Category: फिचर

  • भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग

    भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग


    काठमाडौँ, २६ भदौः रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा रु १५ करोड सहयोग गरेको छ । प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले रु १५ करोडको चेक अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।

    भोटेकोशी नदीमा आएको बाढीबाट रसुवासहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सरकार तथा विभिन्न निकायबाट सहयोग जुटाउने क्रम जारी छ । सोही क्रममा प्राधिकरणले विपद् व्यवस्थापनमा संस्थागत योगदान गर्ने निर्णय गरेको हो ।

    प्राधिकरणका अनुसार विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना र विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको हो । प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई समेत बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट यथाशक्य सहयोग गर्न आग्रह गरेको छ ।

    प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संस्थागत सहयोगसँगै प्राधिकरणका कर्मचारी तथा पदाधिकारीबाट समेत आर्थिक योगदान गर्ने निर्णय भएको छ । विपद्बाट प्रभावित नागरिकको राहत तथा आवश्यक सहयोगका लागि कर्मचारीको तलब र पदाधिकारीको पारिश्रमिक तथा बैठक भत्ताबाट रकम योगदान गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

    निर्णयअनुसार अधिकृत प्रथम श्रेणीका कर्मचारीले आफ्नो सुरु तलब स्केलको आठ दिनबराबरको रकम योगदान गर्नेछन् । त्यसैगरी अधिकृत द्वितीय श्रेणीका कर्मचारीले छ दिन र अधिकृत तृतीय श्रेणीका कर्मचारीले चार दिन बराबरको तलब योगदान गर्ने निर्णय गरिएको छ । सहायकस्तरका कर्मचारीबाट दुई दिनबराबरको तलब तथा श्रेणीविहीन कर्मचारीबाट एक दिनबराबरको तलब योगदान गरिनेछ ।

    त्यस्तै, प्राधिकरणका अध्यक्षले आफ्नो १० दिन बराबरको तलब र दुई बोर्ड बैठक भत्ता योगदान गर्ने निर्णय भएको छ । प्राधिकरणका बोर्ड सदस्यहरूले समेत दुई दिनको बोर्ड बैठक भत्ताबराबरको रकम विपद् प्रभावितका लागि योगदान गर्ने निर्णय गरिएको छ । भोटेकोशी बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन् ।

    दूरसञ्चार क्षेत्रसमेत विपद्का समयमा सञ्चार सम्पर्कलाई निरन्तरता दिनुपर्ने महत्त्वपूर्ण क्षेत्र भएकाले प्राधिकरणले सेवा प्रदायकलाई प्रभावित क्षेत्रमा सेवा सञ्चालन तथा विपद् व्यवस्थापनमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ । प्राधिकरणले विपद्का समयमा सञ्चार सेवा अवरुद्ध हुन नदिन तथा प्रभावित क्षेत्रमा दूरसञ्चार पूर्वाधारको पुनःस्थापना र सेवा सञ्चालनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

  • बन्द भएको ३५ वर्षपछि ललितपुर महानगरले सञ्चालनमा ल्यायो शारदा पुस्तकालय

    बन्द भएको ३५ वर्षपछि ललितपुर महानगरले सञ्चालनमा ल्यायो शारदा पुस्तकालय


    ललितपुर, २६ भदौ स् ललितपुर महानगरपालिकाले विसं २०४६ पछि बन्द भएको ऐतिहासिक शारदा पुस्तकालय सञ्चालनमा ल्याएको छ । विसं २०४६ को जनआन्दोलन अघिसम्म मङ्गलबजारस्थित तत्कालीन ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालनमा रहेको शारदा पुस्तकालय त्यसयता वेखवर बनेको थियोे । बन्द भएको शारदा पुस्तकालयलाई ललितपुर महानगरपालिकाले आफ्नै कार्यालय भवनमा आजदेखि पुनःसञ्चालनमा ल्याएको हो ।

    उक्त पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि हरिराम जोशीले ओझेलमा परेको र मृत भैसकेको पुस्तकालय सञ्चालनमा आउनु महत्त्वपूर्ण भएको भन्दै यसले ज्ञानको प्रचारप्रसारमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । “पुस्तकालयको इतिहास ८०० वर्षभन्दा लामो छ, शारदा पुस्तकालयलाई जीवन्त बनाउने कार्यमा प्रवुद्ध व्यक्तित्वहरू लाग्नुहुनेछ भन्ने विश्वास छ”, संस्कृतिविद् जोशीले भन्नुभयो । यसअघि कालकोठरीमा रहेको बताउँदै संस्कृत शिरोमणि जोशीले महानगरले पुस्तकालयलाई उच्च स्थान दिएकोमा महानगरलाई धन्यवाद दिए ।

    ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सहरी पुस्तकाल र ‘सिटी हल’ अपरिहार्य हुने भन्दै महानगरले पठन संस्कृतिलाई जगेर्ना गर्न पुस्तकालयलाई प्राथमिकता दिएको बताए । उनले पुनःस्थापित शारदा पुस्तकालय सञ्चालनको सम्बन्धमा महानगर संवेदनशील लाग्ने जानकारी गराउँदै पुस्तकालयका लागि पुस्तक उपलब्ध गराउने लेखक तथा प्रकाशक मिरसुब्बा नारायणप्रसाद श्रेष्ठ र शताब्दी पुरुष सत्यमोहन जोशीका छोरा अनुराग जोशीलाई धन्यवाद दिए ।

    स्व सत्यमोहन जोशीले शारदा पुस्तकालय पुनःस्थापित गर्न आफूलाई पटकपटक प्रेरित गरेको स्मरण गर्दै महानगर प्रमुख महर्जनले २०४६ सालको जनआन्दोलनको बेलामा मासिएको पुस्तकालय संरक्षण गरेर नयाँ पुस्ताका लागि हस्तान्तरणलाई जोड दिएको बताए । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पठन संस्कृतिको महत्त्व बुझाउन ललितपुर महानगरले शारदा पुस्तकालयलाई पुन रः स्थापित गरेको जानकारी गराउँदै पुस्तकालयको पुनःस्थापना गर्ने कार्य सजिलो नभएको र यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले पुस्तक ज्ञानको प्रारम्भिक स्रोत भएको बताउँदै पुस्तकालयको महत्त्वलाई बुझाउन अत्यावश्यक भएको प्रष्ट पारे ।

    लेखक तथा प्रकाशक मीरसुब्बा नारायणप्रसाद श्रेष्ठले विश्वप्रसिद्ध कलाकार अरनिको जन्माउने ललितपुर विश्वकै उत्कृष्ट सहर भएको धारणा राखे । शारदा पुस्तकालयको पुनःस्थापना गरेर महानगरले आफ्नो गरिमा बढाएको बताए । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी, नेपाल राष्ट्रिय पुस्तकालय, मदन पुस्तकालयलाई पुस्तकालय पुनःस्थापना गर्नका लागि गरेको सहयोगप्रति नगर प्रमुखले आभार प्रकट गरे ।

  • भोटेकोशी बाढीः नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

    भोटेकोशी बाढीः नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन


    काठमाडौँ, २६ भदौः भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अप्रेशन सञ्चालनमा ल्याएको छ । सो अप्रेशनअन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, ‘डिएनए प्रोफाइलिङ’ एवं ट्राफिक व्यवस्थापनलगायत विषयलाई उच्च प्राथमिकता दिइएको छ ।

    यस कार्यक्रमलाई सफल बनाउन प्रहरी हेडक्वार्टमा सञ्चालित ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’मार्फत सम्बन्धित बाढी प्रभावित जिल्लालाई आवश्यक निर्देशन दिइएको छ । बाढीका कारण भोटेकोशी र त्रिशूलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाइ वा हराइ रहेका मानिस जीवित हुनसक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्न मातहतका युनिटलाई भनिएको छ ।

    फेला परेका शव वा शरीरका अङ्गका मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैङ्क कार्ड तथा महत्त्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले बाढीमा परी बेपत्ताको खोजलाई प्राथमिकतामा राखी नदी किनारा, भग्नावशेषलगायत स्थानमा प्रहरी टोली परिचालित गरिएको बताउँछन् । “कठिन भौगोलिक अवस्थालाई मध्यनजर गरी खोजी कार्यलाई प्रभावकारी बनाउन ड्रोन एवं केनाइनको प्रयोगमा विशेष जोड दिइएको छ । प्रहरीले टिमुरेदेखि त्रिवेणशीसम्म विशेष अप्रेशन सञ्चालन गरी खोज तथा उद्धारलाई तीव्र पारेको छ”, उनले भने , । बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा प्रहरीले सक्रियता बढाएको छ ।

    प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव सङ्कलन, मुचुल्का तथा घटनास्थल व्यवस्थापन, पोष्टमार्टम, शव पहिचानमा सहजीकरण, डिएनए प्रोफाइलिङको लागि नमुना सङ्कलन र शवको सुरक्षित व्यवस्थापनका क्षेत्रमा प्रहरीले सक्रियाताका काम गरिरहेको छ ।

    भौगोलिक विकटकताका कारण उद्धारकर्ता एवम् केनाइनसमेत पुग्न नसक्ने स्थानमा ड्रोनको प्रयोग गरी हराइरहेकाको खोजी जारी राखिएको छ । बाढीका कारण अवरुद्ध सडक खुलाउन एवम् सडक नभएका स्थानमा तुईनमार्फत सुरक्षित आवतजावतमा सहजीकरण गरिएको प्रवक्ता काफ्ले बताउँछन् ।

  • गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

    गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

    काठमाडौँ, २६ भदौः काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको यहाँ भीड लागेको हो । दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ।

    कुशे औँसीका अवसरमा आज बिहानैदेखि गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै तर्पण, आमान्न र पिण्डदान गर्ने पितृभक्तको घुइँचो लागेको छ । धार्मिक मान्यताअनुसार भाद्रपद कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गर्दा २१ पुस्तासम्मका पितृले मुक्ति पाउँछन् ।

    गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको धार्मिक विश्वास रहेको यस तीर्थमा श्राद्ध तथा तर्पण गर्दा पितृले मुक्ति पाउने धर्मशास्त्रमा वर्णन छ । बौद्ध धर्मगुरु ऐतमान लामाका अनुसार बौद्ध धर्मावलम्बी पनि बाबुको निधन भएको एक वर्षभित्र गोकर्णेश्वरमा पुगेर श्राद्ध तथा पूजाआजा गर्ने र त्यसपछि भोज खाने परम्परा छ । यस दिन गोकर्णेश्वर महादेवको दर्शन गरेमा दिवङ्गत बाबुको प्रतीकात्मक दर्शन भएको मानिन्छ ।

    भाद्र कृष्ण औँसीलाई गोकर्णेश्वरमा लाग्ने मेलाका कारण यसलाई गोकर्णे औँसी पनि भनिन्छ । धार्मिक मान्यताअनुसार पशुपतिनाथमा श्री यन्त्र र गोकर्णेश्वरमा बाल यन्त्र रहेकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वरको पनि दर्शन गर्नुपर्छ ।

  • भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

    बागलुङ, २६ भदौः भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ । त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी अदिति १६ दिनसम्म नभेटिएपछि उनीहरूका अभिभावकले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।

    वेपत्ता इन्जिनियर दम्पतीका आफन्ती विष्णु शर्माका अनुसार राजेश पौडेल परिवारका एकमात्र छोरा थिए । यसैबीच, त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली–३ बी आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चारसहित १६ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • देवीघाटमा सेनाले यस्तो बनायो एक्रोब्रिज

    देवीघाटमा सेनाले यस्तो बनायो एक्रोब्रिज

    नुवाकोट, २५ भदौः यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो । बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो । एक्कासी आएको भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे । एक ठाउँबाट अर्को ठाउँ आवातजावत गर्ने पुल नै बगेपछि सर्वसाधारणको पीडामा मल्हम लगाउन सरकारले तत्कालै देवीघाटमा एक्रोब्रिज निर्माण गर्ने योजनालाई उच्च प्रथामिकतामा राखेर काम अघि बढायो ।

    सरकारको योजनालाई दिनरात नभनी नेपाली सेनाले पाँच दिनमा नै ५७।९ मिटर लम्बाइको एक्रोब्रिज तयार पारेको छ । बिहीबार बेलुकादेखि सबै खालका सवारीसाधन सञ्चालनमा ल्याइएको छ । देवीघाटमा एक्रोब्रिज सञ्चालनमा आएसँगै बाढीले आहात भएका बाढी प्रभावित सर्वसाधारणको मनमा केही हदसम्म भए पनि मल्हमपट्टी लगाउने काम भएको छ ।

    नुवाकोटको बेलकोटगढी नगरपालिका–८ जिलिङका सौगात पुडासैनी भोटेकोशी बाढीले मन छियाछिया पारे पनि सरकारले काम थालेको पाँचौँ दिनमा देवीघाटमा पुल तयार पारेर केही हदसम्म भए पनि राहतको महसुस गरेको बताउनुहुन्छ ।

    “भोटेकोशी बाढीले नजिकै रहेको गाउँघर फर्किन धौधौ भइरहेको थियो । आज नेपाली सेनाले छोटो समयमै पुल तयार पारेपछि बाढीले छियाछिया परेको मनमा केही हदसम्म भए पनि खुसी महसुस भएको छ”, उहाँले भन्नुभयो, “देवीघाटमा पुल नहुँदा घुमाउरो बाटो प्रयोग गरेर घर पुग्नै दुईतीन घण्टा लाग्ने गथ्र्यो । तर, अहिले पुल बनेपछि त २५ मिनेटमै घर पुगिन्छ ।”

    उहाँमात्रै होइन, बेलकोटगढी नगरपालिका–८ ढुङगानेगाउँका मनोज तामाङले पनि पुल बनेपछि आफ्नो घरमा पुग्न निकै सहज भएको बताउनुभयो । “भोटेकोशीको बाढीले पुल बगाउँदा सर्वस्व नै गुमाएजस्तो अनुभव भएको थियो”, उहाँले भन्नुभयो, “पुल बनेपछि आशा पलाएको छ ।”

    नेपाली सेनाका रथी रञ्जित थापाले नेपाली सेनाले दिनरात काम गरेर ७२ घण्टे कार्यअवधिमा नै देवीघाटमा एक्रोबिज्र तयार पारेको बताउनुभयो । “नुवाकोटको विदुर र गल्छीलाई जोड्ने महत्त्वपूर्ण पुल भएकाले पनि ५५ जना प्राविधिक दिनरात खटेर कार्यसम्पन्न गरेका छौँ”, उहाँले भन्नुभयो ।

    देवीघाटमा यही भदौ २० गतेदेखि पुल निर्माण सुरु भएको हो । “हामीले काम सुरु गरेको पाँच दिन भए पनि कार्यअवधि भने ७२ घण्टाभन्दा धेरै लागेको छैन”, उहाँले भन्नुभयो, “यो पुल बनेसँगै सर्वसाधारण तथा सवारीसाधन गुडाउनका लागि धेरै सहज हुने अपेक्षा गरेका छौँ ।”

    नेपाली सेनाले प्राविधिक परीक्षण गरेर पुल हस्तान्तरण गरेको हो । विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले देवीघाटमा पुल बनेसँगै सर्वसाधारणको जीवनयापनलाई धेरै सहज बनाएको बताउनुभयो । “नेपाली सेनाको अथक प्रयासले छोटो समयमा नै पुल तयार भयो । यो पुल बनेसँगै पृथ्वीराजमार्गसँग टुटेको सम्पर्क जोडिएको छ”, उहाँले भन्नुभयो ।

    उहाँले नगरपालिकाको तर्फबाट पनि पुल निर्माणमा आवश्यक समन्वय र सहकार्य गरिएको बताउनुभयो । नेपाली सेनाको १४ नं बाहिनी अड्डाअन्तर्गत रहेको ब्रिजिङ युनिटले पुल निर्माण गरेको हो ।

    गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले यसअघि देवीघाटको पुलको ५५ मिटर लम्बाइको ‘बक्सगडर’ बाढीले भत्काएपछि एक्रोब्रिज राख्न सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले थोरै मात्रामा रातोमाटेमा केही कटिङ भइरहेको छ । सो खण्ड पनि आज ९शुक्रबार०सम्म मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइसक्छौँ ।”

    नेपाली सेनाको १४ नं बाहिनी अड्डाका बाहिनीपति जगदीश खड्काले नेपाली सेनाको रणनीतिक जगेडा पुललाई ल्याएर देवीघाटस्थित तादीखोलामा फिटिङ गरी सञ्चालनमा ल्याएको बताउनुभयो । “नेपाली सेनाले एक्रोब्रिज गजुरीमा भण्डारण गरेर राखेको थियो । उहाँले भन्नुभयो, “गजुरीबाट ल्याएर सो पुल फिटिङ गरेर सञ्चालमा ल्याएका हौँ ।”

    नेपाली सेनाका प्रमुख सेनानी करुणबहादुर थापाले एक्रोब्रिज अमेरिकन प्रविधिमा आधारित भएकाले पनि गुणस्तरीय र धेरै भारवहन क्षमताको रहेको बताउनुभयो । पुलको भारवाहन क्षमता ६० टन छ ।

  • आज १६१औँ मोती जयन्ती मनाइँदै

    आज १६१औँ मोती जयन्ती मनाइँदै

    काठमाडौँ, २६ भदौः राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विस १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।

    युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ ।

    दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । परिषद्ले दिउँसो २ः०० बजे कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गर्न लागेको अध्यक्ष रमा शर्माले जानकारी दिनुभयो ।

  • आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

    आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

    काठमाडौँ, २६ भदौः कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

    सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

    पितृसम्मान दिवस

    यसै अवसरमा आज छोराछोरीले परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

    आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको घुइँचो लाग्छ ।

    मेलाका सबै तयारी गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्छ । बेत्रावतीमा पिता दिवङ्गत भएकाहरू तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् । यस वर्ष भोटेकोशी बाढीका कारण बेत्रावतीमा मेला लाग्ने–नलाग्ने निश्चित भएको छैन ।

    ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिनमा थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्वका रूपमा लिइन्छ ।

  • पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

    पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

    भोजपुर, २६ भदौः पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘गाई–भैंसी नयाँ पकेट विकास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । विगतका वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमलाई निरन्तरता दिँदै गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम अघि बढाएको हो ।

    गाउँपालिकाको रु २५ लाख र किसानको रु २५ लाख लागत साझेदारी गरी कुल रु ५० लाखबराबरको बजेटमा यो कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार किसानका मागका आधारमा उन्नत जातका गाई तथा भैँसी वितरण गरिनेछ । गत आवमा पनि यहाँका किसानलाई ३९ वटा उन्नत जातका गाई वितरण गरिएका थियो । यस वर्ष पनि इच्छुक समूह तथा फार्महरूका लागि सूचना जारी भइसकेको बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष किरण राईले किसानलाई पशुपालनमार्फत आर्थिक रूपमा सबल बनाउनुका साथै पोषण सुरक्षामा समेत टेवा पुर्याउने लक्ष्यका साथ कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।

    “विगतका वर्षबाट नै किसानलाई उन्नत जातको गाईभैँसी वितरणको कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “यो वर्ष पनि किसानलाई गाईभैँसी वितरणको तयारी गरेका छौँ ।”

    गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले महिला विकास बोर्डअन्तर्गत ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत पशुपालन तथा कृषिका क्षेत्रमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । सो कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम परियोजना कार्यान्वयन म्यानुअल २०७७ (पहिलो संशोधन २०८१) को स्वीकृत मापदण्डअनुसार सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा कृषि–पशु समूह, समिति, सहकारी, वन उपभोक्ता समिति तथा दर्तावाला कृषि तथा पशुपालन फार्मले प्रस्ताव दर्ता गर्न सक्नेछन् ।

  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, २६ भदौः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३७ पैसा र बिक्रीदर ११० रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४७ पैसा र बिक्रीदर १२० रुपैयाँ ९४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११ रुपैयाँ ४० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७२ पैसा र बिक्रीदर २३ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ २४ पैसा बिक्रीदर ४०५ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४२ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • विदेशबाट फर्किएका युवा भेडापालनमा

    विदेशबाट फर्किएका युवा भेडापालनमा

    रासस
    म्याग्दी, २६ भदौः रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका केही युवाले भने विदेशमा सिकेको सीप र कमाएको पुँजी गाउँमै लगानी गरेर भेडापालन व्यवसाय सुरु गरेका छन् । पाउद्धारका ३८ वर्षीय मनिराम पाइजा छ वर्ष रोजगारीका लागि दुबईमा बस्नुभयो । विदेशमा रहँदा सिकेको व्यावसायिक ज्ञान र सीप तथा त्यहाँबाट आर्जन गरेको पुँजीलाई आफ्नै गाउँमा लगानी गर्ने सोच बनाएर उहाँले भेडापालन सुरु गर्नुभएको छ । उहाँलाई सोही ठाउँका कमल मगर र अरुण मगरले साथ दिनुभएको छ । दुवै जना वैदेशिक रोजगारीबाट फर्किनुभएको हो ।

    मनिराम, कमल र अरुणको समूहले अहिले करिब ५०० भेडा पालेको छ । भेडापालनमा उहाँहरूले रु एक करोडभन्दा बढी लगानी गर्नुभएको छ । घान्द्रुक र मुस्ताङबाट भेडा खरिद गरी ल्याउनुभएको हो । बर्खायाममा भेडाको बथान समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको खयरखोला क्षेत्रमा पुग्छ । लेकका खर्कमा हरियो घाँस चराएर भेडा पाल्ने र जाडो बढेसँगै बथानलाई क्रमशः तल्लो क्षेत्रमा झार्ने गरिन्छ । हिउँदमा भेडा चराउँदै कास्की र पर्वतसम्म पुग्ने गरेको मनिरामले सुनाउनुभयो । “मिहिनेत गर्न सके भेडापालनबाट राम्रो आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “विदेशमा काम गर्दा जस्तो अरूको व्यवसायका लागि श्रम गर्नुभन्दा आफ्नै ठाउँमा लगानी गरेर काम गर्दा आत्मसन्तुष्टि पनि मिलेको छ ।”

    पाउद्धारका लेकाली खर्कमा चराइएका भेडा धार्मिक तथा सांस्कृतिक प्रयोजनका लागि माग हुने गरेका छन् । खयरखोला र आसपासका हिमाली क्षेत्रमा पाइने जडीबुटीयुक्त घाँस खाएर हुर्किएका भेडालाई पूजा एवं बलिका लागि उपयुक्त मानिन्छ । चाडपर्वका समयमा मासुका लागि यस्ता भेडाको माग हुन्छ ।

    गोठ र खर्कबाटै भेडा बिक्री हुने गरेका छन् । एउटा भेडा रु २० हजारदेखि ३५ हजारसम्ममा बिक्री हुने गरेको मनिरामले बताउनुभयो । यस वर्षको जनैपूर्णिमा पर्वमा खयरभारानी क्षेत्रमा लागेको मेलामा बलिका लागि ५० भन्दा बढी भाले भेडा र बोका बिक्री भएका थिए ।

    बस्तीबाट टाढा लेकाली खर्कमा घुम्ती गोठ सञ्चालन गरेर भेडापालन गर्न भने सहज छैन । चितुवा र ब्वाँसोबाट भेडा बाख्रा जोगाउनु मुख्य चुनौती हो । वन्यजन्तुको आक्रमणबाट बथानलाई जोगाउन उहाँहरूले भोटे कुकुर पाल्नुभएको छ । दिनभर भेडासँगै चरन क्षेत्रमा जाने कुकुरले रातको समयमा खर्कमा गोठको सुरक्षा गर्ने गरेका छन् ।

    भेडापालनसँगै मनिरामको समूहले खोपारा हुँदै खयरतर्फ जाने पर्यटकलाई घुम्ती गोठमै खाने तथा बस्ने सुविधा पनि उपलब्ध गराउँदै आएको छ । यसले पशुपालनसँगै ग्रामीण पर्यटनलाई जोड्ने अवसर सृजना गरेको छ ।

    खर्कको अवस्था र मौसमअनुसार भेडाबाख्राको बथानसहित गोठ बर्खामा लेकतर्फ र हिउँदमा बेँसीतर्फ सार्ने चलन पाउद्धारमा पुस्तौँदेखि चलिआएको छ । पुराना पुस्ताका किसानको निधन तथा युवाको सहर र विदेश पलायनसँगै यस्तो घुम्ती गोठको परम्परा क्रमशः हराउँदै गएको अवस्थामा मनिरामसहितका युवाले यसलाई निरन्तरता दिने प्रयास गरेका छन् । “गाउँमै बसेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने देखाउन चाहेका छौँ”, कमलले भन्नुभयो, “परम्परागत पेसालाई आधुनिक व्यवसायसँग जोडेर अघि बढाउने हाम्रो प्रयास हो ।”

    उहाँहरूका अनुसार भेडाबाख्रा बिरामी हुँदा औषधोपचार तथा प्राविधिक सेवा, घुम्ती गोठ निर्माण र रातको समयमा उज्यालोका लागि सौर्य ऊर्जाको व्यवस्थापन आवश्यक छ । स्थानीय तह र सम्बन्धित निकायबाट यस्ता क्षेत्रमा सहयोग पाए भेडापालनलाई थप विस्तार गर्न सकिने उहाँहरूको अपेक्षा छ ।

    विदेशबाट फर्किएका युवाले आफ्नै गाउँको वनपाखा र खर्कमा श्रम तथा पुँजी लगानी गरेर सुरु गरेको भेडापालनले स्वरोजगार सृजना गर्नुका साथै लोपोन्मुख बन्दै गएको घुम्ती गोठको परम्परालाई निरन्तरता दिने आधार तयार गरेको छ ।

  • वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

    वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

    काठमाडौँं, २६ भदौः पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ । आर्थिक वर्ष २०८२\८३ मा प्राप्त भएका एक हजार ११६ परियोजनामध्ये सूचना प्रविधिका मात्रै ७२७ छन् । प्रतिबद्धता आएका लगानी क्षेत्रहरूमध्ये उत्पादन ६३, ऊर्जा चार, कृषि १८, पर्यटन २२७, सेवामूलक ७१, पूर्वाधारका दुई छन् ।

    उद्योग विभागका अनुसार लगानीकर्ताले रु ५८ अर्बको वैदेशिक लगानीको प्रतिबद्धता जनाएका छन् । आर्थिक वर्ष २०८१\८२ मा विभिन्न ८४२ परियोजनाका लागि करिब रु ६४ अर्बको प्रतिबद्धता आएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार लगानीकर्ताले आफ्नो चासोको क्षेत्र नै खोज्छन् । केही परियोजना ठूलो लगानीको हुने भएकाले पुँजीको आकार बढ्न जाने उनको भनाइ छ ।

  • बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

    बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

    काठमाडौँ, २६ भदौः भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’मा तत्काल र दीर्घकालीन पुनःस्थापनाका लागि उक्त खर्च लाग्ने अनुमान रहेको उल्लेख छ ।

    प्रतिवेदनमा ‘क्रस कटिङ’ क्षेत्रअन्तर्गत भत्किएका भवनका संरचना हटाउन, विपद् जोखिम न्यूनीकरण र समावेशी पुनःस्थापनाका लागि उक्त रकम खर्च हुने आकलन छ । बाढीका कारण रु ४८ अर्ब २४ करोडबराबरको भत्किएका भवनका संरचना थुप्रिएको छ । त्यसमा करिब दुई अर्बको माटोको थुप्रो छ । यो हटाउनका लागि मात्रै रु ३० करोडभन्दा बढी खर्च लाग्ने अनुमान छ ।

    त्यसैगरी, विपद् जोखिम न्यूनीकरणका लागि तत्कालै रु ३५ करोड र दीर्घकालका लागि रु ९४ करोड ४० लाख गरी रु ९४ करोड ७५ लाख बराबर खर्च हुने अनुमान छ । त्यसमा जलमार्गमा रहेको भग्नावशेष हटाउने, नदी व्यवस्थापन तथा बस्ती संरक्षण, कमाण्ड क्षेत्र विकास, उच्च नदी किनाराको कटान तथा पहिरो नियन्त्रण, सिँचाइ प्रणाली पुनःस्थापना तथा बहुविपद् पूर्वसूचना प्रणालीलगायतको विकासका लागि उक्त खर्च लाग्ने देखिएको हो ।

    प्रतिवेदनले समावेशी पुनःस्थापनाका लागि तत्काल अर्थात् छ महिनाका लागि रु १५ करोड आवश्यक रहेको देखाएको छ । यो रकम असुरक्षित र सीमान्तकृत समुदाय, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य जोखिममा रहेका समूहको आवश्यकता समेटेर पुनःस्थापना तथा पुनर्निर्माणमा खर्च गरिनेछ ।

    प्रतिवेदनले भवनको भग्नावशेष, ढुङ्गा, माटो, बालुवा हटाउने काम छ महिनाभित्र ३१।१ प्रतिशत पूरा गर्न सकिने उल्लेख गरेको छ । साथै जोखिम न्यूनीकरण व्यवस्थापनअन्तर्गत ०।४ प्रतिशत काममात्रै गर्न सकिने प्रतिवेदनको ठहर छ । समावेशी पुनःस्थापना र पुनर्निर्माण भने सो समयभित्र सम्पन्न गर्न सकिने सम्भावना छ ।

    तत्कालको पुनरुत्थानका लागि पूर्वाधार क्षेत्रमा रु ६७ अर्ब ४२ करोड खर्च हुनेछ । जसमा ऊर्जा क्षेत्रमा जलविद्युत् र ग्रीड, घरायसी नवीकरणीय ऊर्जा, सडक, पुल, सञ्चार, सफाइ तथा खानेपानी, सिँचाइ र नदीसँग सम्बन्धित काम हुनेछन् । सामाजिक क्षेत्रको पुनरुत्थानका लागि तत्काल रु आठ अर्ब २९ करोड लाग्ने अनुमान गरिएको छ । यसमा निजी घर, सार्वजनिक भवन र सुविधा, शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा खर्च हुनेछ ।

    उत्पादन क्षेत्रको तत्काल पुनरुत्थानका लागि रु पाँच अर्ब लाग्ने अनुमान छ । यो रकम कृषि, माछापालन, पशुपालन, बैंकिङ, आर्थिक गतिविधि र जीवनयापनमा खर्च गरिनेछ । साथै भग्नावशेष हटाउन र विपद् जोखिम न्यूनीकरणका लागि तत्काल अर्थात् छ महिनाका लागि रु छ अर्ब ६० करोड लाग्ने आकलन छ ।

  • पाठ्यक्रम परिमार्जनः पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

    पाठ्यक्रम परिमार्जनः पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

    भक्तपुर, २६ भदौः ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता ९एआई०लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव प्राप्त भएका छन् । पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम परिमार्जन प्रयोजनार्थ सातै प्रदेशमा आयोजना गरेको कार्यशालामा सहभागीले वर्तमान पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र स्थानीय आवश्यकता अनुकूल बनाउनुपर्नेमा जोड दिएका हुन् ।

    कोशी प्रदेशमा आयोजित छलफलमा सहभागीले शिक्षालाई स्थानीय उत्पादनसँग जोड्दै स्वरोजगार र उद्यमशीलतामुखी बनाउनुपर्ने, सिकाइलाई विद्यार्थीकेन्द्रित, सिर्जनात्मक, प्रयोगात्मक तथा प्रविधिमैत्री बनाउनुपर्ने सुझाव दिएका छन् । सहभागीले प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तारसँगै देशप्रेम, नैतिकता तथा परम्परागत भाषा, लिपि र संस्कृतिको संरक्षण हुने किसिमको शिक्षा आवश्यक रहेको बताएका छन् । पाठ्यक्रमलाई लचिलो बनाउँदै निर्माण र कार्यान्वयनको केही जिम्मेवारी विद्यालय तथा शिक्षकलाई दिनुपर्ने सुझाव प्राप्त भएको छ ।

    मधेस प्रदेशमा पाठ्यक्रमको विषयवस्तु तथा पाठ्यभार घटाउनुपर्ने विषय प्रमुख रूपमा उठेको छ । पर्यटन, कृषिलगायत स्थानीय तथा सम्भावनायुक्त क्षेत्रसँग सम्बन्धित ज्ञान र सीप पाठ्यक्रममा समावेश गर्नुपर्ने सहभागीको सुझाव छ । प्रविधिसम्बन्धी विषयवस्तुलाई परिमार्जन गर्दै एआईसम्बन्धी ज्ञानलाई पाठ्यक्रममा समेट्नुपर्ने सहभागीको माग छ ।

    यस्तै, नैतिक तथा आध्यात्मिक शिक्षा, सामाजिक कार्यमा विद्यार्थीको सहभागितामार्फत मूल्याङ्कन, शिक्षकलाई पाठ्यक्रम विकासमा सहभागी गराउने र शिक्षकको क्षमता विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । मातृभाषा, नेपाली र अङ्ग्रेजी भाषामा विद्यार्थीलाई दक्ष बनाउनुपर्ने तथा रैथाने ज्ञान र सीपमार्फत रोजगारी सृजना हुने विषयवस्तु समावेश गर्नुपर्ने सुझाव दिइएको छ ।

    त्यस्तै, प्रधानाध्यापकलाई प्रशासकभन्दा शैक्षिक नेताका रूपमा विकास गर्नुपर्ने, स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय तहलाई अधिकार दिनुपर्ने, विद्यार्थीका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने र अभिभावक शिक्षामा जोड दिनुपर्ने उल्लेख छ ।

    बागमती प्रदेशमा उद्यमशीलता तथा रोजगारउन्मुख शिक्षा, अनिवार्य अभिभावक शिक्षा, नैतिक शिक्षा तथा स्थानीय ज्ञान, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । गण्डकी प्रदेशका सहभागीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी, सीपमूलक तथा रोजगारमुखी बनाउनुपर्ने बताएका छन् । पूर्वव्यावसायिक, कृषि तथा प्राविधिक शिक्षामार्फत आत्मनिर्भर र दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने तथा स्थानीय भूगोल, इतिहास, कला, संस्कृति र विविधतालाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव छ ।

    लुम्बिनी प्रदेशका सहभागीले पाठ्यभार तथा विषयवस्तु बढी भएकाले घटाउनुपर्ने, देशप्रेमको भावना विकास गर्ने किसिमको पाठ्यक्रम निर्माण गर्नुपर्ने र एआईको प्रयोगमार्फत सिर्जनात्मकता विकास गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले युवालाई विदेश पलायन हुन बाध्य बनाउनेभन्दा स्वदेशमै आत्मनिर्भर र रोजगारी सृजना गर्न सक्षम बनाउने पाठ्यक्रम आवश्यक रहेको बताएका छन् ।

    कर्णाली प्रदेशमा प्रारम्भिक बालविकास तथा शिक्षालाई विद्यालय संरचनामा दुई वर्षको अवधिमा ल्याउनुपर्ने, पाठ्यक्रमको वास्तविक कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन प्रभावकारी बनाउनुपर्ने र बारम्बार हुने पाठ्यक्रम परिवर्तनले सृजना गरेको अन्योल अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । शिक्षकलाई विभिन्न पक्षबाट आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा सहभागीले आफ्नो मत राखेका छन् ।

    सुदूरपश्चिम प्रदेशमा सामाजिक विकास मन्त्रालय प्याब्सन सुदूरपश्चिमले धनगढीमा कार्यक्रम सञ्चालन गरेको भए पनि छलफलबाट प्राप्त मुख्य सुझावको विवरण उपलब्ध गराइएको छैन ।

    शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले सातै प्रदेशका २८ जिल्लाबाट सरोकारवालाको सुझाव तथा पृष्ठपोषण सङ्कलन गरेको हो । विभिन्न जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ, नीतिनिर्माता, स्थानीय तह तथा अन्य सरोकारवालासँग प्रत्यक्ष अन्तक्र्रिया गरिएको छ ।

    पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणमा २८ जिल्लाबाट सुझाव सङ्कलन गरिनेछ । त्यसपछि ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइबाट सुझाव लिइनेछ । यस्तै, केन्द्रको वेबसाइटमार्फत सुझाव प्राप्त गरिनेछ ।

    सातै प्रदेशका कार्यशालाबाट प्राप्त सुझावमा राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई स्थानीय आवश्यकता, रोजगारी, उद्यमशीलता, प्रविधि, नैतिकता र जीवनोपयोगी सीपसँग जोड्दै पाठ्यभार कम गर्नुपर्ने उल्लेख छ । प्राप्त सुझावका आधारमा पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को परिमार्जनका लागि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

  • ‘विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ’

    ‘विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ’

    सिरहा, २५ भदौः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित मोहन नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष दाहालले हालै रसुवाको भोटेकोशीमा गएको बाढीपछि देश सङ्कटमा परेको भन्दै सबैलाई साथ सहयोग गर्न अपिल गरे । उनले भने, “पहाडमा सङ्कट परेको बेला मधेसले र मधेसमा विपद् परेको बेला पहाडले सहयोग गर्ने हाम्रो संस्कृति नै हो । आज पनि तराई मधेसको सहयोग अतुलनीय छ ।”

    शुक्रबारसम्म चल्ने विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन कार्यक्रमा प्रतिनिधिसभा सदस्य तपेश्वर यादव, सिरहा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, मिर्चैया–७ फूलबरियास्थित बाजु माविका प्रधानाध्यापक फुलगेन नायक, सगरमाथा बोर्डिङ स्कुलका संस्थापक प्रदीप तिवारीलगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । सङ्घीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत चारवटा भवन निर्माण गरिएका हुन् ।

  • निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छुः नवनियुक्त उद्योगमन्त्री साह

    निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छुः नवनियुक्त उद्योगमन्त्री साह

    काठमाडौँ, २५ भदौः नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधानमा आफू गम्भीर भएर लाग्ने बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज पद तथा गोपनियताको शपथलगत्तै सिंहदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले पत्रकारसँग भने, “जनतालाई जति ग्यास आवश्यक छ, त्यति दिनैपर्छ, छलफल गरेर आवश्यक कदम चाल्नेछौँ ।”

    निवर्तमान उद्योगमन्त्री गौरीकुमारीसँग छलफल गरेर आफू अघि बढ्ने उल्लेख गर्दै मन्त्री साहले त्यसआधारमा सुधारका कार्यक्रम अघि बढाइने स्पष्ट पारे । “कुनै काम गर्नुभन्दा अघि विगतमा त्यससम्बन्धमा के–के भइरहेको छ, त्यसको जानकारी लिएर मात्रै अघि बढ्दा नतिजा आउँछ”, मन्त्री साहले भने । तत्कालीन मन्त्री गौरीकुमारीले आज पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले सांसद साहलाई उद्योगमन्त्रीमा नियुक्त गरेका हुन् ।

  • प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    काठमाडौँ, २५ भदौः प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले आगामी असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
    बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी) को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए ।


    मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा हरिप्रसाद लम्साल तथा सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । यस्तै सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

  • बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

    काठमाडौँ, २५ भदौः यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात्को पुनर्निर्माणका लागि सरकारले रु सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख आवश्यक पर्ने अनुमान गरेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनःरुत्थानका लागि मात्रै रु चार खर्ब ७३ अर्ब ५७ करोड १९ लाख लाग्ने अनुमान गरिएको छ । यो कूल विपद् पुनःरुत्थान आवश्यकताको ७५ प्रतिशत हिस्सा हो ।

    पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सडकमा व्यापक क्षति पुगेको छ । जहाँ ७५९ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना र २४ मेगावाटका पाँच वटा सोलार प्लान्ट प्रभावित भएका छन् । यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै र तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार आवश्यक पर्ने देखिएको छ ।

    यसैगरी ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको छ । तेत्तीस वटा मोटरेबल पुल बगेका छन् भने चार वटामा आंशिक क्षति पुगेको छ । यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ । प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनःरुत्थानका लागि रु ७३ अर्ब ३४ करोड २९ लाख ६० हजार खर्च लाग्ने देखिन्छ ।

    बाढीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी सत हजार ५७० वटा निजी घरहरू क्षतिग्रस्त भएका छन् । यसबाहेक ४८ वटा सार्वजनिक भवन, १८ वटा विद्यालय, सात वटा स्वास्थ्य संस्था र ३० वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । यो क्षेत्रका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड ९९ लाख बजेट आवश्यक छ ।

    यसैगरी, व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुनःरुत्थानका लागि रु ५० अर्ब ७७ करोड ४९ लाख लाग्ने आकलन गरिएको छ । उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बाली, १७ वटा बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठानहरू प्रभावित भएका छन् ।

    पाँच जिल्लाका प्रभावित १५ स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै तीन हजार २६ घरमा क्षति पुगेको छ । विपद् जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि रु ९४ अर्ब ७५ करोड ३१ लाख र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि रु ५१ करोड ५४ लाख आवश्यक पर्ने प्रतिवेदनले औँल्याएको छ ।

    प्रतिवेदनले पुनर्निर्माणलाई दुई चरणमा विभाजन गरेको छ । जसअनुसार, आगामी छ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि रु आठ अर्ब ७३ करोड ५० लाख र दीर्घकालीन पुनर्निर्माणका लागि रु सात खर्ब १४ अर्ब ५८ करोड दुई लाख खर्च हुने अनुमान गरिएको छ ।

  • उद्योगमन्त्रीमा साह नियुक्त, आजै भयो शपथ

    उद्योगमन्त्रीमा साह नियुक्त, आजै भयो शपथ

    काठमाडौँ, २५ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई नियुक्त भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति समक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गर्न उनलाई सिफारिस गरेका थिए । सोही अनुसार राष्ट्रपतिले उनलाई सपथ ग्रहण गराएका छन् । इन्जिनियर साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित सांसद् हुन् । गौरी कुमारी यादवले राजीनामा दिएपछि उनी मन्त्री बनेका हुन् ।

  • विवादित अभिव्यक्ति दिएको भोलीपल्ट उद्योगमन्त्री यादवको राजीनामा

    विवादित अभिव्यक्ति दिएको भोलीपल्ट उद्योगमन्त्री यादवको राजीनामा

    काठमाडौँ, २५ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन् । आज उनले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाइन् । मन्त्री यादवको सचिवालयले भनेको छ, “उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाउनुभएको छ ।” उनले बुधबार मात्र व्यापारीलाई पाता कस्ने र कर्मचारीले सहयोग नगरेको उनले बताएकी थिइन् । अहिले बजारमा ग्यासको चरम अभाव छ ।

  • अमेरिका–इरान तनाव चर्किंदै

    अमेरिका–इरान तनाव चर्किंदै

    पेरिस, २५ भदौ (रासस–एएफपी) । इरान र संयुक्त राज्य अमेरिकाबीच सैन्य तनाव थप चर्किएको छ । आफ्ना जहाजमाथि अमेरिकी आक्रमणको जवाफी कारबाहीस्वरूप इरानले बुधबार हर्मुज जलघाँटीमा अमेरिकी जहाज र तेल ट्याङ्करलाई लक्षित गर्नुका साथै जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । बढ्दो तनावले मध्यपूर्वको सुरक्षा र विश्वव्यापी तेल आपूर्तिमाथि जोखिम बढाएको छ ।

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले हर्मुजबाट पार गर्न खोजिरहेका दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० ‘गैर–अनुपालन जहाज’ लाई लक्षित गरेको जनाएको छ । साथै कुवेत र बहराइनका बन्दरगाहमा रहेका तेल ट्याङ्करलाई समेत आक्रमण गर्ने चेतावनी दिँदै चालक दललाई जहाज छाड्न आग्रह गरेको छ ।

    इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ भने जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका १८ क्षेप्यास्त्र खसालेको बताएको छ । तनावसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । बुधबार एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९९.४६ अमेरिकी डलर तथा वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य ९४.४५ डलर पुगेको थियो ।

    अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी तेलवाहक जहाजले अमेरिकी युद्धपोतमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी सेनाले मङ्गलबार पाँच इरानी तेलवाहक जहाज नष्ट गरेको थियो । इरानी सञ्चारमाध्यमले खर्ग टापुनजिकै एउटा सानो तेल ट्याङ्करमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार भएको तथा जास्क बन्दरगाहमा विस्फोट भएको जनाएका छन् ।

    यसअघि इरानी सशस्त्र बलका चिफ अफ स्टाफ अली अब्दुल्लाहिले इरानी तेल ट्याङ्करमाथि आक्रमण भए क्षेत्रका अमेरिकी सैन्य आधारलाई लक्षित गर्ने चेतावनी दिएका थिए ।
    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यमनका हुथी विद्रोहीले साउदी अरबमाथि गरेको आक्रमणमा इरानको हात रहेको आरोप लगाए । चार वर्षको युद्धविरामपछि यमनमा पुनः द्वन्द्व चर्किरहेका बेला हुथीहरूले लाल सागरको प्रवेशद्वार बाब अल–मन्डब नजिकै आक्रमण तीव्र पारेका छन् । इरानले अमेरिकी मानवरहित पनडुब्बी र एमक्यू–१ ड्रोन नष्ट वा कब्जा गरेको दाबी गरेको छ । अमेरिकी सेनाले भने पानीमुनि ड्रोनमा खराबी आएको र त्यसमा संवेदनशील सूचना नरहेको जनाएको छ ।

    यसैबीच अमेरिकाले इरानमाथि आर्थिक दबाब पनि बढाएको छ । अमेरिकी अर्थ मन्त्रालयले इरानको उड्डयन क्षेत्रमार्फत हतियार, कर्मचारी र अवैध कार्गो ओसारपसारमा सहयोग पुगेको आरोपमा ३६ वटा व्यक्ति तथा संस्थामाथि प्रतिबन्ध लगाएको जनाएको छ । पछिल्ला घटनाक्रमले हर्मुज जलघाँटीमा सम्भावित अवरोधका कारण मध्यपूर्वको सुरक्षा मात्र नभई विश्वव्यापी ऊर्जा बजारमा समेत थप अस्थिरता आउनसक्ने चिन्ता बढाएको छ ।

  • अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्याङ्कर ध्वस्त

    अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्याङ्कर ध्वस्त


    वासिङ्टन, २५ भदौ (रासस–एपी) । अमेरिका र इरानबीच छ महिनाभन्दा लामो समयदेखि जारी युद्धमा तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाले मंगलबार आफ्ना युद्धपोतमाथि भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको जवाफमा इरानका थप पाँचवटा तेल ट्यांकर ध्वस्त पारेको जनाएको छ । अमेरिकी कारबाहीपछि इरानले पनि जोर्डनमा रहेका अमेरिकी लक्ष्यतर्फ क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

    जोर्डनको सेनाका अनुसार उसको हवाई प्रतिरक्षा प्रणालीले आफ्नो भूमितर्फ प्रहार गरिएका १८ वटा ब्यालेस्टिक क्षेप्यास्त्र आकाशमै रोकेको थियो । थप दुईवटा क्षेप्यास्त्र भने मानव बस्ती नभएका क्षेत्रमा खसेका थिए । घटनामा मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जोर्डनले जनाएको छ । अमेरिकाको निकट सहयोगी जोर्डनमा अमेरिकी सेनाको उपस्थिति रहेकाले त्यहाँका सैन्य अखडाहरू यसअघि पनि इरानी आक्रमणको निशानामा पर्दै आएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने प्रयास गरिरहेकै बेला पछिल्ला आक्रमण भएका हुन् । ट्रम्प प्रशासनले मंगलबार इरानको हवाई क्षेत्रमा थप प्रतिबन्धसमेत लगाएको छ । इरानलाई बाँकी रहेका व्यापारिक साझेदारबाट अलग पार्ने प्रयासस्वरूप दुई दर्जनभन्दा बढी व्यावसायिक तथा निजी विमान सेवा र विदेशी मालवाहक सेवा प्रदायकलाई लक्षित गरिएको जनाइएको छ ।

    अमेरिका र इरानबीचको संघर्षमा होर्मुज जलडमरूमध्य पनि महत्वपूर्ण क्षेत्र बनेको छ । युद्ध सुरु हुनुअघि विश्वमा खपत हुने कुल तेलमध्ये करिब पाँच भागको एक भाग यही मार्ग हुँदै ओसारपसार हुने गरेको थियो । यस क्षेत्रमा जारी तनावका कारण विश्व बजारमा ऊर्जा मूल्य बढिरहेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य केही समयका लागि प्रतिब्यारेल ९९.४६ अमेरिकी डलरसम्म पुगेको थियो ।

    यसअघि शनिबार पनि अमेरिकी सेनाले इरानका तीनवटा तेल ट्यांकर ध्वस्त पारेको थियो । इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बलले अमेरिकी विमानवाहक युद्धपोत र विध्वंसक युद्धपोतलाई ब्यालेस्टिक क्षेप्यास्त्रमार्फत आक्रमण गर्ने प्रयास गरेपछि अमेरिकी सेनाले यस्तो कारबाही गरेको बताएको थियो । त्यसपछि इरानले होर्मुज जलडमरूमध्य नजिकबाट आवतजावत गर्ने निश्चित जहाजलाई लक्षित गर्दै नयाँ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको जनाएको थियो ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका आक्रमणलाई कुनै जवाफबिनै छाड्न नसकिने बताए । लगातारका आक्रमण र जवाफी कारबाहीले अमेरिका–इरान युद्ध थप गहिरिँदै जाने तथा यसको असर विश्व ऊर्जा बजारमा समेत पर्न सक्ने चिन्ता बढेको छ ।

  • हिमनदीको जोखिममा भुटानको निगरानी

    हिमनदीको जोखिममा भुटानको निगरानी

    वाङ्गडु फोद्राङ (भुटान), २५ भदौ (रासस–एएफपी) । जलवायु परिवर्तनका कारण तीव्र गतिमा पग्लिरहेका हिमनदी र विस्तार भइरहेका हिमनदी तालबाट आउनसक्ने बाढीको जोखिम घटाउन भुटानले चौबीसै घण्टा निगरानी र पूर्वसूचना प्रणाली सञ्चालन गरिरहेको छ । राजधानी थिम्पूबाट केही घन्टाको दूरीमा रहेको कन्ट्रोल रुममा खटिएको टोलीले हिमनदी ताल तथा नदीको पानीको सतहमा हुने परिवर्तन निरन्तर निगरानी गर्छ ।

    भुटानको उत्तरी हिमाली क्षेत्रमा ६०० भन्दा बढी हिमनदी छन् । हिमनदी पग्लिँदा कमजोर भग्नावशेष बाँधले थामेका ताल विस्तार हुने र बाँध भत्किए ठूलो बाढी आउनसक्ने जोखिम छ । सन् १९९४ मा यस्तै हिमनदी ताल विस्फोटजन्य बाढी (जीएलओएफ) मा पुनात्सङछु नदी किनारमा २१ जनाको मृत्यु भएको थियो ।

    वाङ्गडु फोद्राङ क्षेत्रको जीएलओएफ आपत्कालीन चेतावनी केन्द्रकी कनिष्ठ इन्जिनियर डेचेन पेल्डनका अनुसार जलवायु परिवर्तनका कारण थोर्थोर्मी हिमनदी पूर्ण रूपमा हिमनदी तालमा परिणत भएको छ । “अब हामी अझ बढी सतर्क र बढी चिन्तित हुनुपर्छ”, उनले भनिन् । सन् २०११ देखि सञ्चालनमा रहेको चेतावनी केन्द्रले सेन्सरमार्फत हिमनदी ताल र तल्लो क्षेत्रका नदीको पानीको सतह निगरानी गर्छ । असामान्य परिवर्तन देखिए साइरन स्वतः बज्ने र आवश्यक परे नियन्त्रण कक्षबाट तल्लो क्षेत्रका साइरनसमेत सञ्चालन गर्ने व्यवस्था छ ।

    भुटानमा रहेका ६०० भन्दा बढी हिमनदी तालमध्ये १७ वटा सम्भावित खतरनाक मानिएका छन् । पुनात्सङछु नदीको मुहानतर्फ रहेका चारवटा तालमध्ये दुईवटा कमजोर भग्नावशेष बाँधले छुट्याएका छन् । ती बाँध भत्किए सबैभन्दा खराब अवस्थामा करिब पाँच करोड ३० लाख घनमिटर पानी तलतिर बग्नसक्ने अनुमान छ ।

    जोखिम न्यूनीकरणका लागि भुटानले थोर्थोर्मी हिमनदी तालको पानीको सतह घटाउने काम पनि गर्दै आएको छ । सन् २००८ मा सुरु गरिएको परियोजनाले नहर निर्माण तथा विस्तार गरी तालको सतह करिब पाँच मिटर घटाएको थियो । तर हिमनदी निरन्तर पग्लिँदा ताल पुनः भरिएको छ र पानी बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

    भुटानका प्रमुख हिमनदीविद् कर्माका अनुसार देशका ठूला हिमनदी हरेक वर्ष ३० देखि ३५ मिटर र साना हिमनदी १२ देखि १६ मिटरसम्म पछाडि हटिरहेका छन् । उनले विगतमा हिमनदीमा सहजै चढ्न सकिने भए पनि अहिले अवस्था निकै बदलिएको बताए । भुटानले उत्सर्जन गर्नेभन्दा धेरै कार्बन अवशोषण गरे पनि जलवायु परिवर्तनको असर तीव्र रूपमा भोगिरहेको भन्दै कर्माले विश्व समुदायलाई जिम्मेवारी लिन आग्रह गरे । “भुटानका समुदायमा आइपरेको डर र जोखिम हाम्रो गल्ती होइन”, उनले भने ।

  • मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु


    कुचिङ, मलेसिया, २५ भदौ (रासस–एएफपी) । मलेसियाको सारावाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मलेसियाली अधिकारीका अनुसार मंगलबार दिउँसो बो–१०५ प्रकारको हेलिकप्टर बोर्नियो टापुको उत्तरपश्चिमी क्षेत्रमा पर्ने मिरी सहरबाट करिब ३१५ किलोमिटर दक्षिणपूर्वमा रहेको दुर्गम हवाई क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । मिरीका विपद् व्यवस्थापन समितिका अध्यक्ष गालोङ लुआङले बुधबार जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको पुष्टि गरे । मृतकमध्ये चालक, एक चिकित्सक, एक स्वास्थ्य सहायक र दुई जना नर्स रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


    सामाजिक सञ्जालमा सार्वजनिक भएको दुर्घटनाको दृश्यमा हेलिकप्टर खस्नुअघि त्यसबाट बाक्लो धुवाँ निस्किरहेको देखिन्छ । यद्यपि, दुर्घटनाको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन । मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाको अनुसन्धान गर्न हवाई दुर्घटना अनुसन्धान टोली बुधबार घटनास्थल पुग्नेछ ।

    मलेसियाको दुर्गम स्वास्थ्य सेवा कार्यक्रमले घना जंगल र कठिन भौगोलिक अवस्थाका कारण सडक यातायातको पहुँच नभएका आदिवासी समुदायलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । त्यहाँका बासिन्दा स्वास्थ्य सेवाका लागि हवाई यातायातमा ठूलो मात्रामा निर्भर छन् । यस सेवाअन्तर्गत चिकित्सक, स्वास्थ्य सहायक, नर्सलगायत स्वास्थ्यकर्मीको टोली हेलिकप्टर वा साना विमानमार्फत गाउँ तथा परम्परागत सामुदायिक घरहरूमा नियमित रूपमा पुग्ने गर्छ । स्वास्थ्य टोलीहरू सामान्यतया प्रत्येक महिना वा दुई महिनाको अन्तरालमा दुर्गम बस्तीमा पुग्ने गरेका छन् ।

  • अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु

    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु

    ’
    म्याग्दी, २५ भदौः त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ। म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो ।

    आयोजना प्रमुख ज्योतिकुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने दुई हजार ५०६ दशमलव ३९ मिटर सुरुङ ब्रेक थ्रु भएको जानकारी दिए । छहरीको अडिटदेखि धवलागिरि गाउँपालिका–४ खाम्लास्थित बाँधतर्फको तीन हजार २८३ दशमलव ३२ मिटरमध्य हालसम्म एक हजार ९७३ मिटर सुरुङ निर्माण सकिएको छ”, उनले भने, “बाँकी सुरुङ पनि केही महिनाभित्रनै सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको छ ।”

    हालसम्म समग्रमा ५६ प्रतिशत भौतिक प्रगति भएको र आगामी एक वर्षभित्र सम्पन्न हुने आयोजना प्रमुख केसीले जानकारी दिए । विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टरले विसं २०८१ भदौ महिनादेखि मुख्य सुरुङ निर्माण थालेको थियो ।

    बाँध, सुरुङ र विद्युत्गृह निर्माणका साथै हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फको कामलाई तीव्र पारिएको छ । बर्खायाममा आयोजना निर्माणस्थलमा पर्ने बेनी–दरबाङ सडकको फापरखेत पहिरो, दुखुखोला सडक पुल जोखिममा पर्ने र शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइएको असर अपर म्याग्दी–१ लगायतका जलविद्युत् आयोजना निर्माणमा परेको छ ।

    सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युत् गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ । भारवाङदेखि एक दशमलव पाँच किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सवस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ ।

    रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत् गृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युत् गृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ । ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुुसन प्राली परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ । अपर म्याग्दी–१ को प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालीमा आबद्ध छ ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, २५ भदौः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।


    यस्तै, अर्थमन्त्री डा वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, बैठकमा कानुन, नयाय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरुको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यसैगरी, बैठकमा सभामुखले राष्ट्रियसभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।


    यस्तै, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०\८१ र २०८१\८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । राष्ट्रियसभामा प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

  • नुवाकोटमा एक्रो ब्रिज तयार, पर्सिबाट सञ्चालनमा आउने

    नुवाकोटमा एक्रो ब्रिज तयार, पर्सिबाट सञ्चालनमा आउने

    २५ भदौ, काठमाडौं । नुवाकोटमा बाढीका कारण क्षतिग्रस्त पुलका कारण आवागमनमा सास्ती खेपिरहेका स्थानीयवासीलाई अब राहत मिल्ने भएको छ। नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। उक्त पुल पर्सिबाट सञ्चालनमा आउने भएको छ। छोटो समयमै पुल निर्माण सम्पन्न भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाली सेनालाई धन्यवाद व्यक्त गरे ।

    उनले बाढीका कारण पीडामा रहेका नुवाकोटवासीको समस्यालाई ध्यानमा राख्दै नेपाली सेनाले रातदिन नभनी निरन्तर खटिएर छोटो समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै प्रशंसा गरे । बाढीका कारण पुल तथा सडक सम्पर्क प्रभावित हुँदा स्थानीयवासीले दैनिक आवतजावतदेखि अत्यावश्यक सेवा तथा सामग्री ओसारपसारसम्ममा ठूलो सास्ती खेप्दै आएका थिए।

    अब पर्सिबाट एक्रो ब्रिज सञ्चालनमा आएपछि प्रभावित क्षेत्रका नागरिकको आवागमन सहज हुने अपेक्षा गरिएको छ। पुल निर्माण तथा जडान कार्यमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको समेत निरन्तर सक्रियता रहेको थियो। सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै पुल निर्माणको कामलाई तीव्रता दिइएको हो।

    रसुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न स्थानका पुलहरू बगाउँदा नुवाकोट, रसुवा लगायतका क्षेत्रमा यातायात सम्पर्क प्रभावित भएको थियो। पुलहरू बगाएपछि स्थानीयवासीले लामो समयदेखि ठूलो सास्ती खेप्दै आएका थिए। यसैबीच, प्रभावित क्षेत्रको आवागमन थप सहज बनाउन बेत्रावतीमा समेत नेपाली सेनाले ब्रिज निर्माण गर्ने योजना बनाइएको छ। बाढीबाट क्षतिग्रस्त पूर्वाधारलाई प्राथमिकताका साथ पुनःस्थापना गर्ने कामलाई निरन्तरता दिइने भएको छ।

  • भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

    भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

    ’
    रासस
    महोत्तरी, २५ भदौः भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन भएकाको कुनै नयाँ सूचना नआएपछि महोत्तरीका १० घरपरिवारमा अहिले सन्नाटा छ । “हे भगवान्, जे सजाय दिनुछ, मलाई देऊ, गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्,” सम्पर्कविहीन पतिका बारेमा कुनै जानकारी प्राप्त नहुँदा विचलित बनेकी महोत्तरीको पिपरा–३ की इन्दिरा यादव जतिखेर पनि यस्तै पुकारा गरिरहनुहुन्छ ।

    छ महिनाको गर्भ हुर्काइ रहनुभएकी इन्दिराका पति विकासकुमार यादव यही भदौ १० गतेको भोटेकोशी बाढीका दिन आपूm कार्यरत् त्रिशुली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन हुनुभएको हो । “म अब काममा जान्छु, तिमी ढोका लगाएर बस भनेर काममा जानुभएको थियो,” घटनाको दिन सम्झँदै इन्दिरा भन्नुहुन्छ, “क्वाटरबाट १० मिनेटजति लाग्ने दूरी हो, फेरि मलाई ढोका खोल भन्न आउनुभएन,” कार्यरत स्थानमा आवास सुविधा भएपछि विकासले पत्नी र छोरीलाईसँगै जैजानुभएको थियो ।

    “कामबाट फुर्सद भयो कि फोन गर्नुहुन्थ्यो, अहिले उहाँको एक वचन सुन्न मन तड्पिरहेछ,” हाल पिपरा–३ स्थित घरमा रहनुभएकी इन्दिरा विलाप गर्दै भन्नुहुन्छ, “न छोरीले राम्रोसँग बोलाएकी छ अहिलेसम्म, न यो गर्भको बच्चाले बाबु चिन्न पाउने भयो । हे भगवान् १ गर्भे बच्चालाई न्याय गर ।”

    आवासगृहका सुरक्षागार्डले माथिबाट ठूलो बाढी आउँदैछ, डाँडातिर चढ्नोस् भनेपछि छोरी काखमा च्यापेर हस्याङफस्याङ हुँदै थुम्कोमा पुगेर तलतिर हेर्दा आयोजना परिसर बाढीले ढाकेको इन्दिरालाई सम्झना छ । “क्वाटरमा भएका हामी निस्क्यौँ, उहाँ पनि कतै निस्कनु भयो होला भन्ने आसमा पर्खे तर न फोन आयो, न मैले गर्दा लाग्यो,” इन्दिरा भक्कानिँदै भन्नुहुन्छ, “साँझसम्म उहाँको कुनै अत्तोपत्तो नभएपछि तल झरेर खोजी गरे तर केही पाइएन ।” त्यसपछि इन्दिरा र छोरीलाई सेनाले काठमाडौँ ल्याइदिएको र त्यहाँबाट उहाँका दाजुले घर ल्याउनु भएको हो ।

    विकास सम्पर्कविहीन भएको खबर फैलिएसँगै अहिले इष्टमित्र र आफन्तजन उहाँको घरमा पुरिरहेका छन् । कोही नयाँ मान्छे घर आयो कि विकासको खबर आयो कि भन्ने परिवारजनलाई पर्छ । दुई साता नाघ्दासम्म कुनै थप खबर नपाउँदा परिवार पूरै विचलित बनेको छ । केही महिना पहिलेमात्र पाठेघरको शल्यक्रिया गराइएकी आमा बिनादेवी यादव इन्तु न चिन्तु भएर लड्नु भएको छ । छिनछिनमा ‘मेरो विकास बाबु आयौ’ भन्दै बर्बराउने बिनाका आँखामा आँसु सिद्धिएर डिल सुन्निएका छन् । पिता शम्भुनाथ र भाइ सुवासको अवस्था पनि उस्तै छ ।

    “हामीले आप्mनोतर्फबाट पनि निकै खोजी ग¥यौँ, दाजुको केही पत्ता लागेन,” बर्बरी आँसु झार्दै भाइ सवास भन्नुहुन्छ, “आमा र भाउजूलाई के गरी सम्हाल्ने होला रु” अवकाश प्राप्त शिक्षक शम्भुनाथ पत्नी बिना र बुहारी इन्दिराका अगाडि ‘बाबु आउँछ’ भन्ने गरे पनि लुकेर गह भिजाउँदै आफ्नो पीडा व्यक्त गर्नुहुन्छ ।

    “अब छोरा काममा लाग्यो, हाम्रा दुःखका दिन गए भनेर दङ्ग पर्थे, परमात्मालाई हाम्रो खुसी मञ्जुर रहेनछ, यो बुढेसकालमा विलाप गर्नु परेको छ,” शम्भुनाथ भन्नुहुन्छ, “बुबा, अब तपार्ईं दुःख नगर्नोस भन्थ्यो, अहिले रुवाइ रहेको छ ।” विकास पढाइमा सधैँ अब्बल रहेको र आफ्नो कक्षामा कहिल्यै दोस्रो नभएको शम्भुनाथ बताउनुहुन्छ । “खै यो उमेरमा के भोग्न लेखेको रहेछ,” शम्भुनाथ छोरा सम्झँदै भन्नुहुन्छ ।

    भोटेकोशी बाढीले विकासको जस्तै महोत्तरीका १० घरमा विलाप सुनिन्छ । यहाँका १० जना रसुवा र नुवाकोटबाट सम्पर्कविहीन हुनुभएको छ । बाढीमा परी मधेस प्रदेशका १७८ जना सम्पर्कविहीन भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

    दिन बित्दै गएपछि परिवारजनमा आफ्ना मान्छे सकुशल भेटिने हो होइन भन्ने द्विविधा बढेको छ । सम्पर्कविहीनको खोजी गरी जेजस्तो अवस्था भए पनि आपूmहरूले देख्न पाऊँ भन्ने परिवारजन सरकार र खोज उद्धारकर्तासँग अनुनय विनय गर्दैछन् । आफ्ना मान्छे सुशल भेटिएको चमत्कारिक खबरको पर्खाइमा उनीहरूको विलौनामा सुनिन्छ ।

  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, २५ भदौः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४५ पैसा र बिक्रीदर ४० रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११ रुपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५ रुपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६२ पैसा र बिक्रीदर २३ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ४९७ रुपैयाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ८४ पैसा बिक्रीदर ४०४ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ०५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण


    म्याग्दी, २५ भदौ । म्याग्दीको मङ्गला गाउँपालिका–३ मा रहेको ऐतिहासिक चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार, मंगला गाउँपालिका, चिनाकोत आमा समूह र देउराली सामुदायिक वन उपभोक्ता समूहको रु ५० लाख बढी लगानीमा पूर्वाधार निर्माण भएको हो ।

    चिनाकोत संरक्षण तथा व्यवस्थापन समितिका सचिव प्रकाश पुनले आर्थिक वर्ष २०७६\७७ देखि २०८२\८३ सम्म चिनाकोतको पर्यटन पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट रु ४० लाख, मङ्गला गाउँपालिकाबाट रु आठ लाख र आमा समूहको रु दुई लाख लगानी भएको बताए ।

    “एक किलोमिटरभन्दा बढी पक्की र करिब दुई किलोमिटर कच्चि पदमार्ग तथा सडक, दृश्य अवलोकन स्थल र आश्रयस्थल निर्माण भएको छ,” उनले भने, “बरंजा गाउँदेखि चिनाकोटसम्म विद्युत् विस्तारमा देउराली सामुदायिक वन उपभोक्ता समूह तथा योजना कार्यान्वयनमा विनियोजन भएको कुल बजेटको १० प्रतिशत स्थानीयबासीले श्रमदान गरेका छाँै । खानेपानीको व्यवस्था गरिएको छ ।”

    विसं २०७५ अघिसम्म सुनसान चिनाकोटमा पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक आउन थालेको देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर छन्त्यालले बताए । “सङ्घीयता अघिसम्म एउटा टहरा मात्र रहेको चिनाकोटमा प्रदेश र स्थानीय तह मार्फत सुरक्षित रुपमा पुग्न सकिने पदमार्ग बनेपछि पाहुना आउन थालेका हुन्,” उनले भने, “पहाडको टाकुरामा रहेको चिनाकोटमा सुरक्षाका लागि वरपर घेराबार र पुरातात्विक महत्वका सामग्रीको संरक्षणको आवश्यकता छ ।”

    समुन्द्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको चिनाकोटबाट सूर्योदयको साथै अन्नपूर्ण, धौलागिरि, गुर्जा र माछापुच्छ्रे हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडामा समेटिएको बरञ्जाको शिरमा रहेको चिनाकोटदेखि म्याग्दीको पश्चिमी भेगका ग्रामीण बस्ती, पहाडी भूगोल, नागबेली परेर बगेको म्याग्दी नदी अवलोकन गर्न सकिन्छ ।

    बरञ्जाका अगुवा रणबहादुर रोकाका अनुसार भुरे टाकुरे राजाका पालामा चिनाकोटमा बरञ्जी राजाको दरबार थियो । “दरबारका पर्खालको भग्नावशष, खाद्यान्न पिस्नका लागि प्रयोग हुने जातो लगायतका ऐतिहासिक वस्तुहरु अझै चिनाकोटमा छन्,” उनले भने, “रानीको कपाल कोर्ने ढुङ्गा, बेहुला, बेहुली नाम गरेका ढुङ्गा पनि अवलोकन गर्न सकिन्छ ।” चिनाकोटको फेदीमा रहेको थर्पुगाउँको दरबारमा खुडा, तरबार, ढाललगायत परम्परागत युद्धमा प्रयोग हुने हात हतियार छन् ।

    मङ्गला गाउँपालिका–३ का कार्यवहाक वडाअध्यक्ष भेषकुमारी पुनले बर्खायाम बाहेकको समयमा बिदा मनाउनका लागि क्याम्पिङ गर्नका लागि यहाँ पाहुनाहरु आउने गरेका छन् । बस्तीदेखि टाढा र एकान्त वातावरणमा रहेको चिनाकोटमा वनभोजका लागि आउनेलाई लागि भाँडावर्तनको व्यवस्था मिलाइएको छ । चिनाकोट नजिकै रहेको घारसुन्ने डाँडामा दृश्य अवलोकनस्थल बनाइएको छ ।

    पहाडको टाकुरामा रहेको गोलो आकारको ढुङ्गामा वरपर घेराबार बनाएर त्यहाँसम्म पुग्ने पदमार्ग बनाइएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तातोपानी बरञ्जा हँुदै गाडीमा एक घण्टाको यात्रापछि चिनाकोट पुगिन्छ । बरञ्जादेखि पैदलयात्रा गरेर चिनाकोट पुग्न दुई घण्टा लाग्छ । होटल तथा रेष्टुरेन्ट नभएकाले खाद्य सामग्री पाहुना आफैँले व्यवस्थापन गर्नुपर्छ ।

    पर्यटकीय पूर्वाधारको म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले बुधबार उद्घाटन गरे । उनले चिनाकोटको साथै झाँक्रीपानी र गम्फाधुरीलगायत बरञ्जाका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी गरिरहेको बताए ।

    पूर्वाधारको उपभोग गरी पर्यटक भित्र्याएर आयआर्जन, रोजगारी सिर्जना र आत्मनिर्भरतातर्फ अग्रसर हुन स्थानीयबासीलाई आग्रह गरे । बरञ्जाका बासिन्दासमेत रहेका संविधानसभा सदस्य गमबहादुर श्रीस, मङ्गला गाउँपालकाका उपाध्यक्ष पे्रमकुमारी क्षेत्री र मङ्गला–४ का वडाअध्यक्ष लालबहादुर रोकाले ऐतिहासिकस्थल, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र विकासमार्फत समृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।