काठमाडौँ, २२ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान कार्यालयमा सुरू भएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्ने प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षार्थ खटिने प्रहरी कर्मचारीलाई तालिम दिइएको हो ।
पहिलो चरणअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, ब्यूरोहरू र नेपाल प्रहरी असपताल महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म गरी जम्मा चार हजार १४८ जनालाई चरणबद्ध रूपमा १० दिनसम्म उक्त तालिम दिइने केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
यसैगरी, सबै जिल्ला प्रहरी कार्यालयमा गठित निर्वाचन ‘सेल’मार्फत चरणबद्ध रूपमा निर्वाचनको सुरक्षार्थ खटिने प्रहरीलाई निर्वाचन लक्षित तालिम सञ्चालन गरिने छ ।
तालिममा निर्वाचन सुरक्षा, परिचय, निर्वाचनमा प्रहरीको भुमिका, सुरक्षा व्यवस्थापन, निर्वाचन सुरक्षा र प्रहरीले सुरक्षा व्यवस्थामा अपनाउनुपर्ने भूमिका वा अवस्थाहरू, निर्वाचन कार्यमा सुरक्षा पु¥याउनुपर्ने क्षेत्रहरू, निर्वाचनमा आई पर्नसक्ने समस्याहरू, विभिन्न व्यक्तिहरूले प्रहरीबाट पाउने सेवाको अपेक्षा तथा निर्वाचनमा प्रहरीको दायित्व, मतदानकेन्द्रको निर्माण, मतदान केन्द्र निर्माण गर्दा ध्यान दिनुपर्ने विषय, निर्वाचन आचारसंहिता, २०८२ अन्तर्गत सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षासम्बद्ध कर्मचारीले पालना गर्नुपर्ने आचरण, निर्वाचन व्यवस्थापन सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७, प्रहरी ऐन, २०१२ तथा प्रहरी नियमावली, २०७१ मा भएका निर्वाचनसम्बन्धी ९अपराध एवं दण्ड सजायसम्बन्धी व्यवस्था०लगायतका विषयवस्तुहरूमा प्रशिक्षण दिइने छ ।
काठमाडौँ, २२ माघः काठमाडौँको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो ।
निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए । उनका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको थियो । अभियुक्तको खुट्टामा गोली लागेको छ । हाल निजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जना प्रहरी पनि घाइते भएका छन् ।
काठमाडौँ, २२ माघः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ९८० कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५ कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौँ, २१ माघः निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ अनुसार खाता खोलेर कारोबार गर्न आह्वान गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा आयोगको मङ्गलबारको बैठकबाट कार्यविधि स्वीकृत भई जारी गरेकाले त्यसअनुसार बैंक खाता खोली निर्वाचन प्रचारप्रसारका आम्दानी र खर्च त्यसैमार्फत गर्न आह्वान गर्नुभएको हो । कार्यविधि आयोगको वेबसाइटमा अपलोड गरिसकिएको छ ।
यसका लागि इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी सकिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । राजनीतिक दल तथा उम्मेदवारलाई आमनिर्वाचनको सिलसिलामा गरिने प्रचारप्रसार खर्चलाई बैंकिङ प्रणालीमा आबद्ध गराउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० बमोजिम निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्न आयोगले ध्यानाकर्षण गराएको हो ।
राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिइ गर्ने आम्दानी र खर्च कारोबार बैंक खातामार्फत नै गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ । यस्तो खाता खोल्न राजनीतिक दलको हकमा निर्वाचन आयोगको सचिवालयबाट र उम्मेदवारको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस हुनेगरी तोकिएको पनि आयोगले जनाएको छ ।
यसैअनुसार मातहत निर्वाचन कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट कार्यसम्पादन गर्न पनि निर्देशन दिइएको छ । निर्वाचन प्रचारप्रसार खर्चलाई आधुनिक बैंकिङ प्रणालीसँग आबद्ध गर्नेगरी सु–संस्कृत व्यवहारको थालनी भएकाले सबै पक्षबाट सक्रिय सहयोग, समन्वय र सहजीकरणको अपेक्षा पनि आयोगले गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ, २१ माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेकोे छ । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित पार्टी चुनावमा होमिएको स्पष्ट गर्नुभयो ।
उहाँले देश बनाउनेहरूलाई जिताउनुपर्ने खाँचो रहेको उल्लेख गर्दै नेपालको आर्थिक वृद्धि भइरहेको, समृद्धिको एकीकृत खाकाका साथ काम भइरहेको अवस्थामा अनेक पक्षहरू हावी भएर अघिल्लो सरकारलाई विस्थापन गर्ने स्थिति भएकाले जनताले यस कुरालाई मनन गर्र्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सर्वाेच्च अदालतले संसद् पुनःस्थापनाको मुद्दाबारे चाँडै फैसला दिनुपर्नेमा पनि जोड दिनुभयो ।
काठमाडौँ, २१ माघः राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुले स्वागत गर्नुभएको थियो । सो अवसरमा नेपाली सेनाले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल, प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनुभएको थियो । उहाँले सो समारोहलाई सम्बोधन गर्नुभएको थियो ।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनुभएको थियो । उहाँले सो समारोहलाई सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नुभएको थियो । उहाँसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेको नेपालीहरुको कार्यक्रमलाई पनि उहाँले सम्बोधन गर्नुभएको थियो ।
उहाँले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गर्नुभएको थियो । नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।
काठमाडौँ, २१ माघः दायाँ इञ्जिनमा आगलागीको सङ्केत देखिएको टर्कीस एयरलाइन्सको जहाज भारतको कोलकाततामा सुरक्षित अवतरण भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको उडान नम्बर ‘टीएचवाई ७२७’ जहाज आज दिउँसो १ः२९ बजे उडे लगत्तै ४ मिनेटमा दायाँ इञ्जिनमा आगलागीको सङ्केत दिएको थियो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्ति अनुसार जहाजले काठमाडौँ विमानस्थलबाट उडान भरी उचाइ लिने क्रममा ‘फोर डिएमइ वेस्टमा राइट इञ्जिन अन फायर’ भनी काठमाडौँ ‘एप्रोच कन्ट्रोल’मा रिपोर्ट गरेको थियो । तत्पश्चात केही समय डार्कमा होल्ड गरी कोलकाता डाइभर्ट गरिएको थियो ।
सो जहाजको कोलकाता पुग्ने अनुमति समय नेपाली समयअनुसार दिउँसो ३ बजेर ३ मिनेटमा सुरक्षित अवतरण गरेको केन्द्रले जनाएको छ । उक्त जहाजमा जम्मा यात्रु २२५ र चालक दलका ११ सदस्य गरी जम्मा २३६ सवार थिए । सबै यात्रु तथा चालकदल सुरक्षित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौँ, २० माघः नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा प्रतिनिधि खटाएको छ । आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले आज सातै प्रदेशमा प्रतिनिधि खटाएको हो । पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ‘केन्द्रीय निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न र सहयोग गर्न प्रतिनिधि खटाएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
तोकिएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशभित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने उहाँले बताउनुभयो । कांग्रेसले कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापामा सहमहामन्त्री डा डिला सङ्ग्रौला, निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई खटाइएको छ ।
कोशीकै सङ्खुवासभा, तेह्रथुम भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजङ्ग रायमाझीलाई खटाइएको छ । सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिरहा र सप्तरीमा बसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी प्रतिनिधि तोकिएका छन् ।
यसैगरी बागमती प्रदेशका धादिङ, रसुवा, नुवाकोट र काठमाडौँका लागि सहमहामन्त्री बहादुरसिंह लामा, डा केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा अमिता प्रधानलाई खटाइएको छ । यस्तै, काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई खटाइएको छ ।
भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसी, दिलमान पाख्रिन, धना खतिवडा, मधुराप्रसाद घिमिरे र धर्मराज गौतमलाई खटाइएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो । गण्डकी प्रदेशका पर्वत, म्याग्दी, मुस्ताड र बागलुङका लागि चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेललाई खटाइएको छ । यस्तै, स्याङ्जा, कास्की, मनाङ र नवलपुरका लागि ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ, किरणराज शर्मा पौडेल, गोरखा, लमजुङ र तनहुँका लागि अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारीलाई खटाइएको छ ।
लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंहलाई तोकिएको छ । यस्तै, कपिलवस्तु, अर्घाखाँची, रूकुम पूर्व, प्यूठान र रोल्पाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई र केशव आचार्य प्रतिनिधि रहेका छन् । दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल राधेश्याम पाठक र रङ्गमती शाही खटिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सिना खटिएका छन् भने कैलाली र डडेलधुराका लागि जगतप्रसाद जोशी, सुनिता राना, डा रणबहादुर रावल र नृपबहादुर वडलाई जिम्मेवारी दिइएको छ । डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट, सम्झना खत्री र सुशिला मिश्र भट्टलाई खटाइएको कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ ।
काठमाडौँ, २० माघः नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को संरचनात्मक सुधार, पुँजी वृद्धि र स्वामित्व पुनःसंरचनाका लागि रणनीतिक साझेदार भित्र्याउने सुझावसहित अध्ययन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको ‘नेपाल स्टक एक्सचेञ्जको पुनःसंरचनासम्बन्धी सुझाव समिति, २०८२’ को प्रतिवेदनले पुँजी वृद्धिका लागि रणनीतिक साझेदार भित्र्याउन सुझाव दिएको हो ।
गत मङ्सिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट प्रकाशजङ्ग थापाको संयोजकत्वमा गठन गरेको छ सदस्यीय ‘नेपाल स्टक एक्सचेञ्जको पुनःसंरचनासम्बन्धी सुझाव समिति, २०८२’ ले नेप्सेलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सुधार सिफारिस गरेको हो ।
समितिको प्रतिवेदनले पुँजीबजारको विस्तारसँगै नेप्से हालको संरचना र कार्यशैलीबाट आगामी चुनौती सामना गर्न असक्षम देखिएको निष्कर्ष निकालेको छ । प्रविधि, व्यवस्थापन, सेवा विस्तार र संस्थागत सुशासनमा आमूल सुधार नगरे नेप्से क्षेत्रीय तथा अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्न नसक्ने प्रतिवेदनको ठहर छ ।
धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ अनुसार दोस्रो बजार सञ्चालकका रूपमा नेप्सेले न्यूनतम रु तीन अर्ब चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था छ । तर प्रविधि आधुनिकीकरण, मानव संशाधन, भौतिक पूर्वाधार, अनुसन्धान तथा विकास र सहायक सेवा विस्तारका लागि निरन्तर ठूलो लगानी आवश्यक पर्ने भएकाले हालको पुँजी संरचना अपर्याप्त देखिएको समितिको निष्कर्ष छ । यस सन्दर्भमा समितिले तत्कालका लागि बोनस शेयर जारी गरेर रु तीन अर्बको चुक्ता पुँजी पु¥याउने विकल्प उपयुक्त हुने सुझाएको छ ।
दीर्घकालीन रूपमा भने नेप्सेको विकास र विस्तारका लागि हकप्रद शेयर वा थप नयाँ शेयर जारी गर्नुपर्ने आवश्यकता देखिएको छ । तर पुँजी वृद्धि गर्नुअघि नेप्सेको रणनीतिक साझेदारको हुने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । समितिले नेप्से हालकै स्वामित्व र संरचनामा सञ्चालन गर्दा भविष्यका अवसर उपयोग गर्न र चुनौती सामना गर्न कठिन हुने ठहर गरेको छ । सरकारी तथा सरकारी स्वामित्व भएका संस्थाको बाहुल्यताले निर्णय प्रक्रिया सुस्त, नवप्रवर्तन कमजोर र उत्तरदायित्व अस्पष्ट बनेको निष्कर्ष निकाल्दै समितिले स्वामित्व संरचनामा परिवर्तन अपरिहार्य भएको बताएको छ ।
यसका लागि प्रमुख रूपमा रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव गरिएको छ । समितिका अनुसार नेप्सेलाई आवश्यक प्राविधिक, व्यवस्थापकीय ज्ञान र आधुनिक पूर्वाधारको ‘ग्याप’ पूर्ति गर्न अन्तरराष्ट्रियस्तरको रणनीतिक साझेदार आवश्यक छ ।
अन्तरराष्ट्रिय अभ्यास अध्ययन गर्दा स्टक एक्सचेञ्जहरूमा रणनीतिक साझेदारलाई ४० प्रतिशतसम्म स्वामित्व दिएको उदाहरण पाइए पनि नेपालका सन्दर्भमा १५ देखि २५ प्रतिशतसम्म स्वामित्व उपयुक्त हुने समितिको सिफारिस छ । रणनीतिक साझेदारलाई प्रदान गरिने शेयर कम्तीमा १० वर्षको ‘लक–इन’ अवधिसहित हुनुपर्ने उल्लेख गरिएको छ । रणनीतिक साझेदार छनोट गर्दा विश्वका शीर्ष २० स्टक एक्सचेञ्जमध्ये पर्ने कम्तीमा २० वर्षको सञ्चालन अनुभव भएको, अन्य स्टक एक्सचेञ्जको व्यवस्थापन वा साझेदारीको अनुभव राख्ने, आधुनिक सूचना प्रविधि र लगानी उपकरण प्रयोग गरेको, तथा वल्र्ड फेडेरेसन अफ एक्सचेञ्जको पूर्ण सदस्य भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
साथै नेप्सेको सञ्चालक समितिमा रणनीतिक साझेदारबाट अनिवार्य रूपमा एक जना विज्ञ सञ्चालक प्रतिनिधित्व गराइनुपर्ने प्रस्ताव छ । रणनीतिक साझेदार ल्याउन नयाँ शेयर जारी गर्ने वा हालका शेयरधनीले आफ्नो स्वामित्व बिक्री गर्ने दुई विकल्प देखिए पनि, सरकारी विनिवेश प्रक्रिया लामो र जटिल हुने भएकाले नेपाल सरकारबाहेकका अन्य शेयरधनीले आफ्नो शेयर बिक्री गरी रणनीतिक साझेदार भित्र्याउनु व्यावहारिक हुने समितिको निष्कर्ष छ ।
प्रतिवेदनले सरकारी स्वामित्व भएका संस्थामा देखिने संरचनात्मक कमजोरी नेप्सेमा पनि विद्यमान रहेको औँल्याउँदै सरकारी लगानी क्रमशः विनिवेश गर्नुपर्ने सरकारको हालको नीतिसँग नेप्सेको पुनःसंरचना मेल खाने बताएको छ । अन्तरराष्ट्रिय मापदण्डअनुसार सम्पत्ति तथा दायित्व मूल्याङ्कन, व्यावसायिक एकाधिकार र संस्थागत साखको ‘पियर रिभ्यु’का आधारमा प्रतिशेयर मूल्य निर्धारण गरी सरकारी शेयर रणनीतिक साझेदार, वित्तीय संस्था र सर्वसाधारणलाई बिक्री गर्न सकिने प्रस्ताव गरिएको छ ।
तर सम्पूर्ण सरकारी स्वामित्व एकैपटक बिक्री गर्दा साना लगानीकर्ताको विश्वास कमजोर हुने, निजी एकाधिकार बढ्ने र बजार स्वनियमन कमजोर हुनसक्ने जोखिम औँल्याउँदै समितिले आवश्यक परे आंशिक स्वामित्व कायम राख्दै विनिवेश गर्न सकिने विकल्प पनि खुला राख्नुपर्ने सुझाव दिइएको छ ।
सरकारी स्वामित्व आंशिक विनिवेश हुँदा नेपाल सरकारको २५ प्रतिशत, रणनीतिक साझेदार वा नेपाल राष्ट्र बैंकको २५ प्रतिशत, ‘क’ वर्गका वाणिज्य बैंक तथा कर्मचारी सञ्चय कोषको करिब ३५ प्रतिशत, विकास बैंक तथा बीमा कम्पनीको १५ प्रतिशत र अन्यको ०.६१ प्रतिशत स्वामित्व रहने प्रस्ताव गरिएको छ ।
पूर्ण विनिवेशको अवस्थामा भने रणनीतिक साझेदार २५ प्रतिशत, वाणिज्य बैंक तथा कर्मचारी सञ्चय कोष ४० प्रतिशत, विकास बैंक तथा बिमा कम्पनी २० प्रतिशत, सर्वसाधारण १५ प्रतिशत र अन्य ०.६१ प्रतिशत स्वामित्व कायम हुने खाका अघि सारिएको छ ।
समितिले नेप्सेको सञ्चालक समिति पुनःसंरचना गर्दै स्वतन्त्र विज्ञ सञ्चालकको बहुल्यता कायम गर्नुपर्ने सिफारिस गरेको छ । हाल अधिकांश सञ्चालक सरकारी प्रतिनिधित्वमा सीमित हुँदा निर्णय प्रक्रिया राजनीतिक प्रभावमा पर्ने र व्यावसायिकता कमजोर हुने प्रतिवेदनको निष्कर्ष छ ।
आंशिक वा पूर्ण विनिवेशको अवस्थाअनुसार सञ्चालक समितिको संरचना फरक हुने प्रस्ताव गरिएको छ, जसमा स्वतन्त्र सञ्चालक दुई जना अनिवार्य रहने, रणनीतिक साझेदार तथा निजी क्षेत्रको प्रतिनिधित्व बढाइने र प्रमुख कार्यकारी अधिकृत सञ्चालक समितिमा रहने व्यवस्था हटाइने उल्लेख छ । साथै सञ्चालकको योग्यता, छनोट प्रक्रिया, उपसमिति गठन र कार्यसम्पादनका आधारमा पारिश्रमिक निर्धारण गर्नुपर्ने सुझाव पनि दिइएको छ ।
काठमाडौँ, २० माघः गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा प्राप्त जिम्मेवारीअनुरूप कार्यसम्पादन गर्न निर्देशन दिएको छ । सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
सो छलफल शान्ति सुरक्षाको अवस्था, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारीसाधन र मतपेटिका ढुवानी व्यवस्थालगायतका बारेमा केन्द्रित रहेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, चाडपर्वको समयमा उच्च सुरक्षा सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरूपयोग नियन्त्रण गर्ने, जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।
छलफलमा मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुख, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं गृहमन्त्रालयका कर्मचारी सहभागी हुनुहुन्थ्यो ।
काठमाडौँ, २० माघः राष्ट्रपति रामचन्द्र पौडेललाई आज जापान सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान प्रस्थान गर्नुभएको थियो । उहाँले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो र प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग आजै शिष्टाचार भेट गर्नुभएको थियो ।
काठमाडौँ, २० माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन् ।
निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित हुन लागेका हुन् ।
एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिइनेछन् । नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ ।
नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छ । निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि परिचालित हुने सेनाले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयानुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नुभएको थियो । निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा हुने र आवश्यकताका आधारमा संयुक्त गस्ती हुने सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले राससलाई जानकारी दिनुभयो ।
सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सैनिक प्रवक्ता बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिनुभयो । एकीकृत सुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरूप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुन लागेको हो । निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम सुरक्षा प्रदान गर्नेछ । निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थको सुरक्षासम्मको जिम्मेवारी सेनाले सम्हाल्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ ।
मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेछ । आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । यसपटकका निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै नेपाल प्रहरीका तर्फबाट निर्वाचनमा ७७ हजार जनशक्ति परिचालित हुनेछन् । नेपाल प्रहरीको विद्यमान जनशक्तिले मात्रै निर्वाचन व्यवस्थापनमा अपुग हुने भएकाले एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ । निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ ।
दुई हजार आठ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदशील र तीन हजार ६८० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा हेरिएको छ ।
सोहीअनुसार नियमितरूपमा प्रहरी परिचालन गरी त्यहाँको सुरक्षा व्यवस्था मजबुद बनाउने काम भइसकेको प्रहरीले जनाएको छ । निर्वाचनमा सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कूल ४९ हजार ६८६ जना परिचालित हुन्छन् । निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन उच्चसतर्कता अपनाइएको र जुनसुकै अवस्थामा पनि सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी परिचालित गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
काठमाडौँ, २० माघ: सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक सङ्घीय संसद्बाट फिर्ता गर्न स्वीकृति दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक हाल सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्था छ । बैठकले सिंहदबारस्थित निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदको शालिक निर्माण गर्नेगरी सिंहदरबार परिसर गुरुयोजना संशोधन गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री अर्यालले जानकारी दिनुभयो ।
काठमाडौँ, २० माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि निर्वाचन आयोगले छानबिन गर्दा ७६ जनाको नाम हटाउने निर्णय गरिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पर्न आएका उजुरी, प्रचलित कानुनले तोकेको उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण रूजु गरिएको उहाँले बताउनुभयो । नाम हटाइनेमा नेपाली कांग्रेसबाट एक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट एक, नेपाली कम्युनिष्ट पार्टीबाट तीन जना समानुपातिक उम्मेदवारको नाम हटाइएको विज्ञप्तिमा उल्लेख छ । प्रवक्ता भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १०, दुई वर्ष उमेर पूरा नभएका चार, मतदाता नामावलीमा नाम समावेश नभएका एक र मतदाता नामावली पिछडिएका क्षेत्रमा नरहेका दुई जनाको नाम हटाइएको हो । यसैगरी, महिला उम्मेदवार पेस हुनुपर्ने स्थानमा पुरूष उम्मेदवार पेस गरिएका कारण एक जनाको नाम हटाइएको छ ।
सम्बन्धित राजनीतिक दलकै आग्रहमा १० जनाको नाम बन्दसूचीबाट हटाइएको प्रवक्ता भट्टराईले बताउनुभयो । माथि उल्लेख गरिएका कारणमध्ये एकभन्दा बढी कारण परेका दुई जना पनि बन्दसूचीबाट हटाइएका छन् ।
हेमन्त जोशी/रासस काठमाडौँ, २० माघः पछिल्ला वर्षमा नागरिकका विवरणलाई बैंकिङ सेवा, सामाजिक सुरक्षा, बिमा, सरकारी अनुदान र विभिन्न सार्वजनिक सेवासँग क्रमशः एकीकृत र अनिवार्य बनाउँदै लगिएको छ । राज्यले यसलाई ‘डिजिटल इकोसिस्टम’ एकीकरणको आधार मानेको छ । एउटै परिचयका आधारमा नागरिकले सेवा पाउने, कागजी झन्झट घट्ने र सेवा प्रवाह प्रभावकारी हुने सरकारी दाबी छ । व्यवहारमा कतिपय सेवा छिटो भएका पनि छन् । तर यस्तो प्रयोजनका लागि प्रयोग हुने व्यक्तिगत डाटा संरक्षणको विषय भने नेपालमा अझै नीति र कानुनविहीन अवस्थामा छ ।
नागरिकका नाम, ठेगाना, उमेर, पारिवारिक विवरण, बायोमेट्रिक सूचना, स्वास्थ्य अभिलेख, वित्तीय अवस्था, सम्पत्ति विवरण, शैक्षिक प्रमाणपत्रदेखि मोबाइल नम्बर र डिजिटल गतिविधिसम्मका विवरण राज्य र निजीक्षेत्र दुवैले सङ्कलन गरिरहे पनि ती विवरण क–कसले सङ्कलन गर्यो ? कुन निकायसँग साझा गरियो ? कति समय राखिन्छ ? र कति सुरक्षित छन् भन्नेबारे नागरिक अनभिज्ञ छन् । सङ्कलित डाटा चुहावट वा दुरुपयोग भएमा त्यसको जिम्मेवारी कसले लिने र पीडितले कसरी न्याय पाउने भन्ने स्पष्ट कानुनी आधार बनिसकेको छैन ।
rss
राष्ट्रिय परिचयपत्र, राहदानी, मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र, करदाता दर्ता, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमालगायत अनेकौँ सेवाका लागि नागरिकका विस्तृत व्यक्तिगत विवरण सङ्कलन गरिन्छ । यस्ता विवरण केवल सरकारी निकायमा मात्र सीमित छैनन् । बैंक तथा वित्तीय संस्था, दूरसञ्चार कम्पनी, अस्पताल, बिमा कम्पनी, अनलाइन प्लेटफर्म र अन्य व्यावसायिक संस्थाले पनि ठूलो मात्रामा व्यक्तिगत डाटा सङ्कलन र भण्डारण गरिरहेका छन् ।
नागरिकको निजत्व, सम्पत्ति, तथ्याङ्क, लिखित तथा अन्य व्यक्तिगत सूचनाको गोपनीयताको हक व्यवहारमा सुनिश्चित हुन सकेको छैन । यस्ता संवेदनशील डाटा सुरक्षित नहुँदा पहिचान चोरी, आर्थिक ठगी, सामाजिक बदनामी, मानसिक आघात मात्र होइन, राष्ट्रिय सुरक्षामा पनि जोखिम उत्पन्न हुनसक्ने विज्ञहरू बताउँछन् । नीति अनुसन्धान प्रतिष्ठानका सह–अनुसन्धानकर्ता दीपेन्द्रप्रसाद पन्तले व्यक्तिगत डाटा संरक्षणलाई सामान्य प्राविधिक वा प्रशासनिक विषयका रूपमा हेर्न नहुने बताउनुभयो । उहाँका अनुसार यो विषय नागरिक अधिकार, लोकतान्त्रिक शासन र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको छ ।
“नेपालमा व्यक्तिगत डाटा संरक्षणका लागि स्पष्ट नीति छैन भने छुट्टै कानुन र प्रभावकारी संरचना बन्न सकेका छैनन् । व्यक्तिगत विवरण खुल्दा त्यसले व्यक्तिको गोपनीयतामा मात्र होइन, राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्छ । अरू देशहरूले व्यक्तिगत गोप्यताका विषयलाई अत्यन्त गम्भीर रूपमा लिने गरे पनि हामी अझै आधारभूत तहमा अड्किएका छौँ”, पन्तले भन्नुभयो । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ र वैयक्तिक गोपनीयतासम्बन्धी नियमावली, २०७७ कार्यान्वयनमा भए पनि यसले डिटिजल डाटा प्रयोग र सुरक्षणलाई आंशिक रूपमा मात्र समेट्ने उहाँको भनाइ छ ।
उहाँका अनुसार डाटा चुहावटको असर कुनै एक व्यक्तिको क्षतिमा सीमित हुँदैन । नागरिकको परिचय विवरण, बायोमेट्रिक सूचना, स्वास्थ्य अभिलेख वा वित्तीय तथ्याङ्क बाहिरिएर त्यसलाई सङ्गठित अपराध, साइबर अपराधलगायत अवैध गतिविधि बढ्ने जोखिम रहन्छ । “व्यक्तिगत विवरण बाहिरिँदा त्यसको दुरुपयोगबाट सामाजिक अस्थिरता, आर्थिक अपराध र राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम पैदा हुन सक्छन् । यसलाई सामान्य प्रशासनिक कमजोरी भनेर नजर अन्दाज गर्न मिल्दैन”, उहाँले भन्नुभयो ।
व्यक्तिगत विवरण चुहावट हुँदा व्यक्तिको सामाजिक छवि, मानसिक अवस्था र व्यक्तिगत सुरक्षामा गहिरो असर पर्छ । नेपालमा यस्तो क्षतिको दायित्व कसले लिने र पीडितले कति क्षतिपूर्ति पाउने भन्नेबारे कुनै कानुनी व्यवस्था छैन । कानुनी दण्ड र क्षतिपूर्तिको प्रावधान नहुँदा डाटा सुरक्षालाई प्राथमिकतामा राख्ने संस्कार नै विकास हुन नसकेको पन्तको बुझाइ छ । नेपालको संविधानले सूचना पाउने अधिकार र गोपनीयताको हक दुवैलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । तर यी दुई हकबीच सन्तुलन कसरी कायम गर्ने भन्ने विषयमा स्पष्ट कानुनी मार्गनिर्देशन नभएको उहाँले उल्लेख गर्नुभयो ।
“सूचना पाउने अधिकार र व्यक्तिको गोपनीयताबीच स्पष्टता जरुरी छ । सबै सूचना सार्वजनिक हुनुपर्छ भन्ने बुझाइले व्यक्तिगत गोपनीयता कुण्ठित गर्न सक्छ”, पन्तले भन्नुभयो । कुन अवस्थामा व्यक्तिगत विवरण लुकाउनुपर्ने, कुन सूचना सार्वजनिक हितका लागि आवश्यक हुन्छ भन्ने स्पष्टता नहुँदा विवाद र दुरुपयोगको जोखिम बढिरहेको छ । सरकारले डिजिटल नेपाल अभियानअन्तर्गत अधिकांश सार्वजनिक सेवा ‘पेपरलेस’ बनाउने घोषणा गरेको छ । डिजिटल प्रणालीमा राखिएका विवरण कति सुरक्षित छन् भन्ने प्रश्नको स्पष्ट उत्तर छैन ।
“हामीले सबै सार्वजनिक काम पेपरलेस (कागजरहित प्रणाली) बनाउँदै जाने भनेका छौँ । तर राखिएका विवरण पूर्ण रूपमा सुरक्षित छन् भनेर भन्नसक्ने अवस्था छैन । व्यक्तिगत डाटा सुरक्षाका संयन्त्र विकास गर्न सकिएन भने हामी प्रविधिमा होइन, जोखिममा अघि बढिरहेका हुन्छौँ”, पन्तले भन्नुभयो । ‘डिजिटलाइजेसन’सँगै डाटा संरक्षण कानुन, स्वतन्त्र नियामक निकाय, प्राविधिक मापदण्ड र दक्ष जनशक्ति एकसाथ विकास हुनुपर्ने उहाँको धारणा छ । नेपालमा सेवा विस्तारको गति र सुरक्षा तयारीबीच गहिरो अन्तर देखिएको उहाँले बताउनुभयो ।
साइबर सुरक्षाविद् विजय लिम्बूले वैयक्तिक गोपनीयतासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नभएको र डाटा सुरक्षाका लागि संस्थागत रूपमा कुनै नियामक निकाय बन्न नसकेको अहिलेको अवस्थामा सूचना प्रविधिका क्षेत्रमा नेपालमा काम गर्न चाहने विदेशी कम्पनी इच्छुक नहुने उल्लेख गर्नुभयो । डाटा सुरक्षणका लागि अन्तरराष्ट्रिय मापदण्डसहितका कानुन नभए पनि संविधानले प्रत्याभूत गरेको वैयक्तिक गोपनीयताको हक तथा यससम्बन्धी कानुन कार्यान्वयनमा रहेका उहाँको भनाइ छ ।
“कानुनको प्रभावकारी कार्यान्वयन नहुनु, नियामक निकाय बनाउन नसक्नु र डाटा सुरक्षाका विषयलाई महत्व दिएर अभ्यासमा ल्याउन नसक्नु प्रमुख समस्या हुन्”, उहाँले भन्नुभयो, “भएकै कानुन पनि कार्यान्वयनमा कमजोर हुँदा सूचना प्रविधिसँग जोडिएका अन्तरराष्ट्रिय कम्पनीहरु नेपाललाई सहजै विश्वास गर्दैनन् ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ई–गभर्नेन्स बोर्डले व्यक्तिगत डाटा संरक्षण नीति, २०८२ को मस्यौदा तयार पारेको लामो समय भइसकेको छ । उक्त नीति अझै स्वीकृत भएर कार्यान्वयनमा आएको छैन । नीति नबनेकले यससँग सम्बन्धित ऐन, कानुन पनि अघि बढ्न सकेका छैनन् ।
ई–गभर्नेन्स बोर्डका सहसचिव अनीलकुमार दत्तले नीतिको मस्यौदा तयार भइसके पनि प्रक्रिया ढिलो भएको स्वीकार गर्नुभयो । “विभिन्न निकायसँग व्यक्तिका विभिन्न खालका डाटा छन् । त्यसमा कतिपय संवेदनशील र व्यक्तिगत गोपनीयतासँग जोडिएका पनि हुन सक्छन् । अहिले कुन डाटा दिने र कुन नदिने भन्ने स्पष्टता छैन”, उहाँले भन्नुभयो ।
व्यक्तिगत डाटाको वर्गीकरण आवश्यक भइसकेको पनि दत्त बताउनुहुन्छ । “व्यक्तिगत विवरणसँग सम्बन्धित तथ्याङ्कको वर्गीकरण आवश्यक छ । यसले कुन निकायले व्यक्तिको कतिसम्मका विवरण सङ्कलन गर्न पाउने र अर्को निकायलाई उपलब्ध गराउँदा कतिसम्म दिने भन्ने स्पष्टता ल्याउँछ”, उहाँले भन्नुभयो । व्यक्तिगत डाटा संरक्षणसम्बन्धी कानुन नहुँदा डाटा सङ्कलन, स्थानान्तरण, वर्गीकरण र साझेदारीका लागि कुनै स्पष्ट मापदण्ड छैन । कुनकुन निकाय डाटा सङ्कलन, प्रशोधन र विश्लेषणमा संलग्न छन् भन्ने तथ्यसमेत अस्पष्ट छ । प्रविधिको प्रयोगलाई बढावा दिइरहँदा त्यसले निम्त्याउने सुरक्षाका विषयलाई नजरअन्दाज गर्न नहुने राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यालय प्रमुख मनिष भट्टराईले बताउनुभयो । त्यसका लागि डाटा संरक्षणको नीति र कानुन अपरिहार्य बनिसकेको उहाँको बुझाइ छ ।
विद्यमान अवस्थालाई विश्लेषण गर्ने हो भने डिजिटल डाटा सङ्कलन गर्ने निकायले त्यसको सुरक्षा, भण्डारण, क्लाउड पहुँच र नियन्त्रणबारे नागरिकलाई विश्वस्त गराउन सकेका छैनन् । सङ्कलित डाटाको नियमन गर्ने कानुनी व्यवस्था, संस्थागत संरचना र पूर्वाधार बन्न सकेका छैनन् ।
सरकारी वा गैरसरकारी निकायले व्यक्तिगत डाटा सङ्कलन गर्दा त्यसको उद्देश्य स्पष्ट गर्नुपर्ने र सोही उद्देश्यका लागि मात्र प्रयोग गर्नुपर्नेमा व्यवहारमा यस्तो अभ्यास देखिँदैन । डाटा कति समयसम्म राख्ने, कहिले नष्ट गर्ने भन्नेबारे कुनै कानुनी व्यवस्था छैन । विदेशमा भने व्यक्तिगत डाटा सङ्कलनदेखि विसर्जनसम्मको कार्यको निरीक्षण तथा अनुगमनका लागि डाटा अडिट प्रतिवेदन तयार गर्ने प्रचलन छ ।
त्यसैगरी, संवेदनशील डाटाको पहुँचमा बहुपक्षीय प्रमाणीकरण (मल्टी–फ्याक्टर अथेन्टिकेसन) र पहुँचसम्बन्धी सूचना (नोटिफिकेसन) प्रणाली लागू हुन सकेको छैन । सूचना प्रविधि विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न २५ वटा सरकारी निकायका ३० वटा सूचना प्रणालीको सेक्युरिटी अडिट गरिएको थियो । आवको अन्त्यसम्ममा विभिन्न ३५१ वटा सरकारी निकायको ५०६ वटा प्रणालीको सेक्युरिटी अडिट सुरक्षित बनाउन आवश्यक रहेको भन्दै विभागले सुझावसहितको प्रतिवेदन दिएको देखिन्छ । यो तथ्याङ्कले पनि सरकारी निकायका सूचना प्रणाली कमजोर रहेको पुष्टि गर्छ ।
अभिलेखविहीन आँकडा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सूचना प्रणाली तथा सम्बन्धित सर्भरमा अनधिकृत पहुँच पु¥याएर व्यक्तिगत विवरण चोरी गर्ने र सार्वजनिक गर्नेक्रम पछिल्ला वर्षमा निरन्तर बढिरहेका छन् । यस्तो प्रकृतिका घटनाको एकीकृत तथ्याङ्क कुनै पनि सरकारी निकायसँग उपलब्ध छैन । राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक राजकुमार महर्जनले कुन निकायबाट कस्तो किसिमको सूचना चुहावट भयो र त्यसको गलत प्रयोग भयो भन्ने अभिलेख नरहेको बताउनुभयो ।
“विभिन्न निकायका वेबसाइटमा अनधिकृत पहुँच, तथ्याङ्क चोरीजस्ता विषय सञ्चारमाध्यमबाट सुन्ने गरिन्छ । तीमध्ये धेरैजसोको हामीलाई औपचारिक रुपमा जानकारी आएको देखिँदैन । केन्द्रलाई जानकारी नै नआएपछि त्यसको अभिलेखसमेत राख्ने गरिएको छैन”, उहाँले रासससँग भन्नुभयो । राहदानी विभाग, उद्योग विभाग, जल तथा मौसम विज्ञान विभाग, हेलो सरकार र अर्थ मन्त्रालय गरी पाँच वटा निकायले मात्रै हालसम्म आफ्नो वेबसाइट, सर्भर तथा सूचना प्रणालीमा बाह्य आक्रमणको शङ्कासहितको जानकारी केन्द्रलाई गराएका छन् । यी निकायमा गएर आवश्यक समन्वय गरी समस्या समाधान गरेको केन्द्रका निर्देशक महर्जनले बताउनुभयो । यी निकायबाट के–कस्ता विवरण/तथ्याङ्क क्षति पुग्यो वा बाहिरियो भन्ने आधिकारिक जानकारी आइसकेको उहाँको भनाइ छ ।
नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता हुने साइबर अपराधसम्बन्धी उजुरीको सङ्ख्या पछिल्ला वर्षमा बढिरहेको छन् । ब्युरोमा दर्ता भएका उजुरीका तथ्याङ्कअनुसार डाटा चुहावट, वेबसाइट ह्याकिङ तथा इमेल दुरुपयोगसम्बन्धी घटना उल्लेखनीय रूपमा देखिएका छन् । यस्ता सबै घटना ब्युरोसम्म आइनपुग्ने प्रवक्ता दीपकराज अवस्थीले उल्लेख गर्नुभयो ।
आव २०७९/८० मा साइबर ब्युरोमा दुई वटा डाटा चुहावटसम्बन्धी उजुरी दर्ता भएकामा २०८०/८१ मा तीन पुगेको थियो । उक्त सङ्ख्या २०८१/८२ मा बढेर छ पुगेको छ, जसले डिजिटल सूचना सुरक्षामा बढ्दो चुनौतीलाई स्पष्ट रुपमा सङ्केत गर्छ । त्यस्तै, वेबसाइट ह्याकिङसम्बन्धी उजुरी पनि क्रमशः बढ्दै गएका छन् । विसं २०७९/८० र २०८०/८१ मा एक/एक वटा उजुरी दर्ता भएकामा २०८१/८२ मा दुई र २०८२/८३ को पछिल्लो छ महिनामा मात्र तीन उजुरी दर्ता भएका छन् । अनधिकृत पहुँच वा ह्याकिङसम्बन्धी उजुरी २०७९/८० मा छ र २०८०/८१ मा सात वटा दर्ता भए पनि २०८१/८२ मा घटेर चारमा सीमित भएको साइबर ब्युरोको तथ्याङ्कमा उल्लेख छ ।
अनधिकृत पहुँच प्रयाससम्बन्धी उजुरी भने प्रत्येक वर्ष निरन्तर रूपमा देखिँदै आएका छन् । र्यान्समवेयर आक्रमणसम्बन्धी उजुरी आव २०८०/८१ र २०८१/८२ मा एक–एक वटा दर्ता भएका छन् । यस्तै, व्यावसायिक इमेल दुरुपयोग र इमेल खाता दुरुपयोगसम्बन्धी उजुरी पनि बर्सेनि ब्युरोमा आउने गरेका छन् ।
चोरी र चुहावटका घटना गत पुस २६ र २७ गते नेपाल टेलिकमको सिमकार्ड प्रयोगकर्तालाई सडक प्रदर्शनका लागि आह्वानसहित राजनीतिक प्रकृतिको ‘बल्क म्यासेज’ पठाइएको थियो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का प्रवक्ता रविन्द्र मानन्धरका अनुसार ‘आकाशटेल’ नामक कम्पनीबाट करिब सात लाख हाराहारी नम्बरमा ‘बल्क एसएमएस’ गएको थियो । यस प्रकरणमा नेपाल प्रहरीले निर्देश सेढाईं नामका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । त्यति ठूलो सङ्ख्यामा मोबाइल नम्बर कहाँबाट उपलब्ध भए भन्ने अझै खुलिसकेको छैन । नेपाल टेलिकमले भने कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध नगराएको भन्दै गत पुस २९ गते विज्ञप्तिसमेत जारी गरेको छ ।
नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, निर्वाचन आयोगलगायत कार्यालयको वेबसाइटमा अधिकृत पहुँच पु¥याएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले गत पुस १८ गते सिन्धुपाल्चोकबाट एक जना र गत मङ्सिर २८ गते झापाबाट एक जना पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । यी सबै निकाय व्यक्तिगत विवरण सङ्कलन र प्रयोग गर्ने निकायभित्र पर्दछन् । यी निकायमा कार्यालयको वेबसाइट मात्र ह्याक भएको हो वा सर्भरमै अनधिकृत पहुँच पुगेर व्यक्तिगत विवरणमा छेडखानी भएको हो भन्ने स्पष्ट छैन । त्यस्तै, पछिल्ला केही महिनायता मात्र लुम्बिनी प्रदेश र नेपाल प्रहरीको वेबसाइट ह्याक गरी विभिन्न विवरण र जानकारी डार्क वेभ’मार्फत सार्वजनिक भएका थिए । सरकारी निकाय मात्र नभई निजी क्षेत्रका संस्थाबाट पनि व्यक्तिगत विवरण तथा तथ्याङ्कहरु बाहिरिने गरेका छन् । विसं २०७६ फागुनमा अनलाइन ‘फुड डेलिभरी कम्पनी’ फुडमाण्डुको सर्भर ह्याक भएर ५० हजारभन्दा बढी व्यक्तिको नाम, ठेगाना, मोबाइल नम्बर, इमेललगायत विवरण बाहिरिएको थियो ।
त्यस्तै, २०७६ चैतमा इन्टरनेट सेवाप्रदायक कम्पनी भायोनेटका ग्राहकको व्यक्तिगत तथ्याङ्क ह्याकरले सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएका दिए । नेपाल प्रहरीको साइबर ब्युरोले फुडमाण्डु प्रकरणमा संलग्न नवलपरासी पश्चिमको सुनवल नगरपालिका घर भएका १९ वर्षीय युवक २०७७ मङ्सिरमा र भायोनेट प्रकरणमा संलग्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक युवकलाई २०७७ पुसमा पक्राउ गरेको थियो ।
यी ह्याकिङ प्रकरणमा संलग्न व्यक्तिहरुलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेको भनी कारबाही प्रक्रिया अघि बढ्यो । तर, व्यक्तिको तथ्याङ्क सङ्कलन गरेर सुरक्षित राख्न नसकेका कम्पनीको हकमा भने कुनै अनुसन्धान र अभियोजनको प्रक्रिया अघि बढेन । अनधिकृत सार्वजनिक भएका ती विवरण अहिले पनि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन् ।
काठमाडौँ, २० माघ : हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्ने छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ र गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भागमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।
देशका तराई भू–भागमा हुस्सु/कुहिरोको प्रभाव रहने साथै सबै हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेकाले ती भूभागमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनहुन महाशाखाले अनुरोध गरेको छ ।
गलकोट (बागलुङ), २० माघः सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् । गत वर्ष रु पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाउनुभएका अनन्त खड्काले यसपटक भने रु सात लाख ५० हजारमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गर्नुभयो ।
यस वर्ष सुन्तला बिक्रीबाट सिगानामा रु चार करोड भित्रिएको छ । खड्काले यस वर्ष उत्पादनसँगै सुन्तलाको मूल्य राम्रो पाएकामा खुसी व्यक्त गर्नुभयो । आफूजस्ता एक सयभन्दा बढी किसानले रु एक लाखदेखि सात लाखसम्म रकम गाउँ भित्र्याएको बताउनुभयो । अन्य किसानले पनि धेरैथोरै रकम भित्र्याउँदै आएका छन् । सुन्तला उत्पादनको तथ्याङ्क भने वडा कार्यालयले नभई गाउँको गणेश कृषि सहकारीले राख्दै आएको छ । सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यहाँका सुन्तलाको बजार पोखरा, काठमाडाँै र चितवनमा छ । कोदो बारी र धान खेत मासेर यहाँका किसानले २०५० सालयता व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान अहिले धमाधम सुन्तलाखेती विस्तारमा छन् । सिगानामा अबको पाँच वर्षमा गाउँ नै ढाकिनेगरी सुन्तलाखेती विस्तार भइरहेको छ । सिगानाको बेँसी, पात्ले, पाखाबारी, बाँस्बोट र सायकोटमा अहिले सुन्तला लगाउनटे क्रम जारी छ ।
गत वर्ष सुन्तला बिक्रीबाट रु तीन करोड ५० लाख भित्र्याएका सिगानाका किसानले यस वर्ष चार करोड रकम भित्र्याएका छन् । सिगानामा समग्रमा रु ५० लाखको सुन्तला उत्पादनमा गत वर्षको तुलनामा वृद्धि भएको स्थानीय अगुवा शिवकुमार खड्काले बताउनुभयो । उहाँले सहकारीमार्फत सुन्तलाखेती विस्तार गर्दै अनुदानमा सुन्तलाका बिरुवा पनि वितरण गर्दै आएको जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष मौसम राम्रो र रोग नलागेका कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो । यहाँका सुन्तलाको स्तरीकरण गरेर फरक–फरक मूल्यमा ठेकेदारले पोखरासहितका अन्य बजारमा पठाउने गरेका छन् । वडा कार्यालयले सुन्तलाको तथ्याङ्क समेत राख्न नसकेको भन्दै गणेश कृषि सहकारी सिगानाका अध्यक्ष रामबहादुर खड्काले गत वर्षदेखि सिगानाको सुन्तलाको तथ्याङ्क संकलन गर्ने कार्य थालिएकाले यो वर्ष चार करोड बढी रकम सुन्तला बिक्रीबाट सिगाना भित्रिएको बताउनुभयो । सिगानामा २५० भन्दा बढी किसानको सानादेखि ठूलो सुन्तला बगैँचा छ । यस वर्ष ४०० नयाँ बोटले सुन्तला उत्पादन दिन सुुरु गरेका छन् । सिगाना गाउँका साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । यहाँका अधिकांश किसान सहकारीमा आबद्ध छन् र वार्षिक रूपमा सुन्तला उत्पादन बढिरहेको पूर्व वडाध्यक्ष तथा सुन्तला किसान जितबहादुर जिसीले जानकारी दिनुभयो ।
यहाँका टोपबहादुर खड्का, रामप्रसाद गौतम, राधा खड्का र गङ्गा केसीलगायत किसानले पोखरा, चितवन, नारायणगढ र धादिङ व्यापारीमार्फत सुन्तलाको बजारीकरण गर्दै आएका छन् । बगैँचा विस्तार र मलजलका कारण सुन्तलाखेती उत्पादन फस्टाउँदै गएको पाइएको छ ।
गण्डकी, २० माघ : पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन पोखरा पर्यटन परिषद्ले अभियान सुरु गरेको छ ।लेकसाइड आएका पर्यटकहरू पूर्ण रूपमा सुरक्षित महसुस गरी यस क्षेत्रमा आवतजावत गर्न सकुन् भन्ने उद्देश्यका साथ सरोकारवाला निकायसँग समन्वय एवं साझेदारी बढाउँदै अभियान सुरु गरिएको हो । लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री एवं पूर्ण सुरक्षित बनाउने लक्ष्यका साथ परिषद्ले यहाँस्थित वडा प्रहरी कार्यालय बैदाम, पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि, पर्यटन व्यवसायसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको समन्वयमा छलफल गरी अभियानलाई अघि बढाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो ।
लेकसाइड क्षेत्रमा कुनै पनि अवाञ्छित गतिविधि नहुन् भन्ने उद्देश्यका साथ यस क्षेत्रमा पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि एवं पर्यटन व्यवसायी र सरोकारवाला पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि रहनुुभएको ह्वाटस् एप गु्रप तयार गरिएको छ । अवाञ्छित गतिविधि भए गरेको कोही कसैले देख्नासाथ ग्रुप वा सम्बन्धित निकायमा खबर गरी त्यस्ता गतिविधि रोक्न पहलकदमी गरिने गरिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिनुभयो ।
परिषद्का्े अगुवाइमा सरोकारवाला निकायका प्रतिनिधिसहित विशेष गरी बेलुकाको समयमा स्थलगत अनुुगमन पनि गर्ने गरिएको उहाँले बताउनुभयो । लेकसाइडमा आउने पर्यटकका लागि खाद्य स्वच्छतासमेतलाई ध्यान दिँदै खुला रूपमा सडकपेटी वा साइकलमा गरिने व्यापारले पर्यटकको आवतजावतमा समेत असर परेको हुँदा यस्ता गतिविधिलाई नियन्त्रण गर्न थालिएको छ । स्थलगत अनुुगमनका क्रममा पहिलो चरणमा सम्बन्धित व्यक्तिहरूलाई सचेत गराइएको बताउँदै परिषद्का अध्यक्ष पहारीले यसपछि पनि त्यस्तो क्रममा निरन्तरता पाइए थप कानुुनी कारबाहीका लागि सम्बन्धित निकायमा जिम्मा लगाइने बताउनुभयो । लेकसाइड क्षेत्रका विभिन्न स्थानमा यहाँको स्वच्छता र पर्यटनमैत्री वातावरणका लागि क्युआरकोडमार्फत अपनाउनुुपर्ने नियम आदिबारे पनि जानकारी गराउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
नवलपुर (नवलपरासी), २० माघ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट करिब ३०० निर्वाचन प्रहरी स्याङ्जा पठाइएको छ । जिल्लामा आवश्यकताभन्दा धेरै निर्वाचन प्रहरीको आवेदन परेपछि यहाँका वैकल्पिक सूचीमा परेकामध्ये २९० जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
जिल्लामा परेको दुई हजार ५०० बढी आवेदनमध्ये यहाँका लागि एक हजार ७४२ जना निर्वाचन प्रहरी छनोट गरिएको खड्काले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले माग गरेअनुरूप आवेदन नपरेकाले वैकल्पिक निर्वाचन प्रहरी पठाइदिन माग गरेपछि वैकल्पिक सूचीमा रहेकामध्ये २९० जनालाई स्याङ्जा पठाइएको खड्काले बताउनुभयो । “हामीले सफल उम्मेदवारहरुलाई आइतबारदेखि तालिम दिन सुरु गरेका छौँ, आजसम्म लगातार तीन दिन अनुपस्थित भएकालाई सूचीबाट हटाएर वैकल्पिकलाई तालिम दिन्छौँ”, उहाँले भन्नुभयो, “वैकल्पिकमा परेकामध्ये १०० जनाभन्दा बढीलाई हामीले जिल्लामा नै राखेका छौँ ।”
जिल्लामा गत पुस २५ देखि माघ ३ गतेसम्म आवेदन माग गरिएकामा आवश्यक सङ्ख्याभन्दा थोरैको आवेदन परेपछि पुनः माघ १० र ११ गते पनि निर्वाचन प्रहरीका लागि आवेदन माग गरिएको थियो । दोस्रोपटक म्याद थपिएपछि जिल्लामा आवश्यकताभन्दा बढी आवेदन परेको खड्काको भनाइ छ । जिल्लामा नेपाल प्रहरीतर्फ जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलतर्फ सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीबाट आवेदन माग गरिएको थियो ।
“जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिएर उत्तीर्ण भएका एक हजार ५४३ जना र सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीमा आवेदन दिएर उत्तीर्ण भएका १९९ जना गरी एक हजार ७४२ जनालाई तालिम दिन सुरु गरिसकेका छौँ”, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो । सशस्त्र प्रहरीतर्फबाट छनोट भएका निर्वाचन प्रहरीलाई सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीमा तालिम दिइएको भन्दै उहाँले भन्नुभयो, “जिल्ला प्रहरी कार्यालयबाट छनोट भएका एक हजार ५४३ जनालाई जिल्लाका विभिन्न स्थानमा प्रहरी निरीक्षकको नेतृत्वमा तालिम प्रदान गर्दैछौँ ।”
छनोटमा परेका निर्वाचन प्रहरीलाई १० दिनको तालिमपश्चात निर्वाचन प्रहरीका रूपमा निर्वाचन सुरक्षाका लागि खटाइने खड्काले बताउनुभयो । आसन्न निर्वाचनमा जिल्लाको ११४ मतदानस्थलका ३११ मतदान केन्द्रबाट मतदान हुँदैछ । जिल्लामा जम्मा दुई लाख ६८ हजार ५२६ मतदाता रहेकामा चार जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका ११ मतदानस्थल अतिसंवेदनशील नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा विभिन्न ११ मतदानस्थललाई अतिसंवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले गरेको अनुगमनका क्रममा भौगोलिक विकटता, विगतको अवस्थालगायत विभिन्न विषयलाई अध्ययन गरी निर्वाचनस्थलको वर्गीकरण गरिएको हो । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लाका मतदानस्थललाई तीन तहमा वर्गीकरण गरिएको छ । जिल्लामा ११ वटा अतिसंवेदनशील, ५० वटा संवेदनशील तथा ५३ वटा सामान्य मतदानस्थल रहेका भुसालले बताउनुभयो । प्रतिनिधिसभा सदस्यको दुईवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा ३८ जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लामा निर्वाचन सुरक्षाका लागि केन्द्रीय तयारीअनुसार नै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निर्वाचन प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटिदैछन् । मतदान केन्द्रमा नेपाल प्रहरी र निर्वाचन प्रहरी मतदानस्थलको सुरक्षामा सशस्त्र प्रहरी तथा बाहिरी घेरामा नेपाली सेना परिचालन गरिने जनाउँदै प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले राष्ट्रिय अनुसन्धानका कर्मचारीले निर्वाचनको गतिविधिबारेमा बाहिरी घेराबाट सूचना सङ्कलन गर्ने जानकारी दिनुभयो ।
काठमाडौँ, १९ माघः राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जापानबीचको मित्रता ऐतिहासिक, विश्वासमा आधारित र बहुआयामिक रहेको बताउनुभएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले जापानको टोकियोमा रहेको नेपाली राजदूतावासको आज अवलोकनका क्रममा राजनीतिक, आर्थिक, विकास साझेदारी, शिक्षा, प्रविधि तथा मानव संशाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न थप सक्रिय कूटनीति अवलम्बन गर्न आग्रह गर्नुभयो ।
“यहाँका सरकारी निकाय, निजी क्षेत्र तथा शैक्षिक संस्थासँग निरन्तर संवाद र सहकार्य बढाउनेतर्फ विशेष ध्यान दिनुपर्दछ”, उहाँले भन्नुभयो । विदेशमा रहेका नेपाली नियोगहरु नेपाल सरकारका विस्तारित अङ्गहरु भएकाले यसको सेवा प्रवाहमा सरलता, पारदर्शिता र समयबद्धता अनिवार्य हुनुपर्नेमा उहाँले जोड दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
“नेपालमा वैदेशिक लगानी आकर्षित गर्न राजदूतावासको भूमिका अत्यन्त महत्वपूर्ण छ, पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि तथा पूर्वाधार विकासका सम्भावनाहरू जापानी लगानीकर्तामाझ प्रभावकारी रूपमा प्रस्तुत गरी प्रभावकारी आर्थिक कूटनीति सञ्चालन गर्न आग्रह गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो । यहाँ रहेका श्रमिक तथा विद्यार्थीहरूको अधिकार, सुरक्षा र मर्यादाको संरक्षण दूतावासको प्राथमिक दायित्व भएको उल्लेख गर्दै उहाँले उनीहरूका समस्या, गुनासा र आवश्यकताहरूलाई संवेदनशीलताका साथ सुन्ने र समयमै समाधान गर्ने संयन्त्रलाई थप सुदृढ बनाउन जोड दिनुभयो ।
“नेपाली भाषा, कला, संस्कृति र परम्पराको प्रवद्र्धनमार्फत जनस्तरको सम्बन्ध अझ बलियो बनाउने कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्दछ”, उहाँले भन्नुभयो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार टोकियो पुग्नुभएको हो ।
उहाँले यसअघि आजै जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो भने जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले उहाँसँग शिष्टाचार भेट गर्नुभएको थियो । जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । यहा रहँदा जापानका सम्राट र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । सो अवसरमा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहर कान्त पौडेलले दूतावासले गर्दै आएको काम, दिएको सेवा, भोगेको समस्या तथा दुई देशबीचको सम्बन्ध विस्तारमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
काठमाडौँ, १९ माघः प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति भएकाले तिनलाई मर्न दिन नहुने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुईवटा फरकफरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै उहाँले भाषा संरक्षणका लागि सम्बद्ध सबैले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष डा गोपाल ठाकुरको नेतृत्वमा आएको आयोगको प्रतिनिधिमण्डलले मातृभाषा शिक्षासम्बन्धी प्रतिवेदन र अन्तरराष्ट्रिय आदिवासी भाषा दशक (२०२२–२०३२) नेपालको राष्ट्रिय कार्ययोजना कार्यान्वयनसम्बन्धी प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष पेस गरेको थियो । प्रतिवेदन ग्रहणपछि प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हाम्रो देशमा १२४ वटा भाषा छन्, यी सबै हाम्रा सम्पत्ति हुन् । यीमध्ये कतिपय भाषा लोप हुन लागेका छन्, त्यसैले कुनै पनि भाषा मर्न दिनुहुँदैन । प्रत्येक भाषा उत्तिकै महत्त्वपूर्ण छन् ।” उहाँले भाषाको जगेर्ना गर्न यस खालका अध्ययन अनुसन्धान भइरहनुपर्ने धारणा पनि राख्नुभयो ।
काठमाडौँ, १९ माघः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय महाधिवेशन आगामी फागुन ३० देखि हुने भएको छ । महाधिवेशनको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिमा महाधिवेशन आगामी फागुन ३० देखि चैत २ गतेसम्म सम्मेलन तय भएको जनाइएको छ । ‘
हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ हुने उक्त सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भइसकेको र समितिको सचिवालयका रूपमा सङ्घको सचिवालयले काम सुरु गरेको जानकारी दिइयो । ‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान विश्वभर रहेका नेपालीलाई एकैसुत्रमा बाँध्ने उद्देश्यका साथ अघि बढिरहेको पनि जनाइएको छ ।
“सङ्घको १० औँ र ११ औँ महाधिवेशनपछि संस्थाभित्र देखिएका सङ्गठनात्मक जटिलताहरूलाई आत्मसमीक्षा, संवाद र सहकार्यको बलमा चरणबद्ध रूपमा सम्बोधन गर्दै अन्ततः सन् २०२५ नोभेम्बर ३० मा प्रधानमन्त्री सुशीला कार्कीको रोहवरमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहितको उपस्थितिमा गैरआवासीय नेपाली संघभित्र ऐतिहासिक तथा बृहत् एकता सम्पन्न भएको तथ्य विदितै छ ।
यो उपलब्धिले संघको एकता, स्थायित्व र भावी यात्राप्रतिको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ”, विज्ञप्तिमा भनिएको छ । १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय महाधिवेशनसम्बन्धी तयारीका काम क्रमशः अगाडि बढिरहेको जनाइएको छ ।
काठमाडौँ १९ माघः नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् । प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ ।
यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा चालु खाता रु चार खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर रु पाँच खर्ब एक अर्ब २४ करोड बचतमा रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ । चालु आवको पुस महिनामा मात्रै रु एक खर्ब ९२ अर्ब ६२ करोड बराबरको विप्रेषण नेपाल भित्रिएको छ ।
विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.२ प्रतिशतले बढेको छ । यसैबीच, नेपाल सरकारको कूल खर्च रु ६९० अर्ब २२ करोड र राजस्व परिचालन रु ५७७ अर्ब ४० करोड पुगेको छ । मौद्रिक सूचकतर्फ विस्तृत मुद्राप्रदाय समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा १४.२ प्रतिशतको वृद्धि देखिएको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । वार्षिक आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ । ब्याजदरतर्फ बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ, १९ माघः चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ऋणात्मक देखिएको छ ।
राष्ट्र बैंकका अनुसार गत पुस महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति शून्य दशमलव ०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः सात दशमलव ६७ प्रतिशत र चार दशमलव १९ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को छ महिनाको औसत मुद्रास्फीति एक दशमलव ७० प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ९७ प्रतिशत रहेको थियो । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव २० प्रतिशत, घ्यू तथा तेलको चार दशमलव ९६, र गैर–मदिराजन्य पेयपदार्थको तीन दशमलव ०४ प्रतिशतले बढेको छ । दाल तथा गेडाँगुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव ५२, मरमसलाको तीन दशमलव ९२ र खाद्य तथा खाद्यजन्य पदार्थको तीन दशमलव ७० प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१ दशमलव ७५ प्रतिशतले बढेको छ । यस्तै, शिक्षाको सात दशमलव ५६, कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव १५ र मदिराजन्य पेयपदार्थको तीन दशमलव ८५ प्रतिशतले बढेको छ । बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।
यस अवधिमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ९९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ५७ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५, मधेस प्रदेशको तीन दशमलव ३७, बागमती प्रदेशको दुई दशमलव १०, गण्डकी प्रदेशको एक दशमलव ७६, लुम्बिनी प्रदेशको दुई दशमलव ६२, कर्णाली प्रदेशको एक दशमलव ०८ र सुदूरपश्चिम प्रदेशको एक दशमलव २७ प्रतिशत रहेको छ । यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ४८, तराईको दुई दशमलव ६५, पहाडको एक दशमलव ९४ र हिमालको दुई दशमलव ६६ प्रतिशत रहेको छ ।
गत पुस महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव १७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव ०१ प्रतिशत रहेको थियो । उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति दुई दशमलव ५८ प्रतिशत रहेकोछ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः सात दशमलव ०७ प्रतिशत र दुई ५८ प्रतिशत रहेको छ । यस्तै, निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क तीन दशमलव ४८ प्रतिशतले बढेको छ ।
झापा, १९ माघ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘फागुन २१ गते अघि विघटित संसद्को पुनःस्थापना नहुने’ बताउनुभएको छ । नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नं २ को आयोजनामा आज विर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले फागुन २१ गते हुने चुनावमा पूर्णशक्तिका साथ होमिन पार्टी पङ्क्तिलाई आग्रह गर्नुभयो ।
“विघटित संसद् पुनःस्थापना हुँदैन”, उहाँले भन्नुभयो, “अदालती सुनुवाइ प्रक्रिया लामो हुन्छ । त्यसैले तोकिएको मिति फागुन २१ मा चुनाव हुन्छ ।” उहाँले पार्टीको नेतृत्व बदलेको कांग्रेस अब देशको मुहार बदल्ने अभियानमा होमिएको जनाउँदै विशेष महाधिवेशनमार्फत नेतृत्वमा युवालाई निर्वाचित गरेर कांग्रेस नवीन पार्टी बनेको बताउनुभयो ।
उपसभापति शर्माले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी फागुन १ देखि २१ गतेसम्म आफ्नो निर्वाचन क्षेत्र नछाडी पार्टीका उम्मेदवारहरुको पक्षमा मत माग्न निर्देशन दिँदै पार्टीले १०६ वटा निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको बताउनुभयो ।
जेनजी आन्दोलनको माग सम्बोधन गर्ने सामथ्र्य नेपाली कांग्रेसमा रहेको धारणा व्यक्त गर्दै उहाँले पार्टी बदलेर अब देश बदल्ने संकल्पका साथ आफूहरु लागिरहेको बताउनुभयो । जेनजी आन्दोलनपछि टुटेको जनविश्वासलाई जोड्ने तागत कांग्रेससँग रहेको जनाउँदै उहाँले विशेष महाधिवेशनपछि पार्टी एकढिक्का भएको बताउनुभयो ।
चितवन, १९ माघः जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा गर्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज यहाँको चौबिसकोठीमा सडकमै सभा गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।
महाअभियानको सडक सभाअन्तर्गत केन्द्रीय संयोजक दुर्गा प्रसाईले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । चौबिसकोठीमा सडकमै गाडी रोकेर सभा गर्न खोज्दा प्रहरी र सभामा सहभागी हुन आएकाबीच केही समय चर्काचर्की परेको थियो ।
महाअभियानलाई स्थानीय प्रशासनले हाकिमचोकको केन्द्रीय बस टर्मिनलमा कार्यक्रम गर्ने स्थान तय गरेको भए पनि अभियानका सदस्यहरु बल प्रयोग गरेर चौबिसकोठीमा कार्यक्रम गर्न लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले बताउनुभयो ।
काठमाडौँ, १८ माघः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ४०० ले घटेको छ । आइतबार प्रतितोला रु तीन लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर रु दुई लाख ८६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको मोल पनि घटेको छ । आइतबार प्रतितोला रु पाँच हजार ५०० मा कारोबार भएको चाँदी आज रु पाँच हजार दुई सयमा कारोबार भइरहेको छ । यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घका अनुसार उक्त दिन सुनको मोल प्रतितोला रु तीन लाख ३९ हजार ३०० पुगेको थियो । सुनको मूल्य तोलामा तीन दिनमा रु ५२ हजार ७०० ले घटेको हो । –
काठमाडौँ, १९ माघ : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ । त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ । यसबीचमा निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री आयोगबाट स्वीकृत गराइ सार्वजनिक गरेको छ ।
आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युवमा ती सामग्री राखिएका छन् । मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वासनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यका साथ आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयबाट काठमाडौँस्थित कूटनीतिक नियोग एवं संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख तथा प्रतिनिधिलाई ब्रिफिङ गरेको छ ।
सो कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा निर्वाचनको वातावरण, निर्वाचन आयोगबाट भएका तयारी, राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यवेक्षणलगायतका विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
काठमाडौँ, १९ माघः चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुग्नुभएको छ । उहाँलाई त्यहाँस्थित नारिता अन्तरराष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गर्नुभएको थियो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आइतबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । राष्ट्रपति नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनुहुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।
साथै राष्ट्रपतिले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नुहुने छ । प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेल भ्रमणका क्रममा जापानी व्यावसायिक समुदायसँग र जापानस्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।
नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिकसम्बन्ध स्थापना भएको थियो । कूटनीतिकसम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो । राष्ट्रपति चार दिने भ्रमण सम्पन्न गरी यही माघ २१ गत बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।
म्याग्दी, १९ माघ : रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ । भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय र जर्मनमा रहेको नेपाली राजदूताबासको समन्वयमा गत कात्तिक २५ गते डुङ्गा दुर्घटना हुँदा घाइते र अलपत्र बनेका विकको उद्धार भएको हो ।
गत हप्ता जन्मथलो आइपुगेका विकले नयाँ जीवन पाएको प्रतिक्रिया दिनुभयो । “सर्वियामा काम र ज्याला नपाएपछि इटली जान हिँडेका म लगायत १३ जना नेपाली चढेको डुुङ्गा दुर्घटना हुँदा पानीमा डुबेर घाइते अवस्थामा त्यहाँको प्रहरीले उद्धार गरेर उपचार गरेपनि राहदानी लगायत कागजात नहुँदा अलपत्र बनेको थिएँ,” भुवनले भन्नुभयो “मलाई त्यहाँ लैजाने सन्तोष विक, किसान विक र कमल अधिकारीले बेवास्ता गरेपछि घरमा खबर गरेर आप्रवासी स्रोत केन्द्रमार्फत उद्धार भएर घर आउन पाउँदा नयाँ जीवन पाएको महसुस गरेको छु ।”
चिसो पानीमा डुबेको र पानी निलेका कारण स्वास्थ्यमा गम्भीर समस्या भएका भुवनको स्वास्थ्यमा सुधार भए पनि आन्द्राको समस्या अझै निको हुन नसकेको बताउनुभयो । उनीहरु सर्बियामा जागिर र काम गरेको ठाउँमा तलब नपाएपछि त्यहाँबाट भागेर अवैध बाटोबाट इटली जाने क्रममा दुर्घटनामा परेका हुन् । आप्रवासी स्रोत केन्द्र म्याग्दीका कर्मचारी प्रमिला पौडेलले भुवनकी श्रीमती मीनाले गत पुस २३ गते पेस गरेको निवेदनको आधारमा गृह, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, जर्मन राजदूतावाससँग समन्वय गरेर उद्धार गरिएको जानकारीदिनुभयो ।
प्रतिव्यक्ति रु ११ लाख तिरेर भुवनसँगै सर्विया पुगेका म्याग्दीका अन्य तीन पनि भने जस्तो काम र तलब नपाएपछि घर फर्किएका छन् । भुवनसँगै डुङ्गा दुर्घटनामा परेका बेनी–९ काउलेगौँडाका बिष्ने सार्कीको अवस्था भने अझै अज्ञात रहेकाले खोजी गरिदिन उहाँका आफन्तले आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएका छन् ।