Category: फिचर

  • कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा

    कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा

    पाटन (ललितपुर), २३ माघः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज यहाँ आयोजित निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई वर्षअगावै निर्वाचन हुन गइरहेकाले देशको हितमा समन्वय र सहकार्य गर्ने काम नेपाली कांग्रेसले गर्न सक्ने बताए ।


    “समाजलाई गाँस्न सक्ने समावेशी राजनीति बिपी कोइरालाले गर्नुभएको थियोे, गिरिजाप्रसाद कोइरालाले द्वन्द्वको निवारण गर्दै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियो,” उनले भने, “कांग्रेस जिम्मेवार राजनीतिक दल भएकाले विगतमा भएको कमजोरी सुधार गर्दै गालीको राजनीति बन्द गरी बदलिएको परिवेशअनुसार समृद्धि र समुन्नतिको लक्ष्यमा अगाडि बढ्ने छ ।”

    उनले जेनजी आन्दोलनको अपेक्षालाई सम्बोधन गर्दै मानिस–मानिसबीचको विश्वास कायम गर्न र देशको परिस्थितिलाई मूल्याङ्कन गर्दै नेपाली समाजलाई गाँस्न सक्ने नेतृत्व नेपाली कांग्रेससँग भएको उल्लेख गरे । नेपाली कांग्रेसका अग्रज नेता एवं केन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले आफूले ७० वर्ष योगदान गरेको नेपाली कांग्रेसले समयको मागअनुसार आवाजलाई सम्बोधन गर्ने बताउँदै आठ लाखभन्दा बढीको सङ्ख्यामा रहेका क्रियाशील सदस्यहरुले नेपाली कांग्रेसको नीतिअनुसार देशलाई अगाडि बढाउन आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी सक्रिय हुनुपर्नेमा जोड दिए ।

    कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ का उम्मेदवार उदयशम्शेर राणाले जेनजी आन्दोलनले नेपालीहरूको सोचाइमा परिवर्तन ल्याएकाले त्यही सोचअनुसार नेपाली कांग्रेस पनि बदलिएको बताए । अब देशको आर्थिक, सामाजिक रुपान्तरण, आमनागरिकको जनजीविकामा सुधार ल्याउँदै आर्थिक समृद्धि हासिल गर्न, सुशासन कायम गर्न पार्टीले बहुमत हासिल गर्नुपर्नेमा जोड दिए ।

    प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट क्षेत्र नं २ का उम्मेदवार प्रेमकृष्ण महर्जनले नेपाली कांग्रेसको नेतृत्व र कार्यशैली बदलिएको बताउँदै देशको परिवर्तनका लागि जिम्मेवारीबोध गर्दै एकताबद्ध भएर २०४८, २०५६ र २०७० सालमा जस्तै बहुमत हासिल गर्न क्रियाशील भएर लाग्नुपर्ने धारणा राखे ।

  • उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

    उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

    जलेश्वर (महोत्तरी), २३ माघ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण रहेको बताएका छन् । उज्यालो नेपाल पार्टीले आज महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित महेन्द्र चोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेश प्रदेशलाई उज्यालोमय बनाउन आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

    अध्यक्ष घिसिङले देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको र आफ्नो पार्टीको मुख्य एजेन्डा नै मधेस तथा समग्र देशबाट भ्रष्टाचार अन्त्य गर्नु रहेको उल्लेख गरे उनले मधेसमा सामाजिक, वर्गीय जस्ता अनेकौ विभेद कायम रहेकाले प्रदेश पछाडि परेको हुँदा ती विभेदलाई अन्त्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

  • धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरु

    धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरु

    खोटाङ, २३ माघ । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको पुल निर्माणले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा जगाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरी गाउँपालिका–२ सुन्तले र छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोशी नदीमा २०० मिटर लामो पुल निर्माणका लागि २०७३ साल असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । नौ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निरास भएका थिए ।

    विसं २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको धाप्लाङघाट मोटरेबल पक्की पुलका लागि स्ल्याब ढलानको काम सुरु गरिएको छ । विसं २०७६ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनेगरी धाप्लाङघाटको माटरेबल पक्की पुलका लागि सम्झौता गरिए पनि निर्माण कम्पनीमा आवद्ध ठेकेदारको लापारवाहीका कारण निर्माणको काम अलपत्र परेको हो ।

    ठेकेदारको लापरवाहीले अलपत्र परेको धाप्लाङघाट पुल निर्माणका लागि खोटाङ प्रदेशसभा ९२०का सदस्य एवं कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास र स्वास्थ्यमन्त्री भूपेन्द्र राईले निरन्तर खबरदारी गरेपछि अहिले पुल निर्माणले तीव्रता लिएको स्थानीयवासीले बताएका छन् । सङ्घीय सरकारको रु २१ करोड ६५ लाख लागतमा स्वच्छन्द–रसुवा–पप्पु जेभीले निर्माणको जिम्मा लिएको पुल अलपत्र परेपछि लिड पार्टी स्वच्छन्द निर्माण कम्पनीलाई कालोसूचीमा राखेर धरौटी तानेपछि ज्वाइन भेन्चरमा संलग्न रसुवा कन्स्ट्रक्सन प्रालिले निर्माणको काम थालेको हो ।

    विभिन्न कठिनाइका बीच पुल निर्माणको कामलाई पुनः सुरु गराउन सफल भएको निवर्तमानमन्त्री राईले बताएका छन् । “धाप्लाङघाट पुलमा पाँचवटा स्ल्याब रहन्छ । एउटा भर्खरै ढलान भएको छ । यस वर्ष कम्तीमा तीनवटा ढलान सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ”, उनले भने, “धाप्लाङघाट पुल सञ्चालनमा आएपछि खोटाङको समृद्धिको यात्रा सुरु हुन्छ । यसतर्फ निर्वाचित जनप्रतिनिधिले ध्यान दिन जरुरी छ ।”

    पछिल्लोपटक थपिएको म्यादअनुसार २०८४ साल जेठ १९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्नुपर्छ । विसं २०८३ चैतभित्रमा धाप्लाङघाटबाट सवारीसाधन वारपार गराउनेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । पुल निर्माणको काम ४३ प्रतिशत सकिएको सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहका अनुसार धाप्लाङघाटमा वेल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको थियो ।

    त्यो सम्भव नभएपछि गत वर्ष डिजाइन परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको छ । स्ल्याब ढलानका लागि पानी सुकाउने काम भइरहेको छ । पानी चाँडै सुकाउन सके यो वर्ष थप दुईवटा स्ल्याब ढलान सकिन्छ । पुल निर्माणका लागि छवटा पिलर निर्माण गर्नुपर्नेमा चारवटा मात्र सकिएको छ । तर निर्माण भएको एउटा पिलर गर्त वर्षको बाढीले बङ्ग्याएकाले पुनर्निर्माण गर्नुपर्ने भएपछि अझै तीनवटा पिलर बनाउन बाँकी छ ।

    धाप्लाङघाटमा खोटाङ र उदयपुर दुवैतर्फ वर्षौँअघि कच्ची सडक निर्माण गरेर यातायात सञ्चालन गर्ने गरिएको छ । तर सुनकोसीमा पक्की पुल नहुँदा ठूला सवारीसाधन वारपार गर्ने अवस्था छैन । मोटरसाइकल भने झोलुङ्गे पुलबाट वारपार गर्ने गरिएको स्थानीयवासीले बताएका छन् । धाप्लाङघाटमा पुल नहुँदा पालिकामा बाहिरबाट ल्याउने सामान ढुवानी महँगो हुनुका साथै स्थानीय उत्पादनलाई निकासी गर्न कठिन भएको बराहपोखरी गाउँपालिकाका प्रमुख सालिकराम बञ्जराले बताए । “धाप्लाङघाट पुल नबन्दा नाकाबन्दीमा बस्न बाध्य भएका छौँ ।

    पछिल्लो समय पुल निर्माणको कामले गति लिएसँगै केही आशा जगाएको छ, निरन्तर खबरदारी आवश्यक छ । सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्छ”, उनले भने । धाप्लाङघाटमा पुल निर्माणपछि खोटाङको बराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयको जीवनशैली फेरिने आशा गरिएको छ । धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न नभएसम्मका लागि सञ्चालन गर्न अस्थायी बेलिब्रिज जडानको कामसमेत थालिएको छ ।

  • खाद्य परिकार यमरी युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियामा

    खाद्य परिकार यमरी युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियामा

    काठमाडौँ, २३ माघ । नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक संस्कृतिक सङ्गठन (युनेस्को)को अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियाबारे छलफल अघि बढेको छ । काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधिबीचको छलफलमा यस्तो प्रक्रिया अघि बढाइएको समितिका संयोजक आशामान सङ्गतले जानकारी दिए ।

    “हरेक शुभकार्यसँग जोडिएको यमरीको महत्त्व र पहिचानलाई राष्ट्रियकरण गर्दै अभौतिक युनेस्कोको अभौतिक सम्पदा विधामा सूचीकृत गराउनु अन्तरराष्ट्रियकरणको प्रक्रिया हो । यसले नेपालकै पहिचान वृद्धि हुन्छ”, छलफलमा समितिका संयोजक आशामान सङ्गतले भने, “यमरी बनाउने परम्परा खाद्य परिकारमात्र होइन । प्रकृति, कृषि पेसा, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षसँग गहिरो सम्बन्ध राख्छ ।”

    यसले सम्पदाको एकीकृत विकासमा टेवा दिन्छ । समितिले अमूर्त सांस्कृतिक सम्पदाको पहिचान, अध्ययन, अभिलेखन, विकास र प्रवर्द्धनलाई पहिलो प्राथमिक कार्यक्रममा राखेर काम गरिरहेको उनको भनाइ थियो । त्यस क्रममा समितिका सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, सूचीकृत हुने प्रक्रियालाई निर्धारित समयभित्रै सक्नुपर्नेमा जोड दिए । “कामपाका पुराना सहरी क्षेत्रका चोकचोकमा, गुठीगुठीमा, हरेक संस्कार र परम्परामा अमूर्त सम्पदा छन् ।”

    उनले यस्ता सम्पदाको गरिमा प्रवर्द्धनमा सबै मिलेर काम गर्नुपर्ने बताए ।
    यमरीको गरिमालाई स्थानीयस्तरमा पनि प्रवर्द्धन गर्न अभिमुखीकरण र प्रशिक्षण सञ्चालन गरिनुपर्ने महर्जनले बताए । छलफल र अन्तक्र्रियालाई नियमितता दिइने, त्यस्ता कार्यक्रममा समुदायका अगुवाहरूको सुझाव र प्रतिक्रियालाई ग्रहण गरिने सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईको भनाइ छ ।

    छलफलमा ज्यापू महागुथि नेपा, नेपाल तण्डुकार समाज, बज्राचार्य संरक्षण क्लब, कारञ्जित समाज, स्यस्यः समाज, रञ्जितकार समाज नेपाल, चित्रकार (पूँ) समाज, केन्द्रीय मानन्धर सङ्घ, कपाली समाज, उदय समाज, नेपाल माली समाज, कसाः तध गुथि, ताम्राकार समाज, राजकर्णिकार समाज, रजक समुदाय विकास सङ्घ, द्योला समाज सङ्घ, नेपाल खड्गी सेवा समिति, नकःमि समाज सेवा पुचः, नेपाल नापित समाजका पदाधिकारी तथा प्रतिनिधिहरूले धारणा राखेका थिए ।

    अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि २००३ मा भएको हो । नेपाल सन् २०१० मा पक्ष राष्ट्र भएको हो । यसअन्तर्गत आफ्नो देशभित्र रहेका अभौतिक सांस्कृतिक सम्पदाहरूको सूची तयार पार्नु, अनुसन्धान गर्नु, सुरक्षा, संरक्षण र प्रवर्द्धन तथा परम्परालाई निरन्तरता दिनु महत्त्वपूर्ण कामहरू हुन् ।

  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    काठमाडौँ, २३ माघ । निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न भएको छ ।

    यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ । साठी जिल्लाको मतपत्र पनि छपाइ सम्पन्न भइसकेको छ तर, प्याकिङको काम भने बाँकी छ ।

    आयोगका अनुसार मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । प्याकिङको काम पनि क्रमशः भइरहेको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ एवं रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ । त्यसैगरी, प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ । यही माघ १६ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको थियो । यस्तै, १० लाख ९८ हजार २०० बराबरको नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

  • भारतको कोइलाखानी विस्फोटमा खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर घाइते

    भारतको कोइलाखानी विस्फोटमा खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर घाइते

    खोटाङ, २३ माघ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

    बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा पूर्णबहादुर दाजु र सुरेन्द्र भाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए । सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।

    मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ । विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराएका हुन् । दुर्घटनाका घाइते चार जनाको अवस्था गम्भीर रहेको ताराबलले जानकारी दिए । “दुर्घटनामा पूर्णबहादुर र सुरेन्द्रको मृत्यु भएपछि उनीहरूको शव पर्खेर बसेको छु । यहाँ कोही चिनेजानेका मानिस छैनन् । चिनेजानेका मानिस कोही नहुँदा समस्यामा छु”, उनले भने, “घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगेको छ । उनीहरूको पनि अवस्था चिन्ताजनक छ । यसप्रति सम्बन्धित निकायको ध्यान जाओस् ।”

    दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएको छिमेकी क्षेष्ठले जानकारी दिनुभयो । मृतक मगर दाजुभाइमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित रहेको स्थानीयले बताएका छन् । रोजगारीको सिलसिलामा मेघालय पुगेका आफन्तको डेढ महिना नपुग्दै दुर्घटनामा परेर मृत्यु भएपछि परिवारका सदस्यहरु चिन्तित बनेका छन् । खोटाङका विभिन्न ठाउँका स्थानीय युवा दिउँदको समयमा काम खोज्दै मेघालय जाने गरेका छन् ।

    भारतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटका घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ । मेघालयस्थित कोइलाखानीमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुहुँदै ज्यान गुमाउनेको परिवारलाई रु दुई लाखका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । घाइतेहरूलाई रु ५० हजारका दरले उपचार खर्च दिने पनि प्रधानमन्त्री मोदीले बताएका छन् ।

  • निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    काठमाडौँ, २३ माघ : प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । काउन्सिलको त्रिपुरासुन्दरी गाउँपालिका धादिङको सल्यानटारमा सम्पन्न १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यस वर्ष र आगामी वर्षसमेत प्राथमिकता दिई कार्यक्रम तय गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिए ।


    पत्रपत्रिका मूल्याङ्कनका लागि विज्ञको रोष्टर अद्यावधिक गर्ने एवं पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्डलाई पुनरावलोकन गरी वर्गीकरण प्रक्रियालाई यथार्थपरक, वस्तुनिष्ठ एवं समयानुकूल बनाउन आवश्यक कार्य गरिने काउन्सिलले जनाएको छ । यस्तै, काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार र परिमार्जन गरिनेछ ।

    पत्रपत्रिकासहित सञ्चारमाध्यमको अभिलेख अद्यावधिक गर्ने र अद्यावधिक गर्ने सन्दर्भमा देखिएका समस्या एवं चुनौतीलाई समाधान गर्न, अभिलेखसम्बन्धी अवधारणापत्रसहित कार्ययोजना तयार गर्ने काउन्सिलले निर्णय गरेको छ ।

    बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्नरगराउन सम्बन्धित सबैमा अपिल गरेको छ ।

    बैठकले त्रिपुरासुन्दरी गाउँपालिकामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरू त्रिपुरासुन्दरी माई भगवती मन्दिर, फटिक खम्बा, नरसिंहधाम तथा नीलकण्ठ नगरपालिकामा अवस्थित भैरवी माई मन्दिरलगायत स्थलको संरक्षण, प्रवर्द्धन तथा व्यवस्थित विकासका लागि प्राथमिकता साथ यसको प्रचारप्रसार गर्न धादिङका सञ्चारमाध्यमहरूसँग आग्रह गर्ने निर्णय गरेको छ ।

  • म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

    म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

    सन्तोष गौतम–रासस
    म्याग्दी, २३ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।


    अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको पदबाट मनोनयन दर्ताका दिन राजीनामा दिएर पुख्यौली थलोमा चुनाव लड्न आएका पुनको सक्रियताले यहाँको राजनीतिमा तरङ्ग ल्याएको छ । राष्ट्रिय राजनीतिमा सृजना भएको फरक परिवेश, नयाँ राजनीतिक शक्तिहरूको उदय, प्रतिस्पर्धी उम्मेदवारको प्रभाव तथा सम्बद्ध राजनीतिक दल तथा उम्मेदवारहरूको रणनीतिले म्याग्दीको चुनावी परिणामप्रति चासो बढेको बेनीका धनञ्जयकुमार श्रेष्ठ बताउँछन् ।


    “विगतका चुनावमा राष्ट्रियस्तरमा ओझेलमा पर्ने म्याग्दीको चुनावलाई यसपालि रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनको उम्मेदवारीले चर्चामा ल्याएको छ”, उनले भने, “राजनीतिक दलहरूको साङ्गठनिक आधार र स्वतन्त्र उम्मेदवारको प्रभावका कारण यसपालि म्याग्दीको चुनावलाई रोचक बनाएको हो ।” नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले द्वन्द्वकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति क्षेत्रबहादुर घिमिरे (ध्रुव)लाई उम्मेदवार बनाएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उम्मेदवार बनेका छन् ।

    सार्वजनिक रूपमा स्वतन्त्र उम्मेदवार पुनलाई सघाउने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाको उम्मेदवारी कायमै छ । एमालेका श्रेष्ठ दोस्रोपटक उम्मेदवार बनेका हुन् भने बाँकी सबै पहिलोपटक प्रतिस्पर्धामा उत्रिनुभएको हो । विसं २०७४ यता यसपालि दलहरूबीच एक्लाएक्लै गठबन्धन नगरी प्रतिस्पर्धा हुन लागेको हो ।

    विसं २०७९ मा प्रतिनिधिसभामा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका राजनीतिक दलहरूको गठबन्धनबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) विजयी हुनुभएको थियो । प्रदेशसभाको १ ९१० र ९२० मा गठबन्धनबाट माओवादीका हरि भण्डारी र रेशम जुग्जाली (सुविन) निर्वाचित भएका थिए । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका भूपेन्द्र थापा तत्कालीन वाम गठबन्धनबाट विजयी हुँदा प्रदेशसभाको १ (१) मा माओवादीका विनोद केसी र (२) मा एमालेका नरदेवी पुन विजयी भएका थिए ।

    विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एमालेका हालका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा विजयी भएका थिए । विसं २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा माओवादीका गोविन्द पौडेल, २०५६ को संसदीय चुनावमा नेपाली कांग्रेसका नारायणसिंह पुन र त्यसअघि एमालेकै निल पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले १८ हजार २७३, नेपाली कांग्रेसले १३ हजार ६९३, नेकपा (माओवादी केन्द्र)ले नौ हजार ७०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन हजार ५७९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक हजार २५३ र नेकपा एकीकृत समाजवादीले २८५ मत पाएका थिए । विसं २०७९ मा माओवादी, एकीकृत समाजवादी, जनमोर्चासहितका दलहरूको सर्मथन पाएका नेपाली कांग्रेसका गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले २० हजार १८९ मत पाउनुभएको थियो ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकवटा निर्वाचन क्षेत्र र छवटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् । ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र रहेका जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले बताए । उम्मेदवारहरू मतदाता, कार्यकर्ता घेटघाट र घरदैलोका लागि गाउँ पसेका छन् । राजनीतिक गतिविधिले ग्रामीण क्षेत्रमा चहलपहल बढाएको छ । धवलागिरि गाउँपालिका–७ धारापानीका कर्णबहादुर थापा सबै दल र उम्मेदवारका कुरा सुनेर निर्णय लिने बताउँछन् ।


    “भोट माग्न आउने सबै उम्मेदवारलाई स्वागत, सम्मान गर्ने र उनीहरूका योजना सुन्ने हो”, उहाँले भन्नुभयो, “हामी जनताको मन र विश्वास जित्ने उम्मेदवारले मत पाउँछ ।” अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका खगवीर पाइजा मतदाताहरू सबैका विचार र योजना सुनेर निर्णय लिने मनस्थितिमा रहेका बताउँछन् । म्याग्दीका उम्मेदवारहरूले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने, ढिलासुस्ती हटाउने, कानुन, बजेट र योजनामा जिल्लावासीको भावना, माग र आवश्यकतालाई समेट्ने प्रतिबद्धता जनाएका छन् ।

  • झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

    झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

    बिर्तामोड, २३ माघ । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका हुन् । आक्रमणबाट गम्भीर घाइते हुनुभएका उनको अस्पताल पु¥याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

    आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उनले बताए ।

  • आज तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा

    आज तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा

    काठमाडौँ, २३ माघः मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ भने अन्य भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

  • बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो

    बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो

    बैतडी, २३ माघः जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो ।

    बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही स्थानका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, बझाङको जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला, बैतडीको पुर्चौडी–७ निवासी ४० वर्षीया पुष्पा अवस्थीको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको सनाखत हुन बाँकी छ ।

    डडेल्धुरा अस्पतालमा बझाङको बित्थडचिर पालिका –७ का १७ वर्षका विसनदत्त जोशी, सोही स्थानका २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षका किसनदत्त जोशी, केदारस्यु पालिका–७ बस्सीका २७ वर्षका केशवराज भट्ट र बैतडीको पुर्चीडी नगरपालिका ७ का १५ वर्षीय सुशील जोशीको मृत्यु भएको हो । दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ । उक्त बसमा वरवधु सवार थिएनन् ।

  • आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    दार्चुला, २२ माघः कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरू राष्ट्रको सीमालाई सुरक्षित राख्न निरन्तर सक्रिय छन् । भारी हिउँमा बुट गाड्दै अघि बढ्नु सजिलो पनि छैन । प्रत्येक पाइला जोखिमसँग जोडिएको छ । चिप्लो जमिन, हिमपहिरोको सम्भावना र शून्य नजिकैको तापक्रमबीच पनि उहाँहरूको कदम रोकिँदैन् । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरूस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म पूरै हिउँले ढाकिएको छ ।

    चारैतिर सेताम्य पहाड, चिसोले जमेको आँगन र बरफले ढाकिएका छानाबीच सुरक्षाकर्मीको दैनिकी चलिरहेको छ । यस क्षेत्रको तापक्रम माइनस ६ डिग्रीदेखि २३ डिग्री सेल्सियससम्म रहने गरेको छ । हाल गुल्म वरपर करिब डेढ फिट हिउँ जमेको छ । गाउँ पूरै सुनसान छ । बादल लाग्ने वित्तिकै हिउँपर्छ ।

    वरिपरि अग्ला पहाड, टाढा टल्किँदै गरेका हिमालका चुचुरा र चिसो हावाले ठोकिरहेको हुन्छ । यो कुनै साहसिक यात्राको दृश्य होइन, यो हिमाली सीमामा खटिएका सुरक्षाकर्मीको दैनिकी हो । सशस्त्र प्रहरी यसरी चिसोमा ज्यानको प्रवाह नगरी सीमा सुरक्षार्थ खटिएका छन् । चिसो र हिमपातसँगै एक महिनादेखि पानी ल्याउने पाइप पूर्णरूपमा बरफ बनेका छन् ।

    पाइपमा पानी आउनै छोडेपछि टिङ्कर खोलाको पानी प्रयोग गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० का गुल्मपति फनिन्द्र शाहीले बताए । पाइपमा पानी बरफ भएपछि त्यहीँ खोलाको पानी पिइरहेका छौँ । गुल्मबाट खोला नजिकै छ । चिसोमा कि खोलाको पानी ल्याएर उमालेर खानु कि हिउँ पग्लाएर खानुबाहेक अर्को विकल्प पनि छैन । गुल्मभित्र आगो तापेर शरीर न्यानो बनाउनु यहाँको नियमित काम हो । तापक्रम शून्यभन्दा तल झर्दा हातखुट्टा सुन्निने अवस्था आउँछ । त्यसबीच पनि सशस्त्रको सीमा क्षेत्रको गस्ती रोकिएको छैन ।

    प्रहरी नायब उपरीक्षक फनिन्द्र शाही र सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र चैसिरको नेतृत्वमा सुरक्षाकर्मी दिनहुँ जोखिम मोलेर सीमा क्षेत्रमा निगरानी गर्ने गर्छन् । उपरीक्षक शाही भन्छन्, “यो संवेदनशील क्षेत्र हो । हामी त्रिदेशीय सीमाको सुरक्षामा खटिएका छौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरा यही क्षेत्रमा पर्छन् । नेपाल–चीन सीमा स्तम्भ नम्बर १ पनि यही छ ।”

    राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्ने बेला चिसोमा नियमित ड्युटी हुनु सामान्य जस्तै लाग्छ ।छाङ्रूजस्तो दुर्गम हिमाली क्षेत्रमा सडक यातायात र पूर्वाधारको अभाव अझै ठूलो चुनौती बनेको छ । स्थानीय मात्र होइन, यहाँ खटिएका सुरक्षाकर्मी पनि आधारभूत सुविधाबाट बञ्चित छन् । रासन ल्याउनसमेत भारतीय परनिर्भरता अझै छ । नेपालतिर सडक बनेको छैन् । नेपाली सेनाले दार्चुला–टिङ्कर सडकअन्तर्गत ब्याँस–४ तुसरपानीदेखि छाङ्गरु जोड्ने गरी सडक निर्माण गरिरहेको छ । नेपालतर्फबाट अहिले सडक निर्माणको काम दुम्लिङमाथि पुगेको छ ।

    भारतीय क्षेत्रमा सडक भए पनि हिमपातका कारण हाल अवरुद्ध छ । भारतले कालापानी लिपुलेकसम्मै सडक विस्तार गरेको छ । अहिले एक महिनादेखि यो क्षेत्रमा हिमपात र बरफका कारण नियमित यातायात अवरुद्ध भएको हो । भारतीय सुरक्षाकर्मीका लागि भने हेलिकप्टरमार्फत नियमित रूपमा राशन ढुवानी हुने गर्छ । कालापानी क्षेत्रमा दैनिक दुई वटा हेलिकप्टरले सामग्री पु¥याउने गरिएको छ ।

    उनीहरूको ब्यारेकमा हिटर, न्यानो कपडा र मौसमअनुसारको सुविधा उपलब्ध छ, तर नेपालतर्फ सडक छैन । पैदलमार्ग सञ्चालनमा आए पनि अहिले हिमपातका कारण बन्द छ ।हिउँ पर्नुअघि ओसारिएको राशनमै सशस्त्र प्रहरी निर्भर छन् । सामान्य आवतजावत गर्न पनि बाटो नहुँदा त्यसको मारमा सुरक्षाकर्मी परेका छन् । “बुदी दोपाखेसम्म पुग्न नियमित हिउँ पन्छ््याउँदै बाटो खुलाउने प्रयास गरिरहेका छौँ,” डिएसपी शाहीले भने।

    सशस्त्र प्रहरीले छाङ्रूबाट गागा क्षेत्रतर्फ निरन्तर गस्ती गर्दै आएको छ । हिउँ कम भएको बेला कालापानी मुहानसम्म पनि नियमित गस्ती हुने गथ्र्यो तर अहिले बाक्लो हिउँ जमेका कारण माथिल्लो क्षेत्रमा पुग्न सम्भव छैन । नेपाल–भारत दुवैतर्फका सुरक्षाकर्मीको सम्बन्ध सौहार्दरुपमा चलेको छ । केन्द्रमा कालापानी लिपुलेकबारे चर्को नारा लागे पनि सीमामा बस्ने सुरक्षाकर्मी एक आसपमा सीमा अपराधका सूचना आदानप्रदान र नियमित भेटघाट हुनेगर्छ ।

    गत महिना टिङ्करमा रहेको सशस्त्र प्रहरीको बिओपी छाङरूमा झारिएको थियो । टिङ्कर क्षेत्रमा छाङरूभन्दा दोब्बर हिमपात हुने भएकाले सुरक्षाकर्मीलाई तल सारिएको हो । उक्त बिओपीले चीनसँगको सीमा क्षेत्रमा गस्ती गर्दै आएको थियो । एक वर्षअघि मात्रै टिङकरमा बिओपी स्थापना भएको थियो ।

    मङ्सिर लागेसँगै टिङ्कर गाउँ पूर्ण रूपमा सुनसान छ । टिङ्कर चीनसँग सीमा जोडिएको अन्तिम गाउँ हो । यहाँबाट नेपाल–चीन एक नम्बर सीमा स्तम्भ पर्दछ । छाङरुमा भने केही परिवारको बसोबास अझै छ । वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार गाउँको रेखदेखका लागि राइसिंह ऐतवाललाई चौकीदारको जिम्मेवारी दिइएको छ ।

    चोरी–तस्करी जस्ता घटना नहोउन् भनेर वडाले उनलाई छ महिनासम्म मासिक १५ हजार पारिश्रमिक उपलब्ध गराएर राखेको छ । भारतसँग सीमा जोडिएको यो गाउँ कालापानीभन्दा करिब १० किलोमिटर तल पर्छ । यति हिउँले ढाकिएको अवस्थामासमेत सुरक्षाकर्मीको मनोवल कमजोर भएको छैन । बरफले ढाकिएको गुल्मभित्र आगो ताप्दै सीमाको रक्षा गर्नु उहाँहरूका लागि कर्तव्य मात्र होइन, गर्वको विषय बनेको छ ।

    डिएसपी शाही भन्छन्, “यो राष्ट्रले दिएको जिम्मेवारी हो । हामी महिनामा कम्तीमा दुई पटक काउन्टरपार्ट बैठक पनि बस्छौँ ।” २०७७ जेठ ७ गते सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर चुच्चे नक्शा जारी गरेको थियो । त्यसपछि असार २९ गते मन्त्रिपरिषद् बैठकले गुल्म स्थापना गर्ने निर्णय ग¥यो । असोज ९ गते विधिवत् रूपमा छाङरूमा ५० नम्बर गुल्म स्थापना गरिएको हो । भौगोलिक विकटता र कठोर मौसमका कारण यो हिमाली क्षेत्र राज्यका लागि सधैँ चुनौतीपूर्ण र संवेदनशील रहँदै आएको छ ।

    तराईको फाँटदेखि हिमालसम्म सशस्त्रको पहरा

    दार्चुलाको लेकम गाउँपालिका–३ लालीदेखि भारत–चीन सीमा जोडिएको व्यास गाउँपालिका–१ सम्म सशस्त्र प्रहरी बलले पछिल्लो समय गस्ती र सुरक्षा उपस्थिति विस्तार गरेको छ । २०७७ सालसम्म सदरमुकाम खलङ्गामा सीमित रहेको सशस्त्र प्रहरी अहिले लेकमको लालीदेखि ब्यासको टिङ्करसम्म फैलिएको छ । चुच्चे नक्शा प्रकाशनसँगै सीमा क्षेत्रमा युनिट थप गरिएको हो ।

    सरकारले खलङ्गामा ४४ नम्बर गण स्थापना गरी त्यहाँ रहेको ५० नम्बर गुल्मलाई ब्यासको छाङरू–गागा क्षेत्रमा सारिएको थियो । दार्चुलामा नेपाल–भारत जोडिएका १० वटा सीमा नाका छन् । महाकाली नगरपालिका–४ खलङ्गा, वडा नं ९ दत्तु, मालिकार्जुन गाउँपालिका–७ जोलजिवी, वडा नं ६ बाकु, लेकम गाउँपालिका–३ लालीमा नेपाल र भारत जोड्ने सिमा नाका छ ।

    यसैगरी, व्यास गाउँपालिका–१ सितापुल, वडा नं २ माल, वडा नं ४ सुन्सेरा मलघट्टे, वडा नं ५ तिगरम र वडा नं ६ बडुगाउँमा दुई देश जोड्ने सिमानाका छन् । यीमध्ये ब्यास गाउँपालिका–१ सितापुलमा महाकाली नदीमा काठेपुल राखिएको छ भने बाँकी सबै स्थानमा झोलुङ्गे पुल बनाइएको छ ।चीनसँग जोडिएको टिङ्कर भञ्ज्याङ लक्षित गरी ब्यास–१ छियालेकमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको छ ।

    ४४ नम्बर गणका गणपति गुणराज न्यौपानेका अनुसार भारतसँगका १० नाका र चीनसँगको टिङ्कर नाका कभर हुने गरी सुरक्षा युनिट परिचालन गरिएको उनले बताए । सीमा क्षेत्र हाल जोलजिवीमा प्रस्तावित सीमा सुरक्षा गुल्म सञ्चालनमा छ भने दत्तु र लालीमा बिओपी स्थापना भइसकेका छन् । छाङरूस्थित ५० नम्बर गुल्मअन्तर्गत टिङ्कर छियालेक र राप्लाको दुम्लिङ बिओपी सञ्चालनमा छन् । सशस्त्र प्रहरीका अनुसार दार्चुलामा भारतसँग १९८ किलोमिटर र चीनसँग ७५ किलोमिटर लामो सीमारेखा रहेको छ ।

  • बैतडी बस दुर्घटना अपडेटः आठ जनाको मृत्यु, ४५ जना घाइते

    बैतडी बस दुर्घटना अपडेटः आठ जनाको मृत्यु, ४५ जना घाइते


    बैतडी, २२ माघः बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी–७ बडगाउँ मोडमा आज बेलुकी ८ बजेतिर दुर्घटनामा परेको हो ।

    मृत्यु हुनेमा एक महिला र सात पुरूष रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनले भने, “आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमा एक महिला र सात पुरुष छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।” दुर्घटनामा परेर घाइते भएका ४५ जनाको उद्धार गरेर स्थानीय स्वास्थ्य चौकी पठाइएको उनले बताए । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने बताइएको छ ।

  • बैतडीमा जन्ती बोकेको बस दुर्घटना, कम्तिमा १६ जना घाइते

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना, कम्तिमा १६ जना घाइते

    बैतडी, २२ माघः बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस पुच्र्यौँडी नगरपालिका–७ बडगाउँ मोडमा आज दुर्घटनामा परेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए ।

    पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो । घाइतेको उद्धार कार्य जारी रहेको र विस्तृत विवरण प्राप्त हुन नकसेको प्रहरी निरीक्षक बडूले बताए । अहिले विभिन्न स्थानबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।

  • जथाभावि राखिएका बस धमाधम नियन्त्रणमा लिँदै प्रहरी

    जथाभावि राखिएका बस धमाधम नियन्त्रणमा लिँदै प्रहरी

    काठमाडौँ, २२ माघः काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरी सवारी आवागमनमा अवरोध सिर्जना गर्ने नौ रात्रिकालीन बसलाई नियन्त्रणमा लिएको छ । आज उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष जाँच अभियानका क्रममा उक्त नौवटा बसलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    उनले भने, “हामीले नियन्त्रणमा लिइएका बसमध्ये केहीको बाटो इजाजतपत्र (रुट परमिट) को म्याद सकिएको दुई वर्षसम्म भएको देखिएको छ । यसबारे हामी यातायात व्यवस्था विभागसँगको समन्वयमा थप प्रक्रिया अगाडि बढाउने छौँ ।”

    नियन्त्रणमा लिइएका ती नौवटा बसलाई अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा राखिएको छ । ती बसहरूले सडकमा अनावश्यक जाम सिर्जना गर्नुका साथै यात्रु तथा अन्य सवारी साधनलाईसमेत असहज अवस्था उत्पन्न गराएको ट्राफिक प्रहरीले जनाइएको छ ।

    लामो दूरीका रात्रिकालीन सेवा सञ्चालन गर्दै आएका ती बसहरूले बाटो इजाजतपत्र (रुट परमिट) अनुसार तोकिएको गन्तव्यसम्म नगइ बाटोमै जथाभावी पार्किङ गरेको पाइएपछि नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    “रुट परमिट उल्लङ्घन गरी अव्यवस्थित रूपमा पार्किङ गर्दा सवारी आवागमनमा गम्भीर असर परिरहेको थियो,” उनले भने, “नियन्त्रणमा लिइएका बसलाई यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत दफा ७५ र दफा १६० अनुसार कारबाही गरिने छ ।” बुधबार मात्रै ट्राफिक प्रहरीले जथाभावि पार्किङ गरिएका लामो दुरीका १५ रात्रिकालीन बसहरुलाई नियन्त्रणमा लिएको थियो ।

  • प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

    प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

    काठमाडौँ, २२ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ ।

    आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सो को आधारमा प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाअनुसार आगामी फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार हुने कार्य तालिका छ ।

    तर, आजसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणापत्र पेस नगरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेद्वारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ ।

    राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको प्रवक्ता जिसीले बताए ।

  • फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

    फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

    काठमाडौँ, २२ माघः काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी कारबाही गर्ने भएको छ । थापाथलीस्थित काठमाडौँ महानगरपालिका–११ मा भएको बागमती सफाइ अभियानकर्मीहरुको बैठकमा वडाध्यक्ष हीरालाल तण्डुकारले सो जानकारी दिएका हुन् ।

    विगत १३ वर्षदेखि बागमती तथा उपत्यकाका अन्य नदी एवं खोला तथा सार्वजनिक स्थान, चक्रपथ, नेपालका पूर्वदेखि पश्चिम, हिमाल, पहाड, तराईका स्थानमा सरसफाइ अभियान चलिरहेको छ । उक्त अभियानबाट आमनागरिकको सोचाइमा परिवर्तन भएको पाइएको अभियानकर्मी किशोरसिंह शाहीले बताए ।

    फोहर वर्गीकरण गरी मोहरको रूपमा वैज्ञानिक रुपले व्यवस्थापन गर्नुपर्नेमा बैठकमा जोड दिइएको छ । फोहर व्यवस्थापनसम्बन्धी नियम कानुन बने पनि त्यसको कार्यान्वयन गर्ने निकायले बेवास्ता गरेकाले यसतर्फ ध्यान दिनुपर्ने सफाइ महाअभियान एवं उपत्यकाका सरसफाइ अभियानकर्मीको भनाइ छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले यसतर्फ आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरिएको छ ।

  • काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल

    काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल

    काठमाडौँ, २२ माघः “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र स्वास्थ्यसम्बन्धी सुविधा सहज र सरल हुनुपर्छ”, काठमाडौँ क्षेत्र नं ४ का मतदाता स्नेहा दाहालले रासससँगको कुराकानीका क्रममा भनिन्, “हामीले जिताउने जनप्रतिनिधिले यी विषयमा काम गर्नसक्ने हुनुपर्छ ।” दाहालका यी अपेक्षा अधिकांश मतदाताका अपेक्षासँग मिल्न सक्छन् । उम्मेदवारहरुले निर्धारण गर्दै गरेका कार्यसूचीमा पनि यी विषय पर्न थालेका छन् ।

    मतदाताका अपेक्षा र उम्मेदवारका प्रतिबद्धतासँगै क्रमिक रुपमा चुनावी वातावरण बढ्दो छ । विगतदेखि नै राजनीतिक चर्चाकै केन्द्रमा रहँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं ४ काठमाडौँ महानगरपालिकाका चार वटा र बूढानीलकण्ठ नगरपालिकाको १२ वटा वडा समेटिएको छ । यस क्षेत्रमा अन्य क्षेत्रमा झैँ पुराना, नयाँ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच यस क्षेत्रमा हुने प्रतिस्पर्धा बहुआयामिक देखिएको छ ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रबाट १८ राजनीतिक दल र १० स्वतन्त्र गरी २८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । गत दुई निर्वाचनमा नेपाली कांग्रेसका वर्तमान सभापति गगन थापाले विजय हासिल गरेको यो क्षेत्र यसपटक उहाँले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएकाले पनि चर्चाकै केन्द्रमा रहेको हो ।

    त्यसो त परम्परागत ठूला दलकैबीचमा आफ्नै खालको प्रतिस्पर्धा छँदैछ । यस क्षेत्रमा यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत निर्वाचनका प्रत्यासी डा राजन भट्टराईलाई नै उम्मेदवार खडा गरेको छ, भने नेपाली कांग्रेसले सभापति थापाको बिँडो थमाउने सोचका साथ नयाँ उम्मेदवार सचिन तिमल्सेनालाई उठाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पुकार बमलाई टिकट दिएको छ । उहाँ यसअघि काठमाडौँ निर्वाचन क्षेत्र नं ८ र १ बाट चुनाव लडेका छन् ।

    त्यसबाहेक नेपाली कम्युनिष्ट पार्टीका इन्द्रकुमार भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका डा सुरेन्द्रराज भण्डारी, राष्ट्रिय जनमोर्चाका छविबहादुर खनाल, नेपाल मजदुर किसान पार्टीका आशालाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका चेतबहादुर आले, मङ्गोल नेशनल अर्गनाइजेसनका सीता तामाङ, मितेरी पार्टी नेपालका प्रेमकुमार राई, नेपालका लागि नेपाली पार्टीका श्यामकुमार भट्टराई खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीका दत्त बुढा, युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टीका मुस्कान पौडेल, जय मातृभूमि पार्टीका राजन पुरी, श्रम संस्कृति पार्टीका बरुण अमात्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का करिष्मा खरेल, उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारी, जनादेश पार्टी नेपाल (एकल चुनाव चिन्ह) केम्शसिंह उम्मेदवार हुनुहुन्छ ।

    यस्तै, स्वतन्त्रबाट मदनदेव आचार्य, पुजन गजुरेल, अर्चनशमशेर राणा, विनोदबाबु प्रधान, डा दीपेन्द्रकुमार काफ्ले, केदारबहादुर कार्की, मनोज अधिकारी, आशिष श्रेष्ठ, सञ्जीव दर्जी, देवराज पौडेल उम्मेदवार रहेका छन् । यहाँ कूल उम्मेदवारमध्ये दुई जना मात्र महिला रहेका छन् । काठमाडौँ महानगरपालिकाको वडा नं १ ७, ८ र ३० वडा तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्ने यस क्षेत्रमा कूल ७६ हजार १४१ मतदाता रहेका छन् । जातजातिगत आधारमा यस क्षेत्रमा मिश्रित जनसङ्ख्या रहेको छ ।

    पेसागत रुपमा यस क्षेत्रमा मध्यम तथा बौद्धिक वर्ग, कर्मचारी, व्यवसायी र मजदुर वर्गको बसोबास रहेको छ । यस क्षेत्रमा नक्साल भगवती, कुमारीगाल, गौशाला, डिल्लीबजार, ज्ञानेश्वर, चपली, मण्डिखाटार, कपन, पैयाटारलगायत क्षेत्र पर्दछन् । यस क्षेत्रमा निर्वाचन आयोगबाट खटिएका निर्वाचन अधिकृत कृष्णा भण्डारीका अनुसार यस क्षेत्रमा कूल ३३ मतदानस्थल र ८८ मतदान केन्द्र रहेका छन् ।

    उहाँले उम्मेदवारी मनोनयनअघि निर्वाचनका लागि भाग लिन दर्ता कायम रहेका र त्यस क्षेत्रमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको र आफूहरुले सबै मतदानस्थलको अवलोकन गरी स्थानीय तह÷सुरक्षा निकायसँग आवश्यक समन्वय गरेको बताए । निर्वाचन प्रचारप्रसारको घोषित समय (फागुन ४ देखि १८) सम्म आउन बाँकी रहेकाले हाल क्षेत्रमा चुनावी सरगर्मी तीव्र भइनसकेको उनको भनाइ छ ।

    काठमाडौँ उपत्यकाका सहरी निर्वाचन क्षेत्रमा प्रायः उस्तैउस्तै चुनावी मुद्दा र मतदाताका अपेक्षा देखिन्छन् । क्षेत्र नं ४ मा पनि एकीकृत सहरी विकास, सहरी व्यवस्थापन, सुुकुम्बासी समस्या, नदी र सम्पदा सफाइ तथा संरक्षण, पार्किङ, ढल तथा खानेपानी व्यवस्थापन आदि यस क्षेत्रका मुख्य मुद्दा देखिन्छन् । कपनको बाढी नियन्त्रण, कालोपुल–गौरीघाट टनेल निर्माणका लागि सम्भाव्यता अध्ययन, गुह्ेश्वरी–तिलगङ्गाको अवरुद्ध बाटो खोली यातायातलाई सहज बनाउने पनि उम्मेदवारका प्राथमिकता देखिन्छन् ।

    प्रजातन्त्र पुनःस्थापनापछिको अवस्थालाई हेर्दा यस क्षेत्रमा सङ्घीय संसद्मा २०४८ सालमा एमालेका साहना प्रधान, २०५१ र २०५४ मा पद्मरत्न तुलाधार, २०५६ मा कांग्रेसका प्रेमलाल सिंह र २०६४ मा कांग्रेसकै सुप्रभा घिमिरे निर्वाचित भएका थिए । संवत् २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका गगनकुमार थापा विजय हासिल गरे । पछिल्ला दुई प्रदेशसभा सदस्य निर्वाचनमा दुई÷दुई स्थान कांग्रेस र एमालेका उम्मेदवारले जितेका थिए । पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता थापाले २१ हजार ३०२ मतसहित एमालेका डा भट्टराईलाई पराजित गरेका थिए ।
    समानुपातिकतर्फ गत २०७९ को निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसको ११ हजार ८०८, एमालेको १० हजार ५६० मत रहेको थियो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले नौ हजार ४०१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ८८१, तत्कालीन नेकपा (एकीकृत समाजवादी) ले एक हजार ७१३ मत र तत्कालीन नेकपा (माओवादी केन्द्र)ले एक हजार ५६४ मत ल्याएको थियो ।

    एमालेका डा भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका थिए । त्यसबेला तत्कालीन नेकपा (माओवादी केन्द्र) तथा हालको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कांग्रेससँग तालमेल गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका थिएनन् । विगतमा कांग्रेसले जितेको यसक्षेत्रमा हाल उक्त पार्टीबाट ठूला नेता नभए पनि युवा नेता उम्मेदवार रहेको र गगन थापाकै उत्तराधिकारीका रुपमा प्रस्तुत भएकाले आफूले पुनःजित्ने अपेक्षा लिएको छ ।

    एमालेले विगतकै उम्मेदवारलाई पुनःप्रस्तुत गरेको, साङ्गठनिक स्थिरता र जनतामा परिवर्तनका चाहना हुने भएकाले आफ्नो पक्षमा परिणाम आउने विश्वास गरेको छ । सङ्गठनात्मक पकड बलियो नभए पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि आफूलाई सशक्त प्रतिस्पर्धीका रुपमा उभ्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले युवा उम्मेदवार अघि सारेको र राष्ट्रिय रुपमा आफ्नो पक्षमा माहोल देखिएकाले आफू बलियो भएको जिकिर गरेको छ ।

    अहिलेसम्मको निर्वाचन परिणामको स्थितिलाई हेर्दा यिनै चार÷पाँच उम्मेदवारले जनताको मत बढी पाउने देखिएको छ । अन्य साना दल र स्वतन्त्र उम्मेदवारले ठूला दलका कुन उम्मेदवारको कति मत काटछन् भन्ने अहिले नै भन्न सकिने स्थिति छैन । समग्रमा यसपटक यहाँ मुख्य नेतृत्व परिवर्तन, नयाँ दलको उदय र स्वतन्त्र उम्मेदवारको सङ्ख्याले चुनावी समीकरण फरक हुनसक्ने सङ्केत देखिएको छ । स्थानीय मुद्दा, उम्मेदवारको व्यक्तिगत छवि र मतदातासँगको प्रत्यक्ष सम्पर्क नै जितको मुख्य आधार बन्ने ठानिएको छ ।

    यस क्षेत्रका एमालेका उम्मेदवार एवं सो पार्टीका सचिव डा भट्टराईले राष्ट्रिय स्वाधीनता र समद्धिको नीति, नेतृत्व र परिणामका आधारमा युवाको रोजाइमा आफ्नो पार्टी रहेको बताए । यसपटक मतदाता तहबाटै आफूलाई उम्मेदवार बन्न आग्रह आएकाले प्रतिस्पर्धामा उत्रिएकाले बताउँदै सङ्गठनात्मक आधारका कारण आफूहरुले विजय हासिल गर्ने बताए । एमालेले यही माघ १० गते काठमाडौँ उपत्यकाकै निर्वाचन परिचालन कमिटी एकैसाथ घोषणा गरी प्रचार सुरु गरेको थियो । यस्तै अन्य दल र उम्मेदवारले पनि आफ्नो तयारीलाई अघि बढाएका छन् ।

    कांग्रेसले यस क्षेत्रमा यही माघ १७ गते सभापति थापाकै उपस्थितिमा निर्वाचन परिचालनसम्बन्धी भेला आयोजना गरेर निर्वाचन प्रचारको थालनी गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार तिमल्सेनाले ‘युथ फर चेन्ज’ को नारा अघि सार्दै सभापति थापा सर्लाहीबाट उठेको सन्दर्भलाई थापाकै उत्तराधिकारीका रुपमा आफू आएको जिकिर गर्दै निर्वाचन केवल अनुहार फेर्ने माध्यम होइन, यो कार्यशैली र नतिजा फेर्ने अवसर भएकाले सुशासन, प्रविधिमैत्री सेवा र जनउत्तरदायी राज्य प्रणाली आफ्ना मुख्य प्राथमिकता भएको बताए ।

  • कारको ठक्करबाट बालिकाको मृत्यु

    कारको ठक्करबाट बालिकाको मृत्यु

    चन्द्रपुर (रौतहट), २२ माघः रौतहटको इशनाथ नगरपालिका–४ मठियाटोलमा आज कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु भएको छ ।
    बा१५च ४२४४ नम्बरको कारले ठक्कर दिँदा इशनाथ–४ मठियाटोलकी चार वर्षीया अल्फा खातुनको मृत्यु भएको हो ।

    घाइते खातुनको उपचारका क्रममा गौर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए । कारका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । कारमा रास्वपाको चुनाव चिन्ह टासिँएको देखिएको छ । जसको सामाजिक संजालमा व्यापक विरोध भइरहेको छ ।

  • निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

    निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

    भक्तपुर, २२ माघः प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तपूर्ण रुपमा एकैसाथ एकै चरणमा निर्वाचन सम्पन्न हुने बताएकी छिन् ।
    भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्येक्षतर्फको मतपत्र छपाइ कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने बताइन् ।

    “मतपत्र छपाइ गरेको हरेर मलाई निकै उत्साह जागेर आयो, मतपत्र हेर्ने काम भयो, त्यो देखेर हामीलाई लाग्यो, निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ । प्रेसका कर्मचरीहरुले एकदमै राम्रो काम गर्नु भएको रहेछ”, प्रधानमन्त्री कार्कीले भनिन् । निर्वाचनको चार खम्बामध्ये दुई खम्बा निर्वाचन आयोग रहेको उल्लेख गर्दै उनले देशभर निर्वाचनको माहोल बनेको बताइन् ।


    प्रधानमन्त्री कार्कीले भनिन्, “तपाईहरु निश्चिन्त मान्नुस्, चुनाव आयो, फरक पर्दैन, चुनाव एउटै र एकैदिनमा हुन्छ, दुई चोटी हुने वाला कहीँ छैन, एकै दिनमा हुन्छ, कहीँ कतै केही हुनेवाला छैन, तोकिएकै मितिमा चुनाव हुन्छ ।”

    निर्वाचनको दिन फागुन २१ गते मौसम अनुकुल हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले सबै तिर राम्रो भएर आएको बताइन् । हामी सबैले मतदान गर्न पाउँछौँ भन्दै उहाँले मतदानको सबै नतिजा आएपछि नयाँ सरकार बन्ने र आफूहरु आफ्नो घर फर्कने बताइन् । “अब राम्रो हुन्छ, हामी सबैले मतदान गर्न पाउँछौँ, त्यसको परिणाम आउँछ, त्यसपछि सरकार बन्छ र हामी थपक्क सरकार हस्तान्तरण गर्छौँ र आ–आफ्ना घरतिर जान्छौँ”, प्रधानमन्त्री कार्कीले भनिन् ।

    मतपत्र छपाइ अनुगमनपछि गृहमन्त्री ओमप्रकाश अर्यालले देशभर चुनावी माहोल बन्दै गएको बताइन् । उनले भनिन्, “भदौ २३ गते मानवता र २४ गते मुलुक गम्भीर सङ्कटमा पुगेको थियो । अहिले मुलुकमा राजनीतिक हिंसा र द्वन्द्व विस्तारै कम हुँदै गएको छ । देशभर चुनावी वातावरण बन्दै गएको छ । तोकिएकै मितिमा शान्तिपूर्ण रुपमा निर्वाचन हुनेमा सबैलाई ढुक्क हुन आग्रह गर्दछु ।”

    वर्तमान सरकार नागरिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री अर्यालले आउँदो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतको भन्दा थप सुदृढ सुरक्षा व्यवस्था मिलाइएको बताइन् । निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी विभाजन गरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिँदै उनले अति संवेदनशील र संवेदनशील मानिएका क्षेत्रमा पूर्वतयारीसहित विशेष सुरक्षा प्रबन्ध लागू गरिने बताइन् ।


    देश र नागरिकलाई कुनै पनि हालतमा असुरक्षित हुन नदिने भन्दै गृहमन्त्री अर्यालले चुनावका क्रममा एक थोपा रगत बग्न नदिने प्रधानमन्त्रीको प्रतिबद्धतालाई अङ्गिकार गरी सुरक्षा योजना तयार पारेको बताइन् । निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको र जनताले निर्धक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित गरिने उल्लेख गर्दै उहाँले देशभर एकै चरणमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अगाडि बढेको बताइन् ।

  • आइएसएसको अन्त्य, सहकार्यको युग

    आइएसएसको अन्त्य, सहकार्यको युग

    पेरिस, २२ माघ (रासस–एएफपी) । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा यसले करिब तीन दशक लामो शान्तिपूर्ण अन्तर्राष्ट्रिय सहकार्यको अन्त्यलाई सङ्केत गर्नेछ । साथै, अन्तरिक्ष मानव जीवन र विश्वव्यापी सहकार्यको केन्द्र बनेको एउटा महत्त्वपूर्ण युगको समाप्ति पनि यसले जनाउनेछ ।

    नोभेम्बर २००० यता, फुटबल मैदानको आकार बराबरको वैज्ञानिक प्रयोगशालामा सधैँ मानिसहरूको उपस्थिति रहँदै आएको छ । पृथ्वी वरिपरि करिब आठ किलोमिटर प्रतिसेकेन्डको गतिमा परिक्रमा गर्ने आइएसएसले वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र मानवीय सहकार्यलाई निरन्तर अघि बढाउँदै आएको छ ।

    अन्तरिक्ष यात्रीहरूको नयाँ टोली आगामी हप्तामै स्टेशनतर्फ प्रस्थान गर्न तयारी अवस्थामा रहँदा, जमिनबाट आइएसएसलाई सहयोग गर्ने धेरै व्यक्ति यसको आसन्न अन्त्यप्रति भावुक देखिएका छन् । नासाको विज्ञान तथा मिसन सिस्टम अफिसका पूर्वप्रबन्धक जोन होर्याकले आइएसएस सीमा, भाषा र संस्कृतिभन्दा माथि उठेर मानवीय सहयोग र सहकार्यको केन्द्र बनेको बताए । उनले २५ वर्षभन्दा बढी समयदेखि अन्तरिक्षमा २४ घण्टा, वर्षभरि मानिसको उपस्थिति रहनु मानव इतिहासकै असाधारण उपलब्धि भएको उल्लेख गरे । उनका अनुसार, आइएसएसले समस्या समाधानमा टकरावभन्दा सहकार्य रोज्ने मानव क्षमताको स्पष्ट प्रमाण प्रस्तुत गरेको छ ।

    शीतयुद्धपछि अन्तरिक्ष दौडका पुराना प्रतिद्वन्द्वी रुस र संयुक्त राज्य अमेरिकाबीचको सहकार्यको नयाँ भावना झल्काउँदै आइएसएसको प्रस्ताव अघि बढाइएको थियो । युक्रेनमा मस्कोको युद्धका कारण रुस र पश्चिमबीच धेरै सम्बन्ध चिसिँदै गए पनि अन्तरिक्ष स्टेशनमा सहकार्य भने निरन्तर जारी रहनु उल्लेखनीय मानिएको छ । फ्रान्सको अन्तरिक्ष एजेन्सी सिएनइएसका लियोनेल सुचेतले मानव अन्तरिक्ष उडानको इतिहास पहिलो र सबैभन्दा महत्त्वपूर्ण अन्तरिक्ष दौड भएको बताए ।

    उनले आइएसएसको विकासलाई अन्तरिक्ष अन्वेषणको दृष्टिले अत्यन्तै रोचक चरणका रूपमा वर्णन गरे । सुचेतले सन् २००१ मा मिर स्पेस स्टेसनको डि–अर्बिटिङ देखेपछि आइएसएसका प्रारम्भिक परियोजनाहरूको समन्वय गरेको अनुभव पनि स्मरण गरे । यद्यपि समयसँगै आइएसएस पुरानो बन्दै गएको छ र यसका धेरै उपकरणहरू पनि म्याद सकिने चरणमा पुगेका छन् । नासाले गत वर्ष एलन मस्कको स्पेसएक्सलाई सन् २०३० मा आइएसएसलाई पृथ्वीको वायुमण्डलतर्फ सुरक्षित रूपमा फिर्ता ल्याउन सक्ने विशेष वाहन निर्माणको जिम्मा दिएको घोषणा गरेको थियो ।

    होर्याकका अनुसार, शक्तिशाली रकेट इन्जिन प्रयोग गरेर आइएसएसको गति कम गरिनेछ र यसलाई जमिन, मानिस वा अन्य कुनै सम्भावित जोखिमबाट टाढा राख्दै प्रशान्त महासागरको दुर्गम क्षेत्रमा पुनःप्रवेश गराइनेछ । यसअघि मिरसहित धेरै अन्तरिक्ष यान र टेलिस्कोपहरू पोइन्ट नेमो भनिने यही समुद्री क्षेत्रमा खसालिएका थिए ।

    सन् २०३० पछि पृथ्वीको तल्लो कक्षामा चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशन मात्र रहनेछ । भविष्यलाई लक्षित गर्दै अमेरिकाले निजी कम्पनीद्वारा निर्माण र सञ्चालन गरिने अन्तरिक्ष स्टेशनतर्फ बढी ध्यान केन्द्रित गरिरहेको छ । होर्याकले रकेट र उपग्रहमा जस्तै अन्तरिक्ष स्टेशनहरू पनि व्यावसायिक आयामतर्फ अघि बढिरहेको बताउनुभयो । यस अवस्थामा राष्ट्रिय अन्तरिक्ष एजेन्सीहरूले निजी कम्पनीलाई शुल्क तिरेर आफ्ना अन्तरिक्ष यात्री पठाउनुपर्ने अवस्था आउनेछ । जेफ बेजोसको ब्लु ओरिजिन र एक्सिओम स्पेसलगायत कम्पनीहरूले पहिलो व्यावसायिक अन्तरिक्ष स्टेशन निर्माणका योजना अघि बढाइरहेका छन् ।

    सुचेतका अनुसार यस्ता परियोजनाहरूको व्यापार मोडेल अझै पनि धेरै हदसम्म संस्थागत नै रहनेछ, किनकि देशहरू पृथ्वीको तल्लो कक्षामा अन्तरिक्ष यात्री पठाउन सधैँ इच्छुक रहनेछन् । वैज्ञानिक अनुसन्धान र अन्वेषण सम्पूर्ण मानवताको साझा उद्देश्य बनेको छ । मानव चन्द्रमामा पुगेपछि अन्तरिक्षमा राष्ट्रहरूको व्यवहार नियमन गर्ने सन्धिहरू यथावत् रहने कि नहुने भन्ने प्रश्न खुला नै रहेको छ । अमेरिका र चीन दुवैले चन्द्रमामा आधार निर्माण गर्ने योजना अघि सारेका छन् ।

    होर्याकका लागि आइएसएसको अन्त्य भावनात्मक रूपमा निकै दुःखद क्षण हो । उहाँले आफ्ना छोराछोरीले आँगनमै उभिएर आइएसएसको उडान हेर्दै हुर्किएको अनुभव सम्झिए । तर उनका अनुसार, एउटा युगको अन्त्यले अर्को युगको सुरुआत पनि जनाउँछ । मानवले अन्तरिक्ष यात्रा क्षमता, अन्तरिक्ष अन्वेषण र अन्तरिक्षको उपयोगमार्फत सामाजिक, आर्थिक, शैक्षिक तथा जीवनस्तर सुधारतर्फ अझ अघि बढ्नुपर्ने उनको धारणा छ । युरोपेली अन्तरिक्ष एजेन्सीका पूर्वप्रमुख जीन–ज्याक डोर्डेनको भनाइ उद्धृत गर्दै उनले भने, “छिटो जान चाहनुहुन्छ भने एक्लै जानुहोस् । धेरै टाढासम्म जान चाहनुहुन्छ भने सँगै जानुहोस् ।”

  • बेलायतद्वारा बोइङ–७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

    बेलायतद्वारा बोइङ–७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

    बेलायत २२ माघ (रासस–एएनआई) । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान बेलायतबाट प्रस्थान गरी सुरक्षा जाँचका लागि भारतमा अवतरण गरेपछि बेलायतको नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियासँग स्पष्टीकरण मागेको छ । रोयटर्सका अनुसार एक हप्ताभित्र पूर्ण जवाफ पेस नगरे एयर इन्डिया र यसको बोइङ ७८७ फ्लीटविरुद्ध नियमनकारी कारबाही सुरु गर्न सकिने भन्दै उड्डयन प्राधिकरणले फेब्रुअरी– ३ तारिखको पत्रमा एयरलाइनलाई सूचित गरेको जनाइएको छ ।

    एयर इन्डियाको बोइङ–७८७ मा सुरक्षा जाँचको क्रममा एयरलाइन्सले आफ्ना सबै विमानहरूमा ईन्धन नियन्त्रण स्विचहरूको निरीक्षण पूरा गरेको स्रोतहरूले जनाएको छ। एयर इन्डियाको बोइङ ७८७– विमान सोमबार एक पाइलटले इन्धन नियन्त्रण स्विचमा सम्भावित त्रुटि भएको रिपोर्ट गरेपछि ग्राउन्डेड गरिएको थियो । एयर इन्डियाका प्रवक्ताले पाइलटले यो जानकारी देशको उड्डयन नियामक, नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए)लाई सूचित गरिएको पुष्टि गरे ।

    डिजिसिएको निर्देशनपछि एयर इन्डियाले आफ्नो फ्लीटमा रहेका सबै बोइङ ७८७ विमानहरूमा इन्धन नियन्त्रण स्विचहरू जाँच गरेको थियो र कुनै समस्या फेला नपरेको जनाएको छ । एयर इन्डियामा यात्रु र चालक दलका सदस्यहरूको सुरक्षा सर्वोच्च प्राथमिकता रहेको प्रवक्ताले बताए ।


    घटनापछि भारतीय पाइलट महासङ्घ (एफआइपी) का अध्यक्ष क्याप्टेन सिएस रन्धावाले इन्धन नियन्त्रण स्विचको अनियन्त्रित आवागमनमा बारम्बार हुने घटनालाई उद्धृत गर्दै बोइङ– ७८७ विमानमा सम्भावित विद्युतीय त्रुटिको तत्काल अनुसन्धान गर्न डिजिसिए र एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो (एएआइबी) लाई आग्रह गरेका थिए ।

    क्याप्टेन रन्धावाले बोइङ – ७८७ विमानमा इन्धन नियन्त्रण स्विचको अनियन्त्रित आवागमन रेकर्ड गरिएको यो तेस्रो घटना भएको बताएका छन् । डिजिसिएले मङ्गलबार, एयर इन्डियाको बोइङ बी–७८७–८ विमानमा ईन्धन कट–अफ स्विचको खराबीको बारेमा प्रत्युत्तर जारी गरेको जनाइएको छ ।

  • प्रतिनिधिसभा निर्वाचनः जुम्लामा धमाधम तयारी

    प्रतिनिधिसभा निर्वाचनः जुम्लामा धमाधम तयारी

    जुम्ला, २२ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको धमाधम तयारी भइरहेको छ । साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा ६५४ जना कर्मचारी चुनावमा परिचालन गरिने जनाएको छ । सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार जिल्लामा ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएका छन् । जिल्लामा ७१ हजार ७३९ जना मतदाता छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ९७४ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।

    यसैबीच, निर्वाचनलाई लक्षित गर्दै जिल्लाका आठवटा स्थानीय तहका ६० वटै वडामा फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । यसैगरी, अस्थायी मतदाताका लागि दुईवटा मतदान केन्द्र सञ्चालन हुने भएका छन् । आगामी फागुन ५ गतेसम्म अस्थायी मतदाता नामावाली सङ्कलन गरिने सहायक निर्वाचन अधिकृत तिमिल्सिनाले बताए । हालसम्म ८९१ जना अस्थायी मतदाताको नामावाली सङ्कलन भएको छ ।

  • दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

    दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

    काठमाडौँ, २२ माघ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ । विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बजारमा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न निर्देशन दिएको हो । ‘खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, प्रमुख पैठारीकर्ता र वितरकहरुलाई बोलाई अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन तथा अस्वाभाविक मूल्यवृद्धिलाई समायोजन गरी उपभोक्तालाई राहत दिन निर्देशन दिइएको छ”, विज्ञप्तिमा भनिएको छ ।

    विभागले पछिल्लो समय खानेतेल, ग्यास, चामललगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र आपूर्तिमा कमी आएको भन्दै उपभोक्ता तह तथा सार्वजनिक सञ्चारमाध्यमबाट आएका गुनासाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न विभाग निरन्तर प्रयत्नशील र प्रतिबद्ध रहेको विभागले स्पष्ट पारेको छ ।

    यसका लागि अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म तथा प्रतिष्ठानहरूमा अन्य निकायको सहयोगमा संयुक्त अनुगमन भइरहेको छ ।

  • आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

    आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

    काठमाडौँ, २२ माघः निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन उक्त कार्यविधि लागू गरिएको आयोगले जनाएको छ । राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने सवारीसाधनको अनुमति प्रक्रिया स्पष्ट पार्न आवश्यक भएकाले कार्यविधि जारी गरिएको हो ।

    आयोगबाट यही माघ २० गते स्वीकृत कार्यविधिअनुसार राजनीतिक दल, उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले सवारीसाधन प्रयोग गर्न अनुमतिपत्रका लागि सम्बन्धित निर्वाचन अधिकृतसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएपछि निर्वाचन अधिकृतले तोकिएको सीमाभित्र रही अनुमतिपत्र जारी गर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारले बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्र्रे वा चारपाङ्ग्र्रे (विद्युतीय वा यान्त्रिक शक्तिबाट चल्ने) हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन् । यस्ता सवारीसाधन सञ्चालन नहुने स्थानमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने व्यवस्था छ ।

    यस्तै, स्थानीय तह निर्वाचनका हकमा महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उपप्रमुखका उम्मेदवारले बढीमा दुईवटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन् । नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष वा उपाध्यक्षका उम्मेदवारलाई एउटा हलुका सवारीसाधन प्रयोग गर्न अनुमति दिइनेछ । वडाअध्यक्ष तथा वडा सदस्यका उम्मेदवारले भने उम्मेदवार भएको वडाभित्र मात्र प्रयोग गर्ने गरी एउटा सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । सवारीसाधन सञ्चालन नहुने स्थानमा गाउँपालिका वा नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि दुईवटा र वडा तहका उम्मेदवारका लागि एउटा घोडा प्रयोग गर्न सकिनेछ ।

    निर्वाचन प्रचारप्रसारका लागि प्रयोग हुने सवारीसाधनको अनुमतिपत्र जारी गर्दा मौन अवधिमा सवारीसाधन प्रयोग गर्न नपाइने जानकारी अनिवार्य रूपमा गराउनुपर्ने व्यवस्था गरिएको छ । कार्यविधिमा मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान सम्पन्न नभएसम्मको समयावधिलाई जनाइएको छ । अनुमतिपत्र नलिई सवारीसाधन प्रयोग गरेमा वा मौन अवधिमा अनुमति प्राप्त सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिई निर्वाचन समाप्त भएपछि मात्र फिर्ता गरिनेछ । यस सम्बन्धमा जिल्ला आचारसंहिता अनुगमन समितिले नियमित अनुगमन गरी उल्लङ्घन देखिएमा स्थानीय प्रशासनलाई सवारीसाधन नियन्त्रणमा लिन निर्देशन दिनुपर्ने व्यवस्था कार्यविधिमा राखिएको छ ।

    मतदानको दिन अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ । यद्यपि, हवाई उडानको हकमा भने यो व्यवस्था लागू हुने छैन । यस्तै, मतदानको दिन उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकाय तथा पदाधिकारी, राष्ट्रिय सूचना आयोग, पर्यवेक्षक, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसङ्घका नियोग, सञ्चारमाध्यम, विदेशी पर्यटक, अन्तरराष्ट्रिय सङ्घसंस्था, अवलोकनकर्ता, अनुगमनकर्ता, विशिष्ट अतिथि तथा आयोगले तोकेका अन्य निकाय र व्यक्तिलाई सवारीसाधन प्रयोगको अनुमति दिन सकिने कार्यविधिमा जनाइएको छ ।

    उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउन उम्मेदवार परिचयपत्रको प्रतिलिपि संलग्न गरी सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ । उम्मेदवारबाहेक अन्य निकाय वा पदाधिकारीले सम्बन्धित निकायको आधिकारिक पत्रसहित मतदान हुने दिनभन्दा कम्तीमा दुई दिनअघि अनुमति माग गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । काठमाडौँ जिल्लाको हकमा आयोग परिसरमा स्थापना गरिने एकीकृत सवारीसाधन आवागमन ‘डेस्क’मार्फत अनुमति प्रक्रिया सञ्चालन गरिनेछ भने अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालयले मुख्य निर्वाचन अधिकृतको समन्वयमा अनुमति जारी गर्नेछ ।

    कार्यविधिअनुसार विदेशी नम्बर प्लेट भएका सवारीसाधनलाई चुनाव प्रचारप्रसार प्रयोजनका लागि प्रयोग गर्न अनुमति दिइने छैन । एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, दूध ढुवानी सवारी, शववाहन, अस्पताल सेवा, दूरसञ्चार तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवाका सवारी साधन र ‘सिडी’ नम्बर प्लेट भएका कूटनीतिक नियोगका सवारीसाधनलाई भने अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ ।

  • उदयपुर–२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

    उदयपुर–२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

    सुदिप राउत – रासस
    उदयपुर, २२ माघः जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोस उत्पन्न हुन्छ । बेतिनीमा चिया पसल गरेका तामाङले दुई दशकदेखि एउटै सपना देखिरहे, घरअगाडिको सडक कालोपत्र भएको । त्यो सपना भने अझै पूरा भएको छैन । फेरि यसपटक चुनावी माहोल छ, चुनावमा सपनाहरू बाँड्न सुरु भइसकेको छ, तर विसं २०६४ देखि हालसम्म चारवटा चुनावमा भोट मागेका कसैले पनि ती सपना पूरा गर्न सकेका छैनन् । त्यही कारण उनले भोट हालेका कोही पनि दोहोरिएर आएका छैनन् ।

    उम्मेदवार फेरिए, तर तामाङले धुलोबारे गुनासो गर्नुपर्ने र समस्या भोग्नुपर्ने नियति फेरिएको छैन । “यो हाम्रो विडम्बना नै भन्नुपर्छ, जुन सडक कालोपत्र गर्ने आश्वासन बोकेर नेताहरू चुनाव जितेर गए, आज पनि त्यही सडक उस्तै जीर्ण, धुलाम्मे र जोखिमपूर्ण अवस्थामा छ । हाम्रा दुःख उस्तै छन्”, उनले भने । हाल फेरि उदयपुर–२ मा चुनावी सरगर्मी बढेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रमा एक स्वतन्त्रसहित १३ जना उम्मेदवारहरू छन् । उनीहरू यहाँका ९६ हजार १२२ मतदाताको घरदैलोमा पुग्न कस्सिरहेका छन् ।

    टोल–टोलमा पार्टीका सम्पर्क कार्यालय खुलेका छन् । क्षेत्रको केन्द्र मानिने कटारी बजारमा सबै प्रमुख दलहरूले क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेर उम्मेदवारको दौडधुप बढाइरहेका छन् । घरदैलो कार्यक्रम पनि जारी छ, तर मतदाताको मनमा भने उत्साह होइन, आक्रोशको ‘हुरी’ चलिरहेको छ । प्रश्न उही छ— के यो पटकको चुनावपछि सिद्धिचरण राजमार्गको मिर्चैया—कटारी—घुर्मी खण्डले नयाँ रूप पाउला ? कि अर्को चुनावमा पनि यो सडक फेरि ‘भोट माग्ने मुद्दा’ मात्रै बन्ला ?

    बेदबहादुरका लागि यो सडक केवल आवतजावतको गर्ने आधार मात्रै होइन, यो दुई दशकदेखिको यहाँको राजनीति र राज्यले दिएको निरन्तरको धोका हो । आफ्नो पसलको तखतामा जमेको धुलोको बाक्लो तह देखाउँदै उनी भन्छन्, “चुनाव आउँदा नेताका चिल्ला कुराले मनै लोभ्याउँछ, तर जितेर गएपछि उनीहरूले उडाएको धुलोले हाम्रो आँखा मात्र होइन, भविष्य नै धमिलो पारिदिन्छ । २० वर्षअघि पनि यही सडक बन्छ भनेर भोट मागियो, आज पनि त्यही भन्दैछन् । हामी त केवल भोट हाल्ने मेसिन मात्र भयौँ, केवल भोट बैङ्क ।”

    तामाङको स्वरमा आक्रोश मात्र होइन, राज्यप्रतिको चरम अविश्वास पनि झल्किन्छ । उनी भन्छन्, “यदि कसैलाई यो गफ मात्रै हो भन्ने लागिरहेको छ भने एकपटक मोटरसाइकल चढेर कटारीदेखि घुर्मीसम्म पुगेर हेरोस् । धुलोले अनुहार नचिनिने भएर फर्किंदा मात्रै हाम्रो पीडा थाहा हुन्छ । नेताहरू त गाडिभित्र सिसा थुनेर हिँड्छन्, उनीहरूलाई बाहिरको धुलोले के पो छुन्थ्यो र ?”

    तामाङको यो आक्रोश केवल एउटा व्यक्तिको मात्र होइन, सिङ्गो उदयपुर–२ को साझा आवाज हो । त्यही आवाजका कारण आफ्नो सपना पूरा गरिहाल्छन् कि भनेर यहाँका मतदाताले पछिल्लो दुई दशकमा हरेक निर्वाचनमा प्रतिनिधि फेरिरहन्छन् । यो विकास नभएपछिको एक प्रकारको ‘मौन जनविद्रोह’ पनि हो भन्नेहरू धेरै छन् । यस सडकखण्डको रूप फेर्ने आशासहति यहाँका जनताले पालोपालो सबै मुख्य दललाई जिम्मेवारी दिए, तर त्यो कसैले पनि पूरा गर्न नसकेको स्थानीयको गुनासो छ ।

    विसं २०६४ मा तत्कालीन नेकपा (माओवादी) का मोहनबहादुर खत्री, विसं २०७० मा नेपाली कांग्रेसका नारायणबहादुर कार्की, विसं २०७४ मा नेकपा (एमाले) माओवादी गठबन्धनबाट सुरेशकुमार राई र पछिल्लो पटक २०७९ सालमा एमालेका अम्मरबहादुर रायमाझीलाई निर्वाचित गराएर यहाँका बासिन्दाले ठूलो भरोसा राखेका थिए । जो प्रतिनिधि चुनिए पनि सिद्धिचरण राजमार्ग एवं हलेसी जोड्ने यो मार्ग केवल चुनावी भाषण र आश्वासनको सस्तो विषय मात्र बन्यो । “जुन पार्टीका नेता आए पनि हाम्रो पीडा कसैले बुझेनन्”, कटारी—११ कटुन्जेका स्थानीय युवा बिजेन्द्र रानामगर आक्रोश पोख्दै भन्छन्, “नेताहरू त चिल्ला गाडीको सिसा थुनेर धुलो उडाउँदै हिँड्छन्, हामी भने त्यही धुलोबाट रोग र भोकसँग लड्न बाध्य छौँ ।”

    बहत्तर किलोमिटर लामो सिद्धिचरण राजमार्ग माथिल्लो सगरमाथाका तीन जिल्लाहरू—सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङलाई कोशी प्रदेशको राजधानी विराटनगरसँग जोड्ने ‘लाइफलाइन’ हो । यही लाइफलाइन अहिले जीर्ण हुँदा मृत्युरेखा जस्तै बनेको छ । विसं २०३४ मा मिर्चैया–कटारी ‘ट्र्याक’ खुलेपछि २०४८ मा स्व बलबहादुर राईको पहलमा कटारी–ओखलढुङ्गा सडक निर्माण सुरु भयो । विसं २०५८ देखि राजमार्गको कटारी–घुर्मी खण्ड (४६ किमी) मा यातायात सञ्चालन भए पनि दुई दशकसम्म यसको अवस्था फेरिएन । घुर्मी–ओखलढुङ्गा खण्ड कालोपत्र भइसक्दा मिर्चैया–कटारी–घुर्मी (७२ किमी)ं खण्ड भने अझै उपेक्षित छ । त्यसैले, दुई घण्टाको दूरी भएको सडममा पाँच घण्टाभन्दा बढी समय लगाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

    यो सडकखण्ड रणनीतिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण छ । कटारी–घुर्मी खण्ड दक्षिणमा मदन भण्डारी लोकमार्ग र महेन्द्र राजमार्गलाई जोड्छ भने उत्तरमा घुर्मी पुगेर मध्यपहाडी लोकमार्ग हुँदै बिपी राजमार्गमार्फत काठमाडौँसम्मको सम्पर्क सूत्र हो । यति महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति नहुँदा सिङ्गो पूर्वी पहाडको अर्थतन्त्र र जनजीवनलाई नै पछाडि धकेलेको छ । पूर्वको पशुपतिनाथ मानिने प्रसिद्ध धार्मिकस्थल हलेसी जाने मुख्य मार्ग यही हो ।

    तराई–मधेसदेखि हलेसी जाने तीर्थयात्रीहरू कैयौँ पटक यहाँ दुर्घटनाको सिकार भएका छन् । जोखिमपूर्ण यात्राकै कारण पर्यटकहरू यो बाटो प्रयोग गर्न हिच्किचाउँछन् । यस सडकका ‘सुपरभाइजर’ कुमार प्याकुरेल भन्छन्, “एकपटक यो बाटो प्रयोग गरेका यात्रुहरू दोहोरिएर आउन चाहँदैनन् । साना सवारीसाधनलाई ४६ किलोमिटर पार गर्न तीन घण्टा लाग्छ भने ठूला सवारीसाधनलाई छदेखि सात घण्टा । त्यसैले यात्रुहरू वैकल्पिक घुमाउरो सिन्धुली–खुर्कोट–घुर्मीको बाटो प्रयोग गर्न बाध्य छन् ।”

    सडक नबन्दा सबैभन्दा बढी मार व्यापार र स्थानीयको दैनिकीमा परेको छ । यहाँका नागरिकलाई लत्ताकपडा, खाद्य सामग्री मात्र होइन, खेतबारीको अन्नबाली र तरकारी जोगाउन पनि कठिन भएको छ । कटारी बजार आफैँमा ऐतिहासिक छ । तेञ्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथा चढ्न जाँदा यहीबाट पैदल हिँडेर गएको इतिहास छ । त्यसैले यसलाई ‘सगरमाथाको प्रवेशद्वार’ भनिन्छ, तर यही प्रवेशद्वारका व्यवसायीहरू पलायनको बाटो रोजिरहेका छन् ।

    विदेशबाट फर्किएर स्वदेशमै केही गर्ने सपना बोकेका धेरै युवाको सपना पनि यही सडकले कुल्चिएको छ । पाँच वर्ष कतारमा पसिना बगाएर फर्किएका अमर मोक्तानले आफ्नै ठाउँमा केही गरौँ भनेर बेतिनीमा किराना पसल खोले, तर १४ वर्षदेखिको धुलोले उनलाई अहिले निराश बनाएको छ । “सामान राख्नै गाह्रो छ । धुलोबाट जोगाउनै मुस्किल छ”, उनी भन्छन्, “धुलोले सामान बिग्रिन्छ, ग्राहक आउँदैनन् । अनि कसरी चल्छ व्यवसाय ?”

    व्यवसायीहरूको यो पीडा अमर मोक्तानमा मात्र सीमित छैन । गहुँबारीका युवा व्यवसायी कुमार श्रेष्ठको अनुभवमा पनि सडकको यो दुरावस्था व्यापारका लागि ‘पासो’ बनेको छ । जीर्ण बाटोकै कारण सेवाग्राही नआउँदा व्यवसाय थप धराशयी बन्दै गएको उहाँको भनाइ छ । यही सडकको धुलोले सपनाहरू यसरी उडाइदियो कि, हर्देनीमा करिब रु पाँच लाख लगानी गरेर होटल सुरु गरेका धिरज भुजेलले छ महिनाअघि आफ्नो थातथलो मात्र छोडेनन्, वैदेशिक रोजगारीका लागि मरुभूमि भासिन बाध्य भए । यस्तै, कटारी–११ गहुँबारीका सञ्चिव बस्नेतले त छ वर्षसम्म गरेको सङ्घर्षलाई तिलाञ्जली दिँदै व्यापार नै बन्द गर्नुभयो । धुवाँ र धुलोले पसलका सामान मात्र होइन, सपना नै चौपट पारेपछि उहाँ फेरि पुख्र्यौली पेसा खेती किसानीमै फर्किएका छन् ।


    “धुलो खाएर व्यापार गर्नुभन्दा बरु माटो खनेर कृषिकर्ममै लाग्नु ठीक लाग्यो, यसैबाट जीविकोपार्जन त चलेको छ”, बस्नेत भन्छन्, “यदि यो सडक बनेको भए यहाँको बजारमा अर्कै चहलपहल हुने थियो । महाभारत क्षेत्रको यो शीतल हावापानीमा गर्मी छल्न तराईका सिरहा र सप्तरीदेखिका मानिसहरू आउने थिए । प्रकृतिले दिएको यो स्वर्ग जस्तो ठाउँलाई सडकको बेवास्ताले नर्क जस्तै बनाइदियो ।” शिक्षा र स्वास्थ्यको क्षेत्रमा यो सडकले पारेको प्रभाव त झन् भयावह छ । सडकको धुलो केवल पसलका तखतामा मात्र होइन, विद्यालयका कक्षाकोठा र कलिला बालबालिकाको फोक्सोसम्म पुगेको छ ।

    कटारी–११ हर्देनीस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश रायमाझीको प्रश्नले राज्यको लाचारीलाई गिज्याइरहेको छ । उनी भन्छन्, “हाम्रा विद्यार्थीहरू विद्यालय आउँदा बाटोभरि दिनकै एक मुठी धुलो खाएर कक्षामा छिर्छन् । एकछिन उभिएर हेर्नुस् त, ती बालबालिकाले लगाएको कपडाको रङ धुलोले चिन्नै नसकिने भएको हुन्छ । यो केवल सडकको कुरा होइन, यो त बालबालिकाको स्वास्थ्य र उनीहरूको भविष्यमाथि गम्भीर खेलबाड हो । उनीहरूको यो बिग्रँदो स्वास्थ्यको जिम्मेवारी अब कसले लिने ?”


    उनका अनुसार धुलोका कारण विद्यार्थीहरूमा निरन्तर खोकी लाग्ने, आँखा चिलाउने र श्वासप्रश्वासको समस्या बढ्दै गएको छ । सिद्धिचरण राजमार्गको यो दुरावस्थाले यहाँको वर्तमान मात्र होइन, आउँदो पुस्तालाई समेत गम्भीर समस्यामा पारेको छ । यही सडक स्तरोन्नतिका लागि कटारीस्थित मिर्चैया–कटारी–घुर्मी सडक योजना कार्यालय स्थापना भएको पाँच वर्ष भएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर वीरेन्द्रप्रसाद महतोका अनुसार मिर्चैयादेखि कटारीसम्मको २६ किलोमिटर सडक स्तरोन्नतिको चरणमा छ, तर मरुवा खोलादेखि घुर्मीसम्मको अवस्था नाजुक छ ।

    चालु आर्थिक वर्ष २०८२÷८३ मा रु एक अर्ब तीन करोड विनियोजन भए पनि विभिन्न आन्दोलन र वातावरणीय प्रभाव मूल्याङ्कन जस्ता प्रक्रियागत कारण ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको छैन । कुल रु १० अर्बको लागत अनुमान गरिएको आयोजनामा यस वर्षको बजेट ‘फ्रिज’ हुने डर उत्तिकै छ । “२०८२ को मापदण्डबमोजिम बहुवर्षीय फाइल अगाडि बढाइएको छ, तर स्रोत सुनिश्चित नभएकाले ठेक्का प्रक्रिया अन्योल छ”, महतो भन्छन् ।


    सडक स्तरोन्नतिका लागि यहाँका स्थानीयले अब हारगुहार गर्न बाँकी कुनै ठाउँ छैन । स्थानीय तहदेखि प्रदेश र सङ्घीय संसद्का प्रतिनिधिसम्म, मन्त्रालयका कोठादेखि सडकको चक्काजामसम्म सबै उपाय अपनाइसके । “आश्वासनका फाइल बोकेर मन्त्रालय धाउँदा–धाउँदा कतिपयका जुत्ता फाटे, तर सडकको अवस्था फेरिएन । अब त गुनासो गर्ने ठाउँ पनि छैन”, स्थानीयले भन्ने गरेका छन् ।

    हाल फेरि चुनावी उत्सव छ । आगामी फागुन २१ पछि उदयपुर निर्वाचन क्षेत्र २ ले फेरि नयाँ प्रतिनिधि त पाउला, तर के जीर्ण सडकले नयाँ रूप पाउलारु कि अर्को चुनावमा पनि यही सडक फेरि ‘भोट माग्ने मुद्दा’ र ‘राजनीतिक नारा’ मात्रै बन्ला ? धुलोले अनुहार नचिनिने भएका नागरिकहरू अब भन्न थालेका छन्, “हामीलाई आश्वासन मात्र दिने नेता होइन, कालोपत्र सडक चाहियो ।”

  • पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक

    पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक

    काठमाडौँ, २२ माघः पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईले राससलाई जानकारी दिइन् ।

    उनले भनिन्, “हजुरबुवा ९६ वर्ष पूरा भई ९७ वर्षमा प्रवेश गर्नुभएको थियो । उहाँको आज बिहान स्वर्गारोहण भएको छ ।” भट्टराईको शव अहिले पशुपतिस्थित ब्रह्मनालमा राखिएको र केहीबेरमा विद्युतीय शव गृहमा दाहसंस्कार गरिने उनले जानकारी दिइन् । स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् ।

  • दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाउने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाउने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    काठमाडौँ, २२ माघः निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । आयोगले यही मङ्गलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ ।

    कार्यविधिअनुसार अब निर्वाचनको प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारले अनिवार्य रूपमा छुट्टै बैङ्क खाता खोल्नुपर्ने छ । त्यसका लागि राजनीतिक दलले आयोगको सचिवालयमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । निवेदनसँगै दलको आधिकारिक पत्र, उम्मेदवारको उम्मेदवारी निस्सा वा परिचयपत्र, सम्बन्धित बैङ्कको दस्तखत नमूना कार्ड र खाता सञ्चालकको नागरिकता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

    आयोग वा निर्वाचन कार्यालयले कागजात जाँच गरी सिफारिस गरेपछि मात्र बैङ्क तथा वित्तीय संस्थाले खाता खोल्नेछन् । खाता खुलेको जानकारी आयोग, निर्वाचन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अनिवार्य रूपमा दिनुपर्नेछ । कार्यविधिअनुसार राजनीतिक दलको हकमा दलले तोकेका बढीमा दुई जना पदाधिकारीको संयुक्त दस्तखतबाट मात्र खाता सञ्चालन गर्न पाइनेछ ।

    उम्मेदवारको हकमा भने उम्मेदवार स्वयं वा उसले अख्तियारी दिएको व्यक्तिको एकल वा बढीमा दुई जनाको संयुक्त दस्तखतबाट खाता सञ्चालन गर्न सकिनेछ । यस्तै, निर्वाचन प्रचार–प्रसारसम्बन्धी सबै आम्दानी र खर्च नेपाली मुद्रामै गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । स्वेच्छिक आर्थिक सहयोग, प्रचारप्रसारका क्रममा हुने खर्च, चेक, ड्राफ्ट, टिटी वा विद्युतीय माध्यमबाट गरिने भुक्तानी सबै बैङ्क खातामार्फत गर्नुपर्नेछ ।

    सुबास ढुंगाना/रासस

    राजनीतिक दल र उम्मेदवारहरुले रू २५ हजार भन्दा बढीको सहयोग नगदमा लिन पाइने छैन । यस्तो रकम सोझै बैङ्क खातामा जम्मा गर्नुपर्नेछ । रु २५ हजारभन्दा कम रकमका हकमा भने नगद रसिद वा भरपाई काटी खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।

    कार्यविधिले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार निषेधित निकाय र व्यक्तिबाट आर्थिक सहयोग लिन कडाइका साथ प्रतिबन्ध लगाएको छ । नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका निकाय, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाहरू, सार्वजनिक शेयर भएको पब्लिक लिमिटेड कम्पनी, सरकारी वा सामुदायिक शैक्षिक संस्था, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, विदेशी सरकार वा व्यक्ति, नाम नखुलेका व्यक्ति वा संस्था तथा आयोगले तोकेका अन्य संस्थाबाट सहयोग लिन पूर्ण रूपमा निषेध गरिएको छ ।

    कार्यविधिमा रु एक लाखभन्दा बढी सहयोग लिँदा सहयोग दिने व्यक्ति वा संस्थाको नाम, ठेगाना, पेशा, स्थायी लेखा नम्बर, रकमको स्रोत तथा करसम्बन्धी विवरण अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ । कार्यविधि लागू हुनुअघि खोलिएका निर्वाचन खर्चसम्बन्धी बैङ्क खातामा रहेको रकम अब नयाँ कार्यविधिअनुसार खोलिएको खातामा सार्नुपर्ने छ । “राजनीतिक दल वा उम्मेदवारले यो कार्यविधि लागू हुनुभन्दा अघि निर्वाचन प्रचारप्रसार गर्ने प्रयोजनका लागि बैङ्क खाता खोली प्राप्त गरेको रकम यस कार्यविधिबमोजिम खोलिएको बैङ्क खातामा सार्नुपर्नेछ”, कार्यविधिमा भनिएको छ ।

    निर्वाचन सम्पन्न भएपछि दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसार खर्चको विवरण सार्वजनिक गरी सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ । सो विवरणको प्रतिवेदन तयार भएको ३५ दिनभित्र बैङ्क खाता बन्द गर्न लगाइने छ, तर खाता विवरण भने छ वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ । दल खारेज भएमा वा उम्मेदवारी रद्द भएमा आयोगले जुनसुकै समयमा खाता बन्द गराउन सक्नेछ ।

    कार्यविधिले राजनीतिक दल र उम्मेदवारले चुनावमा गरेको खर्च अनुगमनको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) प्रमुखलाई दिएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा कोलेनिका प्रमुखले यस्तो निगरानी गर्नेछन् । अनुगमनमा सरकारी कर्मचारी वा सार्वजनिक सम्पत्तिको दुरुपयोग भए–नभएको, निषेधित निकायबाट सहयोग लिइएको–नलिइएको, खर्च सीमा नाघिएको–ननाघिएको, निषेधित कार्यमा खर्च गरिएको–नगरेकोलगायत विस्तृत विवरण संकलन गरिनेछ ।

    बैङ्क खातासम्बन्धी कागजात र विवरणलाई प्रचलित कानुनबमोजिम गोप्य र अनतिक्रम्य मानिने व्यवस्था गरिएको छ, तर निर्वाचन आयोग वा आयोगले अधिकार दिएको अधिकारीले आवश्यक ठानेमा खाता जाँच वा परीक्षण गर्न सक्ने स्पष्ट प्रावधान राखिएको छ । यसअघिका निर्वाचनमा प्रचारप्रसार खर्चको स्रोत, परिमाण र प्रयोगबारे गम्भीर प्रश्न उठ्दै आएको थियो ।

    स्वेच्छिक सहयोगको नाममा अपारदर्शी लेनदेन, नगद खर्च, निषेधित निकायबाट सहयोग लिने अभ्यास र खर्च सीमा नाघ्ने प्रवृत्तिले निर्वाचनको निष्पक्षता र सुशासनमा चुनौती थप्दै आएको थियो । यही सन्दर्भमा निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र निर्वाचनलाई व्यवस्थित तथा मर्यादित बनाउन आयोगले यो कार्यविधि लागू गरेको जनाएको छ ।

  • मापदण्ड संशोधन गरी बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

    मापदण्ड संशोधन गरी बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

    काठमाडौँ, २२ माघः सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१’ लाई संशोधन गरी ‘बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८२’ लागू भएको हो ।

    नयाँ मापदण्डअनुसार बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समयसीमा अगाडि सारिएको छ । अब राष्ट्रिय योजना आयोगले प्राप्त आयोजना प्रस्तावको मूल्याङ्कन गरी उपयुक्त ठानेमा मङ्सिर १५ गतेभित्र अर्थ मन्त्रालयमा स्रोत सहमतिका लागि सिफारिस गरिसक्नुपर्नेछ । यसअघि आयोगले मङ्सिर मसान्तभित्र सिफारिस गर्ने व्यवस्था थियो ।

    यसैगरी, अर्थ मन्त्रालयले अब मध्यमकालीन खर्च संरचना, मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट त्रिवर्षीय बजेट प्रक्षेपण, चालु आर्थिक वर्षको बजेट र स्रोतको अवस्थालाई आधार मानेर पुस १५ गतेभित्र स्रोत सहमतिसम्बन्धी निर्णय गर्नुपर्नेछ । यसअघि अर्थ मन्त्रालयलाई पुस मसान्तसम्म समय दिइएको थियो । चालु आर्थिक वर्ष २०८२\८३ का लागि भने बहुवर्षीय आयोजनाको स्रोत सहमतिका लागि विशेष व्यवस्था गरिएको छ ।

    चालु आर्थिक वर्षमा कुनै मन्त्रालय वा निकायले यस्तो स्रोत सहमतिका लागि पुस मसान्तभित्र आयोगमा प्रस्ताव पेस गर्ने र आयोगले माघ १५ गतेभित्र अर्थ मन्त्रालयमा सिफारिस गर्नसक्ने व्यवस्था राखिएको छ । योजना आयोगबाट बहुवर्षीय आयोजनाका लागि स्रोत सहमतिको सिफारिस भई आएमा अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि माघ मसान्तभित्र सहमति दिन सक्नेछ ।

  • देशमा पश्चिमी वायुको आंशिक प्रभाव

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव

    काठमाडौँ, २२ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ । तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ ।

    त्यसैगरी, आज राति तराईका केही स्थानमा कुहिरो लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ । महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।