Category: फिचर

  • सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै

    सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै

    सुदूरपश्चिम, २५ भदौः भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ यही भदौ ३० गतेका लागि तय भएको छ । कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक बैजनाथ सञ्चार प्रालिले यही भदौ ३० गते सो कार्यक्रम तय भएको जनाएको छ । संस्थाका प्रबन्ध निर्देशक सरस्वतीकुमारी खड्का भट्टले प्राकृतिक विपद्का कारण देश शोकमग्न र विषम परिस्थितिमा रहेकाले निर्धारित कार्यक्रम स्थगित गरिएकामा पुनः आयोजना गर्न लागिएको जानकारी दिइन् ।


    कार्यक्रममा उनले राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, जोगेन्द्र पानवाला (शिवशङ्करप्रसाद रिजाल), मूलासाग (सुरेन्द्र केसी) लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष प्रस्तुति रहने बताए । कार्यक्रममा हास्यव्यङ्ग्य नाटक, प्रहसन, कविता, गीत–सङ्गीत, देउडा तथा सुदूरपश्चिमका मौलिक लोक तथा सांस्कृतिक प्रस्तुतिमार्फत समसामयिक सामाजिक विषयमा व्यङ्ग्यात्मक सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ ।

    ‘सुदूरपश्चिम गाईजात्रा–२’ मनोरञ्जनमा मात्र सीमित नभई समाजमा देखिएका विकृति र विसङ्गतिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आर्थिक संयोजक शुभेष पाठकले बताए । कार्यक्रममा लागूऔषध दुव्र्यसन, भ्रष्टाचार, साइबर अपराध, घरेलु तथा महिला हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदलगायत विषयलाई हास्यव्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरिने उनले बताए ।

    गाईजात्राको मुख्य प्रायोजकमा धनगढीस्थित माया मेट्रो हस्पिटल र प्रायोजकमा चैतन्य पाठशाला रहेको सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा टिकटबापत सङ्कलन हुने रकमको २५ प्रतिशत भोटेकोशी बाढीपीडितलाई सहयोगस्वरुप प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिने जनाइएको छ ।

  • राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

    राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’


    न्युयोर्क (अमेरिका), २४ भदौः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहनेछ । ‘विश्वासको पुनस्र्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसङ्घ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरे ।


    सो अवसरमा अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, न्याय, जलवायु परिवर्तनलगायतका जल्दाबल्दा मुद्दामा घनिभूत एवं प्रभावकारी ढङ्गबाट छलफल एवं विचारविमर्श भई विश्वव्यापी समस्या सम्बोधन गर्न अहिलेको ८१औँ महासभा सफल हुने विश्वास व्यक्त गरे ।

    त्यसैगरी, दिगो विकासका रणनीति कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार र मानवीय समस्या, डिजिटल गभर्नेन्स र प्रविधिको उपयोग, वहुपक्षीय हितका लागि राष्ट्रसङ्घको पुनर्संरचनालगायतका विषयमा पनि महत्त्वपूर्ण छलफल हुने विश्वास व्यक्त गरे । महासचिव गुटेरेसले विश्वले विभिन्न किसिमका द्वन्द्वको सामना गर्नुपरेको विद्यमान अवस्थामा उपयुक्त रणनीति तथा कार्यक्रमसहित तिनको सम्बोधन गर्नेतर्फ राष्ट्रसङ्घको ध्यान जानुपर्ने धारणा व्यक्त गरे ।

    जलवायु परिवर्तन, दिगो विकास, गरिबी, द्वन्द्व, विभाजन र आणविक जोखिमजस्ता समस्याका कारण समग्र विश्व प्रभावित भएको उल्लेख गर्दै महासचिव गुटेरेसले आपसी सहयोग, संवाद र सहकार्यबाट समस्या समाधान गर्ने सन्दर्भमा महासभा उपयुक्त मञ्च भएको बताए । महासभा सुरु भएको अवसरमा न्युयोर्कस्थित नेपाली स्थायी नियोगले एक विज्ञप्ति जारी गर्दै ८१औँ महासभाले रचनात्मक र उपलब्धिमूलक संवादको अपेक्षा गरिएको उल्लेख गरेको छ । यसैगरी, महासभामार्फत संवाद र सामूहिक प्रयत्नमार्फत विश्वशान्ति, विकास, मानवीयता र जलवायु न्यायका बारेमा काम गर्न इच्छुक रहेको उल्लेख गरिएको छ ।

    नियोगले राष्ट्रसङ्घीय महासभाको अध्यक्षका रूपमा पदभार ग्रहण गरेकोमा बङ्गलादेशी कूटनीतज्ञसमेत रहेका रहमानलाई बधाई ज्ञापनसमेत गरेको छ । यसैबीच, मङ्लबार नेपालका तर्फबाट राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित देशहरूको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता र प्रतिफलमुखी नतिजाका लागि विकासको गति बढाउन आग्रह गरे ।

    थापाले अल्पविकसित देशहरू सम्मिलित अफ्रिकन मुलुकका मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकका अवसरमा सो धारणा व्यक्त गरेका हुन् । कम विकसित देशहरूको समूहगत अध्यक्षको हैसियतले सम्बोधन गर्नुहुँदै नियोग प्रमुख थापाले उत्पादन क्षमता वृद्धि, डिजिटलाइजेसन, जलवायु परिवर्तनमा लचिलोपन, क्षेत्रीय व्यापार, सामाजिक सुरक्षा र दिगो विकासका लागि वित्तीय स्रोत र प्रतिबद्धताअनुसार काम गर्न अपिल गरे ।

  • रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

    रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया


    सरस्वती न्यौपाने–रासस
    रसुवा २४ भदौः दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ । हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने गरी उर्लेर आएको भीषण बाढीले रसुवा भोटेकोशी र त्रिशूली नदी किनारका सुन्दर बस्ती र भूगोललाई क्षणभरमै क्षतविच्छेद तुल्यायो ।

    नेपाल–चीनबीच रहेको केरुङ अन्तरराष्ट्रिय नाकास्थित दुवै देशका महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीको हताहत भयो भने दशकाँै लगाएर तयार गरिएका भौतिक पूर्वाधारसम्बन्धी संरचना पनि एकैसाथ ढले । नदी किनारका सुन्दर बस्तीहरू खण्डहरमा परिणत भयो । ती ठाउँ सञ्चार र सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भए । त्यस बाढीमा परी हराइरहेकामध्ये एक हजार ३६७ जनाको शव प्राप्त भएको छ ।

    मानसरोवर र गोसाइँकुण्डको तीर्थयात्रमा रहेका ५०० भन्दा बढी विदेशी नागरिकको ज्यान गयो । त्यस बाढीमा परी पाँच हजारभन्दा बढी नागरिक अहिले सम्पर्कविहीन छन् । त्यस क्षेत्रबाट हालसम्म बाढीप्रभावित १३ हजार ६४६ को उद्धार गरिएको छ । बाढीसँगै आएको लेदोसहितको छालले विद्यालयमा पढिरहेका विद्यार्थी, डयुटीमा खटिरहेका सुरक्षाकर्मी, घरधन्दा गरिरहेका गृहणी, व्यापार व्यवसाय गरिरहेको नागरिक, सुरुङमा काम गरिरहेका इन्जिनियर, मजदुरसहित ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान लियो । त्यस क्षेत्रका सडक भत्केर खोचमा परिणत भए ।

    चारैतिर हिलोको साम्राज्यजस्तो भयो । दुवै नदी किनारका क्षेत्र सिमेन्ट प्लास्टर गरेको मैदानजस्तो भयो । बाढीको त्यस खालको क्रन्दनबाट परिवार, आफन्त र धनमाल गुमाएका रसुवावासीको आँसु, चित्कार र कोलाहलकाबीचमा रसुवावासीका लागि हेलिकप्टरको उडान नै बाँच्ने र बचाउने एकमात्र जीवनको आधार बन्न पुग्यो । बाढीको उग्ररुपले प्रभावित क्षेत्रका सबै खाले पुलपुलेसो बगाएकाले वारि–पारि तथा ओल्लोबाट पल्लोगाउँ पुग्ने विषय कल्पना बाहिर थियो ।

    यही विभिषिका र त्रासदीको भूमरीका बीच रसुवाको अस्थायी हेलिप्याडमा हेलिकप्टर चालक क्याप्टेन प्रिया उत्रनुभयो । त्यस दिनको घटनाको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “मेरो वरिपरि रोइरहेका आफन्तहरू, पहिरोमा पुरिएर घाइते भएकाको छटपटी र टोलाइरहेका वृद्धवृद्धाको भीड थियो । मौसम असाध्यै प्रतिकूल थियो । बाक्लो कुहिरो र कालो बादलले रसुवाका अप्ठ्यारा पहाडका टाकुरालाई पूर्ण रूपमा ढाकेका थिए । हावाको गति तीव्र थियो । यस्तो अवस्थामा उडान भर्नु भनेको सिधै मृत्युको ककपिटमा बस्नुसरह थियो ।”

    त्यस बेला बाढीप्रभावित क्षेत्रमा उद्धार टोली र स्थानीय आकाशतिर हेर्दै प्रार्थना गरिरहेका थिए । ठीक त्यही निसासिँदो बादललाई चिर्दै, पहाडका कापबाट जोगिँदै धुञ्चेको आकाशमा एउटा हेलिकप्टर ओर्लियो । ब्लेडको कानै खाने आवाजका बीच हेलिकप्टर भुइँमा टेक्यो र ककपिटको ढोका खुल्यो । सैनिक पोसाकजस्तै कडा मिहिनेत झल्किने पोसाक, एभिएटर चश्मा र अनुहारमा एउटा गम्भीर एकाग्रता बोकेर ककपिटबाट उहाँ ओर्लिनुभएको थियो ।

    मैले प्रियालाई धेरै नजिकबाट नियाल्ने मौका पाएँ । उहाँको अनुहारमा न त कुनै थकान देखिन्थ्यो, न त मौसमको त्यो डरलाग्दो रूपप्रतिको भय । उहाँको आँखा र सोच थियो त केवल, “कसरी छिटोभन्दा छिटो घाइते र जोखिममा परेकालाई सुरक्षित स्थानमा पुर्याउने”, भन्ने दृढ मानवीय सङ्कल्प । हेलिकप्टरको इन्जिन बन्द नहुँदै उहाँ आफैँ हिलोमा कुदै अघि बढ्नुभयो । पहिरोले क्षतविक्षत भएका वृद्धवृद्धालाई पिठ्युँमा बोक्न सघाउनेदेखि रोइरहेका बालबालिकालाई फकाएर हेलिकप्टरभित्र सिटमा बाँध्नेसम्मको काममा उहाँ आफैँ खटिएकी खटिनुभयो । पहिरोको हिलो र पीडितको आँसुका बीच उहाँले त्यो सक्रियता साच्चिकै मानवीयताले भरिएको देखिन्थ्यो ।

    सामान्य अवस्थामा हिमाली र पहाडी भेगमा एक–दुई पटक उडान भर्न पनि पाइलटहरूले निकै कसरत र मौसमको पर्खाइ गर्नुपर्छ । तर, रसुवाको त्यो असाध्यै कठिन भूगोल, साँघुरो उपत्यका र कतिपय अवस्थामा शून्य प्रायः भिजिबिलिटी ९दृश्यता० का बीच पनि प्रियाले दैनिक १० पटकसम्म उडान भनुभयो । एकपटक उड्नु, घाइतेलाई काठमाडौँ वा सुरक्षित अस्पताल पु¥याउनु अनि फेरि तुरुन्तै रसुवाको जोमखिमयुक्त आकाशमा फर्किनु यो कुनै सामान्य व्यावसायिक जिम्मेवारी मात्र थिएन, वीरलै देखिने साहस थियो ।
    प्रत्येक पटक हेलिकप्टर आकाशतर्फ उड्दा भुइँमा बस्नेहरूका आँखामा आशाको त्यान्द्रो पलाउँथ्यो भने उहाँ फर्किंदा कयौँको जीवन जोगिइसकेको हुन्थ्यो । उडान र उद्धारको एउटा छोटो विश्रामका बेला मैले हेलिप्याडको कुनामा प्रियासँग नजिकै पुगेर कुराकानीको प्रयास गरे ।

    हेलिकप्टरको इन्जिनको चर्को आवाज र हावाको बेगका बीच उहाँले आफ्नो पसिना पुछ्दै भन्नुभयो, “जब म ककपिटमा बस्छु र कप्टरले जमिन छाड्छ, मलाई मेरो अगाडिको खराब मौसम वा खतराको महसुस नै हुँदैन । मेरो दिमाग र नजरमा केवल भुइँमा छटपटाइरहेका, उद्धारको पर्खाइमा रहेका ती निर्दोष अनुहार मात्र नाच्छन् । उनीहरूलाई समयमै बचाएर सुरक्षित ठाउँमा पु¥याउन पाउनु नै मेरो उडानको सबैभन्दा ठूलो सार्थकता र ऊर्जा हो ।” उहाँको यो आँटिलो अनि जोसिलो वाक्यले त्यहाँ उपस्थित सबैको मन ढुकढुक बनायो ।

    त्यो बाढीले रसुवाको जमिन मात्र हल्लाएको थिएन, सिङ्गो देशको मन कम्पन गराएको थियो । तर, त्यो आँसु र हिलोको दलदलकाबीच क्याप्टेन प्रियाजस्ता साहसी सारथीले मल्हम लगाउने काम गर्नुभयो । दिनमा १० पटक मृत्युसँग जुध्दै जीवनको उडान भर्ने क्याप्टेन अधिकारीको साहस रसुवाको इतिहासमा र नेपाली नागरिकको मनमा सधैँ एउटा मार्गदर्शक र प्रेरणादायी कथाका रूपमा जीवित रहनेछ ।

    मिस नेपालको मञ्चदेखि नेपाली आकाशसम्मको सफल यात्रा तय गरेकी क्याप्टेन प्रिया अधिकारी हालैको बाढीप्रभावित रसुवा जिल्लामा नागरिकको जीवन बचाउने महाअभियानमा अहोरात्र खटिएकी देशकै पहिलो महिला हेलिकप्टर क्याप्टेन हुनुहुन्छ ।

    बाढीपछि रसुवा पुगेपछि क्याप्टेन अधिकारीको दैनिकी पूर्ण रूपमा उद्धार उडानमै व्यस्त रह्यो । यसबीचमा उहाँले १०० भन्दा बढी उद्धार उडान गर्नुभयो । विशेष गरी रसुवाको टिमुरे तथा नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा फसेका, घाइते भएका र अलपत्र परेका नागरिकहरूको उद्धारमा उहाँको हेलिकप्टर निरन्तर उडिनै रह्यो ।

  • ‘बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छ’

    ‘बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छ’


    काठमाडौँ, २४ भदौः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई सरकारविरुद्धको प्रहारका रूपमा नभई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी, कटाक्ष वा साइबर बुलिङ नगर्न पनि आग्रह गरे ।


    यही भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र नभई जलवायु अन्यायको परिणामका रूपमा लिएर विश्वस्तरमा प्रभावकारी पहल गर्न सरकारसँग उनले आग्रह गरे । बाढीमा ज्यान गुमाएका तथा बेपत्ता नागरिकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै सभापति लामिछानेले विपत्तिमा परेका नागरिकको उद्धार अझै जारी रहेकाले सुखद समाचारको आशा मार्न नहुने बताए ।

    जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोगिरहेको प्रसङ्ग उल्लेख गर्दै सभापति लामिछानेले जलवायु परिवर्तनका कारण हुने क्षतिको न्यायोचित अन्तरराष्ट्रिय सम्बोधन हुन आवश्यक रहेको बताए । उनले विपत्तिमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका सामान्य मृतकका रूपमा मात्र हेर्न नहुने धारणा राखे ।


    विपत्तिको समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा आम नागरिकले निर्वाह गरेको भूमिकाको उनले प्रशंसा गरे । सभापति लामिछानेले विपत्ति आइलाग्नासाथ राज्य संयन्त्र परिचालन गरी प्राथमिकतासाथ उद्धार, उपचार र राहतको काम सुरु गरेकामा सरकारलाई धन्यवाद दिए ।


    उनले अहिलेको समयमा सरकारले गरेको उद्धार तथा राहत प्रयासको आलोचना मात्र गरेर समय खेर फाल्न नहुने धारणा व्यक्त गर्दै आआफ्नो क्षेत्रबाट बाढी पीडितलाई सक्दो सहयोग गर्न अनुरोध गरे । ‘विपद्को समयमा हामी सरकारको साथमा छौँ’ भन्ने भावनासहित उनले विपत्तिलाई राजनीतिक लाभ–हानिको विषय बनाउन नहुने बताउँदै उनले सरकारका कामको रचनात्मक आलोचना गर्दै जवाफदेहिता माग्नु प्रतिपक्षको अधिकार र कर्तव्य भए पनि राष्ट्रिय पीडालाई राजनीतिक हतियार बनाउन नहुने बताए ।


    अहिलेको विषम् परिस्थितिमा राहत र पुनर्निर्माणमा मात्र सीमित नभई त्यसको मूल कारणसम्म पुग्नुपर्नेमा जोड दिनुहुँदै जलवायु परिवर्तनले गहिरिँदै गएको सङ्कटको परिणामका रूपमा यस्ता विपत्ति बढ्न सक्ने भएकाले नेपालले जलवायु न्यायका लागि विश्व अभियान अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

    यसका लागि हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा विश्वस्तरमा मान्यता दिलाउन पहल गर्न, हिमालय संरक्षण तथा जलवायु अनुकूलनका लागि ‘ग्रिन क्लाइमेट फन्ड’मा सहज वित्तीय पहुँच सुनिश्चित गर्न र ‘साउथ–साउथ कोअपरेसन’मार्फत हिमालयसम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदानप्रदान अघि बढाउन सभापति लामिछानेले प्रस्ताव गरे ।


    त्यस्तै, सीमा–पार प्रारम्भिक चेतावनी तथा विपद् पूर्वसूचना प्रणाली विकास गर्न, हिमाली समुदायको जीवन, जीविकोपार्जन र सुरक्षित भविष्य संरक्षण गर्न तथा जलवायुजन्य हानि–नोक्सानी सम्बोधनका लागि अन्तरराष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्ने बताए । बाढीबाट भएको मृत्यु, बेपत्ता, विस्थापन तथा आर्थिक र गैरआर्थिक क्षतिको व्यवस्थित राष्ट्रिय ‘क्षति तथा हानि अभिलेख’ तयार गर्नुपर्नेमा जोड दिँदै उनले जलवायु परिवर्तनको भूमिकाबारे स्वतन्त्र वैज्ञानिक अध्ययन गराई त्यसैका आधारमा अन्तरराष्ट्रिय क्षति तथा हानिको दाबी गर्न पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।


    पुनर्निर्माणका नाममा नेपाली जनतामाथि थप ऋणको भार थोपर्न नहुने भन्दै उनले अनुदानमा आधारित अन्तरराष्ट्रिय जलवायु वित्त परिचालन गर्नेतर्फ नेपालको ध्यान जानुपर्ने उनले बताए । साथै, हिमताल, हिमनदी, वर्षा र नदीको वास्तविक समय निगरानी तथा सीमापार पूर्वसूचना र तथ्याङ्क आदानप्रदान प्रणालीलाई राष्ट्रिय प्राथमिकतामा राखी सोहीअनुसार अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । सभापति लामिछानेले अबको केही दिनमा हुने संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलले जलवायु सङ्कट र हिमालयको अवस्थाबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए ।

    उनले नेपालले अन्तरराष्ट्रिय मञ्चमा याचना गर्नेभन्दा तथ्य र प्रमाणसहित जलवायु न्यायको पक्षमा सशक्त एवं स्वाभिमानी कूटनीतिक पहल अघि बढाउनुपर्नेमा जोड दिए । विपत्तिबाट पाठ सिक्दै दीर्घकालीन कानुनी, वित्तीय तथा पूर्वतयारीको संरचना निर्माण गर्नुपर्नेमा उनको जोड थियो । प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले ‘हामीसँग एउटै विकल्प छ–आँसु पुछेर फेरि उभिनु’ भन्दै बाढीमा ज्यान गुमाएका तथा प्रभावित नागरिकको पीडालाई राष्ट्रिय शक्ति र उनीहरूको बलिदानलाई राष्ट्रिय सङ्कल्पमा बदल्नुपर्ने बताए ।


    यही भदौ १० गतेको बाढीपश्चात् सत्तारुढ दल रास्वपाका सभापति लामिछानेले संसद्मा समय लिएर प्राकृतिक विपत्तिको सामनाका लागि पहिलोपटक सम्बोधन गरेका थिए । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह, नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताको उपस्थिति थियो ।

  • राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण

    राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण

    काठमाडौँ, २४ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनालगायत कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा मुलुकको क्षमताले नभ्याए ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तरराष्ट्रिय समुदायको सहयोगसमेत लिन सुझाव दिए । उनले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको हानीनोक्सानीको क्षतिपूर्ति पाउनेगरी प्रधानमन्त्रीले अन्तरराष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्नेमा जोड दिए ।


    राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा बुधबार छुट्टाछुट्टै छलफल गरी सडक यातायात सञ्चालन एवम् बाढीपीडितको बसोबासका लागि ‘होल्डिङ सेन्टर’ व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गरेका हुन् । उनले बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।


    राष्ट्रपति पौडेलले बाढीप्रभावित क्षेत्रको जनजीवन सहज र सरल बनाउन तत्कालका कामलाई प्राथमिकता दिन आग्रह गरे । मन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी भए । भेटमा सरकारका तर्फबाट मन्त्रीहरूले दसैँअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने तथा बाढीप्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा (क्याप्सुल होम) निर्माण सकिनेगरी दिनरात काम भैरहेको जानकारी दिए । यसैगरी उनीहरुले वैकल्पिक सडक निर्माणलाई गति दिइएको र लामा बेलीबब्रिजहरूको लागि मित्रराष्ट्रहरूसँग आग्रह गरिसकिएको तथा आवश्यक सामग्रीहरू आउनेक्रममा रहेको जानकारी राष्ट्रपतिलाई गराए ।

  • टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग

    टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग

    काठमाडौँ, २४ भदौः नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग गरेको छ । टेलिकमले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

    टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) ले उक्त रकमको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरिन् । सो अवसरमा टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीलगायतको उपस्थिति थियो ।

    यसअघि कम्पनीका कर्मचारीका तर्फबाट रु दुई करोड दुई लाख २६ हजार ६६ को चेकसमेत अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो । टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढीपछि नै रु छ करोड बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको जनाएको छ ।

    टेलिकमले विगतदेखि नै बाढी, पहिरो, भूकम्प तथा कोभिड–१९ महामारीलगायतका विपद्का समयमा देश र नागरिकप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको कम्पनीका प्रवक्ता डा कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम गर्न तथा राहत, उद्धार र पुनःस्थापनाका कार्यमा सक्दो सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ ।

  • सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

    सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

    भक्तपुर, २४ भदौः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताबारे आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् । पार्टीको विवादका विषयमा सर्वोच्च अदालतले उनको पक्षलाई निस्सा दिएपछि देउवाको त्यस्तो विचार आएको हो । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले ११३ औँ बीपी जयन्तीको अवसरमा आज भक्तपुरमा आयोजना गरेको ‘बिपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस विषयक’ विचार गोष्ठीमा बोल्दै उनले सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे ।


    रसुवा भोटेकोशी बाढीमा परेकाको छिटो राहत र उद्धारमा सरकार लाग्नुपर्ने उनले बताए । कार्यक्रममा कांग्रेस नेताहरू शशाङ्क कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधी, डा। प्रकाशशरण महत, विनोद कायस्थ, सुरेन्द्र श्रेष्ठलगायत नेताहरूले कांग्रेसलाई एक ढिक्का बनाएर लैजानु पर्ने र त्यसका लागि विद्यानसम्मत नियमित महाधिवेशनमा जानुपर्ने बताए ।

  • सुनसान सौराहामा होटल : पर्यटक भन्दछन् विपदमा कसरी रमाउनु ?

    सुनसान सौराहामा होटल : पर्यटक भन्दछन् विपदमा कसरी रमाउनु ?


    चितवन, २४ भदौः पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ ।

    अध्यक्ष पाण्डे आफ्नो जस्तै अन्य होटलको पनि अवस्था उस्तै रहेको जानकारी दिन्छन् । नेपालमा सीमित भूभागबाहेक अन्य क्षेत्रमा बाढीको कुनै प्रभाव छैन । कृष्णभिरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक सडक सञ्चालनमा छन् । यद्यपि, पर्यटकहरूले धमाधम ‘बुकिङ’ रद्द गरिरहेका छन् । यस महिनाका बुकिङ सबै रद्द भएको उनी बताउँछन् ।

    भारतको गोरखपुरबाट १०० पर्यटकले सौराहाका लागि ‘बुकिङ’ गरेको कार्यक्रम स्थगन गरेका छन् । अध्यक्ष पाण्डले भने, “संवादका क्रममा पर्यटकले नेपालमा विपद परिरहेका समयमा आफूहरु त्यहाँ रमाउन नसक्ने जानकारी दिएका छन् । अन्तरराष्ट्रियस्तरमा अहिले नेपालमा बाढीपहिरोको जोखिम नभएको सन्देश प्रवाह गर्नुपर्छ । ”

    गत वर्षको यो समयमा जेनजी आन्दोलनसँगै सुस्ताएको पर्यटन यो वर्ष निकै राम्रो हुने अपेक्षा व्यवसायीले गरेका थिए । सौराहाको होटल भिष्टाका सञ्चालक रमेश सिलवाल भारतीय पर्यटक बढी आउने यो बेलामा बाटोका कारण समस्या भएको जानकारी दिए । बाढी आउँदाभन्दा सडक अवरुद्ध हुँदा बढी ‘बुकिङ’ रद्द भएको उनको भनाइ छ । उनले भने, “भोटेकोशीमा बाढी आउँदा केही रद्द भए पनि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बाँकी सबै बुकिङ रद्द भएको छ ।”

    मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधामलगायत धार्मिक क्षेत्रमा आउने भारतीय पर्यटकले ‘बुकिङ’ रद्द गर्दा यसको प्रत्यक्ष प्रभाव सौराहामा परेको जनाइएको छ । उनले भने, “अन्तरराष्ट्रियस्तरमा बाढीको प्रभाव सीमित ठाउँबाहेक अन्यत्र छैन भन्ने सन्देश दिनु सक्नुपर्छ ।”

    होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे विभिन्न देशहरूले नेपाललाई असुरक्षित सूचीमा राखेकाले विदेशी पर्यटकले ‘बुकिङ’ रद्द गरेको बताउँछन् । वर्षात्पछि अबका दिनहरूमा क्रमशः स्वदेशी र विदेशी पर्यटक आएर विगतमा सौराहा भरिने गरेको उनले स्मरण गरे । वर्षात्को समयमा पनि शनिबार र आइतबार बिदा हुँदा आन्तरिक पर्यटक आउने गरेकामा बाढी र त्यसपछिको सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटक पनि नआएको उनी बताउँछन् ।

    ‘सेप्टेम्बर’ र ‘अक्टोबर’ महिनाका लागि गरिएका अधिकांश बुकिङ रद्द भएको उनको भनाइ छ । ‘सेप्टेम्बर’ का सबै बुकिङ रद्द भएका छन् भने अवस्था सुध्रिएमा ‘अक्टोबर’ मा गरिएका केही बाँकी बुकिङ रद्द नहुने अपेक्षा उनको छ । त्यसपछिका महिनामा पूर्ववत् अवस्थामा पर्यटक आउने व्यवसायीले आशा गरेका छन् ।
    सौराहामा यतिबेला सरदर पाँच प्रतिशत पर्यटक भएको अनुमान छ । गत वर्ष यतिबेला २५ देखि ३० प्रतिशत पर्यटक हुने गरेका थिए । केन्द्रीय सदस्य घिमिरे अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताउँछन् । सरकारले विश्वका विभिन्न देशमा रहेका राजदूतहरूमार्फत नेपालको अहिलेको अवस्थाका बारेमा सम्बन्धित देशमा सूचना प्रवाह गर्न सकेमा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

    सौराहाको केसीज रेष्टुरेन्ट एन्ड होमका सञ्चालक नरेश गिरी चोकैमा रहेको आफ्नो रेष्टुरेन्ट र होटलसमेत सुनसान भएको जानकारी दिए । विगतमा रेष्टुरेन्ट भिडभाड हुने यो समयमा पर्यटक नआएको जनाउँदै उनले भएका ‘बुकिङ’समेत रद्द भएको बताए । ‘बुकिङ’ रद्द भएको अवस्था हेर्दा ‘नोभेम्बर’सम्म नकारात्मक देखिएको उनको भनाइ छ ।

    भोटेकोशी बाढीमा भारतीयसहित विदेशी पर्यटकसमेत परेका कारण अन्तरराष्ट्रिय जगत्मा नेपाल असुरक्षित छ भन्ने सन्देश पुगेको व्यवसायी गुनासो गरे । सीमित भूगोलामा बाढीको प्रभाव रहे पनि नेपालका अन्य भूभाग सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी छ । यसका बारेमा अन्तरराष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न नसक्दा पर्यटन क्षेत्रमा नकारात्मक असर परेको जनाइएको छ ।

    सौराहामा १२० भन्दा बढी होटल छन् । जहाँ पाँच हजारभन्दा बढी पर्यटकलाई एकैदिन राख्न सक्ने क्षमता छ । यहाँबाट काठमाडौँ दैनिक पर्यटक बस चल्ने गरेकामा पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो गएसँगै ती बस रोकिएका छन् । हवाई भाडा महँगो र उच्च चापका हुँदा पर्यटक सहजै आउने परिस्थिति छैन । मुख्य रूपमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक यहाँ बस्ने गर्दथे । यस्तै देशका विभिन्न भागबाट गोष्ठी, बैठक, सभा, सम्मेलन गर्न नेपाली यहाँ आउने गर्दछन् । नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा सौराहालाई लिने गरिन्छ । सफारी पर्यटनको हिसाबले यो पहिलो गन्तव्य हो ।

  • रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया


    सियोल, २४ भदौ (रासस–एएफपी) । उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ । टुमेन नदीमाथि बनेको पुल सोमबार उद्घाटन गरिएको हो । उत्तर कोरियाली अधिकारी पाक थाई सङले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्त्वपूर्ण घटना भएको बताए । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले पनि पुलले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने बताए ।


    सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि मस्को र प्योङयाङबीच सैन्य तथा आर्थिक सहकार्य तीव्र भएको छ । उत्तर कोरियाले सन् २०२४ मा रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेनाविरुद्ध लड्न हजारौँ सैनिक पठाएको थियो । दुवै देशले त्यही वर्ष पारस्परिक रक्षा सन्धि गरेका थिए ।

    दक्षिण कोरियाको केन्द्रीय बैंकले उत्तर कोरियाको अर्थतन्त्र सन् २०२५ मा लगातार तेस्रो वर्ष तीन प्रतिशतभन्दा बढीले बढेको र रुससँगको आर्थिक सहकार्य त्यसको प्रमुख कारणमध्ये एक रहेको जनाएको छ । यसैबीच, युक्रेनी अधिकार समूह ट्रुथ हाउन्डले नयाँ पुल उत्तर कोरियाली सेना तथा सैन्य अधिकारीलाई रुस पठाउने मार्ग बन्न सक्ने र रुसी प्रविधि तथा स्रोत उत्तर कोरिया भित्र्याउनसमेत प्रयोग हुन सक्ने चेतावनी दिएको छ ।

  • नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता

    नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता


    पेरिस, २४ भदौ (रासस–एएफपी) । भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार, भदौ ५ देखि १० सम्म करिब पाँच हजार २०० मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको थियो । यो तापक्रम असाधारण रूपमा उच्च मानिन्छ ।

    पचपन्न वर्षभन्दा लामो मौसमसम्बन्धी तथ्याङ्कअनुसार, यसअघि सोही अवधिमा तापक्रम कहिल्यै चार डिग्री सेल्सियसभन्दा माथि पुगेको थिएन । यद्यपि, उक्त उच्च तापक्रम र हिमनदी भत्किनुबीच प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन । क्यालिफोर्नियास्थित स्वतन्त्र अनुसन्धान संस्था बर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेले विभिन्न मौसमसम्बन्धी तथ्याङ्कको विश्लेषण गरी उक्त असाधारण तापक्रमको पुनर्निर्माण गरेका हुन् ।


    उनका अनुसार, हिमनदी भत्किएको क्षेत्रमा २०औँ शताब्दीको मध्यदेखि भदौ ५–१० को अवधिमा रेकर्ड गरिएको औसत तापक्रम करिब १.८ डिग्री सेल्सियसले बढेको देखिन्छ । जलवायु परिवर्तनका कारण थपिएको तापक्रमलाई अलग गर्ने हो भने, यस्तै तापक्रमको अवस्था केही हजार वर्षमा एकपटक मात्र हुने प्रकृतिको हुन सक्ने रोहडेले एएफपीका लागि गरेको गणनामा उल्लेख गरेका छन् ।
    युरोपेली सङ्घको कोपर्निकस जलवायु परिवर्तन सेवाबाट सन् १९७० यताका तथ्याङ्कको विश्लेषण गर्दा पनि लाङटाङ क्षेत्रमा उक्त घटना भएको समय रेकर्डमा रहेको चौथो सबैभन्दा तातो गर्मीको अवधिसँग मेल खाने देखिएको छ ।

    सम्भावित ‘टिपिङ पोइन्ट’
    फ्रान्सेली जलवायुविद् भ्यालेरी म्यासन–डेल्मोटेका अनुसार, असाधारण गर्मीले पर्माफ्रस्ट पग्लिनुका साथै चट्टानी ढलान र हिमनदीको संयुक्त पतनलाई सम्भावित रूपमा बढावा दिएको हुन सक्छ । पर्माफ्रस्टले बरफको ‘सिमेन्ट’जस्तै काम गर्दै चट्टानी संरचनालाई एकसाथ बाँधेर राख्छ । यसको पग्लाइले त्यस्ता संरचनालाई थप अस्थिर बनाउन सक्छ ।

    उपग्रहबाट प्राप्त तस्बिरले पनि घटना हुनुअघिका दिनमा उल्लेखनीय रूपमा हिउँ पग्लिएको देखाएका छन् । फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र (सीएनआरएस)का हिमनदीविद् एटिएन बर्थियरका अनुसार, यसबाट उत्पन्न तरल पानी पहाडका चिरामा प्रवेश गरी पहिरो वा ढलान भत्किन सहज बनाएको हुन सक्छ ।

    विज्ञले उच्च तापक्रमले हिमनदी वा पहाड भत्काउन प्रत्यक्ष रूपमा भूमिका खेलेको निष्कर्ष निकाल्न अझै हतार गर्न नहुने बताएका छन् । फ्रान्सको ग्रेनोबल आल्प्स विश्वविद्यालयकी भू–आकृतिविद् क्रिस्टन कुकले तापक्रम बढ्नु र पहाड भत्किनुलाई एउटै मान्न नमिल्ने बताइन् । “यदि तापक्रमले ट्रिगरका रूपमा काम गरेको हो भने, चट्टान पतनको निर्णायक बिन्दुमा नपुगेसम्म त्यसको प्रभाव देखिन नहुन सक्छ,” उनले एएफपीलाई भनिन् । ।

    अनुसन्धानकर्ताले अहिले हिमनदी भत्किनुअघिका वर्षमा पहाडमा देखिएका साना–साना गतिविधि तथा तापक्रममा आएको परिवर्तनबीचको सम्बन्धबारे अध्ययन गरिरहेका छन् । रोहडेका अनुसार, पग्लिएको पानी र पर्माफ्रस्ट पग्लिनुका कारण चट्टानको चिरा वा फ्र्याक्चर प्लेन आसपासको संरचना उल्लेखनीय रूपमा कमजोर भएको प्रमाणित हुनु जलवायु परिवर्तनको भूमिकाको बलियो प्रमाण हुन सक्छ । उनको तापक्रम विश्लेषणमा कोपर्निकस कार्यक्रमअन्तर्गतको जलवायु मोडेल तथा भत्किएको हिमनदीबाट ९ देखि १४० किलोमिटरको दूरीमा रहेका १४ वटा उच्च उचाइका मौसम केन्द्रबाट प्राप्त तथ्याङ्क प्रयोग गरिएको थियो ।

  • हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    पेरिस, २४ भदौ (रासस–एपी) । हिन्दू प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीको उपस्थिति सीमित गर्ने व्यवस्थापनको निर्देशनको विरोधमा भएको हड्तालपछि आइफेल टावर मङ्गलबार पुनः सञ्चालनमा आएको छ । कर्मचारीले उक्त निर्देशनलाई अस्वीकार्य भन्दै विरोध गरेका थिए । सिजिटी युनियनकी प्रतिनिधि डायन डेभोइनले एसोसिएटेड प्रेसलाई बताएअनुसार, सप्ताहन्तमा आइफेल टावरका कर्मचारीबीच व्यवस्थापनको निर्देशनलाई लिएर असन्तुष्टि बढेको थियो । व्यवस्थापनले करिब ३३० मिटर अग्लो टावरमा आउने बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बापस)को प्रतिनिधिमण्डलसँग महिला कर्मचारीलाई सम्पर्कमा नआउन निर्देशन दिएको उनको भनाइ छ ।

    बापस स्वामीनारायण सम्प्रदायअन्तर्गतको विश्वव्यापी धार्मिक तथा सामाजिक संस्था हो । संस्थाले फ्रान्सेली राजधानीमा परम्परागत हिन्दू ढाँचामा निर्माण गरिएको मन्दिरको उद्घाटनका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । मङ्गलबार एपीलाई पठाइएको लिखित विज्ञप्तिमा बापसले प्रतिनिधिमण्डलको भ्रमणका क्रममा कर्मचारी र अन्य आगन्तुकलाई हुने सम्भावित असुविधा कम गर्न आइफेल टावर व्यवस्थापनसँग समन्वय गरिएको जनाएको छ ।

    उक्त समन्वय लैङ्गिक आधारमा कुनै अनुरोध गर्ने उद्देश्यले नभएको संस्थाले स्पष्ट पारेको छ । “कुनै पनि अवस्थामा लैङ्गिक आधारमा अनुरोध गरिएको थिएन,” विज्ञप्तिमा भनिएको छ । बापसले आफू “लैङ्गिकता, पृष्ठभूमि वा धार्मिक आस्थाको पर्वाह नगरी समानता, पारस्परिक सम्मान र सबैको सेवाको सिद्धान्तप्रति दृढ प्रतिबद्ध,” रहेको जनाएको छ । संस्थाले यस घटनाबाट कसैलाई चोट वा असहजता पुगेको भए त्यसप्रति क्षमा मागेको छ ।

    आइफेल टावर सञ्चालन गर्ने कम्पनीले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । करिब १३७ वर्ष पुरानो आइफेल टावरमा हरेक वर्ष झन्डै ७० लाख पर्यटक पुग्ने गर्छन् । सिजिटीकी डेभोइनका अनुसार आइफेल टावरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विभिन्न राजपरिवारका सदस्य तथा ब्रिट्नी स्पियर्सजस्ता चर्चित व्यक्तिसहित विशेष प्रतिनिधिमण्डलको नियमित रूपमा स्वागत गर्दै आएको छ । कर्मचारी त्यस्ता भ्रमणका लागि आवश्यक व्यवस्थापन गर्न तयार रहने भए पनि शनिबार दिइएको निर्देशन असामान्य र अस्वीकार्य रहेको उनको भनाई छ ।


    पेरिसका मेयर इमानुएल ग्रेगोइरले सामाजिक सञ्जाल ‘एक्स’मा घटनाबारे अनुसन्धान गर्ने बताए । “हाम्रा ऐतिहासिक स्मारकको परिसरमा वा यस शहरका अन्य कुनै पनि स्थानमा लैङ्गिक समानता रोकिने छैन,” उनले भनेको छन् । उनले यो सिद्धान्त “सबैतिर र सबैका लागि, कुनै अपवादबिना” लागू हुने सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाए । औद्योगिक विवादका कारण आइफेल टावर बन्द भएको यो पहिलो घटना भने होइन । टावरको उचित मर्मतसम्भार र उच्च पारिश्रमिकको माग गर्दै कर्मचारीले गरेको हड्तालका कारण सन् २०२४ को फेब्रुअरीमा पनि आइफेल टावर छ दिनसम्म बन्द भएको थियो ।

  • भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

    रसुवा, २४ भदौः भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ । ‘सेटोप अष्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले वितरण गरेको सो जेनेरेटरबाट विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका जिवजिवे, बेताङ, स्वर्यु, लोकिल, राम्चे, बेत्रावती, भोर्ले, हाकु र माथिल्लो जिवजिवेलगायतका क्षेत्रका वासिन्दा लाभान्वित भएका छन् । स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, सञ्चार सम्पर्क कायम गर्न तथा आपत्कालीन सेवा सञ्चालनमा सहज भएको छ ।

    त्यसैगरी, आपत्कालीन उद्धार, राहत, पुनःस्थापना र प्रतिकार्यलाई व्यवस्थित बनाउन कालिका गाउँपालिका र उत्तरगया गाउँपालिकाका आश्रय स्थलमा पनि जेनेरेटर हस्तान्तरण गरिएको छ । बाढीका कारण सडक सम्पर्कसमेत विच्छेद भई बेत्रावती नजिकैको जङ्गल क्षेत्रमा पाल टाँगेर आश्रय लिइरहेका विस्थापित परिवारलाई पनि प्रत्यक्ष रूपमै पुगेर जेनेरेटर उपलब्ध गराइएको छ ।

  • यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, २४ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा बाँकी तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना पनि महाशाखाले जनाएको छ । तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

  • रसुवा बाढीले अवरुद्ध विद्युत् जोड्ने अभियान तीव्र

    रसुवा बाढीले अवरुद्ध विद्युत् जोड्ने अभियान तीव्र

    २४ भदौ, काठमाडौं । सरकारले रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन अभियानलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भदौ १० मा आएको विनाशकारी बाढीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोत साधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढाएको थियो । विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेका बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाइ विद्युतीकरणलाई तीव्रता दिएको हो ।

    यसैक्रममा मंगलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर १० र ११ मा विद्युत् सेवा पुनः सूचारु गरिएको छ । ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठकाअनुसार बाढी प्रभावित विदुर–१० र विदुर–११ मा पनि विद्युत् सेवा पुनःसुचारु भएको हो । यसैगरी बाढीले विद्युत् प्रभावित भएको तारकेश्वर–४ पनि सेवा पुनः सुरु भएको छ ।

    मन्त्री श्रेष्ठकाअनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतितश विद्युत् सेवा पुनःस्थापना भइसकेको छ । साथै, विद्युत् सेवा पुग्न नसकेका स्थानहरूमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत २ किलोवाट क्षमताका सोलार प्रणाली सामुदायिक आश्रयस्थलका लागि र घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली वितरण गर्ने कार्य पनि अघि बढाइएको मन्त्री श्रेष्ठले बताए । उनका अनुसार नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारीहरु बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि सक्रिय रूपमा निरन्तर खटिरहेका छन् ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, २४ भदौः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सो प्रतिवेदन पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।

    यस्तै, बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् । आज अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

  • बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

    बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन


    काठमाडौँ, २४ भदौः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका छन् । मङ्गलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) र विश्व बैङ्कले तयार पारेको विश्वव्यापी विपद्पश्चात् द्रुत क्षति अनुमान (ग्रेड) को छुट्टाछुट्टै प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्दै उनले आयोग र विश्व बैङ्कका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिएका हुन् ।


    “पुनर्निर्माण र पुनस्र्थापनालाई प्रभावकारी बनाउन बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन जरुरी छ,” अर्थमन्त्री वाग्लेले भने, “सरकारले ठीक निर्णय गर्न र लगानी जुटाउन आरडिएनए र ग्रेड यथार्थपरक र सत्यतामा आधारित भएर एउटा राष्ट्रिय डकुमेन्ट बन्नुपर्छ ।” योजना आयोगले बाढीले पु¥याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ । विश्व बैङ्कले भने क्षतिको प्रारम्भिक आकलन तयार पारेको छ ।

    सोही खाकाका प्रारम्भिक विवरणहरूलाई यकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न मङ्गलबार सरोकारवालाहरूसँग अर्थमन्त्री वाग्लेले छलफल गरेका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकरण भट्टसहित आयोगका उच्चपदस्थ अधिकारी सहभागी छलफलमा बाढीका कारण भौतिक सम्पत्तिमा पुगेको क्षतिको आरडिएनए गर्न चार फरक–फरक क्षेत्रमा छुट्याएर मूल्याङ्कन गरिएको जानकारी गराइयो । त्यसमा सामाजिक, उत्पादनमूलक, पूर्वाधार र अन्य क्षेत्रका रूपमा विभाजन गरिएको छ ।

    सामाजिक क्षेत्रअन्तर्गत निजी भवन र संरचना, सार्वजनिक, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका पूर्वाधारमा पुगेको क्षतिको अध्ययन नतिजा समावेश गरिएको छ । उत्पादनमूलक क्षेत्रअन्तर्गत कृषि, मत्स्य, पशुपन्छी, वित्तीय र आर्थिक गतिविधिको मूल्याङ्कन भइरहेको छ । जलविद्युत् आयोजना र प्रसारण लाइन, घरायसी हरित ऊर्जाको उपयोग, सडक, पुल, दूरसञ्चार, वातावरणीय स्वास्थ्य तथा सिँचाइ एवं नदी व्यवस्थापनको कार्यलाई पूर्वाधार क्षेत्रका रूपमा मूल्याङ्कन गरिएको छ ।

    बाढीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरको अवस्थालाई पनि चौथो क्षेत्र (अन्तरक्षेत्रीय विषयवस्तु) का रूपमा समावेश गरेर मूल्याङ्कन गरिएको छ । दुवै प्रतिवेदनलाई समेटेर सरकारले एक साझा आरडिएनए प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ । योजना आयोगले सहसचिव अर्जुन भण्डारीको नेतृत्वमा भौतिक पूर्वाधार मन्त्रालयसहितका सरोकारवाला मन्त्रालयका प्रतिनिधिलाई राखेर आरडिएनए प्रतिवेदन तयार गरिरहेको छ । सोही प्रतिवेदनका आधारमा सरकारले तत्कालीन राहतको व्यवस्थादेखि लगानीको स्रोत जुटाउने र पुनर्निर्माण तथा पुनस्र्थापनाको काम अघि बढाउनेछ ।

  • मुस्ताङ भन्सारः रसुवा बाढीयता ५६ करोड राजस्व सङ्कलन

    मुस्ताङ भन्सारः रसुवा बाढीयता ५६ करोड राजस्व सङ्कलन


    मुस्ताङ, २४ भदौः भोटेकोशीमा बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म रु ५६ करोड बढी राजस्व सङ्कलन भएको छ । रसुवा र तातोपानी नाका एकैसाथ बन्द हुँदा मुस्ताङ भन्सार कार्यालय मात्रै वैकल्पिक नाका बनेको छ । कोरलानाका हुँदै नेपाल प्रवेश गरेका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारी (इभी) को भन्सार जाँचपास भएको भन्सार प्रमुख विदुर चुुडालले जानकारी दिए ।

    दैनिक पन्ध्र वटासम्म विद्युतीय सवारी र १० वटा बढी मालवस्तु पैठारी गरिएका कन्टेनर कोरलानाकाबाट भित्रिएको छ । भन्सार प्रमुख चुडालका अनुसार चालु आवको साउनदेखि भदौ १० गतेसम्म १६३ विद्युतीय सवारी र १३३ वटा मालवस्तु बोकेको कन्नेटरको भन्सार जाँचपास गरिएको थियो । चालिस दिनमा रु ५२ करोड ८० लाख राजस्व सङ्कलन भएको थियो । सो भन्सार कार्यालयले हालसम्म रु एक अर्ब आठ करोड ८० लाख राजस्व सङ्कलन भएको छ । आव २०८२÷८३ मा मुस्ताङ भन्सारले रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो ।

  • सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    प्रगति ढकाल / रासस

    काठमाडौँ, २४ भदौः पछिल्लो एक वर्षको अवधिमा वन तथा वातावरण क्षेत्रमा नयाँ ढङ्गले नीति निर्माण तथा योजना कार्यान्वयन हुन थालेको छ । नीतिगत सुधारदेखि जलवायु वित्त परिचालन, वन व्यवस्थापन, डढेलो नियन्त्रण, वन्यजन्तु संरक्षण र सेवा प्रवाहमा प्रविधिको प्रयोगसम्मका कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीका अनुसार, नीतिगत एवम् कानुनी सुधारमा जोड दिइएको छ । जलवायु परिवर्तनसँग जुध्न अन्तरराष्ट्रिय सहयोग जुटाउने, वन व्यवस्थापन, वातावरण संरक्षण, वन्यजन्तु संरक्षण तथा सेवा प्रवाह सुधारका विभिन्न काम अगाडि बढाइएको जानकारी दिनुभयो । “वन तथा वातावरण क्षेत्रको सुधारका लागि यस अवधिमा वन तथा वातावरण क्षेत्रलाई परिणाममुखी बनाउने उद्देश्यले नीतिगत र संस्थागत सुधारका काम अघि बढाइएको छ,” उहाँले भन्नुभयो ।

    कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा महेश्वर ढकालले कृषि तथा पशुजन्य उत्पादनको मूल्य शृङ्खला, जलवायु अनुकूल कृषि, विपद् जोखिम व्यवस्थापन, महिला किसानको सशक्तीकरण तथा जलवायुजन्य हानि र नोक्सानी व्यवस्थापनलगायतका क्षेत्रमा प्राविधिक सहयोग विस्तारका लागि खाद्य तथा कृषि सङ्गठन (एफएओ) नेपालसमक्ष पेस गरिएको प्रस्ताव स्वीकृत भएको जानकारी दिनुभयो ।

    त्यस्तै, मन्त्रालय र कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) नेपालबीच १२ मिलियन अमेरिकी डलर बराबरको जलवायु उत्थानशील धान उत्पादन तथा उत्पादकत्व वृद्धि परियोजनासम्बन्धी सम्झौता भएको छ । उक्त परियोजना लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा कार्यान्वयन गरिनेछ ।

    विकास आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति तथा वन क्षेत्रको जग्गा प्रयोगसम्बन्धी प्रक्रिया सहज बनाउन केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ मार्फत वन ऐन, २०७६ संशोधन भई कार्यान्वयनमा छ । सहसचिव ढकालका अनुसार सेवा प्रवाहलाई चुस्त बनाउने तथा विकास निर्माणलाई सहज बनाउने उद्देश्यले वातावरण संरक्षण ऐन तथा नियमावली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा नियमावलीका मस्यौदा तयार भएका छन् ।

    कार्बन अभिलेख प्रणालीमार्फत कार्बन व्यापारलाई सहज मन्त्रालयले वन विनाश र वन क्षयीकरण न्यूनीकरण (रेड) कार्यक्रम कार्यान्वयन केन्द्रलाई परिमार्जन गरी कार्बन व्यवस्थापन तथा रेड फरेष्ट्री केन्द्र बनाएको छ । केन्द्रका प्रुमख नवराज पुडासैनीले कार्वन व्यापारलाई सहजीकरण हुने र निजी क्षेत्रलाई आकर्षण गर्ने गरी कार्बन नियमावली स्वीकृत भएको जानकारी दिनुभयो ।

    “कार्बन अभिलेख प्रणालीमार्फत कार्बन व्यापारलाई सहज बनाइएको र यसका लागि सम्बन्धित मन्त्रालय तथा निजी क्षेत्रलाई क्षमता विकासका कार्यक्रम सञ्चालन गरिएको छ,” उहाँले भन्नुभयो । सन् २०२१ देखि तराईका १३ जिल्ला (रौतहटदेखि कञ्चनपुरसम्म) सम्म नतिजामा आधारित ‘रेड प्लस’ कार्यक्रम कार्यान्वयन गरेको थियो । पहिलो चरण (सन् २०१८–२०२१ डिसेम्बर सम्म) मा १८ लाख ८८ हजार टन कार्बन उत्सर्जन कटौती गरी रु एक अर्ब ३४ करोड बराबरको कार्बन लाभ प्राप्त गरेको थियो । यस्तै, आगामी दिनमा एक हजार २०० सामुदाायिक वनले कार्बनको पैसा पाउने गरी कार्यक्रम स्वीकृत भएको छ ।

    प्रमुख पुडासैनीका अनुसार, निजी क्षेत्रका १० संस्था कार्बन व्यापारमा जान इच्छुक छन् । यस्तै, ३०३ गरिबमुखी कबुलियती वनलाई कार्बन व्यापारको प्रावधानमा जान स्वीकृत गरिएको छ । कार्बन व्यापारबाट नेपालले प्राप्त गर्ने रकम वन विकास, वन व्यवस्थापन तथा समुदायको जीविकोपार्जनमा प्रयोग गरिनेछ । त्यसका लागि बाँके, बारा, रुपन्देही र चितवनका चार डिभिजन वन कार्यालयमा कार्बनसम्बन्धी इकाइ गठन गरिएको छ ।

    ती कार्यालयका कार्बनसम्बन्धी सम्पर्क व्यक्ति तथा सामुदायिक वनका पदाधिकारीलाई वन विकास, व्यवस्थापन तथा समुदायको जीविकोपार्जन प्रवद्र्धनसम्बन्धी तालिम दिइएको छ । स्वदेशी काठ प्रवद्र्धन वन विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानका अनुसार एक वर्षको अवधिमा वन व्यवस्थापन मार्गदर्शनदेखि सरकारी भवन र सामुदायिक भवनमा अनिवार्य रुपमा स्वदेशी काठ प्रयोग गर्ने गरी मापदण्ड तय गरिएको छ ।

    उहाँका अनुसार सशस्त्र वनरक्षक नियमावलीको मस्यौदा तयार भई सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको छ । वन पैदावारको राजस्व पुनरालोकनका लागि छलफल सुरु भएको छ । वन डेढेलो व्यवस्थापन केन्द्र स्थापना भएको छ । फेवा संरक्षित जलाधार क्षेत्रको पुनःस्थापना, पहिरो व्यवस्थापन, पानीका मुहान संरक्षण तथा जलवायु परिवर्तनसँग अनुकूलनका लागि कार्ययोजना तयार भएको छ । आगामी आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालन गरिनेछ ।

    जलवायु वित्त परिचालनमा महत्वपूूर्ण उपलब्धि अन्तरराष्ट्रिय जलवायु वित्त परिचालनतर्फ पनि मन्त्रालयले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । मन्त्रालयका अनुसार हरित जलवायु कोष र अनुकूलन कोषमार्फत क्रमशः ८५ लाख र ५० लाख अमेरिकी डलर बराबरका दुई ठूला अनुदान आयोजना सुरक्षित भएका छन् । अनुकूलन कोषबाट नेपालमा कार्यान्वयन हुने जोखिममा रहेका समुदायको खाद्य प्रणाली उत्थानशील बनाउने आयोजनाका लागि १० मिलियन अमेरिकी डलर स्वीकृत भएको छ ।

    उक्त आयोजना विश्व खाद्य कार्यक्रमले कार्यान्वयन गर्नेछ । त्यस्तै, नेपाल र बंगलादेशमा कार्यान्वयन हुने जलस्रोत व्यवस्थापन तथा जलवायु उत्थानशीलतासम्बन्धी क्षेत्रीय आयोजनाका लागि १२ मिलियन अमेरिकी डलर स्वीकृत भएको छ । उक्त आयोजना विश्व मौसम सङ्गठनले कार्यान्वयन गर्नेछ । बागमती र मधेस प्रदेशमा स्थानीय तहमा जलवायु अनुकूलनका लागि पाँच मिलियन अमेरिकी डलरको आयोजना अवधारणापत्र स्वीकृत भएको छ ।

    उक्त आयोजनाको विस्तृत योजना तयार गर्न एक लाख ५० हजार अमेरिकी डलर स्वीकृत भएको छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजना मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेस गरिएको छ । जलवायु परिवर्तन नीतिलाई समयसापेक्ष बनाउने प्रक्रिया अगाडि बढाइएको छ । खडेरी व्यवस्थापन आयोजना अवधारणापत्र त्यस्तै, दक्षिण एसियामा खडेरी व्यवस्थापनसम्बन्धी कार्यक्रम अगाडि बढ्दैछ । सो कार्यक्रम बङ्गलादेश, भूटान, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्कामा कार्यान्वयन हुने छ ।

    सो कार्यक्रममा ३० मिलियन अमेरिकी डलर खर्च गरिनेछ । सो आयोजनाको अवधारणापत्र स्वीकृत भई विस्तृत आयोजना तयार गर्न ३९ हजार अमेरिकी डलर स्वीकृत भएको छ । वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि मधेस र लुम्बिनी प्रदेशका २२ जिल्लामा चार महिनाका लागि ११० जना अग्नि नियन्त्रक नियुक्त गरी परिचालन गरिएको छ । वन डढेलो रोकथाम तथा नियन्त्रणमा परिचालन हुने समुदाय र कर्मचारी गरी ४९९ जनाको वन डढेलो जीवन बिमा गरिएको छ ।

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि विशेष सवारीसाधन तथा बाँकेमा ट्याङ्कर र मोटरसहितको वन डढेलो नियन्त्रण ट्याक्टर सञ्चालनमा ल्याइएको छ । इआइएमा झन्झटिलो प्रावधानको अन्त्य यस्तै, पूर्वाधार तथा भौतिक विकाससम्बन्धी १० वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तथा पाँच वटा आयोजनाको कार्यसूची र सर्त स्वीकृत गरिएको छ ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार विभिन्न २६ वटा आयोजनाका लागि राष्ट्रिय वनको २७५ दशमलव २४ हेक्टर जग्गाको भोगाधिकार प्रदान गरिएको छ । सो वन क्षेत्रमा रहेका ३० हजार ५३२ वटा रूख तथा पोल हटाउन पनि अनुमति दिइएको छ । वन्यजन्तुको व्यावसायिक पालनसम्बन्धी आयोजना स्वीकृत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस अवधिमा वन्यजन्तुको व्यावसायिक पाालनका लागि दुई वटा आयोजना स्वीकृत गरेको छ ।

    लाङटाङको गत्लाङ क्षेत्रमा डढेलोबाट क्षति पुगेको वनमा ‘ड्रोन’मार्फत वृक्षरोपण गर्ने उद्देश्यले अवधारणापत्र स्वीकृत गरिएको छ । संरक्षित क्षेत्र कार्यालयबाट मानव–वन्यजन्तु द्वन्द्वका तीन हजार १७३ घटनाबाट प्रभावित परिवार तथा समुदायलाई रु चार करोड २७ लाख ८४ हजार ७४९ राहत वितरण गरिएको छ । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि विशेषज्ञको संयोजकत्वमा १५ सदस्यीय प्राविधिक समिति गठन गरिएको छ ।

    उक्त समितिले वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रममा सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि काम गर्नेछ । कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी गठित समिति (टास्क फोर्स) ले प्रतिवेदन बुझाएको छ । मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनका लागि प्रतिवेदनमा प्रस्तुत सुझावको अध्ययन गरी आवश्यक कदम चालिने बताउनुभएको छ ।

    राष्ट्रिय बाघ तथा सिकार प्रजाति सर्वेक्षण २०२६ अन्तर्गत बाघ तथा सिकार प्रजातिको क्यामेरा राखेर निगरानी गर्ने कार्य सम्पन्न भएको छ । सन् २०२२ मा ३५५ बाघ रहेकामा हाल बढेर ४२९ पुगेको छ । पारिस्थितिकीय पुनःस्थापना तथा वन्यजन्तुको बासस्थान सुधारका लागि १४ हजार बिरुवा रोपण गरिएको छ । मिचाहा प्रजातिबाट प्रभावित ३६ हेक्टर घाँसेमैदान पुनःस्थापना तथा चार वटा ठूला संरक्षण पोखरी निर्माण गरिएको छ ।

    यसबाट वन्यजन्तुका लागि पानीको स्थायी व्यवस्था हुनाका साथै स्थानीय रोजगारी सिर्जना भएको मन्त्रालयले जनाएको छ । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनअन्तर्गत १४१ वटा वन्यजन्तुको उद्धार तथा १०० वटा सिकारीबाट सुरक्षित राख्ने गोठ निर्माण गरिएको छ । सामुदायिक हात्ती सचेतना कार्यक्रम सञ्चालन गरिएको तथा मानव–बाँदर द्वन्द्वसम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी नीतिगत सुझाव दिइएको छ । प्रस्तावित बडिमालिका–रामारोशन वन संरक्षण क्षेत्रका लागि मस्यौदा प्रस्ताव तयार गर्ने प्रक्रियाका लागि आवश्यक सहजीकरण गरिएको छ ।

    उक्त क्षेत्रमा एसियाली विकास बैङ्कको सहयोगमा समुदायमा आधारित पर्यटन प्रवद्र्धन परियोजना सुरु भएको छ । पर्यटन तथा स्थानीय जीविकोपार्जनतर्फ अन्नपूर्ण संरक्षण क्षेत्रमा ७० प्रतिशत पर्यटक अनुमतिपत्र ‘अनलाइन’बाट उपलब्ध गराइएको छ । १६ किलोमिटर पदमार्ग मर्मत गरिएको तथा २४ मध्ये २३ वटा कार्यालयमा निगरानी क्यामेरा जडान गरिएको छ । मनास्लु तथा गौरीशङ्कर संरक्षण क्षेत्रमा ११ वटा पदमार्ग निर्माण तथा पुनःसंरचना गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गरिएको छ ।

    त्यस्तै, ८४ वटा नयाँ व्यवसायलाई अनुदान वितरण तथा हस्तकला र उत्पादनको बजार विस्तारसम्बन्धी तालिममार्फत स्थानीय आयआर्जनमा सहयोग पु¥याइएको छ । हाते प्रविधिबाट ३५ लाख थान ‘सन्चो’ उत्पादन जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले गण्डकीको छाङ्गोला वनको ०.८३ हेक्टरमा जडीबुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापनाका लागि स्थल सफाइ गरिएको जनाएको छ ।

    आगलागीबाट क्षति भए पनि हातबाट चलाउने प्रविधि प्रयोग गरी ३५ लाख थान ‘सन्चो’ उत्पादन गरिएको मन्त्रालयले जनाएको छ । यस अवधिमा रु एक करोड १९ लाख क्युबिक फिट काठ उत्पादन भई रु २४ करोड राजस्व रकम जम्मा भएको छ । वातावरण संरक्षण ऐन संशोधनको अन्तिम तयारी वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वातावरण संरक्षण ऐन २०७६ संशोधनको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

    सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रणका लागि थानकोट, चितवनलगायत विभिन्न स्थानमा छड्के अनुगमन तथा नियमित परीक्षण गरिएको थियो । कूल ३१७ वटा सवारी साधन परीक्षण गर्दा ९२ वटा अर्थात् २९ प्रतिशत तोकिएको मापदण्डअनुरूप नभएको पाइएको र कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

    यसैगरी, औद्योगिक भट्टीबाट निष्कासन हुने धुवाँ तथा चिम्नीको उचाइ, वायु गुणस्तर, इँटा उद्योगबाट निस्कने धुवाँ तथा चिम्नीको उचाइ, उद्योगमा जडान भएका ब्वाइलरबाट निस्कने धुवाँ तथा चिम्नीको उचाइ र सिमेन्ट उद्योगबाट निस्कने धुलो, धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी मापदण्ड, २०८२ नेपाल राजपत्रमा प्रकाशित भएका छन् । सुवेदीका अनुसार हाल कायम रहेका ३० वटा वायु प्रदूषण मापन केन्द्र बढाएर ५६ पु¥याउने, काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना परिमार्जन गरी कार्यन्वयन हुन लागेको छ ।

    यस्तै, वायु गुणस्तरको राष्ट्रिय कार्याजना तय हुँदैछ । जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले ‘औद्योगिक प्रतिष्ठानबाट निष्कासन गरिने फोहोर पानीसम्बन्धी मापदण्ड, २०८३’ को मस्यौदा तयार भएको सुवेदीले जानकारी दिनुभयो । यसैगरी, सीमापार प्रदूषणबारे अध्ययन भइरहेको उहाँको भनाइ छ । भोटेकोशी बाढीपछि जलवायु न्यायको बहस कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले पारेको प्रभावबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएको छ ।

    उहाँले गत साता तिमोर–लेस्तेको डिलीमा आयोजना भएको अति कम विकसित देशको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएको जानकारी गराउनुभएको थियो । मन्त्री चौधरीले नेपालले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित अति कम विकसित मुलुकलाई जलवायु न्यायका लागि एकजुट भएर आवाज उठाउन आह्वान गर्नुभएको थियो । आगामी नोभेम्बर ९ देखि २० सम्म टर्किएमा आयोजना भएको राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालले भोटेकोशी बाढीको उदाहरण दिँदै उच्च जोखिममा रहेका, पर्वतीय क्षेत्र भएका र कम विकसित देशले सोझै अनुदान सहयोग पाउनुपर्नेमा जोड दिने तयारी गरेको छ ।

  • विस्फोटक पदार्थसहित एक पक्राउ

    विस्फोटक पदार्थसहित एक पक्राउ


    काठमाडौँ, २४ भदौः अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका) सहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुजन कपाली रहेका छन् । काठमाडौँ महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटाका लुकाईछिपाई राखेर बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उक्त स्थानमा पुगेर जाँच गरेको थियो ।

    जाँचका क्रममा प्रहरीले कपालीलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ (पटाका) बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार बरामद पटाका अवैध रूपमा भण्डारण तथा बिक्री वितरण गर्ने उद्देश्यले राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका कपालीविरुद्ध प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता

    किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता


    गण्डकी, २४ भदौः कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि घटेपछि पहिरो खसेर थुनिएको हुनसक्ने आशङ्कामा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । स्थानीय प्रशासनले किम्रुङ र मोदी खोला किनारका बासिन्दालाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन सार्वजनिक रूपमा आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार मोदी खोला किनारका डिमुवा, अमबोटलगायत बस्तीमा माइकिङ गरी स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले स्थानीयवासीबाट पहिरोले खोला थुनिएको भन्ने खबर आएपछि तटीय क्षेत्रमा सतर्कता बढाइएको बताए । “खोला थुनिएको खबर आएपछि उच्च सतर्कता अपनाइएको छ, सुरक्षित स्थानमा रहन सबैलाई सूचित गरिएको छ”, उनले भने ।

  • भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

    काठमाडौँ, २३ भदौः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको जनाएको छ । फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्गसमेत भेटिएका छन् । प्राधिकरणका अनुसार हालसम्म १०२ शवको सनाखत भई परिवारले बुझिसकेका छन् । बाढीपछि करिब पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्कविहीनमध्ये रसुवाका दुई हजार ८६०, नुवाकोटका एक हजार ९८१ नेपाली र करिब ५८७ विदेशी पर्यटक रहेको प्राधिकरणले जनाकारी दिएको छ ।

    प्राधिकरणको प्रवक्ता शान्ति महतले हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको र बाढीबाट घाइते भएका छ हजार ८२७ जनाको उपचार गरिएको जानकारी दिइन् । “तीमध्ये विभिन्न दश अस्पतालमा ३२७, नेपाली सेनामार्फत तीन हजार ४०४ र सशस्त्र प्रहरी बलमार्फत तीन हजार ९६ जनाको उपचार गरिएको छ”, उनले भनिन् ।


    प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बलका चार हजार २०३ गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन् । प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरी तीन हजार ५३३ जनालाई राखिएको प्राधिकरणले जनाएको छ । तीमध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका छन् ।

    उद्धार तथा राहतका लागि नेपाली सेनाले एक हजार १५७ पटक, काठमाडौँबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरी बलले २०३ पटक हेलिकप्टर उडान गरेका छन् । सरकारले रसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा रु ५० लाख नगद राहत उपलब्ध गराएको छ । प्रभावित १५ पालिकालाई रु १३ करोड ५० लाख राहत उपलब्ध गराइएको छ ।

    प्रभावित क्षेत्रमा डिजेल ५० हजार लिटर, पेट्रोल १८ हजार लिटर र हवाई इन्धन १८ हजार लिटर मौज्दात रहेको छ भने ४५७ ग्यास सिलिन्डर अनुदानमा उपलब्ध गराइएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार विद्युत् आपूर्तितर्फ रसुवाका ७८ प्रतिशत, नुवाकोटका ९६ दशमलव ७ प्रतिशत र धादिङका ९९ दशमलव ८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भएको छ । बाढी प्रभावितका लागि स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी जनशक्ति परिचालन गरी मनोसामाजिक परामर्श सेवा प्रदान भइरहेको प्राधिकरणले जनाएको छ ।

  • ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

    ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ


    काठमाडौँ, २३ भदौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रका विभिन्न होटल तथा गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास र शङकास्पद गतिविधि गरिरहेको पाइएकाले प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए ।


    प्रहरीका अनुसार पक्राउ पर्नेमा बङ्गलादेशको गाजीपुर, पुलिस स्टेशन गदबपुर घर भई ठमेल बस्ने ४६ वर्षीय फहिमा अक्तार हसन, ४८ वर्षीय महामुद, ४५ वर्षीय महबूब हसन, ४९ वर्षीय रेपोन मेहमूद, ३० वर्षीय एमडी–केरामोत अलीखान, ३० वर्षीय साहिदुर रहमान, ५० वर्षीय एमडी खलिलुर रहमान, २८ वर्षीय आरिफुर रहमान, ४२ वर्षीय एमडी मारुफ मृधा र ६४ वर्षीय मोहम्मद हनिफ मियाँ छन् ।

    प्रहरीले उनीहरूलाई होटल ढाका एक्सप्रेस, होटल डि भेढा र होटल अलरहमानलगायतका स्थानबाट नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।

  • प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

    प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब


    काठमाडौँ, २३ भदौः प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो ।

    अहिले नौ वटा वाणिज्य बैङ्कमा रु आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ । राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    यसैगरी, हिमालयन बैङ्क लिमिटेड र लक्ष्मी सनराइज बैङ्क लिमिटेडमा रहेको डलर खातामा रु दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ ।

  • देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री

    देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री

    काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन् । जेनजी शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले भनेका छन्, “प्रिय जिनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।” प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । सरकारले आज जेनजी दीवसका अवसरमा मुलुकभर सार्वजनिक बिदा दिएको छ।

  • बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण जारी

    बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण जारी


    भक्तपुर, २३ भदौ ः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढीबाट प्रभावित क्षेत्रलाई जोड्न तुइन, बेलिब्रिज र झोलुङ्गे पुल निर्माण गरिएको बताएका छन् । विपद्पछि प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारको उपस्थितिबारे जानकारी दिन आज भक्तपुरको जगातीमा आयोजित पत्रकार साक्षात्कारमा उहाँले नदी वारपार गर्न एवं खाद्यान्न र औषधी लैजान प्रदेश सरकारले तुइन जडान गरेको बताए । उनले सङ्घ र प्रदेश सरकारले बुलिब्रिज निर्माण सुरु गरेको र प्रदेश सरकारले झोलुङ्गे पुल निर्माणका लागि प्रारम्भिक कार्य सुरु गरिसकेको जानकारी दिए ।


    कृष्णभीरमा गएको पहिरो पछि वैकल्पिक सडकका रूपमा प्रदेश सरकारले भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडक खण्ड आजदेखि सञ्चालनमा ल्याएको बताउँदै उनले हेटौंडा–काठमाडौँ सडकमा पनि पहिरो जाने क्षेत्रमा डोजरले पहिरो पन्छाउने र जाम खुलाउने काम भइरहेको बताए । यही भदौ १० गते रसुवामा बाढी गएलगत्तै प्रदेश सरकारले स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापामगरको भनाइ छ ।

    उनका अनुसार विपद्का कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका १५ वटा स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । रसुवाका गोसाईंकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका बाढीबाट बढी प्रभावित भएको छ । तीमध्ये गोसाईंकुण्ड र उत्तरगयामा स्वास्थ्य चौकी, अस्पताल, पालिका भवनका साथै जनप्रतिनिधि तथा सर्वसाधारण ज्यान जाने गरी ठूलो क्षति भएको उनको भनाइ छ।

    नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी, किस्पाङ र तारकेश्वर तथा धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा पनि क्षति पुगेको जानकारी दिँदै मुख्यमन्त्री थापामगरले बाढी पहिरोका कारण ७ हजारभन्दा बढी मानिस प्रभावित भएको बताए । अन्य कुनै अप्रिय घट्ना नहोस् भनेर अहिले बाढी प्रभावित क्षेत्रमा १६ जना मनोपरामर्शदाता परिचालन गरेको र आवश्यकताअनुसार महामारी फैलिन नदिन औषधि पुर्‍याउने काम भएको उनले जानकारी दिए । घरबारविहीन भएका र आफन्त गुमाएका पीडितहरूका लागि तत्काल चार वटा सेल्टर (अस्थायी बासस्थान) निर्माण गरी गाँस र बासको व्यवस्था गरिएको बताउँदै अहिले राहतको अभाव नभएको र प्रदेश सरकारले वैकल्पिक सडक खुलाउने कार्य गरिरहेको उनले बताए ।


    मुख्यमन्त्री थापामगरले अलपत्र नागरिकका लागि चारवटा होल्डिङ सेन्टर सञ्चालन गरी खाना तथा आवश्यक सामग्रीको व्यवस्था गरिएको जानकारी दिए । उनले भने, “रसुवा र नुवाकोटलाई रु एक एक करोड तथा धादिङ र चितवनलाई रु ५०–५० लाख राहत उपलब्ध गराउने निर्णयअनुसार व्यवस्थापन गरेका छौँ, शव व्यवस्थापन, डीएनए परीक्षण, स्वास्थ्य सेवा तथा १६ मनोपरामर्शदाता परिचालन गरिएको छ ।”

    प्रदेश सरकारले बाढीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सदगद्का लागि प्रतिशव रु २५ हजारका दरले सहयोग उपलब्ध गराएको बताउँदै मुख्यमन्त्री थापामगरले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म शिक्षा तथा आवश्यकताअनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताए । उनका अुनसार अवरुद्ध सडकहरू सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिनहरू परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको छ । प्रदेश विपत् व्यवस्थापन कोषबाट विपत् प्रभावित जिल्लाहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।

  • पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या


    काठमाडौँ, २३ भदौः कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ । पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका क्षेत्रमा जाने पर्यटक बस सोही राजमार्ग भएर आवतजावत गर्ने गरेकोमा विगत १४ दिनदेखि काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीमा रोकिएका छन् ।

    पर्यटक बस एसोसियसन अफ नेपाल (टिवान) का अध्यक्ष भीष्मप्रसाद न्यौपाने कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस आवतजावतमा समस्या परेको बताउँछन् । “राजधानी प्रवेश गर्ने प्रमुख राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस सञ्चालन हुन सकेका छैनन्, यसको प्रत्यक्ष मार पर्यटक र हामी व्यवसायीमा परेको छ”, अध्यक्ष न्यौपाने भन्छन् ।


    चितवन–हेटौँडा–फर्पिङ हुँदै साना पर्यटक बस फाट्टफुट्ट सञ्चालन भए पनि ठूला सवारीसाधन भने लामो समयदेखि रोकिएकाले पर्यटक व्यवसायी तथा मजदुर मर्कामा परेका छन् । “पर्यटक बस ठूला छन्, सानो बाटोमा सञ्चालन गर्दा घुम्ती पुग्दैन, त्यसैले सञ्चालन गर्न पाएका छैनौ”, उनी भन्छन्। राजमार्ग अवरुद्ध भएर पर्यटक बसलगायतका सार्वजनिक सवारीसाधन आवागमनमा प्रभावित भइरहेका बेला हवाई यात्रुको चाप बढेको छ । कृष्णभीरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौँ आउने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । तर वर्षायाममा सडकको अवस्था असहज रहेकाले यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेका छन् ।

    पृथ्वी राजमार्ग बन्द हुँदा चितवनको भरतपुर र कास्कीको पोखरा विमानस्थलबाट हवाई यात्रुको चाप बढेको छ । काठमाडौँबाट पोखराका लागि दैनिक छ उडान भर्दै आएको यती एयरलाइन्सले पृथ्वी राजमार्ग अवरुद्ध भएर यात्रुको चाप बढेसँगै दैनिक उडान सङ्ख्या थप गरेको छ ।

    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला कृष्णभीरको पहिरोका कारण बाटो अवरुद्ध हुँदा अधिकाशं यात्रुको रोजाई हवाइजहाज भएको बताउँछन् । “भोटेकोशी बाढी अगाडिको तुलनामा त्यसपछिको दिनमा हवाइजहाजमार्फत काठमाडौँबाट पोखरा जाने यात्रुको सङ्ख्यामा ५० प्रतिशत बढेको छ”, प्रवक्ता बर्तौला भन्छन् ।
    यती एयरलाइन्सले बाढी अगाडि दैनिक पोखरा छ उडान भर्दै आएकोमा त्यसपछि भने उडानको सङ्ख्या दैनिक १० बनाएको प्रवक्ता बर्तौला बताउँछन् । हवाइजहाजमार्फत चितवनको भरतपुरबाट काठमाडौँ आउने तथा काठमाडौँबाट भरतपुर जाने यात्रुको सङ्ख्यासमेत बढेको छ । भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरका जहाज सञ्चालन हुँदै आएका छन् ।

    बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै उडान सङ्ख्या दोब्बर बनाइएको छ । हाल काठमाडौँबाट भरतपुर दैनिक ९ देखि ११ उडान हुँदै आएका छन् । भरतपुरमा चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट समेत यात्रु आउने गरेका छन् । बाढीले क्षति पुर्याएको कृष्णभीर सडकखण्डमा भने नयाँ ट्रयाक खोल्ने काम तीव्र गतिमा भइरहेको छ । मलेखु–मुग्लिङ सडकखण्डका सहायक आवासीय इञ्जिनियर अशोक देवकोटा दिनरात नभनी नयाँ ट्रयाक खन्ने काम भइरहेको बताउँछन् ।

    “हामीले दिनरात नभनी नयाँ बाटो खोल्ने काम गरिरहेका छौँ, नयाँ बाटो चाँडै नै सञ्चालनमा ल्याउने तयारी छ”, उनी भन्छन् । उक्त राजमार्ग नखुल्दा यात्रुले चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ । नियमित मार्ग सञ्चालनमा नआउँदा यात्रुले लामो यात्रा, बढेको भाडा र वैकल्पिक मार्गको जोखिम र थप सास्ती खेप्नुपरेको छ ।

  • हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ

    हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ


    ललितपुर, २३ भदौ । गृहमन्त्री सुधन गुरुङले हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा आफू रहेकाले पदको घमण्ड र स्वार्थ नभएको दावि गरेका छन् । जेनजी सहिदको सम्मान र जिम्मेवारी बहन गर्दै जनताका सपना साकार पार्न आफू राजनीतिक नेतृत्वमा आएको उनको भनाइ छ। विसं २०८२ भदौ २३ गते भएको जेनजी आन्दोलनका सहिद विनोद महर्जनको सालिक अनावरण कार्यक्रममा आज उनले नेपाल बन्छ भन्ने सपना र आशा पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताए ।

    “हामी शहिदका मात्रै हैन सम्पूर्ण नेपालीको सपना साकार पार्ने अभियानमा छौँ”, उनले भने, “म सरकारमा पद र सत्ता उपभोग गर्न नभई नेपाली जनताको सेवा गर्न आएको हुँ । गृहमन्त्रीको कुर्सीलाई पदभन्दा बढी जिम्मेवारीका रूपमा लिएको छु, सहिदको सपना र नेपाली जनताको अपेक्षा पूरा गर्न अन्तिम साससम्म काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

    मन्त्री गुरुङले जेनजी सहिदको शवलाई पशुपतिको आर्यघाटमा काँध थाप्दाको क्षण सम्झिँदै आफू राजनीतिमा आउन इच्छुक नभए पनि सहिदको सपना पूरा गर्ने र परिवार तथा देशप्रतिको जिम्मेवारीका कारण राजनीतिमा आउन बाध्य भएको धारणा राखे । उनले भ्रष्टाचार र सत्ताको मोहमा रहेका राजनीतिज्ञप्रति पनि आलोचना गरे । सबै राजनीतिज्ञ खराब नभएको उल्लेख गर्दै उनले असल नेताबाट सिक्न र सत्ताको लोभ त्याग्न आग्रह गरे । सरकार भनेको नागरिक दुःखमा पर्दा कुर्सीमा बसेर भाषण मात्र गर्ने नभई विपत्तिको समयमा आफैँ घटनास्थलमा पुग्नुपर्ने बताए ।


    “तपाईंको दुःख मेरो नै दुःख हो भनेर आफैँ फिल्डमा कुद्ने सरकार जनताले खोजेको हो”, गृहमन्त्रीले भने । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विपत्तिका समयमा गरेको उद्धार तथा सेवाको उच्च प्रशंसा गर्दै सुरक्षाकर्मीको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको बताए । पूर्वमन्त्री एवं ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य जगदीश खरेलले सालिकले विनोद महर्जनको सम्झना गर्ने र सत्कर्म गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै सहिदलाई अमर बनाउने गरी काम गर्ने धारणा राखे । उनले जेनजी आन्दोलनपश्चात् बनेको सरकारमा प्रतिनिधित्व गरेर सकारात्मक काम गरेको जानकारी गराउँदै सिद्धान्त, आचरण र व्यवहारमा राजनीतिक इमानदारी देखाउनुपर्नेमा जोड दिए ।


    प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले सरकारले सधैँभरि जनताको सेवक बनेर काम गर्ने विश्वास व्यक्त गरे । ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जनले सहिद विनोद महर्जनले पुर्‍याएको योगदानको सम्मान व्यक्त गर्दै सहिदका नाममा ललितपुर महानगरपालिकाभित्र हुने काममा रचनात्मक सहयोग गर्न तत्पर रहेको धारणा राखे ।


    सहिद विनोद महर्जनका दाजु काजीरत्न महर्जनले सहिद विनोद महर्जनको सालिक निर्माण गर्न सहयोग पुर्‍याउने स्थानीय समाजसेवी प्रेमकृष्ण महर्जन र वडा नं.७ का अध्यक्ष कुलबहादुर महर्जनले पुर्‍याएको उल्लेखनीय सहयोगको स्मरण गर्दै सबैमा धन्यवाद व्यक्त गरे । टोल सुधार समितिका अध्यक्ष बाबुराजा महर्जनले देशको नागरिकको अधिकार, सम्मान र अधिकारका लागि जीवन आहुति दिने सहिदको सालिक अनावरण गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरे ।

  • इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

    इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु


    लेबनान, २३ भदौ (रासस–एएफपी) । लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित ११ जनाको मृत्यु भएको छ । यसअघि भएका छुट्टाछुट्टै आक्रमणमा थप सात जनाको मृत्यु भएको जनाइएको छ । इजरायलले बिहीबार हिजबुल्लाहको नियन्त्रणमा रहेको रणनीतिक महत्वको ‘अली अल–ताहेर’ पहाडी क्षेत्र कब्जामा लिएको दाबी गरेपछि दक्षिणी नबातिह क्षेत्रमा आक्रमण तीव्र पारेको हो । इरानसमर्थित हिजबुल्लाहले भने उक्त दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन ।

    इरानको समर्थनमा रहेको हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि मार्चमा लेबनानमा पुनः द्वन्द्व चर्किएको थियो । जुनमा वासिङ्टन र तेहरानबीच भएको समझदारी तथा सोही महिनाको अन्त्यतिर इजरायल र लेबनानबीच भएको रूपरेखा सम्झौतापछि लडाइँ केही मत्थर भएको थियो । तर इजरायलको विदेश मन्त्रालयले सोमबार हिजबुल्लाहले बारम्बार ड्रोन आक्रमण गरेको र दक्षिण लेबनानमा आफ्नो सैन्य क्षमता पुनःनिर्माण गर्ने प्रयास गरेको आरोप लगाएको छ ।

    मन्त्रालयले हिजबुल्लाहले इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताको उल्लङ्घन गरेको बताएको छ । उक्त सम्झौतामा हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने प्रावधानसमेत समावेश छ । लेबनानको आधिकारिक नेसनल न्युज एजेन्सी (एनएनए)का अनुसार, नबातिह नजिकैको फार रुम्मानमा रातभर भएको आक्रमणमा तीनतले आवासीय भवन ध्वस्त हुँदा नौ जनाको मृत्यु भएको थियो ।

    आक्रमणमा लक्षित एउटा गाडीमा रहेका दुई उद्धारकर्मीको पनि मृत्यु भएको एनएनएले जनाएको छ । एएफपीका एक फोटोग्राफरका अनुसार भवन पूर्ण रूपमा ध्वस्त भएको थियो भने भग्नावशेषमा विद्यालयका किताब र फर्निचरका टुक्रा छरिएका थिए । सोमबार बिहान उद्धार टोलीहरूले भग्नावशेष हटाउँदै अन्य पीडितको खोजी गरिरहेका थिए । द्वन्द्वका कारण विस्थापित भएका फार रुम्मानका बासिन्दा जुनमा भएको युद्धविरामपछि घर फर्किएका थिए । “यहाँ फर्किएदेखि नै हामी डरको वातावरणमा बाँचिरहेका छौँ”, स्थानीय बासिन्दा फुवाद चाकारोनले एएफपीलाई बताए ।

    उनका अनुसार आक्रमणमा परेको भवनमा “कसैसँग कुनै सम्बन्ध नभएका शान्तिप्रिय मानिसहरू” बस्दै आएका थिए । आक्रमणपछि छिमेकीहरू घर छाडेर भागेका थिए । एएफपीका फोटोग्राफरका अनुसार विस्फोटका कारण आसपासका अन्य भवनमा समेत क्षति पुगेको थियो । इजरायलले फार रुम्मानमा आक्रमण गर्नुअघि कुनै चेतावनी जारी नगरेको जनाइएको छ । तर नजिकैको देइर जाहरानीमा भएको अर्को आक्रमणअघि भने बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको थियो ।

    इजरायली सेनाका अनुसार उसका सैनिकलाई लक्षित गरी विस्फोटक बोकेको ड्रोन प्रहार गरिएको थियो । सेनाले “हिजबुल्लाहको आतङ्कवादी गतिविधिले इजरायली रक्षा बल (आईडीएफ)लाई उनीहरूविरुद्ध कडा कदम चाल्न बाध्य पारेको” बताएको छ । घटनामा कुनै इजरायली सैनिक घाइते भए वा नभएकोबारे भने सेनाले जानकारी दिएको छैन। सेनाले अरबी भाषामा जारी गरेको सन्देशमा आफूले हिजबुल्लाहको आतङ्कवादी अखडा लक्षित गरिरहेको भन्दै उक्त क्षेत्रमा रहेका मानिसहरू जोखिममा रहेको चेतावनी दिएको थियो ।

    एनएनएका अनुसार चेतावनी जारी भएको २२ मिनेटपछि इजरायली आक्रमणमा देइर जाहरानीस्थित एउटा भवन ध्वस्त भएको थियो । आइतबार लेबनानका राष्ट्रपति जोसेफ आउनले इजरायली आक्रमण रोक्न सहयोग गर्न अमेरिका र अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेका थिए । बेरुतका अनुसार मार्चदेखि लेबनानमा भएका इजरायली हवाई तथा स्थल आक्रमणमा चार हजार ३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । इजरायली सेनाले सीमा क्षेत्रमा लेबनानभित्र करिब १० किलोमिटर (६ माइल) सम्म फैलिएको आफ्नो स्वघोषित सुरक्षा क्षेत्रमा कारबाही जारी राखेको छ ।

  • भेडागोठमा लालबिरका सात दशक

    भेडागोठमा लालबिरका सात दशक


    म्याग्दी, २३ भदौः शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घँुडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा र किशोर अवस्थाको तुलनामा कम छैन् । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरखोला क्षेत्रमा यही भदौ दोस्रो साता भेटिएका लालबिरलाई खर्कबाट चरन क्षेत्रमा हिँडेका भेडाबाख्राको बथानलाई पछ्याउन फुर्सद थिएन ।

    “जिजुका पालादेखि सुरु भएको भेडापालन मसम्म आउँदा चार पुस्ता भएको छ,” अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका लालबिरले भने, “छ वर्षको उमेरदेखि बस्न थालेको भेडागोठ अझै छोडेको छैन ।” हाल एक सय ६० वटा भेडाबाख्रा पालेका लालबिर हिउँदको चिसो छल्न घुम्ती गोठ लिएर बेँसीमा र गर्मीमा पोषिलो घाँस पाइने अन्नपूर्ण र बराहशिखर हिमालको फेदीमा रहेको खयरखोला क्षेत्रको बुकीमा पुग्छन् ।


    बुढ्यौली बढ्न थालेपछि भतिज टेकजित तिलिजासँग लालबिरले संयुक्त गोठ बनाएका छन् । खयरखोला र नौलोबन क्षेत्रमा पाउद्धारका तीन वटा भेडागोठ छन् । त्यहाँ करिब दुई हजार भेडा बाख्रा छन् । जेठमा लेक उक्लिएका गोठालाहरुलाई हप्ता दश दिनमा गाउँबाट आफन्तहरुले खाद्यान्न पु¥याइदिन्छन् ।

    “घरव्यवहार चलाउने र छोराछोरी पाल्ने, पढाउने आम्दानीको स्रोतनै भेडापालन हो,” लालबिरले भने, “भेडाबाख्रा बेचेरै नौ जना छोराछोरीलाई हुर्काए र पढाए ।” सहरबजारको विलाशी जीवनभन्दा स्वच्छ हावापानीमा गोठालो बस्न लालबिरलाई रमाइलो लाग्छ । दौतरीहरु भारतीय र बेलायती गोर्खा सैनिकमा भर्ती हुन गए पनि आफू वनपाखामा रमाएको उनले भने ।


    विदेशमा रहेका छोराछोरीको साथमा भेडाबाख्रा बेचेर भएको कमाइबाट पोखरामा घडेरी किनेर घर पनि बनाएको लालबिरले सुनाए । “छोराछोरीले भनेपछि एक वर्ष पोखरा गएर बस्दा कुज्जिएको जस्तो भएपछि फेरी बेचेको भेडा फर्काएर लेकबेँसी गर्न थालेको छु,” उनले भने, “शरिर र स्वास्थ्यले साथ दिदाँसम्म भेडाबाख्रासँगै बिताउने मेरो योजना छ ।”

    उहाँसँगै कुनै समय पाँच सयभन्दा भेडाबाख्रा थिए । बार्षिक ५० वटासम्म भेडाका साँड, खसी र बोका बिक्री हुन्छ । जनै पूर्णिमा पर्वमा खयरभारानी तालमा लाग्ने मेलामा भाकल पूरा भएका भक्तजनले बली चढाउन गोठबाटै साँढे र बोका किनेर लैजान्छन् । एक वटा साडको मूल्य रु २० देखि ३५ हजारसम्म पर्छ । दसँैतिहार, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, भूमे पूजाजस्ता चाडपर्वमा पनि मासुका लागि साँढे तथा खसीबोका बिक्री हुन्छ ।

    सूचना प्रविधिको विकासले गर्दा पहिलेजस्तो महिनाँैसम्म आफन्तसँग सम्पर्कविहीन हुनुपर्ने अवस्था छैन । मनोरञ्जनका लागि रेडियो सुन्ने, मोबाइल बजाउने गर्छन् । उज्यालोका लागि घुम्ती सोलार प्यानल गोठमा राखेका छन् । चितुवा र ब्वाँसोबाट भेडाबाख्रा बचाउनका लागि भोटे जातका कुकुर पालेका छन् । एउटा गोठमा न्यूनतम तीन वटा कुकुर पालेका छन् ।

    लेकाली क्षेत्रमा विषालु घाँस पलाउन र हिउँदमा बेँसीका चरन क्षेत्रमा घाँसको अभाव मुख्य चुनौती रहेको लालबिरले बताउनुभयो । तापक्रम वृद्धिका कारण बिषालु घाँस उम्रिन थालेको र बेँसीमा चरनको अभाव हुन थालेको लालबिरको अनुभव छ । वन्यजन्तुको आक्रमण र गोठाला बस्ने जनशक्ति पाइन छाड्नु पनि भेडापालनलगायत घुम्तीगोठमा गरिने पशुपालनका लागि चुनौती बनेको छ ।

  • खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छः कतार

    खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छः कतार


    आबुधाबी, २३ भदौ (रासस–एएफपी) । खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा अन्य अन्तरराष्ट्रिय गठबन्धनमा मात्र निर्भर रहन नसक्ने र सुरक्षा क्षेत्रमा अझ बढी आत्मनिर्भर बन्नुपर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा आयोजित ‘हिली फोरम’ मा बोल्दै प्रवक्ता माजिद अल–अन्सारीले खाडी क्षेत्रमा अन्तरराष्ट्रिय सेनाको उपस्थिति र अमेरिकासँगको रणनीतिक गठबन्धन महत्वपूर्ण भए पनि त्यसले मात्र क्षेत्रको सुरक्षा सुनिश्चित गर्न नसक्ने बताए ।


    “हामीलाई हाम्रा साझेदार र सहयोगीहरूको आवश्यकता छ । तर आफ्नो सुरक्षाका लागि हामी उनीहरूमा मात्र निर्भर रहन सक्दैनौँ”, उनले भने। उनका अनुसार सुरक्षा क्षेत्रमा आत्मनिर्भरता नै अघि बढ्ने मुख्य बाटो हो । कतार अमेरिका–इरान द्वन्द्वमा प्रमुख मध्यस्थकर्ताका रूपमा सक्रिय रहँदै आएको छ । यस क्रममा उसले आफ्ना ऊर्जा पूर्वाधारलाई लक्षित गरी इरानबाट भएका आक्रमणसमेत सामना गरेको छ ।


    सानो तर धनी ग्यास उत्पादक राष्ट्र कतारले मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य आधारमध्ये एकलाई आश्रय दिँदै आएको छ । द्वन्द्वका क्रममा इरानले अमेरिकी आक्रमणको जवाफमा अमेरिकी सैन्य आधार तथा क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरेको छ ।

    छ महिनादेखिको द्वन्द्वपछि अमेरिका र इरान गतिरोधमा पुगेका छन् । इरानले रणनीतिक महत्वको हर्मुज जलसन्धिमा जहाज आवतजावतमा अवरोध पु¥याइरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथि नाकाबन्दीको दबाब बढाइरहेको छ । गत महिना मध्यस्थता प्रयासस्वरूप कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी तेहरान पुगेका थिए । त्यसअघि हर्मुज जलसन्धिसँग सीमा जोडिएका इरान र ओमानले अस्थायी समुद्री मार्ग ९सिपिङ करिडोर० सञ्चालन तथा जलसन्धिमा रहेका बारुदी सुरुङ हटाउने विषयमा छलफल गरिरहेको बताएका थिए ।