Category: फिचर

  • करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    भद्रपुर (झापा), ५ असोजः झापाको बिर्तामोड नगरपालिका–२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा आज दिउँसो एक जना वृद्धको मृत्यु भएको छ । बिर्तामोड–२ बेलडाँगी डाँडागाउँ टोलका ६२ वर्षीय मोहन मुर्मूको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुर्मू खोलामा मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

    घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलबाट प्रहरीले आवश्यक मुचुल्कालगायत प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको बिर्तामोड(२ का वडाध्यक्ष किशोर पौडेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

    संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

    तेहरान, ५ असोज (रासस–सिन्ह्वा) । इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशनमा सहभागी हुनु आफ्नो ुकानुनी अधिकारु भएको दाबी गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार राज्य सञ्चालित टेलिभिजन आईआरआईबीसँगको अन्तर्वार्तामा न्यूयोर्कमा हुने महासभा अधिवेशनमा इरानको सहभागिता कुनै देशले प्रदान गर्ने सुविधा वा अनुग्रह नभएको बताए ।

    “न्यूयोर्कमा उपस्थित हुनु इरानी प्रतिनिधिका लागि विशेष आकर्षणको विषय होइन। तर यो त्यस्तो महत्वपूर्ण मञ्च हो, जसलाई हामीले छाड्नु हुँदैन,” बघाईले भने । उनका अनुसार महासभामा सहभागी हुनु इरानको कानुनी अधिकार हो। उनले इरान संयुक्त राष्ट्रसंघका ५० संस्थापक सदस्य राष्ट्रमध्ये एक रहेको पनि उल्लेख गरे ।


    बघाईले इरानी प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुनबाट रोक्न अर्को पक्ष ले विभिन्न उपाय अपनाइरहेको आरोप लगाए। यस्तो अवरोध र नकारात्मक प्रचारले इरानलाई महासभामा आफ्नो धारणा राख्ने अधिकारबाट पछि हट्न बाध्य नपार्ने उनले बताए । उनले महासभामा सहभागी भएर इरानी जनताको धारणा र देशको अडान अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नु आफूहरूको दायित्व भएको समेत बताए ।


    यसैबीच, अमेरिकी विदेश मन्त्रालयले बिहीबार इरानको मुख्य प्रतिनिधिमण्डललाई यूएनजीएमा सहभागी हुन भिसा जारी गर्ने जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार यो निर्णय संयुक्त राष्ट्रसंघको आयोजक राष्ट्रका रूपमा अमेरिकाको दायित्वअनुसार गरिएको हो। अमेरिकी पक्षले यस वर्षको इरानी प्रतिनिधिमण्डल गत वर्षको तुलनामा सानो हुने जनाएको छ।

  • मस्कोको मतदान प्रणालीमा व्यापक साइबर आक्रमण : रूसी अधिकारी

    मस्कोको मतदान प्रणालीमा व्यापक साइबर आक्रमण : रूसी अधिकारी

    मस्को, ५ असोज (रासस–सिन्ह्वा) । रूसी संसद् (डुमा) को नवौँ सत्रका लागि संसद्को तल्लो सदनका लागि भएको विद्युतीय मतदान प्रणालीमा व्यापक स्तरको साइबर आक्रमण भएको मस्कोमा निर्वाचन अवलोकनका लागि सार्वजनिक मुख्यालयका प्रमुख भादिम कोवालेभले आइतबार बताएका छन् । रूसले आफ्नो प्रविधिको प्रयोग गरी आक्रमणलाई सफलतापूर्वक रोक्न सकेको कोवालेभले बताए ।
    “हाम्रो दुर्गम भेगका विद्युतीय मतदान प्रणालीमा व्यापक र गम्भीर साइबर आक्रमण भइरहेको छ,” कोवालेभले भने । साइबर आक्रमणका बावजुद् पनि अनलाइन मतदान प्लेटफर्म स्थिर रूपमा सञ्चालन भएको र कुनै ढिलाइ वा मतदानका लागि धेरै मानिस लामवद्ध अवस्थामा कुनु नपरेको पुष्टि उनले गरे ।

    रूसको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष एल्ला पाम्फिलोभाका अनुसार आक्रमणहरू मुख्यतः विदेशबाट सुरु गरिएका थिए। “मतदानका दिनहरूमा रुसको निर्वाचन पूर्वाधारविरुद्ध एक हजारभन्दा बढी साइबर आक्रमणका चक्रहरू रेकर्ड गरिएका थिए,” आरआईए नोभोस्तीले उनलाई उद्धृत गर्दै लेखेको छ। निर्वाचनका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्नो कार्यालयमा कम्प्युटरमार्फत मतदान गरेको क्रेमलिनले जनाएको छ। आयोगको निर्णयअनुसार मतदान शुक्रबारदेखि आइतबारसम्म हुनेछ ।

  • सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

    सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम


    लमजुङ, ५ असोजः वर्षौँदेखि भाडाको घरबाट सेवा दिँदै आएको मानवसेवा आश्रम अब आफ्नै भवनमा सर्ने तयारी गरेको छ । बेँसीसहर नगरपालिका–९ पाखाथोकमा निर्माण भइरहेका संरचनाको बाँकी काम पूरा गरी आगामी मङ्सिरसम्म आश्रमलाई आफ्नै भवनमा सार्ने लक्ष्य राखिएको छ । पाखाथोकमा रहेको कुल १३ रोपनी जग्गामा आश्रमका विभिन्न संरचना निर्माण भइरहेका छन् ।

    हालसम्म एकान्तबासका लागि छुट्टै भवन, चार शय्याको स्वास्थ्योपचार भवन र कार्यालय भवन निर्माण भइसकेको छ । कार्यालय भवनमा करिब १५ जना अट्ने सभाहल तथा सचिव, लेखापाल र संयोजकका लागि छुट्टाछुट्टै कोठा छन् । आश्रमकी संयोजक अनिता अधिकारीका अनुसार आवासीय भवन, कम्पाउन्ड र गेटलगायतका काम पूरा गरेपछि नयाँ भवनबाट सेवा सञ्चालन गरिनेछ । त्यसका लागि थप खर्च लाग्नेछ । “हाल निर्माण भएका संरचनालाई पूर्ण रूपमा प्रयोगमा ल्याउन बाँकी काम सम्पन्न गर्नुपर्छ”, उनले भनिन् । आवासीय भवनमा ३५ महिला र ३५ पुरुष गरी ७० जनालाई राख्न मिल्ने संरचना तयार गर्ने लक्ष्य राखिएको छ ।

    कुल १३ रोपनीमध्ये पाँच रोपनी जग्गा बालसपना समाजले मानवसेवा आश्रमलाई निःशुल्क उपलब्ध गराएको हो । पाँच रोपनी जग्गा आश्रमको नाममा पास भइसकेको छ भने बाँकी आठ रोपनी जग्गा बालसपना समाजकै नाममा छ । सो आठ रोपनी जग्गा पनि आश्रमले भोगचलनका लागि उपयोग गरिरहेको छ । आश्रमको आफ्नै भवन निर्माण २०७८ सालदेखि सुरु भएको हो । भवन निर्माणमा हालसम्म रु चार करोड ५७ लाख ६० हजार ४२८ खर्च भएको छ ।

    भवन निर्माणका लागि प्रदेश सरकारबाट रु एक करोड ३१ लाख २७ हजार ८५३, स्थानीय तहबाट रु ८४ लाख ७५ हजार ९५, व्यक्तिगत तथा संस्थागत क्षेत्रबाट रु ७४ लाख ५९ हजार ९८३, महायज्ञबाट रु ९७ लाख ८२ हजार ८१० तथा मानवसेवा आश्रमको केन्द्रीय कार्यालयबाट रु ६९ लाख १४ हजार ६८७ प्राप्त भएको छ ।

    निर्माणका क्रममा आश्रमले विभिन्न चुनौतीसमेत झेल्नुपरेको छ । कोभिड–१९ को प्रभाव र आर्थिक स्रोतको अभावसँगै पहिरोका कारण निर्माण प्रभावित भएको थियो । पहिरो नियन्त्रणमा करिब रु दुई करोड ५० लाख खर्च भएको आश्रमले जनाएको छ ।

    आश्रमको दीर्घकालीन योजनाअनुसार करिब १०० जनालाई सेवा दिनसक्ने संरचना तयार हुनेछ । परिसरमा बालबालिकाका लागि खेलमैदान, मनोरञ्जन तथा दिवा सेवा केन्द्र र चारवटा गाई अट्ने गोठ निर्माण गर्ने योजना छ । हाल आश्रमले बेँसीसहर नगरपालिका–७ हाइस्कुल चोकस्थित भाडाको घरबाट सेवा दिइरहेको छ । आश्रममा अहिले नौ पुरुष, १३ महिला र सात वर्षीया एक बालिका गरी २३ जना छन् । उनीहरूको उमेर सातदेखि ७४ वर्षसम्म छ ।

    विसं २०७३ चैत १२ गते लमजुङ शाखा स्थापना भएयता आश्रमको संरक्षणमा रहेका ६३ जना परिवारसँग पुनर्मिलन भएका छन् । यस्तै, २४ जनाको आश्रममै निधन भएको छ । आफ्नै भवन निर्माण सम्पन्न भएपछि आश्रमको सेवा थप व्यवस्थित र विस्तार हुने आश्रमले जनाएको छ ।

  • क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए

    क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए


    वाशिङ्टन, ५ असोज (रासस–एपी) । ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको अभियानअन्तर्गत अमेरिकी सेनाले शनिबार क्यारिबियन सागरमा लागुऔषध तस्करीमा प्रयोग भएको आशङ्का गरिएको एउटा डुङ्गामा आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । ट्रम्प प्रशासनले ‘नार्को–आतङ्कवादी’ भन्दै लक्षित गर्न थालेयता अमेरिकी सेनाले डुङ्गामाथि गरेको आक्रमणमा मारिनेको सङ्ख्या पछिल्लो घटनासहित कम्तीमा २३१ पुगेको छ । पूर्वी प्रशान्त महासागर र क्यारिबियन सागरमा भएका यस्ता ६९ वटा आक्रमणमा ती मानिस मारिएको जनाइएको छ ।

    अमेरिकी दक्षिणी कमाण्ड (युएस सदर्न कमाण्ड) ले तस्करीका लागि परिचित समुद्री मार्गमा लागुऔषध तस्करलाई लक्षित गरी कारबाही गरिएको जनाएको छ । यद्यपि, आक्रमण गरिएको डुङ्गामा लागुऔषध ओसारपसार भइरहेको पुष्टि हुने प्रमाण सेनाले सार्वजनिक गरेको छैन । कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक गरेको भिडियोमा समुद्रमा अघि बढिरहेको जस्तो देखिने एउटा डुङ्गा र त्यसपछि देखिएको चम्किलो प्रकाशको दृश्य देखिन्छ ।

    ट्रम्प प्रशासनले ल्याटिन अमेरिकी देशहरूको भूमिमा समेत लागुऔषध तस्करीविरुद्ध सैन्य कारबाही विस्तार गर्न सहयोगी राष्ट्रसँग सहकार्यको प्रयास गरिरहेको छ । रक्षामन्त्री पिट हेगसेथले गत महिना पानामाको भ्रमणका क्रममा कोलम्बिया, ग्वाटेमाला र होन्डुरसले अमेरिकी सेनालाई आफ्नो भूमिमा आपराधिक समूहविरुद्ध संयुक्त सैन्य कारबाही गर्न अनुमति दिन सहमति जनाएको बताएका थिए । ग्वाटेमालाले भने त्यस्तो कुनै सम्झौता भएको अस्वीकार गरेको छ ।

    इक्वेडरले भने मार्चमै अमेरिकासँग सहकार्य गरी यस्तै प्रकारका सैन्य अभियान सञ्चालन गरेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ल्याटिन अमेरिकामा सक्रिय लागुऔषध गिरोहसँग ‘सशस्त्र द्वन्द्व’ गरिरहेको बताए । अमेरिकामा भित्रिने लागुऔषधको प्रवाह र अत्यधिक सेवनबाट हुने मानवीय क्षति रोक्न यी आक्रमण आवश्यक रहेको भन्दै उनले कारबाहीको बचाउ गर्दै आएका छन् । यद्यपि, प्रशासनले आक्रमणमा मारिएका व्यक्तिहरू लागुऔषध तस्करीमा संलग्न रहेको दाबी पुष्टि गर्ने विस्तृत प्रमाण सार्वजनिक गरेको छैन ।

  • डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

    डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा


    बागलुङ, ५ असोजः बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी विज्ञ समूह परिचालन गरिएको छ । गत साउनयतामात्रै जिल्लामा एक हजार ४०३ जनामा डेङ्गु सङ्क्रमण भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा प्रादेशिक रोग नियन्त्रण महाशाखाको एक समूह बागलुङ बजारमा परिचालित भई नमूना सङ्कलन र अध्ययनमा लागेको हो ।

    डेङ्गुको दीर्घकालीन समाधान गर्ने उद्देश्य राखेर समग्र अवस्थाको अनुसन्धान गर्न चार जनाको विज्ञ समूह बागलुङमा आएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए । उनका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा गोकर्ण दाहालको नेतृत्वमा विज्ञ समूहले पछिल्लो तीन दिनयता बजारका घरघरमा पुगेर बिरामीको अवस्था बुझेको छ । यस्तै, धवलागिरि अस्पतालको अनुगमन, कीटको अवस्था परीक्षण तथा नमूना सङ्कलनलगायतका काम गरिरहेको छ ।

    दाहालसँगै विज्ञ समूहमा इन्टोमोलोजिस्ट तथा विश्व स्वास्थ्य सङ्गठनका शिशिर पन्त, स्वास्थ्य सेवा विभागका कौशल सुवेदी हुनुहन्छ । “डेङ्गुको चार प्रजातिमध्ये कुन बढी फैलिएको छ भन्ने अध्ययन भइरहेको छ । अस्पतालमा आएका शङ्कास्पद बिरामीको नमूना सङ्कलन, अस्पतालमा परीक्षण भइरहेको कीटको अवस्था, डेङ्गु नियन्त्रणका लागि घरमै स्वास्थ्यकर्मी परिचालन भइरहेको छ”, कार्यालय प्रमुख शर्माले भने । डेङ्गुको अवस्था नियन्त्रणबाहिर जान नदिन विज्ञ समूह परिचालन गरेकोे महाशाखाले बागलुङलाई केन्द्रमा राखेर निगरानी र खोज–अनुसन्धान तीव्र बनाएको छ ।

  • यमनी हुथी विद्रोहीद्वारा अमेरिकाविरुद्ध नलड्ने बताएको राष्ट्रपति ट्रम्पको भनाइ

    यमनी हुथी विद्रोहीद्वारा अमेरिकाविरुद्ध नलड्ने बताएको राष्ट्रपति ट्रम्पको भनाइ

    वासिङटन, ५ असोज (रासस–एएफपी) । यमनी विद्रोही समूह हुथीले अमेरिकामाथि आक्रमण नगर्ने सहमति जनाएका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन् । यद्यपि, इरानसँग गठबन्धन गरेको यो समूहले अमेरिकी सहयोगी साउदी अरबविरुद्धको युद्ध तीव्र बनाएको फक्स न्युजले रिपोर्ट गरेको छ ।
    प्रायः राष्ट्रपति ट्रम्पसँग अन्तवार्ता लिने नेटवर्कका रिपोर्टर ट्रे यिङ्गस्टले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै लेखेका छन्, “वासिङटन ‘हुथीहरूसँग निरन्तर सम्पर्कमा छ र उनीहरूले संयुक्त राज्य अमेरिकासँग नलड्ने सहमति’ जनाएका छन्।”

    राष्ट्रपति ट्रम्पले यसअघि पनि हुथीहरू क्षेत्रमा रहेका अमेरिकी सेनामाथि आक्रमणमा नउत्रिएको बताएका थिए । “हुथीहरूले हामीलाई फोन गरी जानकारी गराएका छन्, उनीहरू हामीसँग लड्न चाहँदैनन्”, राष्ट्रपति ट्रम्पले सेप्टेम्बर १२ मा आयरल्यान्ड भ्रमणका क्रममा भनेका थिए, “उनीहरू हामीलाई आक्रमण गर्न चाहँदैनन्।”

    फक्स न्युजलाई दिएको पछिल्लो टिप्पणी नजिकको अमेरिकी सहयोगी साउदी अरब बढ्दो दबाबमा रहेको समय आएको हो । शनिबार राजधानी रियादलाई लक्षित गरी एक मिसाइल प्रहार भएको थियो । हुथीहरूले यमनभित्र पनि तीव्र आक्रमण गरेका छन् र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारबाट ठूलो भूभाग कब्जा गरेका छन् । यो सरकारलाई साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनको समर्थन छ ।

    फक्स न्युजले रिपोर्ट गरेअनुसार ट्रम्प इरानबारे ‘निर्णय गर्ने मोड’ मा छन् । अमेरिकी र इजरायली सेनाले फेब्रुअरी २८ मा ठूलो हवाई आक्रमण सुरु गरेका थिए र अहिले लगभग सात महिनादेखि गतिरोधमा छन् । यिङ्गस्टका अनुसार ट्रम्पले उनीसँग बताएअनुसार ‘यमनबारे निकट भविष्यमा ठूला निर्णयहरू हुनेछन्’ साथै ‘इरानीहरूले राम्रो व्यवहार गर्नुपर्छ र उनीहरूले इरानलाई ध्वस्त पार्ने कि जोगाउने भन्ने निर्णय उनीहरूको हातमा रहेको र यो उनले छिट्टै कार्यान्वयनमा लाने तयार गर्दै छन् ।’

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, ५ असोजः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनानेछन् । यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    त्यस्तै, बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यसैगरी, अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम छ ।

    बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीले ‘सङ्क्रामक पुश रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै, आजै कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

  • कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन


    दमौली (तनहुँ), ५ असोज : तनहुँमा पहिलोपटक कालीगण्डकी करिडोरकेन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकालाई लक्षितगरी सञ्चालन गरेको कार्यक्रममार्फत पशुपालक किसानको गोठ सुधारदेखि आधुनिक उपकरण तथा प्रजनन पशु उपलब्ध गराउनेसम्मका कार्यक्रम सञ्चालन गरेको छ ।

    केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार कार्यक्रमका लागि रु ६० लाख बजेट विनियोजन भएकामा रु ५८ लाख ८० हजार खर्च भएको छ । कालीगण्डकी करिडोर आसपासका ग्रामीण क्षेत्रमा पशुपालन व्यवसायलाई व्यावसायिक बनाउँदै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।


    कार्यक्रमअन्तर्गत दुईवटा गाईभैँसीपालक समूह तथा सहकारीमार्फत आठवटा नयाँ गोठ निर्माण गरिएको छ । त्यस्तै ३७ वटा गोठ मर्मत तथा सुधार गरिएको छ । पशुजन्य उत्पादनको गुणस्तर कायम राख्न तथा दूध सङ्कलन र व्यवस्थापनलाई सहज बनाउन डिपफ्रिज, मिल्क एनालाइजर र चिलिङ भ्याट उपलब्ध गराइएको ठकुरीले जानकारी दिए ।


    त्यसैगरी, दूध सङ्कलन तथा ढुवानीका लागि ७५ थान स्टिल क्यान, पशुको आहार व्यवस्थापनमा सहजताका लागि २५ थान ग्रास कटर र पशुको स्वास्थ्य तथा आरामका लागि ९५ थान काउम्याटलगायतका उपकरण खरिद गरी किसान तथा सहकारीलाई सहयोग गरिएको छ । पशुको नश्ल सुधार तथा उत्पादन क्षमता बढाउने उद्देश्यले एक प्रजनन राँगोसमेत वितरण गरिएको छ ।

    कार्यक्रमअन्तर्गत बाख्रापालक कृषक सहकारीमार्फत २३ वटा नयाँ खोर निर्माण गरिएको छ । बाख्राको दाना तथा घाँस व्यवस्थापनलाई सहज बनाउन एउटा कम्बाइन मिल र एउटा चापकटर उपलब्ध गराइएको छ । त्यस्तै नश्ल सुधार तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले आठवटा प्रजनन बोका सहयोग गरिएको ठकुरीले बताए ।


    कार्यक्रमबाट ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाका गरी ६९ जना किसान लाभान्वित भएका छन् । पशुपालनलाई निर्वाहमुखी अवस्थाबाट व्यवसायिकतातर्फ लैजान आवश्यक पूर्वाधार, उपकरण र प्रजनन पशुमा सहयोग केन्द्रित गरिएको कार्यालयले जनाएको छ । स्थानीय स्रोतसाधनको प्रयोगबाट उत्पादन लागत कम गर्न सकिने र किसानले उत्पादनबाट बढी लाभ लिनसक्ने पशु स्वास्थ्य प्राविधिक ठकुरीले बताए । उनका अनुसार आधुनिक उपकरण, सुधारिएको गोठ, नश्ल सुधार तथा दूध सङ्कलनसम्बन्धी पूर्वाधारको विकासले पशुपालनलाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्नेछ ।


    कालीगण्डकी करिडोर आसपासका ग्रामीण क्षेत्रमा पशुपालनको सम्भावना रहेकाले पहिलोपटक सञ्चालन गरिएको यो कार्यक्रमले किसानलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने आधार तयार गरेको केन्द्रको भनाइ छ ।

  • बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा


    बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९ जनतानगरकी सीता चौधरीको दुई दशकदेखि अधिकांश समय उनकै हेरचाहमा बितिरहेको छ । श्रीमानको दुर्घटनापछि सीताले परिवारको आर्थिक आधारसँगै आफ्नो दैनिक जीवनको सहजता पनि गुमाउनु पर्यो । श्रीमानको हेरचाह गर्नुपर्ने जिम्मेवारीका कारण नियमित रोजगारी र आयआर्जनको काममा लाग्न उनलाई कठिन हुँदै आएको थियो ।

    सीताजस्तै सोही ठाउँका देवीराम थारूको पनि आठ वर्षदेखि आमाको हेरचाहमै बितिरहेको छ । उच्च रक्तचापलगायतका कारण आमा पूर्ण अपाङ्गता भएपछि उनले बाहिर गएर रोजगारी गर्ने अवस्था गुमाउनु पर्यो । घरमै बसेर आयआर्जन गर्न सकिने सीप सिक्ने अवसर पाएपछि सीता र देवीराममा नयाँ आशा पलाएको छ । बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रले अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारलाई बेतबाँसका सामग्री निर्माणसम्बन्धी झन्डै एक महिनाको तालिम दिन थालेपछि खुसी थपिएको छ । सिकेको सीपलाई आयआर्जनसँग जोड्न सकिन्छ कि भन्ने आशा बढेको सीताले चौधरीले बताइन् ।

    फुर्सदको समयमा घरमा नै बेतबाँसका सामग्री बनाउन सक्षम भएकाले आम्दानी गर्न सकिन्छ कि जस्तो लागेको उनको भनाइ छ । “सीप नै आम्दानीको स्रोत बन्ने विश्वास छ”, उनले भनिन् । “यसअघि आमाको हेरचाहका लागि घरमा यत्तिकै दिन बित्ने गरेको थियो”, देवीरामले भने, “बाहिर जाने अवस्था थिएन । अहिले घरमा नै बसेर मुडा, पूजा टोकरी, ह्याङ्गरलगायत समाग्री निर्माण सक्ने भएको छु ।”

    सीता र देवीराम उदाहरणमात्रै हुनुहुन्छ । उहाँहरूजस्तै बर्दियाको गुलरिया, बाँसगढी र बारबर्दिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका २० जना अपाङ्गता भएका व्यक्ति र उनीहरूको परिवार उक्त तालिमबाट लाभान्वित भएका छन् । तालिमपछि उहाँहरूले विभिन्न सामग्री निर्माण गर्न थाल्नुभएको छ । आरआरएन, डिजीएम नेपाल र एबीलिस फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित अपाङ्गता भएका व्यक्ति र उहाँहरूको परिवारलाई उन्नतस्तरको तालिम, सीप र आयआर्जनमा जोडिएको अपाङ्ग पुनःस्थापना केन्द्र बर्दियाले जनाएको छ ।

    बर्दियामा १७ हजार अपाङ्गता भएका व्यक्ति छन् । तीमध्ये परिवारको सहारामा बाँचिरहेका करिब पाँच हजार जना पूर्ण अपाङ्गता भएका व्यक्ति रहेको अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष नेत्र सापकोटाले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिलाई आर्थिक बोझका रूपमा हेर्न नहुने उनले बताए ।

    “अपाङ्गता भएका व्यक्तिले सीप र अवसर पाए आत्मनिर्भर बन्न सक्छन्, आफ्नै सहारामा पनि जीवनयापन गर्न सक्ने बनाउन सकिन्छ”, उनले भने, “त्यही उद्देश्यले बेतबाँसका सामग्री निर्माणसम्बन्धी तालिम आयोजना गरेका हौँ ।” उत्पादित वस्तु बिक्री नभएको अवस्थामा त्यसको बजारीकरणको जिम्मा संस्थाले लिएको छ । बेतबाँसबाट बनेका सामग्रीको बजारमा माग राम्रो रहेकाले सीपलाई उत्पादन र बजारसँग जोड्न आफूहरू लागिपरेको उनले बताए ।


    कच्चा पदार्थ स्थानीय सामुदायिक वनबाट व्यवस्थापन गर्ने पहल भइरहेको केन्द्रले जनाएको छ । स्थानीय स्रोतसाधनको उपयोगसँगै बेतबाँसबाट उत्पादित सामग्री वातावरणमैत्री हुने भएकाले यसबाट आर्थिक र वातावरणीय दुवै लाभ लिन सकिने केन्द्रको भनाइ छ । पूर्ण अपाङ्गता भएका व्यक्तिको नियमित हेरचाह गर्नुपर्ने हुँदा त्यस्ता परिवारमा आयआर्जनका अवसर सीमित हुने गरेका छन् ।

    औषधोपचार, हेरचाह तथा दैनिक आवश्यकताका लागि हुने खर्चले परिवारमाथि थप आर्थिक भारसमेत पर्ने गरेको छ । त्यसैले घरमै बसेर गर्न सकिने सीप र रोजगारीका अवसर उपलब्ध गराउनु त्यस्ता परिवारका लागि महत्त्वपूर्ण हुने देखिन्छ ।

  • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी


    म्याग्दी, ५ असोजः वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो । मिहिनेत गरे फल कसो प्राप्त नहोला त भनेर सुरु गरेको कामबाट आज पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीलाई नाम र दाम दुवै प्राप्त भएको छ । उनले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।


    तेह्र वर्ष साउदी अरबमा सवारी चालकका रूपमा काम गरेर फर्किएका क्षेत्रीले विसं २०७३ देखि ‘गोमा गाईभैँसी फार्म’ सञ्चालन गर्दै आएका छन् । साउदीमा बिरामी भएपछि स्वदेश फर्किएका उनले अन्य रोजगारीको विकल्प नदेखेपछि तीनवटा गाईभैँसीबाट पशुपालन सुरु गरेका थिए । हाल १४ वटा गाईभैँसी रहेका उहाँको फार्मबाट दैनिक रु दुई हजार ७०० मूल्यबराबरको ९० लिटर दूध बिक्री हुने गरेको छ । पशुको दाना, औषधि, व्यवस्थापनलगायत खर्च कटाएर मासिक रु एक लाखभन्दा बढी बचत हुने गरेको उनको भनाइ छ । क्षेत्रीले मोही, पनिर र घिउसमेत उत्पादन गरी बिक्री गर्छन् ।


    “अहिले व्यवसायमा घाटा छैन । मिहिनेत गर्नुपर्छ, त्यसअनुसार आम्दानी पनि हुन्छ”, क्षेत्रीले भने, “पहिला पैसा र व्यक्तिगत खर्चका लागि अरूको भर पर्नुपथ्र्यो । अहिले आफ्नै व्यवसायबाट घरखर्च चलाउनुका साथै बचत गर्न सकेको छु ।” पशुपालनकै आम्दानीबाट उहाँले तीन छोराछोरीलाई विदेश पठाउँदा लागेको ऋणसमेत तिरेका छन् । व्यवसाय विस्तारका क्रममा करिब रु ६० लाखसम्म ऋण लागेको भए पनि पशुपालनबाट भएको आम्दानीले ऋण व्यवस्थापन गर्न सहज भएको उनले बताए ।
    फार्ममा तोपबहादुर र श्रीमती गोमा स्वरोजगार बन्नुका साथै एक जनालाई रोजगारी दिएका छन् ।

    कोरोना महामारीका समयमा बजारमा दूध लैजान नपाउँदा उत्पादन खेर गएर घाटा व्यहोर्नुपरेको उनले बताए । सुरुआती अवस्थामा पशुपालनसम्बन्धी ज्ञान र व्यावसायिक योजना नभएका कारण विभिन्न समस्या झेलेका क्षेत्रीले पछिल्लोपटक गण्डकी प्रदेश सरकार र दायित्व संस्थामार्फत जलजला गाउँपालिकामा सञ्चालन भएको वृद्धिमुखी उद्यमशीलता विकास परियोजनाबाट प्राविधिक ज्ञान, सीप र अनुदान प्राप्त गरे ।


    तालिम तथा व्यावसायीक ज्ञान हासिल गरेपछि फार्मको व्यवस्थापनमा सुधार आएको उनले बताए । छिमेकी र आफन्तले समेत व्यवसायप्रति विश्वास नगरेको अवस्थामा निरन्तर मिहिनेत र अनुभवबाट फार्मलाई अहिलेको अवस्थामा ल्याउन सफल भएको उनको भनाइ छ। “पहिला धेरैले यो व्यवसाय चल्दैन भन्थे । आफूलाई पनि पशुपालनको ज्ञान थिएन”, उनले भने, “तर विस्तारै सिक्दै, अभिलेख राख्दै र बजार बुझ्दै गएपछि व्यवसायप्रति विश्वास बढ्यो ।”

    फर्से, लस्तीका किसानले उत्पादन गर्ने दूध स्थानीय सङ्गम दूध उत्पादन तथा कृषि सहकारी संस्थाले सङ्कलन गरेर बागलुङमा बजारीकरणको व्यवस्था मिलाएको छ । कुल ४० किसानबाट दैनिक ६०० देखि ८०० लिटर दूध खरिद गरी बागलुङ पुर्याएर बिक्री गर्ने व्यवस्था मिलाएको संस्थाका सचिव खड्ग केसीले बताए । गाउँपालिकाले प्राविधिक सहयोग र प्रदेश सरकारअन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सहकारी संस्थामार्फत प्रतिलिटर रु पाँचका दरले अनुदान दिने गरेको छ ।

    फार्ममा गाईभैँसीको सङ्ख्या बढाएर ३० वटा पुर्याउने खत्रीको योजना छ । उत्पादन बढाउनुका साथै दूधजन्य परिकारको उत्पादन र बजारीकरणलाई विस्तार गर्ने उनले बताए । पशुपालन व्यवसायमा दक्ष कामदारको अभाव भने मुख्य चुनौतीका रूपमा रहेको क्षेत्रीको भनाइ छ । नियमित हेरचाह, दानापानी र सरसफाइमा निरन्तर श्रम आवश्यक पर्ने भएकाले दक्ष जनशक्ति नपाउँदा समस्या हुने गरेको उनले बताए ।


    विदेशमा वर्षौँ बिताएर स्वदेश फर्किएका क्षेत्रीका लागि अहिले गाईभैँसी फार्म वैकल्पिक रोजगारीमात्रै नभई परिवारको आर्थिक अवस्था परिवर्तन गर्ने आधार बनेको छ । तीनवटा गाईभैँसीबाट सुरु भएको व्यवसायले अहिले नियमित आम्दानीको स्रोत बनाउँदै परिवारको आर्थिक हैसियतसमेत बदलिएको उनी बताउँछन् ।

  • म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    खोटाङ, ५ असोजः चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारलगायतका स्थानमा नियमित अनुगमन गरिएको छ ।
    दसैँतिहार तथा छठपर्वलाई लक्षित गरेर दिक्तेलबजारको अल्छेढुङ्गा–रत्नपार्क, रत्नपार्क–पुरानो बेसक्याम्प, पुरानो बेसक्याम्प–त्रिवेणीचोक, त्रिवेणीचोक–हाटडाँडा र हाटडाँडा–अस्पतालचोसम्मका ६६ वटा होलसेल तथा किराना पसल अनुगमन गरिएको हो ।

    संयुक्त अनुगमन टोलीले दिक्तेल बजारका होलसेल तथा किराना पसलबाट बरामद गरेका सामग्री सर्जमिन मुचुल्का गरेर नष्ट गरेको छ । म्याद नाघेका पेय पदार्थलाई खाल्डोमा हालेर र दैनिक उपभोग्यवस्तुलाई जिल्ला प्रशासन कार्यालय खोटाङ परिसरमा जम्मा पारेर आगो लगाएर नष्ट गरिएको हो । जिल्लामा पटकपटक होलसेल तथा किराना पसल अनुगमन गरेर म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गर्ने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्रीले बताए ।

    “बजारमै म्याद गुज्रेको खाद्यवस्तु र पेय पदार्थ भेटिँदा दूरदराजमा म्याद गुज्रेका सामग्री कति फेला पर्लान् भन्ने प्रश्न खडा भएको छ । प्रशासनले गर्ने अनुगमन गाउँगाउँमा पनि पुग्नुपर्ने नागरिकको माग छ”, उनले भने, “सम्भव भएसम्म सबै ठाउँमा अनुगमन गर्ने योजना छ । जिल्लाबाट पुग्न नसकिएको ठाउँमा सम्बन्धित पालिकालाई अनुगन गर्न आग्रह गर्छौँ ।”

    जिल्लाका व्यापारीको लापरवाहीको विषयमा गत भदौ २५ गते सरुवा भएर जिल्ला प्रशासन कार्यालय आउनुभएका प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङसँग सञ्चारकर्मीले उपभोक्ताको गुनासा राखेका थिए । पत्रकारको गुनासोपछि प्रजिअ गुरुङको निर्देशनमा होलसेल तथा किराना पसलमा अनुगमन गरिएको हो ।

    सामग्री खरिद गर्ने ग्राहकले पनि खाद्यवस्तु तथा पेय पदार्थ खरिद गर्दा म्याद भए÷नभएको मिति अनिवार्य एकिन गर्न र म्याद गुज्रेको भेटिएमा प्रशासनलाई जानकारी गराउन आग्रह गरिएको प्रजिअ गुरुङले जानकारी दिए । “म्याद गुज्रेका सामग्री बिक्री गर्नेलाई पहिलोपटक सजग गराउँछौँ । पुनः भेटिएमा कानुनी कारबाहीको दायरामा ल्याइनेछ”, उनले भने, “उपभोक्ताको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न मिल्दैन । उपभोक्ता पनि सजग हुन आवश्यक छ ।”

    जिल्लामा दश स्थानीय तह छन् । उपभोक्ताले आफ्नो गाउँमा आएका दैनिक उपभोग्य सामग्रीको न मूल्य हेरेर खरिद गर्छन्, न त म्याद छ÷छैन भनेर एकिन नै गर्छन् । गाउँमा बिक्री गर्न ट्याक्टरमार्फत पठाइएका चामललगायत दैनिक उपभोग्य वस्तुको म्याद गुज्रिएको फेला पारेपछि नियन्त्रण गरिदिन अनुरोध गर्दा सम्बन्धित निकायले चासो नदिएको केपिलासगढी गाउँपालिका–१ फेदीका स्थानीय लक्ष्मण साम्पाङले आरोप लगाएका छन् ।

  • आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल


    राँझा (बाँके), ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास नेपालन्ज उपमहानगरपालिका–२१ निवासी डिगम्बर देवसिंह राना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचारपछि अहिले सामान्य जीवनयापन गरिरहेका छन् । दुई वर्षअघि शल्यक्रिया गरेका रानाले नियमित रूपमा किमोथेरापी र भित्री सेकाई .ब्रेकीथेरापी) गरेपश्चात् अहिले सामान्य अवस्थामा फर्किएका छन् । क्यान्सरजस्तो प्राणघातक रोगको घरनजिकै रहेको अस्पतालबाट उपचार सेवा पाउँदा उनलाई ठूलो राहत मिलेको छ ।

    “चितवन वा काठमाडौँ जानुपरेको भए धेरै दुःख र आर्थिक नोक्सानी हुने थियो, यहाँ घरबाटै आउनेजाने गरेर सजिलैसँग उपचार पाइयो”, रानाले भने, “यो अस्पताल सञ्चालनमा आएपछि मजस्ता हजारौँ नागरिकलाई सजिलो भएको छ ।” अस्पतालका सूचना अधिकारी डा प्रवीणकुमार गुप्ताका अनुसार नयाँ प्रविधि र विशेषज्ञ चिकित्सकको टोलीमार्फत क्यान्सरका बिरामीलाई आवश्यक सबैखाले उपचार खजुरामै सम्भव भएपछि पश्चिम नेपालका नागरिकको समय र पैसा दुवै बचत भएको छ । यसले सर्वसाधारणलाई आर्थिक र मानसिक दुवै हिसाबले ठूलो राहत मिलेको छ ।

    अस्पतालले क्यान्सरसम्बन्धी अत्याधुनिक विशेषज्ञ सेवा निरन्तर विस्तार गरेसँगै यहाँ बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । पहिलेपहिले क्यान्सर उपचारका लागि काठमाडौँ वा चितवन धाउनुपर्ने बाध्यतामा रहेका पश्चिम नेपालका क्यान्सरपीडितका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आशा र भरोसाको केन्द्र बन्दै गएको उनको भनाइ छ ।

    अस्पतालमा हाल अत्याधुनिक उपकरणसहितका आइसीयू, इमर्जेन्सी, शल्यक्रिया, किमोथेरापी, ब्रेकीथेरापी, सिटीस्क्यान, म्यामोग्राफी, भिडियो एक्स–रे तथा रेडियोथेरापीजस्ता महत्त्वपूर्ण सेवा उपलब्ध छ । ब्रेकीथेरापी मेसिन जडान गरेर शल्यक्रियाको समेत दायरा फराकिलो पारिएपछि यहाँ आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । प्राविधिक समस्याका कारण केही समय प्रभावित बनेको रेडियोथेरापी सेवा पुनः सुरु भएको सूचना अधिकारी गुप्ताले बताए ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीलाई लक्षितगरी बाँकेको खजुरा गाउँपालिका–७ मा सञ्चालित पश्चिम नेपालकै प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा स्थापित भइरहेको अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा मुकेश यादवले जानकारी दिए ।

    अस्पतालमा गम्भीर बिरामीका लागि अत्याधुनिक सघन उपचारकक्ष (आइसीयू), निरन्तर निगरानी र भेन्टिलेटर सुविधा उपलब्ध छ । त्यसैगरी, आकस्मिक बिरामीका लागि २४सै घण्टा इमर्जेन्सी, डेकेयर, शल्यक्रिया, रक्तसञ्चार, इसिजी तथा इको सेवा सञ्चालनमा छन् । यस्तै, २४सै घण्टा फार्मेसी, प्रयोगशाला, एक्स–रे र एम्बुलेन्स सेवा उपलब्ध गराएर अस्पतालले बिरामीलाई एकीकृत सेवा प्रदान गर्दै आएको डा यादवले बताए ।


    सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना र विकासको इतिहास प्रेरणादायी छ । सुरुमा स्थानीयस्तरको पहलमा ‘नेपाल क्यान्सर अस्पताल’का रूपमा अघि बढाइएको यस अस्पताललाई २०७३ फागुन १५ गते गठन आदेशमार्फत सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नामकरण गरिएको हो ।

    विसं २०७४ असार ११ गते तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवबाट बहिरङ्ग (ओपिडी) सेवाको उद्घाटन भएसँगै अस्पतालमा औपचारिक स्वास्थ्य सेवा सुरु भएको थियो । यस्तै, २०७७ मङ्सिर ५ गतेदेखि अस्पतालले आफ्नै अपरेसन थिएटरबाट शल्यक्रिया सेवा दिन थालेको अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

    अस्पतालले सेवा विस्तार गरेसँगै पश्चिम नेपालका जनतालाई क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र सङ्घीय राजधानी काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको कक्षपतिले बताए । हालसम्म अस्पतालमा स्थायी दरबन्दी कायम नभएको उल्लेख गर्दै उनले अस्थायी, करार र ज्यालादारी कर्मचारीबाट सेवा प्रवाह हुँदै आएको बताए । अस्पतालमा जनशक्तिको लागि स्थायी दरबन्दी र पूर्वाधार विकासको लागि सरकारले ध्यान दिनसके सेवा अझै प्रभावकारी र सहज हुने उनको भनाइ छ।

  • ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति


    त्रिशूली (नुवाकोट), ५ असोजः बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा जाने तयारीमा थिए । त्रिशूली नदीको किनारबाट केही दूरीमा घर भएकाले नदीमा ठूलो बाढी आए पनि आफ्नो घरसम्म त्यसको असर पुग्ला भन्ने उनलाई लागेको थिएन । त्यसैले भदौ १० गते बिहान ‘बाढी आउँदैछ’ भन्ने सूचना पाए पनि त्यसले निम्त्याउन सक्ने विपत्तिको अवस्थाका बारेमा उनले अनुमान गर्न सकेनन् ।


    घरबाट निस्कने तयारी गरिरहेका बेला प्रहरीले माइकिङ गर्दै भन्यो, “भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरेमा ठूलो क्षति पुर्याएको छ । ठूलो बाढी तीव्रगतिमा अघि बढिरहेको छ । तपाईँहरू सबै सुरक्षित स्थानतर्फ लाग्नुहोस् । ढुङ्गे चोकभन्दा अझ माथि जान अनुरोध गर्दछौँ”, माइकिङ गर्ने प्रहरी हवल्दार अर्जुन न्यौपानेलाई चिनेका उनले प्रहरी नजिकै पुगेर सोसे, “बाढी धेरै ठूलो हो ?” जवाफ आयो, “हो, धेरै ठूलो छ ।”

    तर, ‘धेरै ठूलो’ भन्ने चेतावनीले पनि बाढीको वास्तविक अवस्था ठूलो होलाजस्तो लागेको थिएन । “नातिनी विद्यालय जाने बेला भएको थियो । सबै जनासँगै निस्कनुपर्ला भन्ने लाग्यो”, प्याकुरेलले भने । त्यसपछि उनी परिवारका सदस्यसँगै घरबाट निस्कने तयारीमा लाग्दै गर्दा केही समयमै त्रिशूलीको भेल अस्वाभाविक रूपमा बढ्यो । बाढीले घरलाई चारैतिरबाट घेर्यो । केही मिनेटमै ढुङ्गेबजार र आसपासका बस्ती बाढीको भेलमा परिणत भए ।

    घरमै फसेका प्याकुरेलसहित परिवारका पाँच जना र एक छिमेकी गरी छ जनालाई स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरे । बाढीको भेलबीच ज्यान जोगाउन सफल उनको घर अहिले ‘हरियो घर’का रूपमा परिचित छ । “सूचना त आएको थियो, तर यति ठूलो बाढी आउँछ भन्ने विश्वास लागेन । बाढी आँखैअगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन”, उनले भने ।

    बाढी हेर्न जाँदा आफैँ भेलमा

    विदुर–१० वेत्रावतीका शशि डङ्गोलले पनि टिमुरेमा बाढीले क्षति पुर्याएको केही समयमै साथीमार्फत ठूलो बाढी आउँदै गरेको सूचना पाएका थिए । केही समयपछि वेत्रावती प्रहरी चौकीबाट समेत माइकिङ भयो, “बाढी आउँदैछ, सुरक्षित स्थानमा जानुहोस्, धेरै ठूलो बाढी आउँदैछ ।”

    चित्रकलामा आफ्नो छुट्टै पहिचान बनाएका डङ्गोल सामाजिक क्षेत्रमा पनि सक्रिय थिए । उनले वेत्रावती बजारका स्थानीयलाई पसल तथा व्यवसाय बन्द गरी सुरक्षित स्थानमा जान आग्रह गरे । तर, अरूलाई सुरक्षित हुन आग्रह गरिरहेका उनी स्वयं भने बाढीको अवस्था हेर्न नदी किनारतर्फ लागे । नदीतर्फ पुग्न नपाउँदै चारैतिरबाट आएको भेलले उनलाई घेर्यो । “बाढी हेर्न नदीतर्फ जाँदै थिएँ, एक्कासी चारैतिरबाट आएको बाढीले छोप्यो । केही सेकेन्डले ज्यान बच्यो”, डङ्गोलले भने ।

    बाढीमा परेर उनको खुट्टाको मांसपेशी च्यातिएको छ । तर, शारीरिक चोटभन्दा आफ्नै आँखाअगाडि साथीभाइ र छिमेकीलाई त्रिशूलीले बगाएको दृश्यले उनलाई पीडा दिएको छ । “आँखैअगाडि आफ्ना साथी र छिमेकीलाई त्रिशूलीले बगाएर लग्यो । त्यो दृश्य जीवनमा कहिल्यै बिर्सन सक्दिन”, भावुक हँुदै उनले भने, “ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो, तर कत्रो ठूलो भन्ने थाहा भएन ।”

    अरूलाई खबर गर्न दौडिँदा आफ्नै परिवार गुमाएँ

    रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुका कर्मा तामाङको पीडा अझ गहिरो छ । गोरखा भूकम्पले विस्थापित गरेपछि उहाँ पछिल्लो १० वर्षदेखि उत्तरगया–५ स्थित त्रिशूली नदीकिनारको खाल्डेमा बस्दै आएका थिए । गत भदौ १० गते टिमुरेबाट बाढी अघि बढेको खबर पाएपछि उनी खाल्डे र नजिकैको सातबिसेमा बस्ने २५० भन्दा बढी परिवारसम्म खबर पुर्याउन दौडिए । तर, सूचना फैलाउन थालेको करिब १० मिनेट नबित्दै बाढी बस्तीमा आइपुग्यो ।

    उनले भेलबाट भागेर ज्यान त बचाए । तर बुबाआमा, श्रीमतीसहित परिवारका १५ सदस्य गुमाए । उक्त बस्तीका १०० भन्दा बढी हराइरहेका छन् । “ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो । तर, कत्रो ठूलो बाढी हो भन्ने अनुमान भएन । पोहोर (विसं २०८२ असार २४ गते)को जत्रै होला, बाढी आउन बेर लागिहाल्छ भन्ने थियो, सास फेर्न नपाउँदैमा छोपिहाल्यो”, तामाङले भने ।

    सूचना पुग्यो, तर जोखिमको आकार बुझिएन

    भदौ १० गतेको बाढी रसुवागढी, घट्टेखोला हुँदै टिमुरेबाट तल्लो तटीय क्षेत्रमा अत्यन्त तीव्रगतिमा फैलिएको थियो । टिमुरेबाट बाढीको सूचना त्रिशूली नदीकिनारका बासिन्दासम्म पुगे पनि त्यसले पुर्याउने क्षतिको अनुमान कल्पनाभन्दा धेरै गुणा ठूलो बन्यो । विदुर–१ ढुङ्गेका विष्णु श्रेष्ठका अनुसार २०१८ सालतिर पनि त्रिशूलीमा ठूलो बाढी आएको कुरा हजुरबुबाले सुनाएका थिए । त्यसबेला मानवीय भएन, भौतिक क्षति सामान्य रहेको उनको स्मरण छ । “हजुरबुबाले २०१८ सालमा ठूलो बाढी आएको सुनाउनुहुन्थ्यो । अहिले त त्रिशूली नदीबाट करिब ३०० मिटर पर र झन्डै १०० मिटर उचाइमा रहेको मेरो चार रोपनी धानखेत बगर बनायो”, श्रेष्ठले भने ।

    बाढी आउँदैछ भन्ने खबर थाहा पाए पनि यति ठूलो विध्वंस होला भन्ने धेरैलाई लागेन । टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, वेत्रावती, तुप्चे, त्रिशूली र देवीघाटलगायतका नदी आसपासका बस्ती बाढीले निमेषभरमै सिध्यायो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढीको सूचना प्रवाह भए पनि त्यसको गम्भीरता बुझाउन चुनौती देखिएको स्मरण गर्छन् । उनका अनुसार विपद्का बेला सूचना समयमै पुग्नु जति महत्त्वपूर्ण छ, त्यसको गम्भीरता बुझेर तत्काल सुरक्षित स्थानमा पुग्नु पनि उत्तिकै आवश्यक हुन्छ ।

    “सफा मौसम, घाम लागिरहेको वातावरणमा ठूलो बाढी आउँदैछ भनेर प्रवाह गरिएको सूचनालाई धेरैले पत्याउन र बुझ्न सकेनन्”, प्रजिअ रेग्मीले भने, “मानवीय क्षति कम गराउन सूचना कति छिटो पुग्यो भन्नेमात्र होइन, सूचनाको गम्भीरता कति बुझियो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ ।”


    भोटेकोशी बाढीले विपद्का बेला सूचना प्रवाहसँगै त्यसको गम्भीरता बुझेर पालना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने देखाएको छ । बाढी आउँदैछ भन्ने सूचना प्राप्त गरे पनि त्यसलाई सामान्य रूपमा लिँदा सुरक्षित स्थानमा पुग्न सक्ने अवसर धेरैले गुमाए । त्यसैले विपद्को पूर्वसूचना पाउनेबित्तिकै त्यसको गम्भीरता बुझेर सावधानी अपनाउनु र सुरक्षित स्थानतर्फ जानु आवश्यक हुन्छ ।

  • कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न

    कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न


    काठमाडौँ, ४ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आज ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको हो । समितिका सदस्य–सचिव राजु कटुवालले यही असोज १६ देखि १९ गतेसम्म हुन लागेको १५औँ महाधिवेशनअन्तर्गत वडा कार्यसमिति चयन र क्षेत्रीय प्रतिनिधिको निर्वाचन उत्साहपूर्ण ढङ्गले भएको जानकारी दिए ।


    गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने हाल वडा अधिवेशन भएको छैन । निर्वाचन कार्यक्रमअन्तर्गत कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ क्षेत्र नं. ६ बाहेक र सुनसरीलगायतका जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

    मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको बताइएको छ । सप्तरीका क्षेत्र नं २ र ४, सर्लाही क्षेत्र नं २, रौतहट क्षेत्र नं १ तथा परासी क्षेत्र नं २ बाहेक सम्बन्धित जिल्लाका अन्य क्षेत्रमा अधिवेशन प्रक्रियाअघि बढेको सदस्य सचिव कटुवालले बताए ।

    निर्वाचन समितिले रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं २, परासी क्षेत्र नं २ तथा असोज ४ गते सम्पन्न हुन नसकेका सम्पूर्ण वडा अधिवेशन असोज ५ गते सोमबार निरन्तर सञ्चालन हुने जनाएको छ ।

  • परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

    परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान


    काठमाडौँ, ४ असोजः परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन आज बेलुकी संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ । मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रिस्तरीय कार्यक्रममा सहभागिता जनाउने छन् । उनले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्नेछन् ।


    नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह भने मङ्गलबार (सेप्टेम्बर २२) अमेरिका प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन् । उनी नेतृत्वको प्रतिनिधिमण्डलमा मन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यन्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।


    यसपटक राष्ट्रसङ्घमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको सङ्ख्या १४ रहेको छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा स्वदेश फर्किनुहुने कार्यक्रम छ भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा नेपाल आउने छन् ।

  • राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन

    राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन


    काठमाडौँ, ४ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष र बदलिँदो राजनीतिक परिस्थितिका बारेमा सम्बोधनको तयारी गर्न निर्देशन दिएको छ । पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालयको बैठकले महासभामा सहभागी हुनजाने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलगायतको कार्यदललाई अन्तरराष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा धारणा राख्ने गरी तयारी गर्न निर्देशन दिएको हो ।

    बैठकले पार्टीको मधेस प्रदेशको साङ्गठनिक अवस्था तथा कार्यसम्पादन अडिटका सन्दर्भमा संयोजक तथा सहमहामन्त्री हरि ढकालबाट विस्तृत प्रतिवेदन प्राप्त भएपश्चात् आवश्यक रणनीतिक कदम अगाडि बढाउने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । उनका अनुसार बैठकले केन्द्रीय अनुशासन आयोगको सदस्यमा अधिवक्ताहरू हरिचन्द्र भट्टराई सुशीला सिंखडा, रामचन्द्र कार्की, शान्ता थापा, नन्दन तिमिल्सिना, रोहन बोहजू, भविन्द्र राई, सन्तोष आचार्य, सन्तोष बिसुखे र श्वेता कुमारीलाई मनोनयन गरेको छ ।

    ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखका रूपमा मनोनयन गरिएको प्रवक्ता खरेलले जानकारी दिए । अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मतजङ्ग कार्कीलाई नियुक्त गरिएको छ । सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।

    बैठकमा नव–मनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति लामिछानेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । बैठकले भोटेकोशी विपद्का कारण स्थगित पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुनःसञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए । “यसअन्तर्गत ‘हामी सुन्छौँ’ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियालगायत साङ्गठनिक तथा जनसम्पर्कका कार्यक्रम अब अविलम्ब अघि बढाइनेछन्”, उनले भने ।


    बैठकमा पार्टीका उपसभापति तथा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता र आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई विस्तृत जानकारी गराए । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि पार्टीका तर्फबाट सरकारमा सहभागी पदाधिकारी तथा सदस्यले खोजी, उद्धार, राहत वितरण तथा पुनःस्थापना र पुनर्निर्माणका बहुआयामिक पक्षबारे पार्टीलाई जानकारी गराए ।

    बैठकले बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाको शीघ्र डिएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याई पीडित परिवारलाई राहत तथा सुविधा प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

  • प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

    प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

    काठमाडौँ, ४ असोजः प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६’ मा सहभागी हुन आज चीन प्रस्थान गरेका छन् । चीन कानुन समाजद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीनको ग्वान्झाउ प्रस्थान गरेका हुन् ।

    प्रधान्यायाधीश शर्मा नेतृत्वको भ्रमण दलमा धर्मपत्नी उमा शर्मा, मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन् । प्रधानन्यायाधीश शर्मा यही असोज ८ गते स्वदेश फर्किनेछन् ।

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    काठमाडौँ, ४ असोजः भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् ।


    फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गरी हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । पहिचान नभएको एक हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका लागि हालसम्म सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ । बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी भइरहेको छ ।

  • बाढी प्रभावितलाई चिनियाँ सहयोग

    बाढी प्रभावितलाई चिनियाँ सहयोग

    काठमाडौँ, ४ असोजः भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम जारी छ । ग्रामीण विकासम्बन्धी चिनियाँ संस्था ‘चीन फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायलाई आवश्यक राहत सामग्री वितरण थालेको छ । फाउन्डेसनका टोलीले रसुवाको कालिका गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका दुर्गम र बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य तथा पोषणको अवस्था स्थिर बनाउन आवश्यक सामग्री पुर्याउने कार्यलाई तीव्रता दिएको छ ।

    बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा सामान्य अवस्थामा फर्किने प्रक्रिया लामो हुने भएकाले तत्काल स्वास्थ्य र पोषणको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री वितरण कार्य जारी रहेको छ ।

    विशेषगरी बाढीबाट बढी प्रभावित र पहुँच कठिन भएका बस्तीमा सामग्री छिटो पुर्याउन टोलीले समन्वय गरिरहेको छ । फाउन्डेसनले खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती प्रदान गरेको छ । यसैबीच, चीनको मौसम विज्ञान प्रशासनले जलवायु पूर्वानुमानसम्बन्धी सूचना नेपाल सरकारलाई निरन्तर उपलब्ध गराउँदै आएको जनाएको छ ।

  • जनकपुरमा आगलागी, एक जनाको मृत्यु

    जनकपुरमा आगलागी, एक जनाको मृत्यु

    जनकपुरधाम, ४ असोजःजनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका –२ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो । घरायसी सामानसहित रु तीन लाख बराबरको क्षति भएको छ । आगालागी गएराति भएको हो । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

  • बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    काठमाडौँ, ४ असोजः नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मङ्गल मुखियाको घर तलासी गरी सो परिमाणमा गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । सदाको घरबाट ५६ र मुखियाको घरबाट आठ गरी ६४ पोका गाँजा बरामद गरिएको जनाइएको छ ।

  • नयाँ अमेरिकी प्रतिबन्धले रूसी ‘सैन्य निवारण’को माग गर्छः मेदभेदेभ

    नयाँ अमेरिकी प्रतिबन्धले रूसी ‘सैन्य निवारण’को माग गर्छः मेदभेदेभ


    मस्को, ४ असोज (रासस–एएफपी) । रूसको नयाँ अमेरिकी प्रतिबन्धहरूबारे प्रतिक्रिया दिँदै ‘सैन्य निवारण’ यसमा समावेश हुनुपने रूसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभले शनिबार भनेका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका वरिष्ठ सहयोगी र मस्कोका सबैभन्दा प्रमुख पश्चिम–विरोधी नेताहरूमध्ये एक मेदभेदेभले आफ्ना टिप्पणीहरूमा थप व्याख्या गरेनन् ।


    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन युद्ध गरेका कारण रूसलाई युद्ध अन्त्यका लागि दबाब दिन नयाँ प्रतिबन्धहरू ल्याउने विधेयकमा हस्ताक्षर गरेका थिए । अमेरिकी संसदले महिनौंको ढिलाइपछि यसलाई स्वीकृति दिएको थियो। स्वर्गीय अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको नाममा राखिएको यो कानुनले रूसका ऊर्जा र रक्षा क्षेत्रका साथै पुटिन र अन्य वरिष्ठ अधिकारीहरूलाई लक्षित गरेको छ ।

    “समुद्र पारबाट पनि उनीहरूले प्रत्यक्ष सैन्य निवारणको भाषा मात्र सुन्छन्, र त्यही भाषामा हामीले रूसी–विरोधी अत्याचारहरू जस्तै ग्राहमको कानुनलाई जवाफ दिनुपर्छ,” रूसको सुरक्षा परिषद्का उपाध्यक्षका रूपमा सेवा गरिरहेका मेदभेदेभले टेलिग्राममा लेखेका छन् । मस्कोले सन् २०२२ मा युक्रेनविरुद्ध पूर्ण आकारको आक्रमण सुरु गरेपछि पुटिनसहित रूसी अधिकारीहरूले युक्रेन र यसका समर्थकहरूलाई ‘आतङ्कवादी’ भन्दै आएका छन् । किएभले यी आरोपहरूलाई आधारहीन युद्धकालीन प्रचार भन्दै अस्वीकार गरेको छ ।

    मेदभेदेभले सन् २००८ देखि २०१२ सम्म रूसको राष्ट्रप्रमुखका रूपमा काम गर्नुभएको थियो, जसले तत्कालीन प्रधानमन्त्री पुटिनलाई कार्यकाल सीमा छल्न अनुमति दिएको थियो । नियमित रूपमा सामाजिक सञ्जालमा युक्रेन र पश्चिममाथि आक्रामक टिप्पणी गर्दै आएका ६१ वर्षीय मेदभेदेभलाई उनका आलोचकहरू यस्ता आक्रोशपूर्ण टिप्पणीहरूलाई राजनीतिक सान्दर्भिकता कायम राख्ने प्रयास भन्छन् भने अरूले यसलाई वरिष्ठ रूसी नेतृत्वको प्रतिबिम्ब मान्छन् ।

    गत वर्षे मेदभेदेभले टेलिग्राम पोस्टमा मस्कोको अर्ध–स्वचालित ‘डेड ह्यान्ड’ परमाणु हतियार नियन्त्रण प्रणालीको सङ्केत गरेपछि राष्ट्रपति ट्रम्पले दुई परमाणु पनडुब्बीहरू सार्न आदेश दिएका थिए ।

  • ‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

    ‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

    वासिङटन, ४ असोज (रासस–एएफपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको र अंग्रेजीलाई संयुक्त राज्य अमेरिकाको आधिकारिक भाषा बनाएको दाबी गर्दै आफ्ना शीर्ष उपलब्धिहरूको लामो सूची सार्वजनिक गरेका छन् । सर्भेक्षण रिपोर्टमा उनको लागि मध्यावधि चुनाव कठिन देखिएको भनाइहरू आइरहेका समय निर्वाचन नजिकिँदै गर्दा यो दाबी आएको हो ।

    ट्रम्प नोभेम्बरको चुनावअघि आफ्नो कमजोर अनुमोदन दर बढाउन प्रयासरत छन् । सर्वेक्षणहरूले इरानसँगको अलोकप्रिय युद्ध र त्यसले निम्त्याएको इन्धन तथा अन्य मूल्यवृद्धिले उहाँको रिपब्लिकन पार्टीलाई नोक्सान पु¥याइरहेको देखाएका छन् । सर्वेक्षणहरूका अनुसार पार्टीले प्रतिनिधिसभाको नियन्त्रण गुमाउन सक्छ र सम्भवतः सिनेटसम्म पनि गुमाउन सक्छ । यस्तो पराजयले ट्रम्प र उहाँको अमेरिका–प्रथम एजेन्डालाई दोस्रो कार्यकालका अन्तिम दुई वर्षमा ठूलो चुनौती खडा गर्नेछ ।

    राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा आप्रवासन, विदेश नीति र अर्थतन्त्रमा केन्द्रित लामो सामाजिक सञ्जाल पोस्टमा ‘इतिहासको सबैभन्दा सुरक्षित सीमा हासिल गरेको’ दाबी गरे । “विगत १६ महिनामा अमेरिकामा अवैध आप्रवासी शून्य भएको छ्,” उनले लेखेका छन्, “आफ्नो प्रशासनले ‘खतरनाक ठाउँहरू’ बाट आउने शरणार्थी प्रवेश घटाएको छ ।

    प्रायः हिंसात्मक आप्रवासन दमनको नेतृत्व गरेका राष्ट्रपति ट्रम्पले बारम्बार निर्वासन र अमेरिकाले कानुनी रूपमा घर पठाउन नसक्ने व्यक्तिहरूलाई तेस्रो देशहरूमा पठाउने काम पनि उपलब्धिमा समावेश छ । ती देशहरूलाई कहिलेकाहीं पैसा दिएर क्षतिपूर्ति दिइन्छ । उनले संयुक्त राज्य अमेरिकाले ‘इरानको परमाणु समृद्धि क्षमता नष्ट गरेको’ र इस्लामिक गणतन्त्रले ‘कहिल्यै परमाणु हतियार नपाउने’ सुनिश्चित गरेको पनि दाबी गरे । फेब्रुअरीमा युद्ध सुरु गर्ने ट्रम्पका प्रायः परिवर्तन हुने औचित्यहरूमध्ये एक थियो ।

    तेहरानमाथिको अमेरिकी–इजरायली हमलाले विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ र मध्य पूर्वलाई युद्धमा डुबाएको छ । यो अमेरिका अरू कुनै विदेशी युद्धमा नफस्ने वाचा गरेका राष्ट्रपतिको लागि दलदल साबित भएको छ । ट्रम्पले अमेरिकी व्यापार साझेदारहरूमाथि लगाइएका भारी भन्सार शुल्कहरू पनि उपलब्धिका रूपमा देखाएका छन्, जसलाई उनले ‘अमेरिकी उत्पादन पुनः फिर्ता’ लगाइएको बताएका छन् ।

  • युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति

    युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति


    वासिङटन, ४ असोज (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनलाई २.६८ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीको सम्भावित स्वीकृति दिएको छ । यसअघि किएभले रूसी आक्रमणहरू रोक्नका लागि बारम्बार सहयोगको अपिल गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले कङ्ग्रेसलाई पठाएको सूचनामा भनेको छ, “मन्त्रालयले ‘युक्रेन सरकारलाई सम्भावित विदेशी सैन्य हतियार बिक्री स्वीकृत गर्ने निर्णय’ गरेको छ, जसमा हवाई प्रतिरक्षा विकासको स्तरवृद्धि तथा सम्बन्धित उपकरण र सेवाहरू समावेश छन्।

    “किएभले विभिन्न प्रकारका मिसाइल, लन्चर, ड्रोन विरोधी राडार र ट्रेलरसहितका उपकरण खरीद गर्न निवेदन दिएको छ,” विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ । प्रस्तावित बिक्रीका लागि कङ्ग्रेसले समीक्षा गर्नेछ र सही लागेमा पारित गर्नेछ ।

    “यदि खरिदका लागि भएको प्रस्ताव कङ्ग्रेसले अनुमोदन गरेमा युक्रेनले यसलाई युरोपेली योगदान र अघिल्लो प्रशासनको पालामा विनियोजन गरिएको अमेरिकी विदेशी सैन्य वित्तपोषणको संयोजनबाट वित्तपोषण गर्नेछ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही अगस्टमा भनेका थिए, “ट्रम्प प्रशासनले युरोपेली सहयोगीहरूलाई आफ्ना पूर्ववर्ती जो बाइडेनको प्रशासनअन्तर्गत युक्रेनलाई दिइएको अमेरिकी सहयोग फिर्ता गर्न आग्रह गर्नुहुनेछ ।”

    राष्ट्रपति ट्रम्पले लामो समयदेखि युरोपेलीहरूले युक्रेनप्रति पश्चिमी सहयोगको लागतको ठूलो भाग वहन गर्नुपर्ने माग गर्दै आएका छन् । विदेश मन्त्रालयले २.६८ अर्ब डलर लागत अनुमान गरेको शुक्रबारको यो प्रस्ताव राष्ट्रपति ट्रम्पले रूसलाई दबाब दिन नयाँ प्रतिबन्धहरू स्वीकृत गर्ने विधेयकमा हस्ताक्षर गरेको बेला आएको हो ।

    युक्रेनको राजधानी किएभमा रूसी आक्रमणहरूमा तीव्र वृद्धि देखिएको छ, जसलाई गोलाबारुदको अभावका कारण यसको हवाई प्रतिरक्षाले रोक्न सङ्घर्ष गरिरहेको छ । विश्लेषकहरू भन्छन्, “मस्को युक्रेनी मनोबललाई कमजोर बनाउन र किएभका युरोपेली सहयोगीहरूलाई त्रसित पार्न खोजिरहेको छ । यतिवेला क्रेमलिनले हतियार उत्पादनबाट उसलाई लाभ भएको विश्वास गर्दछ।” वासिङटनको समय र गोलाबारुदको ठूलो भाग ओगटिरहेको मध्य पूर्वको युद्धले पनि द्वन्द्व अन्त्य गर्ने अमेरिकी मध्यस्थता वार्तालाई बाधा पु¥याएको छ ।

  • विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका


    दमौली (तनहुँ), ४ असोजः व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा प्रगति गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गत आर्थिक वर्षमा नगर क्षेत्रमा ६ दशमलव ४६ किलोमिटर नयाँ सडक ‘ट्र्याक’ खोलिएको छ ।

    नगरपालिकाले सो अवधिमा ३ दशमलव ३९ किलोमिटर सडक कालोपत्र तथा ढलान गरेको छ भने ६ दशमलव ८८ किलोमिटर सडक ग्राभेल गरेको छ । सडक पूर्वाधारसँगै नगरपालिकाले सहरी व्यवस्थापन र सार्वजनिक संरचना निर्माणलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए । आर्थिक वर्ष २०८२÷८३ मा नगर क्षेत्रमा ११ दशमलव ३६ किलोमिटर ढल निर्माण गरिएको छ । साथै कृषि उत्पादनमा नौ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।

    नगरपालिकाले सार्वजनिक तथा सामुदायिक पूर्वाधार निर्माणतर्फ पनि काम अघि बढाएको छ । गत आर्थिक वर्षमा तीन वटा पार्क निर्माण गरिएको छ भने १५ वटा नयाँ विद्यालय भवन निर्माण भएका छन् । स्थानीयस्तरमा सामाजिक तथा सामुदायिक गतिविधिका लागि आवश्यक छ वटा सामुदायिक भवन निर्माण भएका छन् । व्यास नगरपालिकामा हालसम्म सडक पूर्वाधारको विकासमा उल्लेख्य विस्तार भएको छ । हालसम्म एक सय ५८ दशमलव ६९ किलोमिटर सडक कालोपत्र तथा ढलान भइसकेको छ भने ३५ दशमलव ०९ किलोमिटर सडक ग्राभेल गरिएको छ ।

    नगरका विभिन्न बस्ती तथा ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने क्रममा हालसम्म ७२५ दशमलव ६७ किलोमिटर नयाँ सडक ‘ट्र्याक’ खोलिएको छ । हालसम्म व्यास नगरपालिकाभित्र २२ वटा मोटरेबल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । त्यसैगरी, हालसम्म नगर क्षेत्रमा ११८ दशमलव ९५ किलोमिटर ढल निर्माण भइसकेको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए । बाढी तथा नदी कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउन हालसम्म पाँच दशमलव १७ किलोमिटर नदी नियन्त्रणको काम सम्पन्न भएको छ ।

    कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि पनि नगरपालिकाले लगानी गर्दै आएको छ । हालसम्म २४ दशमलव ०७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा मात्रै थप नौ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको हो । व्यास नगरपालिकाले खुला तथा मनोरञ्जनात्मक क्षेत्र विकासलाई समेत आफ्नो पूर्वाधार योजनामा समेटेको छ । हालसम्म नगर क्षेत्रमा १९ वटा पार्क निर्माण भएका छन् ।

  • आरोहण टोली धवलागिरि आधार शिविरमा

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    म्याग्दी, ४ असोजः चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन् । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत आरोहणका लागि आएका पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन् । आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले शनिबारसम्म ३० जना विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका जानकारी दिए ।


    “आरोहण टोली हेलिकप्टरबाट सिधैँ आधार शिविरमा पुगेर शनिबार धार्मिक विधिअनुसार पूजाआजा गरी तयारी थालेका छन्”, उनले भने, “म्याग्दीको बगर गाउँतर्फबाट आधार शिविर जाने चक्रीय धवलागिरि पदमार्गमा बाढीपहिरोले क्षति पुर्याएकाले पर्वतारोहण टोलीले मार्फातर्फको पदमार्ग र हेलिकप्टर प्रयोग गरेका हुन् ।”

    विपद् नहोस्, दुर्घटनाको सामना गर्नु नपरी आरोहण अभियान सफताको कामना गर्दै आधार शिविरमा शेर्पाहरूले धार्मिक विधिअनुसार पूजाआजा गर्ने चलन छ । आधार शिविर पुगेर फर्किएका शेरचनका अनुसार बन्दोबस्तीका सामान ढुवानीका लागि खच्चड र हेलिकप्टरको प्रयोग गरेका छन् । थप टोली पनि आधार शिविर जाने तयारीमा रहेको शेरचनले बताए । आधार शिविरमा केही दिन अनुकूल मौसमको प्रतीक्षा र तयारी गरेपछि पर्वतारोहीहरूको टोली ‘रोप फिक्सिङ’ र शिविर सार्दै चुचुरोतर्फ लाग्नेछन् । शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन् । आरोहण टोलीहरु पुग्न थालेपछि आधार शिविरमा चहलपहल सुरु भएको छ ।

    चालु वसन्तयाममा धवलागिरि आरोहणका लागि पर्यटन विभागबाट शुक्रबारसम्म चारवटा समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन् । उनीहरूबाट रु ७७ लाख ८२ हजार ४५० सलामी दस्तुर ९आरोहण० शुल्क प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ । गत वसन्तयाममा तीनवटा समूहका १२ महिला र १६ पुरुष तथा २०८२ सालको शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएका विभागको अभिलेखमा छ । छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ ।

    सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।

  • रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

    रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

    मुस्ताङ, ४ असोजः गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सङ्ख्या घटेको पाइएको हो । कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडकमार्ग बाढी पहिरो र नदी कटानले साउन महिनामा दर्जनौँ पटक सडक अवरुद्ध हुँदासमेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख रहे पनि रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन सङ्ख्या ह्वात्तै घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

    प्रहरीका अनुसार चालु वर्षको साउनमा भन्दा भदौ महिनामा २९ हजार २७४ पर्यटक घटेको देखाउँछ । यो अघिल्लो महिनाको भन्दा भदौमा ४७.७८ प्रतिशत पर्यटक कम हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङअन्तर्गत म्याग्दी र मुस्ताङको सिमान प्रहरी चौकी घाँसाको पर्यटक आगमनको विवरणअनुसार चालु वर्षको साउनमा आन्तरिक ३० हजार ६५५ जना, सार्क ३१ हजार ५७५ र अन्य राष्ट्रका १९३ जना गरी ६१ हजार २६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए ।

    त्यसैगरी, चालु वर्षको भदौमा आन्तरिक १६ हजार ५०३, सार्क १५ हजार १३८ र अन्य राष्ट्रका ३४८ गरी ३१ हजार ९८९ जना पर्यटक मुस्ताङ आएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा रसुवा बाढीपछि भदौमा आन्तरिक १४ हजार १५२ (४६.१६) प्रतिशत र सार्क पर्यटकतर्फ १६ हजार ४३७ (५२.०५) प्रतिशत पर्यटक आगमनमा ह्रास आएको हो ।

    तर, आन्तरिक र सार्क राष्ट्रको पर्यटक सङ्ख्या घट्दो रहेपछि अन्य राष्ट्रको पर्यटक भने अघिल्लो महिनाको तुलनामा बढेको पाइएको छ । अघिल्लो साउनमा १९३ जना अन्य मुलुकका पर्यटक मुस्ताङ आएकामा भदौमा भने थप १५५ जना वृद्धि हुँदै ३४८ जना अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे । मुस्ताङमा चालु वर्षको साउन र भदौमा गरी ९३ हजार २५२ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरी निरीक्षक बस्यालका अनुसार साउन र भदौमा आन्तरिक ४७ हजार १५८, सार्क ४६ हजार ७१३ र अन्य राष्ट्रका ४४१ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

    प्रहरी निरीक्षक बस्यालले भदौ १० गतेको रसुवा बाढी घटनाका कारण सबै नेपाली जनता शोकमा परेका कारण मुस्ताङमा पर्यटक कम भित्रिएको हुनसक्ने उल्लेख गर्नुभयो । गत आव २०८२\८३ को साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । गत वर्षको साउन र भदौको तुलनामा चालु वर्षको साउन र भदौमा पर्यटकका सङ्ख्या वृद्धि भएको भए पनि चालु वर्षको साउनको तुलनामा भदौमा पर्यटक आगमन घटेको तथ्याङ्क छ ।

  • बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध


    त्रिशूली ४ असोजः नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजाविरुद्धको मुखबाट खुवाइने खोप अभियानअन्तर्गत ५० हजार भन्दा बढीले औषधि सेवन गरेका छन् । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि खानेपानी तथा सरसफाइमा चुनौती थपिएसँगै बाढी प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा ५० हजार ४६७ जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

    कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अञ्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बसोबाँस गर्दै आएका ७७ हजारभन्दा बढी बासिन्दालाई खोप खुवाउने लक्ष्य राखिएको छ । अभियानअन्तर्गत हालसम्म ५० हजारभन्दा बढीले खोप सेवन गरिसकेको उनले बताए ।


    “सुरक्षित खानेपानी तथा सरसफाइको चुनौतीका कारण हैजालगायतका महामारी फैलिन नदिन खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालनमा ल्याएका छौँ”, डा कार्कीले भने, “हैजा तथा अन्य पानीजन्य रोगको जोखिमबाट बच्न खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुनपानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।”

    बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न स्थानमा मानवीय तथा पशुचौपायाको क्षति हुनुका साथै ठूलो सङ्ख्यामा मानिस विस्थापित भएका छन् । बाढी प्रभावित तथा विस्थापितलाई विभिन्न स्थानमा स्थापना गरिएका ‘होल्डिङ सेन्टर’मा राखिएको अवस्थामा खानेपानी तथा सरसफाइको अवस्था चुनौतीपूर्ण बनेकाले हैजाजन्य रोगको जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

    बाढी प्रभावित क्षेत्रमा प्रयोग गरिएको पानीमा ई–कोलाई अर्थात् दिसाजन्य प्रदूषणको सूचक जीवाणु भेटिएपछि पानीजन्य रोगको जोखिम थप बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सोही कारण जोखिमयुक्त क्षेत्रमा रोगको प्रकोप नियन्त्रण तथा रोकथामका लागि आपत्कालीन रूपमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।

    जनस्वास्थ्य कार्यालयका अनुसार जन्मेको एक वर्ष पूरा भएका सबै व्यक्तिलाई खोप उपलब्ध गराउने व्यवस्था गरिएको छ । खोप सुरक्षित र प्रभावकारी रहेकाले लक्षित सबैलाई निर्धक्क भएर खोप सेवन गर्न कार्यालयले अनुरोध गरेको छ । हैजाको सङ्क्रमण हुँदा कडा किसिमको जलवियोजन (डि–हाइड्रेसन) भएर ज्यानसमेत जान सक्ने भएकाले बाढी प्रभावित क्षेत्रमा सरकारले विशेष अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गरेको हो । उक्त खोप बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र सबै होल्डिङ सेन्टरमा निःशुल्क उपलब्ध गराइएको छ ।

    जनस्वास्थ्य कार्यालयले अभियानलाई लक्ष्यअनुसार प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनसमेत खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । कडा किसिमको झाडापखाला हैजामा परिणत हुनसक्ने भएकाले झाडापखालालगायतका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर जाँच तथा उपचार गराउन जनस्वास्थ्य प्रशासक डा कार्कीले आग्रह गरे ।

    हैजाको जोखिम उच्च रहेको विदुरवासी ५९ हजार २५४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । हालसम्म नगरपालिकाभित्र ४० हजार २९१ जनाले खोप लगाएको तथ्याङ्क रहेको स्वास्थ्य शाखाले जनाएको छ । विदुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले खोप लगाउन बाँकी रहेका बासिन्दालाई नजिकैको स्वास्थ्य सँस्थामा पुगेर खोप लगाउन आग्रह गर्नुभयो ।

    “खोप कार्यक्रम सातै दिन सञ्चालन भइरहेको छ । नगरपालिकाका सबै स्वास्थ्य संस्थाका साथै बाढी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा समेत खोप उपलब्ध गराइएको छ”, उनले भने, “जोखिमलाई ध्यानमा राखेर लक्षित सबै नागरिकले खोप सेवन गर्नु अहिलेका लागि अत्यावश्यक रहेको छ ।” गत भदौ १० को बाढीपश्चात् माहामारीजन्य रोगको सक्रमण हुन र फैलन नदिन स्वास्थ्यकर्मीले खोप लगाएसँगै उमालेर वा शुद्धीकरण गरेर सुरक्षित पानी पिउने, साबुनपानीले नियमित हात धुने, खाना सफा राख्ने तथा घर, टोल र आसपासको वातावरण सफा राख्न आग्रह गरेका छन् ।

  • सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

    सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन


    भोजपुर, ४ असोजः भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित ग्रामीण भेगका किसानलाई लक्षित गरी भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशुपालक किसान सहज रूपमा घरदैलोमा सेवा उपलब्ध गराउने लक्ष्यले शिविर सञ्चालन गरिएको हो ।

    शिविरका अवसरमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका डा देवकुमार दर्लामी तथा गाउँपालिकाका डा रामकृष्ण पौडेलले किसानलाई पशु स्वास्थ्य, जैविक सुरक्षा र आधुनिक पशुपालनका व्यावहारिक विषयमा जानकारी गराउनुभएको हो । शिविरमार्फत गोबर परीक्षणसँगै नाम्ले, जुका, भिटामिनका साथै पछिल्लो समय महामारीका रूपमा फैलिएको ‘लम्पी स्किन’ रोगविरुद्धको औषधि निःशुल्क वितरण गरिएको छ ।

    औषधिसँगै पशुमा लाग्ने सम्भावित सरुवा रोग, तिनका लक्षण र रोकथामका उपायबारे किसानलाई विशेषज्ञ परामर्शसमेत प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालले दूरदराजका किसानलाई प्रत्यक्ष रूपमा सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको बताए । शिविरमार्फत एक हजार २७० पशुपन्छीलाई सेवा उपलब्ध गराइएको उनले बताए ।


    “दुर्गम भेगका नागरिकलाई सहज सेवा दिन शिविर सञ्चालन गरेका हौँ”, प्रमुख दाहालले भने, “व्यावसायिक पशुपालनमा संलग्न किसानलाई प्राविधिक सहयोग, परामर्श पुर्याउन शिविरले सहयोग पुगेको छ ।” गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँघरमै विशेषज्ञ सेवा पुग्दा किसानलाई सहयोग पुगेको बताए । गाउँपालिकाभित्र धेरै किसानले व्यावसायिक रूपमा गाईभैँसी, बङ्गुर र बाख्रापालन गरिरहेकाले शिविर निकै उपयोगी बनेको उनको भनाइ छ ।

    “हाम्रो पालिकाको मुख्य आर्थिक आधार नै कृषि र पशुपालन हो”, उपाध्यक्ष राईले भने, “यहाँका धेरै किसानले व्यावसायिक रूपमा पशुपालन गरिरहनुभएको छ । किसानलाई लक्षित गरेर सञ्चालन भएको शिविर लाभदायक बनेको छ ।” शिविरमा सानोदुम्माका साथै आसपासका बस्तीबाट उपस्थित भएका किसानले घरदैलोमै औषधि र परामर्श पाएपछि खुसी व्यक्त गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रको आयोजना तथा पशु सेवा शाखा पौवादुङमाको सहआयोजनामा एकदिने शिविर सञ्चालन गरिएको हो ।