Category: फिचर

  • प्रतिनिधिसभाः राहत र पुनः निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग

    प्रतिनिधिसभाः राहत र पुनः निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग


    काठमाडौँ, ३० भदौः प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढी पश्चात्को राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरिन् । सभाको बैठकमा उपनेता अर्यालले सरकार र अन्य पक्षले राहत, खोज, उद्धार, पुनःनिर्माणका भइरहेका कामलाई तीव्रता दिन विदेशीसमेतको सहयोग समयमा लिनेगरी सरकारले पहल गर्न नसकेको टिप्पणी गरिन् ।


    उनले राजनीतिक दल, स्थानीय तह, समुदाय र विभिन्न समूहलाई परिचालन गरेर पुनःस्थापनाका लागि पहल गर्नुपर्ने भूकम्पपछिको पुनः निर्माणको विगतको अनुभवलाई ध्यान दिन आग्रह गर्दै त्यस्ता काममा आफूहरूसरकारसँग हातेमालो गर्न तयार रहेको स्पष्ट गरिन् ।

    पुनः निर्माणका लागि स्वायत्त र अधिकारसम्पन्न विशेष निकाय (प्राधिकरण) गठन र अन्तरारष्ट्रिय समुदायको सहयोगमा द्रूत गतिमा काम गर्न सुझाव दिँदै जलवायु परिवर्तनका कारण नेपाले भोग्नुपरेको क्षति र पाउनुपर्ने न्यायबारे सशक्त आवाज उठाउन आग्रह अर्यालले गरिन् । उनले बजारमा खाना पकाउने ग्यासको अभाव, मूल्यवृद्धि आदिबारे सरकारको ध्यानाकर्षण गराइन् ।

  • पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

    पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

    काठमाडौँ, ३० भदौः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन् । उनले आज एक अपिल जारी गर्दै पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्नका लागि महाधिवेशनमा आग्रह गरेका हुन् । पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने यस अभियानमा आ–आफ्नो स्थानबाट साथ, सहयोग र सहकार्यका लागि सबैमा उनले अपिल गरेका छन् ।


    पार्टीको संस्थापन पक्षले १५औँ महाधिवेशनको कार्यतालिका (आगामी असोज १६ देखि १९ गतेसम्म) सार्वजनिक गरी एकपक्षीय ढङ्गले अघि बढ्न खोजेको उनको आरोप छ । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको दाबी उनको दावी छ ।

    पूर्वसभापति देउवाले भोटेकोशी बाढीबाट ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी र उद्धारमा निरन्तरता दिन सरोकारवाला सबैमा आग्रह गरेका छन् ।

  • बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

    काठमाडौँ, ३० भदौः सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङको कालिकास्थान, मालिङ्गा, मझुवाटार दोभान, महादेवा मास्टर, चिरौँदी खोला, शीतलबजार क्युरेनीटार र बेल्खु भुतियामा रहेका क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु भइसकेको छ । त्यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत सुरु भइसकेको छ । यी पुलहरू असोज २० गतेभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ ।

    साथै बाढीबाट प्रभावित थप आठ वटा झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढाइएको छ । मर्मतमा आवश्यक ‘डेक’लगायत सामग्री खरिदका लागि विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता भइ पहिलो चरणको सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टिल पाट्र्स खरिद प्रक्रिया अघि बढाइएको छ । यसबाहेक उक्त करिडोरमा पूर्ण रुपमा क्षतिग्रस्त ३३ वटा झोलुङ्गे पुलको पुनःनिर्माणका लागि भदौ १७ गते बोलपत्र आह्वान भइसकेको मन्त्रालयको भनाइ छ । पुल निर्माण तथा मर्मतका लागि अत्यावश्यक मानिने लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायत सामग्री खरिद गर्न सरकारले बोलपत्र आह्वान गरेको हो ।

  • गत आवमा सात खर्ब २० अर्बको घरजग्गाको कारोबार

    गत आवमा सात खर्ब २० अर्बको घरजग्गाको कारोबार

    काठमाडौँ, ३० भदौः गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२–८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ । राष्ट्र बैंकका अनुसार आव २०८१–८२ मा भने रु तीन खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो । आर्थिक वर्ष २०८२–८३ मा घरजग्गाको कुल कारोबारको सङ्ख्या आव २०८१र८२ को तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा २०८१–८२ मा भने घरजग्गाको कारोबार सङ्ख्या एक दशमलव ८४ प्रतिशतले घटेको थियो ।

  • मकवानपुरमा भ्यान दुर्घटना, चारको मृत्यु, चार घाइते

    मकवानपुरमा भ्यान दुर्घटना, चारको मृत्यु, चार घाइते

    हेटौँडा, ३० भदौः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड हुँदै वीरगञ्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको भाडाको इभी आज दिउँसो २ः०० बजे सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको छ । घाइते दुई पुरुष र दुई महिलामध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौँ तथा एक महिलालाई हेटौँडा पठाइएको छ । गाडीमा चालकसहित आठ जना सवार थिए । मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताए ।

  • सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    सर्लाही, ३० भदौः सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गोडैता नगरपालिका–५, रामवनस्थित भित्री सडक खण्डमा प्रदेश २–०३००१७ प ७१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा सोही ठाउँकी ६५ वर्षीया शान्ति देवीको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते देवीलाई उपचारका लागि बयोधा अस्पताल वीरगन्ज पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    यस्तै सर्लाहीको बरहथवा नगरपालिका–३, सानो खुरखोटीमा घरको भ¥याङबाट लडेर ४० वर्षीय सुनिता माझीको मृत्यु भएको छ । घरको भ¥याङ चढ्ने क्रममा लडेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागि न्यूरो अस्पताल बारा पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

  • ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

    ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

    काठमाडौँ, ३० भदौः भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । बागमती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् ।

    रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो ।

    रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहिआएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् ।


    आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमामा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । ऋषिपञ्चमीसँगै चार दिन लामो तीज पर्व पनि आजैदेखि समापन भएको छ ।

  • भोटेकोशी बाढी : चिन्तित छन् त्रिशूली किनारका बासिन्दा

    भोटेकोशी बाढी : चिन्तित छन् त्रिशूली किनारका बासिन्दा


    चितवन, ३० भदौः यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरु चिन्तित देखिएका छन् । उनीहरुलाई कुनै पनि बेला त्रिशूली नदीमा बाढीको वहाब आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ । इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा बसोबास गर्दै आउनुभएकी सानी गौचन अहिले आफूहरु असुरक्षित रहेको महसुस गर्छिन् । आफ्नो उमेरको ४५ वर्ष यही बिताएकी उनी भोटेकोशी बाढीपछि झस्कन थालेकी छिन् । उनले भनिन्, “बाढी देखेका थियौ । यस्तो विनाशकारी देखेका थिएनौँ । त्यो दिन सम्झदा अझै पनि मनमा अत्यास लाग्छ । पानी पर्दासमेत फेरि घर छोड्नुपर्ने हो की भन्ने डरले उनलाई सताइ रहेको छ । ”

    मुग्लिन बजारमा बिगत ४५ वर्षदेखि आमा होटल चलाउँदै आएकी कोपिला गौचन वर्षात् हुन थालेपछि कामदारदेखि सबैलाई सुरक्षित गर्न थालेको बताउँछिन् । यही भदौ १० गतेदेखि उनले न फोन अफ गर्न सकेकी छिन्, न त रातिमा राम्रोसँग निदाएकी छिन् । उनले भनिन्, “कतै फोन गरेर घर छोड बाढी आउँदै छ की भन्ने सूचना आउँछ की भन्ने डर छ ।” अझै आफूहरु असुरक्षित रहेको महसुस आफूलाई भएको उनले बताइन् ।


    अहिले खोला सुसाउँदा त्रासमा बस्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । अझै चिन्तामा बस्नुपरेको बताउँदै उनले अब केही राहत हुन्छ की भन्ने लागेको बताइन् । उनले थपिन, “पुख्र्यौली काम छोड्नुभएन अझै हामी सुरक्षित छौँ जस्तो लाग्दैन ।”
    स्याङ्जा स्थायी ठेगाना भई बिगत ३२ वर्षदेखि मुग्लिन नजिकै व्यवसाय गर्दै आएका सेख अलाउदीन मियालाई अहिले पानीको आवाज सुनेपछि आफूले राखेका सामग्रीतर्फ ध्यान जान्छ । नुवाकोटमा रहेकी छोरी वेखबर भएपछि आफू त्यस्तै हुने हो की भन्ने चिन्ताले उनलाई सताइ रहेको छ । खोलामा पानीको बहाव बढ्दै गर्दा कुनै चिन्ता नहुने भए पनि भदौ १० गतेको भोटेकोशी बाढीपछि उनलाई रातमा राम्रो गरी निन्द्रा लाग्न छाडेको छ ।

    साना बालबालिका लिएर बस्नुपर्ने त्यहीमाथि त्रिशूलीको डर उनले दुःखेसो सुनाए । अचानक आएको बाढीले त्रिशूली किनारमा व्यवसाय गर्न डर हुन लागेको उनको गुनासो छ । त्रिशूलीमा ‘¥याफ्टिङ’ गर्न आएकालाई खाना खाजा खुवाउँदै आएका नारायण श्रेष्ठ व्यवसाय छोड्ने की के गर्ने भन्ने दोधारमा छन् । सँगै व्यवसाय गरेका साथीहरुले छाडेर गएपछि आफू दोधारमा रहेको बताउँदै उहाँले विनाशकारी बाढीपछि व्यवसाय र आफ्नो जीवन नै जोखिम बढेको बताए । उनले भने, “बाढीसँग डर होइन विनाशकारी बाढीसँग अझै हामीलाई डर छ ।” पृथ्वी राजमार्गमा रहेको विनय गेष्ट हाउस तथा खाजा घरका सञ्चालक उनले वर्षात सुरु भएपछि हामीलाई त्रास बढ्ने भन्दै अब के गर्ने सोचमा रहेको बताए ।


    अहिले पृथ्वि राजमार्गअन्तर्गत त्रिशूली किनारमा रहेका यस्ता व्यवसायी तथा परिवार त्रासमा दिन र रात बिताउन बाध्य छन् । अब फेरि समस्या आउँदा के गर्ने भन्ने चिन्ता उनीहरुमा थपिएको छ । रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनको देवघाटमा आएर यो नदी कालिगण्डकीमा मिसिएपछि नारायणी बन्छ । त्रिशूली नदी गहिरो छ । नदीका किनारमा मानव बस्तीसँगै बजारहरु रहेका छन् । ती बस्ती पुराना हुन् । बिगतका वर्षहरुमा पनि बाढी आउने भए पनि यस वर्ष निकै ठूलो बाढी आएपछि ती तीन जिल्लामा ठूलो जनधनको क्षति भएको छ । क्षति हुन नपाएका बस्ती र बजार क्षेत्रका बासिन्दामा त्रास कायम रहेको हो ।

  • न्यून बेतनमा खेलकुदमा काम गर्छन् कठायत दाइ

    न्यून बेतनमा खेलकुदमा काम गर्छन् कठायत दाइ

    महेन्द्रनगर, ३० भदौः उमेर ६३ वर्ष । कर्णबहादुर कठायत उनको नाम । कञ्चनपुरको खेलकुद र कर्णबहादुर एकअर्काका परिपूरकजस्तो छ । उनलाई नचिन्ने कमै होलान् । कभर्डहल परिसरको रेखदेखदेखि कार्यालय सरसफाइ गर्नु उनको दैनिकी हो । खेलकुदमा ‘कठायत दाइ’का नामले परिचित छन् । सबैको आदरणीय कठायत दाइ भने सेवा सुविधामा सधैँ पछाडि पर्दै आएका छन् ।


    “विसं २०४५ मा गार्डका रूपमा काम गर्न खेलकुद कार्यालयमा भर्ना भएँ”, उनले भने, “२०४८ सालमा खेलकुद खारेजीमा पर्यो । केही वर्षपछि जागिर पनि गयो । त्यो बेला मासिक रु १२ हजार तलब थियो ।” जाजरकोटबाट दशकौँअघि बसाइँ सरेर कञ्चनपुरको महेन्द्रनगर आएका कठायतले जीवनका महत्त्वपूर्ण समय खेलकुद समितिलाइ खर्चिए । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको जिल्ला खेलकुद समितिबाट उहाँले नियमसम्मत् सेवा सुविधा पाउन नसकेको बताउँछन् ।

    “खेलकुद समितिले बस्नलाई कभर्डहल परिसरमै झोपडी बनाउन दियो । त्यही झोपडीमा तीन छोराको जन्म भयो”, उनले भने, “बिहान ४ः३० बजेदेखि बेलुकी ८ः०० बजेसम्म कर्भहलमा ड्युटी गर्नुपर्छ । रातिको समयमा पनि रेखदेखमा निस्किन्छु ।” मेरो घर भने पनि यही हो, सेवा पनि यही हो, सर्वस्व नै यही हो, तर सुन्नुपर्ने र देख्नुपर्ने निकायले नदेखे पनि मैले आफ्नो कर्म आजसम्म छाडेको छैन”, उनले भने ।
    खेलकुद समितिको कार्यालय सरसफाइदेखि हरेकजसो काममा सक्रिय कठायतले सेवासुविधा थपका लागि जिल्ला खेलकुदमा आउने हरेक नयाँ नेतृत्वसित गुहार माग्दै आए पनि सुनुवाइ नभएको गुनासो गर्छन् । “सरकारले हरेक क्षेत्रका कर्मचारीको न्यूनतम तलब तोकेको छ । मेरो त वर्षौँदेखि रु पाँच हजारभन्दा माथि गएन ।” खेलकुदकै जग्गामा राखेको चिया पसलले जीवन धानेको उनको भनाइ छ ।

    “अहिले मेरो तलब रु पाँच हजार छ । नाति÷नातिनीको स्कुलको शुल्क नै रु पाँच हजार ५०० छ”, उनले भने, “ कार्यालय सहयोगीको काम गरेँ तर सेवा सुविधा भने सोअनुसार भएन ।” वार्षिक पोशाक भत्ता भने पाइरहेको उनले बताए । जिल्ला खेलकुद समितिको अध्यक्ष कृष्णदेव पन्त भएका बेला २०६४ सालमा उनको मासिक तलब रु पाँच हजार कायम गरिएको थियो । त्यसयता उनको तलब सुविधा थपिएको छैन ।

    जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कार्यालय सहयोगीका रूपमा कार्यरत कठायत पुराना कर्मचारी भएको बताए । “उनले खेलकुदमा निकै दुःख गरे, केही दशकअघि रु हजारमा पनि काम गरे, अहिले उमेर बढी भएकाले नयाँ नियुक्ति दिन मिलेन”, कार्यालय प्रमुख भट्टले भने, “न्यून आयस्रोत भएको समितिले थोरै भए पनि तलब दिएका छौँ ।” उनले समितिको आयस्रोत निकै न्यून रहेको जानकारी दिए । राससबाट

  • कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालन

    कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालन


    नारायणगढ (चितवन), ३० भदौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो । परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको हो । नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार आज ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ ।

    उनले भने, “सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ ।”, उनका अनुसार निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ उपकरण परिचालन गरिएको थियो । अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ । आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन् ।

    हाल नयाँ ट्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ । सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन निर्माण गर्ने काम भइरहेको उनले बताए । सब–बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने उनको भनाइ छ । करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको उनले बताए ।


    उनले भने, “यो खण्ड अलिकति जोखिम छ । थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुन्छ ।” नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताए । उनले परीक्षणका लागि मात्र आइतबार केही सवारीसाधन पास गराइएको र अहिले नयाँ ट्याक पूर्णरूपमा बन्द रहेको जानकारी दिए ।


    उनले भने, “सर्वसाधारण नयाँ ट्याक खुला गरिएको भ्रममा नपर्नुहोला । परीक्षणका लागि मात्र केही हिँजो सवारीसाधन पास गराइएको हो”, थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

  • प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

    प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति


    म्याग्दी, ३० भदौः म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक स्तरोन्नतिको काम पूरा भएको छ । सङ्घीयताको वस्तुनिष्ट कार्यान्वय हुँदा स्थानीयवासीले सहज रूपमा सडक सुविधा पाएका छन् । गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनामा राखेका ती आयोजना सम्पन्न हुँदा स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।

    प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८०–८१ देखि सुरु गरेका चार र २०८१\८२ मा ठेक्का सम्झौता भएको एक योजना सम्पन्न भएका हुन् ।

    विभिन्न निर्माण कम्पनीसँग रु ३८ करोडमा ठेक्का सम्झौता भएका ती आयोजनामार्फत १८ किलोमिटर सडक स्तरोन्नति भएको मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी–तोरीपानी हुँदै पाखापानी, दरवाङ–मुना–ढोरपाटन सडक, पखेर–बरङ्जा सडक, बगरफाँट–दूधेखोला–भकिम्ली र गलेश्वर–जगन्नाथ सडक योजना निर्धारित समयमा सम्पन्न भएका हुन् ।

    कार्यालयका अनुसार आव २०८०र८१ मा सम्झौता भएका दरवाङ–बिम–दिच्याम, अदिभारा–डाडागाँउ–सोले–लामेला तमान, चित्रे–घोडेपानी सडक, शिवरात्रिखोला र दरखोला मोटरेबल पुल निर्माणाधीन छन् ।

    स्तरोन्नति भएपछि बर्खामा हिलो र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य हुनुका साथै ढुवानी, आवतजावतमा सहज र यात्रा अवधि छोटिएको छ । कच्ची साँघुरो, ग्रेड र मोड नमिलेका सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता कम भएको छ । यसअघि ३.५ मिटर चौडा सडकलाई प्रदेश सरकारको मापदण्डअनुसार कम्तीमा सात मिटर फराकिलो बनाइएको कार्यालयका सवइन्जिनियर घनश्याम रोकाले बताए ।

    बेनी–तोरीपानी हुँदै पाखापानी सडक

    मङ्गलादेवी सुवास कन्ट्रक्सनले रु ११ करोड ७६ लाख १२ हजारमा ठेक्का सम्झौता गरेको बेनी–तोरीपानी हुँदै पाखापानी सडक आयोजनामार्फत बेनी नगरपालिका–९ भुतदैला–नेप्टेचौर–तोरीपानी खण्डको चार किलोमिटर दूरीमा स्तरोन्नति भएको छ । सो आयोजनामार्फत एक किलोमिटर ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र, ५५० मिटरमा ढलान र दुई किलोमिटर ग्राभेल भएको छ ।

    मार्ग खुुलेको करिब २५ वर्षपछि स्तरोन्नति भएको यस सडक आयोजनाबाट बेनी नगरपालिका–९, १०, रघुुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडाका बासिन्दा लाभान्वित भएका छन् । म्याग्दीको प्राथमिकताप्राप्त बेनी–तोरीपानी हुँदै पाखापानी सडक चालु आव २०८३र८४ मा भने बजेटविहीन भएको रघुगङ्गा–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले गुनासो गरे ।
    दरवाङ–मुना–ढोरपाटन सडक

    रामसागर विके एस केबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा ठेक्का सम्झौता गरेको दरवाङ– मुना–ढोरपाटन सडक योजनामार्फत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नति भएको छ । सो योजनाअन्तर्गत ताकम र शिवाङ खण्डमा ९०० मिटर प्रिमिक्स प्रविधिको कालोपत्र भएको छ । गौथली भिरलगायतका स्थानमा एक हजार ७०० मिटर ढलान गरिएको छ । आठ मिटरका दरले सडक फराकिलो पारिएको सडकमा नाली र टेवा पर्खाल निर्माण भएको छ ।

    यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । हाल ग्राभेलमात्र भएको तीन किलोमिटरभन्दा बढी दूरीको सडकलाई पनि कालोपत्र गर्न पहल गरिएको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए ।
    “मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति हुनु हाम्रो वडाका लागि सकारात्मक उपलब्धि हो”, उनले भने, “बजेटको कमीका कारणले कालोपत्र हुन नसकेको ठाउँका सडकलाई कालोपत्र गराउन र बर्खायाममा बिग्रिएको ठाउँमा मर्मतका लागि प्रदेश सरकारसँग पहल भएको छ ।”

    धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाको पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो ।

    मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी– ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत दरवाङ–धारापानी र मच्छिम–मुना खण्डमा स्तरोन्नतिका लागि सञ्चालित अर्को आयोजनाको २५ प्रतिशत भौतिक प्रगति भएको छ ।

    पखेर–बरङ्जा सडक

    पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत गत आवमा सम्पन्न पखेर–बरङ्जा ३ र ४ हुँदै महेश–धापुङ–ताराखोला सडक योजनामार्फत मङ्गला गाउँपालिका–३ पखेरदेखि आलडाँडा खण्ड स्तरोन्नति भएको छ । रु पाँच करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको एनके–युनाइटेड जेभीले तीन किलोमिटर दूरीमा ग्राभेल तथा घुम्ती र उकालोमा ५५० मिटर सडक ढलान भएको छ । ग्रेड र घुम्ती सुधार भएको छ ।

    बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो । मङ्गला गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले म्याग्दीको सदरमुकाम बेनी आवतजावतका लागि यो सडक प्रयोग गर्छन् । बरङ्जादेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा सडक स्तरोन्नति भएपछि यात्राअवधि ३० मिनेटमा छोटिएको स्थानीयवासी मिलन रोकाले बताए ।

    हाडेभिर–बगरफाँट–दुधेखोला–हल्लेगौडा सडक

    बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को दूधेखोला हुँदै हल्लेगौडा जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ । माछापुच्छ्रे हिमालयन जेभीले रु पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको योजनामार्फत बगरफाँट–कोप्रे–दूधेखोला खण्डलाई फराकिलो, घुम्ती तथा मोड, ग्रेड सुधार, नाली र टेवा पर्खाल निर्माण गरेर स्तरोन्नति गरिएको हो ।

    विस २०६४ मा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ खुलेको थियो । बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली, पर्खाल र ग्राभेल भएपछि स्थानीयवासीलाई सुविधा पुगेको बेनी नगरपालिका–२ बगरफाँटका चन्द्रबहादुर घिमिरेले बताउनुभयो । हल्लेगौडा क्षेत्रमा ३९० मिटर ढलान भएको छ ।

    हाँडेभिरदेखि बगरफाँट–दूधेखोला–हल्लेगौडा, मुसुङडोले हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्गअन्तर्गत दूधेखोलादेखि बास्कुना–थामडाँडा–अर्जेखोला हुँदै मङ्गला गाउँपालिकाको वडा नं ३ र ४ बरङ्जालाई समेत यो सडकले जोडेको छ ।

    गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक

    बिबीपीएलबिएस डिएस धवलागिरिले रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनामार्फत बेनी नगरपालिका–९ गलेश्वरदेखि काउलेगौडा हँुदै कोशेपानी खण्डमा ३०० मिटर ढलान र एक हजार १०० मिटर दूरी सडकलाई फराकिलो बनाइ घुम्ती तथा ग्रेड सुधार, पर्खाल र नाली निर्माण भएको छ ।

    यसअघि चार मिटर फराकिलो सडकलाई हाल सात मिटर चौडा बनाइएको छ । म्याग्दी हँुदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याउने, बसाइ लम्ब्याउने र स्थानीयवासीको सहजताका लागि गलेश्वरदेखि पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नतिको काम थालिएको हो ।

    गलेश्वर हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धार हो भने पछैमा हिन्दू धर्मग्रन्थ रामायणको पात्र रावणको जन्म भएको र परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको भनाइ छ । जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लले बनाएको शिखर शैलीको मन्दिर छ ।

  • भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

    भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए


    सुदूरपश्चिम, ३० भदौ । भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रको अभिलेखअनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा कार्यरत सुदूरपश्चिमका १४३ जना सम्पर्कविहीन छन् भने एक जनाको मृत्यु भएको छ ।

    गत भदौ १० को बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत व्यक्तिहरू बाढीपछि सम्पर्कविहीन भएको भन्दै केन्द्रमा गुनासो आएका थिए । पछि ७१ जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख जनक धामीले जानकारी दिए ।


    हालसम्म सम्पर्कमा आएकामध्ये ११ महिला र ६० पुरुष र सम्पर्कविहीन भएकामा १३ महिला र १३० पुरुष रहेका उनले बताए । जिल्लागत विवरणअनुसार कैलालीका सबैभन्दा धेरै ६७ जना सम्पर्कविहीन छन् भने ५३ जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीन र सम्पर्कमा आएकामध्ये क्रमशः कञ्चनपुरका २६ र ११, डडेल्धुराका १७ र छ, डोटीका दुई र एक जना छन् । यस्तै, बाजुराका १६ जना, बैतडीका सात, दार्चुलाका चार, बझाङका दुई र अछामका दुई जना अझै सम्पर्कविहीन छन् । बैतडीका एक जनाको मृत्यु भएको र शव बुझी अन्त्येष्टि गरिसकिएको आपत्कालीन कार्यसञ्चालन केन्द्रको अभिलेखमा उल्लेख छ ।

    बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूका परिवार तथा आफन्तले आपत्कालीन केन्द्रमा गुनासो दर्ता गराएका थिए । सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आफन्तहरुले केन्द्रमार्फत आग्रह गरिरहेका छन् ।

  • मेलाबाट उठेको रकम पर्यटनमा लगानी

    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

    म्याग्दी, ३० भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको मणिबराही युवा क्लबले मेला सञ्चालन गरेर बचत भएको रु २० लाखभन्दा बढी रकम पर्यटन विकासमा परिचालन गरेको छ । विसं २०८१ र २०८२ मा क्लबले दसैँ पर्वको अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानी पर्यटन पूर्वाधार निर्माणमा लगानी गरेको हो । क्लबका सचिव विकास पुनले पछिल्लो दुई वर्षमा क्लबमार्फत दोवाको पर्यटन, भौतिक पूर्वाधार, सामाजिक कामका लागि रु २० लाख सात हजार ७१० खर्च भएको जानकारी दिए ।

    “दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्गको पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि क्लबले दुई वर्षमा सबैभन्दा बढी रु सात लाख ५८ हजार २५० खर्च गरेका छौँ”, उनले भने, “क्लबसँग हाल रु पाँच लाख ४९ हजार ९३७ बचत रहेको छ ।” २०८१ मा रु १५ लाख १९ हजार आम्दानी भएकोमा रु १२ लाख २२ हजार २५० र २०८२ मा रु १० लाख ३८ हजार ६४७ आम्दानी भएकोमा रु सात लाख ८५ हजार ४६० खर्च भएको छ ।


    पर्यटकीयस्थल सुर्केमेलामा रु तीन लाख ८१ हजार खर्चेर खानेपानीको व्यवस्था मिलाएको क्लबले दोवाको प्रवेशद्धार भीरकाटेस्थिल सडक पुलमा रु एक लाख तीन हजार खर्चेर सूचनामूलक बोर्ड राखेको सचिव पुनले बताए । रु दुई लाख ७४ हजार खर्चेर दोवाका विभिन्न पर्यटकीयस्थलमा राख्नका लागि ४१ वटा सूचना बोर्ड तयार पारिएको छ । दोवा पोखरा समाजको भवन निर्माण तथा जग्गा खरिदका लागि रु सात लाख सहयोग गरेको क्लबले रु चार लाख १९ हजार खर्चेर आफ्नै भवन मर्मत गरेको अध्यक्ष ठबहादुर गर्बुजाले बताए । यस वर्ष क्लबको नाममा जग्गा खरिदको अन्तिम चरणमा रहेको छ ।

    दोवादेखि पातलखर्क, गरेकखर्क, देउरालीडाडा, ठूलोखानी, धैरासिर, गुराँसिनीखोला, भिराउटो, सुर्केमेला र हल्टुडे क्षेत्रमा पदमार्ग निर्माणका लागि गत आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालित योजनामा क्लबले योगदान गरेको छ । अन्नपूर्ण गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको यस योजनाका लागि क्लबले रु चार लाख २५ हजार ७६५ सहयोग गरेको र रु एक लाख २४ हजार बराबरको श्रमदान भएको सचिव पुनले बताए ।

    “दोवामा पर्यटक भित्र्याउने र बसाइ लम्बाइ ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माणमा जुटेका हौँ”, उनले भने, “सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्ने उद्देश्यले थालिएको पदमार्ग निर्माण कार्यलाई निरन्तता दिन आवश्यक छ ।”

  • पोखरामा जग्गाको कित्ताकाट खुल्यो

    पोखरामा जग्गाको कित्ताकाट खुल्यो


    गण्डकी, ३० भदौः पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको छ । महानगरका ३३ वटै वडाको झन्डै सात लाख कित्ताको भूउपयोग वर्गीकरण गरिएको छ । महानगरप्रमुख धनराज आचार्यका अनुसार ‘भूउपयोग ऐन २०७६’ तथा ‘भूउपयोग नियमावली २०७९’ बमोजिम भूउपयोग वर्गीकरण विवरण तयार गरी कार्यान्वयनका लागि भूमि प्रशासन र नापी कार्यालयलाई पठाइएको हो ।

    महानगरपालिकाको भूउपयोग परिषद्को सिफारिस र नगर कार्यपालिकाको निर्णयअनुसार उक्त भूउपयोग वर्गीकरण विवरण स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ । भूउपयोग वर्गीकरण विवरणका आधारमा प्रचलित कानुनबमोजिम भूमि प्रशासन तथा नापीसम्बन्धी अभिलेख, नक्सा तथा अन्य आवश्यक कामका लागि कार्यान्वयन प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै जिल्लास्थित भूमि प्रशासन र नापी कार्यालयलाई महानगरले पत्राचार गरेको छ ।

    सम्बन्धित कार्यालयबाट हुने जग्गा प्रशासन, कित्ताकाट, नक्सा तथा अभिलेखसम्बन्धी कार्यमा आवश्यक समन्वय गरिदिन महानगरले आग्रह गरेको छ । भूउपयोग वर्गीकरणसँगै कित्ताकाट, जग्गाको कारोबारलगायतका काममा नागरिकलाई सहजता थपिने महानगरप्रमुख आचार्यले बताए ।

  • आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

    वालिङ (स्याङ्जा), ३० भदौ । ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा आज बिहान एक महिलाको निधन भएको छ । वालिङ नगरपालिका–९ भूम्रेकि ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

    उनका अनुसार भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो । वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि, स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर तल वालिङ –१३ शान्तिघाटस्थित आँधीखोलामा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ ।

  • यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

    यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी


    तुलसीपुर (दाङ), ३० भदौः दाङको तुलसीपुर उपमहानगरपालिका–७ खर्चवामा बर्सेनि तीजको समयमा मादल र बाँसुरी बजाइन्थ्यो । त्यसमाथि स्थानीयले गीत गाउँदा तीजको छुट्टै रौनक हुन्थ्यो । त्यही नाच हेर्न दाङका विभिन्न स्थानबाट दर्शक स्रोता आउँथे । तर, यसपटक न मादल बज्यो, न त बाँसुरी बज्यो । ‘साउन्ड सिस्टम’को सहायताले नाचगान गरियो । त्यसमा पनि न्यून सहभागिता थियो ।

    “विगतमा बाँसुरी, मादल बज्थे, तीजको रौनक नै फरक हुन्थ्यो”, स्थानीय आशिष केसीले भने, “तर अहिले केही बजेनन्, उफरको सहायताले नाचगान भयो, विगतजस्तो सहभागिता पनि भएन ।” त्यस्तै तुलसीपुर–१९ सङ्क्राम पनि तीजमा नाचगान हुने चर्चित ठाउँ हो । त्यहाँ पनि जिल्लाका विभिन्न स्थानबाट नाचगानका लागि मानिस आउँथे । तर, यसपटक गाउँकै सीमित मानिसमात्रै भेला भए । एकछिन उफरबाट नाचगान गरे, अनि घरतिर हिँडे । त्यस्तो दृश्य देख्दा बाहिरबाट नाच हेर्न आएका पनि अचम्ममा परे ।

    “विगतमा मौलिक नाचगान हुन्थ्यो, त्यही भएर नाच हेर्न घोराहीदेखि आयौँ”, घोराही–१५ निवासी रेशम अधिकारीले भने, “तर अहिले त त्यस्तो केही देखिएन ।”

    यी त केही उदाहरणमात्रै हुन् । दाङका अधिकांश स्थानमा आयोजना गरिएका तीजका कार्यक्रममा यो वर्ष रेकर्ड गरिएका गीतमात्रै बजाइयो । मौलिकता छाडेर रेकर्ड गरिएको गीत बजाउँदा तीजको मौलिकता हराउने खतरा बढेर गएकामा सरोकारवालाले चिन्ता व्यक्त गर्ने गरेका छन् । पछिल्लो समय तीजको संस्कार र संस्कृति आधुनिकताको नाममा हराउँदै जान थालेको धर्मराउने अवस्थामा पुगेको एनप्याब्सन दाङका अध्यक्ष सालिकराम कार्कीले बताए । “आधुनिकताको नाममा तीज पर्व धर्मराउने अवस्थामा छ”, उनले भने, “सबै मिलेर तीजको मौतिलकता जोगाउनेतर्फ लाग्नुपर्छ ।”

  • मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन


    मुस्ताङ, ३० भदौः मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै छिन् । सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन् ।

    सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए । अतिथिलाई स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ ।

    सम्मेलनको व्यवस्थापनका लागि पालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य सङ्घसस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिइन् । उपाध्यक्ष थकालीका अनुसार सम्मेलनमा आउने अतिथिका लागि बिहानको ब्रेक फास्ट, खाना र खाजा सम्मेलनस्थलमा नै आमा समूहको टोलीले व्यवस्थापन गर्नेछ । बेलुकीको खाना र बसोबासका भने गाउँपालिकाले तोकेको होटलमा व्यवस्था मिलाइएको उपाध्यक्ष थकालीले बताइन् ।


    सम्मेलनलाई भव्य बनाउन गाउँपालिकाका पाँचै वडाका सडक र बस्तीमा स्थानीय मौलिक कला, संस्कृतिसहितको ध्वजापतङ्गा झुन्ड्याएर सजिसजाउ गरिएको छ । गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकहरुमा सडक बत्ती जडान गरी झिलीमिली पारिएको छ । आगन्तुक अतिथिको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वंयसेवक परिचालन गरिएको छ ।

    खानेपानी र इन्टरनेट, विद्युत् सेवालाई समस्या नहुनेगरी पूर्वतयारी गरिएको छ । यसैगरी सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई सहज पारिएको छ । जोमसोम कभर्डहलमा हुने सम्मलनमा स्टेज, साउन्ड सिस्टम, ब्यानरसहित आवश्यक सजावट गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास सज्यालले जानकारी दिए । सम्मेलनस्थलभित्र २८ फिट उचाइको जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ ।

    यस्तै, मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ पचासभन्दा बढी स्टल राखिएको गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिए । दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असरसम्वन्धी घोषणापत्र जारी गर्नेछ ।

  • पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी, यी हुन मूख्य विशेषता

    पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी, यी हुन मूख्य विशेषता


    काठमाडौँ, ३० भदौः धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक २१ बुँदे कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋणपत्र बजारको विकास, नेप्सेको पुनर्संरचना, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा बैंक तथा वित्तीय संस्थाको पुँजी बजारसम्बन्धी लगानीको पुनरावलोकनलगायतका विषय समेटिएका छन् ।

    अर्थ मन्त्रालयका अनुसार पछिल्ला केही वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलताको प्रभाव बैंक तथा वित्तीय क्षेत्र, उद्योग, वाणिज्य, पूर्वाधार विकास, लगानी र पुँजी बजारमा समेत परेको छ ।

    सरकारले वार्षिक नीति तथा कार्यक्रम र चालु आर्थिक वर्ष २०८३\८४ को बजेटमार्फत अर्थतन्त्रको विस्तार तथा चलायमान बनाउने कार्यक्रम कार्यान्वयन गरिरहेका बेला भोटेकोशी बाढीबाट भएको मानवीय तथा सूचीकृत जलविद्युत् आयोजनासहित भौतिक पूर्वाधारमा भएको क्षतिले अर्थतन्त्रमा थप चाप परेको मन्त्रालयले जनाएको छ । सोही परिस्थितिलाई ध्यानमा राख्दै पुँजी बजारमा तत्कालीन सुधार तथा पुनरुत्थानका लागि कार्ययोजना ल्याइएको हो ।

    प्राथमिक बजारमा नयाँ व्यवस्था

    कार्ययोजनाअनुसार नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि सामान्य योग्यतासम्बन्धी निर्देशिका तत्काल जारी गर्नुपर्नेछ । बजारमुखी मूल्य प्रणालीमा आधारित सार्वजनिक निष्काशनका लागि जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, कृषि तथा औषधि उद्योगलगायत क्षेत्रका लागि विशिष्ट योग्यता निर्धारण, मूल्य अन्वेषण प्रणाली तथा धितोपत्र बाँडफाँट प्रणालीसम्बन्धी नीतिगत र कानुनी सुधार गरी पुस मसान्तभित्र लागू गर्ने लक्ष्य राखिएको छ ।

    त्यस्तै, ऋणपत्र बजार, मुद्रा बजार र एक्सचेन्ज ट्रेडेड फन्ड ९इटीएफ० जस्ता उपकरण विकास गर्न म्युचुअल फन्डलाई व्यावसायिक, विविधिकृत, पारदर्शी, जोखिमसचेत, प्रविधिमैत्री तथा दीर्घकालीन लगानीको आधारस्तम्भ बनाउने नीति अघि सारिएको छ । यसका लागि बोर्डले तत्काल नीति सार्वजनिक गरी आवश्यक निर्देशिका तथा पूर्वाधार मङ्सिर मसान्तभित्र तयार गर्नेछ ।

    धितोपत्र दलाल व्यवसायमा संस्थागत सुधार

    कार्ययोजनाले धितोपत्र दलाल व्यवसायको संस्थागत सुधार तथा सुदृढीकरणलाई प्राथमिकता दिएको छ । बोर्डले तत्काल नीति सार्वजनिक गरी दलाल व्यवसायीलाई अन्तरराष्ट्रिय अभ्यास तथा मापदण्डअनुसार आधुनिक, व्यावसायिक, सुदृढ, प्रविधिमैत्री तथा बहुआयामिक धितोपत्र वित्तीय सेवा प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ ।

    धितोपत्रसम्बन्धी ऐन, २०६३ मा समसामयिक सुधार गर्न नियामकीय तथा बजार पूर्वाधारसम्बन्धी छुट्टाछुट्टै विधेयकको मस्यौदा तयार गरिनेछ । यसबाट मार्जिन लेन्डिङ, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङजस्ता उपकरण सञ्चालनका लागि कानुनी आधार तयार गरिनेछ ।

    नेप्सेको पुनर्संरचना

    नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को संस्थागत सुदृढीकरण, संरचनात्मक सुधार तथा क्षमता अभिवृद्धिका लागि सरकारले गठन गरेको कार्यदलले २०८२ पुस २४ गते पेस गरेको प्रतिवेदनका आधारमा नेप्सेको पुनर्संरचना तत्काल अघि बढाउने कार्ययोजनामा उल्लेख छ ।

    हालको नेप्से सूचकाङ्कलाई ‘अल इक्विटी इन्डेक्स’का रूपमा कायम राख्दै कारोबार योग्य शेयर, बजार पुँजीकरण, कम्पनीको वित्तीय अवस्था, कारोबारको तरलता, संस्थागत सुशासन तथा सूचना प्रवाहलगायतका आधारमा नयाँ आधारभूत सूचकाङ्क ९बेन्चमार्क इन्डेक्स० तयार गरी मङ्सिर मसान्तभित्र प्रयोगमा ल्याउने लक्ष्य राखिएको छ ।

    गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश

    कार्ययोजनाले गैरआवासीय नेपाली (एनआरएन_लाई नेपालको धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने व्यवस्था गर्न पहल गर्ने भएको छ । यसका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७४ र विदेशी विनिमय (नियमित गर्ने_ ऐन, २०१९ मा गर्नुपर्ने संशोधनसम्बन्धी प्रस्ताव असोज मसान्तभित्र मन्त्रिपरिषद्मा पेस गर्ने व्यवस्था गरिएको छ ।

    संस्थागत ऋणपत्र बजार विस्तार

    बैंकमा आधारित वित्तीय प्रणालीबाट बजारमा आधारित वित्तीय प्रणालीतर्फ अघि बढ्न संस्थागत ऋणपत्र बजारको विकास गर्ने लक्ष्य कार्ययोजनाले लिएको छ । यसका लागि बोर्डले सार्वजनिक गरेको ऋणपत्रसम्बन्धी नियमावलीमा आवश्यक परिमार्जन गरी असोज मसान्तभित्र कार्यान्वयनमा ल्याइनेछ ।

    हरित ऋणपत्र, विपद् ऋणपत्र, सामाजिक ऋणपत्र, परियोजना विशेष ऋणपत्र तथा पर्यावरण ऋणपत्रजस्ता विशिष्टीकृत ऋणपत्र जारी गर्न प्रोत्साहन गर्ने नीति तय गरिनेछ । त्यस्ता ऋणपत्रबाट प्राप्त रकमको लगानी तथा त्यससम्बन्धी सूचना सार्वजनिक गर्ने व्यवस्थासहित नीति असोज मसान्तभित्र तयार गरिनेछ ।

    त्यस्तै, ट्रेजरी बिल तथा विकास ऋणपत्रको सक्रिय दोस्रो बजार सुनिश्चित गर्न कारोबार शुल्कको पुनरावलोकन गरी असोज मसान्तभित्र आवश्यक नीतिगत तथा बजार पूर्वाधार तयार गरिनेछ ।

    शेयर ‘स्प्लिट’ र ‘बाइब्याक’ सहज बनाइने

    सूचीकृत कम्पनीले प्रचलित कानुनी व्यवस्थाअनुसार शेयर विभाजन (शेयर स्प्लिट) तथा कम्पनीले आफ्नो शेयर आफैँ खरिद गर्ने (बाइब्याक) व्यवस्था व्यावहारिक रूपमा कार्यान्वयन गर्न सक्ने वातावरण तयार गरिने छ । यसका लागि सरोकारवालासँग परामर्श गरी माघ मसान्तभित्र आवश्यक नियामकीय, नीतिगत तथा पूर्वाधारसम्बन्धी व्यवस्था तयार गर्ने कार्ययोजनामा उल्लेख छ ।

    ऋणपत्र नियमावली, मार्जिन ऋण कारोबार नियमावली, अन्तरदिवसीय कारोबार नियमावलीलगायतका नियम तथा निर्देशनलाई असोज मसान्तभित्र अर्थ मन्त्रालयबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याउने लक्ष्यसमेत राखिएको छ ।

    मार्जिन कारोबार सञ्चालनमा ल्याइने

    शेयर खरिद प्रणालीलाई आधुनिक र व्यवस्थित बनाउँदै बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन ऋण कारोबार नियमावलीअनुसार ऋण लिएर लगानी गर्न सक्ने व्यवस्था पुस मसान्तभित्र सञ्चालनमा ल्याइनेछ ।

    धितोपत्रसम्बन्धी कसुरको जाँचबुझ तथा अनुसन्धान नेपाल धितोपत्र बोर्डबाट हुने र निजी कम्पनीले समेत ऋणपत्र जारी गर्न सक्ने व्यवस्थासहित धितोपत्रसम्बन्धी ऐन, २०६३ संशोधन प्रक्रिया अघि बढाइनेछ ।

    संस्थागत लगानीकर्ताको सहभागिता बढाइने

    धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउन आवश्यक नीतिगत, कानुनी तथा पूर्वाधारसम्बन्धी व्यवस्था गरिनेछ ।

    संस्थागत लगानीकर्ताको लगानी नीति, कारोबार संरचना तथा पूर्वाधार तयार गर्नेगरी आवश्यक सुधार मङ्सिर मसान्तभित्र अघि बढाइनेछ । प्राथमिक बजारमा संस्थागत लगानीकर्ताको सहभागिता सुनिश्चित गर्न संस्थागत लगानीसम्बन्धी नीति, नियम तथा निर्देशिकामार्फत सहजीकरण गरिनेछ ।

    बैंक निक्षेपमा अत्यधिक केन्द्रित संस्थागत लगानीकर्ताको पोर्टफोलियोलाई पुनः सन्तुलित गर्न कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा म्युचुअल फन्डलगायतका संस्थागत लगानीकर्तालाई धितोपत्रमा लगानी गर्न मङ्सिर मसान्तभित्र कानुनी, नीतिगत तथा संरचनागत सहजीकरण गर्ने व्यवस्था गरिएको छ ।

    सिडीएससीको क्षमता अभिवृद्धि

    धितोपत्र बजारमा नयाँ वित्तीय सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न केन्द्रीय निक्षेप सेवा प्रणाली सञ्चालन गरिरहेको सिडीएस एन्ड क्लियरिङ लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि तथा संरचनात्मक सुधारका विषयमा फागुन मसान्तभित्र अध्ययन सम्पन्न गर्ने कार्ययोजनामा उल्लेख छ ।

    निजी इक्विटी र भेन्चर क्यापिटललाई प्रोत्साहन

    प्रारम्भिक चरणका उद्यम, नवप्रवर्तनमा आधारित व्यवसाय, उच्च वृद्धि सम्भावना भएका साना तथा मझौला उद्यम, प्रविधिमा केन्द्रित व्यवसाय तथा उच्च जोखिम र उच्च प्रतिफलको सम्भावना भएका परियोजनामा पुँजी उपलब्ध गराउने निजी इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्रलाई व्यवस्थित गरिने भएको छ ।

    अन्तरराष्ट्रिय असल अभ्यासअनुसार निजी इक्विटी तथा भेन्चर क्यापिटलका लागि उपयुक्त वर्गीकरण तथा जोखिममा आधारित नियामकीय ढाँचा तयार गर्नुका साथै पुँजी परिचालन, लगानी, लाभांश, पुँजी फिर्ता तथा लगानीबाट बाहिरिने प्रक्रियालाई सहज, पारदर्शी र नियमनयोग्य बनाउन अध्ययन तथा सरोकारवालासँग परामर्श गरिनेछ । आवश्यक कानुनी तथा बजार पूर्वाधार पुस मसान्तभित्र तयार गर्ने लक्ष्य राखिएको छ ।

    बैंक तथा वित्तीय संस्थाको लगानी पुनरावलोकन

    बैंक तथा वित्तीय संस्थाले पुँजी बजारमा गर्ने लगानीमा प्रत्यक्ष तथा अप्रत्यक्ष जोखिम, अन्तरसम्बद्धता, शृङ्खलाबद्ध प्रभाव, वित्तीय स्वार्थ, प्रणालीगत जोखिम, तरलता, प्रतिफल तथा निक्षेपकर्ताको सुरक्षालाई ध्यानमा राखी विद्यमान लगानी सीमा, जोखिम भार तथा धितो पर्याप्ततालगायतका व्यवस्था पुनरावलोकन गरिने भएको छ ।

    नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले संयुक्त रूपमा उक्त व्यवस्थाको कात्तिक मसान्तभित्र पुनरावलोकन गर्ने कार्ययोजनामा उल्लेख छ ।

    दीर्घकालीन लगानीलाई कर सहुलियत

    कार्ययोजनाले धितोपत्र बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न विद्यमान कर व्यवस्थामा समेत सुधार प्रस्ताव गरेको छ । सूचीकृत निकायको हितको निःसर्गबाट प्राप्त लाभमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभमा ३।७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभमा पाँच प्रतिशत कायम गर्ने प्रस्ताव गरिएको छ ।

    त्यस्तै, सूचीकृत धितोपत्रको निःसर्गबाट भएको नोक्सानीलाई सोही आय वर्षमा सूचीकृत धितोपत्रको निःसर्गबाट भएको लाभसँग समायोजन गर्न पाउने व्यवस्था गर्न अध्ययन गरिनेछ । नाफा–घाटा कारोबार तथा राफसाफ प्रणालीबाट समायोजन गरी खुद लाभ भएको अवस्थामा मात्र तोकिएको दरमा पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा लिनेगरी लाभकर गणना प्रणालीमा सुधार गर्ने लक्ष्य राखिएको छ ।

    बैंकको शेयर लगानीमा न्यूनतम अवधि
    बैंक तथा वित्तीय संस्थाले धितोपत्रको दोस्रो बजारमा गर्ने लगानीमा ‘स्पेकुलेटिभ रिस्क’ न्यूनीकरण गर्नेगरी लगानी नीति बनाउनुपर्ने भएको छ ।

    कार्ययोजनाअनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले यस्तो लगानीको आवधिक सीमा कम्तीमा ४५ दिन हुनेगरी लगानी नीति निर्धारण गर्ने व्यवस्था यथाशीघ्र मिलाउनु पर्नेछ ।

    अर्थ मन्त्रालयले पुँजी बजार सुधारका यी उपायमार्फत बजारको नियमन तथा पूर्वाधारलाई बलियो बनाउने, लगानीकर्ताको विश्वास बढाउने, दीर्घकालीन लगानी प्रवर्द्धन गर्ने र बैंकमा आधारित वित्तीय प्रणालीलाई क्रमशः बजारमा आधारित वित्तीय प्रणालीतर्फ लैजाने लक्ष्य लिएको छ । कार्ययोजनामा अधिकांश सुधारका लागि निश्चित समयसीमा तोकिएकाले यसको प्रभावकारी कार्यान्वयनलाई पुँजी बजार पुनरुत्थानको मुख्य आधारका रूपमा हेरिएको छ ।

  • शिक्षामन्त्री पोखरेलद्वारा पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन

    शिक्षामन्त्री पोखरेलद्वारा पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन

    विराटनगर, ३० भदौः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग अन्तक्र्रिया गरेका छन् । मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र अवस्था, सञ्चालनमा रहेका कार्यक्रम तथा विश्वविद्यालयले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिए ।

    अवलोकनका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयका भौतिक संरचना, शैक्षिक गतिविधि, प्रशासनिक सेवा तथा व्यवस्थापनका बारेमा जानकारी लिए । सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक गुणस्तर, प्रशासनिक दक्षता, प्रविधिको प्रयोग तथा सेवाप्रवाहमा सुधार ल्याउँदै विश्वविद्यालयलाई समयानुकूल र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सबैले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए ।


    उनले परीक्षाको नतिजा चाँडो ल्याउने वातावरण बनाइनुपर्नेमा जोड दिँदै विश्वविद्यालयको सम्पत्ति र भौतिक पूर्वाधारको उपयोग गरिनुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले विश्वविद्यालयलाई समयअनुकूल र प्रविधिमैत्री बनाउँदै शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।

    उनले विश्वविद्यालयको विकास केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नभई गुणस्तरीय शिक्षा, सक्षम जनशक्ति, प्रभावकारी प्रशासन र प्रविधिमैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताए ।


    मन्त्री पोखरेलले विश्वविद्यालयका समस्या र आवश्यकताबारे मन्त्रालयको तहबाट सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी विश्वविद्यालयले अघि सारेका प्राथमिकताका योजनालाई उपलब्ध स्रोत, कानुनी व्यवस्था र संस्थागत क्षमताका आधारमा क्रमशः अघि बढाउनुपर्नेमा उनले जोड दिए ।


    विश्वविद्यालयका उपकुलपति प्रा डा सुजनबाबु मरहट्टाले विश्वविद्यालयलाई प्रविधिमैत्री र आधुनिक संस्थाका रूपमा विकास गर्न विद्युतीय सुशासनलाई उच्च प्राथमिकताका साथ अघि बढाइने बताए । उनले विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक गतिविधिलाई प्रविधिमा आधारित, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन आवश्यक सुधारका कार्यलाई तीव्रता दिइने उल्लेख गरे ।


    कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विश्वविद्यालयको वर्तमान आवश्यकता र चुनौतीलाई सम्बोधन गर्न परम्परागत कार्यशैलीमा मात्र निर्भर नभई समस्या समाधानका लागि परिवर्तनकारी नीति आवश्यक रहेको बताए । उनले विगतमा भएका केही कार्य सराहनीय भए पनि आगामी दिनमा विश्वविद्यालयका काम स्पष्ट र मापनयोग्य प्रतिफल देखिनेगरी अघि बढाउनुपर्नेमा जोड दिए । विश्वविद्यालयका पदाधिकारीले सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम, विद्यार्थीको अवस्था, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा विश्वविद्यालयका आगामी योजनाबारे मन्त्री पोखरेललाई जानकारी गराएका थिए ।

    अन्तक्र्रियामा विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, प्रविधिको अधिकतम प्रयोग गर्ने तथा विश्वविद्यालयका विकास योजनालाई गति दिने विषयमा छलफल भएको थियो । त्यस क्रममा विश्वविद्यालयमा अस्पताल सञ्चालनको तयारी, आवश्यक जग्गा व्यवस्थापन तथा पूर्वाधार विकासका विषयमा समेत छलफल भएको थियो । विश्वविद्यालयले स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रमलाई थप व्यवस्थित रूपमा अघि बढाउन अस्पताल सञ्चालनलाई महत्त्वपूर्ण योजनाका रूपमा अघि सारेको जानकारी गराइएको थियो ।

    अन्तक्र्रियामा विश्वविद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीलाई गुणस्तरीय शिक्षा र प्रयोगात्मक सिकाइको अवसर उपलब्ध गराउने, प्रशासनिक प्रक्रियालाई सरल बनाउने तथा विश्वविद्यालयलाई प्रतिस्पर्धी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो ।

    मन्त्री पोखरेलले मधेस प्रदेश भ्रमणका क्रममा धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका विभिन्न शैक्षिक संस्थाको समेत अवलोकन गरेका थिए । सो क्रममा सामुदायिक विद्यालयमा विद्यार्थीको दोहोरो विवरण, शिक्षक सरुवा तथा उपस्थिति, दिवा खाजा व्यवस्थापन, परीक्षा प्रणाली, स्थानीय पाठ्यक्रमको कार्यान्वयन, प्रयोगात्मक शिक्षा, प्राविधिक धारका शिक्षक तथा प्रयोगशालाको अभाव र शिक्षक दरबन्दी मिलानलगायत विषयमा समस्या तथा सुझाव प्राप्त भएका थिए ।

  • भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

    भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

    काठमाडौँ, ३० भदौः भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फेलापरेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ छन् । उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

    हालसम्म फेलापरेका शवमध्ये १०४ को सनाखत भइसकेको छ । बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा एक हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेका छन् । डिएनए नमूनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

    त्यस्तै, विभिन्न १९ अस्पतालमा ३४१ जनाको उपचार गरिएकामा २७८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । विभिन्न सुरक्षा निकायमार्फत थप नौ हजार ३५८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ । नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिए ।


    बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् । सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् ।

    भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र बनाइएको प्राधिकरणले जनाएको छ ।

  • पहिलोपटक मनाइयो महाकवि देवकोटाको स्मृति दिवस

    पहिलोपटक मनाइयो महाकवि देवकोटाको स्मृति दिवस

    काठमाडौँ, ३० भदौः नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृति दिवस पहिलोपटक भव्यताका साथ मनाइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार ६७औँ स्मृति दिवसका अवसरमा देवकोटा सङ्ग्रहालय मैतीदेवीमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी आयोजना गरेको थियो ।

    कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृतिपत्र र प्रा डा महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत दुवै पत्रमा नेपाली साहित्यका माध्यमबाट देवकोटाले दिनुभएको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति कुमार नगरकोटीले महाकवि देवकोटाको स्मृति दिवसलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाए । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक २७ गते अर्थात् कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा)का दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । उनको निधन भने २०१६ साल भदौ २९ गते भएको हो ।

    दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो ।

    नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।


    विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिएका थिए । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गर्नुभयो । विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो ।

    तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकैदिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेलेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।

  • सोफी मोर्गनको नेपाल यात्रा

    सोफी मोर्गनको नेपाल यात्रा

    २७ भदौ, काठमाडौं । बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरोकारवालाबीच थप सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको बताएकी छन् । काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित “जर्निज विथआउट ब्यारियर्स : सोफी मोर्गन इन नेपाल कार्यक्रममा मोर्गनले आफ्नो हालैको नेपाल यात्राका अनुभव सुनाउँदै अपाङ्गता भएका पर्यटकका लागि नेपालका पर्यटन अनुभवलाई थप पहुँचयोग्य बनाउन सकिने उपायबारे आफ्ना धारणा राखेकी हुन् ।


    इम्प्याक्ट एड्‌भेन्चरसँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले आयोजना कार्यक्रममा पर्यटन व्यवसायी, सरकारी प्रतिनिधि, होटल तथा आतिथ्य क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा अपाङ्गता र पहुँचयोग्यताका क्षेत्रमा कार्यरत अभियन्ताहरूको सहभागिता थियो । मोर्गनले हालै इम्प्याक्ट एडभेन्चरसँग काठमाडौं, पोखरा र उपल्लो मुस्ताङको यात्रा गरेकी थिइन् । साहसिक पर्यटक र ह्विलचेयर प्रयोगकर्ता दुवैका रूपमा गरिएको यस यात्राले यातायात, आवास, पर्यटन अनुभव, पूर्वाधार र आतिथ्य सेवामा पहुँचयोग्यताको अवस्थाबारे प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको थियो ।


    आफ्नो यात्राबारे चर्चा गर्दै मोर्गनले नेपालका मानिसहरूको आत्मीयता र यहाँको संस्कृति नेपालको सबैभन्दा ठूलो शक्तिमध्ये एक भएको बताइन् । उनले भनिन्, “नेपालमा यस्ता यात्राहरू सम्भव बनाउने क्षमता छ, जुन अपाङ्गता भएका धेरै व्यक्तिले आफ्नो पहुँचभन्दा बाहिरको कुरा ठानेका हुनसक्छन् । यो यात्राभर मलाई सबैभन्दा बढी प्रभावित गरेको कुरा यहाँका मानिसहरूको आत्मीयता, सद्भाव र आतिथ्य भाव हो । त्यो भावना नेपालको ठूलो शक्ति हो ।

    यसलाई अझ राम्रो पहुँचयोग्यता, भरपर्दो सूचना र स्पष्ट योजनासहित अघि बढ्ने हो भने नेपालले अपाङ्गता भएका पर्यटकलाई साँच्चिकै असाधारण यात्रा अनुभव प्रदान गर्न सक्छ ।” संवादका क्रममा मोर्गनले पहुँचयोग्य पर्यटनको जिम्मेवारी व्यक्तिगत पर्यटन व्यवसाय वा टुर अपरेटरको मात्र हुन नसक्ने बताइन् । यसका लागि सरकार, पर्यटन व्यवसाय, निजी क्षेत्र र स्थानीय अपाङ्गता समुदायबीच समन्वय र सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो । उनले थपिन्,“पहुँचयोग्य पर्यटन व्यक्तिगत टुर अपरेटरहरूको मात्र जिम्मेवारी हुन सक्दैन ।

    यसका लागि पर्यटन क्षेत्र, सरकार, व्यवसाय र स्थानीय अपाङ्गता समुदायले मिलेर पहुँचयोग्य पूर्वाधारमा लगानी गर्न, नियमित रूपमा अपाङ्गता सचेतना तालिम सञ्चालन गर्न र संरचनागत अवरोधहरू हटाउन आवश्यक छ । नेपालसँग पहुँचयोग्य पर्यटनलाई एउटा सीमित वा विशिष्ट बजारका रूपमा मात्र नभई पर्यटक, व्यवसाय र समुदाय सबैलाई लाभ पुर्‍याउन सक्ने समग्र पर्यटन क्षेत्रको अवसरका रूपमा हेर्नुपर्दछ ।”


    छलफलमा पहुँचयोग्यता भौतिक पूर्वाधारमा मात्र सीमित नहुने विषयमा जोड दिइएको थियो । मोर्गनले भनिन्, “मेरो लागि पहुँचयोग्यता अन्ततः स्वतन्त्रता, आफ्नो निर्णय आफैं गर्ने अधिकार र छनोटसँग सम्बन्धित छ( अर्थात् आफ्नै सर्तमा सहभागी हुन सक्ने क्षमता । सबै भौतिक अवरोध रातारात हटाउन सम्भव नहुन सक्छ, तर स्पष्ट, विस्तृत र इमानदार सूचना उपलब्ध गराउँदा अपाङ्गता भएका पर्यटकले आफूले के अपेक्षा गर्ने भन्ने बुझ्न र आफ्नै निर्णय लिन सक्छन् । कहिलेकाहीँ राम्रो सूचना उपलब्ध गराउनु नै यात्रालाई थप समावेशी बनाउने सबैभन्दा सरल र प्रभावकारी कदममध्ये एक हुन सक्छ ।”


    नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले मोर्गनको नेपाल यात्राले विश्‍वभरका फरक क्षमता भएका पर्यटकहरुलाई प्रेरित गरेको बताए । उनले थपे, “नेपालको कास्कीमा पहिलो प्रमाणित पहुचयोग्य गन्तव्यको रुपमा विकास गरिएको छ । बोर्डले यस्ता गन्तव्य पहिचान गर्दै पूर्वाधार निर्माणमा पनि पहल गरिरहेको छ । गन्तव्यको योजनालाई थप समावेशी बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न बोर्ड तयार छ ।”


    इम्प्याक्ट एडभेन्चरका प्रमुख कार्यकारी अधिकृत पंकज प्रधानाङ्गले मोर्गनको नेपाल यात्रा र यस कार्यक्रमको उद्देश्य नेपालको पर्यटन उद्योगलाई थप समावेशी बनाउने विषयमा व्यापक संवाद अघि बढाउनुका साथै साहसिक पर्यटन र पहुँचयोग्यता एकअर्काका विरोधाभासी विषय नभएको सन्देश दिनु रहेको बताए।


    अगस्ट ३० देखि सुरु भएको यात्रा सेप्टेम्बर ११, २०२६ सम्म काठमाडौं, पोखरा र उपल्लो मुस्ताङसम्म समेटिएको थियो । यस यात्राले नेपाललाई पहुँचयोग्य तथा समावेशी साहसिक पर्यटनको उदीयमान गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यससम्बन्धी कथा तथा अनुभव प्रस्तुत गर्नसमेत योगदान पुर्‍याउने विश्‍वास गरिएको छ ।

  • पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

    पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

    कास्की, २७ भदौः पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाउने भएको छ । महानगरले गरेको छानविनको अन्तिम प्रतिवेदनअनुसार हालसम्म बसपार्कमा ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी छन् ।

    जसमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुम्बासी तथा २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा छन् । महानगर कार्यपालिका बैठकले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण प्रमाणिकरण गरिसकेको छ । महानगर प्रमुख धनराज आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनलाई अघि बढाइने बताए ।


    उहाँका अनुसार बसपार्क क्षेत्रका सुकुम्बासी बस्ती व्यवस्थापनको बाँकी प्रक्रिया आउँदो आइतबारदेखि पुनः अघि बढाइने छ । नयाँ बस्ती व्यवस्थापन तथा सुकुम्बासी समस्या समाधानका लागि गठित जिल्ला समितिको आवश्यक निर्णय प्रक्रिया अगाडि बढिरहेको प्रमुख आचार्यले बताए


    “भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सम्बन्धित सबैको कार्यव्यस्तता उद्धार तथा राहततर्फ केन्द्रित भएपछि बस्ती व्यवस्थापनको काम केही दिनका लागि रोकिएको थियो । अब भने बाँकी निर्णय प्रक्रिया पुनः अघि बढाइनेछ । विपद्का बेला सुकुम्बासी बस्ती व्यवस्थापन वा निर्माणका काममा केही दिन ढिलाइ हुनुभन्दा नागरिकको उद्धार, राहत, शव व्यवस्थापन तथा मानवीय सहयोगलाई प्राथमिकता दिएका छौँ”, आचार्यले भने ।

    प्रमुख आचार्यले मनसुनसमेत क्रमशः रोकिँदै गएको उल्लेख गर्दै बसपार्क क्षेत्रको समस्या समाधानसँगै फिर्के खोलाको बाँकी काम पनि सँगसँगै अघि बढाइने जानकारी दिए । महानगरले बसपार्कका सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर मात्र बसोबास गरिरहेको स्थानबाट हटाउने र त्यसका लागि जमिन केही स्थानमा पहिचान भइसकेको जनाएको छ ।

    पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो । योजना बनेको पाँच दशकसम्म बसपार्क नबन्दा पृथ्वीचोक क्षेत्रको सडक फेटी र फुटपाथबाटनै लामो तथा छोटो दूरीका बस गन्तव्यका लागि छुट्ने बाध्यता छ । बसपार्कभित्रको जग्गा सुकुम्बासी र अन्य केही व्यक्तिले अतिक्रमण गरेपछि बसपार्क बन्न सकेको थिएन । पछिल्लो समय महानगरले बसपार्कभित्रका व्यापारिक सटर कवल हटाएको छ । महानगरले बसपार्कको जग्गा खाली गरेपछि दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क बनाउने योजना सार्वजनिक गरिसकेको छ ।

    पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क बनाउन तथा पोखराको स्मार्ट यातायात व्यवस्थापनका लागि दक्षिण कोरिया सरकारले सहयोग गर्ने भएको छ । कोरियाली विकास नियोग (कोइका)ले यहाँको यातायात प्रविधिमैत्री र वातावरणमैत्री बनाउनका लागि लगानीको प्रतिवद्धता जनाइसकेको महानगरले जनाएको छ ।

  • बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

    बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

    पाल्पा, २७ भदौः दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे । साँझ परेपछि पनि उनीहरु घर फर्किन पाउँदैन थिए । रातभरि बँदेल बारीमा पसे कि भन्ने चिन्ताले सधैँ पिरोल्ने गथ्र्यो ।

    खेती गरेर पनि उत्पादन घर भित्र्याउन नसकेपछि कतिपय किसान खेतीबाटै निराश हुन थालेका थिए । तर अहिले वडा कार्यालयले गाउँगाउँमा बाँदर हेरालु कर्मचारीदेखि, कृषकको बारीमा काँडेतार जालीको व्यवस्था गरेपछि भने किसानलाई राहात मिलेको छ । वडा कार्यालयले २०८० सालदेखि बारीमा हेरालुको व्यवस्था गर्नुका साथै जङ्गली जनावरबाट बाली जोगाउन जाली लगाएपछि किसानलाई खेती गर्न सहज भएको हो ।

    विगतमा जेठदेखि भदौसम्म मकै खेती जोगाउन स्थानीयले बिहानैदेखि रातिसम्म बारीमा बसेर बाँदर धपाउनुपर्ने अवस्था थियो । वडा कार्यालयबाट हेरालुको व्यवस्था भएपछि किसानले लामो समय बारीमा बसेर बाली कुर्नुपर्ने बाध्यता हटेको स्थानीय सूर्यबहादुर विकले बताए । “दुई वर्षअघिसम्म रातिमा बँदेल र दिउँसोमा बाँदर आएर बाली खाएर हैरान पार्थे । अहिले हेरालु र जाली लगाएपछि जङ्गली जनावर आएर बालीनाली नोक्सान गरेको छैन,” सुनारले भने ।


    दिनको समयमा हेरालुले बारीमा आउने बाँदर धपाउने गरेका छन् भने बारी वरिपरि काँडेतारको जाली लगाएर रातिको समयमा बँदेल, दुम्सी, मृग, घोरललगायतका वन्यजन्तुलाई बालीमा प्रवेश गर्न रोक्ने प्रयास गरिएको छ । वडा कार्यालयले प्रत्येक वर्ष बाँदर लखेट्न नौ जनाका दरले हेरालु कर्मचारी खटाएर कृषकको मकै खेती जोगाउने अभियान नै सञ्चालन गरेको हो । वडा कार्यालयले साउन भदौका लागि बाँदर लाग्ने वडाको धैरेनी मेयालपानी क्षेत्रमा नौ जना हेरालु राखेर मकै खेती रेखदेख गर्दै आएको छ । ख्याहाको धैरेनी मेयालपानी, रातामाटा कोटफेरालगायतका क्षेत्रमा छ जना र जोगीथुम क्षेत्रमा तीन जना गरी नौ जना हेरालु राखेर बाँदर धपाउने काम गरेको छ ।

    बाँदर हेरालु बिहान ०५ बजेदेखि राति ८ बजेसम्म निरन्तर कृषकको मकैबारी क्षेत्रमा खटिदै आएका छन् । बाँदर हेरालुलाई गुलेली, नक्कली बन्दुक, गोला बारुदलगायतका सामग्री उपलब्ध गराइएको छ । दिनको समयमा हेरालुले बारीमा आउने बाँदर धपाउने गरेका छन् भने बारी वरिपरि काँडेतारको जाली लगाएर रातिको समयमा बँदेल, दुम्सी, मृग, घोरललगायतका वन्यजन्तुलाई बालीमा प्रवेश गर्न रोक्ने प्रयास भएको स्थानीय रामप्रसाद न्यौपानेले बताए । बाली जोगाउन निरन्तर निगरानी गर्नुपर्ने अवस्थाबाट मुक्त भएपछि किसान मकै खेतीप्रति थप उत्साहित भएको उनको भनाइ छ ।

    जङ्गली जनावरबाट किसानले लगाएको बाली जोगाउन नसक्दा खेतीयोग्य जमिन बाझिँदै जाने र गाउँबाट बसाइँसराइ बढाउने जोखिम बढेपछि वडाबाट बजेट विनियोजन गरेर हेरालु र काँडेतार लगाउने कार्यक्रम ल्याइएको वडा अध्यक्ष चिरञ्जीवी पोखरेले बताए । उनले भने, “स्थानीय किसानको मागअनुसार बाँदर र बँदेर लाग्ने ठाउँहरुमा हेरालु र जालीको व्यवस्था गरेका छौँ ।”

    चालु आर्थिक वर्षमा थप ५०० मिटर क्षेत्रमा काँडेतार जालीको बजेट बिनियोजन गरिएको वडा अध्यक्ष पोखरेलले बताए । वडा कार्यालयले गत वर्षमात्र नमुनाका रूपमा जङ्गली जनावरले अत्यधिक दुःख दिने स्थानमा काँडेतार जाली लगाएको थियो । जसले गर्दा बाँदर जालीमा चढ्नसमेत कठिनाइ हुने, रातिमा आउने बँदेल, दुम्सी, मृग, घोरल र खरायो जस्ता जनावार नियन्त्रणमा आएको थियो ।

    बिहान ०५ बजेदेखि राति ८ बजेसम्म बारी आसपासमा आफुहरु खटिने गरेको बाँदर हेरालु विष्णुबहादुर सुनारले बताए । “बाँदर आएको बेला सबै जना मिलेर धपाउँछौँ । तर सामान्य समयमा हेरालु आफैँले नै बारी हेर्ने भएकाले किसानलाई निकै सजिलो भएको छ,” सुनार भन्छन् । जङ्गली जनावरको समस्या ख्याहाको मात्रै होइन । पाल्पासहित पहाडी जिल्लाका धेरै गाउँमा बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले किसानलाई हैरान पार्दै आएका छन् । एउटा वडाले हेरालु राख्दैमा वा केही १०० मिटर काँडेतार लगाउँदैमा समस्या पूर्ण रूपमा समाधान हुँदैन । तर ख्याहाले देखाएको बाटोले भने समस्या समाधानका लागि किसान र स्थानीय सरकारबीचको सहकार्य प्रभावकारी हुन आवश्यक देखाएको छ ।

  • कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

    कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य


    नारायणगढ (चितवन), २७ भदौः कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट ‘स्मार्ट कार्ड’ चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सेवा सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकार्यमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमतिपत्र वितरण गर्ने व्यवस्था मिलाएको नगरप्रमुख विनोद रेग्मीले बताए ।

    यातायात व्यवस्था विभागबाट छपाइ भई आएका सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) नगरपालिकामार्फत नै वितरण गर्न थालिएको हो । उनले अब कालिका नगरवासीले स्मार्ट कार्ड लाइसेन्स लिन भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य भएको बताए ।


    उनले नगरवासीलाई सरकारी सेवा लिन सदरमुकाम भरतपुरसम्म जानुपर्ने अवस्था अन्त्य गरी स्थानीय तहमै सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको बताए । उनले यातायात व्यवस्था कार्यालयसँग भएको सम्झौताअनुसार नगरपालिकाबाट स्मार्ट कार्ड चालक अनुमतिपत्र वितरण सेवा सुरु गरिएको जानकारी दिए । उनले भने, “सरकारी सेवा सकेसम्म नगरपालिकाबाटै उपलब्ध गराउने हाम्रो लक्ष्य हो । मालपोत र नापीसम्बन्धी सेवा नगरपालिकाबाटै भइरहेको छ । प्यान नम्बर र श्रम स्वीकृतिसम्बन्धी सेवा अगाडि बढाइएको छ । राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्नेलगायत सेवा पनि नगरपालिकाबाटै उपलब्ध गराउने तयारीमा छौँ ।”

    यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय प्रमुख अमृत अधिकारीले कालिका नगरपालिकासँग भएको सम्झौताअनुसार हाल स्मार्ट कार्ड चालक अनुमतिपत्र वितरण सेवा मात्र सुरु गरिएको बताए । जिल्लामा स्थानीय तहसँगको सहकार्यमा यस प्रकारको सेवा सुरु गर्ने कालिका नगरपालिका पहिलो भएको उनले जानकारी दिए ।


    उनका अनुसार यातायात व्यवस्था विभागबाट छपाइ भएर आएका स्मार्ट कार्ड चालक अनुमतिपत्र नगरपालिकामार्फत सम्बन्धित सेवाग्राहीलाई वितरण गरिनेछ । यसबाट स्मार्ट कार्ड लिन भरतपुर आउनुपर्ने सेवाग्राहीलाई सहज हुने उनले बताए । यातायात व्यवस्था कार्यालयबाट हाल नयाँ चालक अनुमतिपत्र तथा वर्ग थपका लागि लिइने ट्रायलसम्बन्धी काम स्थगित रहेको उनले बताए ।

    चालक अनुमतिपत्र लिन तथा नवीकरण गर्न आवश्यक प्रक्रिया अनलाइनबाट गर्न सकिने व्यवस्था रहेको उनले बताए । चालक अनुमतिपत्र लिन तथा नवीकरण गर्न अनलाइनमार्फत फाराम भर्न र शुल्क भुक्तानी गर्न सकिन्छ । राष्ट्रिय परिचयपत्र तथा नागरिक एपमा रहेको क्यूआर स्क्यान गरी फाराम भर्न सकिने व्यवस्था रहेको उनले बताए ।

  • भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन

    भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन


    काठमाडौँ, २६ भदौः पूर्वाधार विकास मन्त्रालयले भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेको छ ।

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी १५ दिनभित्र आवश्यक राय सुझावसहितको प्रतिवेदन मन्त्रीसमक्ष पेस गर्ने जनाइएको छ ।

    समितिका सदस्यहरूमा पूर्वाधार विकास मन्त्रालयका उपसचिव निर्मला गुरुङ, सिनियर डिभिजनल इन्जिनियर शङ्करसिंह धामी, सल्लाहकार आरपी महतो, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका तर्फबाट दिलबहादुर श्रेष्ठ, श्री श्रेष्ठ र हरिभक्त श्रेष्ठ तथा यातायात मजदुर सङ्घ सङ्गठनका तर्फबाट धर्मराज भण्डारी, भीम ज्वाला राई र दीपक केसी रहेका छन् ।

    यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्न अर्को समिति गठन गरिएको छ । भविष्यमा आउन सक्ने सम्भावित समस्याको निराकरण तथा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारका लागि पूर्वाधार विकास मन्त्रालयका सहसचिव जङ्गबहादुर डाँगीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

    समितिका सदस्यहरूमा सिनियर डिभिजनल इन्जिनियर जीवेन्द्र मिश्र, सिनियर डिभिजनल इन्जिनियर मणिराम भुसाल, इञ्जिनियर सागर पन्थी, इञ्जिनियर अनुकूल निधि, कानुन अधिकृत जानुका सिवाकोटी तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका तर्फबाट डकेनाथ गौतम, भानुभक्त बराल र पुरुषोत्तम सिम्खडा हुनुहुन्छ ।

    समितिले ४५ दिनभित्र आवश्यक अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन पेस गर्नुपर्नेछ । मन्त्रालयले दुवै समितिको प्रतिवेदनका आधारमा बाढीबाट प्रभावित यातायात क्षेत्रको क्षति व्यवस्थापन तथा आगामी दिनमा यस्ता विपद्बाट उत्पन्न हुन सक्ने समस्या न्यूनीकरणका लागि आवश्यक नीति तथा कानुनी सुधार अघि बढाउनेछ ।

  • छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू

    छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू


    नारायणगढ (चितवन), २६ भदौः आज कुशे औँसी अर्थात् ‘बा’ (बुबा)को मुख हेर्ने दिन । ‘बा’ हुनेहरूले भौतिक रूपमै ‘बा’ को पूजा गरी मिठामिठा परिकार खुवाएर मुख हेरे । टाढा हुनेहरूले पनि ‘बा’लाई सम्झिए, फोन गरे र आशीर्वाद लिए । ‘बा’ र छोराछोरीबीचको सम्बन्ध नै यस्तै हुन्छ, जहाँ छोराछोरीले आफ्नो हरेक खुसीमा ‘बा’को सम्झना गर्छन् र ‘बा’ले पनि सन्तानको सुख, सफलता र प्रगतिको कामना गरिरहेका हुन्छन् .

    कतिपय ‘बा’सँगको सम्बन्ध साथीको जस्तै हुन्छ । कतिपयको सम्बन्ध बाहिरबाट त्यति देखिँदैन, तर सन्तानको जीवनको हरेक मोडमा ‘बा’को उपस्थिति र प्रभाव हुन्छ । सन्तानले जुनसुकै काम गर्दा ‘बा’को सम्झना जोडिन्छ । ‘बा’ एउटा यस्तो शब्द हो, जससँग सन्तानको भविष्य, भरोसा र सुरक्षाको भावना जोडिएको हुन्छ ।

    तर यस वर्षको कुशे औँसीमा भोटेकोशी बाढीले यही आत्मीय सम्बन्धमा ठूलो चोट पुर्याएको छ । बाढीले कतिपय ‘बा’लाई छोराछोरीबाट टाढा बनाएको छ भने कतिपय छोराछोरी ‘बा’बाट टाढिएका छन् । कतिका ‘बा’ हराए । ती छोराछोरी आफ्ना ‘बा’को खोजीमा भौँतारिएका छन् । कतिका छोराछोरी हराए, ती ‘बा’हरू छोराछोरीको खोजीमा भौँतारिएका छन् ।

    भोटेकोशी बाढीको असर रसुवा, नुवाकोट हुँदै चितवनसम्मै परेको छ । चितवनमा बाढीको प्रत्यक्ष असर नपरे पनि भोटेकोशी र त्रिशूली नदीले माथिबाट बगाएर ल्याएका कयौँ शव यहाँ भेटिएका छन् । भोटेकोशी–त्रिशूली प्रभावित रसुवा, नुवाकोट र धादिङमा कयौँ मानिस बेपत्ता भएका छन् । यतिका दिन बितिसक्दा पनि सास र लास दुवै नभेटिँदा कतिपय आफन्तले शव नपाएरै अन्तिम संस्कारको विधि पूरा गरेका छन् भने कतिपय अझै आफ्ना आफन्त भेटिने आशामा छन् ।

    आज ‘बा’को मुख हेर्ने दिन । भोटेकोशी–त्रिशूली किनारमा रोजगारीका क्रममा रहेका र बाढीपछि बेपत्ता भएका आफ्ना छोराहरू ‘बा’को खोजीमा चितवन आएका छन् ।

    बाढीले बगाएर ल्याएका शवमध्ये आफ्नो छोरा भेटिन्छ कि भन्ने आशामा चितवन आएका ती ‘बा’हरूका लागि आजको दिन अरू दिनभन्दा फरक पक्कै छ । देशभर छोराछोरीले आफ्ना ‘बा’को मुख हेर्दै गर्दा ती ‘बा’हरू भने छोराको प्रतीक्षामा छन् । कतैबाट आज छोरा सम्पर्कमा आउला कि, ‘बा’ भनेर फोन गर्ला कि भन्ने आशा उहाँहरूको मनमा अझै बाँकी होला ।

    तर यतिका दिन बितिसक्दा पनि छोराको कुनै खबर नआएपछि त्यो आशा कति कमजोर हुँदै गएको होला सहजै अनुमान गर्न सकिन्छ । तैपनि मनले छोरा जीवितै भेटिने आशा मारेको छैन । त्यसैले त आफ्नै छोराको अनुहार भेटिन्छ कि भन्ने आशामा ती ‘बा’ हरू चितवनका शव पहिचान केन्द्रसम्म आइपुगेका थिए ।

    ‘बा’को मुख हेर्ने दिनमा छोराको मुख हेर्न नपाएका यी ‘बा’हरूको पीडा शब्दमा व्यक्त गर्न सहज छैन । उहाँहरूका लागि आज पर्वभन्दा ठूलो प्रश्न बनेको होला ‘मेरो छोरा कहाँ छ रु’ भोटेकोशीको बाढीले घर, सम्पत्ति र जीवनमात्र बगाएन, धेरै परिवारको पारिवारिक खुसीसमेत बगाएको छ ।

    कसैको घरमा आज ‘बा’को पूजा भइरहेको छ, कसैको घरमा ‘बा’ को तस्बिरअगाडि दीप प्रज्ज्वलन भइरहेको छ । तर केही ‘बा’हरू भने आफ्ना हराएका छोराको तस्बिर अगाडि दियो बालेर, छोरा फर्केर आउला कि भन्ने आशामा कुरिरहेका पक्कै होलान् ।

    ‘बा’को मुख हेर्ने दिन केवल एउटा धार्मिक तथा सांस्कृतिक पर्व होला, तर ‘बा’ र छोराछोरीको सम्बन्धमा कुनै जात, धर्म वा संस्कृतिले छेक्दैन । यो सम्बन्ध केवल माया र विश्वासमा मात्र होइन, एक अर्काप्रतिको आशा र शक्तिको भावनामा पनि अडिएको हुन्छ ।

    भोटेकोशी बाढीपछि छोराको खोजीका लागि चितवन आएका केही ‘बा’हरूको एउटै सपना थियो, ‘मेरो छोरा भेटियोस् ।’ केही कमाएर घर फर्किएपछि ‘बा’लाई खुसी दिने सपना बोकेर गाउँ छोडेका ती छोराहरू फर्किएनन्, सम्पर्कमा आएनन् । उहाँहरूका सपना कहाँ हराए, कसैलाई थाहा छैन । बाढीले उहाँहरूलाई मात्र होइन, उहाँहरूसँग जोडिएका परिवारका धेरै सपना पनि बगाएर लग्यो ।

    छोराको प्रतीक्षामा रहेका ती ‘बा’हरूका सपना भने दिन बित्दै जाँदा तुहिँदै गए । आशा कमजोर हुँदै गयो । मनभरि पीडा, थकानले गलेका खुट्टा र काँपेको शरीर बोकेर चर्को घाममा समेत भोक–प्यासको प्रवाह नगरी उहाँहरू शव पहिचान केन्द्र आसपास टोलाइरहेका थिए । ती ‘बा’हरूको एउटै पुकार थियो, “मेरो छोरो भेटिए हुन्थ्यो, कि त लासै पत्ता लागे पनि हुन्थ्यो ।”

    टोलाउँदै गरेका ती ‘बा’हरूको मुखबाट निरन्तर यही वाक्य दोहोरिइरहन्थ्यो । छोरा जीवितै भेटिए हुन्थ्यो भन्ने आशा त थियो नै, तर धेरै दिनसम्म कुनै खबर नआएपछि कम्तीमा आफ्नो छोराको अन्तिम अवस्था थाहा पाउन पाए हुन्थ्यो भन्ने पीडा पनि उनीहरूको मनमा गहिरिँदै गएको थियो ।

    बाढीपछि चितवनमा धेरै शव बगाएर ल्याइएर भेटिएपछि अस्पतालमा स्थान अभाव भयो । त्यसपछि चितवन उद्योग सङ्घ परिसरमा शव पहिचान केन्द्र बनाइएको थियो ।

    उद्योग सङ्घकै परिसरमा गत भदौ १३ गते भेटिनुभएका वीरगन्ज महानगरपालिका–२२ का अली मोहम्मद मियाँ आफ्ना २२ वर्षीय छोरा साबुदिन मन्सुरीको तस्बिर लिएर भरतपुरस्थित अस्पताल र शवगृहका ढोकाहरूमा भौँतारिइरहनुभएको थियो ।

    रोजगारीको सिलसिलामा रसुवाको एक ग्यारेजमा मेकानिकको काम गर्न गएका साबुदिन भोटेकोशी र आसपासका क्षेत्रमा आएको भीषण बाढीपछि ग्यारेज साहु र अन्य पाँच जना साथीसँगै बेपत्ता भएको उहाँले बताउनुभयो ।

    “छोराको खोजीमा छु, कसैले खबर पाइदिए प्रहरी चौकीमा भनिदिए हुन्थ्यो”, भक्कानिँदै अली मोहम्मदले भन्नुभयो, “बाढीमा परेकाहरूको केही अत्तोपत्तो छैन ।” उहाँमा छोरा हराएको पीडा देखिन्थ्यो नै, आफ्नै भविष्यको सहारा गुमेको चिन्ताले उहाँलाई निकै सताएको थियो । उहाँले शवगृह र होल्डिङ सेन्टरका सबै ठाउँमा हेर्दा पनि छोराको पत्तो लगाउन सक्नुभएको थिएन ।

    “खबर गरिदिनु ल।।।” भन्दाभन्दै उहाँको बोली रोकियो । आँसु खसाल्दै उहाँले भन्नुभयो, “मेरो छोरा यी शवहरूमा छैन, कतै भेटिए खबर गरिदिनुहोला ।” उहाँले त्यसै भन्नुभएको थियो । आशा छ, उहाँको छोरा भेटिएको होस् ।

    यो सास्ती र पीडा अली मोहम्मदको मात्र थिएन । बाढी र पहिरोका कारण देशका विभिन्न स्थानबाट काम तथा भ्रमणका क्रममा पुगेर बेपत्ता भएका नागरिकका आफन्तहरू चितवनको भरतपुरमा शव पहिचानका लागि भौँतारिइरहेका थिए ।

    सप्तरीको खडक नगरपालिकाका भोला पासवान र डाक्नेश्वरी नगरपालिकाका अक्षयकुमार पासवान आफ्ना छोराहरू क्रमशः अखिलेश र निसितको खोजीमा यतिबेला भरतपुरमा भौँतारिइरहनुभएको थियो ।

    काम गर्न रसुवा पुगेका उहाँहरूका छोराहरूको त्यतिबेलासम्म कुनै खबर थिएन । शोकमा परेका यी बाबुहरूलाई आफ्ना छोराहरू जीवितै भेटिएलान् भन्ने झिनो आशा त थियो, तर मनलाई सम्हाल्न नसकेर शव नै भए पनि फेला पर्छ कि भनेर यहाँसम्म आउनुभएको थियो ।

    भोलाले पीडा पोख्दै भन्नुभयो, “सप्तरीबाट चितवनसम्म आइपुगेँ, तर केही अत्तोपत्तो छैन । कहाँ जाउँ, के गरूँ रु भित्र छिर्छु, बाहिर राखेको तस्बिर हेर्छु, तर छोराको केही पत्तो पाउन सकेको छैन ।” अक्षयको पनि उस्तै हाल थियो ।

    त्यसैगरी, शवहरूको पहिचान गर्न उद्योग सङ्घकै परिसरमा आफन्तको डिएनए परीक्षण सुरु गरिएको थियो । भदौ १७ गते सोही परिसरमा भेटिनुभएका बारा कलैयाका भगवान शर्मा भोटेकोशीको बाढीपछि छोरा हराएपछि सम्भावित स्थानहरूमा खोजी गर्दै भौँतारिनुभयो ।

    छोराको कुनै पत्तो नपाएपछि डिएनए परीक्षण गराएमा पहिचान हुनसक्छ भन्ने थाहा पाएर उहाँ नागरिकताको फोटोकपी र आफ्नो फोटोसहित चितवन आइपुग्नुभएको थियो । डिएनए नमूना दिए पनि उहाँको मन अझै ढुक्क हुनसकेको थिएन । यदि शव नै रहेछ भने पनि पहिचान त होला भनेर उहाँले डिएनए नमूना त दिनुभयो, तर उहाँको मनमा अझै पनि छोरा जीवितै भेटिने आशा बाँकी नै थियो ।

    त्यस्तै, बर्दियाका रामबहादुर थारू पनि हराइरहेका छोराको खोजीमा ११ गतेदेखि नै चितवनमा आउनुभएको थियो । आफ्ना छोरासहित १६ जना साथीहरू बाढीमा हराएको बताउने थारूले धेरै शवहरू हेरे पनि छोरालाई भेट्टाउन सक्नुभएन । “सासको आस मरे पनि लास भए पनि भेटिन्छ कि भनेर डिएनए म्याचिङका लागि रगत दिएको हुँ”, उहाँले आफ्नो पीडा पोख्नुभयो । थारूलाई अझै पनि छोराहरू हराएकै स्थानमा पुगेर खोज्ने इच्छा थियो ।

    बर्दियाका रामबहादुरजस्तै हराएका छोराको खोजीमा रहेका हजारौँ बाबुहरूका आज सन्तान हराएका छन् । न लास भेटिएको छ, न सास, न आशा मरेको छ । आफ्नो परम्पराअनुसार अन्तिम संस्कार पनि कतिपयले गरिसकेका होलान्, तर केही अत्तोपत्तो नहुँदा यी बाबुहरूले आफूलाई ‘बा’ भन्दै छोराले बोलाउने आशा मारेका पक्कै छैनन् । आशा गरौँ, हराएका यी छोराहरू पनि कुशे औँसी अर्थात् ‘बा’को मुख हेर्ने दिन आफ्ना बाबुका सामुन्ने आइपुगून् ।

  • बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

    बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन


    काठमाडौँ, २६ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारकार्यका लागि खटिएको पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई आज निर्देशनसहित बिदाइ गर्नुभएको छ ।

    पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले टोलीलाई प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्न, पीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धारकार्यमा प्रभावकारी रूपमा परिचालित हुन निर्देशन दिनुभयो ।

    उहाँले विपद् प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउन तथा स्थानीय तह, प्रशासन र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी राहत तथा उद्धारकार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

    एमालेले भोटेकोशी बाढी प्रभावित नुवाकोट र रसुवाका नागरिकलाई सहयोग पुर्‍याउन विभिन्न तहमा राहत, उद्धार तथा पुनःस्थापनाका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।

  • बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल

    बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल

    जनकपुरधाम, २६ भदौः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट प्रभावित पहाडी क्षेत्रका नागरिकका लागि मधेसका जनताले राहत तथा सहयोग पठाएर सराहनीय काम गरेको बताउनुभएको छ । सिरहा र महोत्तरीमा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने क्रममा आज साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै संयोजक दाहालले विपद्का बेला मधेस र पहाडबीच देखिएको सहयोग, सद्भाव र एकता प्रशंसनीय रहेको बताउनुभयो ।

    “अहिले पहाडका जनतालाई मधेसका जनताको साथ र सहयोग चाहिएको छ, त्यसका लागि मधेसका जनताले खुला हृदयले सहयोग गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “पहाडमा पीडा हुँदा मधेसले सहयोग गर्ने र मधेसमा पीडा हुँदा पहाडले सहयोग गर्ने हाम्रो परम्परा सकारात्मक छ ।” उहाँले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि मधेसबाट पठाइएको राहत तथा सहयोगले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको प्रभाव तीव्ररूपमा देखिन थालेको उल्लेख गर्दै संयोजक दाहालले भोटेकोशीमा आएको बाढीको कारण र त्यसबाट भएको क्षतिको वैज्ञानिक अध्ययन आवश्यक रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनकै कारण नेपालमा यस्ता ठूला विपद् बढिरहेको दाबी गर्नुभयो । “हामीले केही वर्षदेखि जलवायु परिवर्तनको असर कस्तो परिरहेको छ भन्ने विषय उठाउँदै आएका छौँ”, उहाँले भन्नुभयो, “ठूला मुलुकहरूले अत्यधिक कार्बन उत्सर्जन गरेका कारण नेपालजस्ता साना मुलुकहरूले त्यसको प्रत्यक्ष असर भोगिरहेका छन् । यस विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्छ ।”

    भोटेकोशी नदीमा बाढी गएपछि सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा सरकारले अपेक्षित गति दिन नसकेको उहाँले टिप्पणी गर्नुभयो । बाढी आएको तत्कालीन समयमा अन्तरराष्ट्रिय समुदाय, सम्बन्धित क्षेत्रका विज्ञ तथा उद्धार टोलीको सहयोग लिएर आधुनिक प्रविधिको प्रयोग गर्न सके सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो ।

    “सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाउन अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरेर तत्काल खोजी तथा उद्धार गर्न सके धेरैको ज्यान जोगाउन सकिने अवस्था थियो”, उहाँले भन्नुभयो, “तर सरकारले त्यसतर्फ पर्याप्त पहल गर्न सकेन ।” उहाँले विपद् व्यवस्थापनका लागि सरकारसँग पर्याप्त पूर्वतयारी, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र अन्तरराष्ट्रियस्तरको उद्धार क्षमता विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यसअघि सिरहा र महोत्तरीमा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनुभएका संयोजक दाहाललाई मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधाम विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

  • भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

    भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

    बर्दिया, २६ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई जना बेपत्ता भएपछि आफन्त घर फर्कने आशमा पर्खिरहेका छन् । भदौ १० गते आएको बाढीमा छोराबुहारी (दीपेन्द्र र फूलमाया तमाङ) सम्पर्कविहीन बनेपछि बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु छोराबुहारी फर्किने आशमा दिनरात बाटो हेरिरहेका छन् । बुवाआमासँग सम्पर्क टुटेपछि उनीहरूका छोराछोरी अहिले मामाको साहरामा काठमाडौँमा छन् ।

    छोराबुहारीको अवस्थाबारे कुनै खबर नपाउँदा बुवाआमाको पर्खाइसँगै बालबालिकाको भविष्यसमेत अन्योलमा परेको आँशुरामले बताउनुभयो । छोरा सम्पर्कमा आउने आशामा बुबा आँशुराम मोबाइलमा घण्टी बज्यौ कि तुरुन्तै फोन उठाउनुहुन्छ । घरको बाटोतिर पनि आँखा लगाइरहनुहुन्छ । “छोराबुहारी भेटिएको फोन कतैबाट आयो कि भनेर तुरुन्तै उठाउने गर्छुु”, उहाँले भन्नुभयो, “घर आउँदैछन् कि भनेर बाटो हेर्छु । तर, अहिलेसम्म कतैबाट कुनै खबर आएको छैन ।”

    छोराबुहारी सम्पर्कविहीन भएपछि उहाँलाई नातिनतिनालाई कसरी शिक्षा दीक्षा दिने भन्ने चिन्ता थपिएको छ । “छोराबुहारीको अवस्थाबारे कुनै जानकारी नहुँदा परिवारका सदस्य विक्षिप्त बनेका छन् । हामीलाई छोराबुहारी भेटाइदेउ भनेर रातदिन भगवानसँग प्रथना गरिरहेका छौँ”, निराश हुँदै उहाँले भन्नुभयो, “सरकार तथा सरोकार भएका निकायले छिटो बेपत्ताको खोजी गरी वास्तविक आवस्था पत्ता लगाएर जानकारी दिनुपर्‍यो । यदी नभेटिएमा शव दिनुपर्छ । नातिनतिनालाई पढाइका लागि आवश्यक व्यवस्था गरिनुपर्छ ।”

    रसुवाको सल्लेटारमा दीपेन्द्र होटल सञ्चालन गर्दै परिवारसहित बस्दै आएका थिए । भदौ १० गते भोटेकोशीमा आएको बाढीले दीपेन्द र श्रीमती फूलमाया सम्पर्कविहीन भएका छन् । बाढी आउँदा दीपेन्द्रका छोरा र छोरी विद्यालय गएका थिए । विद्यालय गएकाले छोराछोरी सुरक्षित भए भने आफ्नै होटलमा रहेका दीपेन्द्र र पत्नी फूलमाया बाढीपछि सम्पर्कविहीन भएका बुबा आँशुरामले जानकारी दिनुभयो ।

    दीपेन्द्रका छोरा दीप थारु आठ वर्षका छन्, भने छोरी दीक्षा छ वर्षकी छिन् । उनीहरू दुवै जना रसुवाको स्थानीय विद्यालयमा अध्ययनरत थिए । बाढीपछि अभिभावकविहीन बनेपछि उद्धार गरी काठमाडौँ लगिएको हो । अहिले मामा उत्तम तामाङसँग बसिरहेका परिवारले जानकारी दिएको छ । “बेपत्ता भएका दीपेन्द्र विगत ११ वर्षदेखि रसुवामा बस्दै आएका थिए । सुरुमा कामदारका रूपमा रसुवास्थित चाइना कम्पनीमा काम गर्दथे । त्यसको दुई वर्षपछि रसुवाकी फूलमायासँग विवाह भयो ।

    पछि सबै परिवार यहाँ करिब तीन वर्ष बस्यो । चाइनामा काम गर्न जाने भनेर दिपेन्दले सात वर्षअघि बसाइँसराइ गरेर परिवारसहित रसुवा बसिरहेको थियो”, बुबा आँशुरामले भन्नुभयो । बसाइँसराइ गरेको एक वर्षपछि रसुवामा होटल चलाएर बसिरहेका छोराबुहारी बाढीपछि सम्पर्कविहीन भएको उहाँले दुखेसो पोख्नुभयो । आँशुरामका छ भाइ छोरा छन् । तीमध्ये राइला छोरा हुन् दिपेन्द्र । दीपेन्द्र जस्तै सबै छोरा काठमाडौँ, पोखरा, नुवाकोटलगायत विभिन्न ठाउँमा काम गरिरहेका छन् । छोराबुहारी बाढीपछि सम्पर्कविहीन भएपछि परिवारका सबै सदस्य दीपेन्द्र र फूलमायाको खोजीमा चितवन, धादिङ, नुवाकोट र काठमाडौँका विभिन्न अस्पताल तथा होल्डिङ सेन्टरसम्म पुगेका छन् ।

    “कतै पनि भाइबुहारीको अवस्था पत्ता लाग्न नसकेको बताएका छन् । छोराबुहारी कतै भेटिन्छन् कि भनेर चितवन, धादिङ, नुवाकोट र काठमाडौँसम्म सबै ठाउँमा छोराहरूले खोजी गरे”, बुबा आँशुरामले भन्नुभयो , “तर, भेटिएन । अहिले त अरु छोराहरू पनि आआफ्नो काम फर्किएका छन् ।” कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका दीपेन्द्र जस्तै बर्दियाका ७६ जना अझै सम्पर्कविहीन रहेका जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्कव्यक्ति लोकप्रसाद ढकालले जानकारी दिनुभयो । “बारबर्दियाका मात्रै २५ जना सम्पर्कविहीन छन् । हालसम्म ५३ जना घर फर्किसकेका छन्”, उहाँले भन्नुभयो ।