनाउन आग्रह

    झापा, ९ फागुनः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावबाट कांग्रेसलाई मुलुकको ‘पहिलो दल’ बनाउन मतदातालाई आग्रह गरेका छन् । झापा निर्वाचन क्षेत्र नं १ को बुद्धशान्ति–४ मा आज आयोजित चुनावी कोणसभामा बोल्दै उनले आफू बदलिएर देश बदल्ने सङ्कल्प गरेको नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो दल बनाउनुपर्ने बताए । “अहिले देशमा विषम परिस्थिति छ,” उनले भने, “चुनावमा हार्ने र जित्ने सामान्य कुरा हो । तर विषम परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ, त्यो मुख्य कुरा हो ।

    तसर्थ, मुलुकलाई सही नेतृत्व गरेर निकास निकाल्ने क्षमता भएको नेपाली कांग्रेसलाई जनताले जिताएर पहिलो पार्टी बनाउँछन् ।” उनले आवेगमा आएर लहैलहै र झोक्किएर मतदान नगर्न आह्वान गर्दै बदलिएको नेपाली कांग्रेसलाई ढुक्क भएर मतदान गर्न जेनजी भाइबहिनीहरूलाई आह्वान गरे ।

  • गृहमन्त्रीद्वारा काठमाडौँ र मकवानपुरको मतदानस्थलको अनुगमन

    गृहमन्त्रीद्वारा काठमाडौँ र मकवानपुरको मतदानस्थलको अनुगमन

    काठमाडौँ, ९ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । आज काठमाडौँ र मकवानपुरको विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गरे । उनले निर्वाचन शान्तिपूर्ण वातावरणमा सफल बनाउन आम नागरिकको सक्रियता जरुरी रहेको बताए ।


    सरकारको प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षमा अनुरोध गरे । निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनसम्बन्धी विषयमा गृहमन्त्री अर्यालसँगै गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) रमेश थापालगायत उच्च पदाधिकारी सहभागी थिए ।


    मन्त्री अर्यालसहितको टोलीले दक्षिणकाली नगरपालिका–९ फर्पिङस्थित सेतीदेवी माविको मतदान केन्द्रको स्थलगत निरीक्षण गरेका थिए । साथै, गृहमन्त्री अर्यालले कीर्तिपुरस्थित सशस्त्र प्रहरीबल नेपाल दङ्गा नियन्त्रण रेजिमेन्ट गणको अनुगमन र निर्देशनसहित जिल्लाको समग्र सुरक्षा व्यवस्थापनको जानकारी लिएका थिए ।
    यस्तै, गृहमन्त्री अर्यालले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१८ को मतदान केन्द्रको अनुगमन गरेका थिए ।

    सो क्रममा मकवानपुर जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीसहितको उपस्थितिमा अनुगमन तथा निर्वाचन सुरक्षासम्बन्धी विषयमा छलफल भएको थियो । मन्त्री अर्यालसहितको टोलीले इन्द्रसरोवर नगरपालिकाको चौकी निरीक्षण गरी जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको थियो ।

    काठमाडौँ र मकवानपुर जिल्लाका जिल्ला सुरक्षा प्रमुखसहितको संयुक्त टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेका थ्रिए । दुबै जिल्लाका सीमा आसपासका क्षेत्रको सुरक्षा, मतदान केन्द्रलगायत सुरक्षाकर्मीको परिचालन गरिरहेको ब्रिफिङ लिनुका साथै सुरक्षा व्यवस्थापन र परिचालनसम्बन्धी आवश्यक निर्देशन दिए ।

  • राजनीतिक दलका चुनावी घोषणापत्रः निःशुल्क स्वास्थ्यमा जोड

    राजनीतिक दलका चुनावी घोषणापत्रः निःशुल्क स्वास्थ्यमा जोड

    रासस
    काठमाडौँ, ९ फागुनः आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले जनताको स्वास्थ्य सेवालाई मुख्य एजेण्डा बनाएका छन् । राजनीतिक दलले जारी गरेका घोषणापत्रमा मुख्यतः नागरिकको स्वास्थ्य उपचार निःशुल्क बनाउनेमा जोड दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जारी गरेको घोषणापत्रमा सबै विद्यालयका किशोरीलाई निःशुल्क ‘प्याड’ उपलब्ध उल्लेख गरेको छ । साथै स्वास्थ्य स्वयंसेविकालाई रु २० हजार भत्ता र सामाजिक सुरक्षासमेत उपलब्ध गराउने उल्लेख छ ।

    एमालेद्वारा सुत्केरी महिला भत्ता २० हजार र पाँच लाखसम्मको निःशुल्क जीवन बिमा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरिएको छ । सबै तहमा अस्पतालको पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ । एमालेले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कम्तिमा एक जना ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ ९एमडीजिपी० चिकित्सक, नर्स, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध गराउने उल्लेख गरेको छ । जिल्ला अस्पतालको स्तरोन्नति गरी न्यूनतम सेवा उपलब्ध गराउने र प्रदेशस्तरमा प्रभावकारी ‘रिफरल’ प्रणालीको व्यवस्था गर्ने उल्लेख छ ।

    त्यस्तै नेपाली कांग्रेसले जारी गरेको ‘प्रतिज्ञापत्र’मा स्वास्थ्य उपचारमा नागरिकले खल्तिबाट पैसा तिर्नुपर्ने अवस्थाको अन्त्य गर्ने र निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उल्लेख गरेको छ । साथै प्रतिज्ञापत्रमा सबै तहका सरकारले कूल बजेटको स्वास्थ्य क्षेत्रमा १० प्रतिशत छुट्टाउनुपर्ने व्यवस्था कार्यान्वयन गरिने उल्लेख गरेको छ ।
    कांग्रेसले सबै उपचार स्वास्थ्य बिमाबाट गरिने उल्लेख गर्दै स्वास्थ्य बिमाका लागि आम्दानी नहुनेले प्रिमियम तिर्न राज्यले व्यहोर्ने प्रतिज्ञापत्रमा उल्लेख गरेको छ । सबै स्थानीय तहबाट प्रथम सेवा विन्दु सञ्चालन गर्ने, तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्नेलगायत स्वास्थ्यसम्बन्धी विषय प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जारी गरेको ‘प्रतिवद्धतापत्र’ मा २०८८ सम्म सतप्रतिशतलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने उल्लेख छ । साथै स्वास्थ्य खर्च हाल करिब ५४ प्रतिशत रहेको अवस्थालाई २०८८ सम्म ३५ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य राखिएको छ । हरेक वडा, समुदाय र विद्यालयमा ‘मिडलेभल’ ( मध्यमस्तर) स्वास्थ्य टोली परिचालन गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । ती टोलीमार्फत नियमित स्वास्थ्य जाँच, जीवनशैली परामर्श तथा रोग रोकथामसम्बन्धी सेवा प्रदान गरिने जनाइएको छ । साथै सरकारी अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) वर्षभरि बिहान ७ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन गरिने र स्वास्थ्य चौकीमा पनि ३६५ दिन सेवा विस्तार गरिने उल्लेख छ ।

    प्रतिबद्धतापत्रमा वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण निःशुल्क गरिने उल्लेख छ । नेकपाले औषधि खरिदमा हुने अनियमितता अन्त्य गर्न केन्द्रीय फ्रेमवर्क सम्झौता तथा सरकारी सरकारी खरिद प्रणाली लागू गरिने उल्लेख गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक गरेको ‘वाचापत्र’ मा स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा लैजाने उल्लेख छ ।

    वाचापत्रमा क्यान्सरलगायत नसर्ने रोगलाई उपचारभन्दा पनि रोकथाममुखी रणनीति अवलम्बन गर्ने, जलन पीडितको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न जलन उपचार कोष स्थापना र एक विश्वस्तरीय विशेष जलन अस्पताल निर्माण गर्ने उल्लेख छ ।

    मानसिक स्वास्थ्य सेवालाई नागरिकको सहज पहुँचमा पुर्‍याउन छुट्टै अधिकार सम्पन्न महाशाखा स्थापना गर्ने, प्रथामिक स्वास्थ्य सेवा प्रवाहमा मानसिक प्राथमिक उपचार सबै जिल्ला अस्पतालमा विशेष चिकित्सकको व्यवस्थासहित २४सैँ घण्टा सञ्चालन हुने हेल्पलाइनमार्फत सेवा प्रवा गर्ने उल्लेख छ । योग र ध्यान कार्यक्रम सञ्चालन गर्ने र वैज्ञानिक अध्ययनमा आधारमा वैकल्पिक उपचार पद्दतिलाई संस्थागत रूपमा सञ्चालन गर्ने वाचापत्रमा उल्लेख गरिएको छ ।

  • गोरखामा बसको ठक्करबाट वृद्धाको मृत्यु

    गोरखामा बसको ठक्करबाट वृद्धाको मृत्यु

    गोरखा, ९ फागुन । गोरखामा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा बसले ठक्कर दिँदा स्थानीय ९५ वर्षीया सुकमाया लामाको मृत्यु भएको हो ।

    काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नं को बसले ठक्कर दिँदा गम्भीर घाइते लामाको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए । प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

  • दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

    दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

    दाङ, ९ फागुनः जिल्लाको तुलसीपुरमा नेकपा ९ एमाले० को झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई आज पक्राउ गरिएको जानकारी दिए ।

    यही प्रकरणमा शुक्रबार तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको थियो । प्रहरी नायब उपरीक्षक बोहराले झण्डा जलाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्य सम्भावित व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए ।

    दाङको घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह आउने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकाहरूको भिडमा झण्डा जलाइएको थियो । एमाले त्यस कार्यको विरोध गरिरहेको छ ।

  • नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न

    नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न

    लिस्बन (पोर्चुगल), ९ फागुनः नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बिसिएम’को पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । लिस्बनस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार सम्पन्न बैठकमा द्विपक्षीय व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान–प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि र सहकार्य गर्ने सहमति भएको छ । बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका राजनीतिक, आर्थिक तथा कन्सुलर मामिलालगायत समग्र पक्षहरूको समीक्षा गरिएको थियोे । दुवै पक्षले जलवायु परिवर्तन तथा साझा चासोका क्षेत्रीय तथा बहुपक्षीय मुद्दामा समेत विचार–विमर्श गरेका थिए ।

    बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नुभएको थियोे भने पोर्चुगलको तर्फबाट पोर्चुगलका परराष्ट्र तथा सहकार्य मामिला सचिव डा आना इसाबेल जेभियरले नेतृत्व गरेका थिए । नेपाली प्रतिनिधिमण्डलमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, परराष्ट्रका सहसचिव एवं युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, उपसचिव उत्तम घिमिरेसहित दूतावासका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।

    बैठकमा नेपाल–पोर्चुगलबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गरिनुका साथै साझा चासो, आपसी हित, थप सहकार्य र सहयोग अभिवृद्धिबारे गहन विमर्श र छलफल भएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले राससलाई जानकारी दिए । पोर्चुगलवासी नेपालीले भोगिरहेका कागजात प्रमाणीकरणसम्बन्धी समस्याको समाधानका लागि सहजीकरण गरिदिन पोर्चुगिज पक्षसँग विशेष आग्रह गरिएको उनले बताए । “नेपालमा पोर्चुगलको दूतावास स्थापनाका लागि समेत आग्रह गरिएको छ । बैठकले दुई देशबीच नयाँ सम्भावनाको ढोका खुलेको छ”, राजदूत पौडेलले भने ।


    त्यस अवसरमा परराष्ट्र सचिव राईले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायप्रतिको सद्भावका लागि पोर्चुगल सरकारलाई धन्यवाद व्यक्त गरे । परराष्ट्र मामिला सचिव डा जेभियरले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पु¥याएको योगदानको प्रशंसा गरे । बैठकपश्चात् डा जेभियरले पोर्चुगल भ्रमणमा रहेका नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए । यस्तै, परराष्ट्र सचिव राईले पोर्चुगिज व्यापार तथा लगानी एजेन्सीमा नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित अधिकारीसँग अन्तक्र्रिया गरेका थिए ।

    उनले जलविद्युत् उत्पादन, प्रसारण र वितरणलगायत ऊर्जा क्षेत्रमा पोर्चुगिज लगानीकर्ताहरूसँग नेपालमा लगानीका लागि नेपालको लगानी बोर्डसँग छलफल गर्न सुझावसमेत दिए । यसअघि परराष्ट्र सचिव राईले पोर्चुगलको परराष्ट्र मन्त्रालयका महासचिव फ्रान्सिस्को मारिया डि सौसा रिबेरो टेलेससँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

    उक्त भेटमा द्विपक्षीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ । भ्रमण सम्पन्न गरी परराष्ट्र सचिव राई नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको सन् २०१८ मा स्थापना भएको हो ।

  • बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा चोरी भए

    बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा चोरी भए

    चितवन, ९ फागुनः चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका छन् । उनले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको बताए । गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ ।

    थापा मगरका अनुसार दुई वटा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स र एउटा कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी बाघ गणना गरिएको थियो । यस कम्प्लेक्सलाई ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको थियो । ती ग्रिडमा प्रयोग गरिएका क्यामेरामध्ये ८५ क्यामेरा समस्याग्रस्त भएका थापा मगरले बताए । उनका अनुसार एउटा ब्लकमा १७ रात क्यामेरा राखेर काम गरिएको हो ।

    दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिएको हो । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । उक्त गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।

  • प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन

    प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन

    लुम्बिनी, ९ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्याण्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर र विश्वशान्ति स्तुपको अवलोकन गरेकी छिन् ।

    निर्वाचन तयारीबारे सम्बद्ध निकायहरुसँग जानकारी लिने सिलसिलामा रुपन्देहीको भ्रमणपछि प्रधानमन्त्री लुम्बिनी आएकी हुन् । प्रधानमन्त्रीलाई लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीले स्वागत गर्दै लुम्बिनीको गुरुयोजना र कोषका गतिविधिबारे जानकारी गराए ।

  • चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

    चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

    काठमाडौँ, ९ फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ सार्वजनिक शिक्षाको सुधार र शिक्षामा लगानी वृद्धि लगायतका विषयलाई मुद्दा अघि सारेका छन् । विघटित प्रतिनिधिसभामा रहेका प्रमुख दल र अन्य दलले गुणस्तरीय, निःशुक तथा समावेशी शिक्षामा प्राथमिकता दिएका छन् ।

    नेपालको संविधानको धारा ३१ मा उल्लेखित ‘प्रत्येक नागरिकलाई आधारभूत तहसम्म अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक’लाई ती दलले घोषणापत्रमा समेटेका छन् । तर विगतमा पनि यस्ता प्रतिबद्धता आउने गरेकामा किन पूरा भएनन् र अब कसरी पूरा गर्ने भन्नेमा दलहरु स्पष्ट देखिएका छैनन् ।

    सरकारी तथ्याङ्कअनुसार ५ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत ९करिब आठ लाख० बालबालिका अझै विद्यालयको पहुँचभन्दा बाहिर छन् । तीमध्ये साढे तीन लाख बालबालिका विद्यालय भर्नामा आएका छैनन् । बाँकीले बीचमै कक्षा छाड्ने गरेका छन् । ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ ले २०८५ को वैशाखसम्म कक्षा ८ पूरा नगरेको व्यक्तिलाई सरकारी नियुक्ति, सुविधाल गायतबाट वञ्चित गर्ने व्यवस्था गरेको अवस्थामा दलहरुले मतदातासँग निःशुल्क शिक्षा दिने वाचा दोहो¥याएका छन् ।

    यसपटकको निर्वाचनका लागि नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा प्रतिनिधिसभाको अबको एक वर्षभित्र नयाँ विद्यालय शिक्षा ऐन पारित गर्ने उल्लेख गरेको छ । शिक्षक सङ्घ, सङ्गठन, निजी विद्यालय र राजनीति दलबीचको खिचातानी र पर्याप्त स्रोतका कारण विघटित संसद्मा विद्यालय शिक्षा लामो समयदेखि विचाराधीन रहेको थियो ।

    कांग्रेसले विद्यालय शिक्षा (गुणस्तर तथा नियमन) ऐन सरोकारवालाहरूको परामर्शमा, कुनै पनि स्वार्थ समूहको दबाबमुक्त भई सबै जायज र उपयुक्त विषयलाई समेटेर विद्यार्थीको सिकाइ र गुणस्तरलाई केन्द्रमा राखी एक वर्षभित्र नयाँ शिक्षा ऐन पारित गर्ने वाचा गरेको छ । सो पार्टीले बालिका शिक्षालाई प्राथमिकता दिने र शिक्षण पेसालाई सम्मानजनक बनाउने भनेको छ ।

    यस्तै, शिक्षामा कूल बजेटको २० प्रतिशत राज्यको लगानी सुनिश्चित, नमुना विद्यालयको विस्तार, पाठ्यक्रम परिमार्जन, पठन संस्कृतिको विकास, समावेशी र न्यायपूर्ण शिक्षाको पहुँच, मातृभाषा शिक्षा, प्रविधिमैत्री, प्राविधिक तथा व्यावसायिक शिक्षा, राष्ट्रिय आजीवन सिकाइका विषयलाई सो पार्टीले प्रतिज्ञापत्रमा समावेश गरेको छ । कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वविद्यालयमा प्रधानमन्त्री, मन्त्री कुलपति र सहकुलपतिको व्यवस्था हटाउने भनेको भने भने नेपाली कम्युनिष्ट पार्टी (एमाले) ले प्राज्ञिक स्वायत्तता हुनुपर्नेमा जोड दिएको छ ।

    नेपाली कम्युनिष्ट पार्टी (एमाले) ले प्राविधिक उच्च शिक्षाका लागि विद्यार्थीलाई २० लाख निव्र्याजी ऋण, पारिश्रमिकसहित इन्टर्नशीपको व्यवस्था शिक्षा र अनुभवको ग्यारेन्टीजस्ता विषयलाई घोषणापत्रमा राखेको छ । सरकारी सेवा, निजी क्षेत्र र अध्यापन क्षेत्रमा न्यूनतम पारिश्रमिकसहितको व्यवस्था गर्नै पनि एमालेको सङ्कल्प रहेको छ ।

    सो पार्टीले सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड र कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको प्रबन्ध गर्ने वाचा गरेको छ । एमालेले भनेको छ, “मुलुकमा आर्थिक, भौगोलिक वा शारीरिक अवस्थाका कारण कोही पनि बालबालिका विद्यालय शिक्षाबाट र किशोरकिशोरी प्राविधिक वा उच्च शिक्षाबाट वञ्चित हुने अवस्था हामी अन्त्य गर्नेछौँ ।”

    यसैगरी शिक्षा प्रणालीलाई भर्ना र परीक्षाकेन्द्रित मात्र नराखी राष्ट्रप्रेम, उद्यमशीलता, सामाजिक उत्तरदायित्व, नवप्रवर्तनशील सोच र राष्ट्रिय क्षमता अभिवृद्धिमा योगदान गर्नसक्ने जनशक्ति निर्माणतर्फ उन्मुख गराउने एमालेले योजना अघि सारेको छ । उसले उच्च शिक्षामा अनुसन्धान तथा विकासमा राज्यको लगानी बढाई विश्वविद्यालय–उद्योग सहकार्य विस्तार गर्ने, उच्च योग्यताका उत्कृष्ट जनशक्तिलाई शिक्षण पेसामा आकर्षित गर्ने नीति ल्याउने कुरा घोषणापत्रमा राखेको छ ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संसद्को पहिलो बैठकबाटै संकल्प प्रस्तावका माध्यमबाट विद्यालय शिक्षा ऐन पारित गर्ने विषयलाई महत्व दिएको छ ।
    सो पार्टीले विश्वविद्यालय अनुदान आयोग र चिकित्सा शिक्षा आयोगलाई एकीकृत गरी पूर्ण स्वायत्त र राजनीतिक हस्तक्षेपमुक्त गरी उच्च शिक्षा आयोग गठन गर्ने घोषणा गरेको छ ।

    एक पालिका एक नमुना स्मार्ट आवासीय विद्यालय, प्राविधिमैत्री शिक्षा र डिजिटल साक्षरताका विषयलाई सो पार्टीले प्राथमिकता दिएको छ । माध्यमिक तहसम्मको पाठ्यक्रम तथा जनशक्ति व्यवस्थापन सङ्घीय सरकारअन्तर्गत रहने र विद्यालयको भौतिक पूर्वाधार तथा सञ्चालन स्थानीय सरकारले गर्ने व्यवस्था मिलाइने सो पार्टीको प्राथमिकता रहेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वविद्यालयका कुलपति र सहकुलपतिमा प्रधानमन्त्री र शिक्षामन्त्रीको व्यवस्था हटाउने तथा शिक्षक, प्राध्यापकको राजनीतिक आबद्धतालाई पूर्णतः निषेध गर्ने भनेको छ । विश्वविद्यालयलाई पुनःसंरचना गरी अनुसन्धानमुखी र रोजगारउन्मुख बनाउने नीति लिएको रास्वपाले नेपालमा विदेशी विश्वविद्यालयको आङ्गिक क्याम्पस र विदेशी डिग्री कार्यक्रम सञ्चालन गर्न सरल प्रक्रिया बनाउने घोषणा गरेको छ ।

    विश्वविद्यालय र विद्यालयमा दलीय राजनीतिक गतिविधिको अखडा हुनबाट मुक्त गर्ने, सार्वजनिक शिक्षाको गुणस्तर, पहुँच र पेसागत विकास र स्पष्ट जवाफदेहीतामा आधारित प्रणाली लागू गर्ने, उच्च शिक्षालाई प्रतिस्पर्धी, अनुसन्धानमुखी तथा रोजगार उन्मुख बनाउन विश्वविद्यालयको पुनःसंरचना गर्ने, नेपाललाई अन्तरराष्ट्रिय शिक्षाको केन्द्र बनाउने रास्वपाको प्रतिबद्धता रहेको छ ।

    यस्तै, राष्ट्रिय जनमोर्चाले सङ्घीयतामा खर्च भइरहेको अनावश्यक रकममा कटौती गरी शिक्ष निःशुल्क गरिनुपर्ने उल्लेख गरेको छ । स्वास्थ्य जस्तै राज्यले प्रदान गर्ने शिक्षा जीवनोपयोगी र रोजगारमूलक तथा शिक्षाको निजीकरण र व्यापारीकरण बन्द गरिनुपर्ने भनेको छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुले जुन ढङ्गले शिक्षामा मुद्दा आओस् भनेका थियौँ, त्यसरुपमा आएको नआएको प्रतिक्रिया दिए ।

    “समय सुहाउँदो विश्वस्तरीय प्राविधिक शिक्षाका लागि लगानी बढाउने, विगतको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन पारित गर्ने र शिक्षक पेसालाई आकर्षित र सम्मानित बनाउने हाम्रा मुद्दामा मूर्त रुपमा प्रतिबद्धता आएको छैन”, अध्यक्ष सुवेदीले रासससँग भने ।


    सार्वजनिक शिक्षाको सुधारका लागि नागरिक क्षेत्रबाट कार्यरत संस्था शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिइ०नेपालका अध्यक्ष लवराज ओली शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर्ने र विद्यालय शिक्षा ऐन ल्याउने कुरा विगतदेखि उठ्दै आएकामा अहिले घोषणापत्रमा ल्याइनु सकारात्मक भएको बताए । अध्यक्ष ओलीले अहिलेको आवश्कता सीपमूलक शिक्षा र शिक्षक व्यवस्थापन हो भन्दै विद्यालय सञ्चालनमा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रजस्ता विषयमा अझै स्पष्टता आउनुपर्नेमा जोड दिए ।

  • काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

    काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

    काठमाडौँ, ९ फागुनः नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ । तिलगङ्गा आँखा अस्पताल अगाडि रहेको पोल ढल्केकोले त्यसलाई व्यवस्थितकार्य गर्नका लागि ११ केभी क्षमताको प्रसारण लाइन सटडाउन गर्न लागेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले तिलगङ्गा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाखा र विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२ः३० सम्म बिजुली कटौती गर्ने भएको छ । यस्तै, तिनकुने, गैरीगाँउ, सिनामङ्गल र विमानस्थल क्षेत्र अन्तरगतका सबै क्षेत्रमा १ बजेदेखि १४ः३० बजेसम्म बिजुली कटौती हुनेछ । बिजुली कटौतीबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले माफी मागेको छ ।

    यसैगरी महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा विजुली कटौती हुने भएको छ । काठमाडौँ उपत्यकाका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगतकार्य भइरहेको र सो कार्य सम्पन्न गर्नका लागि आज बिहान १० बजेदेखि २ बजेसम्म बिजुली कटौती हुनेछ ।


    प्राधिकरणका अनुसार, बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग, प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुनेछ । यस्तै, हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासलिगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्यस्तै, वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अर्पाटमेन्ट र टुँडालदेवी मन्दिरलगायतका क्षेत्रमा पनि १२ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ।

  • धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

    धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

    म्याग्दी, ९ फागुनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु १० लाख बजेटबाट उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण थालिएको हो । उपभोक्ता समितिका अध्यक्ष विकास पुनले फागुन पहिलो सातासम्म गरेकदेखि गुन्थली भिर, देउराली डाडा, ठूलोखानी, भित्रे वन, ठुलो घैरा भ¥याङ हुँदै भिरखर्कसम्म पदमार्ग निर्माण भइसकेको जानकारी दिए ।


    प्राविधिक नक्साअनुसार तीन किलोमिटर पदमार्ग निर्माण सकिएको र थप एक किलोमिटर निर्माणाधिन रहेको उहाँले बताउनुभयो । दोवाका करिब २० जना स्थानीयबासी पदमार्ग निर्माणका लागि जङ्गलमै बास बसेर काम गरिरहेका छन् । वस्तिदेखि टाढा रहेको ठाउँमा घरबाट जान, आउन टाढा हुने भएकाले निर्माणस्थलमै त्रिपालको गोठ बनाएर बास बसेका हुन् ।

    चालु आर्थिक वर्षको बजेटबाट खोलाखर्कसम्म पदमार्गले जोडिने उपभोक्ता समितिले जनाएको छ । परापुर्व कालमा दोवा बासीले घुम्ती पशुगोठ लेक बेशी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्गको रूपमा विकास गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडा अध्यक्ष दिलिप गर्बुजाले बताए ।


    बेनी–जोमसोम सडक निर्माणपछि १५ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो । रघुगङ्गा गाउँपालिकाको राखुदेखि सुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ । मुख्य पदमार्गमा नजिकका बस्तिहरूबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भइरहेको छ । मगर समुदायको बाहूल्य बसोबास रहेको दोवाको पर्यटन विकासका लागि आइसफललाई पदमार्गले जोड्न लागिएको वडा अध्यक्ष गर्बुजाले बताए ।

  • मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग

    मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग

    भोजपुर, ९ फागुनः मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण दिनानुदिन बढ्दो छ । अग्ला पहाडी डाँडाकाँडा, चम्किला हिमश्रृङ्खला र तराईका समथर फाँटको मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भएकाले यो पदमार्ग पर्यटकको रोजाइँमा पर्न थालेको हो। यात्रा क्रममा किराँत समुदायको संस्कार–संस्कृति झल्काउने संरचना, विशाल घाँसे मैदान, स्थानीय गोठालाले पालेका चौँरी र भेडीगोठले यात्रालाई अझ रोमाञ्चक बनाउने गर्छ ।

    टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग सहज र सुरक्षित गन्तव्यका रूपमा विकास भइरहेको छ । पर्यटकको सुरक्षित यात्राका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनमा सक्रिय भूमिका खेल्दै आएको उनले बताए । साथै पदमार्गको थप विस्तार कार्यसमेत जारी रहेको जानकारी दिए । गाउँपालिका उपाध्यक्ष रमादेवी राईले टेम्केमैयुङ प्राकृतिक रूपमा सुन्दर क्षेत्र भएकाले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको बताइन् । पर्यटकलाई लक्षित गर्दै पदमार्ग आसपास धारा, विश्रामस्थललगायत संरचना निर्माण गरिएको छ ।

    पर्यटकलाई पदमार्गको विशेषता, भौगोलिक अवस्था, भ्रमणयोग्यस्थल, लाग्ने समय, आवास व्यवस्था तथा सुरक्षित यात्रासम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्यले पर्यटन सूचना केन्द्र भवनसमेत स्थापना गरिएको छ । यस क्षेत्रमा किराँत राई, शेर्पा, तामाङलगायत समुदायको सांस्कृतिक पहिचान झल्कने परिकारका साथै गोठालाले उत्पादन गर्ने अर्गानिक खाद्य सामग्रीको स्वाद लिन सकिन्छ । विविध वनस्पति र जडीबुटीले पनि पर्यटकको ध्यान तान्ने गरेका छन् । नेपालका प्रमुख हिमाल एकै स्थानबाट अवलोकन गर्न सकिने विशेषताका कारण पनि यो पदमार्ग परिचित बन्दै गएको छ ।

    मध्यम खालको उकालो–ओरालो हुँदै फैलिएको यस पदमार्गबाट चारपाटे, नुप्से, सगरमाथा, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । किराँत राई समुदायको धार्मिक–सांस्कृतिक ग्रन्थ ‘मुन्दुम’सँग जोडिएकाले यस पदमार्गको नामकरण सोही आधारमा गरिएको हो । पूर्वी नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको संगमस्थलका रूपमा मुन्दुम पदमार्गले अब नयाँ पहिचान बनाउँदै गएको छ।

  • सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र सहित र निर्वाचन सामग्री ढुवानी सम्पन्न

    सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र सहित र निर्वाचन सामग्री ढुवानी सम्पन्न

    काठमाडौँ, ९ फागुनः निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ । अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम गरिरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरेर निर्वाचन क्षेत्रमा पठाइएको छ । आयोगले गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो । त्यसपछि आयोगले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा नियमित रूपमा मतपत्र ढुवानी गरेको थियो ।

    यस्तै, वाग्मती सहित र अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री नियमित रूपमा ढुवानी गरिरहेको छ । आयोगले अन्य प्रदेशमा ढुवानीकार्य जारी रहेको जानकारी दिँदै राजधानी काठमाडौँभित्रका मतदान केन्द्रमा पनि केही दिनमा पु¥याइने जनाएको छ । आयोगले मतपत्र बाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको उल्लेख गरेको छ । निर्वाचनका लागि विभिन्न ५१ प्रकारका सामग्री आवश्यक पर्ने जनाइएको छ ।

    मतपत्र छपाइतर्फ आयोगले तोकेको क्यालेण्डर अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा गत पुस २२ गतेबाट मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो । आयोगले १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेको थियो । यस्तै, गत पुस २६ गतेबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी गत माघ १३ गतेसम्म सम्पन्न गरेको छ । समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार समानुपातिक मतपत्र छपाइ गरेको थियो।

  • कैलालीमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु–एक घाइते

    कैलालीमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु–एक घाइते

    सुदूरपश्चिम, ९ फागुनः धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)ले मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत्यु हुनेमा सुप प्र०१÷०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली रहेको बताए । सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका र उनको उपचार जारी रहेको छ ।

    यस्तै, सुप प्र०१÷००९प७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि बस्ने अन्दाजी २३ वर्षीय हरिश पार्कीको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक चन्दले भने, “प्रतिघन्टा १०० किलोमिटरभन्दा बढीको गतिमा मोटरसाइकल चलाइएको घटनास्थलको प्रकृतिले देखिएको छ, पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएका छन् । योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए ।” मृतक ओली गोदावरीमा विवाहमा सहभागी भएर धनगढीतर्फ फर्किदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

  • रुसको बैकाल तालमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु

    रुसको बैकाल तालमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु

    मस्को, ९ फागुन (रासस–एएफपी) । रूसको साइबेरियास्थित बैकाल तालको हिउँमा शुक्रबार एक पर्यटक बस दुर्घटना हुँदा सात चिनियाँ पर्यटकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । रुसको विपद् व्यवस्थापन मन्त्रालयअन्तर्गतको एक क्षेत्रीय शाखाले सामाजिक सञ्जालमा एक विज्ञप्ति पोस्ट गर्दै बस तीन मिटर चौडा हिउँको चिरामा खसेर डुबेको जनाएको छ । “उद्धारकर्ताहरूले पानीमुनि क्यामेराको प्रयोग गरेर सात जनाको शवलाई फेला पारेका छन्,” शाखाले जानकारी गराएको छ । पीडितहरूको राष्ट्रियता स्पष्ट रूपमा उल्लेख गरिएको छैन ।

    यद्यपि, इर्कुत्स्क क्षेत्रका गभर्नर इगोर कोब्जेभले भने, “दुर्घटनामा परेका व्यक्तिहरू चिनियाँ नागरिक हुन् र यसबारे चिनियाँ महावाणिज्य दूतावासलाई सूचित गरिएको छ।” गभर्नर कोब्जेभले एक जना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भने, “पर्यटक बस डुब्नु थालेपछि एक यात्रु दुर्घटना हुनबाट उम्कन सफल भएका थिए ।

    उक्त गाडी सतहबाट १८ मिटर तल पानीमा फेला परेको थियो । विश्वको सबैभन्दा गहिरो रसियाको बैकाल ताल साइबेरियाको प्रमुख पर्यटकीय गन्तव्य हो ।
    यो मङ्गोलियाको उत्तरमा छ र चिनियाँ पर्यटकहरूको लागि लोकप्रिय गन्तब्य हो । जाडोमा तालको पानीको विशाल भाग जमेको दृश्यात्मक रूपमा आश्चर्यजनक क्रिस्टल–जस्तो स्तम्भहरू देखिन्छन् ।

    अधिकारीहरूले जमेको तालमा विशिष्ट हिम सडकहरू बनाई अधिकारीहरूद्वारा अनुगमन गरेपछि सर्तअनुसार निश्चित प्रकारका सवारी साधनहरूको लागि खोलिएको छ। तालमा अन्यत्र गाडी चलाउन आधिकारिक रूपमा निषेध गरिएको छ । कोब्जेभले भने, “सडक प्रयोगको लागि खाली गरिएको छैन र यस घटनाबारे थप छानविन सुरू भएको छ ।”

  • अस्ट्रियामा हिमआँधीमा परी दुई जनाको मृत्यु, यातायात र विद्युतमा व्यापक अवरूद्धता

    अस्ट्रियामा हिमआँधीमा परी दुई जनाको मृत्यु, यातायात र विद्युतमा व्यापक अवरूद्धता

    भियना, ९ फागुन (रासस–एएफपी) । अस्ट्रियामा शुक्रबार आएको ठूलो हिमआँधीका कारण व्यापक षेत्रमा विद्युत सेवामा अवरोध आएको छ। आँधीका कारण सडकहरूमा रूख ढल्ने र सडक भत्किने समस्याले यातायात सेवामासमेत अवरोध देखिएको छ । हिउँको पुरिएका एक व्यक्तिसहित दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उत्तरी शहर लिन्जको आवासीय परिसरमा छानाबाट हिउँको लप्का खस्दा ५३ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमी टायरोल क्षेत्रमा हिमपहिरोमा परी जर्मनीका एक ‘स्की’ खेलाडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अल्पाइन राष्ट्र अष्ट्रियामा बिहीबारदेखि परेको हिउँ जमिनमा ४० सेन्टिमिटर (१६ इन्च)सम्म जमेको छ । जसले दक्षिणपूर्वी अस्ट्रियाको ग्राज शहर वरपरको क्षेत्रमा हिमपहिरोको जोखिम बढेको छ । भियना विमानस्थलले बिहान सबै उडानहरू अस्थायी रूपमा रोक्न बाध्य भएको र दिउँसोको उडानहरू केही समयका लागि ‘अवरोध’ भएको बताएको छ।

    “भियना वरपरको मुख्य राजमार्गहरूमध्ये एउटा राजमार्ग अनिश्चित (केही घण्टा) समयसम्म बन्द गरिएको थियो, र राजमार्गका अन्य भागहरू हिउँको बहाव, अलपत्र सवारी साधन वा खराब दृश्यका कारण अवरुद्ध भएका थिए,” राष्ट्रिय अटोमोबाइल एसोसिएसन (ओएएमटिसी) ले जनाएको छ। इलेक्ट्रिक कम्पनीहरूले स्टायरियासहित दक्षिण र पूर्वका धेरै क्षेत्रहरूमा बिजुली कटौती भएको रिपोर्ट गरेको छ, जहाँ ३० हजार परिवारमा विद्युत् सेवा काटिएको छ।
    स्लोभेनियामा पनि ४० हजार घरपरिवार प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

    इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

    पेरिस, ९ फागुन (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्नका लागि सम्झौता कटौती गर्न दबाब दिने उद्देश्यका साथ मध्यपूर्वमा ठूलो नौसैनिक निर्माण गर्न आदेश दिएपछि इरानमाथि सीमित आक्रमण गर्ने विचार गरिरहेको बताएका छन् । इरानका विदेशमन्त्रीले यसै हप्ताको सुरुमा जेनेभामा दुई पक्षबीच भएको वार्तापछि वासिङ्टनसँग सम्झौताको मस्यौदा प्रस्ताव केही दिनमै तयार हुने बताए पनि अमेरिकाको पछिल्लो चेतावनी आएको हो ।

    तेहरानले १० दिनभित्र सम्झौता नगरेमा ‘अप्रिय कदम’ चाल्ने ट्रम्पले बिहीबार बताएका थिए । जसलाई उनले पछि १५ दिनसम्म विस्तार गरेका थिए ।
    पत्रकारद्वारा शुक्रबार के उनी सीमित सैन्य हमलाको बारेमा सोचिरहेका हुन् ? भन्ने प्रश्नको जवाफमा ट्रम्पले जवाफ दिने, “म यसलाई अमेरिकाले विचार गर्दैछ मात्र भन्न सक्छु ।”

    जेनेभामा भएको वार्तापछि तेहरानले सम्भावित सम्झौताको मस्यौदा बुझाउन दुवै पक्ष सहमत भएको र यो सहमतिको आगामी कदम हुने इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी सञ्चारमाध्यमलाई बताएका थिए । मध्यपूर्व ट्रम्पका मुख्य वार्ताकारलाई सङ्केत गर्दै उनले भने, “मलाई विश्वास छ कि अबको दुई, तीन दिनमा त्यो तयार हुनेछ र मेरा वरिष्ठहरूले अन्तिम पुष्टि गरेपछि स्टिभ विटकोफलाई हस्तान्तरण गरिनेछ ।”

    अमेरिकी वार्ताकारहरूले तेहरानलाई आणविक संवर्धन कार्यक्रम अन्त्य गर्न अनुरोध नगरेको पनि अराघचीले बताए । अमेरिकी टिभी नेटवर्क एमएस नाउले शुक्रबार जारी गरेको एक अन्तर्वार्तामा उनले भने, “हामीले कुनै आणविक संवर्धन कार्यक्रम अन्त्यको प्रस्ताव गरेका छैनौँ र अमेरिकी पक्षले शून्य संवर्धन मागेको छैन ।” उनले भने, “हामी अहिले इरानको आणविक कार्यक्रम कसरी शान्तिपूर्ण र सधैँभरि शान्तिपूर्ण रहनेछ भन्ने कुरा गरिरहेका छौँ ।” उनको टिप्पणी ट्रम्पसहित उच्च पदस्थ अमेरिकी अधिकारीहरूले दिएको जानकारीको विपरीत छ, जसले बारम्बार इरानलाई कुनै पनि स्तरमा युरेनियम प्रशोधन गर्न अनुमति दिनु हुँदैन भन्दै आएका छन् ।


    पश्चिमी देशहरूले इस्लामिक गणतन्त्रले आणविक हतियार प्राप्त गर्न खोजेको आरोप लगाउँछन्, जसलाई तेहरानले अस्वीकार गर्छ, यद्यपि उसले नागरिक उद्देश्यका लागि संवर्धनको अधिकारमा जोड दिन्छ। इरानले आफ्नो अर्थव्यवस्थामा ठूलो प्रभाव पारेको प्रमाणित भएका प्रतिबन्धहरू अन्त्य गर्न वार्ता गर्न खोजिरहेको छ । आर्थिक कठिनाइका कारण डिसेम्बरमा विरोध प्रदर्शन भएको थियो जुन गत महिना राष्ट्रव्यापी सरकार विरोधी आन्दोलनमा परिणत भएको थियो । आन्दोलनमा भएको दमन र झडपका क्रममा हजारौँको ज्यान गुमेको अधिकारवादी समूहहरूले पुष्टि गरेका छन् ।

  • फिलिपिन्समा भारी वर्षाका कारण पहिरो, सात जनाको मृत्यु

    फिलिपिन्समा भारी वर्षाका कारण पहिरो, सात जनाको मृत्यु

    मनिला, ९ फागुन (रासस–सिन्ह्वा) । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो र डाभाओ ओरिएन्टल प्रान्तमा भारी वर्षाका कारण आएको पहिरोमा परि कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । फिलिपिन्स रेड क्रसले दाभाओ डे ओरो प्रान्तको मोन्कायो सहर स्थित प्रभावित क्षेत्रबाट तीन जनाको शव बरामद गरेको बताएको छ ।

    स्थानिय बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न अधिकारीहरूले प्रभावित क्षेत्रको मूल्याङ्कन अवलोकन जारी राखेको फिलिपिन्स रेडक्रसका अध्यक्ष र प्रमुख कार्यकारी अधिकारी रिचर्ड गोर्डनले सामाजिक सञ्जाल मार्फत जनाएका छन् । शुक्रबार डाभाओ ओरिएन्टलको माटी सहरमा आएको पहिरोले एउटै परिवारका चार जनाको मृत्यु भएको सहरको फायर स्टेसनले सामाजिक सञ्जाल मार्फत जनाएको छ ।

    निरन्तर अनुगमन र द्रुत प्रतिक्रिया सञ्चालनका साथ प्रभावित प्रान्तहरूमा रेडक्रस शाखाहरू उच्च सतर्कतामा रहेको गोर्डनले बताए । सुरिगाओ डेल सुर प्रान्तको बिस्लिग सहरका समुदायहरूमा पानी पसेकाले स्वयंसेवकहरूले प्रभावित परिवारलाई सुरक्षित क्षेत्रमा सर्न सहयोग गरेको जनाइएको छ ।
    अधिकारीहरूले क्षतिको आकलन र प्रभावितहरूको सुरक्षा सुनिश्चितको प्रयास जारी राखेका कारण स्थानीय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यालयहरूसँग अनुगमन र समन्वय जारी रहेको रेड क्रसले जनाएको छ ।

  • काठमाडौं विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ

    काठमाडौं विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ

    काठमाडौँ, ९ फागुनः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट शुक्रबार करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले मोहम्मद जुनैद र समीना अख्तर बेग मिर्जालाई करिब तीन किलो ८७० ग्राम र अफसानालाई करिब सात किलो ४०० ग्राम उक्त लागूऔषधसहित आज पक्राउ गरेको उनले बताए । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता काफ्लेले बताए ।

    चोरीको मोटरसाइकलको पार्टपुर्जा अन्य मोटरसाइकलमा जडान गर्ने तीन जना पक्राउ

    प्रहरीले चोरीको मोटरसाइकलको पार्टपुर्जा निकाली बिक्री तथा अन्य मोटरसाइकलमा जडान गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका–६ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँची, शीतगङ्गा गाउँपालिका–२ घर भई बूढानीलकण्ठ नगरपालिका–६ हात्तीगौडा बस्ने २८ वर्षीय नरबहादुर चित्रे तथा बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३८ वर्षीय करण खड्गी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडास्थित तथा काठमाडौँ महानगरपालिका–२२ सङ्कटा मन्दिरस्थित पार्किङ गरी राखेको बा प्र ०२–०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जासमेत निकाली बिक्री वितरण तथा अन्य मोटरसाइकलहरूमा जडान गरिएको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु माथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

    अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

    ९ फागुन, काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि अमेरिका लैजाने भन्दै रकम गठी गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

    उनले भने, “पक्राउ परेका निजले अमेरिका लैजाने भन्दै एक जनाबाट रु छ लाख ३० हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा आज पक्राउ गरिएको हो ।” निजलाई आज ललितपुर महालक्ष्मी नगरपालिका–४ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए ।

  • काठमाडौं विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ

    काठमाडौं विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ

    काठमाडौँ, ८ फागुनः प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु १३ लाख ८० हजारका मोबाइल, ल्यापटपसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने ३४ वर्षीय सञ्जीव खड्का रहेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

    उनले भने, “त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गोल्डेन गेट बाहिरपट्टि शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा निगरानी गर्दै जाँदा निजले बाह्य मुलुकबाट नेपाल आगमन भएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई विद्युतीय सामग्री अवैध रूपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो ।”

    आइफोन १७ प्रोम्याक्स २५६ जिबीका चार थानका रु आठ लाख बराबर, एमफोर म्याकबुक ऐर २५६ जिबीका रु दुई लाख ६० हजार बराबर र एमफोर म्याकबुक ऐर ५१२ जिबीका रु तीन लाख २० हजार बराबरका विद्युतीय सामग्री अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता सिलवालले बताए ।

  • घोषणापत्रमा दलित : दुई कुरो, उही कुरो, छैन कार्यान्वयन

    घोषणापत्रमा दलित : दुई कुरो, उही कुरो, छैन कार्यान्वयन

    काठमाडौँ, ८ फागुन । यतिबेला देश निर्वाचनमय भएको छ । प्रतिनिधिसभा निर्वाचनको समय फागुन २१ गते नजिकिँदै गर्दा राजनीतिक दलले विभिन्न नाम दिएर घोषणापत्र जारी गरेका छन् । निर्वाचनमा प्रत्यक्षतर्फ ६८ राजनीतिक दलले भाग लिँदैछन् । यी सबैजसो दलका घोषणापत्रमा दलित समुदायको मुद्दा समावेश गरिएको छ ।

    तर नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत मुख्य ठूला राजनीति दलले ‘प्रतिनिधित्व सुनिश्चित गर्ने’ र ‘छुवाछूत अन्त्य गर्ने’ दुईवटा दलित समुदायको मुद्दालाई दोहोर्याएका छन् । पुरानै मुद्दा, पुरानै घोषणापत्रबाट साभार गरेका छन् ।

    देशको सबैभन्दा ठूलो, पुरानो, लोकतान्त्रिक पार्टी कांग्रेसले बुधबार सार्वजनिक गरेको ‘प्रतिज्ञापत्र’मा ‘दलितलाई पार्टी र राज्यका प्रत्येक तह र निकायमा प्रतिनिधित्व र पहुँचसँगै सामाजिक न्यायको सुनिश्चित गरिनेछ’ भनेको छ । जुन कुरा यो पार्टीले २०७९ सालको घोषणापत्रमा पनि राखेको थियो ।

    विसं २०७९ को निर्वाचनमा कांग्रेसले सार्वजजिक गरेको घोषणापत्रमा भनिएको छ, “नेपालको संविधानको भावना र मर्मअनुसार दलितको राज्यका विभिन्न तह र निकायमा न्यायोचित प्रतिनिधित्व गराई समावेशिताको सिद्धान्त पालना गरिनेछ”, तर विघटित प्रतिनिधिसभामा कांग्रसले पाँच जनामात्रै दलित समुदायको प्रतिनिधित्व गराएको छ ।

    यो अवधिमा कांग्रेसबाट एकजना दलितले पनि मन्त्री बन्ने अवसर पाएनन् । त्यसैगरी कांग्रेसले पछिल्लोपटक सार्वजनिक गरेको चुनावी घोषणापत्रमा दलित समुदायले भोग्दै आएको ‘छुवाछूत अन्त्य गर्ने’ विषय आफ्नो पुरानै घोषणापत्रबाट साभार गरेको छ । जुन कुरा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनको घोषणापत्र र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनको घोषणापत्रमा पनि समावेश छ ।

    तर, दलित विषयवस्तुमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्दै आएको समता फाउन्डेसनका अनुसार जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय० ऐन, २०६८ लागू भए पनि पानी छोएको निहुँमा, अन्तरजातीय विवाह गरेका कारण वा चुलो छोएको निहँुमा १७ जना दलितले ज्यान गुमाउनुपरेको छ । जातीय कारण यो समुदाय विस्थापित हुनुपरेको छ । बहिष्करणमा परेको छ ।

    दलित अभियन्ता पम्फा परियारले भन्नुभयो, “दलितको प्रतिनिधित्व गर्ने र छुवाछूत अन्त्य गर्ने विषय राजनीतिक पार्टीले हरेक निर्वाचनमा दोहोर्याएकै हुन्छन्, विडम्बना कार्यान्वयन गर्दैनन् ।” एमाले घोषणापत्रले भनेको छ, “दलितको संरक्षण गर्ने, सम्मानजनक जीवन जिउन दिने, मानवीय मूल्यसहितको लोकतन्त्रको अभ्यास गरिने, जातीय विभेद र छुवाछूतको अन्त्य र सामाजिक समावेशिता प्रवर्द्धन गर्दै मर्यादित जीवनस्तर र सबैका लागि न्याय सुनिश्चित गरिनेछ ।” जुन विषय एमालेको पुराना चुनावी घोषणापत्रमा पनि भेटिन्छ । यो पार्टीबाट पनि विघटित प्रतिनिधिसभामा छ जनामात्र दलितको प्रतिनिधित्व थियो । यो बीचमा एमालेले पनि दलितलाई क्याबिनेट मन्त्री बनाउन सकेन ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो घोषणापत्रमा ‘राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका दलितलाई राज्यका सबै अङ्ग, तह र समानुपातिक समावेशीकरणको प्रत्याभूति दिलाउने, अधिकार र अवसरमा समानता तथा सहभागिता सुनिश्चित गर्ने’ उल्लेख गरेको छ । यो पार्टीबाट पनि दुई जना दलितको प्रतिनिधिसभामा प्रतिनिधित्व थियो । यो पार्टीले पनि दलितलाई क्याबिनेट मन्त्री बनाएन ।

    रास्वपाले पनि दलितको सवालमा आफ्नो चुनावी नागरिक करारपत्र÷बाचापत्रमा ‘प्रचलित कानुन र संविधानको मर्मअनुसार आरक्षण तथा समावेशिताको व्यवस्था सुनिश्चित गर्दै दलित समुदायमाथि भएको जातीय विभेद अन्त्यका लागि अझ ठोस कानुनी, नीतिगत र संस्थागत सुधार अघि बढाइने’ भनेको छ । यो पार्टीमा दलितबाट दुई जना सांसद बन्नुभएको थियो । तर यो पार्टीले पनि दलितलाई मन्त्री बनाउन भने सकेन ।

    राप्रपाले पनि दलित समुदायको प्रतिनिधित्व बढाउने र छुवाछूत अन्त्य गर्ने विषय पुरानै घोषणापत्रबाट उतारेको छ । दलित आन्दोलनका अगुवा पदम सुन्दासले राजनीतिक दलले पटकपटकको चुनावमा दलित सुमदायका यी दुई मुद्दालाई उठाउँदै आए पनि कार्यान्वयन नगरेका कारण घोषणापत्रमै कार्यान्वयनको अवधि पनि समावेश गर्नुपर्ने धारणा राख्नुभयो । राजनीतिक दलले दलित समुदायबारे संवैधानिक अधिकारलाई ‘दलितसम्बन्धी एकीकृत कानुन’ बनाएर प्रभावकारी कार्यान्वयन गर्न सकेको खण्डमा दलितको धेरै समस्या समाधान हुने उहाँको भनाइ छ ।

    घोषणापत्रमा दलितको प्रतिनिधित्वको विषय उठाउँदै गर्दा राज्यका निकायमा उनीहरूको प्रतिनिधित्वको अवस्था अत्यन्त कमजोर देखिन्छ । दलित समुदायबाट राष्ट्रियसभामा छ जना, विघटित प्रतिनिधिसभामा १६ जना, समग्र प्रदेशसभामा ३० जना, निजामती सेवामा २।११ प्रतिशत, न्यायपालिका र परराष्ट्र सेवामा करिब एक प्रतिशत र राजनीतिक दलहरूमा औसत ५–९ प्रतिशत छ ।

    तर, निर्णायक तहमा अत्यन्त न्यून प्रतिनिधित्व छ । जबकि दलित समुदायको जनसङ्ख्या १३।४ प्रतिशत छ । अहिले पनि ४२ प्रतिशत दलित समुदाय गरिबीको रेखामुनि छ । यो तथ्याङ्कले पार्टीको घोषणापत्र, संविधानको समावेशी चरित्र र व्यावहारिक कार्यान्वयनबीच गहिरो अन्तर देखाउँछ ।

  • गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन

    गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन

    काठमाडौँ, ८ फागुनः गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकासमन्त्री कुमार इङ्नामले आज सुन्धारास्थित धरहरा क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उनीहरुले धरहराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रको समेत स्थलगत निरीक्षण गरे । अनुगमन टोलीमा क्रममा काठमाडौँ महानगरपाकिलाकी कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल, गृहसचिव, सहरी विकास मन्त्रालयका सचिव र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो ।


    उक्त टोलीद्वारा सुन्धारास्थित धरहराको अन्डरग्राउन्ड पार्किङको संयुक्त अनुगमन निरीक्षण गरी निर्माण भएको पार्किङलाई निःशुल्क रूपमा सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो । काठमाडौँको ट्राफिकलाई सहज बनाउने गरी पार्किङ सौन्दर्य कायम गर्ने विषयमा छलफलमा जोड दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

  • बैतडीमा निर्वाचनमा खटिएका प्रहरीको मृत्यु

    बैतडीमा निर्वाचनमा खटिएका प्रहरीको मृत्यु

    बैतडी, ८ फागुन । प्रतिनिधिसभा निर्वाचनमा खटिएका एक जना नेपाल प्रहरीतर्फको निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए । प्रहरी प्रवक्ता सिंहका अनुसार आज दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    सदरमुकाम नजिक घर भएका निर्वाचन प्रहरी घरबाटै ड्युटी गर्न आउँछन् । ड्युटी सकेर खाना खान घर गएका बेला महादेव अचेत अवस्थामा भेटिएका र उपचारको लागि जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव परीक्षणका जिल्ला अस्पतालमा रहेको र भोलिमात्रै परीक्षणको काम हुने अस्पताल प्रशासनले जानकारी दिएको छ । यसअघि माघ तेस्रो साता पनि दशरथचन्द नगरपालिका–४ का निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको पनि भिरबाट लडेर ज्यान गएको थियो ।

  • प्रधानमन्त्रीद्वारा प्रदेशको निर्वाचन सुरक्षा व्यवस्था सम्बन्धमा जानकारी

    प्रधानमन्त्रीद्वारा प्रदेशको निर्वाचन सुरक्षा व्यवस्था सम्बन्धमा जानकारी

    गण्डकी, ८ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ हुने निर्वाचनका सम्बन्धमा गण्डकी प्रदेशको सुरक्षा व्यवस्थालगायतका विषयमा जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीलाई प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरे, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाललगायतले सुरक्षा व्यवस्थालगायत विषयमा जानकारी गराए ।

    आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा भइरहेका तयारीलगायत विषयमा प्रधामन्त्रीले जानकारी लिनुभएको प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए । “प्रदेशमा सुरक्षा संयन्त्रसहितको निर्वाचन सेल रहेको छ, यही सेलबाट भए गरेका गतिविधि जानकारी गराइनुुका साथै निर्देशन लिने काम भएको छ”, प्रमुख सचिव घिमिरेले भने । पोखरा विश्वविद्यलायको २१औँ दीक्षान्त समारोहको अवसर पारी प्रधानमन्त्री पोखरा आएकी हुन् ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचन : सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र खोले बैंक खाता

    प्रतिनिधिसभा सदस्य निर्वाचन : सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र खोले बैंक खाता

    काठमाडौँ, ८ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन् । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिए ।


    प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले कार्यविधिअनुसार निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार सोही खातामार्फत हुने व्यवस्था गरिएको छ ।

    यसै सन्दर्भमा निर्वाचन प्रचारप्रसार खर्च व्यवस्थापनबारे आयोगले राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा छलफल गरेको छ । काठमाडौँमा सम्पन्न कार्यक्रममा ७५ राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । चुनावी खर्चमा पारदर्शिता बढाउने उद्देश्यले आयोगले सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    घोषणापत्र सार्वजनिक र जानकारी

    निर्वाचनको घोषणापत्रप्रति राजनीतिक दल तथा उम्मेदवारलाई नागरिकसमक्ष जवाफदेही बनाउने उद्देश्यले घोषणापत्र सार्वजनिक गर्ने र आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ ले गरेको छ ।

    आचारसंहिताको सोही व्यवस्थाबमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई यही फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी तोकिएका निकायमा पेस गर्न निर्वाचन आयोगले निर्देशनसमेत दिएको थियो । आयोगको निर्देशानुसार ४१ राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरी सोको जानकारी आयोगमा गराइसकेको जनाइएको छ ।

    आचारसंहिता अनुगमन र कारबाही

    निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटना न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया जारी राखेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू क्रियाशील छन् ।

    केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त उजुरीमध्ये ७५ वटाका सम्बन्धमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको छ । जसमध्ये ५२ वटाको जवाफ प्राप्त भएको छ ।

    जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई समुच्च विषय र प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

    निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाइ क्रियाशील छ ।

    हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० वटा सामग्री उत्पादक÷सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा र ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । त्यस्तै, ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र एउटालाई विज्ञापन ९नियमन गर्ने० ऐन, २०७६ बमोजिम कारबाहीका लागि पठाइएको छ ।

    चार हजार ३०० पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने

    निर्वाचनको स्वच्छता प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि तथा लोकतान्त्रिक वैधता सुनिश्चित गर्न आयोगले निर्वाचन पर्यवेक्षणलाई महत्वका साथ अघि बढाइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आयोगले राष्ट्रियतर्फका ३७ वटा र अन्तरराष्ट्रियतर्फ चारवटा गरी ४१ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको छ ।

    अनुमति पाएका संस्थाका तर्फबाट पर्यवेक्षकको नाम प्रविष्ट गर्ने कार्य सम्पन्न भई आयोगले संस्थाका प्रतिनिधिहरूलाई अभिमुखीकरण सम्पन्न गरिसकेको छ । आयोगले अनुमतिप्राप्त संस्थाका करिब चार हजार ३०० जना पर्यवेक्षकका लागि परिचयपत्र जारी गरिसकेको छ ।

    आम मतदाता तथा सरोकारवालाको निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा फागुन ७ गतेसम्म ‘भ्वाइस मेल’समेत गरी जम्मा तीन हजार ६४ वटा जिज्ञासा तथा प्रश्न प्राप्त भएका छन् । प्राप्त जिज्ञासामध्ये मतदाता नामावलीसँग सम्बन्धित एक हजार ५०८, निर्वाचन आचारसंहितासँग सम्बन्धित ३११ मतदाता शिक्षासँग सम्बन्धित १२५ र अन्य ८०० रहेका छन् । कुल जिज्ञासामा ३२० वटा भ्वाइस मेल आएको आयोगले जनाएको छ ।

  • पोर्चुगलको लिस्बनमा नेपाली दूतावासको औपचारिक उद्घाटन

    पोर्चुगलको लिस्बनमा नेपाली दूतावासको औपचारिक उद्घाटन

    लिस्बन (पोर्चुगल), ८ फागुन : पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासको उद्घाटन गरिएको छ । दूतावासको बिहीबार एक समारोहका बीच परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगलका विदेश मामिला तथा सहयोग राज्यसचिव डा आना इसाबेल जेभियरले संयुक्त रूपमा उद्घाटन गरे । गत अप्रिलमा स्थापना भई सेवा प्रवाह गर्दै आएको दूतावासको हाल औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

    सो अवसरमा परराष्ट्र सचिव राईले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन दूतावासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यसैगरी पोर्चुगलका विदेश मामिला सचिव डा जेभियरले खुसी व्यक्त गर्दै दूतावासलाई पोर्चुगल सरकारको निरन्तर सहयोग रहने आश्वासन दिए । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले दूतावासले दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन पुलको रूपमा काम गर्ने बताए । उद्घाटन समारोहमा पोर्चुगलको विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, दूतावासका कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता थियो ।

    यसैबीच, दूतावासले नेपाली समुदायसँग अन्तक्र्रिया गरेको थियो । अन्तक्र्रियामा सहभागी वक्ताहरूले पोर्चुगलवासी नेपालीले भोग्नुपरेका समस्या, दूतावासको सेवा र कागजी प्रक्रियामा देखापरेका समस्यालगायत विषयमा गुनासो गरेका थिए । उनीहरूले दलालले प्रहरी चारित्रिक प्रमाणपत्रमा (प्रहरी रिपोर्ट) दिल्लीस्थित पोर्चुगिज दूतावास र नेपाली दूतावासको नक्कली छाप र हस्ताक्षर प्रयोग गरी ठगी गर्दा पोर्चुगल बसाइको वैधानिकताको प्रक्रियामा रहेका सयौँ नेपाली समस्यामा परेको भन्दै सोको समाधानका लागि पहल गरिदिन सचिव राईसमक्ष गम्भीर ध्यानाकर्षण गराएका थिए । सहभागीहरूले नेपालमा पोर्चुगलको दूतावास नभएकै कारण दिल्ली धाउनुपर्ने बाध्यता रहेकाले नेपालमै पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्न आग्रह गरेका थिए ।

    सो अवसरमा सहभागीहरुको गुनासो र जिज्ञासालाई सम्बोधन गर्दै परराष्ट्र सचिव राईले पोर्चुगलवासी नेपालीका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । दूतावासले गैरआवासीय नेपाली सङ्घलगायत यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा ७६औँ प्रजातन्त्र दिवससमेत मनाएको थियो। सचिव राईको सहअध्यक्षतामा आज नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा बस्दैछ ।