Category: फिचर

  • नौ वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिकलाई

    नौ वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिकलाई

    कञ्चनपुर, २६ असोजः कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु)ले नौ वर्षदेखि आफूले पाउँदै आएको तलबभत्ताबापतको रकम वडाका जेष्ठ नागरिक र अपाङ्गा भएका व्यक्तिलाई वितरण गर्दै आएका छन् । पहिलोपटक २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि कुँवरले राज्यबाट प्राप्त हुने तलबभत्ता तथा सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसयता उनले आफूले पाउँदै आएको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आएका छन् ।


    विसं २०७९ को निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनुभएका कुँवरले जनप्रतिनिधिका रूपमा प्राप्त हुने सबै सुविधा वितरण गर्दै आएका छन् । वर्षभरिको तलबभत्ता जम्मा गरेर दसैँका बेला वितरण गर्ने उनले आइतबार घटस्थापनाको अवसर पारेर वडाका १५८ जना ज्येष्ठ नागरिक र सात जना अपाङ्गता भएका व्याक्तिलाई जनही रु एक हजार ५०० का दरले वितरण गरे ।


    “हामी बूढापाकाले दसैँको बेला सहयोग प्राप्त गर्दा असाध्यै खुसी छौं, स्थानीय लीला लामिछानेले भने, “अध्यक्षले हरेक वर्ष दसैँमा यसरी नै सहयोग गर्दै आउनुभएको छ ।” स्थानीय तहमा जनप्रतिनिधिले पाउने सेवा सुविधाका बारे विभिन्न बहस भइरहेका बेला कुँवरको यो अभ्यासको स्थानीयले प्रशंसा गरेका छन् । स्थानीय तुलसी बोहराले भने, “ठूलो पदमा पुगे अझै हाम्रो वडाका काम गर्नुहुथ्यो ।”

    ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई वितरण गरिएको रकमले चाडपर्वका बेला आवश्यक सामग्री खरिद गर्न केही सहयोग पुग्ने उनले बताए । वडाअध्यक्ष कुवँरले राज्य सङ्कटमा रहेका बेला जनप्रतिनिधिले सेवा सुविधा लिनु उचित नहुने बताए । “जनप्रतिनिधि जनताका सेवक हुन्, जनप्रतिनिधिले राज्यको सेवा सुविधा लिनुभन्दा पनि जनताका लागि सेवा गर्ने हो”, अध्यक्ष कुवँरले भने । “२०७४ सालमा पहिलोपटक निर्वाचित हुँदादेखि नै मैले एक वर्षको पारिश्रमिक जम्मा गरेर चाडपर्वका बेला वडाका ज्येष्ठ नागरिक र असहायलाई वितरण गर्दै आएको छु ।”

  • आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    दमौली (तनहुँ), २६ असोजः दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । फूलखेतीले स्थानीय ४५ महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ ।

    सामूहिक रूपमा फूलखेती गर्दै आएका महिला यतिबेला फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त छन् । पहिलो टिपाइमै ५० किलो फूलको माग आएपछि समूहमा उत्साह थपिएको छ । स्थानीयस्तरमै उत्पादन भएको फूल बिक्री गरेर आम्दानी गर्न पाउँदा महिलालाई आफ्नै श्रमबाट आर्थिक रूपमा सबल बन्ने अवसर मिलेको छ ।

    महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार फूलखेतीलाई व्यावसायिक रूपमा अघि बढाउँदै आएका महिला शनिबारदेखि फूल टिप्ने र बिक्री गर्ने काममा जुटेका हुन् । पहिलो टिपाइमै माग आउनुले फूलखेतीको बजार सम्भावनालाई थप उत्साहजनक बनाएको उनले बताइन् । “दमौलीमा कोसेली घर सञ्चालन गर्दै आउनुभएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गर्नुभएकाले फूल टिप्न सुरु गरेका छौँ”, गुरुङले भनिन् ।


    महिलालाई सामूहिक उद्यममा जोड्दै स्थानीयस्तरमा आयआर्जनको अवसर सृजना गर्ने उद्देश्यले सुरु गरिएको फूलखेतीले आर्थिक आत्मनिर्भरतामा सहयोग पुर्याएको उनको भनाइ छ । सामूहिक रूपमा खेती गर्दा श्रम र अनुभव साटासाट गर्न सहज हुनुका साथै स्थानीय स्रोतसाधनको उपयोगबाट आम्दानी गर्ने अवसर मिलेको उनले बताइन् ।


    गुरुङका अनुसार फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्नसके महिलाको आम्दानी विस्तार गर्न सकिन्छ । स्थानीयस्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता हटेको उनले बताइन् । उनका अनुसार फूल प्रतिकिलो रु ४०० सम्म बिक्री हुने गरेको छ ।

    आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आँधीमूल यानचोकमा विगत तीन वर्षदेखि सयपत्री फूलखेती हुँदै आएको छ । महिलाको सहभागितामा विस्तार हुँदै गएको यस खेतीले उनीहरूलाई उत्पादनमूलक कामसँग जोड्नुका साथै आयआर्जनको अवसर सृजना गरेको उनले बताए ।


    केसीका अनुसार यहाँ उत्पादित फूलको बजारमा समस्या छैन “फूलखेतीले स्थानीय महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्याएको छ । यहाँ उत्पादित फूलको बजारमा समस्या छैन”, उनले भने । स्थानीयस्तरमा फूल उत्पादन र बिक्रीको सम्भावना देखिएसँगै खेतीलाई थप व्यवस्थित बनाउँदै लैजान सकिने उनले बताए । महिलाको सहभागिता बढ्दै जाँदा आफ्नै श्रम र उत्पादनबाट आम्दानी गर्ने अवसर विस्तार हुँदै गएको उनको भनाइ छ।

  • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    नारायणगढ (चितवन), २६ असोजः नारायणगढ बजारमा चाडपर्वका समयमा हुने भीडभाड र अव्यवस्थित गतिविधि नियन्त्रण गरी बजारलाई व्यवस्थित बनाउन गठित बजार व्यवस्थापन कार्यदल (टास्क फोर्स) सक्रिय भएको छ । नारायणगढमा चाडपर्वका समयमा किनमेल गर्नेको चाप बढ्ने भएकाले बजार व्यवस्थापन, शान्ति–सुरक्षा, सवारी आवागमन तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन टास्क फोर्सले सरोकारवाला निकायसँग समन्वय गरी काम अघि बढाएको हो ।

    टास्क फोर्सका संयोजक एवं चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले चाडपर्वका समयमा बजारमा हुने भीडभाडका कारण व्यवसायी तथा उपभोक्ताले भोग्नुपर्ने समस्या समाधान गर्न कार्यदल सक्रिय भएको जानकारी दिए । उनले भने, “चाडपर्वमा बजारमा भीड बढ्छ । त्यसले गर्दा ग्राहकलाई किनमेल गर्न समस्या नहोस् भनेर हामी लागेका हौँ । ठेला तथा पोके व्यापारीका कारण अन्य व्यवसायी र ग्राहकलाई आवतजावतमा समस्या पर्ने गरेको छ । यसको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आएका छौँ ।”

    उनका अनुसार टास्क फोर्सले चाडपर्वका समयमा मात्र नभई अन्य समयमा पनि जथाभावी सञ्चालन हुने ठेला तथा पोके व्यापारलाई तोकिएको स्थान र मापदण्डअनुसार व्यवस्थित गर्ने, उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन नियमित बजार अनुगमन गर्ने तथा सवारी चाप र भीडभाड नियन्त्रणका लागि ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्ने कामलाई प्राथमिकता दिएको छ ।

    चाडपर्वका समयमा सर्वसाधारण तथा उपभोक्ताले सहज, सुरक्षित र सुलभ रूपमा किनमेल गर्न सक्ने वातावरण बनाउन बजार अनुगमन तथा व्यवस्थापनका कामलाई तीव्रता दिइने उनले बताए । साथै, बजार व्यवस्थापनमा सहयोग गर्न व्यवसायी तथा सर्वसाधारणलाई टास्क फोर्सको आग्रह छ ।

    भरतपुर महानगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित, मर्यादित र उपभोक्तामैत्री बनाउने उद्देश्यले गत जेठमा चितवन उद्योग वाणिज्य सङ्घको अगुवाइमा सरोकारवालाबीच बजार व्यवस्थापनसम्बन्धी अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा सहभागीहरूले बजार क्षेत्रमा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण र फोहोरमैला व्यवस्थापनलाई प्रमुख समस्याका रूपमा औँल्याएका थिए । बजारलाई सुन्दर र सुरक्षित बनाउन दीर्घकालीन पार्किङस्थलको व्यवस्था गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए ।

    अन्तरक्रियामा उठेका समस्या समाधान गर्न बजार व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने उद्देश्यले चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ओलीको संयोजकत्वमा १३ सदस्यीय टास्क फोर्स गठन गरिएको थियो । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी तथा टोल विकास संस्थालगायतका प्रतिनिधि सदस्य छन् । टास्क फोर्सले बजार व्यवस्थापन, सौन्दर्यीकरण, पार्किङ, फुटपाथ अतिक्रमण तथा फोहोरमैला व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

  • अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो

    अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो

    लमजुङ, २६ असोजः बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध हुँदा कमी आएको पर्यटक आगमन थोरङ्ला पास जाने बाटो सहज बनेसँगै बृद्धि हुन थालेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार अहिले दैनिक १५० देखि २०० पर्यटक आउन थालेका छन्।

    समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास जाने पदमार्गमा जमेको हिउँ हटाएपछि मनाङबाट मुस्ताङ जाने पर्यटकलाई सहज भएको उनले बताए । पर्यटकीय ‘सिजन’ सुरु भएसँगै भदौदेखि पर्यटक आगमन बढ्न थालेको थियो तर असोज ८ देखि ११ गतेसम्मको प्रतिकूल मौसमपछि पर्यटकको आवागमन प्रभावित हुँदा दैनिक एक–दुई जनामात्र आउने गरेकोमा अहिले बढ्न थाले सगै सो हाराहारीमा आउन थालेको गुरुङले बताए ।


    उनका अनुसार असोज १८ देखि २५ गतेसम्म धारापानीस्थित केन्द्रमा एक हजार ४४७ पर्यटकको विवरण अभिलेख भएको छ । तीमध्ये ८८७ पुरुष र ५६० महिला छन् । उक्त अवधिमा सबैभन्दा बढी इजरायलबाट १४१, अस्ट्रेलियाबाट १२१, जर्मनीबाट १०९, स्पेनबाट १०३ र बेलायतबाट ९७ पर्यटक आएका छन् ।

    गत वर्ष मुख्य पर्यटकीय याममा दैनिक ४०० देखि ५०० सम्म पर्यटक आउने गरेकामा यस वर्ष बाढीपहिरो र हिमपातका कारण आगमन प्रभावित भएको गुरुङले बताउनुभयो । सडक तथा पदमार्ग सहज हुँदै गएमा पर्यटकको सङ्ख्या अझै बढ्ने उनको अपेक्षा छ । अन्नपूर्ण चक्रीय पदमार्ग हिमाली दृश्य, प्राकृतिक सौन्दर्य तथा स्थानीय संस्कृति र रहनसहनका कारण स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

    लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङ्ला पास पार गरेर मुस्ताङ पुग्ने यस पदमार्गमा जगत र धारापानी पर्यटकका महत्वपूर्ण बासस्थान हुन् । मस्र्याङ्दी गाउँपालिका–४, जगत्का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बाढीपहिरोले गर्दा पर्यटक आगमन घट्दा व्यवसायको आम्दानी शून्यजस्तै बनेको थियो तर अहिले पर्यटक आउन थालेपछि दैनिक रु १५ हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी हुन थालेको बताए ।

    “गत वर्षको मुख्य पर्यटकीय सिजनमा दैनिक ४० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको थियो । यस वर्ष बाढीपहिरोका कारण व्यवसाय प्रभावित भयो । केही दिनअघिसम्म पर्यटक नआउँदा आम्दानी शून्यजस्तै थियो, अहिले विस्तारै आउन थालेका छन्,” उनले भने ।


    उनका अनुसार जगत्मा करिब २२ देखि होटल सञ्चालनमा छन् । सडकबाटै सिधै मनाङ पुग्ने पर्यटकका कारण पदमार्गका बीचमा पर्ने बस्तीका व्यवसायमा पनि असर पर्ने गरेको उनले बताए । सडक तथा पदमार्ग सहज हुँदै गएमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने र व्यवसायमा सुधार आउने उनको अपेक्षा छ ।

    मस्र्याङ्दी गाउँपालिका–४, बुङ झरनानजिक होटल सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी बाबुराम तामाङले पनि बाढीपहिरोका कारण मुख्य पर्यटकीय सिजनमै व्यवसाय सुनसान बनेको बताए । पछिल्ला दिनमा पर्यटक आउन थालेपछि व्यवसायीमा आशा पलाएको उनको भनाइ छ । सडक र पदमार्ग सहज भएमा पर्यटकको आगमन थप बढ्ने उनले बताए ।

  • बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

    प्रतीक्षा आले/रासस

    गोरखा, २५ असोजः बूढीगण्डकी बाढीमा परी उत्तरी गोरखाका १०० बढी घरहरू बगेका छन् । आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो । बिहान करिब ४ः०० बजेतिर खसेको पहिरोले सो खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको बाढी पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका अनुसार चुमनब्री–६ तुम्जेमा पहिरो जाँदा उङ्गिलुङ खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको हो । भू–उपग्रहले लिएको तस्बिरका अनुसार शनिबार साँझ नै पहिरो गएको महाशाखाको भनाइ छ ।

    उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । चुमनुब्री गाउँपालिकाको लोक्पा, न्याकफेदी, सिर्दिबास, सल्लेरी र जगत क्षेत्रमा क्षति पुगेको हो । यस्तै, धार्चे गाउँपालिकाको दोभान, माछीखोला, यारुबगर र आरुघाट गाउँपालिकाको सोती र आरुघाट बजारमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

    दश जना सम्पर्कविहीन

    बाढीमा परेर उङ्गिलुङ भेडीगोठमा बस्ने चुमनुब्री–६ चुन्चेतका पाँच जना सम्पर्कविहीन बनेका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । सोही क्षेत्रको धाउलेमा बस्ने तीन घरका पाँच जना पनि सम्पर्कविहीन रहेको स्थानीय दिपेश लामाको भनाइ छ ।

    छ वटा पुल बगायो

    बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा हालसम्म दुई वटा मोटरेबल र चार वटा झोलुङ्गे पुल बगाएको उल्लेख छ ।

    गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल बाढीले बगाएको हो । यस्तै, आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल पनि बगाएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए । बूढीगण्डकीको बाढीले धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बगाएको छ । यसैगरी, माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुलर चुमनुब्रीकै घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।


    दसैँको मुखमा आएको बाढीले गाउँबस्ती जाने पुल नै बगाएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ बताउँछन् । “माछीखोलाको पुल बगाउँदा केरौँजा, लामावेशी, रुन्चेतलगायत गाउँबस्ती जाने बाटो बन्द भयो”, उनले भने । “दसैँको मुखमा हामीलाई ठूलो बिपत्ती आइपर्‍र्यो ।”

    चुमनुब्री–३ फिलिमकी कुमारी गुरुङले पनि जताततै पुल बगाउँदा दसैँमा घर जाने बाटो बन्द भएको बताइन् । “हामी त अब यहीँ थुनियौँ, तलबाट घर आउनेहरूको बाटो पनि बन्द भयो”, गुरुङले भने, “यहाँ आउने हेलीकप्टरबाहेक अन्य उपाय छैन ।” बाढीले चुमनुब्री–६ सिर्दिभीरको क्यान्टिलिभर पुलसमेत बगाएको पालिकाको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटको भनाइ छ ।

    सर्दिभीरको क्यान्टिलिभर पुल उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङ र वडा नं ७ छेकम्पारका गाउँबस्ती पुग्ने एकमात्र साहारा हो ।

    विद्यालय पनि बगे

    बूढीगण्डकीको बाढीले चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित विकास आधारभूत विद्यालयको भवनसमेत बगाएको प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाको भनाइ छ ।
    तीन हाइड्रो पावरमा क्षति

    बाढीका कारण उत्तरी गोरखाको तीन वटा हाइड्रोपावर आयोजनामासमेत क्षति पुगेको छ । चुमनुब्री–३ सल्लेरीस्थित सहज ऊर्जा प्रालिको पावर हाउस र लेबर क्यापमा बाढीले बगाएको हो । यस्तै, धार्चे गाउँपालिका–१ यारु र दोभानमा रहेको दुई वटा हाइड्रोपावर आयोजनामा क्षति पुगेको धार्चेका अध्यक्ष लक्ष्मण गुरुङले बताए । बाढीले सल्लेरीको हाइड्रोपावर बगाउँदा न्याक, फिलिम, चिसापानी, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, भालुवाङ, सिर्दिबास, जगत, उहियालगायत गाउँबस्ती विद्युत्बिहीन बनेका गुरुङको भनाइ छ ।

    सयबढी घरगोठ बगे

    बाढीले चुमनुब्री गाउँपालिकाको उङ्गिलुङ खोला क्षेत्रका चार गोठ बगाएका छन् । यस्तै, बूढीगण्डकी किनारमा पर्ने सल्लेरी, घट्टेखोला, पैँयु, दोभान र बगरका करिब ३१ घरधुरी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको भनाइ छ । शर्माका अनुसार धार्चे गाउँपालिकाको माछीखोला, यारुबगर र दोभानका करिब ५० घरधुरी र आरुघाट गाउँपालिकाको सोतीका करिब १५ घरधुरीमा क्षति पुगेको छ ।

    हेलीमार्फत उद्धार कार्य जारी

    बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलीमार्फत उद्धार कार्य जारी छ । चुमनुब्री गाउँपालिका–३ न्याकफेदीमा फसेका नौ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरेर न्याक गाउँ लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । यस्तै, धार्चे गाउँपालिका–१ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनाको पनि हेलीमार्फत उद्धार भएको उनले बताए । उनका अनुसार यारुबगरमा फसेका पर्यटक, स्थानीय र हाइड्रोपावरमा कार्यरत्त १८ जनालाई हेलीमार्फत हुल्चुक गाउँमा लगिएको हो ।

    हेलीले मनासलु क्षेत्रमा अलपत्र परेका ९० जना पर्यटक, गाइड र भरियाहरूको पनि उद्धार गरेको छ । बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा सेनाको चार वटा हेलिकप्टर परिचालन भएको थियो ।

  • बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

    बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

    गण्डकी, २५ असोज । बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन् । मनाश्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित स्थानमा रहेको र उद्धारका लागि पहल भइरहेको छ ।

    मनास्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुब्री गाउँपालिका–३ जगतमा १०० भन्दा बढी विदेशी पर्यटक रोकिएको उनले बताए । “शनिबार ९८ जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गर्नुभएको थियो, रातिसम्म जगत आइपुगेका अन्य पर्यटक त्यहीँ सुरक्षित रूपमा रहनुभएको छ”, संरक्षण अधिकृत ओझाले भने, “हेलिकप्टरबाट उद्धारका लागि पहल भइरहेको छ ।”

    बाढीले मनास्लु जाने मुख्य पदमार्ग, झोलुङ्गे पुललगायतमा क्षति पुर्‍याएका कारण पर्यटकको आवातजावत रोकिएको हो । चुमनुब्री–६ लोक्पामा पनि १७ जना पर्यटक उद्धारको पखाईमा रहेको उनले बताए । यस्तै चुम उपत्यका क्षेत्रको छेकम्पारमा ४० जना पर्यटक रहेको संरक्षण अधिकृत ओझाले बताए ।


    विदेशी पर्यटकसहित भरिया, पथप्रदर्शक पनि बीचैमा रोकिएकाले उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।


    “मनास्लु संरक्षण क्षेत्रमा कति पर्यटक छन् भनेर तथ्याङ्क लिने र उनीहरूको उद्धार तथा सुरक्षित आवागमनको सुनिश्चितताका लागि पहल भइरहेको छ”, उनले भने, “मुख्य पर्यटकीय याममा भइरहेका प्राकृतिक विपद्का घटनाले पर्यटन क्षेत्रमा असर पुगेको छ ।”

  • रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा

    रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा

    रामहरि न्यौपाने/रासस

    त्रिशूली (नुवाकोट), २५ असोजः भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसगैँ यातायातमार्फत जिल्लासँग अन्य जिल्ला जोडिएको हो । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले बेत्रावतीस्थित विदुर नगरपालिका–१० र उत्तरगया गाउँपालिका–५ बेत्रावती जोड्ने दुई पक्की पुल बगाएसँगै रसुवा र नुवाकोटबीचको सम्पर्क टुटेको थियो ।

    पुल सञ्चालनमा आएसँगै नुवाकोट र रसुवा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न र बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहज हुने नेपाली सेनाको उपरथी अनुपजङ्ग थापाले बताए । उनका अनुसार बेत्रावतीस्थित फलाखु खोलाको पुल नेपाली सेनाले पाँच दिनमा तयार गरेको हो ।

    “बाढीले सडकको पहुँच मार्ग बगाएसँगै बेत्रावतीसम्म पुग्नका लागि पहुँच मार्गसमेत थिएन”, उपरथी थापाले भने, “सडक विभागसँगको समन्वयमा करिब ३०० मिटर दूरीको आगिङ्टार–बेत्रावतीको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरेर बेत्रावतीसम्मको सडक सञ्जाल र फलाखु खोलामा बेलिब्रिज जडान गरेर रसुवालाई बाहिर जिल्लासँग जोडिएको हो ।”

    पुल सञ्चालनमा आएसँगै उपरथी थापाले पुल निर्माणसम्बन्धी प्राविधिक जानकारीसहितको प्रतिवेदन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको कार्यालयका प्रमुख कृष्णनाथ ओझालाई प्रदान गरे । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सञ्चालनमा आएको बेलिब्रिज ४० टन भार बहन क्षमताको रहेको छ ।

    ७३ दशमलव दुई मिटर लम्बाइ र ५ दशमलव ५ मिटर चौडाइको छ । नुवाकोटको विदुरबाट सिधैँ बेत्रावती पुग्न सकिने गरेर सडक सञ्जालको निर्माण र पुलबाट रसुवाको धुञ्चे पुग्न सहज भएको छ । बेत्रावतीको पुल तरेर पासाङल्हामु सडक मार्ग हुँदै रसुवाको धुञ्चे भएर स्याफ्रुबेँसीस्थित त्रिशूली वारीसम्म सवारीसाधनमा पुग्न सकिने भएसँगै रसुवाको बाढी प्रभावित क्षेत्रमा खाद्यसामाग्रीसहित अत्यावश्यक सामग्री लैजान सहज भएको छ ।

    गल्छी–रसुवागढी सडकअन्तर्गत स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक सञ्चालनका लागि पनि बेत्रावतीमा निर्माण भएको बेलिब्रिजले सहज बनेको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेनामार्फत खोज तथा उद्धारसहित राहत एवं अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आइरहेको छ ।

    भोटेकोशी बाढीले क्षति पुर्‍याएको देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले बेलिब्रिज जडान गरेर नुवाकोट र धादिङलाई यातायातको सिधा सम्पर्कमा जोडेको थियो । बाढीले क्षति पुर्‍याएका बाँकी स्थानका पुलसहितको सडक सञ्जाल सञ्चालन गराउन नेपाली सेनामार्फत आवश्यक सहजिकरण भइरहेको उल्लेख छ ।

  • घरघरमा जमरा राखियो

    घरघरमा जमरा राखियो

    काठमाडौँ, २५ असोजः आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ । दसैँघरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरु भएको छ । यसलाई शारदीय नवरात्र पनि भनिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले स्वस्तिशान्ति गरी घटस्थापनासहित आज नै जमरा राख्न आह्वान गरेको थियो । सामाजिक सञ्जालमा सोमबार घटस्थापना गर्ने चर्चा चलेपछि समितिले आजै त्यसो गर्नुपर्ने बताएको हो ।

    नवरात्रमा शक्तिकी अधिष्ठात्री देवीको आवाहन गरिन्छ । जौको अङ्कुर दुर्गाको प्रिय वस्तु भएकाले आज यव रोपेर विजया दशमीका दिन दुर्गालाई चढापछि टीका प्रसादका साथ समृद्धिको प्रतीक पहेँला जमरा लगाउने प्रचलन छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् तोयराज नेपालले बताए ।

    दुर्गाका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रूपको दुर्गा पक्षमा विशेष पूजा गरिन्छ ।

  • बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

    बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

    काठमाडौँ, २५ असोजः बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो । सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो ।

  • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    काठमाडौँ, २५ असोजः पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले एक विज्ञप्ति जारी गरी बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी वर्षा नभएको जनाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईले पछिल्लो २४ घण्टामा ती क्षेत्रमा छिटपुट मात्र वर्षा भएको थियो । “प्रारम्भिक सूचना तथा भू–उपग्रह तस्बिरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको छ,” उनले भने ।

  • बेनी–जोमसोम सडक खुल्यो

    बेनी–जोमसोम सडक खुल्यो

    मुस्ताङ, २५ असोजः बेनी—जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी—जोमसोम अवरुद्ध सडक खुलेसंगै कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरु मुस्ताङबाट बाहिरिन थालेका छन् ।

    उनका अनुसार सडक अवरुद्धका कारण दुई सातादेखि मुस्ताङमा फसेका कन्टेनरहरु मध्ये असोज २४ र २५ गते गरी दुईदिनमा १७३ कन्टेनर बाहिरिए । प्रहरी निरीक्षक बस्यालका अनुसार असोज २३ गते साँझ बेनी—जोमसोम सडक मर्मतपछि सूचारु भएसंगै पहिलो दिन ८५ वटा मालवस्तु कन्टेनर मुस्ताङबाट बाहिरिएको हो । असोज २४ गते सडक खुलेको दोस्रो दिन मुस्ताङबाट ८८ वटा मालवस्तु कन्टेनर बेनीतर्फ बाहिरिएको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।

    म्याग्दी र मुस्ताङको सिमाना थासाङ—४ घाँसा स्थित प्रहरी चौकीका अनुसार सडक खुलेको दुई दिनमा ३९१ वटा विभिन्न सवारी साधन मुस्ताङबाट बाहिरिएका छन् । आज मुस्ताङबाट ५० भन्दा बढी सवारी साधन बाहिरिएका छन् । यसैबीच, मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन थालिएको चिम्ले स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिए ।

  • बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    गोरखा, २५ असोजः बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले राससलाई बताए । उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् ।

    बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ । यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् । बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ । बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ ।

  • यमनमा सरकारी सेनाको दाबी : २४ घण्टामा एक हजार १५० भन्दा बढी हुथी लडाकुको मृत्यु

    यमनमा सरकारी सेनाको दाबी : २४ घण्टामा एक हजार १५० भन्दा बढी हुथी लडाकुको मृत्यु

    एडेन, यमन,२५ असोज (रासस–सिन्ह्वा) । यमनको सरकारी सेनाले पछिल्लो २४ घण्टामा हुथी समूहविरुद्ध एक हजार ९०० भन्दा बढी सैन्य आक्रमण गरिएको र त्यसक्रममा एक हजार १५० भन्दा बढी लडाकुको मृत्यु भएको दाबी गरेको छ। सरकारी सेनाका प्रवक्ता माजेद अल–नुजाइलीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा पूर्वी, पश्चिमी तथा दक्षिणपश्चिमी मोर्चामा सञ्चालन गरिएका आक्रमणमा हुथी समूहका हतियार भण्डार, सैन्य शिविर, किल्लाबन्दी, तोपखाना तैनाथ क्षेत्र, सैनिक जमघट तथा आपूर्ति मार्गलाई लक्षित गरिएको बताएका छन् ।

    उनका अनुसार हुथीको नियन्त्रणमा रहेका क्षेत्रभित्रका महत्त्वपूर्ण सैन्य लक्ष्यमा समेत आक्रमण गरिएको थियो। कारबाहीका क्रममा १८० भन्दा बढी सैन्य तथा रसदसम्बन्धी सवारीसाधन नष्ट वा क्षतिग्रस्त भएको सरकारी सेनाको दाबी छ।

    प्रवक्ता अल–नुजाइलीले यी कारबाहीले हुथी समूहको सैन्य गतिविधि तथा अग्रपङ्क्तिमा आवश्यक सामग्री आपूर्ति गर्ने क्षमतामा असर पार्ने बताए । सरकारी सेनाले विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै रणनीतिक स्थानहरूमा नियन्त्रण सुदृढ बनाउने प्रयास जारी राखेको पनि जनाएको छ। यद्यपि, सरकारी सेनाले सार्वजनिक गरेका हताहती तथा क्षतिसम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। यस विषयमा हुथी समूहको प्रतिक्रिया पनि सार्वजनिक भएको छैन।

    यमन सरकारले सोमबारदेखि हुथी नियन्त्रणमा रहेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा ल्याउने उद्देश्यसहित ठूलो स्तरको सैन्य अभियान सुरु गरेको थियो। दक्षिणपश्चिमी यमनस्थित रणनीतिक महत्त्वको बाब अल–मन्देब जलडमरूमध्य आसपास दुवै पक्षबीच तीव्र भिडन्त भइरहेको बताइएको छ। यसैबीच, यमन सरकारलाई समर्थन गर्दै साउदी अरबले हवाई सैन्य कारबाही तीव्र बनाएको छ। हुथी समूहले पनि साउदी अरबभित्रका विभिन्न लक्ष्यमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण बढाएको छ। तीमध्ये राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई समेत निशाना बनाइएको समाचारमा उल्लेख छ।

    यमनमा सन् २०१४ को अन्त्यदेखि द्वन्द्व जारी छ। त्यस समयमा हुथी समूहले राजधानी साना र देशको उत्तरी भूभागको ठूलो हिस्सामा नियन्त्रण कायम गरेको थियो। सन् २०१५ मा साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो। हाल उक्त सरकार दक्षिणी बन्दरगाह सहर एडेनमा आधारित छ।

  • रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

    रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

    रियाद,२५ असोज (रासस–एपी) । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार बिहान उक्त जानकारी दिएका हुन्। समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार, विमानस्थलको आन्तरिक उडानका लागि प्रयोग हुने टर्मिनल ३ र ४ रहेको परिसरमा क्षेप्यास्त्र प्रहार भएको थियो। घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    मृत्यु हुनेमा चार जना साउदी नागरिक र आठ जना विदेशी नागरिक रहेका छन्। विदेशी मृतकमध्ये बंगलादेशका दुई जना तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक जना छन्। साउदी नेतृत्वको गठबन्धनले आक्रमणका लागि छिमेकी यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीलाई जिम्मेवार ठहर गरेको छ। पछिल्लो एक सातामा विमानस्थलमा भएका विभिन्न आक्रमणमध्ये यो सबैभन्दा घातक घटना भएको समाचारमा उल्लेख छ।

    आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीविरुद्ध साउदी अरबले गर्ने सैन्य कारबाहीमा अमेरिका सहभागी हुने वा नहुनेबारे विचार गरिरहेको बताए । उनले घटनाबारे जानकारी प्राप्त भएको र आवश्यक निर्णय छिट्टै गरिने उल्लेख गरे ।
    ट्रम्पले शनिबार साउदी युवराज मोहम्मद बिन सलमानसँग पनि कुराकानी गर्ने योजना रहेको बताए । उनले साउदी अरबमा भएको घटना स्वीकार्य नभएको प्रतिक्रिया दिए । यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन् । यमनमा साउदी समर्थित सरकारी सेनाले हुथी विद्रोहीसँग लडाइँ गरिरहेका बेला पछिल्लो आक्रमणले क्षेत्रीय तनाव थप बढाउने देखिएको छ। खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण साउदी अरब र उसका सहयोगी राष्ट्रहरूको सुरक्षा चुनौतीसमेत बढेको छ।

  • ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

    ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

    नयाँदिल्ली, २५ असोज (रासस–एएनआई) । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच विपक्ष पछि नहट्ने कुरामा जोड दिँदै लोकसभाका विपक्षी नेता राहुल गान्धीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबै प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्न चुनौती दिएका छन् । उनीहरूले संविधानको रक्षा तथा भारतीय जनताको आवाजको सुरक्षाका लागि आफ्नो सङ्घर्ष जारी राख्ने उनले दाबी गरे ।


    उनले प्रदर्शनरत युवाहरूप्रति एकता कायम गर्न आग्रह गर्दै उनीहरूलाई आफ्नो प्रदर्शन जारी राख्न आग्रह गरे । एक्समा एक पोस्टमा गान्धीले आफू एक दशकभन्दा बढी समयदेखि प्रधानमन्त्री मोदी र आरएसएसविरुद्ध लडिरहेको बताए । आफ्ना राजनीतिक विरोधीहरूलाई ‘भित्रसम्म’ बुझेको दाबी गरे ।


    गान्धीले भने, “म एक दशकभन्दा बढी समयदेखि नरेन्द्र मोदी र आरएसएसविरुद्ध लडिरहेको छु। म उनीहरूलाई गहिरोरूपमा बुझ्छु । यी मानिसहरूको मुख्य विशेषता कायरता हो । नरेन्द्र मोदी, अमित शाह, मोहन भागवत, ज्ञानेश कुमार र अजित डोभाल बिस्तारै आफ्नो वरिपरिको ठाउँ साँघुरो हुँदै गएको महसुस गर्दैछन्। हामी त्यो ठाउँ साँघुरो बनाउँदैछौँ । मोदीजी, तपाईं जे चाहनुहुन्छ गर्नुहोस्। सबै प्रहरी बोलाउनुहोस्ः १० हजार, २० हजार, ५० हजार, जति चाहनुहुन्छ। सबै नेताहरूलाई गिरफ्तार गर्नुहोस्। सबै युवालाई गिरफ्तार गर्नुहोस्। हामी सबैलाई गिरफ्तार गर्नुहोस्, तर आन्दोलन जारी रहन्छ ।”

    उनले आफ्नो पक्षसँग पहिले नै आवश्यक जानकारी रहेको दाबी गर्दै संविधानको रक्षा र भारतीय जनताको आवाजको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “हामी तपाईंलाई घेर्दैछौँ र हामी पछि हट्ने छैनौँ । मेरो कुरा याद राख्नुहोस्ः हामीसँग पहिले नै आवश्यक जानकारी छ । हामी आफ्नो संविधानको रक्षा गर्नेछौँ। हामी भारतीय जनताको आवाजको सुरक्षा गर्नेछौँ। र हामी सुनिश्चित गर्नेछौँ कि विगत १०–१५ वर्षमा भारतसँग जे गरियो, त्यो फेरि कहिल्यै हुने छैन ।

    आन्दोलनकारी समूहलाई सम्बोधन गर्दै उनले भने, “भारतका युवाहरू, म तिमीहरूमाथि गर्व गर्छु । प्रदर्शन जारी राख्नुहोस् । हामी तपाईँहरूसँग उभिएका छौँ। हामी सुनिश्चित गर्नेछौँ कि यो शासन र हाम्रो संविधानमाथि आक्रमण गर्नेहरू पराजित हुनेछन्।” यसैबीच, मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा जन्तर मन्त्रतर्फ मार्च गर्ने प्रयास गर्दा राजधानी दिल्लीभरि समाचार तयार पार्दासम्म करिब एक हजार प्रदर्शनकारीहरूलाई हिरासतमा लिइएको दिल्लीको प्रहरी स्रोतहरूले शनिबार जानकारी दिएका छन् ।

  • बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

    बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

    काठमाडौँ, २५ असोजः बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ । आज बिहान करिब ४ः३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पु¥याएको जानकारीपछि सेनाको उद्धार टोली परिचालन भएको हो ।

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रको परिचालन भएको छ । दुवै टोलीले ‘रेकी’ तथा अवलोकन गर्नाका साथै पहिराको जोखिममा रहेको जगत् गाउँबाट छ जनाको हवाई उद्धार गरेको छ ।

    काठमाडौँमा रहेको ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ हवाईमार्गबाट उक्त इलाकामा तैनाथ भएको र टोलीले नदी तटीय तथा आसपासका क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।

  • बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

    बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

    गोरखा, २५ असोजः चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ । आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ । उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन् भने पशुको हेरचाहमा बसेका चार जना सम्पर्कविहीन छन् ।

  • झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    विमलबहादुर विष्ट-रासस

    काठमाडौँ, २५ असोजः दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिङ्गारिएका छन् । चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले मन्दिर परिसरदेखि आसपासका सडकसम्म विभिन्न रङका बत्तीले सजावट गरिएपछि धार्मिकस्थलको सौन्दर्य थपिएको छ । साँझ परेसँगै झिलिमिली बत्तीले उज्यालिएका मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको चहलपहल पनि बढ्न थालेको छ ।

    काठमाडौँका मैतीदेवी, नक्साल भगवतीलगायतका प्रमुख मन्दिरमा गरिएको आकर्षक सजावटले धार्मिक क्षेत्रलाई थप रमणीय बनाएको छ । दिनभर पूजाआजाका लागि भक्तजन आउने गरे पनि साँझको समयमा बत्तीको उज्यालोमा मन्दिरको दृश्यावलोकन गर्ने, देवीदेवताको दर्शन गर्ने र परिवार तथा आफन्तसँग समय बिताउनेको उपस्थिति बढेको छ । झिलिमिली बत्तीले सिङ्गारिएका मन्दिर परिसर चाडपर्वको उल्लास र धार्मिक आस्थाको प्रतीकका रूपमा देखिन थालेका छन् ।

    मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्यसचिव रमेश खड्गीले चाडपर्वको समयमा विशेषगरी साँझ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको चहलपहल बढेको जानकारी दिनुभयो । उहाँका अनुसार परिवार तथा आफन्तसँग मन्दिर पुगेर पूजाआजा गर्ने, देवीदेवताको दर्शन गर्ने तथा सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्पराले धार्मिकस्थलमा भक्तजनको उपस्थिति बढाएको हो ।

    “परिवार तथा आफन्तसँग मन्दिर पुगेर पूजाआजा गर्ने, देवीदेवताको दर्शन गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्पराले पनि धार्मिकस्थलमा भक्तजनको उपस्थिति बढाएको छ । अहिले साँझको समयमा मैतीदेवी मन्दिरमा दर्शन गर्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको छ,” उनले भने ।

    मैतीदेवी मन्दिरमा गरिएको झिलिमिली बत्तीको सजावटले धार्मिक वातावरणलाई थप आकर्षक बनाएको उहाँको भनाइ छ । चाडपर्वका अवसरमा मन्दिर परिसरलाई उज्यालो र व्यवस्थित बनाउने प्रयासले भक्तजनलाई पूजाआजा गर्न सहज हुनुका साथै धार्मिकस्थलको सौन्दर्यसमेत बढाएको छ । त्यसैगरी नक्साल भगवती मन्दिर पनि विभिन्न रङका बत्तीले सिङ्गारिएपछि दर्शनार्थीको आकर्षणको केन्द्र बनेको छ । मन्दिर परिसरमा गरिएको सजावटले दसैँको आगमनसँगै चाडपर्वको उमङ्ग बढाएको स्थानीय बताउँछन् । साँझको समयमा मन्दिरमा बत्ती बल्न थालेपछि आसपासको क्षेत्रसमेत उज्यालो देखिने गरेको छ । मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनका साथै सजावट अवलोकन गर्न आउनेको चहलपहलले यस क्षेत्रको वातावरण थप उत्साहपूर्ण बनेको छ ।

    नेपाली समाजमा दसैँ, तिहारलगायतका चाडपर्वलाई धार्मिक आस्था, पारिवारिक मिलन र सामाजिक सद्भावका महत्त्वपूर्ण अवसरका रूपमा लिने गरिन्छ । दसैँमा शक्तिस्वरूपा देवीको पूजाआराधना गर्ने तथा तिहारमा दीप प्रज्ज्वलन गरी घर, मन्दिर र सार्वजनिकस्थललाई उज्यालो बनाउने परम्परा छ । यही सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार चाडपर्वको समयमा मठमन्दिर तथा शक्तिपीठलाई विशेष रूपमा सजाउने गरिन्छ ।

    मैतीदेवीका स्थानीय मधुकर पुडासैनीले चाडपर्वको समयमा धार्मिकस्थलमा गरिने सजावटले धार्मिक आस्थासँगै सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई पनि उजागर गर्ने बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाका मठमन्दिर तथा शक्तिपीठ धार्मिक आस्थाका केन्द्रमात्र नभई उपत्यकाको सांस्कृतिक पहिचान र ऐतिहासिक सम्पदाका रूपमा समेत परिचित छन् ।

    “काठमाडौँ उपत्यकामा रहेका मठमन्दिर तथा शक्तिपीठ धार्मिक आस्थाका केन्द्रमात्र नभई यहाँको सांस्कृतिक तथा ऐतिहासिक पहिचानका महत्त्वपूर्ण सम्पदासमेत हुन् । यही परम्पराअनुसार मन्दिर तथा शक्तिपीठमा पनि विशेष सजावट गर्ने गरिएको छ”, उनले भने ।
    उनका अनुसार चाडपर्वका अवसरमा गरिने सजावटले धार्मिकस्थलको सुन्दरता बढाउनुका साथै स्थानीय क्षेत्रमा चाडपर्वको रौनक थप्न सहयोग पुर्याएको छ । धार्मिक परम्परालाई निरन्तरता दिनुका साथै नयाँ पुस्तालाई सांस्कृतिक सम्पदा र परम्पराबारे जानकारी गराउन पनि यस्ता गतिविधि उपयोगी हुने उनको भनाइ छ ।

    चाडपर्वको समयमा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने भएकाले सहज आवागमन, सरसफाइ र सुरक्षामा विशेष ध्यान दिनुपर्ने बर्दियाबाट मैतीदेवी मन्दिरमा दर्शन गर्न आएका रमेशकुमार थारूले बताए । धार्मिकस्थलमा भक्तजनको भीड बढ्ने समयमा मन्दिर परिसर सफा राख्ने, आवतजावत व्यवस्थित बनाउने तथा सुरक्षाको उचित प्रबन्ध मिलाउने विषय महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

    “धार्मिक आस्थासँगै सांस्कृतिक परम्परा र सामाजिक सद्भावलाई जोड्ने यस्ता गतिविधिले काठमाडौँको चाडपर्वमय वातावरणलाई थप जीवन्त बनाएका छन् । यहाँको सुरक्षालगायतका कुरामा विशेष ध्यान दिनु आवश्यक छ”, उनले भने ।
    नक्साल क्षेत्रमा व्यापार व्यवसाय गर्दै आउनुभएका स्थानीय धर्मेन्द्रकुमार क्षेत्रीले यहाँका मठमन्दिर तथा शक्तिपीठलाई नयाँ दुलहीझैँ सिङ्गारिएपछि साँझको समयमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको चहलपहल बढेको बताए । उनका अनुसार मन्दिरमा गरिएको आकर्षक सजावट र झिलिमिली बत्तीले दसैँ सुरु भएको अनुभूति गराउनुका साथै धार्मिक क्षेत्रको सौन्दर्यसमेत बढाएको छ । “यहाँका शक्तिपीठको सजावट र झिलिमिली बत्तीले दसैँ सुरु भएको आभास हुने गरेको छ । शक्तिपीठको सजावटले यहाँका धार्मिक क्षेत्र निकै रमणीय भएका छन्”, उनले भने ।
    काठमाडौँका विभिन्न मठमन्दिरमा मात्रै नभई मन्दिर आसपासका सडक तथा सार्वजनिक क्षेत्रमा समेत बत्ती जडान गरी उज्यालो बनाइएको छ । साँझको समयमा सडक र मन्दिर एकैसाथ झिलिमिली देखिँदा चाडपर्वको वातावरण थप आकर्षक बनेको छ । धार्मिकस्थलको सजावटले स्थानीय बासिन्दा, दर्शनार्थी तथा उपत्यका घुम्न आउने आगन्तुकलाई समेत आकर्षित गरेको छ ।

    काठमाडौँ उपत्यकामा गुह्येश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, बङ्गलामुखी, मैतीदेवी र नक्साल भगवतीलगायतका मन्दिर तथा शक्तिपीठ धार्मिक आस्थाका प्रमुख केन्द्रका रूपमा परिचित छन् । विशेषगरी दसैँको समयमा देवीको दर्शन तथा पूजाआजाका लागि भक्तजन यी शक्तिपीठमा पुग्ने गर्दछन् । धार्मिक विधि र परम्पराअनुसार पूजा गर्ने, परिवारको सुखसमृद्धिको कामना गर्ने तथा मनोकामना पूरा होस् भन्ने विश्वासका साथ दर्शन गर्ने चलन छ ।

    दसैँ र तिहारका अवसरमा मठमन्दिर तथा शक्तिपीठमा गरिने सजावटले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ । उपत्यकाका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै चाडपर्वका अवसरमा तिनको सौन्दर्य उजागर गर्न सके स्थानीय धार्मिक परम्परा र सांस्कृतिक पहिचानलाई थप प्रवर्द्धन गर्न सकिने स्थानीयको धारणा छ ।

    यसरी झिलिमिली बत्तीले सिङ्गारिएका काठमाडौँका मठमन्दिर तथा शक्तिपीठले दसैँको आगमनसँगै उपत्यकाको वातावरणलाई चाडपर्वमय बनाएका छन् । धार्मिक आस्था, सांस्कृतिक परम्परा, पारिवारिक मिलन र सामाजिक सद्भावको सन्देश बोकेका यी धार्मिकस्थलमा साँझपख बढ्ने भक्तजनको चहलपहलले काठमाडौँको चाडपर्वको रौनकलाई थप जीवन्त बनाएको छ ।

  • नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    कञ्चनपुर, २५ असोज । दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ । भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन् । छिमेकी मुलुक भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पञ्जाबलगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दसैँ मनाउन घर फर्किने गरेका छन् ।

    देहरादुन रोजगारी गर्दै आएका अछामको ढकारीका खगेन्द्र बुढा पनि आफ्ना पाँच जना साथीसँगै चाडपर्व मनाउन घर फर्किँदै गर्दा गड्डाचौकी नाकामा भेटिए । “देहरादुनमा हामीहरू रोडमा काम गर्छौ दसैँ मनाउन घर फर्किएका हौँ”, उनले भने, “दसैँतिहार मनाएर फेरि रोजगारीका लागि उतै जानुपर्छ ।” नेपालमा रोजगारी नहुँदा यहाँबाट थुप्रै मानिस मजदुरीका लागि भारतका विभिन्न सहरमा पुग्ने गरेको उनको भनाइ थियो ।

    कालीकोटका निगेन्द्र शाहीले पनि हिमाञ्चल प्रदेशबाट चाडपर्व मनाउन घर फर्किएको बताए । “हिमाञ्चलमा खेतीपातीको काम गर्छौँ, त्यसको कमाइले घरखर्च चलेको छ”, उनले भने, “दसैँ मनाउन आउँछौ तिहारपछि फर्किने हो ।” उनले आफूसँगै रोजगारीका लागि गएकाहरू पनि चाडपर्व मनाउन दसैँको बेला घर फर्किने र चाडपर्वपछि रोजगारीका लागि पुनः भारत जाने गरेको बताए ।


    मसुरियाका मीनबहादुर कठायत पनि भारतको दिल्लीमा सुरक्षा गार्डको काम गर्छन् । गत वर्ष चाडपर्व सकेर रोजगारीमा गएका उहाँ पनि दसैँ सुरु भएपछि घर फर्किएका छन् । “सधैँ दसैँमा यही नाका भएर घर फर्किन्छौँ, आवतजावतमा समस्या छैन”, उनले भने, “चाडपर्वपछि काममा फर्किन्छु ।”

    चाडपर्वको समयमा घर फर्किने यात्रुको चाप बढेपछि यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाका विभिन्न स्थानमा नागरिक सहायताकक्षसमेत स्थापना गरेको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गड्डाचौकीनाका भएर स्वदेश फर्किने नेपालीको चाप बढेको बताए । उनले चाडपर्वका बेला यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाएको बताए ।


    “गड्डाचौकीनाका र महेन्द्रनगर बसपार्क गरी जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ”, उनले भने, “नाका र बसपार्कमा तालिमप्राप्त कुकुर परिचालन गरेर पनि सुरक्षा जाँच भइरहेको छ ।” चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

    भारतबाट आउनेहरूमा विभिन्न रोग सङ्क्रमणको जोखिम रहेकाले नाकामै स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्किनेहरू नाकामा डेङ्गु, मलेरिया, एचआइभीलगायतका छ प्रकारका रोगको चाँज भइरहेको छ ।

  • नेपालीको महान् पर्व बडादसैँ सुरु

    नेपालीको महान् पर्व बडादसैँ सुरु

    काठमाडौँ, २५ असोजः प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

    आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

    जमरामा जौँबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कुल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ ।

    घटस्थापनाको साइत ११ः४७ बजे

    आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ११ः४७ बजे रहेको समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले बताए ।


    सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उनले बताए । केही मानिसले सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्ने भनी गरेको हल्लाखल्ला शास्त्रसम्मत नहुने पनि उनले सुनाए ।

    दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

    नौ दिन नौ दुर्गाको पूजा

    यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

    आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष गौतमले बताउनुभयो । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

    दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।

    नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठपारायण पनि गर्ने गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेको छ ।

    विजयादशमीको साइत कात्तिक ४ गते १०ः२६ बजे

    नवरात्र भनेर चिनिने दसैँ नौ रात र १० दिनको हुन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ४ गते बुधबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ । कात्तिक ४ गते देवी विसर्जनको साइत बिहान ८ः४९ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०ः२६ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

    विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

    हनुमानढोकाको दसैँ घरमा विशेष पूजा

    परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । आइतबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठ प्रधानले बताउनुभयो ।

    रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिसहरू दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् । यसैकारण राजधानी र सहरी क्षेत्रबाट आ–आफ्ना थातथलो फर्कने मानिसको लाम देखिन्छ ।

  • नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

    नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

    काठमाडौँ, २५ असोजः नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन् । घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री को आह्वान गरी पूजाआराधना गरिन्छ । शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये प्रथम हुन् । गिरिराज हिमालयकी पुत्री पार्वती नै शैलपुत्री भएको उल्लेख देवीकवच, मार्कण्डेय पुराणलगायत ग्रन्थमा गरिएको छ ।

  • बूढीगण्डकी बाढी, चुमनुब्रीका ३५ घर बगे

    बूढीगण्डकी बाढी, चुमनुब्रीका ३५ घर बगे

    गोरखा, २५ असोजः चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले राससलाई बताइन् । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन् । आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए ।

    बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए । हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन भने क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन बाँकी छ ।

  • बुढीगण्डकीमा आयो अकस्मात बाढी, गोरखामा जोखिम

    बुढीगण्डकीमा आयो अकस्मात बाढी, गोरखामा जोखिम

    २५ असोज, काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आउँदा गोर्खाका विभिन्न बजारमा क्षति पुगेको छ । यो बाढीले तल्लो क्षेत्र आरुघाटसम्म क्षति पुर्‍याउन थालेको छ । तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत गराएको छ । बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत, आरुघाटसम्म क्षति पुर्‍याउन सक्ने जोखिम छ । त्यसैले यी क्षेत्रमा रहेका बासिन्दा सतर्क हुनुपर्ने देखिएको छ ।


    मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाबाट पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएस पठाइसकिएको छ । गोर्खाको चुमनुम्ब्री गाउँपालिका वडा नम्बर ६ को चुम्चेत क्षेत्रबाट स्थानीय खोला हुँदै बाढी बूढीगण्डकीमा मिसिएको छ । बूढीगण्डकी मनास्लु हिमालको पूर्वी मोहोडा हुँदै बग्ने गरेको छ । बाढीको कारण अहिलेसम्म खुलेको छैन । माथिल्लो क्षेत्रमा पानी परेको रेकर्ड छैन । कतै पहिरो गएर बहाव रोकिएको र पछि बाँध फुटेर आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् प्राधिकरणले जनाएको छ । मा क्षति सुरु भएको छ

  • राहदानी लिन अब महावाणिज्यदूतावास धाउनु नपर्ने, इमिरेट्स पोस्टबाट घरमै डेलिभरी

    राहदानी लिन अब महावाणिज्यदूतावास धाउनु नपर्ने, इमिरेट्स पोस्टबाट घरमै डेलिभरी

    दुबई । नेपाली महावाणिज्यदूतावास, दुबईले नयाँ बनेर आएका राहदानी सेवाग्राहीको ठेगानामै डेलिभरी गर्ने व्यवस्था मिलाएको छ । दूतावासले सूचना जारी गर्दै यूएईको सरकारी हुलाक सेवा इमिरेट्स पोस्टमार्फत सम्बन्धित आवेदकको ठेगानामा राहदानी पु¥याउने व्यवस्था गरिएको जनाएको हो ।
    ‘नयाँ बनेर आएको राहदानी लिन महावाणिज्यदूतावाससम्म आउँदा छुट्टी लिनुपर्ने, समय र यात्रा खर्च हुनेलगायतका समस्या देखाउँदै सेवाग्राहीबाट हुलाकमार्फत राहदानी डेलिभरीको अनुरोध हुँदै आएको थियो ।

    सोही अनुरोधलाई सम्बोधन गर्दै दूतावासले नयाँ व्यवस्था लागू गरेको हो’, महावाणिज्यदूतावासले जनाएको छ । व्यवस्थाअनुसार राहदानी आवेदनको बायोमेट्रिक दिने समयमा सम्बन्धित आवेदकले महावाणिज्यदूतावासमा डेलिभरी फाराम भरेर बुझाउनुपर्नेछ । राहदानी बनेर आएपछि दूतावासले डेलिभरीका लागि इमिरेट्स पोस्टलाई उपलब्ध गराउनेछ ।


    राहदानी डेलिभरीको समयमा सेवाग्राहीले इमिरेट्स पोस्टलाई शुल्क बुझाउनुपर्नेछ । दूतावासका अनुसार डेलिभरी शुल्क १५ दिराम र मूल्य अभिवृद्धि कर (भ्याट)सहित १५.७५ दिराम तोकिएको छ । यो सेवा स्वैच्छिक रहेको दूतावासले स्पष्ट पारेको छ । आवश्यक पर्ने सेवाग्राहीले मात्र उक्त सेवा उपयोग गर्न सक्नेछ । डेलिभरीको लागि सेवाग्राहीले महावाणिज्यदूतावासले उपलब्ध गराएको फारममा सही मोबाइल नम्बर र स्पष्ट ठेगाना टिपाउनु पर्नेछ ।


    यो सेवाले दुबई र उत्तरी क्षेत्रमा रहने लाखौं नेपाली लाभान्वित हुनेछन् । करिव ७ लाख नेपाली रहेको यूएईमा दुबई र उत्तरी क्षेत्रमा करिव ५ लाख कार्यरत रहेको अनुमान छ ।

  • यी हुन् ३० वर्षभन्दा बढीदेखि यूएई बस्दै आएका १६ नेपाली

    यी हुन् ३० वर्षभन्दा बढीदेखि यूएई बस्दै आएका १६ नेपाली

    दुबई । दुबईस्थित नेपाली महावाणिज्यदूतावासले सेप्टेम्बर २० मा यूएईमा लामो समयदेखि बस्दै आएका नेपाली अग्रजसँग अनुभव आदानप्रदान तथा छलफल गरेको छ । सन् १९८० र १९९० को दशकमा नेपालबाट यूएई पुगेका अग्रजसँगको छलफलमा उनीहरुले देखेको यूएईको विकासक्रम, नेपाली समुदायमा पु¥याएको योगदान र लामो समयको अनुभवबारे चर्चा गरिएको थियो । यूएईको विकासबाट नेपालले सिक्न सक्ने अभ्यास तथा नेपाली समुदायका समसामयिक विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा दुबईस्थित नेपाली महावाणिज्यदूतावासले एक वर्षमा प्रदान गरेका सेवा तथा कार्यसम्पादनबारे समेत जानकारी आदानप्रदान गरिएको थियो ।


    छलफलमा शारदा भट्टराई (राजु, १९८२), मुक्ति राई (१९८७), कृष्णबहादुर ढकाल (१९९४), कृष्णप्रसाद आचार्य (१९९२), मोहन शर्मा (१९९७), मनिल श्रेष्ठ (१९९१), दिलबहादुर पुन मगर (१९९७), किरण वज्राचार्य (१९९२) र लालबहादुर ढेंगा (१९९६) सहभागी थिए । ३० वर्षभन्दा बढी यूएईमा बिताएका चन्द्रप्रसाद सापकोटा (१९८२), रोबर्ट विल्सन (१९८९), तकबहादुर गुरुङ (१९९३), दुर्गाबहादुर सिंह पाली (१९९३), पूनम गुरुङ श्रेष्ठ (१९९१), लक्ष्मणप्रसाद भट्टराई (१९८७) र रमेश न्यौपाने (१९९५) लगायतका रहेका छन् । उनीहरु भने छलफलमा उपस्थित हुन सकेनन् ।
    छलफलमा सहभागी हुन नसकेका अन्य अग्रजसँग पनि आगामी दिनमा भेटघाट तथा अनुभव आदानप्रदान गरिने महावाणिज्यदूतावासले जनाएको छ ।

    तस्वीर : लालबहादुर ढेंगा\महावाणिज्यदूतावास

  • नेपाली महावाणिज्यदूतावासबाट एक वर्षमा ७५ हजार सेवाग्राही लाभान्वित

    नेपाली महावाणिज्यदूतावासबाट एक वर्षमा ७५ हजार सेवाग्राही लाभान्वित

    दुबई, यूएई । दुबईस्थित नेपाली महावाणिज्यदूतावासले आफ्नो सञ्चालनको पहिलो वर्षमा करिब ७५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । २०८२ भदौदेखि २०८३ साउनसम्मको एकवर्षे अवधिमा महावाणिज्यदूतावासले राहदानी, कन्सुलर प्रमाणीकरण, श्रमसम्बन्धी समस्या समाधान तथा अन्य सार्वजनिक सेवाका क्षेत्रमा काम गरेको हो ।


    महावाणिज्यदूतावासले एक वर्षमा २२ हजार राहदानी आवेदन दर्ता तथा २१ हजार राहदानी वितरण गरेको छ । त्यस्तै, ३ हजार ८ सय एकतर्फी यात्रा अनुमतिपत्र (वन वे ट्राभल डकुमेन्ट), १३ हजार कन्सुलर प्रमाणीकरण र ५ सय पावर अफ एटर्नीसम्बन्धी सेवा प्रदान गरिएको छ ।


    व्यक्तिगत भिसा प्रमाणीकरण, कम्पनी तथा भिसा प्रमाणीकरण र संस्थागत डिमान्ड प्रमाणीकरण लगायतका सेवामा समेत महावाणिज्यदूतावासले काम गरेको विवरणमा उल्लेख छ । व्यक्तिगत भिसा प्रमाणीकरण र कम्पनी तथा भिसा प्रमाणीकरणअन्तर्गत ५–५ सय तथा संस्थागत डिमाण्ड प्रमाणीकरणअन्तर्गत एक हजार सेवा प्रदान गरिएको जनाइएको छ । यीमध्ये केही तथ्यांक १० महिनाको अवधिका हुन् ।


    संस्थागत डिमाण्ड परीक्षणअन्तर्गत ७ हजार, शव स्वदेश फिर्तीसम्बन्धी २ सय, नेपालका लागि पर्यटक भिसा जारी ३ सय, श्रम स्वीकृति प्रमाणीकरण ३ सय ५० र श्रम स्वीकृति पुनः प्रवेश प्रमाणीकरण तथा स्वीकृतिअन्तर्गत १ हजार २ सय सेवा प्रदान गरिएको छ ।

    श्रमिकका समस्या समाधानमा प्राथमिकता
    महावाणिज्यदूतावासले श्रमसम्बन्धी गुनासा, जेल, ठगी, अस्पताल, राहदानीलगायतका विषयमा फोन, इमेल, म्यासेज तथा प्रत्यक्ष भेटघाटमार्फत करिब ५ हजार मुद्दा तथा गुनासोमा काम गरेको छ । उल्लेखित संख्या अन्तिम समाधान भएका मुद्दाको संख्या नभई सेवाग्राहीका समस्या सम्बोधन गर्न गरिएको पहलको संख्या रहेको छ ।


    महावाणिज्यदूतावासले प्राप्त समस्या तथा गुनासो समाधानका लागि आवश्यक पहल र प्रयास गर्दै आएको जनाएको छ । श्रमिकका समस्या तथा अन्य विषयमा दैनिक औसत २० वटा मुद्दा सम्बोधन गर्ने आधारमा वार्षिक ५ हजारभन्दा बढी केसमा काम गरिएको अनुमान छ ।


    महावाणिज्यदूतावासले श्रम शिविर
    १० वटा भ्रमण गर्नुका साथै दुईवटा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको विवरणमा उल्लेख छ । क्षतिपूर्ति रकमको खातामा ८९ हजार २७०.५६ दिरहम मौज्दात रहेको र ८ लाख ३७ हजार ९२३.४४ दिरहम क्षतिपूर्ति रकम नेपाल पठाइएको छ । महावाणिज्यदूतावासले आर्थिक कूटनीतिसम्बन्धी १० वटा कार्यक्रम आयोजना गरेको छ भने कूटनीतिक भेटघाट, अन्तरक्रिया तथा पहुँच विस्तारका २० वटा गतिविधि सञ्चालन गरेको छ ।

    डिजिटल माध्यमबाट दैनिक दुई सय प्रतिक्रिया
    महावाणिज्यदूतावासले इमेल, ह्वाट्सएप र मेसेन्जरमार्फत सर्वसाधारणका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै आएको छ । त्यस्ता माध्यमबाट दैनिक औसत २ सय प्रतिक्रिया दिने गरिएको छ । महावाणिज्यदूतावासले महिनामा २० कार्यदिनका आधारमा वार्षिक ७२ हजार प्रतिक्रियाको अनुमान प्रस्तुत गरेको छ । सप्ताहन्त र सार्वजनिक बिदाका दिनमा समेत प्रतिक्रिया दिइने भएकाले वार्षिक संख्या करिब ८० हजार पुग्न सक्ने महावाणिज्यदूतावासले जनाएको छ ।


    महावाणिज्यदूतावासमा सेवा लिएका सेवाग्राहीबाट २ सय २० भन्दा बढी गुगल रिभ्यु प्राप्त भएको जनाइएको छ । तीमध्ये अधिकांश सकारात्मक र उत्साहजनक रहेको तथा गुगल रिभ्यु स्कोर ४.७ रहेको छ । महावाणिज्यदूतावासले पहिलो वर्षमा करिब ५० हजार शुल्क तिर्ने सेवाग्राहीले प्रत्यक्ष सेवा लिएको अनुमान गरेको छ । यसबाहेक विभिन्न काम तथा जिज्ञासाका लागि शुल्क नतिर्ने सेवाग्राहीको संख्या त्यसको आधा रहेको अनुमानसहित पहिलो वर्षमा महावाणिज्यदूतावासमा आउने कुल सेवाग्राहीको संख्या करिब ७५ हजार पुगेको महावाणिज्यदूतावासले जनाएको छ ।

    महावाणिज्यदूतावासमा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम
    यूएई । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा रहेको नेपाली महावाणिज्यदूतावासमा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो । २०८३ असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो ।

    कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न वैचारिक संस्थाका प्रतिनिधिहरु, नेपाली सामाजिक संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, व्यवसायी तथा नेपाली समुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली महावाणिज्यदूतावास दुबईका महावाणिज्यदूत हरि ओडारीले नेपालको संविधान नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि रहेको बताउँदै यसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रुपमा संस्थागत गर्दै नागरिकका मौलिक हक, अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको सुनिश्चितता गरेको बताए । उनले संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, समृद्धि र सामाजिक सद्भाव कायम गर्नु आजको आवश्यकता रहेको पनि बताए ।


    कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले संविधान दिवसको अवसरमा आफ्ना शुभकामना मन्तव्यहरु राखेका थिए । उनीहरुले संविधानले सुनिश्चित गरेका अधिकारको संरक्षण, कार्यान्वयन तथा नेपाल र नेपालीको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

  • नेपाली राजदूतावास अबुधाबीमा शोकसभा

    नेपाली राजदूतावास अबुधाबीमा शोकसभा

    यूएई । नेपाली राजदूतावास अबुधाबीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण ज्यान गुमाएकाहरुको सम्मानमा भदौ २२ गते सोमबार दूतावास परिसरमा दीप प्रज्ज्वलन तथा शोकसभा सम्पन्न गरेको छ । कार्यक्रममा पीडित परिवारजनहरुमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ, अज्ञात व्यक्तिहरुको सकुशल उद्धार तथा पुनर्मिलनको कामनासहित दीप प्रज्ज्वलन गरिएको थियो । शोकसभामा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


    शोकसभालाई सम्बोधन गर्दै महामहिम राजदूत तेजबहादुर क्षेत्रीले प्राकृतिक विपत्तिका कारण पु¥याएको पीडा र भौतिक रुपमा भएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालको पुनर्निर्माण कार्यलाई पुनः अघि बढाउन सबैले हातेमालो गरी सहयोगी भावनाले अघि बढ्नुपर्ने बताए । उनले यूएई सरकारले उपलब्ध गराएको राहत सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै नेपाल सरकारका तर्फबाट यूएई सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरे ।

    उनले यूएई सरकारले गरेको यो सहयोग प्राप्त हुनुमा नेपाली समुदायको ठूलो योगदान रहेको बताउँदै नेपाली समुदायलाई धन्यवाद दिए । उनले नेपाललाई सहयोग गर्ने विदेशी संघसंस्था, नेपाली समुदाय तथा शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दै यूएईमा रहेको नेपाली समुदायले खुला हृदयले गरेको मानवीय सहयोगप्रति धन्यवाद व्यक्तसमेत गरे ।

  • नेपाली राजदूतावासमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइयो

    नेपाली राजदूतावासमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइयो

    यूएई । संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीस्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विभिन्न कार्यक्रमका साथ मनाइएको थियो । नेपाली राजदूतावास अबुधाबीले २०८३ असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, व्यवसायी तथा नेपाली समुदायका सदस्यसहित करिब ५० जनाको उपस्थिति रहेको थियो ।


    कार्यक्रममा नेपाली राजदूतावासका कूटनीतिक कर्मचारी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई, नेपाली समाज यूएई, नेपाल पत्रकार महासंघ यूएई, आदिवासी जनजाति महासंघ यूएई लगायत विभिन्न वैचारिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


    कार्यक्रमलाई सम्बोधन गर्दै यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपालको संविधान नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका थिए । उनले संविधानले प्रत्याभूत गरेका जनताका हक, अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता तथा संघीय व्यवस्थाको संस्थागत विकासमा सबैको महत्वपूर्ण भूमिका रहने बताए ।


    उनले सुशासन, विकास र समृद्धिका लागि सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई सफल बनाउन सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै नेपालमा हालै आएको प्राकृतिक विपद्बाट उत्पन्न परिस्थितिको सामना गर्न विदेशमा रहेका नेपाली समुदायले पनि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आह्वान गरेका थिए ।


    कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले संविधान दिवसको अवसरमा आफ्ना विचार व्यक्त गर्दै संविधानले सुनिश्चित गरेका अधिकारको संरक्षण, कार्यान्वयन तथा नेपाल र नेपालीको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

  • ओएनएफ मध्यपूर्वमा बाबुराम सापकोटा

    ओएनएफ मध्यपूर्वमा बाबुराम सापकोटा


    यूएई । प्रवासी नेपाली मञ्च (ओएनएफ) मध्यपूर्व महादेशको अध्यक्षमा बाबुराम सापकोटा निर्वाचित भएका छन् । सेप्टेम्बर ११ तारिखमा सम्पन्न ओएनएफ मध्यपूर्व महादेशीय कमिटीको प्रथम अधिवेशनले सापकोटाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा गीता सुवेदी, सचिवमा राजु खनाल र दुई जना उपसचिवमा मेनुका खतिवडा र महेशप्रसाद न्यौपानेलाई निर्वाचित गरेको छ ।


    यसैगरी सदस्यहरुमा विजयविक्रम बस्नेत, शोभाखर भुसाल, शेख हश नवाज, गोपाल बस्नेत, अच्युत तिम्सिना र ऋषि भट्टराई, कृष्णप्रसाद आचार्य, गोकुल कुइँकेल, चन्द्र गुरुङ, धर्मप्रसाद बराल, नानुराज बराल, रामकुमार आचार्य (रञ्जीत), राजुप्रसाद भट्टराई, विष्णुलाल श्रेष्ठ, शिवजंग गुरुङ र यम लामा बम्जनलाई निर्वाचित गरेको छ ।


    भर्चुचल माध्यमबाट भएको अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए ।

  • अर्घाखाँची सम्पर्क समिति यूएईमा आचार्य

    अर्घाखाँची सम्पर्क समिति यूएईमा आचार्य

    यूएई । अर्घाखांची सम्पर्क समिति यूएईको अध्यक्षमा चिरन आचार्य सर्वसम्मत चयन भएका छन । गत ६ सेप्टेम्बर २०२६ आइतबारका दिन दुबईस्थित याक एण्ड यति क्लब एभरेष्टको हलमा आयोजित ७औं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा ओम केसी, प्रथम उपाध्यक्षमा अमित पाण्डे, महिला उपाध्यक्षमा पार्वता श्रेष्ठ मल्ल, उपाध्यक्षमा हिमेन्द्र क्षेत्री, राकेश रायमाझी, गंगा बस्नेत पन्थी, मणिराम गैरे, भीम केसी र गणेशप्रसाद पौडेल रहेका छन् । त्यसैगरी महासचिवमा नवराज सिंह ठकुरी, सचिवमा रामप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा हरी बिसी चयन भएका छन् ।


    त्यसैगरी कार्यसमिति सदस्यहरुमा क्रमशः सुनिल थापा, छन्द श्रेष्ठ, उमा घिमिरे, मन्जु घिमिरे, सिद्धार्थ भुसाल, कमल खनाल, अनिल खड्का, गोविन्द पोखरेल, सम्झना खनाल, रामबहादुर अधिकारी, नारायणप्रसाद पौडेल, तारा बिरकट्टा मगर, मधु रेश्मी मगर, हरी भण्डारी, जुनु पन्थी, अर्चना पाण्डे, बाबुराम भुसाल, राहुल खनाल, जीवन खनाल, अनु शर्मा, प्रियंका श्रेष्ठ, तारा परियार, कृष्ण गमाल, अशोक श्रेष्ठ, लेखनाथ अधिकारी, शिला खनाल, जानाका घिमिरे र पुष्पा भाटलाई चयन गरेको छ ।


    नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानको प्रमुख आतिथ्यतमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता अर्घाखाँची सम्पर्क समिति यूएईका तत्कालीन अध्यक्ष जेपी पोखरेलले गरेका थिए । कार्यक्रममा नेपालमा आएको प्राकृतिक बिपत्तीमा परी ज्यान गुमाएका दिवंगत आत्माको शान्तिको लागि १ सय ८ दियो जलाएर मौनधारण गर्दै घाइतेहरुका लागि शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । साथै बाढीपीडितमा परेकालाई अर्घाखाँची सम्पर्क समिति यूएईको तर्फबाट राहत सहयोगस्वरुप यूएई दिराम ११ हजार लगभग नेपाली रु ४ लाख ५१ हजार रुपैयाँ नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानलाई हस्तान्तरण गरिएको थियो ।