Category: फिचर

  • कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

    कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा


    कर्णाली, २२ भदौः यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ । स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन् । अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ । तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन् ।

    जुम्लाबाट छुटेपश्चात् एकदुई दिनमा सुर्खेत नेपालगन्ज पुग्ने लक्ष्य राखेर हिँडेका गाडी पहिरोका कारण सडकमै अलपत्र परेपछि स्याउ कुहिने हो कि भन्ने चिन्ताले उनीहरूलाई पिरोलेको छ । स्याउ व्यापारी मक्कर शाहीले शनिबारदेखि राजमार्गका विभिन्न ठाउँमा आएको पहिरो, ढुङ्गा र लेदोले सडक अवरुद्ध भएपछि अलपत्र परेको दुःखेसो व्यक्त गरे ।


    स्वदेशमै केही कमाउने आशा राखेर गरेको व्यवसाय बाटोकै कारण घाटा व्यहोर्नुपर्ने बाध्यता आइलागेको उनले जनाए । “सडक कहिले खुल्ने हो थाहा छैन”, उनले भने, “अझै तीनचार दिनपछि मात्र बाटो खुल्छ भन्छन् । त्यतिञ्जेलसम्म स्याउ कुहिएर जाने हो कि भन्ने डर लागिरहेको छ ।” वर्षा, बाढी र पहिरोका कारण गत वर्ष करिब रु १० लाखको घाटा भएको स्याउ व्यापारी हस्तबहादुर रावतले दुःखेसो पोखे । उनका अनुसार भरपर्दो सडक नहुन्जेलसम्म व्यापारीका समस्या समाधान नहुने र यस वर्ष पनि घाटा व्यहोर्नुपर्ने अवस्था आइलागेको छ । क्षति हुँदा केही राहत दिने व्यवस्था राज्यका तर्फबाट हुनुपर्ने उनको भनाइ छ ।

    कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मनसुनजन्य विपद्का कारण व्यापारीले धेरै ठूलो समस्या भोग्नुपरेको बताए । उनले भने, “यस वर्ष १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएकामा अहिलेसम्म ५० प्रतिशत निर्यात भइसकेको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा दर्जनाँै स्याउ बोेकेका गाडी अगाडि बढ्न नसक्नु व्यापारीको मात्र होइन, सिङ्गो जुम्लाले पनि क्षति व्यहोर्नुपर्ने अवस्था आइलागेको छ ।”

    सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले शनिबार राति ७ः०० बजेदेखि कर्णाली राजमार्गको गगने खोलामा गएको पहिरोको कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबार कालीकोटको पिलीमा तथा एस मोडमा पहिरो तथा ढुङ्गा आउँदा सडकमा ठूलो क्षति पुगेको उनले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ५ः०० बजेदेखि सडक खुलाउन कार्यालयबाट मेसिन तथा प्राविधिक टोली परिचालित गरिएको छ ।

    उनले भने, “लेदो, ढुङ्गा र चट्टानसहितको पहिरोले राजमार्गका विभिन्न स्थानमा ठूलो क्षति भएको छ । हाल राजमार्गको अवस्था जोखिमपूर्ण तथा पूर्ण रूपले अवरुद्ध भएकाले आधिकारिक सूचना जारी नभएसम्म यस सडकखण्डमा यात्रा नगर्न यात्रु तथा सर्वसाधरणमा अनुरोध गरेका छौँ ।” र्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च हुने भएकाले यात्रा गर्दा विशेष सावधानी र सुरक्षा अपनाउन आग्रह गरिएको कार्यालय प्रमुख महताराले बताए । अवरुद्ध सडक सञ्चालन गराउन उच्च प्राथमिकताका साथ निरन्तरता दिइए पनि आवागमन सहज हुन तीन दिनसम्म लाग्ने कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कालीकोटमा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट, मुगु र हुम्लादेखि सुर्खेततर्फ आउँदै गरेका सवारीसाधन रोकिएका छन् । सुर्खेतबाट माथिल्लो कर्णाली हिँडेका सवारीसाधन दैलेखको राकम, खिड्कीज्यूला र दही खोलालगायतका क्षेत्रमा रोकिएका छन् । सडक अवरुद्ध भएकै कारण माथिल्लो कर्णालीबाट आएका स्याउका गाडी तीन दिनदेखि सडकमा थन्किएका छन् । यसले व्यापारीलाई मर्का पर्नुका साथै यात्रुलाई सास्ती भएको प्रहरीले जनाएको छ ।

  • झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने

    झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने

    म्याग्दी, २२ भदौः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फेदीमा रहेको भुवानेस्थित रमेश रावलको जग्गा दशकअघिसम्म झाडीले भरिएको थियो । बाँदरको समस्याले खेती गर्न छाडेपछि बाँझिएको जमिनमा रावल परिवारले कृषि फार्म र होटल सञ्चालन गरेपछि चहलपहल बढेको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा १२ वर्षसम्म होटल व्यवसाय गरेका रमेश कोभिड–१९ को महामारीपछि जन्मथलो फर्किनुभयो । व्यवसाय प्रभावित भएपछि २०७७ सालमा परिवारसहित गाउँ फर्किएका रावलले सडक छेउमै रहेको पुख्र्यौली जग्गाको झाडी फाँडेर नयाँ व्यवसाय सुरु गर्ने योजना बनाए ।


    “पहिले खेती हुने जमिन हो । बाँदरको समस्या बढेपछि खेती गर्न छाडियो र विस्तारै झाडीले ढाक्यो”, रावलले भने, “गाउँ फर्किएपछि यही जमिनलाई उपयोग गरेर केही गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि होटल र कृषि फार्म सुरु गरेका हौँ ।”

    अहिले १४ रोपनी क्षेत्रफलमा कटेज शैलीमा होटल सञ्चालनमा छ । घरबास शैलीमा सञ्चालित होटलमा एकपटकमा २५ जनासम्म पाहुना बस्न सक्ने क्षमता छ । होटलमा बाहिरबाट सामग्री ल्याउनेभन्दा आफ्नै कृषि फार्ममा उत्पादन भएका वस्तुलाई प्राथमिकता दिइएको छ । फार्ममा उत्पादन भएको कुखुरा, खसीको मासु, भैँसीको दूध र ताजा तरकारी होटलमा प्रयोग हुने गरेको छ ।

    बागलुङ–बेनी सडकमा पर्ने भुवानेमा बालबालिकाका लागि खेल्ने तथा रमाउने, वनभोज र क्याम्प फायरका लागि आवश्यक स्थान छ । रमेशलाई काठमाडौँमा उच्च शिक्षा अध्ययन पूरा गरेका छोरा सुलभले गाउँ फर्किएर साथ दिएका छन् । रोजगारीका लागि युवा विदेशिने क्रम बढिरहेका बेला गाउँमै व्यवसाय गर्ने निर्णय लिनुभएका सुलभले कृषि र पर्यटनलाई जोडेर व्यवसाय विस्तार गर्ने योजना बनाएका छन् । “कृषि उत्पादनमात्रै गर्नेभन्दा त्यसलाई पर्यटनसँग जोड्न सकियो भने थप सम्भावना हुन्छ”, उनले भने, “आगामी दिनमा फार्मलाई एग्रो टुरिजमको अवधारणाअनुसार व्यवस्थित गर्दै लैजाने योजना छ ।”

    कृषि उत्पादन, ग्रामीण वातावरण र आतिथ्य सेवालाई एकैठाउँमा जोडेर भुवानेलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने रावल परिवारको लक्ष्य छ । होटल र कृषि फार्ममा आठ जनाले रोजगारी पाएका छन् । भुवानेको पृष्ठभूमिमा धवलागिरि हिमालको दृश्य देखिन्छ । नजिकै कालीगण्डकी नदी बगिरहेको छ । हिउँदयाममा रत्नेचौरका खेतबारीमा फुल्ने पहेँलो तोरी हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । श्रीलक्ष्मीहरि मन्दिर तथा रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने लामो झोलुङ्गे पुल पनि यहाँका थप आकर्षण हुन् ।

    भुवानेमा रावल होटलसँगै चिता हाउस होटल तथा रेष्टुरेन्ट पनि सञ्चालनमा छ । भारतीय सेनाबाट निवृत्त हरि खत्रीले सञ्चालन गर्नुभएको चिता हाउसले पनि यस क्षेत्रमा होटल तथा पर्यटन गतिविधि बढाउन योगदान पुर्याएको छ । दशकअघिसम्म झाडीले ढाकिएको भुवानेमा अहिले दुई होटल सञ्चालनमा आएपछि मानिसको आवागमन बढेको छ ।

    होटल व्यवसायले स्थानीयस्तरमा रोजगारीको अवसर सृजना गर्नुका साथै आसपासका किसानले उत्पादन गरेका कृषि उपजका लागि बजारसमेत विस्तार गरेको स्थानीय अगुवा ओम रोकाले बताए । “बाँदरको समस्याका कारण खेती गर्न छाडिएको र झाडीले ढाकिएको पुख्र्यौली जमिनलाई पुनः उपयोगमा ल्याएर रावल परिवारले कृषि, आतिथ्य र पर्यटनलाई एउटै व्यवसायमा जोडेको छ”, उनले भने, “यसले गाउँमा बाँझिँदै गएको जमिनलाई उत्पादनसँग जोड्न सकिने र स्थानीयस्तरमै रोजगारी तथा उद्यमका अवसर सृजना गर्न सकिने सम्भावना पनि देखाएको छ ।”

  • भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

    भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव


    काठमाडौँ, २२ भदौः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ । सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनस्र्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधार पुनःसञ्चालनलगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको हो ।

    पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा आइतबार बसेको बैठकले बाढीबाट प्रभावित क्षेत्रमा देखिएका समस्या तथा उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका चुनौतीबारे छलफल गरेको थियो । बैठकले राहत, सुरक्षित आवास योजना, जोखिम मूल्याङ्कन, राष्ट्रिय जलवायु तथा विपद् कोष स्थापना, पूर्वसूचना प्रणालीको विकास, द्रुत प्रतिकार्य टोली गठन, अन्तरराष्ट्रिय जलवायु न्यायलगायतका विषय समेटेर २४ बुँदे प्रस्ताव पारित गरेको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी

    केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी


    रुपन्देही, २२ भदौः भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त केनाइन ९कुकुर० टोलीलाई परिचालन गरेको छ । बाढी, पहिरो तथा भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजीमा विशेष तालिमप्राप्त कुकुरको प्रयोग प्रभावकारी बन्दै गएको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, चितवनलगायतका स्थानमा प्रहरीले केनाइन टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको जनाएको छ ।

    रसुवामा जर्मन सेफर्ड ‘जम्बो’ र बेल्जियन सेफर्ड ‘रक्की’, नुवाकोटमा ल्याब्राडोर ‘लियो’ र ‘कालु’ तथा चितवनमा जर्मन सेफर्ड ‘दिप्सी’लाई खोजीकार्यमा परिचालन गरिएको छ । प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले भग्नावशेष, माटो तथा हिलोमा पुरिएका मानिसको गन्ध पत्ता लगाउन केनाइनको प्रयोग प्रभावकारी हुने बताए । “केनाइनको प्रयोगबाट छोटो समयमा ठूलो स्थानमा खोजी गर्न सकिने भएकाले विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई थप छिटो र प्रभावकारी बनाउन सहयोग पुग्छ”, उनले भने, “उद्धारकर्मी तथा उपकरण पुग्न कठिन हुने स्थानमा विशेष तालिमप्राप्त कुकुरको प्रयोग अझ प्रभावकारी हुन्छ ।”

    प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले विपद्का बेला हराइरहेका व्यक्तिको खोजीमा प्रविधिसँगै तालिमप्राप्त जनशक्ति र केनाइनको संयोजनले थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । उनका अनुसार बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको भौगोलिक अवस्था, माटोको गहिराइ, पानी, हिलो तथा भग्नावशेषको अवस्थाले खोजीकार्यमा चुनौती सृजना गरे पनि उपलब्ध स्रोतसाधनको अधिकतम् प्रयोग गरिएको छ ।

    नेपाल प्रहरी केनाइन कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण बस्नेतका अनुसार लगातार खोजी गर्दा कुकुरको क्षमतामा असर पर्न सक्ने भएकाले निश्चित समय काम गराएपछि विश्राम दिने गरिएको छ । “केनाइनलाई सामान्यतः करिब ३० मिनेट खोजीकार्यमा लगाएपछि १५ देखि २० मिनेटसम्म विश्राम दिने गरिन्छ”, उनले भने, “दलदले हिलो, रातको समयमा अपर्याप्त प्रकाश तथा ठूलो क्षेत्रफलमा खोजी गर्नुपर्ने अवस्थाले चुनौती थप्ने गरेको छ ।”

    नेपाल प्रहरी केनाइन कार्यालयबाट खटिएको टोलीले रसुवाको टिमुरे, घट्टेखोलालगायतका क्षेत्रमा खोजी तथा उद्धार गरेको थियो । उक्त टोलीले टिमुरेबाट दुई शव तथा एक शारीरिक अङ्ग फेलापारेको थियो । त्यसैगरी, नुवाकोटको विदुर, अर्चले, शान्तिबजार, मैलुङ हाइड्रोपावर, ढुङ्गे, देवीघाट, बेत्रावती, भैँसे, बट्टारलगायतका क्षेत्रमा पनि केनाइनसहितको टोली परिचालन गरिएको थियो । मैलुङ हाइड्रोपावरको कर्मचारी आवासबाट शारीरिक अङ्ग तथा बट्टारस्थित सोलार हाउसबाट हत्केलाको भाग फेलापरेको प्रहरीले जनाएको छ ।

    केनाइन शाखाबाट खटिएको टोलीले नारायणी पुल आसपास, देवघाट तथा दमौली–गोलघाट क्षेत्रमा समेत खोजी गरेको थियो । सो टोलीले दमौली–गोलघाट क्षेत्रबाट दुई शव फेला पारेको थियो । भौगोलिक जटिलता तथा प्रतिकूल मौसमका कारण केनाइनको प्रयोगमा समेत चुनौती रहने गरेको प्रहरीको भनाइ छ । अत्यधिक गहिरो वा बाक्लो माटोमा गन्ध पहिचान गर्न कठिन हुने तथा हावा, पानी, तापक्रम र वातावरणीय प्रदूषणले समेत कुकुरको गन्ध पहिचान क्षमतामा असर पार्न सक्छ ।

    भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले केनाइनसहितका जनशक्ति परिचालन गरी खोजीकार्यलाई निरन्तरता दिइरहेको प्रहरी प्रधान कार्यालयको समाचार कक्षले जनाएको छ ।

  • दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह

    दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह


    खोटाङ, २२ भदौः दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । भवन निर्माणका लागि २०७७ असार ३० गते ठेक्का सम्झौता गरिएको थियो । कुल २७ कोठे चारतले प्रशासनिक कार्यालय भवन सात वर्षपछि सम्पन्न भएसँगै गाउँपालिकाको सम्पूर्ण सेवा आइतबारदेखि आफ्नै प्रशासनिक कार्यालय भवनबाट सुरु गरिएको हो ।

    प्रशासनिक भवनका लागि २०८० साल असार २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी रविना–अविसासँग सम्झौता गरिएको थियो । निर्धारित समयभन्दा करिब छ वर्ष दुई महिनापछि भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी मुकेश गेलालले जानकारी दिए । प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सुरु गरिएको प्रशासनिक भवनका लागि गाउँपालिकाले रु चार करोड ९५ लाख ९७ हजार ७१५ लागत अनुमान गरेको थियो । ठेकेदार कम्पनीले भने मूल्य अभिवृद्धि करसहित रु तीन करोड ७५ लाख ४९ हजार ३३२ मा निर्माण सम्पन्न गरेको हो ।

    गाउँपालिकाको नवनिर्मित प्रशासनिक कार्यालय भवन आइतबार गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र उपाध्यक्ष अरुणा थापामगरले औपचारिक उद्घाटन गर्दै सेवा प्रवाहको शुभारम्भ गर्नुभयो । भवन उद्घाटन तथा प्रशासनिक सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष राईले ढिलै भए पनि गाउँपालिकाको आफ्नै प्रशासनिक कार्यालय भवनबाट जनतालाई सेवा प्रवाह गर्न पाउँदा खुसी लागेको बताए ।


    गाउँपालिकाको नवनिर्मित भवनका लागि आवश्यक फर्निचर ठेकेदार कम्पनीमार्फत खरिद गरिएको छ । फर्निचर खरिदका लागि रु ९३ लाख ६२ हजार २१० मा इन्द्रलक्ष्मी कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो । विसं २०८० भदौ ३१ गते सम्झौता गरिएको सो काम २०८१ जेठ २० गतेभित्र सम्पन्न गर्नुपर्ने थियो ।

    फर्निचर खरिदमा रु ६४ लाख ३३ हजार ५५५ खर्च भएको गाउँपालिकाका सूचना अधिकारी गेलालले जानकारी दिए । गाउँपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले सात रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । वडा नं ५ याङ्सोलाटार निवासी होमप्रसाद राई, हर्कराज राई, भविन्द्र राई र इन्द्रप्रकाश राईले आफ्नो नामको जग्गा गाउँपालिकाको नाममा निःशुल्क पास गरिदिएका थिए ।

    स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गामा अस्थायी टहरा निर्माण गरेर सञ्चालन गरिएको गाउँपालिकाको प्रशासनिक भवन सुविधासम्पन्न भवनमा सारिएसँगै सेवा प्रवाहमा सहज भएको छ । तत्कालीन गाउँपालिका अध्यक्ष एवं प्रदेशसभा सदस्य भूपेन्द्र राई नेतृत्वको जनप्रतिनिधिले प्रशासनिक भवन निर्माणको काम सुरु गरेको हो ।

  • नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

    नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

    त्रिशूली (नुवाकोट), २२ भदौः भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ । शनिबार विदुर नगरपालिका–१० स्थित वेत्रावतीमा ६४ वर्षीया महिलालाई ११ दिनपछि सकुशल उद्धार गरिएको थियो । सोही समयमा विदुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहनुभएका नुवाकोट–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा विक्रम तिमिल्सिनाले अझै केही दिन सुक्ष्म रूपमा खोज तथा उद्धारलाई जारी राख्न निर्देशन दिए ।


    बाढी आएको ११ दिनपछि बेत्रावतीबाट गरिएको उद्धार उदाहरणीय बनेको थियो । अझै थप सफलता प्राप्त गर्न सकिने आशासहित केही दिन खोज तथा उद्धारलाई तीव्र बनाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको तालिमप्राप्त कुकुरसहित जिल्लाका विभिन्न ३० स्थानमा केन्द्रित भई बाढीमा परेर हराइरहेकाको खोजतलास गरिएको छ । सो क्रममा आइतबार विदुर–१ त्रिशूली बजारमा दुई र वडा नं ३ सिर्खालीमा थप एक गरेर तीनवटा शव फेलापरेको छ ।

    “आवश्यक परेमा नेपाली सेनाको सहयोग रहनेगरी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई उपलब्ध स्रोतसाधन प्रयोग गरेर बाढीबाट क्षतिग्रस्त भएकादेखि पुरिएका घरका प्रत्येक कोठा र कुना–काप्चासम्म पुगेर खोज उद्धारलाई तीव्र बनाउन थालेका छौँ”, उनले भने, “उद्धारमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीय बासिन्दालाई अनुरोध गर्दछौँ ।”

    जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कअनुसार भोटेकोशी बाढीमा परेर बेपत्ता हुनेको सङ्ख्या नुवाकोटमा मात्रै दुई हजार ६७३ जना छन् । स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको हुँदा हराउनेको सङ्ख्या थप बढ्न सक्छ । बाढीले जिल्लाको विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका प्रत्यक्ष प्रभावित भएको छ ।

    जिल्लाको मुख्य बस्ती रहेका क्षेत्र वेत्रावती, भैसेँ, तुप्चे, त्रिशूली, ढुङ्गे, देवीघाटलगायत बगरमा परिणत भएको छ । ठूलो जनधनको क्षति भएको छ । बाढीले धेरैको घर पुरिएको तथा बगाएर अर्को स्थानमा पुर्याएकाले हराइरहेका व्यक्तिको जीवन बचाउन सकिने आशाका साथ संयुक्त सुरक्षा फौजले खोज, उद्धारलाई तीव्र पारेको हो ।

  • त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी

    त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी


    कमलकुमार बस्नेत/रासस

    नुवाकोट, २१ भदौः सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) का प्रहरी निरीक्षक पप्पु यादवलाई यही भदौ १० गते बिहान ९ः२६ बजे प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतको फोन आयो, “त्रिशूलीमा ठूलो बाढी आउँदै छ, कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्नु र आफू पनि सुरक्षित हुनु ।” रसुवाको भोटेकोशी नदीमा आएको बाढीसम्बन्धी त्यो सूचना आउँदा प्रहरी निरीक्षक यादव नियमित काममै थिए ।

    सशस्त्र प्रहरी बलका तर्फबाट कारागारको नेतृत्व उनले नै गरिरहेका थिए । नेपाल प्रहरीको नेतृत्व भने प्रहरी नायब निरीक्षक श्रीकृष्ण सुवेदीले गरिरहेका थिए ।
    उक्त सूचनापछि दुवै निकायका ५२ सुरक्षाकर्मीमा ‘हाइ अलर्ट’ जारी भयो । कारागारको ब्लक एक र दुईमा रहेका ५०५ कैदीबन्दीलाई तत्कालै कारागार क्षेत्रभित्र नै सुरक्षित एसेम्बली प्वाइन्टमा ल्याइयो ।

    “हामीले कैदीबन्दीलाई जसै एसेम्बलीमा ल्यायौँ, नदी किनारभन्दा अन्दाजी १०० मिटर टाढाको कारागार भवनमा बाढीको पहिलो धक्का लाग्यो”, सशस्त्र प्रहरी बलका इन्चार्ज प्रहरी नायब निरीक्षक यादवले भने । उनका अनुसार बाढी आइसकेपछि कैदीबन्दीमा थप त्रास फैलियो, उनीहरु पनि तितरबितर हुन थाले ।

    नेपाल प्रहरीका कारागार इन्चार्ज सुवेदीका अनुसार कारागारका कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्ने कार्यसँगै सोही भवनमा रहेको हातहतियार पनि पनि सुरक्षित गर्न थालिएको थियो । उनले भने, “यत्तिकैमा बाढी आयो, कैदीबन्दी, हातहतियार र आफूबाहेक अरु जोगाउन पाएनौँ ।”

    हिलो र ग्रेग्यानसहितको बाढी कारागारसम्म आइपुग्नुभन्दा अगाडि करिब डेढ किलोमिटर माथिको २५ मेगावाटको नुवाकोट सौर्य परियोजनामा प्रहार गरिसकेको थियो । कारागारको हाइपोस्टबाट त्यो भयानक दृश्य नियालिरहेका सुरक्षाकर्मी अताल्लिए । त्यो खबर कारागारमा फैलन समय लागेन । त्यो दृश्य देखिरहेका केही सुरक्षाकर्मीलाई बाढीले कुन तहको प्रलय ल्याइरहेको छ भन्ने बुझ्न कठिन भएन । बाढी कारागारमा प्रवेश गर्नुअघि छेवैको कारागारको प्रशासनिक भवन प्रवेश ग¥र्यो । त्यसपछि प्रहरीको प्रशासनिक भवन हुँदै कारागारको कैदीबन्दी भवनलाई बाढीले धक्का दियो ।

    “कारागारको भवनमा ठूलो क्षति हुन पाएन, त्यसको एउटा कारण छ, कारागारभन्दा बाहिरका दुई वटा पेरिमिटर पर्खाल”, इन्चार्ज यादवले भने, “यदि बाढी कारागारको भवनमा सिधै ठोक्किएको भए ठूलो जनधनको क्षति हुने थियो, तर प्रशासनिक भवन र नेपाल प्रहरीको भवन हुँदै दुई वटा पेरिमिटर पर्खालमा ठोक्किँदा त्यसको गति कम भयो, यसले क्षति कम गरायो ।”

    उनका अनुसार बाढीका कारण दुई वटा पेरिमिटर पर्खालको केही हिस्सा भत्किएर कारागारको ब्लक १ र २ मा पानी पसेको छ । दुई वटा पेरिमिटर पर्खालबीचको दूरी करिब दुई मिटर छ । बाढीले एक एक गरी दुईवटै ती पर्खाल भत्काएर कारागार भवनसम्म ठोक्किँदा सायद त्यसको गति निकै कम भइसकेको थियो । त्यसैले कारागार भवन र परिसरमा भेल पसे पनि ठूलो नोक्सानी छैन ।

    बाढीबाट कैदीबन्दी जोगाएपछि पनि सुरक्षाकर्मीका चुनौती सकिएनन् । अब कैदीबन्दीले आन्दोलन गर्न थाले । त्रिशूली नदीमा भीषण बाढीसँगै कारागारभित्र कैदीबन्दी उर्लिन थाले । कारागार परिसरमा ९२३ कैदीबन्दीको ज्यान जोगाउँदै उनीहरुलाई शान्त बनाउनका लागि ५२ सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । पचास भन्दा बढी कैदीबन्दी मूल गेटभन्दा बाहिर नै आए । उनीहरुले त्यहाँ ठूलो होहल्ला गरे । भीड नियन्त्रण लिन इन्चार्ज यादवले ११ राउण्ड हवाई फायर गरेका थिए ।
    कैदीबन्दीलाई मूल गेटभन्दा बाहिर नै आएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनुप गुरुङको नेतृत्वमा थप जनशक्तिले साथ दियो । बाढीको त्रास सकिएपछि कारागारभित्र प्रवेश गर्ने समयमा दुई जना कैदीबन्दी भाग्न थाले । “हामी त्यहाँ पुग्दा कैदीबन्दी हामीलाई बाढीबाट ज्यान बचाउँछौँ, भाग्दैनौँ भन्दै थिए, यद्यपि हामीहरु सतर्क थियौँ, यत्तिकैमा दुई जना खेतैखेत जङ्गलतर्फ भाग्न थाले, मैले नै दौडिएर उनीहरुलाई दिउँसो ११ः०० बजेतिर पक्राउ गरी फर्काएर ल्याएँ”, उनले भने ।
    दिउँसो ११ः३० बजेसम्म बाढी शान्त भइसकेको थियो । कैदीबन्दीलाई कारागारभित्रै व्यवस्थापन गरियो । बाढी सकिए पनि त्रास अझै सकिएको छैन । त्यहाँ कार्यरत सुरक्षाकर्मीका अनुसार त्रिशूली नदीमा बाढीको जोखिम अझै पनि छ । त्यसमाथि बाढीले कमजोर बनाएको पूर्वाधार पनि सुरक्षित छैन ।

    बाढी आएको पर्सीपल्ट अर्थात् भदौ १२ गते कारागारमा रहेका ३२ महिला कैदीबन्दीलाई मकवानपुरको भीमफेदीमा स्थानान्तरण गरियो । अहिले कारागारमा बालसुधार गृहका १३८ जनासहित ८८७ कैदीबन्दी छन् । सशस्त्र प्रहरी बल, नेपालका थप ३० जना जनशक्ति थपिएर कुल ६२ जना पुगेका छन् भने नेपाल प्रहरीका २० जना कार्यरत छन् ।


    बाढीका कारण एउटा दुई वटा ब्लक प्रभावित भएपछि हाल कैदीबन्दी र बालसुधार गृहका बालसुधारमा रहेकालाई एउटै युनिटभित्र दुई वटा ब्लकमा राखिएको छ । सुरक्षाका हिसाबले पनि जोखिमपूर्ण हुने भएकाले यसमा पनि सुधारको आवश्यक भएको त्यहाँ कार्यरत सुरक्षाकर्मीहरु बताउँछन् । हाल कारागारको प्रशासनिक भवन त्रिशूली नदी किनारबाट सुरक्षित स्थानमा सारिसकिएको छ ।

  • बाढीले मनास्लु पदमार्ग अवरुद्ध

    बाढीले मनास्लु पदमार्ग अवरुद्ध

    गोरखा, २१ भदौः बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ । आज बिहान मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण पदमार्ग अवरुद्ध भएको हो । बाढीले दुई पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको उनले जानकारी दिए ।


    “यात्राको तयारी अवस्थामा वा यात्रामा रहनुभएकाहरुले अर्को सूचना प्रकाशित नहुँदासम्म यात्रा नगर्न नगराउनु हुन अनुरोध छ,” जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत आयोजना बगाएको छ । बाढीका कारण हालसम्म कुनै मानवीय क्षती भने नभएको सहायक प्रजिअ शर्माले बताए ।


    बाढीले पुल बगाएपछि स्थानीयसहित पर्यटक प्रभावित बनेका नाम्रुङका स्थानीय लाक्पा डुन्डुपले बताए । “बाढी पहिरोले हामीलाई सङ्कटमा पा¥यो । गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि बगायो । कतै जान पनि नमिल्ने भयो,” उनले बताए । दुईवटा लघुजलविद्युत् आयोजना बगाएर लगेपछि बत्ती, सञ्चार सेवा तथा विद्युतबाट चल्ने सबै सेवाबाट प्रभावित बनेका छन् । यस वर्षको शरदऋतु (असोज, कात्तिक) मा २९ टोलीका तीनसय ४८ आरोहीले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख छ ।

    विभागबाट अहिलेसम्म कूल ३२ टोलीका तीन सय ६७ आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका तीनसय ४८ आरोही रहेको विभागले जनाएको छ । पुल बगाएपछि भर्खर सुरु हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित हुने भएको छ । लार्केपासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीको पुल नहुँदा अलपत्र परेका छन् ।

  • भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

    भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

    काठमाडौँ, २१ भदौः भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी प्राप्त जिम्मेवारीलाई पूरा गर्न नेपाल प्रहरी निरन्तर लागि परिरहेको छ । रसुवास्थित नेपाल–चीन सीमाबाट बाढी प्रवेश गरेलगत्तै सूचना सङ्कलन एवम् विश्लेषण, आवश्यक रणनीति अवलम्बन, उपलब्ध साधनस्रोत, दक्ष जनशक्ति एवम् प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी तटीय क्षेत्रसम्म प्रहरी अहोरात्र खटिइरहेको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार भोटेकोशी विपद्को व्यवस्थापनमा सात हजार ९१२ प्रहरी परिचालन भएका छन् । प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी प्रभावित क्षेत्रबाट छ हजार ८५३ जनाको उद्धार गरिएको छ । हालसम्म पाँच हजार १५ जना बेपत्ता छन् ।

    खोज उद्धारमा कुकुर र ‘ड्रोन क्यामेरा’

    प्रहरीले बाढीमा परी हराइरहेकाको खोज तथा उद्धारका लागि विशेष टोली नै परिचालित गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले भन्छन्, “हेडक्वार्टरमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ गठन गरी चौबिसै घण्टा अनुगमन भइरहेको छ ।” उक्त केन्द्रमा सम्पर्कविहीन आफन्तको खोज तथा उद्धारका लागि आफन्तका परिवारको फोन आउने गरेको र सोही विवरणअनुसार खोजीका लागि सम्बन्धित प्रहरी युनिटमा जनाकारी गराउँदै आइरहेको उनी सुनाउँछन् ।


    हालसम्म एक हजार ३५१ पटक केन्द्रमा आफन्तको खोज र उद्धारका लागि अनुरोध प्राप्त भएको छ । प्रभावित क्षेत्रमा केनाइन (तालिम प्राप्त कुकुर) तथा जटिल भौतिक संरचनामा ड्रोनको प्रयोग गरी खोजी जारी छ । ड्रोन क्यामेराको सहयोगमा केही दिनअघि नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारिएको थियो । यसैगरी, यहाँस्थित विभिन्न देशका दूतावास, कूटनीतिक नियोगका साथै अन्य विदेशी संस्थालाई मृतक तथा बेपत्ता विदेशी नागरिकका बारेमा सूचना आदनप्रदानका लागि प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘मिसिङ हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको छ ।

    वैज्ञानिक शव व्यवस्थापन र ‘डिएनए प्रोफाइलिङ’

    प्रभावित क्षेत्रमा उद्धार र खोजी अभियानसँगै पहिचान हुन नसकेका शव र मानव अङ्गको व्यवस्थापन ‘फोरेन्सिक’ विशेषज्ञको सहयोगमा जारी छ । प्रहरी प्रवक्ता काफ्ले सङ्कलित शव बढ्दै गइरहेको र त्यसबाट सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम देखिएकाले शवको व्यवस्थापनमा वैज्ञानिक विधि अवलम्बन गरिएको बताउँछन् ।


    बाढीपछि हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डिएनए परीक्षणमार्फत फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रियाका लागि महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा ‘डिएनए प्रोफाइलिङ’को काम भइरहेको छ ।

    आपराधिक घटनाप्रति कडा निगरानी

    विपद्को मौका छोपी हुनसक्ने आपराधिक घटनाप्रति प्रहरीले कडा निगरानी बढाएको छ । विस्थापितका खाली घरको सुरक्षा तथा विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रणमा समेत प्रहरी निरन्तर लागि परेको छ । सुरक्षाकर्मी खोज तथा उद्धारमा व्यस्त रहेको मौका छोपी लुटपाट, चोरी गर्ने जस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्न गस्ती एवं निगरानीलाई बढाइएको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए ।

    विपद्को समयमा राहत सङ्कलनका नाममा हुन सक्ने ठगी नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको उनको भनाइ छ । “सामाजिक सञ्जालमार्फत प्रवाह भएका गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्रीप्रति पनि निगरानी बढाइएको छ” प्रवक्ता काफ्लेले भने, “विपद्को समयमा गलत सूचना फैलाएर नागरिकमा भ्रम सिर्जना गर्ने वा राहत तथा उद्धारमा अवरोध पु¥याउनेलाई कानुनी दायरामा ल्याइनेछ ।”

    स्वास्थ्य उपचार, राहत र सचेतना अभिवृद्धि

    बाढी प्रभावित क्षेत्रमा घाइते भएका व्यक्तिको स्वास्थ उपचारमा समेत प्रहरी अग्रसर छ । नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक टोली सुरुआती दिनदेखि नै घाइतेको स्वास्थ्य उपचारमा निरन्तर लागि परेका छन् । घाइतेलाई सामान्य अवस्थामा ल्याउन र विनाशकारी बाढीको कारण उत्पन्न हुन सक्ने मानसिक तनावलाई न्यूनीकरण गर्न प्रहरी अस्पतालको विशेषज्ञ टोली क्रियाशील रहेका छन् ।

    पछिल्लो तथ्याङ्क अनुसार प्रहरीले बाढी प्रभावित क्षेत्रमा कुल ९२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सचेतना कार्यक्रमहरूमा ४१ हजार २५७ जना सहभागी भएका छन् । विपद् प्रभावित रसुवा, नुवोकोट र धादिङका ‘होल्डिङ सेन्टर’मा महिला तथा बालबालिकाविरूद्ध दुव्र्यवहार र हिंसालगायत घटना हुन नदिन महिला प्रहरी परिचालित गरिएको छ । उनीहरूले महिला तथा बालबालिकासँग सम्बन्धित समस्या एवम् गुनासाहरू सम्बोधन गर्दै आवश्यक मनोपरामर्श पनि प्रदान गर्दै आइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    विस्थापितको दैनिकी सहज बनाउने प्रयास जारी

    प्रहरीले स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रका नागरिकको दैनिकीलाई सहज बनाउन सहजीकरण गरिरहेको छ । बाढीले हिल्लाम्मे भएका विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, विस्थापित नागरिकका घरमा सरसफाइ तथा मर्मतसम्भारमा प्रहरी टोली जुटेको देखिन्छ ।

    प्रहरीले बाढीका कारण विभिन्न ठाउँमा अवरोध भएका सडकको समयमै सूचना प्रवाह गर्ने र वैकल्पिक मार्गहरूको सूचना प्रवाह गरी यात्रुलाई सहजीकरण गरिरहेको प्रवक्ता काफ्ले बताउँछन् ।

    पीडा भुलाउँदै नागरिकको दुःखमा सँगै प्रहरी

    प्रहरी नायब महानिरीक्षक काफ्लेले जस्तोसुकै परिस्थितिमा पनि नागरिकको साथमा रहेर प्रहरी आफ्नो कर्तव्यपथमा अडिग रहेको बताउँछन् । “आफ्नो दुःख–पीडा भुलाउँदै नागरिकलाई नै सर्वोपरि मानेर उनीहरूको हरेक दुःखमा साथ दिँदै प्रहरी अघि बढिरहेको छ”, उनी भन्छन् । यसपटकको बाढीबाट प्रहरी सङ्गठनले पनि भौतिकसँगै मावनीय क्षति व्यहोरेको छ । बाढीको सूचनासँगै नागरिकको जीउधनको सुरक्षामा खटिइएका २५ जना नेपाल प्रहरी अहिलेसम्म सम्पर्कविहीन छन् ।

    नायब महानिरीक्षक एवं प्रवक्ता काफ्ले बाढी प्रभावित क्षेत्रमा ठूलो मात्रामा थुप्रिएको हिलो, माटो, ढुङ्गा एवम् पुनः बाढीको जोखिमका बीच नागरिकको दैनिक जीवनयापनलाई सहजीकरण गर्न मातहतका जनशक्ति अहोरात्र खटिरहेको स्मरण गर्नुहुन्छ । “प्रभावित क्षेत्रमा खोज तथा उद्धार, सम्पर्कविहीनको खोजी, शव व्यवस्थापन, राहत वितरण, आपराधिक गतिविधि नियन्त्रण र विस्थापितको जीउधनको सुरक्षालगायत बहुआयमिक चुनौतीको सामना गर्दै आफ्नो कर्तव्य पूरा गर्न नेपाल प्रहरी अग्रसर छ”, उनले भने ।

  • भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

    भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन


    काठमाडौँ, २१ भदौः रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बाढीमा परेर ज्यान गएकामध्ये २४४ शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए । अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ । यस्तै, २४ शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा चौधरीले बताए । यस्तै, हाल ५९ शवहरु अस्पतालमै रहेका छन् । केही शवहरुको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।

  • थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

    थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा


    गोरखा, २१ भदौः उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ । यसबाट चुमनुब्रीवासी समस्यामा परेका छन् । पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिए ।

    थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जङ्गलस्थित पुल पनि बगाएको जनाइएको छ । “बाढी पहिरोले हामीलाई जोखिममा पा¥यो”, उनले भने, “गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि लग्योे । कतै जान पनि नमिल्ने भयो ।”

    साथै स्थानीयले उपभोग गर्दै आएका दुईवटा लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएको उनले बताए । उनले भने, “एउटा भर्खर सात करोड रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएर परीक्षण प्रसारण भएको १०० किलोवाटको जलविद्युत् थियो त्यो पनि लग्यो । अर्को पहिल्यैदेखि बालिरहेको २२ किलोवाटको जलविद्युत् थियो त्यो पनि नामेट पारेर लग्यो । आवातजावत र विद्युत ठप्प हुँदा जनजीवन समस्यामा परेको छ । ”

    विद्युत नहुँदा बत्ती, सञ्चार सेवा तथा विद्युत्बाट चल्ने सबै सेवा ठप्प भएको छ । पुल बगाएपछि भर्खर सुरु हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित भएको छ । लार्केपासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीको पुल नहुँदा समस्यामा परेका छन् । पहिरोसँगै आएको बाढीले राति स्थानीय चारजनाको घर बगाएको प्रहरीले जनाएको छ । बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    “भूकम्प आएजस्तो गरी गाउँ थर्काएछ । सबै बिउँझिएछन् । अनि बाढी आएको थाहा पाएपछि भागेर ज्यान जोगाएका रहेछन्,” वडाअध्यक्ष पेमाग्याल्बो लामाले भने, “नत्र सबैलाई बढारेर लैजान्थ्यो ।” बाढीपीडित चार घरलाई तत्काल अल्पकालीन राहत दिने लामाले बताए । “घरको केही पनि जोगिएन त्यसैले तत्काल आज नै खाद्यान्न र लुगा कपडाका लागि रु २० हजारका दरले राहत दिन्छौँ”, उनले भने, “केही दिनमा गाउँपालिकाका तर्फबाट रु एक लाख बराबरको राहत दिनेछौँ ।” अन्यत्रबाट आउने राहतका लागि पनि पहल गर्ने उनले बताए ।

  • भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

    भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता


    काठमाडौँ, २१ भदौः रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३३९ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ३२५ महिला, ५२३ पुरुष तथा ४९३ शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनको अनुसार अझै चार हजार ४४ जना सम्पर्कविहीन छन् ।

    सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष दुई हजार ८६३, महिला ५७५ तथा विदेशी नागरिकतर्फ पुरुष २६९ र महिला ३३२ र अन्य पाँच जना रहेका प्रवक्ता काफ्लेले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ ।
    फेला परेकामध्ये एक हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

    बाढीपछि हालसम्म नौ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ । यसैगरी, मृतक एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार १८६ जना गरी दुई हजार ४७२ जनाको ‘डिएनए’ नमूना सङ्कलन गरिएको छ । बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि ‘डिएनए’ नमूना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रवक्ता काफ्लेले बताए । भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी बेपत्ता भएकाको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन् ।

  • भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

    भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

    काठमाडौँ, २१ भदौः रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी घाइते भएका ५८ जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकामा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म ३८ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका ५० जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म ३८ जनालाई डिस्चार्ज गरिएको हो ।

    राष्ट्रिय ट्रमा सेन्टरमा अहिले १२ घाइतेको उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरुको साधारण श्ययाम राखेर उपचार भइरहेको छ । भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

    सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको क्रम जारी रहेको प्रहरीले जनाएको छ । अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्था तथा उपचारबारे जानकारी लिइरहेका छन् । भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको छ ।

    उद्धार गरिएका घाइतेको उपचारसँगै पीडित तथा बेपत्ता व्यक्तिका आफन्तसँग समन्वय र आवश्यक सहयोगका लागि सम्बन्धित निकायले पहल गरिरहेको प्रहरीले जनाएको छ । बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ भने सम्पर्कविहीन व्यक्तिको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

  • बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन

    बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन

    राँझा (बाँके), २१ भदौः रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको ‘डिएनए’ नमूना सङ्कलन गरिएको छ। रसुवा, भोटेकोशी तथा त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीका कारण बाँके जिल्लाका धेरै व्यक्ति बेपत्ता भएका र फेला परेका कतिपय शवहरू क्षतविक्षत भई पहिचान गर्न कठिन भएकाले बाँकेबाट १६ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।


    उनका अनुसार, नेपालगञ्जमा सम्पर्कमा आउनुभएका १६ जना आफन्तको भेरी अस्पतालमा डिएनए नमूना सङ्कलन गरिएको हो । अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा डिएनए नमूना सङ्कलन गरिएको छ । डिएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।

    शव पहिचानका लागि डिएनए परीक्षणका लागि नमूना पठाएपछि बाढीपछि बेपत्ता दाजु–भाउजू र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको नेपालगञ्ज–२० निवासी अनलाल रोकायले बताए । भोटेकोशीमा आएको बाढीपश्चात् उहाँको १९ वर्षीय एक्लो छोरा दीपक, दाजु ५३ वर्षीय शेरसिंह र भाउजू ५६ वर्षीय विष्णुमतीलाई एकैसाथ बेपत्ता भए ।


    रसुवाको भोटेकोशी बाढीपश्चात् बाँके जिल्लाका २३ व्यक्ति हालसम्म पनि बेपत्ता रहेका छन् । हालसम्म तीनजनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए । उनका अनुसार, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ । विभिन्न २१ सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले स्वस्फूर्त रूपमा उक्त रकम सहयोग गरेका हुन् ।

    बाँकेबाट सबैभन्दा ठूलो सहयोग नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु ६ लाख एक हजार, नेपाल ज्वेलर्सबाट रु दुई लाख ११ हजार र विभिन्न मस्जिदबाट सङ्कलित रकम उल्लेख्य रहेको छ । जिल्ला प्रशासनमा उपलब्ध सहयोगबाहेक पनि विभिन्न सङ्घसंस्था र नागरिक तहबाट स्वस्फूर्त रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उल्लेख्य राहत रकम जम्मा भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

  • तादीखोलामा एक्रोब्रिज जडान तीब्र

    तादीखोलामा एक्रोब्रिज जडान तीब्र

    त्रिशूली (नुवाकोट), २१ भदौः नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने गरेर देवीघाटस्थित तादी खोलामा नेपाली सेनामार्फत एक्रोब्रिज जडानलाई तीब्र पारिएको छ। भोटेकोशी नदीको बाढीको बहाव तादीमा पसेर उक्त स्थानका दुई पक्की पुलमा क्षति गराएसँगै नुवाकोटको बेलकोटगढी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क जोड्न पुल निर्माण थालिएको हो ।

    नेपाली सेनाको श्री १४ नं वाहिनी अड्डाअन्तर्गत रहेको ‘ब्रिजिङ युनिट’ मार्फत निर्माण भइरहेको पुल पाँच दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको पुल निर्माणको नेतृत्व गरिरहेका सेनानी चिरिञ्जीवी चौलागाईंले जानकारी दिए । उनको अनुसार भोटेकोशी हँुदै आएको बाढीले पु¥याएको क्षतिपश्चात् त्रिशूली नदी वारपार गर्न नुवाकोट र रसुवाका सबै पुल बगाएसँगै प्राविधिक अध्ययनपश्चात् पहिलो पुल देवीघाटमा जोड्न थालिएको हो ।

    नुवाकोटको पाँच स्थानमा पुल राख्न अध्ययन भएकामा देवीघाट जडानलगत्तै वेत्रावतीमा एक्रोब्रिज पुल जडान गरेर नुवाकोट र रसुवासँगको यातायात सम्पर्क सञ्चालन गरिने योजना रहेको छ । “पुल निर्माणका लागि पुरानै जिप प्रयोग गर्न सक्ने अवस्था र धादिङको गल्छी हुँदै नुवाकोटको देवीघाटबाट सदरमुकाम विदुरसँग आउजाउ सञ्चालन गराउन पहिलो प्राथमिकतामा देवीघाटमा पुल निर्माण थालिएको छ,” उनले भने । “शनिबारदेखि निर्माण सुरु भएको पुल पाँच दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित ५५ जनाको टोली चौबिसै घण्टा कार्यक्षेत्रमा खटिएको छ ।”

    नेपाली सेनासँग धादिङको गजुरीस्थित भैरव गणमा तीन थान मौजुदा राखिएको पुल नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रमा आउजाउ सञ्चालन गराउन प्रयोग गरिने सेनाले जनाएको छ । सेनासँग ७५ मिटर दूरीका तीन थान पुल मौजुदा राखिएको थियो । देवीघाटमा निर्माण थालिएको पुल ५७.५ मिटर लम्बाइ र ५।५ मि चौडाइको छ । बेलीब्रिजभन्दा एक्रोब्रिज गुणस्तरीय र धेरै भारवहन क्षमताको रहने सेनानी चौलागाईंले जानकारी दिए । उनका अनुसार अहिले निर्माण थालिएको पुलले ७० टन भारवहन क्षमता बहन गर्न सक्नेछ ।

    “बेलीब्रिजको प्रविधिलाई परिमार्जन गरेर बनाइएको आधुनिक अमेरिकी रूप भएकाले एक्रोब्रिज थप तीन गुणा बढी बलियो र टिकाउ हुनेछ,” उनले भने “उच्च गुणस्तरको ग्याल्भानाइज्ड अमेरिकी स्टिल र बलिया स्टिलका डेक प्रयोग गरिएको हँुदा ठूला भारवहन क्षमतासहित चौडा फराकिलो बनाउन सकिने छ।


    पुल निर्माणका लागि आवश्यक सामग्री गजुरीबाट काठमाडौँ हुँदै नुवाकोट ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानीमा समस्या देखिएको छ । कार्यस्थलमा निर्माण सामग्री आउन र नियमित काम गर्न कुनै अवरोध नभए पाँच दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । त्यसका लागि नेपाली सेनाको श्री १४ नं वाहिनी अड्डाअन्तर्गत रहेको ब्रिजिङ युनिटबाट सेनानीको नेतृत्वमा ५५ जना प्राविधिक खटिएका छन् ।

  • चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन

    चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन


    नारायणगढ (चितवन), २१ भदौः रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमूना सङ्कलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन् । तीमध्ये ३३३ शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ ।

    शवहरूको वैज्ञानिक पहिचानका लागि यही भदौ १६ गतेदेखि डिएनए नमूना सङ्कलन सुरु गरिएको थियो । यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ । उनका अनुसार भदौ १६ गते सात पुरुषको नमूना सङ्कलन गरिएको थियो । भदौ १७ गते २६ जनाको नमूना सङ्कलन गरिएकोमा दुई महिला, २२ पुरुष र दुई पुरुष भारतीय नागरिक रहेका छन् । भदौ १८ गते २२ जनाको नमूना सङ्कलन गरिएकामा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक छन् ।

    यस्तै, भदौ १९ गते सात जनाको नमूना सङ्कलन गरिएकामा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक रहेका छन् । भदौ २० गते छ जनाको नमूना सङ्कलन गरिएकामा दुई महिला, एक पुरुष र तीन बालक रहेका छन् । प्रहरी नायब उपरीक्षक यादवका अनुसार हाल पनि खोजी, शवहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण सङ्कलन र अन्य समन्वयात्मक प्रक्रिया निरन्तर छ ।

  • दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन

    दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन


    म्याग्दी, २१ भदौः म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ । रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर गएका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किएका छन् । तिलिजालाई परिवारले जीवित हुनुहुन्छ भन्ने आशासमेत गुमाइसकेको थियो । उनको फोटोसमेत परिवारसँग थिएन । खोजी गर्ने माध्यम नभएपछि परिवार र उनीबीचको सम्पर्क पूर्ण रूपमा टुटेको थियो ।

    मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उनको घर फर्कने बाटो खुलेको हो । गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मणि तामाङले जङ्गलमा दुई वृद्ध दयनीय अवस्थामा बसिरहेको जानकारी गराए । देवानले तिलिजा र भोजपुरका वीरबहादुर राईको अवस्थाबारे श्रव्यदृश्य सामग्री बनाएर प्रशारण गरेका थिए ।

    उक्त श्रव्यदृश्य सामग्रीपछि परिवारजनले उनीहरूको पहिचान गरी सम्पर्क गरेका थिए । “मणिपुर घुम्न जाने क्रममा जङ्गलमा दुई वृद्ध बसिरहेको जानकारी पाएँ । श्रव्यदृश्य सामग्री बनाएर सार्वजनिक गरेपछि परिवारजन सम्पर्कमा आउनुभयो”, देवानले भने, “राईलाई परिवारको जिम्मा लगाएपछि तिलिजालाई उपचार गराएर घरसम्म ल्याइदिएको हुँ ।”

    निमोनियाबाट बिरामी तिलिजालाई देवानले धरानस्थित विजयपुर अस्पतालमा चार दिन भर्ना गरी उपचार गराएका थिए । स्वास्थ्यमा सुधार आएपछि परिवारको आग्रहमा उनलाई दग्नाम ल्याइएको हो । दग्नाम पुगेपछि तिलिजाका तीन भाइ, बुहारी र परिवारका सदस्यले उनलाई फूलमाला लगाएर स्वागत गरे । पाँच दशकभन्दा लामो समयपछि दाजुलाई देखेका भाइहरूले आफूहरुले खोजी गर्न नसकेको विगत सम्झिए ।

    “एक दिन दाईसँग भेट अवश्य हुनेछ भन्ने लागेको थियो । अहिले भेट्न पाउँदा निकै खुसी लागेको छ”, तिलिजाका भाइ उदयचन्द्रले भने, “दाइको फोटो पनि हामीसँग थिएन । खोजी गर्न नसकेर अलमलमा बसेका थियौँ । उहाँलाई भेटाइदिएर घरसम्म ल्याइदिने देवानलाई धन्यवाद छ ।” तिलिजा चार भाइमध्ये जेठा हुन् । उनका माइला भाइको निधन भइसकेको छ । साइँला उदयचन्द्र, काइँला जगतबहादुर र कान्छा हेमबहादुर दग्नाममै बस्दै आएका छन् ।


    तिलिजा भने घरबाट निस्किएपछि लामो समय मणिपुरमै बसेका थिए । उनी भारतीय सेनामा भर्ती हुने उद्देश्यले आसाम राइफल्समा कार्यरत आफन्तको साथमा मणिपुर पुगेका थिए । सेनामा भर्ती हुन नसकेपछि काठ काट्ने काम गर्न थाले । “परिवार र भाइहरूसँग सम्पर्क टुट्यो । पढाइलेखाइ नभएकाले चिठ्ठीपत्र पठाउन सकिनँ । पैसा नभएपछि घर फर्कन सकिनँ”, तिलिजाले भने ।


    मणिपुरमै विवाह गरेका तिलिजाकी छोरीको सात महिनामै मृत्यु भएको थियो । त्यसको एक वर्षपछि श्रीमतीको पनि निधन भयो । लामो समयपछि घर फर्किँदा भने उनले जन्मथलोमा आफ्ना भाइ र आफन्तलाई भेट्न पाएका छन् ।
    उमेर बढ्दै गएपछि काठ काट्ने काम गर्न नसकेपछि उनले साहुको बाख्रा चराएर जीवन गुजारा गर्दै आएका िथए । “परिवारसँग भेट्न पाएँ । जन्मथलोमा फर्किन पाउँदा खुसी लागेको छ”, तिलिजाले भने, “बाँकी जीवन भाइ, परिवार र आफन्तजनसँग बिताउँछु ।”

    रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले ५८ वर्षपछि तिलिजा परिवारमा खुसी फर्किएको बताए । उनका अनुसार तिलिजाका परिवारले लामो समयदेखि उनको खोजी गर्न सकेका थिएनन् । पाँच दशकभन्दा लामो समयपछि तिलिजा घर फर्किएसँगै दग्नामको एउटा परिवारले हराएको सदस्य पुनः पाएको छ ।

  • पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

    पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध


    बाजुरा, २१ भदौः बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । गएराति लगातार परेको वर्षाका कारण मार्तडीस्थित बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । यसैगरी, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं ६ को जडाङ्गालगायत स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।

    सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ । प्रहरी टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसिबीको प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा पनि पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा आवतजावत प्रभावित भएको छ भने गन्तव्य स्थानतर्फ जाने सवारीसाधनहरु बाटोमा नै रोकिएका छन् ।

  • भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता

    भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता


    कास्की, २१ भदौः यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि त्यसको नकारात्मक असर देशको पर्यटकीय राजधानी पोखराको पर्यटन र समग्र अर्थतन्त्रमा समेत पर्न थालेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनको शनिबार उद्घाटन कार्यक्रममा सहभागी उद्योगी तथा पर्यटन व्यवसायीले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य सुरक्षित र सञ्चालनमा रहेको सन्देश अन्तरराष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याए । विपद्का कारण पूरै देश नै असुरक्षित बनेकोजस्तो नकारात्मक सन्देश बाहिर गएको उल्लेख गर्दै उनीहरुले पोखरा सुरक्षित रहेको र भ्रमणका लागि उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।


    नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्राकृतिक विपत्तिको असर पोखराको पर्यटन क्षेत्रमा गम्भीर रूपमा पर्न थालेको बताए । विपद्सम्बन्धी नकारात्मक सन्देशका कारण पर्यटक आगमन प्रभावित हुनसक्ने भन्दै उनले पोखराको अर्थतन्त्रमा पर्न सक्ने असरबारे समयमै चिन्तन गर्नुपर्नेमा जोड दिए ।

    “प्राकृतिक विपत्तिपछि अहिले पर्यटक आउन सकेका छैनन् । लामो समय पर्यटक आएनन् भने पोखराको अर्थतन्त्रमा कस्तो असर पर्ला रु यसबारे चिन्तनमनन गर्दै समाधानका लागि अहिल्यै लाग्नुपर्छ । ढिला गर्ने छुट हामीलाई छैन”, उनले भने । नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तरराष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवाह गर्नुपर्ने बताए । “विपद्को प्रत्यक्ष असर नपरेका क्षेत्रमा समेत पर्यटन गतिविधि घट्दा असर परेको छ । पोखरासहित नेपालको पर्यटन क्षेत्रको विकास तथा अन्तरराष्ट्रिय प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्ने खाँचो छ”, उनले भने ।


    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय समुदायसँग समेत सहयोग मागिएको बताए । उनले महासङ्घले विश्वका ७० वटा उद्योग तथा वाणिज्य सङ्घलाई पत्र पठाएर नेपालको विपद् पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेको जानकारी दिए ।


    “विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि राज्यलाई ठूलो आर्थिक स्रोत आवश्यक छ । त्यसका लागि हामीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा सहयोगका लागि आह्वान गरेका छौँ । विदेशमा रहेका उद्योग तथा वाणिज्य सङ्घसँग समेत सहयोगका लागि पहल भइरहेको छ”, अध्यक्ष श्रेष्ठले भने, “देशमा ठूलो विपत्ति परेको छ । यस्तो अवस्थामा सबै व्यवसायी तथा निजी क्षेत्रले मानवीय भावनाका साथ खुलेर सहयोग गर्नुपर्छ ।”

    अध्यक्ष श्रेष्ठले नेपालमा विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै दीर्घकालीन रूपमा विपद् न्यूनीकरणका लागि पूर्वतयारी र योजनाबद्ध विकासमा जोड दिनुपर्ने बताए । नदी तथा खोला किनारमा भइरहेको अव्यवस्थित बस्ती विस्तार, हिमताल र अन्य प्राकृतिक जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो । निजी क्षेत्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले व्यवसायीलाई निरुत्साहित गर्नेभन्दा लगानी र उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे ।

    लक्ष्मी विद्या पदकबाट तीन विद्यार्थी सम्मानित

    कार्यक्रमका अवसरमा लक्ष्मी ग्रुप प्रालिद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य सङ्घद्धारा सञ्चालित ‘लक्ष्मी विद्या पदक–२०८२’ बाट व्यवस्थापन सङ्कायअन्तर्गत कास्की जिल्लामा उत्कृष्ट नतिजा हासिल गर्ने तीन विद्यार्थी सम्मानित भएका छन् । स्नातकोत्तर तह (एमबिएस) मा जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ, स्नातक तह (बिबिए)तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमिल्सिना तथा बिबिएसतर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा सम्मानित भए ।

    उनीहरुलाई माला, दोसल्ला, ताम्रपत्र, विद्यापदक तथा नगद पुरस्कार प्रदान गरिएको थियो । हालसम्म लक्ष्मी विद्या पदकबाट ७६ विद्यार्थी सम्मानित भइसकेका छन् । महाधिवेशनअन्तर्गत आज सङ्घको नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यतालिका छ । नेतृत्वका लागि उत्तममान बुद्धाचार्य, शोभा गौतम, बलराम आचार्य र अर्जुन पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

  • भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’

    भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’


    धनगढी, २१ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्नका लागि प्रदेश सरकारबाट गर्न सकिने आवश्यक पहल तथा सहयोगमा कमी हुन नदिने बताएका छन् । भट्टार क्षेत्रमा गएको पहिराका कारण विस्थापित परिवारको राहत तथा पुनस्र्थापनाका साथै पहिरो जाने क्रम नरोकिएकाले जोखिम न्यूनीकरण र आवश्यक सहयोगको माग गर्दै अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीसहितको टोलीले मुख्यमन्त्री भट्टलाई शनिबार ज्ञापनपत्र बुझाएको थियो ।

    ज्ञापनपत्र बुझ्नुहुँदै मुख्यमन्त्री भट्टले विपद्का कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनस्र्थापनाका लागि प्रदेश सरकारबाट आवश्यक पहल गरिने बताए । उनले पहिरोका कारण प्रभावित तथा विस्थापित परिवारको राहत, पुनस्र्थापना र पहिरो रोकथामका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।


    मुख्यमन्त्री भट्टले विपद्का कारण प्रभावित नागरिकको सुरक्षा र राहतलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । भट्टार क्षेत्रमा पहिरो जाने क्रम जारी रहँदा चमेलिया नदीसमेत प्रभावित भएको छ । पहिरोका कारण नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रका बस्तीमा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।

    गाउँपालिकाका अध्यक्षद्वयको टोलीले पहिरोका कारण विस्थापित परिवारको तत्काल राहत तथा पुनस्र्थापनासँगै पहिरो पूर्ण रूपमा नरोकिएका कारण चमेलिया नदी किनारका बस्तीमा जोखिम कायमै रहेको जानकारी गराएको थियो । जोखिम न्यूनीकरण, प्रभावित नागरिकको सुरक्षा तथा आवश्यक पूर्वाधार संरक्षणका लागि प्रदेश सरकारबाट तत्काल आवश्यक सहयोग उपलब्ध गराउन उनीहरूले आग्रह गरेका थिए । पहिरो निरन्तर खसिरहेकाले नदीको बहावमा पुनः अवरोध आउन सक्ने जोखिमसमेत रहेको बताइएको छ ।

  • सुखद खबरको पर्खाइमा….

    लमजुङ, २१ भदौः बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो । घरपरिवारले पनि उनी काममै छन् भन्ने ठानेको थियो । तर यही जेठ १० गते बिहान करिब ८ः३० बजेपछि आएको एउटा खबरले बेँसीसहर नगरपालिका–११ का घर्ती परिवारलाई गहिरो पीडामा धकेल्यो, ‘रसुवामा बाढी आएको छ, आयोजनामा कार्यरत राधिका र झपटबहादुरको सम्पर्क टुटेको छ ।”

    त्रिचालीस वर्षीया राधिका घर्ती र ४५ वर्षीय झपटबहादुर घर्ती श्रीमान्–श्रीमती हुन् । उनीहरू रसुवास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा करिब १०–१२ वर्षदेखि कार्यरत थिए । राधिका खाना पकाउने काम गर्नुहुन्थ्यो भने झपटबहादुर सुरुङसम्बन्धी काममा खटिएका थिए । बाढी आएको दिन बिहानसम्म सबै सामान्य नै थियो । परिवारसँग करिब ८ः३० बजेसम्म सम्पर्क भएको थियो । त्यसपछि भने फोन लागेन । झपटबहादुरको मोबाइलको ‘लोकेसन’ पनि बिहान करिब ८ः५६ बजेसम्म देखिएको थियो । त्यसपछि लोकेसनसमेत देखिन छाड्यो ।

    “उहाँहरू कहाँ हुनुहुन्छ भन्ने नै थाहा हुन सकेन । सुरुङ वा पावरहाउस आसपास हुनसक्ने हाम्रो अनुमान छ”, भतिज विशाल घर्तीले भने । बाढीपछि नेपाली सेनाले सुरुङमा एक पटक खोजी गरेको थियो । तर सुरुङभित्रको कठिन अवस्थाका कारण पूर्ण रूपमा खोजी गर्न नसकिएको घर्तीको परिवारले जनाएको छ । त्यसपछि परिवारका लागि हरेक दिन प्रतीक्षाको दिन बनेको छ । घर्ती परिवार कतैबाट फोन आउँछ कि, खोजीका क्रममा कुनै खबर भेटिन्छ कि भन्ने आशामा ।

    राधिका र झपटबहादुरका दुई छोरा र एक छोरी छन् । जेठो छोरा आमाबुबाको खोजीमा संलग्न छन् । कान्छो छोरा जापानमा छन् । छोरीको विवाह भइसकेको छ । परिवारका सदस्यहरूका लागि भने अहिले सबैभन्दा ठूलो प्रश्न एउटै छ – उनीहरू कहाँ छन् ? “अब त न सासको खबर छ, न लासको । जिउँदै भेटिने आस पनि लगभग मरिसकेको छ । तर पनि उहाँहरूको अवस्था थाहा पाउन र कम्तीमा शवसम्म भए पनि फेला पार्न पाए हुन्थ्यो”, विशालले भने ।


    आफन्तका अनुसार राधिका र झपटबहादुर लामो समयदेखि आयोजनामै काम गर्दै आएका थिए । रोजगारीकै क्रममा रसुवा पुगेका उनीहरु वर्षौँदेखि त्यहीँ कार्यरत थिए । घरपरिवारबाट टाढा रहेर काम गर्दै आएका उनीहरू एकैपटक सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात भएको छ। रसुवामा आएको बाढीपछि राधिका र झपटबहादुरमात्र होइन, लमजुङका अन्य व्यक्तिसमेत सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रसुवाको बाढीपछि जिल्लाका १० जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिने काम भइरहेको छ ।

    बाढी आएको दिनदेखि नै ती परिवारको ध्यान फोनतिर छ । अपरिचित नम्बरबाट फोन आउँदा पनि हराएका आफन्तको खबर पो आयो कि भन्ने आशा जाग्छ । तर फोन अरू कसैको हुन्छ । फेरि उस्तै निराशा । समय बित्दै जाँदा आफन्त जीवितै भेटिने आशा कमजोर बन्दै गएको छ । तर आशा पूर्ण रूपमा मरेको छैन । त्यसैले परिवारहरू अझै खोजी टोलीबाट आउने एउटा खबरको प्रतीक्षामा छन् । राधिका र झपटबहादुरको परिवारका लागि पनि अहिले त्यही प्रतीक्षा बाँकी छ– आफन्त जीवितै भेटिन्छन् कि भन्ने अन्तिम आशा, नभए कम्तीमा उनीहरूको अवस्थाबारे सत्य जानकारी ।

    रसुवाको बाढीले भौतिक क्षतिमात्र गरेको छैन, लमजुङका यी परिवारलाई आफ्ना आफन्तको अवस्थाबारे अनिश्चित प्रतीक्षामा समेत छाडेको छ । दिनहरू बितिरहेका छन्, आशा कमजोर हुँदै गएको छ, तर परिवारका सदस्यहरू अझै आफ्ना प्रियजनको खबर आउने आशाको त्यान्द्रो समातेर बसिरहेका छन् ।

    राससबाट

  • भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

    भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन


    रसुवा, २१ भदौः नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन छन् । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढी र पहिरोको चपेटामा परेका एक हजार २२७ नेपाली र ८६ विदेशी पर्यटकको सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा सफल उद्धार गरिएको छ ।

    बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौँतर्फ सुरक्षित स्थानान्तरण गरिएको छ । दुर्गम र सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा राहत र उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ ।

    विपद्पछि जिल्लामा सम्पर्कविहीन हुनेहरूको सङ्ख्या ठूलो छ । श्रीनाथ गण, ब्राबल ब्यारेकअन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी र २६ जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी अझै सम्पर्क बाहिर छन् । यस्तै, रसुवाका एक हजार ३७०, अन्य जिल्लाका एक हजार २६२ र २६६ विदेशी पर्यटक सम्पर्कविहीन रहेका सहायक प्रजिअ अधिकारीले बताए ।
    विपद्का क्रममा फेलापरेका शवमध्ये छ जनाको सनाखत भई आफन्तलाई बुझाइसकिएको छ ।

    उत्तरगया–५ का जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङको शव सनाखत भएको हो । अन्य विभिन्न स्थानमा फेलापरेका १६३ शवमध्ये पाँच जनाको सनाखत भइसकेको र बाँकीको सनाखत प्रक्रिया तथा डिएनए परीक्षणका लागि मुचुल्का उठाउने कार्य भइरहेको सहायक प्रजिअ अधिकारीले बताए ।


    बाढीपहिरोले रसुवाको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार एक हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यस्तै २८ सरकारी तथा सार्वजनिक निकाय, आठवटा सामुदायिक विद्यालय, तीन निजी विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ ।

    त्यसैगरी, जिल्लाको मेरुदण्ड मानिने ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड ठप्प भएको छ । छवटा पक्की मोटरेबल पुल, आठवटा ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० वटा झोलुङ्गे पुल बाढीले बगाएको वा क्षति पुर्याएको छ । जिल्लाका आठवटा जलविद्युत् आयोजनामासमेत अत्यधिक क्षति गरेको छ ।

    थातथलोबाट विस्थापित भएका सात हजार ३३ नागरिकलाई जिल्लाका विभिन्न १२ सुरक्षित आश्रयस्थलमा राखिएको छ । धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल मावि, गणेश आधारभूत विद्यालयलगायत स्थानमा आश्रित नागरिकलाई गाँसबासको व्यवस्था मिलाइएको छ । प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिसकिएको छ । विपद्का बीच पनि जिल्लाको ८३ प्रतिशत जनसङ्ख्यामा विद्युत सेवा पुनः सञ्चालन गरिएको छ भने नेपाल टेलिकमको सञ्चार सेवा सम्पूर्ण क्षेत्रमा सञ्चालनमा ल्याइएकाले उद्धार र समन्वय कार्यमा सहज भएको छ ।

  • टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण

    टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण


    भोजपुर, २१ भदौः महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ । ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत सञ्चालन गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका १३७ महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको हो ।

    दुर्गम क्षेत्रका महिलालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ‘कल्प इम्पावर वुमन नेपाल’की अध्यक्ष पूजा कोइरालाले बताइन् । महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्नसके उपचार प्रभावकारी हुने भएकाले अभियानलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

    संस्थाले विशेषगरी महिला स्वास्थ्य तथा महिलाको नेतृत्व क्षमता विकासका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष कोइरालाले जानकारी दिइन् । संस्थाले हालसम्म करिब २५ हजार महिलालाई स्वास्थ्य सेवा प्रदान गरिसकेको र यस वर्ष थप १० हजार महिलासम्म सेवा पुर्याउने लक्ष्य राखेर ‘मातृत्व जोगाउने अभियान’ सञ्चालन गरिरहेको उनले बताइन् ।


    गाउँपालिकाका महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्तन तथा पाठेघरको मुखको क्यान्सरको खोजी, पहिचान र रोकथामका लागि शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । यस्ता शिविरले सहज रूपमा सेवा पाउनुका साथै समयमा नै रोगको पहिचान गरी उपचारसमेत सहयोग पुग्ने उनको भनाइ छ ।

    “पाठेघर र स्तन क्यान्सरको खोजी तथा पहिचान गर्न शिविरमार्फत सेवा दिएका हौँ”, अध्यक्ष बस्नेतले भने, “शिविरले क्यान्सर रोकथाममा सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा हो ।” शिविरसँगै महिलालाई स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जानकारी दिने उद्देश्यले ‘सी क्यान’ (उनी सक्छिन्) अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । यस्तै, किशोरीलाई समुदाय तथा सामाजिक विषयवस्तुबारे जानकारी दिन सामुदायिक स्वास्थ्य साक्षरता कार्यक्रम पनि सञ्चालन गरिएको छ । कार्यक्रममार्फत घरघर तथा समुदायस्तरमा पुगेर पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा महिला स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको बताइएको छ ।

    स्वास्थ्य परीक्षणका क्रममा दुई महिलामा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित प्रारम्भिक शङ्कास्पद लक्षण फेला परेको विराट मेडिकल कलेज टिचिङ अस्पतालकी डा रेखा साहले जानकारी दिनुभयो । अभियानका क्रममा महिलालाई क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, प्रजनन स्वास्थ्य तथा समयमै उपचार गराउँदा हुने फाइदाबारे जानकारी प्रदान गरिएको छ ।

  • कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट

    कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट

    गण्डकी, २१ भदौः रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट आफन्तको ‘डिएनए’ नमूना सङ्कलन सुरु गरिएको छ । ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाटै सुरु गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

    यसअघि उक्त सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गरिँदै आएकामा ‘डिएनए’ नमूना सङ्कलनलाई सहज र सरल बनाउने उद्देश्यले एकीकृत सेवा सञ्चालन गरिएको उनले बताए । बाढीमा परी मृत्युवरण गरेका ७६ जनाको शव यही भदौ १६ गते पोखरा महानगरपालिका–१६ लामाचौरको वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको थियो ।

    जमिनमुनि व्यवस्थापन गरिएका शवको ‘डिएनए’ नमूना सङ्कलन गरिएकाले शव पहिचानका लागि आउने आफन्तको ‘डिएनए’ नमूना सङ्कलनका लागि आवश्यक प्रबन्ध गरिएको हो । शवबाट सङ्कलन गरिएको ‘डिएनए’ नमूना राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । आफन्तको ‘डिएनए’सँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्नेगरी शव व्यवस्थापन गरिएको प्रहरी नायब उपरीक्षक पासवानले बताए ।

    बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको थियो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएकामा ७६ शवलाई जमिनमुनि व्यवस्थापन गरिएको थियो भने अन्य शव पहिचान गरी आफन्तलाई बुझाइएको थियो ।

  • भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

    भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति


    काठमाडौँ, २१ भदौः रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब रु ६४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । ती आयोजनामामात्रै रु चार करोड ११ लाख ५० हजारबराबरको क्षति भएको विभागले जनाएको छ ।

    विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीका कारण धादिङका २०, गोरखाका पाँच तथा रसुवाका आठवटा आयोजनामा क्षति भएको छ । बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको विभागले जनाएको छ । बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ । प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको महानिर्देशक श्रेष्ठले बताए ।

    विशेषगरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी वितरण सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ । उक्त जेनेरेटरमार्फत दैनिक करिब पाँच लाख लिटर खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ । एक एचपी क्षमताका सातवटा पम्प सञ्चानमा ल्याएर बट्टार क्षेत्रका करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुनः सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)सँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्याङ्करमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा खानेपानी वितरण भइरहेको महानिर्देशक श्रेष्ठको भनाइ छ ।

    बाढी प्रभावित त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी क्षेत्रमा खानेपानी सेवा विस्तार गर्न आवश्यक सामग्रीसमेत व्यवस्थापन गरिएको विभागले जनाएको छ । सेवा विस्तारका लागि दुई एचपी र एक एचपी क्षमताका गरी कुल १४ वटा पम्प, एक हजार लिटर क्षमताको हिलटेक ट्याङ्की तथा करिब ४१।१ किलोमिटर एचडीपीइ पाइप तयारी अवस्थामा राखिएको छ ।

    विभागका अनुसार उक्त सामग्री प्रभावित क्षेत्रमा ढुवानी तथा जडान गरी खानेपानी सेवा विस्तार गर्ने तयारी भइरहेको छ । बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको छ ।

    बाढीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनाको कामलाई समेत अघि बढाइएको विभागले जनाएको छ । क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

  • राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमस् एक दशकमा १८ लाख परिवार लाभान्वित

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमस् एक दशकमा १८ लाख परिवार लाभान्वित


    काठमाडौँ, २१ भदौः सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १८ लाख १६ हजार ८०७ परिवार लाभान्वित भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उत्पादन वृद्धि गर्न देशभर सञ्चालन गरेको कार्यक्रमबाट सो परिमाणमा लाभान्वित भएका हुन् । सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने बृहत् राष्ट्रिय कार्यक्रमअन्तर्गत रु ३९ अर्ब ५८ करोड खर्च गरिएकामा आंशिक र पूर्ण गरी २३ लाख ८३ हजार १८४ जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डा जितबहादुर चन्दले जानकारी दिए ।

    दश वर्षका लागि तयार पारिएको परियोजनाका लागि रु एक खर्ब ३० अर्बको परियोजना तयारी गरिएकामा रु ५६ अर्ब ३५ करोड विनियोजन गरिएको अर्थात् प्रक्षेपित रकमको ४४ प्रतिशतमात्र रकम प्राप्त भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा सुरू भएको परियोजना २०८२÷८३ मा सम्पन्न गरिएको थियो । किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्ने नीति लिइएको उक्त कार्यक्रममा पहिलोपटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा कार्यक्रम आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय एकीकृत कार्यक्रम बनाइएको हो ।

    कार्यक्रममा खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलु, दलहन, तेलहन, गाईभैँसी, बाख्रा, बङ्गुर तथा आयात प्रतिस्थापनमा मकै, फलफूल, स्याउ, ओखर, माछा र निर्यात प्रवर्द्धन बालीमा कफी, अलैँची, अदुवा, बेसार र मौरीखेतीलाई प्राथमिकतामा राखिएको हो । कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र दिगो बनाउने, प्रमुख बालीको उत्पादन र उत्पादकत्व बढाई किसानको आम्दानीमा सुधार गर्ने र देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको कार्यक्रम बहुपक्षीय सरोकारवालासँग समीक्षाका आधारमा निरन्तरता दिन तयारी गरिएको सूचना अधिकारी डा चन्दले जानकारी दिए ।

  • बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देशः हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ

    बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देशः हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ

    काठमाडौँ, २० भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भन्नुभएको छ, “तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ।”

    “बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर–१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छ”, उहाँले भन्नुभएको छ, “यो खबर खोज तथा उद्धारमा हामी अझै डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो ।” सरकारले चन्द्रिका आमाको उमेर समूहका र त्योभन्दा माथिल्लो उमेरका धेरै आमाबुबालाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

    बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानकोसमेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उहाँले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताउनुभएको छ । लौरो नटेकी दुई पाइला सर्न नसक्ने गोडामा पनि त्यस्तो बेला आफ्ना सन्तान बचाउने अनौठो हिम्मत आएको उहाँको भनाइ छ । बाढीका कारण वृद्धाश्रममा बसिरहेका आमाबुबासमेत सुरक्षित स्थानतर्फ भाग्नुपरेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

    “बाढी आउनुअघिसम्म हजुर आफ्नै घरको आँगनमा बसेर नदी किनारामा रहेको खेतबारीमा छोराछोरीले काम गरिरहेको हेरिरहनुभएको थियो होला”, सन्देशमा भनिएको छ, “नातिनातिनाहरू हात हल्लाउँदै विद्यालय गएको हेरिबस्नुहुन्थ्यो होला । उनीहरू आउने पर्खाइमा बाटोमा नजर लगाइरहनुहुन्थ्यो होला ।” चौतारीमा बसेर छिमेकीसँग वर्षौंदेखिका दुःखसुख, अनुभव र ज्ञान बाँड्ने ज्येष्ठ नागरिकको दैनिकीसमेत बाढीले प्रभावित बनाएको उहाँले उल्लेख गर्नुभएको छ ।

    “अहिले न ती घरआँगन छन्, न त चौतारीमा बसेर दुःखसुख साट्ने अवस्था नै छ”, प्रधानमन्त्रीले भन्नुभएको छ, “त्यो बिहान भोटेकोशीको विनाशकारी बाढीले एकैछिनमा धेरै कुरा खोसेर लग्यो ।” बाढीका कारण कतिपयले आफ्नै आँखाअगाडि छोराछोरी र काँधमा हुर्काएका नातिनातिना बगेको हेर्न विवश हुनुपरेको तथा कतिपयले जीवनसाथी गुमाएर पूर्णतः एक्लो हुनुपरेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । जीवनभर पसिना बगाएर जोडेको घर, खेतबारी तथा सन्तानसरह माया गरेर हुर्काएका पशुपन्छीसमेत क्षणभरमै बाढीमा बगेको उहाँले बताउनुभएको छ ।

    आफ्नै घरव्यवहार सम्हालिरहेका ज्येष्ठ नागरिक अहिले सरकारले व्यवस्था गरेका अस्थायी शिविरमा बस्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले होल्डिङ सेन्टरमा राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधा पुर्‍याइएको बताउनुभएको छ । नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, विदुर भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जना आमाबुबालाई नेपाल सिनियर केयर, म्हैपी, काठमाडौँमा तथा १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको उहाँले जानकारी दिनुभएको छ ।

    उहाँहरूलाई हिँडडुलका लागि आवश्यक ह्वीलचियर तथा वाकर उपलब्ध गराइएको र मानसिक आघात तथा शारीरिक कष्ट कम गर्न विशेष टोलीमार्फत निरन्तर स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको प्रधानमन्त्रीले बताउनुभएको छ । “अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हजुरहरूलाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने छौँ”, उहाँले भन्नुभएको छ ।

    बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको पीडा आफूहरूले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनको कठिन मोडमा उनीहरूलाई कहिल्यै अलपत्र नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “हजुरहरूले आफूलाई एक्लो नठान्नु होला । जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ । हजुरहरूसँग यो राज्य छ, यो सरकार छ”, उहाँले भन्नुभएको छ । जीवनमा अनेक घामपानी, खडेरी र आँधीबेहरी पार गरेका ज्येष्ठ नागरिक भोटेकोशीको बाढीले ओत र जायजेथा बगाए पनि उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनको अपरिहार्यतालाई बगाउन नसकेको प्रधानमन्त्रीको भनाइ छ ।

    “हजुरहरू यो देशका जग र हाम्रा मार्गदर्शक हुनुहुन्छ”, उहाँले भन्नुभएको छ, “कृपया मन दह्रो बनाइदिनुहोस् र हामीलाई परिवारकै सदस्य मानेर सल्लाह र मार्गनिर्देशन गर्नुहोस् ।” प्रधानमन्त्रीले बाढीका क्रममा धेरै आमाबुबालाई गुमाउनुपरेको दुःखद् पक्षसमेत उल्लेख गर्नुभएको छ । उहाँहरू सिङ्गो घरको मूल खम्बा, संस्कार र ज्ञानका स्रोत रहेको उल्लेख गर्दै उहाँहरूप्रति भावपूर्ण सामूहिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको उहाँले बताउनुभएको छ ।

    “एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो”, उहाँले भन्नुभएको छ । पीडामा रहेका मानिसको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले यस्तो संवेदनशील घडीमा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने चेतावनी दिनुभएको छ । बाढीपछि उद्धार तथा खोजीमा सुरक्षाकर्मी अझै खटिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले दलदल र खण्डहर बनेका क्षेत्रमा सुरक्षाकर्मीले आफ्नो ज्यान जोखिममा राखेर खोजी गरिरहेको बताउनुभएको छ ।

    “हाम्रा सुरक्षाकर्मीहरू अझै पनि कुनै बहाना नबनाई बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रमा खोस्रिरहेका छन् । उहाँहरूका आँखा चनाखा छन्”, उहाँले भन्नुभएको छ । आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीप्रति हरेक दिन हृदयदेखि कृतज्ञता व्यक्त गर्नुपर्ने र उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको प्रधानमन्त्रीले बताउनुभएको छ ।

  • टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

    टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

    काठमाडौँ,२० भदौ : रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो ।

    यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले उक्त सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) टिमुरेबाट गएको टोलीले करिब तीन किलोमिटर जोखिमयुक्त भीर पार गरी सीमा नाकामा झण्डा राखेको प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

  • नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

    नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

    काठमाडौँ, २० भदौः किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन् । जापानको नागोया सहरको करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक बक्सिङ– ५९ अन्तरराष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घ, विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा ‘हिमालयन चितुवा’ ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्डलाई नक आउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल हुनुभएको छ ।

    प्रतिस्पर्धी बक्सर चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन् । दोस्रो राउण्डको दोस्रो मिनेटमा बक्सर घिमिरले कडा मुक्का प्रहार गर्दै प्रतिस्पर्धी चोइनार्डलाई नकआउटमा पराजित गर्न सफल हुनुभयो । हालसम्म २९ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिएका उहाँ २१ खेलमा विजय हासिल गर्दा २० मा नकआउट गर्दै जित्ने एक मात्र नेपाली खेलाडी हुनुहुन्छ ।

    नेपालको गौरव, नेपालको साहस र नेपाली शानलाई किक बक्सिङ खेलमार्फत देशको पहिचान अन्तरराष्ट्रिय जगतमा पुर्याउने बक्सर घिमिरे नेपालको चम्किला तारा बनेका छन् । विजय प्राप्त गरेपछि बक्सर घिमिरेले हालै रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने जानकारी दिनुभयो । साथै हालसम्म आइ आफ्नो खेललाई साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।

  • कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु

    कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु

    कास्की, २० भदौः कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको पाख्रीबास नगरपालिका–८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    घटनामा परी इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगर घाइते छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । आज बिहान करिब ११ः०० बजे जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका लागि सडक खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो । पहिरोमा परेका कामदारलाई घटनालगत्तै स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याएका थिए । सुपर सेती जलविद्युत् आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाट क्षमताको आयोजना हो ।