Category: फिचर

  • बाढीपीडितको सहयोगार्थ यूएईमा महिला भलिबल प्रतियोगिता

    बाढीपीडितको सहयोगार्थ यूएईमा महिला भलिबल प्रतियोगिता

    यूएई । नेपालको भोटेकोशीमा आएको बाढीबाट पीडित परिवार तथा समुदायको सहयोगार्थ यूएईमा सेप्टेम्बर १८ मा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता दुबईस्थित अलबर्षाको अल क्विेम स्कुलको खेलमैदानमा भएको थियो ।
    प्रतियोगिताको विजेताको उपाधि एंगेल्स् टच समूहले पाएको छ भने उपविजेता दुबई मिक्सर र दोस्रो उपविजेता टिम भीएसले प्राप्त गरेको छ ।

    भलिबल खेलाडीहरु मुन बम्जन, निशान शाह र सरिता राईको आयोजनामा सम्पन्न प्रतियोगितामा यूएईमा रहेका विभिन्न देशका खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा ११ वटा महिला भलिबल टोलीले सहभागिता जनाएका थिए ।
    नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग पु¥याउने उद्देश्यले प्रतियोगितामार्फत सहयोग संकलन गरिएको आयोजकले जनाएको छ ।

    खेलाडी, समर्थक, स्वयंसेवक तथा नेपाली समुदायका सदस्यले अभियानमा साथ दिएका थिए । प्रतियोगितामा संकलन भएको रकम ४२०० दिहराम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको थियो ।


    खेलकुदको माध्यमबाट विभिन्न पृष्ठभूमिका मानिसलाई एकजुट गर्दै नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । आयोजकहरुले प्रतियोगितामा सहभागी सबै ११ टोली, खेलाडी, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
    ‘नेपालबाट टाढा रहे पनि हाम्रो मन मातृभूमिमै छ ।

    भलिबलमार्फत मानिसलाई एकजुट गर्दै बाढीपीडितलाई सहयोग गर्ने हाम्रो उद्देश्य हो’, आयोजकले भने । प्रतियोगिताले यूएईमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायबीचको सहकार्य र मानवीय भावनालाई समेत उजागर गरेको आयोजकको भनाइ छ ।

  • प्रवास नेपाली सम्पर्क विभाग यूएईको श्रद्धाञ्जली सभा

    प्रवास नेपाली सम्पर्क विभाग यूएईको श्रद्धाञ्जली सभा

    यूएई । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउने नागरिकको सम्झनामा प्रवास नेपाली सम्पर्क विभाग यूएईले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।


    विभागका प्रमुख सुजन थापाको सभापतित्वमा गत १३ सेप्टेम्बरमा बरदुबईको क्लब एभरेष्टमा उक्त सभा आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली महावाणिज्यदूतावास दुबईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागार्इं रहेका थिए । सभामा यूएईमा क्रियाशील विभिन्न वैचारिक संस्थाका प्रमुखहरु, नेपाली समाज, एनआरएन लगायतका सामाजिक संस्थाका प्रतिनितिहरुको उपस्थिति रहेको थियो ।


    सभामा भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाउनेहरुको सम्झनामा मौन धारण, दीप प्रज्ज्वलन गरिएको थियो । साथै कार्यक्रमका वक्ताहरुले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै बेपत्ताहरुको छिटो खोजीकार्य होस् र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ होस् भन्ने कामना गरेका थिए ।

  • गोर्खाली राइनोजलाई जीसीडी नेपाली प्रिमियर लिगको उपाधि

    गोर्खाली राइनोजलाई जीसीडी नेपाली प्रिमियर लिगको उपाधि

    यूएई । संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा सम्पन्न पहिलो ‘जीसीडी नेपाली क्रिकेट प्रिमियर लिगको उपाधि जीसीडी गोर्खाली राइनोजले जितेको छ ।
    भदौ २० देखि शुरु भएको प्रतियोगितामा काडोस एनसीसी हार्ड हिटर्स, एभरेस्ट वारियर्स अबुधाबी क्रिकेट क्लब, जीसीडी गोर्खाली राइनोज क्रिकेट क्लब र ग्रेस इन्टरनेशनल नेपाल टाइटन्स सहभागी थिए । प्रतियोगितामा जम्माजम्मी ७ खेल भएका थिए ।


    प्रतियोगिताको उत्कृष्ट बलर काडोस एनसीसी हार्ड हिटर्सका समिर सिंजापतिले प्राप्त गरेका थिए । उनले ४ खेलमा ८ विकेट लिएका थिए । त्यसैगरी उत्कृष्ट फिल्डर काडोस एनसीसी हार्ड हिटर्सका रोहित शर्माले प्राप्त गरे भने उत्कृष्ट ब्याटरको उपाधि काडोस एनसीसी हार्ड हिटर्सकै राजाराम सुवेदीले प्राप्त गरे । उनले ४ खेलमा १७५ रन बनाएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी जीसीडी गोर्खाली राइनोज क्रिकेट क्लबका मोसिन मत्तोले प्राप्त गरेका थिए उनले ३ खेलमा १२७ रन र ७ विकेट लिएका थिए ।


    शारजाहस्थित अल फरहान क्रिकेट मैदानमा भएको फाइनलमा काडोस एनसीसी हार्ड हिटर्सलाई हराउँदै जीसीडी गोर्खाली राइनोजले उपाधि जितेको हो । २६ सेप्टेम्बरमा भएको फाइनल खेलपश्चात् भव्य समारोहका बीच पुरस्कार वितरण गरिएको थियो ।


    उक्त कार्यक्रममा नेपाली महावाणिज्यदूतावास दुबईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईंको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको विजेतालाई ५ हजार दिराम र उपविजेतालाई २ हजार दिराम पुरस्कार, ट्रफी र मेडल वितरण गरिएको थियो । समापन कार्यक्रममा नेपाली पञ्चेबाजा, नेपाली भजन र विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो ।

  • भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

    भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

    भोजपुर, २४ असोजः भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर आसपासको क्षेत्र फेरिँदै गएको छ । उपयुक्त पूर्वाधार विकाससँगै स्थानीय क्षेत्र पर्यटकीय तथा व्यापारिक केन्द्रका रूपमा रूपान्तरण हुन थालेको हो । स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न सरोकार भएका निकायको सक्रियतामा सञ्चालित विकास निर्माणका योजनाहरू सम्पन्न हुने क्रमसँगै च्याङ्ग्रेको स्वरूप फेरिएको स्थानीय बताउँछन् ।

    विशेष गरी बजारको मुख्य भागमा अवस्थित ऐतिहासिक ‘च्याङ्ग्रे पोखरी’ को व्यवस्थित पुनःनिर्माण र सौन्दर्यीकरण गरिएको छ । पोखरीको चारैतिर पक्की पर्खाल तथा सुरक्षा घेराबारा लगाइएको छ भने किनारै(किनार पर्यटक तथा स्थानीयवासीका लागि पैदलमार्ग (वाकिङ ट्रयाक) निर्माण गरिएको छ ।

    पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले पोखरीमा अहिले जलविहारका लागि पानी बोटसमेत सञ्चालनमा ल्याइएको जानकारी दिए । पोखरीको मनमोहक दृश्यले बजारमा आउने जोकोहीलाई लोभ्याउने गरेको छ भने साँझपख टहलिनका लागि यो क्षेत्र प्रमुख गन्तव्य बनेको उनको भनाइ छ । साथै पर्यटनलाई लक्षित गरी नजिकै झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटक तथा स्थानीयवासी सो पुलमा पुगेर बजार क्षेत्रको मनोरम दृश्य अवलोकन गर्नुका साथै तस्विर तथा श्रव्यदृश्य सामग्री खिच्ने, रमाउने गरेका छन् ।

    गाउँपालिका केन्द्रसमेत रहेकाले च्याङ्ग्रे क्षेत्रको योजनाबद्ध विकासमा विशेष जोड दिइएको अध्यक्ष राईले बताए । बजार क्षेत्रको सौन्दर्यीकरण र व्यवस्थित सहरीकरणका लागि च्याङग्रे पोखरीको संरक्षणका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गरेको उनले विश्वास व्यक्त गरे । साथै, पोखरीको पौराणिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै पोखरी किनारमा ‘पञ्चकन्या मन्दिर’ निर्माण भइरहेको उनले जानकारी दिए ।


    “हामी च्याङग्रे बजार क्षेत्रको योजनाबद्ध विकास गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “यहाँका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धनसँगै यस क्षेत्रमा सकारात्मक परिवर्तन आएको छ । आगामी दिनमा पनि दीर्घकालीन र योजनाबद्ध विकासका कामलाई निरन्तरता दिनेछौँ ।” बजार प्रवेशको शून्य विन्दु तिवारीभञ्याङबाट च्याङ्ग्रे बजारसम्मको सडक कालोपत्रेसँगै बजार क्षेत्रमा ढल र नाली व्यवस्थापन गरिएसँगै ‘च्याङ्ग्रे’ व्यवस्थित बजार बन्दै गएको स्थानीय बालिका खत्रीले बताए । स्थानीय सरकार स्थापना भएपछि बजार क्षेत्रको विकासले गतिलिएको उनको भनाइ छ ।

    यहाँका विद्यालय क्षेत्रको विकास तथा गाउँपालिकाको प्रशासनिक भवन निर्माणलगायत संरचनागत विकासले च्याङ्ग्रेलाई परम्परागत ग्रामीण बजारबाट आधुनिक सहरोन्मुख क्षेत्रका रूपमा स्थापित गर्दै लगेको छ । खेल क्षेत्रको विकास लागि बजार क्षेत्रमा पौवादुङमा रङ्गशाला निर्माण भइरहेको छ ।

    पूर्वाधारमा भएको यस ऐतिहासिक सुधारले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने स्थानीयवासीको भनाइ छ । पर्यटकीय पूर्वाधारहरू तयार भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको स्थानीय बताउँछन् । यसले स्थानीय व्यापार, होटल व्यवसाय तथा कृषि उपजको बजारीकरणमा सहजता भएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।

  • भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

    भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

    नयाँदिल्ली, २४ असोज (रासस–एएफपी) । मतदाता नामावली संशोधनमा अनियमितता भएको आरोप लगाउँदै भारतको निर्वाचन प्रमुख ज्ञानेश कुमारको राजीनामा मागेर शनिबार राजधानी नयाँदिल्लीमा प्रदर्शनको तयारी गरिएको छ । प्रदर्शनलाई ध्यानमा राख्दै राजधानीमा ठूलो संख्यामा प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ ।


    युवा नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आह्वान गरेको प्रदर्शन निर्वाचन आयोगमाथि लागेको अनियमितताको आरोपपछि सुरु भएको आन्दोलनको निरन्तरता हो । भारतको निर्वाचन आयोगले भने आरोप अस्वीकार गर्दै मतदाता नामावलीको विशेष पुनरावलोकन दोहोरो नाम हटाउन र अयोग्य मतदातालाई सूचीबाट बाहिर राख्न गरिएको जनाएको छ । विपक्षी दल तथा आलोचकहरूले भने यस प्रक्रियाले वास्तविक मतदाताहरू मतदानको अधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई फाइदा पुग्न सक्ने आशंका व्यक्त गरेका छन् ।

    प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका दर्जनौँ मेट्रो स्टेसन बन्द गर्ने आदेश दिइएको छ भने केही रेल सेवा पनि रद्द गरिएका छन् । भारतको सर्वोच्च अदालतले भने सबै मेट्रो स्टेसन एकैपटक बन्द नगर्न र केही रेल सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ । सीजेपीले देशभर कम्तीमा १० हजार समर्थकलाई नियन्त्रणमा लिइएको आरोप लगाएको छ । प्रहरीले यस आरोपबारे विस्तृत प्रतिक्रिया दिएको छैन ।

    सन् २०२५ मा सुरु भएको मतदाता नामावली पुनरावलोकनका क्रममा प्रारम्भिक सूचीबाट १३ करोड ३० लाखभन्दा बढी नाम हटाइएको बताइएको छ । यस घटनाले भारतमा निर्वाचन प्रक्रियाको पारदर्शिता र मतदान अधिकारसम्बन्धी बहसलाई थप चर्काएको छ ।

  • भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ

    भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ

    नयाँदिल्ली, २४ असोज (रासस–एएफपी) । भारतको निर्वाचन आयोगविरुद्ध आह्वान गरिएको ठूलो विरोध प्रदर्शनअघि शनिबार व्यङ्ग्यात्मक अनलाइन अभियान ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का प्रमुखसहित तीन नेतालाई प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको छ । युवाहरूको नेतृत्वमा रहेको सीजेपीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, प्रदर्शनमा सहभागी हुन नयाँदिल्ली पुगेका अभिजित दिपकेसहित तीन नेतालाई विमानबाट ओर्लिनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो ।

    भारतीय निर्वाचन आयोग (ईसीआई)ले देशभर मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले केही सातादेखि सञ्चालन गर्दै आएको अभियानको निरन्तरताका रूपमा यी प्रदर्शन हुन लागेका हुन् । विपक्षी दल र आलोचकहरूले मतदाता नामावली पुनरावलोकनका कारण लाखौँ मतदाता मताधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी ९भाजपा० लाई फाइदा पुग्न सक्ने आरोप लगाएका छन् ।

    तर, निर्वाचन आयोगले भने ‘विशेष सघन पुनरावलोकन’ प्रक्रियामा अनियमितता भएको आरोप अस्वीकार गर्दै दोहोरो नाम भएका तथा अयोग्य मतदाताको नाम हटाउनु यसको मुख्य उद्देश्य रहेको बताएको छ । विपक्षी आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले विज्ञप्ति जारी गर्दै सरकारको कदमको आलोचना गरेका छन् ।


    “यो आधिकारिक भयो.. हामी मोदीको पूर्ण तानाशाही शासनमा बाँचिरहेका छौँ,” केजरीवालले भने । विमानबाट ओर्लिनेबित्तिकै आन्दोलनकारीलाई पक्राउ गरिनुले सरकारमा अभूतपूर्व स्तरको डर रहेको देखाएको उनको भनाइ थियो ।

    प्रदर्शनकारीलाई राजधानीको मध्य भागमा रहेको मुख्य प्रदर्शनस्थलसम्म पुग्न नदिन शुक्रबारदेखि नै दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसका लागि हजारौँ प्रहरी र अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । अधिकारीहरूले दर्जनौँ मेट्रो स्टेसन बन्द गर्नुका साथै दिल्ली आउने विभिन्न रेल सेवा रद्द गरेका छन् । प्रदर्शनस्थल आसपासका क्षेत्रमा अस्थायी रूपमा मोबाइल इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।

    शनिबार प्रसारित टेलिभिजन दृश्यहरूमा प्रहरीले मध्य दिल्लीका विभिन्न क्षेत्रमा प्रदर्शनकारीलाई लखेट्दै र उनीहरूलाई सवारीसाधनमा राख्दै गरेको देखिएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार, हालसम्म २०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । यी प्रदर्शनलाई गत जुलाईमा सीजेपीले गरेको व्यापक जनपरिचालनको निरन्तरताका रूपमा हेरिएको छ । उक्त आन्दोलन परीक्षासम्बन्धी विवादपछि चर्किएको थियो र त्यसले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य पारेको थियो । यसपटक आन्दोलनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

  • अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

    अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

    काठमाडौँ, २४ असोजः अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमण्डु गोर्खाजबाट खेल्ने भएका छन् । काठमण्डुले सामाजिक सञ्जालमार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो । बोसिस्टोले एनपिएलको अघिल्ला दुई संस्करणमा कर्णाली याक्सबाट खेलेका थिए । तेस्रो संस्करणमा भने उनी नयाँ टोलीबाट मैदान उत्रनेछन् । काठमाण्डुले यसअघि अष्ट्रेलियाका अनुभवी ब्याटर डेविड वार्नर, श्रीलङ्काका सहान अराचिङ्गे र भारतका केएस भरतलाई पनि टोलीमा समेटिसकेको छ ।

    तेत्तिस वर्षीय बोसिस्टो ब्याटिङसँगै अफब्रेक बलिङ गर्ने क्षमता भएका खेलाडी हुन् । उनले अष्ट्रेलियाको उमेर समूहको क्रिकेटमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २०१२ मा अस्ट्रेलियाको यु–१९ टोलीको कप्तानी गरेका उनले सोही वर्षको यु–१९ विश्वकप खेलेका थिए । बोसिस्टोले अस्ट्रेलियाको घरेलु क्रिकेटमा फस्र्ट क्लास, लिस्ट ‘ए’ र टी–२० प्रतियोगिता खेलेका छन् । उनले फस्र्ट क्लास क्रिकेटका २८ खेलमा एक हजार १०० भन्दाबढी रन बनाउनुका साथै अफब्रेक बलिङबाट १७ विकेट लिएका छन् ।

  • मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनः सुरु

    मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनः सुरु

    म्याग्दी, २४ असोजः मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनःआधार शिविर पुगेका हुन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीको भूगोलमा पर्छ ।

    डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटरमाथि पुगेको सेभेन समिट टे«कका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले बताए । “हाम्रो कम्पनीका नेपाली र विदेशी १४ जनालाई प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट उद्धार गरेर असोज ८ गते पोखरा ल्याएका थियौँ”, उनले भने, “मौसम सुधार भएपछि अक्टोबर १ मा पोखराबाट हिँडेको टोली आधार शिविरबाट चुचुरोतर्फ अघि बढेको छ ।”

    असोज ८ देखि ११ गतेसम्म अविरल वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहीको टोली आरोहण स्थगित गरी फर्किएको थियो । मौसममा सुधार आएसँगै आधार शिविरमा खटिएको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेपछि पुनःआरोहण सुरु गरेको टोली प्रमुख लाक्पा शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।


    “हाल हिउँ जमेर कडा र स्थिर अवस्थामा रहेकाले हिँडडुल गर्न अनुकूल छ”, उनले भने, “भारी हिमपातपछि अस्थिर हिउँको ठूलो हिस्सा हटेकाले हिमपहिरोको जोखिम पनि अहिले तुलनात्मक रूपमा कम छ ।” शरदयाममा धवलागिरि हिमाल आरोहणका लागि चार समूहका २६ पुरुष र १० महिला गरी ३६ जनाले अनुमति लिएका पर्यटन विभागका शाखा अधिकृत सुधार रेग्मीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    धौलागिरि आरोहण अनुमतिवापत रु ८२ लाख ४२ हजार ५० दस्तुर सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । पर्वतारोहीहरूको समन्वय गर्दै आउनुभएका म्याग्दीको दानाका ब्यवसायी इन्द्रसिंह शेरचनले अन्य कम्पनीका पर्वतारोहीको टोली पनि धौलागिरिको आधार शिविर पुगिसकेको बताए । गत वसन्तयाममा धौलागिरि आरोहणका लागि दुई समूहका आठ महिलासहित १७ जनाले अनुमति लिएका थिए भने । छिनछिनमै परिवर्तन भइरहने मौसम धवलागिरि आरोहणको प्रमुख चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहण बढी जोखिमपूर्ण, कठिन र साहसिक मानिन्छ ।

    सन् १९६० मे १३ मा म्याक्स आइसेलिनको नेतृत्वमा रहेको स्वीस(अस्ट्रियाली संयुक्त आरोहण दलले धौलागिरि हिमालको शिखरमा पहिलोपटक पाइला राखेपछि यहाँ आरोहण सुरु भएको थियो । आरोहण सुरु भएको ६६ वर्षको अवधिमा ७३३ जना पर्वतारोही धौलागिरि शिखरमा पुगिसकेको विवरण छ । धवलागिरिमा हिमाल आरोहणका साथै पर्यटकहरू ‘राउन्ड धवलागिरि’ पदयात्राका लागि पनि जाने गर्छन् । बगर, सल्लाघारी, इटाली आधार शिविर, जापानी आधार शिविर, धवलागिरि आधार शिविर, हिटिनी भ्याली आधार शिविर र याकखर्क हुँदै मुस्ताङको मार्फामा पुगेर नौ दिनमा टुङ्गिन्छ ।

  • सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    काठमाडौँ, २४ असोजः सोह्र श्राद्धको अन्तिम दिन आज काठमाडौँको पशुपतिनाथ मन्दिरस्थित वाग्मती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छ । पितृपक्षको अन्तिम दिन आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गर्न बिहानैदेखि पशुपति क्षेत्रमा श्रद्धालुको बाक्लो उपस्थिति देखिएको थियो । हिन्दू धार्मिक परम्पराअनुसार सोह्र श्राद्धका अवसरमा दिवङ्गत पितृको सम्झना, सम्मान तथा आत्माको शान्तिको कामना गर्दै श्राद्ध, तर्पण र पिण्डदान गर्ने प्रचलन छ । पितृको तिथिअनुसार श्राद्ध गर्नुपर्ने धार्मिक मान्यताका कारण पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको चहलपहल थियो ।

    पशुपति क्षेत्रमा लामो समयदेखि श्राद्धलगायत धार्मिक कर्मकाण्ड गराउँदै आउनुभएका पण्डित दीर्घराज रेग्मीले बिहानैदेखि भक्तजन धार्मिक विधिअनुसार तर्पण तथा पिण्डदान गर्न आइरहेको जानकारी दिए । उनले सोह्र श्राद्ध पितृको सम्झना र सम्मानमा गरिने धार्मिक परम्परा भएकाले श्रद्धालुहरू अन्तिम दिन पनि विधिपूर्वक श्राद्ध तथा पिण्डदानमा सहभागी भइरहेको बताए ।


    त्यस्तै, अर्का पण्डित नन्दराम लुइँटेलले श्राद्ध दिवङ्गत पितृप्रति श्रद्धा र सम्मान प्रकट गर्ने धार्मिक कर्म भएको बताए । उनका अनुसार सोह्र श्राद्धका अवसरमा पितृको आत्माको शान्तिको कामना गर्दै श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने गरिन्छ । सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको आवागमन बढेको छ । विशेषगरी बागमती नदी किनारमा दिवङ्गत आफन्तको सम्झनामा धार्मिक विधिअनुसार कर्मकाण्ड गर्ने भक्तजनको बाक्लो उपस्थिति रहने गरेको छ । श्रद्धालुको चाप बढेसँगै पशुपति क्षेत्रमा श्राद्ध, तर्पण तथा पिण्डदानलगायत धार्मिक कर्मकाण्ड गराउने पण्डितलाई भ्याइनभ्याई भएको छ ।

  • विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

    विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

    अच्युत रेग्मी–रासस
    काठमाडौँ, २४ असोजः नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको शुक्रबार भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा सभापतिका उम्मेदवार थापाले छ हजार ५८४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।


    निर्वाचनमा सभापति थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ मत खसेकामा ५४ मत बदर भएको थियो । विसं २०४६ को जनआन्दोलनका क्रममा कक्षा ९ मा पढ्दै गर्दा आन्दोलनमा सहभागी हुनुभएका थापा झण्डै चार दशकपछि कांग्रेसको नेतृत्वमा पुगेका हुन् ।


    नवनिर्वाचित सभापति थापाले २०४६ सालमा बालकांग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए । विसं २०४८ मा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) काठमाडौँ वडा नं ३३ को सचिव बनेका उनी २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, २०५३ सालमा सचिव र २०५५ सालमा सभापति निर्वाचित भएका थिए ।


    विंस २०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बन्नुभएका थापा २०५७ सालमा नेविसङ्घको केन्द्रीय उपाध्यक्ष र २०५९ सालमा महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्‍याएका थिए । विसं २०६१ मा राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्व गरेका थापामाथि राजद्रोहको मुद्दासमेत लागेको थियो ।

    अन्तरराष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले उनलाई ‘आस्थाको बन्दी’ घोषणा गरेको थियो । २०६२र६३ सालको जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि राष्ट्रिय राजनीतिमा थप चर्चित बनेका थिए । विंस २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् बन्नुभएका थापा संविधान निर्माण, मौलिक हक, बालअधिकार, नागरिकता र ऊर्जा सुरक्षालगायत विषयमा सक्रिय रहेका थिए ।

    विसं २०७० मा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्‍याएका थिए । विसं २०७१ मा कृषि तथा जलस्रोत समितिको सभापति बनेर कृषि, ऊर्जा र जलस्रोतसम्बन्धी नीतिगत बहसमा भूमिका खेलेका थिए ।


    विंस २०७३ मा स्वास्थ्यमन्त्री बन्नुभएका थापाले आफ्नो नौ महिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बिमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिएका थिए । २०७४ र २०७९ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसदमा उठाउँदै आएका थिए ।


    विंस २०७८ मा भएको कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र सङ्गठन सुधारको पक्षमा काम गर्दै आउनुभएको थियो । विसं २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता अगाडि बढाउनुपर्ने भन्दै पार्टीका अर्को महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गरेका थापा विशेष महाधिवेशनपछि पार्टी सभापति सर्वसम्मत निर्वाचित भएका हुन् ।


    विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व लिनुभएका सभापति थापाले नौ महिनापछि पार्टीको १५औँ महाधिवेशन गरेर पुनः सभापति पदमा निर्वाचित भएका हुन् । राजनीतिसँगै अध्यापन, सञ्चार र सामाजिक अभियानमा समेत संलग्न उनले विद्यार्थी जीवनदेखि नै शिक्षा र सार्वजनिक सेवामा सुधारको वकालत गर्दै आएका छन् ।


    थापाले युवालाई स्वदेशमै अवसर, सार्वजनिक शिक्षामा लगानी, स्वास्थ्य सेवामा समान पहुँच र सुशासनलाई उनले आफ्नो राजनीतिक यात्राका प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएका छन् । विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्मको उहाँको यात्रा नेपाली कांग्रेसको भावी दिशा, सङ्गठन सुधार र नयाँ पुस्ताको राजनीतिक सहभागितासँग जोडेर हेरिँदै आइएको छ ।

  • जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

    जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

    घोराही (दाङ), २४ असोजः जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका १ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए । उनका अनुसार गढवा वनघुस्री निवासी ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि बिरामी परेका थिए ।

    तीनै जनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो । सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराति चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए । आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

  • नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

    नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

    नारायणगढ (चितवन), २४ असोजः यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका १ नारायणगढस्थित नारायणी किनारको चौर बगरमा परिणत हुँदा यहाँ समुद्री किनारको स्वरूपमा निर्माण गरिएको ‘सी बिच’ ढाँचाको तटबन्ध भने सुरक्षित रहेको छ । नदीको बाढी किनार हुँदै सडकसम्म आइपुग्दा पनि तटबन्धमा ठूलो क्षति पुगेको छैन ।

    सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नारायणी पुलको उत्तरतर्फ ६४० मिटर लामो उक्त तटबन्ध विसं २०७९ पुस ५ गते निर्माण सुरु गरी विसं २०८० जेठ १९ गते सम्पन्न गरिएको थियो । उहाँका अनुसार नारायणी नदी किनारको चौरलाई कायम राख्दै नदी कटान रोक्ने र किनारलाई आकर्षक बनाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको थियो ।

    तटबन्ध निर्माण गरिएको क्षेत्र सुरक्षित रहे पनि माथिल्लो चौरमा बाढीले बालुवा र ढुङ्गा थुपारेर बगरमा परिणत गरेको इन्जिनियर पौडेलले बताए । “बगर बनेपछि उक्त क्षेत्रमा जानसमेत कठिन भएको छ । यद्यपि तटबन्धको माथिल्लो भागमा रहेको करिडोरमा अहिले पनि मानिसहरू टहलिने र ठेलामा व्यापार गर्नेहरूको चहलपहल देखिन्छ”, उनले भने ।


    सूचना अधिकारी पौडेलले नारायणी नदीको धारलाई हाल कायम रहेको दिशामा नियन्त्रण तथा स्थिर राख्न तटबन्धले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनका अनुसार तटबन्धका कारण नदीको बहाव परिवर्तन भई नारायणगढ बजारतर्फ केन्द्रित हुनबाट रोकिएको छ । यसले नारायणगढ बजार तथा आसपासका बस्ती, भौतिक संरचना र जग्गालाई नदी कटान तथा बाढीजन्य जोखिमबाट संरक्षण गर्न योगदान पुर्‍याएको छ ।

    इन्जिनियर पौडेलले भने, “सी बिच ढाँचाको तटबन्ध नभएको भए यो क्षेत्र पूरै बगरमा परिणत हुन सक्थ्यो । तटबन्धका कारण किनारको चौरमा माटो भर्न र सम्याउन पनि सहज हुने भएको छ ।” उहाँका अनुसार उक्त तटबन्ध निर्माण नभएको भए नारायणी नदीले आफ्नो धार परिवर्तन गरी चितवनतर्फ, विशेषगरी नारायणगढ बजार आसपासको क्षेत्रमा कटान तथा बाढीको जोखिम सिर्जना गर्न सक्ने सम्भावना थियो । तटबन्धले नदीको धार नियन्त्रण गर्नुका साथै मानव बस्ती, बजार क्षेत्र, सडक, पूर्वाधार र अन्य सम्पत्तिलाई नदीजन्य कटानबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।


    नारायणी नदी किनारमा निर्माण गरिएको ‘सी बिच’ क्षेत्रमा विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन् । बिहान र साँझ नदी किनारमा घुम्न तथा टहलिन जाने सर्वसाधारणको चहलपहल हुने गर्दछ । साना ठेला तथा व्यापार व्यवसाय सञ्चालन गर्नेहरूका लागि पनि यो क्षेत्र आकर्षणको केन्द्र बनेको छ ।

    कार्यालयका अनुसार ‘नारायणी रिभर बिच प्रोटेक्सन वक्र्स’ आयोजनाअन्तर्गत रु १७ करोड ५९ लाख खर्चमा संरचना निर्माण गरिएको हो । आयोजनाअन्तर्गत आरसीसीका सिँढी निर्माण गर्नुका साथै अगाडिको भागमा ठूला ढुङ्गा प्रयोग गरी किनार संरक्षणको काम गरिएको सूचना अधिकारी पौडेलले बताए । उनका अनुसार नारायणी पुलदेखि पश्चिमतर्फ चितवन क्षेत्रमा अधिकांश स्थानमा तटबन्ध निर्माण गरिएकाले यस वर्षको बाढीबाट ठूलो क्षति हुन पाएन ।

  • पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

    पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

    गण्डकी, २४ असोज । पोखरा अन्तरराष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ । विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।


    विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहरमैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

  • तीन देशको भ्रमणपछि परराष्ट्रमन्त्री स्वदेश फिर्ता, जलवायु मुद्दा अन्तरराष्ट्रियकरणमा उपलब्धि

    तीन देशको भ्रमणपछि परराष्ट्रमन्त्री स्वदेश फिर्ता, जलवायु मुद्दा अन्तरराष्ट्रियकरणमा उपलब्धि

    काठमाडौँ, २४ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, पुनर्लाभ तथा पुनर्निर्माणका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ । यससँगै बाढी विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले जानकारी दिए ।


    स्वदेश फर्किएपछि भ्रमणका उपलब्धिबारे जानकारी दिँदै मन्त्री खनालले नेपालको जलवायु संवेदनशीलतालाई अन्तरराष्ट्रिय मञ्चमा उजागर गर्न, न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण महत्त्वपूर्ण रहेको बताए ।


    आगामी नोभेम्बरमा टर्कीको अन्टाल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको ३१औँ सम्मेलन ९कोप–३१० का लागि राजनीतिक सहमति निर्माण गर्ने तथा विश्वव्यापी जलवायु एजेन्डालाई अघि बढाउने उद्देश्यले अस्ट्रेलिया, फिजी र टुभालुका सरकार प्रमुखहरूको निमन्त्रणामा मन्त्री खनालले भ्रमण गरेका थिए ।

    जलवायु न्यायका लागि नेपालको आवाज

    भ्रमणका क्रममा मन्त्री खनालले यही अक्टोबर ६ मा फिजीको नाडीमा आयोजित ‘प्रि–कोप लिडर्स प्लेनरी’ लाई सम्बोधन गर्दै हिमाली तथा प्रशान्त महासागरका टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण समान प्रकृतिका जोखिम सामना गरिरहेको उल्लेख गरेका थिए । उनले हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या एउटै विश्वव्यापी जलवायु सङ्कटका परस्पर जोडिएका पक्ष भएको बताउँदै हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।


    सम्बोधनका क्रममा मन्त्री खनालले नेपालको भोटेकोशी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमाली सुनामी’ को संज्ञा दिँदै जलवायु परिवर्तनमा न्यून योगदान रहेका नेपालजस्ता मुलुकले त्यसको गम्भीर मूल्य चुकाउनुपरेको बताए ।
    कोप–३१ का लागि नेपालका चार प्राथमिकता प्रस्तुत गर्दै मन्त्री खनालले विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नथपिने गरी अनुदानमा आधारित अनुकूलन वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीको विकासमा जोड दिए ।

    टुभालु भ्रमणका क्रममा मन्त्री खनालले समुद्री कटान र तीव्र ज्वारभाटाको जोखिममा रहेको फुनाफुतीस्थित ‘कजवे’ क्षेत्र तथा टुभालु कोस्टल एडाप्टेसन प्रोजेक्टअन्तर्गत निर्माण गरिएका संरचनाको अवलोकन गरेका थिए ।
    उक्त भ्रमणले हिमाली क्षेत्रको जलवायु जोखिम र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूले सामना गरिरहेका चुनौतीबीच समानता पहिचान गर्न तथा जलवायु न्यायका पक्षमा साझा आवाज निर्माण गर्न सहयोग पुगेको उनले बताए । ‘प्रि–कोप’ कार्यक्रमका अवसरमा जारी ‘टाकु पाकासोआ घोषणापत्र’ मा हिमनदी तथा हिमचादरको क्षयसम्बन्धी विषय समावेश भएको पनि उनले जानकारी दिए ।


    अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

    अक्टोबर ८ मा अस्ट्रेलियाको मेलबर्नस्थित कमनवेल्थ पार्लियामेन्ट कार्यालयमा विदेशमन्त्री पेन्नी वोङसँग भएको उनको द्विपक्षीय वार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्धका विविध पक्षमा छलफल भएको थियो । वार्ताका क्रममा विदेशमन्त्री वोङले नेपालको बाढी विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अस्ट्रेलिया सरकार र जनताको ऐक्यबद्धता प्रकट गरेका थिए ।

    बाढीपछि अस्ट्रेलियाले खोज तथा उद्धार सामग्री, प्राविधिक विशेषज्ञ र यसअघि घोषणा गरिएको ११ मिलियन अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराएको थियो । थप १५ मिलियन अस्ट्रेलियन डलर सहायता घोषणासँगै नेपालको विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको छ ।

    बैठकमा जलवायु सहकार्य, हिमनदी अनुगमन, पूर्वसूचना प्रणालीको आधुनिकीकरण तथा जलवायु अनुकूलित पूर्वाधार निर्माणमा प्राविधिक साझेदारी विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो । मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको विद्यार्थी भिसा प्रक्रिया निष्पक्ष, सहज र अनुमानयोग्य बनाउन आग्रह गरे । उनले प्राविधिक तथा व्यावसायिक शिक्षा, विश्वविद्यालयबीच संयुक्त अनुसन्धान, संयुक्त डिग्री कार्यक्रम र अस्ट्रेलिया अवाड्र्स छात्रवृत्तिको कोटा वृद्धि गर्न सहकार्यको प्रस्ताव राखेका थिए ।


    नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, प्रविधि हस्तान्तरण, दिगो कृषि तथा पर्यटन क्षेत्रमा अस्ट्रेलियाली लगानी भित्र्याउने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा पनि छलफल भएको मन्त्री खनालले बताए ।
    न्यु साउथ वेल्ससँग विपद् व्यवस्थापनमा सहकार्यको प्रस्ताव

    मन्त्री खनालले अक्टोबर ८ मा अष्ट्रेलियाको सिड्नीमा न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँग भेटवार्ता गरेका थिए । भेटमा प्रिमियर मिन्सले नेपालको बाढी विपद्प्रति व्यक्त गरेको समवेदना र ऐक्यबद्धताका लागि मन्त्री खनालले धन्यवाद दिए । न्यु साउथ वेल्सले विगतमा बाढी तथा डढेलो व्यवस्थापन र पुनर्निर्माणमा हासिल गरेको अनुभवबाट नेपालले सिक्न सक्ने विषयमा छलफल भएको थियो । दुवै पक्षले विपद् व्यवस्थापनसम्बन्धी निकायबीच अध्ययन भ्रमण तथा प्राविधिक आदानप्रदान गर्ने सम्भावनाबारे पनि विचारविमर्श गरेका थिए ।

    साथै, सिड्नीको वेस्टर्न सिड्नी अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालसँग सिधा हवाई सम्पर्क विस्तार गर्ने सम्भावना तथा नेपाली समुदायको भाषा, संस्कृति र सामुदायिक केन्द्रलाई सहयोग गर्ने विषयमा छलफल भएको थियो । यसै क्रममा मन्त्री खनालले अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनसँग क्यानबेरामा भेटवार्ता गरेका थिए । भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, नेपाली विद्यार्थी तथा प्रवासी नेपाली समुदायका चासो र कोप–३१ मा नेपालको जलवायु एजेन्डालाई समर्थन गर्ने विषयमा छलफल भएको थियो ।

    उनले अस्ट्रेलियाको सङ्घीय संसद्मा प्रतिपक्षी दलका उपनेता एङ्गस टेलरसँग भर्चुअल संवाद गर्नुभएको थियो भने सांसद एलेक्स हकसँग सिड्नीमा भेट गरी शैक्षिक सहकार्य, नेपाली विद्यार्थीको हित र द्विपक्षीय सम्बन्धबारे विचार आदानप्रदान गरेका थिए ।

    पुनर्निर्माणमा प्रवासी नेपालीको सीप र ज्ञान उपयोग गर्न आग्रह

    अस्ट्रेलियामा बसोबास गर्ने दुई लाखभन्दा बढी नेपाली समुदायका प्रतिनिधि, प्राज्ञ, व्यवसायी तथा विद्यार्थीसँग मन्त्री खनालले मेलबर्न, सिड्नी र क्यानबेरामा अन्तरक्रिया गरेका थिए । नेपालमा आएको बाढीपछि राहत तथा सहयोग जुटाउन प्रवासी नेपालीले देखाएको तत्परताको प्रशंसा गर्दै उनले विपद्पछिको पुनर्निर्माणमा उनीहरूको सीप, ज्ञान र प्रविधि उपयोग गर्न आह्वान गरेका थिए ।


    नेपालमा पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानअनुसार करिब पाँच अर्ब अमेरिकी डलर बराबरको स्रोत आवश्यक पर्ने उल्लेख गर्दै उनले प्रवासी नेपाली समुदायलाई देशको पुनर्निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गरेका थिए । विदेशमा रहेका नेपालीका लागि कन्सुलर सेवा थप प्रभावकारी बनाउने र समुदायका चासो सम्बोधन गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका थिए ।

    आर्थिक कूटनीतिलाई प्राथमिकता दिन निर्देशन

    भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली राजदूतावासको निरीक्षण गरी सेवा प्रवाह तथा कूटनीतिक गतिविधिबारे जानकारी लिएका थिए । उनले दूतावासका अधिकारीहरूलाई नेपाली विद्यार्थी, पेसाकर्मी तथा आम नागरिकलाई उपलब्ध गराइने राहदानी, प्रमाणीकरणलगायतका कन्सुलर सेवा छरितो, झन्झटरहित र प्रविधिमैत्री बनाउन निर्देशन दिए ।

    त्यस्तै, नेपालको राष्ट्रिय हितअनुकूल आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न, अस्ट्रेलियाबाट गुणस्तरीय लगानी भित्र्याउन, द्विपक्षीय व्यापार अभिवृद्धि गर्न, पर्यटन प्रवद्र्धन गर्न र दुई देशबीच भएका सहकार्यलाई परिणाममुखी बनाउन निर्देशन दिए । परराष्ट्रमन्त्री खनालले समग्र भ्रमणबाट नेपालको जलवायु कूटनीतिलाई अन्तरराष्ट्रिय स्तरमा सशक्त बनाउन, बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि थप सहयोग जुटाउन तथा व्यापार, लगानी, शिक्षा र हवाई सम्पर्कसम्बन्धी द्विपक्षीय कार्यसूची अघि बढाउन सहयोग पुगेको बताए ।

  • बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

    बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

    लमजुङ, २४ असोजः बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ । बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने रु तीन अर्ब लागत अनुमान गरिएको छ ।

    डुम्रे-बेँसीसहर–चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए । उनका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडकका ३५ भन्दा बढी स्थानमा क्षति पुर्‍याएको थियो । तीमध्ये छ स्थानमा सडकको ट्र्याक क्षतिग्रस्त भएको थियो ।

    रामबजार, नासोँ गाउँपालिका ३ को खोत्रो तथा मनाङको कोतोलगायत स्थानमा बढी क्षति पुगेको आयोजना प्रमुख सुवेदीले बताए । विभिन्न स्थानका काठे पुलसमेत बगाएको थियो । बाढीपहिरोका कारण छ दिनसम्म सडक अवरुद्ध भएको थियो । सडक खुलाउन विभिन्न स्थानमा नयाँ ट्र्याक खोल्नुपरेको थियो ।

    “नासोँ गाउँपालिका(३ स्थित खोत्रोमा माथिबाट खसेका ठूला ढुङ्गा बम ब्लास्टिङ गरी हटाएपछि सडक सञ्चालनमा ल्याइएको थियो । हाल सडक सञ्चालनमा रहे पनि विभिन्न स्थानमा मर्मत तथा स्तरोन्नति गर्नुपर्ने छ”, आयोजना प्रमुख सुवेदीले भने । बाढीपहिरोबाट क्षतिग्रस्त स्थानमा सडक सुधार गरी पक्की सडक निर्माण तथा बगाएका काठे पुलको स्थानमा पक्की पुल बनाउन रु एक अर्ब आवश्यक पर्ने अनुमान गरिएको उनले बताए ।


    सोहीअनुसार बजेट माग गर्दै केही दिनअघि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पठाइएको सुवेदीले उल्लेख गरे । हाल उपलब्ध स्रोतसाधनबाट सडकका विभिन्न स्थानमा सामान्य मर्मत तथा स्तरोन्नति भइरहेको उनले बताए । बाढीपहिरोपछि सडक खुलाउन आयोजना, स्थानीय तह तथा जलविद्युत् आयोजनाका डोजरलगायत उपकरण परिचालन गरिएको थियो ।

    यसैगरी, तीन वर्षअघि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि रु तीन अर्ब लागत अनुमान गरिएको आयोजना प्रमुख सुवेदीले जानकारी दिए । सडक कालोपत्र, आवश्यक स्थानमा ढलान तथा पक्की पुल निर्माणसहित स्तरोन्नति गर्ने लक्ष्य राखिएकाले डिपीआरअनुसार बजेट माग गर्दै मन्त्रालयमा प्रस्ताव पठाइएको आयोजना उनले बताए ।


    प्रमुख सुवेदीका अनुसार रु तीन अर्ब उपलब्ध भए सडकको समग्र स्तरोन्नतिसँगै बाढीपहिरोबाट क्षति पुगेका स्थानको सुधार तथा पुनर्निर्माणसमेत गर्न सकिनेछ । रु एक अर्ब उपलब्ध भए तत्काल क्षति पुगेका स्थानमा पक्की सडक तथा पुल निर्माण अघि बढाउन सकिने उनले बताए । बेँसीसहर–चामे सडक लमजुङ र मनाङलाई जोड्ने प्रमुख मार्ग हो । सडकको स्तरोन्नति तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणले यातायात आवागमन सहज बनाउनुका साथै स्थानीय बासिन्दा, पर्यटक र दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ ।

  • ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

    ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

    काठमाडौँ, २४ असोजः नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ । इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढाउन स्वीकृति नदिएको स्पष्ट पारेको हो ।

    प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरेको छ । प्राधिकरणले तोकेको निर्देशिकाबमोजिम शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्ने प्रावधान स्मरण गराएको छ ।

    प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने, स्वीकृत दरभन्दा बढी शुल्क लिन, पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्न तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न नपाइने वैधानिक व्यवस्थाबारे सचेत गराउँदै प्राधिकरणले नियमविपरीत गतिविधि गरेमा दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम सेवा प्रदायकमाथि कारबाही गरिने चेतावनी दिएको छ ।

  • अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

    अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

    चितवन, २४ असोजः मानव स्वास्थ्यका लागि अत्यावश्यक ‘अण्डा’को उत्पादन र खपत बढाउनु पर्ने कुरामा जोड दिइएको छ । मानव शरीरका लागि अत्यावश्यक पोषण तत्व ‘अण्डा’बाट प्राप्त हुने भएकाले यसको उत्पादन बढाएरसँगै खपत पनि बढाउनु पर्नेमा सरोकारवालाहरुले सुझाव छ । यसै सन्दर्भमा नेपालमा ‘अण्डा’को उत्पादन र खपत बढाउन यहाँ बहस कार्यक्रम आयोजना गरिएको छ । विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघद्वारा शुक्रबार यहाँ आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरुले निजी क्षेत्र र सरकारी निकायको संयुक्त प्रयासमा ‘अण्डा’ उत्पादन बढाउन र यसको खपत बृद्धि गर्न आवश्यक रहेकामा जोड दिएका छन् ।

    कार्यक्रममा नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारले सहयोग र साथ दिएमा ‘अण्डा’ उत्पादन बढाउन आफूहरुले सक्ने जानकारी दिए । उनले भने “‘अण्डा’ उपभोग बढाउन आफूहरुले गर्ने आग्रहलाई व्यवसायसँग जोड्ने भएकाले सरकारी तवरबाट जे हो त्यस विषयलाई आम जनतासम्म पु¥याइदिनुपर्छ । ” उनले ‘अण्डा’ ले लागत अनुसारको मूल्य पाउन थालेपछि किसानहरू पनि आर्कषित हुन थालेको जनाउँदै केही नाफा आएसँगै कृषकको संख्या पनि बढ्ने जानकारी दिए । अध्यक्ष पोखरेलले भने, “भारतबाट भन्सार छलेर आउने ‘अण्डा’ गत वैशाखदेखि रोकिएपछि किसानहरूले राहत महसुस गरेका छन् । विद्यार्थीहरुको दिवा खाजामा सबै दिन अण्डा खुवाउने व्यवस्था सरकारी तर्फबाट भएमा प्रति अण्डा रु। ५ किसानको तर्फबाट छुट दिन आफूहरु तयार छौँ ।”

    उहाँका अनुसार हाल नेपालमा दैनिक ३८ लाख हाराहारी ‘अण्डा’ उत्पादन हुने गरेको छ । देशभरका लेयर्स पाल्न किसानहरूलाई संगठित गरेर कोभिड–१९को महामारी पूर्वको अवस्था जस्तो दैनिक ६५ देखि ७० लाख ‘अण्डा’ उत्पादन गर्ने नीति अनुरूप काम भइरहेको छ । चार वर्ष अघिसम्म १२० को हाराहारीमा रहेका लेयर्स कुखुरापालक ठूला किसानको संख्या अहिले बढेर १८० पुगेको छ भने ‘अण्डा’ का बजारमा मूल्य प्रति क्यारेट (३० वटा) करिब ६ सयको हाराहारीमा पुगेको छ । व्यवसायीहरूको प्रति ‘अण्डा’ को लागत मूल्य रु.१९.१२ याँ पर्ने संघका अध्यक्ष पोखरेलले जानकारी दिए । चार वर्ष अघि ‘अण्डा’ उत्पादन गर्ने किसान अधिकांश विस्थापित भएर रहेका केही मिलेर संगठित भई बजारीकरण गरेकै कारण आज लागत मूल्य पाउने अवस्थामा आफूहरु पुगेको उनले बताए ।
    नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ ‘अण्डा’ खपत

    पोषण विज्ञ डा दिनेश गौतमले अन्य देशको तुलनामा नेपालमा ‘अण्डा’ को खपत निकै कम रहेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार विश्वमा प्रतिवर्ष सरदर खपत १८५ वटा छ । एसियाको तथ्यांक हेर्दा विश्वको तुलनामा दुई वटा बढी अर्थात् १८७ रहेको छ । दक्षिण एसियामा जम्मा ८७ मात्रै छ । यो विश्वको तथ्यांकलाई हेर्दा ९८कम हो ।

    नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ ‘अण्डा’ खपत हुने गरेको छ । यो विश्वको तथ्यांकलाई हेर्दा ११६ कम हो । भारतमा ११२, श्रीलंकामा १३२, बंगलादेशमा १३७, पाकिस्तानमा ४८ र अफ्रिकामा ४० मात्रै खपत हुने गरेको उनले बताए । सन् २०१५ मा नेपालमा वार्षिक प्रतिव्यक्ति ६० ‘अण्डा’ खपत हुने गरेकामा अहिले बढेर ६९ पुगेको पोषण विज्ञ डा गौतम भनाइ छ । १५ प्रतिशत बृद्धि भएपनि यस अवधिमा जनसंख्या बृद्धि ६ प्रतिशत रहेको उहाँले बताउनुभयो । विश्वमा सबैभन्दा बढी चीनमा ‘अण्डा’ उत्पादन हुन्छ भने दोस्रोमा भारत रहेको छ । ती देशमा उत्पादन बढी हुँदै गर्दा नेपालमा ‘अण्डा’ उत्पादन बढाएर खपत समेत बढाउनु पर्ने उनका भनाइ थियो ।

    कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा।रामानन्द तिवारीले ‘अण्डा’ को उत्पादन मात्रै बढाएर नपुग्ने जनाउँदै खपत बढाउनु पर्नेमा जोड दिए । उनले भने, “सरकारी तवरबाट समेत ‘अण्डा’ को प्रयोग बढाउन प्रचारात्मक काम गरिएको छ । कृषकहरुलाई प्रोत्साहन गर्ने गरी कृषि ऐन जारी गर्न लागिएको छ । यसले किसानका सन्तानलाई छात्रावृत्ति, कृषि ढुवानीका साधनलाई छुट्टै नम्बर, कृषक र परिवारलाई यातायातमा छुट जस्तो विषय समावेश गरिएको छ र कृषि पेशालाई गर्व गर्न योग्य बनाईने छ । ”

    ‘अण्डा’ प्रोटिनको स्रोत ः चिकित्सक

    सो अवसरमा बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले ‘अण्डा’ प्रोटिनको स्रोत मात्र नभई शरीरको वृद्धि, विकास र समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्वको महत्वपूर्ण स्रोत भएको बताए । उनले ‘अण्डा’ शरीरलाई आवश्यक पर्ने उच्च गुणस्तरको प्रोटिनको सहज तथा तुलनात्मक रूपमा सुलभ स्रोत भएकाले यसको महत्वबारे सही जानकारी आम नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताए । उनले भने, “एउटा अण्डामा करिब ६ ग्राम प्रोटिनसँगै भिटामिन ए, बी समूह, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम, जिंक लगायतका विभिन्न पोषक तत्व पाइन्छन् ।”

    एउटा ‘अण्डा’ को पहेँलो भाग समेत खान हुने जनाउँदै उनले दुई वर्ष पुगेपछि बच्चालाई ‘अण्डा’ खुवाउन मिल्ने बताए । उनले भने, “अण्डाका परिकार बनाउँदा नै दुइ ‘अण्डा’लाई एउटा सम्झेर बनाउनु पर्छ ।” युसेक अमेरिकन सोयका कन्ट्री मार्केट लिड डा अशेष भट्टराईले नेपालको ‘अण्डा’ उत्पादन र बजारीकरणमा आफूहरुले सहयोग गर्दै आएको जनाउँदै निजी र सरकारी क्षेत्रको साझेदारीमा मात्रै उत्पादन र खपत बढाउन सकिने बताए । ‘अण्डा’ मा हुने गुणका विषयमा आम नागरिकसम्म पु¥याउन उनको जोड थियो । सहभागीहरुले विद्यालयका पाठ्यक्रमहरुमा ‘अण्डा’को महत्व समावेश गरी पठनपाठनको व्यवस्था गर्नुपर्ने, अण्डाले लागत मूल्य पाउनु पर्ने परिस्थिति सरकारले सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।

  • विभिन्न स्थानमा वर्षाको सम्भावना

    विभिन्न स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ २४ असोजः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    त्यसैगरी, आज दिउँसो कोशी प्रदेशका सबै तथा देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई भूभागका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।

    आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

  • नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

    नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

    काठमाडौँ, २४ असोजः नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भए । छ हजार ५८४ मतका साथ उनी विजयी भए । निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।

  • भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    म्याग्दी, २४ असोज स्। दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन् । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा उनीहरुको यात्रा निकै कष्टपूर्ण बन्यो । लामो यात्रा गरेर बजारसम्म आइपुग्दा पनि समयमै बिक्री गर्न नपाइने चिन्ताले सताएको छ ।

    मुगुको छायानाथ रारा नगरपालिका–६ का बिकको टोलीले दुई सय भेडाच्याङ्ग्रा खेदाएर ल्याएको हो । त्यसमध्ये एक सय आफ्नै घरमा पालेका र एक सय छिमेकीबाट खरिद गरेका हुन् । दसैँका लागि पोखरामा बिक्री गर्ने उद्देश्यले उहाँहरू गत भदौ १८ गते घरबाट हिँडेका थिए । “यसपालि प्रतिकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा धेरै दुःख पाइयो,” बिकले भने, “डोल्पाको छार्कामा हिमपात भएपछि एक हप्ता रोकियौँ । घरबाट हिँडेको ३६ दिनमा बल्ल गलेश्वर आइपुगेका छौँ ।”

    शनिबार गलेश्वरबाट भेडाच्याङ्ग्रा गाडीमा राखेर पोखरा लैजाने उनीहरूको योजना छ । तर, दसैँ नजिकिँदै गर्दा बजारमा माग र बिक्री कस्तो होला भन्ने चिन्ता छ । “ढिला भइसकेको छ। अब बजारमा बिक्री हुने हो कि होइन भन्ने चिन्ता लागेको छ,” बिकले भने । डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान पनि सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लागेका छन् । उनीहरु शुक्रबार म्याग्दीको घोडेपानी हुँदै कास्कीको पोखरातर्फ गएका हुन् ।


    रोकायाको टोली घरबाट हिँडेको २२ दिन भइसकेको छ । भेडाच्याङ्ग्रापालन नै मुख्य पेसा भएकाले उहाँहरू हरेक वर्ष बिक्रीका लागि विभिन्न बजार पुग्ने गर्नुहुन्छ । तर, यसपालि बाढीपहिरोले यात्रामा थप सास्ती दिएको छ । यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनायो । यसले भेडाच्याङ्ग्रा खेदाएर ल्याउने र सवारीसाधनमा ढुवानी गर्ने दुवै काम प्रभावित भए । कतिपय किसानले लामो दूरी पैदल हिँड्नुप¥यो । सडकको अवस्थाका कारण बजारसम्म पुग्न ढिलाइ भएको हो ।

    डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढा पनि २५ दिन पैदल हिँडेर एक सय ६० च्याङ्ग्रा बिक्री गर्न पोखरातर्फ लागेका छन् । समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पालिएका च्याङ्ग्रा खेदाएर ल्याउन सहज छैन । “भिर, खोल्सा र साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पु¥याई बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो,” उनले भने ।
    सडक अवरुद्ध हुँदा किसानलाई सास्ती

    दसैँ नजिकिएसँगै हिमाली क्षेत्रका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । तर, प्रतिकूल मौसम र सडक अवरोधले यसपालि किसान तथा व्यापारीलाई समस्या भएको छ । डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा लिएर आएका किसान तथा व्यापारीको जोमसोमदेखि बेनीसम्म चहलपहल छ । मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै गलेश्वर ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत सहरमा पठाउन थालिएको छ ।

    यद्यपि, डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिँदा त्यहाँका सबै किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले बताए । तातोपानी र रसुवा नाका बन्द भएकाले यसपालि ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्तिको मुख्य मार्ग मुस्ताङ बनेको छ । जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिने व्यवस्था मिलाइएको छ ।

    कार्यालय प्रमुख अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निकासी अनुमति दिइएको छ । गत वर्ष १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए ।

    लागत बढ्यो

    यात्रा लामो हुँदा किसान र ब्यापारीको खर्च बढेको छ । मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्नसमेत कठिन भएको व्यापारीको भनाइ छ । बेनी नगरपालिका–९ का डेकबहादुर चोखालका अनुसार मुस्ताङमा असोज दोस्रो सातादेखि सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा खरिदमा समस्या भयो । “किसानसँग सम्पर्क हुन नसकेपछि भनेजस्तो भेडाच्याङ्ग्रा ल्याउन पाइएन,” उनले भने ।

    मुस्ताङमा आकार अनुसार भेडा प्रतिगोटा रु. ३२ हजारदेखि रु. ३५ हजार र च्याङग्रा प्रतिगोटा रु. ४० हजारको हाराहारीमा खरिदबिक्री भइरहेको ब्यापारीहरुले बताएका छन् । बेनीमा भने भेडा प्रतिगोटा करिब रु. ३६ हजार र च्याङ्ग्रा रु. ४५ हजार पर्ने बेनी नगरपालिका–९ तोरीपानीका यामबहादुर बानियाले बताउनुभयो ।

    “पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिन्छन्,” उनले भने, “महाँगो परेपनि दसैँमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलन छ ।” मुस्ताङी भेडाच्याङ्ग्राको ठूलो बजार पोखरा र काठमाडौँ हुन् । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का खसी व्यापारी प्रेम छन्त्यालले बताए ।

    च्याङ्ग्रापालनमै निर्भर हिमाली किसान
    मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको बताए । मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ ।

    तर, च्याङ्ग्रापालनमा पनि अनेक चुनौती छन् । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउन किसानलाई कठिन हुन्छ । पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिने र आहारको अभाव हुने समस्या छ । हिउँदमा अत्यधिक हिमपात हुँदा पनि आहार नपाएर भेडाबाख्रा मर्ने गरेका छन् । दसैँको बजारबाट वर्षभरिको आम्दानी जुटाउने आशामा किसानले हिमालबाट भेडाच्याङ्ग्रा खेदाएर ल्याउँछन् । तर, यसपालि प्रतिकूल मौसम र सडक अवरोधले उनीहरूको यात्रा लम्बिएको छ । लामो दूरीको पैदल यात्रा, थप खर्च र बिक्रीमा भएको ढिलाइले किसानको आम्दानी प्रभावित हुने चिन्ता बढाएको छ ।

  • आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

    आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

    काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो ।

    आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने आइतबार गरिन्छ । पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ ।

    पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।


    यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले बताए ।

    त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् वैदिक मन्त्रले दैनिक १०८ जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले जानकारी गराए । यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध गर्नेको भीड लाग्छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ सुरु हुन्छ । असोज २५ गते घटस्थापना गरेसँगै दुर्गा पक्ष सुरु हुन्छ ।

  • वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

    वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

    काठमाडौँ, २३ असोजः काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटपाट गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने २९ वर्षीय सुनिल सुनार रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुनारले आफ्नै घर अगाडि उभिरहेकी वृद्ध महिलाको घाँटीमा लगाएको सुनको तिलहरी लुटेर फरार भएका थिए । प्रहरीका अनुसार करिब चार आना तौलको उक्त तिलहरीको मूल्य ७५ हजार रुपैयाँ रहेको छ ।

    घटनापछि खोजतलासमा खटिएको प्रहरी वृत्त बौद्धको टोलीले सुनारलाई लुटिएको तिलहरीसहित फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । पक्राउ परेका सुनारविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट आज सात दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

    व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

    काठमाडौँ, २३ असोजः गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी नियन्त्रण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग आज छलफल गर्दै उनले चोरी पैठारी नियन्त्रण तथा सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘डिजिटल बोर्डर’ को अवधारणा अघि बढाइने बताए ।


    गृहमन्त्रीले नेपाली उत्पादनको गुणस्तर प्रमाणीकरण तथा अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई सहज बनाउन भारत गुणस्तर र नेपाल गुणस्तरबीच मान्यता तथा प्रमाणीकरणसम्बन्धी सहकार्य अघि बढाउने विषय द्विपक्षीय वार्तामा उठाउने प्रतिबद्धता गरे । उनले लगानीमैत्री वातावरण तयार गर्न व्यवसायीले राजनीतिनै गर्नुपर्ने बाध्यता अबको सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । “लगानीमैत्री वातावरण तयार गर्न सरकारले सबै क्षेत्रमा सुधारको प्रभावकारी पहलकदमी गर्छ, तर स्वच्छ र प्रतिष्पर्धी बजार अनुशासनविरुद्ध हुने व्यवसायीका सबै गतिविधिलाई कानूनी दायरामा ल्याइनेछ”, गृहमन्त्रीले भने ।


    छलफलमा उद्योगी, व्यवसायीले व्यवसाय सञ्चालनका क्रममा भोग्नु परेका समस्या, चुनौती तथा तिनको समाधानका लागि क्षेत्रीय सहकार्य र बिम्स्टेक मञ्चमार्फत अघि बढाउन सकिने पहलबारे सुझाव प्रस्तुत गरेका थिए ।

  • राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

    काठमाडौँ, २३ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

    सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

    काठमाडौँ, २३ असोजः सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट हटाएको छ । एआइजी दाहालले अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत सङ्गठनको मान, प्रतिष्ठा र छविमा आँच पुर्‍याएको कसुरमा आजदेखि लागू हुनेगरी सशस्त्र प्रहरी सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा एआइजी दाहालले आचरणसम्बन्धी प्रावधान बारम्बार उल्लङ्घन गरेको उल्लेख छ । गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको भन्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहाललाई यही असोज १९ गते निलम्बन गरेको थियो ।

    दाहालले पदीय आचरणविपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीको सिफारिस प्राप्त भएपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको थियो । मन्त्रालयले सोही दिन दाहाललाई निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको थियो । उनी पूर्व न्यायाधीश चोलेन्द्र शमशेर राणासँग जोडिएपछि सरकारले केरकार थालेको हो ।

  • लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

    लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

    महोत्तरी, २३ असोजः राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष थिए । महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भए । प्रतिष्ठानको नवौँ महाधिवेसनका निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिए ।


    बिहीबार बर्दिबास–३ गौरीडाँडामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले उद्घाटन गरेको नवौँ महाधिवेसनमा उद्घाटनसत्र समापनसँगै निर्वाचन कार्यक्रम सुरु भएको थियो । प्रतिष्ठानमा ३८ पदाधिकारी र ३७ सदस्यसहित ७५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।

    सर्वसम्मत भएका र आज शुक्रबार विद्युतीय मेसिनबाट भएको मतदानको परिणाम भोलि शनिबार समापन कार्यक्रममा घोषणा गरिने प्रतिष्ठानको निर्वाचन समितिले जनाएको छ । सातै प्रदेश, ७० जिल्ला र विदेशस्थित शाखासहित १०० वटा समितिबाट एक हजार ५०० प्रतिनिधि महाधिवेसनमा सहभागी छन् । महाधिवेशन नयाँ नेतृत्वको घोषणासँगै शनिबार समापन हुने जनाइएको छ ।

  • कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

    कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

    काठमाडौँ, २३ असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–उन्जाले शिष्टाचार भेट गरेकी छिन् । मन्त्री गौतमसँग आज सिंहदरबारमा भएको भेटमा राजदूत इन्जाले भोटेकोशी बाढीबाट भएको क्षतिले मृत्यु भएका व्यक्तिहरूप्रति समवेदना व्यक्त गरिन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पारस्परिक कानुनी सहायताको केन्द्र निकाय भएको हुँदा यस विषयमा दुई देशबीचको सहमति गर्नका लागि प्रक्रिया सक्दो चाँडो गर्न दुवै पक्षबीच छलफल भयो ।

    त्यस्तै, सरकारले नेपालको हवाई सेवालाई अन्तरराष्ट्रिय मापदण्डअनुसार सेवा प्रदायक र नियामक निकायका रूपमा दुई संरचना परिकल्पना गरी विधेयक दर्ता गरेको विषयमा छलफल भयो । राजदूत उन्जाले यसमार्फत हवाई सुरक्षा कालोसूचीबाट हट्नका लागि नेपाल सरकारबाट भइरहेका प्रयासको प्रशंसा गरिन् । भेटमा दुवै पक्षले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आवश्यकताअनुसार समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । भेटमा कानुन र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो ।

  • यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

    यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

    दाङ, २३ असोजः लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१३ चौधेरा निवासी चेतबहादुर केसीको सो दुर्घनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । नेपालगन्जबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ४१४८ नम्बरको यात्रुवाहक बसले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश एए८५९८ नम्बरको सरकारी मोटरसाइकललाई आज साँझ करिब ६ः३० बजे लमही नगरपालिका–१ सुनडबरीमा ठक्कर दिँदा मोटरसाइकल चालक केसी गम्भीर घाइते भएका थिए ।


    घटनालगत्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रमेश तिमल्सिना नेतृत्वमा खटिएको टोलीले घाइते केसीको उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ । मृतक केसीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मृतक केसी लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत रहेको प्रहरीले जनाएको छ ।

  • नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

    काठमाडौँ, २३ असोजः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमनप्रसाद तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको र बढुवा भएको आरोपमा विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार स्वास्थ्य निर्देशनालय, धनकुटामा खोप अधिकृतका रूपमा कार्यरत तथा हाल जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख रहेका तिवारीले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो ।

    अनुसन्धानका क्रममा तिवारीले खोप सुपरभाइजर, राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति लिन बिहार मध्यवर्ती शिक्षा परिषद्, पटनाबाट जारी भएको भनिएको ‘आइए’ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पाइएको आयोगले जनाएको छ । उक्त प्रमाणपत्रकै आधारमा तिवारीले माथिल्लो तहका विभिन्न पद तथा श्रेणीमा बढुवा हुनसमेत पटकपटक सोही प्रमाणपत्र पेस गरेको र त्यसबाट राष्ट्रसेवक कर्मचारीका रूपमा पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।


    तिवारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कारबाही गर्न माग गरिएको छ । आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

  • आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

    आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

    काठमाडौँ, २३ असोजः ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि उपत्यकाका छ स्थानमा विभिन्न १३ वटा कम्पनीका ग्यास साटफेर गर्न सक्ने भएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घले नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासङ्घको सहकार्यमा उक्त व्यवस्था मिलाएको हो । आइतबारदेखि शनिबारसम्म बिहान ९ः३० देखि अपराह्न ४ः३० सम्म ग्यासको बिक्री वितरण हुनेछ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले फरक ग्यासको सिलिन्डर भएर चिन्तित भएको उपभोक्तालाई चाडपर्वमा ग्यासको सहज आपूर्तिका लागि सिलिन्डर साटफेर गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए । सङ्घका अनुसार उपभोक्ताले काठमाडौँको सिफलस्थित ग्यास एन्ड अक्सिजन टे«डर्सबाट एभरेष्ट र सुगम, पेप्सीकोलाबाट सगर, बालाजु औद्योगिक क्षेत्रबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, सुकेधाराबाट बाबा र श्री, कलङ्कीबाट साइबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास लिन सक्नेछन् । सङ्घका अध्यक्ष दिवान चन्दले ती स्थानमा काठमाडौँ उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगको ग्यासको सिलिन्डरमात्रै साटफेर हुने जानकारी दिए ।