Category: फिचर

  • रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौँ, २० असोजः भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३\८४ मा सुस्त भई तीन दशमलव सात प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ (बिल्डिङ ब्याक डिफरेन्ट्ली फर द फ्युचर) मा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरिएको छ ।


    प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनःस्थापनाका गतिविधि सुरु भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुग्ने र आगामी आर्थिक वर्ष २०८४\८५ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव दुई प्रतिशतमा उक्लिने अपेक्षा गरिएको छ । बाढीका कारण जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पार्ने विश्व बैंकको आकलन छ । त्यस्तै, व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधका कारण सेवा क्षेत्रसमेत प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ ।

    कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने सम्भावना रहेको विश्व बैंकलेल प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले रसुवा बाढीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पु¥याएको बताउँदै यसलाई नेपालको पूर्वाधार र आधारभूत सेवाबारे पुनर्विचार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।

    उनले सडक तथा सञ्चार सञ्जाल, ऊर्जा, खानेपानी तथा सरसफाइ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाका पूर्वाधारमा जलवायु परिवर्तन र बदलिँदो जोखिमलाई ध्यानमा राखेर उत्थानशीलता तथा वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताए । उनले नेपाललाई अझ बढी उत्थानशील र दिगो विकासको मार्गमा अघि बढाउन आवश्यक प्रणालीमा लगानी तथा उपयुक्त नीति कार्यान्वयन गर्न विश्व बैंक नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।

    नेपाल उद्धार तथा राहतबाट पुनर्निर्माणतर्फ अघि बढ्दै गर्दा क्षतिग्रस्त संरचना पुनःस्थापना गर्ने कार्यमा मात्र सीमित नरही बहुविपद् जोखिमको अद्यावधिक मूल्याङ्कन गर्न विश्व बैंकले सुझाव दिएको छ । प्रतिवेदनले पूर्वाधारको स्थान र डिजाइनबारे सावधानीपूर्वक विचार गर्न तथा यातायात, ऊर्जा र सञ्चारका महत्वपूर्ण सञ्जालमा थप वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । विपद् पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने तथा सङ्कटासन्न घरपरिवारलाई विपद्पछिको सहायता तीव्र रूपमा उपलब्ध गराउन एकीकृत सामाजिक संरक्षण प्रणाली निर्माण गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ ।

    दक्षिण एसियाको आर्थिक वृद्धि ६.९ प्रतिशत हुने प्रक्षेपण

    विश्व बैंकको पछिल्लो दक्षिण एसिया आर्थिक अद्यावधिक प्रतिवेदन ‘आर्थिक वृद्धिका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ ले चालु वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । सुदृढ आन्तरिक मागका कारण विश्वव्यापी आघातप्रति दक्षिण एसियाली अर्थतन्त्र उत्थानशील रहने अपेक्षा गरिएको छ । सन् २०२७ मा भने यस क्षेत्रको आर्थिक वृद्धिदर ६ दशमलव ७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

    प्रतिवेदनले कृत्रिम बौद्धिकताको रणनीतिक प्रयोगमार्फत आर्थिक वृद्धिका नयाँ स्रोत निर्माण गर्न सकिने सम्भावनाको समेत विश्लेषण गरेको छ । दक्षिण एसियामा एआईको प्रयोग बढ्दै गए पनि विकसित अर्थतन्त्रको तुलनामा यसको प्रयोग अझै न्यून रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि एआईको प्रयोग तीव्र रूपमा बढिरहेको र व्यवसायहरूले बजारका नयाँ अवसर पहिचान गर्न यसको उपयोग गरिरहेको विश्व बैंकले जनाएको छ । एआईको प्रयोगमा अत्यधिक निर्भर दक्षिण एसियाली आपूर्तिकर्ताका लागि विश्वव्यापी मूल्य शृङ्खलासँगको सम्बन्धमार्फत नयाँ अवसर विस्तार भइरहेको पछिल्ला तथ्याङ्कको विश्लेषणले देखाएको प्रतिवेदनमा उल्लेख छ ।

    स्वास्थ्य, शिक्षा र कृषिजस्ता दक्ष जनशक्तिको अभाव रहेका क्षेत्रमा सार्वजनिक सेवा प्रवाहका लागि एआईको प्रयोगलाई अर्को महत्वपूर्ण सम्भावनाका रूपमा प्रतिवेदनले औँल्याएको छ । विश्व बैंक समूहकी एसियाका लागि प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सर्गले एआईको प्रयोगले श्रम उत्पादकत्व वृद्धि, निर्यातका अवसर विस्तार तथा सार्वजनिक सेवा प्रवाहमा सुधारमार्फत दक्षिण एसियाको विकासको दिशालाई रूपान्तरण गर्ने सम्भावना रहेको बताए ।


    उनले एआईबाट अपेक्षित लाभ हासिल गर्न सरकारले यसको प्रयोगमा अवरोध खडा गर्ने आधारभूत कमीकमजोरीलाई सम्बोधन गर्नुपर्ने बताए ।
    प्रतिवेदनले जनशक्तिको सीप सुदृढ गर्ने, व्यवसायमैत्री वातावरण निर्माण गर्ने तथा भौतिक र डिजिटल पूर्वाधारमा सुधार गर्नेलगायतका नीतिगत उपाय अवलम्बन गर्न सुझाव दिएको छ । साथै, साना व्यवसायले एआईको उपयोगमा सामना गर्ने अवरोध हटाउने, स्थानीयस्तरमा एआईसम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा स्पष्ट नियामक संरचना स्थापना गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ । यस्तो नियामक संरचनाले अनिश्चितता घटाउनुका साथै तथ्याङ्कको सुरक्षा र गोपनीयता सुनिश्चित गर्नुपर्ने विश्व बैंकले जनाएको छ ।

  • विश्वव्यापी तेल आपूर्तिमा दबाब बढ्दै, मौज्दात न्यून रहेको चेतावनी

    विश्वव्यापी तेल आपूर्तिमा दबाब बढ्दै, मौज्दात न्यून रहेको चेतावनी

    लन्डन, २० असोज (रासस–एएफपी) । जी–७का राष्ट्रले आफ्नो मौज्दातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदी आरामकोका प्रमुख कार्यकारी अमिन नासेरले विश्वव्यापी तेल मौज्दात ‘डरलाग्दो हदसम्म न्यून’ रहेको बताएका छन् । आपूर्ति अभावको जोखिम अझै कायम रहेको उनको भनाइ छ ।

    साउदी सरकारको बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादक कम्पनीका प्रमुख नासेरले सोमबार लन्डनमा आयोजित ‘इनर्जी इन्टेलिजेन्स फोरम’मा अहिले नै विश्वव्यापी तेल आपूर्ति प्रणालीमा दबाब बढिरहेको बताए । ऊर्जा क्षेत्रका नेता सहभागी दुईदिने सम्मेलनमा उनले विश्वसँग तेल आपूर्तिका अन्य विकल्प अत्यन्त सीमित रहेकाले आपूर्ति व्यवस्थाको लचिलोपन र सुरक्षा घेरा निकै कमजोर रहेको बताए ।
    अमेरिका–इरान द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा उत्पन्न चिन्ता कम गर्न जी–७का राष्ट्रले अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आईइए)सँगको समन्वयमा शुक्रबार तत्काल १० करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा ल्याउने सहमति गरेका थिए । अमेरिकासहितको जी–७को उक्त निर्णयअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घलाई आफ्नो रणनीतिक डिजेल मौज्दात प्रयोग गर्न वा अमेरिकी डिजेल निर्यात प्रतिबन्धको सामना गर्न दबाब दिएका थिए ।

    सामुद्रिक गतिविधि निगरानी गर्ने संस्था केप्लरका अनुसार हर्मुज जलसन्धिमा जहाजमाथि आक्रमण भए पनि गत साता इरानबाहेक मध्यपूर्वका देशबाट भएको तेल निर्यात युद्धपूर्वको स्तरभन्दा माथि पुगेको थियो । नासेरले मौज्दातसम्बन्धी कुल तथ्याङ्कलाई मात्र आधार नमान्न चेतावनी दिँदै वास्तविक रूपमा प्रयोग गर्न मिल्ने तेल मौज्दात १० प्रतिशतभन्दा कम रहेको बताए ।


    उनका अनुसार विभिन्न देशले रिपोर्ट गरेको मौज्दातको ठूलो हिस्सा पूर्वाधार सञ्चालनका लागि आवश्यक न्यूनतम परिमाण हो । जी–७सहित ३२ राष्ट्र सदस्य रहेको आईइएले शुक्रबार घोषणा गरेको १० करोड ब्यारेलतर्फ सङ्केत गर्दै नासेरले भने, “त्यसैले उनीहरू १० करोड ब्यारेल व्यवस्थापन गर्न सङ्घर्ष गरिरहेका छन् ।” उनले आपत्कालीन मौज्दातले आगामी जाडोयाम पार गर्न केही सहयोग गर्न सक्ने भए पनि दीर्घकालीन तेल आपूर्तिको समस्या समाधान गर्न नसक्ने बताए ।

  • पश्चिमी डीआर कङ्गोमा दुई डुङ्गा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु, धेरै बेपत्ता

    पश्चिमी डीआर कङ्गोमा दुई डुङ्गा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु, धेरै बेपत्ता

    किन्शासा, २० असोज (रासस–सिन्ह्वा) । पश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)को कङ्गो नदीमा दुई डुङ्गा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने धेरैजना बेपत्ता भएका छन् । प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै डीआर कङ्गोको सरकारी समाचार संस्थाले सोमबार जनाएको हो ।

    इक्वाटर प्रान्तमा शनिबार रातिदेखि आइतबार बिहानको बीचमा दुर्घटना भएको हो । प्रान्तका आन्तरिक मामिलामन्त्री क्रिस्पिन म्पुतुले प्रारम्भिक विवरणअनुसार करिब १० जनाको मृत्यु भएको, धेरैजना बेपत्ता रहेको र ५७ जनालाई जीवितै उद्धार गरिएको बताए । अधिकारीका अनुसार राजधानी किन्शासाबाट आएको एउटा डुङ्गा र छिमेकी सुद–उबाङ्गी प्रान्तको बुसिङ्गाबाट आएको अर्को डुङ्गा आपसमा ठोक्किएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार बेपत्ताको खोजी तथा उद्धारकार्य जारी छ ।

  • भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा

    भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा

    २० असोज, नयाँ दिल्ली, भारत, (रासस–एएनआई) ।
    भारतीय जनता पार्टी (भाजपा) को दिल्ली इकाईले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा सेवा सङ्कल्प अभियानअन्तर्गत राष्ट्रिय राजधानीमा विभिन्न कार्यक्रमहरूको तयारी गरिरहेको छ । यसको सुरुवात इन्दिरा गान्धी इनडोर स्टेडियममा ठूलो ‘सेवा ज्योति’ कार्यक्रमबाट हुनेछ ।

    एक शीर्ष भाजपा स्रोतले प्रधानमन्त्री नरेन्द्र मोदी अक्टोबर ७ मा ‘इन्दिरा गान्धी इनडोर स्टेडियम’ बाट ‘सेवा ज्योति’ कार्यक्रमअन्तर्गत प्रधानमन्त्री मोदीले राष्ट्रलाई सम्बोधन गर्न सक्ने सम्भावना रहेको बताएको छ । दिल्ली भाजपाले त्यहाँ करिब पाँच जनाको सहभागिताका लागि व्यवस्था मिलाइरहेको छ ।

    मुख्य कार्यक्रमअघि दिल्लीभरका सबै सङ्गठनात्मक मण्डलबाट ‘सेवा ज्योति’ जुलुस निकालिनेछ । भाजपा कार्यकर्ता र समर्थकहरू जुलुसमा सहभागी भई मुख्य स्थल पुग्ने अपेक्षा गरिएको छ ।

    स्रोतहरूका अनुसार, दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्रा, मुख्यमन्त्री रेखा गुप्ता, दिल्लीका सबै सांसद र विधायकहरूका साथै भाजपाका राष्ट्रिय तथा राज्य स्तरीय पदाधिकारीहरू कार्यक्रममा सहभागी हुने अपेक्षा छ ।

    दिल्ली भाजपाले सेवा सङ्कल्प अभियानअन्तर्गत आगामी दिनहरूमा थप कार्यक्रमहरूको योजना बनाएको छ । अक्टोबर ८ मा सङ्घीय स्वास्थ्य मन्त्री जेपी नड्डा दिल्लीको भारत मण्डपममा हुने कार्यक्रममा सहभागी हुने तालिका छ भने अक्टोबर ९ मा केन्द्रीय गृहमन्त्री अमित शाह माटियाला विधानसभा क्षेत्रमा जाने तालिका छ । त्यहाँ उहाँले करिब १३ हजार करोड भारतीय रुपैयाँको ढल प्रशोधन प्लान्टको परियोजना उद्घाटन गर्ने अपेक्षा स्रोतहरूले बताएका छन् ।

    अक्टोबर १० मा प्रधानमन्त्री नरेन्द्र मोदी पूसामा हुने कार्यक्रममा सहभागी हुने तालिका छ । स्रोतहरूका अनुसार, वडनगर र वाराणसीबाट मोटरसाइकल ¥यालीमा सहभागी करिब एक हजार २०० जना उक्त कार्यक्रममा उपस्थित हुने र प्रधानमन्त्रीले उनीहरूलाई सम्बोधन गर्नुहुनेछ ।

    यी कार्यक्रमहरू प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा भाजपाको व्यापक उत्सवको भाग हुन् । पार्टीले दिल्लीभर सेवा, सार्वजनिक सहभागिता र जनसम्पर्क गतिविधिमा जोड दिएको छ ।

    दिल्ली भाजपाले यी कार्यक्रमहरूका लागि आफ्ना सङ्गठनात्मक इकाई र वरिष्ठ नेताहरूसँग समन्वय गरिरहेको छ । साताव्यापी गतिविधिहरूमा पार्टी कार्यकर्ता र जनताको ठूलो सहभागिताको अपेक्षा गरिएको छ ।

  • नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

    नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

    अबुजा,२० असोज (रासस–सिन्ह्वा) । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गरेका छन् । उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस केयामोका अनुसार २५ जना यात्रु र सात जना चालक दलका सदस्य सवार रहेको उक्त सैन्य विमान ओन्डो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको नौसैनिक आधार नजिक दुर्घटनाग्रस्त भएको हो।

    राष्ट्रपति टिनुबुले जारी गर्नुभएको छुट्टै विज्ञप्तिमा यो सशस्त्र बल तथा सम्पूर्ण राष्ट्रका लागि अत्यन्तै दुःखद् क्षण भएको बताए । उनले दुर्घटनामा ज्यान गुमाएका वायुसेनाका सदस्यहरूको बलिदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरे । नाइजेरियाली वायुसेनाका अनुसार सुरुमा हेलिकोप्टर भएको अनुमान गरिएको उक्त विमान दुई इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ। उक्त विमान दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ नियमित उडानमा रहेका बेला दुर्घटनामा परेको हो। राष्ट्रपति टिनुबुले दुर्घटनापछि तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरेको वायुसेनाको प्रशंसा गरेका छन् ।

  • बाढीले झोलुङ्गे पुलमा क्षति : आवतजावतमा समस्या

    बाढीले झोलुङ्गे पुलमा क्षति : आवतजावतमा समस्या


    दमौली ९तनहुँ०, २० असोजः यही असोज ९, १० र ११ गते वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका–१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ । अविरल वर्षा र बाढीका कारण पुलमा क्षति भएपछि करूवाटार, बटौलिटारलगायत क्षेत्रका स्थानीयलाई नदी वारपार गर्न समस्या भएको हो । पुल अवरुद्ध हुँदा सबैभन्दा ठूलो असर विद्यार्थीमा परेको छ । करूवाटार र बटौलिटार क्षेत्रबाट नदी पारी रहेको बौदीकाली–१ मचेडीस्थित धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने करिब १५ देखि २० जना विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् ।

    दैनिक विद्यालय आवतजावतका लागि यही पुल प्रयोग गर्दै आएका विद्यार्थी अहिले बाटो बन्द भएपछि घरमै बस्न बाध्य भएका छन् । नदीमा पानीको बहाव उच्च रहेकाले जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष भीमबहादुर कुमालले बताए । पुल नहुँदा विद्यार्थी मात्र नभई स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने पैदलयात्रीसमेत प्रभावित भएको उनले बताए । “पुलमा क्षति पुगेपछि विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको छ । नदीको बहाव उच्च भएकाले वैकल्पिक रूपमा नदी तरेर जान सक्ने अवस्था छैन,” वडाध्यक्ष कुमालले भने ।


    पुल अवरुद्ध हुँदा बालबालिकाको पढाइ प्रभावित हुनुका साथै स्थानीयको दैनिक जीवनसमेत कष्टकर बनेको भन्दै स्थानीयले यथाशीघ्र पुल मर्मत गर्न वा तत्काल वैकल्पिक आवतजावतको व्यवस्था मिलाउन माग गरेका छन् ।

  • बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

    बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

    सुनसरी, २० असोजः नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरे क्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय प्राकृतिक बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै गएको छ । पानीका स्रोत तथा सिमसार अतिक्रमण, अवैध सिकार तथा जल प्रदूषणका कारण कछुवाको सङ्ख्या घट्दै गएको संरक्षणकर्मीको भनाइ छ ।

    कछुवा तथा सरिसृपसम्बन्धी विषयमा विद्यावारिधि गरिरहनुभएका अनुसन्धानकर्ता अस्मित सुब्बाले कछुवा संरक्षणलाई एउटा जीव वा प्रजाति बचाउने विषयका रूपमा मात्र लिन नहुने बताए । कछुवा बाँच्ने पानी, नदी किनार, अण्डा पार्ने बालुवा वा माटो, घाम ताप्ने स्थान, आहारा तथा आसपासको हरियाली जोगाउनसके मात्र संरक्षण प्रभावकारी हुने उनको भनाइ छ ।

    “कछुवा संरक्षणका लागि त्यसको बासस्थानसँग जोडिएको पानी, जमिन र हरियालीलाई संरक्षण गर्नु आवश्यक छ”, उनले भने, “सरिसृप वर्गमा पर्ने कछुवाका लागि पानीसँगै सुरक्षित नदीकिनार, अण्डा पार्ने स्थान, घाम ताप्ने ठाउँ, आहारा र प्राकृतिक वनस्पति आवश्यक पर्छ ।” कतिपय कछुवाका प्रजाति पानीमा बढी समय बिताए पनि प्रजननका क्रममा नदी किनारका सुरक्षित स्थान खोज्ने गर्छन् । प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जानु, सिमसार पुरिनु, नदी किनारमा अव्यवस्थित संरचना निर्माण हुनु तथा आसपासका वनस्पति हटाइनुले कछुवाको प्रजनन र जीवनचक्रमा असर गर्ने सुब्बाको भनाइ छ ।

    सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिनमुनिको पानी पुन भरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई बासस्थान उपलब्ध गराउने भएकाले कछुवा संरक्षणलाई सिमसार संरक्षणसँगै अघि बढाउनुपर्ने उनको भनाइ छ। पूर्वी नेपालमा पाइने नरम खबटे कछुवाका केही प्रजाति गहिरो नदी, जलाशय तथा सिमसारमा निर्भर हुने भएकाले बासस्थानमा हुने परिवर्तनबाट बढी प्रभावित हुने गरेका छन् । नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्दा कछुवासहित अन्य जलचर प्रभावित हुने गरेका छन् ।

    माछा मार्ने क्रममा जाल तथा बल्छीमा परेका कछुवा घाइते हुने, निसासिने वा मर्ने जोखिम गरेको अनुसन्धानकर्ता सुब्बाले जानकारी दिए । ठूलो बासस्थान ससाना क्षेत्रमा विभाजन हुँदा आहारा खोज्न, प्रजनन गर्न र सुरक्षित स्थानमा पुग्न कछुवालाई कठिन हुने तथा सडक पार गर्ने क्रममा सवारीसाधनको चपेटामा पर्ने उत्तिकै जोखिम छ । उनले भने, “यो ढिलो बढ्ने र वयस्क अवस्थामा पुग्न लामो समय लाग्ने भएकाले सङ्ख्या घट्दै गए पुरानै अवस्थामा फर्किन पनि समय लाग्छ ।”

    पूर्वी तराईको चारकोसे झाडी क्षेत्रमा बस्ती विस्तार, कृषि, सडक तथा अन्य पूर्वाधार विस्तार हुँदा प्राकृतिक जीवन खण्डित भएको छ । वनसँग जोडिएका पोखरी, खोल्सा, नदीकिनार र सिमसारमा हुने परिवर्तनले त्यहाँ आश्रित जलचर तथा वन्यजन्तुलाई असर पारेको छ । सरिसृप तथा उभयचरसम्बन्धी विषयमा विद्यावारिधि गर्नु भएका प्राध्यापक डा कालुराम खुम्बुले कछुवा संरक्षणलाई एउटा प्रजातिमा मात्र सीमित नगरी समग्र बासस्थान संरक्षणका रूपमा अघि बढाउनुपर्ने बताए । “कछुवाको अवस्था बुझ्न अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा बासस्थानको नियमित अध्ययन आवश्यक छ”, उनले भने ।


    कछुवाका विभिन्न प्रजातिले वनस्पति, कीरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य शृङ्खलामासमेत भूमिका खेल्ने प्राध्यापक खुम्बुको भनाइ छ । गाउँका पोखरी, खेती नजिकका जलाशय, नदी किनार र सिमसार संरक्षण गर्नसके कछुवाको बासस्थान जोगाउन सकिने उनले बताए ।


    स्थानीयले कछुवाका अण्डा तथा बच्चा सङ्कलन नगर्ने, अवैध सिकार तथा व्यापार रोक्न सहयोग गर्नु आवश्यक छ । यस्तै, विष र करेन्ट प्रयोग गरी माछा मार्ने कार्यलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै प्राकृतिक पोखरी र सिमसार पुर्ने कार्य रोक्नसके कछुवा संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

    कछुवाको शरीरलाई कडा खपटाले ढाकेको हुन्छ । यो पानी वा जमिनमा बस्ने गर्छ । यसको आकार, आहार तथा जीवनशैली पनि फरकफरक हुने यसका जानकारहरुको भनाइ छ ।

  • अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    लोथर (चितवन), २० असोजः राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा अहिले ‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइरहेको छ । जग्गा व्यवस्थापनसँगै सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवले जानकारी दिए । परियोजनअन्तर्गत राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कट्ठामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण हुनेछ ।

    इन्डियन आयल कर्पोरेसशन (आइओसी)को मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लागि पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिनेछ । अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटरको दूरीमा १० दशमलव ७५ इन्चको पाइपलाइन बिच्छ्याइनेछ । निगमले भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ पाइपलाइनबाट ल्याइरहेको छ । सोही पाइपलाइनलाई अमलेखगन्जदेखि लोथरसम्म विस्तार गर्न लागिएको हो ।

    पाइपलाइनको नक्साङ्कन भइसकेको प्रमुख यादवले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन बिच्छ्याइने छ । त्यसका लागि सडक विभागसँग समन्वय भइसकेको निगमले जनाएको छ । हेटौँडा बजारमा ‘बाइपास’ गरेर पाइपलाइन बिच्छ्याउने गरी डिजाइन तय भएको छ ।

    “अमलेखगन्जबाट आउँदा रातोमाटेभन्दा अगाडि नै नदीको बीचबाट पाइपलाइन जानेछ, त्यो पाइपलाइन हेटौँडा बजार कटिसकेपछि राप्ती पुल नजिकै निस्कनेछ, हेटौँडा बजारमा पाइपलाइन जाँदैन”, उनले भने, “निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्नेगरी काम भइरहेको छ ।” अबको तीन वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

    पाइपलाइनबाट २७३ किलोलिटर प्रतिघण्टाको गतिमा लोथरसम्म तेल आपूर्ति गर्न सकिने निगमले जनाएको छ । कुल ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकैबेला नियमित रुपमा ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ । निगमका उपप्रबन्धक ऋषिराम शर्माले परियोजना निर्माणस्थलमा जमिन सम्याउने, बाहिरी पर्खाल लगाउने र परियोजना निर्माण थालनीको पूर्वतयारीका काम धमाधम चलिरहेको बताए । जग्गा तयार भएपछि निगमले भण्डारणसहितका संरचना निर्माणका लागि आइओसीलाई जिम्मा लगाउनेछ ।

    ल्याण्ड फिलिङ र बाहिरी पर्खाल निर्माणको ठेक्का मोतीदान कन्स्ट्रक्सनले पाएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण घोरासाइनीले जग्गा पुर्नका लागि आवश्यक कच्चा पदार्थ सङ्कलन गर्ने र साइटमा ल्याउने काम भइरहेको जानकारी दिए । सो कम्पनीले गत भदौदेखि काम सुरु गरेको हो । परियोजना निर्माणस्थलमा बाहिरी पर्खाल लगाउने र माटो भर्न मोतीदान कन्स्ट्रक्सनले करिब रु ७९ करोडमा ठेक्का पाएको छ । ठेक्का अवधि एक वर्षको भए पनि आठ÷नौ महिनामा सम्पन्न गर्नेगरी कामलाई तीव्र पारिएको ठेकेदार कम्पनीले जनाएको छ ।

    पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिनेछ । लोथरमा १६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ । त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ । यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टितेल भण्डारणका लागि ८०० किलोलिटर क्षमताका दुई वटा ट्याङ्की निर्माण गरिनेछ ।

    यसै हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीन वटा ट्याङ्क निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स ट्याङ्क निर्माण गरिनेछ ।

    हवाई इन्धन पनि पाइपलाइनबाटै

    लोथरमा हवाई इन्धन भण्डारणका लागि ट्याङ्क निर्माण भएपछि हवाई इन्धन पनि पाइपलाइनबाटै ल्याउन सकिनेछ । निगमले अहिले भारतको बरौनीबाट हवाई इन्धन ट्याङ्करमार्फत ढुवानी गरिरहेको छ । निगमले अहिले करिब ४०० किलोमिटर टाढाबाट हवाई इन्धन ल्याइरहेको छ । पाइपलाइनमार्फत लोथरमा हवाई इन्धन ल्याउन थालेपछि ढुवानीबापत प्रतिलिटर पाँच रुपैयाँ जोगिने निगमको भनाइ छ । पाइपलाइनबाट हवाई इन्धन ल्याउन थालेपछि वार्षिक करिब दुई अर्ब ढुवानी बराबरको खर्च जोगिने अनुमान छ ।

    पाइपलाइनबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने, पेट्रोलिमय पदार्थको चोरी तथा मिसावटको सम्भावना अन्त्य हुनेछ । पाइपलाइनसहित भण्डारण गृह निर्माणको लागत रु १४ अर्ब नौ करोड ६० लाख अनुमान गरिएको छ ।

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० जेठमा गरेको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन र लोथरमा भण्डारण गृहसहितको सुविधा सम्पन्न डिपो निर्माणको समझदारी भएको थियो । सो समझदारीमा दुवै देशका सरकारीस्तरका पेट्रोलियम कम्पनीले आपसी सम्झौता गरी निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख थियो । सोही समझदारीअनुसार २०८१ असोजमा १७ गते इण्डियन आयल कर्पोरेशन ९आइओसी० र नेपाल आयल निगमबीच सम्झौता भएको थियो ।

    सो सम्झौतामा निर्माण कार्य सुरु भएको ५४ महिनामा परियोजना सञ्चालनमा ल्याइने उल्लेख छ । इण्डियन आयल कर्पोरेशनले सो परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ ।

    भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्मको ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७६ सालदेखि सञ्चालनमा आएको हो । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

    सोही दिनदेखि नै पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । यस्तै २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ गतेदेखि मट्टितेल पाइपलाइनबाट ल्याउन थालिएको हो । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाको कुल लम्बाइ ६९ दशमलव दुई किलोमिटर छ । यसमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर छ ।

    पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिनेगरी ‘मल्टी प्रोडक्ट पाइपलाइन’ निर्माण गरिएको छ । पाइपलाइनबाट आयातित पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग पूर्ति गर्दै आएको छ । अमलेखगन्जबाट काठमाडौँ, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।

    सो परियोजना निर्माण भएपछि नेपालका पश्चिमी र उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुने विश्वास व्यक्त गरिएको छ । विसं २०२७ मा मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र वितरणका लागि निगमको स्थापना भएको थियो ।

  • बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बागलुङ, २० असोजः बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै रु ५० करोड बराबरको क्षति भएको छ । सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय र सहायक राजमार्ग तथा पूर्वाधार विकास कार्यालयअन्तर्गतका प्रदेशस्तरीय सडक पूर्वाधारमा क्षति भएको आकलन गरिएको छ । ती सडकलाई दीर्घकालीन रुपमा निर्माण गर्न रु एक अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

    विवरणअनुसार, सबैभन्दा बढी क्षति मध्यपहाडी लोकमार्गको निसी र गलकोट खण्डमा भएको छ । यस्तै, प्रदेश सरकारअन्तर्गतको गलकोट–हरिचौर–ताराखोला खण्डमा क्षति पुगेको छ । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, बागलुङ–बेनी सडकलगायतका राजमार्गमा रु ३० करोडको क्षति भएको छ ।

    मध्यपहाडी लोकमार्गको निसीखोलाको कानाबगर र झिवाखोला क्षेत्रमा ४०० मिटर सडकको ट्रयाक बगाउँदा बगरमा परिणत भएको छ । यस्तै घोडाबाधेदेखि हटियासम्मको लोकमार्गको सडक खण्डमा दर्जन बढी स्थानमा पहिरो गएको छ । कालीगण्डकी करिडोरको कालाखोला बगर, बेलबगर र जैमिनीघाटलगायत स्थानमा क्षति पुगेको छ । बागलुङ बजारहुँदै सिगाना जाने सडक तथा बागलुङ बजारदेखि तित्याङ जाने सडकमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ ।

    यस्तै, पूर्वाधार विकास कार्यालय बागलुङको प्रारम्भिक तथ्याङ्क अनुसार प्रदेश सरकार मातहतमा काम भइरहेका क्षेत्रीय सडकमा रु २० करोडको क्षति भएको अनुमान गरिएको छ । कार्यालयका प्रमुख अनुप थापाका अनुसार सबैभन्दा बढी क्षति हरिचौर–ताराखोला सडकमा भएको छ । उनले आठ किलोमिटर लामो सडकको एक दर्जन स्थानमा पहिरो खसेको छ ।

    यस्तै शालग्राम सङ्ग्रहालय–मालिका–पञ्चकोट सडक तथा कुश्मिसेरा–राङ्खानी सडकमा क्षति पुगेको छ । “तथ्याङ्क सङ्कलनका क्रममै छौँ, सडक पूर्वाधारमा रु २० करोड बराबरको क्षतिको अनुमान गरिएको छ”, थापाले भने, “ठेक्काको अवधि बाँकी रहेको हरिचौर–ताराखोला सडक पुननिर्माणका लागि ठेकेदारलाई पत्र पठाएका छौँ ।”

  • सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    भोजपुर, २० असोजः सुन्तलाको बगानमा फल झर्ने र विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन् । सुन्तलाका दाना परिपक्व नहुँदै भेट्नो कुहिएर खस्न थालेपछि वर्षभरिको मेहनत र लगानी खेर जाने भन्दै किसान पिरोलिएका हुन् । सुन्तला पहेँलो हुने र आफैँ भुइँमा खस्ने रोग फैलिएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान तीर्थबहादुर प्रधानले बताए । फल लाग्ने समयमा परेको असिनापानीबाट जोगिएको सुन्तलामा अहिले फल झर्ने समस्या देखिएको उनको भनाइ छ ।

    प्रधानका अनुसार बगानमा अहिले फल झर्नेबाहेक हाँगा सुक्ने, पातमा सेतो ढुसी देखिने, पात कुप्रिने र बोट नै पहेँलो हुँदै जाने समस्या देखिएका छन् ।
    “पछिल्लो समय अनौठो रोग देखिन थालेको छ”, उनले भने, “यो वर्ष त झन् फल पहेँलो भएर झर्ने समस्याले व्यावसायिक खेती गरिरहेका हामी सबै किसानलाई ठूलो समस्यामा पारेको छ ।” करिब ४२ रोपनीमा सुन्तलाखेती विस्तार गरेको सुनाए ।


    टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले विगत केही वर्षदेखि फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने र पात बेरिने समस्या निरन्तर दोहोरिरहेको बताए । करिब १५ रोपनीमा सुन्तलाखेती गरेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएका राईले रोगका कारण उत्पादन घट्दै गएको जानकारी दिए ।

    भोजपुर नगरपालिका–६ का किसान भीमराज विष्टले सुन्तलाका फल बोटमै फुट्न थालेको बताए । समयमै यसको रोकथाम र नियन्त्रण हुन नसके पूरै बगान नै सखाप हुने स्थिति आएको भन्दै उनले चिन्ता व्यक्त गरे । सुन्तला बगानमा यस्तो रोगको प्रकोप देखिएकाले कृषि प्राविधिक तथा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीय किसानको माग छ।

  • महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरी, २० असोजः चाडपर्व सुरु हुनै लागेपछि महोत्तरीका ओल (माटोमुनि फल्ने मधेसको खास तरकारीबाली) किसानको व्यस्तता थप बढेको छ ।
    दसैँ, तिहार र छठलगायत चाडबाड नजिकिँदै गर्दा अहिलेदेखि नै ओल खन्न र भण्डारण गर्न स्थानीय किसान लागेका छन् । खनेर थुपारेको ओल महिनौँसम्म ताजा रहन्छ ।

    “अहिले खेतीपातीको अन्य धपेडी छैन, नवरात्र लागेपछि चाडबाडको तयारीमा लाग्नपर्छ । त्यसैले ओल खन्न लागेका छौँ”, भङ्गाहा–४ रामनगरका किसान रामसागर यादव भन्छन्, “अहिले खनेर राखे दशहारा, दीपावली र छठका बेला बजार पु¥याउने काममात्र रहन्छ ।” यादव जस्तै उनका छिमेकी हशन कवारी, चन्देश्वर राय दनुवार र उपेन्द्र यादव ओल खन्ने तयारीमा छन् ।


    मधेसमा ओल धनीमानीले खाने तरकारीका रुपमा मानिन्छ । यसको मूल्य अन्य तरकारीको तुलनामा बढी पाइने र उत्पादन पनि राम्रो हुने भएकाले महोत्तरीको उत्तरवर्ती क्षेत्रका किसानको रोजाइको बाली बनेको छ । जिल्लाका भङ्गाहा, बर्दिवास र गौशाला नगरक्षेत्रका बस्तीमा यसको खेती गरिएको छ । बलवा नगरपालिकाको धमौरा, लोहारपट्टी र मटिहानी नगरपालिकाका अधिकांश बस्तीका किसानले खेती गरेका छन् ।

    “व्यापारी घरमा आउने गरेका छन्, नआए पनि बजार पु¥याएपछि बिक्री भइहाल्छ”, बलवा–१० धमौराका नविजान कवारी भन्छन्, “राम्रो भाउ पाउनेबेला पारेर बेच्न सकिन्छ ।” एक कठ्ठामा १० क्विन्टलसम्म ओल फल्ने स्थानीय किसानको भनाइ छ । मधेसमा ओलको तरकारी, चटनी, अचार र तरुवा प्रसिद्ध परिकार मानिन्छ । पहिले रैथाने ओल हुनेखानेको भान्सामा मात्र पुग्थ्यो । अरु तरकारीभन्दा निकै महगो भएकाले यो धनीले मात्र खान सक्ने मानिन्थ्यो ।

    बजार भाउ र उत्पादन राम्रो हुने गरे पनि महोत्तरीमा यो खेती अझै व्यावसायिक बन्न सकेको छैन । यहाँका किसानले मुख्य खेतीका रुपमा ओललाई अझै स्वीकार गर्न नसकेको भङ्गाहाका कृषि शाखा प्रमुख सन्तोष कार्कीको भनाइ छ । किसानले यो खेतीका लागि व्यावसायिक चासो देखाए सुलभ मूल्यमा राम्रो बीउ, प्राविधिक रेखदेख र टाढाका बजारसँग आवश्यक समन्वय प्रबन्ध कृषि शाखाले गर्ने उनको भनाइ छ । पछिल्ला केही वर्षदेखि ओलखेती क्रमशः बढ्दै गएको र केही किसान प्रत्यक्ष सम्पर्कमा आएका उनले बताए ।


    थोरै सिँचाइमा पनि हुने र अन्य तरकारी बालीलेभन्दा बढी वर्षा खेप्नसक्ने भएकाले यसको खेती सहजै गर्न सकिने स्थानीय किसानको भनाइ छ । थोरै लगानी र कम मेहनतमा राम्रो उत्पादन लिन सकिने गौशाला–१० लक्ष्मीनियाँका किसान लक्ष्मीप्रसाद महतोको भनाइ छ । अन्य बालीभन्दा घामपानी खप्नसक्ने र लामो समयसम्म घरमा भण्डारण गर्न सकिने हुनाले ओल सजिलो र आम्दानीको दृष्टिले भरपर्दो रहेको बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतो बताउँछन् । दुई वर्ष पहिलेसम्म सम्पर्कमै नआउने यहाँका किसान अब भने ओलखेतीबारे सल्लाह लिन थालेकोे कृषि कार्यालयका फलपूmल विज्ञ तथा सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ ।

  • चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

    चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

    खोटाङ, २० असोजः दसैँरतिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ । जिल्ला सुरक्षा समिति खोटाङले सोमबार दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सर्वदलीय÷सर्वपक्षीय भेलामा सहभागी सरोकारवाला निकाय तथा राजनीतिक दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय खोटाङले आसन्न चाडपर्वलाई लक्षित गरेर जिल्लामा सुरक्षा व्यवस्थालाई कडाइका साथ पालना गर्ने प्रतिबद्धता जनाएको छ । जिल्लाभित्र गस्तीको दर बढाउने, आपराधिक गतिविधि हुनसक्ने स्थानको सूक्ष्म निगरानी गर्ने तथा सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउनेछ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले बजार क्षेत्रमा यातायात जोखिम न्यूनीकरणका लागि ट्राफिक नियमलाई कडाइका साथ पालना गर्ने÷गराउने प्रतिबद्धता जनाएको छ । बजार क्षेत्र तथा यात्रुको बढी भीडभाड हुने ठाउँमा नियमित गस्ती गर्ने, यात्रुलाई सूचनामूलक सन्देश प्रवाह गर्ने, चालकले मादक पदार्थ वा लागू पदार्थ सेवन गरे÷नगरेको जाँच गर्नेछ ।

    सर्वपक्षीय भेलामा जिल्लास्थित सबै राजनीतिक दलले शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने÷गराउने प्रतिबद्धता जनाएका छन् । चाडपर्वका समयमा जिल्लामा भए÷गरेका आपराधिक घटनाका बारेमा सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालय खोटाङलाई आधिकारिक सूचना उपलब्ध गराउने र रचनात्मक सल्लाह प्रदान गर्ने छन् ।

    खोटाङ उद्योग वाणिज्य सङ्घले उपभोक्ताका आधारभूत अधिकार सुनिश्चित गर्न वस्तु तथा सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्ने÷गराउने विश्वास दिलाएको छ । भेलामा नेपाल पत्रकार महासङ्घ खोटाङ एवं जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीले यातायात व्यवसायी, यात्रु तथा उपभोक्ताको कर्तव्य र अधिकारसम्बन्धी सूचना सम्प्रेषण गर्ने÷गराउने प्रतिबद्धता जनाएका छन् ।

    होटल व्यवसायी सङ्घ खोटाङले आधारभूत मापदण्डको अनिवार्य पालना गर्दै यात्रु तथा उपभोक्तालाई गुणस्तरीय एवं उचित मूल्यमा खाना तथा बासको व्यवस्था मिलाउने छन् । जिल्लामा सञ्चालित होटल सञ्चालकले खाना तथा बासको आफूखुसी मूल्य राख्ने र उपभोक्तालाई ठगी गरेको गुनासो आएपछि त्यसलाई न्यूनीकरण गर्न होटल व्यवसायी सङ्घ प्रतिबद्ध भएको हो ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङ तथा जिल्लास्थित विभिन्न यातायात व्यवसायी सङ्घले सुरक्षित र मर्यादित यातायात सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । चालक तथा सहचालकलाई शिष्ट र मर्यादित व्यवहारका लागि प्रशिक्षण दिने, यात्रुलाई अनिवार्य टिकट दिने र चलान गर्ने, चालक तथा सहचालकले मादक पदार्थ सेवन नगर्ने÷नगराउने, तोकिएको स्थानबाट मात्र यात्रु चढाउने र ओराल्ने प्रतिबद्धता जनाएका हुन् ।

    प्रमुख जिल्ला अधिकारी गणेशकुमार गुरुङको कार्यकक्षमा आयोजित भेलामा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, यातायात तथा होटल व्यवसायी, पत्रकारलगायतको उपस्थिति थियो । सर्वपक्षीय भेलाले चाडपर्वका अवसरमा शान्तिसुरक्षा कायम गर्न जिल्लास्थित १० वटै स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरेको छ ।

  • पहिरोले खोसेको जलेश्वरवासीको सपना

    पहिरोले खोसेको जलेश्वरवासीको सपना

    म्याग्दी, २० असोजः बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालका परिवारले पछिल्लो आठ दिनयता गलेश्वर मन्दिरको धर्मशालामा रात कटाउने गरेका छन् । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार नजिकैको जलेश्वर डेढ वर्षअघि सडक विस्तारका क्रममा सिर्जित पहिरोबाट थप चपेटामा परेको थियो । बस्ती मुनी बेनी–जोमसोम–कोरला सडक निर्माण भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको चार दिने झरिपछि बस्ती माथिको राहुवडाको पाखोबाट खस्न थालेको पहिरोका कारण घर छाडेर धर्मशालामा आश्रय लिनुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

    “हाम्रा पुर्खाले ३० रोपनी जमिनमा बसाएको बस्तीलाई विस २०५४ मा खुलेको बेनी–गलेश्वर सडक विस्तारका क्रममा सिर्जना भएको पहिरोले १५ रोपनीमा खुम्चाएको थियो”, इन्द्र बरुवालले भन्े, “राहुवडाको पहिरोले हाल छ घरपरिवारको बसोबाससमेत रहेको लेयर्स र ब्रोइलर कुखुरा, गाईभँैसी र बाख्रापालनको केन्द्र बन्न थालेको जलेश्वरको उठिबास लगाएको छ ।”

    चक्र बरुवाल, भूमिराज बरुवाल र सूर्य नगरकोटीको घरभित्र हिलो पसेर बस्न नमिल्ने अवस्था छ । इन्द्र र चक्र बरुवालको तीन हजार २०० कुखुरा पाल्न सक्ने क्षमताको दुई वटा खोरभित्र पसेको पहिरोले एक हजार ५०० बिक्रीका लागि तयार भएका ब्रोइलर कुखुरा नष्ट भएको छ । भवन भत्किएर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । इन्द्र र मुक्ति बरुवालको घरमा आंशिक क्षति पुगे पनि बस्न मिल्ने अवस्था छैन् । घरभित्र पसेको हिलोले लत्ताकपडा, कागजात, भाँडाकँुडा, अन्नपातदेखि बालबालिकाको कापी किताब नष्ट गरिदिएको छ । घरभरी पहिरो थुप्रिएपछि केहीले बेनी बजारमा डेरा खोजेर बस्न थालेका छन् ।

    “वर्षौंको मेहनत र सङ्घर्षपछि बनाएको घर छाडेर धर्मशालामा आश्रय लिएर रात कटाउनुपर्दा पीडा भएको छ”, चक्र बरुवालले भन्े, “पहिरोले हामीलाई घरबास मात्र नभई रोजगारी र आम्दानीको आधार बनेको पोल्ट्री फार्मका सबै संरचना भत्कायो । ती संरचना पुरेपछि जीवन जिउने आधार पनि खोसिदिएको छ ।”

    सुन्तला र केराका बगैँचा पहिरोमा पुरिएको छ । साँझ गलेश्वर धर्मशालामा गएर सुत्ने जलेश्वरवासी पाखोमा चिराचिरा परेर धाजा फाटेको जमिनका कारण जुनसुकैबेला थप पहिरो खस्ने जोखिम देखिएपछि घर फर्कने सम्भावना देखेका छैनन् । दिउँसो आएर घरभित्र पुरिएका सामान खोज्ने र सफा गर्ने जलेश्वरवासीको दिनचर्या बनेको छ । पहिरो जानुअघि उनीहरु कुखुरा, गाईभँैसी र बाख्राको स्याहारसुसार, दानापानीमा व्यस्त हुन्थे ।

    बेनी बजार नजिक भएकाले पछिल्लो समय जलेश्वरमा कुखुरापालन र दूध उत्पादन व्यवसाय फस्टाउँदै गएको थियो । फार्ममा क्षति पुगेकाले विस्थापित परिवारको आम्दानीको आधार गुमेको छ । व्यावसायिक भविष्य अन्योलमा पारेको छ । “हाम्रो घरमात्रै जोगाउने कुरा होइन”, मुक्ति बरुवालले भन्े, “पूरै बस्ती सुरक्षित हुनेगरी योजना बनाउनुपर्छ । यहाँ बस्नै नसकिने अवस्था आयो भने हामी कहाँ जाने ?” बस्तीको माथिल्लो भागबाट आउने पहिरो र तल्लो भागमा कालीगण्डकीको कटान नियन्त्रण गर्न तत्कालीन तथा दीर्घकालीन उपाय खोज्नुपर्ने बरुवालले बताउ ।
    उनीहरूलाई तत्काल सुरक्षित आश्रयसँगै दीर्घकालीन पुनःस्थापनाको चिन्ता छ ।

    कालीगण्डकीको कटान, सडक निर्माणका क्रममा भएको भू–क्षय र माथिल्लो क्षेत्रबाट खस्ने पहिरोको जोखिमलाई एकीकृत रूपमा व्यवस्थापन नगरे जलेश्वरको समस्या तत्काल टर्ने अवस्था नदेखिएको भूगर्भविद् चम्पकबाबु सिल्वालले बताउ ।
    बेनी नगरपालिकाका प्रमुख शुरत केसीले पछिल्लो विपद्ले जिल्ला सदरमुकाम बेनी बजारको न्युरोडसहित पालिकाका धेरै बस्ती जोखिममा परेको तथा क्षति भएकाले भू–गर्भविद्को टोली बोलाएर अध्ययन गरिएको बताउ । अध्ययन टोलीको सिफारिस र सुझावअनुसार बजेट जुटाएर बस्ती संरक्षण, पुनर्निर्माण र पुनःस्थापनाका योजना अघि बढाइने नगर प्रमुख केसीको भनाइ छ ।

  • बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    काठमाडौँ, २० असोजः प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा बाँकेका दीपेन्द्र शाही रहेका छन् । उनलाई काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा शाहीलाई पक्राउ गरिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । प्रहरीका अनुसार शाहीविरुद्ध रु एक करोड ५० लाख बिगो रकम कायम गरिएको बैंकिङ कसुर मुद्दा रहेको छ । पक्राउ परेका शाहीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

  • जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    राँझा (बाँके), २० असोजः भारतबाट दसैँ मनाउन स्वदेश फर्किने नेपालीको सहज र सुरक्षित यात्राका लागि नेपाल–भारत जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपालीलाई सीमावर्ती क्षेत्रमा लुटपाट, ठगीलगायतका घटना हुन नदिन तथा सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन सहायता कक्ष सञ्चालन गरिएको बताए ।


    “नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिम पहिचान गरी सोहीअनुसार सुरक्षा योजना लागू गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी तामाङले भने, “भारतबाट फर्किने नेपालीले बाटोमा ठगी, लुटपाटलगायतका समस्या भोग्न नपरोस् भनेर नाकामै यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।” सहायता कक्षबाट आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइनेछ ।

    बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए । प्रहरी उपरीक्षक जिसीका अनुसार भारतबाट फर्किने नेपालीलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुर बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ । उक्त कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ । यात्रुको सुरक्षा, यातायात व्यवस्थापन, ठगी तथा लुटपाट नियन्त्रण र आवश्यक समन्वयका लागि प्रहरी परिचालन गरिएको छ ।

  • बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    म्याग्दी, २० असोजः पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला अन्र्तगत म्याग्दी खण्डको मर्मत धमाधम भइरहेको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हँुदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक असोज दोस्रो साताको बर्सातपछिको बाढीपहिरोले ५० भन्दा बढी ठाउँमा अवरुद्ध बनेको थियो । दश ठाउँमा कालीगण्डकीले सडक कटान गरेर बगाएको र भत्काएको छ ।

    बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्न सकिने गरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर खण्डको करिब १२ किलोमिटर दूरीमा धमाधम मर्मत कार्य भइरहेको जानकारी दिए । “वर्षा रोकिनेबित्तिकै असोज १२ गतेदेखिनै कोरला नाकातर्फबाट म्याग्दीको भुरुङ्ग–तातोपानीसम्म दुई दिनमै मर्मत गरेका थियौँ”, उनले भने, “मालढुङ्गातर्फबाट बेनी बैसरी हँुदै कुनौटासम्म करिब २५ किलोमिटर सडक सोमबार साँझसम्म मर्मत सकिएको छ ।”

    कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब दुई सय ५० मिटर सडक कटान गरेको छ । सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको कुनौटो क्षेत्र मर्मत कार्यका लागि चुनौतीपूर्ण मानिएको छ । सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन र इन्धन अभावको चुनौती थियो ।

    राहुघाटको विद्युत्गृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको, नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ । “कुनौटाभन्दा माथि सडक मर्मतका लागि आवश्यक इन्धन मानिसले बोकेर लैजान सम्भव नभएपछि सोमबार नेपाली सेनाको टोली र ड्रोनको सहायतामा पहिरो तारेका छौँ”, आयोजना प्रमुख शर्माले भने, “छ पटकको उडानबाट चार सय लिटर डिजेल कटान क्षेत्र पार गराइएपछि कुनौटाभन्दा माथि पनि सडक मर्मतमा सहज भएको छ ।”

    अन्नपूर्णको पोखरेबगर, रातोपानीमा सडकको नयाँ ट्रयाक खोलेर महभिर र भिरकाटे खण्डमा पनि काम भइरहेको छ । अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा दुई ठाउँमा गरेर करिब दुई सय पचास मिटर सडक कटान गरेको स्थानमा नयाँ ट्रयाक खोलिएको छ । पोखरेबगरको कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणमा मजदुर परिचालन भएका छन् । सडक विभाग र निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।

    “सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,” उनले भने, “यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।” रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको उनले बताए । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ । मुस्ताङको स्याउ बजार पठाउने समय पनि सुरु भएको छ । दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ ।

  • बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

    बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

    चितवन, २० असोजः बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित हाकिमचोकबाट प्रहरीले बिलबिजकबिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा दीपक प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।

    ४१ वर्षीय प्रसाईंले सञ्चालन गरेको दीपक मोबाइलबाट विभिन्न सिरिजका एप्पलका आइफोन ५० थान, सामसुङ चार थान, रेडमी दुई थान, एप्पल आइप्याड एक थान र भिभो एक थान गरी ५८ थान मोबाइल तथा उपकरण बरामद गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बताए ।


    त्यसैगरी, भरतपुर महानगरपालिका–१ रामनगर क्षेत्रमा बिलबिजकबिना मोबाइल फोन ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले २८ वर्षीय उमनन्द भुसाललाई नियन्त्रणमा लिएको छ । उनको साथबाट बिलबिजकबिना बोकेको सामसुङ कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको उनले बताए । पक्राउ परेका दुवै जनाबाट बरामद मोबाइलसहित पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको उनले बताए । उनीहरुलाई यही असोज १८ गते पक्राउ गरिएको हो ।

  • कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

    कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

    काठमाडौँ, २० असोजः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ । कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए । नयाँ नामावली प्रकाशन गरेसँगै कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने प्रतिनिधिको सङ्ख्या सात हजार ११४ पुगेको छ ।

    मतदाताको अन्तिम नामावली प्रकाशन गरेसँगै आज विहान ९ः३० बजे मतदाता नामावली प्रकाशन उपर दावी विरोध, ९ः३० बजेदेखि १०ः३० बजेसम्म दाबीविरोधउपर जाँचबुझ, ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने सदस्यसचिव कटुवालले बताए ।

    यस्तै, उम्मेदवार मनोनयन दर्ता फारम वितरण र दिउँसो १२ः३० बजेदेखि ४ः०० बजेसम्म मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । यस्तै, कांग्रेसको सोमबारको बन्दसत्रले पार्टीको विधान संशोधन गरेको छ । संशोधित विधानअनुसार २९७ सदस्यीय नयाँ कार्यसमितिको व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार नै निर्वाचन हुन लागेको कांग्रेसले जनाएको छ ।

    कांग्रेस महाधिवेशनमा २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनमा २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ । कांग्रेसको हिजोदेखि सुरु भएको १५ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको हो । कांग्रेस केन्द्रीय सदस्य एवं स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाले महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सहजताका लागि २०० स्वयंसेवक परिचालन गरिएको राससलाई जानकारी दिए ।


    संयोजक लामाले बन्दसत्र हुने ठाउँ र निर्वाचन हुने ठाउँमा स्वयम्सेवक परिचालन गरिएको बताए । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि देश तथा विदेशबाट सात हजार ५०० प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।

    आइतबारदेखि सुरु भएको महाधिवेशनको आज र भोलि बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ । बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका छन् ।

  • अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा बीच अमेरिकामा भेट

    अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा बीच अमेरिकामा भेट

    २० असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बाङ्गा बीच अमेरिकाको वासिङ्टन डी.सी.मा भेटवार्ता भएको हो। 


    भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, वृहत् आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गरे ।


    उक्त अवसरमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए । नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै उनले पूर्वाधारमा लगानी विस्तार र स्वदेशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिए ।


    अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगम लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिए । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकको अवधिमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। भेटघाट कार्यक्रममा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमद लगायतका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

  • ‘अप्टोजेनेटिक्स’सम्बन्धी अनुसन्धानका लागि यस बर्षको नोबेल चिकित्सा पुरस्कार डाइसरोथ, हेगेमान नागेललाई

    ‘अप्टोजेनेटिक्स’सम्बन्धी अनुसन्धानका लागि यस बर्षको नोबेल चिकित्सा पुरस्कार डाइसरोथ, हेगेमान नागेललाई

    स्टकहोम, १९ असोज (रासस–एएफपी) । यस बर्षको नोबेल चिकित्सा पुरस्कार सोमबार घोषणा गरिएको छ । अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उनका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको चिकित्सातर्फको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ ।

  • प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

    प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

    काठमाडौँ, १९ असोजः प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ सर रोली वाकरको निमन्त्रणामा उनी साताव्यापी औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरे । भ्रमणले सदियौँदेखि रहँदै आएको दुई देशबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उनका अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।

  • सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

    काठमाडौँ, १९ असोजः गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ ।
    निजले गरेका पदीय आचरण विपरीतका कार्यको जाँचबुझ गरी तीन दिनभित्र गृहसचिवसमक्ष प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको गृह मन्त्रालयले जनाएको छ । साथै गृह मन्त्रालयले संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ । सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ प्रकरणसँग जोडिएका हुन् ।

  • मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    काठमाडौँ, १९ असोजस्नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस) अन्तर्गत नेपालका सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरिएको विषयमा प्रश्न उठाएको हो ।

    मलेसियाको एफडब्ल्युसिएमएसमा नेपालका २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य र २५० वटा संस्थालाई सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषय सार्वजनिक भएपछि छनोट प्रक्रिया, मापदण्ड र पारदर्शितामाथि प्रश्न उठेको छ । यस विषयमा वैदेशिक रोजगार विभागले समेत सूचीकृत २५० संस्थासँग उनीहरू छनोट भएको आधार र प्रक्रियाबारे स्पष्टीकरण मागेको छ ।

    सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले निश्चित व्यवसायी संस्थालाई मात्र सूचीकृत गरेर एकाधिकार कायम गर्न नहुने बताए । “निश्चित व्यवसायी संस्थालाई सूचीकृत गरेर एकाधिकार गर्न पाइँदैन । सूचीकृत संस्थाहरू नै कति पारदर्शी छन् भन्ने प्रश्न छ,” उनले भने । उनले श्रमिकको हकहित संरक्षण गर्दै वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराइएको बताए । अध्यक्ष खत्रीले “आज मलेसियाबाट सुरु भएको एकाधिकारको नजिर भोलि अन्य श्रम गन्तव्यमा पनि दोहोरिन सक्छ ।”

  • कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय


    काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज खुलामञ्चमा भएको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको हो । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानमा केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था छ ।

    विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन् । चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ । महामन्त्री तीन जना रहनेछन्, जसमा एक जना महिला अनिवार्य गरिएको छ । सहमहामन्त्री १५ जना रहनेछन् । कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना मनोनीत हुनेछन् । केन्द्रीय सदस्यमा खुलातर्फ ४५, महिलातर्फ १५ तथा प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना रहनेछन् । काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना रहने व्यवस्था गरिएको छ ।

    दलिततर्फ पाँच महिलासहित १४, आदिवासी जनजातितर्फ आठ महिलासहित २०, खस आर्यतर्फ आठ महिलासहित १८ र मधेसीतर्फ पाँच महिलासहित १३ जना रहनेछन् । जनसम्पर्क समितिबाट दुई महिलासहित सात तथा पिछडिएको वर्गबाट तीन जना रहनेछन् । त्यस्तै, थारूतर्फ दुई महिलासहित छ, श्रमिकतर्फ एक महिलासहित तीन र पेसागत विज्ञतर्फ दुई महिलासहित सात जना रहनेछन् । सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका व्यक्तिबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहनेछन् ।

    यसका अतिरिक्त केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्ने व्यवस्था गरिएको छ । सोमबार विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मङ्गलबारको बन्दसत्रले पारित गर्नेछ । मङ्गलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान सोमबार नै पारित गरिएको पार्टीले जनाएको छ ।

  • तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

    तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

    काठमाडौँ, १९ असोजः मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक वर्षा भए पछि चिन्तित भएका छन् । जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना भए पनि लगातार झरी नपर्ने बताएको छ । आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको तर लामो समयसम्म लगातार झरी नपर्ने मौसमविद् विनु महर्जनले राससलाई बताइन् ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम छ । कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

  • सात दशकदेखिको भूमिहीन समस्या समाधानतर्फ : प्रधानमन्त्री

    सात दशकदेखिको भूमिहीन समस्या समाधानतर्फ : प्रधानमन्त्री


    काठमाडौँ, १९ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने दिशामा सरकार अघि बढिरहेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले भूमिसम्बन्धी ऐन, वन ऐनलगायत सम्बन्धित कानुनमा आवश्यक सुधार गरी भूमिहीनको समस्या समाधान प्रक्रियालाई गति दिइने बताए ।


    प्रधानमन्त्री शाहले कानुनी, प्रक्रियागत तथा संरचनागत अवरोध आवश्यकताअनुसार हटाउँदै जिल्ला–जिल्लामा भूमिहीन सुकुमबासीको समस्या समाधान गरी क्रमशः सुकुमबासी समस्यामुक्त जिल्ला घोषणा गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले सात दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई अब लालपुर्जा उपलब्ध गराउने गरी काम भइरहेको उल्लेख गरे ।


    भूमि समस्या समाधान समिति गठन भएपछि देशभरका तथ्याङ्क एकीकृत रूपमा सङ्कलन तथा प्रशोधन भइरहेको छ । हालसम्म प्रणालीमा १३ लाख ११ हजार १९७ निवेदन प्रविष्ट भएका छन् । ती निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम अघि बढिसकेको र अब प्राथमिकता निर्धारण गरी समाधानतर्फ लैजाने प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री शाहले बताए ।


    प्रधानमन्त्री शाहले विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासी गरी पाँच हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको जानकारी दिए । यो सुरुवात भएको उल्लेख गर्दै उनले अब प्रक्रिया तीव्र गतिमा देशभर विस्तार गरिने बताए ।


    सार्वजनिक महत्वका क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसेका भूमिहीन सुकुमबासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया पनि अघि बढाइएको उनले बताए । काठमाडौँ उपत्यकाबाट विस्थापित परिवारका हकमा उनीहरूको स्थायी वतन भएको जिल्लामै भूमि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ । झुटो विवरण दिई आफूलाई भूमिहीन देखाउनेको अभिलेख भिडान गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको उनले बताए ।


    प्रधानमन्त्री शाहले २०१५ सालको संसदीय निर्वाचनमा तत्कालीन सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा भूमिहीन किसानलाई जग्गा वितरण गर्ने विषय समेटेको स्मरण गरे । उनले त्यसयता देशमा विभिन्न राजनीतिक व्यवस्था र सरकार परिवर्तन भए पनि सात दशकअघि राजनीतिक घोषणामा समेटिएको सुकुमबासीको समस्या अझै प्रमुख राष्ट्रिय मुद्दाका रूपमा रहेको बताए ।

    दशकौँदेखि राजनीतिक दलहरूले यही समस्या समाधान गर्ने आश्वासन दिएर नागरिकसँग मत माग्दै आए पनि आयोग, समिति र विभिन्न संरचना गठन र विघटन भएका उनले बताए । प्रधानमन्त्रीका अनुसार २०७७ देखि गत वर्षसम्म मात्र भूमि समस्या समाधानका नाममा गठन भएका विभिन्न संरचनामा राज्यको दुई अर्बभन्दा बढी खर्च भएको छ तर त्यसअनुसार अपेक्षित नतिजा प्राप्त भएको छैन ।

    वर्तमान सरकारले राजनीतिक भागबन्डा र अनावश्यक तह थपेर नभई विषयविज्ञता, स्थानीय तहसँगको समन्वय र स्पष्ट जिम्मेवारीका आधारमा परिणाम निकाल्ने बाटो रोजेको उनले बताए । भूमि समस्या समाधानको प्रक्रिया पारदर्शी र राज्यलाई कम भार पर्ने किसिमको बनाउने प्रयास भइरहेको प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।

  • हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    मुस्ताङ, १९ असोजः दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् । उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ ।

    आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा शनिबार साँझ जोमसोम आइपुगेको डोल्पाका व्यापारी शेरबहादुर रोकायाले जानकारी दिए । डोल्पाबाट जोमसोम आइपुग्न रोकायालाई एक साताभन्दा बढी समय लागेको छ । उनले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएको जानकारी दिए । यसपटक हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्याङ्ग्रा जोमसोम ल्याएको उनको भनाइ छ ।

    डोल्पो बुद्ध गाउँपालिकाबाट यही असोज ९ गते जोमसोमतर्फ प्रस्थान गरेका रोकाया यही असोज १७ गते साँझ जोमसोम आइपुगेका हुन् । हाल भेडाच्याङ्ग्रा जोमसोमको घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएको छ। रोकायाका अनुसार डोल्पाबाट मुस्ताङ आउने बाटोमा सेताम्मे हिउँ जमेको थियो । भारी वर्षा र हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने पदमार्गमा निकै कठिन भएको उनले बताए ।


    माथिल्लो डोल्पाका डोल्पो बुद्ध, से–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरी जोमसोम ल्याएको रोकायाले बताए । नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै च्याङ्ग्रा खरिद गर्नुपरेको उनको भनाइ छ । डोल्पाबाट यसपटक करिब आठ हजारभन्दा बढी भेडा च्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको उनले बताए । सेताम्मे हिउँ, अत्यधिक चिसो र जोखिमपूर्ण बाटो छिचोल्दै रोकायासहितको टोली च्याङ्ग्रा लिएर जोमसोम आइपुगेको हो । गत वर्ष दसैँका बेला व्यापारमा आंशिक घाटा व्यहोरे पनि यसपटक च्याङ्ग्रामा ठूलो लगानी गरेको रोकायाले बताए ।


    च्याङ्ग्रा व्यापारी शेरबहादुर रोकायाका अनुसार गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट कम सङ्ख्यामा च्याङ्ग्रा जोमसोम झरिरहेका छन् । गत वर्ष ११ हजार बढी च्याङ्ग्रा डोल्पाबाट मुस्ताङ ल्याइएको थियो । बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा च्याङ्ग्रा पोखरा लैजान थप समस्या हुने व्यापारी रोकायाले बताए । “हाम्रो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको छ । दसैँका बेला डोल्पा फर्कने बाटो पनि सरकारले समयमै सहज बनाइदिए राम्रो हुन्थ्यो”, उनले भने ।

  • मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    कास्की, १९ असोजः विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ । यस पदयात्रामार्गको विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याइएसँगै पदयात्रामा जाने विदेशी पर्यटक बढेका हुन् । निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनास्लु क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबिसीतर्फ मोडिएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढेको पर्यटन व्यवसायीको भनाइ छ ।

    छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक ३०० हाराहारीमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन् । एबिसीमा पर्यटकलाई राख्न सकिने ६ वटा होटल तथा लज रहेका छन् । यहाँका होटलमा ३५० सम्म पर्यटक राख्न सक्ने क्षमता छ । “स्वदेशी पर्यटक छैनन् तर विदेशी तथा सार्क राष्ट्रका पर्यटकको आगमन बढेको छ । अहिले यहाँ आउने सबै सडकहरु पनि खुलेका कारणले पदयात्रा सहज भएको छ,” गुरुङले भने ।


    यसअघि वर्षा र बाढीपहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सडक तथा पदयात्रा मार्ग प्रभावित हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो । अन्नपूर्णको बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले लामो समय सडक अवरुद्ध भएको थियो । गाउँपालिकाले झन्डै डेढ महिना लगाएर असोज पहिलो साता सडक खुलाएको हो । मनाङ र मनास्लु क्षेत्रतर्फ जाने कतिपय सडक तथा पदयात्रा मार्ग पहिरोका कारण अवरुद्ध भएपछि त्यस क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबिसी रोज्न थालेको सचिव गुरुङले बताए ।

    “मनाङ, मनास्लु र अन्नपूर्ण क्षेत्रमध्ये अन्नपूर्ण आधार शिविरतर्फको बाटो तुलनात्मक रूपमा सहज छ । त्यसकारण पनि साउथ एसियन मुलुकका पर्यटकको पर्यटकको रोजाइ एबिसीमा बढेको हो । नेपाली पर्यटन दसैँ सुरु भएपछि आउने अपेक्षामा छौँ,” छोम्राङ पर्यटन व्यवस्थापन समितिका सचिव गुरुङले भने ।


    अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएपछि पोखराबाट पदयात्राको सुरुआती बिन्दुसम्म पुग्न पनि सहज भएको छ । सडक यातायात सहज हुनु र पदयात्रा मार्गमा समेत अवस्था सामान्य बन्दै जानुले पर्यटकको आवागमन बढाएको हो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले पोखरादेखी–घान्द्रुक–एबिसीसम्मको सबै सडक अहिले खुला रहेको बताउनुभयो । उहाँले कतिपय स्थानमा अस्थायी प्रबन्ध गरेर भए पनि पदमार्ग खुला गरिएको बताए ।
    “बिरेठाँटी र स्याउली बजार खुल्यो । घान्द्रुकबाट माथि पनि अब समस्या छैन । अब एबिसी ट्रेक आउने स्थायी र अस्थायी सबै सडक खुलेको । नयाँपुल, घान्द्रुक, छोमरुङ सबै ठाउँबाट आउन सकिन्छ,” वडाध्यक्ष गुरुङले भने । यसैगरी, दुई महिनाअघि किम्रुङखोलाले पक्की झोलुङ्गे पुल बगाएर अवरुद्ध बनेको पदमार्ग किम्रुङ खोलामाथि काठे फड्के निर्माण गरी पदमार्ग सञ्चालनमा ल्याइएको छ ।

    अन्नपूर्ण आधार शिविर समुद्री सतहबाट करिब चार हजार १३० मिटरको उचाइमा रहेको छ । हिमालको काखमै पुगेर अन्नपूर्ण हिमशृङ्खला तथा माछापुच्छ्रे्र हिमालको मनोरम दृश्यावलोकन गर्न पाइने भएकाले एबिसी पदयात्रा विश्वका चर्चित पदयात्रा गन्तव्यमा मानिन्छ ।

    विशेषगरी हिमालको नजिकबाट सूर्योदय तथा हिमशृङ्लाको दृश्यावलोकन, स्थानीय संस्कृति र जीवनशैलीको अनुभव गर्न सकिने भएकाले एबिसी पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । एबिसी पदयात्राका क्रममा पर्यटकले गुरुङ समुदायको संस्कृति, स्थानीय जीवनशैली, हिमाली गाउँबस्ती, हरियाली वन, झरना, खोलानाला र हिमाली भू–दृश्यको अवलोकन गर्न पाउँछन् ।

    माछापुच्छ«े आधार शिविर हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग यस क्षेत्रको प्रमुख आकर्षण हो । पदयात्राका क्रममा माछापुच्छ«े, अन्नपूर्ण साउथ, अन्नपूर्ण प्रथम लगायतका हिमालहरु नजिकबाट अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटक आगमन बढेसँगै गाउँपालिकाले पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखेर हालै प्राथमिक उपचार केन्द्र पनि सञ्चालनमा ल्याएको छ ।

    माछापुच्छ«े बेस क्याम्पमा प्राथमिक उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो । केन्द्रबाट एबिसी तथा माछापुच्छ«े बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक तथा स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थामा स्वास्थ्यकर्मीबाट तत्काल प्राथमिक उपचार सेवा उपलब्ध गराउन सहज हुनेछ ।
    एबिसी पदयात्रामा आउने पर्यटकहरु बिरामी पर्ने तथा हाई अल्टिच्युड (उच्च उचाइ)का कारणले लेक लागेर ज्यान पनि जाने गरेको थियो ।

  • निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    बागलुङ, १९ असोजः लगातारको वर्षापछि निसीखोलामा आएको बाढीले धार परिवर्तन गर्दा बागलुङको निसीखोला गाउँपालिका–४ स्थित झिवाखोला र कानाबगर बजारको ठूलो क्षेत्र बगरमा परिणत भएको छ । “मेरो घर यही थियो, अहिले त घरमाथिबाट निसीखोला बगिरहेको छ । जीवनको ४० वर्ष नाघ्यो, यत्रो बाढी निसीखोलामा कहिल्यै आएको थिएन । यही असोज ११ गते बिहान आएको बाढीले घरको नामोनिसान राखेन”, निसीखोला गाउँपालिका–४ झिवाखोलाकी डिलकुमारी रेग्मीले भावुक हुँदै भने ।


    उहाँको बस्ने बास छैन । जग्गा कहाँ थियो भन्ने पनि पत्तो छैन । अहिले दुई छोरासहित आफन्तको घरमा आश्रय लिएर बसेको उनले बताए । रेग्मीजस्ता झिवाखोला बजारको २४ घरको दुखेसो उस्तै छ । बाढीले यस क्षेत्रमा २४ घर बगाएको तथा २१ घरमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ ।

    निसीखोलाको पानीको सतह एक्कासी बढेपछि नदीले धार परिवर्तन गरी झिवाखोला बजारको पुरानो बस्तीमा प्रवेश गरेको थियो । बाढीले घर, गोठ, विद्यालय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि अहिले झिवाखोला र कानाबगर उजाड बनेको छ । “बाढी आउँदैछ भन्ने सामान्य अनुमान त थियो तर यति ठूलो बाढी आउला भन्ने कसैले सोचेको थिएन”, स्थानीय मिलन हमालले भने, “विद्यालयमा क्षति पुगेको छ । धेरै स्थानीयले घरभित्रका सामान सार्नसमेत पाएनन् ।”

    निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार बाढीले झिवाखोला बजार र कानाबगरमा ठूलो क्षति पुर्याएको छ । बाढीले निसीखोला किनारमा रहेको मध्यपहाडी लोकमार्गको एक किलोमिटरभन्दा बढी पक्की सडक कटान गरेको छ । सडक कटान भएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ । निसीखोला–४ मा रहेको निसीखोला आधारभूत अस्पताल, विद्यालय तथा झिवाखोला प्रहरी चौकीमा क्षति पुगेको छ । प्रहरी चौकीमा क्षति पुगेपछि सेवा अन्यत्रबाट सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको इन्टेक र नहर बाढीले बगाएको छ भने एउटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

    बाढीबाट विस्थापित परिवारलाई सुरुमा जनजीवरा र प्रभा माध्यमिक विद्यालयमा बनाइएको अस्थायी शिविरमा राखिएको थियो । अहिले भने उनीहरूलाई आफन्त तथा छिमेकीको घरमा स्थानान्तरण गर्ने प्रयास भइरहेको छ । “राहत लिएरमात्र लामो समय शिविरमा बस्न सकिँदैन । पीडितपरिवारलाई सुरक्षित रूपमा बस्ने ठाउँ आवश्यक छ”, निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले भने, “आफन्त र छिमेकीको घरमा कोठा खोजेर अस्थायी बसोबासको व्यवस्था मिलाउने काम भइरहेको छ ।”

    बाढीले घरको जग तथा आसपासको जमिन कटान गरेपछि कतिपय परिवारलाई आफ्नो घर रहेको ठाउँ पहिचान गर्न कठिन भएको स्थानीय बताउँछन् । वर्षौँदेखि बस्दै आएको बस्ती एकै रातमा बगरमा परिणत भएपछि स्थानीयवासीमा पुनःस्थापनाको चुनौती थपिएको छ । अविरल वर्षापछि आएको पहिरोमा परी निसीखोला गाउँपालिका–३ हरधारामा एकै परिवारका चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १३ वर्षीय मनोज विक, आठ वर्षीय मुकेश विक र तीन वर्षीय निशान विक रहेका छन् ।

    पहिरोले गोठ पुरिँदा निसीखोला गाउँपालिका–६ रङ्गिलमा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको थियो । बाढी तथा पहिरोका कारण गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । निसीखोला गाउँपालिका–४ कै चिनारेमा पहिरोका कारण १० घर विस्थापित भएका छन् ।

  • कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र, असोज २२ मा निर्वाचन

    कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र, असोज २२ मा निर्वाचन


    काठमाडौँ, १९ असोजः नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदन उपर केन्द्रीय कार्यसमितिमा छलफल भएपछि बन्दसत्र सुरु गरिने जानकारी दिए ।
    कांग्रेसले बन्दसत्र अगाडि आज बिहान १०ः०० बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

    बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ । बन्दसत्रमा सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । सहभागीलाई तीन हलमा राखेर बन्दसत्रमा भाग गराइनेछ । यस्तै, कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुका ५ः०० बजेदेखि निर्वाचनको कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए । उनका अनुसार आज बेलुका ५ः०० बजे मतदाता नामावली प्रकाशन, ५ः०० देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशन उपर दाबी विरोध, बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    यस्तै, भोलि ९असोज २०० गते विहान १०ः०० देखि ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन, अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्ने ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबी विरोध, बेलुका ७ः०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

    यसैगरी, असोज २१ गते बिहान ९ः०० बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने, बिहान १०ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने र असोज २२ गते बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए । मतदानका लागि भने राष्ट्रिय सभा गृह, खुल्लामञ्च र प्रज्ञा भवनमा तोकिएको छ । मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।