Category: फिचर

  • चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

    चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल


    बर्दिया, १९ असोजः जिल्ला अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा सघन उपचारकक्ष (आइसीयू)को सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई उपचारका लागि नेपालगन्ज र कोहलपुरलगायतका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ । अस्पतालमा दैनिक औसतमा २५० जना बिरामी उपचारका लागि आउने गरे पनि आवश्यक जनशक्ति र आइसीयू सुविधा नहुँदा जटिल अवस्थाका बिरामीले समयमै उपचार पाउन कठिनाइ हुने गरेको छ ।

    बर्दियाको मधुवन नगरपालिका–४ का मस्तराम चौधरीका बुबा गत भदौ १७ गते रक्तचाप कम भएपछि उपचारका लागि बर्दिया अस्पताल ल्याइएको थियो । बिरामीको शरीरमा अक्सिजनको मात्रा कम भएकाले आइसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था भए पनि जिल्ला अस्पतालमा सो सुविधा नभएपछि चिकित्सकले थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज रेफर गरेको मस्तरामले बताए ।


    त्यस्तै, गत असारमा राजापुर नगरपालिका–५ पहाडीपुरका सूर्यलाल चौधरी मिर्गौलासम्बन्धी समस्याका कारण उपचारका लागि जिल्ला अस्पताल पुग्नुभएको थियो । अस्पतालमा आवश्यक उपचार हुन नसकेपछि, उहाँलाई पनि भेरी अस्पताल नेपालगन्ज रेफर गरिएको उहाँका नाति मनोज चौधरीले बताए ।
    चिकित्सक तथा आइसीयू सुविधा नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुवास पाण्डेले बताए ।

    “अस्पतालमा गम्भीर अवस्थाका बिरामी आउने गरेका छन् । दरबन्दीअनुसारका चिकित्सक र आइसीयू सुविधा नहुँदा बिरामीलाई रेफर गर्न बाध्य छौँ”, उनले भने ।
    अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा जटिल अवस्थाका बिरामीलाई आवश्यक उपचार दिन समस्या भएको डा पाण्डेले बताए । चिकित्सकको अभावकै कारण आइसीयू सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

    अस्पतालमा आवश्यक चिकित्सकसहित आइसीयू सञ्चालनको माग हुँदै आएको छ । बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद ठाकुरसिंह थारूले सो अस्पतालमा आइसीयू, चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध गराउन माग गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा माग गरेका छन् । गत भदौ ९ गते दर्ता गरिएको निवेदनमा बर्दिया अस्पतालमा आइसीयू तथा चिकित्सकको अभावका कारण बिरामीले सास्ती भोग्नुपरेको उल्लेख गरेका छन् ।


    आइसीयू सञ्चालनका लागि सबैभन्दा पहिले गम्भीर अवस्थाका बिरामीको उपचार गर्न आवश्यक विशेषज्ञ चिकित्सकको व्यवस्था हुनुपर्ने डा पाण्डेले बताए । उनका अनुसार हाल अस्पतालमा एक जना स्त्रीरोग विशेषज्ञ, एक जना फिजिसियन र एक जना एनेस्थेसियोलोजिस्ट डाक्टर आवश्यक छ । त्यस्तै, आइसीयू सञ्चालनका लागि चार जना मेडिकल अधिकृत, आठ नर्स र चार जना कार्यालय सहयोगी आवश्यक पर्ने उनले बताए ।


    जिल्लाका बिरामीलाई सेवा दिने उद्देश्यले स्थापना गरिएको अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र आइसीयू सुविधा नहुँदा बिरामीले उपचारका लागि नेपालगन्ज तथा कोहलपुर पुग्नुपर्ने बाध्यता रहेको स्थानीय समाजसेवी सोमाई थारूले बताए । उनले भने, “अस्पतालमा आवश्यक उपचार नहुँदा बिरामीले सास्ती भोग्नुपरेको छ । जटिल समस्या देखिएपछि रेफर गरिएका बिरामीलाई नेपालगन्ज लैजाँदै गर्दा बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था आउने गरेको छ ।”

    उनले जिल्लाका बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी पठाउनुका साथै आवश्यक उपकरण र सुविधा विस्तार गर्न माग गरे । जिल्ला अस्पताल ५० शय्याको हो । अस्पतालमा अधिकांश दरबन्दी रिक्त छ । अस्पतालमा भौतिक पूर्वाधार पर्याप्त भए पनि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा उपकरणको अभाव रहेको अस्पतालले जनाएको छ ।

  • माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

    माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

    बागलुङ, १९ असोजः निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने अर्का पुरिएका एक मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ । आज बिहान करिब ७ः३० बजेको समयमा काप्रा–बोहरागाउँ–छापाखानी प्यूठान सडकखण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसार्इंले जानकारी दिए । पुरिएकामध्ये दुई जनाको उद्धार गर्ने क्रममा घटनास्थलमा नै मृत्यु भएको छ भने रोल्पाका कृष्ण घर्ती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पु¥याइएको छ ।

    घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका–३ का वडाअध्यक्ष रमेशविक्रम शाहीले जानकारी दिनुभयो । चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले बाटो स्तरोन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा काम गरिरहेका मजदुर पुरिएका थिए ।

  • सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए, उद्धार जारी

    सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए, उद्धार जारी

    बागलुङ, १९ असोजः आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा निसीखोला गाउँपालिका–३ बोहरागाउँमा तीन जना पुरिएका छन् ।
    झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक खण्डमा सोही स्थानका चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले बाटो स्तरोन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा काम गरिरहेका तीन जना पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख फडिन्द्र प्रसाईंले जानकारी दिए । ढिस्कोमा पुरिने कामदारहरू लालबहादुर बुढाथोकी, राजु थापा मगर र कृष्ण बहादुर घर्ती छन् । यसमध्ये घर्तीको गम्भीर अवस्थामा उद्धार गरिएको छ भने अन्यको उद्धार भइरहेको छ ।

  • देवस्थलको संरक्षणसँगै व्यवस्थित बनाइँदै

    देवस्थलको संरक्षणसँगै व्यवस्थित बनाइँदै

    भोजपुर, १९ असोजः भोजपुरको हतुवागढी गाउँपालिका–१ फलाटे रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिकस्थल महाङकालीको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गरिएको छ । स्थानीयवासीको धार्मिक आस्था, विश्वास र सांस्कृतिक पहिचानसँग जोडिएको देवस्थल क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले संरक्षणका काम अघि बढाइएको हो । संरक्षणको अभावमा जीर्ण बन्दै गएको देवस्थल परिसरमा घेराबारा, पूजास्थल निर्माण, मुहान संरक्षण तथा सरसफाइ गरिएको वडा कार्यालयले जनाएको छ । मन्दिर क्षेत्रको धार्मिक महत्वलाई कायम राख्दै पर्यटकीय दृष्टिले आकर्षक बनाउने लक्ष्यका साथ संरक्षणलाई प्राथमिकता दिइएको हो ।

    हतुवागढी गाउँपालिका–१ का वडाध्यक्ष कुमार विष्टले महाङकाली मन्दिर स्थानीयस्तरमा प्रसिद्ध तीर्थस्थलका रूपमा रहेको बताए । उनले मन्दिरको संरक्षणसँगै आवश्यक पूर्वाधार विकासमा वडा कार्यालयले ध्यान दिएको बताए । “महाङकाली मन्दिर यहाँको प्रसिद्ध तीर्थस्थल हो । यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई कायम राख्दै संरक्षण र विकासमा जोड दिएका छौँ”, उनले भने ।
    विशेषगरी किरात समुदायको उधौली र उभौली पर्वका अवसरमा यहाँ विशेष पूजाआजा तथा धार्मिक अनुष्ठान हुने गरेको स्थानीयबासी बाचीधन राईले बताए । पर्वका समयमा स्थानीयसँगै छिमेकी जिल्लाबाट भक्तजन आउने गरेको उनको भनाइ छ ।

    मन्दिरको संरक्षणसँगै यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न थप पूर्वाधार विकास गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । मन्दिर क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने स्थानीयवासीको भनाइ छ । मन्दिर परिसरमा पूजा गर्न आउने भक्तजनलाई सहज बनाउने उद्देश्यले रु दुई लाख ५० हजारको लागतमा पूजास्थल निर्माण गरिएको वडाध्यक्ष विष्टले बताए । त्यस्तै, मन्दिर परिसरमा रहेको मुहान संरक्षण गरी स्वच्छ खानेपानीको स्रोतलाई सुरक्षित गरिएको छ । मन्दिर क्षेत्रको वातावरणलाई स्वच्छ र व्यवस्थित बनाउन झाडी सफाइ, परिसर व्यवस्थापन तथा पहुँचमार्ग सुधारका काम सम्पन्न भएका छन् ।

  • म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दी, १९ असोजः मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा पहिरोको स्थलगत अध्ययन गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजमा आवद्ध भूगर्भविद्को टोलीले बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेका हुन् ।

    समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा रहेको भूगर्भविद्को टोलीले बेनीका २२ र रघुगङ्गा गाउँपालिकाका चार स्थानका पहिरोको अध्ययन गरेका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । शनिबार र आइतबार सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा छ जना भूगर्भविद्ले तीनवटा समूह बनाएर अध्ययन गरेका थिए ।

    बेनी नगरपालिकाको भसभसे, खबरा, लभ्लीहिल, हाडेभिर, तल्लो मुुसुङ, चिनाखेत, भुकभुके, छेपारे, सिङ्गा तातोपानी, आगेबगर, अर्थुङ्गे, अँधेरी गैरा, जम्रेनी, जामुनाखर्क, महारानीथान, भ्याउनी खोला, बराह पाखो, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर, गलेश्वर, तोरीपानी, माटे बिसौना, रघुगङ्गा गाउँपालिकाको हरखर्क, बरखर्क, माझखर्क र कल्लेनी पहिरोको अध्ययन गरेको हो ।

    समाजका अध्यक्ष खतिवडा, भूगर्भविद् डा चम्पकबाबु सिलवाल, दीपक गौतम, रुपक ज्ञवाली, जानकी खत्री, मीरा जिसी, बेनी नगरपालिकाका इन्जिनियर माधव देवकोटा, विजयनारायण मण्डल, जिल्ला समन्वय समितिका इन्जिनियर सुमन सुवेदीको टोलीले पहिरोको अध्ययन गरेको हो ।

    पहिरोको अवस्था र माटोको बनोटको सटिक आकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट परीक्षणका लागि ढुङ्गा तथा माटोका नमूना सङ्कलन गरिएको भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालले बताए । टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेको खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पसचोकमाथिको पहिरोग्रस्त क्षेत्रमा गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेको थियो ।

    पछिल्लोपटक बेनीको न्युरोडमा खसेको पहिरो सक्रिय हुनसक्ने, त्यसमाथि पनि थप जमिन चर्किएर बग्नलाई तयार भएर बसेको हुँदा सावधानी अपनाउन, अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन अध्ययन टोलीका संयोजक खतिवडाले सुझाव दिए । “पहिरोको नियमित अनुगमन र आकारको मापन गरी अभिलेख राख्ने, भूमिगत पानीका स्रोतको सुरक्षित व्यवस्थापनदेखि धाँजा फाटेको जमिनलाई थप चर्किन र पानी पस्न नदिन अल्पकालीन उपाय अपनाउन सुझाव दिएका छौँ”, उनले भने, “दीर्घकालीन रूपमा पहिरो नियन्त्रणका लागि गर्नुपर्ने कामसहितको विस्तृत प्रतिवेदन तयार पारेर छिट्टै उपलब्ध गराउँछौँ ।” पहिरोको जोखिममा रहेको बेनी बजारको न्युरोडका घरमा बसोबास गर्नेलाई सावधानी अपनाउन टोलीले सुझाव दिएको छ ।

    यही असोज ८ देखि ११ गतेसम्म चार दिन लगातारको भीषण वर्षाका कारण भिरालो पाखाको जमिन गलेको, सडकको भल व्यवस्थापन नभएको, अव्यवस्थित विकास निर्माण, भूमिगत पानीको सुरक्षित व्यवस्थापन नहुनलगायतका कारण पहिरो सृजना भएको अध्ययन टोलीको निष्कर्ष छ । गत हप्ताको झरीपछिको पहिरो र बाढीका कारण म्याग्दीमा सात जनाको मृत्यु, दुई जना बेपत्ता, २०० भन्दा बढी घरगोठमा पूर्ण क्षति भएको छ । दर्जनौँ गाउँका बासिन्दा विस्थापित भएका छन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले १११ घरमा पूर्ण क्षति, ९३ घरमा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जानकारी दिए । यो विवरण अझै थपिन सक्ने उनको भनाइ छ । बाढीपहिरोका कारण म्याग्दीका मुख्य सडक, विद्युत् र सञ्चार सुविधा अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

  • सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    भद्रपुर (झापा), १९ असोजः सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ। सम्भावित अवैध गतिविधि नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गरिएको हो । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायत पालिकासँग सीमा जोडिएका तथा आवतजावतका लागि प्रयोग हुने स्थानको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे समितिले जानकारी लिएको हो ।

    प्रमुख जिल्ला अधिकारी पोखरेलले सदरमुकामबाट भौगोलिक रूपमा टाढा र सहज पहुँच नभएका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन अनुगमन गरिएको बताए । मुख्य नाकाबाहेकका वैकल्पिक सडक तथा ग्रामीण मार्गमा हुनसक्ने अवैध ओसारपसार तथा तस्करीलाई सुक्ष्म रूपमा निगरानीमा राखिएको उनले बताए ।


    इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लाबाट झापाको बाटो हुँदै भारततर्फ अवैध निकासी हुनसक्ने सम्भावनालाई मध्यनजर गरी संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको हो । यसबाट सम्भावित राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने अवैध वस्तुको ओसारपसार, सीमा अपराध रोक्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।


    “मुख्य नाकासँगै वैकल्पिक बाटो र ग्रामीण क्षेत्रबाट अवाञ्छित गतिविधि हुनसक्ने भएकाले ती क्षेत्रको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको हो”, उनले भने । उनका अनुसार सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित अवैध गतिविधिको सूचना तत्काल आदानप्रदान गरी आवश्यक कारबाहीका लागि सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपालका सम्बन्धित युनिटलाई आ–आफ्नो कार्यक्षेत्रमा नियमित गस्ती तथा ‘पेट्रोलिङ’ प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

    सीमावर्ती क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटले अवैध गतिविधि नियन्त्रणका लागि गरेका प्रयास, सुरक्षा उपस्थिति, गस्ती तथा कारबाहीको अवस्थाबारे प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिमा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्राप्त विवरणका आधारमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था मूल्याङ्कन गरी आवश्यक रणनीति तय गरिने प्रजिअ पोखरलले जनाए ।


    अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा निकायका अधिकारीको सहभागिता थियो । प्रजिअ पोखरेलका अनुसार नजिकिँदै गरेको चाडपर्वका समयमा सीमावर्ती क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्रीको ओसारपसार हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसतर्फ थप सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

  • चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

    चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

    काठमाडौँ, १९ असोजः चाडपर्व नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपलगायतका विभिन्न खुला बजारमा किनमेल गर्नेको चाप बढेको छ । दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न बजार पुगेका ग्राहकका कारण यहाँका खुला बजारमा ग्राहकको चहलपहल अन्य समयको तुलनामा एकाएक बढेको हो । दसैँका लागि परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढेपछि भृकुटीमण्डपका व्यापारी व्यस्त देखिएका छन् ।

    दसैँका लागि किनमेल गर्ने मुख्य समय सुरु भएसँगै ग्राहकको चाप बढेको भृकुटीमण्डपस्थित खुला बजारका व्यापारी अशोक खतिवडाले बताए । उनका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन बढ्न थालेको छ । विशेषगरी बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि आवश्यक कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या उल्लेख्य बढेको उनले बताए । “दसैँ नजिकिँदै गएपछि कपडा किन्ने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । आज बिहानदेखि नै बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ”, खतिवडाले भने ।


    दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले पनि चाडपर्वको समयमा कपडाको व्यापार बढ्ने गरेको अर्का व्यापारी श्यामप्रकाश अधिकारीले बताए । उनका अनुसार ग्राहकको चाप बढेसँगै व्यापारीलाई सामान देखाउने, ग्राहकको रोजाइअनुसार कपडा छनोट गराउने, मूल्य बताउने तथा बिक्री व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने गरेको छ । “अन्य दिनको तुलनामा आजदेखि ग्राहकको चाप बढेको छ । दसैँ नजिकिँदै जाँदा अझै ग्राहक बढ्ने अपेक्षा गरेका छौँ”, अधिकारीले भने ।


    भृकुटीमण्डपमा दसैँका लागि आवश्यक कपडादेखि जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोगका विभिन्न सामान खरिद गर्ने ग्राहकको उपस्थिति बढेको छ । एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुने तथा ग्राहकले आफ्नो बजेटअनुसार सामान छनोट गर्न सक्ने भएकाले खुला बजारमा किनमेल गर्नेको सङ्ख्या बढेको व्यापारीहरूको भनाइ छ । चाडपर्वको समयमा सीमित आम्दानी भएका परिवारका लागि सस्तो बजार रोजाइमा पर्ने गरेको व्यापारी बताउँछन् ।

    काठमाडौँ उपत्यकाका विभिन्न खुला बजार तथा सडक किनारका रात्रिकालीन पसलमा सपिङ मल तथा ठूला व्यापारिक केन्द्रको तुलनामा केही सस्तोमा लुगाकपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहकको आकर्षण रहने उनीहरूको भनाइ छ । सुन्धारास्थित रात्रिकालीन सडकपेटीमा लुगाकपडा बिक्री गर्दै आउनुभएकी सङ्गीता न्यौपानेले पनि दसैँ नजिकिएसँगै ग्राहकको आवागमन बढेको बताए । उनका अनुसार चाडपर्वमा परिवारका सबै सदस्यका लागि कपडा खरिद गर्नुपर्ने भएकाले ग्राहकले मूल्य र गुणस्तर दुवैलाई ध्यान दिने गरेका छन् ।

    “सपिङ मलभन्दा सडकपेटीका पसल र खुला बजारमा लुगाकपडासहितका सरसामान केही सस्तो पाइन्छ । त्यसैले पनि ग्राहकको पहिलो रोजाइ खुला बजार र सडकपेटीका रात्रिकालीन पसल हुने गरेका छन्”, न्यौपानेले भने । दसैँसँगै मौसममा समेत क्रमिक परिवर्तन आउन थालेकाले चिसो मौसमका लागि आवश्यक लुगाकपडा खरिद गर्ने ग्राहक पनि बजारमा देखिन थालेका छन् ।

    विशेषगरी ज्याकेट, स्वीटर, ट्रयाकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या पनि बढ्दै गएको व्यापारी हरिकृष्ण कँडेलले बताए । दसैँलगायतका चाडपर्व नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाका भृकुटीमण्डप, असन, इन्द्रचोक, न्युरोड, सुन्धारा, नयाँसडकलगायतका बजारमा ग्राहकको चाप थप बढ्ने व्यवसायीको अपेक्षा छ ।

    व्यापारीले दसैँलाई लक्षित गरी विभिन्न प्रकारका सामानको मौज्दातसमेत बढाएका छन् । ग्राहकको मागअनुसार बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न डिजाइन, रङ र मूल्यका कपडा बजारमा राखिएको उनीहरू बताउँछन् । ग्राहकले आफ्नो बजेट र रुचिअनुसार सामान छनोट गर्ने गरेका छन् ।


    दसैँ नजिकिँदै जाँदा बजारमा देखिएको चहलपहलले व्यापार व्यवसायमा सकारात्मक प्रभाव पार्ने व्यवसायीको अपेक्षा छ । दसैँको किनमेलको समय अझै बाँकी रहेकाले आगामी दिनमा ग्राहकको चाप थप बढ्ने र व्यापारसमेत बढ्ने व्यवासायीहरूको विश्वास छ ।

  • भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    रसुवा, १९ असोजः गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् । शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चारवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । बाढीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।

    सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५, मालिकादेवीण् आधारभूत विद्यालयका ११, मोडर्न ट्रिनिटीका आठ र चिप्लेटी आधारभूत विद्यालयका एक जना रहेको इकाई प्रमुख सिलवालले जानकारी दिए । बाढीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ । चिप्लेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँको स्कुलमा पठाइएको छ ।

    मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी मावि भलायडाँडा र ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माविमा बसोबासको व्यवस्थासहित पठनपाठनको प्रबनध मिलाइएको छ । बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए । नौकुण्ड गाउँपालिकामा भने गत भदौ ११ गतेदेखि नै पठनपाठन सुरु भएको थियो ।

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    नारायणगढ (चितवन), १९ असोजः चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटनामा परी भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापाको मृत्यु भएको छ । सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बुलेट मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ निवासी सागर थापा घाइते भएका थिए ।

    घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकामा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेका थिए । सागरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    कर्णाली, १९ असोजः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठित मूल आयोजक समितिले विभिन्न निर्णय गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा वीरेन्द्रनगरमा आइतबार बसेको आयोजक समितिको बैठकले खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाउने उद्देश्यका साथ विभिन्न निर्णय गरेको हो । कर्णाली प्रदेशको सुर्खेतलगायतका जिल्लामा आगामी मङ्सिर १६–२७ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । बैठकले प्रतियोगिता आयोजना गर्ने सरकारको गत भदौ २२ को निर्णयलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

    यस्तै, प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ को अधिनमा रही प्रतियोगिताको पूर्वतयारीका सम्बन्धमा आवश्यक काम गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए ।


    उनका अनुसार प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ गरी ११ टोली सहभागी हुनेछ । यस्तै ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ। यस्तै, प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक कार्य सार्वजनिक निजी, साझेदारीको अवधारणा अवलम्बन गरी प्रायोजकसँग समझदारी कार्यान्वयन गराउने, खेल सम्पन्न गर्न विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

    मूल आयोजक समितिको काम, कर्तव्य र अधिकारभित्र रही प्रतियोगितासम्बन्धी आवश्यक कार्य गर्न कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भएको सदस्यसचिव मेहताले बताए ।

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश

    कर्णाली, १८ असोजः आगामी मङ्सिर १६–२७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा ३२ खेल समावेश गरिएका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत राखेपका सदस्य सचिव रामचरित्र मेहताले प्रतियोगितामा समावेश खेलमध्ये २८ कर्णाली र बाँकी चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने बताए ।


    एथ्लेटिक्स, ब्याटमिन्टन, बक्सिङ, बास्केटबल, क्रिकेट, फुटबल, ह्याण्डबल, रग्बी, तेक्वान्दो, भलिबल, उसु, कुस्ती, कबड्डी, कराते, फूल कन्ट्याक्ट कराते, हक्की, ई–स्पोट्स, स्क्वास, साइक्लिङ, जिम्न्यास्टिक र सेपाकताक्रो गरी २१ खेल सुर्खेत जिल्लामा सञ्चालन हुने सदस्य सचिव मेहताले बताए । त्यसैगरी, शारीरिक सुगठन कालीकोट, जुडो जाजरकोट, खो खो रुकुमपश्चिम, आइटिएफ तेक्वान्दो तथा बुद्धिचाल दैलेख, टेबलटेनिस सल्यान र आर्चरी जुम्ला गरिने उनको भनाइ छ ।

    सदस्य सचिव मेहताका अनुसार पौडी, भारत्तोलन, टेनिस र सुटिङ लुम्बिनी प्रदेशको नेपालगञ्जमा सञ्चालन गर्ने प्रारम्भिक छलफल भएको छ । यद्यपि प्राविधिक समितिको थप छलफलपछि ती खेलहरु पनि कर्णालीमै हुनसक्ने उनले बताए । उक्त खेलका लागि सङ्घीय सरकारको रु ७१ करोड र राष्ट्रिय पारा खेलका लागि रु तीन करोड बजेट विनियोजन भएको सदस्य सचिव मेहताले बताए । खेलमा खेलाडी र अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ ।

    पत्रकार सम्मेलनमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले रङ्गशालाको काम शतप्रतिशत सम्पन्न भएको बताउँदै आवास व्यवस्थापनको चुनौती समाधानको तयारी थालिएको बताए । परिषद्का उपाध्यक्षको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरिएको र त्यसले भएका समस्या पहिचान गर्ने तथा प्रदेश सरकारले त्यसको समाधान गर्ने बताए ।

  • नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा


    काठमाडौँ, १८ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति र विचारका लागि खुलामञ्च आवश्यक रहेको बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज खुलामञ्चमा सम्बोधन गर्दै सभापति थापाले जनताका जिज्ञासा र प्रश्नको छलफलका लागि मुलुकलाई खुलामञ्च आवश्यक रहेको बताए ।


    “दश वर्षपछि खुलामञ्च खुलेको छ, यो काठमाडौँको एउटा चौर मात्रै होइन, नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अगाडि बढाएका छन्”, सभापति थापाले भने । सभापति थापाले जननायक बिपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालेसमेत यही खुलामञ्चबाट ऐतिहासिक राजनीतिक घटनासम्बन्धी भाषण गरेको स्मरण गर्दै खुलामञ्चले फरक विचार तथा मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको उल्लेख गरे ।


    “खुलामञ्चले मतभेदलाई एकैठाउँमा राख्न सहयोग गर्छ”, सभापति थापाले भने । उनले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताए । फरक प्रसङ्गमा सभापति थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताए । उक्त प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको तथा त्यसकै परिणाम गत भदौ २३ र २४ गतेको घटना घटेको उनको धारणा थियो ।

    सभापति थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेतृत्वमा दोहोरिरहने र मन्त्री बनेका व्यक्ति पनि पटकपटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको उल्लेख गरे ।
    ‘विगतका कमजोरीको समीक्षा गर्दै अगाडि बढ्छौँ’
    सभापति थापाले विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा गएको तर परिणाम आफ्नो पक्षमा आउन नसकेको बताए । कांग्रेसले यसअघि पनि विभिन्न निर्वाचनमा हार र जीत व्यहोर्दै आएको उल्लेख गर्दै उनले अहिले पार्टी नयाँ महाधिवेशनको चरणमा प्रवेश गरेको बताए ।

    “विशेष महाधिवेशनपछि चुनावमा गयौँ, तर हाम्रो पक्षमा परिणाम आएन, कांग्रेसले धेरै चुनावमा हार्ने र जित्ने गरेको छ, अब नयाँ महाधिवेशनमा होमिएका छौँ”, सभापति थापाले भने । सभापति थापाले १५औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताए । जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास चिर्न कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र राजनीतिक कार्यशैलीमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

    सभापति थापाले लोकतन्त्र र जनतालाई प्रत्यक्ष सेवा तथा परिणामसँग जोड्ने पुलको काम कांग्रेसले गर्नुपर्ने बताए । मुलुकमा लामो राजनीतिक सङ्घर्ष र परिवर्तन भए पनि रोजगारी सिर्जना, युवा पलायन रोक्ने र जनताको जीवनस्तर सुधार्ने विषयमा अब सबै राजनीतिक दल मिलेर गम्भीर समीक्षा गर्नुपर्ने उनको नाइ थियो ।

    सभापति थापाले मुलुकले लामो समय राजनीतिक सङ्घर्ष र सङ्क्रमण व्यहोरे पनि त्यसको प्रतिफल जनताको दैनिक जीवनमा पर्याप्त रूपमा पुग्न नसकेको उल्लेख गर्दै यसका कारण सबै राजनीतिक दलले मिलेर खोज्नुपर्ने बताए । राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक रूपान्तरणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो ।


    “यो विषय हामी सबै मिलेर खोज्नुपर्छ, हामी महाधिवेशनमा यही कुरा ‘डेलिभरी’ दिनका लागि के गर्ने, कांग्रेस कस्तो बनाउने भनेर मन्थन गर्नेछौँ”, सभापति थापाले भने । कांग्रेसले अब लोकतन्त्रको कुरा मात्रै नगरी जनतालाई परिणाम दिने राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्नुपर्ने सभापति थापाले बर्ताए । लोकतान्त्रिक व्यवस्था र जनताको अपेक्षाबीचको दूरी घटाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो ।

    “डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ, पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ, यही सङ्कल्प गर्छ”, सभापति थापाले भने ।
    सभापति थापाले कांग्रेस कमजोर वा निष्क्रिय हुँदा लोकतान्त्रिक व्यवस्था र जनताबीचको विश्वासमा असर पर्नसक्ने बताए । कांग्रेसले आफूलाई जनताको आवश्यकता र अपेक्षासँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो । “आजको दिनमा नेपाली कांग्रेस बन्द भयो भने के हुन्छ भन्ने कुरा जनताले सोच्नुपर्ने बनाउने काम गर्नुपर्छ, पुल ढल्यो भने विश्वास ढल्छ, त्यो विश्वासका लागि कांग्रेसले काम गर्नुपर्ने छ”, सभापति थापाले भने ।


    कांग्रेसले आफ्नो राजनीतिक सिद्धान्त र मूल्यमा स्पष्ट भएर अघि बढ्नुपर्ने सभापति थापाले बताए । तत्कालको राजनीतिक लाभका लागि सिद्धान्तसँग सम्झौता गर्ने प्रवृत्तिबाट पार्टी टाढा रहनुपर्ने उनको भनाइ थियो । आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्र तथा उद्योगी व्यवसायीको भूमिकालाई सम्मान गर्नुपर्ने उनले बताए ।


    सभापति थापाले निर्वाचन आउने र जाने भए पनि त्यसको महत्वलाई बेवास्ता गर्न नहुने बताए । निर्वाचनको परिणाम महत्वपूर्ण भए पनि तत्कालको चुनावी लाभभन्दा दीर्घकालीन रूपमा देश र जनताको हितमा काम गर्ने राजनीतिक संस्कार आवश्यक रहेको उनले उल्लेख गरे । सभापति थापाले १५औँ महाधिवेशनलाई कांग्रेसको नेतृत्व परिवर्तन गर्ने मात्रै नभई पार्टीको आगामी राजनीतिक दिशा, नीति र जनतालाई परिणाम दिने क्षमताबारे गम्भीर मन्थन गर्ने अवसरका रूपमा अघि बढाउने बताए । उनले कांग्रेसका केही साथीहरू पार्टीबाट बाहिरिएको उल्लेख गर्दै उनीहरुलाई कांग्रेस छाडेको हो कि होइन भन्ने विषयमा पनि अब स्पष्ट उत्तर दिनुपर्ने बताए । उनले पार्टीभित्र रहेका सबैलाई समेट्ने र बाहिरिएका नेताहरूका सम्बन्धमा पनि स्पष्ट धारणा बनाइने बताए ।


    सभापति थापाले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा र सङ्कल्प लिएर बाहिरिनुपर्ने बताए । उनले देशको पछिल्लो अवस्थालाई हेर्दा उत्सवका रूपमा मात्रै महाधिवेशन गर्न आफूहरूलाई सहज नभएको बताए । “रसुवाको भोटेकोशीमा गएको बाढीका कारण हजारौँ नागरिक हामीमाझ हुनुहुन्न । यो महाधिवेशन गर्न मन थिएन । तर संविधान र कानुनको परिधिका कारण गर्न बाध्य भयौँ”, सभापति थापाले भने ।

  • लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने


    काठमाडौँ, १८ असोजः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै सभापति लामिछानेले लोकतान्त्रिक मूल्य र मान्यतालाई अझ सुदृढ र संस्थागत बनाउने पक्षमा पार्टी रहेको स्पष्ट गरे ।


    उनले भने, “तपाईंहरूमाझ पूर्ण विश्वाससहित भन्न चाहन्छु, हामी लोकतन्त्रका मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ । यससँग सम्बन्धित संस्थालाई अझ बलियो बनाएर नेपाली जनताको त्याग, बलिदान र तपस्याबाट प्राप्त परिवर्तनको रक्षा गर्ने क्रममा अग्रपङ्क्तिमा उभिनेछौँ ।” सभापति लामिछानेले लोकतन्त्रलाई निर्वाचनका माध्यमबाट मात्रै समृद्ध बनाउनसक्ने बताए । राजनीतिक आस्था र विश्वास अलग हुनसक्ने भए पनि सरकारको नियत सही भएको उनको भनाइ छ ।

    “सरकारको नियत सही छ । कुनै निर्णय विवादमा पर्न सक्लान्, कुनै निर्णय खराब हुन सक्लान्, हामी सच्याउँछौँ”, उनले भने, “तर लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता, त्यसमा दायाँबायाँ हुँदैन, त्यसलाई डगमगाउन दिँदैनौँ । म यहाँहरूलाई विश्वस्त हुनका निम्ति अनुरोध गर्न चाहन्छु”, सभापति लामिछानेले भने । “म यहाँहरूलाई विश्वस्त हुनका लागि अनुरोध गर्न चाहन्छु । मैले त्यतिखेर संसद्मै भनेको थिएँ कि दुई ठूला राजनीतिक दलविना कुनै कारण, विनाकुनै सङ्कट, विनाकुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले सङ्कट पैदा गर्छ भनेर ।”

    उनले विगतलाई स्मरण गर्दै भने, “अहिले त्यो सत्य सावित भएको छ, त्यसले हामीलाई जन्मायो । म तपाईंहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । लोकतन्त्रको यति धेरै दुहाइ पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गछौँ भनेर, पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस् ।”

    इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेको स्पष्ट गर्नुहुँदै पार्टी सभापति लामिछानेले लोकतन्त्रमाथि मुलुकमा अहिले कुनै पनि प्रकारको खतरा नभएकाले ढुक्क हुन सबैसँग अनुरोध गरे ।

    लोकतन्त्रमाथि कहीँकतैबाट खतरा देखिए त्यसको प्रतिवाद नेपाली जनताले गरी लोकतन्त्र जोगाउने स्पष्ट गर्नुहुँदै सभापति लामिछानेले देश र जनताका पक्षमा रचनात्मक सहयोग गरी नेपाली जनताको विश्वास जितेर आगामी चुनावमार्फत सरकारमा आउन बाटो रहेको बताए । नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुहुँदै उनले देशको सबैभन्दा पुरानो पार्टी कांग्रेसको महाधिवेशन सफलताको कामना गरे ।

  • लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढौं  : कांग्रेस उपसभापति शर्मा

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढौं : कांग्रेस उपसभापति शर्मा


    काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जननायक बिपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक सङ्कटमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।


    उपसभापति शर्माले १५औँ महाधिवेशनपछि रुपान्तरणसहित अझ बलियो, सशक्त, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर कांग्रेस अघि बढ्छ भने । गत फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै उपसभापति शर्माले देश र जनताका पक्षमा चालिने हरेक कदममा सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको स्पष्ट गरे ।


    उनले राष्ट्रिय हित र सरोकारका विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । उनले जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनमा उठेका सवाल तथा जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । देशभित्र र विदेशमा रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति बनाउनुपर्ने धारणा व्यक्त गर्दै उपसभापति शर्माले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए ।


    “नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल, यी दुवै नेपाललाई जोड्नुपर्छ”, शर्माले भने, “विदेशमा रहेका नेपालीले मातृभूमिको विकासमा लगानी गर्न चाहेका छन् । उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न पार्टी तयार छ ।”

    उहाँले सामाजिक सञ्जालको दुरुपयोग भई वितृष्णा सिर्जना भइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले मुलुकको विकास र समृद्धिका पक्षमा जिम्मेवार पक्षका बीच आपसी संवाद, सद्भाव र एकताको खाँचो रहेको बताए । अविश्वास र वितृष्णाभन्दा माथि उठी मुलुकको भूगोललाई मात्रै होइन, नेपालीको मनलाई पनि जोड्नुपर्ने समय आएको उनको भनाइ छ ।

    विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै उपसभापति शर्माले महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार र जेनेजी पुस्तासहित ठूलो सङ्ख्यामा युवा सहभागिता रहेको जानकारी दिए । उनले परम्पराको सम्मान गर्दै नयाँ दृष्टिकोण र ऊर्जाका साथ कांग्रेसलाई अघि बढाउने लक्ष्यका साथ पार्टी अघि बढेको स्पष्ट गरे । उपसभापति शर्माले १५औँ महाधिवेशनले कांग्रेसलाई सङ्गठनात्मक रूपमा थप बलियो बनाउँदै मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आधार तयार गर्ने बताए ।

  • निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः ‘प्रचण्ड’

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः ‘प्रचण्ड’

    काठमाडौँ, १८ असोजः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभङ्ग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको उल्लेख गरे ।


    सभापति थापालाई बधाई दिँदै संयोजक दाहालले आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै उहाँको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बताए । “गगनजीलाई बधाई छ, गगनजीमा नेतृत्व गर्ने क्षमता छ, अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु”, संयोजक दाहालले भने ।


    संयोजक दाहालले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई जोडेर अघि बढ्न सभापति थापालाई आग्रह गरे । पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा कांग्रेसको नयाँ नेतृत्व लाग्नुपर्ने उनको भनाइ थियो । सभापति थापा अब कांग्रेसको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने भन्दै संयोजक दाहालले त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताए । उनले मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरू सचेत हुनुपर्ने उल्लेख गरे । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

    संयोजक दाहालले आफू र कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबीच भएको शान्ति सम्झौताका केही काम अझै पूरा हुन बाँकी रहेको भन्दै त्यसलाई टुङ्ग्याउन वर्तमान सभापति थापा लाग्नुपर्ने बताए । “शान्ति सम्झौताका केही चिज अझै टुङ्ग्याउन बाँकी छ, यो टुङ्गिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ, यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ”, उनले भने । मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने संयोजक दाहालको भनाइ थियो ।

  • राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    काठमाडौँ, १८ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता र लोकतन्त्रका लागि सबै राजनीतिक शक्तिहरु फेरि एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रियता र लोकतन्त्रका सवालमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर युवाहरुका आकाङ्क्षा पूरा गर्न लाग्नुपर्ने बताए ।


    “लोकतन्त्र, सार्वभौमसत्ता र मुलुकको हित, राष्ट्रियता, परिवर्तन, स्थायित्व, विकास र समृद्धिका लागि दलहरु मिलेर काम गर्नुपर्छ । त्यसका लागि हाम्रो दल सहकार्य गर्न तयार छ”, महासचिव पोखरेलले भने, “पछिल्लो निर्वाचनबाट जनताको स्थायित्वको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइको मत प्राप्त गरेका हुन् । सुशासन, सेवा प्रवाह र रोजगारीका क्षेत्रमा नयाँ पुस्ताका आशा र अपेक्षालाई निराशामा परिणत हुन दिनुहुँदैन । त्यसका लागि यो महाधिवेशन सफल हुन सकोस् ।”

    महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुसँग संवाद गर्न अग्रसर भए पनि राष्ट्रिय समस्यामा सरकारले राजनीतिक दलहरुसँग संवाद नगरेको टिप्पणी गरे । जलवायु न्यायको प्रश्न पनि आजाको साझा प्रश्न भएकाले यसको सामनाका लागि पनि सबै एक ठाउँमा आउनुपर्ने महाचिव पोखरेलको भनाइ थियो ।

  • पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन


    काठमाडौँ, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा पार्टी नेता र राजनीतिप्रति वितृष्णा कायमै रहेको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफूले बोलेको कुरा १५औँ महाधिवेशनसम्म आइपुग्दासम्म कुनै सुधार नभएको बताए ।


    “मैले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनको क्रममा जे बोलेको थिए । आमजनतामा नेताप्रति र राजनीतिप्रति जुन प्रकारको वितृष्णा र घृणा थियो, त्यसमा सुधार भएको छैन”, उनले भने, “त्यसबेला मुलुकको नेतृत्व गरिराखेका मुख्य–मुख्य नेतालाई भ्रम भए जस्तै देखियो । उहाँहरुले भर्खर–भर्खर, त्यसमाथि एउटा राष्ट्रिय पार्टी नभएको पार्टीको अध्यक्ष यहाँ आएर हामीलाई अपमान गरिराखेको छ र अर्ती–उपदेश दिइराखेको छ भन्ने विचार व्यक्त गर्नुभएको थियो । मैले त्यो बेला भनेको कुरा अहिले पनि उत्तिकै सान्दर्भिक भएको देख्छु ।”

    अध्यक्ष लिङ्देनले मान्छेमा परिवर्तन भएता पनि देशको स्थिति भने जहाँको त्यही रहेको उल्लेख गर्दै देश र जनताका पक्षमा संविधानसमेत परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे । यसैगरी, जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले प्राकृतिक विपद्का कारण जनजीवन अस्तव्यस्त भई अर्थतन्त्र प्रभावित भएको विषम परिस्थितिमा मुलुकका जिम्मेवार सबै राजनीतिक दलहरुबीच एकता, संवाद, सहयोग र संसहकार्य हुनुपर्नेमा जोड दिए ।


    उनले नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासमा लामो र महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा गर्नुहुँदै उनले भने, “नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलन, विभिन्न राजनीतिक परिवर्तन, जनआन्दोलन तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्ने संविधान २०७२ को निर्माण प्रक्रियामा कांग्रेसले खेलेको निर्णायक तथा नेतृत्वदायी भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको छ । त्यसलाई हामी सबैले मनन गर्नुपर्दछ ।”

    देशमा आर्थिक सङ्कट, बढ्दो बेरोजगारी, युवाहरूको विदेश पलायन, उत्पादनमा आएको कमी, सामाजिक असमानता तथा नागरिकमा बढ्दै गएको निरासाजस्ता गम्भीर चुनौतीहरू कायमै रहेकाले मिलेर तिनको समाधान गर्नुपर्नेमा जोड दिए ।

  • कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

    कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

    काठमाडौँ, १८ असोज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गर्न सकेको बताएका छन् । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै डा भट्टराईले राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिवेशलाई आत्मसात् गरी समयानुकूल कांग्रेस परिवर्तन भएको बताए ।


    देशमा संविधान जारी भएपछि लोकतन्त्रको एउटा चरण पूरा भएको र अब पुराना पार्टीका रुपान्तरण वा वैकल्पिक शक्ति आवश्यक छ भन्दै आफूले १२ वर्षअघि अभियान सुरु गरेको स्मरण गर्दै उहाँले रुपान्तरणको नारासहित कांग्रेस अघि बढेकामा खुसी व्यक्त गरे ।

    पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “पुराना पार्टी रुपान्तरण हुनुपर्छ, होइन भने सबै दलका रुपान्तरणकारीहरु मिलेर एउटा पार्टी बन्नुपर्छ वा वैकल्पिक शक्ति बन्नुपर्छ भनेर नेकपा (माओवादी)मा हुँदैमा मैले भनेको थिएँ । १२ वर्षपछि यो सिद्ध हुँदै गएकामा खुसी व्यक्त गर्दछु”, डा भट्टराईले भने, “विश्वमा भएको चमत्कारिक विकासका बीच हाम्रा दलहरु हिजोको ढाँचामा रहिरनुहुँदैन । राष्ट्रिय र अन्तरराष्ट्रिय परिवेश बुझ्न जरुरी छ । नयाँ सिक्न नजान्ने मान्छे एक प्रकारले निरक्षर हुन् । हामी सबै दलले आगामी २० वर्षको योजना बनाउनमा प्रतिस्पर्धा गरौँ । जसको राम्रो हुन्छ, त्यसको योजना कार्यान्वयन गरौँ ।”

    डा भट्टराईले नेपालको चुनौतीको सामना गर्न कांग्रेसले अग्रणी भूमिका खेलोस् भन्दै आफूहरु शान्ति प्रक्रियामा आउँदै गर्दा एक विदेशी पत्रकारले सोधेको प्रश्नमा गगन थापालाई भोलिको नेताका रुपमा चित्रण गरेको स्मरण गरे ।

  • प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    काठमाडौँ, १८ असोज । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले हल्लाका भरमा नभई लामो सङ्घर्ष, त्याग र बलिदानबाट नेपाली कांग्रेस स्थापना भएको बताएका छन् । पार्टीको आजदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुमकामना मन्तव्य व्यक्त गर्दै महासचिव राईले नेपालमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे । “कांग्रेसको इतिहास धेरै पढ्यौँ र हेर्यौँ, वास्तवमा यो हल्लाद्वारा स्थापित भएको पार्टी होइन”, महासचिव राईले भने । कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको उनको भनाइ थियो ।

    महासचिव राईले कांग्रेसले आगामी दिनमा सत्तामा कति समय रहनेभन्दा पनि जनताका पक्षमा कति राम्रो काम गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । राष्ट्रिय उन्मुक्ति पार्टी नेपालका संस्थापक रेशमलाल चौधरीले राणाशासन र पञ्चायती व्यवस्थाको अन्त्य तथा विद्यमान संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।


    मुलुकको परिवर्तित राजनीतिक घटनाक्रम तथा बदलिदो परिवेशबीच कांग्रेस अझै सशक्त र जिम्मेवार ढङ्गबाट अघि बढ्नुपर्ने बताउँदै जारी महाधिवेशन सफलताको कामना गरे । राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले कांग्रेसको १५औँ महाधिवेशन ऐतिहासिक स्थलमा महाधिवेशन हुन लागेकामा खुशी व्यक्त गर्दै मुलुकको समग्र भविष्यको दिशा निर्धारण गर्न महाधिवेशन सफल होस् भनी शुभकामना दिए । देशको विशिष्ट राजनीतिक घटनाक्रम र परिस्थितिबीच हुन लागेको यस महाधिवेशनबाट कांग्रेसको आन्तरिक जीवनमा मात्र नभई मुलुकको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागिसमेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

  • कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा दलका शीर्ष नेता उपस्थित

    काठमाडौँ, १८ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित केहीबेर अगाडि सुरु भएको महाधिवेशनमा मुलुकका विभिन्न दलका शीर्ष नेताको सहभागिता रह्यो । पार्टीका सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गमलाको बिरुवामा जल सिञ्चन गरी गरे ।

    उद्घाटन सत्रमा सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता सहभागी भए ।

    उद्घाटन सत्रमा वक्ताहरुले बोलेका छन् । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रम भने सोमबार र मङ्गलबार हुनेछ । निर्वाचन कार्यक्रमका लागि असोज २१ र असोज २२ गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

  • एआईको प्रयोग गरिएको मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दावी

    एआईको प्रयोग गरिएको मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दावी


    सियोल, १८ असोज (रासस–एएफपी) । सियोलले प्योङ्याङले व्यालेस्टिक मिसाइल परीक्षण गरेको केही घण्टापछि उत्तर कोरियाले एआईको प्रयोग गरिएको मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र शनिबार परीक्षण गरेको पुष्टि गरेको छ। सियोलले तीन दक्षिण कोरियाली सेना घाइते हुने गरी गैर–सैनिक क्षेत्रमा भएको आक्रमणमा उत्तर कोरिया जिम्मेवार रहेको भन्दै यसका लागि क्षमा याचना गर्न प्योङयाङलाई दवाव दिइरहृका समय यो अर्को परीक्षण भएको हो ।

    घटनामा आफ्नो संलग्नता नरहेको प्योङयाङले जनाएको छ । प्योङयाङले गत महिनाको विस्फोटको जिम्मेवारी अस्वीकार गर्दै शुक्रबार दक्षिण कोरियालाई ‘नीच’ अभिव्यक्ति नदिन चेतावनीसमेत दिएको छ । पछिल्लो विवादले संवाद पुनः सुरु गर्न खोजिरहेको सियोलको नागरिक नेतृत्वको प्रयासलाई कमजोर बनाएको छ ।

    शनिबार बिहानै सियोलको प्रमुख संयुक्त सैन्य कार्यालयले भनेको थियो, “हाम्रो सेनाले जापान सागर पनि भनिन उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको पत्ता लगाएको छ।” “दक्षिण कोरिया, अमेरिका र जापान उत्तर कोरियाली ब्यालेस्टिक मिसाइलबारे नजिकबाट सूचना आदानप्रदान गर्दै बलियो रक्षा अवस्था कायम राखिरहेका छन्,” कार्यालयले थप्यो। मिसाइल ७०० किलोमिटरभन्दा बढी उडेको बताइएको छ।

    केही घण्टापछि प्योङयाङका नेता किम जोङ उनकी बहिनी किम यो जोङले बिहान प्रक्षेपण गरिएको मिसाइल ‘मध्यम–दूरीको रणनीतिक मिसाइल’ भएको बताइन् । उनले उक्त प्रक्षेपास्त्र ‘कम उचाइमा उडान मार्ग परिवर्तन गर्न सक्षम’ भएको र त्यसमा ‘एआईको प्रविधिलाई प्रयोग गरिएको’ दाबी गरिन् । तर एआईको प्रयोगबारे थप विवरणबारे भने व्याख्या गरिनन् ।


    उनले यसको अर्थ ‘मिसाइलको आक्रमणबाट बच्ने कुनै उपाय नभएको’ दावी गरिन् । ‘कम्तीमा केही वर्षसम्म’ विश्वको कुनै पनि देशले यस्तो प्रविधि प्राप्त गर्न नसक्ने’ विश्वास किम जोङ उनले गरेको दाबी गरिन् । उनको यो वक्तव्य किम जोङ उनले गत महिना देशका हतियार प्रणालीमा ‘कृत्रिम बुद्धिमत्ता (एआई)को स्तर बढाउनुपर्ने’ आवश्यकता औँल्याएको टिप्पणीपछि आएको हो।

    किम यो जोङको दावी गर्दै भने। “उत्तर कोरियाले ‘तरङ्ग (वेभ) जस्तो उडानको स्वरूप’ प्रयोग गर्दा दक्षिण कोरियाले ‘पहिलो बिन्दुबाटै लक्ष्यहरू पछ्याउन असफल’ भएको थियो।” विश्लेषकहरूका अनुसार उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा रूस पठाएबापत रूसी सैन्य सहयोगबाट आफ्नो मिसाइल प्रविधि तीव्र रूपमा अघि बढाइरहेको हुन सक्छ।

    “एआई विश्वभर सैन्य प्रविधिमा बढ्दो रूपमा समावेश हुँदैछ र ब्यालेस्टिक मिसाइल पनि यसबाट अछुतो छैनन्,” सियोलस्थित कोरिया सैन्य मामिला संस्थानका वरिष्ठ अनुसन्धानकर्ता होङ सुङ–प्योले एएफपीसँग भने । उनले भने, “एआईले लक्ष्य जानकारी र प्रक्षेपण सञ्चालनमा सहयोग गर्न सक्छ। युक्रेन र इरानका युद्धहरूले एआईलाई ड्रोन र मिसाइलसँग जोड्दा तिनीहरूको प्रभावकारिता कसरी बढ्छ भन्ने देखाएका छन्।”

    होङले उत्तर कोरियाका मिसाइल क्षमतासम्बन्धी दाबी सही छन् भनी निष्कर्ष निकाल्न अझै चाँडो भएको बताए । “अग्रणी सैन्य शक्तिहरूको तुलनामा उत्तर कोरियाको मिसाइल प्रविधि विशेष रूपमा उन्नत छैन,” उनले भने । उनले थपे, “टर्मिनलमा नै रहँदाको चरणमा गति परिवर्तन गर्ने मिसाइलहरूलाई रोक्न गाह्रो हुन्छ, तर त्यसको अर्थ तिनीहरू पूर्ण सटीकताका साथ लक्ष्यमा हिर्काउन सक्छन् भन्ने होइन।”

    सियोल र अमेरिका नेतृत्वको संयुक्त राष्ट्रिय कमान्डले गत महिना ‘डीएमजेड’ भित्रको विस्फोट दक्षिण सीमापारि उत्तर कोरियाले राखेका बारुदी सुरुङका कारण भएको निष्कर्ष निकालेको थियो । उत्तर कोरियाली सेनाले सन् २०२४ मा नेता किम जोङ उनले दक्षिण कोरियालाई आफ्नो देशको ‘मुख्य शत्रु’ घोषणा गरेपछि सीमा स्थायी रूपमा बन्द गर्ने प्रयासअन्तर्गत सीमामा बारुदी सुरुङ र ट्याङ्कविरोधी अवरोधहरू राखेको छ।

    दक्षिण कोरियाका रक्षा मन्त्री काङ सिन–चुलका अनुसार तीन सैनिक घाइते बनाएको विस्फोटका लागि जिम्मेवार बारुदी सुरुङहरू प्योङयाङको सीमा सुदृढीकरण कार्यको भागका रूपमा राखिएको विश्वास गरिएको छ । दक्षिण कोरियाका नरमपन्थी राष्ट्रपति ली जे–म्युङले बिहीबार सेनाले माफी माग्न माग गरेको भोलिपल्ट पनि प्योङयाङलाई संवादमा फर्कन आग्रह गरेका छन् ।


    किम यो जोङले शुक्रबार सियोललाई ‘साँच्चिकै नीच’ भन्दै फेरि विस्फोटको दोष अस्वीकार गरेका थिए । उनले लीको पछिल्लो आग्रहलाई ‘सबैले हेर्नुपर्ने नाटकको चरमबिन्दु’ भन्दै उपहास गर्नुभयो र दक्षिण कोरियाको सेनाको माफीको मागलाई ‘एकदम हाँस्यास्पद’ कुरा भने । किमले प्योङयाङ बारुदी सुरुङ विस्फोटमाथि सियोलले गर्न सक्ने ‘हरेक कुराका लागि तयार’ रहेको चेतावनी पनि दिए । यी टिप्पणीको केही घण्टापछि भोलिपल्ट बिहानै प्योङयाङले मिसाइल प्रक्षेपण गरेको हो ।

    विश्लेषकहरूले यो प्रक्षेपणलाई दक्षिण कोरियाली सरकारका कूटनीतिक प्रयासको जवाफमा शक्ति प्रदर्शनका रूपमा हेरिने बताएका छन् । यसले विस्फोटमा संलग्नतालाई प्रभावकारी रूपमा अस्वीकार गरेको छ । “सियोलले तनाव कम गर्न आग्रह गर्‍यो, तर प्योङयाङले तनाव बढाएर जवाफ दियो,” सियोलस्थित उत्तर कोरिया अध्ययन विश्वविद्यालयका पूर्व अध्यक्ष याङ मु–जिनले एएफपीसँग भने । “उत्तर कोरियाले सद्भावनाको जवाफमा टकराव अघि बढाइरहेको छ भन्ने सन्देश क्षेप्यास्त्र परीक्षणले दिएको छ,” उनले थपे ।

  • चीनलाई २८ वर्षपछि पहिलो फुटबल पदक, भविष्य उज्ज्वल रहेको प्रशिक्षकको दावी

    चीनलाई २८ वर्षपछि पहिलो फुटबल पदक, भविष्य उज्ज्वल रहेको प्रशिक्षकको दावी

    नागोया, जापान, १८ असोज (रासस–एएफपी) । चीनले शनिबार झण्डै तीन दशकपछि पहिलो एसियाली खेलकुद पदक जितेको छ । उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशिक्षकले दावी गरे । फुटबलमा ठूलो कम उपलब्धि हासिल गर्ने चीनले सन् २००२ मा विश्वकपमा एक पटक मात्र पुग्न सफल भएको थियो ।

    चीनले हालै युवा स्तरमा सापेक्षिक सफलता हासिल गरेको छ र फेब्रुअरीमा अन्डर–२३ एसियन कपमा उपविजेता बनेपछि जापानमा भएको एसियाली खेलकुदमा कास्य पदक जितेको हो । चीनले उज्बेकिस्तानलाई २–२ को बराबरीपछि पेनाल्टीमा हरायो र प्रशिक्षक एन्टोनियो पुचेले नयाँ पुस्ताले अझ ठूला र राम्रा उपलब्धि हासिल गर्ने अपेक्षा गरेको बताए ।


    “मेरो विचारमा यी खेलाडीहरूको अत्यन्त उज्ज्वल भविष्य छ,” स्पेनी प्रशिक्षकले जीत पछि भने । “हामीले काम गर्नुपर्छ, उनीहरूलाई अगाडि बढाउनुपर्छ किनकि हामीसँग उच्च गुणस्तर र ठूलो हृदय भएका खेलाडीहरू छन्, र फुटबलमा यो निकै महत्वपूर्ण हुन्छ।” एसियाली खेलकुद फुटबलमा अन्डर–२३ टोलीहरू हुन्छन् जसमा तीन जना माथिल्लो उमेरका खेलाडी समावेश गर्न सकिन्छ ।

    पुचेको आइची–नागोया टोलीमा पूर्ण राष्ट्रिय टोलीका नियमित खेलाडीहरू पनि थिए। ‘अग्रणी समूह’ ले युवा खेलाडीको अनुपस्थितिमा राम्रो प्रदर्शनका लागि सफलता प्राप्त गर्न सकिरहेको छैन । गत साता घरेलु मैदानमा न्युजिल्यान्डसँग भएको मैत्रीपूर्ण खेलमा चीनको राष्ट्रिय टोली ३–० ले पराजित भएको थियो।

    पुचेले प्यालेस्टाइनसँगको हारपछि प्रशिक्षक शाओ जियाईलाई अवस्था सुधार गर्न समर्थन जनाएका थिए । “त्यो अन्तिम खेलको नतिजा राम्रो थिएन, त्यो निश्चित हो,” उनले भने । “मुख्य प्रशिक्षक अत्यन्त सक्षम र लचिलो छन्, उनले यो हारलाई टोली सुधार गर्न प्रयोग गर्नेछन् ।’ चीनले कहिल्यै एसियाली खेलकुद पुरुष फुटबलमा स्वर्ण जितेको छैन। उनीहरूले सन् १९९८ मा बैङ्ककमा काँस्य पदक जितेका थिए ।

  • फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो, गोली हानी मारिएको दावी

    फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो, गोली हानी मारिएको दावी

    लिल, फ्रान्स, १८ असोज (रासस–एएफपी) । उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती व्यापारीको भ्यानभित्र एक पुरुषको मृत शरीर फेला परेको छ। उक्त भ्यानमा अवैध आप्रवासीहरू पनि रहेको अधिकारीहरूले शनिबार बताएका छन् । उक्त व्यक्तिलाई गोली हानी मारिएको अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानपछि खुल्न आएको छ।

    स्थानीय अभियोजक कार्यालयका अनुसार उक्त सवारी साधन शुक्रबार ट्रोयेस सहरबाट करिब ३० किलोमिटर उत्तरमा फेला परेको थियो । ट्रोयेस पेरिसको दक्षिण–पूर्वमा अवस्थित छ र इङ्लिस च्यानलबाट करिब ३०० किलोमिटर टाढा छ। ‘अपराध स्थलमा उपस्थित भएको विश्वास गरिएको’ एक शङ्कास्पद व्यक्तिलाई शुक्रबार बिहानै पक्राउ गरिएको ट्रोयेसकी अभियोजक इसाबेल भेरिसिमोले बताए ।


    उनले भने, “बिहान करिब ५ बजे भ्यानको सिटमा ४७ वर्षीय पुरुषको मृत शरीर ‘टाउकोमा गोली लागेको’ अवस्थामा फेला परेको थियो । उक्त भ्यानमा बेलायती नम्बर प्लेट थियो ।” सवारी साधनभित्र प्रहरीले ‘फ्रान्सेली भूमिमा अवैध रूपमा रहेका करिब १० जना विदेशी नागरिक’ फेला पारेको थियो। उनले मृतक वा ती विदेशीहरूको राष्ट्रियता उल्लेख गरेनन् ।


    प्रारम्भिक अनुसन्धानले बेलायती भ्यान ‘च्याम्प ल’ एपे विश्रामस्थलमा पार्क गर्न रोकिँदा गोली चलेको र त्यसपछि धेरै व्यक्ति घटनास्थलबाट भागेको सङ्केत पाइएको अभियोजकको विज्ञप्तिमा उल्लेख छ। अपराध भएको स्थानभन्दा उत्तरमा रहेको रेम्सको कानुन प्रवर्तन कार्यालयलाई उक्त घटनाको अनुसन्धानको जिम्मेवारी दिइएको छ ।

    ट्रोयेस अभियोजक कार्यालयले शनिबार ‘हत्या, हत्या प्रयास, बिना अनुमति हतियार कब्जा, सङ्गठित समूहको रूपमा विदेशीलाई फ्रान्समा अवैध प्रवेश, आवतजावत र बसोबासमा सहयोग तथा सङ्गठित समूहको रूपमा मानव तस्करी’ का लागि फौजदारी मुद्दा दायर गर्ने बताएको छ ।

  • यूएई अनुसन्धानकर्ताहरूले फ्लाईदुबई सह–चालकले ‘आतङ्कवादी कार्य’ योजना गरेको दावी

    यूएई अनुसन्धानकर्ताहरूले फ्लाईदुबई सह–चालकले ‘आतङ्कवादी कार्य’ योजना गरेको दावी

    दुबई, १८ असोज (रासस–एएफपी) । युनाइटेड अरब इमिरेट्स (यूएई) का अनुसन्धानकर्ताहरूले यस साता इजरायल जाँदै गरेको फ्लाईदुबई उडानका सह–चालकले ‘आतङ्कवादी कार्य’ गर्ने योजना बनाएको र क्याप्टेनमाथि ककपिटको आपतकालीन हतियार ‘बञ्चरा’ ले आक्रमण गरेको बताएका छन्। तर आक्रमण गर्ने सहचालकले के गर्न खोजेको भन्ने उद्देश्य भने उनीहरूले अझै खुलाएका छैनन् ।

    बुधबारको उडानमा भारतीय विमान चालक (क्याप्टेन) माथि सह–चालकले आक्रमण गरेपछि चालकले ककपिटको ढोका खोल्न सफल हुँदा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले आक्रमणकारीलाई नियन्त्रणमा लिई साउदी अरबमा आपतकालीन अवतरण गरिएको थियो ।

    शनिबार देशको सरकारी समाचार एजेन्सी वामको रिपोर्ट अनुसार यूएई अनुसन्धानका प्रारम्भिक निष्कर्षमा सह–चालकको राष्ट्रियता खुलाइएको छैन तर एउटा साउदी स्रोतले एएफपीलाई सह–चालक ओमानी भएको पुष्टि गरेको छ । मिडिया रिपोर्टहरूले उनलाई गृह राष्ट्रमा चरमपन्थी विचारका कारण उडान गर्न प्रतिबन्ध लगाइएको पनि उल्लेख गरेका छन् ।

    यी रिपोर्टहरू आएका बेला संयुक्त अरब इमिरेट्सबाट इजरायलीहरूलाई घर लैजाने पहिलो उडान तेल अभिभ अवतरण गरेको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ । आक्रमणपछि सेवाहरू स्थगित गरिएका थिए ।

    “‘सह–चालकले आतङ्कवादी कार्य गर्ने प्रयास गरेका’ र ‘ककपिटमा क्याप्टेनमाथि आपतकालीन बञ्चराले आक्रमण गरी विमानको नियन्त्रण लिन खोजेको देखिन्छ,” वामले यूएईका महान्यायाधिवक्ता हमद सैफ अल शाम्सीलाई उद्धृत गर्दै अनुसन्धानका प्रारम्भिक निष्कर्षबारे बताएको छ ।

    यात्रुहरूले ककपिटतर्फ गई नियन्त्रणका भूमिका निभाएको बताएका थिए । चालकमाथि आक्रमणपछि विमान एक मिनेटमै करिब १७ हजार फिट उचाइ गुमाएर आकाशमा तल झरेको फ्लाइटराडर–२४ नामक वेबसाइटको तथ्याङ्कले देखाएको छ। ककपिटको ढोका खोलेका घाइते क्याप्टेनलाई नायकका रूपमा सम्मान गरिएको छ । शनिबार यूएईका उपप्रधानमन्त्री हमदान बिन मोहम्मदले अस्पतालको शैयामा उनलाई भेटेको तस्बिर सार्वजनिक भएको छ ।

    चालक स्मित मच्छरले ‘साहस, जिम्मेवारी र मानव जीवनप्रतिको हेरचाहको उच्चतम स्तर’ प्रदर्शन गरेको यूएई अधिकारीले एक्समा पोस्ट गरेका छन्।
    यता सह–चालकलाई यूएईमा हिरासतमा राखिएको छ । धेरै मिडिया आउटलेटहरूले आक्रमणकारी सह–चालकलाई हमाम अल–हम्मामी भनेर पहिचान गरेका छन् र ओमानमा चरमपन्थी विचारका कारण उडान गर्न प्रतिबन्ध लगाइएको बताएका छन् ।

    ‘चरमपन्थी प्रभावबाट ग्रसित’

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आक्रमणकारी सहचालकलाई शङ्कास्पदे ‘इस्लामी चरमपन्थी विचार’ भएका व्यक्तिले परिचालित गरेको र विमान दुर्घटना गराउने प्रयास गरेको बताएका छन् । वाल स्ट्रिट जर्नलले विषयसँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै शुक्रबार ओमानी अधिकारीहरूले उआक्रमणकारी सह–चालक चरमपन्थी वैचारिक दृष्टिकोण अपनाएको शङ्कामा उडान गर्न प्रतिबन्ध लगाएको रिपोर्ट गरेको छ ।

    सीएनएनले दुई स्रोतलाई उद्धृत गर्दै गत वर्ष ओमानको राष्ट्रिय एयरलाइनबाट उनलाई जागिरबाट हटाइएको रिपोर्ट गरेको छ। अल अरेबियाले पनि सूचित स्रोतलाई उद्धृत गर्दै ओमानी अधिकारीहरूले सह–चालकले चरमपन्थी विचार राख्ने गरेको निष्कर्ष निकालेको बताएको छ । प्रसारकले उनले सिरियामा समय बिताएको र त्यहाँका चरमपन्थी समूहहरूबाट प्रभावित भएको आशङ्का गरिएको उल्लेख गरेको छ।

    एबीसी न्यूजले अनुसन्धानसँग परिचित वरिष्ठ खुफिया र कानुन प्रवर्तन अधिकारीहरूलाई उद्धृत गर्दै शङ्कास्पद व्यक्तिसँग तालिमका क्रममा उपलब्ध गराइएका चरमपन्थी विचारसँग मेल खाने सामग्री भेटिएको आरोप लगाएको रिपोर्ट गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरान आक्रमणसँग जोडिएको पाइए तेहरानलाई ‘धेरै कडा प्रहार’ गरिने चेतावनी दिएका थिए ।


    नेतन्याहूले सह–चालकलाई देशका उडानहरूमा काम गर्न कसरी अनुमति दिइएको थियो अनुसन्धान थालिने बताएका छन् । “हामीसँग यस्ता प्रतिबन्धहरू छन् कि इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका चालकहरू हुन सक्दैनन्,” नेतन्याहूले फक्स न्यूजलाई भने, “स्पष्ट रूपमा ती सह–चालकले त्यसलाई छल्न सफल भएको पाइएको छ ।”

  • तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    रवीन्द्र काफ्ले\रासस

    पाँचथर, १८ असोजः याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् । विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा वर्षौँदेखि चलिरहेका सडक, पुल, झोलुङ्गे पुल, भौतिक संरचना, घरगोठलगायतमा ठूलो क्षति भएको थियो ।

    यहाँका मुरुङ्गा, मेवा र लम्बाखोला तथा अन्य ससाना खोल्सीमा आएको बाढी र सयौँ स्थानमा खसेको पहिरोले ठूलो क्षति पुर्याएको थियो । उक्त समय यहाँका समरजुङ, मगरडाँडा, कोप्चे, खोलाघारी, चोक, चाम्लिङडाँडा, बिरुवा वस्ती प्रभावित भएका थिए ।

    उक्त समयको क्षति भुल्न नपाउँदै यस वर्ष गत जेठमा बाढीपहिरोले उस्तै क्षति पुर्याएपछि स्थानीयवासी चिन्तित छन् । स्थानीय रामकुमार राईको घरमा भेटिएका इन्द्रबहादुर चाम्लिङले भन्नुभयो, “विसं २०८० को बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि हाम्रो जीवनकालमा यस्तो विपद् नआउने भन्ने धेरैलाई लागेको थियो । तर यसपालि त्यो भन्दा ठूलो विपद् आउँदा हामी अचम्मित भयौँ ।” उस्तै विपद् दोहोरिएपछि त्रासमा बाँच्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

    चाम्लिङडाँडाका महमलाल खवासको घरको आगनबाट लम्बाखोलाको बाढी बगेपछि परिवार त्रासमा थियो । तर विगतमा जस्तो भयावह अवस्था नहोला भनेर खवास परिवारले घरलाई थप व्यवस्थित गर्यो । यस वर्ष विगतमा भन्दा भयावह बाढीपहिरो मात्रै आएन, खवासको घर नामोनिशान नरहने गरी बगाएर लग्यो ।

    “पहिले पनि आँगनबाट बाढी बगेको थियो । तर घर नै बगाउँला भन्ने त सोचेका थिएनौँ । हामी लगाएको कपडामा दुई मिनेटको अन्तरमा भाग्न सफल भयौँ”, खवासले भन्नुभयो, “एक मिनेटको अन्तरमा घर बाढीले बगायो । मध्यरात भागेर बाँच्यौँ ।” खवास परिवार अहिले देउकुमार राईको बन्दकी लगाएर बसिरहेको छ । तर त्रासले भने नछोडेको महमलालको भनाइ छ ।

    कम्तीमा रु १० लाख लागत मूल्याङ्कन हुने घरसहित जग्गा जमिन र सबै सामग्री पहिरोले बगाएपछि खवास परिवार विदेश गएका छोराको मद्दतले जीविका चलाइरहेको छ । उक्त पहिरोमा महमलालका भाइ कविरमान खवासको घर तथा यहाँका रविन राई, रामकुमार राई, जहरमान बेघालगायत १६ परिवारको अलैँची तथा धानखेती बगरमा परिणत भएको छ ।

    बाढीपहिरोमा चाम्लिङडाँडाका रामकुमार राईको घर त जोगिएको छ तर आम्दानीको बाटो समाप्त भएको उहाँको भनाइ छ । तीन वर्षअघि २०८० सालमा बर्सेनि करिब १० मन ९४० किलो० उत्पादन हुने अलैँची बारी पहिरोले बगाएको थियो । अहिले त्योभन्दा दोब्बर बढी अलैँची फल्ने बारी बगाएपछि हातपाउ गलेको रामकुमारको भनाइ छ ।

    “मेरो जति क्षति यो वडामा कसैको पनि भएन होला । विसं २०८० मै करिबब १० मन अलैँची फल्ने जमिन बगाएर लगेको थियो । यस वर्ष करिब १५ मन उत्पादन हुने अलैँचीखेती र दुई खला खेत बाढी र पहिरोले बगाएर लग्यो”, रामकुमारले भन्नुभयो, “अहिले सबै ढाँड बनेको छ । एक झ्याङ पनि अलैँची बाँकी रहेन”, अलैँची टिप्ने बेलामा रामकुमारसँग अलैँचीको बगान नै बाँकी छैन ।

    बाढीपहिरोले चाम्लिङडाँडाकै रविन राईको घर जोखिममा पारेको छ । उहाँको घरभन्दा मुनि गैरीखेत पहिरोले तानेको छ भने अगाडि पँधेरे खेत बाढीले पुरेको छ । “हिउँदमा त ठिकै छ । बर्खा लागेपछि भाग्नैपर्ने होला”, रविनले भन्नुभयो, “बरु ढुङ्ग्रोबाट खन्याएको पातलो आउला, आकासबाट त्योभन्दा ठूलो पानी पर्छ ।”

    सरकारको बाटो नहेर्ने

    प्राकृतिक विपत्तिमा घरको पूर्ण क्षति भएका परिवारलाई सरकारले जिल्ला दैवी प्रकोप समितिमार्फत रु चार लाख रकम दिने व्यवस्था रहेको छ । तर तीन किस्तामा प्राप्त हुने रकम लिन असाध्यै कठिन पर्ने बुझेर पहिरो प्रभावित महमलाल खवास सरकारको बाटो नहेर्ने सोचाइमा हुनुहुन्छ ।

    “घर निर्माण गर्न तीन किस्तामा रकम आउने रहेछ । पालिका गएँ, फिदिम ९सदरमुकाम० गएँ । तर मैले प्रक्रिया पूरा गर्दागर्दै साहुबाट काढेको रु नौ हजार सकियो”, खवासले भन्नुभयो, “अब म नखोज्ने, बरु आफैँ बनाएर बस्ने । खोज्दाखोज्दै ऋणमा डुबिने रहेछ । अझै केही समय अर्कैको घरमा जीविका चलाउँछु ।”

    विदेश गएको छोरो आएपछि गाउँकै पाखाभित्तामा जग्गा खोजेर घर बनाउने योजना खवास परिवारको छ । त्यसैले उनीहरू सरकारसँग केही नमाग्ने पक्षमा हुनुहुन्छ । “अब सबैको क्षति भएको छ, सरकारले कसलाई राहत दिएर सकोस र रु हामीले खोज्न पनि छाडेको”, महमलालले भन्नुभयो, “हाम्रो ज्यान बाँचेकै छ । कमाएर केही गरौँला भन्ने सोच बनाएका हौँ ।”

    स्थानीय तहले क्षतिपूर्ति दिन नसक्ने र माथिल्ला निकायले वास्ता नगर्ने हुँदा कुनै प्रकारको राहत पाउने आशा अर्का प्रभावित रामकुमार राईसँग पनि छैन । “पहिले पनि क्षतिपूर्तिका लागि निवेदन पेस गर्यौँ । तर कुनै राहत आएको बुझिएन”, रामकुमारले भन्नुभयो, “हामीलाई क्षतिपूर्तिका लागि आवेदन मागिएको थियो । तर पहिलेकै क्षतिमा कुनै क्षतिपूर्ति नभएपछि मैले त क्षतिको विवरण पनि दिन मन लागेन । बाँचियो भने भयो ।”

  • आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था


    काठमाडौँ, १८ असोजः नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए ।


    संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो । यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनको भनाइ छ ।

    कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्ने छ । महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् ।

  • गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    बागलुङ, १८ असोजः गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ । गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ । यसैगरी, पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ वटामा सामान्य क्षति भएको छ । कच्ची सिँचाइका २०३ संरचनामा पनि नोक्सानी भएको छ ।

  • पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    पर्वत, १८ असोजःबाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो । सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् ।

    कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन् । जिल्लाभर १३१ घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए । बाढीपहिरोले पाँच वटा विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ । पर्वत–बागलुङ जोड्ने झोलुङ्गे पुल मध्यपहाडी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति भएको छ ।

    जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन् । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–बिहादी र लुङ्खुदेउराली–हुवास सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने उनले बताए । बाढीपहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक सङ्घसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडावर्तन, ओढ्ने–ओछ्याउने, सरसफाइ र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन् ।

  • दसैँ बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    दसैँ बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    लमजुङ, १८ असोजः दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ ठाउँको अनुभव गर्ने अवसर पनि हो । हिमाल, पहाड, प्रकृति, संस्कृति, इतिहास र धार्मिक आस्थाको विविधता बोकेको लमजुङमा छोटो तथा लामो दूरीका यात्राका लागि विभिन्न गन्तव्य छन् । जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिकस्थलमध्ये २०८३ सालको दसैँ बिदामा घुम्न सकिने १० गन्तव्य यसप्रकार रहेका छन् ।

    बेँसीसहर नगरपालिका–३, गाउँसहर–लमजुङ दरबार

    लमजुङको इतिहास र शाहवंशीय राज्यसँग जोडिएको गाउँसहर जिल्लाकै महत्त्वपूर्ण ऐतिहासिक गन्तव्य हो । यहाँ गाउँसहर दरबार, लमजुङ कालिका मन्दिर तथा यशोब्रह्म शाहसँग सम्बन्धित पुरातात्विक संरचना छन् । गाउँसहरलाई शाहवंशीय राज्यको उद्गमस्थलका रूपमा समेत लिइन्छ । इतिहास, धर्म र संस्कृतिको सङ्गम भएकाले दसैँका बेला यसको विशेष महत्व रहन्छ ।

    सुन्दरबजार नगरपालिका–११, तुर्लुङकोट कालिका

    प्राचीन इतिहास र धार्मिक आस्थासँग जोडिएको तुर्लुङकोटमा कालिका मन्दिर तथा ऐतिहासिकस्थल छन् । धार्मिक वातावरणसँगै पहाडी भूभागको दृश्यावलोकन गर्न सकिने भएकाले दसैँ बिदामा भ्रमणका लागि उपयुक्त गन्तव्य हो ।

    बेँसीसहर नगरपालिका–४, पुरानकोट गढी

    ऐतिहासिक तथा सामरिक महत्व बोकेको पुरानकोट गढी लमजुङको पुरानो राज्य इतिहाससँग जोडिएको स्थल हो । गढी क्षेत्रबाट आसपासका पहाडी भूभागको दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।

    बेँसीसहर नगरपालिका–३, काउलेपानी

    मौलिक गाउँबस्ती, होमस्टे, धार्मिकस्थल र प्राकृतिक सौन्दर्य काउलेपानीका मुख्य आकर्षण हुन् । गाउँसहर दरबारसँगै भ्रमण गर्न सकिने भएकाले यहाँको यात्रा इतिहास र ग्रामीण पर्यटनसँग जोड्न सकिन्छ ।

    राइनास नगरपालिका–९, राइनासकोट

    ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्व बोकेको राइनासकोट लमजुङको आकर्षक पहाडी गन्तव्य हो । यहाँबाट सूर्योदय, सूर्यास्त तथा आसपासका पहाडी भूभागको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । राइनास नगरपालिकाले समेत पर्यटनलाई नगरको प्रमुख पहिचानका रूपमा अघि सारेको छ ।

    क्व्होलासोथार गाउँपालिका–३, घलेगाउँ

    गुरुङ संस्कृति, परम्परागत बस्ती, होमस्टे, स्थानीय परिकार र हिमाली दृश्य घलेगाउँका प्रमुख आकर्षण हुन् । घले राजाको इतिहास, गुरुङ सङ्ग्रहालय, मन्दिर तथा सांस्कृतिक सम्पदाले यसलाई ग्रामीण र सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य बनाएका छन् ।

    क्व्होलासोथार गाउँपालिका–४, भुजुङ

    मौलिक गुरुङ बस्ती, परम्परागत जीवनशैली, स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्य भुजुङका मुख्य आकर्षण हुन् । होमस्टेमा बसेर गाउँले जीवनशैली तथा गुरुङ संस्कृतिलाई नजिकबाट अनुभव गर्न सकिन्छ ।

    मस्र्याङ्दी गाउँपालिका–१ र २, घनपोखरा

    हिमाली दृश्य, गुरुङ संस्कृति, ग्रामीण जीवनशैली र प्राकृतिक सौन्दर्यले घनपोखरालाई आकर्षक बनाएको छ । घलेगाउँसँगै जोडेर भ्रमण गर्न सकिने भएकाले यहाँको यात्रा प्रकृति र संस्कृतिको अनुभवका लागि उपयोगी हुन्छ ।

    मध्यनेपाल नगरपालिका–७, करापुटार–इशानेश्वर महादेव

    लमजुङको महत्त्वपूर्ण धार्मिक गन्तव्यका रूपमा परिचित करापुटारमा इशानेश्वर महादेवको मन्दिर रहेको छ । धार्मिक आस्था र सांस्कृतिक महत्व बोकेको यस क्षेत्रमा दसैँ बिदामा दर्शन तथा भ्रमण गर्न सकिन्छ ।

    दूधपोखरी गाउँपालिका, इलमपोखरी

    प्राकृतिक तथा धार्मिक महत्व बोकेको इलमपोखरी ग्रामीण पर्यटनको आकर्षक गन्तव्य हो । पोखरी क्षेत्र र आसपासको मौलिक प्राकृतिक वातावरणले शान्त र रमणीय ठाउँ खोज्ने पर्यटकलाई आकर्षित गर्छ । इलमपोखरी लमजुङका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलमध्ये सूचीकृत गन्तव्य पनि हो ।

    लमजुङका यी गन्तव्यले एउटै जिल्लाभित्र इतिहास, धर्म, संस्कृति, प्रकृति र ग्रामीण जीवनशैलीको विविध अनुभव दिने भएकाले दसैँ बिदामा घुमफिर गर्नेका लागि आकर्षक विकल्प बन्न सक्छ ।

  • विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सन्तोष गौतम\रासस

    म्याग्दी, १८ असोजः बाढीले बगाएको सडक, पहिरोले भत्किएका, पुरिएका, बस्नै नमिल्ने भएका घर, ढलेका विद्युत्का पोल, लत्रिएका तार र बाढीले थुपारेको गेगर । कतै विस्थापित परिवारको पीडा त कतै उजाडिएका बस्ती । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछिको म्याग्दीको दृश्य केही दिनअघिसम्म यस्तै थियो ।

    तर अहिले जिल्लाको दृश्य विस्तारै फेरिँदै गएको छ । विपद्ले थलिएको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सरकारी निकायसँगै स्थानीय बासिन्दा, युवा, सामाजिक संस्था, राजनीतिक दल र व्यवसायीहरू आ–आफ्नो ठाउँबाट जुटेका छन् । कोही सडक खुलाउन श्रम गरिरहेका छन्, कोही विद्युत्का पोल गाडिरहेका छन् । कसैले बजारका घरमा थुप्रिएको हिलो पन्छाइरहेका छन् भने कसैले बाढीले क्षति पुर्याएको तातोपानी कुण्ड सफा गरिरहेका छन् । विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनामा म्याग्दीमा देखिएको जनसहभागिता अहिले जिल्लाको पुनःउत्थानको मुख्य आधार बनेको छ ।

    सडक खुलाउन काँधमा इन्धन

    चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा क्षतिग्रस्त भयो । सडक मर्मतका लागि आवश्यक उपकरण पुगे पनि इन्धन अभाव चुनौती बन्यो । समस्या समाधानका लागि शनिबार ४५ जना सुरक्षाकर्मी, राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक सङ्घसंस्थाका स्वयंसेवकको टोलीले राहुघाट खोलादेखि बैसरीसम्म ७२० लिटर डिजेल बोकेर पुर्यायो ।

    अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाले सडक मर्मतका लागि दुई हजार ५०० लिटर डिजेल सापटी दिएको छ । “सडक सञ्चालनका लागि इन्धन अभाव भएपछि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गर्नुका साथै जलविद्युत् आयोजनासँग सापटी मागेका हौँ”, बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले भन्नुभयो ।

    यसअघि बेनीका युवा प्रकाश पौडेलको नेतृत्वमा युवाहरुले राहुपारे–कुनौटा खण्डमा श्रमदान गरेर पैदलयात्राका लागि भर्याङ राख्ने र डोरी तान्ने काम गरेका थिए ।

    पोल गाड्दै र तार तान्दै युवा

    बाढीपहिरोले पोल ढालेपछि म्याग्दी जिल्लाभर अवरुद्ध बनेको विद्युत् सुविधा अझै सञ्चालन हुनसकेको छैन । सदरमुकाम बेनी बाहिरका बस्तीमा युवा क्लबका पदाधिकारी तथा सदस्य र युवाहरू विद्युत् लाइन मर्मतमा जुटेका छन् । स्थानीयले ढलेका पोल गाड्ने र लत्रिएका तार तान्ने काममा सहयोग गरेपछि शनिबार बरंजा र ताकममा एक सातापछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति सञ्चालन भएको छ ।

    “समुदायले श्रमदान गरेर सहयोग गरेकाले विद्युत् आपूर्ति सञ्चालनलाई तीव्रता दिन सहज भएको छ”, नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले भन्नुभयो ।

    बजारको पहिरो पन्छाउँदै

    बेनी नगरपालिका–८ न्युरोडमा बुधबार खसेको पहिरोले १५ घरमा क्षति पुर्यायो । तीमध्ये १० घरमा बस्नै नमिल्ने गरी हिलो थुप्रियो । न्युरोड र गणेशटोल क्षेत्रका करिब एक सय घर जोखिममा परे । घर छाडेर सुरक्षित स्थानमा पुगेका स्थानीयका लागि आफ्नै टोल सफा गर्नु बाध्यतामात्र होइन, सामूहिक जिम्मेवारी पनि बन्यो । शनिबारदेखि स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिकर्मी, युवा क्लब, आमा समूह, टोल विकास संस्था, लायन्स क्लब र बजारवासी श्रमदानमा जुटेका छन् । आइतबार पनि श्रमदानमार्फत बाँस र काठ हटाए पनि ब्याकुहोलोडर र ट्याक्टर परिचालन गरेर पहिरो पन्छाउने तथा पानीको सुरक्षित निकास व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

    “पहिला बाँस र काठ हटाउन बजारवासीले श्रमदान गरका छन् । त्यसपछि मेसिन परिचालन गरेर पहिरो पन्छाउने काम हुन्छ”, बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले भन्नुभयो ।

    तातोपानी कुण्डमा दसैँअघि नै पानी भर्ने चाहना

    बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पनि बाढीको चपेटामा पर्यो । म्याग्दी नदीको बाढी कुण्डभित्र पसेपछि गेगर, माटो र बालुवा थुप्रियो । कुण्डलाई दसैँअघि नै सञ्चालनमा ल्याउने उद्देश्यले स्थानीयले बुधबारदेखि सरसफाइ अभियान सुरु गरेका छन् । सिङ्गाका विभिन्न टोलले आलोपालो गरेर श्रमदान गरिरहेका छन् ।

    शनिबारमात्रै साविक सिङ्गा गाविस–७ का ३४ जना, तल्लो सिङ्गाका २८ जना, सुर्केमेला–बास्कुना–थामडाँडाका ६४ जना, छाप युवा क्लबका छ जना र तातोपानी युवा क्लबका ३५ जना सरसफाइमा सहभागी भए । कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार स्थानीयको निरन्तर श्रमदानले बाढीले थुपारेको गेगर हटाउने काम अघि बढेको छ ।

    दुःखमा साथ, पुनर्निर्माणमा हात

    विपद्पछि म्याग्दीमा स्थानीयस्तरको मात्र होइन, बाहिर रहेका म्याग्देली र गैरआवासीय नेपालीको सहयोग पनि जुटेको छ । प्रवासी म्याग्देलीहरूको संस्था प्रवासी नेपाली म्याग्देली सङ्घ ९मोना०ले रु १५ लाख तथा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले रु ११ लाखबराबरको राहत सामग्री सहयोग गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार उद्धार र राहतसँगै सडक, सञ्चार तथा विद्युत् सेवा सञ्चालनमा जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था र समुदायको सक्रियताले विपद्को कठिन अवस्थालाई छिटो पार गर्न सहयोग पुगेको छ ।

    “सडक सञ्चालनदेखि विद्युत्का पोल गाड्ने, तार तान्ने, तातोपानी कुण्ड र बजारका घरमा थुप्रिएको हिलो पन्छाउने तथा गाउँका पदमार्ग मर्मत गर्न समुदायले श्रमदान गरिरहेको छ”, उहाँले भन्नुभयो, “जनसहभागिता र जनपरिचालनले असहज बनेको म्याग्दीको जनजीवन विस्तारै लयमा फर्कन थालेको छ ।”

    क्षतिको अवस्था

    पहिरोमा परि अन्नपूर्णमा पाँच र मालिका गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक–एक जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट म्याग्दीमा हालसम्म १११ घर पूर्ण र ९३ घरमा आंशिक क्षति पुगेको छ । तीन सय ४२ घर जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

    ग्रामीण क्षेत्रमा सञ्चार र विद्युत् सेवा सञ्चालन हुन थालेपछि क्षतिको विवरण सङ्कलन भइरहेको छ । त्यसैले क्षतिको तथ्याङ्ब अझै बढ्न सक्ने प्रशासनको भनाइ छ । जलविद्युत् आयोजना, प्रसारण लाइन, नदी नियन्त्रण, खानेपानी, सडक पूर्वाधार, विद्यालय भवन, कृषि, पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण पनि सङ्कलनकै क्रममा छन् ।

    अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, घिरवाङ र किन्दुकाका ११५ जनालाई हेलिकप्टरबाट उद्धार गरी शिख र घारमा राखिएको छ । अन्नपूर्ण–८ महभिरको बस्तीको पाखो चिराचिरा परेपछि त्यहाँका बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

    गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका शब्दमा, विपद्ले दुःख दिए पनि सङ्कटमा एकजुट हुने र दुःखमा साथ दिने म्याग्दीको पुरानै अभ्यास हो । “एकता, सहयोग र श्रमको भावनाले म्याग्दीको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन ठूलो भूमिका खेलेको छ”, उहाँले भन्नुभयो, “सङ्कटमा एकजुट हुने, दुःखमा साथ दिने र हातेमालो गर्दै पुनर्निर्माणमा जुट्ने म्याग्दीको पुरानै असल अभ्यास हो ।”

    विपद्को पानी घटिसकेको छ, तर क्षतिको घाउ अझै बाँकी छ । ती घाउ पुर्न समय लाग्नेछ । अहिले भने म्याग्दीले एउटा सन्देश दिइरहेको छ– विपद्ले भत्काएको संरचना मेसिनले बनाउला, तर त्यसमा जीवनको रङ भर्न समुदायको हात चाहिन्छ ।

    फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

    यसैबीच म्याग्दी सदरुमकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढी प्रभावितका लागि पोखरा महानगरपालिका–१९ लामाचौरमा रहेको अनुग्रह सत्सङ्ग नेपालले रु पाँच लाख २७ हजार सहयोग गरेको छ ।

    जलजला गाउँपालिका–७ खनियाघाटकी गौमती थापाको पहलमा पोखरेली सत्सङ्गद्वारा सहयोग गरिएको हो । संस्थाका अध्यक्ष देवी गुरुङ, उपाध्यक्ष ज्ञानु लामा र कोषाध्यक्ष सञ्जय लामाको टोलीले शनिबार फर्सेमा आएर जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

    प्राप्त भएको सहयोग रकम फर्सेका बाढी प्रभावितको पुस्र्थापनामा परिचालन गरिने वडाध्यक्ष जिसीले बताउनुभयो । यही असोज ८ देखि ११ गतेसम्म परेको निरन्तरको वर्षापछि कालीगण्डकीमा आएको बाढीले फर्सेका करिब एक सय परिवारलाई प्रभावित बनाएको छ ।

    जलजला गाउँपालिकाका अनुसार ७५ घर बगेर पूर्ण रूपमा क्षति भएका छन्, २७ घर जोखिममा छन् । बाढीबाट विस्थापित ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन् ।

    घरबारविहीन परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको छ । फर्सेको पुरानो बस्ती बगरमा परिणत भएर उजाडिएको छ ।