फूलखेतीले दिलाएको सफलता…

पाल्पा, २१ कात्तिकः पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन् । पहेँलपुर फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएको छ । तिहार नजिकिएसँगै यहाँका किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पु¥याउने चटारोमा छन् । रैनादेवी छहरा गाउँपालिका–२ का इन्दिरा कोईराला र खिमराज कोइराला यतिबेला बाँझो जमिनमा लगाएको फूल टिप्नमा व्यस्त छन् । उनीहरु आमा छोरा हुन् । धर्तीमाता कृषि फार्ममार्फत कोइराला परिवारले दीपावलीलाई लक्षित गरी टेनिस बल जातको फूल खेती गरेका छन् ।


फार्ममा अहिले ढकमक्क फूल फुलेका छन् । चार रोपनी क्षेत्रफलमा लगाइएको टेनिस बल जातको फूलले खेतबारीको स्वरूप मात्रै बदलेको छैन, आम्दानीको नयाँ सम्भावना देखाएको छ । फूल खेतीबाट यस वर्ष करिब रु छ लाख आम्दानी गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक खिमराज बताउँछन् ।


उनका अनुसार उत्पादनलाई पाल्पामा मात्र सीमित नराखी उपभोक्ताको मागअनुसार छिमेकी जिल्लासम्म पु¥याउने योजना छ । तिहारका बेला थोक तथा खुद्रा दुवै माध्यमबाट फूल र माला बिक्री गरिनेछ । उपभोक्तालाई सहज होस् भनेर घरदैलोमा फूल तथा माला उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको उनले बताए । कोइराला बगनासकाली गाउँपालिकामा कृषि प्राविधिकका रूपमा कार्यरत रहे पनि कार्यालयपछिको समय फूल खेतीमा सदुपयोग गरेका छन् ।

फूल खेतीका लागि आवश्यक प्राविधिक पक्ष, मलजलको व्यवस्थापन, बिरुवाको वृद्धि तथा उत्पादनको रेखदेखमा खिमराज आफैँ संलग्न रहँदै आएका छन् । आमा इन्दिराले फूलको नियमित स्याहारसुसार तथा रेखदेखको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । दुवै जनाको संयुक्त प्रयासबाट चार रोपनी क्षेत्रफलमा फूल खेती विस्तार गरिएको हो । वैदेशिक रोजगारी तथा अन्य पेसा व्यवसायका कारण खेतीयोग्य जमिन बाँझिँदै गएको अवस्थामा त्यस्तो जमिनलाई सदुपयोग गरेर आम्दानी गर्न सकिने सम्भावना फूल खेतीले देखाएको इन्दिराको भनाइ छ ।

उपभोक्ताको मागअनुसार रूपन्देहीको बुटवल तथा अर्घाखाँचीको पाणिनी गाउँपालिकासम्म फूल र माला पठाउने गरिएको कोइरालाले बताए । स्वदेशी उत्पादनले उचित बजार पाउन आयातित फूलको नियमन आवश्यक रहेको उनको भनाइ छ। बगनासकाली गाउँपालिका–८ का पुष्प व्यवसायी झपिन्द्र बस्याल र पोखराथोकका श्रवणकुमार श्रष्ठले पनि फूल खेती गरेका छन् ।

बस्यालले १० रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन् । श्रेष्ठले आफ्नो बारीभरी फूल खेती गर्नुभएको छ । चाडपर्व लागेसँगै उहाँको दैनिकी फूल खेतीमै व्यस्त हुने गरेको छ । जिल्लाको रामपुर, माथागढी, बगनासकाली, रिब्दीकोट, रम्भालगायतका किसानले व्यवसायिक रूपमा फूल उत्पादन गरेर मनग्गे आम्दानी गर्न सफल भएका छन् ।