Category: फिचर

  • मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

    मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

    झापा, १९ माघः जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गर्नुभएको हो ।

    केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदाताहरुसँग के कुन दल, उम्मेद्वार र निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ, भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएकाले त्यसलाई रोक्न सार्वजनिक सूचना गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रसाइँले बताउनुभयो । त्यसरी मतदाताको गोपनीयता भङ्ग गर्ने र गराउने कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घन हुनेसमेत प्रशासनले स्पष्ट पारेको छ । यदि कसैले अटेर गरी आचारसंहिता उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेसमेत जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • युएईले दियो दुई सय ७६ नेपालीलाई आममाफी

    युएईले दियो दुई सय ७६ नेपालीलाई आममाफी


    काठमाडौँ, १८ माघः नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का वसरमा २६७ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ ।

    नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको आज एक विज्ञप्ति निकालेर सराहना गरेको छ । उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटकपटकको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको आममाफीको निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

    माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।

  • एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

    एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

    काठमाडौँ, १८ माघः सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार गत वर्षको जनवरीको तुलनामा १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् । जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन् ।

    जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका थिए । यस्तै, चीनबाट नौ हजार १०१, संयुक्त राज्य अमेरिकाबाट आठ हजार ४०६, बङ्गलादेशबाट पाँच हजार ८१४ तथा अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल भित्रिएका थिए ।

    दक्षिण एसियाली मुलुक (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका थिए । अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक नेपाल आएका थिए । मध्यपूर्वबाट एक प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका थिए ।

  • सुक्खा पहिरोले टिमुरे–रसुवागढी राजमार्ग अवरुद्ध

    सुक्खा पहिरोले टिमुरे–रसुवागढी राजमार्ग अवरुद्ध


    रसुवा, १८ माघः रसुवा जिल्लाको टिमुरे–रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको सुक्खा पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार साँझ पहिरो जाँदा चिनियाँ सामान आयातका लागि केरुङतर्फ जाँदै गरेका कन्टेनर घट्टेखोलामा रोकिएका छन् । यसैगरी, कामको सिलसिलामा केरुङ गई घर फर्कन लागेका नेपाली नागरिकहरु सडक अवरुद्ध भएपछि नेपाल–चीन मितेरी पुल पारि चिनियाँ भूभागमै रोकिएका छन् । राजमार्ग पुनः सञ्चालन गर्न स्काभेटरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको सीमा प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कँुवरले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पहिरो स्थल सदरमुकाम धुञ्चेबाट करिब २९ किलोमिटर उत्तरतर्फ रहेको छ । प्रहरी निरीक्षक कुँवरले पहिरो ठूलो भएका कारण जोखिमको अवस्था विश्लेषण गरेपछि मात्र पैदल यात्रुलाई आवत–जावत गराइने जानकारी दिनुभयो । सुरक्षालाई दृष्टिगत गर्दै यात्रुलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

  • नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

    काठमाडौँ, १८ माघः नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको म्याग्दे गाउँपालिका–७ का किरणसिंह ठकुरीले डिभी प्रयोजनका लागि नेपालस्थित अमेरिकाको राजदूतावासमा बुझाएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा तनहुँका १९ वर्षीय किरणसिंह ठकुरी, पर्वतका ४० वर्षीय अनिल शर्मा, काठमाडौँका ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोटका ४२ वर्षीय केशव फुँयाल, नुवाकोटका ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौँका ४३ वर्षीया दीपा लावती र गुल्मीका ५२ वर्षीय शोभाखर खनाल रहेका छन् । कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डबाट नक्कली भएको पुष्टि भएकाले उक्त नक्कली प्रमाणपत्र बनाउने गिरोहलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका सातै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः नागरिकलाई मतदाता नामावलीकै चिन्ता

    प्रतिनिधिसभा सदस्य निर्वाचनः नागरिकलाई मतदाता नामावलीकै चिन्ता

    १८ माघ, काठमाडौं | आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धेरै नागरिकले आफ्नो मतदाता नामावलीका बारेमा जिज्ञासा राख्ने गरेका छन् । निर्वाचन आयोगले यही माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा माघ १७ गतेसम्म एक हजार ६७७ जिज्ञासा तथा प्रश्न प्राप्त भएकामा मतदाता नामावलीसम्बन्धी ९०६ वटा रहेका छन् । निर्वाचन आचारसंहितासम्बन्धी १३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य ५७५ वटा रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    हानिकारक सूचना पहिचान र कारबाही सिफारिसलाई पनि आयोगले प्राथमिकताका साथ अघि बढाएको छ । निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या÷भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न तथा गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन लागिएको प्रवक्ता भट्टराईले बताउनुभयो । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवद्र्धन एकाइ पूर्ण रूपमा यसमा क्रियाशील भएको छ । हानिकारक सूचना उत्पादन एवम् सम्प्रेषण गर्ने १२० विषयवस्तु उत्पादक÷सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाइएको छ । छ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

    त्यस्तै १५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

  • गगन थापा मुलुकको नेतृत्व गर्न तयारः उपसभापति शर्मा

    गगन थापा मुलुकको नेतृत्व गर्न तयारः उपसभापति शर्मा


    झापा, १८ माघः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार थापा मुलुकको नेतृत्व गर्न तयार रहेको बताउनुभएको छ । झापा निर्वाचन क्षेत्र नं १ को आज भएको क्षेत्रीय कार्यकर्ता भेलामा उपसभापति शर्माले देश बनाउने दूरदृष्टि भएका कारण पार्टीले सभापति थापालाई नै भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको बताउनुभयो । “नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति गगन थापाको योगदान, संस्कार र भिजन अतुलनीय छ,” उहाँले भन्नुभयो, “त्यसैले नेपाली कांग्रेसले उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्तावका साथ चुनावी अभियान सञ्चालन गरिरहेको छ ।”

    उपसभापति शर्माले पार्टीको हालै सम्पन्न विशेष महाधिवेशनबाट भागबन्डा र गुटको राजनीतिलाई अन्त्य गरिदिएको बताउनुभयो । विगतमा ६० र ४० को भागबन्डा हुने गरेको चर्चा गर्दै अहिले पार्टी विभाजित मनस्थितिमा होइन, पूर्ण रुपमा चुनावमा होमिएको उहाँको भनाइ छ ।

    पार्टीको विशेष महाधिवेशनपश्चात् उपसभापति शर्मा पहिलोपटक गृह निर्वाचन क्षेत्र झापा–१ को कार्यक्रममा आउनुभएको हो । सो क्षेत्रबाट नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यमा केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ । उपसभापति शर्माले पार्टीका उम्मेदवार पाण्डेलाई चुनावमा जिताउन आह्वान गर्नुभयो ।

  • वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

    वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै


    काठमाडौँ, १८ माघः फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो । आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने तथा मङ्गलबार भने मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । तर ती क्षेत्रमा पूर्ण बादल लाग्ने छ भने बाँकी क्षेत्रमा पनि आंशिक बादल लागी चिसो बढ्ने छ ।

    अघिल्लो बुधबारको जत्तिको बलियो प्रणाली नभए पनि पश्चिम नेपाल चिसो भइसकेको र हिउँ परिरहेको अवस्थामा अबको प्रणालीले पनि मध्यमसम्म वर्षा तथा हिमपात गराउने मौसमविद् अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रणालीले मध्यनेपालभन्दा पश्चिममा बढी असर गर्ने देखिन्छ, आज पनि कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बदली भएको छ, त्यो बदली बढ्छ । मङ्गलबार मध्यनेपालभन्दा पश्चिममा बदली भएर वर्षा र हिमपात बढाउँछ ।”

    मौसमविद् अधिकारीका अनुसार यसपालि पश्चिमबाट मध्यनेपालसम्म असर गर्ने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा गराउने छ । कोशी, बागमतीको माथिल्लो भेगमा पनि असर गर्न सक्ने तर तल्लो भाग र तराई क्षेत्रका साथै मधेस प्रदेशमा भने असर न्यून रहने उहाँले बताउनुभयो । काठमाडौँमा मङ्गलबार राति छिटपुटसम्म वर्षा हुन सक्ने छ ।

    सोमबार तराई भू–भागका केही स्थानमा हुस्सु÷कुहिरो रहने तथा देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार राति तराई भू–भागका थोरै स्थानमा हुस्सु रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।


    मङ्गलबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चि प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात÷वर्षा तथा बाँकी हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चि प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात÷वर्षा तथा बाँकी हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री

    कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री

    १८ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको रोक्का तथा नियन्त्रणसम्बन्धी निर्णय र अदालतहरूबाट प्राप्त फैसलाका आधारमा जफत भएका सम्पत्ति तथा साधनको एकीकृत विवरणको प्रणाली यथाशीघ्र तयार गर्न निर्देशन दिनुभएको छ ।
    कसुरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा रोक्का वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनको व्यवस्थापन गर्ने÷गराउने जिम्मेवारी प्राप्त गरेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको अनुगमनका क्रममा आज उहाँले यस्तो निर्देशन दिनुभएको हो । मन्त्री अर्यालले विभागको कार्यप्रगतिबारे जानकारी लिने क्रममा विभागमा विभिन्न निकायबाट प्राप्त हुन आउने कसुरजन्य सम्पत्तिलाई प्रविधिको प्रयोग गरी प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    गृहमन्त्री अर्यालसँगै गृह सचिव, मन्त्रालयका सुरक्षा तथा समन्वय शाखा प्रमुखलगायत उच्च अधिकारीसहितको टोली विभागमा पुग्नुभएको थियो । उहाँहरूलाई महानिर्देशक सुमन घिमिरेले विभागको कामकारबाही र प्रगतिबारे जानकारी गराउनुभयो । कसुरजन्य सम्पत्ति तथा साधन व्यवस्थापनसम्बन्धी मार्गदर्शन, २०८२ बमोजिम गठन हुने निर्देशक समितिको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था छ । मन्त्री अर्यालले सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट नेपाललाई निकाल्ने सम्बन्धमा विभागको भूमिका महत्त्वपूर्ण हुने भन्दै विभागको कामलाई थप प्रभावकारी बनाउने सम्बन्धमा कार्ययोजना बनाई पेस गर्न निर्देशनसमेत दिनुभयो ।

  • नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न


    टेकराज पोखरेल / रासस

    नवलपुर (नवलपरासी), १८ माघ : सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न भएका हुन् ।

    यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ पुल र २५ मिटरभन्दा लामा १२ पुल निर्माण गर्नुपर्ने गरी निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले ठेक्का पाएको थियो । खनालले २२ वटा साना तथा १२ वटा ठूला गरी ३४ वटै पुलको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । साना पुल निर्माण सकिएर सञ्चालनमा आइसकेका भए पनि ठूला पुल निर्माणका क्रममा हुँदा सबै पुल सञ्चालनमा आइसकेका छैनन् । “गत साता चोरमारा बजारको गिरुबारी खोला पुल सञ्चालनमा आएसँगै यतिबेला ३३ वटा पुलबाट यातायात सञ्चालन भएका छन्”, इन्जिनियर खनालले भन्नुभयो, “यातायात सञ्चालन हुन बाँकी रहेको अरुण खोला पुलबाट पनि फागुन २१ गतेको निर्वाचनअगावै यातायात सञ्चालनमा ल्याउनेगरी पुलको फिनिसिङ तथा एप्रोच रोड (पहुँच मार्ग) निर्माणको कामलाई तीव्रता दिएका छौँ ।”

    पूर्वी खण्डमा सडक विस्तारको काम तीव्रगतिमा अगाडि बढेको खनालले जानकारी दिनुभयो । यस खण्डको दाउन्नेमा कठिन भौगोलिक वनावट भएका कारण दाउन्ने खण्डमा केही कल्भर्ट निर्माणको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माण पनि अन्तिम चरणमा चलिरहेको खनालले बताउनुभयो । नारायणघाटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकमध्ये दाउन्नेबाहेकका प्रायः सबै ठाउँमा कालोपत्र सडकबाट यात्रा गर्न सकिने खनालको भनाइ छ । “दाउन्नेमा पनि सडक विस्तारको काम तीव्रगतिमा बढेको छ”, उहाँले भन्नुभयो, “दाउन्नेमा कठिन भूनावट भएका कारण त्यहाँ सडकमा कालोपत्र नगरी ढलान गरेर सडक विस्तारको काम गरिँदैछ, यसैले यो क्षेत्रमा विस्तारको काम ढिलाइ भइरहेको हो ।”

    सूचना अधिकारी इन्जिनियर खनालले नारायणघाट–बुटवल सडक विस्तार योजनाको पूर्वी खण्डको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको जानकारी दिनुभयो । पूर्वी खण्डमा दाउन्ने सडकखण्ड, अरुणखोलाको केही भाग र दुम्कीबासको केही भागबाहेक सबै ठाउँमा दुईतर्फी नै कालोपत्रको काम सकिएकाले यात्रा सहज बनेको खनालको भनाइ छ । दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुन नसकेको उहाँले बताउनुभयो । दुईतर्फी नै सडक कालोपत्र सकिएको ठाउँमा सडक लेन छुट्याउन लेन मार्किङको काम तथा सर्भिस लेन हुने ठाउँमा अतिरिक्त सर्भिस लेन निर्माणको काम भइरहेको उहाँले बताउनुभयो ।

    दाउन्नको १४ किमी सडकमध्ये पूर्वी खण्डमा चार किलोमिटर सडक पर्दछ । दाउन्नेमा अहिले बाँकी रहेको डाँडा काट्ने, बाँकी रहेका कल्भर्ट निर्माण गर्ने, बाटोको चौडाइ बढाउने, पहिरो जान सक्ने ठाउँमा तलैबाट जालीमा ढुङ्गा भर्नेलगायत काम भइरहेको भन्दै खनालले यस खण्डमा २१५ वटा कल्भर्ट निर्माण हुने जानकारी दिनुभयो । नारायणघाट–बुटवल सडक विस्तारका लागि नेपाल सरकारले चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडसँग विसं २०७९ माघ २४ मा सम्झौता गरेको थियो । निर्माण सुरु भएको ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको सडक विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको छ ।

    निर्धारित समयमा काम पूरा नभएपछि सरकारले निर्माणको कम्पनीको म्याद चारपटक थप गरी आगामी साउन ८ गतेभित्र सक्नेगरी अन्तिमपटक म्याद थप गरेको छ । ११४ किलोमिटर लामो नारायणघाट–बुटवल सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । दुवै खण्डको जिम्मा चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले पाएको छ । दुवै खण्डको लागत करिब रु १७ अर्ब रहेकामा एसियाली विकास बैंक (एडीबी)को ८५ प्रतिशत ऋण सहयोगमा सडक विस्तारको काम भइरहेको छ ।

  • सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    काठमाडौँ, १८ माघः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ५०० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको थियो ।

    बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ मा किनबेच भएको थियो । त्यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको भने गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

    आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड


    काठमाडौँ, १८ माघः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएकामा चिन्ता व्यक्त गर्नुभयो ।

    कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म निजीक्षेत्र र आर्थिक विषय प्राथमिकतामा नपरेका अध्यक्ष ढकालले बताउनुभएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । “दल आफ्ना एजेन्डामार्फत जनतामाझ जानुपर्नेमा निजी क्षेत्र, आर्थिक विषयलगायत विषयले प्राथमिकता पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो । निजी क्षेत्रले राज्यमा पु¥याएका योगदानको चर्चा राजनीतिक नेतृत्व र दलबाट हुन नसकेका अध्यक्ष ढकालले चिन्ता व्यक्त गर्नुभयो । निजी क्षेत्रलाई राज्यले प्रोत्साहन । संरक्षण नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने उहाँले धारणा राख्नुभयो ।

  • मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

    मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र


    चितवन, १८ माघः पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइसक्नुपर्ने थियो । तर सम्झौताअनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा छ महिना म्याद थप गरिएको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का सम्झौता गरिएको थियो ।

    मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको थियो । तेस्रो चरणको म्याद गत पुस १५ मा सकिएपछि छ महिनाका लागि म्याद थप गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार डिजाइनको तथ्याङ्क गलत पर्दा सडकको नक्साङ्कन फरक परेकाले समयमा काम गर्न नपाएका कारण निर्माण कम्पनीलाई १८३ दिन म्याद थप गरिएको छ । निर्माण कम्पनीले सडकको काम गर्ने ठाउँ खाली हुन ढिलाइ भएको, रुख, खम्बा सार्न समयमा नसकिएको, निर्माण सामग्री सहज पाउन नसकिएको, सवारीको उच्च चापलगायत कारण निर्माण तोकिएको समयमा हुन नसकेको जनाउँदै आएको छ ।

    दरैले अहिलेका लागि नक्साङ्कनका विषयलाई सम्बोधन गर्दै समय थप गरिएको भए पनि अन्य विषय छलफलमा नै रहेको बताउनुभयो । उक्त खण्डमा हालसम्म ३७ दशमलव ५ प्रतिशत मात्र काम भएको छ । दरैका अनुसार नौ किलोमिटरभन्दा केही बढी कालोपत्र गरिसकिएको छ । धादिङको चरौदी क्षेत्रमा कालोपत्र भइरहेको छ । फिस्लिङलगायत क्षेत्रमा कालोपत्रको तयारी गरिएको छ । नाली, बेरियर, पुललगायत सडकका विभिन्न क्षेत्रका काम भइरहेका छन् । उहाँका अनुसार दैनिक १५० हाराहारी मजदुरले काम गरिरहेका छन् । आयोजनाका तर्फबाट आवश्यक सहजीकरण गरेर थप भएको समयमा सक्ने गरी कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई भनिएको उहाँको भनाइ छ । सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ । जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताउनुभयो । उहाँका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।

    शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ । यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ ।

  • नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

    नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो


    काठमाडौँ, १७ माघः निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् ।

    ती जिल्लाको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ । यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छन् । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन् । ती सबै निर्वाचन क्षेत्रको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भइसकेकोे छ ।

  • वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

    वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

    वीरगञ्ज (पर्सा), १७ माघः चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको छ महिनाको तुलनामा चालु आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ । चालु आवको छ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै रू ८७ करोड ८४ लाख राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताउनुभयो ।

    गत आवको छ महिनामा भने रू ३० करोड २६ लाख मूल्यका १२४ विद्युत्बाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधनको आयातबाट रू २४ करोड २९ लाख राजस्व सङ्कलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु ९३ करोड मूल्यका इन्धनबाट चल्ने ४३४ जिप, कार र भ्यान आयात भएको छ ।

    ती सवारीसाधनको आयात हुँदा दुई अर्ब ५६ करोड राजस्व सङ्कलन भएको छ । गत आवको छ महिनामा भने रू एक अर्ब १७ करोड मूल्यका ५९२ इन्धनबाट चल्ने जिप कार र भ्यान आयात भएका थिए । गत आवको छ महिनामा ती सवारीसाधनको आयातबाट रू तीन अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।

  • ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै काठमाडौं महानगर

    ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै काठमाडौं महानगर

    काठमाडौँ, १७ माघः काठमाडौँ महानगरपालिका (कामपा) ले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणको काम भोलि आइतबारदेखि थालिने भएको छ । त्यसका लागि घरदैलोमा पुग्ने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन पनि प्रदान गरिएको छ ।

    आर्थिक अवस्था कमजोर भएका र परिवारमा सदस्य साथमा नभएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको हो । यसैगरी शारीरिक अशक्तता भएका, दीर्घरोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सर्वेक्षण गरिन लागेको कामपाले जनाएको छ ।

    कार्यवाहक प्रमुख सुनिता डङ्गोलले धेरैका सन्तान विदेशमा रहेकाले पनि ज्येष्ठ नागरिकहरुको अवस्था विदेशमा भएका सन्तानलाई थाहा दिएर स्वस्थ्य जीवनका लागि सहयोग गर्न टेली मेडिसिन प्रणाली बनाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गराउँछौँ, कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकले हाम्रा लागि पनि कोही रहेछन् र पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला ।” सर्वेक्षणमा जाने नर्सिङ कर्मचारीलाई पाँच दिनको अभिमुखीकरण प्रदान गरिएको छ, भने यस्तै सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन तथा उपकरण पनि प्रदान गरिएको छ । कार्यक्रमबारे कामपाका स्वास्थ्य विभागका प्रमुख दीपक केसीले यो सेवामा औषधि व्यवस्थापन तथा पोषण परामर्श दिनुका साथै मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनुभयो । यसैगरी व्यायाम, मानसिक स्वास्थ्य, सरसफाइका विषयमा परामर्श दिइनुका साथै सङ्कलन गरिएको तथ्याङ्कका आधारमा भविष्यमा ज्येष्ठ नागरिकका जोखिम न्यूनीकरणका बजेट, योजना तथा कार्यक्रम तर्जुमालाई वास्तविक बनाउने ज्येष्ठ नागरिकप्रति सहयोगी भावनामा वृद्धि हुने उहाँले बताउनुभयो ।

  • जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी

    जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी

    जुम्ला, १७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट ९७४ निर्वाचन प्रहरी छनोट भएका छन् । छनोट भएकामध्ये ८७८ नेपाल प्रहरीतर्फ र ९६ सशस्त्र प्रहरीतर्फ निर्वाचनमा प्रहरी छनोट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । सबै प्रक्रियाबाट सफल भई छनोट भएका निर्वाचन प्रहरीलाई आइतबार नियुक्तिका लागि सम्पर्कमा बोलाइएको प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिए ।

    निर्वाचनका लागि जिल्लामा जम्मा मतदाता ७१ हजार ७३९ रहेका छन् । कूल मतदातामध्ये महिला ३४ हजार २८० र पुरुष ३७ हजार ४५९ रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा ८५ मतदानस्थल र ११० मतदान केन्द्र कायम गरिएको उनले  बताए। जिल्लामा अतिसंवेदनशील मतदानस्थलबारे सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गर्ने काम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा एक स्वतन्त्र र नौ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा (एमाले) बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ज्ञानबहादुर शाही प्रतिस्पर्धामा छन्  । यसैगरी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट विर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही र नेकपा (माओवादी)बाट विर्खबहादुर शाही चुनावी मैदानमा छन, भने भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन ।

  • द्रुतमार्ग पुग्दा यस्तो देखियो निर्माण प्रगति

    द्रुतमार्ग पुग्दा यस्तो देखियो निर्माण प्रगति

    नारायण न्यौपाने–रासस
    लेनडाँडा (मकवानपुर), १६ माघ । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराई–मधेस दू्रतमार्ग (फाष्ट ट्र्याक’ निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ रहेको छ । आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ ।

    सेनाका अनुसार चालु आर्थिक वर्षको अन्त्य सम्ममा थप दुई जोडी सुरुङ बे्रक–थ्रु हुनेगरी काम अघि बढाइएको छ । ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किमी छ । ललितपुरको खोकनादेखि सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने कुल ७०.९७७ किमी लम्बाइको उक्त दू्रतमार्ग पहाडी क्षेत्रमा २५ र तराईमा २७ मिटर चौडाइको हुनेछ । आयोजनाअन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण हुनेछ ।

    द्रूतमार्गअन्र्तगत साना तथा ठूला गरी ८९ वटा पुल निर्माण हुनेछन् । हालसम्म काठमाडौँको धरहराभन्दा अग्ला ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिसहित १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेको छ । आयोेजनाअन्तर्गत ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । कार्यदलका अनुसार बाँकी चार स्थानका पुलका लागि जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको आयोजना कार्यदलले जनाएको छ । निर्माणाधीन पुलमध्ये ५४ वटाको फाउन्डेसन र ३४ स्थानका पुलको सबस्टक्चर सम्पन्न भएको छ । विशिष्ट प्रकृतिका त्यस्ता पुलहरु एकैसाथ धमाधम निर्माण भइरहेकाले निर्धारित मितिमै आयोजना सम्पन्न हुने सुनिश्चित भएको सेनाले जनाएको छ ।

    चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने जनाइएको छ । ती सबै पुलको कुल लम्बाइमात्रै पनि १२.८८५ किमीभन्दा बढी हुनेछ । आयोजनाअन्तर्गत ११ किमी सडकको सबवेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । दू्रतमार्गको निजगढ क्षेत्रमा टोल प्लाजा भवन निर्माण भएको तथा इन्टरचेन्जको कार्य भइरहेको जनाइएको छ । त्यस्ता इन्टरचेन्ज खोकना, बुदुने र निजगढमा रहनेछ । आयोजनाका लागि आवश्यक पर्ने १५ हजार ४१६ रोपनीमध्ये खोकना क्षेत्रमा बाहेक अन्य क्षेत्रको जग्गा अधिग्रहण यसअघि नै भइसकेका छन् । राजधानीलाई छोटो दूरीमा तराईसँग जोड्ने ‘एसियन हाइवे स्टयाण्डर्ड’को रणनीतिक महत्वको यो देशकै पहिलो दू्रतमार्ग हो ।

    फास्ट ट्र्याक निर्माणको प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्ब रहेको छ । आयोजना २०८३ चैत मसान्तभित्र पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको सेनाले जनाएको छ । दू्रतमार्गको निर्माणपछि राजधानीसँगको यात्रालाई छोटो र ढुवानीलाई सहज बनाउँदै मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । उक्त आयोजना पूरा भएपछि करिब एक घण्टामा काठमाडौँबाट मध्यतराई पुग्न सकिने छ । द्रूतमार्ग निर्माणमा हालसम्म प्राप्त प्रगति अवलोकन गर्न आउने जोकेहीलाई पनि उत्साह प्रदान गर्ने गरेको छ । मुलुकको आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउने एउटा रूपन्तरणकारी आयोजनाका रूप्मा द्रूतमार्गलाई हेरिएको छ ।

    यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले मङ्गलबार यस आयोजनाको स्थलगत निरीक्षण गरी स्थानीयको भावनाअनुरूप् धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर नपुर्याउने गरी आयोजनालाई तीव्र रूप्मा अघि बढाउन निर्देशन दिएकी थिइन् । सुरुआती चरणमा दू्रतमार्गको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० स्वीकृतमा ढिलाइका कारण कार्य प्रारम्भ प्रभावित भएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्ले २०७४ वैशाख २१ गते उक्त आयोजना नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी दिने निर्णय गरेको थियो । आयोजनाको डिपिआर भने २०७६ भदौ १ गतेमात्र स्वीकृत भएको थियो । अन्तरराष्ट्रियस्तरको दू्रतमार्ग निर्माणपछि सडक निर्माणका क्षेत्रमा प्राप्त अनुभवले देशमा सडक सञ्जाल विस्तारमा राज्यको क्षमतासमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

  • हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

    हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

    मुस्ताङ, १६ माघ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल—चीन उत्तरी कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित बनेको छ । भारी हिमपातका कारण बुधबारदेखि यस नाकाबाट हुने आयातनिर्यात पूर्ण रूपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । माथिल्लो मुस्ताङमा मङ्गलबार राति परेको हिमपात तेस्रोपटक हो ।

    यसअघि यस वर्ष दुईपटक हिमपात भइसकेको छ । लोमान्थाङ–२ न्हेचुङछोसेरस्थित भन्सार कार्यालयमा कार्यरत नायबसुब्बा जीवन देवकोटाका अनुसार जोमसोम–कोरला सडकमा दुई फिट बढी बाक्लो हिउँ जमेकाले कोरलानाकाबाट हुने निकासी तथा पैठारी कारोबार ठप्प भएको छ । हिमपातका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा भन्सार कार्यालयको नियमित कामकाज पनि ठप्प भएको छ ।

    चीनतर्फ मालवस्तु पैठारी गर्न गएका एक दर्जन कन्टेनर लोमान्थाङ–२ छोसेरस्थित मुस्ताङ भन्सार कार्यालयमा थन्किएका छन् । कतिपय कन्टेनरको भन्सार जाँचपास भएको र कतिपय कन्टेनरको भन्सार घोषणा हुने क्रममा रहेकाहरू कागबेनी–कोरला सडक पूर्ण रूपमा बन्द रहेकाले गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको नायबसुब्बा देवकोटाको भनाइ छ ।

    हिमपातअघि कोरलानाकास्थित चिनियाँ भन्सारमा मालवस्तु पैठारी गर्न गएका केही कन्टेनर उतै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले भारी हिमपातका कारण कागबेनी–कोरला सडक पूर्ण रूपमा अवरुद्ध रहेको बताउनुभयो । कोरला सडकको करिब ९० किलोमिटर दूरीमा दुई फिट हिउँ जमेर बसेकाले अवरुद्ध सडक सञ्चालन गराउन केही दिन लाग्ने उनको अनुमान छ ।

    कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले हिमपातबाट अवरुद्ध सडकलाई जतिसक्दो छिटो सञ्चालन ल्याउन आयोजना प्रतिबद्ध रहेको र आजदेखि वारागुङ मुक्तिक्षेत्र–३ छुसाङबाट सडकको हिउँ पन्छाउन आवश्यक उपकरण परिचालित गरिने जानकारी दिए । छोसेर स्थित सशस्त्र प्रहरी बल नेपाल (बिओपी)का इन्चार्ज प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार भारी हिमपातका कारण कोरलानाकामा पाल टाँगेर बसेका स्थानीय व्यापारी पनि घर फर्किएको छन् ।

    हिमपातपछि चिसो अत्यधिक बढेकाले यहाँको जनजीवन कष्टकर बनेको छ । माथिल्लो मुस्ताङमा माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ डिग्रीम्म तापक्रम छ । चिसो अत्यधिक बढेका कारण पशुचौपाया र पशु गोठालालाई पनि समस्या परेको छ ।

  • अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

    अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

    वाशिङ्टन डिसी (अमेरिका), १६ माघ । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेस गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने गरेको सहुलियत नलिन समेत अपिल गरेको छ ।

    दूतावासले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सरकारले आफ्ना नागरिकका लागि उपलब्ध गराउने गरेको सहुलियतपूर्ण स्वास्थ्योपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा वा सहायतामाथि निर्भर भएरगरेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्दसमेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको छ ।”

    विज्ञप्तिमा दूतावासले अमेरिका आएका नेपालीहरूमध्ये सन् २०२४ मात्र नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकाले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको स्मरण गराइएको छ ।

    विज्ञप्तिमा विभिन्न उद्देश्यले संयुक्त राज्य अमेरिकामा रहनुभएका नेपाली नागरिकले यहाँ रहँदा गैरकानुनी तवरले वा गलत सूचना वा विवरण पेस गरी सहुलियतपूर्ण स्वास्थ्योपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा\सहायतामाथि निर्भर नहुन/नगराउनुहुन हार्दिक दूतावासले अनुरोध गरेको छ । दूतावासले व्यापारिक तथा पर्यटकीय प्रयोजनको लागि प्राप्त हुने ‘बी १’, ‘बी २’ भिसाको दुरूपयोग नगर्नु हुन पनि अनुरोध गरेको छ । पछिल्ला दिनमा अमेरिकी सरकारले विभिन्न प्रयोजनका भिसामा कठिन प्रावधान समावेश गर्दै गएको छ ।

  • निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

    निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

    काठमाडौँ, १६ माघ : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।

    त्यसैगरी, उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रष्ट पारेको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुनेछ ।

    आयोगका अनुसार कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । ती जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ । ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ ।

    अन्य जिल्लाका पनि वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सम्पन्न भइसकेको जनाएको छ । त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ । मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पुर्याउने काम पनि अगाडि बढेको आयोगले जनाएको छ ।रासस

  • आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

    आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

    काठमाडौँ, १६ माघ । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

    राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।

    प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।

    विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो । स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।

  • उद्यमसहितको वन व्यवस्थापनले आगलागी शून्य

    उद्यमसहितको वन व्यवस्थापनले आगलागी शून्य

    हेटौँडा (मकवानपुर), १६ माघः मनहरी गाउँपालिका–७ की किसान विमला राईको सम्बन्ध केवल वन संरक्षणमा मात्र सीमित छैन, यो उनको दैनिकी, आम्दानी र सुरक्षासँग पनि गाँसिएको छ । सूर्योदयसँगै उनी सामुदायिक वनतर्फ लाग्छिन् । झाडी सफाइ, सुक्खा पात–पत्कर सङ्कलन र त्यसबाट कम्पोष्ट मल बनाउने काम उनको नियमित कर्म बनेको छ।

    पात–पत्करका लागि डिपाट सामुदायिक वनमा १५ सय फिटका तीनवटा खाल्डा बनेका छन्भने प्रत्येक खाल्डामा १५ सय ट्रयाक्टर मल उत्पादन हुने गरेको छ । यही उत्पादनमा विमला व्यस्त थिइन् । उनी भन्छिन्, “खाल्डामा मलमात्र होइन, हाम्रो जीवन नै संगालेको महसुस हुन्छ, साना नानी लिएर घरमा आगो बल्ला भनेर रातभर नसुत्ने हामीलाई यही खाल्डाले आनन्दको निद्रा दिएको छ ।” उनलाई करिब १० वर्ष अगाडिसम्म हिउँदमा वन नजिकैको घर डढेलोले जलाउँला भन्ने डर थियो । विस्तारै वनमा काम, खेती र मल उत्पादनको विकल्प ल्याइयो र डढेलो पूर्ण रूप्मा नियन्त्रण भएपछि निद्रा लागेको उनको भनाइ छ ।

    अर्धसहरी जीवनशैली भएका र राजमार्ग छेउमा घर भएका विमलाको समुदाय नै यतिबेला सामुदायिक वनभित्र भेटिन्छ । दुईतीनवटा गाईवस्तु पाल्दा अरु काम गर्न नपाइने र त्यसैमा गुजारा नहुने कारण खेती गर्न नै मलले समस्या पारेकामा अहिले भने वनबाट मल र दैनिक ज्यालादारीका रूप्मा आम्दानी दुवै पाइरहेको विमला बताउँछिन् ।

    उनी भन्छिन्, “पहिला मलका लागि अनिवार्य रूप्मा पशु पाल्नुपर्ने बाध्यता थियो, गोठ बनाउने, घाँसदाउरा जोहो गर्ने र पशु स्याहारमै धेरै समय खर्च हुन्थ्यो”, “अहिले सामुदायिक वनबाटै कम्पोष्ट मल पाइने भएपछि धेरै सहज भएको छ ।” वनमा झरेका पात–पत्कर, झाडी सफाइबाट निस्किएको जैविक पदार्थ कम्पोष्टमा परिणत भएपछि खेतका लागि पर्याप्त मल उपलब्ध हुन्छ । यसले माटोको उर्वराशक्ति बढाएको छ, बाली उत्पादन राम्रो भएको छ र रासायनिक मल किन्ने खर्च पनि घटेको छ ।

    झाडी सफाइ केवल स्वच्छताका लागि मात्र होइन, आम्दानीको स्रोत पनि बनेको छ । वन उपभोक्ता समूहले सफाइबाट सङ्कलित सामग्रीलाई व्यवस्थित रूप्मा मल उत्पादनमा प्रयोग गर्छ । सो मल बिक्री हुँदा समूहलाई आम्दानी हुन्छ, जसको प्रत्यक्ष फाइदा उपभोक्ताले पाउँछन् । विमलाका अनुसार यस आम्दानीले छोराछोरीको पढाइ, घर खर्च र दैनिक आवश्यकतामा सहयोग पुगेको छ । छोराछोरी पाल्न अब पहिलेजस्तो गाह्रो छैन, उनी भन्छिन् ।


    झाडी सफाइ र पत्कर सङ्कलनले वनभित्र सुक्खा पदार्थ थुप्रिन दिँदैन । यसको व्यवस्थापनले आगलागीको जोखिम घटाएको छ । पहिले हिउँद सुरु हुनासाथ डढेलोको डरले राति निद्रा लाग्दैनथ्यो । अहिले भने वन सफा, चिस्यानयुक्त र निगरानीमा भएकाले समुदाय ढुक्क छ । विमलामात्र होइन, यस क्षेत्रका सबै सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताको दैनिकी र उपलब्धि उस्तै छ ।

    डिपाट सामुदायिक वनसँगै सीमा जोडिएको सुनाचुरी सामुदायिक वन उपभोक्ता सरिता ब्लोन बिहानै कागतीका बिरुवा स्याहार गर्न वन पुग्छिन् । उनी भन्छिन्, “पहिले वन संरक्षण भनेको पहरा दिनुमात्र होजस्तो लाग्थ्यो, अहिले वनमै खेती गर्न पाउँदा आम्दानी पनि भयो । वन हाम्रो आफ्नै खेतबारीजस्तो लाग्न थालेको छ ।”

    सुनाचुरी सामुदायिक वनकी उपभोक्ता सरिता ब्लोन आज आत्मविश्वासका साथ वनमा काम गरिरहनुभएको देखिन्छ । तर उहाँका लागि १० वर्षअघिको हिउँद अझै पनि डरलाग्दो स्मृतिका रूप्मा रहेको छ । वनको छेउमै घर भएकी उनी भन्छिन्, “राति निद्रा लाग्दैनथ्यो, डढेलोले घर भेट्ला कि भन्ने डर हुन्थ्यो ।” छिमेकीको गोठमा आगलागी भएको घटनापछि धेरै रात अनिँदो बसेको सम्झना अझै ताजा छ । तर अहिले अवस्था फेरिएको छ । वनमा झरेका पात–पत्कर सङ्कलन गरी कम्पोष्ट मल उत्पादन सुरु भएपछि आगलागीको जोखिम न्यून भएको छ । “अब ढुक्क छु”, उनी भन्छिन्, “अहिले वनको निजी सम्पत्तिजत्तिकै माया लाग्छ, माया लागेपछि आगो लाग्न नदिने प्रयास आफैँ हुन्छ ।”

    डिपाट सामुदायिक वनका अध्यक्ष डम्बरबहादुर मोक्तान उज्यालो हुनेबित्तिकै वनमा जान्छन् । उनको नेतृत्वमा उक्त सामुदायिक वनमा कम्पोष्ट मल र तेजपत्ताखेती भइरहेको छ । दिनमा खेती र रातमा पहरेदारीको काम गर्नु आफूहरुको दैनिकी भएको उनी बताउँछन् । ग्रिन फाउन्डेसन नेपालको प्राविधिक सहयोग र वन समूहको आन्तरिक कोषको करिब रु ३५ लाख लगानीबाट उक्त मल उत्पादनको काम सुरु गरिएको अध्यक्ष मोक्तानको भनाइ छ ।

    उनी भन्छन्, “पत्कर जलाउने परम्परा हटेपछि वन सफा भएको छ, आगो सल्किने सम्भावना घटेको छ र किसानका लागि जैविक मलको स्थायी स्रोत बनेको छ ।” उनका अनुसार करिब १० वर्षदेखि आगलागी नभए पनि पछिल्ला सात वर्षयता पूर्ण रूप्मा आगलागी शून्य रहेको छ ।

    डिपाट सामुदायिक वन आज दिगो वन व्यवस्थापन र स्थानीय समृद्धिको उदाहरण बनेको अध्यक्ष मोक्तानको दाबी छ । उनका अनुसार कुनै समय वनभित्र थुप्रिने पात–पत्कर डढेलोको मुख्य कारण थिए । हरेक सुक्खा मौसमसँगै आगलागीको त्रास थियो । तर उपभोक्ता समूहले ती पत्कर सङ्कलन गरी कम्पोष्ट मल बनाउने निर्णय गरेपछि वन व्यवस्थापनको सोच नै फेरियो । कम्पोष्ट मल उत्पादन र बिक्रीबाट आएको आम्दानी वन संरक्षण, सरसफाइ, आगलागी नियन्त्रण पूर्वतयारी र उपभोक्ता सचेतनामा पुनः लगानी भइरहेको छ । यसले समुदायमा वनप्रतिको अपनत्व र जिम्मेवारी भावना बलियो बनाएको उनको भनाइ छ ।

    वन जोगाउन सक्रिय उपभोक्ता

    मनहरी गाउँपालिका–७ मा अवस्थित डिपाट सामुदायिक वनसँग सिमाना जोडिएको पशुपति सामुदायिक वन क्षेत्रमा पछिल्ला वर्षहरुमा एक उदाहरणीय अभ्यास सुरु भएको छ । विद्युत् प्रसारण लाइन विस्तारका क्रममा ठूला रुख हटाइएपछि हाइटेन्सन लाइनमुनि खाली जमिन बाँकी थियो । पुनः रुख रोप्न नमिल्ने ती स्थान लामो समयसम्म प्रयोगविहीन रहे, जसका कारण झाडी बढ्ने र हिउँदयाममा आगलागीको जोखिम उच्च बन्दै गएको थियो ।

    तर अहिले ती बेवास्तामा परेका क्षेत्र महिलाका लागि आम्दानी र वन संरक्षण दुवैको आधार बनेका छन् । पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्सन लाइनमुनि जडीबुटी, अदुवा र बेसारखेती सुरु गरेपछि वन व्यवस्थापनको स्वरूप् नै फेरिएको छ । खाली जमिन उत्पादनशील बन्दा झाडी बढ्न पाएन, सुक्खा पदार्थ थुप्रिन छाड्यो र आगलागीको सम्भावना उल्लेखनीय रूमा घट्यो ।

    लालीगुराँस जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया परियारका अनुसार खेती सुरु भएपछि वनमा बेवास्ता हुने ठाउँ नै बाँकी रहेन । “पहिले यहाँ झाडीमात्र हुन्थ्यो, हिउँद लागेपछि आगो लाग्ला कि भन्ने डर हुन्थ्यो”, उनी भन्छन्, “अहिले खेत बनेपछि सफाइ पनि हुन्छ, निगरानी पनि बढेको छ भने आगलागीको जोखिम घटेको छ ।”

    दलित समुदायकी चम्पामायाका लागि यो अभ्यास आर्थिक आम्दानीभन्दा पनि सामाजिक परिवर्तनको कथा बनेको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध भएपछि उनले लेखपढ गर्न सिकेकी छन्, बैठकमा आफ्ना कुरा राख्न थालेकी छिन् र समूहको नेतृत्वसमेत गरेकी छन्, “पहिले दलित भनेर हेयको नजरले हेरिन्थ्यो, अहिले काम र क्षमताका आधारमा चिनिन थालेकी छु”, उनको अनुभव छ ।

    समूहले खेतीसँगै वन संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ । नियमित झाडी सफाइ, सुक्खा घाँस र पत्कर हटाउने, आगलागी हुनसक्ने स्थानमा सतर्कता अपनाउने र समुदायस्तरमा निगरानी गर्ने काम भइरहेको छ । यसले वन क्षेत्रमा डढेलो हुन नदिनेमात्र होइन, माटो मलिलो बनाउन पनि सहयोग पुगेको समूहको दाबी छ । जडीबुटीखेतीबाट बाँकी रहने जैविक पदार्थ कम्पोष्ट मलमा प्रयोग हुँदा माटोको उर्वराशक्ति बढेको छ ।

    वन उपभोक्ता समूहका अनुसार महिलाको सक्रिय सहभागिताले वन संरक्षण थप प्रभावकारी बनेको छ । आम्दानीसँग जोडिएपछि वन जोगाउने जिम्मेवारी पनि साझा बनेको छ । पछिल्ला वर्षमा पशुपति सामुदायिक वन क्षेत्रमा कुनै ठूला आगलागीका घटना नभएको समूहले जनाएको छ । पशुपति सामुदायिक वनको यो अभ्यासले देखाएको छ– सिर्जनात्मक सोच, महिलाको नेतृत्व र सामुदायिक सहभागिता भए वन संरक्षण र जीविकोपार्जनसँगसँगै अघि बढ्न सक्छ । बेवास्तामा परेका जमिन उत्पादनशील बनेका छन्, आगलागीको जोखिम घटेको छ र समुदायमा सामाजिक रूपन्तरणको नयाँ बाटो खुलेको छ ।

    वातावरणीय फाइदा : कार्बनदेखि जैविक विविधतासम्म

    डिभिजन वन कार्यालय मनहरीका वन अधिकृत सुरेशप्रसाद गुप्ताका अनुसार सुक्खा पत्कर, हुरीबतास र मानवीय लापरवाहीका कारण हरेक वर्ष हजारौँ हेक्टर वन क्षेत्रमा आगलागी हुने गरे पनि मनहरी गाउँपालिकाका सुनाचुरी, डिपाट, पशुपति र मनकामना सामुदायिक वनमा विगत १० वर्षदेखि आगलागी नभएको र पछिल्ला सात वर्षयता पूर्ण रूप्मा शून्यमा झरेको छ । “आगोको जोखिम उच्च मानिने क्षेत्रमा आगलागी शून्य हुनु संयोग होइन”, उनी भन्छन्, “यो सचेत योजना, सामुदायिक सहभागिता र वनलाई आम्दानीसँग जोड्ने दूरदृष्टिको परिणाम हो ।”

    डढेलो नलाग्दा कार्बनडाइअक्साइड, मिथेन र सुक्ष्म कणजस्ता हरितगृह ग्यासको उत्सर्जन घटेको छ, जसले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सहयोग पुर्याएको छ । जैविक मल प्रयोग बढेकाले माटोको गुणस्तर, चिस्यानधारण क्षमता र कार्बन सञ्चिति बढेको छ । मनहरी क्षेत्रमा निर्माण गरिएका रिचार्ज पोखरीले भूजल पुनःभरण, मुहान संरक्षण, वन्यजन्तुका लागि पानीको उपलब्धता र जल सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

    विजयसाल, सतिसाल, दार, चिउरी र नीमजस्ता स्थानीय प्रजातिको रोपाइँ तथा लोपोन्मुख सालक (प्याङ्गोलिन) संरक्षणका प्रयासले जैविक विविधता संरक्षणलाई थप मजबुत बनाएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईका अनुसार वनलाई आम्दानीसँग जोडेर आगलागीजस्तो प्रमुख विनाशकारी कारक शून्यमा झारिनु सामुदायिक वनभित्रको सुशासन र दिगो विकासको स्पष्ट उदाहरण हो ।

  • अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

    अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

    रासस
    मुस्ताङ, १५ माघः भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको डोजर परिचालन गरी भर्खरै सडक खुलाउने पहल भएको छ ।

    वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङको उपस्थितिमा अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ सफा गर्ने काम सुरु गरिएको छ । यसका लागि आयोजनाको डोजर कागबेनी–मुक्तिनाथ सडकको बाक्लो हिउँ पन्छाउन त्यसतर्फ पुगिसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।


    कागबेनी–मुक्तिनाथ सडकखण्ड गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयको क्षेत्रअधिकार भित्र रहे पनि कोरला सडक आयोजनाले मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीको समस्यालाई मध्यनजर गरी आयोजनाले सडकको हिउँ पन्छाउन डोजर पठाइसकेको आयोजना प्रमुख शर्माको भनाइ छ ।

    मङ्गलबारको भारी हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छाउन डोजर परिचालन गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । स्थानीय प्रशासन र गाउँपालिकाको समन्वयमा सडकको डोजरले कागबेनीको पहिलो मोडदेखि सडकको हिउँ पन्छाउन सुरु गरिसकेको वडाध्यक्ष गुरुङको भनाइ छ । कागबेनीदेखि मुक्तिनाथ रानीपौवा बसपार्कसम्म सडकमा बाक्लो हिउँ जमेकाले साँझसम्ममा सडकको हिउँ पन्छाएर यातायात सहज पारिने वडाध्यक्ष गुरुङले बताए । अवरुद्ध मुक्तिनाथ सडकको हिउँ पन्छाउने कार्य भर्खरै सुरु भएको उनको भनाइ छ ।

    यसअघि भारी हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ सफा गर्न यहाँस्थित सशस्त्र प्रहरी बल नेपालको टोली बुधबार बिहान खटिएको भए पनि हिमपात नरोकिएका कारण हिउँ पन्छाउन कार्यलाई स्थगित गरेको थियो । आज जिल्लास्थित सुरक्षाकर्मीहरुको जनशक्तिले अवरुद्ध सडकको हिउँ पन्छाउन निकै समय लाग्ने भएकाले सडक विभागको डोजर परिचालन गरिएको वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।


    भारी हिमपातका कारण मुक्तिनाथ सडक अवरुद्ध हुँदा सयौँ दर्शनार्थी भक्तजन बुधबार बिहानदेखि कागबेनीमा अलपत्र परेका थिए । हिउँ पन्छाएर सडक खुल्ने आशामा बसेका मुक्तिनाथ जाने दर्शनार्थी बुधबारदेखि कागबेनीमै रोकिएका छन् । कतिपय दर्शनार्थी घोडा चढेर मुक्तिनाथ पुगेका छन् । हिमपातका कारण कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध मुक्तिनाथ मन्दिरसमेत सुनसान बनेको छ । दर्शनार्थी उपस्थित हुन नसकेपछि मुक्तिनाथ मन्दिरको दैनिक क्रियाकलाप नियमित पूजापाठमै सीमित हुन पुगेको छ ।

  • राष्ट्रपति पौडेल जापान भ्रमणमा जाँदै

    राष्ट्रपति पौडेल जापान भ्रमणमा जाँदै

    काठमाडौँ, १५ माघः सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल(जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही माघ १८ देखि २१ गतेसम्म जापानमा हुने कार्यक्रममा सहभागी हुनेछ । बैठकले आगामी फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनवापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले जानकारी दिए । मन्त्रिपरिषद्ले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको पुनःसंरचनासम्बन्धी सुझाव समिति २०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

  • जेन जी आन्दोलनमा हिरासतबाट भागेर ग्याङ निर्माण, राजधानीमा मध्यरातमा लुटपाट आतंक

    जेन जी आन्दोलनमा हिरासतबाट भागेर ग्याङ निर्माण, राजधानीमा मध्यरातमा लुटपाट आतंक

    काठमाडौँ, १५ माघः पछिल्लो तीन महिनायता काठमाडौँका विभिन्न प्रहरी युनिटमा दैनिकजसो लुटपाटका घटनाको उजुरी दर्ता हुनेक्रम बढ्न थालेको थियो । दैनिक दर्जनौँ लुटपाटका उजुरी आउन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी अधिकारीलाई चिन्तित बनायो । उक्त चुनौतीपूर्ण घटनालाई नियन्त्रणमा लिएर समाजमा अमञ्चयन कायम गराउन काठमाडौँ प्रहरीले ‘अपरेसन स्न्याचिङ’ सञ्चालन गर्ने निर्णय ग¥र्यो ।

    त्यसक्रममा प्रहरीले विभिन्न शङ्कास्पद क्षेत्रमा ‘चेक प्वाइन्ट’ राखेर निगरानी बढायो । काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाट आतङ्क मच्चाइरहेको सो समूहलाई प्रहरीले गएराति काठमाडौँको मूलपानीबाट गोली प्रहार गरी नियन्त्रणमा लियो । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न समूहका नाइके विनय तामाङसहित १० जनालाई बरामद गरिएको सामग्रीसहित सार्वजनिक गरेको छ ।

    प्रहरीले काभ्रेपलाञ्चोकका २३ वर्षीय विनय, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी र २९ वर्षीय पेमा तामाङ, सिन्धुलीका २४ वर्षीय आयन माझी र ३२ वर्षीय सविन माझी, मोरङका २३ वर्षीय मनिस रसाइली, रामेछापका २२ वर्षीय विशाल तामाङ, खोटाङका २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकका २९ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट बा १२ च ७७०१ नंको कार र बागमती प्रदेश ०१०० ज ८७६६ नम्बरको ट्याक्सी तथा ६ थान मोटरसाइकल बरामद गरेको छ ।

    उनीहरुलाई पक्राउ गर्न प्रहरीले बुधबार साँझ ६ देखि आज बिहान ३ बजेसम्म ‘अप्रेशन’ चलाएको थियो । सिसीटिभी फुटेजका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो । जाँचका क्रममा प्रहरीमाथिनै जाइलाग्न खोजेपछि गोली प्रहार गरेर सो समूहलाई नियन्त्रणमा लिइएको प्रहरीले स्पष्ट पारेको छ । जेनजी आन्दोलनपछि सो समूह सक्रिय भएको अनुसन्धानले देखाएको छ ।

    तामाङको समूहले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा मध्यरातका समयमा महिला तथा पुरुषबाट सुनका गरगहना र पैसा लुटपाट गर्ने अनुसन्धानबाट खुलेको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनीहरुले मध्यराति १२ देखि बिहान ४ बजेसम्म विभिन्न काममा हिँडिरहेको सर्वसाधारणलाई कुटपिट र लुटपाट गर्ने गरेका थिए ।

    लुटपाटका लागि उनीहरु तीन\तीन जनाको समूह बनाएर मोटरसाइकमा हिँड्ने गर्थे । विनय समूहका विभिन्न सदस्यले दिउँसोमा ट्याक्सी चलाउने, ‘रेकी’ गर्ने, राति ९ बजेतिर एकै ठाउँमा भेला भएर खाना खाने र राति १२ देखि बिहान ४ बजेसम्म लुटपाट मच्चाउने गरेका थिए । लुटपाट सकिएपछि उनीहरु पुनःट्याक्सी र निजी कारमा चढेर नियमित दैनिकीमा फर्कने गरेका थिए ।

    सो समूहका नाइके विनय जेनजी आन्दोलनका क्रममा महाराजगन्ज वृत्तको हिरासतबाट भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हिरासतबाट भागेपछि उनले आफ्नो नेतृत्वमा सो समूहलाई सक्रिय पारेका थिए । उक्त समूह स्वयम्भूमा सात, बूढानीलकण्ठ, बौद्ध, गौशालामा तीन\तीन र भक्तपुरको ठिमीमा १३ लुटपाटको घटना घटाएको प्रहरीले जनाएको छ । गएराति सो समूह मुलपानी क्षेत्रमा लुटपाटका लागि निस्केको थियो । मूलपानी क्रिकेट मैदान नजिकै प्रहरीको ‘चेकप्वाइन्ट’ नरोकी प्रहरीमाथि नै जाइलाग्ने गर्नेगरी अघि बढेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।

    प्रहरीको गोली लागेको लुटेरा समूहका सदस्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । लुटेरा समूहका कमाण्डर रहेका आयन लुटपाटका क्रममा मोटरसाइकल चलाउने गरेको अनुसन्धानबाट खुलेको छ । विनय यसअघि २०७९ चोरी र २०८२ मा डाँका चोरीमा संलग्न रहेको थिए ।

    आयनविरुद्ध भने २०७९ पुस २६ गते प्रहरी परिसर भक्तपुरमा डाँका चोरी मुद्दा चलेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रहरी वरिष्ठ उपरीक्षक थापाका अनुसार लुटपाटमा संलग्न अधिकांशको पृष्ठभूमि अपराधिक रहेको बताए । पेमा र सलोन भने दाजुभाइ रहेको उनले जानकारी दिए । प्रहरीबाट जोगिन सो समूहले मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर पहिचान नखुल्ने गरी प्रयोग गर्ने गरेको थियो ।

  • दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगो नियन्त्रणमा

    दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगो नियन्त्रणमा

    काठमाडौँ, १५ माघः काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिएका िथए । आगलागीको कारण भने खुलेको छैन ।

  • सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३ सय

    सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३ सय

    काठमाडौँ, १५ माघः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो ।

    यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • भेनेजुएलालाई अमेरिकी चेतावनी, सैन्य विकल्प खुला

    भेनेजुएलालाई अमेरिकी चेतावनी, सैन्य विकल्प खुला

    वासिङ्टन, १५ माघ (रासस–एपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाको अन्तरिम नेतृत्व अमेरिकी अपेक्षा र लक्ष्यबाट भट्किएमा ट्रम्प प्रशासन भविष्यमा सैन्य कारबाही गर्न पनि तयार रहेको चेतावनी दिएका छन् । बुधबार सिनेटको विदेश सम्बन्ध समिति समक्ष प्रस्तुत गर्न तयार पारिएको सुनुवाइमा उनले अमेरिका भेनेजुएलासँग युद्धमा नरहेको स्पष्ट पार्दै आवश्यक परे थप बल प्रयोग अस्वीकार नगरिने सङ्केत गरे ।


    उनका अनुसार यस महिनाको सुरुआतमा पूर्वराष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न गरिएको छापापछि पनि अमेरिका सतर्क अवस्थामा छ । “अन्य सबै उपाय असफल भएमा अधिकतम सहयोग सुनिश्चित गर्न हामी बल प्रयोग गर्न तयार छौँ”, विदेश मन्त्रालयले सार्वजनिक गरेको उहाँको वक्तव्यमा उल्लेख छ । तर यस्तो अवस्था नआओस् भन्ने नै अमेरिकाको चाहना रहेको उनले जोड दिए ।


    फ्लोरिडाका पूर्व सिनेटरसमेत रहेका रुबियो राष्ट्रपति डोनाल्ड ट्रम्पका केही विवादास्पद विदेश नीतिहरू कंग्रेसका सहकर्मीहरूसमक्ष स्पष्ट पार्ने भूमिकामा छन् । पश्चिमी गोलार्ध, युरोप र मध्यपूर्वमा केन्द्रित अमेरिकी नीतिका विषयमा आफ्नै पार्टीभित्र उठेका चिन्तालाई सम्बोधन गर्नु पनि उनको चुनौती बनेको छ ।भेनेजुएलामाथि केन्द्रित सुनुवाइमा रुबियोले लागुऔषध तस्करीको आरोपमा मदुरोलाई हटाउने निर्णयको बचाउ गरेका छन् ।

    उनले समुद्री मार्गबाट लागुऔषध तस्करीमा संलग्न डुङ्गामाथि गरिएका सैन्य कारबाही र प्रतिबन्धित तेल ट्याङ्कर कब्जा गर्ने कदमलाई कानूनी दायराभित्रको कारबाही भएको बताए । “भेनेजुएलाविरुद्ध कुनै युद्ध छैन र त्यहाँ अमेरिकी सैनिकहरू भूमिमा तैनाथ छैनन्”, उनको भनाइ छ ।

    यद्यपि कंग्रेसका डेमोक्रेट सदस्यहरूले यी कदमलाई कार्यकारी अधिकारको अतिक्रमण भन्दै आलोचना गरेका छन् । युद्ध शक्ति ऐनअन्तर्गत अमेरिकी सेना फिर्ता बोलाउने प्रस्ताव सदनमा अल्पमतले अस्वीकृत भएको थियो । प्रशासनका अनुसार ठूलो सैन्य तयारी देखिए पनि भेनेजुएलाको भूमिमा अमेरिकी सेना छैन । यसबीच, ट्रम्प प्रशासनले भेनेजुएलासँग सम्बन्ध सामान्य बनाउने प्रयास पनि अघि बढाएको छ ।

    अमेरिकी अधिकारीहरूले कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग संवाद बढाइरहेका छन् । रुबियोले रोड्रिगेज ट्रम्प प्रशासनका मागहरूबारे जानकार रहेको र ती माग पूरा गर्नु नै उनको हितमा हुने विश्वास व्यक्त गरेका छन् । ती मागहरूमा भेनेजुएलाको ऊर्जा क्षेत्र अमेरिकी कम्पनीका लागि खोल्ने, तेल राजस्व अमेरिकी सामान खरिदमा प्रयोग गर्ने र क्युबालाई दिइँदै आएको सहुलियतपूर्ण तेल आपूर्ति बन्द गर्ने विषय समावेश छन् ।

    रोड्रिगेजले मङ्गलबार दुवै पक्षबीच सम्मानजनक संवाद च्यानल स्थापना भएको बताएकी छिन् । पछिल्ला हप्तामा भेनेजुएलाले सयौँ राजनीतिक बन्दीहरू रिहा गरेको जनाइएको छ, जसको अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा प्रशंसा गरेका छन् । कूटनीतिक सम्बन्ध पुनःस्थापनातर्फ एक महत्त्वपूर्ण कदमस्वरूप विदेश मन्त्रालयले कारकासस्थित अमेरिकी दूतावास पुनः खोल्न तयारी थालेको जानकारी कंग्रेसलाई दिएको छ ।

    सन् २०१९ देखि बन्द रहेको दूतावास पुनः सञ्चालन गर्ने यो पहिलो औपचारिक सङ्केत हो । यद्यपि सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन अझै कानूनी र राजनीतिक प्रक्रियाहरू बाँकी रहेको अमेरिकी पक्षले जनाएको छ । यसै क्रममा रुबियोले भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई विदेश मन्त्रालयमा भेट्ने तयारी गरेका छन् । मदुरोलाई हटाइएपछि वासिङ्टन आएकी मचाडोले हालै ट्रम्पसँग भेट गरी आफ्नो नोबेल शान्ति पुरस्कार पदक उपहार दिएकी थिइन् । जसलाई अमेरिकी राजनीतिक वृत्तमा अर्थपूर्ण सङ्केतका रूपमा हेरिएको छ ।

  • दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

    दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

    सियोल, १५ माघ (रासस–एएफपी) । दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उहाँलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लङ्घनका आरोपबाट भने मुक्त गरेको छ ।

    त्रिपन्न वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आएकी हुन् । भ्रष्टाचार, प्रभावको दुरुपयोग र शैक्षिक अभिलेखमा अनियमितताका आरोपले पति पूर्वराष्ट्रपति युन सुक योलको कार्यकालभरि दक्षिण कोरियाको राजनीति प्रभावित भएको थियो । किम र युन दुवै डिसेम्बर २०२४ मा मार्सल ल घोषणा र त्यसपछि उत्पन्न राजनीतिक अराजकतासँग सम्बन्धित घटनाका कारण हिरासतमा छन् ।


    अदालतका अनुसार किमले व्यवसायी तथा राजनीतिज्ञहरूबाट दुई लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार र नगद लिएकी थिइन् । तीमध्ये एक धार्मिक समूहका नेताबाट प्राप्त दुईवटा ब्रान्डेड ह्यान्डब्याग र गहनासमेत रहेका थिए । यद्यपि अभियोजन पक्षले लगाएको स्टक हेरफेर र चुनावी कोष दुरुपयोगको आरोप प्रमाणित हुन सकेन ।

    कालो पोशाक, मास्क र चश्मा लगाएर सजाय सुनुवाइका क्रममा किम अदालतमा उपस्थित भएका थिए । अभियोजकहरूले उनी आफूलाई कानूनभन्दा माथि ठान्ने र राज्य तथा धर्मबीचको संवैधानिक विभाजन कमजोर पार्ने कार्यमा संलग्न भएको दाबी गरेका थिए । उनका कार्यले देशका संस्थाहरूलाई गम्भीर रूपमा कमजोर पारेको अभियोजनको तर्क थियो ।

    किमले भने अन्तिम बयानमा आरोपहरू अन्यायपूर्ण भएको बताउँदै अस्वीकार गरेकी थिइन् । तर आफ्नो भूमिकाका कारण समस्या उत्पन्न भएको स्वीकार गर्दै माफी मागेकी थिइन् । “मलाई सुम्पिएको जिम्मेवारीबारे सोच्दा धेरै गल्ती गरेको स्पष्ट हुन्छ”, उनले भनिन् । किममाथिका घोटालाहरूले पूर्वराष्ट्रपति युनको राजनीतिक एजेन्डालाई बारम्बार छायाँमा पारेका थिए ।

    सन् २०२३ मा सार्वजनिक भएको एक भिडियोमा उहाँले महँगो लक्जरी ह्यान्डब्याग स्वीकार गरेको देखिएपछि ‘डायर ब्याग काण्ड’ ले देशव्यापी आलोचना जन्माएको थियो । यसले सन् २०२४ को संसदीय चुनावमा युनको दलको हारमा पनि भूमिका खेलेको विश्लेषकहरू बताउँछन् । यस प्रकरणसँगै धार्मिक समूह युनिफिकेशन चर्चका नेता र केही शीर्ष नेताहरूमाथि पनि अनुसन्धान र सजायको प्रक्रिया अघि बढेको छ । अदालतका निर्णयहरूले पछिल्ला वर्षहरूमा दक्षिण कोरियाको राजनीतिक सङ्कटलाई अझ गहिरो बनाएको देखिएको छ ।