Category: फिचर

  • छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प


    हुम्ला, ४ असोजः कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठूला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो । पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्, सडकमा ठूलाठूला ढुङ्गा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ ।

    जिल्ला सदरमुकाम सिमकोटमा आज सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले बताए । आफू श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट सिमकोटतर्फ आएको तर, छारेभिरमा पहिरो खसेपछि आफूहरू बीच बाटोमै रोकिनुपरेको बताए ।


    “उहाँहरु पहिरोका कारण सर्केगाडको खडीखेतमा बसेर सडक खुल्ने आशामा पर्खिरहनुभएको छ । स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन्”, बुढाले भने । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक खुलाउन पहल भइरहेको बताए ।

    उनका अनुसार सडकमा ठूला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन । सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको बताए ।


    करिब १०० मिटर सडक क्षेत्रमा ठूला ढुङ्गा थुप्रिएकाले फुटाउनुपर्ने अवस्था छ । दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी गुरागाईँले बताए । उनका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भावतः पर्सि दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य छ ।

    वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण कर्णाली करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ । करिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ ।

  • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    टिकाराम सुनार–रासस
    सुदूरपश्चिम, ४ असोजः विसं २०७९ मा भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभाका ३२ वटै क्षेत्रमा पुरुषमात्रै निर्वाचित भएर आए । त्यसमा महिला, दलितलगायतका सीमान्कृत समुदाय छुटे । यहाँ ५२ प्रतिशतभन्दा बढी महिला र १८ प्रतिशतभन्दा बढी दलित समुदायको उपस्थिति छ । कल्पना गर्नुस् त, नेपालको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगरेको भए प्रदेशसभा कस्तो हुन्थ्यो ?

    हाल प्रदेशसभामा १८ महिला र तीन जना दलित समुदायका सदस्य छन् । “प्रदेशसभामा यो प्रतिनिधित्वको आधार संविधानले नै दिएको हो । यदि संविधानले कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व सुनिश्चित नगरेको भए बहुसङ्ख्यक भएर पनि प्रतिनिधित्व शून्य हुने थियो । दलितले त झन् छरिएको जनसङ्ख्याका कारण प्रतिनिधित्वको अवसर नै नपाउने अवस्था हुनसक्थ्यो”, प्रदेशसभा सदस्य हिरा सार्की भन्छन् ।


    विसं २०६२\६३ को जनआन्दोलनको मर्मअनुसार नेपालको संविधान, २०७२ ले प्रत्यक्ष प्रतिस्पर्धाबाट राज्यका नीति निर्माण गर्ने ठाउँमा पुग्न कठिन हुने वर्ग, समुदाय, लिङ्ग र क्षेत्रका लागि समानुपातिक प्रतिनिधित्वको बाटो खोलिदियो । यही व्यवस्थाका कारण पहिलो प्रदेशसभामा दलितभित्रै सीमान्तकृत मानिएको वादी समुदायकी उमादेवी वादीले प्रतिनिधित्वको अवसर पाइन् ।

    “संविधानले ढोका खोलिदिएकैले सीमान्तकृत समुदाय, क्षेत्र र लिङ्गका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित भएको छ । यसले राज्यका महत्त्वपूर्ण संरचनामा कमजोर वर्गका आवाज हराउन दिएको छैन । त्यसैको प्रतिनिधि म स्वयं हुँ”, पूर्वप्रदेशसभा सदस्य वादीले भनिन् ।


    प्रदेशसभा सदस्य ललिता सुनार पनि संविधानकै कारण प्रतिनिधित्वको आधार बनेका र अब सहभागितालाई अर्थपूर्ण बनाउन आवश्यक रहेको बताउँछिन् । “यो असाधारण उपलब्धि हो, तर पनि बर्चश्वशाली व्यक्तिहरूले संविधानको मर्मअनुसार अवसर दिन आनाकानी गरिरहेका छन् । यसर्थ अवसरको समान वितरणमा भने अझै सुधारको आवश्यकता छ”, उनले भनिन् ।


    समावेशी प्रतिनिधित्वको प्रभाव स्थानीय तहसम्म पुगेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनबाट सुदूरपश्चिममा ४१.२३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ । वडामा एक दलित महिला र एक खुला महिला सदस्य, पालिका प्रमुख र उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने अनिवार्य व्यवस्थाले स्थानीय शासनमा महिलासहित सीमान्तकृत समुदायको उपस्थिति बढाएको उनी बताउँछिन् ।

    “यसले आर्थिक, सामाजिक, सांस्कृतिकलगायत कारणले सीमान्तिकरणमा परेकाहरूलाई पनि शासनको औपचारिक संरचनामा प्रवेश गराएको छ । यो राज्यप्रति सबैको अपनत्व सृजना गर्ने महत्त्वपूर्ण पक्ष हो”, उनले भनिन् ।

    ‘दुर्गममा जन्मेकै कारण अवसर बन्द छैन’

    सुदूरपश्चिमको अर्को चुनौती हो– भूगोल र अवसरबीचको दूरी । राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेशको जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ छ भने वार्षिक औसत जनसङ्ख्या वृद्धिदर ०.५२ प्रतिशतमात्रै छ । प्रदेशमा गरिबीको अवस्था अझ गम्भीर रहेको देखाउँछ । अर्थात् यहाँ जन्मनु नै धेरै नागरिकका लागि अवसरका हिसाबले अतिरिक्त जोखिम बोकेर जन्मनु हो ।

    पछाडि परेकालाई अगाडि ल्याउन संविधानले नै विशेष व्यवस्था गर्ने बाटो खोलिदियो । संविधानको धारा ४२ ले आर्थिक, सामाजिक वा शैक्षिक रूपमा पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, थारू, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रका नागरिकलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिता, संरक्षण र अवसर पाउने हक दिएको छ ।

    त्यसै कारण राजनीतिक रुपमामात्रै होइन, राज्यका निकायमा पनि समावेशी अनुहार देखिन थालेको छ । त्यस व्यवस्थाले सकारात्मक विभेदको नीतिअनुसार राज्यको मूलधारमा ल्याउने अभ्यास भइरहेको छ । विसं २०६४÷६५ देखि २०८१÷८२ सम्म लोकसेवा आयोगमार्फत निजामती सेवामामात्रै आठ हजार ९६५ महिला, सात हजार ३० आदिवासी जनजाति, मधेसी पाँच हजार ७२९, दलित दुई हजार ३८६, अपाङ्गता एक हजार २०७, पिछडिएको क्षेत्रका ९५७ जना सहभागी भएका छन् । सुदूरपश्चिमका अछाम, बाजुरा र बझाङजस्ता पिछडिएका क्षेत्रबाट पनि अवसर पछ्याउने यात्रा केही सहज भएको छ ।

    संविधानकै कारण सुदूरपश्चिममा आफ्नै प्रदेश सरकार, ८८ स्थानीय तह, प्रदेशसभा र प्रदेश लोकसेवा आयोगजस्ता संस्थागत संरचना स्थापित भएका छन् । संविधानको धारा २४४ अनुसार गठित प्रदेश लोकसेवा आयोगले महिला ३३, दलित १५, रानाथारू १५, आर्थिक रूपले विपन्न खसआर्य १२, प्रदेशभित्रकै पिछडिएको क्षेत्र १०, आदिवासी जनजाति सात तथा अपाङ्गता भएका व्यक्ति पाँच प्रतिशतका लागि समावेशी पदपूर्तिको काम गरिरहेको छ ।

    यहाँ आर्थिक वर्ष २०७८\७९ देखि २०८२\८३ सम्म एक हजार ९७५ माग पदमध्ये बढुवासहित एक हजार ९५० पदमा सिफारिस भएका छन् । आर्थिक वर्ष २०८२\८३ मा मात्रै प्रतिस्पर्धाबाट ५३ जना महिला, १० दलित, पाँच थारु-राना थारू, तीन आर्थिक रूपले विपन्न खसआर्य, तीन पिछडिएका, दुई–दुई जना आदिवासी जनजाति र अपाङ्गता भएकाहरू प्रदेश सेवामा सिफारिस भए ।

    शुक्लाफाँटा–१२ कञ्चनपुरका अङ्कित चौधरीजस्ता युवाले आफ्नो परिवारको सयौँ वर्ष लामो इतिहासमा पहिलोपटक सरकारी सेवामा प्रवेश गर्ने अवसर पाए । वन अधिकृत (सातौँ) का रूपमा सुदूरपश्चिम प्रदेश सेवामा प्रवेश गरेका चौधरी भन्छन्, “संविधानले ढोका खोलिदिएकै कारण म र मजस्ता सीमान्तकृत परिवार तथा समुदायका व्यक्तिले राज्यका विविध सेवामा काम गर्ने अवसर पाएका हौँ । मैले प्रतिनिधित्व गरेको समूह आरक्षित व्यवस्थाअनुसार प्रवेश पाउने कान्छो समूह पनि हो । यो संविधानकै ऐतिहासिक उपलब्धि हो ।”

    प्रदेश लोकसेवा आयोगका सचिव विमलप्रसाद बराल प्रदेश लोकसेवा आयोगको गठनले सार्वजनिक प्रशासनमा प्रदेशका युवाको पहुँच बढाउनुका साथै सीमान्तकृत समुदाय, वर्ग, लिङ्ग र क्षेत्रका व्यक्तिको राज्यप्रतिको अपनत्व सृजनामा योगदान गरिरहेको बताउँछन् ।

    गरिब र असहायको सहारा राज्य

    संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा स्थापित गरेको छ । धारा ४३ ले आर्थिक रूपले विपन्न, अशक्त तथा असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ । त्यसैअनुसार सामाजिक सुरक्षा ऐन, २०७५ जारी भएपछि सामाजिक सुरक्षा भत्ता तथा लक्षित कार्यक्रमको दायरा विस्तार हुँदै गएको छ ।

    सङ्घीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्य तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार देशभर विभिन्न सामाजिक सुरक्षा भत्ता तथा लक्षित कार्यक्रमअन्तर्गत ३७ लाख २२ हजार ६७४ लाभग्राहीले राज्यको सहारा पाएका छन् । तीमध्ये सुदूरपश्चिमका नौ जिल्लाका तीन लाख ९८ हजार २३७ जना विभिन्न सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका छन् । जसमा ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक एक लाख ५१ हजार ३७५, दलित ज्येष्ठ नागरिक २४ हजार ३२२, ज्येष्ठ नागरिक एकल महिला २३ हजार १६८ र अन्य उमेर समूहका एकल महिला ४४ हजार ८१४ जना छन् । अपाङ्गतातर्फ ‘क’ वर्गका पाँच हजार ६५४ र ‘ख’ वर्गका १५ हजार १४६ गरी २० हजार ८०० जना लाभान्वित भइरहेका छन् ।

    यस्तै, बाल पोषण कार्यक्रमअन्तर्गत सुदूरपश्चिममा क्षेत्र तोकिएका ८१ हजार ५२८ र दलित समुदायका ४८ हजार ९७३ गरी एक लाख ३० हजार ५०१ बालबालिका लक्षित कार्यक्रमको दायरामा छन् । बझाङ, बाजुरा, अछाम, बैतडी र डोटी क्षेत्र तोकिएका २४ जिल्लामध्ये पर्दछन् ।

    सुदूरपश्चिममा यसको अझ ठूलो प्रभाव छ । यहाँ राज्यले दिने सामाजिक सुरक्षा भत्ता धेरैका लागि सहारा बनेको छ । सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराई सामाजिक सुरक्षा अब स्थानीय तहसम्म पुगेको नियमित प्रशासनिक प्रणालीका रूपमा विकास भएको र यसले राज्यलाई ‘कोही नहुनेको अभिभाव राज्य छ’ भन्ने सन्देश प्रवाह गरिरहेको बताउँछन् ।

    स्वास्थ्यमा पहुँचको संवैधानिक आधार

    भौगोलिक विकटतालगायत कारण सुदूरपश्चिमका नागरिकहरूका लागि स्वास्थ्य सेवामा पहुँच निकै सकसपूर्ण छ । संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने तथा स्वास्थ्य सेवामा समान पहुँच हुने हक दिएको छ । त्यसैअनुसार स्थानीय तहले आधारभूत, प्रदेशले विशेषज्ञ र संघले विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारमा काम गरिरहेका छन् ।

    यसले यहाँका नागरिकको गुणस्तरीय स्वाथ्य सेवामा पहुँच पुर्याउन गुणात्मक योगदान पुगेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासी बताउँछन् । संविधानको मर्मअनुसार प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्र स्वास्थ्य सेवा विस्तार गरिरहेको र हाल मन्त्रालयअन्तर्गतका ५२ निकायमध्ये ३५ वटा स्वास्थ्यसँग सम्बन्धित निकायले सेवा प्रवाहको काम गरिरहेका उनी बताउँछन् ।


    स्वास्थ्यमा समान पहुँचको संवैधानिक दायित्वलाई व्यवहारमा लैजान स्वास्थ्य बिमा पनि महत्त्वपूर्ण सार्वजनिक संयन्त्रका रूपमा अघि बढेको छ । बिमा व्यवस्थापन सूचना प्रणालीअनुसार सुदूरपश्चिममा हाल सात लाख ३२ हजार ७५२ जना बिमा प्रणालीमा जोडिएका छन् ।

    स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिमका संयोजक जनकबहादुर साउद स्वास्थ्य बिमा स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्ने संवैधानिक दायित्व कार्यान्वयनको महत्त्वपूर्ण पक्षका रुपमा विस्तार भइरहेको बताउँछन् । यसले आर्थिक रूपमा कमजोर परिवारका लागि उपचार खर्च व्यवस्थापनमा राहत पुर्याइरहेको उनले बताए ।
    स्रोत र विकासमा साझेदारी

    सुदूरपश्चिमको आफ्नै आन्तरिक आम्दानी सीमित छ, तर संविधानको धारा ६० ले गरेको राजस्व अधिकार तथा राजस्व बाँडफाँटको व्यवस्थाले प्रदेशमा विकास गतिविधि सञ्चालनका लागि वित्तीय आधार दिएको छ । आव २०७७÷७८ मा प्रदेशले सङ्घबाट समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी रु १४ अर्ब २३ करोड ७१ लाख प्राप्त गर्दा प्रदेश स्रोत रु २० अर्ब ४० करोड ७९ लाख थियो । त्यसपछि आव २०७८÷७९ मा रु १४ अर्ब ६० करोड ४८ लाख, आव २०७९÷८० मा १७ अर्ब ५५ करोड ८३ लाख, आव २०८०÷८१ मा रु १४ अर्ब ४२ करोड १९ लाख, आव २०८१÷८२ मा रु १३ अर्ब ८७ करोड ११ लाख र आव २०८२÷८३ मा रु १४ अर्ब २० करोड ७२ लाख सङ्घीय अनुदान प्राप्त भएको आर्थिक मामिला मन्त्रालयका प्रवक्ता उपसचिव सत्यराज जोशीले जानकारी दिए ।

    मन्त्रालयका सचिव राजेन्द्रकुमार हमाल यसरी प्राप्त बजेटले प्रदेशको सीमित आन्तरिक आम्दानीका बाबजुद विकास गतिविधि सञ्चालनमा सहयोग पुगिरहेको बताउँछन् । “संविधानले अधिकार र जिम्मेवारीको स्पष्ट आधारसहित विकास र समृद्धिको बाटो देखाएको छ । तथापि, प्रदेशलाई दिनुपर्ने अधिकार, स्रोत र कार्यक्षेत्रबीचको तादाम्यता अझ स्पष्ट बनाउँदै तीनै तहका सरकारबीचको समन्वय बलियो बनाउनुपर्ने आवश्यकता छ । यसले विकासको गन्तव्य पछ्याउन थप टेवा पुग्नेछ”, उनले भने ।

    ‘थप सुधार अपेक्षित’

    संविधानले अधिकार, प्रतिनिधित्व, संस्था र स्रोत परिचालनको बाटो दिएको छ, तर यसले प्रदेशका सबै समस्या समाधान गरिसकेको छैन । गरिबी, दुर्गम भूगोल, रोजगारीका अवसरको अभाव, कम आय, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच, युवा पलायन र बसाइँसराइका चुनौती कायमै छन् ।

    प्रदेश नीति आयोगका निवर्तमान सदस्य नृपबहादुर सुनार संविधान निर्माणको ११ वर्षमा प्रदेश समृद्धिको जग निर्माण भइरहेको बताउँछन् । दूरदराजका बस्तीहरूमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य पूर्वाधार र आवासको पहुँच विस्तारमा उल्लेख्य प्रगति भएको उनको भनाइ छ ।

    सुनार भन्छन्, “संविधानले सुदूरपश्चिमलाई समृद्धितर्फ जाने आधार, गरिब भएकै कारण राज्यबाट झन् बाहिरिन नदिने सुरक्षा, दुर्गम भएकै कारण अवसरबाट वञ्चित नहुन विशेष व्यवस्था, सीमान्तकृतलाई राज्यको मूलप्रवाह ल्याउने सुनिश्चतता दिएको छ । नागरिकमा राज्यप्रतिको अपनत्व बढाउने आधार दिएको छ ।”

    आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर बम पनि संविधानपछि बहुस्तरका सरकारमार्फत राज्यका लाभको समन्यायिक वितरणका लागि काम गर्न सहज भएको बताउनुहुन्छ । “महिला, दलित, पिछडिएका क्षेत्रलगायत राज्यमा आफ्नो प्रतिनिधित्व र अपनत्व महसुस गर्न नसकेका नागरिक शासन अभ्यासमा सहभागी हुन पाउनु आफैँमा महत्वपूर्ण परिवर्तन हो”, उनी भन्छन् ।


    सुदूरपश्चिम प्रदेशसभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठक संविधानले समावेशी लोकतन्त्र र राज्य संरचनामा सबैको प्रतिनिधित्व तथा अपनत्वको आधार निर्माण गरेको बताउँछन् । अब संविधानले दिएका अधिकारको प्रयोगबाट नागरिकको जीवनमा कति परिवर्तन आयो र अझै को–को बाहिर छन् भन्ने समीक्षा गर्दै त्यसलाई थप फराकिलो बनाउनु आवश्यक रहेको उनको धारणा छ ।

    संविधान कार्यान्वयनको ११औँ वर्ष पूरा हुँदै गर्दा अधिकार, प्रतिनिधित्व, स्रोत र राज्यको पहुँच विस्तारका लागि ढोका खुलेका छन् । अब ती ढोकाबाट कति नागरिक भित्र पसे, उनीहरूको जीवन कति बदलियो र अझै बाहिर रहेका नागरिकसम्म राज्यको अवसर कसरी पुर्याउने भन्नेबारे समीक्षासहित थप सुधार सुनिश्चित गर्नुपर्ने सरोकारवाला बताउँछन् ।

  • वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

    वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

    वीरगन्ज (पर्सा), ४ असोजः वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २३ अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३\८४ को भदौमा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो ।

    भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको भन्सार कार्यालयका प्रमुख भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए । मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ ।

  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १३ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ११ पैसा बिक्रीदर ४०७ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २२ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

    सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ


    कास्की, ४ असोजः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलगायत सरोकारवालासँग पर्याप्त संवाद गर्नुपर्ने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घको ३०औँ वार्षिक साधारणसभाको शनिबार पोखराको लेखनाथमा उद्घाटन गर्नुहुँदै अध्यक्ष श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी आर्थिक गतिविधि चलायमान बनाउनका लागि निजी क्षेत्र सरकारलाई सहयोग गर्न तत्पर रहेको बताए । “सरकारले अर्थतन्त्रका समस्या पहिल्याउन सक्नुपर्छ । सही दिशा पहिल्याउन सकेपछि मात्र समस्या हल हुने हो र देशले आर्थिक रूपमा गति लिनसक्छ । निजी क्षेत्र सरकारलाई सहयोग गर्न सधैँ तयार छ”, अध्यक्ष श्रेष्ठले भने ।


    चालु आर्थिक वर्षको बजेट आएको तीन महिना बितिसक्दा पनि कार्यान्वयनले अपेक्षित गति लिन नसकेको उनले बताए । संविधान संशोधनका सन्दर्भमा महासङ्घले प्रधानमन्त्री कार्यालयमा सुझाव पेस गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कृषियोग्य जमिन संरक्षणका लागि औद्योगिक, व्यापारिक, आवासीय र कृषि क्षेत्र छुट्याउने भूउपयोग नीति तत्काल आवश्यक रहेको उनले बताए ।


    गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा इन्द्रप्रसाद तिवारीले नेपालमा लघुउद्यम तथा व्यवसायको हिस्सा ८२ देखि ८५ प्रतिशतसम्म रहेको उल्लेख गर्दै साना, मझौला र ठूला उद्योगलाई सँगसँगै अघि बढाउनुपर्ने बताए । महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सरकारले महासङ्घजस्ता संस्थालाई संस्थागत महत्व दिनुपर्ने भन्दै निजी क्षेत्रका माग सुनुवाइका लागि महासङ्घले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।


    रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्योगी–व्यवसायी सङ्कटमा रहेका बेला महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरेर लगानीमैत्री वातावरण निर्माण, ऋण तथा निजी लगानीका समस्या समाधानका गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले हालैको भोटेकोशी नदीको बाढीले अर्थतन्त्रमा थप असर गरेको उल्लेख गर्नुभयो । सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले विगत एक वर्षका अवधिमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी सीपमूलक तथा रोजगारी सृजना गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताए ।


    साधारणसभाका अवसरमा सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्वारा स्थापित ‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सेवा’ पुरस्कार यात्री मिडिया नेटवर्क प्रालिका प्रधानसम्पादक टीकाराम यात्रीलाई प्रदान गरियो । पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ । यस्तै पोखरा रत्न सम्मानबाट सम्मानित उद्यमी चन्द्रकृष्ण कर्माचार्यलाई बधाईसहित सम्मान गरिएको थियो ।

    कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभा गौतमलगायतले देशको समृद्धिका निजी क्षेत्रको विकास र विस्तारमा रहेकाले राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए ।

  • एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री

    एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री

    नागोया, ३ असोज (रासस–सिन्ह्वा) । अन्तरराष्ट्रिय ओलम्पिक समिति (आईओसी)की अध्यक्ष क्रिस्टी कोभेन्ट्रीले महादेशीय खेलकुदले ओलम्पिक अभियानसँगको सम्बन्ध थप सुदृढ गर्दै ओलम्पिक खेलकुदमा योगदान पु¥याउने दिशामा अघि बढ्नुपर्ने बताएकी छिन् । सन् २०२६ को आइची–नागोया एसियाली खेलकुदमा ४३ खेल समावेश छन् । पेरिस ओलम्पिकमा भने ३२ खेल समावेश थिए । एसियाली खेलकुदमा १७ हजारभन्दा बढी खेलाडी तथा अधिकारी सहभागी हुँदैछन् । खेलको सङ्ख्या र संरचनालाई लिएर एसियाली खेलकुदलाई थप व्यवस्थित र ओलम्पिकसँग नजिक बनाउने विषयमा बहस भइरहेका बेला कोभेन्ट्रीको यस्तो धारणा आएको हो ।

    “महादेशीय खेलकुदसम्बन्धी निर्णय सम्बन्धित महादेशले नै गर्नुपर्छ । महादेशीय सङ्घहरूको आफ्नै स्वायत्तता हुन्छ । तर भविष्यमा महादेशीय खेलकुदले ओलम्पिक अभियानमा कसरी योगदान पु¥याउन सक्छ भन्ने पक्षलाई अझ बलियो बनाउन आवश्यक छ”, कोभेन्ट्रीले सिन्ह्वासँगको अन्तर्वार्तामा भनिन् । उनले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले एसियाली खेलकुदलाई ओलम्पिकभन्दा एक वर्षअघि आयोजना गर्ने प्रयास गरिरहेको उल्लेख गरिन् । यसो गर्दा एसियाली खेलकुदलाई ओलम्पिक छनोट प्रतियोगिताका रूपमा समेत प्रयोग गर्न सकिने उनको भनाइ छ ।

    “महादेशीय सङ्घहरूले आफ्ना प्रतियोगिता ओलम्पिकभन्दा एक वर्षअघि आयोजना गर्न जोड दिइरहेका छन्, ताकि तिनलाई ओलम्पिक छनोटका लागि प्रयोग गर्न सकियोस् । यो ओलम्पिक अभियानलाई सुदृढ बनाउने उत्कृष्ट माध्यम हुन सक्छ”, उनले भनिन् । यद्यपि, खेल कार्यक्रम निर्धारण गर्ने अधिकार सम्बन्धित महादेशीय निकाय र आयोजक राष्ट्रमै रहने कोभेन्ट्रीले स्पष्ट पारिन् । उनका अनुसार प्रत्येक महादेश र आयोजक राष्ट्रका खेलसम्बन्धी आफ्नै प्राथमिकता हुने भएकाले कार्यक्रम निर्धारण गर्दा विभिन्न पक्षबीच सन्तुलन आवश्यक हुन्छ ।

    कोभेन्ट्री शुक्रबार साँझ नागोया पुगेकी थिइन् । शनिबार उनले मुख्य मिडिया केन्द्रमा एसियाका आईओसी सदस्यहरूसँग भेट गरिन्, मुख्य प्रेस केन्द्र तथा अन्तरराष्ट्रिय प्रसारण केन्द्रको अवलोकन गरिन् । उद्घाटन समारोहप्रति उत्साहित रहेको बताउँदै उनले खेलाडीहरूलाई प्रत्यक्ष हेर्न आफू आतुर रहेको बताइन् । उनले बास्केटबल र पौडीसहित अन्य केही प्रतियोगिता अवलोकन गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । एसियाली खेलकुदको स्वर्ण पदक तालिकामा चीन लगातार ११ संस्करणदेखि शीर्ष स्थानमा रहँदै आएको छ । चीनको निरन्तर सफलताबारे सोधिएको प्रश्नमा कोभेन्ट्रीले चीनको प्रदर्शन आफैँमा स्पष्ट रहेको बताउँदै आगामी दिनमा पनि उसको सफलताको कामना गरिन् ।

  • संविधान दिवसका अवसरमा साइकल र्‍याली

    संविधान दिवसका अवसरमा साइकल र्‍याली

    काठमाडौँ, ३ असोजः संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले साइकल र्‍याली गरेको छ । र्‍यालीमा काठमाडौँ शिक्षालय ललितपुरका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीसँगै विभिन्न क्षेत्रका साइकलप्रेमी तथा स्थानीय जनसमुदाय गरी ३०० भन्दाबढी साइकलयात्री रहेका थिए । उक्त र्‍याली व्यवस्थापन गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र नेपाल स्काउटले सहयोग गरेको थियो ।

    ‘बाढीपीडितका लागि साइकाल र्‍याली, मानवताका लागि एकता’ भन्ने नारासहित आयोजना गरिएको साइकल र्‍यालीको सुरुआत महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले गने । उनले बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउने कार्यमा विद्यालय, विद्यार्थी र समुदायको सहभागिता उल्लेखनीय रहेको बताए ।


    विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेल बाढीपहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको भावना विकास गर्ने तथा साइक्लिङलाई केबल खेलकुद गतिविधिका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व भएको बताए । विद्यालयले भोटेकोशी बाढी प्रभावितलाई यसअघि नै ललितपुर प्याब्सनमार्फत रु ५१ हजार सहयोग गरिसकेको छ ।

    र्‍याली काठमाडौँ शिक्षालय ललितपुर इमाडोल, ललितपुरबाट सुरु भई कृष्णमन्दिर, ग्वार्को, बालकुमारी, खरिबोट, टीकाथली, बालकोट, चाँगाथली, लुभु, लामाटार हुँदै शङ्ख देवी मन्दिर पुगेको थियो । त्यसपछि विष्णुडोल, स्कुल चोक र महालक्ष्मी नगरपालिका हुँदै पुनःकाठमाडौँ शिक्षालय ललितपुरको परिसरमा फर्किएर र्‍याली समापन गरिएको थियो । दुई विधामा २० र २५ किलोमिटर दूरीको र्‍यालीले महालक्ष्मी क्षेत्रका विभिन्न स्थानलाई समेटेको थियो ।

  • नेपाली क्रिकेट टोलीको बिदाइ

    नेपाली क्रिकेट टोलीको बिदाइ

    काठमाडौँ, ३ असोजः जापानमा आयोजित बीसौँ संस्करणको एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
    राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई राखेपका सदस्य सचिव रामचरित्र मेहता, नेपाल क्रिकेट सङ्घ (क्यान) सचिव पारस खड्कालगायतले बिदाइ गरेका हुन् । बिदाइ समारोहमा राखेपका सदस्य सचिव मेहताले टोलीलाई शुभकामना दिए । प्रतियोगितामा टोलीले राम्रो प्रदर्शन गर्ने उल्लेख गर्दै पदकको आशा राखेको बताए ।


    नेपालले प्रतियोगिताको समूह चरणमा अफगानिस्तान र जापानविरुद्ध खेल्ने तालिका छ । नेपाली क्रिकेट टोलीले चौथोपटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले क्रिकेटतर्फ हालसम्म एसियाली खेलकुदमा क्वार्टरफाइनलसम्मको यात्रा गरेको छ । यसपालि प्रतियोगितामा स्वर्णपदक जित्ने लक्ष्य रोखेको टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले बताए ।

    एसियाली खेलकुदका लागि नेपालको टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, गुलशनकुमार झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।

  • परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

    परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

    काठमाडौँ, ३ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन् ।

    परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्नेछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्नेछन् ।

  • चितवनमा करेन्ट लागेर मर्‍यो सेलिब्रेटी जङ्गली हात्ती ‘रोनाल्डो’

    चितवनमा करेन्ट लागेर मर्‍यो सेलिब्रेटी जङ्गली हात्ती ‘रोनाल्डो’

    चितवन, ३ असोजः जङ्गली हात्ती ‘रोनाल्डो’ मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको बरन्डाभारमा विद्युतीय तार रहेका अवस्थामा हात्ती आज मृत भेटिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार टिकौली गेटबाट बरन्डाभार पोष्टमा लगिएको विद्युतीय तारमा परेर हात्ती मरेको अवस्थामा फेला परेको हो । उनका अनुसार १६ फिट माथिबाट तानिएको प्लास्टिकले बेरिएको (कोटेट) हात्तीको मुखमा देखिएको छ । गएराति कुनैबेला हात्तीले हिँड्ने क्रममा सूँडले तारमा लागेर करेन्ट लागेको प्रारम्भक अनुमान छ ।

    अन्दाजी ४५ वर्षीय जङ्गली हात्ती केही वर्षअघिसम्म रिसाहा भए पनि पछिल्ला वर्षमा शान्त थियो । थापामगरका अनुसार एकीन तथ्याङ्क नभए पनि पाँच–छ जनालाई यसले रिसाउँदा आक्रमण गरेर मारेको अनुमान छ । विसं २०६५–६६ देखि हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा आउनेजाने गरेको यो हात्तीबाट ३३ वटा बच्चा जन्मिएको केन्द्रका मणिपुरण चौधरी बताउँछन् । पछिल्ला वर्षमा निकै शान्त यस हात्तीले अधिकांश केन्द्रका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको थियो ।

    चौधरीले भने, “विसं २०५० यता हालसम्म केन्द्रमा ७१ वटा छावा जन्मिएकामा ३३ वटाको बाउ रोनाल्डो हो ।” केन्द्र विसं २०४४ मा स्थापना भएको हो । विसं २०५० बाट त्यहाँ बच्चा जन्मिन सुरु गरेका हुन् । चौधरीका अनुसार यस वर्ष बच्चा जन्माउन लागेका ऐश्र्यमाला र कर्णालीकलीलाई रोनाल्डोले नै प्रजनन गराएको हो । त्यस्तै, गर्भवती भएका तमोर, तीर्थमान, हिमाली र चितवनकलीलाई पनि रोनाल्डोले नै प्रजनन गराएको चौधरीले बताए । खोरसोरमा रहेका सात वटा छावामध्ये छ वटा रोनाल्डो को हुन् भने एउटा ध्रुवेको हो । खोरसोरमा नौ वटा माउ छन् । तीमध्ये माउसमेत अधिकांश रोनाल्डोको बच्चा भएको उनी बताउँछन् ।


    विगत दुई महिनायतादेखि खोरसोर क्षेत्रमा रोनाल्डो आएको थिएन । चौधरीले भने, “त्यतिको शान्त जङ्गली हात्ती अरु हुँदैनन । यो मर्दै गर्दा खोरसोरको नाकै गयो ।” रोनाल्डो आउन छाडेपछि हिजोआज गोविन्दे हात्ती प्रजनन केन्द्रमा आउने जाने गरेको छ । यो निकै रिसाहा रहेको उनी बताउँछन् ।

  • असहमतिलाई सम्मान गर्न सकिए संविधानका सङ्कल्प पूरा हुन्छन् : राष्ट्रपति

    असहमतिलाई सम्मान गर्न सकिए संविधानका सङ्कल्प पूरा हुन्छन् : राष्ट्रपति


    काठमाडौं, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिहरूलाई सम्मानसहित आलोचनाबाट सिक्दै राज्यलाई जनताप्रति सकिए संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुने बताएमन टज् । संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अनेकौँ सङ्घर्ष र बलिदानबाट प्राप्त संविधान बमोजिम नेपालीले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि आफ्नो राज्यसँग याचना गर्नुपर्ने अवस्था आउन नहुनेमा जोड दिए ।


    “राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक छ, जसले नागरिकमा आशा जगाउन सकोस् नागरिकलाई निराशामा राखेर न त कुनै राज्य सफल हुन्छ न त व्यवस्था, किनभने, हामी सबैले बुझ्नुपर्छ शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हँुंदैनन्”, राष्ट्रपति पौडेलले भजे, “संविधान कागजमा लेखिएका शब्द वा वाक्य सङ्ग्रहको लिखित दस्तावेज मात्र होइन यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा पनि हो ।

    यसको महत्त्व त्यतिबेला प्रकट हुन्छ, जब राज्य नागरिकको आर्तनादसँगै उभिन्छ्, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराया अनुभूत गर्नुपर्दैन संविधान दिवसले सबै राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्वबोध गराउनेछ भन्ने मैले विश्वास लिएको ।”

    उनले देशको मूल कानुन संविधानप्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आमजनताको जीवनमा स्थापित सक्नुपर्नेमा जोड दिँदै प्राकृतिक विपत्तिले विकास केवल सडक, पुल र भवन होइन मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो भन्ने सोच्नुपर्ने बताए । राष्ट्रपति पौडेलले संविधानमा अन्तर्निहित लोकतान्त्रिक राज्यप्रणाली जनताको सर्वोपरि हितमा जोडिएकाले अब जलवायु परिवर्तनका चुनौतीबीच हाम्रा विकासका ढाँचाहरू अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बन्नुपर्छ भन्ने धारणा व्यक्त गरे ।


    “मुलुकको संवैधानिक विकासक्रममा यस जननिर्मित संविधानले हामीलाई लोकतन्त्र दिएको छ, हामीले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गरेका छौँ, यो संविधानले हामीलाई प्रदेशहरू दिएको छ, हामीले आफ्नो प्रदेशलाई शान्त, भव्य र व्यवस्थित बनाउने अवसर प्राप्त गरेका छौँ, एकात्मक र केन्द्रीकृत शासनप्रणालीको बदलामा प्राप्त सङ्घीयता हाम्रा लागि संविधानले दिएको महत्वपूर्ण उपहार हो”, राष्ट्रपति पौडेलले भने ।

    राष्ट्रपति पौडेलले यो संविधानले बहुलवादमा आधारित समावेशी नेपाल बनाउने अवसर दिएको छ, हामीले यो संविधानमार्फत राज्यको शासकीय संरचनालाई नयाँ ढङ्गले स्थापित गरिएकाले संविधानले प्रदान गरेका यी महान् उपलब्धिका जगमा नै हाम्रो भविष्यको सुखद यात्रा सुनिश्चित हुन्छ विश्वास व्यक्त गरे ।


    राष्ट्रपति पौडेलले नेपालको संवैधानिक इतिहासमा आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको सात दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज ११ वर्ष पूरा भएको अवसरमा आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त पनि गरेका छन् ।

  • संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

    संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

    जनक श्रेष्ठ–रासस
    लमजुङ, ३ असोजः लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट सदरमुकाम पुग्नुपथ्र्यो । हिँडेर बजार झर्ने, सवारीसाधन चढेर सदरमुकाम पुग्ने र एउटा सामान्य काम सकेर फर्किनसमेत दुई–तीन दिन लाग्थ्यो । अहिले भने गाउँमै वडा र पालिका कार्यालय छन्, सामाजिक सुरक्षा भत्तादेखि विभिन्न सिफारिस र स्थानीय सेवासम्म घरआँगन नजिकै उपलब्ध हुन थालेका छन् ।

    चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको लमजुङमा संविधान कार्यान्वयनपछि सरकार र नागरिकबीचको दूरी घटेको छ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् तथा स्थानीय सेवा प्रवाहमा परिवर्तन देखिएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार लमजुङको जनसङ्ख्या एक दशकमा घटेको देखिन्छ । विसं २०६८ मा एक लाख ६७ हजार ७२४ रहेको जिल्लाको जनसङ्ख्या २०७८ मा एक लाख ५४ हजार ३६० मा झरेको छ । जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धिदरसमेत ऋणात्मक ०.८५ प्रतिशत रहेको छ ।

    नागरिकले ‘गाउँमा सरकार आएको’ अनुभूति गर्न थाले पनि सेवा प्रवाहको गुणस्तर, रोजगारी, स्थानीय स्रोतसाधनको परिचालन र संविधानले दिएको सबै अधिकारको कार्यान्वयनमा भने अझै चुनौती बाँकी रहेको अनुभव सुनाउँछन् । बेँसीसहर नगरपालिका–८ का स्थानीय रामकुमार श्रेष्ठका लागि सङ्घीयता कार्यान्वयनपछि आएको सबैभन्दा ठूलो परिवर्तन सरकार नागरिकको घरदैलोसम्म आइपुगेको अनुभूति हो ।

    विगतमा सामान्य सरकारी सेवा लिनसमेत सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेकामा अहिले वडा कार्यालयबाटै धेरै सेवा प्राप्त गर्न सकिने भएको उहाँ बताउनुहुन्छ । सङ्घीयता कार्यान्वयनपछि सिफारिस, सामाजिक सुरक्षा, स्थानीय पूर्वाधारलगायतका सेवा लिन सहज भएको उनको अनुभव छ । ‘घरघरमा सिंहदरबार’ भन्ने अवधारणाले गाउँमा सरकारको उपस्थिति बढाएको उनी बताउँछन् । तर सेवा नागरिकको नजिक पुगे पनि त्यसको गुणस्तर र नियमिततामा अझै प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।

    श्रेष्ठको अपेक्षा स्थानीय सरकारले विकाससँगै सुशासनलाई पनि प्राथमिकतामा राखोस् भन्ने छ । सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेहिता बढाउनुपर्ने तथा स्थानीय तहमा कुनै दल वा समूहको दबदबा हावी हुन नहुने उनी बताउँछन् । “स्थानीय तहमा सुशासनको चेतना अझ बढ्नुपर्छ । विभिन्न राजनीतिक दल वा समूहको दबदबा हावी हुने अवस्था हुनुहुँदैन । जनताको आवश्यकता र अधिकारलाई केन्द्रमा राखेर स्थानीय सरकारले काम गर्नुपर्छ,” उनले भने ।

    स्वास्थ्य र सडकको गुणस्तर सुधारसँगै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुपर्ने उहाँको अर्को अपेक्षा छ । स्थानीय तहले संविधानले दिएको अधिकारअनुसार काम गर्दै नागरिकले विकास र सेवाको प्रत्यक्ष अनुभूति गर्ने अवस्था अझ बलियो बनाउनुपर्ने उनी बताउँछन् । दोर्दी गाउँपालिका–४ की ६३ वर्षीया धन्खु गुरुङका लागि संघीयतापछि गाउँमा आएको परिवर्तनको मुख्य आधार नै सेवा र सरकारसँगको दूरी घट्नु हो ।

    सङ्घीयता कार्यान्वयनअघि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा सरकारी सेवा सहज रूपमा उपलब्ध नभएको उहाँको अनुभव छ । विगतमा विद्यालय टाढा हुँदा लामो दूरी हिँड्नुपर्ने, खानेपानीका लागि सामूहिक धारामा निर्भर हुनुपर्ने र सामान्य सरकारी कामका लागि समेत सदरमुकाम पुग्नुपर्ने अवस्था रहेको उनी बताउँछिन् ।


    गाउँबाट हिँडेर उदिपुर पुग्ने, त्यहाँबाट सवारीसाधनमा सदरमुकाम जाने र फर्किँदा पुनः हिँड्नुपर्ने हुँदा सामान्य कामका लागि पनि एक–दुई दिन लाग्ने गरेको उनको अनुभव छ । “पहिलाको तुलनामा अहिले धेरै परिवर्तन भएको छ । अधिकांश सेवा वडाबाटै र पालिकाबाटै लिन सकिने भएको छ । घरआँगन नजिकै गएर छोटो समयमै काम सकेर फर्किन सकिने अवस्था आएको छ,” उनले भनिन् । सङ्घीयतापछि गाउँमै वडा तथा पालिका कार्यालय स्थापना भएपछि सामाजिक सुरक्षा भत्तालगायतका सेवा स्थानीय तहमै उपलब्ध हुन थालेका छन्।

    विद्यालय, खानेपानी र विद्युत्लगायतका आधारभूत सेवामा समेत सुधार आएको उहाँको अनुभव छ । जग्गासम्बन्धी सेवासमेत स्थानीय तहमै उपलब्ध भए सदरमुकाम धाउनुपर्ने बाध्यता अझ घट्ने उनी बताउँछिन् । गाउँमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने, युवाको बाहिरिने क्रम रोक्नुपर्ने तथा स्वास्थ्य सेवाको पहुँचसँगै गुणस्तर पनि सुधार गर्नुपर्ने उनको अपेक्षा छ । महिलाका हकहित र उनीहरूले भोग्दै आएका समस्याको सम्बोधनमा पनि स्थानीय सरकारले थप ध्यान दिनुपर्ने उनी बताउछिन् ।


    दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङका अनुसार स्थानीय तहले नागरिकको आवश्यकताअनुसार सेवा प्रवाह गर्दै आएको छ । शिक्षा क्षेत्रमा सुधार भएको तथा सबै वडाका विद्यालयमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको उनी बताउँछन् । भौगोलिक कठिनाइका कारण कृषि क्षेत्रमा भने अपेक्षाअनुसार उपलब्धि हासिल गर्न नसकिएको उनको भनाइ छ । सडकतर्फ नयाँ बाटो खोल्नुभन्दा पहिले निर्माण भएका सडकको स्तरोन्नतिमा जोड दिइएको छ । वर्षायाममा कतिपय सडकमा आवागमन कठिन हुने गरेकाले पुराना सडकमा ग्राभेल तथा आवश्यक स्थानमा ढलान गर्ने कामलाई प्राथमिकता दिइएको उनी बताउँछन् ।


    दूधपोखरी गाउँपालिका–६ को गौडा क्षेत्रमा हालसम्म करिब २०० मिटर सडक कालोपत्र भएको उनले बताए । चालु वर्ष उक्त क्षेत्रमा करिब दुई किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको र त्यसका लागि करिब रु तीन करोड बजेट छुट्याइएको उनी बताउँछन् । सबै क्षेत्रमा कालोपत्रको माग भए पनि पर्याप्त स्रोतसाधन र बजेट अभावका कारण एकैपटक सबै ठाउँमा काम गर्न नसकिएको उनको भनाइ छ ।

    खानेपानी, पैदलमार्ग तथा अन्य सेवामा सङ्घीयतापछि सुधार आएको भए पनि नागरिकको अपेक्षाअनुसार अझै काम गर्न बाँकी रहेको उनी बताउँछन् । स्वास्थ्य, शिक्षा र सडकलाई पालिकाका प्रमुख उपलब्धिका रूपमा लिन सकिने उनको भनाइ छ । यद्यपि विकास निर्माणका क्रममा ठेक्का रद्द हुने, कतिपय योजना अधुरै रहने तथा बजेट खर्च हुन नसकेर फ्रिज हुने समस्याले विकास प्रभावित भएको उनी बताउँछन् ।


    नागरिकता सिफारिसलगायतका धेरै प्रशासनिक काम वडा तहबाटै हुने र आवश्यक कागजात जिल्ला प्रशासन कार्यालयमा पठाउने व्यवस्थाले सेवा प्रवाह सहज भएको अध्यक्ष गुरुङ बताउँछन् । विगतमा सामान्य सरकारी कामका लागि सदरमुकाम पुगेर एक दिन जाने, अर्को दिन काम गर्ने र फर्किनुपर्ने अवस्थाको तुलनामा अहिले धेरै सेवा स्थानीय तहमै उपलब्ध भएको उनको भनाइ छ ।

    स्थानीय सरकार गठनपछि नागरिकले गाउँमै विकासका आवश्यकता र बजेटका माग जनप्रतिनिधिसँग प्रत्यक्ष राख्न सक्ने अवस्था बनेको उनी बताउँछन् । तर सीमित स्थानीय स्रोतसाधन, पर्याप्त बजेटको अभाव र कतिपय अवस्थामा राजनीतिक अवरोधले काममा कठिनाइ हुने गरेको छ । स्थानीय तहको आन्तरिक आय पर्याप्त नभएकाले जग्गासम्बन्धीलगायतका थप सेवा स्थानीय तहमै सञ्चालन गर्न आर्थिक चुनौती रहेको उनको भनाइ छ ।

    मस्र्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलका अनुसार सङ्घीयता र कार्यान्वयनपछि स्वास्थ्यलगायतका सेवा नागरिकको नजिक पुगेका छन् । विगतको तुलनामा वडा र पालिका तहमा विभिन्न सेवा तथा सिफारिसका संरचना विस्तार भएका छन् भने कृषि व्यवसायमा समेत क्रमिक सुधार भइरहेको उनी बताउँछन् । “पहिला खर्च र समय दुवै बढी लाग्ने अवस्था थियो । अहिले धेरै सेवा वडा र पालिकाबाटै लिन सकिने भएको छ । संघीयताले नागरिकलाई स्थानीय तहमै सेवा पु¥याउन महत्वपूर्ण योगदान गरेको छ,” उनले भने।

    संविधानले स्थानीय तहलाई दिएको अधिकारअनुसार जग्गा, राजस्व, पेन्सनलगायतका केही सेवा स्थानीय तहमै उपलब्ध हुनुपर्ने भए पनि सबै अधिकार कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । कित्ताकाट, नामसारी तथा जग्गासम्बन्धी कामका लागि अझै सदरमुकाम जानुपर्ने अवस्था रहेकाले यस्ता सेवा पनि स्थानीय तहमै उपलब्ध हुने व्यवस्था आवश्यक रहेको उनी बताउँछन् ।

    संविधानले स्थानीय तहलाई अधिकार र जिम्मेवारी दिए पनि त्यसअनुसार आवश्यक जनशक्ति र स्रोतसाधन पर्याप्त नभएको उनको भनाइ छ । विसं २०७५ मा केन्द्रबाट कायम गरिएको दरबन्दीअनुसारकै कर्मचारी संरचना रहेकाले थपिएका जिम्मेवारीअनुसार जनशक्ति व्यवस्थापन हुन नसकेको उनी बताउँछन् । संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी आवश्यकताअनुसार कर्मचारी संरचना पुनर्गठन गर्नुपर्ने उनको भनाइ छ । स्थानीय तहलाई जिम्मेवारी र कानुनी अधिकार थपिए पनि आर्थिक स्रोतमा सङ्घ र प्रदेशमाथिको निर्भरता कायमै रहेको उनी बताउँछन् ।


    स्थानीय तहको आर्थिक अधिकार थप सुदृढ गर्नुपर्ने उहाँको भनाइ छ । “स्थानीय तहमा जिम्मेवारी धेरै थपिएको छ, तर त्यसअनुसार स्रोतसाधन र बजेट पर्याप्त छैन । अझै पनि ठूलो हिस्सा सङ्घ र प्रदेशमा निर्भर हुनुपर्ने अवस्था छ । स्थानीय तहको आर्थिक अधिकार पनि थप मजबुत बनाउन आवश्यक छ,” उनले भने । स्वास्थ्य सेवाको पहुँचमा सुधार आए पनि सेवाको गुणस्तर अझै सुधार गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार भइरहेका छन् भने पालिकास्तरको अस्पताल सञ्चालनको तयारीसमेत भइरहेको उनले बताए ।


    सङ्घीयता कार्यान्वयनपछि प्रशासनिक संरचना, बजेट र खर्च व्यवस्थापनमा केही चुनौती थपिए पनि नागरिकको नजिक सेवा पु¥याउने दृष्टिले यसको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ । स्थानीय तहमा पारदर्शिता कायम गर्दै बजेट खर्चलाई प्रभावकारी बनाउन तथा अनावश्यक खर्च नियन्त्रणमा ध्यान दिनुपर्ने उनी बताउँछन् ।


    लमजुङका स्थानीय तहमा संविधान कार्यान्वयनपछि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् तथा स्थानीय सेवा प्रवाहका क्षेत्रमा भएका परिवर्तनले नागरिकको दैनिक जीवनमा देखिएको परिवर्तनलाई प्रतिबिम्बित गर्छन् । एक दशकअघि संविधान जारी हुँदा गाउँका नागरिकले घरदैलोमै सरकार, सहज सेवा र स्थानीय आवश्यकता सम्बोधन हुने अपेक्षा गरेका थिए । अहिले सरकारको संरचना गाउँसम्म पुगेको छ र धेरै सेवा नागरिकको नजिक आएको छ । अबको चुनौती सरकार गाउँमा आयो कि आएन भन्ने होइन, गाउँमा आएको सरकारले नागरिकको जीवन कति सहज बनायो भन्ने हो ।

    संविधान कार्यान्वयनको एक दशकको अनुभवमा स्थानीय सरकार नागरिकको नजिकको सरकारका रूपमा स्थापित भएको देखिन्छ । तर बाँकी अपेक्षा पूरा गर्न सेवा प्रवाहको गुणस्तर, जवाफदेहिता, सुशासन, रोजगारी सिर्जना, स्थानीय स्रोतको परिचालन र आवश्यकताअनुसारको विकासलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ । संविधानले परिकल्पना गरेको स्थानीय सरकारको वास्तविक उपलब्धि अब नागरिकले पाउने सेवाको सहजता, गुणस्तर र त्यसबाट उनीहरूको जीवनमा आउने सुधारबाट मापन हुने चरणमा पुगेको छ ।

  • बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

    बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

    काठमाडौँ, ३ असोजः बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिता ४ अक्टोवर (असोज १८ गते)सम्म आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुन लागेको हो । प्रतियोगिताको उद्घाटन समारोह आजै नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुनेछ । समारोह स्थानीय समयअनुसार आज साँझ ६ः०० बजे सुरु हुनेछ । प्रतियोगिताका केही खेल भने उद्घाटन समारोहअघि सुरु भइसकेका छन् ।

    नेपालबाट १३५ खेलाडीको सहभागिता

    यस संस्करणको एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १३५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट सहभागी हुने खेलाडीमा ५७ महिला र ७८ पुरुष जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले टोलीमा खेलाडीबाहेक प्रशिक्षक, व्यवस्थापक, प्राविधिक तथा मेडिकल प्रतिनिधिसहित २११ जना रहने बताए । उनका अनुसार यसपटक छनोट प्रक्रियाका कारण अघिल्लो संस्करणको तुलनामा नेपालको खेलाडी सङ्ख्या घटेको हो ।

    सन् २०२३ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा नेपालबाट २५३ खेलाडी सहभागी भएका थिए । सदस्यसचिव मेहताका अनुसार नेपालबाट कबड्डीमा सबैभन्दा बढी २४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ तथा बक्सिङमा सात खेलाडी सहभागी हुँदैछन् ।

    साथै एथलेटिक्स, जुडो, टेबलटेनिस र कुस्तीमा छ-छ तथा पौडी र टेनिसमा पाँच-पाँच खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । यस्तै ब्याडमिन्टन, गल्फ र सफ्ट टेनिसमा चार–चार, तेक्वान्दोमा तीन तथा आर्चरी, साइक्लिङ, र्‍याफ्टिङ एण्ड क्यानोइङ, स्केट एण्ड स्केट बोर्डिङ र स्क्वासमा दुई–दुई खेलाडीले प्रतिस्पर्धा गर्ने उनले बताए ।


    उद्घाटन समारोहमा बक्सिङका चन्द्रबहादुर थापामगर र कबड्डीकी मानमती विष्टले नेपालको राष्ट्रिय झण्डा बोक्नेछन् । थापामगरले गत वर्ष दुबईमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए भने विष्टको कप्तानीमा नेपाली महिला कबड्डी टोलीले सन् २०२३ को हाङझाउ एसियाली खेलकुदमा कास्य पदक जितेको थियो ।

    नेपालले यसपटक एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य राखेको छ । आइची–नागोया एसियाली खेलकुदमा ४३ खेल समावेश छन् । प्रतियोगितामा ४५ देश तथा क्षेत्र र एक शरणार्थी टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

  • संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री

    संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री

    काठमाडौँ, ३ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले शहीदका रगतले लेखिएको संविधान, हामी कामले पूरा गर्र्छौँ भने ।

    प्रधानमन्त्रीले भने, “संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ, म यो बाचा आज फेरि दोहो¥याउँछु । संविधान जारी भएको दिन हरेक वर्ष आउँछ तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ, हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट ।”

    जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय मागेका बताउँदै उहाँले सरकारको हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित रहेको र रहने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य हाम्रा लागि सर्तहरू नभइ हाम्रो राष्ट्रिय जीवनको आधार भएको बताए ।
    उनले भने, “यस संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ, विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य, विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण हो । एउटा कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन । संविधान जति राम्रो भए पनि, त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ ।”

    प्रधानमन्त्री शाहले भने, “यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ । तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन् । विकासका लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरामा सरकार सचेत छ ।” वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको उनको भनाइ थियो ।

    “सुशासन नारा होइन, काम हो, हामी काम गरिरहेका छौ । सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सङ्घीय सरकार प्रतिबद्ध छ”, उनले भने ।
    प्रधानमन्त्री शाहले आफूहरु पुरानै बाटो मात्र नहिँड्ने उल्लेख गर्दै कृत्रिम बुद्धिमता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर, नवप्रवर्तन र नवउद्यमलाई अगाडि राखेर, ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिने बताउनुभयो । डिजिटल सुशासन कार्ययोजनाअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले युवाले सडकमा मागेको सुशासन प्रविधिबाट पनि सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।


    प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति हाम्रा लागि अकल्पनीय र अपुरणीय भएको आजको यस विशेष घडीमा विपद् व्यवस्थापन एवं उद्धारमा सहयोग गरेका सबै मित्रराष्ट्र, अन्तरराष्ट्रिय समुदाय एवं संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, आम नागरिक तथा देशवासीप्रति आभार प्रकट गरे ।
    “धन्यवाद मात्र पर्याप्त छैन ।

    नेपाल विश्वका विपद् उच्च जोखिम भएका मुलुकहरूको सूचीमा छ । यो तथ्यलाई हामी विपद् आइसकेपछि होइन, आउनुअघि नै सामना गर्छौँ। जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिइनेछ । विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ”, उनले भने ।


    प्रधानमन्त्री शाहले नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको मागगरी गरिएका आन्दोलनमा आफ्नो ज्यान आहुती गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरू तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका जेनजी सुशासन योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे । साथै उनले भोटेकोशी बाढीमा जीवन गुमाएका सबै स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवदेना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

  • राष्ट्रपति संविधान दिवसमा आयोजित विशेष समारोहमा सरिक

    राष्ट्रपति संविधान दिवसमा आयोजित विशेष समारोहमा सरिक

    काठमाडौँ, ३ असोजः राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । विशेष समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले मार्च पास तथा ब्याण्ड प्रदर्शन गरेका थिए । सैनिक हेलिकप्टरबाट संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।

    संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सुरक्षा अङ्गका प्रमुख, नेपाल सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिलगायत विशिष्ट उच्च पदस्थ सहभागी भए ।

  • संविधान रक्षा र राष्ट्रिय एकतामा एकजुट बनौं : ओली

    संविधान रक्षा र राष्ट्रिय एकतामा एकजुट बनौं : ओली

    काठमाडौँ, ३ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उहाँले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका हुन् ।

    लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष ओलीले संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरण गरेका छन् । संविधान निर्माणका कठिन घडी सामना गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै कानुन निर्माण तथा संरचनात्मक विकासमार्फत संविधान कार्यान्वयनको चरणमा लगेको दाबी पनि उनले गरेका छन् ।

  • तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

    तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

    दमौली (तनहुँ), ३ असोज : तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । विगत केही वर्षदेखि जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर छ भने माछामा भने आत्मनिर्भर नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११५.५ लिटर उपलब्धता रहेको जानकारी दिए ।

    १४ केजी मासु आवश्यक पर्नेमा १४.२ केजी केजी मासु उपलब्धता छ । ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८१ गोटा अण्डा उपलब्धता रहेको ठकुरीले बताए । यस हिसाबले प्रति व्यक्तिका लागि दूधमा २४.५४ लिटर, मासुमा ०.२ केजी र अण्डामा ३३ गोटा बढी उत्पादन भइरहेको उनले बताए ।


    माछामा भने ७ केजी आवश्यक पर्नेमा ०.२७ केजीमात्रै उपलब्धता छ । माछामा अझै ६.७ केजी अपुग रहेको ठकुरीले बताए । उनका अनुसार जिल्लामा ७८ हजार तीन सय नौ परिवार सङ्ख्या रहेकामा ४९ हजार छ सय ४० परिवार पशुपालनमा निर्भर रहेको छ । आर्थिक वर्ष २०८२\८३ मा जिल्लामा ७६ हजार एक सय २१ मेट्रिक टन दूध उत्पादन भएको छ । आर्थिक वर्ष २०८१\८२ मा ७४ हजार सात सय ५१ मेट्रिक टन दूध उत्पादन भएको थियो । यो वर्ष एक हजार तीन सय ६९ मेट्रिक टन बढी दूध उत्पादन भएको छ । दूध उत्पादक कृषकलाई उत्पादनमा प्रोत्साहन दिने नीतिले कृषक पशुपालनतर्फ आकर्षित भएको ठकुरीको भनाइ छ ।

    आर्थिक वर्ष २०८२–८३ मा चार हजार सात सय ८१ दशमलब ३ मेट्रिक टन मासु उत्पान भएको छ । आर्थिक वर्ष २०८१\८२ मा चार हजार नौ सय ९८ दशमलब १९ मेट्रिक टन मासु उत्पादन भएको थियो । मासुमा राँगा, भैसी, खसीबोका र सुङ्गुर बङ्गुरको उतदन घटेको छ भने कुखुराको उत्पादन बढेको ठकुरीले बताए ।
    आर्थिक वर्ष २०८२\८३ मा एक सय ६४ मेट्रिक टन माछा उत्पादन भएको छ ।

    आर्थिक वर्ष २०८१\८२ मा एक सय १३ मेट्रिक टन माछा उत्पादन भएको थियो । जिल्लामा गाई, हाँस, खरायो पालनको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०८१\८२ मा ४९ हजार सात सय ४२ गाईपालन गरिएकामा आर्थिक वर्ष २०८२\८३ मा गाईको सङ्ख्या ४९ हजार नौ सय १२ पुगेको छ ।

    आर्थिक वर्ष २०८१\८२ मा भैसी ५३ हजार तीन सय ८३ रहेकामा आर्थिक वर्ष २०८२\८३ मा ५१ हजार दुई सय ३५, आर्थिक वर्ष २०८१\८२ मा बाख्रा तीन लाख ८८ हजार एक सय ७६ रहेकामा आर्थिक वर्ष २०८२\८३ मा तीन लाख ७४ हजार सात सय ६५ रहेको छ । आर्थिक वर्ष २०८१\८२ मा कुखुरा नौ लाख ९८ हजार नौ सय ३६ रहेकामा आर्थिक वर्ष २०८२\८३ मा नौ लाख ९७ हजार सात सय ६५ पुगेको कार्यालयले जनाएको छ ।

  • संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोडौं : प्रचण्ड

    संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोडौं : प्रचण्ड

    काठमाडौँ, ३ असोजः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन् । संविधान दिवस २०८३का अवसरमा आज शुभकामना दिँदै उनले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए ।

    संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने प्रयत्न स्वीकार्य नभएको उल्लेख गर्दै संयोजक दाहालले संविधानका मूल्य र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।


    “राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ । संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ”, संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । उनले संविधान केवल एउटा कानुनी दस्तावेज नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताए ।

  • आज कागे अष्टमी पर्व मनाइँदै

    आज कागे अष्टमी पर्व मनाइँदै

    काठमाडौँ, ३ असोजः प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास समेत रहेको छ ।

    श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधि समेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जन विश्वास रहेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देशविदेशबाट लाखौँ भक्तजनको भीड लाग्छ । कागे अष्टमी समेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने यो मन्दिर क्षेत्रमा आउनेलाई सहज सुविधा दिन लागिएको छ ।
    मन्दिर जान यातायात सहज बनाउने व्यवस्था गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले राससलाई जानकारी दिनुभयो । मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण भएको छ ।

    एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।

    नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ ।

    कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, चितवनलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोवास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।

    कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । देशका अन्य स्थानमा रहेको कागेश्वर मन्दिरमा पनि आज पूजा, आराधना गर्न भक्तजन पुग्ने गर्छन् ।

  • जडिबुटीमा ट्याङ्करको ठक्करबाट मृत्यु

    जडिबुटीमा ट्याङ्करको ठक्करबाट मृत्यु

    भक्तपुर, ३ असोजः काठमाडौँबाट जडिबुटी हँुदै भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कोटेश्वरवाट जटिबुटी हुँदै भक्तपुर आउने क्रममा शुक्रबार कार्की सवार मोटरसाइकललाई सोही दिशावाट आइरहेको टयाङ्करले ठक्कर दिँदा मोटसाइकल चालक एवं कार्कीका श्रीमान् काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएका थिए । ट्याङ्कर चालक र दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

  • अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो

    अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो

    रसुवा, २ असोजः भोटेकोशी बाढीपछि सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेलापरेको छ । खोज तथा उद्धारका क्रममा अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । आयोजनाको ९।८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्र सुरूङमा शव फेला परेको अपर त्रिशूली–१ का सामाजिकविज्ञ हर्क तामाङले जानकारी दिनुभयो । खोज उद्धारका लागि नेपाली सेना र जलविद्युत् कम्पनीका कर्मचारी रहेको विज्ञ तामाङले बताए ।


    उक्त क्षेत्रमा बिहीबार पनि छ जना मजदुरको शव फेलापरेको प्रहरी प्रमुख थापाले बताए । त्यसपछि खोज तथा उद्धारकार्यलाई निरन्तरता दिँदा थप शव फेलापरेका हुन् । बाढीका समयमा आयोजनाको सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने एकिन विवरण अझै प्राप्त नभएको प्रहरीले जनाएको छ । फेलापरेका शवको पहिचान तथा सनाखत गर्ने कार्य बाँकी रहेको प्रहरीको भनाइ छ । बाढीका कारण आयोजनाको निर्माणाधीन संरचनामा क्षति पुगेपछि सुरुङभित्र फसेका तथा बेपत्ता मजदुरको खोजी तथा उद्धारकार्य जारी राखिएको थियो ।

    दुई सय १६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना रसुवामा निर्माणाधीन महत्त्वपूर्ण जलविद्युत् आयोजना हो । सुरुङभित्र बेपत्ता मजदुरको खोजीका क्रममा शव फेला पर्न थालेपछि आफन्त तथा आयोजनासँग सम्बन्धित पक्षमा शोकमा डुबेका छन् । निर्माता कम्पनीले कुन–कुन नामका कति कामदार पठाएको भन्ने कुनै तथ्याङ्क राख्न नसक्दा शव पहिचानको लागि गाह्रो परेको प्रहरीले जनाएको छ ।

  • अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता

    अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता


    काठमाडौँ, २ असोजः अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता भएको छ । भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशङ्करबीच नयाँदिल्लीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारतबीच रहीआएको भरपर्दो सम्बन्धलाई थप उन्नयन र समुन्नतितर्फ अगाडि बढाउने विविध विषयमा छलफल भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डा वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक बाढीपछिको उद्धार तथा राहतकार्यमा पुर्‍याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।


    भेटमा नेपाल–भारतबीचको दीर्घकालीन मित्रतालाई अझ प्रगाढ बनाउने तथा विशेषगरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायहरूमाथि उनीहरूले छलफल गरेका थिए । यसअघि अर्थमन्त्री डा वाग्लेले शुक्रबार भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गरेका थिए । भ्रमणको पहिलो दिन उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गरेका थिए । सो क्रममा उनीहरूबीच द्विपक्षीय आर्थिक हित र सहकार्यका सन्दर्भमा छलफल भएको थियो ।

  • तेह्र मुलुकका लागि राजदूत सिफारिस, कुन मुलुकमा को ?

    तेह्र मुलुकका लागि राजदूत सिफारिस, कुन मुलुकमा को ?

    काठमाडौँ, २ भदौ । सरकारले छिमेकी दुईसहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष लेखी पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।


    सरकारले भारतका लागि नेपाली राजदूतमा डा निश्चलनाथ पाण्डे, चीनका लागि डा। कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापालाई राजदूतका लागि सिफारिस गरेको छ । त्यस्तै, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका लागि शरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन र जापानका लागि जिज्ञानकुमार थापा सिफारिस भएका छन् । ओमानका लागि डा पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, गणतन्त्र कोरियाका लागि प्राडा सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा मञ्चला झा तथा साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको मन्त्री पोखरेलले बताए ।


    यसैगरी, मन्त्रिपरिषद् बैठकले सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

  • फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

    फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

    प्रगति ढकाल/रासस

    काठमाडौँ, २ असोजः

    “सपना हो कि विपना हो यो

    के हो जिन्दगी ?

    छिनको छिनै बदलियो

    के भो जिन्दगी ?”

    चर्चित गजल गायक थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर तथा प्रभा बर्तौलाको शब्द रहेको यो गीतका हरफले जीवनको अनिश्चितता र एकाएक बदलिने परिस्थितिको पीडा बोल्छन् । यतिबेला यी हरफ दोलखाको कालिका खड्काको जीवनसँग ठ्याक्कै मिलेजस्तो भएको छ । सपना र विपना के हो ? गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सपना र बिपना छुट्याउन अझै पनि नसकेको जस्तो भएको छ उनलाई ।

    चीनको केरुङमा ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेस्ट चाइना’ को कार्यक्रममा सहभागी हुन जाने भन्दै रसुवागढीतर्फ हिडेका श्रीमान् टेकराज थामी भदौ १० को बिहानदेखि नै सम्पर्कविहीन छन् । न फोन आएको छ, न एसएमएस । न त उनकाे अवस्थाबारे कुनै खबर नै । जसरी हरेक दिन साँझ पर्न थालेपछि बास बस्न चराचुरुङ्गी आफ्ना गुँडतर्फ फर्किन्छन् । त्यसरी नै दिनभर काममा गएकाहरु साँझ घर फर्किन्छन् । जब साँझ छिप्पिँदै जान्छ, सडकमा मानिसको आवतजावत पनि बिस्तारै कम हुन थाल्छ । कालिकाको मनमा जिज्ञासा अझै आउँछ– यतिबेलासम्म किन घर नफर्केको होला ? कतैबाट टुप्लुक्क मेरो श्रीमान् (जी) पनि घर फर्किनुहुन्छ कि ?

    कालिका मायाले बोलाउँदा टेकराजलाई ‘जी’ भन्थिन् । पत्रकारिता पेसामा रहेका नयाँ पत्रिकाका टेकराज कहिलेकाहीँ समाचारको कामले रातिसम्म घर बाहिरै रहन्रथे । ढिला हुने भएपछि फोन आउँथ्यो–‘आज अलि ढिला हुन्छ है ।’ अहिले कालिका त्यही फोनको प्रतीक्षामा बसेकाे पनि महिना दिन पुग्न लागिसक्यो ।

    “तिमीहरु खाना खाएर सुत ल । छोरीलाई बाबा आउन ढिला हुने भो भन्देऊ ।” प्रायःजसो आउने यस्तै किसिमको सन्देश आए पनि प्रतीक्षा त जति पनि गरिन्थ्यो नि झैँ लाग्छ कालिकालाई । प्रतीक्षा गरेकै २३ दिन बितिसक्यो । टेकराजको फोनबाट कुनै सन्देश आएन । “पहिला अफिसबाट ढिला हुँदा फोन आउँथ्यो । अहिले पनि साँझ परेपछि उनकाे फोन आउँछ कि जस्तो लाग्छ”, कालिका भन्छिन् ।

    “फोन नआए पनि उहाँ फर्केर आउनुहुन्छ कि भन्ने आश भने अझै मरेको छैन ।” घरको ढोकामा हावा लागेर ‘ढकढक’ आवाज आउँदा पनि कालिकाको मुटु बेस्सरी ढुकढुक हुने गर्छ । उनलाई लाग्छ–टेकराज पो आएकी ! तर ढोका खोल्दा बाहिर कोही हुँदैन । सधैँ अफिसबाट फर्कने बाबालाई ढोकामा स्वागत गर्न दौडिने छोरी कृतिकाले पनि २३ दिनदेखि त्यो अवसर पाएकी छैनन् ।

    बाबा पनि घर फर्केपछि छोरीले ढोका खोल्न नआएसम्म म बाहिर नै बस्छु भन्दै मायाले घुर्काउँथे । । छुट्टीको समयमा सधैँ बाबाछोरी घुम्न निस्कन्थे तर २३ दिनयता कति स्कूल छुट्टी भए । कृतिकालाई हात समाएर घुमाउने बाबाको साथ छैन । कुशे औँसीमा पनि तस्बिर हेरेर चित्त बुझाउनुप¥यो । सानासाना खुसी बाबालाई ‘शेयर’ गर्ने कृतिकाले महिना दिनभयो बाबासँग त्यो खुसी साट्ने अवसर नपाएको । सडकमा मोटरसाइकल गुडेको आवाज सुन्नासाथ कृतिका सोध्छिन्, “बाबा आउनुभएछ कि ?”

    छोरीको त्यो प्रश्नले कालिकाको मन झन् भारी हुन्छ । “सडकमा मोटरसाइकल चल्दा पनि छोरीले ‘बाबा आउनुभएछ क्यारे’ भन्छिन्”, कालिका सुनाउँछिन्, “मलाई पनि अझै सबै जना अफिसबाट फर्किएजस्तै उहाँ पनि घर फर्केर आउनुहुन्छ कि जस्तो लागिरहन्छ ।” कहिलेकाहीँ कसैले चप्पल बजाउँदै हिँडेको आवाज सुन्दा पनि कालिकालाई टेकराज कतै नजिकै छन् कि जस्तो लाग्छ । आशा र निराशाबीचको यही दोधारमा बितिरहेका छन् भोटेकोशी बाढी गएयता उनका दिन पनि ।

    टेकराज कतै उपचाररत छन् कि ? कुनै सुरक्षित ठाउँमा छन् कि ? आज नभए भोलि घरको ढोकामा आइपुग्छन् कि ? कालिकाको मनमा यी प्रश्नहरू अझै बाँकी छन् । त्यसैले उनकाे मनले अहिलेसम्म टेकराजलाई मृत घोषणा गर्ने आँट गर्न सकेन तर फर्केर आउछन् भनेर ढुक्क हुने आधार पनि छैन । यी र यस्तै अनिश्चितताले कालिकाको मनलाई हरेक दिन एउटा जटिल किसिमको परीक्षा लिइरह्यो ।

    टेकराज सम्पर्कविहीन भएदेखि नै कालिकाले भगवानकाे अगाडि बत्ती बालिरिहन् । बलिरहेको बत्तीलाई उनी निकैबेर नियालेर हेर्थिन् । बत्ती उज्यालो र स्थिर देखियो भने मनमा आशा पलाउँथ्यो– टेकराज सुरक्षित नै छन् । तर कहिलेकाहीँ झ्यालढोकाबाट छिरेको सिरसिरे बतासले त्यही बत्तीको ज्योति धिपधिप गराउँथ्यो । दियोको ज्योति उज्यालो हुँदा कालिकाको अनुहार पनि उज्यालिन्थ्यो तर बतासले बत्तीको ज्योति मधुरो बनाउँदा उहाँको मनमा पनि आशाको उज्यालो धमिलिन्थ्यो ।

    “बत्ती राम्रोसँग बलिरहेको देख्दा उहाँ सुरक्षित हुनुहुन्छ कि भन्ने आश लाग्छ”, उनी भन्छिन् । “तर हावाले बत्ती धिपधिप गर्दा कतै नराम्रो सङ्केत त होइन भन्ने डर लाग्छ ।” कालिकाका लागि पछिल्ला २० दिन यसैगरी बितिरहेका छन्–आशाको एउटा सानो उज्यालो समातेर, अनिश्चितताको अँध्यारोसँग लड्दै । जबजब मलाई उज्यालोको आश लाग्छ, आमा यो टुकीमा किन बतास लाग्छ ?” गजलकार प्रदीप रोदनका यी हरफ बाढीमा बेपत्ता भएर आफन्त सकुशल फर्किने आशामा दिन गनिरहेका कालिका र अन्य बेपत्ता परिवारको पीडासँग ठ्याक्कै मिल्छ ।

    ‘सररर पानी घट्टामा’ बोलको गीतका हरफ झैँ उनको दिनचर्या पनि बितिरह्यो : “बसेकी छु हजुरको नाम जप्दै, दियो बाल्दै त्यसैमा तेल थप्दै…” बाहिर बत्ती धिपधिप गरिरहेको बेलाभित्र कालिकाको आशा । कहिले दुवै उज्याला हुन्थे, कहिले दुवै मधुरो ।

    गत भदौ १० गते टेकराज चीनको केरुङ पुगिसक्नुभएको होला भन्ने कालिकालाई लागेको थियो । उहाँलाई दिइएको जानकारीअनुसार बिहान ७ः०० बजे नै चीनतर्फ जाने तयारी थियो । त्यसैदिन अचानक भोटेकोशी नदीमा ठूलो बाढी आएको खबर सञ्चारमाध्यममा छ्याप्छ्याप्ती आउन थाल्यो । बाढीको खबर सुन्दा कालिकाको मन झस्कियो तर त्यतिबेलासम्म टेकराज बाढीको जोखिम क्षेत्र पार गरेर चीनतर्फ लागिसके होलान भन्ने उनलाई लागेको थियो ।

    दिनभर फोन आउँछ कि भनेर कालिका कुरिरहिन् । साँझ पर्न थाल्यो । घरका अरू सदस्य पनि फोनको प्रतीक्षामा थिए तर फोन आएन । “चीनतिर सामाजिक सञ्जाल राम्रो चल्दैन होला, नेटवर्कको समस्या भयो होला, कुनै अवरोध आयो होला”, कालिकाले आफैँलाई सम्झाइन् । ‘भोलि त पक्कै फोन आउला ।’ यही आशामा त्यो रात बित्यो । भोलिपल्ट पनि फोन आएन । पर्सिपल्ट पनि आएन । दिन बित्दै गए । न कुनै खबर आयो, न फोन । विस्तारै कालिकाको मनमा आशाभन्दा डर बढ्न थाल्यो ।

    सुरुमा ‘नेटवर्कको समस्या होला’ भनेर मन बुझाउन खोजे पनि दिनहरू बित्दै जाँदा मनले अनेक प्रश्न गर्न थाल्यो । कतै केही त भएन ? त्यही प्रश्नले कालिकाको मनमा चिसो पस्न थाल्यो । त्यसपछि सुरु भयो टेकराजको खोजी । विसं २०६८ वैशाख २८ गते कालिका र टेकराज थामीको नेपाल बार एसोसिएसनको सभा हलमा प्रगतिशील विवाह भएको थियो । सहयात्राका सुन्दर १५ वर्ष १५ दिन कटिसकेका थिए । छोरा हराएदेखि आँखा ओभानो छैन बा आमाको आमा लीलादेवी र बुबा डिलबहादुरलाई छोरा हराएदेखि आँखा ओभानो छैन । छोरा आउने आशामा २३ दिन बित्यो ।

    टेकराजका भाइ प्रेमबहादुर थामी दुबईबाट दाई खोज्न आकस्मिक छुट्टी मिलाएर नेपाल आए । नेपाली सेनाको हेलिकप्टरमा खोज्न रसुवा पुग्दा कहीँकतै केही भेटिएन । अनि निराश भएर फर्किए । भाइहरू गङ्गाबहादुर र सन्तोष पनि दाई हराएदेखि बेचैन छन् । टेकराजको सासूआमा विष्णुमाया खड्काले रक्षाबन्धनको दिन ज्वाइँ टेकराजसँग कुरा गर्न खोजिन् । तर ज्वाइँ वेपत्ता भन्ने सुनेदेखि भावविह्वल छिन् । उनी भन्छिन् । “ज्वाइँ अहिले यतैबाट आउनुहुन्छजस्तो लाग्छ ।”

    कालिकाका भाइ विश्वास खड्का भिनाजुको फोटो बोकेर अस्पतालहरुमा भौँतारिए । आँखाभरि आँशु बगाउँदै बेपत्ताहरुको समूहमा भिनाजुको फोटो टाँसे, तर भिनाजु कतै भेटिएनन् ।

    ‘मिसकल’ले झुक्याएको त्यो क्षण

    टेकराज सम्पर्कविहीन भएको दुई–तीन दिनपछि एकाएक उहाँकै म्यासेन्जरबाट ‘मिसकल’ आयो भन्ने खबर आयो । त्यो एउटा मिसकलले केही क्षणका लागि कालिका, परिवार र आफन्त खुसी भए । मनमा एउटै कुरा आयो–टेकराज कतै सुरक्षित छन् । सायद उद्धारको पर्खाइमा छन् । त्यसैबीच सामाजिक सञ्जालमा टेकराज सम्पर्कमा आएकाे भन्ने खबर पनि फैलियो । धेरैले राहतको लामो सास फेरे । कालिकाको फोन, भाइबर, म्यासेन्जरमा बधाईको ओइरो आइरहेको थियो । तर त्यो खुसी धेरै बेर टिकेन ।

    कालिकाले नै सामाजिक सञ्जालमार्फत टेकराजसँग अहिलेसम्म सम्पर्क हुन नसकेको स्पष्ट पारिन् । म्यासेन्जरमा आएको त्यो मिसकल टेकराज आफैँले गरेकाे पुष्टि नभएको भन्दै उनले भ्रममा नपर्न र खोजीमा सहयोग गर्न आग्रह गरिन् । खुसी हुनेका अनुहार फेरि मलिन भए । “त्यो मिसकल आएको भन्न सुन्दा उहाँ कतै सुरक्षित हुनुहुन्छ कि भन्ने लाग्यो,” कालिका भन्छिन्, “एकछिन त उहाँसँग सम्पर्क भयो भनेर खुसी पनि भयौँ तर त्यो उहाँकै मिसकल हो भन्ने निश्चित हुन सकेन । फेरि उही प्रतीक्षामा बस्नुपर्‍यो ।”

    त्यो दिन कालिकाले आशा कति चाँडै जन्मिन्छ र कति चाँडै टुट्न सक्छ भन्ने महसुस गरिन् । कुनै चमत्कार भएर टेकराज घर फर्किए हुन्थ्यो न भन्ने कल्पना अझै कालिकाको मनमा जीवित छ । कहिलेकाहीँ त उहाँलाई लाग्छ–कुनै दिन अचानक ढोका ढक्ढकिनेछ, बाहिर ‘जी’ (टेकराज) उभिएका हुनेछन्र र कैयौँ दिनदेखि रोकिएको यो प्रतीक्षा त्यही क्षण सकिनेछ । त्यसैले कालिका अझै ढोकातिर हेर्न छाडेकी छैनन् ।

    फोनको घण्टी सुन्न छाडेकी छैनन् । सडकमा कसैले मोटरसाइकल चलाउँदा कान ठाडा पार्न छाडेकी छैनन्र । फर्केर आउने आशा छैन तर फर्केर आउदैनन् भन्ने अन्तिम सत्य पनि स्वीकार गर्न सकेकी छैनन् । सपनीमा समेत पर्खंदै विपनामा पर्खंदापर्खंदै दिन बिते । रात बिते । तर टेकराज फर्केर आएनन्र । त्यसैले होला, अहिले कहिलेकाहीँ सपनामा भए पनि श्रीमान् आइदिएहुन्थ्यो जस्तो लाग्छ उनलाई ।

    कहिलेकाहीँ सपनामा टेकराज आएर उनीसँग कुराकानी गर्छन् । सामीप्य महसुस गर्छिन्, तर एकाएक निद्रा खुल्छ । त्यो क्षण सपनाभन्दा विपना नै पीडादायी लाग्छ । “सपनामा उहाँलाई देख्छु । विपनामा बिलाउनुहुन्छ”, भावुक हुँदै कालिका भन्छिन् । “म नब्यँुझिएको भए अझै धेरैबेर उहाँकै सामीप्यमा बस्न पाउँथेँ कि जस्तो लाग्छ ।”

    भोटेकोशीको बाढीपछि टेकराज बेपत्ता भएको घटना सपना भइदिएहुन्थ्यो र सपनामा उनी सामीप्यमा आएको क्षणचाहिँ विपना भइदिएहुन्थ्यो भन्ने लाग्छ कालिकालाई । यही भावसँग मेल खान्छ गोपाल योञ्जनको शब्द तथा सङ्गीत र नारायण गोपालको स्वरमा सजिएको चर्चित गीतका यी हरफ– “आँखाभित्र बस्नु तिमी, छातीमा निदाउनु सपनीमा पनि मलाई सुस्तरी चिहाउनु…”

    गीतमा व्यक्त भावजस्तै कालिकाले पनि टेकराजलाई आँखामा, मनमा र आफ्नै अस्तित्वभित्र राखिरहेकी छिन् । कालिकाको प्रिय मानिस संसारमा नरहे पनि सधैँ उनकाे अन्तरमनमा त बसिरहनेछन् । “मलाई देवी मान्नुहुन्थ्यो, तिमी मेरो आमापछिको आमा हो भन्नुहुन्थ्यो । सधँै खुसी र प्रगति चाहने । महिलालाई अत्यन्तै सम्मान गर्ने, छेउमा कसैलाई झुक्किएर छोइयो भने ढोगीहाल्ने बानी थियोे । साथीहरू तिम्रो श्रीमानजस्तो त मान्छे नै भेटिन्न भन्थ्यो”, कालिका सम्झन्छिन्, “राम्रो मान्छे सायद भगवान्को प्रिय हुनुहुने रहेछ ।

    केरूङ जाने केही दिनअघि पनि संसारमै अशान्ति छ, हाम्रो घरमा मात्रै शान्ति छ भनेको शब्द कानमा अझै गुन्जिरहेको छ तर के थाहा टेकराजलाई केही दिनपछि म बाढीमा पर्ने छु र यो घर पनि अशान्त बन्नेछ भनेर ।”

    थामी समुदायको खम्बा नै ढल्यो

    नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीले टेकराजको मृत्युले थामी समुदायका लागि खम्बा नै ढलेको बताउँछन् । “थामी भाषा जान्ने मानिस जन्माउन अब हाम्रो समुदायलाई गाह्रो हुन्छ”, उनी भन्छन् । थामी गोरखापत्र दैनिकमा थामी भाषा पृष्ठ संयोजकसमेत थिए । विसं २०४२ जेठ १४ गते दोलखाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा जन्मिएका टेकराज थामीले पत्रकारितामा स्नातकोत्तर गरेका थिए । नयाँपत्रिका दैनिकमा काम गर्ने थामी बागीश्वरी कलेज भक्तपुर र समृद्धि कलेज कौशलटारमा पत्रकारिता अध्यापनसमेत गराउँथे ।

    शनिबार अन्त्येष्टिको तयारी

    अब टेकराज फर्केर आउने सम्भावना कमजोर हुँदै गएपछि परिवारले अन्त्येष्टिको तयारी थालेको छ । भोलि शनिबार उहाँको कुशको प्रतिमा बनाएर दाहसंस्कार गर्ने निर्णय परिवारले गरेको छ । तर तयारी अगाडि बढिसक्दा पनि कालिकाको मनले टेकराज यो संसारमा हुनुहुन्न भनेर पूर्ण रूपमा स्वीकार गर्न सकेको छैन । त्यसैले दाहसंस्कारको तयारी भइरहँदा पनि श्रीमान्लाई अन्तिमपटक ‘गुडबाई’ भन्ने आँट उनमा आएको छैन । “पहिला पनि धेरैले अब नकुरौँ, दाहसंस्कार गरौँ भन्नुभएको थियो”, आँखाबाट बगेका आँसु सलको एकछेउले पुछ्दै कालिका भन्छिन्, “तर मेरो मनले मेरो श्रीमान् यो संसारमा हुनुहुन्न भनेर स्वीकार गर्नै मानेन ।”

    शनिबार कुशको प्रतिमा जलाइनेछ । संस्कार पूरा हुनेछ । परिवारले टेकराजलाई अन्तिम बिदाइ दिनेछ । त्यसपछि पनि कालिकाको मनले यी कुरा स्वीकार गर्ला या नगर्ला ? थाहा छैन । शोकलाई शक्तिमा बदल्ने साहस बटुल्दै टेकराजको अनुपस्थितिमा अहिले कालिकाको सबैभन्दा ठूलो सहारा छोरी कृतिका छिन् ।कृतिकाका लागि आमा कालिका । दुवैले एकअर्कालाई सम्हाल्दैछन् । जे भयो, त्यो विगत फर्केर आउने छैन । तर जीवन रोकिएर पनि नहुने रहेछ ।

    छोरीकै लागि भए पनि विस्तारै शोकलाई शक्तिमा बदल्नुपर्ने अठोट कालिकाले गरेकी छिन् । पेशाले राष्ट्रिय समाचार समितिमा पत्रकार रहेकी कालिका आफूले भोगेको पीडामा मात्रै अल्झिएर बस्न चाहनन् । अन्य महिलालाई अघि बढ्न प्रेरणा दिने आफ्नो जिम्मेवारी पनि सम्झिरहेकी छिन् ।

    “म आफैँ धेरै शोकमा बसेँ भने मैले माथि उठाउन प्रयास गर्नुपर्ने अन्य महिला दिदीबहिनीलाई पनि असर पर्छ”, उनी भन्छ्न्, “उहाँहरूलाई प्रेरणा दिन पनि अब म ‘मुभ अन’ हुनुपर्छजस्तो लाग्छ । सम्हालिँदै छु ।” पीडा तत्काल सकिँदैन भन्ने उहाँलाई थाहा छ तर समयसँगै चोटमा खाटा बस्ने र आफू फेरि पत्रकारितामा फर्किने विश्वास भने उहाँमा छ । “विस्तारै यो चोटमा खाटा बस्ला । अनि सामान्य रिपोर्टिङमा नै फर्कनेछु”, कालिका भन्छिन् ।

    टेकराजलाई श्रीमती कालिकाले मात्रै गुमाइनन्, छोरी कृतिकाले बाबु गुमाएकी छन् । परिवारले आफ्नो प्रिय सदस्य गुमाएको छ । पत्रकारिता क्षेत्रले एक होनाहार र असर पत्रकार गुमाएको छ । टेकराजको बेपत्ता घटनाले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा बताउँछिन् । टेकराज भौतिक रुपमा टाढा भए पनि स्मृतिमा भने कहिल्यै टाढा हुनेछैनन् । पत्रकार टेकराज थामीप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकूल परिवारमा हार्दिक समवेदना ।

  • विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै


    जेनेभा, २ असोज (रासस–एएफपी) । विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको र कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा जोखिम अझ बढ्नसक्ने चेतावनी दिएको छ ।

    डब्लुएमओका अनुसार सन् २०२५ विश्वका नदीहरूका लागि तीन दशकभन्दा बढी अवधिमध्येकै सबैभन्दा सुक्खा वर्षमध्ये एक रह्यो । गत वर्ष विश्वका सबै क्षेत्रमा हिमनदी खुम्चिएका छन् भने धेरै स्थानमा भूमिगत पानीको सतह पनि लगातार घटिरहेको छ । पृथ्वीको ताजा पानीको भण्डारणमा दशकौँदेखि देखिएको गिरावटसमेत निरन्तर रहेको प्रतिवेदनले जनाएको छ ।

    डब्लुएमओका महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदीजस्ता दीर्घकालीन पानी भण्डार घट्दै जानु विशेष चिन्ताको विषय भएको बताए । उनका अनुसार यस्ता भण्डारले खडेरी वा सुक्खा मौसममा पानीको अभाव तत्काल सङ्कटमा परिणत हुन नदिने ‘बचत खाता’ को काम गर्दै आएका थिए । “अब हामी त्यो बचत खाता खाली गर्दैछौँ, हाम्रा पानीका भण्डार खर्च गरिरहेका छौँ”, उनले भने ।


    सन् २०२५ मा विश्वका सबै क्षेत्रमा हिमनदीले लगातार चौथो वर्ष उल्लेख्य मात्रामा बरफ गुमाएका छन् । सन् २०२३ देखि २०२५ सम्म हिमनदीहरूले करिब एक हजार चार सय गिगाटन पानीबराबरको द्रव्यमान गुमाएको अनुमान गरिएको छ । विश्वभर अनुगमन गरिएका करिब दुई तिहाइ कुवामा सन् २०२५ मा ऐतिहासिक अवस्थाभन्दा फरक स्थिति देखिएको साउलोले बताए ।


    यसबीच एल निनोको सम्भावित प्रभावले पानीसम्बन्धी जोखिम अझ बढाउन सक्ने उनले चेतावनी दिए । करिब चार दशकयताकै शक्तिशाली एल निनो विकसित हुने अपेक्षा गरिएको भन्दै उनले यसका कारण केही क्षेत्रमा खडेरी र अन्य क्षेत्रमा बाढीको जोखिम बढ्ने बताए ।


    डब्लुएमओका अनुसार एल निनोको प्रभाव देखिनुअघि नै विश्वका नदीमा पानीको प्रवाह असामान्य बनेको थियो । सन् २०२५ पछिल्लो ३५ वर्षमा नदीहरूका लागि सबैभन्दा सुक्खा तीन वर्षमध्ये एक रह्यो । लगातार सातौँ वर्ष विश्वभर सामान्य नदी प्रवाह भएका जलाधारको सङ्ख्या अल्पमतमा रह्यो । प्रतिवेदनअनुसार करिब ३६ प्रतिशत नदी बेसिनमा मात्र सामान्य प्रवाह देखिएको थियो भने सोही अनुपातमा सामान्यभन्दा कम र २१ प्रतिशतमा सामान्यभन्दा बढी प्रवाह थियो ।

    डब्लुएमओले पानी चक्रको अवस्था बुझ्न र जोखिमको पूर्वानुमान गर्न थप गुणस्तरीय तथ्याङ्क तथा देशहरूबीच सहकार्य आवश्यक रहेको जनाएको छ । साउलोले पानीको चक्रले राजनीतिक सीमा नमान्ने भएकाले साझा तथ्याङ्क, मापदण्ड र पूर्वचेतावनी प्रणाली आवश्यक रहेको बताए । उनले एउटा देशमा हुने हिमनदीसम्बन्धी विपद्ले अर्को देशमा समेत ठूलो क्षति पुर्‍याउन सक्ने उल्लेख गर्दै हालै चीन र नेपालमा देखिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे ।

  • बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

    बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

    काभ्रेपलाञ्चोक, २ असोजः काभ्रेपलाञ्चोकको दक्षिण–पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध–सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ । ऐतिहासिक नगर पनौती, नमोबुद्ध र तेमाललाई जोडेर विकास गर्न लागिएको उक्त परिपथका लागि सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेको र क्रमागत बजेटमार्फत काम सम्पन्न गरिने काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंले राससलाई बताए ।


    पहिलो चरणमा रु १० करोड खर्च गरेर पनौतीको डबलीदेखि नमोबुद्धसम्मको सडकको दायाँबायाँ बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण, विभिन्न स्थानमा माने, चैत्य तथा लाफिङ बुद्धका प्रतिमा स्थापना र थान्कालगायत जानकारीमूलक बोर्ड राखिनेछ । चलनचल्तीका सडकलाई नै ‘बुद्ध–सर्किट’का रूपमा विकास गर्न लागिएको जानकारी दिँदै उनले परिपथको गुरुयोजना तयार भइसकेको बताए ।


    उनका अनुसार पनौती–नमोबुद्ध करिब आठ किलोमिटर सडकलाई बुद्धसँग सम्बन्धित सम्पदाले भरिपूर्ण बनाउँदै आकर्षक पर्यटकीय मार्गका रूपमा विकास गर्ने उद्देश्य लिइएको छ । बुद्ध–परिपथअन्तर्गत नमोबुद्ध–भकुण्डे सडकखण्डमा पर्ने दाप्चास्थित बोक्से सामुदायिक वनमा रतुवा मृग पार्क निर्माण गरिने छ । यसका लागि बागमती प्रदेशको वन मन्त्रालयमा योजना स्वीकृतिको प्रक्रिया अघि बढेको सांसद चौलागाईंले बताए । “मृग पार्कका लागि स्थान छनोट भइसकेको छ र प्रदेश सरकार पनि सकारात्मक छ”, उनले भने ।


    यसैगरी, बिपी राजमार्गअन्तर्गत भकुण्डेबेँसीस्थित चारदोबाटोमा ‘सांस्कृतिक सङ्गम गेट’ निर्माण गरिने छ । चारैतर्फबाट देखिने उक्त गेटमा विभिन्न धर्म तथा संस्कृतिका प्रतीक र सन्देशमूलक आकृति राखिनेछन् । उनका अनुसार नमोबुद्धदेखि भकुण्डेबेँसी हुँदै तेमालसम्मको करिब २५ किलोमिटर सडकको दायाँबायाँ बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण गरिनेछ । विभिन्न स्थानमा माने, चैत्य तथा लाफिङ बुद्धका प्रतिमा स्थापना गर्नुका साथै थान्कालगायत जानकारीमूलक बोर्ड राखिनेछन् ।

    तेमालस्थित याङबेलमा भने गुरु रेन्पोछेको विशाल मूर्ति निर्माण गर्ने योजना छ । यसका लागि याङबेलमा जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको जनाइएको छ । याङबेलमा ‘बुद्ध पार्क’ निर्माण गरी विश्वकै ठूलो गुरु रेन्पोछेको मूर्तिसहित बुद्धको विशाल मूर्ति तथा विभिन्न बुद्ध आकृति निर्माण गर्ने, घण्टाघर, बच्चासहित बाघको प्रतिमा, शान्ति चैत्य, थान्का लेखन विद्यालय र पार्किङस्थल निर्माण गर्ने योजना रहेको सांसद चौलागाईंले जानकारी दिए । “तेमालमा थान्का शिक्षालय सञ्चालन भएपछि सहर धाउनुपर्ने बाध्यता हट्नेछ । यहीँ बसेर सिक्ने र अरूलाई पनि थान्का लेखन सिकाउनेछन् । थान्कामार्फत तेमाललाई देशी–विदेशीसामु चिनाइनेछ”, उनले भने ।


    इतिहासविद्का अनुसार राजा प्रताप मल्लले वि।सं। १७२७ मा रानीपोखरी निर्माण गरेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्तरूपमा बगिरहेको धार्मिक मान्यता छ । भारतको प्रयागमा गङ्गा र यमुनाको सङ्गममा गुप्तरूपमा सरस्वती नदी मिसिएझैँ पनौतीमा रोशीलाई रुद्रावती, पुण्यमातालाई लीलावती र ब्रह्मायणी मन्दिरमुनिबाट गुप्तरूपमा बग्ने नदीलाई पद्मावती मानिँदै आएको छ ।

    नमोबुद्ध गौतम बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमिका रूपमा परिचित काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, रमणीय तथा पर्यटकीय स्थल हो । तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमारले गन्धमान पर्वतको जङ्गलमा शिकार खेल्ने क्रममा भोकले छटपटाइरहेको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काटेर खुवाउँदै देहत्याग गरी बघिनीलाई जीवनदान दिएको किंवदन्ती छ ।

    नमोबुद्ध क्षेत्रमा लामा तथा महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूला बुद्धमूर्ति र चैत्य छन् । ‘तामाङ इतिहास र सभ्यता खोज्नु छ भने तेमाल जानू’ भन्ने आख्यानले पनि तेमालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्छ । नेपाल एकीकरणअघि रिञ्जेन दोर्जे बलको शासनका बेला भारतबाट तिब्बत जाने क्रममा गुरु पद्मसम्भवले तेमालमा ध्यान गरी सिद्धता प्राप्त गरेको इतिहास रहेको बताइन्छ । तेमालको इतिहास, सभ्यता र संस्कृतिलाई झल्काउने विभिन्न संरचना तथा आकृति पनि निर्माण गरिएका छन् ।

  • हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

    हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित


    कायरो, २ असोज (रासस–एपी) । इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख २५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । लाल सागरको तट हुँदै रणनीतिक समुद्री मार्गतर्फ हुथीहरू अघि बढेपछि सर्वसाधारणले घर छाडेर सुरक्षित स्थानतर्फ पलायन हुनुपरेको हो । चार महिनाकी गर्भवती इशराक अब्देल जलिल र उनका श्रीमान् मोहम्मद थाबेट पनि विस्थापित हुनेमध्येका हुन् । हुथी लडाकु नजिकिँदै गएपछि उनीहरूले पाँच किलोमिटर पैदल यात्रा गरेपछि पहाडी बाटो हुँदै करिब ६० किलोमिटर सवारी साधनमा यात्रा गरी दक्षिणपश्चिमी सहर ताइज पुगेका थिए ।

    थाबेटका अनुसार पछिल्लो लडाइँ सन् २०१७ को द्वन्द्वभन्दा पनि भीषण थियो । “घर नजिकै गोलाबारी भइरहेको थियो र विस्फोटका छर्रा उडिरहेका थिए,” उनले भने । ताइज पुगेपछि चिकित्सकले गर्भमा रहेको बच्चा तल सरेको जानकारी दिएपछि अब्देल जलिल थप चिन्तित भएका छन् । यसअघि पनि सोही अवधिमा उनको गर्भपतन भएको थियो । अहिले उनीहरू विस्तारित परिवारसँग एउटै घरमा बसिरहेका छन् र दिनमा दुई पटक मात्र खाना खान सक्ने अवस्थामा छन् ।

    थाबेटकी बहिनीले एक महिनाभन्दा बढी समयदेखि मधुमेहको औषधि किन्न नसकेको उनले बताए । उनकी बहिनी र दुई छोरीमा रक्तअल्पताको जोखिम बढाउने रक्तसम्बन्धी समस्या रहेको पनि उनले बताए । संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला हेर्ने निकायका अनुसार पछिल्लो लडाइँमा आठ सर्वसाधारणको मृत्यु भएको र ३२ जना घाइते भएका छन् । युनिसेफका अनुसार विस्थापितमध्ये ५७ हजारभन्दा बढी बालबालिका छन् ।

    “यो यमनले विगत केही वर्षमा देखेको सबैभन्दा तीव्र र अस्थिर विस्थापनको लहरमध्ये एक हो,” यमनका लागि युनिसेफ प्रतिनिधि ओबिया अचिएङले भने । उनका अनुसार परिवार प्रायःरातको समयमा अत्यन्तै कम वा कुनै पूर्वसूचनाबिना घर छाड्न बाध्य भएका छन् । यमनमा सन् २०१४ मा हुथीहरूले राजधानी साना र उत्तरी भू–भागको ठूलो हिस्सा नियन्त्रणमा लिएपछि गृहयुद्ध सुरु भएको थियो । त्यसको अर्को वर्ष साउदी अरबले अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो । सन् २०२२ को युद्धविरामपछि लडाइँ केही हदसम्म रोकिएको भए पनि पछिल्लो समय पुनः चर्किएको हो । संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्लो द्वन्द्व सुरु हुनुअघि नै करिब ५० लाख यमनी गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए ।

    सहायता संस्थाले विस्थापितलाई खाद्य सामग्री, खानेपानी, सरसफाइका सामग्री, स्वास्थ्य सेवा र अस्थायी आवासको तत्काल आवश्यकता रहेको बताएका छन् । केही विस्थापित १६ घण्टाभन्दा बढी पैदल हिँडेर ताइज पुगेको र कतिपय बालबालिकामा कुपोषणका लक्षण देखिएको सहायता संस्थाले जनाएका छन् ।

  • स्विडेनको निर्वाचनमा विपक्षी गठबन्धनलाई झिनो बहुमत, प्रधानमन्त्री क्रिस्टरसनद्वारा राजीनामा

    स्विडेनको निर्वाचनमा विपक्षी गठबन्धनलाई झिनो बहुमत, प्रधानमन्त्री क्रिस्टरसनद्वारा राजीनामा

    स्टकहोम, २ असोज (रासस–एपी) । स्विडेनको राष्ट्रिय निर्वाचनमा वामपन्थी झुकावको विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि प्रधानमन्त्री उल्फ क्रिस्टरसनले राजीनामा दिने घोषणा गरेका छन् । स्विडेनको निर्वाचन प्राधिकरणका अनुसार आइतबार भएको निर्वाचनमा ३४९ सदस्यीय संसद् (रिक्सडाग) मा विपक्षी चार दलले १७६ सिट जितेका छन् । निवर्तमान मध्य–दक्षिणपन्थी सरकारमा सहभागी वा त्यसलाई समर्थन गर्ने चार दलले १७३ सिट प्राप्त गरेका छन् ।

    अन्तिम मतपरिणाम सार्वजनिक भएपछि क्रिस्टरसनले सामाजिक सञ्जाल ‘एक्स’ मा संसद्का सभामुखलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री पदबाट मुक्त गर्न आग्रह गरेका छन् । उनले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन मार्गप्रशस्त गर्न राजीनामा दिने बताए । पूर्वप्रधानमन्त्री मग्डालेना एन्डरसनको सोसल डेमोक्र्याटिक पार्टी ९९ सिटसहित संसद्को सबैभन्दा ठूलो एकल दल बनेको छ । यद्यपि, विपक्षी गठबन्धनभित्रका दलहरूबीचको मतभेदका कारण नयाँ सरकार गठन चुनौतीपूर्ण हुने देखिएको छ ।

    विपक्षी गठबन्धनको अग्रता सुरुमा अनिश्चित देखिए पनि विदेशबाट आएका मतपत्र तथा निर्वाचनको दिनसम्म मतदान केन्द्रमा नपुगेका प्रारम्भिक मतसमेत गणना भएपछि नतिजा पुष्टि भएको हो । क्रिस्टरसनले तीनदलीय मध्य–दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै सरकार सञ्चालन गरेका थिए । उनको सरकारलाई संसद्मा ‘स्विडेन डेमोक्र्याट्स’ पार्टीको बाह्य समर्थन थियो । यस निर्वाचनमा उक्त पार्टीले ६२ सिट जितेको छ, जुन अघिल्लो निर्वाचनको तुलनामा ११ सिट कम हो ।

    एन्डरसन नेतृत्वको गठबन्धनमा सोसल डेमोक्र्याट्स, लेफ्ट पार्टी, सेन्टर पार्टी र ग्रिन पार्टी छन् । सेन्टर पार्टीले स्विडेन डेमोक्र्याट्ससँग सहकार्य नगर्ने अडान लिँदै आएको छ भने लेफ्ट पार्टीसँगको सहकार्यप्रति पनि उसको असहमति छ । यसले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र वार्ता र सहमतिको आवश्यकता बढाएको छ ।

  • क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

    स्ट्रासबर्ग (फ्रान्स), २ असोज (रासस–एपी) । युरोपेली सङ्घ (इयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्दै उसलाई सङ्घको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव गरेको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार विद्यमान व्यापार सम्झौताभन्दा अघि बढेर क्यानाडासँग व्यापक साझेदारी निर्माण गर्न प्रस्ताव गरिन् ।


    स्ट्रासबर्गस्थित युरोपेली संसद्मा आफ्नो वार्षिक सम्बोधनका क्रममा उनले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग ‘भविष्यका लागि गठबन्धन’ निर्माण गर्न आह्वान गरिन् । उनले क्यानाडा र युरोप लोकतन्त्र तथा समान मूल्यमा विश्वास गर्ने भएकाले सम्बन्धलाई सम्भव भएसम्म उच्च तहमा पुर्‍याउन चाहेको बताइन् ।

    प्रस्तावित साझेदारी विद्यमान व्यापक आर्थिक तथा व्यापार सम्झौता (सिइटिए) मा आधारित हुने तथा रक्षा उत्पादन, प्रविधि, आर्कटिक, ऊर्जा, महत्त्वपूर्ण खनिज, कृत्रिम बौद्धिकता, क्वान्टम कम्प्युटिङ, साइबर सुरक्षा र आर्थिक सुरक्षालगायत क्षेत्रमा सहकार्य विस्तार गरिने भोन डेर लेयनले बताए । “यो साझेदारी कसैको विरुद्धमा होइन, हाम्रो साझा शक्तिका लागि हो”, उनले भने ।


    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इयुको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै क्यानाडालाई एसोसिएट सदस्य बनाउने प्रयास ‘शत्रुतापूर्ण कदम’ हुन सक्ने चेतावनी दिए । उनले त्यसको प्रतिक्रियामा युरोपेली सामानमा थप भारी शुल्क लगाउन सकिने बताए ।


    ट्रम्पका शुल्क नीति तथा क्यानाडालाई अमेरिकाको ५१औँ राज्य बनाउने विषयमा उनले व्यक्त गर्दै आएको धारणाले दुई उत्तर अमेरिकी मुलुकबीचको सम्बन्धमा तनाव बढेको छ । क्यानाडाले अमेरिकामाथिको व्यापारिक निर्भरता घटाउन खोजिरहेको छ भने प्रधानमन्त्री कार्नीले इयुसँग थप निकट सम्बन्ध निर्माणमा जोड दिँदै आएका छन् ।


    इयुसँगको सम्बन्ध विस्तारलाई क्यानाडाले आफ्नो सार्वभौमसत्ता बलियो बनाउने माध्यमका रूपमा हेरेको छ । इयुका लागि क्यानाडाका नियुक्त राजदूत जोनाथन विल्किन्सनले क्यानाडाले पूर्ण सदस्यता नखोजी आफ्नो सार्वभौमसत्ता कायम राख्दै इयुसँग सकेसम्म निकट सम्बन्ध बनाउन चाहेको बताए ।

    क्यानाडा र इयुबीच प्रस्तावित एसोसिएट सदस्यताको स्वरूप, अधिकार तथा दायित्व भने अझै निश्चित भएको छैन । अक्टोबरमा हुने क्यानाडा–इयु शिखर सम्मेलनमा यसबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ । एसोसिएट सदस्यताको अवधारणा यसअघि युक्रेन र ब्रेक्जिटपछि बेलायतका सन्दर्भमा पनि उठे पनि अहिलेसम्म कुनै देशले यस्तो हैसियत पाएको छैन । क्यानाडा यसै वर्ष इयुको करिब एक खर्ब ५० अर्ब युरोको रक्षा कार्यक्रम ‘सेफ’ मा सहभागी हुने पहिलो गैरइयु देश बनेको छ । यसले रक्षा उद्योग तथा संयुक्त खरिदमा दुई पक्षबीच सहकार्य विस्तारको आधारसमेत तयार गरेको छ ।

    प्रधानमन्त्री कार्नीले आर्थिक एकीकरणलाई केही देशले आफ्नो हितमा प्रयोग गर्न सक्ने अवस्था रहेकाले मध्यम शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । यसैबीच, ट्रम्पले बुधबार अमेरिकी सरकारको सङ्घीय खरिद प्रणालीमा क्यानाडाली सामानको प्रयोग सीमित गर्न निर्देशन दिए । प्रस्तावित नयाँ सम्बन्धले व्यापार र रक्षासँगै प्रविधि, ऊर्जा तथा महत्त्वपूर्ण खनिजजस्ता क्षेत्रमा क्यानाडा र इयुबीच सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।




  • विदेश मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

    विदेश मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार


    रासस
    सुनसरी, २ असोजः बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराएका छन् । करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारीखेती गर्दै आएका उनले कृषि पेसालाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाएका छन् । उनको खेतमा वर्षभरि गोलभेँडा, कोभी, बोडीलगायतका तरकारी उत्पादन हुने गरेको छ ।

    अर्जुनका चार छोरा रामविलास, लक्ष्मण, श्रीराम र जादुलाल चन्द्रवंशी बाबुकै लयमा कृषि पेसामा दत्तचित्त भएर लागेका छन् । “छोराहरू विदेश जाने भन्थे, मैले नेपालमै रु ५० हजार दिन्छु भनेर विदेश जान दिइनँ । अहिले नेपालमै बसेर सबै छोराले लाखौँ रुपैयाँ कमाउन सक्ने भएका छन्”, अर्जुनले भने ।


    विदेश गएर दुःख गर्नुभन्दा नेपालमै मिहिनेत गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचले चारै जना छोरालाई कृषिमा लगाएको उनले बताए । पहिला सडक तथा यातायातको सुविधा थिएन । दुईचार कट्ठामा गरिएको खेती टाउकोमा बोकेर बजारसम्म पुर्याउनुपथ्र्यो । अहिले बारीमै गाडी लिएर व्यापारी आउँछन् ।

    चन्द्रवंशी परिवारले हाल पाँच बिघामा गोलभेँडाखेती गर्दै आएका छन् । साथै केही जग्गामा मौसमी तरकारीसमेत लगाएका छन् । गोलभेँडाको मुख्य सिजन कात्तिक मङ्सिरदेखि फागुन–चैतसम्म ५० जनाभन्दा बढी कामदारले अर्जुनको फार्ममा काम गर्ने गरेका छन् ।

    अफसिजनमा पनि २५ जना ज्यालादारी कामदार खेतमा खटिने गरेको अर्जुनले जानकारी दिए । गत वर्ष गोलभँेडाको मूल्य राम्रो हुनुका साथै मौसमले समेत साथ दिएकाले रु एक करोडबराबरको कारोबार भएको उनले बताए । “यस वर्ष कस्तो हुन्छ हेरौँ । मूल्य राम्रो नभए पनि सबै खर्च कटाएर वार्षिक रु ६० लाखसम्म मज्जाले आम्दानी हुन्छ”, उनले भने ।

    अर्जुनका छोरा श्रीरामका अनुसार गोलभेँडाको मूल्य बजारको माग र उत्पादनअनुसार फरक हुने गरेको छ । सामान्य अवस्थामा प्रतिकिलो रु ३० देखि ५० तथा कहिलेकाहीँ रु ८० देखि रु ९५ सम्म बिक्री हुने गरेको छ । कहिलेकाहीँ प्रतिकिलो रु पाँचमा पनि बिक्री गर्नुपर्ने अवस्था आउने गरेको उनल ेभने ।
    “मङ्सिरदेखि वैशाखसम्म गोलभेँडाको मूल्य राम्रो हुने उहाँले बताउनुभयो । राम्रो मूल्य भएको समयमा एकै दिन रु तीन लाख बढीको गोलभेँडा बिक्री हुने गरेको छ”, श्रीरामले भने, “बोडी, काँक्रा, कोभीलगायतका मौसमी तरकारी पनि सिजनअनुसार बिक्री हुने गरेको छ ।”

    अर्जुनका माइला छोरा लक्ष्मण चार वर्ष मलेसियामा बसेर नेपाल फर्किएपछि अहिले बुबालाई खेतीमा सघाइरहेका छन् । “विदेशभन्दा नेपालमा कमाइ राम्रो छ । कृषि खेती हाम्रो पुख्र्यौली पेसा हो । सुरुआती समयमा आलु, कोभीलगायतका तरकारीखेती गर्दै आएका थियौँ । पछिल्लो समय गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसको क्षेत्र विस्तार गरियो”, उनले भने ।


    औपचारिक तालिमभन्दा पनि सामाजिक सञ्जालबाट जानकारी लिएर कृषि गरिरहेको लक्ष्मणले बताए । “हामीले सामाजिक सञ्जालमा हेरेर नै व्यावसायिक खेती गरिरहेका छौँ”, उनको भनाइ छ । करिब १२ बिघा जमिनमध्ये पाँच बिघामा गोलभेँडा तथा अन्य तरकारीखेती गरिँदै आएको उनले बताए । बाँकी जमिनमा मकै तथा धान लगाउने गरिएको छ । “उत्पादित गोलभेँडा बिक्रीका लागि बजारको समस्या छैन । हामीले बजार खोज्दै जानु पर्दैन । व्यापारी आफैँ खेतमा आउँछन् । यहाँबाट खरिद गर्दा बजारको मूल्यभन्दा कममा दिने गरेका छौँ”, लक्ष्मणले भने ।


    धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज, झापालगायतका स्थानबाट व्यापारी गोलभेँडा खरिद गर्न खेतमै आउने गरेका छन् । यो खेतीमा लगानी बढिरहेको र दुःख पनि भएको उनको भनाइ छ । लगानीअनुसार उत्पादन राम्रो हुने घाटा नहुने उनी स्मरण गर्छन् । “अहिले यही खेतीबाट परिवारका सबै सदस्यलाई रोजगारी मिलेको छ भने अरूलाई पनि रोजगारी दिन सकिएको छ”, उनले भने, बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित श्रीलङ्का टप्पुमा मात्र करिब तीन सय बिघा क्षेत्रफलमा गोलभेँडाखेती हुने गरेको छ । अधिकांश किसानले गोलभेँडासँगै अन्य मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् ।

    सुनसरीमा हाल आठ हजार १५३ हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए ।
    बराहक्षेत्र नगरपालिकामा गोलभेँडा, कोभी, बोडीलगायतका तरकारीको उत्पादन राम्रो हुँदै आएकाले यहाँका अधिकांश किसान व्यावसायिक तरकारीखेतीमा लागेको नगरप्रमुख रमेश कार्कीले बताए ।

    श्रीलङ्का टप्पुका ९० प्रतिशत स्थानीय कृषि तथा तरकारी उत्पादनमा केन्द्रित छन् । श्रीलङ्का टप्पु तरकारीखेतीका लागि प्रख्यात क्षेत्र हो । नगरपालिकाले स्थानीय किसानको उत्पादन वृद्धि गर्न प्रोत्साहनस्वरूप मल, बीउलगायत सामग्रीमा अनुदान दिँदै आएको नगरप्रमुख कार्कीले जानकारी दिए ।