Category: फिचर

  • चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछ : महामन्त्री थापा

    चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछ : महामन्त्री थापा

    काठमाडौँ, २७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा हुने निर्वाचनमा हारजितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्वपूर्ण भएको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, “चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्दती र संविधान जोगाउनुपर्ने छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने छ ।”

    महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दैै पार्टीमा सबै बराबर रहेको बताए । “कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवाफ पनि दिन सक्दैन,” उनले भने । कांग्रेसप्रति जनताको भरोसा रहेको उल्लेख गर्दै महामन्त्री थापाले चुनावभन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनुपर्ने बताए ।

  • नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : विश्व प्रकाश

    नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : विश्व प्रकाश

    काठमाडौँ २७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्राकेस्रा) केलाएर छलफल गरिने बताएका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा सङ्कलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कांग्रेसले जनअसन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने उल्लेख गरे । महामन्त्री शर्माले भने, “आगामी फागुन २१ गते रूख चिह्नमा मतदान गर्नुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, आगामी दिनमा नदोहो¥याउने सङ्कल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दैछौँ ।”

    उनले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिकलाई सन्तुष्ट गर्न नसकिएको बताए । सरकार परिवर्तनले सत्तामा पुगेकालाई सन्तुष्टि मिलेको भए पनि आमनागरिकले अनुभूति गर्न नसकेको महामन्त्री शर्माको भनाइ थियो । उनले विशेष महाधिवेशनलाई केवल सङ्गठनात्मक अभ्यास नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताए ।

  • विशेश अधिवेशनमा गगन : कांग्रेस लास र दासहरुको पार्टी होइन

    विशेश अधिवेशनमा गगन : कांग्रेस लास र दासहरुको पार्टी होइन

    काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न र सम्बोधन गर्न पार्टीको विशेष महाधिवेशन बोलाइएको बताएका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देखिएको जनआक्रोसलाई राजनीतिक दलहरुले सम्बोधन गर्नुपर्ने बताए ।

    उनले भने, “आन्दोलनका क्रममा कांग्रेसको सहभागिता रहेको सरकारसँग जनता रिसाएका हुन्, आक्रोश पोखेका हुन् । नवयुवा भ्रष्टाचार, कुशासन र बेतिथिसँग रिसाएका हुन् । राजा फालेर ल्याएको गणतन्त्रमा नेपाबेवीको राज देखेर रिसाएका हुन्, चित्त दुखाएका हुन्, असन्तोष व्यक्त गरेका हुन् । ती आवाज सुन्न विशेष अधिवेशन बोलाइएको हो ।”

    पार्टीभित्रको सत्ता सङ्घर्षको कारणले हालको अवस्था सृजना भएको जस्तो देखिए पनि यो विचार र मान्यताको सङ्घर्ष भएको जनाउँदै महामन्त्री थापाले गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा हजारौँ नरनारी सडकमा आएर आक्रोश र असन्तुष्टि व्यक्त गरेको पक्षलाई मनन गर्न आवश्यक रहेको बताए । उनले मुलुकमा त्यत्रो घटना भइसकेपछि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले अनदेखा र सामान्य घटनाका रूपमा लिन नमिल्ल्ने बताए ।

    उनले कांग्रेस लास र दासहरुको पार्टी नभएको समेत बताए । महामन्त्री थापाले यो विशेष महानिधवेशनलाई नाम जस्तै विशेष बनाएर टुङ्ग्याउनुपर्ने बताउँदै आफूहरूले अधिवेशनको उद्घाटन पार्टी सभापतिले गरेको र कार्यवाहक उपसभापति उपस्थित भएको हेर्न चाहे पनि त्यो हुन नसकेको बताए ।
    कांग्रेस राष्ट्रिय शक्ति भएकाले राष्ट्रिय समस्याको हल खोज्ने र समाधान गर्ने जिम्मेवारी पार्टीको भएको बताउँदै उहाँले कांग्रेसले विगतदेखि नै त्यही कार्य गर्दै आएको स्मरण गरे । महामन्त्री थापाले पार्टीका लागि निर्वाचन मात्र ठूलो कुरा नभएकाले त्यसभन्दा फराकिलो सोचका साथ अघि बढ्नुपर्ने बताए ।

    उनले भने, “नागरिकमा भरोसा जोगाउनु छ, कांग्रेसले नै २००७ सालदेखि नडगमगाइ जनतामा विश्वास जगाइरहन सफल भएको इतिहास छ । अहिलेको नवयुवामा आशा जगाइराख्न युवालाई मुलुकमै बसिराख्ने तथा कामका लागि विदेशिनुपर्ने बाध्यता हटाउने जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ । अब भरोसा दिलाउने काम हाम्रो हो । हामी दिलाउछौँ ।” महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिले गरेको निर्णय आफूले मन्ने बताउँदै विधानअनुसार महाधिवेशनभन्दा ठूलो कोही नभएको स्पष्ट पारे ।

  • इरानमा दुई हप्तानजिक विरोध, दमन अझ कडा

    इरानमा दुई हप्तानजिक विरोध, दमन अझ कडा

    दुबईरपेरिस, २७ पुस (रासस–एपी–एएफपी) । इरानभर फैलिएको सरकारविरोधी प्रदर्शन शनिबार दुई हप्ताको नजिक पुगेको छ । अधिकारीहरूले कडा दमन जारी राखेको भए पनि आन्दोलन रोकिएको छैन, बरु प्रमुख सहरहरूमा नयाँ र्‍यालीहरू देखिएका छन् । इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवा लगभग पूर्ण रूपमा बन्द गरिएपछि देशभित्रको वास्तविक अवस्था बाहिरी संसारका लागि झनै अस्पष्ट बनेको छ । यद्यपि मानव अधिकार समूहहरू र सीमित रूपमा उपलब्ध भिडियो प्रमाणका आधारमा मृतक, घाइते र पक्राउ पर्नेहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको देखिएको छ ।

    अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीका अनुसार हालसम्म कम्तीमा ६५ जनाको ज्यान गएको छ भने दुई हजार ३०० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ । अर्कोतर्फ, नर्वेमा आधारित इरान मानव अधिकार समूहले मृतकको सङ्ख्या कम्तीमा ५१ पुगेको भए पनि वास्तविक आँकडा अझ धेरै हुनसक्ने चेतावनी दिएको छ । इरानी राज्य टेलिभिजनले भने सुरक्षा बलमाथि भएको आक्रमण र सुरक्षाकर्मीको हताहतलाई जोड दिँदै राष्ट्रको नियन्त्रण कायम रहेको सन्देश प्रसारण गरिरहेको छ ।

    सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले पछिल्लो सम्बोधनमा प्रदर्शनलाई बाह्य शक्तिले उक्साएको आरोप लगाउँदै कडा शब्दमा निन्दा गरेका छन् । उनले अवज्ञा र अराजकता सहन नसकिने भन्दै थप दमनको सङ्केत गरेका छन् । यसबीच, संयुक्त राज्य अमेरिकाले प्रदर्शनकारीहरूप्रति समर्थन जनाउँदै कडा चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समार्फत ‘संयुक्त राज्य अमेरिकाले इरानका साहसी नागरिकहरूलाई समर्थन गर्छ’ भनेका छन् । अमेरिकी विदेश मन्त्रालयले छुट्टै वक्तव्य जारी गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘खेल नखेल्न’ चेतावनी दिएको छ ।

    शनिबार इरानमा कार्यसप्ताह सुरु भए पनि धेरै विद्यालय र विश्वविद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरेका छन् । सरकारी तथा अर्ध–सरकारी वेबसाइटहरू आन्तरिक रूपमा सञ्चालनमा रहेको विश्वास गरिए पनि आम नागरिकको इन्टरनेट पहुँच प्रायः बन्द छ । कतारस्थित अल जजिरालाई अपवाद मान्दा अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू इरानभित्र स्वतन्त्र रूपमा काम गर्न असमर्थ छन् ।

    राज्य टेलिभिजनले सरकार समर्थक प्रदर्शनहरू देखाउँदै देशका अधिकांश सहरहरूमा राति शान्ति कायम रहेको दाबी गरेको छ । राष्ट्रवादी भावनालाई बलियो बनाउन इरान–इराक युद्धकालीन गीतहरू बारम्बार प्रसारण गरिएका छन् । तर एसोसिएटेड प्रेस र एएफपीले प्रमाणित गरेका भिडियोहरूले उत्तरी तेहरानको सादाताबादसहित विभिन्न क्षेत्रमा हजारौँ मानिस सडकमा उत्रिएर ‘खमेनी मूर्दावाद’ जस्ता नाराहरू लगाइरहेको देखाएका छन् ।

    अर्ध–आधिकारिक फार्स समाचार एजेन्सीले इस्फहानबाट आएको भन्दै सार्वजनिक गरेको निगरानी क्यामेरा फुटेजमा केही प्रदर्शनकारीले आगजनी र हतियार प्रयोग गरेको देखाइएको छ । राज्य सञ्चालित यङ जर्नालिस्ट्स क्लबका अनुसार विभिन्न सहरमा बासिज स्वयंसेवक बल र प्रहरीसहित सुरक्षा निकायका केही सदस्यहरू मारिएका छन् । ती सुरक्षाकर्मीहरूको अन्त्येष्टि दृश्यहरू कोम र शिराजलगायत सहरहरूमा सरकारी टेलिभिजनले प्रसारण गरेको छ ।

    बिहीबारदेखि सरकारले इन्टरनेट र अन्तर्राष्ट्रिय सञ्चार पूर्ण रूपमा बन्द गरेपछि अधिकारकर्मीहरू गम्भीर रूपमा चिन्तित बनेका छन् । नेटब्लक्स नामक इन्टरनेट निगरानी संस्थाले राष्ट्रव्यापी ब्ल्याकआउट ३६ घण्टाभन्दा बढी समयदेखि जारी रहेको जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले सुरक्षा बलले प्रदर्शनकारीहरूमाथि घातक बलको गैरकानूनी प्रयोग बढाएको कष्टप्रद रिपोर्टहरू प्राप्त भइरहेको बताएको छ ।

    नोबेल शान्ति पुरस्कार विजेता शिरिन एबादीले सञ्चार अवरोधको आवरणमा ‘व्यापक हिंसा र सम्भावित नरसंहार’ को जोखिम रहेको चेतावनी दिएका छन् । उनका अनुसार तेहरानका अस्पतालहरूमा आँखामा गम्भीर चोट लागेका सयौँ घाइतेहरू पुगेका छन् । यसअघि भएका आन्दोलनहरूमा पनि सुरक्षा बलले जानाजानी प्रदर्शनकारीहरूको आँखामा गोली हानेको आरोप लाग्दै आएको छ ।

    तेहरान, मशहद, तब्रिज, कोम, हामेदानलगायत प्रमुख सहरहरूमा रातभर भएका प्रदर्शनमा मानिसहरूले भाँडा पिटेर, आगो बालेर र कारको हर्न बजाएर सरकारविरोधी भावना व्यक्त गरेका छन् । केही स्थानमा प्रदर्शनकारीहरूले शाहकालीन सिंह र सूर्य अङ्कित झण्डा फहराएका दृश्यहरू देखिएका छन्, जसले आन्दोलनभित्र विभिन्न राजनीतिक धाराहरू सक्रिय रहेको सङ्केत गर्छ । इरानका निर्वासित पूर्व युवराज रेजा पहलवीले आन्दोलनलाई ‘ऐतिहासिक’ भन्दै शनिबार र आइतबार थप लक्षित प्रदर्शन गर्न आह्वान गरेका छन् । उनले अब आन्दोलनको लक्ष्य केवल सडकमा निस्कनु मात्र नभई ‘सहरका केन्द्रहरू कब्जा गर्ने तयारी’ रहेको बताएका छन् । यद्यपि उनको भूमिका र समर्थनबारे इरानभित्र मत विभाजित देखिन्छ ।

    यो आन्दोलन डिसेम्बर २८ मा इरानी रियालको तीव्र अवमूल्यनपछि सुरु भएको हो । हाल रियाल करिब १४ लाख प्रतिअमेरिकी डलरमा कारोबार भइरहेको छ । आणविक कार्यक्रमका कारण लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धले थलिएको अर्थतन्त्र, बढ्दो महँगी र बेरोजगारीले सुरु गरेको असन्तोष क्रमशः इस्लामिक गणतन्त्रको शासन व्यवस्थामाथि प्रत्यक्ष चुनौतीमा परिणत भएको विश्लेषकहरू बताउँछन् ।

    इरानी अधिकारीहरूले भने देश ‘युद्धको अवस्थामा’ रहेको दाबी गर्दै कडा कदम चाल्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय समुदायले बढ्दो हिंसा र दमनप्रति गहिरो चासो व्यक्त गर्दै संयमता, मानव अधिकारको सम्मान र संवादमार्फत समाधान खोज्न आग्रह गरिरहेको छ ।

  • मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु, एक व्यक्ति हिरासतमा

    मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु, एक व्यक्ति हिरासतमा

    वेस्ट पोइन्ट (मिसिसिपी), २७ पुस (रासस–एपी) । अमेरिकाको पूर्वी मिसिसिपी राज्यमा आपसमा सम्बन्धित गोलीबारीका घटनाहरूको शृङ्खलामा परी छ जनाको ज्यान गएको छ । उक्त घटनापछि शनिबार एक जना संदिग्धलाई हिरासतमा लिइएको स्थानीय अधिकारीहरूले बताएका छन् । क्ले काउन्टीका शेरिफ एडी स्कटले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको वक्तव्यमा अलाबामा राज्यको सीमा नजिकै पर्ने वेस्ट पोइन्ट सहरमा ‘हिंसाका कारण’ धेरै निर्दोष व्यक्तिले ज्यान गुमाउनुपरेको बताए । उनका अनुसार घटनाहरू फरक–फरक तीन स्थानमा भएका थिए, जहाँ कुल छ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

    शेरिफ स्कटले स्थानीय सञ्चार माध्यम डब्ल्युटिभिएसँग कुरा गर्दै तीनवटै स्थानमा भएको गोलीबारी एकआपसमा सम्बन्धित रहेको र ती घटनाबाट छ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार घटनासँग सम्बन्धित एक संदिग्धलाई सुरक्षाकर्मीहरूले हिरासतमा लिइसकेका छन् । सामाजिक सञ्जालमार्फत नै शेरिफ स्कटले हाल समुदायका लागि कुनै थप खतरा नरहेको स्पष्ट पारेका छन् ।

    “म सबैलाई अनुरोध गर्दछु कि कृपया पीडितहरू तथा उनीहरूका परिवारजनलाई आफ्ना प्रार्थनामा सम्झिनुहोस्”, उनले लेखेका छन्, उनले कानून कार्यान्वय गर्ने निकायहरू घटनाको गहिरो अनुसन्धानमा व्यस्त रहेको र सम्भव भएसम्म चाँडै थप जानकारी सार्वजनिक गरिने पनि उल्लेख गरेका छन् ।

  • राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    काठमाडौँ, २७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेका छन् । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उनको योगदानको सम्मान गरेका हुन् । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो ।

    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गरे ।


    मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे । हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।

  • चन्द्रागिरिबाट सर्जकहरुले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई

    चन्द्रागिरिबाट सर्जकहरुले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई

    रासस

    काठमाडौँ, २७ पुस । आज ३०४औँ पृथ्वी जयन्ती । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेपालमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ । त्यसैले आजका दिनमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै नेपालभर विविध कार्यक्रमको आयोजना गरेर मनाउने गरिन्छ । यही दिवसका अवसरमा नेपालका इतिहासकार, वरिष्ठ कवि एवं सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा पृथ्वीनारायण शाह तथा नेपालको राष्ट्रियतासम्बन्धी रचनाहरू प्रस्तुत गरेर उनलाई स्मरण गरे ।

    सर्जकहरूले पृथ्वीनाराण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानको इतिहाससँगै जोडिएर आउने काठमाडौँको चन्द्रागिरि डाँडामा पुगेर त्यहाँस्थित पृथ्वीनारायणको सालिकसामु उनको योगदान तथा नेपालको राष्ट्रियतासम्बन्धी सृजना तथा रचनाहरू प्रस्तुत गरेर श्रद्धाभाव प्रकट गरे ।

    शनिबार थर्डपोल ग्रुपद्वारा चन्द्रागिरिस्थित पृथ्वीनारायण शाहको सालिक परिसरमा आयोजित कार्यक्रममा इतिहासकार प्रा डा दिनेशराज पन्तले पृथ्वीनारायण शाहले यही डाँडाबाट काठमाडौँ उपत्यकाको सुन्दरता देखेपछि कीर्तिपुरसहित काठमाडौँ खाल्डोलाई गोरखा राज्यअन्तर्गत एकीकरण गर्ने योजना बनाएको इतिहास सुनाए । चन्द्रागिरि डाँडा नेपाल एकीकरणको अभियानसँगै जोडिएर आउने एक ऐतिहासिक स्थल रहेको बताउँदै उनले नेपाल र नेपालीको पहिचान दिलाउने एक वीर योद्धा तथा राष्ट्र निर्माताका रूपमा पृथ्वीनारायण शाहको स्मरण गरे ।
    वरिष्ठ कवि एवं गीतकार एसपी कोइराला ‘चिरेर हेर यो मेरो छाती’ शीर्षकको कवितामा लेख्छन् :

    चिरेर हेर यो मेरो छाती झण्डाले बनेको ।
    उठेर हेर अलिक माथि माटोले भनेको ।।

    उनले नेपालका पुर्खाले यो देशका लागि गरेको योगदानको स्मरण गर्दै वर्तमान पुस्ताले पनि भोलिका लागि केही गरेर नाम राख्नुपर्ने धारणा राखे । नेपालीपन राष्ट्र र राष्ट्रियताका लागि अब केही गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

    अर्का वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारी आफ्नो कवितामा लेख्छन्,

    तराई हो अन्नबाली पहाड हो पानी ।
    अन्न पानीजस्तै मिली बाँच्नुपर्छ हामी ।।

    पृथ्वीनारायण शाहले नेपाली भूभागको एकीकरण गरी सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा बाँधेको प्रसङ्ग उनले कवितामा प्रस्तुत गरेका छन् । आफ्नो देशप्रेमलाई उनी यसरी व्यक्त गर्छन् ः

    सक्छौ त माया गर यो देशलाई ।
    सक्दैनौ बिन्ती गाली नगरिदेऊ ।।
    शिरमा छ देशको असङ्ख्य पीडा ।
    रिसले जीउमा काँडा नकोरिदेऊ ।।

    यसैगरी अर्का वरिष्ठ कवि डा राजुबाबु श्रेष्ठ आफ्नो कवितामार्फत पृथ्वीनारायण शाहको स्मरण गर्दै लेख्छन्,

    उसैले कोरेको हो खुकुरीले बैरीहरूको गर्धन छप्काएर
    यो देशको गाढा सीमा रेखा
    उसैले सिर्जेको हो
    टुक्राटुक्रा जोडेर
    एउटा सिङ्गो सार्वभौम यो देश
    उसैले बनाएको हो
    गुमनाम यो देशको सुकिलो पहिचान ।

    यो राष्ट्रको निर्माण पृथ्वीनारायण शाहले गरेको इतिहासको व्याख्या गर्दै कवि श्रेष्ठले तर उनैको सालिक ढाल्न उद्धत रहेकोप्रति दुःख पोख्छन् ।
    ‘मानचित्रमा उभिएर’ शीर्षकको कवितामा कवि मणि लोहनीले हामी सबै नेपालीले पुज्ने मन्दिर, हामीले बुद्ध भेटेको गुम्बा, हामीले भाक्ने देउराली होस् या हामीले प्रार्थना गर्ने मस्जिद या चर्च एउटै भएको राष्ट्रिय एकताको भाव प्रस्तुत गर्छन् । वर्तमान नेपाल पृथ्वीनारायण शाहले भनेकै चार जात छत्तीस वर्णको फूलबारीजस्तै रहेको उनको काव्य भाव थियो ।

    यस्तै राष्ट्रप्रेमका भावनाहरू कवि हेम प्रभासको ‘अब म पनि घर जान्छु’, नारायण निराशीको ‘आफ्नो सुरक्षा गर’ र एलिसा ढुङ्गानाको ‘रिसको विपक्षमा’ शीर्षकका कविताहरूमा पोखिएका छन् ।

    त्यसैगरी, प्रभाती किरणको ‘स्वाभिमान’, प्रधुम्न जोशीको ‘कस्तो होला भगवान्को घर’, कृष्ण बञ्जाडेको ‘मेरो अपूरो रहर’, दिनेश परियारको ‘बिषे नगर्चीको सम्झना’ र अनिता कोइरालाको ‘मानवताको मलामी बन्न सक्दिन’ शीर्षकका कवितामा पनि राष्ट्र र राष्ट्रियताको महत्वका साथै मुलुकको वर्तमान विषम परिस्थिति र राजनीतिक विसङ्गतिका बारेमा प्रशस्त मात्रामा उल्लेख गरिएको छ ।

    सर्जकहरूले चार किल्ला तोडेर सुनौला सपना देख्ने र सयौँ फूल जोडेर राष्ट्रिय एकताको माला उन्ने वीर पुरुषका रूपमा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै नेपाललाई धर्तीकै स्वर्गको एक देशका रूपमा तुलना गरेका छन् ।

    चन्द्रागिरि डाँडामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिकमा बर्सेनि राष्ट्रिय एकता दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना हुने गर्दछ । कार्यक्रममा चन्द्रागिरि हिल्सका कम्पनी सचिव झलक शर्मा पौडेलले देशका विभिन्न स्थानमा सालिक ढालिरहेको अवस्थामा नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिक चन्द्रागिरि डाँडामा पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको स्मरण गराए ।

  • राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण : राष्ट्रपति

    राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण : राष्ट्रपति

    काठमाडौँ ,२७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पारे । राष्ट्रपति पौडेलले भनेका छन्, “पृथ्वीनारायण शाहलाई सम्झँदा उहाँले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गर्नुभएको देखिन्छ । उहाँको दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन् ।”

    राष्ट्रपति पौडेलले मुलुकको सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि उनका दिव्योपदेश मार्गदर्शन लिन सकिने बताए ।

    उनले राष्ट्र निर्माणको अभियानलाई इतिहासको विभिन्न कालखण्डमा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले यही आधारभूमिमा टेकेर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरेको स्पष्ट पारेका छन् ।

    उनले भनेका छन्, “राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।” नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

  • ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

    ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

    अमरगढी (डडेल्धुरा), २७पुस । डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा परी दुवै जना घाइते भएको र घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

    जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका प्रहरी प्रमुख सिंहले बताए । परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्र्याक्टर चालक सुरेश भट्ट फरार छन् । उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  • ढोरपाटनका विद्यार्थीको पीडाः कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

    ढोरपाटनका विद्यार्थीको पीडाः कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

    ढोरपाटन (बागलुङ), २७ पुसः अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेको छ । बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि समस्या हुने गरेको छ । बिहानमा तुसारो पर्ने र दिउँसो सिरसिर चलिराख्ने सेरेटोले स्थानीयको दैनिकी प्रभावित बनेको छ । यस्तो चिसोमा पनि यहाँका विद्यालय सञ्चालनमा छन् । केही विद्यालय घुम्ती पढाइका लागि बेँसी झरे पनि ज्योति विकास माध्यमिक विद्यालयका र सिद्ध प्राथमिक विद्यालय अहिले पनि यहीँबाट सञ्चालित छन् ।

    चिसोमा पढाइ हुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको छ । चिसोले विद्यार्थी र शिक्षक बिरामी पर्दा पठनपाठन प्रभावित हुने गरेको छ । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास मावि तथा छेन्तुङस्थित सिद्धबराह प्राविका विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित बनेको छ । ढोरपाटनमा बिहानमा बाक्लो तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटोले विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया हुने समस्या देखिँदा पढाइ प्रभावित बनेको ज्योति विकास मावि प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । चिसोका कारण धारो र खोलामा पानी जमेको छ ।

    अघिल्लो वर्ष पुस पहिलो सातादेखि माघ अन्तिम सातासम्म बिदा हुने गरे पनि यसपाली नगरपालिकाको वार्षिक क्यालेण्डरअनुसार चल्दा समस्या भएको प्रअ अदैले बताए । ढोरपाटनमा सञ्चालित जनवादी आधारभूत विद्यालय र सहलथान प्राथमिक विद्यालयले घुम्ती पठनपाठन सुरु गरेका छन् । जनवादीले ढोरपाटन–९ बिजौले र सहलथानले वडा नं ८ को नौघर टोलाबाट पढाइ सञ्चालन गरेका छन् ।

    अघिल्ला वर्षमा बर्खे बिदाको समयमा पठनपाठन गर्ने र हिउँदमा विद्यालय बन्द गर्ने गरेका भए पनि यस वर्ष चिसोमा कठ्याङ्ग्रिँदै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रअ अदैले बताए । अघिल्लो वर्षदेखि कक्षा १० सञ्चालन गरेको भन्दै यो याममा पोखरामा लगेर ट्युसन पढाएको उनको भनाइ छ । गत वर्षदेखि कक्षा १० सञ्चालन भएको यस विद्यालयमा अहिले १६८ विद्यार्थी अध्ययनरत छन् ।

    “चिसोले पानी जमेको छ, बालबालिका बिरामी पर्ने गरेका छन्, एकैदिन १५–२० विद्यार्थी बिरामी हुँदा पठनपाठनमा समस्या हुने गरेको छ, पोहोरपरार त यो बेलामा बिदा हुन्थ्यो”, उनले भने, “पहिले बर्खामा पढाउने र यो बेला बन्द गर्ने गथ्र्यौैँ, हिउँदमा पठनपाठन गर्न थालेको यसपालि पहिलोपटक हो, तर निकै गाह्रो भइरहेको छ ।”

    चिसोका कारण हातखुट्टा कठ्याङ्गिँ्रदा पढाइप्रति ध्यानै नजाने कक्षा १० मा अध्ययनरत छात्रा ओममाया विकले बताइन् । जाडोले विद्यालय जावतजावत गर्न गाह्रो हुने गरेको उनको भनाइ छ । जाडोका कारण पुस लागेपछि दुई तीन पटक बिरामी परेको विकले बताइन् । ढोरपाटनमा अधिकांश विपन्न वर्गका बालबालिकाले पढ्ने गर्छन् । ढोरपाटन नगरपालिकाका सहायक शिक्षा अधिकृत ज्ञानेन्द्रप्रकाश सापकोटले विद्यालयसँग सहकार्य गरेर वैकल्पिक उपाय खोज्ने बताए । शिक्षकहरूकै राय लिएर वार्षिक क्यालेण्डर बनाएको उनको भनाइ छ ।

  • निर्वाचन ५३ दिन : सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

    निर्वाचन ५३ दिन : सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

    काठमाडौँ, २७ पुसः निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको छ ।

    आचारसंहिताले सामाजिक सञ्जालमा ‘आर्टिफिसियल इन्टिलिजेन्स’ ९एआई० को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यका साथ होच्याउने, दुष्प्रचार गर्ने काम गर्न नपाउने प्रबन्ध गरेको छ । त्यस्तै, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषणजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नपाइने व्यवस्था आचारसंहितामा समावेश गरिएको छ ।

    त्यसैगरी, कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गरी वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा पोष्ट, रिपोस्ट, कमेन्ट प्रतिकमेन्ट, लाइभ स्टिमिङ, ट्याग वा मेन्सनलगायतका कार्य गर्न वा गराउन पाइने छैन ।

    निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्नेगरी अवाञ्छित लान्छना लगाउन नपाइने प्रबन्ध आचारसंहितामा गरिएको छ । कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न, त्यस्ता सामग्री कुनै पनि माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नपाइने आयोगले तयार पारेको आचारसंहितामा समावेश छ ।

    मतदाता र मतदाताको गोप्यता भङ्ग गर्न, निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित पार्ने कुनै पनि कार्य गर्नसमेत पाइने छैन । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

  • आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

    आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

    काठमाडौँ, २७ पुसः आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।

    पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ । राप्रपाले सो समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्षनेता, पूर्वप्रधानमन्त्री र विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरेको छ । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।

    नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअ¬ड्डा परिसरमा रहेको राष्ट्र निर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग तथा सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरेका शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको थियो । उनले २० वर्षको उमेरमा गद्दीआरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए ।


    यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्ने गरिन्छ । यो दिवसमा व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको तथ्यलाई स्मरण गराउँदछ । युवापुस्तालाई मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गर्नमा यस दिवसको विशेष महत्व छ ।

    शाहको एकीकरण अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । शाहले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा त्यत्तिकै समयसान्दर्भिक छन् ।

    भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उहाँले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिएका थिए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न दलका नेता र राष्ट्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश दिएका छन् ।

  • कांग्रेस विशेष महाधिवेशन आजदेखि , पार्टीको भविश्य तय हुँदै

    कांग्रेस विशेष महाधिवेशन आजदेखि , पार्टीको भविश्य तय हुँदै

    काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ । यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँको भृकुटीमण्डपमा आइतबार दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ ।

    उद्घाटनअघि बिहान ११ः०० बजे काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्यालीका साथ भृकुटीमण्डप प्रस्थान गरिने विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।


    उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउनेगरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ ।

    विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन । मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउनुहुने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसक्नुभएको आयोजक समितिले जनाएको छ । सहभागी प्रतिनिधिको नाम दर्ता अहिले बिहान ८ः०० बजेदेखि कार्यक्रमस्थल भृकुटीमण्डप मूल ढोकासँगैको प्रदर्शनकक्षहरूबाट हुने व्यस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।

    त्यसैगरी, महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजनास्थमै खाना र नास्ताको व्यवस्था गरिएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको छ ।

    विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र यही पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेको छैन ।

    विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ

    महमन्त्रीद्वय थापा र शर्माले कांग्रेसको कांग्रेस विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने कानुनी बाध्यता रहेको उल्लेख गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्तिमार्फत विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउनका लागि विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।


    महाधिवेशन प्रतिनिधिहरूले ‘बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ बनाउन, जनभावनाअनुरूपको नीति निर्माण गर्न र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माणका लागि विशेष निर्णय लिनु अपरिहार्य रहेको’ भनी विशेष कारणसहित निवेदन दर्ता गरेको विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको जिम्मेवारीको विषय भएको उनीहरुको भनाइ छ ।

    महामन्त्रीद्वय थापा र शर्माले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरु कटिबद्ध एवं प्रतिबद्ध रहेकोसमेत उल्लेख गरे । गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो । महाधिवेशनलाई पार्टीको संस्थापन पक्षले असहमति जनाएको बताइएको छ ।

  • कुलमानले भने : रास्वपाले एकतर्फी रुपमा एकता तोड्यो

    कुलमानले भने : रास्वपाले एकतर्फी रुपमा एकता तोड्यो

    १२ दिन अगाडी एक भएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय उज्यालो पार्टीबीचको एकता भंग भएको छ । राष्ट्रिय उज्यालो पार्टीको अध्यक्ष बनेका कुलमान घिसिङले यो एकता एकतर्फी रुपमा रास्वपाको तर्फबाट भंग गरी आफुलाई जानकारी गराइएको जानकारी दिए । यस क्षणमा आफु दुखि भएको समेत उनको प्रतिक्रिया छ । रास्वपासँगको एकता भंगभएपछि उनले पत्रकार सम्मेलन गर्दै यस प्रक्रियाबारे जानकारी गराएका हुन् ।

    रास्वपाका तर्फबाट पदको बार्गेनिङ गरेको भन्दै मिडियाबाजी गरिएकोमा समेत उनको आपत्ति छ । ‘मैले म साधारण सदस्य नै रहेर बस्छु, भनेको थिए, रास्वपाका तर्फबाट एकतर्फी एकता भंग गरिएको जानकारी मलाई दिइयो,’ उनले भने । रास्वपासँग एकता गरेपछिका १२ दिन निकै पिडादायी रहेको समेत उनले सुनाए । यसबीचमा रास्वपाको तर्फबाट उज्यालो नेपाल पार्टीको गतिमा ब्रेक लगाउने मात्र काम भएको भन्दै उनले अब एक पटक मुलुकको सेवा गर्ने अवसर दिन आह्वान समेत गरे ।

  • रुसको घातक आक्रमण, नयाँ मिसाइलद्वारा पश्चिमलाई चेतावनी

    रुसको घातक आक्रमण, नयाँ मिसाइलद्वारा पश्चिमलाई चेतावनी

    किएभ, २६ पुस (रासस–एपी) । रुसले युक्रेनमाथि सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रहार गर्दै रातभर व्यापक आक्रमण गरेको छ । यस आक्रमणमा राजधानी किएभमा कम्तीमा चार जनाको ज्यान गएको र २५ भन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् । करिब चार वर्षदेखि जारी युद्धमा दोस्रो पटक मात्र रुसले शक्तिशाली नयाँ हाइपरसोनिक ब्यालेस्टिक मिसाइल ‘ओरेसनिक’ प्रयोग गरेको हो, जसलाई पश्चिमी युक्रेन हुँदै किएभका नाटो सहयोगीहरूतर्फ स्पष्ट चेतावनीका रूपमा हेरिएको छ ।

    यो आक्रमण युक्रेन र उसका सहयोगीहरूले अमेरिकी नेतृत्वमा सम्भावित शान्ति सम्झौतापछि देशको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल गरिरहेका बेला भएको हो । युरोपेली नेताहरूले यसलाई ‘बढ्दो र अस्वीकार्य’ भन्दै कडा निन्दा गरेका छन् । युरोपेली सङ्घ (इयु) का शीर्ष विदेश नीति प्रतिनिधि काजा कल्लासले कूटनीतिमा रुसको जवाफ ‘थप मिसाइल र विनाश’ भएको टिप्पणी गर्नुभएको छ ।

    किएभमा भएको आक्रमणका कारण हिउँ परेको चिसो मौसममा करिब छ हजार अपार्टमेन्ट भवनहरू तापविहीन बनेका छन् । तापक्रम माइनस आठ डिग्री सेल्सियससम्म झरेको बेला पानी आपूर्ति समेत अवरुद्ध भएको छ । किएभ सहर सैन्य प्रशासन प्रमुख तिमुर टाकाचेन्कोका अनुसार आपतकालीन सेवामा संलग्न एक स्वास्थ्यकर्मीको ज्यान गएको छ भने चार स्वास्थ्यकर्मी र एक प्रहरी अधिकारी घाइते भएका छन् । नगरपालिकाले पोर्टेबल बायलर प्रयोग गरी अस्पताल, प्रसूति वार्ड लगायत अत्यावश्यक सेवामा ताप र बिजुली पुनःस्थापना गरेको जनाएको छ ।

    आक्रमणका क्रममा किएभस्थित कतारी दूतावासमा पनि क्षति पुगेको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले जानकारी दिएका छन् । कतारले युद्धबन्दी आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उनले विशेषगरी अमेरिकाबाट ‘स्पष्ट र कडा प्रतिक्रिया’ आवश्यक रहेको बताए । युक्रेनको सुरक्षा सेवाले पश्चिमी सहर लिभिभ क्षेत्रमा ओरेसनिक मिसाइलका भग्नावशेष फेला पारेको जनाएको छ । यो मिसाइल रुसको कपुस्टिन यार परीक्षण केन्द्रबाट प्रक्षेपण गरिएको र नागरिक पूर्वाधार लक्षित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्थानीय बासिन्दाहरूले ठूलो विस्फोट सुनेको तर लामो समयदेखि युद्धको अवस्थासँग अभ्यस्त भइसकेकाले मनोबल नटुटेको प्रतिक्रिया दिएका छन् ।

    रुसको रक्षा मन्त्रालयले भने यो आक्रमण गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनको एक निवासमाथि युक्रेनी ड्रोन आक्रमण भएको दाबीको प्रतिशोध भएको जनाएको छ । युक्रेन र अमेरिकाले भने सो दाबी अस्वीकार गरेका छन् । रुसी सञ्चारमाध्यमका अनुसार लिभिभ क्षेत्रमा रहेको भूमिगत ग्यास भण्डारण केन्द्र लक्ष्य हुनसक्ने बताइएको छ, जहाँबाट पोल्यान्ड हुँदै पश्चिमी सैन्य सहायता युक्रेन प्रवेश गर्ने गर्छ ।

    यसअघि पुटिनले ओरेसनिक मिसाइल माक १० गतिमा ‘उल्कापिण्डजस्तै’ लक्ष्यमा पुग्ने र कुनै पनि क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न नसकिने दाबी गर्नुभएको थियो । युक्रेनी गुप्तचरका अनुसार उक्त मिसाइलमा बहुविध वारहेड जडान गरिएको छ । रुसले पहिलो पटक सन् २०२४ नोभेम्बरमा डिनिप्रो सहरमा यो मिसाइल प्रयोग गरेको थियो । विश्लेषकहरूका अनुसार यसले मनोवैज्ञानिक युद्धको नयाँ आयाम थपेको छ ।

    यस घटनापछि युक्रेनी विदेशमन्त्री आन्द्रिइ सिबिहाले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् र युक्रेन–नाटो परिषद्को आपतकालीन बैठक आह्वान गरिने जानकारी दिएका छन् । उनले इयु र नाटो सीमासँग नजिकै भएको यस्तो आक्रमणले सम्पूर्ण युरोपको सुरक्षामाथि गम्भीर खतरा उत्पन्न गरेको बताए । भ्याटिकनबाट पोप लियो चौधौँले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल युद्धविराम र संवादमार्फत शान्तिको बाटो खोज्न आग्रह गरेका छन् । बेलायत, फ्रान्स र जर्मनीका नेताहरूले पनि आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई अस्वीकार्य बताएका छन् ।

  • अब उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान, आजै पत्रकार सम्मेलन

    अब उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान, आजै पत्रकार सम्मेलन

    २६ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । यससँगै आज पार्टीले पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिने भएको छ । पार्टीले ६ बजे पत्रकार सम्मेलनको जानकारी दिएको छ । रास्वपा नेपालसँग एकता भाँडिएसँगै उनेपाले अध्यक्षमा कुलमानलाई नियुक्त गरेको हो । निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय थिए ।

  • रास्वपा र कुलमानको एकता भाँडियो, रास्वपा सचिवालयको आकस्मिक बैठक

    रास्वपा र कुलमानको एकता भाँडियो, रास्वपा सचिवालयको आकस्मिक बैठक

    काठमाडौँ, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक सुरु भएको छ । पार्टी सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार ‘जुम’ माध्यमबाट आयोजना गरिने बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुँदैछ ।

    पार्टीका नेता तथा पूर्वसांसद् गणेश पराजुलीले रास्वपा र उज्यालो नेपाल पार्टीबीच यसअघि सहकार्यका लागि भएका सहमति स्थगित भएको विषयमा आजको बैठकमा छलफल हुने बताए । “अधिकतम लचकताका बाबजुद पनि उज्यालो नेपालसँगको सहकार्य हाललाई स्थगित गरिएको छ, सोही विषयमा सचिवालय बैठकमा छलफल हुनेछ”, उनले भने । यससँगै दुई पार्टीबीचको एकता भाँडिएको छ । अब कुलमान एक्लै आफ्नो राजनीतिक अभियान अगाडी बढाउने तयारीमा होमिएका छन् ।

  • युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

    युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

    मस्को, २६ पुस (रासस–एपी) । रुसले युक्रेनविरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’ मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त मिसाइल प्रयोग गर्दै युक्रेनको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरिएको जनाएको हो ।

    मन्त्रालयका अनुसार यो आक्रमण गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवास नजिक युक्रेनी ड्रोन आक्रमण भएको दाबीको प्रतिउत्तरस्वरूप गरिएको हो । तर युक्रेनले उक्त आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पुटिनको निवासमाथि युक्रेनी आक्रमण भएको भन्ने रुसी दाबीलाई सार्वजनिक रूपमा नकारेका छन् ।


    रुसी पक्षका अनुसार ओरेसनिक ब्यालेस्टिक मिसाइलसँगै अन्य भूमि र समुद्रबाट प्रक्षेपण गरिने मिसाइलहरू प्रयोग गरी युक्रेनका ऊर्जा तथा रणनीतिक पूर्वाधारमाथि आक्रमण गरिएको थियो । शुक्रबार राति भएको ड्रोन र मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको र कम्तीमा २२ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

    युक्रेनको पश्चिमी सहर लिभिभको महत्त्वपूर्ण पूर्वाधारमा अज्ञात प्रकारको ब्यालेस्टिक मिसाइल प्रहार भएको मेयर एन्ड्री सडोभीले जानकारी दिनुभएको छ । युक्रेनी वायु सेनाको पश्चिमी कमान्डका अनुसार उक्त मिसाइलले करिब १३ हजार किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा यात्रा गरेको थियो र यसको प्राविधिक विशेषतामाथि अनुसन्धान भइरहेको छ ।

    मृतकमध्ये एक जना आपतकालीन स्वास्थ्यकर्मी रहेको किएभ सहर सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले बताए । आक्रमण स्थलमा उद्धार कार्य गरिरहेका पाँच जना उद्धारकर्मी घाइते भएको युक्रेनको सुरक्षा सेवाले जनाएको छ । आक्रमणका कारण राजधानी किएभका विभिन्न जिल्लामा क्षति पुगेको छ । देस्न्यान्स्की जिल्लामा एउटा ड्रोन बहुतले भवनको छतमा खस्दा क्षति पुगेको छ भने सोही जिल्लाको अर्को स्थानमा आवासीय भवनका तल्ला क्षतिग्रस्त भएका छन् । डिनिप्रो जिल्लामा ड्रोनका टुक्रा खस्दा बहुतले भवनमा आगलागी भएको जनाइएको छ ।

    किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणपछि राजधानीका केही क्षेत्रमा पानी र बिजुली आपूर्ति अवरुद्ध भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले चिसो मौसमको फाइदा उठाउँदै ठूलो मात्रामा आक्रमण गर्न सक्ने चेतावनी दिएको केही घण्टामै यो हमला भएको हो । उनले हिउँले ढाकिएका सडक र प्रतिकूल मौसमलाई लक्ष्य बनाउँदै रुसले जनजीवन थप कष्टकर बनाउन खोजेको आरोप लगाए ।

  • थारु बस्तीमा बढ्यो माघीको चहलपहल

    थारु बस्तीमा बढ्यो माघीको चहलपहल

    कञ्चनपुर, २६ पुस । थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा कञ्चनपुरका बस्तीहरूमा चहलपहल निकै बढेको छ ।
    माघीको आगमनसँगै थारु गाउँहरूमा बिहानदेखि साँझसम्म पुरुष र महिला दुवैको व्यस्तता बढेको छ । कसैले दाउरा जोहो गरिरहेका छन् भने कसैले वनबाट साल र मालुका पात सङ्कलन गरिरहेका छन् । महिलाहरू घरआँगनमा बसेर पातका दुना–टपरी बनाउन व्यस्त छन् । “माघीमा पाहुनालाई दुना–टपरीमै खाना पस्किने चलन छ”, कृष्णपुर नगरपालिका–२, वाणिका दुर्गा चौधरीले भने, “यसले थारु समुदायको प्रकृतिसँगको आत्मीय सम्बन्ध झल्काउँछ ।”

    उनका अनुसार थारु समुदायका मौलिक परिकारहरू माघी पर्वको केन्द्रमा रहन्छन्, ती परिकारहरूलाई घरकै महिलाहरूले पात गाँसेर बनाएका दुनाटपरीमा दिने चलन छ । माघीमा अनिवार्य मानिने ‘ढिक्री’, ‘अनदीको भात’, ‘सुँगुरको मासु’ र ‘जाँड’ बनाउने तयारी अहिले अन्तिम चरणमा पुगेको उनले बताए ।

    “माघीका लागि महिलाहरू घरघरमा अनदी चामल भिजाउने, पकाउने र जाँड राख्ने काममा व्यस्त छन्”, शुक्लाफाँटा नगरपालिका–२ का पूर्व बरघर भरतबहादुर चौधरीले भने, “घरका पुरुषहरू सुँगुरको जोहोमा लागेका छौँ ।” उनका अनुसार केही महिला र पुरुषहरू नदी, खोला, तालतलैया र पोखरीमा माछा मार्ने कार्यमा समेत संलग्न भइरहेका छन् । बालबालिकादेखि वृद्धसम्मको सहभागितामा हुने यी तयारीले गाउँमा सामूहिकताको भावना बलियो बनाउने उनको भनाइ रहेको छ ।

    साँझ पर्न नपाउँदै गाउँका चोक र खुला आँगनमा मादलको ताल सुनिन थालिसकेको छ । “मघौटा नृत्यको अभ्यासले गाउँको वातावरण झन जीवन्त बनेको छ”, शुक्लाफाँटा नगरपालिका–७ का कालुराम डगौराले भने, “युवायुवतीहरू माघीमा देखाउने नृत्यको अभ्यासमा जुटेका छन् भने ज्येष्ठ नागरिकहरू पुराना माघीका कथा र अनुभव सुनाउँदै बसिरहेका देखिन्छन् ।”

    माघी पर्वमा विवाहित चेलीबेटीहरूलाई माइती बोलाउने चलन रहेकाले उनीहरूलाई निम्ता दिन थालिएको छ । पर्वको स्वागतमा थारु बस्तीका कच्ची घरहरू लिपपोत गरेर चिटिक्क पारिएका छन् भने पक्की घरहरू रङरोगन गरिएका छन् । आँगन सफा गरिएको छ, गोठघर मर्मत गरिएको छ । गाउँका साझास्थल, मन्दिर र बाटोघाटोमा सामूहिक सरसफाइ अभियान चलाइएको शुक्लाफाँटा नगरपालिका–३ का बरघर राजु चौधरीले जानकारी दिए ।


    कञ्चनपुरका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर र बेलौरी नगरपालिकाका थारु बहुल क्षेत्रहरूमा माघी विशेष सांस्कृतिक कार्यक्रम तथा महोत्सवको तयारी पनि तीव्र गतिमा भइरहेको छ । माघी पर्वलाई शत्रुता भुलेर मित्रता गाँस्ने पर्वका रूपमा लिइने गरिन्छ । “पुराना मनमुटाव माघीमा टुङ्ग्याउने, आपसी सम्बन्ध सुधार्ने र नयाँ वर्षलाई सकारात्मक सोचका साथ सुरु गर्ने परम्परा थारु समाजमा गहिरो छ”, जोनापुर गाउँका बडघर सुरेश चौधरीले भने ।

    उनका अनुसार अनुसार माघी केवल खानपान र रमाइलोमा सीमित पर्व होइन, यो थारु समुदायको पहिचान, संस्कृति र सामाजिक एकताको प्रतीकका रूपमा रहेको छ । माघीको सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये गाउँको नयाँ नेतृत्व चयन हो । माघीकै अवसरमा बस्ने गाउँसभा ‘देवानी’ मा वर्षभरको आय–व्ययको समीक्षा गरिनुका साथै आगामी वर्षका लागि नयाँ भल्मन्सा (गाउँ प्रमुख), बरघर, चौकीदार र गुरुवाको चयन गरिन्छ ।

  • कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

    कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

    काठमाडौं, २६ पुसः नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले आज हुने सबै कार्यक्रम स्थगित गरेको हो । विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा ¥याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।

    दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज तय भएका सबै कार्यक्रम स्थगित भएको जानकारी दिए । भोलि पुस २७ गते तय भएका कार्यक्रम भने यथावत रहेको नेता आचार्यले बताए । भोलि भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन उद्घाटन हुँदैछ ।

  • निर्वाचन ५४ दिन बाँकीः माघ ३ गतेदेखि आचारसंहिता लाग्ने

    निर्वाचन ५४ दिन बाँकीः माघ ३ गतेदेखि आचारसंहिता लाग्ने

    काठमाडौँ २६ पुसः निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ ।

    आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरुको भूमिका के कस्तो रहने भन्ने बारेमा आचारसंहितामा प्रष्ट व्यवस्था गरिएको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका सन्दर्भमा हालसम्म भएको तयारी, निर्वाचन सामग्रीको छपाई, जनशक्ति व्यवस्थापनलगायतका बारेमा प्रधानमन्त्रीलाई शुक्रबार जानकारी गराए । आचारसंहितालाई कडाइका साथ पालना गराउन सरकार, सरोकारवाला निकायको प्रमुख भूमिका रहनुपर्ने आयोगको बुझाइ छ ।

  • माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाखमा झारियो

    माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाखमा झारियो

    काठमाडौँ २६ पुसः आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ । रु पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ ।

    प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरु, जलविद्युत्, सडक, सञ्चार जस्ता क्षेत्रका कर्मचारी, श्रमिकको पारिश्रमिक ज्याला भुक्तानी गर्न भने समस्या नपर्ने केन्द्रीय बैंकले प्रष्ट पारेको छ । यस्तै, विभिन्न आयोजनामा आवश्यक मालसामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनुपर्ने राजश्व भुक्तानी गर्न, बिगो धरौटी जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्न कुनै समस्या हुने छैन ।

    सरकारले वितरण गर्ने राहत अनुदान सहायता वितरण गर्न, विप्रेषण कम्पनी, एजेन्टले विप्रेषण प्राप्त गर्ने व्यक्तिलाई रकम भुक्तानी गर्न पनि केन्द्रीय बैंकको पछिल्लो व्यवस्थाले कुनै वाधा गर्ने छैन । बचत तथा ऋण सहकारी संस्थालाई आफना सदस्यसँगको दैनिक कारोबारको भुक्तानी नगदमा गर्न सकिनेछ । सरकारले गत मङ्सिर १५ गते नै नगद कारोबारको सीमा रु पाँच लाखमा सीमित गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले बिहीबार सोसम्बन्धी व्यवस्थाको सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।

  • अब क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    अब क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    काठमाडौँ २६ पुसः क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम खर्च गरे उनीहरुको विवरण सङ्कलन गरेर राख्नुपर्ने भएको छ । पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ । क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानुनसम्मत् बनाउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको विभागको प्रष्टोक्ति छ ।

    सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी वितरणका सम्बन्धमा क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन तुरुन्त लागू हुने विभागले उल्लेख गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी विभागले त्यस्तो निर्देशन गरिएको उल्लेख गरेको छ ।

  • २८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

    २८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

    काठमाडौँ, २६ पुसः मुलुकमा कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६६ अर्ब ४७ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार, गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तमा १८ दशमलव सात प्रतिशतले बृद्धि भई रु २८ खर्ब ६६ अर्बभन्दा माथि पुगेको हो ।

    बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु दुई खर्ब ६३ अर्ब चार करोड रहेकामा गत मङ्सिर मसान्तमा २७ दशमलव चार प्रतिशतले बृद्धि भई रु तीन खर्ब ३५ अर्ब कायम भएको । गत मङ्सिर मसान्तको कूल विदेशी मुद्रा विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव दुई प्रतिशत छ ।

    चालु आवको पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१ दशमलव सात महिनाको वस्तु आयात र १८ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यस्तै, चालु आवको पाँच महिनामा खुद सेवा आय रु ३६ अर्ब ५४ करोडले घाटमा छ । अघिल्लो बर्षको सोही अवधिमा खुद सेवा आय रु २६ अर्ब ६७ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव सात प्रतिशतले कमी आई रु ३३ अर्ब ९७ करोड कायम भएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो आय रु ३५ अर्ब २६ करोड थियो ।

    विदेश पढ्न जानेले लगे ५६ अर्ब ५२ करोड
    त्यस्तै सो अवधिमा भ्रमण व्यय पाँच दशमलव तीन प्रतिशतले बृद्धि भई रु ८८ अर्ब ९७ करोड पुगेको छ । त्यसमा शिक्षातर्फको व्यय रु ५६ अर्ब ५२ करोड रहेको छ । अघिल्लो बर्षको सोही अवधिमा भ्रमण व्यय रु ८४ अर्ब ५० करोड रहेकामा शिक्षातर्फको व्यय रु ४७ अर्ब ४५ करोड रहेको थियो ।

  • आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

    आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

    काठमाडौँ, २६ पुस । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु÷कुहिरो रहनुका साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

    आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

  • नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन

    नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन

    काठमाडौँ, २६ पुसः नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको गए राति निधन भएको छ ।
    केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गए राति वीरअस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मनुभएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए । उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हाले । उनको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका श्रीमती, दुई छोरा छन् ।

  • कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

    कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

    काठमाडौँ, २५ पुस । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । उक्त महाधिवेशनको मिति दुई दिनमात्र बाँकी रहँदा काठमाडौँ उपत्यकाका विभिन्न सडक पार्टीका झण्डाले सिँगारिएका छन् । यही पुस २७ गतेदेखि सुरु हुने विशेष महाधिवेशनस्थल भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा मञ्च निर्माण, हल सजावटलगायतका प्राविधिक पक्षका कामहरू अघि बढाइएको आयोजक समितिले जनाएको छ ।

    स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले विशेष महाधिवेशनमा करिब एक हजार स्वयंसेवक परिचालन गरिने जानकारी दिए । “भृकुटीमण्डपमा आजैदेखि मुख्य मञ्च निर्माण सुरु भइसकेको छ”, कोइरालाले भने । आयोजकका अनुसार विशेष महाधिवेशनको सन्देश पार्टी कार्यकर्ता र आमनागरिकसम्म पु¥याउने अपेक्षा गरिएको छ ।

    यसैगरी महाधिवेशनमा सहभागिताका लागि देशभरका जिल्लाबाट कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू काठमाडौँ आउनेक्रम सुरु भएको आयोजक समितिको भनाइ छ । जनपरिचालन समितिका संयोजक जगदिश्वरनरसिंह केसीले उद्घाटन सत्रमा हजारौँको सङ्ख्यामा सहभागिता रहने जानकारी दिए । कांग्रेसभित्र संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

  • पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा

    पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा

    काठमाडौँ, २५ पुस । पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा रु पाँच खर्ब २३ अर्ब ७९ करोडबराबरको विदेशी मुद्रा सञ्चित भएको हो ।

    राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ दशमलव ६ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा रु ३२ खर्ब एक अर्ब ४७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा गत मङ्सिर मसान्तमा १३ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु २२ अर्ब १३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तसम्ममा १८ दशमलव सात प्रतिशतले वृद्धि भई रु २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक०सँग रहेको विदेशी विनिमय सञ्चिति २७ दशमलव चार प्रतिशतले वद्धि भई रु तीन खर्ब ३५ अर्ब कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार गत मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव दुई प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको सुरुआती पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१ दशमलव सात महिनाको वस्तु आयात र १८ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

    त्यसैगरी, यो अवधिमा चालु खाता रु तीन खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो । पाँच महिनामा खुद पुँजीगत ट्रान्सफर रु सात अर्ब छ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु तीन अर्ब ५० करोड रहेको थियो ।

    त्यसैगरी, मङ्सिर मसान्तसम्ममा रु सात अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटीमात्र० भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब तीन करोड रहेको थियो । राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति रु चार खर्ब २१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको थियो ।

  • काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा

    काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा

    काठमाडौँ, २५ पुस । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन् ।

    उनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताइन् । यही पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो । पुस १७ गते तापक्रम घटेर ४.६ मा आएकामा १९ गते ४.५ डिग्रीमा झरेको हो । यस्तै पुस २३, २४ मा ३ डिग्रीमा झरेको तापक्रम आज २.४ मा झरेको छ ।

    यस्तै, विभिन्न जिल्लामा पनि तापक्रम घटिरहेको छ । आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ७.७ डिग्री छ । जुम्लामा बिहीबार माइनस ८.१ सम्म तापक्रम झरेको थियो । जोमसोममा आज माइनस पाँच डिग्री रहेको छभने दोलखाको जिरीमा माइनस २.१ रहेको छ । आज डडेलधुराको न्यूनतम तापक्रम १.५, दिपायलको १.४, वीरेन्द्रनगरको २.५, ताप्लेजुङको ३.९ र लुम्लेको तापक्रम ३.६ डिग्री रहेको छ ।

    यस्तो छ मौसमी अवस्था

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम विभागले जानकारी दिएको छ । आज साँझ जारी बुलेटिनमा कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम सफा रहेको जनाइएको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सुरकुहिरो रहनुका साथै बाँकी तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने पनि विभागले जनाएको छ ।

    देशका तराई भूभागमा हुस्सुरकुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले सावधानी अपनाउन र विभागको मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिनहुन अनुरोध गरिएको छ ।

  • विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

    विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

    काठमाडौँ, २५ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुुस २७ र २८ गते काठमाडौँमा हुन लागेको विशेष महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन हुने भएको छ । विशेष महाधिवेशन जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी पुस २७ गते भृकुटीमण्डमा हुने महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शनको तयारी भएको जानकारी दिएको हो ।

    समितिका संयोजक एवं पूर्वसांसद जगदीश्वरनरसिंह केसीले विशेष महाधिवेशनको उद्घाटनअघि काठमाडौँका विभिन्न छ फरकफरक स्थानबाट जुलुस प्रदर्शनको तयारी गरिएको जानकारी दिए । पुस २७ गते आइतबार मध्याह्न १२ः०० बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि ती विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन गरिने उनले बताए । समितिका संयोजक केसीले सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शङ्करदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट जुलुस भृकुटीमण्डप आउने कार्यक्रम रहेको बताए ।