Category: फिचर

  • एउटै गोठमा ५७ वैदिक गाई संरक्षण

    एउटै गोठमा ५७ वैदिक गाई संरक्षण

    गलकोट, १२ मङ्सिर । बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दू धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो । विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र दर्ता गरेर बागलुङ नगरपालिका–५ मालिकामा वैदिक गाई पाल्न सुरु गरिएको थियो ।

    अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा निर्मित गौवंश संरक्षण केन्द्र स्थापना गरिएको थियो । विसं २०७२ मा पर्वतको जलजला गाउँपालिका–७ स्थित धाइरिङको गण्डकी गोपाल गौशालाबाट एउटा गाई हेलिकप्टरमा ल्याएर सुरुआत गरिएको गौवंश संरक्षण केन्द्रमा यतिबेला एउटा साँढेसहित ५७ वटा गाई छन् ।

    स्थानीयको निःशुल्क प्राप्त ८२ रोपनी जमिनमा करिब आठ लाखका संरचना निर्माण गरिएको छ । स्थानीय प्रजातिका वैदिक गाई संरक्षणमात्र होइन, गाईको गहुँत प्रशोधन गरेर आयुर्वेद औषधि बनाउने तयारीसमेत गरिएको संरक्षण केन्द्रका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । संरक्षण केन्द्रका गाई बिहान एकपटक मात्र दुहिन्छ, त्यो पनि बाच्छाबाच्छी अघाएपछि, यहाँका बाच्छाबाच्छी दाम्लोमा बाँधिन्न, चौबीसै घण्टा खुला छोड्छौँ”, अध्यक्ष आचार्यले भने, “संरक्षण केन्द्रका परिकल्पनाकार मुक्तिनाथ बाबाको इच्छाअनुसार बाच्छाबाच्छी अघाएपछिमात्र बिहान एक छाक दूध दुहुने हो, साँझमा दुहुने चलन छैन ।”

    थोरैथेरै भएको दूध घ्यू पूजापाठमै प्रयोग हुन्छ । पछिल्लो समय गाउँघरमा जर्सी गाई पाल्नेहरू बढ्दैछन् । स्थानीय प्रजातिका गाई देख्नै मुस्किल छ । संरक्षण केन्द्रमा स्थानीय प्रजातिका गाई सङ्ख्या बढ्दै जाँदा धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै छ । बागलुङको पञ्चकोट घुम्न जाने अधिकांश पर्यटक गौवंश संरक्षण केन्द्रमा समेत पुग्न थालेको पञ्चकोट विकास परिषद् बागलुङका अध्यक्ष जगन्नाथ आचार्यले बताए ।

    संरक्षण केन्द्रका अध्यक्ष आचार्यले भने, “तिहारको गाईपूजामा गाई पुज्नेहरूको भीड नै लाग्यो, डेढ लाख त भेटीमात्र उठ्यो । एकैठाउँमा स्थानीय प्रजातिका धेरै गाई भएपछि तिहारमा मात्र होइन अन्य समयमा पनि पाठपूजा, वैतरणी गर्न आउनेहरूको सङ्ख्या बढ्न थालेको छ । गाईको गहुँतसमेत लिन आउनेको सङ्ख्या बढ्दो छ ।”

    उनका अनुसार यहाँका गाईलाई कृत्रिम गर्भाधान गराउन पाइँदैन । गाईको गोबरबाट निकट भविष्यमा धुप निर्माण गर्ने योजना रहेको अध्यक्ष आचार्यको भनाइ छ । गौवंश संरक्षण केन्द्र पञ्चाकोट विकास परिषद्को सहयोगमा चल्दै आएको छ । गाईको रेखदेख र हेरचाहका लागि पाँच जना गौसेवक खटिएका छन् ।

    घाँस काट्ने, गोबर सोर्ने, दानापानी खुवाउने काममा खटिने गौसेवकलाई पारिश्रमिक पञ्चकोट विकास परिषद्ले उपलब्ध गराउँदै आएको छ । संरक्षण केन्द्रका गाईलाई बागलुङ नगरपालिकासँगै काठेखोला, जैमिनी र पर्वतबाट समेत स्थानीयले निःशुल्क पराल उपलब्ध गराउँदै आएका छन् ।

  • ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

    ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

    ढाका, १२ मङ्सिर (रासस–एपी) । बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको भीषण आगलागीले करिब एक हजार ५०० झुपडी जलेर वा क्षतिग्रस्त भएसँगै हजारौँ बासिन्दा घरबारविहीन भएको अधिकारीहरूले बताएका छन् । आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन ।

    अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेपछि १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो । अग्निशमन सेवाका निर्देशक लेफ्टिनेन्ट कर्नल मोहम्मद ताजुल इस्लाम चौधरीले आगोले विस्तृत क्षेत्रलाई प्रभाव पारेको र पीडितको सङ्ख्या अत्यधिक रहेको बताए ।


    करिब ६५ हेक्टर (१६० एकड) मा फैलिएको कोरेल झुपडपट्टीमा करिब ६० हजार ००० परिवार बसोबास गर्छन्, जसमा जलवायु–प्रभावित शरणार्थीहरूको सङ्ख्या उल्लेखनीय छ । ढाकाका उच्चस्तरीय गुलशन र बनानी जस्ता अभिजात आवासीय क्षेत्रसँगै जोडिएको यो झुपडपट्टी बस्ती अग्ला अपार्टमेन्ट र कार्यालय भवनहरूले घेरिएको छ ।

    आगलागी रातभर फैलिँदा क्षेत्रमा बाक्लो धुवाँको बादल देखिएको थियो । बुधबार बिहान बासिन्दाहरू आफ्ना घरका भग्नावशेषबीच डुल्दै जले–नजलेका केही सामान खोज्दै व्यस्त देखिन्थे । अग्नि नियन्त्रकहरूले साँघुरा गल्ली र अव्यवस्थित संरचनाका कारण घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको बताए ।

    सन् २०२४ मा एक करोड २० लाख जनसङ्ख्या नाघिसकेको ढाका सयौँ झुपडी बस्तीहरूको प्रमुख आश्रयस्थल बनेको छ । ग्रामीण बङ्गलादेशमा गरिबी, रोजगारीको अभाव तथा जलवायु–प्रेरित प्रकोपले पीडितहरूलाई सहरका यस्ता भीडभाड र जोखिमपूर्ण बस्तीहरूमा बसाइँ सर्न बाध्य बनाउने गरेको छ, जहाँ उनीहरूले दैनिक श्रमिक, रिक्सा चालक, घरेलु कामदार र सरसफाइ कर्मचारीका रूपमा गुजारा चलाउँदै आएका छन् । अधिकारीहरूले प्रभावित बासिन्दाको उद्धार, राहत र पुनर्वासमा चाँडो व्यवस्था मिलाइने आश्वासन दिएका छन् ।

  • हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

    हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

    हङकङ, १२ मङ्सिर (रासस–एएफपी) । हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगो नियन्त्रणमा लिन बिहीबार समेत अग्नि नियन्त्रकहरू निरन्तर प्रयासरत रहँदा मृतकको सङ्ख्या कम्तीमा ४४ पुगेको अधिकारीहरूले बताएका छन् । सयौँ मानिस प्रारम्भिक रूपमा बेपत्ता रहेका भए पनि केहीसँग पछि सम्पर्क स्थापित गरिएको फायर सेवाले जनाएको छ ।

    बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय ब्लकहरूमा गरिएको मर्मतसम्भार कार्यका क्रममा बाँकी रहेको ज्वलनशील सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको बताइएको छ । प्रहरीले ‘गम्भीर लापरवाहीका साथ काम गरेको’ आरोपमा तीन जनालाई पक्राउ गरेको छ । घटनास्थल नजिकै फोम प्याकेजिङ फेला परेपछि उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

    एएफपी पत्रकारहरूले बिहीबार बिहानसम्म केही फ्ल्याटहरू अझै पनि जलेको देखे पनि आगोको तीव्रता घट्दै गएको थियो । बाँसको मचानमा लागेको आगोले ठूलो आवाज निकाल्दै धुवाँ र खरानी आकाशसम्म उडेका थिए । ६५ वर्षीय निवासी युएनले झ्यालहरू मर्मतका कारण बन्द भएकाले धेरै बासिन्दालाई आगो लागेको थाहा पाउन ढिलाइ भएको र छिमेकीहरूले फोन गरेर मात्र खाली गर्न आग्रह गरेको बताए ।
    हङकङ अग्निशमन विभागका निर्देशक एन्डी युङका अनुसार मृतकमध्ये ३७ वर्षीय एक अग्नि नियन्त्रक पनि छन् । उनी सहकर्मीहरूसँग सम्पर्क विच्छेद भएको केही समयमै गम्भीर रूपमा जलेको अवस्थामा भेटिएका थिए । सरकारी प्रवक्ताका अनुसार ५६ जना घाइतेको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर छ ।

    सहरका नेता जोन लीले करिब २७९ जनासम्म बेपत्ता भएको प्रारम्भिक अनुमान रहेको बताउँदै ९०० भन्दा बढी बासिन्दाले अस्थायी आश्रय लिएर बस्नुपरेको जानकारी दिए । तर राहतकर्मीहरूले रातभरै बेपत्ता सूची अद्यावधिक गरिरहेकाले वास्तविक सङ्ख्या पुष्टि हुन बाँकी रहेको बताइएको छ ।

    फायर सर्भिसका उप निर्देशक डेरेक आर्मस्ट्रङ चानले ‘घटनास्थलको ताप अत्यन्तै उच्च भएकाले केही तलासम्म पुग्न कठिन भएको’ बताउँदै उद्धार प्रयास निरन्तर जारी राखिने जनाए । हावा र खसेका भग्नावशेषका कारण आगो एक ब्लकबाट अर्कोमा फैलिएको सम्भावना पनि उनले उल्लेख गरे ।


    चिनियाँ राष्ट्रपति सी जिनपिङले मृतक तथा घाइतेप्रति समवेदना व्यक्त गर्नुभएको छ भने सहरका नेता लीले आफू ‘गहिरो दुःखी’ रहेको बताउँदै प्रभावित बासिन्दालाई आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिए । स्थानीय मिडियाका अनुसार आसपासका केही ब्लक पनि खाली गरिइरहेका छन् ।

    राजमार्गका केही भाग बन्द गरिएका छन् भने राहत टोली ठूलो सङ्ख्यामा परिचालन गरिएको छ । विगतमा हङकङका घना बस्तीहरूमा यस्ता आगलागी बारम्बार देखिन्थे, तर पछिल्ला दशकहरूमा कडा सुरक्षा मापदण्डले जोखिम घटाएको भए पनि यस पटकको दुर्घटनाले सहर पुनः शोकमा डुबेको छ ।

  • ह्वाइट हाउस नजिकै दुई सैनिकको हत्या, अफगान नागरिकमाथि राष्ट्रपतिको गम्भीर आरोप

    ह्वाइट हाउस नजिकै दुई सैनिकको हत्या, अफगान नागरिकमाथि राष्ट्रपतिको गम्भीर आरोप

    वासिङ्टन, १२ मङ्सिर (रासस–एएफपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकै दुई नेसनल गार्ड सैनिकमाथि भएको घातक गोलीकाण्डलाई ‘आतङ्ककारी कार्य’ भन्दै तालिबान शासनबाट भागेर अमेरिका प्रवेश गरेका एक अफगान नागरिकलाई मुख्य संदिग्धको रूपमा आरोपित गरेका छन् । राष्ट्रपति ट्रम्पद्वारा भिडियो सन्देशमार्फत गरिएको यो अभिव्यक्तिले अमेरिकी सैन्य तैनाथी, आप्रवासन नीति र अफगानिस्तान युद्धको दीर्घ प्रभावजस्ता राजनीतिक रूपमा संवेदनशील मुद्दाहरूलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ ।

    ट्रम्पका अनुसार आक्रमण ‘दुष्ट, घृणित र राष्ट्रविरुद्धको’ थियो । ह्वाइट हाउसबाट मात्र दुई ब्लक टाढा गोली चलाएपछि पक्राउ गरिएका व्यक्ति ‘अफगानिस्तानबाट प्रवेश गरेका विदेशी’ भएको उनले दाबी गरे । सन्दिग्ध सन् २०२१ मा अफगानिस्तान पतनपछि अमेरिकी निकासी उडानमार्फत अमेरिका आएको उल्लेख गर्दै ट्रम्पले उक्त प्रक्रियाको कठोर पुनःमूल्याङ्कन आवश्यक रहेको बताए ।

    मेट्रो स्टेसन नजिकै व्यस्त समयमै भएको यो आक्रमणले ट्रम्पद्वारा विभिन्न डेमोक्रेट–नियन्त्रित सहरहरूमा तैनाथ गरिएका सैनिकहरूको भूमिकाबारे उठेका कानूनी चुनौती र आलोचनालाई झनै प्रबल बनाएको छ । यसै क्रममा ट्रम्पले ‘अवैध आप्रवासी उखेल्ने अभियान’ लाई फेरि तीव्र गर्ने सङ्केत दिएका छन् । उनको भनाइपछि युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेसले अफगान नागरिकसँग सम्बन्धित सबै आप्रवासन प्रक्रियाहरू अनिश्चितकालका लागि रोक्ने घोषणा गरेको छ ।

    वासिङ्टनका सहायक प्रहरी प्रमुख जेफ्री क्यारोलका अनुसार आक्रमण पूर्ण रूपमा ‘एम्बुस’ शैलीको थियो । बन्दुकधारीले कुनाबाट निस्कँदै सिधै सैनिकलाई लक्ष्य बनाएको थियो । एफबिआई निर्देशक कास पटेलले दुवै सैनिक गम्भीर घाइते रहेको पुष्टि गरे । प्रत्यक्षदर्शीहरूले अचानक धेरै गोली चलेको, मानिसहरू आतङ्कमा भागिरहेको र केही नेसनल गार्ड सदस्यहरू हतियारसहित मेट्रोतिर दौडिरहेको बताए ।

    आक्रमणपछि सुरक्षाकर्मीहरूले क्षेत्र पूरै घेराबन्दी गरे । हेलिकप्टरले आकाशबाट निगरानी गरिरहेको अवस्थामा आपतकालीन टोलीले घाइते सैनिकलाई उद्दार गरी एम्बुलेन्सतर्फ लैजाँदै गरेको दृश्य एएफपी पत्रकारहरूका लागि अत्यन्तै व्यग्र देखिन्थ्यो । अफगान शरणार्थीहरूको सहायतामा संलग्न समूह ‘अफगानइभाक’ ले कुनै पनि एक व्यक्तिको हिंसात्मक कार्यलाई सम्पूर्ण समुदायमाथि दोषारोपण गर्ने आधार नबनाउन आग्रह गर्दै अमेरिका आउने प्रत्येक अफगानले कडा सुरक्षा जाँचबाट गुज्रिनैपर्ने बताएको छ ।

    ट्रम्प प्रशासनले राजधानीमा सुरक्षा बलको उपस्थिति व्यापक रूपमा बढाएका बेला गत हप्ता मात्र एक सङ्घीय न्यायाधीशले वासिङ्टनमा नेसनल गार्डको तैनाथी गैरकानूनी ठहर गरिसकेका थिए । तर बुधबारको घटनापछि रक्षामन्त्री पिट हेग्सेथले थप ५०० सैनिक तैनाथ गर्ने घोषणा गर्दै राजधानीमा तैनाथ सङ्ख्या दुई हजार ५०० सम्म पुर्‍याइएको जानकारी दिए ।

  • श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु

    श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु

    कोलम्बो, १२ मङ्सिर (रासस–सिन्ह्वा) । श्रीलङ्कामा हाल आएको भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु हुनुका साथै १४ बेपत्ता जना भएको विपद् व्यवस्थापन केन्द्र ९डिएमसी० ले बिहीबार जनाएको छ । केन्द्रका अनुसार बाढीका कारण हजारौ मानिसहरु विस्थापित भएका छन् ।

    डिएमसी केन्द्रको पछिल्लो प्रतिवेदन अनुसार, चरम मौसमी प्रकोपले १७ वटा जिल्लाहरूमा असर गरेको छ भने एक हजार १५८ परिवारका करिव चार हजार व्यक्तिहरू प्रभावित भएका छन् । डिएमसीले १० जना घाइते भएको, तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको र ३८१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको जनाउदै कम्तिमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको उल्लेख गरेको छ ।

    डिएमसीका अनुसार वाढीका कारण पुर्ण प्रभावित बदुल्ला जिल्लामा सबै भन्दा बढी १८ जनाको मृत्यु भएको छ भने केगालेमा ७ र नुवारा एलियामा ४ जनाको मृत्यु भएको छ । यसै गरी हम्बनटोटा र कुरुनेगलामा एक–एक जनाको मृत्यु भएको छ । निरन्तरको वर्षाले मध्य र पाहाडी क्षेत्रहरूमा थप बाढी र पहिरो निम्त्याई सडक बन्द हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।

    मौसमी अवस्था बिग्रँदै जाँदा परीक्षा विभागले बिहीबार, शुक्रबार र शनिबारका लागि निर्धारित विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ । भारी वर्षाले गर्दा थुप्रै जिल्लामा यातायात अवरुद्ध भएको छ भने प्रमुख सडकहरू बन्द छन् । आपतकालीन टोलीहरूले उच्च जोखिममा रहेका क्षेत्रहरूमा खोजी र उद्धार कार्यहरू जारी राखेका छन् भने सरकारले जनतालाई पहिरो र बढ्दो जलस्तरप्रति सतर्क रहन आग्रह गरेको छ ।

  • इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

    इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

    जकार्ता, ११मङ्सिर (रासस–एएफपी) । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६–परिमाणको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले जनाएको छ । युएसजीएसका अनुसार हाल सम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन । भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११ः५६ बजे २५ किलोमिटरको गहिराइमा आएको जनाइएको छ । भूकम्प पछि हिन्द महासागर सुनामी चेतावनी केन्द्रले भूकम्पबाट उत्पन्न हुने सम्भावित सुनामीको “कुनै खतरा“ नभएको बताएको छ ।

    इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सी (बीएमकेजी) ले १० किलोमिटर गहिराइमा ६.३ म्याग्निच्युडको भूकम्प रेकर्ड गरेको तथा यो झट्काले सुनामी निम्त्याउने सम्भावना नभएको बताएको छ । इन्डोनेसिया, दक्षिणपूर्व एशियाको एक विशाल द्वीपसमूह, प्रशान्त क्षेत्रमा अवस्थित भएको कारण बारम्बार भूकम्पको सामना गर्ने गरेको जनाइएको छ ।

    जनवरी २०२१ मा सुलावेसी टापुमा ६.२ म्याग्निच्युडको भूकम्प जादा एक सय भन्दा बढीको ज्यान लिनुका साथै हजारौलाईं घरबार विहीन बनाएको थियो ।
    सन् २०१८ मा पालू, सुलावेसीमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यस पछिको सुनामीले दुई हजार २०० भन्दा बढीको ज्यान लिएको थियो ।

  • चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु

    चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु

    बेइजिङ, १२ मङ्सिर (रासस–एएफपी) । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान एउटा रेलले निर्माण कामदारहरूलाई ठक्कर दिँदा ११ जनाको दुःखद मृत्यु भएको स्थानीय रेलवे अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटना कुनमिङको लुयोयाङ टाउन स्टेसन क्षेत्रमा भएको हो । त्यहाँ ‘भूकम्पीय उपकरण परीक्षणका लागि प्रयोग गरिएको’ रेल सामान्य रूपमा वक्र मार्ग हुँदै गुज्रिरहेका बेला ट्र्याक क्षेत्रमा प्रवेश गरेका कामदारहरूसँग ठोक्किएको कुनमिङ रेलवे ब्युरोले विज्ञप्तिमा जनाएको छ ।

    उक्त दुर्घटनामा ११ जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् । दुर्घटनाको यथार्थ कारणबारे अनुसन्धान जारी रहेको र सुरक्षासम्बन्धी प्रक्रियाहरू पूर्णरूपमा मूल्याङ्कन गरिने जनाइएको छ । बिहीबार दिउँसोसम्म प्रभावित रेलमार्गमा यातायात सामान्य रूपमा सञ्चालनमा आएको थियो । चीनमा अस्पष्ट कार्य–नियम तथा कमजोर सुरक्षा मापदण्डका कारण यस्ता औद्योगिक दुर्घटनाहरू बारम्बार हुने गरेको उल्लेख गर्दै अधिकारीहरूले आगामी दिनमा कडाइका उपायहरू अपनाइने आश्वासन दिएका छन् ।

  • पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

    पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

    काठमाडौँ, ११ मङ्सिरः उच्च अदालत पाटनले भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई रु २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । महरालाई गत असोज अन्तिम साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो ।

    पूर्वसभामुख महराविरुद्ध भेपमार्फत सुन तस्करी गरेको आरोप लागेको थियो । “तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने सम्मको अवस्था नदेखिएको अवस्थामा अदालतबाट थुनामा राख्ने गरी भएको असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ”, उच्च अदालत पाटनले आज गरेको आदेशमा भनिएको छ ।

  • राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति

    राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति

    काठमाडौँ, ११ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन सुरक्षालाई सुदृढ बनाउन सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले सेना परिचालनका लागि अनुमोदन गरेको उल्लेख गरिएको छ ।

    प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को २०८२ साल मङ्सिर ८ गतेको निर्णयका आधारमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षा व्यवस्था गर्न सेना परिचालन गरिने विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

  • प्रहरीको मनोबल बढाउँदै सरकार

    प्रहरीको मनोबल बढाउँदै सरकार

    काठमाडौँ, ११ मङ्सिर । नेपाल प्रहरीको मनोबल बढाउन सरकार लागि परेको छ । उनीहरुको आत्मसम्मान, निष्पक्षता र पेशागत स्वतन्त्रता सुनिश्चितामा सरकार प्रतिबद्ध रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । जेनजी आन्दोलनका क्रममा बढी प्रभावित नेपाल प्रहरीको मनोबल बढाउन सरकारले चालेको कदमबारे मन्त्री अर्यालले राष्ट्रियसभाअन्र्तगत प्रत्यायोजित समितिको बैठकमा जानकारी दिए ।

    प्रहरीले भोग्नुपरेको मनोवैज्ञानिक, सञ्चालनगत र संरचनागत असरलाई न्यून पार्न सरकारले दतारुकताका साथ पहल गरिरहेको उनको भनाइ थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्न महत्वपुर्ण भूमिकामा रहेको प्रहरीको मनोबच उच्च बनाउनु आवश्यक भएको मन्त्री अर्यालले बताए ।


    “सरकारले बर्दीको प्रतिष्ठालाई मुख्य प्राथमिकतामा राख्दै गैरघातक हतियारको उपलब्धता, सेवा सुविधामा सुधार र नागरिक प्रहरीको सहकार्य जस्ता कदम चालेका छौँ । अहिले प्रहरीको मनोबल बढाउन उनीहरुको आत्मसम्मान एवं प्रतिष्ठा सुनिश्चित गर्नुपर्छ”, मन्त्री अर्यालले भने । बढुवा, सरुवा तथा परिचालनमा कुनै राजनीतिक हस्तक्षेप नगरेको दाबी गर्दै उनले त्यसले प्रहरीभित्र सकारात्मक ऊर्जा देखिएको विश्वास व्यक्त गरे । त्यसका लागि नागरिकस्तरबाट प्राप्त सहयोगले प्रहरीमा सकारात्मक ऊर्जा भर्न मद्दत पुगेको उनको भनाइ थियो ।

    “सेवा सुविधाको कुरा त छँदै छ । प्रहरीको मनोबल बढाउन उहाँहरुको ‘डिग्निटी’ मुख्य कुरा हो । बर्दीको प्रतिष्ठा बढाउने काम गरिरहेका छौँ”, उनले भने, “प्रहरीको बढुवा, सरुवा र परिचालनमा कुनै पक्षपात गरेको छैनौँ ।” गृहमन्त्री अर्यालले टियर ग्यास र गैरघातक हतियार अभावले प्रहरीलाई जोखिम बढेको देखिएको भन्दै सरकारले गैरघातक हतियारको खरिद तीव्र बनाएको जानकारी दिए ।


    “गैरघातक हतियार पर्याप्त भयो भने प्रहरी ‘घातक’ हतियार प्रयोग नगरी हानिकारक भिड नियन्त्रण गर्न सक्षम हुन्छ । यसले मानवीय क्षति न्यून गर्नेछ”, गृहमन्त्री अर्यालले भने, “प्रहरीले आत्मरक्षा होस् या अथवा आफूले संरक्षण गर्नुपर्ने, सुरक्षा दिनुपर्ने सम्पत्तिको रक्षाका लागि होस् । गैरघातक हतियारको प्रयोगका लागि त्यसको खरिदलाई अगाडि बढाएका छौं ।”

    जेनजी आन्दोलनमा ४५० भन्दा बढी प्रहरी कार्यालय क्षतिग्रस्त भएका उल्लेख गर्दै मन्त्री अर्यालले अधिकांश पुनःनिर्माण भइसकेका बताए । यी संरचनाहरु निर्माणमा नागरिकस्तरबाट स्वेच्छिक सहयोग प्राप्त हुनुलाई प्रहरीप्रति नागरिकको विश्वास र मायाको सङ्केतका रूपमा बुझनुपर्ने उनको भनाइ थियो । आन्दोलनका क्रममा बाहिरिएका हतियारमध्ये धेरैजसो फिर्ता भइसकेका छन् । फरार कैदी दैनिक फिर्ता ल्याउने काम भएको र सुरक्षा संयन्त्र पुनः सुदृढ हुँदै गएको मन्त्री अर्यालले बताए ।


    सेवा सुविधा समानता र रासनवृद्धि सम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको र छिट्टै निर्णय हुने मन्त्री अर्यालले बताए । “प्रहरीको ‘लजिस्टिक’ सँग सम्बन्धित सेवा सुविधाका विषयवस्तुलाई हामीले प्राथमिकतामा राखेका छौँ । स्वयं प्रहरी सङ्गठनबाट आएका फाइललाई धेरै विलम्ब नगरिकन अगाडी बढाएका छौँ । त्यसलाई हामीले अर्थमन्त्रालयको सहमति लिएर मन्त्रिपरिषद्सम्म पुर्याइरहेका छौँ”, उनले भने ।नेपाल प्रहरीतर्फ नियमित बजेटबाट एक सय ५६ वटा र थप बजेटबाट १०६ वटा सवारीसाधन खरिदको प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

  • प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताको आग्रह

    प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताको आग्रह

    काठमाडौँ, ११ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको र मुलुकमा निर्वाचनका वातावरण सुनिश्चित नरहेको विषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवालीलगायत नेताले सरकार गठन र संसद् विघटनबारे संवैधानिक परीक्षण हुनुपर्ने र निर्वाचनको निष्पक्षताबारेमा ढुक्क हुनुपर्ने विषय राखेका थिए ।


    छलफलमा सहभागी एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले देशमा भइरहेका विभिन्न घटनाले पनि निर्वाचनको वातावरण बनिनसकेको प्रधानमन्त्रीलाई स्मरण गराइएको बताए । एमालेले आफूहरु निर्वाचनबाट डराएर भाग्ने पक्षमा भने नरहेको पनि स्पष्ट गरेको छ । सर्वोच्च अदालतमा एमालेका तर्फबाट र अन्य अधिवक्ताहरुका तर्फबाट परेका रिट विचाराधीन रहेको छ भने आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउन सरकार र निर्वाचन आयोग जुटिसकेको छ ।

    निर्वाचनको तयारीलाई घनिभूत बनाउन प्रमुख दलसँग संवाद बढाउने क्रममा आज प्रधानमन्त्री कार्कीले एमालेका नेतहरुलाई बोलाएकी हुन् । सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनको विश्वसनीयतामा शङ्का नगर्न आग्रह गर्दै जेनजी आन्दोलनको मूल मर्म नै नयाँ जनादेश रहेकाले चुनावमा केन्द्रित हुनु सबैको दायित्व भएकामा जोड दिनुभएको उनको सचिवालयले जनाएको छ ।

    एमालेले सेवानिवृत्त भएलगत्तै निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई स्थान हद तोकिनु, फरार कैदी पक्राउ नपर्नु र लुटिएका सबै हतियार फिर्ता नहुनुजस्ता घटनाले पनि निर्वाचनको वातावरणमा प्रश्न उठेको जनाएको थियो । छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतलाई स्थान हद गरिनु पनि लोकतान्त्रिक अभ्यास नभएकामा एमाले नेताहरुले ध्यानाकर्षण गराएको नेता बर्तौलाले जानकारी दिए ।

  • एनपिएलः सुदूरपश्चिम प्लेअफ नजिक

    एनपिएलः सुदूरपश्चिम प्लेअफ नजिक

    काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आजको खेलमा जित हासिल गरेसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफ नजिक पुगेको छ । सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि सात विकेटको जित निकाल्दै लगातार चौथो जित दर्ता गराएको हो ।

    लुम्बिनीद्वारा जितका लागि पाएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८ दशमलव दुई ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍यो । आजको खेलमा सुदूरपश्चिमका ओपनर ब्याटर विनोद भण्डारीले अर्धशतकीय पारी खेल्दै अविजित ६९ र आरिफ शेखले ३७ रन जोडे । सुदूरपश्चिमले ३९ रन जोड्दा दुई विकेट गुमाउँदा विनोद र शेखले ९९ रनको साझेदारी गर्दै जित दिलाएका हुन् । विनोद प्लेयर अफ द म्याचसमेत चुनिएका छन् ।

    यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव चार ओभरमा १४३ रनमा अलआउट भयो । जसमा कप्तान रोहित पौडेलले सर्वाधिक ३५ र दिलिप नाथले ३१ रनको योगदान गरे । बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहराले तीन, हर्मित सिंहले तीन, हेमन्त धामीले दुई विकेट झारे ।

    दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार चौथो जित निकालेर आठ अङ्कका साथ शीर्ष स्थानमा छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले भने चारमध्ये एक खेल मात्रै जितेको छ । दुई अङ्क जोडेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ । प्लेअफमा पुग्न बाँकी रहेका तीन खेल जित्नैपर्ने दबाब लुम्बिनीलाई बढेको छ ।

  • एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

    एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

    काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ । जनकपुर बोल्ट्स आजको खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनायो ।

    एक सय ५६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सले नौ विकेटको क्षतिमा एक सय ३० रन मात्र बनाउन सक्यो । जनकपुरका लागि वायने पर्नेलले अर्धशतकीय पारी खेले । उनले ३८ बल खेल्ने क्रममा चार छक्का र दुई चौका प्रहार गरे । यस्तै सञ्जय कृष्णमूर्तिले २५ तथा माज सदाकतले २० रन बनाए । बलिङतर्फ पोखराका विपिन खत्रीले चार, सुमित बर्माले दुई तथा कुशल भुर्तेल र जिम्मी निसमले एक एक लिए ।

    यसअघि पोखराका लागि सुमित बर्माले अर्धशतकीय पारी खेलेका थिए । उनले २९ बल खेल्ने क्रममा चार छक्का र दुई चौकाको मद्दतमा अविजित ५० रन बनाए । यस्तै दिनेश खरेलले ३८, तृतराज दासले २९ तथा एडम रोसिङ्ग्टनले २४ रन बनाए । बलिङतर्फ जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले तीन तथा कप्तान अनिल साह र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।

    यसअघि जनकपुर काठमान्डू गोर्खाजसँग पाँच विकेट तथा विराटनगर किङ्ग्ससँग नौ विकेटले पराजित भएको थियो । पोखरा पहिलो खेलमा विराटनगरसँग ५३ रनले तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको थियो । यसअघि आजै सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले परारिजत गरेको थियो ।

    एनपिएलमा शुक्रबार पहिलो खेल चितवन राइनोज र काठमान्डू गोर्खाजबीच बिहान ११ः४५ बजे तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच अपराह्न ४ः०० बजे सुरु हुनेछ ।

  • जेनजी आन्दोलनका सहिद : ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

    जेनजी आन्दोलनका सहिद : ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

    प्रेमनारायण आचार्य–रासस
    अर्घाखाँची, ११ मङ्सिरः समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरुको परिवारको मनमा लागेको घाउ भने अझै पनि रगताम्य छ । आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौँको बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु हुनुभएका अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ धारापानीका माधव सारु मगरको परिवारमा पनि यो पीडा र चिन्ता रहेको पाइन्छ ।

    परिवारले छोरा गुमाएको दुःखमाथि सरकारले दिएको प्रतीक्षाको बोझ बोकिरहेका छन् । औपचारिक रूपमा सहिद घोषणा भएको सुन्दा एकछिन मन बलियो बने पनि खोइ त त्यो सम्मानसँगै आउने जिम्मेवारी रु परिवार आज पनि यही प्रश्नले तड्पिएको छ । बीस वर्षीय सहिद माधव सारू मगरको परिवार आज पनि न्यायको प्रतीक्षामा छ ।

    सहिद माधव सामान्य किसान परिवारका सम्भावना बोकेका युवा थिए । बुटवलको कान्ति माविबाट १२ कक्षा पास गरेपछि भविष्य खोज्दै काठमाडौँ धाउनुभयो । पढाइमा अब्बल, सबैसँग सहज बोल्ने, अनुशासित र सक्रिय युवाका रूपमा टोल–समुदायमा सबैले चिन्थे उहाँलाई । बढ्दो भ्रष्टाचार, राज्य संयन्त्रको बेथिति र युवापुस्ताको भविष्यसँग खेलवाड भइरहेको अनुभूति गर्दा माधव जेनजी आन्दोलनमा सहभागी हुनुभएको थियो । परिवर्तनका लागि सडकमा उत्रने निर्णय उहाँको अन्तिम यात्राको कारण बन्न पुग्यो ।

    आन्दोलनका क्रममा हाम्रो परिवारको सदस्य गुमेको छ, त्यसको पीडा हामीलाई छँदैछ, राज्यले जति सुकै गरे पनि त्यसको पूर्ति पारिवारिक हिसाबले हुन सक्दैन माधवका बुबा चन्द्र भन्नुहुन्छ, “तैपनि राज्यले सम्झेको छ, सहिद घोषणा गरेको छ र केही क्षतिपूर्ति पनि दिएको छ, त्यसका लागि हामी आभार व्यक्त गर्न चाहन्छौँ तर त्योभन्दा अझ बढी हाम्रो अपेक्षा के हो भने अहिले युवा पुस्ताले जुन खालका आवाजहरू सडकमा उठाएको थियो–राज्यमा व्याप्त भ्रष्टाचार, बेथिति, निराशा, बेरोजगारीको विकराल र बढ्दो समस्या, यो देशमा केही पनि सम्भव छैन भनेर युवाहरू विदेश पलायन पनि भइरहेका थिए । अब त्यो खालको आवाज फेरि अर्को पुस्ताले उठाउनु नपरोस् ।”

    पछिल्ला नौ वर्ष कतारमा काम गरिरहेका माधवका बुबा चन्द्रबहादुर छोराको मृत्युको खबर पाएलगत्तै स्वदेश फर्किनुभयो । सरकारबाट सहिद परिवारको पुनःस्थापनाबारे स्पष्ट योजना आउन ढिलाइ भएपछि घरको आर्थिक भारले थिचिएर उहाँ फेरि विदेशिन बाध्य हुनुभएको छ । रोजगारीको लागि र घरमा रहेका श्रीमती तथा छोरा, छोरी पाल्नका लागि केही दिनअघि फेरि रोजगारीको लागि कतारमा जानुभयो । परिवारमा अहिले श्रीमती, १२ वर्षीय छोरा र १० वर्षीया छोरी छन् । छोराले कक्षा ७ मा र छोरीले कक्षा ५ मा अध्ययन गरिरहेका छन् ।

    आन्दोलनमा सहभागी हुनु अपराध थिएन, तर निहत्था युवामाथि गोली चलाउने अधिकारी आजसम्म कारबाही बाहिर रहेको परिवारको गुनासो छ । माधवकी आमा मधु सारु भने अझै पनि शोकबाट उठ्न सन्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “घरमा माधवको कोठा, किताब र गीत बजाउने बानी सबै उस्तै छन्, तर माधव मात्र छैनन् ।” उहाँको मौनता र आँसु घरैभरि छ । पीडाको प्रत्यक्ष प्रमाण बनेर बसेको छ ।

    पुत्र शोकको पीडा सहँदै आमा मधु भन्नुहुन्छ, “देशका लागि जसले ज्यान दियो, त्यहीका परिवारलाई देशले बचाउन सक्दैन भने हामीले कसरी गर्व गर्ने रु” उहाँको गुनासो छ । “देश बदल्ने सपनामा लागेका छोरालाई हामी गुमायौँ तर त्यो सपनालाई मर्न दिनुहुँदैन । जबसम्म न्याय स्थापित हुँदैन, तबसम्म छोराको बलिदानको अर्थ अधुरै रहन्छ ।” गोली हान्नेहरूलाई कानुनी सजाय दिनु र सहिद परिवारका लागि स्वदेशमै स्थायी रोजगारी प्रदान गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

    परिवारको जेठो छोरा माधव परिवारकै मुख्य सहारा थिए । बुटवलको कान्ति माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरी रोजगारी र पढाइका लागि काठमाडौँ जानुभएका उहाँ परिवर्तन, सुशासन र प्रणाली सुधारको सपना बोकेर जेनजी आन्दोलनमा सहभागी हुनुभएको थियो । तर निहत्था आन्दोलनकारी माथि गोली प्रयोग हुँदा उहाँको कलिलो उमेरमै जीवन समाप्त भयो ।

    उहाँका साथी पुस्कर पौडेल भन्नुहुन्छ, माधव एउटा व्यक्ति मात्र होइन, युवापुस्ताको पीडा र आक्रोशको प्रतिनिधि थिए । उनको मृत्युले परिवर्तन खोज्ने पुस्ता कति असुरक्षित छ भन्ने सन्देश दिएको छ । जबसम्म उनीहरुको योगदानको सम्मान हुँदैन, सहिदको आत्मा शान्त हुँदैन ।” माधवको बलिदानलाई अर्थपूर्ण बनाउन राज्यले पारदर्शी छानबिन, दोषीमाथि कारबाही र सहिद परिवारको पुनःस्थापनामा गम्भीरता देखाउन ढिलाइ गर्नुहुँदैन उहाँ भन्नुहुन्छ ।

  • पर्यटकको रोजाइमा ‘बोराबाध’

    पर्यटकको रोजाइमा ‘बोराबाध’

    धरान (सुनसरी), ११ मङ्सिर । यहाँको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । नदी किनारको मनोरम दृश्य, सूर्यास्तको आकर्षक झल्को तथा ‘क्याम्प फायर’, रिसोर्ट, ‘कफी सप’ र खाजा पसल थपिँदै गएपछि यहाँ दैनिक चहलपहलसमेत बढ्दै गएको छ ।

    व्यवसायी बिकुल श्रेष्ठले केही वर्षअगाडिसम्म सुनसान रहने यो ठाउँमा हाल पर्यटकको चहलपहल बढ्दै गएको बताउनुभयो । उनले यही मङ्सिर १ देखि क्याम्प फायरमा सञ्चालनमा ल्याएको र जसमा १० जना कामदार रहेका बताए । स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा मुख्य रोजाइमा पर्न गरेका श्रेष्ठले बताए ।


    चार वर्ष विदेश बसेर स्वदेश फर्किएका श्रेष्ठले यसअघि दूध डेरी, सफारी सञ्चालन र ग्यारेज व्यवसाय सञ्चालन गर्नुभएको थियो, हाल सबै छोडेर पर्यटन प्रवर्द्धनका लागि क्याम्प फायर सुरु गरेको बताए । उनले भने, “यहाँ पर्यटकको सङ्ख्या बढेकाले हाल व्यवसाय निकै राम्रो छ । राति बस्न चाहनेका लागि पनि व्यवस्था मिलाएका छौँ । प्रतिव्यक्ति रु एक हजारमा टेन्ट र सिरक–डस्नासहित सुविधा उपलब्ध छ ।”

    ‘बोराबाध’ विशेषगरी सप्तकोशी नदीको वार्षिक कटान रोक्न बोरामा सिमेन्ट भरेर बनाइएको छ । यही बाँधका कारण यस स्थानलाई ‘बोराबाध’ नामले चिनिन थालिएको स्थानीय बताउँछन् । पहिले दुई–तीनवटा रूख मात्र रहेको, गर्मीमा फाटफुट मानिस आउने यस क्षेत्रमा हाल दैनिक धेरै मानिस आउन थालेका छन् । केही समयअघि यहाँ एकवटा चटपटे पसल मात्र थियो, हाल रिसोर्ट, क्याम्प फायर, खाजा पसल र कफी सप गरी आधा दर्जनभन्दा बढी व्यवसाय सञ्चालनमा छन् ।

    स्थानीय भीषण राईका अनुसार दिउँसो र बिहानभन्दा सूर्य अस्ताउँदा यहाँ पर्यटकको अत्यधिक भीड लाग्छ । दैनिक दुई हजारदेखि दुई हजार ५०० पर्यटक यहाँ आउने गरेका छन् भने त्यो सङ्ख्या शनिबार पाँच हजारभन्दा बढी पुग्ने गरको छ । “पहिले सूर्य उदाउँदो हेर्न मानिसहरू इलामको श्रीअन्तु पुग्छन् भने भन्ने सुनेका थियौँ, हाल सूर्यास्त हेर्न ‘बोराबाध’ आउने गर्छन् । सूर्य अस्ताउँदा कोशीमा उज्यालो पर्ने भएकाले तस्बिर र भिडियो खिच्नकै लागि भए पनि यहाँ पर्यटकको भीड लाग्ने गरेको छ”, उनले भने ।


    हाल सुनसरीका इटहरी, धरान, इनरुवा साथै मोरङ, झापा र विराटनगरका विभिन्न ठाउँबाट दैनिक रूपमा धेरैजसो पर्यटक आउने गरेका छन् । इटहरीबाट साथीहरूसहित घुम्न आउनुभएकी सरिता श्रेष्ठ भन्छिन, “पहिले हामी बराहक्षेत्र घुम्न आउँदा चतरापुल र मन्दिरसम्म पुग्थ्यौँ, हाल बोराबाध मुख्य आकर्षण बनेको छ । साँझपख दिनभरिको भन्दा धेरै रमाइलो हुन्छ । सूर्यास्तमा कोशीमा फोकस पर्छ । फोटो खिच्नकै लागि भए पनि हप्तामा दुई–तीनपटक आउँछौँ ।”

    प्राकृतिक सौन्दर्य, सूर्यास्तको मनमोहक दृश्य, कोशी किनारको खुला भू–दृश्य, क्याम्प फायरको आकर्षण र स्थानीय खानाका कारण ‘बोराबाध’ पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । यसले स्थानीयस्तरमा रोजगार, व्यवसाय वृद्धि र आयमा सकारात्मक प्रभाव पारिरहेकाले थप पूर्वाधार विकास गरी लाभ लिनुपर्ने स्थानीयको माग छ ।

  • सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न, के भयो निर्णय ?

    सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न, के भयो निर्णय ?

    काठमाडौँ, ११ मङ्सिरः दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएको छ । बैठकको उद्घाटन गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव तथा कार्यक्रम समितिका अध्यक्ष किरण शाक्यले सार्क यस क्षेत्रको प्रमुख क्षेत्रीय सङ्गठनका रूपमा सदस्य राष्ट्रहरूबीच संवाद, सहकार्य र सामूहिक कदम चाल्नका लागि महत्वपूर्ण मञ्च भएको बताए ।


    यहाँस्थित सार्क सचिवालयका अनुसार त्यस अवसरमा सार्कका महासचिव मोहम्मद गोलाम सरवरले सदस्य राष्ट्रहरूबाट निरन्तर प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समितिको भूमिकाको महत्वको चर्चा गरे । साथै उनले दक्षिण एसियाली मुलुकहरूको उन्नयनको साझा उद्देश्यका खातिर सार्क स्थापना भएको बताउँदै सामूहिक रूपमा सार्कले धेरै उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।


    बैठकले आगामी वर्षका लागि सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रहरूको बजेट तथा गतिविधिका वार्षिक तालिकाहरूको समीक्षाका साथै त्यसलाई अन्तिम रूप दिएको छ । नेपालको अध्यक्षतामा भएको समितिको बैठकमा बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका परराष्ट्र मन्त्रालयका सहसचिव सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रका प्रमुखका साथै सचिवालयका उच्च अधिकारीहरूको सहभागिता थियो ।

  • देशभरको मौसम सफा रहने पूर्वानुमान

    देशभरको मौसम सफा रहने पूर्वानुमान

    काठमाडौँ, ११ मङ्सिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरी, आज राति कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । काठमाडौँ, उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ ।

  • साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र

    साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र

    काठमाडौँ, ११ मङ्सिर । ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो ।

    प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा आज सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विशेष समारोह आयोजना गरिँदै छ । नेपालको संविधानमा उल्लिखित सामाजिक सुरक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको थियो ।

    श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यसहित स्थापित कोषको नेतृत्वमा सामाजिक सुरक्षा योजना कार्यान्वयनमा छन् । सबै श्रमिकलाई यस योजनामा आबद्ध गराई आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक व्यवस्थालाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित रहेका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए ।

    ‘बढ्दै दायरा, लाभान्वित हुँदै श्रमिक’

    कोषले औपचारिक क्षेत्रका साथै वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइरहेको छ । बुधबारसम्म साढे २६ लाख नागरिक योगदानमा आधारित सामाजिक सुरक्षाको छाताभित्र समेटिएका कोषले जनाएको छ । त्यसमा औपचारिक क्षेत्रका छ लाख ४९ हजार ५११, वैदेशिक रोजगारीमा रहेका १९ लाख ९६ हजार ५७९, अनौपचारिक क्षेत्रका ७९९ र स्वरोजगार क्षेत्रका ५८२ श्रमिक छन् ।

    कोषले श्रमिकका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । यी योजनाबाट श्रमिक र तिनका परिवारले विभिन्न सुविधा तथा सहुलियत प्राप्त गर्दै आइरहेको कार्यकारी निर्देशक अधिकारीले बताए ।

    कोषमा हालसम्म रु ९५ अर्ब ६८ करोड योगदान रकम सङ्कलन भइसकेको छ । दुई लाख ५३ हजार एक सय ४३ श्रमिकले विभिन्न सुविधाबापत रु १७ अर्ब ७२ करोड दाबी भुक्तानी लिइसकेका छन् । कोषले योगदानकर्तालाई स्वास्थ्य सुविधाका अतिरिक्त बचतको ब्याज, निश्चित अवधिपछि मासिक पेन्सन, घर सापटी, शैक्षिक सापटीलगायत सहुलियत प्रदान गर्दै आइरहेको छ ।

  • १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    ११ मंसिर, काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता ठेक्का अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।


    पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रम (जेभी)सँग ३१ जेठ २०६८मा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ । ठेक्का रकम करसहित ३४ करोड ९ लाख रुपैयाँ थियो । ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत हुनेछ ।


    योजना कार्यालय इटहरीबाट गत ३१ असोजमा कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले जानकारी दिए ।


    निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्गन गरिएको जनाइएको छ ।

    ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ । हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ ।

    निर्माण व्ष्वयासी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत २६ असोजमा स्थलगत निरीक्षण गरी उत्त पुल निर्माण बारे छिट्टै निर्णय गरिने स्थानीय बासिन्दालाई बताएका थिए । स्थानीयबाट पुल नहुँदा सास्ती बेहोर्नुपरेको, व्यापार–व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न गर्न माग गरिएको थियो ।

    साथै मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । निर्माण व्यवसायीका तर्फबाट कन्काई पुल २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटी देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटी सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ ।

    सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधन बमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ । तर, निर्माण व्यवसायीबाट काम सम्पन्न हुने आधार नदिएपछि म्याद थप गरिएको थिएन । पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको बिमसम्म (गर्डर) हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ ।

  • एनपिएलः आज दुई खेल हुँदै

    एनपिएलः आज दुई खेल हुँदै

    काठमाडौँ, ११ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटाँै स्थानमा छ ।

    दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अङ्क बटुलेको छ । अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए ।

  • पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

    पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

    काठमाडौँ, ११ मङ्सिरः विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिए ।

    पुरातत्व विभागले पनि कोषलाई फलामका बार र फलामबाट बनाइएको आकाशेपुल हटाउन भनेको थियो । विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार गरिएको जानकारी दिए ।

  • जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध

    जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध

    जकार्ता, ११ मङ्सिर (रासस–एएफपी) । इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज सङ्क्रमण नियन्त्रणका लागि कुकुर, बिरालो र चमेरोको मासु बेच्न र उपभोगमा प्रतिबन्ध लगाइएको शहरका गभर्नरले मङ्गलबार जानकारी दिएका छन् । जकार्ताका गभर्नर प्रमोनो अनुङले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “खानाको उद्देश्यका लागि रेबिज सार्ने जनावरहरूको मासु बेच्न नगर प्रशासनले प्रतिबन्ध लगाएको छ। यसका लागि मैले निर्णयमा हस्ताक्षर गरिसकेको छु ।” एएफपीले देखेको एक पत्रमा प्रमोनोले सोमबार हस्ताक्षर गरेको उक्त नियम लागू हुनुअघि छ महिनाको छुट अवधि प्रदान गरेको छ ।

    उल्लङ्घनकर्ताहरूले लिखित चेतावनीदेखि व्यापार इजाजतपत्र रद्द गर्नेसम्मको प्रतिबन्धको सामना गर्न सक्छन् । गभर्नरले अनुङले भन्नुभयो, “यो प्रतिबन्ध जीवित जनावर, मासु वा अन्य कच्चा वा प्रशोधित मासुजन्य उत्पादनहरूमा लागू हुनेछ । सम्बन्धित सबै गतिविधिहरू खाद्य उद्देश्यका लागि लक्षित रेबिज सार्ने जनावरहरूको बेचविखन नियन्त्रणका लागि लागु गर्न लागिएको हो ।”

    इन्डोनेसिया कुकुर र बिरालोको मासु बेच्न अनुमति दिने थोरै देशहरू मध्ये एक हो । देशका अन्य स्थानमा पनि मासु बेच्ने अनुमति दिने अभ्यासकोविरूद्ध अभियानले गति लिएको छ । हालका वर्षहरूमा केही सहरले केही जनावरको मासुको बेचबिखनमा स्थानीय प्रतिबन्ध लगाएका छन् । पशु अधिकारकर्मीहरूले जकार्ता प्रतिबन्धलाई पशु अधिकारका लागि सही दिशामा अघि बढ्ने एक कदम प्रगतिको रूपमा प्रशंसा गरेका छन् ।

    कुकुरको मासु बेच्ने स्वतन्त्रता जारी रहेको इन्डोनेसियाले एक विज्ञप्तिमा भनेको छ, “यो नीति सबै इन्डोनेसियाली जनताको रक्षा गर्ने र न्यायपूर्ण र सभ्य राष्ट्र बन्ने संविधानको म्यान्डेटसँग मेल खान्छ ।” विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष रेबिजका कारण धेरै इन्डोनेसियालीहरूको मृत्यु हुने गरेको छ । इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले सन् २०२५ जनवरीदेखि मार्चको बीचमा रेबिजका कारण २५ जनाको मृत्यु भएको जनाएको छ ।

    मुस्लिम बहुल इन्डोनेसियामा कुकुरलाई अशुद्ध मानिएको र घरपालुवा जनावरका रूपमा विरलै राखिन्छ तर केही समूहमाझ कुकुरको मासु अझै किनबेच हुने गरेको छ । प्रोटिनको सस्तो स्रोत कुकुरको मासु अन्य केही एसियाली देशहरूमा पनि खाने गरेको पाइन्छ ।

  • अमेरिकी खुद्रा बिक्री बढ्यो

    अमेरिकी खुद्रा बिक्री बढ्यो

    वासिङ्टन, ११ मङ्सिर (रासस–एएफपी) । अमेरिकी खुद्रा बिक्री सेप्टेम्बरमा अनुमान गरिएकोभन्दा ढिलो गतिमा बढेको सरकारी तथ्याङ्कले मङ्गलबार देखाएको छ । उच्च मूल्यले खर्च गर्नसक्ने सामर्थ्यको चिन्ता थपेको छ भने फर्महरू व्यापार लागतमा वृद्धिसँग जुधिरहेका छन् । समग्र खुद्रा बिक्री अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले बढेको अमेरिकी वाणिज्य मन्त्रालयले जनाएको छ । यो विश्लेषकको अपेक्षाभन्दा अलि कम र अगस्टको ०.६ प्रतिशतको वृद्धिको तुलनामा निकै कम हो । श्रम मन्त्रालयको एक छुट्टै रिपोर्टले उत्पादक मूल्यहरू सेप्टेम्बरमा ०.३ प्रतिशतको अपेक्षाको अनुरूप बढेको देखाएको छ ।

    यो वृद्धि वस्तुको लागतमा ०.९ प्रतिशतले भएको वृद्धि हो र यसले व्यवसायहरूले सामना गरिरहेको उच्च लागतलाई रेखाङ्कित गर्दछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिहरू विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थाको एक प्रमुख चालक अर्थव्यवस्थामा प्रवाहित हुँदा सबैको आँखा उपभोक्ताहरू मूल्यको दबाबलाई कसरी प्रतिक्रिया दिन्छन् भन्नेमा छ । केही कम्पनीले पहिले नै ट्रम्पको नयाँ कर्तव्यहरूको कारण उच्च लागत देखेको रिपोर्ट गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले हालै अमेरिकी मतदाताको जीवनयापनको लागतलाई असर गर्दै विभिन्न कृषि उत्पादनलाई कभर गर्न भन्सार छुट विस्तार गर्नुभएको छ ।

    मङ्गलबार जारी गरिएका दुवै रिपोर्ट अक्टोबर र मध्य नोभेम्बरसम्मको निकै लामो सरकारी बन्दका कारण ढिलो गरी आएका छन् । बन्दले मुद्रास्फीतिदेखि रोजगारीको सङ्ख्यासम्म विभिन्न आर्थिक डाटाको प्रकाशनलाई अवरूद्ध गरेको छ । अमेरिकी सरकारी सेवाको ४३ दिनको अवरूद्धताले विशेष गरी अक्टोबर महिनाका लागि उपभोक्ता मुद्रास्फीति र रोजगार तथ्याङ्क सङ्ग्रहलाई असर गरेको थियो । यसको परिणामस्वरूप दुवै क्षेत्रमा पूर्ण रिपोर्टहरू जारी गरिएको छैन । यसको सट्टा उपलब्ध तथ्याङ्कहरू नोभेम्बरको तथ्याङ्कसाथ जारी गरिनेछ ।

    मङ्गलबार वाणिज्य विभागको तथ्याङ्कले सेप्टेम्बरमा खुद्रा बिक्री एक वर्ष अघिको तुलनामा ४.३ प्रतिशतले बढेको देखाएको छ । उपलब्ध तथ्याङ्कअनुसार मोटर सवारी साधन र पार्ट्स डिलरहरूको बिक्री सेप्टेम्बरमा घटेको छ भने खाद्य र पेय पसलहरूमा बिक्री कम भएको छ । कपडा र इलेक्ट्रोनिक्स स्टोरहरूमा भएको बिक्रीले पनि नकारात्मक सङ्केत देखाएको छ । उत्पादक मूल्य सूचकाङ्क रिपोर्टमा ऊर्जा र खाद्य मूल्यको पछाडि सेप्टेम्बरमा सामानको लागत ०.९ प्रतिशतले बढेको छ ।

  • विश्वव्यापी एचआइभी प्रतिक्रियालाई ‘दशकौँकै सबैभन्दा ठूलो झट्का’

    विश्वव्यापी एचआइभी प्रतिक्रियालाई ‘दशकौँकै सबैभन्दा ठूलो झट्का’

    जेनेभा, ११ मङ्सिर (रासस–एएफपी) । अचानक र नाटकीय रूपमा अन्तर्राष्ट्रिय कोष कटौतीले एचआइभी र एड्स विरुद्धको विश्वव्यापी प्रयासमा विनाशकारी परिणाम निम्त्याएको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ । युएनएड्सका कार्यकारी निर्देशक विनी ब्यानिमाले जेनेभामा पत्रकारहरूसँग भन्नुभयो, “एचआइभीविरुद्धको विश्वव्यापी प्रतिक्रियाले दशकौँयताकै सबैभन्दा ठूलो धक्का बेहोरेको छ ।” नयाँ प्रतिवेदन प्रस्तुत गर्दै उहाँले ‘धेरै अन्तर्राष्ट्रिय दातृ निकायका लागि अचानक अन्तर्राष्ट्रिय कोष कटौतीको विनाशकारी परिणाम’ हुने चेतावनी दिँदै भन्नुभएको छ, “यसले न्यून तथा मध्यम आय भएका मुलुकहरूलाई स्तब्ध बनाएको छ ।”

    ब्यानिमाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वर्षको सुरुमै ह्वाइट हाउस फर्केपछि ‘संयुक्त राज्य अमेरिकाको अचानक रोक’ लाई औँल्याउनुभयो, तर अन्य प्रमुख दाताहरूले पनि उनीहरूको वैदेशिक सहायता खर्चमा उल्लेखनीय कटौती गरेको बताउनुभयो । “कटौतीहरू बोर्डमा नाटकीय छन्”, उहाँले भन्नुभयो, “यस वर्षको सुरुदेखि नै दर्जनौँ न्यून र मध्यम आय भएका देशहरूमा एचआइभी सेवालाई निरन्तरता दिने जटिल पारिस्थितिक प्रणाली भित्रसम्म हल्लिएको छ ।”

    ब्यानिमाले एचआइभी रोकथाम सेवाहरूमा ‘कमी’ भएको बारेमा विशेष चिन्ता व्यक्त गर्नुहुँदै भन्नुभयो, “यदि यसलाई सम्बोधन गरिएन भने सन् २०३० सम्ममा ‘३३ लाख थप नयाँ सङ्क्रमण’ हुने जोखिम हुन्छ ।

  • थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित

    थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित

    बैङ्कक, १० मङ्सिर (रासस–एएफपी) । दक्षिणी थाइल्यान्डमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बुधबारसम्म ३३ पुगेको छ । बाढीका कारण थाइल्यान्ड र छिमेकी मलेसियामा हजारौँ मानिस विस्थापित भएका छन् । निरन्तर परेको भारी वर्षाले दक्षिणी प्रान्तहरूमा जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको अधिकारीहरूले बताएका छन् ।

    थाई सरकारले दक्षिणी सोङ्खला प्रान्तमा मङ्गलबार आपतकालीन अवस्था घोषित गरेको छ । गत हप्ताको अन्त्यदेखि परेको अविरल वर्षाले हट याईजस्ता प्रमुख पर्यटन क्षेत्रदेखि अन्य दक्षिणी भागसम्म डुबान व्यापक रहेको छ । एएफपीले बुधबार सार्वजनिक गरेका तस्वीरहरूमा हट याईका आवासीय क्षेत्रका सडक र घरका भुइँतला पानीमुनि डुबेको देखिन्छ ।

    थाई सरकारका प्रवक्ता सिरिपोङ अङ्कासाकुलकियातले सात प्रान्तमा ३३ जनाको मृत्यु भएको पुष्टि गर्दै तीमध्ये आकस्मिक बाढी, करेन्ट लागेर मृत्यु र डुबानका घटना प्रमुख कारण रहेको बताउनुभयो । उहाँका अनुसार दक्षिणी भागमा पानीको सतह क्रमशः घट्ने अनुमान गरिएको छ ।

    विपद् रोकथाम तथा न्यूनीकरण विभागले करिब दश लाख जनसङ्ख्या रहेको सात प्रान्तमा गम्भीर बाढी फैलिएको र हजारौँ बासिन्दा घर तथा होटलमै फसेको जानकारी दिएको छ । उद्धारकर्ता टोलीहरूले डुङ्गा, जेट–स्की र सैन्य ट्रकमार्फत कठिन परिस्थिति बीच स्थानीयलाई सुरक्षित स्थानमा पु¥याउने कार्य जारी राखेका छन् । सेनाले बिरामीहरूलाई नजिकैका अस्पतालसम्म पु¥याउन विमानवाहक साधन र हेलिकप्टर परिचालन गरेको जनाएको छ ।

    सोङ्खला प्रान्तीय सूचना विभागका अनुसार गत हप्तादेखि १० हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । विश्वविद्यालयका क्याम्पसहरू अस्थायी आश्रयस्थलका रूपमा प्रयोग भइरहेका छन् । प्रान्तीय प्रशासनले दैनिक २० हजारसम्म खाद्य प्याक वितरण गर्न सकिने गरी विशेष खाद्य आपूर्ति केन्द्र स्थापना गरेको छ । थाइल्यान्डमा जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा सामान्य मानिए पनि विज्ञहरूले मानव–सिर्जित जलवायु परिवर्तनले चरम मौसमी घटनाहरूलाई थप तीव्र र अप्रत्याशित बनाइरहेको चेतावनी दिएका छन् ।

    यता, छिमेकी मलेसियामा पनि भारी वर्षापछि आएको बाढी आठ राज्यमा फैलिएको छ । आगामी दिनहरूमा थप वर्षा हुने मौसम पूर्वानुमानकर्ताहरूको चेतावनीसँगै अवस्थाले अझ चुनौतीपूर्ण मोड लिन सक्ने अनुमान गरिएको छ । यो हप्ता मात्र २७ हजारभन्दा बढी मानिसलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । उत्तरपूर्वी तटको केलान्टन राज्यमा एक जनाको मृत्यु भएको उद्धार अधिकारीहरूले जनाएका छन् ।

    मलेसियाको मौसम विभागले उत्तरी राज्यहरू—पर्लिस, केदाह, पेनाङ र पेराकमा बुधबारसम्म आँधीबेहरी जारी रहने चेतावनी दिएको छ । नोभेम्बरदेखि मार्चसम्म चल्ने उत्तरपूर्वी मनसुनका कारण तीन करोड ४० लाख जनसङ्ख्या भएको देशमा हरेक वर्ष बाढीको जोखिम उच्च रहन्छ । सीमापार प्रभाव पनि देखिन थालेको छ ।

    गत हप्ता बाढीले दक्षिणी थाइल्यान्डमा हजारौँ मलेसियाली पर्यटक होटलमै फसेपछि मलेसियाको विदेश मन्त्रालयले लगातार निगरानी गरिरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रभावितमध्ये अधिकांश बहुतले होटलमा बस्दै आएका थिए र सबैलाई सुरक्षित रूपमा व्यवस्थित गरिएको छ ।सोमबारसम्म छ हजार ३०० भन्दा बढी मलेसियाली नागरिक थाइल्यान्डबाट सुरक्षित रूपमा सीमा पार गरी स्वदेश फर्कन सफल भएको मन्त्रालयले पुष्टि गरेको छ ।

  • हङकङको ताइ पो क्षेत्रमा भीषण आगलागी, १३ जनाको मृत्यु

    हङकङको ताइ पो क्षेत्रमा भीषण आगलागी, १३ जनाको मृत्यु

    हङकङ, १० मङ्सिर (रासस–सिन्ह्वा) । हङकङको ताइ पो क्षेत्रमा बुधबार दिउँसो लागेको आगलागीमा १३ जनाको मृत्यु भएको छ । उक्त जानकारी हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको हो ।

    घटना दिउँसो करिब २ः५१ बजे सम्बन्धित कार्यालयलाई जानकारी गराइएको थियो । आगलागी अत्यन्तै फैलिँदै गएपछि जिम्मेवार निकायले साँझ ६ः२२ बजे आगलागीको खतरा स्तर पाँचसम्म बढाएको थियो । उद्धार तथा नियन्त्रण कार्य अहिले पनि जारी रहेको जनाइएको छ ।

  • संसद भवनमा कुलमानको छड्के

    संसद भवनमा कुलमानको छड्के

    काठमाडौं, १० मंसिर । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिए । आगामी फागुन २१को चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले पटक पटक तीन सिफ्टमा काम गराउन शहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीयलाई निर्देशन दिएका थिए ।

    तर, बुधबार भएको आकस्मिक भ्रमणका क्रममा मन्त्री घिसिङले तीन सिफ्टमा काम गर्ने भनिएको तर फिल्डमा नदेखिएको बताए । उनले तीन सिफ्टमा काम गरी निर्माण सम्पन्न नगरेमा निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिए । त्यस्तै, घिसिङले नियमित सुपरीवेक्षण गर्ने आयोजना व्यवस्थापन र परामर्शदातालाई पनि कारबाही गरिने बताए । संसद भवन निर्माण एकदमै महत्वपूर्ण भएकाले आगामी चैत अगाडि नै निर्माण सम्पन्न हुनु पर्ने उल्लेख गर्दै मन्त्री घिसिङले उक्त समयमा निर्माण सम्पन्न नभएमा लापरवाही गर्ने सबैलाई कारबाही गरिने चेतावनी दिए ।


    संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदैछ । आयोजनाको सिभिललगायतका संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ । इन्टेरियर, सुरक्षा प्रणालीलगायतका काम गर्न २०८०मा अर्को ठेक्का सम्झौता भएको थियो । यस प्याकेजको निर्माण प्रगति ३० प्रतिशत रहेको छ ।

    यसअघि ८ कात्तिकमा स्थलगत अनुगमन गरी निर्माण भइरहेको भवनहरुमध्ये सबैभन्दा ठूलो र महत्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न आग्रह गरेका थिए । धेरै मेहनत नगरिएमा तोकिएको समयमा निर्माण सम्पन्न हुन गाह्रो रहेकाले हरेक दिनको बेलुका निर्माण कार्य प्रगतिको समीक्षा गरी सोहीअनुसार आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिंदै उहाँले निर्माण कार्यको आफैंलेसमेत नियमित अनुमगन गर्ने बताएका थिए ।

  • ठमेलमा पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ

    ठमेलमा पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ

    काठमाडौँ, १० मङ्सिर । नेपाल प्रहरीले विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा घुम्न आएका विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा गएराति उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा काभ्रेका १९ वर्षीय बादल तामाङ, बाजुराका २२ वर्षीय गणेश नाथ, तनहुँका २४ वर्षीय विशाल थापामगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री, दोलखाका १९ वर्षीय विशाल नेपाली, रामेछापका २१ वर्षीय मिलन नेपाली, बाँकेका २३ वर्षीय अभिषेक थापा, काभ्रेका २२ वर्षीय सञ्जय लामा, दाङकी २० वर्षीया प्रतिमा डाँगी र दाङकै २१ वर्षीया प्रमिला पुनमगर छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले स्वदेशी तथा विदेशी पर्यटकलाई दुःख दिने तथा लुटपाटमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकालाई प्रहरीले अभद्र व्यवहारको कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

  • शोभाकलीले सातौँ छावा जन्माउँदा….

    शोभाकलीले सातौँ छावा जन्माउँदा….

    इटहरी (सुनसरी), १० मङ्सिरः कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेकी शोभाकली हात्तीले आफ्नो सातौँ सन्तान जन्माएकी छन् । आरक्षका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले गत कात्तिक ३० गते आइतबार राति १०ः३० बजे स्वस्थ (छावा) जन्माएकी हुन् ।

    जन्मपछि आमा र छावा दुवैको स्वास्थ्य सामान्य रहेको जनाउँदै चिकित्सक तथा मउते टोलीको निगरानीमा राखिएको आरक्षले जनाएको छ । छावाको जन्म भएको आज ११औँ दिन नवजात हात्तीको औपचारिक रूपमा नामकरण कार्यक्रम आयोजना गरिएको आरक्षका प्रमुख यादवले जानकारी दिए । उनका अनुसार आरक्ष कर्मचारी तथा स्थानीय समुदायको सहभागितामा आयोजित समारोहमार्फत छावाको नाम ‘भुपेन्द्र गज’ राखिएको छ ।

    “शोभाकली करिब दुई दशकदेखि आरक्षमा कार्यरत अभिमुखी हात्तीमध्ये एक हुन् । उनलाई मुख्यतः गस्ती, वन्यजन्तु अनुगमन, तथा अत्यावश्यक उद्धार कार्यमा प्रयोग गरिन्छ”, प्रमुख यादवले भने । यो जन्मसँगै शोभाकलीबाट जन्मिएका छावाको सङ्ख्या सात पुगेको छ । आरक्षका अनुसार उनका अधिकांश सन्तान अहिले पनि विभिन्न संरक्षण क्षेत्र तथा हात्ती प्रजनन केन्द्रमा स्वस्थ रूपमा पालनपोषणमा छन् । नवजात भुपेन्द्र गज हाल प्रतिदिन औसत १०–१२ लिटर दूध सेवन गरिरहेको जनाउँदै उनले जन्मेको तेस्रो दिनदेखि आमा पछ्याउँदै हिँड्न थालेको माहुतेहरूले जनाएका बताए ।


    कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । हात्ती, गैँडा, हरिण, निलगाईलगायत ४५० भन्दा बढी प्रजातिका चराको महत्वपूर्ण आवासस्थल मानिन्छ । आरक्षभित्र कार्यरत हात्तीले सीमावर्ती क्षेत्रको निगरानी तथा अवैध सिकार नियन्त्रणमा ठूलो योगदान पुर्‍याउँदै आएका आरक्ष कार्यालयले जनाएको छ ।

  • एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण शुभारम्भ

    एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण शुभारम्भ

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० मङ्सिरः पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा एमसिए नेपालले आज एक कार्यक्रमको आयोजना गरी न्यू बुटवल सबस्टेन र १८ किमी प्रसारण लाइन निर्माण शुभारम्भ गरेको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गरे । अर्थमन्त्री खनालले यो सबस्टेन र प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै प्रत्यक्ष रूपमा दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    उनले भने, “स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पु¥याउने सरकारको सशक्त प्रतिबद्धता यस आयोजनामा प्रतिविम्बित भएको छ । एमसिसी र एमसिए नेपालको सहयोगबाट हामी राष्ट्रको हितका लागि सम्झौतालाई कार्य रूपमा रूपान्तरण गर्दैछौँ ।”

    राजदूत थम्प्सनले दुई वर्षदेखि निरन्तर प्रयासर गर्दै आज यहाँसम्म आइपुगेको बताए । उनले भने, “यसले नेपालका लागि आर्थिक वृद्धिसँगै खुला व्यापारमा पनि वृद्धि हुनेछ । प्रसारण लाइन तथा सबस्टेसनजस्ता आयोजनाले परिवार तथा व्यवसायमा सहज विद्युत् आपूर्ति विस्तार गर्नुका साथै मुलुभरि व्यापार वृद्धि, रोजगारी तथा प्रगतिका लागि अवसरहरू सिर्जना गर्नेछ । आजको यो कार्यक्रम सहकार्यबाट केकति हासिल गर्न सकिन्छ भन्ने प्रमाण हो ।”

    जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौतीप्रसाद यादवले परियोजनामार्फत स्थानीयलाई सीपको आधारमा समेट्न सक्नेगरी अगाडि बढ्नुपर्ने बताए । उनले भने, “यो परियोजनालाई सबैले हातेमालो गरी अगाडि बढाउँदै लैजानुपर्छ ।” एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच महत्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्नेछ । अर्थमन्त्री खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत थम्प्सन, एमसिसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलगायत स्थानीय जनप्रतिनिधिको उपस्थितिमा निर्माण शुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो ।

    निर्माण सुरु भएको १८ किमी प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सवस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्नेछ । करिब पाँच करोड अमेरिकी डलर लगानीमा निर्माण गरिने यी पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको ऊर्जा व्यापार सम्झौतालाई सघाउ पुर्‍याउनेछ ।