Category: फिचर

  • कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल

    कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल

    म्याग्दी, २ असोजः कालीगण्डकीको कटानबाट जोगाउनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा बस्ती संरक्षण योजना अगाडि बढेपछि स्थानीयले राहत महसुस गरेका छन् । घरापका बासिन्दा सुदीपकुमार विकले नदीकिनारमा कम्पोजिट पर्खाल र र्यापिङ भएपछि यसपालि कटान रोकिएको बताए ।
    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत सो आयोजना अगाडि बढाइएको हो ।

    बाढी र कटान रोकथामका लागि नदीकिनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरिएको इन्जिनियर नरजङ्ग गुरुङले बताए । उनका अनुसार ९४ मिटर दूरीमा पर्खाल निर्माण गरिएको छ । जगदेखि दुई मिटर माथिसम्म चार मिटर फराकिलो आरसिसी र त्यसमाथि पलम पर्खाल लगाइएको छ । यस्तै, त्यसभन्दा माथि ग्यावियन जाली राखिएको छ । सो कार्यका लागि केटी÷जेएसआर जेभीले २०८२ साल फागुन २५ गते रु एक करोड नौ लाख १६ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

    यस्तै, थप ९५ मिटर दूरीमा ठूला ढुङ्गा राखेर बाढी छेक्नका लागि ‘र्यापिङ’ गरिएको छ । सो कार्यका लागि एमपी निर्माण सेवाले रु १२ लाखमा ठेक्का सम्झौता गरेको थियो । यस्तै, स्थानीय निलगिरि आधारभूत विद्यालयको भवन क्षेत्र संरक्षणका लागि पनि प्रक्रिया अगाडि बढाउनुपर्ने स्थानीयवासी प्रेमबहादुर तिलिजाले बताए । मुस्ताङ जाने वैकल्पिक पदमार्ग र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दुमा पर्ने घराप गाउँमा २५ घरपरिवारको बसोबास छ । सुन्तलाको बगैँचा रहेको घरापमा नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्र कार्यालय र निलगिरि आधारभूत विद्यालय अवस्थित छ ।

  • भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    काठमाडौँ, २ असोजः भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरेको हो । नेपाल पर्यटन बोर्डका निमित्तनिर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेमप्रसाद भट्टराईले बङ्गलादेशबाट आएका १८५ जनाको कर्पोरेट टोलीलाई बिहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपीसहित स्वागत गरे ।


    गत भदौ १० गते भोटेकोशी बाढीपछि सुस्त भएको नेपालको पर्यटनलाई सुरक्षित भएको सन्देश दिन पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटनसम्बद्ध सङ्घसंस्था लागेका छन् । रसुवा, धादिङ, गोरखा र नुवाकोटका केही क्षेत्रबाहेक अन्य पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह गरिएको छ । ‘नेपाल कलिङ अभियान’पछि बङ्गलादेशको प्रतिष्ठित कर्पोरेट कम्पनी वाल्टन प्लाजाका १८५ प्रतिनिधि नेपाल भ्रमणका लागि आएका हुन् । थप ३० जना चाँडै नेपाल आउने कार्यक्रम छ ।

    नेपालमा हालैको बाढीका कारण अन्तरराष्ट्रिय पर्यटन बजारमा नेपालको पर्यटन सुरक्षाबारे केही नकारात्मक धारणा देखिएको अवस्थामा यति ठूलो कर्पोरेट टोलीको आगमनलाई सकारात्मक सन्देशका रूपमा हेरिएको बोर्डका प्रवक्तासमेत रहनुभएका निमित्त निर्देशक शर्माले बताए । बङ्गलादेशका पाहुनाले नेपालको आतिथ्यताप्रति खुसी व्यक्त गर्दै नेपाल सुरक्षित, पर्यटकका लागि खुला र आतिथ्यका लागि तयार रहेको प्रतिक्रिया दिँदै अन्यलाई पनि नेपाल भ्रमणका लागि आह्वान गरेका छन् ।

    वाल्टन प्लाजाको भ्रमणले नेपाल र बङ्गलादेशबीचको पर्यटन तथा कर्पोरेट सम्बन्धलाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ । प्राकृतिक विपद्पछि विदेशी पर्यटक तथा कर्पोरेट समूहले नेपाललाई आफ्नो भ्रमण गन्तव्यका रूपमा रोज्नु आफैँमा महत्त्वपूर्ण भएको बताइएको छ । त्यसैगरी, भारतसहित सार्क राष्ट्रका विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिले नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्दै नेपाल सुरक्षित रहेको सन्देशसहितको तस्बिर सार्वजनिक गरेका छन् ।

  • भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    कास्की, २ असोजः भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ । काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन् । त्यसको भोलिपल्ट आएको विनाशकारी बाढीमा परेपछि उनको अवस्था अज्ञात छ ।

    छोरीको खोजीमा बुबा माधव बास्तोला दुई पटकसम्म रसुवा, नुवाकोट पुगे । बाढीले पुर्याएको क्षति देखेपछि छोरी सकुशल फर्किने सम्भावना न्यून देखिए पनि परिवारले आशा भने मारेको थिएन । घटना भएको २२ दिनसम्म पनि सृष्टिको कुनै खबर तथा सूचना प्राप्त नभएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको हो । पोखराको तुलसीघाटमा सृष्टिको कुशको शवको प्रतिमा बनाएर अन्त्येष्टि गरिएको छिमेकी वसन्तराज गौतमले जानकारी दिए ।


    “बाढी आउनुअघि भदौ ९ गते साँझमात्र सृष्टि नुवाकोट पुगेकी रहिछन् । बिहान परिवारसँग कुराकानी भएको रहेछ । त्यसपछि कुनै जानकारी प्राप्त भएन”, गौतमले भने, “विनाशकारी बाढीपछि कतै अप्ठ्यारो ठाउँमा भएर सम्पर्क हुन नसकेको होला भन्ने आसमा थियौँ । तर लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवार अन्तिम संस्कार गर्ने निचोडमा पुगेको हो ।”

    देशको दक्ष प्राविधिक जनशक्ति बन्ने सपना बोकेर इन्टर्नसिपका लागि आयोजनास्थल पुगेकी सृष्टिको यात्रा अधूरै रहेको छ । अध्ययन पूरा गरेर देश निर्माणमा योगदान दिने उमेरमै बाढीमा बेपत्ता भएपछि परिवार, आफन्त र छिमेकी शोकमा डुबेको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । “होनहार छोरी, परिवारको आशा र देशको सम्भावना बोकेकी सृष्टिको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ”, बरालले भने । त्यसैगरी भोटेकोशी बाढीमा बेपत्ता पोखरा महानगरपालिका–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारी क्षेत्रीको परिवारले पनि कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरिसकेको छ ।

    टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत अधिकारी बाढी आएको दिनदेखि नै सम्पर्कविहीन हुनुहुन्छ । लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गरेको छिमेकी घनश्याम पाण्डेले बताए । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पोखराका अझै १२ जनाको अवस्था अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बाढीमा बेपत्ता आफन्तको खोजीका लागि परिवारले सम्भावित स्थानमा पुगेर खोजी गरे पनि कुनै जानकारी नआएपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका हुन् ।

    बेपत्ता फर्कने आस मरेपछि अन्तिम संस्कार

    यसैबीच भोटेकोशी बाढीमा परी गत भदौ १० गतेदेखि बेपत्ता बेँसीसहर नगरपालिका–११ का झपटबहादुर घर्ती र राधिका घर्तीको आज कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । बाढीपछि सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि दम्पतीको अवस्था पत्ता नलागेपछि परिवारले काजकिरिया सुरु गरिएको भतिज विशाल घर्तीले बताए । “खोज्नुपर्ने सबै ठाउँमा खोजिसक्यौँ । अब उपाय बाँकी रहेन । काजकिरिया सुरु गरेका हौँ”, उनले भने ।


    बेँसीसहर–११ का ४५ वर्षीय झपटबहादुर र उनकी श्रीमती ४३ वर्षीया राधिका रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । गत भदौ १० गतेको बाढीपछि दुवै जना सम्पर्कविहीन भए । त्यसयता परिवार तथा सम्बन्धित निकायले सम्भावित स्थानमा खोजी गरे पनि उहाँहरूको शव फेला पर्न सकेको छैन ।

    यस्तै, सोही बाढीमा बेपत्ता मस्र्याङ्दी गाउँपालिका–३ खुदीकी रमिला भण्डारीको अवस्था पनि हालसम्म पत्ता लाग्न सकेको छैन । उनको पनि संस्कारअनुसार काजकिरिया सम्पन्न भइसकेको छ । भण्डारी सबइन्जिनियरका रूपमा माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिइन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार भोटेकोशी बाढीमा जिल्लाका १० जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जनाको पहिचानका लागि डिएनए परीक्षणका लागि पठाइएको उनले बताए ।

  • वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने


    भक्तपुर, २ असोजः मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन् । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन् । असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उनले जानकारी दिए । विगतमा जात्रा नियमित हुनसकेको थिएन ।

    विसं २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः जात्रा सुरु भएको थियो । त्यसयता उनले २०७९, २०८१ र २०८२ मा जिब्रो छेडेका थिए । उनले यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन् । विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीका कारणले रोकिएकामा २०७९ सालमा वीरेन्द्रभक्तले पुनः जात्रालाई निरन्तरता दिए । मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा जिब्रो छेडाएका थिए ।


    आर्थिक अभावका कारण चल्दै र रोकिदै आएको यो जात्रा सञ्चालनमा करिब छ लाख बढी खर्च हुने गरेको छ । नगरपालिकाले सहयोग गर्नेभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयको खर्च हुने गरेको छ । मध्यपुरथिमिको दिगुभैरव मन्दिरको डबलीमा हजारौ व्यक्तिको अगाडि जिब्रो छेडेर जात्रा सुरु हुन्छ । जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने प्रचलन छ ।

    किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिशाचले आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न एक जनालाई जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो । त्यसपछि भूतप्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाइ छ । भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेडिन्छ । पशुपतिनाथसम्मको यात्रा गर्दै पुनः बालकुमारी मन्दिर पुगी सियो निकाल्ने परम्परा छ । उक्त जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ ।

  • भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन


    काठमाडौँ २ असोजः नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार भएको बैठकमा उक्त जानकारी दिँदै ५१५ वटा ट्रक तथा कन्टेनर हराएका बताएको हो । पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधारका विषयमा रायसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र रायसुझावसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ ।

    महासङ्घले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको सङ्ख्या अझै बढ्नसक्ने जनाएको छ । समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, पूर्वाधार विकास मन्त्रीको सचिवालयका प्रतिनिधि यातायात व्यवसायीका प्रतिनिधि, यातायात मजदुर सङ्घ सङ्गठनका प्रतिनिधिसहित नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ र महासङ्घका महासचिव बद्रीप्रसाद चौलागाईंलगायत सदस्य छन् ।

  • सरकारी निर्णय प्रक्रियासम्बन्धी नियमावली जारी

    सरकारी निर्णय प्रक्रियासम्बन्धी नियमावली जारी

    काठमाडौँ, १ असोजः सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ ल्याएको छ । ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५’ लाई खारेज गरी यसलाई नियमावलीका रूपमा रूपान्तरण गरिएको प्रधानमन्त्री कार्यालयका सहसचिव लिलाधर सुवेदीले जानकारी दिए । निर्देशिकाको तुलनामा नियमावलीको कानुनी हैसियत र बाध्यकारिता बढी हुने, समयानुसार डिजिटलाइज्ड (विद्युतीय स्वरूप) गरी प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अघि बढाएको प्रस्तावलाई गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

    उनका अनुसार नयाँ नियमावली लागू भएसँगै सरकारी निकायहरूमा निर्णय प्रक्रियामा प्राथमिक माध्यमका रूपमा डिजिटल प्रणाली अनिवार्य हुनेछ । यसअन्तर्गत फाइल दर्ता, टिप्पणी, राय, स्वीकृति, डिजिटल हस्ताक्षर, अभिलेखीकरण तथा अनुगमनका सम्पूर्ण कामकारबाही एकीकृत विद्युतीय निर्णय प्रणालीमार्फत सञ्चालन हुनेछन् । डिजिटल प्रणालीमा दर्ता हुने हरेक फाइललाई विशिष्ट पहिचान नम्बर र क्यूआर कोड प्रदान गरिने सहसचिव सुवेदीले जानकारी दिए ।


    निर्णय प्रक्रियालाई सहज र झन्झटमुक्त बनाउन टिप्पणीको तहसमेत घटाइएको छ । मन्त्रिस्तरबाट गरिने नीतिगत तथा महत्त्वपूर्ण प्रशासकीय निर्णयमा टिप्पणीको तह बढीमा तीन र सामान्य प्रशासकीय विषयमा बढीमा दुई तह मात्र रहने उहाँले उल्लेख गर्नुभयो । यो प्रणालीमा फाइल दर्ता हुनासाथ स्वचालित रूपमा समय गणना सुरु हुनेछ र तोकिएको समयभित्र कारबाही नभएमा फाइल चौबीस घण्टाभित्र स्वतः माथिल्लो निर्णय तहमा पुग्ने व्यवस्था गरिएको छ ।

    सार्वजनिक सेवालाई अत्याधुनिक बनाउन कानुन, पूर्ववर्ती नजिर खोजी, जोखिम विश्लेषण तथा टिप्पणीको प्रारम्भिक मस्यौदा तयारीमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग सहायक उपकरणका रूपमा गर्न सकिनेछ । यस्तै, सेवाग्राहीले अनलाइन, मोबाइल एप वा एसएमएसमार्फत प्राप्त हुने ट्रयाकिङ (सङ्केत) नम्बरबाट आफ्नो फाइलको प्रगति हेर्न सक्नेछन् भने सेवा प्रवाह एकद्वार प्रणालीमार्फत हुनेछ ।

    सार्वजनिक निकायले डिजिटल प्रणालीमार्फत डिजिटल माध्यममा फाइल दर्ता गर्नुपर्नेछ र त्यसरी तयार भएको विद्युतीय फाइलसमेत आधिकारिक सरकारी अभिलेख मानिने प्रधानमन्त्री कार्यालयका सहसचिव सुवेदीले उल्लेख गरे । यसका साथै, कार्यालयहरूको कार्यसम्पादन मापनका लागि ‘निर्णय ढिलाइ सूचकाङ्क’ लागू गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एकीकृत ड्यासबोर्डमार्फत अनुगमन गरिनेछ । निर्णय प्रक्रियामा अनावश्यक ढिलाइ गर्ने वा जिम्मेवारी पूरा नगर्ने पदाधिकारीलाई विभागीय कारबाही र कार्यसम्पादन मूल्याङ्कनमा अङ्क कटौती गरिने कडा व्यवस्था नियमावलीले गरेको छ ।

  • सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

    ललितपुर, १ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै तह, वर्गका व्यक्ति तथा व्यक्तित्वहरूलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकवद्ध बनाएर राख्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको वैठकको सुरुआतमा सभापति थापाले पार्टीभित्रका सबै असहमति र असन्तुष्टि सम्बोधन भएको उल्लेख गर्दै अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताए ।


    “अड्किएका सबै कुरा सम्बोधन भएका छन्, नेपाली कांग्रेस एउटा परिवार हो, सबैलाई समेटेर जान्छौँ, तोकिएको तिथिमा अधिवेशन गर्नुपर्ने कुरामा हामी बाँधिएका छौँ, हामी सबै एक ठाउँमा उभिएर रहेका छौँ, सँगै बसेर अधिवेशन गर्नु नपर्ने कुनै कुरा छैन, पार्टीलाई एक बनाउने भनेको नेता मात्रै मिलाउने हैन, रिसाएर कांग्रेस छोडेकाहरुलाई जोड्नु आवश्यक छ, यही असोज १६ गते खुला मञ्चमा महाधिवेशन उद्घाटन गर्छौँ,” सभापति थापाले भने ।


    सभापति थापाले पार्टीको महाधिवेशन टुङ्ग्याएर जनतासामु जाने उल्लेख गर्दै देशभरका पार्टी कार्यकर्ता तथा नेताहरूलाई एकतावद्ध हुन आग्रह गरे । उनले पार्टीभित्र कसले जित्यो वा कसले आफ्नो अडान छाड्यो भन्ने रूपमा नभई सबैले केही न केही लचकता अपनाएर पार्टीको हितमा सहमति गरेको विषयका रूपमा लिन आग्रह गरे ।


    “मतभिन्नता हुनु स्वाभाविक हो, त्यसलाई व्यक्तिगत विवाद नबनाई संवाद र सहमतिबाट समाधान खोज्नुपर्छ, पार्टीभित्रको एकता केवल नेताहरूबीचको एकतामा सीमित नराखी पार्टीबाट टाढिएका पुराना समर्थक तथा मतदातालाई समेत पुनः जोड्नुपर्छ,” उनले भने । पार्टीका पूर्वसभापति तथा वरिष्ठ नेताहरूलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी भएर एकताको सन्देश दिन सभापति थापाले आग्रह गरे । वडा, जिल्ला तथा अन्य तहको अधिवेशनको जिम्मेवारी पाएका नेताहरूलाई पनि अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन अनुरोध गर्दै उनले सहभागी हुन नसक्ने अवस्थामा विधानअनुसार वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आउनसक्ने बताए ।


    महाधिवेशन व्यवस्थापनका लागि विभिन्न समिति गठन गरी छोटो समयमै व्यवस्थित रूपमा काम गर्नुपर्नेमा सभापति थापाले जोड दिए । नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएका मतभेद र महाधिवेशनसम्बन्धी विवाद समाधान गर्न विभिन्न चरणमा निरन्तर संवाद हुँदै आएका थिए । विशेष महाधिवेशनपछि पनि पार्टीभित्र र नेताहरूबीच छलफल जारी रहेको तथा त्यसै क्रममा विभिन्न प्रस्ताव र सुझावका आधारमा सहमतिको वातावरण बनेको सभापति थापाको भनाइ थियो ।

  • बाढीमा ज्यान गुमाएकाहरूको आत्माशान्तिको कामनासहित साइकल यात्रा

    बाढीमा ज्यान गुमाएकाहरूको आत्माशान्तिको कामनासहित साइकल यात्रा

    बागमती, १ असोजः गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण दिवङ्गत भएकाहरूको आत्माशान्तिको कामना तथा प्रभावितको शीघ्र पुनःस्थापनाको मागसहित लमजुङसम्मको साइकल यात्रामा निस्किएको निजगढ साइकल क्लबको टोलीलाई आज हेटौँडामा स्वागत गरिएको छ । निजगढ राइडर्स क्लबका उपाध्यक्ष भूपेन्द्र सापकोटा नेतृत्वको पाँच सदस्यीय टोलीलाई हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापामगरसहितको टोलीले हेटौँडामा स्वागत गरेको हो ।

    साइकल यात्रामार्फत ७५ वर्षीय नवीन लम्सालसहितको टोली लमजुङको घलेगाउँसम्म पुग्ने क्लबका सल्लाहकार उत्तम शर्माले जानकारी दिए ।
    देशमा रहेका साइकल क्लबहरू समाजका हरेक सुखदुःखमा सँगै छन् भन्ने सन्देश प्रवाहका लागि पनि यो साइकल यात्रा गरिएको भन्दै यसले दिने सहकार्य र एकताको सन्देश दिने हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष थापाले विश्वास व्यक्त गरे ।

    लमजुङ जिल्ला साइकल सङ्घको आयोजनामा आन्तरिक पर्यटन प्रवर्द्धनको लक्ष्यका साथ देशभरका साइकल सङ्घका प्रतिनिधिहरू लमजुङमा जम्मा हुन लागेका जानकारी दिँदै उनले देशका विभिन्न स्थानबाट करिब ५०० साइकल यात्री यहाँ आउने बताए । सोसाइटीका तर्फबाट लमजुङको साइकल यात्रामा ५० जनाको सहभागिता हुने उनले बताए ।

  • बाढीमा बेपत्ता कामदारका परिवारलाई प्राधिकरणको ‘राहत’

    बाढीमा बेपत्ता कामदारका परिवारलाई प्राधिकरणको ‘राहत’

    काठमाडौँ, १ असोजः नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ । बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरू बेपत्ता छन् । प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी र कामदारको बेपत्ता छन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता भएका कर्मचारी–कामदारका आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्म अनुसारको सामाजिक संस्कार गर्न र जिवनयापन गर्नको लागि राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए । उनका अनुसार राहतको पहिलो प्याकेजमा तत्कालका लागि राहतस्वरूप बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकको हकवालालाई प्रतिकर्मचारीरकामदार रु ५० हजार उपलब्ध गराउने निर्णय भएको छ ।

    दोस्रोमा स्थायी कर्मचारीको नजिकको हकवालालाई प्राधिकरणबाट के कति क्षतिपूर्ति वा के रकम दिने भन्ने सम्बन्धमा अर्को निर्णय नभएसम्मका लागि वा भदौदेखि बढीमा ६ महिनाका लागि बेपत्ता भएका स्थायी कर्मचारीको नजिकको हकवालालाई बेपत्ता कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाहस्वरूप उपलब्ध गराउने निर्णय भएको छ ।

  • पाँचौँ संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आगामी माघमा हुँदै

    पाँचौँ संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आगामी माघमा हुँदै

    काठमाडौँ, १ असोजः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान)ले आगामी माघ ३ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो–२०२७’ आयोजना गर्ने भएको छ । ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नारासहित आयोजना गर्न लागिएको सो एक्स्पो पाँचौँ संस्करणको हो ।

    तीनदिन चल्ने सो एक्स्पोले जलविद्युत्, सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रीन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रीड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिसम्मको एकीकृत स्वच्छ ऊर्जा बजार निर्माण गर्न अवसर प्रदान गर्ने इपानका अध्यक्ष मोहनकुमार डाँगीले जानकारी दिए ।


    एक्स्पोमा भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत विभिन्न मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता रहनेछ । सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग, सञ्चारमाध्यम तथा ऊर्जा क्षेत्रका विज्ञ–विशेषज्ञ एक्स्पोमा सहभागी हुने आयोजकले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    एक्स्पोमा ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, नीतिनिर्माता, नियामक, विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप तथा विकास साझेदारबीच व्यावसायिक सम्पर्क, लगानी साझेदारी, प्रविधि हस्तान्तरण र ज्ञान आदानप्रदानका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

    अन्तरराष्ट्रिय कम्पनी तथा विदेशी प्रतिनिधिमण्डलको सहभागिताले नेपाली ऊर्जा बजारमा नयाँ प्रविधि र लगानी भित्र्याउने, नेपाली कम्पनीलाई अन्तरराष्ट्रिय बजारसँग जोड्ने तथा नेपालको स्वच्छ ऊर्जा क्षेत्रलाई क्षेत्रीय संवाद, लगानी र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने अवसरसमेत प्रदान गर्नेछ ।

    यसपटक एकीकृत हरित ऊर्जा बजारको अवधारणालाई अघि बढाउन लागिएको छ । यसको केन्द्रमा ऊर्जा उत्पादन विस्तारसँगै उत्थानशीलता, लगानी र नवप्रवर्तन रहेका छन् ।

    एक्स्पोका प्रमुख आकर्षणमा बिटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजनास्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, इभी ¥याली तथा गाला नेटवर्किङ डिनर आयोजना हुनेछ ।

    नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि इप्पानको सबैभन्दा ठूलो निजी क्षेत्रकेन्द्रित वार्षिक इभेन्टका रूपमा ऊर्जा उत्पादनदेखि लगानी, वित्त, प्रविधि, निर्माण, उपकरण, सेवा, अनुसन्धान र नीतिगत बहससम्मका सम्पूर्ण मूल्य शृङ्खलालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको अध्यक्ष डाँगीले जानकारी दिए ।

    एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको इपानका महासचिव टिएन आचार्यले जानकारी दिनुभयो । प्रदर्शनीका साथै ज्ञान, प्रविधि, लगानी र व्यावसायिक सम्पर्कलाई जोड्ने विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।

    हाल देशको विद्युत् उत्पादन क्षमता करिब ४३०० मेगावाट पुगेको छ । आगामी सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य छ । उक्त लक्ष्य केवल घरेलु विद्युत् माग पूरा गर्नमा सीमित नभई औद्योगिक विकास, विद्युतीय सवारी, नवीकरणीय ऊर्जा तथा भारत र बङ्गलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तारसँग जोडिएको सो संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

    एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

    काठमाडौँ, १ असोजः फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै एन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरकारसँग आग्रह गरेको छ । एन्फाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेनलमा एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले एन्फा बन्द हुँदा खेलाडी र राष्ट्रिय टोलीको तयारी मात्र नभई त्यहाँ कार्यरत कर्मचारीको दैनिक जीवन पनि प्रभावित भएको बताए ।

    उनले बङ्गलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता अन्योल भएको भन्दै यस विषयमा नेपालको सहभागिता सुनिश्चित गर्न तत्काल निर्णय आवश्यक रहेको बताए । “एन्फा बन्द हुँदा खेलाडी र राष्ट्रिय टोलीको तयारी मात्र होइन, त्यहाँ कार्यरत कर्मचारीको दैनिक जीवन प्रभावित भएको छ,” तुलाधरले भने । एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलाधरले आर्थिक कठिनाइका कारण कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूमा गम्भीर तनाव उत्पन्न हुन सक्ने अवस्थातर्फ सरकारको ध्यानाकर्षण गराए ।


    त्यसैगरी, एन्फाका महासचिव किरण राईले साफ च्याम्पियनसिपमा नेपालको सहभागिताबारे सरकारले तत्काल स्पष्ट निर्णय गर्नुपर्ने बताए । “अब नेपाली फुटबलको विषयमा स्पष्ट हुनुपर्छ । यस विषयमा सरकारसँग छलफल गर्न हामी तयार छौँ,” राईले भने । एन्फा निलम्बनको समस्या समाधानका लागि फिफा र एएफसीसँगको औपचारिक संवाद र समन्वयमा आवश्यक रहेको बताए ।
    त्यस्तै, एन्फा महासचिव राईले एन्फा सञ्चालनमा नआउँदा राष्ट्रिय टोलीको तयारीदेखि एन्फा एकेडेमीमा रहेका बालबालिकाको दैनिक जीवनसम्म प्रभावित भएको उल्लेख गरे ।

    फिफाको निलम्बनका कारण नेपालले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगिता गुमाइसकेको छ । फिफा सिरिज महिला प्रतियोगिता २०२६, नेपाल–हङकङ अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल, एएफसी यू–१७ महिला एसियन कप २०२७ छनोट, एएफसी यू–२० महिला एसियन कप २०२६ छनोट तथा एएफसी यू–२० एसियन कप २०२७ पुरुष छनोटलगायत प्रतियोगितामा नेपालको सहभागिता प्रभावित भएको एन्फाले जनाएको छ ।

    त्यस्तै, एन्फाका कर्मचारी, राष्ट्रिय महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र रेफ्रीले पारिश्रमिक तथा भत्ता प्राप्त गर्न नसकेको र खेलाडीको उपचारमा पनि समस्या देखिएको एन्फाले जनाएको छ । एन्फाका अनुसार फिफाले निलम्बन फुकुवाका लागि दुई प्रमुख सर्त अघि सारेको छ । जसमा पहिलो, २५ मार्च २०२६ मा राष्ट्रिय खेलकुद परिषद्ले गरेको निर्णय पूर्ण रूपमा खारेज गरी हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्नेछ । दोस्रो, एन्फाले आफ्नो विधान तथा नियमअनुसार यसअघि सुरु भइसकेको निर्वाचन प्रक्रिया यथाशीघ्र पूरा गर्न पाउनुपर्नेछ ।

    फिफा निलम्बनको विषयमा सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तत्काल पहल गरी फिफा तथा एएफसीसँग समन्वय गरेर निलम्बन फुकुवा गर्न र नेपाली फुटबलका गतिविधि नियमित रूपमा सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेको गरेको छ ।

  • एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित

    एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित

    काठमाडौँ, १ असोजः जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला भलिबल खेलमा नेपाल पराजित भएको छ । यो नेपालको लगातार दोस्रो हार हो । नेपाल आज सम्पन्न खेलमा इन्डोनेसियाविरुद्ध ३–० को सोझो सेटमा पराजित भयो । बुधबार भएको पहिलो खेलमा जापानविरुद्ध पनि नेपाल सोझो सेटमा पराजित भएको थियो । आइचीस्थित पार्क एरिना कोमाकीमा भएको इन्डोनेसियासँगको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले गुमायो ।

    लगातार दोस्रो पराजयसँगै भलिबलमा पदक जित्ने नेपालको सम्भावना सकिएको छ । नेपालले अब वरियताका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले खेल्ने टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ११औँ स्थान हासिल गरेको थियो ।

  • अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    काठमाडौँ, १ असोजः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२–८३ मा विभिन्न कसुरका ९९० प्रतिवादीविरुद्ध कैद सजाय र जरिवानाका अतिरिक्त रु २५ अर्ब २३ करोड ६५ लाख ९७ हजार बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत आवमा विभिन्न भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा १७५ वटा मुद्दा दायर गरिएको आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार सो अवधिमा सबैभन्दा बढी ५६ वटा मुद्दा सार्वजनिक हानि–नोक्सानीसम्बन्धी रहेका छन् ।

    घूस (रिसवत)सम्बन्धी ४१, गैरकानुनी लाभ वा हानिसम्बन्धी २७, झुटारनक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १५, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११, राजस्व चुहावट–हिनामिना, सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी पाँच–पाँच र अन्य कसुरसम्बन्धी १५ वटा मुद्दा दर्ता भएका छन् । गत आवमा कायम कुल उजुरीमध्ये तहगत आधारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा बढी २० हजार छन् । सङ्घसँग सम्बन्धित १५ हजार ५१२ र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम पाँच हजार ३०५ उजुरी दर्ता भएका आयोगले जनाएको छ ।

    वार्षिक प्रतिवेदनअनुसार छ वटा प्रदेशमा स्थानीय तहका निकाय वा पदाधिकारीसम्बद्ध उजुरी बढी परेका छन् भने बागमती प्रदेशमा सङ्घीय निकाय वा पदाधिकारीसम्बद्ध उजुरीको सङ्ख्या बढी छ । उजुरीको समग्र सङ्ख्या बागमती प्रदेशमा सबैभन्दा बढी छ भने गण्डकी प्रदेशमा सबैभन्दा कम रहेका छन् ।

    आर्थिक वर्ष २०८२–८३ मा दर्ता भएका प्रदेश सरकारसम्बद्ध कुल पाँच हजार ३०५ उजुरीमध्ये सबैभन्दा बढी एक हजार ४७५ वटा मधेस प्रदेशसम्बद्ध र सबैभन्दा कम ४०७ वटा गण्डकी प्रदेशसम्बद्ध रहेका छन् । विषय क्षेत्रगत आधारमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा बढी रहेका छन् भने मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा बढी रहेका छन् ।

    यस अवधिमा दर्ता कायम भएका स्थानीय तहसम्बद्ध कुल २० हजार २५ उजुरीमध्ये सबैभन्दा बढी सात हजार ३७० उजुरी मधेस प्रदेशका स्थानीय तहसँग र सबैभन्दा कम एक हजार ४०६ उजुरी गण्डकी प्रदेशका स्थानीय तहसँग सम्बन्धित छन् । सङ्घ सरकारसम्बद्ध उजुरीमध्ये मन्त्रालयगत आधारमा साबिकको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा बढी छ ।

    त्यसपछि बढी उजुरी परेका साबिकका मन्त्रालयहरू क्रमशः शिक्षा तथा खेलकुद, गृह, पूर्वाधार विकास, अर्थ, स्वास्थ्य तथा खाद्य स्वच्छता, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, कृषि, वन तथा पर्यावरण र सूचना तथा सञ्चार मन्त्रालय रहेका छन् ।

  • भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

    भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

    काठमाडौँ, १ असोजः भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार गत भदौ १० गतेको बाढीमा परेर आजसम्म ३६ देशका ६०६ विदेशी पर्यटक बेपत्ता भएका हुन् । विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएकामध्ये अझै ६०६ विदेशी पर्यटक बेपत्ता भएका राससलाई जानकारी दिए । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका छन् ।

    विभागले दिएको जानकारीअनुसार भारतका १८९, अष्ट्रेलियाका ३३, क्यानडाका ३०, मलेसियाका ५५, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, लाटभियाका ३३, चीनका ३७ जना छन् । त्यस्तै, बेलारुस, फिनल्याण्ड, फ्रान्स, जर्मनी हङ्गेरी, आइरिस, इजरायल, लिथ्वानिया, नेदरल्याण्ड, न्युजरल्याण्ड, पोर्चुगल, रसिया, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, जापान, फिलिपिन्स, काजकिस्तान, बेल्जियम, स्विडेन, स्विजरल्याण्ड, इटली, भियतनाम, इस्टोनिया र कोरियाका पर्यटक पनि बेपत्ता भएका छन् ।

    उक्त बाढीमा परेर नेपालका १८८ पर्यटक बेपत्ता भएका छन् । विदेशी पर्यटकको सहयोगीका रूपमा गएका र कैलाश मानसरोवर तथा गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेका विभागका सूचना अधिकारी घिमिरेले बताए । उनका अनुसार हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको छ । यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये १३ जना (तीन पुरुष, नौ महिला र एक अन्य) हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिएका छन् ।

  • प्रधानमन्त्री प्रकोप कोषमा एक हजार सहयोग गरेका व्यक्तिलाई एक लाख उपहार परेपछि…

    प्रधानमन्त्री प्रकोप कोषमा एक हजार सहयोग गरेका व्यक्तिलाई एक लाख उपहार परेपछि…


    काठमाडौँ, १ असोजः करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौमा प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु एक हजार सहयोग गर्ने एक जना पनि रु एक लाखको उपहार विजेतामा परेका छन् । आन्तरिक राजस्व विभागले आज सार्वजनिक गरेका भदौ महिनाका ३३ जना विजेतामध्ये कोषमा उक्त रकम प्रदान सहयोग गर्ने एक जना परेको हो ।

    विभागका अनुसार भदौमा हरेक दिन एक जनाका दरले ३१ जना र दुई जना बम्पर गरी ३३ जना विजेता घोषणा गरिएको हो । यद्दपी कार्यविधि अनुसार यसरी सहयोगमा गरेको भुक्तानी भने पुरस्कारका लागि योग्य हुने छैनन् । यसबारे विभागले छिट्टै निर्णय गर्ने जनाएको छ । भोटेकोशी बाढीका कारण भदौ १६ गतेका लागि निर्धारित उपहार घोषणा कार्यक्रम स्थगन भएको थियो ।

    भदौ महिनाका ३१ विजेताले जनही रु एक लाख तथा दुई जना बम्पर विजेताले जनही नगद रु १० लाख उपहार प्रदान गरिने छ । सरकारले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने तथा सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने प्रवृत्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता

    १ असोज, काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ। बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए ।

  • चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

    चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी


    काठमाडौँ, १ असोज । चालु आर्थिक वर्ष २०८३\८४ को शुरुआती दुई महिनामा सरकारले करिब रु दुई खर्ब बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च रु एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख बराबर छ । जुन वार्षिक लक्ष्यको नौ दशमलव ४१ प्रतिशत हुन आउँछ । कार्यालयका अनुसार सरकारले चालु शीर्षक

    यस अवधिसम्ममा सरकारको खर्चको तुलनामा आम्दानी कम छ । भदौ मसान्तसम्मको कुल राजश्व संकलन वार्षिक लक्ष्यको ११ दशमलव ५८ प्रतिशत अर्थात् रु एक खर्ब ९० अर्ब १० करोड ७९ लाख छ । पछिल्ला दुई महिनामा मात्रै सरकारको आम्दानी भन्दा खर्च करिब रु नौ अर्ब ७२ करोडले बढी रहेको छ । कर राजश्वतर्फ चालु आर्थिक वर्षका लागि कुल रु १४ खर्ब तीन अर्ब ३१ करोड ८३ लाख उठाउने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको १२ दशमलव २ प्रतिशत अर्थात् रु एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख संकलन भएको छ ।

    त्यस्तै, गैरकर राजश्वतर्फ रु एक खर्ब ७७ अर्ब उठाउने सरकारको लक्ष्य रहेकोमा हालसम्म छ दशमलव नौ प्रतिशत अर्थात् रु १० अर्ब ७७ करोड ६९ लाख उठेको छ । चालु आर्थिक वर्षका लागि रु ६१ अर्ब ७४ करोड ५४ लाख प्रत्यक्ष वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा आठ दशमलव ९६ प्रतिशत अर्थात् रु पाँच अर्ब ५३ करोड बराबर भित्रिएको कार्यालयले जनाएको छ ।

  • चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

    चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट


    काठमाडौँ, १ असोजः जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्लेलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् । भेटमा आपसी हित एवं सैनिक सम्बन्धका बारेमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    प्रधान सेनापति सिग्देलले भदौ ३१ गते चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गर्नाका साथै बेइजिङमा आयोजना भएको ‘१३औँ बेइजिङ स्याङसङ फोरम’को उद्घाटन सत्रमा सहभागी थिए ।

  • शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन

    शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन

    काठमाडौँ, १ असोजः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक सेवा आयोगका अध्यक्ष डा हरिप्रसाद लम्सालसहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा उनले शिक्षक भर्ना, बढुवा, पाठ्यक्रम सुधार तथा आयोगसम्बन्धी ऐन–नियमावलीलाई समयसापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार र समयमै परीक्षाफल प्रकाशनलाई प्राथमिकता दिन आग्रह गरे ।


    मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयलाई समेत समेटिने विश्वास व्यक्त गरे । हालै बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा लम्साललाई आयोगको अध्यक्ष तथा मकवानपुरका रामशरण सापकोटा र काठमाडौँका विष्णु घिमिरे रिमाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    आयोगका अध्यक्ष डा लम्सालले आयोगलाई गतिशील र नतिजामुखी बनाउन काम सुरु गरिसकेको बताए । आयोगको प्रभावकारिता तथा शिक्षक व्यवस्थापन सुधारका लागि नीतिगत र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसतर्फ आयोगले पहल थालेको जानकारी दिए । छलफलमा मन्त्रीको सचिवालय तथा मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

  • सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

    सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

    काठमाडौँ, १ असोजः युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा राष्ट्रव्यापीसीप तथा रोजगार मेला आयोजना गर्ने तय गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी उक्त निर्देशिकाको प्रावधानअनुरुप सीप तथा रोजगार मेला आयोजना तथा सञ्चालनका लागि श्रममन्त्रीको संयोजकत्वमा आज बैठक बसेको हो । निर्देशन तथा समन्वय समितिको बैठकमा यही असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गरिने निर्णय गरेको छ । यस किसिमको मेलालाई क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन गर्ने गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाउने मन्त्रालयको उद्देश्य छ ।

    तीनै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार संस्था, रोजगारदाता सङ्घरमहासङ्घ, उद्योगी व्यवसायी तथा शैक्षिक एवं तालिम प्रदायक संस्थाहरूको समन्वय र सहकार्यमा मेला सञ्चालन हुने भएकाले सीप, रोजगारी, उद्यमशीलता, स्वरोजगार प्रवर्द्धन गर्दै श्रमको सम्मान र स्वदेशमै रोजगारीको अवसर अभिवृद्धि गर्ने सबै सरोकारवालाहरूलाई सहभागिताका लागि पनि मन्त्रालयले आह्वान गरेको छ ।

    बैठकपछि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको श्रम बजारलाई थप आकर्षक बनाउनुपर्नेमा जोड दिँदै नेपालमा रोजगारी गर्न तथा उद्यमी बन्न सकिन्छ भन्ने अनुभूतिसहित सकारात्मक सन्देश दिन सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय हुनुपर्ने बताए । मन्त्री यादवले आन्तरिक रोजगारी दशकलाई सफल बनाउन सरकार र निजी क्षेत्रसहित सबै सरोकार भएका निकायले सहकार्य गरी सीप र रोजगारीको एक बलियो प्रणाली (इकोसिस्टम) निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । यस प्रणाली निर्माणमा यो सीप तथा रोजगार मेला कोसेढुङ्गा बन्ने उनले बताए ।

  • महिला समाज यूएईको तीज विशेष कार्यक्रम

    महिला समाज यूएईको तीज विशेष कार्यक्रम

    १ असोज, यूएई । महिला समाज यूएईको तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । बरदुबईस्थित बोसी क्लबमा अगष्ट २३ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो । समाजकी अध्यक्ष श्वेता नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि लक्ष्मी ज्वेलर्सकी सञ्चालिका कमला भण्डारी रहेकी थिइन् ।


    समाजकी सचिव सीता पंगेनी थापाले औपचारिक सञ्चालन गरेको उक्त कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न संघसंस्था प्रमुख र महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली दिदीबहिनीहरुले मौलिक परम्परागत तीजका गीतहरु गाएका थिए । त्यसैगरी कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुति गरेको थियो ।

  • सिर्जना वाचन डबलीको २९औं शृङ्खला

    सिर्जना वाचन डबलीको २९औं शृङ्खला


    १ असोज, यूएई । सिर्जना वाचन डबली, यूएईको २९औं शृङ्खला १६ अगष्ट आइतबारको दिन बरदुबई आब्रास्थित गाउँवेशी रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
    सिर्जना वाचन डबलीका संरक्षक टक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन जे. सागरले गरेका थिए । भवानी नेपालले सञ्चालन गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व सहसंयोजक विकास शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।


    कार्यक्रममा करिब ३० जना सर्जकहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए । कार्यक्रममा कविता, गजल, मुक्तक लगायतका रचनाहरु वाचन गरिएको थियो । २९औं शृङ्खलाको विशेष आकर्षणका रुपमा सिर्जना वाचन डबलीको लोगो अंकित पोशाक सार्वजनिक गरिएको थियो । प्रभु बैंक यूएई प्रमुख डा. प्रकाश पौडेलको सहकार्यमा पोशाक प्रायोजन गरिएको आयोजकले बताए ।


    सन् २०१४ देखि प्रवासमा नेपाली भाषा, साहित्य र सिर्जनाको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय सिर्जना वाचन डबलीले नियमित रुपमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा यूएईमा स्थापित विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, साहित्यकार, कलाकार तथा साहित्यप्रेमीहरुको उल्लेखनीय सहभागिता थियो । प्रवासमा रहेका नेपाली स्रष्टाहरुलाई संगठित गर्दै साहित्यानुभूति दिने काम सिर्जना वाचन डबलीले गर्दै आइरहेको छ ।

  • विदेशमा रहेका नेपाली श्रमिकहरूमा वित्तीय साक्षरता अभाव

    विदेशमा रहेका नेपाली श्रमिकहरूमा वित्तीय साक्षरता अभाव

    लक्ष्मण खनाल\ यूएई
    पाल्पाका सन्तराम थापा १९ वर्षदेखि यूएईमा मोटर मेकानिकको रुपमा काम गर्थे । उनले सो अवधिमा एक छोरा र एक छोरीको लालनपालन शिक्षादीक्षा, घरपरिवारको खर्च व्यवस्थापनसहित चितवनमा घर जोडे । उनी १९ वर्ष यूएई बसेर देशमै केही गर्ने सपना बोकेर नेपाल फर्किए । नेपाल फर्किएर उनले केही व्यवसाय गर्ने कोसिस पनि गरे, तर उनी सफल हुन सकेनन् र पुनः यूएई फर्किएर जागिर गर्न बाध्य भए । उनी भन्छन्, ‘बेलामा होश पु¥याइएन, कमाइ भएको बेला बचत गरिएन, सामाजिक तडकभडक र परिवारका महँगा सपनामा कमाइ खर्च गरियो’, उनी भन्छन्– ‘अहिले देश फर्केर केही गरौं भन्दा लगानी गर्ने पैसा छैन, सानो लगानी गर्ने वातावरण छैन, विदेसिएपछि सामाजिक र पारिवारिक रुपमा पनि एक्लिँदो रहेछ । अब सकेसम्म यतै जागिर गर्छु ।’


    त्यसैगरी पर्वतका रामेश्वर सुवेदीको पनि गुनासो उस्तै छ । उनी विगत १० वर्षदेखि यूएईमा कार्यरत छन् । करोडौं खर्च गरेर पोखरामा घर बनाएका छन्, तर देश फर्केर केही गर्ने योजना भए पनि आर्थिकको अभाव छ । उनी भन्छन्– ‘करोडांै पर्ने घर त छ, तर घरले खान नदिने रहेछ । देश फर्कन र भविष्यको बचतको सपनामा जिन्दगी जाने भयो ।’


    सन्तराम र रामेश्वर प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुको जस्तै वर्षौंसम्म वैदेशिक रोजगारीमा रहेर पनि भविष्यको लागि आर्थिक सञ्चिती नहँुदा लामो समयसम्म विदेशमा नै बस्न बाध्य लाखौं नेपालीहरुका कथा उस्तै छन् ।


    नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारी र विप्रेषणको योगदान अत्यन्त महत्वपूर्ण छ । रोजगारीका पर्याप्त अवसर स्वदेशमा सिर्जना हुन नसक्दा लाखौं नेपाली युवा विदेशमा श्रम बेचिरहेका छन् । उनीहरुको पसिनाको कमाइले परिवारको दैनिक खर्च, शिक्षा, स्वास्थ्य, आवास तथा ऋण भुक्तानीमा ठूलो योगदान पु¥याएको छ । तर विदेशमा कमाएको रकमलाई कसरी सुरक्षित गर्ने, बचत तथा लगानी गर्ने, ऋण व्यवस्थापन गर्ने र दीर्घकालीन सम्पत्ति निर्माण गर्ने भन्ने विषयमा पर्याप्त वित्तीय साक्षरता नहुँदा वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीको पूर्ण लाभ लिन नसकिएको हाम्रो समाजको तीतो यथार्य बन्न पुगेको छ ।


    नेपालीहरुको वैदेशिक रोजगारीमा भएको आम्दानी मुख्यतः घरखर्च, ऋणको किस्ता तिर्न, ब्याज तिर्न, घरजग्गा जम्मा गर्न र केही व्यवसाय वा उद्यमशील क्षेत्रमा लगानी भएको पाइन्छ । विदेशमा रहेका नेपाली श्रमिक केवल व्यक्तिगत आम्दानीका स्रोत नभई नेपालको समग्र अर्थतन्त्रका महत्वपूर्ण आधार भएको भनिन्छ तर ठूलो रकम देशमा भित्रिँदैमा मात्र परिवारको दीर्घकालीन आर्थिक समृद्धि सुनिश्चित हुँदैन । त्यसका लागि वित्तीय ज्ञान, अनुशासन र सही लगानी आवश्यक हुन्छ ।

    वित्तीय साक्षरता
    विदेशमा रहेका नेपाली श्रमिकको वित्तीय साक्षरतामा पहिलो समस्या आम्दानी र खर्चको व्यवस्थित योजना नहुनु हो । धेरै श्रमिकले मासिक आम्दानी, घर पठाउने रकम, ऋणको किस्ता, बचत र भविष्यको लगानीलाई छुट्टाछुट्टै योजनामा राख्दैनन् । परिणामस्वरुप लामो समय विदेश बसेर पनि पर्याप्त बचत वा उत्पादनशील सम्पत्ति निर्माण गर्न नसक्ने अवस्था आउँछ, जसले उसको विदेश बसाइँ लम्बिने हुन्छ ।


    सिद्धार्थ बैंकको लागि यूएई प्रमुख नविन पौडेलका अनुसार, यूएईमा रहेका करिब ८ लाख नेपालीहरुमध्ये अनुपातमा वित्तीय साक्षरता एकदमै कम छ । वित्तीय साक्षरताभित्र रेमिट्यान्स र रेमिट्यान्सको सदुपयोग हो । अहिले रेमिट्यान्सबाट नेपाल भित्रिएको रकम अनुत्पादक क्षेत्र र बिलासीका समानहरुमा खर्च भएको पाइन्छ । ‘यदि वित्तीय साक्षरताको ज्ञान नदिने हो भने उनीहरु नेपाल फर्कने वा फर्केर स्वदेशमा केही गर्छु भन्ने वातावरण बन्दैन’, पौडेल भन्छन्– ‘त्यसैले उनीहरुलाई वैधानिक विप्रेषण, बचत, उत्पादनमूलक क्षेत्रमा लगानी, आर्थिक व्यवस्थापनको विषयमा सरकारी तवरबाट होस् या अन्य माध्यमबाट साक्षर बनाइनु जरुरी छ ।’


    वैदेशिक रोजगारीमा जानेहरुको लागि अर्को समस्या भनेको महँगो ऋण र वैदेशिक रोजगारीको लागत हो । नेपाली आप्रवासी श्रमिकले विदेश जानुअघि भर्ती प्रक्रियासँग सम्बन्धित खर्च व्यहोर्ने गरेका छन् र उक्त रकम उनीहरुले महँगो ब्याजदरमा ऋण लिने गर्छन् । औसतमा उनीहरुले यस्तो खर्च असुल गर्न करिब ३ देखि ६ महिनाको आम्दानी बराबर समय लगाउनुपर्ने हुन्छ, कतिपयको हकमा वर्ष पनि पुग्न सक्छ ।


    विदेशमा कमाएको रकम विभिन्न अवैधानिक माध्यमबाट पठाउने र ठगिनेको अवस्था पनि उस्तै छ । विभिन्न बहानामा विदेशमै रहेका नेपालीहरुले एकले अर्कोलाई ठग्ने रकम लिएर सम्पर्कविहीन हुने र श्रमिकको कमाइ डुब्ने समस्या पनि छन् ।
    अर्को चुनौती परिवारतर्फ पनि छ । विदेशबाट आएको पैसा घरखर्च, घर निर्माण, जग्गा खरिद वा सामाजिक प्रतिष्ठासँग जोडिएका खर्चमा बढी प्रयोग हुँदा उत्पादनशील लगानी कम हुन सक्छ । हामीले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको ठूलो हिस्सा दैनिक उपभोगमा खर्च गर्ने र पूँजी निर्माण वा उत्पादनमूलक क्षेत्रमा लगानी नगरिनु पनि अर्को चुनौती हो ।

    जीवनस्तर उकास्न के गर्न सकिन्छ ?
    सबैभन्दा पहिले वैदेशिक रोजगारीपूर्व अनिवार्य वित्तीय शिक्षा दिनुपर्छ । श्रम स्वीकृति लिनुअघि प्रत्येक श्रमिकलाई बजेट निर्माण, ऋण व्यवस्थापन, बैंकिङ, बीमा, विप्रेषण, लगानी, कर, साइबर सुरक्षा र अवकाशपछिको आर्थिक योजनासम्बन्धी छोटो तर व्यावहारिक तालिम दिन जरुरी छ ।


    प्रत्येक श्रमिकका लागि विदेश जानेदेखि फर्किएसम्मको वित्तीय योजना तयार गर्नुपर्छ । विप्रेषणलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्ने नीति सरकारको तर्फबाट ल्याइनु आवश्यक छ । रेमिट्यान्स बचत गर्ने परिवारलाई कृषि, पर्यटन, साना तथा मझौला उद्योग, नवीकरणीय ऊर्जा र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न सकिन्छ ।


    सस्तो र सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्न कामदार पठाउने शुल्क हटाउने वा घटाउने, अनधिकृत दलाल नियन्त्रण गर्ने, रोजगार सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने र गन्तव्य मुलुकमा श्रमिकलाई कानुनी तथा कन्सुलर सहायता उपलब्ध गराउने व्यवस्था बलियो बनाउनुपर्छ । देश फर्किएका श्रमिकलाई आर्थिक पुनः एकीकरण र व्यवस्थापन गरिनुपर्दछ । उनीहरुको सीपको अभिलेख राखी स्थानीय तह, बैंक तथा निजी क्षेत्रसँग जोडेर रोजगारी वा उद्यमका अवसर सिर्जना गर्न सकिन्छ ।


    वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुले आफ्नो आम्दानीलाई योजनाबद्ध रुपमा व्यवस्थापन गर्नुपर्छ । सर्वप्रथम मासिक आम्दानी र खर्चको बजेट बनाई अनावश्यक खर्च घटाउनुपर्छ । कमाइको निश्चित हिस्सा नियमित रुपमा बचत गरी भविष्यको लागि सञ्चित गर्नु पर्दछ । रेमिट्यान्स पठाउँदा औपचारिक बैंक तथा वित्तीय संस्थाको प्रयोग गर्नुपर्छ । उच्च ब्याजदरका अनावश्यक ऋणहरु लिने र बिलासीका सामानहरु किन्ने बानी हटाउनुपर्छ । परिवारलाई पनि आर्थिक योजना र बचतको महत्वबारे जानकारी दिनुपर्छ । स्वदेश फर्किएपछि आयआर्जन गर्न सकिने व्यवसाय वा सीपमा लगानी गर्ने योजना बनाउनुपर्छ ।


    विदेशमा रहेका नेपाली श्रमिकले नेपालको अर्थतन्त्रलाई ठूलो योगदान दिइरहेका छन् । तर विदेशमा गएर धेरै कमाउनु मात्र पर्याप्त होइन । कमाएको रकम जोगाउने, सही ठाउँमा लगानी गर्ने र त्यसबाट स्थायी सम्पत्ति निर्माण गर्ने क्षमता विकास गर्नु अझ महत्वपूर्ण छ । त्यसैले वैदेशिक रोजगार नीतिलाई केवल कति जना विदेश पठाउने र कति रकम रेमिट्यान्स भिœयाउने भन्ने दृष्टिकोणबाट हेर्नुभन्दा श्रमिकको आर्थिक सुरक्षा र जीवनस्तर कसरी स्थायी रुपमा सुधार गर्ने भन्ने दृष्टिकोणबाट हेर्न आवश्यक छ ।


    यदि प्रत्येक श्रमिकलाई वित्तीय साक्षरता, सुरक्षित वैदेशिक रोजगार, डिजिटल बैंकिङ, बीमा, दीर्घकालीन बचत, उत्पादनशील लगानी र स्वदेश फर्किएपछि उद्यमको अवसरसँग जोड्न सकियो भने विप्रेषण उपभोगमा मात्र सीमित नभई सम्पत्ति निर्माण, रोजगारी सिर्जना र राष्ट्रिय उत्पादन वृद्धिको आधार बन्न सक्छ । अन्ततः वैदेशिक रोजगारीको सफलता विदेशमा कति वर्ष बिताइयो वा कति पैसा पठाइयो भन्नेमा होइन, त्यसबाट श्रमिक र उनको परिवारले कस्तो सुरक्षित, सम्मानजनक र आर्थिक रुपमा आत्मनिर्भर भविष्य निर्माण गर्न सके भन्ने कुरामा मापन हुनुपर्छ ।

  • बाढीपहिरो पीडितका लागि यूएईद्वारा १० मिलियन डलर राहत

    बाढीपहिरो पीडितका लागि यूएईद्वारा १० मिलियन डलर राहत


    १ असोज, काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १० मिलियन अमेरिकी डलर (डेढ अर्ब रुपैयाँ) बराबरको आपतकालीन राहत सहायता गर्ने भएको छ । यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा उक्त सहायता उपलब्ध गराइएको हो । यूएई एड एजेन्सीमार्फत परिचालन गरिएको सहयोग बाढीपहिरो प्रभावित समुदायलाई तत्काल राहत, अत्यावश्यक सामग्रीको व्यवस्थापन तथा पुनःस्थापना र पुनरुत्थानमा सहयोग पु¥याउने उद्देश्यले केन्द्रित गरिएको यूएईले जनाएको छ ।


    राहत कार्यक्रमअन्तर्गत यूएईले मानवीय सहायता सामग्री बोकेका विमानहरु नेपाल पठाएको छ । पहिलो चरणमा ८३ टन खाद्यान्न, आश्रय सामग्री तथा अन्य अत्यावश्यक मानवीय सामग्री नेपाल पठाइएको थियो । उक्त राहत सामग्री बाढीपहिरोबाट प्रभावित नागरिकको तत्काल आवश्यकता पूरा गर्न प्रयोग गरिने जनाइएको छ ।


    त्यसपछि दोस्रो चरणमा थप ४५ टन राहत सामग्री नेपाल पठाइएको छ । दोस्रो विमानमा खाद्यान्न तथा आश्रय सामग्रीका साथै विद्युत् आपूर्तिमा समस्या भएका क्षेत्रमा प्रयोग गर्न सकिने जेनरेटर र अन्य अत्यावश्यक सामग्रीसमेत रहेको यूएईको सरकारी समाचार संस्था वामले जनाएको छ ।


    यूएईका अनुसार राहत सामग्री नेपालस्थित यूएई दूतावास तथा सम्बन्धित नेपाली निकायसँगको समन्वयमा प्रभावित समुदायसम्म पु¥याइनेछ । विशेषगरी विपत्तिबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका नागरिकलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने प्राथमिकता राखिएको छ ।


    नेपालमा आएको प्राकृतिक विपत्तिप्रति यूएईले यसअघि नै दुःख व्यक्त गर्दै पीडित परिवार तथा नेपाली जनताप्रति समवेदना प्रकट गरेको थियो । त्यसलगत्तै राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा आपतकालीन राहत प्याकेज घोषणा गरिएको हो । यूएईमा ७ लाखको हाराहारीमा नेपालीहरु रहेको जनाइएको छ ।

  • गुल्मी सेवा समाज यूएईको तीज फेस्टिभल

    गुल्मी सेवा समाज यूएईको तीज फेस्टिभल

    १ असोज, यूएई । गुल्मी सेवा समाज, यूएईको आयोजनामा तीज फेस्टिभल २०२६ सम्पन्न भएको छ । अगष्ट २३ आइतबारका दिन बरदुबईस्थित जया किचनको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी प्रदेश समाज यूएईका अध्यक्ष नारायण अधिकारीको प्रमुख आतिथ्यता तथा गुल्मी सेवा समाज, यूएईका अध्यक्ष जीवनसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

    सांगीतिक कार्यक्रममा लोक गायिका सुस्मा शाही ठकुरी, यूएईका स्थानीय कलाकारहरु रुद्र थापा, ध्रुव कुँवर, नारायण सुनार, पवित्रा टण्डन गायक तथा सांस्कृतिक विभाग प्रमुख विनय खत्रीको प्रस्तुति रहेको थियो । नेपाली सांस्कृतिक, परम्परा र मौलिक चाडपर्वहरुको संरक्षण र सम्वद्र्धन गर्दै सामाजिक सेवाको उद्देश्यलाई जोडेर आयोजना गरिएको उक्त कार्यक्रमबाट संकलित वचत रकम समाजसेवाका क्षेत्रमा उपयोग गरिने समाजका अध्यक्ष जीवनसिंह ठकुरीले बताए ।

  • विश्वकर्मा समाज नेपाल, यूएईमा पुनः सुनार

    विश्वकर्मा समाज नेपाल, यूएईमा पुनः सुनार

    १ असोज, यूएई । विश्वकर्मा समाज नेपाल, यूएईको चौथो केन्द्रीय अधिवेशनले दुर्गाबहादुर सुनारलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ । अगष्ट २ मा दुबईस्थित याक एण्ड यती क्लब एभरेष्टको हलमा आयोजित उक्त अधिवेशनले वरिष्ठ उपाध्यक्ष गामबहादुर विक, उपाध्यक्ष बाबुराम सुनार, महिला उपाध्यक्ष सुमित्रा गहतराज, उपाध्यक्ष शंकर बराल, उपाध्यक्ष मनबहादुर सुनार, उपाध्यक्ष हुमराज विक, महासचिव किरण विश्वकर्मा, कोषाध्यक्ष हिरालाल सुनार विश्वकर्मा, सचिव श्यामकुमार विश्वकर्मा, सचिव सुरज बिसी, सचिव रामबहादुर सुनार (संगम), सचिव अमृत विक, सहकोषाध्यक्ष रामबहादुर सुनार, सहकोषाध्यक्ष प्रवीन बराइली, प्रवक्ता दुजमान सुनार, महिला संयोजक सुष्मा सुनार, प्रशिक्षक तथा परामर्श संयोजक चन्द्र विक र सांस्कृतिक संयोजक नारायण सुनारलाई चयन गरेको छ ।


    त्यसैगरी कार्यसमिति सदस्यहरुमा क्रमशः दीपक सुनार, मिलन विक, दिनेश सुनार, सुनीता विक, पञ्चराम विक, बाबुराम विक, निर्मला विक, गोकर्ण सुनार, गोविन्द तिरुवा, धनराज विक र कल्पना सुनारलाई चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास, दुबईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईं रहेका थिए भने यूएईमा क्रियाशील विभिन्न नेपाली सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्मा तथा निर्वाचन समिति सदस्यहरु रत्न विक र शंकर सुनारले नयाँ कार्यसमिति घोषणा गरेका थिए । नयाँ निर्वाचित कार्यसमितिलाई ओहोदाको प्रमाणपत्र पनि प्रदान गरिएको थियो । कार्यक्रम सुरज बिसी र सुष्मा सुनारले संयुक्त रुपमा सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

  • यूएईमा एआईसम्बन्धी कार्यशाला गोष्ठी

    यूएईमा एआईसम्बन्धी कार्यशाला गोष्ठी

    १ असोज, यूएई । नेपाली समाज यूएईको आयोजना तथा नेपाल पत्रकार महासंघ यूएई शाखाको सहकार्यमा ‘एआईको शक्ति सिकाइदेखि व्यावसायिक प्रयोगसम्म’ विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । अगष्ट १५ शनिबार दुबईस्थित जयज किचनको सभाहलमा आयोजित उक्त कार्यक्रमको मुख्य वक्ताको रुपमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका निवर्तमान महासचिव रोसन पुरी रहेका थिए ।
    कार्यक्रमका प्रमुख वक्ता तथा प्रशिक्षक पुरीले दैनिक क्रियाकलापमा एआईको व्यावहारिक प्रयोगसम्बन्धी जानकारीमूलक वृत्तचित्र प्रस्तुत गरेका थिए ।

    प्रश्नोत्तर र अन्तरक्रियात्मक रुपमा चलेको उक्त कार्यकममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्था प्रमुख र प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
    नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानले कार्यक्रमको विषयवस्तु राखेका थिए । कार्यक्रममा एआईको प्रयोग, एआईमार्फत कार्यक्रम उत्पादन, एआईमा भाषा, वर्तमान अवस्थामा यसका नीतिगत जानकारीहरु, यसबाट हुने जोखिम र गोपनीयताका विषयमा प्रशिक्षक पुरीले प्रष्ट पारेका थिए ।

  • यूएईमा मनाइयो ३२औं विश्व आदिवासी दिवस

    यूएईमा मनाइयो ३२औं विश्व आदिवासी दिवस

    १ असोज, यूएई । नेपाल आदिवासी जनजाति महासंघ, यूएईले ३२औं विश्व आदिवासी दिवस २०२६ सम्पन्न गरेको छ । कार्यक्रम ५ अगष्टका दिन दुबईस्थित क्लब एसके सेवेनमा आयोजना गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष भागरथीकुमार भगतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास दुबईका वाणिज्यदूत कुञ्जन शाह रहेका थिए ।


    संयुक्त राष्ट्रसंघले दिएको मान्यताअनुसार विश्वभरका जनजातिहरुले मनाउने विश्व आदिवासी दिवस अगष्ट ९ को अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको मुख्य आर्कषणको रुपमा विभिन्न जातजातिका परम्परागत र सांस्कृतिक परिकारहरुको प्रदर्शनी पनि राखिएको थियो । यसैगरी विभिन्न जातजातिहरुका मौलिक भेषभूषा र सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको महासंघका अध्यक्ष भागरथीकुमार भगतले बताए ।


    उक्त कार्यक्रमको संयोजक महासंघका उपाध्यक्ष बुद्धबहादुर तामाङ रहेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन महासचिव मनीसा सुब्बा र सचिव देव भुजेलले गरेका थिए । झाँकी सञ्चालन किसनलाल चौधरी र देवीमाया सुनुवारले गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो भने यूएईमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


    नेपाल आदिवासी जनजाति महासंघ, यूएईमा रहेको १२ वटा जातीय संस्थाहरुको नेतृत्व गर्ने संस्था हो । तमु, मगर, तामाङ, राई, लिम्बु, नेवार, शेर्पा, थारु, भुजेल, सुनुवार, कुमाल र राजवंशी गरी १२ जातीय संघसंस्थाहरु यूएईमा क्रियाशील रहेका छन् र सबै जातीय संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध रहेका छन् ।

  • बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र


    म्याग्दी, १ असोजः चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको पहिरो प्रभावित क्षेत्रमा सडक स्तरोन्नतिलाई तीब्र पारिएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते सेतोखोला क्षेत्रमा यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा बाँकी रहेको स्तरोन्नतिको कामलाई पूर्णता दिन लागेको हो । फरकफरक प्याकेजमा ठेक्कामार्फत पहिरो नियन्त्रण, नदी कटान रोकथामसँगै ढलान गरेर स्तरोन्नति गर्ने काम भइरहेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।


    “बर्खायाम र कोरला नाकामा आवतजावत गर्ने सवारीसाधनको चापका बाबजुद सडक स्तरोन्नतिको कामले निरन्तरता पाएको छ”, उनले भने, “यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा अहिले काम भइरहेको छ । बाँकी पहिरो प्रभावित क्षेत्रमा पनि ठेक्का लगाउने तयारीमा छौँ ।”

    आयोजनाका सूचना अधिकारी इञ्जिनियर बाबुसाहेवकुमार बैठाका अनुसार राहुघाट, घुमाउनेताल, चमेरे, बैसरी क्षेत्रमा एक किलोमिटर २०० मिटर सडक ढलान र विभिन्न ठाउँमा दुई हजार ३०० घनमिटर ग्यावियन, पलम र कङ्क्रिट पर्खाल निर्माणका लागि रु सात करोड ३० लाखमा शङ्करश्री–क्रियटिभ जेभीले ठेक्का पाएको छ ।

    गत वैशाखमा सम्झौता गरेका उक्त कम्पनीले बर्खायाममा पनि निर्माणलाई निरन्तरता दिएको छ । रु आठ करोड मा ठेक्का सम्झौता गरेको कालीमाता–थापाकाजी–रसुवा जेभीले कुनौटा, बेगखोला, भिरकाटे र रातोपानी खण्डमा टेवा पर्खाल, कल्भर्ट निर्माण र ढलानको काम गरिरहेको छ । भिरकाटे क्षेत्रमा बिस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्ने काम भने बर्खायाम तथा सवारीसाधनको चापका कारण रोकिएको छ ।

    ठेक्कामार्फत एक हजार ८९० घनमिटर ग्याविन जाली लगाउने, प्लम तथा कङ्क्रिट पर्खाल निर्माण गरेर सडक संरक्षण गरी करिब दुई किलोमिटर ९चार हजार ३७१ घनमिटर० सडक ढलान गरिने इन्जिनियर बैठाले जानकारी दिए । जोखिमयुक्त र सवारीसाधन आवतजावत प्रभावित बनाएका सिरुवारी, तातोपानीलगायत ठाउँका पहिरो नियन्त्रणसँगै सडक स्तरोन्नतिका लागि प्राविधिक अध्ययनको चरणमा रहेको छ । यसअघि रु २५ करोडमा विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको बैसरी, खामभित्ता, गुइठे, लाटाखोला, रुप्से र सेतोखोला क्षेत्रको सडक स्तरोन्नतिको काम पनि अन्तिम चरणमा पुगेको छ ।

    कमजोर भू–बनोटका कारण कालीगण्डकी करिडोरको म्याग्दी खण्डमा बर्खायाममा बाढीपहिरोका कारण सिधा यातायात अवरुद्ध हुने समस्या रहेकाले सडक स्तरोन्नति तथा पहिरो नियन्त्रणलाई प्राथमिकता दिइएको आयोजना प्रमुख शर्माले बताए ।

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

    १ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीवार बिहान ७ः३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ । उनले आजै भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    शुक्रवार पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । सोही दिन भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता हुनेछ । साथै उनी भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । शनिवार भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ ।

    सोही दिन दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । शनिबार नै उनी नेपाल फिर्ता हुनेछन् । भ्रमण टोलीमा सहसचिव अमृत लम्साल (अर्थ मन्त्राल), सहसचिव गेहेन्द्र राजभण्डारी, परराष्ट्र मन्त्रालय, उप नियोग प्रमुख डा. सुरेन्द्र थापा, नेपाली राजदूताबास नयाँदिल्ली, इकोनोमिक्स मिनिस्टर, तारानाथ अधिकारी,नेपाली राजदूताबास नयाँदिल्ली र उपसचिव कञ्चन बस्नेत, निजी उप सचिव, अर्थमन्त्री, सहभागी छन् ।