Category: फिचर

  • कांग्रेसको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

    कांग्रेसको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

    काठमाडौँ, २२ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरू हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जारी गरेको निर्वाचनसम्बन्धी सूचनामा उल्लेख छ । महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।

    यसअघि निर्वाचन समितिले आज बिहान ७ः०० बजेदेखि मतदान सुरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टापछि सारिएको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

    निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रियसभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन् । खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ । खुलामञ्चमा रहेको कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ । त्यस्तै, खुलामञ्चमा रहेको गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ । खुलामञ्चमा रहेको मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ ।

    लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हलबाट मतदान गर्नेछन् । निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ ।

    निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन । प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन् । मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । पन्ध्रौँ महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।

  • कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

    कास्की, २२ असोजः जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नजिकिँदो दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लाका विभिन्न सात स्थानमा नागरिक\यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने तथा बढी भाडा असुली, टिकटमा कालोबजारी, ठगी, चोरी तथा डकैतीलगायतका समस्या हुनसक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न सहायता कक्ष स्थापना गरिएको प्रहरी वरिष्ठ नायब निरीक्षक यामनाथ पनेरुले जानकारी दिए ।
    उनका अनुसार पोखरा बसपार्क, बेगनास बसपार्क, तालचोक, छोरेपाटन बरको बोट, पर्यटक बसपार्क, बाग्लुङ बसपार्क र हरिचोकमा उक्त कक्ष स्थापना गरिएको छ । सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउने, यात्राका क्रममा देखिएका समस्या र गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्रहरी वरिष्ठ नायब निरीक्षक पनेरुले बताए ।


    यात्रु सहायता कक्षको शुभारम्भ गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले सार्वजनिक यातायातमा यात्रुले समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको बताए । “चाडपर्वको समयमा कास्कीका विभिन्न स्थानबाट घर फर्किने र भित्रने यात्रुको सङ्ख्या ठूलो हुन्छ । उनीहरुको सुरक्षा र सहज यात्राका लागि प्रहरी परिचालन गरिएको छ । सहायता कक्षमा खटिने प्रहरीले यात्रुलाई आवश्यक सहजीकरण गर्नेछन्,” प्रजिअ गुरुङले भने ।

    सहायता कक्षमा यात्रुले आफूलाई परेको समस्या वा गुनासो राख्न सक्नेछन् । सुरक्षामा असर पार्ने कुनै गतिविधि देखिएमा तत्काल जानकारी गराउन प्रहरीले आग्रह गरेको छ । चाडपर्वका बेला यात्रुको चापसँगै सवारीसाधनको आवागमन बढ्ने भएकाले दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरिएको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले बताए ।


    “क्षमताभन्दा बढी यात्रु राख्ने, तीव्र गतिमा सवारी चलाउने, तोकिएभन्दा बढी भाडा लिने वा अन्य कुनै किसिमको गैरकानुनी गतिविधि भएमा नजिकैको प्रहरी वा सहायता कक्षमा यात्रुले जानकारी गराउन सक्नेछन्,” प्रहरी प्रमुख कार्कीले भने । सहायता कक्षको स्थापनाले यात्रुको गुनासो तत्काल सुन्ने, आवश्यक सूचना उपलब्ध गराउने तथा समस्या परेका यात्रुलाई प्रहरीको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    चाडपर्वका समयमा घर तथा गन्तव्यतर्फ यात्रा गर्ने सर्वसाधारणले टिकट तथा भाडाका विषयमा सचेत रहन, अपरिचित व्यक्तिले दिएको सामान नलिन तथा आफ्ना साथमा रहेका महत्वपूर्ण कागजात, नगद तथा सामानको सुरक्षा आफैँले गर्न प्रहरीले अनुरोध गरेको छ ।

  • जुम्लामा आज सार्वजनिक बिदा

    जुम्लामा आज सार्वजनिक बिदा

    जुम्ला, २२ असोजः कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने कार्यक्रम हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार विकले जानकारी दिए ।

    हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने गरिन्छ । मन्दिरको वार्षिक स्थापना दिवसका दिन पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो ठड्याउने परम्परा रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए ।

  • तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    दमौली (तनहुँ), २२ असोजः तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचना ९हेडवक्र्स०, प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।


    प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ६३ प्रतिशत भौतिक प्रगति भएको भण्डारीले बताए । मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङलगायतका संरचनाको निर्माण सम्पन्न भएको छ ।

    आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि विसं २०८१ चैत ७ गते पहिलो कङ्क्रिट राखी कङ्क्रििटङ कार्यको सुरुआत गरिएको थिया । गत भदौ महिनामा मात्रै ३३ हजार ६८१ घनमिटर कङ्क्रिट राखिएको छ । हालसम्म पाँच लाख सात हजार ४४२ घनमिटर कङ्क्रिट सम्पन्न गरिएको छ ।

    प्याकेज २ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भएको भण्डारीले बताउनुभयो । विद्युतगृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायतका संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको यस प्याकेजको भौतिक प्रगति ७९ प्रतिशत पुगेको छ । भण्डारीका अनुसार जलाशयको पानीलाई विद्युत्गृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट लाइनिङ कार्य भइरहेको छ । कुल एक हजार ४१८.७५ मिटर कङ्क्रिट लाइनिङ गर्नुपर्नेमा हालसम्म एक हजार ४०७.७५ मिटर सम्पन्न भएका छ ।

    प्याकेज ३ प्रसारण लाइनअन्तर्गत केइसी इन्टरनेसनल लिमिटेड भारतले दमौली भरतपुर २२० केभी क्षमताको प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ८३ वटाको जग निर्माण सम्पन्न भएको छ भने ८० वटा टावर खडा गरिसकिएको छ । सो प्रसारण लाइन ३३ किलोमिटर लामो छ । चितवन र तनहुँका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रूख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणको कामले थप गति लिएको आयोजना प्रमुख भण्डारीले बताए । यस प्याकेजको भौतिक प्रगति ८२ प्रतिशत छ ।

  • चार एन्फा पदाधिकारीविरुद्ध मुद्दा चलाउन सिफारिस

    चार एन्फा पदाधिकारीविरुद्ध मुद्दा चलाउन सिफारिस

    काठमाडौँ, २२ असोजः अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता र खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । अनुसन्धानबाट रु ६६ लाख ५३ हजार बराबरको अनियमितता भएको निष्कर्षसहित सिआइबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

    प्रतिवेदनमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरिएको सिआइबीका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिए । “अनुसन्धानका क्रममा प्राप्त प्रमाण र कागजातको अध्ययनबाट रु ६६ लाख ५३ हजार अनियमितता भएको देखिएको छ । त्यसका आधारमा उनीहरुलाई प्रतिवादी कायम गरी मुद्दा चलाउन सिफारिस गरिएको हो,” प्रवक्ता जबराले रासससँग भने ।

    एन्फाको आर्थिक कारोबार, निर्णय प्रक्रिया र विभिन्न प्रतियोगितासँग जोडिएका गतिविधिमाथि केन्द्रित रहेर सिआइबीले अनुसन्धान गरेको थियो । “अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइसकेका छौँ । अब प्रतिवेदनमा उल्लेख भएका तथ्य, प्रमाण र कानुनी व्यवस्थाका आधारमा आवश्यक निर्णय हुनेछ,” प्रवक्ता जबराले भने ।

  • तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ

    तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ

    काठमाडौँ, २२ असोजः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोेकेकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने जानकारी दिए । सरकारले यस वर्षको दसैँका लागि यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।

    यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । महासङ्घले सात प्रदेश, जिल्ला समिति तथा सदस्य सङ्घ–संस्था र काठमाडौँको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ ।

    महासङ्घका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ । यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ । दसैँको भीडलाई व्यवस्थापन गर्दै यही असोज २५ गते घटस्थापनादेखि आगामी कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने छ । प्रचलित कानुनअनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने कुनै रोक लाग्ने छैन ।

    त्यसैगरी, घटस्थापनादेखि आगामी कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि नेपालभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ । सडकको विशेष प्रकृतिका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासङ्घले जनाएको छ । काठमाडौँ उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले ‘फोकल पर्सन’सहितको टोली परिचालन गर्नेछ । महासङ्घका तर्फबाट गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला तथा चाबहिल क्षेत्रमा जिम्मेवारी तोकिएको छ ।

    यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई प्राथमिकता दिइएको छ । यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाई गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइने छ ।

  • बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    काठमाडौँ, २१ असोजः भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गैरसरकारी संस्था स्टार्ट फन्ड एन–नेपालको सहयोगमा एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रम मार्फत त्यहाँका बाढी प्रभावित ६० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको ग्रामीणमुखी युवा अभियान (रोयम) नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए ।


    बाढीबाट प्रभावित र विशेष जोखिममा रहेका एकल महिलासहितका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सामग्री वितरण गरिएको उनले बताए । “पहिलो चरणमा प्रभावितलाई राहत स्वरुप जाडोयामका लागि आवश्यक सामग्री, खानेपानी र सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको छ”, कार्यकारी निर्देशक न्यौपानेले भने, “आगामी हप्ता सोही गाउँपालिका–१ र ५ मा समेत आधारमा राहत सामग्री वितरण गरिनेछ ।”

    युएन वुमनको आर्थिक सहयोग तथा रोयम नेपालको सहजीकरणमा रसुवा र नुवाकोटको विदुर गरी तीन स्थानमा एक महिनादेखि सामुदायिक भान्सा सञ्चालन भइरहेको छ । सामुदायिक भान्सामार्फत बाढी प्रभावित तथा विस्थापित परिवारलाई बिहान चिया–नास्ता, दिउँसो खाना र खाजा तथा साँझको खाना नियमित उपलब्ध गराउँदै आएको गैरसरकारी संस्था रोयम नेपालका प्रशासन तथा वित्त सहायक गोमा विष्टले जानकारी दिए ।


    उनका अनुसार वडा कार्यालयसँगको समन्वयमा सञ्चालन भइरहेको सामुदायिक भान्सामा विपद्बाट प्रभावित परिवारलाई रोजगारी तथा कामको अवसर समेत प्रदान गरिएको छ । रोयम नेपालले बाढी प्रभावित परिवारको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले कम्तीमा ३०० घरपरिवारलाई आर्थिक सहयोग गर्ने योजना बनाएको छ । उनका अनुसार जाडोयामलाई लक्षित गरी एक हजार घरपरिवारलाई सिरक, ब्लाङ्केट, थर्मकोटलगायत न्यानो कपडा तथा तातोपानीका लागि थर्मस र झोला वितरण गर्ने तयारी भइरहेको छ । “प्रभावित परिवारलाई जीविकोपार्जनका लागि आर्थिक सहयोग समेत प्रदान गरिनेछ”, उनले भने ।

    राहत, रोजगारी तथा जीविकोपार्जन सहयोगबाट विपद्बाट प्रभावित परिवारले कठिन परिस्थितिमा तत्काल आयआर्जनको अवसर प्राप्त गरी दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको संस्थाले जनाएको छ । त्यस्तै बाढीका कारण नुवाकोटको विदुर नगरपालिका र रसुवाको उत्तरगया गाउँपालिकामा क्षति पुगेका खानेपानीका पाइपलाइन मर्मतको काम समेत संस्थाले अघि बढाएको रोयम नेपालका व्यवस्थापन संयोजक अनुप खनालले बताए ।


    उत्तरगया गाउँपालिका–२ डाँडागाउँका वडाध्यक्ष टुकु सुवेदीले विपद्का समयमा उपलब्ध गराइएको राहत तथा सहयोगले प्रभावित समुदायको दैनिक जीवनयापनमा महत्त्वपूर्ण सहयोग पुगेको बताए । उनले प्रभावित समुदायको आवश्यकता र अवस्थाका आधारमा आगामी दिनमा पनि सहयोग तथा सहजीकरणलाई निरन्तरता दिन आग्रह गरे । रेन (रेजिलियन्स, एडप्टेसन एन्ड इन्क्लुजन इन नेपाल) कार्यक्रमअन्तर्गत युके इन्टरनेसनल डेभलपमेन्ट (एफसीडीओ) मार्फत स्टार्ट फन्ड एन–नेपालको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

    गैरसरकारी संस्था आसमान नेपालको नेतृत्वमा रोयम नेपाल, एलएसीसीओएस र वेल्थहङ्गरहिल्फे (डब्ल्युएचएच)को सहकार्य तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)को निर्देशनमा कार्यक्रम कार्यान्वयन भइरहेको छ । ती संस्थाले बाढी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइ, स्वास्थ्य, शिक्षा, बाल संरक्षण, मनोसामाजिक सहयोग, पोषण तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

  • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    मुस्ताङ २१ असोज । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ । यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् । भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ ।

    उक्त सडक सञ्चालनका लागि अझै एक साता लाग्ने त्यस सडक आयोजनाका प्राविधिकहरूले जनाएका छन् । उक्त सडक सञ्चालनमा नआउँदा ७० बढी कन्टेनर र सय बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा राखिएको छ । बेनी–जोमसोम सडक अवरुद्ध रहेकै अवस्थामा कोरलानाकाबाट भने केही मालवस्तु बोकेका कन्टेनर जोमसोम ल्याइएको छ । कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम—कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका ती केही मालवस्तुवाहक कन्टेनर जोमसोम ल्याइएको हो ।

    यसअघि बाढी पहिरोबाट नाका क्षेत्रमा विद्युत् र इन्टरनेटको समस्या कारण चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन नसक्दा सयाँैको सङ्ख्यामा ती कन्टेनर रोकिएका थिए । भारी वर्षापछिको बाढी, पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत् पोल क्षतिमा हुँदा एक सातादेखि मुस्ताङमा केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध थियो । त्यसबाट उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित हुँदै आएको थियो ।

    कोरला नाकामै रोकिएका कन्टेनर चालक गोबिन्द गुरुङले कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका करिब ३०० कन्टेनर तथा २०० बढी विद्युतीय सवारी साधन भन्सार जाँचपासका लागि अहिले पनि रोकिएको बताए । चीनबाट कोरलानाका हुँदै पैठारी गरी नेपाल भित्र्याइएको दसैँतिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यपारीमात्र होइन उपभोक्ता समेत इच्छाइएको सामग्री खरिद गर्नबाट वञ्चित हुनुपरेको छ । त्यसबाट नेपाली बजारसमेत आर्थिक रुपमा चलायमान हुनसकेको छैन ।

  • कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी सुरू गर्न लागिएको जानकारी दिए ।


    उनका अनुसार मतदानका लागि काठमाडौँका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो । निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ ।

    त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।

    सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदान बिहान १० बजेदेखि सुरू हुनेछ । मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

  • कांग्रेसको १५औँ महाधिवेशनः उपसभापति शर्मा र महामन्त्री घिमिरेको प्रतिवेदन पारित

    कांग्रेसको १५औँ महाधिवेशनः उपसभापति शर्मा र महामन्त्री घिमिरेको प्रतिवेदन पारित

    काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ । उपसभाति शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ । बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो ।

    प्रस्ताव पारित भएपछि उपसभाति शर्माले कांग्रेसको बन्दसत्रलाई खुला संसारले सुन्ने गरी प्रस्तुत गरिएको भन्दै यसलाई पनि ऐतिहासिक विषयका रूपमा व्याख्या गरे । “बन्दसत्र पनि खुला संसारले सुन्ने गरी हामीले पेश गरेका छौँ, यो पनि ऐतिहासिक हो,” उनले भने । उपसभाति शर्माले कांग्रेसले हार र जित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बताए । “कांग्रेस सुन्न चाहन्छ, हार्दा र जित्दा पनि हाँस्छ, यस्तो कांग्रेस बनाउन खोजेको हो,” उनले भने ।

    उपसभापति शर्माले कांग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए । “उत्तर भएको कांग्रेस, गुनासो होइन, आशा र विश्वास र भरोसा गर्ने कांग्रेस हो, अब निराशा होइन, यस्तो कांग्रेस बनाउने हो,” उनले भने । महाधिवेशनबाट कसले कुन पद जित्छ भन्ने विषयमा मात्रै केन्द्रित नहुन प्रतिनिधिलाई आग्रह गर्दै उपसभाति शर्माले कांग्रेसको मूल उद्देश्य पार्टीलाई लोकतान्त्रिक मूल्य र संस्कृतिअनुसार अघि बढाउनु रहेको बताए ।


    कांग्रेसभित्र लोकतान्त्रिक संस्कृतिलाई थप बलियो बनाउँदै पार्टीलाई जनताले सुन्ने, विश्वास गर्ने र भरोसा गर्ने राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्नेमा उपसभाति शर्माले जोड दिए । यसैगरी बन्द सत्रमा महामन्त्री घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदन पनि पारित भएको छ । महाधिवेशनको आज चौथो दिन खुलामञ्चमा आयोजित बन्दसत्रले उक्त प्रतिवेदन पारित गरेको हो ।

    महामन्त्री घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा कांग्रेसलाई बलियो र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने विषयलाई प्राथमिकता दिइएको छ । बन्द सत्रले प्रतिवेदन पारित गर्दै त्यसमा प्रस्तावित नीति तथा कार्यक्रमलाई अघि बढाउने बाटो खुला गरेको छ । प्रतिवेदन पारित भएपछि कांग्रेसलाई थप बलियो, व्यवस्थित र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने प्रस्ताव कार्यान्वयनतर्फ जाने भएको छ ।

  • कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति थापाले पार्टीभित्र सबै किसिमको गुट सकिएको बताएका हुन् । “आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन,” उनले भने ।


    सभापति थापाले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने बताए । पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनको भनाइ थियो। यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गरेको सभापति थापाले बताए ।

    उनले आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने बताए । सभापति थापाले महाधिवेशन सकिए लगत्तै स्थानीय तहको निर्वाचनसम्म दिनरात खटिने बताए ।

  • मन्त्रिपरिषद् बैठकले आज के के गर्यो निर्णय

    मन्त्रिपरिषद् बैठकले आज के के गर्यो निर्णय

    काठमाडौँ, २१ असोजः सरकारले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न कानुन संशोधनका लागि अध्यादेश सिफारिस तथा उच्च तहका कर्मचारीको बढुवासम्मका महत्वपूर्ण निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय मानवअधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।


    त्यस्तै, बैठकले पोर्चुगल सरकारलाई काठमाडौँमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्ले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलगायतका अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    बैठकले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फका सहसचिव ९प्रा० नवीनराज सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । यसैगरी, नेपाल प्रशासन सेवा समूहीकरणतर्फका सहसचिव चक्रबहादुर बुढालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए । यस्तै नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

  • प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता

    प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता

    काठमाडौँ, २१ असोज । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलले आज बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ सर रोली वाकरसँग भेटवार्ता गरेका छन् । सर वाकरको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी औपचारिक भ्रमणका लागि प्रधान सेनापति सिग्देल गत सोमबार बेलायत प्रस्थान गरेका थिए ।


    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार प्रधान सेनापति सिग्देल र बेलायती सेनाका चिफ अफ द जनरल स्टाफबीच आज भएको भेटमा आपसी हित र नेपाल बेलायत सैनिक सम्बन्धका बारेमा कुराकानी भएको जनाइएको छ । साथै यस भ्रमणका क्रममा उनले हिजो पनि विभिन्न उच्च सैनिक अधिकारीहरुसँग भेटवार्ता गरेका थिए । त्यस्तै उनले गोरखा सैनिक स्मारकमा पुष्प गुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेको पनि निर्देशनालयले जनाएको छ ।

  • प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

    काठमाडौँ, २१ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर पुगेको छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

  • भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

    भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

    काठमाडौँ, २१ असोजः सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री वालेन्द्र शाहले बधाई ज्ञापन गरेका छन् । गुजरातको मुख्यमन्त्रीदेखि सुरु भएको आफ्नो सार्वजनिक जीवनको २५औँ वर्षको वर्षगाँठ प्रधानमन्त्री मोदीले मनाइरहेका छन् । प्रधानमन्त्री मोदी सन् २००१ को अक्टोबरमा पहिलोपटक गुजरातको मुख्यमन्त्री बनेका थिए ।

    प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत बधाई दिँदै लेखेका छन्, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाका लागि हार्दिक बधाई तथा शुभकामना छ । नेपाल आगामी दिनमा पनि यहाँ र यहाँको सरकारलाई निरन्तर सफलता र समृद्धिको शुभकामना व्यक्त गर्दछ ।”

    त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि एक्समार्फत नै प्रधानमन्त्री मोदीलाई शुभकामना व्यक्त गरेका छन् । उनले लेखेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाको उल्लेखनीय यात्राका लागि हार्दिक बधाई तथा शुभकामना । यहाँको दूरदर्शी नेतृत्वमा भारतले गरेको रूपान्तरण र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको छ ।” सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट दुवै राष्ट्रको साझेदारीलाई अझ सुदृढ र समृद्ध बनाउनका लागि सहकार्य गर्न उत्सुक रहेको पनि सो शुभकामना सन्देशमा बताएका छन् ।

  • दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

    बागमती, २१ असोजः पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रुपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा । सहर प्राकृतिक रुपमा उत्तिकै सुन्दर छ । यहाँको सुन्दरतालाई पर्यटकीय दृष्टिले खासै उपयोग गर्न सकिएको छैन । चुरे शृङ्खलामा समेटिएको हेटौँडामा बिदाका दिनमा घुम्न सकिने धेरै गन्तव्य रहेको यस क्षेत्रको प्रवद्र्धन र विकासका लागि निरन्तर रुपमा लागिरहेका जानकारको भनाइ छ ।

    हेटौँडा प्राकृतिक एवम् ऐतिहासिक दुवैै दृष्टिले महत्वपूर्ण गन्तव्यका रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासङ्घ र बागमती प्रदेशका सदस्य उत्तम शर्मा ढकाल बताउँछन् । महाभारतकालीन इतिहास जोडिएको भुटनदेवी मन्दिरदेखि ऐतिहासिक मकवानपुर गढी, हेटौँडा सहिद स्मारक, दक्षिण एसियाकै पहिलो चुरिया सुरुङ मार्ग जस्ता धेरै ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक सौन्दर्यताले भरिएका गन्तव्य हेटौँडा आसपासमा रहेको उनले बताए । विशेषगरी दसँै, तिहारको बिदाको समयमा हेटौँडाका विभिन्न स्थानमा भ्रमण गर्न सकिने उनले बताए ।

    हेटौँडा सहिद स्मारक

    हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक नेपालको गौरव र हेटौँडाको पहिचानका रुपमा चर्चा कमाएको गन्तव्य हो । विभिन्न शैक्षिक संस्थाको अवलोकन भ्रमणसँगै व्यक्तिगत रुपमा हेटौँडामा घुम्न आउने पर्यटकका लागि यो नछुटाउने गन्तव्यजस्तै बनिरहेको स्मारकका व्यवस्थापक रामचन्द्र न्यौपाने बताउँछन् ।


    स्मारकमा पूर्वाधार विस्तारसँगै विभिन्न कालखण्डमा शहादत प्राप्त गर्नुहुने सहिदका बारेमा प्रकाशित पुस्तक, जीवनी, लेखरचना फोटोलगायतका विवरण एउटै थलोमा उपलब्ध गराइएको छ । सहिदका बारेमा अध्ययन अनुसन्धान एवम् खोज गर्न सहज होस् भनेर सहिद अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।

    स्मारक परिसरमा बालबालिकाको मनोरञ्जनका लागि चिप्लेटी, पिङ, जीप, ट्रेन, आदि सञ्चालनमा छन् । वयस्कका लागि रोटेपिङ, डुङ्गा, फ्लाइङ चेयर, फ्लाइङ कार आदि सञ्चालित छन् । त्यस्तै, साहसिक मनोरञ्जनात्मक खेल जिपलाइन, रोलर कोस्टर जिपलाइन र स्काई साइकल उपलब्ध छ ।

    स्मारक परिसरमा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरू विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ र गणेशमान सिंहको पूर्णकदको प्रतिमासहित आकर्षक बगैँचा, फाउन्टेनसहितको प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ ।

    सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न सहज होस् भन्ने अभिप्रायले ६५ फिट अग्लो १९ मिटर गोलाइको सहिदस्तम्भ निर्माण गरिएको छ । स्तम्भ यहाँको अर्को आकर्षण हो । चारैतिरबाट कमलको फूलको जस्तो आकार देखिने र भित्री भागमा विभिन्न कालखण्ड झल्कने अर्ध अमूर्त आकृति, चार फोहोरा, आकर्षक बगैँचा, अग्रभागमा मुख्य नदीहरू, हिमशृङ्खलादेखि तराईसम्म बगिरहेको दृश्यसहितको नेपालको नक्सा राखिएको छ ।

    स्मारक परिसरभित्र रहेको चिडियाघर यहाँको अर्को आकर्षण हो । पछिल्ला दिनमा यहाँ जातीय सङ्ग्रहालय स्थापना गरी मकवापुुरमा रहेका दनुवार, चेपाङ, बनकरीया, राउटे, राई, लिम्बू, नेवार, तमाङलगायत २६ जातिको पहिरन, प्रयोग गर्न सकिने सामान, सांस्कृतिक पर्वलगायतले जातीय इतिहासलाई जीवन्तता दिने प्रयास गरिएको छ ।

    हेटौँडाका धार्मिक पर्यटकीय गन्तव्यहरू

    धार्मिक पर्यटकीय गन्तव्यका रुपमा हेटौँडामा महाभारतकालीन भुटनदेवी मन्दिर, कुष्माण्ड सरोवर त्रिवेणी धाम, भुवनेश्वर पशुपति, चुरियामाई आदि छन् । हेटौँडा उपहानगरपालिका–१० मा रहेको भुटनदेवी मन्दिरलाई महाभारतकालीन इतिहाससँग जोडेर हेरिन्छ ।

    हरेक दिन दर्शनार्थीको आगमन भइरहने यस मन्दिरमा बडादसैँलगायत महत्वपूर्ण चाडपर्व र तिथिमितिमा विशेष भीड लाग्ने गरेको मन्दिरका पुजारी बुद्धिमान राई बताउनुहुन्छ । मन्दिरभित्र अष्टभुजायुक्त देवीको आकर्षक मूर्ति रहेको छ । मन्दिरभित्र देवीसँगै सिंह र दैत्यवधको प्रतीकात्मक मूर्तिले असत्यमाथि सत्यको विजयलाई देखाएको छ ।

    भुटनदेवीको स्थापना सेनवंशी राजाबाट भएको मानिएको छ । देवीको पूजा दर्शन नगरी सिकार वा लडाइँमा गएमा उपलब्धि हासिल नहुने विश्वासका कारण त्यस समयदेखि नै शासकले देवीको श्रद्धाभक्तिपूर्वक पूजा गरेर मात्रै आफ्नो कार्य थालनी गर्ने गरेको किंवदन्ती छ ।

    त्यस्तै, हेटौँडामा नै रहेको कुष्माण्ड सरोबर त्रिवेणी धाम यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्य हो । हेटौँडास्थित रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणीमा कुष्माण्डा भगवतीले तपस्या गरी विष्णु भगवान्बाट सिद्धि प्राप्त गरेको विश्वास गरिन्छ । यस तीर्थस्थलमा विभिन्न चाडपर्व, तिथिमितिका साथै हरेक वर्षको कात्तिक शुक्ल नवमी (कुष्माण्ड नवमी) मा हजारौँ दर्शनार्थी आउने गरेका छन् । कार्तिक शुक्ल नवमीका दिन यहाँ कुभिण्डो दान गरिएमा पुण्य प्राप्त हुने जनविश्वास छ ।

    कुष्माण्ड सरोवर त्रिवेणीधाम व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेका अनुसार यस तीर्थस्थलमा १०८ वटा गाईको मुखबाट झरिरहेका धारा (गौमुखी धारा), शिवालय, यज्ञकुण्ड, नागस्थान, स्वचालित बुद्ध दर्शनस्थल, हेडम्बा नगरीको इतिहास झल्काउने संरचना, सङ्ग्र्रहालय, फूल बगैँचा, वृत्तचित्र प्रदर्शनस्थल, मनोरेल आदि सञ्चाालनमा छन् । त्रिवेणीधामको महिमा स्कन्दपुराणको हिमवत्खण्ड, महाभारतको आदि पर्व र वन पर्व, वराह तथा वायु पुराणमा उल्लेख छ ।

    हेटौँडाकै अर्को प्रसिद्ध धार्मिक तीर्थस्थल चुरियामाई यहाँको घुम्नै पर्ने गन्तव्य हो । चुरिया माईसँगै रहेको दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग यहाँको अर्को आकर्षणका रुपमा रहेको छ । यातयातकी देवीका रुपमा लिइने चुरिया माईमा विशेषगरी नयाँ सवारीसाधन खरिद गरेपछि पूजाआजाका लागि दर्शनार्थी पुग्ने गर्छन् ।

    मन्दिरमा आकर्षक र कलात्मक शैलीको कालो प्रस्तरको चुरियामाईको मूर्ति छ । वरपर गणेशसहित विभिन्न देवीदेवताका मूर्ति छन् । मन्दिर परिसरमा रहेको सुरुङमार्ग पनि यहाँको अर्को आकर्षण हो ।

    विसं १८७२ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भई १८७४ सालमा सम्पन्न भएको चुरियामाई सुरुङमार्ग तत्कालीन हेटौँडा–अमलेखगञ्ज रेलमार्गअन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदा हो । करिब दुई वर्ष लगाएर सुरुङमार्ग निर्माण गरिएको हो । यसको नेतृत्व सिभिल इन्जिनियर स्व डिल्लीजङ्ग थापाले गरेका थिए ।

    भुटनदेवी, चुरियामाई जस्तै हेटौँडा आसपासमा भुवनेश्वर पशुपति मन्दिर, मनकामना, पाथीभरा, वनस्खण्डी, लक्ष्मीनारायण मन्दिर, दक्षिणकाली मन्दिर, गोरक्षेश्वर धाम, रुद्रेश्वर महादेव मन्दिर आदि धार्मिक गन्तव्य छन् ।

    यस्तै, राक्सिराङ गाउँपालिकामा रहेको जलपरी झरना, सीता अशोक वाटिका पनि धार्मिक रुपमा दर्शनीय स्थलका रुपमा स्थापित छन् । हर्नामाडीस्थित मूर्ति सङ्ग्रहालय, जुरेथुमस्थित श्रीकृष्णको विशाल मूर्ति, पुष्पलाल पार्क आदि छन् ।

    ऐतिहासिक रुपमा पनि उत्तिकै महत्वपूर्ण गन्तव्य

    हेटौँडा र आसपासका गन्तव्यमध्ये मकवानपुरगढी यहाँको अर्को ऐतिहासिक महत्वको गन्तव्य हो । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन सेनवंशी राजाको दरबार हो । सेनवंशी राजाको इतिहासदेखि नेपाल एकीकरणका ऐतिहासिक पक्षको जीवन्त साक्षीका रुपमा रहेको यो दरबार वर्तमानमा भने मकवानपुरकै महत्वपूर्र्ण पर्यटकीय गन्तव्यका रुपमा चर्चामा छ ।

    हेटौँडाबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि एक हजार १७ मिटर उचाइमा रहेको यस गढीले नेपालको एकीकरण हुनुपूर्व सेनवंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहासलाई झल्काउने गरेको छ । यो गढीले परम्परागत तर तत्कालीन उन्नत वास्तुकलाको ज्वलन्त उदाहरणसँगै त्यस कालखण्डको सुरक्षात्मक प्रबन्धलाई जीवन्त रुपमा चित्रण गरेको छ ।

    औद्योगिक एवम् कृषिमा उदीयमान गन्तव्य

    हेटौँडा देशकै तेस्रो ठूलो औद्योगिक सहर हो । यहाँ धेरै उद्योग सञ्चालमना छन् । भारतसँगको प्रमुख नाका वीरगञ्जसँग राजधानी काठमाडौँलाई जोड्ने सहरका रुपमा पनि यसको महत्व छ । पछिल्ला दिनमा कृषि पर्यटनका क्षेत्रमा उदाइरहेका हेटौँडा आसपासका पदमपोखरी, बकैया आदि स्थानको पनि पर्यटकीय उपयोग गर्न सकिने देखिन्छ ।

    धेरै पर्यटकीय गन्तव्य रहे पनि प्रवद्र्धनको अभावमा सदुपयोग हुन नसकेको मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ढकालले बताए । दसैँ, तिहार जस्ता बिदामा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्यउने गरी लाग्नु आवश्यक भएको उनको भनाइ छ ।

    भारतसँगको सीमाबाट नजिकै रहेको हेटौँडामा आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकको आकर्षण बढाउन सकिने हिमालय राइडर्स सोसाइटी, हेटौँडाका अध्यक्ष राजु थापा मगर बताउँछन् । “गन्तव्यको प्रवद्र्धन गर्दै पर्यटकको आकर्षण बढाउन पर्यटन सम्बद्ध सबैको एकतावद्ध प्रयास आवश्यक छ,”, उनले भने, “विशेष गरी दसैँ, तिहारको बिदाको समयमा घुम्न निस्कने आन्तरिक पर्यटकलाई हेटौँडा पनि एउटा घुनै पर्ने गन्तव्य हो भन्ने बुझाउनु अपरिहार्य छ ।”

  • मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    बागलुङ, २१ असोजः यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम दु्रतगतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ ।

    चाडबाडअघिको आवागमनका साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा–बेनी हुँदै बागलुङ र पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुुङ मार्ग प्रयोग भइरहेको छ । एक सय १४ मिटर लामो पुलको पहुँचमार्गको झन्डै ३० मिटर सडकमा क्षति पुगेपछि १० दिनदेखि दुई जिल्लाबीचको सम्पर्क सहज बन्न सकेको छैन । सुरुमा सम्पर्कविच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवतजावत भइरहेको छ ।

    यसबाट मध्यपहाडी लोकमार्ग हँुँदै बागलुङ, रुकुम, रोल्पाको सम्पर्क सूत्र पनि टुटेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल मर्मतकार्य २४सै घण्टा गरिएकाले अबका केही दिनमै पुल सञ्चालनमा आउने जनाएको छ । बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको अवस्था अवलोकन गर्न पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङको पर्यटन र आयातनिर्यातका लागि पुल छिट्टै सञ्चालनमा ल्याउनुपर्ने हाललाई भने बागलुङ पुग्ने वैैकल्पिक मार्गका बारेमा पर्यटक र यात्रुलाई जानकारी दिनुपर्ने बताए ।


    उनले भने, “मालढुङ्गा पुल राष्ट्रिय महत्वका रूपमा रहेको छ । उक्त पुल जतिसक्दो चाँडै सञ्चालनमा ल्याउनुपर्छ । कामको प्रगति पनि राम्रै भइरहेकाले चाँडै नै निर्माण हुने पनि देखिएको छ । यसका साथै वैकल्पिक मार्गलाई पनि थप चलायमान बनाउन सकिएमा यसबाट यस क्षेत्रको पर्यटन र आयात–निर्यात सहज बन्नेछ ।

    यो एउटा पुलमात्रै नभएर बागलुङलाई राष्ट्रिय राजमार्गमा जोड्ने सेतु नै रहेको र भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडलाई छिचोलेको मध्यपहाडी लोकमार्गकै सङ्गमस्थल रहेको ढकालको भनाइ थियो । सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले बागलुङ आउने मुख्य नाकाका रूपमा रहेको मालढुङ्गा पुल ठप्प भएपछि वैकल्पिक मार्ग प्रयोग हुँदै आएको जानकारी दिँदै सुवेदीले भने, “दसैँअघि नै पुल सञ्चालनमा आउँछ, बागलुङसहित रुकुमपश्चिमसम्मका यात्रुले सहज यात्रा गर्न सक्नेछन् ।”

    पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङ जोड्ने कालीगण्डकीमाथिको मालढुङ्गा मोटरेबल पुल मर्मतकार्य जियोब्याग र जियोग्रेड प्रविधिमा २४सै घण्टा भइरहेको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले जानकारी दिए ।

    अधिकारीले चाडबाडसमेत नजिकिँदै गएको तथा बागलुङमा खाद्यान्न, ग्यासलगायत उपभोग्य सामानको अभावसमेत देखिन थालेकाले २४सै घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने प्रयास गरिएको जानकारी दिए । बागलुङका पर्यटन व्यवसायी अर्जुन चोखालका अनुसार बागलुङ बजारमा ग्यास, पेट्रोलियम पदार्थ र खाद्यन्न वैकल्पिक मार्गबाट नियमित आयात भइरहेको छ । उनले बैकल्पिक मार्गको प्रयोगबारे स्थानीय, पर्यटक र अन्य यात्रुलाई पनि जानकारी दिइएको बताए ।

  • रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

    रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

    काठमाडौँ, २१ असोजः नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका हुन् ।


    नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयमा रहेको ‘समुन्नति कार्यक्रम’ मार्फत् सो नगद प्रदान गर्ने जनाएको छ । यसका लागि ती दुई निकायबीचमा सम्झौतासमेत भएको छ ।

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रवहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीले मङ्गलबार सो सहकार्यमा हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनाल, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ आइएफआरसी नेपाल प्रमुख डेभिड फिसरको उपस्थिति थियो ।

    सम्झौताअनुसार नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित ६३ जिल्लाका लक्षित परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले नगद सहायता उपलब्ध गराउनेछ । बाढीबाट प्रभावित परिवारका तत्कालीन तथा प्राथमिक आवश्यकता सम्बोधन गर्दै उनीहरूको जीवनयापन सहज बनाउन, पुनर्लाभ तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहायता प्रदान गर्न लागिएको महामन्त्री खनालले जानकारी दिए ।


    महामन्त्री खनालले भने, “प्रभावित व्यक्तिहरूको तथ्याङ्क राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उपलब्ध गराइनेछ । बाढीबाट प्रभावित झन्डै छ हजार परिवार रहेको प्रारम्भिक अनुमान छ । प्राप्त तथ्याङ्क तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिनेछ ।

    यसबाट सहायता वितरण प्रक्रियालाई सहज, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । प्राप्त रकम परिवारले आफ्नो प्राथमिकताअनुसार खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, अत्यावश्यक घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनमा आवश्यक काममा प्रयोग गर्न सक्नेछन् ।”

    नगद सहायता प्रदान गर्दा बाढीबाट प्रभावित तथा विशेष जोखिममा रहेका महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, विशेष हेरचाह आवश्यक पर्ने बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा अन्य विशेष आवश्यकता भएका व्यक्ति तथा परिवारलाई प्राथमिकता दिइनेछ ।

    सम्झौतामा उल्लेख भएअनुसार मन्त्रालयको विशेष जिम्मवारी नीतिगत निर्देशन, कार्यक्रमको अनुगमन तथा समन्वय रहनेछ । सम्बन्धित स्थानीय तहले लाभग्राहीको पहिचान, प्रमाणीकरण तथा स्थानीय समन्वयमा सहयोग पुर्याउनेछ भने नेपाल रेडक्रस सोसाइटीले नगद तथा भौचर सहायता वितरण, समुदायसँग समन्वय, अनुगमन तथा जवाफदेहितासम्बन्धी कार्यमा सहयोग गर्नेछ ।

    मन्त्रालयले ‘समुन्नति कार्यक्रम’लाई समावेशी कार्यक्रमका रूपमा कार्यान्वयन गरिरहेको छ । यस कार्यक्रमको उद्देश्य महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्करणमा परेका समूह, विपद् प्रभावित व्यक्ति तथा विशेष आवश्यकता र जोखिममा रहेका अन्य व्यक्ति तथा परिवारलाई सहयोग गर्नु हो ।

    बाढी प्रभावितलाई मानवीय सहायता निरन्तर जारीः नेपाल रेडक्रस

    नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेकोशीमा गत भदौ १० गते गएको बाढीले पारेको प्रभाव र मानवीय कार्यहरूको समीक्षासमेत गरेको छ । सो अवसरमा महामन्त्री खनालले बाढीलगत्तैदेखि रेडक्रसले सुरु गरेको मानवीय सहायताको कार्य निरन्तर रहेको जानकारी दिनुभयो । बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न नेपाल रेडक्रसले सरोकारवालासँगको साथ र सहयोगका लागि समन्वय गरिरहेको जानकारी दिनुभयो ।

    रसुवा भोटेकोशी बाढीपश्चात् नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरूको कार्य प्रशंसनीय रहेको जनाउँदै आइएफआरसी नेपालका प्रमुख फिसरले बाढी प्रतिकार्यका लागि आइएफआरसीले सहयोगको अपिल गरेको र अपिलअनुसारको आर्थिक सहयोग प्राप्त भइरहेको जानकारी दिए । उनले बाढी प्रभावित क्षेत्रमा प्रतिकार्यका गतिविधि निरन्तर जारी रहने जानकारी दिए ।

    रेडक्रसको अन्तरराष्ट्रिय समिति आइसीआरसी नेपाल प्रमुख सन्देश श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन झोला र बेपत्ता परिवारको खोजीमा नेपाल रेडक्रस सोसाइटीसँग मिलेर काम गरेको बताए । कार्यशालाले आगामी तीन महिनाका लागि गर्नुपर्ने तत्कालीन योजनाको सूची तयार गरेको छ । नेपाल रेडक्रसले प्रभावित क्षेत्रमा बहुउद्देश्य नगद सहायता, आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, सामुदायिक संलग्नता तथा जवाफदेहिता, संरक्षण, लैङ्गिक र समावेशीकरणलगायतका क्षेत्रमा निरन्तर सहयोग जारी राखेको छ ।

  • ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    बाजुरा, २१ असोजः बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उहाँले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम बनाएका हुन् । गाउँमै आफ्नो जमिन र स्थानीय स्रोतसाधनको उपयोग गर्दै त्यस फलबाट आम्दानी लिन सकिन्छ भन्ने उहाँले उदाहरण प्रस्तुत गरेका छन् । विसं २०६८ देखि २०७४ सम्म मार्तडीमा होटल व्यवसाय गरेका जैसी त्यसपछि गाउँ फर्किए ।


    गाउँ फर्किएपछि ‘हिमानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरेर कुखुरापालनसँगै तरकारीखेती सुरु गरे । केही वर्ष कृषि तथा पशुपालनमा लागेपछि फरक र नयाँ प्रकारको व्यावसायिक खेती गर्ने सोच आएपछि उनी ड्रागन फ्रुट खेतीतर्फ आकर्षित भए । “केही नयाँ फरक गर्नुपर्छ भन्ने सोच आयो,” जैसीले भने, “कृषि ज्ञान केन्द्रका तत्कालीन प्रमुख मीनप्रसाद जैसीको सुझावमा अनुदानमा ड्रागन फ्रुटखेती सुरु गरेँ ।”

    सुरुमा परीक्षणका रूपमा केही बिरुवा लगाएर उक्त खेती सुरु गरेका जैसीले उत्पादन राम्रो हुन थालेपछि त्यसलाई विस्तार गरेका हुन् । हाल उनले पाँच रोपनीमा ड्रागन फ्रुटका एक हजार ४०० बिरुवा लगाएका छन् । ड्रागन फ्रुटका बिरुवाले दुई वर्षमै फल दिन थालेपछि जैसीको उत्साह थपिएको छ । गत वर्ष करिब छ क्विन्टल ड्रागन फ्रुट बिक्री गर्नुभएको उनदे यस वर्ष भने उत्पादन बढेको बताए । “जेठ महिनादेखि फल्न सुरु हुन्छ र असोजसम्म यसको सिजन हुन्छ,” उनले भने, “गत वर्ष करिब छ क्विन्टल बिक्री भएको थियो । यस वर्ष हालसम्म १५ क्विन्टल बिक्री गरिसकेको छु । अझै केही पाक्ने क्रममा छ ।”

    जैसीका अनुसार ड्रागन फ्रुटको बिक्रीबाट वार्षिक रु पाँचदेखि छ लाखसम्म आम्दानी भएको छ । उत्पादित फल बिक्रीका लागि बजारको समस्या नरहेको उनको भनाइ छ । मार्तडी बजारसँगै अछामको साँफेबगरसम्म पुर्याएर बिक्री गर्दै आएका छन् ।


    उत्पादन बढ्दै गएमा आम्दानी बढाउन सकिने उहाँको भनाइ छ । जैसीका अनुसार राम्रो मलजल र व्यवस्थापन गर्न सके एउटा बोटले २५ वर्षसम्म उत्पादन दिन सक्छ । “ड्रागनखेतीमा सुरुमा केही लगानी र मेहनत चाहिन्छ,” उनले भने, “तर अन्य बालीजस्तो धेरै सिँचाइ आवश्यक पर्दैन । गाईवस्तुको मल प्रयोग गर्न सकिन्छ र समय–समयमा काँटछाँट गरे पुग्छ ।” जैसीको ड्रागन फ्रुटखेती अहिले बाजुरामा कृषि सम्भावनाको एउटा उदाहरण बनेको छ । जिल्लामै ठूलो क्षेत्रफलमा खेती गर्ने उहाँ पहिलो कृषक हुन् । अन्य स्थानमा केही वर्षअघि खेती सुरु भए पनि व्यावसायिक हुन सकेको छैन ।

    बाजुरामा कृषियोग्य जमिन भए पनि परम्परागत बालीबाट मात्र पर्याप्त आम्दानी गर्न कठिन हुने अवस्था छ । यहाँ करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा हालसम्म सिँचाइ सुविधा पुगेको छैन । वर्षभरि लगाएको खेतीले छ महिना पनि खान पुग्दैन । कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०७९÷८० मा जैसीसहित जिल्लाका चार किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ड्रागनखेती सुरुआत गरिएको थियो ।

    केन्द्रका बागवानी विकास अधिकृत सृष्टि ढुङ्गानाका अनुसार १०० देखि एक हजार ५०० मिटर उचाइसम्म ड्रागनखेती हुन्छ । “नयाँ बाली भएकाले यहाँ थोरै किसान मात्रै व्यावसायिक खेतीमा हुनुहुन्छ,” उनले भने, “जिल्लामा ड्रागन फ्रुटको सम्भावना प्रशस्त रहेको छ । मेहनतका साथ लाग्न सके राम्रो आम्दानी गर्न सकिन्छ ।”

  • बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

    बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

    म्याग्दी, २१ असोजः मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेँसी गाउँ जोखिममा परेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढीले बालौटेमा मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पश्चिम म्याग्दीको लाइफलाइन (भाग्यरेखा) मानिएको बेनी–दरवाङ सडकमा क्षति पुग्नुका साथै बस्तीमा जोखिम बढेको हो । नदीले कटान गरेपछि दुखुबेँसीको फेदीमा रहेको सडक भत्किएर बस्तीको नजिकै पहिरो पुगेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।


    “अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गराउँदा कटान भएर सडक भत्किँदा बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभावित बनेको छ”, उनले भने, “दुखुखोलामा ह्युम पाइप राखेर तत्काललाई दुखुबेँसी हुँदै तोलावाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरे पनि दिगो समाधानका लागि सडक मर्मत र बस्ती संरक्षणको विकल्प छैन ।”

    साँघुरो, कच्ची अवस्थाको ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन एकापसमा पास हुने पर्याप्त ठाउँ छैन । कतिपय ठाउँमा सवारीसाधन भुइँमा ठेक्किन्छन् । ह्युम पाइप राखिएको ठाउँमा बाढी आएर बगाउने जोखिम पनि उत्तिकै छ । बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने यो सडक निकै व्यस्त हुन्छ । म्याग्दीखोला बेसिनमा निर्माणाधीन छवटा जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारीसाधनको चाप पनि यो सडकमा छ ।

    गण्डकी प्रदेश सरकार मातहतको बेनी–दरवाङ सडक स्तरोन्नति आयोजना सञ्चालन गरिरहेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार करिब १०० मिटर दूरीमा कालोपत्र डिलदेखि कुनासम्मै सडकको पूरै भाग भत्किएको छ । सडक भत्किएको ठाउँमा पैदलयात्रा गर्न पनि जोखिम छ । खोलाको किनारदेखि पक्की पर्खाल उठाएर सडकलाई पुनर्निमाण गर्नुपर्ने कार्यालय प्रमुख उलकले बताए । डिलतिर ठाउँ छैन, भित्ता काटेर सडक बनाउँदा बस्तीलाई जोखिम हुन्छ । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले पहिरोका कारण करिब १४० घरपरिवारको बसोबास रहेको दुखुबेँसी गाउँलाई जोखिम बनाएको बताए ।


    कटान रोकथाम, सडक सञ्चालन र बस्ती संरक्षणको काम गर्नुपर्ने दुखुबेँसीका बासिन्दाको भनाइ छ । बेनी–दरवाङ सडकको पछिल्लोपटक चुनौती बनेको बालौटे खण्डको सडक पुनर्निर्माणको काम अघि बढाउन मङ्गलबार म्याग्दी १ ९२० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन), गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नवराज शर्मा, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँको टोलीले निरीक्षण गरे ।

    सांसद जुग्जालीले यातायात सञ्चालन, सडक पुनर्निर्माण, कटान नियन्त्रण र बस्ती संरक्षणको कामलाई समानान्तर रुपमा अघि बढाउन प्रस्ताव गरे । तत्काल बस्तीलाई असर नपुग्ने गरी सडक पुनर्निर्माण गरी दसँैअघि सवारी सञ्चालन गर्ने र आगामी बर्खाअघि नै नदी नियन्त्रण गर्नुपर्ने जुग्जालीले बताए ।


    सचिव शर्माले पूर्वाधार विकास कार्यालयले सडक मर्मत शीर्षकको मौजुदा र अख्तियारीप्राप्त भएको बजेटमार्फत ग्यावियन जाली खरिद र मजदुरको ज्यालाको व्यवस्थासँगै थप बजेटको प्रक्रिया अघि बढाउने, मन्त्रालयले स्रोतको व्यवस्थापन गर्ने, गाउँपालिकाले नदीजन्य निर्माण सामग्री उपलब्ध गराउने र छिटो काम गर्नका लागि जलविद्युत् आयोजनाहरूका उपकरण परिचालन गर्ने समझदारी बनेको बताए । मन्त्रालयले प्रदेश सरकार मातहतका गण्डकीका अन्य जिल्लाका विपद्बाट क्षतिग्रस्त सडक आयोजनालाई पनि तत्काल मर्मत गरी सञ्चालनका लागि बजेटको अभाव हुन नदिने र कतिपय जिल्लामा काम भइरहेको सचिव शर्माले बताए ।

  • एनपिएलको तयारी अन्तिम चरणमा

    एनपिएलको तयारी अन्तिम चरणमा

    काठमाडौँ, २१ असोजः नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको हो ।

    प्रतियोगिताको हरेक संस्करण बृहद् बन्दै गएकाले दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको उनले बताए । “तयारीको अन्तिम चरणमा छौँ । प्रतियोगितालाई राम्रोसँग सम्पन्न गर्नुपर्ने अपेक्षा धेरै छ । प्रतियोगिता जति ठूलो हुँदै गयो, त्यति नै हाम्रो जिम्मेवारी पनि बढेको छ”, सचिव खड्काले रासससँग भने, “दसँैसम्म सबै काम सकेर तेस्रो संस्करणका लागि पूर्ण रूपमा तयार हुने हाम्रो योजना छ ।”

    गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यस पटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन् । एनपिएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास गरिएको सचिव खड्काले जानकारी दिए । मैदान परिसरमा थप दर्शक अटाउन मिल्ने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको उनको भनाइ छ ।

    यसैगरी, मैदान प्रवेश गर्ने बाटो तथा गेट व्यवस्थापनमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सुधारको पहल भइरहेको सचिव खड्काले बताए । टिकट लिएर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल हेरेर फर्किंदासम्म सहज वातावरण मिलाउने गरी व्यवस्थापनमा विशेष ध्यान दिइएको क्यानले जनाएको छ । गत संस्करणमा दर्शकले शौचालय तथा आवतजावतका क्रममा धुलोलगायतका समस्या भोग्नु परेको थियो । यसपटक त्यस्ता समस्या दोहोरिन नदिन क्यानले पहल गरेको सचिव खड्काले बताए ।

    दसैँलगत्तै एनपिएल

    दसैँ–तिहारको बीचमा एनपिएल आयोजना हुँदा दर्शकको उपस्थिति प्रभावित हुन सक्ने आकलन भए पनि नेपाल क्रिकेट सङ्घ (क्यान) भने यसप्रति धेरै चिन्तित छैन । क्यानका सचिव खड्का नेपाली क्रिकेटको ‘फ्यान बेस’ बलियो भएकाले चाडपर्वको समय भए पनि दर्शकको उत्साहमा कमी नआउने विश्वास व्यक्त गर्छन् ।


    उनका अनुसार एनपिएलको मिति तय गर्दा अन्तरराष्ट्रिय क्रिकेट र अन्य फ्रेन्चाइज लिगको तालिका तथा विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको हो । यी सबै पक्षलाई हेर्दा यस वर्षका लागि दसैँ–तिहारको बीचको समय नै प्रतियोगिता आयोजना गर्नु उपयुक्त देखिएको उनको भनाइ छ ।तेस्रो संस्करणमा सहभागी टोलीले अन्तरराष्ट्रिय क्रिकेटका चर्चित खेलाडीलाई अनुबन्ध गर्ने क्रम तीव्र पारेका छन् । विदेशी खेलाडीको उपस्थितिले यसपटक एनपिएलप्रति दर्शकको आकर्षण थप बढ्ने क्यानको अपेक्षा छ ।

    टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई आफ्नै मैदानमा प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म तान्ने सचिव खड्काको विश्वास छ । “यसपालि ठूलाभन्दा ठूला खेलाडी हरेक टोलीले ल्याइरहेका छन् । टिभीमा हेरिरहेका खेलाडीलाई अब कीर्तिपुर अन्तरराष्ट्रिय क्रिकेट मैदानमै प्रत्यक्ष देख्न सक्ने अवस्था बनेको छ”, उनले भने । एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक नौदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।

  • जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    दमौली (तनहुँ), २१ असोजः तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ । जिल्लामा पछिल्लो समय बढ्दै गएको आन्तरिक पर्यटनलाई लक्षित गर्दै बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन हुँदै आएको जीप सफारीलाई अन्य पर्यटकीय गन्तव्यसँग जोड्ने योजना अघि सारिएको हो । बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलका अनुसार बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा जीप सफारी सञ्चालन भइरहेको छ । पर्यटकलाई सडकमार्ग हुँदै गाउँ, पहाड, धार्मिकस्थल तथा प्राकृतिक गन्तव्यको अवलोकन गराउने उद्देश्यले जीप सफारी सञ्चालन गरिएको उनले बताए ।

    जीप सफारीलाई थप विस्तार गर्दै दमौली–मानुङकोट, छाब्दी, छिम्केश्वरी र आँधीमूललाई समेटेर धार्मिक तथा पर्यटकीय सर्किट विकास गर्ने तयारी गरिएको पौडेलले जानकारी दिए । “बन्दीपुर र आँबुखैरेनीमा जीप सफारी भइरहेको छ । अब यसलाई अन्य पर्यटकीय गन्तव्यसँग जोडेर पर्यटन सर्किटका रूपमा विकास गर्ने तयारी गरेका छौँ,” पौडेलले भने ।


    उनका अनुसार तनहुँमा धार्मिक, प्राकृतिक र ग्रामीण पर्यटनका लागि पर्याप्त सम्भावना भए पनि गन्तव्यबीचको सम्बन्ध र पर्यटकीय प्याकेजको विकासमा अझै ध्यान पुग्न सकेको छैन । एउटै यात्रामा विभिन्न गन्तव्यको भ्रमण गर्न सकिने गरी सफारी सञ्चालन गर्न सके पर्यटकको बसाइ अवधि बढाउन पनि सहयोग पुग्ने उनको भनाइ छ ।

    मानुङकोट सूर्योदय तथा हिमशृङ्खला अवलोकनका लागि चर्चित गन्तव्यका रूपमा विकास भएको छ । त्यससँगै छाब्दी धार्मिक तथा प्राकृतिक आकर्षण बोकेको स्थल हो । छिम्केश्वरी तनहुँको उच्च पहाडी क्षेत्रको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो भने आँधीमूल पनि धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित छ ।

    यी गन्तव्यलाई सडकमार्गमार्फत जोडेर जीप सफारी सञ्चालन गर्न सके पर्यटकलाई एउटै प्याकेजमा फरक–फरक प्रकृतिका गन्तव्यको अनुभव गराउन सकिने पौडेल बताउँछन् । जीप सफारीले पर्यटकलाई मुख्य बजार क्षेत्रबाट गाउँ तथा पहाडी बस्ती हुँदै गन्तव्यसम्म पु¥याउने भएकाले यसबाट ग्रामीण क्षेत्रमा समेत पर्यटनको लाभ पुग्ने अपेक्षा गरिएको छ । पर्यटकको आवागमन बढेमा स्थानीय होटल, होमस्टे, रेस्टुरेन्ट, कृषि उपज तथा स्थानीय उत्पादनको बजार विस्तारमा पनि सहयोग पुग्ने व्यवसायीको विश्वास छ ।

    बन्दीपुर यसअघि नै नेपालको प्रमुख पहाडी पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ । यहाँ आउने पर्यटकलाई आसपासका ग्रामीण तथा धार्मिक क्षेत्रसम्म पु¥याउन सके बन्दीपुरमा केन्द्रित पर्यटनलाई जिल्लाका अन्य क्षेत्रमा विस्तार गर्न सकिने देखिन्छ । आँबुखैरेनी पनि प्राकृतिक सौन्दर्य, धार्मिकस्थल तथा ग्रामीण परिवेशका कारण पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । जीप सफारीमार्फत यी क्षेत्रलाई जोड्दा सडकमार्गबाट सहजै घुम्न चाहने पर्यटकका लागि नयाँ विकल्प थपिने उनले बताए ।


    पर्यटन व्यवसायी पौडेलले पर्यटकलाई केवल एउटा गन्तव्य देखाएर फर्काउनेभन्दा गन्तव्यको समूह बनाएर प्याकेज तयार गर्नु अहिलेको आवश्यकता भएको बताए । त्यसका लागि स्थानीय तह, पर्यटन व्यवसायी र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उनी बताउँछन् । “एउटा गन्तव्यमा पुगेपछि अर्को गन्तव्यसम्म जाने वातावरण बनाउन सकियो भने पर्यटकको बसाइ र खर्च दुवै बढाउन सकिन्छ,” पौडेलले भने । धार्मिक तथा पर्यटकीय सर्किट निर्माणसँगै स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने योजना पनि महत्वपूर्ण हुने उनको भनाइ छ ।

    पर्यटक आउने क्षेत्रका स्थानीयले घरबास ९होमस्टे० सञ्चालन, स्थानीय खाना, हस्तकला, कृषि उपज तथा सांस्कृतिक गतिविधिमार्फत आम्दानी गर्न सक्ने भएकाले पर्यटनबाट प्रत्यक्ष लाभ लिन सक्ने वातावरण बनाउनुपर्नेमा उनले बताए । तनहुँका विभिन्न क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यबीच यातायातको सहज पहुँच, पूर्वाधार विकास र प्रचारप्रसारलाई एकीकृत गर्न सके जिल्लालाई लामो दूरीको पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने व्यवसायीको विश्वास छ ।

  • यस्तो रह्यो मेसीको बिदाई खेल (फोटो फिचर)

    यस्तो रह्यो मेसीको बिदाई खेल (फोटो फिचर)

    २१ असोज, काठमाडौं । विश्व फुटबलका महानतम खेलाडीमध्येका एक लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट भावुक र सुखद बिदाइ लिएका छन्। बुधबार बिहान अर्जेन्टिनाको ब्युएनोस आयर्सस्थित ऐतिहासिक एस्टाडियो मास मोनुमेन्टल रंगशालामा सम्पन्न बिदाइ मैत्रीपूर्ण म्याचमा अर्जेन्टिनाले बेनिनलाई ३–० गोल अन्तरले पराजित गर्‍यो।

    Argentina’s Lionel Messi, center, and Benin’s Imourane Hassane battle for the ball during Messi’s final match for the national team, a soccer friendly against Benin, in Buenos Aires, Argentina, Tuesday, Oct.6, 2026. (AP Photo/Gustavo Garello)

    आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेललाई यादगार बनाउने क्रममा ३९ वर्षीय कप्तान मेसीले टोलीका लागि १ गोल गरे भने बाँकी २ गोलमा उत्कृष्ट पास (एसिस्ट) मिलाइदिए । खेलको मुख्य क्षण र मेसीको प्रदर्शनघरेलु समर्थकको अपार उपस्थिति र नाराबाजीका बीच मैदान उत्रिएको अर्जेन्टिनाले सुरुदेखि नै अफ्रिकी टोली बेनिनमाथि दबाब बनाएको थियो।

    Argentina’s Lionel Messi, center, makes his final appearance for the national team, a soccer friendly against Benin, in Buenos Aires, Argentina, Tuesday, Oct.6, 2026. (AP Photo/Gustavo Garello)

    पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो । ४८औँ मिनेटमा लियोनल मेसीको उत्कृष्ट फ्रिकिक क्रसमा डिफेन्डर निकोलस ओतामेन्दीले हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । ६१औँ मिनेटमा मेसीले मिलाइदिएको पासमा युवा प्रतिभा निको पाजले बक्सभित्रबाट आकर्षक गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। ७१औँ मिनेटमा बेनिनका डिफेन्डरले बक्सभित्र ह्यान्डबल गरेपछि अर्जेन्टिनाले पेनाल्टी प्राप्त गर्‍यो।

    A child looks at the statue of Argentina’s Lionel Messi before an international friendly soccer match against Benin, marking his farewell appearance for the national team, in Buenos Aires, Argentina, Tuesday, Oct.6, 2026. (AP Photo/Rodrigo Abd)


    घरेलु दर्शकको गुञ्जयमान हुटिङका बीच मेसीले पेनाल्टीलाई सहजै गोलमा परिणत गर्दै आफ्नो बिदाइ खेललाई अझ विशेष बनाए।निर्धारित ९० मिनेटको खेल सकिएपछि रंगशालामा उपस्थित हजारौँ दर्शक र सहकर्मी खेलाडीहरूले मेसीलाई उभिएर सम्मान दिएका थिए। खेलको अन्तिम ह्विसल बजेलगत्तै मेसी भावुक बनेका थिए।


    एक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्राको अन्त्यसन् २००५ मा अर्जेन्टिनाको सिनियर टोलीबाट डेब्यु गरेका मेसीले राष्ट्रिय जर्सीमा कुल २०८ म्याच खेल्दै १२५ गोल प्रहार गरे। अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप तथा २०२१ र २०२४ को कोपा अमेरिकाको उपाधि दिलाउन मेसीको योगदान अतुलनीय रह्यो।

    Argentina’s Lionel Messi, left, makes an attempt to score during his final match for the national team, a soccer friendly against Benin, in Buenos Aires, Argentina, Tuesday, Oct.6, 2026. (AP Photo/Natacha Pisarenko)

    उनले खेलपछि भने, ‘अर्जेन्टिनाको यो नीलो र सेतो जर्सी लगाएर मैदान उत्रिन पाउनु मेरो जीवनको सबैभन्दा ठूलो गर्वको कुरा हो। आज म मैदानबाट बिदा भए पनि मेरो मुटु सधैँ यो टोलीसँगै रहनेछ।’ मेसीको यो अन्तिम अन्तर्राष्ट्रिय उपस्थिति, जसलाई ‘द लास्ट ट्याङ्गो’ नाम दिइएको थियो, सँगै अर्जेन्टिनी फुटबलको एउटा स्वर्णिम युगको अन्त्य भएको छ। यद्यपि, मेसीले क्लब फुटबलतर्फ अमेरिकी क्लब इन्टर मियामीबाट भने निरन्तरता दिनेछन्।

  • लियोनल मेसीको भब्य बिदाई, अन्तिम खेलमा गरे गोल

    लियोनल मेसीको भब्य बिदाई, अन्तिम खेलमा गरे गोल

    २१ असोज, काठमाडौं । अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीको भब्य बिदाई गरिएको छ । बेनिन्विरुद्धको खेलमा मेसी उपस्थित भए । यस खेलका लागि अर्जेन्टाइन फुटबल संघले मेसीलाई विशेष आमन्त्रण गरेको थियो । जसमा मेसीले दुई असिस्ट र एक गोल समेत गर्दै आफ्नो २१ वर्षे करियर टुङ्ग्याएका छन् । खेल अघि र पछि भब्य कार्यक्रम आयोजना गरियो ।

    खेलपछि उनले केहीबेर सम्बोधन समेत गरेका थिए । विश्वबिजेता मेसी सर्वकालिन महान फूलबलरमध्ये एक मानिन्छन् । लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि आफ्नो बिदाइ खेलमा गोल गर्दा समग्रमा अर्जेण्टिना ३–० गोल अन्तरले विजयी भएको हो । निकोलस ओटामेन्डी र निको पाजले १–१ गोल गरे । मेसीले गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । अर्जेण्टिनाले सन् २०२२ मा विश्वकप उचाल्दा मेसी कप्तान थिए ।

  • दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

    दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

    काठमाडौँ, २० असोजः वडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ । बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्न लागेको जनाएको छ ।

    बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल सङ्घ नेपाल, होटल व्यवसायी महासङ्घ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी सङ्घसंस्थासहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरिएको बोर्डले जनाएको छ ।

    सम्झौताअनुसार विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गरी दसैँको अवधिभर सञ्चालन गरिनेछ । विशेषगरी पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा पिङ राखिने व्यवस्था गरिएको हो । नेपाल पर्यटन बोर्ड र सम्बन्धित स्थानीय तह तथा सङ्घसंस्थाबीच भएको सम्झौतामा पिङ निर्माण तथा सञ्चालन गर्दा आवश्यक सुरक्षा व्यवस्था, भीड व्यवस्थापन र दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने उल्लेख छ ।

    दसैँको कार्यक्रम सम्पन्न भएपछि पिङ हटाइ निर्माणस्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारीसमेत सम्बन्धित पक्षको हुने सम्झौतामा उल्लेख छ । नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले दसैँमा लिङ्गे पिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अघि बढाएको जनाएको छ ।

  • दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

    दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

    काठमाडौँ, २० असोज : जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रु दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आज प्रसाईंलाई रु दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो । अदालतका सूचना अधिकारी शिव खतिवडाले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश भएको राससलाई जानकारी दिए ।

    विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई असोज १२ गते पक्राउ गरेको थियो । प्रहरीले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै प्रसाईं विरुद्ध मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा जिल्ला अदालत काठमाडौँले आज धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

  • कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

    कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

    काठमाडौँ, २० असोजः नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरको उम्मेदवारी परेको छ । यसैगरी वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापति (महिला) मा पुष्पा भुसालले मात्र उम्मेदवारी दर्ता गराउनुभएको छ । उपसभापति खुलामा डा चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा चन्द्रमोहन यादवको उम्मेदवारी परेको छ ।

    समावेशी उपसभापतिमा जीवन परियार, बिनोद चौधरी, फर्मुल्लाहा मन्सुर, सीता गुरुङ र रन्जित कर्णको उम्मेदवारी परेको छ । खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शङ्कर तिवारी, डा सुनिल शर्मा र डा सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गराए । महामन्त्री महिलामा डा डिला संग्रौला, डिना उपाध्याय र रिता खनालको उम्मेदवारी परेको छ । सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक–एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको हो ।

  • घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

    घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

    काठमाडौँ, २० असोज । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायत सरोकारवालाको बैठकले दसैँ अवधिभर देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो । बैठकले यही असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए ।


    उनका अनुसार सडकको अवस्थालाई ध्यानमा राख्दै सवारी सञ्चालनका क्रममा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि मात्रै अन्य सवारीसाधनलाई प्राथमिकता दिइने व्यवस्था मिलाइनेछ । दसैँमा ठूलो सङ्ख्यामा यात्रु राजधानीलगायत सहरी क्षेत्रबाट आआफ्नो गाउँघर जाने भएकाले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायबीच समन्वय गरी आवश्यक तयारी अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    दसैँका समयमा यात्रुले अनावश्यक दुःख पाउन नपरोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए । दसैँको समयमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सञ्चालन, टिकट व्यवस्थापन, सडकको अवस्था तथा यात्रुको सुरक्षामा विशेष ध्यान दिइने विभागले जनाएको छ ।

  • पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता

    पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता

    गण्डकी, २० असोज । कास्कीका ऐतिहासिक पाँच कोटलाई समेटेर आगामी आइतबार ‘पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेस–२०८३’ आयोजना हुँदैछ । नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराको आयोजना र विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको विशेष सहयोगमा उक्त दौड प्रतियोगिता आयोजना गरिएको हो ।

    मङ्गलबार नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरमा आयोजित समन्वयात्मक बैठकमा पृतनापति उपरथी भोलानाथ थापाले नेपाल भूतपूर्व खेलाडी मञ्चको अगुवाई र निजी क्षेत्रलगायतको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको बताए । उनले पहिलोपटक हुन लागेको यस अल्टा ट्रेल दौडले पोखराको खेल पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।


    नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराका पूर्वअध्यक्ष एवं प्रतियोगिताका ‘रेस डाइरेक्टर’ तेज गुरुङले नेपालको शाहवंशीय इतिहाससँग जोडिएको कास्कीकोटसहित ऐतिहासिक महत्त्वका सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई समेटेर अल्ट्रा ट्रेल दौड आयोजना गरिएको बताए । यस दौड प्रतियोगिताले प्रकृति, संस्कृति र साहसिकतासँगै इतिहासलाई पनि जोडेको उनको भनाइ छ ।

    उनका अनुसार ५० किमिको दौड पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, जौबारी पुल, पानी ट्याङ्की, घार्मीडाँडा, ढिकीडाँडा, झुप्राङकोट, बलायँखर्क, महापुरुष डाँडा, च्होगो डाँडा, अर्मलाकोट, कुरा गाउँ, पिपलडाली, र्‍यालेचौर, काहुँकोट हुँदै नेपाली सेनाको फूलबारी ब्यारेकमा पुगेर सकिनेछ ।

    ५० किमि दुरीमा दौड पार गर्न नसक्ने धावकका लागि १६ किमि दुरी निर्धारण गरिएको मञ्चका पूर्वअध्यक्ष गुरुङले बताए । जसमा कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, हरिचोक, सिम्पानीचोक, बगर ट्याक्सीचोक, पृथ्वीनारायण क्याम्पस, बालमन्दिर माध्यमिक विद्यालय, नारायण थान, पहेँलो पुल हुँदै पोखरा महानगरपालिका–११ स्थित फूलबारी ब्यारेकमा गई समाप्त हुनेछ ।

    प्रतियोगिताका विजेतालाई पुरुष र महिला गरी दुवैतर्फ समान रूपमा पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । ५० किमि दौडमा प्रथम स्थान गर्ने पुरुष र महिला धावकले रु. एक लाख ५० हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो स्थान प्राप्त गर्नेलाई रु. एक लाख, तेस्रो हुनेलाई रु. ७५ हजार, चौँथोलाई रु २५ हजार र पाँचौँ स्थान हासिल गर्नेलाई रु. १५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

    १६ किमि दौडमा प्रथम स्थान गर्ने पुरुष र महिला धावकले रु २५ हजार, दोस्रो हुनेले रु। १५ हजार, तेस्रो र चौँथो हुनेले क्रमशः रु १० हजार र पाँच हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । दौड पूरा गर्ने सबै धावकलाई ‘फिनिसर्स मेडल’ प्रदान गरिने मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा १८ वर्ष उमेर पुगेका धावकले मात्र भाग लिन पाउने भएका छन् । यही असोज २२ गते दिउँसो ४ बजेसम्म नाम दर्ताका लागि समयावधि तोकिएको छ ।

    हालसम्म केही विदेशीसहित ५० भन्दा बढी धावकले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका चर्चित अल्ट्रा धावकहरूको पनि सहभागिता रहने अध्यक्ष गुरुङले बताए । करिब दुई सयजना धावकले प्रतियोगितामा भाग लिने अनुमान गरिएको उनको भनाइ छ । यस दौडमा भाग लिने धावकहरूले प्रकृतिको सुन्दरता, स्थानीय संस्कृति र ग्रामिण जीवनशैलीलाई नजिकबाट नियाल्न पाउने अध्यक्ष गुरुङले बताए ।

  • नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ, २० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू भौगोलिक रूपमा टाढा भए पनि जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण एउटै पारिस्थितिक सङ्कटको अग्रपंक्तिमा रहेको बताएका छन् । फिजीमा आज आयोजित ‘प्रि–कोप लिडर्स इभेन्ट’ अन्तर्गतको उच्चस्तरीय ‘लिडर्स प्लेनरी’ लाई सम्बोधन गर्दै उनले हिमाल र महासागरबीच गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गरे । उनले उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण समान प्रकृतिका चुनौती सामना गरिरहेको बताए ।


    पछिल्लो समय नेपालमा भएका विनाशकारी हिमताल, हिमनदी तथा चट्टान भत्किने घटनाबाट सिर्जित ‘हिमालयन सुनामी’ ले ठूलो मानवीय क्षति पुर्‍याएको उल्लेख गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव हिमालमा मात्र सीमित नरहेको बताए । उनले हिमालयका हिमनदी पग्लिँदा समुद्री सतह वृद्धि हुनुका साथै प्रशान्त क्षेत्रमा थप शक्तिशाली चक्रवातलगायत जलवायुजन्य जोखिम बढ्ने उल्लेख गरे । ‘हिमाल र महासागर एउटै ग्रहका विभाजन गर्न नसकिने भागको निरन्तरता हुन्, जुन साझा जलचक्र र मानवताको साझा भविष्यबाट जोडिएका छन्”, उनले भने ।


    परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूले भोगिरहेको जलवायु अन्यायप्रति पनि ध्यानाकर्षण गराए । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान रहेका कमजोर तथा विकासशील मुलुकहरूले मानवीय जीवन, महत्त्वपूर्ण पूर्वाधार र विकासका उपलब्धि गुमाएर जलवायु सङ्कटको असमान मूल्य चुकाइरहेको उनको भनाइ थियो ।

    “जलवायु जोखिममा रहेका मुलुकको अवस्थालाई विश्वव्यापी न्यायपूर्ण जिम्मेवारीमार्फत तत्काल सम्बोधन गरिनुपर्छ”, उनले भने । आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचना महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उनले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसको सीमाभित्र कायम राख्ने लक्ष्यप्रति दृढ प्रतिबद्धता, ऋणको बोझ नथपिने गरी पूर्वानुमानयोग्य तथा अनुदानमा आधारित अनुकूलन वित्त, हानी तथा क्षति कोषको शीघ्र कार्यान्वयन तथा हिमाल र महासागरमा आधारित राष्ट्रहरूबीच औपचारिक ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारी स्थापना गर्नुपर्नेमा जोड दिए ।


    उनले जलवायु परिवर्तनका कारण समान जोखिममा रहेका हिमाली तथा टापु राष्ट्रहरूबीच सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे । मन्त्री खनालले फिजीको ‘सोलेसोलेवाकी’ र नेपालको ‘श्रमदान’ जस्ता सामुदायिक सहकार्यका सांस्कृतिक अभ्यासलाई स्मरण गर्दै जलवायु सङ्कट सामना गर्न विश्वव्यापी ऐक्यबद्धता र एकीकृत नेतृत्व आवश्यक रहेको बताए । उनले कोप–३१ सम्मको यात्रामा साझा जोखिमलाई कार्यान्वयनयोग्य जलवायु न्यायमा रूपान्तरण गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे ।