Category: फिचर

  • सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले राखेको प्रस्तावलाई बैठकले पारित गरेको हो । उपसभापति शर्माले आगामी फागुन २१ मा हुने आमनिर्वाचनमा काँग्रेस अबको प्रधानमन्त्री प्रस्तावित गरेर मैदानमा जान लागेको बताए ।

    “केन्द्रीय समितिको बैठकबाट सभापति गगन थापालाई अबको प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने संस्थागत निर्णय गरेका छौँ”, उनले भने । कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ ।

  • संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    रासस
    भक्तपुर, ९ माघः भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त भएपछि यहाँ रहेका १६९ बालबिज्याइँकर्तालाई आजै भक्तपुर र काठमाडौँको जिल्ला प्रहरी परिसर अन्तर्गतका प्रहरी हिरासतमा स्थानान्तरण गरिएको छ । बिहीबार राति १० बजेदेखि करिब रातभर सुधार गृहमा भएको झडप, आगजनी र तोडफोडका कारण सुधार गृहमा तत्काल भित्र बस्नै नसक्ने गरी सबै संरचनामा क्षति पुगेपछि यहाँका बालबिज्याइँकर्तालाई प्रहरी हिरासतमा स्थानान्तरण गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

    सुधार गृहमा रहेका बालबिज्याइँकर्तालाई आजै भक्तपुर र काठमाडौँका प्रहरी हिरासतमा बाल निगरानी कक्षमा रािखएको जानकारी दिँदै उनले यहाँ भएका क्षतिको विवरण लिने कार्य भइरहेको जानकारी दिए । सुधार गृहको क्षतिग्रस्त संरचना पुनर्निर्माण भएपछि प्रहरी हिरासतबाट सुधार गृहमै पठाइने उनले बताए ।
    प्रहरीका अनुसार राति भएको झडपमा आठ बालबिज्याइँकर्ता र २० प्रहरीसमेत घाइते भएका प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

    घाइते आठ बालबिज्याइँकर्तामध्ये नेपाल कोरिया मैत्री नगर अस्पतालमा सात जनाको उपचार गरी ‘डिस्चार्ज’ भएको तथा एक जनाको उपचार भइरहेको उनले बताए । गएराति सुधार गृहमा बालबिज्याइँकर्ताले नै आगजनी गरेपछि भक्तपुरबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सुरक्षाका लागि प्रहरी वृत्त थिमिबाट गएको प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधार गृहभित्रबाटै प्रहरीमाथि ढुङ्गामुढा भएको थियो ।


    सुधार गृृहमा १८ वर्षभन्दा माथिका ८४ युवा रहेका र २४ बालिकासमेत रहेका थिए । अठार वर्ष उमेर नाघेपछि बालबिज्याइँकर्तालाई कारागान चलान गर्ने काननी व्यवस्था नहुँदा ३५ वर्ष सम्मका युवासमेत सुधार गृहमा बस्दै आएका छन् । सुधार गृहभित्र प्रहरी जान नपाउने, रासनको व्यवस्था गरिदिएपछि बालबिज्याइँकर्ता आफैँले पालो बनाएर खाना खाने गरेको, भित्रै पढ्ने व्यबस्था गरेको भए पनि उमेर छिप्पिकएका बालबिज्याइँकर्ता एकै ठाउँमा बस्दा यहाँ रहेका महिला बालबिज्याइँकर्ताको सुरक्षामा चुनौती थपिएको सुधार गृहका कर्मचारी बताउँछन् ।

    यसअघि पनि सानोथिमिस्थित सुधार गृहमा तोडफोड, झडप र कुटपिट गर्ने एवं सुधार गृह तोडफोड गरी भागेको घटना पटक–पटक घटिरहेका छन् । सानोथिमि आसपासका बासिन्दाले भने सुधार गृहलाई बस्ती बीचबाट हटाउनुपर्ने माग गरेका छन् । सुधार गृहमा पटक पटक हुने झडप, आगजनी, तोडफोड र ढुङ्गा हानाहानले स्थानीयमा त्रास फैलिएको सुधार गृह भित्रबाट हानेका ढुङ्गा स्थानीयवासीको घरमा लागेर क्षति पुग्ने गरेको भन्दै सुधार गृह स्थानान्तरण गर्न माग गरेका हुन् ।

  • रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

    रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

    चन्द्रपुर (रौतहट), ९ माघः जिल्लाको जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । आज बिहान गौर-पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३०एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

    मृत्यु हुनेमा प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल चालक रौतहटकै दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजारका ३० वर्षीय अशोक महतो र बिआर ३० एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल चालक रौतहटकै राजदेवी नगरपालिका–२ हजमिनियाका र २९ वर्षीय अरबिन्द महतो रहेका छन् ।

  • डा भट्टराईले लिए उम्मेदवारी फिर्ता

    डा भट्टराईले लिए उम्मेदवारी फिर्ता

    गोरखा, ९ माघ । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट आगामी फागनु २१ गतेको निर्वाचनका लागि उम्मेदवारी दिनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आज उम्मेदवारी फिर्ता लिएका छन् । गोरखा नगरपालिका–८, स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्रीमार्फत डा भट्टराईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिए । उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवारी दिएका थिए ।

    त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा क्षेत्र नं १ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पनि आज आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । कार्यालयमा प्रस्तावक तथा समर्थकसहित उपस्थित भएर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरुको उम्मेदवारी फिर्ता भएसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नं १ मा अब १२ जना र क्षेत्र नं २ मा १३ जना उम्मेदवार कायम भएको छ । आजै डा. भट्टराईले एक भिडियो सन्देशमार्फत सो बारे जानकारी समेत गराएका थिए ।

    स्रोतहरुका अनुसार भट्टराईले नेपाली कम्यूनिष्ट पार्टीका संयोजक प्रचण्डसँग आफुलाई सहयोग गर्न आग्रह गरेका थिए । प्रचण्डले सकारात्मक जवाफ नदिएपछि उनले उम्मेदवारी नै फिर्ता गरेका छन् । उनले यसपछि कसलाई सहयोग गर्ने खुलाएका छैनन् । आजै रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक पोष्ट राख्दै आफुहरुलाई सहयोग गर्न आह्वान गरेका थिए । सो पोष्ट डा. भट्टराइले समेत सेयर गरेका छन् । सोहीकारण रास्वपा र भट्टराईबीच गोप्य सहमति भएको अनुमान समेत गरिएको छ ।

  • मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिए, कांग्रेसलाई सहज

    मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिए, कांग्रेसलाई सहज

    मनाङ, ९ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् । एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन् । उम्मेदवारी फिर्ताको पत्र दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए ।

    अब कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच निर्वाचनमा मुख्य प्रतिस्पर्धा भएको छ । कांग्रेसले टेकबहादुर गुरुङ र नेपाली कम्युनिष्ट पार्टीले यशोदा सुवेदी गुरुङलाई उम्मेदवार बनाएको छ । मनोनयन फिर्ताको निवेदनमाथि आज दिउँसो निर्णय हुने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । यहाँ कांग्रेस तुलनात्मक रुपमा बलियो छ ।

  • राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

    राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

    काठमाडौँ, ९ माघः राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् । त्यस अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए । राष्ट्रपति पौडेलले विद्याकीदेवी सरस्वतीको पूजाआराधना गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

    समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत उपस्थित थिए । वसन्त पञ्चमीका अवसरमा विद्याकीदेवी सरस्वतीको पूजाआराधना गरिने प्रचलन छ । यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।

  • सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

    सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

    भादगाउँ, ९ माघः मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको थियो स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए ।

    मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्रले आगो निभाएका थिए । सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन् ।

  • कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

    कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

    काठमाडौँ, ९माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।

    तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने पूर्वानुमान छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका साथै गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । यसैगरी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम हिमपात हुने सम्भावना छ ।

    साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी परिवर्तनका प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवाका साथै हवाई तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    काठमाडौँ, ९ माघ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वन्त्रताको रक्षा गर्न विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत रूपमा स्थापना भएको थियो ।

    तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ ले दिएको सुझावबमोजिम त्यसबेलाका राजा वीरेन्द्र शाहबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएसँगै आजैका दिन सशस्त्र प्रहरी बल गठन भएको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सशस्त्र प्रहरी मुख्यालय हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना गरिएको छ । सुरुआतमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलमा ल्याइएको थियो । स्थापनापश्चात महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय राखिएको थियो ।

    सशस्त्र प्रहरी महानिरीक्षकमा कृष्णमोहन श्रेष्ठ नियुक्त भएका थिए । संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठले प्रातकालीन भ्रमणको दौरान २०५९ साल माघ १२ गते गोली प्रहारबाट वीरगति प्राप्त गरेका थिए । उनीसँगै धर्मपत्नी तथा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष नुडुप श्रेष्ठ र अङ्गरक्षक सूर्यप्रसाद रेग्मीले साहदत प्राप्त गरेका थिए ।


    तत्कालीन सरकारले सशस्त्र प्रहरीलाई नेपालको कुनै भागमा भएको वा हुनसक्ने सशस्त्र सङ्घर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी तथा आतङ्कारी गतिविधि नियन्त्रण गर्नेलगायत १३ वटा कार्यादेश सुम्पेको थियो । त्यसपछि नेपाल सरकारले विभिन्न समयमा सशस्त्र प्रहरीलाई राजस्व, भन्सार तथा औद्योगिक र रेल्वे सुरक्षालगायत विभिन्न जिम्मेवारी दिँदै आएको छ ।

    यो २५ वर्षे यात्रामा सशस्त्र प्रहरी बल नेपालले राज्यप्रदत्त कार्यादेश प्रभावकारी ढङ्गले सम्पादन गर्दै सङ्गठनको संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष जोड दिँदै आएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । हालका दिनमा सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहायता र विपद् व्यवस्थापनमा आफूलाई भरपर्दो सङ्गठनका रूपमा उभ्याएको छ । सीमा सुरक्षा र विपद् व्यवस्थापनलाई सशस्त्र प्रहरीले उच्च प्राथमिकतामा राखेको छ ।

    विसं २०६१ मङ्सिर १ गतेको निर्णयानुसार तत्कालीन शाही नेपाली सेनाको सट्टा प्रमुख भन्सार नाकाहरूको सुरक्षार्थ सशस्त्र प्रहरी तैनाथ भएको थियो । विसं २०६३ फागुन ८ गतेदेखि डेडिकेटेड रूपमा सीमा सुरक्षाको जिम्मेवारी पाएको छ । सशस्त्र प्रहरीले सातवटा रिजर्भ गण, ४५ वटा सीमा सुरक्षा कार्यालय र दुई सय १५ वटा बिओपीमार्फत सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुका साथै राजस्व सङ्कलनमा समेत सहयोग पुर्याउँदै आएको सहप्रवक्ता थापा बताउँछन् ।

    नेपालको अन्तरराष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत सीमा इलाकाको बाटोघाटो सरसफाइ तथा स्तरोन्नति, अन्य विकास निर्माणका कार्यमा सहयोग, सचेतनामूलक कक्षाहरू, स्वास्थ्य शिविर र सीमावासी जनतामा सीप तथा स्वरोजगारमूलक कार्यक्रम हुँदै आएका छन् ।

    सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा आफूलाई अब्बल सुरक्षा फौजका रूपमा स्थापित गरेको छ । विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०६८ साल मङ्सिर २२ गते चितवनको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वातारोहणको क्रममा प्रतिकूल मौसमको कारण तथा भारी हिमपातमा हुनसक्ने दुर्घटनाहरूमा उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्न मनाङ पर्वतीय उद्धार तालिम शिक्षालयको समेत स्थापना गरेको छ ।

  • राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना

    राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना

    काठमाडौँ, ९ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

    माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा मानिने परम्परा रहिआएको उल्लेख गर्दै उनले आजको यस शुभदिनमा आफ्ना बालबालिकालाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने प्रचलन पनि रहिआएको बताएका छन् । “सङ्गीतका पारखीहरूका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिँदै आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र साइत जुराउनुपर्ने शुभकार्यका लागि समेत यही दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ”, उनले भनेका छन् ।


    आजको दिन गरिने वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकतामात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने अवसर पनि भएको उनको भनाइ छ । शुभकामना सन्देशमा भनिएको छ, “वसन्त पञ्चमीको प्राकृतिक महत्त्व उत्तिकै छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले यस पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतासमेतलाई दर्शाउँछ, विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लागेको छ ।”

  • आज माघ शुक्ल पञ्चमी–श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

    आज माघ शुक्ल पञ्चमी–श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

    काठमाडौँ, ९ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

    चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

    सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

    आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही०जस्ता सामाजिक तथा धार्मिककार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । तर यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्म भने गरिँदैन । यस दिन बालबालिकालाई शिक्षा आरम्भका साथै नाक, कान छेडिदिने गरिन्छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

    वसन्त श्रवण

    यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । शुक्रबार बिहान १०ः२७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्न साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले राससलाई जानकारी दिए ।
    वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।

  • उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

    उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

    काठमाडौँ, ९ माघ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
    आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण पेस गर्न भनिएको छ ।

    निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा १ को व्यवस्थाको प्रतिकूल हुनेगरी दलको झण्डा प्रयोग र आचारसंहितामा तोकेको भन्दा बढीको जुलुस लिएर गएको हो वा होइन भन्ने विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ । तोकिएको समयभित्रै आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको आयोगले जनाएको छ ।

  • निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

    निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

    काठमाडौँ, ९ माघ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्मका लागि समय तोकिएको छ । सोही दिन दिउँसो ३ः०० बजेदेखि बिहीबार बेलुका ५ः०० बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ ।

    यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।

  • शुक्रबारदेखि मौसम बदली हुने

    शुक्रबारदेखि मौसम बदली हुने

    काठमाडौँ, ८ माघ पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने जनाइएको छ । विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिए । उनले त्यसपछि सुदुरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा सुरु हुने जनाए ।

    शुक्रबार राति देशैभरका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मध्यमसम्म हिउँ पर्ने सम्भावना छ । पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने जानकारी दिए । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मेघगर्जनसहित असिनाको सम्भावना रहेको पनि ढकालले बताए ।

    शनिबार केही सुधार हुने भए पनि बदलीको असर देशभर देखिने र चिसो बढाउने विभागले जनाएको छ । मौसम बदलीको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन विभागले आज एक सूचना जारी गरी अनुरोध गरेको छ ।

  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने, गगनलाई प्रधानमन्त्री घोषणा गर्ने

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने, गगनलाई प्रधानमन्त्री घोषणा गर्ने

    काठमाडौँ, ८ माघः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए ।

    कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ । सो बैठकले आगामी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा गगन थापालाई अगाडी सारेर जाने तयारीमा कांग्रेस छ ।

  • जाँचबुझ आयोगको समय २० दिन थप

    जाँचबुझ आयोगको समय २० दिन थप

    काठमाडौँ, ८ माघः नेपाल सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ आयोगको समय २० दिन थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले आयोगको अवधि थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको तीन सदस्यीय आयोग गठन गरेको थियो । सुरुमा आयोगलाई तीन महिनाको समय दिइए पनि प्रतिवेदन तयारीको काम पूरा नभएको भन्दै गृह मन्त्रालयको प्रस्तावमा दोस्रो पटक पुनः अवधि थप गरिएको हो । आयोगका लागि यसअघि थपिएको समय आजै सकिँदै छ ।

    बैठकले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकको दुई ‘मिलियन अमेरिकी डलर’ बराबरको अनुदान सहायता स्वीकार गर्ने र नेपाल सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई तोक्ने निर्णय भएको पनि उनले जानकारी दिए । बैठकका अन्य निर्णय नियमित पत्रकार सम्मेलनमा सार्वजनिक गरिने जनाइएको छ ।

  • झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

    झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

    झापा, ८ माघ : जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् ।

    उनले क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई गरी एक लाख ६३ हजार ३७९ मतदाता रहेको जानकारी दिए । यस क्षेत्रमा ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर ४ मा ६६ हजार २८३ पुरुष, ६४ हजार ४२८ महिला र अन्य एकसहित एक लाख ३० हजार ७१२ मतदाता छन् भने ६३ वटा मतदानस्थल र १५६ वटा मतदान केन्द्र रहेको उनले जानकारी दिए ।


    क्षेत्र नम्बर ३ मा ७१ हजार १७४ पुरुष, ६९ हजार ६८३ महिलासहित एक लाख १० हजार ८५७ मतदाता, ६७ वटा मतदानस्थल र १६४ वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर २ मा ७३ हजार ९५० पुरुष, ७३ हजार ५६७ महिला र अन्य पाँचसहित एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन् । यहाँ ४९ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ । यसैगरी क्षेत्र नम्बर १ मा ६५ हजार ८५८ पुरुष, ६५ हजार २०९ महिलासहित ४३ वटा मतदानस्थल र १४५ मतदान केन्द्र रहेको कार्यालय प्रमुख नेपालले जानकारी दिए ।

  • नेपाल नेदरल्याण्ड्ससँग पराजित

    नेपाल नेदरल्याण्ड्ससँग पराजित

    काठमाडौँ, ८ माघ । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित भएको हो । यो जितसँगै समूह बी मा रहेको नेदरल्याण्ड्सले तीन खेलबाट छ अङ्क जोडेको छ । आजको हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ ।

    नेपाल यसअघि पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनमा समेटियो । नेपालका लागि रुबिना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३७ रन जोडिन् । त्यस्तै सीता राना मगरले अविजित २७ रनको योगदान गरिन् भने बिन्दु रावलले १८ रन बनाइन् ।

    नेदरल्याण्ड्सका लागि इसाबेल भान डर वोनिङले तीन विकेट लिइन् भने सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले समान एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा पाँच विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो ।

    नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डी लिडले सर्वाधिक ४९ रन जोडिन् । त्यस्तै स्टेर कालिसले ३० रन बनाउँदा रोबिन रिके १९ र आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन् । नेपालका रुबिना क्षेत्रीले दुई विकेट लिइन भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान एकरएक विकेट लिए ।

  • बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

    बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

    बैतडी, ८ माघः दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर जिल्लाको आज बिहान दुर्घटना भएको हो ।

    दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । घाइतेलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ । दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ ।

  • चिनी उद्योगको मेसिनमा च्यापिएर मृत्यु

    चिनी उद्योगको मेसिनमा च्यापिएर मृत्यु

    बरहथवा (सर्लाही), ८ माघः सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो ।

    काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । प्रहरीका अनुसार रायको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राईको भनाइ छ ।

  • प्रतिनिधिसभा निर्वाचन काठमाडौ : सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

    प्रतिनिधिसभा निर्वाचन काठमाडौ : सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

    काठमाडौँ, ८ माघ : सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले राससलाई जानकारी दिए ।

    काठमाडौँ, निर्वाचन क्षेत्र नं. १ मा मतदान स्थल २२, मतदान केन्द्र ५७ छ । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् । यसैगरी क्षेत्र नं. २ मा मतदान स्थल ४०, मतदान केन्द्र १०० छ । यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ रहेको पनि उहाँले सुनाउनुभयो । क्षेत्र नं। २ काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता रहेको क्षेत्र हो ।

    काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा मतदान स्थल २९ र मतदान केन्द्र ७२ रहेको छ । यो निर्वाचन क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन् । क्षेत्र नं. ४ मा ३३ मतदान स्थल, ८८ मतदान केन्द्र रहेको छ । यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता रहेका छन् ।

    क्षेत्र नं. ५ मा मतदान स्थल ३१, मतदान केन्द्र ९० रहेको छ । ४० हजारु ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ रहेका छन् । क्षेत्र नं. ६ मा मतदान स्थल ३२, मतदान केन्द्र ७९ रहेको छ । यहाँ महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ रहेको छ ।

    क्षेत्र नं. ७ मा मतदान स्थल २९, मतदान केन्द्र ७८ रहेको छ । महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन् । क्षेत्र नं.८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ रहेको छ । महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन् । क्षेत्र नं. ९ मा ३४ मतदान स्थल र मतदान केन्द्र ९० रहेको छ । महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ रहेका छन् । क्षेत्र नं. १० मा मतदान स्थल ४७ र मतदान केन्द्र ९८ रहेको छ । यहाँ महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ रहेका छन् ।

    काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ मा ३०, क्षेत्र नंं. २ मा २२, क्षेत्र नंं. ३ मा २४, क्षेत्र नं. ४ मा २८, क्षेत्र नंं. ५ मा २७, क्षेत्र नं. ६ मा २२, क्षेत्र नं. ७ मा २८, क्षेत्र नं. ८ मा २२, क्षेत्र नं. ९ मा २७ र क्षेत्र नं. १० मा पनि २७ उम्मेद्वार मनोनयन पत्र दर्ता गराएको पनि जिल्ला निर्वाचन अधिकारी भट्टराईले बताए । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा गरी २५७ उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएको जानकारी पनि उनले जानकारी दिए ।

  • बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

    बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

    मेलबर्न, ८ माघ (रासस–एपी) । सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले बन्दुक नियन्त्रण कडा बनाउने र घृणा–विरोधी भाषणसम्बन्धी नयाँ कानून पारित गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले यी कानूनहरू हिंसा र घृणाविरुद्धको एकताबद्ध कदम भएको बताउँदै स्वागत गरेका छन् ।

    गत डिसेम्बर १४ मा यहुदी पर्व हनुक्काका क्रममा दुई बन्दुकधारीले १५ जनाको हत्या गरेका थिए । अधिकारीहरूका अनुसार उक्त आक्रमण इस्लामिक स्टेट समूहबाट प्रेरित थियो । प्रधानमन्त्री अल्बानिजले बोन्डी घटनालाई उल्लेख गर्दै आतङ्ककारीको मनमा घृणा र हातमा बन्दुक भएकाले यति ठूलो क्षति भएको बताए । सरकारले दुवै समस्यालाई एकसाथ सम्बोधन गर्ने प्रतिबद्धता पूरा गरेको स्पष्ट पारे ।


    सरकारले सुरुमा एउटै विधेयक ल्याउने योजना बनाए पनि अन्ततः बन्दुक नियन्त्रण र घृणा–विरोधी भाषणलाई छुट्टाछुट्टै विधेयकका रूपमा संसद्मा प्रस्तुत गरेको थियो । मङ्गलबार ढिलो सिनेटबाट दुवै विधेयक पारित भएका छन् । सत्तारूढ लेबर पार्टीको तल्लो सदनमा बहुमत भए पनि माथिल्लो सदनमा सम्झौता गरेर अघि बढ्नुपरेको प्रधानमन्त्रीले स्वीकार गरे ।


    नयाँ बन्दुक कानूनले बन्दुक स्वामित्वमा थप प्रतिबन्ध लगाउने र हतियार हस्तान्तरण गर्नुपर्ने व्यक्तिलाई क्षतिपूर्ति दिने सरकारी पुनर्खरीद कार्यक्रम सुरु गर्ने व्यवस्था गरेको छ । घृणा–विरोधी भाषण कानूनले आतङ्कवादी सूचीमा नपरेका तर चरमपन्थी गतिविधिमा संलग्न समूहहरूलाई पनि गैरकानूनी घोषणा गर्न सक्ने आधार दिएको छ, जसमा गुप्तचर संस्था एएसआइओको भूमिका रहनेछ ।

    गृहमन्त्री टोनी बर्कका अनुसार बोन्डी आक्रमणका आरोपी बुबा–छोरा यी नयाँ कानूनअन्तर्गत बन्दुक राख्न अयोग्य ठहरिने थिए । घटनामा मारिएका बुबासँग कानूनी बन्दुक थियो भने घाइते छोरामाथि १५ वटा हत्या सहित दर्जनौँ गम्भीर अभियोग लगाइएको छ । विपक्षी नेसनल पार्टीले घृणा–विरोधी भाषण कानूनले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने भन्दै विरोध जनाएको छ ।

    यद्यपि सरकारको भनाइमा, सन् १९९६ को तस्मानिया नरसंहारपछि जस्तै, यो कदम पनि जनसुरक्षाका लागि अपरिहार्य हो । त्यस घटनापछि अस्ट्रेलियाले कडा बन्दुक कानून लागू गरी करिब सात लाख हतियार फिर्ता किनेको थियो । नयाँ पुनर्खरीद कार्यक्रमका लागत बाँडफाँटलाई लिएर केही राज्य र क्षेत्रसँग असहमति भए पनि सङ्घीय सरकारले वार्ता जारी राख्ने जनाएको छ ।

  • विश्वकपको भेन्यू सार्ने बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

    विश्वकपको भेन्यू सार्ने बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

    नयाँ दिल्ली, ८ माघ (रासस–एएफपी) । क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर सार्न बङ्गलादेशको अनुरोधलाई अस्वीकार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बङ्गलादेशी टोलीको सुरक्षामा सम्झौता गर्ने कुनै पनि स्वतन्त्र सुरक्षा खोजको अभावमा आईसीसीले खेल सार्न असमर्थ छ।” बङ्गलादेश क्रिकेट बोर्डले बारम्बार भारतमा खेल खेल्न अस्वीकार गर्दै आएको छ र यहाँको सरकारले मङ्गलबार बोर्डलाई उसको अडान परिवर्तन गर्न दबाब नदिने बताएको छ।

  • मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

    मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

    राष्ट्रिय समाचार समिति
    मुस्ताङ, ८ माघः आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् ।

    यसअघि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार यहाँ निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा माघ २ गतेसम्म आवेदन खुल्ला गरिएकामा आवश्यक सङ्ख्या नपुगेपछि थप दुई दिन समय थपिएको थियो ।

    यहाँ नेपाल प्रहरीलाई २६६ जना र सशस्त्र प्रहरी बल नेपाललाई ४६ जना गरी ३१२ जना निर्वाचन प्रहरी सङ्ख्या माग गरिएकामा ३२३ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए । यहाँ आवेदन दिन म्याग्दी, बाग्लुङ, पर्वत, धादिङ, रुकुम, रोल्पा र गोर्खालगायत जिल्लाबाट आएका उनले बताए ।

  • नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

    नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

    काठमाडौँ, ८ माघः आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ थालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेको हो ।

    यसअघिको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो । जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको नेदरल्यान्ड्स तेस्रो जितको खोजीमा छ । नेपाललाई पराजित गरेमा ऊ सुपर सिक्समा पुग्नेछ । महिला टी–२० वरियतामा नेदरल्यान्ड्स १४औँ र नेपाल २१औँ स्थानमा छ ।

  • ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    राष्ट्रिय समाचार समिति
    काठमाडौँ, ८ माघः परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । मानव अधिकार परिषद्को बुधबार जेनेभामा सम्पन्न युनिभर्सल पिरियोडिक रिभ्यु (युपीआर) कार्य समूहको ५१औँ सत्रमा नेपालको राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्दै उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।


    संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार परराष्ट्रसचिव राईले नागरिक, राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको प्रवद्र्धन र संरक्षणका साथै लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमार्फत मानव अधिकारको क्षेत्रमा नेपालले हासिल प्रगतिबारे जानकारी गराए ।

    उक्त सत्रमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, स्विटजरल्याण्डका लागि नेपालका राजदूत रामप्रसाद सुवेदी, परराष्ट्र मन्त्रालय तथा जेनेभास्थित नेपाली नियोगका वरिष्ठ अधिकारी सहभागी थिए ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, ८ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा तुवालो लागेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम मुख्यतया सफा रहने छ ।

    महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने तराईका विभिन्न विमानस्थलहरूमा दृश्यता घट्दा उडानमा अवरोध हुनसक्ने तथा लामो तथा छोटो दूरीका सवारीसाधनका चालकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

    महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

    राष्ट्रिय समाचार समिति
    महोत्तरी, ८ माघः प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन २१ गते हुने निर्वाचनमा ८८ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने ५५ जना मात्र छन् । क्षेत्र नम्बर १ मा १२, २ र ३ मा १५ एवं ४ मा १३ जना छन् ।

    यसैगरी, स्वतन्त्र उम्मेदवारी दिने ८८ मध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा २७ जना रहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी क्षेत्र नम्बर ४ मा २४, २ मा २२ र १ मा १५ जना स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

    जिल्लामा १९ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । दलगतभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी छ । जिल्लाका चारवटै क्षेत्रमा गरी उम्मेदवारी दर्ता गराउने १९ महिलामध्ये १० जना स्वतन्त्र उम्मेदवार रहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत भरतमणि पोखरेलले जानकारी दिए । निर्वाचन क्षेत्र–१ मा पाँच, २ मा पाँच, ३ मा २ र ४ मा सात गरी जम्मा १९ जना महिला उम्मेदवार छन् ।

  • मकवानपुर सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

    मकवानपुर सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

    राष्ट्रिय समाचार समिति
    बागमती, ८ माघः कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् ।

    मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडाँैतर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो । दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका–१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  • लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

    लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

    राष्ट्रिय समाचार समिति
    म्याग्दी, ८ माघः लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा १२९ मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माणका लागि रु दुई करोड ९६ लाख ३४ हजार ८३७ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना कार्यालयका इन्जिनियर नरजङ गुरुङले राससलाई बताए ।


    चालुु आर्थिक वर्षभित्र कम्पोजिट पर्खाल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको बताउँदै उनले चालु आवमा लामाखेतसहित कालीगण्डकीको कटान जोखिममा रहेका पर्वत र मुस्ताङका छ स्थानमा नदी नियन्त्रण आयोजना कार्यान्वयन भइरहेका जानकारी दिए ।