स्थानीय उत्पादन प्रवर्द्धन गर्दै बाजुरामा फेसन शो

२० कात्तिक, काठमाडौं । बाजुरामा स्थानीय उत्पादन प्रवर्द्धन गर्न फेसन शो आयोजना गरिएको छ । ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे –२०२६’ आयोजना गरिएको आयोजक थ्रेड्स अफ द हिमालयन फाउन्डेसनले जनाएको छ । ४ नोभेम्बरमा आयोजना गरिएको कार्यक्रमले फेसन, जलवायु सचेतना, सांस्कृतिक संरक्षण, ग्रामीण सशक्तीकरण र दिगो पर्यटनलाई एकै मञ्चमा जोडेको फाउन्डेसनले जनाएको छ ।

आयोजक संस्था अध्यक्ष रमिला नेम्कुल श्रेष्ठका अनुसार कार्यक्रमले नेपालको हिमाली क्षेत्रमा भेडापालन र स्थानीय ऊनको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको थियो । यसबाट किसान, स्थानीय सिप, महिला तथा लघु उद्यमशीलता र फेसन उद्योगबीच सम्बन्ध स्थापित गर्ने दीर्घकालीन लक्ष्य राखेको छ । कार्यक्रमले जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको आवाज उठाउँदै दिगो उत्पादन, प्राकृतिक स्रोत संरक्षण र स्थानीय ज्ञानको महत्त्व उजागर गरेको समेत आयोजकले जनाएको छ । यसबाट बाजुरा र सुदूरपश्चिम क्षेत्रको प्राकृतिक सौन्दर्य, सम्पदा पर्यटन सम्भावना विश्वसामु चिनाउने अवसर सिर्जना गरेको छ ।