Category: फिचर

  • वामपन्थीलाई एकता प्रक्रियामा सहभागी हुन नेकपाको आह्वान

    वामपन्थीलाई एकता प्रक्रियामा सहभागी हुन नेकपाको आह्वान

    काठमाडौँ, १३ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एकता, ध्रवीकरण र सहकार्यको प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गरेको छ । नेकपाले आज एक अपिल जारी गर्दै विद्यमान राष्ट्रिय परिस्थिति, आवश्यकता र जनअपेक्षालाई दृष्टिगत गर्दै पुनःगठित नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सुरु भएकाले ध्रुवीकरण अभियानमा समाहित हुन आह्वान गरेको हो ।

    श्रमजीवी वर्गको मुक्तिको वैचारिक अस्त्र माक्र्सवाद–लेनिनवाद भएकाले पार्टीको मार्गनिर्देशक सिद्धान्त पनि सोही भएको उल्लेख गर्दै नेकपाले सही विचार, राजनीतिक कार्यक्रम, सबैखाले अनुभव र ऊर्जाको सङ्केन्द्रण पार्टी एकताको सार भएको जनाएको छ ।

    “नेपाली पूँजीवादी जनवादी क्रान्तिका मौलिक विशेषता र नेपाली समाजको विशिष्टताका आधारमा तयार गरिएको नेपाली विशेषताको समाजवाद पार्टीको रणनीतिक कार्यक्रम हो”, उक्त अपिलमा भनिएको छ, “यही मार्गनिर्देशक सिद्धान्त र कार्यक्रमको आधारमा सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यम हुँदै समाजवादको दिशामा अघि बढ्ने सङ्कल्प हाम्रो एकताका मुख्य आधार हुन् ।”

    गणतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा तथा सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्ने अभिभाराका साथ विभिन्न १५ कम्युनिष्टसहित समाजवादी पार्टीबीचको एकीकरणबाट नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको अपिलमा उल्लेख गरिएको छ ।

  • एमाले महाधिवेशन : देशैभरि प्रतिनिधि छनोट सम्पन्न

    एमाले महाधिवेशन : देशैभरि प्रतिनिधि छनोट सम्पन्न

    काठमाडौँ, १३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सम्पन्न भएको बताए । “धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्”, उनले भने, “केही ठाउँमा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएका छन् ।”

    उनले छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनोट प्रक्रिया पनि निर्वाचनबाट टुङ्ग्याउने निर्देशन दिएको बताए । उनका अनुसार एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुनेछन् । आज छनोट भएका प्रतिनिधि विवरण यही मङ्सिर १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न एमालेले निर्देशन दिएको छ । एमालेले यही मङ्सिर २७ देखि २९ गतेसम्म भक्तपुरमा महाधिवेशन हुने जनाएको छ ।

  • एनपिएलः पोखरा तीन विकेटले पराजित, प्लेअफमा पुग्ने लुम्बिनीको सम्भावना कायमै

    एनपिएलः पोखरा तीन विकेटले पराजित, प्लेअफमा पुग्ने लुम्बिनीको सम्भावना कायमै

    काठमाडौँ, १३ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ । पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी आजको आफ्नो पाँचौ खेलमा जित्नैपर्ने दबाबमा थियो । आजको जीतसँगै लुम्बिनी तालिकामा पाँच खेलबाट चार अङ्कसहित पाँचौ स्थानमा उक्लिएको छ ।

    लुम्बिनीसँग हार बेहोरे पनि पोखराको प्लेअफमा पुग्ने सम्भावना भने जीवितै छ । पोखराले हालसम्म चार खेलमध्ये एकमा जीत निकालेको छ । अहिले पोखरासँग दुई अङ्क मात्रै छ । लुम्बिनीले पोखराले दिएको १५१ रनको लक्ष्य १९ दशमलव चार ओभरमा सात विकेटको क्षतिमा पूरा ग¥यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४० रन बनाए भने निरोशन दिकवेल्लाले महत्वपूर्ण ३७ रन बनाए । साथै सन्दीप जोराले २५ रनको योगदान दिए ।

    पोखरा एभेञ्जर्सका लागि विपिन खत्री, खत्री मार्क टेलर र सागर ढकालले दुई÷दुई विकेट लिए भने जिमी निशमले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो । पोखराले पारीको सुरुआत राम्रो गरेन । उसले १५ रन बनाउँदा दिनेश खरेललाई पहिलो विकेटका रुपमा र दोस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेललाई गुमायो ।

    त्यसपछि आएका सुमित बर्मा खाता खोल्न सकेनन् भने तिर्तराज दासले पनि जम्मा एक रन बनाए । तर सातौ ब्याटरका रुपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौ विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी ग¥यो । रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए भने निशमले ५१ रन बनाए । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे । लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुईरदुई विकेट लिए भने गुलबदिन नाइबले एक विकेट हात पारे ।

  • बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

    बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

    गण्डकी, १३ मङ्सिर । काठमाडौँबाट पोखराका लागि आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३ः४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए । चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए ।

  • ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा

    ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा

    वासिङ्टन, १३ मङ्सिर (रासस–एएफपी) । वासिङ्टनमा एक अफगान नागरिकले दुई जना नेसनल गार्ड सैनिकमाथि गोली प्रहार गरी एक जनाको हत्या गरेको घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीव्र प्रतिक्रिया जनाउँदै आफूले भनेका ‘तेस्रो विश्वका देशहरू’ बाट हुने आप्रवासन पूर्ण रूपमा रोक्ने घोषणा गरेका छन् ।


    उनको कडा प्रतिक्रिया दोस्रो कार्यकालमा उनले अघि बढाइरहेको आप्रवासन–विरोधी कठोर नीतिमा अर्को तीक्ष्ण मोडका रूपमा प्रस्तुत भएको छ । उनको प्रतिक्रियाले पूर्वराष्ट्रपति जो बाइडेन कार्यकालमा स्वीकृत ‘लाखौँ भर्ना’ उल्ट्याउने चेतावनीसमेत दिएको छ ।

    राष्ट्रपति ट्रम्पले यसअघि वेस्ट भर्जिनियाबाट वासिङ्टनमा तैनाथ नेसनल गार्डकी २० वर्षीया साराह बेकस्ट्रोम घाइते हुने र त्यसपछि मृत्यु हुने दुःखद घटनाको पुष्टि गरिसकेका छन् । अफगानिस्तानमा अमेरिकी सेनासँग काम गरिसकेका २९ वर्षीय अफगान नागरिक सन्दिग्ध बन्दुकधारीका रूपमा पहिचान भएपछि एफबिआईले अन्तर्राष्ट्रिय आतङ्कवादी आशङ्कामा अनुसन्धान थालिएको जनाएको छ ।

    अधिकारीहरूले घटनालाई ‘एम्बुस–शैली’ आक्रमणका रूपमा वर्णन गरेका छन् । यसले अमेरिकी राजधानीमा तैनाथ सेनाको प्रयोग, आप्रवासन नीति र अफगान युद्धको दीर्घकालीन प्रभाव जस्ता संवेदनशील राजनीतिक मुद्दाहरूलाई पुनः चर्चाको केन्द्रमा ल्याइदिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भने, “म अमेरिकी प्रणालीलाई पूर्ण रूपमा पुनःस्थापित गर्नका लागि सबै तेस्रो विश्वका मुलुकहरूबाट आप्रवासन स्थायी रूपमा रोक्छु ।” उनले तत्काल प्रभावबाट बाइडेन प्रशासनले स्वीकृत ‘लाखौँ प्रवेश’ खारेज गर्ने र ‘अमेरिकाका लागि शुद्ध सम्पत्ति नबन्ने’ व्यक्तिहरूलाई हटाइने चेतावनीसमेत दिए ।


    थ्याङ्क्सगिभिङका अवसरमा सेनासँग भएको भिडियो सम्बोधनमा राष्ट्रपति ट्रम्पले वासिङ्टनमा भएको ‘आतङ्कवादी आक्रमण’ ले राष्ट्रमा शोक छाएको बताउँदै राजधानीमा अतिरिक्त सयौँ नेसनल गार्ड पठाइनु निवारक कदम भएको दाबी गरे । “यदि गार्डम्यानहरू नहुँदा हुन् त घटना अझ गम्भीर हुन सक्थ्यो”, उनले भने ।


    यसैबीच युएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिस (युएससिआइएस)का निर्देशक जोसेफ एडलोले ट्रम्पको आदेशअनुसार ‘चिन्ता उत्पन्न गर्ने’ प्रत्येक देशका नागरिकको ग्रिन कार्ड फाइलमा पुनः कठोर छानबिन सुरु गरिएको जानकारी दिए । उनका अनुसार अफगानिस्तान, क्युबा, हाइटी, इरान, म्यान्मालगायत १९ देश अहिले विशेष निगरानीको सूचीमा छन् । यीमध्ये धेरै राष्ट्र पहिले नै ट्रम्प प्रशासनको यात्रा प्रतिबन्ध सूचीमा परेका थिए ।

    बुधबारको आक्रमणमा गम्भीर घाइते भएका २४ वर्षीय सैनिक एन्ड्र्यु वोल्फ आफ्नै ‘जीवनका लागि लडिरहेका’ छन् । वासिङ्टन राज्यमा बस्दै आएका सन्दिग्ध बन्दुकधारी रहमानुल्ला लकानवाल समेत गम्भीर घाइते अवस्थामा छन् । अमेरिकी वकिल जेनिन पिरोका अनुसार लकानवालले ह्वाइट हाउसबाट केही ब्लक टाढा गस्ती गरिरएका गार्डम्यानहरूलाई पोइन्ट ३५७ रिभल्भरले लक्षित रूपमा गोली हानेका थिए । उनी जीवित रहे सैनिकहरूको मृत्यु पुष्टि भएमा आरोप ‘पहिलो दर्जाको हत्या’ मा उकासिनेछ ।

    सिआइएका निर्देशक जोन र्‍याटक्लिफले सन्दिग्ध व्यक्ति अफगानिस्तानमा तालिबानविरुद्ध लड्ने सिआइए समर्थित ‘साझेदार बल’ का सदस्य रहेको र अफगान सहयोगीहरूको उद्धार कार्यक्रमअन्तर्गत अमेरिकाभित्र ल्याइएको पुष्टि गरे । र्‍याटक्लिफ, एफबिआई, होमल्यान्ड सेक्युरिटी तथा ट्रम्प नियुक्त अन्य अधिकारीहरूले बाइडेन प्रशासनको ‘सुस्त र कमजोर’ शरण नीतिले लकानवाललाई देशमा सजिलै प्रवेश गर्न दिएको आरोप दोहोर्‍याए ।

    यद्यपि अफगान पुनःस्थापनामा सहायक सङ्गठन अफगानइभाकले भने ‘सबै अफगान आवेदकहरू अत्यन्त कडा सुरक्षा जाँचबाट गुज्रिनुपर्छ’ भन्दै सम्पूर्ण समुदायलाई दोषारोपण नगर्न आग्रह गरेको छ । सङ्गठनका अनुसार लकानवाललाई शरण ट्रम्पकै प्रशासनमा सन् २०२५ अप्रिलमा दिइएको थियो र एक वर्षपछि स्थायी निवासका लागि योग्य हुने अवस्थामा थिए ।

    घटनापछि रक्षामन्त्री पिट हेग्सेथले वासिङ्टनमा थप ५०० सैनिक तैनाथ गर्दै कुल सङ्ख्या दुई हजार ५०० पुर्‍याइएको घोषणा गरे । राष्ट्रपति ट्रम्पले वासिङ्टनमा मात्र नभई लस एन्जलस र मेम्फिसलगायत डेमोक्रेट नेतृत्वका अन्य सहरहरूमा पनि सेना तैनाथ गरेका छन् । यस कदमले सङ्घीय सत्ता दुरुपयोग तथा अधिनायकवादी हस्तक्षेपका आरोपहरू तीव्र रूपमा बढाएका छन् ।

  • आज दिउँसो कोशी र मधेसको मौसम आंशिक बदली रहने

    आज दिउँसो कोशी र मधेसको मौसम आंशिक बदली रहने

    काठमाडौँ, १३ मङ्सिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

  • नेपाल र यूरोपेली सङ्घको संयुक्त आयोगको बैठक, के भयो छलफल ?

    नेपाल र यूरोपेली सङ्घको संयुक्त आयोगको बैठक, के भयो छलफल ?

    काठमाडौँ, १३ मङ्सिरः नेपाल र युरोपेली सङ्घबीचको संयुक्त आयोगको १६औँ बैठक बेल्जियमको ब्रसेल्समा शुक्रबार सम्पन्न भएको छ । बैठकमा विकास सहयोग, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सम्पर्क सञ्जाल तथा बहुपक्षीय सहकार्यलगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास ब्रसेल्सले जनाएको छ ।

    बैठकमा दुवै पक्षले नेपाल–यूरोपेली सङ्घबीचको सम्बन्ध सकारात्मक रूपमा अगाडि बढेको तथा विकास साझेदारीदेखि जनस्तरसम्मको सम्बन्धका विभिन्न आयामका बारेमा उल्लेख गरेका थिए । बैठकमा सङ्घका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आर्थिक अनुशासन, सुशासन, जवाफदेहिता तथा सेवा विस्तारमा केन्द्रित रहेर गरिरहेको कामको प्रशंसा गरेको थियो ।

    नेपालले दिगो विकास लक्ष्य प्राप्तिमा भइरहेको प्रगति प्रस्तुत गर्दै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र लगानी प्रवद्र्धनमा यूरोपेली सङ्घ तथा नेपालबीचको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरेको थियो । नेपालले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई कानुनअनुसार शिघ्र निष्कर्षमा पुर्याउने प्रतिबद्धता दोर्होयाएको थियो ।

    यूरोपेली सङ्घले नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्न तयार पारिएको सङ्क्रमणकालिन रणनीतिलाई स्वागत गर्दै यसअघि नै लागू भएको बहुवर्षीय कार्यक्रममार्फत सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेको छ । दुवै पक्षले विभिन्न क्षेत्रका विकास परियोजनामा भइरहेको प्रगतिमाथि पनि समीक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।

    हवाई सुरक्षा सुधारलाई नेपालले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै यूरोपेली सङ्घको सन २०२३ को सेप्टेम्बरमा भएको मूल्याङ्कन भ्रमणमा उठेका विषय समाधान गर्ने प्रतिबद्धता दोर्होयाएको छ । नेपालले युरोपियन युनियन एयर सेफ्टी सूचीबाट नेपाली एयरलाइन्सलाई हटाइदिन पुनः अनुरोध गरेको छ ।

    आयोगको १७औँ बैठक आगामी वर्ष काठमाडौँमा पारस्परिक सहमतिमा तय हुने मितिमा आयोजना गरिनेछ । बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई र यूरोपेली सङ्घकातर्फबाट एशिया प्रशान्त विभागका कार्यवहाक प्रबन्ध निर्देशक पाओला पाम्पालोनीले सहअध्यता गरेका थ्रिए ।

  • तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै

    तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै

    गलकोट (बागलुङ) । १३ मङ्सिरः एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको भवन कहिले सम्पन्न हुन्छ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तकीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ । अहिले उक्त भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ ।

    सङ्घीय सरकारको विशेष अनुदानमा निर्माण थालिएको भवन अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ । विसं २०७९ माघ ६ गते एक वर्षमा सक्ने गरी निर्माण थालेको भवन अझै सम्पन्न हुन नसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए । उनका अनुसार दुई पटक थपेको म्यादसमेत अहिले सकिएकाले भवन निर्माणमा अझै अन्योलता छाएको छ ।

    “एक वर्षमा सकिने भवन तीन वर्षमा सकिएको छैन, दुई पटकसम्म थपेको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ, भवनमा प्लाष्टरको काम अझै सकिएको छैन, तिहार यता कामदार भवनमा देखिएका छैनन्” घर्तीले भने, “भवन समयमा नबन्दा ठेक्का तोड्ने वा म्याद थप्ने विषयमा छलफल भइरहेको छ, नगरपालिकाले निर्माण व्यवसायीलाई धरौटी जफत गरेर भएपनि सम्पन्न गर्ने योजनामा छ ।”

    भवन निर्माणका लागि दोस्रो पटक थप गरिएको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ । निर्माण व्यवसायी डिएनप्रसाद जेभीसँग रु एक करोड ८२ लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायीले थोरै कामदार परिचालन गर्ने, सम्पर्क बिहिन हुने लगायतका कारण भवन समयमै बन्न नसकेको हो ।

    नगरपालिकाकै नमूना स्वास्थ्य चौकीको रुपमा रहेको नारायणस्थान स्वास्थ्य चौकी अहिले साँघुरो भवनबाट सेवा प्रभाह भइरहेको स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले जानकारी दिए । भवन सम्पन्न भए गुणस्तरीय सेवा प्रभाह गर्न सहज हुने उनको भनाइ छ । जनताले चन्दा उठाएर रु २१ लाख सङ्कलन गरी स्वास्थ्य चौकीको नाममा जग्गा खरिद गरेर भवन निर्माणका लागि काम थालेपनि समयमा भवन नबन्दा सेवा प्रवाहमा समस्या भएको शर्माले बताए ।

  • विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी दश हजार विद्यार्थीले गरे अवलोकन

    विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी दश हजार विद्यार्थीले गरे अवलोकन

    भक्तपुर, १३ मङ्सिरः मिडभ्याली माध्यमिक विद्यालय कलेज भक्तपुरले आयोजना गरेको दुइदिने अन्तर विद्यालय प्रतियोगात्मक ’विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२’मा थिमिस्थित ग्लाडस्टोन एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रदर्शनीको समापनमा एकेडेमीले प्रथम स्थान हासिल गर्दै रु ३० हजार नगदसहित ट्रफी र मेडल हात पारेको मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले जानकारी दिए ।
    प्रदर्शनीमा सहभागी संस्कार गुरुकुल स्कुलले दोस्रो स्थान हासिल गर्दै रु २० हजार नगदसहित ट्रफी र मेडल हात पारेको छ भने नेपाल पुलिस स्कुलले तेस्रो स्थान हासिल गर्दै रु १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । प्रदर्शनीमा सहभागी विद्यार्थीले भोट गरेको आधारमा प्रदर्शनरत उपकरण एवं सामग्रीमध्येबाट एभरेष्ट इङ्लिस स्कुलले रु पाँच हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा एवं प्रदर्शनी गरेवापत् प्रत्येक सहभागि ६७ विद्यालयलाई रु ६ हजारका दरले नगद प्रदान गरिएको थियो ।

    प्रदर्शनीमा उपत्यकाभित्रका ६७ विद्यालयका विद्यार्थीद्वारा निर्मित ९३ उपकरण एवं सामग्री राखिएका थिए । प्रदर्शनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले विज्ञान र सूचना प्रविधितर्फको नविनम प्रयोगलाई जोड दिँदै निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम, सौर्य ऊर्जा, स्वास्थ्य, भवन निर्माणलगायतका विभिन्न उपकरण एवं सामग्री प्रदर्शन गरिएको थियो ।

    दुई दिनसम्म सञ्चालन भएको प्रदर्शनीको १० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए । प्रदर्शनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले विज्ञान र सूचना प्रविधितर्फको नविनम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम लगायतका विभिन्न उपकरण एवं सामग्री प्रदर्शन गरेका थिए ।

  • चिसो पहाडबाट झरेर तराई जडीबुटी व्यावसाय

    चिसो पहाडबाट झरेर तराई जडीबुटी व्यावसाय

    धरान (सुनसरी), १३ मङ्सिरः सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किनुभएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आउनुभएको छ । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटियालाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

    भोटेका अनुसार जडीबुटी व्यवसाय उहाँहरूको पुर्खौली पेसा नै हो । जिजुबाजेदेखि बुबाआमासम्मकै पुस्ताले जडीबुटी सङ्कलन तथा बिक्री गर्दै आएको परम्परालाई उहाँले निरन्तरता दिइरहनुभएको बताउनुभयो । भोटेले भन्नुभयो, पहाडमा पहिला अस्पताल र सडक सुविधा नहुँदा बिरामी पर्दा हामीले यही जडीबुटी प्रयोग गर्ने गरेका थियौँ । यही ज्ञानलाई निरन्तरता दिँदै तराई झरेर यही व्यवसाय सुरु गरेकी हुँ ।”

    पहिला हिउँद सुरु भएपछि लेकाली क्षेत्रमा पाइने जडीबुटी बोकेर बुबाआमाले कुम्लोमै बोकेर महिनौ दिन हाटबजारमा बिक्री गर्दै तराई झर्नुहुन्थ्यो । अहिले भने सडक यातायातको पहुँच पुगेसँगै गाउँमै पनि व्यापार गर्न सहज भएको छ । सुरुमा शहरको बसाइ र गर्मीको मौसम निकै गाह्रो भए पनि विस्तारै बानी पर्दै गएपछि व्यवसाय वृद्धि हुदै गएको उहाँको भनाइ छ । अहिले दैनिक रूपमा रु ६ हजारदेखि रु १० हजारसम्म आम्दानी हुने गरेको छ । आइतबार हटियाको दिन भने रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी हुने गरेको भोटेले जानकारी दिनुभयो ।

    भोटेको पसलमा हाल १०० भन्दाबढी जडीबुटी बिक्रीका लागि राखिएका छन् । रु ५ देखि रु २० हजारसम्मका जडीबुटी बिक्रीका लागि उपलब्ध छन् । रक्सी बनाउन प्रयोग हुने मर्चादेखि धार्मिक तथा सांस्कृतिक प्रयोजनका सामग्रीसम्म बिक्रीमा छन् । किरात समुदायले साकेला पर्वमा प्रयोग गर्ने चौरीको पुच्छरसमेत उहाँले बिक्रीका लागि राख्नुभएको छ ।

    भोटेले शिलाजित, पदमचाल, सुगन्धवाल, टिमुर, हिँग, केसर, बतिसा, जेठिमधु, यार्सागुम्बासहित विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, अहिलेसम्म कुनै पनि ग्राहकबाट नकारात्मक प्रतिक्रिया आएको छैन, एकपटक सामन किनेर गएपछि अर्को पटक फर्केरै आउनुहुन्छ, यही मेरो सफलताको आधार हो । अहिले धेरैजसो काठमाडौँ, विराटनगर, वीरगञ्ज, मोरङ, झापालगायत स्थानबाट फोनमार्फत धेरै अर्डर आउने गरेको छ ।

    सोही ठाउँमा जडीबुटी व्यवसाय सञ्चालन गर्दै आउनु भएकी पासाङ् ल्यामु भोटियाले पनि १५ वर्षदेखि यही पेशालाई आत्मनिर्भरताको आधार बनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरखर्चदेखि बालबच्चाको पढाइलेखाइसम्म सबै खर्च यही व्यवसायबाट धानिँदै आएको छ जडिबुटी व्यवसायबाट राम्रो भएको छ आम्दानी मेरो आम्दानीको श्रोत नै यही हो ।”

    लेकमा जन्मेर तराई झरेको पहाडी भेगको चिसो हावापानीसँग खेलेर हुर्केको सुरुमा गर्मी ठाउँमा झरेर व्यापार गर्दा निक्कै गाह्रो भएको थियो । अहिले भने घाम सहन बानी परिसक्यो व्यापारमा पनि सहज भएको छ । भोटियाले भन्नुभयो, यो जडिबुटी भनेको हाम्रो पुर्खौली पेसा नै हो । अन्य पेसामा ज्ञान नभएका कारणे पुर्खौली पेसा जडीबुटी व्यवसाय नै रोजेको उहाँले बताउनुभयो । बिक्रीका लागि जडिबुटी, सङ्खुवासभा, भोटखोला, साथै नेपालका विभिन्न ठाउँ र भारतबाट जडीबुटी आउने गरेको भोटियाले बताउनुभयो ।

    सङ्खुवासभाको चेपुवा, हटिया, भोटखोला, होङ्गोङ, गोलालगायत हिमाली क्षेत्रका शेर्पा तथा भोटे समुदायमा आज पनि जडीबुटी सङ्कलन तथा बिक्री परम्परागत पेसाका रूपमा चलिआएको छ । विगतमा महिनौँ यात्रा गर्दै बर्कीका कुम्लो बनाएर बोकेर गाउँ शहर डुल्ने परम्परा रहे पनि अहिले यातायात तथा आपूर्तिको सहजताले गाउँमा पनि व्यवसाय गर्न सहज भएको व्यापारीको भनाइ छ ।
    राष्ट्रिय समाचार समिति (रासस)

  • एनपिएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

    एनपिएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

    काठमाडौँ, १३ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलबाट एक खेल नै जितेको छ ।

    लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ । प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई यो खेल जित्नुपर्ने अवस्था छ । यस्तै अपराह्न हुने दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ । तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आजको जित निकाल्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । अङ्कतालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते प्लेअफ दौडबाट बाहिरिने सम्भावना छ ।

    यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ । यसका साथै गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदला समेत लिने दाउमा सुदूरपश्चिम रहनेछ । यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

  • निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

    निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

    काठमाडौँ, १३ मङ्सिरः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरी बढाउनुपर्ने आवश्यकता देखिएपछि सम्बद्ध निकाय तयारीमा जुटेका हुन् ।

    गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने बताए । नयाँ मतदाताको सङ्ख्यालाई आकलन गरेर म्यादी प्रहरीको सङ्ख्या बढ्न सक्ने उनले उल्लेख गरे । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी अतिरिक्त महानिरीक्षक अबिनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्र यकिन गरेपछि सुरक्षा संवेदनशीलताका आधारमा शीघ्र जिल्ला सुरक्षा समितिमार्फत म्यादी प्रहरीको भर्ना प्रक्रिया प्रारम्भ हुने जनाए ।

    उनले एकीकृत सुरक्षा योजना तथा म्यादी प्रहरी छनोटको मापदण्ड प्रदेश र जिल्लास्तरसम्म पुगेकाले थप हुने मतदान केन्द्रका आधारमा जनशक्ति स्पष्ट हुने बताए । निर्वाचनका क्रममा कूल ४० दिन खटिने म्यादी प्रहरीले प्रहरी जवानले पाउनेसरह आधारभूत तलब, लत्ताकपडा, यातायात खर्चलगायत सुविधा पाउनेछन् । निर्वाचनका लागि नेपाल प्रहरीले ७१ हजारभन्दा बढी प्रहरी खटाउने तयारी गरेको प्रहरीका केन्द्रीय प्रवक्ता काफ्लेले जानकारी दिए ।


    केन्द्रीय सुरक्षा समितिले निर्वाचनभन्दा पूर्व, निर्वाचनको अवधि र निर्वाचनपछि गरी तीन चरणको सुरक्षा योजना बनाएको छ । निर्वाचनका लागि सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिबाट बिहीबार नेपाली सेना परिचालनको स्वीकृति भइसकेको छ । निर्वाचनको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा सेना रहनेछन् भने म्यादी प्रहरीले नेपाल प्रहरीलाई सघाउनेछन् ।

    यही मङ्सिर ५ गते सम्पन्न भएको मतदाता नामावली सङ्कलन कार्यमा फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स)मार्फत तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८० नयाँ मतदाता थपिएका छन् । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नयाँ मतदाता मतदान नामावलीमा दर्ता भएसँगै कूल मतदाता एक करोड ८१ लाख ६८ हजार २३ पुगेको छ ।

    आयोगले विवरणमा त्रुटि सच्याउन वा उजुरी दिन सकिने समय दिएपछि अन्तिम मतदाता नामावली सार्वजनिक गर्नेछ । विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए । त्यसबेला १० हजार ८९२ मतदान स्थलमा २२ हजार २२७ मतदान केन्द्र तथा १४१ अस्थायी मतदान केन्द्र तोकिएका थिए ।

  • निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

    निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, १३ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । शुक्रबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयको निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले सरकारलाई प्राप्त जिम्मेवारीबमोजिम शान्तिसुरक्षाको प्रत्याभूतिसहित घोषित मितिमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी राष्ट्रिय अभिभारा पूरा गर्ने अभियानमा सेनाको प्रमुख भूमिका रहेको स्पष्ट गरिन् ।

    गौरवमय इतिहास भएको नेपाली सेनाले निर्वाचन सुरक्षाका क्रममा यसअघि जस्तै प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् । “जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिन्छु”, प्रधानमन्त्रीले भनिन् ।
    आगामी निर्वाचनका क्रममा नागरिकको ज्यान जाने र घाइते हुने अवस्था आउन नहुनेमा जोड दिँदै प्रधानमन्त्रीले यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्न निर्देशन दिइन् ।

    प्रधानमन्त्रीले जेनजी आन्दोलनका क्रममा लुटिएका र हराएका हातहतियारको खोजतलाससहित नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न, मुलुकमा शान्ति सुरक्षा सुनिश्चित गर्न तथा फरार अपराधी पक्रन खटिएका प्रहरीलाई सहयोग गर्न पनि निर्देशन दिइन् । जङ्गी अड्डा निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिइन् । यसैगरी सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ‘ब्रिफिङ¬’ गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो । प्रधानमन्त्रीलगायत भ्रमण टोलीमा संलग्न विश्ष्टि पदाधिकारीहरुलाई प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए । निरीक्षण भ्रमण टोलीमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याललगायत विश्ष्टि अधिकारीको उपस्थिति थियो ।

  • मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने, कुनमान प्रमुख अतिथि

    मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने, कुनमान प्रमुख अतिथि

    काठमाडौँ, १२ मङ्सिरः यही मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने भएको छ । पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ । सो नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने पार्टी प्रवक्ता राजु थापाले जानकारी दिए । पार्टी घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।

    नेपालको संविधानका उपलब्धिलाई आत्मसात् गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, निष्पक्ष, सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा सो पार्टीका सैद्धान्तिक दृष्टिकोण रहेका छन् । सो पार्टीको अवधारणा मन्त्री कुलमान घिसिङको हो । कार्यक्रममा उनी प्रमुख अतिथिका रुपमा रहने छन् ।

  • अब पर्यटकलाई नेपालमा अनलाइन ट्रयाकिङ गरिँदै

    अब पर्यटकलाई नेपालमा अनलाइन ट्रयाकिङ गरिँदै

    काठमाडौँ, १२ मङ्सिर । अध्यागमन विभागले आगामी पुस १७ गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । यसका लागि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था र निजी कम्पनीलाई यस प्रणालीमा अनिवार्य रुपमा आबद्ध हुन अनुरोध गरेको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै प्रणाली लागू गर्ने विषयमा विभागले गत असोज १ गतेदेखि लागू हुने गरी कार्य योजना तयार पारेको भए पनि मुलुकको विभिन्न घटनाक्रमका कारण कार्यान्वयन हुन नसकेको जनाएको छ ।

    यस प्रणालीको कार्यान्वयनमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसाइ तथा उनीहरुको गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने र आपत्कालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास लिइएको छ । यसका साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायहरुबीच सूचना आदानप्रदान प्रक्रियालाई सरल र प्रभावकारी बनाइ पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    नेपालमा भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली ९फरेन नेश्नल्स म्यानेजमेन्ट इन्फमेशन सिस्टम० को विकास गरिएको हो । सो प्रणालीलाई पहिलो चरणमा पुस १७ गतेदेखि काठमाडाँै उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिनेछ । दोस्रो चरणमा फागुन १७ देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने बताइएको छ ।

  • नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला

    नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला

    काठमाडौँ, १२ मङ्सिर । नेपाली कांग्रेस सम्बद्ध युवा र विद्यार्थी सङ्गठनले आज यहाँ नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला आयोजना गरेको छ । उनीहरुले नियमित महाधिवेशन गर्नुपर्ने मागसहित बृहत भेला आयोजना गरेका हुन् । भेलामा पार्टीका विभिन्न तहका नेताहरूले नियमित महाधिवेशन गर्नुपर्ने विषयमा सम्बोधन गरेको विद्यार्थी नेता मनिषजङ्ग थापाले जानकारी दिए ।


    कार्यक्रमका वक्ता एवं नेविसङ्घका केन्द्रीय सदस्य आदर्श मल्लले पार्टीभित्र भागबण्डाको खेलले गर्दा नेपाल विद्यार्थी सङ्घलगायत भातृसंस्थाहरुको अवस्था कमजोर हुँदै गएको बताए । उनले पार्टीलाई एकताबद्ध गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राखे । कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउनुपर्ने तथा जेनजी युवाको भावना सम्बोधन गर्नका लागि भए पनि कांग्रेस नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखे । उनले भने, “पार्टीमा विशेष महाधिवेशन वा नियमित महाधिवेशनको विवाद आवश्यक छैन । वडादेखि केन्द्रसम्म जेनजी युवाको प्रतिनिधित्व सुनिश्चितता गराउन नियमित महाधिवेशन आवश्यक छ ।”

    अधिकांश वक्ताहरुले देशको अवस्थालाई मध्यनजर गर्दै कांग्रेस आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुनुपर्ने तथा नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए । उक्त भेलामा नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय सदस्य, युवा तथा विद्यार्थी सङ्घका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।

  • नेकपाले थाल्यो प्रदेशस्तरीय एकता सभा, धनगढीमा पहिलो कार्यक्रम

    नेकपाले थाल्यो प्रदेशस्तरीय एकता सभा, धनगढीमा पहिलो कार्यक्रम

    सुदूरपश्चिम, १२ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश स्तरीय एकता सभा सुरु गरेको छ । आज धनगढीमा पहिलो सभा आयोजना गरिएको छ । सभालाई संयोजक प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता भीम रावलसहितका नेताले सम्बोधन गरे । कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रमा उत्पन्न सङ्कट समाधानका लागि वामपन्थी र गैरवामपन्थी शक्तिलाई एउटै मोर्चामा ल्याउन जरुरी रहेको बताए ।

    दाहालले नेकपा पार्टीमा अन्य वामपन्थी र देशभक्तहरु केन्द्रित भएर अटाउन सक्ने बताए । भदौ २३ र २४ गतेको घटनापछिको परिस्थिति समाधानका लागि वामपन्थी प्रगतिशील, लोकतान्त्रिक शक्तिलाई नेपाली कम्युनिष्ट पार्टीको मोर्चामा ल्याउन पहल भइरहेको जानकारी दिए । हिजो भए गरेका कमीकमजोरीको समीक्षा गरी महान उद्देश्य बोकेर नेकपाको निर्माण सुरु गरिएको स्पष्ट पार्दै उनले भने, नेकपाले कोरेको गोरेटो बाटोमा देश अघि बढ्दै छ, नेपालको एक नम्बर पार्टी नेकपा भइ छाड्छ ।”

    देशभरका क्रान्तिकारीले नेकपालाई नयाँ आशा र भरोसाका साथ हेरिरहेको उल्लेख गर्दै उनले बृहत शक्ति निर्माणका लागि पार्टीमा ध्रुविकृत हुन सबैलाई अपिल गरे । हाल उत्पन्न सङ्कटको निकासका लागि निर्वाचनको विकल्प नदेखिएकाले निर्वाचनको वातावरण बनाउने काममा लाग्न नेता कार्यकर्तालाई उनले निर्देशन दिए ।


    पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी पार्टीहरुमा विगतमा भएका टुटफुटबाट शिक्षा लिएर नेपाली राजनीतिलाई स्वच्छ बनाउँदै नेकपा अघि बढ्न लागेको बताए । समाज रुपान्तरणका लागि पार्टीमा समाहित भएर अगाडि बढ्नमा सहयोग गर्न आग्रह गर्दै उनले भने, “नयाँ क्रान्तिकारी पार्टी बनाउने सोचले गठन भएको नेकपाले भ्रष्टाचार र बेथितिको अन्त्य र जनताको पक्षमा काम गर्ने सङ्कल्प लिएको छ ।”

    सो पार्टीका नेता भीमबहादुर रावलले देशको मुहार फेर्न गठन भएको नेकपाले देशलाई रुपान्तरण र परिवर्तन गर्न चाहेको बताए । उनले देशको स्वाधिनता र समृद्धिको यात्रालाई अगाडि बढाउन पार्टी क्रियाशील रहेको उल्लेख गरे । सन्देश सभामा पार्टीका नेता प्रकाश शाह, गिरीराजमणि पोखरेल, भानुभक्त जोशीलगायतले पार्टी गठन र समसामयिक राजनीतिका बारेमा बोलेका थिए ।


    झण्डै एक दर्जनभन्दा बढी वाम घटक मिलेर गठन गरिएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता सन्देश आज पहिलो पटक सुदूरपश्चिम प्रदेशको धनगढीबाट सुरु गरेको हो । सन्देश सभास्थलमा अशान्ति हुन नपाओस् भनेर ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो ।

  • पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक पोखरेल रास्वपामा

    पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक पोखरेल रास्वपामा

    काठमाडौँ, १२ मङ्सिरः पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । आज रास्वपाले उनलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारमा मनोनयन गरेको छ । रास्वपाले आजै अधिवक्ता सुशीला सिंखडालाई सदस्यमा मनोनयन गरेको छ । त्यसैगरी पार्टी कोषाध्यक्ष लिमा अधिकारीको संयोजनमा प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्रसमेत रहने उम्मेदवार छनोट अडिट समिति गठन गरिएको जनाइएको छ । त्यसैगरी, विभिन्न केन्द्रीय विभाग तथा आयोगमा पनि १५ जनाको नयाँ मनोनयन गरिएको छ ।

    आजै रास्वपाले विवेकशील साझा पार्टीसँग एकता घोषणाको तयारी अघि बढाइएको जनाएको छ । सो पार्टीको आजको सचिवालय बैठकले पार्टी एकता घोषणा कार्यक्रमबारे छलफल गर्न आजै केन्द्रीय समितिको बैठक डाकिएको प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार उच्च संवाद समितिले प्रस्तुत गरेको प्रगतिसहित परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरूलाई एउटै ध्रुवमा ल्याउने प्रक्रियामा उल्लेख्य उपलब्धि नजिकिएको बैठकमा जानकारी गराइएको थियो ।

  • खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

    खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

    काठमाडौँ, १२ मङ्सिर । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ । निगमले आज विज्ञप्ती जारी गरी निगमले रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालाम्पुर जाने श्रमिकहरूको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा १० वटा सिटमा साविकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरेको छ ।’

    सो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयका टिकट काउन्टरबाट सेवा लिन सक्ने जनाइएको छ । यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ ।

  • एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

    एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

    काठमाडौँ, १२ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो । जीतका लागि पाएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ दशमलव दुई ओभरमा ८९ रनमा अलआउट भयो । उसका देव खनाल र रवी बोपराले समान २१÷२१ तथा सोहेल तनभिरले १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । काठमाडौँका राशिद खानले तीन, कप्तान करण केसी, साशब आलम र मिलिन्द कुमारले दुई÷दुई विकेट झारे ।

    यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भएको हो । जसमा जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान गरे । चितवनका सोहेल तनभिरले चार, कमलसिंह ऐरीले दुई, रञ्जित कुमारले दुई विकेट हात पारे ।

  • कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत

    कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत

    काठमाडौँ, १२ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा विराटनगर किङ्ग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जीत निकालेको छ । विराटनगरका बसिर अहमदले उत्कृष्ट ब्याटिङ गर्दा एक समय असम्भव लागेको जीत सम्भव भएको हो । कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ दशमलव ५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो ।

    विराटनगरको सुरुआत भने राम्रो रहेन । ओपनर लोकेस बमले ६ रन र जर्ज मुन्से शून्यमा आउट हुँदा दबाबमा परेको विराटनगरका लागि साम हेजलेटले १६ र साहिल पटेलले १९ रन मात्रै बनाए । त्यसपछि आएका अहमलले उत्कृष्ट ६२ रन बनाए । उनले ४३ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । विराटनगरका लागि नारायण जोशीले पनि २५ रनको महत्वपूर्ण योगदान दिए ।

    विराटनगर सामू जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो । अहमदले पाँचौ बलमा छक्का प्रहार गर्दै विराटनगरको जीत सुनिश्चित गरे । १४औँ ओभरसम्म सुस्त गतिमा रन बनाएका विराटनगरले त्यसपछि भने गति बढाएको थियो । विराटनगरले अन्तिम पाँच ओभरमा दुई विकेट गुमाउँदै ७१ रन बनाएको थियो । कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले दुई÷दुई विकेट लिए भने पवन सरार्फ, नन्दन यादव र विलियम बोसिस्टोले एक–एक विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन बनाएको थियो । उसका लागि प्रियान्क पञ्चालले सर्वाधिक ६३ तथा विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान दिए । यी दुवै ब्याटरले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे । विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले १–१ विकेट लिए ।

  • पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै पौवादुङमा

    पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै पौवादुङमा

    भोजपुर, १२ मङ्सिर । पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाले लगानी बढाएपछि भोजपुरको पौवादुङमाका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किबी उत्पादनमा जुट्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन् ।

    यहाँका किसानले किबी बेचबिखन गरेर आम्दानीसमेत लिन थालेका छन् । भोजपुर–लेगुवा मुख्य सडकखण्ड आसपासमा पर्ने भएकाले यहाँका किसानले उत्पादन गरेको किबीको बेचविखनमा पनि सहजता छ । गाउँपालिकाले पकेट क्षेत्र निर्धारण गरेर किबीखेतीमा लगानी बढाएपछि यहाँका अधिकांशले व्यावसायिक किबीखेती गरिरहेको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । यहाँ गाईपालनको कार्यक्रम सञ्चालन भइरहेकाले उत्पादित गोबरको मलको सदुपयोग गर्दै किसान किबीखेतीमा जुटेको उहाँको भनाइ छ ।

    “हाम्रो क्षेत्र किबीखेतीका लागि उपयुक्त भूगोल रहेको स्थान हो”, वडाध्यक्ष तामाङले भन्नुभयो, “यहाँ गाउँपालिकाको अनुदान सहयोगमा पशुपालनको कार्यक्रम पनि सञ्चालन गरेका छौँ । त्यही मलको सदुपयोग गर्दै किसानहरूले किबीखेती गर्दै आएका छन् ।”

    एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यावसायिक किबीखेतीमा जुटेका हुन् । गाउँपालिकाले किसानको दिगो आयस्रोतका रूपमा विकास गर्न किबीलगायत बहुवर्षीय बाली विस्तारमा जोड दिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । प्रशस्त घाँस पाइने क्षेत्र भएकाले यहाँ उन्नत जातका गाईसमेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

    “हामीले यहाँ पशुपालन र फलफूलखेतीमा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “पशुपालनबाट उत्पादन भएको मलको सदुपयोग गर्ने लक्ष्यले किबीखेतीमा पनि सहयोग गरेका छौँ । नागरिकलाई आर्थिकसँगै पोषणमा जोड्ने हाम्रो सोच हो ।”

    गाउँपालिकाले भूगोल सुहाउँदो फलफूल तथा तरकारीखेतीमा जोड दिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । कृषिबाट आत्मनिर्भर बनाउने लक्ष्यका साथ किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न सहयोगका कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ ।

    “किसानको मुख्य आम्दानीको श्रोत नै कृषि हो”, अध्यक्ष राईले भन्नुभयो, “श्यामशिलामा किबीको राम्रो सम्भावना रहेकाले पकेट क्षेत्र निर्धारण गरेका छौँ । अन्य स्थानमा कागती, आभोकाडोलगायत बालीका लागि कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । गाउँपालिकाले सहयोगका कार्यक्रम सञ्चालन गरेसँगै किसान आयआर्जनमा जोडिएका छन् ।”

    गाउँपालिकाका किसानको मुख्य आम्दानीको स्रोत कृषि रहेकाले किसानलाई आवश्यकता तथा मागका आधारमा गाउँपालिकाले सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । पशुपालनसँगै विभिन्न खेती प्रणालीमा जोडिएका किसानलाई आवश्यक तालिम तथा नियमित प्राविधिक सहयोग गर्दै आएको उहाँका भनाइ छ । राससबाट

  • कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसी झरेनन् माथिल्लो मुस्ताङी

    कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसी झरेनन् माथिल्लो मुस्ताङी

    मुस्ताङ, १२ मङ्सिर । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदयामको कात्तिकअगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे । माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको छ ।

    नेपाल–चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका अधिकांश नागरिक बर्खे अन्नबाली घरमा भित्र्याएपछि बेँसी झर्थे । अत्यधिक चिसो सिरेटो चल्ने, हिमपातको जोखिमका साथै माथिल्लो मुस्ताङको दैनिक जनजीवन निकै कष्टकर हुन्थ्यो । अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङमा खानेपानीका धारा, शौचालयको सेफ्टीट्याङ्की र सिँचाई कुलोसमेत बरफ बनेर जम्ने गर्छ ।

    यसरी हिउँदयाममा अत्यधिक चिसो र हिमपातले जनजीवन कष्टकर हुने र हिउँदयाममा कुनै काम गर्न नसकिने भएकाले त्यहाँका नागरिकहरू बाध्य भएर बेँसी झर्ने प्रचलन रहँदै आएको थियो । यहाँका सबै शैक्षिक संस्था पनि जाडो छल्न र घुम्ती कक्षा सञ्चालन गर्न कात्तिकअगावै बेँसी झर्छन् । यसपालि पनि माथिल्लो मुस्ताङका सबै शैक्षिक संस्था बेँसी झरिसकेका छन् । अत्यधिक चिसोका कारण विद्यार्थी विद्यालयमा उपस्थित हुन नसक्ने, चिसोका कारण विद्यार्थीलाई रुघाखोकी र निमोनियाजस्ता समस्या देखिने र अभिभावकहरू पनि बेँसी झर्ने गर्दा विद्यालय पनि बेँसी झार्ने गरिएको छ ।

    अत्यधिक चिसो र हिमपातको जोखिम टार्न माथिल्लो मुस्ताङका अधिकांश नागरिक घरमा ताल्चा मारेर बेँसी झर्दथे । गाउँमा केही ज्येष्ठ नागरिक र याकचौँरी तथा भेडाच्याङ्ग्रा रेखदेख गर्ने गोठालाबाहेक सबै मुस्ताङीहरू यो समय पूरै पोखरा, काठमाडौँलगायत स्थानमा झर्थे । केही नागरिकहरू ‘स्वेटर’को व्यापारका लागि भारतका विभिन्न सहरसम्म पुग्थे । यसैगरी कात्तिकअगावै बेँसी झरेका माथिल्लो मुस्ताङीहरू चैत–वैशाखमा मात्र साविक स्थानमा फर्किन्थे ।

    तर अहिले माथिल्लो मुस्ताङको अवस्था निकै फेरिएको छ । सदिँयौदेखि बेँसी झर्ने परम्परा रहेको यहाँको ऐतिहासिक प्रचलनमा परिवर्तन आउन थालेको छ । यहाँको नेपाल–चीन उत्तरी कोरलानाका कोभिडअघि अल्पकालीन अन्तरदेशीय व्यापार मेलाका रूपमा बर्सेनि असार र भदौमा सीमित समयका लागि चल्थ्यो । कोभिडपछि २०८० साल कात्तिक २७ गते यहाँको कोरलानाका माथिल्लो मुस्ताङीका लागि बाह्रै महिना चीनले खुला गरिदियो । तर नाका आंशिक रूपमा खुला भए पनि माथिल्लो मुस्ताङीले राम्ररी व्यापार–व्यवसाय चलाउन अझै सकिरहेको अवस्था थिएन । तैपनि नाकामा केही नागरिकले त्रिपाल टाँटेर व्यापार चलाएका थिए ।

    जब कोरलानाका गत ३० भदौमा पूर्ण रूपमा सञ्चालनमा आयो, तब माथिल्लो मुस्ताङीका लागि वैकल्पिक रोजगारी ढोका खुल्न पुग्यो । बाढीपहिरोले तातोपानीनाका र रसुवागढीनाका अवरुद्ध भएपछि कोरलानाकामा नेपाल–चीन व्यापारको मार्ग पूर्ण रूपमा खुला भयो । यो नाकाबाट हालसम्म मुस्ताङ भन्सार कार्यालयले झन्डै रु चार अर्बको राजस्व योगदान गरिसकेको छ ।

    कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै माथिल्लो मुस्ताङका धेरैजसो नागरिकले नाकाबाट व्यापार व्यवसायका साथै अस्थायी वैकल्पिक राजगारी पाएका लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिनुभयो । गत वर्षसम्म माथिल्लो मुस्ताङका ९० प्रतिशत नागरिक यतिबेला जाडो छल्न बेँसी झरिसक्नेमा यस वर्ष आंशिक नागरिकमात्र बेँसी झरेको उहाँको भनाइ छ । कोरलानाकाको नेपाल–चीन दसगजा क्षेत्रमा माथिल्लो मुस्ताङी करिब तीन दर्जन बढीले त्रिपालको टहरा निर्माण गरी व्यापार व्यवसाय चलाएर बसेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

    कोरलानाकामा व्यापार गर्ने, कोरलास्थित चीनको हाटबजारमा व्यापार गर्न बस्ने, नेपाल–चीन आयातनिर्यातका मालवस्तु ‘लोडअनलोड’ गर्ने र चीनबाट पैठारी गरिएका विद्युतीय कार ९ईभी० चिनियाँ भन्सारबाट नेपाली भन्सारसम्म ल्याउन स्थानीय युवाले राम्रो रोजगारी प्राप्त गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँका युवायुवतीले दैनिक रु पाँचदेखि १० हजारसम्म आम्दानी गर्ने गरेका उहाँले जानकारी दिनुभयो । नाकाको भित्र र बाहिर सबै गरी झन्डै पाँच सयभन्दा बढी व्यक्तिले रोजगारी प्राप्त गरेको बताउनुभयो ।

    दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरलानाकामा व्यापारिक तथा पर्यटकीय चहलपहल बढेपछि माथिल्लो मुस्ताङका दुईतिहाइ नागरिक साविककै स्थानमा रहेका छन् । मार्ग खुलेसँगै मुस्ताङीहरू यथास्थानमै बसेर रमाइरहेका छन् । गत वर्ष यसबेलासम्म ८० प्रतिशत नागरिक जाडो छल्न बेँसी झर्ने गरेकामा यस वर्षमा लोमान्थाङ गाउँपालिकाबाट ३० प्रतिशत र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट ५० प्रतिशत नागरिक बेँसी झरेका छन् ।

    त्यसैगरी, कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि जोमसोम–कोरला सडकमार्गमा सञ्चालनमा रहेका होटल यथाअवस्थामा खुलेका छन्भने लोमान्थाङ बजारका पूरै होटल सञ्चालनमा रहेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । “केही घरमा ताल्चा मारेर बेँसी झरेका छन्, अधिकांश होटल र केही घरमा मानिस बसेका छन्, कोरलानाका बन्द भएमात्र यहाँका नागरिक झर्नेवाला छन्, नत्र यही बसेर व्यापार चलाएर बस्ने मनस्थितिमा छन्”, कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।

    प्रमुख पौडेल उपल्लो मुस्ताङमा हिउँदयामसँगै चिसो अत्यधिक बढेका कारण दैनिक जनजीवनमा समेत प्रतिकूल असर पारेको बताउनुभयो । “बिहानबेलुका माइनस २० डिग्रीसम्म पुग्छ, कुलो, धारा र सेफ्टीट्याङ्की जम्छ भने दिउँसो घाम लाग्दा हिँडडुल गर्न सकिने भए पनि बिहान र बेलुका बाहिर निस्कन सक्ने अवस्था हुँदैन”, कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।

    यस्तै, नेपाल–चीन कोरलानाकामा मालवस्तु ढुवानीका लागि झन्डै तीन सय बढी कन्टेनर लोडअनलोडको पर्खाइमा बसेको भन्सारका कार्यालय प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । चिनियाँ भन्सार, कोरलानाका र मुस्ताङ भन्सार कार्यालयमा मालवस्तु ढुवानीका साधन पैठारी र भन्सार जाँचपासका लागि लामबद्ध रहेको भन्सार प्रमुख पौडेलले सुनाउनुभयो । राससबाट

  • सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका

    सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका

    दमौली (तनहुँ), १२ मङ्सिर । नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ । प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गाउँपालिका लागिपरेको हो । पृथ्वीराजमार्गबाट २० मिनेट पैदलयात्रामार्फत पुगिने सिद्धगुफाको प्रचारप्रसार गर्न सकिए धेरै पर्यटक भित्र्याउन सकिने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउनुहुन्छ ।

    तर यसको सोचेअनुसार प्रचारप्रसार हुन नसक्दा पर्यटकको उल्लेख्य आगमन हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसको जति मात्रामा प्रचारप्रसार भयो त्यति गुफामा आउने मानिसको चहलपहल बढ्छ । यसले बन्दीपुरको पर्यटन पनि उचालिन्छ र यहाँका स्थानीयको आयआर्जन पनि बढ्छ ।”

    सिद्धगुफाको प्रचारप्रसार राष्ट्रियस्तरमा गर्न आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष थापाले यसको प्रवर्द्धनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो । थापाले यस ठाउँमा रङरोगन, सिँढी मर्मत, बस्ने आरामस्थल निर्माण गरिने बताउँदै सौन्दर्यकरणको कामलाई जोड दिइएको बताउनुभयो ।

    धार्मिक महत्वका हिसाबले पनि सिद्धगुफा महत्त्वपूर्ण रहेको बताउँदै अध्यक्ष थापाले यहाँ बोलबम मेला लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ सिद्धबाबाको दर्शन गर्न पाइन्छ, यहाँ दर्शन गरेपछि चिताएको कुरा पुग्छ भन्ने किंवदन्ती छ ।” देशका महत्त्वपूर्ण ठाउँमध्ये एकपटक पुग्नैपर्ने ठाउँ भनेर सिद्धगुफालाई बनाउन गाउँपालिका जुटेको उहाँले उल्लेख गर्नुभयो ।

    सिद्धगुफा विकास समितिले लामो समयदेखि यसको व्यवस्थापन गर्दै आए पनि उक्त समिति सक्रिय नभएकाले गाउँपालिकाले तत्काल अधिवेशन गर्न निर्देशन दिइसकेको छ । उहाँले भन्नुभयो, “अब सिद्धगुफाको व्यवस्थापन गाउँपालिका आफैँले गर्ने सोचिरहेको छ । त्यसो हुँदा यसको एकीकृत विकास गर्न सकिन्छ ।”

    गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर बजारबाट सिद्धगुफा झर्ने बाटोमा रेलिङ निर्माण, ढुङ्गा छापेर पैदलमार्ग बनाइएको छ । सिद्धगुफा विकासका लागि नवप्रवर्तन साझेदारी कोषअन्तर्गत रु एक करोड तीन लाख ९५ हजार ३०० मा यहाँ सौन्दर्यकरणको काम गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

    बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले चालु आवमा सिद्धगुफाका लागि रु १० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । स्थानीयवासी भीम घलेले सिद्धगुफाको प्रचारप्रसारमा कमी भएको बताउनुभयो । सिद्धगुफाको प्रचारप्रसार गर्न नसक्नु स्थानीयवासीको पनि कमजोरी भएको बताउँदै उहाँले भन्नुभयो, “अब सिद्धगुफाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गाउँपालिकाले पनि पहल गर्नुपर्छ ।”

    सिद्धगुफा पुग्नुभएका प्रेमप्रसाद पौडेलले यस ठाउँ आकर्षक रहेको बताउनुभयो । गुफाभित्र रहेका विभिन्न आकृतिले थप मोहित बनाउने बताउँदै उहाँले भन्नुभयो, “गुफा त धेरै ठूलो रहेछ, पृथ्वीराजमार्गबाट नजिकै भएकाले यस ठाउँ उपयुक्त गन्तव्यस्थल बन्छ ।”

    सिद्धगुफाको प्रचारप्रसारका लागि नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले मङ्गलबार कार्यसमितिको बैठक गुफाभित्रै सम्पन्न गरेको छ । सिद्धगुफाको प्रचारप्रसारमा जिल्लास्थित सञ्चारकर्मीले सघाउने शाखाका अध्यक्ष डिपी अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    विसं २०४४ चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहद्वारा पहिलोपटक यो गुफा पत्ता लागेको थियो ।

    पुरातत्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्रागकालीन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी ३५ सय वर्ष पुरानो मानिएको छ । गुफा ४५० मिटर लामो छ । सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तुहरू अक्षर मेटिएको तामाका पैसा, माटोबाट बनेको टुक्रिएको पानीको घैँटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दाह्रा र टेराकोटाको शुल्पा र सानो थालजस्तो आदि इसं १६ र १७औँ शताब्दीअघिको अनुमान गरिएको छ ।

    केही भागमा पानी भए पनि घामको प्रकाश नहुने भएकाले लेउ नलाग्ने हुँदा चिप्लो पनि छैन । करिब पाँच सय मिटरभित्रसम्म हिँडेपछि गुफाको आकार झनै ठूलो छ । लगभग आठ सय मिटर लम्बाइ रहेको यो गुफाभित्र चुनढुङ्गा पग्लेर बनेका अनेकौँ आकृति हेर्न सकिन्छ । कतै भगवान्को मूर्ति त कतै चराचुरुङ्गी र जनावरका तथा विभिन्न आकृतिहरू भेटिन्छन् ।
    राससबाट

  • बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

    बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

    म्याग्दी, १२ मङ्सिरः बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो । बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ ।

    नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ । वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् । यो सडक कालोपत्र गर्न रु १० करोड १६ लाख एक हजार ३६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

  • एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

    एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

    काठमाडौँ, १२ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

    चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अङ्क मात्र बटुलेको छ । तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।

  • नेपालबाट बंगलादेश निर्यात हुने विद्युत २० मेगावाट बढाउने सहमति

    नेपालबाट बंगलादेश निर्यात हुने विद्युत २० मेगावाट बढाउने सहमति

    रमेश लम्साल–रासस
    काठमाडौँ, १२ मङ्सिर । बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अतिरिक्त थप २० मेगावाट बिजुली निर्यातका लागि आवश्यक प्रक्रिया पूरा गर्ने सहमति भएको छ ।

    आवश्यक प्राविधिक तयारी गरेर बङ्गलादेशले थप बिजुली आयात गर्ने सहमति भएको सो बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए । निर्देशक समितिको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र बङ्गलादेशका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा ढाकामा सम्पन्न भएको हो ।

    सो बैठकमा बुधबार (मङ्सिर १०)मा सम्पन्न संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसमा छलफल गरेको थियो । संयुक्त कार्यदलको बैठकमा ऊर्जा मन्त्रालयका सहसचिव देव र बङ्गलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अलि रेजाको सहअध्यक्षता रहेको थियो ।

    निर्देशक समितिको बैठकमा विभिन्न छवटा विषयमा छलफल भएको ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहनुभएका सहसचिव देवले जानकारी दिए । बैठकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता प्रवर्द्धन गर्नेसम्बन्धी समझदारीपत्रमा आआफ्नो प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने सहमति भएको छ । सो सम्झौताअन्तर्गत बङ्गलादेशले नेपाललाई ऊर्जा परीक्षण, विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशन, रूफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्नेछ । यस्तै दुई देशबीच क्षमता अभिवृद्धि कार्यक्रमसमेत अगाडि बढाइनेछ ।

    विसं २०८१ असोज १७ गते नेपालबाट ४० मेगावाट बिजुली निर्यातका लागि सम्झौता भएको थियो । सोही सम्झौतापछि भारतीय ग्रिडमार्फत बिजुली बङ्गलादेश निर्यात भइरहेको छ । नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशका तर्फबाट बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतका तर्फबाट एनटिपीसी विद्युत् निगमबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

    प्राधिकरणले बङ्गलादेशलाई छ दशमलव चार सेन्टमा प्रतियुनिटका दरमा बिजुली बिक्रीका लागि सम्झौता गरेको थियो । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन, भारतीय प्रसारण प्रणाली र बहरामपुर (भारत) भेरामारा (बङ्गलादेश) अन्तरदेशीय प्रसारण लाइन हुँदै बिजुली प्रवाह भइरहेको छ । त्यसअघि २०८१ जेठ ११ गते नेपाल बङ्गलादेशबीच जलस्रोत क्षेत्रमा सहकार्यका लागि स्थापित संयन्त्र, विज्ञ समितिको बैठकले जलस्रोत क्षेत्रको विकासमा साझा सहकार्य गर्ने सहमति भएको थियो ।

    विसं २०८० जेठ २ गते सम्पन्न पाँचौँ बैठकले नेपालमा उत्पादित ४० मेगावाट बिजुली निर्यातका लागि विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको थियो । प्राधिकरणले भारतीय एजेन्सी एनभिभीएनलाई बिजुली उपलब्ध गराएको छ । सो कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बङ्गलादेश पुर्याइरहेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात भइरहेको छ ।

    कुल चार सय केभी क्षमताको सो प्रसारण लाइनमार्फत पठाइएको बिजुलीको हिसाब मुजफ्फरपुरमा राखिँदै आएको छ । मुजफ्फरपुरदेखि भारतको प्रसारण लाइनमार्फत ९बेहरामपुर भेरामारा० चार सय केभी बिजुली बङ्गलादेश गइरहेको छ ।

    प्राधिकरणले वर्षायामको पाँच महिना (जुन १५ देखि १५ नोभेम्बरसम्म) बङ्गलादेश बिजुली निर्यात गर्र्न गरी यसअघि नै सम्झौता भएको थियो । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने सम्झौतामा हस्ताक्षर भएको थियो ।

    विसं २०८० जेठ २ को ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच छ महिनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर गर्ने सम्झौता भएको थियो । त्यसपछि हरेकजसो संयुक्त निर्देशक समितिको बैठकमा दुई देशबीच सुनकोशी तेस्रो जलविद्युत् आयोजनाका बारेमा पनि उल्लेख हुने गरेको छ । यसपटक पनि निर्देशक समितिको बैठकमा सो आयोजनाको बारेमा उल्लेख गरिएको छ ।

    यसपटक पनि बैठकपछि जारी गरिएको वक्तव्यमा सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउनका लागि बङ्गलादेशले आयोजना मूल्यङ्कनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रियालाई अगाडि बढाउने र संयुक्त उपक्रम निर्माणसम्बन्धी समझदारीलाई शीघ्र निष्कर्षमा पुर्याउने उल्लेख छ ।

    यसअघि नै दुई देशबीच सहकार्यपूर्ण सहभागिताका आधारमा सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिवस्तरीय संयन्त्रको बैठकअगावै टुङ्गो लगाउने सहमति भएको थियो ।

    नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने सहमति यसअघि भएको थियो । यस्तै, नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न आवश्यक पहल गर्ने सहमति पनि भएको थियो ।

    यस्तै नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नोतर्फबाट पहल गर्ने सहमति भएको थियो । बिहीबार सम्पन्न बैठकमा समेत नेपाल, भारत र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन दुवै देशले संयुक्त रूपमा प्रयास गर्ने उल्लेख छ ।

    बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता यसअघि नै भइसकेको छ । दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको छ । संयुक्त निर्देशक समितिको पाँचौँ बैठकमा नै दुई देशबीच विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गर्न प्राविधिक टोलीलाई निर्देशन दिने निर्णय गरेको थियो ।

    दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको पहिलो बैठक २०७५ मङ्सिर १७ र १८ मा काठमाडौँमा सम्पन्न भएको थियो । सोही बैठकमा नेपालको बिजुली बङ्गलादेश लैजान सहजीकरण गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो ।

    त्यसअघि २०७५ साउन २५ गते तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदबीच विद्युत् क्षेत्रमा द्विपक्षीय सहकार्य सुरुआत गर्ने प्रयोजनार्थ एक समझदारीमा हस्ताक्षर भएको थियो । सोही समझदारीपछि दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक नियमित बस्दै आएको छ । सो संयन्त्रमार्फत ऊर्जा क्षेत्रको विकास, ऊर्जा सहकार्य, यस क्षेत्रमा भएको विकासको अनुभव आदानप्रदान हुँदै आएको छ ।

  • भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

    भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

    म्याग्दी, १२ मङ्सिर । भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ । गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ मस्ट लाइट’ जडान गरेर मन्दिर परिसर रातमा पनि उज्यालो भएको हो । म्याग्दीमा पहिलोपटक गलेश्वरमा बिहीबार यस्तो प्रविधिको विद्युत् लाइट जडान गरिएको हो ।

    रु नौ लाख ७४ हजार खर्चेर बत्ती जडान गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए । “गलेश्वर मन्दिर दर्शनका लागि आएका भक्तजनले चढाएको भेटीलगायत आन्तरिक आम्दानी परिचालन गरेर बत्ती जडान गरिएको हो”, उनले भने, “रातको समयमा पनि उज्यालो भएपछि भक्तजनलाई सहज, सुरक्षा व्यवस्थापनमा सहयोग पुग्नुका साथै गलेश्वर मन्दिर परिसर पनि रमणीय देखिएको छ ।”

    सोह्र मिटर अग्लो विद्युत्को पोलको टुप्पामा चारैतिर फर्काएर चार–चार सय वाट क्षमताका आठ वटा बत्ती राखिएको छ । अग्लो पोलमा राखिएको बत्तीले मन्दिर परिसरलाई उज्यालो बनाएको छ । रातको समयमा मात्र बत्ती बल्ने र दिउँसो बन्द हुने स्वचालित उपकरण जडान भएको छ । कोषका संरक्षकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बत्तीको स्वीच थिचेर बिहीबार साँझ उद्घाटन गरे । कोषका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीलगायत प्राविधिक र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि टोलीको उपस्थिति थियो ।

    हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउनको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

    गलेश्वर मन्दिरमा दाताले चढाउने भेटी र दाताको सहयोग पूर्वाधार निर्माण, स्थानीय विकास र सामाजिक क्षेत्रमा परिचालन गरिएको छ । यस वर्ष बेनी नगरपालिकासँग साझेदारी गरेर गलेश्वर बजार सौन्दर्यकरण योजनालाई निरन्तरता दिइएको कोषका सदस्यसचिव सम्मरबहादुर थापाले बताए । उनका अनुसार गलेश्वर बजार क्षेत्रलाई धार्मिक सङ्गीतमय बनाउन सात ठाउँमा स्पिकर जडान गर्ने तयारी भएको छ ।

  • इन्टरनेटजन्य असुरक्षाबाट बच्न काठमाडौंमा डिजिटल साक्षरता कार्यक्रम

    इन्टरनेटजन्य असुरक्षाबाट बच्न काठमाडौंमा डिजिटल साक्षरता कार्यक्रम

    काठमाडौँ, १२ मङ्सिर । काठमाडौँ महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउनका लागि डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिने भएको छ । इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्न लागिएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । प्रवक्ता मानन्धरका अनुसार प्रविधिको बढ्दो प्रयोगलाई उपयोगी काममा प्रयोग गराउन तथा प्रविधिजन्य जोखिमबाट बचाउन यस प्रकारको प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको हो ।

    “प्रविधिको प्रयोगसँगै इन्टरनेटको सही उपयोग र आधारभूत डिजिटल सुरक्षाका बारेमा हरेक व्यक्तिलाई थाहा हुनुपर्छ”, प्रवक्ता मानन्धरले भने, “प्रविधिको उपयोगले जीवनलाई जति सहज बनाउँछ, चलाउँदा ख्याल गरिएन भने जोखिम पनि उत्तिकै बढाउँछ ।” प्रविधिको सही प्रयोगबाट सेवामा सहज पहुँच बढाउन र यसमा हुनसक्ने जोखिमबाट महानगरवासीलाई बचाउन प्रशिक्षण चाहिएको प्रवक्ता मानन्धरको भनाइ छ ।

    उनका अनुसार कार्यान्वयन गर्न चाहेको विद्युतीय शासनको प्रभावकारी कार्यान्वयनका लागि नागरिकलाई आत्मविश्वाशका साथ प्रविधि चलाउन सक्ने बनाउनुपर्छ । साइबर सुरक्षाका विषयमा जानकार बनाउनुपर्छ । प्रशिक्षणबाट यो दायित्व पूरा हुन्छ । नेपालको शासन प्रशासनलाई पारदर्शी बनाउन डिजिटल नेपाल बनाउनुपर्ने पनि उनको भनाइ छ ।

    कामपा सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार पहिलो चरणमा वडा नं १७, १८, १९ र २९ मा प्रशिक्षण सुरु गरेर क्रमशः अन्य वडामा विस्तार गर्दै लगिनेछ । डिजिटल साक्षरतालाई प्रशिक्षार्थीको सूचना प्रविधिसँगको ज्ञानका आधारमा आधारभूत, मध्यम र विशिष्ट विषय राखेर प्रशिक्षण गराउन सकिन्छ । मोबाइल प्रविधि प्रशिक्षणका लागि पहिलो आवश्यक विषय हो । स्मार्टफोनलाई सही सेटिङ गरिएन भने व्यक्तिगत विवरण चोरी हुनसक्छ । गलत एप्लिकेसनबाट व्यक्तिगत, पारिवारिक सूचना अर्काले लिएर आपराधिक क्रियाकलापमा प्रयोग गर्न सक्छ ।

    यसका लागि एप्लिकेसनको जोखिमबाट बच्ने तरिका, मोबाइल डाटाको प्रयोग, वाइफाइको प्रयोग र सुरक्षा हरेक प्रयोगकर्तालाई थाहा हुनुपर्छ । डिजिटल वित्तीय साक्षरता, मोबाइल बैंकिङ र वालेट्स, अनलाइन भुक्तानी, यसमा हुनसक्ने ठगी र बच्ने उपाय इन्टरनेट चलाउने हरेक व्यक्तिलाई ज्ञान हुनपर्छ ।

    व्यक्तिगत गोपनीयतासँगै साइबर सुरक्षाका लागि बलियो पासवर्ड राख्ने तरिका, ओटीपी (वन टाइम पासवर्ड)को प्रयोग, भाइरस, एन्टी भाइरस, शङ्कास्पद लिङ्कको पहिचान र यसबाट बच्ने तरिका जान्नुपर्छ । यी सबै विषयमा महानगरवासीलाई बुझ्न सक्ने बनाउन प्रशिक्षण सञ्चालन गर्न लागिएको कामपाको भनाइ छ ।

  • १९ करोड बराबर क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा युवक पक्राउ

    १९ करोड बराबर क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा युवक पक्राउ

    काठमाडौँ, १२ मङ्सिर । नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो ।

    कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको मोबाइल दुई थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सेफलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा रु १९ करोड ८१ लाख ४९ हजार ५८१ भन्दा बढी बराबरको अभौतिक कारोबार भएको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको समेत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।