Category: फिचर

  • पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

    पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

    काठमाडौँ, १८ मङ्सिरः विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् । यस्तै मध्येका एक हुन्, संस्कृतिविद् हरिप्रसाद सोडारी । पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको उनले बताए ।


    मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउँछन् । । विश्वसम्पदा क्षेत्रमा यस्ता सामग्री राखेपछि पुरातत्व विभागले विश्वसम्पदा क्षेत्रको पहिचान गुम्न सक्ने भन्दै यसलाई हटाउन पत्राचार गरेको थियो । विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले पत्राचार गरेलगत्तै कोषले बार हटाएको बताए ।

  • यस पटक हिउँदमा वर्षा कम–अधिकतम र न्यूनतम तापक्रम बढ्ने

    यस पटक हिउँदमा वर्षा कम–अधिकतम र न्यूनतम तापक्रम बढ्ने

    काठमाडौँ, १८ मङ्सिर । यस वर्ष मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिम भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने समान सम्भावना रहेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका पश्चिमी भूभाग, बाग्मतीका दक्षिणी भूभाग, मधेसका उत्तरी भूभाग र कोशी प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको बताए ।


    यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका मध्य भूभाग, लुम्बिनीका मध्य तथा पूर्वी भूभाग, गण्डकीका पूर्वी भूभाग, बाग्मतीका मध्य तथा उत्तरी भूभाग, मधेसका दक्षिणी भूभाग र कोशी प्रदेशका केही भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

    यसैगरी अधिकतम तापक्रम देशका अधिकांश भूभागमा सरदरभन्दा बढी हुने आकलन छ । विभागका अनुसार गण्डकी प्रदेशका उत्तरी र दक्षिणी भूभाग, बाग्मतीका दक्षिण भूभाग र कोशीका उत्तरी र दक्षिण–पश्चिम भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
    यस्तै, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनीका उत्तरी भूभाग र कोशी, बाग्मती र गण्डकी प्रदेशका बाँकी भूभागमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना ४४ देखि ५५ रहेको छ ।

    सुदूरपश्चिम, कर्णाली प्रदेशका दक्षिण–पश्चिम भूभाग र लुम्बिनी प्रदेशका पश्चिम भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशका दक्षिणी भूभाग र मधेस प्रदेशका भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने समान सम्भावना रहेको जनाइएको छ ।

    यस्तै, न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका उत्तरी र दक्षिण पश्चिम भूभाग, कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, बाग्मती प्रदेशका उत्तर–पूर्व र दक्षिण पश्चिम भूभाग, मधेस प्रदेशका अधिकांश भूभाग र कोशी प्रदेशका दक्षिण र उत्तर–पश्चिम भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । यस्तै, देशका बाँकी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जनाइएको छ ।

  • राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

    राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

    काठमाडौँ, १८ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

    प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको राष्ट्रपतिले सन्देशमा बताउनुभएको छ ।

    “विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध, वातावरण अनुकूल जीवन व्यवस्थापन, एकता, सहकार्य, सांस्कृतिक संरक्षण, श्रमको सम्मान, पूर्वजप्रतिको आस्थालाई अझ मजबुत बनाउन सहयोग पु¥याएको महसुस गरेको छु”, सन्देशमा उहाँले भन्नुभएको छ ।

    उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गर्नुभएको छ ।

    किराँत समुदायका मूलत राई, लिम्बु, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाउने गरेका छन् ।

    उधौलीपर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ । रासस

  • एनपिएलः आज दुई खेल हुँदैै

    एनपिएलः आज दुई खेल हुँदैै

    काठमाडौँ, १८ मङ्सिरः त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ः०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ । पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ ।

    प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् । सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।

  • म्याक्रोनको चीन भ्रमण : व्यापार, कूटनीति र युक्रेन युद्धबारे उच्चस्तरीय वार्ता

    म्याक्रोनको चीन भ्रमण : व्यापार, कूटनीति र युक्रेन युद्धबारे उच्चस्तरीय वार्ता

    बेइजिङ, १८ मङ्सिर (रासस–एपी) । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन व्यापार, कूटनीति तथा युक्रेन–रुस युद्धबारे छलफल गर्न तीन दिने राजकीय भ्रमणका क्रममा बुधबार चीन आइपुग्नुभएको छ । उहाँले बेइजिङलाई रुसमाथि दबाब दिई युक्रेनमा युद्धविरामको वातावरण बनाउन सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ ।

    फ्रान्सेली राष्ट्रपति कार्यालयका अनुसार म्याक्रोनले दुवै पक्षका लागि फाइदाजनक, दिगो र ठोस आर्थिक विकास सुनिश्चित गर्ने उद्देश्यसहित व्यापारिक तथा आर्थिक सहकार्य सन्तुलित गर्ने एजेन्डा अघि सार्नुहुनेछ । फ्रान्सले चिनियाँ लगानी आकर्षित गर्ने तथा फ्रान्सेली उत्पादित सामानका लागि बजार पहुँच सहज बनाउने लक्ष्य पनि राखेको छ । भ्रमणमा ऊर्जा, खाद्य उद्योग तथा उड्डयन क्षेत्रसम्बन्धी धेरै महत्त्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर हुने अपेक्षा छ ।

    म्याक्रोन ‘निष्पक्ष र पारस्परिक बजार पहुँच’ को पक्षमा दृढ भएर उभिनुभएको फ्रान्सेली अधिकारीहरूले बताएका छन् । म्याक्रोन दम्पती बुधबार बिहानै बेइजिङको अत्यन्त जाडोमा विमानस्थल पुगेको थियो । विमानस्थलमा उहाँहरूलाई चिनियाँ विदेशमन्त्री वाङ यीले औपचारिक स्वागत गर्नुभएको थियो । विमानबाट ओरालिएपछि रातो गलैँचाबाट हिँड्दै उहाँहरू लिमोजिनमा सवार हुनुभएको थियो । दिनको अन्त्यमा उहाँहरूले नयाँ सजाइएको फरबिडन सिटीभित्र रहेको १८औँ शताब्दीको कियानलोङ गार्डन अवलोकन गर्ने कार्यक्रम छ ।

    फ्रान्सले सन् २०२६ मा सातवटा सबैभन्दा विकसित अर्थतन्त्रहरूको शिखर सम्मेलन (जी–७) को आयोजना गर्दैछ भने चीनले २१ सदस्यीय एपेक फोरम को अध्यक्षता गर्नेछ, जसमा अमेरिका, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र रुससमेत सहभागी छन् । गत वर्ष मात्र युरोपेली सङ्घ ९इयु० ले चीनसँग तीन खर्ब युरोभन्दा बढी व्यापार घाटा बेहोरेको थियो, जसमा फ्रान्सको कुल व्यापार घाटाको ४६ प्रतिशत चीनकै कारण भएको थियो । इयुले चीनलाई साझेदार, प्रतिस्पर्धी तथा प्रणालीगत प्रतिद्वन्द्वी तीनवटै रूपमा व्याख्या गरेको छ ।

    यसबीच इयुले चिनियाँ विद्युतीय सवारी साधनमा दिएको सब्सिडीबारे अनुसन्धान थालेपछि दुवैबीच कयौँ व्यापारिक विवादहरू देखा परेका छन् । त्यसको प्रतिक्रिया स्वरूप चीनले युरोपेली ब्रान्डी, सुँगुरको मासु र दुग्ध उत्पादनहरूमा अनुसन्धान थालेको थियो । गत जुलाईमा चीनले अधिकांश कोग्नाक उत्पादकलाई दिएको कर–छुटलाई फ्रान्सले सकारात्मक सङ्केतका रूपमा लिएको थियो । फ्रान्स चीनको वाइन र स्पिरिट आपूर्तिकर्तामध्ये पहिलो स्थानमा छ ।

    राष्ट्रपति म्याक्रोन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीचको वार्ताको प्रमुख एजेन्डामा युक्रेन–रुस युद्ध पनि रहनेछ । सोमबार पेरिसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग युद्धविरामका सम्भावित आधारहरूबारे छलफल गरेपछि म्याक्रोन चीनसँग ठोस सहयोगको अपेक्षामा हुनुहुन्छ ।

    फ्रान्सका एक शीर्ष कूटनीतिक अधिकारीका अनुसार पेरिस चीनले रुसलाई सकेसम्म चाँडो युद्धविरामका लागि राजी गराउने प्रयास गरोस् र वार्ताबाट प्राप्त हुने सहमतिको आधारमा युक्रेनका लागि दीर्घकालीन सुरक्षा ग्यारेन्टी निर्माण गर्न मद्दत गरोस् भन्ने चाहन्छ । साथै, बेइजिङले रुसलाई युद्ध जारी राख्न सहयोग पुर्‍याउने कुनै पनि कार्यबाट टाढा रहने अपेक्षा फ्रान्सले व्यक्त गरेको छ ।

    यसअघि चीनका विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङले सधैँ संवाद, वार्ता र शान्तिपूर्ण समाधानलाई समर्थन गर्दै आएको र युक्रेन सङ्कट समाधानमा ‘रचनात्मक भूमिका’ खेलेको दाबी गर्नुभएको थियो । म्याक्रोनले बिहीबार ग्रेट हल अफ द पिपुलमा राष्ट्रपति सीसँग भेट्नुहुनेछ । त्यसपछि दुवै नेता फ्रान्को–चिनियाँ व्यापार मञ्चमा सहभागी हुनुहुनेछ । उहाँले राष्ट्रिय जनकांग्रेसका अध्यक्ष झाओ लेजी तथा प्रधानमन्त्री ली किआङसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

    फ्रान्सेली राष्ट्रपति दम्पती त्यसपछि सिचुआन प्रान्तको चेङ्डु प्रस्थान गर्नुहुनेछ । त्यहाँ शुक्रबार राष्ट्रपति सीसँग दुजियाङ्ग्यानको विश्वकै सबैभन्दा पुरानो सिँचाइ प्रणाली अवलोकनस्थलमा विशेष वार्ता हुनेछ । म्याक्रोनले त्यहाँ सिचुआन विश्वविद्यालयका विद्यार्थीहरूसँग पनि भेट गर्नुहुनेछ । चेङ्दु अवस्थित विशाल पाण्डा संरक्षण तथा अनुसन्धान केन्द्रमा अहिले फ्रान्समा जन्मिएको पहिलो पाण्डा युआन मेङ बस्छ, जसको नामकरण प्रथम महिला ब्रिजिट म्याक्रोनले गर्नुभएको थियो । फ्रान्सले गत महिना चीनमा १३ वर्ष बसोबास गर्दै तीन छोराछोरी जन्माएका स्टार पाण्डाहरू फिर्ता पठाएको थियो ।

  • पुटिनको शान्ति–अनिच्छा आरोपबीच क्रेमलिन–अमेरिकी दूत वार्ता निष्फल

    पुटिनको शान्ति–अनिच्छा आरोपबीच क्रेमलिन–अमेरिकी दूत वार्ता निष्फल

    किएभ, १७ मङ्सिर (रासस–एपी) । अमेरिकी दूतहरूसँग पाँच घण्टासम्म क्रेमलिनमा चलेको वार्ताले कुनै प्रगति नदेखाएपछि युक्रेनी तथा युरोपेली अधिकारीहरूले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति प्रयासप्रति चासो नदेखाएको आरोप लगाएका छन् । यद्यपि, वार्ता भने आगामी दिनमा निरन्तर जारी रहने अपेक्षा गरिएको छ ।

    युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले पुटिनले ‘विश्वको समय बर्बाद गर्न बन्द गर्नुपर्ने’ कठोर टिप्पणी गर्नुभयो । यसैगरी, बेलायतका विदेशमन्त्री यभेट कुपरले पनि पुटिनलाई ‘ब्लस्टर र रक्तपात अन्त्य गर्दै न्यायपूर्ण र दीर्घकालीन शान्तिका लागि वार्ता टेबलमा आउन तयार हुन’ आग्रह गर्नुभयो । मङ्गलबार मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उहाँका ज्वाइँ जारेड कुशनरसँग पुटिनले भेटवार्ता गर्नुभएको थियो । जनवरीमा ट्रम्प पुनः पदमा फर्किएपछि उहाँले शान्ति सम्झौता वार्तामा देखिएको असहजतालाई तोड्न यो भेट अर्को प्रयासका रूपमा हेर्नुभएको वासिङ्टनको तर्क छ ।

    रूसी र अमेरिकी पक्षबीच वार्ताको संवेदनशील विषयवस्तु गोप्य राख्ने सहमति भए पनि प्रमुख अड्को भने त्यही रहेको छ—फेब्रुअरी २०२२ को आक्रमणपछि रुसले कब्जामा राखिरहेको युक्रेनी भूभाग उसैका लागि कायम रहने कि न रहने । पुटिनका वरिष्ठ सल्लाहकार युरी उसाकोभले क्षेत्रीय मुद्दामा ‘अहिलेसम्म कुनै सहमति भएको छैन’ भन्दै क्रेमलिनलाई हालको सङ्कटको कुनै छिटो समाधान देखिन नसकेको टिप्पणी गर्नुभयो । युक्रेनले पनि कब्जा गरिएका भूभाग कुनै हालतमा नछोड्ने दृढतामा अडिग रहँदै आएको छ ।

    उसाकोभका अनुसार अमेरिकी टोलीसँगको संवाद ‘बरु उपयोगी, रचनात्मक र ठोस’ रह्यो । तर, अमेरिकी शान्ति प्रस्तावका ‘विशिष्ट शब्दहरू’ अझै छलफलको चरणमै रहेको उहाँको भनाइ थियो । वार्ताअघि नै पुटिनले युरोपेली मुलुकहरूमाथि शान्ति प्रयास विफल बनाउन खोजेको आरोप लगाउँदै कडा चेतावनी दिनुभएको थियो । ‘हामी युरोपसँग लड्न चाहँदैनौँ, तर यदि युरोप आफूले नै युद्ध सुरु गर्न चाहन्छ भने हामी पूर्ण रूपमा तयार छौँ’ भन्ने उहाँको टिप्पणीले करिब चार वर्षदेखि जारी युद्ध रोक्ने प्रयासमा अझ तनाव थपिएको थियो ।

    – युरोपेली सहयोग थप सुदृढ –

    ब्रसेल्समा बसेको युरोपेली नाटो देशका विदेशमन्त्रीहरूको बैठकमा पुटिनप्रति धैर्य लगभग समाप्त भएको सङ्केत देखियो । एस्टोनियाका विदेशमन्त्री मार्गस साहकनाले ‘पुटिनले कुनै मार्ग परिवर्तन नगरी उल्टै युद्धभूमिमा थप आक्रामकता देखाइरहेको’ आरोप लगाउँदै ‘उहाँ शान्ति नै चाहनुहुन्न’ भन्ने टिप्पणी गर्नुभयो । फिनल्यान्डकी विदेशमन्त्री एलिना वाल्टोनेनले पनि रुसबाट ‘कुनै छुट वा लचकता नदेखिएको’ भन्दै पूर्ण युद्धविराम नै विश्वास निर्माणको प्रारम्भिक आधार हुनुपर्ने बताउनुभयो ।

    नाटोका महासचिव मार्क रुटले युक्रेनका साझेदार राष्ट्रहरूले मस्कोमाथि दबाब कायम राख्दै सैन्य सहयोग बढाउँदै जाने स्पष्ट पार्नुभयो । “शान्ति वार्ता चलिरहनु सकारात्मक हो, तर वार्ता कहिले निष्कर्षमा पुग्छ भन्ने अनिश्चितताबीच युक्रेन सबैभन्दा बलियो अवस्थामा रहनु आवश्यक छ”, उहाँले भन्नुभयो । क्यानाडा, जर्मनी, पोल्यान्ड र नेदरल्यान्ड्सले युक्रेनलाई प्रदान गर्न अमेरिकी हतियार खरिदका लागि करोडौँ डलर खर्च गर्ने घोषणा गरेका छन् ।

    गत अगस्टदेखि युरोपेली नाटो मुलुकहरूले ‘पियुआरएल’ नामक वित्तीय संरचनामार्फत युक्रेनका प्राथमिकताका आधारमा अमेरिकी हतियारहरू खरिद गर्दै आएका छन् ।
    – रातारात तीव्र आक्रमण, मानव क्षति बढ्दै –

    उता, युद्धभूमिमा रुस र युक्रेन दुवैले ड्रोन तथा मिसाइल प्रयोग गरेर अग्रपङ्क्ति पछाडिका क्षेत्रहरूमा एकअर्कामाथि तीव्र आक्रमण जारी राखेका छन् । रुसबाट प्रहार गरिएको ड्रोन आक्रमणले युक्रेनको ड्निप्रोपेट्रोभस्क क्षेत्रअन्तर्गत टेर्निभ्का सहरमा दुई जनाको मृत्यु र तीन जनाको घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख भ्लादिस्लाव हाइभानेन्कोले बुधबार जानकारी दिनुभयो । आक्रमणले एउटा घर पूर्ण रूपमा ध्वस्त भएको तथा अन्य छवटा क्षतिग्रस्त भएको बताइएको छ ।

    युक्रेनी वायु सेनाले रातारात रुसले १११ वटा स्ट्राइक र डिकोय ड्रोन प्रक्षेपण गरेको जनाएको छ । यसैबीच, रुसको रक्षा मन्त्रालयले आफ्नो हतियार प्रणालीले १०२ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । खसेका ड्रोनका भग्नावशेषका कारण मस्कोबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको टाम्बोभ क्षेत्रको तेल डिपोमा भीषण आगलागी भएको स्थानीय अधिकारी येभ्गेनी पेरिभिसोभले पुष्टि गर्नुभएको छ ।

  • उज्यालो नेपाल पार्टी घोषणा, कुलमानको सम्बोधन

    उज्यालो नेपाल पार्टी घोषणा, कुलमानको सम्बोधन

    १८ मंसिर, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको घोषणासभालाई बुधबार सम्बोधन गर्दै उनले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताए । “नेपाल समृद्ध हुन धेरै बेर लाग्दैन । समृद्धिको आधार सुशासन हो, जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय उठाएको हो । भ्रष्टाचार मुक्त देश बन्न सक्यो भने समृद्धितर्फ अघि बढ्छ”, मन्त्री घिसिङले भने । सही पात्र सक्रिय राजनीतिमा आउनुपर्नेमा जोड दिँदै उनले सही पार्टी र नेतृत्व चुन्ने बेला आएको बताए ।


    राजनीतिमा जनविश्वास सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विगतदेखिका निराशा र आक्रोश जेनजी आन्दोलनका रूपमा विस्फोट भएको तर्क गरे । उनले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई अग्रगामी दिशामा लैजान वर्तमान सरकार केन्द्रित भइरहेको स्पष्ट पारे ।

    “आसन्न निर्वाचनले जेनजी परिवर्तनलाई संस्थागत गर्नेछ । अब पविर्तनको नेतृत्व नयाँ र विकल्प दिन सक्ने व्यक्तित्व, संस्था र पार्टीले गर्नुपर्छ”, मन्त्री घिसिङले भने । “यसका लागि आमजनसमुदायको भावनाअनुसार सबै बैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्छ । जस्तो सुकै परिस्थितिमा पनि एकताबद्ध भएर परिवर्तनलाई परिणाम दिने अवस्थामा लैजानुपर्छ ।”

    पूर्वमन्त्री सुमना श्रेष्ठले बैकल्पिक शक्ति एकताबद्ध हुन नसक्दा निर्वाचनमार्फत पूरानै राजनीतिक दलहरू हाबी हुनसक्ने औँल्याउँदै अहिलेको अवस्थामा विकल्प दिन चाहने शक्तिहरू एक हुनुपर्नेमा जोड दिइन् । उज्यालो नेपाल पार्टीकी नेत्री रिमा विश्वकर्माले देश र जनताले परिणाम दिनसक्ने नेतृत्व खोजिरहेको जनाउँदै क्षमतावान् व्यक्तित्वले राजनीतिमा हस्तक्षेप बढाउनुपर्ने बताइन् । त्यसक्रममा मन्त्री घिसिङले सो पार्टीको आधिकारिक वेवसाइट शुभारम्भ गरेका थिए ।

  • कोटेश्वर चोक सुधार आयोजनाका लागि जापानसँग ऋण सम्झौता

    कोटेश्वर चोक सुधार आयोजनाका लागि जापानसँग ऋण सम्झौता

    काठमाडौँ, १७ मङ्सिर । कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच ३४ दशमलव ५९ अर्ब जापानी येन बराबरको ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका०मार्फत प्राप्त हुने उक्त ऋणको ‘ग्रेस’ अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक शून्य दशमलव दुई प्रतिशत ब्याजदर रहनेछ । यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अण्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ ।

    ती संरचना निर्माणको उद्देश्य काठमाडौँ, ललितपुर, भक्तपुर तथा विपी राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधनको आवागमन सहज बनाउने तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पु¥याउने राखिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागमार्फत कार्यान्वयन गरिनेछ । ऋण सहायतासँग सम्बन्धित अवधारणापत्रमा अर्थ सचिव डा घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गर्नुभयो । त्यस्तै, ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख एवं सहसचिव धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे ।

    हस्ताक्षर समारोहमा अर्थमन्त्री खनालले द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । जापानी राजदुत तोरुले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजनाबाट उपत्यकाको यातायात व्यवस्थापनमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे । उनले नेपाल र जापानबीचको दशकौँ पुरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे ।


    अर्थमन्त्री खनालले आफ्नो सम्बोधनमा नेपाल–जापान सहकार्यअन्तर्गत काठमाडौँ उपत्यकाको महत्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।

  • नलिञ्चोक हेलिपोर्ट अनियमितता : महानिर्देशक अधिकारीसहित छ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    नलिञ्चोक हेलिपोर्ट अनियमितता : महानिर्देशक अधिकारीसहित छ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ, १७ मङ्सिर । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन निर्देशक मुरानी भण्डारीसमेत छ जना विरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक भण्डारीसमेत छ जना र अभियन्त्र कन्सल्टिङ् प्रालि उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको हो ।

    नलिञ्चोकमा हेलिपोर्ट निर्माण प्रक्रियामा व्यापक अनियमितता र कानूनी प्रावधान उल्लङ्घन भएको ठहर गर्दै आयोगले उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगको विज्ञप्तीमार्फत जानकारी दिइएको हो । महानिर्देशक अधिकारीसहित मुरारी भण्डारी, नल विक्रम थापा, समृद्धि श्रेष्ठ, गुरुदत्त अधिकारी तथा अभियन्त्र कन्सल्टिङ प्रालिका व्यवस्थापक विजय थापामाथि भ्रष्टाचार ऐन अनुसार सजाय माग्दै आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

    दायर गरिएको आरोपपत्रमा परामर्शदाताको छनोटदेखि अध्ययन प्रतिवेदन तयार गर्ने कार्यसम्मकै चरणमा नियमविपरीत काम गरी रु १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बराबरको हानी पुग्ने गरी भ्रष्टाचार गरिएको दाबी गरिएको छ । आयोगकाअनुसार हेलिपोर्ट निर्माणका लागि अनिवार्य हुने सम्भाव्यता अध्ययन नगरी बदनियतपूर्वक प्रक्रिया अगाडि बढाइएको, कानूनी स्वीकृति नलिई प्राविधिक तथा वित्तीय प्रस्ताव माग गरिएको, अनुभवहीन परामर्शदाता फर्मलाई मिलेमतोमा छनोट गरिएको र विस्तृत परियोजना प्रतिवेदन समेत पूर्णरूपमा नबनाई खरिद प्रक्रिया अघि बढाइएको पाइएको छ ।

    अनुसन्धानबाट प्राप्त विवरणअनुसार इञ्जिनियर समृद्धि श्रेष्ठ र तत्कालीन निर्देशक मुरारी भण्डारीले हेलिपोर्टको सम्भाव्यता अध्ययन स्वीकृत गराएपछि पनि वास्तविक अध्ययन नगरी लागत अनुमान तयार पारी परामर्श सेवा खरिद प्रक्रियामा प्रवेश गराएका थिए । सार्वजनिक खरिद ऐन तथा नियमावलीले माग गरेका ‘स्पेसिफिकेसन’, योजना, डिजाइन, खरिद गुरुयोजना, वार्षिक खरिद योजना तथा बजेट स्वीकृति झनै बिना नै निर्माण प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ ।

    त्यस्तै, हेलिपोर्ट जस्तो संवेदनशील संरचना निर्माणमासरकारको पूर्व स्वीकृति तथा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य भए पनि कुनै प्रक्रियागत अनुमति नलिइएको प्रमाणित भएको आयोगको भनाइ छ । अख्तियारले आज दायर गरेको आरोपपत्रमा सार्वजनिक सम्पत्ति हानी–नोक्सानी, बदनियतपूर्ण निर्णय, कानूनी प्रावधान उल्लङ्घन तथा मिलेमतोद्वारा भ्रष्टाचार गरेको ठहर गर्दै सबै प्रतिवादीविरुद्ध कारबाहीको माग गरेको छ ।

  • बैङ्किङ कसुरमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

    बैङ्किङ कसुरमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

    काठमाडौँ, १७ मङ्सिर । नेपाल प्रहरीले बैङ्किङ कसुरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरको अनुसन्धानको सिलसिलामा शाक्यलाई पक्राउ गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले प्रभु बैँक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको मुद्दाको अनुसन्धानका लागि शाक्यलाई पक्राउ गरिएको जानकारी दिए । ब्यूरोले यसअघि प्रभु बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनलाई पक्राउ गरिसकेको छ ।

    नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरी प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरूपयोग गर्नेरगराउने कसुरमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि शाक्यलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

    शाक्यलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा उच्च अदालत, पाटन ललितपुरबाट पक्राउ अनुमति लिई आज ललितपुरको जावलखेलस्थित भनिमण्डल क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

  • प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई पक्राउ

    प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई पक्राउ

    काठमाडौँ, १७ मङ्सिर । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले गत भदौ २४ गतेको जेनजी प्रदर्शनीका क्रममा काठमाडौँ महानगरपालिका–२४ विशालबजारमा जनसेवाबाट खटिएका प्रहरीलाई घेराबन्दी तथा कुटपिट गरी धनमाल लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० चिकामुगल बस्ने ४१ वर्षीय नीरज चित्रकार र काठमाडौँ महानगरपालिका–१० दमाईंटोल बस्ने ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन् ।

    कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले ‘ड्युटी’मा खटिएका प्रहरीलाई घेराबन्दी गरी प्रहरीका साथमा रहेको धनमाल लुटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका नीरज चित्रकार विरुद्धमा यसभन्दा अगाडि पनि ज्यान मार्ने मुद्दामा प्रहरीवृत्त जनसेवा न्युरोडमा मुद्दा चलेको अनुसन्धानमा खुलेको छ । पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताए ।

  • एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग छनोट

    एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग छनोट

    काठमाडौँ, १७ मङ्सिर । एसीसी पुरुष यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा डिसेम्बर १२ देखि हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक भएको हो । प्रतियोगितामा सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् ।

    प्रतियोगिताका खेलहरू आइसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् । नेपालको पहिलो खेल श्रीलङ्कासँग डिसेम्बर १३ तारिखमा राखिएको छ । दोस्रो डिसेम्बर १५ मा बङ्गलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग रहेको छ । नेपालका सबै खेल सेभेन्स स्टेडियममा हुनेछन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ तारिखमा सेमिफाइनल खेल्नेछन् । उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा हुनेछ ।

  • एनपिएलः लुम्बिनीको तेस्रो जीत

    एनपिएलः लुम्बिनीको तेस्रो जीत

    काठमाडौँ, १७ मङ्सिरः लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०मा तेस्रो जीत निकालेको छ । जीत निकाल्ने क्रममा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ५ विकेटले पराजित गर्‍ यो । जीतका लागि पाएको १४५ रनको लक्ष्य लुम्बिनीले ५ विकेट गुमाउँदै पूरा गर्‍यो । जसमा ओपनर ब्याटर डार्सी सर्टले सर्वाधिक ५७ रनको योगदान गरे । विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभास भण्डारीले २–२ र बसिर अहमदले १ विकेट हात पारे ।

    यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनायो । विराटनगरका लोकेश बमले सर्वाधिक ३५, बसिर अहमदले २८, साम हिजलेटले २७ रन जोडे । लुम्बिनीका शेर मल्लले ३ विकेट झारे । यो जीतसँगै छ अङ्क जोडेको लुम्बिनीले पनि प्लेअफको सम्भावना बढाएको छ । छ खेलबाट आठ अङ्क रहेको विराटनगरको पनि प्लेअफको दौडमा छ ।

  • महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

    महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

    काठमाडौँ, १७ मङ्सिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन् । सभापति देउवालाई भेट्न गएका पार्टीका युवा नेताहरूलाई १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण रहेको बताए । सभापति देउवाले महाधिवेशनमार्फत केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्न आग्रह गरे ।

    सभापति देउवाले पार्टीको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म तोकिसकेकाले समयमै महाधिवेशन हुने उल्लेख गरे । सभापति देउवालाई भेट्न नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्ण, नेविसङ्घका पूर्वउपाध्यक्ष पुष्पकुमार शाही, नवीन राई, नेविसङ्घका पूर्वमहामन्त्री दीपक भट्टराई, नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमाल, कांग्रेसका युवा नेताहरू बद्री अर्याल, दिलीप ढुङ्गाना पुगेका हुन् ।

  • प्रधानमन्त्री कार्की र श्रीलङ्काली समकक्षी डा अमरसुरियाबीच टेलिफोन वार्ता

    प्रधानमन्त्री कार्की र श्रीलङ्काली समकक्षी डा अमरसुरियाबीच टेलिफोन वार्ता

    काठमाडौँ, १७ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्की र श्रीलङ्काली समकक्षी डा हरिणी अमरसुरियाबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा श्रीलङ्काका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट दुई लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    नेपाल सरकारले श्रीलङ्कामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलङ्काली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरी भन्नुभयो, “हामी कहाँ विपद् परेकाबेला सहयोग पठाइदिनुभयो । यसका लागि धन्यवाद छ । आभारी छौँ ।”

    जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, “मित्रराष्ट्र हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्छ । त्यो हाम्रो कर्तव्य र धर्म नै हो । यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईंहरूसँगै छौँ ।” प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन र त्यसपछि मुलुकमा उत्पन्न परिस्थितिका विषयमा पनि जानकारी गराएकी छिन् । दुवै देशका प्रधामन्त्रीबीच आज साँझ ८ः१५ बजेदेखि करिब चार मिनेट कुराकानी भएको थियो ।

  • एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना

    एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना

    काठमाडौँ, १७ मङ्सिरः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए । प्राधिकरणका प्राप्त भएका विवरणमध्ये १७ वटा आगलागीका मात्रै घटना थिए । बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमणको रहेका थिए । पर्साको पर्सागढी नगरपालिका ३ झुलिटार बस्ने ५५ बर्षिया एक महिला जंगलमा घास काटन जाँने क्रममा बाघले आक्रमण गरी घाइते भएका छन् ।

    प्राधिकरणका अनुसार आगलागीका कारण रु ८२ लाख ९१ हजार बराबरको क्षति भएको छ । सिरहामा तीन, भोजपुरमा दुई, पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर,कास्की, कपिलवस्तु, गुल्मी, बाँकेमा आगलागीका घटना भएका थिए । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको देखिन्छ ।

    गाइगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुल्हो बालेर आगो ताप्दा, विद्युत्को तार सर्ट हुँदा, विद्युत् सर्ट भई आगलागी भएको पाइएको छ । यस्तै अचानक विद्युतीय सवारी साधनमा आगलागी भएको घटना पनि प्राधिकरणमा दर्ता भएको छ । प्राधिकरणको विवरण हेर्दा अधिकांश आगजनी असावधानीका काररण भएको देखिन्छ । सामान्य सावधानी अपनाउँदा समेत जनधनको क्षति हुनबाट जोगाउन सकिने भएपनि असावधानी र जनचेतनाको अभाव देखिन्छ ।

  • नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

    नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

    काठमाडौँ, १७ मङ्सिरः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो । बाढीपहिरोबाट प्रभावित इलामलगायतका जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा कर्जाको पुनरसंरचा गर्न सकिने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी आगामी चैतसम्मको पुनरसंरचना गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

    त्यसरी पुनरसंरचना वा पुनरतालिकीकरण गर्दाको समयमा कर्जालाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानीको व्यवस्था कायम गर्नुपर्ने प्रावधान राखिएको छ । यसैगरी अबदेखि बैंक तथा वित्तीय संस्थाले अधिविकर्षलगायतका प्रयोजनक नखुलेका व्यक्तिगत कर्जा रु एक करोडसम्म प्रवाह गर्न सक्नेछन् । तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त सीमा नाघेजति रकममा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रबन्ध गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

    त्यस्तै, इजाजतप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था बमोजिम उपलब्ध गराइने कर्जाको व्याजदर पाँच दशमलव ७५ प्रतिशत कायम गरिएको छ । यसअघि त्यस्तो व्याजदर छ प्रतिशत थियो । केन्द्रीय बैंकले ‘घ’ वर्गका वित्तीय संसथालाई पनि कर्जाको पुनरतालिकीकरण एव्म पुनरसंरचनाका सम्बन्धमा केही नयाँ व्यवस्था गरेको छ । विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका व्यक्तिलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रतिव्यक्ति रु १५ लाख बराबरको लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ । यसअघि त्यस्तो कर्जा रु सात लाख बराबर मात्रै उपलब्ध गराउन सकनिे व्यवस्था थियो । समूहमा आवद्ध भएको सदस्यलाई एकै अवधिमा कर्जा वा धितो कर्जा मध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ ।

  • अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

    अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ, १७ मङ्सिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर १११ रुपैयाँ ०२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३० पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४८ पैसा र बिक्रीदर चार रुपैयाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३० पैसा र बिक्रीदर २२ रुपैयाँ ४० पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    काठमाडौँ, १७ मङ्सिरः अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो ।

    यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ । अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उहाँहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ ।

    नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भएपनि व्यवहारिक रुपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ ।

  • राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

    राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

    काठमाडौँ, १७ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दैै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरमा समान पहुँच स्थापति गर्न जरुरी भएको बताउनुभयो ।

    उहाँले भन्नुभएको छ, “नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने अपेक्षा गरेको छ, अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उहाँहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको छ ।”

    अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वनजिक सवारी, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना आदिमा उहाँहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनु आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।

    उहाँले भन्नुभएको छ, “अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा रहेका नकारात्मक भावनामा परिवर्तन ल्याइ समावेशिता, समानता, मानवअधिकार पहुँचयोग्य वातावरण एवं भेदभावविहीन समाजको निर्माण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको न्यायपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार, परिवार, समाज तथा सङ्घ संस्थाहरूको एकल र सामूहिक भूमिका अभिवृद्धिमा यस दिवसले थप बल पु¥याउने मैले विश्वास लिएको छु ।”

    अपाङ्गता भएका नागरकिहरूको हकअधिकार प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो । यसवर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा विभन्नि कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदैछ ।
    राससबाट

  • समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

    समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ, १७ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
    सन्देशमा प्रधानमन्त्रीले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

    अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था एवं अपाङ्गताको गाम्भीर्यका आधारमा अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपाङ्गता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको प्रधानमन्त्रीले सन्देशमा स्पष्ट गर्नुभएको छ ।

    अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोधहरू हटाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता भएको सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।

    अपाङ्गता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनवटै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।

    नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेका उहाँले बताउनुभएको छ ।

    आजको यस दिवसले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था, सम्बन्धित सबै सरोकार भएकाहरूलाई अपाङ्गता भएका व्यक्ति एवं तिनका अभिभावकको हक, हित, अधिकार, संरक्षण र सुविधाको क्षेत्रमा अझ धेरै कार्य गर्ने प्रेरणा र ऊर्जा मिलोस् भन्ने कामना गर्नुभएको छ । राससबाट

  • एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    काठमाडौँ, १७ मङ्सिरः त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छभने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

  • सरकारी एप प्रीलोड आदेशले भारतमा गोपनीयता चिन्ता बढायो

    सरकारी एप प्रीलोड आदेशले भारतमा गोपनीयता चिन्ता बढायो

    नयाँदिल्ली, १७ मङ्सिर (रासस–एएफपी) । भारत सरकारले सबै स्मार्टफोन निर्माताहरूलाई सरकारद्वारा सञ्चालन गरिएको साइबर सुरक्षा एप ‘सञ्चार साथी’ अनिवार्य रूपमा पूर्व–स्थापना गर्न निर्देशन दिएपछि प्रयोगकर्ताहरूको गोपनीयताबारे गम्भीर चिन्ता उब्जिएको छ । एप हटाउन नपाइने प्रावधानले आलोचना झनै तीव्र बनेको छ ।

    सन् २०२४ को सरकारी तथ्याङ्कअनुसार भारतमा एक अर्ब १६ करोड मोबाइल फोन प्रयोगकर्ताहरू छन् । सरकारका अनुसार एपले प्रयोगकर्ताहरूलाई ठगी तथा साइबर अपराधबाट थप सुरक्षा दिने उद्देश्य राखेको छ । सरकारले जारी गरेको आदेशअनुसार आगामी ९० दिनभित्र भारतमा उत्पादन वा आयात भएका सबै मोबाइल सेटमा एप अनिवार्य रूपमा प्रीलोड हुनुपर्नेछ । साथै, उपकरण सेटअपको पहिलो चरणमै उपभोक्ताले एप सजिलै देख्न र प्रयोग गर्न सक्नुपर्ने स्पष्ट गरिएको छ ।

    सरकारका अनुसार ‘सञ्चार साथी’ हराएको वा चोरी भएको मोबाइल फोन ट्र्याक र ब्लक गर्न, प्रयोगकर्ताको नाममा दर्ता गरिएका नक्कली मोबाइल सदस्यता पहिचान गर्न तथा आवश्यक परे डिस्कनेक्ट गर्न सहयोगी छ । सरकारी तथ्याङ्कले एपमार्फत हालसम्म २६ लाखभन्दा बढी फोन पत्ता लगाउन मद्दत भएको दाबी गर्दछ । तर, अधिकारकर्मी तथा साइबर विशेषज्ञहरूले यस कदमलाई गम्भीर निगरानी जोखिमको सुरुआतका रूपमा चित्रण गरेका छन् । अधिकारसम्बन्धी संस्था ‘इन्टरनेट फ्रिडम फाउन्डेसन’ (आइएफएफ) ले आदेशलाई ‘व्यक्तिगत डिजिटल उपकरणमा राज्यको नियन्त्रण विस्तार गर्ने अत्यन्त चिन्ताजनक पहल’ भन्दै कठोर आलोचना गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ, “सरकारले प्रत्येक भारतीय स्मार्टफोन प्रयोगकर्तालाई खुला–अन्त निगरानी क्षमतायुक्त एप स्वीकार गर्न बाध्य पार्दैछ, त्यो पनि आवश्यक संवैधानिक सुरक्षा बिना ।” पहिले नै बजारमा रहेका फोनहरूमा पनि सफ्टवेयर अपडेटमार्फत एप अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने सरकारी आदेशले गोपनीयताबारेको बहसलाई थप चर्काएको छ ।

    साइबर सुरक्षा विश्लेषक निखिल पाहवाले एक्समा लेख्दै प्रश्न उठाएका छन्, “हामी कसरी निश्चित हुन सक्छौँ कि एपले हाम्रो फाइल, सन्देश वा अन्य निजी सामग्रीमा पहुँच गर्दैन ? भविष्यका अपडेटहरूले निगरानी क्षमतामा वृद्धि गरेनन् भन्ने ग्यारेन्टी के छ र ?” उहाँले यो कदमलाई ‘स्पष्ट रूपमा गोपनीयताको उल्लङ्घन’ भनेका छन् । प्रतिपक्ष काङ्ग्रेस पार्टीले भने यसलाई असंवैधानिक भन्दै आदेश तुरुन्त फिर्ता लिन माग गरेको छ । काङ्ग्रेस नेता केसी वेणुगोपालले एक्समा लेख, “बिग ब्रदरले नागरिकहरूलाई हेरिरहन मिल्दैन । स्थापना रद्द गर्न नपाइने सरकारी एप एक डिस्टोपियन निगरानी उपकरण हो, जसले प्रत्येक भारतीयको हरेक गतिविधि नियाल्छ ।”

    यसअघि अगस्टमा रुसले पनि नयाँ फोन तथा ट्याब्लेटहरूमा ‘म्याक्स’ नामक अफिसियल मेसेजिङ एप अनिवार्य गर्ने निर्देशन जारी गरेको थियो, जसलाई अधिकार समूहहरूले शक्तिशाली निगरानी माध्यमका रूपमा प्रयोग गर्न सकिने चेतावनी दिएका थिए । भारतमा भने यो प्रीलोड आदेशले गोपनीयता, डिजिटल स्वतन्त्रता र व्यक्तिगत उपकरणमा राज्यको अधिकार सीमा सम्बन्धी बहसलाई अभूतपूर्व रूपमा चर्काएको छ ।

  • एसियामा प्राकृतिक विपद् : लाखौं मानिस घरविहीन

    एसियामा प्राकृतिक विपद् : लाखौं मानिस घरविहीन

    बाण्डा आचे, इन्डोनेसिया, १७ मङ्सिर (रासस–एएफपी) । इन्डोनेसिया, श्रीलङ्काका सरकार र राहत समूहहरूले मङ्गलवार बाढीपीडितलाई सहायता पु¥याउन तिव्र प्रयास गरेका छन् । चार देशमा बाढीका कारण हालसम्म एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । अमेरिकी मौसम विश्लेषण अनुसार, यस क्षेत्रमा नोभेम्बर महिनामा सन् २०१२ पछि सबैभन्दा बढी वर्षा भएको हो । हाल बाढीको पानी धेरै भागमा घटिसकेको भए पनि बाढीपीडितहरू शरणस्थलमा बसिरहेका छन् र खानेपानी र भोजनको अभाव भोगिरहेका छन् ।

    इन्डोनेसियाको आचे क्षेत्र सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो । यहाँका बासिन्दाले बताए अनुसार, सक्ने सबैजनाले आवश्यक सामान भण्डारण गर्न थालेका छन् । २९ वर्षीय एर्ना मार्धियाहले भन्नुभयो,“बाढी प्रभावित क्षेत्रमा सडक पहुँच प्रायः काटिएको छ । हामी पेट्रोल स्टेशनको लामो लाइनमा दुई घण्टा उभिएका छौं । सबैलाई इन्धन नपुग्ने चिन्ता छ ।” भारी मागका कारण मूल्यमा पनि वृद्धि भएको छ । एर्नाले थपे, “धेरै चीज पहिले नै महँगो छन् ।” सोमबार, इन्डोनेसियाले आचे, उत्तर सुमात्रा र पश्चिम सुमात्रामा ३४ हजार टन चामल र ६.८ लाख लिटर खान्ने तेल पठाइरहेको जनाएको छ । कृषि मन्त्री एन्डी अम्रान सुलाइमानले भने, “ढिलाइ हुन सक्दैन ।”

    खाद्य अभावको जोखिम
    प्रत्यक्ष प्रभावित नभएका क्षेत्रहरूमा पनि यातायात अवरुद्ध भएकाले खाद्य अभाव देखिएको छ । उत्तर सुमात्राको डोलोक साङ्गुलमा एक बासिन्दाले भने, “सोमबार दिउँसोदेखि इन्धनको लाइनमा उभिएको छु र रातभर कारमा सुतें । जब ग्याँस स्टेशनमा पुग्ने बेला भयो, इन्धन सकियो ।” मङ्गलबारसम्म सुमात्रामा मृतकको सङ्ख्या ७१२ पुगेको छ, तर अझै ५०० जना हराइरहेका छन् । विपद् निकायका अनुसार, १२ लाख मानिस घरविहीन भएका छन् । यसैबेला, दक्षिण थाइल्याण्डमा कम्तीमा १७६ जनाको मृत्यु भएको छ भने मलेसियामा दुई जना मारिएका छन् ।

    (251202) — COLOMBO, Dec. 2, 2025 (Xinhua) — This photo taken on Dec. 1, 2025 shows a flooded area in Colombo, Sri Lanka. The death toll from extreme weather conditions hitting Sri Lanka has risen to 410, while 336 people remain missing, the country’s Disaster Management Center said Tuesday. (Photo by Gayan Sameera/Xinhua)

    श्रीलङ्कामा ४१० जनाको मृत्यु
    श्रीलङ्कामा भारी वर्षाका कारण कम्तीमा ४१० जनाको मृत्यु भएको छ । अझै ३३६ हराइरहेका छन् । राष्ट्रपति अनुरा कुमार दिसानायकले यसलाई ‘हाम्रो इतिहासकै चुनौतीपूर्ण प्राकृतिक विपद्’ भनेका छन् र आपत्कालीन घोषणा गरेका छन् । श्रीलङ्काको वायु सेना, भारत र पाकिस्तानका सहयोगीसहित, बाढीपीडितलाई उद्धार गर्दै खाना र अन्य सामग्री वितरण गरिरहेको छ । राजधानी कोलम्बोमा बाढीको पानी घट्दै गएको छ । डिनुशा संजयाले भने, “हरेक वर्ष साना बाढी अनुभव गर्छौं, तर यो केही फरक छ ।” देशभर वर्षा घटेको भए पनि मध्य क्षेत्रमा पहिरोको चेतावनी जारी छ ।

  • वातावरण बिगार्नेलाई जरिवाना तिराउनुपर्छ : अध्यक्ष ओली

    वातावरण बिगार्नेलाई जरिवाना तिराउनुपर्छ : अध्यक्ष ओली

    काठमाडौँ, १६ मङ्सिर । नेकपा (एमाले्र)का अध्यक्ष केपी शर्मा ओलीले सम्पन्नताका होडमा पृथ्वीको वातावरण बिगार्नेलाई जरिवाना तिराउनुपर्ने बताएका छन् । एमालेको वन तथा वातावरण विभागले वन, वातावरण तथा जलवायु परिवर्तन स्रोत पुस्तिका विमोचन एवं जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप–३०) को समीक्षा कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले प्रकृतिको महत्त्वलाई विश्वका सबै देशले बुझ्नुपर्नेमा जोड दिए ।
    “वातावरण, विकास, समृद्धिका लागि वन हुनुपर्छ । सबै कुरा उपयुक्त ढङ्गले उपभोग्य छन् । हाम्रा वन र खोलानाला पनि समुचित ढङ्ग उपभोग्य वस्तु हुन् । तिनलाई संरक्षित गर्दै हामीले उपभोग गर्नुपर्दछ”, अध्यक्ष ओलीले भने । उनले प्रकृतिका चिजहरूको महत्त्वलाई बुझ्नु आवश्यक रहेको बताए । “जुन चिज फेरि लगाएर विकास गर्न सक्दछौँ त्यस्ता चिजलाई उपभोग गर्न डराउनुहुँदैन । तर करोडौँ वर्षसम्म उत्पादन गर्न नसकिने चिजको उपभोगमा होसियार हुनुपर्दछ”, उनले भने । “काठ केही वर्षभित्र तयार गर्न सक्दछौँ । तर ढुङ्गा हामीले उत्पादन गर्न नसक्ने भएकाले उपभोग गर्दा नि होसियार हुनुपर्दछ ।”

    कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले वन वातावरण जोगाउन एमाले प्रतिवद्ध रहेको बताए । उनले एमालेले मुलुकलाई लोकतान्त्रिक लयमा फर्काउन नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकोसमेत दाबी गरे । विभागमा प्रमुख भारती पाठकले वातावरणीय सन्तुलन, वनको संरक्षण, प्रवर्द्धन र विकास गर्नुपर्नेमा जोड दिए ।

  • वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

    वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

    काठमाडौँ, १६ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । उक्त मुद्दामा केहीलाई मात्र दोषी ठहर गरेको र धेरैलाई सफाइ दिएको भन्दै विशेष अदालतको फैसलाविरुद्ध आज आयोगले सर्वोच्चमा पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उक्त मुद्दामा तत्कालीन पर्यटनमन्त्री जीवनकुमार शाहीसहित नेपाल वायुसेवा निगम सञ्चालक समितिका पदाधिकारी र १४ जना कर्मचारीलाई सफाइ दिइएको थियो । विशेष अदालतले आरोपी ११ जनालाई भने दोषी ठहर गरेको थियो ।

    उक्त फैसला त्रुटीपूर्ण रहेको जनाउँदै अख्तियारले त्यसलाई बदर गरी सबैलाई सजाय हुनुपर्ने मागसहित आज पुनरावेदनपत्र दर्ता गरेको प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विसं २०८० चैत २२ गते अख्तियारले आरोपपत्र दायर गरेको थियो भने गत मङ्सिर २० गते विशेष अदालतले फैसला सुनाएको थियो ।

    विमान खरिद प्रकरणमा पूर्वमन्त्री शाही, पूर्वसचिव शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुङ्गानासहित २४ जना नेपाली तथा छ विदेशी र विमान आपूर्तिकर्ता दुई विदेशी कम्पनीविरुद्ध विरुद्ध मुद्दा चलाइएको थियो । मुद्दामा रु एक अर्ब ४७ करोड १० लाख ८५ हजार मागदाबीसहित मुद्दा दायर भएको थियो ।

  • मार्तडीमा आगलागी, करोडौँको क्षति

    मार्तडीमा आगलागी, करोडौँको क्षति

    बाजुरा, १६ मङ्सिर । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ । बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

    पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो । आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । क्षतिको विवरण यकिन हुन नसकेको उनले बताए ।

  • एनपिएलः साबिक विजेता जनकपुरको पहिलो जित

    एनपिएलः साबिक विजेता जनकपुरको पहिलो जित

    काठमाडौँ, १६ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्स विजयी भएको छ । जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हरायो । जनकपुरको प्रतियोगितामा पहिलो जित हो ।

    यसअघि लगातार चार खेल हारेको जनकपुरले आज दुई अङ्क जोड्यो । चितवनले भने पाँच खेलबाट दुई खेल मात्रै जितेको छ । जितका लागि पाएको १७७ रनको लक्ष्य १७.३ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । यसमा माज सदाकत र अनिल साहले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक जोडे । माजले ६३ र अनिलले ६१ रन बनाए ।

    बलिङतर्फ चितवनका कमलसिंह ऐरी, साहिल तनवीर र अमरसिंह रौटेलाले एक÷एक विकेट लिए । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ पहिला ब्याटिङ गरेकामा निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो ।

    जसमा ओपनरद्वय डेविड मलान र अर्जुन साँउदले अर्धशतक हिर्काए । मलानले ८० र अर्जुनले ५२ रनको योगदान गरे । यी दुवै ब्याटरबीच ११२ रनको शतकीय साझेदारी समेत भयो। जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले एक\एक विकेट लिए ।


    जनकपुर बोल्ट्सका ब्याटर अनिल साहले आजको खेलमा अर्धशतक बनाएका छन् । जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने उनी २१औँ खेलाडी हुन् । चितवन राइनोजकाविरूद्ध उनले २८ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । दोस्रो संस्करणको एनपिएलमा हालसम्म २५ अर्धशतक प्रहार भएका छन् ।

  • एनपिएल : उपाधी होडबाट कर्णाली बाहिरियो, पोखराको दोस्रो जित

    एनपिएल : उपाधी होडबाट कर्णाली बाहिरियो, पोखराको दोस्रो जित

    काठमाडौँ, १६ मङ्सिर । कर्णाली याक्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ । आज पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै जोडेको छ । पोखराले भने पाँच खेलबाट चार अङ्क पुर्‍याएको छ । जितका लागि पाएको २०२ रनको बिशाल लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो । उसका मार्क वाटले सर्वाधिक ५९ रन हिर्काए पनि जितका लागि पर्याप्त हुन सकेन ।

    पोखराका रिसी धवनले सर्वाधिक ३ विकेट झारे । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०१ रन बनायो । यो जारी सिजनको दोस्रो उच्च स्कोर पनि हो । यसअघि विराटनगर किङ्ग्सले पोखराविरूद्ध नै २२० रन हिर्काएको थियो । जुन एनपिएल इतिहासमै उच्च हो । पोखराका लागि यो स्कोर खडा गर्नमा एडम रोसिङटनले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरे । यस्तै जेशन रोयले ४६, धनन्जय लक्षनले अविजित २३, कप्तान कुशल भुर्तेलले १८ रन जोडे । कर्णालीका नन्दन यादव र मार्क वाटले ११ विकेट लिए ।

  • बेमौसमी वर्षाका कारण यो वर्ष उत्पादनमा कमी आउने

    बेमौसमी वर्षाका कारण यो वर्ष उत्पादनमा कमी आउने

    काठमाडौँ, १६ मङ्सिर । विभिन्न समयमा भएको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानी पुर्‍याउँदा यो वर्ष उत्पादनमा कमी आउने भएको छ । बेमौसमी वर्षाका कारणबाट भएको कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानीको तथ्याङ्करविवरण सङ्कलन कम्पाइलेसन तथा विश्लेषणको लागि गठन भएको समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हालै बुझाएको प्रतिवेदनअनुसार खासगरी बेमौसमी वर्षाबाट प्रभावित पाँच वटा प्रदेशहरूमा प्रभावित कूल क्षेत्रफल १५ हजार ४९९ हेक्टरमा विभिन्न कृषि उत्पादन विशेषगरी धान, उखु, तरकारी र फलफूलको उत्पादनमा करिब एक लाख २७ हजार ३८३ मेट्रिक टन घटी उत्पादन हुने देखिन्छ ।

    सो क्षतिले बाली (बीउबिजनसहित) करिब रु तीन अर्ब ५४ करोड ६१ लाख चार हजारको आर्थिक क्षति पुर्‍याएको अनुमान गरिएको छ । जसमा मधेस प्रदेशमा सबैभन्दा बढी रु तीन अर्ब २२ करोड ४७ लाख १९ हजारको आर्थिक नोक्सानी भएको देखिन्छ । प्रतिवेदनमा भनिएको छ, “प्राप्त तथ्याङ्कअनुसार बालीतर्फ रु तीन अर्ब ५४ करोड ६१ लाख ४ हजार, पशुपन्छी, मत्स्य तथा घाँसखेतीतर्फ रु १६ करोड १५ लाख ४६ हजार, कृषि तथा पशुपन्छी पूर्वाधारतर्फ रु एक करोड छ लाख २५ हजार, सरकारी कार्यालयतर्फ ५८ लाख ६० हजार, जमिन कटानतर्फ रु तीन करोड ७१ लाख १७ हजार र बीउबिजनतर्फ रु दुई करोड ८१ लाख चार हजार बराबरको क्षति गरी जम्मा रु तीन अर्ब ७६ करोड १२ लाख ५२ हजार बराबरको क्षति भएको देखिन्छ ।” बेमौसमी वर्षाका कारण तरकारीमा सबैभन्दा बढी रु एक अर्ब २५ करोड ७१ लाख ३३ हजार ५५० बराबरको क्षति पुगेको देखिन्छ । जुन कूल क्षतिको ३५.४५ प्रतिशत हुन आउँछ

    क्षतिका हिसाबले मधेस प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ रु तीन अर्ब ३५ करोड ५५ लाख १६ हजारको क्षति भएको छ । यस प्रदेशको आठै जिल्लामा रोपिएको धानबालीमा क्षति भएको छ भने तरकारी, फलफूल, उखु र पशुधन पनि प्रभावित भएका छन् । कोशी प्रदेशमा रु ३६ करोड ८३ लाख ८९ हजारको क्षति भएको छ । जसमा धान, तरकारी, अलैँची, अदुवा, केरा, आलु, चिया र कोदोबाली मुख्य छन् । बागमतीमा रु दुई करोड चार लाख ५४ हजार, गण्डकीमा १२ लाख ८० हजार र लुम्बिनीमा १ करोड ५६ लाख १४ हजारको क्षति भएको समितिका संयोजक तथा कृषि मन्त्रालयका सहसचिव जगनाथ तिवारीले जानकारी दिए ।

    समितिले कोशी प्रदेशका प्रभावित पालिकाहरूमा स्थानीय तहको कार्यक्रमहरूमा बाढी पहिरोबाट प्रभावित साना किसानहरूको उत्थानका लागि पशुपन्छीपालन पुनःस्थापना कार्यक्रम लागू गर्नुपर्ने सुझाव पनि दिएको छ । समितिले भनेको छ, “मधेस प्रदेशका प्रभावित पालिकाहरूमा स्थानीय तहको कार्यक्रमहरूमा बाढीबाट प्रभावित साना मत्स्यपालक किसानहरूको उत्थानका लागि माछापालन पुनःस्थापना कार्यक्रम लागू गर्नुपर्ने देखिन्छ, पुनःस्थापना कार्यक्रम सञ्चालनका लागी सङ्घीय ससर्त अनुदान र प्रदेश ससर्त अनुदान कार्यक्रममा समेत समावेश गर्नुपर्ने देखिन्छ ।”