Category: फिचर

  • भेनेजुएलाका पूर्व नेता मादुरो र मादुरोकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्ता

    भेनेजुएलाका पूर्व नेता मादुरो र मादुरोकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्ता

    न्यूयोर्क, २३ असोज (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले बिहीबार भेनेजुएलाका पदच्युत राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध नयाँ यातना आरोप दर्ता गरेको छ । यसले अमेरिकी हिरासतमा रहेका यी दुईविरुद्ध बढ्दो आपराधिक मुद्दालाई थप बलियो बनाएको छ । मादुरो र फ्लोरेसले जनवरीमा काराकासको आफ्नो परिसरबाट असाधारण अमेरिकी सैन्य छापामार्फत पक्राउ परेपछि पहिले नै संयुक्त राज्य अमेरिकामा लागूऔषध तस्करी र हातहतियारसम्बन्धी आरोपहरू सामना गरिरहेका छन्।

    बिहीबार सार्वजनिक भएको अदालती कागजातले दुवैलाई अब यातनाको षड्यन्त्रको अतिरिक्त आरोप लगाइएको छ । कागजातमा भनिएको छ, “उनीहरूले ‘गम्भीर शारीरिक र मानसिक पीडा तथा कष्ट’ पु¥याएका थिए।” आरोपमा भनिएको छ, “मादुरोको कथित उद्देश्य ‘राजनीतिक विपक्षीलाई दमन र सजाय दिनु, असहमति र कथित असहमतिलाई मौन पार्नु, सरकारका सदस्यहरूको शक्ति र अधिकार संरक्षण तथा रक्षा गर्नु, तथा अपहरणमार्फत आफ्ना विरोधीहरूलाई डरत्रास, उत्पीडन र निष्क्रिय पार्नु’ थियो।”

    अभियोजकहरूले अमेरिकी नागरिकसमेत अज्ञात पीडितहरूलाई भेनेजुएली हिरासतमा विद्युतीय झट्का दिने, ‘वाटरबोर्डिङ’ गर्ने र कुटपिट गर्ने जस्ता घटनाहरूको विवरण दिएका छन् । मादुरो र फ्लोरेसविरूद्धको मुद्दाको सुनुवाई आगामी जुन महिनामा न्यूयोर्कमा हुने योजना छ । उनीहरू हाल ब्रुकलिन जेलमा थुनामा छन्।

  • डब्ल्यूटीओले एआई उछालका कारण सन् २०२६ को व्यापार वृद्धि प्रक्षेपणमा वृद्धि

    डब्ल्यूटीओले एआई उछालका कारण सन् २०२६ को व्यापार वृद्धि प्रक्षेपणमा वृद्धि

    जेनेभा, २३ असोज (रासस–एएफपी) । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले बिहीबार सन् २०२६ को लागि विश्वव्यापी व्यापार वृद्धि प्रक्षेपण तीव्र रूपमा बढाएको छ । मध्यपूर्व सङ्कटका बीच पनि वस्तु व्यापार एआई उछालका कारण अपेक्षाभन्दा बढी लचिलो साबित भएको छ । सङ्गठनले अर्को वर्ष ४.१ प्रतिशत व्यापार वृद्धि हुने प्रक्षेपण गरेको छ, जुन सात महिनाअघिको २.६ प्रतिशतबाट बढेको हो। आपूर्ति श्रृङ्खला अनुकूलन र कृत्रिम बुद्धिमत्ता (एआई) लगानीको उछालका कारण डब्ल्यूटीओले यस वर्ष वस्तु व्यापारको परिमाणमा ३.९ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ, जुन मार्चमा अनुमान गरिएको १.९ प्रतिशतबाट बढेको हो ।

    विश्वव्यापी कुल गार्हस्थ्य (जीडीपी) यस वर्ष २.६ प्रतिशत र सन् २०२७ मा २.९ प्रतिशतले बढ्ने अपेक्षा गरिएको सङ्गठनले जनाएको छ । “यी अङ्कहरूले व्यापारको लचिलोपनलाई कार्यमा झल्काउँछन्,” डब्ल्यूटीओ प्रमुख एनगोजी ओकोन्जो–इवेआलाले भने । “जब अवरोधहरू आउँछन्, एकीकृत विश्व अर्थतन्त्र र नियममा आधारित व्यापार प्रणालीले अर्थव्यवस्थाहरूलाई आवश्यक वस्तुहरू व्यवसाय र घरपरिवारसम्म पु¥याउन लचिलोपन प्रदान गर्छ,” उनले भने । “कतिपय मुलुकले बढी झट्का महसुस गरेका छन्, र सबैले एआईजस्ता उदीयमान अवसरहरू पहुँच गर्न सक्दैनन्।”

    डब्ल्यूटीओका अनुसार हर्मुज जलमार्ग हुँदै ढुवानीमा अवरोधले ऊर्जा आपूर्ति घटाएको र मुख्य ऊर्जा उत्पादन तथा मलको मूल्य बढाएको छ, तर क्षेत्रबाहिरका अधिकांश अर्थव्यवस्थाहरू लचिलो रहेका छन् । सङ्गठनले भन्यो, “इरान युद्धका कारण ऊर्जा, मल र यातायात बजारमा आएका अवरोधहरूसँग आपूर्ति श्रृङ्खला सफलतापूर्वक अनुकूलित भएका छन्।”

    सन् २०२६ को पहिलो छ महिनामा वस्तुको व्यापार ३.५ प्रतिशतले बढेको थियो, जुन डब्ल्यूटीओको अपेक्षाभन्दा बढी हो। विश्वव्यापी कच्चा तेल निर्यात करिब छ प्रतिशत मात्र घटेको छ भने तरल प्राकृतिक ग्यास निर्यात एक प्रतिशतले घटेको छ । यसैबीच, सन् २०२६ का पहिला सात महिनामा विश्वव्यापी कन्टेनर ट्राफिक वास्तवमा ३.९ प्रतिशतले बढेको छ ।

    एआई लगानीसँग जोडिएको बलियो मागले द्वन्द्वका नकारात्मक प्रभावलाई ‘अधिक रूपमा सन्तुलन गरेको’ छ । सेमिकन्डक्टर, डाटा सेन्टर र डिजिटल पूर्वाधारमा बढेको खर्चले एआई सक्षम बनाउने आयातित वस्तुहरूको माग बढाएको छ, जसले विश्वव्यापी वस्तु व्यापारलाई महत्वपूर्ण प्रोत्साहन दिएको छ ।

    एआईका लागि आवश्यक सेमिकन्डक्टर, सर्भर र अन्य उपकरणहरूको व्यापारमा सन् २०२६ को पहिलो आधा वर्षमा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ६७ प्रतिशतले उछाल आएको छ । “यसले मात्र विश्वव्यापी वस्तु व्यापार वृद्धिको ४७ प्रतिशत हिस्सा ओगटेको छ, जसले सन् २०२४ र सन् २०२५ मा पहिले नै बलियो रहेको विस्तार प्रवृत्तिलाई अझ तीव्र बनाएको छ,” डब्ल्यूटीओले भन्यो।

    डब्ल्यूटीओका मुख्य अर्थशास्त्री रोबर्ट स्टाइगरले सञ्चारमाध्यमलाई बताउनुभयो, “सङ्गठन ‘आश्चर्यचकित’ थियो कि मध्यपूर्व द्वन्द्वले आशङ्का गरिएजति व्यापार घटाएन र यसलाई एआई लगानी उछालको बलले आश्चर्यचकित सन्तुलन गरेको थियो । “एआईको लगानीमा कुनै मन्दी आएमा व्यापारमा पनि मन्दी आउन सक्छ,” उनले चेतावनी दिए ।


    एआई पूर्वाधारमा विश्वव्यापी खर्च यस वर्ष कम्तीमा ३० प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ, र हालका बजार प्रक्षेपणअनुसार सन् २०२७ मा एआई पूँजीगत खर्च थप १० देखि २० प्रतिशतले बढ्नेछ । “एआई सक्षम बनाउने वस्तुहरूको व्यापार दुई वर्षमा वस्तु व्यापारको एउटा अंशबाट यसको मुख्य चालक बन्न पुगेको छ,” डब्ल्यूटीओले भनेको छ । “यो विस्तार द्रुत, निरन्तर र अत्यन्त केन्द्रित छः केही पूर्वी र दक्षिणपूर्वी एसियाली अर्थव्यवस्थाहरूले यी वस्तुहरू आपूर्ति गर्छन् भने उत्तर अमेरिकाले माग बढाइरहेको छ।”

    – मध्यपूर्व निर्यात प्रभावित–

    संगठनले भनेको छ, “व्यापारको लचिलोपन समान छैन, सेवा व्यापार र केही क्षेत्रहरू द्वन्द्वका प्रभावप्रति बढी संवेदनशील छन्।” सन् २०२६ मा एसियाले सबैभन्दा तीव्र वस्तु निर्यात वृद्धि ९.९ प्रतिशत दर्ता गर्ने अपेक्षा गरिएको छ, त्यसपछि उत्तर अमेरिकाले ५.७ प्रतिशत गर्ने प्रक्षेपण गरिएको छ। युरोपमा निर्यात प्रदर्शन ०.१ प्रतिशतले घट्ने कमजोर रहने प्रक्षेपण छ र मध्यपूर्वमा १७.२ प्रतिशतले घट्दै तीव्र रूपमा सङ्कुचन हुने देखिएको छ । डब्ल्यूटीओका अर्थशास्त्रीहरूले सेवा व्यापारको प्रक्षेपण घटाएका छन्, यद्यपि वृद्धि सकारात्मक नै रहने अपेक्षा गरिएको छ ।

  • कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

    कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

    दमौली (तनहुँ), २३ असोजः अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ । यही असोज ११ को बाढीले पहुँच सडक क्षतिग्रस्त भएपछि पुलबाट सवारीसाधन सञ्चालन हुन नसक्दा तनहुँ हुँदै नवलपुर जाने तथा नवलपुरबाट तनहुँ हुँदै पोखरा आउने सवारीसाधनको आवागमन प्रभावित हुँदै आएको छ ।

    कालीगण्डकीको बाढीका कारण क्षतिग्रस्त नवलपुरतर्फको पहुँच सडक निर्माण भइसके पनि तनहुँतर्फको निर्माणकार्य भने बल्ल सुरु गर्न लागिएको हो । त्यसका लागि आवश्यक उपकरण बिहीबार नै कार्यस्थलमा पुगिसकेको छ । घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सडक डिभिजन दमौलीको समन्वयमा पहुँच सडक निर्माण सुरु गर्न लागिएको जानकारी दिए ।

    कालीगण्डकी पुल सञ्चालनमा नआउँदा स्थानीयवासीसँगै लामो दूरीका यात्रु तथा व्यवसायी प्रत्यक्ष प्रभावित भएको बताए । अध्यक्ष थापाले पहुँच सडक निर्माणकार्य छिटो सम्पन्न गरी पुल सञ्चालनमा ल्याइने बताए । पुलको नवलपुरतर्फ डेढगाउँको पहुँच सडक निर्माणकार्य भने यसअघि नै सम्पन्न भइसकेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले जानकारी दिए । उनले नवलपुरतर्फको पहुँच सडक निर्माणका लागि स्थानीयवासीले श्रमदान गरेको बताए ।

  • पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

    पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

    म्याग्दी, २३ असोजः बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ । बाढीले अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको करिब २० मिटर पहुँचमार्ग बगाएको थियो ।

    बगाएको पक्की पहुँचमार्गको विकल्पमा जगमा ग्यावीयन पर्खाल निर्माण गरी ढुङ्गामाटो भरेर बिहीबार साँझ सडक जोडिएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिए । पहुँचमार्ग जोडिएपछि बिहीबार साँझदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको छ । सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन सतह मिलाउनेलगायत बाँकी काम शनिबारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको शर्माले बताए ।

  • नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

    नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

    काठमाडौँ, २३ असोज: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा सात हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन् ।

    अहिले राष्ट्रियसभा गृह, मतदान केन्द्र ‘क’ बागमती प्रदेशको मतदान भइरहेको छ भने खुलामञ्च, मतदान केन्द्र ‘ख’ मा कोशी, गण्डकी, मधेस लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिको मतदान भइरहेको छ । मतदान सकिएपछि आजै मतगणना गरिने छ ।

  • नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङ खुला

    नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङ खुला

    काठमाडौँ, २३ असोजः आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिने यात्रीको त्यहाँ घुइँचो लागेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुन्यप्रसाद सिटौलाका अनुुसार देशभरका सबै क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

    यसैबीच, प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शङ्कर श्रेष्ठले चाडपर्वमा आपराधिक गतिविधि हुने सम्भावना अधिक भएकाले बसपार्क क्षेत्रका साथै अन्यत्र पनि शान्तिसुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको राससलाई जानकारी दिनुभयो । त्यसनिम्ति सादा पोशाकमा प्रहरी परिचालन भएका छन् । यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच गत मङ्गलबार चाडपर्वलक्षित यातायात सेवाका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो ।

  • पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    गण्डकी, २३ असोजः पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार तीन जना बालिका, एक बालक र एक स्थानीयको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको उपचार जारी छ । दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक स्थानीय सवार थिए ।

  • माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन

    माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन

    राँझा (बाँके), २३ असोजः बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा नेपालगन्जका गल्लीमा भौतारिन थालेको धेरै वर्ष भइसक्यो । सहरमा कुनै काम नपाउँदा उहाँको मन सधैँ खिन्न र निरास हुन्छ । “मागेर खाने भएकाले हाम्रा पुर्खा र सिङ्गो समुदायलाई नै मगन्ता भनिन्थ्यो । मागेर खाने पुख्र्यौली पेसा छाडेसँगै अहिले नयाँ पेसा र पहिचानका लागि निकै कष्टकर जीवनयापन गर्नुपरेको छ”, केलारामले भने, “माहुत समुदाय अहिले चरम गरिबी, अभाव र सङ्कटबाट गुज्रिएको छ । पेसा र स्पष्ट पहिचानबिना दैनिक जीवन चलाउनै धौधौ परेको छ ।”

    बाँकेको हिरमिनिया, नेपालगन्ज उपमहानगरपालिका–१९ वसुदेवपुरलगायतका विभिन्न बस्तीमा यो समुदायका करिब २०० घरपरिवार र एक हजारको हाराहारीमा जनसङ्ख्या छ । एक पुस्ता अगाडिसम्म नागरिकतामा नामको पछाडि मगन्ता थर लेख्ने गरिए पनि अहिलेका युवा पुस्तालाई उक्त शब्दले आत्मसम्मानमा ठेस पुर्याउँछ । त्यसैले अहिले उनीहरूले आफ्नो नामको पछाडि माहुत लेख्न थालेका छन् । नाम फेरिएर केही हदसम्म आत्मसम्मान मिले पनि उनीहरूको जीवनस्तरमा भने कुनै परिवर्तन आउन सकेको छैन ।

    माहुत समुदायका अधिकांश बालबालिका आज पनि शिक्षाको उज्यालोबाट वञ्चित छन् । स्वास्थ्य सुविधाको पहुँच नहुँदा महिलाको स्वास्थ्य अवस्था नाजुक छ । नेपालगन्ज–१९ सुइयागाउँ निवासी ललवा माहुतका अनुसार खेतीपातीका लागि आफ्नो नाममा एक धुर जग्गा जमिन छैन, न त रोजगारीका लागि कुनै सीप र व्यापार–व्यवसाय गर्ने पुँजी नै छ । उनी भन्छन्, “गाउँमा शुद्ध पिउने पानीको व्यवस्था छैन, बस्तीसम्म पुग्ने सडक बनेको छैन । स्थानीय सरकारले हाम्रो विकासका लागि भनेर छुट्याएको बजेट कहाँ, कसरी र कसले खर्चिन्छ, हामीले कहिल्यै थाहा पाउन सकेनौँ । सीमान्तकृत समुदाय राजनीतिक पहुँचका लागि लडिरहँदा हामी भने आफ्नो सामान्य पहिचानसम्म पनि कायम गर्न सकेका छैनौँ ।”

    माहुत समुदायको नयाँ पुस्तामा भने ठूलो सोचगत परिवर्तन आएको छ । अब मागेर होइन, श्रम र मजदुरी गरेर आत्मसम्मानका साथ बाँच्नुपर्छ भन्ने चेतना युवाहरूमा जागेको छ । माहुत समुदायकी अगुवा एवं डुडुवा गाउँपालिका कार्यपालिका सदस्य जवन्ती माहुतका अनुसार यो समुदायले अहिले माग्ने काम प्रायः छाडिसकेको छ । “अहिले खेतीकिसानी र ज्यालामजदुरी गरेर जसोतसो जीविकोपार्जन गर्दै आए पनि माहुत समुदाय राज्यका हरेक क्षेत्र र अवसरबाट पछाडि पारिएको छ”, उनले भने, “नयाँ पिँढीमा आएको यो सकारात्मक परिवर्तनलाई राज्यले आत्मसात् गरी उनीहरूका लागि रोजगारी र अवसर सृजना गरिदिनुपर्छ ।”

    माहुत अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय भए पनि हालसम्म राज्यको आधिकारिक निकायमा सूचीकृत हुनसकेको छैन । जसका कारण राज्यले अल्पसङ्ख्यक तथा लोपोन्मुख जातिलाई दिने विशेष सुविधा र सामाजिक सुरक्षाबाट यो समुदाय पूर्ण रूपमा वञ्चित छ । डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्र पनि माहुत समुदाय चरम अभावमा रहेको स्वीकार्छन् ।

    “यो समुदायले आफ्नो पुख्र्यौली पेसा छाडेर आफूलाई रूपान्तरण गर्ने प्रयास गरिरहेको छ”, वडाध्यक्ष मिश्रले भने, “अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका रूपमा सरकारीस्तरमा सूचीकृत नभएकाले उनीहरूले पाउनुपर्ने विशेष सेवासुविधा पुर्याउन सकिएको छैन ।” पुख्र्यौली पेसा छाडेर श्रम र पसिनाको जगमा उभिन खोजिरहेको माहुत समुदाय अहिले आफूहरूलाई अल्पसङ्ख्यकका रूपमा सूचीकृत गराउन राज्यको ढोका घच्घच्याइरहेका उनको भनाइ छ।

  • बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

    बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

    बागलुङ, २३ असोजः चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे । आर्थिक गतिविधि बढ्थ्यो । रोजगारी विस्तार भएको थियो । यस वर्ष पनि त्यस्तै अपेक्षामा रहेका व्यवसायी भने निरास र खिन्न छन् । मुख्य सडक सम्पर्कविच्छेद हुँदा पर्यटन र व्यापार व्यवसाय प्रभावित भएको छ ।

    दसैँको समयमा कालिका मन्दिर, पञ्चकोट हुँदै ढोरपाटनसम्म घुम्न आउने पर्यटकले बागलुङका होटल भरिभराउ हुने गरे पनि यस वर्ष बजार तथा होटलमा अपेक्षित चहलपहल देखिएको छैन । बागलुङ प्रवेश गर्ने मुख्य नाका मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि १२ दिनदेखि सिधा यातायात ठप्प भएको छ । त्यसको प्रत्यक्ष असर पर्यटन, व्यापार र सर्वसाधारणको जीवनमा पर्न गएको छ ।

    यही असोज ११ गतेको कालीगण्डकीको बाढीले पर्वततर्फको पुलको पहुँचमार्ग बगाएपछि बागलुङ र पर्वतबीचको नियमित सडक सम्पर्कविच्छेद भएको छ । मालढुङ्गा हुँदै म्याग्दी र मुस्ताङ जाने मुख्य सडक अवरुद्ध हुँदा त्यसको प्रभाव बागलुङको पर्यटन व्यवसायमा परेको छ ।

    पर्यटकीय गन्तव्यमा जाने पर्यटकका लागि बागलुङ प्रवेशद्वारका रूपमा रहेको छ । होटल व्यवसायी एन्जील शाक्यले दसैँको मुखमा होटलमा पर्यटकको चाप बढ्नुपर्ने भए पनि सुनसान रहेको बताए । “मुख्य सडक नै छैन, पर्यटक कसरी आउँछन् ? मुस्ताङसँग सडक सम्पर्क नै विच्छेद भएको छ । मुस्ताङको प्रभावले बागलुङको होटल व्यवसाय चलायमान हुन्थ्यो”, उनले भने, “पुल सञ्चालनमा आउन जति ढिला हुन्छ, होटल व्यवसायी त्यति नै मारमा पर्छन् । वैकल्पिक बाटोबाट पर्यटक कमै आउने गरेका छन् । मुस्ताङ जाने सडक र मालढुङ्गा पुल नखुल्दासम्म होटल व्यवसायमा ठूलो नोक्सानी हुने देखिन्छ ।”

    भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडी क्षेत्र हुँदै गएको मध्यपहाडी लोकमार्गको महत्त्वपूर्ण सङ्गमस्थल मालढुङ्गा भएकाले यहाँको सडक अवरोधले बागलुङसँगै पश्चिम क्षेत्रको आवागमनमा असर पारेको छ ।

    वैकल्पिक मार्गले बढायो ढुवानी खर्च

    मुख्य सडक अवरुद्ध भएपछि अहिले फलेवास–बलेवा हुँदै बागलुङ तथा मालढुङ्गा–बेनी हुँदै बागलुङसम्म वैकल्पिक मार्गबाट यात्रुवाहक बस र साना मालवाहक सवारी सञ्चालन भइरहेका छन् । लामो र घुमाउरो वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा ढुवानीमा समय र खर्च दुवै बढेको व्यवसायीको भनाइ छ । यसको प्रत्यक्ष प्रभाव दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्न थालेको छ । ग्यास ढुवानीमा वैकल्पिक मार्ग प्रयोग गर्दा प्रतिसिलिन्डर रु १५० देखि रु १७० सम्म अतिरिक्त ढुवानी खर्च लाग्न थालेको ग्यास विक्रेता हरि आचार्यले बताए । ढुवानी खर्च बढेपछि बजारमा ग्यासको मूल्य रु १०० ले बढाउनु परेको उनको भनाइ छ ।

    सडक अवरुद्ध हुँदा समयमै आपूर्ति हुन नसकेपछि बागलुङमा तरकारीलगायत खाद्यवस्तुको आपूर्तिमा समस्या देखिन थालेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य वस्तुको आपूर्ति नियमित हुनसकेको छैन । मुख्य सडक अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जीवनसँगै स्वास्थ्य सेवामा असर परेको छ । गम्भीर बिरामी तथा नियमित उपचारका लागि पोखरा जानैपर्ने सर्वसाधारणले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने वा केही दूरी पैदल हिँड्नुपर्ने अवस्था आएको छ ।

    दसैँअघि पुल सञ्चालनको तयारी

    सडक डिभिजन कार्यालय पोखराले दसैँअघि नै मालढुङ्गा पुलको पहुँचमार्ग सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ । पुलको पहुँचमार्गमा करिब ३० मिटर सडक बाढीले क्षति पुर्याएपछि मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ । सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले चाडपर्व नजिकिँदै गएको र बागलुङमा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा असर पर्न थालेकाले चौबीसै घण्टा काम गरेर पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।


    कुल ११४ मिटर लामो मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुगेपछि दुई जिल्लाबीचको नियमित सडक सम्पर्कविच्छेद भएको हो । यही मार्ग हुँदै मध्यपहाडी लोकमार्गमा जोडिएर बागलुङसँगै पूर्वीरुकुम र रोल्पातर्फ जाने यातायात प्रभावित भएको छ । पुल सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित व्यापार, पर्यटन र दैनिक उपभोग्य वस्तुको आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको छ ।

  • तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

    तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

    कञ्चनपुर, २३ असोजः महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर सुरक्षित भएको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो । बाढीको त्रासमा रहेको कुतियाकवर तटबन्ध निर्माणपछि सुरक्षित बनेको भन्दै स्थानीयवासी खुसी भएका छन् ।

    “बाढी र कटानले बस्ती नै जोखिममा परेपछि यहाँबाट धेरै परिवार अन्यत्र बसाइँ सरेका थिए”, स्थानीय टेकबहादुर सुनारले भने, “अहिले तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित बनेको छ अब बस्तीमा बाढी पस्ने डर छैन ।” नदीको कटानले बस्ती नै जोखिममा परेपछि यहाँका स्थानीयवासी पलायन हुन थालेका थिए । अहिले दुवैै नदीमा पक्की तटबन्ध निर्माण भएपछि बाढी र कटानबाट बस्ती सुरक्षित बनेको सुनार बताउँछन् । गत आर्थिक वर्षमा महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि यहाँका स्थानीयले सुरक्षित महसुस गरेको उनको भनाइ छ ।

    “पक्की तटबन्ध निर्माण भएपछि हामी ढुक्क छौँ, अब सरकारले जोगबुढा नदीमा पक्की पुल बनाइदिए राम्रो हुन्थ्यो”, स्थानीय मोतिराम सुनारले भने, “अहिले भएको झोलुङ्गे पुलबाट आवतजावत गर्न सहज भए पनि ट्याक्टर नआउँदा खेतीपातीमा समस्या भएको छ ।” बस्तीमा दुईवटा सेफहाउस बनेका छन् । सेफहाउसले बाढीबाट मानिसको ज्यान जोगाए पनि अन्न, लत्ताकपडा, पशुचौपाया क्षति हुन्थ्यो । नदीमा पक्की तटबन्ध बनेपछि विगतजस्तो बाढी बस्ती पस्ने खतरा कम भएको स्थानीय सुक्कादेवी सुनार बताउँछन् ।


    “विगतमा बाढीले हाम्रो घरको अन्न, लत्ताकपडा सबै नोक्सान गथ्र्यो”, उनले भने, “तटबन्ध बनेपछि हामी ढुक्क छौँ ।” कुतियाकवरमा महाकाली नदीको बाढीबाट बर्सेनि खेतीयोग्य जमिन कटान हुँदै आएको थियो । कटानका कारण बस्ती नै जोखिममा परेपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा महाकाली नदी र जोगबुढा नदीमा ८१६ मिटर पक्की तटबन्ध निर्माण गरेको हो । त्यसको कुल लागत रु पाँच करोड १६ लाख ६७ हजार रहेको थियो ।

    “तटबन्ध निर्माण भएपछि स्थानीयवासीमा बाढीको त्रास हटेको छ”, आयोजनाका प्रमुख रञ्जनराज भट्टराईले भने, “चालु आर्थिक वर्षमा पनि कुतियाकवरमा जोखिम देखिएका स्थानमा काम गर्ने हाम्रो योजना छ ।” उनले स्थानीयको मागबमोजिम बस्ती संरक्षणका लागि अन्य संरचना निर्माण हुने बताए ।

  • देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौँ, २३ असोजः पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भाग तथा कोशी प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    हाल देशका पहाडी र हिमाली भाग, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लागेको छ । अन्य क्षेत्रमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

    हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । मधेससहित कोशी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

    त्यसैगरी, आज राति देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली तथा पहाडी भागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    राति कोशी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेशका स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले देशभर तापक्रम हल्का घट्ने सम्भावना रहेको जनाउँदै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भाग तथा कोशी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने बताएको छ । साथै महाशाखाले कृषिमा संलग्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिइ आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • डोको बुन्दै, सीप सिकाउँदै


    भोजपुर, २३ असोजः भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने पेसाको संरक्षणमा जुटेका छन् । खेतीपातीको कामबाट बचेको समय सदुपयोग गर्दै उहाँले पुस्तौँदेखि चलिआएको बाँसको चोयाबाट डोको बुन्ने सीपलाई निरन्तरता दिँदै आएका छन् । गाउँघरमा कृषि तथा घरायसी काममा प्रयोग हुने डोको पछिल्लो समय बजारमा पाइने आधुनिक सामग्रीका कारण निकै कम मात्रामा प्रयोग हुन थालेको छ । ग्रामीण क्षेत्रमा यसको आवश्यकता भने अझै रहेको स्थानीयवासीको भनाइ छ । ग्रामीण आवश्यकतालाई ध्यानमा राख्दै विष्टले स्थानीयस्तरमै पाइने बाँसको प्रयोग गरेर विभिन्न आकारमा डोको तयार पार्दै आएका छन् ।


    चोया तयार गर्ने, चोयालाई आवश्यक आकारमा मिलाउने र हातैले बुनेर डोको तयार गर्ने उनको नियमित काम हो । उनका अनुसार आकारका आधारमा एउटा डोको रु ३०० देखि ७०० सम्ममा बिक्री हुने गरेको छ । ठूलो आकारको डोको बनाउन पाँचदेखि छ घण्टासम्म समय लाग्ने उनले जानकारी दिए । “आफ्नै गाउँमा पाइने बाँसबाट चोया तयार गरेर डोको बुनिन्छ । फुर्सदको समयमा बुन्दा सीप पनि जोगिन्छ भने केही आम्दानी हुन्छ”, विष्टले भने ।


    कृषि कार्यमा प्रयोग हुने डोको, नाङ्लो, डालोलगायतका सामग्री ग्रामीण जीवनका अपरिहार्य साधन हुन् । खेतबारीबाट उत्पादित मकै, धान, कोदो, आलुलगायतका कृषि उपज ओसारपसार गर्न तथा घाँस, दाउरा र घरायसी सामान बोक्न डोको प्रयोग हुने गरेको छ । स्थानीयस्तरमा सहजै पाइने बाँसको उपयोग गरी तयार गरिने यस्ता सामग्री वातावरणमैत्री हुनुका साथै स्थानीय सीप र स्रोतसाधनको उपयोगको उदाहरण बनेको छ ।

    पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको डोका बुन्ने सीप पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा हराउँदै जाने अवस्था रहेकाले आफूले जानेको सीपलाई निरन्तरता दिएको उनले बताए । नयाँ पुस्ताले सीप सिकेर व्यावसायिक रूपमा अघि बढ्न सके यसलाई आम्दानीको महत्त्वपूर्ण स्रोत बनाउन सकिने उनको भनाइ छ।

  • काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

    काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

    काठमाडौँ, २३ असोज । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते शनिबार आयोजना हुने ‘काठमाडौँ म्याराथन’ लाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन विशेष ट्राफिक सचेतना तथा सडक सुरक्षा योजना अघि सारेको छ । म्याराथनमा ठूलो सङ्ख्यामा धावक, दर्शक तथा सर्वसाधारणको सहभागिता हुने भएकाले प्रतियोगिता हुने सडकमा सवारी आवागमन प्रभावित हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले म्याराथनका क्रममा तोकिएका सडक तथा मार्गमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाइने जानकारी दिए । “काठमाडौँ म्याराथनलाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन हामीले विशेष ट्राफिक सचेतना तथा सडक सुरक्षा योजना अघि सारेका छौँ”, उनले भने, “बृहत् नागरिक सचेतना अभियानअन्तर्गत ट्राफिक प्रहरीले जनचेतनामूलक सन्देशसहित म्याराथनमा विषेश सहभागिता जनाउने छ ।”

    म्याराथन धावकको टिसर्ट पछाडिको भागमा ट्राफिक प्रहरीको लोगो र ‘फलो ट्राफिक रुल्स, सेभ लाइफ’ भन्ने नारा राखिएको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताए । ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीका अनुसार म्याराथनको रुटमा आवश्यक ट्राफिक सुरक्षा व्यवस्थापनको तयारी पूरा भएको छ । उनले धावकलाई निर्धारित मार्ग र लेनको प्रयोग गर्न तथा ट्राफिक प्रहरी र स्वयंसेवकले दिएको निर्देशन पालना गर्न आग्रह गरे ।


    उनले भने, “दर्शक तथा सर्वसाधारणलाई सडकमा जथाभावी नउभिन, धावकको मार्ग अवरुद्ध नगर्न तथा सडक पार गर्दा तोकिएको स्थान र जेब्राक्रसिङको प्रयोग गर्न अनुरोध गरेका छौँ । सवारी चालकलाई प्रतियोगिताका क्रममा धैर्य र संयमता अपनाएर सवारी सञ्चालन गर्न हाम्रो आग्रह छ ।” म्याराथनका कारण केही स्थानमा सवारी चाप बढ्नसक्ने भएकाले अत्यावश्यक कामबाहेक वैकल्पिक मार्ग प्रयोग गर्न र गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई केही समयअगावै घरबाट निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

    सडकको सही प्रयोग, ट्राफिक नियमको पालना तथा धावक, दर्शक, सवारी चालक र सर्वसाधारणको सहयोगबाट म्याराथनलाई सुरक्षित र व्यवस्थित बनाउन सकिने भएकाले सडक सुरक्षा अभियानमा सहयोग गर्न ट्राफिक प्रहरी प्रमुख काफ्लेले आग्रह गरेका छन् । सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगितालाई नेपालकै ठूलो सिटी म्याराथनका रूपमा लिइन्छ । प्रतियोगिताको व्यवस्थापन एनआरएस स्पोट्र्स फाउन्डेसनले गरिरहेको छ ।

  • विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    म्याग्दी, २३ असोजः कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक यही असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको थियो ।

    विभिन्न ५० ठाउँमा पहिरो खसेको, भासिएको र १० ठाउँमा कालीगण्डकी नदीको कटानले बगाएको सडक मर्मतकार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटा भिर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरस्थित सडक पुलको पहुँचमार्ग तयार भएर बिहीबार साँझ अत्यावश्यक सवारीसाधन वारपार गरेका छन् । कालीगण्डकीको बाढीले बगाएको कुनौटाको सडक र पोखरेबगर पुलको पहुँचमार्ग निर्माणमा चुनौती देखिएको थियो ।

    इन्धन, एम्बुलेन्स, सडक, विद्युत् र सञ्चार सेवा सञ्चालन गराउन आवश्यक उपकरण र राहत सामग्री ढुवानी गर्ने सवारीसाधनमात्र एकतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्थामा रहेको सडकमा थप मर्मतकार्य बाँकी रहेको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बताए । “प्रारम्भिक चरणको मर्मत भए पनि पूर्ण रूपमा पहिरो पन्छाउने, भासिएको र कटान गरेको ठाउँमा फिलिङ, लेवल मिलाउने, क्रसिङ बनाउन बाँकी छ”, उनले भने, “अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्दा अस्तव्यस्त र दुर्घटनाको जोखिम हुने भएकाले आइतबारसम्म मर्मतकार्यलाई पूर्णता दिने र आगामी सोमबारदेखि यातायात सञ्चालन गर्ने कार्ययोजना बनाएका छौँ ।”

    केराबारी, लामाबगर, तिल्केनीचौर, राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, तातोपानी, सुकेबगर, खामभित्ता, खहरेखोला क्षेत्रमा कालीगण्डकीले कटान र पहिरोले सबैभन्दा बढी क्षति गरेको छ । हालै कालोपत्र सकिएको र पहिरो प्रभावित क्षेत्रमा ढलानको काम भइरहेको म्याग्दी खण्डको ३३ किलोमिटरमध्ये २० किलोमिटर बढी स्थानमा सडक क्षतविक्षत भएको सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।


    “चीनसँग हाल सञ्चालनमा रहेको एकमात्र कोरलानाकाका कारणले पनि सरकारले उच्च प्राथमिकतामा राखेर अवरुद्ध भएको दुई साताभित्रै यातायात सञ्चालनको तयारी गरेको भए पनि पहिलेकै अवस्थामा फर्काउन धेरै लगानी र पूर्वाधार आवश्यक पर्छ”, उनले भने, “रु ९० करोडबराबरको क्षति भएको यो सडकलाई नयाँ डिजाइनमा पुनर्निर्माण गर्न थप रु तीन अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका छौँ ।”

    बेनी–जोमसोम–कोरला सडक योजनाका संस्थापक प्रमुखसमेत रहेका सुवेदीका अनुसार योजना सुरु भएयताकै ठूलो क्षति यसपालिको बाढीले गरेको छ । अत्यधिक वर्षाका साथै सहायक सडक भत्किएका, जलविद्युत् आयोजनाले नदी किनारमा फालेका मकिङ, कमजोर भूगोल, नयाँ पहिरो सृजना हुनु, सहायक नदीमा बाढीको सतह बढ्नुलगायतका कारण कालीगण्डकीमा बाढीको आयतन बढेर अकल्पनीय क्षति गरेको सुवेदीको भनाइ छ ।

    कोरलानाकामा जानेआउने मालवाहक, मुस्ताङको स्याउ र आलु निकासी, पर्यटकीय याम र दसैँतिहारलगायत ठूला चाडपर्वमा बढ्ने आन्तरिक यातायात साधनको चापले सृजना हुने चुनौतीको व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए । भन्सार जाँचपास गरेर कोरलानाकाबाट दसैँलाई लक्षित गरेर आयात गरिएका सामान बोकेका ५०० भन्दा बढी कन्टेनर गन्तव्यमा पुग्ने प्रतीक्षामा मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँमा रोकिएका छन् ।

    “अत्यावश्यक, ढुवानी, आन्तरिक यातायात र पर्यटक सवारीसाधनलाई प्राथमिकता निर्धारण गरेर ट्राफिक व्यवस्थापन गर्न जनप्रतिनिधि, प्रदेशस्तरका सुरक्षा अधिकारीसहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी गैरेले भने, “सवारीसाधनको जाम हुन नदिनका लागि साँघुरा र जोखिमयुक्त ठाउँमा सुरक्षाकर्मी खटाउने विषयमा पनि छलफल भएको छ ।”

    अत्यावश्यक सेवा, आन्तरिक यातायात, कन्टेनर, स्याउ, आलु बजार पठाउने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने भएकाले सडकको अवस्था सहज नहुँदासम्मको लागि घुमघामका लागि आउनेलाई केही दिन योजना पछि सार्न प्रजिअ गैरेले अनुरोध गरे ।

    गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिससका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रजिअ गैरे, सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख सुवेदी, नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दीपेन्द्र घर्ती क्षेत्री र सशस्त्र प्रहरी बल नं ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति दीपेन्द्र शाह, म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीसहित जिल्ला तहका सुरक्षा अधिकारीले सडकमा यातायात सञ्चालनको तयारीका लागि अनुगमन गरेका थिए ।


    सरोकारवालाको सुझावअनुसार शुक्रबार बिहान म्याग्दी र मुस्ताङको जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर बेनी–जोमसोम–कोरला सडकमा यातायात सञ्चालन व्यवस्थित बनाउन छलफल र कार्ययोजना तयार गरिने प्रजिअ गैरेले जानकारी दिए ।

  • साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    काठमाडौँ, २२ असोजः साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । उक्त संस्थाले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे ।


    मन्त्री पुनले उक्त सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत् मुलुकबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको बताए । केएस रिलिफको विशेषज्ञ टोलीले सम्बन्धित नेपाली निकायसँग समन्वय गरी उक्त मानवीय सहायता सामग्री भोटेकोशी बाढीपीडितलाई वितरण गर्ने यहाँस्थित साउदी राजदूतावासले जनाएको छ ।

  • विश्व वरियतामा नेपाल १६औँ स्थानमा

    विश्व वरियतामा नेपाल १६औँ स्थानमा

    काठमाडौँ, २२ असोजः अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको आइसिसी एकदिवसीय विश्व वरियतामा नेपाल १६ स्थानमा उक्लिएको छ । पुरुष एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको हो । नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ ।

    नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ । एकदिवसीय विश्व वरियतामा भारत शीर्ष स्थानमा रहँदा न्यूजील्याण्ड दोस्रो स्थानमा छ । त्यसैगरी दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ भने अष्ट्रेलिया चौथो तथा पाकिस्तान पाँचौँ स्थानमा छन् ।

  • चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

    चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

    काठमाडौँ, २२ असोजः श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ । विभागले आज विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराइएको हो । ‘श्रम ऐन, २०७४ को दफा ३७’ बमोजिम प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाइ आएको ‘एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम’ प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था रहेको छ ।

    विभागका उप–महानिर्देशक विपिन राजभण्डारीद्वारा जारी विज्ञप्तिमा यदि रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने ‘श्रम तथा रोजगार कार्यालय’ वा ‘श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग’ मा उजुरी तथा निवेदन दिन सक्ने पनि उल्लेख गरिएको छ ।

  • कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि

    कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि

    काठमाडौँ, २२ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै सुरु हुने भएको छ । खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरु गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहान ७ः०० बजेदेखि मात्रै मतदान थालिने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । महाधिवेशनको उद्घाटन यही असोज १८ गते भएको थियो ।

    उनले उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएकाले शुक्रबार बिहान ७ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुने बताए । महाधिवेशन प्रतिनिधिको सङ्ख्या सात हजार ३१७ रहेको पनि सदस्यसचिव कटुवालले बताए । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझमा मतदान सुरु गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै शुक्रबार बिहानदेखि थालिने जानकारी दिए । उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताले मतपत्रमा हस्ताक्षर गरिरहेको बताए ।

    कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?

    निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशको मतदान हुनेछ । खुलामञ्च, मतदान केन्द्र ‘ख’ मा कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका साथै नेपाली जनसम्पर्क समितिको मतदानको व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।

    परिचयपत्र र मतदाता नामावली रुजु गरिने

    निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ । निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ । प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन् ।

    यसैगरी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको सदस्यसचिव कटुवालले जानकारी दिनुभयो । सो प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ । अब मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

    मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ । मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । त्यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ ।

    पार्टीको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन् ।

  • कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

    कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

    म्याग्दी, २२ असोजः राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा गएको बाढीले ४० मेगावाट क्षमताको सो आयोजनामा क्षति पुर्‍याएपछि बन्द भएको थियो । आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी दिए ।


    आयोजनाको विद्युत्गृहबाट विद्युत् उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्‍याएको थियो । कालीगण्डकीले धार परिवर्तन गरी स्विचयार्ड नजिकैसम्म कटान गर्नाका साथै टेलरेसबाट विद्युत्गृहभित्र पानी प्रवेश गरी डुबानमा परेको थियो ।

    हालै निर्माण सम्पन्न भई असोजको पहिलो सातादेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरेको आयोजना बाढीका कारण पूर्णरुपमा बन्द भएको थियो । विद्युत्गृहमा जम्मा भएको पानी हटाई बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी एक विद्युत् उत्पादन पुनः सुरु गरिएको आयोजना प्रमुख राजबहादुर विष्टले बताए । “बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी ११ दिनमा एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेका छौँ”, उनले भने, “२० मेगावाट क्षमताको अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।”

    राहुघाट जलविद्युत् आयोजनामा २०र२० मेगावाट क्षमताका दुई वटा युनिट छन् । आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । अवरुद्ध बनेको पहुँचमार्ग मर्मतका साथै झीँ र दग्नामको सिमानामा रहेको बाँध क्षेत्रमा थुप्रिएको गेग्रान पनि पन्छाइएको छ ।

    कालीगण्डकी नदीमा गेग्रान मिसिदा बाढीको सतह बढेर ग्राबेलको बेस भएको कालीगण्डकी किनारबाट विद्युत्गृहतर्फ कटान गरेर बग्दा चिन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको करिब १५० मिटर सडक पनि बगाएको छ । विद्युत्गृह स्थलमा निर्माण गरिएको ‘स्विचयार्ड’ पनि नदी कटानको उच्च जोखिममा परेको छ ।

    राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन र उपकरण पनि बाढीले बगाएको छ । कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–१, दोवाको भिरकाटपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको छ । नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले क्षतिग्रस्त टावर र प्रसारण लाइन मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको बताए ।


    दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारण बन्द भएको छ ।

  • गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित

    गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित

    गण्डकी, २२ असोजः बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा दुई सातादेखि सवारी आवागमन प्रभावित बनेको छ । कालीगण्डकी नदीमा आएको बाढीले लोकमार्गको पर्वत-बागलुङ जोड्ने मालढुङ्गा पुल र करिडोरअन्तर्गत म्याग्दी खण्डको पोखरेबगर पुलमा क्षति पुर्‍याएपछि दुवै सडकमार्गमा सिधा यातायात सेवा बन्द छ ।

    चाडबाड नजिकिँदै गरेको अवस्थामा मुख्य सडकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । महँगो भाडा तिरेर घुमाउरो वैकल्पिक सडकबाट यात्रा गर्नुपर्ने बाध्यता छ । सडक सञ्जाल टुट्दा मुख्य याममै पर्यटकीय गतिविधि पनि न्यून देखिएका छन् । ढुवानी प्रभावित हुँदा बजारमा मालसामानको भाउ बढेको छ । मध्यपहाडका अधिकांश जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य सडकमार्ग अवरुद्ध हुँदा बिरामी र अशक्त झनै अफ्टेरोमा परेका स्थानीय बताउँछन् ।

    पर्वतको कुश्मा नगरपालिका-१ बाट बागलुङ सदरमुकाम जोड्ने मालढुङ्गा पुलको पहुँच मार्ग बाढीले बगाउँदा बागलुङबाट पश्चिम डोल्पासम्मको यातायात सेवा प्रभावित बनेको धवलागिरि-गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बताए । मालढुङ्गाको पुल भत्केपछि लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट बागलुङ हुँदै काठमाडौँसम्मको बस सेवा ठप्प भएको उनको भनाइ छ ।

    पछिल्लो समय काठमाडौँबाट पोखरा, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम हुँदै डोल्पासम्मका बस मध्यपहाडी लोकमार्ग भएर गुड्ने गरेका थिए । “बागलुङबाट काठमाडौँ, पोखरालगायत लामो दूरीमा चल्ने बस अहिले छुटाउन सकेका छैनौँ”, उनले भने, “वैकल्पिक सडक प्रयोग गरेर माइक्रो र जीप मात्र सञ्चालन भइरहेका छन् ।”

    साना सवारीसाधन पर्वतको दोबिल्लाबाट फलेवास, जैमिनीघाट हुँदै कालीगण्डकी करिडोर भएर बागलुङ भित्रने गरेको उनको भनाइ छ । केही सवारीसाधन मालढुङ्गादेखि म्याग्दीको बेनी बजार, रत्नेचौर हुँदै यात्रु लिएर बागलुङ पुग्ने गरेका छन् । मालढुङ्गा नजिक रहेको खनियाघाटको झोलुङ्गे पुलबाट पनि सर्वसाधारण आउजाउ गरिरहेका छन् । साना सवारीसाधनबाट खनियाघाट पुगेका यात्रु झोलुङ्गे पुल तरेपछि अर्को सवारीसाधनमा बागलुङ बजारसम्म पुग्ने गरेका छन् ।

    “अब पनि मालढुङ्गाको पुल सञ्चालनमा ल्याउन नसक्ने हो भने यातायात व्यवसाय सङ्कटमा पर्ने देखिन्छ”, अध्यक्ष केसीले भने, “यात्रुको चाप हुने बेलामा सवारीसाधन थन्काएर राख्नुपर्नेको छ । चाडबाडको बेला यात्रुलाई पनि सास्ती भएको छ ।” चाडबाडका बेला विदेश र स्वदेशका ठूला सहरबाट गाउँ फर्कने यात्रुलाई समस्या भइरहेको उहाँले बताउनुभयो ।

    सडक डिभिजन कार्यालय, पोखराका प्रमुख कृष्णराज अधिकारीले अबको चाररपाँच दिनभित्रमा मालढुङ्गाको पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए । ‘ग्याबिन’ र ‘जियोब्याग’ प्रविधिबाट पुलमा मर्मतकार्य भइरहेको उनको भनाइ छ । “उच्च प्राथमिकताका साथ पुल मर्मतको काम भइरहेको छ, दसैँअगावै पुल सञ्चालनमा आउँछ”, उनले भने, “नदी किनार र साँघुरो ठाउँ भएकाले काममा पनि केही कठिनाई छ, तर रातदिन नभनी हामी कार्यस्थलमा खटिएका छौँ ।”

    कालीगण्डकीको बाढीले मालढुङ्गासँगै कालीगण्डकी करिडोरको बेनी(जोमसोम(कोरला सडकको पोखरेबगर पुलमा पनि क्षति पुर्‍याउँदा सिङ्गो मुस्ताङ जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ । बाढीले उक्त पुलको पहुँच सडक कटान गरेपछि अहिले मर्मतकार्य चलिरहेको छ । आगामी सोमबारसम्म पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । उक्त सडक अवरुद्ध हुँदा काठमाडौँ, पोखरादेखि मुस्ताङसम्मको यातायात सेवा ठप्प भएको छ ।

    नेपाल–चीन कोरला नाकासँग जोडिएको उक्त सडक बन्द हुँदा सीमापार व्यापार पनि प्रभावित भएको छ । चीनबाट नेपाल भित्रिएका सयौँ कन्टेनर अहिले मुस्ताङमै रोकिएका छन् । चाडबाडलाई लक्ष्य गरी चीनबाट कोरला नाका हुँदै नेपाल आयात गरिएका मालसामान बाटोमै रोकिँदा व्यवसायी पनि मर्कामा परेका छन् । मुस्ताङमा उत्पादित स्याउ पनि बजार पठाउन समस्या भइरहेको छ । मुस्ताङमा दैनिक उपभोग्य सामानको अभाव देखिन थालेको छ ।

    मुस्ताङ जोड्ने मुख्य सडकमार्ग अवरुद्ध बनेपछि पोखरा(जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले बताए । उडान सङ्ख्या कम भएका कारण यात्रुको चाप थेग्न मुस्किल भइरहेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले बताए । उनका अनुसार तारा र समिट एयरको ट्विनअटर जहाजले पोखरा-जोमसोम उडान गर्दै आएका छन् ।

    “दुवै जहाजले दैनिक पाँचरपाँच वटा उडान गर्दै आएकामा अहिले दैनिक सातरसात वटासम्म उडान गरेका छन्”, उनले भने, “मुस्ताङ जोड्ने सडकमार्ग विच्छेद भएपछि जहाजबाट आउजाउ गर्ने यात्रुको चाप बढेको हो ।” सडकमार्ग बन्द हुँदा हवाई मार्गबाट मुस्ताङ जाने पर्यटकको सङ्ख्या पनि बढीरहेको विमानस्थल प्रमुख शर्माले बताए ।


    सोह्र श्राद्धका बेला मुक्तिनाथ दर्शनसँगै कागबेनीमा पितृतर्पण गर्न नेपाल र भारतका हिन्दूमार्गीहरु पनि उल्लेख्य रुपमा त्यहाँ पुग्ने गर्छन् । मुख्य पर्यटकीय याममै सडक अवरुद्ध हुँदा गण्डकी प्रदेशको पर्यटन क्षेत्र पनि प्रभावित भएको छ । मुस्ताङ, मनाङ, म्याग्दी, बागलुङलगायत क्षेत्रमा पर्यटकीय गतिविधि न्यून देखिएका छन् ।

    यही असोज ८ देखि ११ गतेसम्मको भारी वर्षात्पछि कालीगण्डकी नदीमा आएको बाढीका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर ठाउँठाउँमा अवरुद्ध भएको थियो । कपितय ठाउँमा सडक मर्मत गरेर आवागमन सहज बनाइएपनि ठूलो क्षति पुगेका ठाउँमा अझै यातायात सञ्चालनमा आउन सकेको छैन ।

  • विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

    विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

    काठमाडौँ, २२ असोजः विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले कैदीबन्दी, ज्येष्ठ नागरिक र विद्यार्थीको आँखा परीक्षण गरेको छ । समुदायस्तरमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले अस्पतालले ललितपुरस्थित नख्खु कारागार, सुकेधारास्थित एजिङ केयर सेन्टर र गोकणेश्वरस्थित चामुण्डा माध्यमिक विद्यालयका विद्यार्थी गरी कूल दुई हजार ८२३ जनाको आँखा परीक्षण गरेको हो ।

    नख्खु कारागारमा तीन दिनसम्म सञ्चालित शिविरमा ९०७ कैदीबन्दीको आँखा परीक्षण गरी २० जनालाई थप उपचारको सिफारिस र १४६ जनालाई चस्मा र औषधि निःशुल्क वितरण गरिएको अस्पतालले जनाएको छ । यस्तै सुकेधारास्थित एजिङ केयर सेन्टरमा ८४ जना ज्येष्ठ नागरिक, चामुण्डा माध्यमिक विद्यालयमा ९५४, बुद्ध प्रकाश माध्यमिक विद्यालयमा १३६ र जलुपा माध्यमिक विद्यालयमा ७४२ जनाको आँखा परीक्षण गरी चस्मा र आवश्यक औषधि वितरण गरिएको छ ।

  • सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

    सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

    काठमाडौँ, २२ असोजः सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ आजदेखि लागू गरेको छ । चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा अप्रिय घटना हुन नदिन २८ हजार १२६ जनशक्ति परिचालित गरिएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए । सशस्त्रका चार हजार ५०० जनशक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ ।

    सशस्त्र प्रहरीले अन्तरराष्ट्रिय सीमा जोडिएका भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा १४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको उनले बताए । समकक्षी सुरक्षा निकायसँगको समन्वयमा सीमावर्ती इलाकामा संयुक्त गस्ती सञ्चालन गरिएको छ भने झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्न सक्ने तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

    बडादसैँ, तिहार, नेपाल संवत् र छठ तथा अन्य चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, मुख्य राजमार्गमा हुनसक्ने दुर्घटना न्यूनीकरण र शीघ्र उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितको टोली परिचालन गरिएको छ । ठूला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठूलो सङ्ख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित सातै प्रदेशमा तैनाथ गरिएका छन् ।

    विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेल्धुराको अमरगढी र सिन्धुलीको खुर्कोटलगायत देशभर ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य वेश तथा १६ वटा स्थायी विपद् वेशमा आवश्यक स्रोतसाधनसहित तालिम प्राप्त दक्ष जनशक्ति तयारी हालतमा राखिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

    चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत दैनिक पिकेट, चेक प्वाइन्ट, पैदल र मोबाइल तथा लामो दूरीको गस्ती, विस्फोटक पदार्थ निष्क्रिय गर्ने टोली तथा गोताखोरसहितका विपद् उद्धार टिमलाई २४सै घण्टा तैनाथ गरिएको छ । सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवश्यक गस्ती तथा समकक्षी सुरक्षा सङ्गठनसँगको समन्वयमा ९२४ वटा संयुक्त सीमा गस्ती गर्ने सशस्त्रको योजना छ । संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि २१ वटा ड्रोन परिचालन गरिएको छ, भने सीमा नाकाका महत्वपूर्ण स्थानमा जडान गरिएका ४१२ वटा सिसिटिभी क्यामेरामार्फत २४सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

  • सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

    सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

    सङ्खुवासभा, २२ असोजः जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको छ । साउनयता स्क्रब टाइफसका सङ्क्रमित ५६० जना बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेश श्रेष्ठले जानकारी दिए । वर्षायामको समयमा घाँसपात तथा झाडी बढ्नुका साथै त्यसमा काम गर्ने क्रम बढ्ने भएकाले स्क्रब टाइफस सङ्क्रमित बढेका उनको भनाइ छ ।

    चालु आर्थिक वर्षमा कोशी प्रदेशका १४ जिल्लामध्ये सङ्खुवासभामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् । सङ्खुवासभा कोशी प्रदेशको पहिलो र देशभरमा तेस्रो स्थानमा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार साउनदेखि असोज २१ गतेसम्म जिल्ला अस्पतालमा ३९३ र जिल्लाका विभिन्न पालिकास्थित स्वास्थ्य संस्थामा १६७ जनामा स्क्रब टाइफस पुष्टि भएको हो ।

    पछिल्लो समय जिल्लाको सभापोखरी गाउँपालिका स्क्रब टाइफसको उच्च जोखिममा परेको सूचना अधिकारी श्रेष्ठले बताए । जिल्लाका १० स्थानीय तहमध्ये सभापोखरी गाउँपालिकामा सबैभन्दा बढी ११० र चैनपुर नगरपालिकामा ४३ जनामा स्क्रब टाइफस पुष्टि भएको उनले जानकारी दिए । जिल्ला अस्पतालमा आर्थिक वर्ष २०८०–८१ मा ५४८, आव २०८१–८२ मा ३४१ र आव २०८२–८३ मा ४६७ जना स्क्रब टाइफसका सङ्क्रमित भेटिएका थिए ।

    चालु आवको तीन महिनामा ५६० जना बिरामी भेटिएका जनाउँदै श्रेष्ठले यो सङ्ख्या गत आर्थिक वर्षभरि जिल्ला अस्पतालमा भेटिएका सङ्क्रमितभन्दा बढी रहेको बताए । जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमणका कारण बिरामीको मृत्यु भने नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सङ्क्रमित बढ्दै गएपछि नियमित रूपमा अद्यावधिक गर्न थालिएको सूचना अधिकारी श्रेष्ठले बताए । स्वास्थ्यकर्मीका अनुसार बिरामीको सङ्ख्या र सङ्क्रमणको अवस्थालाई हेर्दा जिल्लामा स्क्रब टाइफसको जोखिम अझै कायम छ ।

    वर्षायाम र वर्षापछिको समयमा यसको जोखिम बढी हुने भएकाले लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन उनले आग्रह गरे ।
    उनका अनुसार उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, जाडो लाग्ने, ग्रन्थि सुन्निने, छालामा बिमिरा आउने तथा किर्नोले टोकेको स्थानमा कालो खटिरा जस्तो दाग देखिनु स्क्रब टाइफसका प्रमुख लक्षण हुन् । “स्क्रब टाइफस ओरिएन्सिया त्सुत्सुगामुसी नामक ब्याक्टेरियाले लाग्ने रोग हो । सङ्क्रमित लार्भा अवस्थाको सूक्ष्म माइटको टोकाइबाट मानिसमा यो सङ्क्रमण सर्दछ”, उनले भने ।

  • काठमाडौंमा लुटपाट धन्दाको गिरोह आयन माझी समूहका तीन पक्राउ

    काठमाडौंमा लुटपाट धन्दाको गिरोह आयन माझी समूहका तीन पक्राउ

    काठमाडौँ, २२ असोजः काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, सुनका गरगहना लुटपाट तथा डाँकाचोरीमा संलग्न रहेको आरोपमा प्रहरीले आयन माझी समूहका तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिसहित लुटपाटका घटनाबारे जानकारी दिएको हो । समूहका नाइके सिन्धुलीको मरिण गाउँपालिका–५ का २६ वर्षीय आयन माझी रहेका प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा मकवानपुरको बकैया गाउँपालिकाका ३४ वर्षीय राकेश थिङ र ३६ वर्षीय मनोजकुमार मोक्तान रहेका छन् ।

    परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार उक्त समूहले विभिन्न मिति र समयमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा योजनाबद्ध रूपमा मोटरसाइकल चोरी गर्ने, हातहतियार देखाएर सुनका सिक्री तथा गरगहना लुट्ने र डाँकाचोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । हालसम्म उक्त समूहले १५ वटा मोटरसाइकल चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले असोज २१ गते काठमाडौँ महानगरपालिका(३२ जडीबुटी पुलमुनिको सडकखण्डबाट मोटरसाइकलसहित आयन माझीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ गर्ने क्रममा उनले प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार गर्ने प्रयास गरी भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर र घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए ।


    माझीलाई पक्राउ गरेपछि निजको समूहका अन्य सदस्यको खोजी गर्ने क्रममा भक्तपुरको ठिमी नगरपालिका(४ बाट राकेश थिङ र मनोजकुमार मोक्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा मनोजले मोटरसाइकल चलाउने र राकेश पछाडि बसेर पैदल यात्रुको सुनको सिक्री लुट्ने गरेको तथा उनीहरूलाई आयन माझीले निर्देशन दिने गरेको खुलेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उक्त समूहले २०८२ भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा उपत्यकाका विभिन्न स्थानमा रहेका विभिन्न बैंकका एटिएम बुथ पनि लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ । त्यसैगरी, यही असोज १४ गते राति तरकारी किन्न जाँदै गरेका महेन्द्रकुमार बललाई बौद्ध गेट नम्बर २ नजिकै अपरिचित चार–पाँच जनाको समूहले नियन्त्रणमा लिई नगद रु दुई लाख तथा विभिन्न कागजात लुटेर फरार भएको घटनामा सो समूहको संलग्नता रहेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए ।


    यही असोज १३ गते काठमाडौँ महानगरपालिका १५ डल्लु चौतारास्थित सडकखण्डमा रमेश खड्कीले चलाएको बागमती प्रदेश ०१-०२९ च ९०६० नम्बरको बिवाइडी कारमा रहेका बेला तीन जना अपरिचित पुरुष २२० सिसी पल्सर मोटरसाइकलमा आई खड्कीको घाँटीमा रहेको करिब साढे तीन तोलाको सुनको सिक्री लुटेर डल्लु झोलुङ्गे पुलतर्फ फरार भएको घटनामा पनि समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । उक्त सिक्रीको अनुमानित मूल्य रु १० लाख ५० हजार रहेको छ ।

    प्रहरीले पक्राउ परेकाहरूबाट लुटपाटमा प्रयोग गरिएका दुई थान मोटरसाइकल, नम्बर प्लेट बनाउन प्रयोग गरिएका पाँच थान प्लेट, एक थान खुकुरी तथा घटनाका बेला प्रयोग गरिएका कपडालगायतका सामग्री बरामद गरेको छ । प्रहरीका अनुसार समूहले बिहान अँध्यारो समयमा सर्वसाधारणसँग ठेगाना सोध्ने बहाना बनाई सुनको सिक्री लुट्ने र मोटरसाइकलमा फरार हुने गरेको थियो । फरार हुने क्रममा उनीहरूले तीन वटाभन्दा बढी सवारीसाधन परिवर्तन गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

    त्यसैगरी, इन्ड्राइभ तथा पठाओको बहाना बनाई राति वा बिहान अँध्यारो समयमा एक्लै मर्निङवाकमा हिँड्ने तथा तरकारी किन्न जाने महिला र पुरुषलाई सुनसान स्थानमा पुर्‍याएर लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ । आवश्यक परेको अवस्थामा प्रयोग गर्न विभिन्न किसिमका हातहतियार बोकेर हिँड्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

    पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

    कास्की, २२ असोजः पोखरा महानगरपालिका १८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका ६ फलामखानी घर भएका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका ७ बस्ने ३७ वर्षीय राजु कुमाल रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिए ।


    उनका अनुसार आज दिउँसो घरको जग खन्ने क्रममा करिब सात फिट गहिरो खाल्डोमा काम गरिरहेका दुई जना मजदुर माथिबाट माटोको ढिस्को खसेर पुरिएका थिए । घटनाको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले तत्काल उद्धार कार्य सुरु गरेको थियो ।

    उद्धार टोलीले पुरिएका दुवै जनालाई माटो पन्छाएर उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेको थियो । मृतक सुनारलाई अपहरान्न ४ः३५ बजे उद्धार गरिएकामा चिकित्सकले ५ः०० बजे मृत घोषणा गरेका जनाउँदै कुमाललाई साँझ ६ः०० बजेमात्र उद्धार गरिएकामा ६ः२६ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताए ।


    घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक रिजालको कमाण्डमा १०, वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा सात तथा सशस्त्र प्रहरी बल नेपाल नं २४ हेडक्वाटर कालिका गण पोखराबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुजतकुमार यादवको कमाण्डमा १३ जनाको टोली उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ । अवैज्ञानिक तरिकाले गरिएका प्लटिङका कारणले घटना घटेको भन्दै सावधानी अपनाउनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

  • नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    काठमाडौँ, २२ असोजः नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको वेल्सस्थित ब्रेकनमा यही असोज २१ देखि २२ सम्म सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक हासिल गरेको छ ।

    संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त प्रतियोगितामा संयुक्त अधिराज्य बेलायतसहित ३५ राष्ट्रका १३० टोलीले सहभागिता जनाएका थिए । सन् १९६० देखि प्रत्येक बर्ष आयोजना हुँदै आएको यो अभ्यासमा नेपाली सेना सन् २०१४ देखि नै सहभागी भइरहेको छ ।

    यस प्रतियोगितामा सहभागी टोलीले करिब ७० पाउन्ड तौल बराबरको उपकरणसहित ४० माइल दूरी दुई दिनभित्र पार गर्नुपर्ने हुन्छ । त्यस क्रममा हतियार सञ्चालन, सूचना सङ्कलन, घाइते र बिरामीको व्यवस्थापनलगायत विविध सैनिक कलाहरूको परीक्षण पनि गरिन्छ । यसअघि पनि नेपाली सेनाले सो प्रतियोगितामा सन् २०१७, २०१९, २०२४ र २०२५ मा स्वर्ण पदक हात पारिसकेको छ ।

  • चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    रासस
    धनकुटा, २२ असोजः आधुनिक प्रविधि र विद्युत्बाट चल्ने उपकरणको प्रयोग बढ्दै गएको अहिलेको समयमा पनि जिल्लाको केही ग्रामीण भेगमा परम्परागत सीप र प्रविधिको जगेर्ना भइरहेको छ । विशेषगरी ठेकी निर्माणमा अहिले पनि पानी र चुदारोको प्रयोग गरिँदै आएको छ । यसले स्थानीय संस्कृति र परम्परालाई जीवन्त राखेको छ । महालक्ष्मी नगरपालिका वडा नं ४ का दीर्घबहादुर पौडेल एक वर्षेमा करिब १०० ठेकी बनाउँदै आउनुभएको छ ।

    उहाँले फुर्सदका समयमा मात्रै ठेकी बनाउने काम गर्दै आएको बताउनुभयो । खेतीपातीको याममा लगाउने र बाली उठाउने यामबाहेकका समयमा ठेकी बनाउने काम गर्दै आएको उहाँको भनाइ छ । उहाँले बनाउने ठेकी सानोदेखि ठूलो आकारसम्मका हुन्छन् । यसमा दुईदेखि ३८ कुरुवासम्म अट्ने क्षमता ठेकी बनाउँदै आएको उहाँको भनाइ छ । ठेकीसँगै पौडेलले तोङ्वा, खाने भाँडो र हर्पेसमेत बनाउने गरेको बताउनुहुन्छ ।

    परम्परागत तरिकाले बनाउँदा ठेकीप्रति कुरुवा ३०० रुपैयाँका दरले बिक्री हुने गरेको छ । सानो दुई कुरुवा अट्ने ठेकी ६०० र ३८ कुरुवा अट्ने ठेकी करिब ११ हजार ४०० मा बिक्री हुँदै आएको छ । यसबाट वार्षिक रुपमा करिब रु छ लाखसम्मको आम्दानी गर्दै आएको बताउनुभयो ।

    कालिगढ पौडेलका अनुसार, बिजुलीबाट बनाइने ठेकीभन्दा परम्परागत ठेकीेप्रति कुरुवा करिब १०० रुपैयाँ सस्तो पर्ने गरेको छ । त्यसैले बजारमा परम्परागत रुपमा चुदारोको प्रयोग गरेर बनाइएको ठेकीको माग राम्रो रहेको छ ।

    ठेकी निर्माण प्रक्रिया निकै रोचक र मेहनतपूर्ण छ । नजिकैको खोलाबाट ल्याइएको पानीलाई करिब पाँच मिटर माथिबाट झारेर साचो घुमाइन्छ । त्यसपछि सो साचोमा काठ राखेर चुदारोको सहायताले काँचो काठलाई बिस्तारै आकार दिइन्छ । यसरी तयार गरिने ठेकीमा कालिगढको सीप र कलात्मकता स्पष्ट देखिन्छ । ठेकी बनाउन मुख्यतः दार र कटहरका रूखको काठ प्रयोग गर्दा उपयुक्त मानिन्छ । दार र कटहरका काठबाट बनाइएको ठेकी दूध जमाउँदा दही र मोही मीठो हुन्छ भन्ने मान्यता रहेको छ । तर, पछिल्लो समय काठ र चुदारोको अभावका कारण यो परम्परा हराउँदै जाने चिन्ता बढ्दो छ ।

    महालक्ष्मी –४ का वडाध्यक्ष शुक्रराज बूढाथोकीका अनुसार, गाउँमा बिजुली पुगे पनि ठेकी निर्माणमा पुरानै विधि अपनाइँदै आएको छ । पानी र चुदारोको प्रयोग गरेर ठेकी मात्र नभई कुटानी–पिसानीको मिलसमेत सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार गाउँमा केही समयअघि विद्युत्बाट चल्ने ठेकी बनाउने मेसिन आएको भए पनि दीर्घकालीन सञ्चालन हुन सकेन । बूढाथोकीले पानी र चुदारोको प्रयोगबाट उत्पादन हुने सामग्री सस्तो पर्ने मात्र होइन, वातावरणमैत्री र दिगो पनि हुने बताउनुभयो ।

    यसले स्थानीय सीप, परम्परा र पहिचानलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । बूढाथोकीले परम्परागत सीपलाई आधुनिक प्रविधिसँग समन्वय गर्दै संरक्षण र प्रवर्द्धन गर्न नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ यस्ता परम्परागत सीपले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै सांस्कृतिक सम्पदाको जगेर्ना गर्न अझ योगदान पु¥याएको । ”

  • आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

    आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

    काठमाडौँ, २२ असोजः नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तरराष्ट्रिय मान्यता पाउने आशामा पनि छ ।

    त्यसका लागि आइसिसीले माग गरेका आवश्यक कागजातसमेत क्यानले पठाइसकेको छ । अब क्यान आइसिसीको औपचारिक निर्णयको पर्खाइमा रहेको सचिव पारस खड्काले जानकारी दिनुभयो । “राम्रो खेलाडी ल्याउन टोलीहरू कोसिस गरिरहनुभएको छ । तर, अहिले खेलाडीलाई कन्ट्याक्ट गरेर राखेका अवस्थामा अफिसियली स्याङ्कसन (आइसिसी मान्यता) आएपछि मात्रै उहाँहरूलाई अनाउन्समेन्ट गर्ने कुरा आउँछ’’, खड्काले रासससँग भन्नुभयो, “धेरैजसो टिम यही प्रतीक्षामा हुनुहुन्छ । आशा गरौँ, चाँडोभन्दा चाँडो सकारात्मक खबर आओस् ।”

    आइसिसीको स्वीकृति आएपछि एनपिएलका टोलीलाई थप स्तरीय विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुने उहाँको भनाइ छ । त्यसले प्रतियोगिताको स्तरसँगै नेपाली क्रिकेटको अन्तरराष्ट्रिय चर्चा बढाउन सहयोग पुग्ने खड्काले बताउनुभयो ।

    आइसिसीबाट मान्यता प्राप्त भएमा एनपिएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुनेछ । त्यसैले क्यानसँगै एनपिएलका टोलीसमेत आइसिसीको निर्णयको प्रतीक्षामा छन् । निर्णयमा ढिलाइ हुँदा विदेशी खेलाडीको अन्तिम टुङ्गो लगाउन केही समस्या भइरहेको टोलीको भनाइ छ ।

    एनपिएल टोली जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडा पनि आइसिसीको निर्णयको पर्खाइमा हुनुहुन्छ । उहाँले आइसिसीबाट छिट्टै सकारात्मक निर्णय आउने अपेक्षा व्यक्त गर्नुभयो ।

    “आशा छ आइसिसीले छिटो एनपिएललाई अन्तरराष्ट्रिय मान्यता दिनेछ । त्यसोहुँदा हामीले आवश्यकपर्ने थप विदेशी स्टारलाई भित्र्याउन सहज हुनेछ”, खतिवडाले भन्नुभयो । यसपटक एनपिएलमा डेविड वार्नर, मोइन अली, सिकन्दर राजा, इफ्तिखार अहमदलगायत अन्तरराष्ट्रियस्तरका चर्चित खेलाडी जोडिँदै छन् । ठूला विदेशी खेलाडीको सहभागिताले एनपिएलको चर्चा नेपालमा मात्र नभई अन्तरराष्ट्रियस्तरमा समेत बढ्ने क्यानको अपेक्षा छ ।

    क्यानका सचिव खड्काले एनपिएललाई खेलकुदसँगै पर्यटन प्रवर्द्धनका माध्यमका रूपमासमेत विकास गर्न सकिने बताउनुभयो । यसअघि एनपिएलमा सहभागी हुन आएका विदेशी खेलाडी, अम्पायर तथा कमेन्टेटरले नेपालबारे सकारात्मक अनुभव लिएर फर्किएका थिए । “इन्टरनेसनल खेलाडी लगभग ५५–६० जना, अम्पायरहरू, कमेन्टेटरहरू गर्दा ६०–७० जना विभिन्न देशका नागरिक यसअघि पनि आएर एकदमै प्लेजेन्ट मेमोरिज लिएर फर्किनुभएको छ”, सचिव खड्काले भन्नुभयो ।

    विदेशी खेलाडीको नेपाल आगमनले खेल पर्यटनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । अन्तरराष्ट्रियस्तरका खेलाडीले नेपालबारे सकारात्मक धारणा व्यक्त गर्दा त्यसको प्रभाव विदेशी पर्यटकमासमेत पर्नसक्ने सचिव खड्काले बताउनुभयो ।

    “स्पोट्र्स टुरिजमको जुन एउटा कन्सेप्ट छ, त्यसलाई नेपाल प्रिमियर लिग र नेपाल क्रिकेटले सुरुदेखि नै प्रवर्द्धन गरिरहेकै छ”, उहाँले भन्नुभयो, “विश्वस्तरीय खेलाडी जब आउनुहुन्छ, उहाँहरूले नेपालका बारेमा अन्तरराष्ट्रिय कम्युनिटीमा चर्चा गर्नुहुनेछ । त्यसले देशको अर्थतन्त्र र पर्यटनमा सहयोग गर्छ ।” सचिव खड्काले एनपिएलमार्फत नेपाल सुरक्षित रहेको सन्देश अन्तरराष्ट्रिय समुदायमा दिन सकिने पनि बताउनुभयो । विभिन्न चुनौतीपछि पनि नेपाल अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम रहेको सन्देश एनपिएलले दिने उहाँको भनाइ छ ।

    “इन्टरनासेनल प्लेयर्सहरू आएर नेपाल इज सेफ, नेपाल इज सेक्युर भन्ने मेसेज हामी दिन सक्छौँ”, खड्काले रासससँग भन्नुभयो, “नेपाल फेरि तयार भयो र हामी अगाडि बढ्नेछौँ भन्ने सन्देश पनि यो प्रतियोगिताबाट दिने प्रयास गर्नेछौँ ।”

    एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमा सुरु हुँदैछ । प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ । एनपिएल–३ मा पनि आठ वटा टोलीबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ । लिगको उद्घाटन खेलमा कात्तिक ९ गते गत संस्करण विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुने तालिका छ ।

  • कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

    कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

    काठमाडौँ, २२ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतदान कार्यक्रम सरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज बिहान १० बजेदेखि हुने भनिएको मतदानको कार्यक्रम दिउँसो १ः०० बजेसम्मका लागि सारिएको जानकारी दिए । उनले मतदानको प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले मतदानको समय सारिएको जानकारी दिए ।


    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली बुधबार राति प्रकाशन गरिएको छ । मतदानका लागि बागमती प्रदेशका मतदाताका लागि राष्ट्रिय सभा गृहमा व्यवस्था गरिएको छ । यस्तै, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश र नेपाली जनसम्पर्क समितिका लागि खुल्लामञ्चमा व्यवस्था गरिएको छ ।

    कोशी र मधेस प्रदेशका लागि खुल्लामञ्चस्थित (तराई मधेस हल), गण्डकीका लागि (हिमाली) हल र कर्णाली, सुदूरपश्चिम र नेपाली जनसम्पर्क समितिका लागि (पहाड) हलमा मतदानको व्यवस्था गरिएको सदस्य सचिव कटुवालले बताए । मतदानस्थलमा मोबाइललगायत निर्वाचन आचारसंहिताले निषेध गरेका कुरा लैजान नपाइने निर्वाचन समितिले जनाएको छ ।

  • बलिउड अभिनेता नाना पाटेकरको निधन

    बलिउड अभिनेता नाना पाटेकरको निधन

    पणजी (भारत), २२ असोज (रासस–एएनआई) । हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन् । मणिपाल अस्पतालको ओन्कोलोजी विभागका प्रमुख डा शेखर साल्करका अनुसार बिहान निवासमा अस्वस्थ भएपछि पाटेकरलाई अस्पताल ल्याइएको थियो । अस्पताल पुर्‍याउँदा उनको अवस्था गम्भीर भइसकेको थियो । चिकित्सकको टोलीले करिब ४५ मिनेटदेखि एक घण्टासम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरे पनि बचाउन नसकिएको डा साल्करले बताए ।


    उनका अनुसार पाटेकरले बिहान करिब २ः३० बजे आफूलाई असहज भइरहेको भन्दै एक साथीलाई सन्देश पठाएका थिए । रातको समय भएकाले साथीले तत्काल सन्देश देखेनन् । त्यसपछि उनले पाटेकरलाई फोन गरे र बिहान करिब ४ बजे उनको निवासमा पुगे । त्यतिबेला पाटेकरलाई अत्यधिक पसिना आएको र उनी बिस्तारै बेहोस हुँदै गएका थिए ।


    अस्पतालको आपत्कालीन टोलीले निवासमै पुगेर उनलाई सिपिआर दिएको थियो । त्यसपछि बिहान करिब ४ः२० देखि ४ः३० बजेको बीचमा अस्पताल ल्याइएको थियो । “उहाँ पूर्ण रूपमा अनुत्तरदायी अवस्थामा हुनुहुन्थ्यो । अस्पताल ल्याएपछि पनि हामीले सक्दो प्रयास गर्‍यौँ, तर उहाँलाई मृत अवस्थामा ल्याइएको थियो”, डा साल्करले भने ।


    पाटेकरको निधनपछि मेडिको–कानूनी प्रक्रिया अघि बढाइएको र शव पोस्टमार्टमका लागि गोवा मेडिकल कलेजमा लगिएको चिकित्सकले बता्रए । उनका परिवारका सदस्य त्यतिबेला उपस्थित नभए पनि साथी र हेरचाहकर्ता भने साथमा रहेको जनाइएको छ । पाटेकरले सन् १९७८ मा ‘गमन’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए ।

    उनले ‘परिन्दा’, ‘प्रहार’, ‘क्रान्तिवीर’, ‘तिरङ्गा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । पछिल्ला वर्षमा पनि उनी चलचित्र क्षेत्रमा सक्रिय थिए । ‘हाउसफुल ५’, विशाल भारद्वाजको ‘ओ’ रोमियो’ तथा ‘सुबेदार’ मा अभिनय गरेका थिए ।