Category: फिचर

  • पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, राति पूर्वतर्फ सर्दै आउने

    पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, राति पूर्वतर्फ सर्दै आउने

    काठमाडौँ, १३ माघः आज साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको र डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिए । उक्त प्रणालीका कारण राति थप वर्षा र हिमपात हुँदै प्रणाली पूर्व सर्दै आउने पनि उनले बताए ।


    पौडेलका अनुसार बुधबार बिहानैबाट देशभर नै बादल लाग्ने र काठमाडौँमा पनि हल्कादेखि मध्यमसम्म वर्षा गराउन सक्ने छ । प्रणाली पूर्वतर्फ सर्दै आउँदा कोशी र मधेशमा अलि कम असर देखिने सम्भावना रहेको पनि उनले बताए । पछिल्लो १ घण्टामा दार्चुलामा दार्चुला र बैतडीमा शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ । विभागले साँझ सार्वजनिक गरेको विवरणमा आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्ने तथा बाँकी पहाडी र तराईका भू–भागमा आंशिक बादल लाग्नेछ छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम हिमपात-वर्षा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन-चट्याङको सम्भावना रहेको छ ।

    बुधबार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्ने र बाँकी पहाडी तथा तराईका भू–भागमा साधारणतया बादल लाग्ने छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

  • सम्भव परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

    सम्भव परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

    १३ माघ, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित सार्वजनिक–निजी साझेदारी मोडेलका सबै सम्भव परियोजना अघि बढाउन निर्देशन दिएका छन्। लगानी बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जलविद्युत् परियोजना लगायतका प्रस्ताव प्राप्त भएका छन्।

    बैठकले वन, जग्गा, मूल्य समायोजन, प्रसारण लाइन, मुआब्जा, स्थानीय तहसँग समन्वयमा समस्या समाधानका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
    १३ माघ, काठमाडौं । अर्थमन्त्री एवं लगानी बोर्ड उपाध्यक्ष रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित सार्वजनिक–निजी साझेदारी मोडेलका सम्भव सबै परियोजना अघि बढाउन निर्देशन दिएका छन् ।

    अर्थ मन्त्रालयमा भएको सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐेन २०७५ अनुसार अनुगमन तथा सहजीकरण समितिको १२औं बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजना अघि बढाउन निर्देशन दिएका हुन् । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले लगानी बोर्डमा प्राप्त परियोजनाका प्रस्ताव र नीति तयारी विषयमा जानकारी गराएका थिए । ज्ञवालीका अनुसार बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जलविद्युत् परियोजना, एग्रो भोल्टेक परियोजना, ग्रिन हाइड्रोजन, पोडवे लगायत प्रस्ताव प्राप्त भएका छन् ।

    त्यसैगरी बैठकमा लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डबाट हालसम्म १७ खर्ब १६ अर्ब रुपैयाँ बराबरका ५५ परियोजना स्वीकृत भएको जानकारी गराए । बैठकले वन, जग्गा, मूल्य समायोजन, प्रसारण लाइन, मुआब्जा, स्थानीय तहसँगको समन्वय लगायत विषयमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायमा आवश्यक सहजीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

  • न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन

    न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन

    काठमाडौँ, १३ माघः नेपाल पर्यटन बोर्ड (एनटिबी) ले संयुक्त राज्य अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने उद्देश्यसहित न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ । उक्त कार्यक्रम २४–२५ जनवरी २०२६ मा जेकब के जाभिट्स कन्भेन्सन सेन्टर, न्युयोर्कमा सम्पन्न भएको हो । नेपालका लागि अमेरिका एक महत्त्वपूर्ण स्रोत बजार रहँदै आएको छ ।

    सन् २०२५ मा एक लाख १२ हजार ३१६ अमेरिकी पर्यटक नेपाल आगमन गरेसँगै अमेरिका हाल नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा रहेको छ । यही पृष्ठभूमिमा उत्तर अमेरिकी बजारमा लक्षित निरन्तर प्रचार–प्रसार कार्यक्रमअन्तर्गत नेपाल पर्यटन बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)सँगको सहकार्यमा उक्त अन्तरराष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको हो ।

    कार्यक्रममा एसियन हेरिटेज ट्रेक्स एन्ड ट्राभल्स, एक्सप्लोर भ्याकेसन, फ्रेन्ड्स एडभेन्चर टिम ट्रेकिङ एन्ड माउन्टेनियरिङ, हिमालयन ग्लेसियर एडभेन्चर एन्ड ट्राभल कम्पनी, नेपाल भिजन ट्रेक्स एन्ड एक्सपेडिसन्स तथा टच कैलाश ट्राभल्स एन्ड टुर्स गरी छ वटा नेपाली पर्यटन कम्पनीहरूले नेपालको विविध पर्यटन आकर्षण, साहसिक यात्रा, पर्वतारोहण र ट्रेकिङ सम्भावनाबारे जानकारी प्रस्तुत गरेका थिए ।

    दुईदिने कार्यक्रममा सहभागी अमेरिकी पर्यटन व्यवसायी तथा यात्रुहरूले नेपालको साहसिक पर्यटन उत्पादनप्रति विशेष चासो देखाएका थिए । विशेषगरी पर्वतारोहण र ट्रेकिङसम्बन्धी गतिविधिमा उल्लेखनीय रुचि देखिनुले नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्न सहयोग पुगेको नेपाल पर्यटन बोर्डको विश्वास छ । साथै, यस सहभागिताले अमेरिकी पर्यटन व्यवसायीसँग पर्यटन सहकार्य विस्तार गर्नुका साथै ‘डेस्टिनेसन नेपाल’ को पहिचान मजबुत बनाउने उद्देश्य पूरा गर्न मद्दत पुगेको जनाइएको छ ।

    कार्यक्रमको पहिलो दिन २४ जनवरीमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत दधीराम भण्डारीले नेपालको प्याभिलियन अवलोकन गरी सहभागी कम्पनीहरूसँग अन्तक्र्रिया गरेका थिए । सो अवसरमा विशेषगरी पूर्वी तटीय अमेरिकी राज्यहरूमा नेपाल प्रवर्द्धनका सम्भावित सहकार्य क्षेत्रहरूबारे छलफल भएको थियो । नेपाल पर्यटन बोर्डका तर्फबाट उदय भट्टराई र प्रदीप बस्नेतले उक्त कार्यक्रममा प्रतिनिधित्व गरेका थिए ।

  • नेप्से परिसूचकमा भारी गिरावट

    नेप्से परिसूचकमा भारी गिरावट

    काठमाडौँ, १३ माघः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भएको हो । जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो । आज विभिन्न ३३३ कम्पनीका तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता शेयर एक लाख ४२ हजार ४७६ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव ४९, विकास बैंक एक, वित्त दुई दशमलव ४४, होटल तथा पर्यटन एक दशमलव ९०, जलविद्युत् एक दशमलव ४१, लगानी एक दशमलव ७०, जीवन बीमा एक दशमलव ८५, र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूह एक दशमलव ७४, व्यापार शून्य दशमलव ५१ र अन्य समूह एक दशमलव ९७ प्रतिशतले घटेको छ ।

    सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ५६ प्रतिशतले बढेको छ । साथै ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य छ दशमलव ९३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ५७ करोड ८५ लाख १६ हजार ७७ बराबरको खरिदबिक्री भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रू १७ लाख ८० हजार ८८८ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

  • वैदेशिक रोजगारीमा ठगीको अभियोगमा चार जना पक्राउ

    वैदेशिक रोजगारीमा ठगीको अभियोगमा चार जना पक्राउ

    काठमाडौँ, १३ माघः प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार स्याङ्जा चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर, मकवानपुर हेटौँडा उपमहानगरपालिका–६ की २६ वर्षीया मनिषा अधिकारी, गुल्मी रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद मरासिनी तथा चितवन राप्ती नगरपालिका–३ घर भएका २७ वर्षीय सरल आचार्य पक्राउ परेका हुन् ।

  • ओखलढुङ्गामा दम्पतीको विभत्स हत्या

    ओखलढुङ्गामा दम्पतीको विभत्स हत्या

    ओखलढुङ्गा, १३ माघः यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई दम्पतीको बीभत्स हत्या भएको छ । सोही वडाको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको हो । पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमान्को शव र श्रीमतीको खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा मृतावस्थामा शव भेटिएको हो । उनीहरुको हत्या पश्चात मृत्यु भएको खबर आज बिहान करिब ७ः४० बजेको समयमा प्रहरी चौकी निशङ्खेमा जानकारी प्राप्त भएको थियो । घटना बारेमा जानकारी पाउने बित्तिकै प्रहरीको टोलीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । उनले भने, “घटनास्थल सुरक्षित गरिएको छ, थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।”

    गत पुस १५ गते भदौरेको गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो । त्योभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका– ४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) को पनि हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आरोपमा चार जना युवा, मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    फेरि त्यही ठाउँमा अर्का दम्पतीको उस्तै प्रकृतिमा हत्या गरिनुले आमनागरिकमा त्रास पैदा भएको छ । शृङ्खलाबद्ध रुपमा भएका हत्याका घटनाका कारण स्थानीयवासी त्रसित हुनाका साथै सुरक्षा चुनौती बढेको छ । गाउँघरमा हुने यस्ता खालका घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको भन्दै दोषी तत्काल पत्ता लगाई कारबाहीको दायरमा ल्याउन स्थानीयवासीले प्रहरीसमक्ष आग्रह गरेका छन् ।

  • दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

    दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

    काठमाडौँ, १३ माघः प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएकी छिन् । मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश दू्रतमार्ग निरीक्षणका क्रममा आज सडक निर्माण कार्यदल, कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिइन् ।


    प्रधानमन्त्री कार्कीले भनिन्, “स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिइ समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरुको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ ।” प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन् ।


    उनले भनिन्, “प्राकृतिक विपद्को बेला खुला ठाउँको आवश्यक पर्छ, मानिसको ओहारदोहर, मेला, पर्व र भेला तथा जमघटका लागि पनि खुला ठाउँ आवश्यक पर्छ । त्यसकारण खाली ठाउँ देख्ने वित्तिकै संरचना बनाउनुपर्छ भन्ने धारणा त्याग्नुपर्छ । योजना बनाउँदा नै पर्याप्त खाली र खुला ठाउँ छाडेर योजना बनाउने र संरचना निर्माण गर्नुपर्छ ।”

    यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीको निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्री, विभिन्न मन्त्रालयका सचिवलगायत थिए । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन यस मार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृतमा समय लाग्दा आयोजनाको काम सुरु गर्न केही ढिलाइ भएको थियो । कुल ७० दशमलव ९७७ किमी लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल करिव ४५ प्रतिशतको हाराहारीमा पुगेको छ ।

    द्रूतमार्गअन्र्तगत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्ने छ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल छन् । त्यस्ता पुलसमेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति विसं २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न गर्ने सेनाले जनाएको छ ।

    यो काठमाडौँ उपत्यकासँग मध्यतराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुने छ । निर्माणपछि तराईबाट काठमाडौँमा ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा मुलुकको आर्थिक विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गतका सात वटा सुरुङ छन । सेनाले आयोजनाको लक्ष्यअनुसार कार्यसम्पन्न गर्न विशेष प्रयास गरिरहेको सेनाले जनाएको छ ।

  • एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

    एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

    काठमाडौँ, १३ माघ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • मेक्सिको फुटबल खेलमा बन्दुकधारीको आक्रमण, ११ को मृत्यु

    मेक्सिको फुटबल खेलमा बन्दुकधारीको आक्रमण, ११ को मृत्यु

    सालामान्का (मेक्सिको), १३ माघ (रासस–एएफपी) । मध्य मेक्सिकोको सालामान्का सहरमा आइतबार एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

    गुआनाजुआटो राज्यको एक लाख ६० हजार जनसङ्ख्याको सानो सहर सालामान्कामा खेल सकिएलगत्तै सशस्त्र व्यक्तिहरू सामुदायिक फुटबल मैदानमा प्रवेश गरे । घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एकजनाको पछि अस्पतालमा निधन भयो । घाइतेमध्ये एक महिला र एक बालकसमेत छन् ।

    मेयर सेजर प्रिटोले सङ्गठित अपराध समूहहरूलाई हिंसाको दोष दिँदै राष्ट्रिय सरकारसँग आफ्नो समुदायमा ‘शान्ति, सुरक्षा र स्थिरता पुनःस्थापना’ गर्न आग्रह गरे । उनले भने, “हामी एउटा गम्भीर सामाजिक विघटनको सामना गर्दैछौँ । अपराधी समूहहरूले स्थानीय अधिकारीहरूलाई वशमा पार्ने प्रयास गरिरहेका छन् ।” सालामान्कामा यसअघि शनिबार राति मानव अवशेष भएका चार झोला फेला परेका थिए भने नजिकैका दुई समुदायमा सोही दिन छ जनाको मृत्यु भएको थियो । गत हप्तामा सरकारी तेल कम्पनी पेमेक्सको सालामान्कास्थित रिफाइनरीमा बमको धम्की पनि दिइएको थियो ।

    गुआनाजुआटो औद्योगिक र पर्यटनको केन्द्र भए पनि आधिकारिक तथ्याङ्कअनुसार यो राज्य मेक्सिकोमा सबैभन्दा हिंसक मानिन्छ । हिंसाको अधिकांश भाग तेल चोरी र ड्रग कार्टेल—सान्ता रोजा डे लिमा गिरोह र जलिस्को न्यु जेनेरेसन—बीचको द्वन्द्वसँग जोडिएको छ । बन्दुकधारीहरूको खोजी भइरहेको छ ।
    मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशकको सबैभन्दा तल्लो तहमा झरेको बताउनुभए पनि विज्ञहरूले तथ्याङ्कको पूर्ण विश्वसनीयता स्वीकार गरेका छैनन् ।

    सन् २००६ मा कार्टेलहरूमाथि कारबाही सुरु भएदेखि मेक्सिकोमा चार लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ । एक लाख २० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्, धेरैलाई जबरजस्ती भर्ती वा अपहरण गरिएको मानिन्छ । अपराधले ग्रस्त राष्ट्रमा सामूहिक चिहान र दफन नगरिएका शवहरू नियमित रूपमा फेला पर्छन् ।

  • सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

    सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

    म्याग्दी, १३ माघ । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा बस्ती संरक्षण योजना निर्माण सुरु भएको छ ।
    जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले सिङ्गा तातोपानीमा मसारटोलस्थित म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की संरचना निर्माणको काम थालेको हो । कार्यालयका इन्जिनियर नरजङ गुरुङले हिउँद लागेर नदीमा पानीको सतह घटेपछि ठेक्का सम्झौता गरेको निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालित भएको बताए । म्याग्दी नदीलाई ‘डाइभर्सन’ गराएर जोखिमयुक्त ठाउँमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माणका लागि जग खन्न थालिएको उनले बताए ।


    एक सय दुई मिटर लामो, भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्यावियन पर्खाल निर्माण गरिने भएको छ । रु तीन करोड ६८ लाख ८६ हजार चार सय ८६ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि आरआरसी÷जेमी जेभीसँग रु दुई करोड ७१ लाख आठ सय ४४ मा २०८२ वैशाख १० गते ठेक्का सम्झौता भएको छ । विसं २०८३ असार २० गतेसम्मको ठेक्का अवधि रहेको योजना निर्धारित समयभित्रै सम्पन्न गर्ने लक्ष्यसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले बताए ।


    विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि नदीको कटानको जोखिममा छ । यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा गत वर्षदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताए । प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानी म्याग्दीको प्रमुख पर्यटकीयस्थल पनि हो ।

    गत आव २०८१÷८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका थिए ।

    गत वर्ष सङ्घीय सरकारको बजेटबाट यसपालिको योजनाभन्दा माथिल्लो क्षेत्रमा (सरस्वती माविको पछाडि) ६६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो । प्रदेश सरकारको बजेटबाट उपल्लो तातोपानी बजार पछाडि ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको थियो । यसपालि प्रदेश सरकारले विनियोजन गरेको रु २० लाख बजेटबाट पनि सोही क्षेत्रमा नदी नियन्त्रणका लागि थप संरचना निर्माण अघि बढेको छ ।

  • गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना

    काठमाडौँ, १३ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    त्यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

    साथै कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा तराई भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना छ ।

  • टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

    टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

    रासस
    भोजपुर, १३ माघः यहाँको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अघि बढाएको छ । व्यावसायिक कृषिका माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरिएको हो । किसानलाई व्यावसायिक तथा उद्यमशील बनाउने उद्देश्यले ‘एक घर एक करेसाबारी’ अवधारणाअनुसार कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार कार्यक्रमले किसानलाई तरकारीखेतीमार्फत आयआर्जन गर्न थप सहज बनाउनेछ ।

    “किसानलाई व्यावसायिक नगदे तथा तरकारीखेतीतर्फ आकर्षित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौँ”, अध्यक्ष बस्नेतले भने, “सबै किसानलाई कम्तीमा तरकारीमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।” कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाका नौवटै वडामा सञ्चालन हुने उनले जानकारी दिए । कार्यक्रम सञ्चालनका लागि किसानसँग प्रस्ताव आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए । प्रदेश सरकारबाट प्राप्त रु १० लाख सशर्त अनुदानमार्फत कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ ।

    गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले प्रस्ताव पेस गर्न सक्नेछन् । व्यावसायिक तरकारीखेती गर्न चाहने किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिए । कार्यक्रम छनोटमा आर्थिक, सामाजिक तथा भौगोलिक रूपमा पछाडि परेका वर्ग, महिला तथा दलित किसानलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । कम्तीमा दुई सय वर्गमिटर (छ आना) क्षेत्रफलमा तरकारीखेती गर्दै आएका किसान कार्यक्रमका लागि योग्य मानिने छन्भने प्राथमिकतामा पर्नेछन् ।

    ‘एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ अनुसार कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी किसानलाई प्लास्टिक टनेल, सिँचाइका लागि पाइप तथा तरकारी उत्पादनका लागि उन्नत जातका बीउबिजन वितरण गरिने कृषि विकास शाखाले जानकारी दिएको छ ।

  • देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

    देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

    काठमाडौँ, १३ माघः देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन् ।

    यस्तै, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर भने मध्यम जोखिममा छन् । प्राधिकरणले वन डढेलो पूर्वानुमान, निगरानी तथा चेतावनीलाई प्रभावकारी बनाउने, पूर्वतयारी र वन व्यवस्थापनका उपायलाई अवलम्बन गरी वन डढेलोको जोखिम कम गर्ने कार्ययोजना तय गरेको छ ।

    सङ्घ, प्रदेश, तथा स्थानीय तहका जिम्मेवार निकाय तथा सरोकार भएकाहरूका बीचमा समन्वय गरी डढेलो नियन्त्रणका प्रयासलाई थप प्रभावकारी र परिणाममुखी बनाउने प्राधिकरणले कार्ययोजना तय गरेको छ । वन डढेलो नियन्त्रण गरी जनधन तथा पर्यावरणीय स्रोतको हानिनोक्सानी न्यूनीकरण गर्नु कार्ययोजना तय गरिएको छ ।

    जनचेतना अभिवृद्धि तथा नियमनलाई प्रभावकारी बनाई वन डढेलोको जोखिमबारेको बुझाइलाई स्पष्ट पार्ने रणनीति तय गरिएको छ । वन डढेलोको आँकलन, वन क्षेत्र एवं वनजन्य इन्धन व्यवस्थापन गरी आगलागीको जोखिम न्यूनीकरण गरिनेछ । मौसम पूर्वानुमान एवं पूर्वसूचनालाई सुदृढ र सबल बनाई वन डढेलोजन्य विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने रणनीति तय गरिएको छ ।

    प्रविधिको प्रयोग एवं मानवसंशाधन परिचालनमार्फत आगलागी जोखिम क्षेत्रको निगरानी, अनुगमन, पहिचान तथा पूर्वचेतावनीलाई प्रभावकारी प्रभावकारी बनाउने, सरोकारवाला निकाबीच समन्वय, सञ्चार कायम गर्दै सचेतनामूलक अभियान, तालिम र कृत्रिम अभ्यासमार्फत पूर्वतयारी तथा डढेलो नियन्त्रण कार्यलाई सुदृढ तुल्याउने रणनीति प्राधिकरणले तय गरेको छ ।

    यसैगरी, वन डढेलोबाट प्रभावित वर्ग, क्षेत्र र समुदायको उद्धार, उपचार राहत तथा पुनःस्थापनासम्बन्धी कार्यलाई प्रभावकारी तुल्याउने, अनुगमन र तथ्याङ्क व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाई पृष्ठपोषण र अध्ययन तथा अनुसन्धानको आधार तयार पार्ने प्राधिकरणको रणनीति छ ।

  • ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

    ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

    गलकोट (बागलुङ), १३ माघः बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुनेगरी तीव्र गतिमा निर्माण भइरहेको हो ।

    यसअघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारको दृश्यले बागलुङको डोयलाई पर्यटकीय केन्द्र बनाउनका लागि नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको थियो ।

    ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको हो । रु २५ करोडको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख गरिएको छ । गत वर्ष पहिलो चरणअन्तर्गत रु ७० लाखको र चालु आवमा दोस्रो चरणअन्तर्गत रु दुई करोड ५० लाखको काम भइरहेको बागलुङ–९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए । उनका अनुसार अहिले ब्लु हिलमा निर्माण गर्ने २० फिट शिवको मूर्ति राख्नका लागि आवश्यक दुईतला पक्की भवन बनाउने काम भइरहेको छ ।

    डोयको निलो पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न नगरपालिकाले बजेट विनियोजन गरी लगानी गरिरहेको छ । यस वर्ष रु दुई करोड ५० लाखको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न निर्माण कम्पनी क्वालिसट रिन्युयबल इनर्जीले तीव्रताका साथ काम गरिरहेको छ । प्राकृतिक क्षेत्रमा धार्मिक पूर्वाधार बनाएर पर्यटक भित्र्याउने उद्देश्य राखिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

    पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गत वर्षदेखि नगरकै गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाएर काम अघि बढाएको थियो । मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेपछि नगरपालिकाले लगानी गरिरहेको बागलुङ–९ का वडाध्यक्ष थापाले जानकारी दिए ।

    “नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठूलो पूर्वाधार बने पनि स–साना पूर्वाधार पछि बन्दछन्”, उनले भने, “पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।”

    ब्लु हिल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न रु २४ करोड ५६ लाख २२ हजारको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको थियो । गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको गियो । यस क्षेत्रमा वनभोजस्थल, ध्यानकेन्द्र, दृश्य अवलोकनस्थल, जिमहल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गर्ने डिपिआरमा उल्लेख छ ।

    दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पु¥याउन नगरपालिकाको ठूलो लगानी भइरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरपाकिलाको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आन्तरिक बजेटबाट ठूलो लगानी गरिरहेको बताउँदै ब्लु हिलमा थामिनसक्नु धार्मिक पर्यटक भित्रने उनले बताए ।


    “नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय प्राकृतिक रूपमा सुन्दर र हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ । प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउनेगरी पक्की संरचना निर्माणले गति लिएको छ । अहिले एकसाथ १६ वटा खम्बा खडा गरिएको छ”, नगरप्रमुख श्रेष्ठले भने, “ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेगरी नामकरण गरेका छौँ । मौसम खुलेको समयमा यहाँ आउने जो–कोहीले हरियाली पहाडबाट धौलागिरि, माछापुच्छे«, नीलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमालसँगै बागलुङ बजार देख्न सकिन्छ ।”

    समुन्द्री सतहबाट करिब दुई हजार २०० मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेपछि ब्लु हिलले चर्चा पाउन थालेको छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार योजनाले पूर्णता पाउन भने समय लाग्नेछ ।

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, १३ माघः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ६५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ११ पैसा र बिक्रीदर २१ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाईभाट एकको खरिददर चार रुपैयाँ ७२ पैसा र बिक्रीदर चार रुपैयाँ ७४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३० पैसा र बिक्रीदर २३ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

    चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

    काठमाडौँ, १३ माघः नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

    आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्नेगरी खाता खोल्ने व्यस्था गरिएको छ ।

    प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

  • ‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

    ‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

    बेलबारी (मोरङ), १३ माघः सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उनले जानकारी दिए ।


    प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको उहाँले उल्लेख गरे । हालसम्म दुवैखण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्र सकिएको छ । आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वीखण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भएको बताए ।


    निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउने पन्तले बताए । पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सकिएको जनाउँदै उहाँले पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको बताए । बजार क्षेत्रका खम्बा सार्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुुसार पूर्वी खण्डका ठूला पुल निर्माणमा २३ प्रतिशत प्रगति भएको छ भने पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ ।

    एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण काम सुरू भएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ ।

  • समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    भक्तपुर, १२ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए । केन्द्रले आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु गर्ने उनले जानकारी दिए । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको जनाएको छ ।

  • परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

    परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

    काठमाडौँ, १२ माघः बाह्रौँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली सङ्घले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ । मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरण जानकारी गराएको हो ।

    एनआरएनएका प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई सङ्घको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठनको प्रगतिबारे जिज्ञासा राखेको थियो । सो सम्बन्धमा मन्त्रालयको डायस्पोरा डिभिजनले काम गरिरहेको बताइएको छ । एनआरएनएको महाधिवेशनका लागि परराष्टमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरीय आयोजक समिति गठन गर्ने व्यवस्था छ ।

    भेटका अवसरमा उपाध्यक्ष डा हेमराज शर्माले सङ्घको १२औँ महाधिवेशन विशेषतः बृहत् एकतापछि आयोजना गर्न लागिएको महाधिवेशन सम्पन्न गर्न लागेको जानकारी गराए । परराष्ट्र मन्त्रालयले तयार गरेको गैरआवासीय नेपालीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा मन्त्रालय र सङ्घले मिलेर थप परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए । यस सम्बन्धमा आवश्यक परिमार्जन गर्न मन्त्रालय र सङ्घले सहकार्य गर्न सकिने बताइएको छ ।भेटमा कोषाध्यक्ष सुजन थापा, सङ्घका सिइओ राजेन्द्रकुमार राउतको पनि उपस्थिति रहेको थियो ।

  • आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग

    आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग

    काठमाडौँ, १२ माघः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैह्रसरकारी संस्थालाई स्पष्टीकरण मागेको छ । यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता लागू भएदेखि माघ ११ गतेसम्म आठवटा स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले राससलाई जानकारी दिइन् ।

    आयोगले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई माघ ७ गते स्पष्टीकरण सोधेको थियो । दुवै जनालाई तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न पत्राचार गरे पनि हालसम्म जवाफ प्राप्त नभएको उनले बताइन् ।


    काठमाडौँ जिल्ला क्षेत्र नं ४ का उम्मेदवार भण्डारीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) अनुसार स्पष्टीकरण मागिएको हो । सो दफाअनुसार ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुनेगरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ ।

    यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) अनुसार स्पष्टीकरण सोधिएको हो । सो दफामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणको विषय उल्लेख छ । सो दफाको खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने भन्ने व्यवस्था छ । यही व्यवस्था पालना नभएको भनी आयोगमा उजुरी परेको हो ।

    दोलखा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ढ) र (ण) बमोजिम माघ ८ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरिएको थियो । हालसम्म स्पष्टीकरण माग गरिएका आठ जनामध्ये खरेलले मात्र स्पष्टीकरण पेस गरेको आयोगका सहायक प्रवक्ता श्रीसले जानकारी दिए । खरेलले गल्ती, कमीकमजोरी भएको भए सुधार गर्ने भनी पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो भएकाले अब गल्ती, कमी कमजोरी नगर्ने गरी सचेत गराइएको आयोगले जनाएको छ ।

    आयोगले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई एन्फा अर्डिनरी कंग्रेसको निर्वाचन आयोजना भएको विषयमा दुई दिनभित्र स्पष्ट जवाफ पेस गर्न माघ ८ गते स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ पनि प्राप्त भएको छैन । यसै विषयमा आयोगले राष्ट्रिय खेलकुद परिषद्लाई पनि दुई दिनभित्र स्पष्टीकरण पेस गर्ने गरी माघ ८ गते नै स्पष्टीकरण सोधेको थियो । परिषद्ले हालसम्म आयोगलाई स्पष्टीकरण पेस गरेको छैन । सरकार मातहतकै परिषद्लेसमेत आयोगलाई समयभित्र स्पष्टीकरण पेस नगरेको हो ।

    नेपाली कम्युनिष्ट पार्टी जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई पनि आयोगले माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) बमोजिम माघ ९ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । आचारसंहिताको दफा १३ मा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण उल्लेख छ । बस्नेतले पनि हालसम्म स्पष्टीकरण बुझाएका छैनन् ।


    कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीलाई पनि माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) बमोजिम तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । उनले पनि आयोगलाई स्पष्टीकरण बुझाएका छैनन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वराज पोखरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ण) बमोजिम माघ १० गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । यसको जवाफ पनि प्राप्त नभएको आयोगले जनाएको छ ।

  • विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

    विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

    काठमाडौँ, १२ माघः सरकारले विभिन्न चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको हो ।

    बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी तोक्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

  • पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

    पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

    महेन्द्रनगर (धनुषा), १२ माघः पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा पूजापाठ गरेका छन् । मन्दिरमा विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरे । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी भए । उनको आगमनका क्रममा मन्दिर परिसरमा सर्वसाधारण तथा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो ।

    पूर्वराजा शाहले जानकी मन्दिरदेखि करिब ५०० मिटरको दूरीमा रहेको राम मन्दिरको समेत दर्शन गरेका थिए । उनले राजदेवी मन्दिरको पनि दर्शन गरे । त्यसैगरी आजै साँझ गङ्गासागरमा आयोजना गरिएको गङ्गा आरतीमासमेत सहभागी भए ।

  • म मधेस बुझ्न आएको हुँः सभापति थापा

    म मधेस बुझ्न आएको हुँः सभापति थापा

    बरहथवा (सर्लाही), १२ माघः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताएका छन् । आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताए । सिमरा विमानस्थलमा ओर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो ।

    नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताए । “अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो”, उनले भने, “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।”

    काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसद्मा धेरै पटक उठाएको उल्लेख गर्दै उनले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए । एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उनले स्पष्ट पारे ।

  • बेइजिङ–अबुधाबी सिधा उडान सुरु

    बेइजिङ–अबुधाबी सिधा उडान सुरु

    बेइजिङ, १२ माघ (रासस–एएफपी) । चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी बीचको सिधा हवाई मार्ग सुरु गरिएको छ । यो चिनियाँ एयरलाइनद्वारा संचालित दुई राजधानीहरू बीचको पहिलो सीधा सम्पर्क हो। बोकेर एयर चाइनाको बोइङ ७८७ विमानले २७८ यात्रु लिएर गरेको पहिलो उडान शनिबार राति अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

    प्रत्येक हप्ता चार ‘राउन्ड ट्रिप’ गर्नेगरी स्थापित यो मार्ग सन् २०२६ मा एयर चाइनाको पहिलो नयाँ अन्तर्राष्ट्रिय सेवा हो। मार्गको सुरुवातले चीन र युएई बीचको उड्डयन नेटवर्कलाई अझ बढाउँछ र यसले दुई देशहरू बीचको मानव आदानप्रदान, आर्थिक र व्यापार सहयोग र सांस्कृतिक अन्तरक्रियाको लागि अधिक कुशल र सुविधाजनक हवाई मार्ग प्रदान गर्दछ।

    एयर चाइनाका एक अधिकारीले यात्रुलाई सुरक्षित, आरामदायी र सुखद यात्रा अनुभव प्रदान गर्न एयरलाइन्सले पूर्ण तयारी गरेको बताए । विमान कम्पनी स्रोतका अनुसार यो मार्गको सुरुवातले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को रूपरेखा अन्तर्गत दुई देशबीचको व्यावहारिक सहकार्यलाई नयाँ गति दिनेछ।

  • लुम्बिनीका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

    लुम्बिनीका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

    देवदह (रुपन्देही), १२ माघः रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो । मुलुकमा प्रवेश गरेपछि नेपाल आइपुगेको अनुभूति होस् भन्ने उद्देश्यले मुख्य प्रवेशद्वारदेखि डण्डाखोला पुलसम्म विद्युतीय पोलमा करिब १०० झण्डा राखिएको हो । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई यहाँ प्रवेश गरेको अनुभूति होस् भन्ने उद्देश्यले झण्डा राखिएको कार्यक्रम संयोजक तथा स्थानीयवासी अर्जुनकुमार गिरीले बताए । ‘नेपाल आएका छौँ’ भन्ने पर्यटकलाई जानकारी दिन यो कार्य अगाडि बढाइएको उनको भनाइ छ ।

    यसले बेलहिया नाकाको सौन्दर्यकरणका लागि पनि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे । राष्ट्रियता झल्काउन झण्डा आवश्यक रहेको उनले बताए । आफूहरुले गरेको यो कार्यले नेपालभरी सन्देश पुग्ने गिरीले बताए । झण्डाहरु नेपाल भन्सार एजेण्ट सङ्घ, रुपन्देहीले उपलब्ध गराएको उनले जानकारी दिए । बेलहिया गाउँ समाजले ‘हाम्रो बेलहिया, राम्रो बेलहिया’ नाराका साथ नाका क्षेत्रको सौन्दर्यकरण थालेको छ ।

    यसक्रममा सरसफाईसँगै पार्किङ व्यवस्थापनमा पनि जोड दिइएको कार्यक्रम संयोजक गिरीले बताउनुभयो । बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माले ‘सफासुग्घर र हराभरा बेलहिया’ बनाउने अभियानमा रहेको बताए । “नेपाल प्रवेश गरेपछि त्यो कुरा पर्यटकलाई भान होस्, भन्ने हाम्रो प्रमुख उद्देश्य हो ”उनले भने, “सरकारले मात्र गरेर हुँदैन । सङ्घ–संस्थाले पनि काम गर्नुपर्छ । देशप्रति नागरिकको पनि दायित्व छ । यो देशलाई चिनाउन हामी सबै लाग्नुपर्छ ।” नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका बेलहिया नाका हो ।

  • चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

    चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

    चितवन, १२ माघः चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम सुरु गरिएको छ । उनले भने, “आज देखि क्यामेरा उठाउने काम सुरु भएको छ । दुई देखि तीन दिनमा क्यामेरा उठाउने काम सकिने छ ।” उनका अनुसार तालिम दिएका १५० गणकहरू गणनामा खटिएका छन् ।

    दोस्रो भागमा १३ क्याम्प बनाएर गणक खटिएको निकुञ्जका सूचना अधिकारी मगरले बताए । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हँुदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । ती क्यामेरा निकाल्न थालिएको हो ।


    सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको थियो । एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर बाघ गाणना गरिएको हो । मगरका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ । तेस्रो भाग अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा रखिने छ । दोस्रो भागमा राखिएका क्यामेरा उठाएर ती क्षेत्रमा राखिने उनले जानकारी दिनुभयो ।

    चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

    तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले बताउनुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका छन् । ग्रिडहरूको बीचभागमा पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने गरेका छन् ।

    गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने सूचना अधिकारी मगरले जानकारी दिनुभयो । “ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, उनले भने, बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले बताए ।

    उनका अनुसार हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।

  • ‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ

    ‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ

    वालिङ (स्याङ्जा), १२ माघः पछिल्ला वर्षहरुमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्षअघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरेपनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । बजार तथा गाउँ गाउँमा पक्की घर बन्नेक्रम बढ्दै गएपछि पुराना र लोप हुनलागेका वस्तुको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सवस्थलमा लोपोन्मुख घुमाउने (कुडुले) घर निर्माण गरेको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए ।

    “पुरानो पुस्ता गोल घरकाबारेमा जानकार हुनुहुन्छ, कतिपय बस्नुभएकै पनि होला” उनले भने, “समयको विकास र आधुनिकतासँगै पछिल्ला पुस्ताले यसप्रकारका घर देखेका छैनन्, हाम्रो परम्पराको संरक्षण र जगेर्ना गर्दै नयाँ पुस्तालाई पुरानो कला संस्कृति तथा परम्पराकाबारेमा जानकारी दिनका लागि गोल घर निर्माण गरेका हौँ ।”

    बाँस, खर, काठ, माटोको प्रयोग गरेर बनाइएको उक्त गोल घर नवौँ वालिङ महोत्सवको मुख्य आकर्षणकोरुपमा रहने भएको हो । खरले छाएका घर हराउँदै गएका बेला एकदमै पुरानो गाउँले परिवेशलाई झल्काउने उद्देश्यसहित गोल घर निर्माण गरिएको उनले बताए । गाउँ गाउँमा पुरानो गोल घर हराएर गएकाले महोत्सवस्थलमा आउने दर्शकहरुको अवलोकनका लागि गोल घर (कुडुले) घर निर्माण गरिएको वालिङ उद्योग वाणिज्य सङ्घका सहकोषाध्यक्ष एवम् गोलघर निर्माण उपसमितिका संयोजक केशव पराजुलीले बताए । खरले छाएको गोलघर दुई तलाको रहने छ । घरको छानो र पाली खरैखरले छाएको छ ।

    “कुडुले घरभित्र विशेष गरी हाम्रा पुराना पुस्ताले प्रयोग गर्दै आएका सामग्री राखिने छ” उनले भने, “घरमा पुरानो जीवनशैलीलाई झल्को दिने खालका जातो, ढिकी, हलो जुवा, ठेको, छानामा फर्सी, कुभिण्डोलगायतका सामग्री राखेर सजाइने छ ।” घरको भित्तोलाई रातो र सेतो माटोले लपक्क लिपेर आकर्षक बनाइएको छ ।

    घरभित्र, पिँढी तथा आँगनमा गोबर माटोले लिपिएको छ । वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सवलाई लक्षित गरेर निर्माण गरेको गोल घरलाई महोत्सवपछि पनि संरक्षण गरेर राख्ने जनाएको छ । विसं २०६३ बाट प्रत्येक दुई÷दुईवर्षमा वालिङ महोत्सव हुँदै आएको छ । यो नवौँ संस्करणको महोत्सव माघ १४ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको हो । महोत्सवको तयारी पूरा भएको छ ।

  • मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मात्र मतदान हुने

    मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मात्र मतदान हुने

    मनाङ, १२ माघः आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ । नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि तीन चिन्हमा मतदान हुने टुङ्गो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । “निर्वाचनका लागि पाँच दलबाट उम्मेदवारी परेकामा दुई दलले उम्मेदवारी फिर्ता लिएपछि मतपत्रमा तीन वटा चिन्ह मात्रै रहने भएको हो”, उनले भने ।


    नेपाली कांग्रेससका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी मैदानमा छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा कूल सात हजार मतदाता छन् । देशकै सबैभन्दा कम मतदाता रहेको यस जिल्लामा एक अस्थायीसहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यहाँको निर्वाचन सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

    सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

    सिरहा, १२ माघः सिराहामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको रौनक बढेको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका र मन्त्री भइसकेका नौ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । विशेषगरी सिरहा क्षेत्र नं ४ मा पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले यस क्षेत्रलाई सबैको चासोको केन्द्र बनाएको छ । सिरहा निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निवर्तमान युवा तथा खेलकुदमन्त्री रहनुभएका बब्लु गुप्ताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    त्यसैगरी क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वकानुनमन्त्री लीलानाथ श्रेष्ठ र नेकपाबाट पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री विश्वनाथ साह चुनावी मैदानमा छन् । उनीहरु दुई पुराना र अनुभवी नेता भएकाले पनि उनीहरुको प्रतिस्पर्धाले यहाँको चुनावी माहोललाई थप तताएको छ । सिरहा क्षेत्र नं ४ मा भने पाँच जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । यहाँ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, नेकपाबाट पूर्वन्याय तथा कानुनमन्त्री अजयशङ्कर नायक, र नेकपा (एमाले)बाट पूर्वसामान्य प्रशासनमन्त्री धर्मनाथप्रसाद साह मुख्य प्रतिस्पर्धीका रूपमा छन् ।

    यसका साथै, जनमत पार्टीकातर्फबाट पूर्ववन तथा वातावरणमन्त्री वीरेन्द्र महतो र बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वविज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवान पनि यसै क्षेत्रबाट प्रतिस्पर्धामा छन् । पुरानै र पटकपटक मन्त्री भइसकेका नेताको बाहुल्यता रहेको यस क्षेत्रमा नेपाली कांग्रेसले भने नयाँ अनुहारका रूपमा चन्द्रकला देवी यादवलाई अगाडि सारेको छ । त्यस्तै, यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तपेश्वर यादवलाई आफ्नो उम्मेदवार बनाएको छ ।

  • एक दिनमा देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

    एक दिनमा देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

    काठमाडौँ, १२ माघः पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ । हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य बृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार देशभर १६ वटा आगलागीका घटना घटेका थिए । असावधानीका कारण परालको कुन्युमा आगो लागेको, हावाहुरीले आगो उडाउँदा अन्य क्षति भएको तथा आगो ताप्दा असावधानीका कारण आगो फैलन गई घाइते भएका जस्ता विवरण सार्वजनिक भएका छन् । विपद्मा परेर कूल रु २५ लाख ३० हजार बराबरको क्षति भएको जनाइएको छ । त्यसैगरी सात जना घाइते भएका छन् ।

    प्राधिकरणको विवरण अनुसार मोरङमा दुई, सुनसरी, भोजपुर, सप्तरी, सिरहामा एक\एक वटा आगलागीका घटना भएका थिए । सर्लाही, रौतहट, बारा, रामेछाप, मकवानपुर, काठमाडौँ, पाल्पा, प्यूठान, कैलालीमा पनि आगलागीका घटना घटेका थिए । त्यसैगरी बाग्लुङ, रुकुम पूर्व, हुम्ला, बझाङ र बैतडीमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । सप्तरी, कपिलवस्तु र डोटीमा भने जनावरको आक्रमणका घटना घटेका छन् । प्राधिकरणले विपद्बाट जोगिन, सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।